कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?

पछिल्लो भेलामा, सङ्गतिको मुख्य विषय कुनै व्यक्ति न्याय र सजायमार्फत् सिद्ध पारिनका लागि पूरा गर्नुपर्ने चारवटा आधारभूत सर्तहरू थियो। यी चार आधारभूत सर्तहरू के-के हुन्? (पहिलो सर्त पर्याप्त कर्तव्य निर्वाह हो। दोस्रो, परमेश्वरप्रति समर्पणको मानसिकता राख्नु हो। तेस्रो, मूल रूपमा इमानदार व्यक्ति हुनु हो। र चौथो सर्त पश्चात्तापी हृदय हुनु हो।) यी चारवटा सर्तहरूमा केही विवरणका साथै ठोस अभ्यास र विशेष सन्दर्भ सामग्रीहरू छन्। खासमा, यी चारवटा विषयहरूबारे वर्षौँदेखि छलफल हुँदै आएको छ। यदि हामीले तिनका बारेमा आज फेरि कुरा गर्‍यौँ भने, के त्यसलाई पुरानै कुरामा फर्किएको मानिनेछ? (मानिनेछैन।) किन मानिनेछैन? किनभने यी चारवटै सर्तहरूको विषयवस्तुमा सत्यताको वास्तविकता र जीवन प्रवेश समावेश हुन्छन्, जुन असीम विषयहरू हुन्। धेरैजसो मानिसहरू सत्यताको वास्तविकतामा प्रवेश गर्ने बिन्दुसम्म पुगिसकेका छैनन्; तिनीहरू सत्यताको सतही अर्थ र केही सामान्य धर्मसिद्धान्तहरू मात्र बुझ्छन्। तिनीहरू केही वास्तविकताहरू सङ्गति गर्न सक्ने भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्नबाट चुक्छन्। त्यसैले, सत्यताको जुनसुकै पक्ष संलग्न भए पनि, त्यो बारम्बार सङ्गति गर्ने र सुन्ने गर्नुपर्छ। यसरी, वास्तविक अनुभवमार्फत् विविध सत्यताबारे मानिसहरूको बुझाइ गहिरिनेछ, र तिनीहरूका अनुभव झन्-झन् सटीक बन्नेछन्।

हामीले भर्खरै न्याय र सजाय स्विकारेर सिद्ध पारिनका लागि पूरा गर्नुपर्ने चार आधारभूत सर्तहरूलाई सारांशित गर्‍यौँ। अब, पहिलो सर्तबाटै छलफल सुरु गरौँ: पर्याप्त कर्तव्य निर्वाह। कतिपय मानिसहरू भन्छन्: “विगत दुई वर्षका सबै छलफलहरू कर्तव्य निर्वाहमै केन्द्रित थिए; विशेषगरी, कर्तव्य निर्वाह कसरी गर्ने, त्यो कसरी राम्रोसँग गर्ने, कर्तव्य निर्वाह गर्दा कुन सिद्धान्तहरू पालना गर्ने—मेरो हृदयमा, यी कुराहरू घामजस्तै छर्लङ्ग छन्, तिनलाई थप प्रस्ट्याउने ठाउँ छैन। विगत केही वर्षमा, मेरो दैनिक जीवन कर्तव्य निर्वाहसम्बन्धी सत्यताहरूमै केन्द्रित भएका छन्। मैले आफ्नो कर्तव्य निर्वाह गर्न थालेदेखि, त्यससम्बन्धी सत्यताहरू खोजेको, खाएको, पिएको र सुनेको छु, र अहिले पनि यस विषयमा छलफल जारी छ। मैले हृदयमा यो कुरा धेरै पहिले बुझिसकेको छु; के यो वास्तवमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु मात्र होइन र? के पर्याप्त कर्तव्य निर्वाह गर्नु भनेको पहिले उल्लेख गरिएका सिद्धान्तहरू पालना गर्नु मात्र होइन र? प्रभु अर्थात् आफ्नो परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदय, सम्पूर्ण प्राण, सम्पूर्ण मनमस्तिष्क, र आफ्नो सम्पूर्ण बलले प्रेम गर; सिद्धान्तहरू खोज, तिमीहरूका आफ्नै झुकावहरूमाथि भर नपर, र आफ्नो कर्तव्य निर्वाह गर्दा सामञ्जस्यपूर्ण समन्वय गर; आफ्नो कर्तव्य निर्वाह र जीवन प्रवेशबीच तालमेल मिलाऊ—गर्नुपर्ने त्यति नै हो।” तिमीहरूले आफ्नो दैनिक जीवनमा यिनै विषयहरू मात्र सामना र अनुभव गर्छौ, त्यसैले तिमीहरू त्यति मात्र बुझ्छौ। तिमीहरूले जति बुझे पनि, आज हामीले यो सत्यताबारे छलफल गर्नैपर्छ। यदि कुनै कुरा दोहोरिएमा, त्यसले तिमीहरूलाई पनि फाइदा नै गर्नेछ, र तिमीहरूले त्यसबारे फेरि मनन गर्न सक्छौ; यदि त्यो पहिले छलफल नभएको विषय भएमा, त्यसलाई ग्रहण गर। त्यो दोहोरिएको भए पनि नभए पनि, तिमीहरूले ध्यानपूर्वक सुन्नुपर्छ। यसमा के-कस्ता सत्यताहरू समावेश छन्, तिमीहरूको जीवन प्रवेशमा यी सत्यताहरूले कुनै फाइदा गर्छन् कि गर्दैनन्, र तिनले तिमीहरूलाई पर्याप्त कर्तव्य निर्वाह गर्न मद्दत गर्छन् कि गर्दैनन् भनी विचार गर। त्यसैले, पर्याप्त कार्य-सम्पादनको विषयमा पुन: छलफल गर्नु वास्तवमै जरुरी छ।

पर्याप्त कर्तव्य निर्वाहका सम्बन्धमा, पहिला “पर्याप्त” को अर्थलाई थाती राखेर त्यसको सट्टा कर्तव्य के हो भन्नेबारे कुरा गरौँ। अन्त्यसम्ममा, तिमीहरूले कर्तव्य भनेको के हो, केलाई पर्याप्त मानिन्छ, र कर्तव्य कसरी निर्वाह गर्नुपर्छ भनी जान्नेछौ; तिमीहरूसित मापदण्डअनुरूपको कर्तव्य निर्वाह गर्ने अभ्यासको मार्ग हुनेछ। त्यसोभए, कर्तव्य भनेको के हो? (कर्तव्य भनेको परमेश्वरले मानिसलाई सुम्पने काम हो, यो सृष्टि गरिएको प्राणीले गर्नुपर्ने काम हो।) यो भनाइ आधा मात्र सही छ। सिद्धान्तत: यसमा कुनै गल्ती छैन, तर नजिकबाट नियाल्दा, यो व्याख्या अपूरो देखिन्छ; यसमा एउटा पूर्वसर्त हुनुपर्छ। यस विषयमा प्रवेश गरौँ। हरेक विश्वासी र अविश्वासीका हकमा, तिनीहरू कसरी आफ्नो जीवन जिउँछन्, यस मानव संसारमा के गर्छन्, र तिनीहरूको जीवनको नियति के हो—के यी सबै परमेश्वरले पूर्वनिर्धारण गर्नुभएका कुराहरू होइनन् र? (हजुर, हुन्।) उदाहरणका लागि, कतिपय मानिसहरू यस संसारमा सङ्गीतमा लाग्छन्। सङ्गीत बनाउनु नै तिनीहरूको जीवनको मिसन हो; के यो मिसनलाई तिनीहरूको कर्तव्य ठान्न मिल्छ? (मिल्दैन।) कतिपय मानिसहरूले यस संसारमा अद्भुत कामहरू गरेर सम्पूर्ण मानवजातिलाई प्रभाव पारेका छन्, योगदान दिएका छन्, र एउटा युग नै परिवर्तन गरेका छन्; यो तिनीहरूको जीवनको मिसन हो। के यो जीवनको मिसनलाई तिनीहरूको कर्तव्य भन्न मिल्छ? (मिल्दैन।) तर के यो जीवनको मिसन र तिनीहरूले आफ्नो जीवनकालमा गरेका काम परमेश्वरले नै तिनीहरूलाई सुम्पनुभएको होइन र? के यो एउटा सृष्टि गरिएको प्राणीले गर्नुपर्ने काम होइन र? (हो।) ठिक भनिस्। परमेश्वरले तिनीहरूलाई एउटा मिसन दिनुभएको छ, यो आज्ञा दिनुभएको छ, र सम्पूर्ण मानवजातिमा, मानवजातिकै अंशका रूपमा, तिनीहरूसित आफूले गर्नुपर्ने केही कुरा, अर्थात् तिनीहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ। तिनीहरू जुनसुकै क्षेत्रमा संलग्न भए पनि—चाहे त्यो कला, व्यावसाय, राजनीति, अर्थशास्त्र, वैज्ञानिक अनुसन्धान, आदि जेमा होस्—यी सबै परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको छ। तर, एउटा भिन्नता छ; परमेश्वरले त्यो जसरी तोक्नुभएको भए पनि, यी मानिसहरू परमेश्वरको व्यवस्थापन कार्यमा पर्दैनन्। तिनीहरू अविश्वासी मानिन्छन्, र तिनीहरूले गर्ने काम परमेश्वरको व्यवस्थापन कार्यभन्दा बाहिर पर्छन्। त्यसैले, के तिनीहरूका जिम्मेवारी, तिनीहरूले स्विकारेको आज्ञा, र तिनीहरूको जीवनको मिसनलाई कर्तव्य भन्न मिल्छ? (मिल्दैन।) तिनीहरू कर्तव्य निर्वाह गरिरहेका छैनन्, किनभने तिनीहरूले गर्ने काम मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामसँग असम्बन्धित हुन्छ। यस संसारका सम्पूर्ण मानवहरू सृष्टिकर्ताको आज्ञा र उहाँले दिनुभएको मिसन निष्क्रिय रूपमा स्विकार्छन्, तर परमेश्वरमा विश्वास नगर्नेहरूले स्विकार्ने मिसन र तिनीहरूले पूरा गर्ने जिम्मेवारीहरू कर्तव्य होइनन्, किनभने ती मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामसित असम्बन्धित छन् र त्यसमा तिनको कुनै भूमिका हुँदैन। तिनीहरू परमेश्वरलाई स्विकार्दैनन्, र परमेश्वरले तिनीहरूमाथि काम गर्नुहुन्न, त्यसैले तिनीहरूले जे-जस्तो जिम्मेवारीहरू निभाए पनि, र यो जुनीमा जे-जस्तो आज्ञा स्विकारे पनि वा जे-जस्तो मिसन पूरा गरे पनि, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् भनेर भन्न मिल्दैन। त्यसोभए कर्तव्य भनेको ठ्याक्कै के हो त? यो अवधारणा र यससम्बन्धी सत्यतालाई प्रस्ट, सही, र वृहत रूपमा व्याख्या गर्नका निम्ति कस्ता पूर्वसर्तहरू थपिनुपर्छ? के तिमीहरूले भर्खरैको हाम्रो सङ्गतिबाट कुनै अवधारणा बुझेका छौ? कुन अवधारणा बुझेका छौ? यो कि मानवजातिमाझ जुनसुकै व्यक्तिका हकमा, तिनीहरूले जति ठूलो मिसन स्विकारेका, वा जुन स्तरको परिवर्तन निम्त्याएका भए पनि, वा मानवजातिका लागि तिनीहरूले जुन हदसम्म योगदान गरेका भए पनि, यस्ता मिसन र आज्ञाहरूलाई कर्तव्य भन्न मिल्दैन। किनभने ती मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन योजनासँग असम्बन्धित छन्; ती मिसनबाहेक केही होइनन्। तिनीहरूले सक्रिय वा निष्क्रिय, जुन रूपमा कार्य गरे पनि, तिनीहरू एउटा मिसन मात्र पूरा गरिरहेका हुन्छन्; यो परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ। अर्को शब्दमा, यदि मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापनको योजनासँग, र मानवजातिलाई मुक्ति दिने परमेश्वरको कार्यसँग तिनीहरूका कार्यको कुनै सम्बन्ध छैन भने, यस्ता मिसनहरू पूरा गर्नुलाई कर्तव्य निर्वाह गरेको भन्न मिल्दैन। यसमा कुनै शङ्का छैन। त्यसोभए कर्तव्य भनेको के हो? त्यसलाई यसरी बुझ्नुपर्छ: कर्तव्य भनेको मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापनको कार्यको दायराभित्रै उहाँले दिनुभएको आज्ञा र मिसन हो। के त्यसलाई यसरी भन्दा पूरा र सटीक हुँदैन र? जे सटीक छ त्यो मात्र सत्यता हो; जे सटीक छैन र एकतर्फी छ त्यो सत्यता होइन, धर्मसिद्धान्त मात्र हो। कर्तव्यलाई पूर्ण रूपमा नबुझी र नचिनी, तैँले कर्तव्यसम्बन्धी सत्यताहरू जान्नेछैनस्। पहिले, मानिसहरूमा कर्तव्यसम्बन्धी थुप्रै गलत बुझाइहरू थिए होलान्। त्यो तिनीहरूले सत्यता नबुझेकाले हो, जसले गर्दा अनेकथरीका धारणा र अस्पष्टताहरू निम्तिए। त्यतिखेर मानिसहरू यी धारणा र अस्पष्टताद्वारा कर्तव्यलाई व्याख्या गर्थे, र फलस्वरूप त्यसलाई यी विचारका आधारमा हेर्थे। उदाहरणका लागि, कतिपय मानिसहरू सोच्छन् कि व्यक्तिको पूरै जीवन परमेश्वरद्वारा पूर्वनिर्धारित हुने—व्यक्ति कस्तो परिवारमा जन्मिन्छ, ऊ जीवनमा धनी हुन्छ कि गरिब, र उसले कस्तो करियर पछ्याउँछ भन्ने जस्ता सबै कुराहरू परमेश्वरद्वारा पूर्वनिर्धारित हुने भएकाले—उसले आफ्नो जीवनकालमा गर्ने जेसुकै काम र उसले पूरा गर्ने सबै कुराहरू परमेश्वरले दिनुभएका आज्ञा र उसको मिसन हुन्। त्यसमा मिसन संलग्न हुने भएकै कारण तिनीहरू त्यो कर्तव्य हो भन्ठान्छन्। तिनीहरू यसरी नै अस्थिर रूपमा कर्तव्यसम्बन्धी बुझाइमा ठेस खान्छन्। के यो गलत बुझाइ होइन र? विवाह गरेर छोराछोरी पाउने कतिपय मानिसहरू यसो भन्छन्: “छोराछोरी जन्माउनु भनेको परमेश्वरले हामीलाई दिनुभएको आज्ञा हो, यो हाम्रो मिसन हो। आफ्ना छोराछोरीलाई वयस्कतासम्म हुर्काउनु हाम्रो कर्तव्य हो।” के यो गलत बुझाइ होइन र? अनि कतिपयले यसो पनि भन्छन्: “हामीलाई खेती गर्नका लागि यस संसारमा पठाइएको हो। हाम्रो नियति नै त्यही भएकाले हामीले त्यो काम राम्ररी गर्नु नै उत्तम हुन्छ, किनभने त्यो परमेश्वरले हामीलाई दिनुभएको आज्ञा र हाम्रो मिसन हो। हामी जति गरिब बने पनि वा त्यो काम जति कठिन भए पनि, हामीले गुनासो गर्न मिल्दैन। यो जीवनकालमा राम्ररी खेती गर्नु नै हाम्रो कर्तव्य हो।” तिनीहरू आफ्नो नियतिलाई आफ्नो मिसन र कर्तव्यसरह ठान्छन्। के यो गलत बुझाइ होइन र? (हो।) यो वास्तवमै गलत बुझाइ हो। र यस संसारमा व्यवसाय गर्ने कतिपय मानिसहरू यसो भन्छन्: “म पहिले कुनै पनि काममा सफल भएको थिइनँ, तर व्यवसाय गर्न थालेपछि, जीवन निकै राम्रो र स्थिर बनेको छ। परमेश्वरले मलाई यो जीवनकालमा व्यवसाय नै गर्ने र त्यसमार्फत् आफ्नो परिवार चलाउने नियति दिनुभएको जस्तो देखिन्छ। त्यसैले, यदि मैले यो जीवनकालमा व्यवसायमा राम्रो गरेँ, आफ्ना व्यवसायहरू फैलाएँ, र परिवारको हरेक सदस्यलाई भरणपोषण गरेँ भने, यो मेरो मिसन हो, र सायद यो मिसन नै मेरो कर्तव्य हो।” के यो गलत बुझाइ होइन र? मानिसहरू आफ्नो दैनिक मामलाहरू, तिनीहरूको जीवन गुजारा गर्ने तरिका, तिनीहरूले अपनाउने जीवनशैली, र तिनीहरूले जिउने जीवनको गुणस्तर—तिनीहरूको मिसनसँग सम्बन्धित सबै कुरा—लाई आफ्नो कर्तव्य ठान्छन्। यो गलत हो; यो कर्तव्यबारे विकृत बुझाइ हो।

त्यसोभए कर्तव्य भनेको ठ्याक्कै के हो त? धेरैजसो मानिसहरूमा यस मामलाबारे केही विकृत र त्रुटिपूर्ण बुझाइ हुन्छन्। यदि परमेश्वरको घरले तँलाई अन्न र सागसब्जी रोप्ने बन्दोबस्त गर्‍यो भने, तँ यो बन्दोबस्तलाई कसरी लिन्छस्? कतिपय मानिसहरूले यो नबुझ्न सक्छन्, र यसो भन्छन्: “खेतीपाती गर्नु भनेको आफ्नो परिवार पाल्नका लागि हो; यो कर्तव्य होइन। कर्तव्यको अवधारणामा यो पक्ष पर्दैन।” तिनीहरू किन यसरी बुझ्छन्? किनभने तिनीहरू कर्तव्य निर्वाहसम्बन्धी सत्यताहरू बुझ्दैनन्, र कर्तव्यको अर्थ बुझ्दैनन्। यदि कसैले सत्यताको यो पक्ष बुझ्छ भने, ऊ खेतमा गएर काम गर्न इच्छुक हुनेछ। उसले परमेश्वरको घरमा खेतीपाती आफ्नो परिवार पाल्नका निम्ति नभई पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्नेहरूलाई सामान्य रूपमा त्यो काम जारी राख्न दिनका निम्ति गरिन्छ भन्ने कुरा जान्नेछ। खासमा, यो पनि परमेश्वरले नै दिनुभएको आज्ञा हो; काम आफैमा तिलको दाना, वा सायद बालुवाको कणभन्दा महत्त्वपूर्ण नहोला, वा सायद अत्यन्तै सानो होला, तर त्यसको महत्त्व जति नै भए पनि, यो परमेश्वरको व्यवस्थापनको कार्यको दायराभित्र सिर्जित काम हो। अहिले परमेश्वर भन्नुहुन्छ कि तैँले यो काम पूरा गर्नुपर्छ—तँ त्यसलाई कसरी लिन्छस्? तैँले त्यसलाई आफ्नो कर्तव्यका रूपमा स्विकार्नुपर्छ, र त्यसलाई कुनै बहाना नबनाई स्विकार्नुपर्छ। यदि तँ तेरा लागि बन्दोबस्त गरिएकै कारण निष्क्रिय तरिकाले आज्ञापालन गरेर खेतीको काम गर्न जान्छस् भने, त्यो स्वीकार्य हुनेछैन। यसमा तैँले बुझ्नैपर्ने एउटा सिद्धान्त छ: मण्डलीले तँलाई खेतीको काम गर्ने र सागसब्जी रोप्ने बन्दोबस्त गर्नुको उद्देश्य तँ धनी बन्न सक् भनेर होइन, न त त्यो तैँले जीवन धान्न र परिवार पाल्न सक् भनेर नै हो; त्यसको उद्देश्य विपत्तिका समयमा परमेश्वरका घरमा कामका आवश्यकताहरू पूरा गर्नु हो। त्यसको उद्देश्य परमेश्वरको घरमा पूर्णकालीन् रूपमा कर्तव्य निर्वाह गर्ने सबैले परमेश्वरको घरको काममा ढिलाइ नगरी सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सकून् भनेर तिनीहरूको दैनिक जीविका सुनिश्चित गर्नु हो। त्यसैले, मण्डलीमा खेती गरिरहेका केही मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेको मानिन्छ; यसको प्रकृति साधारण किसानहरूले खेती गरेभन्दा फरक हुन्छ। साधारण किसानहरूले गर्ने खेतीको प्रकृति कस्तो हुन्छ? साधारण किसानहरू आफ्ना परिवार पाल्न र बाँच्नका निम्ति खेती गर्छन्; परमेश्वरले तिनीहरूका लागि यही नै तोक्नुभएको हुन्छ। यो तिनीहरूको नियति हो, त्यसैले तिनीहरू पुस्तौँपुस्ता खेती गर्छन्; यो तिनीहरूको कर्तव्यसँग कुनै पनि रूपमा सम्बन्धित छैन। अहिले, तँ परमेश्वरको घरमा आएर खेती पनि गरिरहेको छस्, तर यो परमेश्वरको घरको कामको माग हो; यो परमेश्वरका लागि एक प्रकारको खर्च हो। यसको प्रकृति तेरो आफ्नै जमिनमा खेती गरेकोभन्दा फरक हुन्छ। यो तेरा जिम्मेवारी र दायित्वहरू पूरा गर्ने काम हो। यो एउटा व्यक्तिले निभाउनुपर्ने कर्तव्य हो; यो सृष्टिकर्ताले तँलाई सुम्पनुभएको आज्ञा र जिम्मेवारी हो। तेरो लागि यो नै तेरो कर्तव्य हो। त्यसैले, यस कर्तव्यलाई तेरो सांसारिक मिसनसित तुलना गर्दा, कुन चाहिँ बढी महत्त्वपूर्ण छ त? (मेरो कर्तव्य।) त्यस्तो किन भएको हो? परमेश्वरले तँबाट कर्तव्य निर्वाह नै माग गर्नुहुन्छ, यो उहाँले तँलाई सुम्पनुभएको जिम्मेवारी हो—यो पनि एउटा कारण हो। अर्को मुख्य कारण भनेको के हो भने, जब तैँले परमेश्वरको घरमा कर्तव्य सम्हाल्छस् र परमेश्वरको आज्ञा स्विकार्छस्, तब तँ परमेश्वरको व्यवस्थापनको कार्यमा सान्दर्भिक हुन्छस्। परमेश्‍वरको घरमा, जब तँलाई कुनै काम गर्न दिइन्छ, तब चाहे यो कठिन वा थकाइलाग्दो भए पनि, र तँलाई यो मन परे पनि नपरे पनि, यो तेरो कर्तव्य हो। यदि तैँले यसलाई परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा र जिम्‍मेवारीको रूपमा हेर्न सक्छस् भने, तँ मानिसलाई मुक्ति दिने उहाँको कामको लागि सान्दर्भिक छस्। अनि यदि तैँले गर्ने काम र तैँले निभाउने कर्तव्य मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामको निम्ति सान्दर्भिक छ, र परमेश्‍वरले तँलाई दिनुभएको कामलाई तैँले निष्कपट र इमानदारीसाथ स्विकार्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? उहाँले तँलाई आफ्‍नो परिवारको सदस्यको रूपमा हेर्नुहुनेछ। त्यो आशिष्‌ हो कि श्राप? (आशिष्‌।) यो महान्‌ आशिष्‌ हो। कतिपय मानिसहरू कर्तव्य निर्वाह गर्ने क्रममा सानातिना कठिनाइ आइपर्दा गुनासो गर्छन्, र आफूले प्राप्त गरेका भव्य आशिषहरूबारे चालै पाउँदैनन्। के त्यतिका धेरै फाइदाहरू प्राप्त गरेपछि परमेश्वरबारे गुनासो गर्नु मूर्खता होइन र? यो बिन्दुमा, सत्यता बुझ्नु, यो तेरो कर्तव्य हो र यसलाई परमेश्वरबाटै स्विकार्नुपर्छ भनी चिन्नु अत्त्यावश्यक छ। अब, के तिमीहरूले कर्तव्य के हो भन्नेबारे नयाँ बुझाइ वा नयाँ अन्तर्ज्ञान पायौ? के तिमीहरूले त्यसलाई गहन रूपमा बुझ्यौ? के मुक्ति प्राप्त गर्नका लागि कर्तव्य महत्त्वपूर्ण छ? (छ।) यो कतिको महत्त्वपूर्ण छ? कर्तव्य निर्वाह गर्नु र मुक्ति पाउनुबीच प्रत्यक्ष सम्बन्ध छ भनेर भन्न सकिन्छ। तैँले यो जुनीमा जे-जस्ता मिसनहरू पूरा गरे पनि, यदि तैँले आफ्नो कर्तव्य निर्वाह गरिनस् भने, मुक्ति पाउनुसित तेरो कुनै सम्बन्ध छैन। अर्को शब्दमा भन्दा, तैँले अन्य मानिसहरूमाझ यो जुनीमा जति ठूला उपलब्धिहरू हासिल गरेको भए पनि, तँ एउटा मिसन मात्र पूरा गरिरहेको थिइस्; तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गरेको छैनस्, त्यसैले मुक्ति प्राप्त गर्नु वा मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्वरको कामसित तेरो कुनै सम्बन्ध छैन।

परमेश्‍वरको घरमा, परमेश्‍वरको आज्ञा स्विकार्ने र उचित रूपमा कर्तव्य निभाउनेबारेमा बारम्‍बार कुरा चल्छ। कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? वृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ; खास रूपमा भन्दा, मानवजातिको बीचमा परमेश्‍वरको व्यवस्थापन कार्य अघि बढ्ने क्रममा, विविध कार्यहरू देखा पर्छन्, र त्यसको लागि सहकार्य गर्न र तिनलाई पूरा गर्न मानिसहरूको आवश्यकता पर्छ। यसबाट मानिसहरूले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरू र मिसनहरूको उदय हुन्छ, अनि यी जिम्‍मेवारीहरू र मिसनहरू नै परमेश्‍वरले मानवजातिलाई सुम्पनुहुने कर्तव्यहरू हुन्। परमेश्‍वरको घरमा मानिसहरूको सहकार्यको आवश्यकता पर्ने विभिन्‍न कार्यहरू नै तिनीहरूले पूरा गर्नुपर्ने कर्तव्यहरू हुन्। त्यसो भए, के कर्तव्यहरूका बीचमा राम्रो र नराम्रो, उच्च र नीच, वा ठूलो र सानो भन्ने सन्दर्भमा भिन्नताहरू हुन्छन्? त्यस्ता कुनै भिन्नताहरू हुँदैनन्; जबसम्म कुनै कुरा परमेश्‍वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ, जबसम्म त्यो उहाँको घरको कामको मापदण्ड हुन्छ, र जबसम्म त्यो परमेश्‍वरको सुसमाचार प्रचारमा आवश्यक पर्छ, तबसम्म त्यो व्यक्तिको कर्तव्य हुन्छ। कर्तव्यको मूल र परिभाषा नै यही हो। पृथ्वीका मानिसहरू जसरी जिए पनि परमेश्‍वरको व्यवस्थापन कार्यविना के तिनीहरूसित कर्तव्यहरू हुन्थ्यो? हुँदैनथियो। अब तँ प्रस्ट रूपमा बुझ्छस्। व्यक्तिको कर्तव्य केसँग सम्बन्धित हुन्छ? (त्यो मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ।) ठिक भनिस्। मानवजातिका कर्तव्यहरू, सृष्टि गरिएका प्राणीहरूका कर्तव्यहरू र मानवजातिको मुक्तिको निम्ति परमेश्‍वरको व्यवस्थापन कार्यका बीचमा प्रत्यक्ष सम्बन्ध छ। भन्नु नै हो भने, परमेश्‍वरले मानवजातिलाई मुक्ति नदिनुभएको भए, र देहधारी परमेश्वरले मानिसहरूमाझ व्यवस्थापन कार्य सुरु नगर्नुभएको भए, मानिसहरूसित गर्नुपर्ने कुनै कर्तव्य हुनेथिएन भनेर भन्न सकिन्छ। कर्तव्यहरू परमेश्वरको कामबाटै उत्पन्न हुन्छन्; परमेश्वर मानिसहरूबाट यही नै माग गर्नुहुन्छ। यसलाई यो दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरको पछि लाग्ने हरेक व्यक्तिका लागि कर्तव्य महत्त्वपूर्ण हुन्छ, होइन र? यो निकै महत्त्वपूर्ण हुन्छ। मोटामोटी रूपमा कुरा गर्दा, तैंले परमेश्‍वरको व्यवस्थापन योजनाको काममा भाग लिइरहेको छस्; अझ स्पष्ट रूपमा भन्ने हो भने, तैँले विभिन्न समयमा र विभिन्न मानिसहरूका समूहमा आवश्यक पर्ने परमेश्‍वरका धेरै प्रकारका कार्यहरूमा सहकार्य गरिरहेको छस्। तेरो कर्तव्य जे सुकै भए पनि, त्यो परमेश्‍वरले तँलाई दिनुभएको एउटा मिसन हो। कहिलेकहीँ तैँले कुनै महत्त्वपूर्ण कुराको देखरेख वा सुरक्षा गर्नुपर्छ। यो तुलनात्मक रूपमा सानोतिनो कार्य हुन सक्छ जसलाई केवल तेरो जिम्मेवारी हो भनेर मात्र भन्न सकिन्छ, तर त्यो कार्य परमेश्‍वरले तँलाई दिनुभएको काम हो; तैँले त्यो उहाँबाट स्विकारेको होस्। तैँले त्यो परमेश्‍वरको हातबाट स्वीकार गरिस्, र त्यो तेरो कर्तव्य हो। मामलाको जडमै गएर बताउनुपर्दा, तेरो कर्तव्य परमेश्वरले तँलाई सुम्पनुभएको हो। यसमा मुख्यगरी सुसमाचार फैलाउने, गवाही दिने, भिडियो बनाउने, मण्डलीको अगुवा वा सेवक बन्ने कामहरू समावेश हुन्छन्, वा त्यो अझ जोखिमपूर्ण र अझ महत्त्वपूर्ण काम हुन सक्छ। चाहे जे नै भए पनि, यदि त्यो परमेश्‍वरको काम र सुसमाचार फैलाउने कामको आवश्यकतासँग सम्बन्धित छ भने, मानिसहरूले त्यसलाई परमेश्‍वरबाट पाएको कर्तव्यको रूपमा स्वीकार गर्नुपर्छ। यसलाई अझ विस्तृत रूपमा भन्नुपर्दा, कर्तव्य भनेको व्यक्तिको मिसन हो, परमेश्‍वरले सुम्पनुभएको आज्ञा हो; अझ स्पष्ट रूपमा भन्नुपर्दा, यो तेरो जिम्मेवारी हो, तैँले गर्नैपर्ने काम हो। यो तेरो मिसन हो, परमेश्‍वरले तँलाई सुम्पिनुभएको आज्ञा, र तेरो जिम्मेवारी र कर्तव्य हो, त्यसकारण तेरो व्यक्तिगत मामिलाहरूसँग तैँले कर्तव्य निर्वाह गर्नुको कुनै सम्बन्ध हुँदैन। व्यक्तिगत मामलाहरूसँग कर्तव्यको कुनै सम्बन्ध हुँदैन—यो विषय किन उठिरहेको छ? किनकि मानिसहरूले आफ्नो कर्तव्यलाई कसरी लिने र बुझ्ने भनी जान्नैपर्छ। कर्तव्य भनेको सृष्टि गरिएका प्राणीहरूले स्विकार्ने आज्ञा र परमेश्वरको व्यवस्थापनको कार्यभित्र तिनीहरूले पूरा गर्नैपर्ने मिसन हो। मानिसहरूलाई समग्र आधार थाहा हुन्छ, तर त्यसभित्रका स-साना पक्षहरू थाहा हुन्छ कि हुँदैन? साँचो बुझाइ भएको मानिनका लागि व्यक्तिले आफ्ना कर्तव्यहरूलाई कसरी लिनुपर्छ? कतिपय मानिसहरू आफ्नो कर्तव्यलाई आफ्नो व्यक्तिगत मामलाका रूपमा लिन्छन्; के यो सही सिद्धान्त हो? (होइन।) यो किन गलत हो? आफ्नै लागि कामकुरा गर्नु भनेको आफ्नो कर्तव्य पूरा गर्नु होइन। कर्तव्य पूरा गर्नु भनेको आफ्नै लागि कामकुरा गर्नु होइन, बरु परमेश्वरले तँलाई सुम्पनुभएको काम गर्नु हो—यी दुईबीच एउटा भिन्नता छ। आफ्नै लागि कामकुरा गर्ने कुरा आउँदा, त्यसको सिद्धान्त के हो? त्यो अरूको परामर्श नलिई, परमेश्वरलाई प्रार्थना नगरी वा नखोजी, आफूलाई जे मन लाग्यो त्यही गर्नु हो; त्यो तँलाई फाइदा हुन्जेल तेरो आफ्नै लहडअनुसार परिणामबारे वास्ता नगरी कार्य गर्नु हो। के यो सिद्धान्त परमेश्वरको घरमा तेरो कर्तव्य पूरा गर्नका लागि स्वीकार्य हुन्छ? (हुँदैन।) कतिपय मानिसहरू भन्छन्: “म मेरा आफ्नै मामलाहरू पनि यति गम्भीर रूपमा लिन्न वा त्यसमा त्यति मेहनत लगाउँदिनँ। म आफ्नो कर्तव्यलाई आफ्नै व्यवसाय सम्झन्छु, र यो सिद्धान्त अवश्यै उचित हो।” के यो कर्तव्य ग्रहण गर्ने सही उपाय हो? पक्कै होइन। त्यसोभए कर्तव्यप्रति व्यक्तिको मनोवृत्ति कस्तो हुनुपर्छ? (परमेश्वरबाट स्विकार्ने।) “परमेश्वरबाट स्विकार्ने।” यी शब्दहरू भन्न सजिला छन्, तर तिनमा भएको सत्यतालाई कसरी अभ्यास गर्ने भन्ने कुरा तैँले आफ्नो कर्तव्यलाई कसरी लिन्छस् भन्नेमा भर पर्छ। भर्खरै हामीले कर्तव्यलाई परिभाषित गर्‍यौँ। कर्तव्य परमेश्वरबाट आउँछ, यो परमेश्वरले दिनुभएको आज्ञा हो, यो उहाँको व्यवस्थापन योजना र मानवको मुक्तिसँग सम्बन्धित छ। यो नजरले हेर्दा, के तेरो व्यक्तिगत आचरणका सिद्धान्तहरूसँग कर्तव्यको कुनै सम्बन्ध हुन्छ? के तेरा व्यक्तिगत रूचि, तेरो जीवनका बानी, वा तेरो जीवनका दिनचर्यासँग त्यसको कुनै सम्बन्ध हुन्छ? अलिकति पनि हुँदैन। त्यसोभए कर्तव्य केसँग सम्बन्धित हुन्छ? त्यो सत्यतासँग सम्बन्धित हुन्छ। कतिपय मानिसहरू भन्छन्: “यो कर्तव्य मलाई जिम्मा लगाइएकाले यो मेरो आफ्नै मामला हो। र कर्तव्य निर्वाह गर्न मसित सबैभन्दा उच्च सिद्धान्त छ, जुन तिमीहरू कसैसित पनि छैन। परमेश्वर मानिसहरूले आफ्नो सारा हृदय, प्राण, मनमस्तिष्क र बल लगाएर तिनीहरूको कर्तव्य पूरा गरून् भन्ने माग गर्नुहुन्छ। तर यसअलावा, मसित झनै उच्च सिद्धान्त छ, जुन मेरो कर्तव्यलाई मेरो आफ्नो ठूलो चिन्ताको विषयका रूपमा लिनु, र त्यसलाई लगनका साथ पूरा गर्नु र उत्तम नतिजा पाउन लागिपर्नु हो।” के यो सिद्धान्त सही छ? (छैन।) यो किन गलत छ? यदि तँ परमेश्वरबाट आफ्नो कर्तव्य स्विकार्छस् र हृदयमा तँ उहाँले तँलाई त्यो सुम्पनुहुन्छ भनी प्रस्ट छस् भने, तैँले यो आज्ञालाई कसरी लिनुपर्छ? यो कर्तव्य निर्वाहका सिद्धान्तहरूसँग सम्बन्धित छ। के आफ्नो कर्तव्यलाई आफ्नो व्यवसायभन्दा परमेश्वरको आज्ञाका रूपमा लिनु झनै उच्च होइन र? यी एउटै कुरा होइनन्, हुन् त? यदि तँ आफ्नो कर्तव्यलाई परमेश्वरको आज्ञाको मामलाका रूपमा, परमेश्वरको अघि आफ्नो कर्तव्य पूरा गर्ने रूपमा, र कर्तव्य पूरा गरेर परमेश्वरलाई सन्तुष्ट तुल्याउने रूपमा लिन्छस् भने, कर्तव्य निर्वाह गर्ने तेरो सिद्धान्त त्यसलाई तेरो आफ्नै कामको रूपमा लिनु मात्र होइन। तेरो मनोवृत्तिलाई सही र परमेश्‍वरको इच्छाअनुरूपको भनेर भन्‍न मिल्नको लागि तँमा आफ्नो कर्तव्यप्रति कस्तो मनोवृत्ति हुनुपर्छ? पहिलो, त्यो कोद्वारा प्रबन्ध गरिएको हो, यो कुन स्तरका अगुवाहरूद्वारा खटाइएको हो भनी तैँले छानबिन गर्नु हुँदैन—तैँले त्यसलाई परमेश्‍वरबाट पाएको भनी स्वीकार गर्नुपर्छ। तैँले यसलाई विश्‍लेषण गर्न सक्दैनस्, तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ। यो एउटा सर्त हो। यसबाहेक, तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई ठूलो र सानो भनेर नछुट्या। मानौँ तैँले यसो भन्छस्, “यो काम परमेश्‍वरबाट आएको आज्ञा र परमेश्‍वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्‍छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्‍च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्‍न दिन्छ—र मैले मेरो आफ्‍नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।” के यो स्वीकार्य मनोवृत्ति हो त? रोजीछानी गर्नु परमेश्‍वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्‍नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, परमेश्वरविरुद्धको तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र चाहनाहरू मिसिएका हुन्छन्। जब तँ तेरा आफ्‍नै लाभहरू, तेरो प्रतिष्ठा, आदि इत्यादि कुरालाई ध्यान दिइरहेको हुन्छस्, तब कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पित हुँदैन। तँसँग कर्तव्यप्रतिको कस्तो मनोवृत्ति हुनुपर्छ? पहिलो, तैँले यसलाई विश्‍लेषण गर्नु हुँदैन, र कसले तँलाई यो कर्तव्य कसले दिएको हो भनी पत्ता लगाउने प्रयास गर्नु हुँदैन; बरु, तैँले यसलाई परमेश्‍वरबाट आएको, परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्यको रूपमा स्वीकार गर्नुपर्छ, र तैँले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई पालना गर्नुपर्छ, र परमेश्‍वरबाट आएको कर्तव्यलाई स्वीकार गर्नुपर्छ। दोस्रो, ठूलो र सानो भनेर छुट्याउनु हुँदैन, र यसले तँलाई अरूभन्दा राम्रो देखाए पनि नदेखाए पनि, यसलाई सबैले देख्‍ने गरी गरिए पनि वा पर्दापछाडि गरिए पनि, तैँले यसको प्रकृतिको बारेमा चिन्ता गर्नु हुँदैन। यी कुराहरूको बारेमा विचार नगर्। अर्को मनोवृत्ति पनि छ: र त्यो आज्ञापालन र सक्रिय सहकार्य हो। यदि तँलाई कुनै निश्चित कर्तव्य पूरा गर्न सक्छु जस्तो लाग्छ, तर तँ आफूले गल्ती गर्ने र आफूलाई हटाइने डर पनि मान्छस्, त्यसैले तँ कायर र सुस्त हुन्छस् अनि अघि बढ्न सक्दैनस् भने, के त्यो समर्पणको मनोवृत्ति हो? उदाहरणको निम्ति, यदि तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई तिनीहरूको अगुवाको रूपमा छनौट गर्छन् भने, तँ यो कर्तव्य पूरा गर्न बाध्य भएको महसुस गर्छस्, किनकि तँ छानिएको थिइस्, तर तँ यस कर्तव्यलाई सक्रिय मनोवृत्तिले हेर्दैनस्। तँ किन सक्रिय बन्दैनस्? किनकि तँसित त्यसबारे सोचहरू छन् र तँलाई यस्तोलाग्छ, “अगुवा हुनु बिलकुल राम्रो कुरा होइन। यो छुरीको धारमाथि हिँड्नु वा पातलो बरफमाथि टेक्नु जस्तै हो। यदि मैले असल काम गरेँ भने, कुनै इनाम पाउनेछैनँ, तर यदि मैले नराम्रो काम गरेँ भने मलाई निराकरण र काटछाँट गरिनेछ। निराकरण हुनु नै यसको सबैभन्दा नराम्रो नतिजा पनि होइन। यदि मलाई प्रतिस्थापित वा निष्कासित गरियो भने के गर्ने? यदि त्यसो भयो भने, मेरा सम्भावनाका सबै ढोकाहरू बन्द हुनेछैनन् र?” त्यो अवस्थामा तँलाई दुविधा महसुस हुन थाल्नेछ। यो कस्तो मनोवृत्ति हो? यो सतर्क रहनु र गलत बुझ्नु हो। मानिसहरूले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति यो होइन। यो हतोत्साहित र नकारात्मक मनोवृत्ति हो। त्यसोभए, सकारात्मक मनोवृत्ति कस्तो हुनुपर्छ त? (हामी खुला हृदयको र निष्कपट हुनुपर्छ, अनि हामीमा बोझहरू उठाउने साहस हुनुपर्छ।) यो आज्ञाकारिता र सक्रिय सहकार्यको मनोवृत्ति हुनुपर्छ। तिमीहरूको कुरा अलि खोक्रो छ। तँ यस्तो डराउँछस् भने कसरी खुला हृदयको र निष्कपट हुन सक्छस्? अनि बोझहरू उठाउने साहस हुनु भनेको के हो? कस्तो मानसिकताले तँलाई बोझहरू उठाउने साहस दिनेछ? यदि तँ सधैँ केही गलत हुनेछ र तैँले त्यो सम्हाल्न सक्नेछैनस् भनी डराउँछस्, र तेरा थुप्रै आन्तरिक बाधाहरू छन् भने, आधारभूत रूपमा तँसित बोझहरू उठाउने साहस हुनेछैन। तिमीहरूले भन्ने “खुला हृदयको र निष्कपट हुनु,” “बोझहरू उठाउने साहस राख्नु,” वा “मृत्युको मुखमा समेत कहिल्यै पछि नहट्नु” कताकता रिसाहा जवान मानिसहरूले फलाक्ने नाराजस्ता सुनिन्छन्। के यी नाराहरूले व्यावहारिक समस्याहरू समाधान गर्न सक्छन्? अहिले चाहिएको भनेको सही मनोवृत्ति हो। सही मनोवृत्ति बोक्नका लागि, तैँले सत्यताको यो पक्ष बुझ्नैपर्छ। तेरा आन्तरिक कठिनाइहरू समाधान गर्ने, र सहज रूपमा यो आज्ञा अर्थात् यो कर्तव्य स्विकार्ने एउटै मात्र उपाय यही हो। यो अभ्यासको बाटो हो, अनि केवल यही नै सत्यता हो। यदि तैँले महसुस गर्ने डरलाई सम्बोधन गर्न तँ “खुला हृदयको र निष्कपट हुने” अनि “बोझहरू उठाउन साहस राख्ने” जस्ता शब्दहरू प्रयोग गर्छस् भने, के यो प्रभावकारी हुनेछ र? (हुँदैन)। यसले यी कुराहरू सत्यता होइनन्, न त ती अभ्यासको बाटो हुन् भन्ने सङ्केत गर्दछ। तैँले भन्न सक्लास्, “म खुला हृदयको र निष्कपट हुँ, म अदम्य कदको छु, मेरो हृदयमा अरू कुनै सोचहरू वा दूषकहरू छैनन्, र मसित बोझ उठाउने साहस छ।” बाहिरी रूपले, तँ आफ्नो कर्तव्य सम्हाल्छस्, तर पछि, यसलाई केही समयसम्म मनन गरिसकेपछि, तँलाई अझै यसलाई उठाउन सक्दिनँ जस्तो लाग्छ। तँलाई अझै डर लाग्‍नेछ। यसको अतिरिक्त, तैँले अरू निराकरण भएको देख्न सक्छस्, अनि अगुल्टोले कुटेको कुकुर बिजुली चम्किँदा तर्से जस्तै तँ झन् धेरै डराउन सक्छस्। तैँले लगातार आफ्नो कद धेरै सानो भएको अनि यो कर्तव्य विशाल, पारै गर्न नसकिने अगाध खाँद जस्तै भएको अनुभव गर्नेछस्, अनि अन्ततः तँ अझै यो बोझ उठाउन असक्षम हुनेछस्। यसकारण नाराहरू फलाकेर व्यावहारिक समस्याहरू समाधान गर्न सकिँदैन। त्यसोभए वास्तवमा तँ यो समस्या कसरी समाधान गर्न सक्छस्? तैँले सक्रिय रूपमा सत्यता खोज्ने र समर्पण र सहकार्यको मनोवृत्ति अपनाउने गर्नुपर्छ। त्यसले समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्छ। कायरता, डर, र चिन्ता बेकारका कुरा हुन्। के तेरो खुलासा र निष्कासन हुनु तँ र अगुवा बन्नुबीच कुनै सम्बन्ध छ? यदि तँ अगुवा होइनस् भने, के तेरो भ्रष्ट स्वभाव हराउनेछ? ढिलोचाँडो तैँले तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्नैपर्छ। यसका साथै, यदि तँ अगुवा होइनस् भने, तँसित अभ्यास गर्ने थप अवसरहरू हुनेछैनन् र तैँले जीवनमा सुस्त प्रगति गर्नेछस्, र सिद्ध पारि थोरै मात्र मौकाहरू पाउनेछस्। अगुवा वा सेवक हुनुमा अलि बढी दुःख भए पनि, यसले धेरै लाभहरू पनि दिन्छ, र यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छस् भने, तँलाई सिद्ध पार्न सकिन्छ। त्यो अत्यन्तै ठूलो आशिष् हो! त्यसैले तैँले समर्पण र सक्रिय सहकार्य गर्नुपर्छ। यो तेरो कर्तव्य हो र तेरो उत्तरदायित्व हो। अगाडिको बाटो जे-जस्तो भए पनि, तँसित आज्ञाकारिताको हृदय हुनुपर्छ। तैँले यही मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ।

आफ्नो कर्तव्य पूरा गर्ने विषय कसैका लागि पनि नौलो होइन; यो नयाँ विषय होइन। तर परमेश्वरमा विश्वास गर्नेहरूका लागि यो विषय निकै महत्त्वपूर्ण हुन्छ; यो बुझ्नैपर्ने र प्रवेश गर्नैपर्ने सत्यता हो। सृष्टि गरिएका प्राणीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेमा मात्रै सृष्टिकर्ताले तिनीहरूलाई सराहना गर्नुहुनेछ। त्यसकारण, मानिसहरूले कर्तव्य निर्वाह गर्नु भनेको के हो भनी बुझ्नु निकै महत्त्वपूर्ण छ। कर्तव्य निर्वाह गर्नु कुनै सिद्धान्त वा नारा होइन; यो सत्यताको एउटा पक्ष हो। त्यसोभए कर्तव्य निर्वाह गर्नु भनेको के हो? अनि सत्यताको यस पक्षलाई बुझेर कस्ता समस्याहरू समाधान गर्न सकिन्छ? यसले कम्तीमा पनि तैँले परमेश्वरको आज्ञालाई कसरी स्विकार्नुपर्छ र कुन रूपमा लिनुपर्छ, र परमेश्वरले तँलाई सुम्पनुभएको आज्ञा पूरा गर्दा तैँले कस्तो मनोवृत्ति र सङ्कल्प बोक्नुपर्छ भन्ने मामला हल गर्न सक्छ। त्योसँगै तैँले यसले मानिस र परमेश्वरबीचका केही असाधारण सम्बन्धहरूलाई समाधान गर्न सक्छ पनि भन्न सक्छस्। कतिपय मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्नुलाई पूँजीको रूपमा हेर्छन्, कसै-कसैले आफ्ना कर्तव्यहरू पूरा गर्नुलाई व्यक्तिगत कामको रूपमा हेर्छन्, र कसै-कसैले आफ्नो आफ्ना कर्तव्यहरू पूरा गर्नुलाई तिनीहरूका आफ्नै काम र व्यवसाय, वा समय बिताउने काम, मनोरञ्जन, वा समय कटाउने रुचिको रूपमा हेर्छन्। संक्षेपमा भन्नुपर्दा, तेरो कर्तव्यप्रति तेरो दृष्टिकोण जस्तै भए पनि, यदि तैँले त्यो परमेश्‍वरबाट स्विकार्दैनस्, र यदि तँ त्यसलाई सृष्टि गरिएको प्राणीले परमेश्‍वरको व्यवस्थापनभित्र गर्नुपर्ने काम वा तिनीहरूले सहकार्य गर्नुपर्ने कार्यको रूपमा हेर्दैनस् भने, तैँले जे गर्दैछस् त्यो कर्तव्य पूरा गरेको होइन। के तैँले आफ्नो कर्तव्यलाई आफ्नो पारिवारिक व्यावसायका रूपमा लिनु ठिक हो? के तैँले त्यसलाई तेरो आफ्नो जागिर वा रूचिका रूपमा लिनु ठिक हो? के त्यसलाई व्यक्तिगत मामलाका रूपमा लिनु ठिक हो? यीमध्ये कुनै पनि ठिक होइनन्। यी विषयहरू उल्लेख गर्न किन जरूरी छ? यी विषयहरूमाथि सङ्गति गरेर कस्तो समस्या हल हुनेछ? यसले मानिसहरूले आफ्नो कर्तव्यप्रति गलत मनोवृत्ति राख्ने समस्या, र तिनीहरूले लापरवाही र झाराटारुवापूर्वक कर्तव्य निर्वाह गर्ने अनेकौँ तरिकाहरू समाधान गर्नेछ। आफ्नो कर्तव्य निर्वाह गर्नेसँग सम्बन्धित सत्यताको पक्ष बुझेमा मात्र आफ्नो कर्तव्यप्रतिको मानिसहरूको मनोवृत्ति बदलिनेछ। तिनीहरूको मनोवृत्ति बिस्तारै सत्यताअनुकूल बन्नेछ, र त्यसले परमेश्वरका मागहरू र उहाँको इच्छा पूरा गर्नेछ। यदि मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्नेसँग सम्बन्धित सत्यताको पक्ष नबुझेमा, आफ्नो कर्तव्यप्रति र आफ्नो कर्तव्यपछाडिका सिद्धान्तहरूप्रतिको तिनीहरूको मनोवृत्तिमा समस्याहरू आउनेछन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने नतिजा हासिल गर्न सक्नेछैनन्। कर्तव्यहरू भनेका परमेश्‍वरले मानिसहरूले सुम्‍पनुभएका काम हुन्; ती मानिसहरूले पूरा गर्नुपर्ने मिसनहरू हुन्। तैपनि, कर्तव्य भनेको निश्‍चय नै तेरो व्यक्तिगत व्यवस्थापन होइन, न त यो तँलाई भीडहरूबाट माथि उठाउने खुड्किलो नै हो। कतिपय मानिसहरूले आफ्‍ना कर्तव्यलाई तिनीहरूका आफ्‍नै व्यवस्थापन गर्न र गिरोह निर्माण गर्नको लागि प्रयोग गर्छन्; कतिले आफ्‍नै इच्‍छाहरू पूरा गर्न; कतिले आफूभित्रको रिक्ततालाई भर्न; अनि कतिले चाहिँ आफूले आफ्ना कर्तव्यहरू निभाउँदा परमेश्‍वरको घरमा अनि परमेश्‍वरले मानिसको लागि बन्दोबस्त गर्नुभएको सुन्दर गन्तव्यमा सहभागी हुन पाइन्छ भन्ने सोच्दै सौभाग्यमा विश्‍वास गर्ने आफ्नो मानसिकतालाई तृप्त पार्न यसको प्रयोग गर्छन्। कर्तव्यसम्‍बन्धी त्यस्ता मनोवृत्तिहरू गलत छन्; परमेश्‍वरले यस्ता मनोवृत्तिलाई घृणा गर्नुहुन्छ र तिनलाई तुरुन्तै सुधार गरिनुपर्छ।

कर्तव्य के हो, मानिसहरूले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ, र तिनीहरूले कर्तव्यप्रति कस्ता मनोवृत्ति र दृष्टिकोणहरू राख्नुपर्छ भन्ने सम्बन्धमा, यी मामलाहरूबारे बृहत रूपमा सङ्गति गरिसकिएको छ। तिमीहरू सबैले ध्यानपूर्वक यी कुराहरूबारे मनन गर्नुपर्छ; यी पक्षहरूका सत्यताहरू बुझ्नु सबैभन्दा महत्त्वपूर्ण र जरूरी छ। अहिले तिमीहरूले सबैभन्दा बढी बुझ्नुपर्ने सत्यता के हो? एकातिर, तैँले यस पक्षका दृष्टिहरूसँग सम्बन्धित सत्यताहरू बुझ्नु आवश्यक छ; अर्कोतिर, तैँले व्यवहारमा र वास्तविक जीवनमा यी सत्यताहरूबारे तेरा गलत बुझाइ र गलत धारणाहरू कहाँ छन् भनी बुझ्नु आवश्यक छ। तैँले कर्तव्य-निर्वाहका सत्यताहरूसम्बन्धी समस्याहरू सामना गर्दा, यदि यी वचन र सत्यताहरूले तेरो भित्री स्थिति हल गर्न सक्छन् भने, यसले सङ्गति गरिएको कुरा तैँले साँच्चै र पूर्ण रूपमा बुझेको छस् भन्ने प्रमाणित गर्छ; यदि तिनले तेरो कर्तव्य-निर्वाहसम्बन्धी मामलाहरूमा तैँले दैनिक रूपमा सामना गर्ने कठिनाइहरू समाधान गर्न सक्दैनन् भने, यसले तँ यी सत्यताहरूमा प्रवेश गरेको छैनस् भन्ने देखाउँछ। यी सत्यताहरू सुनेपछि, के तिमीहरूले तिनलाई सारांशित र तिनका बारेमा चिन्तन गरेका छौ? के हरेक पटक टिपोट गर्दा त्यसबेला तैँले बुझ्ने, तर समय बित्दै जाँदा तैँले ती कहिल्यै नसुनेझैँ गरी बिर्सने हुन्छ? (हो।) यसको कारण के हो भने तिमीहरू आफै अलिकति पनि प्रवेश गरेका छैनौ; तिमीहरूले जे अभ्यास गर्छौ, मूलभूत रूपमा त्यसको यी सत्यताहरूसँग कुनै सम्बन्ध छैन र त्यो सत्यतासँग पूर्णतया असम्बन्धित छ। वास्तवमा, कर्तव्य निर्वाह गर्नेसम्बन्धी यी सत्यताहरू नै व्यक्तिले परमेश्वरमा विश्वास गर्ने क्रममा बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने सबैभन्दा आधारभूत सत्यताहरू हुन्। यदि सत्यताका वचनहरू सुनेपछि तँ अझै दुविधा र अन्यौलमा पर्छस् भने, तेरो गुणस्तर ज्यादै खराब छ, र तँमा बिलकुलै कद छैन। तँ परमेश्वरका वचनहरू पढ्न, प्रार्थना गर्न र भेलाहरूमा भाग लिन मात्र सक्छस्; तँ धार्मिक विश्वासमा संलग्न व्यक्तिझैँ आफूलाई जे अह्राइएको हो त्यही गर्छस्। यसको मतलब तँसित कुनै जीवन प्रवेश छैन र कुनै खालको कद छैन। कद नहुनुको अर्थ के हो? यसको अर्थ के हो भने, परमेश्वरमा विश्वास गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, कसैले तँलाई बहकाउनेबित्तिकै तँ उसलाई पछ्याउँछस् र परमेश्वरमा विश्वास गर्न छोड्छस्; यदि तैँले केही गल्ती गरेर कसैले तँलाई थोरै काटछाँट गर्‍यो र तँसित अलि कडा रूपले बोल्यो भने, सायद तैँले आफ्नो विश्वास त्याग्छस्; यदि तैँले आफ्नो जीवनमा असफलता वा विविध कठिनाइहरू सामना गरिस् भने, तैँले परमेश्वरबारे गुनासो गर्लास्, र उहाँले तँलाई अनुग्रह प्रदान नगर्नुभएको वा तेरा कठिनाइहरू समाधान नगर्नुभएको देखेर, तँ फनक्क फर्केर परमेश्वरको घरबाट निस्किई विश्वास गर्न छोड्न सक्लास्। यदि तँ कर्तव्य निर्वाह गर्नेसम्बन्धी सत्यताका केही पक्षहरूमा अर्थात् सबैभन्दा आधारभूत सत्यतामा प्रवेश गरेको छस् भने, यसले तँ सत्यतासँग जोडिइसकेको छस् भन्ने प्रमाणित गर्छ; तँ सत्यता वास्तविकतासँग जोडिइसकेको छस्, र तैँले केही प्रवेश पाएको छस्। यदि तँसित यो सत्यता वास्तविकता अलिकति पनि छैन भने, यसले सत्यताले अझै तेरो हृदयमा जरा गाडेको छैन भन्ने प्रमाणित गर्छ।

मैले मानिसहरूलाई कर्तव्य भनेको ठ्याक्कै के हो भनी बुझाउनका लागि कर्तव्य भनेको के हो, साथै कर्तव्य कसरी उत्पत्ति र पैदा हुन्छ भन्नेबारे भर्खरै सङ्गति गरेँ। यो कुरा जान्नुका फाइदाहरू के-के छन्? मानिसहरूले कर्तव्य भनेको के हो भन्नेसम्बन्धी सत्यता बुझेपछि, तिनीहरूले कर्तव्यको महत्त्व थाहा पाउनेछन्। तिनीहरूलाई कम्तीमा पनि भित्री गहिराइमा तिनीहरूले कर्तव्यप्रति सही मनोवृत्ति राख्नुपर्छ र मनोमानी रूपमा कार्य गर्न मिल्दैन भन्ने लाग्नेछ। कम्तीमा तिनीहरूको मनमा यो अवधारणा हुनेछ। कर्तव्य भनेको तैँले पूरा गर्नुपर्ने कुरा र परमेश्वरले तँलाई दिनुभएको आज्ञा र मिसन भए पनि, त्यो तेरो व्यक्तिगत मामला होइन, न त त्यो तेरो आफ्नै काम हो। यो कुरा विरोधाभासपूर्ण सुनिएला, तर यो साँच्चै नै सत्यता हो। सत्यता जे भए पनि, त्यसको व्यावहारिक पाटो हुन्छ, जुन मानिसहरूको अभ्यास र प्रवेशका साथै परमेश्वरका मागहरूसँग सम्बन्धित हुन्छ। यो खोक्रो हुँदैन। सत्यता यस्तै हुन्छ; यो सत्यताको वास्तविकता अनुभव गरिस् र त्यसमा प्रवेश गरिस् भने मात्रै सत्यताको यो पक्षबारे तेरो बुझाइ बढ्दै जान्छ। यदि तँ सधैँ सत्यतामाथि प्रश्न उठाउँछस्, शङ्का गरिरहन्छस्, र सूक्ष्म जाँच र विश्लेषण गरिरहन्छस् भने, तेरो लागि सत्यता कहिल्यै सत्यता हुनेछैन। त्यो तेरो वास्तविक जीवनसँग असम्बन्धित हुनेछ र त्यसले तँबारे केही पनि परिवर्तन गर्न सक्नेछैन। यदि कसैले आफ्नो हृदयको गहिराइदेखि नै सत्यतालाई स्विकार्छ र त्यसलाई जिउने र कार्य गर्ने मार्गदर्शन, आफूलाई आचरणमा ढाल्ने र परमेश्वरमा विश्वास गर्ने मार्गदर्शनका रूपमा लिन्छ भने, सत्यताले उसको जीवन बदल्नेछ। यसले उसको जीवनका लक्ष्यहरू, उसको जीवनको दिशा, र उसले संसारसँग अन्तरक्रिया गर्ने तरिका परिवर्तन गर्नेछ। यो सत्यताको प्रभाव हो। कर्तव्य भनेको के हो भनी बुझ्नाले मानिसहरूलाई निश्चय नै ठूलो फाइदा पुग्नेछ र तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा मद्दत गर्नेछ। कम्तीमा, व्यक्तिले परमेश्वरमा विश्वास गर्ने हरव्यक्तिका लागि कर्तव्य निकै महत्त्वपूर्ण छ, र मुक्ति पाउने र सिद्ध पारिने रूचि भएका वा विशिष्ट माग र आकाङ्क्षाहरू भएकाहरूका लागि यसले झन् ठूलो महत्त्व राख्छ। मुक्ति प्राप्त गर्नका लागि व्यक्तिले बुझ्नुपर्ने सबैभन्दा आधारभूत सत्यता यही हो, र व्यक्तिले प्रवेश गर्नुपर्ने सबैभन्दा आधारभूत सत्यता पनि यही हो। यदि तँ कर्तव्य के हो भनी बुझ्दैनस् भने, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न जान्नेछैनस्, न त तँलाई आफ्नो कर्तव्य ग्रहण गर्ने र लिने सही मनोवृत्ति नै थाहा हुनेछ। यो खतरनाक कुरो हो—एकातिर, तैँले सम्भवत आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछैनस्, र तैँले मनोमानी रूपमा, लापरवाह र झाराटारुवा तरिकाले व्यवहार गर्नेछस्; अर्कोतिर, तैँले मण्डलीको काममा बाधा र अवरोध गर्ने कामकुरा गर्लास्, वा परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने दुष्कर्महरू समेत गर्लास्। त्यसलाई अलि सजग रूपमा भन्नुपर्दा, तँलाई चिन्तनका लागि एक्लो पारिएला, र गम्भीर अवस्थामा, तँलाई हटाइएला। त्यसकारण, कर्तव्य भनेको के हो भनी बुझ्नु सत्यताको आधारभूत पक्ष भए पनि, यो आफ्नो मुक्तिसँग सम्बन्धित छ; यो असान्दर्भिक छैन—यो निकै महत्त्वपूर्ण छ। कर्तव्य भनेको के हो भनी बुझेपछि, यो धर्मसिद्धान्त बुझ्नु मात्र होइन; यसको उद्देश्य भनेको मानिसहरूलाई परमेश्वरका अभिप्रायहरू बुझ्न र आफ्नो कर्तव्यलाई सही मनोवृत्तिले हेर्न मद्दत गर्नु हो। जुनसुकै कर्तव्य निर्वाह गर्दा, प्रयत्न मात्र गरेर कुनै नतिजा हासिल गर्न सकिँदैन; सधैँ प्रयत्न गरेरै राम्ररी कर्तव्य निर्वाह गर्न सकिन्छ भनी सोच्नुले आत्मिक बुझाइको कमी देखाउँछ। खासमा, कर्तव्य पूरा गर्नमा सही मानसिकता, अभ्यासका सिद्धान्तहरू र साँचो आज्ञाकारिताका साथै आत्मिक बुद्धिमता लगायतका धेरै कुराहरू संलग्न हुन्छन्। कसैसँग सत्यताका यी पक्षहरू भएमा मात्र उसले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न र लापरवाह र झाराटारुवा तरिकाले कर्तव्य निर्वाह गर्ने समस्यालाई पूर्ण रूपमा हल गर्न सक्छ। आफ्ना कर्तव्यप्रति सही मनोवृत्ति नभएकाहरू सत्यता वास्तविकता नभएका मानिसहरू हुन्; तिनीहरू परमेश्वरको डर मान्ने हृदय नभएका मानिसहरू हुन्, र तिनीहरूमा विवेक र समझ हुँदैन। तसर्थ, परमेश्वरलाई पछ्याउन व्यक्तिले कर्तव्य पूरा गर्नुको महत्त्व बुझ्नैपर्छ; परमेश्वरलाई पछ्याउनका लागि यो अत्यन्तै महत्त्वपूर्ण छ।

कर्तव्यको अर्थ र त्यसका स्रोतहरूबारे बुझेपछि, तैँले समाजका कर्तव्यको प्रकृति र कामको प्रकृतिबीच फरक छुट्ट्याउनेछस्। परमेश्वरको घरले तँलाई सुम्पेको कामलाई कर्तव्यका रूपमा लिनु र त्यसलाई सांसारिक कामला रूपमा लिनुबीच के भिन्नता छ? यदि तँ त्यसलाई कर्तव्यका रूपमा लिन्छस् भने, तैँले परमेश्वरको इच्छा र सत्यता खोज्नु आवश्यक हुन्छ। तैँले यसो भन्नेछस्, “यो मेरो कर्तव्य हो भने, मैले यसलाई कसरी पूरा गर्नुपर्छ? परमेश्वरले के माग गर्नुहुन्छ? मण्डलीका नियमहरू के-कस्ता छन्? म त्यसपछाडिका सिद्धान्तहरूबारे प्रस्ट हुनुपर्छ।” यसरी अभ्यास गर्नु मात्र आफ्नो कर्तव्यलाई हेर्नेप्रतिको सही मनोवृत्ति हो; आफ्नो कर्तव्यप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही मात्र हो। तर सांसारिक काम वा तिनीहरूका व्यक्तिगत जीवनका मामलाहरू सम्हाल्दा मानिसहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ? के त्यसोभए सत्यता वा सिद्धान्तहरू खोज्नुपर्ने कुनै आवश्यकता छ? तैँले सिद्धान्तहरू पनि खोज्लास्, तर ती थप पैसा कमाउने, राम्रो जीवन जिउने, श्रीसम्पत्ति जोड्ने, सफलता हासिल गर्ने, र प्रसिद्धि र धन दुवै प्राप्त गर्नेसम्बन्धी मात्र हुनेछन्—ती यस्ता सिद्धान्तहरू मात्र हुनेछन्। यी सिद्धान्तहरू पूर्णतया सांसारिक हुन्छन्, जुन वर्तमान प्रचलनहरूमा पर्छन्; ती शैतान र यस दुष्ट मानवजातिका सिद्धान्तहरू हुन्। कर्तव्य पूरा गर्नेसम्बन्धी सिद्धान्तहरू के-के हुन्? तिनले परमेश्वरका मागहरू निश्चित रूपमा पूरा गर्नैपर्छ; सत्यता र परमेश्वरका मागहरूसँग तिनको घनिष्ठ सम्बन्ध हुन्छ र ती कुराहरूबाट तिनलाई अलग गर्न सकिँदैन। बरु उल्टै, सत्यता वा परमेश्वरका मागहरूसँग संसारमा मानिसहरू संलग्न हुने पेशा वा जागिरहरूको कुनै सम्बन्ध हुँदैन। यदि तँ सक्षम, कठिनाइ सहन इच्छुक, र लगनशील, दुष्ट, र पर्याप्त मात्रामा दुस्साहसी छस् भने, तँ समाजमा अलग देखिन सक्छस र तैँले ठूलै करियर समेत बनाउन सक्छस्। तर, यी सिद्धान्त र दर्शनहरू परमेश्वरको घरमा आवश्यक छैनन्। परमेश्वरको घरमा तैँले जस्तोसुकै कर्तव्य निर्वाह गरे पनि, त्यस कर्तव्य जुन प्रकृतिको भए पनि, त्यसलाई उच्च वा तल्लो स्तरको, महत्त्वपूर्ण वा मामूली मानिए पनि, त्यो उच्च-दर्जाको वा सानोतिनो भए पनि, त्यो तँलाई परमेश्वरले सुम्पनुभएको वा मण्डलीका अगुवाले अह्राएको भए पनि—परमेश्वरको घरले तँलाई जे काम अह्राए पनि, तैँले आफ्नो काम गर्दा पालना गर्ने सिद्धान्तहरूले सत्यताका सिद्धान्तहरूलाई उछिन्नु हुँदैन। ती सत्यतासँग जोडिएको हुनुपर्छ, परमेश्वरका मागहरूसँग जोडिएको हुनुपर्छ, र परमेश्वरको घरका नियमन र कामका बन्दोबस्तहरूसँग जोडिएको हुनुपर्छ। छोटकरीमा भन्नुपर्दा, कर्तव्य र संसारमा व्यक्ति संलग्न हुने काम एकअर्काबाट छुट्टयाउनुपर्छ।

हामी किन कर्तव्य निर्वाह गर्ने र सांसारिक काममा संलग्न हुनेबीचको भिन्नताबारे सङ्गति गरिरहेका छौँ? के यो महत्त्वपूर्ण छ? (छ।) यसको महत्त्व के हो? यो आफ्नो कर्तव्य निर्वाह गर्नेप्रति मानिसहरूमा हुने मनोवृत्तिसँग सम्बन्धित छ। तेरो सांसारिक काममा रहेका मनोवृत्ति र सिद्धान्तहरूलाई कर्तव्य निर्वाह गर्ने क्षेत्रमा नल्या। यदि त्यसो गरिस् भने त्यसका परिणामहरू के हुनेछन्? (व्यक्तिका आफ्नै चाहनाअनुसार कार्य गर्ने।) व्यक्तिका आफ्नै चाहनाअनुसार कार्य गर्नु आम समस्या हो; यसको अर्थ कामहरू गर्दा अरूसँग सरसल्लाह गर्न नचाहनु, अन्तिम निर्णय गर्न चाहनु, र आफूले चाहेको जे पनि गर्नु, यसरी कार्य गर्दा कुनै दमन वा बेखुसीको भावनारहित सहजता र सन्तुष्टि मिल्छ भन्ठान्नु हो। यसअलावा, यसले प्रायजसो षडयन्त्र, ईर्ष्या, विवाद, र गुट निर्माण, साथै इनाम र पहिचान खोज्ने, चर्तिकला देखाउने, लापरवाह र झाराटारुवा तरिकाले कार्य गर्ने, गैरजिम्मेवारी, आफूभन्दा माथि र तलकालाई छल गर्ने, र आफ्नै राज्य स्थापना गर्नेतिर डोर्‍याउँछ। छोटकरीमा भन्नुपर्दा, कर्तव्य निर्वाह गर्नु भनेको सांसारिक काममा संलग्न हुनुभन्दा फरक कुरो हो; कर्तव्य निर्वाह गर्नु भनेको परमेश्वरले गर्नुभएको माग र बन्दोबस्त हो—कर्तव्य निर्वाह गर्नु र सांसारिक काममा संलग्न हुनुबीचको सबैभन्दा ठूलो भिन्नता यही नै हो। कर्तव्य निर्वाह परमेश्वरका मागहरूअनुसार र सत्यता सिद्धान्तहरूका आधारमा नै गर्नुपर्छ। यो कसैको व्यक्तिगत व्यवस्थापन होइन, न त उसको व्यक्तिगत मामला हो, र यो निश्चय नै कसैको निजी मामला पनि होइन। व्यक्तिगत रूचि, गौरव, हैसियत, प्रभाव, वा भावी सम्भाव्यताहरूसँग यसको कुनै सम्बन्ध छैन; यो मानिसहरूको जीवन प्रवेश र स्वभाव परिवर्तनसँग मात्र सम्बन्धित छ, र यो परमेश्वरको व्यवस्थापन योजनासँग सम्बन्धित छ। यसको उल्टो, सांसारिक काममा संलग्न हुँदा, तँ पूर्णतया व्यक्तिगत व्यवस्थापनमा केन्द्रित हुन्छस्। चाहे तँ जागिर खाइरहेको होस् वा कुनै व्यावसाय चलाइरहेको होस्, तैँले जतिसुकै ठूलो मूल्य चुकाए पनि, तैँले कुराहरू जतिसुकै हटाउन सके पनि वा जतिसुकै दुःख सहे पनि—चाहे यी भावनात्मक पक्षहरू होऊन् वा शारीरिक—वा चाहे तैँले हेपाइ र अपमान भोगेको होस् वा तँलाई गलत बुझिएको होस्, वा तैँले ठूलो सार्वजनिक दबाब नै सामान गरेको होस्, तैँले गर्ने सबै कुरा तेरो व्यक्तिगत इच्छा, आकाङ्क्षा, महत्त्वाकाङ्क्षा, र चाहनाहरूसँग सम्बन्धित हुन्छन्। यो यस्तो प्रकृतिको मात्र हुन्छ। यो प्रकृति व्यक्तिगत व्यवस्थापनमा संलग्न हुनु र व्यक्तिगत व्यावसाय चलाउनु मात्र हो। मानवजातिमाझ एउटा पनि व्यक्ति छैन, जसले अघि बढेर यसो भनोस्, “म मानवजातिका निम्ति सार्वजनिक सेवा गरिरहेको छु; म स्वर्गले दिएका दैविक मान्यता र सिद्धान्तहरूअनुसार कार्य गर्न चाहन्छु।” यस्तो व्यक्ति कोही पनि छैन। यदि कसैले अघि सरेर “म मानवजातिका निम्ति सबैभन्दा निःस्वार्थ र सबैभन्दा ठूलो प्रयास गर्न, कल्याण सिर्जना गर्न र मानिसहरूका लागि असल कार्यहरू गर्न चाहन्छु” भनेर भने पनि, उसको लक्ष्य खासै पवित्र हुँदैन; ऊ प्रसिद्धिको निम्ति त्यसो गरिरहेको हुन्छ। के यो व्यक्तिगत व्यवस्थापनमा संलग्न हुनु होइन र? यो सबै व्यक्तिगत व्यवस्थापनका निम्ति हो। उसका कुराहरू जति राम्रा सुनिए पनि, उसले जतिसुकै दुःख सहेको, जतिसुकै ठूलो मूल्य चुकाएको, जतिसुकै ठूलो योगदान गरेको भए पनि, वा उसले मानवजातिलाई परिवर्तन गरेको, एउटा युग नै रूपान्तरण गरेको, वा नयाँ युगको सुरुवात गरेको भए पनि नभए पनि, उसले जे गरे पनि, उसको उद्देश्य अरूका निम्ति नभई आफ्नै निम्ति हुन्छ। भ्रष्ट मानवजातिहरू सबै यसरी नै कामकुरा गर्छन्। कसैले कुनै ठूलो वा सानो जस्तोसुकै काम गरे पनि, उसको आशय भनेको कि त प्रसिद्धिका लागि हुन्छ कि नाफा लागि। उसका कार्यहरूको प्रकृति कस्तो हुन्छ? यो व्यक्तिगत व्यवस्थापनमा संलग्न हुनु हो। के परमेश्वरको व्यवस्थापनसँग व्यक्तिगत व्यवस्थापनको कुनै सम्बन्ध हुन्छ? त्यसको बिलकुलै कुनै सम्बन्ध हुँदैन। कतिपय मानिसहरू भन्छन्, “त्यो साँचो होइन। कतिपय मानिसहरू यस संसारमा आउँछन् र पूरै युग नै परिवर्तन गर्छन्; के त्यो पनि परमेश्वरद्वारा पूर्वनिर्धारित होइन र? के उहाँको व्यवस्थापनसँग त्यसको पनि सम्बन्ध छैन र?” के यी कुराहरू सम्बन्धित छन्? (छैनन्।) तँ किन सम्बन्ध छैन भन्छस्? (किनभने मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन कामसँग यसको कुनै सम्बन्ध छैन।) राम्रो कुरा गरिस्; यदि मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामसँग त्यसको कुनै सम्बन्ध छैन भने, त्यो परमेश्वरको व्यवस्थापनसँग असम्बन्धित हुन्छ। तर, यो भनाइ अर्धसत्य मात्र हो; यसमा अर्को पूर्वसर्त हुन्छ, जुन सारसम्बन्धी मामला हो। यदि त्यो परमेश्वरको व्यवस्थापन योजनासँग असम्बन्धित छ भने, त्यो सबै मानव व्यवस्थापन मात्र हो। त्यो एउटा पक्ष हो, तर म तिमीहरूलाई थप केही कुरा भन्छु: तिनीहरू गरिरहेका कुराको प्रकृति व्यक्तिगत प्रसिद्धि र लाभका लागि हो; अन्तिम लाभार्थी तिनीहरू नै हुन्। तिनीहरूले गर्ने सबथोकको प्रकृति, सिद्धान्त र मूल परिणाम कसका लागि हो? (तिनीहरूकै लागि।) त्यो तिनीहरूकै लागि हो—अलि गोप्य अर्थमा, कसका लागि हो? (शैतानका लागि।) ठिक भनिस्, यो शैतानका लागि हो। शैतानका लागि कामकुरा गर्ने प्रकृति कस्तो हुन्छ? (परमेश्वरको शत्रु हुनु।) अनि परमेश्वरको शत्रु हुनुपछाडिको अन्तर्निहित सार के हो? हामी किन यसलाई परमेश्वरको शत्रु हुनु भन्छौँ? (तिनीहरूका कार्यहरूको सुरुवाती बिन्दु, स्रोत, र सिद्धान्तहरू सबै परमेश्वरका वचनहरूविरुद्ध हुन जान्छन्।) यो एउटा पक्ष हो, र यो मूलभूत समस्या हो। तिनीहरूले जे गरिरहेका छन् तिनको सुरुवाती बिन्दु, स्रोत, र सिद्धान्तहरू सबै शैतानकै हुन् र ती दुष्ट हुन्छन्, त्यसोभए अन्तिम नतिजा के हुन्छ? तिनीहरू कसलाई साक्षी दिइरहेका छन्? (शैतानलाई।) ठिक भनिस्, तिनीहरू शैतानलाई साक्षी दिइरहेका हुन्छन्। मानव इतिहासभर, के त्यस्तो कुनै इतिहासकार वा लेखक जन्मेको छ, जसले मानवहरूले प्रत्येक युगमा गरेका कामका उपलब्धिहरूको श्रेय सृष्टिकर्तालाई दिएको होस्? (छैन।) तिनीहरूले यति मात्र भन्छन् कि यी कुराहरू मानवजातिका विराट प्रयासहरूबाट प्राप्त विरासत वा ठूला उपलब्धिहरू हुन्। मानवजातिका नजरमा यी कामहरू छोडेर जाने यी महान् मानिसहरू र प्रसिद्ध हस्तीहरूले कसको प्रतिनिधित्व गर्छन्? जुनसुकै प्रसिद्ध व्यक्तित्व वा महान् व्यक्ति, वा मानवजातिका लागि उल्लेखनीय योगदान गरेकाहरू सबैलाई भ्रष्ट मानवहरूले आराधना गर्छन्। तिनीहरूले मानिसहरूको हृदयमा जुन स्थान ओगट्छन्, त्यसलाई मानिसहरू परमेश्वरको स्थान मान्छन्। के समस्याको सार यही होइन र? (हो।) हामीले भर्खरै मानिसहरूका कार्यहरूपछाडिका स्रोत, मनसाय, सुरुवाती बिन्दु, र सिद्धान्तहरू सबैको जड शैतानी तर्क हुन्छ र ती सत्यतासँग मिल्दो हुँदैनन् भनेर छलफल गर्‍यौँ। मानिसहरू मानव माध्यम वा तिनीहरूको प्रतिभामार्फत् केही कुरा हासिल गर्छन् र अरूमाझ प्रसिद्ध बन्छन्, र अन्तिम परिणामस्वरूप मानवजातिले यो सबैको श्रेय शैतानलाई दिन्छन्; जसरी अहिले धेरै मानिसहरू कन्फ्युसियस र गुआन यु जस्ता इतिहासका प्रसिद्ध व्यक्तित्व र महान् हस्तीहरूलाई आराधना गर्छन्। यी मानिसहरूले गरेका कार्यहरू जतिसुकै महान् भए पनि, मूलभूत रूपमा भन्नुपर्दा, यी विविध पात्रहरूलाई फरक-फरक युगमा यस संसारमा आएर विशेष कार्यहरू गर्ने बन्दोबस्त वास्तवमा परमेश्वरले नै गर्नुभएको हो। तर, प्राचिन वा आधुनिक सम्पूर्ण अभिलिखित मानव इतिहासमा सृष्टिकर्ताका कार्यहरूलाई साक्षी दिएको त्यस्तो कुनै उदाहरण छैन। बाइबलमा मात्र व्यवस्थाको युग र अनुग्रहको युगमा परमेश्वरले गर्नुभएका कामका दुई चरणहरूका केही पक्षहरूको अभिलेख रहेको छ, तर त्यसमा अभिलिखित परमेश्वरका वचनहरू पनि धेरै सीमित छन्। वास्तवमा भन्नुपर्दा, परमेश्वरले धेरै वचनहरू बोल्नुभएको छ र अनेकौँ कार्यहरू गर्नुभएको छ, तर मानवहरूले गरेको अभिलेखन अत्यन्तै सीमित छ। त्यसको उल्टो, प्रसिद्ध र महान् मानिसहरूको अभिलेख राख्ने, साक्षी दिने, वा प्रशंसा गर्ने अनगिन्ती पुस्तकहरू छन्। के यसले हामीले भर्खरै छलफल गरेको समस्याको सार प्रस्ट्याउँदैन र? हामीले भर्खरै इतिहासभरका प्रसिद्ध र महान् मानिसहरूले आफ्नै लागि काम गरेका छन्; सारमा शैतानका लागि काम गरेका छन् भनेर उल्लेख गर्‍यौँ। यसले तिनीहरू आफ्ना कर्तव्य निर्वाह गरिरहेका थिएनन्, बरु तिनीहरूका आफ्नै व्यवस्थापन सञ्चालन गरिरहेका वा तिनीहरूका आफ्नै व्यावसायमा संलग्न भइरहेका थिए भन्ने देखाउँछ। मानिसहरूले संसारमा गर्ने कुनै पनि कामको प्रकृति र सार के हो? (व्यक्तिगत व्यवस्थापनमा संलग्न हुनु।) यसलाई किन व्यक्तिगत व्यवस्थापनमा संलग्न हुनु मानिन्छ? यसको मूल कारण के हो? तिनीहरूले शैतानलाई साक्षी दिने भएकाले; कार्य गर्दा तिनीहरूका सिद्धान्त र प्रेरणाहरू सबै शैतानबाटै आउँछन्, र सत्यता वा परमेश्वरका मागहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। तर कर्तव्यको प्रकृति कस्तो हुन्छ? त्यसले परमेश्वरका मागहरूअनुसार गरिएको कामलाई जनाउँछ, यसको मतलब काम सत्यतामै आधारित हुनुपर्छ, सत्यता सिद्धान्तहरूअनुसार नै सञ्चालित हुनुपर्छ, र परमेश्वरका मागहरूबमोजिम गरिनुपर्छ। फलस्वरूप मानिसहरू परमेश्वरको साक्षी दिन, र परमेश्वरप्रति आज्ञाकारी हुन र उहाँबारे ज्ञान राख्न सक्छन्; तिनीहरूमा सृष्टिकर्ताबारे झनै गहन बुझाइ र उहाँप्रति झनै साँचो समर्पण हुन्छ, र त्योभन्दा पनि बढी, तिनीहरू सृष्टि गरिएका प्राणीहरूले गर्नुपर्ने काम गर्न सक्छन्। ती दुईबीचको सबैभन्दा ठूलो भिन्नता यही नै हो। मानिसहरूले परमेश्वरका मागहरूअनुसार आफ्ना कर्तव्यहरू सम्हाल्दा परमेश्वरसँगको तिनीहरूको सम्बन्ध झन्-झन् सामान्य बन्छ। अनि के यस संसारमा मानिसहरू संलग्न हुने कुनै कामले यो नतिजा दिन सक्छ? पक्कै सक्दैन, नतिजा ठ्याक्कै उल्टो हुन्छ। व्यक्तिले सांसारिक काम गर्दै जति धेरै वर्ष बिताउँछ, तिनीहरू त्यति नै परमेश्वरविरुद्ध विद्रोह गर्छन् र उहाँबाट त्यति नै टाढा पुग्छन्। व्यक्तिको व्यक्तिगत व्यवस्थापन जति राम्रो हुन्छ, ऊ परमेश्वरबाट त्यति नै टाढा जान्छ; व्यक्तिको व्यक्तिगत व्यवस्थापन जति सफल बन्छ, ऊ परमेश्वरका मागहरूबाट त्यति नै टाढा पुग्छ। त्यसकारण, कर्तव्य निर्वाह गर्नु र सांसारिक काममा संलग्न हुनुका पूर्णतया दुई अलग-अलग प्रकृतिहरू छन्।

भर्खरै, एउटा व्यक्तिको कर्तव्य र एउटा व्यक्ति सांसारिक काममा संलग्न हुनेबीचको भिन्नताबारे छलफल गरियो। यो छलफल मानिसहरूलाई सत्यताको कुन पक्ष बुझ्न मद्दत गर्नका लागि हो? तैँले जे-जस्तो कर्तव्य पाए पनि, तैँले त्यो परमेश्‍वरले भन्‍नुभएकै जस्तो प्रकारले गर्नुपर्छ। उदाहरणका लागि, जब तँ मण्डलीको अगुवाको रूपमा चुनिन्छस्, तब तेरो कर्तव्य मण्डली अगुवाको काम गर्नु हुन्छ। अनि तैँले एकचोटि यो कामलाई आफ्नो कर्तव्यको रूपमा लिइसकेपछि के गर्नुपर्छ? सबैभन्दा पहिले, यो जान् कि एक अगुवाको रूपमा तेरो काम पूरा गर्नु मात्र तैँले आफ्नो कर्तव्य निर्वाह गर्नु हो। तैँले बाहिरी संसारमा कुनै अधिकारीको रूपमा सेवा गरिरहेको छैनस्; यदि तँ अगुवा बनिस् र त्यसपछि आफूलाई एक अधिकारी ठानिस् भने, तैँले बाटो बिराएको हुन्छस्। तर यदि तैँले, “अब म मण्डली अगुवा बनेकाले, म ठुलो हुन खोज्नु हुँदैन, मैले आफूलाई सबैको तल राख्‍नुपर्छ, मैले तिनीहरूलाई मभन्दा उच्‍च र महत्त्वपूर्ण बनाउनुपर्छ” भनेर भन्छस् भने पनि, त्यो मानसिकता गलत हो; तँ सत्यता बुझ्दैनस् भने कुनै पनि बहाना बनाउनु व्यर्थ छ। आफ्नो कर्तव्यबारेको सही बुझाइबाहेक अरू कुनै कुराले काम गर्दैन। सबैभन्दा पहिले, तैँले मण्डलीको एक अगुवाको कामको महत्त्वलाई कदर गर्नैपर्छ: एउटा मण्डलीमा दर्जनौं सदस्यहरू हुन सक्छन्, र तैँले यी मानिसहरूलाई परमेश्‍वरको अगाडि कसरी डोऱ्याउने, तिनीहरूमध्ये धेरैलाई कसरी सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न मदत गर्ने भनेर सोच्नुपर्छ। तैँले नकारात्मक र कमजोरहरूलाई मलजल र सहयोग गर्न, तिनीहरूलाई नकारात्मक र कमजोर हुनबाट रोक्‍न र तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न सक्षम बनाउन पनि धेरै समय खर्च गर्नुपर्छ। तैँले ती सबैलाई पनि डोऱ्याउनुपर्छ जो सत्य बुझ्न र सत्यमा प्रवेश गर्न, सिद्धान्तहरूअनुसार काम गर्न र आफ्नो कर्तव्यलाई ठिकसँगले गर्न र त्यसरी अझ बढी प्रभाव पार्न सक्षम हुन्छन्। केही त्यस्ता मानिसहरू छन्, जसले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, तर तिनीहरूको मानवता निकै दुष्ट छ, र तिनीहरू सधैँ मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँछन्—यी मानिसहरूलाई आवश्यकताअनुसार निराकरण गर्नुपर्छ; पश्चात्ताप नगर्न अड्डी कस्नेहरूलाई निष्कासन गर्नुपर्छ। तिनीहरूलाई सिद्धान्तअनुसार तह लगाउनुपर्छ र उचित बन्दोबस्त गर्नुपर्छ। यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा पनि छ: मण्डलीका केही मानिस तुलनात्मक रूपमा असल मानवता र केही क्षमता भएका हुन्छन्, र कामको कुनै निश्‍चित पाटो सम्हाल्न सक्षम हुन्छन्; त्यस्ता सबै मानिसहरूलाई ढिलो नगरी, चाँडोभन्दा चाँडो जगेर्ना गर्नुपर्छ; तिनीहरू योग्य बन्नका निम्ति प्रशिक्षण चाहिन्छ, र तिनीहरूले कुनै प्रशिक्षण प्राप्त गरेनन् भने कुनै पनि कार्य राम्रोसँग गर्न सक्‍नेछैनन्। के ती कुनै अगुवा वा सेवकले तत्कालै राम्ररी गर्नुपर्ने काम होइनन् र? यदि तँ एक अगुवा बनेको छस् र यी कुराहरू मनमा राख्दैनस्, र यसरी काम गर्दैनस् भने, के तँ आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छस्? (सक्दिनँ।) एक अगुवाका रूपमा, मण्डलीको कामको हरेक पक्षलाई सम्बोधन गर्नु अति आवश्यक हुन्छ: पहिलो कुरा, सबैभन्दा महत्त्वपूर्ण मामला भनेको प्रतिभावान् मानिसहरूलाई जगेर्ना गर्नु हो। असल मानवता भएका र क्षमता बोकेकाहरूलाई माथि उठाएर जगेर्ना गर्ने र प्रशिक्षण दिने काम गर्। दोस्रो कुरा, ब्रदर-सिस्टरहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्नेतर्फ अगुवाइ गर्, अनि तिनीहरूलाई आत्मनिरीक्षण गर्न, आफूलाई चिन्न, झूटा शिक्षा र भ्रमहरू खुट्ट्याउन, मानिसहरू खुट्ट्याउन, र आफ्ना कर्तव्य राम्ररीपूरा गर्न सक्षम बना—यो जीवन प्रवेशको एउटा पाटो हो। तेस्रो कुरा, आफ्ना कर्तव्य पूरा गर्न सक्ने अधिकांश मानिसहरूलाई (कमजोर मानवता भएकाहरू बाहेक) वास्तवमै त्यसो गर्न सक्षम बना, र तिनीहरूले लापरवाह र झाराटारुवा तरिकाले कार्य गर्नेभन्दा पनि आफ्नो कर्तव्य निर्वाह गरेर नतिजा दिने कुरा सुनिश्चित गर्। चौथो कुरा, मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउनेहरूलाई तुरुन्तै तह लगा। यदि तिनीहरू सङ्गति गरेपछि सत्यतालाई इन्कार गर्छन् भने, तिनीहरूलाई काटछाँट र निराकरण गर्नैपर्छ। यदि तिनीहरू त्यस दौरान पश्चात्ताप गर्दैनन् भने, तिनीहरूलाई एक्ल्याएर आत्मजाँच गराउनुपर्छ, र हटाइनुपर्छ वा निष्कासित समेत गर्नुपर्छ। पाँचौ कुरा, परमेश्वरका चुनिएका मानिसहरूलाई गैरविश्वासी, झूटा अगुवा, र ख्रीष्टविरोधीहरू खुट्ट्याउन सक्षम बना, र तिनीहरू भ्रममा नपरून् र सकेसम्म चाँडो परमेश्वरमा विश्वास गर्ने सही मार्गमा प्रवेश गर्न सकून् भन्ने कुरा सुनिश्चित गर्। माथिका पाँचवटै बुँदाहरू महत्त्वपूर्ण छन् र ती अगुवाइका अन्तर्निहित कामहरू हुन्। कुनै पनि व्यक्ति कामका यी पाँच पक्षहरू पूरा गरेर नै मण्डलीको योग्य अगुवा बन्छ। यसका साथै, विशेष परिस्थितिहरूलाई पनि उचित ढङ्गले सम्हाल्नुपर्छ। उदाहरणका लागि, कतिपय मानिसहरूका नकारात्मकता र कमजोरी अस्थायी हुन सक्छ, तैँले तिनीहरूलाई उचित व्यवहार गर्नुपर्छ। तैँले सबैलाई एउटै भाँडोमा राख्न मिल्दैन; यदि कुनै व्यक्ति अस्थायी रूपमा नकारात्मक छ र तैँले उसलाई “चरम नकारात्मकतावादी” वा “चिरस्थायी नकारात्मकतावादी” कहलाउँछस् र परमेश्वरले उप्रान्त उसलाई चाहनुहुन्न भनेर भन्छस् भने, त्यो उचित होइन। साथै, सबैले आफ्ना व्यक्तिगत भूमिकाहरू पूरा गर्नुपर्छ र आफ्ना क्षमताअनुसार योगदान दिनुपर्छ। व्यक्तिलाई उसको प्रतिभा, कौशल, क्षमता, उमेर, र उसले परमेश्वरमा विश्वास गरेको समयावधिका आधारमा उचित रूपले कर्तव्य निर्वाह गर्ने बन्दोबस्त गर्नुपर्छ। यो उपाय विभिन्न प्रकारका मानिसहरूलाई सुहाउँदो बनाउनुपर्छ, जसले तिनीहरूलाई परमेश्वरका घरमा आफ्ना कर्तव्य पूरा गर्न र पूर्ण क्षमताअनुसार काम गर्न मद्दत गरोस्। यदि तैँले यी कुराहरूलाई मनमा राखिस् भने, तँमा बोझको भावना विकसित हुनेछ र तैँले सधैँ नियाल्नमा ध्यान दिनुपर्नेछ। के नियाल्ने? राम्रा देखिने भएकाले तैँले बढी अन्तरक्रिया गर्न सक्नेहरू होइनन्; कुरूप लागेकाले तैँले अलग गर्न सक्नेहरू होइनन्; सामर्थ्य र हैसियत भएजस्तो देखिने भएकाले तिनीहरूप्रति तँ अनुग्रहित हुन सक्नेहरू होइनन्; र तेरो सामु शिर नझुकाउने भएकाले तैँले दण्डित गर्ने प्रयास गर्न सक्नेहरू त निश्चय नै होइनन्न। यी कुनै पनि होइनन्। त्यसोभए तैँले के नियाल्नुपर्छ? तैँले परमेश्वरका वचनका आधारमा, विविध प्रकारका मानिसहरूप्रति उहाँका मनोवृत्ति र मागहरूका आधारमा मानिसहरूलाई खुट्ट्याउनुपर्छ, र तिनीहरूलाई सिद्धान्तका आधारमा व्यवहार गर्नुपर्छ; यो सत्यतासित मिल्छ। पहिला, मण्डलीका सबै प्रकारका मानिसहरूको वर्गीकरण गर्: राम्रो गुण भएका र सत्यता स्विकार्न सक्नेहरूलाई एउटा वर्गमा, कमजोर गुण भएका र सत्यता स्विकार्न नसक्नेहरूलाई अर्को वर्गमा, आफ्ना कर्तव्य पूरा गर्न सक्नेहरूलाई अर्को वर्गमा, र अझै नसक्नेहरूलाई त्योभन्दा अर्को वर्गमा। अन्त्यमा, सधैँ गुनासो गर्ने, धारणाहरू फैलाउने, नकारात्मकतामा डुब्ने, र बाधा दिने ती गैरविश्वासीहरूलाई पनि एउटै वर्गमा राखिनुपर्छ। तैँले सबैलाई वर्गीकरण गरिसकेपछि, र परमेश्वरका वचनअनुसार प्रत्येक समूहको साँचो स्थितिलाई राम्रोसँग बुझेर कसले मुक्ति पाउन सक्छ र कसले सक्दैन भनी प्रस्ट रूपमा देखेपछि, तैँले सबै प्रकारका मानिसहरूको अन्तर्य छर्लङ्गै देख्न सक्नेछस्; तैँले परमेश्वरका अभिप्रायहरू बुझ्नेछस्, र परमेश्वरले कसलाई मुक्ति दिन र कसलाई निकाल्न चाहनुहुन्छ भनी जान्नेछस्। के यो सबै तेरो बोझका कारण उत्पन्न हुने होइन र? के यो कर्तव्यप्रति राख्नुपर्ने सही मनोवृत्ति होइन र? यदि तँसित यो सही मनोवृत्ति छ र तँभित्र एउटा बोझ उत्पन्न भयो भने, तैँले आफ्नो काम राम्ररी गर्न सक्छस्। यदि तँ आफ्नो कर्तव्यलाई यो तरिकाले लिनुको साटो आफ्नो कर्तव्य निर्वाहलाई तँ कुनै आधिकारिक पदमा भएझैँ गरी हेर्छस्, र सधैँ “अगुवा हुनु भनेको पद सम्हाल्नुजस्तै हो; यो परमेश्वरको आशिष् हो! अब मसित हैसियत भएकाले मानिसहरूले मेरो कुरा सुन्नुपर्छ, र यो राम्रो कुरा हो!” भन्ने सोच्छस् भने—यदि तँ अगुवा हुनु भनेको एक अधिकारी हुनुसरह हो भन्ठान्छस् भने, तँ समस्यामा छस्। तैँले निश्चय नै एक अधिकारीकै शैलीमा र अधिकारीहरूले कार्य गर्ने तरिकाकै आधारमा अगुवाइ गर्नेछस्; त्यसोभए के तैँले उचित रूपमा मण्डलीको काम गर्न सक्छस्? यस्तो दृष्टिकोण बोकिस् भने, तँलाई अवश्यै खुलासा र निष्कासित गरिनेछ। तैँले सधैँ आफूलाई एक अधिकारीका रूपमा चित्रण गरिरहेको हुनेछस्, जसमा तँ जता गए पनि मानिसहरूद्वारा घेरिएको हुनेछस्, र तैँले जे भने पनि मानिसहरूले त्यो पालना गर्नेछन्। साथै, तैँले मण्डलीका कुनै पनि लाभहरूमा पहिलो प्राथमिकता पाउनेछस्। मण्डलीमा जेजस्तो काम भए पनि, तैँले आदेश मात्र दिनुपर्नेछ र आफैले केही पनि गर्नुपर्नेछैन। यो कस्तो मानसिकता हो? के यो हैसियतका लाभहरूमा रमाउनु होइन र? के यो भ्रष्ट स्वभाव होइन र? सत्यता नपछ्याउने सबैले शैतानी स्वभावका आधारमा आफ्नो कर्तव्य निर्वाह गर्छन्। धेरै अगुवा र सेवकहरू सत्यताको सानो अंशसमेत नस्विकारीसधैँ शैतानी स्वभावका आधारमा आफ्नो कर्तव्य निर्वाह गरेका कारण खुलासा र निष्कासनमा परेका छन्। अहिले पनि कतिपय अगुवाहरू यस्तै व्यवहार गर्छन्। अगुवा बनेपछि, तिनीहरूलाई भित्र एक खालको प्रफुल्लता र केही आत्मसन्तुष्टि महसुस हुन्छ। उक्त भावनालाई व्याख्या गर्न कठिन छ, तर जे भए पनि, तिनीहरू आफूले राम्रै गरेको छु भन्ने सोच्छन्। तर, त्यसपछि तिनीहरू सोच्छन्, “मैले घमण्ड गर्न मिल्दैन। घमण्ड भनेको अहङ्कारको सङ्केत हो, र अहङ्कारबाटै असफलताको सुरुवात हुन्छ। म गुपचुप रहनुपर्छ।” बाहिरी रूपमा, तिनीहरू गुपचुप रहन्छन् र यो परमेश्वरले दिनुभएको उचाइ र आज्ञा हो, र तिनीहरूले त्यो गर्नुको विकल्प छैन भनी सबैलाई भन्छन्। तर भित्री रूपमा, तिनीहरू रमाउँदै यसो भन्छन्: “अन्तत: म चुनिएको छु। ममा राम्रो क्षमता छैन भनेर कसले भन्छ? यदि मेरो क्षमता कमजोर भएको भए, म कसरी चुनिन सक्थेँ? किन अरू नै कसैलाई चुनिएन त? मसित अरूमाभन्दा बढी लाभहरू छन् जस्तो देखिन्छ।” जब तिनीहरूमाथि यो कर्तव्य आइपर्छ, तिनीहरू सुरुमा हृदयमा यिनै कुराहरू सोच्छन्। तिनीहरू यसरी मनन् गर्दैनन्, “अब त मलाई यो कर्तव्य आइपरेको छ, मैले कसरी पूरा गर्ने? विगतमा कसले राम्रो काम गरेको छ, जोबाट मैले सिक्नुपर्छ? यो कर्तव्य पूरा गर्नका लागि परमेश्वरका मागहरू के-के हुन्? के मण्डलीको कामका बन्दोबस्तहरूमा त्यस्ता कुनै मागहरू छन्? म मण्डलीको कामका यी पक्षहरूबारे कहिल्यै चिन्ता लिँदिनथेँ, तर अब मलाई अगुवा चुनिएपछि मैले के गर्नुपर्छ?” वास्तवमा, यदि तँसित सङ्कल्प छ र तँ सत्यता खोज्न सक्छस् भने, एउटा मार्ग छ। यदि तँ उक्त कामलाई तेरो कर्तव्यका रूपमा लिन्छस् भने, त्यो काम राम्ररी पूरा गर्न सजिलो हुनेछ। कतिपय मानिसहरू अगुवा बन्छन् र यसो भन्छन्, “के यी मानिसहरूलाई अब मेरै जिम्मा लगाइएको छ छ? के तिनीहरू कसरी भेला हुन्छन् र तिनीहरूका लागि कस्तो काम बन्दोबस्त गरिन्छ भन्ने कुरा ममा भर पर्छ? अहो, अहिले मलाई हृदयमाथि गह्रुङ्गो चिजले थिचेको महसुस हुन्छ।” यी शब्दहरूले के इङ्गित गर्छन्? तिनले तिनीहरू ठूलाठूला कुराहरू हासिल गर्न सक्नेझैँ इङ्गित गर्छन्; यो सबै खोक्रो कुरा र धर्मसिद्धान्त मात्र हो। के यस्तो व्यक्ति अलि पाखण्डी हुँदैन र? के तिमीहरूमध्ये कसैले कहिल्यै यस्ता कुराहरू भनेका छौ? (छौँ।) त्यसोभए तिमीहरू सबैजना पनि अलि पाखण्डी छौ। तर, मानिसहरूमा यस्तो व्यवहार हुनु सामान्य हो। सानोतिनो अधिकारी बनेकाहरूले पनि अलिअलि आडम्बर देखाउनुपर्छ। तिनीहरू अचानक आफ्नो व्यक्तिगत महत्त्व बढेको महसुस गर्छन् र, अलिकति हैसियत र प्रसिद्धिको स्वाद चाख्नेबित्तिकै तिनीहरूको हृदय उर्लिएको समुद्रझैँ बदलिन्छ, र तिनीहरू अर्कै व्यक्तिझैँ बन्छन्। तिनीहरूका भ्रष्ट स्वभाव र अनर्गल चाहनाहरू सबै देखिन थाल्छन्। हरव्यक्तिमा यी नकारात्मक र निष्क्रिय व्यवहारहरू हुन्छन्। यो भ्रष्ट मानवजातिमाझको समानता हो। जोकोही भ्रष्ट मानवमा यो हुन्छ। कतिपय मानिसहरू अगुवा बनेपछि कसरी हिँड्नुपर्छ भन्नेमा नै अलमल्ल पर्छन्; केही चाहिँ मानिसहरूसित कसरी बोल्नुपर्छ भन्ने कुरामै अलमल्ल पर्छन्। तिनीहरूलाई आफूले कसरी बोल्नुपर्छ भन्ने कुरामा अलमल्ल पर्नु अवश्यै कायरताका कारण नभई एक अगुवाले कसरी आफूलाई आचरणमा ढाल्नुपर्छ भन्नेबारेको अनिश्चितताले गर्दा हो। अरूचाहिँ अगुवा बनेपछि, के खाने वा लाउने भन्ने कुरामा निश्चित हुँदैनन्। अनेकथरीका व्यवहारहरू हुन्छन्। के तिमीहरूमध्ये कसैले यस्ता व्यवहार देखाउँछौ? तिमीहरू सबैले निश्चय नै फरक-फरक मात्रामा देखाउँछौ। त्यसोभए, यी स्थिति र व्यवहारहरूबाट अघि बढ्न कति समय लाग्नेछ? एकदुई वर्ष, चारपाँच वर्ष, कि दस वर्ष? त्यो सत्यता पछ्याउने आफ्नो सङ्कल्प र त्यसको मात्रामा भर पर्छ।

सत्यता पछ्याउने क्रममा, सत्यतासम्बन्धी कतिपय मानिसहरूको बुझाइ सिधै तिनीहरूको प्रवेशसँग सम्बन्धित हुन्छ; ती दुई समान हुन्छन्। तिनीहरूमा बुझ्ने क्षमता जति हुन्छ, तिनीहरू त्यति नै सत्यताभित्र प्रवेश गर्न सक्छन्; सत्यताबारे तिनीहरूको बुझाइको गहिराइ तिनीहरूको प्रवेशको गहिराइका साथै तिनीहरूको बुझाइ, भावना, र अनुभवहरूको गहिराइ पनि हो। तर, कतिपय मानिसहरू धेरै धर्मसिद्धान्तहरू बुझ्छन्, तर तिनीहरूको अभ्यास र प्रवेश शून्य हुन्छ। त्यसकारण, तिनीहरूले जतिवटा प्रवचनहरू सुनेका भए पनि, तिनीहरू आफ्ना भित्री कठिनाइहरू समाधान गर्न कहिल्यै सक्षम हुँदैनन्। कुनै सानोतिनो मामला सामना गर्नुपर्दा, तिनीहरूको नराम्रो पक्ष तुरुन्तै देखा पर्छ, र तिनीहरूले जति कोसिस गरे पनि त्यसलाई नियन्त्रण गर्न सक्दैनन्; तिनीहरूले आफ्नो भ्रष्टतालाई जति लुकाए पनि त्यो प्रकट भएरै छोड्छ। तिनीहरू सत्यता स्विकार्न वा समाधान निकाल्नका लागि सत्यता खोज्न असक्षम रहन्छन्। तिनीहरू खोल ओड्न, धोका दिन, र असल भएको बहाना गर्न समेत सिक्छन्। तिनीहरूका भ्रष्ट स्वभाव रहिरहन्छन् र परिवर्तन हुँदैनन्; यो सत्यता नपछ्याउनुको नतिजा हो। त्यसैले, अन्ततः घुमीफिरी त्यही वाक्यांशमा आइपुगिन्छ: सत्यता पछ्याउनु अत्यन्तै महत्त्वपूर्ण छ। त्यही कुरा आफ्ना कर्तव्यहरू पूरा गर्नुमा पनि लागु हुन्छ। तैँले जे कर्तव्य पाए पनि, तँमाथि जस्तो कर्तव्य आइपरे पनि, त्यो कर्तव्यमा जतिसुकै ठूलो वा सानो जिम्मेवारी परे पनि, वा यो निकै महत्त्वपूर्ण नभए पनि, यदि तँ सत्यता खोज्न र सत्यता सिद्धान्तअनुसार कर्तव्यलाई लिन सक्छस् भने, तँ आफ्नो कर्तव्य राम्ररी निभाउन सक्षम हुनेछस्। यसैगरी, आफ्ना कर्तव्यहरू निभाउने क्रममा, तैँले तेरो जीवन प्रवेश र स्वभाव परिवर्तन दुवैमा फरक-फरक मात्रामा वृद्धि अनुभव गर्नेछस्। तर, यदि तँ सत्यता पछ्याउँदैनस् र आफ्नो कर्तव्यलाई तेरो आफ्नै व्यवस्थापन, तेरो आफ्नै कार्यका रूपमा लिन्छस्, वा तेरो आफ्नै रूचि वा व्यक्तिगत कामका रूपमा लिन्छस् भने, तँ समस्यामा छस्। आफ्नो कर्तव्यलाई तेरो आफ्नै व्यवसायका रूपमा लिनु र त्यसलाई सत्यता सिद्धान्तहरूअनुसार लिनु फरक-फरक कुरा हुन्। तैँले आफ्नो कर्तव्यलाई तेरो आफ्नै व्यवस्थापनका रूपमा लिँदा, तँ के पछ्याइरहेको हुन्छस्? तँ प्रसिद्धि, नाफा, र हैसियत पछ्याइरहेको हुन्छस्, र अरूले आफ्ना मागहरू पूरा गर्लान् भन्ने अपेक्षा गरिरहेको हुन्छस्। यसरी आफ्नो कर्तव्य निर्वाह गर्नुको अन्तिम नतिजा के हुनेछ? एकातिर, यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा मानक पूरा हुँदैन; त्यो व्यर्थ प्रयास हुन्छ। तैँले बाहिरी रूपमा ठूलो प्रयत्न लगाएको भए पनि, सत्यता खोजेको छैनस्, त्यसैले तेरो कर्तव्यको नतिजा कमजोर हुनेछ, र परमेश्वर खुसी हुनुहुनेछैन। अर्कोतिर, तैँले प्रायजसो अपराध गर्नेछस्, बाधा र अवरोध पुर्‍याउनेछस् र प्रतिकूल परिणामहरू निम्त्याउने गल्तीहरू गर्नेछस्। अहिले धेरै मानिसहरू आफ्नो कर्तव्य निर्वाहमा निकै पछि पर्छन्। तिनीहरू मनोमानी ढङ्गलेर आफूखुसी काम गर्छन्, मूल रूपमा कुनै नतिजा पाउँदैनन्, र कहिलेकाहीँ मण्डलीको काममा क्षति समेत पुर्‍याउँछन्। यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको मण्डलीको काममा साँच्चिकै बाधा र अवरोध पुर्‍याउनु हो; यो सर्वथा दुष्टकर्मीको व्यवहार हो। आफ्ना कर्तव्य निर्वाहप्रति निरन्तर रूपमा लापरवाह र झाराटारुवा शैली अपनाउनेहरूलाई खुलासा गर्नैपर्छ, ताकि तिनीहरूले आत्मचिन्तन गर्न सकून्। यदि तिनीहरू साँच्चिकै आत्मचिन्तन गर्न, आफ्ना गल्तीहरू चिन्न, र आफूलाई घृणा गर्न सक्छन् भने, तिनीहरू मण्डलीमा रहेर आफ्ना कर्तव्य निर्वाह गर्ने काम जारी राख्न सक्छन्। तर यदि तिनीहरू आफ्ना गल्ती कहिल्यै स्विकार्दैनन् र आफ्नो बचाउ गर्न र आफूलाई साँचो ठहर्‍याउन खोज्छन्, परमेश्वरको घरमा कुनै प्रेम छैन र तिनीहरूलाई निष्पक्ष व्यवहार गरिएको छैन भनी दाबी गर्छन् भने, यो पश्चात्ताप नगर्न अड्डी कस्नुको सङ्केत हो, र तिनीहरूलाई मण्डलीबाट हटाइनुपर्छ। यी मानिसहरूले बाधा र अवरोध पुर्‍याउनुको मूल कारण के हो? के यो तिनीहरूले जानाजानी बाधा र अवरोध पुर्‍याउने योजना बनाएकाले हो? होइन, मुख्य कारण यो हो कि, तिनीहरूमा सत्यताप्रति बिलकुलै प्रेम छैन, र तिनीहरूको मानवता अत्यन्तै खराब छ। यीमध्ये कतिपय व्यक्तिहरूमा केही क्षमता हुन्छ र तिनीहरू सत्यता बुझ्न सक्छन्, तर अलिकति पनि सत्यता स्विकार्दैनन्, त्यो अभ्यास गर्ने त कुरै छाडौँ। तिनीहरूको मानवता अत्यन्तै नीच हुन्छ। तिनीहरूले जेसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरू सधैँ बाधा र अवरोध सिर्जना गरिरहेका हुन्छन्, मण्डलीको काम बिथोलिरहेका हुन्छन्, र नराम्रो प्रभाव पार्ने गरी धेरै दुष्ट परिणामहरू निम्त्याउँछन्। यी मानिसहरू गैरविश्वासी हुन्, र ती सबै दुष्ट मानिस हुन् भन्नेमा कुनै शङ्का छैन। तिनीहरू निकालिनुको मूल कारण यही हो। अहिले धेरैजसो मानिसहरू गैरविश्वासीहरूलाई खुट्ट्याउन सक्छन्। तिनीहरू यी व्यक्तिहरूका विविध व्यवहारहरू देख्दा रिसाउँछन्। यी मानिसहरूलाई कसरी परमेश्वरका विश्वासी मान्न सकिन्छ? तिनीहरू मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउन पठाइएका शैतानका नोकर हुन्। कतिपय चाहिँ आराम रुचाउने र कामलाई घृणा गर्ने मुफ्ताखोरहरू हुन्छन्; तिनीहरू कुनै कामै गर्न चाहँदैनन्, तर हरेक दिन राम्रो खान चाहन्छन्। के तिनीहरू परजीवी होइनन् र? तिनीहरू पाले कुकुरहरूभन्दा तल्लो स्तरका हुन्। यसर्थ यी मानिसहरू निष्कासनमा परेका छन्। साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने सबै मानिसहरू आफ्नो कर्तव्य पूरा गर्न इच्छुक र आतुर हुन्छन्। धेरैजसो मानिसहरूलाई कर्तव्यको वास्तविक अर्थ थाहा नभए पनि, तिनीहरूलाई कम्तीमा पनि हृदयमा मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने थाहा हुन्छ, अनि के आफ्ना कर्तव्यहरू पूरा गर्न इच्छुक हुनु भनेको फलतः सत्यता अभ्यास गर्नु हो त? के यो भित्री तत्परताको अर्थ व्यक्तिले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गरेको छ भन्ने हो? कदापि होइन। आफ्ना कर्तव्यहरू राम्ररी पूरा गरेको मानिनका लागि व्यक्तिले सत्यता अभ्यास गर्नैपर्छ र सिद्धान्तअनुसार व्यवहार गर्ने मानक पूरा गर्नैपर्छ। तैँले सत्यता अभ्यास गर्नुभन्दा पहिले, तँसित जति नै आस्था भएको दाबी गरे पनि, वा आफू जति आतुर र इच्छुक छु—आफ्नो ज्यानलाई जोखिममा पार्न सक्छु, विनाहिचकिचाहट जस्तोसुकै चुनौतीहरू सामना गर्छु भने पनि—यी सबै बेकारका नारा मात्र हुन्। यो तत्परताका आधारमा, तैँले सत्यता सिद्धान्तअनुसार कार्य पनि गर्नैपर्छ। तँ यसो भन्छस्, “म सत्यतालाई खासै प्रेम त गर्दिनँ, न त त्यसलाई पछ्याउँछु नै, र आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा मेरो स्वभाव खासै परिवर्तन भएको छैन। तर एउटा कुरामा चाहिँ म अडिग बसेको छु: म आफूलाई अह्राइएको जे काम पनि गर्छु। म बाधा वा अवरोध सिर्जना गर्दिनँ; म समर्पित हान नसकुँला, तर म सुन्ने गर्छु।” के यसो गर्न सक्ने व्यक्तिले मण्डलीमा रहेर सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न पाउँदैन र? तर हटाइएका ती दुष्टकर्मी र गैरविश्वासीहरूले यति न्यून मागहरू समेत पूरा गर्न सकेनन्, र तिनीहरूले बाधासमेत सिर्जना गरे। यस्ता गैरविश्वासी वा दुष्टकर्मीहरूलाई मण्डलीमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्ने अनुमति दिनु हुँदैन। परमेश्वरका चुनिएका मानिसहरूले गैरविश्वासी र दुष्टकर्मीहरू खुट्ट्याउनैपर्छ; नत्र, तिनीहरू सजिलै उनीहरूद्वारा बहकाइनेछन्। विवेक र समझ भएको जोकसैले गैरविश्वासी र दुष्टकर्मीहरूप्रति इन्कारको मनोवृत्ति अपनाउनुपर्छ।

आफ्ना कर्तव्यहरू पूरा गर्नु नै परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। पहिला, व्यक्तिले कर्तव्य के हो भन्ने कुरा बुझ्नैपर्छ, र त्यसपछि बिस्तारै त्यसको साँचो अनुभव र बुझाइ प्राप्त गर्नुपर्छ। आफ्नो कर्तव्यप्रति एउटा व्यक्तिमा हुनुपर्ने न्यूननतम मनोवृत्ति के हो? यदि तँ “परमेश्वरको घरले मलाई यो कर्तव्य दिएकाले यो मेरै हो। म आफूलाई जे मन लाग्छ त्यही गर्न सक्छु, किनभने यो मेरो मामला हो र यसमा कसैले हस्तक्षेप गर्न मिल्दैन” भन्छस् भने, के यो स्वीकार्य मनोवृत्ति हो? कदापि होइन। यदि आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तेरो मनोवृत्ति यस्तै हुन्छ भने, तँ समस्यामा छस्, किनभने तेरो मनोवृत्ति सत्यता सिद्धान्तहरूअनुरूप छैन। तेरो मनोवृत्ति भनेको सत्यता खोज्नुभन्दा पनि आफूले जे चाह्यो त्यही गर्नु हो, परमेश्वरको डर मान्ने हृदय हुने त कुरै छाडौँ। यदि कुनै व्यक्ति ज्यादै मनोमानी गर्छ भने, उसले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा आफ्नो कामप्रति अलि हेलचेक्र्याइँ गर्नेछ। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा व्यक्तिमा कस्तो मनोवृत्ति हुनुपर्छ? उसमा परमेश्वरको आज्ञापालन गर्ने र उहाँलाई सन्तुष्ट तुल्याउने चाहना हुनैपर्छ। यदि उसले परमेश्वरले आफूलाई दिनुभएको आज्ञा पूरा गर्दैन भने, उसलाई आफूले परमेश्वरलाई निराश तुल्याएको छु भन्ने अनुभूति हुन्छ; र यदि उसले उचित तरिकाले आफ्नो कर्तव्य निभाएको छैन भने, उसलाई आफू मानव कहलिन योग्य छैनँ भन्ने महसुस हुन्छ। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा यस्तो मनोवृत्ति बोक्दा तँ वफादार हुन्छस्। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, तैँले पहिला परमेश्वरका मागहरू थाहा पाउनैपर्छ, अनि सत्यता र सिद्धान्तहरू खोज्नैपर्छ। तँ परमेश्वरले तँलाई दिनुभएको आज्ञा नै तेरो कर्तव्य हो भनेर निश्चित भएपछि, तैँले यस्तो सोच्दै खोजी गर्नुपर्छ, “म कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छु? मैले कुन सत्यता सिद्धान्तहरू अभ्यास गर्नुपर्छ? परमेश्वर मानिसहरूबाट के माग गर्नुहुन्छ? मैले के काम गर्नुपर्छ? मैले कस्तो व्यवहार गरेँ भने मेरा जिम्मेवारीहरू पूरा गर्छु र वफादार हुन्छु?” तँ कोप्रति वफादार बनिरहेको छस्? परमेश्वरप्रति। तँ परमेश्वरप्रति वफादार हुनैपर्छ र तैँले मानिसहरूप्रतिका तेरा जिम्मेवारीहरू पूरा गर्नैपर्छ। तैँले परमेश्वरका वचन र सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र तँ आफ्नो कर्तव्यप्रति अडिग रहनुपर्छ। आफ्नो कर्तव्यप्रति अडिग रहनुको अर्थ के हो? उदाहरणका लागि, यदि तँलाई एकदुई वर्षका लागि एउटा कर्तव्य दिइएको छ, तर अहिलेसम्म कसैले पनि तँलाई जाँच गरेको छैन भने, तैँले के गर्नुपर्छ? यदि कसैले पनि तँलाई जाँच गर्दैन भने, के त्यसको अर्थ त्यो कर्तव्य सकियो भन्ने हुन्छ? हुँदैन। कसैले तँलाई जाँच गर्छ कि गर्दैन वा तैँले के काम गर्दैछस् भनी निरीक्षण गर्छ कि गर्दैन भन्ने कुरामा ध्यान नदे; यो काम तँलाई सुम्पिएकाले यो तेरो जिम्मेवारी हो। यो काम कसरी गर्नुपर्छ र यसलाई कसरी राम्रोसँग गर्न सकिन्छ, तैँले त्यो कुरालाई विचार गर्नुपर्छ। यदि तँ सधैँ अरूले तँलाई जाँच गरून्, तँलाई निरीक्षण गरून् र तँलाई उत्साह देऊन् भनी पर्खन्छस् भने, के तेरो कर्तव्यप्रति तेरो आचरण यस्तै हुनुपर्छ? यो कस्तो किसिमको आचरण हो? यो एक निष्क्रिय आचरण हो; यो तैँले आफ्नो कर्तव्यप्रति अपनाउनुपर्ने आचरण होइन। यदि तैँले यस्तो मनोवृत्ति अपनाइस् भने, तेरो कर्तव्य निर्वाह निश्चय नै अपर्याप्त हुनेछ। पर्याप्त रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नका निम्ति, पहिला तँसित सही मनोवृत्ति हुनैपर्छ, र तेरो मनोवृत्ति सत्यता सिद्धान्तहरूसित मिल्नैपर्छ। यसरी मात्र तैँले आफ्नो कर्तव्य राम्ररी निभाउने सुनिश्चितता हुन्छ।

कर्तव्यको अर्थ, कर्तव्यप्रति व्यक्तिको मनोवृत्ति, साथै आफ्नो कर्तव्य पूरा गर्नु र जुनसुकै प्रकारको सांसारिक काममा संलग्न हुनुबीचको भिन्नताका सम्बन्धमा, अहिलेका लागि यी विषयहरूमा हाम्रो सङ्गति यहीँ टुङ्गिनेछ। तिमीहरू सबैले सङ्गति गरिएको विषयवस्तुमाथि मनन गर्नुपर्छ। उदाहरणका लागि, आफ्नो कर्तव्य निभाउनु र व्यक्तिगत व्यवस्थापनमा संलग्न हुनुबीचको सम्बन्धबारे किन छलफल गर्नु? यी विषयबारे छलफल गरेर प्राप्त गर्न खोजिएको परिणाम के हो? यसको सकारात्मक पक्ष भनेको, यसले मानिसहरूलाई आफ्ना कर्तव्यहरू पूरा गर्नका लागि सही मार्ग, सही दिशा, र सही सिद्धान्तहरू प्रदान गर्न सक्छ। यसको नकारात्मक पक्ष भनेको, यसले मानिसहरूलाई कस्ता व्यवहारहरूलाई व्यक्तिगत व्यवस्थापनमा संलग्न भएको मानिन्छ भनी चिन्न पनि मद्दत गर्न सक्छ। यी दुई पक्षहरूमा एकअर्काबीच अन्तरसम्बन्ध र भिन्नता दुवै छन्। यी दुई पक्षहरू बुझ्नु भनेको सत्यताका वचनहरू बुझ्नु मात्र होइन; तैँले यसमा के-कस्ता स्थिति र प्रकटीकरणहरू संलग्न छन् भनी बुझ्नैपर्छ। तँ यी स्थिति र प्रकटीकरणहरूबारे पूर्ण बुझाइ प्राप्त गरेर तिनलाई खुट्ट्याउन सक्ने भएपछि, तैँले अर्कोपटक यी गलत स्थिति र प्रकटीकरणहरू देखाउँदा, यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, तैँले यसबाट उम्कने मार्ग भेट्टाउनका लागि सत्यता खोज्नेछस्। यदि तँ सत्यताको यो पक्ष बुझ्दैनस् भने, तँ आफूलाई परमेश्वरप्रति समर्पित गरिरहेको छस् भन्ने सोचेर, अनि तँ आफ्नो कर्तव्य पूरा गरिरहेको छस् र धेरै वफादार छस् भन्ने विश्वास पनि गरेर व्यक्तिगत व्यवस्थापनमा संलग्न हुन सक्छस्। सत्यता नबुझ्नाले यस्ता परिस्थितिहरू उत्पन्न हुन्छन्। उदाहरणका लागि, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, जब तेरा केही सोचाइ र विधिहरूका साथै तेरा कार्यपछाडिका अभिप्राय र मनसायहरू खुलासा हुन्छन्, तब तँलाई तँ आफ्नो कर्तव्य पूरा गरिरहेको छैनस् र आफ्नो कर्तव्य पूरा गर्ने सिद्धान्त र दायराबाट विचलित भइसकेको छस् भन्ने महसुस हुन्छ; प्रकृति बदलिएको छ, र तँ वास्तवमा व्यक्तिगत व्यवस्थापनमा संलग्न भइरहेको छस्। तैँले यी सत्यताहरू बुझ्दा मात्र यसबाट उम्कने बाटो भेट्टाउन र यस्ता सोच, व्यवहार र प्रकटीकरणहरू अन्त्य गर्न सक्छस्। तर, यदि तँ सत्यता बुझ्दैनस् र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तेरो आफ्नै व्यक्तिगत व्यवस्थापनमा संलग्न हुन्छस् भने, तँ आफूले सिद्धान्तहरू उल्लङ्घन गरिसकेको तथ्यबारे बेखबर हुनेछस्। उदाहरणका लागि, पावलकै कुरा गरौँ; धेरै वर्षसम्म काम गर्दै दौडधुप गरेपछि, उसले अन्तत: यसो भन्दै परमेश्वरलाई करायो, “यदि तपाईं मलाई मुकुट दिनुहुन्न भने तपाईं परमेश्वर हुनुहुन्न!” हेर् त, उसले अझै यस्ता वचनहरू बोल्न सक्थ्यो। यदि आज मानिसहरूले सत्यता बुझेपछि पनि पावलकै मार्ग पछ्याउँछन् भने, तिनीहरू सत्यतालाई प्रेम गर्ने जन होइनन्। यदि तँ साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता बुझ्नु अत्यन्तै आवश्यक छ। सत्यता बुझ्दैनस् भने, तँ पक्कै पनि शैतानी स्वभावअनुसार जिइरहेको छस्। बढीमा, तैँले केवल केही नियमहरू पालना गर्नेछस् र सुस्पष्ट गल्तीहरू गर्नबाट बच्नेछस्, र अझै पनि तैँले सत्यता अभ्यास गरिरहेको भन्ठान्नेछस्। त्यो निकै दयनीय कुरा हुनेछ। त्यसैले, यदि कसैले सत्यता पछ्याउने चाहना र सत्यता वास्तविकतामा प्रवेश गर्ने उद्देश्य राख्छ भने, उसले पहिला सत्यता बुझ्नैपर्छ। सत्यता बुझ्नुको उद्देश्य भनेको मानिसहरूले अरू मानिस र घटनाहरू सही रूपमा बुझ्न, र समझशक्ति राख्न सकून्, तिनीहरूसित कार्यका सिद्धान्तहरू र अभ्यासको मार्ग होऊन्, र तिनीहरू परमेश्वरप्रति समर्पित हुन सकून् भन्ने हो। यदि तँ सत्यता बुझ्छस् भने, सबै प्रकारका मानिस, घटना र वस्तुहरू खुट्ट्याउन, अभ्यासको सही मार्ग रोज्न, सिद्धान्तअनुसार बोल्न र कार्य गर्न, आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, र परमेश्वरप्रति समर्पित हुन सक्छस्। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले हिँड्ने मार्ग निश्चय नै गलत हुनेछ, र तँसित कुनै जीवन प्रवेश हुनेछैन, न त तैँले मुक्ति पाउन सक्नेछस्। कतिपय मानिसहरू आफ्नो भेष बदल्नमा माहिर हुन्छन्, र सत्यता पछ्याइरहेजस्तो देखिन्छन्, तर तिनीहरूको व्यवहारमा कुनै सिद्धान्त हुँदैन, र तिनीहरूका सबै कार्यले बाधा र अवरोध निम्त्याउँछन्, र मण्डलीको काममा ज्यादै समस्या सिर्जना गर्छन्; यस्ता मानिसहरूले मुक्ति पाउन सक्दैनन्। त्यसकारण, बारम्बार प्रवचनहरू सुन्नु र परमेश्वरका वचनहरू खानु र पिउनुको उद्देश्य देखावटी रूपमा संलग्न हुनु वा हृदय भर्नु होइन, न त त्यो आफूलाई धर्मसिद्धान्तहरूद्वारा सुसज्जित पार्नु वा वाक्पटुता अभ्यास गर्नु नै हो; त्यसको उद्देश्य आफूलाई सत्यताद्वारा सुसज्जित पार्नु र सत्यताबारे बुझाइ हासिल गर्नु हो। भर्खरै छलफल गरिएको कुरा वास्तवमा परमेश्वरलाई चिन्नेसम्बन्धी सत्यताका सन्दर्भमा खासै गहन कुरा होइन; यो सबैभन्दा आधारभूत सत्यता हो। सत्यताबारे मानिसहरूको बुझाइ सीमित छ र त्यसको गहनता फरक-फरक हुन्छ, र त्यो व्यक्तिको क्षमतामाथि भर पर्छ। केही मानिसहरू बढी गहन रूपमा बुझ्छन्; अर्थात्, तिनीहरूमा बुझ्ने क्षमता हुन्छ। अरू मानिसहरू निकै सतही रूपमा बुझ्छन्। कसैको बुझाइको गहिराइ जति भए पनि, सत्यताको अभ्यास नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। तर, सत्यतालाई ठूलो वा सानो, माथिल्लो वा तल्लो स्तरको, र गहिरो वा सतही भनी वर्गीकरण गर्न मिल्दैन। यसको मतलब, सत्यतालाई सबैभन्दा आधारभूत र प्राथमिक भनी वर्गीकरण गर्न सकिन्छ, तर त्यसलाई गहिराइको मात्रामा वर्गीकरण गर्न सकिँदैन; यति मात्र हो कि, त्यसबारे मानिसहरूको बुझाइ र अनुभवको गहिराइ फरक-फरक हुन्छ। सत्यताको सारसँग सम्बन्धित जुनसुकै कुराको गहनता समान हुन्छ र त्यो जोकसैले पूर्ण रूपमा अनुभव गर्न वा बोक्न सक्ने कुरा होइन। सत्यताको जुनसुकै पक्षको कुरा आए पनि, मानिसहरूले तिनीहरूको बुझाइ र अभ्यासमा सबैभन्दा सतही खण्डबाट नै सुरु गर्नुपर्छ, त्यसपछि बिस्तारै सतहीबाट गहिराइतर्फ लाग्नुपर्छ, र सत्यताको साँचो बुझाइमा पुगेर वास्तविकताभित्र प्रवेश गर्नुपर्छ। सत्यताको सबैभन्दा सतही पक्ष त्यो हो, जसलाई शाब्दिक रूपमा बुझ्न सकिन्छ। यदि मानिसहरू त्यो अभ्यास गर्न वा त्यसमा प्रवेश गर्न सक्दैनन् भने, तिनीहरू केही वचन र धर्मसिद्धान्तहरू मात्र बुझ्छन्। वचन र धर्मसिद्धान्तहरू मात्र बुझ्नु भनेको सत्यताको सारभन्दा निकै पछि पर्नु हो। सत्यता नबुझ्ने मानिसहरू सधैँ शाब्दिक अर्थ व्याख्या गर्न सक्नुलाई नै सत्यता बुझ्नुका रूपमा लिन्छन्; यो मानव अज्ञानता मात्र हो। यदि सत्यतासम्बन्धी तेरो अभ्यासमा नियमहरू पालना गर्ने र तिनलाई कुनै सिद्धान्तविना कडाइका साथ लागु गर्ने मात्र पर्छन् भने, यो भनेकै सत्यता अभ्यास गर्नु र वास्तविकतामा प्रवेश गर्नु हो भन्ने नसोच्; तँ अझै त्यसबाट टाढै छस्। यदि तैँले अझै धेरै वर्षसम्म अभ्यास र अनुभव गर्न जारी राखिस्, र अझ बढी ज्योति पत्ता लगाइस्, जुन तेरो लागि अझै धेरै महिना वा वर्षसम्म अभ्यास र अनुभव गर्न पर्याप्त हुन्छ, र पछि, अझै थप अनुभवमार्फत् तैँले नयाँ ज्योति पत्ता लगाउन सकिस्, र यसैगरी चरणबद्ध रूपमा सतहबाट गहिराइमा पुग्न सकिस् भने, तैँले साँच्चिकै सत्यता वास्तविकतामा प्रवेश गरेको हुनेछस्। पूर्ण रूपमा सत्यता वास्तविकतामा प्रवेश गरेको व्यक्तिले मात्र सत्यता प्राप्त गरेको हुन्छ। यदि तँ कुनै दिन सत्यताको वास्तविकता जिइस् र तैँले सत्यता प्राप्त गरेको छस् भनेर भन्न सकिने भए पनि, वास्तवमा तैँले अनुभव गरेको र जानेको कुरा अझै सीमित नै हुन्छ। तैँले तँ सत्यता होस् भन्न मिल्दैन, न त पावलले जस्तै “मेरो लागि जिउनु ख्रीष्ट हो” (फिलिप्पी १:२१) भनी दाबी गर्न नै मिल्छ, किनभने सत्यता अत्यन्तै गहन हुन्छ, र व्यक्तिले जीवनकालको दशकौँको समयमा अनुभव गर्न र बुझ्न सक्ने कुरा अत्यन्तै सीमित हुन्छ। त्यसैले प्रस्टै छ कि मानिसहरू केही हदसम्म सत्यता बुझ्न त सक्छन्, तर सत्यता प्राप्त गर्नु कुनै पनि हालतमा सजिलो कुरा होइन। यदि व्यक्तिले सबैभन्दा सतही सत्यताहरू समेत बुझ्न वा अभ्यास गर्न सक्दैन भने, ऊ सत्यतालाई प्रेम नगर्ने व्यक्ति हो, र उसमा पक्कै पनि आत्मिक बुझाइ हुँदैन; सत्यताभन्दा निकै टाढा रहेका मानिसहरूले मुक्ति पाउन सक्दैनन्। कहिल्यै सत्यता नबुझ्ने मानिसहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्; तिनीहरू व्यर्थको जीवन जिउँछन्, र मानव खोल ओडेका पशु हुन्। कतिपय मानिसहरू केही धर्मसिद्धान्तहरू बुझेकै कारण तिनीहरूले सत्यता बुझ्ने भन्ठान्छन्। यदि तिनीहरू साँच्चिकै केही सत्यताहरू बुझ्छन् भने, किन आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्? किन तिनीहरूको व्यवहारमा कुनै सिद्धान्त हुँदैन? यसले धर्मसिद्धान्तहरू बुझ्नु बेकार छ भन्ने देखाउँछ; धेरै धर्मसिद्धान्तहरू बुझ्नु भनेको सत्यता बुझ्नु होइन।

कर्तव्यको विषयमा सङ्गति गरेपछि, अब हामी पर्याप्त कर्तव्य निर्वाहको विषयमा प्रवेश गर्नेछौँ। पर्याप्त कर्तव्य निर्वाहका सम्बन्धमा, “पर्याप्त” शब्दलाई विशेष जोड दिइएको छ। त्यसो भए, “पर्याप्त” लाई कसरी परिभाषित गर्नुपर्छ? यसमा पनि खोज्नु पर्ने सत्यताहरू छन्। के कामचलाउ काम गर्नु मात्र पर्याप्त हुन्छ? यो “पर्याप्त” भन्ने शब्दलाई कसरी बुझ्‍ने र लिने भन्ने बारेमा विशेष जानकारीहरूका लागि तैँले धेरै वटा सत्यहरू बुझ्नुपर्छ र सत्यताको बारेमा अझ धेरै सङ्गतिहरू गर्नुपर्छ। तेरो कर्तव्य पूरा गर्ने क्रममा, तैँले सत्यता र सिद्धान्तहरू बुझ्नैपर्छ; तब मात्र तँ कर्तव्यलाई पर्याप्त रूपमा पूरा गर्ने स्थितिमा पुग्न सक्छस्। मानिसहरूले किन तिनीहरूका कर्तव्यहरू पूरा गर्नुपर्छ? मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर उहाँको आज्ञालाई स्वीकार गरेपछि, तिनीहरूसँग परमेश्‍वरको घरको काम र परमेश्‍वरको कामको स्थलमा तिनीहरूको भागको जिम्मेवारी र कर्तव्य हुन्छ, अनि यो जिम्‍मेवारी र कर्तव्यको कारण तिनीहरू परमेश्‍वरको कामको एउटा तत्व, उहाँको काम प्राप्त गर्ने व्यक्ति, र उहाँको मुक्ति पाउने व्यक्ति बनेका हुन्छन्। मानिसहरूको मुक्ति र तिनीहरूले आफ्ना कर्तव्यहरू कसरी पूरा गर्छन्, तिनीहरूले त्यो राम्ररी गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरूले त्यो पर्याप्त रूपमा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको बीचमा एउटा ठूलो सम्बन्ध हुन्छ। तँ परमेश्‍वरको घरको हिस्सा बनेको हुनाले र तैँले उहाँको आदेश स्वीकार गरेको हुनाले, अब तँसँग एउटा कर्तव्य छ। यो कर्तव्य कसरी पूरा गर्नुपर्छ त्यो तैँले भन्ने कुरा होइन; यो परमेश्‍वरले भन्नुहुने कुरा हो; यो सत्यताले भन्ने कुरा हो; र यो सत्यताको मापदण्डहरूद्वारा तय गरिने कुरा हो। त्यसकारण, परमेश्‍वरले मानिसका कर्तव्यहरू कसरी मापन गर्नुहुन्छ, उहाँले तिनलाई केअनुसार मापन गर्नुहुन्छ भन्‍नेबारे मानिसहरूले जान्नु र बुझ्नुपर्छ र स्पष्ट हुनुपर्छ—यो खोजी गर्न योग्य कुरा हो। परमेश्‍वरको काममा, फरक-फरक मानिसहरूले फरक-फरक कर्तव्यहरू पाउँछन्। यसको मतलब, फरक-फरक प्रतिभा, क्षमता, उमेर, र अवस्थाका मानिसहरूले फरक-फरक समयमा फरक-फरक कर्तव्यहरू पाउँछन्। तैँले जे कर्तव्य पाएको भए पनि, तैँले त्यो जस्तो समय वा परिस्थितिमा पाएको भए पनि, तेरो कर्तव्य भनेको तैँले निर्वाह गर्नुपर्ने एउटा जिम्मेवारी र दायित्व मात्र हो, त्यो तेरो व्यवस्थापन, वा व्यवसाय होइन। परमेश्‍वरले तेरो कर्तव्य निर्वाहकाका लागि तय गर्नुभएको मानक भनेको यो “पर्याप्त” हुनुपर्छ भन्‍ने हो। “पर्याप्त” हुनु भनेको के हो? यसको अर्थ परमेश्‍वरका मागहरू पूरा गर्नु र उहाँलाई सन्तुष्ट पार्नु हो। परमेश्‍वरले त्यो पर्याप्त छ भनेर भन्नुपर्छ र यसले उहाँको सराहना पाउनुपर्छ। तब मात्र तेरो कर्तव्य निर्वाह पर्याप्त भएको हुनेछ। यदि परमेश्‍वरले त्यो पर्याप्त छैन भन्‍नुहुन्छ भने, तैँले आफ्नो कर्तव्य जति नै लामो समयदेखि निभाएको भए पनि, वा जति नै मूल्य चुकाएको भए पनि, त्यो पर्याप्त हुँदैन। अनि, यसको परिणाम के हुनेछ? यो सब सेवामात्र गरिएको हो भनेर वर्गीकृत हुनेछ। निष्ठावान्‌ हृदय भएका थोरै सेवाकर्ताहरूलाई मात्रै विपत्तिहरूमा जोगाइनेछ। यदि तिनीहरू आफूले दिने सेवामा निष्ठावान्‌ छैनन् भने, तिनीहरूको जोगिने कुनै आशा हुनेछैन। सरल रूपमा भन्दा, तिनीहरू विपत्तिहरूमा नष्ट हुनेछन्। यदि कसैले आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै लक्ष्यमा पुग्दैन भने, कर्तव्य निर्वाह गर्ने उसको अधिकार खोसिनेछ। यो अधिकार खोसिएपछि, केही मानिसहरू निष्कासित हुनेछन्। निष्कासित भएपछि, तिनीहरूलाई अरू माध्यमद्वारा तह लगाइनेछ। के “अरू माध्यमद्वारा तह लगाइनु” को अर्थ निष्कासित गरिनु हो? यसै भन्न सकिन्न। परमेश्वरले मुख्यगरी उक्त व्यक्तिले पश्चात्ताप गरेको छ कि छैन भनी हेर्नुहुन्छ। त्यसकारण, तैँले कसरी कर्तव्य निर्वाह गर्छस् भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण हुन्छ, र मानिसहरूले त्यसलाई गम्भीरता र इमान्दारीपूर्वक लिनुपर्छ। तेरो कर्तव्य निर्वाह तेरो जीवन प्रवेश र सत्यता वास्तविकतामा प्रवेशका साथै तेरो मुक्ति र सिद्धता प्राप्ति जस्ता ठूला कुराहरूसित सिधै जोडिएको हुनाले, परमेश्वरमा विश्वास गर्दा तैँले आफ्नो कर्तव्य निर्वाहलाई सबैभन्दा महत्त्वपूर्ण कामका रूपमा लिनुपर्छ। तँ त्यसबारे अन्यौलमा पर्न मिल्दैन। आफ्ना कर्तव्य पूरा गर्ने क्रममा, विविध मानिसहरूले फरक-फरक व्यवहारहरू प्रस्तुत गर्नेछन्। यी फरक-फरक व्यवहारहरू मानिसहरूले मात्र नभई परमेश्वरले समेत देख्नुहुन्छ। मण्डलीले मात्र अङ्क दिने र मूल्याङ्कन गर्ने होइन; अन्ततः, परमेश्वरले पनि आफ्नो कर्तव्य निर्वाह गर्ने ती सबै मानिसहरूलाई अङ्क दिनुहुनेछ र तिनीहरूको मूल्याङ्कन गर्नुहुनेछ। कतिपय मानिसहरू आधारभूत रूपमा मापदण्ड पूरा गर्छन् भने अरू चाहिँ धेरै नै अपर्याप्त हुन्छन्। कतिपय अपर्याप्त मानिसहरू अझै पनि निगरानीमा हुनेछन् भने केही चाहिँ परमेश्वरद्वारा निर्णायक रूपमा वर्गीकृत भइसकेका हुनेछन्। परमेश्वरले क-कसलाई अपर्याप्त मानिसका रूपमा हेर्नुहुन्छ? कमजोर मानवता भएका र विवेक र समझ नभएकाहरू, जो निरन्तर रूपमा लापरवाह र झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरूले जति नै परमेश्वरको अनुग्रह पाउने भए पनि, तिनीहरू पारस्परिकतामा रुचि राख्दैनन् र अकृतज्ञत हुन्छन्। यसमा स्वतः दुष्टकर्मीहरू पनि अवश्यै पर्छन्। कमजोर मानवता भएको र विवेक र समझ नभएको जोकोहीले अपर्याप्त कर्तव्य निर्वाह गर्छ भन्न सकिन्छ। सुस्पष्ट दुष्ट मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अनगिन्ती गल्तीहरू गरेरै छाड्नेछन्। नहटाइन्जेल तिनीहरू दुष्टता गरिरहनेछन्। यस्ता मानिसहरूलाई तत्काल हटाइनुपर्छ। कतिपय त्यस्ता मानिसहरू पनि अवश्यै छन्, जसमा मानवताको केही झल्को भएजस्तो देखिन्छ र जो खराब देखिँदैनन्, तर तिनीहरूको कर्तव्य निर्वाह लापरवाह र झाराटारुवा हुन्छ र त्यसले कुनै नतिजा दिँदैन। काटछाँट र निराकरण भोगेपछि अनि सत्यताबारे सङ्गति पाएपछि, अन्त्यमा तिनीहरूको काम कस्तो हुन्छ र तिनीहरूले इमानदारीपूर्वक पश्चात्ताप गरेका छन् कि छैनन् भन्नेमा भर पर्छ। यस्ता मानिसहरूका हकमा, परमेश्वर अझै प्रतीक्षा र निगरानीमा हुनुहुन्छ। जहाँसम्म कमजोर मानवता भएका र विवेक र समझ नभएका, साथै सुस्पष्ट दुष्ट मानिसहरूका हकमा भन्नुपर्दा, परमेश्वर तिनीहरूबारे अन्तिम निर्णयमा पुगिसक्नुभएको छ—तिनीहरू पूर्ण रूपमा निष्कासित हुनेछन्।

अब, अपर्याप्त कर्तव्य निर्वाहका प्रकटीकरणहरू के-कस्ता हुन्छन् भन्नेबारे सङ्गति गरौँ। म पहिला एउटा उदाहरण सङ्गति गर्नेछु, र तिमीहरू सबैले यो व्यक्तिले पर्याप्त रूपमा र परमेश्वरका मागबमोजिम कर्तव्य निर्वाह गरिरहेको छ कि छैन भनी खुट्ट्याउन सक्छौ। एउटा व्यक्ति थियो, जो मण्डलीको अगुवा छानिएको थियो र एक अर्धविश्वासी परिवारको घरमा पाहुना बस्थ्यो, र उक्त परिवारमा केही सदस्यहरू विश्वासी थिए र केही चाहिँ थिएनन्। तर, तिनीहरू सबैको एउटा छुट्टै विशेषता थियो, त्यो के थियो भने तिनीहरू अख्तियारीमा भएका मानिसहरूको मुड ठम्याउन र उनीहरूलाई चिल्लो घस्न माहिर थिए। यो विशेषताले उक्त अगुवाका निम्ति अनजानमा कस्तो परिणाम निम्त्याउनेथ्यो? (यसले परीक्षा निम्त्याउनेथ्यो।) त्यसले परीक्षा निम्त्यायो। यो उसका लागि आशिष् थियो कि दुर्भाग्य? त्यो आशिष् थियो कि दुर्भाग्य भन्ने कुरा हेर्न बाँकी छ; हामी जारी राखौँ। यस परिवारले उक्त अगुवालाई पाहुना राखेपछि, तिनीहरूले उसलाई हरेक छाकमा मासुभात खुवाउँथे। तिनीहरू किन अगुवालाई यसरी राख्थे? के त्यो प्रेमका कारण थियो? के तिनीहरूले ब्रदर-सिस्टरहरूलाई यसरी नै राख्नेथिए? पक्कै राख्नेथिएनन्। अगुवा त्यहाँ बस्दा तिनीहरू उसका लागि हरदिन मासु पकाउँथे। अन्त्यमा, खानाका कारण प्रसन्न भएर अगुवाले उक्त परिवारलाई भन्यो, “तिमीहरूको पूरै परिवारले परमेश्वरलाई प्रेम गर्छ। तिम्रो आमा राज्यमा प्रवेश गर्न सक्छिन्, तिम्रो छोरा राज्यमा प्रवेश गर्न सक्छ, र तिमी र तिम्री श्रीमती पनि राज्यमा प्रवेश गर्न सक्छौ। भविष्यमा, तिम्रो पूरै परिवार राज्यमा प्रवेश गर्न सक्छ।” यो सुनेर, उक्त परिवार अत्यन्तै हर्षित भयो, र सोच्यो, “हाम्रो पूरै परिवार राज्यमा प्रवेश गर्न सक्छ, हामीमध्येका अविश्वासीहरू पनि प्रवेश गर्न सक्छन्। हामीले उहाँलाई दिँदै आएको मासु खेर नगएजस्तो देखिन्छ; हामीले उहाँलाई मासु खुवाइराख्नुपर्छ।” वास्तवमा, यो परिवारसित राज्यमा प्रवेश गर्नुको अर्थ के हो भन्नेबारेको बुझाइ निकै कम थियो, तर तिनीहरूलाई यो राम्रो कुरा हो भन्ने थाहा थियो। परमेश्वरमा विश्वास गर्नेहरूमध्ये को चाहिँ स्वर्गको राज्यमा प्रवेश गरेर आशिष् पाउन चाहँदैन होला? तिनीहरूले सोचे, “यदि अगुवाले हामी राज्यमा प्रवेश गर्न सक्छौँ भनेर भन्नुहुन्छ भने हामी सक्छौँ, होइन त? अगुवाको कुरा नै अन्तिम हुन्छ; आखिरमा अगुवाले नै परमेश्वरको प्रतिनिधित्व गर्ने हो!” पछि, अगुवाले तिनीहरू राज्यमा प्रवेश गर्न सक्छन् भनेर जति बढी भन्थे, तिनीहरू उसलाई त्यति नै भव्य भोजन चढाउँथे। बिस्तारै, यो अगुवा अरू परिवारकहाँ जानै चाहेन, किनभने तिनीहरू उसलाई यी राम्रा कुराहरू चढाउँदैनथे वा यसरी चिल्लो घस्दैनथे। त्यसपछि चाँडै अगुवाको तौल झन्-झन् बढ्दै गयो; उसको टाउको पनि झन् मोटो भयो, “मान्छेको टाउको” बाट “सुँगुरको टाउको” बन्यो। सह-सेवकहरूको एउटा भेलामा, ऊ अलग्गै चिनिन्थ्यो। उसलाई नदेखेको एक महिना भएको हुँदा, उसको तौल यति बढेको थियो कि तिनीहरूले उसको कामबारे तुरुन्तै प्रश्न गरे। तिनीहरूले गम्भीर समस्याहरू पत्ता लगाए र उसलाई कडाइका साथ निराकरण गरे, उसको समम्याको सार विश्लेषण गरे र अन्त्यमा उक्त झूटा अगुवालाई प्रतिस्थापित गरे। थप छानबिनले थप समस्याहरू खुलायो: यो झूटो अगुवा कुनै साँचो काम गर्थेन र हरदिन आफ्नो हैसियतको लाभमा रमाउँथ्यो। ऊ आफूलाई चिल्लो घस्नेहरूलाई निगाह देखाउँथ्यो, तिनीहरूलाई बढावा दिन्थ्यो, र उसलाई उपहार नचढाउनेहरूलाई दबाउँथ्यो। ऊ आफ्नी श्रीमतीले उसको लागि अझ बढी कुखुराको मासु ल्याउनुपर्ने माग समेत गर्थ्यो। तिमीहरूलाई उक्त झूटो अगुवाको कर्तव्य निर्वाहबारे के लाग्छ? आफ्नो कर्तव्यप्रति उसको मनोवृत्ति कस्तो थियो? ऊ वास्तवमा काम गरिरहेको थिएन; यो त ऊ अधिकारी बन्नका लागि मात्र कतै गएको जस्तो भयो। नत्र, उसको तौल कसरी त्यति धेरै बढेको हुनेथ्यो त? यसका दुइटा कारणहरू छन्: एकातिर, उसले जानाजानी त्यस्तो मेजमान परिवार रोजेको हो, जहाँ उसले मासु खान, अनि त्यहाँ बसेर निरन्तर ऐसआराम गर्न सकोस्; अर्कोतिर, कर्तव्य निर्वाह गर्ने क्रममा उसमा पक्कै पनि बोझको भावना थिएन, र उसले कुनै कठिनाइ भोगेन। यदि कुनै अगुवा वा सेवकमा बोझको भावना छ भने, मण्डलीको ठूलो कार्यभार र तत्काल समाधान गर्नुपर्ने थुप्रै समस्याहरू देखेपछि, के उसलाई तनाव र चिन्ता हुनेथिएन र? यो चिन्ताले उसलाई कार्य गर्न घचेट्नेथियो; उसले यी समस्याहरूलाई तुरुन्तै सम्बोधन गर्न सुरु गर्नेथियो, ऊर्जा खर्चनेथियो र केही कठिनाइहरू भोग्नेथियो। शारीरिक रूपमा, उसको केवल तौल घट्नेथियो; यो प्राकृतिक नियम हो। कस्तो अवस्थामा चाहिँ उसले धेरै खाइरहने र तौल बढाइरहनेथियो? दिनभरी चित्त बुझुञ्जेल खाने र अरू कुनै पनि कुरामा ध्यान नदिने, बोझमुक्त रहने, उच्च र शक्तिमान् पदमा बस्ने, समुदाय र कार्यस्थलबाट अलग रहने, देहसुखमा रमाउने गरेमा मात्र यस्तो हुनेथियो। त्यसपछि मात्र उसको तौल बढिरहने, र एकै महिनामा “मान्छेको टाउको” बाट “सुँगुरको टाउको” मा परिणत हुनेथियो। त्यसोभए, यो अगुवाले आफ्नो कर्तव्य कति निर्वाह राम्ररी गरिरहेको थियो त? अगुवाका रूपमा उसको भूमिका परिवर्तन भएको थियो; उसको ध्यान आफ्ना कर्तव्यहरू पूरा गर्नतिर नभई ऐसआराम र हैसियतका लाभहरूमा रमाउनतिर थियो। ऊ सरकारी अधिकारीजस्तो व्यवहार गरिरहेको थियो। उसले वास्तविक काम पन्छाउने मात्र नभई ऊ गलत काममा पनि संलग्न हन्थ्यो। यदि कसैले उसलाई चिल्लो घसेन वा मिठो खाना दिएन भने, ऊ त्यस व्यक्तिलाई दबाउँथ्यो। साथै, ऊ त्यस व्यक्तिलाई निराकरण गर्न ब्रदर-सिस्टरहरूलाई उक्साउँथ्यो, र अन्त्यमा मानिसहरू ऊप्रति आक्रोशित भए। मानिसहरूलाई ऊदेखि विकर्षण हुन थाल्यो र तिनीहरूले आफूलाई ऊबाट टाढा राख्न थाले। उसलाई हटाउनुका कारणहरू थाती राखेर उसको कर्तव्य निर्वाहको पर्याप्तताबारे मात्र छलफल गरौँ। हैसियतका लाभहरूमा उसको भोगविलास र साँचो कामको कमी नै सबैभन्दा गम्भीर समस्या हो। ऊ परमेश्वरका चुनिएका मानिसहरूको सेवा गरिरहेको थिएन; ऊ तिनीहरूप्रति एक अधिकारीको व्यवहार गरिरहेको थियो, र कुनै पनि रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको थिएन। अगुवाका रूपमा काम गर्दा, उसले आफ्नो कर्तव्य निर्वाहमा थोरै पनि वफादारी देखाएन, आफ्नो हृदय र ऊर्जा समर्पित गर्ने त कुरै छाडौँ। उसले खान, पिउन र रमाउनमा मात्र हृदय र ऊर्जा लगायो। ऊ हैसियतका लाभहरूमा कसरी रमाउने भन्ने सोचेर दिमाग खियाउँथ्यो, र उसले मेजमान परिवारबाट पाएको चाकडी रोक्ने हेतुले तिनीहरूलाई सत्यता सङ्गति गर्ने काम गरेन। साथै, उसले तिनीहरूलाई यसरी पाहुना पालेमा मात्र तिनीहरू राज्यमा प्रवेश गर्न र इनाम पाउन योग्य तुल्याइनेछन् भनेर धोका दियो। के यो दुष्टता गरेको होइन र? यदि उसले पाहुना राख्ने परिवारलाई त यस्तो व्यवहार गर्‍यो भने, झन् उसले मण्डलीको काममा के गर्थ्यो होला? उसले परमेश्वरका चुनिएका मानिसहरूलाई कस्तो व्यवहार गर्थ्यो होला? उसको व्यवहार पक्कै पनि धोका, लापरवाही, र झाराटराइले भरिएको हुन्थ्यो। के यो व्यक्तिलाई कर्तव्यको अर्थ साँच्चिकै थाहा थियो? के उसलाई परमेश्वरले उसलाई सुम्पनुभएको काम के हो भन्ने थाहा थियो? उसले यो आज्ञालाई केका रूपमा लियो? उसले त्यसलाई आफ्नो हैसियतका लाभहरूमा रमाउने पुँजी र आधारका रूपमा लियो, फलस्वरूप, उसले अनेकौँ दुष्कर्म गर्‍यो, मण्डली जीवनमा बाधा पुर्‍यायो र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा क्षति गर्‍यो। कर्तव्य निर्वाहको यो तरिका अपर्याप्त मात्र होइन, यो दुष्ट कार्यमा पनि परिणत भएको छ। आफ्नो कर्तव्य निर्वाहमा कुनै पर्याप्त तत्त्व नहुँदा, के परमेश्वरले उसलाई सम्झन सक्नुहुन्छ? (सक्नुहुन्न।) प्रस्ट रूपमा सक्नुहुन्न, जुन निकै दयनीय कुरा हो। सत्यता नबुझ्नु दयानीय कुरा हो—के सत्यता बुझेर पनि त्यसलाई अभ्यास नगर्नु अझ बढी दयनीय कुरा हो? (हो।) यो पहिलो घटना, अर्थात् “मान्छेको टाउको सुँगुरको टाउकोमा परिणत भएको” घटना हो। यो घटना तुलनात्मक रूपमा सामान्य छ: यसमा हैसियतका लाभहरूमा रमाउने, अलिकति पनि वफादारीविना आफ्नो कर्तव्य निर्वाह गर्ने, र हृदयमा अलिकति पनि परमेश्वरको डर नमान्ने कुराहरू पर्छन्। यस अगुवाले परमेश्वरले दिनुभएको कर्तव्यलाई आफ्नो हैसियतका लाभहरूमा रमाउने पुँजीका रूपमा लियो। यो खुट्ट्याउन सजिलो छ। पहिलो घटनाको नाम याद गर, ताकि भविष्यमा तिमीहरूले योसँग तुलना गर्न, अरूलाई खुट्ट्याउन, र आफूलाई प्रेरित गर्न स्क। मैले बताएको घटनाबारे तिमीहरूलाई के लाग्छ? के तिमीहरू यस्ता मानिस र यस्ता व्यवहारलाई घृणा गर्छौ? (गर्छौँ।) यदि तिमीहरू परमेश्वरको आज्ञा स्विकार्छौ भने, के तिमीहरू यस्ता कार्यहरू गर्न सक्थ्यौ? यदि तिमीहरूमा त्यो झूटो अगुवामा भन्दा बढी समझ हुन्थ्यो र तिमीहरू अलि संयमित हुन्थ्यौ, र सत्यताको निम्ति लागिपर्न सक्थ्यौ भने, अझै केही आशा बाँकी छ। तर यदि तिमीहरू पनि ऊजस्तै खान, पिउन र हैसियतका लाभहरूमा रमाउन सक्थ्यौ भने, तिमीहरूलाई खुलासा गरेर निकालिनेनेछ; तिमीहरू विशुद्ध रूपमा झूटो अगुवा र परमेश्वरद्वारा घृणित व्यक्ति हुनेछौ। अब तिमीहरूमा केही समझशक्ति छ र तिमीहरू केही सत्यताहरू बुझ्छौ। तँ आफूलाई कतिसम्म संयमित र काबुमा राख्न सक्छस् भन्ने कुराले तेरो मुक्ति पाउने आशा कति छ भन्ने कुरा निर्धारण गर्छ; ती कुराहरू सिधै अन्तरसम्बन्धित छन्। यदि तँ आफूलाई काबुमा राख्न सक्दैनस्, र आफ्ना प्राथमिकताअनुसार कार्य गर्न जारी राख्छस्, भ्रष्ट स्वभाव अपनाउँछस् र हैसियतका लाभहरूमा रमाउँछस्, कसैले चिल्लो घस्दा खुसी भएर मात्तिन्छस्, कुनै आत्मचिन्तन वा साँचो पश्चात्ताप गर्दैनस् भने, तैँले मुक्ति पाउने आशा शून्य हुन्छ।

अब, अर्को घटनाबारे कुरा गरौँ। सुसमाचार विस्तार गर्ने क्रममा, मण्डलीका धेरै मानिसहरू सुसमाचार फैलाउन विभिन्न ठाउँहरूमा जान्छन्। सुसमाचार फैलाउने काम जोकसैको कर्तव्य हो। तैँले त्यसलाई जसरी लिए पनि वा तँलाई यो कर्तव्य राम्रो लागे पनि नलागे पनि, सामान्यतया, यो परमेश्वरले मानिसहरूलाई दिनुभएको आज्ञा हो। मानिसहरूका लागि परमेश्वरको आज्ञाको कुरा गर्नुपर्दा, यसमा मानिसहरूको जिम्मेवारी र मानिसहरूको कर्तव्य पनि संलग्न हुन्छन्। यसमा मानिसहरूको कर्तव्य संलग्न हुने भएकाले, यसमा व्यक्तिले कसरी आफ्नो कर्तव्य निर्वाह गर्छ भन्ने कुरा पनि संलग्न हुन्छ। सुसमाचार फैलाउने क्रममा, कतिपय मानिसहरू विशेषगरी सम्पन्न क्षेत्र र समृद्ध घरपरिवारहरूतिर लक्षित हुन्छन्। तिनीहरू कुनै व्यक्तिले राम्रो गाडी चढेको वा ठूलो घरमा बसेको देख्दा डाहा र ईर्ष्या गर्छन्। तिनीहरू आफूलाई राम्रो सत्कार गर्ने घरपरिवार भेटेमा बसाइँ लम्ब्याउँछन् र हृदयमा लोभ गर्छन्। तिनीहरू आफूले सुसमाचार फैलाउने क्रममा योगदान गरेकाले आफूले केही अनुग्रह पाउनुपर्छ भन्ने सोच्छन्। त्यसोभए तिनीहरूको सुसमाचार-प्रचारले के नतिजा दिन्छ? तिनीहरू देहसुखमा रमाउने, भौतिक आनन्दसित आफ्नो सेवा साट्ने काम मात्र गर्छन्; यो तिनीहरूको श्रमको बेचबिखन बन्छ। दुई-तीन वर्षपछि, तिनीहरूले त्यहाँ सुसमाचार फैलाएर केही मानिसहरू पाएका हुन्छन् र एउटा मण्डली समेत स्थापना गरेका हुन्छन्, र यसमार्फत् केही पुँजी सङ्कलन गरेका हुन्छन्। त्यसपछि तिनीहरू बहकिन थाल्छन्, र “गौरवपूर्वक” आफ्नो गृहनगर फर्कुन्जेल तिनीहरूमा चमक हुन्छ, र तिनीहरू वास्तवमै सौखिन बनेका हुन्छन्। तिनीहरू आफूसँगै उच्चकोटीका घरायसी सामान र विद्युतीय सामग्रीहरू लिएर आउँछन्, र तिनीहरूले शिरदेखि पाउसम्म कपडा लगाएका हुन्छन्। स्थानीय मानिसहरूले तिनीहरूलाई चिन्नै छाड्छन्, र तिनीहरूले कतै गएर धन कमाएको हुनुपर्छ भन्ठान्छन्। के यहाँनेर समस्या छैन र? तिनीहरू धेरै वर्षदेखि विश्वासी रहिआएका छन्, सधैँ घरभन्दा टाढा रहेर कर्तव्य निर्वाह गरेका छन्। सुरुवातमा, तिनीहरूको घरमा वास्तवमा त्यस्तो मूल्यवान् कुरा केही पनि थिएन, तर अब तिनीहरू मानिसहरूले दिने राम्रा कपडा र राम्रा सामानहरू सँगै लिएर आउँछन्; तिनीहरू राम्रा कपडा लगाउनुका साथै सुसज्जित पनि हुन्छन्। तिनीहरू यसलाई परमेश्वरको अनुग्रह ठान्छन्। तर यी वस्तुहरू वास्तवमा कहाँबाट आएका हुन्? ती तिनीहरूले सुसमाचार फैलाएर गरेको श्रमसँग साटिएका हुन् भनेर भन्न सकिन्छ। अरू केही मानिसहरूले यस व्यक्तिको वर्षौँको आस्था र सुसमाचार फैलाउनमा उसको मेहनत देखेर उसलाई केही राम्रा चिजहरू दिन्छन्। के यो “दिने काम” परोपकार हो? के यो करुणा हो? यदि यी राम्रा चिजहरू सुसमाचार फैलाएका कारण प्राप्त भएका हुन्, अरूले उसलाई चिल्लो घसेर दिएका हुन् भने, के उसले ती चिजहरूलाई परमेश्वरको निगाह वा परमेश्वरको अनुग्रह ठान्नु उचित हो? सिधै भन्नुपर्दा, ऊ सुसमाचार फैलाउने अवसरको फाइदा उठाएर यी वस्तुहरू आर्जन गरिरहेको हुन्छ। यदि ऊ सधैँ आफ्नो गरिबीबारे अरूसामु दुखेसो पोखिरहन्छ, र सँगसँगै फलानो चिज मन पर्छ पनि भन्छ, अनि मानिसहरूले अनकनाउँदै उसलाई त्यो चिज दिन्छन् भने, के यसले बलजफती र डर-धम्की झल्काउँदैन र? सुसमाचार प्रचार गर्ने कतिपय मानिसहरू अरूलाई यसो भन्न रुचाउँछन्, “हामी सुसमाचार प्रचारकहरू परमेश्वरका दूत हौँ, हामीलाई परमेश्वरले पठाउनुभएको हो। तिमीहरू हामीबाटै सुसमाचार पाउँछौ—तिमीहरूले कस्तो अद्भुत आशिष् र लाभ पाइरहेका छौ! तिमीहरू अत्यन्तै धनी छौ र तिमीहरूले परमेश्वरको धेरै अनुग्रह पाएका छौ, त्यसैले के तिमीहरूले केही कृतज्ञता देखाउनुपर्दैन र? के तिमीहरूले आफ्ना उब्रेका वा प्रयोग नभएका केही वस्तुहरू हामीलाई बाँड्नुपर्दैन?” यसरी मनाइएपछि, कतिपय मानिसहरू लाजका कारण राजी हुन्छन्, र सुसमाचार प्रचारकहरू तिनीहरूको कुरा पूर्णतया जायज छ भन्ठान्छन्। के दाताहरूले साँच्चिकै इच्छुक भएरै दिन्छन् त? दाताहरू इच्छुक भए पनि नभए पनि, के यी वस्तुहरू सुसमाचार प्रचारकहरूले लिनुपर्ने चिज हुन्? (होइनन्।) कतिपयले तर्क गर्छन्: “मैले यी चिजहरू किन नलिने? मैले मेहनत गरेर सुसमाचार प्रचार गरेको छु; के यी थोरै चिजहरू लिनु परमेश्वरको अनुग्रह होइन?” तँ सुसमाचार प्रचार गर्दा के गरिरहेको हुन्छस्? के यो तैँले जीवन गुजारा गर्ने जागिर हो? सुसमाचार प्रचार गर्ने काम कुनै लेनदेन होइन; यो तेरो कर्तव्य हो। जब तँ मानिसहरूबाट वस्तुहरू माग गर्छस्, तँ मूलतः परमेश्वरबाट वस्तुहरू माग गरिरहेको हुन्छस्। तर तँ परमेश्वरकहाँ पुग्न नसक्ने, र उहाँसँग माग्ने आँट गर्न नसक्ने भएकाले, तँ बरु मानिसहरूकहाँ पुग्छस्, र थुप्रै आत्मिक सिद्धान्तहरू भनेर तिनीहरूलाई भ्रममा पार्छस्। तँ आफूले सुसमाचार प्रचार गरेर केही अनुयायीहरू पाएकाले तैँले सत्कर्म गरेको छस् र तँ तेरा प्रयासका लागि क्षतिपूर्तिको हकदार छस् भन्ने अनुभूति गर्छस्। तँलाई सिधै पैसा माग्नु राम्रो हुन्छ भन्ने लाग्दैन, त्यसैले पैसाको सट्टामा वस्तुहरू माग्छस्, र यसो गर्दा तेरा प्रयासहरू खेर गएका हुँदैनन् भन्ने विश्वास गर्छस्। के यो आफ्नो कर्तव्य पूरा गर्नु हो? (होइन।) तेरा कार्यहरूको प्रकृति परिवर्तन भएको छ। तैँले सुसमाचार प्रचारलाई के बनाएको छस्? तैँले परमेश्वरको सुसमाचारलाई व्यापारीकरण गरेको छस्, र त्यसलाई यी भौतिक वस्तुहरूसँग साट्छस्। यो कस्तो व्यवहार हो? (अवसरवाद।) यो अवसरवाद हो? के यसलाई अवसरवाद भन्नु भनेको त्यसको गम्भीरता घटाउनु हो? के यो वास्तवमै दुष्कर्म गर्नु होइन र, के यो दुष्ट कार्य होइन र? (हो।) यसलाई किन दुष्ट कार्य मानिन्छ? सुसमाचार फैलाउनु भनेको कर्तव्य निर्वाह गर्नु र परमेश्वरको गवाही दिनु हो; तैँले परमेश्वरको गवाही दिँदा, साथसाथै तँ एउटा व्यक्तिकहाँ सुसमाचार पुर्‍याउँछस् र परमेश्वरले उक्त व्यक्ति पाउनुहुन्छ, र तैँले यसरी नै आफ्नो मिसन पूरा गरेको हुन्छस्। तैँले आफ्नो मिसन पूरा गरेकोमा जे पाउनुपर्ने हो, परमेश्वरले त्यो कुरा तँलाई दिनुहुनेछ; तैँले कसैसँग माग्नु पर्दैन, न त कसैले यो सुसमाचारसँग परोपकार साट्नुपर्ने कुनै कारण नै हुन्छ। परमेश्वरको सुसमाचार अमूल्य छ; जतिसुकै ठूलो रकमले पनि त्यो किन्न सकिँदैन, न त त्यसलाई कुनै कुरासँग साट्न मिल्छ। यदि तँ सुसमाचार प्रचारलाई भौतिक लाभ प्राप्त गर्ने अवसरका रूपमा प्रयोग गर्छस् भने, तैँले आफ्नो गवाही गुमाउँछस्; यो निन्दनीय शैली र परमेश्वरको अपमानको चिन्ह हो। साथै, तैँले मानिसहरूलाई सुसमाचार सुनाएपछि तिनीहरूलाई तँप्रति कृतज्ञ बनाउनु कस्तो प्रकृति हो? यो परमेश्वरको महिमा चोर्नु हो! परमेश्वरको सुसमाचार र परमेश्वरको काम वस्तु होइनन्। परमेश्वरले मानिसलाई निःशुल्क रूपमा उहाँको सुसमाचार प्रदान गर्नुहुन्छ; यो निःशुल्क हो र यसमा कुनै पनि प्रकारको लेनदेन संलग्न हुँदैन। तैपनि मानिसहरू परमेश्वरको सुसमाचारलाई अरूलाई बेच्ने सामान बनाउँछन्, र तिनीहरूबाट पैसा र भौतिक वस्तुहरू माग गर्छन्। यसमा गवाही हुँदैन र यसले परमेश्वरको नामको अपमान गर्छ। के यो दुष्ट कार्य होइन र? (हो।) यो वास्तवमै दुष्ट कार्य हो। के यो पर्याप्त कर्तव्य निर्वाह हो? (होइन।) के यसको प्रकृति हामीले भर्खरै कुरा गरेको “मान्छेको टाउको सुँगुरको टाउकोमा परिणत भएको” घटनाभन्दा गम्भीर छ? (छ।) गम्भीरता केमा छ? (परमेश्वरलाई अपमान गर्नुमा।) यो परमेश्वरलाई अपमान गर्नु, परमेश्वरलाई निन्दा गर्नु, र परमेश्वरको महिमा चोर्नु हो। परमेश्वरको सुसमाचार लिने र मानिसलाई बेच्ने, त्यसलाई कुनै वस्तुझैँ बेच्दै हिँड्ने, र त्यसबाट अत्यधिक नाफा कमाउने र व्यक्तिगत फाइदा खोज्ने—यस्तो काम कस्तो प्राणीले गर्ला? यिनीहरू शैतानी व्यवहार गर्ने डाँका र दुष्टकर्मी हुन्! परमेश्वरले प्रस्ट रूपमा स्वर्ग, धर्ती, र यावत् थोकहरूका साथै मानवजातिको सृष्टि गर्नुभयो, तैपनि शैतान र दुष्टात्माहरू आफूले नै मानव, स्वर्ग र धर्तीको सृष्टि गरेका हौँ भन्दै मानिसहरूलाई भ्रममा पार्छन्, र आफूलाई परमेश्वर र सृष्टिकर्ताका रूपमा आराधना गर्न लगाउँछन्। के यो परमेश्वरको महिमा चोर्नु होइन र? यो पाप हो, यो दुष्ट कार्य हो, यो परमेश्वरको विरोध गर्नु हो। के मान्छेले सुसमाचार बेच्नु शैतानको व्यवहारसरह हो? (हो।) तिनीहरूले सुसमाचार बेच्नुको उद्देश्य के हो? तिनीहरूबाटै सुसमाचार उत्पत्ति हुने र तिनीहरूमै निर्णय गर्ने शक्ति भएझैँ गरी मानिसहरूले तिनीहरूलाई सुसमाचारको दूत मानून् भन्ने हो। के यो परमेश्वरको महिमा चोर्नु होइन र? (हो।) परमेश्वरको महिमा चोर्दा कस्तो पाप हुन्छ? यसको प्रकृति कस्तो हुन्छ? यो परमेश्वरको विरोध गर्ने दुष्ट कार्य हो; यो परमेश्वरलाई निन्दा गर्ने व्यवहार हो। के यसरी सुसमाचार फैलाउनुलाई अझै पनि आफ्नो कर्तव्य निर्वाह गरेको मानिन्छ? यो पूर्णतया दुष्टता गर्नु हो; यो परमेश्वरको विरोध गर्नु हो। यसरी सुसमाचार फैलाउनु भनेको बिलकुलै परमेश्वरको साक्षी दिनु होइन, त्यसैले यसलाई आफ्नो कर्तव्य पूरा गरेको मानिँदैन; यो विशुद्ध रूपमा दुष्टता गर्नु हो। कतिपय मानिसहरू भन्छन्: “सुसमाचार फैलाउनलाई यति धेरै मेहनत लाग्छ; केही राम्रा वस्तुहरू पाउनु न्यायोचित नै हुन्छ। कुन ठूलो कुरा हो र? अविश्वासीहरू यसलाई कुनै गलत कुरा ठान्दैनन्।” के यो भनाइ सही हो? यो तेरा अभिप्रायहरू के हुन्, तँ केको लोभ गरिरहेको छस्, र त्यो कस्तो प्रकृतिको छ भन्नेमा भर पर्छ। यदि तँ व्यक्तिगत फाइदाका लागि त्यसो गरिरहेको छस्, तँ परमेश्वरको सुसमाचार र सत्यता बेचिरहेको छस्, र अन्त्यमा तैँले व्यक्तिगत फाइदा पाउँछस् भने—त्यो निश्चय नै दुष्ट कार्य हो। के यसलाई दुष्ट कार्यको संज्ञा दिनु बढ्ता कुरा हो? (होइन।) यो बढ्ता कुरा हुँदै होइन। जब कसैले आफ्नो कर्तव्य पाएर पूरा गरेको हुन्छ, तर यस्ता परिस्थितिहरू उत्पन्न भइदिन्छन् भने, दोषी को हो? (व्यक्ति स्वयम्।) तिनीहरूले आफैलाई मात्र दोष दिन मिल्छ। त्यसोभए यी परिणामहरू कसरी उत्पन्न भए त? यो सिधै मानिसहरूको दुष्ट प्रकृतिसँग सम्बन्धित छ। कतिपय मानिसहरू सत्यता पछ्याउँदैनन्, तर तिनीहरूमा लाज, निष्ठा, र विवेकको भावाना हुने भएकाले तिनीहरू यस्ता काम गर्दैनन्। यदि कुनै व्यक्ति यस्ता कार्यमा संलग्न हुन्छ नै भने, यसले उसमा मानवता छैन भन्ने देखाउँछ; उसमा लोभ र क्रूर स्वभाव हुन्छ। यसले गर्दा पर्याप्त रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नमा चुक्ने मात्र नभई, वास्तवमा त्यो दुष्टता गर्नेमा परिणत हुन्छ। कतिपय मानिसहरू भन्छन्: “यसलाई कसरी दुष्टता गरेको रूपमा चित्रण गर्न मिल्छ? तिनीहरू सुसमाचार फैलाएर धेरै नै अनुयायीहरू पाउन सफल भएका छन्; तिनीहरूले प्रस्ट नतिजा दिएको तथ्यले तिनीहरू दुष्टता गरिरहेका छन् भन्ने कुरालाई खण्डन गर्नुपर्ने हो, होइन र?” के यो भनाइ सही हो? (होइन।) यो किन गलत हो? सुसमाचार फैलाउनु तिनीहरूको कर्तव्य र जिम्मेवारी हो। तिनीहरूको कर्तव्यपछाडिको अभिप्राय र उद्देश्य के हो? तिनीहरूको कर्तव्यका मार्गदर्शक सिद्धान्तहरू के हुन्? के तिनीहरू आफ्ना कार्यमा जिम्मेवार छन्? यी पक्षहरूका आधारमा, उक्त व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ कि दुष्टता गरिरहेको छ भन्ने कुरा तय गर्न सकिन्छ। उसले आफ्नो कर्तव्य निर्वाह गर्दै आइरहेको भए पनि, उसको कार्यको सुरुवाती बिन्दु गलत छ; उसले सिद्धान्तअनुसार कार्य गरेको छैन र थुप्रै दुष्ट कार्यहरू गरेको छ। सत्यता अभ्यास गरेको अलिकति पनि प्रकटीकरण छैन। यसरी सुसमाचार फैलाउनुको सार के हो? (सुसमाचार बेचेको।) यो घटनालाई के नाम दिँदा हुन्छ? “सुसमाचार बेचेको” घटना। यो नाम सुनेर नै तैँले यो समस्या निकै गम्भीर प्रकृतिको छ भनेर थाहा पाउँछस्। कसैले कसरी परमेश्वरको सुसमाचार बेच्न सक्छ? सुसमाचार बेचेको यो घटना निकै गम्भीर प्रकृतिको छ। त्यसैले, हरेक पटक सुसमाचार बेच्ने कुरा उल्लेख हुँदा, के मानिसहरूले उक्त मामला के हो, त्यसका स्थिति, व्यवहार र विधीहरू के-कस्ता छन् भनी जान्नुपर्दैन र? यो दोस्रो घटना हो, र यस घटनाको प्रकृति अघिल्लो घटनाको भन्दा गम्भीर छ।

तलको घटना पनि सुसमाचार फैलाउने क्रममा नै घटेको हो। विगतमा, सुसमाचार प्रचारका लागि परमेश्वरको घरले केही सिद्धान्त र विधिहरू स्थापित गरेको थियो, जसमा करुणा र साथी बनाउनेसम्बन्धी विधिहरू पनि पर्छन्। यसले केही मानिसहरूलाई त्यसका छिद्रको फाइदा उठाउन मद्दत गर्यो। कस्ता मानिसहरूले यी छिद्रको फाइदा उठाए? सत्यतालाई प्रेम नगर्ने दुष्ट प्रकृतिका मानिसहरूले। सुसमाचार फैलाउने क्रममा, केही दुष्ट मानिसहरू निश्चय नै यो अवसरको फाइदा उठाएर प्रेम जोडी खोज्छन् र प्रेमीलो र आत्मीय सम्बन्धमा संलग्न हुन्छन्। यस्ता कुराहरू हुँदा, तिनीहरू त्यसका कारणहरू छन् भन्ने सोच्छन्, जबकि त्यो खासमा शैतानका यी दुष्ट व्यक्तिहरूले कमजोरीको फाइदा उठाएको हो। सुसमाचार फैलाउने अवसर प्रयोग गर्दै विपरीत लिङ्गीसँग सम्पर्कमा आएर, यी मानिसहरू सुहाउँदो वा उपयुक्त व्यक्ति भेटेपछि आफ्नो क्षमताले भ्याउने सबथोक गरेर ऊसँग अन्तरक्रिया गर्ने वा उसलाई लोभ्याउने मौका छोप्छन्। बाहिरी रूपमा, त्यसको उद्देश्य सुसमाचार फैलाएर अनुयायीहरू बढाउनु हो जस्तो देखिन्छ, तर वास्तवमा, त्यसको उद्देश्य तिनीहरूको आफ्नै कामवासना पूरा गर्नु हुन्छ। तिनीहरू सुसमाचार प्रचार गर्ने नाममा, परमेश्वरको काम फैलाउने नाममा, परमेश्वरको गवाही दिने र आफूलाई परमेश्वरप्रति समर्पित गर्ने नाममा, र आफ्नो कर्तव्य पनि पूरा गर्ने नाममा यी सबै कामहरू गर्छन्। कसैले पनि यी कामहरू अनजानमा गर्दैन; खासमा, तिनीहरू त्यसबारे पूर्ण रूपमा जानकार हुन्छन्, तैपनि हठपूर्वक भ्रममा परेको बहाना बनाउँछन्। यी कामहरू गर्दा हरव्यक्तिलाई हृदयमा यो पाप हो, परमेश्वरले यसलाई घृणा गर्नुहुन्छ र अनुमति दिनुहुन्न भन्ने थाहा हुन्छ, तर ऊ आफ्नो दैहिक कामवासनालाई नियन्त्रणमा राख्न सक्दैन, अनि आफूले गरेका पापहरूबारे बहाना बनाउन र औचित्य पुष्टि गर्न भरमग्दो प्रयास गर्छ। के यसले उसका आफ्नै समस्याहरू लुकाउन सक्छ? यदि तैँले एक-दुई पटक यस्ता पापहरू गरेपछि पश्चात्ताप गरिस् भने, परमेश्वरले अझै तँलाई क्षमा गर्नुहोला, तर यदि तँ बदलिन मान्दै मान्दैनस् भने, तँ खतरामा छस्। कतिपय मानिसहरू आफूले हरेक पटक पाप गर्दा अलि असहज महसुस गर्लान्, र सोच्लान्, “यदि मैले यस्तो व्यवहार गरेँ भने, के म मुक्ति पाउन सक्छु?” तर त्यसपछि सोच्छन्, “यो ठूलो दुष्टता होइन; यो बढीमा भ्रष्टताको प्रकटीकरण मात्र हो। म अबदेखि यसो गर्दिनँ; यसले मेरो नतिजा र गन्तव्यलाई असर गर्नेछैन।” के अपराध गर्नेप्रतिको यो मनोवृत्ति साँचो पश्चात्तापको मनोवृत्ति हो? यदि तिनीहरूको हृदयमा पछुतो समेत छैन भने, के तिनीहरूले गल्तीहरू दोहोर्‍याइरहने छैनन् र? मलाई लाग्छ, यो अत्यन्तै जोखिमपूर्ण छ। के यस्तो व्यक्तिले पर्याप्त रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ? आफ्नो कर्तव्य निर्वाह गर्दा, अझै पनि “निजी उद्देश्य” का पक्षहरू हुन्छन्; तिनीहरू “सार्वजनिक र निजी” मामलालाई मिसाइरहेका हुन्छन्, जुन ठूलो मिसावट हो! यसले पक्कै परमेश्वरको स्वभाव चिढ्याउँछ। यी मानिसहरूले “पर्याप्त” कर्तव्य निर्वाह गरेको मान्न सकिँदैन; यो वस्तुहरू माग्नु वा सुसमाचार बेच्नुभन्दा पनि गम्भीर कुरा हो। यो कसरी झनै गम्भीर हो? यो घिनलाग्दो कुरा हो; यो देह र कामवासनाको व्यापार हो। त्यसोभए, यो समस्या कस्तो प्रकृतिको हुन्छ? यो सत्यता थाहा भएर पनि जानी-जानी पाप गर्नु हो। “जानी-जानी” भन्ने शब्दले समस्याको प्रकृति बदल्छ। खासमा, तिनीहरूलाई कामको बन्दोबस्तका नियम र सिद्धान्तहरू मानिसहरूलाई बुद्धिमता अभ्यास गराउने र शैतानलाई तिनीहरूबाट लाभ उठाउन नदिने उद्देश्यले परिकल्पना गरिएका हुन् भन्ने थाहा छ। यसको उद्देश्य मानिसहरूलाई परमेश्वरसामु ल्याउनु हो, तर तिनीहरू छिद्रहरूको दुरुपयोग गर्छन् र मौकाको फाइदा उठाएर आफ्ना दुष्ट कामवासनाहरू निर्वाध रूपमा प्रकट गर्छन्; यसलाई जानाजान पाप गरेको भनिन्छ। बाइबलले यसबारे के भन्छ? (“किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौँ भने, त्यसउप्रान्त पापको निम्ति कुनै बलिदान बाँकी रहँदैन” (हिब्रू १०:२६)।) यदि क्रूसको पापबलि समेत अब उपलब्ध छैन भने, के मुक्तिसँग यी मानिसहरूको अझै कुनै सम्बन्ध रहन्छ? त्यो त परिस्थितिमा भर पर्ने कुरा हो। कतिपय मानिसहरू आवश्यकताका कारण व्यवहार गर्छन्, वा भित्री रूपमा आफूलाई निन्दा गर्छन्, तर तिनीहरू तत्कालिन परिस्थितिका कारण यस्तो कार्य गर्न बाध्य भएका हुन्छन्। यदि तिनीहरूले तीन पटकभन्दा बढी यसो गरेका छैनन् भने, तिनीहरूलाई माफी दिन सकिन्छ। तिनीहरूलाई माफी दिन सकिन्छ भन्नुको अर्थ के हो? त्यसको अर्थ यो हो कि, तिनीहरूले पहिलोचोटी उल्लङ्घन गरेपछि, यदि तिनीहरूको चेत प्राप्त फिर्छ, तिनीहरूले सत्यता खोज्छन्, पछुतोका सङ्केतहरू देखाउँछन्, र अपराध दोहोर्‍याउन छाड्छन्, र त्यो सँगसँगै आफ्नो कर्तव्य निर्वाह गर्ने चाहना राख्छन् भने, तिनीहरूलाई पापको प्रायश्चित गर्ने मौका दिन सकिन्छ। यस्ता अवस्थामा मुक्तिको आशा अझै बाँकी हुन्छ, तर कति आशा भन्नेचाहिँ व्यक्तिको पछ्याइमा भर पर्छ। कसैले पनि तेरो अन्तिम मूल्याङ्कन गर्न सक्दैन, र कसैले पनि तँलाई प्रत्याभूति दिन सक्दैन; यो मुख्यगरी तेरो आफ्नै पछ्याइमा भर पर्छ। म यदि तैँले यो पाप दोहोर्‍याइनस् भने तैँले अवश्य मुक्ति पाउनेछस् भन्दै, तँलाई कुनै वाचा गर्दिनँ; म त्यो वाचा गर्दिनँ, किनभने मलाई भविष्यमा तेरो कार्यप्रदर्शन कस्तो हुनेछ भनेर थाहा छैन। यदि तँ क्षमा दिन मिल्ने हद नाघ्छस्, बदलिन बारम्बार अस्वीकार गर्छस्, र सुसमाचार प्रचार गर्ने क्रममा तैँले आफ्ना दुष्ट कार्यहरूलाई सन्तुलनमा ल्याउन सक्नेगरी असल कार्यहरू गरेको छैनस् भने, तेरो आशा पूर्णतया सकिएको छ। तैँले ज्यादै दुष्टता गरेको छस् र कुनै असल कार्यहरू गरेको छैनस्; तैँले सुसमाचार प्रचार गर्नुको उद्देश्य लापरवाहीपूर्वक आत्मीय सम्बन्धमा संलग्न हुनु मात्र हो, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु होइन—यो तेरो कर्तव्य निर्वाहसँग असम्बन्धित छ। अब यो पापबलि हुनु वा नहुनुको समस्या मात्र होइन। यस्ता मानिसहरूलाई केका रूपमा वर्गीकृत गर्नुपर्छ? तिनीहरूलाई घिनलाग्दो राक्षस र दुष्टात्माका रूपमा वर्गीकृत गर्नुपर्छ। तिनीहरू सामान्य मानव होइनन्। तिनीहरू पाप मात्र गरिरहेका छैनन्; आफ्नो कर्तव्य निर्वाह गर्नुसित तिनीहरूको कुनै सम्बन्ध छैन। के अझै पनि तिनीहरूले मुक्ति पाउने आशा छ? अहँ, छैन। यस्ता मानिसहरूलाई परमेश्वरको घरबाट निष्कासन गरिएको छ; तिनीहरू अलग्याइएका छन् र परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन। तिनीहरूको काम र व्यवहारले तिनीहरूको कर्तव्य समेट्न नसक्ने मात्र होइन; त्यसलाई पर्याप्त कर्तव्य निर्वाहनको मामला मान्न पनि मिल्दैन। यस्ता मानिसहरूको अन्तिम नतिजा र परिणाम तिनीहरूको वर्गीकरणका आधारमा निर्धारण हुनेछ। के यो निकै घिनलाग्दो घटना होइन र? यसको प्रकृति हामीले भर्खरै छलफल गरेको दोस्रो घटनाकोभन्दा पनि गम्भीर छ। यस्ता मानिसहरूमध्ये कतिपयका घटनाहरू बढी गम्भीर प्रकृतिका हुन्छन्। के तिनीहरू पहिलेकै अवस्थामा फर्कन सक्छन्? के तिनीहरू हृदयमा पश्चात्ताप गर्न र यस्ता कामहरू गर्न छोडेर अझै पनि सुसमाचार प्रचार गर्न र परमेश्वरको घरमा सेवा दिन सक्छन्? के यस्ता मानिसहरू हुन्छन्? (हुँदैनन्।) के तिनीहरू स्वेच्छाले सेवा दिन सक्छन्? (सक्दैनन्।) खासमा, यीमध्ये केही मानिसहरूले सुसमाचार फैलाउने क्रममा केही अनुयायीहरू पाएका छन्। तर अहिले तिनीहरूले गरेको यो सबै कामले के नतिजा दिएको छ? यो सेवा मात्र बनेको छ, न कि कर्तव्य निर्वाह। वास्तवमा, यी मानिसहरूले गरेको प्रयासमा कमी थिएन, तर तिनीहरूले लिएको मार्गले तिनीहरूको नियति र परिणाम निर्धारण गरेको छ। के सुसमाचार फैलाउने सबैले यस्ता परीक्षाहरू सामना गर्नेछन्? सबैले फरक-फरक परिस्थितिमा फरक-फरक मात्रामा यस्ता परीक्षाहरू सामना गर्नेछन् भनेर भन्न सकिन्छ, तर के त्यसको अर्थ परीक्षामा परेर तिनीहरू सबैले पाप गर्नेछन् भन्ने हो? (होइन।) हरव्यक्तिले पाप नगर्न सक्छ, हरव्यक्ति यस्ता गतिविधिमा संलग्न नहुन सक्छ—यसले यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई दोषी ठहराउँछ, र तिनीहरूको यसैगरी खुलासा हुन्छ। यसले तिनीहरूको स्वभाव र मानवतामा केही खराबी छ भन्ने देखाउँछ। यस्तो परिणामको लागि तिनीहरूले कसलाई दोष दिन मिल्छ? (आफैलाई।) तिनीहरूले आफूबाहेक अरू कसैलाई पनि दोष दिन मिल्दैन।

कतिपय मानिसहरूले सुसमाचार फैलाउने क्रममा जे-जस्ता अपराधहरू गरे पनि, तिनीहरू तिनलाई समाधान गर्ने हेतुले कहिल्यै सत्यता खोज्दैनन्, परमेश्वरलाई प्रार्थना गर्दैनन्, र कहिल्यै आत्मचिन्तन गर्दैनन्, जसले तिनीहरू पश्चात्ताप नगर्न अड्डी कस्ने स्वभावका छन् भन्ने देखाउँछ। अन्त्यमा, यी मानिसहरू निष्कासित हुन्छन्। मैले एउटा व्यक्तिका बारेमा सुनेको छु, जसले सुसमाचार फैलाउने क्रममा एउटी महिलालाई कब्जामा लिएको थियो र उनलाई जोडी खोजेर बिहे गर्न समेत दिँदैनथ्यो; यसको प्रकृति निकै गम्भीर छ। यो कस्तो व्यक्ति हो? (दुष्ट व्यक्ति।) के यस्ता दुष्ट व्यक्तिहरू परमेश्वरको घरमा रहन पाउँछन्? (पाउँदैनन्।) परमेश्वरको घरमा यस्ता तानाशाहहरूका लागि कुनै ठाउँ हुँदैन; तिनीहरू परमेश्वरको अपमान गर्छन्! यस्ता काम गरेर तिनीहरूले परमेश्वरबारे अनगिन्ती मानिसहरूको बुझाइमा असर पार्छन् र उहाँबारे धेरै मानिसहरूमा गलत बुझाइ फैलाउँछन्! मानिसहरूले भन्नेछन्, “परमेश्वरमा विश्वास गर्ने व्यक्तिले कसरी यस्ता कामहरू गर्न सक्छ?” यो पहिले नै परमेश्वरको अपमान हो। यदि मण्डलीले यस्ता व्यक्तिहरूलाई निष्कासन र निराकरण गर्नुको साटो सुसमाचार फैलाइरहन दिन्छ र पश्चात्ताप गर्ने मौका दिन्छ भने, त्यो सरासर गलत हो। यो व्यक्तिले पहिलोपटक अपराध गरेको होइन; उसको व्यवहार गम्भीर प्रकृतिको छ र उसलाई सिधै निष्कासित गर्नुपर्छ। नत्र, यसबाट परमेश्वरको अपमान हुनेछ र शैतानलाई परमेश्वरको घरको मूल्याङ्कन र निन्दा गर्ने लाभ मिल्नेछ। त्यसैले शैतानलाई लाभको अवसर दिनै हुँदैन; जसको बानी नै लम्पट छ, तिनीहरूलाई मण्डलीबाट निष्कासित गर्नैपर्छ। यस्ता व्यक्तिहरू लम्पट आत्मा हुन्, जसले परमेश्वरको अपमान गरिसकेका छन्, त्यसैले परमेश्वरले तिनीहरूलाई कदापि मुक्ति दिनुहुनेछैन। तिनीहरूको सुसमाचार प्रचार जतिसुकै प्रभावकारी भए पनि वा तिनीहरूले जति नै अनुयायीहरू पाएका भए पनि, यदि तिनीहरू सही मार्गमा हिँड्दैनन् भने, तिनीहरूले आफैलाई नष्ट पारेका र गुमाएका हुन्छन्। यस्ता मानिसहरूलाई परमेश्वरको घरमा रहने अनुमति दिइँदैन; तिनीहरू बर्खासीका निशाना हुन्। त्यसोभए, के तिनीहरूका कार्यलाई कर्तव्य निर्वाह गरेको मानिन्छ? मानिँदैन, परमेश्वरका नजरमा तिनीहरूका सबै योगदानहरू नामेट भएका छन् र परमेश्वरले तिनलाई सम्झनुहुनेछैन। ती अपर्याप्त मात्र छैनन्; तिनीहरूको कर्तव्य निर्वाहको प्रकृति बदलिएको छ, र त्यो दुष्टता गर्नेमा परिणत भएको छ। परमेश्वरले दुष्टता गर्नेहरूलाई कसरी निराकरण गर्नुहुन्छ? उहाँले तिनीहरूलाई बरखास्त गर्नुहुन्छ। बरखास्त हुनुको मतलब के हो? यसको मतलब तिनीहरू परमेश्वरले चुनेर मुक्ति दिन तयार पारेका मानिसहरूको सूचिबाट हटाइन्छन्—तिनीहरू ती मानिसहरूको समूहमा अट्दैनन्। बरु तिनीहरूलाई दुष्टात्मा, घिनलाग्दा राक्षस, र मुक्ति नपाउनेहरूको समूहमा राखिन्छ। तिनीहरूले मुक्ति पाउने सम्भावना कति हुन्छ? (शून्य।) तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरेको र परमेश्वरलाई पछ्याएको भए पनि, अन्त्यमा यस्तो व्यक्ति यो अवस्थामा पुग्छ र निष्कासित हुन्छ। त्यसैले, तैँले देख्न सक्छस् कि यो अर्कै प्रकारको व्यक्ति हो। के यो घटनाको प्रकृति अघिल्लो घटनाकोभन्दा गम्भीर छ? (छ।) यो त झनै गम्भीर छ; यो लक्षित छ। यो घटनालाई तेस्रो घटनासँग जोड्नुपर्छ; यो तेस्रो उदाहरणको एक विशेष र खाँटी घटनाअन्तर्गत पर्छ, र यो लक्षित छ। यो घटनालाई के नाम दिनुपर्छ? “दुष्टकर्मीहरू बरखास्त हुनेछन्” भन्ने राखौँ। यी तीन घटनाका तीन प्रकारका मानिसहरूको कर्तव्य निर्वाहले मूल रूपमा बेकारको सेवा दिने नतिजा दिएको छ। बेकारको सेवा दिनु भनेको के हो? त्यसको अर्थ तिनीहरूले आफ्नो कर्तव्यलाई केवल सेवा दिनुमा परिणत गरेका छन्—र त्यसपछि पनि तिनीहरूले राम्ररी सेवा दिएनन् वा उचित तरिकाले कर्तव्य निर्वाह गरेनन्। तिनीहरूले आफ्नो कर्तव्यलाई कर्तव्यका रूपमा लिएनन्, अनि अनेकौँ गल्ती र दुष्ट कार्यहरू समेत गरे र अन्त्यमा तिनीहरू निष्कासित भए, र तिनीहरूको अन्त्य राम्रो भएन। यी तीनवटै घटनाहरूको प्रकृति निकै गम्भीर छ।

एउटा अर्को घटना छ, र यसको प्रकृति पनि निकै गम्भीर छ। एउटा व्यक्ति थियो जसले धेरै वर्षसम्म कार्य-सम्पादन गरेको थियो र, बाहिरी रूपमा उसले सत्यता पछ्याएको र साँचो रूपमा आफूलाई अर्पित गरेको जस्तो देखिन्थ्यो। उसले विवाह र परिवार परित्याग गर्‍यो, आफ्नो करियर र सम्भावनाहरू त्याग्यो, थुप्रै ठाउँहरूमा गएर आफ्नो कर्तव्य निर्वाह गर्‍यो, अनि कम महत्त्वका केही काम पनि गर्‍यो। तर आफ्नो कर्तव्य-निर्वाह गर्ने क्रममा, उसले थोरै मात्र सत्यताहरू बुझ्थ्यो किनकि उसले साँचो रूपमा सत्यता पछ्याउँदैनथ्यो, र उसले केही वचन र धर्मसिद्धान्तहरूका बारेमा बोल्न सकेकै कारण उसलाई आफूले राम्रै गरिरहेको छु भन्ने लाग्थ्यो। त्योभन्दा गम्भीर कुरा त के हो भने, यो व्यक्तिले सत्यता बिलकुलै अभ्यास गर्दैनथ्यो। त्यसैले उसको कर्तव्य-निर्वाहमा केही धर्मसिद्धान्तहरू प्रचार गर्ने र केही नियमहरू पालना गर्ने, प्रायजसो अरूप्रति दयालु व्यवहार गर्ने र कसैलाई नचिढ्याउने मात्र पर्थ्यो। मण्डलीको कार्य-सम्पादन कसरी गर्ने र अझै कस्ता समस्याहरू रहेका छन् भन्नेप्रति उसले ध्यान नै दिँदैनथ्यो, प्रयत्न लगाउँदैनथ्यो, र यी समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्ने काम गर्दैनथ्यो। छोटकरीमा, कामप्रतिको उसको मनोवृत्ति देखावटी र उदासीन थियो; उसले अल्छी गरेजस्तो देखिँदैनथ्यो, तर ऊ थाकिञ्जेल पनि काम गर्दैनथ्यो। ऊ लापरवाह वा झाराटारुवा तरिकाले कार्य गरिरहेको जस्तो देखिँदैनथ्यो, तर उसको कामका नतिजाहरू खासै राम्रा थिएनन्। एउटा खास घटनामा, उसको लापरवाही अनि लापरवाह र झाराटारुवा मनोवृत्तिका कारण, उसले परमेश्वरको भेटीमा १ करोड रुपियाँभन्दा ठूलो नोक्सान पुर्‍यायो। १ करोड रुपियाँ भनेको कति ठूलो रकम हो? साधारण मानिसहरू यो रकम सुनेपछि त्यसलाई अत्यन्तै ठूलो रकम भन्ठान्छन्। तिनीहरू विश्वास गर्न नसकेर छक्क पर्छन् र बिरलै त्यसबारे सोच्ने आँट गर्छन्, किनकि तिनीहरूले आफ्नो जीवनकालमा यति धेरै पैसा कहिल्यै देखेका हुँदैनन्। तर भेटीमा एक करोडभन्दा बढी नोक्सान पुर्‍याएपछि, यो “बुढो सज्जन” मा कुनै पछुतो थिएन, पश्चात्तापको कुनै सङ्केत थिएन, र ऊ दुःखी थिएन। मण्डलीले निष्कासन गरेपछि पनि ऊ गुनासो गर्थ्यो। कस्तो प्राणीले यस्तो काम गर्छ? दुइटा बुँदाबारे छलफल गरौँ। पहिला, यो रकम तँ काम गरिरहेको बेलामा डुबेको हो, र यो जसको गल्ती भए पनि, तँ जिम्मेवार छस्। यसको सुरक्षा गर्ने जिम्मेवारी तेरै थियो, तर तैँले सुरक्षा गर्न सकिनस्। यो कर्तव्यविमुखता हो, किनकि यो मानवको पैसा होइन; यो भेटी हो, र मानिसहरूले यसप्रति उच्च वफादारी देखाउनुपर्छ। यदि भेटीमा घाटा पुग्यो भने, व्यक्तिले त्यसबारे कसरी सोच्नुपर्छ? मृत्युले समेत त्यो क्षतिको परिपूर्ति हुनेछैन! मानव जीवनको मौद्रिक मूल्य कति हुन्छ? यदि घाटा ज्यादै ठूलो छ भने, त्यसलाई चुक्ता गर्न आफ्नो जीवन त्यागेर पनि पुग्दैन! मुख्य कुरा भनेको यो समस्याको प्रकृति अत्यन्तै गम्भीर छ। यस “बुढो सज्जन” ले त्यतिका धेरै भेटीहरू हराएको कुरालाई गम्भीरतापूर्वक लिएन; यो व्यक्ति अत्यन्तै घिनलाग्दो छ! १ करोड रुपियाँभन्दा बढी भेटी हराउनु उसलाई १०० रुपियाँ हराउनु जतिकै लाग्यो; उसले माथिकालाई बिलकुलै रिपोर्ट गरेन, यसबारे कुनै पछुतो मानेन, र वरिपरिका मानिसहरूलाई यसो भनेन, “यो पैसा कसरी हराएको थियो र अब के गर्ने भनेर छलफल गरौँ। के हामीले तिर्नुपर्छ कि अरू समाधान खोज्नुपर्छ? वा सायद हामीले माथिकालाई जानकारी गराउनुपर्छ, जिम्मेवारी स्विकारेर राजीनामा दिनुपर्छ, र परमेश्वरलाई प्रार्थना गरेर आफ्ना पाप स्विकार्नुपर्छ कि?” उसमा यो मनोवृत्ति समेत थिएन; के यो घृणित कुरा हो? (हो।) यो अत्यन्तै घृणित कुरा हो! उसमा यस्तो ठूलो दुष्कर्म गर्ने सामर्थ्य हुनुले कर्तव्य र परमेश्वरप्रतिको उसको मनोवृत्ति खुलाउँछ। दोस्रो कुरा, निष्कासित भएपछि, उसले त्यो नस्विकारेको, आफ्नो पाप कबुल नगरेको, पश्चात्ताप नगरेको मात्र नभई, उल्टै गुनासो पो गर्‍यो। यस्तो व्यक्तिमा कुनै समझ हुँदैन। गुनासो गर्नका लागि ऊसँग के कारण थियो होला भनेर मात्र सोचिहेर् त। उसले यस्तो गुनासो गर्‍यो, “मैले २० वर्षभन्दा बढी समयसम्म परमेश्वरमा विश्वास गरेँ, कहिल्यै विवाह गरिनँ, धेरै त्याग गरेँ, ज्यादै दुःख सहेँ, अनि अहिले आएर तिनीहरू मलाई निष्कासन गर्छन्, इन्कार गर्छन्। म मेरो आफ्नै ठाउँ खोज्नेछु!” उसले त्यसपछि चाँडै बिहे गर्‍यो। ल भन्, यदि विवेक र मानवता भएको एउटा सामान्य व्यक्तिमा आफ्नो विवेकको अलिकति पनि अनुभूति हुन्थ्यो भने, के उसले त्यति चाँडो बिहे गर्नेथ्यो? के ऊ बिहे गर्ने मुडमा हुनेथ्यो? सामान्यतया, यस्तो गम्भीर समस्या सामना गर्नुपर्दा, थोरै मात्र विवेक र मानवता भएको व्यक्तिले मृत्युबारे मनन पनि गर्नेथ्यो, र यस्तो सोच्नेथ्यो, “मेरो जीवन सकियो, मैले २० वर्षभन्दा बढी समय परमेश्वरमा विश्वास गरेपछि कसरी त्यस्तो काम सकेँ होला? म आफै दोषी हुँ र म निष्कासित हुन लायक छु! १ करोडको के कुरा; मसित एक लाख पनि तिर्ने औकात छैन। मलाई नै बेचे पनि, त्यसको पूर्ति हुन सक्दैन, मेरो जीवनको केही पनि मूल्य छैन!” तँसित त्यो औकात छैन भन्ने थाहा हुँदा हुँदै पनि तैँले किन त्यसो गरिस्? के तँलाई त्यो पैसा परमेश्वरलाई चढाइएको भेटी थियो भन्ने थाहा छैन? त्यो पैसा तेरो थिएन; तेरो जिम्मेवारी भनेको त्यसको सुरक्षा गर्ने थियो। त्यो तँसित सम्बन्ध नै नभएको चिज थिएन; त्यो तैँले सुरक्षित राख्नुपर्ने चिज थियो। त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा थियो, र तेरो लापरवाही कर्तव्यविमुखता थियो। हराइसकेपछि, तैँले त्यसप्रतिको जिम्मेवारी निश्चय नै पन्छाउन मिल्दैनथ्यो। परमेश्वरमा विश्वास गर्ने व्यक्तिको नाताले, के तँसित यी भेटीहरू सुरक्षित राख्ने र कुनै पनि दुर्घटना हुनबाट रोक्ने दायित्व र जिम्मेवारी थिएन? के तैँले कुनै गल्ती हुनसक्ने जोखिम घटाएको भए हुँदैनथ्यो? यदि तँ त्यति पनि गर्न सक्दैनस् भने, तँ के होस्? के तँ जिउँदो राक्षस होइनस्? (हो।) यो अत्यन्तै घृणास्पद र मानवताहीन कुरा हो! साथै, निष्कासित भएपछि, उसले परमेश्वरमा विश्वास गर्न छोडेर बिहे गरेको मात्र नभई, आफ्नो परिवारका विश्वासीहरूलाई समेत बाधा पुर्‍यायो—यसको प्रकृति झनै बढी गम्भीर छ। उसले धेरै वर्षसम्म आफ्नो कर्तव्य निर्वाह गर्‍यो, ज्यादै त्याग गर्‍यो, धेरै बलिदान दियो, धेरै नै काम गर्‍यो, जोखिम मोल्यो, र जेल सजाय भोग्यो। तर यी बाहिरी पक्षहरूले व्यक्तिको नियति निर्धारण गर्दैन। के कुराले निर्धारण गर्छ त? उसले रोज्ने मार्गले। यदि उसले सत्यता पछ्याउने मार्ग लिएको भए, उसको हालत यस्तो हुनेथिएन र उसले परमेश्वरको घरलाई यस्तो ठूलो नोक्सान पुर्‍याउनेथिएन। यस्तो ठूलो घटना कदापि यतिकै घटेको थिएन; यो सिधै उसको मानवताको गुणस्तर र उसले रोजेको मार्गसँग सम्बन्धित थियो। के तिमीहरूलाई ऊ हिँडिरहेको मार्गबारे परमेश्वर सचेत हुनुहुन्छ भन्ने लाग्छ? (हजुर।) परमेश्वर जान्नुहुन्छ। त्यसोभए, के यो घटनाको उद्देश्य उसलाई पर्दाफास गर्ने थियो कि हटाउने? यसको उद्देश्य पर्दाफास गर्ने र हटाउने दुइटै थियो। मानवको नजरबाट हेर्दा, ऊ भक्ति, समर्पण, मूल्य चुकाउने तत्परता, र कठिनाइ सहने क्षमतासहित आफ्नो कर्तव्य राम्ररी पूरा गरिरहेको देखिन्थ्यो। त्यसोभए परमेश्वरले किन उसलाई यसो गर्नुभयो? परमेश्वरले किन उसलाई खुलासा गर्नुभयो? के कुरा खुलासा गर्न खोजिएको थियो? के उसको अन्त्य मात्र खुलासा गर्न खोजिएको थियो? होइन, उसको आस्था, उसको मानवता, उसको सार र प्रकृति खुलासा गर्न खोजिएको थियो—अब यी सबै कुराहरू उदाङ्गो भएका छन्। के परमेश्वरले यस्तो व्यक्तिलाई अझै पनि मुक्ति दिन सक्नुहुन्छ? के परमेश्वरले ऊप्रति आशाको सानो किरण राख्नुहुन्छ? परमेश्वरले यस्तो व्यक्तिप्रति कदापि कुनै आशा राख्नुहुन्न। के परमेश्वरसित उसका लागि कुनै प्रेम वा कृपा बाँकी छ? बिलकुलै छैन। कतिपयले भन्लान्: “यदि परमेश्वरसित उसका लागि कुनै प्रेम वा कृपा छैन भने, के धार्मिकता, प्रताप र क्रोध मात्र बाँकी छ त?” ठिक भनिस्। यस्तो दुष्ट व्यक्तिलाई उप्रान्त प्रेम वा कृपा चाहिँदैन, र त्यसको आवश्यकता पनि हुँदैन, किनभने उसले गम्भीर रूपमा परमेश्वरको स्वभाव चिढ्याएको छ। उसका लागि परमेश्वरमा बाँकी रहेको भनेको धार्मिकता, प्रताप, र क्रोध मात्र हुन्। परमेश्वरको व्यवस्थापनको कामसँग उसको अन्त्यको कुनै सम्बन्ध छैन, मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामसित यसको कुनै सम्बन्ध छँदै छैन; उसलाई निष्कासन गरिएको र हटाइएको छ। त्यसकारण, अहिले यो व्यक्ति जहाँ भए पनि, परमेश्वरका नजरमा ऊ जिउँदै मरेको मान्छे हो, घिनलाग्दा राक्षस र दुष्टात्माहरूमाझ, मानवको अनुहार बोकेका तर पशुको हृदय भएकाहरू र मानवको खोल ओडेका पशुहरूमाझ बसोबास गर्ने जिउँदो लाश मात्र हो। उसका गुणहरू यिनै हुन्, र उसलाई सृष्टिकर्ताको नजरबाट हटाइएको छ। उसको अन्त्य र आफ्नो जीवनमा घटेको यो ठूलो घटनाप्रतिको उसको अन्तिम मनोवृत्तिबारे मनन गर्दा, के यो समयमा उसले गरेको कर्तव्य-निर्वाहको “पर्याप्त” भन्ने शब्दसित कुनै सम्बन्ध थियो? (थिएन।) यो घटना घट्नुअघि नै उसको कर्तव्य-निर्वाह पर्याप्त थिएन भनेर तँलाई कसरी थाहा भयो? के तैँले मूल्याङ्कन र अनुमानमार्फत् थाहा पाइस्, कि उसको सार नियालेर यो मूल्याङ्कन गरिस्? (उसको सार नियालेर।) ठिक भनिस्। पावलकै उदाहरण लिऊँ—यदि उसले सत्यता पछ्याएको भए, यदि उसले पत्रुसझैँ सिद्ध पारिन खोज्न सकेको भए, उसले यस्ता निन्दात्मक शब्दहरू बोल्नेथिएन। हरेक परिणामको एउटा कारण हुन्छ; यस व्यक्तिले पाएको परिणामका अन्तर्निहित कारणहरू छन्। यो व्यक्ति आज यो बिन्दुमा पुग्न सकेको तथ्यबाट, र परमेश्वरप्रति, भेटीहरूप्रति, र उसका आफ्नै दुष्ट कार्यहरूप्रतिको उसको मनोवृत्तिबाट, ऊ कुन मार्गमा हिँडिरहेको थियो र परमेश्वरमाथिको उसको आस्था वास्तवमा के थियो भनी मानिसहरूले प्रस्टसित बुझ्छन्। यसले उसको सार र उसले लिएको मार्गलाई पूर्णतः खुलासा गर्छ। यदि ऊ सत्यता पछ्याउने मार्गमा, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग रहने मार्गमा भएको भए, र यदि उसले आफ्नो कर्तव्यलाई साँच्चिकै आफ्नो जिम्मेवारी र दायित्वका रूपमा लिन सकेको भए, यो परिस्थिति अपरिहार्य रूपमा आइपर्दा उसले त्यसलाई कसरी सम्हाल्नेथ्यो? उसमा अहिलेको जस्तो प्रतिरोध र गुनासो गर्ने मनोवृत्ति पक्कै पनि हुनेथिएन। उसको पिशाची पाटो उदाङ्गो भएको छ; उसको प्राणभित्रको प्रकृति सार पूर्ण रूपमा खुलासा भएको छ। ऊ मानव होइन, ऊ त दियाबलस हो। यदि ऊ मानव भएको भए, उसले २० वर्षभन्दा बढी विश्वास गरेपछि उसको हालत यस्तो हुनेथिएन। यदि ऊ मानव भएको भए, भेटीमा यति ठूलो नोक्सान भएकोमा उसलाई कति पछुतो महसुस हुनेथ्यो? उसले कति आँशु झार्नेथ्यो? ऊ कुन हदसम्म काँप्नेथ्यो? उसलाई उम्किनै नसकिने जिम्मेवारी र अत्यन्तै ठूलो पापको दोष महसुस हुनेथ्यो, आफू अक्षम्य भएको लाग्नेथ्यो, र आफूले पश्चात्ताप गरेर परमेश्वरसामु आफ्नो पाप स्विकार्नुपर्छ भन्ने महसुस हुनेथ्यो। मण्डलीले उसलाई निष्कासन गरे पनि, उसले कम्तीमा पनि विश्वास गर्नचाहिँ छोड्दैनथ्यो, न त उसले परमेश्वरलाई विश्वासघात नै गर्नेथ्यो, परमेश्वरमाथिको उसको परिवारको आस्थालाई बाधा दिने त कुरै छाडौँ। यो व्यक्तिका एकपछि अर्को व्यवहारबाट हामी के थाहा पाउँछौ? यो थाहा पाउँछौँ कि ऊ गैरविश्वासी हो, जसमा सत्यताप्रति कुनै प्रेम छैन, र उसको मानवता पनि दुर्भावनापूर्ण छ। यो चौथो घटना हो। हामीले यो घटनालाई के नामकरण गर्नुपर्छ? (“एक करोड भेटी हराएको घटना।”) हामीले यसमा उसको प्रतिक्रियालाई जोडेर “एक करोड भेटी हराएर पनि पश्चात्ताप नगरेको” भन्नुपर्छ। के यो नाम अझ राम्रो छैन र? यसले अरूका लागि चेतावनीको काम गर्छ; यसले कम्तीमा मानिसहरूलाई उसका कार्यहरूको गाम्भीर्यबारे सचेत तुल्याउँछ।

यी सबै घटनाहरू, यी मानिसहरूले देखाएका विविध व्यवहारहरूका साथै यी घटनाहरू घटेपछि परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति, सबै आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा उत्पन्न र खुलासा भए। त्यसकारण, केही हदसम्म, परमेश्वरमा विश्वास गर्दा व्यक्तिले लिने मार्ग र उसको अन्तिम नतिजाको उसको कर्तव्य-निर्वाहसँग ठूलो सम्बन्ध हुन्छ; तिनीहरूबीच प्रत्यक्ष सम्बन्ध छ पनि भन्न सकिन्छ। कर्तव्य निर्वाह गर्नेसम्बन्धी विषय अनन्त विषय बन्नुपर्छ, अनि यस पक्षसम्बन्धी सत्यता पनि अनन्त विषय बन्नुपर्छ। यो मानिसहरूले सबैभन्दा आधारभूत रूपमा बुझ्नुपर्ने सत्यता हो, र मानिसहरूको जीवन अगाडि बढ्ने र तिनीहरूले परमेश्वरमा विश्वास गर्ने क्रममा निरन्तर छलफल गर्नुपर्ने एउटा विषय हो। किनभने यो मानिसहरूका स्वभावमा आउने परिवर्तनसँग, तिनीहरूको जीवन प्रवेशसँग, र तिनीहरू हिँड्ने मार्गको प्रकार अनि तिनीहरूले अन्त्यमा पाउने परिणामसँग छुट्ट्याउउनै नमिल्नेगरी जोडिएको हुन्छ। आज, हामीले कर्तव्य निर्वाहबारे व्यापक रूपमा सङ्गति गरेका छौँ र थुप्रै घटनाहरूबारे पनि सङ्गति गरेका छौँ। यसको मुख्य उद्देश्य भनेको तिमीहरूलाई परमेश्वरले प्रशंसा गर्ने तरिकाले कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने, तिमीहरूले दुष्टता गर्‍यौ भने त्यसका परिणामहरू के हुनेछन्, र मापदण्डअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्नुको महत्त्व के हो भनी बुझाउनु हो। यी घटनाहरूका घटनाक्रम झन्-झन् गम्भीर र डरलाग्दो बन्यो, तर ती मैले रचेको होइन। ती घटनाहरू परमेश्वरमा विश्वास गर्ने र कर्तव्य निर्वाह गर्नेहरूमाझ साँच्चै घटेका हुन्। यसले के सङ्केत गर्छ? कतिपय मानिसहरू भन्छन्: “हामी आफ्ना कर्तव्य निर्वाह गर्दैनौँ भने कुनै समस्या हुँदैन, तर निर्वाह गर्दा सधैँ समस्याहरू उत्पन्न हुन्छन्। त्यसोभए के हामीले आफ्नो कर्तव्य निर्वाह नगर्नु ठिक हो?” यो सोच्ने शैली कस्तो छ? के यो सर्कने डरले खानै छोड्नु होइन र? के यो मूर्खता होइन? तैँले यी समस्याहरू समाधान गर्नका निम्ति सत्यता खोज्न सिक्नैपर्छ; यो सक्रिय मनोवृत्ति हो र सामान्य व्यक्तिमा यस्तै मनोवृत्ति हुनुपर्छ। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा त्यस्ता समस्याहरू उत्पन्न होलान्, जसले गर्दा निन्दा, निष्कासन, निकाला, वा बहिष्कार भोग्नुपर्ला, र अन्त्यमा मुक्ति पाउने सबै आशा गुम्ला भनेर डराउँछस्, र तैँले सिधै आफ्नो कर्तव्य निर्वाह गर्न छोड्छस् वा त्यसप्रति नकारात्मक र विरोधी शैली अपनाउँछस् भने, यो कस्तो मनोवृत्ति हो? (खराब मनोवृत्ति।) अरू कतिपयले भन्छन्: “कर्तव्य निर्वाह गर्नका लागि हाम्रो मानवता अत्यन्तै कमजोर छ, त्यसैले हामी किन सेवा दिएरै सन्तुष्ट नहुने? सेवा दिनेहरूप्रति परमेश्वरले उच्च अपेक्षाहरू राख्नुहुन्न्न, र त्यस्ता कुनै मानक वा सिद्धान्तहरू छैनन्—प्रयत्न मात्र लगाए पुग्छ। जे अह्राइएको छ, त्यो गर, आज्ञाकारी होऊ, कुनै पनि महत्त्वपूर्ण जिम्मेवारीहरू नलिऊ, र अगुवा वा सेवक बन्ने कुनै महत्त्वाकाङ्क्षा नराख। अन्त्यसम्म मण्डलीमा टिक्न सक्नु नै सबैभन्दा ठूलो आशिष् हुनेछ।” यी कस्ता मनसाय हुन्? के ती तुच्छ र नीच होइनन् र? के यस्ता महत्त्वाकाङ्क्षाहीन व्यक्तिहरूले परमेश्वरको मुक्ति पाउन सक्छन्? के मानवताविनाको व्यक्तिले पर्याप्त मात्रामा सेवा दिन सक्छ? मानवताविनाका मानिसहरू पर्याप्त मात्रामा सेवा दिन सक्दैनन्; तिनीहरू मण्डलीमा रहन पाउने वफादार सेवाकर्ता बन्नेछैनन्।

पछिल्ला केही समयका सङ्गतिमा हामीले तुलनात्मक रूपमा धेरै उदाहरणहरू उल्लेख गर्‍यौँ। यी घटनाहरू सम्झिन सजिला छन्, तर मैले सङ्गति गरेका सत्यताहरू बुझ्न कठिन छन्। तर, यसको एउटा फाइदा छ: यी घटनाहरूबारे छलफल गर्दा, सायद तिमीहरूले ती घटनाहरूले समेट्ने सत्यताहरू थोरै सम्झन वा बुझ्न सक्छौ। यदि हामीले यी घटनाहरूबारे कुरा गरेनौँ भने, यस्तो नतिजा हासिल गर्न सायद बढी मेहनत लाग्न सक्छ। यी घटनाहरूबारेको छलफलले प्रेरणा र चेतावनी दुइटै दिन्छ, र मानिसहरूलाई आफूभित्रैबाट सही मार्ग भेट्टाउन मद्दत गर्छ। यसले तँलाई परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्न, ठूला गल्तीहरू गर्न, वा गलत मार्ग लिनबाट जोगिन आस्थामा लागेर कुन मार्गमा हिँड्ने भनी मार्गदर्शन गर्दछ। मुख्य लक्ष्य भनेको मानिसहरूलाई पर्याप्त मात्रामा कर्तव्य निर्वा गर्न मद्दत गर्नु हो। यी चारवटा घटनाहरू सुनेपछि तिमीहरूलाई कस्तो महसुस भयो? के तिमीहरूले पर्याप्त मात्रामा कर्तव्य निर्वाहन गर्नेबारे नयाँ बुझाइ पायौ? के मानिसहरूले प्राप्त मात्रामा कर्तव्य निर्वाह गर्नु सजिलो छ? (यो सजिलो छैन।) के कुरामा कठिनाइ छ? के मानिसहरूले सत्यता नबुझ्ने र सिद्धान्तहरू भेट्टाउन नसक्ने भएकाले गल्तीहरू गरिरहने कुरामा कठिनाइ छ? (होइन।) त्यसोभए के कुरामा कठिनाइ छ त? कठिनाइ यो कुरामा छ: मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, न त त्यसलाई पछ्याउँछन्। आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा, यदि मानिसहरूले सत्यता पछ्याएनन् र अभ्यास गरेनन्, साथसाथै तिनीहरूमा क्रूर, दुष्ट, र अहङ्कारी स्वभावहरू छन् भने, यसले सजिलै केही निश्चित परिणामहरूतर्फ डोर्‍याउन र मानिसहरूले अपेक्षा वा हेर्ने चाहना नगरेका नतिजाहरू ल्याउन सक्छ। कसैले आफ्नै निम्ति खराब अन्त्यको अपेक्षा गर्छ र? (गर्दैन।) के आफू अन्त्यसम्म जसोतसो बाँच्नसके ठिकै छ भन्ने सोचेर औसत अन्त्यको आशा गर्नेहरू हुन्छन्? (हुन्छन्।) यी कस्ता खालका मानिस हुन्? तिनीहरू सत्यता नपछ्याउने मानिसहरू हुन्; तिनीहरू मृत्यु हुञ्जेल समय कटाउने काम मात्र गरिरहेका हुन्छन्। यस्ता मानिसहरूको कर्तव्य-निर्वाह पूर्णतया लापरवाह र झाराटारुवा हुने निश्चित छ, जसले गर्दा तिनीहरूले सजिलै गल्ती वा पाप गर्छन्, र तिनीहरूलाई मापदण्डअनुरूप कर्तव्य निर्वाह गर्न निकै कठिन हुन्छ। कस्ता मानिसहरूले मापदण्डअनुरूप कर्तव्य निर्वाह गर्न सक्छन्? (सत्यता पछ्याउनेहरूले।) अरू कसले सक्छन्? (मानवता भएका मानिसहरूले।) मानवतामा के-के कुराहरू पर्छन्? (विवेक र समझ।) जसमा विवेक र समझ हुन्छ, जसले मानवता बोकेका हुन्छन्, तिनीहरूले सत्यता पछ्याएमा सजिलै मापदण्डअनुरूप कर्तव्य निर्वाह गर्नेछन्। कतिपय मानिसहरू भन्छन्: “तपाईं मानिसहरूले पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्न नसकेका यी गम्भीर नकारात्मक उदाहरणहरूबारे कुरा गरिरहनुहुन्छ, र यसले हाम्रो आत्मविश्वास घटाइरहेको छ। हामी कहिले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्ने स्तरमा पुग्नेछौँ? के यसका कुनै सकारात्मक उदाहरणहरू छन्?” त्यसोभए, बढी उत्साहजनक र सकारात्मक कुराबारे छलफल गरौँ। अहिले, धेरै मानिसहरूले सत्यता पछ्याउनतिर ध्यान दिन थालेका छन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा थप लगनशील पनि बन्न थालेका छन्। उदाहरणका लागि, केही मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अरूसित सौहार्दपूर्ण सहकार्य गर्न सक्छन्। सौहार्दपूर्ण सहकार्यको अर्थ के हो? त्यसको एउटा प्रकटीकरण यो हो: यो कुनै द्वन्द्व वा षड्यन्त्रविना सबैजना बाहिरी रूपमा मिल्नु मात्र होइन। सौहार्दपूर्ण सहकार्यको अर्थ काममा विविध समस्याहरू सामना गर्दा—तँसित तिनका बारेमा अन्तर्ज्ञान भए पनि नभए पनि र तेरो विचार सही भए पनि नभए पनि—तँ अरूसित छलफल र सङ्गति गर्न, सत्यता सिद्धान्तहरू खोज्न, र सहमतिमा पुग्न सक्छस् भन्ने हो। सौहार्दपूर्ण सहकार्य भनेको त्यही नै हो। एउटा सहमतिमा पुग्नुको उद्देश्य के हो? यसको उद्देश्य आफ्ना कर्तव्यहरू अझ राम्ररी पूरा गर्नु, मण्डलीको काम अझ राम्रो गर्नु, र परमेश्वरको गवाही दिन सक्ने हुनु हो। यदि तँ आफ्नो कर्तव्य-निर्वाहले मापदण्ड पूरा गरोस् भन्ने चाहन्छस् भने, आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले पहिला सौहार्दपूर्ण सहकार्य गर्नैपर्छ। अहिले कतिपय मानिसहरूले सौहार्दपूर्ण सहकार्य अभ्यास गर्न थालिसकेका छन्। सत्यता बुझेपछि, तिनीहरूले सत्यतालाई पूर्णतया अभ्यास गर्न नसके पनि, र असलफलता, कमजोरी, र विचलनहरू आइपरे पनि, तिनीहरू अझै सत्यता सिद्धान्तहरूप्रति लागिपर्छन्। त्यसैले, तिनीहरूले सौहार्दपूर्ण सहकार्य गर्ने आशा रहन्छ। उदाहरणका लागि, कहिलेकाहीँ तँलाई आफूले सही गरिरहेको छु भन्ने लाग्ला, तर तँ आत्मधर्मी नहुन सक्षम छस्। तैँले प्रस्ट नहुञ्जेल अरूसित छलफल गर्न र सत्यता सिद्धान्तहरूमाथि सँगै सङ्गति गर्न सक्छस्, ताकि सबैले बुझून्, र यसो गर्दा उत्कृष्ट नतिजा हात पर्नेछ भन्ने कुराका, साथै, यो सिद्धान्तभन्दा बाहिर जाँदैन, यसले परमेश्वरको घरका हितलाई ध्यानमा राख्छ, परमेश्वरको घरका हितलाई हदैसम्म रक्षा गर्नेछ भन्नेमा पनि सबैजना सहमत होऊन्। यसरी अभ्यास गर्दा सत्यता सिद्धान्तहरूसित मिल्छ। अन्तिम परिणाम सधैँ तैँले परिकल्पना गरेझैँ नहोला, तर तेरो अभ्यासको मार्ग, दिशा र लक्ष्य सही थियो। त्यसोभए परमेश्वरले यसलाई कसरी हेर्नुहुन्छ? परमेश्वर यो मामलालाई कसरी व्याख्या गर्नुहुन्छ? परमेश्वरले तेरो कर्तव्य-निर्वाह पर्याप्त छ भन्नुहुनेछ। के पर्याप्तताको मतलब तैँले परमेश्वरको इच्छाबमोजिम कर्तव्य निर्वाह गरेको छस् भन्ने हो? अहँ, होइन। पर्याप्तता भनेको परमेश्वरको इच्छा पूरा गर्न, परमेश्वरको अनुमोदन पाउन, र परमेश्वरका मापदण्डहरू पूर्ण रूपमा पालना गर्दै अभ्यास गर्नबाट धेरै टाढाको कुरा हो। पर्याप्तता भनेको यति मात्र हो कि तँ सही मार्गमा छस्, तेरा अभिप्रायहरू सही छन्, र तेरो दिशा सही छ, तर तँ अझै पनि परमेश्वरले माग गर्नुहुने सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्ने उच्च स्तरमा पुगेको छैनस्। उदाहरणका लागि, आज्ञाकारिताका सम्बन्धमा, मानौँ परमेश्वरको घरले तेरो लागि आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा केही कामको बन्दोबस्त गर्छ। तैँले आफ्नो कर्तव्य-निर्वाहमा मापदण्ड पूरा गर्नका लागि कसरी अभ्यास गर्नुपर्छ? तैँले पहिलोचोटी उक्त कामका बारेमा सुन्दा, तँसित केही रायहरू हुन सक्लान्। तर केही सोचविचार गरेपछि तैँले यस्तो सोच्छस्, “परमेश्वरले भन्नुभएको छ कि हामीले आफूले नबुझ्ने मामलाहरूमा खोजी र समर्पण गर्न सिक्नुपर्छ। त्यसैले, मैले खोजी गर्नैपर्छ। मैले सत्यता नबुझे पनि वा मलाई कसरी अभ्यास गर्ने भनी थाहा नभए पनि, काम मेरै हातमा परेको छ, त्यसैले मैले पालना र समर्पण गर्नैपर्छ। नियमहरू पालना गर्ने मात्र भए पनि, मैले पहिला तिनकै पालना गर्नुपर्छ।” यदि तँ यसरी अभ्यास गर्न सक्छस् भने, तैँले लक्ष्य पूरा गरिरहेको छस्। तर के लक्ष्य पूरा गर्नु र परमेश्वरको अनुमोदन पाउनुबीच कुनै अन्तर छ? (छ।) यो अन्तर तैँले सत्यताबारे कुन हदसम्म बुझ्छस् भन्ने कुराले निर्धारित गर्छ। तँ समर्पित हुन सक्ने भए पनि, तैँले परमेश्वरका अभिप्रायहरू बुझ्दैनस् र सत्यता सिद्धान्तहरू पूर्ण रूपमा चिनेको वा अभ्यास गरेको छैनस्; तैँले नियमहरू मात्र पालना गरेको छस्। तैँले व्यक्तिले गर्नुपर्ने आधारभूत कामहरू विवेक र नियमका मापदण्डअनुसार पालना गरेको छस्, त्यसैले कार्य-सम्पादनक हिसाबमा कुनै पनि समस्याहरू छैनन्, र तेरा कार्यहरूको प्रकृतिको हिसाबमा, केही पनि गलत छैन। तर, यसले सत्यता अभ्यासको मापदण्ड पूरा गर्दैन; तँ अझै पनि परमेश्वरका अभिप्रायहरू बुझ्दैनस्। तैँले केवल निष्क्रिय रूपमा स्वतः आफना कर्तव्यहरू पूरा गरेको छस्; तैँले सत्यता सिद्धान्तहरूअनुसार तिनलाई उचित तरिकाले पूरा गरिनस्। तँ परमेश्वरको गवाही दिन वा परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्ने स्तरमा पुगेको छैनस्। तैँले गवाही दिने मापदण्ड पूरा गरेको छैनस्। त्यसकारण, यसरी आफ्ना कर्तव्य निर्वाह गर्नु पर्याप्त त हुन्छ, तर त्यसले परमेश्वरको अनुमोदन पाउँदैन।

व्यक्तिले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गरेको छ छैन भनी निर्धारण गर्ने मानक के हो? यदि आफ्नो कर्तव्य निर्वाह गर्ने मार्ग सही छ, दिशा सही छ, र अभिप्राय सही छ भने; यदि स्रोत सही छ र सिद्धान्तहरू सही छन् भने—यी पक्षहरू सही भएको खण्डमा, व्यक्तिले निर्वाह गरेको कर्तव्य पर्याप्त हुन्छ। धेरै मानिसहरू यो कुरालाई सैद्धान्तिक रूपमा बुझ्छन्, तर आफूलाई केही आइपर्दा अलमल्ल पर्छन्। संक्षेपमा, म तिमीहरूलाई एउटा सिद्धान्त भन्छु: परिस्थितिहरू सामना गर्दा मनोमानी वा एकतर्फी रूपमा कार्य नगर्। तैँले किन मनोमानी र एकतर्फी रूपमा कार्य गर्न मिल्दैन? एकातिर, यसरी कार्य गर्नु कर्तव्य निर्वाह गर्ने सिद्धान्तअनुरूप हुँदैन। अर्कोतिर, कर्तव्य भनेको तेरो व्यक्तिगत मामिला होइन; तैँले यो आफ्‍नै लागि गरिरहेको हुँदैनस्, तँ तेरो आफ्नै व्यवस्थापनमा संलग्न भइरहेको हुँदैनस्, यो तेरो आफ्‍नै व्यक्तिगत व्यवसाय होइन। परमेश्‍वरको घरमा, तैँले जे गरे पनि, तैँले आफ्‍नै उद्यमको काम गरिरहेको हुँदैनस्; यो परमेश्‍वरको घरको काम हो, यो परमेश्‍वरको काम हो। तैँले सधैँ यो ज्ञान र सचेतनालाई ध्यान दिएर भन्‍नुपर्छ, “यो मेरो आफ्‍नै कामकाज होइन; मैले त आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु र आफ्नो जिम्‍मेवारी पूरा गरिरहेको छु। म मण्डलीको काम गरिरहेको छु। यो मलाई परमेश्‍वरले सुम्पनुभएको काम हो र मैले उहाँको लागि यो काम गरिरहेको छु। यो मेरो कर्तव्य हो, आफ्‍नै व्यक्तिगत कामकाज होइन।” मानिसहरूले बुझ्‍नुपर्ने पहिलो कुरा यही हो। यदि तँ कुनै कर्तव्यलाई आफ्नो व्यक्तिगत मामलाका रूपमा लिन्छस्, र काम गर्दा सत्यता सिद्धान्तहरू खोज्दैनस्, अनि यसलाई आफ्‍नै अभिप्राय, दृष्टिकोण, र कार्यसूची अनुसार गर्छस् भने, तैँले गल्ती गर्ने सम्‍भावना धेरै हुन्छ। त्यसोभए, यदि तैँले आफ्‍नो कर्तव्य र व्यक्तिगत मामिलाहरूबीच स्पष्ट भिन्‍नता छुट्याउँछस्, र यो कर्तव्य हो भन्‍ने तँलाई थाहा छ भने तैँले कसरी काम गर्नुपर्छ? (परमेश्‍वरले माग गर्नुहुने कुरा र सिद्धान्तहरू खोजी गर्नुपर्छ)। ठिक भनिस्। यदि तँलाई कुनै कुरा आइपर्छ र तैँले सत्यता बुझ्दैनस्, अनि तँसँग केही विचार छ तर तँलाई अझै कुराहरू स्पष्ट छैन भने, तैँले सङ्गति गर्न सत्यता बुझ्ने ब्रदर-सिस्टरहरू खोज्नैपर्छ; यो सत्यता खोजी गर्नु हो, र अरू सबै कुराभन्दा पहिले, यो तैँले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति हो। तैँले आफूलाई उचित लाग्ने कुराको आधारमा निर्णय गर्ने, अनि त्यसपछि अन्तिम निर्णय सुनाउँदै मामिला खतम भयो भन्ने गर्नु हुँदैन—यसले सहजै समस्याहरू निम्त्याउँछ। कुनै कर्तव्य तेरो व्यक्तिगत मामिला होइन; ठूलो होस् या सानो, परमेश्‍वरको घरका कामकुराहरू कुनै व्यक्तिका व्यक्तिगत मामिला होइनन्। यो कर्तव्यसँग सम्‍बन्धित छ भने, तेरो निजी कुरा होइन, यो तेरो व्यक्तिगत मामिला होइन—यो सत्यतासँग सम्बन्धित छ, र यो सिद्धान्तसँग सम्‍बन्धित छ। त्यसोभए तिमीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिमीहरूले सत्यता खोज्नुपर्छ, र सिद्धान्तहरू खोजी गर्नुपर्छ। अनि यदि तिमीहरूले सत्यता बुझ्दैनौ भने, सुरुमा सिद्धान्तहरू खोजी गर्नैपर्छ; यदि तिमीहरूले सत्यता बुझिसकेका छौ भने, सिद्धान्त पहिचान गर्न सहज हुनेछ। सिद्धान्तहरू बुझ्दैनस् भने तैँले के गर्नुपर्छ? एउटा उपाय छ: तैँले जसले बुझ्छन् तिनीहरूसँग सङ्गति गर्न सक्छस्। सधैँ आफूले सबथोक बुझ्छु र आफू सधैँ सही हुन्छु भन्ने मान्यता नराख्; यसो गर्दा सजिलै गल्तीहरू हुन्छन्। तैँले सधैँ अन्तिम निर्णय गर्न चाहनु कस्तो स्वभाव हो? यो अहङ्कार र आत्मधार्मिकता हो, यो मनोमानी र एकतर्फी रूपमा कार्य गर्नु हो। कतिपय मानिसहरू सोच्छन्, “मैले कलेज पढेको छु, म तिमीहरूभन्दा सभ्य छु, ममा बोध क्षमता छ, तिमीहरू सबै कद सानो छ र सत्यता बुझ्दैनौ, त्यसैले म जे भन्छु, तिमीहरूले सुन्नुपर्छ। मैले मात्र निर्णय गर्न मिल्छ!” यो कस्तो दृष्टिकोण हो? यदि तँसित यस्तो दृष्टिकोण छ भने, तँ समस्यामा पर्नेछस्; तैँले कहिल्यै आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछैनस्। यदि तँ सौहार्दपूर्ण सहकार्यविना सधैँ अन्तिम निर्णय गर्ने व्यक्ति बन्न चाहन्छस् भने, तैँले कसरी आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्छस्? यसरी आफ्ना कर्तव्यहरू निर्वाह गर्दा लक्ष्यहरू कदापि पूरा हुनेछैनन्। म किन यसो भन्छु? तँ सधैँ अरूलाई जकडेर राख्न र तेरो कुरा सुन्न लगाउन चाहन्छस्; तँ अरूले जे भने पनि मान्दैनस्। यो पक्षपाती र हठी कुरो हो, यो अहङ्कार र आत्मधार्मिकता पनि हो। यसरी, तैँले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न नसक्ने मात्र नभई, अरूलाई पनि तिनीहरूका कर्तव्य राम्ररी निर्वाह गर्नबाट रोक्नेछस्। यो अहङ्कारी स्वभावको परिणाम हो। परमेश्वर किन मानिसहरूबाट सौहार्दपूर्ण सहकार्यको माग गर्नुहुन्छ? एकातिर, यो मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्नमा लाभदायी हुन्छ, जसले तिनीहरूलाई आफूलाई चिन्न र आफ्ना भ्रष्ट स्वभावहरू हटाउन मद्दत गर्छ—यसले तिनीहरूको जीवन प्रवेशमा लाभ पुर्‍याउँछ। अर्कोतिर, सौहार्दपूर्ण सहकार्य मण्डलीको कामका लागि पनि लाभदायी हुन्छ। सबैमा सत्यताको बुझाइ नहुने र भ्रष्ट स्वभावहरू हुने हुनाले, यदि सौहार्दपूर्ण सहकार्य हुन सक्दैन भने, तिनीहरू आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्षम हुनेछैनन्, जसले मण्डलीको काममा असर पार्नेछ। यसको परिणाम गम्भीर हुन्छ। संक्षेपमा भन्नुपर्दा, पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नका लागि व्यक्तिले सौहार्दपूर्ण सहकार्य गर्न सिक्नैपर्छ र, परिस्थितिहरूको सामना गर्दा सत्यतामाथि सङ्गति गरेर समाधानहरू खोज्नैपर्छ। यो अत्यावश्यक कुरो हो—यसले मण्डलीको काममा मात्र नभई परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा समेत फाइदा पुर्‍याउँछ। कतिपय मानिसहरू यो बुझ्नै सक्दैनन्; तिनीहरू सधैँ सोच्छन् कि सौहार्दपूर्ण सहकार्य ज्यादै समस्याजनक हुन्छ, र बेलाबेलामा, सत्यतामाथि सङ्गति गरेर सजिलै नतिजा प्राप्त हुँदैन। त्यसपछि यी मानिसहरू शङ्का गर्दै यसो भन्छन्, “के पर्याप्त रूपमा कर्तव्य निर्वाह गर्नका लागि सौहार्दपूर्ण सहकार्य गर्न साँच्चै जरूरी छ? कुनै परिस्थितिको सामना गर्दा, के सबैले सँगै सङ्गति गरेर पक्कै नतिजाहरू प्राप्त हुनेछन्? मलाई लाग्छ, यो सबै झारा टार्ने काम मात्र हो; यी नियमहरू पालना गर्नु बेकार छ।” के यो दृष्टिकोण सही हो? (छैन।) यो दृष्टिकोणले के समस्या खुलाउँछ? (कर्तव्य निर्वाहप्रतिको तिनीहरूको मनोवृत्ति समस्याजनक छ।) कतिपय मानिसहरूमा अहङ्कारी र आत्मधर्मी स्वभाव हुन्छ; तिनीहरू सत्यतामाथि सङ्गति गर्न अनिच्छुक हुन्छन् र सधैँ अन्तिम निर्णय गर्न चाहन्छन्। के त्यस्तो अहङ्कारी र आत्मधर्मी व्यक्तिले अरूसित सौहार्दपूर्ण सहकार्य गर्न सक्छ? परमेश्वरले मानिसहरूबाट तिनीहरूका भ्रष्ट स्वभावहरू सुल्झाउन, आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा परमेश्वरको कामप्रति आज्ञाकारिता सिक्न मद्दत गर्न, र तिनीहरूका भ्रष्ट स्वभावहरू हटाउन, र यसरी पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नका लागि तिनीहरूले सौहार्दपूर्ण सहकार्य गरून् भन्ने माग गर्नुहुन्छ। अरूसित सहकार्य गर्न अस्वीकार गर्नु र मनोमानी र एकतर्फी रूपमा कार्य गर्न चाहनु, सबैलाई तेरो कुरा सुन्न लगाउनु—के तैँले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति यही हो? आफ्नो कर्तव्य निर्वाह गर्नेप्रतिको तेरो मनोवृत्ति तेरो जीवन प्रवेशसँग सम्बन्धित हुन्छ। परमेश्‍वरले हरेक दिन तँलाई के आइपर्छ, वा तैँले कति धेरै काम गर्छस्, वा तैँले त्यसमा कति धेरै मेहनत गर्छस् भन्‍ने कुरालाई हेर्नुहुन्‍न—उहाँले त ती कुराहरूप्रति तेरो मनोवृति के छ भन्‍ने कुरालाई हेर्नुहुन्छ। अनि तैँले यी कुराहरू जुन मनोवृतिले, र जुन तरिकाले गर्छस्, त्यो केसँग सम्‍बन्धित हुन्छ? यो कुरा तैँले सत्यता खोजी गर्छस् कि गर्दैनस् भन्‍ने कुरासँग, र साथै तेरो जीवन प्रवेशसँग पनि सम्‍बन्धित हुन्छ। परमेश्‍वरले तेरो जीवन प्रवेश, अर्थात् तैँले हिँड्ने मार्ग हेर्नुहुन्छ। यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस् र तँसँग जीवन प्रवेश हुन्छ भने, तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तँ अरूसँग मिलेर सहकार्य गर्न सक्षम हुनेछस्, र तँले पर्याप्त हुने गरी सहज शैलीमा आफ्नो कर्तव्य निर्वाह गर्नेछस्। तर, आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सधैँ तँसँग पूँजी छ, तैँले तेरो कामको क्षेत्र बुझेको छस्, तँसँग अनुभव छ, र तैँले परमेश्‍वरका अभिप्रायहरूलाई वास्ता गर्छस्, अनि अरूले भन्दा बढी सत्यताको खोजी गर्छस् भन्‍ने जोड दिन्छस्, र त्यसपछि यी कुराहरूको कारण, यदि तँ आफू अन्तिम निर्णय गर्न योग्य छु भनी सोच्छस्, र अरू कसैसँग केही कुराबारे पनि छलफल गर्दैनस्, र सधैँ नियमलाई आफ्‍नै हातमा लिएर, आफ्‍नै व्यवस्थापनमा संलग्‍न हुन्छस्, र सधैँ “फूलेको एउटै फूल” बन्‍न चाहन्‍छस् भने, के तँ जीवन प्रवेशको मार्गमा हिँड्छस् र? हिँड्दैनस्—यो त हैसियतको खोजी हो, यो पावलको मार्ग हिँड्नु हो, यो जीवन प्रवेशको मार्ग होइन। परमेश्वरले मानिसहरूलाई जीवन प्रवेशको मार्ग र सत्यता पछ्याउने मार्गमा हिँड्न लगाउने तरिकामा यस्ता व्यवहारहरू संलग्न हुँदैनन् वा त्यसले यी प्रकटीकरणहरू देखाउँदैनन्। पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नुको मानक के हो? (सबै कुरामा सत्यता खोज्नु, सिद्धान्तबमोजिम कार्य गर्न सक्षम हुनु।) ठिक भनिस्। तेरो कर्तव्य पर्याप्त रूपमा पूरा गर्नका निम्ति, तैँले परमेश्‍वरमा कति वर्षदेखि विश्‍वास गरेको छस्, तैँले कतिवटा कर्तव्यहरू निर्वाह गरेको छस् भन्ने कुराको कुनै महत्त्व हुँदैन, न त तैँले परमेश्‍वरको घरमा कति योगदान दिएको छस् भन्ने कुराको नै महत्त्व हुन्छ, तँ आफ्नो कर्तव्यमा कतिको अनुभवी छस् भन्ने कुरा त परै जाओस्। परमेश्‍वरले हेर्नुहुने मुख्य कुरा भनेको, व्यक्तिले कुन बाटो लिन्छ भन्ने तथ्य हो। अर्को शब्दमा, उहाँले सत्यताप्रतिको व्यक्तिको आचरण र व्यक्तिका कार्यहरूको पछाडिका सिद्धान्तहरू, दिशा, मूल र सुरुवाती बिन्दुलाई हेर्नुहुन्छ। परमेश्‍वरले यी कुराहरूमा ध्यान केन्द्रित गर्नुहुन्छ; तिनै कुराहरूले तँ हिँड्ने बाटो निर्धारित गर्छन्। यदि, तेरो कर्तव्य पूरा गर्ने क्रममा, तँमा यी सकारात्मक कुराहरू पटक्कै देखिँदैनन् भने, र तेरो कार्यको सिद्धान्त, मार्ग र आधार तेरा आफ्नै विचार, उद्देश्य र युक्तिहरू हुन् भने; तेरो सुरुवाती बिन्दु भनेको आफ्नै हितको रक्षा गर्नु र तेरो इज्जत र ओहदा बचाउनु हो, तेरो काम गर्ने शैली एकलै निर्णयहरू लिएर काम गर्नु र अन्तिम निर्णय आफै गर्नु, कामकुराहरूको विषयमा अरूसँग कहिल्यै छलफल नगर्नु वा सामञ्जस्य रूपमा सहकार्य नगर्नु, र आफूले गल्ती गर्दा सत्यता खोज्‍नु त कता हो कता कसैको सल्लाह-सुझावसमेत कहिल्यै नसुन्‍नु हो भने, परमेश्‍वरले तँलाई कसरी हेर्नुहुनेछ? यदि तैँले यसरी आफ्नो कर्तव्य पूरा गर्छस् भने, तँ मापदण्डमा पुगेको छैनस्, र तैँले सत्यताको पछि लाग्ने मार्गमा पाइला टेकेको छैनस्, किनकि आफ्नो कर्तव्य निर्वाह गर्दा, तँ सत्यता सिद्धान्तहरू खोज्दैनस् र सधैँ आफ्नो इच्छाअनुसार काम गर्दै आफूलाई जे मन लाग्यो त्यही गर्छस्। धेरैजसो मानिसहरूले पर्याप्त आफ्नो कर्तव्य निर्वाह नगर्नुको कारण यही हो। त्यसोभए यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? के तिमीहरू आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न कठिन हुन्छ भन्छौ? वास्तवमा, यो कठिन छैन; मानिसहरूले नम्र भएर मात्रै लागिपर्न सक्‍नुपर्छ, तिनीहरूमा थोरै चेतना हुनुपर्छ, र तिनीहरूले उचित स्थान अवलम्‍बन गर्नुपर्छ। तँ जति नै शिक्षित भए पनि, तैँले जे-जस्ता पुरस्कारहरू जितेको भए पनि, वा तैँले जे हासिल गरेको भए पनि, र तेरो हैसियत र ओहोदा जति उच्‍च भए पनि, तैँले यी सबै कुराहरू त्याग्‍नुपर्छ र आडम्बरबाट बाहिर निस्कनुपर्छ—यो सबको कुनै मूल्य छैन। परमेश्‍वरको घरमा, यी गरिमाहरू जति ठूला भए पनि, ती सत्यताभन्दा उच्‍च हुन सक्दैनन्, किनकि यी सतही कुराहरू सत्यता होइनन्, र तिनले सत्यताको स्थान लिन सक्दैनन्। तँ यो कुरामा स्पष्ट हुनुपर्छ। यदि तँ “म वरदानप्राप्त छु, मेरो दिमाग तेजिलो छ, मेरो प्रतिक्रिया क्षमता शीघ्र छ, म चाँडो सिक्‍न सक्‍ने व्यक्ति हुँ, र मेरो स्मरण शक्ति अत्यन्तै राम्रो छ, त्यसकारण म अन्तिम निर्णय आफै गर्न योग्य छु,” भनेर भन्छस् भने, यदि तँ सधैँ यी कुराहरूलाई पूँजीको रूपमा प्रयोग गर्छस्, र तिनलाई बहुमूल्‍य, र सकारात्मक ठान्छस् भने, यो समस्या हो। यदि तेरो हृदयमा यी कुराहरूले बास गरेका छन्, र यी कुराले तेरो हृदयमा जरा गाडेका छन् भने, तँलाई सत्यता स्वीकार गर्न गाह्रो हुनेछ—र त्यसका परिणामहरू सोच्‍न समेत सकिँदैन। तसर्थ, सुरुमा तैँले आफूले प्रेम गरेका, तँलाई राम्रो र बहुमूल्‍य लागेका कुराहरू त्याग्‍नु र इन्कार गर्नुपर्छ। ती कुराहरू सत्यता होइनन्; बरु, तिनले तँलाई सत्यतामा प्रवेश गर्नबाट रोक्‍न सक्छन्। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता खोजी गर्नु, र सत्यताअनुसार अभ्यास गर्नु हो, ताकि तेरो कर्तव्यपालन पर्याप्त तवरको होस्, किनभने पर्याप्त तरिकाले कर्तव्य निभाउनु जीवन प्रवेशको मार्गतर्फ चालिने पहिलो कदम हो। यहाँ “पहिलो कदम” भनेको के हो? यो भनेको यात्रा सुरु गर्नु हो। सबै कुरामा, कुनै न कुनै कुरा हुन्छ जसबाट यात्रा सुरु हुन्छ, जुन सबैभन्दा साधारण, र आधारभूत हुन्छ, अनि पर्याप्त रूपको कर्तव्यपालन हासिल गर्नु जीवन प्रवेशको मार्ग हो। यदि तेरो कर्तव्यपालन यसलाई जसरी गर्नुपर्थ्यो त्योअनुरूप भएझैँ देखिन्छ, तर सत्यता सिद्धान्तअनुरूप चाहिँ छैन भने, तैँले आफ्‍नो कर्तव्य पर्याप्त रूपमा निभाइरहेको छैनस्। त्यसो भए, व्यक्तिले यसमा कसरी काम गर्नुपर्छ? उसले सत्यता सिद्धान्तहरूमा काम गर्नुपर्छ र तिनको खोजी गर्नुपर्छ; सत्यता सिद्धान्तहरूले सुसज्‍जित हुनु महत्त्वपूर्ण छ। यदि तैँले आफ्‍नो व्यवहार र आवेगमा मात्रै सुधार गर्छस्, तर तँ सत्यता वास्तविकताहरूले सुसज्‍जित हुँदैनस् भने, यो व्यर्थ हुन्छ। तँसँग कुनै वरदान वा विशिष्टता हुन सक्छ। त्यो राम्रो कुरा हो—तर तैँले आफ्‍नो कर्तव्य निभाउँदा यसलाई प्रयोग गरिस् भने मात्रै यसको उचित प्रयोग गरिरहेको हुन्छस्। तैँले कर्तव्य राम्ररी निभाउनलाई तेरो मानवता वा व्यक्तित्वमा सुधार गर्नैपर्छ भन्‍ने छैन, न त तैँले आफ्‍नो वरदान वा प्रतिभालाई नै पन्छाउनुपर्छ। यस्ता कार्यहरू गर्नु पर्दैन। महत्त्वपूर्ण कुराचाहिँ तैँले सत्यता बुझ्‍नु र परमेश्‍वरमा समर्पित हुन सिक्‍नु हो। तैँले आफ्‍नो कर्तव्य निभाउँदा तेरो भ्रष्ट स्वभाव प्रकट हुनु लगभग अपरिहार्य नै हुन्छ। त्यस्तो बेला तैँले के गर्नुपर्छ? तैँले समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ र सत्यता सिद्धान्तअनुसार काम गर्नुपर्छ। यसो गर्, अनि तँलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुमा कुनै समस्या हुनेछैन। तेरो वरदान वा विशेषज्ञता जुन क्षेत्रमा भए पनि, वा तेरो व्यावसायिक ज्ञान जुन क्षेत्रको भए पनि, आफ्नो कर्तव्य-निर्वाहनमा यी कुराहरू प्रयोग गर्नु सबैभन्दा उचित हुन्छ—यो आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने एउटै मात्र उपाय हो। एउटा पाटो विवेक र समझको भरमा आफ्नो कर्तव्य निर्वाह गर्नु हो, र अर्को पाटो आफ्‍नो भ्रष्ट स्वभाव हल गर्न तैँले सत्यता खोज्‍नुपर्छ भन्‍ने हो। यसरी आफ्‍नो कर्तव्य निभाउँदा व्यक्तिले जीवन प्रवेश प्राप्त गर्छ, र ऊ पर्याप्त रूपमा आफ्‍नो कर्तव्य निभाउन सक्षम हुन्छ।

अहिले देखिएअनुसार, पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नु सत्यता खोजी गर्नु र सत्यता सिद्धान्तअनुसार कार्य गर्नुबाट अविभाज्य छ। यदि व्यक्तिले समस्याहरू समाधान गर्न र सिद्धान्तहरूअनुसार कार्य गर्ने स्तरमा पुग्नका लागि सत्यता खोज्न सक्दैन भने, उसले पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्न सक्दैन। पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नुको परिभाषा भर्खरै व्याख्या गरिएअनुसारको छ। के परमेश्वरले मानिसहरूबाट गर्ने मागहरू उच्च छन्? वास्तवमा, ती उच्च छैनन्। उहाँ तँलाई तेरा कार्यहरूमा सही मनोवृत्ति, अभिप्राय, र दृष्टिकोण राख्न मात्र आग्रह गर्नहुन्छ। यस आधारमा, तैँले पवित्र आत्माको काम प्राप्त गर्न र आफूबारे ज्ञानलाई गहन पार्न सक्छस्। त्यसपछि तँ परीक्षा र शोधनहरू भोग्न सक्षम हुनेछस्, जसले तँलाई झनै गहन सत्यताहरूमा प्रवेश गर्न र स्वभाव परिवर्तन गर्न सक्षम तुल्याउनेछ। तैँले परीक्षा र शोधनहरू भोग्नुपहिले, सत्यताबारे तेरो बुझाइका आधारमा परमेश्वरले तँलाई केही न्याय र सजाय दिनुहुनेछ। तर न्याय र सजायका साथै परीक्षा र शोधनको आधार के हो? यो आधार तँ पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्ने स्तरमा पुगेको छस् कि छैनस् भन्ने हो—अर्को शब्दमा भन्नुपर्दा, तैँले जीवन प्रवेश हासिल गरेको छस् छैनस् भन्ने हो। तेरो जीवन प्रवेश मण्डलीभित्रका तेरा काम र जिम्मेवारीहरूसँग असम्बन्धित हुँदैन। यदि तँ घरमै परमेश्वरका वचनहरू पढ्दै दिन कटाउँछस् र आफ्नो कर्तव्य-निर्वाह र जीवन प्रवेशबारे खोक्रो कुरा गर्छस् भने, यो अव्यावहारिक र निरर्थक कुरो हो। यो कुर्सीमा बसेर रणनीति बनाउनु जस्तै हो; तँ दिनभरी पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नेबारे, परमेश्वरको आज्ञा प्राप्त गर्नेबारे कुरा गर्छस्, तर कुनै समर्पण वा व्यय गर्दैनस्, र निश्चय नै दुःख वा कठिनाइहरू अनुभव गर्दैनस्। तैँले भजनहरू गाउँदा वा परमेश्वरका वचनहरू पढ्दा कहिलेकाहीँ आँसु झारे पनि, यसले केही पनि असर पार्नेछैन। यो दृष्टिकोणबाट, के पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्ने स्तरसम्म पुग्नु र मुक्ति प्राप्त गर्नुबीच कुनै सम्बन्ध छ? अथवा, के यो परमेश्वरको न्याय र सजाय पाउनुसित सम्बन्धित छ? ती सम्बन्धित छन्। परमेश्वरको न्याय र सजाय प्राप्त गर्नका लागि, व्यक्तिले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्नैपर्छ। परमेश्वर किन मानिसहरूबाट तिनीहरूले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गरून् भन्ने माग गर्दै यस्तो मानक तोक्नुहुन्छ? किनभने परमेश्वरले तेरो कर्तव्य-निर्वाह प्रयोग गरेर तेरो जीवन प्रवेशको मात्रा मापन गर्नुहुन्छ। यदि तैँले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गरेको छस् भने, यसको मतलब तेरो जीवन प्रवेशले तँलाई न्याय र सजाय स्विकार्न योग्य तुल्याउने एउटा मानक पूरा गरिसकेको छ, र यसको मतलब यो पनि हुन्छ कि तँ परमेश्वरको सिद्धताको काम स्विकार्न योग्य छस्। त्यसोभए यो कुरा हासिल गर्नका लागि परमेश्वरले कस्ता सर्तहरू अगाडि सार्नुभएको छ? परमेश्वरको नजरमा तेरो कर्तव्य-निर्वाह पर्याप्त देखिनैपर्छ, यसको मतलब, अको शब्दमा भन्नुपर्दा, तेरो जीवन प्रवेशको आधारभूत मार्ग र दिशा छ, जसलाई परमेश्वरले स्विकार्नुहुन्छ र योग्य ठहर्‍याउनुहुन्छ। परमेश्वरले कसरी यसको जाँच गर्नुहुन्छ? मुख्यगरी तेरो कर्तव्य-निर्वाहमार्फत। तैँले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गरेर परमेश्वरको अनुमोदन पाएपछि, अर्को चरण तत्कालै सुरु हुन्छ: परमेश्वरले तँलाई न्याय र सजाय भोगाउन थाल्नुहुनेछ। तैँले जे-जस्ता गल्तीहरू गरे पनि, तँलाई अनुशासनमा राखिनेछ; यो परमेश्वरले तँलाई नजिकबाट निगरानी गर्न थाल्नुभएजस्तै हो। यो राम्रो कुरा हो—यसको मतलब तँ परमेश्वरद्वारा मान्य तुल्याइएको छस्, तँ अब खतरामा छैनस्, र तँ खुलेआम दुष्ट कार्यहरू कदापि नगर्ने सही व्यक्ति होस्। एक अर्थमा, परमेश्वरले तेरो रक्षा गर्नुहुनेछ; अर्को अर्थमा, आत्मगत रूपमा भन्नुपर्दा, तैँले हिँडिरहेको मार्ग, तेरो जीवनको लक्ष्य र दिशा साँचो मार्गमा आधारित छन्। तैँले परमेश्वरलाई छाड्नेछैनस्, न त तँ विचलित हुनेछस्। त्यसपछि, परमेंश्वरले तँलाई निश्चय नै सिद्ध पार्नुहुनेछ; यो तँमाथि बर्साइएको आशिष् हो। त्यसैले, यदि व्यक्तिले यो आशिष् प्राप्त गर्ने र सिद्ध पारिने मार्गमा हिँड्ने इच्छा गर्छ भने, पहिलो मापदण्ड भनेको पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्नु हो। परमेश्वर र सत्यताप्रतिको तेरो मनोवृत्ति बुझ्नका लागि परमेश्वरले उहाँको घरमा तेरा विविध कार्यप्रदर्शनहरूका साथै उहाँले तँलाई दिनुहुने कार्य, आज्ञा र मिसनहरू नियाल्नुहुन्छ। यी मनोवृत्तिहरूमार्फत्, परमेश्वरले तँ ठ्याक्कै कुन मार्गमा हिँडिरहेको छस् भनी मूल्याङ्कन गर्नुहुन्छ। यदि तँ सत्यता पछ्याउने मार्गमा छस् भने, तेरो कर्तव्य-निर्वाहले लक्ष्य पूरा गर्नेछ, र तैँले पक्कै पनि जीवन प्रवेश र विविध मात्रामा स्वभाव परिवर्तन हासिल गर्नेछस्। यी सबै तैँले आफ्नो कर्तव्य निर्वाहको क्रममा प्राप्त हुन्छन्। परमेश्वरले तँलाई औपचारिक रूपमा सिद्ध पार्नुअघि, तैँले मानव प्रयासको भरमा गर्न सक्ने यति नै हो। परमेश्वरको कामबिना, तँ यो स्तरसम्म मात्र पुग्न सक्छस्; थप प्रयत्न गर्न मुस्किल हुनेछ। तैँले तेरो ल्याकत र मानव सामर्थ्यले भ्याउने काम पूरा गर्न आफूमाथि मात्रै भर पर्न सक्छस्, जस्तै इच्छाशक्तिमार्फत् आफूलाई काबुमा राख्ने, दुःख सहने, मूल्य चुकाउने, त्याग गर्ने, भावनाहरूलाई सम्हाल्ने, संसार त्याग्ने, दुष्ट प्रचलनहरू चिन्ने, देहलाई विश्वासघात गर्ने, इमानदारीका साथ कर्तव्य निर्वाह गर्ने, खुट्ट्याउने र मानिसलाई नपछ्याउने। तैँले यी सबै हासिल गरिसकेपछि, तँ परमेश्वरद्वारा सिद्ध पारिन योग्य हुन्छस्। परमेश्वर मूलतः मानवहरूले हासिल गर्न सक्ने कुरामा हस्तक्षेप गर्नुहुन्न। उहाँ तँलाई निरन्तर सत्यताले भरपोषण गर्नुहुन्छ, निरन्तर मलजल गर्नुहुन्छ, तँलाई सत्यता बुझ्नमा साथ दिनुहुन्छ, विविध पक्षहरूमा सत्यता बुझ्ने उपाय, र सत्यता वास्तविकताहरूमा प्रवेश गर्ने उपाय बताउनुहुन्छ। तैँले यी कुराहरू बुझेर यिनमा प्रवेश गरेपछि, परमेश्वरले तँलाई योग्यताको प्रमाणपत्र दिनुहुनेछ, अनि तैँले मुक्ति प्राप्त गर्ने मौका ८० प्रतिशत हुनेछ। तर, ८० प्रतिशत पुग्नुअघि, तेरो सबै ऊर्जा र प्रयास खर्चनैपर्छ; तैँले यो जीवन व्यर्थैमा जिउन मिल्दैन। कतिपय मानिसहरू भन्छन्: “मैले बीस वर्षदेखि परमेश्वरमा विश्वास गर्दैआएको छु; के मैले आफ्नो सारा ऊर्जा खर्चेको छु त?” यो वर्षको सङ्ख्याले मापन गरिँदैन। कतिपयले भन्छन्: “मैले पाँच वर्षदेखि परमेश्वरमा विश्वास गर्दैआएको छु, र मैले केही सत्यताहरू बुझेको छु। म आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गर्न जान्दछु र यो दिशामा लागिरहेको छु; अब मलाई केही उपायहरू थाहा छ र मलाई हृदयमा अलिकति शान्त र सहज अनुभूति भएजस्तो हुन्छ।” यो अनुभूति मूलतः सही हो, तर के यसको अर्थ तैँले मुक्ति प्राप्त गर्ने मौका ८० प्रतिशत छ भन्ने हुन्छ? हुँदैन; तँ साँच्चिकै कति प्रतिशतमा पुगेको छस्? १० देखि १५ प्रतिशतबीच। किनभने पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तैँले अझै पनि धेरै पटक काटछाँट अनुभव गर्नुपर्छ; तैँले धेरै परिस्थितिहरू अनुभव गर्नुपर्छ। यी परिस्थितिहरूमा सकारात्मक कुरा के हो भने, परमेश्वरले तँलाई धेरै नै अनुभव दिनुहुनेछ। यी मानिस, घटना, र परिस्थितिहरूको अनुभव दिने क्रममा—अर्थात्, यी व्यावहारिक परिस्थितिहरूमा—परमेश्वरले तँलाई केही सत्यताहरू बुझ्न दिनुहुन्छ। उहाँले तँलाई किन यी मानिस, घटना र परिस्थितिहरूमार्फत् सत्यताहरू बुझ्न दिनुहुन्छ? यदि तैँले यी अनुभवहरू भोगिनस् भने, सत्यताबारे तेरो बुझाइ सधैँभरी वचन, धर्मसिद्धान्त, र नाराहरूमै सीमित हुनेछ। तैँले जीवनमा विविध परिस्थितिहरू अनुभव गरिसकेपछि, तैँले यसअघि बुझेका वा तेरो स्मृतिअन्तर्गत बुझ्न र बोध गर्न सकेका ती धर्मसिद्धान्तहरू एक प्रकारको वास्तविकता बन्नेछन्। यो वास्तविकता नै सत्यताको व्यावहारिक पक्ष हो, र तैँले बुझ्नुपर्ने त्यही हो र प्रवेश गर्नुपर्ने त्यसैमा हो।

यदि कसैले पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्ने मानक अझै पूरा गरेको छैन भने, उसले मुक्ति प्राप्त गर्ने सम्भावना कति हुन्छ? बढीमा, १० देखि १५ प्रतिशत हुन्छ, किनभने उसले सत्यता बुझ्दैन र साँचो आज्ञाकारिता कदापि राख्न सक्दैन। के सत्यता नबुझ्ने व्यक्तिले सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छ? के उसले आफ्नो कर्तव्यलाई गम्भीरताका साथ र जिम्मेवारीपूर्वक लिन सक्छ? कदापि सक्दैन। सत्यता नबुझ्नेहरू सबैले पक्कै पनि आफ्नै इच्छाअनुसार कार्य गर्छन्, लापरवाह र झाराटारुवा तरिकाले कामकुरा गर्छन्, थुप्रै स्वार्थी मनसायहरू मिसाउँछन्, र आफ्नै रूचिका आधारमा कार्य गर्छन्। तैँले धेरै धर्मसिद्धान्तहरू भन्न सक्ने, र सिद्धान्त र नाराहरू फलाक्न सक्ने भए पनि, त्यसको अर्थ तँसित सत्यता वास्तविकता छ भन्ने हुँदैन, त्यसैले तैँले मुक्ति प्राप्त गर्ने सम्भावना उच्च छैन। साँचो मुक्ति प्राप्त गर्न, र शैतानको प्रभावबाट मुक्त भएर परमेश्वरको वचनअनुरूप जिउन, त्यसपछि चाल्नुपर्ने कदम भनेको विविध सत्यताहरू बुझ्ने प्रयत्न गर्नु हो। यो प्रयत्नको उद्देश्य के हो? त्यसको उद्देश्य अझ सही र ठोस रूपमा सत्यता वास्तविकतामा प्रवेश गर्नु हो। तँ सत्यताभित्र प्रवेश गरेपछि मात्र तेरो जीवनको सही मार्गमा लाग्न सक्छस्। यदि तँ धर्मसिद्धान्त र नाराहरू फलाक्न मात्र जान्दछस्, तर आफ्नो कर्तव्य पूरा गर्ने सत्यता सिद्धान्तहरू बुझ्दैनस्, र आवेशमा आएर लापरवाहीपूर्वक कार्य गर्न समेत सक्छस् भने, तँसित सत्यता वास्तविकता छैन; र तँ अझै धेरै पछि छस्। कुनै व्यक्तिले आफ्ना कर्तव्यहरू निभाउने क्रममा धेरै कुराहरू अनुभव गरेको छ र आफूले सत्यताका साथै आफूमा भएको कमी बुझ्दिन भनी महसुस गर्छ भने, उसले सत्यता बुझ्न प्रयत्न गर्न थाल्छ। बिस्तारै, ऊ धर्मसिद्धान्त र नाराहरू फलाक्नेबाट साँचो बुझाइ प्राप्त गर्ने, सही रूपमा सत्यता अभ्यास गर्ने, र साँचो रूपमा परमेश्वरको आज्ञापालन गर्ने अवस्थामा पुग्छ। यसरी, मुक्ति प्राप्त गर्ने उसको आशा बढ्छ, र सम्भावना उच्च बन्छ। यो वृद्धि केमा आधारित हुन्छ? (यो उसले सत्यता बुझ्ने मात्रामा आधारित हुन्छ।) व्यक्तिले कति मात्रामा सत्यता बुझ्छ भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण पक्ष होइन; सबैभन्दा महत्त्वपूर्ण पक्ष त सत्यता वास्तविकता अभ्यास गर्नु र त्यसमा प्रवेश गर्नु हो। सत्यता अभ्यास गरेर मात्र तैँले त्यो बुझ्न सक्छस्; यदि तैँले अभ्यास गरिनस् भने सत्यता कहिल्यै बुझ्नेछैनस्। वचन र धर्मसिद्धान्तहरू मात्र बुझ्नु भनेको सत्यता बुझ्नुसरह होइन। तैँले जति बढी सत्यता अभ्यास गरिस्, तँसँग त्यति बढी वास्तविकता हुन्छ, तँ त्यति बढी परिवर्तन हुन्छस्, र तैँले त्यति नै राम्ररी सत्यता बुझ्छस्। यसर्थ, मुक्ति प्राप्त गर्ने तेरो आशा त्यसैअनुसार बढ्नेछ। आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा, सकारात्मक कुरा चाहिँ, यदि तैँले आफ्ना कर्तव्यहरूलाई सही रूपमा लिन सकिस्, जस्तोसुकै परिस्थितिहरू आइपरे पनि तिनलाई कहिल्यै त्यागिनस्, र अरूले आस्था गुमाएर आफ्ना कर्तव्यहरू निभाउन छाड्दा पनि तँ आफ्नो कर्तव्यमा अडिग रहिस् र तिनलाई सुरुदेखि अन्त्यसम्म कहिल्यै त्यागिनस्, र अन्त्यसम्मै आफ्ना कर्तव्यहरूप्रति अडिग र वफादार रहिस् भने, तँ आफ्ना कर्तव्यहरूलाई साँच्चिकै कर्तव्यकै रूपमा लिइरहेको हुन्छस् र पूर्ण भक्ति देखाइरहेको हुन्छस्। यदि तँ यो मानक पूरा गर्न सक्छस् भने, तैँले पर्याप्त मात्रामा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने लक्ष्य मूलभूत रूपमा पूरा गरेको छस्; यो सकारात्मक पाटो हो। तर, यो मानकसम्म पुग्नुअघि, नकारात्मक पाटो के हो भने, व्यक्ति विविध परीक्षाहरू सहन सक्षम हुनैपर्छ। कुनै व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परीक्षाहरू सहन नसकेकाले आफ्नो कर्तव्य त्यागेर भाग्छ र आफ्नो कर्तव्यमाथि विश्वासघात गर्छ भने, यो कस्तो समस्या हो? यो परमेश्वरलाई विश्वासघात गर्नुसरह हो। परमेश्वरको आज्ञामाथि विश्वासघात गर्नु भनेको परमेश्वरलाई विश्वासघात गर्नु हो। के परमेश्वरलाई विश्वासघात गर्ने व्यक्तिले अझै पनि मुक्ति प्राप्त गर्न सक्छ? यो व्यक्तिले मुक्ति पाउने आशा सक्किन्छ; सबै आशा गुम्छ, र उसले यसअघि निर्वाह गरेका कर्तव्यहरू सेवा प्रदान गरेको मात्र थिए, जुन उसले विश्वासघात गरेसँगै बिलाएर गएको छ। त्यसैले, आफ्नो कर्तव्यमा अडिग रहनु अत्यावश्यक कुरो हो; यसो गरेमा आशा रहन्छ। बफादारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेमा व्यक्तिले मुक्ति प्राप्त गर्न र परमेश्वरको अनुमोदन पाउन सक्छ। आफ्नो कर्तव्यप्रति अडिग रहनमा हरव्यक्तिलाई सबैभन्दा कठिन लाग्ने कुरा के हो? त्यो भनेको परीक्षा सामना गर्दा ऊ अडिग रहन सक्छ कि सक्दैन भन्ने कुरा हो। यी परीक्षाहरूमा के-के पर्छन्? पैसा, हैसियत, आत्मिय सम्बन्ध, भावनाहरू। अरू के-के पर्छन्? यदि केही कर्तव्यहरूमा जोखिमहरू छन्, ज्यानकै जोखिम समेत छन्, र त्यस्ता कर्तव्यहरू निर्वाह गर्दा पक्राउ पर्ने र कैद हुने वा सताएर मारिने सम्भावना समेत छ भने, के तँ अझै आफ्नो कर्तव्य पूरा गर्न सक्छस्? के तँ ढटिरहन सक्छस्? यी परीक्षाहरूलाई जित्न कति सहज हुन्छ भन्ने कुरा व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्ने कुरामा भर पर्छ। यो व्यक्तिले सत्यता पछ्याउने क्रममा बिस्तारै यी परीक्षाहरू खुट्ट्याउन र चिन्न सक्ने, तिनको सार र तीपछाडिका शैतानी चालहरू चिन्न सक्ने क्षमतामाथि भर पर्छ। यसका लागि व्यक्तिले आफ्ना भ्रष्ट स्वभाव, प्रकृति सार, र आफ्ना कमजोरीहरू चिन्न पनि आवश्यक हुन्छ। व्यक्तिले परमेश्वरलाई उसको रक्षा गर्न निरन्तर अनुरोध पनि गर्नुपर्छ, ताकि उसले यी परीक्षाहरू सहन सकोस्। यदि कसैले तिनलाई सहन सक्छ, र कुनै पनि परिस्थितिमा विश्वासघात वा उम्कने काम नगरी अडिग रहन सक्छ भने, मुक्ति प्राप्त गर्ने सम्भावना ५० प्रतिशत पुग्छ। के यो ५० प्रतिशत सजिलै प्राप्त गर्न सकिन्छ? हरेक कदम खतराले भरिएको एउटा चुनौती हो; यो हासिल गर्न सजिलो छैन! के त्यस्ता मानिसहरू हुन्छन्, जसलाई सत्यता पछ्याउन यति मुस्किल लाग्छ कि तिनीहरू जीवन अत्यन्तै थकाइलाग्दो भएको अनुभूति गरेर मर्न तयार हुन्छन्? कस्ता मानिसहरू यस्तो अनुभूति गर्छन्? गैरविश्वासीहरू यस्तै यस्तै अनुभूति गर्छन्। केवल बाँच्नकै निम्ति, मानिसहरू आफ्नो दिमाग खियाउन र जुनसुकै कठिनाइ सहन सक्छन्, र विपदमा पनि अन्तिम सास रहुन्जेल हार नमानी दृढतापूर्वक जीवनलाई अँठ्याउँछन्—यदि तिनीहरूले यस्तै जोशका साथ परमेश्वरमा विश्वास गरेका र सत्यता पछ्याएका भए, तिनीहरूले पक्कै पनि नतिजा हासिल गर्नेथिए। यदि मानिसहरू सत्यतालाई प्रेम गर्दैनन् र त्यसको लागि प्रयत्न गर्न अनिच्छुक हुन्छन् भने, तिनीहरू केही न कामका हुन्! सत्यताको पछ्याइ फगत मानव प्रयत्नमार्फत् हासिल गर्न सकिने कुरा होइन; यसका लागि मानव प्रयत्नका साथै पवित्र आत्माको काम आवश्यक हुन्छ। यसका लागि मानिसहरूलाई परीक्षण र शोधन गर्नहेतु परमेश्वरले विविध परिवेशहरू योजनाबद्ध गर्न, र पवित्र आत्माले तिनीहरूलाई अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन दिन काम गर्नु आवश्यक हुन्छ। सत्यता प्राप्त गर्न व्यक्तिले सहने दुःख पूर्णतया न्यायोचित हुन्छ। पर्वतारोहीहरूले शिखर चुम्नका लागि आफ्नो ज्यानलाई जोखिममा पारेझैँ, तिनीहरू आफ्नो सीमालाई चुनौती दिने खोजीमा कुनै पनि कठिनाइदेखि डराउँदैनन्, यहाँसम्म कि आफ्नै ज्यान जोखिममा पार्ने अवस्थामा समेत पुग्छन्। के परमेश्वरमा विश्वास गर्नु र सत्यता प्राप्त गर्नु हिमाल चढ्नुभन्दा कठिन छ? आशिषको चाहना राख्ने तर दुःख भोग्न अनिच्छुक हुनेहरू कस्ता मानिस हुन्? तिनीहरू केही न कामका हुन्। तैँले इच्छाशक्तिबिना सत्यता पछ्याउन र प्राप्त गर्न सक्दैनस्; दुःख भोग्ने क्षमताबिना तैँले त्यो गर्नै सक्दैनस्। त्यो प्राप्त गर्न तैँले मूल्य चुकाउनैपर्छ।

मानिसहरूले पर्याप्तताको परिभाषा, पर्याप्तताको मापदण्ड, परमेश्वरले पर्याप्तताको यो मापदण्ड राख्नुको कारण, पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्नु र जीवन प्रवेशबीचको सम्बन्ध, र पर्याप्त कर्तव्य-निर्वाहको सत्यतासम्बन्धी यस्ता अन्य पक्षहरू बुझ्न थालेका छन्। यदि तिनीहरू जहिले वा जहाँ पनि हार नमानी आफ्नो कर्तव्यमा अडिन सक्छन्, र सबै प्रकारका परीक्षाहरू सहन सक्छन्, अनि त्यसपछि परमेश्वरले मानिसहरूलाई तोक्नुहुने विभिन्न परिस्थितिहरूमा उहाँले माग गर्नुहुने विविध सत्यता बुझ्छन् र तीबारे ज्ञान प्राप्त गर्छन् अनि तिनमा प्रवेश गर्छन् भने, परमेश्वरका नजरमा, तिनीहरूले मूलतः पर्याप्त काम गरेका छन्। पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नुका तीनवटा आधारभूत तत्त्वहरू छन्: पहिलो, आफ्नो कर्तव्यप्रति सही मनोवृत्ति राख्नु, र कुनै पनि हालतमा आफ्नो कर्तव्य नत्याग्नु; दोस्रो, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अनेक थरीका परीक्षाहरू सहन सक्षम हुनु, र ठेस नखानु; तेस्रो, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यताको हरेक पक्ष बुझ्न सक्षम हुनु, र वास्तविकतामा प्रवेश गर्नु। जब मानिसहरूले यी तीन कुराहरू पूरा गर्छन् र लक्ष्य पूरा गरेका हुन्छन्, तब न्याय र सजाय स्विकार्ने अनि सिद्ध पारिने पूर्वसर्त—अर्थात् पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्ने काम—पूरा भएको हुनेछ।

पर्याप्त कर्तव्य निर्वाहका सम्बन्धमा, “पर्याप्त” शब्दसम्बन्धी केही विषयवस्तुबारे पहिला नै छलफल गरिएको छ। अघिल्ला छलफलहरूमा “पर्याप्त” लाई मूलतःकसरी परिभाषित गरियो? (सिद्धान्तहरूअनुसार कार्य गर्ने रूपमा।) आज छलफल गरिएको “पर्याप्तता” परमेश्वरका अभिप्राय र मानिसप्रति परमेश्वरका मानकहर पूरा गर्छ। परमेश्वर किन मानिसहरूले पर्याप्त मानकअनुरूप कर्तव्य निर्वाह गरून् भन्ने चाहनुहुन्छ? यो मानिसहरूलाई मुक्ति दिने परमेश्वरको अभिप्राय र मानिसहरूलाई मुक्ति दिन र सिद्ध पार्नका लागि उहाँका मानकहरूसित सम्बन्धित छ। यदि तँ पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्दैनस् भने, परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछैन; यो परमेश्वरका लागि मानिसहरूलाई सिद्ध पार्ने सबैभन्दा महत्त्वपूर्ण सर्त हो। त्यसकारण, कुनै व्यक्ति परमेश्वरद्वारा सिद्धता पारिन सक्नु नसक्नु मुख्य रूपमा उसको कर्तव्य निर्वाह पर्याप्त छ छैन भन्नेमा भर पर्छ। यदि तेरो कर्तव्य निर्वाह पर्याप्त छैन भने, तँसित मानिसहरूलाई सिद्ध पार्ने परमेश्वरको कामको कुनै सम्बन्ध छैन। अहिले, कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाहको सही मार्गमा लागेका छन्, र तिनीहरू सही दिशामा छन्, तर अझै पनि तिनीहरूले पर्याप्त मात्रामा कर्तव्य निर्वाह गरेको मान्न सकिँदैन। किन? किनभने मानिसहरू अति थोरै मात्र सत्यता बुझ्छन्। यो केही बालबालिकाहरूले आफ्ना आमाबुबाका केही घरायसी जिम्मेवारीहरू लिन चाहनु, तर तिनीहरूसित त्यसो गर्ने कद नहुन सक्नुजस्तै हो। तिनीहरूसित कुन अवस्थामा केही घरायसी जिम्मेवारीहरू साँच्चिकै बोक्ने कद हुनेछ? जब तिनीहरू केही कामहरू गर्न सक्छन् र ठूला मानिसहरूले त्यसबारे चिन्ता लिनुपर्दैन; तब तिनीहरूले घरायसी कर्तव्यहरू बोक्न सक्छन्—तब तिनीहरू यो काम गर्न सक्छन्। तैँले अहिले केही कामहरू गर्न सक्ने भए पनि, तँ अझै प्रयत्न लगाउने र सेवा दिने चरणमै छस्, किनभने तँ अत्यन्तै सतही सत्यता बुझ्छस्, अत्यन्तै कम सत्यता अभ्यास गर्न सक्छस्, र अति थोरै सिद्धान्तहरू बुझ्न सक्छस्। तँ प्रायजसो छामछुम गर्ने प्रकियामा, अस्पष्टताताको स्थितिमा काम गरिरहेको हुन्छस्, त्यसैले तँलाई तैँले गरिरहेको काम परमेश्वरका अभिप्रायसँग मिल्दो छन् छैनन् भनी पुष्टि गर्न निकै कठिन छ; तँ मनमा सधैँ अस्पष्ट हुन्छस्। त्यसोभए, के तेरो कर्तव्य निर्वाहलाई पर्याप्त मान्न सकिन्छ? अझै सकिँदैन, किनभने तँ अति थोरै सत्यता बुझ्छस्, अनि तेरो जीवन प्रवेश परमेश्वरको मागको स्तरमा पुगेको छैन; तेरो कद अत्यन्तै सानो छ। व्यक्तिको कद अति सानो हुनु भनेको के हो? कतिपयले यो सत्यताको सतही बुझाइ हो भन्छन्, तर वास्तवमा यो सत्यताको सतही बुझाइ मात्र होइन। यसको त व्यक्तिको अपरिपक्व मानवता वा उसको कमजोर क्षमता र उसमा धेरै नकारात्मक कुराहरू हुनुसँग पनि सिधा सम्बन्ध हुन्छ। उदाहरणका लागि, यदि तँलाई अहिले कुनै जिम्मेवारी दिइयो र तँलाई त्यो गर्न आउँदैन भने, तँलाई तँ काम नलाग्ने छस् र तैँले परमेश्वरको इच्छालाई ध्यानमा राख्न सक्दैनस् भन्ने अनुभूति हुन सक्छ। यसले तँलाई नकारात्मक र कमजोर बनाउँछ, र तँलाई परमेश्वरका बन्दोबस्तहरू खराब छन्, तैँले केही पनि गर्न सक्दैनस्, र तँ पक्कै निष्कासित हुनेछस् भन्ने अनुभूति हुन्छ। त्यसपछि तँ त्यसउप्रान्त कर्तव्य निर्वाह गर्न चाहँदैनस्। के यो सानो कदको प्रकटीकरण होइन र? साथै, अहिले साना उमेरका धेरै ब्रदर-सिस्टरहरू छन्, जसले अझै विवाह गरेका छैनन्। यदि तिनीहरूले कुनै सुन्दर पुरुष वा महिलालाई देखेमा, तिनीहरू ऊप्रति अत्यन्तै आकर्षित हुन सक्छन्, र एकदुई पटक नजर जुधेपछि भावनाहरू उत्पन्न हुन सक्छन्; यस्तो स्नेह विकास भइरहँदा, के तिनीहरू डेट गर्न थालेपछि पनि राम्ररी कर्तव्य निर्वाह गर्न सक्छन्? यो प्रलोभनमा पर्नु हो। के यो सानो कदको सङ्केत होइन र? साँच्चै हो। यसअलावा, कतिपय मानिसहरूमा केही विशेष प्रतिभा हुन्छन्, र तिनीहरू परमेश्वरको घरमा केही विशेष कर्तव्यहरू निभाउँछन्। यसले तिनीहरूलाई आफूसित केही पुँजी छ भन्ने अनुभूति गराउँछ, त्यसैले तिनीहरू आफ्नो बढाइचढाइ गर्न, र सधैँ रवाफ देखाउन चाहन्छन्। तिनीहरूले रवाफ देखाउनेबित्तिकै कामकुरा गर्दा सिद्धान्तहरू गुमाउँछन्। यदि अरूले तिनीहरूलाई थोरै मात्र पनि प्रशंसा गरेमा, तिनीहरूले कामकुरा गर्दा निश्चय नै आफ्ना सिद्धान्तहरू गुमाउनेछन्, र आत्मसन्तुष्ट बनेर आफ्ना कर्तव्यहरू बिर्सनेछन्। यो पनि प्रलोभनमा पर्नु नै हो। के यो सानो कदको सङ्केत होइन र? सानो कदको व्यक्तिलाई स-साना मामलाहरूले पनि ठेस दिन सक्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू कलाकारका रूपमा परमेश्वरको घरमा काम गर्छन्; तिनीहरू आफ्नो रूप र आभाका कारण केही चलचित्रहरूमा देखिन्छन् र आफूले अलि ख्याति कमाएको छु भन्ने अनुभूति गर्छन्। तिनीहरू सोच्छन्, “अब त मैले अलिकति नाम कमाएको छु; यदि अधर्मी संसारमा हुँदो हो भने, के मानिसहरू मेरो अटोग्राफ मागिरहेका हुन्थेनन् र? किन परमेश्वरको घरको कसैले पनि मेरो अटोग्राफ चाहँदैन? सायद मैले अर्को राम्रो चलचित्रमा काम गर्नेबारे सोच्नुपर्छ।” तर, जब तिनीहरूले अर्को चलचित्रमा मुख्य भूमिका पाउँदैनन्, तब तिनीहरूलाई आफ्ना कर्तव्य त्यागिदिऊँ जस्तो लाग्छ, र तिनीहरू कर्तव्यलाई अर्थहीन ठहराउँछन्। तिनीहरू सधैँ मुख्य भूमिका खेलेर चर्चित नायक हुन चाहन्छन्, र त्यो चाहना पूरा नहुँदा, तिनीहरू हताश हुन्छन्, अस्थिर बन्छन्, र अभिनय त्याग्ने विचार समेत गर्छन्। यो सानो कद हुनु हो। सानो कद हुनुको अर्थ तँ महत्त्वपूर्ण जिम्मेवारीहरूका लागि योग्य छैनस् भन्ने हो। तँलाई परमेश्वरले एउटा कर्तव्य दिनुभए पनि, तँ अझै उहाँको विश्वास आर्जन गर्न सक्दैनस्। एउटा गलत सोच वा तेरो इच्छाविपरीतको एउटा कुराका कारण तँ आफ्ना कर्तव्यहरू परित्याग गर्न र परमेश्वरको विरुद्धमा लाग्न सक्छस्। के यो पनि सानो कदको सङ्केत नै होइन र? (हो।) यो ज्यादै नै सानो कद हो। यस्तो सानो कद र यी व्यवहारहरू हुँदा, व्यक्ति पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नबाट कति टाढा हुन्छ? के कुरामा अन्तर हुन्छ? यो उसले सत्यतालाई कति प्रेम गर्छ भन्ने कुरामा हुन्छ। कतिपय त्यस्ता मानिसहरू पनि छन्, जसले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परिवारभित्रको सबैभन्दा नजिकको सदस्य बिरामी परेको छ भनेर थाहा पाउँछन्। त्यसपछि तिनीहरू एकदुई दिन कर्तव्य छोड्नुले महत्त्व राख्दैन भन्ने सोचेर भेलामा सहभागी हुन छोड्छन् र कर्तव्यलाई बेवास्ता गर्छन्—आखिरमा, यदि तिनीहरूका परिवारको सदस्यको मृत्यु भएमा ऊ सदाका लागि बिदा हुनेछ। तर तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको जीवनसँग सम्बन्धित अत्यन्तै महत्त्वपूर्ण मामला हो, मुक्ति प्राप्त गर्ने एक मात्र मौका हो भन्ने कुरा सोच्दैनन्। तिनीहरू भावना र परिवारलाई कर्तव्य र मुक्ति प्राप्तिभन्दा माथि राख्छन्। के यो सानो कदको सङ्केत होइन र? तिनीहरूको कद अत्यन्तै सानो हुन्छ! यसले तिनीहरू जीवनका उचित मामलाहरू बुझ्दैनन्, र तिनीहरूलाई उचित कार्यहरूमा लाग्न आउँदैन भन्ने देखाउँछ। के व्यक्तिको कदको आकार उसको उमेरमाथि भर पर्छ? पर्दैन। आफ्नो लिङ्ग, उमेर, जन्मस्थान, वा राष्ट्रियता जे-जस्तो भए पनि, सबै भ्रष्ट मानवहरूमा एउटै भ्रष्ट स्वभाव हुन्छ। तिनीहरू सबैमा शैतानी प्रकृति हुन्छ र तिनीहरू अनेकथरीका दुष्टताहरू गरेर परमेश्वरविरुद्ध विद्रोह गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छन्। यदि कुनै व्यक्तिले सत्यता पछ्याउँदैन भने, के ऊ साँचो पश्चात्ताप गर्न सक्छ? कहिल्यै सक्दैन; ऊ कहिल्यै बदलिनेछैन। कतिपय मानिसहरू बिरामी पर्छन् र आफू परमेश्वरमाथि निर्भर भएको र आफूमा मृत्युको डर नभएको भन्दै कराउँछन्, तर तिनीहरूलाई केही नगरी यतिकै बस्न मिल्दैन भन्ने अनुभूति पनि हुन्छ। तिनीहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह नगरेमा पक्कै मर्नेछु भन्ने सोच्छन्, त्यसैले तिनीहरू तुरुन्तै आफ्ना कर्तव्य निर्वाह गर्नतिर लाग्छन्। तिनीहरू कुन कर्तव्यमा सबैभन्दा धेरै कार्यहरू पर्छन् र कुन सबैभन्दा महत्त्वपूर्ण छ, परमेश्वरले कुनलाई महत्त्व दिनुहुन्छ भनी हेर्छन्, र हतारहतार त्यही काम गर्न दरखास्त दिन्छन्। तिनीहरू कर्तव्य निर्वाह गरुन्जेल यस्तो सोच्छन्, “के यो रोग निको पार्न सकिन्छ? यो पक्कै निको पार्न सकिन्छ भन्ने आशा गर्छु। मैले आफ्नो जीवन समर्पित गरेको छु; के मलाई निको पार्नु पर्दैन र?” वास्तवमा, तिनीहरूलाई निको नहुने रोग लागेको हुन्छ; चाहे तिनीहरूले कर्तव्य निर्वाह गरून् या नगरून्, तिनीहरू मर्नेछन्। तिनीहरूले अहिले आफ्ना कर्तव्य निर्वाह गरेका भए पनि, परमेश्वर मानिसको हृदय खोज्नुहुन्छ—यस्तो सानो कद र यस्तो मनसायले के तिनीहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? कदापि सक्दैनन्। यस्ता मानिसहरू सत्यता पछ्याउँदैनन्, र तिनीहरूको मानवता राम्रो हुँदैन। तिनीहरूका मनमा सधैँ आफ्नै गोप्य योजनाहरू हुन्छन्। तिनीहरूको रोग बल्झियो वा तिनीहरूलाई थोरै मात्र सन्चो भएन भने पनि, तिनीहरू सोच्न थाल्छन्, “के परमेश्वरले मलाई साँच्चै आशिषित् तुल्याउनुभएको छ? के उहाँले मलाई साँच्चै हेरचाह र सुरक्षा गर्नुभएको छ? गर्नुभएको छैन जस्तो देखिन्छ, त्यसैले अबउप्रान्त म मेरा कर्तव्यहरू निर्वाह गर्नेछैन।” तिनीहरू अलिकति असहज महसुस हुनेबित्तिकै आफ्नो कर्तव्य त्याग्न चाहन्छन्। के तिनीहरूको कुनै कद हुन्छ? (हुँदैन।) त्यसकारण, विविध मानिसहरूले यहाँ बसेर प्रवचन सुन्न सक्ने, वा तिनीहरूले आफ्ना परिवार र करियर त्यागेर परमेश्वरको घरमा कुनै पदमा रहेर कर्तव्य निर्वाह गर्न सक्ने—तिनीहरूका आफ्नै व्यावसायिक सीप वा विज्ञताको क्षेत्रसम्बन्धी काम गर्ने—भएकै कारण तिनीहरू स्स्तः आफ्ना कर्तव्य निर्वाह गरिरहेका छन् भन्ने नसोच्। न त यसको अर्थ आफ्नो कर्तव्य निर्वाह गर्ने सबैले स्वेच्छाले त्यो गर्छन् भन्ने नै हो, आफ्ना कर्तव्य निर्वाह गर्ने सबैको केही मात्रामा कद हुन्छ भन्ने त झनै होइन। बाहिरी रूपमा, मानिसहरू व्यस्त देखिन्छन् र सच्चा रूपमा परमेश्वरमा विश्वास गर्ने जगमा स्वेच्छाले कामकुरा गरिरहेका र आफूलाई परमेश्वरप्रति समर्पित गरिरहेका देखिन्छन्। वास्तवमा, हृदयको गहिराइमा, हरव्यक्ति प्रायजसो कमजोर हुन्छ। तिनीहरू प्रायजसो आफ्ना कर्तव्य त्याग्ने सोच राख्छन्, प्रायजसो आफ्नै योजनाहरू बोक्छन्, र परमेश्वरको काम चाँडै सकियोस्, ताकि तिनीहरूले चाँडै आशिष् पाउन सकून् भनी झन् बढी आशा गर्छन्। तिनीहरूको लक्ष्य त्यति मात्र हो। परमेश्वरले समाधान गर्ने उद्देश्य राख्नुभएका कुराहरूमा यी मानवीय कमजोरी, विद्रोहीपन, र सानो कदका साथै मानिसहरूका अज्ञानी सोच र व्यवहारहरू पर्छन्। जब यी सबै समस्याहरू समाधान गरिन्छन् र उप्रान्त समस्याका रूपमा रहँदैनन्, जब जे उत्पन्न भए पनि त्यसले तेरो कर्तव्य निर्वाह गर्ने क्षमतामा असर गर्दैन, तब त्यो पर्याप्त हुन्छ, र तेरो कद बढेको हुन्छ। व्यक्तिले अन्त्यमा हिँड्ने मार्ग, र ऊ कति हदसम्म त्यो मार्गमा हिँड्छ भन्ने कुरा उसले कति चर्को स्वरमा नाराहरू फलाक्छ भन्ने कुराले वा उसका क्षणिक संवेग वा चाहनाहरूले निर्धारण गर्दैनन्। बरु, यो उसको पछ्याइमा र सत्यताप्रतिको उसको प्रेमको मात्रामा भर पर्छ।

तिमीहरू कस्ता परिस्थितिमा आफ्नो कर्तव्य त्याग्छौ? मृत्युको सामना गर्नुपर्दा? कि जीवनमा सानातिना निराशाहरू आइपर्दा? कतिपय मानिसहरूमा आफ्नो कर्तव्य निर्वाहसम्बन्धी धेरै मागहरू हुन्छन्। एकातिर, तिनीहरू हावा वा घामबाट जोगिनैपर्छ, अनि तिनीहरूको कामको वातावरण सहज हुनैपर्छ। तिनीहरू थोरै कष्टसमेत सहन सक्दैनन्। यसको साथै, तिनीहरू सधैँजसो आफ्नो श्रीमान् (वा श्रीमती) सँग हुनुपर्छ, दुईजनाको संसार जिउनुपर्छ, र तिनीहरूको आफ्नै निजी जीवन पनि हुनुपर्छ, जस्तै मनोरञ्जनका लागि बाहिर जाने, छुट्टीमा घुम्न जाने, आदि, र यी सबै कुराले तिनीहरूलाई सन्तुष्टि दिनैपर्छ। यदि तिनीहरू थोरै पनि सन्तुष्ट भएनन् भने, तिनीहरूलाई हृदयमा असहज र निरन्तर अप्रसन्न महसुस हुन्छ, अनि तिनीहरूले धारणाहरू फैलाएर अरूलाई बाधा समेत दिन्छ। सत्यता बुझ्ने कतिपय मानिसहरू यी मानिसहरू राम्रा छैनन्, तिनीहरू गैरविश्वासी हुन् भनी खुट्ट्याउन सक्छन्, र आफूलाई तिनीहरूबाट टाढा राख्छन्। तर कतिपय मानिसहरू सत्यता बुझ्दैनन्; तिनीहरूको कद सानो हुन्छ र तिनीहरूमा समझशक्ति हुँदैन, र तिनीहरू यी मानिसहरूको बाधाद्वारा प्रभावित हुन्छन्। ल भन्, के यस्ता दुष्टकर्मीहरूलाई मण्डलीबाट हटाइनुपर्छ? (पर्छ।) निरन्तर मण्डलीको काममा बाधा दिने र भाँजो हाल्ने यस्तो व्यक्तिलाई निष्कासन गरेर सानो कद भएका र अज्ञानी मानिसहरूको रक्षा गर्नैपर्छ। तिमीहरू कस्ता परिस्थितिहरूमा आफ्ना कर्तव्य त्यागेर थाहै नदिई निस्केर जान्छौ होला? उदाहरणका लागि, सुसमाचार फैलाउने क्रममा, तैँले अत्यन्तै राम्रो देखिने र आकर्षक तरिकाले बोल्ने व्यक्ति देख्छस्, र तैँले उसलाई जति हेर्छस् त्यति बढी कदर गर्छस्, र सोच्छस्, “मैले आफ्नो कर्तव्य निर्वाह नगरेर यस्तो जोडी पाए कति गज्जब हुन्थ्यो होला!” तैँले यसरी सोचेपछि, तँ खतरामा हुन्छस्; तँ सजिलै प्रलोभनमा पर्नेछस्। तैँले त्यसबारे ज्यादै सोचिसकेपछि, तँ यस सम्बन्धको पछि लाग्न कटिबद्ध हुन्छस्। तर जब तैँले उसको मन जित्छस्, तब ऊ पनि एक भ्रष्ट मानव नै रहेछ र आखिरमा त्यस्तो राम्रो होइन रहेछ भन्ने थाहा पाउँछस्, तर त्यतिन्जेल पछुताउन ढिला भइसकेको हुन्छ। कुनै व्यक्ति प्रेम सम्बन्धको प्रलोभनमा फसिसकेपछि, त्यसबाट बाहिर आउन सजिलो हुँदैन। एकदुई वर्ष वा चारपाँच वर्ष समय नबिताई पछि हट्न सजिलो हुनेछैन। तैँले गुमाएका यी चारपाँच वर्षमा तैँले कति सत्यता गुमाउनेछस्? तेरो जीवनमा कति ठूलो क्षति हुनेछ? तेरो जीवनको प्रगतिमा कति ढिलाइ हुनेछ? अन्य कतिपय मानिसहरू अरूले अधर्मी संसारमा ज्यादै पैसा कमाएको, डिजाइनर कपडा लगाएको, राम्रा कुराहरू खाएको र पिएको देख्छन्, अनि तिनीहरूको हृदयमा हलचल हुन्छ; तिनीहरू पनि गएर पैसा कमाउन चाहन्छन्। प्रलोभन यसैगरी उत्पन्न हुन्छ। परिस्थितिहरू सामना गर्नुपर्दा जसको मन अत्तालिन्छ, र जो आफ्नो कर्तव्य त्याग्नेबारे सोच्छ, ऊ प्रलोभन सहन सक्षम हुँदैन; ऊ खतरामा हुन्छ। यो सानो कदको सङ्केत हो। अरू कसैले केही राम्रो खाना खाएको देख्दा तँलाई निराश र असन्तुष्ट महसुस हुन्छ। अरू कसैको असल जोडीदार देख्दा पनि तँलाई असन्तुष्ट महसुस हुन्छ। अनि तँ तेरै उमेरको र तँजतिकै आकर्षक व्यक्तिले तैँलेभन्दा राम्रो लुगा लगाएको र ऊ प्रसिद्ध समेत भएको देदख्दा तँ बेखुसी हुन्छस्। तँ सोच्न थाल्छस्, यदि तैँले आफ्नो पढाइ नछोडेको र पढाइ सकाएर करियर बनाएको भए, तँ पक्कै पनि उसलेभन्दा राम्रो गरिरहेको हुनेथिइस्। यी परिस्थितिहरू आइपर्दा, तँलाई धेरै दिनसम्म निन्द्रा लाग्दैन। यी प्रलोभनहरू तेरो लागि एक प्रकारको बन्धन र एक प्रकारको पिरलो हुन्, जसले तेरो कद सानो छ भन्ने देखाउँछ। जब तिमीहरू सुसमाचार फैलाइरहेका हुन्छौ र सुहाउँदो विपरीत लिङ्गी, “अग्लो, धनी, र आकर्षक” पुरुष वा गोरी, धनी र सुन्दर महिला भेट्छौ, तब तिमीहरू प्रलोभनबाट जोगिन सफल नहुन पनि सक्छौ। तिमीहरू त्यसबाट जोगिन सफल नहुन पनि सक्छौ भन्नुको अर्थ के हो? यसको अर्थ यो हो कि, तेरो कद तैँले विविध प्रलोभनहरूलाई जित्न सक्ने स्तरमा पुगेको छैन; तँ ती प्रलोभनहरूलाई पन्छाउन सक्दैनस्, त्यसैले तेरो हृदय मोहित र प्रलोभित हुन्छ। तैँले सोच्ने, दिमागमा मनन गर्ने, र तैँले सपना देख्ने र अरूसित छलफल गर्ने कुराहरूसमेत यिनै मामलाहरूमा केन्द्रित हुन्छन्। यसले तेरो कर्तव्य निर्वाहलाई असर पार्छ; सत्यता सङ्गति गर्ने क्रममा अरू मानिसहरू धेरै कुराहरू भन्छन् भने तेरो योगदान चाहिँ घट्दै जान्छ, र तैँले परमेश्वरमा विश्वास गर्ने रुचि गुमाउँछस्। के यो प्रलोभित हुनु होइन र? यो प्रलोभनमा पर्नु हो, र यो खतरनाक हो। कतिपय मानिसहरू तँ कसैसित डेट गर्न थालेपछि वा ऊसँगै गएपछि मात्र प्रलोभनमा परेको हुन्छस् भन्ठान्छन्, तर त्यो अवस्थामा पुगुन्जेल तँ सकिन्छस्। यदि तिमीहरूले यस्ता मामलाहरू सामना गर्‍यौ भने, के यस्ता परिस्थितिहरू उत्पन्न हुन सक्छन्? (मलाई थाहा छैन।) यदि तिमीहरूलाई थाहा छैन भने, यसले तिमीहरूको कद सानो छ भन्ने प्रमाणित गर्छ। किन यसले तिमीहरूको कद सानो छ भन्ने प्रमाणित गर्छ? एकातिर, तैँले यस्ता मामलाहरू कहिल्यै भोगेको छैनस्, त्यसैले तँलाई तैँले कस्तो प्रतिक्रिया दिन्थिस् भनेर थाहा हुँदैन; तँमा आत्म-नियन्त्रण छैन। अर्कोतिर, यस्तो परिस्थिति सामना गर्नुपर्दा, तँसित यस्तो समस्या समाधान गर्ने सही मनोवृत्ति र तरिका हुँदैन। यदि तँ उक्त समस्या समाधान गर्ने हेतुले सत्यता खोज्न सक्दैनस् भने, यसको अर्थ तँ निष्क्रिय छस्। निष्क्रिय हुनुले तेरो कद सानो छ, र तँ अज्ञानी छस् भन्ने प्रमाणित गर्छ। तैँले सक्रिय रूपमा अरूलाई फकाउँदैनस् होला, तर अरूले तँलाई निश्चय नै फकाउन सक्छन्, जसले तँलाई प्रलोभनमा पार्छ। यदि तैँले यसलाई जित्न सकिनस् भने, समस्या निम्तिन्छ। उदाहरणका लागि, कसैले तँलाई पैसा र हैसियत दिने प्रस्ताव गर्‍यो भने के होला, वा त्योभन्दा पनि राम्रो व्यक्ति आएर तँलाई फकाउने कोसिस गर्‍यो भने के होला? के त्यसलाई जित्न सजिलो हुन्थ्यो होला त? तैँले त्यसलाई जित्न सक्ने सम्भावनाहरू कति छन्? भनिन्छ कि कतिपय मानिसहरू कसैले तिनीहरूलाई मन पराएर दुइटा चक्लेट दिँदैमा ऊप्रति आकर्षित हुन्छन् र त्यस व्यक्तिसँग सम्बन्ध गाँस्नेबारे सोच्छन्—तिनीहरूको कद त्यति सानो हुन्छ। के यो लामो समयसम्म परमेश्वरमा विश्वास नगर्नु हो? हो नै त भन्न सकिन्न। कतिपय मानिसहरू एक दशकभन्दा बढी समयसम्म विश्वासी रहेका भए पनि, यस्ता परिस्थितिहरू सामना गर्नुपर्दा प्रलोभनमा पर्न सक्छन्। चाहे तिनीहरूले यो पहिलो, दोस्रो, वा तेस्रो पटक सामना गरेका भए पनि, तिनीहरू अझै लोभिन सक्छन्। यसको कारण के हो? तिनीहरूको कद अत्यन्तै सानो हुन्छ, र तिनीहरूमा केही सत्यताहरूबारे साँच्चिकै बुझाइ हुँदैन। तिनीहरूमा किन बुझाइ हुँदैन? किनकि तिनीहरू सत्यता पछ्याउँदैनन्; तिनीहरू सधैँ अन्यौलमा हुन्छन्। तिनीहरूको दृष्टिकोणमा, यी मामलाहरू महत्त्वपूर्ण हुँदैनन्। तिनीहरू सोच्छन्, “यदि साँच्चिकै उचित जोडीदार भेटिएमा म किन बिहे गर्न सक्दिनँ र? यति मात्र हो कि, मैले अहिलेसम्म उचित व्यक्ति भेट्टाएको छैन, र मलाई कसैले पनि प्रभावित पारेको छैन, त्यसैले म यसैगरी काम चलाउनेछु।” यो काम चलाउनु भनेको सत्यता पछ्याउने मनोवृत्ति होइन; यो मुक्ति पाउने र सिद्ध पारिने मार्गमा हिँड्नु होइन—यो त्यस्तो मानसिकता होइन। तिनीहरू जसोतसो काम चलाउन, हरदिन परिस्थितिअनुसार जिउन, जीवनले जता डोर्‍याउँछ त्यतैतिर जान मात्र चाहन्छन्। यदि कुनै दिन तिनीहरूले साँच्चै निरन्तरता दिन सकेनन् भने, तिनीहरू त्यसलाई स्विकार्छन्। तिनीहरू मानिसहरूलाई मुक्ति दिने परमेश्वरको अभिप्राय वा यो मुक्तिका लागि परमेश्वरले गर्नुहुने कामप्रति रूचि राख्दैनन्। यसको साथै, तिनीहरू परमेश्वरले मानिसलाई दिनुहुने मुक्तिसम्बन्धी विविध सत्यताहरू दृढतापूर्वक खोज्दैनन्, न त त्यसलाई हृदयमा नै लिन्छन्। कतिपयले भन्लान्: “तर तिनीहरू सधैँ प्रवचन सुन्न आउँछन्; तपाईं कसरी भन्न सक्नुहुन्छ कि तिनीहरू त्यसलाई मनमा लिँदैनन्?” तर भेलामा सहभागी हुने र प्रवचनहरू सुन्ने कर्मकाण्ड पूरा गर्नु भनेको सत्यता स्विकार्नुभन्दा फरक कुरा हो। प्रवचन सुन्ने मानिसहरू धेरै छन्, तर कतिजनाले वास्तवमै सत्यता अभ्यास गर्छन्? सत्यता पछ्याउने मार्गमा लाग्नेहरूको सङ्ख्या त झनै कम हुन्छ। धेरै मानिसहरू प्रवचनहरू सुन्दा धर्मसिद्धान्तहरू बुझ्न र आफ्ना धारणा र कल्पनाहरू बढाउनमा मात्र ध्यान दिन्छन्। सत्यतालाई प्रेम गर्नेहरू त्यसलाई खोज्ने र स्विकार्ने उद्देश्यले सुन्छन्। तिनीहरू प्रवचन सुन्न र आत्मचिन्तन गर्न, आफूले सुनेका कुरालाई आफ्ना स्थितिसँग दाँज्न, र आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नमा ध्यान दिन सक्षम हुन्छन्। तिनीहरू सत्यताका व्यावहारिक पक्षहरलाई समात्छन्; तिनीहरू यी पक्षहरू अभ्यास र अनुभव गर्न, अनि सत्यता प्राप्त गर्नमा जोड दिन्छन्। त्यसकारण, सत्यतालाई प्रेम गर्नेहरू जीवन प्राप्त गर्न, सत्यता बुझ्न र आफूलाई रूपान्तरण गर्नका निम्ति प्रवचनहरू सुन्छन्। तिनीहरू हृदयमा सत्यता स्विकार्छन्, र त्यो अभ्यास गर्दा तिनीहरूले बुझेका सत्यताले तिनीहरूलाई फाइदा गर्छ; सत्यताको बुझाइले मार्ग प्रदान गर्छ। जहाँसम्म सत्यता नपछ्याउनेहरूको कुरा छ, तिनीहरू अन्यौलमै प्रवचनहरू सुन्छन्। तिनीहरू सुरुदेखि अन्त्यसम्म पूरै प्रवचन सुन्छन्, अनि पछि तैँले के बुझ्यौ भनी सोध्दा तिनीहरू यसो भन्छन्, “मैले त्यो सबै बुझेँ। मैले सबै कुराबारे प्रस्टसँग टिपोट गरेँ।” तर यदि तैँले यसले तिनीहरूलाई कसरी फाइदा दिन्छ भनेर सोधिस् भने, तिनीहरू यो धेरथोर उपयोगी छ भनेर टार्छन्। के यो वास्तवमा उपयोगी छ? छैन, किनभने तिनीहरूले प्रवचनका सत्यताहरू प्राप्त गरेका छैनन्। किन गरेका छैनन्? तिनीहरूले त्यसलाई स्विकारेका छैनन् भने, कसरी प्राप्त गर्न सक्थे त? कतिपय मानिसहरू भन्छन्: “तिनीहरूले कसरी त्यो प्राप्त गर्न नसकेका होलान्? तिनीहरूले कसरी त्यो नस्विकार्न सकेका होलान्? तिनीहरूले निकै ध्यानपूर्वक सुनेका थिए र टिपोट समेत गरेका थिए।” कतिपय मानिसहरू सत्यताको अभिलाषाका कारणले नभई औपचारिकताका लागि मात्र टिपोट गर्छन्। सत्यता सङ्गति गर्ने कतिपयले त्यो नस्विकार्न पनि सक्छन्; यो तिनीहरूको हृदयले साँच्चिकै सत्यताको अभिलाषा राख्छ राख्दैन भन्नेमा भर पर्छ। त्यसोभए सत्यतालाई साँचो रूपमा स्विकार्नुको अर्थ के हो त? त्यसको अर्थ यो हो कि, परमेश्वरका वचनहरू पढेपछि, व्यक्तिले तिनलाई उसका आफ्नै स्थितिहरू, उसका आफ्नै आचरण र कार्यहरू, परमेश्वरमा विश्वास गर्ने सिद्धान्तहरू, परमेश्वरले दिनुभएका आज्ञा र जिम्मेवारीहरू, र ऊ हिँडिरहेको मार्गसित मिलाउन सक्छ। उसले यी सबै कुराहरूहरूका सम्बन्धमा आत्मचिन्तन गर्न, तिनलाई प्रस्ट रूपमा खुट्ट्याउन, सत्यता बुझ्न, र त्यसलाई अभ्यास गर्न अनि त्यसमा प्रवेश गर्न सक्छ। यस्तो व्यक्तिले मात्र सत्यता स्विकार्छ; यस्तो व्यक्तिले मात्र सत्यता पछ्याउँछ।

भर्खरै, सानो कद भएका मानिसका प्रकटीकरणहरूबारे छलफल गरियो। बिस्तारै सत्यता बुझ्ने क्रममा, मानिसहरूले मूर्खता, अज्ञानता, कायरता, र कमजोरी जस्ता तिनीहरूको सानो कदसम्बन्धी समस्याहरू बिस्तारै समाधान गर्नेछन्। कमजोरीले के जनाउँछ? यसको मतलब तँसित परमेश्वरमाथिको तेरो विश्वासको घटक ज्यादै सानो छ; परमेश्वरमाथिको तेरो विश्वास ज्यादै न्युन छ। धर्मसिद्धान्तका हिसाबले, तँ परमेश्वरले सबथोक हासिल गर्न सक्नुहुन्छ र उहाँले सम्पूर्ण कुराहरूमाथि सार्वभौम शासन गर्नुहुन्छ भनी विश्वास गर्छस्, तर वास्तविक परिस्थितिहरू सामना गर्नुपर्दा, तँ परमेश्वरमाथि भरोसा गर्ने आँट गर्दैनस्; तँ सम्पूर्ण हृदयले सबथोक उहाँलाई सुम्पने आँट गर्दैनस् र समर्पित हुन सक्दैनस्—यो नै कमजोरी हो। मानिसहरूको मूर्खता, अज्ञानता, कायरता, र विद्रोहीपन जस्ता यी नकारात्मक कुराहरू कर्तव्य निर्वाह गर्ने क्रममा सत्यताको खोजीमार्फत् मात्र बिस्तारै समाधान गर्न वा फरक-फरक मात्रामा सुधार्न सकिन्छ। सुधारको अर्थ के हो? त्यसको अर्थ यी नकारात्मक कुराहरू बिस्तारै समाधान हुन्छन् भन्ने हो; तेरो कर्तव्य निर्वाहका नतिजाहरू झन्झन् राम्रा हुँदै जान्छन्, र परिस्थितिहरू सामना गर्नुपर्दा तैँले पहिलेभन्दा धेरै सहन सक्छस्। उदाहरणका लागि, विगतमा, यस्ता परिस्थितिहरू आइपर्दा, तेरो सानो कदका कारण तँ कमजोर हुन्थिस्, निष्क्रिय बन्थिस्, र त्यसले कर्तव्य निर्वाहप्रतिको तेरो मनोवृत्तिलाई समेत असर पार्थ्यो। तँ झनक्क रिसाउँथिस्, कर्तव्यहरू त्याग्थिस्, लापरवाह र झाराटारुवा हुन्थिस्, र वफादारी देखाउँदैनथिस्। अहिले, यस्ता परिस्थितिहरू सामना गर्नुपर्दा, कर्तव्य निर्वाहप्रतिको तेरो वफादारीको मात्रा घट्दैन; यदि तेरो हृदयमा कठिनाइ वा कमजोरीहरू छन् भने, तैँले सत्यता खोजेर तिनलाई समाधान गर्न सक्छस्। यसो भन्नुको मतलब, जीवन प्रवेशको मामलाले उप्रान्त तेरो कर्तव्य निर्वाहलाई असर पार्नेछैन। तेरो मुड, स्थिति, र कमजोरीले उप्रान्त तँलाई तोकिएको काममा असर पार्नेछैनन्, न त तिनले तेरा जिम्मेवारी, कर्तव्य र दायित्वलाई नै असर पार्नेछन्। के यो मामलाहरू सम्हाल्ने र बाहिरी घटनाहरूसँग लड्ने तेरो क्षमताको वृद्धि होइन र? यो कदको वृद्धि हो। कतिपय मानिसहरू प्रमुख भूमिका खेल्न दिइएमा निकै खुसी हुन्छन्, र तिनीहरूको खुट्टा भुइँमै हुँदैन; तर यदि सहायक भूमिका खेल्न दिइएमा, तिनीहरू अनकनाउँछन् र अस्थिर हन्छन्, र शिर निहुराएर हिँड्छन्। कतिपय मानिसहरू सुसमाचार फैलाउने क्रममा सधैँ फरक देखिन चाहन्छन्, तर सत्यता सङ्गति गर्न सक्दैनन्। तिनीहरू प्रशिक्षणमा संलग्न हुँदैनन्, तर सधैँ उच्च ओहदामा रहेर अरूको नजरमा पर्ने चाहना राख्छन्। के यो साँचो समर्पण हो? के यो आफ्नो कर्तव्य निर्वाहप्रतिको सही मनोवृत्ति हो? व्यक्तिको मानसिकता र स्थिति गलत हुँदा, समाधानका लागि उसले सत्यता खोज्नुपर्छ, र जस्तो परिस्थिति उत्पन्न भए पनि, अन्त्यमा सत्यता खोज्न र अभ्यास गर्न सक्नुपर्छ; यो जीवन अनुभव भोग्नु हो। तँ अनेकथरीका मामलाहरू खुट्ट्याउन सक्ने भएपछि, तैँले प्रतिरोधक क्षमता पाएको हुन्छस्। तँलाई जेसुकै र त्यो कुरा जहिलेसुकै आइपरे पनि, त्यसले तेरो कर्तव्य-निर्वाहमा असर पार्नेछैन; न त तेरो कार्यप्रदर्शन कुनै सानो मामला, कुनै मुड, वा मानिस, घटना, वस्तु र परिस्थितिहरूमा आउने परिवर्तनहरूद्वारा प्रभावित हुनेछ; पाप र विविध परिस्थिति अनि मुडहरूलाई जित्ने तेरो सामर्थ्य झन् बलियो बन्छ—यसको मतलब तेरो कद बढेको हुन्छ। कद कसरी बढ्छ? यो मानिसहरूले सत्यता खोज्दै समस्याहरू समाधान गरेर बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गरेपछि प्राप्त हुने नतिजा हो। जब तैँले केही सत्यताहरू बुझेको हुन्छस्, र यी सत्यताहरू तेरो जीवन बन्छन्, तेरो आचरणको जग बन्छन्, मामलाहरू हेर्ने तेरो दृष्टिकोण बन्छन्, र तँलाई मार्गदर्शन गर्ने ज्योति बन्छन्, तब तँसँग प्रतिरोध क्षमता हुन्छ; तँ बारम्बार कमजोर हुनेछैनस्। उदाहरणका लागि, यदि तँलाई पहिल्यै अगुवा बनाइएको भए तँ निकै खुसी हुनेथिइस्; यदि तँलाई प्रतिस्थापित गरिएको भए, तँ एकदुई महिना नकारात्मक हुनेथिइस्, अह्राइएको कुनै पनि काम गर्न अनिच्छुक हुनेथिइस्, जुनसुकै काम नकारात्मक मनोवृत्तिले गर्नेथिइस्, लापरवाह र झाराटारुवा शैलीमा व्यवहार गर्नेथिइस्, र पूर्ण रूपमा हार मान्ने अवस्थासम्म पुग्नेथिइस्। अहिले, यदि तँ प्रतिस्थापित हुन लागेको थिइस् भने, तैँले यसो भन्नेथिइस्, “म प्रतिस्थापित भए पनि, त्यसले मलाई असर गर्नेछैन। म एक दिन पनि नकारात्मक हुनेछैन। यदि मलाई आजै प्रतिस्थापित गरियो भने, म मैले भोलि गर्नुपर्ने काम जारी राख्नेछु। म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्विकार्छु र तीप्रति समर्पित हुन्छु।” यो प्रतिरोध-क्षमता हो। यो क्षमता कसरी उत्पन्न हुन्छ? यदि तँ सत्यता पछ्याउँदैनस्, र मामलाहरू सामना गर्नुपर्दा समाधानका लागि तँ सत्यता खोज्दैनस्, र सिद्धान्तअनुसार कार्य गर्नमा ध्यान दिँदैनस् भने, के तँसित यो कद हुनेछ? यदि तँ संसारलाई सामना गर्ने अविश्वासीहरूका दर्शनहरू अपनाउँछस् भने, तँलाई प्रतिरोध-क्षमता कहिल्यै मिल्नेछैन। तैँले सत्यताअनुसार जिइस् भने मात्र बिस्तारै घमण्ड, हैसियत, र आडम्बर त्याग्न सक्छस्, ताकि अन्त्यमा केही कुराले पनि तँलाई गिराउन र तेरो कर्तव्य निर्वाहमा असर पार्न नसकोस्। यो कद हुनु हो; यो प्रतिरोध-क्षमता राख्नु हो। जब तँसँग प्रतिरोध-क्षमता हुन्छस् र तेरो कद बढेको हुन्छ, के तेरो कर्तव्य-निर्वाह झन्-झन् बढी मानकअनुरूप हुँदैन र? जब तँ पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्छस्, के त्यसको अर्थ तैँले निश्चित कद पाइसकेको छस् भन्ने हुँदैन र? यो कदमा के-के पर्छन्? परमेश्वरमाथि साँचो आस्था, परमेश्वरप्रति साँचो समर्पण, र परमेश्वरप्रति वफादारी, साथै आफ्ना कर्तव्यहरूलाई सही रूपमा लिने क्षमता; जे आइपर्छ त्यसलाई परमेश्वरबाट आएको भनी ग्रहण गर्ने, र परमेश्वरप्रति समर्पित हुन, परमेश्वरको डर मान्न र दुष्टताबाट अलग रहन सक्षम हुने। कद वृद्धिका प्रकटीकरणहरू यिनै हुन्।

के अब तिमीहरूले मुक्ति पाउनुलाई छलफलको विषय बनाउनुपर्छ, र तिमीहरू त्यसबारे अन्यौलमै रहिरहन मिल्दैन भन्ने चेतना पाएका छौ? मुक्ति पाउनका लागि हरेक सत्यता बुझ्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ; तँ एउटा पनि सत्यताबारे अन्यौलमा रहन मिल्दैन। परमेश्वरमा विश्वास गर्नु भनेको केही प्रयत्न लगाउनु, दौडधुप गर्नु, केही दुःख सहनु, र ठेस नखाई परीक्षाहरू सामना गर्न सक्नु मात्र होइन। यदि परमेश्वरमा विश्वास गर्ने मानिसहरू मुक्ति पाउनुलाई साँच्चै जीवनको महत्त्वपूर्ण मामलाका रूपमा लिन्छन् र सत्यता प्राप्त गर्नुलाई जीवनको महत्त्वपूर्ण मामलाका रूपमा हेर्छन् भने, तिनीहरूले जे पनि त्याग्न सक्छन्; तिनीहरूलाई त्याग गर्न सजिलो हुनेछ। यदि कसैले अझै पनि मुक्ति पाउनुको महत्त्व बुझेको छैन भने, त्यो मूर्खता र अज्ञानता हो; उसको आस्था अत्यन्तै सानो हुन्छ, र ऊ अझै पनि अति नाजुक स्थितिमा जिइरहेको हुन्छ। यदि कसैले सत्यतालाई प्रेम गर्दैन भने, उसलाई पर्याप्त रूपमा कर्तव्य निर्वाह गर्न कठिन हुनेछ। किनभने पर्याप्त रूपमा कर्तव्य निर्वाह गर्नका लागि, व्यक्तिले थुप्रै सत्यताहरू बुझ्न र धेरै सत्यताहरूमा प्रवेश गर्न आवश्यक छ। सत्यता बुझ्ने र त्यसमा प्रवेश गर्ने क्रममा, व्यक्तिको कर्तव्य-निर्वाह बिस्तारै पर्याप्त बन्नेछ; उसका विविध कमजोरी र मुडहरू बिस्तारै बदलिनेछन्, र उसका विविध स्थितिहरू पनि बिस्तारै सुधार हुँदै जानेछन्। सत्यता बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने क्रममा, व्यक्ति परमेश्वरमाथिको विश्वास र मुक्ति पाउने सम्बन्धी दर्शनबारे आफूभित्रै झन्-झन् प्रस्ट हुनेछ, र त्यो सँगसँगै, मुक्ति पाउने उसका चाहना र माग पनि झन्-झन् तीव्र बन्नेछ। तीव्र भन्नुको मतलब के हो? यसको मतलब मुक्ति पाउनु भनेको अत्यावश्यक मामला हो, अत्यन्तै महत्त्वपूर्ण मामला हो; र यदि तैँले आफ्ना भ्रष्ट स्वभावहरू सुल्झाइननस् भने, त्यो निकै खतरापूर्ण हुन सक्छ र तैँले मुक्ति पाउन सक्नेछैनस् भनेर तैँले महसुस गर्न सक्छस् भन्ने हो। यस्तो मानसिकतामा नै तीव्रताको भावना हुन्छ। सुरुमा, मुक्ति पाउने वा सिद्धता पारिबारे तँसित कुनै अवधारणा हुँदैन। बिस्तारै, तैँले मानवमा भ्रष्ट स्वभावहरू हुन्छन् र तिनीहरूलाई परमेश्वरले नै मुक्ति दिनुपर्छ भनी बुझ्छस्। तैँले मानिसहरू पाप बोकेर जिउँछन्, कुनै स्वतन्त्रताविना भ्रष्ट स्वभावको पासोमा हुन्छन्, चरम दुःखको जीवन जिइरहेका हुन्छन्, र ढिलोचाँडो तिनीहरू शैतानका दुष्ट प्रवृत्तिहरूको प्रभावमा पर्नेछन् भनी थाहा पाउँछस्। तैँले मानिसहरू आफै अडिग भएर उभिन सक्दैनन्—तँ जतिसुकै प्रतिरोध-क्षमतायुक्त वा दृढ भए पनि, तैँले अन्त्यसम्म परमेश्वरलाई पछ्याउने प्रत्याभूति गर्न सक्दैनस्—अनि तैँले सत्यता बुझ्न र आफूलाई चिन्नका निम्ति सत्यता पछ्याउनैपर्छ, न्याय, सजाय, परीक्षा र शोधनहरू अनुभव गर्नैपर्छ, त्यसपछि मात्र तँसित परमेश्वरलाई अन्त्यसम्म पछ्याउने सङ्कल्प हुनेछ भनी थाहा पाउँछस्। यही बिन्दुमा पुगेर तँलाई मुक्ति पाउने हतार हुन थाल्छ। मुक्ति पाउनका लागि सत्यता बुझ्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। सत्यता पछ्याउनु भनेको तैँले कहिल्यै त्याग्न वा बेवास्ता गर्न नहुने एउटा महत्त्वपूर्ण मामला हो। तैँले सत्यता पछ्याउँछस् कि पछ्याउँदैनस् भन्ने कुराको मुक्ति प्राप्तिसित प्रत्यक्ष सम्बन्ध हुन्छ, र तँ परमेश्वरद्वारा सिद्ध पारिन सक्छस् कि सक्दैनस् भन्ने कुरासित यो अभिन्न रूपमा जोडिएको हुन्छ। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सामना गर्ने सबै समस्या र कठिनाइहरूलाई सत्यता खोजेर समाधान गर्नैपर्छ; तेरो कमजोरी, अज्ञानता, र मूर्खता पनि बिस्तारै परिवर्तन हुनेछन्। यस परिवर्तनले के जनाउँछ? यसको मतलब पापलाई जित्ने तेरो क्षमता झन् बलियो बनेको छ, र तँ तेरा भ्रष्ट स्वभावहरू र दुष्ट कुराहरूप्रति झन्-झन् संवेदनशील बनिरहेको छस्। तेरो हृदयमा यी मामलाहरूप्रति थप बुझाइ र भावना विकसित भइरहेका छन्। अहिले पनि कतिपय मानिसहरूमा यो सचेतना छैन, र पाप, दुष्टता वा शैतानी कुराहरू देख्दा तिनीहरूलाई केही पनि महसुस हुँदैन—यो अस्वीकार्य छ र यसले तिनीहरूको कद अझै पनि धेरै सानो छ भन्ने देखाउँछ। अन्य कतिपयमा विविध पापी व्यवहार र शैतानका विविध पक्षहरूप्रति कुनै भावना, बुझाइ, र अलिकति पनि साँचो घृणा हुँदैन। तिनीहरूमा आफ्ना कार्य र आफूले प्रकट गर्ने भ्रष्टताका साथै तिनीहरूको हृदयको गहिराइमा रहेका भ्रष्ट स्वभाव र कुरुप चिजहरूबारे कुनै सचेतना वा समझशक्ति हुँदैन, कुनै घृणा हुने त कुरै छाडौँ—यी मानिसहरू कद प्राप्त गर्नबाट अझै निकै टाढा छन्। तर, अन्तर जति ठूलो भए पनि, व्यक्ति जति कमजोर भए पनि वा अहिले उसको कद जति सानो भए पनि, यो समस्या होइन, किनभने परमेश्वरले मानिसहरूलाई यी समस्याहरू समाधान गर्ने मार्ग र दिशा प्रदान गर्नुभएको छ। जब तँ बिस्तारै पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्ने स्तरमा पुग्छस्, तब तँ सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न पनि खोजिरहेको हुन्छस्। जब तँ सत्यता बुझ्न र सत्यता वास्तविकताहरूमा प्रवेश गर्न खोज्छस्, पापलाई जित्ने तेरो क्षमता झन् बलियो बन्छ, र दुष्ट कुराहरू खुट्ट्याउने तेरो सामर्थ्य पनि बढ्छ, जसमार्फत् तेरा कमजोरी र विद्रोहीपन फरक-फरक हदसम्म समाधान हुन्छन्। उदाहरणका लागि, तेरो कद सानो हुँदा र तैँले कुनै परिस्थिति सामना गर्दा, तँलाई त्यो राम्रो होइन भन्ने थाहा हुँदाहुँदै पनि तँ अझै त्यसद्वारा विवश पारिएको र बाँधिएको हुन सक्छस्, र त्यसमा संलग्न समेत हुन सक्छस्। जब तँ सत्यता बुझ्छस् र केही सत्यताहरू अभ्यास गर्न सक्छस्, तब तँ हृदयमा यस्ता कुराहरूलाई घृणा गर्नेबाहेक त्यसमा संलग्न हुन इन्कार र अस्वीकार पनि गर्नेछस्; त्यो सँगसँगै, तैँले अरूलाई ती कुराहरूबाट मुक्त हुन मद्दत पनि गर्नेछस्। यो प्रगति हो; यो कद वृद्धि हो। कद वृद्धिका सङ्केतहरू के-के हुन्? सर्वप्रथम, तँमा कर्तव्य निर्वाहप्रतिको समर्पण हुन्छ, र त्यसमा कुनै लापरवाह वा झाराटारुवा व्यवहार हुँदैन। यसको साथै, परमेश्वरमाथिको व्यक्तिको आस्था झनै साँचो र व्यावहारिक बन्छ, र परमेश्वरप्रति साँचो समर्पण हुन्छ। यसअलावा, व्यक्तिले शैतानका प्रलोभन र बाधाहरू खुट्ट्याउन र तिनलाई परास्त गर्न सक्छ; शैतानले उसलाई उप्रान्त भ्रममा पार्न वा नियन्त्रणमा राख्न सक्दैन, र ऊ शैतानको प्रभावबाट मुक्त हुन सक्छ। योसँगै उसले मुक्ति पाउने मानकहरू साँच्चिकै पूरा गरेको हुन्छ।

आजको सङ्गतिपछि के तिमीहरूले आफूले निर्वाह गर्ने कर्तव्यहरूले मापदण्डहरू पूरा गर्छ कि गर्दैन भनी ठम्याउन जान्यौ? यदि जानिस् भने, यसले तैँले यी सत्यताहरूबारे केही बुझाइ प्राप्त गरेको छस् र प्रगति गरेको छस् भन्ने प्रमाणित गर्छ; यदि जानिनस् भने, यसले तैँले भनिएका कुरा बुझेको छैनस्, र तँ पछि परेको छस् भन्ने प्रमाणित गर्छ। तँसित दुइटा पक्षहरूमा स्पष्टता हुनुपर्छ: एउटा पक्ष आफ्नो मूल्याङ्कन गर्ने क्षमता हो भने अर्को पक्ष मानक पूरा गर्ने र मार्ग जान्नेगरी आफ्नो कर्तव्य निर्वाह गर्न जान्नु हो। विगतमा, बढीजसो ध्यान कर्तव्य निर्वाहमाथि हुन्थ्यो, र त्यसलाई पर्याप्त मात्रामा गर्नमा खासै ध्यान दिइँदैनथ्यो। आजको छलफल मुख्य रूपमा पर्याप्त कर्तव्य-निर्वाहका मानकहरूमा केन्द्रित रह्यो। पर्याप्तताका मानकहरू र यस पक्षमा संलग्न विविध सत्यताहरू मूलतः निकै प्रस्टसित सङ्गति गरिएका छन्। यसअलावा, कर्तव्य निर्वाह गर्ने क्रममा पन्छाउनुपर्ने मामलाहरू र पालना गर्नुपर्ने सिद्धान्तहरूका साथै, गर्नै नमिल्ने गल्तीहरू—यी सबै निकै महत्त्वपूर्ण छन्। खासगरी, भेटी नचोर्, लापरवाहीपूर्वक प्रेम सम्बन्धहरूमा संलग्न नहो, र कामका बन्दोबस्तहरूको अवज्ञा नगर्। यदि तैँले यी गल्तीहरू गरिस् भने, तँ पूर्ण रूपमा सकिन्छस्; मुक्ति पाउने कुनै आशा हुँदैन। त्यसैले, गलत मार्ग नलि, दुष्टकर्मीको मार्गमा नहिँड्। तैँले त्यो बाटोमा पाइला चालिसकेपछि साँच्चिकै कुनै आशा रहँदैन; तँलाई कसैले पनि मुक्ति दिन सक्दैन। यदि तँलाई परमेश्वरले मुक्ति दिनुहुन्न भने, तँ आफैले त पक्कै पनि मुक्ति दिन सक्दैनस्। यदि कोही त्यो अवस्थामा पुग्यो भने, त्यो गम्भीर समस्या हो; त्यहाँबाट फर्कन सजिलो हुँदैन। मुलत: यो बाटोले कतै पनि पुर्‍याउँदैन।

नोभेम्बर २८, २०१८

अघिल्लो: आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३)

अर्को: सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्