परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आदेश र मानवजातिको धर्मी अभियानका निम्ति होइनन् भने, परमेश्‍वरको आदेशको निम्ति शहीद भएकाहरूका निम्ति हाम्रा आत्मा अयोग्य हुनेछन्, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्‍वरका निम्ति त झन् अयोग्य हुनेछन्।

परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो, साथै उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका योजनाकार हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्‍वरले मात्र यस मानवजातिलाई रात र दिन हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका योजनाहरूबाट अलग छैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राज्यको उदय र पतन परमेश्‍वरको योजनाअनुसार हुन्छ भनी तैँले अवश्य पनि विश्‍वास गर्छस्। कुनै देश वा राज्यको नियति परमेश्‍वरलाई मात्र थाहा छ, अनि परमेश्‍वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति भएको चाहना गर्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवजातिले परमेश्‍वरको आराधना गर्न घुँडा टेक्‍नुपर्छ, परमेश्‍वरका सामु पश्‍चाताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ, अन्यथा मानवको नियति र गन्तव्य भनेको रोक्‍नै नसकिने विनाश हुनेछ।

नोआले जहाज बनाएको समयलाई हेरौं: मानवजाति गहन रूपमा भ्रष्‍ट बनेको थियो, मानिसहरू परमेश्‍वरको आशिष्‌बाट तर्केका थिए, तिनीहरूलाई परमेश्‍वरले वास्ता गर्न छोड्नुभएको थियो, र तिनीहरूले परमेश्‍वरका प्रतिज्ञाहरू गुमाएका थिए। तिनीहरू परमेश्‍वरको ज्योतिविना नै अँध्यारोमा जिउँथे। तिनीहरू प्रकृतिले नै कामुक बनेका थिए र तिनीहरूले घृणित अनैतिकतामा आफैलाई सुम्पेका थिए। यस्ता मानिसहरूले परमेश्‍वरको प्रतिज्ञालाई पाउन सकेनन्; तिनीहरू परमेश्‍वरको मुहारको साक्षी हुन वा परमेश्‍वरको आवाज सुन्‍न अयोग्य थिए, किनकि तिनीहरूले परमेश्‍वरलाई त्यागेका थिए, परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै थोकहरूलाई पन्छाएका थिए, र परमेश्‍वरका शिक्षाहरूलाई बिर्सेका थिए। तिनीहरूका हृदय परमेश्‍वरबाट टाढा-टाढा भौँतारिए, यसो भएपछि, तिनीहरूमा सबै तर्कको कमी भयो र तिनीहरू मानवता बाहिर पुगेर भ्रष्‍ट बने र झन्-झन् दुष्‍ट बने। तब तिनीहरू मृत्युको अति नजिक हिँडे र परमेश्‍वरको क्रोध र दण्डमा परे। नोआले मात्र परमेश्‍वरको आराधना गरे र दुष्टतालाई घृणा गरे, यसरी उनले परमेश्‍वरको आवाज सुन्‍न सके र उहाँका आज्ञाहरू सुने। परमेश्‍वरको वचनका आज्ञाहरू अनुसार उनले जहाज निर्माण गरे, र सबै किसिमका जीवित प्राणीहरूलाई त्यहाँ जम्मा गरे। अनि यसरी, सबै थोक तयार भइसकेपछि, परमेश्‍वरले संसारमाथि आफ्नो विनाश ल्याउनुभयो। नोआ र उनको परिवारका अरू सात जना सदस्यहरू मात्र त्यस विनाशबाट बचे, किनकि नोआले यहोवालाई आराधना गरे र दुष्‍टतालाई घृणा गरे।

अब वर्तमान युगलाई हेर्नुहोस्: परमेश्‍वरलाई आराधना गर्ने र दुष्‍टतालाई त्याग्‍ने नोआजस्ता धर्मी मानिसहरू अस्तित्वमा छैनन्। तैपनि परमेश्‍वर यस मानवजातिप्रति अझै दयालु हुनुहुन्छ र यस अन्तिम युगको अवधिमा अझै तिनीहरूलाई क्षमा दिनुहुन्छ। परमेश्‍वरले उहाँ देखा पर्ने दिनको चाहना राख्‍नेहरूलाई खोज्नुहुन्छ। उहाँका वचनहरू सुन्‍न सक्‍नेहरू, उहाँका आदेशलाई नबिर्सेकाहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। उहाँको सामुन्‍ने बालकजस्‍तै आज्ञाकारी भएकाहरू र उहाँको विरोध नगर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। यदि तैँले आफैलाई परमेश्‍वरमा समर्पित गरिस्, कुनै शक्ति वा दबाबद्वारा रोकिएनस् भने, परमेश्‍वरले तँमाथि दया देखाउनुहुनेछ र तँमाथि आशिष खन्याउनुहुनेछ। यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, प्रशस्त ज्ञानका स्रोत, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि परमेश्‍वरका सामु आउन यी कुनै पनि कुराहरूले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति अति धर्मी कार्य हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुराहरू श्रापित हुनेछन् र परमेश्‍वरद्वारा ती निन्‍दित हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर यदि तँ आफ्ना काम-कारबाहीहरूमा आफ्ना ज्ञान र क्षमतामा भर पर्छस् भने, तँ जति नै उच्‍च ओहोदामा भए पनि, तँ जहिले पनि असफल हुनेछस् र परमेश्‍वरका आशिषहरूबाट सधैँ वञ्‍चित हुनेछस्, किनकि तैँले गरेको कुनै पनि कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्‍न, र तैँले गरेको कार्य धर्मी हो भनी उहाँले मान्‍नुहुन्‍न वा तैँले मानवजातिका फाइदाका लागि केही कार्य गरेको छस् भनी स्वीकार गर्नुहुन्न। तैँले गरेका सबै कामले मानवजातिलाई परमेश्‍वरको सुरक्षाबाट वञ्‍चित गर्ने र परमेश्‍वरका आशिषहरूलाई अस्वीकार गर्ने गरी तैँले मानवजातिका ज्ञान र बललाई प्रयोग गरिस् भनी उहाँले तँलाई भन्‍नुहुनेछ। तैँले मानवजातिलाई अँध्यारोतिर, मृत्युतिर र मानवले परमेश्‍वर र उहाँका आशिषलाई गुमाएका असीमित अस्तित्वको सुरुआततिर लैजान्छस् भनी उहाँले तँलाई भन्‍नुहुनेछ।

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान औजार बनेका छन्, र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्न अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्‍वरको स्थान सधैँ झन्झन तल खस्केको छ। मानवको हृदयमा परमेश्‍वर नहुनुभएको हुनाले उसको भित्री संसार अँध्यारो, आशा विहीन, र खाली भएको छ। यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू संख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका विवरणहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्‍वरको गरिमा र महानता, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्‍ने सिद्धान्तमा मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन् वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शन विना शासकहरू र समाजशास्‍त्रीहरूले मानव सभ्यतालाई बचाउन तिनीहरूका दिमागहरूलाई जति नै तन्काए पनि यसले कुनै फाइदा गर्दैन। मानवको हृदयमा भएको खालीपनलाई कसैले पनि भर्न सक्दैन, किनकि कोही पनि मानवको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानवलाई ऊ पीडित भएको खालीपनबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, फुर्सत, सान्त्वना: यिनीहरूले मानवलाई केवल अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि मानवले पक्‍कै पाप गर्नेछ र समाजका अन्यायहरूमा पछुतो गर्नेछ। यी कुराहरूले अन्वेषण गर्ने मानवका लालसा र इच्छालाई रोक्‍न सक्दैनन्। यो हुनुको कारणचाहिँ मानवलाई परमेश्‍वरले बनाउनुभयो र अर्थहीन बलिदानहरू र मानवका अन्वेषणहरूले उसलाई अझै कष्‍टमा मात्र लैजान सक्छ र मानवलाई लगातार डरको अवस्थामा मात्र राख्छ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन। मानव विज्ञान र ज्ञानसँग पनि डराउनेछ, र खालीपनको अनुभूतिमा पनि ऊ अझ डराउनेछ। यस संसारमा, तँ स्वतन्त्र देशमा होस् वा मानवअधिकार नभएको देशमा होस्, जहाँ बसे पनि मानवजातिको भवितव्यबाट बच्‍न तँ पूर्ण असक्षम छस्। तँ शासक वा शासित जो भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो इच्छाबाट बच्न पूर्ण रूपमा असक्षम छस्, खालीपनको चिन्ताको चेतनाबाट बच्न त अझै बढी असक्षम छस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तर पनि यस्ता समस्याहरू समाधान गर्नका लागि कुनै पनि महामानव अगाडि आएको छैन। जेसुकै भए तापनि, मानव भनेको मानव नै हो, अनि परमेश्‍वरको स्थान र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। मानवजातिलाई निष्पक्ष समाजले मात्र पुग्दैन जहाँ प्रत्येकलाई राम्रोसँग खुवाइन्छ, र ऊ समान र स्वतन्त्र हुन्छ; मानवजातिका लागि आवश्यक परेको कुराचाहिँ परमेश्‍वरको मुक्ति र तिनीहरूलाई उहाँको जीवनको बन्दोबस्त हो। मान्छेले परमेश्‍वरको जीवनको भरणपोषण र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उसका आवश्यकताहरू, उसको अन्वेषण गर्ने इच्छा, र उसको आत्मिक खालीपनको समस्या समाधान हुन्छ। यदि एक देश वा राज्यका मानिसहरूले मुक्ति र परमेश्‍वरको हेरचाह पाउन सकेनन् भने, तब यस्तो देश वा राज्य विनाशको बाटोमा अन्धकारतर्फ अघि बढ्नेछ, र परमेश्‍वरले त्यसलाई विनाश गर्नुहुनेछ।

सायद, तेरो देश अहिले समृद्ध होला, तर यदि तैँले आफ्ना मानिसहरूलाई परमेश्‍वरबाट तर्केर जान दिइस् भने, तेरो देशले आफूलाई परमेश्‍वरको आशिष्‌बाट अझै वञ्‍चित भएको पाउनेछ। तेरो देशको सभ्यतालाई अझै पैतालोले कुल्चिइनेछ, र छोटो समयभित्रै मानिसहरू परमेश्‍वरका विरुद्धमा उठ्नेछन् र स्वर्गलाई सराप्नेछन्। अनि यसरी, मानवले नजानिकन नै देशको भविष्य विनाश हुनेछ। परमेश्‍वरले श्राप दिनुभएका ती देशहरूसँग निराकरण गर्नका लागि परमेश्‍वरले शक्तिशाली देशहरूलाई उठाउनुहुनेछ, र उहाँले तिनीहरूलाई पृथ्वीबाट हटाइदिनुहुनेछ। कुनै देश वा राज्यको उत्थान र पतन त्यहाँका शासकहरूले आफ्ना मानिसहरूलाई परमेश्‍वरका नजिक हुन र उहाँलाई आराधना गर्न अगुवाइ गरेका छन् वा छैनन् भन्‍ने आधारमा पक्का गरिनेछ। तैपनि, यस अन्तिम युगमा परमेश्‍वरलाई साँचो रूपमा खोज्ने र आराधना गर्नेहरू अति नै सीमित भएका हुनाले इसाई विश्‍वासलाई राष्ट्रिय विश्‍वास वा धर्मका रूपमा स्वीकार गर्ने देशहरूमाथि परमेश्‍वरले विशेष दया देखाउनुभएको छ। उहाँले ती देशहरूलाई धर्मी समूह बनाउन एकसाथ जम्मा गर्नुहुन्छ, जब कि नास्तिक देशहरू र साँचो परमेश्‍वरलाई आराधना नगर्नेहरू धर्मी समूहका विरोधी बन्छन्। यसरी, आफ्नो काम गर्नका लागि मानवजातिका बीचमा परमेश्‍वरको स्थान मात्र नभएको होइन, तर उहाँको विरोध गर्ने देशहरूमाथि अधिकार गर्दा र प्रतिबन्ध लगाउँदा, धर्मी अख्तियार व्यवहारमा लगाउने देशहरूलाई फाइदा पुग्‍नेछ। तैपनि यो सबै हुँदाहुँदै पनि परमेश्‍वरलाई आराधना गर्न अझै पनि मानिसहरू अगाडि आउँदैनन्, किनकि मानव उहाँबाट अति नै टाढा भइसकेको छ, र मानवले लामो समयदेखि परमेश्‍वरलाई बिर्सिसकेको छ। धार्मिकतालाई अभ्यास गर्ने र अधर्मलाई विरोध गर्ने देशहरू मात्र पृथ्वीमा रहन्छन्। तर यो परमेश्‍वरको चाहनाभन्दा धेरै नै टाढा छ, किनकि कुनै पनि देशका शासकहरूले तिनीहरूका मानिसहरूलाई परमेश्‍वरभन्दा माथि राख्‍न चाहँदैनन्, अनि कुनै पनि राजनीतिक दलले परमेश्‍वरलाई आराधना गर्नका लागि आफ्ना मानिसहरूलाई एकसाथ जम्मा गर्नेछैन; हरेक देश, राज्य, सत्तामा भएको दलको हृदयमा, र हरेक व्यक्तिको हृदयमा पनि परमेश्‍वरले आफ्नो सही स्थान गुमाउनुभएको छ। धर्मी शक्तिहरू यस संसारमा रहे तापनि परमेश्‍वरले मानवको हृदयमा पाउनुपर्ने शासनको स्थान कमजोर भएको छ। परमेश्‍वरका आशिष विना, राजनीतिक क्षेत्र अलमलमा पर्नेछ र आक्रमणको जोखिममा पर्नेछ। मानवजातिका निम्ति परमेश्‍वरका आशिष् विना रहनु चाहिँ सूर्यविना रहनु जस्तै हो। आफ्ना मानिसहरूका निम्ति शासकहरूले जति नै परिश्रमका साथ काम गरे पनि मानवजातिले एकसाथ जति नै धेरै धर्मी सम्मेलनहरू गरे पनि यी कुनै पनि कुराले घटनाको गति-पथलाई परिवर्तन गर्नेछैन वा मानवजातिको नियतिलाई बदल्नेछैन। मानिसहरूले जुन देशमा खान र लाउन पाउँछन्, जहाँ तिनीहरू एकसाथ शान्तिले बस्न पाउँछन्, त्यो देशचाँहि असल नेतृत्व भएको असल देश हो भनेर मान्छेले विश्‍वास गर्छ। तर परमेश्‍वरले यस्तो विचार गर्नुहुन्‍न। उहाँलाई कसैले पनि आराधना नगर्ने देशलाई उहाँले नै विनाश गर्नुहुनेछ भनी उहाँ विश्‍वास गर्नुहुन्छ। मानवको विचार गर्ने तरिका परमेश्‍वरको भन्दा अति नै अनौठो छ। यसैले, यदि कुनै देशको प्रमुखले परमेश्‍वरलाई आराधना गर्दैन भने, तब त्यस देशको नियति दुःखद हुनेछ, अनि त्यस देशको कुनै गन्तव्य हुनेछैन।

परमेश्‍वर मानवका राजनीतिमा सहभागी हुनुहुन्‍न, र पनि कुनै देश वा राज्यको नियति परमेश्‍वरले नियन्त्रण गर्नुहुन्छ। परमेश्‍वरले यो संसार र सारा विश्‍वलाई नियन्त्रण गर्नुहुन्छ। मानवको नियति र परमेश्‍वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, कुनै पनि मानव, देश वा राज्य परमेश्‍वरको सार्वभौमिकताबाट छुटेको छैन। यदि मानवले आफ्नो नियति जान्‍न चाहन्छ भने, ऊ परमेश्‍वरका सामु आउनैपर्छ। परमेश्‍वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई उहाँले समृद्ध पार्नुहुनेछ र उहाँलाई अस्वीकार गर्ने र विरोध गर्नेहरूलाई उहाँले अस्वीकार र विनाश गर्नुहुन्छ।

बाइबलमा उल्‍लेख सदोममाथि परमेश्‍वरले विनाश ल्याउनुहुँदाको दृश्यलाई स्मरण गर र लोतकी पत्‍नी कसरी नुनको खम्बा बनिन् सो पनि विचार गर। निनवेका मानिसहरूले कसरी भाङ्ग्रा र खरानी लगाएर आफ्ना पापहरूबाट पश्‍चाताप गरे र २,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा कीला ठोके पश्चात् के भयो सो कुरालाई स्मरण गर। यहूदीहरूलाई इस्राएलबाट निकालियो र तिनीहरू संसारभरिका देशहरूमा भागे। धेरै जनालाई मारियो, र पूरै यहूदी राज्य अभूतपूर्व रूपमा विनाशमा पर्‍यो। तिनीहरूले परमेश्‍वरलाई क्रूसमा कीला ठोकेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्‍वरको स्वभावलाई रीस उठाए। तिनीहरूले गरेका कामका लागि तिनीहरूले मूल्य तिर्नुपर्यो र तिनीहरूलाई आफ्ना कामहरूका सबै नतिजाहरू भोग्‍न लगाइयो। तिनीहरूले परमेश्‍वरको निन्दा गरे, परमेश्‍वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र भविष्य थियो: परमेश्‍वरद्वारा दण्ड पाउनु। यो तिनीहरूका देश र राज्यमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।

आज, परमेश्‍वर आफ्नो काम गर्नका लागि संसारमा फर्कनुभएको छ। उहाँले पहिलो चरणमा अधिनायकवादी शासकहरूका भव्य सभालाई रोक्‍नुभयो: नास्तिकवादको कडा गढ, चीनलाई। परमेश्‍वरले आफ्नो बुद्धि र शक्तिद्वारा मानिसहरूको एक समूह प्राप्त गर्नुभएको छ। यस समयावधिमा, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर ठूलो कष्‍ट दियो, त्यसैले आश्रय भेट्टाउन नसकेर उहाँको शिर राख्‍ने ठाउँ पनि छैन। यस्तो कुरा हुँदाहुँदै पनि परमेश्‍वरले गर्न मनसाय राख्‍नुभएको काम उहाँले अझै निरन्तर गर्नुहुन्छ: उहाँले आफ्नो सोर निकाल्नुहुन्छ, र सुसमाचार फैलाउनुहुन्छ। परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई कसैले पनि बुझ्न सक्दैन। परमेश्‍वरलाई आफ्नो शत्रु ठान्‍ने देश, चीनमा परमेश्‍वरले आफ्नो काम कहिल्यै रोक्‍नुभएको छैन। त्यसको सट्टा, धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्‍वरले जतिसक्दो मानवजातिको प्रत्येक र हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ। परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्‍न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौं। परमेश्‍वरको कामलाई रोक्‍नेहरू, परमेश्‍वरको वचनको विरोध गर्नेहरू र बाधा दिनेहरू र परमेश्‍वरको योजनालाई बिगार्नेहरूलाई अन्त्यमा परमेश्‍वरले दण्ड दिनुहुनेछ। परमेश्‍वरको कामलाई अस्वीकार गर्नेलाई नरकमा पठाइनेछ; परमेश्‍वरको कामलाई अस्वीकार गर्ने कुनै पनि देशलाई विनाश गरिनेछ। परमेश्‍वरको कामको विरोधमा उठ्ने कुनै पनि राज्यलाई यस पृथ्वीबाट पूर्ण रूपमा मेटाइनेछ र त्यो अस्तित्वमा रहनेछैन। सबै राज्यहरू, सबै देशहरू, र सबै उद्योगहरूले पनि परमेश्‍वरको आवाज सुनून्, परमेश्‍वरको कामलाई हेरून् र मानवजातिको नियतिमा ध्यान देऊन्; परमेश्‍वरलाई सबैभन्दा पवित्र, सबैभन्दा आदरणीय, सर्वोच्‍च, मानवजातिका बीचमा आराधनाका एकमात्र व्यक्ति, र सम्पूर्ण मानवजातिलाई परमेश्‍वरको आशिषमुनि बाँच्ने बनाऊन्, जसरी, अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञामा रहे, र जसरी परमेश्‍वरले पहिले सृष्‍टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा रहे।

परमेश्‍वरको काम शक्तिशाली छालजस्तै माथितिर बढ्छ। कसैले पनि उहाँलाई थुन्‍न सक्दैन, र उहाँको दौडलाई कसैले पनि रोक्‍न सक्दैन। उहाँका वचनहरूलाई ध्यानसँग सुन्‍नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पाइलाहरू पछ्याउँछन् र उहाँको प्रतिज्ञा प्राप्‍त गर्छन्। जसले गर्दैनन् तिनीहरूले ठूलो विपत्ति भोग्‍नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।

अघिल्लो: परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

अर्को: परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्