आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३)

आज हामी धारणाहरूको समस्याबारे सङ्गति गर्न जारी राख्नेछौँ। हामीले यो समस्याबारे पहिले दुईपटक सङ्गति गरिसकेका छौँ, र आज फेरि एकपटक सङ्गति गरेर यसलाई टुङ्ग्याउनेछौँ। पहिले के सङ्गति गरिएको थियो भन्नेबारेमा, पछि तिमीहरू आफैले एकअर्कासित कुरा गर्नुपर्नेछ र त्यसपछि थोरैथोरै गर्दै यी कुराहरू मनन र अनुभव गर्नुपर्नेछ। यी विषयहरू एकदुई दिनमै पूर्ण रूपमा बुझ्न सकिँदैन; व्यक्तिले जीवनमा यी कुराहरू अनुभव र अनुभूति गरेर मात्र बिस्तारै बुझ्न सक्छ। अहिले तिमीहरूले स्मरणको आधारमा जे व्यक्त गर्न सक्छौ, त्यो त रटान मात्र हो। परमेश्‍वरका वचनहरू खान र पिउन अनुभव आवश्यक पर्छ; वास्तविक जीवनमा केही समय अनुभव गरेपछि मात्र व्यक्तिले साँचो रूपमा बुझ्न र बोध गर्न सक्छ। मान्छेका धारणाहरूमा मुख्य रूपमा परमेश्‍वर र परमेश्‍वरको कामबारे तिनीहरूका धारणाहरू पर्छन्। यी दुईप्रकारका धारणाहरूले सबभन्दा बढी मानिसहरूको पछ्याइ, विभिन्‍न मामलाहरू हेर्ने शैली, परमेश्‍वरबारेको बुझाइ र उहाँप्रतिको मनोवृत्ति, र त्योभन्दा पनि बढी, परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूले हिँड्ने मार्ग, साथै तिनीहरूले जीवनको निम्ति रोज्ने दिशा र उद्देश्य प्रभावित पार्छन्। हाम्रा अघिल्ला दुईवटा सङ्गतिबाट, के अब तिमीहरूले धारणाहरूको ठ्याक्कै अर्थ के हो भनी परिभाषित गर्न सक्छौ? परमेश्‍वरमाथिको विश्‍वासबारे गरिने कल्पनाहरू एकप्रकारका धारणा हुन्। यी कल्पनाहरू मुख्यगरी मानिसहरूको बोली र आचरणका बाहिरी व्यवहारहरूमा, साथै तिनीहरूका गाँस, बास, कपास र यातायातजस्ता दैनिक जीवनका कुराहरूमा प्रकट हुन्छन्। यो सबभन्दा प्राथमिक तह हो। एक तह अगाडि जाने हो भने, परमेश्‍वरमाथिको विश्‍वासमा व्यक्तिको पछ्याइ र त्यस पछ्याइमा व्यक्तिले हिँड्ने मार्गबारे केही कल्पनाहरू हुन्छन्, साथै परमेश्‍वरको कामसम्बन्धी मान्छेका केही माग, कल्पना, र गलतबुझाइहरू हुन्छन्। यी गलतबुझाइहरूमा केके पर्छन्? तिनलाई किन गलतबुझाइ भनिएको हो? जब हामी गलतबुझाइ भन्छौँ, तब त्यो पक्कै पनि उचित सोच होइन। बरु, त्यो त्यस्तो कुरा हो जुन तथ्यहरूको अनुरूप हुँदैन, सत्यतासँग असङ्गत हुन्छ, र परमेश्‍वरको काम र स्वभावसँग नमिल्ने र उल्टो हुन्छ; वा, त्यो मानव इच्छासम्बन्धी केही कुरा हुन्छ जुन मानव धारणा, कल्पना र ज्ञानबाट निस्किन्छ, र जसको परमेश्‍वर स्वयम्‌ वा उहाँको कामसँग कहीँकतै कुनै सम्बन्ध हुँदैन। जब यसप्रकारका धारणा, कल्पना, गलतबुझाइ र मागहरू उत्पन्न हुन्छन्, त्यसको अर्थ परमेश्‍वर र परमेश्‍वरको कामबारे मान्छेका धारणाहरू पराकाष्ठामा पुगिसकेका छन्। यो बिन्दुमा पुगेपछि मान्छे र परमेश्‍वरबीचको सम्बन्ध कस्तो हुन्छ? (तिनीहरूबीच एउटा पर्खाल सिर्जना हुन्छ।) मान्छे र परमेश्‍वरबीच एउटा पर्खाल हुनु; के यो गम्भीर समस्या होइन र? (हो।) जब यस्तो पर्खाल सिर्जना हुन्छ, त्यसको मतलब मान्छेका धारणा र कल्पनाहरू निकै गम्भीर छन्। जब मान्छे र परमेश्‍वरबीच पर्खाल सिर्जना हुन्छ, त्यसको अर्थ तिनीहरू परमेश्‍वरले गर्नुभएका केही कामसित असन्तुष्ट छन्, तिनीहरू अबदेखि परमेश्‍वरमा भरोसा गर्न, परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न, वा परमेश्‍वरप्रति समर्पित हुन चाहँदैनन्। तिनीहरू परमेश्‍वरको धार्मिकता र स्वभावमाथि प्रश्‍न गर्न थाल्छन्। अनि, त्यसलगत्तै के प्रकटीकरण हुन्छ? (प्रतिरोध।) यदि मानिसहरू सत्यता खोज्दैनन् भने, यो गलतबुझाइले तिनीहरूको हृदयमा पर्खाल सिर्जना गर्ने मात्र नभई, तुरुन्तै प्रतिरोधतर्फ समेत डोर्‍याउँछ—जस्तै सत्यताप्रतिको प्रतिरोध, परमेश्‍वरका वचनहरूप्रतिको प्रतिरोध र परमेश्‍वरको सार्वभौमिकताप्रतिको प्रतिरोध। तिनीहरू परमेश्‍वरले गर्नुभएको कामसित असन्तुष्ट बन्छन्, र यसो भन्छन्, “तपाईंले जे गरिरहनुभएको छ त्यो अनुचित हो; म न त त्यसको अनुमोदन गर्छु न त त्यसमा सहमत नै हुन्छु!” यसको अन्तर्निहित सन्देश यस्तो हुन्छ, “म समर्पित हुन सक्दिनँ; यो मेरो रोजाइ हो। म फरक विचार राख्‍न चाहन्छु, अर्थात् परमेश्‍वरका वचनहरू, सत्यता र परमेश्‍वरका मापदण्डहरूभन्दा फरक राय व्यक्त गर्न चाहन्छु।” यो कस्तो खालको व्यवहार हो? (तिनीहरू कोलाहल मच्चाइरहेका छन्।) प्रतिरोधपछि कोलाहल र विरोध उत्पन्न हुन्छ; यो तीव्रताको बढोत्तरी हो। जब व्यक्तिको भ्रष्ट स्वभाव हाबी हुन्छ, तब एउटै धारणाले ऊ र परमेश्‍वरबीच बाँध र गलतबुझाइ सिर्जना गर्न सक्छ। यदि सत्यता खोजी गरेर यसलाई तत्काल समाधान गरिएन भने, त्यो पर्खाल झन् ठूलो हुन्छ र अग्‍लो पहाड नै बन्छ। तैँले त्यसउप्रान्त परमेश्‍वर वा उहाँको साँचो अस्तित्वसमेत देख्दैनस्, उहाँको दैवी सार त परको कुरा हो। तैँले देहधारी परमेश्‍वर साँच्चिकै परमेश्‍वर हो होइन भनी शङ्का गर्न थाल्छस्, परमेश्‍वरको वचन खान र पिउनमा तेरो रुचि हराउँछ, र त्यसउप्रान्त तँ परमेश्‍वरलाई प्रार्थना गर्न चाहँदैनस्। यसरी, परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्झन् टाढा हुन्छ। मानिसहरू किन यस्ता व्यवहारहरू देखाउन सक्षम हुन्छन्? किनभने तिनीहरू परमेश्‍वरले गर्नुभएको कामले तिनीहरूको हृदयमा चोट दिएको, तिनीहरूको इज्जतमा हानि पुर्‍याएको, र तिनीहरूको व्यक्तित्वको अपमान गरेको महसुस गर्छन्। के यथार्थ साँच्चिकै यही हो त? (होइन।) त्यसोभए वास्तवमा यहाँ के भइरहेको छ? (यहाँ यस्तो भइरहेको छ, किनभने मानिसहरूका चाहनाहरू पूरा भएका छैनन्, र तिनीहरूले सामना गरेको परिस्थितिले तिनीहरूको आफ्नै हित छोएको छ।) यस्तो किन हुन्छ भने, मानिसमा भ्रष्ट स्वभाव हुन्छ; जब तिनीहरूका लालची चाहनाहरू तुरुन्तै पूरा हुँदैनन्, तब तिनीहरू परमेश्‍वरको प्रतिरोधी बन्छन् र उहाँले मानव धारणाहरूसँग अमिल्दो तरिकाले काम गर्नुभएको छ भनी ज्यादै असन्तुष्ट हुन्छन्। तिनीहरू परमेश्‍वरले जे गरिरहनुभएको छ त्यो सत्यता हो, त्यो परमेश्‍वरको प्रेम हो र त्यसको उद्देश्य मानिसहरूलाई मुक्ति दिनु हो भन्ने कुरा न त मान्छन् न त स्विकार्छन्। तिनीहरू परमेश्‍वरले गर्नुभएको कामबारे धारणा र गलतबुझाइहरू निर्माण गर्छन्, र यसको अर्थ तिनीहरूको भ्रष्ट स्वभावले नियन्त्रण जमाइरहेको छ। यी अवरोधहरू पैदा भएपछि, धारणाहरूमा जिउँदा मानिसहरूले प्रकट गर्ने अनेकथरी भ्रष्ट स्वभावका प्रकटीकरणहरू केके हुन्? तिनीहरूले खोजी गर्ने, प्रतीक्षा गर्ने वा समर्पित हुने गर्दैनन्, परमेश्‍वरको डर मान्ने र पश्‍चात्ताप गर्ने त कुरै नगरौँ। तिनीहरूले सुरुमा सूक्ष्म जाँच र मूल्याङ्कन गर्छन्, त्यसपछि निन्दा गर्छन्, र अन्त्यमा प्रतिरोध गर्छन्। के यी व्यवहारहरू खोजी, प्रतीक्षा, समर्पण, स्वीकार र पश्‍चात्तापजस्ता सकारात्मक प्रकटीकरणहरूको ठ्याक्कै उल्टो होइनन् र? (हुन्।) मतलब, यी व्यवहारहरू सबै उल्टो कुराहरू हुन्। यी भ्रष्ट स्वभावका प्रकटीकरण हुन्; तिनीहरूको यही भ्रष्ट स्वभावले नै तिनीहरूका कार्य र सोचलाई, साथै मानिस्, घटना र वस्तुहरूप्रति राय निर्माण गर्नेप्रतिको तिनीहरूको मनोवृत्ति, अभिप्राय र दृष्टिकोणहरूलाई नियन्त्रण गरिरहेको हुन्छ। जब मानिसहरू सूक्ष्म जाँच, विश्‍लेषण, राय निर्माण, र निन्दा गर्ने र प्रतिरोधी बन्ने कुरामा संलग्न हुन्छन्, तब तिनीहरूले चाल्ने अर्को कदम के हुन्छ? (विरोध।) तब विरोधको कुरा आउँछ। त्यो विरोधका प्रकटीकरणहरू केके हुन्? (निष्क्रियता, र आफ्ना कर्तव्यहरू त्याग्ने।) एउटा त निष्क्रियता हो; तिनीहरू काममा निष्क्रिय रूपमा सुस्ताउँछन् र आफ्ना कर्तव्यहरू त्याग्छन्। अरू के छन्? (धारणाहरू फैलाउने।) (राय निर्माण गर्ने।) राय निर्माण गर्ने, धारणाहरू फैलाउने, यी सबै परमेश्‍वरविरुद्ध कोलाहल मच्चाउने र उहाँको विरोध गर्ने कार्यका केही प्रकटीकरणहरू हुन्। अरू के छन्? (तिनीहरूले परमेश्‍वर र साँचो मार्गप्रति विश्‍वासघात गर्न सक्छन्।) यो सबभन्दा गम्भीर कुरा हो; जब कुनै व्यक्ति यो बिन्दुमा पुग्छ, तब उसको दियाबलस प्रकृति पूरै बाहिर आउँछ, उसले परमेश्‍वरलाई पूर्ण रूपमा अस्वीकार र विश्‍वासघात गर्छ, र कुनै पनि बेला ऊ परमेश्‍वरबाट टाढिन सक्छ।

भर्खरै उल्लेखित, परमेश्‍वरको तीव्र आलोचना र विरोध जनाउने व्यवहारका विविध प्रकटीकरणहरू केके थिए? (काममा निष्क्रिय रूपमा सुस्ताउने, आफ्ना कर्तव्यहरू त्याग्ने।) (परमेश्‍वरको आलोचना गर्ने।) परमेश्‍वर र उहाँको कामको आलोचना गर्ने। (त्यसपछि धारणाहरू फैलाउने, र अन्त्यमा परमेश्‍वरलाई विश्‍वासघात गर्ने।) अब, थप विस्तारमा छलफल गरौँ। के धारणाहरू फैलाउनुमा कुनै गुनासो पर्छ? (पर्छ।) कहिलेकाहीँ धारणाहरू फैलाउने काम गुनासो गर्नेसँग मिसिन्छ, जस्तै, “परमेश्‍वरले जे गर्नुहुन्छ त्यो धर्मी हुँदैन,” “म परमेश्‍वरमा विश्‍वास गर्छु, मानिसहरूमा होइन,” र “मलाई विश्‍वास छ, परमेश्‍वर धर्मी हुनुहुन्छ।” यी शब्दहरूले गुनासोका भावहरू बोक्छन्। निष्क्रिय रूपमा सुस्ताउने, धारणाहरू फैलाउने, र परमेश्‍वरको आलोचना गर्ने सबै गम्भीर व्यवहारहरू हुन्, तर सबभन्दा गम्भीरचाहिँ विश्‍वासघात हो। यी चार व्यवहारहरू निकै प्रस्ट, गम्भीर र सोझै परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृतिका छन्। यी व्यवहारहरूभित्र भएका तिमीहरूले सोच्न सक्ने, पहिले देखेका वा पहिले आफूले समेत गरेका केही विशेष प्रकटीकरणहरू केके हुन्? (उक्साहट पनि हुन्छ; परमेश्‍वरसँग असन्तुष्टि पोख्नको लागि कतिपयले झन् धेरै मानिसलाई उहाँको विरोध गर्न उक्साउँछन्।) यो धारणाहरू फैलाउनुको प्रकटीकरण हो। के त्यस्ता मानिसहरू पनि छन् जो बाहिरी रूपमा आज्ञाकारी देखिन्छन् तर प्रार्थनाको बेलामा यसो भन्छन्, “खुलासा गर्न परमेश्‍वरलाई दिनूस्; मैले गरिरहेको काम सही छ, समय आएपछि सबै कुराहरू खुल्ने नै छन्; मलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्ने थाहा छ”? यी शब्दहरू सही, र ढुक्कसाथ आफूलाई सही ठहराएको जस्तो सुनिन सक्छन्, तर तिनमा परमेश्‍वरप्रतिको अवज्ञा र असन्तुष्टि लुकेको हुन्छ। यो मानसिक विरोध हो, यो निष्क्रिय सुस्तता र निष्क्रिय विरोध हो। के अरू पक्षहरू पनि छन्? (निष्क्रिय सुस्तताको हकमा, यसमा आफूलाई निराशामा डुबाउने र हतोत्साहित भई हात झिक्‍ने, अनि आफू यस्तै हुँ, आफ्नो प्रकृति यस्तै हो भनी विश्‍वास गर्नेहरू पनि पर्छन्; तिनीहरू आफूलाई कसैले मुक्ति दिन नसक्ने भएकोले, आफूलाई परमेश्‍वरले नै नष्ट गर्न चाहनुभएको हो भने, यस्तै होस् न त भन्‍ने सोच्छन्।) यो एउटा मौन विरोध हो; तिनीहरूको वास्तविक स्थिति निष्क्रिय हुन्छ, र तिनीहरू परमेश्‍वरका कार्यहरू बुझ्न नसकिने हुन्छन् र मान्छेले ती साँचो रूपमा बुझ्न सक्दैनन्, त्यसैले परमेश्‍वरले जे गर्न चाहनुहुन्छ, उहाँलाई गर्न दिनू भन्ने सोच्छन्। बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित भएजस्ता देखिन्छन्, तर वास्तवमा, हृदयको गहिराइमा, तिनीहरूले परमेश्‍वरका बन्दोबस्तहरूको गहन प्रतिरोध गर्छन्, र तिनीहरू अत्यन्तै असन्तुष्ट र अवज्ञाकारी हुन्छन्। तर तिनीहरूले यो परमेश्‍वरको काम हो भनेर पहिल्यै स्विकारेका हुन्छन् र तिनीहरूले थप माग गर्दैनन्; यस्तोमा, यो विरोधी भावना हो भनेर किन भन्ने हो? यसलाई किन यसरी चित्रण गर्ने हो? खासमा, तिनीहरू आफै पनि आफ्नो चेतनामा यस मामलाको निन्दा गर्न चाहँदैनन्, र तिनीहरूले यस्तो निर्धारण पनि गर्न चाहँदैनन्, जसले भन्छ, “परमेश्‍वरले जे गर्नुभएको छ त्यो गलत हो; म यो स्विकार्दिनँ। म परमेश्‍वरले गर्नुभएका अरू कामहरूप्रति समर्पित हुन सक्छु, तर यसप्रति समर्पित हुन सक्दिनँ। जुनै अवस्थामा पनि, म यसैको कारणले निष्क्रिय हुनेछु र काममा सुस्ताउनेछु।” अवचेतन मनमा, तिनीहरूको स्थिति यस्तो हुँदैन, तिनीहरूमा यस्तो चेतना हुँदैन; हृदयमा तिनीहरू अलि अवज्ञाकारी, असन्तुष्ट वा क्रोधित मात्र हुन्छन्। कतिपय मानिसहरूले परमेश्‍वरका कार्यहरू गलत भनी निन्दासमेत गर्न सक्छन्, तर हृदयको गहिराइबाट, तिनीहरू व्यक्तिगत चाहनाको हिसाबले आफ्नो चेतनामा वास्तवमा परमेश्‍वरलाई निन्दा गर्न चाहँदैनन्, किनभने आखिरमा तिनीहरूले विश्‍वास गर्ने परमेश्‍वरमै हो। त्यसोभए यो विरोधी व्यवहार हो, यो निष्क्रिय सुस्तता हो, र यसमा निष्क्रियताका तत्वहरू छन् भनी किन भन्ने हो? निष्क्रियता आफैमा प्रतिरोध र विरोधको एउटा स्वरूप हो, र यसका धेरै प्रकटीकरणहरू छन्। सुरुमा, जब मानिसहरू निराश भई हार मान्ने र निष्क्रिय रूपमा सुस्ताउनेजस्ता स्थितिहरूमा पुग्छन्, तब के तिनीहरू यी स्थितिहरू गलत हुन् भनी हृदयमा सचेत हुन सक्छन् त? (सक्छन्।) दुईतीन वर्ष मात्र विश्‍वास गरेका र विरलै प्रवचनहरू सुन्नेहरूबाहेक, सबैजना यसबारे सचेत हुन सक्छन्; तिनीहरू यी मामलाहरू बुझ्दैनन्। तर यदि कुनै व्यक्तिले कम्तीमा तीन वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छ, बारम्बार प्रवचनहरू सुन्छ, र सत्यता बुझ्छ भने, तिनीहरूमा यो चेतना हुन सक्छ। जब मानिसहरूलाई यस्ता स्थितिहरू गलत हुन् भन्ने महसुस हुन्छ, तब तिनीहरूले विरोधी हुनबाट जोगिन के गर्नुपर्छ? सुरुमा, तिनीहरूले खोजी गर्नुपर्छ। तर के खोजी गर्ने? परमेश्‍वरले परिस्थितिहरू किन यस तरिकाले योजनाबद्ध गर्नुभएको हो, तिनीहरूलाई किन यस्ता परिस्थितिहरू आइपरे, परमेश्‍वरका अभिप्रायहरू के हुन्, र तिनीहरूले के गर्नुपर्छ भनी खोजी गर्नुपर्छ। यी सकारात्मक कुरा हुन्, यी कुरा मानिसहरूमा हुनुपर्ने प्रकटीकरणहरू हुन्। अनि, अरू केके गर्नुपर्छ? (स्विकार्ने, समर्पित हुने, र आफ्ना विचारहरू त्याग्ने।) के तेरा आफ्ना विचारहरू त्याग्न सजिलो छ? (छैन।) यदि तँलाई आफू सही छु भन्ने लाग्छ भने, तैँले ती कुराहरू त्याग्न सक्नेछैनस्। त्याग्ने बिन्दुमा पुग्नको लागि पनि चरणहरू हुन्छन्। त्यसोभए त्यसको लागि कुन अभ्यासहरू सबभन्दा उचित र सुहाउँदा हुन्छन्? (प्रार्थना।) यदि तेरा प्रार्थनामा केही खोक्रा वाक्यहरू मात्र छन्, र तँ झारा मात्र टारिरहेको छस् भने, त्यो समस्या सुल्झिनेछैन। तैँले प्रार्थना गर्छस्, “हे परमेश्‍वर, म आज्ञापालन गर्न चाहन्छु; कृपया मलाई यस्ता परिस्थितिहरू बन्दोबस्त र योजनाबद्ध गर्नुहोस् कि मैले आज्ञापालन गर्न सकूँ। यदि मैले त्यसपछि पनि आज्ञापालन गर्न सकिनँ भने, मलाई सच्याउनुहोस्।” के यस्ता केही खोक्रा वाक्यहरू बोलेर त्यसले तेरो गलत स्थिति बदल्छ? बिलकुलै बदल्दैन। बदलाव ल्याउन तँलाई एउटा अभ्यास शैली आवश्यक पर्छ। अनि, त्यो बद्लावको लागि तैँले कसरी अभ्यास गर्न सक्छस्? (व्यक्तिले सक्रिय रूपमा परमेश्‍वरका अभिप्रायहरू खोज्नुपर्छ, परमेश्‍वर सही हुनुहुन्छ र आफू गलत छु भनी भित्री रूपमा स्विकार्नुपर्छ, र आफूलाई नकार्न सक्नुपर्छ।) यी अभ्यासका दुई विधिहरू हुन्: सक्रिय रूपमा परमेश्‍वरका अभिप्रायहरू खोज्ने, र परमेश्‍वर सही हुनुहुन्छ र आफू गलत छु भनी भित्री रूपमा स्विकार्ने। यी दुवै विधिहरू निकै राम्रा छन्, ती दुवैले सही कुराहरू भन्छन्, तर एउटाचाहिँ बढी व्यावहारिक छ। अनि, कुनचाहिँ व्यावहारिक हो? कुनचाहिँ खोक्रो कुरा हो? (सक्रिय रूपमा परमेश्‍वरका अभिप्रायहरू खोज्नु व्यावहारिक हो।) परमेश्‍वरले प्राय तँलाई उहाँका अभिप्रायहरू सिधै भन्नुहुन्न। साथै, उहाँले तँमाथि अचानक बुझाइको ज्योति पनि बाल्नुहुनेछैन। न त उहाँले तँलाई तैँले बुझ्नुपर्ने परमेश्‍वरका सान्दर्भिक वचनहरू ठ्याक्‍कैसित खान र पिउन अगुवाइ नै गर्नुहुनेछ। यी विधिहरू मानिसहरूको लागि अति नै अवास्तविक छन्। त्यसोभए, के सक्रिय रूपमा परमेश्‍वरका अभिप्रायहरू खोज्ने यो शैली तिमीहरूको लागि प्रभावकारी हुन सक्छ? प्रभावकारी विधि भनेको उत्तम विधि हो; यो सबभन्दा वास्तविक र व्यावहारिक विधि हो। कुनै अप्रभावकारी विधि, जति राम्रो सुनिए पनि, सैद्धान्तिक मात्र हुन्छ र त्यो शब्दमा मात्र सीमित रहन्छ र त्यसले नतिजा दिँदैन। त्यसोभए कुनचाहिँ व्यावहारिक हो त? (दोस्रो, अर्थात् परमेश्‍वर नै सत्यता हुनुहुन्छ र आफू गलत छु भनी स्विकार्ने।) ठिक भनिस्, आफ्ना गल्तीहरू स्विकार्ने—यो भनेको समझ हुनु हो। कतिपय मानिसहरू आफू गलत भएको महसुस नै गर्दिनँ भन्छन्। यो अवस्थामा, तँ समझदार र आफूलाई त्याग्न र नकार्न सक्षम बन्‍नुपर्छ। कतिपय मानिसहरू भन्छन्, “म आफूलाई सही ठान्ने गर्थेँ, र म अझै त्यही ठान्छु। साथै, धेरै मानिसहरू मलाई अनुमोदन गर्छन् र मसित सहमत हुन्छन्, र मलाई हृदयमा कुनै धिक्‍कार महसुस हुँदैन। त्यसबाहेक, मेरो अभिप्राय पनि त सही नै छ, त्यसैले म कसरी गलत हुन सक्छु र?” आफूलाई त्याग्न र नकार्नबाट रोक्ने कारणहरू धेरै छन्। तैँले यो अवस्थामा के गर्नुपर्छ? तैँले आफू सही छु भनी सोच्नुका कारणहरू जे भए पनि, यदि यो “सही” परमेश्‍वरसित मिल्दैन र सत्यताविरुद्ध छ भने, तँ सिधै गलत छस्। तेरो मनोवृत्ति जति नै समर्पित भए पनि, तैँले हृदयले परमेश्‍वरलाई जसरी प्रार्थना गरे पनि, वा तैँले मौखिक रूपमा आफू गलत छु भनेर स्विकार्ने तर गहिराइमा परमेश्‍वरविरुद्ध सङ्घर्ष गर्ने र निष्क्रियताको स्थितिमा जिउने गर्छस् भने, यसको सार भनेको अझै पनि परमेश्‍वरको विरोध गर्ने नै हो। यसले प्रमाणित गर्छ कि तैँले अझै पनि आफू गलत छु भनेर महसुस गरेको छैनस्; तँ आफू गलत भएको तथ्य स्विकार्दै स्विकार्दैनस्। जब मानिसहरूले परमेश्‍वरको बारेमा गलत बुझाइ र धारणाहरू विकास गर्छन्, तब तिनीहरूले सुरुमा परमेश्‍वर नै सत्यता हुनुहुन्छ र मानिसहरूसँग सत्यता छैन, र गल्ती गर्ने अवश्य नै तिनीहरू नै हुन् भन्‍ने कुरालाई स्वीकार गर्नुपर्छ। के यो एक प्रकारको औपचारिकता हो? (होइन।) यदि तैँले यो अभ्यासलाई औपचारिकता ठानेर सतही रूपमा मात्रै लागू गर्छस् भने, के तैँले आफ्‍नै गल्तीलाई जान्‍नेछस् त? कहिल्यै जान्‍नेछैनस्। आफैलाई चिन्नको लागि थुप्रै चरणहरू पूरा गर्नुपर्छ। पहिला, तैँले तेरा कार्यहरू सत्यता र सिद्धान्तहरूअनुरूप छन् कि छैनन् सो निर्धारित गर्नुपर्छ। आफ्‍ना चासोहरूलाई सबैभन्दा पहिला नहेर्; कहिलेकहीँ तेरा अभिप्रायहरू सही भए पनि तैँले अभ्यास गर्ने सिद्धान्तहरू गलत हुन्छन्। के यस्तो परिस्थिति प्रायजसो आइरहन्छ? (आइरहन्छ।) अनि, म किन तेरा अभ्यासका सिद्धान्तहरू गलत छन् भन्ने गर्छु? तैँले खोजी गरेको हुन सक्छ, तर सायद सिद्धान्तहरू भनेका के हुन् भन्‍नेबारेमा तँसँग कुनै बुझाइ नहुन सक्छ; सायद तैँले खोजी नै नगरेको हुन सक्छ, र तँले तेरा कार्यहरूलाई तेरा असल अभिप्राय र जोसको आधारमा, र तेरो कल्‍पना र अनुभवको आधारमा अघि बढाएको, र फलस्वरूप तैँले गल्ती गरेको हुन सक्छ। के तैँले त्यो परिकल्पना गर्न सक्छस्? तैँले कुनै कुरा पूर्वानुमान गर्न सकिनस् भने, तैँले गल्ती गरेको हुन्छस्—र त्यसपछि के तेरो खुलासा भएको हुँदैन र? यदि खुलासा भएपछि तँ परमेश्‍वरसित जोरी खोजिरहन्छस् भने, यसमा कहाँनेर गल्ती छ? (परमेश्‍वर सही हुनुहुन्छ भनी नस्विकार्नु र म सही छु भनी जिद्दी गर्नुमा गल्ती छ।) तैँले त्यही कारणले गर्दा नै गल्ती गरिस्। तेरो सबभन्दा ठूलो गल्ती यो थिएन कि तैँले केही गलत काम गरिस् र सिद्धान्तहरू उल्लङ्घन गरिस्, अनि त्यसमार्फत क्षति वा अन्य परिणामहरू निम्त्याइस्, तेरो गल्ती त यो हो कि तैँले केही गलत काम गरेपछि पनि तँ अझै आफ्नो तर्कमा जिद्‌ कस्छस् र आफ्नो गल्ती स्विकार्दैनस्; तँ अझै पनि तेरा आफ्नै धारणा र कल्पनाहरूको आधारमा परमेश्‍वरको विरोध गर्छस्, अनि उहाँको काम र उहाँले व्यक्त गर्नुभएका सत्यताहरू नकार्छस्—यो नै तेरो सबभन्दा ठूलो र गम्भीर गल्ती थियो। व्यक्तिको यस्तो स्थितिलाई किन परमेश्‍वरविरोधी स्थिति भन्ने गरिन्छ? (किनभने उसले आफूले गरिरहेको काम गलत हो भनी स्विकार्दैन।) मानिसहरूले परमेश्‍वरले गर्नुहुने सबथोक र उहाँको सार्वभौमिकता सही हुन्, र तिनीहरूको के महत्त्व छ भनी चिने पनि नचिने पनि, यदि तिनीहरूले सुरुमा आफू गलत छु भनी चिन्न सक्दैनन् भने, तिनीहरूको स्थिति परमेश्‍वरविरोधी स्थिति हो। यो स्थिति सच्याउन के गर्नुपर्छ? सुरुमा, व्यक्तिले आफूलाई नकार्नुपर्छ। हामीले भर्खरै पहिला परमेश्‍वरका अभिप्रायहरू खोज्नुपर्नेबारे जे भन्यौँ त्यो मानिसहरूको लागि खासै व्यावहारिक छैन। अनि, कतिपयले भन्छन्, “यदि त्यो खासै व्यावहारिक छैन भने, के त्यसको अर्थ खोजी गर्नु जरूरी छैन भन्ने होइन र? खोज्न र बुझ्न सकिने कतिपय कुराहरू त खोज्न जरुरी हुँदैन—म त्यो चरणलाई त छोड्दिन सक्छु।” यसो गर्दा हुन्छ त? (हुँदैन।) के यस्तो शैलीमा काम गर्ने व्यक्ति मुक्ति पाउनै नसक्ने हुँदैन र? यस्ता मानिसहरू बुझाइको हिसाबले साँच्चिकै टेढा र गलत हुन्छन्। परमेश्‍वरको इच्छा खोज्नु अलि टाढाको कुरा हो र त्यो तुरुन्तै प्राप्त गर्न सकिँदैन; छिटोमिठोको लागि, पहिला आफूलाई त्याग्नु, आफ्ना कार्यहरू गलत छन् र सत्यताबमोजिम छैनन् भनी जान्नु, र त्यसपछि सत्यता सिद्धान्तहरू खोज्नु बढी व्यावहारिक हुन्छ। यसका चरणहरू यिनै हुन्। यी कुरा सरल देखिन सक्छन्, तैपनि तिनलाई अभ्यास गर्ने कार्यमा धेरै कठिनाइहरू समावेश हुन्छन्, किनभने मानिसहरूसँग भ्रष्ट स्वभावका साथै कल्‍पना गर्ने बानी हुन्छ, हरप्रकारका मागहरू हुन्छन्, र तिनीहरूसँग इच्‍छाहरू पनि हुन्छन्, र यी सबैले मानिसहरूले आफूलाई इन्कार गर्ने र त्याग्ने काममा वाधा दिन्छन्। यी कार्य गर्नु सहज छैन। तर हामी यो विषयको गहिराइमा नजाऔँ; हामी अब हाम्रा पछिल्ला दुई सङ्गतिमा हामीले कुरा गरेका धारणाहरूसम्बन्धी समस्याबारे नै छलफल जारी राखौँ।

भर्खरैको हाम्रो सङ्गतिको मुख्‍य जोड कसरी धारणाहरूले परमेश्‍वरको गलतबुझाइतर्फ लैजान्छन्, जसले गर्दा मान्छे र परमेश्‍वरबीच पर्खाल निर्माण हुन्छ, र यो पर्खालले तिनीहरूमा परमेश्‍वरप्रति प्रतिरोध विकास गराउँछ भन्ने थियो। यो प्रतिरोधको प्रकृति के हो? (विरोध।) यो विरोध र विद्रोह हो। त्यसकारण, यदि मानिसहरू परमेश्‍वरविरोधी बन्छन् र उहाँविरुद्ध कोलाहल मच्चाउँछन् भने, यो रातारात हुने कुरा होइन; यसका जडहरू हुन्छन्। यो कुनै व्यक्तिले अचानक आफू बिरामी भएको र रोग निकै गम्भीर भएको भनी पत्ता लगाउनुजस्तै हो; उसले कति चाँडै यस्तो अवस्था आयो भनी सोच्छ। वास्तवमा, उक्त रोग शरीरमा लामो समयदेखि नै थियो र त्यो पहिल्यै गडिसकेको थियो—पत्ता लागेको दिन नै रोग लागेको थिएन; त्यो दिन त उसले थाहा पाएको दिन मात्र थियो। मैले यसो भन्नुको मतलब के हो? के परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, उहाँको विरोध गर्ने र उहाँविरुद्ध कोलाहल मच्चाउने क्षमता परमेश्‍वरमा विश्‍वास गर्न सुरु गर्दा हरव्यक्तिले पूर्वानुमान गर्न सक्ने कुरा हो? बिलकुलै होइन। के परमेश्‍वरविरुद्ध अन्त्यमा कोलाहल मच्चाउने र विरोध गर्ने हरव्यक्तिको प्रारम्भिक अभिप्राय पनि यही हुन्छ? के कसैले कहिल्यै “म आशिष्‌को निम्ति परमेश्‍वरमा विश्‍वास गर्दिनँ; म परमेश्‍वरलाई देखेपछि उहाँविरुद्ध कोलाहल मच्चाउन र उहाँको विरोधी बन्न मात्र चाहन्छु, ताकि त्यसपछि मैले चर्चित बनेर ठूलो नाम कमाऊँ, र मेरो जीवन अर्थपूर्ण बनोस्” भनेर भनेको छ? के कसैले कहिल्यै यस्ता योजनाहरू बनाएको छ? (छैन।) कसैले पनि कहिल्यै यसरी योजना बनाएको छैन, यस्तो त सबभन्दा मूर्ख, बेबकुफ, वा दुष्ट व्यक्तिले समेत गरेको छैन। मानिसहरू सबैजना इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्न, असल हुन, परमेश्‍वरका वचनहरू सुन्न र परमेश्‍वरले जे अह्राउनुहुन्छ त्यो गर्न चाहन्छन्। तिनीहरूले परमेश्‍वरप्रतिको पूर्ण समर्पण हासिल गर्न नसके पनि, कम्तीमा परमेश्‍वरका न्युनतम मापदण्डहरू पूरा गर्न र परमेश्‍वरलाई सक्दो सन्तुष्ट तुल्याउन सक्छन्। कस्तो राम्रो कामना—तर तिनीहरू कसरी परमेश्‍वरविरुद्ध कोलाहल मच्चाउने र विरोध गर्ने भए? मानिसहरू आफै अनिच्छुक महसुस गर्छन् र यो कसरी हुन पुग्यो भनी जान्दैनन्। परमेश्‍वरविरुद्ध कोलाहल मच्चाउने र विरोध गर्ने सम्बन्धमा, तिनीहरू भित्री रूपमा नराम्रो र उदास महसुस गर्छन्, र सोच्छन्, “मानिसहरूले कसरी यसो गर्न सक्छन्? अरूले यो तरिकाले व्यवहार गरे पनि, मैले त नगरे हुनेथ्यो!” यो पत्रुसले भनेजस्तै हो: “तपाईंको कारणले सबै मानिस चिढिने भए पनि, म कहिल्यै चिढिनेछैन” (मत्ती २६:३३)। पत्रुसले बोलेका यी शब्दहरू उसको हृदयबाटै आएका हुन्, तर उसको व्यवहारले उसका कामना र आकाङ्क्षाहरू पूरा गर्न सकेन। मानव कमजोरी मानिसहरू आफैले पूर्वानुमान गर्न नसक्ने कुरा हो। जब तिनीहरूलाई कुनै परिस्थिति आइपर्छ, तिनीहरूको भ्रष्टता खुलासा हुन्छ। व्यक्तिको प्रकृति सार र भ्रष्ट स्वभावले उसका सोच र व्यवहारहरू नियन्त्रित र निर्देशित गर्न सक्छन्। भ्रष्ट स्वभाव भएपछि विविध धारणाहरूका साथै विभिन्न चाहना र मागहरू उत्पन्न हुन सक्छन्, र यसले अनेकथरीका विद्रोही व्यवहार निम्त्याउन सक्छ। तिनले प्रत्यक्ष रूपमा परमेश्‍वरसँगको व्यक्तिको सम्बन्धमा असर पार्छन् र व्यक्तिको जीवन प्रवेश र स्वभाव रूपान्तरणमा प्रभाव पार्छन्। यी कुराहरू मानिसहरूले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा तिनीहरूमा भएका अभिप्राय होइनन्, न त यी तिनीहरूले हृदयमा इच्छा र आशा गरिरहेका कुरा नै हुन्। यस्ता परिणामहरू परमेश्‍वरबारेका मानिसहरूका धारणाहरूले निम्त्याएका हुन्। यी धारणाहरू सुल्झाइएन भने, व्यक्तिका सम्भाव्यता, भाग्य, र गन्तव्य सबै समस्याजनक बन्न सक्छन्।

परमेश्‍वरबारेका व्यक्तिका गलतबुझाइहरू समाधान गर्न उसले परमेश्‍वरबारे, परमेश्‍वरको कामबारे, परमेश्‍वरको सारबारे, र परमेश्‍वरको स्वभावबारे आफ्ना धारणाहरू समाधान गर्नुपर्छ। यी धारणाहरू समाधान गर्न उसले सुरुमा तिनलाई बुझ्न, जान्न र चिन्न जरूरी छ। त्यसोभए यी धारणाहरू ठ्याक्कै के हुन् त? यसले फेरि हामीलाई मुख्य विषयमै पुर्‍याउँछ। हामीले केही व्यावहारिक उदाहरणहरूबाटै मानिसहरूका यी धारणा र प्रकटीकरणहरू समाधान गर्न थाल्नुपर्छ, र यी उदाहरणहरूमार्फत परमेश्‍वरको इच्छा प्रस्ट्याउनुपर्छ, मानिसहरूलाई परमेश्‍वरको हृदयको गहिराइमा उहाँका स्वभाव र सार के हुन् र उहाँले मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ, साथै मानिसहरू उहाँले तिनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कल्पना गर्छन् भनी हेर्न दिनुपर्छ, र सँगसँगै तिनीहरूलाई पछिल्ला यी दुई दृष्टिकोणहरूबीच फरक छुट्ट्याउन, प्रस्ट्याउन र तुलना गर्न दिनुपर्छ, र यसले परमेश्‍वरले मानिसहरूमाथि कसरी व्यवहार र शासन गर्नुहुन्छ भन्‍ने कुराको बुझाइ र स्वीकार, साथै परमेश्‍वरको सार र स्वभावको पनि बुझाइ र स्वीकारतर्फ डोर्‍याउन सक्छ। मानिसहरूले परमेश्‍वरले मानिसहरूमाथि कसरी शासन गर्नुहुन्छ भन्‍ने कुरा र उहाँको कामबारे प्रस्ट बुझाइ प्राप्त गरेपछि, तिनीहरूले त्यसउप्रान्त परमेश्‍वरबारे धारणाहरू बनाउनेछैनन्। परमेश्‍वर र तिनीहरूबीचको पर्खाल पनि हट्नेछ, र त्यसउप्रान्त तिनीहरूको हृदयमा परमेश्‍वरप्रति लक्षित विरोध वा कोलाहलको स्थिति उत्पन्न हुनेछैन। परमेश्‍वरविरुद्धका विद्रोह र प्रतिरोधका यी समस्याहरू परमेश्‍वरका वचनहरू पढेर र सत्यता सङ्गति गरेर सोझै समाधान गर्न सकिन्छ। धारणाहरूको जुन पक्ष सुल्झाउँदै गरिएको भए पनि, त्यसको सुरुवात परमेश्‍वरका वचनहरू पढेर र सत्यता सङ्गति गरेर नै हुनुपर्छ। सबथोक सत्यतासँग जोडिएको हुनुपर्छ, सबथोकमा सत्यता संलग्‍न हुन्छ। त्यसोभए मानिसहरूमा भएका यी धारणाहरू के हुन् त? सुरुमा परमेश्‍वरको कामबारे छलफल गरौँ, केही विशेष उदाहरणहरू प्रयोग गरेर परमेश्‍वरको कामपछाडि रहेका सिद्धान्तहरू, र परमेश्‍वरले मानिसहरूलाई जुन सिद्धान्त र विधिहरूद्वारा व्यवहार र शासन गर्नुहुन्छ ती सिद्धान्त र विधिहरू प्रस्ट पारौँ। यसको उदाहरणले परमेश्‍वरको कामको विधिको विषय छुन सक्छ; त्यसले व्यक्तिलाई वर्गीकृत गर्ने परमेश्‍वरको विधि र उहाँले निर्धारण गर्नुहुने उसको परिणामको विषय पनि छुन सक्छ; वा त्यसले परमेश्‍वरको स्वभाव र सारको विषय पनि छुन सक्छ। यी कुराहरू प्रस्टयाउनको लागि, यदि हामीले परमेश्‍वर कस्तो हुनुहुन्छ, परमेश्‍वरले के गर्नुभएको छ र आफ्नो छ हजार वर्षभन्दा लामो समयको काममा उहाँले मानिसहरूलाई कस्तो व्यवहार गर्नुभएको छ भन्नेबारे खोक्रो तरिकाले बोल्‍ने हो भने—के तिमीहरूलाई त्यो उचित होला भन्ने लाग्छ? के तिमीहरू त्यसलाई सजिलै ग्रहण गर्न सक्थ्यौ? अथवा, उदाहरणको लागि, यदि हामीले कसरी परमेश्‍वरले छ हजार वर्षदेखि काम गर्दै आउनुभएको छ, र उहाँको कामको दोस्रो चरणमा उहाँले यहूदियामा काम गर्नुभयो भन्नेबारे कुरा गर्‍यौँ भने; र हामीले परमेश्‍वरले त्यसबेला यहूदीहरूलाई कस्तो व्यवहार गर्नुभयो, र त्यसबाट हामीले कसरी परमेश्‍वरको स्वभाव नियाल्न सक्छौँ भनी छलफल गर्‍यौँ भने—के त्यसले बुझ्न सजिलो बनाउँथ्यो र? (बनाउँथेन।) उदाहरणको लागि, यदि हामीले परमेश्‍वरले कसरी यो संसारमाथि शासन गर्नुहुन्छ: उहाँले विविध जातजातिका मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ, परमेश्‍वरले के सोच्नुहुन्छ, उहाँले कसरी तिनीहरूको क्षेत्र सीमाङ्कन गर्नुहुन्छ, र उहाँले किन तिनीहरूलाई फरकफरक स्थानमा विभाजन गर्नुहुन्छ—विशेषगरी, किन कतिपय असल मानिसहरू खासै उत्तम नलाग्ने स्थानमा रहन्छन् जबकि कतिपय दुष्ट मानिसहरू त्योभन्दा धेरै राम्रो स्थानमा हुन्छन्, र परमेश्‍वरले यसरी परिस्थितिहरू निर्धारण गर्नको लागि के-कस्ता सिद्धान्तहरू प्रयोग गर्नुहुन्छ भन्नेबारे कुरा गर्‍यौँ, र यो विषयबाट मानवजातिलाई शासन गर्ने परमेश्‍वरका विधिहरू हेर्‍यौँ भने—के त्यसले यो बुझ्न सजिलो तुल्याउँथ्यो र? (तुल्याउँथेन।) के यी विषयहरू दैनिक जीवनमा हुने मानिसहरूको स्वभाव रूपान्तरण र जीवन प्रवेशभन्दा निकै टाढाका कुरा होइनन् र? के ती निकै अमूर्त छैनन् र? (छन्।) हामी किन ती टाढाका र अमूर्त छन् भन्छौँ? किनभने हामीले वास्तविक जीवनमा परमेश्‍वरले कसरी मानवजातिलाई शासन र मार्गदर्शन गर्नुहुन्छ भन्ने कुराहरूजस्ता दर्शनसम्बन्धी सत्यताहरू मात्र बुझ्ने गर्दा, त्यो दैनिक जीवनमा हामीले सामना गर्ने समस्याहरूभन्दा धेरै फरक देखिन्छ र खासै सान्दर्भिक पनि देखिँदैन। ठोस समस्याहरू समाधान गर्न हामीले आफ्नो जीवनमा सुन्न, हेर्न र अनुभूति गर्न सक्ने उदाहरणहरूबाटै सुरु गर्नुपर्छ, अनि त्यहाँबाट तिमीहरूको अन्तर्ज्ञानलाई फराकिलो पार्नुपर्छ। मैले जे-जस्तो कथाहरू सुनाए पनि, वा यी कथाहरूमा जुन मानिस र घटनाहरू संलग्न भए पनि—यी तैँले विगतमा गरेका कामसँग सम्बन्धित हुन सक्ने भए पनि—यी कथाहरूको अन्तिम प्रभाव भनेको तिमीहरूलाई आज छलफल भइरहेको विषयसँग सम्बन्धित सत्यताहरू बुझ्न मद्दत गर्नु हो। यसरी सुनाइएको प्रत्येक कथाले एउटा उद्देश्य पूरा गर्छ, र त्यो त्यसले भन्न खोजेको महत्त्व र त्यसले व्यक्त गर्ने सत्यतासँग सम्बन्धित हुन्छ।

अब, हाम्रो कथा सुरु गरौँ। यो पहिलो मामिला हो। धेरै पहिले, एउटा मण्डलीले एक बोत्तल खोकीको औषधी पठाएको थियो, जसमा लेखिएको थियो: “परमेश्‍वरले सधैँ हामीसित बोल्नुहुन्छ र प्रवचन दिनुहुन्छ, र धेरै बोल्दा कहिलेकाहीँ खोक्नुहुन्छ। परमेश्‍वरको प्रवचनलाई सहज बनाउन र खोकी घटाउन हामी केही खोकीको औषधी पठाउँदै छौँ।” जब त्यो बोत्तल आइपुग्यो, एउटा मान्छेले त्यो देख्यो र भन्यो: “यो खोकीको औषधी हो भनिएको छ, तर त्यसले के निको पार्छ, कसलाई के थाहा? हामीले यो कुरा सिधै परमेश्‍वरलाई दिन मिल्दैन—यो हानिकारक हुन सक्छ। यो औषधी हो; प्रत्येक औषधीमा केही विष हुन्छ। यो पिउँदा अरू असरहरू निम्तिन सक्छ!” उसको कुरा सुन्नेहरूले सोचे, “ऊ निकै विचारशील बनिरहेको छ। हो, हामीले त्यो कुरा परमेश्‍वरलाई दिन मिल्दैन।” त्यो समयमा, मलाई त्यो चाहिएको थिएन, त्यसैले मैले त्यो पछिको लागि राख्छु भन्ने सोचेँ, र कुरा त्यहीँ टुङ्गियो। तर के कथा यहीँ टुङ्गिन्छ त? टुङ्गिँदैन, यो औषधीको कथा त त्यो दिनचाहिँ सुरु भयो। एकदिन, कसैले त्यो मान्छे आफैले खोकीको उक्त औषधी पिउँदै आएको छ भन्ने थाहा पायो, र त्यो थाहा पाऊन्जेल त्यसको आधा मात्र बाँकी थियो। त्यसपछि जे भयो त्यो सजिलै अनुमान लगाउन सकिन्छ; उसले त्यो सबै सिध्यायो। कथा त्यही हो। आज हामीले छलफल गरिरहेका धारणाहरूसँग यसको के सम्बन्ध छ, मनन गर त। सर्वप्रथम, भन: के यो कथाले तिमीहरूलाई चकित पार्छ र झस्काउँछ? (हजुर।) यो सुनेपछि तिमीहरूमा के सोच पलायो? तिमीहरूलाई के कुराले झस्कायो? सामान्यतया, जो झस्किए तिनीहरूले यस्तो सोच्नेछन्, “ओहो, यो त परमेश्‍वरलाई चढाइएको कुरा थियो; त्यो व्यक्तिले कसरी पिउन सक्यो?” तिनीहरूलाई झस्काउने पहिलो कुरा त्यही हो। दोस्रो कुरा यो हो कि, “उसले पिइरह्यो। उसले त्यो सबै पियो भनेर म त विश्‍वासै गर्न सकिरहेको छैनँ!” झस्किनेबाहेक, तिमीहरू अरू के सोच्न सक्छौ? यो व्यक्तिले के गर्‍यो भन्‍नेबारेमा—उसका यी सबै व्यवहारहरू; अर्थात्, यो पूरै कथाको प्रत्येक घटनाबारेमा—तिमीहरू परमेश्‍वरको प्रतिक्रिया के हुन सक्छ भनी सोच्छौ? परमेश्‍वरले के गर्नुहुन्थ्यो होला? परमेश्‍वरले के गर्नुपर्छ? परमेश्‍वरले यस्तो व्यक्तिलाई कस्तो व्यवहार गर्नुपर्छ? के मानव धारणाहरू यहीँबाट उत्पन्न हुन थाल्दैनन् र? तिमीहरूलाई के कुराले झस्कायो भन्ने विषयलाई थाती राखौँ, र झस्कने यो अनुभवले केही फाइदा गर्छ गर्दैन भन्नेबारे कुरा गरौँ। झस्किँदा, मानिसहरू बस आफ्नो विवेकमा केही असहजता महसुस गर्छन्, तर कथाको घटनाबारे प्रस्टसित बोल्न सक्दैनन्। त्यसपछि, कथाको पात्रप्रति लक्षित निन्दा र ग्लानि उत्पन्न हुन सक्छ जुन आचारनीति, नैतिकता, धर्मशास्‍त्रीय सिद्धान्त, वा शब्द र धर्मसिद्धान्तहरूमा आधारित हुन्छ, तर यी कुराहरू सत्यता होइनन्। यदि हामी सत्यतामा पुग्न चाहन्छौँ भने, उक्त घटना सन्दर्भमा उत्पन्‍न मानव धारणाहरू, वा परमेश्‍वरले के गर्नुपर्छ भन्ने मागहरू नै समाधान गरिनुपर्ने समस्याहरू हुन्। यो कथामा, यस्तो परिस्थितिमा परमेश्‍वरले के गर्नुपर्छ भन्नेबारे मानिसहरूमा रहेका धारणा र सोचहरू अति महत्त्वपूर्ण छन्। तेरो संवेगात्मक प्रतिक्रियामा मात्र केन्द्रित नहू; केही कुराद्वारा झस्किएर तेरो विद्रोहीपन समाधान हुन सक्दैन। यदि कुनै दिन तैँले परमेश्‍वरको भेटीमा केही कुरा भेटिस् जुन तँलाई अत्यन्तै मनपर्छ वा चाहिन्छ, र तँ निकै प्रलोभित भइस् भने, तैँले पनि त्यो लान सक्छस्; त्यो अवस्थामा तँ बिलकुलै झस्किनेछैनस्। अहिले तँ झस्किनु भनेको तेरो विवेकको काम मात्र हो, अर्थात् त्यो मानवताको नैतिक मानकको नतिजा मात्र हो; त्यो सत्यताको काम होइन। जब तैँले यो परिस्थितिबाट उत्पन्न हुने धारणाहरू समाधान गर्न सक्छस्, तब यो परिस्थितिको सत्यता बुझ्नेछस्। अनि, तैँले यस्ता मामलाहरूमा परमेश्‍वरप्रति तँसित रहेका जुनसुकै धारणा र गलतबुझाइहरू समाधान गरेको हुनेछस्, र यस्ता परिस्थितिहरूमा, तैँले सत्यता बुझ्नेछस् र केही कुरा प्राप्त गर्नेछस्। त्यसैले अब, मानिसहरूले यो परिस्थितिमा कस्ता धारणाहरू विकास गर्न सक्छन् भन्नेबारे सोच् त। यीमध्ये कुन धारणाले तँलाई परमेश्‍वरलाई गलत बुझ्ने, तँ र उहाँबीच पर्खाल निर्माण गर्ने, वा उहाँको विरोधसमेत गर्ने तुल्याउन सक्छ? हामीले यसैबारे सङ्गति गर्नुपर्छ। ल भन् त, जब यो घटना घट्यो, के यो व्यक्तिले उसको विवेकमा ग्लानि महसुस गर्‍यो? (गरेन।) तैँले कसरी उसलाई कुनै ग्लानि महसुस भएन भन्न सक्छस्? (किनभने उसले खोकीको औषधी सबै पियो।) यो विश्‍लेषण गर्न धेरै सजिलो छ, छैन त? पहिलो घुट्कोदेखि अन्तिमसम्म, उसले कुनै संयम देखाएन र ऊ रोकिएन। यदि उसले चाखेर रोकिएको भए, त्यसलाई आत्मग्लानि महसुस भएको भन्न मिल्थ्यो, किनभने संयम अपनाई त्यस्तो काम जारी नराखेर उसले आफूलाई रोकिसकेको हुनेथ्यो। तर त्यो मान्छेले त्यसो गरेन; उसले सुरुदेखि अन्त्यसम्‍मै पूरै बोत्तल रित्त्यायो। यदि बढी भएको भए, उसले अझै पिइरहनेथ्यो। यसले देखाउँछ कि उसलाई विवेकमा कुनै ग्लानि महसुस भएन; यो मानव नजरले हेर्दा देखिने कुरा हो। अब, यो मामलालाई परमेश्‍वरले चाहिँ कसरी हेर्नुहुन्छ? तिमीहरूले बुझ्नुपर्ने भनेकै यही हो। परमेश्‍वरले यो परिस्थितिलाई कसरी हेर्नुहुन्छ, यसलाई कसरी मूल्याङ्कन र परिभाषित गर्नुहुन्छ भन्ने कुराबाट तैँले परमेश्‍वरको स्वभाव र सार देख्न सक्छस्, र परमेश्‍वर कुन सिद्धान्त र विधिहरूद्वारा चल्नुहुन्छ भन्ने कुरासमेत खुट्ट्याउन सक्छस्। यो सँगसँगै, यसले केही मानव धारणाहरू खुलासा गर्न र मानिसहरूलाई यसो भन्ने तुल्याउन सक्छ, “मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति यही रहेछ; परमेश्‍वरले मानिसहरूलाई यसरी पो सम्हाल्नुहुँदो रहेछ। म पहिले यस तरिकाले सोच्दिनथेँ।” तैँले यस तरिकाले सोचिनस् भन्‍ने तथ्यले तँ र परमेश्‍वरबीच पर्खाल छ, तैँले परमेश्‍वरबारे गलतबुझाइहरू विकास गर्न सक्छस्, र यस सम्बन्धमा परमेश्‍वर कसरी काम गर्नुहुन्छ र चल्‍नुहुन्छ भन्‍नेबारे तँसित धारणाहरू छन् भन्ने कुरा खुलासा गर्छ। त्यसोभए, परमेश्‍वरले यो परिस्थिति सामना गर्नुहुँदा यसलाई कसरी सम्हाल्नुभयो? त्यो मान्छेले भन्यो, “यो औषधी हो; सबै औषधीमा केही न केही बिष हुन्छ। हामीले परमेश्‍वरलाई यो पिउन दिनु मिल्दैन; त्यसले अन्य असरहरू पार्न सक्छ।” उसका शब्दहरूपछाडि रहेको अभिप्राय र उद्देश्य के थियो? के यी शब्दहरू साँचा थिए कि झूटा? ती साँचा थिएनन्; ती छली, झूटा, र चलाखीपूर्ण थिए। त्यसपछिका उसका कार्यहरू र उसले प्रकट गरेका कुराहरूले उसको हृदयमा के चलिरहेको थियो भन्ने कुरा प्रस्ट पार्‍यो। के परमेश्‍वरले उसका झूटा शब्द र व्यवहारहरूबारे केही गर्नुभयो? (गर्नुभएन।) परमेश्‍वरले केही गर्नुभएन भनेर हामीलाई कसरी थाहा हुन्छ? उसले ती शब्दहरू बोल्दा ऊ इमानदार थिएन; ऊ झूट बोलिरहेको थियो। परमेश्‍वरले बस परैबाट हेरिरहनुभएको थियो, न त मार्गदर्शन गर्ने सकारात्मक काम न त धिक्कार्ने नकारात्मक काम नै गरिरहनुभएको थियो। कहिलेकाहीँ, मानिसहरूले आफ्नो विवेकमा ग्लानि महसुस गर्छन्—त्यो परमेश्‍वरले काम गर्नुभएको हो। के त्यो मान्छेले त्यो समयमा ग्लानि महसुस गर्‍यो? (गरेन।) उसले ग्लानि महसुस नगरेको मात्र नभई, ठूलोठूलो स्वरले समेत बोल्यो। परमेश्‍वरले उसलाई धिक्कार्नुभएन; उहाँले बस हेरिमात्र रहनुभएको थियो। परमेश्‍वरले किन यसरी हेरिरहनुभएको हो? के उहाँले तथ्यहरू कसरी खुल्छन् भनी हेरिरहनुभएको थियो? (होइन।) त्यही हो भन्न सकिन्न। जब कुनै व्यक्तिले कुनै परिस्थिति सामना गर्छ, तब उसले के गर्ने भनी निर्णय गर्नु वा कुनै तथ्यहरू निर्माण गर्नुअघि, के परमेश्‍वरले त्यो व्यक्तिलाई बुझ्नुहुन्छ? (बुझ्नुहुन्छ।) परमेश्‍वरले उसको सतही कुरा मात्र नभई भित्री हृदय नै बुझ्नुहुन्छ—उसको हृदय असल छ कि दुष्ट, साँचो छ कि झूटो, परमेश्‍वरप्रति उसको साँचो मनोवृत्ति के छ, उसको हृदयमा परमेश्‍वर छ कि छैन, उसमा साँचो आस्था छ कि छैन—परमेश्‍वरले यी कुराहरू पहिल्यै जानिसक्नुभएको हुन्छ; उहाँसँग निर्णायक प्रमाण नै हुन्छ, र उहाँले सधैँ नियालिरहनुभएको हुन्छ। त्यो मान्छेले त्यो कुरा भनेपछि परमेश्‍वरले के गर्नुभयो? पहिला, परमेश्‍वरले उसलाई धिक्कार्नुभएन; दोस्रो, परमेश्‍वरले उसलाई अन्तर्दृष्टि दिनुभएन र उसलाई यो भेटी हो र मान्छेले यसलाई लापरवाहीपूर्वक छुनु हुँदैन भनी सचेत पार्नुभएन। के परमेश्‍वरले मानिसहरूलाई यो चेतना राख्नू भनी खुलस्त रूपले भन्नु आवश्यक छ? (छैन।) सामान्य मानवतामा यो चेतना हुनुपर्छ। कतिपयले यसो भन्‍न सक्छन्, “कतिपय मानिसहरूलाई थाहै हुँदैन। के तपाईं तिनीहरूलाई भन्नुहुन्न? के तपाईंले भन्नुभयो भने, तिनीहरूलाई थाहा हुनेछैन र? अज्ञानता क्षम्य हुन्छ—अहिले तिनीहरूलाई थाहै छैन; यदि थाहा भएको भए, तिनीहरूले यो गल्ती गरेका हुन्थेनन्, हैन र? के यसो गर्नु तिनीहरूको रक्षा गर्नु हुन्थेन र?” के परमेश्‍वरले यसरी काम गर्नुहुन्थ्यो? (गर्नुहुन्थेन।) परमेश्‍वरले किन यसरी काम गर्नुहुन्थेन? एक हिसाबले हेर्दा, त्यो मान्छेले “यो परमेश्‍वरलाई चढाइएको हो र मान्छेले यसलाई छुन मिल्दैन” भन्ने अवधारणा थाहा पाउनुपर्थ्यो। अर्को हिसाबले हेर्दा, यदि उसलाई थाहा थिएन भने, परमेश्‍वरले किन नभन्नुभएको हो? परमेश्‍वरले उसलाई यस्तो काम गर्न र यस्तो परिणाम भोग्नबाट जोगाउन किन सचेत नपार्नुभएको हो? के उसलाई बताउँदा मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको इमानदारिता झन् राम्ररी प्रकट हुन्थेन र? के त्यसले परमेश्‍वरको प्रेम झन् राम्ररी प्रकट गर्थेन र? परमेश्‍वरले किन यसो नगर्नुभएको हो? (परमेश्‍वर उसको खुलासा गर्न चाहनुहुन्थ्यो।) हो, परमेश्‍वर उसको खुलासा गर्न चाहनुहुन्थ्यो। जब तैँले परिस्थितिहरू सामना गर्छस्, त्यो तैँले संयोगवश सामना गर्नुपरेको होइन। कुनै निश्‍चित परिस्थितिले तेरो मुक्ति वा विनाश जनाउन सक्छ। यी समयमा, परमेश्‍वर हेरिरहनुहुन्छ, मौन रहनुहुन्छ, तँलाई प्रेरित गर्न कुनै परिस्थितिहरू योजनाबद्ध गर्नुहुन्न, न त तँलाई “तैँले यसो गर्नु हुँदैन; यसका परिणामहरू अकल्पनीय हुनेछन्,” वा “यसो गर्नुमा समझ र मानवता हुँदैन” भन्‍नेजस्ता वचनहरूद्वारा अन्तर्दृष्टि नै दिनुहुन्छ। मानिसहरूमा त्यस्तो चेतना हुँदैन। यस्तो चेतना नहुनुको कारण एक हिसाबले हेर्दा त्यो क्षणमा परमेश्‍वरले प्रेरित नगर्नुभएकोले हो—परमेश्‍वरले कार्य नगर्नुभएकोले हो। अर्को हिसाबले हेर्दा, यदि व्यक्तिमा विवेक र केही मानवता छ भने, के परमेश्‍वरले त्यो जगमा कार्य गर्नुहुनेथ्यो? (गर्नुहुनेथ्यो।) ठिक भनिस्। परमेश्‍वरले उसलाई त्यस्तो निगाह देखाउनुहुनेथ्यो। तर परमेश्‍वरले किन यही परिस्थितिलाई बेवास्ता गर्नुभयो? एउटा कारण के हो भने, त्यो व्यक्तिमा विवेक र समझ थिएन, कुनै इज्जत, निष्ठा र सामान्य मानवता थिएन। उसले यी कुराहरू पछ्याउँदेनथ्यो; उसको हृदयमा परमेश्‍वर हुनुहुन्थेन र ऊ परमेश्‍वरको साँचो विश्‍वासी थिएन। त्यसैले, परमेश्‍वरले उसलाई यो परिस्थितिमार्फत खुलासा गर्न चाहनुहुन्थ्यो। कहिलेकाहीँ परमेश्‍वरले कसैको खुलासा गर्नु मुक्तिको एक स्वरूप हुन्छ, र कहिलेकाहीँ हुँदैन—परमेश्‍वरले जानाजान यस्तो व्यवहार गर्नुहुन्छ। यदि तँ विवेक र समझ भएको व्यक्ति होस् भने, परमेश्‍वरले तेरो खुलासा गर्नु एउटा परीक्षा र मुक्तिको स्वरूप बन्छ। तर यदि तँसित विवेक र समझ छैन भने, परमेश्‍वरले तेरो खुलासा गर्नुको अर्थ हटाइनु र नष्ट हुनु भन्‍ने हुन्छ। त्यसैले, अहिले हेर्दा, परमेश्‍वरले त्यो मान्छेको खुलासा गर्नुको अर्थ के थियो? त्यसको अर्थ हटाइनु थियो; त्यो आशिष् नभएर श्राप थियो। कतिपय मानिसहरू भन्छन्: “उसले यस्तो ठूलो गल्ती गर्‍यो, यो निकै लाजमर्दो कुरा हो। जबदेखि उसले गोप्य रूपमा खोकीको औषधी पिउन थाल्यो, के परमेश्‍वरले उसले यो गल्ती नगरोस् र उसलाई हटाउन नपरोस् भन्ने हेतुले उसलाई रोक्न केही परिस्थितिहरू बन्दोबस्त गर्न सक्नुहुन्नथ्यो र?” के परमेश्‍वरले गर्नुभएको यही हो? (होइन।) परमेश्‍वरले कस्तो व्यवहार गर्नुभयो? (उहाँले परिस्थितिलाई आफ्नै तवरले चल्न दिनुभयो।) परमेश्‍वरले परिस्थितिलाई आफ्नै तवरले चल्न दिनुभयो—यो उहाँका सिद्धान्तहरूमध्येको एक हो। जब उसले खोकीको औषधीको बोत्तल खोल्यो, के उसले लिएको पहिलो र अन्तिम घुट्कोको प्रकृतिमा कुनै भिन्नता थियो र? (थिएन।) किन कुनै भिन्नता थिएन? (सारमा ऊ त्यस्तै प्रकारको व्यक्ति हो।) यो परिस्थितिले उसको मानवता, उसको पछ्याइ र उसको आस्था पूर्ण रूपमा खुलासा गरिदियो।

पुरानो करारको युगमा, एसावले एक कचौरा रातो मासुसँग आफ्नो जन्मसिद्ध अधिकार साट्यो। उसलाई के कुरा महत्त्वपूर्ण र मूल्यवान् छ भन्‍ने नै थाहा थिएन: “जन्मसिद्ध अधिकार कुन ठूलो कुरा हो र? मैले त्यो बेचे पनि केही फरक पर्नेछैन; म अझै जीवितै रहनेछु, होइन र?” उसले हृदयमा यही सोच्थ्यो। यो समस्यालाई हेर्ने उसको शैली यथार्थपरक देखिन पनि सक्ला, तर उसले जे गुमायो त्यो परमेश्‍वरको आशिष् थियो, र यसका परिणामहरू अकल्पनीय हुन्छन्। अहिले मण्डलीमा सत्यता नपछ्याउने धेरै मानिसहरू छन्। तिनीहरू परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरूलाई गम्भीरतापूर्वक लिँदैनन्। के यसको प्रकृति आफ्नो जन्मसिद्ध अधिकार गुमाउनुजस्तै छैन र? के यो अझै गम्भीर होइन र? मानिसहरूले परमेश्‍वरको मुक्ति पाउने अवसर एकचोटी मात्र आउँछ; त्यसैले, यदि कसैले यो अवसर गुमायो भने, कुरै सक्किन्छ। एउटा त्यस्तो व्यक्ति पनि थियो जो खोकीको एक बोत्तल औषधीको कारण हटाइयो, उसले उक्त चिज आफू नष्ट हुने परिणामसँग साट्यो; यो त बुझ्नै नसकिने कुरो हो! तर वास्तवमा त्यसमा बुझ्न नसकिने केही पनि छैन। म किन यसो भन्दै छु? यो घटना सानो कुराजस्तो देखिन सक्छ। यदि यस्तो घटना मानिसहरूमाझ घटेको भए, त्यति ठूलो कुरा मानिँदैनथ्यो। चोरी गर्ने वा अरूलाई चोट पुर्‍याउनेजस्तै अपराध गरेकोमा, तँ बढीमा मृत्युपछि दण्डित हुनेथिस् र पुनर्जन्मको थुप्रै चक्रमार्फत मानवको रूपमा तेरो पुनर्जन्म हुनेथ्यो। त्यसले खासै महत्त्व राख्नेथिएन। तर के अहिले मैले कुरा गरिरहेको परिस्थिति यतिकै सजिलो छ त? (छैन।) हामी किन यो सजिलो छैन भन्दै छौँ? यो परिस्थिति किन छलफल गर्न लायक छ? अब, हामी यो खोकीको औषधीको बोत्तलबाटै सुरु गरौँ। वास्तवमा, यो खोकीको औषधी ठूलो महत्त्वको चिज थिएन, तर त्यो परमेश्‍वरलाई चढाइसकेपछि, त्यसको सार बदलियो; त्यो भेटी बन्यो। कतिपय मानिसहरू भन्छन्, “भेटी पवित्र हुन्छ; भेटी मानिसहरूको सम्पत्ति होइन; मानिसले भेटी छुनु हुँदैन।” यसो भन्नु पनि सही हो। भेटी भनेको के हो? भेटी भनेको व्यक्तिले परमेश्‍वरलाई चढाउने कुरा हो; त्यो जे भए पनि, त्यस्ता सबै कुराहरूलाई भेटी भनिन्छ। त्यो परमेश्‍वरको स्वामित्वमा हुने भएकोले, त्यसउप्रान्त त्यसमाथि मानिसहरूको स्वामित्व हट्छ। परमेश्‍वरलाई जे चढाइएको हुन्छ—चाहे त्यो पैसा होस् वा भौतिक कुरा, अनि त्यसको मूल्य जे-जस्तो होस्—त्यो पूर्ण रूपमा परमेश्‍वरको स्वामित्वमा हुन्छ, र यो मानिसको हातमा हुँदैन, न त यो उसको प्रयोगको लागि नै हुन्छ। परमेश्‍वरका भेटीहरूको बारेमा कसरी अवधारणा प्रस्तुत गर्न सकिन्छ? ती परमेश्‍वरको स्वामित्वमा हुन्छन्, उहाँले मात्र तिनलाई व्यवस्थापन गर्न सक्नुहुन्छ, र उहाँको अनुमोदन प्राप्त नगरी, कसैले पनि ती कुराहरू छुन वा ती कुराहरूबारे युक्ति रच्‍न पाउँदैन। कतिपय यसो भन्ने मानिसहरू पनि छन्, “यदि परमेश्‍वरले कुनै कुरा प्रयोग गरिरहनुभएको छैन भने, हामीलाई किन त्यो उपयोग गर्न दिइँदैन? केही समयपछि यो त्यतिकै बिग्रियो भने, के त्यो लाजमर्दो कुरा हुनेछैन र?” हुँदैन, त्यतिकै बिग्रिन्छ भने पनि त्यस्तो हुँदैन; यो सिद्धान्त हो। भेटीहरू मानिसको होइन, परमेश्‍वरको स्वामित्वमा रहेका कुरा हुन्; ठूलो होस् वा सानो, र ती बहुमूल्य हुन् वा नहोऊन्, मानिसले ती परमेश्‍वरलाई चढाएपछि, परमेश्‍वरले ती चाहनुभए पनि नचाहनुभए पनि तिनको सार परिवर्तन भएको हुन्छ। जब कुनै वस्तु भेटी बन्छ, यो सृष्टिकर्ताको सम्पत्तिमा पर्छ र उहाँको हातमा हुन्छ। भेटीप्रति व्यक्तिले गर्ने व्यवहारमा के समावेश हुन्छ? यसमा परमेश्‍वरप्रतिको व्यक्तिको मनोवृत्ति समावेश हुन्छ। यदि परमेश्‍वरप्रतिको व्यक्तिको मनोवृत्ति अशिष्ट र हेला, र बेवास्ताले भरिएको छ भने, परमेश्‍वरको स्वामित्वमा रहेका सबै कुराप्रतिको उसको मनोवृत्ति पनि त्यस्तै हुन्छ। कतिपयले यसो पनि भन्छन्, “कतिपय भेटीलाई हेरचाह गर्ने कोही पनि हुँदैन। के ती जसकहाँ छ त्यसैको हुँदैनन् र? कसैलाई यसको बारेमा थाहा नभए पनि, ‘जसले भेट्छ त्यसको हुन्छ’; जसले यी कुराहरू हात पार्छ त्यो तिनीहरूकै हुन्छ।” तैँले त्यस्तो दृष्टिकोणको बारेमा के सोच्छस्? स्पष्टै छ, यो गलत छ। भेटीसम्‍बन्धी परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? परमेश्‍वरलाई जे चढाइएको भए पनि, र उहाँले यसलाई स्वीकार गर्नुभए पनि नगर्नुभए पनि, यसलाई भेटी भनेर चढाइसकेपछि, यसलाई भेटी बाहेकको अरू नै ठान्‍ने जोकोहीले “भयानक खतरा मोलिरहेको” हुन्छ। यसको अर्थ के हो? (यसको अर्थ परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्नु हो।) ठिक भनिस्। तिमीहरू सबैलाई यो अवधारणा थाहा छ, तर तिमीहरू किन यो मामलाको सार चिन्दैनौ? अनि, यस मामलाले मानिसहरूलाई के बताउँछ? यसले तिनीहरूलाई के बताउँछ भने, परमेश्‍वरको स्वभावले मानिसको कुनै पनि उल्‍लङ्घन सहँदैन, र तिनीहरूले उहाँका चिजहरूलाई खेलाउनु हुँदैन। उदाहरणको लागि, परमेश्‍वरको भेटीहरू—यदि कुनै व्यक्तिले यसलाई आफ्‍नै चीजजस्तो रूपमा लियो भने, वा यसलाई खेर फाल्‍ने र दुरुपयोग गर्‍यो भने, उसले परमेश्‍वरको स्वभाव चिढ्याउने र ऊ दण्डित हुने सम्भावना हुन्छ। परमेश्‍वरको क्रोधका आफ्‍नै सिद्धान्तहरू छन्; यो मानिसहरूले कल्‍पना गरेजस्तो छैन र गल्ती गर्ने जोकोहीलाई परमेश्‍वरले प्रहार गरिहाल्‍नुहुन्छ भन्‍ने हुँदैन। बरु, कसैले अति महत्त्वपूर्ण मामलाहरूमा परमेश्‍वरलाई चिढ्याउँदा परमेश्‍वर क्रोधित बन्नुहुन्छ। विशेषगरी परमेश्‍वरको देहधारण र परमेश्‍वरको भेटीलाई हेर्ने सम्बन्धमा, मानिसहरूले सजगता देखाउनैपर्छ र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुनैपर्छ; यसरी मात्र तिनीहरूले परमेश्‍वरको स्वभाव नचिढ्याउने निश्‍चित हुन्छ।

कतिपय मानिसहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा आस्था राख्छन् र आफूलाई समर्पित गर्न र मूल्य चुकाउन सक्षम हुन्छन्, र एउटाबाहेक सबै पक्षहरूमा राम्रो भूमिका निभाउँछन्। परमेश्‍वरको घरमा प्रचुर स्रोतसाधन देखेपछि र परमेश्‍वरका चुनिएका मानिसहरूले पैसा मात्र नभई खाना, कपडा, र विभिन्न औषधी, आदि इत्यादिसमेत चढाउँछन् भन्ने थाहा पाएपछि यस्ता व्यक्तिहरूले सोच्छन्, “परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरलाई कैयौँ कुराहरू चढाउँछन्, परमेश्‍वर एक्लैले यो सबै प्रयोग गर्न सक्नुहुन्न। केही कुराहरू सुसमाचार प्रचारको लागि आवश्यक परे पनि, त्यो सबै प्रयोगमा आउनेछैन। यी कुराहरूलाई कसरी सम्हाल्नुपर्ने हो? सायद अगुवा र सेवकहरूले त्यसलाई अलिअलि बाँडेर लिनुपर्ने हो कि?” ऊ यो मामलाबारे व्याकुल र बेचैन बन्छ, भित्री रूपमा “बोझ” महसुस गर्छ, र मनन गर्न थाल्छ, “अब त म यी कुराहरूको रेखदेखकर्ता भएकोले, मैले नै केही प्रयोग गर्नुपर्छ। नत्र संसार विलोप हुँदा, के यी सबै भेटीहरू खेर जानेछैन र? यी कुराहरू अगुवा र सेवकहरूलाई बाँड्नु नै जायज हुन्छ। परमेश्‍वरको घरमा सबै समान हुन्छन्; हामीले आफूलाई परमेश्‍वरप्रति समर्पित गरेकाले, परमेश्‍वरको सम्पत्ति हाम्रो पनि हो र हाम्रो सम्पत्ति परमेश्‍वरको हो। मैले परमेश्‍वरका केही भेटीहरू चलाउनु ठूलो कुरा होइन; जे भए पनि, यो परमेश्‍वरको आशिष्‌कै अंश हो। मैले केही प्रयोग गर्दा पनि हुन्छ।” यस्ता सोचहरू बोकेर ऊ प्रलोभित हुन्छ। उसका चाहनाहरू अलिअलि गर्दै बढ्छन् र ऊ भेटीप्रति लालायित हुँदै जान्छ, र हृदयमा कुनै ग्लानि महसुस नगरी सामानहरू लिन थाल्छ। उसले कसैले थाहा पाउनेछैन भन्ने सोच्छ, र यसो भन्दै आफूलाई ढाडस दिन्छ, “मैले परमेश्‍वरको लागि आफैलाई अर्पित गरेको छु; केही भेटी चलाउनु ठूलो कुरा होइन। परमेश्‍वरले थाहा पाउनुभए पनि उहाँले मलाई माफी दिनुहुनेछ। केही त म अहिल्यै चलाउनेछु।” फलस्वरूप, उसले भेटी चोर्न थाल्छ, र परमेश्‍वरको स्वभाव चिढ्याउँछ। देखिँदो रूपमै, उसले आफ्नै लागि धेरै बहानाहरू बनाउँछ, जस्तै “यी कुराहरू उपयोग गरिएन भने केही समयपछि बिग्रिनेछन्! परमेश्‍वर एक्लैले यी सबै उपयोग गर्न सक्नुहुन्न, र यदि सबैलाई बराबर हुने गरी बाँड्‍ने हो भने, धेरै मानिसहरू हुनेछन् र सबैलाई पुग्नेछैन। किन मैले नै यसको व्यवस्थापन नगर्ने? साथै, संसारको अन्त्य हुँदा, यो सबै पैसा खर्च हुन सकेन भने, के होला? हामी सबैले एकएक भाग लिनुपर्छ, यसले परमेश्‍वरको प्रेम र अनुग्रह पनि जनाउँछ! परमेश्‍वरले यो कुरा भन्नुभएको छैन र त्यस्तो कुनै सिद्धान्त छैन, तैपनि हामी किन आफै सक्रिय नहुने? यो सिद्धान्तअनुसार कार्य गर्नु हो!” उसले ठूलाठूला तर्कहरू सोच्छ र काम गर्न थाल्छ। तर उसले त्यो काम सुरु गर्नेबित्तिकै, परिस्थिति काबुबाहिर जान्छ, र उसले हृदयमा झन्झन् कम ग्लानि महसुस गर्छ। उसले यो न्यायोचित हो भन्ने अनुभूति गर्दै, यस्तो पनि सोच्न सक्छ, “यदि यो कुरा परमेश्‍वरलाई आवश्यक छैन भने, मैले उपयोग गर्नुपर्छ। यो वास्तविक समस्या होइन।” परिस्थितिहरू बिग्रिने नै यहीँबाट हो। तिमीहरूलाई के लाग्छ, के यो ठूलो कुरा हो, कि होइन? के यो गम्भीर कुरा हो? (हो।) हामी किन यो गम्भीर हो भन्छौँ? के यो विषय सङ्गति गर्न लायक छ? (छ।) के कुराले यो सङ्गति गर्न लायक छ? (यसमा परमेश्‍वरको स्वभाव संलग्‍न छ र यो मान्छेको अन्त्य र गन्तव्यसँग पनि सम्बन्धित छ।) यो विषय महत्त्वपूर्ण छ, यसको प्रकृति गम्भीर छ। अब मैले तिमीहरूलाई के कुराबारे सजग गराउनुपर्छ? भेटी लिने विचार कहिल्यै नराख्नू। कतिपय मानिसहरू भन्छन्, “यो ठिक होइन; दाजुभाइ-दिदीबहिनीहरूले चढाएको भेटी परमेश्‍वरको घरको लागि हो, मण्डलीको लागि हो। त्यसैले यो सबैको साझा सम्पत्ति हो।” के यो भनाइ सही हो? यस्तो भनाइ कसरी उत्पन्न हुन्छ? मान्छेको लोभबाट यस्तो सिद्धान्त जन्मन्छ। यो विषयमा अरू के पर्छ? हामीले अझै पनि कुरा नउठाएको एउटा कुरा छ—त्यो के हो? कतिपयले सोच्छन्, “परमेश्‍वरको घर एउटा ठूलो परिवार हो। असल परिवार हुनको लागि त्यसमा प्रेम र सहनशीलता हुनुपर्छ; सबैले खानेकुरा, पेयपदार्थ, र स्रोतसाधनहरू बाँडेर लिनुपर्छ, र यी सबै कुराहरू बराबर बाँडिनुपर्छ। उदाहरणको लागि, सबैसँग कपडा हुनुपर्छ, र यो सबैले बराबर बाँडेर उपभोग गर्नुपर्छ। परमेश्‍वरले नातावाद-कृपावाद देखाउनुहुन्न; यदि कसैसँग एक जोर मोजासमेत छैन र परमेश्‍वरसित अतिरिक्त केही जोर छन् भने, उहाँले उसलाई राहत दिलाउनुपर्छ। यसअलावा, परमेश्‍वरका ती भेटीहरू दाजुभाइ-दिदीबहिनीहरूबाट आउँछन्; परमेश्‍वरसँग त पहिले नै धेरै छ, के तीमध्ये केही गरिबलाई बाँडिदिनुपर्दैन र? के यसले परमेश्‍वरको प्रेम देखाउनेथिएन र?” के मानिसहरू यस्तो सोच्दैनन् र? के यी मानव धारणाहरू होइनन् र? मानिसहरूले जबरजस्ती परमेश्‍वरको सम्पत्तिमा दाबी गर्छन् र शब्द मिलाएर त्यसलाई परमेश्‍वरको अनुग्रह, परमेश्‍वरको आशिष् र परमेश्‍वरको महान् प्रेम भन्छन्। तिनीहरू सधैँ परमेश्‍वरसित सबथोक समान रूपमा विभाजन गर्न चाहन्छन्, सबथोक बराबर हुने गरी बाँड्न चाहन्छन्, र सधैँ समानतावाद अघि सार्छन्। तिनीहरू यो विश्‍वव्यापी एकता, मानव मेलमिलाप र परिपूर्ण अस्तित्वको प्रतीक हो भन्ने सोच्छन्, र यो प्रकटीकरण गरिनुपर्ने अवस्था हो भन्ठान्छन्। के यी मानव धारणाहरू होइनन् र? विशेषगरी परमेश्‍वरको घरमा तिनीहरू कोही पनि भोको नरहने अवस्था हुनुपर्छ भन्ने सोच्छन्। यदि कोही भोकाएको छ भने, परमेश्‍वरले उहाँका भेटीद्वारा राहत दिलाउनुपर्छ; परमेश्‍वरले उक्त मामला बेवास्ता नगर्ने गर्नुपर्छ। मानिसहरूले विश्‍वास गर्ने यो “पर्छ” भन्‍ने कुरा एकप्रकारको धारणा होइन र? के यो परमेश्‍वरमाथिको मानव माग होइन र? कतिपय मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेपछि यसो भन्छन्, “मैले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छु तर केही पाएको छैन; मेरो परिवार अझै गरिबीमा छ। यस्तो हुनु हुँदैन; परमेश्‍वरले मलाई दया देखाउनुपर्छ, आशिषित् तुल्याउनुपर्छ ताकि मैले अझ राम्ररी परमेश्‍वरको महिमा गाउन सकूँ।” तेरो परिवार गरिब भएकोले तँ सत्यता पछ्याउँदैनस्; तँ परमेश्‍वरमा विश्‍वास गरेर तेरो गरिब अवस्था बदल्ने आशा गर्छस्, र परमेश्‍वरको महिमा गाउनुलाई उहाँसँग मोलमोलाइ गर्ने बहानाको रूपमा प्रयोग गर्छस्। यी मानव धारणा र कल्पनाहरू हुन्; ती मान्छेका लालची चाहनाहरू हुन्। के यस्तो मनसायले परमेश्‍वरमा विश्‍वास गर्नु परमेश्‍वरसित मोलमोलाइ गर्नु होइन र? के परमेश्‍वरसित मोलमोलाइ गर्नेहरूमा विवेक र समझ हुन्छ? के तिनीहरू परमेश्‍वरप्रति समर्पित हुने मानिसहरू हुन्? बिलकुलै होइनन्। यी मानिसहरूमा विवेक र समझ हुँदैन, यिनीहरू सत्यता स्विकार्दैनन् र परमेश्‍वरद्वारा तिरस्कृत हुन्छन्, र यिनीहरू परमेश्‍वरको मुक्ति पाउन नसक्ने अनुचित मानिसहरू हुन्।

कतिपय मानिसहरू सोच्छन्, “मानिसहरूसँग परमेश्‍वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने र परमेश्‍वरको स्वभाव चिढ्याउने केही अनुचित सोच र व्यवहारहरू हुँदा, परमेश्‍वरले हस्तक्षेप गरेर तिनीहरूलाई रोक्नुपर्छ। यो परमेश्‍वरको मुक्ति हो, यो परमेश्‍वरको प्रेम हो।” के यो मानिसहरूको धारणा र कल्पना होइन र? के परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन यसरी काम गर्नुहुन्छ? परमेश्‍वरले त सत्यता व्यक्त गरेर मानिसहरूलाई मुक्ति दिनुहुन्छ। कसैले मुक्ति पाउन सक्नु नसक्नु उसले सत्यता स्विकार्न सक्छ सक्दैन भन्ने कुरामा भर पर्छ। यसबाहेक, परमेश्‍वरलाई अझ महत्त्वपूर्ण लाग्ने एउटा कुरा छ, त्यो मानिसहरूको विवेक र मानवता हो। यदि तेरो मानवताभित्र विवेक, निष्ठा र समझ छैन भने—अर्थात्, तँलाई केही आइपर्दा तेरो विवेक र चेतनाले सामान्य रूपमा काम गर्न सक्दैनन्, तेरा कार्यहरू काबु वा नियमन गर्न सक्दैनन्, र तेरा अभिप्राय र दृष्टिकोणहरू सच्याउन सक्दैनन् भने—परमेश्‍वरले निश्‍चय नै केही गर्नुहुनेछैन। परमेश्‍वरले तँलाई बदल्नको लागि, उहाँले पहिला तेरो विवेक र चेतनालाई काम गर्न दिनुहुन्छ। जब तेरो विवेकलाई ग्लानि महसुस हुन्छ, तब तैँले “म जे गरिरहेको छु, त्यो गलत हो; परमेश्‍वरले मलाई कसरी हेर्नुहुन्छ होला?” भनी मनन गर्नेछस् र यसले तँलाई थप खोज र सक्रिय र सकारात्मक प्रवेशतर्फ डोर्‍याउनेछ। तर यदि व्यक्तिले यो प्रारम्भिक चरणसमेत पार गर्दैन, उसमा विवेक छैन, र उसको हृदयमा आधारभूत रूपमा कुनै ग्लानि हुँदैन भने, उसलाई केही आइपरेको बेलामा परमेश्‍वरले के गर्नुहुनेछ? परमेश्‍वरले केही पनि गर्नुहुनेछैन। त्यसोभए, परमेश्‍वरले बोल्नुहुने यी सबै वचनहरू र मानिसहरूलाई सिकाउनुहुने सबै मापदण्ड र सत्यताहरू कुन जगमा आधारित हुन्छन्? ती कुराहरू मानिसहरूमा विवेक र चेतना हुन्छ भन्ने जगमा आधारित हुन्छन्। अघि भनिएको मान्छेको कुरा भन्नुपर्दा, यदि उसमा विवेक र निश्‍चित स्तरको चेतना हुन्थ्यो भने, उसले त्यो खोकीको औषधीको बोत्तल देखेपछि के कदम चालेको हुनेथ्यो? उसले कस्ता व्यवहारहरू देखाएको हुनेथ्यो? जब उसमा “यो परमेश्‍वरलाई दिइएको हुनाले यो निकै राम्रो हुनुपर्छ; परमेश्‍वरलाई पिउन दिनुको साटो मैले नै किन नपिउने?” भन्ने सोच पलायो, यदि उसमा विवेक भएको भए, उसले के गरेको हुनेथ्यो? के उसले बोत्तल खोलेर एक घुट्को पिएको हुनेथ्यो? (हुनेथेन।) यो पिएको “हुनेथेन” भन्‍ने कुरा के कारणले आउनेथ्यो? (विवेकको भावना भएको कारणले।) ऊ विवेकको नियन्त्रणमा रहन्थ्यो, र त्यसले उसलाई रोक्थ्यो र यस मामलामा कुनै कदम चालिएको हुनेथेन; उसले त्यो पहिलो घुट्को नै पिएको हुनेथेन। त्यो परिस्थितिको परिणाम पूरै उल्टिनेथ्यो, र अन्त्य पूर्ण रूपमा फरक हुनेथ्यो। तर यसको ठीक उल्टो रूपमा, उसमा विवेक वा चेतना छँदै थिएन—उसमा ती कुराहरू पटक्कै थिएनन्—फलस्वरूप के भयो? यस्ता सोचहरू आएपछि र उसको विवेकले कुनै संयम नदेखाएपछि, उसले बिनासङ्कोच बोत्तल खोल्यो र पहिलो घुट्को पियो। उसले पछि कुनै ग्लानि वा आत्मदोष महसुस नगरेको मात्र नभई वास्तवमा उसले त्यसको मजासमेत लियो। उसले आफू बचेँ भन्ने सोच्यो: “आहा, म कति चलाख छु, मैले मौकाको फाइदा उठाएँ। तिमीहरू सबै मूर्खहरू हौ; तिमीहरू यी कुरा बुझ्दैनौ। बैँसको जोसलाई अनुभवले जित्छ! तिमीहरू कसैमा पनि यो विचार आएन, तिमीहरूमध्ये कसैसित यसो गर्ने आँट थिएन, तर मसँग थियो। सबभन्दा नराम्रो के नै हुन सक्छ र? मैले पहिलो घुट्को पिइसकेको छु; कसले थाहा पाउँछ र?” उसले आफू सफल भएको महसुस गर्‍यो र भित्री रूपमा सन्तुष्ट भयो; उसले आफूलाई निगाह प्राप्त भइरहेको छ, र यो परमेश्‍वरको अनुग्रह हो भन्नेसमेत सोच्यो। उसले एकपटक यो गल्ती गरेपछि त्यो दोहोर्‍याइरह्यो, र त्यो नियन्त्रणभन्दा बाहिर गयो, र उसले पूरै बोत्तल रित्त्याउन्जेल त्यो जारी रह्यो। यो त्यो पूरै अवधिभर उसको विवेकले कुनै आत्मदोष वा ग्लानि महसुस गरेन। उसको विवेक र चेतनाले उसलाई कहिल्यै यसो भनेन, “यसमा तेरो स्वामित्व छैन; परमेश्‍वरले यो नपिउनुभए पनि, वा यसलाई फालिदिनुभए पनि, वा कुनै कुकुर वा बिरालोलाई दिनुभए पनि, परमेश्‍वरले यो तेरो लागि हो नभनुन्जेल तैँले यो चलाउनु हुँदैन; यो तैँले पिउनको लागि होइन।” उसको विवेकले उसलाई यो कुरा भनेन किनभने ऊसँग विवेक नै थिएन। अनि, विवेकबिनाको व्यक्ति के हो? त्यस्तो व्यक्तिलाई पशु भन्ने गरिन्छ। विवेकबिनाका मानिसहरू यसरी नै व्यवहार गर्छन्; तिनीहरू सुरुमा यस्तो सोच बनाउँछन्, र आफ्नो विवेकमा अलिकति पनि ग्लानि महसुस नगरी अन्त्यसम्‍मै यसो गर्न जारी राख्छन्। हुन सक्छ अब त यो व्यक्तिले धेरै पहिले नै यो घटना बिर्सिसकेको होला; वा, यदि उसमा राम्रो स्मृति छ भने, उसलाई अझै त्यो कुरा याद हुन सक्छ र त्यो समयमा उसले सही नै गरेको हो भन्ने लाग्न सक्छ। उसले यसो गर्नु गलत हो भन्ने कहिल्यै सोच्दैन, र उसले जे गर्‍यो त्यसको गम्भीरता र प्रकृति कहिल्यै थाहा पाउँदैन। उसले त्यो चिन्‍नै सक्दैन। के परमेश्‍वरले यस्ता मानिसहरूलाई गर्नुभएको वर्गीकरण सही हो? (हो।) जब परमेश्‍वरले यस्ता मानिसहरूको वर्गीकरण, खुलासा र निष्कासन गर्नुहुन्छ, र तिनीहरूलाई यस्तो परिणाम दिनुहुन्छ, उहाँले के सिद्धान्त र के आधारमा तिनीहरूलाई वर्गीकरण गर्नुहुन्छ? (तिनीहरूको प्रकृति सारको आधारमा।) के विवेक र चेतनाको भाव नभएको व्यक्तिमा सत्यता स्विकार्ने र अभ्यास गर्ने अवस्था हुन्छ? के उसमा यस्तो सार हुन्छ? (हुँदैन।) हामी किन हुँदैन भन्छौँ? जब तिनीहरू यो मामलाबारे आफ्ना विचारहरू व्यक्त गर्न सुरु गर्छन्, तिनीहरूको भित्री हृदयमा तिनीहरूको परमेश्‍वर कहाँ हुन्छ? तिनीहरूको हृदयभित्रको परमेश्‍वर को हो? उहाँ कहाँ उभिनुहुन्छ? के तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्छ? हामी निश्‍चयसाथ यो भन्न सक्छौँ कि यस्तो व्यक्तिको हृदयमा परमेश्‍वर हुनुहुन्‍न। अनि, व्यक्तिको हृदयमा परमेश्‍वर नहुनुको तात्पर्य के हो? (त्यसको तात्पर्य ऊ गैरविश्‍वासी हुनु हो।) ठिक भनिस्। ऊ परमेश्‍वरको सच्चा विश्‍वासी होइन; ऊ दाजुभाइ वा दिदीबहिनी होइन; ऊ केवल एक गैरविश्‍वासी हो। उसका कुन व्यवहारहरूले ऊ गैरविश्‍वासी हो भन्ने देखाउँछ? उसको हृदयमा परमेश्‍वर नहुनुभएकोले, उसले पूर्ण रूपमा उसको आफ्नै आवेगअनुसार, उसका आफ्नै धारणा, कल्पना र रुचिहरूको आधारमा, र विवेकबाट अप्रभावित रही कार्य गर्ने र बोल्ने गर्छ। जब उसले सत्यता बुझ्दैन, तब उसको विवेक चल्दैन; उसले विशुद्ध रूपमा उसको आफ्नै रुचिको आधारमा, उसको व्यक्तिगत लाभ र फाइदाको निम्ति मात्र कार्य गर्छ। के उसको हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ हुन्छ र? बिलकुलै हुँदैन। म किन त्यसो भन्छु? किनभने उसका कार्य र वचनहरूको उत्प्रेरणा, उत्पत्ति, दिशा र प्रकटीकरणहरूसमेत सबैको उद्देश्य उसका आफ्नै हितहरू पूरा गर्ने हुन्छ; उसले आफूलाई जे लाभदायक हुन्छ भन्ने लाग्छ त्यसैको आधारमा कार्य गर्ने र बोल्ने गर्छ। उसले विचार गर्ने सबथोक उसका आफ्नै हित र उद्देश्यप्रति लक्षित हुन्छ, र ऊ कुनै ग्लानि महसुस नगरी र आत्मसंयम नअपनाई अघि बढ्छ। यो व्यवहारको आधारमा भन्नुपर्दा, उसले परमेश्‍वरलाई के ठान्छ? (हावा।) ठ्याक्कै, भएकै कुरा भनिस्। यदि उसले परमेश्‍वर हुनुहुन्छ, परमेश्‍वरले मान्छेको हृदयको सूक्ष्म जाँच गर्नुहुन्छ, परमेश्‍वर मानिसहरूको छेउमै हुनुहुन्छ, तिनीहरूलाई निरन्तर जाँचिरहनुहुन्छ भन्ने महसुस गर्न सक्थ्यो भने, के उसका कार्यहरूमा संयमको कुनै कमी हुनेथ्यो? के उसले यस्तो लापरवाही साहस देखाउनेथ्यो? कदापि देखाउनेथिएन। यहाँनेर एउटा प्रश्‍न उठ्छ: के उसले विश्‍वास गर्ने परमेश्‍वर वास्तवमै हुनुहुन्छ? (हुनुहुन्न।) समस्याको सार नै त्यही हो। उसले विश्‍वास गर्ने परमेश्‍वर हुनुहुन्न; उसको परमेश्‍वर त हावा मात्र हो। त्यसकारण, उसले परमेश्‍वर जे-जस्तो हुनुहुन्छ भनेर मौखिक रूपमा दाबी गरे पनि, उसले परमेश्‍वरलाई जे-जसरी प्रार्थना गरे पनि, उसले जे-जति वर्ष विश्‍वास गरेको भए पनि वा उसले जे-जे गरेको वा जे-जे त्याग गरेको भए पनि, उसको बोली र व्यवहारको आधारमा, र परमेश्‍वरप्रतिको उसको मनोवृत्ति र परमेश्‍वरसित सम्बन्धित सबै कुराहरूप्रतिको उसको मनोवृत्तिको आधारमा, उसको प्रकृति पूर्ण रूपमा खुलासा भइहाल्छ। उसले परमेश्‍वरलाई हावाजस्तो ठान्छ; के यो परमेश्‍वरको ईशनिन्दा गर्नु होइन र? (हो।) यसलाई किन ईशनिन्दा मानिन्छ? उसले सोच्छ, “मानिसहरू परमेश्‍वरले मान्छेको हृदयको सूक्ष्म जाँच गर्नुहुन्छ भन्छन्—तर परमेश्‍वर कहाँ हुनुहुन्छ? मलाई किन यो कुरा महसुस नभएको? तिनीहरू भेटी चोरेमा परमेश्‍वरद्वारा दण्डित तुल्याइनेछ भनेर पनि भन्ने गर्छन्, तर मैले कसैले पनि भेटी चोरेकोमा प्रतिशोध भोगेको देखेको छैन।” उसले परमेश्‍वरको अस्तित्व अस्वीकार गर्छ; यो परमेश्‍वरको ईशनिन्दा गर्नु हो। उसले भन्छ, “परमेश्‍वर अस्तित्वमै हुनुहुन्न; उहाँ कसरी कुनै काम गरिरहनुभएको हुन सक्छ? उहाँ कसरी मानिसहरूलाई मुक्ति दिइरहनुभएको हुन सक्छ? उहाँले कसरी मानिसहरूलाई धिक्कार्नुभएको छ? उहाँले कहिले कसलाई दण्डित गर्नुभएको छ? मैले त्यस्तो भएको कहिल्यै देखेको छैन, त्यसैले परमेश्‍वरलाई चढाइएको जे पनि निःशुल्क प्रयोग गर्न मिल्छ। यदि आज मैले त्यो कुरा भेटेँ भने, त्यो मेरै हो—म त्यसलाई मप्रति निगाह देखाउने परमेश्‍वरको शैली ठान्नेछु। जसले त्यो देख्छ वा भेट्छ, त्यो उसैको हो; उसैलाई परमेश्‍वरले निगाह देखाउनुभएको हो।” यो कस्तो तर्क हो? यो शैतानको अर्थात् लुटेराहरूको तर्क हो; यो त व्यक्तिको दियाबलस प्रकृति प्रकट भएको हो। के यस्तो व्यक्तिमा सच्चा आस्था हुन्छ र? (हुँदैन।) अत्यन्तै धेरै प्रवचनहरू सुनेपछि, उसले दियाबलसका शब्दहरूको ठूलो बाढी नै ओकल्छ; के सत्यतामा उसको कुनै जग हुन्छ र? (हुँदैन।) त्यसोभए उसले ती सबै प्रवचनहरू सुनेर के हासिल गर्‍यो त? उसले परमेश्‍वरका वचनहरू स्विकारेको छैन, ऊ परमेश्‍वरका वचनहरूलाई सत्यता मान्दैन, र परमेश्‍वरलाई परमेश्‍वरको रूपमा हेर्दैन। भएको यति नै हो।

कतिपय मानिसहरू परमेश्‍वर हुनुहुन्छ भनेर हृदयदेखि नै वास्तवमै विश्‍वास गर्छन् र परमेश्‍वरको देहधारणबारे अलिकति पनि शङ्का गर्दैनन्। तर तिनीहरूले उहाँलाई धेरै वर्ष पछ्याएका, केही कठिनाइहरू भोगेका र केही मूल्य चुकाएका भए पनि, तिनीहरूसित हृदयको गहिराइमा परमेश्‍वरबारे अलिकति पनि बुझाइ हुँदैन। वास्तवमा, तिनीहरूले विश्‍वास गर्ने भनेको अस्पष्ट परमेश्‍वरमा, अर्थात् कल्पना गरिएको परमेश्‍वरमा हो; तिनीहरू परमेश्‍वरलाई हावाको रूपमा मात्र परिभाषित गर्छन्। परमेश्‍वरले यी मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ? उहाँले तिनीहरूलाई सीधै बेवास्ता गर्नुहुन्छ। कतिपय मानिसहरू सोध्छन्: “यदि परमेश्‍वरले तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ भने, तिनीहरू किन परमेश्‍वरको घरमै रहन्छन्?” तिनीहरू सेवा प्रदान गरिरहेका हुन्छन्। सेवा प्रदान गर्नुलाई कसरी बुझ्नुपर्छ? जसले सेवा प्रदान गर्छ उसमा सत्यताप्रति चासो हुँदैन, वा अझ भन्नुपर्दा, उसमा यति कम क्षमता हुन्छ कि ऊ सत्यतासम्म पुग्नै सक्दैन। उसले परमेश्‍वर र सत्यतालाई खोक्रो र अस्पष्ट चिजको रूपमा लिन्छ, तर आशिष् पाउनको निम्ति बदलामा उसले केही प्रयत्न खर्चनमा मात्र भर पर्न सक्छ। बाहिरी रूपमा उसले सोझै परमेश्‍वरलाई प्रतिरोध गर्ने, सराप्ने र विरोध गर्ने नगरे पनि, उसको सार शैतानी प्रकारको छ—त्यो परमेश्‍वरलाई नकार्ने र प्रतिरोध गर्ने खालको छ। सत्यतालाई प्रेम नगर्ने कसैको पनि काम छैन, परमेश्‍वरले यस्ता मानिसहरूलाई मुक्ति नदिने भनी आफ्नो हृदयमा तय गर्नुभएको छ। परमेश्‍वरले जसलाई मुक्ति नदिने आशय राख्नुहुन्छ, के उहाँ अझै पनि तिनीहरूसित गम्भीर बन्नुहुन्छ र? के परमेश्‍वरले तिनीहरूलाई, “तँ सत्यताको यो पक्ष बुझ्दैनस्, तैँले ध्यानपूर्वक सुन्नुपर्छ; तँ सत्यताको त्यो पक्ष बुझ्दैनस्, तैँले थप मेहनत गर्दै त्यसलाई मनन गर्नुपर्छ” भनेर भन्नुहुन्छ र? अझ भन्‍ने हो भने, परमेश्‍वरलाई थाहा छ, यी मानिसहरू सत्यता बुझ्दैनन् र परमेश्‍वरलाई परमेश्‍वरको रूपमा लिँदैनन्। के परमेश्‍वरले तिनीहरूलाई केही आश्‍चर्यकर्म र अचम्मका कार्यहरू देखाएर उहाँको अस्तित्वबारे सचेत पार्नुपर्छ, कि थप अन्तर्दृष्टि र ज्योति दिनुपर्छ ताकि तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भनी थाहा पाऊन्? के परमेश्‍वरले यस्तो व्यवहार गर्नुहुन्छ? (गर्नुहुन्न।) यी काम गर्नलाई परमेश्‍वरसित सिद्धान्तहरू छन्; उहाँले जोकोहीप्रति यस्तो व्यवहार गर्नुहुन्न। सत्यता स्विकार्न सक्नेहरूको लागि परमेश्‍वर सधैँ काम गरिरहनुभएको हुन्छ। अनि, सत्यता स्विकार्न नसक्ने वा सत्यतासम्म पुग्न असक्षमहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? (उहाँले तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ।) मानिसहरूका धारणाअनुसार, यदि परमेश्‍वरले कसैलाई बेवास्ता गर्नुभयो भने, त्यो व्यक्ति मगन्तेझैँ डुलिहिँड्छ। न त उसले सत्यता पछ्याएको न त ऊमाथि परमेश्‍वरको काम भएको नै देख्न सकिन्छ; ऊ सेवा मात्र प्रदान गरिरहेको हुन्छ र उसले सत्यता बुझ्दैन। के यतिमात्र हो त? खासमा, यी मानिसहरूले पनि परमेश्‍वरका केही अनुग्रह र आशिष् पाउन सक्छन्। जब तिनीहरूले आफूलाई खतरनाक परिस्थितिमा पाउँछन्, परमेश्‍वरले तिनीहरूलाई पनि सुरक्षित राख्नुहुनेछ। तिनीहरू गम्भीर रूपले बिरामी हुँदा परमेश्‍वरले तिनीहरूलाई पनि निको पार्नुहुनेछ। उहाँले तिनीहरूलाई केही विशेष प्रतिभाहरू दिन पनि सक्नुहुन्छ, वा केही विशेष परिस्थितिमा, परमेश्‍वरले तिनीहरूमाथि केही आश्‍चर्यजनक कामहरू गर्न वा केही विशेष काम पनि गर्न सक्नुहुन्छ। यसको मतलब, यदि यी मानिसहरू परमेश्‍वरप्रति साँच्चिकै समर्पित हुन र बाधा नदिई राम्ररी सेवा प्रदान गर्न सक्छन् भने, परमेश्‍वरले तिनीहरूविरुद्ध विभेद गर्नुहुन्न। यस मामलाबारे मानिसहरूसँग कस्ता धारणाहरू हुन्छन्? “परमेश्‍वरले यी मानिसहरूलाई मुक्ति दिनुहुनेछैन, उहाँले तिनीहरूलाई मनलागी तरिकाले प्रयोग गर्नुहुन्छ र पछि त्याग्नुहुन्छ।” के परमेश्‍वर यसरी काम गर्नुहुन्छ? यसरी गर्नुहुन्‍न। परमेश्‍वर को हुनुहुन्छ भन्ने कुरा नबिर्सी; उहाँ सृष्टिकर्ता हुनुहुन्छ। सम्पूर्ण मानवजाति, चाहे तिनीहरू विश्‍वासी वा अविश्‍वासी भए पनि, चाहे जुनसुकै सम्प्रदाय वा जातका भए पनि, परमेश्‍वरको नजरमा तिनीहरू सबै उहाँका सृष्टि गरिएका प्राणीहरू हुन्। त्यसैले त प्रभु येशूले भन्नुभयो, “किनकि उहाँले दुष्ट र असल दुवैमाथि उहाँको घाम लगाउनुहुन्छ।” यो भनाइ परमेश्‍वर—सृष्टिकर्ताले—कार्य गर्ने एउटा सिद्धान्त हो। परमेश्‍वरले अन्त्यमा कसैलाई उसको सारको आधारमा जे-जस्तो परिणाम दिनुभए पनि, वा परमेश्‍वरले त्यो परिणाम दिनुपहिले उसलाई मुक्ति दिनुभए पनि नभए पनि, उसको सार जे-जस्तो भए पनि, उसले परमेश्‍वरको घरमा र परमेश्‍वरको कामको लागि केही कामहरू गर्न र केही सेवा प्रदान गर्न सकुन्जेल परमेश्‍वरको अनुग्रह बदलिँदैन; उहाँले उसलाई अझै पनि उहाँका सिद्धान्तअनुसार पक्षपातरहित व्यवहार गर्नुहुनेछ। यो परमेश्‍वरको प्रेम, उहाँका कार्यहरूको सिद्धान्त र उहाँको स्वभाव हो। तथापि, यी मानिसहरूको सारअनुसार, परमेश्‍वरप्रति तिनीहरूको दृष्टिकोण र मनोवृत्ति सधैँ यस्तो हुन्छ कि तिनीहरू सधैँ उहाँलाई अस्पष्ट र धमिलो ठान्छन्, यस्तो लाग्छ मानौँ उहाँ हुनुहुन्छ र तैपनि हुनुहुन्न। तिनीहरू न त परमेश्‍वरको वास्तविक अस्तित्व चिन्न सक्छन् न त त्यसको अनुभव नै गर्न सक्छन्, र अन्त्यमा तिनीहरू परमेश्‍वरको साँचो अस्तित्वबारे अझै पनि निश्‍चित हुँदैनन्। त्यसैले, परमेश्‍वरले तिनीहरूको लागि गर्न सक्‍नुहुने भनेकै सम्भव भएसम्म धेरै हित र धार्मिकता दिलाउने, केही अनुग्रह, र यो जीवनमा केही आशिष् र सुरक्षा दिने, परमेश्‍वरको घरको न्यानोपन महसुस गराउने र परमेश्‍वरको अनुग्रह, कृपा, र प्रेमिलोदयालुपन भोग गर्न दिने मात्र हो। त्यति नै हो—तिनीहरूले यो जीवनकालमा प्राप्त गर्ने आशिष्‌हरू त्यति नै हुन्। कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वर अत्यन्तै सहनशील हुनुहुन्छ र तिनीहरूले पनि परमेश्‍वरको अनुग्रह र आशिष् भोग गर्छन्, त्यसैले के त्यसलाई एक कदम अगाडि बढाएर तिनीहरूलाई परमेश्‍वरको मुक्ति पनि प्राप्त गर्न दिनु राम्रो हुन्थेन र?” त्यो एउटा मानव धारणा हो, परमेश्‍वरले त्यसरी काम गर्नुहुन्न। किन गर्नुहुन्न? के तैँले जसको हृदयमा परमेश्‍वरको लागि कुनै ठाँवै छैन त्यसको हृदयमा उहाँलाई राख्न सक्छस्? सक्दैनस्। तैँले तिनीहरूको लागि जति धेरै सत्यता सङ्गति गरे पनि वा जति धेरै वचनहरू बोले पनि, त्यसले अर्थ राख्नेछैन; त्यसले परमेश्‍वरबारेका तिनीहरूका धारणा र कल्पनाहरू बदल्नेछैन। त्यसकारण, परमेश्‍वरले यस्तो व्यक्तिको लागि गर्न सक्ने भनेकै केही अनुग्रह, आशिष्, हेरचाह र सुरक्षा प्रदान गर्ने मात्र हो। कतिपय यसो भन्नेहरू पनि छन्: “तिनीहरू परमेश्‍वरको अनुग्रह पाउन सक्ने भएकाले, यदि परमेश्‍वरले तिनीहरूलाई थप अन्तर्दृष्टि र ज्योति दिनुहुन्थ्यो भने, के त्यसपछि तिनीहरूले परमेश्‍वरको साँचो अस्तित्व चिन्‍नेथिएनन् र?” के यस्ता मानिसहरूले सत्यता बुझ्न सक्छन्? के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) यदि तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन् भने, यसले तिनीहरूलाई मुक्ति पाउन नसक्नेहरूको रूपमा निश्‍चित गराउँछ। त्यसैले, परमेश्‍वर अर्थहीन वा बेकारको काममा संलग्न हुनुहुनेछैन। कतिपय मानिसहरू भन्छन्: “त्यो ठिक होइन। कहिलेकाहीँ तिनीहरूले पनि ताडना भोग्छन् वा परमेश्‍वरबाट केही अन्तर्दृष्टि पाउँछन् र उहाँबाट केही सत्यता प्राप्त गर्छन्।” फेरि पनि यो परमेश्‍वरको कामसँगै जोडिन्छ। परमेश्‍वरले जसलाई मुक्ति दिन चाहनुहुन्छ, तिनीहरूले मुक्ति पाउनको निम्ति र उहाँको मुक्तिको पात्र हुनको निम्ति, तिनीहरूसित के हुनुपर्छ? मानिसहरूले यो कुरा बुझ्नुपर्छ। परमेश्‍वरलाई पनि यो कुरा थाहा छ; उहाँले जो पायो उसैलाई मुक्ति दिनुहुन्न। परमेश्‍वरले मानिसहरूलाई उहाँलाई स्विकार्ने तुल्याउनको लागि केही आश्‍चर्यकर्म, अचम्‍मका काम र सर्वशक्तिमान्‌ता देखाउनुभए पनि, के यी मानिसहरूले यसरी मुक्ति पाउन सक्छन् र? यो त्यसरी हुने कुरो होइन। मानिसहरूलाई मुक्ति दिनको लागि परमेश्‍वरका मानकहरू छन्; यसको लागि, व्यक्तिमा साँचो आस्था हुनैपर्छ र उसले सत्यतालाई पनि प्रेम गर्नैपर्छ। तसर्थ, न्याय, सजाय, परीक्षा र शोधनसम्बन्धी परमेश्‍वरले मानिसहरूमाथि गर्नुहुने कामका पनि मानकहरू छन्। कतिपय मानिसहरू भन्छन्: “हामी प्राय: न्याय र सजाय सामना गर्छौँ। के न्याय र सजाय, परीक्षा र शोधन सामना गर्नु भनेको हामीले परमेश्‍वरको मुक्ति पाउनेछौँ भन्ने सङ्केत हो?” के त्यस्तो हो र? (होइन।) होइन भनेर तँ कसरी ढुक्क हुन सक्छस्? कतिपय मानिसहरूमा परमेश्‍वरको मुक्ति पाउने सर्तहरू नै पुग्दैन, के परमेश्‍वरले तिनीहरूमाथि अझै न्याय, सजाय, परीक्षा र शोधन लागू गर्नुहुन्छ? यसले परमेश्‍वरले उहाँको न्याय, सजाय, परीक्षा र शोधन कोमाथि लागू गर्नुहुन्छ भन्नेबारे प्रश्‍न उठाउँछ; यसमा मानिसहरूका गलतबुझाइहरू पनि पर्छन्। ल भन् त, के परमेश्‍वर को हुनुहुन्छ, कहाँ हुनुहुन्छ, वा परमेश्‍वर अस्तित्वमा समेत हुनुहुन्छ कि हुन्न भन्नेसमेत थाहा नभएको व्यक्तिले परमेश्‍वरको न्याय र सजाय पाउन सक्छ? के परमेश्‍वरलाई वायु मात्र ठान्ने व्यक्तिले परमेश्‍वरको न्याय र सजाय पाउन सक्छ? के हृदयमा परमेश्‍वर हुँदै नभएको व्यक्तिले परमेश्‍वरको परीक्षा र शोधन पाउन सक्छ? पक्कै पनि सक्दैन। त्यसोभए, यस्ता मानिसहरूले बेलाबेलामा के सामना गर्लान्? (ताडना) ठिक भनिस्, ताडना। जो मानिसहरू परमेश्‍वरलाई हावा मात्र ठान्छन्, जो आधारभूत रूपमा परमेश्‍वरको अस्तित्व पहिचान गर्दैनन् वा त्यसमा विश्‍वास गर्दैनन्, तिनीहरूले परमेश्‍वरको न्याय र सजाय वा उहाँको परीक्षा र शोधन पक्कै पाउनेछैनन्। के भन्न सकिन्छ भने, त्यस्तो सार र व्यवहार भएका मानिसहरू परमेश्‍वरको मुक्तिका पात्र होइनन्। तिनीहरूले परमेश्‍वरको मुक्ति पाउन सक्दैनन्, तर परमेश्‍वरले तिनीहरूलाई मुक्ति नदिनुहुनेचाहिँ होइन—त्यो कुरा तिनीहरूको सत्यताप्रति दिक्क र घिन मान्ने प्रकृति सारले निर्धारण गर्छ। तिनीहरूमा सत्यतालाई प्रेम गर्ने र स्विकार्ने सही मनोवृत्ति हुँदैन, र यसरी तिनीहरूले मुक्ति पाउने सर्तहरू पूरा गर्दैनन्। त्यसोभए तिनीहरूले आशिष्‌ पाउने आशामा परमेश्‍वरको घरमा घुसपैठ गर्दा परमेश्‍वरले तिनीहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वरले केही आशिष् र अनुग्रह अनि हेरचाह र सुरक्षा प्रदान गर्नेबाहेक, सृष्टिकर्ताको रूपमा उहाँको भूमिका पूरा गर्न, के-कस्ता विधिहरू प्रयोग गर्नुहुन्छ? परमेश्‍वरले उहाँका वचनहरूमार्फत ताकिता, चेतावनी र अर्तीहरू जारी गर्नुहुन्छ। त्यसपछि उहाँले तिनीहरूलाई निराकरण र काटछाँट गर्ने, धिक्कार्ने र अनुशासनमा राख्ने गर्नुहुन्छ; परमेश्‍वरले तिनीहरूमाथि गर्ने काम यहीँ टुङ्गिन्छ, त्यो सबै यही दायराभित्र मात्र हुन्छ। परमेश्‍वरका यी कार्यहरूको मानिसहरूमा कस्तो असर हुन्छ? यसले तिनीहरूलाई कर्तव्यनिष्ठ भएर बन्देजहरू पालना गर्न, र परमेश्‍वरको घरमा सेवा गर्दा, बाधा नपुर्‍याई वा दुष्ट्याइँ नगरी, शालीन व्यवहार गर्न मदत गर्छ। परमेश्‍वरले जे गर्नुहुन्छ के त्यसले यस्ता मानिसहरूलाई बफादारीपूर्वक कर्तव्य पूरा गर्ने तुल्याउन सक्छ? (सक्दैन।) किन सक्दैन? के तिनीहरूले प्राप्त गर्ने अनुग्रह, आशिष्, हेरचाह र सुरक्षा—साथै परमेश्‍वरका वचनहरूको ताकिता, निराकरण र काटछाँट, ताडना र अनुशासन, आदि—कुराहरूले तिनीहरूको स्वभावमा बदलाव ल्याउन सक्छ? (सक्दैन।) ती कुराहरूले तिनीहरूको स्वभावमा बदलाव ल्याउन सक्दैनन् भने, तिनीहरूमाथि परमेश्‍वरको कामले के प्रभाव हासिल गर्छ? त्यसले तिनीहरूलाई आफ्नो व्यवहारमा अलि संयमित पार्छ, नियमहरू पालना गर्न मद्दत गर्छ, र तिनीहरूमा केही मानव झल्को थप्छ। साथै, त्यसले तिनीहरूलाई तुलनात्मक रूपमा अलि आज्ञाकारी बनाउँछ; अनि, तिनीहरूले आनाकानी गर्दै भए नि परमेश्‍वरको अनुग्रह र आशिष्‌को निम्ति निराकरण र काटछाँट भोग्न मान्‍छन्, र परमेश्‍वरको घरका नियम र प्रशासनिक आदेशहरूअनुसार काम गर्न सक्छन्, कुरो त्यति हो। के यो सबै हासिल गर्नुको अर्थ तिनीहरू सत्यता अभ्यास गरिरहेका छन् भन्ने हुन्छ? तिनीहरू अझै त्यहाँसम्म पुग्दैनन्, किनभने तिनीहरू जे गर्छन्, आधारभूत रूपमा परमेश्‍वरको घरका प्रशासनिक आदेशका सिद्धान्तहरू र केही अचल दिशानिर्देशअनुसार मात्र गर्छन्। यो व्यवहारमा आउने परिवर्तनभन्दा बढी केही होइन। त्यसैले, के यी मानिसहरूले आफ्नो व्यवहार परिवर्तन गरेकाले, तिनीहरूलाई आफ्नो स्वभाव पनि परिवर्तन गर्न दिनु झनै उत्तम हुनेछ भनेर भन्न मिल्छ? (तिनीहरू त्यसो गर्न सक्षम हुँदैनन्।) तिनीहरू त्यसो गर्न सक्षम हुँदैनन् र यो कुरा हासिल गर्न सक्दैनन्—एउटा कारण यही हो। अनि मुख्य कारणचाहिँ के हो त? त्यो के हो भने, आधारभूत रूपमा तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्न; तिनीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्। त्यसैले, के यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्? तिनीहरूमध्ये केहीले सक्छन्, र यसो भन्छन्, “परमेश्‍वरका वचनहरू राम्रा हुन्छन्, तर दुर्भाग्यवश म ती अभ्यास गर्न सक्दिनँ। ती वचनहरू अभ्यास गर्नु मुटुको शल्याक्रिया गर्नुभन्दा बढी पीडादायी छ।” जब तिनीहरूका हितहरूमा असर पुग्‍ने गरी सम्झौता गरिन्छ, वा जब तिनीहरूले आफ्नो इच्छाविपरीत काम गर्नुपर्ने हुन्छ, तब तिनीहरूले पूरै अलमलिएको महसुस गर्छन् र काम जारी राख्न सक्दैनन्। तिनीहरूले पूर्ण रूपमा मरिमेटे पनि परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्दै सक्दैनन्। साथै, तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी मान्‍न वा स्विकार्न कहिल्यै सक्दैनन्। तिनीहरू यो कुरा ग्रहण गर्नै सक्दैनन्; तिनीहरू किन परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्ने कुरै बुझ्दैनन्। उदाहरणको लागि, जब परमेश्‍वरले मानिसहरूलाई इमानदार होओ भन्नुहुन्छ, तब तिनीहरू भन्छन्, “ठिक छ, यदि तपाईं त्यसो भन्नुहुन्छ भने म इमानदार हुनेछु, तर इमानदार व्यक्ति हुनुलाई किन सत्यता मानिन्छ?” तिनीहरू त्यो जान्दैनन् र स्विकार्न सक्दैनन्। परमेश्‍वरले मानिसहरूले उहाँको आज्ञापालन गर्नुपर्छ भनेर भन्नुहुँदा, तिनीहरू प्रश्‍न गर्छन्, “के परमेश्‍वरको आज्ञापालन गरेर पैसा कमाइन्छ? के परमेश्‍वरको आज्ञापालन गर्दा उहाँले आशिष् दिनुहुन्छ? के त्यसले व्यक्तिको गन्तव्य बदल्न सक्छ?” तिनीहरू परमेश्‍वरले गर्नुहुने र भन्‍नुहुने कुनै पनि कुरा सत्यता हो भन्ने सोच्दैनन्। मान्छेको लागि परमेश्‍वरका वचन र मापदण्डहरूको महत्त्व के हो भन्ने तिनीहरूलाई थाहै छैन र तिनीहरू कस्ता कार्यहरू सही र सत्यता सिद्धान्तबमोजिम हुन्छन् भनी खुट्ट्याउनै सक्दैनन्। परमेश्‍वरबाट आउने सबथोक—परमेश्‍वरको पहिचान, सार, वचन, र मापदण्ड—तिनीहरूको दृष्टिकोणमा यी सबै कुराहरूलाई परमेश्‍वरको सम्पत्ति र सारतत्वको रूपमा लिन मिल्दैन। तिनीहरूलाई परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ भन्ने थाहै छैन; तिनीहरू सृष्टिकर्ता के हो, वा परमेश्‍वर के हो भनी बुझ्दैनन्। के यो समस्याजनक कुरो होइन र? तर केही मानिसहरू ठ्याक्कै यस्तै व्यवहार गर्छन्। अरूहरू भन्छन्: “यो ठिक हुन सक्दैन। यदि तिनीहरूसँग यी सोच र दृष्टिकोणहरू छन् भने, तिनीहरू कसरी परमेश्‍वरको घरमा स्वेच्छाले कर्तव्य निभाउन सक्छन्?” यसमा “स्वेच्छाले” भन्ने शब्दलाई उद्धरण चिह्नभित्र राख्नुपर्छ। यसलाई कसरी व्याख्या गर्नुपर्छ? एक अर्थमा, तिनीहरू परिस्थितिले बाध्य पारेकोले वा आशिष्‌ आवश्यक परेकोले कर्तव्य निभाउँछन्; अर्को अर्थमा, तिनीहरू अहिलेको लागि मन नलागीनलागी भए पनि त्यहीअनुसार चल्नुको विकल्प नरहेको महसुस गर्छन्, र यसरी केही कर्तव्यहरू निभाउँछन् र थोरै प्रयत्न लगाउँछन्। हृदयमा तिनीहरू आफूले गर्नुपर्ने यही हो भन्ने विश्‍वास गर्छन्, तर तिनीहरूलाई सत्यतामा रुचि नभएकोले, तिनीहरू आशिष्‌को बदलामा मात्र प्रयत्न लगाउन र कर्तव्य निभाउन सक्छन्। यस्तो मानसिकताद्वारा के तिनीहरूले सत्यता स्विकार्न सक्छन् त? (सक्दैनन्।) तिनीहरू सत्यता के हो भन्नेसमेत बुझ्दैनन् भने, त्यसलाई कसरी स्विकार्न सक्छन् र?

आखिरी दिनहरूको परमेश्‍वरको न्यायको काम यो युग अन्त्य गर्नको लागि हो। कुनै व्यक्तिले मुक्ति पाउन सक्छ सक्दैन भन्‍ने कुरा मुख्यगरी उसले परमेश्‍वरको न्याय र सजाय स्विकार्न सक्छ सक्दैन, र उसले सत्यता स्विकार्न सक्छ सक्दैन भन्नेमा भर पर्छ। कतिपय मानिसहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी मान्छन्, तर सत्यता स्विकार्दैनन्। तिनीहरूको लागि सत्यता स्विकार्नु भनेको मुटु प्रत्यारोपण गराउनुजतिकै हो; तिनीहरूलाई यो त्यति नै पीडादायी लाग्छ। यस्तो व्यक्तिले सत्यतालाई यसरी हेर्ने र कसैगरी सत्यता स्विकार्न नमान्ने हुनाले, उसले मुक्ति नपाउनुमा परमेश्‍वर दोषी हुनुहुन्न—सत्यता नस्विकारेकोमा उसैलाई मात्र दोष दिन मिल्छ; उसमा यो आशिष् नै हुँदैन। परमेश्‍वरले मानिसहरूलाई शैतानको प्रभावबाट बचाउनु मानिसहरूले कल्पना गरेजस्तो सजिलो छैन। एकातिर, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरका वचनमार्फत ताडना, काटछाँट, र निराकरण भोग्न स्विकार्नैपर्छ; यो एउटा चरण हो। अर्कोतिर, तिनीहरूले परमेश्‍वरको न्याय र सजाय, परीक्षा र शोधन पनि स्विकार्नैपर्छ। न्याय र सजाय एउटा चरण हुन्। परीक्षा र शोधन अर्को चरण हुन्। कतिपय मानिसहरू आनाकानी गर्दै भए पनि काटछाँट र निराकरण स्विकार्न सक्छन्, र आफू समर्पित भएको छु भन्ने सोच्छन्, र त्यसपछि थप प्रगति गर्दैनन् र सत्यताप्रति प्रयत्न गर्न छोड्छन्। अरू मानिसहरू भने सत्यतालाई अत्यन्तै प्रेम गर्छन् र सत्यता प्राप्त गर्नको लागि जस्तोसुकै पीडा सहन सक्छन्। तिनीहरूले परमेश्‍वरका वचनका ताडना र सच्याइ सहन मात्र नभई, परमेश्‍वरको न्याय र सजाय स्विकार्ने चरण प्रवेश गर्न पनि सक्छन्। तिनीहरू परमेश्‍वरको न्याय र सजाय स्विकार्नु भनेको परमेश्‍वरको उचाल्‍नुभएको हो, र यो परमेश्‍वरको प्रेम र एउटा गौरवशाली कुरा हो भन्ने अनुभूति गर्छन्; तिनीहरू दुःखदेखि डराउँदैनन्। यी मानिसहरू न्याय र सजाय अनुभव गरेपछि परीक्षा र शोधन स्विकार्न पनि र अझै सत्यता पछ्याउन पनि सक्छन्। परीक्षा र शोधन जति नै ठूला भए पनि, तिनीहरू अझै पनि परमेश्‍वरको प्रेम देख्न सक्छन् र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन आफूलाई चढाउन सक्छन्। तिनीहरूले जति नै काटछाँट र निराकरण भोगे पनि तिनीहरू त्यसलाई कठिनाइको रूपमा लिँदैनन्; बरु, तिनीहरू यो परमेश्‍वरको झनै ठूलो प्रेम भएको अनुभूति गर्छन्। धेरै परीक्षा र शोधन अनुभव गरेपछि, तिनीहरूले अन्त्यमा पूर्ण शुद्धीकरण र सिद्धता हासिल गर्छन्। यो परमेश्‍वरको काम सबभन्दा उच्च चरणसम्म अनुभव गर्नु हो। ल अब भन् त, के परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरका वचनमार्फत उहाँको ताडना र सच्याइको एउटा चरण मात्र अनुभव गर्ने मानिसहरू र दुइटा चरणहरू, अर्थात् परमेश्‍वरको न्याय र सजायका साथै परीक्षा र शोधन अनुभव गर्ने मानिसहरूबीच कुनै भिन्नता छ? निश्‍चय नै भिन्नता छ। कतिपय मानिसहरूको हकमा, परमेश्‍वर तिनीहरूलाई ताडना दिने र सच्याउने काम गरेपछि रोकिनुहुन्छ, र बाँकी कुरा तिनीहरूकै रोजाइ र चेतनामा छोडिदिनुहुन्छ। यदि तिनीहरूले सत्यता स्विकार्दैनन् र सही मार्ग रोज्दैनन् भने, यसले के सङ्केत गर्छ? यो भन्न सकिन्छ कि परमेश्‍वरसित यस्ता मानिसहरूलाई मुक्ति दिने उपाय नै छैन। कतिपय मानिसहरू प्राय कामसम्बन्धी दुःख, सम्भाव्यताहरूसम्बन्धी दुःख, घरसम्बन्धी दुःख, जाहानसम्बन्धी दुःख, स्नेहसम्बन्धी दुःखबारे कुरा गरिरहन्छन्—तिनीहरूको लागि सबथोक दुःखको कुरा हुन्छ, अनि अन्तिम परिणाम के हुन्छ? (यो सत्यतासँग असम्बन्धित हुन्छ।) ठिक भनिस्, यो सत्यतासँग र परमेश्‍वरको कामसँग असम्बन्धित हुन्छ। यो मामलामा तैँले बिनाउद्देश्य दुःख मात्र भोगिरहेको छस्; तँ परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोज्ने कुनै प्रक्रियाबिनै सङ्घर्ष मात्र गर्दै समय बिताइरहेको छस्। यो शोधनमा हुने “दुःख” होइन, किनभने यो परमेश्‍वरको काम होइन र उहाँसित यसको कुनै सम्बन्ध छैन। तँ आफै दुःख मात्र भोगिरहेको छस्, परमेश्‍वरको शोधन भोगिरहेको छैनस्। तैपनि तँ अझै यो परमेश्‍वरले तँलाई शोधन गर्नुभएको हो भन्ठान्छस्; तँ बढी नै आशावादी बनिरहेको छस्। त्यो त कामना मात्र हो! तँ परमेश्‍वरको शोधन भोग्नको लागि योग्य नै छैनस्। तैँले सजाय र न्यायको चरणसमेत पार गरेको छैनस्, अनि तँ परमेश्‍वरले तँलाई परीक्षा र शोधन भोगाउनुहुन्छ भन्ने अपेक्षा गर्छस्? के त्यो सम्भव छ? के त्यो दिवास्वप्न होइन र? के साधारण मानिसहरूले परीक्षा र शोधन सहन सक्छन्? के यो साधारण मानिसले स्विकार्न सक्ने कुरा हो? के यो परमेश्‍वरले साधारण व्यक्तिलाई प्रदान गर्नुहुने कुरा हो? बिलकुलै होइन। परमेश्‍वरले कुनै व्यक्तिलाई सच्याउनुभएपछि, यदि त्यो व्यक्तिले आफ्नो अहङ्कारी स्वभाव, हठीपन, छल, दुष्टता, वा अरू कुनै पनि स्वभावको कारणले एउटा वा धेरै मामलाहरूमा परमेश्‍वरको न्याय, अनुशासन वा प्रत्यक्ष ताडना भोग्छ, र यसरी उसले परमेश्‍वरले उसलाई किन अनुशासनमा राखिरहनुभएको छ भनी महसुस गर्छ—र यही कारणले गर्दा, उसले परमेश्‍वर र आफूबारे सच्चा बुझाइ विकास गर्छ, उसको स्वभाव साँच्चिकै बदलिन्छ, र ऊ बिस्तारै सत्यताप्रति साँच्चै समर्पित हुन्छ भने—यो मात्र त्यस्तो एउटै प्रक्रिया हो जसद्वारा परमेश्‍वरले मानिसहरूलाई न्याय र सजाय गर्नुहुन्छ। अनि, परमेश्‍वरले के कुराको आधारमा यो काम गर्नुहुन्छ? यसमा एउटा सर्त छ: जुन व्यक्तिमाथि यस्तो काम हुन्छ, ऊ परमेश्‍वरको घरमा यथेष्ट मात्रामा आफ्नो कर्तव्य निभाउन सक्षम हुनैपर्छ। यो यथेष्टताको लागि दुइटा कुरा मात्र चाहिन्छ: आज्ञाकारिता र बफादारी। सबभन्दा पहिले, त्यो व्यक्तिमा विवेक र समझ हुनुपर्छ; विवेक र समझ हुने व्यक्तिले मात्र सत्यता स्विकार्ने सर्तहरू पूरा गर्छ। जब विवेक र समझ भएका यस्ता मानिसहरूले परमेश्‍वरको ताडना र सच्याइ प्राप्त गर्छन्, तब तिनीहरू सत्यता खोज्न र समर्पित हुन सक्षम हुन्छन्। यसपछि मात्र परमेश्‍वरले न्याय र सजायको कामको प्रक्रिया अगाडि बढाउनुहुन्छ। परमेश्‍वरको कामको क्रम यही हो। तर यदि परमेश्‍वरको घरको कुनै व्यक्तिले कहिल्यै बफादारीपूर्वक कर्तव्यपालन गर्न सक्दैन, परमेश्‍वरको सार्वभौमिकताप्रति अलिकति पनि समर्पण देखाउँदैन, र यथेष्ट मात्रामा कर्तव्यपालन गर्नबाट चुक्छ भने, उसले जब प्रतिकुलता, पर्दाफास, वा निराकरण र काटछाँट भोग्छ, तब बढीमा उसले अनुभव गर्ने भनेको परमेश्‍वरको सच्याइ र अनुशासन मात्रै हो। तिनीहरूले परमेश्‍वरको न्याय र सजाय अनुभव गर्दैनन्, परीक्षा र शोधन अनुभव गर्ने त कुरै नगरौँ। अर्को शब्दमा भन्नुपर्दा, आधारभूत रूपमा तिनीहरू मानिसहरूलाई सिद्ध तुल्याउने परमेश्‍वरको काममा संलग्न हुँदैनन्।

भर्खरै हामीले सङ्गति गरेको सामग्री मानिसहरूलाई मुक्ति दिने र सिद्ध तुल्याउने परमेश्‍वरको काम, परमेश्‍वरको कामका विधि र पात्रहरू, साथै परमेश्‍वरले उहाँको न्याय र सजाय अनि परीक्षा र सोधनको काम कुन मानिसहरूमाथि गर्नुहुन्छ भन्नेबारे सम्बन्धित छ। त्यसले मानिसहरू परमेश्‍वरको यो कामको अधीनमा हुँदा, तिनीहरूको जीवन प्रवेशको मात्रा, र परमेश्‍वरको न्याय र सजाय स्विकार्नको लागि तिनीहरूमा कम्तीमा पनि कस्तो प्रकारको सार सार र अवस्था हुनपर्छ भन्‍ने कुरा पनि समेटेको थियो। अनि, यसमा मानिसहरूका धारणाहरू केके हुन्? मानिसहरू सोच्छन्, “जबसम्‍म व्यक्तिले परमेश्‍वरलाई पछ्याइरहेको हुन्छ, जबसम्‍म उसले परमेश्‍वरको कामको यो चरण स्विकारेको हुन्छ, तबसम्‍म ऊ परमेश्‍वरको न्याय र सजायको अधीनमा पर्ने नै छ। त्यसपछि चाँड नै परमेश्‍वरका परीक्षा र शोधनहरू आउने नै छन्। त्यसकारण, हामी प्राय: परीक्षा र शोधन, काटछाँट र निराकरण भोग्छौँ, र परिवार, स्नेह, हैसियत र भावी सम्भाव्यताहरूबाट वञ्चित हुन्छौँ। त्यसपछि, हामी स्नेह, हैसियत र भावी सम्भाव्यताको सन्दर्भमा निरन्तर कष्ट भोगिरहन्छौँ।” के यी भनाइहरू सही छन्? (छैनन्।) मानिसहरू परमेश्‍वरका वचन र कामको एउटै वचनलाई आफूले विश्‍वास गर्ने आत्मिक शब्दमा परिणत गर्छन्—र यस्तो किन हुन्छ? खासमा, तिनीहरूले जसरी कष्ट भोग्छन् त्यो सबै एउटा सङ्घर्ष मात्र हो, त्यो समय बिताउने काम मात्र हो; त्यसको कुनै पनि खालको, कुनै महत्त्व छैन। तर तिनीहरू त्यसलाई परीक्षा र शोधन मान्छन्, र त्यो परमेश्‍वरको शोधन हो भन्छन्। यो गम्भीर भूल हो; यो मानिसहरूले परमेश्‍वरमाथि जबरजस्ती थोपर्ने कुरा हो, र यसले बिलकुलै परमेश्‍वरका अभिप्रायहरू जनाउँदैन। के यो परमेश्‍वरबारेको गलतबुझाइ होइन र? यो वास्तवमै एउटा गलतबुझाइ हो। यस्तो गलतबुझाइ कसरी विकास हुन्छ? मानिसहरू सत्यता नबुझ्ने भएकाले, तिनीहरू आफ्नै कल्पनाको आधारमा यस्ता गलतबुझाहरू विकास गर्छन्। त्यसपछि, तिनीहरूले तिनलाई निर्लज्ज प्रचार गर्छन् र सबैतिर फैलाउँछन्, र यसले अन्त्यमा “कष्ट” बारे विविध भनाइहरू निम्त्याउँछन्। यसर्थ, म प्राय: मानिसहरूले यसो भनेको सुन्छु, “एउटालाई प्रतिस्थापित गरियो र त्यसपछि ऊ नकारात्मक बन्यो; ऊ ‘हैसियतको कष्ट’ भोगिरहेको छ!” हैसियतको कष्ट भोग्नु भनेको परीक्षा र शोधनहरू अनुभव गर्नु होइन; त्यो त कुनै व्यक्तिले हैसियत गुमाउनु, भावनात्मक निरासा भोग्‍नु, र असफल भएर भित्री पीडासँग सङ्घर्ष गर्नु मात्र हो। मानिसहरूले भन्ने गरेको “कष्ट” र परमेश्‍वरले भन्नुहुने शोधन फरक कुरा हुन्, त्यसकारण यो वास्तविक शोधनले खासमा केलाई जनाउँछ? सर्वप्रथम, यो बुझ् कि परमेश्‍वरले मानिसहरूलाई परीक्षा र शोधन गर्नुपहिले तयारीको धेरै काम गर्नुहुन्छ। एकातिर, उहाँले मानिसहरू छान्नुहुन्छ; उहाँले सही व्यक्तिहरू रोज्नुहुन्छ। हामीले अघि नै परमेश्‍वरको नजरमा कस्तो व्यक्ति सही मानिन्छ र उसले कस्ता सर्तहरू पूरा गर्नैपर्छ भनी छलफल गर्यौँ: पहिलो कुरा, ऊसित उसको मानवतामा कम्तीमा पनि विवेक र समझ हुनैपर्छ। दोस्रो कुरा, उसले बफादारी र आज्ञाकारितासाथ यथेष्ट मात्रामा कर्तव्यपालन गर्न सक्नैपर्छ। त्यसपछि, उसले वर्षौँसम्म निराकरण र काटछाँट, अनुशासन र ताडना भोग्नुपर्छ। तिमीहरू अनुशासन र ताडनाको अर्थबारे खासै प्रस्ट नहुन सक्छौ, किनभने तिमीहरूले ती अवधारणाहरू राम्ररी नबुझेका हुन सक्छौ। मानिसहरूलाई ती तुलनात्मक रूपले निराकार र अमूर्त लाग्न सक्छन्। तर जब निराकरण र काटछाँट गरिने कुरा आउँछ, त्यो मानिसहरूले सुन्न र अनुभूत गर्न सक्ने कुरा हो; त्यसमा विशेष भाषा र लबज संलग्न हुन्छ, त्यसैले के भइरहेको छ भन्ने कुरा मानिसहरूलाई थाहा हुन्छ। यदि कसैले केही गलत काम गर्‍यो, सिद्धान्तविरुद्ध गयो, लापरवाहीपूर्वक कार्य गर्‍यो, वा परमेश्‍वरको घरका हित वा मण्डलीको काममा हानि पुग्नेगरी एकतर्फी निर्णय गर्‍यो, र उसलाई निराकरण गरियो भने, यसैलाई निराकरण र काटछाँट भोग्नु भनिन्छ। त्यसोभए, सच्याइ र अनुशासन भनेका के हुन् त? उदाहरणको लागि, यदि कुनै व्यक्ति समूह अगुवा हुन योग्य छैन र उसमा बफादारी छैन, र उसले सत्यता सिद्धान्त वा मण्डली नियमहरू उल्लङ्घन गर्ने काम गर्छ, र त्यसपछि उसलाई प्रतिस्थापित गरिन्छ भने, के त्यो सच्याइ हो? वास्तवमा त्यो एक प्रकारको सच्याइ हो। बाहिरी रूपमा उसलाई मण्डलीद्वारा तह लगाइए पनि वा कुनै अगुवाद्वारा उसलाई प्रतिस्थापित गरिए पनि, परमेश्‍वरको नजरमा, त्यो उहाँले गर्नुभएको हो र उहाँकै कामको पाटो हो; त्यो एक प्रकारको सच्याइ हो। साथै, मानिसहरू राम्रो स्थितिमा हुँदा, तिनीहरू प्रायजसो ज्योतिले भरिएका हुन्छन् र ताजा अन्तर्ज्ञान पाउन सक्छन्; तथापि, जब कुनै स्थितिको कारण वा विशेष कारणले तिनीहरूको काम भत्कन्छ र तिनीहरूको खुलासा हुन्छ, के यो पनि एक प्रकारको सच्याइ होइन र? यो पनि एक प्रकारको सच्याइ हो। के यी कुरालाई न्याय र सजाय मान्न सकिन्छ? यो अवस्थामा, यी कुरालाई अझै न्याय र सजाय भन्न मिल्दैन, त्यसैले यिनलाई निश्‍चय नै शोधन र परीक्षा पनि मान्न सकिन्न। यी त कर्तव्यपालन गर्ने क्रममा प्राप्त सच्याइहरू मात्र हुन्। सच्याइका प्रकटीकरणहरूमा कहिलेकाहीँ रोग सामना गर्ने वा काम गर्दा फेरि गल्ती दोहोर्‍याइरहने, वा पहिले दक्ष भएको मामलामा दक्षता गुमाउने र के गर्ने भनी थाहा नपाउने अवस्थाहरू पर्छन्। यो सब सच्याइ हो। अनि अवश्य नै, कहिलेकाहीँ सच्याइ नजिकका मानिसहरूको सङ्केतबाट वा कुनै घटनाहरूको सामनामार्फत आउँछ जसले व्यक्तिलाई लज्जित तुल्याएर, गहन आत्मजाँच र चिन्तनमा पुर्‍याउँछ। यो पनि सच्याइ हो। अनि, परमेश्‍वरको सच्याइ पाउनु राम्रो कुरा हो कि नराम्रो हो? (यो राम्रो कुरा हो।) सैद्धान्तिक रूपमा भन्नुपर्दा, यो राम्रो कुरा हो। मानिसहरूले स्विकार्न सके पनि नसके पनि, यो राम्रो कुरा हो, किनभने यसले कम्तीमा पनि परमेश्‍वरले तेरो जिम्मेवारी लिइरहनुभएको छ, तँलाई छाड्नुभएको छैन, तँमाथि काम गरिरहनुभएको छ, र तँलाई सङ्केत र मार्गदर्शन दिइरहनुभएको छ भन्ने प्रमाणित गर्छ। परमेश्‍वरले तँमाथि काम गरिरहनुभएको हुनुले परमेश्‍वरसित अहिले नै तँलाई त्याग्ने अभिप्राय छैन भन्ने पुष्टि हुन्छ। यसको एउटा तात्पर्य के हो भने, परमेश्‍वरले तँलाई सच्याउन र अनुशासनमा राख्न जारी राख्न सक्नुहुन्छ, वा यदि तेरो काम राम्रो छ र तँ सही मार्गमा छस् भने, उहाँले तँलाई न्याय र सजाय गर्नुहुनेछ। तर धेरै अगाडि नजाऔँ; अहिलेलाई परमेश्‍वरले तँलाई धेरैपटक सच्याउने र अनुशासनमा राख्ने काम गर्नुहुनेछ। त्यसपछि, तैँले सत्यता पछ्याउने हुनाले, तँमा समर्पण रहेकोले, र तँ सही व्यक्ति भएकोले, परमेश्‍वरले तँलाई न्याय र सजाय दिनुहुनेछ; यो प्रारम्भिक चरण हो। धेरैजसो मानिसहरूले निराकरण र काटछाँट मात्र गरिने अनुभव पहिल्यै भोगिसकेका छन्; नवप्रवेशीहरूले मात्र यो अनुभव गरेका छैनन्। धेरैजसो समय, मानिसहरू आफ्नो विवेकको भावनाको आधारमा काम गर्छन्, भित्री रूपमा ग्लानि महसुस गर्छन्, र परमेश्‍वरका वचनहरूले कान र हृदयमा “यसो गर्नु हुँदैन, यो विद्रोही काम हो” भनेर सङ्केत गरेको महसुस गर्छन्; यी कुरा परमेश्‍वरका वचनहरूले तिनीहरूलाई दिएका सङ्केत, अर्ती र चेतावनी हुन्। मानिसहरूले अनुभव गर्ने काटछाँट र निराकरण विविध स्वरूपका हुन्छन्: यो अगुवा र सेवकहरूबाट, दाजुभाइ-दिदीबहिनीहरूबाट, माथिबाट, र सीधै परमेश्‍वरबाट समेत आउन सक्छ। धेरै मानिसहरूले यी कुराहरू अनुभव गरेका छन्, तर थोरैले मात्र परमेश्‍वरको सच्याइ र अनुशासन अनुभव गरेका छन्। यहाँ, यो थोरैले के जनाउँछ? त्यसले अझ धेरै मानिसहरू परमेश्‍वरको न्याय र सजाय पाउनबाट निकै टाढा छन् भन्‍ने जनाउँछ—अनि परमेश्‍वरका परीक्षा र शोधनबाट चाहिँ कति टाढा छन् नि? यीबाट त तिनीहरू झनै टाढा छन्; यसको अन्तर झन् ठूलो छ, र दूरी झन् लामो छ। पहिले मानिसहरू सोच्थे: “परमेश्‍वरले मलाई मेरो मुखमा ठेला उठाएर न्याय र सजाय गर्नुभएको छ,” “परमेश्‍वरले मलाई न्याय र सजाय गर्नुभएको छ, मैले गल्ती गरेँ, केही गलत बोलेँ, र कैयौँ दिनसम्म लगातार मेरो टाउको दुख्यो; अब म परमेश्‍वरका न्याय र सजाय के हुन् भन्ने कुरा बुझ्छु”—के यी गलतबुझाइहरू होइनन् र? यो परमेश्‍वरबारेको सबभन्दा आम गलतबुझाइ हो; धेरैजसो मानिसहरू यही तरिकाले परमेश्‍वरलाई गलत बुझ्छन्। यो गलतबुझाइले पनि केही नकारात्मक असरहरू पार्छ, र मानिसहरूलाई एउटा गलत शब्द बोलेको नतिजास्वरूप परमेश्‍वरको अनुशासन भोग्नुपर्नेछ भन्ने अनुभूति गराउँछ। यो विशुद्ध रूपमा परमेश्‍वरबारेको गलतबुझाइ हो, र यो परमेश्‍वरको कामसित बिलकुलै मेल खाँदैन। परमेश्‍वरबारे यस्ता गलतबुझाइहरू राखेर के व्यक्तिले अन्त्यमा परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्छ त? ऊ अवश्य नै चुक्नेछ।

अहिले, धेरैजसो मानिसहरूले परमेश्‍वरको सच्याइ र अनुशासन अनुभव गरेका छन्, निराकरण र काटछाँट अनुभव गरेका छन्, र परमेश्‍वरका वचनहरूबाट सङ्केत र अर्तीहरू पाएका छन्, तर तिनीहरू त्यतिमै सीमित भएका छन्। यहाँ एउटा प्रश्‍न उठ्छ: मानिसहरूले यो चरणसम्म अनुभव गरिसकेपछि पनि किन परमेश्‍वरको न्याय र सजाय अनुभव गरेका छैनन्? किन निराकरण र काटछाँट, र परमेश्‍वरका वचनहरूको सङ्केत, वा अनुशासन र सच्याइलाई न्याय र सजाय मानिँदैन? परमेश्‍वरका वचनहरूको सङ्केत, मानिसहरूले भोगेका निराकरण र काटछाँट, अनि सच्याइ र अनुशासनको दृष्टिकोणबाट हेर्दा, के नतिजा हासिल भएको छ? (तिनीहरूले आफ्नो बाहिरी व्यवहारमा संयम हासिल गरेका छन्।) तिनीहरूको व्यवहारमा केही परिवर्तनहरू देखिएका छन्, तर के यसले स्वभावमा आएको परिवर्तन जनाउँछ? (जनाउँदैन।) यसले स्वभावमा आएको परिवर्तन जनाउँदैन। कतिपय मानिसहरू भन्छन्: “हामीले यतिका वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेका छौँ र यतिका धेरै प्रवचनहरू सुनेका छौँ, तैपनि हाम्रा स्वभावहरू अझै परिवर्तन भएका छैनन्। के हामीमाथि अन्याय भएको छैन र? हामीले आफ्नो व्यवहारमा थोरै मात्र परिवर्तन पाएका छौँ; के यो अति दयनीय कुरा होइन र? परमेश्‍वरले कहिलेदेखि हामीलाई मुक्ति दिन थाल्नुहुनेछ? हामीले कहिले मुक्ति पाउनेछौँ?” त्यसोभए, परमेश्‍वरको कामका यी विविध पक्षहरू अनुभव गरेकाहरूले के-कस्ता लाभ र परिवर्तनहरू पाएका छन् भनी छलफल गरौँ। भर्खरै कसैले व्यवहारगत परिवर्तनबारे उल्लेख गरेको थियो; यो सामान्य अभिव्यक्ति हो। थप किटानीसाथ भन्नुपर्दा, सुरुमा मण्डली आएर आफ्‍नो कर्तव्य वहन गर्दा, मानिसहरू निराकरण वा काटछाँटमा परेका हुँदैनन्, र तिनीहरू सबै कुरामा आफै निर्णय गर्न चाहने एकदमै अहङ्कारी हुन्छन्। तिनीहरूले मनमनै विचार गर्छन्: “अहिले मैले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, मण्डलीमा मेरा अधिकार र स्वतन्त्रता छ, त्यसकारण मलाई जस्तो उचित लाग्छ त्यसरी नै व्यवहार गर्नेछु।” अन्तिममा, जब तिनीहरूले निराकरण, काटछाँट र अनुशासन भोगेका हुन्छन्, र परमेश्‍वरका वचनहरू पढेका, प्रवचनहरू सुनेका र सत्यताको सङ्गति सुनेका हुन्छन्, तब तिनीहरू त्यसउप्रान्त त्यसरी व्यवहार गर्ने आँट गर्दैनन्। वास्तवमा, तिनीहरू पूर्ण अनुपालन गर्ने बनेका हुँदैनन्; तिनीहरूले थोरै समझ प्राप्त गरेका र केही धर्मसिद्धान्तहरू बुझेका मात्र हुन्छन्। अरूले सत्यतासँग मिल्ने कुराहरू बोल्दा, तिनीहरूले ती कुरा सही भएको स्वीकार गर्न सक्छन्, र तिनीहरूले ती कुरालाई राम्ररी बुझ्‍न नसके पनि, तिनीहरूले तिनलाई स्वीकार गर्न सक्छन्। त्यसोभए के तिनीहरू पहिलेभन्दा धेरै अनुपालन गर्ने हुँदैनन् र? तिनीहरूले यी कुराहरूलाई स्वीकार गर्न सक्छन् भन्‍ने कुराले तिनीहरूको व्यवहारमा केही परिवर्तन आएको छ भन्‍ने देखाउँछ। यी परिवर्तनहरू कसरी आएका हुन्छन्? ती परिवर्तनहरू परमेश्‍वरका वचनहरूको अर्ती र प्रोत्साहन, साथै सान्त्वनाबाट आएका हुन्। कहिलेकहीँ, त्यस्ता मानिसहरूलाई केही अनुशासन, निराकरण र काटछाँटको आवश्यकता हुन्छ, साथै तिनीहरूलाई निश्‍चित कामकुरा निश्‍चित तरिकाले गरिनुपर्छ र अन्य तरिकाले गरिनु हुँदैन भनेर बताउँदै सिद्धान्तहरूको बारेमा केही सङ्गति गर्नुपर्छ। तिनीहरू सोच्छन्: “मैले यो स्विकार्नैपर्छ। सत्यता प्रस्तुत गरिएको छ; यसलाई विरोध गर्ने आँट कसले गर्छ र?” परमेश्‍वरको घरमा, परमेश्‍वर नै महान् हुनुहुन्छ, सत्यता नै महान् हुन्छ, र सत्यताले नै शासन गर्छ; यो सैद्धान्तिक जगमार्फत कतिपय मानिसहरू जागेका छन् र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको वास्तवमा के हो भन्ने कुरा बुझेका छन्। पहिले अत्यन्तै बर्बर र ऐयास रहेको, पूर्ण रूपमा अनियन्त्रित, र नियमहरू, परमेश्‍वरमाथिको विश्‍वास, परमेश्‍वरको घर, मण्डली र आफ्‍नो कर्तव्य निर्वाह गर्नेसम्‍बन्धी सिद्धान्तहरूको बारेमा अज्ञानी रहेको कुनै व्यक्तिलाई लिऊँ: कुनै पनि कुरा नजान्‍ने त्यस्तो व्यक्ति जब परमेश्‍वरको घरमा दया र जोश, “ठूलो” आकांक्षा र आशाहरू लिएर आउँछ, र उसलाई त्यहाँ प्रोत्साहन र अर्तीउपदेश दिइन्छ, मलजल र भरणपोषण गरिन्छ, र परमेश्‍वरका वचनहरूद्वारा निराकरण र काटछाँट, अनि बारम्‍बार सजाय र अनुशासनमा राखिन्छ, तब त्यो व्यक्तिको मानवतामा क्रमिक रूपमा केही परिवर्तनहरू आउन थाल्छन्। ती के-कस्ता परिवर्तनहरू हुन्? उसले मानव आचरणसम्‍बन्धी सिद्धान्तहरूबारे केही कुरा बुझ्छ, र विगतमा उसमा मानव स्वरूप थिएन भन्‍ने कुरा थाहा पाउँछ; ऊ बर्बर, अहङ्कारी, अवज्ञाकारी र क्रोधपूर्ण व्यक्ति थियो; ऊ वास्तविक मानवजस्तो बोल्दैनथ्यो र बिनाकुनै नियम काम गर्थ्यो, र सत्यता खोज्‍न जान्दैनथ्यो; उसलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरले जे गर्न लगाउनुहुन्छ त्यही गर्ने र उहाँले जहाँ पठाउनुहुन्छ त्यहाँ जानुजस्तो सरल कुरा हो भन्ठान्थ्यो; अर्थात्, उसमा बर्बर जोश हुन्थ्यो, र सँगसँगै यो परमेश्‍वरप्रतिको बफादारी र प्रेम हो भनेर विश्‍वास गर्थ्यो। अहिले यो व्यक्तिले ती सबै कुराहरूलाई इन्कार गर्छ र ती मानव कल्पना, र असल व्यवहारका नतिजाहरू मात्र थिए, र कतिपय त शैतानबाट समेत आएका थिए भन्ने कुरा जान्दछ। परमेश्‍वरका विश्‍वासीहरूले उहाँका वचनहरूमा ध्यान दिनुपर्छ र सत्यतालाई अरू सबै कुराभन्दा माथि राख्नुपर्छ, र सबै कुराहरूमा सत्यताको शक्ति चल्न दिनुपर्छ। छोटकरीमा भन्दा, सबै मानिसहरूले सैद्धान्तिक रूपमा बुझिसकेका र स्विकारिसकेका छन्, र तिनीहरूले हृदयको गहिराइमा यो स्विकारिसकेका छन् कि यी परमेश्‍वरले बोल्नुभएका यी वचनहरूले मानिसहरूको हृदयमा जति गहिरो जरा हालेको भए पनि र यी वचनहरूले जति ठूलो भूमिका खेलेको भए पनि सबै मानिसहरूले यी वचनहरू सही हुन्—ती सत्यता हुन्, सकारात्मक कुराहरूको वास्तविकता हुन्—भनेर बुझेका, स्वीकार गरेका, र मानेका हुन्छन्। पछि गएर, नदेखिने सजाय र अनुशासन भएर गएपछि, तिनीहरूको चेतनामा केही हदसम्‍म साँचो विश्‍वास पैदा हुन्छ। परमेश्‍वरसम्‍बन्धी आफ्नो सुरुको अस्पष्ट कल्‍पनादेखि, परमेश्‍वर हुनुहुन्छ, र उहाँ वास्तविक हुनुहुन्छ भन्‍ने अहिलेको भावनासम्‍म—मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासमा यी भावनाहरू प्राप्त गरेपछि, तिनीहरूका विचार र दृष्टिकोणहरू, परिस्थितिलाई हेर्ने तरिका, र नैतिक मापदण्डहरू, साथै तिनीहरूको सोच्‍ने शैली क्रमिक रूपमा परिवर्तन हुँदै जानेछन्। उदाहरणको लागि, परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्‍न लगाउनुहुन्छ। तैँले अझै ढाँट्न र छल गर्न सक्ने भए पनि, भित्री रूपमा तँलाई थाहा हुन्छ कि तँ गलत छस्, र परमेश्‍वरलाई ढाँट्नु र धोका दिनु पाप हो, यो दुष्ट स्वभाव हो—तर तँ त्यसो नगर्न सक्दै सक्दैनस्। उदाहरणको लागि, मानौँ तँमा अहिले पनि अहङ्कारी स्वभाव छ। कहिलेकाहीँ तँ आफूलाई काबुमा राख्न सक्दैनस्, प्राय: यो स्वभाव देखाउँछस्, र प्राय: परमेश्‍वरविरुद्ध विद्रोह गर्छस्, र सधैँ हैकम जमाएर एकतर्फी रूपमा कार्य गर्न, र अन्तिम निर्णय गर्न चाहन्छस्। तर तँलाई यो भ्रष्ट स्वभाव हो भन्ने पनि थाहा छ, र तँ त्यसबारे परमेश्‍वरलाई प्रार्थना गर्न पनि सक्छस्। अनि, देखिनेगरी रूपान्तरण नभए पनि, तेरो व्यवहार बिस्तारै परिवर्तन हुन थालेको छ। न्याय र सजाय नभोगीकन पनि, र तेरो स्वभाव परिवर्तन नभएको भए पनि, सत्यता र परमेश्‍वरका वचनहरूले बिस्तारै तेरो हृदयको गहिराइ उज्यालो पारिरहेका छन्, र सँगसँगै तेरो व्यवहार मार्गनिर्देशित र परिवर्तित गरिरहेका छन्, तँलाई झन्झन् बढी मानवरूपी जीवन जिउने तुल्याइरहेका छन्, र बिस्तारै तेरो विवेक जगाइरहेका छन्। यदि तैँले तेरो विवेकप्रति विश्‍वासघात गर्ने कुनै काम गरिस् भने, तँलाई हृदयमा असहज महसुस हुनेछ। त्यो कुरा उठाउँदा, तँलाई केही अनुभूति हुन्छ; तँ पहिलेजति भावशून्य हुँदैनस्, तँ पछुताउँछस्, र आफूलाई सच्याउन इच्छुक हुन्छस्। यस सम्बन्धमा तैँले आफ्नो स्वभाव तुरुन्तै परिवर्तन गर्न नसके पनि, यदि त्यो तेरो स्थितिसम्बन्धी कुरा हो भने, तँ तेरो यस्तो स्थिति छ भनी सजग हुन सक्छस्; तँसँग आफूभित्रै सजगता हुन्छ, र यो सजगताले तेरो व्यवहार परिवर्तन गरिरहेको हुन्छ। यस्तो परिवर्तन व्यवहारमा आउने परिवर्तन मात्र हो। यस्तो भइरहेको छ र भइरहन्छ भने पनि यसले स्वभाव परिवर्तन जनाउँदैन; यो बिलकुलै स्वभाव परिवर्तन होइन। कतिपय मानिसहरूले यो सुनेपछि अप्ठ्यारो महसुस गर्दै यसो भन्‍न सक्छन्, “यति ठूलो परिवर्तन हुँदा पनि, यो स्वभाव परिवर्तन होइन र? त्यसोभए स्वभाव परिवर्तन भनेको के हो? स्वभाव परिवर्तनमा कस्ता परिवर्तनहरू पर्छन्?” अहिलेको लागि त्यसलाई हामी यहीँ थाती राखौँ; र मानिसहरूले हासिल गरिसकेका ती परिवर्तनहरूबारे छलफल जारी राखौँ, जुन परमेश्‍वरका वचन र उहाँले मानिसहरूमा गर्नुभएका कामका प्रभाव र नतिजा हुन्। मानिसहरू सत्यतासँग नमिल्ने आफ्ना सोच र दृष्टिकोणहरू परिवर्तन गर्न मेहनत गरिरहेका छन्। मामलाहरू सामना गर्नुपर्दा, तिनीहरूमा एउटा सजगता हुनेछ; तिनीहरूले त्यो मामलालाई सत्यतासँग तुलना गर्नेछन् र भन्नेछन्, “यो मामला सत्यतासँग मिल्दैन, तर म मेरो दृष्टिकोण त्याग्न सक्दिनँ; त्यो अझै बाँकी छ।” तैँले बस तेरो दृष्टिकोण परमेश्‍वरका वचनहरूसित मिल्दैन भनी सजग भएको र थाहा पाएको छस्; के यसले तेरो दृष्टिकोण परिवर्तन भइसकेको वा त्यागिसकिएको छ भन्ने प्रमाणित गर्न सक्छ र? सक्दैन। तेरो दृष्टिकोण परिवर्तन भएको र त्यागिएको छैन, यसले प्रमाणित गर्छ कि तेरो भ्रष्ट स्वभाव यथावत छ र परिवर्तन हुन थालेको छैन; के मात्र हो भने, तेरो चेतना अर्थात् तेरो भित्री हृदयले परमेश्‍वरका वचनहरू स्विकारिसकेको र तिनलाई सत्यता मानिसकेको छ। तर यो सैद्धान्तिक र व्यक्तिपरक इच्छा मात्र हो—परमेश्‍वरका वचनहरू तेरो जीवन र तेरो वास्तविकता बनिसकेका छैनन्। जब परमेश्‍वरका वचनहरू तेरो वास्तविकता बन्छन्, तब तैँले तेरा दृष्टिकोणहरू त्याग्नेछस्, र सबै मानिस, घटना र वस्तुहरू, साथै तेरो वरिपरि भइरहेका सबै कुराहरूलाई परमेश्‍वरका वचनहरूको दृष्टिकोण प्रयोग गरेर हेर्नेछस्।

तिमीहरूको जीवन प्रवेश हाल कुन चरणमा छ? तैँले यसअघि नै तेरा दृष्टिकोणहरू गलत छन् भनी जानिसकेको छस्, तर तँ अझै जिउनको लागि आफ्नै दृष्टिकोणमा भर पर्छस्, र परमेश्‍वरको काम मापन गर्न तँ तिनैलाई प्रयोग गर्छस्। तँ तेरा सोच र दृष्टिकोणहरू प्रयोग गरेर परमेश्‍वरले तेरो लागि स्थापित गर्नुभएका परिस्थितिहरूको आलोचना गर्छस्, र तँ परमेश्‍वरको सार्वभौमिकतालाई तेरा सोच र दृष्टिकोणमार्फत हेर्छस्। के यो सत्यता सिद्धान्तहरूसँग मिल्छ? के यो निरर्थक होइन र? मानिसहरू थोरै मात्र धर्मसिद्धान्त बुझ्छन्, तैपनि तिनीहरू परमेश्‍वरका कार्यहरूको मूल्याङ्कन गर्न चाहन्छन्। के यो अत्यन्तै अहङ्कारी कुरा होइन र? अहिले तैँले परमेश्‍वरका वचनहरू असल र सही छन् भनेर स्वीकार मात्र गर्छस्, र तेरो बाह्य व्यवहारलाई हेर्दा, तैँले प्रस्ट रूपमा सत्यताविरुद्ध जाने कामकुराहरू गर्दैनस्, तैँले परमेश्‍वरको कामलाई मूल्याङ्कन वा आलोचना गर्नु त परै जाओस्। तँ परमेश्‍वरको घरका बन्दोबस्तहरूप्रति पनि समर्पित हुन सक्छस्। यो त एक अविश्‍वासीबाट सन्तको जस्तो शिष्टता भएको परमेश्‍वरको अनुयायी बन्‍नु हो। परमेश्‍वरका वचनहरू सुनेपछि, तँ दृढ रूपमा शैतानका दर्शन, अवधारणा, नियम, र ज्ञानअनुरूप जिउने व्यक्तिबाट, ती वचनहरू सत्यता भएको महसुस गर्ने, तिनलाई स्विकार्ने, र सत्यता पछ्याउने, र परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा अपनाउन सक्‍ने व्यक्ति बन्छस्। यो त्यस्तो प्रक्रिया हो—योभन्दा बढी केही पनि होइन। यो अवधिमा, तेरा व्यवहार र कामकुराहरू गर्ने तेरा तौरतरिकाहरूमा निश्‍चय नै केही परिवर्तन हुनेछन्। तर जति नै परिवर्तन भए पनि तँमा जे कुरा प्रकट हुन्छ, परमेश्‍वरको लागि, त्यो तेरो व्यवहार र तौरतरिकाहरूमा आएका परिवर्तनहरू, तेरो सोचविचार र दृष्टिकोणहरूमा आएका परिवर्तनहरू, र तेरा सबैभन्दा भित्री चाहना र आकांक्षाहरूमा आएका परिवर्तनहरूभन्दा बढी केही होइन। यो तेरा सोच र दृष्टिकोणमा आएका परिवर्तनहरूभन्दा बढी केही होइन। तँ अहिले आफ्नो शक्ति बटुलेर आवेगमा आउँदा परमेश्‍वरलाई आफ्नो जीवन अर्पण गर्न सक्छस् होला, तर तैँले आफूलाई खास रूपमा मननपर्ने विषयको हकमा परमेश्‍वरप्रति पूर्ण आज्ञाकारिता हासिल गर्न सक्दैनस्। व्यवहार परिवर्तन र स्वभाव परिवर्तन बीचको भिन्नता यही हो। सायद, तेरो दयालु हृदयले तँलाई आफ्नो जीवन र सबथोक परमेश्‍वरलाई अर्पण गर्न र यसो भन्न सक्षम तुल्याउँछ होला, “म परमेश्‍वरको लागि मेरो जीवनको रगत परित्याग गर्न तयार र इच्छुक छु। यो जीवनमा, मलाई कुनै पनि अफसोस र कुनै पनि गुनासो छैन! मैले विवाहलाई परित्याग गरेको छु, सांसारिक सम्भाव्यताहरूलाई परित्याग गरेको छु, वैभव र सम्पत्तिहरू परित्याग गरेको छु, र म परमेश्‍वरले मेरो लागि तय गर्नुभएका यी परिस्थितिहरू स्विकार्छु। म यो संसारका सबै उपहास र निन्दाहरू सहन सक्छु।” तर परमेश्‍वरले तेरा धारणाहरूसँग मेल नखाने परिस्थितिहरू तय मात्रै गर्नुपर्छ, त्यसपछि तँ उभिएर उहाँविरुद्ध खैलाबैला मच्चाउन र उहाँको प्रतिरोध गर्न सक्‍ने भइहाल्छस्। व्यवहारमा परिवर्तन आउनु र स्वभावमा परिवर्तन आउनुबीचको भिन्नता यही हो। के पनि सम्भव छ भने तैँले परमेश्‍वरलाई आफ्नो जीवन अर्पण गर्न सक्छस् र आफूले सबैभन्दा बढी प्रेम गर्ने मानिसहरू वा वस्तुलाई परित्याग गर्न सक्छस्, जुन कुराबाट छुट्टिन तेरो हृदयलाई सबभन्दा बढी सकस पर्छ—तर जब तँलाई हृदयबाटै परमेश्‍वरसित बोल्न र इमानदार व्यक्ति बन्न लगाइन्छ, तब तँलाई यो कुरा एकदमै मुस्किल लाग्छ र तैँले यो कुरा गर्न सक्दैनस्। व्यवहारमा परिवर्तन आउनु र स्वभावमा परिवर्तन आउनुबीचको भिन्नता यही हो। अनि फेरि, सायद तँ यो जीवनमा दैहिक आरामको चाहना गर्दैनस्, न त तँ मीठो खाना खाने न त राम्रो लुगा लाउने चाह नै गर्छस्, बरु हरदिन आफ्नो कर्तव्यमा झुत्रेझाम्रे र लखतरान हुनेगरी काम गर्छस्। तैँले देहले तँमा ल्याएका हरप्रकारका पीडा सहन सक्छस्, तर यदि परमेश्‍वरका बन्दोबस्तहरू तेरा धारणाहरूसँग मेल खाँदैनन् भने, तैँले तिनलाई बुझ्दैनस् र तँभित्र परमेश्‍वरविरुद्ध गुनासाहरू र उहाँबारे गलत बुझाइहरू पैदा हुन्छन्। अनि, परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्झन् असामान्य बन्छ। तँ सधैँ प्रतिरोधी र अनाज्ञाकारी हुन्छस् र परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्दैनस्। व्यवहारमा परिवर्तन आउनु र स्वभावमा परिवर्तन आउनुबीचको भिन्नता यही हो। तँ परमेश्‍वरको लागि आफ्नो जीवन परित्याग गर्न इच्छुक छस्, तर किन उहाँसित एउटा पनि इमानदार शब्‍द बोल्न सक्दैनस्? तँ आफूभन्दा बाहिरको सबथोक त्याग्‍न इच्छुक छस्, तर किन परमेश्‍वरले तँलाई दिनुभएको आज्ञाप्रति अत्यन्तै बफादार हुन सक्दैनस्? तँ परमेश्‍वरको लागि आफ्नो जीवन परित्याग गर्न इच्छुक छस्, तर आफ्ना भावनाहरूमा भर परेर काम गर्दा र अरूसँगको सम्बन्ध कायम राख्दा, किन आफूबारे चिन्तन गर्न सक्दैनस्? तँ किन मण्डलीको काम र परमेश्‍वरको घरका हितहरू परिपालन गर्ने पक्ष लिन सक्दैनस्? के यस्तो व्यक्ति परमेश्‍वरसामु जिउने व्यक्ति हो त? तैँले परमेश्‍वरको अघि आफ्नो जीवनभर उहाँप्रति समर्पित हुने र आफ्नो बाटोमा जुनसुकै कष्ट आए पनि स्विकार्ने प्रतिज्ञा गरिसकेको छस्, तर तँलाई एकचोटि आफ्नो कर्तव्यबाट निष्कासन गर्दा, किन त्यति धेरै नकारात्मकतामा डुब्छस् र कैयौं दिनसम्म त्यसबाट बाहिर निस्कन सक्दैनस्? किन तेरो हृदय प्रतिरोध, गुनासो, गलतबुझाइ र नकारात्मकताले भरिएको छ? यो के भएको हो त? यसले के देखाउँछ भने, तेरो हृदयले हैसियतलाई सबैभन्दा बढी प्रेम गर्छ, र यो तेरो मुख्य कमजोरीसँग जोडिएको छ। त्यसकारण, जब तँलाई बरखास्त गरिन्छ, तब तँ ढल्छस् र उठ्न सक्दैनस्। यो तेरो व्यवहार मात्र परिवर्तन भएको छ, तेरो जीवन स्वभाव परिवर्तन भएको छैन भन्ने कुराको पर्याप्त प्रमाण हो। व्यवहारमा परिवर्तन आउनु र स्वभावमा परिवर्तन आउनुबीचको भिन्नता यही हो।

अहिले धेरैजसो मानिसहरू केही असल व्यवहार देखाउने गर्छन्, तर धेरै कमले मात्र सत्यता खोजिरहेका वा स्विकारिरहेका हुन्छन्, र साँचो आज्ञाकारिता हुनेहरूको संख्या त लगभग शून्य नै छ। यो दृष्टिकोणले हेर्दा, धेरै मानिसहरूले आफ्नो व्यवहारको बदलाव र आफ्ना सोच र दृष्टिकोणहरूको परिवर्तन मात्र अनुभव गरिरहेका हुन्छन्; तिनीहरूमा परमेश्‍वरको सार्वभौमिकता स्विकार्ने र पालना गर्ने तत्परता र आकाङ्क्षा पनि हुन्छ, र तिनीहरू हृदयमा कुनै द्वेष पनि राख्दैनन्। तर भन् त, के यी मानिसहरूले परमेश्‍वरको न्याय र सजाय अनुभव गरेका हुन्छन् त? (हुँदैनन्।) दुर्भाग्यको कुरो, तिमीहरूले पहिले सुनाएका अनुभवात्मक गवाहीहरूमा परमेश्‍वरको न्याय र सजाय संलग्न छैनन्; ती सबैले परमेश्‍वरका मापदण्डहरू पूरा गर्दैनन्। अनि, जबसम्‍म तैँले परमेश्‍वरको न्याय र सजाय अझै अनुभव गरेको हुँदैनस्, तबसम्‍म तेरो स्वभाव परिवर्तन हुन थालेकै हुँदैन। यदि तेरो स्वभाव परिवर्तन हुन थालेकै हुँदैन भने, तैँले देख्ने परिवर्तनहरू व्यवहारगत परिवर्तन मात्र हुन्छन्। त्यस्ता व्यवहारगत परिवर्तनहरू तेरो आफ्नै सहकार्यले आएको मान्न सकिन्छ, ती आंशिक रूपले तेरो असल मानवताको कारण आएका हुन्, र ती परमेश्‍वरको कामका प्रभावहरू हुन्। के तँलाई मानिसहरूलाई मुक्ति दिन परमेश्‍वर यो हदसम्म मात्र जानुहुनेछ जस्तो लाग्छ? (लाग्दैन।) त्यसोभए परमेश्‍वरले अब के गर्नुहुनेछ? मानिसहरूलाई मुक्ति दिँदा, परमेश्‍वर मुख्यतः के काममा संलग्न हुनुहुन्छ? (न्याय र सजायमा।) परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन प्रयोग गर्नुहुने प्रमुख विधि भनेको न्याय र सजाय हो। तर दुर्भाग्यको कुरो, अहिलेसम्म लगभग कसैले पनि परमेश्‍वरको न्याय र सजाय स्विकार्न सकेको छैन। त्यसकारण, मानिसहरूलाई मुक्ति दिने, सिद्ध पार्ने, र तिनीहरूको स्वभाव परिवर्तन गर्ने परमेश्‍वरको काम आधिकारिक रूपमा अझै सुरु भएको छैन। अनि, त्यो किन आधिकारिक रूपमा सुरु भएको छैन? किनभने परमेश्‍वरको यो काम मानिसहरूमाथि अहिले नै कार्यान्वयन गर्न मिल्दैन। त्यसलाई किन कार्यान्वयन गर्न मिल्दैन? किनभने मानिसहरूको अहिलेको स्थिति, कद, र क्षमतालाई हेर्दा, तिनीहरू अझै परमेश्‍वरले आवश्यक गर्नुभएका मानकहरूभन्दा निकै पछि छन्, त्यसैले परमेश्‍वरले उहाँको काम अगाडि बढाउन सक्नुहुन्न। के त्यसको अर्थ परमेश्‍वरले उहाँको काम बन्द गर्नुहुनेछ भन्ने हो? होइन, परमेश्‍वर प्रतीक्षामा हुनुहुन्छ। अनि प्रतीक्षामा रहिरहँदा, उहाँ के पनि गरिरहनुभएको छ? उहाँ मण्डली शुद्धीकरण गरिरहनुभएको छ, विध्वंसक र बाधकहरू, ख्रीष्टविरोधीहरू, दुष्टात्माहरू, दुष्ट मानिसहरू, गैरविश्‍वासीहरू, उहाँमा साँचो विश्‍वास नगर्नेहरू, र सेवासमेत गर्न नसक्‍नेहरूलाई पखालेर फालिरहनुभएको छ। यसलाई भुइँ सफा गर्नु भनिन्छ; यसलाई निफन्‍नु पनि भनिन्छ। के ठाउँ सफा गर्नु परमेश्‍वरको यो अवधिको मुख्य काम हो? होइन, यो अवधिमा, परमेश्‍वरले तिमीहरूलाई वचनहरूद्वारा प्रोत्साहन दिने, मलजल गर्ने, पालनपोषण गर्ने, निराकरण र काटछाँट गर्ने, सच्याउने र अनुशासनमा राख्ने विधिमार्फत तिमीहरूमाथि काम गर्न जारी राख्नुहुनेछ। तर कुन हदसम्म यस्तो गर्नुहुनेछ? मानिसहरूमा न्याय र सजाय स्विकार्ने आधारभूत अवस्था भएपछि मात्र, परमेश्‍वरले न्याय र सजायको काम थाल्नुहुनेछ। अब भन् त, तिमीहरूको अनुमान र मूल्याङ्कनको आधारमा, परमेश्‍वरले न्याय र सजायको काम थाल्नुअघि मानिसहरूले कस्ता सर्तहरू पूरा गर्नुपर्छ? तैँले देख्‍न सक्छस्, परमेश्‍वरले सबै कुरा ठीक समयमा गर्नुहुन्छ। उहाँले जथाभाबी काम गर्नुहुन्‍न। उहाँको व्यवस्थापन कार्यले उहाँले बनाउनुभएको योजना पालन गर्छ, र उहाँले सबै कुरा जथाभाबी नभई चरणबद्ध रूपमा गर्नुहुन्छ। अनि, ती चरणहरू के-के हुन्? परमेश्‍वरले मानिसहरूमा गर्नुहुने हरेक चरणको कामले नतिजा हासिल गर्नुपर्छ, र यो कार्यान्वयन भएको देख्‍नुभएपछि, उहाँले अर्को चरणको काम गर्नुहुन्छ। परमेश्‍वरलाई उहाँको कामले कसरी नतिजा हासिल गर्न सक्छ, उहाँले के भन्‍नु र के गर्नुपर्छ भन्‍ने कुरा थाहा छ। उहाँले आफ्‍नो काम मानिसहरूको आवश्यकताको आधारमा गर्नुहुन्छ, जथाभाबी गर्नुहुन्‍न। मानिसहरूमा जुन काम प्रभावकारी हुन्छ, परमेश्‍वरले त्यही गर्नुहुन्छ, र प्रभावकारिताको हिसाबले जुन काम महत्त्वपूर्ण हुँदैन, उहाँले अवश्यै त्यो काम गर्नुहुन्‍न। उदाहरणको लागि, यदि परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नो समझको विकास गर्नसक्‍ने एउटा नकरात्मक कुरासम्बन्धी पाठको खाँचो छ भने, मण्डलीमा झूटा ख्रीष्टहरू, ख्रीष्टविरोधीहरू, दुष्टात्‍माहरू, दुष्ट मानिसहरू, अनि विध्वंसक र अवरोधकहरू देखा पर्छन्, र यस अवस्थामा अरूले समझ विकास गर्न सक्छन्। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यता बुझ्‍न र त्यस्ता मानिसहरूको भित्री वास्तविकता खुट्ट्याउन सक्छन् भने, त्यस्ता मानिसहरूले आफ्‍नो सेवा दिइसकेका हुन्छन्, र तिनीहरूको अस्तित्वको थप कुनै मूल्य हुँदैन। त्यो बेला, परमेश्‍वरका चुनिएका मानिसहरूले खडा भएर तिनीहरूको खुलासा र रिपोर्ट गर्नेछन्, र मण्डलीले तुरुन्तै तिनीहरूलाई बढारेर फाल्नेछ। परमेश्‍वरको सबै काममा चरणहरू हुन्छन्, र ती सबै चरणहरू मान्छेलाई उसको जीवन र कदमा के चाहिन्छ त्यसको आधारमा परमेश्‍वरले बन्दोबस्त गर्नुभएको हुन्छ। वास्तवमा, मानिसहरूलाई के चाहिन्छ, र ख्रीष्टविरोधी र दुष्ट मानिसहरू किन मण्डलीमा देखा पर्छन्? मानिसहरू सामान्यतया यी मामलाहरूबारे दुविधामा हुन्छन् र ती मामलाहरूमा के भइरहेका छन् भनी बुझ्दैनन्। कतिपय मानिसहरू परमेश्‍वरको काम नबुझेर धारणाहरू बोक्छन्, र यसो भन्दै गुनासोसमेत गर्छन्, “ख्रीष्टविरोधीहरू कसरी परमेश्‍वरको मण्डलीमा देखा पर्न सक्छन्? परमेश्‍वरले किन यो कुरामा चासो दिनुहुन्न?” यी कुराहरू देखा पर्नु मानिसहरूले पाठ सिकून् र समझशक्ति विकास गरून् भनेर हो भन्ने परमेश्‍वरका वचनहरू पढेपछि मात्र, तिनीहरूले अचानक चुरो कुरो महसुस गर्छन् र परमेश्‍वरका अभिप्रायहरू बुझ्छन्। सुरुमा, मानिसहरूमा दुष्ट मानिसहरूप्रति कुनै समझ हुँदैन। जब मण्डलीले यस्ता व्यक्तिहरूलाई निष्कासन गर्छ, तब मानिसहरूले धारणा बनाउँछन्; तिनीहरूले ती निष्कासित भएकाहरूले धेरै योगदान दिएका थिए, तिनीहरू कठिनाइ सहन सक्षम थिए भन्ठान्छन्, र तिनीहरूलाई निष्कासन नगरिएको भए हुनेथ्यो भन्ने सोच्छन्। त्यसपछि, तिनीहरू परमेश्‍वरले गर्नुभएको कामप्रति प्रतिरोधी बन्छन्। तर एक अवधि अनुभव गरेपछि, मानिसहरूले सत्यताबारे एउटा बुझाइ प्राप्त गर्छन् र दुष्टकर्मीहरूलाई खुट्ट्याउने क्षमता विकास गर्छन्। अब, कुनै दुष्टकर्मीलाई निष्कासन गरिँदा, तिनीहरू कुनै धारणा बनाउने वा प्रतिरोध गर्ने गर्दैनन्। जब तिनीहरूले कुनै दुष्टकर्मीले फेरि केही दुष्कर्महरू गरेको देख्छन्, तब तिनीहरूले ती पहिचान गर्न सक्छन्, र तिनीहरू सबैजना एकजुट भएर त्यो व्यक्तिबारे रिपोर्ट गर्छन्, र कुनै ठूलो हानि हुनुपहिले नै त्यसलाई हटाउँछन्। त्यसउप्रान्त परमेश्‍वरको घरमा यी दुष्टकर्मीहरूको टेको बाँकी रहनेछैन। यो कुरा कसरी हासिल हुन्छ? मानिसहरूले कसरी यो समझशक्ति प्राप्त गर्छन्? यो परमेश्‍वरको काम हो। परमेश्‍वरको कामबिना मानिसहरूले यी कुराहरू बुझ्न सक्दैनथे। परमेश्‍वरको काम एउटा क्रमअनुसार चल्छ, र यस क्रमका चरणहरू मानव जीवनलाई के चाहिन्छ भन्ने कुराले निर्धारित गर्छ। तर मानिसहरूलाई के चाहिएको हो, तिनीहरू आफै प्रस्ट हुँदैनन्, तिनीहरू अन्यौलमा हुन्छन्। त्यसकारण, परमेश्‍वरले बस उहाँको काम जारी राखिराख्न मात्र सक्नुहुन्छ, र यसरी उहाँले मानिसहरूले सिकून् भनेर थुप्रै पाठहरू बन्दोबस्त गर्नुहुन्छ, र तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न र उहाँले भन्‍नुभएका नतिजाहरू हासिल गर्न सक्षम तुल्याउनुहुन्छ। अनि, मानिसहरूले बुझे पनि नबुझे पनि, परमेश्‍वरले अथक रूपमा उहाँको काम जारी राख्नुहुन्छ—यो परमेश्‍वरको प्रेम हो। यो परमेश्‍वरले कसैलाई काटछाँट र निराकरण गर्नुभएजस्तै हो: यदि उसले गल्ती गर्‍यो भने, परमेश्‍वरले उसलाई निराकरण गर्नुहुन्छ; यदि उसले उक्त गल्ती दोहोर्‍यायो भने, परमेश्‍वरले उसलाई फेरि निराकरण गर्नुहुन्छ। अनि, यदि फेरि पनि उसको पर्दाफास भयो भने, परमेश्‍वरले उसलाई पुनः एकपटक निराकरण गर्नुहुन्छ। उक्त व्यक्तिले साँच्चिकै बुझाइ प्राप्त नगरुन्जेल, ऊ भावशून्य हुन छोडुन्जेल, फेरि त्यस्तै परिस्थिति सामना गर्दा बिजुलीको नाङ्गो तार छुँदाझैँ संवेदनशील नहुन्जेल, अबउप्रान्त गल्तीहरू नगर्ने नहुन्जेल, उहाँले धैर्यतापूर्वक काम गर्नुहुन्छ। यी मामलाहरू फेरि सामना गर्दा, जब तैँले यी कुरा स्वतन्त्र रूपमा र सिद्धान्तबमोजिम सम्हाल्न सक्छस्, तब परमेश्‍वरले पछि फेरि चिन्ता लिनुपर्दैन। यसले तैँले परमेश्‍वरका वचनहरू र परमेश्‍वरको सत्यता बुझेको छस्, हृदयमा तिनलाई अपनाएको छस्, र ती तेरो जीवन बनेका छन् भन्ने कुरा प्रमाणित गर्छ। त्यो बिन्दुमा, परमेश्‍वरले उहाँको काम बन्द गर्नुहुन्छ। परमेश्‍वरका कामका चरणहरू यिनै हुन्, र तैँले ती अनुभव गरेपछि, तैँले परमेश्‍वरको सार र बुद्धि देख्नेछस्; यो कुरा नकार्न सकिँदैन र शतप्रतिशत निश्‍चित छ।

भर्खरै, परमेश्‍वरको कामका चरणहरू मानिसहरूको स्वभाव परिवर्तनसँग सम्बन्धित छन् भनी उल्लेख गरियो। परमेश्‍वरको काम भनेको मानिसहरूलाई व्यवहारगत रूपमा अलिअलि परिवर्तन हुन, केही नियमहरू बुझ्न, र केही मानव झल्को पाउन दिनु, र त्यसपछि त्यसलाई ठूलो सफलताको रूपमा घोषित गर्नु होइन। यदि त्यस्तो हुँदो हो त, त्यो काम अनुग्रहको युगमै सम्पन्न भइसकेको हुनेथ्यो। परमेश्‍वर के चाहनुहुन्छ? (मानिसहरूको स्वभावगत परिवर्तन।) सही भनिस्, साँच्चिकै मुक्ति पाउने मानिसहरूमा हुनुपर्ने कुरा भनेकै स्वभावगत परिवर्तन हो। परमेश्‍वरले चाहनुहुने कुरा मानिसहरूको व्यवहारगत परिवर्तन मात्र होइन, त्योभन्दा महत्त्वपूर्ण त, तिनीहरूको स्वभावगत परिवर्तन हो; मुक्ति पाउने मानक नै यही हो। भर्खरै केही व्यवहारगत परिवर्तनहरू पनि उल्लेख गरियो, जस्तै परमेश्‍वरको निम्ति विभिन्‍न कुराहरू परित्याग गर्न र आफ्नो जीवन अर्पण गर्न सक्नु—यी स्पष्टतः व्यवहारगत परिवर्तनहरू हुन्। तर यदि परमेश्‍वरका आज्ञाहरूप्रति बफादारी छैन, कसैले अझै पनि लापरवाहीपूर्वक र झाराटारुवा तरिकाले कार्य गर्न सक्छ, र अझै पनि छल हुन्छ भने, त्यसको अर्थ स्वभावमा परिवर्तन आएको छैन। अहिले मानिसहरू व्यवहारगत रूपमा मात्र सराहनीय छन्; तिनीहरूको आचरण कुनै सन्तको सँग बढी मिलेजस्तो देखिन्छ, तिनीहरू बढी मानवतासाथ व्यवहार गर्छन्, र तिनीहरूमा केही इज्जत र निष्ठा छ। तथापि, कुनै व्यक्तिले जति नै असल व्यवहार देखाए पनि, यदि त्यो सत्यता अभ्यास गर्नेसँग सम्बन्धित छैन, र त्यसलाई तिनीहरूको विवेक, समझ र सामान्य मानवताबाट जिइएन भने, स्वभावमा आउने परिवर्तनसँग त्यसको कुनै सम्बन्ध हुँदैन र त्यो परमेश्‍वरले चाहनुहुने कुरा होइन। यसलाई त्यो तरिकाले हेर्दा, तिमीहरूको वर्तमान व्यवहारको सन्दर्भमा, तिमीहरूले निमयहरू जति नै पालना गरे पनि, तिमीहरू जति अनुपालन गर्ने भए पनि, तिमीहरूले आफ्नो जीवन जति नै अर्पण गरे पनि, वा तिमीहरूका आकाङ्क्षा जति नै ठूला भए पनि, के तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सकेका छौ? के तिमीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा गरेका छौ? (छैनौँ।) के परमेश्‍वरका मापदण्डहरू अति उच्च भएका हुन्? कतिपय मानिसहरू सोच्छन्, “अहिले मानिसहरू अति नै अनुपालन गर्ने खालका छन्, तिनीहरूले कसरी परमेश्‍वरका मापदण्डहरू अझै पूरा गरेका छैनन् त?” तिमीहरूलाई के लाग्छ, के यो अनुपालन साँचो आज्ञाकारिता हो? (होइन।) ठिक भन्यौ। अहिलेको यो अनुपालन अलिअलि चेतना भएको मात्र हो, यो सबै परमेश्‍वरको अनुशासनको परिणाम हो। यो पूर्णतया परमेश्‍वरको अनुशासनको प्रभाव हो; परमेश्‍वरले अथक रूपमा धेरै वचनहरू बोल्नुभएपछि मात्र, मानिसहरूमा विवेक जागेको र विवेकको भावना झक्झकिएको हो, र त्यसपछि मात्र तिनीहरूले मानवताको केही झल्को जिउन, कामकुरा गर्दा केही नियमहरू पालना गर्न, आफूले गर्ने जुनसुकै काममा सोधपुछ गर्न जान्‍न, र सिद्धान्तविरुद्ध काम गर्दा थोरै ग्लानि महसुस गर्न थालेका हुन्। छोटकरीमा भन्‍नुपर्दा, व्यवहारगत परिवर्तन आउँदा, परमेश्‍वरको न्याय र सजाय पाउने सर्तहरू पूरा हुँदैनन्; परमेश्‍वर मानिसहरूको व्यवहारगत परिवर्तन चाहनुहुन्न। त्यसोभए, परमेश्‍वर के चाहनुहुन्छ त? उहाँ त तिनीहरूको स्वभावगत परिवर्तन चाहनुहुन्छ। अनि, स्वभावगत परिवर्तनका प्रकटीकरणहरू केके हुन्? तिनीहरू परमेश्‍वरको न्याय र सजायको योग्य हुनको लागि विविध पक्षहरूमा कुन हदसम्म परिवर्तन हुनैपर्छ? तिनीहरू सबै पक्षहरूमा तिनीहरूको कार्यप्रदर्शन परमेश्‍वरले देख्न सक्नुहुने हदसम्म परिवर्तन हुनैपर्छ—अर्थात्, तिनीहरू विशेषगरी यथेष्ट मात्रामा आफ्ना कर्तव्यहरू पूरा गर्न सक्‍ने, र काटछाँट र निराकरण भोग्न स्विकार्न सक्‍ने, सबथोकमा सत्यता खोज्न सक्‍ने, सङ्कष्ट र परीक्षाहरू सामना गर्नुपर्दा परमेश्‍वरलाई पछ्याउन सक्‍ने, र मूलभूत रूपमा परमेश्‍वरले भन्नुहुने जे पनि स्विकार्न र पालना गर्न सक्‍ने हुनैपर्छ; अरूले सुपरिवेक्षण नगर्दा, र प्रलोभनहरू सामना गर्नुपर्दा पनि, तिनीहरू खराब कामकुरा नगर्न र अलिकति पनि दुष्टता नगर्न सक्‍ने हुनैपर्छ। परमेश्‍वरको नजरमा, यस्ता मानिसहरूले मानकहरू पूरा गर्छन्; तिनीहरू औपचारिक रूपमा उहाँको न्याय र सजाय पाउन योग्य छन्, जुन तिनीहरूलाई मुक्ति दिने र सिद्ध पार्ने परमेश्‍वरको कामको अगाडिको चरण हो। यसमा कस्तो सङ्केत, अर्थात् कस्तो मानक हुन्छ—के तिमीहरूलाई थाहा छ? (मैले के सोच्थेँ भने, परमेश्‍वरको सच्याइ र अनुशासनमार्फत, कुनै व्यक्तिले बिस्तारै आफ्नो विवेक र समझ पाउन सक्छ, र उसको व्यवहारमा केही परिवर्तनहरू आएसँगै उसले अन्त्यमा बफादारीपूर्वक आफ्नो कर्तव्यपालन गर्न सक्छ। त्यसपछि परमेश्‍वरले त्यो व्यक्तिमा न्याय र सजायको काम थाल्न सक्नुहुन्छ।) के तिमीहरू सबै यो भनाइसँग सहमत छौ? (सहमत छौँ।) ठीक छ, तर यो त एउटा अवस्था मात्र हो। परमेश्‍वरले कुनै व्यक्तिमा न्याय र सजायको काम गर्नुअघि उसको मूल्याङ्कन गर्नुहुनेछ। अनि, उहाँले उसलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? परमेश्‍वरसित थुप्रै मानकहरू छन्। सुरुमा, उहाँले उहाँका आज्ञाहरूप्रति उसको मनोवृत्ति कस्तो छ; अर्थात्, आफूले निर्वाह गर्नुपर्ने कर्तव्यप्रति उसको के मनोवृत्ति छ, उसले सच्‍चा मनले, अधिकतम क्षमतासाथ, र बफादारीपूर्वक, आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ सक्दैन भनी नियाल्नुहुन्छ। छोटकरीमा भन्‍नुपर्दा, उहाँले मानिसहरूले पर्याप्त कर्तव्यपालनको मापदण्ड पूरा गर्न सक्छन् सक्दैनन् भनी नियाल्नुहुन्छ—यो पहिलो पक्ष हो। यो परमेश्‍वरमा विश्‍वास गर्ने जीवन र मानिसहरू संलग्न हुने दैनिक कामसँग प्रत्यक्ष रूपले सम्बन्धित छ। परमेश्‍वरले किन यो पक्षलाई एउटा सर्त, एउटा मूल्याङ्कन मानकको रूपमा राख्नुहुन्छ? यसपछाडिको कारण के हो—तिमीहरूलाई थाहा छ? परमेश्‍वरले कसैलाई कुनै काम सुम्पनुहुँदा, त्यो व्यक्तिको मनोवृत्ति अति महत्त्वपूर्ण हुन्छ—उहाँले त्यसरी नै उसको मूल्याङ्कन गर्नुहुन्छ। यो काम उसलाई परमेश्‍वरले सुम्पनुभएको हो; विवेक भएको व्यक्तिले कसरी यसलाई विवेकहीन व्यक्तिले भन्दा फरक किसिमले हेर्छ? तर्कसङ्गत व्यक्तिले कसरी यसलाई तर्कविसङ्गत व्यक्तिले भन्दा फरक किसिमले हेर्छ? यी दुईबीच एउटा भिन्नता छ। विवेक र तर्कसङ्गतता व्यक्तिको मानवतामा हुनुपर्ने गुणहरू हुन्। यसबाहेक, थोरै मात्र विवेक वा थोरै मात्र तर्कसङ्गतता भएर मात्र पुग्दैन। यदि मानिसहरूले आफ्नो विवेक र तर्कसङ्गतता लयमा ल्याउँछन् भने, के तिनीहरू मानवजस्ता देखिन्छन्? के तिनीहरूले यसरी सत्यता वास्तविकता प्राप्त गरेका हुन्छन्? हुँदैनन्, अझै पनि यो पर्याप्त हुँदैन; परमेश्‍वरले कर्तव्यपालनको दौरान मानिसहरूले हिँड्ने मार्ग पनि नियाल्नुहुन्छ। अनि, मानिसहरूले हिँड्ने कस्तो मार्गले परमेश्‍वरको आवश्यक मापदण्ड पूरा गर्न सक्छ? पहिलो कुरा त, दुष्टता नगर्नु र कर्तव्यपालन गर्दा समर्पित हुनु नै न्युनतम मापदण्ड हो। यदि कसैले दुष्टता गर्न सक्छ भने, त्यो व्यक्ति पूरै सक्कियो; ऊ परमेश्‍वरले मुक्ति दिन चाहनुहुने खालको मानिस होइन। यसअलावा, परमेश्‍वरका आज्ञाहरूलाई हेर्दा, तिनलाई विवेक र चेतनाद्वारा सम्हाल्नेबाहेक, सत्यता खोज्न र परमेश्‍वरको इच्छा बुझ्न झन् बढी आवश्यक छ। परिस्थितिहरू जे-जस्ता भए पनि, तँलाई आइपरेको मामला तेरा धारणा र कल्पनाहरूसँग मिले पनि नमिले पनि, तैँले समर्पणको मनोवृत्ति कायम राख्नुपर्छ। यो मोडमा, परमेश्‍वरले चाहनुहुने भनेकै तेरो समर्पित मनोवृत्ति नै हो। यदि तँ परमेश्‍वरका वचनहरू सबै सत्यता हुन् र सही छन् भनेर मात्र मान्छस् भने, के त्यो समर्पणको मनोवृत्ति हो त? बिलकुलै होइन। समर्पणको मनोवृत्तिको व्यावहारिक पाटो के हो? यो यस्तो हो: तैँले आफूलाई परमेश्‍वरका वचनहरू स्विकार्न लगाउनैपर्छ। तेरो जीवन प्रवेश सतही मात्र भएको भए पनि, तेरो कद अपर्याप्त रहेको भए पनि, र सत्यताको व्यावहारिक पाटोबारे तेरो ज्ञान अझै गहन नभएको भए पनि, तँ अझै परमेश्‍वरलाई पछ्याउन र उहाँप्रति समर्पित हुन सक्छस्—यही नै समर्पणको मनोवृत्ति हो। पूर्ण समर्पण हासिल गर्न सक्नुपहिले, तैँले सुरुमा समर्पणको मनोवृत्ति अपनाउनैपर्छ, अर्थात्, तैँले परमेश्‍वरका वचनहरू स्विकार्नैपर्छ, ती ठिक हुन् भनी विश्‍वास गर्नैपर्छ, परमेश्‍वरका वचनहरूलाई सत्यता र अभ्यासका सिद्धान्तहरूको रूपमा लिनैपर्छ, र तँसित सिद्धान्तहरूको राम्रो बुझाइ नहुँदा पनि तिनलाई नियमका रूपमा पालना गर्न सक्नैपर्छ। यो एकप्रकारको समर्पणको मनोवृत्ति हो। तेरो अहिलेको स्वभाव अझै परिवर्तन नभएको हुनाले, यदि तँ परमेश्‍वरप्रति सच्चा रूपमा समर्पित हुन चाहन्छस् भने, तैँले पहिला समर्पणको मानसिकता राखेर समर्पित हुने आकाङ्क्षा राख्नैपर्छ, र यसो भन्नुपर्छ, “परमेश्‍वरले जे गर्नुभए पनि म समर्पित हुनेछु। म धेरै सत्यता बुझ्दिनँ, तर मलाई थाहा छ, जब परमेश्‍वरले मलाई केही गर् भन्नुहुन्छ, म त्यही गर्नेछु।” परमेश्‍वर यसलाई समर्पित मनोवृत्तिको रूपमा हेर्नुहुन्छ। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरप्रति समर्पित हुनु गल्ती हो भने, के होला?” के परमेश्‍वर गल्ती हुन सक्नुहुन्छ? परमेश्‍वर सत्यता र धार्मिकता हुनुहुन्छ। परमेश्‍वर गल्ती गर्नुहुन्न; परमेश्‍वरले गर्नुहुने धेरै कामहरू मानिसहरूका धारणाहरूसँग नमिलेका मात्र हुन्। तैँले यसो भन्नुपर्छ, “परमेश्‍वरले जे गर्नुहुन्छ त्यो मेरा आफ्नै धारणाहरूसँग मिले पनि नमिले पनि, म परमेश्‍वरलाई सुन्न, समर्पित हुन, स्विकार्न र पछ्याउनमै केन्द्रित हुनेछु। सृष्टि गरिएको प्राणीको रूपमा मैले गर्नुपर्ने यही हो।” अन्धोभक्त भई समर्पित भएको भनी तेरो आलोचना गर्ने मानिसहरू भए पनि, तैँले वास्ता गर्नु हुँदैन। परमेश्‍वर सत्यता हुनुहुन्छ र तँ समर्पित हुनुपर्छ भन्ने कुरामा तेरो हृदय ढुक्क छ। यो ठिक हो, र व्यक्ति त्यस्तै मानसिकताले समर्पित हुनुपर्छ। यस्तो मानसिकता बोकेका मानिसहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्। यदि तँसित यस्तो मानसिकता छैन, र तँ “म अरूले रिस उठाएर कष्ट भोग्दिनँ। मलाई कसैले मूर्ख बनाउनेछैन। म अत्यन्तै चतुर छु र मलाई केही कुराप्रति समर्पित गराउन सकिँदैन! मेरो बाटोमा जे आइपरे पनि, मलाई त त्यो जाँच्‍नु र विश्‍लेषण गर्नुपर्छ। त्यो मेरा विचारसँग मिलेमा र त्यो मैले स्विकार्न सकेमा मात्र, म समर्पित हुनेछु” भन्छस् भने—के यो समर्पणको मनोवृत्ति हो? यो समर्पणको मनोवृत्ति होइन; यो त समर्पित मानसिकताको अभाव हुनु, र हृदयमा समर्पित हुने अभिप्राय नहुनु हो। यदि तँ “त्यो परमेश्‍वर नै हुनुभए पनि, मैले जाँच्नैपर्छ। म राजारानीलाई समेत यस्तै व्यवहार गर्छु। तपाईंले मलाई जे भनिरहनुभएको छ त्यो बेकार छ। यो साँचो हो कि म सृष्टि गरिएको प्राणी हुँ, तर म डमी होइन—त्यसैले मलाई डमीजस्तो व्यवहार नगर्नुहोस्” भनेर भन्छस् भने, तेरो लागि कुरै सक्किन्छ; तँ सत्यता स्विकार्ने अवस्थामा छैनस्। यस्ता मानिसहरूमा कुनै तर्कसङ्गतता हुँदैन। तिनीहरूमा सामान्य मानवता हुँदैन, त्यसैले के तिनीहरू पशु होइनन् र? तर्कसङ्गतताबिना, कुनै व्यक्ति कसरी समर्पित हुन सक्छ? समर्पित हुनलाई, व्यक्तिमा सर्वप्रथम समर्पित मानसिकता हुनैपर्छ। समर्पणको मानसिकता हुने व्यक्तिमा मात्र उल्लेखयोग्य तर्कसङ्गतता हुन सक्छ। यदि ऊसँग समर्पणको मानसिकता छैन भने, उसमा कुनै तर्कसङ्गतता हुँदैन। मानिसहरू सृष्टि गरिएका प्राणी हुन्; तिनीहरूले सृष्टिकर्तालाई कसरी प्रस्टसित देख्न सक्छन्? ६,००० वर्षदेखि सम्पूर्ण मानवजातिले परमेश्‍वरको एउटै विचार पनि बुझ्न सकेका छैनन्, यस्तोमा मानिसहरूले परमेश्‍वर के गर्दै हुनुहुन्छ भनी तुरुन्तै कसरी बुझ्न सक्छन् र? तैँले त्यो बुझ्नै सक्दैनस्। परमेश्‍वरले हजारौँ वर्षदेखि गर्दै आउनुभएका धेरै कामहरू छन्, जुन परमेश्‍वरले मानवजातिलाई देखाइसक्नुभएको छ, तर यदि उहाँले मानिसहरूसामु ती खुलासा नगर्नुभएको भए, तिनीहरूले अझै पनि बुझ्थेनन्। सायद अहिले तँ उहाँका वचनहरू शाब्दिक रूपमा बुझ्छस् होला, तर साचोँ रूपमा भने तैँले बिस वर्षपछि मात्र बुझ्नेछस्। मानिसहरू र परमेश्‍वरले तोक्‍नुभएका कुराहरूबीचको अन्तर यति ठूलो छ। यसलाई विचार गरेर, मानिसहरूले तर्कसङ्गतता र समर्पणको मानसिकता बोक्नुपर्छ। मानिसहरू त बस कमिला र किरा मात्र हुन्, तैपनि तिनीहरू सृष्टिकर्तालाई प्रस्ट देख्‍न चाहन्छन्। यो एउटा सबभन्दा अनुचित कुरा हो। कतिपय मानिसहरू परमेश्‍वरले तिनीहरूलाई उहाँका रहस्यहरू बताउनुहुन्न, सत्यताबारे सिधै बुझाउनुहुन्न, र सधैँ मानिसहरूलाई खोजी गराउनुहुन्छ भनी सधैँ गुनासो गर्छन्। तर यी कुराहरू गर्नु ठिक होइन, र यो अनुचित हो। परमेश्‍वरले तँलाई भन्नुभएका यी सबै वचनहरूमध्ये तैँले कतिवटा बुझिस्? तँ परमेश्‍वरका कतिवटा वचनहरू अभ्यास गर्न सक्छस्? परमेश्‍वरको काम सधैँ चरणबद्ध रूपमा हुन्छ। यदि परमेश्‍वरले २,००० वर्षपहिले मानिसहरूलाई आखिरी दिनहरूको उहाँको कामबारे बताउनुभएको भए, के तिनीहरूले बुझ्थे र? अनुग्रहको युगमा, प्रभु येशूले पापी देहको स्वरूप धारण गर्नुभयो, र सम्पूर्ण मानवताको लागि पापबलि हुनुभयो। यदि उहाँले मानिसहरूलाई त्यो समयमा बताउनुभएको भए, कसले बुझ्थ्यो र? अनि अहिले, तिमीहरूजस्ता मानिसहरूले केही सैद्धान्तिक अवधारणाहरू बुझ्छौ, तर परमेश्‍वरको वास्तविक स्वभाव, मानवजातिलाई प्रेम गर्नुमा रहेको परमेश्‍वरको इच्छा, र परमेश्‍वरले त्यो समयमा गर्नुभएका कामकुराहरूको सुरुवात र योजनाजस्ता सत्यताहरू बुझ्न मानिसहरू कहिल्यै सक्षम हुनेछैनन्। सत्यताको रहस्य यही हो; परमेश्‍वरको सार यही हो। मानिसहरूले कसरी यसलाई प्रस्टसित बुझ्न सक्छन् र? तैँले सृष्टिकर्तालाई प्रस्टसित बुझ्ने इच्छा गर्नु पूर्णतया बेमनासिब कुरा हो। तँ अत्यन्तै अहङ्कारी छस् र आफ्ना क्षमताहरूको अधिमूल्यन गर्छस्। मानिसहरूले परमेश्‍वरलाई प्रस्टसित बुझ्ने इच्छा गर्नु हुँदैन। तिनीहरूले केही सत्यता मात्र बुझ्न सके त्यो धेरै राम्रो कुरा हो। जहाँसम्म तेरो कुरा छ, तैँले थोरै सत्यता बुझ्नु नै पर्याप्त उपलब्धि हो। त्यसकारण, के समर्पणको मानसिकता राख्नु उचित होइन र? यसो गर्नु बिलकुलै उचित कुरा हो। समर्पणको मानसिकता र मनोवृत्ति हरेक सृष्टि गरिएको प्राणीमा हुनुपर्ने न्युनतम कुरा हो।

पर्याप्त मात्रामा र बफादारीपूर्वक आफ्नो कर्तव्यपालन गर्नु, र समर्पणको मानसिकता राख्नु—यसको लागि कति समय लाग्छ? के यसको लागि कुनै निर्धारित निश्‍चित वर्ष लाग्छ? यसको लागि समयावधि तोकिएको छैन, यो आफ्नो पछ्याइ, आकाङ्क्षा, र सत्यताप्रतिको तृष्णाको मात्रामा भर पर्छ। यो आफ्नो विवेक, समझ, क्षमता र अन्तर्ज्ञानमाथि पनि भर पर्छ। समर्पणको मानसिकता प्राप्त गरेलगत्तै, व्यक्तिको बोली, कार्य र व्यवहारमा थप परिवर्तनहरू आउनेछन्। यी परिवर्तनहरू केके हुन्? परमेश्‍वरका नजरमा, अब तँ मूलतः एक इमानदार व्यक्ति हुन्छस्। मूलतः एक इमानदार व्यक्ति हुनुको अर्थ के हो? त्यसको अर्थ के हो भने, बोली र व्यवहारमा तेरो जानाजानी ढाँट्ने बानी घटेको छ; तेरो कुरा असी प्रतिशत सत्य हुन्छ। कहिलेकाहीँ, फोहोरपन, परिस्थिति, वा अन्य केही कारणले, तैँले अनजानमा ढाँट्छस्, र त्यो बेला झिँगा निलेजतिकै अप्ठ्यारो महसुस गर्छस्; अनि, तँलाई धेरै दिनसम्म दिगमिग हुन्छ। तँ आफ्नो गल्ती स्विकार्छस् र परमेश्‍वरसामु पश्‍चात्ताप गर्छस्, र पछि परिवर्तनहरू आउँछन्—तेरा झूटहरू कमभन्दा कम हुँदै जान्छन्, र तेरो स्थिति सुध्रन्छ। परमेश्‍वरका नजरमा, तँ मूलतः एक इमानदार व्यक्ति हुन्छस्। कतिपय मानिसहरू भन्छन्, “यदि कुनै व्यक्ति मूल रूपमा इमानदार छ भने, के उसको स्वभाव परिवर्तन भएको हुँदैन र?” के यस्तो हुन्छ र? हुँदैन, यो व्यवहारमा आउने परिवर्तन मात्र हो। परमेश्‍वरका नजरमा, इमानदार व्यक्ति हुन सक्नुमा आचरण र व्यवहारमा आउने परिवर्तनभन्दा बढी कुराहरू पर्छन्; त्यसमा मामलाहरूमाथिको व्यक्तिको मानसिकता र दृष्टिकोणमा आउने महत्त्वपूर्ण परिवर्तनहरू पनि पर्छन्। उसमा अबउप्रान्त ढाँट्ने वा धोका दिने अभिप्राय हुँदैन, र उसले भन्ने र गर्ने कुरामा झूट वा छल बिलकुलै हुँदैन। उसका वचन र कार्यहरू झन्झन् सत्य बन्छन्, र उसले झन्झन् बढी इमानदार शब्दहरू बोल्छ। उदाहरणको लागि, कुनै कुरा तैँले गरेको होस् कि भनी सोध्दा, र त्यो स्विकार्दा तैँले चड्कन खानुपर्ने वा दण्डित हुनुपर्ने भए पनि, अझै तँ सत्य बताउन सक्षम हुन्छस्। त्यो स्विकार्दा ठूलो जिम्मेवारी बोक्नुपर्ने, मृत्यु वा विनाश सामना गर्नुपर्ने भए पनि, तँ सत्यता बताउन सक्छस् र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सत्यता अभ्यास गर्न इच्छुक हुन्छस्। यसले परमेश्‍वरका वचनहरूप्रति तेरो मनोवृत्ति निकै दह्रिलो बनेको छ भन्ने जनाउँछ। चाहे जहिलेसुकै होस्, परमेश्‍वरले आवश्यक गराउनुभएको अभ्यासको हरकुनै मापदण्ड रोज्नु तेरो लागि विरलै मात्र समस्या बन्‍ने गरेको छ; तँ त्यसलाई बाहिरी परिस्थितिको पावन्दी, अगुवा र सेवकहरूको मार्गदर्शन, वा परमेश्‍वरको सूक्ष्म जाँच छेवैमा रहेको चेतनाबिनै, स्वाभाविक रूपमा प्राप्त गर्न र अभ्यास गर्न सक्छस्। तँ निकै सहज रूपमा आफैले यी कामहरू गर्न सक्छस्। बाहिरी परिस्थितिहरूको पावन्दीबिनै, र परमेंश्‍वरको अनुशासनको डर वा तेरो विवेकले धिक्‍कार्ने डरबिनै, र निश्‍चय नै अरूको खिसी र सुपरिक्षणको डरबिनै—यी कुनै कारणहरूबिनै—तैँले सक्रिय रूपमा तेरो आफ्नो व्यवहार जाँच्न, त्यसको शुद्धता मापन गर्न, त्यो सत्यतासँग मिल्दो छ छैन र त्यसले परमेश्‍वरलाई सन्तुष्ट पार्छ पार्दैन भनी मूल्याङ्कन गर्न सक्छस्। त्यो अवस्थामा, तैँले परमेश्‍वरको नजरमा मूलतः एक इमानदार व्यक्ति हुने मापदण्ड पुरा गरेको हुन्छस्। मूलतः एक इमानदार व्यक्ति हुनु भनेको परमेश्‍वरको न्याय र सजाय स्विकार्ने तेस्रो आधारभूत अवस्था हो।

हामीले भर्खरै परमेश्‍वरको न्याय र सजाय स्विकार्ने तीनटा अवस्थाहरूबारे छलफल गर्यौँ: पहिलो पर्याप्त मात्रामा आफनो कर्तव्यपालन गर्नु हो, दोस्रो समर्पणको मनोवृत्ति राख्नु हो, र तेस्रो मूल रूपमा एक इमानदार व्यक्ति हुनु हो। यो तेस्रो अवस्थाको मूल्याङ्कन कसरी गरिन्छ? यसका मापदण्डहरू केके हुन्? (व्यक्तिले इच्छुक रूपमै कम ढाँट्छ, र बढी सत्य बोल्छ।) यो भनेको बढीजसो समय सत्य बोल्‍न सक्नु हो; तिमीहरू सबैजना यतिको मूल्याङ्कन गर्न सक्ने हुनुपर्छ, हैन र? इमानदार व्यक्ति हुनु भनेको परमेश्‍वरको न्याय र सजाय स्विकार्ने तेस्रो अवस्था हो। दोस्रोचाहिँ समर्पणको मनोवृत्ति राख्नु हो, यसमा केही कुराहरू पर्छन्, मुख्यगरी यो परमेश्‍वरको कामको सूक्ष्म जाँच र विश्‍लेषण नगर्नु, बरु समर्पित मानसिकता मात्र राख्नु हो। यसअलावा, यसमा इमानदार व्यक्ति हुन खोज्‍ने, र आफ्ना झूटहरू घट्ने र बढीजसो सत्य बोल्न र आफ्ना साँचो भावना व्यक्त गर्न सक्ने अवस्थामा पुग्‍ने कुराहरू पर्छन्। यसको सबभन्दा महत्त्वपूर्ण पक्ष भनेको मानिसहरूको व्यक्तिपरक सहयोग हो, जसको मतलब सक्रिय रूपमा प्रगति गर्नु, र सत्यतासम्म पुग्ने प्रयत्न गर्नु हो। समर्पित मानसिकता राख्नु भनेको व्यक्तिपरक रूपमा प्राप्त हुने नतिजा हो; इमानदार व्यक्ति बन्न सक्षम हुनु—मूल रूपमा इमानदार हुनु—पनि व्यक्तिपरक मामला हो, र यो व्यक्तिको लगनशील पछ्याइको नतिजा हो। परमेश्‍वरको न्याय र सजाय स्विकार्नुको थप अर्को एउटा प्राथमिक सर्त पनि छ। म पहिला तिमीहरूलाई एउटा सुराग दिनेछु, र यदि तैँले मैले भनेको कुराबारे सोचविचार गरिस् भने, तैँले त्यो बुझ्न सक्नेछस्। परमेश्‍वरमा विश्‍वास गरेको सुरुदेखि अन्त्यसम्म, के मानिसहरूले यो जुनीमा धेरै गल्तीहरू गरेका हुँदैनन् र? के परमेश्‍वरविरुद्ध विद्रोहीपनका धेरै कार्यहरू भएका छैनन् र? (धेरै भएका छन्?) त्यसोभए कसैले कुनै गल्ती गरेमा वा ऊ विद्रोही भएमा उसले के गर्नुपर्छ? (उसमा पश्‍चात्तापी हृदय धारण गर्नुपर्छ।) पश्‍चात्तापी हृदय धारण गर्नु भनेको विवेक र समझ भएको व्यक्तिको सङ्केत हो। विवेक र समझ परमेश्‍वरको मुक्ति प्राप्त गर्ने व्यक्तिमा हुनुपर्ने न्युनतम गुणहरू हुन्; विवेक र समझ नभएका मानिसहरूले परमेश्‍वरको मुक्ति पाउन सक्दैनन्। यदि कुनै व्यक्तिले गल्ती गरेपछि कहिल्यै पश्‍चात्ताप गर्न जान्दैन भने, ऊ कस्तो चिज हो? के कहिल्यै पश्‍चात्ताप गर्न नजान्ने व्यक्तिले परमेश्‍वरलाई अन्त्यसम्म पछ्याउन सक्छ? के उसले वास्तविक परिवर्तन हासिल गर्न सक्छ? (सक्दैन।) किन सक्दैन? (किनभने उसमा पश्‍चात्तापी हृदय हुँदैन।) ठ्याक्कै मिलाइस्, र योसँगै हामी अन्तिम सर्तमा आइपुग्यौँ: व्यक्तिमा पश्‍चात्तापी हृदय हुनैपर्छ। परमेश्‍वरलाई पछ्याउने क्रममा, मानिसहरूले आफ्नो मूर्खता र अज्ञानता र तिनीहरूको विविध भ्रष्ट स्वभावहरूको कारण, आफैलाई अवज्ञाकारीको रूपमा प्रकट गर्छन्, र कहिलेकाहीँ परमेश्‍वरलाई गलत बुझ्छन् वा उहाँविरुद्ध गुनासो गर्छन्। तिनीहरू बाटो बिराउँछन्, र केहीले त परमेश्‍वरबारे धारणासमेत बनाउँछन्, केही समय आफ्नो काममा नकारात्मक र शिथिलसमेत बन्छन्, र आफ्नो आस्था गुमाउँछन्। मानिसहरूको जीवनको हरेक चरणमा अवज्ञाकारी व्यवहारहरू पैदा हुन्छन्। तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरलाई राखेका हुन्छन् र केही आइपर्दा तिनीहरूलाई उहाँ काम गर्दै हुनुहुन्छ भन्ने थाहा हुन्छ, तैपनि तिनीहरूले कहिलेकाहीँ उक्त तथ्यको बारेमा बुझ्‍नै सक्दैनन्। तिनीहरू सतही रूपमा समर्पित हुन सके तापनि, तिनीहरूले भित्र अन्तस्करणमा यसलाई स्वीकार गर्न सक्दै सक्दैनन्। तिनीहरूले भित्र अन्तस्करणमा यसलाई स्वीकार गर्न सक्दैनन् भनी के कुराले स्पष्ट पार्छ त? यो कुरा यसरी प्रकट हुने एउटा तरिका के हो भने, सबै कुरा थाहा भएको भए पनि, तिनीहरूले आफूले जे गरेका छन् त्यसलाई पन्छाउन सक्दै सक्दैनन् र आफ्ना गल्तीहरू स्वीकार गर्न परमेश्‍वरको सामु आउन र यसो भन्न सक्दै सक्दैनन्, “परमेश्‍वर म गलत थिएँ। म अबउप्रान्त त्यस्तो व्यवहार गर्नेछैन। म तपाईंको इच्छा खोजी गर्नेछु र तपाईंले मलाई जे गर्न लगाउनुहुन्छ त्यही गर्नेछु। मैले तपाईंको कुरा सुन्दिनथें; मेरो कद सानो थियो, म मूर्ख र अज्ञानी, र बारम्बार अनाज्ञाकारी हुने गर्थेँ। मलाई यो कुरा अहिले थाहा भयो।” यदि मानिसहरूले आफ्ना गल्तीहरू स्विकार्न सक्छन् भने तिनीहरूसित कस्तो मनोवृत्ति हुन्छ? (तिनीहरू बदलिन चाहन्छन्।) यदि मानिसहरूमा विवेक र समझ छ, र तिनीहरू सत्यतालाई उत्कट रूपमा चाहन्छन्, तैपनि तिनीहरू गल्ती गरेपछि कहिल्यै आत्मचिन्तन गर्न र बदलिन जान्दैनन्, र विगत भनेको विगत नै हो भन्ने विश्‍वास गर्छन् र आफूहरू कहिल्यै गलत हुन नसक्नेमा ढुक्क हुन्छन् भने, त्यसले कस्तो प्रकारको स्वभाव देखाउँछ? कस्तो प्रकारको व्यवहार देखाउँछ? त्यस्तो व्यवहारको सार के हो? (हठी हुनु हो।) त्यस्ता मानिसहरू हठी हुन्छन् र चाहे जेसुकै आओस्, तिनीहरूले त्यही बाटो पछ्याउनेछन्। परमेश्‍वरले त्यस्ता मानिसहरू मन पराउनुहुन्न। योनाले निनवेवासीहरूलाई परमेश्‍वरका वचनहरू व्यक्त गर्दा के भन्यो? (“अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ” (योना ३:४)।) निनवेवासीहरूले यी वचनहरूप्रति कसरी प्रतिक्रिया दिए? परमेश्‍वरले आफूहरूलाई नष्ट पार्न लाग्‍नुभएको छ भन्ने कुरा बुझेपछि, तिनीहरूले हतारहतार भाङ्ग्रा लगाए र खरानी धसे, र उहाँसमक्ष आफ्ना पापहरू स्विकारे र दुष्टताको मार्ग त्यागे। पश्‍चात्ताप गर्नु भनेकै यही हो। यदि मान्छेले पश्‍चात्ताप गर्न सक्छ भने, त्यसले उसलाई ठूलो अवसर प्रदान गर्छ। अनि, त्यो कुन अवसर हो त? यो निरन्तर बाँचिरहने अवसर हो। वास्तविक पश्‍चात्तापविना, निरन्तर अगाडि बढिरहन गाह्रो हुन्छ, चाहे त्यो कर्तव्यपालन गर्ने कार्यमा होस् वा चाहे मुक्ति पछ्याउने कार्यमा होस्। हरेक चरणमा—चाहे परमेश्‍वरले तँलाई अनुशासनमा राख्‍नुहुँदा वा सच्याउनुहुँदा होस् वा उहाँले तँलाई सम्झाउनुहुँदा र प्रोत्साहन दिनुहुँदा होस्—जबसम्म तेरो र परमेश्‍वरको बीच द्वन्द्व भइरहेको हुन्छ, तैपनि तँ बदलिँदैनस्, र आफ्ना विचार, दृष्टिकोण, मनोवृत्तिहरूमै अल्झिरहन्छस् भने, तेरा कदमहरू अगाडि बढिरहेका भए पनि, तेरो र परमेश्‍वरबीचको द्वन्द्व, उहाँबारेको तेरो गलतबुझाइ, उहाँविरुद्धका तेरा गुनासा र विद्रोहीपन सच्‍चिँदैनन्, र तेरो हृदय बदलिँदैन। परमेश्‍वरले आफ्नो तवरबाट तँलाई हटआउनुहुनेछ। तैँले आफ्नो हातको कर्तव्य नत्यागेको, अझै आफ्नो कर्तव्यपालन गर्ने गरेको र परमेश्‍वरको आज्ञाप्रति थोरै बफादारी राखेको, र मानिसहरूले यसलाई स्वीकार्य ठान्‍ने गरेको भए पनि, तँ र परमेश्‍वरबीचको विवाद सधैँको लागि गाँठो बनेको छ। तैँले त्यसलाई समाधान गर्न र परमेश्‍वरका अभिप्रायहरूबारे साँचो बुझाइ प्राप्त गर्न सत्यता प्रयोग गरेको छैनस्। फलस्वरूप, परमेश्‍वरबारेको तेरो गलतबुझाइ झन् गहिरिन्छ, र तँ सधैँ परमेश्‍वर नै गलत हुनुहुन्छ र तँलाई अन्याय गरिँदै छ भन्ने सोच्छस्। यसको अर्थ तँ बदलिएको छैनस्। तेरो विद्रोहीपन, तेरा धारणाहरू र परमेश्‍वरबारेको तेरो गलतबुझाइ अझै यथावत छन्, जसले तँलाई समर्पित नहुने मानसिकता राख्ने, सधैँ विद्रोही हुने र परमेश्‍वरको विरोध गर्नेतर्फ डोर्‍याउँछ। के यस्तो व्यक्ति परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, परमेश्‍वरको प्रतिरोध गर्ने, र पश्‍चात्ताप गर्न जिद्दीपूर्वक इन्कार्ने व्यक्ति होइन र? अनि, परमेश्‍वर किन मानिसहरू बदलिनुलाई यति धेरै महत्त्व दिनुहुन्छ? सृष्टि गरिएको प्राणीले सृष्टिकर्तालाई कस्तो आचरणको साथ व्यवहार गर्नुपर्छ त? सृष्टिकर्ताले जे नै गर्नुभए पनि उहाँ सही हुनुहुन्छ भनी स्वीकार गर्ने आचरणको साथ। यदि तैँले यो कुरालाई स्वीकार गर्दैनस् भने, सृष्टिकर्ता सत्यता, बाटो र जीवन हुनुहुन्छ भन्ने वचन तँलाई खोक्रो मात्र लाग्‍नेछ। यदि त्यसो हो भने, के तैँले अझै मुक्ति पाउन सक्छस्? सक्दैनस्। तँ अयोग्य हुन्छस्; परमेश्‍वरले तँजस्ता मानिसहरूलाई मुक्ति प्रदान गर्नुहुन्न। केही यस्ता मानिसहरू छन्, जो भन्छन्, “परमेश्‍वरले मानिसहरूलाई पश्‍चात्तापी हृदय धारण गर, र बदलिन जान भन्नुहुन्छ। तर धेरै कुराहरूमा म बदलिएको छैन। के मसँग अझै यस्तो गर्ने समय छ त?” हो, अझै समय छ। यसको साथै, केही मानिसहरू भन्छन्, “म के-कस्ता कुराहरूमा बदलिनुपर्छ? विगतमा भएका कुराहरू भइसके, र तिनलाई बिर्सी सकियो।” यदि तेरो स्वभाव केवल एक दिनको लागि पनि बदलिँदैन भने, र तेरा कार्यका कुनु-कुन कुराहरू सत्यताअनुरूप छैनन्, कुन-कुन कुराहरू परमेश्‍वरअनुरूप छैनन् भनी तैँले थाहै नपाई एक दिन मात्र पनि बित्छ भने, तेरो र परमेश्‍वरबीच भएको त्यो विवादको गाँठो अझै पनि खोलिएको छैन; त्यो समस्या सुल्झिएको छैन। यो स्वभाव तँभित्रै छ; परमेश्‍वरको अवज्ञा गर्ने विचार, दृष्टिकोण, र मनोवृत्ति तँभित्रै छ। कुनै सही परिस्थिति देखा पर्नेबित्तिकै, तेरो यो दृष्टिकोण फेरि देखा पर्नेछ, र तेरो र परमेश्‍वरबीचको द्वन्द्व फेरि उब्जिनेछ। यसर्थ, तैँले विगतलाई नसच्याए पनि, भविष्यमा हुने कुराहरूलाई तैँले सच्याउनुपर्छ। अनि, तिनीहरूलाई कसरी सच्याइन्छ त? तैँले परिस्थिति बदल्नुपर्छ, र तेरा विचारहरू र अभिप्रायहरूलाई पन्छाउनुपर्छ। तँसँग यस्तो अभिप्राय हुनेबित्तिकै तेरो इच्छा पनि प्राकृतिक रूपमै समर्पणको आचरण हुन जान्छ। तथापि, अझै बढी सटीक रूपमा कुरा गर्ने हो भने, यसले मानिसहरूले परमेश्‍वर, अर्थात् सृष्टिकर्ताप्रतिको मनोवृत्ति बदल्नुलाई जनाउँछ; यो भनेको सृष्टिकर्ता सत्यता, बाटो र जीवन हुनुहुन्छ भन्ने तथ्यलाई स्वीकार र पुष्टि गर्नु हो। यदि तैँले आफैलाई सुधार गर्न सक्छस् भने, यसले के देखाउँछ भने, तैँले आफूले सही ठानेका ती सबै कुराहरूलाई वा मानवजाति—जो आफै भ्रष्ट छ—ले सामूहिक रूपमा सही ठानेका ती सबै कुराहरूलाई पन्छाउन सक्छस्; अनि यसको सट्टा, तैँले परमेश्‍वरका वचनहरूलाई सत्यता र सकारात्मक कुराहरूको रूपमा स्वीकार गरिरहेको छस्। यदि तँमा यस्तो आचरण हुन सक्छ भने, यसले तैँले सृष्टिकर्ताको पहिचान र उहाँको सारलाई स्वीकार गरेको छस् प्रमाणित गर्छ। परमेश्‍वरले यो विषयलाई यसरी नै हेर्नुहुन्छ, त्यसकारण उहाँले मान्छेको बदलावलाई अत्यन्तै महत्त्वपूर्ण ठान्नुहुन्छ।

कतिपय यसो भन्नेहरू पनि छन्, “यदि कुनै व्यक्तिले केही गल्ती गरेको छैन भने, ऊ केको लागि बदलिनुपर्छ?” अहिले तैँले कुनै गलत काम गरेको छैनस् भने पनि, तैँले पहिला पश्‍चात्तापको सत्यता बुझ्नैपर्छ। यो तँसँग हुनैपर्ने कुरा हो। तैँले सत्यता बुझेपछि थाहा पाउनेछस् कि तैँले गरेका कतिपय कुराहरू अनुचित थिएछन्, र तैँले तेरा अभिप्राय र मानसिकतासम्बन्धी समस्याहरू अर्थात् तेरो स्वभावसम्बन्धी समस्याहरू पत्ता लगाउनेछस्। यी कुराहरू तैँले थाहै नपाई सतहमा आउनेछन् र यिनले तँलाई परमेश्‍वरसँगको तेरो सम्बन्ध मानव र परमेश्‍वरबीचको जस्तो सामान्य छैन भन्ने देखाउनेछ। परमेश्‍वर अझै परमेश्‍वर नै हुनुहुन्छ, तर तँ मापदण्ड पूरा नगर्ने सृष्टि गरिएको प्राणी होस्। मानिसहरू आफ्नो उचित स्थानमा रहन असफल भएका र आफूले गर्नुपर्ने उपलब्धिहरू हासिल गर्न नसकेका मामलाहरूमा—अर्थात्, जब तिनीहरू आफ्नो कर्तव्यमा असफल हुन्छन्—यो तिनीहरूभित्र गाँठो बनेर बस्नेछ। यो अत्यन्तै व्यावहारिक समस्या हो, र यो समाधान गरिनैपर्ने समस्या हो। त्यसो भए, कसरी यसलाई समाधान गर्ने त? मानिसहरूसँग कस्तो प्रकारको मनोवृत्ति हुनुपर्छ? अरू सबै कुराहरूभन्दा पहिले, तिनीहरू आफूलाई बदल्न इच्छुक हुनैपर्छ। अनि, यो बदलिने तत्परतालाई कसरी अभ्यास गर्नुपर्छ? उदाहरणको लागि, एउटा व्यक्ति एकदुई वर्षको लागि अगुवा हुन्छ, तर ऊ कमजोर क्षमताको भएर, उसले आफ्नो काम राम्ररी गर्दैन, कुनै पनि परिस्थिति प्रस्टसित बुझ्न सक्दैन, सत्यता प्रयोग गरेर समस्याहरू सुल्झाउन जान्दैन, र कुनै पनि वास्तविक काम गर्न सक्दैन; त्यसैले, उसलाई बरखास्त गरिन्छ। यदि बरखास्त गरिएपछि उसले आज्ञापालन गर्न र कर्तव्यपालन जारी राख्न सक्छ, र ऊ बदलिन इच्छुक छ भने, उसले के गर्नुपर्छ? सर्वप्रथम, उसले यो कुरा बुझ्नुपर्छ, “परमेश्‍वरले जे गर्नुभयो त्यसमा उहाँ सही हुनुहुन्थ्यो। मेरो क्षमता ज्यादै कम रहेछ, र त्यति लामो समयसम्म मैले कुनै वास्तविक काम गरेनछु, बरु मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश रोक्ने मात्र गरेछु। यो मेरो सौभाग्य हो कि परमेश्‍वरको घरले मलाई तत्काल निष्कासन गरेन। मैले यतिका समय पदमा रहेर आफूले महान्‌ काम गरेको छु भन्नेसमेत विश्‍वास गर्दै साँच्चिकै निर्लज्‍जता देखाएँ। मबाट कस्तो मूर्खता भएछ!” आत्मधिक्‍कार र पछुतोबोध गर्न सक्नु: के यो बदलिने इच्छुकताको अभिव्यक्ति हो, कि होइन? यदि तिनीहरू यसो भन्न सक्छन् भने, त्यसको अर्थ तिनीहरू इच्छुक छन्। यदि तिनीहरू हृदयमा यसो भन्छन् रे, “यतिका समय म अगुवाको पदमा रहँदा, मैले सधैँ हैसियतका लाभहरूको निम्ति प्रयत्न गरेको छु; म सधैँ धर्मसिद्धान्त प्रचार गरिरहेको र आफूलाई धर्मसिद्धान्तद्वारा सुसज्जित गरिरहेको हुन्थेँ; मैले जीवन प्रवेशको लागि प्रयत्न गरिनँ। अहिले मलाई मेरो पदबाट हटाइएपछि मात्र म कति अपर्याप्त र अपूर्ण रहेछु भन्ने थाहा पाएँ। परमेश्‍वरले सही काम गर्नुभयो, र मैले आज्ञापालन गर्नुपर्छ। विगतमा, मसँग हैसियत थियो, र दाजुभाइ-दिदीबहिनीहरू मलाई राम्रो व्यवहार गर्थे; म जहाँ-जहाँ जान्थेँ मलाई तिनीहरूले घेर्थे। अहिले मलाई कसैले पनि ध्यान दिँदैन, र मलाई परित्याग गरिएको छ; यो मैले पाउनुपर्ने नै थियो, यो मैले पाउनैपर्ने दण्ड हो। यसअलावा, परमेश्‍वरको अघि कसरी सृष्टि गरिएको प्राणीको कुनै हैसियत कसरी हुनसक्छ र? कुनै व्यक्तिको हैसियत जति नै उच्च भए पनि, त्यो न त अन्त्य हो न त गन्तव्य; परमेश्‍वरले मलाई आज्ञा गर्नुको उद्देश्य यो होइन कि मैले आफ्नो पदको दुरुपयोग गर्न र आफ्नो हैसियतको आनन्द लिन सकूँ, बरु यो हो कि म आफ्नो कर्तव्यपालन गर्न सकूँ, र मैले आफूले सक्ने जे काम पनि गरूँ। मैले परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरको घरका बन्दोबस्तहरूप्रति आज्ञाकारिताको मनोवृत्ति राख्नुपर्छ। आज्ञापालन कठिन हुन सक्ने भए पनि, मैले आज्ञापालन गर्नैपर्छ; परमेश्‍वरले जे गर्नुहुन्छ त्यसमा उहाँ सही हुनुहुन्छ, र मसँग हजारौँ, लाखौँ बहानाहरू नै भए पनि, तीमध्ये कुनै पनि सत्यता हुनेथिएनन्। परमेश्‍वरको आज्ञापालन गर्नु नै सत्यता हो!” बदलिने तत्परताका ठ्याक्कै अभिव्यक्तिहरू यिनै हुन्। अनि, यदि कुनै व्यक्तिमा यी सबै कुरा थियो भने, परमेश्‍वरले उक्त व्यक्तिलाई कसरी मूल्याङ्कन गर्नुहुन्थ्यो? परमेश्‍वरले उक्त व्यक्ति विवेक र तर्क भएको व्यक्ति हो भनेर भन्नुहुनेथियो। के यो मूल्याङ्कन उच्च छ? यो त्यति धेरै उच्च छैन; विवेक र समझ मात्र हुनु भनेको परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको लागि आवश्यक पर्ने मापदण्डभन्दा धेरै कम हुनु हो—तर जहाँसम्म यस प्रकारको व्यक्तिको कुरा छ, यो त्यति सानो उपलब्धि होइन। समर्पित हुन सक्नु अमूल्य कुरा हो। यसपछि, उक्त व्यक्तिले ऊप्रतिको परमेश्‍वरको दृष्टिकोण कसरी परिवर्तन गराउन खोज्छ भन्ने कुरा उसले रोज्ने बाटोमा भर पर्छ। यदि उसले साँच्चिकै पश्‍चात्ताप गरेको छैन भने, र उसमा हैसियत नभएर ऊ आफ्नो कर्तव्यमा बफादार छैन र सधैँ लापरवाह र झाराटारुवा हुन्छ भने, उसको लागि सबै सक्‍किन्छ; उसलाई बरखास्त गरिनेछ। यदि उसमा अझै गुनासाहरू छन् र मानौँ उसले यसरी दुखेसो पोख्छ, “अगुवा हुँदा मैले धेरै दुःख भोगेँ, र कुनै श्रेय नमिल्ने नहुँदा पनि मेहनत गर्नैपर्थ्यो। मानिसहरू मैले व्यावहारिक काम गरिनँ भन्छन्, तर मैले धेरै नै गरेँ। मैले कुनै नतिजा हात पारे पनि नपारे पनि, म कम्तीमा निष्क्रिय रहिनँ। म निष्क्रिय नरहेकोले परमेश्‍वरले मलाई यतिकै निष्कासन गर्नु हुँदैन। हैसियत नहुँदा पनि मलाई अनेक काम गराइँदै छ—के यो मसित खेलबाड गरेको होइन र?”—यदि प्रतिस्थापित भएपछि पनि उसमा कुनै कर्तव्यपालन गर्ने उत्साह बाँकी रहँदैन भने, के यसमा कुनै बफादारी र आज्ञाकारिता हुन्छ र? उसमा कुनै बफादारी, आज्ञाकारिता, र बदलिने तत्परता हुँदैन; उसमा यीमध्ये केही पनि हुँदैन। के यो दयनीय होइन र? यो अत्यन्तै दयनीय कुरा हो; उसले यतिका वर्ष व्यर्थै विश्‍वास गर्‍यो। धेरै वर्षसम्म प्रवचनहरू सुनेर पनि सत्यता अभ्यास नगर्नु, सधैँ अरूलाई शब्द र धर्मसिद्धान्तहरूबारे पाठ पढाउनु, तर आफैले केही गर्न नसक्नु—उसले यसरी नै परमेश्‍वरमा विश्‍वास गरेको हो; उसले अरूलाई धेरै नै धर्मसिद्धान्त प्रचार गर्‍यो, तर अन्त्यमा, ऊ उसका आफ्नै समस्याहरूसमेत समाधान गर्न सक्दैन। यो अत्यन्तै दयनीय कुरा हो! अनि यति हुँदाहुँदै पनि ऊ अझै परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्न चाहन्छ? प्रतिस्थापित भएपछि, ऊ अझै परमेश्‍वरसित जोरी खोज्छ र वेदना भोग्छ, र कुनै खालको आज्ञाकारिता देखाउँदैन। के यो बित्थामा दुःख भोग्नु होइन र? तेरो दुःख व्यर्थ छ! अरू सबै कुरा बिर्सेर मण्डलीले तँलाई आफ्नो पदबाट हटाउँदा तँ क्रोधित र जोरीबाज बनेको कुरा हेर्दा—त्यसैको आधारमा मात्र हेर्दा पनि, तँ मानव हुन लायक छैनस्, परमेश्‍वरको सृष्टि गरिएको प्राणी हुन लायक छैनस्। अनि, तँ ठ्याक्कै केको लागि विवाद गरिरहेको छस्? तँसित भएका सबै तर्कहरू बेकार छन्। तैँले धेरै वर्ष विश्‍वास गरेको छस्, तैपनि तँसित आज्ञाकारिताको झिल्कोसमेत छैन; तैँले यतिका वर्ष आस्था राखेको प्रतिफल खै त? कस्तो दयनीय, घृणित, र घिनलाग्दो! तँलाई हैसियत दिइयो अनि तैँले त्यसलाई एउटा आधिकारिक भूमिकाको रूपमा हेरिस्; के हैसियत हुनुको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्ने हो? के यो परमेश्‍वरको अनुग्रह मात्र होइन र? परमेश्‍वरले यो आज्ञाद्वारा तँलाई अनुग्रह देखाउनुभयो, तैपनि तैँले यसलाई आधिकारिक भूमिकाको रूपमा लिइस्—के त्यो घिनलाग्दो कुरा होइन र? के परमेश्‍वरको घरमा कुनै अधिकारीहरू हुन्छन्? युगौँयुगका सन्तहरूमध्ये, कोही पनि अधिकारी थिएनन्। मानिसहरूले दुई हजार वर्षसम्म पावललाई आराधना गरेका छन्, तर पावलसँग आधिकारिक पद थियो भनेर कसैले कहिल्यै भनेन। त्यसैले, “आधिकारिक” भन्ने शब्द जायज छैन; यो न त इनाम हो, न त परमेश्‍वरको आज्ञा हो, तैँले यसलाई त्याग्नुपर्छ। यदि तँ निरन्तर एक अधिकारी हुन खोज्छस् भने, के परमेश्‍वरले यो कुरा अनुमोदन गर्नुहुनेछ? के यो कुराले तँलाई मुक्ति प्राप्त गर्न दिनेछ? पक्कै दिनेछैन। भर्खरै हामीले उल्लेख गर्‍यौँ कि परमेश्‍वरको न्याय र सजाय स्विकार्नलाई, व्यक्तिमा बदलिने तत्परता हुनैपर्छ। के यो महत्त्वपूर्ण छैन र? (छ।) यस्तो मनोवृत्ति हुनु अत्यन्तै महत्त्वपूर्ण छ! यदि तँ आफू र सृष्टिकर्ताबीच मुक्तिदाता र मुक्ति प्रापकबीचको सम्बन्ध स्थापित गर्न चाहन्छस् र तँ परमेश्‍वरले तँलाई मुक्ति दिनुहोस् भन्ने चाहन्छस् भने, तैँले आफ्नो दृष्टिकोण सच्याउनैपर्छ, र तेरो हृदयमा परमेश्‍वरको स्थान र हैसियत निश्‍चित पार्नैपर्छ। त्यसोभए तेरो पद के हो त? (सृष्टि गरिएको प्राणी हो।) यो सृष्टि गरिएको प्राणी भनेको को हो? त्यो मान्छे हो, पशु होइन। हरसमय तैँले आफू एक सृष्टि गरिएको प्राणी र साधारण मानव भएको कुरा याद राख्‍नुपर्छ, र तैँले आफ्नो उचित स्थान बिर्सनु हुँदैन। जब परमेश्‍वरले तँलाई थोरै अनुग्रह, थोरै आशिष्‌ दिनुहुन्छ, तैँले आफू को हुँ भन्ने कुरै बिर्सिन्छस्। विनम्र र गुप्‍त रहँदै, परमेश्‍वरले तँलाई सहानुभूति दिन केही मर्मस्पर्शी वचनहरू सुनाउनुहुँदा, उहाँले तँलाई उचालिरहनुभएको हुन्छ; तर तँ आफूलाई माथि उठाएर परमेश्‍वरसित समान स्तरमा उभिन चाहन्छस्—कस्तो चिजले यसो गर्छ? के कुनै मानवले गर्छ? (गर्दैन।) परमेश्‍वरले तँजस्तो सृष्टि गरिएको प्राणीलाई चिन्नुहुन्न—तँ छेउ लाग्दा हुन्छ! यदि परमेश्‍वरले तँलाई चिन्नुहुन्न भने, के उहाँले तँलाई सिद्ध तुल्याउनुहुनेछ र? तैँले परमेश्‍वरद्वारा सिद्ध तुल्याइने सर्तहरू पूरा गर्दैनस्। के अब यो छलफलको चुरो प्रस्ट भएको छैन र? यसर्थ, मार्ग बदल्ने तत्परता राख्नु अत्यन्तै महत्त्वपूर्ण छ; यो एउटा मनस्थिति हो, र सँगसँगै, यो एउटा मनोवृत्ति पनि हो। यो मनोवृत्ति परमेश्‍वरबाट मुक्ति र सिद्धता पाउनको लागि व्यक्तिमा हुनुपर्ने महत्त्वपूर्ण अभ्यासको सिद्धान्त हो। आफूलाई धेरै महान् र आदर्शमयी नठान्, र आफू पूर्ण रूपमा सही र अचुक छु भन्ने नसोच्। तँ महान्, गौरवशाली, वा सही छैनस्; तँ अत्यन्तै सानो, तल्लो स्तरको, शैतानद्वारा भ्रष्ट तुल्याइएको सृष्टि गरिएको मानवजाति होस्। तैँले सृष्टिकर्ताको मुक्ति स्विकार्नुपर्छ। तैँले मुक्ति पाइसकेको छैनस्, तँ सिद्ध छैनस्; तँमा यो समझ हुनैपर्छ।

परमेश्‍वरको सजाय र न्याय स्विकार्न चार सर्तहरू पूरा गर्नुपर्छ: पर्याप्त कर्तव्यपालन, समर्पणको मानसिकता, मूलभूत इमानदारी, र पश्‍चात्तापी हृदय। यी चार सर्तहरू याद राख् र तैँले परिस्थितिहरू सामना गर्नुपर्दा, ती सर्त पूरा गर्छस् गर्दैनस् तुलना गरिहेर्। यदि समर्पणसँग सम्बन्धित परिस्थिति छ भने, समर्पण अभ्यास गर्। परमेश्‍वरको वचनले मानिसहरूमा समर्पित हृदय हुनुपर्ने आवश्यक गराउँछ; यदि तैँले आफूलाई परमेश्‍वरका वचनहरूसित तुलना गरिस् र ठूलो फरक भेटिस् भने, तैँले के गर्नुपर्छ? परमेश्‍वरले भन्‍नुभएबमोजिम गर्, विश्‍लेषण वा विवाद नगरी परमेश्‍वरका वचनहरू पछ्या। यदि विवाद गर्ने कोसिस गरिस् भने, परमेश्‍वरले तँलाई घिनाउनुहुनेछ। परमेश्‍वरले तँलाई घिनाउनुभयो भने तँ के गर्नेछस्? एउटा उपचार विधि छ, त्यो हो तुरुन्तै मार्ग परिवर्तन गर्ने। ससाना कुरामा परमेश्‍वरको चित्त दुखाउने र त्यसपछि परमेश्‍वरको चित्त दुखाइरहने र उहाँलाई बेवास्ता गर्ने काम नगर्। मानवहरू केही पनि होइनन्; यदि तैँले परमेश्‍वरलाई बेवास्ता गरिस् भने, त्यसउप्रान्त उहाँले तँलाई चाहनुहुनेछैन। परमेश्‍वरले तँलाई बेवास्ता गर्नुभयो वा चाहनुभएन भने, तँ के गर्छस्? तैँले यसो भन्छस्, “म मार्ग परिवर्तन गर्नेछु। मलाई नत्याग्नुहोस्, परमेश्‍वर, म तपाईंबिना जिउन सक्दिनँ।” तर यति मात्र भनेर केही हुनेछैन। परमेश्‍वरलाई तेरो मिठो बोली चाहिँदैन; उहाँले तेरो मनोवृत्ति, अभ्यास, आउँदा दिनमा तैँले हिँड्ने मार्ग, र तेरो कार्यप्रदर्शन हेर्नुहुनेछ। परमेश्‍वरलाई तैँले थोरै मिठो वचन बोलेर बहकाउन सकिने साधारण व्यक्ति नसोच्; परमेश्‍वर त्यस्तो हुनुहुन्न, उहाँले तेरो मनोवृत्ति हेर्नुहुन्छ। तैँले मार्ग बदलिसकेपछि, परमेश्‍वरले देख्नुहुन्छ कि तँ हठीबाट समर्पित हुने व्यक्ति बनेको छस्, तँ सत्यता स्विकार्न सक्छस्, र तैँले परमेश्‍वरसित जोरी खोज्न छोडेको छस्। तेरो हठीपन परिवर्तन भएको छ, तँलाई आफू को हुँ भन्ने थाहा छ, र तँ आफ्नो परमेश्‍वर चिन्छस्; यसपछि चाँडै नै परमेश्‍वरले तँमाथि केही काम गर्न थाल्नुहुनेछ। कतिपय मानिसहरू भन्छन्: “मलाई परमेश्‍वरले केही गर्नुहुनेछ भन्ने अनुभूति नै भएको छैन।” तेरा भावनाहरूमा भरोसा नगर्। के तेरा भावनाहरू सही छन्? परमेश्‍वरले तँमाथि धेरै काम गर्नुभएको छ—के तैँले त्यो कुनै अनुभूति गरेको छस्? के परमेश्‍वर विक्षिप्त हुनुहुँदा, के त्यो तैँले अनुभूति गरिस्? तँलाई केही पनि थाहा भएन—सायद तँ अरू कतै खुसी पनि भइरहेको थिस्। त्यसैले, परमेश्‍वरका भावनाहरूलाई तेरा आफ्नै भावनाहरूको आधारमा व्याख्या र मापन गर्ने काम नगर्; यो बेकार हो। यदि परमेश्‍वरले तँलाई बेवास्ता गर्नुभयो र तैँले केही अनुभूति गरिनस् र अन्तर्दृष्टि वा स्वीकार प्राप्त गरिनस् भने, तैँले के गर्नुपर्छ? एउटा कुरा याद राख्: तैँले एउटा सृष्टि गरिएको प्राणीले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू पूरा गर्न जारी राख्नैपर्छ, र अझै पनि तैँले जे-जसरी बोल्नुपर्ने हो त्यसरी नै सत्यतापूर्वक बोल्नैपर्छ। परमेश्‍वरले तँलाई बेवास्ता गर्नुभयो वा उहाँ अबउप्रान्त तँलाई चाहनुहुन्‍न भन्दैमा, पहिलेकै झूट बोल्ने अवस्थामा नफर्की, अहिले पनि त्यसबेला जस्तै नबोल्; यदि यसो गरिस् भने, तँ पूरै सक्किन्छस्। यसो गर्नु भनेको परमेश्‍वरसित जोरी खोज्नु र उहाँको विरोध गर्नु हो। तैँले आफ्नो कर्तव्यप्रति अडिग रहेर आवश्यकताअनुसार समर्पित हुनुपर्छ। अनि, यसमा के फाइदा छ? जब परमेश्‍वरले तैँले मार्ग परिवर्तन गरेको देख्नुहुन्छ, तब उहाँको हृदय नरम हुनेछ, र तँप्रतिको उहाँको क्रोध र रिस बिस्तारै हट्नेछन्। के परमेश्‍वरको क्रोध हट्नु तेरो लागि राम्रो सङ्केत होइन र? त्यसको अर्थ तेरो बदलिने क्षण आइसकेको छ। जब तैँले भावनाहरूको आधारमा जिउन, परमेश्‍वरका अभिव्यक्तिहरूको सूक्ष्म जाँच गर्ने प्रयास गर्न र परमेश्‍वरलाई उहाँको स्थान ज्ञात गराउन अनावश्यक दबाब दिन छोड्छस्, र त्यसको साटो परमेश्‍वरले बोल्नुभएका वचनहरू, परमेश्‍वरले तँलाई सुम्पनुभएका कर्तव्य र अभ्यासका सिद्धान्तहरू, र परमेश्‍वरले तँलाई अभ्यास गर्न र हिँड्न लगाउनुभएको मार्गअनुसार जिउँछस् भने; यदि तँ यी सबै कुराअनुसार जिउँछस्, र परमेश्‍वरले तँलाई जे-जस्तो व्यवहार गर्नुभए पनि वा तँप्रति ध्यान दिनुभए पनि नभए पनि, तैँले आफूले गर्नुपर्ने काम गर्न जारी राख्छस् भने—परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुनेछ। अनि, उहाँले तँलाई किन अनुमोदन गर्नुहुनेछ? किनभने परमेश्‍वरले तँलाई जे गर्नुभए पनि, उहाँले तँप्रति ध्यान दिनुभए पनि नभए पनि, उहाँले तँलाई अनुग्रह, आशिष्, ज्योति, अन्तर्दृष्टि, हेरचाह, वा सुरक्षा प्रदान गर्नुभए पनि नभए पनि, र तँलाई जतिसुकै मात्रामा यी कुराहरू अनुभूति भए पनि, तैँले उहाँलाई अझै पनि अन्त्यसम्‍मै पछ्याउन सक्छस्। तैँले सृष्टि गरिएको प्राणीको स्थान केही तलमाथि नगरी अडिग रूपमा पालना गरेको हुन्छस्; तैँले परमेश्‍वरका वचनहरूलाई तेरो जीवनको लक्ष्य र दिशाको रूपमा लिएको छस्, र परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा र तेरो जीवनको सबभन्दा उच्च ज्ञानका वचनहरूको रूपमा लिएको हुन्छस्। यस्तो व्यवहारको सार के हो? यो भनेको सृष्टिकर्ता नै तेरो जीवन हुनुहुन्छ, उहाँ नै तेरो परमेश्‍वर हुनुहुन्छ भनी हृदयबाट चिन्नु हो। यस तरिकाले, परमेश्‍वर ढुक्क बन्‍नुहुन्छ, र तँ परमेश्‍वरको उपस्थितिमा जिउने सामान्य व्यक्ति बन्छस्; यस्तो व्यक्तिले स्वभावगत परिवर्तनका आधारभूत सर्तहरू पूरा गर्छ। यो आधारमा, के मानिसहरूले हासिल गरेको बुझाइ र परिवर्तनलाई स्वभावगत परिवर्तन मान्न सकिन्छ? तिनीहरूले अझै त्यो मापदण्ड पूरा गर्दैनन्। त्यसकारण, तैँले सृष्टिकर्ताको पहिचान स्विकार्नैपर्छ, र आफ्नो कर्तव्यप्रति जिम्मेवार मनोवृत्ति पनि राख्नैपर्छ। साथै, तँसित सत्यता स्विकार्न र त्यसप्रति समर्पित हुन सक्ने मनोवृत्ति पनि हुनैपर्छ। यी गुणहरू भएपछि, परमेश्‍वरले तँमाथि न्याय र सजायको काम सुरु गर्नुहुनेछ। मुक्ति पाउने कामको थालनी यहीँबाट हुन्छ। कतिपय मानिसहरू भन्छन्: “यदि हामीसँग यी गुणहरू छन् भने, के त्यसको अर्थ हाम्रो स्वभाव परिवर्तन भइसकेको छ भन्ने होइन र? यति धेरै परिवर्तन भइसकेपछि, परमेश्‍वरले न्याय र सजाय गर्नुपर्ने अरू के नै छ र?” परमेश्‍वरले केलाई न्याय र सजाय गर्नुहुन्छ? मानिसहरूको प्रकृति सार अर्थात् तिनीहरूको भ्रष्ट स्वभावलाई। यदि कुनै व्यक्तिमा यी चार सर्तहरू छन् र उसले तिनलाई पूरा गर्न सक्छ भने, उसको भ्रष्ट स्वभावको कुन पक्ष पूर्ण रूपमा परिवर्तन भएको हुन्छ? कुनै पनि परिवर्तन भएको हुँदैन। थोरै व्यवहारगत परिवर्तन मात्र आएको हुन्छ, तर त्यो पर्याप्त हुँदैन। कुनै मूलभूत परिवर्तन भएको हुँदैन। यसको मतलब, परमेश्‍वरले तँमाथि उहाँको न्याय र सजायको काम थाल्नुपूर्व, तेरो आत्मज्ञान सधैँ देखावटी र सतही स्तरको हुनेछ। त्यो तेरो भ्रष्ट सारसित मिल्नेछैन; त्यो त्यसबाट धेरै फरक छ, तीबीच ठूलो अन्तर छ। त्यसकारण, परमेश्‍वरले उहाँको न्याय र सजायको काम थाल्नुपूर्व, तैँले आफूलाई जति नै असल, सोझो, र नियम-पालक भन्‍ठाने पनि, वा तँलाई आफूसित जति नै समर्पित मनोवृत्ति छ भन्ने लागे पनि, तैँले यो एउटा कुरा जान्नैपर्छ: तेरो स्वभाव औपचारिक रूपमा परिवर्तन हुन सुरु भएकै छैन। तेरा अभ्यासका तरिका र तेरा विधिहरूले व्यवहारगत परिवर्तन मात्र जनाउँछन्, र ती परमेश्‍वरको मुक्ति पाउने व्यक्तिमा हुनैपर्ने आधारभूत मानवता हुन्। इमानदारी, समर्पण, मार्ग परिवर्तन गर्ने क्षमता, बफादारी—यी कुराहरू व्यक्तिको मानवताभित्रै हुनुपर्छ। यसमा अवश्यै विवेक र समझ पनि पर्छन्; परमेश्‍वरले उहाँको न्याय र सजायको काम गर्नुपहिले तँसित यी गुणहरू हुनैपर्छ। व्यक्तिले यी चारवटै सर्तहरू—पर्याप्त कर्तव्यपालन, समर्पित मानसिकता, मूलभूत इमानदारी, र पश्‍चात्तापी हृदय—पूरा गरेपछि परमेश्‍वरले उक्त व्यक्तिमाथि उहाँको न्याय र सजायको काम थाल्नुहुनेछ।

अब, परमेश्‍वरले मानिसहरूमाथि कसरी खास रूपमा न्याय र सजायको काम गर्नुहुन्छ भन्नेबारे तिमीहरूको मस्तिष्कमा केही बुझाइ आएको हुनुपर्छ। उदाहरणको लागि, दुष्टताको कुरा गर्नुपर्दा, मानिसहरू प्राय: परमेश्‍वरको छानबिन गर्छन्, अनौठो तरिकाले उहाँको सूक्ष्मजाँच गर्न चाहन्छन्, र परमेश्‍वरका वचनहरूबारे शङ्का, उपशङ्का र प्रश्‍नहरू पैदा गर्छन्। तिनीहरू मानिसहरूप्रतिको परमेश्‍वरको साँचो मनोवृत्ति के हो भनी अनुमान लगाउँछन्, र सधैँ यो कुरा जान्न चाहन्छन्। के यो दुष्टता होइन र? के अहिले मानिसहरूलाई तिनीहरूका कुन स्थिति वा व्यवहारहरूले यस्तो स्वभाव देखाउँछन् भन्‍ने थाहा छ? मानिसहरू प्रस्ट छैनन्। तँलाई न्याय र सजाय गर्ने अवधिमा, परमेश्‍वरले तँलाई खुलस्त भएर आफैलाई र आफ्ना विविध स्थितिहरूलाई उदाङ्गो पार्न लगाउनुहुनेछ ताकि तँलाई हृदयमा ती कुराहरूबारे स्पष्टता आओस्। अनि अवश्य नै, आफैलाई उदाङ्गो पार्दा, तँलाई त्यति लज्जित पनि महसुस नहोला; त्यसले तँलाई कम्तीमा पनि परमेश्‍वरले तँलाई किन न्याय र सजाय गरिरहनुभएको छ भनी थाहा दिनेछ। तैँले परमेश्‍वरका न्यायका वचनहरू र उहाँका खुलासाहरू तथ्यगत छन् भनी बुझ्नेछस्, र यसरी पूर्ण विश्‍वस्त भई तैँले यी कुरा अपवादरहित रूपमा सही छन् भनी देख्‍नेछस्। अनि त्यसपछि, तँलाई स्पष्ट हुनेछ कि यी सबै तँभित्रै रहेका कुराहरू हुन्; यी केवल व्यवहार वा क्षणिक प्रकटीकरणहरू होइनन्, बरु तेरै स्वभाव हुन्। त्यसपछि, परमेश्‍वरले उहाँको न्याय र सजायको काम गरिरहनुभएको अवधिमा, तँलाई तेरो भ्रष्ट स्वभावको कारण बारम्बार खुलासा र निराकरण गरिनेछ, जसले तँलाई दुःख र शोधन भोग्न लगाउनेछ। उदाहरणको लागि, परमेश्‍वरप्रति आशङ्कित हुनु भनेको दुष्टताको प्रकटीकरण हो। मानिसहरू परमेश्‍वरप्रति प्रायजसो आशङ्कित हुन्छन् तर यो दुष्टता हो भनी कहिल्यै महसुस गर्दैनन्; यो समस्या समाधान हुनैपर्छ। परमेश्‍वरले तँलाई न्याय र सजाय गर्नुहुँदा, यदि तँ परमेश्‍वरप्रति आशङ्कित छस् भने, उहाँले तँलाई यो दुष्टता हो भनी थाहा दिनुहुनेछ। तर तँ दुष्ट स्वभावमै जिउँछस्, त्यही दुष्ट स्वभावद्वारा नै आफूले विश्‍वास गर्ने परमेश्‍वरसित व्यवहार गर्छस्, परमेश्‍वरविरुद्ध प्रतिस्पर्धा गर्छस्, र परमेश्‍वरमाथि आशङ्का राख्छस्—अनि तेरो हृदयलाई पीडा अनुभूति हुनेछ। तँ यसो गर्न चाहँदैनस्, तर यसो नगर्न सक्दै सक्दैनस्। तँसित यो दुष्ट स्वभाव भएकोले, परमेश्‍वरले तँलाई शोधन गर्ने परिस्थितिहरू बन्दोबस्त गर्नुहुनेछ, तँलाई थाहै नभई तेरा धारणा र कल्पनाहरू, तेरो तार्किक सोचाइ, र तेरा सोचविचारहरू त्याग्न लगाउनुहुनेछ। त्यो अवस्थामा, तैँले दुःख पाउनेछस्; यो नै साँचो शोधन हो, र यही दुष्ट स्वभावको कारण तँलाई शोधन गरिन्छ। अनि, यो शोधनको अवस्था कसरी उत्पन्न हुन्छ? यदि तँलाई यो भ्रष्ट स्वभाव होइन भन्ने लाग्छ, र तँलाई आफूसित यस्ता प्रकटीकरण वा स्थितिहरू छैनन्, र तँ त्यस्तो व्यक्ति होइनस् भन्ने विश्‍वास छ भने, र यदि तँलाई तँभित्र भ्रष्ट स्वभावको यो पक्ष छैन भन्ने अनुभूति हुन्छ भने, परमेश्‍वरले तेरो न्याय गर्नुहुँदा, के तँ शोधित हुनेछस्? (हुनेछैन।) जब तँ आफूले कुनै भ्रष्ट स्वभाव प्रकट गरेको स्विकार्छस्, र तँलाई परमेश्‍वरले तेरो न्याय गर्नुभएको छ भन्ने थाहा हुन्छ, र तँ आफ्नो भ्रष्ट स्वभावलाई उहाँको न्यायअनुसार मिलाउन सक्छस्, तैपनि तँ अझै आफ्नो बचाउ गर्छस् र त्यही भ्रष्ट स्वभावमा जिउँछस्, र त्यसबाट उम्कन सक्दैनस्—अनि यसरी नै शोधन उत्पन्न हुने हो। तँलाई थाहै छ, परमेश्‍वर तेरो भ्रष्ट स्वभाव मन पराउनुहुन्न, त्यसलाई घृणा गर्नुहुन्छ, र तँ परमेश्‍वरका मापदण्डहरू पूरा गर्नबाट निकै टाढा छस्; तँलाई आफू गलत छु र परमेश्‍वर सही हुनुहुन्छ भन्ने कुरा प्रस्टसित थाहा छ, तर तँ सत्यता अभ्यास गर्न सक्दैनस्, न त परमेश्‍वरको मार्ग नै पछ्याउन सक्छस्—तेरो पीडा त्यही क्षणबाट सुरु हुन्छ। के तिमीहरूलाई अहिले त्यस्तो पीडा भएको छ? (छैन।) त्यसोभए तिमीहरूले कम्तीमा पनि आफ्नो भ्रष्ट स्वभावको सन्दर्भमा शोधन भोगेका छैनौ; तिमीहरूले गल्ती वा अपराध गरेर धिक्कारिँदा र अनुशासन भोग्दा मात्र केही पीडा अनुभव गर्छौ, तर यो शोधन हुँदै होइन। मानौँ, तँ यस्तो जीवन प्रवेश गर्न र यस्तो मार्ग हिँड्न सक्छस, र यसो भन्छस् रे: “मैले स्नेह र हैसियतसम्बन्धी दुःख भोग्न छोडिसकेँ, र म साँच्चिकै शोधन भोगिरहेको छु। मैले परमेश्‍वरसित म साँच्चिकै अमिल्दो छु, मेरो भ्रष्ट स्वभाव गहिरो रूपमा गडेको छ, र म त्यो त्याग्न सक्दिनँ भन्ने महसुस गरेको छु। परमेश्‍वरलाई मेरो शोधन र खुलासा गर्न दिनुहोस्।” जब तँ यस्तो स्थितिभित्र जिउँछस्, तब तँ मुक्ति पाउने मार्गमा हुन्छस्। अहिले यसो भनिरहँदा, तिमीहरू सबैले त्यो दिनको अभिलाषा राख्न र त्यसको पर्खाइमा बस्न सक्छौ होला, तर तिमीहरूमध्ये कतिजना वास्तवमै यस्तो विशेष व्यवहार पाउनेगरी आशिषित् हुन सक्छौँ, मलाई थाहा छैन। यो एक बिछट्टै राम्रो कुरा र ठूलो आशिष् हो। मुक्ति पाउन सजिलो छैन। यदि सृष्टिकर्ताले साँच्चिकै तँलाई कदर गर्नुहुन्छ, रोज्नुहुन्छ, र उहाँको अनुयायी हुन दिनुहुन्छ भने, त्यो मुक्ति पाउने पहिलो खुड्किलो मात्र हो। यदि सृष्टिकर्ताले तँलाई कदर गर्नुहुन्छ र तँ उहाँको न्याय र सजाय पाउन योग्य छस् भन्नुहुन्छ भने, त्यो दोस्रो खुड्किलो मात्र हो। यदि तैँले परमेश्‍वरको न्याय र सजाय पार गर्न, तेरो स्वभाव परिवर्तन हुने स्थितिमा पुग्न, र सृष्टिकर्ताअनुरूप हुन सकिस्, र यसरी परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग हिँडिस् भने, त्यो अन्तिम परिणाम हो। अब, तिमीहरूमध्ये को त्यो दिनमा पुग्नलाई पर्याप्त रूपले आशिषित् हुनेछौ, को त्यस्तो मुक्ति पाउनेगरी आशिषित् हुनेछौ? के त्यो कुरा व्यक्तिको रूपबाट खुट्ट्याउन सकिन्छ? के त्यो व्यक्तिको क्षमताबाट खुट्ट्याउन सकिन्छ? के त्यो व्यक्तिको शैक्षिक स्तरबाट खुट्ट्याउन सकिन्छ? (सकिँदैन।) के त्यो कुरा व्यक्तिले अहिले निर्वाह गर्ने कर्तव्यहरूबाट निर्धारण गर्न सकिन्छ? कि त्यो आफू जन्मेको परिवारबाट निर्धारण गर्न सकिन्छ? यी कुनै तत्वले त्यो कुरा खुलासा गर्न सक्दैन। कतिपय मानिसहरू भन्छन्, “मेरो परिवारले तीन पुस्तादेखि परमेश्‍वरमा विश्‍वास गरेको छ; मैले आमाको गर्भमै हुँदादेखि विश्‍वास गरेँ, त्यसैले मैले अवश्य मुक्ति पाउनेछु।” यो मूर्ख र अत्यन्तै अज्ञानी कुरा हो; परमेश्‍वरले त्यस्ता कुराहरू हेर्नुहुन्न। फरिसीहरूले पुस्तौँसम्म परमेश्‍वरमा विश्‍वास गरे, तर अहिले तिनीहरूको हालत के छ? परमेश्‍वरले तिनीहरू उहाँका अनुयायी होऊन् भन्नेसमेत चाहनुहुन्न; तिनीहरू पूर्णतया हटाइएका छन्; तिनीहरू परमेश्‍वरको मुक्तिको काममा सान्दर्भिक छैनन् र यसमा तिनीहरूको कुनै भूमिका छैन।

व्यक्तिले परमेश्‍वरको न्याय र सजाय स्विकार्न सक्नु नसक्नु सिधै स्वभावगत परिवर्तनसम्बन्धी मुख्य समस्यासँग सम्बन्धित हुन्छ। तर मानिसहरूमा परमेश्‍वरको न्याय र सजायबारे धेरै धारणाहरू बनाउने प्रवृत्ति हुन्छ। यी समस्याहरू समाधान गर्न बारम्बार परमेश्‍वरका वचनअनुसार सत्यता सङ्गति गर्नु जरूरी छ। यो सबभन्दा जरूरी कुरा हो। परमेश्‍वरले किन मानिसहरूलाई न्याय र सजाय गर्नुहुन्छ? मानवजाति कुन हदसम्म भ्रष्ट बनेको छ? न्याय र सजायको उद्देश्य कस्ता समस्याहरू समाधान गर्नु हो, र तिनले कस्ता परिणाम दिन्छन्? परमेश्‍वरले मानिसहरूलाई के-कस्ता मानकहरू तोक्नुहुन्छ? यदि यी सत्यताहरू नबुझिएमा, व्यक्तिलाई न्याय र सजाय स्विकार्न सजिलो हुँदैन; उसले सजिलै परमेश्‍वरबारे धारणाहरू, साथै विद्रोहीपन र प्रतिरोध विकास गर्नेछ, र ऊ परमेश्‍वरको ईशनिन्दा गर्दै उहाँप्रति शत्रुवत्‌समेत बन्‍न सक्छ। अनि, परमेश्‍वर मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ? परमेश्‍वरको न्याय र सजाय कसले स्विकार्न सक्छ? सत्यता पछ्याउने र सिद्धता प्राप्त गर्ने मार्ग को हिँड्न सक्छ? आखिरी दिनहरूको परमेश्‍वरको कामद्वारा को निष्कासित हुनेछ? यदि यी सत्यताहरू प्रस्टसित सङ्गति गरिएमा, के न्याय र सजायबारे मानिसहरूका धारणा समाधान हुनेछैनन् र? ती कम्तीमा पनि मूलभूत रूपमा समाधान हुनेछन्—बाँकी रहेका समस्याहरू व्यक्तिको आफ्नै अनुभवमार्फत मात्र समाधान गर्न सकिन्छ; सत्यता बुझिएपछि ती स्वतः समाधान हुनेछन्। कतिपय मानिसहरू भन्छन्: “हाम्रा पापहरू क्षमा गरिएका छन्, त्यसैले के हामीले अझै पनि न्याय र सजाय अनुभव गर्न के आवश्यक छ र?” पापबाट क्षमा पाउनु परमेश्‍वरको अनुग्रह हो; त्यसले मानिसहरूलाई परमेश्‍वरसामु आउन योग्य बनाउँछ। तर न्याय र सजायको उद्देश्य मानिसहरूलाई पाप र शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्ति दिनु हो; यी दुई कुरा विरोधाभासी छैनन्। अनुग्रहको युगमा, परमेश्‍वर मानिसहरूलाई छुटकारा दिनुहुन्छ र तिनीहरूको पाप क्षमा गर्नुहुन्छ; राज्यको युगमा, परमेश्‍वर मानिसहरूलाई न्याय गर्नुहुन्छ र तिनीहरूको भ्रष्ट स्वभाव शुद्धीकरण गर्नुहुन्छ। यी परमेश्‍वरको कामका दुई चरणहरू हुन्। धर्मका धेरै हास्यास्पद व्यक्तिहरू न्याय र सजायबारे सधैँ धारणाहरू बनाउँछन्; तिनीहरू “पापहरू क्षमा गरिएपछि आस्थामार्फत धर्मी ठहरिन्छ” भन्ने वाक्यांशमा कठोर रूपमा अडिन्छन्, र परमेश्‍वरको न्याय र सजाय स्विकार्न बिलकुलै मान्दैनन्। के यस्ता मानिसहरूसँग विवाद गर्नु हुन्छ? यदि तिमीहरूले यस्ता मानिसहरू भेट्यौ, र तिनीहरूले परमेश्‍वरका वचन र सत्यता स्विकार्न सक्छन् भने, तैँले तिनीहरूलाई सत्यता सङ्गति गर्न र परमेश्‍वरका वचनहरू पढेर सुनाउन सक्छस्। यदि तिनीहरू सत्यता स्विकार्न बिलकुलै मान्दैनन् भने, तिनीहरूलाई चासो दिनु आवश्यक छैन; तिनीहरू परमेश्‍वरको मुक्ति पाउने मानिसहरू हुँदै होइनन्। परमेश्‍वरले उहाँका वचन र सत्यता स्विकार्न सक्नेहरूलाई मात्र मुक्ति दिनुहुन्छ; परमेश्‍वरका वचन र सत्यता बिलकुलै स्विकार्न नसक्नेहरूको हकमा, परमेश्‍वरले तिनीहरूलाई बिलकुलै मुक्ति दिनुहुनेछैन। जो सत्यता स्विकार्न सक्छन्, तिनीहरू आफ्ना धारणाहरू सजिलै सुल्झाउन सक्छन्, चाहे तिनीहरूसित जतिसुकै धारणाहरू नै किन नहोस्; तिनीहरूले परमेश्‍वरका वचनहरू अझ बढी पढ्ने र सत्यता अझ बढी खोज्ने काम मात्र गरे पुग्छ। जो मानिसहरू सत्यता स्विकार्न सक्छन्, तिनीहरू मानवता भएकाहरू र विवेक र समझ भएकाहरू हुन्। मानिसहरूले परमेश्‍वरको न्याय र सजाय स्विकार्नुपहिले, तिनीहरूले थुप्रै धारणा र गलत सोचहरूका साथै केही नकारात्मक स्थितिहरू विकास गर्नेछन्। सबैभन्दा व्याप्त नकारात्मक स्थिति यस्तो हुन्छ, “मैले आफूलाई परमेश्‍वरप्रति अर्पित गरेको छु र आफ्ना कर्तव्यहरू निर्वाह गरेको छु; म सबै कुराहरूमा परमेश्‍वरद्वारा सुरक्षित र आशिषित् हुनुपर्ने हो। तर मलाई किन विपत्तिहरू आइपरेका हुन्?” यो सबैभन्दा व्याप्त स्थिति हो। अर्को प्रकारको स्थिति पनि छ: अरू मानिसहरू राम्रा अवस्थामा जिइरहेका र रमाइरहेका देखेपछि, र आफू कठिनाइ र गरिबीमा जिइरहेको पाउँदा, तिनीहरूले परमेश्‍वर अन्यायी भइरहनुभएको छ भनी उहाँलाई दोष लगाउँछन्। अरूले कर्तव्यपालन गरेर राम्रा नतिजा हासिल गरेको देखेपछि, तिनीहरू डाही र नकारात्मक बन्‍न पनि सक्छन्। तिनीहरू अरूका परिवारहरू सौहार्दपूर्ण र मिलेर बस्दा, आफूमाभन्दा अरूमा उच्च क्षमता हुँदा, आफ्नो कर्तव्यपालनले थकित तुल्याउँदा, वा कुनै कुरा आफूले चाहेजस्तो नहुँदा पनि नकारात्मक बन्छन्। छोटकरीमा भन्‍नुपर्दा, आफ्ना धारणा र कल्पनासँग नमिल्ने जस्तोसुकै परिस्थितिमा तिनीहरू नकारात्मक बन्छन्। यदि यस्ता व्यक्तिमा केही क्षमता छ र तिनीहरूले सत्यता स्विकार्न सक्छ भने, तिनीहरूलाई मद्दत गर्नुपर्छ। यदि तिनीहरूले सत्यता बुझ्छन् भने, नकारात्मकतासम्बन्धी तिनीहरूको मुख्य समस्या सजिलै समाधान गर्न सकिन्छ। यदि तिनीहरू सत्यता खोज्दैनन् र नकारात्मक नै रहन्छन्, सधैँ परमेश्‍वरबारे धारणाहरू बोक्छन् भने, परमेश्‍वरले तिनीहरूलाई पन्छाउनु र बेवास्ता गर्नुहुन्छ, किनभने पवित्र आत्माले व्यर्थ काम गर्नुहुन्न। यस्ता मानिसहरू अति हठी हुन्छन्, सत्यता स्विकार्दैनन्, सधैँ परमेश्‍वरबारे धारणाहरू बनाउँछन्, र सधैँ तिनीहरूका आफ्नै मागहरू हुने गर्छन्; यो समझको अत्यन्तै कमी हुनु हो र यसले तिनीहरूलाई केही हदसम्म अबुझ बनाउँछ। तिनीहरू सत्यता बुझ्न सक्छन् तर सत्यता स्विकार्दैनन्। के यो जानाजान अपराध गर्नु होइन र? त्यसैले, परमेश्‍वर तिनीहरूलाई वास्तै गर्नुहुन्न। कतिपय मानिसहरू भन्छन्: “म प्रायजसो नकारात्मक हुन्छु, र परमेश्‍वरले मलाई बेवास्ता गर्नुहुन्छ। यसको अर्थ परमेश्‍वरले मलाई प्रेम गर्नुहुन्न!” यो निरर्थक अभिव्यक्ति हो। के तँलाई परमेश्‍वरले कसलाई प्रेम गर्नुहुन्छ, थाहा छ? के तँलाई परमेश्‍वरको प्रेम कसरी प्रकट हुन्छ, थाहा छ? के तँलाई परमेश्‍वरले कसलाई प्रेम गर्नुहुन्न र कसलाई अनुशासनमा राख्नुहुन्छ, थाहा छ? परमेश्‍वरको प्रेमका सिद्धान्तहरू छन्; यो मान्छेले कल्पना गरेजस्तो निरन्तर मानिसहरूलाई सहने, तिनीहरूलाई कृपा र अनुग्रह देखाउने, जोकसैलाई मुक्ति दिने, जे पाप गरे पनि सबैलाई क्षमा गर्ने, र अन्त्यमा कसैलाई नछाडी सबैलाई परमेश्‍वरको राज्यमा ल्याउने भन्‍ने होइन। के यी मानिसहरूका धारणा र कल्पना मात्र होइनन् र? यदि त्यसो हुँदो हो भने, परमेश्‍वरले न्यायको काम गर्न आवश्यक नै हुँदैनथ्यो। प्रायजसो नकारात्मक हुने मानिसहरूप्रति व्यवहार गर्ने परमेश्‍वरका सिद्धान्तहरू छन्। जब मानिसहरू निरन्तर रूपमा नकारात्मक हुन्छन्, यसमा एउटा समस्या हुन्छ। परमेश्‍वरले धेरै कुरा भन्नुभएको छ, धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र यदि कुनै व्यक्तिले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छ भने, परमेश्‍वरका वचनहरू पढेर सत्यता बुझेपछि, ऊभित्रका नकारात्मक कुराहरू घट्दै जानेछन्। यदि मानिसहरू सधैँ नकारात्मक हुन्छन् भने, यो निश्‍चित छ कि तिनीहरूले सत्यता बिलकुलै स्विकार्दैनन्, र आफ्ना धारणासँग नमिल्ने कुरा सामना गर्नेबित्तिकै तिनीहरू नकारात्मक बन्नेछन्। अनि, तिनीहरू किन परमेश्‍वरका वचनहरूमा सत्यता खोज्दैनन्? तिनीहरू किन सत्यता स्विकार्दैनन्? त्यो पक्कै पनि तिनीहरूसित परमेश्‍वरबारे धारणा र गलत बुझाइहरू भएर हो, र साथै तिनीहरू कहिल्यै सत्यता नखोजेर हो। त्यसोभए के तिनीहरूले सत्यतालाई यस तरिकाले हेर्दा पनि, परमेश्‍वरले तिनीहरूप्रति ध्यान दिनुहुनेछ त? के यस्ता मानिसहरू अबुझ हुँदैनन् र? अबुझ मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई त्याग्नुहुन्छ र बेवास्ता गर्नुहुन्छ। तँलाई जसरी इच्छा लाग्छ त्यसरी विश्‍वास गर्; तैँले विश्‍वास गर्नु नगर्नु तेरो कुरा हो; यदि तँ साँच्चिकै विश्‍वास गर्छस् र सत्यता पछ्याउँछस् भने, तैँले सत्यता प्राप्त गर्न सक्छस्; यदि तँ सत्यता पछ्याउँदैनस् भने, तैँले सत्यता प्राप्त गर्न सक्दैनस्। परमेश्‍वरले हरव्यक्तिलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ। यदि तँसित सत्यता स्विकार्ने मनोवृत्ति छैन, आज्ञाकारिताको मनोवृत्ति छैन, र तँ परमेश्‍वरका मापदण्डहरू पूरा गर्ने प्रयत्न गर्दैनस् भने, तैँले जसरी इच्छा लाग्छ त्यसरी विश्‍वास गर्न सक्छस्; साथै, यदि तँ निस्कन चाहन्छस् भने, तुरुन्तै निस्कन सक्छस्। यदि तँलाई कर्तव्यपालन गर्ने इच्छा छैन भने, परमेश्‍वरको घरले तँलाई बाध्य गराउनेछैन; तँ जहाँ मन लाग्छ त्यहाँ जान सक्छस्। परमेश्‍वरले यस्ता मानिसहरूलाई बस् भन्‍नुहुन्न। यो उहाँको मनोवृत्ति हो। तँ स्पष्टतः सृष्टि गरिएको प्राणी होस्, तैपनि कहिल्यै सृष्टि गरिएको प्राणी हुन चाहँदैनस्। तँ सधैँ प्रधान स्वर्गदूत हुन चाहन्छस्, परमेश्‍वरप्रति समर्पित हुन अनिच्छुक हुन्छस्, र तँ सधैँ परमेश्‍वरसित समान स्तरमा हुने चाहना राख्छस्। यो निर्लज्जपूर्वक परमेश्‍वरको प्रतिरोध गर्नु हो; यो परमेश्‍वरको स्वभाव चिढ्याउने कुरा हो। तँ प्रस्ट रूपमै एक साधारण व्यक्ति होस्, तर सधैँ विशेष व्यवहारको चाहना राख्छस्, हैसियत राख्न र कहलिएको व्यक्ति हुन, हरतरिकाले अरूभन्दा राम्रो हुन, परमेश्‍वरको आशिष् प्राप्त गर्न र सबैलाई उछिन्न चाहन्छस्। यसले समझ नभएको देखाउँछ। अनि, समझ नभएकाहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? परमेश्‍वरले तिनीहरूको मूल्याङ्कन कसरी गर्नुहुन्छ? त्यस्ता मानिसहरू अबुझ हुन्छन्। कतिपयले भन्छन्: “यदि तपाईं मलाई अबुझ भन्नुहुन्छ भने, म अबउप्रान्त सेवा गर्नेछैन!” तँलाई कसले सेवा गर्नू भन्यो? यदि तँ त्यसो गर्न अनिच्छुक छस् भने, परमेश्‍वरले तँलाई बाध्य पार्नुहुनेछैन; चाँडो निस्किहाल्—परमेश्‍वरको घरले तँलाई राख्नेछैन। तँ सेवा गर्न इच्छुक भए पनि, परमेश्‍वरको घरका मापदण्डहरू छन्। यदि तेरो सेवा कमसल छ र तेरो कर्तव्यपालनले परमेश्‍वरको घरमा धेरै समस्या ल्याउँछ, लाभभन्दा धेरै क्षति पुर्‍याउँछ भने, परमेश्‍वरको घरले तँलाई निश्‍चय नै निष्कासित गर्नेछ; तैँले सेवा गर्ने इच्छा नै गरे पनि, परमेश्‍वरको घरले तँलाई चाहनेछैन। यदि मानिसहरू सेवा गर्न इच्छुक छन्, सत्यता स्विकार्न सक्छन्, र काटछाँट र निराकरण भोग्न स्विकार्छन् भने, तिनीहरू परमेश्‍वरको घरमा रहन योग्य छन्। यदि तिनीहरू सत्यता पछ्याउन, परमेश्‍वरको न्याय र सजाय स्विकार्न, र मुक्ति र सिद्धता प्राप्त गर्न सक्छन् भने, यो ठूलो आशिष् हो। यस्तो नसोच् कि परमेश्‍वरले तँलाई बिन्ती गरिरहनुभएको छ र तँलाई न्याय र सजाय गर्नु उहाँको आवश्यकता हो; परमेश्‍वरले तँलाई बिन्ती गर्नुहुन्‍न। परमेश्‍वरले मानिसहरूलाई छानेर, मनमा विशेष लक्ष्य राखेर, र सिद्धान्तअनुसार मुक्ति र सिद्धता प्रदान गर्नुहुन्छ; परमेश्‍वरमा विश्‍वास गर्ने सबैले उहाँको मुक्ति पाउन सक्दैनन्—धेरैलाई बोलावट हुन्छ, तर थोरै चुनिन्छन्। तैँले परमेश्‍वरका धेरै मानकहरू पूरा गर्नुपर्छ—पर्याप्त मात्रामा कर्तव्यपालन गर्नुपर्छ, समर्पित मानसिकता राख्नुपर्छ, मूलभूत रूपमा इमानदार हुनुपर्छ, र पश्‍चात्तापी हृदय धारण गर्नुपर्छ—त्यसपछि मात्र परमेश्‍वरले तँलाई औपचारिक रूपमा न्याय र सजाय गर्न, र शुद्ध र सिद्ध पार्न थाल्नुहुनेछ। कतिपयले भन्छन्: “न्याय र सजाय अनुभव गर्नु भनेको कष्ट भोग्नु हो!” तैँले कष्ट भोग्नेछस् भन्ने कुरा साँचो हो, तर त्यसको लागि तेरो योग्यता पुग्नुपर्छ। यदि तँ योग्य छैनस् भने, तँ दुःख पाउनलायक पनि हुँदैनस्! के तँलाई परमेश्‍वरको काम र उहाँले मानिसहरूलाई सिद्ध तुल्याउनु त्यति सजिलो छ जस्तो लाग्छ? जो मानिसहरू न्याय र सजाय स्विकार्न मान्दैनन्, वा जो न्याय र सजायबाट भाग्छन्, तिनीहरूलाई अन्ततः तिनीहरूका कार्यहरूको लागि जवाफदेही बनाइनेछ। त्यो व्यक्ति जो भए पनि वा परमेश्‍वरप्रति उसको मनोवृत्ति जे-जस्तो भए पनि, यदि यो मनोवृत्ति परमेश्‍वरको मापदण्डसित मिल्दैन भने, परमेश्‍वरले उसलाई हस्तक्षेप नगरी आफ्नो बाटो लाग्न दिनुहुनेछ। परमेश्‍वरका सबै वचनहरू त्यहीँ छन्; यदि तँ उहाँले भन्‍नुभएको काम गर्न सक्छस् भने गर्। यदि तँ त्यो काम गर्न इच्छुक छस् भने गर्। यदि तँ त्यो काम गर्न अनिच्छुक वा असक्षम छस् भने, परमेश्‍वरले तँलाई बाध्य पार्नुहुनेछैन। के तँलाई परमेश्‍वरले बिन्ती गर्नुहुन्‍छ भन्ने लाग्छ? के तँलाई परमेश्‍वरले तँलाई अनुशासनमा राख्नुहुन्छ भन्ने लाग्छ? ढुक्क हू, परमेश्‍वरले बिलकुलै त्यसो गर्नुहुनेछैन। परमेश्‍वरले भन्नुहुनेछ: “यदि तँलाई सत्यता स्विकार्न मन लाग्दैन र तँ परमेश्‍वरको न्याय र सजायदेखि दिक्क छस् भने, ठिकै छ। तैँले केही अनुग्रह पाइसकेको छस्, त्यसैले चाँडो सांसारिक दुनियामा फर्केर जा, चाँडो निस्किहाल्; तँलाई जबर्जस्ती गरिनेछैन। तँ स्वर्गको राज्यका आशिष्‌हरू पाउन योग्य छैनस् र तैँले चाहेर पनि ती प्राप्त गर्न सक्नेछैनस्।” परमेश्‍वरले मानिसहरूलाई उहाँको न्याय र सजाय स्विकार्न बाध्य पार्नुहुनेछैन भन्नुको अर्थ के हो? त्यसको अर्थ, यदि मानिसहरू परमेश्‍वरको न्याय र सजाय स्विकार्दैनन् भने, परमेश्‍वरले न त अनुशासनमा राख्ने, ताडना दिने, र सम्झाउने गर्नुहुन्छ, न त चेतावनी दिने नै गर्नुहुन्छ; पवित्र आत्माले अन्तर्दृष्टि वा ज्योति दिनुहुनेछैन। झट्ट हेर्दा, यी मानिसहरूले निकै आरामसाथ जिएजस्तो देखिन्छ। तिनीहरूले कर्तव्य लापरवाही र झाराटारुवा शैलीमा निर्वाह गरेकोमा, काममा निष्क्रिय रूपमा सुस्त बनेकोमा, र परमेश्‍वरलाई जथाभाबी आलोचना गरेकोमा अनुशासन भोग्दैनन्। परमेश्‍वरलाई गलत बुझ्दा, परमेश्‍वरबारे गुनासो गर्दा, र परमेश्‍वरको प्रतिरोध गर्दासमेत, तिनीहरूलाई हृदयमा केही महसुस हुँदैन, अनि भेटी चोर्ने वा दुरुपयोग गर्नेजस्तो ठूलो दुष्टता गर्छन्, तर अझै तिनीहरू सचेत बन्दैनन्। यस्ता ठूला दुष्टता गर्नेहरूले वर्षौँसम्म आफूबारे कुनै चिन्तन गर्दैनन्, अलिकति पनि पश्‍चात्ताप गर्दैनन्, र आफूमाथि आइपर्न सक्‍ने कुनै पनि दण्ड वा परिणामको पूर्वाभास गर्दैनन्। सामान्य व्यक्तिलाई त एकप्रकारको पूर्वाभास हुन्छ, तर तिनीहरूलाई कुनै पूर्वाभास हुँदैन किनभने परमेश्‍वरले तिनीहरूमाथि बिलकुलै केही काम गर्नुहुन्न। परमेश्‍वरले काम नगर्नु पनि एकप्रकारको मनोवृत्ति हो। यसले के जनाउँछ? परमेश्‍वरले हृदयमा के सोचिरहनुभएको हुन्छ, के तिमीहरू कल्पना गर्न सक्छौ? उहाँले यस्ताहरूलाई पूरै त्याग्नुभएको छ। अनि, यस्ताहरूलाई परमेश्‍वर किन त्याग्नुहुन्छ? उहाँ यस्ताहरूलाई घृणा गर्नुहुन्छ; तिनीहरूको महत्त्व एउटा भुत्ला वा कमिलाको जति पनि छैन, तिनीहरू उल्लेखलायक छैनन्, र तिनीहरूको अन्त्य यसरी नै तय हुन्छ। कुनै दिन, जब यस्तो व्यक्तिले “म परमेश्‍वरको सृष्टि गरिएको प्राणी हुन चाहन्छु, म तपाईंलाई मेरो प्रभु, मेरो परमेश्‍वरको रूपमा स्विकार्न चाहन्छु” भन्छ, के परमेश्‍वरले उसलाई चाहनुहुनेछ? चाहनुहुनेछैन। कतिपयले भन्छन्, “मलाई पछुतो छ, अब म बदलिन्छ।” के यो अति ढिलो भएन र? यो अति ढिलो भइसक्यो। तिनीहरूमा दियाबलसको प्रकृति भएकोले र त्यो कहिल्यै परिवर्तन नहुने हुनाले, परमेश्‍वरले यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। तिनीहरूले जति पछुताए पनि, तिनीहरू जति दयनीय रूपमा रोए पनि, के तिनीहरू बदलिन सक्छन् र? के तिनीहरूले साँचो पश्‍चात्ताप गर्न सक्छन्? बिलकुलै सक्दैनन्। त्यसैले, तैँले सत्यता पछ्याए पनि नपछ्याए पनि, परमेश्‍वरमा साँचो विश्‍वास गरुन्जेल, परमेश्‍वरका प्रशासनिक आदेशहरू बुझ्छस्। तैँले परमेश्‍वरका भेटीबारे कदापि युक्ति रच्‍न मिल्दैन; ती चोर्ने वा प्रयोग गर्ने सोच राख्नुसमेत अस्वीकार्य छ। तैँले यस्ता कार्यहरू गरेर ठूलो विपत्ति निम्त्याउनेछस्, र तेरो अन्तिम परिणाममा असर पर्नेछ। एकचोटि तेरो परिणाम तय भइसकेपछि, परमेश्‍वरले के भन्नुभएको छ वा परमेश्‍वरका मापदण्डहरू के छन् भनी फर्केर सोच्नु, र पछुतो महसुस गर्नु बेकार हुनेछ। अहिले, परमेश्‍वरको काम अझै टुङ्गिएको छैन, तर कतिपय मानिसहरूका परिणामहरू तय भइसकेका छन्। परमेश्‍वरले यो कुरा घोषणा गर्नुभएको वा कसैलाई भन्नुभएको छैन। यी मानिसहरू अझै पनि आफूले राम्रै गरिरहेको सोच्छन्, र अझै अल्छी तरिकाले समय खेर फालिरहेका हुन्छन्। कालले ढोका ढकढक्याउँदा पनि तिनीहरू पूरै बेखबर रहन्छन्; तिनीहरू अन्यौलमा परेका र केही न कामका मान्छेका हूलहरू हुन्।

अब म अरू दुइटा मामलाहरूबारे कुरा गर्नेछु। अघिल्लो मामलामा एउटा पुरुषको कुरा थियो भने, यी मामलाहरूका दुई मुख्य पात्रहरू दुई महिला अगुवाहरू छन्। यो पदवीनाम सुनेपछि तुरुन्तै बुझ्न सकिन्छ कि तिनीहरू कम हैसियतका होइनन्; तैपनि, त्यस्ता हैसियतका मानिसहरूले ठूल्ठूला दुष्टता गर्न सक्छन्। यी महिलाहरूमध्ये एउटीको कारोबार एक अविश्‍वासीसँग थियो, जसको व्यवसाय अपर्याप्त पुँजीको कारण धराशायी हुने अवस्थामा थियो। यो महिलाले मण्डलीमा अगुवाको रूपमा काम गर्थी र आर्थिक स्रोतमाथि उसको नियन्त्रण थियो, त्यसैले उक्त अविश्‍वासीले ऊबाट पैसा सापट माग्यो। माथिकालाई नसोधी, एकतर्फी रूपमा लाखौँ युआन सापट दिन, ऊ सहमत भई। मानिसहरूको स्वामित्वमा रहेको पैसा सापट दिन मिल्छ, तर परमेश्‍वरको स्वामित्वमा रहेको पैसा भेटी हो, र परमेश्‍वरको भेटी छुने जोकसैले दण्ड भोग्नैपर्छ। उसले गोप्य रूपमा भेटी हिनामिना गरी, र त्यो सानो रकम थिएन। त्यो हिनामिनापछि, मण्डलीले ऊविरुद्ध कारबाही चाल्यो, र उसलाई त्यो पैसा फिर्ता गर्न लगायो। मण्डलीले त्यो मामला यसरी नै सम्हाल्यो; त्यो मानव विधि थियो। उसले त्यो पैसा तिर्न सकी र उसमा बाहिरी रूपले शालीन मनोवृत्ति देखिन्थ्यो। तर के यसले ऊ बदलिई भन्ने सङ्केत गर्छ? (गर्दैन।) उसका कार्यहरू निकै दुस्साहसी थिए, हेल्चेक्र्याइ गर्ने मूर्खका जस्तै थिए, र त्यसले उसको स्वभाव र परमेश्‍वरप्रतिको उसको मनोवृत्ति झल्काउँथ्यो। के यस्तो व्यक्तिले शुद्ध रूपमा सत्यता बोध गर्न सक्छ र? के ऊ समझपूर्वक कार्य गर्न सक्षम छे त? उसले परमेश्‍वरका भेटीहरूमा हात हाल्ने आँट गरी, र त्यसलाई आफ्नै पैसाजस्तो ठानी। कोष विनियोजन कसरी गर्ने, वा त्यसलाई जथाभाबी छुनु हुँदैन भन्‍ने परमेश्‍वरको निर्देशन नहुँदा, उसको हृदयमा न त सिद्धान्तहरू न त सीमा नै थिए। उसलाई आफू अगुवा भएकोले आफूसित त्यो पैसा चलाउने अधिकार छ भन्ने विश्‍वास भयो, र उसले त्यो हिनामिना गर्ने आँट गरी। त्यो हिनामिना भएपछि, परमेश्‍वरले त्यसलाई कसरी सम्हाल्नुभयो? परमेश्‍वरले केही पनि गर्नु परेन; मण्डलीले नै उसलाई दण्डित गर्‍यो। यो लाखौँ युआन रकमले नै उसको अन्तिम परिणाम निर्धारण गर्‍यो: परमेश्‍वरले सदाको लागि ऊसित सम्बन्ध तोड्नुभयो र उसलाई हटाउनुभयो। परमेश्‍वरले किन यसो गर्नुहुन्छ? यसले परमेश्‍वरको क्रोध जनाउँछ; यो अवश्यै परमेश्‍वरको स्वभावको एउटा पक्ष पनि हो। परमेश्‍वरले कुनै पनि कसुर सहनुहुन्न; यदि तैँले परमेश्‍वरको स्वभाव चिढ्याइस् भने, तैँले सीमा नाघेको छस्। के यो प्रशासनिक आदेशहरूमै भनिएको छैन र? (छ।) परमेश्‍वरका चुनिएका मानिसहरू यसबारे प्रस्ट छन्: भेटी हिनामिना गर्नु भनेको परमेश्‍वरको स्वभावविरुद्धको अपराध हो। यो महिलाले भेटी हिनामिना गर्दा के परमेश्‍वरले हस्तक्षेप गर्नुभयो? परमेश्‍वरले हस्तक्षेप गर्नुभएन, उसलाई रोक्नुभएन, र केही पनि भन्नुभएन; न त उसले त्यो कदम चालिरहँदा, उहाँले रोक्ने, गाली गर्ने वा चेतावनी दिने काम नै गर्नुभयो—पैसा त्यसरी नै सापट दिइयो। त्यो मामला पर्दाफास हुनुपहिले, ऊ आफूप्रति निकै खुसी महसुस गरिरहेकी थिई, अनि मण्डलीले उसलाई कारबाही गर्‍यो। ऊ रुन र सुँकसुँकाउन थाली, र पैसा फिर्ता गर्न तत्कालै काम गर्न थाली। तर खासमा, के परमेश्‍वरले पैसाबारे चासो दिनुभएको थियो त? थिएन; उहाँको चासो पैसामा थिएन, बरु यस मामलामा उसले परमेश्‍वरप्रति देखाएको मनोवृत्तिमा थियो। परमेश्‍वरलाई यही कुराको चासो थियो। पैसाकै कारण परमेश्‍वरको स्वभाव चिढ्याउनु—के यो मृत्युको लायक हुँदैन र? यसलाई जेको लायक हो त्यही पाउनु भनिन्छ! यदि तँ अलि नकारात्मक वा कमजोर छस्, वा कहिलेकाहीँ कर्तव्यपालन गर्दा अशुद्धता देखाउँछस्, वा कहिलेकाहीँ निश्‍चित हैसियतको पदमा रहेर त्यसको लाभ लिन्छस् भने, परमेश्‍वरले यसलाई भ्रष्ट स्वभावको प्रकटीकरणको रूपमा हेर्नुहुन्छ। तर तैँले परमेश्‍वरलाई नसोधीकन उहाँका भेटीहरू चलाउँछस्, वा उहाँको अनुमतिबिना त्यसको दुरुपयोग गर्छस् भने, यो कस्तो समस्या हो? यो भेटी चोर्नु हो। अनि, यसले कस्तो स्वभाव जनाउँछ? यो प्रधान स्वर्गदूतको स्वभाव, अर्थात् शैतानको स्वभाव हो। परमेश्‍वरको भेटी चोर्नु विश्‍वासघात होइन र? (हो।) शैतानले त्यस्तो के गर्‍यो, जसलाई परमेश्‍वरले विश्‍वासघात ठान्नुभयो? (त्यो परमेश्‍वर बन्न खोज्यो।) हामीले कुरा गरिरहेको महिलाको सन्दर्भमा भन्नुपर्दा, उसले परमेश्‍वरका भेटीमाथि पकड जमाउन चाही। उसले आफूलाई के सोची? (उसले आफूलाई परमेश्‍वर सोची।) ठ्याक्‍कै, उसले आफूलाई परमेश्‍वरको रूपमा हेरी, र त्यो नै उसको गल्ती थियो। त्यसैले, हामी उसले परमेश्‍वरको स्वभाव चिढ्याई भनेर भन्छौँ। के यसको प्रकृति गम्भीर हुँदैन र? (हुन्छ।) के हामीले सही चित्रण गर्‍यौँ? (सही चित्रण गर्‍यौँ।) अब ऊसित कुनै परिणाम हुँदैन। ऊसित कुनै परिणाम छैन—अहिले यो त्यस्तै देखिन्छ। परमेश्‍वरको परिभाषाको हिसाबमा, उसले पछि कस्ता दण्डहरू भोग्नेछे भनेर भन्नुपर्दा, यी भविष्यका कुरा हुन्। यो पहिलो महिलाको कथा हो। ऊ साँच्चिकै दुस्‍साहसी र आफूभन्दा ठूला र साना सबैलाई धोका दिन सक्ने थिई, उसले परिणामहरूबारे नसोची लापरवाहीपूर्वक कार्य गर्थी, र ऊ मूर्ख र अभद्र पनि थिई। के उसमा अलिकति पनि समर्पण वा खोजी गर्ने चाहना थियो त? (थिएन।) उसले कसैको अनुमतिबिना र अरू कसैसित छलफल वा सङ्गति नगरी परमेश्‍वरका भेटी र परमेश्‍वरका सम्पत्तिमाथि पकड जमाउन चाही। ऊ आफैले यो मामला एकतर्फी रूपमा सम्हाली, र त्यसका परिणामहरू यिनै थिए। कतिपयले भन्‍न सक्छन्: “के परमेश्‍वरको भेटी छुँदैमा त्यसको अर्थ उसले उहाँको स्वभाव चिढ्याइरहेको छ भन्ने हुन्छ?” के त्यस्तो हुन्छ त? हुँदैन। मण्डलीसित परमेश्‍वरका भेटीहरू विनियोजन गर्ने सिद्धान्तहरू छन्, यदि तैँले ती सिद्धान्तहरूअनुसार कार्य गरिस् भने, परमेश्‍वरले हस्तक्षेप गर्नुहुनेछैन। यदि तँसित पहिल्यै सिद्धान्तहरू छन्, तर तँ तिनलाई पालना गर्दैनस्, बरु लापरवाहीपूर्वक कार्य गर्न र आफ्नै तरिकाले काम गर्न जिद्‌ कस्छस् भने, तँ परमेश्‍वरको स्वभाव चिढ्याइरहेको छस्। यो पहिलो महिलाको कथा यही हो।

दोस्रो महिला अगुवाको कथा पनि भेटीसँगै सम्बन्धित छ। यो कथा यस्तो छ: मण्डलीले आराधना स्थलको रूपमा एउटा घर किनेको थियो, त्यसलाई केही मर्मत सम्भार गर्नुपर्ने थियो। मर्मत सम्भारअन्तर्गत डिजाइन गर्ने र सरसामान किन्ने काम पर्छन्, र यसको लागि पैसा लाग्छ। यो परमेश्‍वरको व्यवस्थापनसम्बन्धी परमेश्‍वरको घरको काम भएकोले, खर्च हुने पैसा पनि स्वाभाविक रूपमै परमेश्‍वरको घरको नै हुन्छ, र त्यो परमेश्‍वरको भेटी हो। यो पैसा परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार वैधानिक र यथोचित रूपमा प्रयोग गरिन्छ। त्यो समयमा, यो महिला यस परियोजनाको जिम्‍मा सम्हालेकी अगुवा थिई। उसले परियोजनाको रेखदेख गर्न कसैले नचिनेको एक नवविश्‍वासी रोजी। त्यो मान्छे अविश्‍वासीजस्तै थियो। पछि, उसले त्यो अविश्‍वासीसँग मिलेर थुप्रै महङ्गा सामान किन्दै धेरै पैसा खेर फाली। के यो परमेश्‍वरको घरको पैसा ठगी गर्नु होइन र? यो परमेश्‍वरको भेटी धुत्‍नु र दुरुपयोग गर्नु हो! यो अविश्‍वासीले त्यसो गरेर निकै पैसा कमायो। के यसमा त्यो महिलाको कुनै संलग्नता थियो? (थियो।) उसले यसमा सहजीकरण गरी, र त्यो अविश्‍वासीलाई यस्तो काम गर्न दिई। जब कसैले यो विषयबारे थाहा पाएर रिपोर्ट गर्न चाह्यो, उसले त्यो व्यक्तिलाई दृढ रूपमा अवरोध गरी र धम्की दिई। उसले परमेश्‍वरको घरका हितमाथि विश्‍वासघात गरी, यी हितहरूमा क्षति पुर्‍याई र भेटीमा पनि ठूलो घाटा लगाई। यो अवधिमा, के परमेश्‍वरले उसको भर्त्सना गर्नुभयो? (गर्नुभएन।) ऊ यसबारे अनभिज्ञ थिई। हामीले कसरी ऊ अनभिज्ञ थिई भनेर भन्न सक्छौँ? यसलाई पुष्टि गर्ने केही तथ्यहरू छन्; उसले त्यो अविश्‍वासीको योजना शुरुदेखि नै प्रस्टसित बुझ्न सक्थी, तर उसले त्यसलाई रोकिन, बरु त्यसलाई ती सब गर्न दिई र मौन रूपमा अनुमोदन गरी, र निरन्तर पैसा खन्याइरही। फलस्वरूप, खर्च अत्यधिक बढ्यो, र काम सक्‍किँदा त्यो कमसल स्तरको भयो। के परमेश्‍वरले यो समयमा कदम चाल्नुभयो? चाल्नुभएन। यो मामलाबारे मानिसहरूमा के-कस्ता धारणा र कल्पना छन्? मानिसहरू उहाँको पैसाको लागि परमेश्‍वर आफै जिम्मेवार भएर त्यो महिलालाई रोक्नुभएको भए हुन्थ्यो भन्ने सोच्छन्। यो मानव धारणा हो, तर परमेश्‍वरले त्यो तरिकाले काम गर्नुहुन्न। मर्मतसम्भार सकिएर छानबिन गर्दा, परमेश्‍वरको घरले धेरैजसो भेटीमा घाटा लागेको थाहा पायो। यस्तो महिलालाई के गरिनुपर्थ्यो? परमेमश्‍वरले केही पनि गर्नुभएन; मण्डलीले नै उसलाई तह लगायो, अनि अर्की महिलाले उक्त पैसा फिर्ता गर्न थाली। उसका कार्यहरूको प्रकृति कस्तो थियो? अगुवाको रूपमा, ऊ गैरजिम्मेवार र भेटीको खर्च जाँच्न चुकेकी मात्र थिइन, उसले त बाह्य व्यक्तिसँगको मिलेमतोमा परमेश्‍वरको घरलाई समेत धोका दिई र परमेश्‍वरको भेटी हिनामिना गरी। यो अघिल्लो घटनाभन्दा झनै गम्भीर छ। त्यसोभए परमेश्‍वरको नजरमा यस्तो व्यक्तिको परिणाम के हुन्छ? विनाश; ऊ दण्डित हुनु नहुनु भविष्यको कुरा हो। हुन सक्छ यस्तो व्यक्तिलाई परमेश्‍वरले कुनै दिन दुष्टात्मा र फोहोरी पिशाचहरूको बासस्थानमा राख्नुहुन्छ, र ती फोहोरी पिशाचहरूले यो जुनीको उसको भौतिक शरीर नष्ट पार्छन् र उसको आत्मा अपवित्र र दूषित तुल्याउँछन्; तर अर्को जुनीको कुराचाहिँ निकै टाढाको कुरा हो। उसको परिणाम यही हो। परमेश्‍वरले किन यस्तो व्यक्तिलाई यसरी तह लगाउनुहुन्छ? किनभने उसले परमेश्‍वरको स्वभाव चिढ्याई। परमेश्‍वरको स्वभाव चिढ्याएपछि, के परमेश्‍वरले उसलाई अझै प्रेम गर्न सक्नुहुन्छ त? कुनै प्रेम बाँकी रहँदैन, न त कुनै करुणा न त प्रेमिलोदयालुपन नै बाँकी रहन्छ—बाँकी रहन्छ त केवल क्रोध बाँकी रहन्छ। उसका कार्यहरूबारे कुरा गर्नुपर्दा परमेश्‍वरले उसलाई घृणा र तिरस्कार गर्नुहुन्छ। अनि, उहाँले किन यो हदसम्म तिरस्कार गर्नुहुन्छ? किनभने साँचो मार्ग थाहा हुँदाहुँदै पनि, उसले जानाजान पाप गरी। उसको लागि कुनै पापबलि बाँकी छैन, र उसले परमेश्‍वरको क्रोधमार्फत दण्ड पनि भोग्नैपर्छ। ऊसँग परिणाम, गन्तव्य वा मुक्ति पाउने मौका केही पनि छैन। परमेश्‍वरको स्वभाव चिढ्याउनु भनेको यही हो; परमेश्‍वरको स्वभाव चिढ्याउँदा यस्तै हुन्छ।

ल भन् त, के परमेश्‍वरको स्वभाव चिढ्याउन सजिलो छ? वास्तवमा, त्यस्ता अवसरहरू धेरै आउँदैनन्, न त यस्तो हुन सक्ने परिस्थितिहरू नै धेरै हुन्छन्। अवसरहरू सीमित हुन्छन्, मौकाहरू कमै हुन्छन्; तैपनि किन मानिसहरू यति नगण्य अवसर र कम सम्भाव्यताहरू हुँदा पनि परमेश्‍वरलाई चिढ्याई छोड्छन्? यी दुवै महिलाले बीस वर्षभन्दा बढी परमेश्‍वरमा विश्‍वास गरे, कैयौँ वर्ष बराबर प्रवचन सुने, र अगुवा र सेवकको रूपमा लामो समय काम गरे। तैपनि तिनीहरूले किन यस्ता गम्भीर गल्तीहरू गरे त? मानवताको नजरबाट हेर्दा, तिनीहरूमा मानवता, विवेक र चेतना थिएन; परमेश्‍वरमाथि तिनीहरूको आस्थाको नजरबाट हेर्दा, तिनीहरूमा सच्चा आस्था थिएन, तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्थेन। तिनीहरूको हृदयमा परमेश्‍वर नभएको यो कुरा कसरी प्रकट भयो? तिनीहरूको व्यवहारमा कुनै डरको भाव थिएन, त्यस्तो मूल तत्‍व केही थिएन; र तिनीहरूले यस्तो विचार गरेनन्, “मैले यसो गरेपछि मलाई के हुनेछ? यसबाट कस्ता परिणामहरू आउनेछन्? मानिसहरूलाई यसबारे थाहा नहुन सक्छ, तर परमेश्‍वरलाई थाहा भयो भने के हुनेछ? मैले यो मामलाको जिम्मेवारी लिनैपर्छ, किनभने यो मेरो परिणामसँग सम्बन्धित छ।” तिनीहरूले यी कुराहरूबारे सोचेनन्—के त्यो समस्याजनक छैन र? यदि तिनीहरूले यी कुराहरूबारे नसोचेकाले, के तिनीहरूमा विवेक र समझ थियो त? (थिएन।) यसर्थ, तिनीहरू परमेश्‍वरको स्वभाव चिढ्याउन सक्‍ने, र यस्ता ठूला गल्तीहरू गर्न सक्‍ने अवस्थामा थिए। यदि कसैमा सामान्य मानव सोच छ भने, तिनीहरूमा यस्तो मानसिकता हुनेछ; कसैले पैसा सापट माग्दा तिनीहरूले यस्तो विचार गर्नेछन्: “पैसा सापट लिने? यो त परमेश्‍वरको पैसा हो। यदि मैले केवल क्षणिक सम्मानको लागि परमेश्‍वरको पैसा सापट दिएँ, अनि उसले फिर्ता गर्न सकेन भने के होला? म यो पैसा कसरी चुक्ता गरुँला? मैले त्यो चुक्ता गर्न सकेँ नै भने पनि, यो पैसा सापट दिनु कस्तो व्यवहार हो? के परमेश्‍वरको पैसालाई यति सामान्य रूपमा छुन मिल्छ? त्यसलाई यति सामान्य रूपमा छुन मिल्दैन; यदि मैले त्यसलाई छोएँ भने, यो व्यवहार कस्तो प्रकृतिको होला?” तिनीहरूले यी कुराहरू विचार गर्नेछन्, र कसैले मागेकै भरमा आवेगमा आएर त्यो पैसा सापट दिनेछैनन्। यदि तिनीहरूले यो कुरा विचार गर्दैनन्, वा विचार गरे पनि परिणामहरूबारे सोचेका हुँदैनन् भने, त्यसले परमेश्‍वरप्रतिको तिनीहरूको दृष्टिकोणबारे के बताउँछ? तिनीहरू कसरी विश्‍वास गर्छन्? तिनीहरू मूलभूत रूपमा परमेश्‍वरको अस्तित्व स्विकार्दैनन्, र त्यो भयानक कुरा हो! अनि, तिनीहरूले परमेश्‍वरको अस्तित्व नस्विकार्ने हुनाले, तिनीहरू परमेश्‍वरले तिनीहरूको परिणाम तय गर्नुहुनेछ र तिनीहरूमाथि प्रतिशोध प्रयोग गर्नुहुनेछ भनी स्विकार्दैनन्; तिनीहरू यो कुराले डराउँदैनन्, तिनीहरू प्रतिशोधमा विश्‍वास गर्दैनन्। सामान्यतया, यदि कसैमा पचाससाठी प्रतिशत विश्‍वास छ भने, उसले सजगतापूर्वक व्यवहार गर्नेछ र संयमता देखाउनेछ। यदि उसमा तीस प्रतिशत विश्‍वास छ भने, ऊ धेरथोर रूपमा संयम पनि हुन सक्ला, तर अवसर पाउनेबित्तिकै उसले त्यसको फाइदा उठाएरै छोड्नेछ; वा, यदि अवसरहरू कम छन् वा पूर्ण छैनन् भने, उसले आफूलाई अलिकति संयम र सीमित बनाउन पनि सक्नेछ। तथापि, जसमा विश्‍वासको कुनै पनि तत्‍व छैन, तिनीहरूले अनेकथरीका खराब काम गर्ने आँट गर्छन्, परिणामहरूबारे नसोची लापरवाहीपूर्वक व्यवहार गर्छन्; यो पशुजस्तै हुनु हो। बाहिरी रूपमा तिनीहरू मान्छेजस्ता देखिन्छन्, तर तिनीहरू मान्छेले गर्नुपर्ने काम गर्दैनन्; कम्तीमा पनि, यो भन्‍न सकिन्छ कि तिनीहरू पशुहरू हुन्, र अझ गम्भीर रूपमा हेर्दा, तिनीहरू परमेश्‍वरको काममा अवरोध र बाधा सिर्जना गर्न आउने, र परमेश्‍वरको काम भत्काउनमा माहिर रहेका, घिनलाग्दा पिशाच र दुष्टात्माहरू पनि हुन सक्छन्। के यस्ता मानिसहरूबारे परमेश्‍वरले गर्नुभएको वर्गीकरण सही छ? (सही छ।) यो अत्यन्तै सही छ; परमेश्‍वरले जे गर्नुहुन्छ त्यसमा केही गलत छैन, परमेश्‍वरले गर्नुहुने सबथोक सटीक छ। यसको साथै, परमेश्‍वरका कार्य र परमेश्‍वरले तय गर्नुभएका मानिसहरूका परिणामहरू क्षणिक कार्यप्रदर्शनमा आधारित हुँदैनन्। यी दुई महिलाहरू बीस वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेर पनि अन्त्यमा त्यो हालतमा पुगे, र तिनीहरूले यसरी आफ्नो पतन गराए। यस्तो कसरी हुन पुग्यो त? यो रातारात भएको कुरा होइन। तिनीहरूको आस्थासम्बन्धी पछ्याइ र तिनीहरूले रोजेको मार्गको दृष्टिकोणबाट हेर्दा, तिनीहरू सत्यता पछ्याउने मानिसहरू थिएनन्; त्यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, तिनीहरूमा सत्यताप्रति कुनै खालको केही पनि रुचि थिएन। यदि तिनीहरूमा थोरै मात्र रुचि भएको भए, तिनीहरूको मानवता परिवर्तन भइसकेको हुनेथ्यो। अनि मानवतामा आएको त्यस्तो परिवर्तनबाट तिनीहरूमा के आउनेथ्यो? त्यसबाट तिनीहरूमा संयमतापूर्वक व्यवहार गर्ने, दायराहरू पालना गर्ने, मूल्याङ्कनको मानक बनाउने, र कामकुराहरूलाई सामान्य मानव समझ र सोच प्रक्रियाद्वारा मापन गर्ने व्यवहार आउनेथ्यो। अनि, यदि तिनीहरूले कुनै काम गर्नु अनुचित हो भन्ने देख्थे भने, तिनीहरू पछि हट्नेथिए। तर यी दुई महिलाले कहिल्यै सत्यता पछ्याएनन्; तिनीहरूमा त यो आधारभूत दायरा र सोच शैलीसमेत थिएन। तिनीहरू जे पनि गर्न आँट्थे, र तिनीहरूको यही प्रकृतिले तिनीहरूलाई बर्बादी वा मृत्युसम्म समेत पुर्‍यायो। यही कारणले, परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको यात्रा यसरी नै अन्त्य भयो।

यी दुई घटनाहरू सुनेपछि तिमीहरूले के सोच्यौ? कतिपय मानिसहरू भन्छन्: “मैले आज धेरै कुरा पाएको छु। मैले सबैभन्दा उच्च सत्यता प्राप्त गरेको छु, त्यो हो: परमेश्‍वरका चीजहरू नछुनू; त्यस्तो सोच्ने कामसमेत नगर्नू, ती कुराहरू नचलाउनू। यदि तिनलाई चलाउने हो भने, त्यसको परिणाम राम्रो हुनेछैन।” के यथार्थ साँच्चिकै यही हो त? के सत्यता यही हो र? (होइन।) महत्त्वपूर्ण कुरा त तैँले परमेश्‍वरका सामानहरू चलाउँछस् कि चलाउँदैनस् भन्ने नभई, हृदयमा परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति के छ भन्ने हो। यदि तँ परमेश्‍वरको डर मान्छस् र उहाँप्रति भयको भाव महसुस गर्छस्, उहाँको अस्तित्वमा साँच्चिकै विश्‍वास गर्छस्, र तेरो आफ्नो अन्त्यबारे सच्चा रूपमा विचार गर्छस् भने, त्यस्ता कुराहरू धेरै छन्, जुन तैँले गर्नेछैनस्; तैँले तीबारे सोच्नेसमेत छैनस्। त्यसकारण, तँ यस्तो प्रलोभनमा पर्नेछैनस्; तँमाथि त्यस्तो कुरा कहिल्यै आइपर्नेछैन। अनि, त्रास उपयोगी हुन्छ? त्रास बेकार छ। यी दुई महिलाहरूले यी कामकुरा गरिरहँदा, परमेश्‍वरले के गर्नुभयो? परमेश्‍वरले परिस्थितिलाई आफ्नै तवरले चल्न दिनुभयो, यी दुई दियाबलसहरू—अर्थात् यी दुई अमानवहरू जसका हृदय कुनै रूपमा पनि परमेश्‍वरदेखि त्रसित थिएनन्—तिनीहरूलाई शैतानको प्रलोभनमा पार्नुभयो, ताकि तिनीहरू पूर्ण रूपमा खुलासा भई नष्ट हुन सकून्। के यो परमेश्‍वरको मनोवृत्ति होइन र? यो परमेश्‍वरको धर्मी स्वभाव हो, र यसलाई हल्का रूपमा लिनु हुँदैन! मानिसहरू अरूलाई तह लगाउन र अरूमाथि प्रतिशोध लिन मानव माध्यम प्रयोग गर्छन्, र दुष्टतालाई दुष्टतामार्फत नै जवाफ दिन्छन्। तर परमेश्‍वरले त्यसो गर्नुहुन्न; परमेश्‍वरका आफ्नै मानक, सिद्धान्त र तरिकाहरू छन्। जब परमेश्‍वरले कसैमाथि प्रतिशोध प्रयोग गर्नुहुन्छ, उहाँले उसलाई केही महसुस नहोस् भन्ने निश्‍चित गर्नुहुन्छ; उसलाई थाहा हुँदैन, तर परमेश्‍वरको नजरमा, त्यो समस्या समाधान भइसकेको हुन्छ। वर्षौँपछि, त्यसबाट उत्पन्न हुने कष्ट अलिअलि गर्दै देखा पर्नेछ। अनि, परमेश्‍वरले त्यो व्यक्तिबाट उहाँको अनुग्रह, आशिष्, अन्तर्दृष्टि, ज्योति र सामान्य मानवलाई परमेश्‍वरद्वारा गरिने सबै व्यवहार खोस्‍नुभएपछि, उसलाई पूर्णतया अमानवीकरण गरिन्छ; परमेश्‍वरको नजरमा, ऊ अब सृष्टि गरिएको प्राणी नभएर पशु हुन्छ, र ऊ पूर्ण रूपमा अर्कै चिज हुन्छ। परमेश्‍वर भन्नुहुन्छ, “उहाँले दुष्ट र असल दुवैमाथि उहाँको घाम लगाउनुहुन्छ।” के यस्ता मानिसहरू असल हुन् कि दुष्ट? तिनीहरू दुवै होइनन्। परमेश्‍वरको नजरमा, उहाँका अभिलेखहरूमा, यस्ता मानिसहरूलाई हटाइसकिएको छ; तिनीहरू सक्‍किसके, तिनीहरू अमानव हुन्। अनि, अमानवको परिभाषा के हो? (पशु, अर्थात् मानव खोल ओढेको जन्तु।) कतिपयले यसो भन्दै तिनीहरूको डाहासमेत गर्न सक्छन्, “तिनीहरू बाहिर काम गरेर पैसा कमाउँछन्, अविश्‍वासीहरूसँग जिउँछन्; तिनीहरूको जीवन मण्डलीमा बिहानदेखि बेलुकासम्म कर्तव्य निभाउँदै दुःख भोग्नुभन्दा धेरै सहज छ।” म तँलाई भन्छु, तिनीहरूको दुःखको दिन आउनै बाँकी छ। यदि तँ तिनीहरूको डाहा गर्छस् भने, तैँले तिनीहरूको नक्कल गरे हुन्छ; परमेश्‍वरको घरले कुनै प्रतिबन्ध लगाउँदैन। दुःख भनेको रोगको कारण हुने भौतिक पीडामा सीमित हुँदैन; यदि कसैको भित्री दुःख कुनै निश्‍चित हदसम्म पुग्यो भने, त्यो व्यक्तिको मानसपटलमा पुगेको धक्काजस्तै भनिसाध्य हुँदैन, विशेषगरी परमेश्‍वरको दण्ड भोग्नुपर्दा यस्तो हुन्छ—त्यो मृत्युभन्दा नराम्रो हुन्छ, त्यो बढी पीडादायक हुन्छ; त्यो एकप्रकारको मानसिक सन्ताप हो। यी दुई महिलाहरूले लापरवाहीपूर्ण व्यवहारमार्फत परमेश्‍वरको स्वभाव चिढ्याएकाले, तिनीहरू यो परिस्थितिमा पुगे। मानिसहरूका धारणाअनुसार त के देखिन्छ भने, चाहे मानिसहरूबाट जे-जस्ता गल्तीहरू नै किन नहोऊन् वा चाहे तिनीहरूले जेसुकै नै किन नगरून्, यदि तिनीहरू फर्केर परमेश्‍वरसामु आएर गल्ती स्विकार्न र पश्‍चात्ताप गर्न सक्छन् भने, परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्न सक्नुहुन्छ; र यसले परमेश्‍वरको प्रेम विशाल छ, उहाँले मानवजातिलाई साँच्चिकै प्रेम गर्नुहुन्छ भन्ने प्रमाणित गर्छ। तर यो एक मानव धारणा हो, र यसले परमेश्‍वरबारे मानिसहरूको बुझाइ थुप्रै कल्पनाहरू र ज्यादै धेरै मानव इच्छाले भरिएको हुन्छ भन्‍ने देखाउँछ। यदि परमेश्‍वरलाई मानव धारणाहरूद्वारा सीमित गरिने हो भने, परमेश्‍वरका कार्यहरू सिद्धान्तहीन हुन्थे र परमेश्‍वरसित कुनै स्वभाव हुन्थेन; यस्तो परमेश्‍वर त अस्तित्वमै हुनुहुन्न। ठ्याक्‍कै भन्नुपर्दा, परमेश्‍वर साँच्चिकै हुनुभएकोले, जिउँदो र जीवन्त हुनुभएकोले, र उहाँ निर्विवाद र ठोस रूपमा साँच्चिकै हुनुभएकोले नै उहाँ फरकफरक रूपमा प्रकट हुनुहुन्छ। ती प्रकटीकरणहरू मानिसहरूप्रतिका उहाँका विविध कार्य र मनोवृत्तिहरूमा झल्किन्छन्, र ती उहाँको साँचो अस्तित्वको प्रमाण हुन्। कतिपयले भन्छन्: “ती मानिसहरूलाई तह लगाउँदा तिनीहरूलाई नै थाहा हुँदैन भने, हामी कसरी परमेश्‍वरको अस्तित्व देख्न सक्छौँ?” मैले उल्लेख गरेका घटनाहरूले नै मानिसहरूलाई परमेश्‍वरको मनोवृत्ति र स्वभाव देखाउँछ, र साथै यसले मानिसहरूलाई परमेश्‍वरका काम गर्ने र मानिसहरू तह लगाउने सिद्धान्तहरू पनि देखाउँछ। के यो परमेश्‍वरको साँचो अस्तित्वको प्रमाण होइन र? (हो।) यदि यो परमेश्‍वर नहुनुभएको भए, यदि उहाँ साँच्चिकै हावा मात्र हुनुभएको भए, उहाँले जेसुकै गर्नभए पनि त्यसमा सिद्धान्त र दायरा हुन्थेनन्; त्यो अदृश्य, अस्पृश्य, रित्तो, मानिसहरूको जीवनमा लागु नहुने र मानिसहरूको जीवन, कार्य र तिनीहरूका कुनै पनि प्रकटीकरणको लागि असान्दर्भिक हुनेथ्यो। त्यो एक सिद्धान्त, तर्क, र खोक्रो कुरा मात्र हुनेथ्यो। यो परमेश्‍वर अस्तित्वमा रहनुभएकोले नै, उहाँले गर्नुहुने यावत्‌ कुराहरूले मानिसहरूलाई उहाँको मनोवृत्ति देख्ने तुल्याउँछ।

परमेश्‍वरको कामबारे मानिसहरूमा रहेका विविध धारणा र कल्पनाहरूको मुख्य अंशलाई मूलभूत रूपमा हाम्रो सङ्गतिले समेटेको छ। त्यो मुख्य अंश के कुरामा केन्द्रित छ? त्यो परमेश्‍वरको न्याय र सजाय सन्दर्भमा मानिसहरूमा रहेका विविध धारणा, कल्पना र विचारहरूका साथै स्वभाव परिवर्तनमा के कुरा पर्छ भन्नेबारे तिनीहरूमा रहेका विविध धारणा र कल्पनाहरूमा केन्द्रित छ। यसअलावा पनि, मानिसहरूमा परमेश्‍वरको न्याय र सजायको कामपछाडि रहेका सिद्धान्तहरू र परमेश्‍वरले मानिसहरूको लागि तोक्नुभएका मानकहरूबारे अनगिन्ती कल्पनाहरू हुन्छन्। मानिसहरूको लागि यी अवधारणाहरू सामान्यतया अन्यौलपूर्ण र अस्पष्ट हुन्छन्। यो स्पष्टता नहुनुले के जनाउँछ? यसको अर्थ के हो भने, मानिसहरू अझै पनि सत्यता बुझ्दैनन्, न त तिनीहरू आफूमाथि परमेश्‍वरले गरिरहनुभएको कामसम्बन्धी सत्यताहरू नै बुझ्छन्। आजको सङ्गतिमार्फत, के अब तिमीहरूले मूलभूत रूपमा न्याय र सजायका साथै परमेश्‍वरले मानिसहरूको लागि तोक्नुभएका मानकहरू बुझेका छौ? (बुझेका छौँ।) यो बुझाइ प्राप्त गरेपछि, अब तिमीहरूले के गर्नुपर्छ? सर्वप्रथम, तिमीहरूले परमेश्‍वरका यस्ता मानकहरू छन् भन्‍ने कुरा पहिचान गर्नुपर्छ। अनि, के यी मानकहरू लचिला छन् त? के यी मानकहरू तलमाथि हुन सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? अनुग्रहको युगदेखि अहिलेसम्म, परमेश्‍वरले सिद्ध पार्नुभएका मानिसहरूबाट हामी देख्न सक्छौँ कि यी मानकहरू कडा र प्रस्टसित व्याख्या गरिएका छन्; परमेश्‍वरले ती कहिल्यै परिवर्तन गर्नुहुनेछैन। उहाँले ती कुराहरू दुई हजार वर्षपहिले पनि परिवर्तन गर्नुभएन, र उहाँले तिनलाई अहिलेसम्म पनि परिवर्तन गर्नुभएको छैन। यतिमात्र हो कि अब सिद्ध पारिएका मानिसहरूको सङ्ख्या धेरै हुनेछ किनभने परमेश्‍वरले यति धेरै बोल्नुभएको छ। उतिबेला उहाँले थोरै मात्रामा काम गर्नुभयो र मानिसहरूलाई खुलस्त रूपमा बढी सत्यताहरू बताउनुभएन। अहिले, उहाँले मानिसहरूलाई बढी सत्यताहरू बताउनुभएको छ, उहाँका बढी अभिप्रायहरूबारे सचेत पार्नुभएको छ, र मानिसहरूले जान्‍नुपर्ने भनी उहाँले तोक्नुभएका सबै मानक र सत्यताहरू व्यक्त गर्नुभएको छ। त्यो सँगसँगै, परमेश्‍वरका आत्माले पनि मानिसहरूमाझ साथसाथै यही तरिकाले काम गरिरहनुभएको छ। यी दुई पक्षहरूले संयुक्त रूपमा यो प्रमाणित गर्छन् कि परमेश्‍वरले यो अवधिमा बढी मानिसहरूलाई—अर्थात् एकदुई जनालाई होइन, एक हूल मानिसहरूलाई नै सिद्ध पार्न चाहनुहुन्छ। यो जानकारीको आधारमा, के तिमीहरूमध्ये धेरैजसोलाई सिद्ध पारिने आशा हुन्छ? कतिपयले यसबारे आफूलाई ढुक्‍क नलागेको बताउँछन्, तर हामीलाई ढुक्‍क नलागेको भए पनि, कोसिस गरौँ; यो क्षणमा दयाको भीख माग्‍नु कस्तो व्यवहार हो? यो कायर, बेकार, अयोग्य र नीच व्यवहार हो, यो परमेश्‍वरको अपमान गर्नु हो। तिमीहरू कायर हुनु हुँदैन! सिद्ध पारिने सर्त र मानकहरू मानिसहरूलाई प्रस्ट र सजिलो तरिकाले बताइएका छन्; बाँकी कुरा त त्यसलाई कसरी अभ्यास गर्ने र कसरी परमेश्‍वरको कामसित सहकार्य गर्ने भन्‍ने मात्र हो। यो अवधिमा तँ जतिपटक असफल भए पनि, जबसम्‍म तैँले परमेश्‍वरको स्वभाव चिढ्याउँदैनस्, तबसम्‍म तैँले निरुत्साहित हुनु वा हार मान्नु हुँदैन; निरन्तर अगाडि बढ्ने प्रयत्‍न गर्। कतिपयले आफ्नो क्षमता कमजोर छ भन्छन्। के तिनीहरूको क्षमता कमजोर भएको परमेश्‍वरलाई थाहा हुँदैन र? तिनीहरूले आफ्नो क्षमता कमजोर भएको स्विकार्नु नै परमेश्‍वरको नजरमा राम्रो कुरा हो, किनभने भ्रष्ट मानवजाति अहङ्कारी र आत्मधर्मी हुन्छ, र अति थोरैले मात्र आफ्नो क्षमता कमजोर भएको स्विकार्छन्। यो स्विकार्नु राम्रो कुरा हो, यो राम्रो प्रकटीकरण हो। कतिपयले आफ्नो मानवता कमजोर र खराब भएको थाहा पाएर, आफ्ना अनुभवहरूबारे कुरा गर्छन्। तर अरूलाई चाहिँ किन यस्तो महसुस नभएको? आफ्नो कमजोर मानवता, अर्थात् खराब मानवता स्विकार्नुले, तैँले परमेश्‍वरका वचनहरू बुझेको छस् र तिनलाई आफूसित जोडेको छस् भन्ने जनाउँछ; यसले देखाउँछ कि तँमा परमेश्‍वरको मुक्तिको कामप्रति आस्था छ, र तँसित परमेश्‍वरलाई सन्तुष्ट पार्ने दृढनिश्‍चयता छ—तैँले कम्तीमा पनि यो सत्य अभिव्यक्ति स्विकार्न सकेको त छस्। अहिले कुनचाहिँ अविश्‍वासीले आफू खराब छु भन्छ र? तिनीहरू त खराब हुँदा पनि असल भएको दाबी गर्छन्; तिनीहरू आफ्ना दुष्ट कार्यहरू भयङ्कर असल कार्यहरू र सद्‌गुणी व्यवहारहरू हुन् भनी दाबी गर्छन्, र यसरी भद्दा रूपमा सही र गलतलाई तोडमोड गर्छन्। त्यसैले, तैँले जस्तोसुकै झट्का, असफलता, र उल्झनहरू सामना गरे पनि, अगाडि आशा रहेको देख्न सक्‍नुपर्छ। अनि, अगाडि को छ? परमेश्‍वर हुनुहुन्छ! परमेश्‍वरका वचनहरूका मार्गदर्शन र अगुवाइद्वारा मानिसहरू सही मार्गमा लाग्न सक्छन्।

आज, तीनवटा घटना अध्ययनबारे सङ्गति गरियो, र परमेश्‍वरको कामबारे मानिसहरूका विविध धारणा र कल्पनाहरूबारे प्रस्ट पारियो। के त्यसमा भनिएका कुराहरू तिमीहरू सबैले बुझ्यौ? (बुझ्यौँ।) तिमीहरूको बुझाइ क्षमताले देखाउँछ कि तिमीहरूसित सत्यता स्विकार्ने क्षमता र शक्ति छ—तिमीहरूले सत्यता बुझ्ने र प्राप्त गर्ने आशा छ। यी सत्यताहरू किन एकदुई घण्टा वा दुईतीन घण्टामा प्रस्टसित वर्णन गर्न सकिँदैन? किनभने त्यसपछि आउने कुराहरू बताउनलाई धेरै प्रारम्भिक कुराहरू पनि बताउनुपर्छ। पहिला केही प्रारम्भिक आधार स्थापित गरिएन भने, तिमीहरूले त्यसपछिका कुराहरू बुझ्नेछैनौ। यदि मैले कुनै प्रारम्भिक विषयवस्तुबिना संक्षेपमा बोल्ने हो भने, तिमीहरूलाई बुझ्न कठिन हुनेछ। त्यसैले, म केही उदाहरणहरू दिन्छु, र त्यसपछि तिनलाई सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणबाट छलफल गरेर, तिमीहरूलाई कुरा बुझ्न र भित्री वास्तवकिता खुट्ट्याउन, अर्थात् यी मामलाहरूमा ठ्याक्कै के भइरहेको छ र व्यक्तिले कसरी तिनलाई विशुद्ध रूपमा बुझ्नुपर्छ भनी थाहा पाउन मद्दत गर्नेछु। यदि तिमीहरूले यो कुरा हासिल गर्‍यौ भने, मैले बोलेको खेर गएको हुनेछैन। तैँले यी सत्यताहरू सुनेर तीबारे केही बुझाइ प्राप्त गरेदेखि तँमा पूर्ण बुझाइ भएको अवस्थासम्‍म, र परमेश्‍वरले किन यी कुराहरू भन्नुहुन्छ, परमेश्‍वरले बोल्नुभएका यी सत्यताहरूमा तेरो भ्रष्ट स्वभावको कुन पाटो संलग्न छ, र परमेश्‍वरले किन तँलाई यी कुराहरू भन्न चाहनुहुन्छ भनी तैँले हृदयको गहिराइबाटै महसुस गरेको अवस्थासम्म पुग्‍नलाई, अर्थात् यो स्तरको बुझाइसम्‍म पुग्नलाई एक निश्‍चित चरण पार गर्नुपर्छ। तैँले यी सत्यताहरूलाई तेरो आफ्नै भ्रष्ट स्वभाव, बोली, व्यवहार, सोच, र विचारहरूसँग जोड्नुपर्छ—यसको मतलब, तैँले तिनलाई तेरो वास्तविक परिस्थितिसँग जोडेर हेर्नुपर्छ—अनि, तैँले अचेतन रूपमै बिस्तारै यी सत्यताहरू बुझ्ने र बोध गर्नेछस्। यदि तैँले तिनलाई तेरो आफ्नै अनुभवसँग तुलना गरिनस्, बरु त्यसको साटो आज टिपोट गरिस्, भोलि दोहोर्‍याउँदै कण्ठ पारिस्, र ती कुराहरू पहिले कहिल्यै नसुनेका मानिसहरूलाई सुनाइस् भने, तैँले ती कुराहरू प्राप्त गरेको छु भनेर सोच्‍न सक्छस्, तर वास्तवमा चाहिँ ती कुराहरू प्राप्त गरेकै हुँदैनस्। तैँले धर्मसिद्धान्तहरू भट्याउन सकेको दिनदेखि, यी सत्यताहरू तेरो लागि सत्यता रहँदैनन्, र तँलाई सत्यता बुझ्न कठिन लाग्नेछ, र सत्यता नै पूर्ण रूपमा हराएजस्तो हुनेछ। तेरो लागि सत्यता धर्मसिद्धान्तमा मात्र सीमित बनेपछि, त्यसले तँमाथि प्रभाव पार्न गाह्रो पर्नेछ। तैँले सत्यतालाई तेरो आफ्नो वास्तविकतामा बदल्नुपर्छ, बिस्तारै खोजी र सङ्गतिमार्फत प्रत्येक सत्यताको व्यावहारिक पक्षलाई आफूमाथि लागू गर्नुपर्छ, र अन्त्यमा यो सत्यतामा कुन स्थितिहरू पर्छन्, र यसमा के-कस्ता कुराहरू छन्, र परमेश्‍वरले यी वचनहरू भन्नुपछाडिका अभिप्रायहरू के हुन् भनी बुझ्नुपर्छ। सत्यता बुझ्ने सुरुवात नै यही हो। अहिले तिमीहरू के बुझ्छौ? (धर्मसिद्धान्तहरू।) जब मानिसहरूले पहिलोपटक सत्यता सुन्छन्, तिनीरूले एकप्रकारको धर्मसिद्धान्त बुझ्छन्। तर धर्मसिद्धान्त बुझ्नु सरल कुरा होइन; त्यो बुझ्नलाई पनि निश्‍चित योग्यता र क्षमता चाहिन्छ। त्यसको लागि तँसित शान्त र ध्यानी हृदय पनि हुनुपर्छ, र यसरी तैँले ध्यानी भएर प्रवचनहरू सुन्न सक्छस्। मैले के पत्तो पाएको छु भने, कतिपय मानिसहरू प्रवचनहरू सुन्दा यस्तो सोच्छन्, “तपाईं जे कुराबारे बोलिरहनुभएको छ, त्यो बेकार छ, म सुन्न इच्छुक छैन। म प्रवचनहरू सुन्न चाहन्छु, तर घटनाहरूबारे सुन्न चाहन्नँ।” तिनीहरू म सही र गलतबारे बोलिरहेको छु भन्ने विश्‍वास गर्छन्। तिनीहरूले यस्तो दृष्टिकोण बोक्ने भएकाले तिनीहरू आफूले सुनेका कुराहरू ग्रहण गर्न सक्दैनन्; तिनीहरू झुल्छन्, र बुझ्न सक्दैनन्, र त्यो सँगसँगै अगाडि बढ्न सक्दैनन्। यस्ता मानिसहरूमा सत्यता बुझ्ने क्षमता हुँदैन; तिनीहरूमा योग्यताको कमी हुन्छ। आफूलाई आत्मिक भन्ने कतिपय मानिसहरू मैले कथाहरू सुनाएको थाहा पाउँदा सुन्न अनिच्छुक हुन्छन्। तिनीहरू कि त पानी पिउँछन् कि त हाइ काढ्छन्, र सधैँ छटपटाइरहन्छन्। तिनीहरू सोच्छन्, “तपाईंले सुनाइरहनुभएका कथाहरू बाह्य मामलाबारे छन्; यो अति सतही छ, म त्यो ग्रहण गर्नै सक्दिनँ। तपाईंले आत्मिक संसारबारे बढी कुरा गर्नुपर्छ; त्यो मेरो रुचिसुहाउँदो हुनेछ।” कतिपय मानिसहरूमा ठ्याक्कै यस्तै मनोवृत्ति हुन्छ। तिनीहरूले अगुवाको रूपमा धेरै वर्ष काम गरेपछि तिनीहरू उच्च प्रवचन, बृहत्‌ सिद्धान्त र तेस्रो स्वर्गका वचनहरूबारे कुरा गर्न मन पराउँछन्; तिनीहरू जति बढी बोल्छन्, त्यति नै उत्साहित बन्छन्। तर यदि हामीले मण्डलीका मामला, व्यावहारिक अनुभव, वा विशेषगरी मानव मानसपटलका गतिशील तत्वहरू विश्‍लेषण गर्नेबारे कुरा गर्छौँ भने, तिनीहरूलाई त्यो सधैँ सतही र नीरस लाग्छ। यो कस्तो स्वभाव हो? के यी मानिसहरूमा सत्यता वास्तविकता हुन्छ? के यस्ता मानिसहरूले आफ्नो कामका वास्तविक समस्याहरू समाधान गर्न सक्छन्? के तिमीहरूलाई यस्ता मानिसहरू मन पर्छ? सत्यता सङ्गति गर्ने कार्य वास्तविकताबाट अलग्‍गिएको हुनु हुँदैन। के वास्तविकतामा रुचि नराख्ने मानिसहरूले सत्यतालाई प्रेम गर्न सक्छन्? मलाई त सक्छन् जस्तो लाग्दैन; यस्ता मानिसहरू सत्यतादेखि दिक्क हुन्छन्, र तिनीहरू अत्यन्तै खतरनाक हुन्छन्।

नोभेम्बर ८, २०१८

अघिल्लो: आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (२)

अर्को: कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्