आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)

तिमीहरूले यतिका वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छौ, र तिमीहरूले केही सत्यता बुझेको भए पनि, तिमीहरू प्रत्येकको हृदयभित्र तिमीहरूका आआफ्नै व्याख्या, विश्‍वास र कल्पनाहरू छन्—र ती सबै सत्यता र परमेश्‍वरको इच्छाको प्रतिकूल र विपरीत छन्। यी कुराहरू के हुन्? यी कुराहरू मानिसहरूका धारणाहरू हुन्। मान्छेमा सत्यता बिलकुलै नभए पनि, उसको मनले थुप्रै धारणा र कल्पनाहरू निर्माण गर्न सक्छ, र ती सबै सत्यतासँग मेल नखाने हुन्छन्। सत्यतासित अमिल्दा हरेक कुरा मान्छेका धारणा र कल्पनाहरूसित सम्बन्धित हुन्छन्। त्यसोभए मान्छेका धारणाहरू कसरी बन्छन्? यसका विभिन्न कारणहरू छन्। आंशिक रूपमा यो परम्परागत संस्कृतिको अभ्यस्तीकरण, साथै ज्ञानको प्रसार र सिकाइ, सामाजिक प्रचलन र पारिवारिक शिक्षा, आदि इत्यादिको प्रभाव हो। चीनजस्तो हजारौँ वर्षदेखि नास्तिकतावादले शासन गरेको देशमा—मानिसहरूमा परमेश्‍वरबारे कस्तो बुझाइ र परिभाषा छन्? परमेश्‍वर अदृश्य र अमूर्त हुनुभए पनि, उहाँ साँच्चिकै हुनुहुन्छ, उहाँ हावामार्फत जताततै उड्न सक्नुहुन्छ, कुनै सुइँकोविना आवातजावात गर्नुहुन्छ, अचानक देखिनुहुन्छ र अचानक बिलाउनुहुन्छ, पर्खालबाट छिर्न सक्नुहुन्छ, कुनै पनि वस्तु वा ठाउँले छेकिनुहुन्‍न, र उहाँमा अत्यन्तै धेरै क्षमताहरू छन्, र उहाँ पूर्णतया सर्वशक्तिमान् हुनुहुन्छ—यी परमेश्‍वरबारे मानिसहरूमा भएका धारणा र कल्पनाहरू हुन्। अनि, मानिसहरूका यी कल्पना र धारणाहरू कसरी पैदा हुन्छन्? यी धेरै मात्रामा शिक्षा र परम्परागत संस्कृतिको अभ्यस्तीकरणसँग सम्बन्धित छन्। चीनमा नास्तिकवादको शिक्षण हजारौँ वर्षदेखि चलिआएको छ र त्यसले मानिसहरूको भित्री हृदयमा धेरै पहिले नास्तिक बीउ रोपेको छ। यो अवधिमा, शैतान र हरप्रकारका दुष्टात्माहरूले मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न तिनीहरूमाझ थुप्रै चिन्ह र अचम्‍मका कामहरू गरेका छन्। यी कुराहरू मानिसहरूमाझ टाढाटाढासम्‍म फैलिए, र यसको भयानक प्रभाव रहिआएको छ। यी दुष्टात्माहरू मानिसहरूलाई बहकाउन, मूर्ख बनाउन, र हानि पुर्‍याउन जथाभाबी काम गर्छन्, र त्यसकारण मानिसहरूले परमेश्‍वरबारे थुप्रै धारणा र कल्पनाहरू विकास गरेका छन्। निष्कर्षमा भन्‍नुपर्दा, मानिसहरूका धारणा र कल्पनाहरू पूर्णतया दुष्ट सामाजिक अभ्यस्तीकरण र शैतानको प्रशिक्षणबाट आउँछन्। प्राचीनकालदेखि आजसम्‍मै, एकपछि अर्को पुस्ताले शैतानको प्रशिक्षण पाएका छन् र परम्परागत संस्कृति र ज्ञानको प्रसार र शिक्षण पाएका छन्, र यसरी तिनीहरूले हरप्रकारका धारणा र कल्पनाहरू सिर्जना गरेका छन्। यी कुराहरूले मानिसहरूका काम, अध्ययन, र सामान्य जीवनलाई सिधै असर नपारेका भए पनि, मानिसहरूलाई परमेश्‍वरको काम स्विकार्न र त्यसप्रति समर्पित हुनमा यी धारणा र कल्पनाहरू ठूलो अवरोध बनेका छन्। मानिसहरूले परमेश्‍वरको काम स्विकारेका भए पनि, र धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गर्दै बिताएपछि पनि, तिनीहरूलाई यी कुराहरूले अझै पनि परमेश्‍वर चिन्न र उहाँमा समर्पित हुनमा ठूलो बिघ्नबाधा ल्याउँछन्, र तिनीहरूलाई थोरै आस्था राख्ने, प्राय: नकारात्मक र कमजोर महसुस गर्ने, र परीक्षाहरूमा खरो उत्रिन कठिन लाग्ने तुल्याउँछन्। धारणा र कल्पनाहरू पालेर राख्नुका परिणामहरू यिनै हुन्।

धेरैजसो मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासको अर्थ असल काम गर्नु र असल व्यक्ति हुनु हो भन्ने विश्‍वास गर्छन्। उदाहरणको लागि, तिनीहरू यदि कुनै व्यक्तिले गरिबलाई भिक्षा दिन्छ भने मात्र। ऊ परमेश्‍वरको विश्‍वासी हो भन्ने विश्‍वास गर्छन्। यदि कसैले थुप्रै असल कामहरू गर्छ र अरूबाट प्रशंसा पाउँछ भने, उसले परमेश्‍वरलाई हृदयदेखि धन्यवाद दिन्छ र मानिसहरूलाई भन्छ, “मलाई धन्यवाद नदिनुहोस्। तपाईंले त स्वर्गको परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ, किनकि उहाँले नै मलाई यसो गर्न सिकाउनुभएको हो।” मानिसहरूको तारिफ पाएपछि, उसले अत्यन्तै सन्तुष्ट र आराम महसुस गर्छ, र उसले परमेश्‍वरमा आस्था राख्नु राम्रो हो, उसलाई मानिसहरूले अनुमोदन गर्छन् र निश्‍चय नै परमेश्‍वरले पनि अनुमोदन गर्नुहुनेछ भन्ने विश्‍वास गर्छ। यो आराम अनुभूति कहाँबाट आउँछ? (उसका धारणा र कल्पनाहरूबाट आउँछ।) के उसलाई आराम अनुभूत हुनु साँचो हो कि झूट हो? (झूट हो।) तर उसको लागि त्यो साँचो हो, र उसले निकै स्थिर, व्यावहारिक, र वास्तविक महसुस गर्छ, किनकि उसले खोजेको नै त्यही आराम अनुभूति हो। यो आराम अनुभूति कसरी आउँछ? उसका धारणाहरूको कारण यस्तो गलत छाप परेको हो, र उसका धारणाहरूले नै उसलाई परमेश्‍वरमाथिको विश्‍वास यस्तै हुनुपर्छ, ऊ यस्तै व्यक्ति बन्नुपर्छ, उसले यस्तै तरिकाले काम गर्नुपर्छ, यी कुराहरू गरेको कारण परमेश्‍वर ऊसँग निश्‍चय नै खुसी हुनुहुनेछ, र अन्ततः उसले निश्‍चय नै मुक्ति प्राप्त गर्नेछ र स्वर्गको राज्य प्रवेश गर्नेछ भनेर सोच्ने तुल्याएका हुन्। यो “निश्‍चय नै” भन्ने शब्द कहाँबाट आउँछ? (मानिसहरूका धारणाहरूबाट।) तिनीहरूलाई यस्तो निश्‍चयता र गलत छाप दिने, र अत्यन्तै आराम महसुस गराउने तिनीहरूका धारणा र कल्पनाहरू हुन्। अनि, यो मामलालाई परमेश्‍वरले वास्तवमा कसरी मापन र निर्धारण गर्नुहुन्छ? यो मानिसहरूका धारणा र मानव असलपनबमोजिम गरिएको एकप्रकारको असल व्यवहार मात्र हो। कुनै दिन, यो व्यक्तिले सिद्धान्तविरुद्ध कुनै काम गर्छ र उसलाई काँटछाँट गरिन्छ, र त्यसपछि उसले असल मानिसहरू मापन गर्ने परमेश्‍वरका मापदण्डहरू उसले सोचेजस्तो रहेनछन् र परमेश्‍वरका वचनहरूले त्यस्तो केही नभन्दा रहेछन् भनेर थाहा पाउँछ, र त्यसकारण उसले प्रतिरोध महसुस गर्छ र यस्तो सोच्छ, “के म असल व्यक्ति होइन र? म यतिका वर्ष असल व्यक्ति रहिआएको छु र कसैले पनि कहिल्यै म असल व्यक्ति होइन भनेको छैन। परमेश्‍वरले मात्र म असल व्यक्ति होइन भन्नुहुन्छ!” के यसमा समस्या छैन र? यो समस्या कसरी उत्पन्न भएको हो? यो तिनीहरूको धारणाको कारण उत्पन्न भएको हो। यसमा मुख्य दोषी के हो? (धारणाहरू।) मुख्य दोषी मानिसका धारणा हुन्। मानिसहरूका धारणाहरूले प्राय: तिनीहरूलाई परमेश्‍वरलाई गलत बुझ्ने र प्राय: परमेश्‍वरबारे हरप्रकारका मापदण्ड र मूल्याङ्कन अघि सार्ने अनि परमेश्‍वरलाई मापन गर्ने हरप्रकारका मानक बनाउने तुल्याउँछन्; यी धारणाहरूले मानिसहरूलाई कुनै कुराहरू सही हुन् कि गलत छन्, कुनै व्यक्ति असल छ कि खराब छ, र कुनै व्यक्ति परमेश्‍वरप्रति बफादार छ छैन र उसमा परमेश्‍वरप्रति आस्था छ छैन भनी मापन गर्न प्राय: निश्‍चित गलत सोच र विचारहरू प्रयोग गर्ने तुल्याउँछन्। अनि, यी गल्तीहरूको मूल कारण के हो? त्यो मानिसहरूको धारणा हो। मानिसहरूले के खान्छन् वा कसरी सुत्छन् त्यसमा तिनीहरूका धारणाहरूको कुनै प्रभाव नहुन सक्छ, र यी धारणाले तिनीहरूको सामान्य जीवनमा प्रभाव नपार्न सक्छन्, तर यी धारणाहरू मानिसहरूका मनमस्तिष्क र विचारहरूमा छायाँझै टाँसिएर, हरसमय पछ्याउँदै बसिरहेका हुन्छन्। यदि तैँले बेलैमा समाधान गर्न सकिनस् भने, यी धारणाहरूले निरन्तर तेरो सोचविचार, तेरो निर्णय, तेरो व्यवहार, परमेश्‍वरबारेको तेरो ज्ञान र परमेश्‍वरसँगको तेरो सम्बन्ध नियन्त्रित गर्नेछन्। के तैँले अब यो कुरा प्रस्ट रूपमा बुझ्छस्? धारणाहरू प्रमुख समस्या हुन्। मानिसहरूमा परमेश्‍वरबारे धारणाहरू हुनु भनेको तिनीहरू र परमेश्‍वरबीच एउटा पर्खाल उभिनु हो, जसले तिनीहरूलाई परमेश्‍वरको वास्तविक अनुहार देख्नबाट रोक्छ, र जसले तिनीहरूलाई परमेश्‍वरको वास्तविक स्वभाव र सार देख्नबाट रोक्छ। किन रोक्छ? किनकि मानिसहरू आफ्ना धारणाहरूमाझ, र आफ्ना कल्पनाहरूमाझ जिउँछन्, र तिनीहरू परमेश्‍वर सही हुनुहुन्छ कि गलत भनी निर्धारण गर्न, र परमेश्‍वरले गर्नुहुने सबै कुरा मापन, आलोचना र निन्दा गर्न आफ्ना धारणाहरू प्रयोग गर्छन्। यसो गरेर मानिसहरू प्रायः कस्तो अवस्थामा डुब्छन्? के मानिसहरू आफ्ना धारणाहरूमा जिउँदा साँच्चै परमेश्‍वरमा समर्पित हुन सक्छन्? के तिनीहरू परमेश्‍वरमाथिको साँचो विश्‍वास प्राप्त गर्न सक्छन्? (अहँ, तिनीहरू सक्दैनन्।) मानिसहरू परमेश्‍वरप्रति थोरै समर्पित हुँदा पनि, तिनीहरू आफ्नै धारणा र कल्पनाहरूअनुसार समर्पित हुन्छन्। यसरी व्यक्ति आफ्ना धारणा र कल्पनाहरूमा भर पर्दा, यसमा शैतानको स्वामित्वमा रहने व्यक्तिगत कुराहरू मिसिन्छ, र यो कुरा सत्यतासित अमिल्दो हुन्छ। परमेश्‍वरबारेका मानिसहरूका धारणहरूको समस्या गम्भीर समस्या हो; यो मान्छे र परमेश्‍वरबीचको एउटा प्रमुख समस्या हो, जसलाई तुरुन्तै समाधान गर्नु आवश्यक छ। परमेश्‍वरसामु आउने जोकोहीले धारणाहरू ल्याउँछन्, र तिनीहरूले परमेश्‍वरबारे हरप्रकारका शङ्का ल्याउँछन्। अथवा, यो भन्न सकिन्छ कि, परमेश्‍वरले तिनीहरूलाई सबै कुराहरू प्रदान गर्नुहुँदा पनि, र उहाँका सबै बन्दोबस्त र योजनाबद्ध कार्यहरू हुँदा पनि, तिनीहरूले परमेश्‍वरबारे असङ्ख्य भ्रमहरू ल्याई नै हाल्छन्। अनि, परमेश्‍वरसित तिनीहरूको सम्बन्ध कस्तो बन्नेछ? मानिसहरूले निरन्तर परमेश्‍वरलाई गलत बुझ्छन्, तिनीहरू निरन्तर परमेश्‍वरबारे शङ्का गर्छन्, र परमेश्‍वर सही वा गलत के हुनुहुन्छ त्यो नाप्न, र उहाँका प्रत्येक वचनहरू र काम नाप्न आफ्नै मापदण्डहरू प्रयोग गर्छन्। यो कस्तो खाले व्यवहार हो? (यो विद्रोहीपन र अवज्ञा हो।) ठिक भनिस्, यो मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्नु, उहाँको अवज्ञा र निन्दा गर्नु हो, र यो मानिसहरूले परमेश्‍वरको आलोचना गर्नु, परमेश्‍वरविरुद्ध ईशनिन्दा गर्नु, र उहाँसित प्रतिस्पर्धा गर्नु हो, त गम्भीर अवस्थाहरूमा तिनीहरू परमेश्‍वरलाई अदालत लैजान र उहाँविरुद्ध “निर्णायक सङ्घर्ष” गर्न चाहन्छन्। त्यो सबैभन्दा गम्भीर स्तर के हो जहाँ मानिसहरूको धारणा पुग्न सक्छ? त्यो साँचो परमेश्‍वर स्वयम्‌लाई इन्कार्नु, उहाँका वचनहरू सत्यता हुन् भन्ने कुरा इन्कार्नु, र परमेश्‍वरको कामको निन्दा गर्नु हो। जब मानिसहरूका धारणाहरू यो स्तरमा पुग्छन्, तब तिनीहरूले स्वाभाविक रूपमै परमेश्‍वरलाई इन्कार र निन्दा गर्छन्, परमेश्‍वरविरुद्ध ईशनिन्दा गर्छन् र परमेश्‍वरलाई विश्‍वासघात गर्छन्। तिनीहरूले परमेश्‍वरको अस्तित्व मात्र इन्कार्ने नभएर सत्यता स्विकार्न र परमेश्‍वरलाई पछ्याउन पनि इन्कार्छन्—के यो डरलाग्दो होइन र? (हो।) यो डरलाग्दो समस्या हो। यो भन्‍न सकिन्छ कि धारणाहरू मानिसहरूको लागि पूरै हानिकारक छन्, र तिनको एउटै पनि फाइदा छैन। त्यसैले आज हामी धारणा भनेको के हो र मानिसहरूले कस्ता धारणाहरू राख्ने गर्छन् भन्नेबारे सङ्गति र चिरफार गर्दै र्छौँ—यो अत्यन्तै आवश्यक छ। साधारणतया तिमीहरूमा कस्ता धारणाहरू उत्पन्न हुन्छन्? तिमीहरूका कुन सोच, बुझाइ, मूल्याङ्कन, र विचारहरू तिमीहरूका धारणासँग सम्बन्धित छन्? के यो विचारयोग्य छैन र? मानिसहरूको व्यवहार तिनीहरूका धारणाहरूसँग सम्बन्धित हुँदैन, तर त्यो व्यवहारपछाडिका सोच र विचारहरू सिधै तिनीहरूका धारणाहरूसँग सम्बन्धित हुन्छन्। मानिसहरूका धारणाहरू परमेश्‍वरको कामका निम्‍न दायराभित्र पर्ने कुरा हुन्: पहिलो, परमेश्‍वरमाथिको विश्‍वासबारे मानिसहरूमा रहेका विविध धारणाहरू। अर्थात्, मानिसहरूमा परमेश्‍वरमाथिको विश्‍वास, र परमेश्‍वरमा विश्‍वास गरेर के प्राप्त गर्नुपर्छ, र परमेश्‍वरमाथिको विश्‍वासमा कस्तो मार्ग हिँड्नुपर्छ भन्नेबारे विभिन्न कल्पना र परिभाषाहरू हुन्छन्, त्यसैले तिनीहरूले हरप्रकारका धारणाहरू विकास गर्न पुग्छन्। दोस्रो, परमेश्‍वरको देहधारणबारेका मानिसहरूका धारणाहरू। देहधारणबारे मानिसहरूसँग अझ धेरै कल्पना र परिभाषाहरू हुन्छन्, त्यसैले स्वाभाविक रूपमै तिनीहरूले धेरै धारणाहरू विकास गर्न पुग्छन्—यी अन्तरसम्बन्धित छन्। तेस्रो, परमेश्‍वरको कामबारे मानिसहरूमा हुने धारणाहरू। मानिसहरूमा परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता, परमेश्‍वरले प्रकट गर्नुहुने स्वभाव, र परमेश्‍वरको कार्यशैलीबारे विभिन्न खालका कल्पना र परिभाषाहरू हुन्छन्, र त्यसैले तिनीहरूले थुप्रै धारणाहरू विकास गर्न पुग्छन्। हामी यी तीन बुँदाहरूलाई थप विस्तार रूपमा विभाजन गर्न सक्छौँ, तर यी तीन बुँदाहरूले आधारभूत रूपमा मानिसहरूका सबै धारणाहरू समेट्छन्, त्यसैले हामी तीबारे पालैपालो सङ्गति गरौँ।

अब पहिलो बुँदा, अर्थात् परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा मानिसहरूमा रहेका विविध धारणाहरूबारे कुरा गरौँ। यस्ता धारणाहरूको दायरा केही फराकिलो हुन्छ। चाहे मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासमा नौलो होऊन् या तिनीहरूले पहिले नै परमेश्‍वरमा विश्‍वास गरेका होऊन्, तिनीहरूले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा तिनीहरूमा थुप्रै धारणा र कल्पनाहरू हुन्छन्। जब मानिसहरूले पहिलोपटक बाइबल पढ्न सुरु गर्छन्, तिनीहरू हृदयमा तरङ्गित हुन्छन्, र यस्तो सोच्छन्, “म राम्रो व्यक्ति बन्नेछु; म स्वर्गमा पुग्नेछु।” पछि, तिनीहरूमा परमेश्‍वरमाथिको विश्‍वासबारे हरप्रकारका कल्पना र परिभाषाहरू वा दृढ विचारहरू आउनेछ, र अन्त्यमा तिनीहरूले निश्‍चय नै विभिन्न धारणाहरू निर्माण गर्नेछन्। उदाहरणको लागि, मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि आफू कस्तो व्यक्ति हुनुपर्छ भन्नेबारे हरप्रकारका कुराहरू कल्पना गर्छन्। कोही भन्छन्, “परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, म चुरोट, रक्सी र जुवामा लाग्‍नेवाला छैन। म ती दुष्ट ठाउँहरूमा जानेछैन। म मानिसहरूसँग नम्रसाथ बोल्नेछु र मुहारमा मुस्कान बोकेर हिँड्नेछु।” यो के हो? के यो धारणा हो, कि मानिसहरूले व्यवहार गर्नुपर्ने तरिका हो? (यो मानिसहरूले व्यवहार गर्नुपर्ने तरिका हो।) यो सामान्य मानवताको अभिव्यक्ति हो, र मानिसहरूले यसैगरी व्यवहार गर्नुपर्छ। यो न त धारणा हो, न त कल्पना हो—यो सोच शैली पूर्णतया चेतनशील र तर्कसङ्गत छ। कतिपय ज्येष्ठ दाजुभाइहरू यसो भन्छन्, “म बुढो भएँ र मैले यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छु। म आफूले बोल्ने र काम गर्ने शैलीमा युवापुस्ताको लागि उदाहरण बन्नुपर्छ। यो उमेरको मान्छे भएर मैले खितिती हाँस्नु वा अनुचित व्यवहार गर्नु हुँदैन। म सम्मानजनक र संस्कारी देखिनुपर्छ र ममा परिष्कृत भद्र पुरुषको चालचलन हुनुपर्छ।” त्यसैले, युवापुस्ताका मानिसहरूसँग बोल्दा ऊ गम्भीर मुद्रामा हुन्छ र ऊबाट साहित्यिक शब्द र वाक्यांशहरू फुर्छन्, र उसलाई देख्दा युवाहरू असहज महसुस गर्छन् र उसको नजिक जान चाहँदैनन्। दाजुभाइ र दिदीबहिनीहरू भेलामा नाच्छन् र परमेश्‍वरको प्रशंसा गर्छन्, तर त्यो वृद्ध दाइ आफ्नो आँखाको चाहना नियन्त्रणमा राख्नुपर्छ भन्ने सोच्छ र उचित कुराहरू मात्र हेर्छ, र यसरी उसले आफूलाई हेर्नमा पावन्दी लाउँछ, तर अझै पनि हृदयमा ऊ यसरी बड्बडाउँछ, “यी युवाहरू मस्त जिउँछन्; तर म किन यति दुःखित भएर जिउँछु? तैपनि, परमेश्‍वरमा विश्‍वास गर्दा अलिकति दुःखित महसुस गर्नु जरूरी छ, किनकि उहाँले नै मलाई म यति बुढो बनाउनुभएको हो!” ऊ आफूले नर्तकहरूलाई हेर्नै हुँदैन भन्छ, तर उसले लुकीलुकी हेर्छ, र उसले बहाना गरेको प्रस्ट देखिन्छ। यस्तो बहाना कसरी आउँछ? ऊ कसरी यतिविधि लज्जित स्थितिमा पुग्छ? किनभने उसले परमेश्‍वरमाथिको विश्‍वासमा ऊसँग हुनुपर्ने व्यवहार र अभिव्यक्तिहरूबारे एउटा कल्पना गरेको हुन्छ, र यो कल्पनाको प्रभावमा, उसको बोली र व्यवहार चोरचारे र नक्कली बन्छ। उदाहरणको लागि, भेलाहरूमा गाउँदा कतिपय मानिसहरू गाउँदागाउँदै ताली बजाउँछन्, र रमाउँछन्, तर यो वृद्ध दाइ मृत व्यक्तिजतिकै भावशून्य र मन्द-बुद्धिवाला छ, र उसमा कुनै ऊर्जा वा मानव स्वरूप बिलकुलै छैन। उसले आफू बुढो भएकोले बुढो मान्छेकै रूपमा देखिनुपर्छ र बच्चाजस्तो अनुभवहीन व्यवहार गरेर अरूलाई आफूतिर हेरेर हाँस्न लगाउनु हुँदैन भन्ने सोच्छ। छोटकरीमा भन्नुपर्दा, उसले जे व्यक्त गर्छ त्यो सब देखावटी मात्र हो र उसले जबरजस्ती आफू ठूलो व्यक्ति भएको नाटक गर्छ। के अरू मानिसहरूले यस्तो देखावटी व्यवहार देखेर केही राम्रा कुरा सिक्छन् त? (सिक्दैनन्।) यो देख्दा तँलाई कस्तो लाग्छ? पहिला, तँलाई ऊ पाखण्डी हो भन्ने लाग्छ र त्यसले तँलाई असहज तुल्याउँछ; दोस्रो, तँलाई ऊ झूटो लाग्छ, र वाकवाक र दिगमिग पनि लाग्छ, र ऊसित कुरा गर्दा, तैँले सास रोकिएजस्तो र बाधित भएजस्तो महसुस गर्छस्, र स्वतन्त्र रूपले बोल्न सक्दैनस्। यदि तँ होसियर भइनस् भने, तैँले उसको यस्तो भाषण सुन्नेछस्, “हेर त, तिमीहरू युवापुस्ताहरू के भएको, तिमीहरू हदै गहिरो रूपमा भ्रष्ट भएका छौ! तिमीहरू मिठो खान्छौ र राम्रा कपडा लाउँछौ, जसरी हामीले नयाँ वर्ष र अन्य चाडहरूमा खाने गर्थ्यौँ त्यसरी नै खान्छौ, तर तिमीहरू अझै रोजीछानी गर्छौ र असन्तुष्ट हुन्छौ। हामी सानो छँदा त, हामीले खाने भनेकै अन्नको खोस्टा र जङ्गली झार मात्र हुनेगर्थ्यो।” यसरी उसले आफ्नो ज्येष्ठता प्रदर्शन गर्छ र अरूलाई भाषण दिन्छ, र युवापुस्ताले उसलाई बेवास्ता गर्छन्। उसले यो कुरा बुझ्दैन र युवापुस्ताले आफूभन्दा ठूलालाई आदर नगरेको र खराब व्यवहार गरेको भन्दै आलोचनासमेत गर्छ। के उसले भन्ने यी कुराहरू सत्यतासँग नमिल्ने र अरूलाई सत्मार्गमा लैजान नसक्ने धारणाहरू र मानव इच्छाले भरिएका छैनन् र? यद्यपि, यो सब महत्त्वहीन कुरा हो। चुरो कुरा त के हो भने: के उसले यस्तो व्यवहार गरेर सत्यता बुझ्न सक्छ त? (सक्दैन।) के सत्यता वास्तविकतामा प्रवेश गर्नलाई यो उपयोगी र फाइदाजनक छ? (छैन।) यस्तो अभ्यास र आचरण देखाएर, दिनानुदिन यसरी जिएर, के यसले उसलाई परमेश्‍वरअघि जिउन मदत गर्न सक्छ? के उसले कहिल्यै यसरी मनन गरेको छ, “के परमेश्‍वरमाथिको विश्‍वासबारे मेरो बुझाइ सत्यता र परमेश्‍वरका मापदण्डबमोजिम छ? परमेश्‍वरले मापदण्ड के छ? परमेश्‍वरले कस्तो व्यक्ति रुचाउनुहुन्छ? के मेरो बुझाइ र परमेश्‍वरको मापदण्डबीच कुनै अन्तर छ?” उसले निश्‍चय नै यी प्रश्‍नबारे पहिले कहिल्यै सोचेको छैन। यदि सोचेको थियो भने, उसले उत्तर पत्ता लगाउन नसके पनि, ऊ यस्तो मूर्ख तरिकाले व्यवहार गरिरहेको हुन्थेन। त्यसैले, उसले यस तरिकाले व्यवहार गर्नुको मूल कारण के हो? (धारणाहरू।) अनि उसले धारणाहरू निर्माण गर्नुको मूल कारण के हो? त्यो के हो भने, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले कसरी व्यवहार गर्नुपर्छ र कसरी आफूलाई अभिव्यक्त गर्नुपर्छ भन्नेबारे उसमा भ्रामक बुझाइ छ। अनि यो भ्रामक बुझाइ कसरी उत्पन्न भएको हो? यसको जड के हो? परम्परागत सँस्कृतिको अभ्यस्तीकरण र विद्यालयमा शिक्षकहरूले दिएका शिक्षादिक्षा हुन्। उदाहरणको लागि, सानाले ठूलालाई आदर गर्नुपर्छ र बच्चाहरूलाई माया गर्नुपर्छ, र पाका मानिसहरूले आफ्नो उमेरअनुसार व्यवहार गर्नुपर्छ, आदि इत्यादि। तसर्थ, उसले विविध अनौठा व्यवहारहरू विकास गर्छ, कहिलेकाहीँ अनौठो व्यवहार र कहिलेकाहीँ अनौठो भाव देखाउँछ, तर जेजस्तो भए पनि, ऊ पूर्णतया सामान्य देखिँदैन। चाहे उसले अनौठो व्यवहार गरोस् वा अनौठो भाव देखाओस्, जबसम्म उसले सत्यता वा परमेश्‍वरका मापदण्ड बुझ्दैन र सत्यता खोज्दैन, तबसम्म उसको व्यवहारशैली निश्‍चित रूपमा सत्यताभन्दा बेग्लै नै हुनेछ। यस्तो सामान्य मामलामा पनि—केवल केही बाहिरी व्यवहारमा पनि—मानिसहरूको हृदयमा धारणाहरू स्थापित हुने हुनाले तिनीहरू यी निरर्थक कामहरू गर्छन्। जब मानिसहरूले सत्यता, परमेश्‍वरका वचन र परमेश्‍वरको इच्छा बुझ्दैनन्, तब तिनीहरूले परमेश्‍वरले मानिसहरूलाई तोक्‍नुहुने मानकहरू के हुन् भनेर बुझ्नेछैनन्। अनि, पाका मानिसहरूले परमेश्‍वरले मानिसहरूलाई तोक्‍नुहुने मानकहरू नबुझ्दा, तिनीहरू अनौठा व्यवहार र अभिव्यक्ति अनि निरर्थक कार्यहरूमा संलग्न हुन्छन्; युवापुस्ताले परमेश्‍वरले मानिसहरूलाई तोक्‍नुहुने मानकहरू नबुझ्दा, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास कल्पना र धारणाहरूमा आधारित हुँदा, तिनीहरू पनि केही गलत अभिव्यक्ति र व्यवहारमा संलग्न हुनेछन्। अनि, तिनीहरू के-कस्ता गलत व्यवहार र अभिव्यक्तिमा संलग्न हुन्छन्? उदाहरणको लागि, केही युवा मानिसहरूले परमेश्‍वरका वचनहरूमा उहाँले मानिसहरूलाई बालबालिकाजस्तै शुद्ध र खुला, स्वच्छ र जीवन्त तरिकाले जिउने मापदण्ड दिनुहुन्छ भन्ने कुरा देख्छन्, र यस्तो सोच्छन्, “हामी परमेश्‍वरअघि सधैँ शिशु नै हुनेछौँ र हामी कहिल्यै बढ्नेछैनौँ, त्यसैले हामीले बालबालिकाझैँ हिँड्ने र बोल्ने गर्नुपर्छ। अब मलाई कसरी परमेश्‍वरका चुनिएका मानिसहरूमध्येमा पर्ने र परमेश्‍वरको अनुयायी हुने भन्ने थाहा छ, र अब म बालकजस्तै हुनु भनेको के हो भन्ने बुझ्छु। म छली थिएँ, र एकदमै जटिल, भावशून्य र मन्द बुद्धिवाला देखिन्थेँ, तर भविष्यमा, मैले अझै ताजा र जीवन्त व्यवहार गर्नुपर्छ।” पछि, तिनीहरूले आजकल कलिला मानिसहरूले समाजमा कस्तो व्यवहार गर्छन् भनेर नियाल्छन्, र तिनीहरूले कसरी व्यवहार गर्ने भन्ने निष्कर्षमा पुगिसकेपछि दाजुभाइ र दिदीबहिनीहरूमाझ त्यो अभ्यास गर्न थाल्छन्, र सबैसँग बालकको आवाजमा बोल्दै, र बोल्दा गलामा दबाब दिएर मिठो, बालकको जस्तो सुरमा बोल्‍न थाल्छन्। मनमस्तिष्कमा तिनीहरू यस्तो आवाज मात्र बालकको आवाज हो भन्ठान्छन्, र सँगसँगै तिनीहरूले केही अनौठा हाउभाउहरू पनि गर्छन् र त्यसले मानिसहरूलाई अत्यन्तै अप्ठ्यारो र असहज महसुस गराउँछ। परमेश्‍वरले बालकजस्तै शुद्ध र खुला, स्वच्छ र जीवन्त हुनु भन्नुको अर्थ के हो भनेर तिनीहरूले बुझेकै हुँदैनन्, र तिनीहरूले गर्ने भनेको त बाहिरी व्यवहार—बहानाबाजी, नक्कल, र कृत्रिमता मात्र हो। यस्ता मानिसहरूको बोध विकृत र गलत हुन्छ। यहाँ, सबैभन्दा ठूलो समस्या के हो? तिनीहरू परमेश्‍वरका वचनहरूको अर्थ शुद्ध रूपमा बुझ्न सक्षम मात्र छैनन्, बरु त्यसको ठिक उल्टो, तिनीहरूले त परमेश्‍वरका वचनहरूलाई अविश्‍वासीहरूको व्यवहार, कार्य र प्रवृत्तिहरूमा मिसाउने काम गरिरहेका छन्। के यो गल्ती होइन र? तिनीहरू परमेश्‍वरसामु आएर खोजी गर्दैनन्, परमेश्‍वरका वचन पढ्दैनन्, र सत्यता खोज्दैनन्; बरु, तिनीहरू आफ्नै दिमाग लाएर विश्‍लेषण र अध्ययन गर्ने, वा अविश्‍वासीहरू, परम्परागत संस्कृति वा वैज्ञानिक ज्ञानमाझ सैद्धान्तिक आधार खोज्छन्। के यो गल्ती होइन र? (हो, गल्ती हो।) यो सबैभन्दा ठूलो गल्ती हो। अविश्‍वासीहरूको ज्ञानमा कहाँ के सत्यता छ? यदि आफूले कस्तो व्यवहार अँगाल्‍ने भनेर तैँले आधार खोज्दै छस् भने, परमेश्‍वरका वचनहरूमा मात्र सत्यता खोज्न सक्छस्। जे भए पनि, र मानिसहरू बुझाइको जुनै स्तरमा पुग्न सक्ने भए पनि, परमेश्‍वरको हरेक वचन र मान्छेप्रतिका उहाँका हरेक मापदण्ड व्यावहारिक र विस्तृत छन् र ती मानिसहरूका धारणा र कल्पनामा देखिएजस्तो सामान्य कदापि छैनन्। मानिसहरूप्रतिका परमेश्‍वरका मापदण्डहरू तिनीहरूको बाहिरी रूपको सजावट होइनन्, ती सामान्य व्यवहारहरू पनि होइनन्, ती कार्यशैली मात्र पनि होइनन्, बरु ती त परमेश्‍वरले मानिसहरूको लागि तोक्‍नुभएका मानकहरू हुन्; ती मानिसहरूले व्यवहार र कार्य गर्नुपर्ने सिद्धान्त र मानकहरू हुन्, र ती मानिसहरूले बुझ्नुपर्ने र धारण गर्नुपर्ने सिद्धान्तहरू हुन्। मैले यी विस्तृत समस्याहरूबारे सङ्गति नगर्ने हो भने, मानिसहरूले केही धर्मसिद्धान्त मात्र बुझ्नेछन् र सत्यता वास्तविकतामा प्रवेश गर्न तिनीहरूलाई कठिन हुनेछ।

भर्खरै हामीले सङ्गति गरेको विषय परमेश्‍वरमाथिको विश्‍वासबारे बाहिरी व्यवहारको हिसाबमा मानिसहरूमा भएका धारणा र कल्पनाहरू थियो। बाहिरी व्यवहारको हिसाबमा भन्‍नुपर्दा तिमीहरूलाई अरू के थाहा छ? अनि, धारणाबारे कुरा गर्नुपर्दा, के धारणाहरू ठिक हुन् कि बेठिक? (बेठिक।) के ती सकारात्मक हुन् कि नकारात्मक? (नकारात्मक।) ती पक्कै पनि परमेश्‍वरका मापदण्डहरू र सत्यताको विपरीत हुन्छन्; ती सत्यतासँग मिल्दैनन्। चाहे मानिसहरूले ती त्यतिकै कल्पना गरून् वा तिनीहरूसँग केही आधार होऊन्, जुनै अवस्थामा पनि, ती कुनैको पनि सत्यतासँग कुनै सम्बन्ध हुँदैन। त्यसैले, यी धारणाहरूबारे सङ्गति र चिरफार गर्नुको उद्देश्य के हो? पहिलो कुरा त मानिसहरूलाई धारणा भनेको के हो भन्नेबारे सचेत तुल्याउनु, र त्यसपछि धारणाहरू यिनै हुन् भनी जानेसँगसँगै मानिसहरूलाई सत्यतामा प्रवेश गर्नुअघि सत्यता बुझ्‍ने मौका दिनु हो। यसको उद्देश्य मानिसहरूलाई सत्यताको सार बुझ्न, अर्थात् साँचो रूपमा परमेश्‍वरसामु आउन मौका प्रदान गर्नु हो। तेरा धारणाहरू जति नै तर्कसङ्गत भए पनि वा तिनका जति नै आधार भए पनि, ती अझै धारणा नै हुन्; ती सत्यता होइनन्, न त तिनले सत्यतालाई प्रतिस्थापन नै गर्न सक्छन्। यदि तँ धारणाहरूलाई सत्यता ठान्छस् भने, सत्यताको तँसँग कुनै सरोकार हुनेछैन, र तेरो पनि परमेश्‍वरमाथिको विश्‍वाससँग कुनै सरोकार हुनेछैन, र तेरो आस्था बेकार हुनेछ। तैँले परमेश्‍वरको निम्ति जति नै काम वा दौडधुप गरे पनि, वा परमेश्‍वरको निम्ति जति नै ठूलो मूल्य चुकाए पनि, यदि तैँले यो सब तेरा धारणा र कल्पनाहरूको आधारमा गर्छस् भने, त्यसको अन्तिम परिणाम के हुनेछ? तैँले जे गरे पनि त्यसको सत्यतासँग वा परमेश्‍वरसँग कुनै सम्बन्ध हुनेछैन; परमेश्‍वरले त्यसलाई निन्दा गर्नुहुनेछ, अनुमोदन गर्नुहुनेछैन—यी फाइदाजनक र हानिकारक परिणामहरू हुन्। अब तैँले व्यक्तिका धारणा र कल्पनाहरू समाधान गर्नु कति महत्त्वपूर्ण छ भनेर बुझ्नुपर्छ।

तेरा धारणाहरू सुल्झाउने पहिलो कदम के हो? त्यो धारणा के हो भनेर खुट्ट्याउनु र चिन्नु हो। जब परमेश्‍वरको घरले पहिलोपटक चलचित्र छायाङ्कन गर्न सुरु गर्‍यो, चलचित्र निर्माण टोलीमा केही घिनलाग्दो कुरा भयो, जुन मानिसहरूका धारणासँग सम्बन्धित छ। म अहिले कसैलाई निन्दा गर्न नभई, तिमीहरूलाई समझ बढाउन मद्दत गर्न यो मामला चिरफार गर्दै छु, ताकि तिमीहरूले यो मामला स्मरण गर, र यो मामलामार्फत धारणाबारे आफ्नो बुझाइ अझ गहन बनाओ र मानिसहरूको लागि धारणाहरू कति हानिकारक छन् भनेर थाहा पाओ। यदि मैले यो मामलाबारे कुरा गरिनँ भने तिमीहरूले यो ठूलो कुरा होइन भन्ठान्न सक्छौ। तर मैले यसको चिरफार गरिसकेपछि, तिमीहरू पक्कै पनि टाउको हल्लाउँदै यो ठूलो कुरा हो भनेर स्विकारिरहेका हुनेछौ। चलचित्र बनाउने सन्दर्भमा, कस्तो रङ्ग र स्टाइलको कपडा छान्ने भन्ने प्रश्‍न आउने गर्छ। केही मानिसहरू अत्यन्तै पुरानो सोचका थिए, र तिनीहरू किटेरै फुस्रो खैरो र खाकी प्रयोग गर्थे। यसले मलाई अन्यौलमा पार्‍यो र म यो सब केको लागि थियो भनेर म चकित थिएँ। आखिर तिनीहरू किन यी रङ्का कपडाहरू छानिरहेका थिए? त्यो सब फुस्रो खैरो र खाकी रङ्गले पूरै दृश्य निकै कालो बनाउँथ्यो, र त्यो देख्दा मलाई निकै असहज महसुस भयो। तिनीहरू किन कुनै रङ्गीन कुरा छानिरहेका थिएनन्? मैले पहिल्यै कपडा रङ्गीन हुनुपर्छ र स्टाइल उचित एवम्‌ मनमोहक हुनुपर्छ भनेको थिएँ। तर मानिसहरू किन परमेश्‍वरका वचनहरू र परमेश्‍वरको घरका मापदण्डहरूप्रति वास्ता र ध्यान दिइरहेका थिएनन्, बरु पहिरनको लागि फुस्रो खैरो र खाकी कपडा छानिरहेका थिए? तिनीहरू किन यस्तो व्यवहार गरिरहेका थिए? के यो चिन्तन गर्नलायक छैन र? यसको मूल कारण के थियो? ती मानिसहरू सत्यता बुझ्दैनथे, र तिनीहरू भनेको कुरा सुनिरहेका थिएनन्, र समर्पित बनिरहेका थिएनन्—मूल कारण के थियो भने, मानिसहरूभित्र एउटा प्रकृति हुन्छ र त्यसले परमेश्‍वरलाई विश्‍वासघात गर्छ। यो कस्तो प्रकृति हो? यो कस्तो स्वभाव हो? सबैभन्दा महत्त्वपूर्ण कुरा, मानिसहरू सत्यतालाई प्रेम गर्दैनन् र तिनीहरूले सत्यता स्विकार्न नमान्‍न सक्छन्, र तिनीहरूका हृदय कठोर बनेका हुन्छन्। मानिसहरू परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन र सत्यता खोज्न इच्छुक छु भनेर भन्छन्, तर काम गर्दा तिनीहरू आफ्नै उद्देश्य पूरा गर्न आफ्नै रुचिको भरमा काम गर्छन्। यदि त्यो तेरो आफ्नै व्यक्तिगत जीवनको मामला हुँदो हो त, तेरो इच्छाअनुसार नै सबथोक गर्नु ठूलो कुरा हुन्थेन, किनकि त्यो तेरो आफ्नै जीवन प्रवेशसँग मात्र सम्बन्धित हुन्छ। तर तँ अहिले मण्डलीमा कर्तव्य निभाइरहेको छस्, र त्यो तरिकाले काम गर्दाका परिणामहरू परमेश्‍वरको काम र परमेश्‍वरको महिमासँग जोडिन्छन्, र त्यो मण्डलीको प्रतिष्ठासँग सम्बन्धित छ; यदि मानिसहरूले आफ्नै इच्छाअनुसार लापर्बाहीपूर्वक काम गर्छन् भने, तिनीहरू परमेश्‍वरको अपमान गर्न जिम्मेवार हुनेछन्। परमेश्‍वरको घरले कसले कस्तो पहिरन लगाउँछ भन्ने कुरामा हस्तक्षेप गर्दैन—त्यसको सिद्धान्त नै शालीन र उचित देखिनु हो, ताकि तँलाई देखेर अरूले केही सिकून्। तर के चलचित्र छायाङ्कन गर्दा पूरै फुस्रो खैरो र खाकी रङ्गको कपडा प्रस्ताव गर्नु उचित हो त? यो समस्याको सार के थियो? यो त मानिसहरूले आफ्नै धारणाको भरमा काम गरेको र फुस्रो खैरो र खाकी रङ्गलाई परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने व्यक्तिको सङ्केत र प्रतीक मानेको कुरा थियो। यो भन्‍न सकिन्छ कि तिनीहरू यी रङ्गलाई सत्यता, परमेश्‍वरको इच्छा र परमेश्‍वरका मापदण्डहरूसँग मिल्ने रङ्गको रूपमा परिभाषित गर्दथे। यसो गर्नु गल्ती थियो। यी रङ्गहरू आफैमा कुनै गल्ती छैन, तर यदि मानिसहरूले आफ्नै धारणाहरूको आधारमा काम गर्छन् र यी रङ्गहरूलाई एकप्रकारको प्रतीक बनाउँछन् भने, त्यो समस्या हो। यो परिणाम मानिसहरूका धारणाहरूले गर्दा आयो, र मानिसहरूको हृदयमा यी धारणाहरू भएकै कारण यी विचार र अभ्यासहरू उत्पन्न भए। मानिसहरू यी धारणा र कल्पनाहरू सत्यता भएझैँ गर्छन्, फुस्रो खैरो र खाकी रङ्गलाई परमेश्‍वरका विश्‍वासीहरूले लगाउने कपडाको प्रतीक ठान्छन्, अनि सत्यता, परमेश्‍वरका वचन, र परमेश्‍वरका मापदण्डहरूलाई एकातिर राख्छन् र हटाउँछन्, र तिनलाई मानिसहरूका धारणा र मानकहरूद्वारा प्रतिस्थापित गर्छन्—समस्याको मूल कारण यही थियो। वास्तवमा, कपडाको रङ्ग र स्टाइल छान्नु बाह्य कुराहरू हुन् जसको सत्यतासँग कुनै सम्बन्ध हुँदैन, तर मानिसहरूका धारणाहरूकै कारण यी बेतुके कुराहरू आइपरे, र एकखालको नकारात्मक प्रभाव आइपर्‍यो, र त्यसैले उक्त मामला समाधान गर्न सत्यता आवश्यक पर्‍यो।

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, तिनीहरूले जे समस्या भोगे पनि वा तिनीहरूलाई जे समस्या आइपरे पनि, तिनीहरूमा निरन्तर धारणाहरू उत्पन्न हुन्छन् र ती धारणाहरू प्रयोग गर्न तिनीहरू जारी राख्छन्। तिनीहरू सदैव आफ्नै धारणाहरूमाझ जिउँछन्, र आफ्नै धारणाहरूको पावन्दी, प्रभुत्व र नियन्त्रणमा रहन्छन्। यसले गर्दा मानिसहरूका सोच, व्यवहार, जिउने शैली, आचरणका सिद्धान्त, र जीवन दिशा र लक्ष्यहरू, साथै तिनीहरूले परमेश्‍वरका वचनहरू र कामप्रति गर्ने व्यवहार शैली सबै नै तिनीहरूका धारणाद्वारा प्रभावित भइरहन्छन्, र तिनीहरू सत्यताद्वारा स्वतन्त्र र मुक्त पारिएका बिलकुलै हुँदैनन्। परमेश्‍वरमा यसरी विश्‍वास गरेर सधैँ धारणाहरूमा टाँसिएको कारण, १०-२० वर्षपछि, र आजसम्म पनि, मानिसहरूमा सुरुबेला भएका धारणाहरू उस्तै रहेका छन्। कसैले पनि तिनको चिरफार गरेको छैन, मानिसहरू आफैले पनि तिनलाई कहिल्यै जाँचेका छैनन्, र तिनीहरूले काटछाँट स्विकार्नु त झन् परको कुरा हो। मानिसहरूले कहिल्यै तिनलाई गम्भीरतापूर्वक सम्हालेका छैनन्, र त्यसैले तिनीहरूले जतिसुकै समय परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, के तिनीहरूले नतिजा प्राप्त गर्छन् त, कि गर्दैनन्? तिनीहरूले निश्‍चय नै नतिजा प्राप्त गर्दैनन्। धारणाहरू निरन्तर चिरफार गर्ने र बुझ्ने, र त्यसपछि तिनलाई सुल्झाउने प्रक्रियामार्फत परमेश्‍वर र मानिसहरूबीचको सम्बन्ध बिस्तारै सुधार हुँदै जान्छ—के यसको व्यावहारिक पाटो छैन र? (छ।) तर यदि तेरा धारणाहरू तैँले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न सुरु गर्दा जुन चरणमा थिए, निरन्तर त्यहीँ चरणमै रहिरहे भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध बिलकुलै सुधार भएको छैन भन्न सकिन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने कुरा आउँदा, तिमीहरूले आफू जिउन भर पर्ने अरू कुनकुन धारणाहरू समाधान गरेका छैनौ? तिमीहरू कुनकुन धारणाहरू सधैँ ठिक हुन्, सत्यतासँग मिल्दो कुरा हुन्, र ती समस्या होइनन् भन्ने विश्‍वास गर्छौ? कुनकुन धारणाहरूले तेरो व्यवहार, तेरो पछ्याइ, र परमेश्‍वरमाथिको विश्‍वासबारे तेरो विचारलाई प्रभावित पार्न, र परमेश्‍वरसँगको तेरो सम्बन्धलाई सधैँ उत्साहहीन र न निकट न टाढाको तुल्याउन सक्छन्? तैँले गलत रूपमा आफूले परमेश्‍वरलाई अत्यन्तै प्रेम गर्छु, परमेश्‍वरप्रति आफ्नो आस्था र बफादारी बढेको छ, र कष्ट भोग्ने आफ्नो दृढता बढेको छ भनी विश्‍वास गर्छस्, जबकि खासमा, परमेश्‍वरको नजरमा, तँसित अलिकति पनि सत्यता वास्तविकता छैन। तिमीहरू सबैले यो मामला चिरफार गर्नुपर्छ; तिमीहरू प्रत्येकमा निश्‍चय नै तिमीहरू जिउन भर पर्ने थुप्रै धारणाहरू हुनुपर्छ, जुन अझै विद्यमान छन् र अझै सुल्झिएका छैनन्। यो निकै गम्भीर समस्या हो।

मैले परमेश्‍वरमाथिको विश्‍वासबारे मानिसहरूमा हुने धारणाका तीनवटा उदाहरणहरू दिएको छु, त्यसैले के तिमीहरू अब परमेश्‍वरमाथिको विश्‍वासबारे आफूमा कुनकुन धारणाहरू छन् भन्नेबारे थप सचेत छौ? (छौँ।) त्यसोभए ल भन् त, अरू कुनकुन धारणा र कल्पनाहरूले मानिसहरूलाई सत्यता अभ्यास गर्नमा बाधा पुर्‍याउन र तिनीहरूको कर्तव्यपालन र परमेश्‍वरसँगको तिनीहरूको सामान्य सम्बन्धलाई प्रभाव पार्न सक्छन्, अर्थात् मानिसहरूलाई परमेश्‍वरसामु आउनमा बाधा पुर्‍याउन सक्ने र परमेश्‍वर चिन्नमा तिनीहरूलाई सिधै प्रभाव पार्ने धारणाहरू कुनकुन हुन्? (मसँग भएको एउटा निकै बलियो धारणा के हो भने, मलाई यस्तो विश्‍वास लाग्छ कि यदि मैले हरदिन सामान्य रूपमा कर्तव्य निभाउन सकेँ भने, परमेश्‍वरमा यसरी विश्‍वास गरेर मैले मुक्ति प्राप्त गर्न सक्छु।) तैँले कर्तव्य निभाएर मुक्ति प्राप्त गर्न सक्छु भन्ने विश्‍वास गर्नु एउटा धारणा र कल्पना हो। त्यसोभए, के मापदण्डअनुरूप कर्तव्य निभाउनु महत्त्वपूर्ण हो? के मापदण्डअनुरूप कर्तव्य ननिभाउने मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन्? यदि कसैले लापर्बाहीपूर्वक आफ्नो कर्तव्य निभाउँछ भने, यो परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउनु हो। यसो गर्ने व्यक्तिले मुक्ति प्राप्त गर्न नसक्ने मात्र नभई, ऊ दण्डित पनि हुनेछ। तिमीहरू यी कुराहरू सोच्न सक्दैनौ, तिनलाई बुझ्दैनौ, र तिनलाई प्रस्ट देख्न सक्दैनौ, तर तिमीहरू अझै पनि “मैले कर्तव्य निर्वाह गरेँ भने, मुक्ति प्राप्त गर्न र स्वर्गको राज्य प्रवेश गर्न सक्छु” भन्नेजस्ता कुराहरू गर्छौ। के यो परमेश्‍वरका वचनहरूसित मिल्छ त? यो कुरा त एउटा कामना मात्र हो; तैँले त्यो कसरी त्यति सजिलै प्राप्त गर्न सक्छस् र? के सत्यता नस्विकार्नुलाई परमेश्‍वरमा आस्था भएको मान्न सकिन्छ र? के व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव नहटाई मुक्ति प्राप्त गर्न सक्छ र? तिमीहरूभित्र धारणा र कल्पनासँग सम्बन्धित अत्यन्तै धेरै कुराहरू छन्। सत्यतासँग नमिल्ने सबैखाले कल्पना, बुझाइ र परिभाषाहरू धारणासँग सम्बन्धित हुन्छन्। अनि, तिमीहरूमा अरू के धारणाहरू छन्? (म सोच्‍ने गर्छु, मैले जति महत्त्वपूर्ण कर्तव्य निभाउँछु र परमेश्‍वरको गवाही दिने जति प्राप्तिहरू हासिल गर्छु, मैले त्यति नै सत्कर्म बटुल्नेछु र परमेश्‍वरले मलाई त्यति नै अनुमोदन गर्नुहुनेछ, र भविष्यमा मैले त्यति नै ठूला आशिष्‌हरू प्राप्त गर्नेछु।) यो पनि एउटा धारणा हो। छोटकरीमा भन्नुपर्दा, सबै धारणाहरू मानिसहरूले कल्पना गरेका र त्यतिकै अनुमान लगाएका कुराहरू हुन्। तिनका केही आधार हुन सक्ने भए पनि, ती परमेश्‍वरका वचन वा सत्यताका कुनै आधारबाट लिइएका होइनन्, बरु ती त मानिसहरूका कामनामा आधारित र आशिषित् हुने चाहनाद्वारा सिर्जित विचारहरू हुन्। यस्तो सोचद्वारा हाबी भएर काम गर्दा, मानिसहरूले हरप्रकारका काम गर्छन्, र अन्त्यमा तिनीहरूले ठूलो मूल्य चुकाएर आफूले गल्ती गरेछु र सिद्धान्तविपरीत गएछु, र वास्तविकता आफूले कल्पना गरेजस्तो रहेनछ भनेर थाहा पाउँछन्, र त्यसैले तिनीहरू नकारात्मक बन्छन्। जब कुनै दिन तिनीहरूले पछाडि फर्किहेरेर, आफ्ना धारणा र कल्पनाहरूमा भर पर्ने मार्ग पछ्याउँदै आएछु भन्ने थाहा पाउँछन्, त्यतिबेला समय निकै खेर गइसकेको हुन्छ, र तिनीहरू पछाडि फर्कन चाहन्छन् तर त्यो सम्भव हुँदैन। अनि, तिमीहरूसँग अरू कस्ता धारणाहरू छन्, जुन तिमीहरूले अझै समाधान गरेका छैनौ? (म सोच्छु, मैले परमेश्‍वरमा विश्‍वास गर्ने र आफूलाई परमेश्‍वरको लागि समर्पित गर्ने भएकोले, परमेश्‍वरले मलाई आशिषित् तुल्याउनुपर्छ र फाइदा दिनुपर्छ। मलाई कुनै समस्या आइपर्दा र मैले परमेश्‍वरलाई पुकार्दा, परमेश्‍वरले मेरो लागि बाटो खोलिदिनुपर्छ, र मैले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, मेरो सबथोक राम्ररी अघि बढ्नुपर्छ भन्ने लाग्छ। त्यसैले जब मैले कर्तव्य निभाउँदा कुनै कठिन परिस्थिति सामना गर्छु, तब म परमेश्‍वरलाई गलत बुझ्छु र क्रुद्ध हुन्छु, र परमेश्‍वरले ती कुराहरू मलाई आइपर्न दिनु हुँदैन भन्ने महसुस गर्छु।) धेरैजसो मानिसहरूमा यो धारणा हुन्छ; यो परमेश्‍वरमाथिको विश्‍वासबारे मानिसहरूमा हुने एकप्रकारको बुझाइ हो। मानिसहरू व्यक्तिले फाइदा प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्छ, र यदि उसले फाइदा प्राप्त गरेन भने यो गलत मार्ग हुनुपर्छ भन्ने सोच्छन्। त्यसोभए, के यो धारणा अहिले समाधान भएको छ त? के तैँले त्यसलाई सच्याउन थालेको छस् त? यो धारणाले तेरो व्यवहार नियन्त्रित गर्दा वा तेरो अघि बढ्ने दिशा प्रभावित पार्दा, के तैँले त्यसलाई समाधान गर्न सत्यता खोजेको छस्? मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासलाई प्राय: आफ्नो हृदयमै सीमित पार्छन्, र तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले सबथोक शान्तिपूर्ण हुनेछ भन्ने विश्‍वास गर्छन्, अन्यथा तिनीहरू यस्तो सोच्छन्, “म परमेश्‍वरले मलाई आशिषित् तुल्याउनुहुन्छ, मेरो सम्पूर्ण परिवारलाई शान्तिको आशिष्‌ दिनुहुन्छ, र मलाई बिरामी नहुने, र मेरो सपरिवार खुसी हुन सक्ने तुल्याउनुहुन्छ भनेर आफूलाई परमेश्‍वरमा अर्पित गर्दै कर्तव्य निभाउँछु। मैले मेरो कर्तव्य निभाउने भए पनि, यो परमेश्‍वरको काम हो, त्यसैले परमेश्‍वरले त्यसको सबै जिम्मेवारी बोक्नुपर्छ र सबथोक राम्ररी बन्दोबस्त गर्नुपर्छ र मैले कर्तव्य निर्वाह गर्नेबेला कुनै कठिनाइ, खतरा, वा प्रलोभन सामना गर्नु नपर्ने तुल्याउनुपर्छ। यदि यस्तो केही आइपर्‍यो भने, सायद त्यो परमेश्‍वरको काम हुँदै होइन।” यी सब मानिसहरूका धारणा हुन्; मानिसहरूले परमेश्‍वरको काम नबुझ्दा तिनीहरूले यस्ता धारणाहरू राख्ने सम्भावना हुन्छ। के यी धारणाहरू तिमीहरूले कर्तव्य निर्वाह गर्दा प्राय: आइरहन्छन्? (हो।) यदि तँ सधैँ तेरा धारणा र कल्पनाहरू सामान्य र तर्कसङ्गत छन् र ती यस्तै हुनुपर्छ भन्ने विश्‍वास गर्छस्, अनि तिनलाई समाधान गर्न सत्यता खोज्दैनस् भने, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस् र तेरो जीवन प्रवेश हुन सक्‍नेछैन। तेरो नजरमा, सत्यताको कुनै मूल्य वा अर्थ हुनेछैन, र परमेश्‍वरमाथिको तेरो आस्था पनि अर्थहीन नै हुनेछ। यदि परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरू प्राय: परमेश्‍वरका वचनहरू खान्छन्-पिउँछन्, भेलामा सहभागी हुन्छन्, प्रवचनहरू सुन्छन्, र अत्यन्तै सामान्य आत्मिक जीवन जिउँछन्, तर अझै पनि तिनीहरू आफ्नै धारणाको भरमा कार्य गर्ने, आचरण अँगाल्ने, र कर्तव्य निभाउने गर्छन्, र आफ्नै धारणालाई सबथोकको आधार बनाउँछन्, र सबैखाले कुराहरूको सही वा गलत छुट्ट्याउन आफ्नै धारणाहरू प्रयोग गर्छन् भने, के यस्ता मानिसहरू आफ्नै धारणाभित्र जिइरहेका हुँदैनन् र? चाहे तिनीहरूले जति नै प्रवचन सुनून् वा परमेश्‍वरका वचनहरू जति नै खाऊन्-पिऊन्, के आफ्नै धारणाभित्र जिउने मानिसहरू कहिल्यै बद्लिन सक्छन् र? के परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध कहिल्यै सुधार हुन सक्छ र? (सक्दैन।) त्यसोभए, के परमेश्‍वरले यस्तो आस्था अनुमोदन गर्नुहुन्छ त? (गर्नुहुन्न।) उहाँले पक्कै अनुमोदन गर्नुहुन्न। त्यसकारण, मानिसहरूभित्रका धारणाहरू चिरफार गर्नु अत्यन्तै महत्त्वपूर्ण छ।

धेरैजसो मानिसहरूले पर्याप्त खाइपिइ गरेपछि र सबथोक राम्रो हुँदा, वा धार्मिक अनुष्ठान पालन गर्दा, तिनीहरूले कुनै धारणा पालेका हुँदैनन्, तर परमेश्‍वरले उहाँको काम गर्नुहुँदा र सत्यता व्यक्त गर्नुहुँदा, जति पनि धारणाहरू उत्पन्न हुन्छन्। मानिसहरूले अझै आफ्नो कर्तव्य निर्वाह गर्न बाँकी हुँदा र सामान्यतया भेलाहरूमा मात्र सहभागी हुँदा, तिनीहरूमा कुनै धारणा हुँदैन, तर जब परमेश्‍वरले तिनीहरूलाई कर्तव्य निभाउन आवश्यक गराउनुहुन्छ वा तिनीहरूले कर्तव्यमा कठिनाइ सामना गर्छन्, तब कैयौँ धारणाहरू उत्पन्न हुन्छन्। मानिसहरूले भौतिक आराम र जीवनको आनन्द उठाउँदा, तिनीहरूमा कुनै धारणा हुँदैन, तर तिनीहरूले बिरामीपन वा प्रतिकूलता सामना गर्दा, धारणाहरू स्वतः उत्पन्न हुन्छन्। उदाहरणको लागि, व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्नुअघि उसको काम र पारिवारिक जीवन सबै राम्ररी चलिरहेको हुन्छ, तर उसले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि उसलाई मन नपर्ने केही कुराहरू आइपर्छन्। कहिलेकाहीँ उसले आलोचना, विभेद, हेपाइ, अनि गिरफ्तार र यातनासमेत भोग्छ, र उसलाई दीर्घरोगहरू लाग्छन्, यसले उसलाई असहज महसुस गराउँछ, अनि उसले यस्तो सोच्छ, “परमेश्‍वरमा विश्‍वास गरेका मेरा वर्षहरू किन राम्रा भएनन्? म साँचो परमेश्‍वरमा विश्‍वास गर्छु, तर परमेश्‍वरले मलाई किन सुरक्षा दिनुहुन्न? परमेश्‍वरले कसरी म दुष्ट मानिसहरूबाट कुटिएको र दियाबलसद्वारा कुल्चिएको हेर्दै मेरो बेवास्ता गर्न सक्नुहुन्छ?” के मानिसहरूले यी धारणाहरू बनाउँदैनन् र? अनि, तिनीहरूले यी धारणाहरू बनाउनुको कारण के हो? मानिसहरू यस्तो विश्‍वास गर्छन्, “अहिले म परमेश्‍वरमा विश्‍वास गर्छु, त्यसैले म उहाँकै हुँ, र परमेश्‍वरले मेरो हेरचाह गर्नुपर्छ, मेरो खाने र बस्‍ने व्यवस्था गर्नुपर्छ, मेरो भविष्य र भाग्य, साथै मेरो व्यक्तिगत सुरक्षा र पारिवारिक सुरक्षासमेत जिम्मा लिनुपर्छ, र मेरो सबथोक ठिक हुने र सबथोक शान्तिपूर्ण र समस्यारहित हुने प्रत्याभूति गर्नुपर्छ।” यदि वास्तविकता मानिसहरूलाई चाहिएअनुरूप र तिनीहरूले कल्पेअनुरूप छैन भने, तिनीहरूले यस्तो सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु मैले जस्तो हुनेछ भन्ने सोचेको थिए त्यो त्यति राम्रो वा सजिलो रहेनछ। परमेश्‍वरमाथिको विश्‍वासमा मैले अझै यो सब उत्पीडन र सङ्कष्ट अनि धेरै परीक्षाहरू भोग्नुपर्नेरहेछ—परमेश्‍वरले किन मेरो सुरक्षा गर्नुहुन्न?” के यो सोचाइ सही हो कि गलत हो? के यो सत्यतासँग मिल्छ? (मिल्दैन।) त्यसोभए, के यो सोचाइले तिनीहरू परमेश्‍वरलाई अनुचित मागहरू गरिरहेका छन् भन्ने देखाउँदैन र? यस्तो सोचाइ भएका मानिसहरू किन परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोज्ने गर्दैनन्? परमेश्‍वरले मानिसहरूलाई यस्ता कुराहरू सामना गर्ने तुल्याउनुपछाडि स्वाभाविक रूपमा उहाँको इच्छा हुन्छ; मानिसहरू किन परमेश्‍वरको इच्छा बुझ्दैनन्? तिनीहरू किन परमेश्‍वरको कामसँग सहकार्य गर्न सक्दैनन्? परमेश्‍वरले जानीजानी मानिसहरूलाई यी परिस्थितिहरू सामना गर्ने तुल्याउनुहुन्छ ताकि तिनीहरूले सत्यता खोज्न र प्राप्त गरून्, र ताकि तिनीहरू सत्यतामा भर परेर जिऊन्। तर मानिसहरू सत्यता खोज्दैनन्, बरु सधैँ आफ्नै धारणा र कल्पनाहरू प्रयोग गरेर परमेश्‍वरको मापन गर्छन्—यो तिनीहरूको समस्या हो। तैँले यी अप्रिय कुराहरूलाई यसरी नै बुझ्नैपर्छ: कसैले पनि आफ्‍नो सम्पूर्ण जीवन दुःखविना बिताउन सक्दैन। केही मानिसहरूले परिवारबाट कष्ट पाउँछन्, कसैले काममा, कसैले वैवाहिक सम्बन्धमा, र कतिले शारीरिक बिमारीबाट कष्ट भोग्छन्। सबैले नै दुःख भोग्नुपर्छ। कसैले भन्छन्, “मानिसहरूले किन दुःख भोग्नु परेको? सम्पूर्ण जीवन शान्ति र खुसीसँग जिउनु कति ठूलो कुरा हुनेछ। के हामी दुःख नभोग्न सक्दैनौं?” सक्दैनौं—सबैले कष्ट भोग्नैपर्छ। दुःख-कष्टले प्रत्येक व्यक्तिलाई शारीरिक जीवनका असङ्ख्य संवेदनाहरू अनुभव गराउँछ, चाहे ती संवेदनाहरू सकारात्मक, नकारात्मक, सक्रिय वा निष्क्रिय जस्तोसुकै नै किन नहोऊन्; कष्टले तँलाई भिन्नै भावना र बुझाइहरू दिन्छ, जुन तेरो निम्ति जीवनका सबै अनुभवहरू हुन्। त्यो एउटा पक्ष हो, र यो मानिसहरूलाई अझ बढी अनुभवी बनाउनको लागि पनि हो। यदि तैँले सत्यता खोजी गर्न र यसमार्फत परमेश्‍वरको इच्छा बुझ्‍न सक्छस् भने, तँ परमेश्‍वरद्वारा तँलाई दिइएको मापदण्डको अझ नजिक पुग्नेछस्। अर्को पक्ष के हो भने, यो परमेश्‍वरले मानिसहरूलाई दिनुहुने जिम्मेवारी हो। कुन जिम्मेवारी? तैँले भोग्नुपर्ने कष्ट यही हो। यदि तैँले यो कष्ट स्विकार्न र सहन सक्छस् भने, यो गवाही हो, लाजमर्दो कुरा होइन। बिरामी पर्दा, कति मानिसहरू अरूले थाहा पाउलान् कि भनेर डराउँछन्; तिनीहरू बिरामी हुनु लाजमर्दो कुरा हो भन्ने सोच्छन्, जबकि खासमा त्यो लाज मान्नुपर्ने कुरै होइन। सामान्य व्यक्तिको रूपमा, यदि बिरामी हुँदा तँ परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन र हरप्रकारका कष्टहरू सहन सक्षम हुन्छस्, र अझै पनि सामान्य रूपमा कर्तव्य निभाउन र परमेश्‍वरले तँलाई दिनुहुने आदेश पूरा गर्न सक्छस् भने, के यो राम्रो कुरा हो कि नराम्रो? यो राम्रो कुरा हो, यो परमेश्‍वरप्रति तेरो समर्पणको गवाही हो, यो तैँले बफादारीपूर्वक कर्तव्य निभाउने गवाही हो, र यो शैतानलाई लज्जित तुल्याउने र पराजित गर्ने गवाही हो। त्यसैले, हरेक सृष्टि गरिएको प्राणी र परमेश्‍वरका चुनिएका हरेक व्यक्तिले जुनसुकै कष्ट स्विकार्नुपर्छ र त्यसप्रति समर्पित हुनुपर्छ। यसलाई तैँले यसरी नै बुझ्‍नुपर्छ, र तैँले यो पाठ सिक्नैपर्छ र परमेश्‍वरप्रति साँचो समर्पण हासिल गर्नैपर्छ। यो परमेश्‍वरको इच्छाअनुसार हुन्छ, र यो परमेश्‍वरको अभिप्राय हो। सृष्टि गरिएको प्रत्येक प्राणीको लागि परमेश्‍वरले प्रबन्ध गर्नुहुने कुरा यही हो। परमेश्‍वरले तँलाई यी परिस्थिति र अवस्थामा पार्नु भनेको तँलाई जिम्मेवारी, दायित्व, र आदेश दिनुजस्तो हो, त्यसैले तैँले ती कुरा स्वीकार गर्नुपर्छ। के यो सत्यता होइन र? (हो।) जबसम्म यो परमेश्‍वरबाट आउँछ, जबसम्म परमेश्‍वरले तँलाई यस्तो मापदण्ड दिनुहुन्छ र तेरो लागि यस्तो अभिप्राय राख्नुहुन्छ, तबसम्‍म त्यो सत्यता हो। अनि, यसलाई किन सत्यता भनिएको हो? किनभने यदि तैँले सत्यताको रूपमा यी वचनहरू स्विकार्छस् भने, तँ तेरो भ्रष्ट स्वभाव, तेरा धारणाहरू र तेरो विद्रोहीपन समाधान गर्न सक्षम हुनेछस्, र यसरी तैँले तेरा कठिनाइहरू फेरि सामना गर्दा, तँ परमेश्‍वरको इच्छाविरुद्ध जाने वा परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछैनस्, अर्थात् तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन सक्षम हुनेछस्। यस तरिकाले, तँ शैतानलाई लज्जित तुल्याउने गवाही दिन सक्षम हुनेछस्, र तैँले सत्यता हासिल गर्न र मुक्ति प्राप्त गर्न सक्नेछस्। यदि तँ तेरा आफ्नै धारणा र विचारहरूअनुसार चल्छस्, र “अब म परमेश्‍वरमा विश्‍वास गर्छु, त्यसैले परमेश्‍वरले मलाई आशिषित् तुल्याउनुपर्छ। म आशिष्‌ पाउने व्यक्ति हुनुपर्छ” भनेर सोच्छस् भने, तैँले यो आशिष्‌लाई कसरी बुझ्छस् र? तैँले बुझ्ने आशिष् भनेको त जीवनभर सान र समृद्धि पाउनु, खानपिउन चाहने सबथोक पाउनु, कुनै रोग नलाग्‍नु, जन्मिँदै परिपूर्ण भएर जन्‍मनु, सबथोक उपलब्ध हुनु, र काम नगरी सम्पन्न भौतिक जीवनमा रमाउनु हो। अझ भन्‍ने हो भने, त्यो भनेको सबथोक सरल तरिकाले चल्ने शान्तिपूर्ण जीवन जिउनु, र कुनै पीडाविना अत्यन्तै सहजतामा जिउनु हो—तैँले यसैलाई आशिष् ठान्छस्। तर अहिले त्यसलाई हेर्दा, के त्यो आशिष् हो त? त्यो आशिष् होइन, त्यो त विपत्ति हो। देहसुखप्रति लालायित हुने मार्ग हिँड्दा, त्यसले तँलाई परमेश्‍वरबाट झन्झन् टाढा पुर्‍याउँछ, र साथै त्यसले तँलाई झन्झन् यो दुष्ट संसारको गहिराइमा डुब्ने, र आफूलाई त्यसबाट मुक्त पार्न नसक्ने तुल्याउँछ। अनि जब सृष्टिकर्ताले तँलाई बोलाउनुहुन्छ, तैँले थुप्रै कुराहरू त्याग्न चाहिरहेको हुँदैनस्, र तैँले यी देहसुखहरू त्याग्न सक्दै सक्दैनस्। परमेश्‍वरले तँलाई कुनै आज्ञा दिनुभयो र कुनै कर्तव्य निभाउन लगाउनुभयो भने पनि, तैँले आफूले आफूलाई अत्यन्तै अमूल्य भएझैँ व्यवहार गर्छस्: आज तँलाई सन्चो हुँदैन, भोलि तँ राम्रो मुडमा हुँदैनस्, तँलाई तेरा आमाबुबा र जाहानको याद आउँछ, तँ हरदिन दैहिक कुराहरू मात्र सोच्छस्, र कुनै कर्तव्य राम्ररी निभाउँदैनस्, बरु अरूभन्दा धेरै रमाउन चाहन्छस्। तँ परजीवीझैँ जिउँछस्—के तैँले सत्यता अभ्यास गर्न सक्छस्? के तैँले गवाही दिन सक्छस्? अहँ, सक्दैनस्। मानिसहरूमा परमेश्‍वरमाथिको विश्‍वाससम्बन्धी अत्यन्तै धेरै कल्पनाहरू हुन्छन्। तिनीहरू आफूले परमेश्‍वरमा विश्‍वास गरेपछि जीवनभर धन र शान्ति प्राप्त हुने, तिनीहरूसँगै तिनीहरूका नातागोताले पनि लाभ पाउने, सबैको आँखामा ईर्ष्या पलाउने, र तिनीहरू कहिल्यै गरिब र बिरामी नहुने वा तिनीहरूलाई कहिल्यै कुनै खालको विपद आइनपर्ने कल्पना गर्छन्। यस्ता कल्पनाहरूले मानिसहरूलाई परमेश्‍वरमा धेरै अनुचित मापदण्डहरू थोपर्ने तुल्याउँछन्। अनि जब तैँले परमेश्‍वरमा अनुचित मापदण्डहरू थोपर्छस्, के परमेश्‍वरसँग तेरो सम्बन्ध साधारण हुन्छ कि असाधारण? निश्‍चय नै असाधारण हुन्छ। त्यसोभए, के यी धारणा र कल्पनाहरूले तँलाई परमेश्‍वरको पक्षमा उभिने तुल्याउँछन् कि विरोधमा? तिनले तँलाई परमेश्‍वरको विरोधमा उभिने, परमेश्‍वरविरुद्ध सङ्घर्ष र प्रतिरोध गर्ने, साथै परमेश्‍वरलाई विश्‍वासघात गर्ने र त्याग्ने मात्र तुल्याउँछन्, र यी व्यवहारहरू बढ्दो रूपमा गम्भीर बन्दै जान्छन्। यसको मतलब, मानिसहरूमा यी धारणाहरू आएपछि, त्यसउप्रान्त तिनीहरूले परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्न सक्दैनन्। जब मानिसहरूले परमेश्‍वरबारे धारणाहरू बनाउन पुग्छन्, त्यसपछि तिनीहरूको हृदयले विद्रोहीपन र नकारात्मकताका भावनाहरू पैदा गर्न थाल्छ। यस्ता समयहरूमा तिनीहरूले यी धारणाहरू समाधान गर्न सत्यता खोज्नुपर्छ। जब तिनीहरूले सत्यता बुझ्छन्, जब तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई दिनुहुने आज्ञा र परमेश्‍वरमाथिको विश्‍वासबारे तिनीहरूप्रतिका उहाँका मापदण्डहरू बुझ्छन्, र जब तिनीहरूले यी कुराहरू बुझिसक्छन्, र परमेश्‍वरका मापदण्डबमोजिम व्यवहार र कार्य गर्न सक्ने हुन्छन्, तब यस तरिकाले तिनीहरूका धारणा र कल्पनाहरू समाधान हुनेछन्। जब तिनीहरूले सत्यता बुझिसकेका हुन्छन्, तिनीहरूले स्वाभाविक रूपमै आफ्ना धारणाहरू त्याग्नेछन्, र त्यो अवस्थामा परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध थप सामान्य बन्नेछ। धारणाहरू सुल्झाउनु भनेको परमेश्‍वरबारेका गलतबुझाइहरू सुल्झाउनुसरह हो। अर्को तरिकाले भन्नुपर्दा, तिनीहरूले आफ्ना धारणाहरू त्यागे वा सुल्झाए भने मात्र, सत्यता के हो र परमेश्‍वरका मापदण्ड के हुन् भनेर तिनीहरूले बुझ्नेछन्।

तिमीहरूको हृदयभित्र आफ्नो कर्तव्यपालनलाई प्रभाव पार्न सक्ने अरू के-कस्ता धारणाहरू छन्? के-कस्ता धारणाले तिमीहरूलाई जीवनमा प्राय: प्रभावित र नियन्त्रित पारिरहन्छन्? जब तँलाई मननपर्ने घटनाहरू आइपर्छन्, तेरा धारणाहरू स्वतः देखा पर्छन्, र त्यसपछि तैँले परमेश्‍वरसित गुनासो, विवाद र प्रतिस्पर्धा गर्छस्, र तिनले परमेश्‍वरसँगको तेरो सम्बन्धमा तीब्र रूपान्तरण ल्याउँछन्: तँ परमेश्‍वरलाई अत्यन्तै प्रेम गर्ने र उहाँप्रति अत्यन्तै बफादार, अनि आफ्नो पूरै जीवन उहाँप्रति अर्पित गर्न चाहने सुरुवाती अवस्थादेखि रूपान्तरित भएर अचानक मन परिवर्तन भएको, र आफ्नो कर्तव्य निर्वाह गर्न वा परमेश्‍वरप्रति अबउप्रान्त इमान्दार हुन नचाहने अवस्थामा पुग्छस्, र तैँले परमेश्‍वरमाथि विश्‍वास गरेकोमा र यो मार्ग रोजेकोमा पछुताउँछस्, र परमेश्‍वरद्वारा चुनिएकोमा समेत गुनासो गर्छस्। अरू के-कस्ता धारणाले परमेश्‍वरसँगको तेरो सम्बन्धमा अचानक परिवर्तन ल्याउन सक्छन्? (जब परमेश्‍वरले मलाई जाँच्ने परिस्थिति बन्दोबस्त गर्नुहुन्छ र मेरो खुलासा गर्नुहुन्छ, र मलाई मेरो राम्रो परिणाम आउनेछैन भन्ने अनुभूति हुन्छ, तब म परमेश्‍वरबारे धारणाहरू बनाउँछु। मलाई म परमेश्‍वरमा विश्‍वास गर्छु र परमेश्‍वरलाई पछ्याउँछु, अनि मैले सधैँ आफ्नो कर्तव्य निभाएको छु, त्यसैले जबसम्म म परमेश्‍वरलाई त्याग्दिनँ, तबसम्म उहाँले मलाई परित्याग गर्नुहुन्न भन्ने महसुस हुन्छ।) यो एकप्रकारको धारणा हो। के तिमीहरूसँग प्राय: यस्ता धारणाहरू हुन्छन्? परमेश्‍वरद्वारा परित्याग गरिनुबारे तिमीहरूको के बुझाइ छ? के तँलाई यदि परमेश्‍वरले तँलाई छोड्नुभयो भने, त्यसको अर्थ परमेश्‍वरले तँलाई चाहनुहुन्न र तँलाई मुक्ति दिनुहुनेछैन भन्ने लाग्छ? यो अर्को खालको धारणा हो। त्यसोभए यस्तो धारणा कसरी उत्पन्न हुन्छ? के यो तेरो कल्पनाबाट आउँछ, कि यसको कुनै आधार हुन्छ? परमेश्‍वरले तँलाई राम्रो परिणाम दिनुहुनेछैन भनेर तँलाई कसरी थाहा हुन्छ? के परमेश्‍वरले तँलाई भेटेरै भन्नुभयो? यस्ता सोचहरू पूरै तैँले नै रचेको होस्। अब तँलाई यो एउटा धारणा हो भन्ने थाहा छ; मुख्य प्रश्‍न भनेको त्यसलाई कसरी समाधान गर्ने भन्ने हो। वास्तवमा मानिसहरूमा परमेश्‍वरमाथिको आस्थाबारे थुप्रै धारणाहरू हुन्छन्। यदि तैँले आफूसँग धारणा छ भन्ने महसुस गर्न सकिस् भने, त्यो गलत हो भनेर तँलाई थाहा हुनुपर्छ। अनि, यी धारणाहरू कसरी हल गर्नुपर्छ? सर्वप्रथम, तैँले यी धारणाहरू ज्ञान वा शैतानी दर्शनबाट पो आउँछन् कि, त्रुटि कहाँनेर छ, कुन ठाउँबाट हानि हुन्छ भनेर प्रस्टसित देख्‍नुपर्छ, र यो प्रस्टसित देखिसकेपछि, तैँले स्वाभाविक रूपमै उक्त धारणा त्याग्न सक्नेछस्। तर यो तैँले त्यसलाई पूर्णतया समाधान गरेसरह होइन; तैँले अझै पनि सत्यता खोज्नुपर्छ, परमेश्‍वरका मापदण्डहरू के हुन् भनी हेर्नुपर्छ र त्यसपछि परमेश्‍वरका वचनअनुसार उक्त धारणा चिरफार गर्नुपर्छ। जब तैँले उक्त धारणा गलत छ, त्यो बेतुके कुरा हो, र त्यो पूर्णतया सत्यताविपरीत छ भनी प्रस्टसित चिन्न सक्छस्, त्यसको अर्थ मूलभूत रूपमा तैँले उक्त धारणा समाधान गरेको छस् भन्ने हुन्छ। यदि तँ सत्यता खोज्दैनस्, र परमेश्‍वरका वचनहरूसँग उक्त धारणा दाँजेर हेर्दैनस् भने, तैँले उक्त धारणा कसरी गलत छ भनेर प्रस्टसित चिन्न सक्नेछैनस्, र त्यसैले तैँले पूर्ण रूपमा उक्त धारणा त्याग्न सक्नेछैनस्; तँलाई त्यो धारणा हो भनेर थाहा भए पनि, तैँले अपरिहार्य रूपमै अझै त्यसलाई पूर्णतया त्याग्न सक्नेछैनस्। यस्ता परिस्थितिहरूमा, जब तेरा धारणाहरू परमेश्‍वरका मापदण्डसित बाझिन्छन्, र तँलाई तेरा धारणाहरू गलत छन् भन्ने महसुस भए पनि, अझै तेरो हृदय तेरा धारणाहरूमै अडिन्छ, र जब तँलाई तेरा धारणाहरू सत्यतासँग मेल खाँदैनन् भनी निश्‍चित रूपमा थाहा हुन्छ, तर अझै पनि हृदयमा तँलाई तेरा धारणाहरू तर्कयोग्य छन् भन्ने विश्‍वास लाग्छ, तब तँ सत्यता बुझ्ने व्यक्ति हुनेछैनस्, र तँजस्ता मानिसहरूको जीवन प्रवेश हुँदैन र कदमा पनि निकै कमी हुन्छ। उदाहरणको लागि, मानिसहरू विशेष गरी आफ्नो परिणाम र गन्तव्यप्रति, र आफ्नो कर्तव्यको हेरफेर र कर्तव्यमा आफूलाई गरिने प्रतिस्थापितप्रति संवेदनशील हुन्छन्। केही मानिसहरू त्यस्ता कुराहरूबारे बारम्बार झट्टै गलत निष्कर्षमा पुग्छन्, तिनीहरूको कर्तव्यबाट तिनीहरूलाई हटाइयो भने तिनीहरूको कुनै प्रतिष्ठा रहँदैन वा परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्न वा अब चाहनुहुन्न भन्नुहुनेछ, र तिनीहरूका निम्ति सबै कुरा समाप्त हुन्छ भनी सोच्छन्। तिनीहरूले निकाल्‍ने निष्कर्ष यही हो। अनि, तिनीहरू यस्तो विश्‍वास गर्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, परमेश्‍वरले मलाई चाहनुहुन्न, र मेरो परिणाम तय भइसकेको छ, त्यसैले अब जिइरहनुको के अर्थ?” यस्ता सोचहरू सुन्दा अरूलाई ती तर्कसङ्गत र मर्यादापूर्ण लाग्छन्—तर वास्तवमा यो कस्तो खाले सोचाइ हो? यो परमेश्‍वरविरुद्धको विद्रोहीपन हो, यो आफूलाई निराशामा डुबाउनु हो। अनि, तिनीहरू किन आफूलाई निराशामा डुबाउँछन्? किनभने तिनीहरू परमेश्‍वरको इच्छा बुझ्दैनन्, तिनीहरू परमेश्‍वरले कसरी मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनी प्रस्टसित बुझ्न सक्दैनन्, र तिनीहरूमा परमेश्‍वरमाथिको साँचो आस्था हुँदैन। के मानिसहरूले आफूलाई निराशामा डुबाएको कुरा परमेश्‍वरलाई थाहा हुन्छ? (हुन्छ।) परमेश्‍वरलाई थाहा हुन्छ, र त्यसैले उहाँले त्यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ? मानिसहरू एकप्रकारको धारणा बनाउँछन् र भन्छन्, “परमेश्‍वरले मान्छेको लागि यस्तो कठिन मूल्य चुकाउनुभएको छ, उहाँले हरेक व्यक्तिमा धेरै काम गर्नुभएको छ, र धेरै मेहनत गर्नुभएको छ; परमेश्‍वरको निम्ति कुनै व्यक्तिलाई चुन्नु र मुक्ति दिनु सजिलो छैन। यदि कुनै व्यक्तिले आफैलाई निराशामा डुबायो भने, परमेश्‍वर धेरै दुःखी बन्नुहुनेछ, र उसले आफैलाई माथि उठाउन सकोस् भनी प्रत्येक दिन आशा गर्नुहुन्छ।” बाहिरी स्तरमा यसको अर्थ यही हो, तर वास्तवमा, यो पनि एउटा मान्छेकै धारणा हो। परमेश्‍वरले त्यस्ता मानिसहरूको निम्ति निश्‍चित दृष्टिकोण राख्नुहुन्छ: उहाँले तँलाई नै निर्णय गर्न दिनुहुनेछ; उहाँले तँलाई तेरो इच्छाविपरीत केही पनि गर्न बाध्य पार्नुहुनेछैन। यदि तँ “म अझै पनि एक सृष्टि गरिएको प्राणीको कर्तव्य गर्न, परमेश्‍वरले भन्‍नुभएअनुसार र परमेश्‍वरको इच्छा पूरा गर्न मैले गर्न सक्ने सबै अभ्यास गर्न चाहन्छु। म मेरा सम्पूर्ण वरदान र प्रतिभाहरू प्रयोग गर्नेछु, र यदि म केही कामको लागि योग्य भइनँ भने, म समर्पित हुन र आज्ञापालन गर्न सिक्नेछु; म आफ्नो कर्तव्य छोड्नेछैन” भनेर भन्छस् भने, परमेश्‍वरले यसो भन्नुहुनेछ, “यदि तँ यसप्रकारले जिउन इच्छुक छस् भने पछ्याउन जारी राख्, तर तैँले परमेश्‍वरले अह्राउनुभएअनुसार नै गर्नुपर्छ; परमेश्‍वरले आवश्यक गर्नुभएका मानक र उहाँका सिद्धान्तहरू परिवर्तन हुँदैनन्।” यी वचनहरूको अर्थ के हो? तिनको अर्थ के हो भने, मानिसहरूले मात्रै तिनीहरू आफैलाई त्याग्न सक्छन्; परमेश्‍वरले कहिल्यै कसैलाई त्याग्नुहुन्न। आखिरमा मुक्ति प्राप्त गर्न र परमेश्‍वरलाई हेर्न सक्‍ने, परमेश्‍वरसित सामान्य सम्बन्ध स्थापित गर्ने र परमेश्‍वरसामु आउन सक्‍नेहरूको हकमा कुरा गर्नुपर्दा, यो एकपल्ट असफल बनेपछि वा एकपटक काँटछाँटमा परेपछि, वा एकपटक न्याय र सजाय भोगेपछि हासिल गर्न सकिने कुरा होइन। पत्रुसलाई सिद्ध पारिनुभन्दा पहिले, उसलाई सयौंपटक शोधन गरियो। अन्त्यसम्‍मै सेवा पुऱ्याएर बाँकी रहिरहने मानिसहरूमध्ये एउटै पनि यस्तो हुँदैन जसले अन्त्यसम्म पुग्नुअघि आठदश पटकको परीक्षा र शोधन मात्रै अनुभव गरेको होस्। तर कुनै व्यक्तिलाई जतिपटक परीक्षा वा शोधन गरिए पनि, के यो परमेश्‍वरको प्रेम होइन र? (हो, यो परमेश्‍वरको प्रेम हो।) जब तैँले परमेश्‍वरको प्रेम देख्न सक्छस्, तब तैँले मान्छेप्रतिको परमेश्‍वरको मनोवृत्ति बुझ्न सक्छस्।

जब केही मानिसहरूले परमेश्‍वरका वचन पढ्छन् र उहाँका वचनहरूमा परमेश्‍वरले मानिसहरूलाई निन्दा गर्नुभएको देख्छन्, तब तिनीहरू धारणा बनाउँछन् र मनभित्र अन्तर्द्वन्द्व महसुस गर्छन्। उदाहरणको लागि, परमेश्‍वरका वचनले भन्छ कि तैँले सत्यता नस्विकार्ने भएकोले परमेश्‍वरले तँलाई रुचाउनु वा स्विकार्नुहुन्न, तँ दुष्कर्मी र ख्रीष्टविरोधी होस्, तँलाई हेर्दासमेत उहाँमा उदासी छाउँछ र उहाँ तँलाई चाहनुहुन्न। मानिसहरू यी वचन पढेर यस्तो सोच्छन्, “यी वचनहरू मलाई भनिएका हुन्। परमेश्‍वरले मलाई नचाहने भनेर दृढनिश्‍चय गर्नुभएको छ, र परमेश्‍वरले मलाई परित्याग गर्नुभएकोले, म पनि अबदेखि परमेश्‍वरमा विश्‍वास गर्नेछैनँ।” त्यस्ता मानिसहरू पनि छन् जो, परमेश्‍वरका वचनहरू पढ्दा, प्राय: धारणा र गलतबुझाइहरू विकास गर्छन् किनकि परमेश्‍वरले मानिसका भ्रष्ट स्थितिहरू पर्दाफास गर्नुहुन्छ र मानिसलाई निन्दा गर्दै केही कुरा बोल्‍नुहुन्छ। तिनीहरू परमेश्‍वरका वचनहरू आफूप्रति लक्षित छन्, परमेश्‍वरले आफूलाई त्यागिरहनुभएको छ र उहाँले आफूलाई मुक्ति दिनुहुन्‍न भन्‍ने सोच्दै नकारात्मक र कमजोर बन्छन्। तिनीहरू यति हदसम्म नकारात्मक बन्छन् कि तिनीहरूको आँसु नै झर्छ र अबउप्रान्त परमेश्‍वरलाई पछ्याउन चाहँदैनन्। यो वास्तवमा परमेश्‍वरलाई गलत बुझ्नु हो। जब तैँले परमेश्‍वरका वचनहरूको अर्थ बुझ्दैनस्, तैँले परमेश्‍वरलाई सीमित पार्ने कोसिस गर्नु हुँदैन। तँलाई परमेश्‍वरले कस्तो व्यक्तिलाई त्याग्नुहुन्छ, वा उहाँले कस्ता परिस्थितिमा मानिसहरूबाट आशा मार्नुहुन्छ, वा कस्ता परिस्थितिमा मानिसहरूलाई पन्छाउनुहुन्छ भन्ने कुरा थाहा छैन; यो सबै कुराका सिद्धान्त र परिवेश हुन्छन्। यदि तँसँग यी सब कुराबारे पूर्ण अन्तर्दृष्टि छैन भने, तँ अति संवेदनशील बन्‍ने सम्भावना हुन्छ र तैँले परमेश्‍वरको एउटा वचनको आधारमा आफूलाई सीमित पार्नेछस्। के त्यो समस्याजनक कुरा होइन र? जब परमेश्‍वरले मानिसहरूलाई न्याय गर्नुहुन्छ, उहाँले तिनीहरूको कुन प्रमुख पक्षको निन्दा गर्नुहुन्छ? परमेश्‍वरले जुन कुराहरूको न्याय र खुलासा गर्नुहुन्छ, ती मानिसहरूका भ्रष्ट स्वभाव र भ्रष्ट सारहरू हुन्, उहाँले तिनीहरूका शैतानी स्वभाव र शैतानी प्रकृतिको निन्दा गर्नुहुन्छ, उहाँले परमेश्‍वरप्रति तिनीहरूका विद्रोह र विरोधका विविध प्रकटीकरण र व्यवहारहरूको निन्दा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुन नसकेकोमा, सधैँ परमेश्‍वरको विरोध गरेकोमा, र सधैँ तिनीहरूका आफ्नै उत्प्रेरणा र लक्ष्यहरू भएकोमा निन्दा गर्नुहुन्छ—तर यस्तो निन्दाको अर्थ परमेश्‍वरले शैतानी स्वभाव भएका मानिसहरूलाई परित्याग गर्नुभएको छ भन्ने हुँदैन। यदि तँ यसबारे प्रस्ट छैनस् भने, तँसँग बोध क्षमता नै छैन, यसले कताकता तँलाई सधैँ सबथोकमा शङ्का गर्ने र परमेश्‍वरलाई गलत अर्थ्याउने, मानसिक रोगी मानिसहरूझैँ बनाउँछ। यस्ता मानिसहरूमा साँचो आस्था हुँदैन, त्यसैले तिनीहरूले कसरी परमेश्‍वरलाई अन्त्यसम्मै पछ्याउन सक्छन् र? परमेश्‍वरबाट निन्दाको एउटा अभिव्यक्ति सुन्दा नै तैँले सोच्छस् कि, परमेश्‍वरबाट निन्दित भएपछि मानिसहरू परमेश्‍वरद्वारा त्यागिएका हुन्छन्, र अब तिनीहरूले मुक्ति पाउनेछैनन्, र यही कारणले तँ नकारात्मक बन्छस्, र तैँले आफूलाई निराशामा डुबाउँछस्। यो परमेश्‍वरको गलत व्याख्या गर्नु हो। खासमा, परमेश्‍वरले मानिसहरूलाई त्याग्नुभएको हुँदैन। तिनीहरू आफैले परमेश्‍वरको गलत व्याख्या गरेर आफूलाई त्यागेका हुन्छन्। मानिसहरूले आफैलाई त्याग्नुभन्दा गम्भीर कुरा केही हुँदैन, र यो कुराले पुरानो करारको यो वचन चरितार्थ गर्छ: “मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)। मानिसहरूले आफूलाई निराशामा डुबाउनुभन्दा मूर्ख व्यवहार केही हुँदैन। कहिलेकाहीँ तैँले परमेश्‍वरका त्यस्ता वचनहरू पढ्छस् जसले मानिसहरूलाई सीमित पारेजस्तो देखिन्छ; तर खासमा, तिनले कसैलाई पनि सीमित पारिरहेका हुँदैनन्, बरु ती परमेश्‍वरका इच्छाहरू र विचारहरूका अभिव्यक्ति हुन्। ती सत्यता र सिद्धान्तका वचन हुन्, तिनले कसैलाई सीमित पारिरहेका हुँदैनन्। रिस र आक्रोशको समयमा परमेश्‍वरले बोल्नुभएका वचनले पनि परमेश्‍वरको स्वभाव प्रतिनिधित्व गर्छन्, ती वचनहरू सत्यता हुन्, र ती सिद्धान्तका वचन हुन्। यो कुरा मानिसहरूले बुझ्नैपर्छ। परमेश्‍वरले यसो भन्नुको उद्देश्य मानिसहरूलाई सत्यता र सिद्धान्तहरू बुझ्न दिनु हो; यो कसैलाई सीमित पार्नु किमार्थ होइन। मानिसहरूको अन्तिम गन्तव्य र इनामसँग यसको कुनै सम्बन्ध छैन, ती कुरा झन् मानिसहरूको अन्तिम दण्ड हुने त कुरै भएन। ती त मानिसहरूलाई न्याय र काँटछाँट गर्न बोलिएका वचन मात्र हुन्, ती उहाँका अपेक्षा पूरा नगर्ने मानिसहरूप्रतिको रिसका परिणाम हुन्, ती मानिसहरूलाई जगाउन र उक्साउन बोलिएका हुन्, र ती परमेश्‍वरको हृदयका वचनहरू हुन्। तर अझै पनि, कतिपय मानिसहरू परमेश्‍वरको न्यायको एउटै अभिव्यक्तिको कारण पछारिन्छन् र परमेश्‍वरलाई त्याग्छन्। यस्ता मानिसहरूलाई आफ्नो लागि के ठिक हुन्छ भन्ने नै थाहा हुँदैन, तिनीहरू समझप्रतिरोधी हुन्छन्, र बिलकुलै सत्यता स्विकार्दैनन्। कतिपय मानिसहरू एक समय कमजोर महसुस गर्छन् र त्यसपछि फेरि परमेश्‍वरसामु आउँछन्, र यस्तो सोच्छन्, “यो ठिक होइन, मैले निरन्तर परमेश्‍वरलाई पछ्याउनुपर्छ र परमेश्‍वरले आवश्यक गर्नुभएअनुसार काम गर्नुपर्छ। यदि मैले परमेश्‍वर पछ्याइनँ वा राम्ररी कर्तव्य निभाइनँ भने, मेरो जीवन बेकार हुनेछ। अर्थपूर्ण जीवन जिउनको निम्ति, मैले परमेश्‍वर पछ्याउनैपर्छ।” त्यसोभए, तिनीहरूले परमेश्‍वरलाई कसरी पछ्याउनुपर्छ? तिनीहरूले परमेश्‍वरको काम अनुभव गर्नुपर्छ। व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ मात्र भन्नु अनि परमेश्‍वरको काम अनुभव नगर्नु परमेश्‍वरलाई पछ्याउनु होइन। बफादारीपूर्वक कर्तव्य ननिभाउनु र थोरै काटछाँट पनि स्विकार्न अनिच्छुक हुनु—के परमेश्‍वरको काम स्विकार्दा व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही हो त? काटछाँट हुन नमान्‍नु र थोरै दुःख आइपर्दा पनि निरन्तर गुनासो गरिरहनु—यो कस्तो स्वभाव हो? व्यक्तिले आफ्नो बारे चिन्तन गर्नुपर्छ र परमेश्‍वरले के तोक्‍नुभएको छ भनेर हेर्नुपर्छ, र व्यक्तिले परमेश्‍वरको तोक्‍नुभएअनुसार नै काम गर्नुपर्छ। यदि परमेश्‍वरले तँ योग्य छैनस् भएर भन्नुभयो भने, तँ योग्य छैनस्, र तैँले तेरा धारणा र कल्पनाहरू प्रयोग गरेर कामकुराहरू सीमित गर्नु वा परमेश्‍वरको विरोध गर्नु पाहुँदैन; तैँले आफू योग्य छैन भनेर समर्पित हुनु र स्विकार्नुपर्छ। के त्यसपछि तँसित अभ्यासको मार्ग हुँदैन र? के सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्दासक्दै पनि व्यक्तिले परमेश्‍वरलाई छोड्न सक्छ? अहँ, सक्दैन। बेलाबेलामा तँलाई परमेश्‍वरले तँलाई त्याग्नुभएको छ भन्ने लाग्छ—तर खासमा, परमेश्‍वरले तँलाई त्याग्नुभएको हुँदैन, उहाँले त बस तैँले आफ्नो बारे चिन्तन गर्न सक् भनेर तँलाई एकछेउतर्फ राखिदिनुहुन्छ। परमेश्‍वरलाई तँ घिनलाग्दो लाग्न सक्छस्, र उहाँ तँलाई चासो दिन नचाहन सक्‍नुहुन्छ, तर उहाँले तँलाई साँच्चिकै त्याग्नुभएको हुँदैन। कतिपय यस्ता पनि छन्, जसले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गर्छन्, तर तिनीहरूको सार र तिनीहरूमा प्रकट हुने विभिन्न कुराहरूको कारण परमेश्‍वरले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् र सत्यतालाई बिलकुलै स्विकार्दैनन् भन्ने बुझ्नुहुन्छ, त्यसैले परमेश्‍वरले तिनीहरूलाई साँच्चिकै त्याग्नुहुन्छ; तिनीहरू साँच्चै चुनिएका हुँदैनन्, तर तिनीहरूले केही समय सेवा मात्र दिएका हुन्छन्। यसैबीच, कतिपयलाई अनुशासित गराउन, ताडना दिन र न्याय गर्न, र निन्दा गर्न र धिक्‍कार्नसमेत परमेश्‍वरले सक्दो गर्नुहुन्छ, र तिनीहरूसँग मान्छेका धारणाहरूसँग नमिल्ने विविध तरिकामा व्यवहार गर्नुहुन्छ। कतिपय मानिसहरूले परमेश्‍वरको इच्छा बुझ्दैनन्, र परमेश्‍वरले तिनीहरूलाई दोष लगाइराख्नुभएको र चोट पुऱ्याइरहनुभएको छ भनी सोच्छन्। तिनीहरू परमेश्‍वरसामु जिउनुको कुनै मर्यादा छैन भनी सोच्छन्, तिनीहरू परमेश्‍वरलाई अब फेरि दुःखी बनाउन चाहँदैनन्, र मण्डली छोडेर जान्‍छन्। तिनीहरूले यसो गर्नु समझदारी हो भन्‍नेसमेत सोच्छन्, र यसरी तिनीहरूले परमेश्‍वरलाई पिठिउँ फर्काउँछन्—तर वास्तवमा, परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभएको हुँदैन। यस्ता मानिसहरूमा परमेश्‍वरको इच्छाको कुनै हेक्‍का हुँदैन। तिनीहरू केही हदसम्म अति संवेदनशील हुन्छन्, यहाँसम्म कि तिनीहरूले परमेश्‍वरको मुक्ति पनि त्याग्छन्। के तिनीहरूमा साँच्चै विवेक हुन्छ त? कहिलेकहीँ परमेश्‍वर मानिसहरूबाट अलग बस्‍नुहुन्छ, र तिनीहरूले आफ्नै बारे मनन गरून् भनी कहिलेकहीँ तिनीहरूलाई केही समयको निम्ति एकछेउमा राख्नुहुन्छ, तर परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभएको हुँदैन; उहाँले तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिइरहनुभएको हुन्छ। परमेश्‍वरले धेरै दुष्कर्म गर्ने दुष्ट मानिसहरू, अविश्‍वासीहरू, र ख्रीष्टविरोधीहरूलाई मात्र साँच्‍चिकै त्याग्नुहुन्छ। कतिपय मानिसहरू भन्छन्, “मलाई आफू पवित्र आत्माको कामविहीन भएको र लामो समयदेखि पवित्र आत्माको अन्तर्दृष्टिरहित रहेको महसुस गर्छु। के परमेश्‍वरले मलाई त्याग्नुभएको हो?” यो एउटा गलत धारणा हो। यसमा स्वभावको समस्या पनि छ: मानिसहरू बढी नै भावुक हुन्छन्, तिनीहरू सधैँ आफ्नै समझ पछ्याउँछन्, सधैँ मनमौजी हुन्छन्, र तिनीहरूमा तर्कसङ्गति हुँदैन—के यो स्वभावको समस्या होइन र? तँ भन्छस्, परमेश्‍वरले तँलाई त्याग्नुभएको छ, र उहाँले तँलाई मुक्ति दिनुहुनेछैन, त्यसोभए के उहाँले तेरो अन्त्य निश्‍चित गर्नुभएको छ? परमेश्‍वरले तँसित क्रोधका केही शब्दहरू मात्र बोल्नुभएको छ। कसरी तँ उहाँले तँलाई त्याग्‍नुभएको छ, र उहाँ अबउप्रान्त तँलाई चाहनुहुन्‍न भनेर भन्‍न सक्छस्? कहिलेकाहीँ तँ पवित्र आत्माको कामलाई महसुस गर्न सक्दैनस्, तर परमेश्‍वरले तँलाई उहाँका वचनहरू पढ्ने अधिकारबाट वञ्‍चित गर्नुभएको हुँदैन, न त उहाँले तेरो परिणाम निर्धारण गर्नुभएको, वा तेरो मुक्तिको मार्ग बन्द गर्नुभएको नै हुन्छ—त्यसो भए, तँ केको बारे यति उदास छस्? तँ खराब स्थितिमा छस्, तेरा मनसायहरूमा समस्या छन्, तेरा सोच र दृष्टिकोणमा समस्या छन्, तेरो मानसिक स्थिति विकृत छ—तैपनि तैँले सत्यता खोजी गरी यी समस्याहरू सुल्झाउँदैनस्, बरु निरन्तर परमेश्‍वरबारे गलत व्याख्या र गुनासो गर्ने, र जिम्मेवारी परमेश्‍वरमाथि थोपर्न गर्छस् र “परमेश्‍वरले मलाई चाहनुहुन्‍न, त्यसैले अबउप्रान्त म उहाँमा विश्‍वास गर्नेछैनँ” भनेरसमेत भन्छस्। के तँ अविवेकी बन्दै छैनस् र? के तँ अनुचित हुँदै छैनस् र? यस्तो व्यक्ति अत्यन्तै भावुक हुन्छ, उसमा कुनै समझ हुँदैन, ऊ सबै समझप्रति प्रतिरोधी हुन्छ। ऊ सत्यता स्विकार्ने सबैभन्दा कम सम्भावना भएको व्यक्ति हो र उसलाई मुक्ति प्राप्त गर्न निकै कठिन हुनेछ।

यो कुरा याद राख: पत्रुसलाई सयौँपटक शोधन गरेर सिद्ध तुल्याइएको थियो। तिमीहरूका धारणा र कल्पनामा, सयौँपटक शोधन गरिनु भनेको परमेश्‍वरलाई पछ्याउन असीमित कठिनाइयुक्त असाधारण जीवन जिउनु, र अन्त्यमा क्रूसमा उधोमुन्टो टाँगिनु हो। तर वास्तविकता यस्तो होइन; यो मान्छेको धारणा मात्र हो। म किन यो मान्छेको धारणा हो भन्छु त? किनभने मानिसहरू परमेश्‍वरका परीक्षाहरू के हुन् भनेर, अनि हरेक परीक्षा परमेश्‍वरको हातले नै बन्दोबस्त गरेको र लिएको हुन्छ भनेर बुझ्दैनन्; मानिसहरूले “सयौँपटक” भन्ने कुरा, वा परमेश्‍वरले किन पत्रुसलाई सयौँपटक शोधन गर्नुभयो, वा यो “सयौँपटक” कसरी पुग्यो, वा यसको मूल कारण के थियो भनेर बुझ्दैनन्—मानिसहरूलाई यी कुराहरू थाहै हुँदैन, बरु तिनीहरू सधैँ आफ्नै धारणा र कल्पनाको भरमा कुराहरू बुझ्छन्, र फलस्वरूप तिनीहरूलाई परमेश्‍वरबारे गलत बुझाइ हुन्छ। मानिसहरू आफूले अनुभव नगरेका परमेश्‍वरका निश्‍चित वचनहरू बुझ्न सक्दैनन्। वास्तविक जीवनमा, यदि परमेश्‍वरले हरव्यक्तिलाई गर्नुहुने व्यवहार आशिष् र मार्गदर्शन् दिनु, र तिनीहरूसित शान्तसित बोल्नु मात्र हुन्छ भने, मानिसहरूको लागि परीक्षाहरू सधैँ खोक्रो शब्द मात्र हुनेछन्, एउटा शब्द, परिभाषा, र अवधारणाभन्दा बढी केही हुनेछैनन्। तर परमेश्‍वरले तँमाथि प्राय: यो काम गरिरहनुहुन्छ: कहिले तँलाई बिरामी तुल्याउनुहुन्छ, कहिले कुनै अप्रिय कुरा सामना गराउनुहुन्छ र निरुत्साहित र कमजोर बनाउनुहुन्छ, र कहिले तँलाई थेग्‍नै नसकिने कठिन परिस्थिति भोगाउनुहुन्छ, अनि तँलाई सही कुराहरू गर्नै आउँदैन—तेरो लागि यी कुराहरू के हुन्? यी सबै अप्रिय कुराहरू, रोग वा अप्ठेरो वा कठिनाइहरू, र शैतानका प्रलोभनहरूको कुरा आउँदा, यदि तैँले सधैँ ती कुराहरू परमेश्‍वरले तँलाई दिनुभएका परीक्षा हुन्, ती प्रत्येक सयौँमध्येको एउटा परीक्षा भएको मान्न सक्छस्, र तैँले तिनलाई स्विकारेर ती कुराहरूमा सत्यता खोज्न सक्छस् भने, तेरो स्थिति रुपान्तरण हुनेछ र परमेश्‍वरसँगको तेरो सम्बन्ध सुध्रिनेछ। तर यदि परीक्षाहरू भोग्दा, तैँले तिनलाई इन्कार गर्छस्, निरन्तर ती परीक्षाबाट लुक्न खोज्छस्, र तिनको प्रतिरोध र विरोध गर्छस् भने, यी “सयौँ परीक्षाहरू” तेरो लागि सधैँ कहिल्यै पूरा नहुने खोक्रो वचन मात्र हुनेछन्। उदाहरणको लागि, कसैले तँप्रति खराब मनोवृत्ति राख्छ र, यसको कारण थाहा नपाएर तँ बेखुसी हुन्छस् रे। यदि यसरी तँ तेरो आवेश र दैहिकतामा जिउँछस् भने, तँसँग पनि त्यो व्यक्तिप्रति नराम्रो बन्‍ने निहुँ हुन्छ—खुनको बदला खुन, र ज्यानको बदला ज्यान। तर यदि तँ परमेश्‍वरसामु जिउँछस् र तँसित परमेश्‍वरबाट सिद्ध पारिन र मुक्ति पाउन मान्‍ने चाहना छ भने, तैँले आफूले सामना गर्ने यो सबै कुरा परमेश्‍वरले दिनुभएको परीक्षा ठानेर स्विकार्नुपर्छ; वास्तवमा, यो परमेश्‍वरले तेरो परीक्षा लिने विभिन्न तरिकाहरूमध्ये एक हो। यस तरिकाले सङ्गति गरेपछि, के अब तिमीहरूलाई हृदयमा थप मुक्ति र राहत महसुस हुन्छ? यदि तिमीहरू यी वचनहरूबमोजिम अभ्यास गर्न, र आफ्नो व्यवहार र विचारलाई यी वचनहरूसँग दाँज्न सक्छौ भने, यसले तिमीहरूलाई दैनिक जीवनमा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन ठूलो मद्दत पुग्नेछ।

परमेश्‍वरमाथिको विश्‍वासबारे आजको छलफलका मुख्य पक्षहरू के-के हुन्? एउटाचाहिँ फरिसीहरूले जत्तिकै झूटो व्यवहार गर्ने, अत्यन्तै परिष्कृत र सज्जन व्यवहार गर्ने मानिसहरूको बाहिरी व्यवहारको पक्ष हो; अर्को गाँस, बास, कपास, र यात्राको पक्ष हो; अझै अर्को पक्ष परमरेश्‍वरमाथिको विश्‍वासबारे मानिसहरूको बुझाइ हो, जसमा तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेर तिनीहरूले आशिष् र फाइदा प्राप्त गर्नुपर्छ भन्ने सोच्छन्। यो पक्षमा अय्यूबको अनुभव कस्तो थियो? जब अय्यूबलाई परीक्षाहरू आइपर्‍यो, उसले ती कुराहरू परमेश्‍वरबाट आएका हुन्, र उसले केही गल्ती गरेको पनि थिएन र यो परमेश्‍वरले दिनुभएको दण्ड पनि थिएन, बरु यो उसलाई परमेश्‍वरले जाँच्नुभएको र शैतानले प्रलोभनमा पारेको हो भनेर निश्‍चित हुन सक्यो—उसले यो कुरा यसरी नै बुझ्यो। तर अय्यूबका साथीहरूले त्यसलाई कसरी बुझे? तिनीहरूलाई अय्यूबले कुनै गलत काम गरेर परमेश्‍वरलाई चिढ्याएको कारण नै उसलाई यो विपत्ति आइपरेको हुनुपर्छ भन्ने लाग्यो। तिनीहरूले यस्तो सोच्न सक्नुले तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासबारे धारणाहरू राख्थे भन्ने देखाउँछ। अनि, अय्यूबको बुझाइ किन अरूको भन्दा फरक थियो? किनभने के भइरहेको छ भनेर अय्यूबले प्रस्ट रूपमा देखेको थियो, त्यसैले उसले त्यसबारे कुनै धारणाहरू पालेन। परमेश्‍वरले अय्यूबमाथि उहाँको काम गर्नुहुँदा, अय्यूबको अनुभव बढ्यो र उसले परमेश्‍वरको काम चिन्यो, अनि मानिसहरूका यी धारणा र विचारहरू अय्यूबमा भेटिन छोड्यो। त्यसैले, के परमेश्‍वरको हात अय्यूबमाथि पर्दा उसले गलत बुझ्यो त? (बुझेन।) उसले गलत नबुझेकोले गुनासो गरेन; उसले गलत नबुझेकोले विद्रोह गरेन; उसले गलत नबुझेकोले उसले साँचो रूपमा समर्पित हुन सक्यो। के त्यो ठिक होइन र? (हो।) तर किन ठिक हो? यदि हृदयमा मानिसहरूले परमेश्‍वरका वचनहरूप्रति “आमेन्” भन्छन्, परमेश्‍वरका वचनलाई सकारात्मक कुराको वास्तविकता, सही कुरा, मानक, सर्वोच्च कुरा, र आफूले अभ्यास गर्नुपर्ने सिद्धान्तको रूपमा लिन्छन् भने, तिनीहरू समर्पित हुनेछन् र तिनीहरूले गलत बुझ्नेछैनन्। मानिसहरूले परमेश्‍वरका वचनहरू र कामबारे गलतबुझाइ राख्दा, सधैँ एउटा भाव देखिन्छ—त्यो भाव के हो? (ती कुरा स्विकार्न अनिच्छुक हुनु।) अनि परमेश्‍वरका वचनहरू र काम स्विकार्न अनिच्छुक हुनुपछाडि के लुकेको हुन्छ? यो कि, तिनीहरूका आफ्नै विचारहरू हुन्छन्, र यी विचार र परमेश्‍वरका वचनहरूबीच विरोधाभास र मतभिन्नता हुन्छन्, त्यसपछि मानिसहरू परमेश्‍वरबारे गलतबुझाइ र धारणाहरू बनाउँछन्, र परमेश्‍वरले भन्नुहुने कुराहरू सही नै हुन्छन् भन्न नसकिने विश्‍वास गर्छन्। कहिलेकाहीँ, मानिसहरूले तिनलाई स्विकारेजस्तो देखिए पनि, त्यो बहाना मात्र हुन्छ र साँचो स्वीकार हुँदैन। व्यक्तिले सत्यता खोजेर पूर्ण रूपमा परमेश्‍वरका वचन र मापदण्डबमोजिम सोच्नुपर्छ, र हृदयमा परमेश्‍वरका वचनसित सहमत हुनुपर्छ, र त्यसपछि मात्र ऊ परमेश्‍वरसित मिल्दो हुन सक्छ। यदि तैँले यी कुराहरू हृदयमा ग्रहण गर्दैनस्, र तैँले यिनलाई गलत बुझ्छस् अनि विरोध र प्रतिरोधसमेत गर्छस् भने, यसले तँभित्र केही कुरा छ भन्ने देखाउँछ। यदि तैँले आफूभित्रको यो कुरा चिरफार गर्न र सत्यता खोज्न सक्छस् भने, तेरा धारणाहरू सुल्झाउन सकिन्छ; यदि तँसित विकृत बुझाइ छ, कुनै आत्मिक बुझाइ वा बोध क्षमता छैन, तँसित तेरा धारणाहरूलाई परमेश्‍वरका वचनहरूसित तुलना गर्ने क्षमता छैन, तँ तिनलाई चिन्न र चिरफार गर्न सक्दैनस्, र तैँले आफूभित्र धारणाहरू उत्पन्न भएको थाहा पाउँदैनस् भने, तेरा धारणाहरू समाधान गर्न सकिनेछैनन्। कतिपय मानिसहरूलाई आफ्नो हृदयमा परमेश्‍वरबारे धारणाहरू छन् भनेर राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू यदि आफूले त्यसबारे कुरा खुलाएमा आफ्नो इज्जत गुम्ने र आफू हेलामा पर्ने डरले आफूमा त्यस्ता कुराहरू छैनन् भनेर भन्छन्। यदि कसैले तिनीहरूलाई “तिमीले परमेश्‍वरलाई गलत बुझेको छैनौ भने, तिमी किन उहाँमा समर्पित हुन नसकेको?” भनी सोधेमा, तिनीहरूले “मलाई अभ्यास गर्न आउँदैन” भनेर जवाफ दिन्छन्। यो कस्तो प्रकटीकरण हो? यदि तँसँग आत्मिक बुझाइ छैन भने, यदि तँ वास्तविकता खुट्ट्याउन सक्षम छैनस्, र कुनै समस्या हुँदा तँलाई आत्मचिन्तन गर्न आउँदैन भने, तैँले परमेश्‍वरबारेका तेरा धारणा वा गलतबुझाइहरू समाधान गर्न सक्नेछैनस्। जब तेरा धारणाहरूसँग सम्बन्धित नरहेका कुराहरू आइपर्छन्, तँलाई निकै शान्त महसुस हुन्छ, र तँसँग कुनै समस्या भएजस्तो सकिँदैन। तर तेरा धारणाहरूलाई चुनौती दिने कुनै कुरा आइपर्नेबित्तिकै, तँभित्र परमेश्‍वरप्रति द्वन्द्वका भावनाहरू उत्पन्न हुन्छन्। अनि, यो द्वन्द्व कसरी प्रकट हुन्छ? कहिलेकाहीँ तँलाई रिस उठ्न सक्छ, र जब समय बित्दै जान्छ र यो भावना समाधान भएको हुँदैन, तब परमेश्‍वरबारे तेरा गलतबुझाइहरू झन् बढी गहन बन्छन् र तेरो भ्रष्ट स्वभाव फुलेर ठूलो बन्छ, अनि तैँले तेरा धारणाहरू व्यक्त गर्न र परमेश्‍वरलाई आलोचना गर्न थाल्नेछस्। जब तैँले परमेश्‍वरलाई आलोचना गर्छस्, त्यो अब सोचाइ वा व्यवहारको समस्या हुँदैन, त्यो त शैतानी स्वभावको प्रकटीकरण हुन्छ। यदि कसैले अज्ञानताकै कारण थोरै द्वन्द्व वा समर्पणहीनता देखाउँछ भने, परमेश्‍वरले त्यसलाई निन्दा गर्नुहुन्न; यदि कसैले आफ्नो स्वाभावबाटै सिधै परमेश्‍वरको विरोध गर्छ र जानाजानी उहाँको विरोध गर्छ भने, यसले उसलाई समस्या दिनेछ, किनकि उसले परमेश्‍वरलाई चुनौती दिइरहेको हुन्छ। जब कसैले जानाजानी परमेश्‍वरलाई चुनौती दिन्छ, त्यो परमेश्‍वरको स्वभाव चिढ्याउनु हो। त्यसकारण, मानिसहरूले आफूमा धारणाहरू हुँदा तिनलाई समाधान गर्नुपर्छ; तिनीहरूले आफ्ना धारणाहरू समाधान गरेका छन् भने मात्र, आफू र परमेश्‍वरबीचका गलतबुझाइहरू समाधान गर्न सक्छन्; र तिनीहरू र परमेश्‍वरबीचका गलतबुझाइहरू समाधान गरिएका छन् भने मात्र, तिनीहरू साँच्चिकै परमेश्‍वरमा समर्पित हुन सक्छन्। कतिपय मानिसहरू भन्छन्, “मसँग कुनै धारणा छैन, म र परमेश्‍वरबीचका गलतबुझाइहरू समाधान भएका छन्। मैले कुनै पनि कुराबारे केही पनि सोच्नै छोडेको छु।” के यतिले पुग्छ त? धारणाहरू समाधान गर्नुको उद्देश्य धारणाहरू समाधान गर्नु मात्र होइन, बरु परमेश्‍वरका मापदण्ड र सत्यताबमोजिम अभ्यास गर्नु, परमेश्‍वरप्रतिको समर्पण हासिल गर्नु र परमेश्‍वरलाई सन्तुष्ट पार्नु हो। कतिपय मानिसहरू भन्छन्, “जबसम्‍म मसँग परमेश्‍वरबारे कुनै गलतबुझाइहरू हँदैनन्, तबसम्‍म काफी नै हुनेछ, सबथोक ठिकठाकै हुनेछ, र म सुरक्षित नै हुनेछु।” यो साँचो रूपमा सत्यता अभ्यास गर्नु होइन, न त यो साँचो समर्पण नै हो—यसमा समस्या अझै समाधान भएको छैन। यदि समस्या साँच्चिकै समाधान भएको थियो भने, मानिसहरूमा परमेश्‍वरबारे गलतबुझाइहरू नहुने मात्र थिएन, तिनीहरूलाई परमेश्‍वरको मापदण्ड के हो र तिनीहरूलाई आइपर्ने कुरामा परमेश्‍वरको इच्छा के हो भन्नेसमेत थाहा हुनेथ्यो। तिनीहरूले आफ्ना धारणाहरू समाधान गर्न सक्ने मात्र थिएनन्, बरु धारणा भएकाहरूलाई पनि कसरी सत्यता खोज्ने, र कसरी सत्यता अभ्यास गर्न र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्षम हुने भन्ने कुरामा मद्दत गर्न सक्नेथिए। के तिनीहरू त्यसपछि परमेश्‍वरको इच्छासँग मिल्दो हुनेथिएनन् र? धारणाहरू समाधान गर्नुको अन्तिम लक्ष्य भनेको परमेश्‍वरको इच्छा बुझ्नु र सत्यता वास्तविकतामा प्रवेश गर्नु हो—चुरो कुरो यही हो। तँ आफूले कुनै गलतबुझाइहरू निर्मित गरेको छैन भनेर भन्छस्, त्यसोभए के तँ सत्यता बुझ्छस् त? यदि तँ सत्यता बुझ्दैनस् भने, तँसित परमेश्‍वरबारे कुनै धारणा वा गलतबुझाइहरू नभए पनि, तँ अझै परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति होइनस्। कुनै गलतबुझाइहरू नहुनुको अर्थ तैँले परमेश्‍वरलाई बुझ्छस् भन्ने होइन, त्यसको अर्थ तँ उहाँप्रति समर्पित हुन सक्छस् भन्ने त झनै होइन। सबै कुरा राम्रो हुँदा मानिसहरूमा परमेश्‍वरबारे कुनै धारणा वा गलतबुझाइहरू हुँदैनन्, तर यसको अर्थ तिनीहरूमा परमेश्‍वरबारे धारणा वा गलतबुझाइहरू हुँदै हुँदैनन् भन्‍ने होइन। जब तिनीहरूलाई तिनीहरूको व्यक्तिगत हितलाई छुने केही कुरा आइपर्छ, तब तिनीहरूका धारणाहरू स्वाभाविक रूपमा उत्पन्न हुन्छन् र तिनीहरूले परमेश्‍वरबारे गलतबुझाइहरू राख्नेछन् र गुनासोसमेत पोख्‍नेछन्। के मानिसहरूले आफ्ना व्यक्तिगत हितलाई यति धेरै महत्त्वपूर्ण मान्दा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्छन् त? किन कसैको व्यक्तिगत हितलाई असर पुर्‍याउने कुनै घट्ना घट्दा, उसमा धारणा र गलतबुझाइहरू पैदा हुन्छन् र उसले परमेश्‍वरविरुद्ध विद्रोह गर्दै उहाँलाई चुनौती दिन्छ? शैतानी प्रकृति र शैतानी स्वभाव भएका मानिसहरूको कुरा यस्तै हुन्छ। जब तिनीहरूका व्यक्तिगत हितलाई असर पार्ने कुनै कुरा आइपर्छ, तब तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन सक्दैनन्, र तिनीहरूका धारणा र कल्पनासँग नमिल्दो कुनै कुरा आइपर्दा पनि तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन सक्दैनन्। परमेश्‍वरबारे मानिसहरूका धारणा र गलतबुझाइहरू तिनीहरूका परिस्थितिहरूसँगै उत्पन्न हुन्छन्। यदि तिनीहरूले सत्यता खोजी गर्न र स्विकार्न सक्दैनन् भने, तिनीहरूका धारणाहरू कहिल्यै सुल्झिनेछैनन् र परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध सामान्य अवस्थामा कहिल्यै फर्कनेछैन। धारणाहरू पाल्ने तर तिनलाई समाधान गर्न सत्यता नखोज्नेहरूले जति धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका भए पनि मुक्ति पाउनेछैनन्।

परमेश्‍वरले मान्छेलाई दिनुहुने मुक्ति खोक्रा शब्दहरू मात्र होइनन्। उहाँले सत्यतासित नमिल्ने भ्रष्ट मानवजातिका विविध कुराहरू, अर्थात् तिनीहरूका धारणा, कल्पना, ज्ञान, दर्शन, परम्परागत संस्कृति, आदि इत्यादि निराकरण गर्न यी सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ। यी कुराहरू चिरफार गरेर, उहाँले मान्छेलाई सकारात्मक कुराहरू केबाट बनेका हुन्छन्, केले नकारात्मक कुराहरू पैदा गर्छ, कुन कुराहरू परमेश्‍वरबाट आउँछन्, कुन कुराहरू शैतानबाट आउँछन्, सत्यता के हो, अनि शैतानका दर्शन र तर्कहरू के हुन् सो बुझ्न मदत गर्नुहुन्छ। जब मानिसहरू यी चीजहरूलाई वास्तवमा ती के हुन् भनी देख्न सक्छन्, तिनीहरूले स्वाभाविक रूपले जीवनको सही बाटो पछ्याउने निर्णय गर्छन्, र तिनीहरूले सत्यता अभ्यास गर्न, परमेश्‍वरले तोक्‍नुभएजस्तो गर्न र नकारात्मक चीजहरू चिन्‍न सक्छन्। परमेश्‍वरले मान्छेलाई यही गर्न लाउनुहुन्छ, र उहाँले मानिसहरूलाई सिद्ध पार्नुहुने र मुक्ति दिनुहुने मापदण्ड पनि यही हो। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरले मान्छेका धारणाहरू चिरफार गर्नुहुन्छ, तर मसँग कुनै धारणाहरू छैनन्। जुन मानिसहरूसँग धारणाहरू हुन्छन् तिनीहरू प्रायः धूर्त बुढा स्यालहरू हुन्, वा धर्मशास्त्री र फरिसीहरू हुन्। म त्यस्तो छैनँ।” यस्तो कुरा भन्न सक्नुमा के समस्या छ? तिनीहरूले आफैलाई चिन्दैनन्। जेजसरी सत्यता सङ्गति गरे पनि, तिनीहरू त्यो आफूमा लागू गर्दैनन्, र आफू त्यस्तो नभएको सोच्छन्। यो अज्ञानता हो, र तिनीहरूसँग कुनै आत्मिक बुझाइ छैन। के तिमीहरूले पनि यसरी नै सोच्न सक्थ्यौ? आज, धेरैजसो मानिसहरूले यस्तो प्रकारले सोच्दैनन्। व्यक्तिले परमेश्‍वरका धेरै वचनहरू खाएको र पिएको छ भने, त्यसपछि उसले सबैमा धारणा र कल्पनाका कुराहरू हुन्छन् र सबैमा भ्रष्ट स्वभावहरू हुन्छन् भनेर प्रस्ट रूपमा देख्न सक्छ। यी कुराहरू चिरफार गर्नु कुनै लाजको कुरा होइन; यसबाहेक ती कुरा चिरफार गरेपछि यसले अरूलाई समझ विकास गर्न सहायता गर्छ, र तिनीहरू आफै पनि वृद्धि हुनेछन्, र सत्यतालाई अझ छिटो बुझ्न सक्ने हुनेछन् भनी विश्‍वास गर्छन्। यसले गर्दा तिनीहरू सबैले खुल्लमखुल्ला आफैलाई विश्‍लेषण गर्न सक्छन्। धारणाहरूको विश्‍लेषण गर्नुको उद्देश्य के हो? त्यो ती धारणाहरूलाई हटाउनु हो, मानिस र परमेश्‍वरबीचको गलतबुझाइहरूलाई सम्‍बोधन गर्नु, त्यसपछि मानिसहरूलाई परमेश्‍वरले माग गर्नुभएको कुरामा ध्यान लगाउन सक्ने, मुक्तिको बाटोमा कसरी प्रवेश गर्नुपर्छ त्यो जान्न सक्ने, र सत्यता अभ्यास गर्न के गर्नुपर्छ त्यो जान्न सक्ने बनाउनु हो। यस तरिकाले बारम्बार अभ्यास गरेर, अन्त्यमा इच्छित परिणाम हासिल हुन्छ: एकातिर, मानिसहरूले परमेश्‍वरको इच्छा बुझ्नेछन् र परमेश्‍वरमा समर्पित हुन सक्षम हुनेछन्, र अर्कोतिर, तिनीहरूमा धेरै नकारात्मक चीजहरू अस्वीकार र प्रतिरोध गर्ने प्रतिरक्षा शक्ति हुनेछ, जस्तै दुष्ट धारणाहरू र कल्पनाहरू, र ज्ञानबाट उत्पन्न हुने चिजहरू। जब तैँले धार्मिक क्षेत्रको बौद्धिक व्यक्ति, धर्मशास्त्री, वा धार्मिक पाष्टर वा एल्डरको सामना गर्नुपर्छ, तिनीहरूसित बातचित गरेर तैँले तिनीहरूलाई छर्लङ्गै बुझ्न सक्छस्, र तिनीहरूका असङ्ख्य धारणाहरू, कल्पनाहरू, झूटा शिक्षाहरू र भ्रमहरूलाई खण्डन गर्न सत्यता प्रयोग गर्न सक्छस्। यसले तैँले नकारात्मक चीजहरूलाई चिन्न सक्छस्, तैँले केही सत्यताहरू बुझेको छस्, तेरो केही कद छ, र यसले यी धार्मिक अगुवाहरू र व्यक्तित्वहरू सामना गर्दा तँ डराउँदैनस् भन्‍ने देखाउँछ। तिनीहरूले कुरा गर्ने ज्ञान, शिक्षा, र दर्शनहरू—तिनीहरूका सबै विचारधारा र सिद्धान्तहरू—पनि लुक्‍न सक्दैनन्, किनकि तैँले धर्मका वचन र धर्मसिद्धान्तहरू, र धारणा र कल्पनाहरू बुझेको हुन्छस्, अनि ती कुराहरूले तँलाई अब बहकाउन सक्दैनन्। तर तिमीहरू अझै त्यहाँ पुगेका छैनौ। जब तँ यी धार्मिक जालसाजहरू र फरिसीहरू, वा थोरै प्रतिष्ठा भएको कुनै व्यक्तिको सामना गर्छस्, तब तिमीहरू डराउँछौ; तिनीहरूले जे भनिरहेका छन् त्यो गलत हो, त्यो धारणाहरू र कल्पनाहरूबाट बनेको हो, ज्ञानबाट उत्पन्न भएको हो भनी जान्दछौ, तर त्यसलाई कसरी अस्वीकार गर्ने त्यो तिमीहरू जान्दैनौ, त्यसलाई कहाँबाट विश्‍लेषण गर्न थाल्ने वा कुन वचनहरूले यी मानिसहरूलाई पर्दाफास गर्ने त्यो तिमीहरू जान्दैनौ। के यसले अझै पनि तैँले सत्यता बुझेको छैनस् भन्ने देखाउँदैन र? (देखाउँछ।) त्यसैले, तिमीहरूले आफूलाई सत्यताले सुसज्जित पार्नुपर्छ र, सत्यता बुझिसकेपछि तिमीहरूले आफूलाई विश्‍लेषण गर्न सक्छौ र मानिसहरूलाई कसरी खुट्ट्याउने भनेर जान्नेछौ। जब तिमीहरूले सत्यता बुझेका हुन्छौ, तब अरू मानिसहरूलाई प्रस्ट रूपमा बुझ्न सक्नेछौ, तर यदि तिमीहरूले सत्यता बुझ्दैनौ भने, तिनीहरूलाई कहिल्यै पनि प्रस्ट रूपमा बुझ्न सक्नेछैनौ। मानिसहरू र चीजहरूलाई बुझ्नलाई तिमीहरूले सत्यता बुझ्नैपर्छ; सत्यतालाई आफ्‍नो आधार, र आफ्‍नो जीवन नबनाई तिमीहरू कुनै पनि कुरामा गहिरो रूपमा पस्न सक्नेछैनौ।

जब मानिसहरूले विभिन्न धारणा र कल्पनाहरू समाधान गरिसकेका हुन्छन्, तिनीहरूसँग परमेश्‍वरका वचनहरूको ज्ञान र अनुभव हुन्छ, र त्यसको साथसाथै तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा पनि प्रवेश गरेका हुन्छन्। परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्ने क्रममा, मानिसहरूमा उत्पन्न हुने विभिन्न धारणाहरू र कल्पनाहरू एक-एक गरी समाधान हुन्छन्, र परमेश्‍वरको काम, परमेश्‍वरको सार, र मानिसहरूप्रति रहेको परमेश्‍वरका विभिन्न दृष्टिकोणहरूको बारेमा रहेको मानिसहरूको ज्ञानमा परिवर्तन हुन्छ। यो परिवर्तन कसरी आउँछ? यो तब आउँछ जब मानिसले आफ्ना विविध मानव धारणा र कल्पनाहरूलाई हटाउँछन्, जब तिनीहरूले ज्ञान, दर्शन, परम्परागत संस्कृति वा संसारबाट उत्पन्न हुने विभिन्न विचार र दृष्टिकोणहरू हटाउँछन्, अनि त्यसको सट्टामा परमेश्‍वरबाट आउने र सत्यतासित जोडिएका विभिन्न विचारहरू स्वीकार गर्छन्। जब मानिसहरूले परमेश्‍वरको वचनलाई आफ्नो जीवनको रूपमा स्वीकार गर्छन्, तब तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा पनि प्रवेश गर्छन्, र सत्यता प्रयोग गरी प्रश्‍नहरूलाई लिन र विचार गर्न सक्छन्, र सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन्। अनि, मानिसहरूले परमेश्‍वरबारे आफ्ना विविध धारणा र गलतबुझाइहरू समाधान गरिसकेपछि, तिनीहरूले तुरुन्तै परमेश्‍वरसित तिनीहरूको सम्बन्ध सुधार्न र सँगसँगै जीवन प्रवेशतर्फको बाटो बनाउनसमेत सक्छन्। जब मानिसहरूले यस्ता परिवर्तनहरू हासिल गर्छन्, तब परमेश्‍वरसितको तिनीहरूको सम्बन्ध कस्तो बन्छ? त्यो सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताको सम्‍बन्ध बन्छ। यस स्तरको सम्बन्धमा, त्यहाँ कुनै प्रतिस्पर्धा, कुनै परीक्षा हुँदैन, र विद्रोह अति थोरै हुन्छ; मानिसहरू परमेश्‍वरप्रति अझ बढी समर्पित, समझदार, आराधनामयी, वफादार र इमानदार हुन्छन्, र तिनीहरूले साँच्चै परमेश्‍वरको भय मान्छन्। मानिसहरूले आफ्ना धारणाहरू समाधान गरिसकेपछि त्यसले तिनीहरूको जीवनमा ल्याउने परिवर्तन यही हो। यदि तिमीहरू यस्तो परिवर्तन हासिल गर्न सक्षम छौ भने, के त्यसपछि तिमीहरू आफ्ना धारणाहरू समाधान गर्न तत्पर हुन्छौ? (हुन्छौँ।) तर मानिसहरूका धारणाहरू समाधान गर्नु एउटा अति कष्टप्रद प्रक्रिया हो। मानिसहरूले आफैलाई इन्कार गर्नुपर्छ, तिनीहरूले आफ्ना धारणाहरू हटाउनुपर्छ, तिनीहरूले सही ठानेका कुराहरू हटाउनुपर्छ, तिनीहरूले निरन्तर खोजी गर्ने कुराहरू हटाउनुपर्छ, र तिनीहरूले सही भनी विश्‍वास गरेका कुराहरू, र तिनीहरूले सारा जीवनभर पछ्याएका र चाहना गरेका कुराहरू हटाउनुपर्छ। यसको अर्थ यही हो कि मानिसहरूले आफैलाई त्याग्नुपर्छ, र तिनीहरूले शैतानबाट सिकेका ज्ञान, दर्शनहरू—र अस्तित्वमा रहने तरिकासमेत—हटाउनुपर्छ र त्यसको सट्टामा सत्यता जग र जड भएको अर्को जिउने तरिका कायम गर्नुपर्छ। त्यसैगरी, मानिसहरूले ठूलो पीडा सहनुपर्छ। त्यस्तो पीडा शारीरिक रोग वा दैनिक जीवनका कठिनाइ र समस्याहरू नहुन सक्छ, तर त्यो विभिन्न चिजहरू र मानवजातिबारे तेरो हृदयमा भएका हरप्रकारका विचारहरू परिवर्तन हुँदा आउन सक्छ, वा त्यो परमेश्‍वरको विषयमा तँमा भएको ज्ञानका विभिन्न पक्षहरूबाट पनि आउन सक्छ, जसले संसार, मानव जीवन, मानवजाति, र परमेश्‍वरसमेतको विषयमा तेरो ज्ञान र विचार पूर्ण रूपले उल्टाइदिन सक्छ।

हामीले भर्खरै परमेश्‍वरमाथिको विश्‍वासको सम्बन्धमा मानिसहरूका धारणाहरूबारे सङ्गति गर्‍यौँ र तिमीहरूले सत्यताको यो पक्षबारे आधारभूत अवधारणा बुझ्न सक भनेर थुप्रै उदाहरणहरू दियौँ। पछि गएर, तिमीहरूले यसबारे फेरि मनन गर्न र आपसमा मिलेर सङ्गति गर्न, र निचोडहरू निकाल्न, अनि बिरस्तारै परमेश्‍वरमाथिको विश्‍वासबारे विविध धारणाहरू चिन्तन गर्न, बुझ्न, र चिरफार गर्न र त्यसपछि चरणबद्ध रूपमा समाधान गर्न सक्‍नेछौ। छोटकरीमा भन्नुपर्दा, परमेश्‍वरमाथिको विश्‍वासबारे मानिसहरूमा थुप्रै कल्पना र धारणाहरू हुन्छन्। उदाहरणको लागि, चाहे त्यो मानिसहरूको जीवन, विवाह, र परिवारको सन्दर्भमा होस् वा कामको सन्दर्भमा होस्, कुनै कठिनाइ उत्पन्न भएलगत्तै मानिसहरू परमेश्‍वरबारे धारणा बनाउँछन् र त्यसपछि तिनीहरू उहाँलाई गुनासो र आलोचना गर्छन्, र सधैँ हृदयमा “परमेश्‍वरले मलाई किन सुरक्षा वा आशिष् दिनुहुन्न?” भनेर सोचिरहन्छन्। यो त अविश्‍वासीहरूले सधैँ “स्वर्गले पक्षपात गर्छ,” र “स्वर्ग अन्धो हुन्छ” भनेर भनेजस्तै हो; तर यी कुराहरू संयोगवश घटित हुँदैनन्। जीवन सहज र खुसीयालीपूर्ण हुँदा, मानिसहरूले कहिल्यै परमेश्‍वरलाई धन्यवादको एक शब्द टक्रयाउँदैनन्, बरु तिनीहरूले परमेश्‍वरलाई नकार्न र उहाँको अस्तित्वमाथि शङ्का गर्नसमेत सक्छन्। तर जब विपदले ढोका ढक्ढक्याउँछ, तिनीहरू परमेश्‍वरलाई त्यसको जिम्मेवार ठहर्‍याउँछन्, र परमेश्‍वरलाई आलोचना गर्न र उहाँविरुद्ध ईशनिन्दा गर्न थाल्छन्। कतिपय मानिसहरू आफूले परमेश्‍वरमा विश्‍वास गरेपछि, त्यसउप्रान्त आफूले कुनै कुरा सिक्न वा काम गर्न नपर्ने, समय आएपछि परमेश्‍वरले नै आफ्नो लागि सबथोक तयार गर्नुहुने, र कुनै कठिनाइ आए आफूले परमेश्‍वरलाई प्रार्थना गर्न र उक्त मामला परमेश्‍वरलाई जिम्मा लगाउन सक्ने र उहाँले नै त्यो समाधान गरिदिनुहुने भन्ने सोच्छन्। तिनीहरू आफू बिरामी भए परमेश्‍वरले नै चङ्गाइ गराउनुहुनेछ, कुनै विपद आइपरे परमेश्‍वरले नै सुरक्षा दिनुहुनेछ, र परमेश्‍वरको दिन आएपछि तिनीहरू सबैको स्वरूप परिवर्तन हुनेछ, र परमेश्‍वरले चिन्ह र अचम्‍मका कामहरू गर्नुभयो भने सबथोक ठिक हुनेछ भन्ने विश्‍वास गर्छन्—यी कुराहरू मानिसहरूमा भएका कल्पना र धारणाहरू हुन्। जहाँसम्म मानिसहरूले सिक्नुपर्ने कर्तव्यसम्बन्धी पेशागत ज्ञानको कुरा छ, तिनीहरूले कर्तव्यको लागि जे आवश्यक छ त्यही सिक्नुपर्छ; यसलाई व्यावहारिकता र आफूले गर्नुपर्ने उचित कामप्रतिको समर्पण भनिन्छ, र व्यक्तिले केवल सपना देख्नु र आफ्नो कल्पनामा भर पर्नु हुँदैन। परमेश्‍वरले मानिसहरूलाई जे गर्न लगाउनुहुन्छ, त्यो तिनीहरूले गर्नैपर्ने काम हो, त्यो तिनीहरूले निभाउनैपर्ने कर्तव्य हो। यो किमार्थ बदल्न सकिँदैन र यसमा विवेकपूर्ण शैली अपनाउनुपर्छ—यो सत्यतासँग मिल्छ र यो नै कर्तव्यप्रति मानिसहरूमा हुनुपर्ने दृष्टिकोण हो। यो धारणा होइन, यो सत्यता हो र यो परमेश्‍वरले तोक्‍नुभएको कुरा हो। परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो धेरैजसो समय मानिसहरूका कल्पनासँग अमिल्दा हुन्छन्। मानिसहरूले आफ्ना धारणाहरू पन्छाउन, र परमेश्‍वरको इच्छा र सत्यता सिद्धान्तहरू खोज्न सकेमा, तिनीहरूले यी कुराहरू पार गर्न सक्नेछन्। यदि तँ जिद्दी छस् र हठपूर्वक आफ्नै धारणामा झुन्डिरहन्छस् भने, त्यो तैँले सत्यता नस्विकार्नु, सही कुराहरू नस्विकार्नु, र परमेश्‍वरका मापदण्डहरू नस्विकार्नुसरह हो। यदि तैँले सत्यता वा सही कुराहरू स्विकार्दैनस् भने, के त्यसलाई तँ परमेश्‍वरविरुद्ध रहेको भन्न सकिँदैन र? सत्यता र सकारात्मक कुराहरू परमेश्‍वरबाट आउँछन्। यदि तँ तिनलाई नस्विकारेर बरु आफ्नै धारणामा अडिरहन्छस् भने, तँ सत्यताविरुद्ध रहेको प्रस्ट हुन्छ। अब हामी परमेश्‍वरमाथिको विश्‍वास सन्दर्भमा मानिसहरूका धारणाहरूबारे हाम्रो सङ्गति यहीँ अन्त्य गर्नेछौँ। अब बाँकी रहेको कुरा भने यसलाई तिमीहरूले यी सिद्धान्त र आज हामीले यहाँ सङ्गति गरेका वचनहरूको आधारमा आफूमा लागू गर्नु हो। यी तीन प्रकारकामध्ये परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वाससम्बन्धी धारणाहरू सबैभन्दा सामान्य र आधारभूत धारणा हुन्। यी धारणाहरूसम्बन्धी सत्यताहरू साँच्चिकै गहन छैनन्, त्यसैले यी धारणाहरू सुल्झाउन सजिलै हुनुपर्छ।

अब हामी देहधारणसम्बन्धी मानिसका धारणाहरूबारे सङ्गति गर्नेछौँ; देहधारणबारे पनि मानिसहरूमा थुप्रै धारणाहरू हुन्छन्। मानिसले देहधारी परमेश्‍वर देखेका नहुँदा, तिनीहरूसँग थुप्रै कल्पनाहरू हुन्छन् नि, हैन र? उदाहरणको लागि, तिनीहरू देहधारीले सबथोक प्रस्ट रूपमा बुझ्नु र देख्नुपर्छ भन्ने विश्‍वास गर्छन्। छोटकरीमा, तिनीहरू देहधारी परमेश्‍वरको दैहिकता असाधारण रूपमा सिद्ध हुनुपर्छ, र उहाँ आफूहरूजस्ता भन्दा बढी नै राम्रो हुनुहुन्छ र पहुँचयोग्य हुनुहुन्न भन्ने सोच्छन्। जब मानिसहरूले परमेश्‍वरलाई भेटेका हुँदैनन्, तिनीहरूमा भएका यी कल्पनाहरू नै धारणाहरू हुन्, र यी धारणाहरू निश्‍चित मूल्याङ्कन, वा मानिसहरूमा भएको ज्ञान, धार्मिक विश्‍वास, र परम्परागत साँस्कृतिक शिक्षाबाट आउँछन्। अनि, परमेश्‍वरलाई भेटिसकेपछि, मानिसहरूले नयाँ धारणाहरू निर्माण गर्छन्: “भनेपछि, ख्रीष्ट यस्तो देखिनुहुँदो रहेछ। उहाँले यस्तो बोल्नुहुने र उहाँको व्यक्तित्व यस्तो हुने रहेछ। तर उहाँ मैले सोचेभन्दा कसरी फरक हुन सक्नुभयो? मेरो परमेश्‍वर त यस्तो नहुनुपर्ने हो।” खासमा, मानिसहरूलाई केही थाहै हुँदैन र तिनीहरू परमेश्‍वर कस्तो हुनुपर्ने हो भनेर व्याख्या गर्नै सक्दैनन्। यसरी मानिसहरू निरन्तर यस्ता धारणाहरू बनाइरहन्छन्, र सँगसँगै तिनीहरू यस्ता धारणा र कल्पनाहरू राख्नु गलत हो, परमेश्‍वरले गर्नुहुने काम राम्रो हुन्छ भन्ने विश्‍वास गर्दै, निरन्तर आफूलाई अस्वीकार र काँटछाँट पनि गर्छन्, तर ती कुराहरू बुझ्नचाहिँ अझै सक्दैनन्। तिनीहरूका धारणाहरू निरन्तर प्रकट भइरहन्छन् र तिनीहरूको हृदयमा युद्ध चल्छ, किनकि तिनीहरू यस्तो सोच्छन्, “परमेश्‍वरले जे गर्नुहुन्छ सही गर्नुहुन्छ; मैले कुनै धारणाहरू पाल्नु हुँदैन।” तर तिनीहरूले आफ्ना धारणाहरू पूर्ण रूपमा पन्छाउन सक्दैनन् र तिनीहरू अझै विश्‍वस्त हुँदैनन्, र त्यसैले तिनीहरूको हृदयमा शान्ति हुँदैन। तिनीहरू सोच्छन्, “के उहाँ मानव हुनुहुन्छ कि परमेश्‍वर? यदि उहाँ परमेश्‍वर हुनुहुन्छ भने, उहाँ त्यस्तो देखिनुहुन्न, र यदि उहाँ मानव हुनुहुन्छ भने, उहाँले त्यति धेरै सत्यताहरू व्यक्त गर्न सम्भव हुन्थेन।” तिनीहरू त्यहीँ अड्किन्छन्। तिनीहरू अरू कसैसित सङ्गति गर्न खोज्छन् तर त्यसबारे कुरा गर्न गाह्रो मान्छन्, तिनीहरूलाई आफू हाँसोको पात्र हुने वा अरूले आफूलाई मूर्ख र आस्थाहीन, वा विकृत बुझाइ भएको भन्लान् भन्‍ने डर मान्छन्, र त्यसैले तिनीहरू आफ्नो अनुभूति दबाउन मात्र सक्छन्। तर जे होस्, यदि व्यक्तिले परमेश्‍वरलाई देखेको भए नि नभए नि, उसको हृदयमा परमेश्‍वरबारे धारणा र गलतबुझाइहरू निर्माण हुन्छन् भने, उसको बुझाइमा समस्या छ। परमेश्‍वरले अत्यन्तै धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ र यी मामलाहरूमा प्रस्ट र बुझिने गरी सङ्गति गर्नुहुन्छ ताकि मानिसहरू हृदयमा र वचनद्वारा विश्‍वस्त हुन सकून्। यदि मानिसहरू यस्तो परिस्थितिमा अझै धारणा र गलतबुझाइहरू राख्न सक्छन् भने, त्यो त्यति सामान्य समस्या बिलकुलै होइन। कतिपय मानिसहरूमा आत्मिक बुझाइ नभएर धारणाहरू हुन्छन्; कतिपय मानिसहरूमा विकृत बुझाइ भएर धारणाहरू हुन्छन्; र कतिपय मानिसहरूले सत्यतालाई प्रेम नगर्ने र सत्यता बिलकुलै नबुझ्ने भएर धारणाहरू पाल्छन्। तर अवस्था जे भए पनि, यदि मानिसहरूका विश्‍वास र विचारहरू परमेश्‍वरका वचन, काम र सारसँग मिल्दैनन्, र ती कुराले मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न, परमेश्‍वरलाई चिन्न र परमेश्‍वरको काममा समर्पित हुनबाट रोक्छन् भने, वा मानिसहरूलाई परमेश्‍वरलाई प्रश्‍न गर्ने, गलत बुझ्ने, नकार्ने र प्रतिरोध गर्ने विचार र दृष्टिकोण राख्ने तुल्याउँछन् भने, ती सबै धारणाहरू हुन्, र ती सबै सत्यताविरुद्ध जान्छन्।

यसपछि, म केही ठोस उदाहरणहरू प्रयोग गरी तिमीहरूलाई सङ्गति गर्नेछु। तिमीहरू धेरैले मेरो बारे कथाहरू सुनेका हुन सक्छौ। जब तैँले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरिस् वा आफूलाई निश्‍चित परिस्थितिमा पाइस्, कसैले तँलाई भावुक हुने वा आँसु झार्ने गरी केही कथाहरू सुनाएको हुनसक्छ। उदाहरणको लागि, कसैले भन्यो रे, एउटा नयाँ वर्षमा अरू सबै नयाँ वर्ष बिताउन घर गए, तर ख्रीष्ट बाटोमा एक्लै हिँड्दै हुनुहुन्थ्यो, हुरी र हिउँ परिरहेको थियो, उहाँको लागि जाने घरै थिएन। यो कथा सुनेपछि, केही मानिसहरूले अत्यन्तै भावुक भएर यसो भने, “यो संसार आएर जिउनु परमेश्‍वरलाई साँच्चिकै कठिन् छ! मानवजाति अत्यन्तै भ्रष्ट छ र तिनीहरू सबैले परमेश्‍वरलाई इन्कार्छन्, र त्यसैले परमेश्‍वर यस्तो दुःखमा पर्नुहुन्छ। परमेश्‍वरले जे भन्नुभयो त्यो साँचो देखिन्छ, अर्थात् ‘फ्याउराहरू बस्ने दुला छन् र पंक्षीहरूका गुँड छन्; तर मानिसको पुत्रको निम्ति आफ्नो टाउको राख्ने ठाउँ छैन।’ यी वचनहरू सत्यता सावित भएका छन्। परमेश्‍वर अति महान् हुनुहुन्छ!” तिनीहरू यो कथाबाट परमेश्‍वरको महान्‌ता उत्पन्न भएको विश्‍वास गर्छन्, र तिनीहरू यो कथामार्फत यही निष्कर्ष निकाल्छन्। यो कथा सुनेर तिमीहरूले आँसु झार्दै गर्दा, के तिमीहरूले कहिल्यै सोचेका छौ, मानिसहरू किन यस्ता कथा सुन्न चाहन्छन्? तिनीहरू किन यस्ता कथाले भावुक बन्छन्? परमेश्‍वरको दैहिकताबारे मानिसहरूमा एकप्रकारको धारणा हुन्छ, तिनीहरूमा उहाँको दैहिकताबारे एकप्रकारको मापदण्ड हुन्छ, र उहाँको दैहिकता मापन गर्न तिनीहरूमा एकप्रकारको मानक हुन्छ। यो धारणा के हो? यो के हो भने, यदि परमेश्‍वर देहधारी भएर आउनुभयो भने, उहाँ दुःखमा पर्नुहुन्छ। परमेश्‍वरले भन्नुभयो, “फ्याउराहरू बस्ने दुला छन् र पंक्षीहरूका गुँड छन्; तर मानिसको पुत्रको निम्ति आफ्नो टाउको राख्ने ठाउँ छैन।” यदि यी वचनहरू साँचो सावित नभएका भए, यदि मानिसको पुत्रको जीवनका परिस्थितिहरू यस्तो नभएको भए, र उहाँले यस्तो दुःख नभोगेर खुसी मान्नुभएको भए, मानिसहरूले उहाँलाई प्रशंसा गर्नेथिएनन्, र तिनीहरू उत्प्रेरित हुनेथिएनन्, र त्यसपछि तिनीहरूले कर्तव्य निभाउन चाहनेथिएनन् र तिनीहरू थोरै पनि दुःख भोग्न तयार हुनेथिएनन्। मानिसहरू परमेश्‍वरले दुःख भोग्नुपर्छ, र दुःख भोगेर मात्र उहाँ मानवजातिको लागि उदाहरण र नमुना बन्न सक्नुहुन्छ भन्ने विश्‍वास गर्छन्। तिनीहरू विश्‍वास गर्छन् कि, जब परमेश्‍वर संसारमा आउनुहुन्छ, उहाँले ठूलो धनसम्पत्ति र ओहदामा रमाउन मिल्दैन—ती सांसारिक कुराहरू हुन्। परमेश्‍वर विशेषगरी दुःख भोग्न संसारमा आउनुभयो र उहाँले दुःख भोगेपछि मात्र मानवजातिलाई निःशब्द पार्न, र उहाँको दुःख देखेर भावुक बन्‍ने र उहाँलाई प्रशंसा गर्ने, र त्यसपछि उहाँलाई पछ्याउने तुल्याउन सक्नुहुन्छ। मानिसहरू परमेश्‍वरबारे यस्तो धारणा बोक्ने गर्छन्, र यसैले गर्दा तिनीहरू यस्ता कथाहरूलाई आफ्नै जस्तो अनुभूति गर्छन् र तिनलाई सजिलै स्विकार्छन्। त्यसकारण, के तिमीहरू यो कथा साँचो हो होइन भनी जान्न चाहन्छौ? तिमीहरू यो साँचो होस् भन्ने आशा गर्छौ, कि नहोस् भन्‍ने आशा गर्छौ? के तिमीहरूलाई यसको जवाफ दिन कठिन लाग्छ? यदि यो साँचो हुँदो हुन्थ्यो भने, मानिसहरूले यो तिनीहरूका धारणासँग अत्यन्तै मिल्दो पाउनेथिए; यदि यो साँचो हुन्थेन भने, के तिमीहरूको भित्री हृदयको नायकी उदाहरण नष्ट हुनेथ्यो? के तिमीहरूमाथि यसको प्रभाव पर्नेथ्यो? के यो तिमीहरूको लागि झट्का हुनेथ्यो? वास्तवमा, यो साँचो हो होइन भन्ने कुरा महत्त्वपूर्ण होइन। त्यसोभए, केचाहिँ महत्त्वपूर्ण हो त? मानिसहरूका धारणाहरू चिरफार गर्नु। हरव्यक्तिसँग देहधारी परमेश्‍वर, उहाँको जीवन, उहाँको जियाइ परिवेश, उहाँको जीवन गुणस्तर, र उहाँको गाँस, बास, कपास, र यातायात मापन गर्ने धारणा र मानक हुन्छ, र उसमा भएको यो धारणा के हो भने, अहिले परमेश्‍वर आउनुभएको छ, र उहाँले दुःख भोग्नैपर्छ। त्यसैगरी, मानिसहरूको हृदयमा, ख्रीष्ट निश्‍चित रूपमा प्रभावशाली र आराधना, प्रशंसा, र श्रद्धालायक हुनुपर्छ: उहाँ अत्यन्तै तीब्रतासाथ पढ्न सक्‍ने र आफूले देखेको कुरा कहिल्यै नबिर्सने हुनुपर्छ, उहाँसँग सामान्य मानिसहरूको पहुँचबाहिरका असाधारण क्षमताहरू हुनुपर्छ, र उहाँ चिन्ह र अचम्‍मका कामहरू देखाउनसमेत सक्षम हुनुपर्छ, र त्यसपछि त्यसले उहाँलाई पछ्याउन लायक र “शक्तिमान्‌ परमेश्‍वर” को पदवीलायक बनाउँछ। यदि मानिसहरूका धारणा र कल्पनाहरू वास्तविक जीवनमा पूरा हुन्थे भने, तिनीहरू आफ्नो आस्थामा अत्यन्तै ऊर्जावान् र आत्मविश्‍वासी हुनेथिए। यदि साँच्चिकै हुने कुराहरू तिनीहरूका धारणा र कल्पनासँग अमिल्दा हुन्छन्, जस्तै ख्रीष्टलाई अझै पनि शासकीय अधिकारीहरूले खेदो गरेको देखिन्छ भने, मानिसहरूले सोच्छन्, “परमेश्‍वर अझै पनि खेदो गरिने पीडा भोग्दै हुनुहुन्छ—मैले कल्पना गरेको नायक र मुक्तिदाता यस्तो होइन!” त्यसपछि तिनीहरू परमेश्‍वर विश्‍वास गर्नलायक हुनुहुन्न भन्ने सोच्छन्। के यो तिनीहरूका धारणाले निम्त्याएको होइन र? यी धारणाहरू कसरी उत्पन्न हुन्छन्? एकातिर, ती मानिसहरूका कल्पनाहरूबाट उत्पन्न हुन्छन्, र अर्कोतिर मानिसहरूमा चर्चित र महान् मानिसहरूको छविले प्रभाव पारेको हुन्छ, र यसले तिनीहरूमा परमेश्‍वरबारे गलत परिभाषाहरू निर्मित गराउँछ। मानिसहरू चर्चित र महान् मानिसहरूको जीवन सरल हुन्छ, तिनीहरूको दाँत माझ्ने ब्रस २०-३० वर्ष टिक्न सक्छ, र एउटै कपडा पनि रफ गर्दै जीवनभर लगाउन सकिन्छ भन्ने विश्‍वास गर्छन्। कतिपय चर्चित र महान् मानिसहरू कुनै कुरा पनि खेर नफाली खान्छन्, खाना खाइसकेपछि थालसमेत चाटेर टिलिक्कै पार्छन्, र भुइँमा खसेको एक टुक्रा खाना पनि टिपेर खान्छन्, त्यसैले मानिसहरूको हृदयमा यी महान् मानिसहरूबारे असाधारण छाप पर्छ, र यही छापको आधारमा तिनीहरू देहधारी परमेश्‍वरको मापन गर्छन्। अनि, त्यो छापसँग देहधारी परमेश्‍वर मिल्नुभएन भने, तिनीहरूले धारणा बनाउँछन्, तर त्यो छापसँग देहधारी परमेश्‍वर ठ्याक्‍कै मिल्नुभयो भने, तिनीहरूले धारणा बनाउँदैनन्। के यी कुराहरूसित मानिसहरूले ख्रीष्टलाई तुलना गर्नु सत्यताअनुरूप हुन्छ? के चर्चित र महान् मानिसहरूले गर्ने कामहरू सत्यतासँग मिल्छन्? के तिनीहरूको प्रकृति सार सन्तको जस्तो हुन्छ? खासमा, यी सबै चर्चित र महान् मानिसहरू भूतप्रेत र दियाबलस राजाहरू हुन्, र तीमध्ये कुनैमा पनि सामान्य मानवताको सार हुँदैन। मानव धारणाहरू प्रयोग गरेर तिनीहरूको मापन गर्दा तिनीहरूमा केही सत्कर्महरू हुने देखिए पनि, तिनीहरूका प्रकृति सार र कार्य हेर्दा, सारमा तिनीहरू सबै दियाबलस र शैतान हुन्। यसरी दियाबलस र शैतानको छवि टिपेर देहधारी परमेश्‍वरसित तुलना गर्नु, के यो ईशनिन्दा होइन र? शैतान र दियाबलसहरू आफ्नो भेष बदल्न सधैँ खप्पिस हुन्छन्। बाहिरी रूपमा तिनीहरूले बोल्ने सबथोक मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्छन्, र तिनीहरू सधैँ कर्णप्रिय कुराहरू मात्र बोल्छन्। तर तिनीहरूले हृदयमा बनाउने योजना र पर्दापछाडि गर्ने कामहरू सबै लाजमर्दा दियाबलस प्रकृतिका कुराहरू मात्र हुन्छन्, र यदि कसैले पनि पर्दाफास गरेन भने, ती कुरा कसैले बुझ्न सक्दैन। शैतान र दियाबलस राजाहरूले बोल्ने सबथोक ढोँगी र बहकाउपूर्ण हुन्छन्, र सत्यता बुझ्ने कतिपय मानिसहरूले यसलाई प्रस्ट रूपमा देख्न सक्नेछन्। कतिपय मानिसहरू दियाबलस र महान् मानिसहरूका छविसित सधैँ देहधारी परमेश्‍वरको तुलना गरिरहेका हुन्छन्, र त्यसमा मिलान नहुँदा तिनीहरू असहज महसुस गर्छन्, र धारणाहरू बनाउँछन् र तिनलाई कहिल्यै त्याग्दैनन्। के यस्ता मानिसहरू धेरै छन्? अवश्य पनि धेरै छन्। कतिपय मानिसहरू अझै पनि अहिले भर्खरै मैले सुनाएको कथा साँचो हो होइन भन्नेबारे चासो राख्छन्। जब मैले यसबारे पहिलोपटक सुनेँ, मेरै बारे कथित घटना मलाई नै थाहा नभएर म तीनछक थिएँ। त्यो ठूलो मजाक र ठूलो झूट थियो। त्यो साँचो थिएन। त्यो परिस्थितिमा, नयाँ चरणको यो काम स्विकारेका धेरै दाजुभाइ-दिदीबहिनीहरू नभए पनि, परमेश्‍वरले उहाँका वचनहरू बोल्न सुरु गर्नुहुँदा, त्यो स्विकार्ने मानिसहरू अझै पनि केही थिए। साथै, तिनीहरू सबै येशूका विश्‍वासी थिए जो यस चरणको काम स्विकार्न आएका थिए। तिनीहरू सबै प्रेम दर्साउन इच्छुक थिए, र तिनीहरूले ख्रीष्टको अगाडि ढोका लाउन कदापि कहिल्यै सक्थेनन्; तिनीहरूले निश्‍चय नै त्यसो गर्न कहिल्यै सक्थेनन्। केहीले त मलाई नयाँ वर्षमा तिनीहरूको घर बोलाउँथे। तर त्यतिका धेरै दाजुभाइ र दिदीबहिनीहरू भएपछि, म कसको घर गई पाहुना हुन सक्थेँ र? त्यस्तो कुरा बोल्दा त ती दाजुभाइ-दिदीबहिनीहरू विद्रोही भइरहेका छन् र मलाई कसैले कहीँ पनि घरमा राख्नेछैन भन्ने देखिन्थ्यो। त्यो त दाजुभाइ र दिदीबहिनीहरूलाई फसाउने र तिनीहरूबारे अफवाह फैलाउने प्रयास थियो! त्यो सब पूर्णतया निराधार थियो र त्यो गोप्य मनसाय भएका निश्‍चित मानिसहरूले रचेको भन्‍ने प्रस्ट थियो, तैपनि तिमीहरूले त्यसलाई साँच्चिकै विश्‍वास गर्‍यौ। तिमीहरूले त्यसलाई कसरी विश्‍वास गर्न सक्यौ? किनभने देहधारणबारे मानिसहरूमा निश्‍चित धारणाहरू हुन्छन्, र तिनीहरूको भावना, चाहना, र मनोवैज्ञानिक संरचनाअनुसार तिनीहरूमा यस्ता मापदण्डहरू हुन्छन्, र त्यसैले तिनीहरू यस्ता कथाहरू सुन्न इच्छुक हुन्छन्। केही मानिसहरूले मौकाको फाइदा उठाएर यी कथाहरू रचे, र सक्दो गर्दै यी कथाहरू फैलाए, प्रसार गरे, रोचकता थपे, अनि निचोडहरू निकाल्दै चटपटे खुराकहरू बनाए। अन्त्यमा, झन्झन् बढी मानिसहरूले तिनीहरूका जाली रचनाहरू सुन्न थाले र यी कुराहरूलाई नै साँचो ठान्न पुगे। यदि मैले यो मामला नप्रस्ट्याएको भए, तिमीहरूले जीवनभर कहिल्यै साँचो र झूटो छुट्याउन सक्‍नेथिएनौ। के अब कुरो बुझ्यौ? यस्तो कुरा त कहिल्यै हुन सक्‍नेथिएन।

अब म तिमीहरूलाई केही कुराहरू भन्नेछु, ताकि यी कुराहरूमार्फत तिमीहरूले देहधारण र ख्रीष्टबारे के-कस्ता धारणाहरू छन् भनी बुझ्न सक। जब परमेश्‍वरको कामको यो चरण भर्खरै सुरु भएको थियो, मण्डलीले केही भजनहरू लेख्नुपर्ने भयो, र मैले पनि एउटा लेखेँ। त्यो समयमा, देहधारी परमेश्‍वरको गवाही दिइसकिएको थियो। मेरो भजन सुनिसकेपछि कतिपय मानिसहरूलाई त्यो राम्रो छ भन्ने लाग्यो, तर एक जनाले एकदमै अनौठो कुरा भन्यो: “तिमीले कसरी यो भजन त्यति चाँडो लेख्यौ? तिमीले कसरी त्यति धेरै शब्दहरू सिर्जना गर्‍यौ?” यो सुनेर म निकै अलमलमा परेँ र मैले सोचेँ, “के गीत लेख्न व्यक्तिलाई शब्दहरू चाहिन्छ? के ऊ ज्ञानवान् हुनुपर्छ? त्यसोभए उसले मैले व्यक्त गरेका ती सबै शब्दहरू के हुन् भन्ठान्छ?” उसमा एउटा धारणा, अर्थात् एउटा विचार थियो, देहधारणले व्यक्त गरिरहनुभएका वचनलाई उसले शब्द र शब्दवर्ग मात्र भन्ठान्यो—न त उसलाई यी वचनहरू सत्यता हुन् भन्ने लाग्यो, न त उसले त्यो कुरा नै बुझ्यो। देहधारणले गर्नुभएको सबथोक उसलाई अस्पष्ट लाग्यो। सत्यता नबुझेको कारण उसले अविश्‍वासीहरूका वचनहरू प्रयोग गरी तिनको व्याख्या गर्‍यो, र यो सुन्दा मानिसहरूलाई असहज र दिगमिग लाग्यो। त्यो व्यक्तिमा आत्मिक बुझाइ थिएन र यस्ता मानिसहरू अहिले पनि हुन्छन्। अनि, यो मामला कस्ता धारणाहरूसँग सम्बन्धित छ? त्यो व्यक्तिले देहधारण वा ख्रीष्टलाई नकारेन; उसले के भएको थियो भनी जाँच्न धारणा प्रयोग गर्‍यो। उसलाई लाग्थ्यो, ख्रीष्ट ज्ञानवान् र शिक्षित हुनुपर्छ, र अरू मानिसहरूमाझ हुँदा, उहाँ तिनीहरूलाई पूर्ण रूपमा विश्‍वास दिलाउन सक्षम हुनुपर्छ। ख्रीष्ट निकै शिक्षित नहुनुभए पनि, उहाँको क्षमता, प्रतिभा, र दक्षता अरूको भन्दा राम्रै हुनुपर्छ, अर्थात्, परमेश्‍वर र ख्रीष्ट हुनलायक हुन उहाँ निश्‍चित कुराहरूमा अरू मानिसहरूभन्दा राम्रो हुनुपर्छ वा निश्‍चित तरिकामा अरू मानिसहरूभन्दा फरक हुनुपर्छ। उसलाई लाग्थ्यो, ख्रीष्ट त्यस्तो बन्‍न योग्य हुनुहुन्छ भने मात्र उहाँ ख्रीष्ट हुन सक्नुहुन्छ। उसलाई लाग्‍थेन कि ख्रीष्टमा ख्रीष्टको सार भए मात्र पनि उहाँ ख्रीष्ट बन्न सक्नुहुन्छ, र त्यही कारणले गर्दा उसले यस्तो कुरा भन्यो। यसप्रकारको धारणाले परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वास र तिनीहरूको जीवन प्रवेशमा कस्ता अवरोधहरू पुर्‍याउन सक्छ? मानिसहरूले आफ्नो दिमाग प्रयोग गरेर परमेश्‍वरका वचनहरू विश्‍लेषण गर्नेछन्, र परमेश्‍वरको दैहिकताबारे विश्‍लेषण र अध्ययन गर्नेछन्, अनि तिनीहरू सधैँ उहाँलाई अध्ययन गरिरहेका र यस्तो सोचिरहेका हुनेछन्, “के यो व्यक्तिले बोलेको कुरा तर्कयुक्त छ? के यो सामान्य सोचाइसँग मिल्छ? के यो व्याकरण नियमबमोजिम छ? अनि, यो उहाँले कहाँबाट सिक्नुभयो?” तिनीहरू परमेश्‍वरका वचनहरूमा सत्यता खोज्दैनन्, तिनीहरू परमेश्‍वरका वचनहरूलाई सत्यता स्विकार्ने दृष्टिकोणबाट बोध गर्दैनन्, र तिनीहरू परमेश्‍वरका वचनहरुलाई सत्यताको रूपमा स्विकार्दैनन्। बरु, तिनीहरू विश्‍लेषण, अध्ययन र प्रश्‍न गर्न आफ्नो बुद्धि र ज्ञान प्रयोग गर्छन्। चाहे मानिसहरूले जेजस्ता दृष्टिकोण वा धारणाहरू प्रयोग गरेर यो व्यक्तिको मापन गरून् वा यो व्यक्तिलाई हेरून्, त्यसको अन्तिम परिणाम के हुन्छ? (उसले सत्यता प्राप्त गर्न सक्दैन।) उसले निश्‍चय नै सत्यता प्राप्त गर्न सक्दैन। यसमा तैँले नबुझेको अर्को पक्ष पनि छ, र त्यो के हो भने, मानिसहरू उहाँ देहधारण हुनुहुन्छ हुनुहुन्न भनेर निश्‍चित हुन सकेका छैनन्—के यो महत्त्वपूर्ण छैन र? (छ।) परमेश्‍वर दिनुभएका प्रवचन र खुलासा गर्नुभएका निश्‍चित रहस्यहरू सुनेपछि, धेरै मानिसहरू उहाँ वास्तवमै परमेश्‍वर हुनुहुन्छ, र उहाँका वचनहरू सत्यता र जीवन हुन् र यी परमेश्‍वरबाट आउँछन् भनेर निश्‍चित हुन्छन्। तर यदि मानिसहरू सधैँ आफ्नै धारणाहरूद्वारा परमेश्‍वरलाई अध्ययन गरिरहेका हुन्छन् र उहाँका वचनहरूलाई कहिल्यै सत्यताको रूपमा स्विकार्दैनन् भने, त्यसको अन्तिम परिणाम के हुन्छ? तिनीहरूले सधैँ यो व्यक्तिको पहिचान, सार र उहाँको काममाथि प्रश्‍न गरिरहनेछन्, अर्थात्, तिनीहरूले यो व्यक्ति मानव हो कि परमेश्‍वर भनेर पुष्टि गर्न सक्नेछैनन्, र यो व्यक्ति सायद परमेश्‍वरले पठाउनुभएको दूत, वा सायद अगमवक्ता होला भन्ने सोच्छन्, किनभने उहाँले जुन कुराहरू बोल्नुहुन्छ ती मानिसहरूले बोल्न सक्दैनन्। कतिपय मानिसहरू यो व्यक्ति परमेश्‍वर हो भनेर स्विकार्दैनन्, किनकि तिनीहरूभित्र यो दैहिकतासँग नमिल्ने थुप्रै बन्देज र जन्जिरहरू अनि थुप्रै धारणाहरू हुन्छन्। ती नमिल्दा, यी मानिसहरूले सत्यता खोज्दैनन्, बरु निरन्तर आफ्नै धारणाहरूमा टाँस्‍सिरहन्छन्, र त्यसैले तिनीहरू त्यहीँ अड्किरहन्छन्। जब यस्तो व्यक्तिलाई तैँले आफ्नो आस्थामा प्रयत्न गर्नू भनेर भन्छस्, उसले धेरै धारणाहरू बनाउँछ जसलाई उसले त्याग्नै सक्दैन, र जब तैँले उसलाई जा भनेर भन्छस्, उसले आशिषित् नभइएला भनेर त्रसित हुन्छ। के यहाँ यस्ता मानिसहरू हुन्छन्? के तिमीहरू यस्ता छौ? तिमीहरूमध्ये धेरैले यो व्यक्ति वास्तवमै देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर पक्का गरेका भए पनि, वास्तवमा तिमीहरू त्यसलाई ८०-९० प्रतिशत मात्र पक्का गर्छौ, र यसमा अझै १०-२० प्रतिशत शङ्का र प्रश्‍न रहन्छ। तर के भन्न सकिन्छ भने, मूलभूत रूपमा तिमीहरूले यो कुरा पक्का गरेका छौ, र बाँकी रहेको शङ्का र प्रश्‍न खासै जरुरी कुरा होइनन्। यी धारणाहरू समाधानको नजिक छन्, तर यदि यी धारणा र प्रश्‍नहरू समयमै समाधान गरिएनन् भने, यो कुरा निकै कष्टकर हुन सक्छ। जहाँसम्‍म तिमीहरूका धारणाहरूको कुरा छ, तिमीहरू सन्तुष्ट हुन, तिमीहरूले यो परमेश्‍वरले गर्नुभएको हो र परमेश्‍वरले मानिसहरूलाई यसरी नै व्यवहार गर्नुपर्छ भनेर सोच्नलाई मैले तिमीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? के मैले तिमीहरूसित नरम रूपमा बोल्नुपर्छ र त्यसपछि हरमामलामा तिमीहरूबारे चिन्ता र चासो लिनुपर्छ? यदि कुनै दिन तिमीहरूमध्ये केहीले कुनै बेतुके काम गरेको थाहा पाएर, मैले तिमीहरूलाई निकै गाली गर्ने, कठोर रूपमा तिमीहरूको पर्दाफास र न्याय गर्ने, र तिमीहरूको आत्मसम्मानमा चोट पुर्‍याउने हो भने, के तिमीहरूले म परमेश्‍वरजस्तो छैन भन्ने महसुस गर्नेछौ? तिमीहरू परमेश्‍वर सबैभन्दा भद्र र सबैभन्दा प्रेमिलो हुनुहुन्छ र परमेश्‍वर प्रेमिलोदयालुपनले भरिएको हुनुहुन्छ भन्ने विश्‍वास गर्छौ, त्यसैले तिमीहरूका धारणा र कल्पनाको परमेश्‍वर हुनको निम्ति मैले के गर्न सक्छु? यदि तिमीहरू अहिले पनि परमेश्‍वरलाई यस्ता मापदण्डहरू दिन्छौ भने, तिमीहरूमा कुनै समझ छैन र तिमीहरू साँच्चिकै परमेश्‍वरलाई चिन्दैनौ।

म तिमीहरूलाई देहधारणसम्बन्धी धारणाहरूबारे अर्को एउटा कुरा भन्नेछु। बीस वर्षपहिले, चीनमा हुँदा, म २० वर्ष पुगिसकेको थिइनँ, र त्यो उमेरमा, मानिसहरू आफ्ना बोली र व्यवहारमा खासै अनुभवी र परिपक्व हुँदैनन्; तिनीहरूको बोली र व्यवहार कलिला व्यक्तिहरूको जस्तै हुन्छन्, र यो सामान्य हो। यदि तिनीहरूले पाका मानिसहरूजस्तै बोले र व्यवहार गरे भने, त्यो सामान्य हुँदैन। हरकुनै उमेर समूहका मानिसहरू सोही उमेर समूहका मानिसहरूजस्तै हुनु सामान्य हो। परमेश्‍वरले मानवजाति सृष्टि गर्नुभयो र मान्छेको लागि सामान्य वृद्धि ढाँचा तोक्नुभयो। अनि अवश्य नै, देहधारी परमेश्‍वर स्वयम्‌ पनि अपवाद हुनुहुन्न, र उहाँ पनि यही ढाँचाबमोजिम जीवन जिउनुहुन्छ र अनुभव गर्नुहुन्छ। यो ढाँचा परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरले त्यो उल्लङ्घन गर्नुहुनेछैन। त्यसकारण, देहधारी परमेश्‍वर २० वर्ष पुग्नुअघि उहाँका निश्‍चित व्यवहारहरू पक्कै पनि कलिला व्यक्तिहरूका जस्ता नै थिए। उदाहरणको लागि, एकपटक घर सर्दा, केही दाजुभाइ-दिदीबहिनीहरूले केही कलम र नोटबुकहरू छाडेर गए। मलाई ती खेर फाल्नु राम्रो हुँदैन भन्ने लाग्यो, र दाजुभाइ-दिदीबहिनीहरूले पनि टिपोट लिइरहनुपर्थ्यो, त्यसैले मैले तिनलाई पोका पारेँ र केही दिदीबहिनीहरूलाई बाँडेँ। त्यसपछि एउटाले धारणा बनायो र भन्यो, “जसलाई यी चाहिन्छ उसले आफै आएर लग्दा हुन्छ। तपाईं यिनलाई बाँडेर बच्चाजस्तो व्यवहार गरिरहनुभएको छ!” उसले यही भन्यो। के यो महत्त्वपूर्ण कुरा हो कि सानोतिनो कुरा हो? यदि कसैले सामान्य व्यक्तिलाई बच्चाजस्तो व्यवहार गरेको भनेर मूल्याङ्कन गरेको भए, त्यसो गर्नु सामान्य हुन्थ्यो, त्यो बस एउटा बोलेको कुरा मात्र हुन्थ्यो, र कसैले पनि त्यसलाई ध्यान दिने र गम्भीरतासाथ लिने गर्दैनथ्यो; कसैले पनि त्यो कुरा धारणा वा दृष्टिकोण थियो भनेर सोच्नेथिएन, बरु उसले त्यसलाई जे थियो त्यही रूपमा लिनेथियो। तर उसले मलाई त्यो कुरा भन्दा कुन रूपमा भनेको थियो? त्यसको प्रकृति कस्तो थियो? उसका धारणा र कल्पनामा त देहधारी परमेश्‍वर अझै २० वर्ष नपुग्नुभएको भए पनि, उहाँले ज्येष्ठ उमेरका व्यक्तिले जस्तै व्यवहार गर्नुपर्छ, हरदिन गम्भीर भएर सिधै अगाडि हेरेर बस्नुपर्छ, उहाँ बुद्धिमान् र अनुभवी ज्येष्ठ व्यक्तिजस्तो देखिनुपर्छ, जसले कहिल्यै मजाक र गफ गर्दैन, र जो अत्यन्तै स्थिर र शान्त रहन्छ। जुन बेला मैले केही दिदीबहिनीहरूलाई कलम र नोटबुकहरू बाँड्‍नेजस्तो ज्येष्ठ उमेरको व्यक्तिको विपरीत व्यवहार वा काम गरेँ, एउटाले मेरा कार्य बच्चाको जस्तो भएको, ख्रीष्टको जस्तो नभएको र उसको मनको परमेश्‍वरको जस्तो नभएको भनेर निन्दा गर्‍यो, किनभने देहधारी परमेश्‍वरले कुनै रूपमा बच्चाले जस्तो व्यवहार गर्नु हुँदैनथ्यो। के त्यो उसले देहधारी परमेश्‍वरलाई परिभाषित गरिरहेको थिएन र? यो परिभाषा एकप्रकारको निन्दा र आलोचना हो कि प्रशंसा र अभिपुष्टि हो? (यो निन्दा र आलोचना हो।) यो किन निन्दा हो? के देहधारी परमेश्‍वर बच्चाजस्तै हुनुहुन्छ भनेर उसले परमेश्‍वरलाई नकारिरहेको थियो भन्न सकिन्छ? उसले यसो भन्नुमा के गल्ती छ? उसले यो धारणा बनाउनुको मुख्य समस्या के थियो? (उसले देहधारणको सामान्य मानवता अनि परमेश्‍वरको सामान्यता र व्यावहारिकता नकारिरहेको थियो। भर्खरै परमेश्‍वरले भन्नुभएजस्तै, देहधारण भनेको सामान्य रूपमा वृद्धि हुने सृष्टि गरिएको मानवजस्तै हो। तर त्यो व्यक्तिले परमेश्‍वर अत्यन्तै अलौकिक हुनुहुन्छ भन्ने ठान्यो र त्यसैले देहधारणलाई बुझेन। यसको प्रकृति हेर्दा, यो परमेश्‍वरलाई इन्कार र निन्दा गर्नु हो, र यो ईशनिन्दा हो।) ठिक भनिस्, उसले इन्कार गर्नु नै समस्याको सार थियो। उसले किन यसरी देहधारी परमेश्‍वरलाई इन्कार्‍यो? किनभने उसले हृदयमा देहधारी परमेश्‍वरबारे एउटा धारणा पालेको थियो, र उसले यस्तो सोच्थ्यो, “तपाईं परमेश्‍वर हुनुहुन्छ, त्यसैले तपाईंले सामान्य उमेरक्रमसँग मिल्दो तपाईंको सामान्य मानवता प्रकट गर्न मिल्दैन। तपाईं २० वर्ष पुगिसक्नुभएको छैन तर तपाईं ५० वर्षको व्यक्तिजतिकै परिपक्व र अनुभवी हुनुपर्छ। तपाईं परमेश्‍वर हुनुहुन्छ, त्यसैले तपाईंले सामान्य मानवताको वृद्धि शैली तोडेर जिउनुपर्छ। तपाईं अलौकिक हुनैपर्छ, तपाईं अरू सबैबाट फरक हुनैपर्छ, र त्यसपछि मात्र तपाईं हाम्रा मनको ख्रीष्ट र परमेश्‍वर बन्न सक्नुहुन्छ।” उसमा यही धारणा थियो। अनि यो धारणाको परिणाम के भयो? के यो घट्ना नघटेको भए, के उसको धारणा प्रकट भएको हुनेथ्यो? कसैलाई थाहा भएन; बस यस मामलामार्फत उसको खुलासा मात्र भयो। यदि उसमा यस मामलाबारे कुनै धारणा भए पनि, उसले परमेश्‍वरले गर्नुभएको काम मानिसहरू बुझ्न सक्षम छैनन् भन्ने सोचेको भए, र उसलाई आफूले जथाभावी नबोलेको भए हुन्थ्यो भन्‍ने लागेको भए, उसले खोजी गर्ने ठाउँ पाउनेथ्यो, र यो व्यवहार क्षमायोग्य हुनेथ्यो। मानिसहरू सत्यता बुझ्दैनन् र तिनीहरूले पूर्ण रूपमा बुझ्न नसक्ने धेरै कुराहरू छन्। तर मानिसहरू यी कुराहरू पूर्ण रूपमा नबुझ्ने हुँदाहुँदै पनि, कतिपय मानिसहरूले आलोचना र निन्दा गर्छन्, जबकि कति अरूले लापर्बाहीपूर्वक बोल्नुको साटो प्रतीक्षा गरी खोजी गर्छन्—के यहाँ प्रकृतिमा भिन्नता छैन र? (छ।) त्यसोभए यो व्यक्तिले पूर्ण रूपमा बुझ्न नसक्नुको प्रकृति के थियो? ऊ तुरुन्तै निन्दा गर्नतिर लाग्थ्यो, र यो गम्भीर समस्या बन्यो। मानिसहरूले धारणाहरू बनाएपछि, तिनीहरूमा देहधारी परमेश्‍वरबारे शङ्का अनि निन्दा र इन्कारसमेत उत्पन्न हुन्छन्, र यो निकै गम्भीर कुरा हो।

मैले भर्खरै देहधारणबारे तीनवटा उदाहरणहरू दिएँ। यी तीन उदाहरणहरूले निश्‍चित समस्याहरू देखाउँछन्, र तैँले खोजी गरेर तीभित्र के सत्यता छ भनी पत्ता लगाउनुपर्छ। पहिलो धारणा के हो रे? (मानिसहरूले महान्‌ मानिसहरूबारेका आफ्ना परिभाषाहरूद्वारा परमेश्‍वरलाई सीमित तुल्याउँछन्, र मानवजातिको लागि नमुना बन्न परमेश्‍वरले दुःख भोग्नुपर्छ भन्ने विश्‍वास गर्छन्।) यो मानिसहरूमा भएको एउटा धारणा हो। तिनीहरूका धारणाअनुसार देहधारी परमेश्‍वरले बढी दुःख भोगेर मानवजातिको लागि उदाहरण र नमुना बन्नुपर्छ। दोस्रो धारणा के हो? (मानिसहरू ख्रीष्ट साधारण मानिसहरूभन्दा बढी ज्ञानवान् र शिक्षित हुनुपर्छ, तब मात्र उहाँ ख्रीष्ट बन्नुहुन्छ भन्ने विश्‍वास गर्छन्।) धेरै मानिसहरू अझै पनि परमेश्‍वरका वाणी र काम उहाँको ज्ञान र वरदानबाट, वा उहाँको दक्खल वा बुझाइ भएका निश्‍चित कुराहरूबाट आउँछन् भन्ने विश्‍वास गर्छन्—यो एउटा धारणा हो। तेस्रो धारणा के हो? (मानिसहरू ख्रीष्टमा सामान्य मानवताका कुनै प्रकटीकरणहरू हुनुनपर्ने विश्‍वास गर्छन्।) अझै प्रस्ट्याउनु पर्दा, देहधारी परमेश्‍वर अलौकिक हुनुपर्छ र अरू सबैबाट फरक हुनुपर्छ र उहाँमा अलौकिक क्षमताहरू हुनुपर्छ भन्ने हो। यदि ख्रीष्ट हरेक रूपमा साधारण र सामान्य हुनुहुन्छ भने, परमेश्‍वरमाथि मानिसहरूको आस्था कमजोर हुनेछ, र तिनीहरूले परमेश्‍वरलाई शङ्का र इन्कारसमेत गर्नेछन्—हरव्यक्ति अलौकिक परमेश्‍वरलाई प्रेम गर्छ। के मैले तिमीहरूलाई यी कथाहरू सुनाउँदा, सत्यताबारे तिमीहरूको बुझाइमा फाइदा पुग्छ? (फाइदा पुग्छ।) त्यो फाइदाजनक हुनुपर्छ। यदि मैले कुनै तथ्यगत आधारविना तिमीहरूलाई सत्यताको यो पक्ष सङ्गति गर्ने हो भने सायद तिमीहरूलाई त्यो अमूर्त लाग्न सक्छ, र त्यस्तोमा त्यसले सँच्‍चिकै के जनाउँछ भनी तिमीहरूलाई थाहा हुन्थेन। तर मैले तिमीहरूलाई भनेका कुरा केही मूर्त उदाहरणहरू हुन्, र यी कुरा सुनेपछि, तिमीहरूलाई यो व्यावहारिक र बुझ्न सजिलो लाग्‍नेछ, र यी कथाहरूमार्फत तिमीहरूले केही सत्यताहरू बुझ्न सक्‍नेछौ। तर के तिमीहरू आफूलाई अरू कुराहरू आइपर्दा कसरी सत्यता प्रयोग गरी तिनलाई मापन र सामना गर्ने भनी सिक्न सक्छौ? यदि तिमीहरू सत्यता लागु गर्न सक्छौ भने, त्यसले देखाउँछ कि तिमीहरूमा आत्मिक बुझाइ छ र तिमीहरू यी कथाभित्रको सत्यता बुझ्छौ; यदि लागु गर्न सक्दैनौ भने, तिमीहरूमा आत्मिक बुझाइ छैन र तिमीहरूले यी कथाभित्रको सत्यता बुझेका छैनौ। यदि तैँले यी कथाहरूका परिस्थितिहरूमा यीभित्रको सत्यता थाहा पाउन सक्छस्, र तँलाई परमेश्‍वरको इच्छा के हो, तैँले के बुझ्नु र चिरफार गर्नुपर्छ र केमा प्रवेश गर्नुपर्छ, अनि तैँले कुन सत्यताहरू खोज्‍नु र प्राप्त गर्नुपर्छ भन्ने कुरा थाहा छ भने, तँमा आत्मिक बुझाइ छ; यदि, मैले यी कथाहरू भनिसकेपछि, तँ यी कुराहरूमा निकै रुचि राख्छस् र यिनलाई सम्झिन्छस्, तर सत्यतालाई एकातिर राख्छस् भने, तँमा आत्मिक बुझाइ छैन। यदि तिमीहरू साँच्चिकै यी कथाहरूको सत्यता बुझ्न सक्छौ भने, मैले व्यर्थमा यी कथा भनेको छैन्। तिमीहरूलाई सत्यता बुझ्न मद्दत गर्छ भने, म केही व्यावहारिक उदाहरणहरू दिनेछु। समस्या जेसुकै होस्, म त्यसको चिरफार गर्नेछु; तिमीहरूलाई बुझाइ प्राप्त गर्न र सत्यता बुझ्न सक्षम हुन र प्रष्टसित सबै देख्‍न मद्दत गर्छ भने, मलाई जतिवटा भए पनि कथा भन्न समस्या छैन। वास्तवमा, म तिमीहरूलाई यी कुराहरू भन्‍न चाहँदिनँ, र मलाई साँच्चिकै तिमीहरूलाई सही र गलतका कथाहरू भन्‍न मन छैन, तर यी कुराले तिमीहरूलाई सत्यताभित्र प्रवेश गर्न मद्दत गर्छन् भने, म तिमीहरूलाई यी कुराहरू बताउनेछु; तिमीहरूलाई सत्यता बुझ्न मद्दत मिल्छ भने, मलाई अलि बढी बोल्न समस्या छैन। तर तिमीहरूलाई मैले पतरपतर बोलेको मन पर्दैन भने, मसित कम बोल्नुको कुनै विकल्प हुनेछैन।

मैले तिमीहरूलाई बताएका यी कथाहरूबाट कस्ता धारणाहरू सुल्झिनुपर्छ? सुरुमा तैँले यो बुझ्नुपर्छ, देहधारी परमेश्‍वरको कुरा आउँदा, परमेश्‍वरले मूलतः यो देहको मानवतालाई कसरी परिभाषित गर्नुहुन्छ? उहाँ साधारण र सामान्य हुनुहुन्छ र भ्रष्ट मानवजातिमाझ जिउन र सामान्य मानवताका सम्पूर्ण गतिविधिमा संलग्न हुन सक्नुहुन्छ, र उहाँ फरक प्रकारको हुनुहुन्न। उहाँ मानिसहरूलाई मद्दत, मार्गदर्शन र अगुवाइ गर्न सक्नुहुन्छ। चाहे त्यो उहाँको सामान्य मानवता होस् वा उहाँको ईश्‍वरीयता वा उहाँको व्यक्तित्व होस्—त्यो जुनसुकै पक्ष भए पनि—उहाँ निश्‍चित रूपमा उहाँले गर्नुहुने कार्य र सेवकाइ सम्हाल्न सक्षम हुनैपर्छ। परमेश्‍वरले यही मानकद्वारा नै ख्रीष्ट र देहधारणको मापन गर्नुहुन्छ; यही नै उहाँको कामको मानक हो र यही नै उहाँको परिभाषाको मानक हो। जब प्रभु येशूले उहाँको काम गर्नुभयो, हालको देहधारणको तुलनामा उहाँको मानवतामा केही अलौकिक पक्षहरू थिए। उहाँ आश्‍चर्यकर्महरू गर्न सक्नुहुन्थ्यो: उहाँ अन्जिरको रूखलाई श्राप दिन, समुद्रलाई गाली गर्न, समुद्र र हावालाई शान्त पार्न, बिरामीलाई चङ्गाइ गराउन र भूतप्रेतलाई भगाउन, अनि पाँचवटा रोटी र दुईवटा माछाले पाँच हजार मानिसहरूलाई खुवाउन सक्नुहुन्थ्यो। तर यसबाहेक, उहाँको सामान्य मानवता र आधारभूत आवश्यकताहरू अत्यन्तै सामान्य र व्यावहारिक देखिन्थे। उहाँ साँढे ३३ वर्षको उमेरमा जन्मनुभएको र त्यसपछि उहाँलाई क्रूसमा झुन्डाइएको होइन। उहाँ साँढे ३३ वर्ष जिउनुभयो, र उहाँले हरेक दिन, हरेक वर्ष, हरेक मिनेट र हरेक सेकेण्ड जिउनुभयो, र अन्त्यमा उहाँलाई क्रूसमा टाँगियो र उहाँले मानवजातिलाई छुट्कारा दिने काम पूरा गर्नुभयो। साँढे ३३ वर्ष यो संसारमा जिएपछि मात्र देहधारणले यो काम पूरा गर्नुभयो—के यो व्यावहारिक होइन र? (हो।) यो व्यावहारिक हो। परमेश्‍वरले अहिले गरिरहनुभएको कामको चरणबारे भन्नुपर्दा, उहाँले तिमीहरूलाई भन्नुहुने सबथोक र उहाँले सङ्गति गर्नुहुने हरेक सत्यता तिमीहरूको कद, तिमीहरूको जीवन वृद्धिस्तर, र परमेश्‍वरले बन्दोबस्त गर्नुभएको पूरै वातावरणमा आधारित छ, त्यसैले म तिमीहरूलाई कुन सत्यताहरू सङ्गति गर्नु सबैभन्दा उचित हुन्छ र म तिमीहरूले कुन सत्यताहरू बुझ भन्ने चाहन्छु भन्नेबारे मनन गर्छु। बाहिरी रूपमा, यो देहले यी कुराहरू मनन गरिरहेजस्तो देखिन्छ, जबकि खासमा परमेश्‍वरको आत्माले सँगसँगै काम गरिरहनुभएको हुन्छ; यो व्यक्तिले समन्वय गरिरहँदा परमेश्‍वरको आत्माले त्यो सब मार्गदर्शन गरिरहनुभएको हुन्छ। यदि तैँले यसलाई यो तरिकाले हेर्छस् भने, तैँले यो देहको सार वा उहाँको पहिचानबारे शङ्का गर्नेछैनस्—तैँले कहिल्यै यी कुराहरूमाथि प्रश्‍न गर्नेछैनस्। मैले तिमीहरूसित गर्ने काम र तिमीहरूप्रतिको मेरा मापदण्डहरू परमेश्‍वरको आत्माको व्यवस्थापन योजनासँग बाझिन कहिल्यै सक्दैनन्। ती सँगसँगै अघि बढ्छन्, एउटै दिशामा चल्छन्, र एकअर्कालाई साथ दिन्छन्। यदि परमेश्‍वरको आत्माले यो देह नओढ्नुभएको भए, उहाँ तिमीहरूसित आमनेसामने भएर बोल्न सक्नुहुन्थेन, र तिमीहरू उहाँको कुरा सुन्न सक्नेथिएनौ, र तिमीहरूलाई उहाँ के मापदण्ड दिनुहुन्छ भनेर बुझ्न सक्नेथिएनौ। तर यदि यो देह मात्र हुन्थ्यो र यसभित्र परमेश्‍वरको आत्मा हुन्थेन भने, के यो देहले कुनै काम गर्न सक्नेथियो त? निश्‍चय नै सक्दैनथ्यो। यदि परमेश्‍वर देहधारी नबन्नुभएको भए, कुनै मानवले पनि यो काम गर्न सक्‍नेथिएन। त्यसकारण, यो सामान्य देहले हरेक दिन, हरेक महिना र हरेक वर्ष जिउनुपर्छ, र यही तरिकाले प्रत्येक क्षण जिउनुपर्छ, र उहाँको मानवता झन्झन् परिपक्व हुँदै जानुपर्छ, उहाँको अनुभव बढ्दै जानुपर्छ, र सँगसँगै उहाँले परमेश्‍वरको व्यवस्थापन योजनाले तोकेको काम निर्वाह गर्न सक्षम हुन निरन्तर प्रयत्न गरिरहनुपर्छ। यो चरणको काम गर्दा, मैले म २० वर्ष नपुग्दै काम सुरु गरेँ, र म दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा आएँ। मैले भेलाहरूमा सहभागी हुन, सङ्गति गर्न र मण्डलीहरूमा हिँड्न सुरु गरेँ, र मैले हरप्रकारका मानिसहरू भेटेँ। त्यो समयदेखि अहिलेसम्म, मलाई मेरो भाषा क्षमता र मानिसहरू तथा वस्तुहरूलाई हेर्ने मेरो क्षमता निरन्तर बढीरहेको महसुस हुन्छ। यो मेरो क्षमतामा आएको वृद्धि तिमीहरूको परिस्थितिबाट कसरी भिन्न छ? तिमीहरूले मैले बोल्ने वचन र मैले सङ्गति गर्ने सत्यताहरूमार्फत अनुभव गर्नुपर्छ, र अनुभव गर्दै गएपछि बिस्तारै तिमीहरू मैले बोल्ने वचनहरू परमेश्‍वरबाटै आएका हुन्, ती सत्यता हुन, ती सही हुन्, र ती तिमीहरूलाई स्वभाव परिवर्तन हासिल गर्न र मुक्ति प्राप्त गर्न सक्षम तुल्याउने वचनहरू हुन् भनेर निश्‍चित हुन्छौ। मेरो कुरा गर्नुपर्दा, जब तिमीहरू प्रगति गरिरहेका हुन्छौ, तब म झनझन् गहन भइरहेको हुन्छु। जब तिमीहरूबारे मेरो बुझाइ निरन्तर बढ्दै जान्छ, तब मैले आफूले भन्न खोजेका कुराहरूलाई पनि निरन्तर तिमीहरूका आवश्यकताहरू चरणबद्ध रूपमा पूर्ति गर्न पनि सक्षम तुल्याइरहेको हुन्छु। कतिपय मानिसहरू भन्छन्, “तपाईं हाम्रा आवश्यकताहरू पूर्ति गर्न, बिस्तारै हाम्रो कद बढाउन, हामीलाई परिवर्तन हुन र मुक्तिको मार्गमा झन्झन् प्रगति गर्न सक्षम तुल्याउन, र परमेश्‍वरसँगको हाम्रो सम्बन्ध झन्झन् निकट बनाउन चाहनुहुन्छ, तर त्यो तपाईं कसरी गर्न गइरहनुभएको छ?” तैँले त्यसबारे चिन्ता लिनुपर्दैन। म कहिल्यै केही माग्दिनँ, न त तिमीहरूलाई भरणपोषण गर्नको निम्ति परमेश्‍वरले मलाई तुरुन्तै केही वचनहरू दिनुहोस् भनी ब्रत बस्न वा प्रार्थना गर्न, वा वर्षाको लागि प्रार्थना गरेझैँ कुनै कुरा माग्न नै आवश्यक छ। मैले त्यसो गर्नु आवश्यक छैन। किनभने यो देह परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ र उहाँले नै यो सेवकाइ गर्नुहुन्छ, त्यसकारण उहाँले मानिसहरूलाई भरणपोषण गर्नको निम्ति सत्यता व्यक्त गर्नुहुन्छ—परमेश्‍वरको देहधारी देह र भ्रष्ट मानवजातिबीचको भिन्नता यही हो। त्यसकारण, मैले तिमीहरूको आवश्यकता के हो भनी बुझ्नमा जोर दिनैपर्दैन; तैपनि म तिमीहरूलाई जे प्रदान गर्न र जे सङ्गति गर्न चाहन्छु, त्यो निश्‍चय नै तिमीहरूलाई आवश्यक पर्ने कुरा नै हो। तिमीहरूले बस मेरा वचनहरू र कामअनुसार अगाडि बढ्नुपर्छ, अनि तिमीहरूको स्थितिमा सुधार आउन थाल्नेछ, र त्योसँगै तिमीहरूको जीवनमा पनि झन्झन् प्रगति हुँदै जानेछ। साथै, मैले तिमीहरूलाई मलजल गरिरहँदा, परमेश्‍वरको आत्माले पनि उहाँको काम गर्नुहुनेछ। वास्तवमा, परमेश्‍वरको आत्माले उहाँको मानवतासँग सहकार्य गर्नुहुन्छ, अनि उहाँको मानवताले उहाँको ईश्‍वरीयतासँग सहकार्य गर्छ—सबैले एकैसाथ काम गर्छन्। म यहाँ तिमीहरूलाई सिञ्चन गरिरहेको छु र तिमीहरू विविध सत्यताभित्र प्रवेश गर्न सक भनेर परमेश्‍वरको आत्माले तिमीहरूमाझ काम गर्दै हुनुहुन्छ, तिमीहरूलाई अन्तर्दृष्टि र ज्योति दिँदै हुनुहुन्छ, र तिमीहरूको लागि परिस्थिति बन्दोबस्त गर्दै र अवस्था सिर्जना गर्दै हुनुहुन्छ। उहाँको मानवता र ईश्‍वरियताले यसरी सँगसँगै नै काम गर्छन्। देह र आत्माबीच यस्तो सहकार्य हासिल गराउन सक्ने कुनै मानव छ? बिलकुलै छैन। त्यसैले, यदि तैँले परमेश्‍वरको पूरै व्यवस्थापनबारे जान्ने र यो देहलाई सत्यताको यो पक्षबाट हेर्ने कोसिस गरिनस् भने, तँ यो देहको सार ठ्याक्कै के हो, यो देहले के जनाउँछ, र उहाँले ठ्याक्कै कसरी काम गर्नुहुन्छ भनी बुझ्न सधैँ असक्षम हुनेछस्। यदि तैँले यी कुराहरू बुझ्न सकिनस् भने, तँ उहाँ मानव हो कि परमेश्‍वर भनेर कहिल्यै निश्‍चित हुनेछैनस्। तर यदि तैँले यो स्तरलाई प्रस्ट बुझ्न सकिस् वा अनुभवको यो स्तरमा पुगिस् र यो स्तरलाई बोध गरिस् भने, त्यसपछि तैँले थाहा पाउनेछस् कि परमेश्‍वरको देह—ख्रीष्ट—ले पृथ्वीमा काम गरिहनुभएको बेला, पवित्र आत्माले पनि सँगसँगै र उही काम गरिरहनुभएको हुन्छ, र यो सम्पूर्ण मानवजातिमध्ये कसैले पनि हासिल गर्न नसक्ने कुरा हो। अनि जतिखेर आत्माले काम गरिरहनुभएको हुन्छ, देहले पनि आत्माको कामसित सँगसँगै काम गरिरहेको हुन्छ। ती एकअर्काप्रति परिपूरक र सहवर्ती हुन्छन्, तर एकअर्कासँग द्वन्द्वमा कहिल्यै हुँदैनन्। कति मानिसहरू भन्छन्, “कहिलेकाहीँ, मैले परीक्षाहरू सामना गर्दा, पवित्र आत्माले मलाई पाठहरू सिक्न अन्तर्दृष्टि दिनुहुन्छ। तर तपाईंले अरू सत्यता व्यक्त गर्नुहुन्छ। त्यो सब के हो?” यसमा कुनै विरोधाभास वा द्वन्द्व छैन। ख्रीष्टले क्रमिक रूपमा र सही क्रममा सत्यता व्यक्त गर्नुहुन्छ, र पवित्र आत्माले हरव्यक्तिलाई विभिन्न हदमा अनुभव गराउनुहुन्छ—सबैलाई मिल्ने एउटै पद्धति हुँदैन। ख्रीष्टले परमेश्‍वरका चुनिएका मानिसहरूको लागि साँच्चिकै विद्यमान प्रमुख समस्याहरूमा आधारित भएर सत्यता सङ्गति गर्दै प्रचार गर्नुहुन्छ, र पवित्र आत्माको मार्गदर्शन पनि परिस्थिति विशेषमै आधारित हुन्छ। यसमा कुनै विरोधाभास वा द्वन्द्व छैन। फरकफरक समय र फरकफरक चरणमा, मानिसहरूमा फरकफरक कदहरू हुन्छन्, जबकि परमेश्‍वरले गर्नुहुने सबै काम उहाँले व्यक्त गर्नुहुने सत्यतामा अर्थात् परमेश्‍वरले भन्नुभएको सत्यता, मार्ग र जीवनमा हुन्छ। उहाँको काम यो दायराबाहिर जाँदैन—यो सबै सत्यता हो। अनि, पवित्र आत्माले तँलाई अन्तर्दृष्टिस्वरूप प्रदान गर्नुहुने सत्यताहरू र तँलाई बुझ्‍न दिनुहुने ज्योति केमा आधारित हुन्छन्? ती ख्रीष्टले अहिले व्यक्त गर्नुहुने यी सत्यताहरूमा अर्थात् अहिले उहाँले तँलाई बुझ्न दिनुहुने सत्यता, मार्ग, र जीवनमा आधारित छन्। कति मानिसहरू भन्छन्, “हामीलाई यो देहमा हुने तपाईं चाहिँदैन। हामीलाई पवित्र आत्माले अन्तर्दृष्टि र मार्गदर्शन दिनुभए पुग्छ। तपाईंविना पनि हामी त्यसरी नै नयाँ अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छौँ, त्यसरी नै हामी नयाँ युगमा प्रवेश गर्न सक्छौँ, र त्यसरी नै हामी मुक्ति प्राप्त गर्न सक्छौँ।” के यसो भन्नु तर्कसङ्गत हुन्छ? (हुँदैन।) धार्मिक मानिसहरूले दुई हजार वर्षसम्म येशूमा विश्‍वास गरेका छन् र पवित्र आत्माले तिनीहरूलाई दुई हजार वर्षसम्म मार्गदर्शन गर्नुभएको छ, तर तिनीहरूले के नै हासिल गरेका छन् र? केवल छुट्काराको सुसमाचार हासिल गरेका छन्, र तिनीहरूले बस परमेश्‍वरबाट टन्‍नै अनुग्रह उपभोग गरेका छन्, तर तिनीहरू परमेश्‍वरले आखिरी दिनहरूमा व्यक्त गर्नुहुने सत्यताहरू प्राप्त गर्न असक्षम रहेका छन्। त्यसकारण, यदि परमेश्‍वरको देहधारी देहले आखिरी दिनहरूमा यहाँ यति धेरै सत्यता व्यक्त गरिहनुनभएको भए, तिमीहरूले के हासिल गर्न सक्नेथ्यौ र? तँ त ठ्याक्कै ती धार्मिक मानिसहरूझैँ हुनेथिस्, पवित्र आत्माबाट ठूलो अन्तर्दृष्टि र धेरै अनुग्रह प्राप्त गर्नेथिस्, वा परमेश्‍वरले तँलाई चुनेर प्रयोग गर्नुहुनेथ्यो र तँ अगमवक्ता वा प्रेरित हुन सक्‍नेथिस्, तर यदि तैँले आखिरी दिनहरूको परमेश्‍वरको देहधारणले व्यक्त गर्नुहुने सत्यता नस्विकार्ने हो भने, तँ कसैगरी सिद्ध पारिन सक्‍नेछैनस्, र तैँले स्वर्गको राज्य प्रवेश गर्न वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्‍नेछैनस्।

अब तिमीहरू देहधारणलाई स्विकार्न सक्षम छौ, तैपनि तिमीहरूमा अझै देहधारणको सारबारे निश्‍चित धारणाहरू छन् र तिमीहरू देहधारण नै व्यावहारिक परमेश्‍वर हुनुहुन्छ भनेर कहिल्यै निश्‍चित छैनौ। यदि अहिले म तिमीहरूसँग संलग्न हुने हो, र तिमीहरूले मैले नि बाह्य संसारका केही कुराहरू बुझ्दिनँ भन्ने थाहा पायौ भने, के तिमीहरूले धारणाहरू बनाउनेथ्यौ? कति मानिसहरूले त त्यसबाट पार पाउनै सक्नेथिएनन् र यस्तो सोच्नेथिए, “तपाईंले पनि त्यो बुझ्नुहुन्न। यस्तो त नहुनुपर्ने हो। तपाईं देहधारी परमेश्‍वर हुनुहुन्छ, त्यसैले तपाईंले सबथोक बुझ्नुपर्छ। तपाईंलाई थाहा नभएको र तपाईंले गर्न नसक्ने कुनै पनि कुरा हुनु हुँदैन। तपाईं एकैचोटि सबैतिर हुन नसक्नुभए पनि, तपाईंलाई सबथोक थाहा हुनुपर्छ!” के मानिसहरूमा हुने एउटा धारणा यो होइन र? (हो।) यो पनि धारणा हो। देहधारणको सामान्य मानवतापछाडिको अवधारणा के हो? त्यो के हो भने, देहधारणको सोच्ने शैलीमा सामान्य मानव तर्क हुन्छ—यो अलौकिक, अस्पष्ट र खोक्रो हुँदैन। उहाँलाई सम्बन्धित विज्ञता भएको व्यक्तिलाई भन्दा बढी थाहा हुन नहोला, तैपनि, सामान्य मानवताको सोचाइले भेट्न सक्‍नेजति उहाँ अध्ययनमार्फत हासिल गर्न सक्नुहुन्छ, र यो सामान्य हो। साथै, उहाँले अलौकिक तरिकाले नभई, सामान्य मानवताको तर्क र सोचाइबमोजिम नै बोल्ने र व्यवहार गर्ने गर्नुहुन्छ। उदाहरणका लागि, सामान्य मानवताको सोचाइ चरणबद्ध रूपमा अगाडि बढ्ने गर्छ, र देहधारणले पनि यसैगरी सोच्नुहुन्छ। उहाँको सामान्य मानवता किन यस्तो हुन्छ? के यो उचित छ? (छ।) तँ किन यो उचित छ भन्छस्? कुनै सामान्य व्यक्तिले सिँढी चढ्दा एकपटकमा कति खुड्किला चढ्छ? (एउटा।) प्रत्येक पाइलामा एक खुड्किलो; यो सिँढी चढ्ने सामान्य तरिका हो। यदि मैले एकै पाइलामा धेरै खुड्किला पार गरेर तुरुन्तै घरमा प्रवेश गर्ने हो भने, के तिमीहरूले त्यसो गर्न सक्नेथ्यौ? (सक्नेथिएनौँ।) अहँ, सक्नेथिएनौ। अनि यदि मैले तिमीहरूलाई यो गर भनेर जोड गरेँ भने, तिमीहरूले के गर्नेथ्यौ? के तिमीहरूले यो हासिल गर्न सक्नेथ्यौ? (सक्नेथिएनौँ।) अहँ, तिमीहरूले सक्नेथिएनौ। यो काम जसका लागि लक्षित हो उसैका आवश्यकताहरूमा आधारित छ। म यसरी नै सत्यता सङ्गति गर्छु, एउटा शीर्षक र मूल समस्या छान्छु र त्यसपछि विशिष्ट र पूर्ण रूपमा बोल्न सक्दो प्रयास गर्छु, कथाहरू भन्छु, उदाहरणहरू दिन्छु, कुराहरू दोहोर्‍याएर भन्छु, तैपनि यसरी बोल्दा पनि धेरै मानिसहरूले बुझ्दैनन् र कुरोको चुरो छुटाउँछन्। त्यसैले यदि मैले यति विस्तारमा बोलिनँ र सबथोकलाई सबैभन्दा गहन र सामान्य तरिकाले वर्णन गरिनँ भने, तिमीहरूले केही पनि पाउन वा बुझ्न सक्‍नेथिएनौ, अनि यो काम खोक्रो र अव्यावहारिक हुनेथियो। तिमीहरूले हरेक पाइलामा एउटा खुड्किलो चढेर प्रगति गर्न सक्छौ, त्यसैले तिमीहरूलाई म हरेक पाइलामा एउटा खुड्किलो चढेर अगुवाइ गर्नेछु, र यसरी तिमीहरू मसँगसँगै हिँड्न सक्छौ। यदि मैले एक पाइलामा चारवटा खुड्किला लिने हो भने, त्यसको परिणाम के हुनेथ्यो? तिमीहरूले मलाई कहिल्यै भेट्न सक्नेथिएनौ। यदि मेरो सोचाइ उच्च थियो र म उफ्रँदै द्रुत रूपमा अगाडि बढ्न सक्थेँ, र तिमीहरू बिलकुलै त्यहाँ पुग्न सकेनौ भने, देहधारण अर्थहीन बन्नेथ्यो। त्यसकारण, यो देह जति सामान्य वा व्यावहारिक भए पनि—उहाँमा परमेश्‍वरका आत्माका क्षमताहरूसमेत नभएको देखिन सके पनि—यो सबै मानवजातिका आवश्यकताहरूको कारणले गर्दा हो। अहिले परमेश्‍वरबाट आपूर्ति पाइरहेका मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका, कुनै सत्यता नबुझ्ने, र सत्यता बुझ्न असक्षम मानिसहरू भएकाले, देहधारी बन्न, उहाँमा सामान्य मानवताको सबैभन्दा आधारभूत सोचाइ हुनैपर्छ। सबैभन्दा आधारभूत सोचाइ भनेको के हो? त्यो के हो भने, जब उहाँ बोल्नुहुन्छ, तब औसत क्षमता भएका र अलि कम क्षमता भएका मानिसहरूले समेत उहाँलाई बुझ्न सक्छन्। जबसम्‍म व्यक्तिको सोचाइ सामान्य रहन्छ, तबसम्‍म हरव्यक्तिले उहाँले जे भन्नुहुन्छ र जे कुराबारे बोल्नुहुन्छ त्यो बुझ्‍न सक्छ र उहाँले प्रचार गर्नुहुने सत्यताहरू बुझ्‍न र त्यसपछि सत्यता स्विकार्न सक्छ। यस तरिकाले मात्र परमेश्‍वरले गर्नुहुने कामको हरेक पाइला र बोल्नुहुने हरेक वचनले प्रभाव हासिल गर्न र नतिजा दिन सक्छ। के यो यथार्थपरक छैन र? (छ।) त्यसैले, यदि मानिसहरू धारणामै टाँस्‍सिरहन्छन् र तिनलाई त्याग्दैनन्, र “विगतमा केही शासकहरूले असाधारण स्मृतिको वरदान पाएका थिए र तिनीहरू एक झलकमै दस लाइन पढ्न सक्थे। के परमेश्‍वर त्यस्तै हुनुपर्दैन र? यदि तपाईंसँग यी वरदानहरू छैनन् भने, हामी तपाईंलाई पछ्याउन सक्नेछैनौ किनकि तपाईं अत्यन्तै साधारण हुनुहुन्छ। तपाईं ठूलै व्यक्तिजस्तो देखिनु बेस” भनेर भन्छन् भने, यसबाट के बुझ्न सकिन्छ? मानिसहरू शैतानद्वारा अत्यन्तै अज्ञानी हुञ्जेलसम्‍म भ्रष्ट तुल्याइएका छन् जहाँबाट तिनीहरूलाई सुधार्नै सकिँदैन। मानिसहरूमा केही सामान्य मानव सोचाइ र क्षमता हुनु, र परमेश्‍वरले तिनीहरूलाई चुनेर तिनीहरूमाथि काम गर्नु, तिनीहरूमा परमेश्‍वरलाई पछ्याउने केही हृदय, अनि थोरै विवेक र समझ हुनुबाहेक—यसबाहेक, तिनीहरू केही बुझ्दैनन्। तिनीहरूले कुनै सत्यता नबुझ्ने मात्र नभई, तिनीहरू सामान्य मानवता भनेको के हो, भ्रष्ट स्वभाव भनेका के हुन्, धारणा र कल्पनाहरू कसरी उत्पन्न हुन्छन्, तिनलाई कसरी समाधान गर्नुपर्छ, र मानिसहरूले परमेश्‍वरलाई कसरी व्यवहार गर्नुपर्छ, वा तिनीहरूमा कम्तीमा कस्तो विवेक र समझ हुनुपर्छ, आदि-इत्यादि समेत बुझ्दैनन्। परमेश्‍वरले जति नै सजिलो भाषा प्रयोग गर्नुभए पनि, मानिसहरूले बुझ्दै बुझ्दैनन् र तिनीहरूमा सतही बुझाइ मात्र हुन्छ। ल भन् त, केही पनि नबुझ्ने र परमेश्‍वरको विरुद्ध रहेका एक हूल मानिसहरू सामना गर्दा, त्यस्ता मानिसहरूलाई परमेश्‍वरसामु डोर्‍याउन सक्षम हुनका निम्ति देहधारी परमेश्‍वरमा कस्तो सार, कस्तो मानवता, र कस्तो सामान्य मानव सोचाइ हुनुपर्छ? ल भन् त, परमेश्‍वरले के गर्नुपर्छ? कति मानिसहरू भन्छन्, “के परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्न र? मानिसहरूमाथि विजय पाउन किन चिन्ह र अच्‍म्‍मका कामहरू नदेखाउनुभएको त?” यो धेरैजसो मानिसहरूको हृदयमा भएको धारणा हो। तिनीहरू चिन्ह र अचम्मका कामहरू देखाएर अनि अलौकिक माध्यमहरू प्रयोग गरेर भ्रष्ट स्वभावहरूलाई खुलासा गर्न र सुल्झाउन सकिन्छ कि सकिँदैन भनी प्रश्‍न गर्दैनन्। के मानिसहरूमा अलौकिक माध्यमबाट सत्यता छिराउन सकिन्छ र? के यसले शैतानलाई विश्‍वस्त तुल्याउनेछ र? (अहँ।) तिमीहरूले “अहँ” भन्नु भनेको पनि सायद एकप्रकारको धर्मसिद्धान्त हो, तर जब तिमीहरूले कुनै एउटा निश्‍चित दिनसम्म अनुभव गरेका हुनेछौ, त्यसपछि तिमीहरूले मानिसहरू कति भावशून्य र मन्द बुद्धिवाला, कति विद्रोही, कति हठी, कति दुष्ट रहेछन्, र तिनीहरूले सत्यतालाई कति धेरै प्रेम नगर्दा रहेछन् भनेर थाहा पाउनेछौ। जब तिमीहरूले त्यो निश्‍चित दिनसम्म अनुभव गरेका हुनेछौ, त्यसपछि तिमीहरूले परमेश्‍वरको देहधारी देह नै, अर्थात् सामान्य मानवताको यो देह नै सम्पूर्ण मानवजातिलाई चाहिने कुरा हो भनेर बुझ्‍नेछौ। त्यसकारण, यदि तँसँग अझै पनि हरप्रकारका कल्पना र धारणाहरू छन् भने, तेरा लागि यस्तो मनोवृत्ति हुनु गैरजिम्मेवारी हो, र परमेश्‍वरका लागि यो ईशनिन्दा हो; यो त मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको मेहनतपूर्ण अभिप्रायलाई इन्कार र प्रश्‍न गर्नु हो। यदि तैँले “हामीसँग ज्ञान, शिक्षा र दिमाग छ। हामी आखिरी दिनहरूमा जन्मिएका हौँ, र हामीमध्ये केहीले संसारमा उच्च शिक्षा लिएका छन् र हाम्रा निश्‍चित पारिवारिक पृष्ठभूमिहरू छन्। हामी आधुनिक, शिक्षित मानिसहरू हौँ र सबैले हेयको दृष्टिले हेर्ने यति साधारण र सामान्य ख्रीष्टलाई अस्वीकार गर्ने हामीसँग आधार छ; हामीसँग तपाईंबारे धारणाहरू बनाउने कारण छ” भनेर सोच्छस् भने, यो कस्तो समस्या हो? यो विद्रोहीपन हो, र यो असल र खराबबीचको भिन्नता थाहा नहुनु हो! मानिसहरू जागिसकेपछि तिनीहरूले आफ्ना धारणाहरू सुल्झाउन सक्छन्, तर यदि ती समाधान भइसकेपछि पनि मानिसहरू जिद्दीपूर्वक परमेश्‍वरको देहधारण वा ख्रीष्टको सामान्य मानवताको पाटो स्विकार्न इन्कार गर्छन् भने, यसले तिनीहरूका लागि समस्या निम्त्याउनेछ र तिनीहरूलाई मुक्ति प्राप्त गर्नबाट बञ्चित गराउनेछ। जब तैँले एक निश्‍चित दिनसम्म अनुभव गरेको हुन्छस्, तब तैँले बुझ्नेछस् कि परमेश्‍वरको देहधारण, उहाँको सामान्य मानवता, उहाँसँग जे छ र उहाँले जे प्रकट गर्नुहुन्छ, त्यो सबै कुराहरू जति सामान्य हुन्छन्, हाम्रो मुक्ति उति नै ठूलो हुन्छ, र ती जति धेरै सामान्य हुन्छन्, हामीलाई ती त्यति नै चाहिन्छ। यदि परमेश्‍वरको देहधारण अलौकिक थियो भने, पृथ्वीमा जिउनेहरूमध्ये एक जनाले पनि पूर्ण मुक्ति प्राप्त गर्न सक्नेथिएन। परमेश्‍वरको विनम्रता र लुकेको अवस्थाको कारणले, साधारण जस्तो देखिने परमेश्‍वरको सामान्यता र व्यावहारिकताको कारणले गर्दा नै मानवजातिसित मुक्ति पाउने मौका छ। मानिसहरूमा विद्रोहीपन, शैतानी भ्रष्ट स्वभाव र भ्रष्ट सार रहेको हुनाले, परमेश्‍वरप्रति सबै प्रकारका धारणा, गलतबुझाइ, र द्वन्द्व उत्पन्न हुन्छन्; के समेत भएको छ भने, यी धारणाहरूको परिणाम स्वरूप, मानिसहरू प्रायः घमण्डी बन्दै वा आफैमा भरोसा राख्दै यस ख्रीष्टलाई इन्कार गर्छन्, र उहाँको सामान्य मानवतालाई इन्कार गर्छन्—यो एउटा ठूलो गल्ती हो। यदि तँ मुक्ति प्राप्त गर्न चाहन्छस् भने, यदि तँ परमेश्‍वरको मुक्ति, र परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्न चाहन्छस् भने, तैँले पहिले ख्रीष्टको सामान्य मानवताको बारेमा तेरा विविध धारणा, कल्पना र गलत परिभाषाहरूलाई हटाउनुपर्छ, तैँले ख्रीष्टबारे तेरा विविध विचार र रायहरू हटाउनुपर्छ, र उहाँबाट आउने सबै कुराहरू स्वीकार गर्ने तरिकाको बारेमा सोच्नुपर्छ। तब मात्र उहाँले बोल्नुहुने वचनहरू र उहाँले व्यक्त गर्नुहुने सत्यताहरू बिस्तारै तेरो हृदयमा प्रवेश गर्न थाल्छन् र तेरो जीवन बन्छन्। यदि तँ उहाँलाई पछ्याउन चाहन्छस् भने, तैँले उहाँबारेका सबथोक स्विकार्नुपर्छ; चाहे त्यो उहाँको आत्मा होस, चाहे उहाँका वचनहरू होऊन्, वा चाहे उहाँको देह होस्, तैँले त्यो सबै स्विकार्नुपर्छ। यदि तैँले उहाँलाई साँच्चिकै स्विकारेको छस् भने, तँ उहाँको विरोधमा उभिनु हुँदैन, आफ्ना धारणाहरूमा भर परेर सधैँ उहाँलाई गलत बुझ्नु र उहाँप्रति विद्रोही हुनु हुँदैन, तैँले तेरा धारणाहरूमा टाँसिएर, सधैँ उहाँलाई शङ्का गर्नु र उहाँप्रति मतभेद राख्नु र प्रतिरोध गर्नु त झनै हुँदैन। यस्तो मनोवृत्तिले तँलाई हानि मात्र पुर्‍याउनेछ र यसले तँलाई बिलकुलै फाइदा गर्नेछैन। के तिमीहरू मैले बोलेको कुरा स्विकार्न सक्छौ? (सक्छौँ।) ल राम्रो भयो, त्यसोभए अब चाँडो तिमीहरूका धारणाहरू समाधान गर्न सत्यता खोज। यो समस्या भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छ, र यदि तैँले तिनलाई समाधान गरिनस् भने, तँ तेरा भ्रष्ट स्वभावहरूकै कारण मर्नुपर्नेछ।

अब, परमेश्‍वरले आखिरी दिनहरूमा जुन स्वरूपमा काम गर्नुहुन्छ त्यो स्वरूपको कुरा गर्नुपर्दा, केही मानिसहरूले त्यसबारे निश्‍चित कल्पना र धारणाहरू बनाउने भए पनि, यी कल्पना र धारणाहरू परमेश्‍वरमाथिको तिनीहरूको आस्थामा बाधा पुर्‍याउन धेरै हदसम्म असक्षम नै हुन्छन्, र मानिसहरू यतिकै आफूले परमेश्‍वरमा विश्‍वास नगर्ने वा परमेश्‍वरलाई नकार्ने भनेर भन्दैनन्। यो कस्तो कुरा हो? यो परमेश्‍वरका वचनहरूले प्राप्त गरेको नतिजा हो। मानिसहरू परमेश्‍वरका वचनहरू र कामद्वारा जितिएका छन्, र अब तिनीहरू मूलभूत रूपमा ख्रीष्टलाई आफ्नो परमेश्‍वरको रूपमा स्विकार्न सक्छन्। यो अर्थमा, मानिसहरूले मूलभूत रूपमा साँचो मार्गमा जग बसाएका छन्, र तिनीहरू त्यसबारे निश्‍चित र पक्का भएका छन्। जब यो नतिजा प्राप्त हुन्छ, के त्यसपछि परमेश्‍वरबारेका मानिसहरूका गलतबुझाइहरू सुल्झिन्छन्? (अहँ, सुल्झिँदैनन्।) तिनीहरूका गलतबुझाइहरू नसुल्झिनुले परमेश्‍वरको देहधारी देहबारे र ख्रीष्टबारे तिनीहरूमा अझै पनि धेरै कल्पना, मापदण्ड, र धारणाहरू छन् भन्ने प्रमाणित गर्छ। यी धारणाहरूले तेरा सोचहरू र तेरो पछ्याइका दिशा र लक्ष्यहरू निर्देशित गर्न सक्छन्, र तिनले तेरो स्थिति पनि बारम्बार प्रभावित पार्न सक्छन्। जब तँलाई आइपर्ने मामलाहरूले तेरा धारणाहरूमा छोइबिगार गर्दैनन्, तब तैँले अझै पनि परमेश्‍वरका वचनहरू खान र पिउन अनि सामान्य रूपमा आफ्नो कर्तव्य निभाउन सक्छस्। तर जब केही कुरा तेरा धारणाहरूसँग बाझिन्छ, तेरा धारणाहरूभन्दा बाहिर जान्छ, र विरोधाभास उत्पन्न हुन्छ, तब तैँले त्यसलाई कसरी समाधान गर्छस्? के तँ तेरा धारणाहरूलाई स्वतन्त्र छोडिदिन्छस्, कि तिनलाई काँटछाँट गर्ने, काबुमा राख्‍ने, र त्याग्‍ने गर्छस्? कतिपय मानिसहरूले आफूलाई केही आइपर्दा धारणाहरू बनाउँछन्, अनि तिनीहरूले ती धारणाहरू नत्याग्ने मात्र नभई, अरूमाझ गएर फैलाउने कामसमेत गर्छन् र ती धारणाहरू प्रस्फुटन गर्ने अवसर खोजिरहन्छन्, ताकि अरूले पनि त्यस्ता धारणाहरू पालेर राखून्। कतिपय मानिसहरू विवाद गर्छन्, र यसो भन्छन्, “तिमीहरू परमेश्‍वरले गर्नुहुने सबथोक अर्थपूर्ण हुन्छ भन्छौ, तर मलाई यो घटनाको कुनै अर्थ छ जस्तो लाग्दैन।” के यसो भन्नु उचित हो त? (होइन।) यस्तोमा अपनाउनुपर्ने सही मार्ग के हो? जब केही मानिसमा परमेश्‍वरबारे धारणाहरू हुन्छन्, तब तिनीहरूले यो महसुस गर्न सक्छन् कि परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध सामान्य छैन, तिनीहरूले परमेश्‍वरबारे गलतबुझाइ राखेका छन्, र तिनीहरूले ती समाधान गरेनन् भने त्यो निकै खतरनाक बन्नेछ, र तिनीहरूले परमेश्‍वरसित द्वन्द्व गर्ने, परमेश्‍वरलाई प्रश्‍न गर्ने र धोकासमेत दिने सम्भावना हुनेछ। अनि, त्यसपछि तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन् र आफ्ना धारणाहरू त्याग्छन्। सुरुमा, तिनीहरू आफ्ना गलत दृष्टिकोण नकार्छन्, र त्यसपछि त्यसलाई सुल्झाउन सत्यता खोज्छन्। यसो गरेर, तिनीहरू सजिलै परमेश्‍वरप्रति समर्पित हुन सक्छन्। यदि कसैले धारणाहरू बनाउँछ, तर अझै पनि आफू सही नै छु भन्ने विश्‍वास गर्छ, र यदि अन्त्यमा उसले आफ्ना धारणाहरू पूरै त्याग्न वा सुल्झाउन सक्दैन भने, समयक्रममा यी धारणाहरूले उसको जीवन प्रवेशमा प्रभाव पार्नेछन्। अनि गम्भीर परिस्थितिहरूमा त उसले परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोधसमेत गर्न सक्छ, र यसको परिणाम डरलाग्दो हुन्छ। यदि ऊ सत्यता पछ्याउने व्यक्ति हो, जसले पहिल्यै केही सत्यताहरू बुझेको छ तर बेलाबेलामा विविध कुराहरूबारे धारणाहरू बनाउँछ भने, यो त्यति ठूलो समस्या होइन, र उसका धारणाहरूले ऊमाथि त्यति ठूलो प्रभाव पार्नेछैनन्। ऊभित्रै सत्यता हुन्छ, र त्यसले उसको सोच र व्यवहार निर्देशित गर्छ, र उसलाई कर्तव्यपालनामा मार्गनिर्देश गर्छ, र त्यसैले उसका धारणाहरूले उसलाई परमेश्‍वर पछ्याउनमा कुनै असर पार्नेछैनन्। अनि, सायद कुनै दिन उसले प्रवचन वा केही सङ्गति सुन्‍नेछ र कुरा बुझ्नेछ, अनि उसका धारणाहरू सुल्झिनेछन्। कति मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूबारे धारणा बनाउँछन्, र पछि गएर तिनीहरूलाई कर्तव्य निभाऊँजस्तो लाग्दैन, र तिनीहरूले कर्तव्य निभाउन प्रयत्न लगाउँदैनन्, र तिनीहरू सधैँ नकारात्मक स्थितिमा रहन्छन्, र तिनीहरूको हृदयमा द्वन्द्व, असन्तुष्टि र आक्रोश बसिरहन्छ—के यो व्यवहार ठिक हो त? के यसलाई सुल्झाउन सजिलो छ त? उदाहरणको लागि, मानौँ तैँले आफूलाई चलाख सोच्छस् रे, तर म तँलाई तँ मूर्ख होस् र तँमा आत्मिक बुझाइ छैन भनेर भन्छु रे। यो सुनेपछि, तँलाई रिस उठ्छ र तँभित्र द्वन्द्व चल्छ, र तैँले हृदयमा आफूलाई यसो भन्छस्, “ममा आत्मिक बुझाइ छैन भन्ने आँट कसैले कहिल्यै गरेको छैन। मैले यो कुरा आजै पहिलोपटक सुनेको हुँ र म यो स्विकार्न सक्दिनँ। यदि ममा आत्मिक बुझाइ हुन्थेन भने के मैले मण्डलीलाई अगुवाइ गर्न सक्थेँ र? के मैले यति धेरै काम गर्न सक्थेँ र?” यसमा एउटा विरोधाभास उत्पन्न भएको छ, हैन र? अब तैँले के गर्नुपर्छ? के मानिसहरूलाई यस्तो हुँदा, तिनीहरूलाई आत्मचिन्तन गर्न सजिलो हुन्छ? कस्तो व्यक्तिले आत्मचिन्तन गर्न सक्छ? सत्यता स्विकार्ने र सत्यता खोज्ने व्यक्तिले आत्मचिन्तन गर्न सक्छ। यदि तँ समझ भएको व्यक्ति होस् भने, तँलाई यस्तो हुँदा तैँले पहिला आफूलाई नकार्नुपर्छ; आफूलाई नकार्नुको अर्थ आफूमा सत्यता छैन भनेर स्विकार्नु हो। तँसँग केही विचार र दृष्टिकोणहरू भए पनि, ती सही नै हुन्छन् भन्ने छैन। त्यसकारण, यस्ता परिस्थितिहरूमा आफूलाई नकार्ने अभ्यास गर्नु नै सही कुरा हो, र यो आफूलाई अपमान गर्नु होइन। तैँले आफूलाई नकारिसकेपछि, तँलाई हृदयमा शान्ति मिल्नेछ, तँ निकै सुशील हुनेछस्, र तेरो मनोवृत्ति सच्चिनेछ। जब तैँले परमेश्‍वरले तँ मूर्ख होस् र तँमा आत्मिक बुझाइ छैन भनेर भन्नुभएको सुन्छस्, तैँले परमेश्‍वरअघि आफूलाई शान्त बनाउनुपर्छ र समर्पित मानसिकताले उहाँका वचनहरू स्विकार्नुपर्छ। तँसित अझै पनि परमेश्‍वरका वचनहरूबारे कुनै चेतना वा बुझाइ नभए पनि, र तँलाई ती ठिक हुन कि बेठिक भनेर थाहा नभए पनि, तैँले तेरो विश्‍वासमा यो कुरा स्विकार्नुपर्छ: “परमेश्‍वर नै सत्यता हुनुहुन्छ, त्यसैले परमेश्‍वरले कसरी गलत कुरा भन्न सक्नुहुन्छ र?” परमेश्‍वरले भन्नुभएको कुरा तेरो सोचभन्दा फरक भए पनि, तैँले आस्थामा आधारित भएर परमेश्‍वरका वचनहरू स्विकार्नुपर्छ; तैँले ती नबुझे पनि, तिनलाई सत्यताको रूपमा स्विकार्नुपर्छ। यसो गर्नु निश्‍चय नै गलत हुनेछैन। यदि मानिसहरूले परमेश्‍वरका वचनहरू नबुझ्दा तिनलाई सत्यताको रूपमा स्विकार्दैनन् भने, त्यो समझको अत्यन्तै कमी हुनु हो, र यस मामलामा ती मानिसहरू अपरिहार्य रूपमै लज्जित तुल्‍लिनेछन्। त्यसैले, परमेश्‍वरप्रति समर्पित हुनु कहिल्यै गलत हुन सक्दैन। यो धर्मसिद्धान्त होइन, व्यावहारिक कुरा हो, र यी वचनहरू अनुभवबाटै आउँछन्। त्यसपछि, जब तँ परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा लिन सक्षम हुन्छस्, तैँले आफूमाथि चिन्तन गर्न थाल्‍नुपर्छ। अनि, कर्तव्यपालन र अरूहरूसँगको अन्तरक्रियामार्फत, तैँले आफूमा आत्मिक बुझाइ नभएको मात्र नभई, आफू अत्यन्तै मूर्ख भएको, र आफूमा कैयौँ त्रुटि र कमीहरू भएको थाहा पाउनेछस्, अनि तैँले आफूमा गम्भीर समस्या रहेछ भन्ने थाहा पाउनेछस्। अनि, के त्यसको अर्थ तैँले परमेश्‍वरले भन्नुभएको कुरा बुझ्न र स्विकार्न सक्नेछस् भन्ने हुँदैन र? तैँले यी वचनहरूलाई सुरुमा नियम, परिभाषा, वा अवधारणाको रूपमा स्विकार्नुपर्छ, र त्यसपछि वास्तविक जीवनमा तैँले आफूलाई उहाँका वचनहरूसित तुलना गर्ने, र यी वचनहरू बुझ्ने र अनुभव गर्ने उपाय सोच्नुपर्छ। केही समय यसो गरेपछि, तँमा आफूबारे सही मूल्याङ्कन हुनेछ। त्यस्तो भएपछि, के तँमा अझै परमेश्‍वरबारे गलतबुझाइहरू हुनेछन् र? यदि यस मामलामा तँ र परमेश्‍वरबीच कुनै बेमेल छैन भने, के तैँले अझै तँबारेको परमेश्‍वरको मूल्याङ्कन स्विकार्न इन्कार गर्नेछस्? (गर्नेछैनँ।) तँ त्यो स्विकार्न सक्षम हुनेछस्, र त्यसउप्रान्त तँ विद्रोही हुनेछैनस्। जब तँ सत्यता स्विकार्न सक्छस् र जब यी कुराहरू पूर्ण रूपमा बुझ्छस्, तब तैँले एक कदम अगाडि बढ्न र प्रगति गर्न सक्नेछस्। यदि तँ सत्यता स्विकार्दैनस् भने, तँ सधैँ एउटै ठाउँमा ठिङ्ग उभिरहेको हुनेछस् र तैँले कुनै प्रगति गर्नेछैनस्। त्यसोभए, के सत्यता स्विकार्नु महत्त्वपूर्ण हो? (हो, यो महत्त्वपूर्ण हो।) मानिसहरूले परमेश्‍वरबारेका आफ्ना धारणाहरू त्याग्नैपर्छ, र तिनीहरूले परमेश्‍वरले भन्नुहुने कुराप्रति कुनै शत्रुता वा असहमति पाल्‍नु हुँदैन—यो मात्र सत्यता स्विकार्ने मनोवृत्ति हो। कति मानिसहरू आफूलाई प्रतिस्थापित गरिएकै कारण नकारात्मक र कमजोर बन्छन्। अनि, तिनीहरू कर्तव्य निभाउन चाहँदैनन् र सधैँ निष्क्रिय रहँदै काममा ढिलाइ गरिरहेका हुन्छन्। बाहिरबाट हेर्दा, त्यो तिनीहरूसँग हैसियत नभएको र तिनीहरू हैसियतलाई अत्यन्तै प्रिय ठान्ने भएर भएजस्तो देखिन्छ, तर खासमा वास्तविकता त्यो होइन। तिनीहरू त आफूबारे परमेश्‍वरले गर्नुभएको मूल्याङ्कन वा आफूबारे दाजुभाइ-दिदीबहिनीहरूले गरेको मूल्याङ्कन तिनीहरू आफैले आफूबारे गरेको मूल्याङ्कनसँग नमिलेको कारण कमजोर र नकारात्मक महसुस गर्छन्, किनकि त्यो मूल्याङ्कन तिनीहरू आफैले आफैबारे गरेको आफ्नो मूल्याङ्कन र बुझाइभन्दा नराम्रो हुन्छ। त्यही कारणले गर्दा, तिनीहरू अविश्‍वस्त हुन्छन् र दुःखित महसुस गर्छन्, र अन्त्यमा, तिनीहरू नकारात्मक र विरोधी बन्दै, आफूलाई आशाहीन व्यक्तिको रूपमा उपेक्षा गर्ने निर्णयमा पुग्छन्, र यस्तो सोच्छन्, “के तपाईंले म योग्य छैन भन्नुभएको होइन र? त्यसोभए त्यो म तपाईंलाई देखाउनेछु, म बिलकुलै केही पनि गर्नेछैनँ।” फलस्वरूप, तिनीहरूले आफ्नो कर्तव्यमा ढिलाइ गर्छन्, परमेश्‍वरलाई चिढ्याउँछन्, र तिनीहरूको जीवन प्रवेश बिस्तारै रोकिन्छ—यो ठूलो क्षति हो।

कतिपय मानिसहरू भन्छन्, “जब ख्रीष्टले मलाई म खराब छु भनेर भन्नुहुन्छ, म त्यो स्विकार्न सक्दिनँ। यदि स्वर्गको परमेश्‍वरले ममा केही खराबी छ भन्नुभयो भने, म त्यो स्विकार्थेँ। देहधारी परमेश्‍वरसँग सामान्य मानवता छ, उहाँका मूल्याङ्कनहरू गलत हुन सक्छन्, र उहाँले गर्नुहुने काम शतप्रतिशत सही हुन सक्दैन। मानिसहरूलाई मूल्याङ्कन र निन्दा गर्ने कुरामा, वा उहाँले कसरी तिनीहरूलाई सम्हाल्नुहुन्छ र तिनीहरूको लागि बन्दोबस्त गर्नुहुन्छ भन्ने कुरामा उहाँ गलत हुन सक्नुहुन्छ सक्नुहुन्न भन्नेबारे केही प्रश्‍नहरू छन्। त्यसैले मलाई ख्रीष्ट—पृथ्वीको परमेश्‍वरले—के भन्नुहुन्छ भनेर डर छैन, किनकि उहाँले मलाई निन्दा गर्न वा मेरो परिणाम निर्धारण गर्न सक्नुहुन्न।” के यस्ता मानिसहरू हुन्छन्? पक्कै हुन्छन्। मैले तिनीहरूलाई काँटछाँट गर्दा, तिनीहरू यसो भन्छन्, “स्वर्गको परमेश्‍वर धर्मी हुनुहुन्छ!” मैले तिनीहरूलाई निराकरण गर्दा, तिनीहरू यसो भन्छन्, “म परमेश्‍वरमा विश्‍वास गर्छु, कुनै व्यक्तिमा होइन!” तिनीहरू मलाई नकार्न यी शब्दहरू प्रयोग गर्छन्। अनि, यी शब्दहरू के हुन्? (यी परमेश्‍वरलाई नकार्ने कुरा हुन्।) ठिक भनिस्, यी परमेश्‍वरलाई नकार्ने र विश्‍वासघात गर्ने कुरा हुन्। तिनीहरूले भन्न खोजेको के हो भने, “यो तपाईंको हातमा छैन, यो त स्वर्गको परमेश्‍वरको हातमा छ।” यी मानिसहरूले आफ्ना धारणाहरूमा र परमेश्‍वरबारेको आफ्नो बुझाइमा देहधारी ख्रीष्ट र स्वर्गको परमेश्‍वरबीच के सम्बन्ध छ, अर्थात्, देह र स्वर्गको आत्माबीच के सम्बन्ध छ भनेर कहिल्यै महसुस गर्नेछैनन्। तिनीहरूको नजरमा, पृथ्वीको यो महत्त्वहीन व्यक्ति सधैँ एउटा व्यक्ति मात्र रहनेछ, र यो व्यक्तिले जति धेरै सत्यताहरू व्यक्त गर्ने भए पनि, अर्थात् उहाँले जति धेरै प्रवचन प्रचार गर्नुभए पनि, उहाँ अझै मानव नै रहनुहुन्छ; उहाँले केही मानिसहरूलाई पूर्ण तुल्याउनु भए पनि, र तिनीहरूलाई मुक्ति दिनुभए पनि, उहाँ अझै पृथ्वीमै रहनुहुनेछ, र उहाँ अझै व्यक्ति नै रहनुहुनेछ र स्वर्गको परमेश्‍वरभन्दा पर पुग्न असक्षम हुनुहुनेछ। यसर्थ, यी मानिसहरू परमेश्‍वरमाथिको आस्था भनेको स्वर्गको परमेश्‍वरकोमाथिको आस्था नै हुनुपर्छ भन्ने विश्‍वास गर्छन्; तिनीहरूको लागि, स्वर्गको परमेश्‍वरमाथिको विश्‍वास मात्र परमेश्‍वरमाथिको साँचो विश्‍वास हो। यस्ता मानिसहरू आफूलाई जस्तो मन लाग्यो त्यस्तै विश्‍वास गर्छन्। तिनीहरू आफूलाई जसरी खुसी मिल्छ त्यसरी नै विश्‍वास गर्छन्, र तिनीहरू परमेश्‍वर जेजस्तो होऊन् भन्ने चाहन्छन् उहाँ त्यस्तै भएको कल्पना गर्छन्। तिनीहरू देहधारी ख्रीष्टको सम्बन्धमा पनि आफ्नै कल्पना पछ्याउँछन्: “यदि यो पृथ्वीको परमेश्‍वरले मप्रति अलि राम्रो व्यवहार गर्नुभएको भए, यदि उहाँले मेरो लागि परिस्थितिहरू राम्रा हुने सुनिश्‍चित गर्नुभएको भए, म उहाँलाई सम्मान र प्रेम गर्नेथिएँ। यदि उहाँले मप्रति राम्रो व्यवहार गर्नुहुन्न भने, यदि उहाँलाई मसँग केही समस्या छ भने, यदि उहाँमा मप्रति खराब मनोवृत्ति छ, र उहाँले मलाई सधैँ काटछाँट गर्नुहुन्छ भने, उहाँ मेरो परमेश्‍वर हुनुहुन्न; म स्वर्गको परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छु।” यस्तो मनोवृत्ति भएका मानिसहरू अल्पसङ्ख्यामा छैनन्। त्यसमा तिमीहरू पनि पर्छौ, किनकि मैले पहिल्यै त्यस्ता मानिसहरू भेटिसकेको छु। सबै कुरा ठिक हुँदा तिनीहरू मलाई निकै राम्रो गर्छन्, र ध्यानपूर्वक मेरो प्रतीक्षा गर्छन्, तर मैले तिनीहरूलाई प्रतिस्थापन गर्नेबित्तिकै तिनीहरू मविरुद्ध लागिहाल्छन्। त्यसैले, के तिनीहरूले परमेश्‍वरप्रति राम्रो व्यवहार गरेको बेला, यो त परमेश्‍वर र ख्रीष्ट हुनुहुन्छ भनेर साँच्चिकै विश्‍वास गर्थे त? गर्थेनन्: तिनीहरूले आँखा लाउने कुरा त परमेश्‍वरको पहिचान र हैसियतमा हो, तिनीहरूको हरेक चाल भनेकै परमेश्‍वरको हैसियत र पहिचानको वरपर भुनुभुनाउनु मात्र हो। तिनीहरू सदेव स्वर्गको अस्पष्ट परमेश्‍वरलाई साँचो परमेश्‍वर भनेर चिन्छन्; पृथ्वीको यो परमेश्‍वरले जति धेरै सत्यताहरू व्यक्त गरे पनि, वा उहाँ मानिसहरूप्रति जति शिक्षाप्रद वा लाभदायक हुनुभए पनि, उहाँ सामान्य मानवतामा जिउनु र उहाँ दैहिक शरीरवाला हुनुको अर्थ, उहाँ कदापि स्वर्गको परमेश्‍वर हुन सक्नुहुन्न भन्ने हुन्छ, र यी मानिसहरूले पृथ्वीको यो परमेश्‍वरलाई जति चाकरी, सेवा र सम्मान गरे पनि, हृदयमा यी मानिसहरू अझै स्वर्गको परमेश्‍वर मात्र एउटै साँचो परमेश्‍वर हुनुहुन्छ भन्ने विश्‍वास गर्छन्। तिमीहरू यो विचारबारे के सोच्छौ? धेरै मानिसको हृदयको गहिराइमा यस्तो विचार हुन्छ, र यो भन्नु जायजै हुन्छ कि यो तिनीहरूको अवचेतन मनको गहिराइमा गडेर बसेको हुन्छ। तिनीहरू ख्रीष्टको भरणपोषण र रखवारी स्विकार्ने सँगसँगै ख्रीष्टलाई नियालिरहेका, र अध्ययन र प्रश्‍न पनि गरिरहेका हुन्छन्—त्योसँगसँगै तिनीहरू कतिबेला स्वर्गको धर्मी परमेश्‍वर आई तिनीहरूले गरेका सम्पूर्ण कामको मूल्याङ्कन गर्नुहोला भनेर प्रतीक्षारत हुन्छन्। अनि, किन तिनीहरू स्वर्गको परमेश्‍वरले तिनीहरूको मूल्याङ्कन गरून् भन्ने इच्छा राख्छन्? किनकि तिनीहरू आफ्नै रूचि, धारणा र कल्पनाहरू पछ्याउँदै, स्वर्गको परमेश्‍वरले—तिनीहरूको कल्पनाको परमेश्‍वरले—तिनीहरूको इच्छाबमोजिम व्यवहार गरून् भन्ने आफ्नो चाहनालाई खुल्ला छोड्न चाहन्छन्, तर पृथ्वीको परमेश्‍वरले भने त्यसो गर्नुहुनेछैन; पृथ्वीको परमेश्‍वरले सत्यता व्यक्त गर्ने र सत्यता सिद्धान्तहरू बोल्ने काम मात्र गर्नुहुन्छ। अनि, तिनीहरू यस्तो सोच्छन्, “मानिसहरूप्रति स्वर्गको परमेश्‍वरको प्रेम निस्वार्थ, सर्तहीन, र असीमित हुन्छ, तर पृथ्वीको परमेश्‍वरले तैँले कुनै गलत कुरा बोलेको वा गरेको थाहा पाउनुभयो भने, त्यसलगत्तै तँलाई उहाँका प्रवचनमा नकारात्मक उदाहरणको रूपमा प्रयोग गरिहाल्‍नुहुन्छ र तेरो चिरफार गर्न थालिहाल्नुहुन्छ—त्यसैले मानिसहरू थप होसियार हुनैपर्छ, तिनीहरूले आफूलाई थप गोप्य राख्नैपर्छ, र केही भइहाले, तिनीहरूले परमेश्‍वरलाई थाहा दिनु हुँदैन।” मलाई भन् त, के म तैँले मबाट लुकाउन खोजेका कुराहरू चिरफार गर्न सक्दिनँ र? मैले तैँले गर्ने कुराहरू चिरफार गर्नु आवश्यक छैन; म तेरा स्वभाव र स्थितिहरू चिरफार गर्नेछु। मैले तैँले गर्ने कुराहरू उदाहरणको रूपमा लिनु आवश्यक छैन; मैले समस्याहरू समाधान गर्न अझै पनि त्यसरी नै सत्यता सङ्गति गर्न र प्रवचन दिन सक्छु, र म अझै पनि मानिसहरूलाई सत्यता बुझ्न सक्षम तुल्याउन सक्छु। गैरविश्‍वासीहरू आफ्नो हृदयमा यो देह, अर्थात् यो परमेश्‍वरले उहाँका आँखाले नदेख्ने कुराहरू चिन्न सक्नुहुन्न, र आत्मिक क्षेत्र वा सत्यतासम्बन्धी कुनै कुरा जान्न त झनै सक्नुहुन्न भन्ने विश्‍वास गर्छन्। तिनीहरू मानिसहरूमा भ्रष्ट स्वभाव हाबी हुँदा तिनीहरूले के गर्न सक्छन् भन्ने कुरा उहाँले बुझ्नसमेत सक्नुहुन्न, र उहाँले पूरैसित मानिसहरूको भ्रष्ट सार कदापि बुझ्न सक्नुहुन्न भन्ने विश्‍वास गर्छन्—गैरविश्‍वासीहरूको सोचाइ र तर्क यही हो। तिनीहरू ख्रीष्टलाई सधैँ अध्ययन र प्रश्‍न गर्ने अनि गैरविश्‍वासी मनोवृत्तिले समेत हेरिरहेका हुन्छन्, र तिनीहरू ख्रीष्टलाई मापन गर्न मान्छे मापन गर्ने मापदण्ड, साथै तिनीहरूले बुझेको ज्ञान र कल्पेका कुराहरू प्रयोग गर्छन्। उदाहरणको लागि, अरूसँग कुरा गर्दा, कति मानिसहरू तिनीहरूले मनमा के सोच्छन् वा तिनीहरूको स्वभाव कस्तो छ भनेर अरूलाई थाहा हुँदैन भन्ने सोच्छन्, र तिनीहरू मसित पनि यसरी नै कुरा गर्छन्, मलाई साधारण मानिसहरूलाई झैँ व्यवहार गर्छन्, र मलाई केही थाहा छैन भन्ने सोच्छन्—के यो तिनीहरूले परमेश्‍वरलाई नचिन्नु होइन र? तिनीहरू अरूहरूलाई ढाँट्छन् र ती अरूहरूले आपत्ति जनाउँदैनन्, र तिनीहरू मलाई पनि त्यसैगरी ढाँट्छन्, र मलाई हेरेर हाँस्छन् र हामी समान हौँ जस्तैगरी व्यवहार गर्छन्, र मलाई सधैँ जिग्रीजस्तै व्यवहार गर्न चाहन्छन्। तिनीहरू मसित परिचित भएकाले त्यस तरिकाले व्यवहार गर्न मिल्ने ठान्छन्, र तिनीहरू मलाई केही पनि थाहा नहुन सक्छ भन्ने सोच्छन्। के यो मानव धारणा होइन र? यो मानव धारणा हो, यो मानव अज्ञानता हो, र यो अज्ञानताभित्र शैतानी दुष्ट स्वभाव लुकेको हुन्छ; यही दुष्ट स्वभावले मानिसहरूलाई धारणा बनाउनतिर डोर्‍याउँछ। ल भन् त, के कुनै व्यक्तिको प्रकृति खुलासा गर्न वा बुझ्नको निम्ति, मैले ऊसित बस्नु, र प्रत्येक मिनेट उसका सोच र विचारहरू नियाल्नु र उसको पृष्ठभूमि पूरै बुझ्नु आवश्यक छ? (छैन।) अहँ, छैन, तर तिमीहरूले चाहिँ यसो गर्न सक्नेथिएनौ। तिमीहरू हरदिन मानिसहरूको सङ्गत गर्ने र तिनीहरूसँगै जिउने भए पनि, तिमीहरू तिनीहरूको प्रकृति सार छर्लङ्गै बुझ्न सक्षम छैनौ। तिमीहरूलाई जे आइपरे पनि, तिमीहरू परिस्थितिलाई सतही रूपमा मात्र बुझ्छौ, त्यसको सार बुझ्दैनौ। परमेश्‍वरले व्यक्तिको खुलासा गर्नुहुने हो भने मात्र, तिमीहरू उसलाई थोरै चिन्न सक्नेछौ, अन्यथा ऊसँग थुप्रै वर्ष सङ्गत गरे पनि उसलाई भित्रैसम्‍म चिन्न सक्नेछैनौ। म कुनै व्यक्तिसँग एकदुई दिन सम्पर्कमा रहेँ, र उसले केही कामहरू गर्‍यो, केही कुराहरू भन्यो, र केही विचारहरू व्यक्त गर्‍यो भने, मलाई मूलतः ऊ कस्तो व्यक्ति हो भन्ने थाहा हुन्छ। तर कतिपय त्यस्ता मानिसहरू हुन्छन्, जसले अहिलेसम्म केही पनि गरेका हुँदैनन्, जोसँग मैले अन्तरक्रिया गरेको वा कुनै कुरा सम्हालेको हुँदिनँ, तैपनि म तिनीहरूमाथि प्रश्‍न चिह्न खडा गर्छु, र कुनै समस्या आइपरी तिनीहरूले आफ्नो विचार व्यक्त गर्नेबित्तिकै तिनीहरूको प्रकृति सार तत्कालै पर्दाफास भइहाल्छ। धेरै मानिसहरू यसो भन्छन्, “के तपाईं तिनीहरूको प्रकृति सार पर्दाफास हुनेबित्तिकै तिनीहरूलाई छर्लङ्गै बुझ्न सक्नुहुन्छ? तपाईं केलाई यो अन्तर्ज्ञानको आधार बनाउनुहुन्छ? हामीले चाहिँ किन तिनीहरूलाई छर्लङ्गै बुझ्न नसकेको?” यदि तँ सत्यता बुझ्दैनस् भने, मानिसहरूलाई मूल्याङ्कन गर्न सक्नेछैनस्, र तँसँग त्यसो गर्ने मापदण्ड कहिल्यै हुनेछैन। यदि तँसँग ती मापदण्डहरू छैनन् भने, तैँले मानिसहरूलाई छर्लङ्गै बुझ्न सक्नेछैनस्। तर ममा ती मापदण्डहरू छन्। एकातिर, म सत्यता बुझ्छु, त्यसैले कसैलाई मूल्याङ्कन गर्ने सम्बन्धमा म बढी ग्रहणशील र तीब्र छु, र अर्कोतिर, परमेश्‍वरको आत्माले काम गरिरहनुभएको हुन्छ। कतिपय मानिसहरू सोच्छन्, “जब मानिसहरू यो संसारमा लामो समय जिएका हुन्छन्, तिनीहरूले परिस्थिति र मानिसहरूलाई छर्लङ्गै बुझ्न सक्छन्।” यो वास्तविक अन्तर्ज्ञान होइन; तिनीहरूले के कुरा छर्लङ्गै बुझ्छन्? यो समाजका घोटालाहरू, जस्तै राजनीतिक घोटाला, व्यापारिक घोटाला, आर्थिक घोटाला, वा अश्‍लिल चलचित्रसम्बन्धी घोटालाहरू। यी कुराहरू बढी अनुभव गरेका र सुनेका मानिसहरू यी कुराहरूबाट जोगिन सक्छन्। यी कुराहरू कम भोगेका र कम अनुभव गरेका मानिसहरू प्राय: छलमा पर्छन्, तर बढी छल भोगेपछि, तिनीहरू अनुभव प्राप्त गरी यी कुरा छर्लङ्गै बुझ्न सक्‍ने बन्छन्। तिनीहरूले भित्रैसम्‍म कुरा बुझ्‍ने यसरी नै हो। तर मान्छेको भ्रष्टता, प्रकृति, र शैतानद्वारा भ्रष्ट तुल्याइएको मान्छेको सारको कुरा गर्नुपर्दा, यदि मानिसहरूमा सत्यता छैन भने, तिनीहरूमा यी कुराहरू भित्रैसम्‍म बुझ्ने बुद्धि कहिल्यै हुनेछैन, र तिनीहरूले कुनै मामलापछाडि विविध मानिसहरूले प्रकट गर्ने स्वभावहरू, वा समस्याको स्रोतलाई छर्लङ्गै बुझ्न कहिल्यै सक्नेछैनन्। यदि तैँले यी कुराहरू छर्लङ्गै बुझ्न सक्दैनस् भने, तँलाई यो मामला वा यससम्बन्धी मानिस, घट्ना र वस्तुहरू थाहा हुनेछैन—तँसँग यी कुरा सम्हाल्ने कुनै उपाय हुनेछैन र तँसँग यी कुरा सम्हाल्ने ज्ञानबुद्धि पनि हुनेछैन। त्यसैले तैँले त्यस्तो मामला सामना गर्नुपर्दा, तँलाई निकै दुविधा र असहज महसुस हुन्छ, र त्यो सम्हाल्न तँलाई कठिन लाग्छ। यदि तैँले सत्यता प्रस्ट रूपमा बुझ्छस् भने, तैँले मानिसहरूको भ्रष्ट स्वभाव र त्यो स्वभावको सार छर्लङ्गै बुझ्न सक्नेछस्। तिनीहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू भित्रैसम्‍म बुझेर तैँले तिनीहरूको सार थाहा पाउनेछस्, र त्यसपछि तैँले ती कस्ता कुरा हुन्, ती कस्ता व्यक्ति हुन् भनेर थाहा पाउनेछस्, तैँले तिनीहरूबाट कसरी सावधान रहने, तिनीहरूलाई कसरी खुट्ट्याउने र यो मामलामा आफू कसरी सम्हालिने भनेर थाहा पाउनेछस्। के ज्ञानबुद्धिको स्रोत यही होइन र? (हो।) त्यसकारण, ख्रीष्टले मानिसहरूलाई छर्लङ्गै बुझ्न र भरणपोषण गर्न सक्नुहुन्छ—यो सबैको स्रोत के हो? धर्मसिद्धान्तको भाषामा भन्नुपर्दा, त्यो सबै परमेश्‍वरको आत्माबाट आउँछ। अझै व्यावहारिक शब्दमा भन्नुपर्दा, त्यो ख्रीष्टमा परमेश्‍वरबाट आउने सत्यता भएकोले गर्दा हो। वास्तविकता यही हो। जब कुनै दिन तिमीहरूमा जीवनको रूपमा सत्यता वास्तविकता हुन्छ, त्यसपछि तिमीहरूमा ज्ञानबुद्धि हुनेछ र तिमीहरू मानिसहरूलाई छर्लङ्गै बुझ्‍न सक्‍ने हुनेछौ।

मानव धारणाको अर्को पक्ष पनि छ, र त्यो परमेश्‍वरको कामबारे मानिसहरूले बनाउने धारणा हो। परमेश्‍वरको कामबारे मानिसहरूका धारणा कसरी उत्पन्न हुन्छन्? केही धारणाहरू आस्थाबारे मानिसहरूको पहिलेको बुझाइबाट आउँछन्, र केही धारणाहरू परमेश्‍वरको कामबारे तिनीहरूका आफ्नै कल्पनाबाट आउँछन्। उदाहरणको लागि, मानिसहरूले परमेश्‍वरको न्यायको कामलाई आकाशमा एउटा ठूलो सेतो सिंहासन हुने र त्यो सिंहासनमा बसी परमेश्‍वरले सबै मानिसहरूलाई न्याय गर्नुहुने कल्पना गर्थे। आज, तिमीहरू सबैलाई थाहै छ, यस्ता कल्पनाहरू अवास्तविक हुन्—यस्ता कुराहरू हुन सम्भव छैन। तर जे होस्, मानिसहरूमा परमेश्‍वरको काम, व्यवस्थापन, र मान्छेप्रतिको व्यवहारबारे धेरै कल्पनाहरू हुन्छन्, र यीमध्ये धेरैजसो कल्पनाहरू मानव अभिरुचिबाट आउँछन्। म किन यसो भन्दै छु? किनभने मानिसहरू दुःख भोग्न चाहँदैनन्। तिनीहरू सधैँ परमेश्‍वरलाई सहजसाथ अन्त्यसम्मै पछ्याउन, पर्याप्त अनुग्रहको आनन्द लिन, उहाँका आशिष्‌हरूको उत्तराधिकार पाउन र त्यसपछि स्वर्गको राज्य प्रवेश गर्न चाहन्छन्। कस्तो अद्भुत सोच! परमेश्‍वरको कामबारे भ्रष्ट मानवजातिसँग भएको सबैभन्दा प्रचलित र लालची युक्ति भनेको डोली चढेर स्वर्गको राज्य पस्नु हो। यसैगरी, जब मानिसहरूले परमेश्‍वरको काम सामना गर्छन्, धेरैजसो समय तिनीहरूले बुझ्नै सक्दैनन्; तिनीहरू यसभित्रको सत्यता, यो काम गर्नुमा परमेश्‍वरको उद्देश्य, र परमेश्‍वरले मानिसहरूप्रति यस्तो व्यवहार गर्नुको कारण जान्दैनन्। उदाहरणको लागि, मैले पहिले “विशाल” र “भव्य” भन्‍ने शब्दहरू प्रयोग गरेर परमेश्‍वरको प्रेम व्याख्या गरेको छु, तर मलाई लाग्छ मैले यी शब्दमार्फत भन्न खोजेको कुरा तिमीहरूले कहिल्यै बुझेका छैनौ। मैले यी दुई शब्द प्रयोग गर्नुको उद्देश्य के थियो? मेरो उद्देश्य सबैको ध्यान खिच्नु थियो, ताकि तिमीहरूले त्यसबारे चिन्तन गर। सतही रूपमा, यी शब्दहरू खोक्रो देखिन्छन्। तर यी शब्दहरूको निश्‍चित अर्थ छ, र मानिसहरूले यीबारे जति नै सोचे पनि, तिनीहरूले सोच्न सक्ने भनेकै यति मात्र हो, “विशाल—यसको अर्थ आकाशजतिकै असीमित हो; यसको अर्थ परमेश्‍वरको हृदय असीमित छ, मानवजातिप्रति उहाँको प्रेमको कुनै सीमा छैन!” परमेश्‍वरको प्रेम मानिसको मनले कल्पना गर्न सक्ने प्रकारको प्रेम होइन। मानिसहरू यो प्रेमको कल्पना गर्न असमर्थ छन्, तिनीहरूले यो शब्दको व्याख्या गर्न शिक्षा र ज्ञानको प्रयोग गर्नु हुँदैन, तर बुझ्न र अनुभव गर्नका लागि अर्को विधि प्रयोग गर्नुपर्छ। अन्त्यमा, तैँले परमेश्‍वरको प्रेम मानिसहरूले कुरा गर्ने प्रेमभन्दा फरक हो, परमेश्‍वरको साँचो प्रेम अरू कुनै प्रकारको प्रेमजस्तो होइन, सारा मानवजातिले बुझेको प्रेमजस्तो होइन भनेर साँच्चिकै बुझ्नेछस्। त्यसो भए यो परमेश्‍वरको प्रेम भनेको ठ्याक्कै के हो? तैँले परमेश्‍वरको प्रेमलाई कसरी बुझ्नुपर्छ? पहिलो, तैँले यसलाई मानिसका धारणाहरू र कल्पनाहरूद्वारा हेर्नु हुँदैन। उदाहरणको लागि, एउटी आमाको प्रेमलाई लिऊँ, आफ्ना छोराछोरीप्रति एउटी आमाको प्रेम सर्तविहीन हुन्छ, यो अत्यन्तै रक्षात्मक र न्यानो हुन्छ। अहिले, तिमीहरूले अनुभव गर्ने मानिसप्रतिको परमेश्‍वरको प्रेममा के एउटी आमाको प्रेमको जस्तै संवेदना र अर्थ हुन्छ? (हुन्छ।) त्यसो भए यो एउटा समस्या हो—यो गलत हो। तैँले परमेश्‍वरको प्रेमलाई आमाबाबुको, पतिको, पत्नीको वा छोराछोरीको, वा तेरो नातेदारको प्रेम, मित्रहरूको वास्ताभन्दा फरक सम्झन सक्नुपर्छ, र परमेश्‍वरको प्रेमलाई नयाँ गरी जान्नुपर्छ। त्यसो भए परमेश्‍वरको प्रेम के हो? परमेश्‍वरको प्रेम दैहिक भावनारहित छ र यो रगतको सम्बन्धबाट अप्रभावित छ। यो चोखो र सरल प्रेम हो। त्यसो भए मानिसहरूले परमेश्‍वरको प्रेमलाई कसरी बुझ्नुपर्छ? हामी परमेश्‍वरको प्रेमको बारेमा किन चर्चा गर्छौं? परमेश्‍वरको प्रेमले परमेश्‍वरको काममा ठोस रूप लिन्छ, ताकि मानिसहरूले त्यसलाई स्वीकार गरून्, यसलाई ग्रहण गरून् र अनुभव गरून्, र अन्त्यमा यो परमेश्‍वरको प्रेम हो भनेर थाहा पाऊन्, र यो सत्यता हो, परमेश्‍वरको प्रेम खोक्रो शब्दहरू मात्र होइन, यो परमेश्‍वरको तर्फबाट कुनै प्रकारको व्यवहार पनि होइन, तर सत्यता हो भनी स्वीकार गरून्। जब तैँले यसलाई सत्यताको रूपमा स्वीकार गर्छस्, तब तैँले यसबाट परमेश्‍वरको सारको यो पक्षलाई चिन्न सक्नेछस्। यदि तँ यसलाई कुनै प्रकारको व्यवहारको रूपमा लिन्छस् भने, त्यसलाई चिन्न तँलाई कठिनाइ हुनेछ। “व्यवहार” को अर्थ के हो? उदाहरणको लागि, आमाहरूलाई लिऊँ: तिनीहरूले आफ्ना छोराछोरीलाई हुर्काउन आफ्नो जवानी, रगत, पसिना र आँसुहरू दिन्छन्, र उनीहरूले चाहेका जे पनि दिन्छन्। आफ्नो बच्चाले सही वा गलत जे गरेको भए पनि, वा ऊ जुन बाटोमा हिँडे पनि, आमाले निःस्वार्थ रूपमा दिन्छे, र आफ्नो बच्चाका आवश्यकताहरू पूरा गर्छे, तर आफ्नो सन्तानलाई कसरी सही मार्ग पछ्याउने भनेर कहिल्यै शिक्षा दिँदिन, सहयोग वा मार्गनिर्देशन गर्दिन, उसलाई निरन्तर वास्ता, प्रेम र सुरक्षा मात्र गर्छे, यतिसम्म हुन्छ कि अन्त्यमा त्यो सन्तान सही र गलत छुट्ट्याउनुसमेत नसक्ने हुन्छ। यो एउटी आमाको प्रेम हो वा मानिसको देह, भावना र शारीरिक सम्बन्धहरूबाट उत्पन्न हुने कुनै पनि किसिमको प्रेम हो। तर परमेश्‍वरको प्रेम बिलकुलै विपरीत छ: यदि परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ भने, उहाँले त्यो प्रायजसो तँलाई ताडना दिएर, अनुशासित गरेर, अनि तँलाई काँटछाँट गरेर व्यक्त गर्नुहुन्छ। तेरा दिनहरू ताडना र अनुशासनबीच असहज रूपमा बित्न सक्ने भए पनि, तैँले यो अनुभव गरिसकेपछि तैँले धेरै कुराहरू सिकेको, तँसँग विवेक भएको र अरू मानिसहरूसित अन्तरक्रिया गर्ने मामलामा तँ बुद्धिमान् बनेको, साथै तैँले केही सत्यताहरू पनि बुझेको थाहा पाउनेछस्। यदि परमेश्‍वरको प्रेम आमा वा बुबाको प्रेमजस्तो, र तैँले कल्पना गरेजस्तो थियो भने, यदि उहाँले गर्नुहुने वास्तामा उहाँ धेरै इमानदार हुनुहुन्थ्यो, र निरन्तर कृपालु हुनुहुन्थ्यो भने, के तैँले यी कुराहरू प्राप्त गर्न सक्नेथिइस्? तैँले सक्नेथिइनस्। त्यसैले, मानिसहरूले बुझ्न सक्ने परमेश्‍वरको प्रेम तिनीहरूले उहाँको काममा अनुभव गर्न सक्ने परमेश्‍वरको साँचो प्रेमभन्दा फरक छ; मानिसहरूले साँचो प्रेम के हो भनेर जान्नको निम्ति परमेश्‍वरका वचनहरूअनुसार त्यसलाई हेर्नुपर्छ र उहाँका वचनहरूमा सत्यता खोज्नुपर्छ। यदि तिनीहरूले सत्यता खोजी गर्दैनन् भने, कुनै भ्रष्ट मानिसले परमेश्‍वरको प्रेम के हो, मानिसमा उहाँको कामको लक्ष्य के हो र उहाँका गम्भीर अभिप्रायहरू कहाँ छन् भन्ने कुरा शून्यताबाट कसरी बुझ्न सक्छ? मानिसहरूले यी कुराहरू कहिल्यै पनि बुझ्‍नेथिएनन्। परमेश्‍वरको कामबारे मानिसहरूमा सबैभन्दा बढी हुनसक्‍ने गलतबुझाइ यही हो, र मानिसहरूलाई बुझ्न सबैभन्दा कठिन लाग्‍ने परमेश्‍वरको सारको पक्ष पनि यही हो। मानिसहरूले त्यो बुझ्न सक्ने हुनको निम्ति त्यसलाई गहन रूपमा आफैले अनुभव गर्नुपर्छ र व्यावहारिक रूपमा त्यसमा संलग्न हुनुपर्छ र त्यसको रसास्वादन गर्नुपर्छ। साधारणतया, मानिसहरूले “प्रेम” भन्नुको अर्थ कसैलाई उसको मनपर्ने चीज दिनु हो, उसले गुलियो चाहँदा तीतो दिनु होइन, वा कहिलेकाहीँ उसलाई तीतो कुरा दिए पनि, त्यो कुनै रोग निको पार्नको निम्ति दिनु हो; छोटकरीमा, यसमा मान्छेको स्वार्थीपन, भावना र देह संलग्‍न हुन्छ; यसमा उद्देश्य र उत्प्रेरणाहरू संलग्‍न हुन्छन्। तर परमेश्‍वरले तँमा जे गर्नुभए पनि, उहाँले तँलाई जसरी न्याय र सजाय दिनुभए पनि, जसरी ताडना र अनुशासनमा राख्नुभए पनि, वा जसरी काटछाँट गर्नुभए पनि, र तैँले उहाँलाई गलत रूपमा बुझ्छस् भने पनि, र हृदयमा उहाँप्रति गुनासो गर्छस् नै भने पनि, परमेश्‍वरले अटल धैर्यसाथ तँमा काम गर्दै जानुहुनेछ। यसो गर्नुमा परमेश्‍वरको मूलभूत उद्देश्य के हो? उहाँले तँलाई जगाउन यो विधि प्रयोग गर्नुहुन्छ, ताकि कुनै दिन तैँले परमेश्‍वरको इच्छा बुझ्न सक्। तर जब परमेश्‍वरले यो नतिजा देख्नुहुन्छ, उहाँले के हासिल गर्नुभएको हुन्छ? उहाँले वास्तवमा केही पनि हासिल गर्नुभएको हुँदैन। अनि म यो कुरा किन भन्दै छु? किनकि तेरा सबै कुरा परमेश्‍वरबाट आउँछन्। परमेश्‍वरले केही प्राप्त गर्नुपर्ने आवश्यक छैन। उहाँलाई आवश्यक पर्ने भनेको त उहाँले आफ्ना कामहरू गर्नुहुँदा, उहाँले जे मापदण्ड तोक्‍नुहुन्छ त्यसैअनुसार मानिसहरूले ठीकसँग पछ्याऊन् र प्रवेश गरून्, र अन्त्यमा सत्यता वास्तविकता र मान्छेको स्वरूपसहित जिउन सकून्, र त्यसउप्रान्त शैतानको बहकाउ, छल र प्रलोभनमा नपरून्, बरु शैतानविरुद्ध विद्रोह गर्न, र परमेश्‍वरप्रति समर्पित हुन र परमेश्‍वरको आराधना गर्न सकून् भन्‍ने हो, र यो सब भइसकेपछि परमेश्‍वर अत्यन्तै खुसी बन्नुहुनेछ, र उहाँको महान् काम पूरा हुनेछ। यसमा परमेश्‍वरले के प्राप्त गर्नुहुन्छ? परमेश्‍वरले तँलाई प्राप्त गर्नुहुन्छ र तैँले उहाँको प्रशंसा गर्न सक्छस्। तर तेरो प्रशंसाले परमेश्‍वरको लागि के अर्थ राख्छ? के तैँले परमेश्‍वरलाई प्रशंसा गर्थिनस् भने, उहाँ परमेश्‍वर रहनुहुन्थेन र? के तैँले उहाँलाई प्रशंसा नगरे, उहाँ सर्वशक्तिमान् रहनुहुन्थेन र? के तैँले उहाँलाई प्रशंसा नगर्दा, उहाँको सार र हैसियत परिवर्तन हुन्थ्यो र? (हुन्थेन।) हुन्थेन। यसलाई परमेश्‍वरको प्रेम र काम मात्र भन्न सकिन्छ। के परमेश्‍वरको प्रेम विशाल र भव्य भन्ने तिमीहरूको बुझाइमा यो अर्थ छ? (छैन।) तिमीहरूको बुझाइ त्यो बिन्दुसम्‍म पुगेको छैन। कसैले परमेश्‍वरको हृदय तोड्यो, र अरूले परमेश्‍वरले उसलाई मुक्ति दिन सक्ने उपाय नै छैन भन्ने सोचे पनि, उसले आत्मचिन्तन गर्दा, आफ्नो तौरतरिकामा गल्ती थाहा पाउँदा र पश्‍चात्ताप गर्दा, र आफ्नो हातको दुष्टता हटाएर उहाँको मुक्ति स्विकार्दा, परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? परमेश्‍वरले उसलाई पनि अरूलाई जसरी नै स्विकार्नुहुन्छ। जबसम्‍म मानिसहरूले सही मार्ग हिँड्छन्, तबसम्‍म परमेश्‍वरले तिनीहरूका अपराधको लेखा राख्‍नुहुनेछैन। परमेश्‍वरको प्रेम यही हो। यसमा मानिसहरूको कस्तो धारणा सुल्झाउनुपर्छ? त्यो परमेश्‍वरले प्रेम गर्ने तरिकासम्बन्धी धारणा हो। मानिसहरूले आफ्ना विविध धारणा र कल्पनाहरू छोड्नुपर्छ; आफ्ना धारणाहरू त्याग्न सक्षम हुन, तिनीहरूले सत्यता खोज्नु र बुझ्नु जरूरी छ। आफ्ना धारणाहरू छोड्न सजिलो छ, तर तिनलाई पूरै बदल्न सजिलो छैन। यदि तँलाई पनि भविष्यमा त्यस्तै समस्या आइपर्‍यो र तँमा फेरि धारणा निर्मित भयो भने, त्यो कस्तो समस्या हो? त्यसले यो धारणा तँभित्रै गहिरो रूपमा गडेको छ भन्ने प्रमाणित गर्नेछ। कति मामलामा तैँले सत्यता सङ्गति गरेर धारणाहरू त्याग्न सक्ने भए पनि, कति मामलामा तैँले तिनलाई त्याग्न सक्नेछैनस्। एउटा मामलामा धारणाहरू त्याग्न सजिलो हुन सक्ला, तर मानिसहरूलाई आफ्ना धारणाहरू पूरै त्यागाउनु सजिलो हुँदैन। व्यक्तिले धेरै सत्यताहरू बुझेपछि मात्र ऊ आफ्ना धारणासम्बन्धी समस्या पूरै सुल्झाउन सक्षम हुन्छ। यसको लागि, मानिसहरूले आफूलाई आइपर्ने मामलामा सत्यता खोज्नुपर्छ, परमेश्‍वरको प्रेमलाई व्यावहारिक रूपमा अनुभव र रसास्वादन गर्नुपर्छ, र यसको लागि परमेश्‍वरले थुप्रै कार्यहरू गर्नुपर्छ ताकि मानिसहरूले उहाँलाई चिन्न सकून्। मानिसहरूले परमेश्‍वरलाई चिनेपछि मात्र परमेश्‍वरबारे धारणा र कल्पनाहरू बनाउने तिनीहरूको समस्या पूरै हटाउन सकिन्छ।

अब तिमीहरूले परमेश्‍वरको कामबारेका धारणाहरूबारे यी धारणाहरू के हुन् भनेर चिरफार गर्नुपर्छ, र मुख्यगरी परमेश्‍वरको कामबारेका तेरा विविध कल्पना, अन्तर्द्वन्द्व, र मापदण्डहरू, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू, र परमेश्‍वरको काम गर्ने तरिका सारांशीकरण गर्नुपर्छ। यी कुराहरूले तँलाई परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनमा बाधा दिनन सक्छन् र तँलाई परमेश्‍वरले तँसित गर्नुभएका सबै कुरालाई गलत बुझ्‍ने र त्यसप्रति अन्तर्द्वन्द्व महसुस गर्ने बनाउन सक्छन्। यस्ता धारणाहरू निकै गम्भीर र चिरफारलायक हुन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू मानिसलाई न्याय र निन्दा गर्ने परमेश्‍वरका वचनहरू पढ्छन् अनि धारणा बनाउँछन् र यसो भन्छन्, “परमेश्‍वर भन्नुहुन्छ, उहाँले मजस्तो मानिसलाई प्रेम गर्नुहुन्न, त्यसैले सायद उहाँले मलाई मुक्ति दिनुहुनेछैन।” के यो धारणा होइन र? यस्तो धारणाको परिणाम के हुनेछ? तँसँग जेजस्तो भ्रष्टता भए पनि वा तँ जेजस्तो व्यक्ति भए पनि, तँलाई थाहै छ कि परमेश्‍वरले उहाँविरुद्ध विद्रोह गर्ने मानिसहरूलाई रुचाउनुहुन्न, तर तँ किन पश्‍चात्ताप गर्दैनस्? यदि तैँले सत्यता स्विकार्छस्, तेरो भ्रष्टता हटाउँछस् र परमेश्‍वरप्रति पूरै समर्पित हुन्छस् भने, के त्यसपछि परमेश्‍वरले तँलाई रुचाउनुहुनेछैन र? तँ किन परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन भनेर उहाँलाई सीमित गराउँछस्? तेरा यी नकारात्मक सोचहरूले तँलाई परमेश्‍वर पछ्याउन र उहाँको काम अनुभव गर्नमा बाधा पुर्‍याउनेछन्, तिनले तेरो गतिरोध गराउनेछन् र तँलाई आफूलाई दुःखमा डुबाउने र परमेश्‍वरलाई नकार्नेसमेत तुल्याउनेछन्। ख्रीष्टविरोधी र दुष्ट मानिसहरू केही मण्डलीमा देखा पर्छन् र बाधा सिर्जना गर्छन्, र त्यसो गर्ने क्रममा तिनीहरूले केही मानिसहरूलाई बहकाउँछन्—के यो राम्रो कुरा हो कि नराम्रो? के यो परमेश्‍वरको प्रेम हो, कि परमेश्‍वरले मानिसहरूसँग खेल्दै तिनीहरूको खुलासा गर्नुभएको हो? तैँले यो बुझ्न सक्दैनस् नि, हैन र? परमेश्‍वरले आफूले मुक्ति दिन चाहेका मानिसहरूलाई सिद्ध पार्न र मुक्ति दिन सबै कुराहरू प्रयोगमा ल्याउनुहुन्छ, र साँच्चिकै सत्यता खोज्ने र सत्यता अभ्यास गर्नेहरूले अन्त्यमा सत्यता प्राप्त गर्छन्। तर सत्यता नखोज्ने कतिपयले यसो भन्दै गुनासो गर्छन्, “परमेश्‍वरले यस तरिकाले काम गर्नु ठिक होइन। यसले मलाई अत्यन्तै कष्ट तुल्याउँछ! म झण्डै ख्रीष्टविरोधीहरूसँग मिल्न पुगेँ। यदि यो साँच्चिकै परमेश्‍वरले नै बन्दोबस्त गर्नुभएको हो भने, उहाँले कसरी मानिसहरूलाई ख्रीष्टविरोधीहरूसँग मिल्न दिन सक्नुहुन्छ?” यहाँ के भइरहेको छ? तैँले ख्रीष्टविरोधीहरूलाई नपछ्याउनुले तँमाथि परमेश्‍वरको सुरक्षा छ भन्ने प्रमाणित हुन्छ; यदि तँ ख्रीष्टविरोधीहरूसँग मिल्न गइस् भने, त्यो परमेश्‍वरप्रति विश्‍वासघात हो र त्यसउप्रान्त परमेश्‍वरले तँलाई चाहनुहुन्न। त्यसैले, यी ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले मण्डलीमा बाधा पुर्‍याउनु राम्रो कुरा हो कि नराम्रो? बाहिरबाट हेर्दा, यो नराम्रो कुराजस्तो देखिन्छ, तर जब यी ख्रीष्टविरोधी र दुष्ट मानिसहरूको खुलासा हुन्छ, तब तेरो खुट्ट्याउने क्षमता बढ्छ, तिनीहरूलाई बढारेर फालिन्छ र तेरो कद वृद्धि हुन्छ। जब तैँले भविष्यमा फेरि यस्ता मानिसहरू सामना गर्छस्, तब तिनीहरूले आफ्नो साँचो रङ्ग देखाउनुपहिले नै तैँले तिनीहरूलाई खुट्ट्याउन सक्नेछस्, र तैँले तिनीहरूलाई अस्वीकार गर्नेछस्। यसले तँलाई पाठहरू सिक्न र लाभ प्राप्त गर्न मद्दत गर्नेछ; तैँले ख्रीष्टविरोधीहरू खुट्ट्याउन जान्नेछस् र त्यसउप्रान्त तँ शैतानको बहकाउमा पर्नेछैनस्। त्यसैले, भन् त, के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बाधा दिनु र बहकाउनु राम्रो कुरा होइन र? मानिसहरूले यो चरणसम्म अनुभव गरेका छन् भने मात्र, तिनीहरूले परमेश्‍वरले उहाँका चुनिएका मानिसहरूलाई सिद्ध पार्न शैतानलाई प्रयोग गर्न सकूँ भनेर तिनीहरूका धारणा र कल्पनासँग मिल्दो काम नगर्नुभएको हो, र यहीहेतु उहाँले ठूलो रातो अजिङ्गरलाई उन्मादपूर्वक बाधा सिर्जना गर्न र ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन दिनुहुन्छ, अनि त्यसपछि मात्र मानिसहरूले परमेश्‍वरका गम्भीर अभिप्रायहरू बुझ्छन्। कतिपय मानिसहरू भन्छन्, “मलाई ख्रीष्टविरोधीहरूले दुईपटक बहकाए तर अझै पनि म तिनीहरूलाई खुट्ट्याउन सक्दिनँ। यदि अझै चतुर ख्रीष्टविरोधी देखा पर्‍यो भने, म फेरि पनि बहकाउमा पर्नेछु।” त्यसोभए फेरि पनि त्यो अनुभव गर्न र पाठ सिक्नलाई त्यस्तै हुन दे—मानवजातिलाई शैतानको प्रभावबाट मुक्ति दिन सक्‍नलाई परमेश्‍वरले यही तरिकाले काम गर्नुपर्छ। परमेश्‍वरको काम गर्ने तरिका वर्णन गर्न यहाँ दुई वाक्यांशहरू प्रयोग गर्न सकिन्छ, र त्यो हो परमेश्‍वरको काम गर्ने विविध तरिकाहरू असाधारण र साधारण मानिसहरूको कल्पनाबाहिर हुन्छन्। म किन “असाधारण” र “कल्पनाबाहिर” भन्ने यी दुई वाक्यांशहरू प्रयोग गरी परमेश्‍वरको काम परिभाषित गर्छु त? किनभने भ्रष्ट मानवजातिले यी कुराहरू बुझ्न सक्दैनन् र तिनीहरू सत्यता, परमेश्‍वरको काम गर्ने तरिका, वा शैतानविरुद्धको परमेश्‍वरको लडाइँभित्रको उहाँको बुद्धि बुझ्दैनन्—सम्पूर्ण मानवजाति यी कुरा बुझ्न असफल हुन्छन्। तैपनि, मानिसहरूले कसरी अझै पनि युक्ति र धारणाहरू बनाउन सक्छन्? यस्तो किन हुन्छ भने तिनीहरूले थोरै ज्ञान सिक्छन्, केही धर्मसिद्धान्त बुझ्छन्, र तिनीहरूका आफ्नै रूचिहरू हुन्छन्, त्यसैले तिनीहरूले निश्‍चित धारणा र कल्पनाहरू बनाउँछन्। तर आत्मिक क्षेत्रका मामलाहरू र परमेश्‍वरले गर्नुहुने कामबारे भन्नुपर्दा, तिनीहरूले यी कुराहरू बिलकुलै बुझ्दैनन्। आखिरी दिनहरूमा, सृष्टिकर्ताले सबै मानवजातिलाई सिधै सामना गर्नुहुन्छ र उहाँका वचनहरू बोल्नुहुन्छ। संसारको सृष्टि भएदेखि यस्तो भएको यो पहिलोपटक हो। अर्थात्, उहाँले सम्पूर्ण मानवजातिको सामना गर्नुहुन्छ र खुला रूपमा यसरी कार्य गर्नुहुन्छ, उहाँको व्यवस्थापन योजना सार्वजनिक गर्नुहुन्छ र त्यसपछि त्यसलाई लागु गरेर मानवजातिमाझ कार्यान्वयन गर्नुहुन्छ—यस्तो भएको यो पहिलोपटक हो। मानिसहरू यो क्षेत्रको परमेश्‍वरको सोच, परमेश्‍वरको सार, र परमेश्‍वरको काम गर्ने तरिका बुझ्दैनन् र ती कुरासँग अनजान रहन्छन्, त्यसकारण मानिसहरूले यी कुराहरूबारे धारणा पाल्नु सामान्य हो, तर यसको अर्थ तिनीहरू सत्यतासँग मिल्दो हुन्छन् भन्ने होइन। मानिसहरूका धारणाहरू जति नै सामान्य भए पनि, ती सत्यताविरुद्ध नै जान्छन्, ती परमेश्‍वरका वचनहरूसित मेल खाँदैनन्, र ती परमेश्‍वरको इच्छासँग बाझिन्छन्। यदि ती धारणाहरू समयमै समाधान गरिएनन् भने, मानिसहरूलाई परमेश्‍वरको काम अनुभव गर्नमा र तिनीहरूको जीवन प्रवेशमा ती ठूलो अवरोध हुनेछन्। त्यसैले, मानव धारणाहरूको सम्बन्धमा भन्नुपर्दा, मानिसहरूका कल्पना र युक्तिहरूसँग ती जति नै मिले पनि, ती सत्यता र परमेश्‍वरका वचनहरूअनुरूप नभएसम्‍म, ती सत्यताको विपरीत र परमेश्‍वरको विरोधी, अनि परमेश्‍वरसँग नमिल्दो नै हुन्छन्। मानिसहरूका धारणाहरू तिनीहरूका कल्पनासँग जति नै मिल्दो भए पनि, मानिसहरूले सधैँ तिनलाई खुट्ट्याउने प्रयास गर्नुपर्छ; तिनीहरूले आफ्ना धारणाहरू आँखा चिम्लेर कदापि स्विकार्नु हुँदैन। मानवजातिले केचाहिँ स्विकार्नुपर्छ त? मानवजातिले परमेश्‍वरका वचनहरू, सत्यता, र परमेश्‍वरबाट आउने सबै सकारात्मक कुराहरू स्विकार्नुपर्छ। जहाँसम्म शैतानसँग सम्बन्धित कुराहरू छन्, यी कुराहरू जति नै राम्रा वा आफ्नै कल्पनाबमोजिम लागे पनि, मानिसहरूले तिनलाई स्विकार्नै हुँदैन, बरु अस्वीकार गर्नैपर्छ। यस तरिकाले मात्र मानिसहरूले परमेश्‍वरप्रति समर्पित हुन र सृष्टिकर्ताका मापदण्डहरू पूरा गर्न सक्छन्।

मानिसहरूका धारणाहरूलाई परमेश्‍वरका वचनहरूमार्फत र सत्यता प्रयोग गरेर समाधान गर्न सकिन्छ; मानिसहरूलाई धर्मसिद्धान्त प्रचार र अर्ती प्रदान गरेर तिनलाई हटाउन सकिँदैन—यो त्यति सजिलो छैन। मानिसहरूमा धर्मी मामलाप्रति कुनै प्रतिवद्धता हुँदैन, बरु तिनीहरू विविध धारणा वा दुष्ट, विकृत र अर्थहीन कुराहरूमा टाँसिइरहने सम्भावना हुन्छ, जुन कुरा हटाउन तिनीहरूलाई कठिन हुन्छ। यसको कारण के हो? तिनीहरूमा भ्रष्ट स्वभावहरू भएकोले यस्तो भएको हो। मानिसहरूको धारणा चाहे ठूलो होस् वा सानो, वा गम्भीर होस् वा अगम्भीर, यदि तिनीहरूमा भ्रष्ट स्वभावहरू छैनन् भने, यी धारणाहरू समाधान गर्न सजिलो हुन्छ। आखिर, धारणा भनेको त एउटा सोच्ने तरिका मात्र न हो। तर अहङ्कार, हठीपन, र दुष्टताजस्ता मानिसहरूका भ्रष्ट स्वभावहरूको कारण, धारणाहरू मानिसहरूलाई परमेश्‍वरको विरोध गर्ने, गलत व्याख्या गर्ने, र परमेश्‍वरको आलोचना गर्ने तुल्याउने उत्पेरक बन्छन्। परमेश्‍वरबारे धारणाहरू बोक्दाबोक्दै पनि को उहाँप्रति समर्पित हुन र उहाँको प्रशंसा गर्न सक्छ? कोही सक्दैन। धारणाहरू बोकेर मानिसहरू परमेश्‍वरसँग परस्पर विरोधमा हुन्छन्, तिनीहरू उहाँबारे गुनासो गर्छन्, र उहाँलाई आलोचना र निन्दासमेत गर्छन्। धारणाहरू भ्रष्ट स्वभावभित्रबाटै उत्पन्न हुन्छन्, धारणाको देखापराइ भ्रष्ट स्वभावहरूको प्रकटीकरण हो, र प्रकट हुने सबै भ्रष्ट स्वभावहरू परमेश्‍वरविरुद्ध विद्रोही र परमेश्‍वरप्रति प्रतिरोधी हुन्छन् भनेर देखाउन यति काफी छ। कतिपय मानिसहरू भन्छन्, “ममा धारणाहरू छन्, तर म परमेश्‍वरको प्रतिरोध गर्दिनँ।” यो भ्रामक कुरा हो। तिनीहरूले केही नभने पनि, हृदयमा तिनीहरू अझै विरोधी नै हुन्छन्, र तिनीहरूको व्यवहार विरोधी नै हुन्छ। के यस्ता मानिसहरू यस्तो भएर पनि सत्यताप्रति समर्पित हुन सक्छन् र? यो असम्भव छ। भ्रष्ट स्वभावद्वारा संचालित भएकोले तिनीहरू आफ्ना धारणाहरूमा टाँसिइरहन्छन्—यो तिनीहरूका भ्रष्ट स्वभावको कारण निम्तिएको हो। त्यसैले, जब धारणाहरू समाधान हुन्छन्, मानिसहरूका भ्रष्ट स्वभावहरू पनि समाधान हुन्छन्। यदि मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान भएका छन् भने, तिनीहरूका धेरै अपरिपक्व, बालकका जस्ता सोचविचारहरू, र पहिल्यै धारणा बनिसकेका कुराहरूसमेत तिनीहरूको लागि समस्या बन्दैनन्; ती विचारहरू मात्र हुन्छन्, र तिनले कर्तव्य पूरा गर्ने कार्यमा वा परमेश्‍वरप्रति समर्पित हुनमा कुनै प्रभाव पार्दैनन्। धारणाहरू र भ्रष्ट स्वभावहरू जोडिएका हुन्छन्। कहिलेकहीँ तेरो हृदयमा कुनै धारणा हुन्छ, तर त्यसले तेरा कार्यहरूलाई निर्देशित गर्दैन। जब त्यसले तेरो तत्काल चासोहरूमा अतिक्रमण गर्दैन, तब तैँले त्यसमा ध्यान नदे। तापनि, त्यसमा ध्यान नदिनुको अर्थ तेरो धारणामा भ्रष्ट स्वभाव छैन भन्ने हुँदैन, र जब तेरो धारणासँग नमिल्ने केही कुरा हुन्छ, तँ तेरो स्वभावद्वारा नियन्त्रित एक निश्‍चित मनोवृत्तिसहित त्यसमा टाँसिन्छस्। यो स्वभाव हठीपन हुन सक्छ, यो अहङ्कार हुन सक्छ, र यो आक्रमकता हुन सक्छ; त्यसले तँलाई परमेश्‍वरप्रति आफ्नो मुख खोलेर यसो भन्ने तुल्याउँछ, “मेरो दृष्टिकोणलाई धेरैपटक शैक्षिक रूपमा मान्य गरिएको छ। मानिसहरूले हजारौँ वर्षदेखि यो धारणा राखेका छन्, मैले किन राख्न मिल्दैन? तपाईंले भन्नुहुने मानव धारणासँग अमिल्दा कुराहरू गलत छन्, तर तपाईंले अझै कसरी ती सत्यता हुन्, ती अरू सबै कुराभन्दा माथि छन् भनेर भन्न सक्नुहुन्छ? मेरो दृष्टिकोण सारा मानवजातिमा सबैभन्दा उच्च छ!” एउटा धारणाले तँलाई यस्तो व्यवहार गर्ने, चर्को सोरमा आक्रमक भएर बोल्ने बनाउन सक्छ। कुन कुराले यस्तो गराउँछ? (भ्रष्ट स्वभावहरूले।) ठिक भनिस्, यो भ्रष्ट स्वभावहरूले गराएको हो। धारणा र मानिसहरूका भ्रष्ट स्वभावबीच एउटा सम्बन्ध हुन्छ, र तिनीहरूका धारणाहरू समाधान गरिनैपर्छ। परमेश्‍वरमाथिको विश्‍वासबारेका मानिसहरूका धारणाहरूलाई सम्बोधन गरिएपछि, तिनीहरूलाई परमेश्‍वरका घरको कामका व्यवस्थाहरूमा समर्पित हुन सजिलो हुन्छ, र त्यसैले तिनीहरूले अझ राम्ररी सुचारु ढङ्गले कर्तव्य निभाउँछन्, तिनीहरू बाङ्गोटिङ्गो बाटो हिँड्दैनन्, तिनीहरूले अवरोध वा बाधा पुर्‍याउँदैनन्, र तिनीहरूले त्यस्तो केही गर्दैनन् जसको कारण परमेश्‍वरलाई लाज हुन्छ। यदि मानिसहरूका धारणा र कल्पनाहरूलाई सम्बोधन गरिएन भने, तिनीहरूले सजिलै बाधा र अवरोधहरू ल्याउने कार्यहरू गर्न सक्छन्। धेरै गम्भीर अवस्थाहरूमा, मानिसहरूका धारणाहरूले तिनीहरूमा परमेश्‍वरको देहधारणप्रति हरप्रकारको विरोध सिर्जना गराउन सक्छन्। जहाँसम्‍म धारणाहरूको कुरा छ, ती निश्‍चय नै गलत विचारहरू हुन् जुन सत्यतासँग अमिल्दा हुन्छन्, ती पूर्ण रूपमा सत्यताविरोधी हुन्छन्, र तिनले मानिसहरूमा परमेश्‍वरप्रति हरप्रकारका विरोधी भावनाहरू सिर्जना गर्न सक्छन्। यो विरोधले तँलाई ख्रीष्टमाथि प्रश्‍न गर्ने बनाउँछ र तँ उहाँलाई स्वीकार्न वा उहाँप्रति समर्पित हुन असमर्थ बन्छस्, र यस क्रममा त्यसले सत्यता स्विकार्न र सत्यता वास्तविकतामा प्रवेश गर्नमा पनि तँलाई असर पार्छ। अझ धेरै गम्भीर अवस्थाहरूमा, परमेश्‍वरको कामबारेका मानिसहरूका विभिन्न धारणाहरूले तिनीहरूलाई परमेश्‍वरको काम, परमेश्‍वरको काम गर्ने तरिकाहरू, र परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू इन्कार्ने बनाउँछ—जुन अवस्थामा तिनीहरूले कुनै पनि प्रकारले मुक्ति पाउने आशा हुँदैन। मानिसहरूमा परमेश्‍वरको जुनै पक्षबारे धारणाहरू भए पनि, यी धारणाहरूको पछाडि तिनीहरूका भ्रष्ट स्वभावहरू लुकेका हुन्छन्, जसले मानिसहरूलाई आफ्नै भ्रष्ट स्वभावहरू प्रयोग गर्दै परमेश्‍वरको काम, परमेश्‍वर स्वयम्‌, अनि परमेश्‍वरको स्वभावबारे बोल्ने अरू बहाना प्रदान गर्दै यी भ्रष्ट स्वभावहरूलाई अझ बढी खराब बनाउन सक्छन्। अनि के यसले तिनीहरूलाई आफ्नै भ्रष्ट स्वभाव प्रयोग गर्दै परमेश्‍वरको विरोध गर्ने उत्साह दिँदैन र? मानिसहरूको धारणाहरूको परिणाम यही हो।

हामीले मानव धारणाहरूबारे पहिले बारम्बार कुरा गरेका भए पनि, मानिसहरुले कस्ता पक्ष र मामलाबारे धारणाहरू बोक्छन् र तिनीहरूले कस्ता धारणाहरू बनाउँछन् भन्नेबारे व्यवस्थित रूपमा र विस्तारमा कहिल्यै सङ्गति गरेका छैनौँ। मैले आज यसरी बुँदाबुँदा रूपमा सङ्गति र चिरफार गरेर तिमीहरूलाई प्रस्ट मार्गनिर्देश गरेको छु, ताकि तिमीहरूलाई आफूमा कस्ता धारणा छन् भनेर थाहा होस्, र ताकि त्यसपछि तिमीहरूसित तिनलाई एकएक गर्दै सुल्झाउने मार्ग होस्। यदि मानिसहरूले यी धारणाहरू एकएक गरी सुल्झाउन सक्छन् भने, सत्यताका सबै पक्षहरू तिनीहरूलाई झन्झन् प्रस्ट हुनेछन्। यस तरिकाले, तिनीहरूको अगाडि बढ्ने मार्ग पनि झन्झन् प्रष्ट हुनेछ, र तिनीहरू जति अघि बढ्छन्, परमेश्‍वरमाथिको आस्थामा तिनीहरू हिँड्ने मार्ग त्यति नै स्थिर बन्दै जानेछ।

सेप्टेम्बर २०, २०१८

अघिल्लो: सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ

अर्को: आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्