मण्डलीको जीवन र वास्तविक जीवनको बारेमा छलफल

मानिसहरूलाई के लाग्छ भने, तिनीहरू मण्डलीको जीवनमा मात्र रूपान्तरण हुन सक्छन्। यदि तिनीहरू मण्डलीको जीवनमा छैनन् भने, तिनीहरूलाई तिनीहरू रूपान्तरण हुन सक्दैनन् भन्‍ने लाग्छ, मानौं वास्तविक जीवनमा रूपान्तरण हासिल गर्न सकिँदैन। के तिमीहरू यसको समस्या देख्न सक्छौ? मैले परमेश्‍वरलाई वास्तविक जीवनमा ल्याउने विषयमा पहिले नै कुरा गरिसकेको छु; परमेश्‍वरमा विश्‍वास गर्नेहरूका लागि यो परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्ने मार्ग हो। वास्तवमा, मण्डलीको जीवन भनेको मानिसहरूलाई सिद्ध गर्ने एउटा सीमित तरिका मात्र हो। मानिसहरूलाई सिद्ध बनाउने प्राथमिक वातावरण अझै पनि वास्तविक जीवन नै हो। मैले कुरा गरेको वास्तविक अभ्यास र वास्तविक प्रशिक्षण यही हो, जसले मानिसहरूलाई सामान्य मानवताको जीवन प्राप्त गर्न र दैनिक जीवनको क्रममा एक साँचो व्यक्तिको स्वरूपमा जिउन दिन्छ। एकातिर, व्यक्तिले आफ्नो शिक्षाको स्तर उठाउने, परमेश्‍वरका वचनहरू बुझ्ने, र ग्रहण गर्ने क्षमता हासिल गर्न अध्ययन गर्नु आवश्यक हुन्छ। अर्कोतर्फ, सामान्य व्यक्तिको अन्तर्दृष्टि र विवेक प्राप्त गर्नको लागि व्यक्ति मानवको रूपमा जिउनलाई चाहिने आधारभूत ज्ञानद्वारा सुसज्जित हुनुपर्दछ, किनकि मानिसहरूमा पूर्ण रूपमा यी क्षेत्रहरूको कमी छ। यसबाहेक, मण्डलीको जीवनद्वारा व्यक्तिले परमेश्‍वरका वचनहरूको स्वाद पनि लिनुपर्छ, र बिस्तारै सत्यताको स्पष्ट बुझाई प्राप्त गर्नुपर्छ।

परमेश्‍वरमा विश्‍वास गर्दा, व्यक्तिले परमेश्‍वरलाई वास्तविक जीवनमा ल्याउनुपर्छ भनेर किन भनिन्छ? मानिसलाई रूपान्तरण गर्ने मण्डली जीवन मात्रै होइन; अझ महत्त्वपूर्ण कुरा, मानिसहरू वास्तविक जीवनमा नै वास्तविकतामा प्रवेश गर्नुपर्दछ। तिमीहरू वास्तविक जीवनमा धेरै थोकहरूको अभ्यास गर्न बेवास्ता गर्दै, र तिनीहरूमा तिमीहरूको प्रवेशलाई उपेक्षा गर्दै सधैँ आफ्नो आत्मिक स्थिति र आत्मिक कुराको बारेमा कुरा गर्थ्यौ। तिमीहरू प्रत्येक दिन लेख्थ्यौ, तिमीहरू प्रत्येक दिन सुन्थ्यौ, र तिमीहरू प्रत्येक दिन पढ्थ्यौ। तिमीहरूले खाना पकाउँदै गर्दा पनि तिमीहरू यसो भन्दै प्रार्थना गर्थ्यौ: “हे परमेश्‍वर! तपाईं मभित्रको मेरो जीवन बन्नुहोस्। तर आजको दिन बित्दा, कृपया मलाई आशिष् दिनुहोस् र मलाई ज्ञान दिनुहोस्। तपाईंले आज मलाई जुन कुराको ज्ञान दिनुहुन्छ, कृपया मलाई यो क्षणमा त्यसबारे बुझाउनुहोस्, यसैले कि तपाईंका वचनहरूले मेरो जीवनको रूपमा काम गरून्।” तैंले बेलुकीको भोजन खाइरहँदा पनि यसरी पनि प्रार्थना गर्थिस्: “हे परमेश्‍वर! तपाईंले हामीलाई यो भोजन दिनुभयो। तपाईंले हामीलाई आशिष् दिनुहोस्। आमेन! हामी तपाईंसँग जिउन सकौं। तपाईं हामीसँग हुनुहोस्। आमेन!” तैंले आफ्नो भोजन खाइसकेपछि र भाँडा माझेपछि तँ बरबराउन थालिस्: “हे परमेश्‍वर, म यो कचौरा हुँ। हामी शैतानद्वारा भ्रष्ट पारिएका छौं र प्रयोग गरिएका कचौराहरू जस्ता छौं जसलाई पानीले सफा गर्नैपर्छ। तपाईं त्यो पानी हुनुहुन्छ, र तपाईंका वचनहरू जीवित पानी हो, जसले मेरो जीवनका लागि आपूर्ति गर्दछ।” तैंले थाहा नपाई ओछ्यानमा जाने समय भएको हुन्थ्यो, र तँ फेरि बरबराउन थालिस्: “हे परमेश्‍वर! तपाईंले मलाई दिनभरि आशिष् दिनुभयो र मलाई डोऱ्याउनुभयो। म तपाईंप्रति साँच्चै आभारी छु।…” तैंले आफ्नो दिन यसरी बिताइस्, र त्यसपछि तँ आफ्नो निद्रामा परिस्। प्रायः मानिसहरू दैनिक रूपमा यस्तै जीवन बिताउँछन्, र अहिले पनि उनीहरूले वास्तविक प्रवेशलाई बेवास्ता गर्दछन्, उनीहरूका प्रार्थनाहरूमा ओठे सेवा गर्नुमा मात्र ध्यान दिन्छन्। यो उनीहरूको पहिलेको जीवन हो—उनीहरूको पुरानो मनुष्यत्व। अनि धेरै जना यस्तै प्रकारका छन्; उनीहरूमा कुनै वास्तविक तालिमको अभाव हुन्छ, र उनीहरू अत्यन्तै थोरै वास्तविक रूपान्तरण हुँदछ। उनीहरू आफ्ना प्रार्थनाहरूमा ओठे सेवा मात्र चढाउँछन्, उनीहरू बोलीले मात्र परमेश्‍वरको नजिक हुन्छन्, तर उनीहरूको बुझाइमा गहिराइ हुँदैन। हामी यो अति साधारण उदाहरणलाई लिऊँ—तेरो घर सफा राख्ने बारेमा। तैंले आफ्नो घर लथालिङ्ग देख्छस्, त्यसैले तँ त्यहाँ बस्छस् प्रार्थना गर्छस्: “हे परमेश्‍वर! शैतानले ममाथि हालेको भ्रष्टता हेर्नुहोस्। म यो घरजस्तै फोहोर छु। हे परमेश्‍वर! म साँच्चै तपाईंको प्रशंसा गर्दछु र तपाईंलाई धन्यवाद दिन्छु। तपाईंको मुक्ति र ज्ञानविना मैले यो वास्तविकतालाई बुझ्‍नेथिइनँ।” तँ त्यहाँ बस्छस् र लामो समयसम्म प्रार्थना गर्दै बरबराउँछस्, र त्यसपछि तँ केही नभएको जस्तो व्यवहार गर्छस्, मानौं तँ अलमल्ल परेकी एक वृद्ध महिला होस्। वास्तविकतामा अलिकति पनि प्रवेश नगरी, धेरै वटा देखावटी अभ्यासहरू गर्दै आफ्नो आत्मिक जीवन बिताउँछस्! वास्तविक तालिममा प्रवेश गर्ने कार्यमा मानिसहरूका वास्तविक जीवन र उनीहरूका व्यावहारिक कठिनाइहरू समावेश हुन्छ—तिनीहरू परिवर्तन हुने एक मात्र तरिका यही हो। वास्तविक जीवनविना, मानिसहरू रूपान्तरण हुन सक्दैनन्। प्रार्थनामा ओठे सेवा गरेर के फाइदा हुन्छ र? मानिसको प्रकृतिलाई नबुझी, सबै कुरा समयको बरबादी हो, र अभ्यास गर्ने मार्गविना, सबै प्रयास व्यर्थ हुन्छ! सामान्य प्रार्थनाले मानिसहरूलाई भित्री रूपमा आफ्नो सामान्य अवस्था कायम राख्न सहायता गर्दछ, तर तिनीहरू यसद्वारा पूर्ण रूपमा रूपान्तरण हुन सक्दैनन्। मानव स्व-धार्मिकता, अहङ्कार, घमण्ड, सेखीलाई चिन्नु र मानिसका भ्रष्ट स्वभावहरू जान्नु जस्ता कुराको ज्ञान प्रार्थनाद्वारा आउँदैन—परमेश्‍वरको वचन चाखेपछि मात्र तिनको बारेमा थाहा पाइन्छ, र वास्तविक जीवनमा पवित्र आत्माले दिनुहुने ज्ञानद्वारा मात्र तिनको बारेमा जान्न सकिन्छ। आजभोलिका सबै मानिसहरू राम्ररी बोल्न सक्छन्, र उनीहरूले सबैभन्दा उत्कृष्ट प्रचार सुनेका हुन्छन्—युगौं-युगको अवधिमा अरू सबैले दिएकोभन्दा उच्च—यद्यपि त्यसको थोरै भागलाई मात्र उनीहरूको वास्तविक जीवनमा लागू गरिन्छ। भन्नुको तात्पर्य, तिनीहरूको वास्तविक जीवनमा परमेश्‍वर हुनुहुन्न; रूपान्तरणपछि तिनीहरूमा नयाँ व्यक्तिको जीवन हुँदैन। वास्तविक जीवनमा तिनीहरू सत्यतामा जिउँदैनन्, न त तिनीहरूले परमेश्‍वरलाई नै वास्तविक जीवनमा ल्याउँछन्। तिनीहरू नरकका सन्तान जस्तो भएर जिउँछन्। के यो स्पष्ट देखिने विचलन होइन र?

सामान्य व्यक्तिको स्वरूपलाई पुनर्स्थापित गर्न, अर्थात्, सामान्य मानवता हासिल गर्नको लागि, मानिसहरूले केवल उनीहरूको वचनद्वारा मात्र परमेश्‍वरलाई खुसी पार्न सक्दैनन्। त्यसो गरेर तिनीहरू आफ्नै हानि मात्र गर्छन्, र यसले तिनीहरूको प्रवेश वा रूपान्तरणमा फाइदा गर्दैन। त्यसकारण, रूपान्तरण प्राप्त गर्न, मानिसहरूले अलिअलि गर्दै अभ्यास गर्नुपर्छ। तिनीहरू बिस्तारै प्रवेश गर्नुपर्छ, अली-अली गर्दै खोज्नु र पत्ता लाउनुपर्छ, सकारात्मक भएर प्रवेश गर्नुपर्दछ, र सत्यको व्यावहारिक जीवन; एक सन्तको जीवन जिउनुपर्छ। त्यसपछि, वास्तविक थोकहरू, वास्तविक घटनाहरू, र वास्तविक वातावरणले मानिसहरूलाई व्यावहारिक तालिम दिन्छ। मानिसहरूले ओठको सेवा गर्नुपर्ने कुनै आवश्यक छैन; यसको सट्टा, तिनीहरूले वास्तविक वातावरणमा तालिम लिनुपर्छ। मानिसहरूले पहिले उनीहरूमा अति थोरै क्षमता छ भनी थाहा पाउँछन् र त्यसपछि उनीहरूले सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, सामान्य रूपमा प्रवेश गर्छन् र अभ्यास गर्छन्; यसरी मात्र उनीहरूले वास्तविकता प्राप्त गर्न सक्दछन्, र यसरी नै प्रवेश अझ तीव्र गतिमा आउन सक्छ। मानिसहरूलाई रूपान्तरण गर्नको लागि, केही व्यावहारिकता हुनुपर्दछ; तिनीहरूले वास्तविक थोकहरू, वास्तविक घटनाहरू, र वास्तविक वातावरणमा अभ्यास गर्नुपर्छ। के एक व्यक्तिले मण्डलीको जीवनमा मात्र निर्भर भएर साँचो तालिम लिन सक्छ? के मानिसहरू यस्तो प्रकारले वास्तविकतामा प्रवेश गर्न सक्छन्? सक्दैनन्! यदि मानिसहरू वास्तविक जीवनमा प्रवेश गर्न सक्दैनन् भने, तिनीहरू आफ्नो पुरानो जीवनशैली र काम गर्ने पुराना तरिकाहरू रूपान्तरण गर्न सक्दैनन्। यो पूर्ण रूपमा मानिसहरूको आलस्य र धेरै परानिर्भरताका कारणले होइन, तर यसको कारण के हो भने, मानिसहरूसँग जिउने क्षमता छैन, र यसको अतिरिक्त, उनीहरूलाई सामान्य व्यक्तिको स्वरूपको सम्बन्धमा परमेश्‍वरको मापदण्डको ज्ञान छैन। विगतमा, मानिसहरू जहिल्यै पनि कुरा गर्दथे, बोल्थे, कुराकानी गर्थे—र तिनीहरू “वक्ता” समेत बने—तापनि उनीहरूमध्ये कसैले पनि आफ्नो जीवनको स्वभावमा रूपान्तरणको खोजी गरेनन्; यसको सट्टा, तिनीहरूले अन्धाधुन्ध गहन सिद्धान्तहरूको खोजी गरे। यसैले, आजका मानिसहरूले आफ्नो जीवनमा परमेश्‍वरमाथिको विश्‍वास गर्ने धार्मिक शैली परिवर्तन गर्नुपर्दछ। तिनीहरूले एउटा घटना, एउटा थोक, एउटा व्यक्तिमा केन्द्रित भएर अभ्यासमा प्रवेश गर्नुपर्दछ। तिनीहरूले ध्यान दिएर यो गर्नुपर्छ—तब मात्र तिनीहरूले परिणाम प्राप्त गर्न सक्छन्। मानिसहरूको रूपान्तरण तिनीहरूको सारको परिवर्तनबाट सुरु हुन्छ। त्यो कामको लक्ष्य मानिसहरूको सार, तिनीहरूका जीवन, र तिनीहरूको आलस्य, परानिर्भरता, र दासत्वमा लक्षित हुनुपर्दछ—यस तरिकाले मात्र उनीहरू रूपान्तरण हुन सक्छन्।

मण्डलीको जीवनले केही क्षेत्रहरूमा परिणाम उत्पन्न गर्न सक्‍ने भए तापनि, मुख्य कुरा त अझै पनि के हुन्छ भने, वास्तविक जीवनले नै मानिसहरूलाई रूपान्तरण गर्न सक्छ। कुनै व्यक्तिको पुरानो स्वभावलाई वास्तविक जीवनविना रूपान्तरण गर्न सकिँदैन। उदाहरणका लागि हामी अनुग्रहको युगको अवधिको येशूको कामलाई विचार गरौं। जब येशूले पहिलेका व्यवस्थाहरूलाई रद्द गर्नुभयो र नयाँ युगका आज्ञाहरू स्थापित गर्नुभयो, तब उहाँ वास्तविक जीवनका वास्तविक उदाहरणहरू प्रयोग गरेर बोल्नुभयो। विश्राम-दिनमा येशू आफ्ना चेलाहरूलाई गहुँको खेततिरबाट डोऱ्याउँदै लैजानुभएको बेला, उहाँका चेलाहरू भोकाए र अन्नका बालाहरू चुँडाएर खाए। फरिसीहरूले यो देखेर तिनीहरूले शबाथको दिन पालन गरिरहेका छैनन् भनी भने। तिनीहरूले शबाथको दिन खाडलमा खसेका बाछाहरूलाई बचाउन मानिसहरूलाई अनुमति छैन, किनभने विश्रामको दिनमा कुनै काम गर्नुहुँदैन पनि भने। येशूले नयाँ युगको आज्ञा बिस्तारै विस्तार गर्नका निम्ति यी घटनाहरूको बारेमा उल्लेख गर्नुभयो। त्यस समयमा, उहाँले मानिसहरूलाई बुझ्न र रूपान्तरण हुन सहायता गर्नको लागि धेरै वटा व्यावहारिक विषयहरू प्रयोग गर्नुभयो। यही सिद्धान्तद्वारा पवित्र आत्माले आफ्नो काम गर्नुहुन्छ, र मानिसहरूलाई रूपान्तरण गर्न सक्‍ने एउटै मात्र तरिका यही हो। व्यावहारिक विषयहरूविना, मानिसहरूले सैद्धान्तिक र बौद्धिक बुझाइ मात्र प्राप्त गर्न सक्छन्—यो रूपान्तरण हुने प्रभावकारी तरिका होइन। त्यसैले, कुनै व्यक्तिले तालिमद्वारा कसरी बुद्धि र अन्तर्दृष्टि प्राप्त गर्न सक्छ? के मानिसहरूले सुनेर, पढेर, र आफ्नो ज्ञान बढाएर मात्र बुद्धि र ज्ञान प्राप्त गर्न सक्छ? यस्तो कसरी हुन सक्छ? मानिसहरूले वास्तविक जीवनमा बुझ्नु र अनुभव गर्नुपर्दछ! त्यसकारण, एक व्यक्तिले तालिम लिनैपर्छ, र ऊ वास्तविक जीवनबाट अलग हुनु हुँदैन। मानिसहरूले विभिन्न पक्षमा ध्यान दिनुपर्छ र तिनीहरू विभिन्न पक्षहरूमा प्रवेश गर्नुपर्दछ: शिक्षाको स्तर, अभिव्यक्ति क्षमता, विभिन्न कुराहरू देख्‍ने क्षमता, समझशक्ति, परमेश्‍वरको वचन बुझ्ने क्षमता, सामान्य ज्ञान र मानवजातिका नियमहरू, र मानवजातिसँग सम्बन्धित अन्य कुराहरू जसद्वारा मानिसहरूसँग सुसज्जित हुनुपर्छ। बुझाइ प्राप्त गरिसकेपछि, मानिसहरूले प्रवेशमा ध्यान केन्द्रित गर्नुपर्दछ, र त्यसपछि मात्र रूपान्तरण प्राप्त गर्न सकिन्छ। यदि कसैले बुझाइ प्राप्त गरेको छ, तर तिनीहरूले अभ्यासलाई बेवास्ता गर्छन् भने, रूपान्तरण कसरी प्राप्त हुन सक्छ? वर्तमानमा, मानिसहरूले धेरै कुरा बुझ्दछन्, तर तिनीहरू वास्तविकतामा जिउँदैनन्; तसर्थ, तिनीहरूसँग परमेश्‍वरको वचन सम्‍बन्धी आवश्यक बुझाइ थोरै मात्र हुन्छ। तैंले तुलनात्मक हिसाबमा थोरै मात्र ज्ञान प्राप्त गरेको छस्; तैंले पवित्र आत्माबाट थोरै मात्र प्रकाश प्राप्त गरेको छस्, तापनि तँ वास्तविक जीवनमा प्रवेश गरेको छैनस्—वा तैँले प्रवेश गर्नेबारे वास्ता पनि गर्दैनस्—त्यसैले तँ कम रूपान्तरण भएको छस्। त्यत्ति लामो समयपछि, मानिसहरूले धेरै कुरा बुझ्छन्। तिनीहरू सिद्धान्तहरू सम्बन्धी आफ्नो ज्ञानको बारेमा धेरै कुरा गर्न सक्छन्, तर तिनीहरूको बाहिरी स्वभाव उस्तै नै रहन्छ, र तिनीहरूको मूल क्षमता यथावत् रहन्छ, अलिकति पनि अगाडि बढ्दैन। यदि यस्तो हो भने, तँ अन्ततः कहिले प्रवेश गर्नेछस्?

मण्डलीको जीवन केवल एउटा यस्तो प्रकारको जीवन हो जहाँ मानिसहरू परमेश्‍वरको वचनको स्वाद लिन भेला हुन्छन्, र यसले व्यक्तिको जीवनको सानो भागलाई मात्र निर्माण गर्छ। यदि मानिसहरूको सामान्य जीवन—सामान्यतया परमेश्‍वरका वचनहरूको स्वाद लिँदै, प्रार्थना गर्दै र सामान्यतया परमेश्‍वरसँग नजिक हुँदै, सबै कुरा परमेश्‍वरको इच्छाअनुसार गरेर वास्तविक जीवन जिउँदै, सबै कुरा परमेश्‍वरको सत्यताअनुसार गरेर वास्तविक जीवन जिउँदै, प्रार्थनाको अभ्यास गर्ने र परमेश्‍वरको सामु शान्त रहन अभ्यास गर्ने वास्तविक जीवन जिउँदै, भजनहरू गाउने र नाच्‍ने जस्ता कार्य अभ्यास गर्दै जिउने गरिएको सामान्य आत्मिक जीवन लगायत—तिनीहरूको मण्डलीको जीवन जस्तै हुन सक्यो भने त्यस किसिमको जीवनले मात्र तिनीहरूलाई परमेश्‍वरको वचनको जीवनमा ल्याउनेथियो। धेरैजसो मानिसहरूले मण्डलीदेखि बाहिरको जीवनलाई “परवाह” नगरी उनीहरूको मण्डली जीवनका कैयौं घण्टाको समयलाई मात्र ध्यान दिन्छन्, मानौं बाहिरको जीवनसित तिनीहरूको कुनै सरोकार छैन। त्यहाँ त्यस्ता धेरै मानिसहरू पनि छन् जो परमेश्‍वरका वचनहरू खाउँदा र पिउँदा, भजनहरू गाउँदा, वा प्रार्थना गर्दा मात्र सन्तहरूको जीवनमा प्रवेश गर्छन्, त्यसपछि ती समयदेखि बाहिरका समयमा उनीहरू आफ्‍ना पुरानो स्वभावमा फर्कन्छन्। यस प्रकारले जियाइले मानिसहरूलाई रूपान्तरण गर्न सक्दैन, तिनीहरूलाई परमेश्‍वर चिन्‍ने तुल्याउनु त परको कुरा हो। परमेश्‍वरमा विश्‍वास गरेर, यदि मानिसहरू आफ्नो स्वभाव परिवर्तन गर्न चाहन्छन्, भने उनीहरूले आफैलाई वास्तविक जीवनबाट अलग गर्नुहुँदैन। वास्तविक जीवनमा तैँले आफैलाई चिन्नुपर्छ, आफैलाई त्याग्नुपर्छ, सत्यको अभ्यास गर्नुपर्छ, साथै बिस्तारै रूपान्तरण हासिल गर्नुभन्दा अघि तैँले सबै कुरामा आत्म-आचरणका सिद्धान्तहरू, सामान्य ज्ञान र नियमहरू सिक्नुपर्दछ। यदि तैँले सैद्धान्तिक ज्ञानमा मात्र ध्यान केन्द्रित गर्छस् र वास्तविकताको गहिराइमा नपसी, वास्तविक जीवनमा प्रवेश नगरी केवल धार्मिक विधिविधानहरूमा मात्र जिउँछस् भने तँ वास्तविकताभित्र कहिल्यै पनि प्रवेश गर्नेछैनस्, तैँले आफैलाई, सत्यतालाई वा परमेश्‍वरलाई कहिल्यै जान्नेछैनस्, र तँ सदासर्वदा अन्धो र अज्ञानी हुनेछस्। मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कार्य तिनीहरूलाई थोरै समयपछि सामान्य मानवीय जीवन बिताउन दिनु होइन, न त उनीहरूका गलत धारणा र सिद्धान्तहरूलाई रूपान्तरण गर्नको लागि नै हो। बरु, उहाँको उद्देश्य मानिसहरूको पुरानो स्वभाव परिवर्तन गर्नु, उनीहरूको पुरानो जीवनशैलीलाई पूर्ण रूपमा बदल्नु, र तिनीहरूको पुरानो सोच र मानसिक दृष्टिकोणलाई बदल्नु हो। केवल मण्डलीको जीवनमा ध्यान केन्द्रित गरेर मात्रै मानिसहरूका पुरानो जीवनका बानीहरू परिवर्तन हुँदैनन् वा उनीहरू लामो समयदेखि बाँचेको पुरानो तरिकाहरू परिवर्तन हुँदैनन्। जे भए पनि, मानिसहरू वास्तविक जीवनबाट अलग हुनुहुँदैन। मानिसहरूले मण्डलीको जीवनमा मात्र होइन, तर वास्तविक जीवनमा समेत सामान्य मानव जीवन जिऊन् भनी परमेश्‍वरले आग्रह गर्नुहुन्छ; तिनीहरूले मण्डलीको जीवनमा मात्र होइन, तर वास्तविक जीवनमा समेत सत्यतामा बाँचून्, र तिनीहरूले मण्डलीको जीवनमा मात्र होइन, वास्तविक जीवनमा समेत आफ्ना कार्यहरू पूरा गरून्। वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ मोड्नुपर्छ। यदि, परमेश्‍वरमा विश्‍वास गरेर, वास्तविक जीवनमा प्रवेश गरेपछि मानिसहरूले आफैलाई चिन्न सक्दैनन्, र यदि तिनीहरू वास्तविक जीवनको सामान्य मानवतामा जिउन सक्दैनन् भने तिनीहरू असफल बन्नेछन्। परमेश्‍वरको आज्ञा पालन नगर्नेहरू सबै ती मानिसहरू हुन् जो वास्तविक जीवनमा प्रवेश गर्न सक्दैनन्। तिनीहरू सबै ती मानिसहरू हुन् जसले मानवताको कुरा त गर्छन्, तर भूतात्माहरूको प्रकृति बोकेर जिउँछन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जसले सत्यको कुरा गर्छन्, तर त्यसको साटो धर्मसिद्धान्तहरूमा जिउँछन्। वास्तविक जीवनमा सत्यताअनुसार जिउन नसक्नेहरू ती हुन् जसले परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर तिनीहरूलाई उहाँले घृणा र अस्वीकार गर्नुहुन्छ। तैँले वास्तविक जीवनमा प्रवेश गर्ने अभ्यास गर्नुपर्छ, तेरा आफ्नै कमीहरू, अनाज्ञाकारिता, र अज्ञानतालाई जान्नुपर्छ, र तेरो असामान्य मानवता र कमजोरीहरूलाई जान्नुपर्छ। त्यसरी, तेरो ज्ञान तेरो वास्तविक अवस्था र कठिनाइहरूसँग जोडिनेछ। केवल यस प्रकारको ज्ञान मात्र वास्तविक हुन्छ र तँलाई वास्तविक रूपमा तेरो आफ्नो अवस्था बुझ्ने र स्वभाविक रूपान्तरण प्राप्त गर्ने तुल्याउन सक्छ।

अब मानिसहरूलाई सिद्ध बनाउने कार्य औपचारिक रूपमा सुरु भएको छ, त्यसकारण तँ वास्तविक जीवनमा प्रवेश गर्नु नै पर्छ। यसैले रूपान्तरण प्राप्त गर्नको लागि, तैंले वास्तविक जीवनमा प्रवेश गरेर यस कार्यलाई थाल्नुपर्छ, र अलिअलि गर्दै रूपान्तरण हुनुपर्छ। यदि तँ सामान्य मानवीय जीवनलाई बेवास्ता गर्छस् र केवल आत्मिक कुराको बारेमा मात्र कुरा गर्छस् भने, स्थितिहरू सुक्खा र नीरस बन्छन्; ती अव्यावहारिक बन्छन्, तब मानिसहरू कसरी रूपान्तरण हुन सक्छन्? अब तँलाई साँचो अनुभवमा प्रवेश गर्ने आधार स्थापना गर्नका लागि अभ्यास गर्न वास्तविक जीवनमा प्रवेश गर्न भनिएको छ। यो मानिसहरूले गर्नुपर्ने कार्यको एउटा पक्ष हो। पवित्र आत्माको काम मुख्यतया मार्गदर्शन दिनु हो, जबकि बाँकी कुराहरू मानिसहरूको अभ्यास र प्रवेशमा निर्भर हुन्छ। सबैले विभिन्न मार्गहरूद्वारा वास्तविक जीवनमा प्रवेश गर्न सक्दछन्, त्यसरी तिनीहरूले परमेश्‍वरलाई वास्तविक जीवनमा ल्याउन सक्दछन्, र वास्तविक सामान्य मानव जीवन जिउन सक्छन्। यो मात्रै जीवन अर्थपूर्ण जीवनको प्रकार हो!

अघिल्लो: सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

अर्को: मुक्ति पाउने व्यक्ति त्यो हो जो सत्यको अभ्यास गर्न इच्छुक हुन्छ

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

बाइबल सम्बन्धमा (३)

बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको...

मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

हरेक व्यक्तिको नजरमा, परमेश्‍वरको व्यवस्थापन अत्यन्तै अपरिचित कुरा हो किनभने उहाँको व्यवस्थापन तिनीहरूबाट पूर्ण रूपमा हटाइएको छ भन्‍ने...

परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरको पवित्रता १हाम्रो अन्तिम भेलामा हामीले परमेश्‍वरको अख्तियारको बारेमा थप सङ्‍गति गरेका थियौं। अहिले चाहिँ हामी परमेश्‍वरको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्