ख. भ्रष्ट मानवजातिको शैतानी स्वभाव र तिनीहरूको प्रकृति सारको खुलासा सम्बन्धी वचनहरू

८१. परमेश्‍वरको विरुद्धमा मानिसको विरोध र विद्रोहको मूल कारण भनेको उसलाई शैतानद्वारा भ्रष्ट तुल्याइनु हो। शैतानले भ्रष्‍ट तुल्याएका कारण मानिसको विवेक संवेदनहीन बनेको छ, ऊ नैतिक रूपमा भ्रष्ट छ, उसका सोचहरू पतित छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्‍ट तुल्याइनुभन्दा अगाडि, मानिस सुरुमा परमेश्‍वरप्रति समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तीप्रति समर्पित हुन्थ्यो। सुरुमा उसको समझ र विवेक राम्रो थियो र उसको मानवता सामान्य थियो। शैतानद्वारा भ्रष्‍ट तुल्याइएपछि, मानिसको सुरुको समझ, विवेक, र मानवता सबै संवेदनहीन बने र शैतानद्वारा बिगारिए। यसरी, उसले परमेश्‍वरप्रति आफ्नो समर्पण र प्रेम गुमाएको छ। मानिसको समझ असामान्य बनेको छ, उसको स्वभाव एउटा पशुको जस्तै बनेको छ, र परमेश्‍वरका विरुद्ध उसको विद्रोहीपन निरन्तर बढिरहेको छ र झनै घोर बनिरहेको छ। तैपनि मानिसले यो कुरा अझै पनि न त थाहा पाएको छ न त बुझेको नै छ, र लगातार विरोध र विद्रोह मात्र गर्छ। मानिसको स्वभावका प्रकटीकरणहरू उसको समझ, अन्तर्ज्ञान, र विवेकका अभिव्यक्तिहरू हुन्। उसको समझ र अन्तर्ज्ञान राम्रो नभएको, र उसको विवेक उच्‍च रूपमा संवेदनहीन बनेको हुनाले, उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही छ। यदि मानिसको समझ र अन्तर्ज्ञान परिवर्तन हुन सक्दैनन् भने, उसको स्वभाव परिवर्तन हुने प्रश्नै उठ्दैन र यो परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुने पनि प्रश्नै उठ्दैन। यदि मानिसको समझ राम्रो छैन भने, उसले परमेश्‍वरको सेवा गर्न सक्दैन र ऊ परमेश्‍वरको निम्ति प्रयोगयोग्य हुँदैन। “सामान्य समझ” ले परमेश्‍वरप्रति समर्पित हुने र उहाँप्रति बफादार हुने, परमेश्‍वरको अभिलाषा राख्ने, पूर्ण रूपमा परमेश्‍वरप्रति अर्पित हुने, र परमेश्‍वरप्रति विवेक राख्‍ने कुरालाई जनाउँछ। यसले परमेश्‍वरप्रति एउटै हृदय र मन हुने, र जानाजानी परमेश्‍वरको विरोध नगर्ने कुरालाई जनाउँछ। असामान्य समझ हुनु भनेको यस्तो होइन। शैतानद्वारा भ्रष्‍ट तुल्याइएपछि, मानिसले परमेश्‍वरबारे धारणाहरू बनाएको छ, र ऊसँग परमेश्‍वरप्रति बफादारी छैन वा उहाँप्रति अभिलाषा छैन, परमेश्‍वरप्रति विवेक हुने त कुरै नगरौँ। मानिसले जानीजानी परमेश्‍वरको विरोध गर्छ, र उहाँलाई गलत ठहराउँछ, त्यसबाहेक उहाँको पिठ्यूँपछाडि उहाँमाथि गाली बर्साउँछ। उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर राम्रोसँग थाहा हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँपछाडि उहाँलाई गलत ठहराउँछ; मानिससँग परमेश्‍वरप्रति समर्पित हुने अभिप्राय बिलकुलै छैन, बरु उहाँसँग माग र अनुरोधहरू मात्र गरिरहन्छ। त्यस्ता मानिसहरू—असामान्य समझ भएका मानिसहरू—अझै आफ्नै घृणास्पद व्यवहार चिन्न वा आफ्नो विद्रोही क्रियाकलाको पछुतो मान्न सक्दैनन्। यदि मानिसहरू आफैलाई चिन्‍न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो समझ पुनः प्राप्‍त गरेका हुन्छन्; मानिसहरू परमेश्‍वरविरुद्ध जति विद्रोही छन् र तैपनि आफूलाई चिन्दैनन्, तिनीहरूको समझमा त्यति नै बढी खराबी हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्‍वरसँग शत्रुतामा हुनु हो

८२. केही हजार वर्षको भ्रष्टताको क्रममा, सबै मानिसहरू संवेदनहीन र मन्द बुद्धिका बनेका छन्; तिनीहरू सबै परमेश्‍वरको विरोध गर्ने दुष्ट पिशाच बनेका छन्, यतिसम्म कि परमेश्‍वरविरुद्ध तिनीहरूको विद्रोहीपन ऐतिहासिक अभिलेखहरूमा उल्लेख गरिएको छ, र मानिसहरू स्वयम् पनि आफ्नो विद्रोही व्यवहारको पूर्ण विवरण दिन असक्षम छन्—किनकि तिनीहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन्, र शैतानद्वारा बहकाइएका छन्, यतिसम्म कि कतातिर फर्कने भनेर तिनीहरूलाई थाहै छैन। आज पनि, मानिसहरू अझै परमेश्‍वरलाई धोका दिन्छन्। जब तिनीहरूले परमेश्‍वरलाई देख्छन्, तब तिनीहरूले उहाँलाई धोका दिन्छन्, र जब तिनीहरूले परमेश्‍वरलाई देख्न सक्दैनन्, तब पनि तिनीहरूले उहाँलाई धोका दिन्छन्। त्यस्ता पनि छन् जसले परमेश्‍वरका श्रापहरू र परमेश्‍वरको क्रोध देखेपछि पनि उहाँलाई धोका दिन्छन्। त्यसैले म भन्छु कि मानिसको समझले आफ्नो मौलिक काम गर्न छोडेको छ, र मानिसको विवेकले पनि आफ्नो मौलिक काम गर्न छोडेको छ। मेरो नजरमा, सबै मानिसहरू मानव भेषमा रहेका पशु र विषालु सर्प हुन्। तिनीहरूले मेरो नजरमा जतिसुकै दयनीय देखिन खोजे पनि, म तिनीहरूप्रति कहिल्यै कृपालु बन्‍नेछैन, किनकि तिनीहरूले कालो र सेतो बीचको फरक बिलकुलै बुझेका छैनन्, र तिनीहरूमध्ये कसैले पनि सत्यता र असत्यता बीचको फरक बुझ्दैन। तिनीहरूको समझ अत्यन्तै संवेदनहीन भएको छ, तैपनि तिनीहरू अझै आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छन्; तिनीहरूको मानवता यति तुच्छ छ, तैपनि तिनीहरू अझै राजाका रूपमा शक्ति हातमा लिन चाहन्छन्। त्यस्तो समझ बोकेर तिनीहरू कसका राजा बन्‍न सक्छन्? त्यस्तो मानवता बोकेर तिनीहरू कसरी सिंहासनमा बस्‍न सक्छन्? मानिसहरू साँच्‍चिकै निर्लज्ज छन्! तिनीहरू आफूलाई बढी आँक्ने नीच हुन्! म आशिष्‌हरू प्राप्‍त गर्न चाहने तिमीहरूलाई पहिला एउटा ऐना लिएर आफ्नो कुरूप प्रतिविम्ब हेर्न सुझाव दिन्छु। के तँसँग राजा हुनलाई चाहिने कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहारको बनोट छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई व्यवहारमा लागू गर्न सकेको छैनस्, तैपनि तँ अझै सुन्दर भविष्यको कामना गर्छस्। यो पूर्ण रूपमा भ्रम हो! यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले “उच्‍च शिक्षालयहरूको” शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्‍ट नैतिकता, पतित जीवनदृष्टि, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुरा मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्‍याउँदै र आक्रमण गर्दै आएका छन्। फलस्वरूप, मानिस परमेश्‍वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र स्वेच्छाले परमेश्‍वरका निम्ति कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, स्वेच्छाले परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति एक जना पनि छैन, र स्वेच्छाले परमेश्‍वरको देखापराइलाई खोज्ने व्यक्ति त झनै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्‍वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्‍ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्‍वरसँग शत्रुतामा हुनु हो

८३. मानिसको भ्रष्‍ट स्वभावको प्रकटीकरणको जड मानिसको बोधो विवेक, उसको दुर्भावपूर्ण प्रकृति, र उसको त्रुटिपूर्ण समझमा भन्दा बढी अरू कहीँ छैन; यदि मानिसको विवेक र समझ फेरि सामान्य बन्‍न सक्यो भने, त्यसपछि ऊ परमेश्‍वरको अघि प्रयोगयोग्य व्यक्ति बन्‍नेछ। मानिसको विवेक सधैँ बोधो भएको कारण, र मानिसको समझ कहिल्यै पनि स्वस्थ नरहेको र अझ बढी बोधो हुँदै गइरहेको कारण, परमेश्‍वरप्रति मानिसका विद्रोहीपनका गतिविधिहरू बढिरहेका छन्, यहाँसम्‍म कि उसले येशूलाई समेत क्रूसमा टाँगेको छ र आखिरी दिनहरूमा परमेश्‍वरको देहधारणलाई आफ्नो ढोका बन्द गरिदिन्छ, र परमेश्‍वरको शरीरलाई दोषी ठहराउँछ, र परमेश्‍वरको शरीरलाई नीच रूपले हेर्छ। यदि मानिससँग अलिकति मात्र मानवता भएको भए, उसले देहधारी परमेश्‍वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र समझ भएको भए, उसले परमेश्‍वरको देहधारणलाई यति निर्मम व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र विवेक भएको भए, उसले देहधारी परमेश्‍वरलाई यस किसिमले “धन्यवाद दिने” थिएन। मानिस परमेश्‍वर देह बन्‍नुभएको युगमा जिउँछ, तैपनि उसलाई यति राम्रो मौका दिएकोमा उसले परमेश्‍वरलाई धन्यवाद दिँदैन, बरु परमेश्‍वरको आगमनलाई सराप्छ, वा परमेश्‍वरको देहधारणको यथार्थलाई पूर्ण रूपमा बेवास्ता गर्छ, र ऊ त्यसको विरुद्धमा र त्यसप्रति वितृष्ण भएको देखिन्छ। मानिसले परमेश्‍वरको आगमनलाई जसरी व्यवहार गरे तापनि, परमेश्‍वरले सधैँ आफ्नो काम गर्दै आउनुभएको छ र उहाँ त्यसबाट कहिल्यै थाक्नुभएको छैन—यद्यपि मानिसले उहाँलाई अलिकति पनि स्वागत गरेको छैन, र उहाँलाई अनुरोध मात्र गरिरहन्छ। मानिसको स्वभाव अत्यन्तै दुर्भावपूर्ण बनेको छ, र उसको समझ अत्यन्तै बोधो बनेको छ, र उसको विवेकलाई दुष्टले पूर्ण रूपमा कुल्चीमिल्ची गरेको छ र धेरै समय अगाडि नै मानिसको मौलिक विवेक हराएको छ। मानवजातिलाई यति धेरै जीवन र अनुग्रह दिनुभएकोमा देहधारी परमेश्‍वरप्रति मानिस कृतघ्न मात्र बनेको छैन, उहाँले उसलाई दिने सत्यताका कारण उसले परमेश्‍वरप्रति घृणा पनि पालेको छ; किनकि मानिसलाई सत्यतामा रुचि हुँदैन, उसले परमेश्‍वरप्रति घृणा पालेको हुन्छ। मानिस देहधारी परमेश्‍वरको निम्ति आफ्नो जीवन बलिदान दिन असक्षम मात्र छैन, बरु ऊ उहाँबाट कृपा धुत्ने प्रयत्‍न गर्छ, र मानिसले परमेश्‍वरलाई दिएको भन्दा दर्जनौँ गुणा बढी फिर्ता माग्छ। मानिसको विवेक र समझ यस्तै हुन्छ, तैपनि उसले अझै यो ठूलो कुरा होइन भन्ठान्छ, यहाँसम्म कि उसले परमेश्‍वरका निम्ति धेरै समर्पित गरेको छ, र परमेश्‍वरले उसलाई अति थोरै दिनुभएको छ भनी विश्‍वास गर्छ। मलाई एक कचौरा पानी दिएर मसँग दुई कचौरा दूधको रकम माग्‍न आफ्नो हात फैलाउने, वा मलाई एक रातको निम्ति कोठा दिएर मसँग धेरै गुणा बढी शुल्क माग्‍नेहरू पनि छन्। यस्तो मानवता र यस्तो विवेक बोकेर तिमीहरू कसरी अझै पनि जीवन प्राप्‍त गर्ने इच्छा राख्छौ? तिमीहरू कस्तो घिनलाग्दा नीच छौ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्‍वरसँग शत्रुतामा हुनु हो

८४. यदि मैले तिमीहरूको हृदयको गहिराइमा भएको कुरुपतालाई उजागर गरिनँ भने, तिमीहरू हरेकले आफ्नो शिरमा मुकुट लगाउनेछौ र सबै महिमा आफैलाई दिनेछौ। तिमीहरूका अहङ्कारी र अभिमानी प्रकृतिहरूले तिमीहरूलाई आफ्नै विवेकलाई धोका दिन, ख्रीष्टविरुद्ध विद्रोह गर्न र उहाँको प्रतिरोध गर्न, अनि तिमीहरूका कुरुप मुहारहरू प्रकट गर्न प्रेरित गर्छन्, जसमार्फत तिमीहरूका अभिप्राय, धारणा, अधिक चाहनाहरू, र लोभले भरिएका आँखाहरू प्रकाशमा आउँछन्। तैपनि तिमीहरू ख्रीष्टको कामप्रति आफ्नो जीवनभरको लगाव रहेको उद्घोष गरिरहन्छौ, र ख्रीष्टले धेरै अघि बोल्नुभएका सत्यताहरूलाई भनिरहन्छौ र दोहोर्‍याइरहन्छौ। यो तिमीहरूको “विश्‍वास”—तिमीहरूको “अशुद्धताविनाको विश्‍वास” हो। मैले सुरुदेखि नै मानिसका लागि कडा मानक राखेको छु। यदि तेरो बफादारी अभिप्राय र सर्तहरूसहित आउँछ भने, बरु मलाई तेरो तथाकथित बफादारी नभएकै ठिक छ, किनभने मानिसहरूले आफ्ना अभिप्रायहरूद्वारा मलाई धोका दिने र सर्तहरू राखेर मबाट जबरजस्ती असुल्न खोज्ने कुरालाई म घृणा गर्छु। म मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्दको खातिर र त्यसलाई प्रमाणित गर्नका लागि सबै काम गरोस् भन्‍ने मात्र चाहन्छु: त्यो हो विश्‍वास। तिमीहरूले चिप्ला कुरा गरेर मलाई खुसी पार्ने प्रयास गर्दा म त्यसलाई घृणा गर्छु, किनभने मैले तिमीहरूलाई सधैँ सच्चाइका साथ व्यवहार गरेको छु, त्यसैले म तिमीहरूले पनि मप्रति साँचो विश्‍वासका साथ काम गर भन्‍ने चाहन्छु। विश्‍वासको कुरा आउँदा, धेरैले आफूसँग विश्‍वास भएकोले नै आफूले परमेश्‍वरलाई पछ्याएको, नत्र यस्तो कष्ट नसहने भनी सोच्न सक्छन्। त्यसैले म तँलाई यो सोध्छु: यदि तँ परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छस् भने, तँ किन कहिल्यै उहाँको डर मान्दैनस्? यदि तँ परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छस् भने, तेरो हृदयमा किन उहाँप्रति रत्तिभर भय छैन? यदि तँ ख्रीष्ट परमेश्‍वरको देहधारी रूप हुनुहुन्छ भनी स्वीकार गर्छस् भने, तँ किन उहाँलाई तुच्छ ठान्छस्? तँ किन उहाँप्रति अनादरपूर्ण व्यवहार गर्छस्? तँ किन खुलेआम उहाँलाई गलत ठहराउँछस्? तँ किन सधैँ उहाँका गतिविधिहरूको जासुसी गर्छस्? तँ किन उहाँका बन्दोबस्तहरूप्रति समर्पित हुँदैनस्? तँ किन आफ्ना कार्यहरूमा उहाँको वचनलाई आफ्नो मापदण्डका रूपमा लिँदैनस्? तँ किन उहाँका भेटीहरू जबरजस्ती असुल्ने र चोर्ने गर्छस्? तँ किन ख्रीष्टको स्थानबाट बोल्ने प्रयास गर्छस्? तँ किन उहाँको काम र उहाँको वचन सही छन् कि छैनन् भनी मूल्याङ्कन गर्छस्? तँ किन उहाँको पिठ्युँ पछाडि उहाँको ईशनिन्दा गर्ने दुस्साहस गर्छस्? के तिमीहरूको विश्वास यी र यस्तै अन्य कुराहरू मिलेर बनेको छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्‍वरको विश्‍वासी होस्?

८५. यदि तिमीहरू आफ्ना धारणाहरू प्रयोग गरेर परमेश्‍वरलाई मापन गर्छौ र सीमित गर्छौ, मानौँ परमेश्‍वर माटोको अपरिवर्तनीय मूर्ति हुनुहुन्छ, परमेश्‍वरलाई पूर्ण रूपमा बाइबलमा सीमित गर्छौ र उहाँलाई कामको सीमित दायराभित्रै राख्छौ भने, यसले तिमीहरूले परमेश्‍वरलाई दोषी ठहराएका छौ भन्‍ने प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्‍वरलाई तिनीहरूले हृदयमा राखेको स्थायी रूपको मूर्ति ठाने, मानौँ परमेश्‍वरलाई मसीह मात्र भन्न सकिन्थ्यो, र जसलाई मसीह भनिन्थ्यो उहाँ मात्र परमेश्‍वर हुन सक्नुहुन्थ्यो, र मानिसहरूले परमेश्‍वरलाई एउटा माटोको (निर्जीव) मूर्तिजस्तै गरी सेवा र आराधना गरे, त्यसकारण तिनीहरूले त्यस समयका येशूलाई क्रूसमा टाँगे, उहाँलाई मृत्युदण्ड दिए—यसरी निर्दोष येशूलाई मृत्युदण्डको सजाय सुनाइयो। परमेश्‍वर निर्दोष हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न मानेन, र जिद्दीपूर्वक उहाँलाई मृत्युदण्ड दियो, र यसरी येशू क्रूसमा टाँगिनुभयो। मानिस सधैँ परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छ, र एउटा मात्र पुस्तक, बाइबलको आधारमा उहाँलाई सीमित गर्छ, मानौँ मानिसले परमेश्‍वरको व्यवस्थापनलाई पूर्ण रूपमा बोध गरेको छ, मानौँ परमेश्‍वरले गर्ने सबै कुरा मानिसको हत्केलामा छ। मानिसहरू चरम रूपमा असङ्गत छन्, चरम रूपमा अहङ्कारी छन्, र तिनीहरू सबैमा ठूला कुरा गर्ने खुबी हुन्छ। परमेश्‍वरबारे तेरो ज्ञान जतिसुकै उच्च भए पनि, म अझै पनि के भन्छु भने तँ परमेश्‍वरलाई चिन्दैनस्, तँ परमेश्‍वरको सबैभन्दा बढी विरोध गर्ने व्यक्ति होस्, र तैँले परमेश्‍वरलाई दोषी ठहराएको छस्, किनभने तँ परमेश्‍वरको कामप्रति समर्पित हुन र परमेश्‍वरद्वारा सिद्ध पारिने पथमा हिँड्न पूर्ण रूपमा असक्षम छस्। परमेश्‍वर किन मानिसका कार्यहरूप्रति कहिल्यै सन्तुष्ट हुनुहुन्न? किनभने मानिसले परमेश्‍वरलाई कहिल्यै चिन्दैन, उसमा अति धेरै धारणा हुन्छन्, र परमेश्‍वरबारे उसको ज्ञान कुनै पनि हिसाबमा वास्तविकतासँग मिल्दैन, बरु यो सूत्रबद्ध र दोहोरिने खालको, साथै कृत्रिम रूपमा नक्कल गरिएको र कठोर रूपमा लागु गरिएको हुन्छ। त्यसैले, आज पृथ्वीमा आउनुभएपछि, परमेश्‍वरलाई मानिसद्वारा फेरि एक पटक क्रूसमा टाँगिएको छ। निर्दयी मानवजाति! षड्यन्त्र र चालबाजी, एक-अर्काबाट खोसाखोस र लुछाचुँडी, ख्याति र प्राप्तिका लागि तँछाडमछाड, एक-अर्काको हत्या—यो कहिले अन्त्य होला र? परमेश्‍वरले बोल्नुभएका लाखौँ वचनका बाबजुद, कोही पनि होसमा आएको छैन। मानिसहरू आफ्ना परिवार, छोराछोरीका खातिर, आफ्ना करियर, भविष्यका सम्भावनाहरू, हैसियत, व्यर्थको दम्भ, र पैसाका लागि, खाना, लुगाफाटो, र देहका खातिर काम गर्छन्। तर के साँच्चै परमेश्‍वरका खातिर काम गर्ने कोही छ? परमेश्‍वरका खातिर काम गर्नेहरूमध्ये पनि, परमेश्‍वरलाई चिन्नेहरू थोरै मात्र छन्। आफ्नै हितहरूका लागि काम नगर्ने मानिसहरू कति छन् र? आफ्नो हैसियतको रक्षा गर्न अरूलाई दमन वा बहिष्कार नगर्नेहरू कति छन्? त्यसैले, परमेश्‍वरलाई अनगिन्ती पटक जबरजस्ती मृत्युदण्डको सजाय सुनाइएको छ, र अनगिन्ती निर्दयी न्यायकर्ताहरूले परमेश्‍वरलाई दोषी ठहराएका छन् र उहाँलाई फेरि एक पटक क्रूसमा टाँगेका छन्। साँच्चै परमेश्‍वरका खातिर काम गर्ने भएका कारण कति जनालाई धर्मी मानिस भन्न सकिन्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्टलाई निश्‍चय नै दण्ड दिइनेछ

८६. के मानिसहरूले परमेश्‍वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्‍वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्‍वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्‍वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा तिरस्कृत मानिसहरू होइनन्, र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्‍वरको सामु आएर खुल्‍लमखुल्‍ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ घृणितहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” मा दङ्गा गर्ने गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्‍वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्‍वर सम्‍बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्‍वरको आजको काम सम्‍बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्‍वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्‍वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्‍नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो मनस्थितिलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्‍वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्‍वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्‍वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्‍वर स्वयम्‌को ईश्‍वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्‍वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्‍मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

८७. यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, बरु तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै विद्रोही भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले तिरस्कार गरेर नरकको आगोद्वारा जलाउने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, बरु तिनीहरू उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; परमेश्‍वरको ज्ञान मानिसले मनमानी मूल्याङ्कनहरू गर्ने क्रममा पवित्र आत्‍माको अन्तर्दृष्टिमार्फत प्राप्त हुँदैन। परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

८८. परमेश्‍वरको कामको उद्देश्य नबुझ्नेहरू परमेश्‍वरको प्रतिरोध गर्ने मानिसहरू हुन्। परमेश्‍वरको कामको उद्देश्य बुझ्ने तैपनि उहाँलाई सन्तुष्ट पार्न नपछ्याउनेहरूका हकमा यो अझ बढी लागू हुन्छ। भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि खण्डहरू वाचन गर्नेहरू छन्, तैपनि तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन, न त तिनीहरूमाझ परमेश्‍वरलाई चिन्न सक्ने कोही नै छ—परमेश्‍वरका अभिप्रायहरूसँग मिल्न सक्ने कोही हुनु त परै जाओस्। तिनीहरू सबै निकम्मा, नीच मानिस हुन्, जो “परमेश्‍वर” लाई उपदेश दिन उच्च स्थानमा उभिन्छन्। तिनीहरू परमेश्‍वरको झण्डामुनि कार्य गर्ने तर जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जो मानिसको मासु खाँदै र मानिसको रगत पिउँदै परमेश्‍वरमा विश्‍वास गर्ने बिल्ला भिर्छन्। त्यस्ता सबै मानिस मानिसको प्राण निल्ने दुष्ट दियाबलस, मानिसहरूलाई सही मार्गमा लाग्नमा जानाजानी बाधा दिने मुख्य पिशाच, र मानिसहरूलाई परमेश्‍वरको खोजी गर्नबाट रोक्ने व्यवधान हुन्। तिनीहरू “शारीरिक रूपमा हृष्टपुष्ट” देखिन सक्छन्, तर तिनीहरू मानिसहरूलाई परमेश्‍वरको प्रतिरोध गर्नतर्फ डोर्‍याउने ख्रीष्टविरोधीहरू हुन् भन्‍ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? तिनीहरू मानिसको प्राण निल्न समर्पित जीवित दियाबलस हुन् भन्‍ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? परमेश्‍वरको उपस्थितिमा आफूलाई कुलीन ठान्नेहरू सबैभन्दा नीच हुन्, जबकि आफूलाई नीच ठान्नेहरू सबैभन्दा कुलीन हुन्। अनि परमेश्‍वरको काम जानेको दाबी गर्ने र उहाँलाई हेर्दै अरूलाई उहाँको काम विनाकुनै रोकटोक घोषणा गर्न सक्नेहरू सबैभन्दा अज्ञानी हुन्। त्यस्ता मानिसहरूसँग परमेश्‍वरका लागि कुनै गवाही हुँदैन र तिनीहरू सबै अहङ्कारी र अभिमानी हुन्छन्। आफूले परमेश्‍वरबारे धेरै कम जानेको विश्‍वास गर्ने तर वास्तवमा परमेश्‍वरको व्यावहारिक अनुभव र व्यावहारिक ज्ञान भएकाहरू नै उहाँद्वारा सबैभन्दा बढी प्रेम गरिएकाहरू हुन्। त्यस्ता मानिसहरूसँग मात्रै साँचो गवाही हुन्छ र तिनीहरू मात्रै परमेश्‍वरद्वारा सिद्ध पारिन साँच्चै सक्षम हुन्छन्। परमेश्‍वरका अभिप्रायहरू नबुझ्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन्। परमेश्‍वरका अभिप्रायहरू बुझ्ने तैपनि सत्यता अभ्यास नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन्। परमेश्‍वरका वचनहरू खाने र पिउने, तैपनि परमेश्‍वरका वचनहरूको सारविरुद्ध जानेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन्। देहधारी परमेश्‍वरबारे धारणाहरू राख्ने, र त्यसमाथि जानाजानी विद्रोहमा संलग्न हुनेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन्। परमेश्‍वरलाई गलत ठहराउनेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन्। अनि परमेश्‍वरलाई चिन्न नसक्ने र उहाँको गवाही दिन नसक्ने जोकोही परमेश्‍वरको प्रतिरोध गर्ने व्यक्ति हो। त्यसैले, म तिमीहरूलाई अर्ती दिन्छु: यदि तिमीहरूसँग साँच्चै यो मार्गमा हिँड्ने आस्था छ भने, पछ्याइरह। तर यदि तिमीहरू परमेश्‍वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्न असमर्थ छौ भने, धेरै ढिला हुनुभन्दा अघि नै तिमीहरू पछि हट्नु सबैभन्दा राम्रो हुन्छ, नत्र तिमीहरू साँच्चै कठिनाइमा पर्नेछौ, किनभने तिमीहरूको प्रकृति अत्यन्तै भ्रष्ट छ। तिमीहरू बफादारीरहित छौ, समर्पणतारहित छौ, धार्मिकता र सत्यताका लागि तिर्खाउने हृदयरहित, र परमेश्‍वरप्रतिको प्रेमरहित छौ। परमेश्‍वरको अघि सारमा तिमीहरूको स्थिति पूर्ण रूपमा अस्तव्यस्त छ भनेर भन्न सकिन्छ। तिमीहरू आफूले पालन गर्नुपर्ने कुरा पालन गर्न असमर्थ छौ, आफूले भन्नुपर्ने कुरा भन्न असमर्थ छौ, आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्न असमर्थ छौ, र आफूले पूरा गर्नुपर्ने कार्य पूरा गर्न असमर्थ छौ; तिमीहरूसँग हुनुपर्ने बफादारी छैन, हुनुपर्ने विवेक छैन, हुनुपर्ने समर्पणता छैन, वा हुनुपर्ने सङ्कल्प छैन; तिमीहरूले भोग्नुपर्ने कष्ट भोगेका छैनौ, र तिमीहरूसँग हुनुपर्ने आस्था पनि छैन। तिमीहरूमा कुनै पनि असल गुणको पूर्ण रूपमा कमी छ। के तिमीहरूलाई जिइरहन लाज लाग्दैन? म तिमीहरूलाई के सल्लाह दिन्छु भने, तिमीहरूले ढिलो गर्नुभन्दा बरु चाँडै नै अनन्त विश्राममा आफ्ना आँखा चिम्लनु राम्रो हुन्छ, ताकि परमेश्‍वरलाई तिमीहरूका कारण चिन्ता गर्न र तिमीहरूका खातिर कष्ट भोग्नबाट जोगाउन सकियोस्। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि उहाँका अभिप्रायहरू बुझ्दैनौ; तिमीहरू परमेश्‍वरका वचनहरू खान्छौ र पिउँछौ तैपनि मानिसप्रतिका परमेश्‍वरका मागहरू पालन गर्न असमर्थ छौ। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि उहाँलाई चिन्दैनौ, र तिमीहरू लागिपर्ने कुनै लक्ष्यविना, बिलकुलै कुनै मूल्य वा कुनै अर्थविनै जिउँछौ। तिमीहरू मानव हौ तैपनि तिमीहरूमा अलिकति पनि विवेक, निष्ठा, वा विश्‍वसनीयता छैन—के तिमीहरू अझै आफैलाई मानव भन्न सक्छौ? तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि उहाँलाई छल गर्छौ; तिमीहरू परमेश्‍वरको पैसाको लालसा समेत गर्छौ र उहाँलाई चढाइएका भेटीहरू खान्छौ। अनि तैपनि अन्तमा तिमीहरू परमेश्‍वरका भावनाहरूको अलिकति पनि ख्याल गर्न वा उहाँप्रति अलिकति पनि विवेक देखाउन असफल हुन्छौ। तिमीहरू परमेश्‍वरले गर्नुभएको एउटा सानो मागसमेत पूरा गर्न सक्दैनौ। के तिमीहरू अझै आफैलाई मानव भन्न सक्छौ? तिमीहरू परमेश्‍वरले प्रदान गरेको खानेकुरा खान्छौ, उहाँले दिनुभएको अक्सिजनले सास फेर्छौ, र उहाँको अनुग्रहको आनन्द लिन्छौ, तर अन्तमा तिमीहरूसँग परमेश्‍वरबारे अलिकति पनि ज्ञान हुँदैन। यसको विपरीत, तिमीहरू परमेश्‍वरको प्रतिरोध गर्ने बेकम्मा बनेका छौ। के यसले तिमीहरूलाई कुकुरसँग समेत तुलना गर्न नसकिने पशु बनाउँदैन? जनावरहरूमध्ये, के तिमीहरूभन्दा बढी दुर्भावपूर्ण कोही छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्

८९. मानिसको सबैभन्दा ठूलो समस्या भनेको यही हो कि उसले हेर्न र स्पर्श गर्न नसकिने कुराहरूलाई मात्र प्रेम गर्छ, जुन कुराहरू अति रहस्यमय र आश्चर्यपूर्ण छन्‌, र जुन कुराहरू मानिसद्वारा अकल्पनीय छन्‌ र फगत मरणशीलहरूद्वारा हासिल गर्न नसकिने छन्‌। यी कुराहरू जति धेरै अवास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै तिनलाई मानिसहरूद्वारा विश्लेषण गरिन्छन्‌, र मानिसहरूले तिनलाई अरू सबैभन्दा बेमतलबी भएर समेत पछ्याउँछन्‌, र तिनलाई पाउने प्रयत्न गर्छन्‌। ती जति धेरै अवास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै मानिसहरूले तिनको बारे तिनीहरूको आफ्नै पूर्ण धारणहरू बनाउने हदसम्म पर गएर समेत तिनलाई नजिकबाट परीक्षण र विश्लेषण गर्छन्‌। त्यसको विपरीत, कुराहरू जति धेरै व्यावहारिक हुन्छन्, मानिसहरू तीप्रति त्यत्ति नै धेरै बेपर्बाही हुन्छन्‌; तिनीहरूले तिनलाई फुटेका आँखाले समेत हेर्दैनन्‌, र तिनलाई उपेक्षा समेत गर्छन्‌। आज मैले गर्ने वास्तविक कार्यप्रतिको तिमीहरूको मनोवृत्ति ठीक यही होइन र? यी कुराहरू जति धेरै वास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै तिमीहरू तिनको विरुद्धमा पूर्वाग्रही हुन्छौ। तिनलाई परीक्षण गर्न तिमीहरू कुनै समय खर्चँदैनौ, तर खालि तिनलाई बेवास्ता गर्छौ; तिमीहरू यी व्यावहारिक, न्यून-स्तरीय आवश्यकताहरूलाई फुटेका आँखाले समेत हेर्दैनौ, र सबैभन्दा व्यावहारिक यस परमेश्‍वरको बारे असङ्ख्य धारणाहरू समेत बनाउँछौ, र उहाँको व्यावहारिकता र स्वाभाविकतालाई स्विकार गर्न केवल असक्षम छौ। यस प्रकारले, के तिमीहरूले अगम्य अस्पष्ट कायम गर्दैनौ र? तिमीहरूसँग विगत समयको अस्पष्ट परमेश्‍वरमा अकम्पनीय विश्‍वास छ, आजको व्यावहारिक परमेश्‍वरमा कुनै रुचि छैन। हिजोको परमेश्‍वर र आजको परमेश्‍वर दुई भिन्न युगहरूबाट हुनुभएकोले गर्दा यस्तो भएको होइन र? हिजोको परमेश्‍वर स्वर्गको उचालिनुभएको परमेश्‍वर, जबकी आजको परमेश्‍वर पृथ्वीमा सानो मानव हुनुभएकोले यसो भएको हैन र? यसको साथै, मानिसद्वारा आराधना गरिएको परमेश्‍वर उसको धारणाहरूद्वारा उत्पादित भएको, जबकी आजको परमेश्‍वर मूर्त देहको, पृथ्वीमा उत्पादित भएकोले गर्दा यस्तो भएको होइन र? जब सबै भनिन्छ र गरिन्छ, तब आजको परमेश्‍वर अति वास्तविक भएकोले गर्दा मानिसले उहाँलाई नपछ्याएको होइन र? किनकि आजको परमेश्‍वरले मानिसहरूलाई जे गर्नको लागि भन्नुहुन्छ त्यो गर्नको लागि नै मानिसहरू सबैभन्दा अनिच्छुक हुन्छन्‌, र जसले तिनीहरूलाई लज्जाबोध गराउँछ। के यसले मानिसहरूको लागि कुराहरू कठिन बनाउँदै छैन र? के यसले मानिसहरूको घाउमा नुनचुक थप्दैन र? यसरी, धेरै मानिसहरूले व्यावहारिक परमेश्‍वर, व्यावहारिक परमेश्‍वरलाई पछ्याउँदैनन् र त्यसैले तिनीहरू देहधारी परमेश्‍वरका शत्रुहरू बन्छन्‌, अर्थात् ख्रीष्ट विरोधीहरू बन्छन्‌। के यो एक स्पष्ट तथ्य होइन र? विगतमा, जब परमेश्‍वर अझै देह बन्न बाँकी थियो, तब तँ एक धार्मिक पात्र, वा एक भक्त विश्‍वासी भएको हुन सक्थिस्‌। परमेश्‍वर देह बन्नुभएपछि, धेरै यस्ता भक्त विश्‍वासीहरू अनजानमा ख्रीष्ट विरोधीहरू भए। यहाँ के हुँदैछ के तँलाई थाहा छ? परमेश्‍वरमाथिको तेरो विश्‍वासमा, तैँले यथार्थमाथि ध्यान दिँदैनस्‌ वा सत्यतालाई पछ्याउँदैनस्‌, तर यसको सट्टा असत्यताहरूले मन-मस्तिष्क भर्छस्‌—के यो देहधारी परमेश्‍वरसँगको तेरो दुस्मनीको सबैभन्दा स्पष्ट स्रोत होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरू मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्नेहरू हुन्

९०. ख्रीष्टसँग सम्पर्क हुनुअघि, तँलाई तेरो स्वभाव पूर्ण रूपमा परिवर्तन भएको छ, तँ ख्रीष्टको बफादार अनुयायी होस्, र ख्रीष्टको आशिष् प्राप्त गर्न तँभन्दा योग्य अरू कोही छैन भन्‍ने लाग्न सक्छ, किनभने तैँले धेरै बाटोमा यात्रा गरेको छस्, धेरै काम गरेको छस्, र धेरै फल फलाएको छस्, र त्यसैले तँ सोच्छस् कि अन्तमा तँ पक्कै पनि मुकुट प्राप्त गर्नेहरूमध्ये एक हुनेछस्। तर के तँलाई मानिसले ख्रीष्टलाई देख्दा उसको भ्रष्ट स्वभाव अनि उसको विद्रोहीपन र प्रतिरोध प्रकट हुन्छन्, र यस समयमा उसको विद्रोहीपन र प्रतिरोध अरू कुनै पनि समयभन्दा बढी निस्सन्देह र पूर्ण रूपमा खुलासा हुन्छन् भन्ने तथ्य थाहा छ? ख्रीष्ट मानिसको पुत्र—सामान्य मानवता भएको मानिसको पुत्र—हुनुभएकाले नै मानिसले उहाँलाई न त सम्मान गर्छ न त आदर गर्छ। परमेश्‍वर देहमा जिउनुहुने भएकाले नै मानिसको विद्रोहीपन यति पूर्ण र यति जीवन्त रूपमा प्रकाशमा आउँछ। त्यसैले म भन्छु, ख्रीष्टको आगमनले मानवजातिको सबै विद्रोहीपनलाई उजागर गरेको छ र मानवजातिको प्रकृतिलाई छर्लङ्ग पारेको छ। यसलाई “बाघलाई पहाडबाट तल ल्याउनु” र “ब्वाँसोलाई त्यसको ओडारबाट बाहिर निकाल्नु” भनिन्छ। तँसित परमेश्‍वरप्रति बफादार छु भनेर भन्‍ने आँट छ? तँसित परमेश्‍वरप्रति पूर्ण समर्पण देखाउँछु भनेर भन्‍ने आँट छ? तँसित आफू विद्रोही नभएको भनेर भन्‍ने आँट छ? कतिपयले भन्‍नेछन्: “हरेक पटक परमेश्‍वरले मेरो लागि कुनै वातावरण योजनाबद्ध गर्दा, म कहिल्यै गुनासो गर्दिनँ र सधैँ समर्पित हुन सक्छु, र यसबाहेक म परमेश्‍वरका बारेमा मनमा कुनै पनि धारणा खेलाउँदिनँ।” कतिपयले भन्‍नेछन्: “परमेश्‍वरले मलाई जे काम गराउनुहुन्छ म मेरो क्षमताले भ्याएसम्म पूरा गर्छु र कहिल्यै झारा टार्दिनँ।” त्यसोभए, म तिमीहरूलाई यो सोध्छु: के तिमीहरू ख्रीष्टको साथमा जिउँदा उहाँसँग मिल्न सक्छौ? अनि तिमीहरू उहाँसँग कति लामो समयसम्म मिल्नेछौ? एक दिन? दुई दिन? एक घण्टा? दुई घण्टा? तिमीहरूको विश्‍वास सराहनीय होला, तर तिमीहरूमा खासै लगनशीलता छैन। जब तँ साँच्चै ख्रीष्टसँग जिइरहेको हुन्छस्, तब तेरो आत्म-धार्मिकता र अहम्‌ता तेरा शब्द र कार्यहरूमार्फत अलि-अलि गर्दै प्रकट हुनेछन्, र त्यसैगरी तेरा अधिक चाहनाहरू, तेरो अनाज्ञाकारी मानसिकता र असन्तुष्टि पनि स्वाभाविक रूपमा प्रकट हुनेछन्। अन्तमा, तेरो अहङ्कार झन्-झन् बढ्दै जानेछ, यहाँसम्म कि तँ ख्रीष्टसँग आगो र पानीजस्तै बेमेलमा हुनेछस्, र त्यसपछि तेरो प्रकृति पूर्ण रूपमा खुलासा हुनेछ। त्यस समयमा, तेरा धारणाहरूलाई अब ढाकछोप गर्न सकिँदैन, तेरा गुनासाहरू पनि स्वाभाविक रूपमा बाहिर आउनेछन्, र तेरो घृणास्पद मानवता पूर्ण रूपमा खुलासा हुनेछ। तर त्यसबेला पनि, तँ अझै आफ्नो विद्रोहीपनलाई स्वीकार गर्न मान्दैनस्, बरु मानिसले यस्तो ख्रीष्टलाई सजिलै स्वीकार गर्न सक्दैन, उहाँ मानिसलाई धेरै कडिकडाउ गर्नुहुन्छ, र यदि उहाँ अझ राम्रो ख्रीष्ट हुनुभएको भए तँ पूर्ण रूपमा समर्पित हुनेथिइस् भन्‍ने विश्‍वास गर्छस्। तिमीहरू आफ्नो विद्रोहीपन न्यायोचित भएको, र उहाँले तिमीहरूमाथि ज्यादती गर्नुभयो भने मात्र तिमीहरूले उहाँविरुद्ध विद्रोह गर्ने गरेको ठान्छौ। तिमीहरू ख्रीष्टलाई परमेश्‍वरका रूपमा हेर्दैनौ, र तिमीहरूमा उहाँप्रति समर्पित हुने मनसायको कमी छ भनेर तिमीहरूले एक पटक पनि विचार गरेका छैनौ। बरु, तँ जिद्दीपूर्वक ख्रीष्टले तेरा आफ्नै इच्छाहरूअनुसार काम गर्नुपर्ने भनेर जोड दिन्छस्, र उहाँले तेरो आफ्नै सोचाइसँग नमिल्ने एउटा मात्र काम गर्नेबित्तिकै, तँ उहाँ परमेश्‍वर नभएर एउटा व्यक्ति हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छस्। के तिमीहरूमध्ये धेरैले यसरी उहाँसँग जोरी खोजेका छैनौ र? आखिर तिमीहरू कसमा विश्‍वास गर्छौ? अनि तिमीहरू कुन तरिकाले पछ्याउँछौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टसँग नमिल्नेहरू निश्‍चय नै परमेश्‍वरका विरोधी हुन्

९१. तिमीहरू सधैँ ख्रीष्टलाई देख्न चाहन्छौ, तर म तिमीहरूलाई आफूलाई त्यति उच्च नठान्न आग्रह गर्छु; ख्रीष्टलाई जोकोहीले देख्न सक्ला, तर म त भन्छु कि कोही पनि ख्रीष्टलाई देख्न योग्य छैन। मानिसको प्रकृति दुष्टता, अहङ्कार, र विद्रोहीपनले भरिभराउ हुने हुनाले, तैँले ख्रीष्टलाई देख्नेबित्तिकै, तेरो प्रकृतिले तँलाई नष्ट गर्नेछ र तँलाई मृत्युदण्ड दिनेछ। कुनै दाजुभाइ (वा दिदीबहिनी) सँगको तेरो सङ्गतले तेरो बारेमा धेरै कुरा नदेखाउन सक्छ, तर तैँले ख्रीष्टसँग सङ्गत गर्नु त्यति सामान्य कुरा होइन। कुनै पनि समय, तेरा धारणाहरूले जरा गाड्न सक्छन्, तेरो अहङ्कार टुसाउन थाल्न सक्छ, र तेरो विद्रोहीपनले अन्जिर फलाउन सक्छ। यस्तो मानवता भएको तँ ख्रीष्टसँग सङ्गत गर्न कसरी योग्य हुन सक्छस्? के तँ साँच्चै हरेक दिनको हरेक पल उहाँलाई परमेश्‍वरका रूपमा व्यवहार गर्न सक्षम छस्? के तँसँग साँच्चै परमेश्‍वरप्रति समर्पणको वास्तविकता छ? तिमीहरू सबै जना आफ्नो हृदयभित्रको उच्च ईश्वरलाई यहोवाका रूपमा आराधना गर्छौ जबकि देखिने ख्रीष्टलाई एक व्यक्तिका रूपमा लिन्छौ। तिमीहरूको समझ अत्यन्तै कमजोर छ र तिमीहरूको मानवता धेरै तल्लो स्तरको छ! तिमीहरू ख्रीष्टलाई सधैँ परमेश्‍वरका रूपमा हेर्न असक्षम छौ; तिमीहरू राम्रो मुडमा हुँदा, कहिलेकाहीँ मात्र तिमीहरू उहाँलाई पक्रन्छौ र उहाँलाई परमेश्‍वरका रूपमा आराधना गर्छौ। यसैकारण म भन्छु कि तिमीहरू परमेश्‍वरका विश्‍वासी होइनौ, बरु ख्रीष्टको विरोध गर्ने मतियारहरूको एउटा जमात हौ। अरूलाई दया देखाउने मानिसहरूले समेत त्यसको प्रतिदान पाउँछन्, तर तिमीहरूका बीचमा यस्तो काम गर्ने ख्रीष्टले मानिसको प्रेम वा ऊबाट इनाम र समर्पण केही पनि प्राप्त गर्नुभएको छैन। के यो हृदयविदारक कुरा होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टसँग नमिल्नेहरू निश्‍चय नै परमेश्‍वरका विरोधी हुन्

९२. परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षमा, तैँले कहिल्यै कसैलाई नसरापेको वा कुनै खराब काम नगरेको होला, तैपनि ख्रीष्टसँग सङ्गत गर्दा, तँ साँचो बोल्न, इमानदारीपूर्वक काम गर्न, वा ख्रीष्टको वचनप्रति समर्पित हुन सक्दैनस्; त्यसो हो भने, म भन्छु कि तँ संसारकै सबैभन्दा कपटी र दुर्भावपूर्ण व्यक्ति होस्। तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (वा पति), छोरा-छोरीहरू, र आमाबुबाप्रति असाधारण रूपमा मिलनसार र अर्पित होलास् र कहिल्यै पनि अरूको फाइदा नउठाउलास्, तर यदि तँ ख्रीष्टसँग मिल्न सक्दैनस्, यदि तँ उहाँसँग सद्भावमा अन्तरक्रिया गर्न सक्दैनस् भने, तैँले आफ्‍ना छिमेकीहरूको राहतका निम्ति आफ्‍नो सब थोक खर्चिन्छस् या आफ्नो बुबा, आमा, र आफ्नो घरपरिवारका सदस्यहरूलाई मिहिन रूपमा हेरचाह नै गर्छस् भने पनि, म त भन्छु, तँ अझै पनि दुष्ट व्यक्ति होस्, अनि त्यसमाथि तँ धूर्त छलहरूले भरिएको व्यक्ति होस्। तँ अरूसँग मिल्छस् वा केही असल कामहरू गर्छस् भन्दैमा आफूलाई ख्रीष्टसँग मिल्ने नठान्। के तँलाई परोपकारी मनसायद्वारा तैँले स्वर्गका आशिष्‌हरू ठगेर लिन सक्छस् भन्‍ने लाग्छ? के तँलाई केही असल कामहरू गर्नु तेरो समर्पणको विकल्प हो भन्‍ने लाग्छ? तिमीहरूमध्ये कोही पनि काटछाँट गरिनुलाई स्वीकार गर्न सक्दैनौ, तिमीहरू सबैलाई ख्रीष्टको सामान्य मानवतालाई अपनाउन गाह्रो लाग्छ, र त्यसमाथि, तिमीहरू निरन्तर परमेश्‍वरप्रति आफ्नो समर्पणको ढोल पिटिरहेका हुन्छौ। तिमीहरूको जस्तो विश्‍वासले उचित दण्ड निम्त्याउनेछ। काल्पनिक भ्रमहरूमा लिप्त हुन र ख्रीष्टलाई देख्ने चाहना गर्न छोड, किनभने तिमीहरूको कद धेरै सानो छ, यतिसम्म कि तिमीहरू उहाँलाई देख्न योग्य समेत छैनौ। जब तैँले आफ्नो विद्रोहीपनलाई पूर्ण रूपमा फालेको हुन्छस्, र तँ ख्रीष्टसँग सद्भावपूर्ण रूपमा अन्तरक्रिया गर्न सक्षम हुन्छस्, त्यस क्षणमा परमेश्‍वर स्वाभाविक रूपमा तँसमक्ष देखा पर्नुहुनेछ। यदि तँ काटछाँट वा न्याय नभोगी परमेश्‍वरलाई हेर्न जान्छस् भने, तँ अवश्यै परमेश्‍वरको विरोधी बन्‍नेछस् र अवश्यै विनाशको निसाना बन्‍नेछस्। मानिसको प्रकृति अन्तर्निहित रूपमै परमेश्‍वरप्रति शत्रुवत् हुन्छ, किनभने सबै मानिस शैतानको सबैभन्दा गहिरो भ्रष्टतामा परेका छन्। यदि मानिसले आफ्नै भ्रष्टतामा रहेर परमेश्‍वरसँग अन्तरक्रिया गर्ने प्रयास गर्छ भने, यसबाट कुनै राम्रो नतिजा नआउने निश्चित छ; उसका कार्य र शब्दहरूले हरेक मोडमा अवश्यै उसको भ्रष्टतालाई प्रकट गर्नेछन्, र परमेश्‍वरसँग सङ्गत गर्दा उसको विद्रोहीपन हरेक मोडमा प्रकट हुनेछ। अन्जानमै, मानिस ख्रीष्टको विरोध गर्न, ख्रीष्टलाई धोका दिन, र ख्रीष्टलाई इन्कार गर्न पुग्छ; जब यस्तो हुन्छ, तब मानिस अझ बढी खतरनाक अवस्थामा हुनेछ र, यदि यो जारी रह्यो भने, ऊ दण्डको निसाना बन्‍नेछ।

कतिपयले यो विश्‍वास गर्न सक्छन् कि, यदि परमेश्‍वरसँगको सङ्गत यति खतरनाक हुन्छ भने, परमेश्‍वरलाई टाढै राख्नु बुद्धिमानी हुन सक्छ। यस्ता मानिसहरूले के नै प्राप्त गर्न सक्छन् र? के तिनीहरू परमेश्‍वरप्रति बफादार हुन सक्छन्? निश्‍चय नै, परमेश्‍वरसँग सङ्गत गर्न धेरै गाह्रो छ—तर त्यो मानिस भ्रष्ट तुल्याइएकाले गर्दा हो, परमेश्‍वर ऊसँग सङ्गत गर्न असक्षम हुनुभएकाले होइन। आफैलाई चिन्नुको सत्यतामा केही प्रयास लगाउनु नै तिमीहरूका लागि उत्तम हुनेथ्यो। परमेश्‍वर किन तिमीहरूको सराहना गर्नुहुन्न? किन तिमीहरूको स्वभाव उहाँका लागि घृणास्पद छ? किन तिमीहरूको बोलीले उहाँको घृणा जगाउँछ? तिमीहरू अलिकति बफादारी प्रदर्शन गरेपछि आफ्नै प्रशंसा गाउँछौ; तिमीहरू एउटा सानो योगदान दिएपछि इनामको माग गर्छौ; तिमीहरू थोरै समर्पणता देखाएपछि अरूलाई हेयको नजरले हेर्छौ, र केही मामुली कार्य पूरा गरेपछि परमेश्‍वरप्रति तिरस्कारपूर्ण बन्छौ। परमेश्‍वरको अतिथि सत्कार गर्ने सन्दर्भमा, तिमीहरू पैसा, भौतिक वस्तुहरू, र प्रशंसाहरू माग्छौ। दुई वटा सिक्का दिन तिमीहरूको हृदय पोल्छ; जब तिमीहरू दस सिक्‍का दिन्छौ, तिमीहरू आशिष् माग्छौ र अरूभन्दा अलग हुन चाहन्छौ। तिमीहरूको जस्तो मानवता भन्न या सुन्नका लागि अत्यन्तै अपमानजनक छ। के तिमीहरूका शब्दहरू र कार्यहरूमा कुनै कुरा प्रशंसा गर्न योग्यको छ? आफ्नो कर्तव्य निर्वाह गर्नेहरू र नगर्नेहरू; अगुवाइ गर्नेहरू र पछ्याउनेहरू; परमेश्‍वरको अतिथिसत्कार गर्नेहरू र नगर्नेहरू; भेटी चढाउनेहरू र नचढाउनेहरू; प्रचार गर्नेहरू र वचन प्राप्त गर्नेहरू, र त्यस्तै अरू: त्यस्ता सबै मानिसले आफ्नै प्रशंसा गर्छन्। के तिमीहरूलाई यो हास्यास्पद लाग्दैन? परमेश्‍वरमा विश्‍वास गरेको पूर्ण रूपमा राम्ररी जान्दा जान्दै पनि तिमीहरू परमेश्‍वरसँग मिल्ने हुन सक्दैनौ। तिमीहरू पूर्ण रूपमा योग्यता बिनाका छौ भन्‍ने राम्रोसँग जान्दा जान्दै पनि तिमीहरू घमण्ड गरिरहन्छौ। के तिमीहरूलाई तिमीहरूको समझ नियन्त्रणभन्दा बाहिर हुने बिन्दुसम्म पुगिसक्यो भन्‍ने लाग्दैन? यस्तो समझ लिएर, तिमीहरू परमेश्‍वरको सम्पर्कमा आउन कसरी योग्य हुन्छौ? के तिमीहरू यस समयमा आफ्ना बारेमा चिन्तित छैनौ? तिमीहरूको स्वभाव बिग्रिएर यस्तो बिन्दुमा पुगिसकेको छ जहाँ तिमीहरू परमेश्‍वरसँग मिल्नै सक्दैनौ। यसो हुनाले, के तिमीहरूको विश्‍वास हाँसउठ्दो छैन र? के तिमीहरूको विश्‍वास पूर्णतया समझविपरीत छैन र? तँ आफ्नो भविष्यलाई कसरी सामना गर्नेछस्? तँ आफू हिँड्ने मार्ग कसरी रोज्नेछस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टसँग नमिल्नेहरू निश्‍चय नै परमेश्‍वरका विरोधी हुन्

९३. कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, न्यायलाई त झनै गर्दैनन्। यसको साटो, तिनीहरू शक्ति र धनसम्पत्तिलाई प्रेम गर्छन्; यस्ता मानिसहरूलाई शक्तिपिपासु भनिन्छ। तिनीहरू संसारमा शक्ति भएका सम्प्रदायहरू मात्र खोज्छन्, र सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरू मात्र खोज्छन्। तिनीहरूले सत्यताको मार्गलाई स्वीकार गरेका भए पनि, तिनीहरू आधा मात्र विश्‍वास गर्छन्, र तिनीहरू आफ्नो सम्पूर्ण शरीर र मन अर्पण गर्न असक्षम हुन्छन्; तिनीहरू मुखले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने कुरा बोल्छन्, तर तिनीहरूका आँखा ठूला पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरू ख्रीष्टलाई फर्केर पनि हेर्दैनन्। तिनीहरूको दिमाग ख्याति, प्राप्ति, र महिमाका विचारहरूले भरिएको हुन्छ। तिनीहरू यस्तो सानो व्यक्तिले यति धेरैलाई विजय गर्न सक्छ, यस्तो मामुली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरा असम्भव ठान्छन्। तिनीहरू धुलो र गोबरको थुप्रोमा रहेका यी साना मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिस हुन् भन्‍ने कुरा असम्भव ठान्छन्। तिनीहरू यदि यस्ता मानिसहरू परमेश्‍वरको मुक्तिका पात्र हुन्थे भने, स्वर्ग र पृथ्वी उल्टोपुल्टो हुनेथियो, र सबै मानिस हाँसेर मुर्छा पर्नेथिए भन्ने विश्‍वास गर्छन्। तिनीहरू यदि परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न चुन्नुभयो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम् बन्नेथिए भन्ने विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित हुन्छन्; विश्‍वास नगर्ने मात्र होइन, तिनीहरू त अविवेकी पशु नै हुन्। किनभने तिनीहरू हैसियत, प्रतिष्ठा, र शक्तिलाई मात्र महत्त्व दिन्छन्, र तिनीहरू ठूला समूह र सम्प्रदायहरूलाई सम्मान गर्छन्, र ख्रीष्टद्वारा अगुवाइ गरिएकाहरूलाई अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरू केवल त्यस्ता विश्वासघाती हुन् जसले ख्रीष्ट, सत्यता, र जीवनप्रति पिठ्युँ फर्काएका छन्।

तँ ख्रीष्टको विनम्रताको प्रशंसा गर्दैनस्, तर तँ प्रमुख हैसियत भएका ती झूटा गोठालाहरूलाई आदर गर्छस्। तँ ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई कदर गर्दैनस्, तर तँ संसारको फोहोरमा लागेका ती उच्छृङ्खल मानिसहरूलाई रुचाउँछस्। तँ ख्रीष्टले विश्राम गर्ने ठाउँ नपाउनुभएको पीडालाई खिसीटिउरी मात्र गर्छस्, तर तँ भेटीहरू चोर्ने र मोजमस्तीमा जिउने ती लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टका साथमा दुःख भोग्न इच्छुक छैनस्, तर तँ स्वेच्छाले ती लापरवाह र स्वेच्छाचारी ख्रीष्टविरोधीहरूको अँगालोमा बाँधिन्छस्, यद्यपि तिनीहरूले तँलाई देह, शब्द, र नियन्त्रण मात्र आपूर्ति गर्छन्। अहिले पनि, तेरो हृदय तिनीहरूतर्फ, तिनीहरूको प्रतिष्ठातर्फ, तिनीहरूको हैसियततर्फ, तिनीहरूको शक्तितर्फ नै ढल्किन्छ। तैपनि तँ ख्रीष्टको कामलाई स्वीकार गर्न गाह्रो मान्ने र यसलाई स्वीकार गर्न अनिच्छुक हुने मनोवृत्ति अपनाइरहन्छस्। यही कारणले गर्दा मात्र म भन्छु कि तँमा ख्रीष्टलाई स्वीकार गर्ने विश्‍वास छैन। तैँले आजसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अरू कुनै विकल्प नभएर मात्र हो। तेरो हृदयमा उच्च छविचित्रहरूको शृङ्खला सधैँ खडा भइरहन्छ; तैँले तिनीहरूका हरेक शब्द र कार्यलाई, साथै तिनीहरूका प्रभावशाली शब्द र हातहरूलाई पनि बिर्सन सक्दैनस्। तिमीहरूको हृदयमा, तिनीहरू सदैव सर्वोच्च र नायकका रूपमा रहन्छन्। तर आजका ख्रीष्टको हकमा यो लागू हुँदैन। तेरो हृदयमा, उहाँ सधैँ तुच्छ हुनुहुन्छ, उहाँ सधैँ डर मान्‍न योग्य नभएको मानव हुनुहुन्छ। किनभने उहाँ धेरै नै साधारण हुनुहुन्छ, उहाँको प्रभाव निकै कम छ, र उहाँ बिलकुलै उच्च हुनुहुन्न।

जे भए पनि, म भन्छु कि जो सत्यतालाई महत्त्व दिँदैनन् तिनीहरू सबै अविश्‍वासी र सत्यताका विश्‍वासघाती हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्। के तैँले अब तँभित्र कति अविश्‍वास छ, र तँमा ख्रीष्टप्रति कति विश्‍वासघात छ भनी पहिचान गरेको छस्? म तँलाई यस्तो अर्ती दिन्छु: तैँले सत्यताको मार्ग रोजेको हुनाले, तैँले आफूलाई पूर्ण हृदयले अर्पित गर्नुपर्छ; दुविधात्मक वा अनुत्साहित नहो। तैँले के बुझ्नुपर्छ भने, परमेश्‍वर संसारको वा कुनै एक व्यक्तिको परमेश्‍वर हुनुहुन्न, बरु उहाँमा साँचो विश्‍वास गर्ने सबैको, उहाँको आराधना गर्ने सबैको, र उहाँप्रति अर्पित र विश्वसनीय हुने सबैको परमेश्‍वर हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्‍वरको विश्‍वासी होस्?

९४. परमेश्‍वरलाई पछ्याउने धेरै जना कसरी आशिष्‌ पाउने वा प्रकोपलाई कसरी टार्ने भन्‍ने कुराबारे मात्रै चासो राख्छन्। परमेश्‍वरको काम र व्यवस्थापन उल्लेख हुनेबित्तिकै, तिनीहरू चुप लाग्छन् र सबै रुचि गुमाउँछन्। तिनीहरू यस्ता दिक्कलाग्दा कुराहरू बुझ्नुले तिनीहरूको जीवनको वृद्धिविकास गर्न मद्दत गर्दैन वा कुनै फाइदा प्रदान गर्दैन भन्ने सोच्छन्। फलस्वरूप, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनबारे जानकारी सुनेका भए तापनि, तिनीहरू यसलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू यसलाई स्वीकार गर्नुपर्ने बहुमूल्य कुराका रूपमा हेर्दैनन्, र तिनीहरू यसलाई आफ्नो जीवनको एक हिस्साका रूपमा लिएर त झन् बुझ्दैनन्। यी मानिसहरूले परमेश्‍वरलाई पछ्याउनुको उद्देश्य धेरै सरल छ, र यो एउटै लक्ष्यका लागि हो: आशिषित हुनु। यी मानिसहरू यो लक्ष्यसँग कुनै सरोकार नभएको अरू कुनै पनि कुरामा ध्यान दिने कष्ट गर्दैनन्। तिनीहरूका लागि, आशिष्‌हरू पाउनु नै परमेश्‍वरमा विश्वास गर्नुको सबैभन्दा जायज उद्देश्य हो—यो नै तिनीहरूको आस्थाको मूल्य हो। यदि कुनै कुरा यो उद्देश्यमा काम लाग्दैन भने, त्यो जेसुकै भए पनि तिनीहरू त्यसदेखि उदासीन रहन्छन्। आज परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसको अवस्था यही हो। तिनीहरूको उद्देश्य र अभिप्राय जायज देखिन्छ, किनभने तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दा परमेश्‍वरका लागि आफूलाई समर्पित पनि गर्छन्, परमेश्‍वरप्रति आफूलाई अर्पित गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू आफ्नो यौवन त्याग्छन्, परिवार र करियर त्याग्छन्, र वर्षौँसम्म घरबाट टाढा दौडधुप समेत गर्छन्। आफ्नो अन्तिम उद्देश्यका खातिर, तिनीहरू आफ्ना रुचिहरू, जीवनप्रतिको आफ्नो दृष्टिकोण, र आफूले पछ्याउने दिशा समेत परिवर्तन गर्छन्; तैपनि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नुको आफ्नो उद्देश्य परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्नै आकाङ्क्षाहरूको व्यवस्थापनका लागि दौडधुप गर्छन्; बाटो जतिसुकै लामो भए पनि, र बाटोमा जतिसुकै कष्ट, खतरा, र बाधाहरू भए पनि, तिनीहरू निरन्तर लागिरहन्छन् र मृत्युदेखि डराउँदैनन्। कुन शक्तिले तिनीहरूलाई यसरी आफूलाई अर्पण गरिरहन बाध्य पार्छ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र उदात्त निष्ठा हो? के यो अन्तसम्मै दुष्टका शक्तिहरूसँग लड्ने तिनीहरूको दृढ सङ्कल्प हो? के यो इनाम नखोजी परमेश्‍वरको गवाही दिने तिनीहरूको आस्था हो? के यो परमेश्‍वरको इच्छा पूरा गर्नका लागि सबै कुरा त्याग्न इच्छुक हुने तिनीहरूको अर्पण हो? कि के यो सधैँ अत्यधिक व्यक्तिगत मागहरू त्याग्ने तिनीहरूको समर्पित आत्मा हो? साँच्चै भन्नुपर्दा, परमेश्‍वरको व्यवस्थापनको काम कहिल्यै नबुझेको व्यक्तिले अझै पनि यति धेरै रगत-पसिना बगाउनु एक चमत्कार हो! अहिलेका लागि, हामी यी मानिसहरूले कति दिएका छन् भन्नेबारे छलफल नगरौँ। तर, तिनीहरूको व्यवहार हाम्रो चिरफारका लागि अत्यन्तै योग्य छ। तिनीहरूसँग यति निकट रूपमा सम्बन्धित फाइदाहरूबाहेक, के परमेश्‍वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि यति ठूलो मूल्य चुकाउनुका अरू कुनै कारणहरू हुन सक्छन्? यहाँ, हामी मानिसले पहिले पहिचान नगरेको एउटा समस्या पत्ता लगाउँछौँ: परमेश्‍वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष्‌ पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ। अब कुराहरू यस बिन्दुमा पुगिसकेका हुनाले, कसले पो यस्तो मार्ग परिवर्तन गर्न सक्छ र? अनि कति जना मानिसहरू यो सम्बन्ध कति गम्भीर भइसकेको छ भनी साँच्चै बुझ्न सक्षम छन् र? मलाई के विश्‍वास छ भने, जब मानिसहरू आशिषित हुने आनन्दमय वातावरणमा डुब्छन्, तब कसैले पनि परमेश्‍वरसँगको यस्तो सम्बन्ध कति लाजमर्दो र कुरूप छ भनी कल्पना गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ

९५. परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा दुःखलाग्दो कुरा के हो भने, परमेश्‍वरको कामको बीचमा मानिस आफ्‍नै उद्यममा संलग्न हुन्छ, तैपनि परमेश्‍वरको व्यवस्थापनमा अलिकति पनि ध्यान दिँदैन। परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा ठूलो असफलता के हो भने, उसले परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न पछ्याइरहँदा, उसले साथसाथै आफ्‍नै आकाङ्क्षात्मक गन्तव्यको सपना निर्माण गर्छ र सबैभन्दा ठूलो आशिष् र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने भनी योजना बुन्छ। मानिसहरूले तिनीहरू कति निकृष्ट, घृणास्पद, र दयनीय छन् भन्‍ने कुरा बुझे तापनि, कति जनाले आफ्‍ना आकाङ्क्षा र आशाहरूलाई सहजतापूर्वक त्याग्‍न सक्छन्? अनि कसले आफ्‍नै पाइलाहरूलाई रोक्न, अनि आफ्‍नै तर्फबाट योजना बनाउन छोड्न सक्छ? परमेश्‍वरलाई उहाँको व्यवस्थापन पूरा गर्नका लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँमा समर्पित हुनका लागि उहाँको व्यवस्थापनको कार्यमा आफ्‍नो सम्पूर्ण मन र शरीर अर्पण गर्नेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्‍ना हातहरू पसारेर माग्‍ने मानिसहरूको खाँचो छैन, अनि उहाँप्रति अलिकति समर्पित हुने अनि त्यसपछि उहाँबाट त्यसको भर्पाइ माग्न प्रतीक्षा गर्नेहरूको खाँचो त झनै छैन। सानोतिनो योगदान दिने अनि त्यसपछि आफ्‍ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुनेहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यप्रति द्वेष राख्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने कठोर हृदय भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। तिनीहरूकै लाभका लागि मुक्ति दिने उहाँको कामले प्रस्तुत गर्ने अवसरको फाइदा उठाउनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। किनभने यी मानिसहरूले परमेश्‍वर आफ्‍नो व्यवस्थापनको कार्यद्वारा के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। तिनीहरूलाई परमेश्‍वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको मात्रै चासो हुन्छ। तिनीहरू आफ्‍नै भविष्य र भाग्यबारे पूर्ण रूपमा तल्‍लीन भएका हुनाले, तिनीहरू परमेश्‍वरको हृदयको ख्याल पटक्कै गर्दैनन्। परमेश्‍वरको व्यवस्थापनको कार्यप्रति द्वेष राख्ने, अनि परमेश्‍वर मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ भन्नेबारे र उहाँका अभिप्रायहरूबारे अलिकति पनि रुचि नराख्नेहरू सबैले परमेश्‍वरको व्यवस्थापनको कार्यको दायराभन्दा बाहिर रहेर आफूलाई गर्न मन लाग्ने कुराहरू मात्रै गरिरहेका हुन्छन्। तिनीहरूका कार्यलाई न त परमेश्‍वर स्मरण गर्नुहुन्छ न त अनुमोदन नै, परमेश्‍वर यसलाई निगाहको दृष्टिले त झनै हेर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ

९६. मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै छोराहरूभन्दा अधिक छ, तैपनि मानिसहरूले मलाई थोरै मात्र महत्त्व भएको वैद्यको रूपमा र मानिसको अज्ञात शिक्षकको रूपमा मात्र ठान्छन्। धेरै मानिसहरू ममा केवल यस कारणले विश्वास गर्छन् कि म उनीहरूलाई निको पारिदिऊँ। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले मबाट शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र विश्‍वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। धेरै मानिस यो जीवन शान्तिमा बिताउन र अर्को जुनीमा सुरक्षित र सकुशल हुनलाई मात्रै ममा विश्‍वास गर्छन्। नरकका कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सहजताका निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि अर्को जुनीमा कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब म मेरो रिस मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै आनन्द र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष्‌ फिर्ता लिन्छु, तब तिनीहरू रिसले आगो हुन्छन्। जब मानिसहरू आफूलाई निको पारिदिन भनी मलाई बिन्ती गर्छन् र म तिनीहरूलाई ध्यान दिन्‍नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्‍वास गर्ने गर्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

९७. परमेश्‍वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्‍नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? तिमीहरूका माझमा कतिवटा वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै मात्र काम गरिएको छ? तिमीहरूका माझमा मैले कति प्रदान गरेको छु? त्यसोभए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केका बारेमा गुनासो गर्नु छ? के तँ देहसित ज्यादै मोहित भएकोले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के तेरा विचारहरू अत्यन्तै अत्यधिक भएकाले यस्तो भएको होइन र? के तँ अत्यन्तै मूर्ख भएकोले यस्तो भएको होइन र? यदि तैँले यी आशिष्‌हरू प्राप्त गर्न सक्दैनस् भने, के तैँले परमेश्‍वरलाई तँलाई मुक्ति नदिएको भनी दोष दिन मिल्छ? तँ केवल परमेश्‍वरमा विश्‍वास गरेपछि शान्ति प्राप्त गर्न सकूँ—आफ्ना छोराछोरी रोगमुक्त होऊन्, श्रीमान्‌ले राम्रो जागिर पाऊन्, छोराले असल श्रीमती पाऊन्, छोरीले असल श्रीमान् पाऊन्, आफ्नो गोरु र घोडाले राम्ररी खेत जोतून्, बालीनालीका लागि वर्षभरि राम्रो मौसम होस् भन्ने खोजी गर्छस्। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु—तेरो परिवारमा कुनै दुर्घटना नहोस्, तँलाई समस्याले नछोओस्, तँलाई कष्ट नपरोस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्—कुनै पनि विपत्तिले असर नपारोस्, “परमेश्‍वरको अङ्गालोमा” जिउन पाइयोस्, आरामदायी निवासमा जिउन पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्य पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्‍वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै पछ्याइमा निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

९८. मानिसहरूका जीवन अनुभवहरूमा तिनीहरूले प्रायजसो मनमनै सोच्ने गर्छन्: “मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर त्यागेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ? मैले यसको हिसाब गर्नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष्‌ पाएको छु र? यस समयमा मैले धेरै नै समर्पित गरेको छु, म दौडेको दौड्यै छु, र मैले धेरै दुःख भोगेको छु—के यस अवधिमा मैले गरेको कार्यसम्पादनको बदलामा परमेश्‍वरले मलाई कुनै वाचा गर्नुभएको छ? के उहाँले मेरा असल कार्यहरू याद गर्नुभएको छ? मेरो परिणाम कस्तो हुनेछ? के मैले आशिष्‌हरू पाउन सक्छु? …” हृदयमा, प्रत्येक व्यक्तिले बारम्बार र निरन्तर यस्ता हिसाबकिताबहरू गर्छ, र परमेश्‍वरबाट केही कुरा माग्दा, तिनीहरूले मनसायहरू, महत्त्वाकाङ्क्षाहरू र लेनदेनको मानसिकता बोकेका हुन्छन्। यसो भन्‍नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू रचिरहेको हुन्छ, उसको आफ्नै परिणामका लागि निरन्तर परमेश्‍वरसँग “बहस गरिरहेको” हुन्छ, र परमेश्‍वरबाट एउटा अभिव्यक्ति निकाल्ने र उसले चाहेको कुरा परमेश्‍वरले दिनुहुनेछ कि दिनुहुनेछैन भनी हेर्ने कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरलाई पछ्याउने क्रममा, मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि परमेश्‍वरसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग केही माग्दै आएको छ, र औँलो दिँदा डुँडुलो निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब समेत दिने गरेको छ। परमेश्‍वरसँग सौदाबाजी गर्न खोज्दा खोज्दै, मानिसले उहाँसँग तर्क पनि गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आउँदा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा प्रायः कमजोर, नकारात्मक र सुस्त हुन्छन्, र परमेश्‍वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत र बहु-उपयोगी औजार ठानेको छ, र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौँ परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू माग्नु उसको अन्तर्निहित अधिकार र दायित्व हो, जबकि परमेश्‍वरले पूरा गर्नुपर्ने जिम्मेवारीहरू चाहिँ मानिसको सुरक्षा गर्नु, ख्याल गर्नु, अनि उसका निम्ति आपूर्ति गरिदिनु हुन्। “परमेश्‍वरमाथिको विश्‍वास” भन्ने दुइटा शब्दबारे परमेश्‍वरमा विश्‍वास गर्ने सबैको आधारभूत बुझाइ यस्तै छ, र परमेश्‍वरमाथिको विश्‍वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि यस्तै छ। मानिसको प्रकृति सारदेखि उसको व्यक्तिपरक पछ्याइसम्म, कुनै कुरा पनि परमेश्‍वरको डरसँग सम्बन्धित छैन। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसको उद्देश्य कुनै पनि हालतमा परमेश्‍वरको आराधनासँग सम्बन्धित हुन सक्दैन। भन्‍नुको अर्थ, मानिसले परमेश्‍वरमा विश्‍वास गर्दा कहिल्यै उहाँको डर मान्‍ने र आराधना गर्ने अभिप्राय राखेको हुँदैन, र परमेश्‍वरमा विश्वास गर्दा यस्ता कुराहरू आवश्यक पर्छन् भनेर कहिल्यै बुझेको हुँदैन। यो स्थितिलाई ख्याल गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो त? यो यही हो कि मानिसको हृदय दुर्भावपूर्ण, कुटिल, र छली छ, यसले निष्पक्षता र धार्मिकता र सकारात्मक कुराहरू मन पराउँदैन, र यो घृणित र लोभी छ। मानिसको हृदय परमेश्‍वरप्रति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय परमेश्‍वरलाई पटक्‍कै दिँदैन। परमेश्‍वरले मानिसको साँचो हृदय कहिल्यै देख्‍नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै गरिएको छ। परमेश्‍वरले जति नै ठूलो मूल्य तिर्नुभए पनि वा जति नै धेरै काम गर्नुभए पनि, वा मानिसका निम्ति जति नै धेरै प्रबन्ध गर्नुभए पनि, मानिस ती सबैप्रति अन्धो र उदासीन रहन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नो हृदयलाई आफै नियन्त्रित गर्न, र आफ्नै निर्णयहरू गर्न चाहन्छ—जसको भावार्थ मानिस परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँड्न, वा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन चाहँदैन, न त ऊ परमेश्‍वरलाई परमेश्‍वरका रूपमा आराधना गर्न नै चाहन्छ भन्ने हो। आज मानिसको स्थिति यस्तै छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

९९. जब-जब भाग्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष रूपले संवेदनशील हुन्छौ। कोही-कोही राम्रो गन्तव्य हासिल गर्न परमेश्‍वरको सामु भुइँमा आफ्नो निधार नै ठोकाइ साष्टाङ्ग दण्डवत् गर्न पनि पछि पर्दैनन्। तिमीहरूको उत्सुकतासित म परिचित छु जसलाई शब्दहरूमा व्यक्त गर्न आवश्यक छैन। यो तिमीहरूले आफ्नो शरीरलाई महाविपत्तीमा पार्न नचाहेको भन्दा बढी होइन, अनि न त तिमीहरू भविष्यमा अनन्त दण्डमा पर्ने चाहना नै गर्छौ। तिमीहरू केवल अलि बढी स्वच्छन्द ढङ्गले, अलि बढी सहजताका साथ जिउने आशा गर्छौ। त्यसैले गन्तव्यको बारेमा उल्लेख गरिँदा तिमीहरू विशेष रूपले अशान्त हुन्छौ र यदि तिमीहरू पर्याप्त रूपले सावधान छैनौ भने तिमीहरूले परमेश्‍वरलाई दुःखित पार्नेछौ र यसरी तिमीहरूले पाउनुपर्ने प्रतिफलको हकदार तिमीहरू हुनेछौ भन्‍ने कुराप्रति तिमीहरू साह्रै त्रासित हुन्छौ। आफ्नो गन्तव्यको खातिर तिमीहरूले सम्झौताहरू गर्न हिचकिचाएका छैनौ, अनि तिमीहरूमध्ये जो कुनै समय कुटिल र छिचरो थियौ, तिमीहरू अकस्मात् भद्र र इमान्दार भएका छौ; तिमीहरूको देखावटी इमानदारिताले मानिसहरूलाई हड्डीको मासीसम्मै चिसो पार्दछ। तथापि, तिमीहरू सबैसित “इमान्दार” हृदय छ, अनि तिमीहरूले मलाई कुनै कुरा बाँकी नराखी निरन्तर आफ्नो हृदयको गुप्त कुराहरू खोलेका छौ, चाहे त्यो दुःखपोखाई होस् वा छल होस् वा भक्ति। समग्रमा, तिमीहरूले अत्यन्तै निष्कपटताका साथ मसित त्यस्ता ठोस कुराहरू “स्वीकार” गरेका छौ जुन तिमीहरूको अस्तित्वको भित्री कुनाहरूमा छन्। अवश्य, त्यस्ता कुराहरूको वरिपरि म कहिल्यै घुमेको छैनँ किनकि ती कुराहरू मेरो निम्ति ज्यादै परिचित छन्। तिमीहरू आफ्नो अन्तिम गन्तव्यको खातिर परमेश्‍वरको स्वीकृति पाउनको निम्ति कपालको एउटै केस्रा गुमाउनुभन्दा बरु आगोको समुद्रभित्र प्रवेश गर्ने थियौ। म तिमीहरूसित धेरै कट्टरपन्थी भइरहेको छैनँ; कुरा यो हो कि मैले गर्ने सबै कुराहरूमा मेरो आमनेसामने आउनको लागि तिमीहरूसित भक्तिको हृदयको ज्यादै कमी छ। मैले भर्खरै भनेका कुराहरू सायद तिमीहरू बुझ्दैनौ होला, त्यसैले म तिमीहरूलाई एउटा सरल व्याख्या प्रस्तुत गर्छु: तिमीहरूलाई आवश्यक पर्ने सत्यता र जीवन होइन, न आफूलाई कसरी आचरणमा ढाल्ने भन्‍ने सम्बन्धी सिद्धान्तहरू हुन्, न त मेरो श्रमसाध्य काम नै हो। बरु तिमीहरूलाई आवश्यक कुरा भनेको तिमीहरूको देहमै भएको सब थोक हो: सम्पत्ति, हैसियत, परिवार, विवाह, आदि। तिमीहरू मेरा वचनहरू र कामहरूलाई पूर्ण रूपले उपेक्षा गर्छौ, त्यसैले म तिमीहरूको आस्थालाई एउटै शब्दमा सारांशीकृत गर्न सक्छु: झाराटारुवा। तिमीहरू जुन कुराहरूमा पूर्ण रूपले बफादार हुन्छौ, ती कुराहरू प्राप्त गर्न जेसुकै गर्न सक्छौ, तर परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वाससम्बन्धी कुराहरूका खातिर त्यसो गर्दैनौ भन्‍ने कुरा मैले पत्ता लगाएको छु। बरु तिमीहरू तुलनात्मक रूपले बफादार छौ, अनि तुलनात्मक रूपले लगनशील छौ। त्यसैकारण म भन्छु, पूर्ण रूपमा निष्कपट हृदय नहुनेहरू परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा असफल हुन्छन्। ध्यानपूर्वक सोच—तिमीहरूको माझमा थुप्रै असफलहरू छन् कि?

मानिसहरूको आफ्नै कार्यहरूको परिणामस्वरूप परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरिन्छ भन्‍ने तिमीहरूले जान्नुपर्छ। जब मानिसहरू सफल नभई असफल हुन्छन्, त्यो पनि तिनीहरूका आफ्‍नै कार्यहरूको कारणले हो अनि त्यसमा कुनै कुराले भूमिका खेल्दैन। म विश्‍वास गर्छु कि तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा बरु त्योभन्दा धेरै कठिन र कष्टदायी कुरा हासिल गर्न जे पनि गर्नेथियौ अनि त्यसलाई धेरै गम्भीरतापूर्वक व्यवहार गर्नेथियौ; यतिसम्म कि तिमीहरू कुनै पनि गल्तीहरूलाई सहन अनिच्छुक हुनेथियौ; यस्ता प्रकारका अविरल प्रयासहरू तिमीहरू सबै आफ्नो जीवनमा राख्दछौ। यस्ता कतिपय परिस्थितिहरूमा तिमीहरू मेरो देहलाई छल्न समेत सक्षम छौ जुन परिस्थितिहरूमा तिमीहरू आफ्नो परिवारको कुनै सदस्यलाई समेत छल्ने थिएनौ। यो तिमीहरूको निरन्तरको व्यवहार र सिद्धान्त हो जसद्वारा तिमीहरू जिउँछौ। के तिमीहरूले तिमीहरूका गन्तव्य, तिमीहरूले चाहेको सबै कुरा पूर्ण र सिद्ध होस् भनेर आफ्नो गन्तव्यको खातिर मलाई धोका दिन झूटो मकुन्डो लगाइरहेका छैनौ र। तिमीहरूको बफादारी, साथै तिमीहरूको निष्कपटता अस्थायी मात्र हो भन्‍ने मलाई थाहा छ। के तिमीहरूको सङ्कल्प र तिमीहरूले चुकाउने मूल्य भविष्यका खातिर नभई वर्तमान क्षणका खातिर मात्र होइन र? केवल एउटा सुन्दर गन्तव्यतर्फ लागिपर्नका निम्ति तिमीहरू एउटा अन्तिम प्रयास लगाउन मात्र चाहन्छौ; तिमीहरूको एकमात्र उद्देश्य लेनदेन गर्नु हो। तिमीहरू सत्यताप्रति ऋणी हुनबाट जोगिन यो प्रयास गर्दैनौ, मलाई मैले चुकाएको मूल्य चुक्ता गर्नका खातिर त झनै गर्दैनौ। संक्षिप्तमा, आफूले चाहेको कुरा प्राप्त गर्न तिमीहरू चलाक रणनीतिहरू प्रयोग गर्न मात्र इच्छुक छौ, तर त्यसका निम्ति खुला लडाइँ लड्दैनौ। के यी तिमीहरूका सबैभन्दा भित्री सोचहरू होइनन् र? तिमीहरूले आफ्नो भेष बदल्नुहुँदैन, न त दिनमा खान र पिउन मन नलाग्ने, र रातमा शान्तिपूर्वक सुत्न नसक्ने बिन्दुसम्म आफ्ना गन्तव्यबारे दिमाग नै खियाउनुपर्छ। अन्तिममा तिमीहरूको परिणाम निर्धारित भइसकेको हुनेछ भन्‍ने कुरा के साँचो होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा

१००. तिमीहरूले यत्तिका वर्षसम्म मलाई पछ्याएका छौ, तर अहिलेसम्म मलाई अलिकति पनि बफादारी दिएका छैनौ। बरु, तिमीहरू आफूलाई मन पर्ने मानिस र कुराहरूको वरिपरि घुमेका छौ—यतिसम्‍म कि तिमीहरू हरेक समयमा र जहाँसुकै जाँदा पनि ती कुराहरूलाई आफ्नो हृदयको नजिक राख्छौ र कहिल्यै तिनलाई त्यागेका छैनौ। जब तिमीहरू आफूले प्रेम गर्ने कुनै पनि कुराप्रति उत्सुक वा उत्साहित भइरहेका हुन्छौ, तिमीहरू मलाई पछ्याइरहेको बेला नै, वा तिमीहरूले मेरा वचनहरू सुनिरहेको बेला समेत त्यसो भइरहेका हुन्छौ। त्यसकारण, म भन्छु, मैले तिमीहरूसँग मागेको बफादारीलाई तिमीहरूले आफ्ना “प्रिय” हरूप्रति बफादार हुन र तिनलाई माया गर्न प्रयोग गरिरहेका छौ। तिमीहरूले मेरो लागि एक-दुई वटा कुरा त्याग गरे तापनि, यसले तिमीहरूका सबै कुरालाई प्रतिनिधित्व गर्दैन र तिमीहरू साँचो रूपमा मप्रति नै बफादार छौ भन्‍ने देखाउँदैन। तिमीहरू आफूले गहिरो रुचि राख्ने कामहरूमा नै आफूलाई संलग्न गराउँछौ; तिमीहरूमध्ये केही आफ्ना छोरा र छोरीहरूप्रति बफादार हुन्छौ भने अरूहरूचाहिँ आफ्नो पति, पत्नी, धन, काम, वरिष्ठ अधिकारी, हैसियत वा महिलाहरूप्रति बफादार हुन्छन्। तिमीहरू आफू बफादार रहेका कुराहरूप्रति कहिल्यै थकित वा वाक्क हुँदैनौ; बरु, तिमीहरू अझ बढी मात्रामा र अझ राम्रो तरिकाले ती कुराहरू पाउन उत्सुक हुन्छौ र कहिल्यै पनि हरेस खाँदैनौ। मेरा वचनहरूलाई र मलाई जहिले पनि तिमीहरूले गहिरो रुचि राख्ने कुराहरूभन्दा पछाडि धकेलिन्छ, अनि तिनलाई अन्तिम दर्जा दिनु बाहेक तिमीहरूसँग अरू कुनै विकल्प हुँदैन। त्यस्ता व्यक्तिहरू पनि छन्, जसले आफूले अहिलेसम्म पत्ता लगाइ नसकेको भए पनि आफू बफादार रहेका कुराहरूका लागि अन्तिम स्थान साँचेर राख्छन्। उनीहरूको हृदयमा मेरो हल्का निशान समेत कहिल्यै रहेको छैन। तिमीहरूले सोच्छौ होला, म तिमीहरूसँग धेरै नै माग्छु वा तिमीहरूलाई अन्यायपूर्ण रूपमा आरोप लगाइरहेको छु—तर के तिमीहरू आफ्नो परिवारसँग खुसीसाथ समय बिताइरहेको बेला मप्रति एक पटक पनि बफादार भएका छैनौ भन्‍ने तथ्यबारे कहिल्यै सोचेका छौ? त्यतिबेला, के यसले तिमीहरूलाई पीडा दिँदैन? जब तिमीहरूको हृदय आफ्नो श्रमका लागि आफूलाई भुक्तानी गरिएकोमा हर्षले भरिन्छ, तब के तिमीहरू आफूलाई पर्याप्त सत्यताहरूले सुसज्जित नगरेकोमा निरुत्साहित महसुस गर्दैनौ? तिमीहरू मेरो स्वीकृति प्राप्त नगर्दा कहिले रोएका छौ? तिमीहरू आफ्ना छोरा र छोरीहरूका लागि आफ्‍नो दिमाग खियाउँछौ र धेरै मेहनत लगाउँछौ, तैपनि तिमीहरू सन्तुष्ट हुँदैनौ; तिमीहरू अझै पनि तिनीहरूका खातिर लगनशील भएका छैनौ, तिनीहरूका लागि आफूले गर्न सक्ने सबै कुरा गरेका छैनौ भन्‍ने विश्‍वास गर्छौ। तर, मप्रति भने तिमीहरू सधैँ नै उपेक्षापूर्ण र लापरवाह भएका छौ; म तिमीहरूको सम्झनामा मात्र छु, तर म तिमीहरूको हृदयमा रहिरहँदिनँ। तिमीहरू कहिल्यै मेरा श्रमसाध्य अभिप्राय बुझ्न, वा तीबारे विचार गर्न खोज्दैनौ। तिमीहरू केवल क्षणिक रूपमा तीबारे चिन्तन गर्छौ र यति नै पर्याप्त हुनेछ भन्‍ने विश्‍वास गर्छौ। यस्तो “बफादारी” म लामो समयदेखि लालायित भएको कुरा होइन, बरु त्यो त मैले लामो समयदेखि घृणा गरेको कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?

१०१. यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरू पैसा त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्छौ, जबकि दोधारेहरू एउटा हातले पैसा थुत्छन् र अर्को हातले सत्यता समात्छन्। के तिमीहरूको साँचो रूप त्यसपछि आफै प्रस्ट हुनेथिएन र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरी हल्लेका छौ, छैनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ;[क] विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले, अनपेक्षित रूपमा, मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो पारिएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक दिनेछौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेछ? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेछौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?

फूटनोटहरू:

क. किनारामा फर्किने: एक चिनियाँ उखान, जसको अर्थ “आफ्नै दुष्ट मार्गहरूबाट फर्कनु” भन्‍ने हुन्छ।


१०२. प्रत्येक दिन प्रत्येक व्यक्तिको काम र विचारहरू एक जना व्यक्तिका आँखाले हेर्छन्, त्यसको साथसाथै तिनीहरूका आफ्नै भोलिका दिनको निम्ति ती तयारीमा छन्। सबै जीवित मानिस हिँड्ने बाटो यही हो; मैले सबैका निम्ति अघिबाटै ठहराएको बाटो यही नै हो, कोही पनि यसबाट उम्कन सक्दैन वा कसैलाई छुट दिन सकिँदैन। मैले बोलेका वचनहरू अनगन्ती छन्, त्यसबाहेक मैले गरेका कार्यहरू असीम छन्। अन्तर्निहित प्रकृति र तिनीहरूका प्रकृतिको घटनाक्रमहरू अनुसार पुकार्छ कि पुकार्दैन भनी मैले हरेक दिन हरेक व्यक्तिलाई हेर्छु। अन्जानमा, धेरै जना पहिलेबाटै “सही बाटो” मा लागिसकेका छन्, जुन मैले फरक किसिमका मानिसहरूलाई प्रकट गर्न राखेको छु। यी फरक किसिमका मानिसहरूलाई मैले धेरै समयदेखि नै विभिन्न वातावरणहरूमा र तिनीहरूको आफ्‍नै स्थानमा राखेको छु, अनि हरेकले तिनीहरूमा अन्तर्निहित गुणहरू व्यक्त गरेका छन्। तिनीहरूलाई बाँध्ने कोही छैन, तिनीहरूलाई कसैले बहकाउँदैन। तिनीहरू सम्पूर्ण रूपमा स्वतन्त्र छन् र तिनीहरूले व्यक्त गर्ने कुरा स्वाभाविक रूपले निस्कन्छन्। केवल एउटा कुराले मात्र तिनीहरूलाई रोक्छ: मेरा वचनहरूले। यसैले केही मानिसहरू अनिच्छा पूर्वक मेरा वचनहरू पढ्छन्, र कहिल्यै अभ्यास गर्दैनन्, तिनीहरूले मृत्युबाट बच्नका निम्ति मात्र यसो गर्छन्; यसैबीच अरूहरूलाईचाहिँ मेरो वचनको मार्गदर्शन र आपूर्ति विना दिन काट्न नै कठिन हुन्छ, यसैले तिनीहरूले स्वाभाविक रूपमा हरसमय मेरो वचन समाती राख्छन्। समय बित्दैजाँदा तिनीहरूले मानव जीवनका रहस्य, मानवजातिको गन्तव्य र मानव हुनुको मूल्य पत्ता लगाउँछन्। यसरी मानवजाति मेरा वचनहरूको उपस्थितिमा हुन्छ, अनि म केवल कामकुराहरूलाई तिनीहरूको मार्ग लिन दिन्छु। म मानिसहरूलाई मेरो वचन तिनीहरूका अस्तित्वको जग बनाउन करमा पार्ने कुनै काम गर्दिनँ। जुन मानिसहरूसँग विवेक थिएन, जसको अस्तित्वको कुनै मूल्य थिएन, तिनीहरूले मेरो वचनलाई साहस पूर्वक बेकारको ठाने अनि कामकुरो कसरी हुन्छ भन्‍ने चूपचाप हेरेर तिनीहरू आफूले चाहेअनुसार गर्छन्। तिनीहरू सत्यता र मबाट आउने सबै कुराप्रति वितृष्ण हुन थाल्छन्। यसबाहेक, तिनीहरू मेरो घरमा बस्न वितृष्ण महसुस गर्छन्। तिनीहरूका गन्तव्य स्थानका निम्ति, र दण्डबाट उम्कनका निम्ति यी मानिसहरू श्रम गर्दै भए पनि केही समयसम्म मेरो भवनमा बस्छन्। तापनि, तिनीहरूका नियतहरू र कार्यहरू कहिल्यै पनि परिवर्तन हुँदैनन्। यसले आशिष् पाउने तिनीहरूका चाहना बढाउँछ, अनि एकचोटि त्यो राज्यमा पस्ने त्यसपछि सधैँभरिका निम्ति त्यही रहने—अनन्त स्वर्गमा पस्ने तिनीहरूको चाहना बढाउँछ। तिनीहरूले जति-जति मेरो दिन चाँडो आओस् भन्‍ने इच्छा गर्छन् त्यति नै बढी सत्यता तिनीहरूका बाटोमा एउटा बाधा, ठेस लाग्ने कुरा बनेको महसुस गर्छन्। तिनीहरूले सत्यता अनुसरण नगरीकन वा न्याय वा सजायलाई नस्विकारीकन, र सबैभन्दा मुख्य कुरा, मेरो भवनमा विनम्र नभइकन र मेरो आज्ञाबमोजिम नगरीकन नै तिनीहरू स्वर्ग राज्यका आशिषहरू उपभोग गर्न प्रतीक्षा गर्नै सक्दैनन्। यी मानिसहरू सत्यताको खोजी गर्ने आफ्‍ना चाहना पूरा गर्न वा मेरो व्यवस्थापनमा सहकार्य गर्न मेरो भवनमा प्रवेश गर्दैनन्; तिनीहरूका एक मात्र इच्छा भनेको ती मानिसहरूको साथमा रहने हो, जो आउने युगमा नाश पारिने छैनन्। यसैले तिनीहरूका हृदयले सत्यता के हो वा सत्यतालाई कसरी स्वीकार गर्नुपर्छ भनी कहिल्यै पनि जानेको छैन। यसैकारण त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गरेका छैनन् वा आफ्नो भ्रष्टताको गहिराइ महसुस गरेका छैनन्, तापनि तिनीहरू मेरो भवनमा सर्वत्र “सेवकहरू” को रूपमा बसेका छन्। तिनीहरू मेरो आउने दिनलाई “धैर्यसाथ” प्रतिक्षा गर्छन् र मेरो काम गर्ने तरिकाद्वारा यताउति हुत्तिएर पनि थाक्दैनन्। तर तिनीहरूले जति नै ठूलो कोसिस गरे पनि वा जस्तै मूल्य चुकाए पनि तिनीहरूले सत्यका निम्ति दुःख भोगेका वा मेरो खातिर केही दिएका कसैले पनि देखेको छैन। मैले पुरानो युगलाई अन्त गरेको हेर्नका लागि तिनीहरू आफ्ना हृदयमा आतुरमा छन्, र मेरो शक्ति र अख्तियार कति महान् छन् सो पत्तो लगाउनका निम्ति अरू पर्खन सक्दैनन्। तिनीहरूले आफैलाई बदल्न र सत्यता अनुसरण गर्न कहिल्यै हतार गर्दैनन्। तिनीहरू म म जुन कुराप्रति वितृष्ण हुन्छु त्यसैलाई प्रेम गर्छन्, र मैले प्रेम गर्ने कुराप्रति वितृष्ण हुन्छन्। तिनीहरू त्यो कुराको उत्कट इच्छा गर्छन्, जसलाई म घृणा गर्दछु, तर मैले घृणा गर्ने कुरा गुम्छ कि भनी डराउँछन्। तिनीहरू यो दियाबलसको संसारमा जिउँछन्, त्यसलाई कहिल्यै घृणा गर्दैनन्, तापनि म त्यसलाई नाश गरिदिन्छु कि भनी धेरै डराउँछन्। तिनीहरूका विरोधाभासपूर्ण चाहनाहरूको बीचमा, मैले घृणा गरेको यो संसारलाई नै तिनीहरू प्रेम गर्छन्, तर मैले यसलाई चाँडै नाश पारूँ भन्‍ने इच्छा पनि गर्छन्, ताकि तिनीहरू साँचो मार्गबाट भड्किएर जानुभन्दा अघि नै विनाशको कष्टबाट बचाइयोस् र अर्को युगका शासक बनाइयोस्। किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र मबाट आउने सबै कुराप्रति वितृष्ण छन्। तिनीहरू आशिष् नगुमाउनको निम्ति केही समय “आज्ञाकारी मानिसहरू” हुन सक्छन्, तर आशिषित बन्ने तिनीहरूको चिन्ता र नाश हुने डर अनि आगोको कुण्डमा फालिने कुरालाई कहिल्यै पनि लुकाउन सकिँदैन। मेरो दिन जति नजिक आउँछ तिनीहरूका इच्छा उति नै अझ बलियो हुन्छ। अनि जति ठूलो विपत्ति हुन्छ यसले तिनीहरूलाई त्यति नै बढी असहाय तुल्याउँछ, यस क्रममा मलाई आनन्दित बनाउन र तिनीहरूले धेरै समयदेखि चाहेका आशिषहरू गुमाउनबाट बच्न कहाँबाट सुरु गर्ने हो भनी अलमल्लमा पर्छन्। त्यस्ता मानिसहरू मेरा हातले आफ्नो काम थाल्‍नासाथ पहिलो पङ्तिका सेना जस्तो भएर काम गर्न उत्सुक बन्छन्। तिनीहरू मैले तिनीहरूलाई देख्दिनँ भन्‍ने डरले फौजको पहिलो पङ्तिमा जाने बारेमा मात्रै सोच्छन्। तिनीहरू आफूलाई जे सही लागेको छ त्यही गर्छन् र बोल्छन्, तिनीहरूका काम र व्यवहार कहिल्यै पनि सत्यतासँग सम्बद्ध हुँदैन, र तिनीहरूका काम र कार्यहरूले मेरो योजनालाई केवल कमजोर पार्छन् र बाधा दिन्छन् भनी कहिल्यै जान्दैनन्। तिनीहरूले धेरै कोसिस गरेका हुन सक्छन्, तिनीहरू कठिनाइहरू सहने आफ्नो इच्छा र उद्देश्यमा सत्य हुन सक्छन्, तर तिनीहरूले गरेका कुनै पनि कुराले मसँग सरोकार राख्दैनन्, किनकि तिनीहरूले असल अभिप्रायले काम गरेको मैले कहिल्यै पनि देखेको छैनँ, तिनीहरूले मेरो वेदीमा कुनै कुरा राखेको देख्‍ने त परै जाओस्। तिनीहरूले मेरो सामु धेरै वर्षदेखि यस्तै कार्यहरू गर्दै आएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

१०३. धेरै मानिसहरूले दिनहुँ परमेश्‍वरका वचनहरू पढ्‍नको लागि माथि उठाउँछन्, यहाँसम्म कि सबै पौराणिक वचनका खण्डहरूलाई तिनीहरूको सबैभन्दा बहुमूल्य सम्पत्तिको रूपमा लिँदै होसियारीसाथ कण्ठस्थ गर्छन्, अनि यस अलाबा परमेश्‍वरका वचनहरूलाई सबैतिर प्रचार गर्छन्, अरूहरूलाई परमेश्‍वरका वचनहरू उपलब्ध गराउँछन् र तिनीहरूलाई ती वचनहरूद्वारा सहयोग गर्छन्। तिनीहरूले ठान्छन् कि यसो गर्नु भनेको परमेश्‍वरको साक्षी बन्‍नु हो, उहाँका वचनहरूको साक्षी बन्‍नु हो, र यसो गर्नु भनेको परमेश्‍वरको मार्ग पछ्‍याउनु हो; तिनीहरूले ठान्छन् कि यसो गर्नु भनेको परमेश्‍वरका वचनहरूबमोजिम जिउनु हो, यसो गर्नु भनेको तिनीहरूको वास्तविक जीवनमा उहाँका वचनहरू ल्याउनु हो, तिनीहरूले ठान्छन् कि यस कार्यले तिनीहरूलाई परमेश्‍वरको प्रशंसा प्राप्‍त गर्न सक्षम तुल्याउनेछ, र तिनीहरूलाई उद्धार गर्नेछ र सिद्ध बनाउनेछ। तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रचार गरे तापनि तिनीहरूले व्यवहारमा कहिल्यै पनि परमेश्‍वरका वचनहरूको पालना गर्दैनन्, वा परमेश्‍वरका वचनहरूमा जे कुरा प्रकाश गरिएको छ त्यससँग आफैलाई तुलना गर्ने प्रयास गर्दैनन्। बरु, तिनीहरूले चलाखी गरेर अरूबाट आदर र भरोसा प्राप्‍त गर्न, आफै व्यवस्थापनमा प्रवेश गर्न, र परमेश्‍वरको महिमा उपभोग गर्न र चोर्न परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्छन्। तिनीहरूले आफूलाई प्रदान गरिएको अवसरलाई परमेश्‍वरको काम र उहाँको प्रशंसाको इनाम प्राप्‍त गर्नको लागि प्रयोग गर्दै परमेश्‍वरका वचनहरू प्रसार गर्ने व्यर्थै आशा गर्छन्। धेरै वर्ष बितिसकेका छन्, तर यी मानिसहरूले परमेश्‍वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा परमेश्‍वरको प्रशंसा हासिल गर्न असक्षम बनेका छन्, तिनीहरू परमेश्‍वरका वचनहरूको साक्षी हुने प्रक्रियामा पछ्याउनुपर्ने मार्ग पत्ता लगाउन असक्षम भएका छन्, तिनीहरूले परमेश्‍वरका वचनहरू अरूलाई प्रदान गर्ने र ती वचनहरूद्वारा अरूलाई सहयोग गर्ने प्रक्रियामा ती वचनहरू आफैलाई प्रदान गर्ने र ती वचनहरूद्वारा आफैलाई सहयोग गर्ने गरेका छन्, तिनीहरूले यी सबै कुराहरू गर्ने प्रक्रियामा परमेश्‍वरलाई चिन्‍न, वा तिनीहरू आफैलाई परमेश्‍वरको साँचो डरमा जागरूक बनाउन असक्षम भएका छन्; तर यसको विपरीत, परमेश्‍वरका विषयमा तिनीहरूको गलत बुझाइ अझ वृद्धि हुँदै गइरहेको छ, उहाँमाथिको तिनीहरूको अविश्‍वास झन् चुलिँदै गइरहेको छ, र उहाँको बारेमा तिनीहरूको कल्पना झन् अतिरञ्‍जित हुँदै गइरहेको छ। परमेश्‍वरका वचनहरूको विषयमा तिनीहरूको आफ्नो सिद्धान्तहरूद्वारा परिपूर्ति र निर्देशित भएर, तिनीहरू पूर्ण रूपमा आफूलाई आनन्द लाग्ने अवस्थामा भएजस्तै गरी, आफ्ना सीपहरू सहजताका साथ प्रयोग गरेजस्तै गरी, तिनीहरूले जीवनमा आफ्नो उद्देश्य, आफ्नो मिसन पत्ता लगाएको जस्तै गरी, र तिनीहरूले नयाँ जीवन विजय गरेको र तिनीहरू उद्धार भएको जस्तै गरी, तिनीहरूको जिब्रोमा परमेश्‍वरका वचनहरू स्वतः उच्‍चारण भएजस्तै गरी, तिनीहरूले सत्यता प्राप्‍त गरेका छन्, परमेश्‍वरका अभिप्रायहरू बुझेका छन्, र परमेश्‍वरलाई चिन्ने मार्ग पत्ता लगाएका छन्, परमेश्‍वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा भएजस्तै गरी, तिनीहरू प्रायजसो परमेश्‍वरको आमनेसामने आएका छन्। साथै, तिनीहरू प्राय “भावुक भई” रुने गर्छन्, र परमेश्‍वरका वचनहरूमा “परमेश्‍वर” द्वारा प्राय डोर्‍याइएका छन्, तिनीहरू उहाँको इमान्दारीपूर्ण सरोकार र कृपालु अभिप्रायलाई बेपरवाह रूपले उपयोग गरिरहेका देखिन्छन्, साथसाथै, मानिसको निम्ति परमेश्‍वरको मुक्ति र उहाँको व्यवस्थापनलाई उपयोग गरिरहेका देखिन्छन्, उहाँको सारलाई जानेका, र उहाँको धर्मी स्वभावलाई बुझेका जस्ता देखिन्छन्। यही जगको आधारमा, तिनीहरूले परमेश्‍वरको अस्तित्वमा अझ बलियो गरी विश्‍वास गरेको देखिन्छ, तिनीहरू उहाँको उच्‍च स्थितिलाई अझ बढी पहिचान गरेका, र उहाँको भव्यता वा महान्‌ता र उहाँको आत्मिक अस्तित्व अझ गहन रूपमा महसुस गरेका जस्ता देखिन्छन्। परमेश्‍वरका वचनहरूको सतही ज्ञानमा खडा भएर, तिनीहरूको विश्‍वास वृद्धि भएको जस्तो, दुःखकष्ट सहने तिनीहरूको क्षमता सबलीकरण भएजस्तो, र परमेश्‍वरसम्बन्धी तिनीहरूको ज्ञान गहिरिएको जस्तो देखिन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरू साँच्‍चिकै अनुभव नगरेसम्म, परमेश्‍वरको विषयमा तिनीहरूको सम्पूर्ण ज्ञान र उहाँको विषयमा तिनीहरूको सोचविचार तिनीहरूकै चाहले भरिएका कल्पना र अनुमानहरूबाट आएका हुन्छन् भन्‍ने कुरा तिनीहरूलाई कमै मात्र थाहा छ। तिनीहरूको विश्‍वास परमेश्‍वरबाट आएको कुनै पनि जाँचको अगाडि खडा हुन सक्दैन, तिनीहरूको कथित आत्मिकता र कद परमेश्‍वरको परीक्षा वा निरीक्षणको अगाडि कुनै हालतमा खडा हुन सक्दैन, तिनीहरूको सङ्‍कल्प बालुवामा बनाएको महल जस्तै हुन्छ, परमेश्‍वरको विषयमा तिनीहरूको कथित ज्ञान तिनीहरूको कल्पनाको मनगढन्ते कुराभन्दा बढी केही पनि हुँदैन। वास्तवमा, यी मानिसहरूले परमेश्‍वरका वचनहरूमा ठूलो प्रयत्‍न लगाएका छन्, तैपनि साँचो विश्‍वास के हो, साँचो समर्पण के हो, साँचो वास्ता के हो, वा परमेश्‍वरको साँचो ज्ञान के हो भनी कहिल्यै महसुस गरेका छैनन्। तिनीहरूले सिद्धान्त, कल्पना, ज्ञान, वरदान, परम्परा, अन्धविश्‍वास, साथै मानवीय नैतिक मूल्य-मान्यतालाई लिन्छन्, र यी कुराहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने “पुँजी” र “हतियार” बनाउँछन्, र तिनलाई तिनीहरूको परमेश्‍वरमाथिको विश्‍वास र परमेश्‍वरलाई पछ्याउने कार्यको आधार बनाउँछन्। साथै, परमेश्‍वरको निरीक्षण, परीक्षा, सजाय र न्यायलाई सामना र निराकरण गर्नको लागि तिनीहरूले यो पुँजी र हतियार लिन्छन् र तिनलाई जादुमय तावीज बनाउँछन् जसमार्फत तिनीहरूले परमेश्‍वरलाई चिन्‍न सक्‍छन्। अन्त्यमा, तिनीहरूले जे प्राप्‍त गर्छन् त्यसमा परमेश्‍वरबारेका निष्‍कर्षहरूभन्दा अरू केही हुँदैनन्, जुन धार्मिक भाव, सामन्ती अन्धविश्‍वासमा आधारित हुन्छन्, र मनोरम, विचित्र र रहस्यमय सबै कुरामा आधारित हुन्छन्। परमेश्‍वरलाई चिन्‍ने र परमेश्‍वरको परिभाषा गर्ने तिनीहरूको तरिका भनेको माथिको स्वर्ग, वा आकाशमा भएको बूढो मान्छेमा विश्‍वास गर्ने मानिसहरूको विश्‍वास जस्तै छ, जबकि परमेश्‍वरको व्यावहारिकता, उहाँको सार, उहाँको स्वभाव, उहाँको सम्पत्ति र अस्तित्व, र अन्य कुराहरू—साँचो परमेश्‍वर स्वयम्सँग सम्बन्धित सबै कुराहरू—यिनीहरू ती कुराहरू हुन् जसलाई बुझ्‍न तिनीहरूको ज्ञान असमर्थ भएको छ, जसबाट तिनीहरूको ज्ञान पूर्णतया अलग र उत्तरी र दक्षिणी ध्रुबजतिकै टाढा छ। यसरी, यी मानिसहरू परमेश्‍वरका वचनहरूको प्रबन्ध र पोषणमा बाँचिरहेका भए तापनि, तिनीहरू परमेश्‍वरको डर मान्ने र दुष्‍टताबाट अलग बस्ने मार्गमा साँच्‍चिकै हिँड्न असक्षम भएका छन्। यसको साँचो कारण भनेको तिनीहरू कहिल्यै पनि परमेश्‍वरसँग परिचित नहुनु हो, उहाँसँग तिनीहरूको साँचो सञ्‍चार वा सङ्‍गति नहुनु हो, र त्यसैले तिनीहरू परमेश्‍वरसँगको पारस्परिक बुझाइमा आउन असम्भव भएको हो, वा तिनीहरूले आफूभित्र परमेश्‍वरप्रति साँचो विश्‍वास जगाउन वा उहाँलाई पछ्याउन वा उहाँको आराधना गर्न असम्भव भएको हो। परमेश्‍वरलाई यसरी लिनुपर्छ, परमेश्‍वरका वचनहरूलाई त्यसरी लिनुपर्छ भन्‍ने तिनीहरूको दृष्टिकोण र स्वभावको कारण तिनीहरूले तिनीहरूका प्रयत्‍नहरूबाट रित्तो हात फर्कन बाध्य भएका छन्, अनन्तसम्म पनि परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्ने मार्गमा हिँड्न असक्षम हुन बाध्य भएका छन्। तिनीहरूले राखेको लक्ष्य र तिनीहरूले हिँड्न चुनेको मार्गले तिनीहरू अनन्तसम्म परमेश्‍वरका शत्रुहरू हुन् र तिनीहरूले अनन्तसम्म कहिल्यै पनि मुक्ति प्राप्त गर्न सक्‍नेछैनन् भन्‍ने दर्साउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

१०४. मैले धेरै वर्ष काम गरेको बखत, मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन्, र धेरै कुरा त्यागेका छन्, तैपनि म अझै भन्छु कि तिनीहरू ममा साँचो रूपमा विश्‍वास गर्दैनन्। किनभने मानिसहरू म परमेश्‍वर भएको कुरा मुखले मात्र स्वीकार गर्छन्, तर तिनीहरू मैले व्यक्त गर्ने सत्यताहरूसँग असहमत हुन्छन्, र, अझ भन्नुपर्दा, मैले तिनीहरूबाट माग गर्ने सत्यताहरू अभ्यास गर्दैनन्। भन्नुको मतलब, मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन्, तर सत्यताको अस्तित्वलाई स्वीकार गर्दैनन्; मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन्, तर जीवनको अस्तित्वलाई स्वीकार गर्दैनन्; मानिसहरू परमेश्‍वरको नाउँलाई मात्र स्वीकार गर्छन्, तर उहाँको सारलाई स्वीकार गर्दैनन्। म तिनीहरूको जोसलाई घृणा गर्छु, किनभने तिनीहरू मलाई धोका दिनका लागि मात्र मिठा सुनिने शब्दहरू प्रयोग गर्छन्, र तिनीहरूमध्ये कसैले पनि साँचो हृदयले मेरो आराधना गर्दैनन्। तिमीहरूका शब्दहरूमा सर्पको प्रलोभन मिसिएको हुन्छ; र ती चरम रूपमा अहङ्कारी हुन्छन्, ती प्रधान स्वर्गदूतको साँचो उद्घोष हुन्। अझ भन्नुपर्दा, तिमीहरूका कार्यहरू लाजमर्दो हदसम्म बिग्रिएका र भताभुङ्ग भएका छन्, र तिमीहरूका अत्यधिक चाहनाहरू र लालची अभिप्रायहरू सुन्दा कानलाई अप्रिय लाग्छन्। तिमीहरू सबै मेरो घरका किरा बनेका छौ, जुन मैले तिरस्कार गर्ने वस्तु हुन्। किनभने तिमीहरूमध्ये कोही पनि सत्यतालाई प्रेम गर्दैनौ; यसको सट्टा, तिमीहरू आशिषित् हुन, स्वर्गमा उक्लिन, ख्रीष्टले पृथ्वीमा आफ्नो शक्ति प्रयोग गरिरहनुभएको भव्य दर्शन हेर्न मन पराउँछौ। तर के तिमीहरूजस्तो, यति गहिरो रूपमा भ्रष्ट पारिएको, परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुराको कुनै पत्तो नभएको व्यक्ति कसरी परमेश्‍वरलाई पछ्याउन योग्य हुन सक्छ भनेर तिमीहरूले कहिल्यै सोचेका छौ? तिमीहरू कसरी स्वर्गमा उक्लिन सक्छौ? त्यो अभूतपूर्व भव्य दर्शनको सुन्दर दृश्य हेर्न तिमीहरू कसरी योग्य हुन सक्छौ? तिमीहरूका मुखहरू मलाई धोका दिने शब्दहरू, फोहोर शब्दहरू, मलाई विश्‍वासघात गर्ने शब्दहरू, र अहङ्कारका शब्दहरूले भरिएका छन्। तिमीहरूले मलाई इमानदारीका शब्दहरू, पवित्र पारिएका शब्दहरू, मेरो वचन अनुभव गर्ने र मप्रति समर्पित हुने भन्ने शब्दहरू कहिल्यै बोलेका छैनौ। आखिरमा, तिमीहरूको विश्‍वास चाहिँ कस्तो छ? तिमीहरूको हृदयमा चाहना र पैसाबाहेक अरू केही छैन, र तिमीहरूको दिमागमा भौतिक कुराहरूबाहेक अरू केही छैन। हरेक दिन, तिमीहरू मबाट कसरी केही लिने भनेर लेखाजोखा गर्छौ। हरेक दिन, तिमीहरू मबाट कति सम्पत्ति र कति भौतिक कुराहरू प्राप्त गरिएछ भनेर गन्छौ। हरेक दिन, तिमीहरू आफूले आनन्द लिन सकिने अझ धेरै, अझ उच्च कुराहरूको आनन्द लिन सकौँ भन्नका लागि आफूलाई अझ धेरै आशिष् प्राप्त होस् भनेर पर्खन्छौ। तिमीहरूले हरेक पल सोच्ने कुरामा म पर्दिनँ, न त मबाट आउने सत्यता नै पर्छ, बरु तिमीहरूका श्रीमान् वा श्रीमती, तिमीहरूका छोराछोरी, र तिमीहरूले खाने र लगाउने कुराहरू पर्छन्। तिमीहरू कसरी अझ राम्रो, अझ उच्च आनन्द प्राप्त गर्न सकिन्छ भनेर सोच्छौ। तर तिमीहरूले पेट फुट्ने गरी खाए पनि, के तिमीहरू अझै पनि एउटा लास मात्रै होइनौ र? तिमीहरूले आफूलाई त्यति सुन्दर पहिरनले सजाए पनि, के तिमीहरू अझै पनि जीवनशक्तिविहीन जिउँदो लास मात्रै होइनौ र? तिमीहरू आफ्नो पेटको खातिर कपाल फुल्ने बेलासम्म परिश्रम गर्छौ, तर तिमीहरूमध्ये कसैले पनि मेरो कामका लागि एउटा कपाल समेत बलिदान गर्दैनौ। तिमीहरू आफ्नै देहको खातिर, र आफ्ना छोराछोरीका खातिर निरन्तर दौडधूप गर्छौ, आफ्नो शरीरलाई थकाउँछौ र दिमाग खियाउँछौ—तर तिमीहरूमध्ये एक जनाले पनि मेरा अभिप्रायहरूप्रति कुनै चिन्ता वा चासो देखाउँदैनौ। तिमीहरू अझै पनि मबाट के प्राप्त गर्ने आशा गर्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

१०५. मैले धेरै वचनहरू व्यक्त गरेको छु, र मैले मेरा अभिप्राय र मेरो स्वभाव पनि व्यक्त गरेको छु, तैपनि मानिस मलाई चिन्‍न र ममा विश्‍वास गर्न अझै असमर्थ छ। अथवा, यसो भन्‍न सकिन्छ, मानिस अझै पनि मेरो अधीनमा रहन असक्षम छ। बाइबलभित्र जिउनेहरू, व्यवस्थाभित्र जिउनेहरू, क्रूसमा जिउनेहरू, प्रावधानहरूअन्तर्गत जिउनेहरू, आज मैले गर्ने कामको माझमा जिउनेहरू—तिनीहरूमध्ये कोचाहिँ मसँग मिल्दो छन्? तिमीहरू निश्चित आशिष् र इनामहरू प्राप्त गर्नेबारे मात्रै सोच्छौ, तर तिमीहरूले खासमा कसरी मसँग मिल्ने, वा आफैलाई मविरुद्ध हुनबाट कसरी रोक्‍ने भन्‍ने बारेमा एकपटक पनि कहिल्यै सोचेका छैनौ। म तिमीहरूप्रति धेरै निराश छु, किनभने मैले तिमीहरूलाई धेरै कुरा प्रदान गरेको छु तर तिमीहरूबाट भने मैले अत्यन्तै थोरै पाएको छु। तिमीहरूको छल, तिमीहरूको अहङ्कार, तिमीहरूको लोभ, तिमीहरूका अत्यधिक चाहनाहरू, तिमीहरूको धोका, तिमीहरूको अवज्ञा—यीमध्ये कुनचाहिँ मेरो नजरबाट उम्कन सक्छ र? तिमीहरू मसित झाराटारुवा तरिकाले व्यवहार गर्छौ, तिमीहरू मलाई मूर्ख बनाउने प्रयास गर्छौ, तिमीहरू मलाई बेइज्जत गर्छौ, तिमीहरू मेरो चापलुसी गर्छौ, तिमीहरू मसँग जबरजस्ती असुली गर्छौ र मबाट मेरा भेटीहरू खोस्छौ—त्यस्ता दुष्ट कार्यहरू कसरी मेरो दण्डबाट उम्कन सक्छन्? यी सबै दुष्ट कार्य तिमीहरूको मविरुद्धको शत्रुताका प्रमाण हुन् र मसँग तिमीहरूको बेमेलका प्रमाण हुन्। तिमीहरूमध्ये प्रत्येकले आफू मसँग एकदमै मिल्ने रहेको विश्‍वास गर्छौ, तर त्यसो भएको भए त, त्यस किसिमको अकाट्य प्रमाण कसमा लागू हुनेथ्यो र? तिमीहरू आफूमा मप्रति अत्यधिक इमानदारिता र वफादारिता छ भनी विश्‍वास गर्छौ। तिमीहरूलाई आफू अति कृपालु, अति करुणामय भएको, र मलाई अत्यन्तै धेरै कुरा समर्पित गरेको जस्तो लाग्छ। तिमीहरूलाई तिमीहरूले मेरो लागि जति गर्नुपर्ने हो त्योभन्दा बढी नै गरेको जस्तो लाग्छ। तर के तिमीहरूले कहिल्यै यसलाई आफ्ना कार्यहरूसँग तुलना गरेका छौ? म भन्छु, तिमीहरू अत्यन्तै अहङ्कारी, अत्यन्तै लोभी, अत्यन्तै झाराटारुवा छौ; मलाई मूर्ख बनाउन प्रयास गर्ने तिमीहरूका युक्तिहरू अत्यन्तै चतुर छन्, र तिमीहरूमा प्रशस्तै घृणास्पद अभिप्राय र घृणास्पद विधिहरू छन्। यस विपरीत, तिमीहरूको बफादारी अत्यन्तै थोरै छ, तिमीहरूको निष्कपटता अत्यन्तै नगण्य छ, र तिमीहरूमा विवेक त झनै छैन। तिमीहरू हृदयमा अत्यन्तै दुर्भावपूर्ण छौ, र तिमीहरू कसैलाई छोड्दैनौ, मलाई समेत छोड्दैनौ। तिमीहरू आफ्‍ना छोराछोरी, वा आफ्‍नो श्रीमान्, वा आफ्नै आत्मसंरक्षणको खातिर मेरा लागि ढोका बन्द गरिदिन्छौ। तिमीहरू मेरो बारेमा वास्ता गर्दैनौ—तिमीहरू त आफ्नो परिवार, आफ्‍ना छोराछोरी, आफ्‍नो हैसियत, आफ्‍नो भविष्य, र आफ्‍नो सुखको वास्ता गर्छौ। तिमीहरूले बोल्दा वा काम गर्दा कहिले पो मेरा बारेमा विचार गरेका छौ र? ठन्डीका दिनहरूमा, तिमीहरू आफ्‍नो सन्तान, आफ्‍नो श्रीमान्, आफ्‍नी श्रीमती, वा आफ्‍ना आमाबाबुका बारेमा सोच्छौ। गर्मीका दिनहरूमा पनि, तिमीहरूको विचारमा मेरो कुनै स्थान हुँदैन। तँ आफ्‍नो कर्तव्य निर्वाह गर्दा आफ्‍नै हितहरू, आफ्‍नै व्यक्तिगत सुरक्षा, आफ्नै परिवारका सदस्यहरूका बारेमा सोचिरहेको हुन्छस्। तैँले मेरा लागि कहिले के नै गरेको छस् र? तैँले कहिले चाहिँ मेरा बारेमा सोचेको छस्? तैँले कहिले म र मेरो कामका खातिर जस्तोसुकै आवश्यक कुरा गरेको छस्? मसँगको तेरो अनुकूलताको प्रमाण कहाँ छ? मप्रति तेरो बफादारीको वास्तविकता कहाँ छ? मप्रति तेरो अधीनताको वास्तविकता कहाँ छ? तेरा अभिप्रायहरू कहिले चाहिँ मेरा आशिष्‌हरू प्राप्त गर्नका खातिर थिएनन्? तिमीहरू सबैजना मलाई मूर्ख बनाउन खोजिरहेका छौ। तिमीहरू सबैजना मलाई छल गरिरहेका छौ। तिमीहरू सत्यतासँग खेलबाड गरिरहेका छौ, सत्यताको अस्तित्वलाई लुकाइरहेका छौ, र सत्यताको सारलाई धोका दिइरहेका छौ। तिमीहरू यसरी मेरो विरुद्धमा लाग्ने हुनाले, भविष्यमा तिमीहरूलाई केले कुरिरहेको छ? तिमीहरू काल्पनिक ईश्‍वरसँगको मेल मात्रै पछ्याउँछौ, र काल्पनिक विश्‍वास मात्रै पछ्याउँछौ, तैपनि तिमीहरू ख्रीष्‍टसँग मिल्दा छैनौ। यस्ता दुष्ट कार्यहरू गरेपछि, के तिमीहरूले दुर्जन मानिसहरूसँगै भोग्नुपर्ने बदला भोग्नेछैनौ र? त्यस समयमा, तिमीहरूले ख्रीष्‍टसँग नमिल्ने कोही पनि रिसको दिनबाट बच्न सक्दैन भन्‍ने महसुस गर्नेछौ, र ख्रीष्‍टको विरुद्धमा खडा हुनेहरूमाथि कस्तो प्रकारको प्रतिशोध आउनेछ भन्‍ने कुरा पत्ता लगाउनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ

१०६. तिमीहरूको पछ्याइमा, तिमीहरूसँग अत्यन्तै धेरै व्यक्तिगत धारणा, आशा र भविष्य छन्। तिमीहरूको हैसियतको चाहना र अत्यधिक चाहनाहरूलाई काटछाँट गर्नका निम्ति अहिले यस तरिकाले काम गरिन्छ। यी आशाहरू, हैसियतप्रतिको यो चाहना, र यी धारणाहरू सबै शैतानी स्वभावका प्रतीक हुन्। मानिसहरूको हृदयमा यी कुराहरू हुनुको कारण पूर्णतया शैतानका विषहरूले सधैँ मानिसहरूका विचारहरूलाई क्षयीकृत गरिरहेको हुनु हो। मानिसहरू आफूलाई शैतानका यी परीक्षाहरूबाट कहिल्यै मुक्त गर्न सक्दैनन्, र तिनीहरू पापको माझमा जिउँछन् तैपनि यो पाप हो भनी विश्‍वास गर्दैनन्। अझ भन्नुपर्दा, तिनीहरू सोच्छन्, “हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ, त्यसैले उहाँले हामीलाई आशिष्‌हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरू कसैको भन्दा उच्च हुनुपर्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्‌हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्‍वरमा विश्‍वास गरेको भनिने थिएन।” धेरै वर्षदेखि, आफ्नो अस्तित्वका निम्ति मानिसहरू जुन सोचहरूमा भर परेका छन् तिनले तिनीहरूका हृदयलाई यति हदसम्म क्षयीकृत गरेका छन् कि तिनीहरू छली, डरपोक र घृणास्पद बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्प नभएको मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने समेत बनेका छन्। तिनीहरूसँग स्वयम्‌लाई पार गर्ने सङ्कल्प छँदै छैन, र अझ बढी, यी अन्धकारका प्रभावहरूको बन्धनबाट मुक्त हुने अलिकति पनि साहस छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्नुपछाडिका तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित र सुन्‍न पनि नसकिने किसिमका छन्। मानिसहरू सबै डरपोक, शक्तिहीन, घृणास्पद र कमजोर हुन्छन्। तिनीहरू अन्धकारका शक्तिहरूलाई घृणा गर्दैनन् र ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु, तिनीहरू ज्योति र सत्यतालाई निष्कासित गर्ने भरमग्दुर प्रयास गर्छन्। के तिमीहरूका अहिलेका सोच र दृष्टिकोणहरू यस्तै छैनन् र? अर्थात्, तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तिमीहरूले आशिष्‌हरू प्राप्त गर्नुपर्छ, र तिमीहरूको हैसियत कहिले पनि फुत्केर नजाने र त्यो गैरविश्‍वासीहरूको भन्दा उच्‍च रहने सुनिश्‍चित गरिनुपर्छ—तिमीहरूले आफूभित्र त्यस किसिमको दृष्टिकोण एक-दुई वर्षदेखि मात्र होइन धेरै वर्षदेखि बोक्दै आएका छौ। तिमीहरूको कारोबारी तरिकाको सोचाइ अति विकसित भएको छ। तिमीहरू आज यस चरणमा आइपुगेका भए पनि तिमीहरू हैसियतलाई अझै पनि च्याप्प समातिरहन्छौ; एक दिन तिमीहरूको हैसियत गुम्‍नेछ र तिमीहरूको नाम बर्बाद हुनेछ भन्‍ने गहिरो डरले, तिमीहरू यसबारे खोजीनिती गर्न विशेष रूपले मेहनत लगाउँछौ र दिनहुँ यसलाई नियाल्छौ। मानिसहरूले सहजताप्रतिको आफ्नो चाहना कहिल्यै त्यागेका छैनन्। … तैँले जति यस तरिकाले पछ्याउँछस्, तैँले त्यति नै कम फल प्राप्त गर्छस्। व्यक्तिको हैसियतको चाहना जति ठूलो हुन्छ, उसलाई त्यति नै धेरै गम्भीर काटछाँट गर्नुपर्ने हुन्छ र त्यति नै ठूलो शोधन भोग्नुपर्ने हुन्छ। यस्ता मानिसहरू अत्यन्तै बेकम्मा हुन्छन्! तिनीहरूले आफ्नो हैसियतको चाहनालाई पूर्ण रूपमा त्याग्नका लागि धेरै काटछाँट र न्याय भोग्नैपर्छ। यदि तिमीहरूले यसरी पछ्यायौ भने, तिमीहरूले कुनै फल प्राप्त गर्नेछैनौ। जीवन नपछ्याउनेहरू रूपान्तरित हुन सक्दैनन् र सत्यताका निम्ति नतिर्खाउनेहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेश पछ्याउनमा ध्यान दिँदैनस्, बरु परमेश्‍वरलाई प्रेम गर्न र उहाँको नजिक हुनबाट तँलाई बाँध्ने अत्यधिक चाहना र चीजहरूमा सधैँ ध्यान दिन्छस्। के ती कुराहरूले तँलाई रूपान्तरण गर्न सक्छन्? के तिनले तँलाई राज्यभित्र ल्याउन सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

१०७. मानिस ज्योतिको बीचमा जिउँछ, तर उसलाई ज्योतिको मूल्य थाहा छैन। उसलाई ज्योतिको सार, र ज्योतिको स्रोत, र त्यति मात्र होइन, ज्योति कसको हो भन्‍ने कुरा थाहा छैन। जब म मानिसलाई ज्योति दिन्छु, तुरुन्तै मानिसहरूमाझका अवस्थाहरूलाई जाँच गर्छु: ज्योतिको कारण सबै मानिस परिवर्तन र वृद्धि हुँदैछन्, अनि तिनीहरूले अन्धकारलाई छोडेका छन्। म ब्रह्माण्डको हरेक कुनामा हेर्छु, र पहाडहरू कुहिरोले ढाकिएको, ठन्डामा पानी जमेको देख्छु र ज्योति आएको कारण, मानिसहरूले पूर्वतिर हेर्छन्, ताकि तिनीहरूले केही मूल्यवान् कुरा पत्ता लगाउन सकून्—तापनि मानिसले तुवाँलोभित्र स्पष्ट दिशा छुट्ट्याउन सक्दैन। सम्पूर्ण संसार कुहिरोले ढाकिएको हुनाले जब म बादलहरूको माझबाट हेर्छु, मेरो अस्तित्वलाई पत्ता लगाउने कुनै मानिस हुँदैन। मानिसले पृथ्वीमा केही कुराको खोजी गरिरहेको छ; उसले भोजनको खोजी गरिरहेको जस्तो देखिन्छ; यस्तो लाग्छ, उसले मेरो आगमन पर्खिरहेको छ—तापनि उसले मेरो दिनबारे जान्दैन, र प्रायजसो पूर्वको मधुरो उज्यालो मात्र हेर्न सक्छ। सबै मानिसमध्ये, साँचो रूपमा मेरा अभिप्रायहरूसित मेल खानेहरूलाई म खोजी गर्छु। म सबै मानिसको माझमा हिँड्डुल गर्छु, र सबै मानिसमाझ जिउँछु, तर पृथ्वीमा मानिस सुरक्षित र सकुशल छ, र यसैले साँचो रूपमा मेरा अभिप्रायहरूसँग मेल खाने कोही पनि छैन। मेरा अभिप्रायहरूलाई कसरी ख्याल गर्ने भनी मानिसहरू जान्दैनन्, तिनीहरू मेरा कार्यहरू देख्‍न सक्दैनन्, र तिनीहरू ज्योतिभित्र हिँड्न र ज्योतिबाट चमक प्राप्त गर्न सक्दैनन्। मानिसले मेरा वचनहरूलाई कुनैबेला मूल्यवान् ठाने पनि, शैतानका छली युक्तिहरू छर्लङ्ग देख्‍न सक्दैन; मानिसको कद अति सानो भएकाले, ऊ आफ्नो हृदयले चाहेअनुसार गर्न सक्दैन। मानिसले मलाई कहिल्यै निष्कपट रूपमा प्रेम गरेको छैन। जब म उसलाई उच्‍च पार्छु, ऊ आफूलाई अयोग्य ठान्छ, तर यसले उसलाई मलाई सन्तुष्ट पार्ने कोसिस गर्ने तुल्याउँदैन। ऊ केवल मैले उसलाई दिएको “हैसियत” हातमा राख्छ र त्यसलाई गहिरिएर हेर्छ; मेरो प्रेमिलो स्वभावप्रति असंवेदनशील भएर, बरु ऊ आफ्नो हैसियतका फाइदाहरूमा लिप्त भइरहन्छ। के यो मानिसको कमी होइन र? पहाडहरू सर्दा, के तिनले तेरो हैसियतका लागि घुमाउरो बाटो लिन सक्छन्? जब पानी बग्छ, तब के मानिसको हैसियतसामु रोकिन सक्छ? के मानिसको हैसियतद्वारा आकाश र पृथ्वी उल्टाइन सक्छन्? मैले कुनै बेला मानिसलाई बारम्बार कृपा देखाएँ—तैपनि कसैले पनि यसलाई कदर गरेन र मूल्यवान् ठानेन। तिनीहरूले यसलाई केवल कथाका रूपमा सुने, वा उपन्यासका रूपमा पढे। के मेरा वचनहरूले साँच्‍चै मानिसको हृदयलाई छुँदैनन्? के मेरा वाणीहरूको साँच्‍चै कुनै प्रभाव छैन? के कसैले पनि मेरो अस्तित्वमा विश्‍वास नगरेको हुन सक्छ? मानिसले आफैलाई प्रेम गर्दैन; बरु, मलाई आक्रमण गर्न ऊ शैतानसित एक हुन्छ, र मेरो सेवा गर्न शैतानलाई “सम्पत्ति” का रूपमा प्रयोग गर्छ। म शैतानका सबै छली युक्ति छेड्नेछु, ताकि अब उप्रान्त पृथ्वीका मानिसहरू त्यसको बहकाउमा नपरून्, र ताकि त्यसको अस्तित्वका कारण तिनीहरूले मेरो विरोध नगरून्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २२

१०८. धेरै मानिस—मेरो पिठ्यूँपछाडि—हैसियतका फाइदाहरूमा रमाउँछन्; तिनीहरू खानामा लिप्त हुन्छन्, तिनीहरू सुत्न मन पराउँछन्, र तिनीहरू देहको हरेक ख्याल राख्छन्, अनि देहका लागि कुनै निस्कने बाटो छैन कि भनेर सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफ्नो भूमिका राम्ररी पूरा गर्दैनन्, तर मण्डलीको भरमा बाँच्छन्, अन्यथा तिनीहरू मेरा वचनहरू प्रयोग गरेर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई उपदेश दिन्छन्, अनि माथिबाट अरूलाई नियन्त्रित गर्छन्। यी मानिसहरू आफूलाई परमेश्‍वरको इच्छा पछ्याउने मानिस भनिरहन्छन् र सधैँ आफूलाई परमेश्‍वरका घनिष्ठ भन्छन्—के यो बेतुके होइन र? यदि तेरो मनसाय सही छ, तर तँ परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्न असक्षम छस् भने, तँ मूर्ख भइरहेको छस्; तर यदि तेरो मनसाय सही छैन, र तँ अझै पनि आफूलाई परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्छस् भने, तँ परमेश्‍वरको विरोध गर्ने व्यक्ति होस्, र तँ परमेश्‍वरद्वारा दण्डित हुनुपर्छ! मलाई त्यस्ता मानिसहरूप्रति कुनै सहानुभूति छैन! तिनीहरू परमेश्‍वरको घरमा अरूको भरमा बाँच्छन्, सधैँ देहसुखमा लिप्त हुन्छन्, र परमेश्‍वरका हितहरूलाई कुनै वास्ता गर्दैनन्। तिनीहरू सधैँ व्यक्तिगत फाइदा खोज्छन्, र परमेश्‍वरका अभिप्रायहरूमा ध्यान दिँदैनन्। तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा परमेश्‍वरका आत्माको छानबिन स्वीकार गर्न सक्दैनन्। तिनीहरू कुटिल र छली भएर सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई ठगिरहेका हुन्छन्, र तिनीहरू दुईमुखे हुन्छन्। तिनीहरू दाखबारीको फ्याउरोजस्तै हुन्छन्, सधैँ दाख चोर्छन् र दाखबारी नष्ट गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरका घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिष्‌हरू उत्तराधिकारमा प्राप्त गर्न योग्य छस्? तँ आफ्नो जीवन र मण्डलीका लागि कुनै बोझ लिँदैनस्, के तँ परमेश्‍वरको आज्ञा प्राप्त गर्न योग्य छस्? तँजस्तो व्यक्तिलाई कसले भरोसा गर्ने आँट गर्छ र? जब तँ यसरी सेवा गर्छस्, तब के परमेश्‍वर तँलाई अझ ठूलो काम सुम्पन सक्नुहुन्छ र? के यसले काममा ढिलाइ गराउँदैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

१०९. अधिकांश मानिसहरूले परमेश्‍वरको लागि आफूले गर्ने सेवामा आफ्नो सर्त समेत राख्छन्: तिनीहरूले उहाँ परमेश्‍वर हुनुहुन्छ कि मानिस हुनुहुन्छ भन्‍ने कुनै परवाह गर्दैनन्, तिनीहरू केवल आफ्नो सर्तहरूका बारेमा मात्र बोल्छन्, र तिनीहरूका आफ्नै चाहनाहरूलाई सन्‍तुष्‍ट पार्न खोज्छन्। जब तिमीहरूले मेरो निम्ति खाना पकाउँछौ, तिमीहरू सेवा शुल्क माग गर्छौ, जब तिमीहरू मेरो लागि दौडिन्छौ, तिमीहरू दौड शुल्क माग गर्छौ, जब तिमीहरू मेरो निम्ति काम गर्छौ, तिमीहरू मसँग कामको ज्याला माग्छौ, जब तिमीहरू मेरो लुगा धोइदिन्छौ, तिमीहरू लुगा धुने शुल्क माग्छौ, जब तिमीहरूले मण्डलीको निम्ति दिन्छौ तिमीहरू स्वास्थ्य लाभ शुल्क माग्छौ, जब तिमीहरू वक्ता बनेर बोल्छौ, तिमीहरू वक्ताको शुल्क माग्छौ, जब तिमीहरूले पुस्तकहरू वितरण गर्छौ, तिमीहरू पुस्तक वितरण शुल्क माग्छौ, जब तिमीहरू लेख्छौ, तिमीहरू लेखन शुल्क माग्छौ। मैले काटछाँट गरेकाहरूले समेत प्रतिफलको माग गर्छन्, जबकि घरमा पठाइएका व्यक्तिहरूले आफ्नो नाम खराब बनाएको भन्दै क्षतिपूर्ति माग गर्छन्; विवाह नभएकाहरूले दाइजो माग्छन्, वा आफ्नो यौवन गुमाएको क्षतिपूर्ति माग्छन्; कुखुरा काट्नेहरूले पनि कसाई शुल्क माग्छन्, खाना पकाउनेहरूले त्यसको शुल्क माग्छन्, र सुप पकाउनेहरूले पनि त्यसको शुल्क माग्छन्…। यही नै तिमीहरूको उच्‍च र शक्तिशाली मानवता हो, तिमीहरूको न्यानो विवेकले आदेश गर्ने कार्यहरू यिनै हुन्। तिमीहरूको समझ कहाँ छ? तिमीहरूको मानवता कहाँ छ? तिमीहरूलाई म यो कुरा बताउँछु! यदि तिमीहरू यसरी नै अगाडि बढ्छौ भने म तिमीहरूमाझ काम गर्न छोड्नेछु। म मानव भेषमा रहेका पशुहरूको समूहमा काम गर्नेछैन, सुन्दर अनुहारमा जङ्गली हृदय लुकेका यस्ता समूहका मानिसहरूका निम्ति म कुनै दुःख भोग्‍नेछैन, यस किसिमका पशुहरूका समूहका निम्ति म धैर्यशील हुनेछैन, जसका निम्ति मुक्तिको अलिकति पनि सम्भाव्यता छैन। मैले तिमीहरूलाई पिठ्यूँ फर्काएको दिन तिमीहरूको मर्ने दिन हुन्छ, त्यो दिन तिमीहरूमाथि अन्धकार आउँछ, र त्यो दिन ज्योतिले तिमीहरूलाई त्यागेको दिन हुन्छ। म तिमीहरूलाई भन्छु! तिमीहरूको जस्तो समूहप्रति म कहिल्यै पनि हितकारी हुनेछैन, जुन समूह पशुभन्दा तल झरेको छ! मेरा वचन र कार्यहरूका हद छन्, तिमीहरूका मानवता र विवेक जस्तो छ, त्यसको कारण म कुनै थप कार्य गर्नेछैन, किनकि तिमीहरूमा विवेकको अभाव छ, तिमीहरूले मलाई धेरै पीडा दिएका छौ, तिमीहरूको घृणित व्यवहार देखेर मलाई ज्यादै घिन लाग्छ। मानवता र विवेकको कमी भएका मानिसहरूलाई कहिल्यै पनि मुक्तिको अवसर हुनेछैन; म हृदयहीन र अकृतज्ञ मानिसहरूलाई कहिल्यै मुक्त गर्नेछैन। जब मेरो दिन आउँछ, तब म मेरो प्रचण्ड क्रोधलाई भड्काउने विद्रोही पुत्रहरूमाथि सदासर्वदाका लागि मेरो दन्किँदो ज्वाला बर्साउनेछु, म एक समय मलाई गाली बर्साउने र मलाई त्याग्ने ती पशुहरूमाथि मेरो अनन्त दण्ड लाद्नेछु, म एक समय मसँगै खाने र जिउने तर ममा विश्‍वास नगर्ने, मेरो अपमान गर्ने र मलाई विश्‍वासघात गर्ने विद्रोही पुत्रहरूलाई मेरो रिसको आगोले सदासर्वदाका लागि जलाउनेछु। म मेरो क्रोध भड्काउने सबैलाई मेरो दण्डको अधीनमा राख्नेछु, म एक समय मेरो बराबरीका रूपमा मेरो छेउमा उभिन चाहने तर मलाई कहिल्यै आराधना नगरेका वा मप्रति समर्पित नभएका ती पशुहरूमाथि आफ्नो सम्पूर्ण रिस बर्साउनेछु; मैले मानिसलाई प्रहार गर्ने डण्डा ती पशुहरूमाथि बज्रनेछ जसले एक समय मेरो हेरचाहको आनन्द लिएका थिए र एक समय मैले बोलेका रहस्यहरूको आनन्द लिएका थिए अनि जसले एक समय मबाट भौतिक आनन्दहरू लिने प्रयास गरेका थिए। मेरो ठाउँ लिन खोज्ने कुनै पनि व्यक्तिलाई म क्षमा गर्नेछैनँ; मबाट खानेकुरा र लुगाफाटो खोस्न प्रयास गर्नेहरूमध्ये म कसैलाई पनि बाँकी राख्नेछैनँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्‍वरसँग शत्रुतामा हुनु हो

११०. आज तिमीहरूले जे देख्दैछौ त्यो मेरो मुखको धारिलो तरबार मात्र हो। तिमीहरूले मेरो हातमा भएको डन्डा वा मानिसलाई जलाउने आगोको ज्वाला देखेका छैनौ, र यसैले मेरो उपस्थितिमा तिमीहरू अझै पनि अहङ्कारी र असंयमित छौ। यसैले तिमीहरूको मानवीय जिब्रोले मेरो मुखबाट निस्केका कुराहरूसँग बहस गर्दै तिमीहरू अझै मसँग मेरो घरमा झगडा गर्छौ। मानिस मदेखि त्रसित हुँदैन, र उसले आफूलाई आज पनि मसँगको दुस्मनीमा खडा गरेको भए तापनि, ऊ पूर्णतया निर्भय रहन्छ। तिमीहरूको मुखमा अधर्मी जिब्रो र दाँतहरू छन्। तिमीहरूको वचन र व्यवहार सर्पका जस्ता छन् जसले हव्वालाई पाप गर्न लोभ्यायो। तिमीहरूले एक-अर्काबाट आँखाको बदला आँखा र दाँतको बदला दाँत माग गर्छौ, र तिमीहरूले मेरो उपस्थितिमा आफ्नै लागि पद, प्रतिष्ठा, फाइदाको लागि सङ्घर्ष गर्छौ, तर पनि तिमीलाई थाहा छैन, कि मैले तिमीहरूको वचन र व्यवहार गोप्य रूपमा हेर्दैछु। तिमीहरू मेरो उपस्थितिमा आउनुभन्दा पहिले नै, मैले तिमीहरूको हृदयको भित्री आवाजलाई सुनिसकेको छु। मानिस जहिले पनि मेरो हातको पकडबाट उम्कन र मेरो नजरको अवलोकनबाट भाग्न चाहन्छ, तर म उसका वचनहरू वा व्यवहारहरूबाट कहिल्यै पछि हटिँन। यसको सट्टामा, मैले उद्देश्यपूर्ण रूपमा ती वचनहरू वा व्यवहारहरूलाई मेरो नजरमा प्रवेश गर्न दिन्छु, ताकि मैले मानिसको अधर्मको सजाय दिन सकूँ र उसको विद्रोहीपनमाथि न्याय कार्यान्वयन गर्न सकूँ। यसरी, मानिसका गोप्य वचनहरू वा व्यवहारहरू सधैँ मेरो न्याय आसनको अगाडि रहन्छन्, र मेरो न्यायले मानिसलाई कहिल्यै छोडेको छैन, किनकि उसको विद्रोहीपन एकदमै धेरै छ। मेरो काम भनेको मेरो आत्माको उपस्थितिमा बोलिएका र गरिएका मानिसका वचनहरू र व्यवहारहरूलाई जलाउनु र शुद्ध पार्नु हो। यस प्रकारले,[क] जब म पृथ्वी छोड्छु, मानिसहरूले पृथ्वीमा मेरा कामहरू पूर्ण नहुन्जेलसम्मै त्यसलाई जारी राख्दै अझै पनि मप्रति आफ्नो बफादारीता कायम राख्नेछन्, र अझै पनि मेरा पवित्र सेवकहरूले मेरो काममा सेवा गरेजस्तै गरी सेवा गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

फूटनोटहरू:

क. मूल पाठमा “यस प्रकारले” भन्‍ने वाक्यांश समावेश छैन।


१११. अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ निकै छली छस् भने, तँ सबै मानिस र मामिलाहरूप्रति सतर्क र शङ्कालु हुनेछस्, यसैले मप्रतिको तेरो आस्था शङ्काको जगमाथि निर्माण हुनेछ। म त्यस्तो आस्था कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ। धेरै वर्ष कामको अवधिमा तिमीहरूले धेरै सत्यहरू देख्यौ, तर मेरा कानले के सुनेको छ के तिमीहरूलाई थाहा छ? तिमीहरूमध्ये कति जना सत्यलाई स्वीकार्न इच्छुक छौ? तिमीहरू सबै जना सत्यका निम्ति मूल्य चुकाउन तयार छौ भनी विश्‍वास गर्दछौ, तर तिमीहरूमध्ये कति जनाले सत्यका लागि साँच्चै दुःख भोगेका छौ? तिमीहरूका हृदयमा अधार्मिकता सिवाय केही छैन, जसको कारण मानिसहरू जो भए पनि सबै जना एकसमान रूपमा छली र कुटिल छन् भनी तिमीहरू सोच्छौ—यसको हद यति छ कि तिमीहरू यो समेत विश्‍वास गर्छौ, कि देहधारी परमेश्‍वर एक सामान्य मानिसजस्तै दयालु हृदयरहित वा दयालु प्रेमरहित हुन सक्‍नुहुन्छ। त्योभन्दा बढी, तिमीहरू महान् चरित्र र कृपालु, परोपकारी स्वभाव स्वर्गमा हुनुहुने परमेश्‍वरको मात्र छ भनी विश्‍वास गर्दछौ। तिमीहरू विश्‍वास गर्दछौ, कि त्यस्तो सन्त अस्तित्वमा छैन, पृथ्वीमा अन्धकार र दुष्टले मात्र शासन गर्दछ, जब कि परमेश्‍वर यस्तो व्यक्ति हुनुहुन्छ, जसको साथमा मानिसहरूले आफ्नो भलाइ र सुन्दरताको चाहना सुम्पिन्छन्, उनीहरूले बनाएका कल्पित व्यक्तित्व हुनुहुन्छ। तिमीहरूको मनमा स्वर्गका परमेश्‍वर उच्च, धर्मी र महान्, आराधना र प्रशंसाका योग्य हुनुहुन्छ भने अहिले पृथ्वीमा हुनुहुने यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको एक प्रतिस्थापन, एक साधन हुन्। तिमीहरू यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको बराबर हुन सक्‍नुहुन्‍न भनी विश्‍वास गर्छौ, उहाँको जस्तो सास छ भनी उल्लेख गर्ने कुरा त परै जाओस्। जब परमेश्‍वरको महानता र सम्मानको कुरा आउँछ, यी स्वर्गमा हुनुहुने परमेश्‍वरको महिमाका हुन्, तर जब मानिसको स्वभाव र भ्रष्टताको कुरा आउँछ, ती त्यस्ता गुणहरू हुन्, जसमा पृथ्वीमा हुनुहुने परमेश्‍वरको हिस्सा छ। स्वर्गमा हुनुहुने परमेश्‍वर सदाका लागि उच्च हुनुहुन्छ, जब कि पृथ्वीमा हुनुहुने परमेश्‍वर सदाको लागि महत्त्वहीन, कमजोर र अयोग्य हुनुहुन्छ। स्वर्गका परमेश्‍वर दैहिक भावनाहरूमा होइन, धार्मिकतामा मात्र चल्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरसँग स्वार्थी उद्देश्यहरू मात्र छन् र उहाँसँग निष्पक्षता वा कारण छैन। स्वर्गका परमेश्‍वर अलिकति पनि कुटिल हुनुहुन्‍न र सधैँ विश्‍वासयोग्य हुनुहुन्छ, जब कि संसारका परमेश्‍वरसित सधैँ एउटा गैर-इमानदार पक्ष छ। स्वर्गका परमेश्‍वरले मानिसलाई धेरै प्रेम गर्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरले मानिसलाई अपर्याप्त वास्ता देखाउनुहुन्छ, यहाँसम्म कि, उहाँले आफैलाई पूर्ण रूपमा बेवास्ता समेत गर्नुहुन्छ। यो भ्रमपूर्ण ज्ञान लामो समयदेखि तिमीहरूको हृदयमा रहिआएको छ र भविष्यमा पनि यो स्थायी नै हुन सक्छ। तिमीहरू ख्रीष्टका सबै कामहरूलाई अधर्मीहरूको नजरबाट हेर्छौ र उहाँका सबै काम, साथै उहाँको पहिचान र सारलाई दियाबलसको दृष्टिकोणबाट मूल्याङ्कन गर्छौ। तिमीहरूले गम्भीर गल्ती गऱ्यौ र जुन तिमीहरूभन्दा अघि आउनेहरूले कहिल्यै गरेनन्। अर्थात्, तिमीहरू शिरमा मुकुट लगाउने स्वर्गमा हुनुहुने उच्च परमेश्‍वरको मात्र सेवा गर्दछौ, र त्यस परमेश्‍वरको सामु कहिल्यै जाँदैनौ, जसलाई तिमीहरू यति तुच्छ ठान्छौ कि उहाँ तिमीहरूका निम्ति अदृश्य हुनुहुन्छ। के यो तिमीहरूको पाप होइन? के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको उत्कृष्ट उदाहरण होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्‍वरको आराधना गर्दछौ। तिमीहरू उच्च मूर्तिहरूको आराधना गर्दछौ र विशिष्ट व्यक्तिहरूलाई तिनीहरूका वाक्पटुताका निम्ति सम्मान गर्दछौ। तेरा हातहरू धन-सम्पत्तिले भरिदिनुहुने परमेश्‍वरका आज्ञाहरूलाई तँ खुशीसाथ स्वीकार गर्छस्, र तँ त्यस परमेश्‍वरको चाहना गर्छस्, जसले तेरा प्रत्येक चाहना पूरा गर्नुहुन्छ। तैँले आराधना नगर्ने एउटै मात्र परमेश्‍वर हुनुहुन्छ, जो उच्च हुनुहुन्‍न; तिमीहरू यो परमेश्‍वरसँग सम्बन्ध राख्नुलाई मात्र घृणास्पद ठान्छौ, जसलाई कुनै पनि मानिसले उच्च सम्मान गर्न सक्दैन। तँ यो परमेश्‍वरको मात्र सेवा गर्न अनिच्छुक हुन्छस्, जसले तँलाई एक पैसा पनि दिनुभएको छैन, अनि तँलाई उहाँको चाहना गर्ने बनाउन नसक्‍ने एक मात्र व्यक्ति यही अप्रिय परमेश्‍वर हुनुहुन्छ। यो परमेश्‍वरले तँलाई आफ्‍ना क्षेत्रहरूलाई विस्तार गर्न, तँलाई सम्पत्ति पाएको जस्तो महसुस गराउन सक्‍नुहुन्‍न, तिमीहरूले इच्छा गरेका कुरा पूरा गर्नु त परै जाओस्। त्यसो भए तँ उहाँको पछि किन लाग्छस्? के तैँले यस्ता प्रश्नहरूमाथि विचार गरेको छस्? तैँले गर्ने कामले यस ख्रीष्टलाई मात्र चिढ्याउँदैन; सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यसले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चिढ्याउँछ। मेरो विचारमा, परमेश्‍वरमा भएको तिमीहरूको विश्‍वासको उद्देश्य यो होइन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई वास्तवमा कसरी चिन्ने

११२. धेरै मानिसहरू इमानदारीपूर्वक बोल्नु र कार्य गर्नुभन्दा बरु नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यजनक कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्‍ने कुरा मलाई राम्ररी थाहा छ। तिमीहरू सबै निकै “चलाख” भएकाले, आफ्नै तुच्छ मनस्थितिका आधारमा भद्र मानिसहरूको हृदय मापन गर्न एकदमै सिपालु भएकाले, यसले मेरो कामलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, ल त्यसोभए, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै प्रकोपमा पार्नेछु, ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुन सक। अन्ततः, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्‍ने शब्दहरू निचोर्नेछु, जसपछि तिमीहरू आफ्ना छाती पिट्नेछौ, र “मानिसको हृदय अति छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति के हुनेछ? निश्चय नै, तिमीहरू अहिलेको जति घमण्डले आविष्ट हुनेछैनौ! र अहिले भए जति “गहन र दुर्बोध” त झनै हुनेछैनौ। परमेश्‍वरको उपस्थितिमा, कतिपय मानिसहरू निकै अनुशासित हुन्छन्, र निकै “भद्र” हुन्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाह्राहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको श्रेणीमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तेरा शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म के भन्छु भने तँ सत्यता अभ्यास गर्न अत्यन्तै अनिच्छुक व्यक्ति होस्। यदि तँसँग भन्नै गाह्रो हुने धेरै निजी मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू, आफ्ना कठिनाइहरूबारे अरूसामु खुलेर कुरा गर्नदेखि अत्यन्तै वितृष्ण छस् भने, म के भन्छु भने, तँ त्यस्तो व्यक्ति होस् जसलाई मुक्ति पाउन ठूलो कठिनाइ हुनेछ, र अँध्यारोबाट बाहिर आउन कठिनाइ हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

११३. तिमीहरूका हृदयमा अस्तित्वमा रहेका कपटलाई म गहिरो तवरले बुझ्छु; तिमीहरूमध्ये धेरैले जिज्ञासाको कारण मलाई पछ्याउँछौ र खालीपनको कारण मलाई खोज्‍न आएका छौ। जब तिमीहरूका तेस्रो इच्छा चकनाचूर हुन्छ—शान्तिमय र सुखी जीवनको लागि तिमीहरूको इच्छा—तब तिमीहरूको जिज्ञासा पनि गायब हुन्छ। तिमीहरू हरेकका हृदयमा अस्तित्वमा रहेको कपट तिमीहरूका वचन र कामहरूद्वारा भन्डाफोर हुन्छन्। खुलस्त भन्‍नुपर्दा, तिमीहरू मेरो बारेमा जिज्ञासु मात्र छौ तर मसँग डराएका छैनौ; तिमीहरू आफ्ना जिब्रोलाई वशमा राख्दैनौ र तिमीहरूका व्यवहारमा तिमीहरूले अझै कम संयमता अपनाउछौ। तब तिमीहरूसँग साँच्चै कस्तो प्रकारको विश्‍वास छ? के यो सच्‍चा छ? तिमीहरू मेरा वचनहरूलाई आफ्ना चिन्ताहरू हटाउन र तिमीहरूका दिक्दारी कम गर्नको निम्ति मात्र प्रयोग गर्छौ, तिमीहरूका जीवनमा बाँकी रहेका खालीपन भर्नलाई। तिमीहरूमध्ये कसले मेरा वचनहरूलाई व्यवहारमा उतारेको छ? कोसँग सच्‍चा विश्‍वास छ? परमेश्‍वर मानिसहरूको हृदयको गहिराइ देख्‍ने परमेश्‍वर हुनुहुन्छ भनेर तिमीहरू चिच्याइरहन्छौ, तर तिमीहरूले चिच्याउने तिमीहरूको हृदयमा भएको परमेश्‍वर मसँग कतिको मेल खान्छ? तिमीहरू यसरी चिच्याइरहेका छौ भने किन तिमीहरू त्यस्तो व्यवहार गर्छौ? के तिमीहरूले मलाई तिर्न चाहने प्रेम यही हुनसक्छ? तिमीहरूका ओठमा अलिकति पनि समर्पणता छैन, तर तिमीहरूका बलिदानहरू र तिमीहरूका असल कामहरू कहाँ छन्? तिमीहरूका वचनहरू मेरा कानसम्म आई नपुगेका भए, म तिमीहरूलाई किन यति धेरै घृणा गर्नेथिएँ र? यदि तिमीहरूले साँच्चै ममा विश्‍वास गरेका भए, कसरी तिमीहरू यस्तो हैरानीको अवस्थामा पुग्‍नेथियौ र? पातालमा कष्ट भोग्दै गरेको जस्तै तिमीहरूको अनुहारमा निराशा झल्किन्छ। तिमीहरूमा सजीवताको एक टुक्रा पनि छैन र तिमीहरू तिमीहरूका आन्तरिक आवाजको बारेमा कमजोर तवरले कुरा गर्छौ; तिमीहरू गुनासो र श्रापहरूले समेत भरिएका छौ। मैले गर्ने कामप्रति तिमीहरूले धेरै पहिले नै विश्‍वास गुमायौ र तिमीहरूको मूल विश्‍वास समेत हराएको छ, यसैले तिमीहरूले कसरी अन्तिमसम्म पछ्याउन सक्छौ र? यसो भएको हुनाले, तिमीहरूले कसरी मुक्ति पाउन सकौला?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धलाई वचनहरू

११४. मानिसले परमेश्‍वरमा विश्‍वास गरे पनि मानिसको हृदय परमेश्‍वररहित छ, र परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ भन्‍ने कुराप्रति ऊ अनभिज्ञ छ, र ऊ परमेश्‍वरलाई प्रेम गर्न पनि चाहँदैन, किनकि उसको हृदय कहिल्यै परमेश्‍वरको नजिक जाँदैन र ऊ सधैँ परमेश्‍वरदेखि टाढा रहन्छ। फलस्वरूप, मानिसको हृदय परमेश्‍वरदेखि टाढा छ। त्यसो भए, उसको हृदय कहाँ छ? वास्तवमा, मानिसको हृदय कहीँ पनि गएको छैन: परमेश्‍वरलाई हृदय दिनु वा परमेश्‍वरले हेरून् भनी हृदय देखाउनुको साटो उसले आफ्नो हृदय आफ्नै निम्ति राखेको छ। यस्तो हुँदाहुँदै पनि केही मानिसहरूले प्राय: “हे परमेश्‍वर, मेरो हृदयमा हेर्नुहोस्—म के सोच्छु ती सबै तपाईँ जान्‍नुहुन्छ” भन्दै प्रार्थना गर्छन् र कतिले त परमेश्‍वरलाई आफूमाथि नियाल्न दिने शपथसमेत खान्छन्, शपथ भङ्ग गरे दण्ड दिइओस् भनेरसमेत भन्छन्। मानिसले परमेश्‍वरलाई उसको हृदयभित्र हेर्ने अनुमति दिए पनि, त्यसको अर्थ मानिस परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्षम छ भन्‍ने हुँदैन, न त उसले आफ्नो भाग्य र सम्भावनाहरू र उसका सबै कुराहरू परमेश्‍वरको नियन्त्रणमा छोडेको छ भन्‍ने नै हुन्छ। यसैले, तैँले परमेश्‍वरको अघि शपथ खाए पनि वा उहाँको अघि जे घोषणा गरे पनि परमेश्‍वरको नजरमा तेरो हृदय अझैसम्म उहाँका निम्ति बन्द रहेको छ, किनकि तैँले परमेश्‍वरलाई तेरो हृदयमा हेर्न मात्र दिन्छस् तर उहाँलाई त्यसमाथि नियन्त्रण गर्न दिँदैनस्। अर्को शब्दमा भन्दा, तैँले परमेश्‍वरलाई आफ्नो हृदय बिलकुलै दिएको छैनस्, र परमेश्‍वरलाई सुनाउनको लागि राम्रो सुनिने वचनहरू मात्र बोल्छस्; यस क्रममा तैँले परमेश्‍वरबाट आफ्ना विभिन्‍न छली अभिप्रायहरू लुकाउँछस्, यसको साथै तेरा षड्यन्त्र, युक्ति र योजनाहरू पनि लुकाउँछस् र तैँले आफ्नो सम्भाव्यता र नियतिलाई आफ्नै हातमा पक्रेर राख्छस्, र तँ ती कुरा परमेश्‍वरले खोस्‍नुहुनेछ भनी साह्रै डराउँछस्। यसप्रकार, परमेश्‍वरले कहिल्यै पनि उहाँप्रतिको मानिसको इमानदारिता देख्‍नुहुन्‍न। परमेश्‍वरले मानिसको हृदयको गहिराइलाई अवलोकन गर्नुहुने, र मानिसले के सोचिरहेको छ र उसले आफ्‍नो हृदयमा के गर्ने इच्छा गर्छ, र उसको हृदयभित्र के-कस्ता कुराहरू राखिएका छन् भनी देख्‍न सक्‍नुहुने भए तापनि, मानिसको हृदय परमेश्‍वरको स्वामित्वमा हुँदैन, र उसले परमेश्‍वरको नियन्त्रणमा रहने गरी आफ्नो हृदय दिएको हुँदैन। भन्‍नुको अर्थ, परमेश्‍वरसँग अवलोकन गर्ने अधिकार त हुन्छ, तर नियन्त्रण गर्ने अधिकार भने हुँदैन। मानिसले आफ्नो व्यक्तिपरक चेतनामा आफ्नो योजनाबद्धता परमेश्‍वरलाई गराउने चाहना वा अभिप्राय राख्दैन। मानिसले आफैलाई परमेश्‍वरको लागि बन्द गरेको त छ नै, अझ यहाँ त त्यस्ता मानिसहरू पनि छन् जो झूटो प्रभाव पार्न र परमेश्‍वरको भरोसा जित्‍न चिप्ले कुरा र चापलुसी गर्दै, अनि आफ्नो वास्तविक अनुहार परमेश्‍वरबाट लुकाउँदै आफ्नो हृदय ढाक्‍ने उपायहरू सोच्छन्। परमेश्‍वरलाई देख्‍न नदिनुको पछाडि तिनीहरूको उद्देश्य भनेको तिनीहरू वास्तवमा कस्ता छन् त्यो परमेश्‍वरलाई बुझ्न नदिनु हो। तिनीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिन चाहँदैनन्, बरु आफ्नै निम्ति राख्‍न चाहन्छन्। यसको भित्री अर्थ यही हो कि मानिसले जे गर्छ र उसले जे चाहन्छ ती सबै नै मानिस आफैद्वारा योजना, अनुमान र निर्णय गरिएको हुन्छ; उसलाई परमेश्‍वरको सहभागिता वा हस्तक्षेपको आवश्यकता पर्दैन, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरू उसलाई आवश्यक हुने त कुरै नगरौँ। यसैले, चाहे परमेश्‍वरका आज्ञाहरू, उहाँका आदेशहरूको सम्बन्धमा होस् वा परमेश्‍वरले मानिससँग गर्नुभएका मापदण्डहरूको सम्‍बन्धमा होस्, मानिसका निर्णयहरू उसका आफ्नै इच्छा र चासोहरूमा, त्यो बेलाको उसको आफ्नै अवस्था र परिस्थितिहरूमा आधारित हुन्छन्। मानिसले जहिले पनि ऊ हिँड्नुपर्ने मार्गका बारेमा मूल्याङ्कन गर्न र त्यसलाई चुन्‍न ऊसँग भएको ज्ञान र अनुभव, र उसको आफ्नै बुद्धि प्रयोग गर्छ, र उसले परमेश्‍वरलाई हस्तक्षेप वा नियन्त्रणको अनुमति दिँदैन। परमेश्‍वरले देख्‍नुहुने मानिसको हृदय यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

११५. धेरै मानिसले मलाई साँचो रूपमा प्रेम गर्ने इच्छा गर्छन्, तर तिनीहरूका हृदय तिनीहरूका आफ्नै नभएकोले, आफैमाथि तिनीहरूको कुनै नियन्त्रण हुँदैन; धेरै मानिस मैले दिएका परीक्षाहरू अनुभव गर्दा, मलाई साँचो रूपले प्रेम गर्छन्, तापनि म साँच्‍चै अस्तित्वमा छु भन्‍ने तिनीहरूले बुझ्न सक्दैनन्, र मेरो वास्तविक अस्तित्वको कारणले होइन, तर रित्तोपनमा मात्र मलाई प्रेम गर्छन्; धेरै मानिसले आफ्‍नो हृदय मेरो सामने राख्छन् र त्यसपछि आफ्ना हृदयलाई कुनै ध्यान दिँदैनन्, त्यसकारण मौका पाउनासाथ शैतानले तिनीहरूका हृदय खोसेर लैजान्छ, र तिनीहरूले मलाई त्याग्छन्; मैले मेरा वचनहरू प्रदान गर्दा धेरै मानिसले मलाई साँचो रूपमा प्रेम गर्छन्, तापनि तिनीहरूले मेरा वचनलाई तिनीहरूका आत्मामा राख्दैनन्, त्यसको साटो तिनीहरूले ती वचनलाई अनौपचारिक रूपमा सार्वजनिक सम्पत्तिजस्तो गरेर प्रयोग गर्छन् र जब तिनीहरूलाई इच्छा हुन्छ तब ती वचन जहाँबाट आएका थिए त्यतै हुत्याउँछन्। सबै मानिस पीडाबीच मलाई खोज्छन्, र परीक्षाहरूबीच मतिर हेर्छन्; शान्तिको समयमा तिनीहरू मेरो आनन्द लिन्छन्, जोखिममा पर्दा तिनीहरू मलाई इन्कार गर्छन्, व्यस्त हुँदा तिनीहरू मलाई भुल्छन्, र तिनीहरू आफ्नो खाली समयमा मलाई पन्छाउन केही झाराटारुवा प्रयासमा संलग्‍न हुन्छन्। अनि कसैले पनि मलाई आफ्नो जीवनभरि प्रेम गरेको छैन। म मानिसहरू मेरो सामु गम्भीर होऊन् भन्‍ने चाहन्छु। म उनीहरूले मलाई कुनै कुरा दिऊन् भनी माग गर्दिनँ, बरु तिनीहरू मलाई गम्‍भीर रूपमा लिऊन्, तिनीहरू मलाई फुस्ल्याउनुको साटो मलाई तिनीहरूको इमानदारी प्राप्त गर्न मात्र दिऊन् भनी माग गर्छु। मेरो अन्तर्दृष्टि, ज्योति, र मेरो रगत-पसिना सबै मानिसमा व्याप्त छ, यद्यपि मानिसको प्रत्येक कार्यको वास्तविक तथ्यका साथै तिनीहरूले मलाई गरेको छल पनि सबै मानिसमा व्याप्त छ। मानौँ, मानिसको छलकपटका तत्त्वहरू गर्भदेखि नै ऊसँगै रहेका छन्, मानौँ, छलकपटका यी विशेष सीपहरू ऊसँग जन्मदेखि नै छन्। यसबाहेक, उसले आफ्‍नो रहस्यलाई कहिल्यै प्रकट गरेको छैन; यी कपटपूर्ण सीपहरूको स्रोतलाई कसैले कहिल्यै देखेको छैन। फलस्वरूप, मानिस आफूले थाहै नपाई छलकपटमा बाँचिरहेको छ, र यस्तो लाग्छ, मानौं उसले आफैलाई क्षमा गर्दछ, मानौं यो उसले जानी-जानी मसँग गरेको छल नभएर परमेश्‍वरको प्रबन्ध हो। के मानिसले मसँग गरेको छलको स्रोत यही होइन र? के यो उसको चलाकी होइन र? मानिसको झुटो मिठो कुराद्वारा म कहिल्यै पनि लट्ठ भएको छैनँ, किनकि मैले धेरैअघि नै उसको वास्तविक सार पत्ता लगाएको थिएँ। उसको रगतमा कति धेरै अशुद्धता छ, र उसको हड्डीको मासीमा शैतानको कति धेरै विष छ भन्‍ने कसलाई के थाहा? प्रत्येक दिन बित्दै जाँदा मानिसलाई अझ बढी यसमा बानी पर्दै जान्छ, यहाँसम्म कि शैतानले पुऱ्याएको हानि समेत उसले महसुस गर्दैन, र “स्वस्थ अस्तित्वको कला” पत्ता लगाउन उसले कुनै चासो राख्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २१

११६. मानिसहरू सबै आत्म-ज्ञानको कमी भएका प्राणी हुन्, र तिनीहरू आफूलाई चिन्न सक्दैनन्। तैपनि, तिनीहरू अरू सबैलाई आफ्नो हत्केलाजस्तै छर्लङ्गै चिन्छन्, मानौँ अरूले गरेका र भनेका सबै कुरा पहिले उनीहरूकै अगाडि तिनीहरूद्वारा “निरीक्षण” गरिएका हुन्, र गरिनुअघि उनीहरूको स्वीकृति प्राप्त गरिएको हो। फलस्वरूप, यस्तो लाग्छ कि तिनीहरूले अरू सबैलाई उनीहरूको मनोवैज्ञानिक स्थितिसम्म पूर्ण मापन गरेका छन्। मानवजाति सबै यस्तै हुन्छन्। आज तिनीहरू राज्यको युगमा प्रवेश गरेका भए पनि, तिनीहरूको प्रकृति अपरिवर्तित नै रहेको छ। तिनीहरू अझै पनि मेरो अगाडि म जे गर्छु त्यही गर्छन्, जबकि मेरो पिठ्युँ पछाडि तिनीहरू आफ्नै अनौठो “काम” गर्न थाल्छन्। तर, पछि, मेरो अगाडि आउँदा, तिनीहरू पूर्ण रूपमा अर्कै मानिस जस्ता देखिन्छन्, जो स्पष्ट रूपमा शान्त र निडर हुन्छन्, जसको शान्त मुद्रा र स्थिर धड्कन हुन्छ। के मानिसहरूलाई यति घृणास्पद बनाउने ठ्याक्कै यही कुराले होइन र? अति धेरै मानिस दुइटा पूर्ण रूपमा फरक अनुहार बोकेर हिँड्छन्—एउटा मेरो अगाडि हुँदा, र अर्को मेरो पिठ्युँ पछाडि हुँदा। तिनीहरूमध्ये धेरै जना मेरो अगाडि हुँदा भर्खरै जन्मेका थुमाजस्तै व्यवहार गर्छन्, तर मेरो पिठ्युँ पछाडि हुँदा, तिनीहरू हिंस्रक बाघमा परिणत हुन्छन् र पछि डाँडाकाँडामा खुसीले उडिहिँड्ने साना चराचुरुङ्गीजस्तै व्यवहार गर्छन्। धेरैले मेरो अगाडि उद्देश्य र सङ्कल्प देखाउँछन्। धेरै जना तृष्णा र अभिलाषा बोकेर मेरा वचनहरू खोज्दै मेरो अगाडि आउँछन्, तर मेरो पिठ्युँ पछाडि हुँदा, तिनीहरू तीप्रति वितृष्ण महसुस गर्छन् र तिनलाई परित्याग गर्छन्, मानौँ मेरा वाणीहरू बोझ हुन्। कैयौँ पटक, मानवजातिलाई मेरो शत्रुद्वारा भ्रष्ट तुल्याइएको देखेपछि, मैले मानिसहरूमा आफ्नो आशा राख्न छोडेको छु। कैयौँ पटक, तिनीहरू रुँदै मेरो अगाडि क्षमा माग्न आएको देखेपछि पनि, तिनीहरूको आत्म-सम्मानको कमी र हठी ढिठ्याइँका कारणले गर्दा, तिनीहरूसँग साँचो हृदय र सच्चा अभिप्रायहरू हुँदाहुँदै पनि, मैले रिसमा तिनीहरूका कार्यहरूप्रति आँखा चिम्लेको छु। कैयौँ पटक, मैले मसँग सहकार्य गर्न पर्याप्त आत्मविश्‍वास बोकेका मानिसहरू देखेको छु, जो, मेरो अगाडि हुँदा, मेरो अँगालोमा बसेर यसको न्यानोपनको स्वाद लिइरहेका जस्ता देखिन्छन्। कैयौँ पटक, मेरा चुनिएका मानिसहरूको निर्दोषता, जीवन्तता, र प्यारोपन देखेर, म कसरी यी कुराहरूका कारणले निकै प्रसन्न नहुन सक्छु र? मानवजातिलाई मेरो हातमा रहेका तिनीहरूका पूर्वनियोजित आशिष्‌हरूमा कसरी आनन्द लिने भन्‍ने थाहा हुँदैन, किनभने तिनीहरू “आशिष्‌” वा “दुःख” को अर्थ ठ्याक्कै के हो भन्ने बुझ्दैनन्। त्यसकारण, मानिसहरू मलाई साँचो रूपमा पछ्याउँदैनन्। यदि भोलिको अस्तित्व नहुने हो भने, तिमीहरूमध्ये को चाहिँ मेरो उपस्थितिमा हिउँजस्तै शुद्ध र जेडजस्तै निष्खोट हुनेथियो? के मप्रतिको तेरो प्रेमलाई एउटा स्वादिष्ट भोजन, उच्चस्तरीय कपडा, वा उच्च पद वा मोटो तलबसँग साट्न सकिन्छ र? के यसलाई तँलाई अरूले गर्ने प्रेमसँग साट्न सकिन्छ र? के वास्तवमा परीक्षाहरूको भोगाइले गर्दा मानिसहरूले मप्रतिको प्रेम त्याग्ने हुन सक्छ? अथवा दुःख र सङ्कष्टहरूले गर्दा तिनीहरू मेरा प्रबन्धहरूबारे गुनासो गर्न सक्छन्? मेरो मुखमा भएको धारिलो तरवारलाई कसैले कहिल्यै साँचो रूपमा अनुभव गरेको छैन: तिनीहरू साँचो रूपमा यसको साँचो अर्थलाई नबुझी यसको सतही अर्थ मात्र जान्दछन्। यदि मानवजातिले साँच्चै मेरो तरवारको धारिलोपन देख्न सक्ने भए, तिनीहरू मुसाजस्तै भागेर आफ्नो दुलोमा पस्नेथिए। तिनीहरूको बोधोपनका कारणले गर्दा, मानिसहरू मेरा वचनहरूको साँचो अर्थ केही पनि बुझ्दैनन्, र त्यसैले तिनीहरूलाई मेरा वाणीहरू कति शक्तिशाली छन् वा तिनले मानव प्रकृतिलाई कति चाहिँ खुलासा गर्छन् र ती वचनहरूद्वारा तिनीहरूको आफ्नै भ्रष्टताको कति न्याय गरिएको छ भन्‍ने थाहा हुँदैन। यसरी, मेरा वचनहरूबारे तिनीहरूको अपूरो बुझाइको परिणामस्वरूप, धेरैजसो मानिसले उत्साहहीन मनोवृत्ति अपनाएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १५

११७. युगहरूभरि, धेरै जना निराशामा र अनिच्छुक हुँदै यस संसारबाट बिदा भएका छन् र धेरै जना आशा र विश्‍वासको साथ यहाँ आएका छन्। मैले धेरैको निम्ति आउने बन्दोबस्त गरेको छु र धेरैलाई पठाएको छु। अनगिन्ती मानिस मेरा हात भएर गएका छन्। धेरै आत्मालाई पातालमा फालिएका छन्, धेरैले शरीरमा जिए र धेरै मरेका छन् र यस पृथ्वीमा पुनः जन्मेका छन्। तथापि तिनीहरूमध्ये कसैले पनि राज्यका आशिष्‌हरूको आनन्द लिने मौका पाएका छैनन्। मैले मानिसलाई धेरै नै दिएको छु, तैपनि उसले थोरै प्राप्त गरेको छ, शैतानका शक्तिहरूको आक्रमणका कारण ऊ मेरा सबै सम्पत्तिहरूको आनन्द लिन नसक्ने भएको छ। उसले ती सम्पत्तिलाई देख्‍ने सौभाग्य मात्र पायो, तर पूर्ण रूपमा तिनको आनन्द लिन कहिल्यै पाएको छैन। मानिसले स्वर्गका सम्पत्तिहरू प्राप्त गर्न आफ्‍नो शरीरमा कहिले पनि खजाना घर भेट्टाएको छैन, यसैले मैले उसलाई प्रदान गरेका आशिष्‌हरू उसले गुमाएको छ। के मानिसको आत्मा भनेको उसलाई मेरो आत्मासँग जोड्ने कुरा होइन र? मानिस किन उसको आत्माद्वारा ममा कहिले पनि लीन भएको छैन? ऊ किन देहमा मेरो नजिक आउँछ, तैपनि आत्मामा त्यसो गर्न असक्षम छ? के मेरो साँचो मुहार देहको मुहार हो? मानिसले किन मेरो सार जान्दैन? के वास्तवमा मानिसको आत्मामा मेरो कुनै पनि चिन्‍ह छैन? के म मानिसको आत्मादेखि पूर्ण रूपमा हराएको छु? यदि मानिस आत्मिक क्षेत्रमा प्रवेश गर्दैन भने, उसले कसरी मेरा अभिप्रायहरूलाई राम्ररी बुझ्‍न सक्छ? मानिसको नजरमा आत्मिक क्षेत्रलाई प्रत्यक्ष रूपमा छेड्न सक्‍ने कुरो छ? मैले मानिसलाई धेरै पटक मेरो आत्माद्वारा बोलाएको छु, तैपनि मैले घोचेको छु जस्तो गरी मानिसले व्यवहार गर्छ अनि उसलाई अर्कै संसारमा डोर्‍याउँछु कि भन्‍ने ठूलो डरले मलाई टाढैबाट सम्‍मान गर्छ। मैले धेरै पटक मानिसको आत्मालाई सोधपुछ गरेँ, तापनि म उसको घरमा पस्‍नेछु र उसका सबै सर-सम्पत्ति खोस्ने मौका छोप्‍नेछु भनेर अत्यन्तै डराउँदै ऊ पूर्णतया बेखबर रहन्छ। यसैले मजबुत तरिकाले बन्द गरिएको ढोकाबाहिर मलाई जाडो सहनको लागि छोडेर, उसले मलाई बाहिरै राख्छ। मानिस धेरै पटक लडेको छ र मैले उसलाई बचाएको छु, तापनि उठेपछि उसले मलाई तुरुन्तै छोड्छ, अनि मेरो प्रेमले उसलाई छुन नपाउँदै, मतर्फ सावधानीपूर्वक नजर लाउँछ; मैले मानिसको हृदयलाई कहिल्यै पनि न्यानो पारेको छैनँ। मानिस भावनाविनाको चिसो रक्तधारी प्राणी हो। मेरो अङ्गालोमा न्यानो भए तापनि, ऊ यसबाट कहिले पनि गहिरोसित प्रभावित भएको छैन। मानिस पहाडमा बस्ने जङ्गलीजस्तो छ। मैले मानवजातिको निम्ति गरेका सबै हेरचाहलाई उसले कहिले पनि महत्त्व दिएको छैन। ऊ मेरो नजिक आउन अनिच्छुक छ, पर्वतहरूको माझमा बस्‍न रुचाउँछ, जहाँ उसले जङ्गली पशुहरूको खतरालाई सहन्छ—तापनि ऊ ममा शरण लिन अझै अनिच्छुक छ। म कुनै पनि मानिसलाई कर लगाउँदिनँ: म मेरो काम मात्र गर्छु। त्यो दिन आउने छ जब मानिस शक्तिशाली समुद्रको बीचबाट मेरो छेउमा पौडन्छ, ताकि उसले पृथ्वीका सबै सम्पत्तिको आनन्द लिन सकोस् र समुद्रद्वारा निलिने खतरालाई पछाडि छाडोस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २०

११८. तिमीहरूको विश्‍वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न इच्छुक छौ भनेर भन्छौ, तर तिमीहरूका स्वभावचाहिँ त्यति धेरै बदलिएको छैन। तिमीहरूको वास्तविक व्यवहार एकदमै नीच छ, तैपनि तिमीहरू केवल अहङ्कारका साथ बोल्छौ। यो त मानिसहरूको जिब्रो र ओठहरू स्वर्गमा भएको तर पाउहरूचाहिँ धर्तीमा रहेको जस्तो भयो, जसको फलस्वरूप तिनीहरूका बोलीवचन र कर्महरू अनि तिनीहरूको मानमर्यादा अझै पनि खण्डहर र बरबादीमै छन्। तिमीहरूको प्रतिष्ठा नाश भएको छ, तिमीहरूको तौरतरिका नीच छ, तिमीहरूको बोल्ने शैली तुच्छ छ र तिमीहरूको जीवन घृणास्पद छ; तिमीहरूको सम्पूर्ण मानवतासमेत तुच्छताको तल्लो बिन्दुमा डुबेको छ। तिमीहरू अन्य व्यक्तिहरूप्रति सङ्कीर्ण छौ र तिमीहरू हर तुच्छ कुरामा बखेडा झिक्छौ। तिमीहरू आफ्नै मानमर्यादा र हैसियतको विषयलाई लिएर यति हदसम्म झगडा गर्छौ कि तिमीहरू नर्क र अग्‍निकुण्डमा जाकिन पनि इच्छुक हुन्छौ। तिमीहरू पापी छौ भनी निर्क्योल गर्नको लागि मलाई तिमीहरूका वर्तमान बोलीवचन र कर्महरू नै काफी छन्। मलाई तिमीहरू अधर्मीहरू हौ भनी निर्क्योल गर्नको लागि मेरो कामप्रतिको तिमीहरूका मनोवृत्ति नै काफी छन् र तिमीहरू सबै द्वेषले भरिपूर्ण फोहोरी प्राणहरू हौ भनी देखाउनको लागि तिमीहरूका सारा स्वभावहरू नै काफी छन्। तिमीहरू अशुद्ध आत्माहरूको रगत अघाउन्जेल पिएका व्यक्तिहरू हौ भनी भन्‍नको लागि मलाई तिमीहरूको प्रकटीकरण र तिमीहरूले देखाउने कुराहरू नै पर्याप्त छन्। जब राज्यमा प्रवेश गर्ने कुरा गरिन्छ, तब तिमीहरूले आफ्ना भावनाहरू प्रकट गर्दैनौ। के तिमीहरू स्वर्गको मेरो राज्यको प्रवेशद्वारबाट छिर्नको लागि अहिले तिमीहरू जे-जस्तो छौ त्यो नै काफी छ भनेर विश्‍वास गर्छौ? के तिमीहरू मैले तिमीहरूका बोलीवचन र कर्महरूलाई पहिले जाँच नगरीकनै मेरो काम र वचनहरूको पवित्रस्थलमा तिमीहरूले प्रवेश प्राप्त गर्न सक्छौ भनी विश्‍वास गर्छौ? कसले मेरो आँखामा पर्दा टाङ्न सक्छ? तिमीहरूका घृणास्पद, तुच्छ व्यवहार र कुराकानीहरू मेरो नजरबाट कसरी बच्न सक्छन्? मैले तिमीहरूका जीवनलाई ती अशुद्ध आत्माहरूका रगत र मासु खाने जीवन भनी निर्धारण गरेको छु किनभने तिमीहरूले हरेक दिन मेरो अगाडि तिनीहरूको नक्‍कल गर्छौ। मेरो अगाडि, तिमीहरूको व्यवहार विशेष रूपमै खराब रहेको छ, अनि मैले तिमीहरूलाई कसरी घिनलाग्दो पाउँदिनथेँ र? तिमीहरूका शब्दहरूमा अशुद्ध आत्माहरूका अशुद्धताहरू छन्: तिमीहरू जादूगरी गर्नेहरू र छलकपट गर्ने अनि अधर्मीहरूको रगत पिउनेहरूले जस्तै चापलुसी गर्छौ, कुरा लुकाउँछौ र झूटो तारिफ गर्छौ। मानिसका सबै अभिव्यक्तिहरू अधर्मी छन्, अनि कसरी धर्मीहरू रहेको पवित्रस्थलमा सबै मानिसहरूलाई राख्‍न सकिन्छ? के तँ तेरा घिनलाग्दा व्यवहारहरूले तँलाई ती अधर्मीहरूको तुलनामा पवित्र भनी छुट्याउँछ भनी सोच्छस्? आखिरमा तेरो सर्पजस्तो जिब्रोले विनाश र द्वेष मच्‍चाउने तेरो देहलाई बरबाद पार्नेछ र अशुद्ध आत्माका रगतमा लतपत तेरा हातहरूले पनि आखिरमा तेरो आत्मालाई नर्कतिर तानेर लैजानेछन्। अनि किन तैँले फोहोरमा लतपत तेरा हातहरू धुने यो मौकाको फाइदा उठाउँदैनस्? किन तैँले अधर्मी शब्दहरू बोल्ने तेरो जिब्रो काटेर फाल्ने यो अवसरको सदुपयोग गर्दैनस्? के तँ तेरा हातहरू, जिब्रो र ओठहरूको लागि नर्कका ज्वालाहरूमा पीडा भोग्‍न इच्छुक भएकोले यस्तो भएको हो? म हरेक व्यक्तिको हृदयलाई मेरा दुवै आँखाहरू लगाई हेर्छु, किनभने मैले मानवजाति सृजना गर्नुभन्दा धेरैअघि मैले तिनीहरूको हृदयलाई मेरा हातहरूमा लिएको थिएँ। मैले धेरैअघि मानिसहरूको हृदयलाई हेरेको छु, अनि कसरी तिनीहरूको सोच मेरो दृष्टिबाट बच्न सक्छन् र? तिनीहरू मेरो आत्माद्वारा जल्नबाट बच्नलाई कसरी धेरै ढीला भइसकेको नहोला र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

११९. तेरा ओठहरू ढुकुरहरूभन्दा दयालु छन्, तर तेरो हृदयचाहिँ प्राचीन सर्पभन्दा पनि कुटिल छ। तेरा ओठहरू लेबनानी स्‍त्रीहरूभन्दा पनि सुन्दर छन्, तैपनि तेरो हृदय तिनीहरूको हृदयभन्दा दयालु छैन र कनानीहरूको सौन्दर्यसँग त यसको तुलना हुनै सक्दैन। तेरो हृदय अत्यन्तै छली छ! मैले घृणा गर्ने कुराहरू भनेका अधर्मीहरूका ओठहरू र तिनीहरूका हृदयहरू मात्रै हुन्, अनि मानिसहरूको लागि मेरा आवश्यक मापदण्डहरू मैले सन्तहरूबाट जे अपेक्षा गर्छु त्योभन्दा बिलकुलै उच्‍च छैनन्; यति मात्र हो कि म अधर्मीहरूको दुष्कर्मप्रति घृणा महसुस गर्छु, र म आशा गर्छु, तिनीहरू आफ्नो फोहोरीपन फाल्न र आफ्नो वर्तमान दुर्दशाबाट बच्न सफल होऊन् ताकि तिनीहरू अधर्मीहरूभन्दा अलग र राम्रा देखिन अनि धर्मीहरूसँग पवित्र भई साथै जिउन सकून्। म जस्तो परिस्थितिमा छु, तिमीहरू पनि त्यस्तै परिस्थितिमा छौ, तैपनि तिमीहरू फोहोरमा लतपतिएका छौ; तिमीहरूमा सुरुवातमा सृष्टि गरिएका मानिसहरूको मूल रूप अलिकति पनि छैन। अझ भन्‍ने हो भने, तिमीहरूले हरेक दिन अशुद्ध आत्माहरूको रूपको नक्‍कल गर्दै तिनीहरू जे गर्छन् त्यही गर्ने र तिनीहरू जे भन्छन् त्यही भन्‍ने भएकाले, तिमीहरूका सबै अङ्ग—तिमीहरूको जिब्रो र ओठसमेत—तिनीहरूको फोहोर पानीमा यस हदसम्म भिजेका छन् कि तिमीहरू पूर्ण रूपमा त्यस्ता दागले ढाकिएका छौ, र तिमीहरूको एउटा अङ्ग पनि मेरो कामका लागि प्रयोग गर्न मिल्दैन। यो एकदमै हृदयविदारक छ! तिमीहरू घोडा र चौपायाहरूको यस्तो संसारमा जिउँछौ, तैपनि तिमीहरूले वास्तवमा व्यथित महसुस गर्दैनौ; तिमीहरू खुसीले भरिपूर्ण छौ अनि स्वतन्त्र र सहज रूपले जिउँछौ। तिमीहरू त्यो फोहोर पानीमा यताउता पौडिरहेका छौ, तैपनि तिमीहरू वास्तवमा आफू यस्तो दुर्दशामा खसेको महसुस गर्दैनौ। तिमीहरू हरेक दिन अशुद्ध आत्माहरूसँग समय बिताउँछौ र “मलमूत्र” सँग सम्पर्क गर्छौ, अनि तिमीहरूको जीवन निकै तुच्छ छ; तैपनि तँलाई आफू मानव संसारमा बिलकुलै नजिएको र आफू आफ्नै नियन्त्रणमा नभएको कुरा वास्तवमै थाहा छैन। के तँलाई तेरो जीवन धेरै पहिले नै ती अशुद्ध आत्माहरूद्वारा कुल्चिसकिएको छ, वा तेरो चरित्र धेरै पहिले नै फोहोर पानीद्वारा दूषित भइसकेको छ भन्‍ने थाहा छैन? के तँ आफू सांसारिक स्वर्गमा जिइरहेको, र खुसीयालीमाझ रहेको भन्ठान्छस्? के तँलाई आफू अशुद्ध आत्माहरूको साथमा जीवन जिएको, र तिनीहरूले तेरा लागि तयार गरेका सबै कुरासँग सह-अस्तित्वमा रहेको थाहा छैन? तैँले जिउने शैलीको कसरी कुनै अर्थ हुन सक्थ्यो र? तेरो जीवनको कुनै मूल्य कसरी हुन सक्थ्यो र? तँ तेरा बुबाआमाहरू, अशुद्ध आत्माका बुबाआमाहरूको लागि यताउता दौडधूप गर्दै आएको छस्, तैपनि तँलाई थाहै छैन कि तँलाई फन्दामा पार्ने भनेका ती अशुद्ध आत्माका बुबाआमाहरू नै हुन् जसले तँलाई जन्म दिए र हुर्काए। यसअलावा, तेरा ती सबै फोहोरी कुराहरू वास्तवमा तँलाई तिनीहरूले नै दिएका हुन् भन्‍ने पनि थाहा छैन; तँलाई थाहा भएको एउटै कुरा के हो भने, तिनीहरूले तँलाई “आनन्द” उपलब्ध गराइदिन्छन्, तिनीहरूले तँलाई सजाय दिँदैनन्, तिनीहरूले तेरो न्याय पनि गर्दैनन्, र तिनीहरूले विशेष गरी तँलाई श्राप दिँदैनन्। तिनीहरू कहिल्यै पनि तेरो अघि रिसले चूर भएका छैनन्, बरु तिनीहरूले तँलाई स्‍नेह र दयाको साथ व्यवहार गर्छन्। तिनीहरूका शब्दहरूले तेरो हृदयलाई पोषण दिन्छन् र तँलाई मोहित पार्छन्, जसले गर्दा तँ भ्रमित बनेर तैँले महसुसै नगरी तँ फस्दै जान्छस् र तिनीहरूलाई सेवा दिन इच्छुक बन्छस्, र तिनीहरूको निकास र सेवक बन्छस्। तँसित कुनै गुनासाहरू हुँदैनन्, बरु तँ उनीहरूका लागि कुकुर र घोडाहरूझैं काम गर्न इच्छुक हुन्छस्; तँ तिनीहरूको बहकाउमा पर्छस्। यसकारण, मैले गर्ने कामप्रति तेरो बिलकुल कुनै प्रतिक्रिया हुँदैन। अवश्य नै तँ सधैँ गुप्त रूपले मेरा औँलाहरूको बीचबाट लुसुक्‍क भाग्‍न चाहन्छस् र तैँले मबाट धोकापूर्वक निगाह पाउनको लागि सधैँ मीठामीठा शब्दहरू प्रयोग गर्नु स्वभाविकै हो। पछि थाहा हुँदा, तँसँग पहिले नै अन्य योजना, अन्य बन्दोबस्त हुन्छ। तैँले सर्वशक्तिमान्‌को रूपमा मैले गरेका मेरा कार्यहरूको केही अंश देख्‍न सक्छस्, तर तँलाई मेरो न्याय र सजायको बारेमा अलिकति पनि ज्ञान छैन। तँलाई मेरो सजायको काम कहिले सुरु भयो, केही थाहा छैन; तँलाई कसरी मलाई ठग्‍ने भन्‍ने मात्र थाहा छ—म मानिसको कुनै पनि उल्लङ्घन सहन्‍नँ भन्‍ने तँलाई थाहा छैन। तैँले पहिले नै मलाई सेवा गर्ने संकल्प गरेको हुनाले, म तँलाई जान दिन्‍नँ। म दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुँ र म मानवताप्रति ईर्ष्या गर्ने परमेश्‍वर हुँ। तैँले तेरा वचनहरूलाई यसअघि नै वेदीमा चढाइसकेको हुनाले, मेरा आँखाअघिबाट तँ भागेको म सहन्‍नँ, न त म तैँले दुई जना मालिकलाई सेवा गरेको नै सहन्छु। के तँ तेरा वचनहरू मेरो वेदीमा र मेरा आँखैअघि चढाइसकेपछि, तँसँग दोस्रो प्रेम हुन सक्छ भन्‍ने ठान्छस्? कसरी मैले मानिसहरूलाई त्यस प्रकारले म आफैलाई मूर्ख बनाउन दिन सक्छु? के तँ तेरो जिब्रोले यत्तिकै लापरवाही रूपमा भाकल गर्न र शपथ लिन सक्छु भन्‍ने ठान्छस्? तैँले कसरी मेरो सिंहासनअगाडि, सर्वोच्‍च स्वयम्‌को सिंहासनअगाडि शपथ लिन सक्छस्? के तैँले तेरा शपथहरू यसअघि नै समाप्त भइसके भन्‍ने ठानेको थिइस्? म तिमीहरूलाई भन्छु: तिमीहरूको देह मरेर गए पनि, तिमीहरूको शपथ मर्दैन। अन्त्यमा, म तिमीहरूलाई तिमीहरूका शपथहरूको आधारमा दोषी ठहराउनेछु। तथापि, तिमीहरूले आफ्ना वचनहरू मेरो अघि राखेर मसँग लापरवाह व्यवहार गर्न सक्छौ र तिमीहरूका हृदयले अशुद्ध आत्मा र दुष्ट आत्माहरूको सेवा गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छौ। कसरी मेरो क्रोधले मलाई ठग्‍ने त्यस्ता कुकुरजस्ता, सुँगुरजस्ता मानिसहरूलाई सहन सक्छ? मैले मेरा प्रशासनिक आदेशहरू लागू गर्नैपर्छ र अशुद्ध आत्माहरूका हातबाट मैले ममाथि विश्‍वास गर्ने ती सबै सङ्कुचित, “धर्मी” व्यक्तिहरूलाई खोसेर लिनैपर्छ ताकि तिनीहरू अनुशासनपूर्ण ढाँचामा मेरो “सेवामा उभिऊन्”, मेरा गोरुहरू बनून्, मेरा घोडाहरू बनून्, र मेरो संहारको कृपामा रहून्। म तँलाई फेरि तेरो पहिलेको संकल्प लिन लगाउँछु र फेरि पनि मेरो सेवा गर्न लगाउँछु। मलाई ठग्‍ने सृष्टि गरिएको कुनै पनि प्राणीलाई म सहन्‍नँ। के तैँले मेरो अघि मनमानी ढङ्गले अनुरोधहरू गर्न र ढाँट्न सक्छु भन्‍ने सोचेको थिइस्? के तैँले तेरा बोलीवचन र कर्महरू मैले सुनेको वा देखेको थिइनँ भन्‍ने ठानेको थिइस्? कसरी तेरा बोलीवचन र कर्महरू मेरो दृष्टिमा नपरेको हुन सक्छ र? कसरी मैले मानिसहरूलाई त्यसरी मलाई धोका दिने मौका दिन सक्छु र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

१२०. धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु। तिमीहरूका घिनलाग्दा व्यवहारहरूमध्ये कतिचाहिँ मेरा आँखैअघिबाट फुत्किएका छन् र? तिमीहरूका ती हृदयस्पर्शी शब्दहरू निरन्तर मेरा कानहरूमा गुन्जिरहेका छन्; तिमीहरूका लाखौँलाख आकांक्षाहरू मेरो वेदीमा राखिएका छन्—ती यति धेरै छन् कि तिनलाई गन्‍न पनि सकिँदैन। तथापि, जहाँसम्म तिमीहरूको समर्पण र तिमीहरूले के अर्पण गर्न सक्छौ भन्‍ने सवाल छ, तिमीहरूले एक सुका पनि दिँदैनौ। तिमीहरूले मेरो वेदीमा एक थोपा इमानदारिता पनि चुहाउँदैनौ। मप्रतिको तिमीहरूको विश्‍वासका फलहरू कहाँ छन्? तिमीहरूले मबाट अनन्त अनुग्रह प्राप्त गरेका छौ, र तिमीहरूले स्वर्गबाट आएका अनन्त रहस्यहरू देखेका छौ; मैले तिमीहरूलाई स्वर्गको ज्वाला समेत देखाएको छु, तर मसँग तिमीहरूलाई जलाउने हृदय छैन। तैपनि, तिमीहरूले यसको बदलामा मलाई कति नै दिएका छौ र? तिमीहरू मलाई कति दिन इच्छुक छौ? मैले तिमीहरूलाई दिएको खानेकुरा हातमा लिएर तिमीहरू मतिर फर्कन्छौ र मलाई त्यो खानेकुरा दिन्छौ, र तिमीहरूले त्यो खानेकुरा आफ्नै कडा मेहनतको पसिनाद्वारा पाएको अनि आफूसँग भएका सबै कुरा मलाई चढाएको हो भनेर समेत भन्छौ। तैँले मलाई दिएका सबै “दानहरू” मेरै वेदीबाट चोरिएका कुरा हुन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? यसअलावा, अहिले तैँले ती कुराहरू मलाई उपहार दिँदै छस्, के तैँले मलाई ठगिरहेको छैनस् र? मैले आज जे कुरा उपभोग गर्छु त्यो सबै मेरो वेदीका भेटीहरू हुन्, र तैँले तेरो कडा मेहनतबाट प्राप्त गरी मलाई चढाएका कुराहरू होइनन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? तिमीहरूले वास्तवमा यसरी मलाई ठग्‍ने दुस्साहस गर्छौ, अनि तिमीहरूलाई कसरी मैले क्षमा दिन सक्छु र? मैले यो कुरालाई अझै सहिरहूँ भनेर तिमीहरूले कसरी अपेक्षा गर्न सक्छौ? मैले तिमीहरूलाई सब थोक दिएको छु। मैले तिमीहरूको लागि हरेक कुरा खुला गरेको छु, तिमीहरूका आवश्यकताहरूको लागि प्रबन्ध गरेको छु, र तिमीहरूको आँखा खोलेको छु, तैपनि तिमीहरूले आफ्ना विवेकलाई बेवास्ता गर्दै यस प्रकारले मलाई ठग्छौ। मैले निस्वार्थ रूपमा तिमीहरूलाई सब थोक अर्पेको छु, ताकि तिमीहरूले कष्ट भोगे पनि मैले स्वर्गबाट ल्याएका सब थोक प्राप्त गर। यति हुँदाहुँदै पनि तिमीहरूसँग कुनै समर्पणता छैन, र तिमीहरूले थोरै योगदान दिएको भए पनि तिमीहरू पछि मसँग त्यसको “हिसाब किताब मिलाउन” खोज्छौ। के तेरो दान व्यर्थ हुनेछैन र? तैँले मलाई जे दिएको छस् त्यो केवल बालुवाको कण हो, तैपनि तँ मबाट एक टन सुन माग्छस्। के तँ केवल अनुचित हुँदै छैनस् र? म तिमीहरूमाझ काम गर्छु। मलाई दश प्रतिशत दिनुपर्ने कुराको कुनै नामनिसाना छैन, अतिरिक्त बलिदानहरूको त कुरै छोडौं। यसबाहेक, जो भक्तिपूर्ण छन् तिनीहरूले दान दिएको दश प्रतिशत पनि दुष्टहरूले कब्जा गर्छन्। के तिमीहरू मबाट टाढा छरिएका छैनौ र? के तिमीहरू सबै मेरो विरोधी भएका छैनौ र? के तिमीहरू सबैले मेरो वेदी तहसनहस पारिरहेका छैनौ र? कसरी त्यस्ता मानिसहरू मेरो नजरमा सम्पत्ति हुन सक्छन् र? के तिनीहरू मैले घृणा गर्ने सुँगुर र कुकुरहरू होइनन् र? कसरी मैले तिमीहरूका दुष्कर्महरूलाई सम्पत्तिको रूपमा उल्लेख गर्न सक्छु र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

१२१. तिमीहरूले नबुझ्‍ने धेरै तरिकाहरू छन् र तिमीहरूलाई धेरै विषयको ज्ञान छैन। तिमीहरू अत्यन्तै अनजान छौ; मलाई तिमीहरूको कद र कमजोरीहरूको बारेमा पूर्ण रूपमा थाहा छ। त्यसैले तिमीहरूले बुझ्‍न नसक्ने धेरै शब्‍दहरू भए तापनि तिमीहरूले पहिले स्वीकार नगरेका सबै सत्यताहरूको बारेमा तिमीहरूलाई बताउन अझ पनि म राजी नै छु, किनकि अहिले कै अवस्थामा तिमीहरू मेरो गवाहीमा बलियोसँग खडा हुन सक्छौ कि सक्दैनौ भन्‍ने कुराको चिन्ता गरिरहन्छु। मैले तिमीहरूलाई कम सोचेर यसो गरेको होइन; तिमीहरू सबै पशु सरह नै छौ जसले मेरो औपचारिक तालिम अझ पनि पाएका छैन, र तिमीहरू भित्र कति महिमा छ भन्‍ने कुरा म बिलकुल देख्‍न सक्दिनँ। मैले तिमीहरूमा काम गर्नको निम्ति धेरै शक्ति खर्च गरेको भए तापनि व्यवहारिक रूपमा सकारात्मक शक्तिको अस्तित्व तिमीहरूमा छैन भन्‍ने देखिन्छ र नकारात्मक तत्वहरूलाई औँलामा गन्‍न सकिन्छ र तिनले शैतानलाई शर्ममा पार्ने गवाहीको रूपमा काम गर्छन्। तिमीहरूमा भएका अरू सबै कुराहरू शैतानको विष हो। तिमीहरू मुक्तिदेखि बाहिर रहेको छौ जस्तो म देख्दछु। म तिमीहरूका विविध अभिव्यक्ति र आचरणहरूलाई हेर्छु र अन्ततः तिमीहरूको वास्तविक कद थाहा पाउँछु। यसै कारण म तिमीहरूप्रति सधैँ चिन्तित भइरहेको हुन्छु: के मानिसहरूलाई आफ्नै तरिकाले जिउन छाडिदिए बेस होला वा अहिलेको अवस्थाको तुलनामा असल होलान्? के तिमीहरूको शिशु कदले तिमीहरूलाई चिन्तित तुल्याउँदैन? के तिमीहरू साँच्चै इस्राएलका चुनिएका मानिसहरूजस्तै हरसमय मप्रति मात्र बफादार हुन सक्छौ? तिमीहरूमा प्रकट भएको कुरा आफ्ना अभिभावकहरूबाट बरालिएका बालबालिकाहरूमा हुने किसिमको बदमासी होइन, तर आफ्ना मालिकको कोर्रा नखाएका पशुहरूबाट प्रस्फुटन हुने पशुत्व हो। तिमीहरूले आफ्नो स्वभाव जान्‍नुपर्छ, यो तिमीहरू सबैमा भएको कमजोरी पनि हो; यो तिमीहरू सबैको साझा रोग हो। यसैले तिमीहरूको निम्ति आजको मेरो अर्ती यही हो कि तिमीहरू मेरो गवाहीमा बलियो गरी खडा होओ। कुनै पनि हालतमा पुरानो रोगलाई फर्किन नदेओ। गवाही बन्‍नु सबैभन्दा महत्त्वपूर्ण हो—यो नै मेरो कामको मुटु हो। तिमीहरूले मेरा वचनहरूलाई त्यसरी नै ग्रहण गर्नुपर्छ जसरी मरियमले आफ्नो सपनामा आएको यहोवाको प्रकाशलाई ग्रहण गरिन्: विश्‍वास गरेर अनि समर्पित भएर। यही नै पवित्र हुन योग्य छ। किनभने सबैभन्दा धेरै मेरा वचनहरू सुन्‍ने र मद्वारा सबैभन्दा बढी आशिषित तिमीहरू नै हौ। मैले तिमीहरूलाई मेरा सबै मूल्यवान् सम्पत्तिहरू दिएको छु, मैले तिमीहरूलाई सबै थोक प्रदान गरेको छु, तापनि तिमीहरूको अवस्था इस्राएलका मानिसहरूको भन्दा धेरै फरक छ; तिमीहरू आकाश-पातलले फरक छौ। तर तिमीहरूले तिनीहरूको तुलनामा धेरै नै प्राप्त गरेका छौ; तिनीहरू व्यग्रताका साथ मेरो उपस्थितिको प्रतिक्षा गर्छन् भने तिमीहरूले चाहिँ मेरो प्रशस्ततामा सहभागी भएर रमाइला दिनहरू बिताइरहेका छौ। यस भिन्‍नताको बाबजुद मसँग गुनासो र कचकच गर्ने तथा मेरो सम्पत्तिबाट तिमीहरूको हिस्सा माग्‍ने अधिकार तिमीहरूलाई केले दिन्छ? के तिमीहरूले धेरै नै पाएका छैनौ र? म तिमीहरूलाई धेरै दिन्छु तर यसको बदलामा तिमीहरूले मलाई हृदयविदारक दुःख र चिन्ता, अदम्य घृणा र असन्तुष्टि मात्र दिएका छौ। तिमीहरू यति घृणित छौ—तथापि तिमीहरू दयनीय पनि छौ, यसैले मेरा सबै घृणालाई निल्नु र तिमीहरूलाई मेरा विरोधहरू घरीघरी व्यक्त गर्नु बाहेक मसँग अर्को विकल्प छैन। हजारौँ वर्षको काममा मैले मानवजातिसँग कहिले पनि प्रतिवाद गरिनँ किनकि मैले यो कुरा पत्ता लगाएँ कि, मानवजातिको विकास हुने क्रमभरि, तिमीहरूका माझमा प्राचीन समयका प्रख्यात पुर्खाहरूले तिमीहरूको निम्ति छोडेको उत्तराधिकार जस्तै केवल “धोकाहरू” मात्र धेरै प्रख्यात भएको छ। ती अमानवीय सुँगुर र कुकुरहरूलाई म कति घृणा गर्छु। तिमीहरूमा विवेकको निकै अभाव छ! तिमीहरूको चरित्र अत्यन्तै नीच छ! तिमीहरूका हृदय अति कठोर छन्! यदि मैले मेरा वचन र कामहरू इस्राएलीहरूकहाँ पुर्‍याएको भए, मैले धेरै अगाडि नै महिमा प्राप्त गरिसक्‍ने थिएँ। तर तिमीहरूको बीचमा यो अप्राप्य छ; तिमीहरूको माझमा तिमीहरूका क्रूर उपेक्षा, तिमीहरूका बेपरवाह र तिमीहरूका बहानाहरू मात्र छन्। तिमीहरू अत्यन्तै असंवेदनशील र पूर्ण रूपमा बेकम्मा छौ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

१२२. विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित अनि मेरो आवाज कहिले कठोर भएको छ? मैले कहिले तिमीहरूसँग ससाना कुराहरूमा कचकच गरेको थिएँ? मैले कहिले तिमीहरूलाई अनुचित प्रकारले हप्काएको छु? मैले कहिले तिमीहरूलाई तिमीहरूको मुखैमा हप्काएको छु? मेरा पिताले तिमीहरूलाई हरेक परीक्षाबाट बचाऊन् भनी मैले गरेको पुकारा के मेरै कामको निम्ति होइन र? तिमीहरू मसँग किन यस्तो व्यवहार गर्छौ? के मैले कहिल्यै तिमीहरूको देहमा प्रहार गर्न मेरो अधिकार प्रयोग गरेको छु? तिमीहरू किन त्यसरी मसँग बदला लिन्छौ? मतर्फ तातो र चिसो उडाएपछि तिमीहरू न त तातो न चिसो हुन्छौ, र त्यसपछि तिमीहरू मलाई झुक्याउन खोज्छौ र मबाट कुराहरू लुकाउने कोसिस गर्छौ र तिमीहरूका मुख अधार्मिकताका थुकले भरिएका हुन्छन्। के तिमीहरूका जिब्रोले मेरो आत्मालाई छल्न सक्छ भन्‍ने तिमीहरू सोच्छौ? के तिमीहरूका जिब्रो मेरो क्रोधबाट उम्कन सक्छ भन्‍ने सोच्छौ? के तिमीहरूका जिब्रोहरूले यसले चाहे अनुसार, म, यहोवाका कामहरूको न्याय गर्न सक्छ भनी सोच्छौ? के म मानिसहरूले न्याय गर्ने परमेश्‍वर हो? के म एउटा सानो भुसुनोलाई त्यसरी मेरो निन्दा गर्ने अनुमति दिन सक्छु? त्यस्ता विद्रोहका छोराहरूलाई म कसरी अनन्त आशिषहरूको माझमा राख्न सक्छु? तिमीहरूका शब्दहरू र व्यवहारहरूलाई धेरै अघि खुलस्त गरिएका छन् र त्यसले तिमीहरूलाई दोषी ठहराएको छ। जब मैले आकाश फिँजाएँ र सबै थोकहरू सृष्टि गरें, त्यसबेला मैले सृष्टि गरिएको कुनै पनि प्राणीलाई तिनीहरूका इच्छाअनुसार सहभागी हुन दिइनँ, मैले कुनै पनि कुरालाई तिनीहरूका इच्छाअनुसार मेरो काम र व्यवस्थापनमा बाधा पुऱ्याउन दिनु त परै जाओस्। मैले कुनै मानिस वा वस्तुलाई सहन गरिनँ; मप्रति क्रूर र अमानवीय हुनेहरूलाई झन् म कसरी सहन सक्छु? मेरो वचनलआई धोका दिनेहरूलाई म कसरी क्षमा गर्न सक्छु? मेरो विरुद्ध विद्रोह गर्नेहरूलाई म कसरी छोड्न सक्छु? के मानिसको भाग्य म, सर्वशक्तिमान्‌को हातमा छैन र? म तिमीहरूको अधार्मिकता र विद्रोहीपनलाई कसरी पवित्र मान्न सक्छु? तिमीहरूका पापहरूले मेरो पवित्रतालाई कसरी अशुद्ध पार्न सक्छ? म अधार्मिकताको अशुद्धताद्वारा अपवित्र भएको छैनँ, न त म अधार्मिकताका भेटीहरूमा नै आनन्दित हुन्छु। यदि तिमीहरू म, यहोवाप्रति बफादार हुन्थ्यौ भने मेरो वेदीमा भएका बलिहरू तिमीहरू आफ्नै निम्ति लिन सक्थ्यौ र? के तिमीहरू आफ्नो विषालु जिब्रो मेरो पवित्र नाउँको निन्दा गर्न प्रयोग गर्न सक्थ्यौ? के तिमीहरूले यसरी मेरो वचनलाई धोका दिन सक्थ्यौ? के तिमीहरू मेरो महिमा र पवित्र नाउँलाई साधन बनाएर दुष्ट शैतानको सेवा गर्न सक्थ्यौ? मेरो जीवन पवित्र जनहरूलाई आनन्द उठाउनका निम्ति उपलब्ध गराइएको छ। म तिमीहरूले चाहेअनुसार मेरो जीवनसित खेल्ने र त्यसलाई तिमीहरूको झगडामा एउटा साधनको रूपमा प्रयोग गर्ने अनुमति तिमीहरूलाई कसरी दिन सक्छु? तिमीहरू भलाइको मार्गमा र मप्रतिको व्यवहारमा त्यस्तो हृदय विहीन र अभावग्रस्त कसरी हुन सक्छौ? मैले अघिबाटै तिमीहरूका दुष्कर्महरू जीवनका यी वचनहरूमा लेखिसकेको छु भनी के तिमीहरू जान्दैनौ? मैले मिश्रलाई सजाय दिँदा तिमीहरू क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म कसरी तिमीहरूलाई यसरी घरीघरी मेरो विरोध गर्ने र मेरो विरुद्धमा विद्रोह गर्ने अनुमति दिन सक्छु? म तिमीहरूलाई स्पष्ट भन्दछु, जब त्यो दिन आउँछ, तिमीहरूको सजाय मिश्रको भन्दा बढ्ता असहनीय हुनेछ! तिमीहरू मेरो क्रोधको दिनबाट कसरी उम्कन सक्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहको कोही पनि रिसको दिनबाट उम्कन सक्दैन

१२३. परमेश्‍वरसँग दैहिक भावना भएकाले, वा परमेश्‍वर मानिसद्वारा प्राप्‍त गरिन इच्छुक नहुनुभएकाले, मानिस परमेश्‍वरलाई प्राप्‍त गर्न असफल हुने होइन, बरु मानिसले नै परमेश्‍वरलाई प्राप्‍त गर्न नचाहेकाले, र ऊसँग परमेश्‍वरलाई आतुरीसाथ खोजी गर्ने हृदय नभएका कारण त्यस्तो हुन्छ। परमेश्‍वरको साँच्चै खोजी गर्नेहरूमध्येको व्यक्तिलाई कसरी परमेश्‍वरद्वारा श्राप दिइन सक्छ? स्वस्थ समझ र संवेदनशील विवेक भएकोमध्ये कसैलाई कसरी परमेश्‍वरद्वारा श्राप दिइन सक्छ? परमेश्‍वरको साँचो आराधना गर्ने र उहाँको सेवा गर्ने व्यक्तिलाई कसरी उहाँको क्रोधको आगोद्वारा भस्म गरिन सक्छ? परमेश्‍वरमा समर्पित हुन इच्छुक व्यक्ति कसरी परमेश्‍वरको घरबाट निकालिन सक्छ? परमेश्‍वरलाई कहिल्यै पर्याप्त प्रेम गर्न सक्दिनँ भनी महसुस गर्ने व्यक्ति कसरी परमेश्‍वरको दण्डमा जिउन सक्छ? परमेश्‍वरका निम्ति सबै थोक त्याग्न इच्छुक व्यक्तिसँग कसरी अन्तमा केही पनि नहुन सक्छ? मानिस परमेश्‍वरलाई पछ्याउन अनिच्छुक छ, परमेश्‍वरका निम्ति आफ्नो सम्पत्ति खर्च गर्न अनिच्छुक छ, परमेश्‍वरलाई जीवनभरको मेहनत अर्पण गर्न अनिच्छुक छ; बरु, ऊ के भन्छ भने, परमेश्‍वरले अति गर्नुभएको छ, परमेश्‍वरबारे धेरै कुरा मानिसका धारणाअनुरूप छैनन्। यस्तो मानवताका साथ, तिमीहरूले आफ्नो सारा मेहनत लगाए पनि, तिमीहरूले परमेश्‍वरको स्वीकृति प्राप्‍त गर्न सक्नेथिएनौ, तिमीहरूले परमेश्‍वरको खोजी नगर्ने तथ्यबारे त कुरै नगरौँ। तिमीहरू मानवजातिको त्रुटिपूर्ण सामान हौ भनी के तिमीहरूलाई थाहा छैन? कुनै पनि मानवता तिमीहरूको भन्दा कम छैन भनी के तिमीहरूलाई थाहा छैन? अरू व्यक्तिहरूले तिमीहरूलाई “आदर” गर्न के भन्छन् भनी तिमीहरूलाई थाहा छैन र? परमेश्‍वरलाई साँचो प्रेम गर्ने व्यक्तिहरूले तिमीहरूलाई ब्वाँसोको पिता, ब्वाँसोकी आमा, ब्वाँसोको छोरो, ब्वाँसोको नाति भन्छन्; तिमीहरू ब्वाँसोको सन्तान, ब्वाँसोको मानिसहरू हौ, र तिमीहरूलाई आफ्नो परिचय थाहा हुनुपर्छ र त्यसलाई कहिल्यै पनि बिर्सनु हुँदैन। तिमीहरू कुनै उत्कृष्ट व्यक्तित्वहरू हौ भनी विचार नगर: तिमीहरू मानवजातिका बीचमा सबैभन्दा अमानवीय क्रूर समूहको सदस्यहरू हौ। के तिमीहरूलाई यसको विषयमा केही पनि थाहा छैन? मैले तिमीहरूका बीचमा काम गरेर कति धेरै जोखिम उठाएको छु भनी के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूको समझ फेरि सामान्य बन्‍न सक्दैन भने र तिमीहरूको विवेकले सामान्य रूपमा काम गर्न सक्दैन भने, तिमीहरू “ब्वाँसो” भन्‍ने नामबाट कहिल्यै मुक्त हुनेछैनौ, तिमीहरू श्रापको दिनबाट उम्किने छैनौ र तिमीहरू आफ्नो दण्डको दिनबाट उम्किने छैनौ। तिमीहरू निम्‍न स्तरमा जन्मियौ, कुनै पनि मूल्य नभएको थोकको रूपमा जन्मियौ। तिमीहरू प्रकृतिगत रूपमा नै भोका ब्वाँसाहरूको झुण्ड, टुटे-फुटेका टुक्राहरू र रद्दीको थुप्रो हौ, म तिमीहरूले गरे जस्तो, व्यक्तिगत प्राप्तिका खातिर तिमीहरूमाथि काम गर्दिनँ, बरु कामको खाँचोका कारण गर्छु। यदि तिमीहरू यसरी विद्रोही हुन जारी राख्छौ भने, म आफ्नो काम रोक्‍नेछु र तिमीहरूमा फेरि कहिल्यै काम गर्नेछैनँ; यस विपरीत, मलाई मन पर्ने समूहमाथि म मेरो काम सार्नेछु, र यसरी तिमीहरूलाई सदाका लागि छोडिदिनेछु, किनकि मप्रति शत्रुता राख्‍नेहरूलाई हेर्न म अनिच्छुक छु। त्यसैले, के तिमीहरू मसँग मिल्ने हुन चाहन्छौ, कि मप्रति शत्रुता राख्‍न चाहन्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्‍वरसँग शत्रुतामा हुनु हो

१२४. तँ आजको बाटोमा हिँड्ने क्रममा सबैभन्दा उपयुक्त किसिमको खोजी के हो? तेरो खोजीमा, तैँले आफैलाई कस्तो किसिमको व्यक्तिको रूपमा हेर्नुपर्छ? यसले आज तँमाथि आइपर्ने सबै कुरालाई तैँले कसरी सामना गर्नुपर्छ सो जान्ने योग्य बनाउँछ, चाहे त्यो जाँचहरू होऊन् वा कठिनाइहरू वा निर्दयी सजाय र सराप होऊन्। यी सबै कुराहरूको सामना गर्नु पर्दा, तैँले हरेक मामिलामा तीमाथि ध्यानपूर्वक विचार गर्नुपर्छ। म यो किन भन्छु? म यो भन्छु, किनकि आज तँमाथि आइलाग्‍ने कुराहरू आखिर छोटो अवधिका परीक्षाहरू हुन् जुन बारम्बार देखा पर्छन्; सायद जहाँसम्म तेरो कुरा छ, ती खासगरी आत्माका निम्ति भार होइनन्, त्यसैले तँ ती कुराहरूलाई आफ्नो स्वाभाविक मार्गमा बग्न दिन्छस्, र तिनलाई प्रगतिको खोजीमा बहुमूल्य सम्पत्तिको रूपमा लिँदैनस्। तँ कति विचारहीन छस्! यहाँसम्म कि तैँले यो बहुमूल्य सम्पत्तिलाई तेरो आँखाको अगाडि तैरिरहेको बादलजस्तो ठान्छस्, र घरीघरी बर्सिने यी कठोर प्रहारहरूलाई तैँले बहुमूल्य ठान्दैनस्—त्यस्ता प्रहारहरू जुन छोटा हुन्छन् र तेरा लागि ती थोरै वजनका जस्ता देखिन्छन्—बरु तँ ती कुराहरूलाई हृदयबाट नलिइकन चिसो टुक्राको रूपमा हेर्छस्, र तिनलाई केवल एक मौकाको प्रहारको रूपमा लिन्छस्। तँ कति अहङ्कारी छस्! समय-समयमा आइरहने यी क्रूर आँधी-बेहरीजस्ता आक्रमणहरूलाई हल्‍का रूपले लिँदै तैँले केवल बेवास्ता गर्छस्; कहिलेकहीँ तैँले चीसो मुस्कानसम्म पनि दिन्छस् र त्यसरी पूर्ण उदासीनताको भाव प्रकट गर्छस्—किनकि तैँले किन त्यस्ता “दुर्भाग्यहरू” भोगिरहन्छस् भनी तैँले आफै कहिल्यै विचार गरेको छैनस्। के मानिसप्रति म एकदम अनुचित भएको छु भन्‍ने हुनसक्छ? के तेरो गल्ती खोतल्‍नुलाई नै म मेरो व्यवसाय बनाउँछु? तेरो मानसिकताका समस्याहरू मैले वर्णन गरेजस्तो गम्भीर नहुन सक्छ, तापनि तेरो बाहिरी हाउभाउ हेर्दा तैँले आफ्नो भित्री संसारको सही चित्र कोरेको धेरै लामो समय भइसक्यो। मलाई यो भनिरहनु जरुरी छैन कि तेरो हृदयको गहिराइमा लुकेका एउटै कुराहरू भनेका गालिगलौजका अनुचित शब्दहरू र दुःखका अस्पष्ट छापहरू हुन् जसलाई अरूले मुस्किलले मात्र बुझ्न सक्छन्। तैँले यस्ता कष्टहरू भोग्नु अत्यन्तै अन्याय भएको ठान्‍ने हुनाले तँ सराप्छस्; र यी परीक्षाहरूले तँलाई संसारको उजाडपन महसुस गराउने भएकोले तँ उदासीनताले भरिन्छस्। बारम्बार आउने यी प्रहार र अनुशासनका कार्यहरूलाई सर्वोत्तम सुरक्षाको रूपमा हेर्नुको साटो तँ तिनलाई स्वर्गबाट आएको अर्थहीन समस्या, वा तँलाई दिइएको उचित प्रतिफलको रूपमा हेर्छस्। तँ कति अनजान छस्! तैँले असल समयलाई निर्दयी पूर्वक अन्धकारमा सीमित गर्छस्; तैँले बारम्बार अचम्‍मका परीक्षाहरू र अनुशासनको कार्यहरूलाई तेरा शत्रुहरूले गरेको आक्रमणको रूपमा हेर्छस्। तँ आफ्नो वातावरणमा कसरी अनुकूल हुने सो जान्दैनस्, र तँ त्यसो गर्न अझ कम इच्छुक छस्, किनकि तँ यस दोहोरिने अनि तेरो सोचाइको हिसाबमा, निर्दयी सजायबाट केही पनि प्राप्त गर्न इच्छुक छैनस्। तँ खोजी वा अन्वेषण गर्ने कुनै प्रयास गर्दैनस्, र केवल आफ्नो भाग्यमा आफूलाई सुम्पेर, त्यसले जता डोऱ्याउँछ त्यतैतिर जान्छस्। तँलाई निर्मम लाग्‍ने सजायका कार्यहरूले तेरो हृदय परिवर्तन गरेका छैनन्, न त तिनले तेरो हृदयलाई नियन्त्रण नै गरेका छन्; त्यसको साटो, तिनले तेरो हृदयमा छुरी रोप्छन्। तँ यो “क्रूर सजाय” लाई जीवनको तेरो शत्रुको रूपमा मात्रै हेर्छस्, त्यसैले तैँले केही पनि प्राप्त गरेको छैनस्। तँ कति स्व-धर्मी छस्! तैँले आफ्नै अयोग्यताका कारण त्यस्ता परीक्षाहरू भोग्छस् भनी तैँले विरलै विश्‍वास गर्छस्; त्यसको सट्टामा, मैले सधैँ तेरो गल्ती कोट्याउँछु भन्दै तैँले आफैलाई अभागी ठान्छस्। अब कामकुराहरू यस्तो अवस्थामा आइपुगिसकेपछि, मैले भन्‍ने र गर्ने कुराहरूका बारेमा तँ कतिसम्म बुझ्छस्? तँ प्राकृतिक रूपमै विलक्षण प्रतिभा लिएर जन्‍मेको पुत्र, स्वर्गहरूभन्दा अलिकति मात्र तल, तर पृथ्वीभन्दा असीमित रूपमा उच्च व्यक्ति होस् भनी नसोच्। तँ अरू कोहीभन्दा चलाख छँदै-छैनस्—र यो पनि भन्न सकिन्छ कि यस पृथ्वीका विवेक भएको कुनै पनि मानिसभन्दा तँ कति धेरै मूर्ख छस् त्यो हास्यास्पद छ, किनकि तैँले आफूलाई धेरै उच्च ठान्छस्, र तँमा कहिल्यै पनि हीनताको भाव थिएन, मानौँ तैँले मेरा कामहरूको सानोभन्दा सानो कुरा बुझ्न सक्छस्। वास्तवमा भन्‍ने हो भने, तँ त्यस्तो व्यक्ति होस् जसमा मूल रूपमा नै विवेकको अभाव छ, किनकि म के गर्न चाहन्छु त्यो तँलाई थाहा छैन, र मैले अहिले के गर्दैछु त्यसबारे तँलाई अझै थोरै थाहा छ। अनि यसैले म भन्छु कि तँ खेतमा कठोर परिश्रम गर्ने वृद्ध किसानको बराबरी समेत छैनस्, यस्तो किसान जोसँग मानव जीवनको बारेमा थोरै दृष्टिकोण हुँदैन र जो आफ्नो खेतमा खेती गर्दा सम्पूर्ण रूपले स्वर्गको आशिषमाथि निर्भर हुन्छ। तैँले आफ्नो जीवनको सम्बन्धमा एकै क्षण पनि विचार गर्दैनस्, तँलाई ख्यातिको बारेमा केही थाहा छैन, र तँसँग आफ्नो बारेमा ज्ञान हुने कुरा त परै जाओस्। तँ साँच्‍चै “यी सबैभन्दा माथि” छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जसले सिक्दैनन् र अनजान रहन्छन्—के तिनीहरू पशुहरू होइनन् र?

१२५. कसै-कसैले आफूलाई सुन्दर ढङ्गले, तर बाहिरपट्टि मात्र सिङ्गार्छन्: दिदी-बहिनीहरू आफूलाई फूलजस्तै सुन्दर रूपमा सिङ्गार्छन्, र दाजुभाइहरूले राजकुमार वा धनी ठाँटिला जवानहरूले जस्तै पोसाक पहिरिन्छन्। तिनीहरूले बाहिरी थोकहरूको मात्र वास्ता राख्छन्, जस्तै तिनीहरूले खाने र लाउने थोकहरू; भित्रपट्टि तिनीहरू बेसाहारा हुन्छन् र परमेश्‍वरको अलिकति पनि ज्ञान हुँदैन। यसमा के अर्थ हुन सक्छ? अनि कोही-कोही हुन्छन् जो गरिब भिखारीको जस्तो लुगा लाउँछन्—तिनीहरू वास्तवमा पूर्वी एसियाली दासहरू जस्ता देखिन्छन्! म तिमीहरूबाट के माग्छु के त्यो तिमीहरू साँच्चै बुझ्दैनौ? तिमीहरू आपसमा सर-सल्लाह गर: तिमीहरूले वास्तवमा के प्राप्त गरेका छौ? तिमीहरूले यतिका वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेका छौ, र पनि तिमीहरूले कटनी गरेका कुराहरू यिनै हुन्—के तिमीहरू लज्जित छैनौ? के तिमीहरूलाई लाज लाग्दैन? तिमीहरू यतिका वर्षसम्म साँचो मार्गको पछि लागेका थियौ, तापनि आज तिमीहरूको कद एउटा भँगेरीको भन्दा कम छ! तिमीहरूबीचका जवान स्‍त्रीहरूलाई हेर, आफैलाई एक-अर्कासँग दाँज्दै, तिमीहरूका वस्त्रहरू र शृङ्गारमा तिमीहरू तस्विरहरूजस्तो सुन्दर छौ—अनि तिमीहरू केको तुलना गर्छौ? तिमीहरूका सुखचैन? तिमीहरूका मागहरू? के म मोडेलहरू भर्ना गर्न आएको हुँ भनी तिमीहरू सोच्छौ? तिमीहरूलाई कुनै लाज छैन! तिमीहरूको जीवन कहाँ छ? के तिमीहरूले खोज्‍ने भनेको तिमीहरूका आफ्नै असंयमित इच्छा होइन र? तिमीहरू अति धेरै सुन्दर छौ भनी तिमीहरू सोच्छौ, तर तैँले हरप्रकारले सर्वोत्तम वस्त्र लगाइस् भने पनि के तँ वास्तवमा गोबरको थाकमा जन्मेको स्याउँस्याउँ गर्ने कीरा होइनस् र? आज, तैँले जुन यी स्वर्गीय आशिषहरूको आनन्द लिने सौभाग्य पाएको छस् त्यो तेरो सुन्दर अनुहारको कारणले होइन, तर परमेश्‍वरले तँलाई माथि उठाएर छूट दिनुभएकोले गर्दा हो। तँ कहाँबाट आएको होस् भन्‍ने कुरा के अझै पनि तँलाई अस्पष्ट छ? जीवनको कुरा गर्दा, तँ मूर्तिजस्तो गुँगो बन्दै आफ्नो मुख बन्द गर्छस्, तापनि तँमा वस्त्र पहिरिने आँट छ। अझै पनि तँलाई आफ्नो अनुहारमा लाली र पाउडर लगाउन मन लाग्छ! र तिमीहरूको माझमा भएका ठाँटिला व्यक्तिहरूलाई हेर, अनियन्त्रित मानिसहरू, जसले विरक्त अनुहार पारेर आरामसाथ घुम्दै, लखर-लखर गर्दै पूरा दिन बिताउँछन्। के एउटा व्यक्तिले यस्तै व्यवहार गर्नुपर्छ? तिमीहरूको माझमा प्रत्येक पुरुष र स्त्रीले सारा दिन आफ्नो ध्यान कुन कुरामा लगाउँछौ? भोजन खानका निम्ति कसमाथि निर्भर छौ भनी के तिमीहरू जान्दछौ? तिमीहरूका वस्त्र हेर, तिमीहरूले आफ्ना हातहरूमा के कटनी गरेका छौ हेर, तिमीहरूका पेट माड, तिमीहरूले विश्‍वासमा यतिका वर्षसम्म रगत र पसिनाको मूल्य चुकाएर तिमीहरूलाई के लाभ भएको छ? तँ अझै पनि ठाउँहरू हेर्न जाने कुरा सोच्छस्, तँ अझै पनि आफ्नो दुर्गन्धित शरीरलाई सिङ्गार्न चाहन्छस्—व्यर्थका खोजहरू! तँलाई एक सामान्य व्यक्ति हुने अनुरोध गरिएको छ, तापनि अहिले तँ केवल असामान्य मात्र होइन, पथभ्रष्ट पनि होस्। त्यस्तो व्यक्तिले मेरो सामुन्ने आउने आँट कसरी गर्न सक्छ? अरूको प्रशंसा पाउन आफ्नो आकर्षण र शरीरको आडम्बर देखाउने त्यस्तो मानवता, जो सधैँ शरीरको अभिलाषामा जिउँछ—के तँ फोहोर भूतात्माहरू र दुष्टात्माहरूको सन्तान होइनस् र? म त्यस्तो फोहोर भूतात्मालाई लामो समयसम्म अस्तित्वमा रहन दिनेछैनँ! अनि तँ आफ्नो हृदयमा के सोच्छस् त्यो मलाई थाहा छैन भन्‍ने नठान्। तँ आफ्नो अभिलाषा र तेरो शरीरलाई कडा नियन्त्रणमा राख्न सक्छस् होला, तर तैँले आफ्नो हृदयमा राखेका विचारहरूलाई म कसरी जान्न सक्दिनँ र? तेरा आँखाहरूले चाहना गर्ने सबै कुरा म कसरी थाहा पाउन सक्दिनँ र? के तिमी जवान स्त्रीहरू तिमीहरूका शरीर प्रदर्शन गर्न आफैलाई सुन्दर बनाउँदैनौ र? तिमीहरूका लागि पुरुषहरू के फाइदाका हुन्छन्? के तिनीहरूले साँच्चै तिमीहरूलाई कष्टको समुद्रबाट बचाउन सक्छन् र? तिमीहरू माझका ठाँटिला मानिसहरूको विषयमा कुरा गर्दा, तिमीहरू सबै आफूलाई भद्र र विशिष्ट देखाउन वस्त्र पहिरिन्छौ, तर के यो तिमीहरूको आकर्षक रूपतिर ध्यान खिच्‍नलाई बनाइने छली योजना होइन र? तिमीहरूले यो कसका निम्ति गरिरहेका छौ? तिमीहरूका लागि स्‍त्रीहरू के फाइदाका हुन्छन्? के तिनीहरू तिमीहरूका पापको स्रोत होइनन् र? तिमी पुरुष र स्त्रीहरूलाई मैले आफ्ना धेरै वचनहरू भनेको छु, तापनि तिमीहरूले तीमध्ये थोरै मात्र पालना गरेका छौ। तिमीहरूका कानले सुन्न गाह्रो छ, तिमीहरूका आँखाहरू धमिला भएका छन्, र तिमीहरूका हृदय यतिसम्म कठोर भएको छ कि तिमीहरूको शरीरमा अभिलाषाबाहेक अरू केही छैन, जसको पासोमा तिमीहरू उम्कन नसक्ने गरी फसेका छौ। फोहोर र मैलामा मडारिने तिमी कीराहरूको नजिक आउन को चाहन्छ? यो नभुल, कि तिमीहरू तीभन्दा बढी होइनौ जसलाई मैले गोबरको थुप्रोबाट उठाएको छु, कि सुरुमा तिमीहरूमा सामान्य मानवता थिएन। मैले तिमीहरूसँग माग्‍ने भनेको सामान्य मानवता हो, जुन सुरुमा तिमीहरूसित थिएन, तिमीहरूले आफ्नो अभिलाषा प्रकट गर भनेर होइन वा तिमीहरूको गनाउने शरीरलाई खुल्ला अधिकार दिनुपर्छ भन्‍ने होइन, जसलाई दियाबलसहरूले धेरै वर्षदेखि तालीम दिएको छ। जब तिमीहरूले त्यस्तो प्रकारले वस्त्र लाउँछौ तब तिमीहरू अझ गहिरो रूपले पासोमा पर्नेछौ भनी डराउँदैनौ। के तिमीहरू सुरुमा पापको अधीनमा थियौ भन्‍ने तिमीहरूलाई थाहा छैन? के तिमीहरूलाई थाहा छैन कि तिमीहरूका शरीरहरू अभिलाषाले पूरा भरिएका छन् अनि त्यो तिमीहरूका वस्त्रबाट पनि चुहिन्छ, र यसले तिमीहरूको अवस्था सहनै नसकिने गरी घिनलाग्दो र फोहोर भूतात्माहरूको जस्तो छ भनी प्रकट गर्दछ। के यो अरू कसैले भन्दा तिमीहरूले अझ स्पष्ट रूपमा जानेको कुरा होइन र? तिमीहरूका हृदय, तिमीहरूका आँखा, तिमीहरूका ओठ—के ती सबै फोहोर भूतात्माद्वारा अपवित्र पारिएका छैनन् र? के तिमीहरूका यी अङ्गहरू फोहोर छैनन् र? के तैँले जबसम्म काम गर्दैनस् तबसम्म तँ अति पवित्र छस् भनी सोच्छस्? के तैँले सुन्दर वस्त्रहरू पहिरिएर तिमीहरूको फोहोर आत्माहरूलाई लुकाउन सक्छौ भनी सोच्छस्? त्यसले काम गर्नेछैन! म तिमीहरूलाई अझ बढी वास्तविक हुने सल्लाह दिन्छु: छली र नकली नबन, अनि आफैलाई प्रदर्शन नगर। तिमीहरू एक-अर्काको अभिलाषाको प्रशंसा गर्दछौ, तर त्यसको बदलीमा तिमीहरू अनन्त दुःख-कष्ट र निर्मम ताडना मात्रै पाउनेछौ। तिमीहरूले एकअर्कालाई आँखा झिम्क्याउने र रोमान्समा लिप्त हुने के आवश्यकता छ? के यो तिमीहरूका इमानदारीको मापन, तिमीहरूका सोझोपनको सीमा हो? म तिमीहरू माझका ती मानिसहरूलाई घृणा गर्दछु, जो खराब औषधि र मन्त्रतन्त्रमा लिप्त छन्; म तिमीहरू बीचका ती युवा र युवतीहरूलाई घृणा गर्दछु, जसले तिनीहरूका आफ्नै शरीरलाई प्रेम गर्दछन्। तिमीहरूले आफैलाई नियन्त्रणमा राख्नु राम्रो हुन्थ्यो, किनकि अब तिमीहरूले सामान्य मानवता धारण गर्नु आवश्यक छ, र तिमीहरूलाई आफ्नो अभिलाषाको प्रदर्शन गर्ने अनुमति छैन—तापनि तिमीहरू आफूले सके जति हरेक मौका लिन्छौ, किनकि तिमीहरूको देह अति नै धेरै छ र तिमीहरूका अभिलाषा अति नै ठूलो छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

१२६. जसले आफ्नो देहको बारेमा मात्र सोच्छ र आराम-सुविधा उपभोग गर्छ; जसले विश्‍वास गरेकोजस्तो देखिन्छ तर वास्तवमा विश्‍वास गरेका हुँदैनन्, जो खराब औषधी र मन्त्रतन्त्रमा लागेका हुन्छन्, जो लम्पट र विघटित छन्; जसले यहोवालाई चढाइएका बलिहरू र उहाँका सम्पत्तिहरू चोर्छन्, जसले घूसहरू मन पराउँछन्; जो केही नगरिकन स्वर्गमा उक्लने सपना देख्छन्; जो अहङ्कारी र अभिमानी छन्, जो व्यक्तिगत ख्याति र प्राप्तिका लागि मात्र प्रतिस्पर्धा गर्छन्; जो अशिष्ट वचनहरू फैलाउँछन्; जो परमेश्‍वरको स्वयम्को ईशनिन्दा गर्छन्; जो केही गर्दैनन् तर स्वयम् परमेश्‍वरको विरुद्ध दोष लाउँछन् र उहाँको गिल्‍ला गर्छन्; जो समूहहरू बनाउँछन् र स्वतन्त्रताको खोजी गर्छन्; जो परमेश्‍वरभन्दा आफूलाई उच्च पार्छन्; ती अगम्भीर युवाहरू, प्रौढहरू र वृद्ध-वृद्धा पुरुष र महिलाहरू, जो व्यभिचारमा फसेका छन्; व्यक्तिगत ख्याति र प्राप्तिको आनन्द लिने र अरूको बीचमा व्यक्तिगत हैसियत पछ्याउने ती पुरुष र महिलाहरू, पापमा फसेका ती अपश्‍चात्तापी मानिसहरू—के तिनीहरू सबै मुक्तिभन्दा बाहिर छैनन् र? व्यभिचार, पापी अवस्था, खराब औषधी, मन्त्रतन्त्र, ईशनिन्दात्मक शब्दहरू, र अशिष्ट शब्दहरू सबैले तिमीहरूमाझ दङ्गा मच्चाउँछन्; तिमीहरूमाझमा सत्यता र जीवनका वचनहरू कुल्चिइन्छन् र तिमीहरूमाझ पवित्र वचनहरू अशुद्ध पारिन्छन्। तिमी अन्यजातिहरू, फोहोर र विद्रोहले फुलिएका छौ! तिमीहरूको परिणाम के हुनेछ? जसले देहलाई प्रेम गर्दछन्, जसले देहको मन्त्रतन्त्र गर्दछन् र जो व्यभिचारको पापमा फसेका छन् तिनीहरूसँग जीवित रहने साहस कसरी हुन सक्छ! के तिमीलाई थाहा छैन, कि तिमीहरूजस्ता मानिसहरू मुक्ति पाउनै नसक्‍ने कीराहरू हौ? तिमीहरूलाई यो र त्यो माग गर्ने अधिकार कुन कुराले दिन्छ? आजको मितिसम्म, सत्यलाई प्रेम नगर्नेहरू र केवल देहलाई प्रेम गर्नेहरूमा अलिकता पनि परिवर्तन आएको छैन—त्यस्ता मानिसहरूले कसरी मुक्ति पाउन सक्छन्? जो जीवनको मार्गलाई प्रेम गर्दैनन्, जो परमेश्‍वरलाई उच्च पार्दैनन् र उहाँको साक्षी दिँदैनन्, जो आफ्नै हैसियतका खातिर युक्ति रच्छन्, जो आफैलाई उच्च पार्छन्—के तिनीहरू आज पनि त्यस्तै छैनन् र? तिनीहरूलाई मुक्ति दिनुको मूल्य के छ र? तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो वरिष्ठता कति ठूलो छ वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्‍ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू प्राप्त गरेको छस् भन्‍ने कुरामा त झनै निर्भर हुँदैन। बरु, यो त तेरो पछ्याइले फल फलाएको छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष गल्लीहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसले के फरक पार्छ र? तेरो गवाही कहाँ छ? तँसँग आफैलाई प्रेम गर्ने र तेरा कामुक चाहनाहरूप्रति मोहित हुने हृदयभन्दा परमेश्‍वरको डर मान्ने हृदय धेरै कम छ—के यस प्रकारको व्यक्ति पतित होइन र? ऊ कसरी मुक्तिको नमुना र प्रारूप बन्न सक्छ? तेरो प्रकृति सुधार्न नसकिने छ, तँमा अति धेरै विद्रोहीपन छ, तैँले छुटकारा पाउनै सक्दैनस्! के यस्ता मानिसहरू हटाइने मानिसहरू होइनन्? के मेरो काम समाप्त हुने समय तेरो अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूमाझ अत्यन्तै धेरै काम गरेको र अत्यन्तै धेरै वचनहरू बोलेको छु—त्यसमध्ये कति साँच्चै तिमीहरूको कानमा पसेको छ? त्यसमध्ये कतिप्रति तिमीहरू कहिल्यै समर्पित भएका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो तैँले मेरो विरोध गर्न छोड्ने, तँ मेरो विरुद्धमा खडा हुन छोड्ने समय हुनेछ। मैले काम गर्दै गर्दा, तिमीहरू निरन्तर मेरो विरुद्ध काम गर्दछौ; तिमीहरू कहिल्यै मेरा वचनहरू पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू मविरुद्ध काम गर्नेबाहेक अरू केही नगर्ने स्याल र कुकुरहरूको बथान हौ! तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिनेहरूलाई तिमीहरू आफ्नो अङ्गालोमा ल्याउने निरन्तर कोसिस गरिरहेका छौ—तिमीहरूको डर मान्ने हृदय कहाँ छ? तिमीहरूले गर्ने सबै कुरा छली छन्! तिमीहरूसँग कुनै समर्पण वा डर छैन, र तिमीहरूले गर्ने सबै कुरा छली र ईशनिन्दात्मक छन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर पिशाचहरूलाई पूर्ण रूपमा घृणा गर्छु, र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछन्। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर पिशाच र दुष्टात्माहरू तिरस्कार्य छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, तिमीहरूको हृदय यो सत्यता, यो मार्ग र यो जीवनप्रति आकर्षित छैन; बरु, त्यो त पापीपन, पैसा, हैसियत, ख्याति, प्राप्ति, देहको आनन्द, साथै पुरुषको सुन्दरता र महिलाको उत्ताउलोपनतर्फ आकर्षित छ। त्यसले तिमीहरूलाई कसरी मेरो राज्यमा प्रवेश गर्न योग्य बनाउँछ? तिमीहरूका छविहरू परमेश्‍वरको भन्दा पनि ठूला छन्, तिमीहरूको हैसियत परमेश्‍वरको भन्दा पनि उच्च छ, मानिसहरूमाझ तिमीहरूको इज्जतको त झन् कुरै नगरौँ—तिमीहरू वास्तवमा मानिसहरूले पूजा गर्ने मूर्ति बनेका छौ। के तिमीहरूमध्ये प्रत्येक नै प्रधान स्वर्गदूत बनेका छैनौ र? जब मानिसहरूका परिणामहरू प्रकाश गरिन्छन्, जुन बेला मुक्तिको काम पनि त्यसको अन्त्य नजिकै आइपुगेको हुनेछ, तब तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने लासहरू भइसकेका हुनेछौ र तिमीहरूलाई हटाउनैपर्ने हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

१२७. मानव व्यर्थका तुच्छहरू हुन्, किनकि तिनीहरूले आफैलाई मूल्यवान् ठान्दैनन्। यदि तिनीहरूले आफैलाई समेत प्रेम गर्दैनन्, बरु आफैलाई कुल्चन्छन् भने, तब के यसले तिनीहरूको व्यर्थतालाई देखाउँदैन र? मानवजाति आफैमाथि खेल खेल्ने र अपवित्र पारिनको निम्ति स्वेच्छाले आफूलाई अरूकहाँ सुम्पने अनैतिक स्त्री झैँ छ। यति हुँदाहुँदै पनि, मानिसहरूले तिनीहरू कति नीच छन् भनेर अझै पहिचान गर्न सक्दैनन्। तिनीहरूले आफैँलाई अरूको नियन्त्रणमा राखेर अरूको निम्ति काम गर्न वा अरूसँग कुरा गर्नुमा आनन्द प्राप्त गर्छन्; के मानवजातिको फोहोरीपन ठीक यही नै होइन र? मैले मानवजाति माझमा जीवन अनुभव गरेको छैन र साँचो रूपले मानव जीवनको अनुभव गरेको छैन तैपनि, मैले मानवको हरेक चाल, हरेक कार्य, हरेक शब्द र हरेक कामको स्पष्ट बुझाइ हासिल गरेको छु। मानवलाई सबैभन्दा गहिरो सर्ममा पार्दै, तिनीहरूले आफ्नै गुप्तका गलत कामहरू प्रकट गर्न साहस गर्न वा तिनीहरूको अभिलाषामा लाग्‍न नसक्ने अवस्थासम्‍म हुने गरी तिनीहरूलाई चिरफार गर्न पनि म सक्षम छु। आफ्नै खोलहरूमा फर्कने सङ्खे कीराहरू जस्तै, तिनीहरूले अब उप्रान्त आफ्नो कुरूप अवस्थालाई प्रकट गर्ने साहस गर्दैनन्। मानवले आफैलाई नचिन्‍ने हुनाले, आफ्ना आकर्षणहरूलाई अरूको अगाडि प्रदर्शन गर्ने, आफ्नो कुरूप मुहारहरू प्रदर्शन गर्ने तिनीहरूको इच्छुकता नै तिनीहरूको सबैभन्दा ठूलो कमजोरी हो; परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने कुरा यही हो। किनभने मानिसहरू बीचका सम्बन्धहरू असामान्य छन् र मानिसहरूको बीचमा सामान्य पारस्परिक सम्बन्धहरूको अभाव छ, तिनीहरू र परमेश्‍वरको बीच सामान्य सम्बन्धहरू हुने कुरा त परै जाओस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय १४

१२८. मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? तँ किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले “मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?” भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ।” यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकै पछ्याए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्‍नै लागि जिउँछन्। “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै चाहना, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो। यसले परमेश्‍वरलाई उछिन्‍न, परमेश्‍वरबाट स्वतन्त्र हुन, र परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, मानिसहरू शैतानद्वारा यस हदसम्म भ्रष्ट पारिएका छन्। तिनीहरू सबैसँग शैतानी प्रकृति छ, तिनीहरू सबैले परमेश्‍वरलाई नकार्ने र उहाँको विरोध गर्नमा झुकाव राख्छन्, र तिनीहरू आफ्नो नियतिलाई आफ्नै हातमा राख्‍न चाहन्छन् र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू पहिले नै ठ्याक्‍कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो। वास्तवमा, मानिसहरूले राखेका धेरै आदर्श-वाणी र लोकोक्तिहरूले मानव प्रकृतिलाई प्रतिनिधित्व गर्छन् र मानिसको भ्रष्ट सारलाई प्रतिबिम्बित गर्छन्। मानिसहरूले छनौट गर्ने कुराहरूले तिनीहरूका आफ्‍नै प्राथमिकतालाई प्रतिबिम्बित गर्छन्, र ती सबैले मानिसहरूका स्वभाव र पछ्याइहरूको प्रतिनिधित्व गर्छन्। व्यक्तिले आफूले बोल्‍ने हरेक शब्‍द, र गर्ने हरेक काम जति नै छद्‌म भए पनि, यो छद्म रूपले उसको प्रकृतिलाई ढाकछोप गर्न सक्दैन। उदाहरणका लागि, फरिसीहरू प्रायजसो निकै राम्रो प्रचार गर्थे, तर जब तिनीहरूले येशूले व्यक्त गरेका प्रवचन र सत्यताहरू सुने, तब तिनीहरूले तिनलाई स्विकार्नुको सट्टा दोषी ठहराए। यसले सत्यताप्रति वितृष्ण हुने र त्यसलाई घृणा गर्ने फरिसीहरूको प्रकृति सारको खुलासा गर्‍यो। कतिपय मानिसहरू निकै राम्ररी बोल्छन् र आफ्‍नो वास्तविकता लुकाउन निकै सिपालु हुन्छन्, तर तिनीहरूसँग केही समयसम्‍म सङ्गत गरिसकेपछि, उनीहरूले ती मानिस प्रकृतिले नै अत्यन्तै छली भएको र अलिकति पनि इमानदार नभएको पत्ता लगाउँछन्। ती मानिसहरूसँग लामो समयसम्‍म उठबस गरिसकेपछि, उनीहरूले तिनीहरूको प्रकृति सार पत्ता लगाउँछन्। अन्त्यमा, तिनीहरूले निम्न निष्कर्ष निकाल्छन्: ती मानिसहरू कहिल्यै एक शब्द पनि सत्य बोल्दैनन् र तिनीहरू छली हुन्। यो भनाइले त्यस्ता मानिसहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ, र यो तिनीहरूको प्रकृति सारको सर्वश्रेष्ठ चित्रण र प्रमाण हो। तिनीहरूको संसारसँग व्यवहार गर्ने दर्शन भनेकै कसैलाई सत्य नभन्‍नु हो, साथसाथै कसैलाई पनि भरोसा नगर्नु हो। मानिसको शैतानी प्रकृतिमा शैतानका धेरै दर्शन र विषहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई तीबारे थाहा हुँदैन। यदि तँ सत्यता बुझ्दैनस् भने, शैतानको स्वभाव खुट्ट्याउन असक्षम हुन्छस्। र पनि, तँ हरदिन हरपल शैतानको स्वभावअनुसार जिइरहेको हुन्छस् अनि यो निकै सही र समझदारीपूर्ण छ र यसमा कुनै गल्ती छैन भन्‍ने सोच्छस्। तँ शैतानका दर्शनहरूअनुसार जिउँदा, शैतानको स्वभावअनुसार जिइरहेको हुन्छस् अनि शैतानका दर्शन र स्वभाव तेरो प्रकृति बनेका हुन्छन् भन्‍ने देखाउन यो पर्याप्त छ। प्रायः मानिसहरू शैतानका दर्शनहरूअनुसार जिउँछन् तर अझै पनि यसलाई निकै राम्रो सोच्छन् र तिनीहरूमा पश्चात्तापको बोध पटक्कै हुँदैन। यो किन हुन्छ? किनभने मानिसहरू सत्यता बुझ्दैनन्। त्यसकारण, तिनीहरूले हरेक मोडमा आफ्नो शैतानी प्रकृति निरन्तर प्रकट गरिरहेका हुन्छन् र तिनीहरू हरेक मोडमा निरन्तर शैतानका दर्शनहरूअनुसार जिइरहेका हुन्छन्। शैतानको प्रकृति मानिसको जीवन हो र यो मानिसको प्रकृति सार हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

१२९. मानिसको प्रकृति मेरो सारभन्दा निकै फरक छ, किनभने मानिसको भ्रष्ट प्रकृति पूर्ण रूपमा शैतानबाट उत्पन्न हुन्छ; मानिसको प्रकृति शैतानद्वारा प्रशोधन गरिएको र भ्रष्ट तुल्याइएको हुन्छ। अर्थात्, मानिस यसको दुष्टता र कुरूपताको प्रभावमा जिउँछ। मानिस सत्यताको संसार वा पवित्र वातावरणमा हुर्कँदैन, र मानिस ज्योतिमा त झनै जिउँदैन। त्यसकारण, जन्मिएको क्षणदेखि नै कसैको पनि प्रकृतिमा सत्यता हुनु सम्भव छैन, अनि कोही पनि परमेश्‍वरको डर मान्‍ने र उहाँप्रति समर्पित हुने सार लिएर जन्मन त झनै सक्दैन। यसको विपरीत, मानिसहरूमा परमेश्‍वरको विरोध गर्ने, परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, र सत्यताप्रति प्रेम नहुने प्रकृति हुन्छ। मैले छलफल गर्न चाहेको समस्या नै यही प्रकृति हो—विश्‍वासघात।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

१३०. मप्रति पूर्ण रूपले समर्पित हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति छल गर्ने र मलाई छल गर्नको निम्ति झूट बोल्‍नु विश्‍वासघात हो। विभिन्‍न धारणाहरू राखेर तिनलाई जहाँसुकै फैलाउनु पनि विश्‍वासघात नै हो। मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्‍वासघात हो। हृदयमा मदेखि धेरै टाढा रहेर झूटा मुस्कानहरू प्रस्तुत गर्नु विश्‍वासघात हो। यी सबै विश्‍वासघातका कामहरू हुन् जसको निम्ति तिमीहरू सधैँ सक्षम छौ र ती तिमीहरूका बीचमा सामान्य रूपमा रहेका छन्। तिमीहरूमध्ये कसैले पनि यसलाई समस्याको रूपमा सोचेका थिएनौ होला तर म त्यस्तो सोच्दिनँ। कुनै व्यक्तिले मलाई गर्ने विश्‍वासघातलाई म महत्त्वहीन विषयको रूपमा व्यवहार गर्दिनँ र म निश्‍चय नै यसलाई बेवास्ता गर्न सक्दिनँ। अहिले, मैले तिमीहरूको माझमा काम गर्दा त तिमीहरूले यस्तो व्यवहार गर्छौ—तिमीहरूको निरीक्षण गर्ने कोही नहुने दिन आउँदा, के तिमीहरू आफैलाई आफ्‍ना स-साना पहाडहरूका राजा घोषणा गर्ने डाँकाहरूजस्तै हुने छैनौ र? जब त्यस्तो हुन्छ र तिमीहरूले घोर विपद् सृजना गर्छौ, तिमीहरू पछि सफा गर्ने को हुनेछ र? विश्‍वासघातका केही कार्यहरू बेलाबेलामा हुने घटनाहरू मात्र हुन्, तिमीहरूका दोहोरिरहने व्यवहार होइनन् भन्‍ने तिमीहरू सोच्छौ र तिमीहरूका घमण्डहरूलाई घायल बनाउने गरी यसरी गम्भीर रूपमा छलफल गर्नुपर्ने कुरा होइन भन्‍ने ठान्छौ। यदि तिमीहरूले साँच्चै यस्तो सोच्छौ भने तिमीहरूमा होसको अभाव छ। यस्तो सोच्‍नु विद्रोहको नमुना र आदर्श बन्‍नु हो। मानिसको प्रकृति नै उसको जीवन हो; यो ऊ जिउनको निम्ति भर पर्ने सिद्धान्त हो र उसले यसलाई बदल्न सक्दैन। विश्‍वासघातको प्रकृतिलाई उदाहरणको रूपमा लिऊँ। यदि तैँले कुनै एक नातेदार वा मित्रलाई विश्‍वासघात गरिस् भने त्यसले त्यो तेरो जीवनको भाग हो र तँ जन्मदा साथमा आएको प्रकृति हो भन्‍ने प्रमाणित गर्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

१३१. जोसुकैले पनि तिनीहरूको वास्तविक चेहराको प्रतिनिधित्व गर्नको निम्ति आफ्ना शब्द र कार्यहरूको प्रयोग गर्न सक्छन्। यो वास्तविक चेहरा नै तिनीहरूको प्रकृति हो। यदि तँ कुटिल तरिकाले बोल्छस् भने तेरो प्रकृति कुटिल नै हुन्छ। यदि तँ छली प्रकृतिको छस् भने तँ धूर्त तरिकाले नै कार्य गर्छस् र तैँले अरूलाई अत्यन्तै सहज रूपमा छल गर्छस्। यदि तेरो प्रकृति दुष्ट छ भने तेरा शब्दहरू सुन्‍नलाई मनोहर होलान्, तर तेरा कार्यहरूले तेरा दुष्ट चालबाजीहरूलाई लुकाउन सक्दैनन्। यदि तेरो प्रकृति नै अल्छे छ भने तैँले भन्‍ने सबै कुराहरूको अर्थ तेरो लापरवाही र अल्छेपनको निम्ति तेरो जिम्मेवारीलाई टार्नको लागि हुन्छ र तेरा कार्यहरू ढीला र आलटाले प्रवृत्तिका हुन्छन् अनि सत्यता लुकाउन निपुण हुन्छन्। यदि तेरो स्वभाव सबल छ भने तेरा शब्दहरू तर्कसंगत हुनेछन् र तेरा कार्यहरू पनि सत्यतासँग मेल खानेछन्। यदि तेरो प्रकृति निष्ठावान छ भने तेरा शब्दहरू निश्‍चय नै इमानदार हुन्छन् र तेरो कार्यशैली न्यायसंगत हुन्छ, तेरा मालिकलाई अप्ठ्यारो पार्ने किसिमका कुनै पनि कुराहरूबाट मुक्त हुन्छ। यदि तेरो प्रकृति अभिलाषापूर्ण वा पैसाको लोभ गर्ने छ भने अक्सर तेरो हृदय यी कुराहरूले भरिएको हुन्छ र तैँले अनजानमा पथभ्रष्ट र अनैतिक काम गर्छस् जसलाई मानिसहरूले सजिलै बिर्सनेछैनन् र त्यसलाई मानिसहरूले घृणा गर्नेछन्। मैले भने जसरी नै यदि तँसँग विश्‍वासघातको प्रकृति छ भने, तैँले सायद आफैलाई यसबाट मुक्त पार्न सक्नेछैनस्। तैँले कसैको हानी गरेको छैनस् त्यसैले तँसँग विश्‍वासघातको प्रकृति छैन भनेर आफैलाई भाग्यमानी नठान्। यदि तेरो सोच त्यो हो भने, साँच्चै नै, तैँले विद्रोह गर्दैछस्। मैले हरेक पटक बोलेका मेरा सबै वचनहरू कुनै एक व्यक्ति वा एक प्रकारको व्यक्तिप्रति मात्र होइन, सबै मानिसहरूप्रति लक्षित छन्। तैँले मलाई कुनै एउटा कुरामा विश्‍वासघात गरेको छैनस् भन्दैमा त्यसले तैँले कुनै कुरामा मलाई विश्‍वासघात गर्दैनस् भन्‍ने कुरा प्रमाणित गर्दैन। कतिपय मानिसहरूले आफ्ना विवाहमा अवरोध खडा हुँदाको अवधिमा सत्यताको खोजी गर्ने आफ्नो हिम्मत गुमाउँछन्। परिवार बिग्रँदा केही मानिसहरूले मप्रति वफादार हुनुपर्ने तिनीहरूको दायित्वलाई त्याग्छन्। केही मानिसहरूले क्षणभरको आनन्द र उत्तेजनाको खोजी गर्नका निम्ति मलाई त्याग्छन्। केही मानिसहरू ज्योतिमा बस्‍न र पवित्र आत्माको कामको आनन्द प्राप्त गर्नुको साटो अँध्यारो खाडलमा खस्‍न चाहन्छन्। केही मानिसहरूले सम्पत्तिप्रतिको आफ्नो अभिलाषालाई सन्तुष्ट पार्ने नाउँमा आफ्ना मित्रहरूको सल्लाहलाई बेवास्ता गर्छन् र अहिले पनि आफ्ना गल्तीहरूलाई स्वीकार गर्न र आफ्नो मार्ग परिवर्तन गर्न सक्दैनन्। केही मानिसहरू मेरो सुरक्षा प्राप्त गर्नको निम्ति अस्थायी रूपमा मात्र मेरो नामको अधीनमा बस्छन् भने अरू बाध्यताका कारण थोरै मात्र मप्रति समर्पित हुन्छन् किनकि तिनीहरू जीवनमा टाँसिन्छन् र मृत्युसँग डराउँछन्। के यी र अन्य अनैतिक कार्यहरू सत्यनिष्ठ विनाका कार्यहरू लामो समयदेखि तिनीहरूको हृदयको गहिराइबाट मलाई विश्‍वासघात गर्ने मानिसहरूका व्यवहारहरू होइनन्? अवश्य, मानिसहरूले मलाई विश्‍वासघात गर्ने अग्रिम योजना बनाउँदैनन्; तिनीहरूको विश्‍वासघात तिनीहरूको प्रकृतिको प्राकृतिक प्रकाश हो। कसैले पनि मलाई विश्‍वासघात गर्न चाहँदैन र मेरो विश्‍वासघात गर्ने केही कुरा गरेका कारण कोही पनि खुशी हुँदैनन्। यसको विपरीत, तिनीहरू भयले काँपिरहेका हुन्छन्, हुँदैनन् र? यसैले, के तिमीहरू यी विश्‍वासघातहरूबाट कसरी छुटकारा पाउने र वर्तमान परिस्थितिलाई कसरी परिवर्तन गर्ने भनेर सोचिरहेका छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

१३२. तिमीहरू हिलोबाट अलग गरियौ र जेसुकै भए तापनि, तिमीहरू फोहोरी र परमेश्‍वरद्वारा घृणा गरिएका थिग्रोहरूका बीचबाट टिपिएका वस्तु थियौ। तिमीहरू शैतानका थियौ र एक पटक त्यसबाट कुल्चिएका र दूषित पारिएका थियौ। यसैले तिमीहरू हिलोबाट अलग गरिएका थियौ भनिएको हो, र तिमीहरू पवित्र हुनु त कता हो कता, बरु तिमीहरू लामो समयदेखि शैतानको छलकपटको वस्तु रहँदै आएका गैर-मानव थोकहरू हौ। तिमीहरूको सबैभन्दा उचित मूल्याङ्कन यही नै हो। तिमीहरू मूल रूपमा समात्‍नको निम्ति आकर्षक माछा र झिँगे माछा नभई जमेर दुर्गन्धित भएको पानी र हिलोमा पाइने अशुद्ध थोकहरू थियौ भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ, किनकि आनन्द प्रदान गर्ने कुनै पनि कुरा तिमीहरूबाट प्राप्त गर्न सकिन्न। यसलाई रूखो तवरले भन्‍नुपर्दा, तिमीहरू तल्लो समाजका सबैभन्दा भ्रष्ट पशुहरू हौ, सुँगुर र कुकुरहरूभन्दा पनि खराब। खुलस्त भन्‍नुपर्दा, तिमीहरूलाई यस्ता शब्दहरूले सम्बोधन गर्नु न त अतिशयोक्ति हो न त अत्युक्ति नै हो; बरु, यसले विषयलाई सरलीकृत पो गर्छ। तिमीहरूलाई यस्ता शब्दहरूले सम्बोधन गर्नु तिमीहरूलाई सम्मान देखाउने एउटा तरिका हो भनेर समेत भन्‍न सकिन्छ। हिलोमा भएको तिमीहरूको हैसियत लगायत तिमीहरूको अन्तर्दृष्टि, बोली-वचन, मानिसको रूपमा व्यवहार र तिमीहरूका जीवनको हरेक पक्ष, तिमीहरूको पहिचान “सामान्यभन्दा बाहिरको” हो भन्‍ने कुरालाई प्रमाणित गर्न पर्‍याप्त छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको अन्तर्निहित पहिचान र उसको मूल्य: वास्तवमा ती कस्ता हुन्छन्?

१३३. मानिसहरू मेरो शत्रुबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मेरो विरोध र मविरुद्ध विद्रोह गर्ने दुष्टहरू हुन्। मानिसहरू मैले श्राप दिएको दुष्टको सन्तानबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मलाई धोका दिएको प्रधान स्वर्गदूतका सन्तानबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मैले धेरै पहिले तिरस्कार गरेको दुष्टको विरासतबाहेक कोही पनि होइनन्, जो त्यस बेलादेखि यता मेरो कट्टर विरोधी भइआएको छ। किनभने सारा मानवजाति माथिको आकाश स्पष्टताको कुनै पनि सङ्केत नभएको धमिलो र कालो छ र मानव जगत घोर अन्धकारमा डुबेको छ, यसैले त्यहाँ बसोबास गर्नेले आफ्नो अनुहार अगाडि फैलिएको आफ्नो हात वा टाउको माथि उठाउँदा सूर्य पनि देख्‍न सक्दैन। उसको खुट्टामुनिको सडक हिलोले ढाकेको र खाल्‍डा-खुल्डीहरूले व्याप्त छ, विचलित पार्ने गरी भूलभूलैया छ; सारा जमिन लासहरूले ढाकेको छ। अँध्यारा कुनाहरू मृतकहरूका अवशेषहरूले भरिएका छन्, र शान्त र अँध्यारा कुनाहरूमा भूतहरूका भीडले बसोबास गरेका छन्। अनि मानिसहरूका संसारमा भूतहरू भीड-भाड गर्दै आवतजावत गर्छन्। फोहोरले ढाकिएका सबै प्रकारका जनावरहरूका सन्तान भीषण युद्धबाट घेरिएका छन् जसको आवाजले हृदयमा आतङ्क पैदा गर्छ। यस्तो समयमा “सांसारिक वैकुण्ठ” रूपी संसारमा जीवनको परमसुख खोज्‍न कुनै एक व्यक्ति कहाँ जान्छ? जीवनको लक्ष्य खोज्‍न कुनै एक व्यक्ति कहाँ जानसक्छ? शैतानको खुट्टाले कुल्चिएपछि मानवजाति पहिलेदेखि नै शैतानको स्वरूप लिएको कलाकार बनेको छ—त्योभन्दा पनि बढी मानवजाति शैतानको मूर्त रूप हो र ठूलो र स्पष्ट आवाजमा शैतानको गवाही दिने प्रमाणको काम गर्छ। यस्तो मानव जाति, यस्ता फोहोरका पोकोहरू, यस्तो भ्रष्ट मानव परिवारको सन्तान कसरी परमेश्‍वरको गवाही बन्‍न सक्छ? मेरो महिमा कहाँबाट आउँछ? कसैले मेरो गवाही बोल्‍न कहाँबाट सुरु गर्छ? किनकि मेरो विरुद्ध उभिने शत्रुले मानिसलाई भ्रष्ट पारेर मानवजातिलाई अघि नै आफ्नो बनाइसकेको छ—त्यो मानवजाति जसलाई मैले धेरै पहिले सृष्टि गरेँ र जो मेरो महिमाले र जीवनशैलीले भरिएको थियो—त्यसलाई दूषित पारेको छ। त्यसले मेरो महिमा खोसेर लगेको छ र शैतानको कुरूपता मिश्रित विष तथा असल र खराबको ज्ञान दिने रूखको फलको रसले मानिसलाई सन्तृप्त पारेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति हुनुको अर्थ के हो

१३४. तिमीहरूले धेरै वर्षदेखि मेरो सामु गरेका व्यवहारले मलाई पहिले कहिल्यै नसुनेको उत्तर दिएको छ अनि यो उत्तरको प्रश्नचाँहि यस्तो छ “सत्यता र साँचो परमेश्‍वरको सामने मानिसको प्रवृत्ति कस्तो छ?” मैले मानिसको निम्ति समर्पित गरेको कोसिसहरूले मानिसप्रति भएको मेरो प्रेमको सार प्रमाणित गर्छ, अनि मानिसले मेरो सामु गरेको हरेक कार्यले तिनीहरूले सत्यलाई घृणा गर्छन् र तिनीहरू मेरो विरोधमा छन् भनी प्रमाणित गर्दछ। हरसमय म मलाई पछ्याउने सबैको सरोकार राख्छु, तैपनि मलाई पछ्याउनेहरू मेरा वचनहरू स्विकार्न कहिल्यै सक्षम हुँदैनन्; तिनीहरू मेरा सल्लाहहरू स्वीकार गर्न पनि सक्षम छैनन्। यही कुराले मलाई सबैभन्दा धेरै दुःखी बनाउँछ। कसैले पनि मलाई कहिल्यै बुझ्न सकेका छैनन्, अनि त्यसबाहेक, मेरो मनोवृत्ति निष्कपट र मेरा वचनहरू भद्र भए तापनि कोही पनि मलाई ग्रहण गर्न कहिल्यै सक्षम भएको छैन। प्रत्येक व्यक्तिले मैले तिनीहरूलाई दिएको काम तिनीहरूको आफ्नै विचारअनुसार गर्ने कोसिस गर्छ, तिनीहरू मेरा अभिप्रायहरू खोज्दैनन्, मैले तिनीहरूबाट के चाहन्छु भनी सोध्ने कुरा त परै जाओस्। तिनीहरूले निष्ठा पूर्वक मेरो सेवा गरेको दाबी गरे पनि मेरो विरुद्ध विद्रोह गर्छन्। धेरैले आफूले स्वीकार गर्न नसक्‍ने वा अभ्यास गर्न नसक्ने सत्यताहरूलाई सत्यता नै होइनन् भन्‍ने विश्‍वास गर्छन्। त्यस्ता मानिसहरूमा, मेरा सत्यताहरू इन्कार गरिएको र फ्याँकिएको थोक बन्दछ। यसको साथसाथै मानिसहरूले मलाई वचनमा मात्र भएको परमेश्‍वरको रूपमा चिन्छन्, तापनि मलाई परदेशीको रूपमा विश्‍वास गर्छन् जो सत्य, बाटो वा जीवन होइन। यो सत्य कसैलाई पनि थाहा छैन: मेरा वचनहरू सदैव अपरिवर्तनीय सत्यता हुन्; म मानिसका निम्ति जीवनको आपूर्ति र मानवजातिका निम्ति एक मात्र मार्गदर्शक हुँ; मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले तिनलाई पहिचान र स्वीकार गर्छन् कि गर्दैनन् भन्‍ने कुराद्वारा नभई ती वचनहरू स्वयम्‌को सारद्वारा निर्धारित हुन्छ; अनि यस पृथ्वीमा भएको एक जनाले समेत मेरा वचनहरू स्विकार्न सकेन भने पनि, मेरा वचनको मूल्य र तिनले मानवजातिलाई गर्ने सहयोगको आकलन कुनै पनि मानिसले गर्न सक्दैन। त्यसकारण, मेरा वचनविरुद्ध विद्रोह गर्ने, तिनलाई खण्डन गर्ने, वा अत्यन्तै तिरस्कार गर्ने धेरै मानिसको सामना गर्दा, मेरो मनोवृत्ति यो मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो गवाही बनून् र मेरा वचन नै सत्य, मार्ग र जीवन हुन् भनी प्रमाणित गरून्। मैले भनेका सबै कुरा सही छन्, यी मानिससँग हुनुपर्ने कुरा हुन्, र योभन्दा पनि बढी, यी मानिसले स्वीकार गर्नुपर्ने कुरा हुन् भनी तिनले प्रमाणित गरून्। मलाई पछ्याउने सबैलाई म यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास गर्न नसक्नेहरू, मेरा वचनमा उद्देश्य भेट्टाउन नसक्नेहरू, अनि मेरा वचनहरूमार्फत मुक्तिको अनुग्रह प्राप्त गर्न नसक्‍नेहरू मेरा वचनहरूद्वारा दोषी ठहराइएकाहरू हुन्; योभन्दा पनि बढी, तिनीहरू मेरो मुक्तिको अनुग्रह गुमाएकाहरू हुन्, र मेरो डण्डाले तिनीहरूलाई कहिल्यै छोड्ने छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

अघिल्लो: क. शैतानले मानवजातिलाई कसरी भ्रष्ट पार्छ भन्‍ने खुलासा सम्बन्धी वचनहरू

अर्को: ग. भ्रष्ट मानवजातिका धार्मिक धारणा, विधर्म र भ्रमहरूको खुलासा सम्बन्धी वचनहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्