क. शैतानले मानवजातिलाई कसरी भ्रष्ट पार्छ भन्ने खुलासा सम्बन्धी वचनहरू
६५. सुरुमा परमेश्वरद्वारा सृष्टि गरिएका आदम र हव्वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका थिएनन्। तिनीहरू यहोवाप्रति बफादार थिए र यहोवालाई धोका दिनेबारेमा तिनीहरूलाई केही थाहा थिएन। किनभने तिनीहरूमा शैतानको प्रभावको बाधा थिएन, शैतानको विष थिएन र तिनीहरू सारा मानवजातिमध्ये सबैभन्दा शुद्ध थिए। तिनीहरू अदनको बगैंचामा कुनै पनि फोहोरद्वारा अशुद्ध नपारिएको, देहको वशमा नपरेको अवस्थामा र यहोवाको डर मान्दै बस्थे। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूमा सर्पको विष पर्यो, र यहोवालाई धोका दिने इच्छा जाग्यो, र तिनीहरू शैतानको प्रभावमा जिए। सुरुमा, तिनीहरू पवित्र थिए र तिनीहरू यहोवादेखि डराउँथे; यो अवस्थामा मात्रै तिनीहरू मानव थिए। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए, र शैतानको प्रभावमा जिए। तिनीहरूलाई शैतानले बिस्तारै भ्रष्ट बनाउँदै लग्यो र तिनीहरूले मानिसको मूल स्वरूप गुमाए। सुरुमा, मानिसमा यहोवाको सास थियो, ऊ अलिकति पनि विद्रोही थिएन र उसको हृदयमा कुनै दुष्टता थिएन। त्यो समयमा, मानिस साँच्चै मानव थियो। शैतानद्वारा भ्रष्ट गरिएपछि, मानिस जनावर बन्यो। उसका विचारहरू दुष्टता र फोहोरद्वारा भरिए, तिनमा कुनै असल कुरा वा पवित्रता थिएन। के यो शैतान होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
६६. सामाजिक विज्ञानहरूको प्रादुर्भाव भएदेखि, मानिसको हृदय विज्ञान र ज्ञानद्वारा ओगटिएको छ। विज्ञान र ज्ञान मानवजातिलाई शासन गर्नका लागि औजार बनेका छन्, जसले गर्दा मानिससँग परमेश्वरलाई आराधना गर्नका निम्ति पर्याप्त स्थान छैन, र परमेश्वरको आराधना गर्नका लागि त्यति धेरै अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्वरको स्थान सधैँ झन्झन् तल खस्केको छ। मानिसको हृदयमा परमेश्वरका लागि स्थान नहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। तत्पश्चात् मानवजातिको हृदय र मन भर्न परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो भन्ने सत्यताप्रति विरोधाभासी हुने सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरू व्यक्त गर्न धेरै सामाजिक वैज्ञानिक, इतिहासकार, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यसरी, परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो भनी विश्वास गर्नेहरू पहिलेभन्दा कम हुँदै गएका छन्, र विकासवादको सिद्धान्तमा विश्वास गर्नेहरूको सङ्ख्या पहिलेभन्दा बढ्दै गएको छ। पुरानो करारीय युगमा भएका परमेश्वरको काम र उहाँका वचनहरूका अभिलेखहरूलाई झन्-झन् धेरै मानिसले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिन्छन्। परमेश्वरको गरिमा र महान्ताप्रति मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्, अनि तिनीहरू परमेश्वरको अस्तित्व र यावत् थोकमाथि उहाँको प्रभुत्व छ भन्ने सिद्धान्तप्रति आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र जातिहरू र राज्यहरूको नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानिस केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी, वा उहाँ कसरी मानिसको गन्तव्यमाथि सार्वभौमिकता राख्नुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोज्न केही मानिस मात्र अग्रसर हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्च सभ्यता प्राप्त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्वरको मार्गदर्शनविना, शासक र समाजशास्त्रीहरूले मानव सभ्यता कायम राख्न आफ्नो दिमाग खियाए पनि, यसले कुनै फाइदा गर्दैन। मानिसको हृदयमा भएको खालीपनलाई कुनै व्यक्तिले पनि भर्न सक्दैन, किनकि कुनै पनि व्यक्ति मानिसको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानिसलाई खालीपनका समस्याहरूबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि, मानिसले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुराहरू हुनुले मानिसको अन्वेषण गर्ने तृष्णा र कामना रोक्न सक्दैन। यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्वरले सृष्टि गर्नुभयो र उसका निरर्थक बलिदान र अन्वेषणहरूले झन्झन् ऊमाथि हैरानी ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार बेचैनीको अवस्थामा हुने तुल्याउँछन्, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि ऊ विज्ञान र ज्ञानसँग पनि डराउँछ, र ऊ खालीपनको अनुभूतिसँग झन् बढी डराउँछ। यस संसारमा, तँ चाहे स्वतन्त्र देशमा जिउने भए पनि वा मानवअधिकार नभएको देशमा जिउने भए पनि, मानवजातिको नियतिबाट उम्कन तँ पूर्ण रूपमा असक्षम हुन्छस्। तँ शासक वा शासित, जे भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो कामनाबाट उम्कन पूर्ण रूपमा असक्षम हुन्छस्, खालीपनको अवर्णनीय भावनाबाट उम्कन त झनै सक्षम हुँदैनस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई, समाजशास्त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तैपनि यस्ता समस्याहरू समाधान गर्न कुनै पनि महान् व्यक्ति अगाडि आउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
६७. हजारौँ वर्षदेखिको फोहोर रहिआएको यो भूमि असहनीय रूपमा फोहोर छ, यसमा प्रचुर दुःख छ, प्रेतहरू जालझेल र छल गर्दै, आधारहीन आरोपहरू लगाउँदै,[१] क्रूर उपाय अपनाउँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै जताततै अनियन्त्रित रूपमा दगुर्छन्; कुहिएको दुर्गन्धले भूमिलाई ढाक्छ र त्यो हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ।[२] आकाशभन्दा परको संसार कसले देख्न सक्छ? दियाबलसले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखा ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौँ वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, जब यसले अझै पनि भूतको सहरमाथि निकट रूपमा नजर राख्छ, मानौँ यो पिशाचहरूको अभेद्य महल हो; यसबीच रखवारी गर्ने कुकुरहरूको यो झुन्डले परमेश्वरले उनीहरूलाई अप्रत्याशित रूपमा समातेर मेटाउनुहुनेछ, र उनीहरूलाई शान्ति र खुसीयालीको ठाउँबाट वञ्चित गर्नुहुनेछ भनी डराएर आँखा तर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका हुन सक्थे? के तिनीहरूले कहिल्यै मानव संसारका मामिला बुझ्ने सक्थे? तिनीहरूमध्ये कसले परमेश्वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्वर पूर्ण रूपमा लुकेर रहनु त्यति अचम्मको कुरा होइन: पिशाचहरू निर्दयी र अमानवीय हुने यो जस्तो अन्धकारको समाजमा अलिकति पनि सङ्कोच नमानी मानिसहरूलाई मार्ने दियाबलसका राजाले एउटा यस्तो परमेश्वरको अस्तित्व कसरी सहन गर्न सक्थ्यो, जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्थ्यो? यी चाकरहरू! तिनीहरू दयाको बदलामा घृणा गर्छन्, तिनीहरूले धेरै पहिले नै परमेश्वरलाई शत्रुका रूपमा व्यवहार गर्न थालेका हुन्, तिनीहरू परमेश्वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा बर्बर छन्, तिनीहरूमा परमेश्वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण र लुटपाट गर्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, र तिनीहरू निर्दोष मानवजातिलाई बहकाएर अचेत बनाउँछन्। के प्राचीन सन्तका उत्तराधिकारीहरू? के प्रिय अगुवाहरू? तिनीहरू सबै परमेश्वरको विरोध गर्ने नीच मानिस हुन्! तिनीहरूको हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्। परमेश्वरको कामलाई कसले अङ्गालेको छ? परमेश्वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? पुस्तौँपुस्तादेखि, आमाबुबादेखि छोराछोरीसम्म अटुट रूपले दासत्वमा परेको मानिसहरूले अमर्यादित रूपमा परमेश्वरलाई दास बनाएका छन्—यसले कसरी क्रोध जगाउँदैन र? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्वरका जनतालाई झुक्याउन किन छली युक्तिहरू प्रयोग गर्नु? परमेश्वरको आगमनलाई दमन गर्न किन शक्तिको प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ न्यानोपन कहाँ छ? मानिसहरूमाझ उहाँको स्वागत कहाँ छ? परमेश्वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्वरलाई उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुनैपर्ने अवस्थासम्म किन घचघच्याउनु? यो समाज ज्यादै अँध्यारो छ—त्यसका घृणास्पद रक्षक कुकुरहरू किन परमेश्वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्? पीडा र कष्टको बीचमा जिउने मानिसले किन बुझ्दैन? तिमीहरूका खातिर, परमेश्वरले ठूलो यातना सहनुभएको छ, उहाँले ठूलो पीडा सहेर आफ्ना प्रिय पुत्र, उहाँको मासु र रगत तिमीहरूलाई दिनुभएको छ—र पनि तिमीहरू किन अझै पनि आँखा चिम्लिरहन्छौ? सबैले पूर्ण रूपमा देख्ने गरी, तिमीहरू परमेश्वरको आगमनलाई अस्वीकार गर्दछौ, र परमेश्वरको मित्रतालाई अस्वीकार गर्छौ। तिमीहरू किन यति धेरै अविवेकी छौ? के तिमीहरू यस्तो प्रकारको अँध्यारो समाजमा अन्यायहरू सहन इच्छुक छौ? तिमीहरू हजारौं वर्षको शत्रुताले आफ्नो पेट भर्नुको साटो, किन दियाबलसहरूको राजाको “गु” ले आफैलाई भर्ने गर्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८)
फूटनोटहरू:
१. “आधारहीन आरोपहरू लगाउँदै” ले ती तरिकाहरूलाई बुझाउँछ, जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्दछ।
२. “कडा सुरक्षामा राखिन्छ” ले ती तरिकाहरू बुझाउँछ जसद्वारा शैतानले मानिसलाई कष्ट दिन्छ, जुन विशेष गरी क्रूर हुन्छ, र मानिसहरूलाई यत्ति धेरै नियन्त्रण गर्छ कि तिनीहरूका निम्ति चलमलाउन ठाउँ नै हुँदैन।
६८. माथिदेखि तलसम्म र सुरुदेखि अन्त्यसम्म, शैतानले परमेश्वरको काममा बाधा पुर्याउँदै आएको छ र उहाँको विरोधमा काम गर्दै आएको छ। यी सबै “प्राचीन सांस्कृतिक सम्पदा,” मूल्यवान् “प्राचीन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादका शिक्षाहरू,” र “कन्फ्युसियन शास्त्रीय ग्रन्थहरू र सामन्ती संस्कारहरू” ले मानिसलाई नरकमा लगेका छन्। उन्नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्च विकसित उद्योग, कृषि, र व्यापार कतै देखिँदैनन्। बरु, यसले त परमेश्वरको कामलाई जानाजानी अवरोध गर्न, विरोध गर्न, र भत्काउन प्राचीन समयका “बाँदरहरू” ले ल्याएका सामन्ती संस्कारहरूलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई निरन्तर कष्ट दिइरहेको मात्र होइन, यो त मानिसलाई सिङ्गै निल्न समेत चाहन्छ।[१] सामन्ती नैतिकताका शिक्षाहरूको प्रसारण र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई धेरै अघि नै सङ्क्रमित गरिसकेको छ, र तिनीहरूलाई साना-ठूला दियाबलसहरूमा परिणत गरेको छ। परमेश्वरलाई खुसीसाथ ग्रहण गर्नेहरू थोरै छन्, उहाँको आगमनलाई उल्लासपूर्वक स्वागत गर्नेहरू थोरै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्यारो नियतले भरिएको छ, र हरेक ठाउँमा, हावामा ज्यानमारा सास फैलिएको छ। तिनीहरू परमेश्वरलाई यस भूमिबाट बाहिर निकाल्न खोज्छन्; हातमा चक्कु र तरवार लिएर, तिनीहरू परमेश्वरलाई “सर्वनाश” गर्न युद्धको ढाँचामा आफूलाई उभ्याउँछन्। मानिसलाई निरन्तर रूपमा परमेश्वर हुनुहुन्न भनी सिकाइने दियाबलसहरूको यो सारा भूमिभरि मूर्तिहरू फैलिएका छन्, र माथिको हावा कागज र धूप जलाएको वाकवाकी लाग्ने गन्धले भरिएको छ, जुन निसास्सिने गरी बाक्लो छ। यो विषालु सर्पको छटपटीसँगै ठ्वास्स आउने हिलोको दुर्गन्ध जस्तै छ, यतिसम्म कि कोही पनि बान्ता नगरी बस्नै सक्दैन। यसबाहेक, दुष्ट पिशाचहरूले धर्मशास्त्रहरू जपिरहेको मधुरो आवाज सुन्न सकिन्छ, एउटा यस्तो आवाज जुन धेरै टाढा नरकबाट आइरहेको जस्तो लाग्छ, यतिसम्म कि कोही पनि नकामी बस्न सक्दैन। यस भूमिमा जताततै इन्द्रेणीका सबै रङका मूर्तिहरू राखिएका छन्, जसले गर्दा उक्त भूमि एउटा भड्किलो, चहकिलो संसारमा परिणत भएको छ, जबकि दियाबलसहरूको राजा दुष्टतापूर्वक हाँसिरहन्छ, मानौँ यसको षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेखबर रहन्छ, र दियाबलसले उसलाई अचेत हुने र शिर झुकाउने हदसम्म भ्रष्ट तुल्याइसकेको छ भन्ने कुराको उसलाई कुनै भान हुँदैन। यो, एकै झट्कामा, परमेश्वरसम्बन्धी सबै कुरा मेटाउन, र फेरि एकपटक उहाँलाई अशुद्ध पार्न र उहाँको हत्या गर्न चाहन्छ; यो उहाँको कामलाई भत्काउन र बाधा दिन तल्लीन हुन्छ। यसले परमेश्वरलाई कसरी समान हैसियतको हुन दिन सक्छ र? यसले परमेश्वरले मानव संसारमा यसको काममा “हस्तक्षेप” गरेको यसले कसरी सहन सक्छ र? यसले कसरी परमेश्वरलाई यसको घिनलाग्दो मुहारको खुलासा गर्न दिन सक्छ र? यसले कसरी परमेश्वरलाई यसको काम अस्तव्यस्त पार्न दिन सक्छ र? क्रोधले रन्थनिएको यो दियाबलसले कसरी परमेश्वरलाई पृथ्वीमा रहेको यसको शाही दरबारमाथि नियन्त्रण जमाउन दिन सक्छ र? यसले उहाँको श्रेष्ठ शक्तिसामु कसरी स्वेच्छाले शिर झुकाउन सक्छ र? यसको घिनलाग्दो मुहार जस्ताको तस्तै प्रकट गरिएको छ, जसले गर्दा व्यक्ति हाँस्नु कि रुनुको अवस्थामा पुग्छ, र यसको वर्णन गर्न साँच्चै गाह्रो छ। के यसको सार यही होइन र? कुरूप प्राण बोकेर, तिनीहरू अझै पनि आफू विश्वास गर्नै नसकिने गरी सुन्दर रहेको विश्वास गर्छन्—अपराधमा संलग्न मतियारहरूको यो गिरोह![२] तिनीहरू सुखमा लिप्त हुन र कोलाहल मच्चाउन मरणशील क्षेत्रमा ओर्लन्छन्, र कामकुरालाई यति धेरै उथलपुथल पार्छन् कि संसार एउटा चञ्चल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यति धेरै खेलबाड गरेका छन् कि उसको रूप जङ्गली अमानवीय पशुको जस्तो, अत्यन्तै कुरूप बनेको छ, जसबाट मौलिक शुद्ध मानिसको अन्तिम नामोनिसान हराएको छ। यसबाहेक, तिनीहरू पृथ्वीमा सार्वभौम शक्ति ग्रहण गर्न समेत चाहन्छन्। तिनीहरू परमेश्वरको कामलाई यति धेरै अल्झाउँछन् कि यो मुस्किलले अघि सर्न सक्छ, र तिनीहरू मानिसलाई तामा र स्टिलको पर्खाललेझैँ कसिलो गरी बन्द गरिदिन्छन्। यति धेरै गम्भीर पाप गरेर र यति धेरै विपत्ति ल्याएर, के तिनीहरू अझै पनि सजाय नभई अरू नै केही आशा गरिरहेका छन्? दियाबलस र पिशाचहरू पृथ्वीमा केही समयदेखि उत्पात मच्चाइरहेका छन्, र तिनीहरूले परमेश्वरका अभिप्रायहरू र रगत-पसिना दुवैलाई यति कसिलो गरी थुनेका छन् कि केही पनि बाहिर निस्कन पाउँदैन। साँच्चै, यो एउटा घोर पाप हो! परमेश्वर कसरी व्याकुल नहुन सक्नुहुन्छ र? परमेश्वर कसरी नरिसाउन र? तिनीहरूले परमेश्वरको काममा गम्भीर बाधा पुर्याएका छन् र त्यसको विरोध गरेका छन्: कतिसम्म विद्रोही!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७)
फूटनोटहरू:
१. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्छ।
२. “अपराध गर्ने मतियारहरूको गिरोह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।
६९. केही हजार वर्षसम्म फैलिएको प्राचीन सांस्कृतिक इतिहास र ज्ञानले मानिसका विचार र धारणाहरू अनि उसको मानसिक दृष्टिकोणलाई यति कसिलो गरी बन्द गरिदिएको छ कि तिनलाई अभेद्य र नष्ट नहुने तुल्याएको छ।[१] मानिसहरू नरकको अठारौँ चक्रमा जिउँछन्, जहाँ, परमेश्वरद्वारा कालकोठरीमा निर्वासित गरिएझैँ, कहिल्यै ज्योति देखिँदैन। सामन्ती सोचाइले मानिसहरूलाई यति धेरै दमन गरेको छ कि तिनीहरू मुस्किलले सास फेर्न सक्छन् र निसास्सिइरहेका छन्। तिनीहरूसँग प्रतिरोध गर्नलाई अलिकति पनि शक्ति छैन; तिनीहरूले केवल सहन्छन् र मौनतामा सहन्छन्...। कसैले पनि कहिल्यै इन्साफ र निष्पक्षताका लागि सङ्घर्ष गर्ने वा खडा हुने आँट गरेको छैन; मानिसहरू केवल दिनप्रतिदिन र वर्षौँवर्ष सामन्ती नैतिकताको प्रहार र दुर्व्यवहारमा पर्दै पशुको भन्दा पनि खराब जीवन जिउँछन्। तिनीहरूले मानव संसारमा सुखको आनन्द लिनका लागि परमेश्वरलाई खोज्ने भनेर कहिल्यै सोचेका छैनन्। यस्तो लाग्छ, मानिसहरूलाई यस्तो बिन्दुसम्म कुटपिट गरिएको छ कि तिनीहरू शरद ऋतुमा झरेका पात जस्तै ओइलाएका, रङ्ग उडेका, र दुब्ला छन्। मानिसहरूले धेरै पहिले आफ्नो स्मरणशक्ति गुमाइसकेका छन्; तिनीहरू आखिरी दिनको आगमनको प्रतीक्षा गर्दै मानव संसार भनिने नरकमा असहाय रूपमा जिउँछन् ताकि तिनीहरू यो नरकसँगै नाश हुन सकून्, मानौँ तिनीहरूले तृष्णा गर्ने आखिरी दिन भनेको मानिसले “विश्रामपूर्ण शान्तिको आनन्द लिने” दिन हो। सामन्ती नैतिकताले मानिसको जीवनलाई “पाताल” मा पुर्याएको छ, जसले मानिसको प्रतिरोध गर्ने शक्तिलाई थप कमजोर बनाएको छ। सबै प्रकारका दमनले मानिसलाई पातालमा नखसुन्जेल चरणबद्ध रूपमा धकेल्छन्, र मानिसलाई परमेश्वरबाट झन्-झन् यति टाढा धकेल्छन् कि आज ऊ परमेश्वरलाई पूर्ण रूपमा अपरिचित ठान्छ, र उहाँलाई भेट्दा उहाँबाट पन्छिन हतार गर्छ। मानिस उहाँलाई ध्यान दिँदैन र उहाँलाई एक छेउमा एक्लै उभिन छोडिदिन्छ, मानौँ मानिसले उहाँलाई कहिल्यै चिनेको छैन, उहाँलाई पहिले कहिल्यै देखेको छैन। तैपनि मानिसले पश्चात्ताप गरोस् र नयाँ सुरुवात गरोस् भन्नका लागि परमेश्वरले मानव जीवनको लामो यात्राभरि मानिसलाई पर्खिरहनुभएको छ, आफ्नो दबाउन नसकिने रिस मानिसमाथि कहिल्यै खन्याउनुभएको छैन, एक शब्द नबोली केवल चुपचाप पर्खिरहनुभएको छ। मानिससँग मानव संसारका दुःखहरू बाँड्न परमेश्वर धेरै अघि नै मानव संसारमा आउनुभयो। उहाँ मानिससँग जिउनुभएका यतिका वर्षमा, कसैले पनि उहाँको अस्तित्व पत्ता लगाएको छैन। परमेश्वर उहाँले व्यक्तिगत रूपमा ल्याउनुभएको काम गर्ने क्रममा मानव संसारको दरिद्रताको कष्टलाई मौनतामा मात्रै सहनुहुन्छ। उहाँ परमेश्वर पिताको इच्छाको खातिर र मानवजातिको आवश्यकताको खातिर सहनुहुन्छ, र मानिसले पहिले कहिल्यै अनुभव नगरेका दुःखहरू भोग्नुहुन्छ। मानिसको उपस्थितिमा उहाँले चुपचाप उसलाई पर्खनुभएको छ, र मानिसको उपस्थितिमा उहाँले परमेश्वर पिताको इच्छाको खातिर र मानवजातिको आवश्यकताको खातिर पनि आफूलाई विनम्र तुल्याउनुभएको छ। प्राचीन संस्कृतिको ज्ञानले मानिसलाई परमेश्वरको उपस्थितिबाट सुटुक्क चोरेर उसलाई दियाबलसहरूको राजा र यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पाँच ग्रन्थले[क] मानिसका विचार र धारणाहरूलाई विद्रोहको अर्को युगमा पुर्याएका छन्, जसले गर्दा ऊ यी चार पुस्तक र पाँच ग्रन्थ सङ्कलन गर्नेहरूलाई पहिलेभन्दा अझ बढी आराधना गर्छ, र फलस्वरूप परमेश्वरबारे आफ्ना धारणाहरूलाई अझ तीव्र बनाउँछ। मानिसलाई थाहै नदिई, दियाबलसहरूको राजाले निर्दयी रूपमा परमेश्वरलाई उसको हृदयबाट निकालेर फालिदियो र त्यसपछि विजयी उल्लासका साथ आफैले त्यसमा कब्जा जमायो। त्यस समयदेखि, मानिसले कुरूप प्राण र दियाबलसहरूको राजाको मुहार धारण गरेको छ। परमेश्वरप्रतिको घृणाले उसको छाती भरिएको छ, र दियाबलसहरूको राजाको दुर्भावना मानिसभित्र दिनप्रतिदिन यसरी फैलिएको छ कि ऊ पूर्ण रूपमा भस्म भएको छ। मानिससँग अब अलिकति पनि स्वतन्त्रता छैन र दियाबलसहरूको राजाका उल्झनहरूबाट मुक्त हुने कुनै उपाय छैन। उसले त्यही ठाउँमा बन्दी बन्नु, त्यसको उपस्थितिमा आत्मसमर्पण गर्नु र झुक्नुबाहेक अरू कुनै विकल्प पाएको छैन। धेरै अघि, मानिसको हृदय शैशवावस्थामै हुँदा, दियाबलसहरूको राजाले त्यसमा नास्तिकताको ट्युमरको बीउ रोपेको थियो, र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर; चार वटा आधुनिकीकरण साकार पार; र संसारमा परमेश्वर भन्ने त्यस्तो कुनै चिज छैन” भन्ने जस्ता भ्रमपूर्ण कुराहरू सिकाएको थियो। त्यति मात्र होइन, त्यो हरेक अवसरमा “हामी हाम्रो परिश्रमी श्रममा भर परेर एउटा सुन्दर गृहभूमि निर्माण गरौँ” भन्दै चिच्याउँछ, र हरेक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई सेवा प्रदान गर्न तयार रहन भन्छ। मानिस अनजानमै त्यसको उपस्थितिमा ल्याइएको छ, र यसले नहिचकिचाई सबै श्रेय (अर्थात् सम्पूर्ण मानवजातिलाई आफ्नो हातमा राख्नुभएकोमा परमेश्वरलाई जाने श्रेय) आफैले लिन्छ। यसलाई कहिल्यै कुनै लाजको बोध हुँदैन। यसबाहेक, यसले निर्लज्जतापूर्वक परमेश्वरका मानिसहरूलाई कब्जा गर्छ र तिनीहरूलाई घिसारेर आफ्नै घरमा लैजान्छ, जहाँ यो टेबलमाथि मुसाजस्तै उफ्रन्छ र मानिसलाई यसलाई “परमेश्वर” को रूपमा आराधना गराउँछ। कस्तो हताश अपराधी! यसले निन्दनीय, स्तब्ध पार्ने कुराहरू चिच्याएर भन्छ, जस्तै: “संसारमा परमेश्वर भन्ने चिज छँदै छैन। बतास प्राकृतिक नियमहरूद्वारा सञ्चालित परिवर्तनहरूबाट उत्पन्न हुन्छ; वर्षा तब हुन्छ जब जलवाष्प चिसो तापक्रमको सम्पर्कमा आएर थोपाहरूमा परिणत हुन्छ र त्यो पृथ्वीमा खस्छ; भूकम्प भनेको भौगर्भिक परिवर्तनहरूका कारणले पृथ्वीको सतह हल्लिनु हो; खडेरी भनेको सूर्यको सतहमा आणविक कणहरू टुक्रिएर हावामा हुने सुख्खापनको कारणले हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबैमा परमेश्वरको कार्य कहाँ छ?” त्यस्ता मानिसहरू समेत छन् जो चिच्याउँदै यस्ता अकल्पनीय अभिव्यक्तिहरू दिन्छन्: “मानिस प्राचीन कालमा बाँदरबाट विकसित भएको हो, र आजको संसार लगभग एक युगअघि सुरु भएको आदिम समाजबाट आएको हो। कुनै देशको उन्नति हुन्छ कि पतन हुन्छ भन्ने कुरा पूर्ण रूपमा त्यहाँका मानिसहरूको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई यसलाई भित्तामा झुन्ड्याएर वा टेबलमा राखेर यसको आराधना गर्न र यसलाई भेटीहरू चढाउन लगाउँछ। “परमेश्वर हुनुहुन्न” भनेर चिच्याउँदै गर्दा, त्यो आफैलाई परमेश्वरको रूपमा खडा गर्छ, कठोर भएर परमेश्वरलाई पृथ्वीको सीमाभन्दा बाहिर धकेलिदिन्छ, र परमेश्वरको ठाउँमा उभिन्छ अनि दियाबलसहरूको राजाको भूमिका सम्हाल्छ। कतिसम्म समझविहीन भएको! यसले मानिसमा भित्रैदेखि घृणा उत्पन्न गराउँछ। परमेश्वर र यो कट्टर शत्रु हुन्, र यी दुई सहअस्तित्वमा रहन सक्दैनन् भन्ने देखिन्छ। यो परमेश्वरलाई धपाउने षड्यन्त्र गर्छ तर आफूचाहिँ कानुनको पहुँचभन्दा बाहिर स्वतन्त्र रूपमा घुम्छ।[२] यो कस्तो दियाबलसहरूको राजा रहेछ! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? जबसम्म परमेश्वरको कामलाई अस्तव्यस्त पार्दैन र यसलाई पूर्ण रूपमा भद्रगोल पार्दैन तबसम्म यसले विश्राम लिनेछैन,[३] मानौँ यो अन्तिमसम्मै परमेश्वरको विरोध गर्न चाहन्छ, जहाँ कि त माछा मर्नुपर्छ कि त जाली फाट्नुपर्छ, जानीजानी आफूलाई परमेश्वरको विरुद्धमा खडा गर्छ र झन्-झन् नजिकबाट दबाब दिन्छ। यसको घिनलाग्दो मुहार धेरै अघि नै पूर्ण रूपमा उदाङ्गो भइसकेको छ, र यो अहिले समस्याहरूद्वारा पूर्ण रूपमा घेरिएको र पिरोलिएको छ,[४] तैपनि यसले परमेश्वरप्रतिको घृणामा कमी आउन दिनेछैन, मानौँ परमेश्वरलाई एकै गाँसमा निलेर मात्र यसले आफ्नो हृदयमा गुम्सिएको घृणालाई कम गर्न सक्नेछ। हामी यो परमेश्वरको शत्रुलाई कसरी सहने होला! यसको उन्मूलन र पूर्ण विनाश गरेपछि मात्र हाम्रो जीवनको इच्छा साकार हुनेछ। यसलाई कसरी निरन्तर रूपमा छाडा छोड्न मिल्छ र? यसले मानिसलाई यतिसम्म भ्रष्ट तुल्याएको छ कि मानिस स्वर्गको घामलाई चिन्दैन, र ऊ संवेदनहीन र मन्दबुद्धिको भएको छ। मानिसले सामान्य मानव समझ गुमाएको छ। भविष्यका सबै चिन्ता हटाउन र परमेश्वरको कामलाई चाँडो अभूतपूर्व उचाइमा पुर्याउनका लागि यसलाई नष्ट गर्न र जलाउन हाम्रो सम्पूर्ण अस्तित्व किन अर्पण नगर्ने? यी बदमासहरूको गिरोह मानिसको संसारमा आएको छ र त्यसले यसलाई अशान्त बनाएको छ। तिनीहरूले सम्पूर्ण मानवजातिलाई भीरको डिलमा पुर्याएका छन्, र तिनीहरूलाई धकेलेर टुक्रा-टुक्रा पार्ने गोप्य योजना बनाइरहेका छन् ताकि तिनीहरूले ती लासहरू निल्न पाऊन्। तिनीहरू परमेश्वरको योजनालाई नष्ट गर्ने र एकै पटक सबै कुरालाई दाउमा राखेर उहाँसँग प्रतिस्पर्धा गर्ने व्यर्थ आशा गर्छन्।[५] त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर, क्रूस दियाबलसहरूको राजाकै लागि तयार गरिएको छ, जो सबैभन्दा जघन्य अपराधहरूको दोषी छ। परमेश्वर क्रूसको हुनुहुन्न। उहाँले यसलाई दियाबलसतर्फ फ्याँकिसक्नुभएको छ। परमेश्वर योभन्दा धेरै अगाडि विजयी भइसक्नुभएको छ र मानवजातिका पापहरूमाथि अब दुख मान्नुहुन्न, बरु सारा मानवजातिलाई मुक्ति ल्याइदिनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७)
फूटनोटहरू:
१. “गैर-जैवनिम्नीकरणीय” यहाँ व्यङ्ग्यको रूपमा छ, जसको अर्थ मानिसहरू तिनीहरूको ज्ञान, संस्कृति र आध्यात्मिक दृष्टिकोणमा कठोर हुन्छन् भन्ने हो।
२. “व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै” ले शैतान रिसले बौलाएर अनियन्त्रित भई दौडिन्छ भन्ने जनाउँछ।
३. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भन्ने जनाउँछ।
४. “चोटैचोट र नीलडामले भरिएको” भनेको दियाबलसहरूको राजाको कुरूप अनुहार हो।
५. “एउटै दाउमा सबै जित्ने” भनेको अन्तमा जित्ने आशामा आफ्नो सबै पैसा एउटै बाजीमा लगाउनु हो। यो शैतानका भयावह र नराम्रा योजनाहरूका लागि एउटा उपमा हो। यो वाक्यांश खिसी गर्नका निम्ति प्रयोग गरिन्छ।
क. चार पुस्तक र पञ्चोत्कृष्ट पुस्तकहरू चीनको कन्फ्युसियस धर्मका आधिकारिक पुस्तकहरू हुन्।
७०. मानिसको तथाकथित ज्ञानमा, शैतानले संसारसँग व्यवहार गर्ने दर्शन र त्यसको सोचाइ धेरै नै हालिदिएको हुन्छ। अनि शैतानले यसो गर्ने क्रममा, मानिसले परमेश्वरको अस्तित्वलाई इन्कार गर्न, सबै थोकमाथि र मानिसको भाग्यमाथिको परमेश्वरको प्रभुत्वलाई इन्कार गर्न सकोस् भनेर त्यसले मानिसलाई त्यसको सोचाइ, सिद्धान्त, र दृष्टिकोण अपनाउने तुल्याउँछ। त्यसकारण मानिसले प्रगतिको अध्ययन गर्ने क्रममा र उसले अझै बढी ज्ञान प्राप्त गर्ने क्रममा, उसले परमेश्वरको अस्तित्व अस्पष्ट भएको अनुभव गर्छ, र परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने समेत उसले अनुभव गर्नछोड्छ। शैतानले मानिसको मनमस्तिष्कमा केही निश्चित दृष्टिकोण, धारणा, र विचारहरू हालिदिएको हुनाले, जब शैतानले मानिसभित्र यो विष हालिसकेको हुन्छ, तब के मानिस शैतानद्वारा भ्रममा पारिएको र भ्रष्ट तुल्याइएको हुँदैन र? अब तिमीहरू के भन्छौ, आजका मानिसहरू के कुराको आधारमा जिउँछन्? के तिनीहरू शैतानले तिनीहरूमा हालिदिएको ज्ञान र विचाहरूद्वारा जिउँदैनन् र? अनि, यो ज्ञान र यी विचारहरूभित्र लुकेका कुराहरू—के ती शैतानका दर्शन र विषहरू होइनन् र? मानिस शैतानका दर्शन र विषहरूद्वारा जिउँछ। अनि, शैतानका दर्शन र विषहरूको केन्द्रबिन्दुमा के हुन्छ? शैतानले आफूले जस्तै मानिसलाई पनि परमेश्वरलाई इन्कार गर्न, विरोध गर्न र उहाँविरुद्ध उभिन लगाउँछ; मानिसलाई भ्रष्ट तुल्याउनुपछाडि रहेको शैतानको लक्ष्य यही हो, र यही नै शैतानले मानिसलाई भ्रष्ट तुल्याउने माध्यम पनि हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५
७१. मानिसहरूले ज्ञान प्राप्त गर्ने प्रक्रियाको दौरान, सबै प्रकारका विधिहरू प्रयोग गरेर, चाहे त्यो कथाहरू सुनाएर होस्, तिनीहरूलाई केवल केही ज्ञान दिएर होस्, वा तिनीहरूलाई आफ्ना चाहना वा आकाङ्क्षाहरू पूरा गर्न दिएर होस्, शैतानले मानिसहरूलाई कुन चाहिँ बाटोमा लैजान चाहन्छ? मानिसहरू ज्ञान सिक्नुमा केही गलत छैन, यो पूर्ण रूपमा स्वाभाविक र न्यायोचित छ भन्ने सोच्छन्। आकर्षक लाग्ने तरिकाले भन्दा, उच्च आकाङ्क्षाहरू स्थापित गर्नु वा महत्त्वाकाङ्क्षाहरू राख्नु भनेको सङ्कल्प हुनु हो, र यो जीवनमा सही मार्ग हुनुपर्छ। यदि व्यक्तिले आफ्ना आकाङ्क्षाहरू साकार पार्न सक्छ, वा आफ्नो जीवनकालमा सफल करियर स्थापित गर्न सक्छ भने, के त्यो जिउने अझ गौरवशाली तरिका होइन र? यसरी, व्यक्तिले आफ्ना पुर्खाहरूलाई सम्मान गर्न सक्छ मात्रै होइन तर आउने पुस्ताहरूका लागि आफ्नो छाप छोड्ने मौका पनि पाउन सक्छ—के यो राम्रो कुरा होइन र? यो सांसारिक मानिसहरूको नजरमा राम्रो कुरा हो, र तिनीहरूका लागि यो उचित र सकारात्मक हुनुपर्छ। तर, के शैतानले आफ्ना दुष्ट मनसायहरूले मानिसहरूलाई यस्तो बाटोमा लैजान्छ र त्यसपछि त्यति नै हो त? अवश्य होइन। वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती “ख्याति” र “प्राप्ति” हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: “ख्याति” र “प्राप्ति।” मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र? कतिपय मानिसले भन्नेछन्, ज्ञान सिक्नु भनेको समयको गतिसँग पछि नपर्न वा संसारद्वारा पछाडि नछोडिनका लागि पुस्तकहरू पढ्नु र तिमीलाई पहिल्यै थाहा नभएका केही कुरा सिक्नुबाहेक केही पनि होइन। आफ्नो हातमुख जोड्नका लागि, आफ्नै भविष्यका खातिर, वा आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मात्र ज्ञान सिकिन्छ। के आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मात्रै, खानेकुराको समस्या समाधान गर्नका लागि मात्रै, एक दशकसम्म कडा अध्ययन गर्ने कुनै व्यक्ति छ? छैन, यस्तो कोही पनि छैन। त्यसो भए, कुनै व्यक्तिले किन यति वर्षसम्म यस्ता कष्टहरू सहन्छ? यो ख्याति र प्राप्तिका लागि नै हो। ख्याति र प्राप्तिले तिनीहरूलाई टाढामा पर्खिरहेका हुन्छन्, तिनीहरूलाई बोलाइरहेका हुन्छन्, र तिनीहरू आफ्नो लगनशीलता, कठिनाइ र सङ्घर्षमार्फत मात्रै ख्याति र प्राप्तितर्फ लैजाने बाटोमा हिँड्न सक्छन्, यसरी यी कुराहरू प्राप्त गर्न सक्छन् भनी विश्वास गर्छन्। यस्तो व्यक्तिले आफ्नो भावी मार्गका लागि, आफ्नो भावी आनन्दका लागि र राम्रो जीवन प्राप्त गर्न यी कठिनाइहरू भोग्नैपर्छ। आखिर यो ज्ञान के हो—के तिमीहरू मलाई बताउन सक्छौ? के यो शैतानले मानिसमा हालिदिने जिउने नियम र दर्शनहरू होइन, जस्तै “पार्टीलाई प्रेम गर, देशलाई प्रेम गर, र आफ्नो धर्मलाई प्रेम गर” अनि “बुद्धिमानी मानिस परिस्थितिअनुसार चल्छ”? के यी शैतानले मानिसमा हालिदिएका जीवनका “उच्च आकाङ्क्षाहरू”, जस्तै महान् मानिसहरूका सोचहरू, प्रसिद्ध व्यक्तिहरूको निष्ठा वा वीर व्यक्तित्वहरूको साहसी आत्मा, वा मार्शल आर्ट उपन्यासहरूका नाइट र तरवारबाजहरूको शौर्य र दया होइनन् र? यी विचार र कथनहरूले एकपछि अर्को पुस्तालाई प्रभाव पार्छन्; धेरै मानिसले यी विचारहरू स्वीकार गर्छन्, र तिनीहरू यी “उच्च आकाङ्क्षाहरू” पूरा गर्नका लागि पछ्याउँछन्, सङ्घर्ष गर्छन्, र आफ्नो जीवन बलिदान दिनसमेत इच्छुक हुन्छन्। यो नै शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन ज्ञान प्रयोग गर्ने साधन र विधि हो। त्यसोभए शैतानले मानिसहरूलाई यस मार्गमा अगुवाइ गरेपछि, के तिनीहरू परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्षम हुन्छन्? र के तिनीहरू परमेश्वरका वचनहरू स्वीकार गर्न र सत्यता पछ्याउन सक्षम हुन्छन्? बिलकुल हुँदैनन्—किनभने तिनीहरूलाई शैतानले बहकाएको हुन्छ। अब यो विचार गरौँ: शैतानले मानिसहरूमा हालिदिएका ज्ञान, विचार, र दृष्टिकोणहरूभित्र, के परमेश्वरप्रतिको समर्पण र परमेश्वरको आराधनाका सत्यताहरू छन्? के परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने सत्यताहरू छन्? के परमेश्वरका कुनै वचनहरू छन्? के तिनीहरूमा सत्यताको कुनै कुरा छ? पटक्कै छैन—यी कुराहरू पूर्ण रूपमा छैनन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
७२. शैतानले मानिसका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, उसलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र उसलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुरा बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, उसमा यी साङ्लाहरू हुँदा, ऊसँग त्यसबाट उम्किने न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, ऊ यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छ। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका कपटी मनसायहरू अत्यन्तै घृणापूर्ण छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
७३. विज्ञानले मानिसहरूलाई केवल भौतिक संसारमा भएका वस्तुहरू देख्न, मानिसको जिज्ञासा मेटाउन मात्रै अनुमति दिन्छ, तर यसले मानिसलाई परमेश्वरले यावत् थोकमाथि राख्ने सार्वभौमिकताका व्यवस्थाहरू देख्न सक्षम बनाउँदैन। मानिसले विज्ञानमा उत्तरहरू भेट्टाए जस्तो देखिन्छ, र ती उत्तरहरू भ्रामक हुन्छन् र तिनले अस्थायी सन्तुष्टि मात्रै ल्याउँछन्, त्यस्तो सन्तुष्टि, जसले मानिसको हृदयलाई भौतिक संसारमा सीमित गर्ने काम गर्छ। मानिसले आफूले विज्ञानबाट उत्तरहरू प्राप्त गरेको महसुस गर्छ, त्यसकारण जुनसुकै मामिलाहरू पैदा भए पनि, ऊ त्यस समस्यालाई पुष्टि गर्न र स्वीकार गर्नका लागि आफ्ना वैज्ञानिक दृष्टिकोणहरू प्रयोग गर्छ। मानिसको हृदय विज्ञानको प्रलोभनमा पर्छ र त्यसको वशमा पर्छ, अनि फलस्वरूप ऊसँग त्यस उप्रान्त परमेश्वरलाई चिन्ने, परमेश्वरको आराधना गर्ने, अनि सबै कुरा परमेश्वरबाटै आउँछन्, अनि मानिसले सबै उत्तर परमेश्वरबाटै प्राप्त गर्नुपर्छ भनी विश्वास गर्ने मन नै हुँदैन। कुरा यस्तै होइन र? व्यक्तिले विज्ञानमा जति धेरै विश्वास गर्छ, ऊ त्यति नै बेतुके हुन्छ अनि ऊ हरेक कुराको वैज्ञानिक समाधान हुन्छ, अनुसन्धानले जुनसुकै समस्या पनि समाधान गर्न सक्छ भन्ने विश्वास गर्छ। ऊ परमेश्वरको खोजी गर्दैन र ऊ उहाँ अस्तित्वमा हुनुहुन्छ भनेर विश्वास गर्दैन। परमेश्वरमा लामो समयदेखि विश्वास गर्ने धेरै मानिसले कुनै समस्या सामना गर्दा खोजी गरेर उत्तरहरू पत्ता लगाउन कम्प्युटर प्रयोग गर्छन्; तिनीहरू वैज्ञानिक ज्ञानमा मात्र विश्वास गर्छन्। तिनीहरू परमेश्वरका वचनहरू सत्यता हुन्, परमेश्वरका वचनहरूले मानवजातिका सबै समस्या समाधान गर्न सक्छन् भनेर विश्वास गर्दैनन्, र तिनीहरू मानवजातिको हरेक समस्यालाई सत्यताको दृष्टिकोणले हेर्दैनन्। जस्तोसुकै समस्या आइपरे पनि, तिनीहरू कहिल्यै परमेश्वरसँग प्रार्थना गर्दैनन् वा परमेश्वरका वचनहरूमा सत्यता खोजेर त्यो समाधान गर्ने प्रयास गर्दैनन्। धेरै मामिलामा, तिनीहरू अझै पनि ज्ञानले नै समस्या समाधान गर्न सक्छ, र विज्ञान नै अन्तिम उत्तर हो भन्ने विश्वास गर्छन्। त्यस्ता मानिसहरूको हृदयमा परमेश्वर पटक्कै रहनुहुन्न। तिनीहरू अविश्वासी हुन्, र परमेश्वरमाथिको विश्वाससम्बन्धी तिनीहरूको दृष्टिकोण वैज्ञानिक विधिहरू प्रयोग गरी परमेश्वरलाई सधैँ अध्ययन गर्ने प्रयास गरिरहेका धेरै उच्च-स्तरीय बौद्धिक र वैज्ञानिकको भन्दा फरक हुँदैन। उदाहरणका लागि, धेरै धार्मिक विज्ञहरूले जहाज अडिएको पर्वतमा गएर त्यसको निरीक्षण गरेका छन्, अनि यसप्रकार तिनीहरूले जहाजको अस्तित्व प्रमाणित गरेका छन्। तर तिनीहरू जहाजको स्वरूपमा परमेश्वरको अस्तित्व देख्दैनन्। तिनीहरू कथा र इतिहासमा मात्रै विश्वास गर्छन्; तिनीहरूको वैज्ञानिक अनुसन्धान र भौतिक संसारको अध्ययनको नतिजा यही हो। चाहे त्यो सूक्ष्मजीव विज्ञान होस्, खगोल विज्ञान होस् वा भूगोल होस्, यदि तँ भौतिक कुराहरूको अनुसन्धान गर्छस् भने, तैँले परमेश्वर अस्तित्वमा हुनुहुन्छ वा उहाँ यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरा निर्धारित गर्ने नतिजा कहिल्यै भेट्टाउनेछैनस्। त्यसो भए विज्ञानले मानिसका लागि के गर्छ त? के यसले मानिसलाई परमेश्वरबाट टाढा लैजाँदैन र? के यसले मानिसहरूलाई परमेश्वरलाई केवल अध्ययनको वस्तुका रूपमा लिने तुल्याउँदैन र? के यसले मानिसहरूलाई परमेश्वरको अस्तित्व र सार्वभौमिकताबारे अझै बढी शङ्कालु बनाई परमेश्वरलाई इन्कार गर्न र विश्वासघात गर्न लगाउँदैन र? परिणाम यही नै हुन्छ। त्यसैले, मानिसलाई भ्रष्ट तुल्याउनका लागि विज्ञान प्रयोग गर्दा, शैतानले कुन उद्देश्य हासिल गर्न खोजिरहेको हुन्छ? यसले मानिसहरूलाई भ्रममा पार्न र भावशून्य बनाउनका लागि वैज्ञानिक निष्कर्षहरू प्रयोग गर्न, अनि मानिसहरूले परमेश्वरको अस्तित्वको खोजी नगरून् वा त्यसमा विश्वास नगरून् भनेर तिनीहरूको हृदय ओगट्नका लागि अस्पष्ट उत्तरहरू प्रयोग गर्न चाहन्छ। त्यसैले यही कारणले नै म शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने तरिकाहरूमध्येको एक विज्ञान पनि हो भनेर भन्छु।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५
७४. शैतानले मानिसहरूमा परम्परागत संस्कृति वा अन्धविश्वासका व्यक्तित्वहरूको गहन छाप छोड्न विभिन्न लोक कथा वा इतिहासका पुस्तकहरूमा देखा पर्ने कथाहरूको कल्पना र प्रतिपादन गरेको छ। उदाहरणको लागि, चीनमा “समुद्र तर्ने आठ जना अविनाशीहरू,” “पश्चिमतर्फको यात्रा,” सम्राट जेड, “अजिङ्गर राजालाई जित्ने नेझा,” र “देवताहरूको अभिषेक” जस्ता लोक कथाहरू छन्। के यिनले मानिसको मनमा गहिरो जरा गाडेका छैनन् र? तिमीहरूमध्ये कतिलाई यिनको विवरण थाहा नभए पनि, तिमीहरूलाई समग्र कथा थाहा छ, र तेरो हृदय र मनमा टाँस्सिने भनेको समग्र विषयवस्तु नै हो, यसरी तैँले तिनलाई बिर्सन सक्दैनस्। शैतानले धेरै पहिले नै मानिसका निम्ति तयार गरेका विभिन्न विचार वा दन्त्यकथाहरू यिनै हुन्, र फरक-फरक समयमा यसको प्रचार-प्रसार भएको छ। यी कुराहरूले प्रत्यक्ष रूपमा मानिसहरूको प्राणलाई हानी र नष्ट गर्छन् अनि मानिसहरूलाई एकपछि अर्को गरी मन्त्रमुग्ध पार्छ। भन्नुको अर्थ, तैँले त्यस्ता परम्परागत संस्कृति, कथाहरू, वा अन्धविश्वासका कुराहरूलाई स्वीकार गरिसकेपछि, ती तेरो मनमा स्थापित भइसकेपछि, र ती तेरो हृदयमा बसिसकेपछि, तँ मन्त्रको बन्धनमा परेको जस्तै हुनेछस्—तँ यी परम्परागत फन्दाहरू, यी विचार र परम्परागत कथाहरूको जालमा पर्छस् र त्यसकै प्रभावमा हुन्छस्। तिनले तेरो जीवन, जीवन सम्बन्धी तेरो दृष्टिकोण, र कुराहरूप्रतिको तेरो मूल्याङ्कनलाई प्रभाव पार्छन्। त्योभन्दा पनि बढी जीवनको साँचो मार्गको तेरो खोजीलाई तिनले प्रभाव पार्छन्: यो वास्तवमा नै दुष्ट मन्त्र हो। तैँले जसरी प्रयास गरे पनि, तैँले तिनलाई हटाउन सक्दैनस्; तैँले तिनलाई काट्छस् तर काटेर ढाल्न सक्दैनस्; तैँले तिनलाई प्रहार गर्छस् तर प्रहार गरेर तैँले तिनलाई धपाउन सक्दैनस्। यसको साथै, मानिसहरू अनजानमा यस प्रकारको मन्त्रमा परिसकेपछि, तिनीहरूले आफ्नो हृदयमा शैतानको स्वरूपलाई जगेर्ना गरेर अनजानमै शैतानको पूजा गर्न थाल्छन्। अर्को शब्दमा भन्दा, तिनीहरूले शैतानलाई तिनीहरूको मूर्ति, तिनीहरूले आराधना गर्ने र आदरको साथ हेर्ने वस्तुको रूपमा स्थापना गर्छन्, यहाँसम्म कि तिनीहरूले यसलाई परमेश्वरकै रूपमा लिन्छन्। अनजानमा, यी कुराहरूले मानिसहरूको बोलीवचन र कार्यहरूलाई नियन्त्रण गर्दै ती तिनीहरूको हृदयमा बस्छन्। यसको साथै, सुरुमा तैँले यी कथा र दन्त्यकथाहरू झूट हुन् भन्ने ठान्छस्, तर अनजानमै तिनीहरूलाई वास्तविक व्यक्तिहरू ठान्दै र तिनीहरूलाई वास्तविक, अस्तित्वमा रहेका थोकहरूका रूपमा परिवर्तन गर्दै तँ तिनीहरूका अस्तित्वलाई स्वीकार गर्छस्। तेरो अनभिज्ञतामा, तैँले यी विचारहरूलाई र यी कुराहरूको अस्तित्वलाई अवचेतन रूपमा ग्रहण गर्छस्। तैँले अवचेतन रूपमा दियाबलसहरू, शैतान, र मूर्तिहरूलाई तेरो आफ्नै घरमा र तेरो आफ्नै हृदयमा ग्रहण गर्छस्—यो वास्तवमा मन्त्र नै हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
७५. मानिसहरूले गर्ने अन्धविश्वासपूर्ण गतिविधिहरूलाई परमेश्वर सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तर धेरै मानिसहरूले ती अन्धविश्वासका गतिविधिहरू परमेश्वरले नै आदेश गर्नुभएको हो भन्ने सोच्दै अझै पनि ती कुराहरूलाई त्याग्न सक्दैनन्, र आज पनि तिनीहरूले ती कुराहरूलाई पूर्ण रूपमा हटाउन सकेका छैनन्। जवान मानिसहरूले प्रबन्ध गर्ने विवाहका भोज र दुलहीका सरसमानहरू; नगद उपहार, भोज, र आनन्दका अवसरहरू मनाइने त्यस्तै अन्य तरिकाहरू; हस्तान्तरण हुँदै आएका प्राचीन सूत्रहरू; मृतकहरूका निम्ति गरिने सबै अर्थहीन अन्धविश्वासका कार्य र अन्त्येष्टि संस्कारहरू—यी कुराहरू त परमेश्वरका निम्ति अझ बढी घृणित छन्। आराधनाको दिनसमेत (धार्मिक संसारले पालन गर्ने शबाथको दिन लगायत) उहाँको निम्ति घृणित छ; र सामाजिक सम्बन्ध र मानिस-मानिसबीचको सांसारिक अन्तरक्रियाहरूलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ। सबैले जानेका वसन्त महोत्सव र ख्रीष्टमसको दिन पनि परमेश्वरले आदेश दिनुभएको होइन, यी उत्सवका दिनहरूमा प्रयोग गरिने खेलौना र सजावटहरू जस्तै मनोहर पङ्क्तिहरू, पटकाहरू, बत्ती, पवित्र भोज, ख्रीष्टमस उपहारहरू र ख्रीष्टमसको रमझम, आदि उहाँले आदेश दिनुभएको हुने त कुरै नगरौँ—के यी सबै कुरा मानिसहरूको मनभित्र भएका आदर्शका कुराहरू होइनन् र? शबाथमा रोटी भाँच्ने, दाखमद्य र मिहिन मलमल त झन् बढी आदर्शका कुराहरू हुन्। चीनमा लोकप्रिय रहेका परम्परागत पर्वका दिवसहरू, जस्तै ड्र्यागनको शिर उठाउने दिवस, ड्र्यागन डुङ्गा पर्व, मध्य-शरद पर्व, लावा पर्व, र नयाँ वर्ष, अनि धार्मिक संसारका पर्वहरू जस्तै ईस्टर, बप्तिस्मा दिवस र ख्रीष्टमस, यी सबै अनुचित पर्वहरू प्राचीन समयदेखि आजसम्म धेरै मानिसहरूले आयोजना गर्दै र हस्तान्तरण गर्दै आएका छन्। मानवजातिको समृद्ध कल्पनाशक्ति र सृजनशील अवधारणाले नै तिनीहरूलाई आजको दिनसम्म यसरी हस्तान्तरण गर्न सम्भव तुल्याएको हो। तिनीहरू त्रुटिहीन जस्ता देखिन्छन्, तर यो वास्तवमा शैतानले मानवजातिमाथि खेलेको चाल हो। जुन ठाउँमा शैतानहरूको धेरै भीड हुन्छ, र जुन ठाउँ बढी अप्रचलित र पछौटे हुन्छ, त्यस ठाउँमा सामन्तवादी प्रथाहरू त्यत्ति नै गहिरो रूपमा गाडिएका हुन्छन्। त्यस्ता कुराहरूले मानिसहरूलाई दह्रोसँग बाँधेर राख्छ, तिनीहरूलाई हलचल गर्ने कुनै ठाउँ दिँदैन। धार्मिक संसारका धेरै चाडहरूले ठूलो मौलिकता प्रकट गरेको र परमेश्वरको कामका लागि पुल बनाएको जस्तो देखिन्छ, तर ती वास्तवमा अदृश्य बन्धनहरू हुन्, जसद्वारा शैतानले मानिसहरूलाई बाँध्छ र मानिसहरूलाई परमेश्वरलाई चिन्नको लागि आउनबाट रोक्छ—ती सबै शैतानका चलाकीपूर्ण युक्तिहरू हुन्। वास्तवमा, जब परमेश्वरको कामको एक चरण समाप्त हुन्छ, उहाँले त्यस समयका औजार र शैलीहरूलाई नामनिसानासमेत बाँकी नछोडी पहिल्यै नाश पारिसक्नुभएको हुन्छ। तैपनि, “भक्त विश्वासीहरू” ले ती ठोस भौतिक वस्तुहरूको आराधना गरी नै रहन्छन्; यस क्रममा, तिनीहरूले परमेश्वरसित जे छ त्यसलाई आफ्ना मनको पछाडि धकेल्छन् र त्यसउप्रान्त त्यसको अध्ययन गर्दैनन्। तिनीहरू परमेश्वरप्रतिको प्रेमले पूरा भरिएका जस्ता देखिन्छन्, जबकि वास्तवमा तिनीहरूले उहाँलाई धेरै समयअघि नै घरबाट बाहिर निकालेर शैतानलाई आराधना गर्ने टेबलमा राखेका हुन्छन्। येशू, क्रूस, मरियम, येशूको बप्तिस्मा र अन्तिम भोज आदिका चित्रहरू—यी कुराहरूलाई मानिसहरूले स्वर्गका परमप्रभुको रूपमा मान्छन्, र जहिले पनि “परमप्रभु, स्वर्गमा बस्नुहुने पिता” भनेर पुकारिरहेका हुन्छन्। के यो सबै ठट्टा होइन र? आजको दिनसम्म, त्यस्ता धेरै भनाइ र अभ्यासहरू मानवजातिमाझ हस्तान्तरण गरिएका छन् र ती सबै नै परमेश्वरका निम्ति घृणित छन्; तिनले परमेश्वरको अगाडिको बाटोलाई गम्भीर रूपमा अवरोध गर्छन्, र अझ भन्ने हो भने, मानवजातिको प्रवेशमा ठूलो अवरोध उत्पन्न गर्छन्। शैतानले मानवजातिलाई भ्रष्ट पारेको हदलाई पन्छाएर हेर्दा, मानिसहरूको भित्री अन्तस्करण पूर्ण रूपले विटनेस लीका कानुनहरू, लरेन्सका अनुभवहरू, वाचमेन निका सर्वेक्षणहरू र पावलका कामहरूले भरिएको हुन्छ। परमेश्वरका लागि मानिसमा काम गर्ने कुनै उपाय हुँदैन, किनकि तिनीहरूभित्र अति धेरै व्यक्तिवाद, कानुन, नियम, विनियम, प्रणाली र त्यस्तै अन्य कुराहरू हुन्छन्; मानिसको सामन्ती अन्धविश्वासी प्रवृत्तिबाहेक यी कुराहरूले मानवजातिलाई कब्जा गरेका र नाश पारेका छन्। यस्तो लाग्छ, मानिसहरूका विचारहरू एउटा चाखलाग्दो परिकथा वर्णन गर्ने पूर्ण रङ्गीन, विचित्रका प्राणीहरू बादलमा सवार हुने चलचित्र हो, र त्यो यति कल्पनाशील हुन्छ कि यसले मानिसहरूलाई चकित बनाउँछ, र तिनीहरू स्तब्ध र अवाक् बन्छन्। सत्य कुरा भन्नुपर्दा, परमेश्वर आज जुन काम गर्न आउनुभएको छ त्यो मुख्य रूपमा मानवजातिको अन्धविश्वासका कुराहरू काटछाँट गर्न र हटाउनका साथै तिनीहरूका मानसिक दृष्टिकोणलाई पूर्ण रूपान्तरण गर्नु हो। मानवजातिद्वारा पुस्तौंपुस्तादेखि हस्तान्तरण गरिँदै आएको उत्तराधिकारको कारण परमेश्वरको काम आजको दिनसम्म रहेको होइन; यो काम उहाँद्वारा व्यक्तिगत रूपमा सुरु भएको र उहाँद्वारा नै सम्पन्न भएको हो, यसमा सफल हुनको लागि कुनै खास महान् आत्मिक व्यक्तिको विरासत वा कुनै अर्को युगमा परमेश्वरले गर्नुभएको प्रतिनिधिमूलक प्रकृतिको कुनै पनि कामको उत्तराधिकार प्राप्त गर्नुपर्ने आवश्यकता परेन। मानवजातिले यी कुनै पनि कुराको बारेमा चिन्ता लिनुपर्दैन। आज परमेश्वरसँग बोल्ने र काम गर्ने शैली अर्कै छ, त्यसैले मानिसले किन आफैलाई दुःख दिनुपर्छ र? यदि मानिसहरू आफ्ना “पुर्खाहरू” का परम्परालाई जारी राख्दै वर्तमान प्रवाहभित्रको आजको बाटोमा हिँड्छन् भने, तिनीहरू कुनै पनि गन्तव्यमा पुग्नेछैनन्। जसरी परमेश्वरले मानव संसारको वर्ष, महिना र दिनहरूलाई घृणा गर्नुहुन्छ, त्यसरी नै मानिसको व्यवहारको यो विशेष तरिकाप्रति पनि उहाँले असाध्यै घृणा महसुस गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (३)
७६. शैतानले मानिसलाई सामाजिक प्रचलनहरूमार्फत् भ्रष्ट पार्छ र नियन्त्रण गर्छ। “सामाजिक प्रवृत्तिहरू” ले चर्चित र महान व्यक्तित्वहरूका साथै चलचित्र र सङ्गीत क्षेत्रका आदर्श व्यक्तिहरूको आराधना, सेलिब्रेटीको आराधना, र अनलाइन गेमजस्ता क्षेत्रहरूलगायतका धेरै वटा पक्ष समेट्छन्। यी सबै नै सामाजिक प्रवृत्तिको भाग हुन् र यहाँ विस्तृत रूपमा कुरा गर्न आवश्यक छैन। हामी सामाजिक प्रवृत्तिहरूले मानिसहरूमा ल्याउने विचारहरू, तिनका कारण मानिसहरूले संसारसँग व्यवहार गर्ने तरिका र तिनले मानिसहरूमा ल्याउने जीवनका लक्ष्यहरू र दृष्टिकोणबारे मात्रै कुरा गर्नेछौँ। यी अत्यन्तै महत्त्वपूर्ण छन्; तिनले मानिसहरूका सोच र रायहरूलाई नियन्त्रित गर्न र प्रभावित पार्न सक्छन्। यी प्रवृत्तिहरूमध्ये हरेकले एउटा दुष्ट प्रभाव बोकेको हुन्छ। यस दुष्ट प्रभावले निरन्तर रूपमा मानवजातिलाई अधोगतिमा लैजान्छ र यसले गर्दा मानिसहरू विवेक, मानवता र समझ गुमाइरहन्छन्, निरन्तर रूपमा तिनीहरूको नैतिकता कमजोर बन्छ र तिनीहरूको निष्ठा झन्-झन् कम हुन्छ, यहाँसम्म कि हामी अधिकांश मानिसमा अब कुनै निष्ठा, कुनै मानवता, कुनै विवेक छैन, समझ त झनै छैन भनेरसमेत भन्न सक्छौँ। त्यसोभए, यी सामाजिक प्रवृत्तिहरू के हुन् त? ती तैँले नाङ्गो आँखाले देख्न नसक्ने प्रवृत्तिहरू हुन्। जब कुनै नयाँ प्रवृत्ति आउँछ, तब सायद कम मानिसले मात्र यसलाई सुरुमै अपनाउँछन्—तिनीहरू यस प्रकारको कामकुरा गर्नमा, यस प्रकारको विचार स्विकार्नमा र यस प्रकारको दृष्टिकोण स्वीकार गर्नमा अगुवाइ लिन्छन्। तैपनि, बहुसङ्ख्यक मानिस सबैले यस प्रवृत्तिलाई अनजानमै र अनायसै स्वीकार नगरून्जेल, यसमा उनीहरू नडुबुन्जेल र यसद्वारा नियन्त्रित नहोऊन्जेल, यसले उनीहरूलाई थाहै नपाई निरन्तर रूपमा सङ्क्रमित, आकर्षित र समाहित गर्नेछ। एकपछि अर्को गर्दै, त्यस्ता प्रवृत्तिहरूका कारण तन्दुरुस्त शरीर र मन नभएका, सत्यता के हो भनी थाहा नभएका अनि सकारात्मक र नकारात्मक कुराहरूबीच पटक्कै भिन्नता छुट्याउन नसक्ने मानिसहरू ती प्रवृत्तिहरूलाई, साथै शैतानबाट आउने जीवन दृष्टिकोण र मूल्यमान्यताहरूलाई खुसीसाथ स्वीकार गर्छन्। तिनीहरू शैतानले तिनीहरूलाई जीवनलाई कसरी लिने भन्नेबारे बताएको कुरा र शैतानले तिनीहरूलाई “दिएका” बाँच्ने तरिका खुसीसाथ स्वीकार गर्छन्। प्रतिरोध गर्नलाई तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त क्षमता नै हुन्छ, झन् सचेतना हुनु त परै जाओस्। …
… शैतानले मानिसहरूलाई क्रमिक रूपमा दियाबलसहरूको चङ्गुलमा लोभ्याएर फसाउन यी सामाजिक प्रवृत्तिहरू प्रयोग गर्छ, ताकि मानिसहरूले थाहै नपाई सामाजिक प्रवृत्तिहरूमाझ पैसा, भौतिक चाहनाहरू, दुष्टता, र हिंसाको पूजा गरून्। यी कुराहरू मानिसहरूको हृदयमा प्रवेश गरेपछि, मानिसहरू के बन्छन्? तिनीहरू दियाबलस र शैतान बन्छन्! किनभने मानिसहरूको हृदय तिनीहरूले पूजा गर्ने कुराले ओगटिएको हुन्छ; जब मानिसहरू नकारात्मक कुराहरूको पूजा गर्छन्, तब तिनीहरू दुष्टता र हिंसालाई प्रेम गर्न थाल्छन्, अनि तिनीहरू सुन्दरता र भलाइ मन पराउँदैनन्, झन् शान्ति मन पराउनु त परै जाओस्। तिनीहरू सामान्य मानवतामा सरल जीवन जिउन अनिच्छुक बन्छन्, बरु उच्च हैसियत र धेरै धनको आनन्द उठाउन, देहमा रमाउन, कुनै प्रतिबन्ध वा बन्धनविना—अर्को शब्दमा भन्दा, आफूले चाहेको जेसुकै गर्न—कुनै कसर बाँकी नराखी आफ्नो देहलाई सन्तुष्ट पार्न चाहन्छन्। त्यसैले जब तँ यी प्रकारका प्रवृत्तिहरूमा फसेको हुन्छस्, तब के तैँले सिकेको ज्ञानले तँलाई आफूलाई मुक्त गर्न मद्दत गर्न सक्छ? के तैँले जानेका परम्परागत संस्कृति र अन्धविश्वासका पक्षहरूले तँलाई यो कठिन परिस्थितिबाट उम्कन मद्दत गर्न सक्छन्? के तैँले जानेको परम्परागत नैतिकता र शिष्टाचारले तँलाई संयम अपनाउन मद्दत गर्न सक्छन्? उदाहरणका लागि, एनालेक्ट्स र ताओ ते चिङलाई लिऔँ। के तिनीहरूले मानिसहरूलाई यी दुष्ट प्रवृत्तिहरूको दलदलबाट बाहिर निस्कन मद्दत गर्न सक्छन्? बिलकुलै सक्दैनन्। यसरी, मानिसहरू झन्-झन् दुष्ट, अहङ्कारी, अत्यन्तै घमण्डी, स्वार्थी र दुर्भावपूर्ण बन्छन्। मानिसहरूमाझ अब कुनै स्नेह र बफादारी हुँदैन, परिवारका सदस्यहरूबीच अब कुनै प्रेम हुँदैन, नातेदार र साथीहरूबीच अब कुनै समझदारी हुँदैन; मानव सम्बन्धहरू हिंसाले भरिएका हुन्छन्। प्रत्येक व्यक्तिले हिंस्रक साधन र विधिहरूले अरूहरूमाझ जिउन, हिंसा प्रयोग गरेर आफ्नो लागि जीविकोपार्जन हत्याउन, हिंसा प्रयोग गरेर आफ्नो पद पाउन र आफ्नो लाभ प्राप्त गर्न, अनि आफूले चाहेका कुनै पनि कुराहरू गर्न हिंस्रक र दुष्ट तरिकाहरू प्रयोग गर्न खोज्छ। के यो मानवजाति डरलाग्दो छैन र? छ, एकदमै धेरै हदसम्म त्यस्तै छ: तिनीहरूले परमेश्वरलाई क्रूसमा टाँग्ने काम मात्रै गरेका छैनन्, उहाँलाई पछ्याउने सबैको हत्यासमेत गरेका छन्—किनकि मानिस अत्यन्तै दुष्ट छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
७७. “दुनियाँ पैसाको इसारामा चल्छ” भन्ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानवजातिमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेन, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, उसले यसलाई मौन स्वीकृति दियो, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाल्यो। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? सायद मानिसहरूलाई यो भनाइबारे समान स्तरको प्रत्यक्ष ज्ञान छैन, तर सबैमा आफू वरपर घटेका घटनाहरू र तिनीहरूले व्यक्तिगत रूपमा अनुभव गरेका सबै कुराका आधारमा यस भनाइबारे फरक-फरक स्तरको व्याख्या र स्वीकारोक्ति हुन्छन्। त्यसो होइन र? कुनै व्यक्तिसँग यो भनाइबारे जतिसुकै गहन अनुभव भए पनि, यसले उसको हृदयमा कस्तो नकारात्मक असर पार्न सक्छ? त्यो के हो भने, यस संसारको मानवजातिले—र यसमा तिमीहरूमध्ये प्रत्येक पर्छौ—मानवीय स्वभावबाट केही कुरा प्रकट गर्छन्। त्यो के हो? त्यो पैसाको आराधना हो। के यो मानिसको हृदयबाट हटाउन सजिलो छ? अहँ, यो सजिलो छैन! यसले शैतानले मानिसलाई साँच्चै गहन रूपमा भ्रष्ट तुल्याएको छ भन्ने देखाउँछ! शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र तिनीहरू सबैलाई पैसा र भौतिक चाहनाहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सकिन्छ भन्ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र? के यो दुर्भावपूर्ण चाल होइन र? यो भनाइ लोकप्रिय भएसँगै, तँ यससँग असहमत हुने अवस्थाबाट अन्ततः यो सत्यता हो भनी विश्वास गर्ने अवस्थामा पुग्छस्, र त्यतिबेलासम्म तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा परेको हुन्छ, र त्यसैले तँ अचेतन रूपमै त्यस भनाइअनुसार जिउन पुग्छस्। यो भनाइले तँलाई कुन हदसम्म असर गरेको छ? तँलाई साँचो मार्ग थाहा होला, र तँलाई सत्यता थाहा होला, तर तँसँग त्यसलाई पछ्याउने सामर्थ्य छैन। तँलाई परमेश्वरका वचनहरू सत्यता हुन् भनी स्पष्ट रूपमा थाहा होला, तर तँ सत्यता प्राप्त गर्नका लागि मूल्य चुकाउन वा कष्ट भोग्न अनिच्छुक हुन्छस्। बरु, तँ अन्तसम्मै परमेश्वरको प्रतिरोध गर्न आफ्नो भविष्यलाई नै बलि चढाउन रुचाउँछस्। परमेश्वरले जे भन्नुभए पनि, परमेश्वरले जे गर्नुभए पनि, तँप्रतिको परमेश्वरको प्रेम जतिसुकै गहिरो र जतिसुकै ठूलो भए पनि, तैँले त्यो बुझ्न सक्ने हदसम्म, तँ यस भनाइका कारण जिद्दीपूर्वक आफ्नो हड्डी घोट्न जोड दिन्छस्। भन्नुको अर्थ, यो भनाइले तेरा विचारहरूलाई भ्रमित र नियन्त्रण गरिसकेको छ, यसले तेरो व्यवहारलाई शासन गरिसकेको छ, र तँ धनको पछ्याइ त्याग्नुभन्दा बरु त्यसलाई आफ्नो भाग्यमाथि शासन गर्न दिन्छस्। तँ त्यस्तो व्यवहार गर्न सक्नु, तँ शैतानका वचनहरूद्वारा नियन्त्रित हुन र तिनको चालबाजीमा पर्न सक्नु—के यसको अर्थ तँ शैतानद्वारा भ्रमित र भ्रष्ट पारिएको छस् भन्ने होइन र? के यसको अर्थ शैतानको दर्शन र विचारहरू, र शैतानको स्वभावले तेरो हृदयमा जरा गाडेको छ भन्ने होइन र? जब तँ एकचित्त भएर धनको पछि लाग्छस्, र सत्यताको पछ्याइलाई त्याग्छस्, तब शैतानले तँलाई भ्रमित पार्ने आफ्नो लक्ष्य हासिल गरेको हुँदैन र? कुरा ठ्याक्कै यही हो। त्यसोभए, शैतानले तँलाई भ्रममा पार्दा र भ्रष्ट तुल्याउँदा, के तँ त्यो कुरा महसुस गर्न सक्छस्? तँ सक्दैनस्। यदि तँ आफ्नै अगाडि उभिएको शैतानलाई देख्न सक्दैनस्, वा अँध्यारोमा काम गर्ने शैतान नै हो भन्ने महसुस गर्दैनस् भने, के तँ शैतानको दुष्टता देख्न सक्षम हुन्छस् त? के तँ मानवजातिलाई शैतानले कसरी भ्रष्ट तुल्याउँछ भनेर जान्न सक्छस् त? शैतानले मानिसहरूलाई जुनसुकै समय र जुनसुकै स्थानमा भ्रष्ट तुल्याउँछ। शैतानले तिनीहरूका लागि यो भ्रष्टताको विरुद्ध प्रतिरक्षा गर्न असम्भव बनाउँछ र तिनीहरूलाई यसको विरुद्ध असहाय बनाउँछ। मानिसहरू अनजान भएको बेलामा र आफूलाई के भइरहेको छ भन्ने कुरा तिनीहरूलाई थाहा नभएको बेलामा, शैतानले तिनीहरूलाई त्यसका विचार, त्यसका दृष्टिकोण र त्यसबाट आउने दुष्ट कुराहरू स्वीकार गर्न लगाउँछ, अनि यी कुराहरू स्वीकार गरेपछि, मानिसहरू यीप्रति कुनै आपत्ति जनाउँदैनन्। तिनीहरू यी कुराहरूलाई खजाना जस्तै मनमा सजाएर आफूसँगै राखिरहन्छन्, तिनीहरू यी कुराहरूलाई आफूमाथि चालबाजी र खेलबाड गर्न दिन्छन्; यसरी मानिसहरू शैतानको शक्तिअन्तर्गत जिउँछन्, र अचेतन रूपमै शैतानको आज्ञापालन गर्छन्, र शैतानद्वारा मानिसको भ्रष्टीकरण झन्झन् गहिरिँदै जान्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५
७८. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने मुख्य चलाखीहरू छ वटा छन्
पहिलो भनेको नियन्त्रण र जबरजस्ती हो। अर्थात्, तेरो हृदयलाई नियन्त्रण गर्नका लागि शैतानले सम्भव भएको सबथोक गर्नेछ। “जबरजस्ती” भन्नुको अर्थ के हो? यसको अर्थ धम्कीपूर्ण र जबरजस्ती रणनीति प्रयोग गरेर तँलाई त्यसको आज्ञापालन गराउनु, र यदि तैँले आज्ञापालन गरिनस् भने आउने परिणामहरूका बारेमा तँलाई सोच्न बाध्य पार्नु हो। तँ डराउँछस् र त्यसको अवज्ञा गर्न आँट गर्दैनस्, त्यसैले तैँले हार मान्छस्।
दोस्रो भनेको धोका र छल हो। “धोका र छल” ले के कुरालाई संलग्न गर्दछ? शैतानले तँलाई ती विश्वास गर्ने तुल्याउन केही कथा र झूटहरू बनाउँदछ। मानिसलाई परमेश्वरले नै सृष्टि गर्नुभएको हो भनेर त्यसले तँलाई कहिल्यै भन्दैन, न त त्यसले सीधै तँलाई तँ परमेश्वरद्वारा सृष्टि गरिएको होइनस् भनेर नै भन्छ। यसले “परमेश्वर” भन्ने शब्दको प्रयोग गर्दै-गर्दैन, बरु यसको सट्टामा अर्को कुनै कुराको प्रयोग गर्छ, यसरी परमेश्वरको अस्तित्वको बारेमा तँलाई आधारभूतरूपमा केही थाहा नै नहोस् भनेर तँलाई भ्रममा पार्नका लागि यो कुराको प्रयोग गर्छ। अवश्य नै, यो “चलाकी” मा यो मात्रै होइन, धेरै पक्षहरू समावेश हुन्छन्।
तेस्रो भनेको जबरजस्ती सैद्धान्तिकरण गर्नु हो। मानिसहरूलाई केद्वारा जबरजस्ती सैद्धान्तिकरण गरिन्छ? के जबरजस्ती सैद्धान्तिकरण मानिसको आफ्नै निर्णयद्वारा गरिन्छ? के यो मानिसको सहमतिमा गरिन्छ? त्यसरी अवश्य नै गरिँदैन। तैँले सहमति जनाइनस् भने पनि, तैँले यसको बारेमा गर्न सक्ने केही छैन। तेरो अनभिज्ञतामा, शैतानले त्यसका विचारहरू, जीवन सम्बन्धी त्यसका नियमहरू र त्यसको सार तँमा हालिदिँदै, त्यसले तँलाई सैद्धान्तिकरण गर्छ।
चौथो भनेको डरधम्की र छलछाम हो। अर्थात्, तँलाई शैतानले त्यसलाई स्वीकार गर्न, त्यसलाई पछ्याउन, र त्यसको सेवामा काम गर्न लगाउनको लागि विभिन्न चलाकीहरूको प्रयोग गर्छ। त्यसका लक्ष्यहरू हासिल गर्नको लागि त्यसले जेसुकै गर्नेछ। यसले कहिलेकाहीँ तँलाई सानो निगाह प्रदान गर्छ, यस क्रममा तँलाई लोभ्याएर पाप गर्न लगाउँछ। यदि तैँले त्यसलाई पछ्याएनस् भने, त्यसले तँलाई कष्ट दिन्छ र दण्ड दिन्छ, अनि तँलाई आक्रमण गर्न र तँविरुद्ध षड्यन्त्र गर्नको लागि विभिन्न तरिकाहरूको प्रयोग गर्छ।
पाँचौँ भनेको भ्रममा पार्ने काम र पक्षाघात हो। “भ्रममा पार्ने काम र पक्षाघात” भनेको जब शैतानले मानिसहरूको देहगत अवस्था, तिनीहरूको जीवन र भविष्यको बारेमा त्यो चिन्तित छ भन्नेजस्तो तुल्याउनको लागि मानिसहरूका धारणासँग मिल्ने र विश्वासलाग्दो सुनिने मीठा शब्द र विचारहरू मानिसहरूमा घुसाउँछ, जब वास्तविकतामा त्यसको एकमात्र लक्ष्य भनेको तँलाई मूर्ख तुल्याउनु भन्ने हुन्छ। त्यसपछि तँलाई सही के हो र गलत के हो भन्ने थाहा नहोस् भनेर, तँलाई अनजानमा छल गर्न सकियोस् र तँ त्यसको नियन्त्रणमा आउन सक् भनेर, त्यसले तँलाई पक्षाघात तुल्याउँछ।
छैटौं भनेको शरीर र मनको विनाश हो। शैतानले मानिसको कुन भागलाई नष्ट गर्छ? तँलाई विरोध गर्न नसक्ने तुल्याउनको लागि शैतानले तेरो मन नष्ट गर्छ, अर्थात् तेरो इच्छा विपरीत अलि-अलि गर्दै तेरो हृदय शैतानतर्फ फर्कन्छ। त्यसले तँमा यी कुराहरू हरेक दिन हालिदिन्छ, र हरेक दिन तँलाई प्रभाव पार्न र प्रशिक्षित गर्नका लागि यी विचार र संस्कृतिहरू प्रयोग गर्छ, तेरो इच्छालाई अलि-अलि गर्दै क्षय हुने तुल्याउँछ, ताकि अन्ततः तैँले उप्रान्त असल व्यक्ति बन्ने चाहना नगर्, ताकि तँ उप्रान्त तैँले “इन्साफ” भनी भन्ने गरेको कुराका लागि खडा नहो। अनजानमै, तँसँग उप्रान्त प्रवाहको विरुद्ध पौडने इच्छा शक्ति हुँदैन, बरु तँ यसैसँग बग्छस्। “विनाश” भनेको मानिसहरू उप्रान्त मानव होइन बरु तिनीहरूको आफ्नै छाया बनून् भनेर शैतानले तिनीहरूलाई अत्यन्तै कष्ट दिनु भन्ने हो। शैतानले तिनीहरूलाई निल्ने मौका छोप्ने बेला यही हो।
मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने यी हरेक जालझेलहरूले मानिसलाई विरोध गर्नै नसक्ने तुल्याउँछ; मानिसको लागि तीमध्ये कुनै पनि घातक हुनसक्छ। अर्को शब्दमा भन्दा, शैतानले जे गर्छ र त्यसले जुन जालझेल प्रयोग गर्छ, त्यसले तँलाई पतित तुल्याउन सक्छ, तँलाई शैतानको नियन्त्रणमा ल्याउन सक्छ र तँलाई दुष्टता र पापको दलदलमा फसाउन सक्छ। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने जालझेलहरू यिनै हुन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
७९. यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले “उच्च शिक्षालयहरूको” शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्ट नैतिकता, पतित जीवनदृष्टि, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुरा मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्याउँदै र आक्रमण गर्दै आएका छन्। फलस्वरूप, मानिस परमेश्वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र स्वेच्छाले परमेश्वरका निम्ति कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, स्वेच्छाले परमेश्वरप्रति समर्पित हुने व्यक्ति एक जना पनि छैन, र स्वेच्छाले परमेश्वरको देखापराइलाई खोज्ने व्यक्ति त झनै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो
८०. शैतान मानवीय, न्यायसंगत र चरित्रवान् देखिए पनि, शैतानको सार निर्दयी र दुष्ट छ
शैतानले संसारलाई छल गरेर आफ्नो प्रतिष्ठा बनाउँछ र प्रायः आफूलाई इन्साफको अग्रदूत र आदर्श व्यक्तिका रूपमा स्थापित गर्छ। त्यसले इन्साफ कायम राख्ने झुटो बहानामा मानिसहरूलाई हानि गर्छ र तिनीहरूको प्राण निल्छ अनि त्यसले मानिसलाई भावशून्य बनाउन, भ्रमित पार्न र उक्साउन हरेक किसिमका माध्यमहरू प्रयोग गर्छ, जसको उद्देश्य मानिसहरूलाई त्यसको दुष्ट आचरणलाई अनुमोदन गर्न र साथ दिन अनि परमेश्वरको अख्तियार र सार्वभौमिकताको विरोध गर्नमा आफूसँगै मानिसलाई संलग्न हुन लगाउनु हो। तर, जब कसैले त्यसका युक्ति र षड्यन्त्रहरू छर्लङ्ग देख्छ अनि त्यसको घिनलाग्दो अनुहार छर्लङ्ग देख्छ र जब कोही त्यसको कुल्चाइमा परिरहन वा निरन्तर यसद्वारा मूर्ख बनाइन वा यसका लागि रगत-पसिना बगाउन वा यसैसँग दण्डित र नष्ट हुन चाहँदैन, तब शैतानले आफ्नो पहिलेको सन्तको जस्तो अनुहार परिवर्तन गर्छ, आफ्नो झुटो मुखुन्डो च्यातेर फाल्छ र आफ्नो निर्मम वास्तविक रूप प्रकट गर्छ, जुन दुष्ट, क्रूर र कुरूप हुन्छ। त्यसले त्यसको पालना गर्न नमान्ने र त्यसका दुष्ट शक्तिहरूको विरोध गर्नेहरू सबैलाई नाश गर्नेबाहेक अरू केही चाहँदैन। यतिबेला, शैतानले उप्रान्त विश्वासयोग्य, सोझो रूप धारण गर्न सक्दैन; यसलाई प्रतिस्थापित गर्ने भनेको त्यसको साँचो कुरूप सत्त्व—दियाबलस—हो, जुन पहिले भेडाको भेषभित्र लुकेको थियो। शैतानका युक्तिहरूको वास्तविकता बाहिर ल्याइएपछि र यसको साँचो रूप खुलासा भएपछि, त्यो रिसले चुर हुनेछ र आफ्नो बर्बरता बर्साउनेछ अनि मानिसलाई हानि गर्ने र निल्ने यसको चाहना झन्-झन् तीव्र हुँदै जानेछ। सत्यताप्रतिको मानिसको जागरणले गर्दा त्यो रिसले चुर हुन्छ, अनि स्वतन्त्रता र ज्योतिको तृष्णा गर्ने अनि त्यसको कैदबाट मुक्त हुने मानिसको आकाङ्क्षाका कारण ऊप्रति त्यसले ठूलो घृणा र प्रतिशोधको भावना विकास गर्छ। त्यसको रिसको अभिप्राय भनेको त्यसको दुष्टताको प्रतिरक्षा गर्नु हो र यो त्यसको निर्मम प्रकृतिको साँचो प्रकटीकरण पनि हो।
शैतान आफूले गर्ने सबै कुरामा आफ्नो दुष्ट प्रकृति प्रकट गर्छ। शैतानले मानिसमा गरेका सबै दुष्ट कार्यमध्ये—त्यसले मानिसलाई भ्रममा पारेर आफ्नो पछि लाग्न लगाउने त्यसको प्रारम्भिक प्रयासदेखि लिएर मानिसलाई त्यसका दुष्ट कार्यहरूमा संलग्न हुन लगाएर उसलाई गरेको दुरुपयोगसम्म अनि त्यसको साँचो सत्त्व खुलासा भएपछि र मानिसले यसलाई खुट्ट्याएर त्यागिसकेपछि मानिसविरुद्धको त्यसको प्रतिशोध इत्यादिसम्म—यीमध्ये एउटै पनि कार्य शैतानको दुष्ट सार खुलासा गर्न चुक्दैन, न त सकारात्मक कुराहरूसँग शैतानको कुनै सम्बन्ध छैन र सारा दुष्ट कुराको स्रोत शैतान नै हो भन्ने तथ्य प्रमाणित गर्न नै चुक्छ। त्यसको हरेक कार्य त्यसको दुष्टता जोगाउन, त्यसका दुष्ट कार्यहरूको निरन्तरता सुनिश्चित गर्न, न्यायोचित र सकारात्मक कुराहरूविरुद्ध जान र मानवजातिको सामान्य अस्तित्वका विधिविधान र नियमलाई नष्ट गर्नका लागि हो। यी सबै कार्य परमेश्वरविरुद्ध छन् र तिनलाई परमेश्वरको क्रोधले नष्ट गर्नेछ। शैतानको आफ्नै रिस भए तापनि, यसको रिस भनेको यसको दुष्ट प्रकृतिलाई पोखाउने माध्यम मात्रै हो। शैतान किन भड्किन्छ र क्रोधित हुन्छ त्यसको कारण यही हो: त्यसका अकथनीय युक्तिहरूलाई खुलासा गरिएको छ; त्यसका षड्यन्त्रहरूलाई सहजै जान दिइएको छैन; परमेश्वरको प्रतिस्थापन गर्ने र परमेश्वरको रूपमा काम गर्ने यसको उग्र महत्वाकांक्षा र इच्छालाई प्रहार र अवरुद्ध गरिएको छ; अनि सारा मानवजातिलाई नियन्त्रण गर्ने यसको लक्ष्य अहिले व्यर्थ र कहिल्यै हासिल गर्न नसकिने भएको छ। शैतानका षड्यन्त्रहरूलाई पूरा हुन नदिने र शैतानको दुष्टताको फैलावट र उच्छृङ्खलतालाई विफल तुल्याउने भनेको परमेश्वरले समय-समयमा धेरै पटक आह्वान गर्नुभएको उहाँको क्रोध नै हो। यही कारणले गर्दा, शैतानलाई परमेश्वरको क्रोधप्रति घृणा र डर दुवै छ। जब-जब परमेश्वरको क्रोध बाहिर निस्कन्छ, यसले शैतानको साँचो खराब स्वरूपलाई पर्दाफास गर्ने मात्र होइन, शैतानका दुष्ट चाहनाहरूलाई प्रकास पार्ने काम पनि गर्छ, र त्यस प्रक्रियामा, मानवजाति विरुद्धका शैतानका रिसहरू उदाङ्गो पारिन्छन्। शैतानको रिसको प्रस्फुटन यसको दुष्ट प्रकृतिको साँचो प्रकाश र यसका युक्तिहरूको प्रकटीकरण हो। अवश्य नै, शैतानलाई रिस उठ्दा हरेक पटक यसले दुष्ट कुराहरूको विनाश र सकारात्मक कुराहरूको सुरक्षा र निरन्तरतालाई उद्घोष गर्छ; यसले परमेश्वरको क्रोधलाई उल्लङ्घन गर्न सकिँदैन भन्ने सत्यता उद्घोष गर्छ!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २