१७. ढोँग गर्ने र बहाना बनाउने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

भ्रष्ट मानवजाति आफ्‍नो वास्तविकता लुकाउन सिपालु हुन्छन्। तिनीहरूले जे काम गरे पनि वा जस्तो भ्रष्टता देखाए पनि, आफ्‍नो वास्तविकता सधैँ लुकाउनैपर्छ। यदि कुनै गलत कुरा हुन्छ वा तिनीहरूले गलत काम गरे भने, तिनीहरू अरूलाई दोष लगाउन चाहन्छन्। तिनीहरू असल कुराहरूको श्रेय आफै लिन चाहन्छन्, र खराब कुराको दोष अरूलाई दिन चाहन्छन्। के वास्तविक जीवनमा यस्ता धेरै देखावटीपन हुँदैनन् र? एकदमै धेरै हुन्छन्। गल्ती गर्नु वा देखावटी रूप धारण गर्नु: यीमध्ये कुनचाहिँ स्वभावसँग सम्बन्धित छ? देखावटी रूप धारण गर्नु स्वभावसित सम्बन्धित कुरा हो, यसमा घमण्डी स्वभाव, दुष्टता र विश्‍वासघात सामेल छन्; र परमेश्‍वरले यसलाई विशेष रूपमा तुच्छ ठान्‍नुहुन्छ। वास्तवमा, जब तैँले आफ्‍नो वास्तविक रूप लुकाउँछस्, तब के भइरहेको छ भनेर सबैले बुझ्छन्, तर तँ अरूले देख्दैनन् भन्‍ने सोच्छस्, र इज्‍जत बचाउन र तैँले केही पनि गलत गरेको छैनस् भनेर सबैलाई सोच्‍ने बनाउन तैँले सक्दो तर्क गर्छस् र आफूलाई निर्दोष साबित गर्ने प्रयास गर्छस्। के यो मूर्खता होइन र? अरूले यसबारेमा के सोच्छन्? तिनीहरूलाई कस्तो अनुभव हुन्छ? दिक्‍क र घिन लाग्छ। यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही प्रकारले लिन सक्छस्, र सबैलाई यसबारेमा कुराकानी र टीकाटिप्पणी गर्न दिन्छस् र त्यसबाट असल-खराब छुट्याउन सक्छस्, अनि यसबारेमा खुलस्त हुन र यसलाई विश्‍लेषण गर्न सक्छस् भने, तेरो बारेमा सबैको विचार के हुनेछ? तिनीहरूले तँ इमान्दार व्यक्ति होस् भन्नेछन् किनकि तेरो हृदय परमेश्‍वरका लागि खुला छ। तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय देख्न सक्नेछन्। तर यदि तैँले भेष बदल्ने र सबैलाई धोका दिने कोसिस गर्छस् भने, मानिसहरूले तँलाई आदर गर्नेछैनन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनी भन्नेछन्। यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गर्दैनस् भने, यदि तँ आफ्नो गल्ती स्वीकार्न सक्छस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भनी भन्नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा दोष र कमी-कमजोरी हुन्छ। अनि वास्तवमा, सबैसित उही भ्रष्ट स्वभाव हुन्छ। तैँले आफैलाई अरूभन्दा धेरै महान्, सिद्ध, र दयालु नसोच्; त्यसो गर्नु बिलकुलै अनुचित छ। मानिसहरूको भ्रष्ट स्वभाव अनि सार र तिनीहरूको भ्रष्टताको साँचो अनुहारबारे तँलाई स्पष्ट भएपछि, तँ तेरा आफ्नै गल्तीहरूलाई ढाकछोप गर्ने कोसिस गर्नेछैनस्, न त अरू मान्छेले गल्ती गर्दा तँ तिनीहरूप्रति नराम्रो विचार नै पाल्नेछस्, तैँले यी दुवै कुरालाई सही प्रकारले सामना गर्न सक्‍नेछस्। तब मात्र तँ समझदार हुने छस् र मूर्ख कुराहरू गर्ने छैनस्, र यसले तँलाई बुद्धिमान् बनाउने छ। बुद्धि नभएकाहरू मूर्ख मानिसहरू हुन् र तिनीहरू पर्दापछाडि गोप्य कुरा गर्दै, सधैँ आफ्ना ससाना गल्तीहरूमा अल्झिरहन्छन्। यो हेर्दै घिन लाग्छ। वास्तवमा, तैँले जे गरिरहेको हुन्छस् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तँ अझै निर्लज्ज बनी देखावटी गर्छस्। अरूलाई, यो जोकरको काम जस्तो लाग्छ। के यो मूर्खता होइन? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूसँग कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू आफ्नो अहम् कहिल्यै छोड्दैनन्, तिनीहरू अरू सबैभन्दा फरक छन्, र अरूभन्दा बढी इज्‍जतदार छन् भनी सोच्छन्, यो अहङ्कार र आत्मधर्मीपन हो, यो मूर्खता हो। मूर्ख मानिसहरूमा आत्मिक बुझाइ हुँदैन, हुन्छ त? जुन विषयहरूमा तँ मूर्ख र निर्बुद्धि हुन्छस् ती त्यस्ता विषयहरू हुन् जसको बारेमा तँसित कुनै आत्मिक समझ हुँदैन, र तैँले सजिलैसँग सत्यतालाई बुझ्दैनस्। कुराको वास्तविकता यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू

जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम पाटो प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्डिपन हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। शैतानी शासनका सदस्यहरूलाई नै लिऊँ: तिनीहरूले गोप्यमा जति नै लडाइ, झगडा, वा हत्या गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न दिँदैन। तिनीहरू मानिसहरूले आफ्नो पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई ढाकछोप गर्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र दोषरहित छन् भनी भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर त्यसको शासनलाई बलियो बनाउने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा यस्तो शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्‍ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र हृदयमा तिनीहरूलाई उच्च हैसियतमार राखून् भन्‍ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्। भ्रष्ट स्वभावलाई चिन्नु सबैभन्दा गाह्रो कुरा हो: आफ्नो गल्ती र कमीकमजोरीहरू चिन्न सजिलो छ, तर आफ्नो भ्रष्ट स्वभाव चिन्न सजिलो छैन। आफूलाई नचिन्ने मानिसहरूले आफ्नो भ्रष्ट स्थितिहरूबारे कहिल्यै कुरा गर्दैनन्—तिनीहरू सधैँ आफू ठिक छु भनी सोच्छन्। र थाहै नपाई तिनीहरू देखावटी गर्न थाल्छन्: “मैले विश्वास गरेको यत्तिका वर्षमा, धेरै सतावट र धेरै कठिनाइ भोगेको छु। के तपाईंहरूलाई थाहा छ, मैले यो सबै कसरी पार गरेँ?” के यो अहङ्कारी स्वभाव हो? तिनीहरू के कारण आफ्नो प्रदर्शन गर्छन्? (मानिसहरूलाई उसको आदर गर्न लगाउन।) मानिसहरूलाई उसको आदर गर्न लगाउनुको उसको मनसाय के हो? (यस्ता मानिसहरूको मनमा उसले हैसियत पाउन।) जब कसैको मनमा तैँले हैसियत पाउँछस्, तब ऊ तेरो सङ्गतमा हुँदा, उसले तेरो श्रद्धा गर्छ, र विशेषगरी तँसित बोल्दा ऊ शिष्ट बन्छ। उसले सधैँ तेरो मान गर्छ, उसले सधैँ सबै कुरामा तँलाई प्राथमिकता दिन्छ, ऊ तेरोसामु झुक्छ, अनि उसले तेरो चापलुसी गर्छ र आज्ञा मान्छ। सबै कुरामा, तिनीहरू तँलाई खोज्छन् र तँलाई निर्णयहरू गर्न दिन्छन्। र तँलाई यसबाट आनन्द अनुभूति हुन्छ—तँलाई आफू अरू जो कोहीभन्दा बलियो र राम्रो लाग्छ। यो अनुभूति सबैलाई मन पर्छ। यो कसैको हृदयमा हैसियत हुनुको अनुभूति हो; मानिसहरू यसमा लिप्त हुन चाहन्छन्। यही कारण मानिसहरु हैसियतका लागि होड गर्छन्, र सबैले अरूको हृदयमा हैसियत पाउन, अरूबाट सम्मान र आराधना प्राप्त गर्न चाहन्छन्। यदि तिनीहरूले यसबाट त्यस्तो आनन्द पाउन सकेनन् भने, तिनीहरू हैसियतको पछि लाग्दैनन्। उदाहरणका लागि, यदि कसैको मनमा तेरो हैसियत छैन भने, तिनीहरू तेरो समान स्तरमा रहने छन्, तँलाई आफू समान व्यवहार गर्ने छन्। तिनीहरूले आवश्यक पर्दा तेरो खण्डन गर्ने छन्, तिनीहरू तँप्रति शिष्ट हुने छैनन् वा तेरो सम्मान गर्ने छैनन्, र तैँले बोलीसक्नुअघि नै त्यहाँबाट हिँड्लान्। के तँलाई अप्ठ्यारो लाग्ने छ? मानिसहरूले यस्तो व्यवहार गर्दा तँलाई मन पर्दैन; तिनीहरूले तँलाई चापलुसी गरेको, तेरो मान गरेको, र हरेक क्षण तेरो आराधना गरेको तँलाई मन पर्छ। तँ सबै कुराको केन्द्र बनेको, सबथोक तेरो वरिपरि घुमेको, र सबैले तेरो कुरा सुनेको, तेरो मान गरेको, र तेरो निर्देशन पालन गरेको तँलाई मन पर्छ। के यो राजाजस्तै शासन गर्ने, शक्ति प्राप्त गर्ने चाहना होइन र? तेरो बोली र काम हैसियतको पछ्याइ र प्राप्तिद्वारा प्रेरित हुन्छन्, र तँ यसका लागि अरूसँग लडाइ, खोसाखोस र प्रतिस्पर्धा गर्छस्। तेरो लक्ष्य पद कब्जा गर्नु, र परमेश्वरका चुनिएका मानिसहरूलाई तेरो कुरा सुन्न, तेरो समर्थन र आराधना गर्न लगाउनु हो। तैँले त्यो ओहोदा लिइसकेपछि, शक्ति प्राप्त गरेको हुन्छस् अनि हैसियत, अरूको प्रशंसा, र त्यो पदसँगै आउने अन्य सबै सुविधाहरूको लाभ उठाउन सक्छस्। मानिसहरू सधैँ भेष बदल्छन्, अरूको अगाडि प्रदर्शन गर्छन्, आडम्बर गर्छन्, स्वाङ पार्छन्, र आफू सिद्ध छु भनी अरूलाई सोच्न लगाउन आफूलाई सुशोभित पार्छन्। यसमा तिनीहरूको लक्ष्य नै हैसियत प्राप्त गर्नु हो, ताकि तिनीहरूले हैसियतबाट प्राप्त हुने कुराको आनन्द लिन सकून्। यदि तँ यो विश्वास गर्दैनस् भने, यसबारे ध्यानपूर्वक विचार गर्: तँ किन सधैँ मानिसहरूलाई तेरो आदर गर्न लगाउन चाहन्छस्? तँ तिनीहरूलाई तेरो आराधना र मान गर्न लगाउन चाहन्छस्, ताकि तैँले अन्ततः शक्ति लिन र हैसियतबाट प्राप्त हुने कुराको आनन्द लिन सकेस्। तैँले यति बेस्सरी खोजेको हैसियतबाट धेरै फाइदा पाउने छस्, र अरूले ठ्याक्कै यी नै फाइदाहरूको ईर्ष्या र चाह गर्छन्। जब मानिसहरूले हैसियतले दिने धेरै फाइदाहरूको स्वाद पाउँछन्, यसको तिनीहरूलाई नशा लाग्छ, र तिनीहरू त्यो विलासी जीवनमा लिप्त हुन्छन्। मानिसहरू यो जीवन मात्र खेरो गएको छैन भन्ने सोच्छन्। भ्रष्ट मानव यी कुरामा लिप्त भएर रमाउँछ। तसर्थ, व्यक्तिले निश्चित पद प्राप्त गरेर यसबाट प्राप्त हुने विभिन्न लाभहरू पाउन थालेपछि यी पापमय मोजमज्जाको निरन्तर तीव्र लालसा गर्छ, ती कहिल्यै नत्याग्ने हदसम्म पुग्छ। मुख्यतः प्रसिद्धि र हैसियतको पछ्याइ निश्चित पदबाट प्राप्त हुने फाइदाहरूमा रमाउने, राजाझैँ शासन गर्ने, परमेश्वरका चुनिएका मानिसहरूमाथि नियन्त्रण जमाउने, सबै कुरामा प्रभुत्व जमाउने र आफ्नो पदको विशेषाधिकारमा विलासी जीवन जिउन र पापमय मोजमज्जामा लिप्त हुन सक्ने स्वतन्त्र राज्य स्थापना गर्ने इच्छाले प्रेरित हुन्छ। शैतानले मानिसहरूलाई धोका दिन, छल गर्न र मूर्ख बनाउन र तिनीहरूमा झूटो छाप छोड्न सबै प्रकारका तरिकाहरू प्रयोग गर्छ। यसले मानिसहरूलाई त्यसको प्रशंसा गर्न र त्योसँग डराउन लगाउन डर-धम्कीसमेत प्रयोग गर्छ, यसको अन्तिम लक्ष्य तिनीहरूलाई त्यसप्रति समर्पित हुन र त्यसको आराधना गर्न लगाउनु हो। यही कुराले शैतानलाई खुसी तुल्याउँछ; त्यसको लक्ष्य मानिसहरूलाई जित्न परमेश्वरसँग प्रतिस्पर्धा गर्ने पनि हो। त्यसैले, जब तिमीहरू अन्य मानिसमाझ हैसियत र प्रतिष्ठाका लागि लड्छौ, तिमीहरू केका लागि लडिरहेका हन्छौ? के यो साँच्चै प्रसिद्धिका लागि हो? होइन। तँ वास्तवमा त्यो प्रसिद्धिले तँलाई दिने फाइदाहरूका लागि लडिरहेको हुन्छस्। यदि तँ सधैँ ती लाभहरू पाउन चाहन्छस् भने, तिनका लागि लड्नुपर्ने हुन्छ। तर यदि तैँले ती लाभहरूलाई महत्त्व दिँदैनस् र “मानिसहरूले मलाई व्यवहार गर्ने तरिकाले केही फरक पार्दैन। म त साधारण व्यक्ति हुँ। म यस्तो राम्रो व्यवहारको योग्य छैनँ, न त म व्यक्तिको आराधना गर्न नै चाहन्छु। मैले साँच्चै आराधना गर्नुपर्ने र डराउनुपर्ने त परमेश्वर मात्र हुनुहुन्छ। उहाँ मात्र मेरा परमेश्वर र प्रभु हुनुहुन्छ। कुनै व्यक्ति जतिसुकै असल किन नहोस्, उसको क्षमता जति नै धेरै किन नहोस्, उसको प्रतिभा जति नै विशाल किन नहोस्, उसको छवि जति नै सानदार वा सिद्ध किन नहोस्, ऊ मेरो श्रद्धाको वस्तु होइन किनभने ऊ सत्यता होइन। ऊ सृष्टिकर्ता होइन; ऊ मुक्तिदाता होइन, र उसले योजनाबद्ध गर्न वा मानिसको भाग्यमामाथि सार्वभौम शासन गर्न सक्दैन। ऊ मेरो आराधनाको वस्तु होइन। कुनै पनि मानव व्यक्ति मेरो आराधनाको योग्य छैन,” भनेर भन्छस् भने, के यो सत्यताअनुरूप हुँदैन र? यसको विपरीत, यदि तँ अरूको आराधना गर्दैनस् भने, र तिनीहरूले तँलाई आराधना गर्न थाले भने, तैँले तिनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? तैँले तिनीहरूलाई त्यसो गर्न रोक्ने उपाय खोज्नैपर्छ, र तिनीहरूलाई यस्तो मानसिकताबाट मुक्त हुन मद्दत गर्नैपर्छ। तैँले तिनीहरूलाई तेरो साँचो रूप देखाउने मार्ग खोज्नैपर्छ, र तिनीहरूलाई तेरो कुरूपता र साँचो प्रकृति हेर्न दिनैपर्छ। मुख्य कुरा भनेको तेरा गुणहरू जति नराम्रा भए पनि, तँ जति नै उच्च शिक्षित भए पनि, तँ जति नै ज्ञानी, वा जति नै बुद्धिमानी भए पनि, तँ केवल साधारण व्यक्ति होस् भनेर मानिसहरूलाई बुझ्न लगाउनु हो। तँ कसैको प्रशंसा वा आराधनाको वस्तु होइन। सर्वप्रथम, तँ आफ्नो स्थानमा दृढ रहनैपर्छ, र गल्तीहरू गरेपछि वा आफूलाई लज्जित पारेपछि पटक्कै पछि हट्नु हुँदैन। गल्ती गरेपछि वा आफूलाई लज्जित पारेपछि, यदि तैँले यसलाई स्वीकार गर्न नसक्ने मात्र होइन, तर यसलाई लुकाउन वा सेतो पोत्न छलको प्रयोग पनि गर्छस् भने, तेरो गल्ती दोबर-तेबरह हुन्छ र तँ झनै कुरूप देखिन्छस्। तेरो महत्त्वाकाङ्क्षा अझ स्पष्ट हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू

मानिसहरू आफै सृष्टि गरिएका प्राणीहरू हुन्। के सृष्टि गरिएका प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा देख्‍न, र सबै कुराको लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र भ्रष्ट स्वभावहरू र घातक कमजोरी हुन्छन्। तिनीहरूले कुनै सीप वा पेसा सिक्ने बित्तिकै तिनीहरूले आफू सक्षम छन्, तिनीहरू हैसियत र महत्त्व भएका मानिसहरू हुन्, र तिनीहरू पेसेवारहरू हुन् भन्ने विचार गर्छन्। तिनीहरू जति नै “साधारण” भए पनि, तिनीहरू सबै आफूलाई महत्त्वपूर्ण वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, आफूलाई सानोतिनो सेलिब्रेटी नै बनाउन चाहन्छन्, र मानिसहरूको नजरमा एउटै पनि खोट नभएको सिद्ध र दोषरहित देखिन चाहन्छन्; तिनीहरू प्रसिद्ध, शक्तिशाली वा कुनै महान् व्यक्ति, र जुनसुकै कार्य गर्न सक्षम र गर्न नसक्‍ने कुनै कुरा नभएको पराक्रमी व्यक्ति बन्‍न चाहन्छन्। यदि तिनीहरूले अरूको सहायता खोजे भने, तिनीहरू असक्षम, कमजोर, र महत्त्वहीन देखिन्छन्, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् भन्‍ने तिनीहरू विचार गर्छन्। यसकारण, तिनीहरू सधैँ अगाडि रहन चाहन्छन्। कतिपय मानिसहरूलाई जब कुनै काम गर्न लगाइन्छ, तब उनीहरूले त्यो कसरी गर्नुपर्छ सो जान्दछौं भनी भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसको बारेमा खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्‍ने कोसिस गर्छन्, तर धेरै दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। जब तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोधिन्छ, तिनीहरू भन्छन्, “चाँडै भइहाल्छ!” तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, “म अहिलेसम्‍म त्यो स्तरमा पुगेको छैन, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा फुत्काउनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्‍नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्‍न दिनु हुँदैन!” यो कस्तो समस्या हो? यो जसरी भए पनि आफ्‍नो इज्‍जत बचाउने प्रयास गर्दै नारकीय जीवन जिउनुसरह हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरूलाई जोकोहीजस्तो बन्‍न मन लाग्दैन, तिनीहरू मामुली, सामान्य मानिसहरू बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा चर्चाको विषय बन्‍न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्, र त्यसपछि आफैलाई लुकाइरहने गर्छन्। कतिपय मानिसहरू त कुनै पनि कुराको समझ नभएका हुन्छन्, तैपनि तिनीहरूले हृदयमा बुझेको छु भनेर दाबी गर्छन्। जब तैँले तिनीहरूलाई त्यो कुरा व्याख्या गर्न लगाउँछस्, तिनीहरूले व्याख्या गर्न सक्दैनन्। अरू कसैले त्यसको बारेमा व्याख्या गरेपछि मात्र तिनीहरूले त्यही कुरा भन्न लागेका, तर समयमा भन्न नसकेका दाबी गर्छन्। तिनीहरूले आफूलाई लुकाउन र राम्रो देखाउनका लागि गर्न सक्‍ने सबै कुरा गर्छन्। तिमीहरू के भन्छौ, के त्यस्ता मानिसहरू यथार्थबाहिर गएर बाँचिरहेका हुँदैनन् र? के तिनीहरूले दिवासपना देखिरहेका हुँदैनन्? तिनीहरूले आफू को हुन् भनेर आफै चिन्दैनन्, न त तिनीहरूले सामान्य मानवतामा कसरी जिउने भनेर नै जान्दछन्। तिनीहरूले कहिल्यै पनि व्यावहारिक मानिसले जस्तो व्यवहार गरेका हुँदैनन्। यदि तँ सधैँ यथार्थबाहिर गई, लटरपटर गर्दै, कुनै पनि काम व्यावहारिकताअनुसार नगरेर अनि सधैँ कल्पनामा जिएर दिन बिताउँछस् भने, त्यो समस्याजनक कुरा हो। तैँले जीवनमा चुनेको मार्ग सही हुँदैन। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि तैँले सत्यता बुझ्नेछैनस्, न त सत्यता प्राप्त गर्न नै सक्नेछस्। इमानदारीसाथ भन्दा, तेरो सुरुआती बिन्दु नै गलत छ, त्यसैले तैँले सत्यता प्राप्त गर्न सक्दैनस्। तैँले जमिनमा कसरी हिँड्ने, र एक पल्टमा एक कदम गर्दै कसरी स्थिर भएर हिँड्ने सो सिक्नुपर्छ। यदि तँ हिँड्न सक्छस् भने हिँड्; कसरी दगुर्नुपर्छ त्यो सिक्ने कोसिस नगर। यदि तँ एक पटकमा एक कदम हिँड्न सक्छस् भने, एक पटकमा दुई कदम हिँड्ने कोसिस नगर। तैँले आफ्नो खुट्टा जमिनमा दह्रो टेकेर व्यवहार गर्नुपर्छ। तैँले महामानव, महान् वा उच्च हुने कोसिस नगर्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू

फरिसीहरूलाई कसरी व्याख्या गरिन्छ? तिनीहरू ढोङ्गी, पूर्ण रूपमा बनावटी मानिसहरू हुन्, र तिनीहरूले आफूले गर्ने हरेक काममा नाटक गर्छन्। तिनीहरूले के नाटक गर्छन्? आफू असल, दयालु, र सकारात्मक भएको नाटक गर्छन्। के तिनीहरू वास्तवमा यस्तै हुन्छन् त? बिलकुलै हँदैनन्। तिनीहरू ढोङ्गीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटो हुन्छ; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार कहाँ लुकेको हुन्छ? यो अरूले कहिल्यै नदेख्‍ने गरी तिनीहरूको हृदयभित्रको गहिराइमा लुकेको हुन्छ। बाहिर देखिने हरेक कुरा नाटक हुन्छ, यो सबै बनावटी हुन्छ, तर तिनीहरूले मानिसहरूलाई मात्र मूर्ख बनाउन सक्छन्; परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, यदि तिनीहरूले साँचो रूपमा परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्दैनन् भने, तिनीहरूले साँचो रूपमा सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूका वचनहरू सुन्दा जति नै मीठा लागे पनि, ती वचनहरू सत्यताका वास्तविकता होइनन्, केवल धर्मसिद्धान्तका वचनहरू हुन्। केही मानिसहरूले धर्मसिद्धान्तलाई सुगारटाइ गर्नमा मात्र ध्यान दिन्छन्, तिनीहरूले उच्‍च प्रवचन दिने जोकोहीको नक्‍कल गर्छन्, र नतिजास्वरूप केही वर्षभित्रमै तिनीहरूको धर्मसिद्धान्त वाचन कला झन्-झन् व्यापक बन्दै जान्छ र तिनीहरूलाई धेरै मानिसहरूले आदर र श्रद्धा गर्छन्, र त्यसपछि त तिनीहरूले छलावरण धारण गर्न थाल्छन्, अनि आफूले भन्‍ने र गर्ने कुरामा एकदमै धेरै ध्यान दिन र आफूलाई विशेष रूपमा धर्मी र आत्मिक देखाउन थाल्छन्। तिनीहरूले छलावरण धारण गर्नका लागि यी तथाकथित आत्मिक सिद्धान्तहरूको प्रयोग गर्छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरूले बोल्ने कुरा यही हो, जुन बाहिरबाट हेर्दा आकर्षक हुन्छन् र ती मानिसहरूका धारणाहरूसित मिल्छन्, तर तिनमा सत्यताको वास्तविकता हुँदैन। यी कुराहरूको प्रवचनमार्फत—मानिसहरूका धारणा र रुचिसँग मिल्दा यी कुराहरूमार्फत—तिनीहरूले धेरै मानिसहरूलाई उल्लू बनाउँछन्। अरूको लागि, यस्ता मानिसहरू अत्यन्तै भक्त र नम्र देखिन सक्छन्, तर यो वास्तवमा देखावटी मात्र हो; तिनीहरू सहनशील, धैर्य, र प्रेमिलो देखिन्छन्, तर यो वास्तवमा बहाना मात्र हो; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छौं भनी भन्छन्, तर त्यो वास्तवमा नाटक मात्र हो। अरूले यस्ता मानिसहरूलाई पवित्र सोच्छन्, तर यो वास्तवमा नौटङ्की मात्र हुन्छ। साँचो रूपमा पवित्र व्यक्तिलाई कहाँ भेट्न सकिन्छ? मानव पवित्रता सबै देखावटी हो। यो सबै नाटक र बहाना मात्र हो। बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरप्रति निष्ठावान देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि निष्ठावान हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफैलाई परमेश्‍वरमा समर्पित गरेका छन्, र आफ्‍ना परिवार र जागिर छोडेका छन्। तर गोप्य रूपमा तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरको लागि काम गर्ने नाउँमा गोप्य रूपमा मण्डलीमा आफ्नै उद्यम सञ्‍चालन गरिरहेका र आफ्‍नै कारोबार अघि बढाइरहेका हुन्छन्, र मण्डलीबाट लाभ लिइरहेका र भेटी चोरिरहेका हुन्छन्…। यी मानिसहरू आधुनिक ढोङ्गी फरिसीहरू हुन्। फरिसीहरू कहाँबाट आउँछन् त? के तिनीहरू सबै अविश्‍वासीहरूबाट आउँछन्? होइन, तिनीहरू सबै नै विश्‍वासीहरूका माझबाट आउँछन्। किन यी मानिसहरू फरिसी बन्छन्? के कसैले तिनीहरूलाई त्यस्तो बनाएको हो? त्यस्तो अवश्य होइन। त्यसो भए, कारण के हो त? तिनीहरूको सार र प्रकृति नै त्यस्तै हुने भएकोले र तिनीहरूले लिएको मार्गको कारणले यस्तो भएको हो। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रचार गर्ने साधन र मण्डलीबाट फाइदा लिने औजारको रूपमा मात्र प्रयोग गर्छन्। तिनीहरूले आफ्नो दिमाग र जिब्रोलाई परमेश्‍वरका वचनहरूले सुसज्‍जित पार्छन्, नक्‍कली आत्मिक सिद्धान्तहरू प्रचार गर्छन्, आफैलाई पवित्र व्यक्तिको रूपमा प्रस्तुत गर्छन्, र यी कुरालाई मण्डलीबाट फाइदा लिने उद्देश्य हासिल गर्ने पूँजीको रूपमा प्रयोग गर्छन्। तिनीहरूले धर्मसिद्धान्तहरूको प्रचार मात्रै गर्छन्, तर तिनीहरूले कहिल्यै पनि सत्यता अभ्यास गरेका हुँदैनन्। परमेश्‍वरको मार्ग कहिल्यै नपछ्याए पनि वचन र धर्मसिद्धान्तहरूलाई प्रचार गर्ने कार्यलाई जारी राख्‍ने यी कस्ता प्रकारका मानिसहरू हुन् त? यी ढोङ्गी फरिसीहरू हुन्। तिनीहरूको सानोतिनो, र कथित असल व्यवहार र आचरण, र तिनीहरूले त्यागेको र समर्पित गरेको त्यो थोरै कुरा, ती सबै आफूलाई नियन्त्रण गरेर अनि आफ्‍नै हिसाबले आफूलाई राम्रो देखाएर आएका कुरा हुन्; ती कार्यहरू पूर्ण रूपमा देखावटी हुन्, र ती सबै नाटक हुन्। यी मानिसहरूका हृदयमा, परमेश्‍वरको लागि अलिकति पनि श्रद्धाभाव हुँदैन, न त तिनीहरूसँग कुनै सच्‍चा विश्‍वास नै हुन्छ। त्योभन्दा पनि बढी, तिनीहरू गैरविश्‍वासीहरू हुन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू यस्तो प्रकारको मार्गमा हिँड्नेछन्, र तिनीहरू फरिसीहरू बन्‍नेछन्। के त्यो कुरा डरलाग्दो छैन र? फरिसीहरू भेला हुने धर्मका स्थानहरू बजार बन्छन्। परमेश्‍वरको नजरमा, यो धर्म हो; त्यो परमेश्‍वरको मण्डली होइन, न त त्यो उहाँलाई आराधना गरिने ठाउँ नै हो। तसर्थ, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरूले परमेश्‍वरका वाणीहरूका जति नै ठेट शब्‍दहरू र सतही धर्मसिद्धान्तहरूले आफूलाई सुसज्‍जित पारे पनि, यसको कुनै काम हुनेछैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू

अरूको अगाडि, ख्रीष्ट विरोधीहरूले आफू धेरै सहनशील, धैर्य, नम्र र दयालु भएको नाटक गर्छन्। सबैका लागि तिनीहरू उदार र परोपकारी देखिन्छन्। तिनीहरूलाई एउटा समस्या र केही अधिकार दे, र तिनीहरूले हरेक कुरामा यसलाई तेरो-मेरो नगरी सम्हालेर तिनीहरू कति महान् छन् भनेर देखाउँछन्। के यी ख्रीष्ट विरोधीहरूमा साँच्चै त्यस्ता तत्वहरू हुन्छन्? तिनीहरूको दया, सहिष्णुता, र सावधानीको पछाडि कुन उद्देश्य हुन्छ? यदि तिनीहरूले आफैलाई मानिसहरूको कृपा-पात्र नबनाउने भए र तिनीहरूलाई नजित्ने भए के तिनीहरूले त्यस्ता कामहरू गर्थे? के यो तिनीहरूको वास्तविक अनुहार हो? के तिनीहरूको सार, स्वभाव र मानवता बाहिरबाट देखिएजस्तै नम्र, सहनशील, सहिष्णु र वास्तविक प्रेम सहित सहायता गर्न सक्‍ने हुन्छ? कदापि हुँदैन। धेरै मानिसहरूको ध्यान आकर्षित गर्न, धेरै मानिसहरूलाई जित्न, तिनीहरूकहाँ आफ्नै स्थान बनाउन, तिनीहरूलाई समस्या पर्दा सबैभन्दा पहिले ख्रीष्ट विरोधीलाई सम्झने बनाउन, र तिनीहरूलाई सहायताको आवश्यकता पर्दा तिनीहरूले खोज्ने व्यक्ति आफूलाई बनाउन—यी उद्देश्यहरू प्राप्त गर्न, ख्रीष्ट विरोधीहरूले सबै सही वचनहरू बोल्दै र सबै सही कुराहरू गर्दै जानाजानी स्वीकृति पाउनलाई त्यस्तो व्यवहार गर्छन्। तिनीहरूका मुखबाट कुराहरू निस्कनु अघि, तिनीहरूले त्यो आफ्नो हृदयमा, तिनीहरूका मनमा कति पटक त्यो जाँचेको र सुधारेको हुन्छ, कसले जान्दछ। तिनीहरूले ठूलो गणना र सोचविचारका साथ, शब्दहरू, वाक्यांशहरू, र स्वरको उतारचढाउ, यहाँसम्म कि तिनीहरूको अनुहारको भाव र ती उच्चारण गर्दा तिनीहरूको स्वर कस्तो हुनुपर्ने त्यो पनि विचार गर्छन्, र तिनीहरूले यी कुराहरू कसलाई भनिरहेका छन्, तिनीहरू कति वर्षका छन्, तिनीहरू साना छन् कि ठूला छन्, तिनीहरूले उनीहरूका बारेमा के सोच्छन्, तिनीहरूप्रति कुनै व्यक्तिगत असन्तुष्टि छ कि छैन, तिनीहरूका व्यक्तित्वहरू मेल खाने किसिमका छन् कि छैनन्, तिनीहरू मण्डलीमा र दाजुभाइ-दिदीबहिनीहरूका बीचमा कस्तो किसिमको पदमा छन्, तिनीहरूले कस्तो कर्तव्य पूरा गर्छन्—विभिन्न मानिसहरूप्रति कस्तो व्यवहार गर्ने भन्ने युक्तिहरू बनाउनुभन्दा अघि यो सबै कुरालाई तिनीहरूले होसियारीसाथ हेर्छन् र सोचविचार गर्छन्। अनि ती रणनीतिहरू जे भए तापनि, त्यो जो-सुकै वा जुनसुकै किसिमको व्यक्तिप्रति लक्षित भए पनि ख्रीष्ट विरोधीको प्रायजसो एउटै उद्देश्य हुन्छ: त्यस व्यक्तिलाई तिनीहरूको बारेमा उच्च विचार गर्न लाउनु, तिनीहरूलाई तुच्छ ठान्न नदिनु, तिनीहरूलाई एक समान रूपमा हेर्न लाउनु, तिनीहरूलाई उच्‍च ठान्‍न लाउनु, तिनीहरूले बोल्दा मानिसहरूलाई ध्यान लाएर सुन्ने बनाउनु, र तिनीहरूलाई बोल्ने समय र मौका दिनु, तिनीहरूले काम गर्दा धेरै मानिसहरूको सहमति प्राप्त गर्नु, तिनीहरूले गल्तीहरू गर्दा धेरै मानिसहरूबाट निर्दोष ठहरिनु, अनि धेरै मानिसहरूलाई तिनीहरूसित टाँस्सिएर बस्ने बनाउनु, तिनीहरूको पक्षमा बोल्ने बनाउनु, र तिनीहरू वास्तवमा को हुन् भन्ने कुरा प्रकट हुँदा, परमेश्‍वरको घरबाट त्यागिँदा र मण्डलीबाट निकालिँदा परमेश्‍वरको विरोध गर्न र उहाँसित तर्क गर्न लाउनु। यसले के सङ्केत गर्छ भने, तिनीहरूले जानाजानी जुन स्थिति र प्रभाव बनाएका हुन्छन्, त्यो मण्डलीमा गहिरो रूपमा जोडिएको हुन्छ; स्पष्ट रूपमा, तिनीहरू तल खसालिएपछि धेरै मानिसहरूले तिनीहरूलाई सहयोग, ऐक्यबद्धता र सुरक्षा प्रदान गर्नु भनेको तिनीहरूको प्रयास व्यर्थ भएको छैन भन्‍ने हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस)

परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेका भए पनि, ख्रीष्ट विरोधीले तिनीहरू कमजोर नभएको, तिनीहरू सधैँ बलिया भएको, आत्मविश्‍वासले भरपूर भएको, कहिल्यै पनि नकारात्मक नभएको देखाउने कोसिस गर्छन् र त्यस्तो छाप छोड्छन्। तिनीहरूले आफ्नो वास्तविक कद वा परमेश्‍वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै प्रकट गर्दैनन्। वास्तवमा, तिनीहरूको हृदयको गहिराइमा, के साँच्चै तिनीहरूले गर्न नसक्ने केही पनि छैन भनी विश्‍वास गर्छन्? के तिनीहरूले साँच्‍चै तिनीहरू कमजोरीपन, नकारात्मकता वा भ्रष्टता रहित छन् भनी विश्‍वास गर्छन्? बिलकुलै गर्दैनन्। तिनीहरू अभिनय गर्न सिपालु हुन्छन्, चीजहरू लुकाउन बाठा हुन्छन्। तिनीहरू मानिसहरूलाई आफ्नो बलियो र सम्मानजनक पक्ष देखाउन मन पराउँछन्; तिनीहरू आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैनन्। तिनीहरूको उद्देश्य स्पष्ट हुन्छ: स्पष्ट रूपमै यो आफ्नो इज्जत बचाउनु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। यदि तिनीहरूले आफ्नो नकारात्मकता र कमजोरीहरू अरूको अगाडि प्रकट गरे भने, यदि तिनीहरूले आफ्नो विद्रोही र भ्रष्ट पक्ष प्रकट गरे भने, त्यसले तिनीहरूको हैसियत र प्रतिष्ठाका लागि गम्भीर क्षति गर्नेछ—हुनुपर्ने भन्दा ठूलो समस्या हुनेछ भनी सोच्छन्। त्यसैले तिनीहरू आफ्नो कमजोरी, विद्रोहीपन, र नकारात्‍मकतालाई कडाइका साथ आफैमा सीमित राख्छन्। अनि, यदि एक दिन सबैले तिनीहरूको कमजोर र विद्रोही पक्ष देखे भने, र तिनीहरूले आफू भ्रष्ट भएको, र अलिकति पनि नबदलिएको देखे भने, तिनीहरूले अभिनय गर्न जारी राख्‍नेछन्। यदि तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण व्यक्ति, जो सानो र नगण्य भएको स्वीकार गरे मानिसहरूका हृदयमा आफ्नो स्थान गुमाउनेछन्, सबैको आदर र श्रद्धा गुमाउनेछन्, र यसरी पूर्ण रूपमा असफल हुनेछन् भनी सोच्छन्। त्यसैले, जे भए पनि, तिनीहरू मानिसहरूका अघि खुलस्त हुँदैनन्; चाहे जे भए पनि, तिनीहरूले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिँदैनन्; बरु, तिनीहरूले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्छन्, र कहिल्यै हार मान्दैनन्। कुनै पनि समस्या समाधान गर्नुपर्ने छ भने, तिनीहरू जानाजानी आफैलाई प्रदर्शन गर्न थाल्छन्; र रहस्य उजागर हुनासाथ, अरू मानिसहरूले तिनीहरूका समस्याहरू थाहा पाउनासाथ, तिनीहरू ढाकछोप गर्न गोता लाउँछन्। जब तिनीहरूले बुझ्ने कुनै कुरा भेट्छन्, तैँले तुरुन्तै त्यसबारेमा थाहा पाइहाल्छस्: तिनीहरूले मानिसहरूलाई आफ्नो बारेमा बताउने र यो तिनीहरूका सामर्थ्यहरूमध्येको एक हो भनी थाहा दिने कुनै मौका गुमाउँदैनन्। यदि कुनै परिस्थितिमा कसैले तिनीहरूलाई कुनै विषयको बारेमा तिनीहरूको बुझाइ, र तिनीहरूको दृष्टिकोण के हो भनेर सोध्यो भने, तिनीहरू मौन बस्छन्, र तिनीहरूले अरू सबैलाई सुरुमा बोल्‍न दिन्छन्। तिनीहरू मौन बस्‍नुको एउटा कारण छ: तिनीहरूसँग दृष्टिकोण नभएकोले होइन, बरु तिनीहरूले सीधै बोले भने तिनीहरूको इज्‍जत जानेछ, वा कसैले पनि सहमति नजनाउने कुनै अज्ञानी वा तुच्छ कुरा तिनीहरूले बोलिपठाउनेछन् भनी तिनीहरू डराएकाले गर्दा हो। एउटा कारण यही हो। अर्को कारण के हो भने, तिनीहरूसँग कुनै दृष्टिकोण हुँदैन, र तिनीहरू स्वेच्‍छाचारी रूपमा बोल्‍न डराउँछन्। यी दुई कारण वा अरू विभिन्‍न धेरै कारणहरूले गर्दा, तिनीहरू बोल्‍न र आफ्‍नो दृष्टिकोण व्यक्त गर्न अघि सर्दैनन्, तिनीहरू आफ्‍नो साँचो अनुहारको खुलासा हुनेछ भनेर डराएका हुन्छन्, तिनीहरू आफ्‍नो वास्तविक कद र साँचो दृष्टिकोण खुलासा हुन्छ कि भनेर, अनि मानिसहरूको मनमस्तिष्कमा तिनीहरूको बारेमा रहेको छविमा प्रभाव पर्नेछ भनेर डराएका हुन्छन्। त्यसकारण, जब मानिसहरूले आफ्‍नो दृष्टिकोणहरू, विचार, र बुझाइको बारेमा सङ्गति गर्छन्, तिनीहरूले अलिक बुद्धिमान र न्यायसंगत सुनिने कुनै व्यक्ति वा निश्‍चित मानिसहरूका अभिव्यक्तिहरूलाई पक्रिन्छन्, र ती अभिव्यक्तिलाई आफ्‍नै जस्तो गरी प्रयोग गर्छन्, तिनीहरूले यी अभिव्यक्तिहरूका महत्त्वपूर्ण कुराहरूलाई याद गरेर राख्छन् अनि सबैसँग त्यसकै बारेमा सङ्गति गर्छन्, अनि यसो गरेर मानिसहरूको मनमस्तिष्कमा तिनीहरूले उच्‍च स्थान प्राप्त गर्छन्। जब साँचो रूपमा दृष्टिकोण व्यक्त गर्ने समय हुन्छ, तब तिनीहरूले मानिसहरूको सामुन्ने आफ्‍नो साँचो स्थिति खुलासा गर्ने, वा तिनीहरूले वास्तवमा के विचार गर्छन्, तिनीहरूको क्षमता कस्तो छ, तिनीहरूको मानवता कस्तो छ, तिनीहरूको बुझ्‍ने शक्ति कस्तो छ, र तिनीहरूसँग सत्यताको साँचो ज्ञान छ कि छैन सो मानिसहरूलाई बताउने गर्दैनन्। त्यसकारण, आत्मिक, र सिद्ध व्यक्ति भएको तडकभडक र बहाना बनाउने क्रममा, तिनीहरूले आफ्‍नो साँचो अनुहार र साँचो कद लुकाउन सक्दो प्रयास गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको बीचमा कहिल्यै पनि आफ्‍ना कमजोरीहरू प्रकट गर्दैनन्, न त तिनीहरूले आफ्‍ना कमी र कमजोरीहरू नै पहिचान गर्छन्; बरु, तिनीहरूले यी कुराहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्छन्। मानिसहरूले तिनीहरूलाई सोध्छन्, “तिमीले परमेश्‍वरमा यति धेरै वर्ष विश्‍वास गरेका छौ, के परमेश्‍वरको बारेमा तिमीले कहिल्यै शङ्का गरेका छौ?” तिनीहरूले उत्तर दिन्छन्, “छैन।” तिनीहरूलाई सोधिन्छ, “परमेश्‍वरको लागि योगदान दिँदा सबै कुरा त्यागेकोमा के तँलाई कहिल्यै पछुतो हुन्छ?” तिनीहरूले उत्तर दिन्छन्, “हुँदैन।” “तँ बिरामी र दयनीय अवस्थामा हुँदा, के तँलाई घरको याद आयो?” अनि तिनीहरूले उत्तर दिन्छन्, “कहिल्यै याद आएन।” हेर त, ख्रीष्टविरोधीहरूले आफूलाई निष्ठावान, दह्रिलो, अनि त्याग गर्न र कष्ट भोग्‍न सक्‍ने व्यक्तिको रूपमा, अर्थात् कमजोरी नै नभएको र कुनै दोष वा समस्या नभएको व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। यदि कसैले तिनीहरूको भ्रष्टता र कमीकमजोरीलाई औँल्याइदियो, तिनीहरूलाई सामान्य दाजुभाइ-दिदीबहिनीहरूको रूपमा आफूसमान व्यवहार गर्‍यो, र खुलस्त भएर तिनीहरूसँग सङ्गति गर्‍यो भने, तिनीहरूले यसलाई कसरी लिन्छन्? आफूलाई निर्दोष र सही तुल्याउन, आफू सही छु भनी प्रमाणित गर्न, र अन्त्यमा मानिसहरूलाई तिनीहरूमा कुनै समस्या छैन, र तिनीहरू सिद्ध, अनि आत्मिक मानिसहरू हुन् भन्‍ने बनाउनको लागि सक्दो गर्छन्। के यो सबै बहाना मात्रै होइन र? आफूलाई त्रुटिरहित र पवित्र ठान्‍ने सबै मानिसहरू धोखेबाज हुन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस)

केही कुराहरू गर्न नसक्‍नुमा कुनै लाजमर्दो कुरा हुन्छ? कस्तो व्यक्तिले सबै कुरा गर्न सक्छ? त्यसमा कुनै लाजमर्दो कुरा छैन—तँ साधारण व्यक्ति होस्, त्यो कुरा नबिर्सी। मानिसहरू केवल मानिसहरू हुन्; तैँले कुनै काम गर्न सक्दैनस् भने, सक्दिन भन्। किन नाटक गर्ने? यदि तैँले सधैँ नाटक गरिरहेको हुन्छस् भने, अरूलाई घिन लाग्‍न थाल्छ, र ढिलोचाँडो, तेरो खुलासा हुने दिन आउनेछ, र त्यसपछि तेरो इज्‍जत वा सम्‍मान हुनेछैन। ख्रीष्टविरोधीहरूको स्वभाव यस्तै हुन्छ। तिनीहरूले सधैँ आफूलाई सबै कुरा गर्न सक्‍ने, र सबै कुरामा सक्षम र जानकार व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। यसको अर्थ समस्या हो, होइन र? यदि तिनीहरूमा इमानदार मनोवृत्ति भएको भए, तिनीहरूले के गर्ने थिए? तिनीहरूले यसो भन्‍ने थिए, “म यसमा विशेषज्ञ होइन, मसँग थोरै अनुभव मात्र छ, तर अहिले हामीलाई जुन सीप चाहिएको छ त्यो पहिलेको भन्दा धेरै जटिल छ। मैले गर्न सक्‍ने कुराको बारेमा मैले पहिल्यै बताइसकेको छु, र अहिले हामीलाई आइपरेका नयाँ समस्याहरू मैले बुझेको छैन। यदि हामीलाई हाम्रो कर्तव्य राम्ररी निभाउनु छ भने, हामीले थप प्राविधिक विशेषज्ञता हासिल गर्नुपर्छ। त्यसो गरेपछि, हामीले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्‍नेछौँ। परमेश्‍वरले हामीलाई यो कर्तव्य सुम्पनुभएको हो, र यसलाई राम्ररी पूरा गर्ने जिम्‍मेवारी हाम्रो हो। त्यही भावनाअनुसार, हामीले थप प्राविधिक ज्ञान हासिल गर्नुपर्छ।” यो सत्यता अभ्यास गर्नु हो। यदि कुनै व्यक्तिमा ख्रीष्टविरोधी स्वभाव छ भने, उसले त्यसो गर्दैन। तर उसमा थोरै समझ हुन्थ्यो भने, उसले यसो भन्‍ने थियो, “मलाई गर्न आउने यति मात्र हो। मलाई बढी सक्षम नठान्‍नुहोस्, म गफ लाउँदिनँ—यसरी अलिक सहज होला, कि कसो? सधैँ धाक लाउनु र नाटक गर्नु एकदमै पीडादायक हुन्छ। यदि हामीलाई कुनै काम गर्न आउँदैन भने, हामी सँगै सिक्‍नेछौँ। हामीले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नको लागि सहकार्य गर्नु आवश्यक छ। हामी सबैमा जिम्‍मेवार मनोवृत्ति हुनुपर्छ।” जब मानिसहरूले यो देख्‍नेछन्, तब यस्तो सोच्नेछन्, “यो व्यक्ति हामीभन्दा उत्तम रहेछ। समस्या आइपर्दा, आफ्‍नो सीपको धाक लाउँदैन, र अरूको काँधमा समस्या हालिदिन वा जिम्‍मेवारीबाट पछि हट्न खोज्दैन। बरु, काम आफै लिन्छ, र त्यसलाई गम्‍भीर र जिम्‍मेवार मनोवृत्तिले पूरा गर्छ। यो व्यक्ति आफ्‍नो काम र कर्तव्यप्रति जिम्‍मेवार र गम्‍भीर मनोवृत्ति भएको असल व्यक्ति हो। यस्तो व्यक्ति विश्‍वासयोग्य हुन्छ। यो महत्त्वपूर्ण काम उसलाई सुम्पिनु परमेश्‍वरको घरको सही निर्णय थियो। परमेश्‍वरले साँच्‍चै नै मानिसको अन्तस्करण जाँच्‍नुहुन्छ!” यसरी आफ्‍नो कर्तव्य पूरा गरेर, यस व्यक्तिले आफ्‍नो सीपलाई अझै खार्न सक्छ, र सबैको अनुमोदन प्राप्त गर्न सक्छ। यो अनुमोदन कहाँबाट आउँछ? पहिलो कुरा, यो आफ्‍नो कर्तव्यप्रति व्यक्तिको गम्‍भीर र जिम्‍मेवार मनोवृत्तिबाट आउँछ। दोस्रो, यो व्यावहारिक मनोवृत्ति र सिक्‍ने इच्‍छासहितको इमानदार व्यक्ति बन्‍ने क्षमताबाट आउँछ। अनि तेस्रो, पवित्र आत्‍माले अगुवाइ र अन्तर्दृष्टि दिनुभएको हुन्छ भन्‍ने कुरा पनि छुटाउनु हुँदैन। यस्तो व्यक्तिले परमेश्‍वरको आशिष्‌ पाएको हुन्छ, र यो विवेक र समझ भएका मानिसहरूले हासिल गर्न सक्‍ने कुरा हो। तिनीहरू भ्रष्ट र कमीयुक्त हुन सक्छन्, र तिनीहरूले गर्न नसक्‍ने कुरा धेरै हुन सक्छन्, तर तिनीहरूको मार्ग सही हुन्छ। तिनीहरूले बहाना वा छल गर्ने गर्दैनन्, तिनीहरूमा आफ्‍नो कर्तव्यप्रति गम्‍भीर र जिम्‍मेवार मनोवृत्ति हुन्छ, र सत्यताप्रति भक्त र तृषित मनोवृत्ति हुन्छ। ख्रीष्टविरोधीहरूले कहिल्यै पनि यी कुराहरू गर्न सक्दैनन्, किनभने तिनीहरूको सोच सत्यतालाई प्रेम गर्ने र पछ्याउने मानिसहरूको जस्तो हुँदैन। किन त्यसो हुन्छ? किनभने तिनीहरूमा शैतानको प्रकृति हुन्छ। तिनीहरू शक्ति हात पार्ने आफ्‍नो उद्देश्य हासिल गर्न शैतानी स्वभावअनुसार जिउँछन्। तिनीहरूले मान्छेलाई आफूलाई पुज्ने र पछ्याउने बनाउन अनेक माध्यमहरूद्वारा सधैँ षड्यन्त्र र युक्तिहरू रच्न खोजिरहेका हुन्छन् र यसरी छलकपट गरेर तिनीहरूलाई बहकाइरहेका हुन्छन्। त्यसकारण, मानिसहरूको आँखामा छारो हाल्नका लागि, तिनीहरूले आफूलाई ढाकछोप गर्न र मान्छेलाई धोका दिन, ढाँट्न र छल्न हर उपाय सोच्छन्—तिनीहरूले आफू सधैँ सही छु, आफूले सबै कुरा जानेको छु, र सबै कुरा गर्न सक्छु; आफू अरूभन्दा बाठो र बुद्धिमानी छु र अरूले भन्दा धेरै कुरा बुझेको छु; सबै कुरामा अरूभन्दा सिपालु छु, सबै कुरामा अरूलाई उछिनेको छु, र जुनसुकै समूहमा आफू नै सर्वोत्कृष्ट व्यक्ति हुँ भनेर मानिसहरूलाई पत्याउने बनाउन हर उपाय सोच्छन्। तिनीहरूलाई पर्ने खाँचो नै यही हो; र यो ख्रीष्टविरोधीको स्वभाव हो। त्यसकारण तिनीहरूले नाटक गर्न सिक्छन्, जसले गर्दा अनेक किसिमका अभ्यास र व्यवहारहरू देखा पर्छन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग तीन)

सबै भ्रष्ट मानिसहरू एउटा साझा समस्याबाट ग्रसित हुन्छन्: जब तिनीहरूसँग हैसियत हुँदैन, तब तिनीहरूले कसैसँग अन्तरक्रिया गर्दा वा बोल्दा आफूलाई उच्‍च देखाउने गर्दैनन्, न त तिनीहरूले आफ्‍नो बोलीवचनमा निश्‍चित शैली वा भाव नै अपनाउँछन्; तिनीहरू पूर्ण रूपमा सर्वसाधारण र सामान्य हुन्छन्, र तिनीहरूले आफैलाई बाहिरी आवरणले ढाक्‍न आवश्यक हुँदैन। तिनीहरूले कुनै मनोवैज्ञानिक दबाबको महसुस गर्दैनन्, र तिनीहरूले खुला रूपमा र हृदयबाट नै सङ्गति गर्न सक्छन्। तिनीहरू मित्रवत् र अन्तरक्रिया गर्न सहज किसिमका हुन्छन्; अरूलाई तिनीहरू अत्यन्तै असल मानिसहरू हुन् भन्‍ने लाग्छ। तर, तिनीहरू हैसियत प्राप्त गर्नेबित्तिकै, उच्‍च र शक्तिशाली बन्छन्, साधारण मानिसहरूलाई बेवास्ता गर्छन्, तिनीहरूसँग कोही पनि रकुरा गर्न सक्दैन; तिनीहरू आफूमा एक प्रकारको कुलिनता छ, र आफू साधारण मानिसहरूभन्दा फरक वर्गको हुँ भन्‍ने ठान्छन्। तिनीहरू साधारण मानिसहरूलाई तुच्छ नजरले हेर्छन्, तिनीहरू ठाँटसित बोल्छन् र अरूसँग खुला रूपमा सङ्गति गर्न छोड्छन्। किन तिनीहरूले त्यसउप्रान्त खुला रूपमा सङ्गति गर्न छोड्छन्? तिनीहरूलाई आफूसँग अब हैसियत छ, र आफू अगुवा हुँ भन्‍ने लाग्छ। तिनीहरू के विचार गर्छन् भने, अगुवाको निश्‍चित छवि हुनैपर्छ, उनीहरू साधारण मानिसहरूभन्दा अलिक उच्‍च हुनुपर्छ, उनीहरूसँग अझै ठूलो कद हुनुपर्छ र उनीहरू जिम्‍मेवारी लिन अझ बढी सक्षम हुनुपर्छ; उनीहरूले के विश्‍वास गर्छन् भने, सर्वसाधारण मानिसहरूको तुलनामा, अगुवाहरूसँग अझै बढी धैर्य हुनुपर्छ, उनीहरूले अझै बढी कष्ट भोग्‍न र समर्पित हुन, अनि शैतानको कुनै पनि प्रलोभन सामना गर्न सक्‍नुपर्छ। उनीहरूका मातापिता वा परिवारका सदस्यहरू मरे पनि नरुन उनीहरूमा आत्मसंयम हुनैपर्छ, वा कम्तीमा उनीहरू कसैले नदेख्ने गरी गुप्तमा रुनुपर्छ, ताकि कसैले पनि उनीहरूका कमीकमजोरी, दोष, वा दुर्बलता देख्‍न नसकून्। तिनीहरूलाई अगुवाहरू नकारात्मक भए भने, उनीहरूले त्यस्तो कुरा कसैलाई पनि थाहा दिनु हुँदैन; बरु, यस्ता सबै कुरा लुकाउनुपर्छ भन्‍नेसमेत लाग्छ। तिनीहरूले हैसियत भएको व्यक्तिले यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। जब तिनीहरू आफूलाई यस हदसम्म कुण्ठित पार्छन्, तब के हैसियत नै तिनीहरूको परमेश्वर, तिनीहरूको प्रभु बनेको हुँदैन र? अनि यस्तो हुँदा, के तिनीहरूमा अझै सामान्य मानवता हुन्छ? जब तिनीहरूमा यी विचार हुन्छन्—जब तिनीहरू आफूलाई यसमा सीमित राख्छन्, र यस्तो प्रकारको काम गर्छन्—तब के तिनीहरू हैसियतले मोहित भएका हुँदैनन् र? जब अर्को व्यक्ति तिनीहरूभन्दा बलिया र राम्रा हुन्छन्, तब यसले तिनीहरूको मुख्य कमजोरीलाई छुन्छ। के तिनीहरू देहलाई जित्न सक्छन्? के तिनीहरू अन्य व्यक्तिलाई सही तरिकाले व्यवहार गर्न सक्छन्? कदापि सक्दैनन्। तैँले आफूलाई हैसियतको नियन्त्रणबाट मुक्त गर्न के गर्नैपर्छ? तैँले पहिलात्यसलाई तेरा उद्देश्यहरू, तेरा विचारहरू र तेरो हृदयबाट हटाउनुपर्छ। यो कसरी हासिल हुन्छ? पहिले, जब तँ हैसियत विनाको थिइस्, तैँले आफूलाई मन नपर्ने मानिसहरूलाई बेवास्ता गर्थिस्। अब जब तँसित हैसियत छ, यदि तैँले कुनै अनाकर्षक व्यक्ति, वा समस्यामा परेको कसैलाई देखिस् भने तिनीहरूलाई सहायता गर्न आफू जिम्मेवार भएको महसुस गर्छस्, त्यसैले तिनीहरूसित भएका केही व्यावहारिक समस्याहरू समाधान गर्ने प्रयास गर्दै, तिनीहरूसँग सङ्गतिमा धेरै समय बिताउँछस्। अनि यस्ता कामहरू गर्दा तेरो मनमा कस्तो भावना हुन्छ? यो आनन्द र शान्तिको अनुभव हो। त्यसैले तैँले पनि मानिसहरूमा भरोसा राख्नुपर्छ र आफू कठिनाइमा पर्दा वा असफल हुँदा, आफ्ना समस्या र कमजोरीहरू, आफूले कसरी परमेश्‍वरविरुद्ध विद्रोह गऱ्यो, र त्यसबाट आफू कसरी बाहिर निस्क्यो र परमेश्‍वरको इच्छा पूरा गर्न ससक्षम भयो भनी बताउँदै तिनीहरूसित बारम्बार सङ्गति गर्नुपर्छ। अनि यस प्रकारले तिनीहरूलाई भरोसा गर्नुको प्रभाव कस्तो हुन्छ? निस्सन्देह, त्यो सकारात्मक हुन्छ। कसैले पनि तँलाई तुच्छ ठान्नेछैनन्—अनि तिनीहरूले यी अनुभवबाट गुज्रने तेरो क्षमताको ईर्ष्या गर्लान्। कतपिय मानिस सधैँ के सोच्छन् भने जब मानिसहरूसित हैसियत हुन्छ, तब तिनीहरूले अधिकारीहरूले जस्तै व्यवहार गर्नुपर्छ, र आफूलाई गम्भीरताका साथ लिइयोस् र सम्मान गरियोस् भनेर निश्चात तरिकामा बोल्नुपर्छ। के यस्तो प्रकारको सोचाइ सही हो? यदि तैँले यस प्रकारको सोचाइ गलत हो भनेर बुझ्न सक्छस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र दैहिक कुराहरूको विरुद्धमाजानुपर्छ। गमक्क नपर्, र पाखण्डको मार्गमा नहिँड्। तँमा त्यस्तो सोच आउनेबित्तिकै, सत्यता खोजेर त्योसमाधान गर्नुपर्छ। यदि तैँले सत्यता खोजिनस् भने, यो सोच, यो दृष्टिकोणले आकार लिनेछ र तेरो हृदयमा जरा गाड्नेछ। परिणामस्वरूप, त्यो तँमाथि हावी हुनेछ अनि तैँले भेष बदल्नेछस् र यस्तो हदमा आफ्नो छवि बनाउनेछस् कि कसैले पनि तँमा त्यो कुरादेख्न वा तेरा सोचहरू बुझ्न सक्नेछैनन्। तँ अरूसँग तिनीहरूबाट तेरो साँचो हृदय लुकाएर राख्ने मुकुण्डो ओढेर बोल्छस्। तैँले अरूलाई तेरो हृदय हेर्न दिन अनि अरूलाईआफ्नो हृदय खोल्न र तिनीहरूसँग नजिक हुन सिक्नैपर्छ। तैँले दैहिक चाहनाहरूविरुद्ध जानैपर्छ र परमेश्वरका मापदण्डअनुसार व्यवहार गर्नैपर्छ। यसरी, तेरो हृदयले शान्ति र खुसी चिन्नेछ। तँलाई जेसुकै घटनाहरू आइपरे पनि, पहिला आफ्नो विचारधारामा कस्ता समस्याहरू छन् भनी चिन्तन गर्। यदि तँलाई अझै पनि आफ्नो छवि बनाउन र भेष बदल्न चाह हुन्छ भने, तैँले तुरुन्तै परमेश्वरलाई प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर! म फेरि पनि भेष बदल्न चाहन्छु। म फेरि छल गर्दै षडयन्त्र गर्दै छु। म कस्तो खास दियाबलस रहेछु! तपाईंका लागि म साँच्चै घृणित हुनुपर्छ! अहिले म आफूलाई एकदमै घृणा गर्छु। बिन्ती छ, मलाई हप्काउनुहोस्, अनुशासनमा राख्नुहोस् र दण्ड दिनुहोस्।” तैँले प्रार्थना गर्ने, आफ्नो मनोवृति खुलस्त पार्ने, र परमेश्वरमा भरोसा गरेर त्यसलाई खुलासा गर्ने, त्यसलाई केलाउने, र रोक्ने गर्नैपर्छ। यदि तैँले यसरी केलाइस् र रोकिस् भने, तेरा कार्यहरूले कुनै समस्या सिर्जना गर्नेछैनन् किनकि तेरो भ्रष्ट स्वभाव नाकाम हुन्छ र त्यो आफै खुलासा हुँदैन। यस्तो बेला, तेरो हृदयमा कस्ता भावनाहरू हुन्छन्? कम्तीमा पनि, तँलाई केही मुक्ति अनुभूति हुनेछ। तेरो हृदय प्रसन्न र शान्तिमा हुनेछ। तेरो पीडा कम हुनेछ, र तैँले शोधनको कष्ट भोग्नेछैनस्। सबैभन्दा खराब स्थितिमा, तँ क्षणिक रूपमा अलि अरकच्च पर्ने समय आउनेछ, र मनमनै सोच्नेछस्, “म त अगुवा, हैसियत र इज्जत भएको व्यक्ति हुँ, म कसरी सामान्य मानिसजस्तो हुन मिल्छ र? कसरी म म सामान्य मानिसहरूसँग हार्दिक, सच्चा र खुला रूपले कुराकानी गर्न सक्छु? यसो गर्नु त मैले आफूलाई तल झार्नु हुनेछ!” हेर् त यो अलि कष्टकर छ। मान्छेको भ्रष्ट स्वभाव तुरुन्तै पूर्णतया त्याग्न सकिँदैन, न त त्यो छोटो समयमै पूर्ण रूपले हटाउन नै सकिन्छ। तँलाई लाग्छ, आफ्नो भ्रष्ट स्वभाव हटाउनु एकदमै सरल हुनेछ, यो मान्छेले कल्पना गरेजस्तै हुन्छ—तिनीहरूले प्रष्ट रूपले सत्यतामा सङ्गति गरेर आफ्नो भ्रष्ट स्वभाव चिनेपछि, त्यो तुरुन्तै त्याग्न सक्नेछन्। त्यो त्यस्तो सरल कुरा होइन। मान्छेले सत्यता अभ्यास गर्ने प्रक्रिया भनेको उसको भ्रष्ट स्वभावविरुद्ध लड्ने प्रक्रिया हो। मान्छेको व्यक्तिगत इच्छा, कल्पना, र अत्यधिक चाहनाहरूलाई विद्रोह गरेर र प्रार्थनामार्फत सदाका लागि परास्त गरेर ती पूर्ण रूपमा ती समाधान हुँदैनन्। बरु, ती त बारम्बारको कैयौँ लडाइँपछि मात्र बल्ल त्याग्न सकिन्छ। व्यक्तिले सत्यता अभ्यास गर्न सकेपछि मात्र यो प्रक्रियाले साँच्चै प्रतिफल दिनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्ने कुरा पनि देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्‍नु नै जीवन प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्‍ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्‍वरले मन पराउनुहुन्‍न भनी हेर्नको लागि चिरफार गर्न सिक्‍नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्‍य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो ढाँट्ने र छल्ने कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्‍ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकालाई घिनाउँछस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारी, शुद्धता, र समर्पणको मानसिकतासाथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय धेरै नै इमानदार छ, र धेरै नै परमेश्‍वरमा केन्द्रित छ भने र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरको हितको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मण्डलीले कतिपय मानिसहरूलाई पदोन्नति र वृद्धि-विकास गर्छ, र तिनीहरूले प्रशिक्षित हुने राम्रो मौका पाउँछन्। यो राम्रो कुरा हो। यो भन्न सकिन्छ कि उनीहरूलाई परमेश्‍वरले उत्थान गर्नुभएको र अनुग्रह दिनुभएको हो। त्यसो भए, तिनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? तिनीहरूले पालन गर्नुपर्ने पहिलो सिद्धान्त भनेको सत्यतालाई बुझ्नु हो। जब तिनीहरूले सत्यतालाई बुझ्दैनन्, तिनीहरूले सत्यताको खोजी गर्नैपर्छ, र यदि खोजी गरेर पनि तिनीहरूले अझै बुझ्दैनन् भने, तिनीहरूले सङ्गति र खोजी गर्न सत्यता बुझ्‍ने व्यक्तिलाई खोज्‍नुपर्छ, र यसरी समस्यालाई शीघ्र र समयमै समाधान गर्न सकिन्छ। यदि तैँले सत्यताको बुझाइ हासिल गर्न र समस्या समाधान गर्नको लागि एक्लै परमेश्‍वरका वचनहरू पढ्नमा र यी वचनहरू मनन गर्नमा धेरै समय दिन मात्रै ध्यान दिन्छस् भने, यो अत्यन्तै ढिलो हुन्छ; र यो “टाढाको खोलाले तिर्खा मर्दैन” भनेजस्तै हुन्छ। यदि सत्यताको हकमा तैँले चाँडो प्रगति गर्न चाहन्छस् भने, तैँले अरूसँग सहकार्य गर्न, अनि अझै बढी प्रश्‍नहरू गर्न, र अझै धेरै खोजी गर्न सिक्‍नुपर्छ। त्यसपछि मात्रै तेरो जीवन अझै शीघ्र रूपमा वृद्धि हुनेछ, र तैँले कुनै ढिलाइ नगरी समस्याहरू तुरुन्तै समाधान गर्न सक्‍नेछस्। तँलाई भर्खरै बढुवा गरिएको र तँ अझै पनि परीक्षण अवधिमा रहेको हुनाले, अनि तैँले साँचो रूपमा सत्यतालाई बुझिनसकेकोले वा तँमा सत्यता वास्तविकता नभएकोले—तँमा अझै पनि यो कदको कमी भएकोले—तँलाई बढुवा गर्नुको अर्थ तँमा सत्यता वास्तविकता छ भन्‍ने नसोच्; यस्तो हुँदैन। कामप्रति तँमा बोझको बोध रहेकोले र तँमा अगुवाको क्षमता भएकोले मात्रै बढुवा र वृद्धि-विकासको लागि तँलाई छनौट गरिएको हो। तँमा यो कुराको समझ हुनुपर्छ। यदि तँलाई बढुवा गरी प्रयोग गरिएपछि, तँ अगुवा वा सेवकको स्थानमा बस्छस् र आफूमा सत्यताको वास्तविकता छ, र आफू सत्यताको खोजी गर्ने व्यक्ति हुँ भन्‍ने विश्‍वास गर्छस् भने—र दाजुभाइहरूको समस्या जे-जस्तो भए पनि, यदि तैँले ती समस्या बुझेको, र आफू आत्मिक व्यक्ति भएको बहाना बनाउँछस् भने—यो मूर्खता हो, र यो ढोँगी फरिसीहरूकै शैली हो। तैँले सत्यतामा आधारित भएर बोल्‍ने र काम गर्ने गर्नुपर्छ। जब तैँले कुरा बुझ्दैनस्, तैँले अरूलाई सोध्‍न वा माथिबाट उत्तरहरू खोज्‍न र सङ्गति गर्न सक्छस्—यसो गर्नु कुनै लाजमर्दो कुरा होइन। तैँले सोधिनस् भने पनि, माथिकालाई तेरो साँचो कदको ज्ञान हुन्छ, र तँमा सत्यताको वास्तविकता छैन भन्‍ने थाहा हुन्छ। तैँले गर्नुपर्ने काम भनेको खोजी र सङ्गति गर्नु हो; यो सामान्य मानवतामा हुनुपर्ने समझ हो, र अगुवा र सेवकहरूले पालना गर्नुपर्ने सिद्धान्त हो। यो लाज मान्‍नुपर्ने कुरा होइन। यदि तँलाई अगुवा भएपछि सधैँ अरूसँग प्रश्‍न गर्नु वा माथि सोध्‍नु, वा सिद्धान्तहरू नबुझ्‍नु लाजमर्दो कुरा हो भन्‍ने लाग्छ भने, र यसको फलस्वरूप, तँ बहाना बनाउँदै, बुझेको छु, थाहा छ, काम गर्न सक्छु, मण्डलीको कुनै पनि काम गर्न सक्छु, र तँलाई कसैले सम्झाउनु वा सङ्गति गर्नु पर्दैन, वा तँलाई कसैको सहयोग वा साथ चाहिँदैन भनी नाटक गर्छस् भने, यो खतरनाक कुरा हो, र यो अत्यन्तै अहङ्कारी र आत्मधर्मी कार्य हो, समझशक्तिको एकदमै कमी भएको अवस्था हो। तँलाई आफ्‍नै हदसमेत थाहा छैन—अनि के तँलाई यसले मूर्ख तुल्याउँदैन र? त्यस्ता मानिसहरूले परमेश्‍वरको घरबाट प्रवर्धन र जगेर्ना पाउने मापदण्ड पूरा गर्दैनन्, र ढिलोचाँडो तिनीहरूलाई प्रतिस्थापन गरिन्छ वा हटाइन्छ।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू (५)

सृष्टि गरिएका प्राणीको सही स्थानमा उभिनु र सामान्य व्यक्ति हुनुः के यसो गर्न सजिलो छ? (यो सजिलो छैन।) कठिनाइ केमा छ? कठिनाइ यो छः मानिसहरू सधैँ आफ्ना शिर धेरै महिमा र मानपदवीहरू भरिएको अनुभूति गर्छन्। तिनीहरू आफूलाई महान् व्यक्ति र महामानवको परिचय र हैसियत पनि दिन्छन् अनि ती सबै ढोँगी र झूटा अभ्यासहरू र देखावटीपनमा संलग्न हुन्छन्। यदि तँ यी कुराहरू त्याग्दैनस् भने, यदि तेरा बोली र काम सधैँ यी कुराहरूको बन्धन र नियन्त्रणमा हुन्छ भने, तँलाई परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्न कठिन लाग्नेछ। आफूले नबुझ्ने कुराहरूको समाधानमा चिन्ता गर्न छोड्न र त्यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्न अनि उहाँलाई सच्चा हृदय चढाउन गाह्रो हुनेछ। तैँले यो गर्न सक्नेछैनस्। तेरो हैसियत, तेरा मानपदवीहरू, तेरो परिचय, र त्यस्ता सबै कुराझूटा र गलत भएकाले, ती परमेश्वरका वचनविरुद्ध हुने र उहाँका वचनसँग बाझिने हुनाले गर्दा नै यी कुराहरूले तँलाई बाँधेर राख्छन् ताकि तँ परमेश्वरसामु आउन नसकेस्। यी कुराहरूले तँलाई के दिन्छन्? तिनले तँलाई आफ्नो भेष बदल्न, बुझेको, अक्कली भएको, महान् व्यक्ति भएको, सेलेब्रिटी भएको, सक्षम भएको, बुद्धिमान् भएको नाटक गर्नमा, र यहाँसम्म कि सबै कुरा जानेको, सबै कुरामा सक्षम भएको र सबथोक गर्न सक्षम भएको नाटक गर्नमा होनहार बनाउँछन्। यसले गर्दा तँलाई अरूले आराधना र प्रशंसा गर्नेछन्। तिनीहरू आफ्ना सारा समस्या लिएर तँकहाँ आउनेछन्, तँमा भर पर्नेछन् र तँलाई आदर गर्नेछन्। तसर्थ, यो त तैँले आफ्नो हात आगोमा हाल्नुजस्तै हो। ल भन् त, के आगोमा हात हाल्दा मज्जा आउँछ? (आउँदैन।) तँ बुझ्दैनस्, तर बुझ्दिनँ भन्न आँट गर्दैनस्। तँ थाहा पाउन सक्दैनस्, तर छर्लङ्ग देख्न सक्दिनँ भन्ने आँट गर्दैनस्। तैँले प्रष्ट रूपमा गल्ती गरिस्, तर तँ त्यो स्वीकार्न आँट गर्दैनस्। तेरो हृदय वेदनामा छ, तर तँ यसो भन्ने आँट गर्दैनस्, “यसपटक त्यो साँच्चै मेरै गल्ती हो, म परमेश्वर र मेरा दाजुभाइ-दिदीबहिनीहरूप्रति ऋणी छु। मैले परमेश्वरको घरलाई त्यस्तो ठूलो क्षति पुऱ्याएको छु, तर ममा सबैसामु उभिएर त्यो कुरा स्विकार्ने साहस छैन।” किन तँ बोल्ने आँट गर्दैनस्? तँ यस्तो विश्वास गर्छस्, “म मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई दिएको यश र महिमाअनुरूप जिउनुपर्छ, मैले तिनीहरूले मलाई दिएको उच्च सम्मान र गरेको भरोसालाई धोका दिन मिल्दैन, झन् तिनीहरूले मबाट कैयौँ वर्षदेखि राखेको उत्सुक अपेक्षाहरूलाई धोका दिने त कुरै आउँदैन। त्यसकारण, मैले देखावा गरिराख्नुपर्छ।” त्यस्तो छद्मवेश कस्तो हुन्छ? तैँले सफलतापूर्वक आफूलाई महान् व्यक्ति र महामानव बनाएको हुन्छस्। दाजुभाइ-दिदीबहिनीहरू जस्तोसुकै समस्याहरू सामना गर्नुपर्दा तँकहाँ सोधपुछ गर्न, परामर्श लिन, र तेरो सल्लाह-सुझाव माग्नसमेत आउन चाहन्छन्। तिनीहरू तँविना जिउनसमेत नसक्ने देखिन्छ। तर के तेरो हृदय वेदनामा छैन र? अवश्य नै, कतिपय मानिस यो वेदना अनुभूति गर्दैनन्। ख्रीष्टविरोधीले यो वेदना अनुभूति गर्दैन। बरु, ऊ त्यसमा रमाउँछ, आफ्नो हैसियत अरू सबै कुराभन्दा माथि छ भन्ठान्छ। तर, कुनै औसत, सामान्य व्यक्तिलाई आगोमा हात हाल्दा वेदना हुन्छ। ऊ आफूलाई कुनै सामान्य व्यक्तिसिवाय अरू केही ठान्दैन। उसलाई आफू अन्यभन्दा बलियो मान्दैन। ऊ आफूले कुनै व्यावहारिक काम पूरा गर्न सक्दिनँ भनेर मात्र होइन, तर मण्डलीको काममा ढिलाइ गर्छु र परमेश्वरका चुनिएका मानिसहरूलाई विलम्ब पार्छु भनेरसमेत सोच्छ, त्यसैले उसले दोष स्विकार्नेछ र राजीनामा दिनेछ। यो समझ भएको व्यक्ति हो। के यो समस्या समाधान गर्न सजिलो छ? समझ भएका मानिसहरूका लागि त यो समस्या समाधान गर्न सजिलो हुन्छ, तर समझ नभएकाहरूका लागि कठिन हुन्छ। तैँले हैसियत प्राप्त गरेपछि, यदि तँ लाज पचाएर हैसियतका लाभहरू उठाउँछस् जसको परिणामस्वरूप तँ वास्तविक काम गर्न नसकेकोमा खुलासा हुन्छस् र हटाइन्छस् भने, त्यो तँ आफै निम्त्याएको होस् र तँ त्यसको लायक छस्! तँ अलिकता पनि दया वा करुणा पाउन योग्य छैनस्। किन म यसो भन्छु? किनकि तँ उच्च स्थानमा रहन जोड गर्छस्। तँ आफ्नो हात आफै आगोमा हाल्छस्। तेरो घाउ आफैले लगाएको हो। यदि तँ आगोमा हात हाल्न चाहँदैनस् भने, तैँले यी सबै मानपदवी र महिमा त्याग्नुपर्छ अनि आफ्नो हृदयभित्रको साँचो अवस्था र सोच आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई बताउनुपर्छ। यसरी, दाजुभाइ-दिदीबहिनीहरूले तँलाई सही तरिकामा व्यवहार गर्न सक्छन् र तैँले भेष बदल्नु पर्दैन। अब तैँले आफ्नो साँचो स्थिति खुलाएर त्यसबारे प्रष्ट पारेको छस्, त्यसैले के तँलाई हृदयमा अझ बढी ढुक्क, आराम हुँदैन र? किन आफ्नो पिठ्यूँमा त्यस्तो गह्रौँ बोझ बोकेर हिँड्नु? यदि तैँले आफ्नो साँचो स्थिति बताइस् भने, के तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई साँच्चै तुच्छ ठान्नेछन्? के तिनीहरूले तँलाई साँच्चै त्याग्नेछन्? कदापि होइन। त्यसको विपरीत, तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अनुमोदन गर्नेछन् र आफ्नो हृदयबाट बोल्ने आँट गरेकोमा तारिफ गर्नेछन्। तिनीहरूले तँलाई इमानदार व्यक्ति भन्नेछन्। यसले मण्डलीको तेरो काममा रोकावट दिनेछैन, न त अलिकति पनि नकारात्मक प्रभाव नै पार्नेछ। यदि दाजुभाइ-दिदीबहिनीहरूले तँमा कठिनाइहरू छन् भनेर साँच्चै देखेमा, स्वेच्छाले तँलाई मदत गर्नेछन् र तँसित काम गर्नेछन्। तिमीहरू के भन्छौ? त्यस्तै हुनेथिएन र? (हुनेथ्यो।) तैँले आफूलाई अरूले आदर गरून् भनेर सधैँ भेष बदल्नु सबैभन्दा मूर्ख कुरा हो। सबैभन्दा उत्तम तरिका भनेको सामान्य हृदय भएको सामान्य व्यक्ति बन्नु, परमेश्वरका चुनिएका मानिसहरूसित शुद्ध र सरल तरिकाले खुलस्त हुन सक्नु, अनि बारम्बार हृदयस्पर्शी कुराकानीमा संलग्न हुनु हो। मानिसहरूले तँलाई आदर, तारिफ, अत्यधिक प्रशंसा, वा चोचोमोचो गर्दा, त्यो कहिल्यै स्वीकार नगर्। यी सबै कुरालाई अस्वीकार गर्नुपर्छ। उदाहरणका लागि, कतिपय मानिसले यसो भन्लान्: “के तिमी विश्वविद्यालयका प्राध्यापक हैनौ र? तिमीसँग एकदमै धेरै ज्ञान भएकाले तिमीमा सत्यताबारे पक्कै पनि राम्रो बुझाइ हुनुपर्छ।” तिनीहरूलाई यसो भन्: “म कस्तो प्रकारको विश्वविद्यालय प्राध्यापक हुँ? ज्ञानको भण्डारले सत्यताको स्थान ओगट्न सक्दैन। यो ज्ञानले मलाई ठूलो कष्ट दिएको छ। यो एकदमै बेकार छ। मलाई धेरै सम्मान नगर्, म सामान्य व्यक्ति मात्र हुँ।” अवश्य, कतिपय मानिसलाई आफ्नो हैसियत त्याग्न गाह्रो लाग्छ। तिनीहरू साधारण, मामुली मानिस बन्न र सृष्टि गरिएको प्राणीको उचित स्थानमा खडा हुन चाहन्छन्। तिनीहरू त्यस्तो कष्ट भोग्न चाहँदैनन्, तर तिनीहरूसँग त्यसको विकल्प नै छैन। तिनीहरू सधैँ आफूलाई श्रेष्ठ मानिस ठान्छन् र आफ्नो उच्च स्थानबाट तल झर्नै सक्दैनन्। यो कुरा समस्याको पोको हो। तिनीहरू मानिसहरू आफू वरिपरि झुम्मिएको, र आफूलाई तारिफको नजरले हेरेको मन पराउँछन्। तिनीहरूलाई मानिसहरू आफ्ना सबै समस्या लिएर तिनीहरूकहाँ आएको, तिनीहरूमा भर परेको, तिनीहरूको कुरा सुनेको, र तिनीहरूलाई आदर गरेको मन पर्छ। तिनीहरू आफूलाई मानिसहरूले सबै कुरामा दक्ष श्रेष्ठ मानिस, सबै कुरा बुझ्ने सर्वज्ञानी ठानेको मन पराउँछन् अनि तिनीहरूलाई मानिसहरूले विजेता ठानेमा अति राम्रो र गजब हुनेथियो भनेरसमेत सोच्छन्। यसको कुनै समाधान छैन। कतिपय मानिस अरूले गरेको तारिफ र दिएका मुकुटहरू स्विकार्छन् र केही समय महामानव र महान् व्यक्तिको भूमिका खेल्छन्। तर तिनीहरू असहज महसुस गर्छन् र वेदना भोग्छन्। त्यस्तो अवस्थामा तिनीहरूले के गर्नुपर्छ? तँलाई चोचोमोचो गर्न चाहनेहरूले वास्तवमा तँलाई आगोमा हालिरहेको हुन्छ, र तँ तिनीहरूबाट टाढै रहनुपर्छ। नत्र, मौका छोपेर तिनीहरूलाई तेरो भ्रष्टताको सत्यता खुलासा गर्, आफ्नो साँचो स्थितिबारे बता, अनि आफ्ना खोट र कमजोरीहरू खुलासा गर्। यसो गर्दा, तिनीहरूले तँलाई आराधना वा आदर गर्नेछैनन्। के त्यो गर्न सजिलो छ? खासमा, त्यो गर्न सजिलो छ। यदि तँ साँच्चै त्यसो गर्न सक्दैनस् भने, त्यसले तँ अति अहङ्कारी र घमण्डी छस् भन्ने प्रमाणित गर्छ। तँ वास्तवमै आफूलाई महामानव, महान् व्यक्ति ठान्छस्, अनि तैँले आफ्नो हृदयमा यस्तो स्वभावलाई बिलकुलै घृणा र तिरस्कार गर्दैनस्। यसो हुँदा, तँ ठक्कर खानलाई मात्र कुर्न सक्छस् जसले गर्दा तँ अरूको नजरमा बदनाम हुन्छस्। यदि तँ साँच्चै समझ भएको व्यक्ति होस् भने, सधैँ आफूलाई महामानव र महान् व्यक्तिको भूमिका खेल्न मन लाग्ने भ्रष्ट स्वभावदेखिट तँलाई तिरस्कार र घृणा लाग्नेछ। कम्तीमा पनि, तँमा यो अनुभूति हुनैपर्छ। त्यसपछि मात्र तैँले आफूलाई घृणा गर्न र देहविरुद्ध विद्रोह गर्न सक्छस्। तैँले कसरी मामुली व्यक्ति, साधारण व्यक्ति, सामान्य व्यक्ति हुने अभ्यास गर्नुपर्छ? पहिला, तैँले राम्रो र मूल्यवान् ठानिरहने कुराहरू, साथै अरूले तेरो तारिफ र प्रशंसा गर्न प्रयोग गर्ने देखावटी, मिठा शब्दहरूलाई नकार्नु र त्याग्नुपर्छ। यदि तँलाई आफ्‍नो हृदयमा तँ कस्तो व्यक्ति होस्, तेरो सार के हो, तेरा कमजोरीहरू के-के हुन् र तैँले कस्तो भ्रष्टता प्रकट गर्छस् भन्‍नेबारेमा स्पष्ट छ भने, तैँले यसबारेमा खुलस्‍त रूपमा अरूसँग सङ्गति गर्नुपर्छ, ताकि अरूले तेरो साँचो स्थिति के हो, तेरा विचार र दृष्टिकोणहरू के-के हुन् भनेर देख्‍न सकून्, ताकि त्यस्ता कुराहरूका बारेमा तेरो ज्ञान के छ भन्‍ने तिनीहरूले जान्‍न सकून्। तैँले जे गरे पनि, बहाना बनाउने वा देखावटी काम गर्ने नगर्, कसैले पनि नदेखून् भनेर अरूबाट आफ्‍नो भ्रष्टता र कमजोरीहरू नलुका; यस्तो झूटो व्यवहार तेरो हृदयभित्रको अवरोध हो, र यो भ्रष्ट स्वभाव पनि हो, र यसले मानिसहरूलाई पश्‍चात्ताप गर्न र परिवर्तन हुनबाट रोक्‍न सक्छ। तैँले परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ, र झूटो कुराहरूलाई मनन र विश्‍लेषण गर्नुपर्छ, जस्तै अरूले तँलाई दिने प्रशंसा, तिनीहरूले तँमाथि बर्साउने महिमा, र तँलाई प्रदान गर्ने मुकुटहरू। तैँले यी कुराहरूले तँमाथि गर्ने हानिलाई देख्‍नैपर्छ। त्यसो गर्दा, तँलाई आफ्‍नो नाप थाहा हुन्छ, तैँले आत्मज्ञान प्राप्त गर्नेछस्, र तैँले अबउप्रान्त आफूलाई एक महामानव, वा महान् व्यक्तिको रूपमा हेर्न छोड्नेछस्। तँमा त्यस्तो आत्मसचेतना आएपछि, तँलाई सत्यता स्वीकार गर्न, परमेश्‍वरका वचनहरू र परमेश्‍वरले मानिसबाट माग्‍नुहुने कुराहरूलाई हृदयमा स्वीकार गर्न, सृष्टिकर्ताले तँलाई दिनुहुने मुक्तिलाई स्वीकार गर्न, स्थिर रूपमा साधारण व्यक्ति, इमानदार र भरपर्दो व्यक्ति बन्‍न, अनि सृष्टि गरिएको प्राणी तँ आफै र सृष्टिकर्ता परमेश्‍वरबीचमा सामान्य सम्‍बन्ध स्थापित गर्न सहज हुन्छ। परमेश्‍वरले मानिसहरूलाई गर्न लगाउनुहुने कुरा ठ्याक्‍कै यही हो, अनि यो तिनीहरूले पूर्ण रूपमा हासिल गर्न सक्‍ने कुरा हो। परमेश्वर साधारण, सामान्य मानिसहरूलाई मात्र उहाँसामु आउन दिनुहुन्छ। उहाँ स्वाँगे वा झूटा सेलेब्रिटी, महान् व्यक्ति, र महामानवहरूको आराधना स्वीकार गर्नुहुन्न। जब तँ यी झूटा महिमाहरू त्याग्छस्, आफू साधारण, सामान्य व्यक्ति हो भनी स्विकार्छस्, अनि परमेश्वरसामु आएर खोज्छस् र प्रार्थना गर्छस्, उहाँप्रतिको तेरो हृदय अझ बढी सच्चा हुनेछ, र तँलाई अझ बढी ढुक्क हुनेछ। यस्तो बेला, तैँले आफूलाई परमेश्वरको साथ र सहयोग चाहिएको महसुस गर्नेछस्, अनि तँ अझ बारम्बार परमेश्वरसामु आएर खोजी र प्रार्थना गर्न सक्षम हुनेछस्। ल भन त, के तिमीहरूलाई महान् व्यक्ति, महामानव हुन सजिलो लाग्छ कि सामान्य व्यक्ति हुन? (सामान्य व्यक्ति।) सैद्धान्तिक रूपमा, सामान्य व्यक्ति हुन सजिलो हुन्छ, तर महान् व्यक्ति वा महामानव हुन गाह्रो हुन्छ, जसले सधैँ वेदनामा पार्छ। तर, जब मानिसहरू आफ्नै छनौट गर्छन् र त्यसलाई अभ्यास गर्छन्, तब तिनीहरू महामानव वा महान् व्यक्तिनभई सक्दै सक्दैनन्। तिनीहरू त्यसो नगरी सक्दै सक्दैनन्। यो तिनीहरूको प्रकृति सारले गर्दा हुन्छ। यसर्थ, मान्छेलाई परमेश्वरको मुक्ति चाहिन्छ। भविष्यमा, जब कसैले तिमीहरूलाई “व्यक्तिले महामानव र महान् व्यक्ति हुने प्रयास गर्न कसरी छोड्न सक्छ?” भनेर सोध्दा, के तिमीहरू यस प्रश्नको जवाफ दिन सक्षम हुनेछौ? तिमीहरूले गर्नुपर्ने नै मैले प्रबन्ध गरेको विधि अभ्यास गर्ने मात्र हो। सामान्य व्यक्ति बन्, आफ्नो भेष नबद्ली, परमेश्वरलाई प्रार्थना गर्, र सरल तरिकामा खुलस्त हुन र अरूसँग हृदयबाट बोल्न सिक्। यस्तो अभ्यासले स्वाभाविक रूपमा फल फलाउनेछ। तैँले बिस्तारै सामान्य व्यक्ति हुन सिक्नेछस्, तँ जीवनदेखि थकित हुन छोड्नेछस्, बिलकुलै वेदनामा हुनेछैनस्, र बिलकुलै पीडामा हुनेछैनस्। सबै जना सामान्य मानिस हुन्। तिनीहरूका व्यक्तिगत प्रतिभाहरू फरक हुन्छन् र तिनीहरू क्षमतामा अलि फरक हुन सक्छन्, त्यसबाहेक तिनीहरूबीच कुनै भिन्नता हुँदैन। यदि परमेश्वरको मुक्ति र सुरक्षा नहुने हो भने, तिनीहरू सबैले दुष्ट काम गर्नेथिए र दण्ड भोग्नेथिए। यदि तँ आफू सामान्य व्यक्ति हो भनेर स्विकार्न सक्छस्, यदि तँ मान्छेका कल्पना र खोक्रा भ्रमहरूबाट बाहिर निस्किन र इमानदार व्यक्ति हुन खोज्छस् र इमानदार कार्यहरू गर्छस् भने, यदि तँ सावधानीपूर्वक परमेश्वरप्रति समर्पित हुन सक्छस् भने, तँलाई केही समस्या हुनेछैन र तँ पूर्णतया मानव स्वरूपमा जिउनेछस्। यो त्यति सरल हुँदाहुँदै किन कुनै मार्ग छैन? अहिले मैले भनेको कुरा अति सरल छ। खासमा, ठ्याक्कै तरिका त्यही हो। सत्यतालाई प्रेम गर्नेहरूले त्यसलाई पूर्णरूपमा स्विकार्न सक्छन्, र तिनीहरूले यसो पनि भन्नेछन्, “वास्तवमा परमेश्वर मान्छेबाट अति धेरै माग गर्नुहुन्न। उहाँका सबै माग मानव विवेक र समझले पूरा गर्न सकिन्छ। व्यक्तिलाई आफ्नो कर्तव्य राम्ररी निभाउन कठिन छैन। यदि कुनै व्यक्तिले हृदयबाटै काम गर्छ र उसँग त्यो अभ्यास गर्ने इच्छा र चाहना छ भने, त्यो प्राप्त गर्न सजिलो हुन्छ।” तर कतिपय मानिस यो प्राप्त गर्न सक्दैनन्। सधैँ महत्त्वाकाङ्क्षा र चाहनाहरू हुने, सधैँ महामानव र महान् व्यक्ति बन्न चाहनेहरूको हकमा भन्नुपर्दा, तिनीहरूले सामान्य मानिस हुन चाहे पनि, तिनीहरूका लागि त्यो सजिलो हुँदैन। तिनीहरू सधैँ आफूलाई अरूभन्दा श्रेष्ठ र राम्रो ठान्छन्, त्यसैले तिनीहरूको पूरै मन-मस्तिष्क महामानव वा महान् व्यक्ति हुने चाहनाले ग्रसित हुन्छ। तिनीहरू सामान्य व्यक्ति हुन र सृष्टि गरिएका प्राणीको रूपमा आफ्नो हैसियत कायम राख्न अनिच्छुक हुने मात्र होइन, तर महामानव र महान् व्यक्ति बन्नका लागि पछि लाग्न कहिल्यै नछोड्ने प्रतिज्ञा पनि गर्छन्। यसलाई समाधान गर्नै सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो

सम्बन्धित अनुभवात्मक गवाहीहरू

बुझेको बहाना गर्दा म बरबाद भएँ

मकुन्डो हटाउने मार्ग

अघिल्लो: १६. झूट बोल्ने र छल गर्ने समस्या कसरी समाधान गर्ने

अर्को: १८. छली स्वभावको समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्