३७. परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्‍नु भनेको के हो

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

सृष्‍टि गरिएको साँचो प्राणीले सृष्‍टिकर्ता को हुनुहुन्छ, मानिसको सृष्‍टि केका लागि गरिएको हो, सृष्‍टि गरिएको प्राणीका जिम्मेवारीहरू कसरी पूरा गर्न सकिन्छ, र सारा सृष्‍टिका प्रभुलाई कसरी आराधना गर्नुपर्छ भन्‍ने कुरा थाहा पाउनुपर्छ, सृष्‍टिकर्ताका अभिप्राय, चाहना, र मापदण्डहरू बुझ्‍नुपर्छ, बोध गर्नुपर्छ, थाहा पाउनुपर्छ र तीप्रति विचारशील हुनुपर्छ, र सृष्‍टिकर्ताको मार्ग पछ्याउनुपर्छ—परमेश्‍वरको डर मान्‍नुपर्छ र दुष्‍टताबाट अलग बस्‍नुपर्छ।

परमेश्‍वरको डर मान्नु के हो? अनि व्यक्ति कसरी दुष्‍टताबाट अलग बस्‍न सक्छ?

“परमेश्‍वरको डर मान्‍नु” को अर्थ अज्ञात डर र त्रास होइन, न त उम्कनु हो, न त टाढा राख्‍नु हो, न त यो आदर्शीकरण वा अन्धविश्‍वास नै हो। बरु, यो त आदर, सम्‍मान, भरोसा, बुझाइ, वास्ता, समर्पण, पवित्रकरण, प्रेम, साथै निसर्त र गनगनविनाको आराधना, प्रत्युपकार र आत्मसमर्पण हो। परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिसँग साँचो प्रशंसा, साँचो भरोसा, साँचो बुझाइ, साँचो वास्ता वा समर्पण हुनेछैन, बरु केवल डर र असहजपन, शङ्‍का, गलत बुझाइ, छल र बेवास्ता मात्र हुन्छ; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिसँग साँचो पवित्रकरण र प्रत्युपकार हुनेछैन; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिसँग साँचो आराधना र आत्मसमर्पण हुनेछैन, केवल अन्ध-आदर्शीकरण र अन्धविश्‍वास मात्र हुनेछ; परमेश्‍वरको साँचो ज्ञानविना मानवजातिले परमेश्‍वरको मार्ग पछ्याउन असम्भव हुन्छ, वा परमेश्‍वरको डर मान्‍ने, वा दुष्‍टताबाट अलग बस्‍ने कुरा असम्भव हुन्छ। यसको विपरीत, मानिस सहभागी हुने हरेक क्रियाकपाल र आचरण विद्रोह र अवज्ञाले भरिएको हुनेछ, उहाँको बारेमा निन्दनीय आरोप र द्वेषपूर्ण मूल्याङ्कनले भरिएको हुनेछ, अनि सत्यता र परमेश्‍वरका वचनहरूको साँचो अर्थ विपरीतका दुष्‍ट आचरणले भरिएको हुनेछ।

जब मानवजातिको परमेश्‍वरमा साँचो भरोसा हुन्छ, तब तिनीहरू उहाँलाई पछ्याउने र उहाँमा भर पर्ने कुरामा सच्‍चा हुन्छन्; परमेश्‍वरमा साँचो भरोसा र निर्भरताको कारण मात्र मानवजातिले साँचो बुझाइ र बोध प्राप्त गर्न सक्छ; परमेश्‍वरको साँचो बोधसँगै उहाँप्रतिको साँचो वास्ता आउँछ; परमेश्‍वरप्रतिको साँचो वास्ताले मात्र मानवजातिमा साँचो समर्पण आउन सक्छ; परमेश्‍वरको साँचो समर्पणले मात्र मानवजातिमा साँचो पवित्रकरण आउन सक्छ; परमेश्‍वरप्रतिको साँचो पवित्रकरणले मात्र मानवजातिमा निसर्त र गनगनविनाको प्रत्युपकार आउन सक्छ; साँचो भरोसा र निर्भरता, साँचो बुझाइ र वास्ता, साँचो समर्पण, साँचो पवित्रकरण र प्रत्युपकारद्वारा मात्र मावनजातिले परमेश्‍वरको स्वभाव र सारको बारेमा साँचो रूपले थाहा पाउन सक्छ, र सृष्‍टिकर्ताको पहिचान थाहा पाउन सक्छ; तिनीहरूले जब सृष्‍टिकर्तालाई साँच्‍चिकै चिन्‍न थाल्छन्, तब मात्र मानवजातिले आफूभित्र साँचो आराधना र आत्मसमर्पण जगाउन सक्छन्; जब तिनीहरूसँग सृष्‍टिकर्ताप्रति साँचो आराधना र आत्मसमर्पण हुन्छ, तब मात्र मानवजाति आफ्ना दुष्‍टतालाई साँच्‍चिकै पन्छाउन सक्षम हुनेछन्, अर्थात्, तिनीहरू दुष्‍टताबाट अलग बस्‍न सक्‍नेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

अहिले, हरव्यक्ति परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्न चाहन्छ। त्यसोभए परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको अर्थ के हो? यसमा परमेश्‍वरप्रति समर्पित हुन खोज्‍ने, र उहाँमा पूर्ण र ठोस रूपमा समर्पित हुने कार्य समावेश हुन्छ भन्न सकिन्छ। यसमा धोका, विरोध, वा विद्रोहका तत्वहरूविना, परमेश्‍वरप्रति सच्‍चा रूपमा डराउने र उहाँको भय मान्‍ने कार्य पर्छ। यो पूर्ण रूपमा शुद्ध हृदय हुनु र परमेश्‍वरप्रति पूर्ण रूपमा निष्ठावान र समर्पित हुनु हो। यस्तो बफादारीता र समर्पण निरपेक्षित हुनुपर्छ, सापेक्षित होइन; यो समय वा स्थान वा व्यक्तिको उमेरमा निर्भर हुँदैन। परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने तरिका यही हो। यस्तो पछ्याइको क्रममा, तैँले क्रमिक रूपमा परमेश्‍वरलाई चिन्‍नेछस् र उहाँका कार्यहरूलाई अनुभव गर्नेछस्; तैँले उहाँको हेरचाह र सुरक्षा अनुभव गर्नेछस्, उहाँको अस्तित्वको सत्यतालाई अनुभूति गर्नेछस्, र उहाँको सार्वभौमिकतालाई अनुभव गर्नेछस्। अन्त्यमा सबै थोकमा परमेश्‍वर हुनुहुन्छ र उहाँ तेरो नजिकै हुनुहुन्छ भन्‍ने कुराको तँलाई वास्तवमै अनुभूति हुनेछ; तँलाई यस प्रकारको महसुस हुनेछ। यदि तैँले परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग पछ्याउँदैनस् भने, तैँले यी कुराहरूको ज्ञान कहिल्यै प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो

बाइबलमा लेखिएअनुसार, अय्यूबको बारेमा मानिसहरूमा आउने पहिलो विचार भनेकै अय्यूब सिद्ध छन्, तिनी परमेश्‍वरसँग डराउँछन् र दुष्टताबाट अलग बस्छन्, र तिनीसँग धेरै धन र सम्मानजनक हैसियत छ भन्‍ने थियो। त्यस्तो वातावरणमा र त्यस्ता परिस्थितिहरूमा जिइरहेको सामान्य व्यक्तिका लागि, अय्यूबको आहार, जीवनको गुणस्तर, र तिनको व्यक्तिगत जीवनका विभिन्‍न पक्षहरू नै अधिकांश व्यक्तिको ध्यानको केन्द्रबिन्दु हुनेथ्यो; यसर्थ, हामीले धर्मशास्‍त्र पढ्न जारी राख्‍नुपर्छ: “अनि तिनका छोराहरू जान्थे र आफ्नो पालोमा आ-आफ्ना घरमा भोज गर्थे; र तिनीहरूसँग खान र पिउनको निम्ति तिनीहरूले आफ्ना बहिनीहरू ल्याउँथे। अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबेरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबलि चढाउँथे: किनकि अय्यूबले भन्थे, मेरा छोराहरूले पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई सरापे होलान्। अय्यूबले निरन्तर यसो गर्थे” (अय्यूब १:४-५)। … जहाँ बाइबलले अय्यूबका छोराछोरीहरूको भोजको वर्णन गर्छ, त्यहाँ अय्यूबको उल्लेख गरिएको छैन; भनिन्छ कि तिनका छोराछोरीहरूले मात्रै प्रायजसो सँगै खानपान गर्थे। अर्को शब्दमा भन्दा, तिनले भोजहरू आयोजना गर्दैनथे, न त उच्छृङ्खलताको साथ खानपान गर्न तिनी आफ्ना छोराछोरीहरूसँग सहभागी नै हुन्थे। धनी र धेरै सम्पत्ति र नोकरचाकरको मालिक भए पनि अय्यूबको जीवन एक विलासी जीवन थिएन। तिनी आफ्नो सर्वोत्कृष्ट जिउने वातावरणको धोकामा परेका थिएनन्, र तिनी आफ्नो सम्पत्तिको कारण देहको आनन्दमा मग्‍न हुँदैनथे वा होमबलि चढाउन बिर्सँदैनथे, ती कुराले तिनलाई आफ्नो हृदयभित्रबाट बिस्तारै परमेश्‍वरलाई त्याग्‍दै जाने बनाउने त कुरै नगरौँ। त्यसैले स्पष्ट छ, अय्यूब आफ्नो जीवनशैलीमा अनुशासित थिए, परमेश्‍वरले तिनलाई दिनुभएको आशिष्‌को कारण तिनी लोभी वा सुखवादी बनेका थिएनन् र तिनी जीवनको गुणस्तरमा लिप्त थिएनन्। बरु, तिनी नम्र र विनयी थिए, तिनी आडम्बरी थिएनन्, र तिनी परमेश्‍वरको सामु सतर्क र सावधान थिए। तिनले प्रायजसो परमेश्‍वरका अनुग्रह र आशिष्‌हरूमा ध्यान दिन्थे, र परमेश्‍वरको डर मान्‍ने हृदय निरन्तर बोकिरहन्थे। आफ्नो दैनिक जीवनमा, अय्यूब प्रायजसो चाँडै उठेर आफ्ना छोराछोरीहरूका लागि होमबलि चढाउँथे। अर्को शब्दमा भन्‍नुपर्दा, अय्यूब आफू मात्रै परमेश्‍वरसँग डराउँदैनथे, तिनी त आफ्ना छोराछोरीहरू पनि परमेश्‍वरसँग डराऊन् र परमेश्‍वरविरुद्ध पाप नगरून् भन्‍ने आशा गर्थे। अय्यूबको भौतिक सम्पत्तिहरूले तिनको हृदयमा कुनै स्थान लिएनन्, न त ती कुराले परमेश्‍वरले लिनुभएको स्थान नै लिए; चाहे तिनको आफ्नै लागि होस् वा तिनका छोराछोरीहरूका लागि होस्, अय्यूबका दैनिक कार्यहरू सबै परमेश्‍वरसँग डराउने र दुष्टताबाट टाढा रहने कुरासित सम्बन्धित थिए। यहोवा परमेश्‍वरप्रतिको तिनको डर तिनको मुखमा मात्र सीमित थिएन, बरु त्यो डर त तिनले आफ्नो दैनिक जीवनको हरेक भागमा लागू गर्ने र प्रतिबिम्‍बित गर्ने कुरा थियो। अय्यूबको यो वास्तविक आचरणले हामीलाई तिनी इमानदार थिए, र तिनीसँग न्याय र सकारात्मक कुराहरू मन पराउने सार थियो भन्‍ने देखाउँछ। अय्यूबले प्रायजसो आफ्ना छोराछोरीहरूलाई पठाउँथे र पवित्र पार्थे भन्‍नुको अर्थ तिनले आफ्ना छोराछोरीहरूको व्यवहारलाई प्रतिबन्ध गर्थे वा अनुमोदन गर्दैनथे; बरु, हृदयमा तिनी उनीहरूको व्यवहारप्रति वितृष्ण हुन्थे, र उनीहरूलाई निन्दा गर्थे। तिनी आफ्ना छोराछोरीहरूको व्यवहार यहोवा परमेश्‍वरलाई मन पर्दैन भन्‍ने निष्कर्षमा पुगेका थिए र यसैले तिनले उनीहरूलाई प्रायजसो यहोवा परमेश्‍वरको सामु जान र आफ्ना पापहरू स्वीकार गर्न आग्रह गर्थे। अय्यूबको कार्यले हामीलाई तिनको मानवताको अर्को पक्षलाई देखाउँछ, जसमा तिनी प्रायजसो पाप गर्ने र परमेश्‍वरलाई क्रोधित बनाउने मानिसहरूका साथ कहिल्यै हिँडेनन्, बरु तिनीहरूलाई त्यागे र तिनीहरूबाट टाढिए। यी मानिसहरू तिनका छोराछोरीहरू भए पनि, तिनले तिनीहरू आफ्‍ना प्रियजन हुन् भन्दैमा आफ्नो आचरणका सिद्धान्तहरू त्यागेनन्, न त तिनी आफ्नै भावनाका कारण तिनीहरूका पापहरूलाई नै सहेर त्यसमा लागे। बरु, तिनले उनीहरूलाई पश्‍चात्ताप गर्न र यहोवा परमेश्‍वरको सहनशीलता प्राप्त गर्न आग्रह गरे, र आफ्नै लोभी आनन्दको खातिर परमेश्‍वरलाई नत्याग्‍न चेतावनी दिए। अय्यूबले अरूसँग जसरी व्यवहार गर्थे त्यसका सिद्धान्तहरू परमेश्‍वरप्रतिको तिनको भय र दुष्टताबाट अलग बस्‍ने सिद्धान्तहरूबाट अलग गर्न नसकिने थिए। परमेश्‍वरले स्वीकार गर्नुभएको कुरालाई उनले प्रेम गर्थे, र परमेश्‍वरले घिनाउनुभएका कुरालाई तिनी घृणा गर्थे; तिनी हृदयबाट परमेश्‍वरको भय मान्‍नेहरूलाई मन पराउँथे, र परमेश्‍वरको विरुद्ध दुष्कर्म र पाप गर्नेहरूलाई घृणा गर्थे। त्यस्तो प्रेम र घृणा तिनको दैनिक जीवनमा प्रदर्शित हुन्थे, र यही नै परमेश्‍वरका आँखाले देखेको अय्यूबको सोझोपन थियो। स्वाभाविक रूपमा, अय्यूबले आफ्नो दैनिक जीवनमा अरूसँगको सम्‍बन्धमा प्रकट गर्ने गरेको साँचो मानवताको प्रकटीकरण र जियाइ यही थियो, र यसको बारेमा हामीले सिक्‍नैपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

परमेश्‍वरले शैतानलाई “त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा,” भन्‍नुभएपछि, शैतान त्यहाँबाट गयो र त्यसको लगत्तै अय्यूब अचानक र भयङ्कर आक्रमणको शिकार भए: सुरुमा, तिनका गोरु र गधाहरू लुटिए र तिनका केही नोकरहरू मारिए; त्यसपछि तिनका भेडा र अन्य नोकरचाकर आगोमा भस्म भए। त्यसपछि, तिनका ऊँटहरू लगियो र तिनका अझ धेरै नोकरचाकरको हत्या गरियो। अन्त्यमा, तिनका छोराछोरीहरूको ज्यान लिइयो। यो चरणबद्ध आक्रमण अय्यूबले पहिलो परीक्षाको अवधिमा भोगेका यातनाहरू थिए। परमेश्‍वरको आज्ञाअनुसार, यी आक्रमणहरूको अवधिमा शैतानले अय्यूबका सम्पत्ति र छोराछोरीहरूलाई मात्र लक्षित गर्‍यो, तर अय्यूब स्वयम्‌लाई हानि गरेन। यद्यपि, अय्यूब धेरै सम्पत्ति भएको धनी मानिसबाट तुरुन्तै केही पनि नभएको व्यक्तिमा परिणत भए। कसैले पनि यो स्तब्ध पार्ने गरी अचानक गरिएको प्रहार सामना गर्न सक्दैनथ्यो वा त्यसप्रति उचित प्रतिक्रिया देखाउन सक्दैनथ्यो, तर अय्यूबले आफ्नो असाधारण पक्ष प्रकट गरे। धर्मशास्‍त्रले निम्‍न विवरण प्रदान गर्छ: “त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे।” आफ्ना छोराछोरीहरू र सबै सम्पत्ति गुमाएको खबर सुनेपछि अय्यूबले दिएको पहिलो प्रतिक्रिया यही थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनी स्तब्ध भएको वा डरले ग्रस्त भएको देखिएका थिएनन्, तिनले क्रोध वा घृणा प्रकट गर्ने कुरा त परै जाओस्। त्यसपछि तँ के देख्छस् भने, आफ्नो हृदयमा तिनले यो बुझिसकेका थिए कि ती विपत्तिहरू संयोगले आएका होइनन्, वा ती मानिसको हातद्वारा भएका होइनन्, वा त्यो प्रतिशोध वा दण्डको आगमन त झन् हुनै सक्दैन। बरु, यहोवाको परीक्षा तिनीमाथि आएको थियो; तिनको सम्पत्ति र छोराछोरीहरू लिन चाहने यहोवा नै हुनुहुन्थ्यो। त्यस बेला अय्यूब एकदम शान्त र स्पष्ट विचारका थिए। तिनको सिद्ध र सोझो मानवताले तिनलाई आफूमा परेका विपत्तिहरूबारे तर्कसंगत र स्वाभाविक रूपमा सही विचार र निर्णय गर्न सक्षम तुल्यायो, र यसको परिणामस्वरूप तिनले असाधारण शान्तिका साथ व्यवहार गरे: “त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे।” “आफ्‍नो खास्टो च्याते” भन्‍नुको अर्थ तिनी वस्‍त्रहीन थिए, र तिनीसित केही थिएन भन्‍ने हुन्छ। “आफ्‍नो कपाल खौरे” भन्‍नुको अर्थ तिनी नवजात शिशुको रूपमा परमेश्‍वरको सामु फर्के; “भूँइमा लम्पसार परे र आराधना गरे” भन्‍नुको अर्थ तिनी संसारमा नाङ्गै आएका थिए, र आज तिनीसित केही थिएन, तिनी नवजात शिशुजस्तो बनेर परमेश्‍वरको सामु फर्केका थिए। आफूमाथि परिआएका सबै कुराहरूप्रति अय्यूबको जुन मनोवृत्ति थियो, त्यो कुनै पनि सिर्जित प्राणीले हासिल गर्न सक्दैनथ्यो। यहोवामाथिको तिनको विश्‍वास विश्‍वासको क्षेत्रभन्दा पनि माथि पुगेको थियो; परमेश्‍वरप्रतिको तिनको भय, परमेश्‍वरप्रतिको तिनको समर्पण यही थियो; तिनले परमेश्‍वरलाई उहाँले तिनलाई दिनुभएको निम्ति मात्र धन्यवाद दिएनन्, तिनीबाट उहाँले खोस्‍नुभएको निम्ति पनि धन्यवाद दिए। यसबाहेक, तिनले आफ्नो जीवनसहित आफ्नो स्वामित्वमा भएका सम्पूर्ण कुराहरू आफै परमेश्‍वरकहाँ फर्काउन सके।

परमेश्‍वरप्रतिको अय्यूबको डर र समर्पण मानवजातिका लागि एउटा उदाहरण हो, र तिनको सिद्धता र सोझोपन मानिसमा हुनैपर्ने मानवताको चरम सीमा थिए। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तैपनि तिनले परमेश्‍वर साँच्‍चै नै हुनुहुन्छ भनी बुझे, र यो कुरा बुझेकाले नै तिनले परमेश्‍वरको भय माने, र परमेश्‍वरप्रतिको तिनको भयको कारण तिनी परमेश्वरप्रति समर्पित हुन सक्षम थिए। तिनले आफूसँग भएका सबै थोकहरूमाथि परमेश्‍वरलाई स्वतन्त्र रूपमा नियन्त्रण गर्न दिए, तैपनि तिनले गुनासो गरेनन्, र परमेश्‍वरको सामु घोप्टो परे, र त्यस बेला यदि परमेश्‍वरले तिनको देह लिनुभयो भने पनि तिनले कुनै गुनासो नगरी खुसीसाथ उहाँलाई त्यसो गर्न दिनेथेँ भनी भने। तिनको सम्पूर्ण आचरण तिनको सिद्ध र सोझो मानवताको उपज थियो। भन्‍नुको अर्थ, तिनको निर्दोषता, इमानदारिता र दयाको परिणामस्वरूप, अय्यूब परमेश्‍वरको अस्तित्वसम्बन्धी आफ्नो बुझाइ र अनुभवमा अटल थिए। यही जगको आधारमा तिनले आफ्नै लागि मापदण्ड तय गरे अनि परमेश्‍वरले तिनलाई अगुवाइ गर्नुभएअनुसार र सबै थोकमाझ तिनले देखेका परमेश्‍वरका कार्यहरूअनुसार परमेश्‍वरको सामु आफ्नो सोचविचार, व्यवहार, आचरण र कार्य सिद्धान्तहरूलाई यही मापदण्डअनुरूप बनाए। समय बित्दै जाँदा, तिनका अनुभवहरूले तिनमा परमेश्‍वरप्रतिको साँचो र वास्तविक भय उत्पन्‍न गरायो र तिनलाई दुष्टताबाट अलग बस्‍ने बनायो। अय्यूबले दह्रिलो गरी पक्रेको निष्ठाको स्रोत यही थियो। अय्यूबमा निष्कपट, निर्दोष र दयालु मानवता थियो, र तिनीसँग परमेश्‍वरको भय मान्‍ने, परमेश्वरप्रति समर्पित हुने र दुष्टताबाट अलग बस्‍ने वास्तविक अनुभव थियो, साथै “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ” भन्‍ने ज्ञान पनि थियो। यी कुराहरूको कारणले गर्दा मात्र तिनी शैतानको त्यस्तो डरलाग्दो आक्रमणमाझ आफ्नो गवाहीमा दृढ भएर खडा हुन सकेका थिए, र त्यही कारणहरूले गर्दा मात्रै तिनले आफूमाथि परमेश्‍वरका जाँचहरू आइलाग्दा परमेश्‍वरलाई निराश नपार्न र सन्तोषजनक जबाफ दिन सके।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

अय्यूबले शैतानको विनाश भोगेका थिए, तैपनि तिनले यहोवा परमेश्‍वरको नाउँलाई त्यागेनन्। पहिले बाहिर आउने व्यक्ति तिनकी पत्‍नी थिइन् र सबै मानिसका आँखाले देख्‍ने गरी शैतानको भूमिका खेल्दै तिनले अय्यूबलाई आक्रमण गरिन्। मूल पाठले यसको वर्णन यसरी गर्छ: “तब तिनकी श्रीमतीले तिनलाई भनिन्, के तपाईं अझै पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)। यी वचनहरू मानिसको भेषमा शैतानले बोलेका वचनहरू थिए। ती आक्रमण र आरोप थिए, साथसाथै प्रलोभन, परीक्षा र निन्दा पनि थिए। अय्यूबको देहमा आक्रमण गर्दा असफल भएपछि, शैतानले सीधै अय्यूबको निष्ठामाथि आक्रमण गर्‍यो, अनि अय्यूबलाई आफ्नो निष्ठा त्याग गर्न, परमेश्‍वरलाई इन्कार गर्न र अझै जिउने इच्‍छा मार्न लगाउनको लागि यसको प्रयोग गर्‍यो। त्यसैले पनि शैतानले अय्यूबलाई लोभ्याउन यस्ता शब्दहरू प्रयोग गर्ने इच्छा गर्‍यो: यदि अय्यूबले यहोवाको नाउँ त्यागे भने तिनले त्यस्तो पीडा सहनुपर्दैनथ्यो; तिनले आफूलाई देहको कष्टबाट मुक्त गर्न सक्थे। आफ्नी पत्‍नीको सल्लाह सुनेर अय्यूबले उनलाई यसो भन्दै हप्काए, “तिमी मूर्ख स्‍त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूबले धेरै अघिबाटै यी वचनहरूको बारेमा जानेका थिए, तर यो समयमा तिनको बारेमा अय्यूबको ज्ञानको सत्यता प्रमाणित भयो।

जब तिनलाई तिनकी पत्‍नीले परमेश्‍वरलाई सरापेर मर्ने सल्लाह दिइन्, उनको भनाइको अर्थ यो थियो: “तपाईंका परमेश्‍वरले तपाईंसँग यस्तो व्यवहार गर्नुहुन्छ, त्यसैले उहाँलाई किन नसराप्‍ने? अझै पनि जिएर तपाईं के गर्दै हुनुहुन्‍छ? तपाईंका परमेश्‍वर तपाईंप्रति यति अन्यायी हुनुहुन्छ, तैपनि तपाईं अझै भन्‍नुहुन्छ ‘यहोवाको नाउँको प्रशंसा होस्।’ जब तपाईं उहाँको नाउँलाई धन्यको भन्‍नुहुन्छ भने उहाँले तपाईंमाथि कसरी विपत्ति ल्याउन सक्‍नुहुन्छ? चाँडो गर्नुहोस् र परमेश्‍वरको नाउँ त्याग्‍नुहोस्, र अबउप्रान्त उहाँको पछि लाग्‍न छोड्नुहोस्। तब तपाईंका समस्याहरू समाप्त हुनेछन्।” यस समयमा, परमेश्‍वरले अय्यूबमा हेर्न चाहनुभएको गवाही उत्पन्‍न भयो। कुनै साधारण व्यक्तिले त्यस्तो गवाही दिन सक्‍नेथेन, न त हामी बाइबलका कुनै कथाहरूमा यस्तो कुरा पढ्न पाउँछौँ—तर अय्यूबले यी वचनहरू बोल्नुभन्दा धेरै अघि नै परमेश्‍वरले यो कुरा देखिसक्‍नुभएको थियो। परमेश्‍वरले अय्यूबलाई परमेश्‍वर सही हुनुहुन्छ भनी सबैसामु प्रमाणित गर्न दिन मात्र यस अवसरको प्रयोग गर्न चाहनुभयो। आफ्नी पत्‍नीको सल्लाह सुनेर, अय्यूबले आफ्नो निष्ठा त्याग्‍ने वा परमेश्‍वरलाई छोड्ने काम गरेनन्, बरू उल्टै आफ्नी पत्‍नीलाई समेत यसो भने: “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” के यी वचनहरूमा ठूलो वजन छ? यहाँ, यी वचनहरूको वजन प्रमाणित गर्न सक्‍ने एउटै मात्र तथ्य छ। यी वचनहरूको वजन भनेको के हो भने, ती वचनहरूलाई परमेश्‍वरले आफ्नो हृदयमा स्वीकार गर्नुभएको छ, परमेश्‍वरले चाहनुभएका कुराहरू तिनै हुन्, परमेश्‍वरले सुन्‍न चाहनुभएका वचनहरू तिनै हुन्, र परमेश्‍वरले देख्‍न चाहनुभएका परिणामहरू तिनै हुन्; यी वचनहरू अय्यूबको गवाहीको गुदी पनि हुन्। यसमा, अय्यूबको सिद्धता, इमानदारिता, परमेश्‍वरको भय, र दुष्टताबाट अलग बस्‍ने कार्य साबित भएका थिए। तिनी परीक्षामा पर्दा, तिनका सम्पूर्ण शरीर खटिराहरूले भरिँदा, तिनले अत्याधिक यातना भोग्‍नुपर्दा, र तिनकी पत्‍नी र मित्रहरूले तिनलाई सल्लाह दिँदा पनि तिनले यस्ता वचनहरू बोल्न सके, र यसैमा अय्यूबको बहुमूल्यता छ। अर्को प्रकारले भन्‍नुपर्दा, तिनलाई आफ्नो हृदयमा के विश्‍वास थियो भने, जुनसुकै परीक्षा आए पनि वा जस्तोसुकै गम्‍भीर कष्ट वा सतावट आए पनि, तिनीमाथि मृत्यु नै आइपरे पनि तिनले परमेश्‍वरलाई त्याग्‍नेछैनन् वा परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गलाई लत्याउनेछैनन्। त्यसैले तँ देख्छस् कि तिनको हृदयमा परमेश्‍वरको सबैभन्दा महत्त्वपूर्ण स्थान थियो, र तिनको हृदयमा परमेश्‍वर मात्र हुनुहुन्थ्यो। यसैकारण, हामी धर्मशास्‍त्रमा तिनको बारेमा यस्तो वर्णन पढ्छौं: यी सबै कुरामा अय्यूबले आफ्ना ओठहरूद्वारा पाप गरेनन्। तिनले आफ्‍नो ओठद्वारा पाप नगरेका मात्र नभई आफ्नो हृदयमा पनि कहिल्यै परमेश्‍वरबारे गुनासो गरेनन्। तिनले परमेश्‍वरको विषयमा चोट पुर्‍याउने वचनहरू बोलेनन्, न त तिनले परमेश्‍वरको विरुद्धमा पाप नै गरे। तिनको मुखले परमेश्‍वरको नाउँलाई धन्यको मात्र भनेन, तिनले त आफ्नो हृदयमा परमेश्‍वरको नाउँलाई धन्यको समेत भने; तिनको मुख र हृदय एकजस्तै भएका थिए। परमेश्‍वरले देख्‍नुभएको वास्तविक अय्यूब यही थियो, र यही कारणले गर्दा परमेश्‍वरले अय्यूबको कदर गर्नुभयो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

अय्यूब कसरी परमेश्वरको डर मान्न र दुष्टतादेखि टाढा रहन सक्षम भए? उनी मनमनै के सोचिरहेका थिए? उनले कसरी यी दुष्कर्महरू नगर्न सक्षम भए? उनीसँग परमेश्वरको डर मान्ने हृदय थियो। परमेश्वरको डर मान्ने हृदय हुनुको अर्थ के हो? यसको अर्थ के हो भने उनको हृदय परमेश्वरदेखि डराउँथ्यो, उनी परमेश्वरको महान् मानी उहाँलाई आदर गर्न सक्थे, अनि उनको हृदयमा परमेश्वरका लागि ठाउँ थियो। उनलाई परमेश्वरले त्यो कुरा देख्नुहुनेछ वा उहाँ रिसाउनुहुनेछ भन्ने डर थिएन। बरु उनी परमेश्वरलाई महान् मानी उहाँलाई हृदयदेखि नै आदर गर्थे, अनि परमेश्वरलाई सन्तुष्ट तुल्याउन र परमेश्वरका वचनलाई दृढतापूर्वक पालना गर्न इच्छुक थिए। त्यसैले उनी परमेश्वरको डर मान्न र दुष्टतादेखि टाढा रहन सके। अहिले जसले पनि “परमेश्वरको डर मान्नु र दुष्टतादेखि टाढा रहनु” भन्ने वाक्यांश उच्चारण गर्न सक्छ, तैपनि तिनीहरूलाई अय्यूबले त्यो कसरी पूरा गरे भन्ने कुरा थाहा छैन। वास्तवमा, अय्यूबले “परमेश्वरको डर मान्नु र दुष्टतादेखि टाढा रहनु” लाई परमेश्वरप्रतिको विश्वासको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण कुराका रूपमा लिएका थिए। त्यसैले, त्यसैले उनले परमेश्वरको आज्ञा नै पालन गरिरहेझैँ यी वचनहरू पालन गर्न सके। उनी परमेश्वरका वचन सुन्थे, किनभने उनको हृदयले परमेश्वरलाई महान् मानी उहाँको आदर गर्थ्यो। मानिसको नजरमा परमेश्वरका वचन जतिसुकै साधारण देखिए भए पनि, ती सामान्य वचन भए भए पनि, अय्यूबको हृदयमा यी वचन परम परमेश्वरबाट आएका थिए; ती सबैभन्दा महान् र सबैभन्दा महत्त्वपूर्ण वचन थिए। यी वचनलाई मानिसले तिरस्कार गरे पनि, यदि ती परमेश्वरका वचन हुन् भने मानिसहरूले तिनलाई पालना गर्नुपर्छ—चाहे त्यसले गर्दा तिनीहरूलाई कसैले किन नगिज्याऊन् वा निन्दा नै किन नगरून्। तिनीहरूले दु:ख-कष्ट सामना गरे पनि वा सतावटमा परे पनि, तिनीहरू अन्त्यसम्मै उहाँका वचनमा दृढ रहनुपर्छ; तिनीहरूले तिनलाई त्याग्नु हुन्न। परमेश्वरको डर मान्नु भनेको यही नै हो। तँ परमेश्वरले मानिसबाट माग गर्नुहुने हरेक शब्दप्रति दृढ रहनुपर्छ। जहाँसम्म परमेश्वरले निषेध गर्नुहुने वा उहाँले घृणा गर्नुहुने कुराहरूको सवाल छ, तँलाई तीबारे कुनै जानकारी छैन भने ठीकै छ, तर तँलाई तीबारे जानकारी छ भने तैँले ती काम गर्दै नगर्न सक्षम हुनुपर्छ। तँलाई तेरो परिवारले त्यागे पनि, गैरविश्वासीहरूले गिज्याए पनि, वा तेरा नजिकका मान्छेले तेरो उपहास गरे पनि वा तँलाई जिस्काए पनि, तँ दृढ रहन सक्नुपर्छ। तँ किन दृढ रहनुपर्छ? तेरो सुरुवाती बिन्दु के हो? तेरा सिद्धान्त के हुन्? तेरो सिद्धान्त यो हो, “म परमेश्वरका वचनप्रति दृढ रहनुपर्छ र मैले उहाँको इच्छाअनुसार काम गर्नुपर्छ। म परमेश्वरले मन पराउनुहुने काम गर्नमा दृढ रहनेछु, र उहाँले घृणा गर्नुहुने कामकुरा त्याग्नमा अविचल रहनेछु। यदि मलाई परमेश्वरको इच्छा के हो भन्ने थाहा छैन भने, त्यो ठूलो कुरो होइन, तर यदि मलाई उहाँको इच्छा के हो भन्ने थाहा छ अनि म त्यसलाई बुझ्छु भने, म उहाँका वचन सुन्न र पालना गर्नमा दृढ रहनेछु। मलाई कसैले पनि अवरोध गर्न सक्नेछैन, अनि यदि संसारकै अन्त्य भयो भने पनि म डगमगाउने छैन।” परमेश्वरको डर मान्नु र दुष्टतादेखि टाढा रहनुको अर्थ यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तिमीहरूको दैनिक जीवनमा कुन-कुन मामलाहरूमा तिमीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? अनि कुन-कुन मामलाहरूमा हुँदैन? के तँ कसैले तँलाई चिढ्याउँदा वा तेरो हितहरूमा असर गर्दा उसलाई घृणा गर्न सक्छस्? अनि, जब तैँले कसैलाई घृणा गर्छस्, के तँ उसलाई दण्ड दिन र उसँग बदला लिन सक्छस्? (सक्छु।) त्यसोभए तँ निकै डरलाग्दो छस्! यदि तँसँग परमेश्‍वरको डर मान्ने हृदय छैन, र तँ दुष्कर्महरू गर्न सक्छस् भने, तेरो यो क्रूर स्वभाव निकै गम्भीर छ! प्रेम र घृणा त्यस्ता कुराहरू हुन्, जुन सामान्य मानवतामा हुनुपर्दछ, तर तैँले कुन कुरालाई मन पराउँछस् र कुनलाई घृणा गर्छस् भन्ने कुराबीच तैँले स्पष्ट भिन्नता छुट्ट्याउनु पर्छ। तेरो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, सत्यतालाई प्रेम गर्नुपर्छ, सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्नुपर्छ, जबकि तैँले शैतान र दियाबलसहरूलाई घृणा गर्नुपर्छ, नकारात्मक कुरालाई घृणा गर्नुपर्छ, ख्रीष्ट-विरोधीहरूलाई घृणा गर्नुपर्छ, र दुष्ट मानिसहरूलाई घृणा गर्नुपर्छ। यदि तँ घृणाको कारण दाजुभाइ-दिदीबहिनीहरूलाई दबाउन र तिनीहरूसित बदला लिन सक्छस् भने, यो धेरै डरलाग्दो हुन्छ, र यो दुष्ट व्यक्तिको स्वभाव हो। कतिपय मानिसहरूमा घृणाले भरिएका सोच र विचारहरू अर्थात् दुष्ट विचारहरू मात्र हुन्छन् तर तिनीहरूले कहिल्यै पनि दुष्ट कार्यहरू गर्दैनन्। तिनीहरू दुष्ट मानिसहरू होइनन् किनभने केही आइपर्दा, तिनीहरू सत्यता खोज्न सक्षम हुन्छन्, र आफूले कस्तो आचरण अँगाल्‍ने र कसरी परिस्थिति सम्हाल्ने भन्‍नेबारेमा तिनीहरूले सिद्धान्तहरूमा ध्यान दिन्छन्। अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले माग्‍नुपर्नेभन्दा बढी माग गर्दैनन्; यदि तिनीहरू त्यो व्यक्तिसँग राम्ररी मिल्छन् भने, तिनीहरूसँग अन्तरक्रिया गरिरहनेछन्; यदि मिल्दैनन् भने, अन्तरक्रिया गर्नेछैनन्। यसले तिनीहरूको कर्तव्यपालन वा जीवन प्रवेशलाई बिरलै असर गर्छ। परमेश्‍वर तिनीहरूको हृदयमा हुनुहुन्छ र तिनीहरूसँग उहाँको डर मान्ने हृदय छ। तिनीहरू परमेश्‍वरलाई चिढ्याउन अनिच्छुक हुन्छन्, र उहाँलाई चिढ्याउन डराउँछन्। यी मानिसहरूमा केही निश्‍चित गलत धारणा र विचारहरू भए पनि, तिनीहरू ती विचारहरूविरुद्ध विद्रोह गर्न वा ती त्याग्‍न सक्षम हुन्छन्। तिनीहरूले आफ्नो कार्यव्यवहारमा संयम अपनाउँछन्, र विषयबाहिरको वा परमेश्‍वरलाई चिढ्याउने एक शब्द पनि बोल्दैनन्। यस तरिकाले बोल्ने र व्यवहार गर्ने व्यक्ति सिद्धान्तहरू भएको र सत्यता पालना गर्ने व्यक्ति हो। यस्तोमा तेरो व्यक्तित्व कसैको व्यक्तित्वसँग नमिल्दो हुन सक्छ, र तँलाई त्यो व्यक्ति मन नपर्न सक्छ, तर जब तैँले ऊसँग काम गर्छस्, तँ निष्पक्ष रहन्छस् र आफ्नो कर्तव्य पूरा गर्दा तेरा निराशाहरू व्यक्त गर्दैनस्, वा परमेश्‍वरको परिवारका हितहरूमाथि तेरा निराशाहरू पोखाउँदैनस्; तैँले सिद्धान्तअनुसार कामकाज सम्हाल्न सक्छस्। यो के कुराको प्रकटीकरण हो? यो परमेश्‍वरको डर मान्ने हृदय हुनुको प्रकटीकरण हो। यदि तँसँग त्योभन्दा थोरै मात्र बढी छ भने, जब तँ अरू कसैमा केही कमी वा कमजोरीहरू देख्छस्, तब उसले तँलाई चोट पुऱ्याएको छ भने पनि वा ऊ तँविरुद्ध पूर्वाग्रही छ भने पनि, तँसित अझै पनि त्यो गुण छ र तैँले उसलाई सही व्यवहार र प्रेमपूर्वक मदत गर्नेछस्। यसको अर्थ के हो भने, तँमा प्रेम छ, तँ मानवता भएको व्यक्ति होस्, तँ दयालु र सत्यता अभ्यास गर्ने व्यक्ति होस्, तँ सत्यता वास्तविकता भएको इमान्दार व्यक्ति होस् र तँ परमेश्‍वरको डर मान्ने हृदय भएको व्यक्ति होस्। यदि तँ अझै पनि सानो कदको छस, तर तँसँग इच्छाशक्ति छ, र तँ सत्यताको लागि लागिपर्न इच्छुक छस्, र तँ सिद्धान्तअनुसार काम गर्न लागिपर्छस्, र तँ सिद्धान्तअनुसार परिस्थिति सम्हाल्न र अरूसित व्यवहार गर्न सक्छस् भने, यसलाई पनि अलिअलि परमेश्वरको डर मान्ने हृदय भएको मान्‍न सकिन्छ; यो सबैभन्दा आधारभूत कुरा हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू

सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यता सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र अवरोध पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्‍लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्‍नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा बाधा पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्‍बन्ध छैन भन्‍ने समेत तँलाई लाग्‍नेछ। मण्डलीका कार्य र परमेश्‍वरको घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्‍लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक अविश्‍वासी, एक श्रमिक बनाउँछ। तँ परमेश्‍वरबाट आउने कुरा खान्छस्, परमेश्‍वरबाट आउने कुरा पिउँछस्, र परमेश्‍वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्‍वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्‍बन्धित छैन भन्‍ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्‍ने धोकेबाज होस्। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको ढोंग गर्छस्, र तँ परमेश्‍वरको घरमा फाइदा लुट्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, तँ मान्छे होइन पिशाचजस्तो छस्, र तँ स्पष्ट रूपमै अविश्‍वासी होस्। यदि तँ परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता र जीवन पाउन बाँकी नै भए पनि, कम्तीमा पनि तैँले परमेश्‍वरको पक्षमा उभिएर बोल्‍नेछस् र काम गर्नेछस्; कम्तीमा पनि, तैँले परमेश्‍वरको घरका हितहरूमा सम्झौता भएको देख्दा तँ हात बाँधेर बस्‍नेछैनस्। तँलाई त्यस्तो समस्याप्रति आँखा चिम्‍लन मन लाग्दा, ग्‍लानि महसुस हुनेछ, र तँ व्याकुल हुनेछस्, र मनमनै भन्‍नेछस्, “मैले हात बाँधेर बस्‍नु हुँदैन, खडा हुनुपर्छ र केही बोल्‍नुपर्छ, मैले जिम्मेवारी लिनुपर्छ, मैले यो दुष्ट व्यवहारलाई पर्दाफास गर्नैपर्छ, मैले यसलाई रोक्‍नैपर्छ ताकि परमेश्‍वरको घरका हितहरूमा हानि नपुगोस्, र मण्डली जीवनमा बाधा नपुगोस्।” यदि सत्यता तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्‍न मात्र सक्‍नेछैनस्, बरु तैँले त परमेश्‍वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्‍मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ। यदि तैँले आफ्‍नो कर्तव्यलाई तेरो जिम्‍मेवारी र दायित्व अनि परमेश्‍वरले दिनुभएको आज्ञाको रूपमा लिन्छस् र यो परमेश्‍वर र तेरो आफ्नै विवेकको सामना गर्न नभई नहुने कुरा हो भनीमहसुस गर्छस् भने, के तँ सामान्य मानवताको निष्ठा र गरिमामा बाँचिरहेको हुनेछैनस् र? तेरा कार्य र बानीबेहोरा उहाँले बताउनुभएको “परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने” किसिमको हुनेछ। तैँले यी वचनहरूका सारलाई पूरा गरिरहेको र तिनको वास्तविकतामा जिइरहेको हुनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सम्बन्धित भजनहरू

परमेश्‍वरलाई आदर गर्नेहरू सबै कुरामा परमेश्‍वरलाई प्रशंसा गर्छन्

अय्यूबको गवाहीले शैतानलाई पराजित गर्‍यो

अघिल्लो: ३६. परमेश्‍वरको आज्ञापालन कसरी गर्न सकिन्छ

अर्को: ३८. परमेश्‍वरको डर मान्नुर दुष्टताबाट अलग बस्नु अनि मुक्ति पाउनुबीच के सम्बन्ध छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्