१६. झूट बोल्ने र छल गर्ने समस्या कसरी समाधान गर्ने

बाइबलमा परमेश्‍वरका वचनहरू

“तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो” (यूहन्‍ना ८:४४)

“तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ” (मत्ती ५:३७)

“अनि भन्‍नुभयो, साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)

“यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्। परमेश्‍वर र थुमाका लागि पहिलो फल यिनीहरूलाई मानिसबीचबाट छुटकारा दिइएको थियो। अनि तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्” (प्रकाश १४:४-५)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरले मानिसहरूलाई इमानदार हुनू भनेर भन्‍नुभएको कुराले प्रमाणित गर्छ कि उहाँले छली मानिसहरूलाई साँच्‍चै घृणा गर्नुहुन्छ, र तिनीहरूलाई मन पराउनुहुन्‍न। छली मानिसहरूप्रतिको परमेश्‍वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूको स्वभाव, तिनीहरूको मनसाय, र तिनीहरूको छलकपटका विधिहरूप्रतिको घृणा हो; परमेश्‍वरले ती सबै कुरालाई घृणा गर्नुहुन्छ। यदि छली मानिसहरूले सत्यता स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्‍न, र परमेश्‍वरको मुक्ति स्विकार्न इच्‍छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ—किनभने सत्यताले जस्तै परमेश्‍वरले पनि सबै मानिसहरूलाई समान रूपमा लिनुहुन्छ। त्यसकारण, यदि हामी परमेश्‍वरलाई खुसी पार्ने व्यक्ति बन्‍न चाहन्छौँ भने, हामीले पहिले हाम्रो चालढालसम्बन्धी सिद्धान्तहरूलाई परिवर्तन गर्नुपर्छ: हामी अबउप्रान्त शैतानी दर्शनहरूअनुसार जिउनु हुँदैन, हामी झूट र छलकपटको आधारमा अघि बढ्नु हुँदैन। हामीले हाम्रा सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्‍नुपर्छ। अनि, हामीप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, अरू मानिसहरूमाझ जिउन मानिसहरूले सधैँ झूट, बहाना, र छलकपटमा भर पर्दै आए, र शैतानी दर्शनहरूलाई आफ्नो अस्तित्वको आधार, जीवन, र आफ्‍नो चालढालको जगको रूपमा प्रयोग गरे। यो परमेश्‍वरले घृणा गर्नुहुने कुरा थियो। अविश्‍वासीहरूमाझ, यदि तैँले खुलस्त भई कुरा गर्छस्, सत्य बोल्छस्, र इमानदार व्यक्ति बन्छस् भने, तँलाई निन्दा, आलोचना, र त्याग गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झन्झन्‌ झूट बोल्‍न सिपालु, र झन्झन्‌ छली बन्दै जान्छस्। तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्न र आफैलाई रक्षा गर्न धूर्त माध्यमहरूसमेत प्रयोग गर्छस्। तँ शैतानको संसारमा झन्झन्‌ सम्‍पन्‍न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन्‌ फस्दै जान्छस्, र आफूलाई मुक्त गर्नै नसक्‍ने अवस्थामा पुग्छस्। परमेश्‍वरको घरमा, ठीक विपरीत अवस्था हुन्छ। तैँले जति झूट बोल्छस् र जति छली खेल खेल्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै दिक्‍क हुनेछन् र तिनीहरूले तँलाई त्याग्‍नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शन र तर्कहरूमा लागिरहिस् भने, यदि तैँले वास्तविक रूप लुकाउन र आफूलाई राम्रो देखाउन जालझेल र व्यापक युक्तिहरू प्रयोग गरिरहिस् भने, तँ खुलासा भएर हटाइने सम्‍भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरूलाई अन्त्यमा त्याग र निष्कासन गरिनेछ। यो सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तैँले आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तैँले आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पनि पवित्र आत्माको कार्य वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरू इमानदार बनेर यो काम सुरु गर्नुपर्छ। अन्त्यमा, परमेश्‍वरद्वारा प्राप्त गरिनेहरूमा एउटा चिन्‍ह लगाइनेछ। यो के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: “तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्” (प्रकाश १४:५)। यहाँ “तिनीहरू” भनेका को हुन्? तिनीहरू परमेश्‍वरद्वारा मुक्ति दिइने, सिद्ध पारिने र प्राप्त गरिने व्यक्तिहरू हुन्। परमेश्‍वरले यी मानिसहरूको वर्णन कसरी गर्नुहुन्छ? तिनीहरूका आचरणका विशेषता र अभिव्यक्तिहरू के-के हुन्? तिनीहरू निष्खोट छन्। तिनीहरू कुनै झूटो कुरा बोल्दैनन्। झूटो कुरा नबोल्नुको अर्थ के हो सो सम्भवतः तिमीहरू सबैले जान्‍न र बुझ्न सक्छौ होला: यसको अर्थ इमानदार हुनु हो। “निष्खोट” ले केलाई जनाउँछ? यसले कुनै दुष्कर्म नगर्ने कार्यलाई जनाउँछ। अनि, कुनै दुष्कर्म नगर्ने कार्य कुन जगमा आधारित हुन्छ? यो कार्य अवश्य नै परमेश्‍वरको डर मान्‍ने जगमा आधारित हुन्छ। त्यसकारण, कुनै खोट नहुनु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो। कुनै खोट नभएको मानिसलाई परमेश्‍वरले कसरी परिभाषित गर्नुहुन्छ? परमेश्‍वरको नजरमा, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति मात्र सिद्ध व्यक्ति हो; तसर्थ, कुनै खोट नभएका मानिसहरू भनेका परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिहरू हुन्, र सिद्ध व्यक्तिहरू मात्र निष्खोट हुन्छन्। यो पूर्ण रूपमा सही कुरा हो। यदि कसैले हरेक दिन झूट बोल्छ भने, के त्यो खोट होइन र? यदि तिनीहरूले आफ्‍नै इच्छाअनुसार बोल्छन् र व्यवहार गर्छन् भने, के त्यो खोट होइन र? यदि तिनीहरूले काम गर्दा सधैँ कदर पाउन खोज्छन्, परमेश्‍वरसँग सधैँ इनाम माग्छन् भने, के त्यो खोट होइन र? यदि तिनीहरूले कहिल्यै परमेश्‍वरको बढाइ गरेका छैनन्, सधैँ आफ्‍नै गवाही दिन्छन् भने, के त्यो खोट होइन र? यदि तिनीहरूले लापरवाहीपूर्वक आफ्‍नो कर्तव्य पूरा गर्छन्, अवसरवादी तरिकाले काम गर्छन्, दुष्ट अभिप्रायहरू राख्छन्, र सुस्त हुन्छन् भने, के त्यो खोट होइन र? भ्रष्ट स्वभावका यी सबै प्रस्फुटनहरू खोट हुन्। यति मात्र हो कि मानिसहरूले सत्यता बुझ्‍नुभन्दा पहिले, तिनीहरूलाई यो कुरा थाहा हुँदैन। अहिले, तिमीहरू सबैलाई यी भ्रष्ट प्रस्फुटनहरू खोट र फोहोर हुन् भन्‍ने थाहा भयो; तिमीहरूले थोरै सत्यता बुझेपछि मात्रै तिमीहरूमा यस्तो समझशक्ति हुन सक्छ। भ्रष्ट प्रस्फुटनहरूसँग सम्‍बन्धित सबै कुरा झूटसँग सम्‍बन्धित हुन्छन्; “कुनै झूट पाइएन” भन्‍ने बाइबलका वचनहरू तँमा खोट छ कि छैन भनेर मनन गर्ने कार्यको मुख्य तत्त्व हो। त्यसकारण, कुनै व्यक्तिले आफ्‍नो जीवनमा वृद्धि अनुभव गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्नका लागि, थप एउटा सूचक छ, र त्यो हो: तँ इमानदार व्यक्ति बन्‍ने कार्यमा प्रवेश गरेको छस् कि छैनस्, तैँले भन्‍ने कुराहरूमा कति वटा झूट हुन्छ, र तेरो झूटहरू क्रमिक रूपमा घटिरहेका छन् कि पहिलेको जस्तै छन्। तेरो छल र धोकाका शब्‍दहरू लगायत तेरा झूटहरू क्रमिक रूपमा घटिरहेका छन् भने, यसले तँ वास्तविकतामा प्रवेश गर्न थालेको छस्, र तेरो जीवन वृद्धि भइरहेको छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। के यो व्यावहारिक दृष्टिकोण होइन र? (हो।) यदि तँलाई वृद्धि अनुभव गरिसकेको छु जस्तो लाग्छ, तर तेरा झूटहरू पटक्‍कै घटेका छैनन्, र तँ आधारभूत रूपमा अविश्‍वासी जस्तै छस् भने, के यो सत्यताको वास्तविकतामा प्रवेश गर्नुको सामान्य प्रकटीकरण हो? (होइन।) जब कुनै व्यक्ति सत्यताको वास्तविकतामा प्रवेश गरेको हुन्छ, तब उसले कम्तीमा पनि झूट बोल्‍न कम गरेको हुन्छ; ऊ लगभग इमानदार व्यक्ति बनिसकेको हुन्छ। यदि तैँले धेरै झूट बोल्छस् र तेरा शब्‍दहरू अत्यन्तै दूषित छन् भने, यसले तँ फिटिक्कै परिवर्तन भएको छैनस्, र तँ अझै इमानदार व्यक्ति भएको छैनस् भन्‍ने प्रमाणित गर्छ। यदि तँ इमानदार व्यक्ति होइनस् भने, तँसँग जीवन प्रवेश हुँदैन, त्यसकारण तैँले कस्तो वृद्धि अनुभव गर्न सक्छस् र? तेरो भ्रष्ट स्वभाव अझै पनि जस्ताको त्यस्तै छ, र तँ अविश्‍वासी र दियाबलस होस्। इमानदार व्यक्ति हुनु भनेको व्यक्तिले आफ्‍नो जीवनमा वृद्धि अनुभव गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने एउटा सूचक हो; मानिसहरूले आफूलाई यी कुराहरूसँग तुलना गर्न जान्नुपर्छ र आफैले आफ्नो मापन गर्न जान्नुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू

मानिसहरूले आफ्नो दैनिक जीवनमा प्राय सधैँ व्यर्थका कुराहरू, झूटहरू अनि अज्ञानी, मूर्ख र प्रतिरक्षात्मक कुराहरू बोलिरहन्छन्। यीमध्ये धेरैजसो कुराहरू आफ्नै आडम्बर र घमण्डको खातिर र आफ्नै अहम्‌ सन्तुष्ट पार्न गरिन्छ। यस्ता गलत कुराहरू बोल्दा तिनीहरूका भ्रष्ट स्वभावहरू खुलासा हुन्छन्। यदि तैँले यी भ्रष्ट तत्‍वहरू सुल्झाइस् भने, तेरो हृदय शुद्ध हुनेथ्यो, अनि तँ बिस्तारै झन् शुद्ध र झन् इमानदार हुँदै जानेथिस्। वास्तवमा, मानिसहरू सबैलाई आफूले किन झूट बोल्छु भनेर थाहा हुन्छ। तिनीहरूले व्यक्तिगत लाभ र घमण्डको खातिर वा आडम्बर र हैसियतको लागि अरूसित प्रतिस्पर्धा गर्न खोज्छन्, र आफूलाई अर्कै व्यक्तित्‍वको रूपमा प्रस्तुत गर्छन्। तर तिनीहरूका झूटहरूलाई अन्त्यमा अरूले प्रकट र खुलासा गरिदिन्छन्, अनि तिनीहरूले आफ्नो इज्‍जतका साथै आफ्नो सम्मान र चरित्र पनि गुमाउँछन्। यो सबै झूटको अत्यधिक मात्राले गराएको हो। तेरा झूटहरू अनगिन्ती भइसकेका छन्। तैँले बोल्ने हरेक शब्द अशुद्ध र बेइमानीपूर्ण छ, तेरो एउटै शब्दलाई पनि साँचो वा इमानदार मान्‍न सकिँदैन। यदि तैँले झूट बोल्दा इज्‍जत गुमाएजस्तो अनुभूति गर्दैनस् नै भने पनि, भित्र कहीँ अन्तरकुन्तरमा तँ आफू कलङ्कित भएको महसुस गर्छस्। तेरो विवेकले तँलाई दोष दिन्छ, र तैँले आफ्नो बारेमा राम्रो विचार राख्दैनस्, र यस्तो सोच्छस्, “म किन यस्तो दयनीय जीवन जिइरहेको छु? के सत्य बोल्‍नु यति गाह्रो हुन्छ? के मैले आफ्नो घमण्डको खातिर झूटको सहारा लिनैपर्ने हो? किन मेरो जीवन यति थकाइलाग्दो छ?” तैँले थकाइलाग्दो जीवन जिउनैपर्दैन। यदि तैँले इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्न सक्छस् भने, तँ तनावरहित, स्वतन्त्र, र आजाद जीवन जिउन सक्षम हुनेछस्। तर, तैँले झूट बोलेर आफ्नो घमण्ड र आडम्बर कायम गरिरहने विकल्प रोजेको छस्। फलस्वरूप, तँ थकाइलाग्दो र दयनीय जीवन जिउँछस्, र त्यो तेरो स्व-सिर्जित अवस्था हो। व्यक्तिले झूट बोलेर घमण्ड महसुस गर्न सक्छ, तर त्यो घमण्डको अनुभूति भनेको के हो? त्यो बस एक खोक्रो कुरा हो, र त्यो पूर्णतया व्यर्थ कुरा हो। झूट बोल्नु भनेको आफ्नो चरित्र र इज्जत बेच्‍नु हो। यसले व्यक्तिको इज्जत र चरित्र लैजान्छ, र यसले परमेश्‍वरलाई तँप्रति अप्रसन्‍न र घिनाउने बनाउनेछ। के यो सार्थक छ त? छैन। के यो सही मार्ग हो त? अहँ, यो सही मार्ग होइन। … यदि तँ सत्यता प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्नको निम्ति विभिन्‍न कठिनाइहरू सहनेछस्। तैँले यदि यसको लागि आफनो प्रतिष्ठा र हैसियत त्याग्‍नुपर्‍यो भने पनि र अरूको गिल्ला र अपमान सहनुपर्‍यो भने पनि, तैँले नराम्रो मान्‍नेछैनस्—जबसम्म तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस्, तबसम्म त्यो काफी नै हुनेछ। सत्यता प्रेम गर्ने मानिसहरूले सत्यता अभ्यास गर्न र इमानदार हुन रोज्छन्। यो सही मार्ग हो र यो परमेश्‍वरद्वारा आशिषित हुन्छ। यदि व्यक्तिले सत्यता प्रेम गर्दैन भने, उसले के रोज्छ? उसले आफ्नो प्रतिष्ठा, हैसियत, इज्जत र चरित्र कायम राखिराख्‍नको लागि झूट प्रयोग गर्न रोज्छ। यसको लागि बरू तिनीहरू छली हुन र परमेश्‍वरद्वारा घृणा र तिरस्कार गरिन रुचाउँछन्। त्यस्ता मानिसहरूले सत्यता र परमेश्‍वरलाई अस्वीकार गर्छन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियत रोज्छन्; तिनीहरू छली बन्‍न चाहन्छन्। तिनीहरू परमेश्‍वर खुसी बन्‍नुहुन्छ कि हुन्‍न वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्‍न भनेर वास्ता गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्वरबाट अझै पनि मुक्ति पाउन सक्छन् त? निश्‍चय नै सक्दैनन्, किनकि तिनीहरूले गलत मार्ग रोजेका छन्। तिनीहरू ढाँटेर अनि ठगेर मात्र जिउन सक्छन्; तिनीहरू हरदिन झूट बोल्ने र त्यसलाई ढाकछोप गर्ने, अनि आफ्नो प्रतिरक्षा गर्न दिमाग खियाउने पीडापूर्ण जीवन जिउन मात्र सक्छन्। यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राखिराख्‍न मदत गर्न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो इज्जत र चरित्र कायम राखिराख्‍न नसक्‍ने मात्र होइन, त्योभन्‍दा पनि गम्भीर कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाउनेछस्। यदि तँ त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राखिराख्‍न सक्षम भइस् भने पनि, तैँले सत्यता त्याग गरेको र परमेश्‍वरलाई धोका दिएको हुनेछस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुनेछस्, र त्यो सबैभन्दा ठूलो क्षति र जीवनभरको अफसोस हो। यो कुरा छली मानिसहरूले कहिल्यै बुझ्नेछैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ

कतिपय मानिसहरूले कहिल्यै पनि कसैलाई सत्यता बताउँदैनन्। तिनीहरू मानिसहरूसँग बोल्‍नुभन्दा पहिले सबै कुरा राम्ररी सोचविचार गर्छन् र त्यसलाई सुन्दर बनाउँछन्। तिनीहरूले भन्‍ने कुन कुरा साँचो हो, र कुन झूटो हो बताउन सकिँदैन। तिनीहरूले आज एउटा र भोलि अर्को कुरा गर्छन्, एक जनालाई एउटा र अर्को जनालाई अर्को कुरा भन्छन्। तिनीहरूले भन्‍ने कुरा आफैमा बाझिन्छ। त्यस्ता मानिसहरूको कुरा कसरी विश्‍वास गर्न सकिन्छ? तथ्यको सही बुझाइ हासिल गर्न अत्यन्तै कठिन हुन्छ; अनि तैँले तिनीहरूबाट सीधा शब्‍द सुन्‍न सक्दैनस्। यो कस्तो स्वभाव हो? यो छल हो। के छली स्वभाव परिवर्तन गर्न सजिलो हुन्छ? यो परिवर्तन गर्न सबैभन्दा गाह्रो हुन्छ। स्वभावसँग सम्‍बन्धित कुनै पनि कुरा व्यक्तिको प्रकृतिसँग सम्‍बन्धित हुन्छ, र व्यक्तिको प्रकृतिसँग सम्‍बन्धित कुरालाई परिवर्तन गर्नुजस्तो गाह्रो अरू केही हुँदैन। “बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो, बाङ्गोको बाङ्गै,” भन्‍ने उखान सतप्रतिशत सत्य हो। तिनीहरूले जेसुकै भनिरहेका वा गरिरहेका भए पनि, छली मानिसहरूले सधैँ आफ्‍नै उद्देश्य र अभिप्रायहरू बोकिरहेका हुन्छन्। तिनीहरूसँग कुनै अभिप्राय छैन भने, तिनीहरू केही पनि बोल्दैनन्। यदि तैँले तिनीहरूका उद्देश्य र अभिप्रायहरू के-के हुन् भनेर बुझ्‍ने प्रयास गरिस् भने, तिनीहरू मुखमा बुजो लगाउँछन्। यदि तिनीहरूले झुक्‍किएर कुनै साँचो कुरा मुखबाट फुत्काइहाले भने पनि, त्यो कुरालाई घुमाउन, तँलाई अलमल्याउन र तँलाई सत्यता जान्‍न नदिनको लागि सक्दो उपाय लगाउँछन्। छली मानिसहरूले जे गरिरहेको भए पनि, तिनीहरू कसैलाई पनि सबै कुरा बुझ्न दिँदैनन्। मानिसहरूले तिनीहरूलाई जति लामो समय बिताए पनि, तिनीहरूको मनमस्तिष्कमा के छ भन्‍ने कुरा कसैले जान्‍न सक्दैन। छली मानिसहरूको प्रकृति त्यही हो। छली मानिसहरूले जति धेरै बोले पनि, तिनीहरूका अभिप्रायहरू के हुन्, तिनीहरूले के सोचिरहेका छन्, वा तिनीहरूले वास्तवमा के हासिल गर्ने प्रयास गरिरहेका छन् भन्‍ने कुरा मानिसहरूलाई कहिल्यै थाहा हुनेछैन। तिनीहरूका आमाबाबुलाई समेत यो कुरा जान्‍न गाह्रो हुन्छ। छली मानिसहरूलाई बुझ्‍न खोज्‍नु एकदमै कठिन काम हो, तिनीहरूको मनमा के छ भनेर कसैले पत्ता लगाउन सक्दैन। छली मानिसहरूले यसरी नै बोल्छन् र व्यवहार गर्छन्: तिनीहरूले कहिल्यै मनको कुरा भन्दैनन् वा के भइरहेको छ भनेर कहिल्यै भन्दैनन्। यो एक किसिमको स्वभाव नै हो, होइन र? जब तँमा छली स्वभाव हुन्छ, तैँले के भन्छस् वा गर्छस् त्यसले केही फरक पार्दैन—यो स्वभाव सधैँ नै तँभित्र हुन्छ, र यसले तँलाई नियन्त्रण गरिरहेको हुन्छ, तँलाई खेल खेल्न र चलाकीमा संलग्न हुन, मानिसहरूलाई खेलौना बनाउन, सत्यता ढाकछोप गर्न, र देखावटी रूप धारण गर्न लगाइरहेको हुन्छ। छलीपन भनेको यही हो। छली मानिसहरूले अरू के-कस्ता विशेष व्यवहारहरू देखाउँछन् त? म एउटा उदाहरण दिन्छु। दुई जना मान्छे कुरा गरिरहेका छन्, र तिनीहरूमध्ये एउटाले आफ्‍नो आत्मज्ञानबारे बताइरहेको छ; यो व्यक्तिले आफू कति सुधार भएको छु भनेर भनिरहन्छ, र यो कुरामा अर्को व्यक्तिलाई विश्‍वस्त तुल्याउने प्रयास गर्छ, तर उसले त्यो अर्को व्यक्तिलाई वास्तविक तथ्यहरू बताउँदैन। यसमा, केही कुरा लुकाइएको छ, र यसले एक निश्‍चित स्वभाव जनाउँछ—र त्यो हो, छलीपन। तिमीहरू यसलाई चिन्‍न सक्छौ कि सक्दैनौ, हेरौँ है त। यो व्यक्तिले भन्छ, “हालै मैले केही कुराहरू अनुभव गरेँ, र मलाई लाग्छ मैले परमेश्‍वरमा यतिका वर्ष विश्‍वास गरेको व्यर्थ भएको छ। मैले केही हासिल गरेको छैन। म तुच्‍छ र दयनीय छु! मेरो व्यवहार आजभोलि त्यति राम्रो भएको छैन, र म साँच्‍चै पश्‍चात्ताप गर्न तयार छु।” तर यसो भनिसकेपछि पनि त्यस्ता व्यक्तिहरूमा पश्‍चात्तापको भाव कहीँ देखिँदैन। यहाँ समस्या के हो? त्यो के हो भने, तिनीहरूले अरूलाई ढाँट्छन् र छल्छन्। तिनीहरूले यसो भनेको सुन्दा, अरू मानिसहरूले यस्तो सोच्छन्, “यो व्यक्तिले पहिले सत्यता पछ्याउने गरेको रहेनछ, तर उसले अहिले यस्ता कुराहरू भन्‍न सकेको देख्दा उसले साँच्‍चै नै पश्‍चात्ताप गरेको छ भन्‍ने देखिन्छ। यसमा कुनै शङ्का छैन। हामीले उसलाई पहिलेजसरी हेर्नु हुँदैन, नयाँ र राम्रो दृष्टिकोणले हेर्नुपर्छ।” यी शब्‍दहरू सुनेपछि मानिसहरूले यसरी नै मनन गर्ने र सोच्‍ने गर्छन्। तर के त्यो व्यक्तिको वर्तमान स्थिति उसले भनेको जस्तै हुन्छ त? वास्तवमा त्यस्तो हुँदैन। त्यस्ताहरूले साँचो रूपमा पश्‍चात्ताप गरेकै हुँदैनन्, तर तिनीहरूका शब्‍दहरूले तिनीहरूले पश्‍चात्ताप गरेका छन्, र तिनीहरू सुध्रिएका छन्, र तिनीहरू पहिलेभन्दा फरक भएका छन् भन्‍ने भ्रम छर्छन्। तिनीहरूले आफ्‍ना शब्दहरूबाट यही कुरा हासिल गर्न चाहन्छन्। मानिसहरूलाई छल्‍न यसरी बोलेर, तिनीहरूले कस्तो स्वभाव प्रकट गरिरहेका हुन्छन्? त्यो छलीपन हो—र यो अत्यन्तै धूर्त हुन्छ! वास्तवमा तिनीहरूलाई आफू परमेश्‍वरमाथिको विश्‍वासमा असफल भएको छु, र आफू कमजोर र दयनीय छु भन्‍ने पटक्‍कै थाहा हुँदैन। तिनीहरूले मानिसहरूलाई जालझेल गर्न, अरूलाई तिनीहरूको बारेमा राम्रो सोच्‍न र राम्रो विचार राख्‍न लगाउने आफ्‍नो उद्देश्य हासिल गर्न आत्मिक शब्‍द र भाषाहरू प्रयोग गरिरहेका हुन्छन्। के यो छलीपन होइन र? हो, र जब व्यक्ति अत्यन्तै छली हुन्छ, उसलाई परिवर्तन हुन सहज हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

एक इमानदार व्यक्ति बन्‍नु, वा अलि विस्तृत विवरण दिँदा: एक सरल र खुला व्यक्ति बन्‍नु, जो कुनै पनि कुरा ढाकछोप गर्दैन, जो झूट बोल्दैन, जो शब्दहरू घुमाएर बोल्दैन, र एक सीधा व्यक्ति बन्‍नु, जोसित न्यायको बोध छ र जो सत्य बोल्न सक्छ। मानिसहरूले पहिला यो कुरा हासिल गर्नुपर्छ। मानौँ, एउटा दुष्ट व्यक्तिले मण्डलीको काम बिथोलिरहेको छ, र यो परिस्थितिलाई राम्रोसँग बुझ्नको लागि एक अगुवा तँकहाँ आउँछ। तँलाई यो कसले गरेको हो भन्‍ने थाहा छ, तर त्यो व्यक्तिसँग तेरो राम्रो सम्बन्ध भएकोले र तैँले उसलाई चिढ्याउन नचाहेकोले, तँ झूट बोल्छस् र तँलाई थाहा छैन भनेर भन्छस्। अगुवाले थप विवरणहरू माग्छ, र तँ त्यो दुष्ट व्यक्तिलाई ढाक्‍ने बहाना बनाउँदै कुरा घुमाउँछस्। के त्यो छलपूर्ण हुँदैन र? तैँले अगुवालाई परिस्थितिबारे सत्य बताइनस्, बरु कुरा लुकाइस्। तँ किन यस्तो गर्छस्? किनभने तँ कसैलाई चिढ्याउन चाहँदैनस्। तैँले अन्तरवैयक्तिक सम्बन्ध रक्षा गर्नु र कसैलाई नचिढ्याउनुलाई पहिलो प्राथमिकता दिन्छस्, र तैँले सत्य बोल्नु र सत्यता अभ्यास गर्नुलाई अन्तिममा राख्छ्स्। तँ केद्वारा नियन्त्रित भइरहेको छस्? तँ तेरो शैतानी स्वभावद्वारा नियन्त्रित भइरहेको छस्, यसले तेरो मुख बन्द गरेको छ र तँलाई सत्य बोल्नबाट रोकेको छ—तँ तेरो शैतानी स्वभावद्वारा मात्र बाँच्न सक्षम छस्। भ्रष्ट स्वभाव भनेको के हो? भ्रष्ट स्वभाव भनेको शैतानी स्वभाव हो, र आफ्नो भ्रष्ट स्वभावद्वारा जिउने व्यक्ति जीवित शैतान हो। तिनीहरूको बोलीमा सधैँ परीक्षाहरू हुन्छन्, त्यो सधैँ घुमाउरो हुन्छ, र कहिल्यै सीधा हुँदैन; कुटेर मारे पनि तिनीहरू सत्य बोल्दैनन्। जब व्यक्तिको भ्रष्ट स्वभाव अत्यन्तै गम्भीर हुन्छ, तब यस्तो हुन्छ; तिनीहरूले पूर्णतया आफ्नो मानवता गुमाउँछन् र दियाबलस बन्छन्। तिमीहरूमध्ये धेरैले अरूसँगको आफ्नो सम्बन्ध, र अरू मानिसहरूमाझको आफ्नो हैसियत र प्रतिष्ठा सुरक्षित गर्नको निम्ति परमेश्‍वरलाई चिढ्याउन र धोका दिन रुचाउँछौ। के यसरी काम गर्ने व्यक्तिले सत्यतालाई प्रेम गर्छ? के तिनीहरू सत्यता पछ्याउने व्यक्तिहरू हुन्? तिनीहरू त आँखा खोलेरै परमेश्‍वरलाई धोका दिने, र अलिकति पनि परमेश्‍वरको डर मान्ने हृदय नभएका व्यक्तिहरू हुन्। तिनीहरू परमेश्‍वरलाई धोका दिने दुस्साहस गर्छन्; तिनीहरूको महत्वाकाङ्क्षा र विद्रोह साँच्चै ठूलै हुनुपर्छ! त्यस्ता व्यक्तिहरूले प्रायजसो अझै पनि आफूले परमेश्‍वरलाई प्रेम गर्छु र परमेश्‍वरको डर मान्छु भन्‍ने सोच्छन् र प्रायः यसो भन्छन्: “जब म परमेश्‍वरबारे सोच्छु, म उहाँ कति विशाल, कति महान् र कति अथाह हुनुहुन्छ भनेर सोच्छु! परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ, उहाँको प्रेम कति वास्तविक छ!” तैँले राम्रो सुनिने शब्दहरू बोल्न सक्छस्, तर तैँले कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा पुर्‍याएको देखिस् भने त्यसको खुलासा गर्दैनस्। तिमीहरू मान्छे रिझाउने व्यक्तिहरू हौ, परमेश्‍वरको घरको हित रक्षा गर्नुको सट्टा, आफ्नो ख्याति, लाभ र हैसियत मात्र रक्षा गर्छौ। मामिलाहरूको वास्तविक अवस्था थाहा पाउँदा पनि, तिमीहरू साँचो रूपमा बोल्दैनौ, तिमीहरू दुष्ट मानिसहरूको रक्षा गर्दै, कुरा घुमाउँछौ। यदि तँलाई सत्य बोल्न भनियो भने, त्यो तेरो लागि धेरै गाह्रो हुनेछ। सत्य बोल्नबाट बच्नको लागि, तँ धेरै नचाहिने कुरा बोल्छस्! जब तँ बोल्छस्, तँ कुरा घुमाएको घुमाई गर्छस्, तँ धेरै विचार खर्चन्छस्, र यस्तो थकाइलाग्दो तरिकामा बाँच्छस्, र यो सब आफ्नै प्रतिष्ठा र गर्व रक्षा गर्न गर्छस्! के यस्तो व्यवहार गर्ने मानिसहरूबाट परमेश्‍वर प्रसन्न हुनुहुन्छ? परमेश्‍वर छली मानिसहरूलाई सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। यदि तँ शैतानको प्रभावबाट मुक्त हुन र मुक्ति प्राप्त गर्न चाहन्छ्स् भने, तैँले सत्यता स्विकार्नैपर्छ। तैँले यो कुरा पहिला इमानदार व्यक्ति बनेर सुरु गर्नुपर्छ। स्पष्ट हू, सत्य बता, आफ्नो भावनाद्वारा बाधित नहू, आफ्नो ढोंग र छललाई फाल्, सिद्धान्तअनुसार बोल् र मामिलाहरू सम्हाल्—यो जिउने सहज र आनन्दपूर्ण तरिका हो, र तँ परमेश्‍वरअघि जिउन सक्षम हुनेछस्। यदि तँ सधैं शैतानी दर्शनअनुसार जिउँछस्, र दिनहरू कटाउन सधैं झूट र छलमा भर पर्छस् भने, तँ शैतानको शक्तिमुनि जिइरहेको हुनेछस्, र तँ अन्धकारमा जिइरहेको हुनेछस्। यदि तँ शैतानको संसारमा जिउँछस् भने, झन्झन् छली हुनेछस्। तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्, तैँले धेरै प्रवचनहरू सुनेको छस्, तर तेरो भ्रष्ट स्वभाव अझै पखालिएको छैन, र तँ अहिले पनि आफ्नो शैतानी स्वभावले जिइरहेको छस्—के तँलाई यसबाट घृणा लाग्दैन? के तँलाई लाज लाग्दैन? तैँले जति समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, यदि तँ अझै पनि गैरविश्‍वासीजस्तै छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ भयो? के तैँले यसरी परमेश्‍वरमा विश्‍वास गरेर साँच्चै मुक्ति पाउन सक्छस्? तेरो जीवन लक्ष्यहरू परिवर्तन भएका छैनन्, न त तँसँग सिद्धान्त र विधिहरू छन्; तँसँग भएको एउटा मात्र कुरा जुन एक गैरविश्‍वासीसँग छैन, त्यो “विश्‍वासी” को उपाधि हो। तैँले बाहिरी रूपमा परमेश्‍वरलाई पछ्याए पनि, तेरो जीवन स्वभावमा बिलकुलै परिवर्तन आएको छैन, र अन्त्यमा तैँले मुक्ति प्राप्त गर्नेछैनस्। के तँ व्यर्थमै आशा गरिरहेको छैनस् र? के परमेश्‍वरमाथिको यस प्रकारको विश्‍वासले तँलाई सत्यता र जीवन प्राप्त गर्न मद्दत गर्न सक्छ? बिल्कुलै सक्दैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ

सधैँ झूटो बोल्ने र छलकपट गर्नेहरू सबैभन्दा निकृष्ट मानिसहरू हुन्; तिनीहरू व्यर्थका हुन्। कसैले पनि तिनीहरूलाई ध्यान दिन चाहँदैन, कसैले पनि तिनीहरूसित उठबस गर्न मन गर्दैन, झन् तिनीहरूसामु हृदय उदाङ्गो पार्ने वा मित्रता गाँस्ने त कुरै नगरौँ। के त्यस्ता मानिसहरूसित कुनै चरित्र वा मर्यादा हुन्छ र? (हुँदैन।) त्यस्ता मानिसहरूलाई भेट्ने हरेक व्यक्ति तिनीहरूदेखि दिक्‍क हुनेछ; तिनीहरू आफ्नो बोलीवचन, कार्यव्यवहार, चरित्र र मर्यादामा कहीँकतै भरोसालायक हुँदैनन्—त्यस्ता व्यक्तिहरूमा कुनै सारतत्व नै हुँदैन। यदि तिनीहरू मेधावी र प्रतिभावान्‌ हुन्थे भने, के तिनीहरूलाई मानिसहरूले मन पराउँथे र आदर गर्थे? (गर्दैनथे।) त्यसकारण, एकअर्कासित घुलमिल हुनका लागि मानिसहरूमा के हुनुपर्छ? तिनीहरूमा चरित्र, निष्ठा, र मर्यादा हुनुपर्छ, र तिनीहरू अरूले आफूसामु आफ्नो हृदय उदाङ्गो पार्न सक्ने व्यक्ति। मर्यादा भएका सबै मानिसहरूमा अलिअलि व्यक्तित्व हुन्छ, तिनीहरू कहिलेकाहीँ अरूहरूसित राम्ररी घुलमिल हुन सक्दैनन्, तर तिनीहरू इमान्दार हुन्छन्, र तिनीहरूमा कुनै झूटोपन वा छलकपट हुँदैन। अरूहरूले अन्त्यमा तिनीहरूलाई उच्‍च सम्‍मान दिन्छन्, किनकि तिनीहरू सत्यता अभ्यास गर्न सक्छन्, तिनीहरू इमान्दार हुन्छन्, तिनीहरूमा मर्यादा, निष्ठा र चरित्र हुन्छ, तिनीहरूले कहिल्यै पनि अरूबाट फाइदा उठाउँदैनन्, तिनीहरूले समस्यामा परेका मानिसहरूलाई मद्दत गर्छन्, तिनीहरू मानिसहरूसित विवेक र समझसाथ व्यवहार गर्छन्, र तिनीहरूले कहिल्यै पनि अरूबारे हतारमा निर्णय लिँदैनन्। अरू मानिसहरूबारे मूल्याङ्कन्‌ र छलफल गर्दा, तिनीहरूले बोल्ने हरेक कुरा सही हुन्छ, तिनीहरूले आफूलाई थाहा भएको कुरा मात्र बताउँछन् र आफूलाई थाहा नभएको कुराबारे मुख चलाउँदैनन्, तिनीहरूले मिठास थपेर कुरा गर्दैनन् र तिनीहरूका बोलीवचनहरूले प्रमाण वा सन्दर्भको काम गर्न सक्छन्। बोल्दा र काम गर्दा, निष्ठा भएका मानिसहरू तुलनात्मक रूपमा व्यावहारिक र भरोसालायक हुन्छन्। निष्ठा नभएकाहरूलाई कसैले पनि मूल्यवान्‌ ठान्दैन, त्यस्ताले बोल्ने वा गर्ने कुरामा कसैले पनि ध्यान दिँदैन, तिनीहरूका बोली र कार्यहरूलाई कसैले महत्त्वपूर्ण मान्दैन, र कसैले पनि तिनीहरूलाई भरोसा गर्दैन। यस्तो किन हुन्छ भने, तिनीहरूले अत्यन्तै धेरै झूट र अत्यन्तै थोरै इमान्दार शब्दहरू बोल्छन्, र अरूहरूसित अन्तरक्रिया गर्दा वा अरूका लागि काम गर्दा तिनीहरूमा निष्कपटता हुँदैन, तिनीहरूले सबैलाई छल्‍ने र मूर्ख बनाउने प्रयास मात्र गर्छन्, र कसैले पनि तिनीहरूलाई मन पराउँदैन। के तिमीहरूले आफ्नो नजरमा भरोसायोग्य कोही भेट्टाएका छौ? के तिमीहरू आफूलाई अरू मानिसहरूको भरोसालायक ठान्छौ? के अरू मानिसहरूले तिमीहरूलाई भरोसा गर्न सक्छन्? यदि कसैले तँलाई कुनै अर्को व्यक्तिको अवस्थाबारे सोध्छ भने, तैँले तेरो आफ्नै इच्‍छाअनुसार त्यो व्यक्तिको लेखाजोखा र मूल्याङ्कन गर्नु हँदैन, तेरा शब्दहरू वस्तुपरक, सही र तथ्यहरूअनुरूप हुनुपर्छ। तैँले आफूले बुझेका कुराहरूबारे बोल्‍नुपर्छ, र आफूले भित्री तथ्य नबुझेका कुराहरूबारे बोल्नु हुँदैन। तँ त्यो व्यक्तिप्रति न्यायसङ्गत र निष्पक्ष हुनुपर्छ। त्यो जिम्‍मेवार ढङ्गले व्यवहार गर्नु हो। यदि तैँले सतही तहको घटना मात्र अवलोकन गरेको छस् भने, र तैँले भन्‍न चाहेको कुरा त्यस व्यक्तिबारेको तेरो आफ्नै मूल्याङ्कन्‌ मात्र हो भने, तैँले अन्धाधुन्ध रूपमा त्यो व्यक्तिबारे आफ्नो फैसला सुनाउने काम गर्नु हुँदैन, र तैँले त्यो व्यक्तिको आलोचना त गर्नै हुँदैन। तैँले जे भन्छस् त्योभन्दा पहिले “यो बस मेरो आफ्नै मूल्याङ्कन हो” वा “मलाई चाहिँ यस्तो लाग्छ है” भनेर भन्‍नुपर्छ। यसरी, तेरा शब्दहरू तुलनात्मक रूपमा अलि वस्तुगत हुनेछन्, अनि तैँले भनेको कुरा सुनेपछि, त्यो सुन्‍ने व्यक्तिले तेरा शब्दहरूमा रहेको इमान्दारिता र तेरो निष्पक्ष मनोवृत्ति अनुभूत गर्नेछ, र उसले तँलाई भरोसा गर्न सक्‍नेछ। के तिमीहरू यस्तो कुरा हासिल गर्न सक्‍नेमा पक्‍का छौ? (छैनौँ।) यसले तिमीहरू अरूहरूप्रति पर्याप्त रूपमा इमान्दार छैनौ, र तिमीहरूको आफ्नो आचरण अँगाल्ने र कामकाज सम्हाल्‍ने तौरतरिकामा सच्‍चाइ र इमान्दार मनोवृत्ति छैन भन्‍ने प्रमाणित गर्छ। मानौँ, कसैले तँलाई “म तपाईंलाई भरोसा गर्छु: तपाईं त्यो व्यक्तिबारे के सोच्‍नुहुन्छ?” भनेर सोध्छ रे। अनि तैँले “त्यो मान्छे ठिकै छ” भनेर भन्छस्। उसले फेरि सोध्छ, “के तपाईं अझै विस्तृतमा बताउन सक्‍नुहुन्छ?” अनि तैँले भन्छस्, “त्यो व्यक्ति शिष्ट छ, ऊ आफ्नो कर्तव्य निभाउँदा मूल्य चुकाउन इच्छुक हुन्छ, र ऊ मानिसहरूसित राम्ररी घुलमिल हुन्छ।” के यी कुराहरूको कुनै व्यावहारिक प्रमाण छ? के यी भनाइहरू त्यो व्यक्तिको चरित्रको प्रमाण हुन काफी छन्? छैनन्। त्यसोभए, के तँ भरोसायोग्य छस् त? (छैनँ।) यी तिनै भनाइहरूमा कुनै विषयविशेष विवरण समावेश छैन, यी त केवल सबैलाई भनिने, खोक्रा र झाराटारूवा शब्दहरू मात्र हुन्। यदि तैँले भर्खरै त्यो व्यक्तिलाई भटेर उसको रूपरङ्गको आधारमा ऊ ठिकै छ भनेर भनेको थिइस् भने, त्यो सामान्य कुरा हुन्थ्यो होला। तर तँ त्यो व्यक्तिसँग केही समयदेखि नै सम्पर्कमा थिइस्, त्यसैले तैँले त्यो व्यक्तिबारे केही सारगत समस्याहरू पत्ता लगाउन सक्नुपर्थ्यो। मानिसहरूले त्यो व्यक्तिबारे तेरो हृदयमा कस्तो लेखाजोखा र दृष्टिकोण छ भनेर सुन्‍न चाहन्छन्, तर तैँले वास्तविक, वा आलोचनात्मक, वा मूलभूत कुरा केही पनि भन्दैनस्, त्यसकारण मानिसहरूले तँलाई भरोसा गर्नेछैनन्, र तँसँग अबउप्रान्त कुनै अन्तरक्रिया गर्न चाहनेछैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ

ख्रीष्टविरोधीहरूको मानवता बेइमान हुन्छ, जसको अर्थ तिनीहरू अलिकति पनि सत्यवादी हुँदैनन्। तिनीहरूले भन्ने र गर्ने हरेक कुरा अशुद्ध हुन्छन् र ती तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूद्वारा दूषित भएका हुन्छन्, र यसमा तिनीहरूका अव्यक्त, अकथनीय चालहरू, विधिहरू, उद्देश्यहरू र षड्यन्त्रहरू लुकेका हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूका बोलीवचन र कार्यहरू अत्यन्तै धेरै दूषित र झूटहरूद्वारा अत्यन्तै धेरै भरिएका हुन्छन्। तिनीहरूले जति धेरै बोले पनि, तिनीहरूका शब्दहरूमध्ये कुन साँचो, कुन झूटो, कुन सही, र कुन गलत हुन् भनी थाहा पाउन असम्भव हुन्छ। तिनीहरू बेइमान भएका हुनाले तिनीहरूका मन अत्यन्तै जटिल, षड्यन्त्रपूर्ण युक्तिहरूले भरिएका र चलाकीपनले गाँजिएका हुन्छन्। तिनीहरूले भन्ने कुनै कुरा पनि सीधा र स्पष्ट हुँदैन। तिनीहरूले एकलाई एक, दुईलाई दुई, होलाई हो अनि होइनलाई होइन भन्दैनन्। त्यसको साटो, तिनीहरू सबै मामलाहरूमा घुमाउरो कुरा गर्छन् र परिणामहरूको बारेमा परिकल्पना गर्दै र हरेक कोणबाट गुण र दोष तौलँदै मनमस्तिष्कमा कामको बारेमा थुप्रैपटक विचारविमर्श गर्छन्। त्यसपछि, तिनीहरूले आफ्नो भाषाले यसरी कामकुरालाई हेरफेर गर्छन् कि तिनीहरूले भन्ने हरेक कुरा भद्दा सुनिन्छ। इमान्दार मानिसहरूले तिनीहरूले भन्ने कुरा कहिल्यै बुझ्दैनन् अनि सजिलै तिनीहरूको धोका र छलमा पर्छन्, अनि त्यस्ता मानिसहरूसित बोल्ने र कुराकानी गर्ने जोकोहीले पनि आफ्नो अनुभव पट्यारलाग्दो र कठिन पाउँछन्। तिनीहरूले कहिल्यै एकलाई एक, दुईलाई दुई भन्दैनन्, तिनीहरूले कहिल्यै आफूले के सोचिरहेको छु भनेर भन्दैनन्, अनि तिनीहरूले कहिल्यै कामकुरा जस्तो छ, त्यस्तै बयान गर्दैनन्। तिनीहरूले भन्ने हरेक कुरा खोतल्नै नसकिने हुन्छ, अनि तिनीहरूका कामहरूका लक्ष्य र अभिप्रायहरू धेरै नै जटिल हुन्छन्। यदि यो पर्दा हट्यो भने—यदि अरू मानिसहरूले तिनीहरूको वास्तविक रूप देखे, र तिनीहरूलाई समाते भने—कुरो घुमाउनलाई तिनीहरूले तुरुन्तै अर्को झूट सिर्जना गर्छन्। यस प्रकारको मानिसले बारम्बार झूट बोलिरहन्छ, र झूट् बोलिसकेपछि, त्यो झूट्लाई कायम गराउन त्यस्ता मानिसहरूले थप झूट्हरू बोल्नुपर्ने हुन्छ। तिनीहरूले आफ्ना अभिप्राय लुकाउन अरूलाई धोका दिन्छन्, र आफूले बोलेका झूट्हरूको समर्थनमा हरप्रकारका बहाना र स्पष्टीकरणहरू कथ्छन्, ताकि कुन कुरा साँचो हो र कुनचाहिँ साँचो होइन भनेर छुट्याउन मानिसहरूलाई कठिन होस्, र यसले गर्दा, तिनीहरूले कहिले साँचो बोलिरहेका छन् भन्‍ने कुरा मानसिहरूलाई थाहै हुँदैन, तिनीहरूले कहिले झूट बोलिरहेका हुन्छन् भनी जान्‍ने त कुरै भएन। जब तिनीहरूले झूट बोल्छन्, तिनीहरू लाज मान्दैनन् वा हिचकिचाउँदैनन्, मानौँ तिनीहरूले सत्यता नै बोलिरहेका छन्। के यसको अर्थ, झूटो बोल्नु तिनीहरूको स्वभाव नै भएको छ भन्‍ने होइन र? उदाहरणको लागि, कहिलेकाहीँ ख्रीष्टविरोधीहरू बाहिरबाट अरूप्रति असल, तिनीहरूप्रति विचारशील, आफ्नो बोलीमा दयालु हुन्छन्, जुन सुन्नमा मीठो र मार्मिक लाग्छ। तर तिनीहरूले यसरी बोले पनि, तिनीहरू इमान्दार हुन् कि होइनन् भनी कसैले बताउन सक्दैन, र केही दिनपछि कुनै घटना घटेर तिनीहरू इमान्दार थिए कि थिएनन् भनी खुलासा हुन्जेलसम्म सधैँ पर्खनुपर्छ। ख्रीष्टविरोधीहरू सधैँ केही निश्‍चित अभिप्रायहरू लिएर बोल्छन्, तर तिनीहरू वास्तवमा कुन कुराको पछाडि लागेका छन् भनी कसैले बताउन सक्दैन। त्यस्ता मानिसहरू आदती ढँटुवा हुन् र तिनीहरूले आफ्ना झूट्हरूका के परिणाम हुन्छन् भनी विचारै गर्दैनन्। जहिलेसम्म तिनीहरूको झूट्ले तिनीहरूलाई फाइदा दिन्छ र अरूलाई धोका दिन सक्छ, जहिलेसम्म त्यसले आफ्नो लक्ष्य हासिल गर्न सक्छ, तबसम्म परिणामहरू जेसुकै हुन् तिनीहरूले केही मतलब गर्दैनन्। तिनीहरूको खुलासा हुनेबित्तिकै तिनिहरूले निरन्तर ढाकछोप गर्ने, झूटो बोल्ने र छल्ने काम गरिरहन्छन्। यी मानिसहरूको अरूसित अन्तरक्रिया गर्ने सिद्धान्त र विधि यही हो, झूटहरूद्वारा मानिसहरूलाई छल्ने उपाय। तिनीहरू दुई-जिब्रे हुन्छन् अनि आफ्ना श्रोताहरूसित अनुकूल हुने गरी बोल्छन्; परिस्थितिले जस्तो भूमिका माग गर्दछ, तिनीहरूले त्यही भूमिका निर्वाह गर्दछन्। तिनीहरू चाप्लुसीपूर्ण र धूर्त हुन्छन्, तिनीहरूका मुख झूटहरूले भरिएका हुन्छन् अनि तिनीहरू भरोसा गर्न नसकिने किसिमका हुन्छन्। तिनीहरूसित थोरै समय सम्पर्कमा हुनेहरू धोकामा पर्दै जान्छन् वा व्याकुल हुँदै जान्छन् अनि तिनीहरूले कुनै रसद, सहायता वा सुधार प्राप्त गर्न सक्दैनन्। त्यस्ता मानिसहरूका मुखबाट निस्कने वचनहरू अप्रिय वा राम्रो, तर्कसङ्गत वा हास्यास्पद, अथवा मानवतासित मेल वा बेमेलमा रहेको, अशिष्ट वा सभ्य जे-जस्तो भए पनि, ती सबै नै अपरिहार्य रूपले मिथ्या, असत्य, र झूट हुन्छन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभावको सारको सारांश (भाग एक)

म ढाँट्नुका दुइटा उदाहरणहरू दिन्छु। ढाँट्न सक्ने मानिसहरू दुई प्रकारका हुन्छन्। तिमीहरूले कुन मानिसहरू हठी र छुटकारा दिन नसकिने हुन्छन् भनेर छुट्याउनु आवश्यक हुन्छ। तिमीहरूले कुन मानिसहरूलाई मुक्ति दिन सकिन्छ भनेर छुट्याउनु पनि आवश्यक हुन्छ। मुक्ति दिन सकिनेहरूले प्रायः भ्रष्टता प्रकट गरे पनि, जबसम्म तिनीहरूले सत्यता स्विकार्न र आत्मचिन्तन गर्न अनि आफैलाई चिन्न सक्छन्, तबसम्म आशा हुन्छ। पहिलो उदाहरणमा, एक व्यक्ति छ जो बारम्बार ढाँट्थ्यो। तर सत्यता बुझेपछि अर्कोपटक ढाँट्दा, उसको प्रतिक्रिया फरक भयो। उसले गहिरो पीडा र वेदना महसुस गऱ्यो, र सोच्यो, “मैले फेरि झूट बोलेँ। म किन परिवर्तित हुन सक्दिनँ? यसपटक, जे भए पनि, मैले यो कुरा खुलासा गर्नैपर्छ, आफ्नो वास्तविक रूप पर्दाफास र विश्‍लेषण गर्न आफैलाई खुलस्त पार्नैपर्छ। मैले आफ्नो इज्जत जोगाउन ढाँटेको हुँ भन्ने तथ्यमा म स्पष्ट हुन आवश्यक छ।” खुलस्त भएर सङ्गति गरेपछि, उसले सहज महसुस गऱ्यो र बुझ्यो, “यो झूट निकै पीडादायी हुँदो रहेछ, जबकि इमानदार बन्‍नु कति आरामदायी र गजब हुँदो रहेछ! परमेश्‍वरले मानिसहरूलाई इमानदार हुनैपर्ने मापदण्ड दिनुभएको छ; मानिसहरूमा यही रूप हुनुपर्छ।” यस्तो असल स्थिति अलिअलि अनुभव गरेपछि, त्यसउप्रान्त ऊ कम ढाँट्ने, सकेसम्म नढाँट्ने, भन्नुपर्ने कुराहुरू हुँदा भन्ने, इमानदारीसाथ बोल्ने, इमानदार कार्य गर्ने र इमानदार व्यक्ति बन्नेबारे सचेत भयो। तर उसले आफ्नो गर्वसँग सम्बन्धित परिस्थिति सामना गर्नुपर्दा, स्वतः ढाँट्यो र पछि पछुतायो। त्यसपछि, उसले आफूलाई राम्रो देखाउन सक्ने स्थितिमा हुँदा, फेरि पनि ढाँट्यो। उसले यस्तो सोच्दै भित्रभित्रै आफैलाई घृणा गऱ्यो, “म किन आफ्नो मुख नियन्त्रण गर्न सक्दिनँ? के यो मेरो प्रकृतिको समस्या हुन सक्छ? के म अति छली छु?” उसले यो समस्या समाधान गरिनैपर्छ; अन्यथा, परमेश्‍वरले उसलाई तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ भनी महसुस गऱ्यो। उसले परमेश्‍वरलाई प्रार्थना गऱ्यो, र उसले फेरि ढाँटेमा उसलाई अनुशासनमा राख्‍न आग्रह गऱ्यो, र ऊ दण्ड स्विकार्न इच्छुक भयो। उसले भेलाहरूमा आफूलाई चिरफार गर्ने साहस जुटायो, र भन्यो, “मैले यी परिस्थितिहरूमा ढाँटे, किनकि मेरो मनसाय स्वार्थी थियो र म आफ्नो अभिप्रायद्वारा नियन्त्रित थिएँ। मैले आत्मचिन्तन गर्दा, के महसुस गरेँ भने, मैले हरेकपटक ढाँट्दा, त्यो आडम्बर वा मेरो व्यक्तिगत लाभको लागि थियो। मलाई अहिले स्पष्ट भयो: म मेरो घमण्ड र व्यक्तिगत हितहरूको लागि जिउँदो रहेछु, र त्यसले नै मलाई हरक्षण र हरकुरामा ढाँट्ने तुल्यायो।” आफ्नो झुटको विश्‍लेषण गर्दा, उसले आफ्नो अभिप्राय पनि खुलासा गऱ्यो र आफ्नो भ्रष्ट स्वभावको समस्या पनि पत्ता लगायो। यो त दोहोरो फाइदा हुने अवस्था हो; एकातिर उसले इमानदार व्यक्ति बन्ने अभ्यास गर्न सक्छ र सोही समयमा उसले अन्तर्दृष्टि प्राप्त गर्न र आफ्नो भ्रष्ट स्वभाव चिन्न पनि सक्छ। पछि, उसले मनन गऱ्यो, “म परिवर्तित हुनु आवश्यक छ! मेरो यो समस्या छ भनेर मैले भर्खरै पत्ता लगाएँ। यो परमेश्‍वरबाट आएको साँचो अन्तर्दृष्टि हो। सत्यता अभ्यास गर्ने मानिसहरू परमेश्‍वरद्वारा आशिषित हुन्छन्!” उसले सत्यता अभ्यासको मीठो स्वाद पनि अनुभव गऱ्यो। तर एक दिन त्यो व्यक्तिले अनजानमा फेरि ढाँट्यो। उसले परमेश्‍वरको ताडना माग्दै, फेरि एकपटक उहाँलाई प्रार्थना गऱ्यो। यसका साथै, उसले ऊ बोल्दा किन उसँग सधैँ गुप्त अभिप्राय हुन्छ, र उसले किन सधैँ परमेश्‍वरका अभिप्रायको सट्टा आफ्नै आडम्बर र घमण्डलाई ध्यान दिन्छ भन्ने कुरामा विचार गऱ्यो। चिन्तन गरेपछि, उसले आफ्नो भ्रष्ट स्वभावबारे केही बुझ्यो र आफैलाई घृणा गर्न थाल्यो। उसले यसरी सत्यता खोज्‍न र पछ्याउन जारी राख्यो। तीनदेखि पाँच वर्षपछि, उसका झूटहरू साँच्चै कमकम हुँदै गए, र उसले सोचेकै कुरा बोल्ने र इमानदारीपूर्वक व्यवहार गर्ने क्रम बढेर गयो। उसको हृदय बिस्तारै शुद्ध भयो र अझ बढी शान्त र आनन्दित भयो। उसले परमेश्‍वरको उपस्थितिमा अझ बढी समय बिताउँदै गयो र उसको स्थिति अझ बढी सामान्य भयो। यो भनेको इमानदार बन्ने अनुभव गर्दैगर्दा व्यक्तिले बारम्बार ढाँटेको वास्तविक स्थिति हो। त्यसोभए, के अब यो व्यक्तिले अझै पनि ढाँट्छ? के ऊ अझै पनि ढाँट्न सक्षम हुन्छ? के ऊ साँच्चै इमानदार व्यक्ति हो? ऊ इमानदार व्यक्ति नै हो भनेरचाहिँ भन्न सकिँदैन। के मात्र भन्‍न सकिन्छ भने, उसले इमानदार व्यक्ति हुने सत्यता अभ्यास गर्न सक्छ र ऊ इमानदार व्यक्ति हुने अभ्यास गर्ने प्रक्रियामा छ, तर अझै पनि ऊ पूर्ण रूपमा इमानदार व्यक्तिमा रूपान्तरित भएको छैन। अर्को शब्दमा भन्दा, यो व्यक्ति सत्यता अभ्यास गर्न इच्छुक व्यक्ति हो। के सत्यता अभ्यास गर्न इच्छुक व्यक्तिलाई सत्यता प्रेम गर्ने व्यक्ति भनेर भन्न सकिन्छ? उसले सत्यता अभ्यास गरेको छ र तथ्यहरू खुलासा भइसकेका छन्, त्यसैले के उसलाई सत्यता प्रेम गर्ने व्यक्ति भनेर परिभाषित गर्नु स्वाभाविक होइन र? निस्सन्देह नै, उसले इमानदार व्यक्ति बन्ने अभ्यास गर्दैगर्दा, ऊ तुरुन्तै शुद्ध र खुलस्त सङ्गति अभ्यास गर्न वा केही नलुकाई आफूभित्र भएका सबै कुराहरू खुलासा गर्न सक्षम भएन। उसले अझै पनि केही कुराहरू लुकायो र सावधानीपूर्वक अगाडि बढ्ने प्रयास गऱ्यो। यद्यपि, आफ्नो प्रयास र अनुभवहरूमार्फत, उसले के महसुस गर्‍यो भने, जतिजति इमानदारीपूर्वक बाँच्यो, त्यतित्यति नै राम्रो महसुस हुने रहेछ, त्यतित्यति नै मनको शान्ति, त्यतित्यति नै सत्यता अभ्यास गर्न अझ सजिलो, अनि कुनै ठूलो कठिनाइ नहुने रहेछ। तब मात्र उसले इमानदार व्यक्ति हुनुको मिठास चाख्यो र उसको परमेश्‍वरमाथिको विश्‍वास बढ्यो। इमानदार व्यक्ति हुनु भनेको के हो, त्यो अनुभव गरेर, ऊ सत्यता अभ्यास मात्र गर्न सक्षम हुँदैन, उसले हृदयमा शान्ति र आनन्द पनि अनुभव गर्छ। साथमा उसले इमानदारिता अभ्यास गर्ने मार्गको अझ स्पष्ट बुझाइ हासिल गर्छ। उसलाई इमानदार व्यक्ति बन्न धेरै गाह्रो हुँदैन रहेछ भन्ने अनुभूति हुन्छ। उसले मानिसहरूको लागि परमेश्‍वरका मापदण्डहरू व्यावहारिक र प्राप्य छन् भनेर देख्छ, र परमेश्‍वरको कामको केही बुझाइ पनि हासिल गर्छ। यो सबै कुनै अतिरिक्त लाभ होइन, बरु, यो त व्यक्तिले आफ्नो जीवन प्रवेशको यात्रामा हासिल गर्नुपर्ने कुरा हो, र तिनीहरू यो सब हासिल गर्न सक्षम हुन्छन्।

दोस्रो उदाहरण ढाँट्न मन पराउने व्यक्तिको बारेमा छ—यो उसको प्रकृतिमै हुन्छ। ऊ नबोल्दा ठिकै हुन्छ, तर मुख खोल्नेबित्तिकै उसको बोलीमा धेरै दूषित कुराहरू भरिन्छ। चाहे उसले यो जानाजानी गरोस् वा नगरोस्, छोटकरीमा भन्दा, उसले भनेका अधिकांश कुराहरू विश्‍वास गर्न सकिँदैन। एक दिन, झूट बोलेपछि, उसले सोच्न थाल्यो, “झूट बोल्नु गलत हो र यसले परमेश्‍वरलाई असन्तुष्ट बनाउँछ। मैले झूट बोलेको कुरा मानिसहरूले थाहा पाए भने म बदनाम हुनेछु! तर मैले झूट बोलेको कसैले थाहा पाएजस्तो छ। खैर, म यसलाई सजिलै व्यवस्थापन गर्न सक्छु। म अर्को विषय खोज्नेछु, र विभिन्न शब्दहरू प्रयोग गर्दै तिनीहरूको सतर्कता कम गर्नेछु, तिनीहरूलाई बहकाउनेछु, र मेरा झूटहरू देख्न असमर्थ तुल्याउनेछु। के त्यो झन् ठूलो चलाखी होइन र?” अनि उसले आफ्नो अघिल्लो झूट ढाकछोप गर्न र प्वालहरू टालटुल पार्न झन् ठूलो झूट बोल्यो, र सफलतापूर्वक मानिसहरूलाई बहकायो। उसले मक्ख पर्दै र आत्मसन्तुष्ट महसुस गर्दै, यस्तो सोच्यो, “हेर् म कति चलाख छु! मैले कुनै भुलबिना झूट बोलेँ, र यदि केही भुल भएछन् भने पनि, म ढाकछोप गर्न फेरि झूट बोल्न सक्छु। धेरै मानिसहरूले त्यो देख्नै सक्दैनन्। झूट बोल्न सीप चाहिन्छ!” कतिपय मानिसहरू भन्छन्, “झूट बोल्नु गाह्रो काम हो। एउटा झुट बोलिसकेपछि ढाकछोप गर्न अरू धेरै झुट बोल्नुपर्छ। यसको लागि धेरै सोच र प्रयास चाहिन्छ।” यद्यपि, यो निपुण ढँटुवाले त्यस्तो महसुस गरेन। त्यो क्षण, उसको झूट खुलासा भएन। अरूलाई धोका दिन उसले सफलतापूर्वक झूट बोल्यो, त्यसपछि जब उसलाई खुलासा हुने डर भयो, उसले अघिल्लो झूट ढाक्न फेरि अर्को झूट बोल्यो। उसले गर्व महसुस गऱ्यो, र उसलाई हृदयमा कुनै ग्लानि वा आत्मनिन्दा महसुस भएन। उसको विवेकमा अलिकति पनि असर परेन। यो कसरी सम्भव हुन्छ? उसलाई झूट बोल्नु आफ्नो लागि कति हानिकारक हुन्छ भन्ने थाहै छैन। ऊ अघिल्लो झूटहरू ढाक्नहेतु अर्को झूट प्रयोग गर्दा उसलाई आफ्नो छवि सुधार्ने र फाइदाहरू प्राप्त गर्न मदत मिल्छ भन्ने विश्‍वास गर्छ। कठिनाइ र थकानको बावजूद, ऊ यसो गर्नु सार्थक हुन्छ भन्ने सोच्छ। यसो गर्नु उसलाई सत्यता बुझ्नु र अभ्यास गर्नुभन्दा मूल्यवान लाग्छ। किन ऊ ग्लानि महसुस नगरी बारम्बार झूट बोल्छ? किनभने उसको हृदयमा सत्यताप्रति प्रेम नै हुँदैन। ऊ आफ्नो आडम्बर, प्रतिष्ठा र हैसियतलाई महत्त्व दिन्छ। उसले अरूसँगको सङ्गतिमा आफ्नो हृदय कहिल्यै खोल्दैन; बरु, ऊ आफ्नो झूट लुकाउन झूटो रूप र ढोंग प्रयोग गर्छ। उसले यसरी नै मानिसहरूसँग अन्तरक्रिया र उठबस गर्छ। उसले जति नै झूट बोले पनि, जति नै ढाकछोप गरे पनि, वा जति नै स्वार्थी र तुच्छ अभिप्राय लुकाएर राखे पनि, आफ्नो हृदयमा कुनै असहजता वा ग्लानि महसुस गर्दैन। सामान्यतया, अलिअलि विवेक र अलिअलि मानवता भएका मानिसहरूले झूट बोल्दा अप्ठ्यारो महसुस गर्छन्, र तिनीहरूलाई आफ्नो मन बुझाउन एकदमै गाह्रो हुन्छ। तिनीहरूमा लज्जाको भावना हुन्छ; तर यो व्यक्तिले यसरी सोच्दैन। उसले झूट बोलेपछि, आत्मसन्तुष्टि महसुस गर्दै भन्छ, “मैले आज अर्को झूट बोलेर त्यस पाजीलाई मुर्ख बनाएँ। मलाई निकै असहज भइरहेको थियो, तर त्यसले यादै गरेन!” के ऊ यो लगातार झुट बोल्ने र झुट ढाक्ने जीवनबाट थाकेका छैन? यो कस्तो प्रकृति हो? यो दियाबलसको प्रकृति हो। दियाबलसहरू हरेक दिन झूट बोल्छन्। तिनीहरू कुनै असहजता वा पीडाको भावनाबिना झूटको जीवन जिउँछन्। यदि तिनीहरूले असहजता वा पीडा महसुस गर्थे भने परिवर्तन हुन्थे होला, तर तिनीहरूले पीडा महसुस गर्नै सक्दैनन् किनभने झूट नै तिनीहरूको जीवन हो—यो तिनीहरूको प्रकृतिमै हुन्छ। जब तिनीहरूले आफूलाई प्राकृतिक रूपमै व्यक्त गर्छन्, तिनीहरूले कुनै संयम देखाउँदैनन् र कुनै आत्मचिन्तन गर्दैनन्। तिनीहरूले जतिसुकै ढाँटे पनि वा धोका दिए पनि आफ्नो हृदयमा कुनै ग्लानि महसुस गर्दैनन्, र तिनीहरूको विवेक कति पनि पिरोलिँदैन्। तिनीहरू परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइको छानबिन गर्नुहुन्छ भनेर अनजान हुन्छन्; तिनीहरूले झूट बोलेर छलपूर्ण व्यवहार गरेपछि आफूमाथि उत्पन्‍न हुने जिम्मेवारी र आफूमाथि आइपर्ने प्रतिशोध महसुस गर्नै सक्दैनन्। तिनीहरूको सबैभन्दा ठूलो डर भनेको कसैले तिनीहरूको छली योजनाहरू खुलासा गरिदेला कि भन्ने हो, त्यसैले तिनीहरू ती छली योजनाहरू ढाक्नको लागि झन् धेरै झूट बोल्छन्, र साथमा तिनीहरू आफ्नो झूट र आफ्नो वास्तविक रूप लुकाउने कुनै न कुनै तरिका र माध्यम खोज्‍न थाकुन्जेल लागिपर्छन्। के यस्तो व्यक्तिले यो पूरै प्रक्रियाको दौरान पश्‍चात्ताप गरेको हुन्छ? के उसले कुनै दोष वा दुःख महसुस गर्छ? के उसमा आफूलाई परिवर्तन गर्ने इच्छा हुन्छ? हुँदैन। ऊ झूट बोल्नु वा झूट ढाक्नु पाप होइन, र अधिकांश मानिसहरू यसरी नै जिउँछन् भन्ने सोच्छ, र उसमा बदलिने कुनै अभिप्राय हुँदैन। जहाँसम्म इमानदार व्यक्ति बन्‍ने कुरा छ, ऊ हृदयमा यस्तो सोच्छ, “मैले किन इमानदार व्यक्ति बन्नुपर्ने, किन हृदयबाटै र किन सत्य बोल्नुपर्ने? म त्यसो गर्दिनँ। त्यो मूर्खहरूको लागि हो र म त्यस्तो मूर्ख छैन। यदि मैले झूट बोलेँ र खुलासा हुने डर लाग्यो भने, त्यसलाई ढाक्न अन्य कारण र बहानाहरू फेला पार्नेछु। म इमानदारीपूर्वक बोल्न सक्ने मान्छे होइन। यदि त्यसरी बोलेँ भने त, म पूरै बेवकूफ हुनेछु!” उसले सत्यता स्वीकार वा अनुमोदन गर्दैन। अनि, सत्यता नस्विकार्ने मानिसहरूले सत्यतालाई प्रेम गर्न सक्दैनन्। यस्तो व्यक्तिको सुरुदेखि अन्त्यसम्मको स्थिति कस्तो हुन्छ? (ऊ आफूलाई परिवर्तन गर्न इच्छुक हुँदैन।) परिस्थिति नबदल्ने उसको इच्छा त वस्तुगत दृष्टिकोणबाट हेर्दा स्पष्ट हुन्छ, तर उसको वास्तविक स्थितिचाहिँ कस्तो हुन्छ? ऊ इमानदार व्यक्ति हुनु जीवनको सही मार्ग हो भनेर आधारभूत रूपमै इन्कार गर्ने खालको हुन्छ। उसले सत्यताको अस्तित्व इन्कार गर्छ, र आखिरी दिनहरूमा परमेश्‍वरले मानवजातिको न्याय गर्नुहुन्छ, मानिसको अन्तिम परिणाम निर्धारण गर्नुहुन्छ र व्यक्तिको कार्यको निम्ति ऊमाथि व्यक्तिगत प्रतिशोध लिनुहुन्छ भन्ने कुरा पनि इन्कार गर्छ। यसो गर्नु अविवेकी, मूर्ख र जिद्दी हुनु हो। यस्तो सोचले उसको हठी स्थिति, कार्य र व्यवहारहरू उत्पन्न गराउँछ। यी कुराहरू व्यक्तिको प्रकृति सारबाट आउँछन्। ऊ यस्तै व्यक्ति हो—साँच्चै छली व्यक्ति हो—र ऊ परिवर्तित हुन सक्दैन। केही मानिसहरूलाई त्यस्तो व्यक्तिले सत्यता स्विकार्न नमानेको र सत्यता नबुझेको देख्दा अचम्‍म लाग्न सक्छ। वास्तवमा, यस्ता मानिसहरूमा सामान्य मानवताको कमी हुन्छ र तिनीहरूको विवेकले काम गरिरहेको हुँदैन। यसबाहेक, तिनीहरूमा सामान्य मानवताको समझ हुँदैन। सत्यता र न्यायका वचनहरू सुन्दा, सामान्य मानवता र समझ भएको व्यक्तिले कम्तीमा आत्मचिन्तन र साँचो पश्‍चात्ताप गर्छ, तर यो व्यक्तिले साँचो मार्गको कुरा सुनेपछि कुनै प्रतिक्रिया जनाउँदैन। ऊ परमेश्‍वरमाथिको आफ्नो वर्षौंको विश्‍वास कति पनि नबदली, अझै शैतानी दर्शनअनुसार जीवन जिउनमै जोड दिन्छ। यस्तो व्यक्तिमा सामान्य मानवताको समझ हुँदैन, र यस्तो व्यक्तिले मुक्ति पाउन गाह्रो हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो

मानिसहरूले इमानदार बन्‍ने अभ्यास गर्दा विभिन्‍न समस्याहरू देखा पर्छन्। कहिलेकहीँ तिनीहरू सोच्दै नसोची बोल्छन्, केही क्षण चिप्लन्छन् र गलत अभिप्राय वा उद्देश्य, वा अभिमान र घमण्डद्वारा वशिभूत भएर तिनीहरूले झूट बोल्छन्, र त्यसको परिणामस्वरूप त्यसलाई लुकाउन तिनीहरूले झन्झन् धेरै झूट बोल्‍नुपर्छ। अनि अन्त्यमा, तिनीहरूलाई हृदयभित्र सहज महसुस हुँदैन तर तिनीहरूले ती झूटलाई फिर्ता लिन सक्दैनन्, तिनीहरूसँग आफ्‍नो गल्ती सुधार गर्ने, आफूले झूट बोलेँ भनेर स्विकार्ने साहस हुँदैन, र यसरी तिनीहरूको गल्तीले निरन्तरता पाइरहन्छ। यसपछि, तिनीहरूको अवस्था सधैँ नै हृदयलाई ढुङ्गाले थिचिरहेको जस्तै हुन्छ; तिनीहरू सधैँ दोषरहित हुने, गल्ती स्वीकार गरी पश्‍चात्ताप गर्ने मौका पाउन चाहन्छन्, तर तिनीहरूले कहिल्यै पनि यसलाई व्यवहारमा लागु गर्दैनन्। अन्ततः, तिनीहरूले यसबारेमा विचार गरेर आफैलाई भन्छन्, “म भविष्यमा आफ्‍नो कर्तव्य पूरा गर्दा यसको पूर्ति गर्नेछु।” तिनीहरूले सधैँ पूर्ति गर्नेछु भनी भन्छन्, तर कहिल्यै त्यसो गर्दैनन्। यो कुरा झूट बोलेपछि क्षमा मात्र माग्‍नुजत्तिको सरल छैन—के तैँले झूट बोल्नु र छली कार्यमा संगल्‍न हुनुका हानि र दुष्‍परिणामहरू पूर्ति गर्न सक्छस्? यदि, ठूलो आत्मघृणाले गर्दा, तैँले पश्‍चात्ताप अभ्यास गर्न सक्छस्, र त्यस्तो कुरा फेरि कहिल्यै गर्दैनस् भने, तैँले परमेश्‍वरको सहनशीलता र कृपा प्राप्त गर्न सक्छस्। यदि तैँले मिठा कुरा गरेर आफ्ना झूटहरूको पूर्ति भविष्यमा गर्नेछु भनी भन्छस्, तर साँचो रूपमा पश्‍चात्ताप गर्दैनस्, र त्यसपछि झूट बोल्‍ने र छल्‍ने कार्य जारी राख्छस् भने, तैँले अत्यन्तै जिद्दी भई पश्‍चात्ताप गर्न इन्कार गर्दैछस्, र तँलाई अवश्य नै हटाइनेछ। विवेक र समझ भएका मानिसहरूले यो कुरालाई पहिचान गर्नुपर्छ। झूट बोलेपछि र छली कार्यमा संलग्‍न भएपछि, सुधार गर्नेबारेमा मात्रै विचार गर्नु पर्‍याप्त हुँदैन; तैँले साँचो रूपमा पश्‍चात्ताप गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तँ इमानदार बन्‍न चाहन्छस् भने, तैँले झूट बोल्‍ने र छल्‍ने समस्या समाधान गर्नैपर्छ। तैँले सत्य बोल्नैपर्छ, र व्यावहारिक काम गर्नैपर्छ। सत्य बोल्दा, कहिलेकाहीँ त्यसको परिणामस्वरूप तैँले इज्‍जत गुमाउन सक्छस्, र तँलाई निराकरण गरिन सक्छ, तर त्यसो गरेर तैँले सत्यता अभ्यास गरेको हुनेछस्, र त्यसरी त्यो एउटै घटनामा परमेश्‍वरको आज्ञापालन गर्नु र उहाँलाई सन्तुष्ट पार्नु पनि सार्थक नै हुनेछ, र त्यो तँलाई सान्त्वाना दिलाउने कुरा नै हुनेछ। जे भए पनि, आफ्नो बचाउ गर्ने वा आफूलाई निर्दोष साबित गर्ने प्रयास नगरी, तँ आखिरमा इमानदार बन्ने अभ्यास गर्न सक्षम भएको हुनेछस्, तैँले आखिरमा आफ्नो हृदयको कुरा बताउन सक्षसम भएको हुनेछस्, र यही नै साँचो वृद्धि हो। तँलाई निराकरण गरिए पनि वा प्रतिस्थापन गरिए पनि, तैँले आफ्नो हृदयमा स्थिर महसुस गर्नेछस्, किनभने तैँले झूट बोलिनस्; अनि, तैँले आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको हुनाले, तँलाई निराकरण गरिनु, र तैँले त्यसको जिम्‍मेवारी लिनुपर्ने हुनु सही कुरा थियो भन्‍ने महसुस गर्नेछस्। यो सकारात्मक मानसिक स्थिति हो। तर तँ छली कार्यमा संलग्‍न भइस् भने, यसबाट के-कस्ता परिणामहरू आउनेछन्? तँ छली कार्यमा संलग्‍न भएपछि, तँलाई हृदयमा कस्तो महसुस हुनेछ? असहज; तैँले सधैँ आफ्‍नो हृदयमा ग्‍लानि र भ्रष्टता रहेको अनुभव गर्नेछस्, तँलाई सधैँ दोषी महसुस हुनेछ: “म कसरी झूट बोल्‍न सकेँ? म फेरि पनि कसरी छली कार्यमा संलग्‍न हुन सकेँ? म किन यस्तो छु?” तँलाई आफ्‍नो शिर ठाडो पारेर हिँड्न नसकिएला जस्तो र परमेश्‍वरको सामना गर्दा सरमले मरिएला जस्तो महसुस हनेछ। खास गरी, जब मानिसहरूले परमेश्‍वरको आशिष्‌ पाउँछन्, जब तिनीहरूले परमेश्‍वरको अनुग्रह, करुणा र सहनशीलता प्राप्त गर्छन्, तब तिनीहरू परमेश्‍वरलाई धोका दिनु लाजमर्दो कुरा भएको अझ बढी महसुस गर्छन्, र तिनीहरूलाई हृदयभित्र निकै धिक्‍कार लाग्छ, तर शान्ति वा आनन्द भने एकदमै कम मात्र महसुस हुन्छ। यसले के-कस्तो समस्या प्रदर्शित गर्छ? यो कि, मानिसहरूलाई छल्नु भनेको भ्रष्ट स्वभाव प्रकट हुनु हो, यो परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गर्नु हो, र त्यसैले यसले तँलाई पीडा दिनेछ। जब तैँले झूट बोल्छस् र छल्छस्, तँलाई आफूले एकदमै बठ्याइँपूर्वक र चलाखीसाथ बोलेँ, र आफ्नो छलको एउटा सानो सुराक पनि छोडिनँ भन्‍ने लाग्‍न सक्छ—तर पछि गएर तँलाई धिक्‍कार लाग्नेछ र दोषी महसुस हुनेछ, र त्यसले तँलाई जिन्दगीभर पछ्याउनसमेत सक्‍नेछ। यदि तँ अभिप्राय राखेर र जानीबुझी नै झूट बोल्छस् र छल्छस्, अनि एउटा यस्तो दिन आउँछ, जुन दिन तँलाई यसको गम्भीरता महसुस हुन्छ भने, यसले तेरो हृदय छुरीले घोपेजस्तो गरी घोप्‍नेछ, र तँ सधैँ यसलाई सुधार्न पाए पनि हुन्थ्यो भनेर मौका खोजिरहेको हुनेछस्। अनि तैँले गर्नुपर्ने पनि त्यही हो, होइन भने तँसँग कुनै विवेक नै छैन, र तैँले कहिल्यै पनि आफ्नो विवेकअनुसार जिएको छैनस्, र तँमा कुनै मानवता छैन, र तँसित कुनै चरित्र वा मर्यादा पनि छैन। यदि तँसित अलिकति चरित्र वा मर्यादा, अनि विवेकको केही सचेतना छ भने, जब तँलाई आफू झूट बोलिरहेको र छली कार्यमा संलग्‍न भइरहेको छु भन्‍ने महसुस हुन्छ, तब तँलाई आफ्नो यो व्यवहार लाजमर्दो, अपमानजनक र तुच्छ लाग्‍नेछ; अनि तैँले आफूले आफैलाई घृणा र तिरस्‍कार गर्नेछस्, र झूट र छलको मार्ग छोड्‍नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ

इमानदार व्यक्ति बन्‍नुको कडी तेरा मनसाय, अभिप्राय र भ्रष्ट स्वभावहरू समाधान गर्नु हो। झूट बोल्‍ने समस्यालाई यसको स्रोतमै समाधान गर्ने एउटै उपाय यही हो। आफ्ना व्यक्तिगत उद्देश्यहरू हासिल गर्नु, अर्थात्, व्यक्तिगत फाइदा हासिल गर्नु, परिस्थितिको फाइदा उठाउनु, आफूलाई राम्रो देखाउनु, वा अरूको अनुमोदन प्राप्त गर्नु—यी कुराहरू नै मानिसहरूले झूट बोल्‍नुका अभिप्राय र लक्ष्यहरू हुन्। यसप्रकारको झूट बोलाइले भ्रष्ट स्वभाव प्रकट गर्छ, र झूट बोल्‍ने विषयमा तँमा हुनुपर्ने समझ नै यही हो। त्यसो भए, यो भ्रष्ट स्वभावलाई कसरी समाधान गर्नुपर्छ? त्यो सबै तैँले सत्यतालाई प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने कुरामा अडिएको हुन्छ। यदि तँ सत्यता स्विकार्न र आफ्‍नो वकालत नगरी बोल्‍न सक्छस् भने; यदि तँ आफ्‍नै हितहरूबारे विचार गर्न छोड्न सक्छस् र यसको साटो मण्डलीको काम, परमेश्‍वरको इच्‍छा, र परमेश्‍वरका चुनिएका मानिसहरूका हितहरूमा ध्यान दिन सक्छस् भने, तैँले झूट बोल्‍न छोड्नेछस्। तँ साँचो र सीधा कुरा बोल्‍न सक्षम हुनेछस्। यो कदविना, तैँले साँचो बोल्‍न सक्‍नेछैनस्, र त्यसले तेरो कदमा केही कमी छ र तँ सत्यता अभ्यास गर्न असक्षम छस् भन्‍ने प्रमाणित गर्छ। त्यसकारण, इमानदार व्यक्ति बन्‍नको लागि सत्यता बुझ्‍ने प्रक्रिया, र कद बढ्ने प्रक्रिया जरुरी हुन्छ। जब हामी यसलाई यसरी हेर्छौँ, तब आठदेखि दश वर्षको अनुभवविना, इमानदार व्यक्ति बन्‍नु असम्‍भव नै हुन्छ। यो हामीले जीवनमा वृद्धि हुने प्रक्रियामा र सत्यता बुझ्‍ने र प्राप्त गर्ने प्रक्रियामा बिताउनुपर्ने समय हो। कतिपय मानिसहरूले यस्तो सोध्‍न सक्छन्: “के झूट बोल्‍ने समस्या समाधान गर्नु र इमानदार व्यक्ति बन्‍नु त्यति गाह्रो हुन सक्छ?” यो कुरा तिमीहरूले कसको बारेमा कुरा गरिरहेका छौ त्यसमा भर पर्छ। यदि यो व्यक्ति सत्यतालाई प्रेम गर्ने व्यक्ति हो भने, उसले निश्‍चित विषयहरूमा झूट बोल्‍न छोड्न सक्छ। तर यदि यो व्यक्ति सत्यतालाई प्रेम नगर्ने व्यक्ति हो भने, झूट बोल्‍न छोड्नु उसको लागि झनै गाह्रो हुन्छ।

इमानदार व्यक्ति बन्‍नको लागि आफैलाई तालिम दिनु भनेको मुख्य रूपमा झूट बोल्‍ने समस्या समाधान गर्नु, साथै आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नु हो। यसो गर्नको लागि एउटा महत्त्वपूर्ण अभ्यास गर्नुपर्छ: जब तँलाई आफूले कसैलाई ढाँटेको र छलेको छु भन्‍ने महसुस हुन्छ, तैँले तिनीहरूसँग खुलेर कुरा गर्नुपर्छ, आफूलाई उदाङ्गो पार्नुपर्छ, अनि माफी माग्‍नुपर्छ। झूट बोल्‍ने समस्या सुल्झाउन यो अभ्यास निकै फाइदाजनक हुन्छ। उदाहरणको लागि, यदि तैँले कसैलाई छलेको छस् वा तैँले तिनीहरूसँग बोलेका शब्‍दहरूमा कुनै दूषित कुरा वा व्यक्तिगत अभिप्राय थियो भने, तैँले तिनीहरूलाई भेटेर आफ्‍नो विश्‍लेषण गर्नुपर्छ। तैँले तिनीहरूलाई यसो भन्‍नुपर्छ: “मैले बोलेको कुरा झूट थियो, र त्यो मैले आफ्‍नो स्वाभिमान जोगाउनको लागि भनेको थिएँ। यसो भनेपछि मलाई अप्ठ्यारो लाग्यो, त्यसकारण म अहिले तपाईंसँग माफी माग्दै छु। कृपया, मलाई माफ गर्नुहोस्।” त्यो व्यक्तिलाई यो कुरा निकै नौलो लाग्‍नेछ। उसले झूट बोलेपछि माफी माग्‍ने व्यक्ति कसरी हुन सक्यो भनेर सोच्‍नेछ। यस्तो साहसलाई उसले सराहना गर्नेछ। त्यस्तो अभ्यास गरेर व्यक्तिले के-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छ? यसको उद्देश्य अरूको आदर पाउनु होइन, बरु आफूलाई झूट बोल्‍नबाट अझै प्रभावकारी रूपमा नियन्त्रण गर्नु र रोक्‍नु हो। त्यसकारण, झूट बोलेपछि, तैँले त्यसको लागि माफी माग्‍ने अभ्यास गर्नुपर्छ। तैँले यसरी आफूलाई जति धेरै विश्‍लेषण गर्ने, उदाङ्गो पार्ने, र मानिसहरूसँग माफी माग्‍ने तालिम दिन्छस्, परिणामहरू त्यति नै राम्रा हुँदै जानेछन्—अनि तैँले बोल्‍ने झूटको सङ्ख्या पनि घट्दै-घट्दै जानेछन्। इमानदार व्यक्ति बन्‍नको लागि र झूट बोल्‍नबाट आफूलाई रोक्‍नको लागि आफ्‍नो विश्‍लेषण गर्ने र आफूलाई उदाङ्गो पार्ने अभ्यास गर्न साहस चाहिन्छ, र झूट बोलेपछि कसैसँग माफी माग्‍न त झन् धेरै साहस चाहिन्छ। यदि तिमीहरूले यसरी एकदुई वर्ष—वा तीनदेखि पाँच वर्ष—अभ्यास गर्‍यौ भने, अवश्य नै स्पष्ट परिणामहरू प्राप्त गर्नेछौ, र आफ्‍ना झूटहरूबाट मुक्त हुन तिमीहरूलाई गाह्रो हुनेछैन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

अहिले, के तिमीहरूसित इमान्दार बन्ने कुनै मार्ग छ? तिमीहरूले अझ धेरै झूट र छलहरू पत्ता लगाउन र आफ्नो छली स्वभाव पहिचान गर्नको लागि आफ्नो जीवनका हरेक बोली र कार्य जाँच्‍नुपर्छ। त्यसपछि, तिमीहरूले इमान्दार मानिसहरूले कसरी अभ्यास र अनुभव गर्छन् र कसरी पाठहरू सिक्छन् भन्‍ने कुरा हेर्नुपर्छ। तिमीहरूले सबै कुरामा परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्ने अभ्यास पनि गर्नुपर्छ, अनि प्रार्थना र उहाँसित सङ्गति गर्न परमेश्‍वरसामु आउनुपर्छ। मानौँ, तैँले भर्खरै झूट बोलिस् रे: र तँलाई तुरुन्तै यस्तो महसुस भयो रे, “मैले भर्खरै बोलेका केही कुराहरू सही थिएनन्—मैले यो कुरा तुरुन्तै स्विकार्नुपर्छ र सच्याउनुपर्छ, र सबैलाई मैले भर्खरै झूट बोलेँ भनेर थाहा दिनुपर्छ।” तैँले त्यहीँनेर र त्यति नै बेला आफूलाई सच्याइस् रे। यदि तैँले यसरी नै सधैँ आफूलाई सच्याउँछस् भने, र यदि यसरी अभ्यास गर्नु तेरो बानी नै बन्छ भने, तैँले जबजब झूट बोलेर त्यसलाई सच्याउँदैनस्, तबतब तँलाई अप्ठ्यारो महसुस हुनेछ र परमेश्‍वरलाई तँलाई आफ्नो ख्याल राख्‍न मद्दत गर्नुहुनेछ। केही समयसम्‍म यसरी अभ्यास र अनुभव गरेपछि, तैँले कम झूट बोल्‍न थाल्नेछस्, र तेरो बोलीवचनमा अशुद्धताहरू कमभन्दा कम हुँदै जानेछन्, र तेरा कार्यहरू पनि कमभन्दा कम दूषित र बढीभन्दा बढी शुद्ध हुँदै जानेछन्—र यो कुरामा तेरो शुद्धीकरण भएको हुनेछ। इमान्दार बन्‍ने मार्ग यही हो। तैँले अलिअलि गर्दै क्रमिक रूपमा बदलिँदै जानुपर्छ। तँ जतिजति बदलिँदै जान्छस्, त्यतित्यति नै राम्रो हुँदै जानेछस्; र तँ जतिजति बदलिँदै जान्छस्, तेरा बोलीवचनहरू त्यतित्यति नै इमान्दार हुँदै जानेछन् र तँ त्यतित्यति नै झूट बोल्न छोड्नेछस्—जुन सही स्थिति हो। सबै भ्रष्ट मानिसहरूमा त्यस्तै किसिमको समस्या हुन्छ: तिनीहरू सबै नै झूट बोल्ने क्षमता लिएर जन्मेका हुन्छन्, र तिनीहरूलाई आफ्नो अन्तस्करणमा भएका सोचहरू बताउन वा सत्य बोल्‍न एकदमै गाह्रो लाग्छ। यदि तिनीहरूलाई सत्य बोल्न मन लागेछ नै भने पनि, तिनीहरू त्यसो गर्न सक्दै सक्दैनन्। मानिसहरू सबैले इमान्दार हुनु बेवकुफी र मूर्खता हो भन्‍ने विश्‍वास गर्छन्—तिनीहरूलाई लाग्छ, केवल उल्लुहरूले मात्र खुलेर कुरा गर्छन्, र यदि कुनै व्यक्तिले अरू मानिसहरूसित पूर्णत: पारदर्शी भएर सधैँ आफ्नो मनभित्र जे छ त्यही बोल्ने हो भने, उसले हानि मात्र बेहोर्ने सम्भावना अधिक हुन्छ, र अरूहरूले त्यस्तो मान्छेसित अन्तरक्रिया गर्न चाहनेछैनन्, बरु तिनीहरूले उसलाई घृणा गर्नेछन्। के तिमीहरू पनि त्यस्तो खालको व्यक्तिलाई घृणा गर्नेछौ? के तिमीहरूसित पनि यस्तै दृष्टिकोण छ? (परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, म त्यस्ता व्यक्तिहरूलाई घृणा गर्थे, तर अब म तिनीहरूको सराहना गर्छु, र मलाई सरल तथा इमान्दार जीवन जिउनु उत्तम लाग्छ। यसरी जीवन जिउँदा, व्यक्तिले आफ्नो हृदयमा कम मात्र बोझ राख्छ। अन्यथा, मैले कसैसित झूट बोल्ने हो भने, त्यसलाई ढाकछोप गर्नुपर्छ, तर जतिजति त्यो झूट ढाक्यो, झन्झन् ठूलो प्वाल पर्दै जान्छ र अन्त्यमा त्यो झूट पर्दाफास भइहाल्छ।) झूट बोल्नु र छली बन्‍नु दुवै नै मूर्ख व्यवहारहरू हुन्, र सत्य बोल्नु र हृदयदेखि बोल्‍नु कैयौँ गुणा बढी बुद्धिमानी हुनु हो। यो कुराको बुझाइ अहिले सबै मानिसहरूमा छ—यदि कसैलाई अझै पनि मानिसहरूलाई झूट बोल्नु र धोका दिनु भनेको क्षमता हुनु र चतुर बन्‍नुको सङ्केत हो भन्‍ने लाग्छ भने, त्यस्ता व्यक्तिहरू अत्यन्तै मूर्ख, र जिद्दी अज्ञानी हुन्, र तिनीहरूमा अलिकति पनि सत्यता हुँदैन। उमेरमा पाका हँदै गएर पनि अझै छली मानिसहरू नै सबैभन्दा बाठा हुन् र सबै इमान्दार मानिसहरू मूर्ख हुन् भनेर सोच्‍ने व्यक्तिहरू कुनै पनि कुराको सार स्पष्ट देख्‍न नसक्ने बेतुक मानिसहरू हुन्। हरेक व्यक्तिले आफ्नै जीवन जिउँछ—कहरदिन इमान्दार हुन प्रयास गर्ने केही मानिसहरू खुसी र तनावरहित हुन्छन्, र तिनीहरूले आफ्नो हृदयमा स्वतन्त्रता र मुक्तपन अनुभूत गर्छन्। तिनीहरूमा केही कुराको पनि कमी हुँदैन, र तिनीहरूले आरामदायी जीवन बिताउँछन्। यस्ता खालका मानिसहरूसित हरकोही अन्तरक्रिया गर्न चाहन्छ, र तिनीहरू वास्तवमै हरकसैको ईर्ष्याको विषय बन्छन्—यस्ता मानिसहरूले जीवनको अर्थ बुझेका हुन्छन्। कतिपय मूर्ख मानिसहरू यस्तो सोच्छन्: “त्यो मान्छे सधैँ सत्य बोल्छ, र उसले निराकरण भोग्यो, होइन र? त्यो त उसले वास्तवमै पाउनु नै थियो। मलाई हेर्नूस् न—म त आफ्ना अभिप्रायहरू छातीमै लुकाउँछु, र म ती कुराबारे बोल्ने वा प्रकट गर्ने गर्दिनँ, त्यसैले त मैले निराकरण भोगेको, वा कुनै क्षति बेहोरेको, वा आफैलाई सबैसामु लज्जित पारेको छैनँ। मेरो त गज्जब नै चलिरहेको छ! आफ्ना अभिप्रायहरू लुकाउने, कसैसित पनि इमान्दारीसाथ कुरा नगर्ने, र आफूले के सोच्दै छु भन्‍नेबारे अरूलाई केही थाहा पाउन नदिने मानिसहरू एकदमै उच्‍चकोटिका र अत्यन्तै बुद्धिमान्‌ हुन्।” तर हरेक व्यक्तिले यी मानिसहरू सबैभन्दा छली र कपटी हुन् भनेर देख्‍न सक्छन्; तिनीहरूदेखि अरू मानिसहरू सधैँ सतर्क रहने र दुरी कायम राख्‍ने गर्छन्। छली मानिसहरूसित कसैले पनि मित्रता गाँस्न चाहँदैन। के यी कुराहरू तथ्य होइनन् र? यदि कुनै व्यक्ति निष्कपट छ र ऊ सधैँ सत्य बोल्छ भने, र यदि उसले आफ्नो हृदय अरूसामु उदाङ्गो पार्न सक्छ र आफूभित्र अरू मानिसहरूलाई हानि गर्ने कुनै अभिप्राय राख्‍दैन भने, कहिलेकाहीँ उसले अज्ञानी देखिँदै मूर्ख व्यवहार गरे पनि, उसलाई सामान्तया असल व्यक्ति नै भनेर स्विकारिनेछ, र सबैजना ऊसित अन्तरक्रिया गर्न एकदमै इच्छुक नै हुनेछन्। इमान्दार र असल मानिसहरूसित अन्तरक्रिया गर्दा मानिसहरूले फाइदा र सुरक्षाको अनुभूति गर्छन् भन्‍ने कुरा आम तवरमै स्विकारिने तथ्य हो। इमान्दार र सत्यता पछ्याउने परमेश्‍वरका विश्‍वासीहरूहरूलाई मण्डलीका अरू मानिसहरूले मात्र होइन, परमेश्‍वर स्वयम्‌ले पनि मन पराउनुहुन्छ। तिनीहरूले सत्यता प्राप्त गर्नेबित्तिकै, तिनीहरूसित वास्तविक गवाही हुन्छ र तिनीहरू परमेश्‍वरको स्याबासी प्राप्त गर्न सक्षम हुन्छन्—के यसले तिनीहरूलाई सबैभन्दा आशिषित मानिस बनाउँदैन र? अलिअलि सत्यता बुझ्नेहरूले यो कुरा स्पष्टै देख्‍नेछन्। आफूलाई व्यवहारमा ढाल्ने प्रयासमा, तैँले सत्यता धारण गरेको असल र इमान्दार व्यक्ति बन्‍ने प्रयास गर्नुपर्छ; यसरी, तँलाई अरूहरूले मन पराउने मात्र होइन, तँले परमेश्‍वरको आशिष्‌ पनि प्राप्त गर्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ

इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नलाई, तैँले सबैभन्दा पहिले हरदिन प्रार्थनामा परमेश्‍वरसामु आफ्नो हृदय खोल्‍न र आफ्नो हृदयका गहनतम कुराहरू उहाँलाई भन्‍न सिक्‍नुपर्छ। उदाहरणको लागि, यदि तैँले आज झूट बोलिस् र त्यो अरू मानिसहरूले चाल पाएनन्, तर त्यसबारे सबैसामु खुलेर कुरा गर्न तँलाई साहस भएन भने, कम्तीमा तैँले आफूले जाँच गरेर पत्ता लगाएका गल्तीहरू र तैँले बोलेका झूटहरू मनन गर्नहेतु परमेश्‍वरसामु ल्याउनुपर्छ, र यसो भन्‍नुपर्छः “हे परमेश्‍वर, मैले मेरा आफ्नै स्वार्थहरू रक्षा गर्न फेरि पनि झूट बोलेको छु, र म गलत थिएँ। यदि मैले फेरि पनि झूट बोलेँ भने, कृपया मलाई अनुशासित गर्नुहोस्।” परमेश्‍वर यस्तो मनोवृत्तिदेखि प्रसन्‍न हुनुहुनेछ, र उहाँले यसलाई स्मरण गर्नुहुनेछ। तँलाई यो झूट बोल्ने भ्रष्ट स्वभाव सुल्झाउनको लागि कठिन प्रयास आवश्यक पर्न सक्छ, तर चिन्ता नगर्, परमेश्‍वर तेरै छेउमा हुनुहुन्छ। उहाँले तँलाई मार्गदर्शन गर्नुहुनेछ, र तँलाई यो दोहोरिरहने कठिनाइ पार गर्न मदत गर्नुहुनेछ, र तँलाई आफ्ना झूटहरू कहिल्यै नस्विकार्ने अवस्थाबाट ती झूटहरू स्विकार्ने अनि आफूले आफैलाई निर्धक्कसित खुलासा गर्न सक्षम हुने अवस्थासम्म पुग्‍ने साहस प्रदान गर्नुहुनेछ। अनि तैँले आफ्ना झूटहरू स्विकार्न मात्र होइन, तँ किन झूट बोल्छस्, र ती झूटहरूपछाडि तेरा अभिप्राय र मनसायहरू के थिए भनेर निर्धक्‍कसित खुलासा गर्नसमेत सक्षम हुनेछस्। जब तँसित यस्तो अवरोध पार गर्ने, र शैतानको पिञ्जरा र नियन्त्रणबाट उम्किने साहस हुन्छ, र तँ प्रगतिशील रूपमा अबउप्रान्त झूट नबोल्ने अवस्थामा पुग्दै जान्छस्, तब तँ बिस्तारै ज्योतिमा, र परमेश्‍वरको मार्गदर्शन र आशिष्‌को छत्रछायाँमा जिउँदै जानेछस्। जब तँ आफ्नो दैहिक नियन्त्रणको अवरोध पार गरेर सत्यताप्रति समर्पित हुन, र निर्धक्‍क आफैले आफ्नो खुलासा गर्न, र आफ्नो अडान सबैमाझ घोषणा गर्न, र कुनै आशङ्का नपाल्न सक्षम हुन्छस्, तब तँ आजाद र स्वतन्त्र हुनेछस्। जब तँ यसरी जिउँछस्, अरू मानिसहरूले तँलाई मन पराउने मात्र नभई परमेश्‍वरसमेत तँसित प्रसन्‍न हुनुहुनेछ। कहिलेकाहीँ, तैँले अझै पनि गल्ती गर्ने र झूट बोल्ने गरे पनि, र कहिलेकाहीँ तँसित अझै पनि व्यक्तिगत अभिप्राय, गुप्त मनसाय वा स्वार्थी र तुच्छ व्यवहार र सोचविचारहरू हुनेभए पनि, तँ परमेश्‍वरको जाँच स्विकार्न सक्षम हुनेछस्, र तैँले आफ्नो अभिप्राय, आफ्नो वास्तविक स्थिति, र आफ्ना भ्रष्ट स्वभावहरू उहाँसामु खुलासा गर्न र उहाँबाट सत्यता खोजी गर्न सक्‍नेछस्। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तँसित अभ्यासको मार्ग हुनेछ। जब तेरो अभ्यासको मार्ग सही हुन्छ, र तँ सही दिशातर्फ चल्छस्, तब तेरो भविष्य सुन्दर र उज्यालो हुनेछ। यसरी, तँ आफ्नो हृदय शान्त भएको स्थितिमा जिउनेछस्, र तेरो आत्माले भरणपोषण पाएको हुनेछ, र तैँले तृप्त र सन्तुष्ट भएको महसुस गर्नेछस्। तर यदि तँ आफ्नो देहको नियन्त्रणबाट उम्किन सक्दैनस् भने, यदि तँ निरन्तर आफ्ना भावना, व्यक्तिगत स्वार्थ, र शैतानी दर्शनहरूको वशमा रहन्छस् र लुकीछिपी बोल्ने र व्यवहार गर्ने गर्छस्, र सधैँ छायाँमा लुक्ने गर्छस् भने, तँ शैतानको सत्ताअन्तर्गत जिइरहेको छस्। तर यदि तँ सत्यता बुझ्छस्, देहको नियन्त्रणबाट उम्कन्छस्, र सत्यता अभ्यास गर्छस् भने, तैँले बिस्तारै मानव स्वरूप धारण गर्दै जानेछस्। अनि, तँ आफ्ना बोलीवचन र कार्यहरूमा खुलस्त र सीधा हुनेछस्, र तँ आफ्ना राय, विचार र आफूले गरेका गल्तीहरू खुलासा गर्न सक्षम हुनेछस्, र यसरी सबैलाई ती कुराहरू स्पष्टसित देख्‍न दिनेछस्। अन्त्यमा, मानिसहरूले तँलाई पारदर्शी व्यक्तिको रूपमा पहिचान गर्नेछन्। यो पारदर्शी व्यक्ति भनेको के हो? यो भनेको असाधारण इमानदारीसाथ कुरा गर्ने व्यक्ति हो जसको बोलीवचन साँचो हुन्छ भनेर सबैले विश्‍वास गर्छन्। यदि उसले अनजानमै कुनै झूट वा कुनै गलत कुरा बोल्यो भने पनि, मानिसहरूले त्यो अनजानमा बोलिएको हो भन्ने जानेर उसलाई क्षमा दिन सक्‍नेछन्। यदि उसले आफूले ढाँटेको वा कुनै गलत कुरा बोलेको महसुस गर्‍यो भने, उसले माफी माग्‍नेछ, र आफूलाई सच्याउनेछ। यस्तो व्यक्ति नै पारदर्शी व्यक्ति हो। यस्तो व्यक्तिलाई सबैले मन पराउँछन्, र सबैले विश्‍वास गर्छन्। परमेश्‍वरको र अरूहरूको भरोसा जित्‍नका लागि तैँले यो स्तरमा पुग्नुपर्छ। यो सजिलो कार्य होइन—यो त व्यक्तिमा हुन्सक्ने सबैभन्दा उच्‍चस्तरीय मर्यादा हो। यसप्रकारको व्यक्तिसँग आत्मसम्‍मान हुन्छ। यदि तँ अरूहरूको भरोसा नै जित्‍न सक्दैनस् भने, तैँले कसरी परमेश्‍वरको भरोसा प्राप्त गर्ने अपेक्षा गर्न सक्छस्? इज्‍जतहीन जीवन जिउने कति व्यक्तिहरू छन्, तिनीहरू निरन्तर झूट रचिरहन्छन्, र कामकुराहरूलाई लापर्बाह र झारातिरुवा रूपले ने लिइरहन्छन्। तिनीहरूमा जिम्‍मेवारीको अलिकति पनि बोध हुँदैन, तिनीहरू काटछाँट र निराकरण अस्वीकार गर्छन्, तिनीहरू सधैँ भ्रामक तर्कहरूको सहारा लिन्छन्, र तिनीहरूलाई भेट्ने जति सबैले तिनीहरूलाई घृणा गर्छन्। तिनीहरू लाजसरमको कुनै बोधबिनै जिउँछन्। के तिनीहरूलाई साँच्चै मानव मान्‍न सकिन्छ? अरूहरूबाट अत्यन्तै घिनलाग्दा र भर पर्न नसकिने मानिएका मानिसहरूले पूर्ण रूपमा आफ्नो मानवता गुमाइसकेका हुन्छन्। यदि अरूहरूले तिनीहरूमा भरोसा गर्न सक्दैनन् भने, के परमेश्‍वरले तिनीहरूमाथि भरोसा गर्न सक्‍नुहुन्छ र? यदि अरूहरूले तिनीहरूलाई घृणा गर्छन् भने, के परमेश्‍वरले तिनीहरूलाई मन पराउन सक्‍नुहुन्छ र? परमेश्‍वरले त्यस्ता व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ र उहाँ तिनीहरूबाट दिक्‍क हुनुहुन्छ, र तिनीहरू निश्चित रूपमा निष्कासित हुनेछन्। मानिसको रूपमा व्यक्ति इमानदार हुनुपर्छ, र उसले आफ्ना प्रतिबद्धताहरूको सम्‍मान गर्नुपर्छ। चाहे अरूहरूको लागि कार्य गर्दा होस् वा परमेश्‍वरको लागि होस्, उसले आफ्ना वचनहरू पूरा गर्नुपर्छ। जब व्यक्तिले मानिसहरूको भरोसा जितिसकेको हुन्छ, र जब उसले परमेश्‍वरलाई सन्तुष्ट र आश्‍वास्त पार्न सक्छ, तब ऊ तुलनात्मक रूपमा अलि इमानदार हुन्छ। यदि तँ आफ्ना कार्य-व्यवहारहरूमा भरोसायोग्य छस् भने, अरूहरूले मात्र होइन, परमेश्‍वरलेपनि तँलाई पक्कै मन पराउनुहुनेछ। इमानदार व्यक्ति भएर, तैँले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन र तँ इज्‍जतसाथ जिउन सक्‍नेछस्। त्यसकारण, व्यक्तिको आचरणको जग इमानदारीता हुनुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ

मानिसहरूको झूटपछाडि प्राय अभिप्रायहरू लुकेका हुन्छन्, तर कतिपय झूटमा कुनै अभिप्राय लुकेको हुँदैन, न त ती झूटको जानीजानी कुनै योजना नै बनाइएको हुन्छ। ती झूटहरू त प्राकृतिक रूपमै आफै आउने गर्छन्। त्यस्ता झूटहरू समाधान गर्न सहज हुन्छ; तर अभिप्राय लुकेका झूटहरू समाधान गर्न गाह्रो हुन्छ। यस्तो किन हुन्छ भने, ती अभिप्रायहरू व्यक्तिको प्रकृतिबाट आएका हुन्छन् र ती शैतानको चलाकी प्रतिनिधित्व गर्ने कुराहरू हुन्, र ती मानिसहरूले जानीजानी छनौट गर्ने अभिप्रायहरू हुन्। यदि कसैले सत्यतालाई प्रेम गर्दैनन् भने, तिनीहरूले देहविरुद्ध विद्रोह गर्न सक्दैनन्—त्यसकारण तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ, र समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। तर झूट बोल्‍ने समस्या एकैपटकमा पूरै समाधान गर्न सकिँदैन। कहिलेकहीँ वा धेरैपटक पुरानै बानीमा फर्किने समस्या रहन्छ। यो सामान्य अवस्था हो, र तैँले आफूले बोल्‍ने हरेक झूटलाई समाधान गरिस्, र यो कार्यलाई जारी राखिस् भने, त्यो दिन पक्‍कै आउनेछ जुन दिन तैँले ती सबै झूट समाधान गरिसकेको हुनेछस्। झूट बोल्‍ने समस्या समाधान गर्नु भनेको दीर्घकालीन युद्ध लड्नु हो: जब एउटा झूट प्रकट हुन्छ, तब आफ्‍नो बारेमा मनन गर्, र त्यसपछि परमेश्‍वरलाई प्रार्थना गर्। जब अर्को झूट प्रकट हुन्छ, तब फेरि आफ्‍नो बारेमा मनन गर्, र परमेश्‍वरलाई प्रार्थना गर्। परमेश्‍वरलाई तैँले जति प्रार्थना गर्छस्, तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई त्यति नै घृणा गर्नेछस्, र तँलाई सत्यता अभ्यास गर्न र सत्यतामा जिउन त्यति नै इच्‍छा हुनेछ। त्यसरी, तँसँग झूटहरू त्याग्‍ने सामर्थ्य हुनेछ। केही समयसम्‍म त्यस्तो अनुभव र अभ्यास गरिसकेपछि, तैँले तेरा झूटहरू झन्झन् घटिरहेको, तँ पहिलेभन्दा धेरै सहजतामा जिइरहेको, र तैँले अबदेखि झूट बोल्‍न वा झूट ढाकछोप गर्न जरुरी नरहेको देख्‍नेछस्। तँ दैनिक रूपमा त्यति धेरै नबोले पनि, हरेक वाक्य तेरो हृदयबाट निस्केको र साँचो हुनेछ, र त्यसमा झूट एकदमै थोरै हुनेछ। त्यसरी जिउँदा कस्तो महसुस हुनेछ? के यो स्वतन्त्र र मुक्त अनुभूत गराउने हुनेछैन र? तँलाई अब तेरो भ्रष्ट स्वभावले जकडेर राख्नेछैन र तँ यसको बन्धनमा पर्नेछैनस्, अनि कम्तीमा पनि तैँले इमानदार व्यक्ति बुन्‍नुका परिणामहरू देख्‍न थाल्‍नेछस्। अवश्‍य नै, विशेष परिस्‍थितिहरू सामना गर्दा, तैँले कहिलेकहीँ सानो झूट मुखबाट फुत्काउन सक्छस्। कहिलेकहीँ तँलाई खतरा हुन सक्छ वा कुनै समस्या आउन सक्छ, वा तँ आफ्‍नो सुरक्षा गर्न चाहन सक्छस्, र त्यस्तो बेला झूट नबोली हुँदैन। तैपनि, तैँले यसबारेमा मनन गर्नुपर्छ, यसलाई बुझ्‍नुपर्छ र समस्या समाधान गर्नुपर्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गरेर यसो भन्‍नुपर्छ: “ममा अझै पनि झूट र छल रहेका छन्। परमेश्‍वरले मलाई मेरो भ्रष्ट स्वभावबाट सधैँसधैँको लागि मुक्त गर्नुभए हुन्थ्यो।” जब व्यक्तिले उद्देश्यपूर्ण रूपमा बुद्धि अभ्यास गरिरहेको हुन्छ, तब यो भ्रष्टताको प्रकटीकरणको रूपमा गनिँदैन। इमानदार व्यक्ति बन्‍नको लागि व्यक्तिले अनुभव गर्नुपर्ने कुरा त्यही हो। यस तरिकाले, अलिअलि गर्दै, तेरा झूटहरू घट्दै जान्छन्। आज तैँले दश वटा झूट बोल्छस्, भोलि तैँले नौ वटा बोल्‍नेछस्, र पर्सी आठ वटा बोल्‍नेछस्। पछि तैँले दुई-तीन वटा झूट मात्रै बोल्‍नेछस्। तैँले झन्झन्‌ धेरै सत्य बोल्दै जानेछस्, र इमानदार व्यक्ति बन्‍ने तेरो अभ्यास पहिलेभन्दा झन्झन् परमेश्‍वरको इच्‍छा, उहाँका सर्तहरू, र उहाँका मापदण्डहरूको नजिक पुग्‍नेछ—अनि त्यो कति राम्रो हुनेछ! इमानदार बन्‍ने अभ्यास गर्नको लागि, तँसँग एउटा मार्ग, र एउटा उद्देश्य हुनुपर्छ। सबभन्दा पहिले, झूट बोल्‍ने समस्या समाधान गर्। तैँले यी झूटहरू बोल्‍नुपछाडि लुकेको तेरो सार चिन्‍नुपर्छ। तैँले तँलाई के-कस्ता अभिप्राय र मनसायले यी झूटहरू बोल्‍न उत्प्रेरित गर्छन्, तँमा किन यस्ता अभिप्रायहरू छन्, र ती अभिप्रायको सार के हो भनेर पनि चिरफार गर्नुपर्छ। जब तैँले यी सबै समस्याहरू स्पष्ट पारेको हुन्छस्, तब तैँले झूट बोल्‍ने समस्यालाई राम्ररी चिनिसकेको हुन्छस्, र जब कुनै कुरा तँमाथि आइपर्छ, तब तँसँग अभ्यासका सिद्धान्तहरू हुनेछन्। यदि तैँले यस्तो अभ्यास र अनुभव अघि बढाइरहन्छस् भने, नतिजा पक्‍कै पनि तेरो हात आउनेछ। एक दिन तैँले यसो भन्‍नेछस्: “इमानदार बन्‍नु सजिलो छ। छली बन्‍नु अत्यन्तै थकाइलाग्दो हुँदो रहेछ! अबदेखि म छली व्यक्ति बन्‍न चाहन्‍नँ, सधैँ यसरी के-कस्ता झूटहरू बोल्‍ने र आफ्‍ना झूटहरू कसरी ढाकछोप गर्ने भनेर सोचिरहन चाहन्‍नँ। यो त मानसिक रोग भएको व्यक्ति बन्‍नुजस्तै हो, सधैँ विरोधाभासपूर्ण बोली बोल्ने—‘मानव’ भनेर भन्‍नलायक नै नभएको व्यक्ति बन्‍नु हो! त्यस्तो जीवन अति थकाइलाग्दो हुन्छ, र म अबदेखि त्यसरी जिउन चाहन्‍नँ!” यसपटक, तैँले साँचो रूपमा इमानदार बन्‍ने आशा पाएको हुन्छस्, र यसले तैँले इमानदार व्यक्ति बन्‍नेतर्फ प्रगति गर्न थालेको छस् भन्‍ने प्रमाणित गर्नेछ। यो परिवर्तनको सुरुवात हो। अवश्य नै, तिमीहरूमध्ये कति जना यस्ता छौ होला, जो अभ्यास गर्न थाल्दै गर्दा, इमानदार शब्‍दहरू बोलेपछि र आफूलाई उदाङ्गो पारेपछि लज्‍जित हुन्छ। तिमीहरूको अनुहार रातो हुन्छ होला, तिमीहरूलाई लाज लाग्‍छ होला, र अरूले तिमीहरूलाई हाँसोमा उडाउलान् भन्‍ने डर लाग्‍छ होला। त्यस्तो बेला तिमीहरूले के गर्नुपर्छ? अझै पनि, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँलाई सामर्थ्य माग्‍नुपर्छ। तैँले यसो भन्‍नुपर्छ: “हे परमेश्‍वर, म इमानदार व्यक्ति बन्‍न चाहन्छु, तर मैले सत्य बोल्दा मानिसहरूले मलाई हाँसोमा उडाउलान् भन्‍ने डर लाग्छ। म तपाईंलाई अनुरोध गर्छु, तपाईं मलाई मेरो शैतानी स्वभावको बन्धनबाट बचाउनुहोस्; मलाई तपाईंका वचनहरूअनुसार जिउन, अनि मलाई मुक्त र स्वतन्त्र हुन मदत गर्नुहोस्।” जब तैँले यसरी प्रार्थना गर्छस्, तब तेरो हृदयमा अझै धेरै ज्योति आउनेछ, र तैँले मनमनै भन्‍नेछस्: “यो अभ्यास गर्नु राम्रो कुरा हो। आज, मैले सत्यता अभ्यास गरेको छु। अन्ततः म एकपटक त इमानदार व्यक्ति बनेको छु।” तैँले यसरी प्रार्थना गर्दा, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। उहाँले तेरो हृदयमा काम गर्नुहुनेछ, र उहाँले तँलाई स्पर्श गर्नुहुन्छ, र तैँले वास्तविक व्यक्ति बन्‍दा कस्तो अनुभव हुन्छ भनेर बुझ्छस्। यसरी नै सत्यता अभ्यास गरिनुपर्छ। सुरुमा तँसँग कुनै मार्ग हुनेछैन, तर सत्यताको खोजीमार्फत तैँले मार्ग भेट्टाउनेछस्। जब मानिसहरूले सत्यता खोजी गर्न सुरु गर्छन्, तब तिनीहरूसँग विश्‍वास हुन्छ नै भन्‍ने छैन। कुनै मार्ग नहुनु मानिसहरूको लागि गाह्रो कुरा हो, तर तिनीहरूले सत्यता बुझेपछि र अभ्यासको मार्ग भेट्टाएपछि, तिनीहरूको हृदयले यसमा आनन्द प्राप्त गर्नेछ। यदि तिनीहरूले सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार काम गर्न सक्छन् भने, तिनीहरूको हृदयले आराम पाउनेछ, र तिनीहरूले स्वतन्त्रता र उन्मुक्ति प्राप्त गर्नेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

आखिर, इमानदार व्यक्ति बन्‍ने अभ्यासको सबैभन्दा सरल तरिका भनेको जस्तो हो त्यस्तै बताउनु, इमानदार बोली बोल्नु, र तथ्यअनुसार बोल्नु हो। प्रभु येशू भन्‍नुहुन्छ, “तर तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्” (मत्ती ५:३७)। इमानदार व्यक्ति बन्‍न यो सिद्धान्तअनुसार अभ्यास गर्नुपर्छ—तैँले यसमा केही वर्ष प्रशीक्षण लिएपछि निश्‍चय नै परिणाम देख्नेछस्। अहिले तिमीहरू कसरी इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्छौ? (म आफूले बोल्ने कुरामा दूषित कुराहरू मिसाउँदिनँ र अरूलाई छल गर्दिनँ।)। “दूषित कुराहरू मिसाउँदिनँ” भन्‍नुको अर्थ के हो? यसको अर्थ तैँले बोल्ने शब्दहरूमा झुट वा कुनै व्यक्तिगत अभिप्राय वा मनसाय छैनन् भन्‍ने हो। यदि तँ तेरो हृदयमा छल वा व्यक्तिगत अभिप्राय र मनसाय पाल्छस् भने, तँबाट झुटहरू स्वतः प्रकट हुनेछन्। यदि तेरो हृदयमा कुनै छल वा व्यक्तिगत अभिप्राय वा मनसाय छैन भने, तैँले बोल्‍ने कुरामा दुषित कुराहरू मिसिएको हुनेछैन र त्यसमा झुट हुनेछैन—यसरी तेरो बोलीवचन “होलाई, हो; होइनलाई, होइन” भन्‍ने हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिला आफ्नो हृदयलाई शुद्ध पार्नु हो। हृदय शुद्ध भएपछि, आफ्नो अहङ्कार, र छलीपन पनि हल हुनेछन्। इमानदार व्यक्ति बन्‍नलाई यस्ता मिसावटहरू हल गरिनुपर्छ। त्यसो गरिसकेपछि, इमानदार व्यक्ति बन्‍न सजिलो हुनेछ। के इमानदार व्यक्ति बन्‍न जटिल छ? छैन, यो जटिल छैन। तेरो भित्री स्थिति जे-जस्तो भए पनि वा तँसित जुनसुकै भ्रष्ट स्वभाव भए पनि, तैँले इमानदार व्यक्ति बन्‍ने सत्यता अभ्यास गर्नुपर्छ। पहिला तैँले झुट बोल्ने समस्या समाधान गर्नैपर्छ—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। प्रथमतः बोल्दाखेरि तैँले आफ्नो मनमा जे छ त्यो बोल्ने, साँचो कुरा बोल्ने, जस्तो छ त्यस्तै बताउने र झुट बोल्न पूर्ण रूपमा छोड्ने अभ्यास गर्नुपर्छ; तैँले दूषित शब्दहरू बोल्नसमेत हुँदैन, अनि आफूले दिनभरि बोल्ने सबै कुरा साँचो र इमानदार हुने कुरा सुनिश्‍चित गर्नुपर्छ। तैँले यसो गरेर सत्यता अभ्यास गरिरहेको र इमानदार व्यक्ति बन्‍ने अभ्यास गरिरहेको हुन्छस्। यदि तैँले आफूबाट झुट वा दूषित शब्दहरू निस्केको थाहा पाइस् भने, तुरुन्तै आत्मचिन्तन गर् अनि आफूले किन झुट बोल्छु र केले आफूलाई झुट बोल्न लगाउँदै छ भनेर विश्‍लेषण गरी पत्ता लगा। त्यसपछि, परमेश्‍वरको वचनको आधारमा यो अन्तर्निहित र महत्त्वपूर्ण समस्यालाई विश्‍लेषण गर्। तैँले आफ्नो झुटको जड बुझेपछि आफ्नो बोली र व्यवहारमा यो शैतानी स्वभावको विरोध गर्न सक्नेछस्। त्यसउप्रान्त तैँले यस्तै परिस्थिति आइपर्दा झुटको सहारा लिनेछैनस्, बरु तथ्यअनुसार बोल्न सक्नेछस्, अनि छली बोली बोल्न छोड्नेछस्। यसरी तेरो आत्मा स्वतन्त्र र मुक्त हुनेछ अनि तँ परमेश्‍वरसामु जिउन सक्नेछस्। यदि तँ परमेश्‍वरको वचनअनुसार जिउन सक्छस् भने, ज्योतिमा जिइरहेको छस्। तर यदि तँ निरन्तर छल, षड्यन्त्र र जालझेल गरिरहन्छस्, सधैँ चोरजस्तो अँध्यारो कुनामा लुकी बस्छस् र गुप्त रूपले आफ्नो काम गर्छस् भने, तँलाई परमेश्‍वरसामु जिउने हिम्मत हुनेछैन। तँभित्र गोप्य अभिप्रायहरू छन्, तँ सधैँ आफ्नो उद्देश्य पूरा गर्न अरूलाई छल्न चाहन्छस्, हृदयमा एकदमै लज्जास्पद र बोल्नै नहुने कुराहरू पाल्छस्, त्यसैले तँ ती कुराहरू लुकाउने र छिपाउने, गुप्त राख्‍ने र छोपछाप गर्ने प्रयास गरिहन्छस्, तर तँ यी कुराहरू सधैँभरि लुकाउन सक्दैनस्। ढिलोचाँडो, ती प्रकट हुने नै छन्। गोप्य मनसाय हुने व्यक्ति ज्योतिमा जिउन सक्दैन। यदि उसले आत्मचिन्तन गर्ने, आफ्नो विश्‍लेषण गर्ने र आफूलाई उदाङ्गो पार्ने काम गरेन भने, ऊ आफ्नो भ्रष्ट स्वभावको नियन्त्रण र बन्धनबाट मुक्त हुन सक्नेछैन। ऊ पापको जीवनमा फसिरहनेछ, त्यसबाट मुक्त हुन सक्नेछैन। मूलतः तैँले कुनै पनि परिस्थितिमा झुट बोल्नु हुँदैन। यदि तँलाई झुट बोल्नु गलत हो र यो सत्यताअनुरूप होइन भन्‍ने थाहा छ, तैपनि झुट बोलिरहन्छस् र अरूलाई छलिरहन्छस्, मानिसहरूलाई बहकाउन तथ्य र अवस्थाको वास्तविकता लुकाउँदै कुरासमेत बनाउँछस् भने, तँ जानाजान दुष्कर्म संलग्‍न भइरहेको छस्। यस्तो व्यक्तिले मुक्ति प्राप्त गर्न सक्दैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग

सम्बन्धित अनुभवात्मक गवाहीहरू

मैले मेरो झूट बोल्‍ने बानीलाई कसरी सुधार गरेँ

झूट बोल्‍नुको पीडा

अघिल्लो: १५. स्वार्थीपन र घृणितपनको समस्या कसरी समाधान गर्ने

अर्को: १७. ढोँग गर्ने र बहाना बनाउने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्