आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (२)
धारणाहरूको विषयमा, हामीले पछिल्लोपटक तीनवटा बुँदाहरूबारे सङ्गति गरेका थियौँ: पहिलो परमेश्वरमाथिको विश्वाससम्बन्धी धारणाहरू थियो, दोस्रो देहधारणसम्बन्धी धारणाहरू थियो, र तेस्रो परमेश्वरको कामसम्बन्धी धारणाहरू थियो। हामीले पहिलो दुईवटा बुँदाहरूबारे छलफल गरिसकेका छौँ, र तेस्रो बुँदाको सम्बन्धमा केही आधारभूत अवधारणात्मक विषयवस्तुबारे कुरा गरेका छौँ। यो बुँदासँग सम्बन्धित धारणाहरू, वा यी धारणाहरूसँग सम्बन्धित विषयवस्तुको सन्दर्भमा, के तिमीहरूले यी धारणाहरू र यो सत्यतासँग सम्बन्धित अरू विषयवस्तु के छ भनेर ध्यानपूर्वक मनन गर्यौ? कुनै पनि सत्यता त्यसको शाब्दिक अर्थजत्तिकै सरल हुँदैन; ती सबैभित्र तिनको आफ्नै वास्तविक अर्थ लुकेको हुन्छ, र ती सबै नै मानिसहरूको जीवन प्रवेश, साथै तिनीहरूको दैनिक जीवनका सबै पक्षहरू र परमेश्वरमाथिको विश्वाससँग सम्बन्धित हुन्छन्। त्यसकारण, के तिमीहरूले आफ्नो दैनिक जीवनबाट सत्यताको यो पक्षसम्बन्धी कुनै विषयवस्तु पत्ता लगाएका छौ? सत्यताको यो पक्षसँग सम्बन्धित सङ्गतिहरू सुनिरहँदा, तिमीहरूले शाब्दिक अर्थमा यसको केही भाग मात्र बुझ्न सक्छौ, र स्पष्ट धारणाहरूबारे केही समझ प्राप्त गर्छौ। त्यसपछि, थप चिन्तन, प्रार्थना र खोजी गरेर, अनि आफ्नो अनुभवको आधारमा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गरेर, तिमीहरूले केही मात्रामा गहन र अझ व्यावहारिक बुझाइ प्राप्त गर्न सक्नुपर्छ। यी तीन सत्यताहरूलाई शाब्दिक अर्थमा हेर्दा, कुन सत्यता मानिसहरूको भ्रष्ट स्वभाव, परमेश्वरको स्वभावबारे तिनीहरूको बुझाइ र तिनीहरूको व्यावहारिक प्रवेशसँग सबैभन्दा बढी सम्बन्धित छ? कुन सत्यता सबैभन्दा गहन र प्रगाढ छ? (तेस्रो सत्यता।) तेस्रो सत्यता अलि बढी गहन छ। पहिलो सत्यता परमेश्वरमाथिको विश्वाससम्बन्धी धारणाहरू थियो, र यी धारणाहरू एकदम स्पष्ट र सतही कुरा हुन्; दोस्रो सत्यता देहधारणसम्बन्धी धारणाहरू थियो, जसमा मानिसहरूले देख्न र बुझ्न सक्ने र तिनीहरूले जीवनमा भोग्ने र मनन गर्ने सम्भावना रहेका केही विषयवस्तु पर्छन्; तेस्रो सत्यता परमेश्वरको कामसम्बन्धी धारणाहरू थियो, जुन मानिसहरूको भ्रष्ट स्वभावसँग सम्बन्धित छ—यो अन्तिम सत्यता अलिक बढी गहन छ। त्यसोभए परमेश्वरको कामसम्बन्धी धारणाहरू वास्तवमा के-के हुन्? परमेश्वरको कामबारे मानिसहरूमा के-कस्ता धारणाहरू रहेका छन्? तिनीहरूले यी धारणाहरूलाई कसरी बुझ्नु र सम्हाल्नुपर्छ, र तिनीहरूले तिनलाई कसरी समाधान गर्नुपर्छ? आजको सङ्गतिको विषयवस्तु यही हो।
जब परमेश्वरको कामसम्बन्धी मानिसहरूका धारणाहरू तिनीहरूको तर्क र मूल्याङ्कन प्रयोग गर्ने अवस्थादेखि परमेश्वरसँग मागहरू राख्ने, परमेश्वरप्रति असाधारण चाहनाहरू राख्ने, उहाँको प्रतिरोध गर्ने, र उहाँको कामबारे केही मूल्याङ्कन वा आलोचना गर्ने अवस्थासम्म पुग्छन्, तब यी धारणाहरू एउटा दृष्टिकोण वा विश्वासमा मात्र सीमित रहँदैनन्, यी त मानिसहरूको भ्रष्ट स्वभावसँग पनि सम्बन्धित हुन्छन्। यी कुराहरू भ्रष्ट स्वभावहरूसँग सम्बन्धित भएपछि, यो नै मानिसहरूलाई परमेश्वरको प्रतिरोध गर्न, उहाँलाई आलोचना गर्न, र उहाँलाई धोका दिन लगाउन पर्याप्त हुन्छ। त्यसकारण, यदि परमेश्वरबारे मानिसहरूका धारणाहरू कल्पना र अनुमानभन्दा पर जाँदैनन् भने यो ठूलो समस्या होइन। तर यदि यी धारणाहरू बढेर परमेश्वरको कामप्रतिका दृष्टिकोण र मनोवृत्तिमा परिणत हुन्छन्, परमेश्वरप्रतिका अनुचित मागहरू वा परमेश्वरको आलोचना र निन्दामा परिणत हुन्छन्, वा अभिप्राय, चाहना, वा उन्मत्त महत्त्वाकाङ्क्षाहरूले भरिन्छन् भने, यी साधारण धारणा रहँदैनन्। यी अब साधारण धारणा रहँदैनन् भनेर म किन भन्छु? किनभने यी धारणा र विचारहरू तेरो जीवन प्रवेशसँग, परमेश्वरको कामबारे तेरो बुझाइसँग, तैँले परमेश्वरको सार्वभौमिकता स्विकार्न र त्यसमा समर्पित हुन सक्छस् कि सक्दैनस् भन्ने कुरासँग, र तैँले उहाँलाई आफ्नो सार्वभौम र सृष्टिकर्ताको रूपमा मान्यता दिन सक्छस् कि सक्दैनस् भन्ने कुरासँग सम्बन्धित छन्, र यी सबै कुराले परमेश्वरप्रतिको तेरो दृष्टिकोण र मनोवृत्तिमा प्रत्यक्ष असर पार्छन्। यो कुरालाई यसरी हेर्दा, के मानिसहरूमा यी धारणाहरू हुनु गम्भीर समस्या हो? (हो।) यी धारणाहरू चिरफार गर्नहेतु, यदि हामीले सैद्धान्तिक दृष्टिकोणबाट चिरफार गर्यौँ भने, यी धारणाहरू अलिक अमूर्त, वा तिमीहरूको दैनिक जीवनबाट अलिक टाढा रहेजस्तो देखिन सक्छन्। त्यसकारण, हामी दैनिक जीवनमा वा मानवजातिमाझ देखिने विभिन्न प्रकारका मानिसहरूका जिउने अवस्थाहरूबारे, वा तिनीहरूको नियतिबारे, वा जीवनप्रति र परमेश्वरका सार्वभौमिकता र योजनाबद्ध कार्यहरूप्रति तिनीहरूका विभिन्न दृष्टिकोण र मनोवृत्तिहरूबारे केही कुरा गरौँ, ताकि हामीले मानिसहरूका धारणाहरू चिरफार गर्न र परमेश्वरले कसरी मानवजातिमाथि शासन गर्नुहुन्छ र तिनीहरूलाई योजनाबद्ध गर्नुहुन्छ, र परमेश्वरको कामका वास्तविक परिस्थितिहरू के-के हुन् भनेर तिनीहरूलाई देखाउन सकौँ। यो एउटा यस्तो विषय हो जसमा सङ्गति गर्न त्यति सजिलो छैन। यदि सङ्गति धेरै सैद्धान्तिक भयो भने, मानिसहरूलाई यो खोक्रो लाग्नेछ, जबकि यदि यो सानातिना मामिलाहरूसँग धेरै सम्बन्धित भयो वा मानिसहरूको वास्तविक जीवनसँग धेरै नजिक भयो भने, तिनीहरूलाई यो निकै सतही लाग्नेछ, र यस्तै प्रकारका समस्याहरू आउनेछन्। तर जे-जस्तो भए पनि, हामी अत्यन्तै सिधा र बुझ्न सजिलो तरिकाले सङ्गति गरौँ, तर यो पनि कथा सुनाएर नै गर्नुपर्छ। कथाका घटनाक्रम र पात्रहरू, साथै कथामा प्रतिबिम्बित जीवन दर्शन र मानिसहरूले देख्ने घटनाहरूको माध्यमबाट, तिनीहरूले परमेश्वरको आफ्नो काम गर्ने केही तरिका र विधिहरू, साथै परमेश्वरको काम, उहाँको सार्वभौमिकता र उहाँले गर्नुभएको सबै कुराको योजनाबद्धताबारे मानिसहरूले वास्तविक जीवनमा बोक्ने भ्रमित विचारहरू वा तिनीहरूले पक्रिराख्ने केही गलत कुराहरू बुझ्न सक्छन्—यसरी सङ्गति गर्दा मानिसहरूलाई कुरा बुझ्न केही हदसम्म सजिलो हुन्छ।
कथा यस्तो छ। एउटी सानी केटी एउटा परिवारमा जन्मेकी थिई, र त्यो परिवार त्यति धनी थिएन। ऊ सानै छँदादेखि उसको एउटा इच्छा थियो: उसले जीवनमा धनी वा सम्पन्न हुने कामना गरेकी थिइन, बस उसले भरोसा गर्न सक्ने कोही होस् भन्ने मात्र चाहेकी थिई। के यो इच्छा अति लालचपूर्ण थियो? के यो धेरै ठूलो माग थियो? (थिएन।) तर दुर्भाग्यवश, ऊ वयस्कतामा पुग्नुअघि नै उसको बुबाको निधन भयो, त्यसैले वास्तवमा जीवनमा भरोसा गर्नका लागि उसको कोही थिएन। उसले यो जीवनमा भरोसा गर्न सक्ने मुख्य व्यक्ति गुमाएकी थिई, जसलाई उसले आफ्नो कलिलो मस्तिष्कमा आफूले भर पर्न सक्ने एक्लो व्यक्ति सोचेकी थिई। के उसको कलिलो मस्तिष्कमा ठूलो सन्ताप परेन र? यस्तो घटनाले उसलाई पक्कै पनि ठूलो सन्ताप पारेको हुन सक्छ। के उसको हृदयमा आघात परेको थियो? पक्कै पनि आघात परेको थियो। यस्तो आघात कसरी आयो? किनभने उसको कलिलो मस्तिष्कमा, ऊ अझै पनि यसो भन्न तयार थिइन, “म आत्मनिर्भर हुन सक्छु, म आफै गरी खान सक्छु, मैले अबदेखि आमाबुबामा भर पर्नु पर्दैन।” चल्तीको भाषामा भन्ने हो भने, उसको पखेटा पलाउन अझै बाँकी थियो। उसको भोलाभाला सोचमा, उसले भविष्यमा के गर्ने वा आमाबुबाविना कसरी बाँच्ने भनेर अझै सोचेकै थिइन। यो अवस्थामा, ऊ त्यस्ता कुराहरूबारे सचेत हुनुअघि नै उसको बुबाको निधन भयो, जसको अर्थ उसको बाँच्ने आधार टुट्यो, र समय पहिलेभन्दा अझै कठिन हुनेवाला थियो। त्यसपछि उसका दिनहरू कस्ता भए होलान् भनेर तिमीहरूले कल्पना गर्न सक्छौ। उसले आमा र भाइसँग कठिन जीवन बिताउन थाली, र उनीहरूको मुस्किलले हातमुख जोडिन्थ्यो। तर ऊ जतिसुकै सन्तप्त भए पनि, जीवन त चल्नु नै पर्थ्यो, त्यसैले ऊ आफ्नी आमा र भाइलाई साथ दिँदै लडखडाइरही। केही वर्षपछि ऊ ठूली भई, र आमा र भाइको जीवनयापन खर्च पूरा गर्न आत्मनिर्भर रूपमा केही पैसा कमाउन सक्ने भई, तर तिनीहरू जीवनमा धनी भने भइसकेका थिएनन्। यतिका समय, उसको भित्री इच्छा परिवर्तन भएको थिएन। उसलाई भर पर्न सकिने कोही चाहिएको थियो, तर कस्तो व्यक्ति? ऊ जुन व्यक्तिमा भर पर्न चाहन्थी, त्यो वास्तवमा कस्तो खालको व्यक्ति थियो? तिमीहरूले त्यो व्यक्तिको बारेमा मलाई भन त। सबैभन्दा सरल भाषामा भन्नुपर्दा, “भर पर्न सकिने व्यक्ति” को अर्थ के हो? यसको अर्थ उसलाई बाँच्ने आधार, साथै खानलाउन दिन सक्ने व्यक्ति हो, ताकि उसले जीवनयापनका लागि आफै काम गर्न जान वा कुनै किसिमको पीडा भोग्न नपरोस्। कम्तीमा पनि, कुनै समस्या आएमा, उसले उसले सहारा लिन सक्ने, र उसलाई पछाडिबाट साथ दिने व्यक्ति—उसले त्यस्तो व्यक्तिमाथि भर पर्न सकूँ भन्ने आशा गरेकी थिई। यदि त्यस्तो व्यक्तिले उसलाई जीवनमा आर्थिक रूपमा सहयोग वा साथ दिन नसके पनि, कुनै समस्या आइपर्दा वा उसलाई सन्ताप हुँदा, कम्तीमा, उसलाई आड लाग्न काँध दिन सकोस्, र उसलाई कठिन समयमा सहयोग गर्न र समस्याको आँधी झेल्न सघाउन सकोस्—उसको चाहना यही थियो। के यो माग ज्यादै ठूलो थियो? के यो इच्छा अवास्तविक थियो त? यो ठूलो माग थिएन, र यो अवास्तविक इच्छा पनि थिएन। के अरू धेरै मानिसहरूले पनि यस्तै सरल कुरा चाहँदैनन् र? आफ्नो बाहेक अरू कसैलाई भरोसा नगरी जन्मे-हुर्केँ भनेर थोरै मानिसहरूले मात्र भन्न सक्छन्। यो संसार र समुदायमा बस्ने अधिकांश मानिसहरूले साथी, वा भरोसा गर्नलाई कोही होस् भन्ने आशा गर्छन्, र यो केटी पनि यसको अपवाद थिइन।
थाहै नपाई ऊ विवाह गर्ने उमेरमा पुगी, र अझै पनि ऊ आफूले भरोसा गर्न सक्ने, र भरपर्दो व्यक्ति भेट्टाउन चाहन्थी। त्यो व्यक्ति निकै धनी हुनुपर्ने, वा उसलाई विलासितामा राख्न सक्ने हुनुपर्ने आवश्यक थिएन, र ऊ कुरा गर्न सिपालु हुनुपर्ने पनि आवश्यक थिएन। ऊ सबैभन्दा ठूलो समस्यामा पर्दा, वा कठिनाइ वा रोगले ग्रस्त हुँदा त्यो व्यक्तिले उसलाई साथ मात्र दिए पुग्थ्यो, चाहे उसलाई सान्त्वनाका केही शब्दहरूभन्दा बढी अरू केही नदिने नै किन नहोस्। के यो सजिलै साकार हुन सक्ने इच्छा थियो त? यो अनिश्चित छ। मानिसहरूका इच्छाहरू परमेश्वरले तिनीहरूलाई दिन वा तिनीहरूमा पूरा गर्न बनाउनुभएका योजना हुन् वा होइनन्, वा तिनीहरूको नियतिमा तिनीहरूका इच्छाहरू अन्ततः पूरा हुनेछन् भनेर पहिल्यै पूर्वनिर्धारित भएको हुन्छ वा हुँदैन भनेर कसैलाई थाहा हुँदैन। त्यसकारण, यो केटीको इच्छा पूरा हुन सक्छ कि सक्दैन भन्ने कुरा कसैलाई थाहा थिएन, र उसलाई पनि थाहा थिएन। तर, जीवनको अर्को चरणतर्फ अघि बढ्दा पनि ऊ अझै यो इच्छामा अडिग रही। त्यो बेला, उसलाई धेरै डर र असहज महसुस भयो, तर जे भए पनि, त्यो दिन आएरै छाड्यो। उसले जोसँग विवाह गर्छु भनेर योजना बनाइरहेकी थिई त्यो व्यक्ति वास्तवमा उसले आफ्नो बाँकी जीवनभर भरोसा गर्न सकिने व्यक्ति हो कि होइन भन्ने कुरा उसलाई थाहा थिएन, तर पनि उसले हृदयमा इमान्दारीपूर्वक यस्तो आशा गरेकी थिई: “यो व्यक्ति मैले भर पर्न सक्ने व्यक्ति हुनुपर्छ। मेरो जीवनको पछिल्लो लगभग बिस वर्ष आफैमा गाह्रो थियो। यदि मैले भर पर्न नसक्ने व्यक्तिसँग विवाह गर्न पुगेँ भने, मेरो बाँकी जीवन अझ गाह्रो हुनेछ। म अरू कसमा भर पर्न सक्छु र?” उसलाई पीडा महसुस हुन्थ्यो, तर उसले गर्न सक्ने केही थिएन, त्यसैले उसले आशा मात्र गरिरही। बाँच्नका लागि, जब मानिसहरूलाई यो जीवनमा म किन यहाँ छु र जीवनमा कसरी अघि बढ्ने भन्ने थाहा हुँदैन, तब तिनीहरू यस्तो इच्छा र अज्ञात आशा लिएर अन्धाधुन्ध अगाडि बढिरहन्छन्। त्यो क्षण आउँदा, उसको भविष्य कस्तो हुनेछ भन्ने उसलाई थाहै थिएन। भविष्य अज्ञात थियो। ऊ निरन्तर अगाडि बढी नै रही। तर, धेरै कुराहरू प्रायजसो मानिसहरूको इच्छाविपरीत नै हुन पुग्छन्। अहिलेका लागि, परमेश्वरले मानिसहरूको नियति किन यसरी मिलाउनुहुन्छ भनेर टिप्पणी नगरौँ—यो परमेश्वरले जानीजानी मिलाउनुभएको हो, वा मानिसहरूको भ्रष्टता र अज्ञानताको कारण तिनीहरूका इच्छा र मागहरू परमेश्वरले तिनीहरूको लागि बन्दोबस्त गर्नुभएको नियतिविपरीत भएर, तिनीहरूका इच्छाहरू प्रायजसो पूरा हुन नसकेको र अवस्था तिनीहरूको आशाबमोजिम हुन नसकेको हो—अहिलेका लागि हामी यी सबै कुराबारे छलफल नगरौँ। पहिले, हामी यही कथालाई जारी राखौँ।
यो केटीको विवाह भएपछि, ऊ आफ्नो इच्छालाई पनि साथै लिएर जीवनको अर्को चरणमा प्रवेश गरी। जीवनको यो चरणमा उसलाई के कुराले पर्खेको थियो? त्यो उसलाई थाहा थिएन, तर अज्ञात भविष्यको डरले मात्र ऊ यसबाट बच्न सक्दिनथी। उसले आफूलाई दह्रिलो बनाएर अगाडि बढ्नुपर्थ्यो, र ऊ अझै पनि हरेक दिन बाँच्नु नै पर्थ्यो। उसको जीवनको यो ठूलो मोडमा, अन्ततः परमेश्वरले उसको लागि बन्दोबस्त गर्नुभएको नियति आइपुग्यो—र यो उसले चाहेको भन्दा विपरीत थियो। उसले चाहेको जस्तो एउटा साधारण ओछ्यान, एउटा सानो लेख्ने डेस्क, एउटा सामान्य, सफा कोठा, एउटा श्रीमान र बच्चाहरू भएको सुखी पारिवारिक जीवन—उसले चाहेको यो सरल जीवन कहिल्यै पूरा हुन सकेन। उसको विवाह भएपछि, उसको पति कामको कारण वर्षैभरि घरबाट टाढा बस्थ्यो, त्यसैले तिनीहरू अलगअलग बस्नुपर्थ्यो। एउटी महिलाको लागि यस्तो जीवनले के-कस्तो सम्भाव्यता बोकेको हुन्छ? हेपाइ र भेदभाव भोग्नुपर्ने सम्भाव्यता। यस्तो जिउने वातावरण सामना गर्नु उसको जीवन र नियतिमा लागेको अर्को झट्का थियो। यो उसले कहिल्यै कल्पना नगरेको, र कहिल्यै देख्न वा सामना गर्न पनि नचाहेको कुरा थियो। तर अहिले, तथ्यहरू उसको इच्छा र कल्पनाभन्दा पूर्ण विपरीत थिए। उसले देख्न वा अनुभव गर्न नचाहेको कुरा नै वास्तवमा उसलाई आइपरेको थियो। उसको श्रीमान् वर्षैभरि कामको सिलसिलामा टाढा बस्थ्यो। उसले जीवन र आर्थिक दुवै कुरामा आत्मनिर्भर हुनुपर्थ्यो। उसले बिलहरू तिर्न आफै बाहिर गएर पैसा कमाउनुपर्थ्यो। उसलाई जीवनमा सहयोग गर्ने कोही थिएन, र उसले सबै कुराका लागि आफैमा भर पर्नुपर्थ्यो। यस्तो जिउने वातावरणमा, के यो महिलाले भर पर्न सकिने कोहीसँग बिहे गरी, कि गर्दै गरिन? (गर्दै गरिन।) विवाह भएपछि उसको इच्छा पूरा भयो कि चकनाचुर भयो? (चकनाचुर भयो।) स्पष्टतः, उसको जीवनको दोस्रो महत्त्वपूर्ण चरणमा, उसको आशा फेरि एकपटक चकनाचुर भएको थियो, र भर पर्नका लागि उसको कोही थिएन। उसले जीवनमा भर पर्न सक्छु भनेर सोचेको व्यक्ति उसको साथमा थिएन, र त्यो व्यक्तिमा बिलकुलै भर पर्न सकिँदैनथ्यो। उसले आफ्नो शक्तिको खम्बा, आफ्नो चट्टान, र आफ्नो आड-भरोसा ठानेको व्यक्तिमाथि बिलकुलै भर पर्न सकिँदैनथ्यो। उसले सबै कुरा आफै गर्नुपर्थ्यो, र सबै कुरा आफैले सम्हाल्नु र सामना गर्नुपर्थ्यो। उसको सबैभन्दा कठिन समयमा, ऊ आफ्ना दुःख बाँड्ने कोही नहुँदा ओछ्यानमा लुकेर रुन मात्र सक्थी। आफ्नो इज्जत, प्रतिस्पर्धात्मकता र आत्मसम्मानको खातिर, उसले प्रायजसो बाहिरी रूपमा आफूलाई शक्तिशाली रूपमा प्रस्तुत गर्थी, र एउटी बलियो महिलाको रूपमा देखा पर्थी, तर भित्री रूपमा ऊ वास्तवमा धेरै निर्बल थिई। उसलाई साथ चाहिएको थियो, र भर पर्न सकिने व्यक्तिको चाहना थियो, तर यो इच्छा अझै पूरा भएको थिएन।
केही वर्ष बित्यो र ऊ आफ्ना दुईचार वटा ससाना बच्चाहरू लिएर यताउता सर्थी, घर भाडामा लिएर बस्थी र कुनै स्थिर निवास नभएको जीवन जिउँथी। यसरी नै वर्षहरू बित्दै जाँदा, उसको जीवनमा सबैभन्दा आधारभूत आवश्यकताहरूमध्ये एउटा बिस्तारै विलय हुँदै गइरहेको थियो। उसलाई चाहेको त ओछ्यान भएको एउटा सानो कोठा, एउटा सानो लेख्ने टेबल, र खाना पकाउनको लागि एउटा स्टोभ होस्, र परिवारले टेबुल वरिपरि बसेर खान सकौँ, केही कुखुरा पालौँ, र सरल जीवन जिऊँ भन्ने मात्रै थियो। उसले धनी वा सम्पन्न हुने आशा गरेकी थिइन। जीवन सरल, शान्तिपूर्ण भयो, र परिवार सँगै भयो भने, त्यो नै पर्याप्त हुन्थ्यो। तर, उसले आफ्ना बच्चाहरूलाई साथै लिएर हातमुख जोड्दै जसोतसो अस्तित्वमा रहन मात्र सकेकी थिई। ऊसँग भर पर्न सकिने कोही नभएको मात्र होइन, अझ नराम्रो कुरा त, ऊ उसका छोराछोरीले भर पर्ने व्यक्ति बन्नुपरेको थियो। उसले यो मरणशील संसारमा बाँच्नु धेरै पीडादायी भएकोले, यो पीडा समाधान गर्ने उपाय खोज्न सक्छु कि भनेर पनि सोचेकी थिई, जस्तै बौद्ध भिक्षुणी बन्ने, वा आफ्ना आत्मिक सद्गुणहरूलाई जगेर्ना गर्ने ठाउँ खोज्ने, आफू कसैमा भर नपर्ने गरी, र कोही आफूमा भर नपर्ने गरी मानव समाजबाट टाढा र यो पीडाबाट टाढा बस्ने, किनभने यसरी जिउँदा यो अत्यन्तै थकाइलाग्दो र पीडादायी थियो। तर उसलाई स्थिर राख्ने र अघि बढाइरहने एउटा कुरा के थियो? (उसका छोराछोरी।) ठीक भन्यौ। यदि उसका छोराछोरी नभएका भए, सायद उसले जिएको हरेक दिन अझ पीडादायी हुन्थ्यो, तर उसका छोराछोरी भएपछि, उसले जिम्मेवारी लिई र ऊ तिनीहरूले भर पर्ने व्यक्ति बनी। जब उसका छोराछोरीले उसलाई “आमा” भनेर बोलाउँथे, तब उसलाई आफ्नो काँधको बोझ धेरै भारी छ, उसले त्यतिकै त्यसरी आफ्नो जिम्मेवारी त्याग्न मिल्दैन, र उसले अरूमा भर पर्नु हुँदैन, बरु ऊ अरूले भर पर्न सक्ने व्यक्ति बन्नुपर्छ भन्ने लाग्थ्यो—उसले यसलाई जीवनको आनन्दको स्रोत, जीवनप्रतिको मनोवृत्ति, र बाँच्ने प्रेरणाको रूपमा पनि लिन सकिन्छ भन्ने सोच्थी। यस तरिकाले, उसले आफ्ना छोराछोरीका खातिर त्यसपछिका लगभग दश वर्षभन्दा बढी समय सहेर बसी। के ती दिनहरू लामा लाग्थे? (हो, लाग्थे।) ती किन लामा लाग्थे? (उसले कठिन जीवन जिएकीले दिनहरू लामा लाग्थे।) तिमीहरूलाई अनुभवबाट थाहा छ, यी शब्दहरू त्यो कुरा भोगेर अनि गरेर आएको व्यक्तिका शब्दजस्ता सुनिन्छन्। ती दिनहरू कठिन र यातनापूर्ण थिए, त्यसैले ती अत्यन्तै लामा लाग्थे। उसले अनुभव गरेका सबै कुरा उसको हृदयमा गहन यातनाजस्तै भएको थियो, त्यसैले उसले दिनहरू गन्दै जिउनुपरेको थियो, र यस्तो जीवन बिताउन सजिलो थिएन। बच्चाहरू हुर्किसकेपछि पनि, उसको इच्छा अझै परिवर्तन भएन। उसको हृदयको गहिराइमा यो इच्छा अझै रहिरहेको थियो: “बच्चाहरू ठूला भइसके र अब तिनीहरूको हेरचाह गर्न त्यति गाह्रो छैन। यदि मेरो श्रीमान् हामीसँगै हुन्थ्यो र परिवारको पुनर्मिलन हुन्थ्यो भने, हाम्रो जीवन अझ राम्रो हुनेथियो।” उसको अद्भुत कल्पना फेरि फर्कियो र, गैरविश्वासीहरूले भन्ने गरेझैँ, यसले आशाको किरण फर्काएर ल्यायो। जब-जब ऊ रातमा सुत्न सक्दिनथिई, तब-तब उसले यस्ता कुरा सोच्थी: “अब बच्चाहरू ठूला भइसकेका छन्, त्यसकारण, यदि तिनीहरू कलेज भर्ना हुन पाए, र तिनीहरूले अन्त्यमा राम्रो जागिर पाएर पैसा कमाउन सके भने, जीवन अझ सजिलो हुनेछ, र गाँस, बास र कपासको अवस्था अहिलेको भन्दा राम्रो हुनेछ। अनि यदि मेरो श्रीमान् फर्केर आउनुभयो भने, जीवन अझ राम्रो हुनेछ, र मसँग भर पर्न सकिने कोही हुनेछ! मैले पहिले भर परेका दुई व्यक्तिहरू गुमाएँ, तर अब मसँग भर पर्नको लागि अझ धेरै मानिस छन्। स्वर्गले मलाई निकै राम्रो गरेको छ! राम्रा दिनहरू आउँदै छन् जस्तो छ।” उसलाई राम्रा दिनहरू आउँदै छन् भन्ने विश्वास लागेको थियो। यो राम्रो कुरा हो कि नराम्रो कुरा हो? कसैलाई थाहा छैन। जीवनमा व्यक्तिको नियति के हुन्छ, वा अगाडि के छ भन्ने कुरा कसैलाई थाहा हुँदैन। सबै मानिसहरू आफ्नो सुन्दर इच्छाहरूमा टाँसिएर यसरी नै ठेस खाँदै जीवन जिइरहेका हुन्छन्।
दश वर्ष बित्यो, उसको श्रीमान् अर्कै काममा सरुवा भयो, र अन्त्यमा परिवारको पुनर्मिलन भयो, जुन राम्रो कुरा थियो। त्यसोभए अन्त्यमा, के उसको पति उसले भर पर्न सक्ने व्यक्ति बन्न सक्यो? के उसले यो महिलाको जीवनको केही पीडा लिन सक्यो? तिनीहरू कहिल्यै सँगै बसेका थिएनन्, र तिनीहरूले गहन रूपमा अन्तरक्रिया गरेका पनि थिएनन्, त्यसकारण उसले आफ्नो पतिलाई राम्ररी चिनेकै थिइन। त्यसपछिका दिनहरूमा, ऊ र उसको पतिले सँगै बस्न सिक्न थाले र एकअर्कालाई अझ गहिरो रूपमा बुझे। तैपनि उसको इच्छा परिवर्तन भएन। जसरी भए पनि यो पुरुष उसले भर पर्ने व्यक्ति बन्न सकोस्, र उसलाई सान्त्वना दिने र उसको पीडा कम गर्ने व्यक्ति हुन सकोस् भनेर उसले आशा गरेकी थिई। तर, अझै पनि अवस्था उसले चाहेजस्तो भएन। उसले गहन रूपमा कहिल्यै अन्तरक्रिया नगरेको यो श्रीमान, उसले बुझ्दै नबुझेको यो पुरुष उसले भर पर्न सक्ने व्यक्ति बन्न सकेन। कारण के थियो भने यी दुई व्यक्तिको बाँच्ने क्षमता, चरित्र, जीवनप्रतिको दृष्टिकोण, मूल्य-मान्यता, र आफ्ना छोराछोरी, परिवार र आफन्तहरूप्रतिको मनोवृत्ति पूर्ण रूपमा फरक थियो। यी दम्पती बारम्बार झगडा गर्थे, र कुराहरूमा निरन्तर एकअर्कासँग भनाभन गर्थे। यो महिलाले सहिरहन सकूँ ताकि श्रीमान्ले उसको दयालु स्वभाव, धैर्य र कठिनाइ बुझ्न सकोस्, र पछि ऊसित भावनात्मक रूपमा स्पर्शित होओस् र ऊसँग पुनः जोडियोस् भनेर भित्री रूपमा आशा गरेकी थिई, तर पनि उसको इच्छा अझै पूरा हुन सकेन। उसको लागि, उसको भित्री मनमा, के उसको श्रीमान् उसले भर पर्न सक्ने व्यक्ति थियो त? के उसको श्रीमान् उसले भर पर्ने व्यक्ति बन्न सक्थ्यो त? (अहँ, सक्दैनथ्यो।) जब-जब उसले कठिनाइहरू सामना गर्थी, उसको श्रीमान्ले उसलाई सान्त्वना दिन र उसको पीडा कम गर्न नसक्ने मात्रै होइन, बरु वास्तवमा उसको पीडा बढाइदिन्थ्यो, जसले गर्दा ऊ अझ निराश र असहाय हुन्थी। त्यो बेला, जीवनबारे उसको भित्री भावना र बुझाइ के हुन्थ्यो? ती त निराशा र पीडा हुन्थे, जसले गर्दा ऊ यस्तो प्रश्न गर्न बाध्य भयो, “के परमेश्वर साँच्चै हुनुहुन्छ? मेरो जीवन किन यति कठिन छ? मैले त केवल भर पर्न सकिने व्यक्ति मात्र चाहेकी हुँ, तर के यो धेरै ठूलो माग हो त? मसँग यति सानो इच्छा त छ। मैले जिएका यतिका वर्षमा पनि यो किन अझै पूरा भएको छैन? मेरा मागहरू आवश्यकताभन्दा बढी छैनन् र मसँग उन्मत्त महत्त्वाकाङ्क्षाहरू छैनन्। मेरो चाहना त केवल समस्याहरू आइपर्दा मैले भर पर्न सक्ने कोही होस् भन्ने मात्रै हो, त्यति त हो। किन यस्तो सानो इच्छा पनि पूरा हुन सक्दैन?” यो अवस्था धेरै वर्षसम्म रहिरह्यो। अवश्य नै, यो परिवारको जीवन त्यति सौहार्दपूर्ण थिएन; बारम्बार भनाभन हुन्थ्यो। छोराछोरी दुःखी र बेखुसी थिए, र तिनीहरूका आमाबुबा पनि त्यस्तै थिए। परिवारमा कुनै शान्ति वा आनन्द थिएन, र प्रत्येक व्यक्तिलाई हृदयभित्र डर, भय, र आतङ्क, साथै पीडा र बेचैनी मात्र महसुस हुन्थ्यो।
केही वर्षपछि, अन्ततः परिस्थिति परिवर्तन भयो र प्रभु येशूको सुसमाचार उसको जीवनमा आयो। उसलाई आफ्नो इच्छा बल्ल पूरा हुन सक्छ भन्ने महसुस भयो। उसले सोची, “मैले मेरो बुबा, मेरो श्रीमान्, वा मेरो नजिकको कुनै व्यक्तिमा भर पर्नु पर्दैन, जबसम्म म प्रभु येशूमा भर पर्छु तबसम्म म शान्त रहन सक्छु, र वास्तवमै मेरो भर पर्न सकिने व्यक्ति हुनेछ, र मैले वास्तविक शान्ति र खुसी पाउन सक्नेछु, र त्यसपछि जीवन त्यति कष्टकर हुनेछैन।” प्रभु येशूको सुसमाचार स्वीकार गरेपछि, यो महिला धेरै खुसी भई, र अवश्य नै उसको जीवन अझ बढी स्थिर भयो। ऊप्रति उसको श्रीमान्को मनोवृत्ति परिवर्तन नभएको, र उसको श्रीमान्ले उसलाई पहिलेजस्तै कठोर व्यवहार गर्ने, बेवास्ता गर्ने र कुनै ख्याल नराख्ने, वास्ता वा चिन्ता, वा धैर्य, कृतज्ञता वा सहिष्णुतासमेत नदेखाउने भए पनि, उसले हृदयमा प्रभु येशूको मुक्ति पाएकीले, यो सबै कुराप्रति उसको मनोवृत्ति परिवर्तन भयो। उसले आफ्नो पतिसँग बहस वा तर्क गर्ने प्रयास गर्न छोडी, किनभने उसले यी सबै कुराबारे बहस गरेर मानिसहरूले केही पाउँदैनन् भन्ने बुझेकी थिई। जब-जब परिस्थिति बिग्रिन्थ्यो, ऊ प्रभु येशूसँग कुरा गर्थी र उसको हृदय अझ बढी खुला हुन्थ्यो। यसरी, उसको पारिवारिक जीवन तुलनात्मक रूपमा स्थिर बनेजस्तो देखियो। तर सुखको समय लामो समयसम्म टिकेन, र उसको जीवनले अर्को मोड लियो। उसले प्रभु येशूमा विश्वास गर्न थालेपछि जोसका साथ सुसमाचार प्रचार गर्न थाली, मण्डली जीवन अँगाली, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई साथ दिई। तर उसको पतिले स्वीकृति दिएन। उसको पतिले उसलाई सताउन थाल्यो र प्रायजसो यसो भन्दै गाली गर्थ्यो: “तँ अझै मसँग बस्न चाहन्छस्? यदि तँलाई साँच्चै मन छैन भने, छुटौँ!” ऊसँग प्रभुलाई प्रार्थना गर्ने र सहनेबाहेक अरू कुनै विकल्प थिएन। यस्ता दिनहरू गाह्रो र पीडादायी भए पनि, उसको हृदयको आघात पहिलेको भन्दा निकै कम थियो, र उसले प्रार्थनाबाट पनि केही सान्त्वना लिन सक्थी। व्याकुल हुनेबित्तिकै उसले प्रभुलाई प्रार्थना गर्थी। यसरी उसको हृदयले भरोसा गर्नको लागि कोही पाएको थियो र उसले अस्थायी परिपूर्ति प्राप्त गरेकी थिई, र उसलाई आफ्नो जीवन पहिलेको भन्दा धेरै राम्रो भएको छ भन्ने महसुस हुन्थ्यो।
बिस्तारै, बच्चाहरू हुर्किए। बच्चाहरू बाल्यकालदेखि नै ऊसँग बसेका थिए र ऊप्रति तिनीहरूको स्नेह अलि बलियो थियो, त्यसकारण यो महिलालाई यस्तो लाग्यो, “अब मेरा छोराछोरीहरू हुर्किसकेका छन्, त्यसैले अब मैले मेरो श्रीमान्माथि भर पर्नु पर्दैन, म मेरा छोराछोरीहरूमाथि भर पर्न सक्छु।” बाहिरी रूपमा हेर्दा त लाग्थ्यो कि उसले पहिले नै प्रभु येशूमा भर पर्न थालेकी छे र उसले आफ्नो हृदय, आफ्नो परिवार, र आफ्नो भविष्य र सम्भाव्यता उहाँकै हातमा राखेकी छे। तर वास्तवमा, मनको गहिराइमा, ऊ अझै पनि आफूले देख्न सक्ने र आफूसँग सम्बन्ध रहेका मानिसहरूप्रति यो इच्छामा अडिग थिई, र उसले यो इच्छा एक दिन पूरा होस् भन्ने आशा गरेकी थिई। मानिसहरूले प्रभु येशू कहाँ हुनुहुन्छ भनेर देख्न नसक्ने हुनाले, तिनीहरूले प्रभु येशू आफ्नो साथमा र आफ्नो हृदयमा हुनुहुन्छ भनेर भन्छन्, तर उसलाई परमेश्वरलाई छुन वा देख्न सकिँदैन भन्ने लाग्यो, त्यसैले यो कुराले उसलाई असहज महसुस गरायो। उसले सोची, महत्त्वपूर्ण घटना र प्रमुख मामिलाहरूमा प्रभु येशूमा भर पर्नु नै पर्याप्त हुनेछ, तर वास्तविक जीवनमा उसले अझै पनि आफ्ना छोराछोरीहरूमा भर पर्नुपर्नेछ। यतिका समयमा उसको इच्छा परिवर्तन भएको थिएन, र उसले यसलाई त्यागेकी थिइन। अब त उसले प्रभु येशूमा विश्वास गरेकी थिई, तैपनि यो इच्छा किन अझै परिवर्तन भएको थिएन? यसका धेरै कारणहरू छन्। एउटा कारण के हो भने, उसले सत्यता बुझेकी थिइन र उसले परमेश्वरको सार्वभौमिकता र योजनाबद्ध कार्यबारे त्यति धेरै जानेकी वा बुझेकी थिइन; वस्तुगत कारण यही नै हो। व्यक्तिपरक कारण के हो भने, ऊ एक कायर व्यक्ति थिई। उसले परमेश्वरमा विश्वास गरेकी भए पनि, धेरै पीडा भोगेपछि, ऊसँग अझै पनि परमेश्वरमाथि विश्वास गर्नुको महत्त्व, वा मानिसहरूको नियति, परमेश्वरको योजनाबद्ध कार्य, र सृष्टिकर्ताको काम गर्ने तरिकाबारे कुनै स्पष्ट अन्तर्ज्ञान थिएन। कुन-कुन कुराले ऊसँग यी कुराहरूबारे स्पष्ट अन्तर्ज्ञान थिएन भन्ने देखाउँछ? सर्वप्रथम, उसले अरूको साथ वा सहयोगी हातका कारण आफ्नो इच्छा पूरा हुन सक्छ भन्ने आशा बोकेर सधैँ आफ्नो खुसी अनि सुखी जीवनप्रतिको गहिरो तृष्णा अरूसँग जोडेकी थिई। के यो जीवन र नियतिबारे गलत दृष्टिकोण थियो? (हो।) यो दृष्टिकोण गलत थियो। आमाबुबाको नाताले, के तिमीहरूले छोराछोरी ठूलो भएपछि तिमीहरूप्रति कर्तव्यनिष्ठ हुनेछन् र तिमीहरूलाई सहयोग गर्न सक्नेछन् भन्ने आशा गर्दै तिनीहरूमाथि आशा राख्नु गलत हो? यो गलत होइन, र यो ज्यादै ठूलो माग होइन। त्यसोभए समस्या के हो त? ऊ निरन्तर आफ्ना छोराछोरीहरूमा भर परेर सुखी जीवन जिउन, र बाँकी जीवन छोराछोरीहरूको भरमा जिउन चाहन्थी, र ऊ सधैँ आफ्ना छोराछोरीहरूबाट आनन्द प्राप्त गर्ने आशामा हुन्थी। यसो गर्नुमा उसको गलत दृष्टिकोण के थियो? उसमा यो विचार किन आयो? उसले बोकेको यो दृष्टिकोणको स्रोत के थियो? मानिसहरूले सधैँ एउटा निश्चित जीवनशैली र एउटा निश्चित जीवनस्तर पाउने लालची आशा गरेका हुन्छन्। अर्थात्, परमेश्वरले मानिसहरूको जीवन वा तिनीहरूको नियति कस्तो हुनेछ भनेर पूर्वनिर्धारित गर्नुभएको छ भन्ने कुरा थाहा पाउनुअघि नै, मानिसहरूले आफ्नो जीवनस्तर कस्तो हुनुपर्छ भन्नेबारेमा, अर्थात् तिनीहरू खुसी हुनुपर्छ, र तिनीहरूको जीवनमा शान्ति र हर्ष हुनुपर्छ, र तिनीहरू धनी र सम्पन्न हुनुपर्छ, र तिनीहरूलाई सहयोग गर्ने र तिनीहरू भर पर्न सक्ने मानिसहरू हुनुपर्छ भन्ने सोच बनाइसकेका हुन्छन्—मानिसहरूले पहिले नै आफ्नो जीवन मार्ग, आफ्नो जीवन लक्ष्य, र आफ्नो जीवनको अन्तिम गन्तव्य र अरू सबै कुराहरूबारे योजना बनाइसकेका हुन्छन्। के यी सबैभित्र परमेश्वरमाथिको कुनै विश्वास हुन्छ त? (हुँदैन।) अहँ, हुँदैन। यो महिलाले जीवनप्रति सधैँ एउटा दृष्टिकोण बोकेकी थिई: यदि म फलानोमा भर परेँ भने, मेरो जीवन अझ शान्त, खुसी र समृद्ध हुनेछ; यदि म फलानोमा भर परेँ भने, मेरो जीवन अझ व्यवस्थित, अझ सुरक्षित, र अझ आनन्दमय हुनेछ। यो दृष्टिकोण सही छ कि गलत छ? (यो गलत छ।) यतिका वर्षपछि, ऊ प्रभु येशूमा विश्वास गर्ने चरणमा पुगिसकेकी थिई, तर मानव जीवन के हो भन्ने कुरा उसले अझै स्पष्ट रूपमा देखेकी थिइन। ऊसँग अझै पनि आफ्नै अभिप्राय र योजनाहरू थिए, र उसले आफ्नो भावी बाटोको हिसाबकिताब गरिरहेकी र आफ्नो भावी जीवनको योजना बनाइरहेकी थिई। अहिले यसलाई हेर्दा, जीवनप्रतिको यस्तो मनोवृत्ति र यस किसिमको योजना सही थियो कि गलत थियो? (यो गलत थियो।) किन? (किनभने उसले मानिसहरूप्रति परमेश्वरका मागहरू भन्दा पनि आफ्नै आकाङ्क्षा र इच्छाहरू पछ्याइरहेकी थिई।) उसले जे पछ्याइरहेकी थिई त्यसको परमेश्वरको पूर्वनिर्धारणसित कुनै सम्बन्ध थिएन। परमेश्वरले के गर्न लाग्नुभएको छ भनेर उसले थाहा पाउनुअघि नै, उसले पहिले आफू भर पर्न सकिने व्यक्ति खोज्ने दृढसङ्कल्प गरी। ऊ यो चरणमा यो व्यक्तिमा र अर्को चरणमा त्यो व्यक्तिमा भर पर्नेवाला थिई। यसरी, उसले परमेश्वरमाथिको आफ्नो निर्भरता गुमाई र परमेश्वरमा भर पर्नुको सट्टा मानिसहरूमा मात्र भर पर्न थाली। उसमा निरन्तर यो इच्छा र यी योजनाहरू थिए, त्यसकारण के उसको हृदयमा परमेश्वर हुनुहुन्थ्यो त? (हुनुहुन्थेन।) त्यसोभए, एक हिसाबले, उसका सबै सङ्घर्षबाट आएको पीडाको कारण के थियो? (यो उसको इच्छाले निम्त्याएको थियो।) त्यो बिलकुलै साँचो हो। त्यसोभए उसको इच्छा कसरी आयो? (उसले परमेश्वरको सार्वभौमिकता वा उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा विश्वास नगरेको कारणले।) ठीक भन्यौ। उसले मानिसहरूको नियति कसरी आउँछ भनेर बुझेकी थिइन, न त परमेश्वरको सार्वभौमिकताले कसरी काम गर्छ भनेर नै बुझेकी थिई। समस्याको जड नै यही हो।
हामी यो कथालाई जारी राखौँ। जब यी महिलाका छोराछोरीहरू हुर्किए, तब केहीले जागिर पाए र अरूले बिहे गरी घरजम गरे, र अवश्य नै तिनीहरूले आफ्ना आमाबुबालाई छोडेर आत्मनिर्भर जीवन जिउनुपर्यो, र तिनीहरूले आफ्ना आमाबुबासँग त्यति धेरै भेट्न पाउँदैनथे। त्यसोभए, यी महिलाले सामना गरेको अर्को समस्या के थियो? आफ्ना बच्चाहरूमा भर पर्ने उसको इच्छा फेरि पनि चकनाचुर हुने अवस्थामा पुग्नै लागेजस्तो देखियो। यो अर्को पीडादायी दुःखद घटना थियो, उसको जीवन अनुभवको क्रममा उसले भोगेको अर्को झट्का थियो। यावत् कारणहरूले गर्दा, उसका छोराछोरीहरूले उसको साथमा बस्न र उसलाई साथ दिन, वा उसलाई नियमित रूपमा भेट्न र उसको हेरचाह गर्न सकेनन्। त्यसकारण, उसका छोराछोरीहरूले उसको साथमा बसेर सन्तानी माया दिन र उसको हेरचाह गर्न सकून् भन्ने उसको आशा, र छोराछोरीहरूमा भर परेर कामकुरालाई सहज रूपमा लिने, अनि झनै आरामदायी र सुखी जीवन जिउने उसको इच्छा—यी सबै कुरा उसको हातबाट फुत्किएर झन्झन् टाढा गइरहेका थिए। तसर्थ, छोराछोरीप्रतिको उसको चासो, चिन्ता र तिर्सना झन्झन् तीव्र बन्दै गयो। के यो अर्को प्रकारको पीडा थिएन र? जब ऊ बूढी हुँदै गई र उमेरले उसलाई बिस्तारै थिच्दै गयो, तब उसको पीडा झन्झन् गहिरो हुँदै गयो, र छोराछोरीहरूप्रतिको उसको तिर्सना पनि गहिरियो। धेरै वर्ष बिते, र यी महिलाले आफ्नो जीवनको प्रत्येक चरणमा भर परेका मानिसहरू फरक रहेका भए पनि, तिनीहरू सबैले उसलाई तोकिएको समयमा छाडेर गए, जसले गर्दा उसका इच्छा वा भ्रमहरू पूर्ण रूपमा चकनाचुर भए, र उसलाई भित्री मनमा अत्यन्तै सास्ती र सन्ताप भयो। यसले उसलाई के दियो? के यसले गर्दा उसले जीवनबारे चिन्तन गरी? अथवा, के उसले सृष्टिकर्ताले मानिसहरूको नियति कसरी मिलाउनुहुन्छ भन्नेबारे चिन्तन गरी? यदि कसैले मानिसहरूको सामान्य सोचाइलाई ध्यानमा राखेर हेर्ने हो भने, केही प्रवचनहरू सुनेपछि र केही सत्यताहरू बुझेपछि, उसलाई सृष्टिकर्ताबारे, जीवनबारे, र मानिसहरूको नियतिबारे केही कुराहरू थाहा हुनुपर्छ। तर, विभिन्न कारणहरूले गर्दा, र यो कथाको मुख्य पात्र आफैमा रहेको समस्याका कारण, उसले उसको जीवनको प्रत्येक चरणमा के अनुभव गरी र के सामना गरी, वा उसको समस्या के थियो भन्ने कुरा अझै बुझ्न र पत्ता लगाउन सकेकी थिइन, र उसले आफू भर पर्न सक्ने कोही होस् भनेर आफ्नो हृदयको गहिराइमा अझै पनि तिर्सना गर्ने गरेकी थिई। त्यसोभए, उसले वास्तवमा कोमाथि भर पर्नुपर्छ? मानिसहरू भर पर्ने भनेको परमेश्वरमाथि नै हो भन्ने कुरा साँचो हो, तर परमेश्वर मानिसहरू भर पर्नका लागि मात्र हुनुहुन्न, उहाँ यतिका लागि मात्र हुनुहुन्न। मानिसहरूले सृष्टिकर्तासँग कसरी सामञ्जस्यतामा रहने, परमेश्वरलाई कसरी चिन्ने र कसरी उहाँमा समर्पित हुने भनेर जान्नु बढी महत्त्वपूर्ण छ—यो भर पर्नु र भर बन्नुको सम्बन्ध मात्र होइन।
छोराछोरीहरूमाथिको आफ्नो निर्भरता गुमाएपछि र बुढेसकालमा पुगेपछि, यी महिलाले आफ्ना आशाहरू आफ्नो पतिमा सारी, जो उसले आड लिने अन्तिम सहारा बन्न पुगेको थियो। उसले आफ्ना आधारभूत आवश्यकताहरूका लागि, र बाँचिरहनका लागि ऊमाथि भर पर्नुपर्यो। उसले आफ्नो पतिलाई अझ केही वर्ष बचाउने उपायहरू खोज्नुपर्यो, ताकि उसले आफ्नो लागि केही फाइदा लिन सकोस्। ऊ त्यसैमा भर परेकी थिई। यति लामो समय बाँचेपछि, यी बूढी महिलाको कपाल फुलेको थियो, अनुहार चाउरी परेको थियो, र उसका लगभग सबै दाँत झरेका थिए। उसको रूप परिवर्तन भएको भए पनि, एउटा कुराचाहिँ पहिलेको जस्तै रहेको थियो, र त्यो के थियो भने, उसको जीवनको प्रत्येक चरणमा, उसले ठक्कर खाएकी थिई, र धेरै पटक ठक्कर खानुको बाबजुद, कसैमाथि भर पर्न सकिन्छ कि भन्ने उसको उही एउटा अटुट इच्छा थियो। परिवर्तन नभएको अर्को कुरा भनेको मानिसहरूलाई परमेश्वरले गर्नुभएको प्रतिज्ञाबारे उसका भ्रमहरू, साथै आफू, मानवजाति र आफ्नो नियति र सम्भाव्यताहरूबारे उसका केही भ्रमहरू थिए। भित्री मनमा, यी भ्रमहरू झन्झन् अस्पष्ट र टाढा हुँदै गइरहेका भए पनि, सायद उसको हृदयको गहिराइमा अझै पनि आशाको किरण बाँकी थियो: “यदि, मेरा बाँकी वर्षहरूमा, म आफू भर पर्न सक्ने व्यक्तिसँग खुसीसाथ जिउन सकेँ, वा मैले परमेश्वरको काम समाप्त हुने र उहाँ महिमित हुने दिन देख्न सकेँ भने, यो जीवन व्यर्थ भएको हुनेछैन।” यी महिलाको जीवन त्यस्तो थियो। अनि कथा यतिमै समाप्त हुन्छ। यो कथाको शीर्षक के हुनुपर्छ? (“म कोमाथि भर पर्ने?”) त्यो एकदम राम्रो र विचारोत्तेजक शीर्षक हो।
हाम्रो सङ्गतिको विषयमा फर्कँदा, परमेश्वरको कामबारे मानिसहरूका धारणाहरूसँग यो कथाको के सम्बन्ध छ? यसको कुन भाग परमेश्वरको कामबारे मानिसहरूका धारणाहरूसँग सम्बन्धित छ? यो कुन धारणाहरूसँग सम्बन्धित छ? आफ्ना विचारहरू भन। (मानिसहरू परमेश्वरले तिनीहरूका अपेक्षा र योजनाहरूअनुसार कामकुराहरू पूरा गर्नुपर्छ भन्ने महसुस गर्छन्। मानिसहरूमा यस्तै किसिमको धारणा हुन्छ।) मानिसहरूले आफ्ना धारणाहरूमा के सोच्छन् भने, यदि तिनीहरूका इच्छाहरू राम्रा र सकारात्मक छन् भने, सृष्टिकर्ताले तिनीहरूलाई ती कुरा प्रदान गर्नुपर्छ, र तिनीहरूलाई सुन्दर जीवनतर्फ लागिपर्ने तिनीहरूको अधिकारबाट वञ्चित गर्नु हुँदैन। यो एउटा धारणा हो। के सृष्टिकर्ताले गर्नुहुने परिपूर्ति मान्छेका इच्छा, आशा, कल्पनाहरूअनुरूप हुन्छ? (हुँदैन।) त्यसोभए, सृष्टिकर्ताले कस्तो तरिकाले काम गर्नुहुन्छ? तँ जोसुकै भए पनि, र तैँले जेसुकै योजना बनाएको भए पनि, तेरा कल्पनाहरू जति नै सिद्ध र सम्मानजनक भए पनि, वा ती तेरो जीवनको वास्तविकतासँग जुन हदसम्म मिले पनि, परमेश्वरले यीमध्ये कुनै पनि कुरालाई हेर्नुहुन्न, न त उहाँले तीप्रति ध्यान नै दिनुहुन्छ; बरु, परमेश्वरले तोक्नुभएका विधि र नियमहरूअनुसार कामकुराहरू सम्पन्न, योजनाबद्ध, र बन्दोबस्त गरिन्छन्। यो परमेश्वरको धर्मी स्वभाव हो। कतिपय मानिसहरूले सोच्छन्, “मैले जीवनमा धेरै कष्टहरू भोगेपछि, के म सुखी जीवनको हकदार हुँदिनँ र? जब म सृष्टिकर्ताको अगाडि आउँछु, तब के म एउटा सुन्दर जीवन र एउटा सुन्दर गन्तव्यको अनुरोध र आशा गर्न योग्य हुँदिनँ र?” के यो मानव धारणा होइन र? परमेश्वरका लागि त्यस्ता धारणा र मानव-सिर्जित विचारहरू के हुन्? ती अनुचित मागहरू हुन्। यस्ता अनुचित मागहरू कसरी उब्जिन्छन्? (मानिसहरूलाई परमेश्वरको अख्तियार थाहा हुँदैन।) यो नै वस्तुगत कारण हो। व्यक्तिपरक कारण चाहिँ के हो त? यो कि, तिनीहरूसँग विद्रोही स्वभाव हुन्छ, र तिनीहरू सत्यता खोज्न वा सृष्टिकर्ताको सार्वभौमिकता वा बन्दोबस्तमा समर्पित हुन इच्छुक हुँदैनन्। सृष्टिकर्ताले अधिकांश मानिसहरूका लागि बन्दोबस्त गर्नुहुने जीवन कष्टकर हुन्छ कि सुखी र मस्त हुन्छ? (कष्टकर हुन्छ।) अधिकांश मानिसहरूले कष्टकर जीवन जिउँछन्, जसमा धेरै कठिनाइहरू र ज्यादै पीडा हुन्छ। मानिसहरूको सम्पूर्ण जीवनभर कष्टहरूको बन्दोबस्त गर्नुपछाडि सृष्टिकर्ताको उद्देश्य के हो? यसको महत्त्व के हो? एक अर्थमा, त्यस्ता बन्दोबस्तहरू गर्नुको उद्देश्य मानिसहरूलाई परमेश्वरको सार्वभौमिकता, बन्दोबस्त र अख्तियारको अनुभव गर्न र जान्न दिनु हो; अर्को अर्थमा, उहाँको प्राथमिक उद्देश्य भनेको मानिसहरूलाई वास्तवमा जीवन के हो भनेर अनुभव गर्न दिनु हो, र यसमार्फत मानिसहरूको नियति परमेश्वरको हातमा नियन्त्रित हुन्छ, र कुनै पनि व्यक्तिले यसको निर्णय गर्न सक्दैन र मानिसहरूको व्यक्तिपरक इच्छामा परिवर्तन भएसँगै यो परिवर्तन हुँदैन भनेर महसुस गराउनु हो। सृष्टिकर्ताले जे गर्नुहुन्छ र उहाँले मानिसहरूका लागि जुनसुकै प्रकारको जीवन वा भाग्य बन्दोबस्त गर्नुभएको भए पनि, उहाँले तिनीहरूलाई जीवनबारे र मान्छेको नियति वास्तवमा के हो भन्नेबारे चिन्तन गर्न लगाउनुहुन्छ, र तिनीहरूले यी सबै कुराहरू चिन्तन गर्ने क्रममा, उहाँले तिनीहरूलाई परमेश्वरसामु आउन लगाउनुहुन्छ। जब परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई यो सबै के हो भनेर बताउनुहुन्छ, तब उहाँले मानिसहरूलाई उहाँसामु आउन लगाउनुहुन्छ, र तिनीहरूलाई परमेश्वरले भन्नुभएका कुराहरू स्वीकार गर्न, परमेश्वरले भन्नुभएका कुराहरू अनुभव गर्न, र परमेश्वरले भन्नुभएका सबै कुरा र मानिसहरूले आफ्नो वास्तविक जीवनमा अनुभव गर्ने सबै कुराहरूबीचको वास्तविक सम्बन्ध के हो भनेर बुझ्न लगाउनुहुन्छ। उहाँले मानिसहरूलाई यी सत्यताहरूको व्यावहारिकता, सटिकता, र वैधता पुष्टि गर्न दिनुहुन्छ, त्यसपछि तिनीहरूले ती कुराहरू प्राप्त गर्छन् र मान्छे सृष्टिकर्ताको हातमा नियन्त्रित छ, र मान्छेको नियति परमेश्वरद्वारा शासित र व्यवस्थित छ भनेर स्वीकार गर्छन्। मानिसहरूले यी सबै कुराहरू बुझिसकेपछि, तिनीहरूसँग त्यसउप्रान्त आफ्नो जीवनका लागि कुनै अव्यावहारिक योजनाहरू हुनेछैनन्, र तिनीहरूसँग सृष्टिकर्ताको इच्छाविपरीत जाने योजनाहरू हुनेछैनन्, न त उहाँले तोक्नुभएको र बन्दोबस्त गर्नुभएको कुराविरुद्ध जाने कुनै योजना नै हुनेछ; बरु, तिनीहरूले आफ्नो जीवन कसरी जिउनुपर्छ र कुन बाटो लिनुपर्छ भन्ने कुराबारे तिनीहरूले झन्झन् सही मूल्याङ्कन गर्नेछन् र बुझ्नेछन्, वा बोध गर्नेछन् र योजना बनाउनेछन्। सृष्टिकर्ताले मानिसहरूको जीवनमा बन्दोबस्त गर्नुहुने ती धेरै कष्टहरूको उद्देश्य र महत्त्व यही हो।
कथामै फर्कँदा, मुख्य पात्रले धेरै कष्टहरू भोगेपछि, उसले यो जीवनमा किन कष्ट र पीडाहरू भोगी, र सृष्टिकर्ताले कामकुरालाई किन यसरी योजनाबद्ध र बन्दोबस्त गर्नुभयो भन्नेबारे उसको बुझाइ के थियो? के तिमीहरूले कथाबाट त्यो कुरा बुझ्न सक्छौ? के उसले यी कुराहरूबारे बुझाइ प्राप्त गरी? (गरिन।) उसले यो बुझाइ किन प्राप्त गरिन? (किनभने उसको जीवनको हरेक चरणमा, र उसको जीवनको हरेक मोडमा, जब उसका इच्छाहरू बारम्बार चकनाचुर भए, तब उसले आफ्नो जीवनभरको सपना किन कहिल्यै पूरा हुन सकेन भनेर चिन्तन गर्ने वा कुनै निष्कर्ष निकाल्ने काम गरिन। यदि उसले चिन्तन गर्न र सत्यता खोज्न सकेकी भए, ऊ परिवर्तन भएकी हुनेथिई। तर, उसले सृष्टिकर्ताको सार्वभौमिकता बुझिन, र आफ्नो सपनालाई दृढतापूर्वक निरन्तरता दिँदै एकदिन आफ्नो नियति अचानक परिवर्तन हुनेछ भनेर सपना देख्न र आशा गर्न मात्र सकी, तर त्यो असम्भव थियो। यस क्रममा, उसले निरन्तर प्रतिरोध र सङ्घर्ष गरिरहेकी थिई, त्यसैले उसलाई अथाह सन्ताप भयो।) कुरा त्यही नै थियो। किनभने उसले गलत बाटो रोजेकी थिई, तर उसलाई त्यो थाहै थिएन। उसले त्यसलाई सही मार्ग, र आफ्नो वैध पछ्याइ र वैध इच्छा ठानी, र त्यसपछि उसले त्यही दिशातर्फ कडा मेहनत, लडाइँ र सङ्घर्ष गरी। उसले आफ्नो इच्छा यथार्थपरक छ कि छैन भनेर कहिल्यै शङ्का गरिन, न त यो सही छैन कि भनेर नै शङ्का गरी। बरु, उसले जिद्दीपूर्वक यही दिशा पछ्याइरही, तर कहिल्यै परिवर्तन भइन वा पछाडि फर्किन। त्यसोभए, उसलाई जीवनमा यति धेरै कष्ट दिनुमा परमेश्वरको उद्देश्य के थियो? परमेश्वरले यो सबै संयोगवश गर्नुभएको थिएन। कुनै पनि व्यक्तिको जीवनमा, परमेश्वरले उसका लागि केही असाधारण अनुभवहरू र केही पीडादायी अनुभवहरू बन्दोबस्त गरिदिनुहुन्छ। वास्तवमा, सृष्टिकर्ताले तँलाई यसरी अघि नबढ्, र यो बाटोले कतै पनि पुर्याउँदैन, र यो तैँले लिनुपर्ने बाटो होइन भनेर बताउनका लागि यो विधि र यी तथ्यहरू प्रयोग गरिरहनुभएको हुन्छ। अमूर्त रूपमा तैँले यसमा के देख्छस्? यो परमेश्वरले मानिसहरूका लागि बाटो रोज्नुभएको हो, र यो मानिसहरूसँग बोल्ने परमेश्वरको शैली हो, र मानिसहरूलाई मुक्ति दिने र तिनीहरूलाई आफ्ना गलत धारणा र जिद्दी तरिकाहरूबाट बाहिर निस्कन लगाउने उहाँको तरिका पनि हो। यो तँलाई तैँले रोजेको बाटो दलदल, आगोको खाडल, कहिल्यै फर्किन नसकिने बाटो हो, र तँ यो बाटो हिँड्नै हुँदैन भनेर बताउने परमेश्वरको तरिका पनि हो। यदि तँ यही मार्गमा हिँडिरहिस् भने, तैँले कष्ट भोगिरहनेछस्। यो जीवनको सही मार्ग होइन, यो तैँले लिनुपर्ने मार्ग होइन, र यो परमेश्वरले तेरो लागि पूर्वनिर्धारित गर्नुभएको मार्ग होइन। यदि तँ चलाख व्यक्ति होस् भने, कष्ट अनुभव गरेपछि, तैँले यस्तो चिन्तन गर्नेछस्: “मैले किन यस्तो कष्ट भोगेँ? मैले किन ठक्कर खाएँ? के यो बाटो मेरा लागि उपयुक्त छैन? त्यसोभए, मैले जीवनमा कुन मार्गमा हिँड्नुपर्छ र कुन दिशा लिनुपर्छ?” तैँले चिन्तन गरिरहँदा, परमेश्वरले तँलाई केही प्रेरणा र मार्गदर्शन दिनुहुनेछ, वा तैँले अर्को कदम चाल्नुपर्ने सही दिशा देखाउनुहुनेछ। परमेश्वरले तेरा लागि योजना गर्नुभएको अगाडिको बाटोलाई वास्तविक जीवनमा तैँले अझ व्यावहारिक र सही रूपमा बोध गर्न सक् भनेर उहाँले तँलाई निरन्तर मार्गदर्शन दिइरहनुभएको हुन्छ। के मैले भर्खरै तँलाई भनेको कथाकी प्रमुख पात्रले यसो गरी त? (अहँ, उसले कहिल्यै चिन्तन गरिन।) उसमा कस्तो स्वभाव थियो? (हठीपन।) हठीपन—यो अत्यन्तै समस्याजनक कुरा हो। ऊ बच्चा हुँदादेखि कपाल फुलेकी बुढी हुँदासम्म, आफू भर पर्न सक्ने कोही होस् भन्ने उसको इच्छा कहिल्यै परिवर्तन भएन। चाहे उसले परमेश्वरको सुसमाचार सुनेर सृष्टिकर्ताले स्वर्ग र पृथ्वी र यावत् थोक कसरी सृष्टि गर्नुभयो भन्नेबारे अन्तर्ज्ञान प्राप्त गर्नुभन्दा पहिले होस्, वा परमेश्वरको सुसमाचार ऊकहाँ आइपुगेर परमेश्वरले उसलाई यी सबै कुराको सत्यता बताउनुभएपछि होस्, उसको इच्छा सुरुदेखि अन्त्यसम्म कहिल्यै परिवर्तन भएन—यो सबैभन्दा दुःखलाग्दो पक्ष हो। मानिसहरूसँग सोचविचारहरू हुन्छन्। मानिसहरूका लागि यो सब कुरा सृष्टि गर्नुमा परमेश्वरको उद्देश्य के थियो? यसको उद्देश्य मानिसहरूले परमेश्वरले तिनीहरूका लागि बन्दोबस्त गर्नुहुने मानिस, घटना, कामकुरा, र वातावरणहरू बोध गरून र जानून् भन्ने थियो। विवेक र समझ भएको व्यक्तिको नाताले, तिनीहरूले परमेश्वरले योजनाबद्ध गर्नुभएका यी सबै कुराहरूलाई सारा हृदयले कदर गर्दा, तिनीहरूले धेरथोर मात्रामा र फरक-फरक गहिराइमा सृष्टिकर्ताका अभिप्रायहरू बुझ्नेछन्। परमेश्वरले काम गर्नुहुने निकै व्यावहारिक र वास्तविक एउटा तरिका यो हो। तर मानिसहरू अत्यन्तै अहङ्कारी र हठी हुने, र तिनीहरूले सजिलै सत्यता स्वीकार गर्न नसक्ने हुनाले, तिनीहरूलाई सृष्टिकर्ताका अभिप्रायहरू बोध गर्न गाह्रो हुन्छ। मानिसहरूको हठीपन कसरी प्रकट हुन्छ? परमेश्वरले जे भन्नुभए पनि वा जे गर्नुभए पनि, मानिसहरू आफ्नै कुरामा टाँसिरहन्छन्। तिनीहरूको मानसिकता यस्तो हुन्छ: “म आफ्नो जीवनको योजना बनाउन चाहन्छु। मसँग विचारहरू छन्, मसँग दिमाग छ, म शिक्षित छु, र म मेरो जीवनलाई नियन्त्रणमा राख्न सक्छु। म मेरो जीवनका सबै कुराको स्रोत देख्न सक्छु, र म यी सबै कुरा पूर्ण रूपमा योजनाबद्ध गर्न सक्छु, त्यसैले म आफ्नो खुसी, आफ्नो भविष्य र आफ्ना सम्भाव्यताहरूको योजना बनाउन सक्छु।” जब तिनीहरूले ठक्कर खान्छन्, तब तिनीहरू यसो भन्छन्, “म यसपटक असफल भएँ, म अर्कोपटक फेरि प्रयास गर्नेछु।” तिनीहरूले मानिसहरू यसरी नै जिउनुपर्छ, र यदि कुनै व्यक्तिसँग प्रतिस्पर्धाको भावना छैन भने, ऊ जीवनमा अत्यन्तै बेकार र निर्बल हुनेछ भन्ने विश्वास गर्छन्। तिनीहरूको जिद्दीपनको जड के हो? यसको कारण के हो? यस्तो किन हुन्छ भने, तिनीहरू कमजोर होइन, बरु बलियो व्यक्ति बन्नुपर्छ, र तिनीहरू जीवनद्वारा थिचिनु हुँदैन, अरूद्वारा हेयको नजरले हेरिनु त झनै हुँदैन, र मानिसहरू आत्मनिर्भर र प्रतिस्पर्धी हुनुपर्छ, र सङ्कल्प भएको हुनुपर्छ, र अरूले तिनीहरूलाई सम्मान गर्नुपर्छ भन्ने विश्वास गर्छन्। यी स्वभाव, यी विचार, र यी सोचाइहरू तिनीहरूको व्यवहारमा हाबी हुन्छन्, त्यसकारण तिनीहरूका लागि परमेश्वरले योजनाबद्ध गर्नुभएका कठिनाइ, दुर्दशा, वा पीडा सामना गर्दा, तिनीहरूले हरेक पटक पहिलेको जस्तै आफ्नै विचारहरूमा अडिग रहने, पछाडि नफर्कने, र आफूलाई राम्रो, सही र फाइदाजनक लागेको कुरामा अन्त्यसम्मै जिद्दीपूर्वक लागिरहने, र प्रतिस्पर्धी व्यक्ति बन्ने उपाय रोज्छन्। यही हठी स्वभावले गर्दा नै तिनीहरूले कैयौँ अज्ञानी र अव्यावहारिक फैसलाहरू गर्न पुग्छन्, र तिनीहरूमा वास्तविकतासँग मेल नखाने धैरै बुझाइ र बोधहरू विकसित हुन्छन्।
मैले भर्खरै मानिसहरूको स्वभावको एउटा पक्षबारे कुरा गरेँ, त्यो हो हठीपन। मानिसहरूको हठीपनको कारणले गर्दा, जब तिनीहरूले सृष्टिकर्ताले तिनीहरूका लागि खडा गर्नुभएका पीडादायी परिस्थिति र दुर्दशाहरू सामना गर्छन्, तब तिनीहरूको मनोवृत्ति समर्पित हुनुपर्छ भन्ने नभई, तिनीहरूलाई जे कुराले फाइदा गर्छ त्यसलाई दृढतापूर्वक पक्रिबसौँ र त्यसलाई नत्यागौँ भन्ने हुन्छ। परमेश्वरले यस्तो व्यवहारलाई कसरी लिनुहुन्छ? परमेश्वरको काम मानिसहरूको इच्छाबाट स्वतन्त्र छ, त्यसैले परमेश्वरले मानिसहरूका यस्ता कार्यहरूलाई कसरी लिनुहुन्छ? परमेश्वरले निश्चय नै यसो भन्नुहुनेछैन, “यसपालि तँ असफल भइस्, त्यसैले तँ बरबाद हुनेभइस्। तँजस्ता मानिसहरूको कुनै काम छैन र अबदेखि मलाई तँ चाहिँदैन।” परमेश्वरले मानिसहरूलाई त्याग्नुभएको छैन। उहाँले विभिन्न वातावरण र विभिन्न मानिस, घटना र कामकुराहरू बन्दोबस्त गर्दै, उही तरिका प्रयोग गरिरहनुहुन्छ, ताकि मानिसहरूले उही पीडा अनुभव गर्न सकून् र उही दुर्दशाहरू सामना गर्न सकून्। यसको उद्देश्य के हो? (यसले मानिसहरूलाई होसमा ल्याउँछ।) यसले मानिसहरूलाई चिन्तन गर्न, होसमा आउन र आफ्ना जिद्दी दृष्टिकोणहरू त्याग्न लगाउँछ। परमेश्वरले बारम्बार मानवसँघ यसरी कुराकानी गर्न, र मानवसँग यसरी अन्तरक्रिया गर्न उहाँका आफ्नै अद्वितीय विधिहरू प्रयोग गर्नुहुन्छ। अन्त्यमा, यस्तो कार्यविधिद्वारा परमेश्वरले प्राप्त गर्न चाहनुभएको परिणाम के हो? परमेश्वरले मानिसहरूलाई जीवनभर विभिन्न दुर्दशा, सन्ताप, र रोग र पारिवारिक दुर्भाग्यहरू समेत भोगाएर मार्गदर्शन गर्नुहुन्छ। मानिसहरूलाई यो पीडा अनुभव गराउनुको उद्देश्य तिनीहरूलाई “के यो परमेश्वरको बन्दोबस्त हो? मैले मेरो भविष्यको मार्गमा कसरी हिँड्नुपर्छ? के मैले दिशा परिवर्तन गर्नुपर्छ? के मैले सत्यताको बाटो खोज्नुपर्छ? के मैले आफ्नो जिउने शैली परिवर्तन गर्नुपर्छ?” भनेर निरन्तर आफ्नो आत्मामा चिन्तन गर्न र बुझ्न, साथै पुष्टि गर्न लगाउनु हो। परमेश्वरले मानिसहरूलाई हरप्रकारका पीडा, सङ्कष्ट, दुर्भाग्य र दुर्दशाहरू अनुभव गराउनुहुन्छ, ताकि पछि गएर तिनीहरूले मानिसहरूको नियतिमाथि शासन गर्ने एउटा सार्वभौम हुनुहुन्छ, र मानिसहरू स्वेच्छाचारी, अहङ्कारी वा जिद्दी हुनु हुँदैन, बरु आफ्ना वरिपरिका वातावरण, नियति, र सबै कुरामा समर्पित हुन सिक्नुपर्छ भन्ने कुराको पुष्टि आफ्नो हृदयको गहिराइमा प्राप्त गर्न सकून्। तैँले परमेश्वरका स्पष्ट वचनहरू सुन्नुअघि नै, परमेश्वरले तँलाई हरप्रकारका वातावरण, मानिस, घटना र कामकुराहरू अनुभव गराउन र मानिसहरूको नियति परमेश्वरले तय गर्नुहुन्छ, कुनै पनि व्यक्तिले यसमाथि सार्वभौमिकता राख्दैन, र मानिसहरूले आफ्नो नियतिमाथि सार्वभौमिकता राख्न सक्दैनन् भन्ने कुरा तेरो हृदयको गहिराइमा निरन्तर पुष्टि गराउन यी तरिका र तथ्यहरू प्रयोग गर्नुहुन्छ। तेरो हृदयको गहिराइमा निरन्तर यस्तो बुझाइ वा आवाज रहेको हुन्छ, र तैँले निरन्तर पुष्टि गर्छस् कि तैँले अनुभव गर्ने सबै कुरा कुनै एउटा व्यक्तिले निम्त्याएको हुँदैन, न त यो संयोगवश नै भएको हुन्छ, न त यो वस्तुगत कारण वा परिस्थितिहरूले नै निम्त्याएको हुन्छ, यी सबै कुराहरूमाथि अदृश्य रूपमा सार्वभौमिकता कायम राख्ने त परमेश्वर नै हुनुहुन्छ। एउटा व्यक्तिले अर्को व्यक्तिलाई भेट्नु र केही घटना घट्नु, वा तिनीहरूले आफ्नो जीवन परिवर्तन गर्ने वातावरण सामना गर्नु संयोगवश हुने कुरा होइन। कुनै व्यक्ति रोगबाट पीडित हुनु र पछि उसले ठूला आशिष्हरू प्राप्त गर्नु संयोगवश हुने कुरा होइन। यो त परमेश्वरले प्रत्येक व्यक्तिलाई अद्वितीय तरिकाले यसो भन्नुभएको हो: परमेश्वरले मानिसहरूको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ, परमेश्वरले हरेक दिन मानिसहरूलाई हेरचाह र मार्गदर्शन गरिरहनुभएको हुन्छ, र हरेक व्यक्तिलाई हरेक दिन र जीवनभर मार्गदर्शन गरिरहनुभएको हुन्छ। परमेश्वरले मानवजातिको नियतिमाथि, मानिसहरूको जीवनसँग सम्बन्धित सबै कुरामाथि, मानवजातिको गन्तव्यमाथि, र मानवजातिसँग सम्बन्धित सबै कुरामाथि उहाँको सार्वभौमिकता छ भनेर मानिसहरूलाई थाहा दिनेबाहेक, परमेश्वरले अरू के हासिल गर्न चाहनुहुन्छ? उहाँले परमेश्वर सृष्टिकर्ताप्रति मानिसहरूमा रहेका केही अव्यावहारिक विचार, कल्पना र मागहरूलाई बिस्तारै बिलाइपठाउन, हटाउन र फाल्न चाहनुहुन्छ, र त्यसपछि मानिसहरू त्यो बिन्दुमा पुगून् भन्ने चाहनुहुन्छ जहाँ तिनीहरूले मानवजातिलाई मार्गदर्शन गर्ने र मानिसहरूको सम्पूर्ण जीवनको नियति तय गर्ने सृष्टिकर्ताका तरिकाहरू स्पष्टसित चिन्न र बुझ्न सकून्। तब यी कुराहरूबाट, मानिसहरूले परमेश्वरको एउटा स्वभाव हुन्छ र परमेश्वर स्पष्ट र जीवन्त हुनुहुन्छ भन्ने कुरा देख्न सक्छन्। उहाँ माटोको मूर्ति हुनुहुन्न, न त रोबट नै हुनुहुन्छ, न त उहाँ मानिसहरूले कल्पना गरेको निर्जीव प्राणी नै हुनुहुन्छ, बरु उहाँसँग त जीवन र स्वभावहरू छन्। एक अर्थमा, यो कुराले मानिसहरूलाई सृष्टिकर्ताका काम गर्ने तरिकाहरू बुझ्न र मानिसहरूलाई सबै प्रकारका विचारहरू, कल्पनाहरू, र वास्तविकतासँग मेल नखाने खोक्रा विचार र तर्कहरू त्याग्न लगाउँछ। छोटकरीमा भन्दा, यसले मानिसहरूलाई परमेश्वरको कामबारे सबै खोक्रा विचार र कल्पनाहरू त्याग्न लगाउँछ। अर्को अर्थमा, मानिसहरूले यी धारणा र कल्पनाहरू त्यागेपछि, तिनीहरूले परमेश्वरको काम र सार्वभौमिकता स्वीकार गर्न सक्छन् र तिनीहरू तीप्रति समर्पित हुन सक्छन्। एक अर्थमा यो सानो परिणाम हो, तर अर्को अर्थमा यसमा तिमीहरूले नदेखेको एउटा परिणाम छ, र त्यो सबैभन्दा ठूलो र सबैभन्दा गहन परिणाम हो। यो परिणाम के हो? यो भनेको परमेश्वरले जे गर्नुहुन्छ र मानिसहरूमा जे हासिल गर्नुहुन्छ, त्यो उहाँले निकै व्यावहारिक र वास्तविक स्थितिमा गर्नुहुन्छ भन्ने कुरा मानिसहरूलाई बताउन यी तरिकाहरू प्रयोग गर्नुहुन्छ भन्ने हो। मानिसहरूले यो कुरा बुझेपछि, तिनीहरूले केही खोक्रा र भ्रमपूर्ण कुराहरू फाल्नेछन्, सृष्टिकर्ताको बन्दोबस्तलाई वास्तवमै मान्नेछन् र त्यसमा समर्पित हुनेछन्, र त्यसपछि सृष्टिकर्ताको कल्पना गर्न, वा जीवनका केही कुराहरू सम्हाल्न केही खोक्रा सिद्धान्तहरू वा धार्मिक अवधारणाहरू वा धर्मशास्त्रीय ज्ञान प्रयोग गर्नुको सट्टा, वास्तविक जीवनमा सृष्टिकर्ताले खडा गर्नुभएका सबै कुराहरू वास्तवमै सामना गर्नेछन्। परमेश्वरले हेर्न चाहनुहुने परिणाम, र उहाँले मानिसहरूमा हासिल गर्न चाहनुहुने कुरा यही हो। त्यसकारण, पहिलो चरणमा, तैँले विभिन्न सत्यताहरूबारे सृष्टिकर्ताको आवाज सुन्नु र सृष्टिकर्ताका स्पष्ट वचनहरू बुझ्नु भन्दा पहिले, परमेश्वरले मानिसहरूमा काम गर्नुहुने तरिका भनेको तँलाई भोग्न र अनुभव गर्न लगाउनका लागि विभिन्न अवस्थाहरू बन्दोबस्त गर्नु हो। जब तँसँग केही पुष्टि हुन्छ, र जब तँसँग यी कुराहरूबारे अन्तस्करणमा केही भावनाहरू हुन्छन्, र जब तँ तीद्वारा उत्प्रेरित हुन्छस् र तैँले ती कुरा बुझ्छस्, तब परमेश्वरले तँलाई जीवन के हो, परमेश्वर के हुनुहुन्छ, मानिसहरू कसरी अस्तित्वमा आए, र मानिसहरूले कस्तो बाटो लिनुपर्छ भन्ने कुरा स्पष्ट शब्दमा बताउनुहुनेछ। यस तरिकाले, मानव परमेश्वरबाट आएको र परमेश्वरद्वारा सृष्टि गरिएको हो भन्ने विश्वासको आधारमा, र स्वर्ग र पृथ्वी र यावत् थोकमाझ एक सार्वभौम हुनुहुन्छ भन्ने विश्वासको आधारमा, मानिसहरूले परमेश्वरमाथि आस्था राख्ने मार्ग अपनाउँछन्, र फलस्वरूप परमेश्वरको न्याय र सजाय स्विकार्छन्, र परमेश्वरको मुक्ति र सिद्धीकरण पनि स्वीकार गर्छन्—यसको प्रभावकारिता अझ राम्रो हुन्छ। अब, परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्ने सबै मानिसहरू को हुन्? कम्तीमा पनि, तिनीहरूले परमेश्वरको अस्तित्व स्वीकार गर्छन् र सम्पूर्ण ब्रह्माण्ड संसार परमेश्वरको सार्वभौमिकताको अधीनमा छ भनी विश्वास गर्छन्। तिनीहरूले नियतिमा र मानव जीवन परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ भन्ने कुरामा पनि विश्वास गर्छन्, र यसबाहेक, तिनीहरूले आत्मिक क्षेत्रको अस्तित्वमा, स्वर्ग र नर्कको अस्तित्वमा, र मानिसहरूको नियति पूर्वनिर्धारित हुन्छ भन्ने कुरामा विश्वास गर्छन्। यी मानिसहरूमध्येबाट, परमेश्वरले उहाँका चुनिएका मानिसहरू छान्नुभएको छ, जसले सत्यतालाई प्रेम गर्छन् र सत्यतालाई स्विकार्न सक्छन्। तिनीहरूले परमेश्वरको आवाज बुझ्न र परमेश्वरको काम स्विकार्न सक्छन्। परमेश्वरले काम गर्नुहुने एउटा तरिका र एउटा सिद्धान्त यही हो।
हामीले भर्खरै परमेश्वरले मानिसहरूमा कसरी काम गर्नुहुन्छ, र परमेश्वरका काम गर्ने तरिकाहरू के-के हुन् भन्नेबारे कुरा गर्यौँ। हामीले मानिसहरूका धारणाहरू के हुन् वा मानिसहरूले परमेश्वरसँग के-के माग गर्छन् भन्नेबारे केही नभनी यी कुराहरूलाई मात्र समेट्यौँ। अब हामी यससँग सम्बन्धित मामिलाहरूबारे सङ्गति गरौँ। मानिसहरूसँग परमेश्वरको कामबारे केही खोक्रा र अस्पष्ट विचार र बुझाइहरू हुन्छन् भनेर हामीले यो सङ्गतिमा उल्लेख गरिसकेकाले, अब हामी यसलाई प्रमाणित गर्न केही उदाहरणहरू खोजौँ, र सकारात्मक र नकारात्मक दुवै उदाहरणहरूबारे अलिअलि कुरा गरौँ। यस जगमा, के मानिसहरूले कुन-कुन कल्पनाहरू एकदम खोक्रा र अस्पष्ट छन्, र ती परमेश्वरको कामबारे धारणाहरू हुन् भनेर बुझ्न सक्नेछैनन् र? मैले तिमीहरूलाई पहिले भनेको कथाबाट सुरु गर्दा, कथाकी मुख्य पात्रले जीवनमा धेरै पीडादायी अनुभवहरू भोगी। प्रत्येक पीडादायी अनुभवपछि, परमेश्वरले आफ्नै विधिहरू प्रयोग गरेर उसको नियति बन्दोबस्त र योजनाबद्ध गर्न र उसलाई अगाडिको बाटोमा मार्गदर्शन गर्न जारी राख्नुभयो। उसले त्यो नबुझेकी, थाहा नपाएकी, र मनन नगरेकी भए पनि, परमेश्वरले सधैँ जसरी नै यो कुरा गर्नुभयो। यस चरणमा, के उसले सृष्टिकर्ताको काम गर्ने यो तरिकाबारे केही विचारहरू प्रस्तुत गरिन त? के ती विचारहरूलाई एक प्रकारको धारणा भन्न सकिन्छ? वास्तवमा, यी विचारहरू र यस किसिमको धारणा के हुन्? सर्वप्रथम, मुख्य पात्रकै हकमा भन्दा, उसको एउटा इच्छा थियो। उसले जीवनमा धनी वा सम्पन्न हुने अपेक्षा गरेकी थिइन, ऊ त भर पर्न सकिने व्यक्ति मात्र चाहन्थी। चिरफार र विश्लेषण गर्दा, हामीले यो इच्छा गलत थियो भनेर देख्न सक्छौँ। एक अर्थमा, यो परमेश्वरले मानिसहरूका लागि योजनाबद्ध र बन्दोबस्त गर्नुभएको नियतिको विपरीत थियो, र अर्को अर्थमा, यो व्यावहारिक पनि थिएन। त्यसोभए के परमेश्वरले उसको यो इच्छाबारे कुनै परिभाषा वा अभिव्यक्ति प्रदान गर्नुभएको छ? मानिसहरूको कल्पनाअनुसार, परमेश्वरले एउटा व्यक्तिलाई थोरै धर्मसिद्धान्त बुझाउन धेरै सजिलो हुन्छ, होइन र? यदि उहाँले तिनीहरूलाई बुझाउन चाहनुभयो भने, के तिनीहरूले बुझिहाल्दैनन् र? यी महिलाको भर पर्न सकिने कोही होस् भन्ने चाहना थियो—परमेश्वरले उसलाई त्यो चाहना नराख्ने बनाउन सक्नुहुन्थ्यो, वा उसलाई त्यो चाहना परिवर्तन गर्न लगाउन सक्नुहुन्थ्यो—के परमेश्वरले त्यसो गर्नुभयो? (गर्नुभएन।) अहँ, परमेश्वरले त्यसो गर्नुभएन। त्यसोभए के मानिसहरूका यस प्रकारका सोचहरू वास्तवमा धारणा होइनन् र? के ती अलौकिक होइनन् र? के ती खोक्रा होइनन् र? मानिसहरूमा यस्ता विचारहरू उत्पन्न हुनु प्राकृतिक कुरा हो। यो एउटा प्राकृतिक कुरा हो भनेर मैले किन भनेँ? परमेश्वरले स्वतन्त्र इच्छा भएको मान्छे बनाउनुभयो। मान्छेसँग दिमाग, सोचाइ, र विचारहरू हुन्छन्। शैतानद्वारा भ्रष्ट पारिएपछि, मान्छे संसारका आवाज र दृश्यहरूमा डुब्यो, र, आमाबुबाद्वारा शिक्षा दिइएपछि, परिवारद्वारा अभ्यस्त गराइएपछि, र समाजद्वारा शिक्षित तुल्याइएपछि, मान्छेका सोचहरूमा धेरै कुराहरू उत्पन्न हुन्छन्—मान्छेको हृदयबाट उब्जिने कुराहरू आउँछन्, र ती सबै स्वाभाविक रूपमै आउँछन्। मान्छेभित्र स्वाभाविक रूपमै आउने यी कुराहरू कसरी निर्माण हुन्छन्? सर्वप्रथम, व्यक्तिमा समस्याहरूबारे विचार गर्ने क्षमता हुनुपर्छ—यी कुराहरू पैदा गर्न सक्ने बन्नलाई व्यक्तिमा हुनुपर्ने जग यही हो। त्यसपछि, वातावरणीय अभ्यस्तीकरणको माध्यमबाट—जस्तै आफ्नो परिवार र समाजले दिने शिक्षा—साथै आफ्नै भ्रष्ट स्वभाव अनि चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाहरूद्वारा प्रेरित भएर, यी सोचहरूले बिस्तारै आकार लिन्छन्। जब यसरी निर्मित त्यस्ता सोच र विचारहरूको कुरा आउँछ, ती चाहे वास्तविकतासँग मेल खाने होऊन् वा खोक्रा होऊन्, वा ती जे-जस्तो होऊन्, हामी अहिले तिनलाई चित्रण गर्नेछैनौँ। बरु, हामी केवल परमेश्वरले यस्ता सोचहरूलाई कसरी सम्हाल्नुहुन्छ भन्नेबारे मात्रै कुरा गर्नेछौँ। के परमेश्वरले तिनलाई निन्दा गर्नुहुन्छ? परमेश्वरले तिनलाई निन्दा गर्नुहुन्न। त्यसोभए उहाँले तिनलाई कसरी लिनुहुन्छ? उहाँले मानिसहरूबाट त्यस्ता सोचहरू हटाउनुहुन्न। मानिसहरूले एउटा धारणा र कल्पना बोकेका हुन्छन्, तिनीहरू परमेश्वरको महान् निराकार हातको कोमल स्पर्शद्वारा तिनीहरूको सोचाइ परिवर्तन हुनेछ भन्ने सोच्छन्। के यो धारणा अस्पष्ट, अलौकिक र खोक्रो छैन र? (छ।) परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्नेबारे मानिसहरूको धारणा यही हो। मानिसहरूको हृदयको गहिराइमा, तिनीहरूसँग प्रायजसो परमेश्वरको काम र उहाँको कामका विधिहरूबारे स्वैरकल्पनाहरू हुन्छन्, यद्यपि तिनीहरूले ती कुराहरू बताउने गर्दैनन्। मानिसहरू ठूलो बतासले मौनतासाथ बादल उडाएर लगेझैँ, सृष्टिकर्ता कोमल रूपमा मान्छेको छेउ आउनुहुन्छ, र उहाँको महान् हात हल्लाउनुहुन्छ र फू गरिदिनुहुन्छ वा सोच घुमाइदिनुहुन्छ, र मान्छेभित्रका नकारात्मक कुराहरू क्षणभरमा हराउनेछन् भन्ने कल्पना गर्छन्। मान्छेका यी विचारहरूलाई, मान्छेको मनले पैदा गर्ने यी कुराहरूलाई परमेश्वरले कसरी लिनुहुन्छ? परमेश्वरले तिनलाई अलौकिक, र खोक्रा विधिहरूद्वारा समाधान गर्नुहुन्न, बरु मान्छेको वातावरण खडा गरेर समाधान गर्नुहुन्छ। उहाँले कस्तो किसिमको वातावरण खडा गर्नुहुन्छ? यो खोक्रो हुँदैन—परमेश्वरले सबै नियमहरू तोडेर अलौकिक कामकुराहरू गर्नुहुन्न। बरु, उहाँले व्यक्तिलाई कुरा बुझ्न र अनवरत रूपमा मनन गर्न बाध्य पार्ने वातावरण खडा गर्नुहुन्छ, त्यसपछि परमेश्वरले त्यो व्यक्तिको मार्ग उज्यालो पार्न हरप्रकारका मानिस, घटना र कामकुराहरू प्रयोग गर्नुहुन्छ, र त्यसपछि त्यो व्यक्ति एउटा बुझाइमा पुग्छ। परमेश्वरले उसको नियति परिवर्तन गर्नुहुन्न; उहाँले केवल उसको नियतिको दिशा परिवर्तन गर्न केही घटनाहरू थप्नुहुन्छ, र यसरी ऊ यी कुराहरू बुझ्न सक्ने हुन्छ। मान्छेका धारणाहरू सबै अलौकिक, खोक्रा, अस्पष्ट, र वास्तविकतासँग नमिल्ने हुन्छन्—ती वास्तविकताबाट अलग हुन्छन्। उदाहरणका लागि, मानौँ कुनै व्यक्ति भोकाएको छ र उसलाई खान मन लागेको छ। तर यस्तोमा यसो भन्नेहरू पनि छन्, “परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले मलाई सास फुकिदिनुभयो भने पुग्छ, अनि म अघाइहाल्नेछु। के मैले साँच्चै खाना पकाउनुपर्छ र? परमेश्वरले मलाई भोक नलागोस् भनेर एउटा सानो चमत्कार गर्नुभयो भने गज्जब हुनेथ्यो।” के यो अवास्तविक कुरा होइन र? (हो।) यदि तैँले परमेश्वरलाई भोक लाग्यो भनेर भनिस् भने, परमेश्वरले के भन्नुहुन्छ? परमेश्वरले तँलाई केही खानेकुरा खोजेर पका भनी भन्नुहुनेछ। यदि तैँले खानेकुरा छैन र पकाउन सक्दिनँ भनेर भनिस् भने, परमेश्वरले के गर्नुहुन्छ? उहाँले तँलाई खाना पकाउन सिक् भनेर भन्नुहुनेछ। परमेश्वरको कामको व्यावहारिक पाटो यही हो। जब तिमीहरूले आफूलाई अस्पष्ट लागेको कुनै कुरा सामना गर्छौ, र तिमीहरूले खोक्रा प्रार्थनाहरू गर्न वा स्व-आश्वासित भई परमेश्वरमा अस्पष्ट रूपमा भर पर्न, वा परमेश्वरबारे आफूसँग रहेका यी विचार र कल्पनाहरूमा आफ्ना आशाहरू राख्न छाडेका छौ भने, तिमीहरूले के गर्नुपर्ने हो भन्ने कुरा थाहा पाउनेछौ—तिमीहरूले आफ्नो कर्तव्य, आफ्नो जिम्मेवारी र आफ्नो दायित्व थाहा पाउनेछौ।
मैले भर्खरै एउटा पक्षबारे कुरा गरेँ, जुन के हो भने, जब मानिसहरूले परमेश्वरले खडा गर्नुभएको वातावरण बुझ्दैनन्, तब परमेश्वरले के गर्नुहुन्छ? परमेश्वरले वातावरणहरू खडा गर्न जारी राख्नुहुन्छ। मानिसहरूले सृष्टिकर्ताको सार्वभौमिकता बुझिरहून्, र जीवनको अनुभवमार्फत आफ्नो नियति के हो भनेर बुझिरहून्, र मानिसहरूलाई आफ्ना इच्छाहरू आफ्नो नियतिबाट अलग छन्, र सृष्टिकर्ताका बन्दोबस्तहरूबाट पनि अलग छन् भन्ने कुरा भित्री रूपमा थाहा होस् भनेर उहाँले यसो गर्नुहुन्छ। मानिसहरूले बिस्तारै आफ्ना इच्छाहरू त्याग्न र सृष्टिकर्ताले योजनाबद्ध गर्नुभएका सबै कुरामा समर्पित हुन सिकून् भनेर उहाँले यसो गर्नुहुन्छ। यो कुरा बुझ्न एकदम सजिलो छ। अर्को पक्ष के हो भने, जब परमेश्वरका स्पष्ट वचनहरू मानिसहरूमा आउँछन्, तब तिनीहरूले केही थप धारणा र कल्पनाहरू निर्माण गर्छन्। कस्ता धारणाहरू? “परमेश्वरका वचनहरू जीवनको रोटी र सत्यता हुन्। परमेश्वरका वचनहरू परमेश्वर स्वयम् हुनुहुन्छ। जब म परमेश्वरका वचनहरू सुन्छु, म जतिसुकै मूर्ख भए पनि म तुरुन्तै बुद्धिमान् बन्छु। जबसम्म मैले परमेश्वरका वचनहरू अझ धेरै पढ्छु, तबसम्म मेरो क्षमतामा सुधार आउनेछ र मेरो सीप बढ्दै जानेछ।” मानिसहरूमा भएका यी विचारहरू के हुन्? यी तिनीहरूका धारणाहरू हुन्। त्यसोभए, के परमेश्वरले यसरी नै काम गर्नुहुन्छ त? (गर्नुहुन्न।) यी मान्छेका धारणाहरू भएकाले, यी पक्कै पनि परमेश्वरको कामसँग नमिल्ने र त्यससँग विरोधाभासपूर्ण हुन्छन्। यसमा एउटा तथ्य छ। परमेश्वर मान्छेसँग आमनेसामने भएर बोल्नुहुन्छ र उसले के गर्नुपर्छ र के गर्नु हुँदैन, उसले कुन बाटो लिनुपर्छ, ऊ कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, र कामका विभिन्न पक्षहरूभित्र उसले प्रवेश गर्नुपर्ने सिद्धान्तहरू के-के हुन् भनेर बताउनुहुन्छ। परमेश्वरले मान्छेलाई यी सबै कुराहरू स्पष्ट रूपमा बताउनुहुन्छ, तैपनि उसले पहिले अकल्पनीय रहेका परिणामहरू प्राप्त गर्न र आश्चर्यकर्महरू देख्न सक्ने आशा गर्दै, परमेश्वरले उहाँका वचनहरूबाहेक अन्य माध्यमबाट उहाँका अभिप्राय वास्तवमा के हुन् भनेर बताउनुहुनेछ भनी प्रतीक्षा र अपेक्षा गर्छ। के यो मान्छेको धारणा होइन र? (हो।) वास्तवमा परमेश्वरले के गर्नुहुन्छ? (मानिसहरूले परमेश्वरका वचनहरू भोगून् र अनुभव गरून् भनेर परमेश्वरले तिनीहरूका लागि व्यावहारिक वातावरणहरू खडा गरिदिनुहुन्छ।) परमेश्वरले मानिसहरूका लागि ती व्यावहारिक वातावरणहरू खडा गरिदिनुभएपछि पनि तिनीहरूले उहाँका अभिप्रायहरू बुझेनन् भने उहाँले के गर्नुहुन्छ? (उहाँले मानिसहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्छ।) यदि उहाँले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुभएन भने तैँले के गर्नुपर्छ? (परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ र परमेश्वरले भन्नुभएअनुसार गर्नुपर्छ।) ठीक भनिस्। परमेश्वरले आफ्नो काम सुरु गर्नुभएको समयदेखि वर्तमान समयसम्म, परमेश्वरले मानिसहरूसँग आमनेसामने भई कतिवटा वचन बोल्नुभएको छ? यति धेरै कि तैँले ती पढेर कैयौँ वर्ष बिताइस् भने पनि, तैँले पढिसक्दैनस्। तर मानिसहरूले कतिवटा वचनहरू प्राप्त गर्छन् त? यदि कुनै व्यक्तिले तीमध्ये अति थोरै प्राप्त गर्यो भने, त्यसले के प्रमाणित गर्छ? यसले के प्रमाणित गर्छ भने, त्यो व्यक्तिले परमेश्वरका वचनहरूमा पर्याप्त मेहनत गरेको छैन र तिनलाई सुनेको छैन। कतिपयले “मैले सुनेँ” भन्छन्—तर के तैँले परमेश्वरको वचनलाई मनमा लिइस् त? के तैँले तिनलाई बुझिस् त? के तैँले तिनमा ध्यान केन्द्रित गरिस् त? तैँले तिनमा ध्यान केन्द्रित गरिनस्, त्यसैले परमेश्वरका वचनहरू तेरो छेवैबाट बगेर गइसकेका छन्। त्यसकारण, जब परमेश्वरले प्रस्ट भाषा प्रयोग गरेर मान्छेलाई कसरी व्यवहार गर्ने, कसरी जिउने, कसरी उहाँमा समर्पित हुने, र कसरी हरेक घटना अनुभव गर्ने भनेर बताउनुहुन्छ, तब यदि मान्छेले अझै पनि बुझ्दैन भने, परमेश्वरले उसको लागि वातावरण तय गर्ने, उसलाई केही विशेष अन्तर्दृष्टि दिने, वा केही विशेष अनुभवहरू भोगाउनेभन्दा बढी केही गर्नुहुन्न। परमेश्वरले गर्न सक्ने, गर्नुपर्ने, र गर्न चाहनुहुने कुरा यति नै हो। यस्तो प्रश्न गर्ने मानिसहरू पनि छन्, “के परमेश्वरले हरेक व्यक्तिलाई मुक्ति दिऊँ र कसैले अनन्त विनाश नभोगोस् भन्ने चाहनुहुन्न र? यदि परमेश्वरले काम गर्न यस्तो विधि प्रयोग गर्नुभयो भने, कतिजना मानिसहरूले मुक्ति पाउन सक्थे होला?” यसको जवाफमा, परमेश्वरले सोध्नुहुनेथियो, “कतिजना मानिसहरूले मेरा वचनहरूप्रति ध्यान दिन्छन् र मेरो मार्ग पछ्याउँछन्?” जति छन् ती सबैले पछ्याउँछन्—यो परमेश्वरको दृष्टिकोण र उहाँको कामको विधि हो। परमेश्वरले योभन्दा बढी गर्नुहुन्न। यो विषयमा मान्छेको धारणा के छ? “परमेश्वरले यो मानवजातिमाथि दया गर्नुहुन्छ, उहाँ यो मानवजातिको लागि चिन्तित हुनुहुन्छ, त्यसैले उहाँले अन्त्यसम्मै जिम्मेवारी लिनुपर्छ। यदि मान्छेले उहाँलाई अन्त्यसम्मै पछ्यायो भने, उसले अपरिहार्य रूपमै मुक्ति पाउनेछ।” यो धारणा सही छ कि गलत छ? के यो परमेश्वरका अभिप्रायहरूसँग मिल्छ? अनुग्रहको युगमा, मानिसहरूले यी धारणाहरू राख्नु सामान्य थियो, किनभने तिनीहरूले परमेश्वर चिन्दैनथे। आखिरी दिनहरूमा, परमेश्वरले मानिसहरूलाई यी सबै सत्यताहरू बताउनुभएको छ, र परमेश्वरले मानिसहरूलाई मुक्ति दिने उहाँको कामका सिद्धान्तहरू पनि प्रस्ट पार्नुभएको छ, त्यसैले यदि मानिसहरूका हृदयमा अझै पनि यी विचारहरू छन् भने यो धेरै समझहीन कुरा हो। परमेश्वरले तँलाई यी सबै सत्यताहरू बताउनुभएको छ, त्यसैले, यदि अन्त्यमा तैँले अझै पनि परमेश्वरका अभिप्रायहरू बुझेको छैनँ र अभ्यास गर्न आउँदैन भन्छस्, र तैँले अझै पनि त्यस्ता विद्रोही र विश्वासघाती शब्दहरू बोल्छस् भने, के त्यस्तो व्यक्तिलाई परमेश्वरले मुक्ति दिन सक्नुहुन्छ? केही यस्ता मानिसहरू पनि छन् जो सधैँ यस्तो सोच्छन्, “परमेश्वरले यस्तो महान् काम गर्नुहुन्छ, उहाँले संसारका आधाभन्दा बढी मानिसहरू प्राप्त गर्नुपर्छ, र परमेश्वरको महिमाको गवाही दिन मानिसहरूको ठूलो सङ्ख्या, शक्तिशाली बल, र उच्च-पदस्थ मानिसहरूको ठूलो सङ्ख्या प्रयोग गर्नुपर्छ। त्यो कति गज्जब हुन्थ्यो होला!” यो मान्छेको धारणा हो। बाइबलमा, पुरानो र नयाँ करार दुवैमा, मुक्ति दिइएका र सिद्ध पारिएका मानिसहरू जम्मा कतिजना थिए? अन्त्यमा परमेश्वरको डर मान्न र दुष्टताबाट टाढा बस्न सक्ने को थिए? (अय्यूब र पत्रुस।) ती दुईजना मात्र थिए। परमेश्वरको नजरमा, उहाँको डर मान्नु र दुष्टताबाट अलग बस्नु नै वास्तवमा उहाँलाई चिन्ने, अर्थात् सृष्टिकर्तालाई चिन्ने मानक पूरा गर्नु हो। अब्राहाम र नोआजस्ता मानिसहरू परमेश्वरको नजरमा धर्मी थिए, तर तिनीहरू अझै पनि अय्यूब र पत्रुसभन्दा एक स्तर तल थिए। अवश्य नै, त्यसबेला परमेश्वरले त्यति धेरै काम गर्नुभएन। उहाँले अहिलेजसरी मानिसहरूको भरणपोषण गर्नुभएन, न त उहाँले यति धेरै स्पष्ट वचनहरू नै बोल्नुभयो, न त उहाँले यति बृहत् मात्रामा मुक्तिको काम नै गर्नुभयो। उहाँले धेरै मानिसहरू प्राप्त गर्नुभएको नहोला, तर यो पनि उहाँको पूर्वनिर्धारणभित्रै पर्छ। यसमा सृष्टिकर्ताको स्वभावको कुन पक्ष देख्न सकिन्छ? परमेश्वरले धेरै मानिसहरू प्राप्त गर्ने आशा गर्नुहुन्छ, तर यदि धेरै मानिसहरू वास्तवमा प्राप्त गर्न सकिँदैन भने—यदि परमेश्वरले मुक्तिको काम गर्नुहुँदा यो मानवजातिलाई प्राप्त गर्न सकिँदैन भने—परमेश्वरले तिनीहरूलाई त्याग्नु र फाल्नुहुनेछ। सृष्टिकर्ताको भित्री आवाज र दृष्टिकोण यही हो। यस सन्दर्भमा, मान्छेसँग परमेश्वरप्रति के-कस्ता माग वा धारणाहरू छन्? “तपाईँ मलाई मुक्ति दिन चाहनुहुन्छ, त्यसकारण तपाईँ अन्त्यसम्मै जिम्मेवार हुनैपर्छ, र तपाईँले मलाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो, त्यसैले तपाईँले मलाई ती आशिष् दिनैपर्छ र मैले ती प्राप्त गर्नैपर्छ।” मान्छेभित्र, “पर्छ” भन्ने शब्द धेरै छन्—धेरै मागहरू छन्—र यो उसका धारणाहरूमध्येको एउटा हो। अरूले भन्छन्, “परमेश्वरले यस्तो महान् काम—छ हजार वर्षे व्यवस्थापन योजना—गर्नुहुन्छ, यदि अन्त्यमा उहाँले दुईजना मानिसहरू मात्र प्राप्त गर्नुभयो भने, त्यो अत्यन्तै लाजमर्दो कुरा हुनेछ। तब के उहाँका कार्यहरू व्यर्थ भएका हुनेछैनन् र?” मान्छेले त्यस्तो हुनु हुँदैन भन्ने सोच्छ, तर परमेश्वर दुई जना मानिस प्राप्त हुँदा पनि खुसी हुनुहुन्छ। परमेश्वरको वास्तविक उद्देश्य ती दुईलाई प्राप्त गर्नु मात्र होइन, त्योभन्दा बढी नै प्राप्त गर्नु हो, तर यदि मानिसहरू जाग्दैनन् र कुरा बुझ्दैनन्, र तिनीहरू सबैले परमेश्वरलाई गलत बुझ्छन् र उहाँको प्रतिरोध गर्छन्, र सबै आशाहीन र बेकार छन् भने, परमेश्वरले बरु तिनीहरू प्राप्त नहोऊन् भन्ने चाहनुहुन्छ। त्यो परमेश्वरको स्वभाव हो। कति मानिसहरू भन्छन्, “त्यसरी हुँदैन। त्यसपछि शैतान हाँस्दैन र?” शैतान हाँसिरहेको हुन सक्छ, तर के त्यो परमेश्वरको पराजित शत्रु नै होइन र? परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएकै हुन्छ—तिनीहरूमध्ये धेरैले शैतानविरुद्ध विद्रोह गर्न र यसको नियन्त्रणमा नपर्न सक्छन्। परमेश्वरले साँचो सृजित प्राणीहरू प्राप्त गर्नुभएको छ। त्यसोभए, के ती परमेश्वरद्वारा प्राप्त नगरिएकाहरू शैतानका बन्दी हुन्छन् र? तिमीहरू सिद्ध पारिएका छैनौ—के तिमीहरूले शैतानलाई पछ्याउन सक्छौ? (सक्दैनौँ।) कतिपय मानिसले यसो भन्छन्: “यदि परमेश्वरले मलाई चाहनुभएन भने पनि, म शैतानलाई पछ्याउनेछैनँ। यसले मलाई आशिष्हरू दियो भने पनि, म त्यो लिनेछैनँ।” जसलाई परमेश्वरले प्राप्त गर्नुभएको छैन तिनीहरूले पनि शैतानलाई पछ्याउँदैनन्—के यसरी परमेश्वरले महिमा प्राप्त गर्नुहुन्न र? परमेश्वरले प्राप्त गर्नुहुने मानिसहरूको सङ्ख्या वा उहाँले तिनीहरूलाई प्राप्त गर्नुहुने मात्राबारे मानिसहरूमा एउटा धारणा हुन्छ; तिनीहरू परमेश्वरले ती थोरैलाई मात्र प्राप्त गर्नु हुँदैन भन्ने विश्वास गर्छन्। मान्छेले यस्तो धारणा पैदा गर्न सक्नुको कारण के हो भने, एकातिर, मान्छेले परमेश्वरको मन पढ्न सक्दैन र उहाँ कस्तो व्यक्ति प्राप्त गर्न चाहनुहुन्छ भनेर बुझ्न सक्दैन—मान्छे र परमेश्वरबीच सधैँ एउटा दूरी हुन्छ; अर्कोतिर, यस्तो धारणा राख्नु भनेको मान्छेको लागि आफूलाई सान्त्वना दिने र आफ्नो नियति र भविष्यबारे आफूलाई स्वतन्त्र राख्ने एउटा तरिका हो। मान्छेले यस्तो विश्वास गर्छ, “परमेश्वरले अति थोरै मानिसहरू प्राप्त गर्नुभएको छ—उहाँले हामी सबैलाई प्राप्त गर्नुभयो भने यो कति गौरवशाली कुरा हुनेथ्यो! यदि परमेश्वरले कुनै एउटा व्यक्तिलाई पनि नत्यागी सबैलाई जित्नुभयो, र अन्त्यमा सबैलाई सिद्ध पारियो, र परमेश्वरले मानिसहरूलाई छान्नुहुने र मुक्ति दिनुहुने कुरा अनि उहाँको व्यवस्थापनको काम व्यर्थ भएन भने, के शैतान अझ बढी अपमानित हुनेथिएन र? के परमेश्वरले अझ ठूलो महिमा प्राप्त गर्नुहुनेथिएन र?” उसले यसो भन्नुको आंशिक कारण उसले सृष्टिकर्तालाई नचिनेको भएर हो र अर्को आंशिक कारण उसका आफ्नै स्वार्थी अभिप्राय भएर हो: ऊ आफ्नो भविष्यबारे चिन्तित हुन्छ, त्यसैले उसले यसलाई सृष्टिकर्ताको महिमासँग जोड्छ, र यसरी ऊ सर्प पनि मर्छ र लट्ठी पनि भाँचिदैन भन्ने सोचेर हृदयमा ढुक्क हुन्छ। साथै, उसले यो पनि महसुस गर्छ कि “परमेश्वरले मानिसहरूलाई प्राप्त गर्नु र शैतानलाई लज्जित पार्नु शैतानको पराजयको दह्रिलो प्रमाण हो। यो त एक तिर तीन सिकार भनेजस्तै हो!” मानिसहरू आफैलाई कसरी फाइदा गर्ने भनेर उपाय लाउन साह्रै सिपालु हुन्छन्। यो धारणा निकै चलाकीपूर्ण छ, होइन र? मानिसहरूका स्वार्थी अभिप्रायहरू हुन्छन्, र के यी अभिप्रायहरूमा विद्रोहीपनको कुनै तत्त्व हुँदैन र? के त्यसमा परमेश्वरप्रति माग गरिएको हुँदैन र? यसमा परमेश्वरविरुद्ध एउटा अव्यक्त प्रतिरोध हुन्छ जसले भन्छ, “तपाईँले हामीलाई चुन्नुभयो, हामीलाई अगुवाइ गर्नुभयो, हामीमाथि धेरै परिश्रम गर्नुभो, तपाईँको जीवन र तपाईँको सम्पूर्णता हामीलाई सुम्पनुभयो, हामीलाई तपाईँको वचन र सत्यता सुम्पनुभयो, र हामीलाई यतिका वर्ष तपाईँको पछि लगाउनुभयो। यदि अन्त्यमा तपाईँले हामीलाई प्राप्त गर्न सक्नुभएन भने, यो कति घाटा हुने होला।” यस्तो बहाना परमेश्वरलाई ब्ल्याकमेल गर्ने र उहाँलाई तिनीहरू प्राप्त गर्न बाध्य पार्ने प्रयास हो। यो त यदि परमेश्वरले तिनीहरूलाई प्राप्त गर्नुभएन भने, तिनीहरूलाई घाटा हुनेछैन, घाटा त परमेश्वरलाई हुनेछ भनेर भन्नु हो—के यो अभिव्यक्ति सही छ? यसभित्र, मान्छेका मागहरू, साथै उसका कल्पना र धारणाहरू दुवै छन्: परमेश्वरले यस्तो महान् काम गर्नुहुन्छ, त्यसैले उहाँले जतिसक्दो धेरै मानिसहरू प्राप्त गर्नैपर्छ। यो “पर्छ” भन्ने शब्द कहाँबाट आउँछ? यो मान्छेका धारणा र कल्पनाहरू, उसका अनुचित मागहरू, र उसको आडम्बर, साथै उसको हठी र क्रूर स्वभावको मिश्रणबाट आउँछ।
मान्छेका त्यस्ता धारणाहरूबारे अर्को दृष्टिकोणबाट सङ्गति गर्नैपर्छ। केही यस्तो सोच्ने मानिसहरू पनि छन्, “सृष्टिकर्ताले कति मानिसहरू प्राप्त गर्छु भनेर वास्ता गर्नुहुन्न, उहाँले त जति प्राप्त हुन्छ त्यति नै मात्र मानिसहरू प्राप्त गर्छु भनेर सोच्नुहुन्छ, र यो सृष्टिकर्ताको मनोवृत्ति हो, त्यसैले हामीले उहाँसँग कसरी सहकार्य गर्नुपर्छ? के यत्तिकै विश्वास गर्नु र यसलाई त्यति गम्भीर रूपमा नलिनु ठीक हुन्छ? आखिरमा, परमेश्वरले पनि यसलाई गम्भीरतापूर्वक लिनुहुन्न, त्यसैले हामीले परमेश्वरका मागहरू पूरा गर्नमा त्यति गम्भीर हुनुपर्दैन, न त हामीले यसलाई हाम्रो प्रमुख पेसा, वा हाम्रो जीवनभरको पछ्याइका रूपमा नै लिनुपर्छ। अब हामीलाई परमेश्वरका विचारहरू थाहा भएपछि, के हामीले हाम्रो जिउने शैली परिवर्तन गर्नुपर्दैन र?” के यो दृष्टिकोण सही छ, कि गलत छ? (यो गलत छ।) परमेश्वरको मनोवृत्ति मानिसहरूलाई स्पष्ट पारिएको, र तिनीहरूले यसलाई बुझ्ने हुनाले, तिनीहरूले आफ्ना धारणाहरू त्याग्नुपर्छ। आफ्ना धारणाहरू त्यागेपछि, मानिसहरूले के गर्नुपर्छ र तिनीहरूले कसरी छनौट गर्नुपर्छ, र तिनीहरूले यो मामिलालाई कसरी बुझ्नुपर्छ र कसरी सम्हाल्नुपर्छ ताकि तिनीहरूसँग तिनीहरूले धारण गर्नैपर्ने दृष्टिकोण र मनोवृत्ति होस्? सर्वप्रथम, मानिसहरूको दृष्टिकोणबारे भन्नुपर्दा, तिनीहरूले तीबारे मनन गर्ने प्रयास गर्नुपर्छ। व्यक्तिले परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले उहाँप्रतिको आदर र सम्मानको अस्पष्ट कल्पना गर्छन्। तिनीहरू सोच्छन् कि “परमेश्वर सर्वशक्तिमान्, सर्वशक्तिशाली हुनुहुन्छ, र, उहाँले यो भ्रष्ट मानवजातिबाट मानिसहरूको यो समूह चुन्नुभएको हुनाले, उहाँले निश्चय नै तिनीहरूलाई पूर्ण बनाउन सक्नुहुनेछ। त्यसकारण, हामीले निश्चित रूपमै आशिष् पाउनेछौँ।” के यस्तो “निश्चितता” को पछाडि आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता लुकेको हुँदैन र? सत्यता नपछ्याई वा परमेश्वरको न्याय र सजाय नभोगी आशिष्हरू र परमेश्वरको अनुमोदन प्राप्त गर्न चाहनु भनेको मान्छेले सबैभन्दा बोक्न नहुने मनोवृत्ति हो। आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता नअपनाओ—भाग्य नै ठूलो शत्रु हो। आफ्नो भाग्य जाँच्नु कस्तो मानसिकता हो? तेरा कुन-कुन स्थिति, सोच, विचार, मनोवृत्ति, धारणा र दृष्टिकोणपछाडि आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता लुकेको हुन्छ? के तैँले यो पत्ता लगाउन सक्छस्? यदि तैँले यो पत्ता लगाइस् र आफूमा आशिष् प्राप्त गर्न आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता रहेको देखिस् भने, तैँले यसलाई कसरी परिवर्तन गर्नुपर्छ? तैँले यसलाई कसरी हल गर्नुपर्छ? यी व्यावहारिक मामिलाहरू हुन्। तैँले आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता छर्लङ्ग चिन्नैपर्छ। तैँले यसलाई समाधान गर्नैपर्छ। यदि तैँले यसलाई समाधान गरिनस् भने, यसले तँलाई अल्झाउने सम्भावना हुनेछ र तैँले दुःख पाउनेछस्। त्यसोभए, के-कस्ता कुराहरूमा आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता लुकेको हुन्छ त? कतिपय मानिसहरू यस्तो सोच्छन्, “म परमेश्वरमा विश्वास गर्छु र मैले मेरो परिवार र करियरसमेत त्यागेको छु। जे भए पनि, र मैले मेधावी सेवा गरेको छैन नै भने पनि, मैले कडा परिश्रम गरेको छु, र मैले कडा परिश्रम गरेको छैन नै भने पनि, मैले आफैलाई थकित पारेको छु, त्यसैले मैले अन्त्यसम्मै परमेश्वरलाई पछ्याएँ भने, म विजेताहरूमध्येको एक, मुक्ति पाउनेहरूमध्येको एक, आशिषित् हुनेहरूमध्येको एक, परमेश्वरको राज्यका मानिसहरूमध्येको एक बन्न सक्छु।” यो आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता हो। के सबैमा यो मानसिकता हुँदैन र? कम्तीमा पनि, परमेश्वरलाई पछ्याउन र पूर्णकालीन कर्तव्य निर्वाह गर्न सबै कुरालाई छोडेर हिँड्नेहरूमध्ये अधिकांश मानिसहरूमा यस किसिमको मानसिकता हुन्छ। के आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता एक प्रकारको धारणा होइन र? (हो।) यो एक प्रकारको धारणा हो भनेर म किन भन्दै छु? किनभने, जब तैँले यो मामिलाप्रति सृष्टिकर्ताको अभिप्राय र मनोवृत्ति बुझेको वा जानेको हुँदैनस्, तब तैँले केवल आत्मगत रूपमा राम्रो नतिजा अपेक्षा गर्छस् र आत्मगत रूपमा पछ्याउँछस्, र तैँले यसलाई यसरी नै लिन्छस्। यो एक किसिमको धारणा हो। सृष्टिकर्ताको नजरमा, के यस्तो धारणा एक प्रकारको ब्ल्याकमेल होइन र? के यो अनुचित माग होइन र? यो त यसो भन्नुजस्तै हो, “मैले तपाईँलाई पछ्याएको छु, र म सबै कुरा छोडेर पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न परमेश्वरको घर आएको छु, त्यसैले मलाई सृष्टिकर्ताका बन्दोबस्तहरूमा समर्पित भइसकेको व्यक्तिको रूपमा गनिनुपर्छ, होइन त? त्यसैले, के अब मैले आशाजनक भविष्य पाउन सक्छु? मेरो भविष्य अस्पष्ट हुनु हुँदैन—यो त हेर्दै स्पष्ट हुनुपर्छ।” यो आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता हो। यस्तो मानसिकता कसरी समाधान हुन्छ? व्यक्तिले परमेश्वरको स्वभाव थाहा पाउनैपर्छ। मैले यसरी सङ्गति गरेको हुनाले, अब सबैले आधारभूत रूपमा यो कुरा बुझ्नुपर्छ: “परमेश्वरले त्यस्तो सोच्नुहुनेरहेछ। परमेश्वरको दृष्टिकोण र मनोवृत्ति त्यस्तो रहेछ। त्यसोभए, हामीले के गर्नुपर्छ?” मानिसहरूले आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता पन्छाउनुपर्छ। अनि, यो मानसिकता पन्छाउनका लागि, के “मैले यसलाई पन्छाएको छु र अब मसँग त्यस्ता सोचहरू हुनेछैनन्। म मेरो कर्तव्यलाई गम्भीरतापूर्वक लिनेछु, जिम्मेवारी वहन गर्नेछु र कडा परिश्रम गर्नेछु” भनेर पुग्छ? यो त्यति सजिलो छैन—जब कसैले आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता विकास गर्छ, तब ऊभित्र केही विचार र अभ्यासहरू देखापर्छन्, र, त्योभन्दा बढी, केही स्वभावहरू प्रकट हुन्छन्। यी कुराहरूलाई सत्यता खोजी गरेर समाधान गर्नुपर्छ। कतिले भन्छन्, “यदि मैले परमेश्वरका अभिप्राय र मनोवृत्तिहरू बुझेको छु भने, के म आफ्नो भाग्य परीक्षण गर्ने मानसिकताबाट मुक्त छैन र?” त्यो कस्तो कुरा हो? यो आत्मिक बुझाइको कमी हुनु छ; यो खोक्रो कुरा हो। त्यसोभए, यो समस्या कसरी समाधान हुन्छ? तैँले यो कुरा विचार गर्नैपर्ने हुन्छ, “यदि परमेश्वरले मबाट सबै कुरा लानुभयो भने मैले के गर्नुपर्छ? के मैले परमेश्वरलाई अर्पण गरेका र उहाँप्रति समर्पित गरेका सबै कुरा स्वेच्छाले दिइएका हुन्, कि ती उहाँसँग सौदा गर्ने प्रयास हुन्? यदि ममा उहाँसँग सौदा गर्ने अभिप्राय छ भने, त्यो राम्रो होइन। त्यसलाई समाधान गर्नका लागि मैले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ र सत्यता खोज्नुपर्छ।” यसको साथै, अभ्यास गर्दा र आफ्नो कर्तव्य निभाउँदा, तैँले कुन सत्यता सिद्धान्तहरू बुझेको छैनस्, तैँले परमेश्वरका माग र उहाँका अभिप्रायहरूविरुद्ध जाने के-कस्ता कुराहरू गर्छस्, कस्तो किसिमको मार्ग गलत हो र विपत्तिको मार्ग हो, र कस्तो कसिमको मार्गले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छ भनेर तैँले बुझ्नुपर्छ। अरू केके कुरामा आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता संलग्न हुन्छ? कति यस्ता मानिसहरू छन्, जो गम्भीर रोगले ग्रसित थिए, तर परमेश्वरले तिनीहरूलाई बचाउनुहुन्छ र अब तिनीहरू बिरामी हुँदैनन्। तिनीहरूले सोच्छन्, “तिमीहरू सबैजना आशिष्हरूको पछि लाग्न परमेश्वरमा विश्वास गर्छौ। म फरक छु। परमेश्वरको महान् प्रेमले मलाई यहाँ ल्याएको हो; उहाँले मलाई विशेष परिस्थितिहरू र विशेष अनुभवहरू दिनुभयो जसले मलाई उहाँमा विश्वास गर्न प्रेरित गर्यो, त्यसैले उहाँले मलाई तिमीहरूलाई भन्दा बढी प्रेम गर्नुहुन्छ, उहाँले मलाई विशेष अनुग्रहका साथ व्यवहार गर्नुहुन्छ र, अन्त्यमा, मसँग तिमीहरूको भन्दा बढी बाँच्ने मौका हुनेछ।” तिनीहरू परमेश्वरसँगको आफ्नो सम्बन्ध असाधारण र विशेष छ—उहाँसँगको आफ्नो सम्बन्ध साधारण मानिसहरूको भन्दा फरक छ भन्ने सोच्छन्। तिनीहरूको विशेष अनुभवका कारण, तिनीहरूले आफूलाई असाधारण र असामान्य ठान्छन्, त्यसैले तिनीहरूले सफल हुन्छु भन्ने एक प्रकारको निश्चितता कायम राख्छन्। तिनीहरूले आफूलाई अरूभन्दा निश्चित रूपमा फरक छु भनेर परिभाषित गर्छन्, र तिनीहरू आफ्नो बाँच्ने क्षमताबारे विश्वस्त हुन्छन्—यो पनि आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता नै हो। यस्ताहरू अरू पनि छन् जसले केही महत्त्वपूर्ण कामको जिम्मेवारी लिएका हुन्छन् र जसको हैसियत उच्च हुन्छ। तिनीहरूले अरूभन्दा अलि बढी कष्ट भोग्छन्, तिनीहरू अरूभन्दा अलि बढी काँटछाँटमा पर्छन्, आफूलाई अरूभन्दा अलि व्यस्त राख्छन्, र अरूले भन्दा अलि बढी बोल्छन्। तिनीहरू सोच्छन्, “मलाई परमेश्वर र उहाँको घरद्वारा महत्त्वपूर्ण पदमा राखिएको छ र मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूको निगाह पाएको छु। यो कति सम्मानको कुरा हो। के यसको अर्त मैले अरूभन्दा पहिले आशिष् पाउनेछु भन्ने हुँदैन र?” यो पनि आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता नै हो, र यो एक प्रकारको धारणा हो।
मैले भर्खरै आफ्नो भाग्य जाँच्नुका केही व्यावहारिक प्रकटीकरण र स्थितिहरूबारे कुरा गरेको छु। मानिसहरूका मनमा प्रायजसो उब्जिने र आनीबानीकै रूपमा रहिरहने अरू के-कस्ता स्थिति, प्रकटीकरण वा कुराहरू छन्, जुन आफ्नो भाग्य परीक्षण गर्ने कार्यमा पर्छन्? विशेष अनुभवहरू र उच्च हैसियत भएका, र आफूलाई पूर्णकालीन रूपमा परमेश्वरप्रति समर्पित गर्नका लागि सबै कुरा छोडेर हिँडेका मानिसहरूबाहेक, त्यस्ता मानिसहरू पनि छन्, जो योग्य छन्, जो केही विशेष कर्तव्यहरू निर्वाह गर्छन्, र जोसँग केही विशेष प्रतिभाहरू छन्—यी सबै मानिसहरूमा आफ्नो भाग्य परीक्षण गर्ने मानसिकता हुन्छ। “योग्य” शब्दले केलाई जनाउँछ? उदाहरणका लागि, सुसमाचार प्रचार गर्ने कतिपयले के विश्वास गर्छन् भने, यदि तिनीहरूले १० जना मानिसहरूलाई विश्वासमा ल्याए भने, तिनीहरूले १० वटा फल फलाएका हुनेछन् र तिनीहरूको आशिष् पाउने १० प्रतिशत सम्भावना हुनेछ, र यदि तिनीहरूले ५० फल फलाए भने, तिनीहरूको ५० प्रतिशत सम्भावना हुनेछ, र यदि तिनीहरूले १०० वटा फल फलाए भने, तिनीहरूको १०० प्रतिशत सम्भावना हुनेछ। यो एक प्रकारको धारणा हो, यो एक प्रकारको सौदा हो, र त्योभन्दा माथि, यो आफ्नो भाग्य परीक्षण गर्नु हो। यदि तिनीहरूले यी धारणाहरू र आफ्नो भाग्य परीक्षण गर्ने मानसिकतामा अडिग रहेर परमेश्वरको काम मापन गर्न सक्छन् भने, के यो परमेश्वरमा विश्वास गर्नु हो त? तिनीहरूले कुन मार्ग लिइरहेका छन्? के तिनीहरूको पछ्याइमा केही खराबी छैन र? तिनीहरूमा किन यी कुराहरू उब्जिन्छन्? तिनीहरू किन ती कुरामा अडिग रहन्छन् र तिनलाई छोड्न मान्दैनन्? कतिले त तिनीहरूले परमेश्वरलाई नचिनेकाले यस्तो भएको हो भनेर भन्छन्। के यो सही हो त? यो खोक्रो कुरा हो। त्यसोभए वास्तविक कारण के हो? जो सधैँ त्यस्ता दृष्टिकोण र मनोवृत्तिहरूमा अडिग रहन्छन्, र त्यस्ता धारणाहरू बोकेर तिनैमा जिद्दीपूर्वक टाँसिइरहन्छन्—के ती मानिसहरूले परमेश्वरका वचनहरूमा गम्भीरतापूर्वक मेहनत गरिरहेका हुन्छन् त? (हुँदैनन्।) तिनीहरूमा परमेश्वरका वचनहरूप्रति सधैँ झारातिरुवा मनोवृत्ति हुन्छ, अर्थात् तुवाँलोको बीचबाट हेरिरहेको व्यक्तिको जस्तो मनोवृत्ति र दृष्टिकोण हुन्छ। तिनीहरूले के सोच्छन् भने, परमेश्वरमाथिको विश्वासमा, तिनीहरूले आफूले परमेश्वरको लागि कति कष्ट भोगेको छु र कति मूल्य चुकाएको छु, कति सत्कर्म गरेको छु, आफूसँग के-कस्ता विशेष प्रतिभाहरू छन्, आफू कति दक्ष छु, आफ्नो हैसियत कति उच्च छ, आफूले परमेश्वरसँग कस्तो किसिमको “सङ्कष्टमा साथसङ्गतका क्षणहरू” अनुभव गरेको छु, आफूले के-कस्ता विशेष अनुभवहरू पाएको छु, र परमेश्वरले आफूलाई के-कस्ता विशेष कुराहरू दिनुभएको छ, वा उहाँले आफूलाई अरूलाई दिएको भन्दा फरक के-कस्ता अनुग्रह र आशिष्हरू दिनुभएको छ भनेर मात्रै थाहा पाउनुपर्छ—तिनीहरूलाई लाग्छ कि यो नै पर्याप्त छ। तिनीहरू यी दृष्टिकोणहरूमा जतिसुकै कसिलो रूपमा टाँसिए पनि, तिनीहरूले तिनीहरूका यी दृष्टिकोणहरू सही छन् कि छैनन्, वा यी दृष्टिकोणहरू परमेश्वरका कुन वचनहरू र उहाँका कार्यका कुन सिद्धान्तहरूसँग बाझिन्छन्, वा यी विचारहरूलाई परमेश्वरले मान्यता दिनुभएको छ कि छैन, वा परमेश्वरले यसरी काम गर्नुहुन्छ कि गर्नुहुन्न वा यसरी कामकुराहरू सम्पन्न गर्नुहुन्छ कि गर्नुहुन्न भनेर कहिल्यै मनन गरेका हुँदैनन्। तिनीहरूले यी मामिलाहरूबारे कहिल्यै वास्ता गरेका हुँदैनन्। अहिलेसम्म, तिनीहरूले आफ्नै मनमा मात्र विचार गरेका, घोत्लिएका र सपना देखेका हुन्छन्। त्यसैले तिनीहरूको लागि सत्यता के बनेको हुन्छ? यो एउटा सजावट बनेको हुन्छ। यी मानिसहरूले परमेश्वरमा विश्वास गर्ने भए पनि, परमेश्वर वा सत्यतासँग तिनीहरूको विश्वासको कुनै सम्बन्ध हुँदैन। त्यसोभए तिनीहरूको विश्वास केसँग सम्बन्धित हुन्छ? यो केवल धारणा, कल्पना, र तिनीहरूका आफ्नै चाहनाहरू, साथै तिनीहरूको भविष्यका आशिष् र गन्तव्यहरूसँग मात्रै सम्बन्धित हुन्छ। तिनीहरूले सत्यतामा मेहनत लगाएका हुँदैनन्, त्यसैले अन्ततः तिनीहरूलाई यी परिणामहरू हात लाग्छन्।
आजको सङ्गतिमार्फत, अब तिमीहरूले परमेश्वरको काम गर्ने तरिका वा परमेश्वरको दृष्टिकोण र मनोवृत्तिबारे केही बुझाइ प्राप्त गरेका छौ, त्यसकारण के यसले तिमीहरूको परमेश्वरलाई चिन्ने पछ्याइ, सत्यताको पछ्याइ र जीवन प्रवेशसको पछ्याइमा केही प्रभाव पार्न सक्छ र केही परिणामहरू दिन सक्छ? के यसले तिमीहरूले आफ्ना धारणाहरू त्याग्न सक्ने गरी तिमीहरूका गलत विचारहरू परिवर्तन गर्न सक्छ? (सक्छ।) यसका लागि मानिसहरूले के गर्नुपर्छ? (आफ्ना धारणाहरू त्याग्नुपर्छ र परमेश्वरले माग गर्नुभएका मानकहरूअनुसार कार्य गर्नुपर्छ।) परमेश्वरले त्यस्ता माग र निर्धारणहरू तय गर्नुभएको हुनाले, उहाँले निश्चित रूपमै ती पूरा गर्नुहुनेछ भन्ने कुरा तैँले बुझ्नुपर्छ। अन्ततः तथ्य के हो भने परमेश्वरका वचनहरू व्यर्थ हुनेछैनन्—ती सबै हासिल र पूरा हुनेछन्। यदि तँलाई परमेश्वरले बोल्नुभएको कुरा उहाँले पूरा गर्नु नै हुन्छ भन्ने छैन भन्ने लाग्छ भने, यो मान्छेको धारणा र कल्पना हो, र यो परमेश्वरलाई शङ्का र आलोचना गर्नु पनि हो। कतिपय यसो भन्नेहरू छन्, “परमेश्वरले कसरी त्यसो गर्न सक्नुहुन्छ? उहाँ आफूले जति मानिसहरूलाई मुक्ति दिनुहुन्छ त्यतिलाई मात्र मुक्ति दिएर कसरी सन्तुष्ट हुन सक्नुहुन्छ? के परमेश्वरको प्रेम महान् र असीमित छैन र? परमेश्वरको धैर्य असीमित छ, र परमेश्वरको सहनशीलता र कृपा पनि असीमित छन्।” तिनीहरूले सत्यता नपछ्याउन हरप्रकारका बहानाहरू बनाउँछन्, तिनीहरूले आफ्नै बाटो हिँड्न सकूँ भनेर बाहिर निस्कने सजिलो बाटो राख्छन्, र परमेश्वरको वचन र काम, र सृष्टिकर्ताको देखापराइलाई बेवास्ता गर्छन्। तिनीहरूलाई यो सत्यता हो भन्ने कुरा हृदयमा राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू यो सत्यता नभए हुन्थ्यो भन्ने आशा गर्छन्। तिनीहरूले जे गर्छन् त्यसमा अविश्वासको एउटा तत्त्व हुन्छ, साथै सृष्टिकर्ताविरुद्ध प्रतिस्पर्धा गर्ने, र सृष्टिकर्ताको प्रतिरोध गर्ने र उहाँलाई ब्ल्याकमेल गर्ने तत्त्व पनि हुन्छ। मैले यी वचनहरू बोल्नुको उद्देश्य के हो? कतिपयले यसो भन्छन्, “यो हामीलाई पछि हट्न चाहनेहरू पछि हट्न सक्छन्, कमजोर वा नकारात्मक हुनेहरू कमजोर वा नकारात्मक हुन सक्छन्, र आफ्नै जीवन जिउन चाहनेहरू आफ्नो जीवन जिउन सक्छन् भनेर चेतावनी दिन, डर देखाउन वा बुझाउनलाई हो। परमेश्वरको कामलाई धेरै समय लाग्नेछैन, र यसबाहेक, परमेश्वरलाई त्यति धेरै मानिसहरू चाहिँदैन, त्यसैले हामी आ-आफ्नै बाटो लागौँ!” के परिस्थितिहरू यस्तै हुन्छन् त? (हुँदैनन्।) परमेश्वरले जे भन्नुभए पनि, वा उहाँले त्यो कुरा जसरी भन्नुभए पनि, परमेश्वरले मानिसहरूलाई जे बुझाउनुहुन्छ त्यो उहाँको अभिप्राय हो र उहाँले तिनीहरूलाई जे बोध गर्न लगाउनुहुन्छ त्यो सत्यता हो। त्यसैले मानिसहरूले कुन मार्ग पछ्याउनुपर्छ? तिनीहरूले परमेश्वरको मार्ग पछ्याउनुपर्छ। मानिसहरूले के कुरा मनन गर्नुपर्छ र के समाधान गर्न खोज्नुपर्छ? परमेश्वर-विरोधी सबै धारणा, कल्पना र मागहरू। यी सबै कुराहरू सत्यताविपरीत छन्। तैँले यी कुराहरू त्याग्नैपर्छ, तैँले यी कुराहरू आफ्नो हृदयबाट हटाउनैपर्छ, र तँ अबउप्रान्त तीद्वारा प्रभावित वा नियन्त्रित हुनु हुँदैन। तँ साँचो रूपमा परमेश्वरसामु आएर परमेश्वरका वचनहरूको न्याय, सजाय, र काटछाँट स्वीकार गर्न सक्ने बन्नुपर्छ, तँबाट आफ्नो भ्रष्ट स्वभाव पखालिएको हुनैपर्छ, र तैँले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पण हासिल गर्नुपर्छ। यसको साथै, तैँले परमेश्वरसँग मेल नखाने र सत्यताविपरीत रहेका आफूभित्रका कुराहरूबारे निरन्तर मनन गर्नुपर्छ, र आफ्ना भ्रष्ट स्वभावहरू, विभिन्न मामिलाहरूप्रतिका आफ्ना गलत दृष्टिकोणहरू, र मान्छेका फरकफरक धारणा र कल्पनाहरूबारे मनन गर्नैपर्छ। तैँले मनन गरेर यी कुराहरू स्पष्ट रूपमा बुझेपछि, र तिनलाई सदाको लागि समाधान गर्न सत्यता खोजी गरेपछि, तैँले परमेश्वरमाथिको विश्वासको सही मार्गमा पाइला चालेको हुनेछस्, र त्यसपछि मात्र तैँले परमेश्वरको आज्ञापालन गर्न र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्नेछस्।
हामीले भर्खरै कुरा गरेको “मैले कोमाथि भरोसा गर्ने?” भन्ने कथाको अन्तिम भाग अझै चिरफार गरिसकेका छैनौँ। व्यक्तिले परमेश्वरमा विश्वास गर्न थालेपछि, ऊ प्रार्थना गर्न, परमेश्वरका अभिप्रायहरू खोज्न, परमेश्वरको अन्तर्दृष्टि र ज्योति स्विकार्न, परमेश्वरको मार्गदर्शन स्विकार्न, र परमेश्वरको आफ्नै मुखबाट बोलिएको हरेक वचन सुन्न परमेश्वरसामु आउँछ। यस अवधिमा, परमेश्वरले मानिसहरूलाई उहाँका अभिप्रायहरू र तिनीहरूले बुझ्नुपर्ने सबै कुरा बताउन स्पष्ट वचनहरू प्रयोग गर्नुहुन्छ। परमेश्वर तैँले धर्मसिद्धान्त र शब्दहरू बुझेको चाहनुहुन्न, न त तैँले धर्मशास्त्र सिकेको नै चाहनुहुन्छ। परमेश्वरले तँलाई एउटा शिष्ट व्यक्ति, वा असल व्यक्ति, वा तृष्णा र महत्त्वाकाङ्क्षाहरू भएको व्यक्ति बन्न सिकाउनका निम्ति यी वचनहरू प्रयोग गर्नुहुन्न—परमेश्वरले तँ त्यस्तो व्यक्ति होस् भन्ने चाहनुहुन्न। परमेश्वरले त तँलाई मानिसहरू कहाँबाट आएका हुन्, तिनीहरू कसरी जिउनुपर्छ, र तिनीहरूले कस्तो तरिका अपनाउनुपर्छ भनेर बुझाउन उहाँका वचनहरू प्रयोग गर्न चाहनुहुन्छ। तर, यी वचनहरू सुनेपछि, मानिसहरूले तीबारे केही पनि सोच्दैनन्, र अझै पनि आफ्नै दृष्टिकोण र आफ्नै इच्छाहरूमा अडिग रहन्छन्, र तिनीहरूका आफ्नै आत्मआचरणका सिद्धान्तहरूमा समेत अडिग रहन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू यसो भन्छन्: “म त जन्मँदै एउटा असल व्यक्ति बन्न चाहन्थेँ, र मलाई आफू असल व्यक्ति हुनबाट त्यति धेरै टाढा छु जस्तो लाग्दैन। म कुनै नराम्रो काम गर्दिनँ, म मानिसहरूलाई चोट पुर्याउने वा धोका दिने वा तिनीहरूबाट फाइदा लिने गर्दिनँ, र परमेश्वरमा विश्वास गर्न थालेदेखि म अझ राम्रो व्यक्ति बनेको छु। म सधैँ साँचो बोल्छु, म अरूसँग सच्चाइका साथ व्यवहार गर्छु, र म आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वर र मण्डलीका बन्दोबस्तहरू पालन गर्छु—के त्यो नै पर्याप्त हुँदैन र?” के धेरै मानिसहरूमा यस्तो सोचाइ हुन्छ? के विश्वासीहरूले यस्तो सोचाइमा भर परेर वास्तवमै परमेश्वरका मागहरू पूरा गर्न सक्छन् त? परमेश्वरले मानिसहरूलाई बुझ्न लगाउनुहुने सत्यताहरू, र सिक्न लगाउनुहुने पाठहरू धेरै छन्। खासगरी, दर्शनहरूसँग सम्बन्धित सत्यताहरू परमेश्वरमा विश्वास गर्नेहरूमा हुनैपर्ने सत्यता र जग बसाल्ने कुरा हुन्। यदि तिनीहरूले यी सत्यताहरूसमेत बुझ्दैनन् भने, के तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन् र? यदि तिनीहरू कल्पनाहरूमा मात्र भर पर्छन् र आफ्ना बारेमा राम्रो सोच्छन्, र सत्यता पछ्याउँदैनन् भने, के तिनीहरू अझै पनि परमेश्वरको न्याय र सजाय वा उहाँको परीक्षा र शोधन स्विकार्न योग्य हुन्छन् त? के तिनीहरूले परमेश्वरको शुद्धीकरण प्राप्त गर्न र उहाँद्वारा सिद्ध पारिन सक्छन्? (सक्दैनन्।) तिनीहरूले पक्कै सक्दैनन्। सत्यता नपछ्याउने मानिसहरूको सङ्ख्या मण्डलीमा आधाभन्दा बढी वा त्योभन्दा पनि बढी हुन सक्छ। तिमीहरूले यस अवस्थालाई ख्याल गर्दा, के तिमीहरूले यस्तो सोच्छौ: “परमेश्वरले यति धेरै भन्नुभएको छ, तर मानिसहरूले अझै पनि बुझ्दैनन्, त्यसैले परमेश्वरले यी अज्ञानी र मूर्ख मानिसहरूलाई किन अन्तर्दृष्टि दिनुहुन्न? परमेश्वरले किन थप केही भन्ने, थप केही काम गर्ने, र तिनीहरूमा थप मेहनत लगाउने गर्नुहुन्न? पवित्र आत्माले यी अज्ञानी मानिसहरू अबउप्रान्त अज्ञानी नरहून्, र मूर्ख मानिसहरू अबउप्रान्त मूर्ख नरहून् भनेर तिनीहरूलाई उत्प्रेरित गर्ने र ताडना दिने काम किन गर्नुहुन्न? परमेश्वरले किन यसो गर्नुहुन्न?” यो गलत हो। के परमेश्वरले पर्याप्त भन्नुभएको छैन र? धेरै मानिसहरू यो भन्छन् कि, परमेश्वरले धेरै कुरा भन्नुहुन्छ, उहाँले अत्यन्तै विस्तृत रूपमा बोल्नुहुन्छ, र उहाँले धेरै कुरा दोहोर्याउनु पनि हुन्छ। त्यसोभए, परमेश्वरले किन यसरी बोल्नुपर्छ, कसैलाई थाहा छ? यस्तो किन हो भने, मानिसहरू अत्यन्तै हठी र विद्रोही छन्, तिनीहरूले परमेश्वरका वचनहरू कहिल्यै स्विकार्दैनन् र सत्यतामा मेहनत गर्दैनन्—परमेश्वरले यस्ता मानिसहरूलाई जबरजस्ती गर्नुहुन्न। यदि मानिसहरूले परमेश्वरका वचनहरू स्विकार्दैनन् भने, परमेश्वरले तिनीहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्वरले कहिल्यै पनि जबरजस्ती केही गर्नुहुन्न, उहाँको काम गर्ने तरिका यही हो। परमेश्वरले पहिले नै यति धेरै वचनहरू बोल्नुभएको छ कि मानिसहरूले ती सबै पढेर पनि सक्दैनन्, त्यसैले उहाँले मानिसहरूलाई कसरी जबरजस्ती गर्न सक्नुहुन्छ र? मानिसहरूले परमेश्वरका श्रमसाध्य अभिप्रायहरू किन बुझ्दैनन्? जीवनभर पीडा भोगेकी यस कथाकी पात्रले पनि परमेश्वरका वचनहरू पढ्थी र उहाँका प्रवचनहरू सुन्थी, र यहाँसम्म कि मण्डलीमा आफूलाई समर्पित गर्थी र पूर्णकालीन कर्तव्य निर्वाह गर्थी, तर अन्त्यमा, उसले कसमा भरोसा गर्न सकिन्छ, वा उसको इच्छा कसरी आयो र यो साकार हुन सक्छ कि सक्दैन भन्ने कुरा बुझिन—त्यस्तो अवस्थामा पक्कै पनि केही न केही समस्या हुनुपर्छ। वास्तवमा, परमेश्वरको दृष्टिकोणबाट हेर्ने हो भने यो अत्यन्तै सामान्य समस्या हो। तैँले केवल दिशा परिवर्तन गर्नुपर्छ र परमेश्वरले दिनुभएको दिशा र परमेश्वरले बताउनुभएको मार्गतर्फ अघि बढ्नुपर्छ, र कुनै शङ्का वा संशयविना, दृढतापूर्वक विश्वास, स्वीकार, समर्पण र अभ्यास गर्नुपर्छ। तर मानिसहरूले यसो गर्न सक्दैनन्। तिनीहरू आफ्नै धारणा, कल्पना र आशाहरूमा, र आफ्ना हृदयभित्र लुकेका भ्रमहरूमा कडाइका साथ अडिग रहन्छन्। तिनीहरूले यी कुराहरूलाई समाउन सकिने अन्तिम आशाको रूपमा, वा अझै खराब कुरा त, आफ्नो अस्तित्व टिकाइराख्ने आधारका रूपमा हेर्छन्, अनि परमेश्वरका वचनहरू र परमेश्वरले तिनीहरूलाई दिनुभएका निर्देशनहरूलाई पन्छाउँछन् र बेवास्ता गर्छन्। त्यसैले, परमेश्वरले यसलाई कसरी सम्हाल्नुहुन्छ? यदि तैँले आफूलाई दिइएका राम्रा कुराहरू चिन्दैनस् र स्विकार्दैनस् भने, परमेश्वरले ती कुराहरू लैजानुहुन्छ। ती कुराहरू लगिसकेपछि व्यक्तिले के प्राप्त गरेको हुन्छ? केही पनि हुँदैन। त्यसकारण, त्यो मुख्य पात्रलाई आफ्नो हृदयको गहिराइमा “के मैले भरोसा गर्न सक्ने परमेश्वर नै हुनुहुन्छ त? मैले वास्तवमा कोमाथि भरोसा गर्न सक्छु? बाँच्न, आशिष्हरू प्राप्त गर्न, र मेरो भविष्यको गन्तव्य प्राप्त गर्न मैले कोमाथि भरोसा गर्न सक्छु?” भन्ने प्रश्नहरूको जवाफ थाहै थिएन। यी प्रश्नहरूबारे ऊ पहिले नै झन्झन् अलमलमा परेकी थिई। अन्त्यमा, उसको हृदयको गहिराइमा कुन कुराको पछुतो रहिरह्यो? भर पर्न र भरोसा गर्न सकिने उसको कोही छैन भन्ने कुराको। उसको जीवन कति दुःखदायी र दयनीय थियो! यो जीवनमा मानिसहरूका लागि सृष्टिकर्ताले गर्नुभएका बन्दोबस्तहरूको महत्त्व के हो भन्नेबारे ऊ अलमल्ल थिई, उसलाई यो कुरा थाहा थिएन। उसले यसरी जीवन भोग्दै गएर बुढेसकालमा पुगेपछि पनि यो सबै कुरा बुझ्न, वा सही निष्कर्ष निकाल्न, वा जीवनको सही दिशा र लक्ष्य पत्ता लगाउन नसकेपछि—उसले यो कुनै पनि कुरा प्राप्त गर्न नसकेपछि, परमेश्वरले यसबारे के गर्नुभयो? उहाँले यो व्यक्तिको जीवनको अध्याय समाप्त गर्नुभयो। परमेश्वरले गर्न सकिने सबै कुरा गरिसक्नुभएको थियो। परमेश्वरले वातावरण खडा गर्नुभएको थियो, उसलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुभएको थियो, र ऊ सबैभन्दा पीडामा हुँदा वा उसले हताश परिस्थितिहरू सामना गर्दा उसलाई जिइरहने प्रेरणा पनि दिनुभएको थियो। परमेश्वरले उसलाई अत्यन्तै प्रेम र साथ दिएर यस बिन्दुसम्म जिउन सक्षम तुल्याउनुभएको थियो। अनि यो के उद्देश्यका लागि थियो? उसलाई आफूलाई परिवर्तन गराउनका लागि। उसलाई परिवर्तन हुन लगाउनुको उद्देश्य के हो? आफूले भरोसा गर्न सक्ने कोही हुँदैन, र आफू कोहीमाथि भरोसा गर्नु हुँदैन, र आफूले आफै सुखी जीवन सिर्जना गर्ने प्रयास गर्नु हुँदैन, कुनै पनि कामना उत्पन्न हुन दिनु हुँदैन, र आफ्नो नियति सृष्टिकर्ताबाहेक अरू कसैले पनि योजनाबद्ध वा नियन्त्रण गर्न सक्दैन, र आफैले पनि सकिँदैन भनेर बुझ्नलाई। तैँले के कुरा रोज्नुपर्छ? कुनै गुनासो वा पूर्वसर्तहरू नराखी सृष्टिकर्ताको अगाडि आउने, उहाँले भन्नुभएको कुरा सुन्ने, र उहाँको मार्ग पछ्याउने। चाहे त्यो पीडा होस् वा रोग, यो सब मानव जीवनको पाटो हो जसलाई अनुभव गर्नैपर्छ। जब एउटा व्यक्तिको जीवन समाप्त पार्न लागिएको हुन्छ र पनि उसले यी सब कुरा बुझ्दैन भने, तब परमेश्वरले अरू के गर्नुहुन्छ? उहाँले अब केही गर्नुहुन्न, र यसले परमेश्वरले उसलाई त्याग्नुभएको छ भन्ने पनि सङ्केत गर्छ। किन परमेश्वरले अब केही गर्नुहुन्न? किनभने त्यो व्यक्ति सधैँ आफ्नै धारणाहरूमा जिएको हुन्छ, र आफ्नै चाहना र कटिबद्धतामा जिएको हुन्छ, र उसले परमेश्वरले योजनाबद्ध गर्नुभएका सबै कुरालाई हठी र जिद्दी मनोवृत्ति, र आत्मधर्मी र प्रतिस्पर्धी मनोवृत्तिले लिएका हुन्छन्। त्यसकारण, जब कुनै व्यक्तिको जीवन समाप्त हुन लागेको हुन्छ र परमेश्वरले खडा गर्नुभएका यी वातावरण वा प्रक्रियाहरू चरणबद्ध रूपमा पार गरेको हुन्छ, तर सृष्टिकर्ताबारे उसको ज्ञानमा कुनै परिवर्तन आएको हुँदैन, र उसमा मानव जीवनको नियतिबारे कुनै किसिमको बुझाइ हुँदैन, तब उसको जीवनको मूल्य के हो भन्ने कुरा आफै स्पष्ट हुन्छ, र सृष्टिकर्ताले त्यसउप्रान्त हस्तक्षेप गर्नुहुन्न वा केही पनि गर्नुहुन्न। परमेश्वरको काम गर्ने तरिका यही हो।
परमेश्वरको काम गर्ने तरिकाको परिणामस्वरूप मानिसहरूमा के-कस्ता धारणा र कल्पनाहरू उत्पन्न हुन्छन्? जब केही मानिसहरूले परमेश्वरले अरूलाई हटाउनुभएको देख्छन्, तब तिनीहरूभित्र धारणाहरू उत्पन्न हुन्छन् र तिनीहरूले भन्छन्: “यो व्यक्तिले आफ्नो जीवनमा यति धेरै पीडा भोगेको छ, के सृष्टिकर्ताले ऊमाथि दया गर्नुहुन्न?” दया गर्नुले केलाई जनाउँछ? (अनुग्रह दिनु।) के अनुग्रह दिएर त्यसले व्यक्तिको नियति निर्धारण गर्न सक्छ? के त्यसले तिनीहरूको नियति परिवर्तन गर्न सक्छ? के त्यसले तिनीहरूको दृष्टिकोण परिवर्तन गर्न सक्छ? (सक्दैन।) त्यसकारण, सृष्टिकर्ताले कुनै व्यक्तिलाई जतिसुकै आशिष्, अनुग्रह र भौतिक सुख प्रदान गर्नुभए पनि, यदि यी कुराहरूले त्यो व्यक्तिलाई परमेश्वरका अभिप्राय बुझ्न, वा जीवनमा सही मार्ग लिन, र अन्त्यमा परमेश्वरले मानिसहरूलाई देखाउनुभएको बाटो लिन, र मानिसहरूले आफ्नो जीवनमा अनुभव गरेका सबै कुराहरू के हुन् भनेर बुझ्न उत्प्रेरित गर्न वा सहयोग गर्न सक्दैनन् भने, परमेश्वरले तिनीहरूमाथि गर्नुभएको सबै काम व्यर्थ हुनेछ, अनि स्पष्ट रूपमै त्यो व्यक्तिले परमेश्वरमा विश्वास गरेको जीवन अवधिमा एउटा धर्सा कोरिनेछ। मानिसहरूमा के-कस्ता धारणाहरू उत्पन्न हुने गर्छन्? “परमेश्वर सहनशील र धैर्य हुनुहुन्छ, र उहाँको प्रेम शक्तिशाली र विशाल छ। उहाँले त्यस्तो व्यक्तिलाई किन प्रेम गर्न सक्नुहुन्न?” परमेश्वरको प्रेम कसरी प्रकट हुन्छ? परमेश्वरले त्यो व्यक्तिलाई साँच्चै प्रेम गर्नुहुन्छ कि गर्नुहुन्न? के परमेश्वरको प्रेमले त्यो व्यक्तिमा कुनै परिणाम ल्याएको छ? कुनै परिणामहरू नआउँदा, परमेश्वरको प्रेम कसरी प्रकट हुन्छ? परमेश्वरको स्वभाव कसरी प्रकट हुन्छ? परमेश्वरले आफ्नो काम कसरी गर्नुहुन्छ? वास्तवमा, परमेश्वरले केही गर्नुअघि, उहाँले पहिल्यै त्यो व्यक्तिलाई चुन्नुभएको हुन्छ, ऊमाथि काम गर्नुभएको हुन्छ, र उसको सम्पूर्ण जीवन पूर्वनिर्धारित गर्ने र उहाँको मार्गअनुसार यसलाई योजनाबद्ध गर्नेबारे सोच्नुभएको हुन्छ। यो सबै कुराको पछाडि परमेश्वरका अभिप्रायहरू हुन्छन्। के यो परमेश्वरको प्रेम होइन र? (हो।) यो पहिले नै परमेश्वरको प्रेम हो। त्यो व्यक्तिले आफ्नो जीवनमा प्रत्येक प्रक्रिया पार गर्ने क्रममा, परमेश्वरले उसलाई कृपा र चासो देखाउनुहुन्छ, उसको रक्षा गर्नुहुन्छ, उसलाई प्रेरणा दिनुहुन्छ, र केही वातावरणहरू खडा गरेर यो जीवनमा उसको मिसन पूरा गर्नमा उसलाई निरन्तर सुरक्षा गर्नुहुन्छ। यस क्रममा, ऊ जतिसुकै कटिबद्ध, जिद्दी, अहङ्कारी, वा हठी भए पनि, परमेश्वरले उसलाई परमेश्वरको मार्गअनुसार, सृष्टिकर्ताको प्रेम र सदाशयता, र परमेश्वरको जिम्मेवारीका साथ उसको जीवन निर्बाध रूपमा पार गराउन सहयोग गर्नुहुन्छ। उसले आफ्नो जीवनमा जतिसुकै जोखिम र परीक्षाहरू सामना गरे पनि, वा उसले जति पटक हताश भएर आत्महत्या गर्न चाहे पनि, परमेश्वरले उहाँको मार्गअनुसार उसलाई यो जीवनमा मार्गदर्शन गर्नुहुन्छ। परमेश्वरको मार्गदर्शनविना, उसको जीवन पक्कै पनि सहज रूपमा पार हुनेछैन, किनभने उसलाई हरप्रकारका प्रलोभन, परीक्षा, वा जोखिमले घेर्नेछन्। त्यसकारण, यो सबै परमेश्वरको प्रेम हो। मानिसहरूका धारणामा, मानिसहरू परमेश्वरको प्रेम यस्ता पीडा, सङ्कष्ट, र तिनीहरूका भावनाविपरीतका त्यस्ता कुराहरूबाट मुक्त हुनुपर्छ भन्ने सोच्छन्। वास्तवमा, परमेश्वरले प्रेमपूर्ण र सहनशील तरिकामा मानिसहरूलाई निरन्तर कृपा, अनुग्रह र आशिष्हरू दिइरहनुभएको हुन्छ। अन्त्यमा, उहाँले ठूलो धैर्य र प्रेमका साथ सत्यता पनि व्यक्त गर्नुहुन्छ, ताकि मानिसहरूले सत्यता बुझून् र जीवन प्राप्त गरून्। उहाँले परिणामहरू प्राप्त गर्न विभिन्न विधिहरू प्रयोग गर्नुहुन्छ, र यस क्रममा मानिसहरूलाई चरणबद्ध रूपमा मार्गदर्शन गर्नुहुन्छ ताकि तिनीहरूले मानव जीवन के हो भनेर बुझून् र कसरी अर्थपूर्ण जीवन जिउने भनेर जानून्। परमेश्वरले यसरी काम गर्नुमा उहाँको उद्देश्य के हो? अलि सतही रूपमा भन्दा, उहाँको उद्देश्य भनेको मानिसहरूले जीवनमा आइपर्ने सबै पीडा, साथै तिनीहरू आफैले निम्त्याउने सबै पीडा फाल्न सकून् भन्ने हो; अलि गहन रूपमा भन्दा, परमेश्वरको उद्देश्य भनेको मानिसहरूलाई खुसीसाथ जिउन, र सामान्य मानिसका रूपमा र वास्तविक मानिसका रूपमा जिउन र सृष्टिकर्ताको मार्गदर्शनमा जिउन लगाउनु हो। तर, हरेकसँग स्वतन्त्रता हुन्छ। परमेश्वरले मानिसहरूका लागि स्वतन्त्र इच्छा र सोच्ने क्षमता सृष्टि गर्नुभयो। पछि गएर, मानिसहरूले यो संसार र यो समाजबाट धेरै कुरा स्वीकार गरे, जस्तै ज्ञान, परम्परागत संस्कृति, सामाजिक प्रचलन, पारिवारिक शिक्षा, आदि इत्यादि। शैतानबाट आएका यी कुराहरूलाई परमेश्वरले सधैँ घृणा गर्नुभएको छ, र तिनको पर्दाफास गर्नुहुन्छ ताकि मानिसहरूलाई यी कुराहरूको हास्यास्पद र पाखण्डी प्रकृति, र सत्यतासँग तिनको पूर्ण बेमेल थाहा पाऊन्। तर, परमेश्वरले मानिसहरूलाई यी शैतानी कुराहरूबाट कहिल्यै अलग्याउने वा टाढा राख्ने गर्नुहुन्न। बरु, उहाँले मानिसहरूलाई यी कुरा अनुभव गर्न र यी कुरा वास्तवमा के हुन् भनेर खुट्याउन लगाउनुहुन्छ, र यसबाट जीवनको सही अनुभव र सही बुझाइ प्राप्त गर्न दिनुहुन्छ। जब सम्पूर्ण प्रक्रिया समाप्त हुन्छ र जब परमेश्वरले आफूले गर्नुपर्ने सबै काम गरिसक्नुभएको हुन्छ, तब मानिसहरूले आफूले प्राप्त गर्न सक्नेजति प्राप्त गर्छन्। अनि यो अन्तिम चरणमा, मानिसहरूमा के-कस्ता धारणाहरू उत्पन्न हुन्छन्? यो कि, परमेश्वरले कसैलाई त्याग्नुभएको छ, जसले मानिसहरूलाई परमेश्वरले तिनीहरूको भावनालाई ख्याल गर्नुहुन्न भन्ने महसुस गराउँछ। यस बिन्दुमा, मानिसहरूले के महसुस गर्छन् भने, त्यो व्यक्तिले परमेश्वरमा राख्न सकेको झिनो आशा पनि चकनाचुर भएको छ, र मानिसहरूलाई यो कुरा केही हदसम्म निर्दयी लाग्छ। जब मानिसहरूले यो निर्दयता महसुस गर्छन्, तब तिनीहरूका धारणाहरू पनि खुलासा हुन्छन्। तँ एक असल व्यक्ति बनेर त्यो व्यक्तिलाई बचाउन मदत गर्न चाहन्छस्। के यो उपयोगी हुन्छ त? त्यो व्यक्तिले सत्यता नपछ्याई धेरै वर्ष परमेश्वरमा विश्वास गरेको हुन्छ तर उसले केही पनि हासिल गरेको हुँदैन। तँ त्यसलाई दया र मदत गर्न चाहन्छस्, तर के तैँले त्यसलाई सत्यता आपूर्ति गर्न सक्छस् त? के तैँले त्यसलाई जीवन प्रदान गर्न सक्छस् त? तैँले त्यसो गर्न सक्दै सक्दैनस्, तर पनि तँ किन परमेश्वरबारे धारणाहरू बनाउँछस्? परमेश्वरले गर्नुहुने काम सबैका लागि निष्पक्ष र उचित हुन्छ। यदि तिनीहरूले व्यक्तिगत रूपमा सत्यता स्वीकार गर्दैनन् र तिनीहरू परमेश्वरको काममा समर्पित हुँदैनन् भने, परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न भनेर तैँले कसरी गुनासो गर्न मिल्छ? यहाँ पक्कै पनि मानिसहरूका धेरै धारणाहरू छन्। मानिसहरूले परमेश्वरको कामबारे धेरै धारणाहरू बोक्छन्, जस्तै: “परमेश्वरले यति धेरै काम गर्नुभएको छ, र पनि उहाँले किन यो अन्तिम चरण पूर्ण रूपमा पूरा गर्नुहुन्न? यो परमेश्वरले गर्न चाहनुभएको कुरा हो जस्तो देखिँदैन, न त यो परमेश्वरद्वारा नै गरिनुपर्छ। परमेश्वरले यस्तो महान् काम गर्नुभएको हुनाले, उहाँमा विश्वास गर्ने सबैलाई उहाँले मुक्ति प्राप्त गर्न दिनुपर्छ। त्यस्तो उपलब्धि मात्र परमेश्वरको कामको उत्कृष्ट परिणाम हुनेछ। परमेश्वरले यो व्यक्तिलाई किन हटाउनुभयो? यो मानिसहरूप्रति परमेश्वरको प्रेम र कृपासँग विरोधाभासपूर्ण छ, र मानिसहरूले यसलाई गलत रूपमा बुझ्ने सम्भावना हुन्छ! परमेश्वरले किन यसरी कामकुरा गर्नुहुन्छ? के यो मानिसहरूको भावनालाई अलिक ख्याल नगरिएको होइन र?” परमेश्वरको धर्मी स्वभाव यस्तै हुन्छ। यो परमेश्वरको धर्मी स्वभाव हो। यो अनुभव मात्र गर्यौ भने एक दिन तिमीहरूले बुझ्नेछौ।
हामीले भर्खरै कुरा गरेको विषय परमेश्वरको कामबारे मानिसहरूका केही धारणा र कल्पनाहरूसँग सम्बन्धित छ। तीमध्ये केही मानिसहरूका कल्पनाहरू हुन्, र केही चाहिँ परमेश्वरप्रति मानिसहरूका मागहरू हुन्, भन्नुको मतलब, मानिसहरू परमेश्वरले यो गर्नुपर्छ र त्यो गर्नुपर्छ भनेर सोच्छन्। जब परमेश्वरको काम तेरा धारणाहरूसँग मिल्दैनन् र तेरा माग वा कल्पनाहरूसँग बाझिन्छन्, तब तँ निराश र दुःखित हुनेछस्, र तैँले सोच्नेछस् कि “तपाईँ मेरो परमेश्वर हुनुहुन्न, मेरो परमेश्वरले तपाईँजस्तो व्यवहार गर्नुहुन्न।” यदि परमेश्वर तेरो परमेश्वर हुनुहुन्न भने, तेरो परमेश्वर को हुनुहुन्छ? जब यी कुराहरू समाधान भएका हुँदैनन्, तब मानिसहरू प्रायजसो यिनै स्थिति र धारणाहरूमा जिउँछन्, र परमेश्वरको काम मापन गर्न, आफूले सही तरिकाले काम गरिरहेको छु कि गलत तरिकाले भनेर मूल्याङ्कन गर्न, र आफूले लिइरहेको मार्ग सही छ कि छैन भनी मूल्याङ्कन गर्न तिनीहरूले मनमा प्रायसजो यी धारणा र मागहरू अपनाउँछन्—यसले समस्यातर्फ डोर्याउनेछ। तैँले यस्तो बाटो पछ्याइरहेको हुन्छस् जुन बाटोसँग परमेश्वरका मागहरूको कुनै सरोकार हुँदैन, त्यसैले तैँले परमेश्वरलाई पछ्याउने र उहाँका प्रवचन र वचनहरू सुन्नेजस्तो देखिए पनि, के अन्तिम परिणामस्वरूप मुक्ति प्राप्त हुनेछ त? हुनेछैन। त्यसकारण, परमेश्वरमा विश्वास गरेर मुक्ति प्राप्त गर्नका लागि, परमेश्वरको काम स्वीकार गरेर अनि मण्डली जीवनमा प्रवेश गरेर, तँ परमेश्वरको व्यवस्थापन कार्यमा पर्ने व्यक्ति, र परमेश्वरले मुक्ति दिनुहुने र सिद्ध पार्नुहुनेहरूमध्येको एक व्यक्ति हुने होइन, र यसको अर्थ यो पनि होइन कि तैँले पहिले नै मुक्ति पाएको हुन्छस्, वा तैँले निश्चित रूपमा मुक्ति पाउनेछस्। यो यस्तो हुँदै होइन। यो त मानव धारणा र कल्पना, साथै मानव तर्क र मूल्याङ्कन मात्र हो।
सङ्क्षेपमा भन त—मैले भर्खरै तिमीहरूलाई बताएको यो कथामा रहेका मानव धारणाहरू के-के हुन्? त्यसको सारांश निकालिसकेपछि, पढेर सुनाओ। (परमेश्वर, हामीले चार वटा धारणामा सारांशीकृत गरेका छौँ: पहिलो, मानिसहरूले के महसुस गर्छन् भने, यदि तिनीहरूसँग उचित इच्छा र पछ्याइहरू छन् र ती हदभन्दा बाहिर जाँदैनन् भने, परमेश्वरले ती पूरा गर्नुपर्छ। दोस्रो, मानिसहरूले के महसुस गर्छन् भने, यदि परमेश्वरले तिनीहरूमा काम गरेर यति ठूलो मूल्य चुकाउनुभएको छ र अझै पनि तिनीहरूले बुझ्दैनन् भने, तिनीहरूलाई जीवनमा यति धेरै कष्ट भोग्न लगाउनुको सट्टा, र तिनीहरूलाई आफै छामछुम गर्दै व्यक्तिगत रूपमा यी कुरा अनुभव गर्न र भोग्न लगाउनुको सट्टा, तिनीहरूलाई तुरुन्तै अन्तर्दृष्टि दिन र जीवनको सही मार्ग देखाउन परमेश्वरले केही अलौकिक कामहरू गर्नुपर्छ। तेस्रो, मानिसहरूमा परमेश्वरको धर्मी स्वभावबारे धारणाहरू हुन्छन्। तिनीहरूले के महसुस गर्छन् भने, यदि परमेश्वरले तिनीहरूमा काम गरेर यति ठूलो मूल्य चुकाउनुभएको छ भने, अन्त्यमा एउटा अन्तिम परिणाम हुनैपर्छ, त्यो हो, परमेश्वरले तिनीहरूलाई प्राप्त गर्नैपर्छ। चौथो, परमेश्वरमाथि मानिसहरूको विश्वासपछाडि आफ्नो भाग्य परीक्षण गर्ने केही न केही मानसिकता हुन्छ।) अझै अरू पनि छन्? कसले भन्न सक्छ? (अर्को धारणा के हो भने, परमेश्वरले यतिका वर्षदेखि काम गरिरहनुभएको छ र यति ठूलो काम गर्नुभएको छ, त्यसकारण उहाँले केही थप मानिसहरू प्राप्त गर्नुपर्छ, र यदि उहाँले थोरै मानिसहरू मात्र प्राप्त गर्नुभयो भने, यो परमेश्वरको काम होइन।) पाँच वटा धारणाहरू भए। अरू पनि छन् कि? (मैले एउटा सोचेको छु, जुन के हो भने, जब मानिसहरूसँग पक्राउ र सतावटमा पर्नेजस्ता केही विशेष अनुभवहरू हुन्छन्, र यस क्रममा तिनीहरूले परमेश्वरसँग केही साँचो अन्तरक्रिया गर्छन् र साँचो गवाही प्राप्त गर्छन्, तब तिनीहरूले यसलाई एक प्रकारको पूँजीको रूपमा लिन्छन् र तिनीहरूसँग त्यस्तो अनुभवात्मक गवाही भएकाले, तिनीहरूले परमेश्वरको अनुमोदन पाउन सक्छन्, र त्यसैले तिनीहरूको बाँच्ने सम्भावना अझ बढी हुनेछ भनेर सोच्छन्।) (साथै, मानिसहरूले आफ्नो काम जति ठूलो भयो र आफूले जति धेरै मूल्य चुकायो, त्यति नै धेरै तिनीहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्छन्, र तिनीहरूले मुक्ति पाउने सम्भावना त्यति नै धेरै हुन्छ भन्ने सोच्छन्।) अर्को शब्दमा भन्दा, मानिसहरूले सोच्छन् कि, तिनीहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्ने सम्भावना तिनीहरूले कति मूल्य चुकाएका छन् भन्ने कुरामा आधारित हुन्छ, र यी दुई कुरा असमानुपातिक वा असम्बन्धित हुनुको सट्टा प्रत्यक्ष रूपमा समानुपातिक हुन्छन्, र यी दुई कुरा आपसमा जोडिएका हुन्छन्—यो एउटा धारणा हो। सात वटा भयो। अरू के छ? (अर्को पक्ष पनि छ, र त्यो के हो भने, मानिसहरू सोच्छन् कि यदि परमेश्वरले तिनीहरूलाई सत्यता बुझाउन चाहनुहुन्छ भने, उहाँले तिनीहरूलाई त्यो बुझाउनका निम्ति अन्तर्दृष्टि दिन सक्नुहुन्छ, र उहाँले मानिसहरूलाई जाँच्नु हुँदैन, वञ्चित गर्नु हुँदैन, दुःख दिनु हुँदैन, किनभने परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, र तिनीहरूलाई दुःख दिनु प्रेम होइन।) यो परमेश्वरको प्रेमबारे एउटा धारणा हो। अरू के-के धारणाहरू छन्? (मानिसहरू सोच्छन् कि परमेश्वरले सबैलाई प्राप्त गर्नुभए बेस हुनेथ्यो। शैतान अपमानित हुनेथ्यो र परमेश्वरले मानवजातिलाई पनि प्राप्त गर्नुभएको हुनेथ्यो। तर वास्तवमा, मानिसहरूले यसरी सोच्नु स्वार्थी र घृणित कुरा हो, र यो तिनीहरूको आफ्नै स्वार्थको लागि हो।) तिनीहरूले परमेश्वरको कामका परिणामहरू उत्कृष्ट हुन्छन् भन्ने कल्पना गरेका हुन्छन्। यो एउटा धारणा हो। मानिसहरूको त्यो स्वार्थी र घृणित उद्देश्यबाहेक, तिनीहरूले के पनि विश्वास गर्छन् भने, परमेश्वरले गर्नुहुने यी सबै कुराको सुरुवात र अन्त्य हुनुपर्छ, र परिणाम उत्कृष्ट हुनुपर्छ, त्यो तिनीहरूको चाहनाअनुरूप हुनुपर्छ, र तिनीहरूको कल्पनासँग, र सुन्दर कुराहरूप्रति तिनीहरूको तृष्णासँग मेल खाने हुनुपर्छ। तर, जब परमेश्वरको काम समाप्त हुन्छ, तब तथ्यहरू मानिसहरूको कल्पनासँग प्राय मेल खाँदैनन्, र यो सबैको परिणाम मानिसहरूले कल्पना गरेजस्तो सिद्ध नहुन सक्छ। अवश्य नै, मानिसहरू परमेश्वरको काम समाप्त भएपछि त्यति धेरै मानिसहरू बाँकी नरहेको पनि हेर्न चाहँदैनन्, जसरी व्यवस्थाको युगमा परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने अय्यूबजस्ता थोरै मात्र विश्वासीहरू थिए। मानिसहरूलाई लाग्छ कि, परमेश्वरको कामको परिणाम यस्तो हुनु हुँदैन, किनभने परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र तिनीहरूले परमेश्वरको सर्वशक्तिमान्तालाई यसरी नै परिभाषित गर्छन्। परमेश्वरको सर्वशक्तिमान्ताको यो परिभाषा आफैमा एउटा धारणा हो, यो मानिसहरूले कल्पना गरेको सिद्धवादको अवधारणा हो, र परमेश्वरले के गर्न चाहनुहुन्छ भन्ने कुरासँग र परमेश्वरको काम गर्ने सिद्धान्तहरूसँग यसको कुनै सम्बन्ध छैन। अरू के-के धारणाहरू छन्? (जब मानिसहरूले परमेश्वरमा विश्वास गर्छन्, तिनीहरूले आफूले हिँडिरहेको मार्गबारे मनन गर्दैनन्, न त आफूले कसरी भ्रष्टता फाल्न र मुक्ति प्राप्त गर्न सक्छु भन्नेबारे नै मनन गर्छन्। यसको साटो, तिनीहरूले परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ र यदि परमेश्वरले मानिसहरूलाई परिवर्तन गर्न लगाउँछु भनेर भन्नुभयो भने, तिनीहरू परिवर्तन हुनेछन् भन्ने सोच्छन्।) परमेश्वरले मानिसहरूलाई कसरी परिवर्तन हुने भनेर बताउनुहुन्छ, तर मानिसहरूले उहाँका वचनहरूलाई व्यवहारमा लागु गर्दैनन्, र तिनीहरूले आफूलाई परिवर्तन गर्दैनन्, र तिनीहरू निरन्तर आफूलाई समस्याबाट बचाउन चाहन्छन् र परमेश्वरले तिनीहरूलाई परिवर्तन गर्नुहोओस् भन्ने चाहन्छन्। यो एक प्रकारको खोक्रो कल्पना हो, र एक प्रकारको धारणा हो। अझै अरू पनि छन्? (मानिसहरू सोच्छन् कि जसले आफ्नो जीवनमा धेरै दुःख भोगेको छ र धेरै ठक्कर खाएको छ, उसले अन्त्यमा राम्रो परिणाम पाउनुपर्छ, र परमेश्वरले उसलाई त्याग्नु हुँदैन। अन्त्यमा, जब परमेश्वरले यो व्यक्तिलाई प्राप्त गर्नुहुन्न र उहाँले उसलाई त्याग्न चाहनुहुन्छ, तब मानिसहरूले परमेश्वरले गर्नुभएका यी सबै कुराहरूलाई हेरेर “असल व्यक्ति” को दृष्टिकोण अपनाउनेछन्, र परमेश्वरका कार्यहरू तिनीहरूको भावनालाई ख्याल गर्दै नगर्ने र अत्यन्तै निर्मम किसिमका छन् भन्ने महसुस गर्नेछन्।) यसमा रहेको समस्या के हो? तिमीहरूले यो धारणाहरूको समस्या हो भनेर उल्लेख नगरी केही मामिलाहरू र तिमीहरूका केही अवधारणात्मक बुझाइहरू मात्र बतायौ। यहाँ मानिसहरूको मुख्य धारणा के हो? मानिसहरूले सोच्छन् कि परमेश्वरले कुनै व्यक्तिलाई ऊ कति दयनीय छ र उसले कति कष्ट भोगेको छ भन्ने आधारमा मुक्ति दिनुहुन्छ। मानिसहरूले सोच्छन् कि परमेश्वरले अन्त्यमा व्यक्तिको परिणाम तय गर्दा, उहाँले आफ्नो कृपालु हृदय, र उहाँको सदाशयता, सहिष्णुता, प्रेम र दया देखाउनुपर्छ, किनभने यो व्यक्तिले धेरै कष्ट भोगेको छ र उसको जीवन अत्यन्तै दयनीय छ। चाहे त्यो व्यक्तिले सत्यता बुझोस् वा नबुझोस्, र ऊ परमेश्वरमा जतिसुकै समर्पित होस्, मानिसहरू सोच्छन् कि परमेश्वरले ती कुराहरूलाई ख्याल गर्नु हुँदैन, बरु उहाँले त्यो व्यक्ति कति दयनीय छ भनेर ख्याल गर्नुपर्छ, र उसले धेरै पीडा भोगेको छ, र उसले आफ्नो सपनालाई दृढतापूर्वक पक्रिरहेको छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ, र उसलाई अपवादका रूपमा मुक्ति पाउन दिनुपर्छ—यो मानिसहरूको एउटा धारणा हो। मानिसहरूले “पर्छ” भन्ने शब्द धेरै प्रयोग गर्छन्, र परमेश्वरले के गर्नुपर्छ भनेर निर्धारण गर्न र परमेश्वरका कार्यहरू परिभाषित गर्न तिनीहरूले यी सबै “पर्छ” भन्ने शब्दहरू प्रयोग गर्छन्। जब तथ्यहरूले परमेश्वरले यसरी काम गर्नुभएको छैन भनेर खुलासा गर्छन्, तब मानिसहरू र परमेश्वरबीच मतभेद उत्पन्न हुन्छ, र मानिसहरूमा परमेश्वरबारे गलतफहमी उत्पन्न हुन्छ। त्यसोभए, के यो गलतफहमी मात्र हो त? मानिसहरूको विद्रोहीपन पनि यसैबाट उत्पन्न हुन्छ। धारणाहरूले मानिसहरूमा ल्याउने खराबी र परिणामहरू यिनै हुन्।
हाम्रो छलफल धारणाहरूमा केन्द्रित छ। हामीले भर्खरै कुरा गरेको कथामार्फत, मानिसहरूले के देख्न सक्छन् भने, परमेश्वरले योजनाबद्ध गर्नुभएका सबै कुरा मापन गर्न प्रमुख पात्रले धेरै धारणाहरू प्रयोग गरी, र मुख्य पात्रको जीवनमा जे-जे भए र परमेश्वरले उसलाई जस्तो व्यवहार गर्नुभयो त्यसको परिणामस्वरूप, मानिसहरूले परमेश्वरबारे धेरै विचार विचारहरू विकास गर्छन् र उहाँमाथि मागहरू थोपर्छन्—ती सबै धारणाहरू हुन्। मलाई भन त, मानिसहरूसँग अरू के-कस्ता धारणाहरू हुन्छन्? (मानिसहरूले सोच्छन् कि परमेश्वरले यति ठूलो काम गर्नुभएको हुनाले, उहाँले अझ धेरै मानिसहरू प्राप्त गर्नुपर्छ। तर परमेश्वरले भन्नुहुन्छ कि यदि उहाँले थोरै मानिसहरू मात्र प्राप्त गर्न सक्नुभयो भने, त्यति नै प्राप्त गर्नुहुनेछ, त्यसकारण मानिसहरूले परमेश्वरले धेरै मानिसहरू प्राप्त गर्न मन पराउनुहुन्न भन्ने सोच्छन्, र त्यसैले तिनीहरूले पछ्याउन छोड्छन्।) धारणाहरूले मानिसहरूको पछ्याइमा असर गर्छन्। यहाँ एउटा कुरा सच्याउनैपर्छ। परमेश्वरले धेरै मानिसहरू प्राप्त गर्न मन पराउनुहुन्न भन्ने होइन, उहाँले त्यो कुरा मन पराउनुहुन्छ। यहाँ एउटा प्रश्न छ। परमेश्वरले अन्त्यमा मानिसहरूको परिणाम निर्धारण गर्नुहुँदा, परमेश्वरले कुन आधारमा अब तिनीहरूमाथि काम गर्दिनँ, बरु तिनीहरूलाई त्याग्छु भनेर भन्नुहुन्छ? यसमा परमेश्वरको एउटा मानक हुन्छ, जुन एउटा सिद्धान्त र आधारभूत सर्त पनि हो। यदि तँसँग यस मानक, सिद्धान्त, वा आधारभूत सर्तबारे धारणाहरू छन्, वा तैँले यसलाई स्पष्ट रूपमा देख्न सक्दैनस् भने, तँभित्र परमेश्वरप्रति केही प्रतिरोध वा परमेश्वरबारे केही कल्पनाहरू उत्पन्न हुनेछन्। कतिपय मानिसहरू भन्छन्, “परमेश्वरले उसमा धेरै मेहनत लगाउनुभयो र पनि ऊ परिवर्तन भइन र उसले आफ्नो इच्छा छोडिन, र त्यसैलाई पक्रिरही, र ऊ परमेश्वरसामु आइन, त्यसैले परमेश्वरले उसलाई त्याग्नुभयो।” के परमेश्वरले उसलाई त्याग्नुको मुख्य कारण यही हो? (होइन।) त्यसोभए, मुख्य कारण के थियो त? यो कथाको अन्त्यमा, जब मुख्य पात्र वृद्धा भई, तब उसको रूप परिवर्तन भए पनि, र वर्ष बित्दै जाँदा ऊ बुढी भए पनि, र समय परिवर्तन भए पनि, उसको इच्छा र उसका यी लगभग अस्पष्ट भ्रमहरू अपरिवर्तित रहे। त्यसोभए, के कुराले उसलाई त्यस्तो इच्छामा अडिग रहन बाध्य पार्यो त? (हठी, र विद्रोही स्वभावले।) ठीक भन्यौ, उसले सत्यतालाई प्रेम नगरेकी, सत्यता नपछ्याएकी, परमेश्वरका वचनहरूलाई नस्विकारेकी, र सत्यता अभ्यास नगरेकी भएर नै यस्तो परिणाम निम्तिएको थियो। उसको अहङ्कार, हठ र जिद्दी जस्ता भ्रष्ट स्वभावहरूले उसलाई आफ्नै इच्छा र आकाङ्क्षाहरूमा अडिग रहन बाध्य बनाएको, र उसलाई आफ्ना आकाङ्क्षाहरू त्याग्नबाट रोकेको हो। यो के कारणले भएको थियो? यो उसका भ्रष्ट स्वभावहरूका कारणले भएको थियो। त्यसोभए, जब परमेश्वरले कुनै व्यक्तिलाई बाटोको अन्त्यमा पुगेको, र उसको स्वभाव अझै पनि हठी, अहङ्कारी र जिद्दी नै रहेको देख्नुहुन्छ, तब यसको अर्थ के हुन्छ? परमेश्वरको कामको सिलसिलामा, बाहिरबाट हेर्दा यो व्यक्तिले परमेश्वरलाई पछ्याइरहेको र आफ्नो कर्तव्य निर्वाह गरिरहेको जस्तो देखिए पनि, उसले आफूले गर्ने सबै कुरामा परमेश्वरका वचनहरूको अभ्यास र अनुभव गर्दैन, र सारमा ऊसँग बिलकुलै जीवन प्रवेश प्राप्त गर्दैन। त्यसोभए, के यस्ता मानिसहरूले साँच्चै परमेश्वरको काम स्विकार्ने र त्यसमा समर्पित हुने गर्छन् त? (गर्दैनन्।) ठीक भन्यौ। यसको परिणामस्वरूप अन्ततः परमेश्वरले तिनीहरूलाई त्याग्नुहुन्छ। तिनीहरू आफ्नो सम्पूर्ण जीवन मार्गबाट गुज्रिएका थिए, र आफ्नो जीवनकालमा तिनीहरू परमेश्वरसामु आएका र तिनीहरूले यो सबै कुरा योजनाबद्ध गर्ने सृष्टिकर्ता नै हुनुहुन्छ, र मानिसहरूको नियति बन्दोबस्त गर्ने सृष्टिकर्ता नै हुनुहुन्छ भनेर पनि बुझेका थिए, तर तिनीहरूले परमेश्वरलाई पछ्याएको र परमेश्वरका वचनहरू सुनेको अवधिमा, तिनीहरूको हठी, अहङ्कारी र जिद्दी स्वभाव अन्त्यसम्म पनि बिलकुलै परिवर्तन भएन, त्यसैले यो परिणाम स्वतःस्पष्ट छ। यो कसैलाई त्याग्नका लागि परमेश्वरको अन्तिम मानक हो—परमेश्वरको सिद्धान्त—हो। मानिसहरूमा जे-जस्ता दृष्टिकोणहरू भए पनि, वा तिनीहरूले परमेश्वरको यो सिद्धान्त र यो मानकबारे जे मूल्याङ्कन गरे पनि, उहाँ मानिसहरूबाट प्रभावित हुनुहुनेछैन र उहाँले जे गर्नुपर्ने हो त्यही गर्नुहुनेछ। यदि तँ यो व्यक्तिसँग सङ्गत गर्दैनस् र तैँले यो व्यक्तिको भित्री सार र उसको स्वभाव के हो भनेर बुझ्दैनस्, बरु उसको बाहिरी रूपलाई मात्र ख्याल गर्छस् भने, तैँले परमेश्वरका कार्यहरूको सिद्धान्त र जड कहिल्यै बुझ्नेछैनस्, र तैँले यो व्यक्तिको सन्दर्भमा परमेश्वरका कार्यहरू र उहाँको निर्णयबारे आलोचना गर्नेछस्। म तिमीहरूलाई सोध्न चाहन्छु, परमेश्वरले यस्तो दयनीय व्यक्तिलाई, जीवनमा हरप्रकारको पीडा अनुभव गरेको, जीवनभर पीडा अनुभव गरेको यस्तो व्यक्तिलाई किन यस्तो व्यवहार गर्नुहुन्छ? परमेश्वरले तिनीहरूलाई किन त्याग्नुहुन्छ? यो कसैले पनि हेर्न नचाहने नतिजा हो, तर यो वास्तवमा एउटा तथ्य नै हो र यो वास्तवमै विद्यमान छ। परमेश्वरले तिनीहरूलाई यस्तो व्यवहार गर्नुको कारण के हो? यदि परमेश्वरले त्यस्तो व्यक्तिमा थप दश वर्ष काम गर्नुभएको भए, त्यो व्यक्तिको पछ्याइ, उसको स्वभाव र उसले लिने बाटोलाई हेर्दा, के त्यो व्यक्ति परिवर्तन हुन्थ्यो त? (हुन्थेन।) यदि उहाँले तिनीहरूमा थप ५० वर्ष काम गर्नुभएको भए र तिनीहरूलाई अलिक लामो आयु दिनुभएको भए, के तिनीहरू परिवर्तन हुनेथिए त? (हुनेथिएनन्।) तिनीहरू किन परिवर्तन हुनेथिएनन्? (तिनीहरूको प्रकृति सारले नै तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन् भन्ने कुरा निर्धारित गर्छ, त्यसैले तिनीहरूले थप जतिसुकै वर्ष परमेश्वरमा विश्वास गरे पनि तिनीहरू परिवर्तन हुनेछैनन्।) यसलाई अझै सटीक रूपमा कसले भन्न सक्छ? (तिनीहरूले लिइरहेको मार्ग गलत छ, यो सत्यता पछ्याउने मार्ग होइन। यसको मतलब तिनीहरूले परमेश्वरमा जति वर्ष विश्वास गरे पनि, यो अर्थहीन हुनेछ। तिनीहरूले थप १०-२० वर्ष परमेश्वरमा विश्वास गरे पनि, तिनीहरूले लिने मार्ग र तिनीहरूको जीवन दिशा परिवर्तन हुनेछैन।) कुरा ठ्याक्कै त्यही हो। तिनीहरूभित्र धारणा र कल्पनाहरू हुन्छन्। तिनीहरूले सत्यता पछ्याउने, वा सत्यता बुझ्न खोज्ने, वा सत्यतामा प्रवेश गर्न खोज्ने गर्दैनन्। तिनीहरूले निरन्तर पछ्याइरहेको देखाउन मात्र खोज्छन्, तर तिनीहरूको सार पूर्ण रूपमा अपरिवर्तित नै रहन्छ। तिनीहरूले १०-२० वर्ष, वा ३० वा ५० वर्षसम्म सत्यता नपछ्याई परमेश्वरमा विश्वास गर्छन् र अझै पनि सत्यता पछ्याउँदैनन्, र तिनीहरूले अन्त्यमा जे प्रकट गर्छन् र जे जिउँछन् त्यो कहिल्यै परिवर्तन हुँदैन। यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ, र तिनीहरूको स्वभाव नै यस्तै हुन्छ। यो कहिल्यै परिवर्तन भएको हुँदैन, र परमेश्वरबारे तिनीहरूका धारणा र कल्पनाहरू कहिल्यै परिवर्तन भएका हुँदैनन्। त्यसोभए, के परमेश्वरसँग त्यस्तो व्यक्तिलाई निराकरण गर्ने सिद्धान्तहरू छन् त? धेरै छन्। मानिसहरू सधैँ आफू असल मानिस हुँ भन्ने ढोँग गर्छन्, र आफू कति सहनशील र महान् छु भन्ने सोच्छन्। तर के तेरो सहनशीलता परमेश्वरको सहनशीलताजत्तिकै ठूलो छ त? के तेरो प्रेम परमेश्वरको प्रेमजत्तिकै ठूलो छ त? (छैन।) त्यसोभए परमेश्वरको सहनशीलता के हो? परमेश्वर सहनशील र प्रेमिलो हुनुहुन्छ भनेर तैँले कसरी भन्न सक्छस्? परमेश्वरले मानिसहरूलाई आफूसामु ल्याउन, आफ्ना वचनहरू सुन्न र बुझ्न लगाउन, र उहाँले तोक्नुभएको तरिकाले जीवनमा अघि बढ्न र अभ्यास गर्न लगाउन तिनीहरूलाई फाइदाजनक हुने विभिन्न उपायहरू प्रयोग गर्नुहुन्छ। तर त्यो व्यक्तिले स्वीकार गर्दैन, र अन्त्यसम्मै आफ्नै विचारमा अडिग रहिरहन्छ। त्यसोभए के परमेश्वरले तिनीहरूको जीवन अनुभवको क्रममा तिनीहरूलाई त्याग्नुहुन्छ त? (त्याग्नुहुन्न।) परमेश्वरले त्याग्नुहुन्न। तिनीहरूको जीवनको हरेक चरणमा, उहाँले तिनीहरूका लागि गर्नुहुने सबै कुरामा र उहाँले तिनीहरूलाई अनुभव गर्न लगाउनुहुने सबै कुरामा, परमेश्वरले आफ्नो जिम्मेवारीलाई अन्त्यसम्मै गम्भीरतापूर्वक लिनुहुन्छ। अन्त्यसम्मै जिम्मेवारी लिनुमा परमेश्वरको उद्देश्य के हो? राम्रो परिणाम देख्न पाइयोस्, व्यक्तिका लागि सन्तोषजनक र स्वीकार्य परिणाम देख्न पाइयोस्, ताकि उसले आफूले चाहेको साँचो खुसी प्राप्त गर्न सकोस् भन्ने हो—यो परमेश्वरको सहनशीलता हो। तर अन्त्यमा परमेश्वरले कस्तो परिणाम देख्नुहुन्छ? के परमेश्वरले अन्त्यमा आफूले हेर्न चाहेको परिणाम देख्नुहुन्छ? (देख्नुहुन्न।) उहाँले यस्तो परिणाम देख्नुहुन्न, र पहिलेदेखि नै कुनै पनि आशा देखिन छोडेको हुन्छ। परमेश्वरले कुनै आशा नदेख्नुले के सङ्केत गर्छ? यसको अर्थ परमेश्वरसँग अब यो व्यक्तिमा कुनै आशा छैन भन्ने हुन्छ। मानवजातिको शब्दमा भन्नुपर्दा, उहाँको आस मरेको हुन्छ। यदि अलिकति मात्र आशाको किरण छ भने पनि, परमेश्वरले हार मान्नुहुनेछैन। यो परमेश्वरको सहनशीलता र परमेश्वरको प्रेम हो। परमेश्वरले खोक्रा वचनहरू मात्र बोल्नुको सट्टा मानिसहरूलाई व्यावहारिक रूपमा नै आफ्नो सहनशीलता र प्रेम प्रदान गर्नुहुन्छ। अन्त्यमा, परमेश्वरले यो व्यक्तिमा उसको भ्रष्ट स्वभाव परिवर्तन भएको छैन, उसको जिद्दीपन अझै कायमै छ, र उसको इच्छा हृदयको गहिराइमा रहिरहेको छ भन्ने देख्नुहुन्छ। यो व्यक्तिले आशिष् पाउन चाहने भए पनि परमेश्वरसामु आउँदा उसले कुनै कुरा छोड्दैन। बरु, ऊ सम्पूर्ण जीवनभर यही तुच्छ इच्छामा लागिरहन्छ, र सम्पूर्ण जीवनभर यसैमा अडिग रहिरहन्छ, र सम्पूर्ण जीवनभर यसलाई कसिलो रूपमा अँठ्याइरहन्छ। झट्ट हेर्दा, यो व्यक्तिले आफूलाई पूर्ण रूपमा परमेश्वरमा सुम्पिन्छ, र आफ्नो जीवन र आफ्ना सबै नातेदारहरूलाई पूर्ण रूपमा परमेश्वरमा सुम्पिन्छ। तर वास्तविकता के हुन्छ? तिनीहरू आफ्नै नियन्त्रणमा रहन चाहन्छन्, आफ्नो वरपरका मानिसहरू, आफन्तहरू, र आफैलाई नियन्त्रणमा राख्न चाहन्छन्, र साथै तिनीहरू एकअर्कामा भर पर्न चाहन्छन्—तिनीहरूले वास्तवमा यो सबै कुरा परमेश्वरलाई सुम्पिदैनन्। तैँले यसलाई जुनसुकै तरिकाले हेरे पनि, यो व्यक्तिले लिने मार्ग परमेश्वरको मार्ग पछ्याउने मार्ग होइन, न त यो सचेत रूपमा परमेश्वरका मागहरू पूरा गर्ने मार्ग नै हो। उसले परमेश्वरको मार्ग पछ्याउने बाटो किमार्थ लिँदैन। उसले धेरै दुःख भोगेको हुन्छ र आफ्नो जीवनमा धेरै असाधारण कुराहरू अनुभव गरेको हुन्छ, तर यसले अझै पनि उसलाई आफूले कोरेको जीवनको सुन्दर र खुसीयालीपूर्ण तस्बिर त्याग्ने तुल्याएको हुँदैन, न त यसले उसलाई कुनै पनि हिसाबले चिन्तन गर्ने नै तुल्याएको हुन्छ। यो कस्तो किसिमको व्यक्ति हो? यस्ता मानिसहरू अत्यन्तै हठी हुन्छन्। यदि मानिसहरूले सत्यता पछ्याउँदैनन् र जीवनमा सही मार्ग अनुसरण गर्दैनन् भने, अन्तिम परिणाम यही हुन्छ। अन्त्यमा, परमेश्वरले जे गर्नुभएको हुन्छ उहाँले गर्न सक्ने नै त्यति हो। यो पहिले नै मानिसहरूको कल्पनाभन्दा पर गइसकेको र तिनीहरू पुग्न सक्ने हदभन्दा बाहिर पुगिसकेको हुन्छ। परमेश्वरले मानिसहरूलाई अति धेरै दिनुभएको छ। मानिसहरूको भ्रष्टता, तिनीहरूको स्वभाव र परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्तिअनुसार त तिनीहरू यी कुराहरू पाउन योग्य नै छैनन्, र तिनीहरू यी आशिष्हरू पाउन योग्य नै छैनन्। तर के परमेश्वरले हार मान्नुहुन्छ त? परमेश्वरले हार मान्नुअघि धेरै काम गर्नुहुन्छ। परमेश्वरले तिनीहरूमाथि निर्बाध रूपमा आफ्नो प्रेम, कृपा, अनुग्रह र आशिष्हरू बर्साउनुहुन्छ। तर तिनीहरूले परमेश्वरबाट यी कुराहरू प्राप्त गरिसकेपछि, त्यसको बदलामा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू अझै पनि उहाँबाट तर्किन्छन् र उहाँबाट टाढै बस्छन्, र प्राय भित्री रूपमा उहाँमाथि शङ्का गरिरहन्छन्, उहाँबाट सतर्क भइरहन्छन्, उहाँको प्रतिरोध गर्छन्, र हार मान्छन्। व्यक्तिले किन सुखी जीवन सिर्जना गर्न निरन्तर अरूमा भर पर्न चाहन्छ? तिनीहरूले आफैलाई परमेश्वरमा विश्वास गराउन सक्दैनन्। तिनीहरू परमेश्वरले मानिसहरूलाई सही मार्गमा डोर्याउन र तिनीहरूलाई खुसी बनाउन सक्नुहुन्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरूलाई सधैँ आफ्नै बाटो सही हो भन्ने लाग्छ। यदि परमेश्वरले तिनीहरूलाई तिनीहरूले नै रोजेको मार्गअनुसार र तिनीहरूकै मागहरूअनुसार आफ्ना लक्ष्यहरू पूरा गर्न सहयोग र अगुवाइ गर्न सक्नुहुन्थ्यो भने, तिनीहरूले स्वीकार र समर्पण गर्नेथिए। तर, परमेश्वरले मानिसहरूलाई उहाँकहाँ फर्काउन सत्यता व्यक्त गर्नुहुन्छ, ताकि तिनीहरूले सत्यता स्वीकार गर्न र अर्थपूर्ण जीवन जिउन सकून्, र यो कुरा व्यक्तिका धारणाहरूसँग बाझिन्छ। त्यसकारण, तिनीहरू आफ्नै मार्गमा हिँड्न र आफ्नै जीवन जिउन चाहन्छन्। तिनीहरूले सोच्छन् कि तिनीहरू बस आफूमा र अरूमा भर पर्नुपर्छ, परमेश्वरमा भर परेर आफ्ना लक्ष्यहरू प्राप्त गर्न सकिँदैन। मानिसहरूले परमेश्वरका अभिप्रायहरू नबुझ्ने र आफ्नै धारणाहरू पक्रिबस्ने हुनाले, तिनीहरू परमेश्वरबाट झन्झन् टाढा जान्छन्। जसले परमेश्वर नै सत्यता, मार्ग र जीवन हुनुहुन्छ भनेर देख्छन्, जसले मानिसहरू चरम रूपमा भ्रष्ट छन् र तिनीहरूलाई परमेश्वरको मुक्तिको खाँचो छ भनेर देख्छन्, र जसले परमेश्वरले गर्नुहुने सबै कुरा मात्र सत्यता हुन्छ, र यो सबको उद्देश्य मानवजातिलाई शैतानको प्रभावबाट बचाउने र मानवजातिलाई सुन्दर गन्तव्यमा ल्याउने हो भनेर देख्छन्—त्यस्ता मानिसहरूले मात्र परमेश्वरलाई आदरभावले हेर्न, उहाँमा भरोसा गर्न, उहाँलाई अन्त्यसम्मै पछ्याउन, र उहाँलाई कहिल्यै नछाड्न सक्छन्।
हामीले भर्खरै व्यक्तिप्रति परमेश्वरको मनोवृत्ति, र मानिसहरूमाझ र मानिसहरूमाथि काम गर्ने परमेश्वरका विभिन्न तरिकाहरूबारे पनि सङ्गति गर्यौँ। यदि मानिसहरूले यी कुराहरूबारे धारणाहरू विकास गर्छन् भने, तिनीहरूले बारम्बार आफैलाई जाँच्ने, मनन गर्ने, बुझ्ने, र परिवर्तन गर्ने गर्नुपर्छ। आफैलाई परिवर्तन गर्नुको उद्देश्य के हो? यदि मानिसहरूले यिनीहरू धारणा र कल्पना हुन् भनेर अनि परमेश्वरले वास्तवमा कसरी काम गर्नुहुन्छ भनेर बुझे भने, के तिनीहरूले अझै पनि परमेश्वरबारे अझ बढी गलत र विकृत धारणाहरू विकास गर्ने सम्भावना हुन्छ? यो अझै पनि सम्भव हुन्छ, किनभने मानिसहरू विद्रोही हुन्छन् र तिनीहरूमा सक्रिय सोचहरू हुन्छन्, त्यसैले तिनीहरूले परमेश्वरबारे अनेकथरी धारणाहरू विकास गर्ने सम्भावना हुन्छ। एउटा धारणाले अर्को धारणा जन्माउँछ, र त्यसले फेरि अरू धारणाहरू जन्माउँछ, र यसरी हरप्रकारका धारणाहरू निरन्तर देखा परिरहन्छन्। मानिसहरूले परमेश्वरबारे धारणाहरू विकास गरिरहेका बेला, तिनीहरूले निरन्तर उहाँलाई गलत रूपमा पनि बुझिरहेका हुन्छन्, साथै तिनीहरूले मनन गरिरहेका, र त्यसपछि निरन्तर सत्यता बुझिरहेका हुन्छन्, र यस क्रममा तिनीहरूले बिस्तारै परमेश्वरलाई चिन्न थाल्छन्। मानिसहरूले परमेश्वरबारे ज्ञान प्राप्त गर्न नसक्नुको कारण के हो? तिनीहरूलाई धारणाहरू के हुन् भन्ने नै थाहा हुँदैन, र तिनीहरूले आफूभित्रका धारणाहरू नै चिन्दैनन्, न त तिनीहरूले आफ्ना धारणाहरूबारे मनन नै गर्छन्, न त तिनलाई कहिल्यै त्याग्छन्। तिनीहरू केवल तिनलाई पक्रिरहनमा ध्यान दिन्छन्, तर परमेश्वरले कसरी काम गर्नुहुन्छ, वा परमेश्वरको कामको सार के हो भनेर सिक्ने वा बुझ्ने प्रयास कहिल्यै गर्दैनन्। यस तरिकाले, मानिसहरूका भ्रष्ट स्वभावहरूबाहेक, परमेश्वर र मानिसहरूबीच अझै अर्को कुरा आउँछ जसले मानिसहरूको मुक्तिमा पनि असर गर्छ। त्यसकारण, आफ्ना भ्रष्ट स्वभावहरूलाई सम्हाल्ने क्रममा, मानिसहरूले मानव धारणाहरू भनेका के हुन् भनेर अझै राम्रो र विस्तृत बुझाइ प्राप्त गर्नु आवश्यक छ। मानव धारणाहरू बुझ्नु र समाधान गर्नुको उद्देश्य के हो? के यसको उद्देश्य तिनलाई त्याग्नु हो? यसको उद्देश्य मानिसहरू सकेसम्म चाँडो सत्यता वास्तविकतामा प्रवेश गर्न सकून्, र परमेश्वरले मानिसहरूलाई के कुरामा प्रवेश गराउन चाहनुहुन्छ र परमेश्वरले कसरी कामकुरा गर्नुहुन्छ भनेर मानिसहरूले बुझून् भन्ने हो। यदि परमेश्वरले तैँले कल्पना गरेको तरिकाले काम गर्नुभयो भने, के तँमाथि परमेश्वरले गर्नुहुने काम प्रभावकारी हुन सक्छ? अहँ, हुन सक्दैन। उदाहरणका लागि, त्यस्ता केही कुराहरू छन् जसका बारेमा परमेश्वरले तँलाई कहिल्यै अन्तर्दृष्टि दिनुहुन्न। बरु, उहाँले ती कसरी गर्ने भनेर स्पष्ट रूपमा बताउनुहुन्छ, र तैँले बस गएर ती कुराहरू गर्नुपर्छ। तर तँ सधैँ परमेश्वरले तँलाई उत्प्रेरित गर्नुहोला र अन्तर्दृष्टि दिनुहोला भनेर पर्खिन्छस्, र परिणामस्वरूप, यो प्रतीक्षाले काममा ढिलाइ गराउँछ, तैँले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्दैनस्, र अन्त्यमा तँ बर्खास्त हुन पुग्छस्। यसको कारण के हो? (धारणाहरू।) अहिले यसलाई हेर्दा, के मानिसहरूका धारणाहरूले तिनीहरूको प्रवेशमा असर गर्छन्? (गर्छन्।) तिनले यसलाई कति हदसम्म असर गर्छन्? कम्तीमा पनि, तिनले सत्यताबारे मानिसहरूको बुझाइ र तिनीहरूको वास्तविकता प्रवेशमा असर गर्छन्; खराब स्थितिमा, तिनले मानिसहरूको सही छनौटहरूमा असर गर्छन् र तिनीहरूलाई सजिलै गलत मार्ग लिनतर्फ डोर्याउँछन्। मानिसहरूले परमेश्वरलाई गलत बुझ्ने सम्भावना त्यसबेला सबैभन्दा बढी हुन्छ जुनबेला तिनीहरूसँग धारणाहरू हुन्छन्। उदाहरणका लागि, परमेश्वरले सकारात्मक परिणामहरू हासिल गर्न मानिसहरूलाई काटछाँट गर्नुहुन्छ, न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, ताकि तिनीहरूले आफूलाई अझ राम्रोसँग बुझून् र साँचो रूपमा पश्चात्ताप गरून्। तर, मानिसहरू सोच्छन् कि परमेश्वर जानीजानी तिनीहरूविरुद्ध उभिनुहुन्छ, र जानीजानी तिनीहरूलाई खुलासा गर्न र हटाउन चाहनुहुन्छ। परमेश्वरले जे भन्नुभए पनि वा जे गर्नुभए पनि, तिनीहरूले सधैँ उहाँबारे सबैभन्दा नराम्रो नै सोच्छन्, र परमेश्वरसँग तिनीहरूप्रति कुनै प्रेम नै छैन भन्ने सोच्छन्, साथै तिनीहरूले सत्यता अभ्यास गर्नेहरूलाई समेत मूर्खलाई जस्तो व्यवहार गर्छन्। परमेश्वरले मानिसहरूलाई सही मार्ग देखाउनुहुन्छ र तिनीहरूलाई सत्यता अभ्यास गर्न र ज्योतिमा जिउन दिनुहुन्छ, तर तिनीहरूले शैतानी दर्शन र शैतानी तर्कअनुसार अन्धकारमा जिउन रोज्छन्। तसर्थ, तिनीहरू हिँड्ने मार्ग मुक्तिको मार्ग होइन। यदि तँ परमेश्वरविरुद्ध जान जिद्दी गर्छस् भने, के तँ परमेश्वरको कामबाट झन्झन् टाढा गइरहेको हुँदैनस् र? जब तँ मुक्तिको मार्ग झन्झन् टाढा जान्छस्, तब तँलाई पूर्ण रूपमा हटाइनेछ। बाइबलमा एउटा भनाइ छ: “मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)। के मृत्यु गम्भीर कुरा हो? आखिरी दिनहरूको सन्दर्भमा, मर्नु गम्भीर कुरा होइन, तर नाश हुनु गम्भीर कुरा हो। मर्नुको अर्थ नाश हुनु होइन, जबकि नाश हुनुको अर्थ परिणाम नआउनु—सदाको लागि मर्नु हो। विगतमा, मानिसहरू मूर्खताबाट मर्न सक्छन् भनेर भनिन्थ्यो। तर आजकल, मूर्खता ठूलो कुरा होइन। मूर्खतापूर्ण कामकुरा कसले गर्दैन र? मर्नु पनि ठूलो कुरा होइन, किनभने मरेको भन्दैमा नाश भइन्छ भन्ने होइन। त्यसोभए, मानिसहरू किन नाश हुन्छन् त? मानिसहरू आफ्नो जिद्दीपन र अटेरीपनका कारण नाश हुन्छन्, जुन मूर्खताबाट मर्नुभन्दा धेरै गम्भीर कुरा हो, किनभने त्यसबाट कुनै परिणाम आउँदैन। जिद्दीपन र अटेरीपनले मानिसहरूलाई नाश हुने अवस्थामा पुर्याउन सक्छ भनेर म किन भन्छु त? यो मानिसहरूले लिने मार्गको मामिलासँग सम्बन्धित छ। जिद्दीपन कस्तो किसिमको स्वभाव हो? हठीपन। हठी स्वभाव हुनु अत्यन्तै समस्याजनक कुरा हो। कहिलेकाहीँ मानिसहरूले कुरा बुझ्दैनन् र यसरी नै काम गर्न चाहन्छन्, तर कहिलेकाहीँ तिनीहरूले कुरा बुझ्छन् र पनि परमेश्वरका मागहरू पालन नगरी यसरी नै काम गर्न चाहन्छन्। यसको साथै, अटेरीपन पनि एक प्रकारको स्वभाव—अर्थात्, समझ अभेद्यता—हो र यसमा अहङ्कार र क्रूरता समावेश हुन्छ। यदि यी दुई स्वभावहरू परिवर्तन भएनन् भने, यिनले अन्त्यमा व्यक्तिलाई नाश गराउन सक्छन्। के यो साधारण कुरा हो? के तिमीहरूले यसलाई आफैमा लागू गर्न सक्छौ? अहङ्कारी र क्रूर स्वभावले मानिसहरूलाई के गर्न प्रेरित गर्न सक्छ भनेर तिमीहरूले बुझ्नुपर्छ। मानिसहरूले गर्ने सबै कुरा, चाहे तिनीहरू जोसुकै होऊन्, ती परमेश्वर, सृष्टिकर्ताकै अगाडि गरिन्छ, र परमेश्वरले उहाँको धर्मी स्वभावअनुसार मानिसहरूको फैसला गर्नुहुनेछ। त्यसकारण, अहङ्कारी र क्रूर स्वभाव भएका मानिसहरूका हकमा भन्नुपर्दा, तिनीहरूले गर्ने कामका परिणामहरू के-के हुन्? किन यिनलाई अपरिवर्तनीय परिणामहरू हुन् भनेर भन्न सकिन्छ? यो कुरा तिमीहरू सबैले बुझ्नुपर्छ, होइन र? ल ठीक छ, अब हामी यो कथामा संलग्न धारणाहरूबारे थप केही भन्नेछैनौँ।
परमेश्वरको कामबारे मानिसहरूका धारणाहरूबारे भन्नुपर्दा, के तिमीहरूले हामीले कुरा नगरेको अरू कुनै धारणा सोच्न सक्छौ? के परमेश्वरको कामबारे मानिसहरूका धारणाहरू आज तिमीहरूले सुनेका धारणाहरू मात्र हुन्? यदि हामीले मानिसहरूलाई न्याय, सजाय, परीक्षा, शोधन, काटछाँट, साथै खुलासा गर्ने वा सिद्ध पार्नेबारे कुरा गर्यौँ भने, त्यो कुन विषयवस्तुसँग सम्बन्धित हुन्छ? परमेश्वरले कस्ता मानिसहरूलाई काटछाँट, न्याय र सजाय गर्नुहुन्छ? कस्ता मानिसहरूले परीक्षा र शोधन सामना गर्छन्? यी कामहरू गर्दा र मानिसहरूमाथि काम गर्न यी तरिकाहरू प्रयोग गर्दा, परमेश्वरसँग सिद्धान्त र दायरा हुन्छ, र त्यो मानिसहरूको कद, तिनीहरूको पछ्याइ, तिनीहरूको मानवता, र तिनीहरूको सत्यता बुझ्ने हदमा आधारित हुन्छ—म आज यसबारे विस्तृत रूपमा कुरा गर्नेछैनँ। सारांशमा भन्दा, परमेश्वरले मानिसहरूलाई काटछाँट गर्नुहुन्छ र ताडना दिनुहुन्छ, न्याय र सजाय गर्नुहुन्छ, र परीक्षा र शोधन गर्नुहुन्छ—परमेश्वरले यी विभिन्न चरणहरूअनुसार मानिसहरूमा काम गर्नुहुन्छ। मानिसहरूमा परमेश्वरले गर्नुहुने कामको सिद्धान्त र काम कुन चरणसम्म गरिन्छ भन्ने कुरा व्यक्तिको कदमा आधारित हुन्छ। यो “कद” भन्ने शब्द तिमीहरू सबैलाई अलिक खोक्रो लाग्न सक्छ। यसको मापन मुख्य रूपमा व्यक्तिले कुन हदसम्म सत्यता बुझ्छ, व्यक्ति र परमेश्वरबीचको सम्बन्ध सामान्य छ कि छैन भन्ने आधारमा, र व्यक्ति कुन हदसम्म परमेश्वरमा समर्पित हुन्छ भन्ने आधारमा पनि गरिन्छ। यदि हामीले यसका आधारमा भिन्नता छुट्याउने हो भने, के धेरैजसो मानिसहरूले अहिले न्याय, सजाय, परीक्षा र शोधन सामना गरेका छन् त? कति मानिसहरूका लागि त यी चरणहरू पार गर्ने बेला भइसकेको नहुन सक्छ, तिनीहरूले यी कुरा देख्न सके पनि प्राप्त गर्न सक्दैनन्, जबकि अरू कतिपयका हकमा, यस्तो देखिनु अलिक डरलाग्दो हुन्छ। छोटकरीमा भन्नुपर्दा, यी तरिकाहरू मानिसहरूलाई मुक्ति दिन र तिनीहरूलाई सिद्ध बनाउन परमेश्वरले चाल्नुहुने कदमहरू हुन्, र परमेश्वरले व्यक्तिका सबै विभिन्न पक्षहरूको सही परिभाषाका आधारमा यी विभिन्न चरणहरू निर्धारित गर्नुहुन्छ। परमेश्वरले मानिसहरूमा गर्नुहुने कुनै पनि काम मनोमानी रूपमा गरिएको हुँदैन। परमेश्वरले आफ्नो काम चरणबद्ध रूपमा र सिद्धान्तको आधारमा गर्नुहुन्छ। उहाँले तेरो पछ्याइ र तेरो मानवता, साथै तेरो बुझ्ने क्षमता, र तैँले आफ्नो दैनिक जीवनमा सबै प्रकारका मानिस, घटना, र कामकुराहरू सम्हाल्ने तेरो मनोवृत्ति, आदि इत्यादि हेर्नुहुन्छ। यी कुराहरूका आधारमा, उहाँले मानिसहरूमा कसरी काम गर्ने र तिनीहरूलाई कसरी मार्गदर्शन गर्ने भनेर निर्धारण गर्नुहुन्छ। व्यक्तिलाई अवलोकन गर्नका लागि परमेश्वरलाई केही समय चाहिन्छ। उहाँले एकदुई वटा कुराका आधारमा हतारमा फैसला गर्नुहुन्न—परमेश्वरले कुनै पनि व्यक्तिमा कुनै पनि काम गर्दा कहिल्यै त्यस्तो हतार गर्नुहुन्न। कति मानिसहरू यसो भन्छन्, “परमेश्वरले अय्यूबलाई जुन तरिकाले जाँच्नुभयो मलाई त्योदेखि डर लाग्छ। यदि मलाई पनि वास्तवमै त्यस्तो भयो भने, मैले परमेश्वरको गवाही दिन सक्नेथिइनँ। यदि परमेश्वरले मलाई साँच्चै त्यसरी सबै कुराबाट वञ्चित गर्नुभयो भने के हुन्छ होला? मैले के गर्थेँ होला?” चिन्ता नगर्, परमेश्वरले तँमाथि त्यस्तो मनोमानी ढङ्गले कहिल्यै काम गर्नुहुनेछैन, तँ डराउनु पर्दैन। तँ किन डराउनु पर्दैन? डराउनुअघि, तैँले पहिले आफैलाई एउटा तथ्यद्वारा विश्वस्त पार्नुपर्छ, र आफ्नो कदलाई ख्याल गर्नुपर्छ। के तँसँग अय्यूबको जस्तो विश्वास, अय्यूबको जस्तो समर्पण र अय्यूबको जस्तो परमेश्वरप्रतिको डर छ? के तँसँग परमेश्वरको मार्ग पछ्याउने कार्यमा अय्यूबको जतिको निष्ठा र सम्पूर्णता छ? यी कुराहरू मापन गर्, र यदि तँसँग यीमध्ये कुनै पनि छैन भने, तँ निश्चित भए हुन्छ, परमेश्वरले तँलाई परीक्षा र शोधनमा पार्नुहुनेछैन, किनभने तेरो कद त्यो स्तरमा पुगेको छैन र धेरै नै कम छ। परमेश्वरले गर्नुहुने परीक्षा र शोधनबारे मानिसहरूमा केही धारणा र कल्पनाहरू—साथै शङ्का, डर, वा इन्कार र सतर्कता पनि हुन्छन्। मानिसहरूले यी कुराहरू र परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने बारेमा राम्ररी बुझेपछि, परमेश्वरको कामबारे तिनीहरूका धारणाहरू बिस्तारै हराउनेछन्, र तिनीहरूले सत्यता पछ्याउन र परमेश्वरका वचनहरूमा मेहनत लगाउनमा ध्यान दिनेछन्। उहाँले यी वचनहरू बोल्नुको उद्देश्य यही लक्ष्य हासिल गर्नु हो। परमेश्वरलाई पछ्याउँदा, तैँले परमेश्वरले कसरी काम गर्नुहुन्छ र मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर बुझ्नुपर्छ। यदि तँ साँच्चै सत्यता पछ्याउने व्यक्ति होस् भने, गएर परमेश्वरका मागहरूअनुसार कामकुरा गर्। रङ्गिन चस्मामार्फत परमेश्वरलाई नहेर्, र आफ्नो तुच्छ दिमाग प्रयोग गरेर परमेश्वरको मन बुझ्ने काम नगर्। तैँले परमेश्वरको कामका सिद्धान्तहरू ठ्याक्कै के-के हुन्, परमेश्वरले मानिसहरूलाई व्यवहार गर्न प्रयोग गर्नुहुने सिद्धान्तहरू के-के हुन्, परमेश्वरले व्यक्तिमा कुन हदसम्म काम गर्नुहुन्छ, र परमेश्वरको मापनको मानक के हो भनेर बुझ्नुपर्छ। यी कुराहरू बुझेपछि, तैँले के गर्नुपर्छ? परमेश्वरले तैँले सत्यता पछ्याइमा हार मानेको हेर्न चाहनुहुन्न, न त आफूलाई हारिसकेको मान्छे ठान्ने कसैको मनोवृत्ति नै हेर्न चाहनुहुन्छ। उहाँले त तैँले यी सबै साँचो तथ्यहरू बुझेपछि, तैँले परमेश्वर एक धर्मी परमेश्वर हुनुहुन्छ भनेर स्पष्ट रूपमा बुझेर अझ दृढ, साहसी र आश्वस्त तरिकाले सत्यता पछ्याउन सकेको हेर्न चाहनुहुन्छ। जब तँ बाटोको अन्त्यमा आइपुग्छस्, तब यदि परमेश्वरले तेरो लागि तोक्नुभएको मानक तैँले पूरा गरेको छस्, र तँ मुक्तिको मार्गमा छस् भने, परमेश्वरले तँमाथि हार मान्नुहुनेछैन। न्याय, सजाय, परीक्षा, शोधन र काटछाँटबारे मानिसहरूका धारणाहरूका सम्बन्धमा, अहिलेका लागि भन्नुपर्ने करिब-करिब यत्ति नै हो। अझै पनि धेरै वटा विस्तृत पक्षहरू छन् जसलाई यो छोटो कुराकानीमा स्पष्ट रूपमा व्याख्या गर्न सकिँदैन। मानिसहरूले दैनिक जीवनमा यी धारणाहरू कसरी प्रकट गर्छन् र देखाउँछन् भन्नेबारे केही उदाहरणहरू दिनुपर्ने हुन्छ, र केही छोटो कथाहरू बताउनु र केही सरल पात्र र कथानक दृश्यहरू समावेश गर्नुपर्ने पनि हुन्छ, ताकि तिमीहरूले यी वास्तविक जीवनका उदाहरणहरूमार्फत मानिसहरूका धारणाहरू बुझ्न वा व्याख्या गर्न सक, र ताकि तिमीहरूले यी कुराहरू वास्तविकतासँग विसङ्गत, र परमेश्वरका सिद्धान्त र मापदण्डहरूसँग पूर्ण रूपमा बेमेलपूर्ण रहेका धारणाहरू हुन् भनेर बुझ्न सक। परमेश्वरले त त्यस्तो गर्दै गर्नुहुन्न, तैपनि तैँले किन अन्धाधुन्ध सोच्ने र अनुमान गर्ने गर्छस्? यदि तँ निरन्तर आफ्ना धारणा र कल्पनाहरूमा जिउँछस् भने, तैँले परमेश्वरका मागहरूअनुसार सत्यता पछ्याउने मार्ग कहिल्यै पछ्याउनेछैनस्, र तँ सधैँ परमेश्वरका मागहरूबाट धेरै टाढा रहनेछस्। यदि तँ यस्तै रहिरहिस् भने, तँसँग अभ्यास गर्ने कुनै मार्ग हुनेछैन र तँ सधैँ बन्धनहरूमा पर्नेछस्। तँ जहाँ गए पनि, तैँले प्रत्येक मोडमा ठक्कर खानेछस्, तँ के गर्ने भनेर अन्योलमा पर्नेछस्, र कुनै पनि कुरा कति पनि सहज रूपमा चल्नेछैन। परिणामस्वरूप, अन्त्यमा तँसँग परमेश्वरको न्याय र सजाय प्राप्त गर्ने अधिकारसमेत हुनेछैन। त्यो कत्ति दुःखान्त हुनेछ!
परमेश्वरमा विश्वास गर्ने कुरामा, यसअघि कसैले पनि तिमीहरूसँग इमानदार व्यवहार गरेको छैन। इमानदार हुने समय यही हो, किनकि यो सबैभन्दा महत्त्वपूर्ण समय हो! समय बितिरहेको छ, त्यसैले परमेश्वरमाथिको विश्वासलाई खेलौनाको रूपमा नलिओ। परमेश्वरले मानिसहरूलाई पूर्ण बनाउने र मुक्ति दिने सङ्कल्प गर्नुभएको छ, र उहाँले यो काम पूर्ण रूपमा सम्पन्न गर्न चाहनुहुन्छ। उहाँले यसलाई कसरी पूर्ण रूपमा सम्पन्न गर्नुहुन्छ? मानिसहरूलाई सत्यताका सबै पक्षहरू बताएर सम्पन्न गर्नुहुन्छ, ताकि तिनीहरूले यसलाई स्पष्ट रूपमा बुझ्न सकून् र तिनीहरूले बाटो नबिराऊन्। तैँले बाटो बिराइस् भने परमेश्वरले तँलाई ताडना दिनुहुनेछ। यदि तँ प्राय आफ्नै मार्गतर्फ बरालिन्छस् भने, तँ सही मार्गमा फर्केर नआएसम्म परमेश्वरले तँलाई ताडना दिन जारी राख्नुहुनेछ। अन्त्यमा, यदि परमेश्वरले आफूले गर्न सक्ने सबै कुरा गर्नुभएको छ र तैँले अझै पनि परमेश्वरका मागहरू पूरा गरेको छैनस् भने, अरू कसलाई दोष लाउन सकिन्छ? तैँले आफूलाई मात्र दोष दिन मिल्छ। त्यो बेला, मानिसहरूले गर्न सक्ने भनेकै छाती पिटेर नराम्ररी रुनु मात्रै हो। सत्यता बुझ्नमा मानिसहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? तिनीहरूले सत्यता स्वीकार गर्नैपर्छ, र सत्यता स्वीकार गरेपछि, सत्यता खोज्न र यसलाई आफ्नो दैनिक जीवनसित जोड्न सक्नैपर्छ। यसरी मात्र मानिसहरूले बिस्तारै सत्यताको साँचो बुझाइ हासिल गर्न सक्छन्। जब तैँले प्रवचनहरू सुन्छस् र तिनको शाब्दिक अर्थ बुझ्छस्, तब तँलाई आफूले बुझेजस्तो लाग्छ—यो वास्तवमै सत्यता बुझ्नु होइन। यो त धर्मसिद्धान्त बुझ्नु मात्र हो। जब तैँले प्रवचनहरूको शाब्दिक अर्थ बुझ्छस्, तब तैँले यसलाई वास्तविक जीवनमा तेरो आफ्नै अवस्था र तेरो आफ्नै प्रवेशसँग जोड्नुपर्छ, ताकि तैँले आफूलाई चिन्न र सत्यता अभ्यास गर्न सक्। त्यसले मात्र तँ सत्यता वास्तविकतामा प्रवेश गरेको छस् भन्ने अर्थ दिन्छ। यदि तैँले यसरी अभ्यास गर्दैनस् भने, तँसँग सत्यताको कुनै सरोकार हुँदैन, तँसँग परमेश्वरका वचनहरूको कुनै सरोकार हुँदैन, र त्यसैले तँसँग परमेश्वरको पनि कुनै सरोकार हुँदैन। यदि तैँले सत्यता अभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्!
अक्टोबर ११, २०१८