सामान्य आत्मिक जीवनको सम्बन्धमा
परमेश्वरमाथिको विश्वासको लागि सामान्य आत्मिक जीवनको आवश्यकता हुन्छ, जुन परमेश्वरका वचनहरू अनुभव गर्ने र वास्तविकतामा प्रवेश गर्ने आधार हो। के तिमीहरूका प्रार्थना गर्ने, परमेश्वरको नजिक आउने, भजन गाउने, प्रशंसा गर्ने, ध्यान गर्ने, र परमेश्वरका वचनहरूको चिन्तन गर्ने अभ्यासहरू “सामान्य आत्मिक जीवन” समान छन्? तिमीहरू कसैलाई पनि थाहा छैन जस्तो देखिन्छ। सामान्य आत्मिक जीवन प्रार्थना गर्ने, भजन गाउने, मण्डली जीवनमा भाग लिने, परमेश्वरका वचनहरू खाने र पिउने जस्ता अभ्यासहरूमा सीमित छैन। बरु, यसमा त एउटा नयाँ र जीवन्त आत्मिक जीवन जिउने कार्य समावेश हुन्छ। तैँले कसरी अभ्यास गर्छस् भन्ने होइन, बरु तेरो अभ्यासले कस्तो फल फलाउँछ भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो। धेरैजसो मानिसहरूले के विश्वास गर्छन् भने सामान्य आत्मिक जीवनमा प्रार्थना गर्नु, भजन गाउनु, परमेश्वरका वचनहरू खानु र पिउनु वा उहाँका वचनहरूलाई ध्यान दिनु जरुरी हुन्छ, चाहे त्यस्ता प्रचलनहरूले वास्तवमा कुनै असर पारोस् वा नपारोस् वा साँचो बुझाइमा डोर्याओस् वा नडोर्याओस्। यी मानिसहरूले नतिजाहरूलाई ध्यानै नदिई सतही प्रक्रियाहरूलाई पछ्याउने कार्यमा ध्यान दिन्छन्; तिनीहरू धार्मिक रीतिथितिमा जिउने मानिसहरू हुन्, मण्डलीभित्र जिउने मानिसहरू होइनन्, तिनीहरू राज्यका मानिसहरू हुने कुरा त परै जाओस्। तिनीहरूका प्रार्थना, भजन गाउने, र परमेश्वरका वचनहरू खाने र पिउने कार्य भनेका केवल नियमावलीहरू पालना गर्ने स्वरूप हुन् जुन बाध्यताको कारण र प्रचलनहरूलाई पूरा गर्नको लागि गरिएका हुन्, इच्छाले वा हृदयबाट गरिएका होइनन्। यी मानिसहरूले जति नै प्रार्थना गरे पनि वा गीत गाए पनि, तिनीहरूका प्रयासले कुनै फल फलाउनेछैन, किनभने तिनीहरूले अभ्यास गर्ने भनेका केवल धर्मका नियमावली र अनुष्ठानहरू मात्र हुन्; तिनीहरूले वास्तवमा परमेश्वरका वचनहरू अभ्यास गरिरहेका हुँदैनन्। तिनीहरूले कसरी अभ्यास गर्छन् भन्ने बारेमा हल्लीखल्ली गर्नमा मात्रै तिनीहरू ध्यान दिन्छन्, र उनीहरूले परमेश्वरका वचनहरूलाई पालन गर्नुपर्ने नियमावलीहरूका रूपमा लिन्छन्। त्यस्ता मानिसहरूले परमेश्वरका वचनहरूलाई अभ्यास गरिरहेका हुँदैनन्; तिनीहरूले केवल देहलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र अरू मानिसहरूलाई देखाउनका लागि कार्य गरिरहेका हुन्छन्। यी धार्मिक नियमावली र अनुष्ठानहरू सबै मानवबाट आएका हुन्; ती परमेश्वरबाट आएका होइनन्। परमेश्वर न त नियमावलीहरू पालना गर्नुहुन्छ, न उहाँ कुनै कानुनको अधीनमा हुनुहुन्छ। बरु उहाँले त व्यवहारिक काम गर्दै हरेक दिन नयाँ कामकुरा गर्नुहुन्छ। हरेक दिन बिहानको सेवाहरूमा भाग लिने, साँझको प्रार्थना र खानाको अगाडि कृतज्ञताको प्रार्थना गर्ने, र सबै कुरामा धन्यवाद दिनेजस्ता अभ्यासहरूमा आफैलाई सीमित राख्ने थ्री सेल्फ चर्चका मानिसहरूजस्तै—उनीहरूले जति नै यसो गरे पनि र जति धेरै समयसम्म तिनीहरूले त्यसो गरे पनि, तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन। जब मानिसहरू नियमावलीहरूमा बाँचिरहेका हुन्छन् र आफ्ना हृदयलाई अभ्यासका विधिहरूमा केन्द्रित गर्छन्, पवित्र आत्माले काम गर्न सक्नुहुन्न, किनकि उनीहरूको हृदय नियमावलीहरू र मानवीय धारणाहरूले ओगटेको हुन्छ। तसर्थ, परमेश्वर हस्तक्षेप गर्न र तिनीहरूमा काम गर्न असमर्थ हुनुहुन्छ, र तिनीहरू व्यवस्थाको बन्धनमा जिइरहन मात्र सक्छन्। यस्ता मानिसहरू परमेश्वरको अनुमोदन प्राप्त गर्न सदा असक्षम हुन्छन्।
सामान्य आत्मिक जीवन भनेको परमेश्वरसामु जिइने जीवन हो। प्रार्थना गर्दा, व्यक्तिले परमेश्वरसामु आफ्नो हृदयलाई शान्त पार्न सक्छ र प्रार्थनामार्फत व्यक्तिले पवित्र आत्माको अन्तर्दृष्टि खोज्न, परमेश्वरका वचनहरू जान्न र अभिप्रायहरू बुझ्न सक्छ। मानिसहरूले परमेश्वरका वचनहरू खाएर र पिएर उहाँको वर्तमान कामको अझ प्रस्ट र अझ पूर्ण बुझाइ प्राप्त गर्न सक्छन्। तिनीहरूले अभ्यासको नयाँ मार्ग पनि प्राप्त गर्न सक्छन् र तिनीहरू पुरानो मार्गमा टाँसिनेछैनन्; तिनीहरू अभ्यास गर्ने सबै कुरा जीवनमा वृद्धि हासिल गर्नका लागि हुनेछन्। उदाहरणका लागि, प्रार्थनाको उद्देश्य भनेको परमेश्वरसामु केही मिठा सुनिने शब्द बोल्नु वा आफू कति ऋणी छु भनेर देखाउन आँसु झार्नु होइन; बरु, यो आत्माको प्रयोग गर्न आफूलाई तालिम दिनु हो, जसले व्यक्तिलाई परमेश्वरसामु आफ्नो हृदयलाई शान्त पार्न, सबै मामिलामा आफूलाई परमेश्वरका वचनहरूबाट मार्गदर्शन खोज्ने तालिम दिन मद्दत गर्छ, ताकि व्यक्तिको हृदय हरेक दिन ताजा नयाँ ज्योतितर्फ आकर्षित हुन सकोस् र व्यक्ति नकारात्मक वा अल्छी नहोस् र उसले परमेश्वरका वचनहरू अभ्यास गर्ने सही मार्गमा पाइला टेक्न सकोस्। आजकल धेरैजसो मानिस अभ्यासका विधिहरूमा ध्यान केन्द्रित गर्छन्; तिनीहरूको उद्देश्य सत्यता पछ्याउनु र जीवन वृद्धि हासिल गर्नु होइन। तिनीहरूको विचलन यहीँ हुन्छ। कतिपय त्यस्ता मानिस पनि छन् जो नयाँ ज्योति स्वीकार गर्न सक्षम छन्, तर तिनीहरूका अभ्यासका विधिहरू परिवर्तन हुँदैनन्। तिनीहरू परमेश्वरका आजका वचनहरू बुझ्न खोज्दा पहिलेका आफ्ना धार्मिक धारणाहरू आफूसँगै ल्याउँछन्, त्यसैले तिनीहरूले बुझ्ने कुरा भनेको अझै पनि धार्मिक धारणाहरूद्वारा प्रभावित धर्मसिद्धान्त नै हुन्छ; तिनीहरूले आजको ज्योतिलाई शुद्ध र सरल तरिकाले स्वीकार गरिरहेका हुँदैनन्। फलस्वरूप, तिनीहरूका अभ्यासहरू कलङ्कित हुन्छन्; तिनीहरू उही पुरानै सामानमा नयाँ नाम टाँसिरहेका हुन्छन्। तिनीहरूले जतिसुकै राम्ररी अभ्यास गरे पनि, तिनीहरू पाखण्डी हुन्। परमेश्वर मानिसहरूलाई हरेक दिन नयाँ कुराहरू गर्न अगुवाइ गर्नुहुन्छ, तिनीहरूले हरेक दिन नयाँ अन्तर्ज्ञान र बुझाइ प्राप्त गरून् भन्ने माग गर्नुहुन्छ र तिनीहरू पुरानो शैलीका र एउटै कुरा दोहोऱ्याइरहने नहोऊन् भन्ने माग गर्नुहुन्छ। यदि तैँले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको छस्, तैपनि तेरा अभ्यासका विधिहरू बिलकुलै परिवर्तन भएका छैनन् र यदि तँ अझै पनि बाहिरी मामिलाहरूमा उत्साही र व्यस्त छस्, तैपनि परमेश्वरका वचनहरूको आनन्द उठाउन शान्त हृदयका साथ उहाँसामु आउँदैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। परमेश्वरको नयाँ काम स्विकार्ने कुरा आउँदा, यदि तँ फरक तरिकाले योजना बनाउँदैनस्, नयाँ तरिकाले आफ्नो अभ्यासमा लाग्दैनस् र नयाँ बुझाइ पछ्याउँदैनस्, बरु त्यसको सट्टा पुरानै तरिकामा टाँसिन्छस् र आफूले अभ्यास गर्ने तरिका परिवर्तन नगरी केही सीमित नयाँ ज्योति मात्र स्वीकार गर्छस् भने, तँजस्ता मानिसहरू नाम मात्रका लागि यस प्रवाहमा हुन्छन्; वास्तवमा, तिनीहरू पवित्र आत्माको प्रवाहबाहिरका धार्मिक फरिसी हुन्।
एक सामान्य आत्मिक जीवन जिउन, तैँले हरेक दिन नयाँ ज्योति स्विकार्न र परमेश्वरका वचनहरूको साँचो बुझाइको खोजी गर्न सक्नुपर्छ। तैँले सत्यतालाई प्रस्ट रूपमा बुझ्न सक्नुपर्छ, सबै मामिलामा अभ्यासको बाटो खोज्नुपर्छ, हरेक दिन परमेश्वरका वचनहरू पढेर नयाँ समस्याहरू पत्ता लगाउनुपर्छ, र तेरा आफ्नै अपर्याप्तताहरू थाहा पाउनुपर्छ, ताकि तँसित तृष्णा गर्ने र खोजी गर्ने हृदय होस् जसले तेरो सम्पूर्ण सत्त्वलाई अगुवाइ गर्छ, ताकि पछि छोडिने डरले तँ परमेश्वरको सामु सधैँ शान्त हुन सक्। निरन्तर प्रवेश प्राप्त गर्न इच्छुक अनि तृषित र खोजी गर्ने हृदय भएको व्यक्ति आत्मिक जीवनको सही मार्गमा हुन्छ। जो पवित्र आत्माद्वारा प्रेरित छन्, जसले अझ राम्रो गर्न चाहन्छन्, जो परमेश्वरद्वारा सिद्ध पारिने पछ्याइमा इच्छुक छन्, जो परमेश्वरका वचनहरूको गहिरो बुझाइको तृष्णा गर्छन्, जो अलौकिकको पछि लाग्दैनन्, बरु वास्तविक मूल्य तिर्छन्, जसले वास्तवमा परमेश्वरका अभिप्रायहरूको ख्याल गर्छन्, जसले वास्तवमै प्रवेश प्राप्त गर्दछन्, जसले गर्दा उनीहरूका अनुभवहरू अझ सच्चा र वास्तविक हुन्छन्, जसले खोक्रा शब्द र धर्मसिध्दान्तहरू पछ्याउँदैनन् वा अलौकिक अनुभूतिहरू पछ्याउँदैनन्, जसले कुनै महान व्यक्तित्वको आराधना गर्दैनन्—सामान्य आत्मिक जीवनमा प्रवेश गरेकाहरू यिनीहरू नै हुन्। उनीहरूले गर्ने सबै कुरा जीवनमा थप वृद्धि प्राप्त गर्न र आत्मामा आफैलाई ताजा र जीवन्त तुल्याउनको लागि हो, र तिनीहरूले सधैँ सक्रिय रूपमा प्रवेश प्राप्त गर्न सक्छन्। महसुसै नगरी तिनीहरूले सत्यलाई बुझ्छन् र वास्तविकतामा प्रवेश गर्छन्। सामान्य आत्मिक जीवन भएका मानिसहरूले हरेक दिन आत्माको मुक्ति र स्वतन्त्रता पाउँछन् र तिनीहरूले परमेश्वरलाई सन्तुष्ट तुल्याउने गरी उहाँका वचनहरू स्वतन्त्र रूपमा अभ्यास गर्न सक्छन्। यी मानिसहरूका लागि, प्रार्थना गर्नु कुनै औपचारिकता वा प्रक्रिया होइन; प्रत्येक दिन, तिनीहरूले नयाँ प्रकाशलाई पछ्याउन सक्छन्। उदाहरणको लागि, मानिसहरूले परमेश्वरसामु आफ्नो हृदय शान्त गराउन आफैलाई तालिम दिन्छन्, र उनीहरूको हृदय परमेश्वरसामु साँच्चै नै शान्त हुन सक्छ, र तिनीहरूलाई कसैले पनि वाधा दिन सक्दैन। कुनै व्यक्ति, घटना, वा चीजले उनीहरूको सामान्य आत्मिक जीवनलाई बाधा दिन सक्दैन। यस्तो तालिम परिणाम उत्पन्न गर्ने उद्देश्यले गरिएको हुन्छ; यो मानिसहरूलाई पालन गराउनका लागि नियमावलीहरू स्थापित गर्नका लागि होइन। यो अभ्यास नियमावलीहरू पालना गर्नेसँग सम्बन्धित छैन, बरु यो त मानिसहरूको जीवनमा वृद्धि ल्याउने कार्यसँग सम्बन्धित छ। यदि तैँले यो अभ्यासलाई पालना गर्नुपर्ने नियमावलीहरूको रूपमा मात्र देख्छस् भने, तेरो जीवन कहिल्यै परिवर्तन हुनेछैन। तँ अरूको जस्तै अभ्यासमा संलग्न हुन सक्छस्, तर जब तिनीहरूले अन्ततः पवित्र आत्माको कामको गतिलाई पछ्याउन सक्ने हुन्छन्, तब तँलाई पवित्र आत्माको प्रवाहबाट हटाइन्छ। के तैँले आफैलाई मूर्ख बनाइरहेको छैनस् र? यी वचनहरूको उद्देश्य भनेको मानिसहरूलाई परमेश्वरसमक्ष आफ्नो हृदय शान्त गराउन, उनीहरूको हृदय परमेश्वरतिर फर्काउन दिनको लागि हो, ताकि तिनीहरूमा परमेश्वरले गर्नुहुने कामहरू कुनै बाधाविना अघि बढ्न सकोस् र त्यसले फल फलाउन सकोस्। त्यसो भएमा मात्र मानिसहरू परमेश्वरका अभिप्रायहरूअनुसारको बन्न सक्छन्।