सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ
सत्यता पछ्याएर मात्र व्यक्तिले स्वभावमा परिवर्तन हासिल गर्न सक्छ: यो मानिसहरूले जान्नुपर्ने र पूर्ण रूपमा बुझ्नुपर्ने कुरा हो। यदि तँसँग सत्यताको पर्याप्त ज्ञान छैन भने, तँ सजिलै चिप्लन र गलत बाटोमा लाग्न सक्छस्। यदि तँ जीवनमा वृद्धि हुन चाहन्छस् भने, तैँले सबै कुरामा सत्यता खोज्नुपर्छ। तैँले जे गरिरहेको भए पनि, तैँले सत्यता अनुरूप हुनका लागि ठीकसँगले व्यवहार गर्ने कोसिस गर्नुपर्छ, र तँभित्र त्यसलाई उल्लङ्घन गर्ने कुन दागहरू छन्, त्यो पत्ता लगाउनुपर्छ; तँसँग यी कुराहरूको स्पष्ट बुझाइ हुनुपर्दछ। तैँले जे गरिरहेको भए पनि, त्यो सत्यतासँग मेल खान्छ कि खाँदैन र त्यसको मूल्य र अर्थ छ कि छैन भनेर तैँले विचार गर्नुपर्छ। सत्यतासँग मेल खाने कुराहरू तँ गर्न सक्छस्, तर सत्यतासँग मेल नखाने कुराहरू तैँले गर्नुहुँदैन। तैँले गर्न सक्ने वा गर्न नसक्ने कुराहरूको विषयमा, यदि तैँले तिनलाई त्याग्न सक्छस् भने, तैँले तिनलाई त्याग्नुपर्छ। अन्यथा, यदि तैँले केही समयसम्म ती कुराहरू गर्छस् र पछि तैँले ती छाडिदिनुपर्छ भन्ने थाहा पाइस् भने, चाँडो निर्णय गर, र तिनलाई तुरुन्तै छोडिदे। तैँले गर्ने सबै कुरामा तैँले यही सिद्धान्त पालना गर्नुपर्छ। कतिपय मानिसहरूले यो प्रश्न उठाउँछन्: सत्यताको खोजी गर्नु र त्यसको अभ्यास गर्नु किन नदीको उल्टो धारमा डुङ्गा ख्याउने, र यदि ख्याउन छोडियो भने त्यो पछिल्तिर बगेर जानेजस्तै धेरै गाह्रो छ? तर दुष्ट र अर्थहीन कुरा गर्नु वास्तवमा किन नदीको सिधा धारमा डुङ्गालाई ख्याउनु जस्तो सजिलो हुन्छ? त्यस्तो किन हुन्छ? किनकि मानवजातिको प्रकृति नै परमेश्वरलाई धोका दिने हुन्छ। शैतानको प्रकृतिले मानिसभित्र प्रमुख भूमिका खेलेको छ, र यो एक प्रतिरोधी शक्ति हो। निस्सन्देह, परमेश्वरलाई धोका दिने प्रकृति भएका मानिसहरूले उहाँलाई धोका दिने कार्यहरू गर्ने सम्भावना हुन्छ, र उनीहरूले सकारात्मक कार्यहरू गर्न स्वाभाविक रूपमा गाह्रो हुन्छ। यो पूर्ण रूपमा मानवजातिको प्रकृति सारद्वारा निर्धारित हुन्छ। तैँले साँच्चै सत्यतालाई बुझेपछि र त्यसलाई आफैभित्रबाट प्रेम गर्न थालेपछि, तँलाई सत्यताअनुरूपका कामकुरा गर्न सजिलो लाग्नेछ। तैँले सामान्य तवरमै आफ्नो कर्तव्य निर्वाह गर्नेछेस् र सत्यता अभ्यास गर्नेछेस्—यहाँसम्म कि कुनै कठिनाइविना र खुसीसाथ नै गर्नेछेस्, अनि तँलाई कुनै पनि नकारात्मक कुरा गर्न धेरै मेहनत लाग्छ भन्ने अनुभूति हुनेछ। तेरो हृदयमा सत्यताले प्रमुख भूमिका खेल्ने हुनाले यस्तो हुन्छ। यदि तैँले साँच्चिकै मानव जीवनसम्बन्धी सत्यताहरू बुझिस् भने, कस्तो प्रकारको व्यक्ति बन्ने, कसरी निष्कपट र सोझो व्यक्ति बन्ने, र कसरी इमानदार व्यक्ति बन्ने, साथै कसरी परमेश्वरको साक्षी दिने र उहाँको सेवा गर्ने व्यक्ति बन्ने भन्ने सम्बन्धमा तँसँग पछ्याउने मार्ग हुनेछ। अनि एकपटक तैँले यी सत्यताहरू बुझेपछि, तैँले उहाँको प्रतिरोध गर्ने दुष्ट कार्यहरू फेरि कहिल्यै गर्न सक्नेछैनस्, न त तैँले कहिल्यै झूटो अगुवा, झूटो कामदार, वा ख्रीष्टविरोधीको भूमिका नै खेल्नेछस्। शैतानले तँलाई बहकाउने प्रयास गरे पनि, वा कुनै दुष्ट व्यक्तिले तँलाई उक्साए पनि, तैँले दुष्टता गर्ने वा परमेश्वरको प्रतिरोध गर्नेछैनस्; जसले तँलाई बहकाउने वा उक्साउने प्रयास गरे पनि, तैँले दुष्टता गर्नेछैनस्। यदि मानिसहरूले सत्यता प्राप्त गरे र सत्यता तिनीहरूको जीवन बन्यो भने, तिनीहरू दुष्टतालाई घृणा गर्न र नकारात्मक कुराहरूप्रति खिन्न हुन सक्षम हुनेछन्, र तिनीहरूलाई दुष्टता गर्न गाह्रो हुनेछ। किनभने तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको हुन्छ र तिनीहरू परमेश्वरद्वारा सिद्ध पारिएका हुन्छन्।
यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायहरूअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले नचाहँदा नचाहँदै पनि त्यो गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र अभिमानी स्वभाव भएको भए, परमेश्वरको प्रतिरोध नगर भनेर भनिँदा कुनै फरक पर्ने थिएन, किनभने तैँले आफूलाई नियन्त्रण गर्न सक्ने थिइनस्—यो तेरा लागि अनायासै हुने कुरा हुनेथियो। तैँले जानाजानी त्यसो गर्ने थिइनस्; तैँले आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको प्रभुत्वमा परेर त्यसो गर्ने थिइस्। तेरो अहङ्कार र अभिमानले तँलाई परमेश्वरलाई हेयको नजरले हेर्न र उहाँलाई बेवास्ता गर्न लगाउनेथ्यो; तिनले तँलाई आफूलाई उच्च पार्नतिर प्रवृत्त गर्नेथिए, र तँलाई हरेक मोडमा आफूलाई प्रदर्शन गर्ने तुल्याउनेथिए; तिनले तँलाई अरूलाई हेयको नजरले हेर्न लगाउनेथिए, र तेरो हृदयमा आफूबाहेक अरू कसैलाई नराख्न लगाउनेथिए; तिनले तेरो हृदयबाट परमेश्वरको स्थान खोस्नेथिए, र अन्ततः तँलाई परमेश्वरको स्थानमा बस्न र मानिसहरूलाई तँप्रति समर्पित हुन माग गर्न लगाउनेथिए, र तँलाई आफ्नै विचार, सोच, र धारणाहरूलाई सत्यताका रूपमा पुज्न लगाउनेथिए। आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! दुष्कर्म गर्ने समस्या समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको आधारभूत समाधान ल्याउन सम्भव हुँदैन। जब तँमा परमेश्वरबारे केही बुझाइ हुन्छ, जब तैँले आफ्नै भ्रष्टता देख्न र अहङ्कार र अभिमानको घृणास्पदता र कुरूपता बुझ्न सक्छस्, तब तैँले घृणित, घिनाएको, र दुःखी महसुस गर्नेछस्। तैँले परमेश्वरलाई सन्तुष्ट पार्न सचेत रूपमा केही कुरा गर्न सक्नेछस् अनि त्यसपछि, तैँले सहज महसुस गर्नेछस्। तैँले सचेत भई परमेश्वरका वचनहरू पढ्नेछस्, परमेश्वरको बढाइ गर्नेछस्, परमेश्वरको गवाही दिनेछस्, र हृदयमा आनन्दित महसुस गर्नेछस्। तैँले सचेत रूपमा आफूलाई उदाङ्गो पार्नेछस्, आफ्नै कुरूपता खुलासा गर्नेछस्, र यसो गरेर, तँलाई भित्रबाट राम्रो महसुस हुनेछ र तेरो मुड सुध्रनेछ। तेरो स्वभावमा परिवर्तन खोज्ने पहिलो कदम भनेको परमेश्वरका वचनहरू बुझ्न र सत्यतामा प्रवेश गर्न खोज्नु हो। सत्यता बुझेर मात्रै तैँले खुट्ट्याउने क्षमता प्राप्त गर्न सक्छस्; खुट्ट्याउने क्षमता भएपछि मात्रै तैँले कामकुराहरू छर्लङ्गै देख्न सक्छस्; कामकुराहरू छर्लङ्गै देखेर मात्रै तैँले साँच्चै आफूलाई चिन्न सक्छस्; जब तैँले साँच्चै आफूलाई चिन्छस्, तब मात्रै तैँले देहविरुद्ध विद्रोह गर्न र सत्यतालाई अभ्यासमा लागू गर्न, र बिस्तारै परमेश्वरमा समर्पित हुन सक्छस्। यसरी, तँ कदम-कदम गर्दै परमेश्वरमाथिको आफ्नो विश्वासमा सही मार्गमा लाग्नेछस्। यो कुरा व्यक्तिको सत्यता पछ्याउने सङ्कल्प कस्तो छ भन्नेमा निर्भर हुन्छ। यदि कसैसँग साँच्चै सङ्कल्प छ भने, छ महिना वा एक वर्षपछि ऊ सही मार्गमा हिँड्न थाल्नेछ। तीन वा पाँच वर्षभित्र, उसले परिणामहरू देख्नेछ, र उसले जीवनमा प्रगति गरिरहेका छ भन्ने महसुस गर्नेछ। यदि मानिसहरूले परमेश्वरमा विश्वास गर्छन् तर सत्यताको खोजी गर्दैनन्, अनि सत्यता अभ्यास गर्ने कार्यमा कहिल्यै ध्यान दिँदैनन् भने, तिनीहरूले दश-बीस वर्ष विश्वास गरेको भए पनि कुनै परिवर्तन अनुभव नगरेका हुन सक्छन्। अनि आखिरमा, तिनीहरूले परमेश्वरमा विश्वास गर्नु भनेको यही हो भनी सोच्नेछन्; तिनीहरू पहिले बाह्य संसारमा जसरी जिइरहेका थिए यो लगभग त्यस्तै रहेछ, अनि जीवित रहनु अर्थहीन कुरा रहेछ भनी सोच्नेछन्। यसले वास्तवमा सत्यताविना जीवन रित्तो छ भन्ने देखाउँछ। तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन् होला, तर अझै पनि असुविधा र असहज महसुस गर्नेछन्। यदि मानिसहरूमा परमेश्वरसम्बन्धी केही ज्ञान छ भने, कसरी अर्थपूर्ण जीवन जिउनुपर्छ भन्ने जान्दछन्, र परमेश्वरलाई सन्तुष्ट पार्न केही कुराहरू गर्न सक्छन् भने, तिनीहरूले वास्तविक जीवन यही हो, र यसरी जिउँदा मात्रै तिनीहरूको जीवनको अर्थ हुन्छ, र परमेश्वरलाई सन्तुष्टि दिन, परमेश्वरको ऋण तिर्न र सहजता महसुस गर्न यस्तै प्रकारले जिउनुपर्छ भन्ने महसुस गर्नेछन्। यदि तिनीहरूले जानी-जानी परमेश्वरलाई सन्तुष्ट पार्न, सत्यता अभ्यास गर्न, आफैविरुद्ध विद्रोह गर्न, आफ्ना विचारहरू त्याग्न र परमेश्वरका अभिप्रायप्रति समर्पित र विचारशील हुन सक्छन् भने—यदि तिनीहरूले यी सबै कुरा होसियार भएर गर्न सक्छन् भने—सत्यतालाई सही रूपमा अभ्यास गर्नु, र सत्यतालाई साँचो रूपले अभ्यास गर्नु भनेको यही नै हो। यो पहिलेको जस्तो कल्पनामा भरोसा गर्नु र प्रावधानहरू पालना गर्नु, अनि त्यो नै सत्यताको अभ्यास गर्नु हो भनेर सोच्नु जस्तो होइन। वास्तवमा, कल्पनाहरूमा भरोसा गर्नु र नियमहरू पालना गर्नु निकै थकाइलाग्दो हुन्छ, सत्यता नबुझ्नु र सिद्धान्तहरूमा नरही काम गर्नु पनि त्यतिकै थकाइलाग्दो हुन्छ, र उद्देश्यविना अन्धाधुन्ध रूपमा काम गर्नु त झनै थकाइलाग्दो हुन्छ। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तँ कुनै मानिस, घटना वा कुराको बन्धनमा पर्दैनस्, र तैँले साँचो रूपमा स्वतन्त्रता र रिहाइ पाएको हुन्छस्। तैँले सिद्धान्तको आधारमा काम गर्नेछस्, र तँ ढुक्क र खुसी हुनेछस्, अनि तँलाई यसको लागि धेरै मेहनत गर्नुपर्छ वा यसले धेरै कष्ट ल्याउँछ भन्ने लाग्दैन। यदि तेरो स्थिति यस्तो छ भने, तँमा सत्यता र मानवता हुन्छ, र तँ स्वभाव परिवर्तन भएको व्यक्ति हुन्छस्।
जीवन अनुभवको क्रममा, चाहे जेसुकै आइपरोस्, तैँले सत्यता खोज्न सिक्नैपर्छ। तैँले परमेश्वरका वचनहरू र सत्यताअनुसार यस मामिलालाई राम्ररी मनन गर्नुपर्छ, र कुन तरिकाले कार्य गर्नु पूर्ण रूपमा परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छ भनी जान्नुपर्छ, र यसरी तैँले तेरो आफ्नै इच्छाबाट आउने ती कुराहरूलाई पन्छाउन सक्नेछस्। एकपटक तैँले परमेश्वरका अभिप्रायहरूअनुरूप कार्य गर्न जानेपछि, तैँले त्यसैगरी कार्य गर्नुपर्छ—सबै कुरा स्वाभाविक रूपमा बगेको जस्तो देखिनेछ, र धेरै आरामदायी र सजिलो महसुस हुनेछ। सत्यता बुझेका मानिसहरूले कामकुरा यसरी नै गर्ने गर्छन्। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा तँ साँच्चै नै प्रभावकारी भएको, र तेरो काम गर्ने शैलीमा सिद्धान्तहरू भएको, तेरो जीवन स्वभाव साँच्चै नै परिवर्तन भएको, तैँले परमेश्वरका चुनिएका मानिसहरूका निम्ति धेरै वटा असल कामकुरा गरेको भनेर मानिसहरूलाई देखाउन सक्छस् भने, तँ सत्यता बुझ्ने मानिस होस्, र तँमा अवश्य नै मानव रूप छ; र तैँले परमेश्वरको वचन खाँदा र पिउँदा त्यसमा पक्कै प्रभाव परेको छ। कसैले साँचो रूपमा सत्यता बुझेपछि, उसले आफ्ना विभिन्न स्थितिहरू खुट्ट्याउन सक्छ, उसले जटिल मामलाहरूलाई स्पष्ट रूपमा देख्न सक्छ, त्यसकारण उसलाई कसरी उचित रूपमा अभ्यास गर्ने भनेर थाहा हुन्छ। यदि कुनै व्यक्तिले सत्यता बुझ्दैन र आफ्नै स्थिति खुट्ट्याउन सक्दैन भने, उसले आफैविरुद्ध विद्रोह गर्न चाहे पनि, उसलाई केविरुद्ध विद्रोह गर्ने वा कसरी विद्रोह गर्ने भन्ने थाहा हुँदैन, र उसले आफ्नै इच्छा त्याग्न चाहे पनि, उसलाई त्यसमा के गलत छ भन्ने थाहा हुँदैन, र ऊ अझै पनि आफ्नै इच्छा पूर्ण रूपमा सत्यताअनुरूप छ भन्ने सोच्छ, र सायद आफ्नै इच्छालाई पवित्र आत्माको अन्तर्दृष्टिको रूपमा समेत लिन्छ। त्यसोभए त्यस्तो व्यक्तिले कसरी आफ्नै इच्छा त्याग्न सक्छ? उसले पक्कै पनि सक्नेछैन, देहविरुद्ध विद्रोह गर्न त झनै सक्नेछैन। त्यसकारण, जब तँ सत्यता बुझ्दैनस्, तब तैँले आफ्नै इच्छाबाट आउने कुराहरू, मानव धारणाहरूसँग मिल्ने कुराहरू, साथै मानव दया, प्रेम, दुःख, र बलिदान सही र सत्यताअनुरूप भएको भनी सजिलै गलत रूपमा बुझ्न सक्नेछस्। त्यसोभए, तँ यी मानव कुराहरूविरुद्ध कसरी विद्रोह गर्न सक्छस्? तँ सत्यता बुझ्दैनस्, र तँ सत्यता अभ्यास गर्नुको अर्थ जान्दैनस्। के गर्ने भन्नेबारे तँ पूर्ण रूपमा अनजान र अलमल्ल छस्, त्यसैले तँलाई जे राम्रो लाग्छ तँ त्यही मात्र गर्न सक्छस्, र फलस्वरूप, तेरा कतिपय कार्यमा विकृतिहरू आउँछन्। तेरा कतिपय कार्य प्रावधानहरू पछ्याउने खालका हुन्छन्, कतिपय उत्साहका कारणले गरिन्छन्, र कतिपय चाहिँ ठ्याक्कै शैतानका बाधाहरूबाट आउँछन्। सत्यता नबुझ्ने मानिसहरू यस्तै हुन्छन्। कामकुराहरू गर्दा, तिनीहरू कि त एकातिर भड्किन्छन् कि त अर्कोतिर, तिनीहरूमा सधैँ विचलनहरू आउँछन्, र तिनीहरूले सिद्धान्तहरू पक्रन चाहे पनि, तिनीहरू अलिकति पनि सटीक हुँदैनन्। सत्यता नबुझ्ने मानिसहरूको हेर्ने दृष्टिकोण गैरविश्वासीहरूको जस्तै असङ्गत हुन्छ। तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन् र? तिनीहरूले कसरी समस्याहरू समाधान गर्न सक्छन् र? सत्यता बुझ्नु त्यति सरल कुरा होइन। व्यक्तिको क्षमता जति उच्च वा कमजोर भए पनि, जीवनभरि अनुभव गरिसकेपछि पनि, उसले बुझ्ने सत्यताको मात्रा सीमित हुन्छ, र उसले बुझ्ने परमेश्वरको वचन पनि सीमित नै हुन्छ। तुलनात्मक रूपमा अलिक बढी अनुभवी मानिसहरू केही सत्यता बुझेका मानिस हुन्, र बढीमा तिनीहरूले परमेश्वरको विरोध गर्ने कार्यहरू र स्पष्ट रूपमै दुष्ट कुराहरू गर्न छोड्न सक्छन्। तिनीहरूले आफ्नै इच्छाको कुनै पनि मिसावटविना काम गर्न असम्भव हुन्छ। मानवजातिमा सामान्य सोचाइ हुन्छ र तिनीहरूको विचार सधैँ परमेश्वरको वचनअनुरूप नहुन सक्छ, त्यसैले तिनीहरूको आफ्नै इच्छा मिसिएर आउनु अपरिहार्य नै हुन्छ। त्यसैले, आफ्नै इच्छाबाट आउने सबै कुराहरू र परमेश्वरको वचन, सत्यता, र पवित्र आत्माको अन्तर्दृष्टिको विरुद्धमा जाने कुराहरूलाई छुट्याउने समझशक्ति हुनु महत्त्वपूर्ण छ। यसको लागि तैँले परमेश्वरको वचन बुझ्न धेरै मेहनत गर्नुपर्छ; तैँले सत्यता बुझेपछि मात्रै तँलाई यस्तो समझशक्ति प्राप्त हुन्छ, अनि त्यसपछि मात्रै तैँले आफूले दुष्कर्म नगर्ने भनी सुनिश्चित गर्न सक्छस्।
आफ्नो स्वभाव परिवर्तन पछ्याउँदा तैँले आफैलाई बुझ्नमा प्रयत्न लगाउनुपर्छ, र तँ आफ्नै प्रकृतिभित्र रहेको शैतानी विष पत्ता लगाउन सक्ने गरी एउटा निश्चित गहिराइसम्म पुग्नुपर्छ। परमेश्वरलाई चुनौती दिनु भनेको के हो, साथै परमेश्वरको विरुद्धमा विद्रोह गर्नु भनेको के हो भन्ने कुरा तैँले थाहा पाउनुपर्छ, र तैँले सबै विषयहरूमा के-कस्ता अभ्यासहरू सत्यताअनुरूप हुन्छन् भनेर जान्नुपर्छ। तैँले परमेश्वरका अभिप्राय र मानवजातिबाट उहाँले गर्नुभएको मागबारे पनि केही ज्ञान प्राप्त गर्नुपर्छ। परमेश्वरको सामु तँमा विवेक र बुद्धि हुनुपर्छ, तैँले घमन्डसाथ बोल्नु हुँदैन वा परमेश्वरलाई छल्नु हुँदैन, र तैँले अबदेखि परमेश्वरको विरोध गर्न केही पनि गर्नुहुँदैन। त्यसरी, तैँले आफ्नो स्वभाव परिवर्तन गरेको हुनेछस्। ज-जसका स्वभावहरू रूपान्तरण भएका छन् तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ, र परमेश्वरविरुद्ध विद्रोह गर्ने तिनीहरूका तरिकाहरू बिस्तारै घट्दै जान्छन्। यसबाहेक, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, अरूले तिनीहरूको चिन्ता लिनु आवश्यक पर्दैन, न त पवित्र आत्माले सधैँ तिनीहरूमा अनुशासनको काम नै गर्नु आवश्यक हुन्छ। तिनीहरू मूलतः परमेश्वरप्रति समर्पित हुन सक्छन्, कामकुराबारे तिनीहरूको दृष्टिकोण सत्यतासँग मिल्छ, साथै तिनीहरूमा न त परमेश्वरबारे कुनै धारणा हुन्छ न त उहाँप्रति कुनै फजुल चाहना नै हुन्छ। यो सबैको परिणाम भनेको परमेश्वरसँग मिल्दो हुन सक्नु हो। मानौँ, कसैले तँलाई कुनै काम सुम्प्यो। तँलाई तेरो व्यवस्थापन गर्न वा सुपरिवेक्षण गर्न कसैको आवश्यकता पर्दैन। तैँले यो काम परमेश्वरको वचन र प्रार्थनाद्वारा मात्र पूरा गर्न सक्छस्। यस कामको दौरान, तैँले आफू झाराटारुवा, अहङ्कारी, वा आत्मधर्मी नभएको, तैँले अन्तिम निर्णय आफै गर्न पाउनुपर्ने भनेर माग नगर्ने, र तैँले अरू कसैलाई पनि बन्धनमा नपार्ने कुरा सुनिश्चित गर्न सक्छस्। तँ अरूलाई प्रेमका साथ मद्दत गर्न सक्षम छस्, तिनीहरूलाई भरणपोषण र लाभहरू प्राप्त गर्न मद्दत गर्छस्, र तँ तिनीहरूलाई परमेश्वरमा विश्वास गर्ने सही मार्गमा प्रवेश गर्न अगुवाइ गर्न सक्छस्। यसबाहेक, यस कामको दौरान तँ हैसियतका लागि वा आफ्नै हितहरूका खातिर षड्यन्त्र गर्दैनस्; तँ हैसियतका लाभहरू लिप्त हुँदैनस्; तँ आफ्नै लागि बोल्दैनस्; र जसले तँलाई जसरी व्यवहार गरे पनि, तँप्रतिको तिनीहरूको व्यवहारलाई तँ सही रूपमा लिन सक्षम हुन्छस्। यसको अर्थ तँ तुलनात्मक रूपमा कद भएको व्यक्ति होस्। कसैले केही कामको जिम्मेवारी लिनु र परमेश्वरका चुनिएका मानिसहरूलाई उहाँको वचनको वास्तविकतामा ल्याउनु कुनै सामान्य कुरा होइन। सत्यता वास्तविकताविना यो गर्न सकिँदैन। काम गर्न आफ्ना वरदानहरूमा भर पर्ने धेरै जना छन् जो पछारिन्छन् र असफल हुन्छन्। सत्यता नभएका मानिसहरू पूर्ण रूपमा भरहीन हुन्छन्, र यदि तिनीहरूले आफ्ना स्वभावहरू परिवर्तन गरेका छैनन् भने त झनै भरहीन हुन्छन्। अहिले तेरो कद के छ? तेरो चापलुसी गर्ने व्यक्तिलाई तैँले कसरी व्यवहार गर्नुपर्छ? यदि कसैले तेरो बारे राय राख्छ वा तँलाई आलोचनात्मक रूपले हेर्छ भने, तैँले तिनीहरूलाई कसरी निष्पक्ष र तर्कसङ्गत रूपमा व्यवहार गर्नेछस्? के तँ आफ्ना भावनाहरूमा भर नपरी, पूर्ण रूपमा परमेश्वरकै मापदण्डहरूअनुसार मानिसहरूलाई प्रवर्धन र छनौट गर्न सक्षम छस्? के तिमीहरू आफ्नो हालको कदबाट वास्तवमै यी कुराहरू गर्न सक्षम छौ? तैँले एक निश्चित स्थानमा धेरै वर्ष काम गरिसकेपछि पनि, यदि अधिकांश मानिसहरूले तेरो बारे राम्रो मुल्याङ्कन गर्दैनन् भने, यसको अर्थ यो हो कि, तैँले मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य पूरा गर्दैनस् र तँ परमेश्वरद्वारा प्रयोग गरिन योग्य छैनस्। यदि अधिकांश मानिसहरूले तैँले गरेको कुरालाई असल र उचित देख्छन् भने, तँ आधारभूत रूपमै प्रयोग गरिन योग्य छस्। यदि तँसँग सत्यता छैन भने, तँलाई परमेश्वरको प्रयोगयोग्य हुने अवस्थामा पुग्न असम्भव छ; तैँले योग्य हुनको निम्ति सत्यता प्राप्त गर्नुपर्छ।
जीवन पछ्याउने क्रममा, तैँले दुईवटा कुरालाई ध्यान दिनुपर्छ: पहिलो, परमेश्वरका वचनहरूभित्रको सत्यतालाई बुझ्नु; दोस्रो, परमेश्वरका वचनहरूभित्र आफैलाई बुझ्नु। यी दुई कुराहरू सबैभन्दा आधारभूत कुराहरू हुन्। परमेश्वरको वचनभन्दा बाहिर कुनै जीवन वा सत्यता छैन। यदि तैँले परमेश्वरको वचनभित्र सत्यता खोजी गर्दैनस् भने, यसको खोजी गर्न तँ कहाँ जान सक्छस्? संसारमा कहाँ सत्यता छ? के संसारका समाचारपत्र र मिडियाहरूले परमेश्वरको वचनबारे रिपोर्ट गर्छन्? के संसारका राजनीतिक दलहरूले परमेश्वरको गवाही दिन्छन्? के संसारको कुनै पनि देशमा खुल्लमखुल्ला परमेश्वरको वचन प्रचार गर्नु सम्भव कुरा हो? बिलकुलै होइन। त्यसैले संसारमा कुनै सत्यता छैन र यो संसारमा दियाबलस शैतानले शासन गर्छ र यसै कारण यो संसार अँध्यारो र दुष्ट छ। सत्यताको एक त्यान्द्रो पनि कहाँ छ र? परमेश्वरका वचनहरूको सत्यता बुझ्नुका सबैभन्दा महत्त्वपूर्ण भागहरू यी हुन्: उहाँका वचनहरूभित्र परमेश्वरलाई बुझ्नु, उहाँका वचनहरूभित्र मानव जीवनलाई बुझ्नु, र उहाँका वचनहरूभित्र आफूलाई साँचो साँचो रूपमा बुझ्नु र मानव अस्तित्वको अर्थको बारेमा पत्ता लगाउनु, र सत्यताका अन्य पक्षहरू बुझ्नु। सबै सत्यता परमेश्वरका वचनहरूभित्र नै छन्। परमेश्वरका वचनहरूबाहेक अन्य कुराहरूमार्फत सत्यतामा प्रवेश गर्न सकिँदैन। परमेश्वरका वचनहरू अनुभव र अभ्यास गरेर मात्र तैँले सत्यताको बुझाइ हासिल गर्न सक्छस्, र साँचो रूपमा सत्यता बुझ्नु भनेकै परमेश्वरका वचनहरू बुझ्नु हो। सबैभन्दा आधारभूत कुरा यही हो। कतिपय मानिसहरूले काम र प्रचार गर्छन् तर बाहिरी रूपमा तिनीहरू परमेश्वरको वचनबारे सङ्गति गरिरहेजस्तो देखिए पनि, तिनीहरूले उहाँका वचनहरूको शाब्दिक अर्थबारे मात्रै छलफल गरिरहेका हुन्छन्, र कुनै पनि महत्त्वपूर्ण कुराहरू बताइरहेका हुँदैनन्। तिनीहरूका प्रवचनहरू भाषासम्बन्धी पाठ्यपुस्तकका शिक्षाहरूजस्तै—एकएक कुरा र एकएक पक्ष गरी मिलाइएका मात्र हुन्छन्, अनि जब तिनीहरूले बोलिसक्छन्, सबैले यसो भन्दै तिनीहरूको गुणगान गाउँछन्, “यो व्यक्तिसँग वास्तविकता छ। उसले कति राम्ररी र कति विस्तृत रूपमा प्रचार गर्यो।” त्यस्ता मानिसहरूले प्रचार गरिसकेपछि, तिनीहरूले अरूलाई ती प्रवचनहरू सङ्कलन गरेर मण्डलीहरूमा पठाउन लगाउँछन्। यसो गरेर, तिनीहरू मानिसलाई बहकाउने व्यक्ति बन्छन्। तिनीहरूले प्रवचनमा परमेश्वरका वचनहरू उद्धृत गर्छन् र तिनीहरूको प्रवचन सत्यताअनुरूप भएजस्तो सुनिन्छ, तर तिनीहरूले प्रसङ्गबाहिर उद्धरणहरू उद्धृत गर्छन् र सिद्धान्तहरूविरुद्ध जाने विकृत व्याख्याहरू प्रदान गर्छन्। अझै सावधानीपूर्वक हेर्दा, तिमीहरूले ती कुराहरू शब्द र धर्मसिद्धान्तहरू अनि केही मानव कल्पना र धारणाहरूका साथै परमेश्वरबारे फैसला गर्ने केही विचार मात्रै हुन् भन्ने देख्नेछौ। के यसप्रकारको सङ्गति र प्रचार परमेश्वरको कार्यमा अवरोध गर्नुसरह होइन र? यो परमेश्वरलाई विरोध गर्ने सेवा हो। समझ भएको व्यक्तिले निश्चित सीमा र घेराभित्र रहेर बोल्नुपर्छ—उसलाई आफूले कस्ता खालका शब्दहरू बोल्नुपर्छ, के-कस्ता शब्दहरू आफ्नो कर्तव्य-निर्वाहसँग सम्बन्धित छन्, र कस्ता खालका शब्दहरू परमेश्वरले मात्र बोल्न सक्नुहुन्छ भन्ने थाहा हुनुपर्छ। मानिसले परमेश्वरको स्थानमा खडा भएर बोल्नु हुँदैन। परमेश्वरले कसरी काम गर्नुहुन्छ भनेर कसैले पनि बुझ्न सक्दैन, त्यसैले कसैले कसरी परमेश्वरबारे फैसला गर्न सक्छ? मानिस परमेश्वरबारे फैसला गर्न योग्य छैन। विवेकहीन काम गर्नबाट बच्नको निम्ति यो कुरा बुझ्नुपर्छ। समझ भएको व्यक्तिको रूपमा, तैँले आफ्नो स्थान चिन्नुपर्छ, सही कुरा बोल्न जान्नुपर्छ, र बोल्न नहुने कुनै पनि कुरा बोल्नु हुँदैन। यदि परमेश्वरले नै तँलाई पहिला केही कुरा भन्नुभएको भए पनि, तैँले अरूसमक्ष त्यही कुरा दोहोर्याउनु हुँदैन। यदि तँसँग विश्वास छ भने, यदि तैँले परमेश्वरको वचन सत्यता हो भनी स्विकार्छस् भने, तैँले त्यो अभ्यास गर्नुपर्छ। त्यसबारे बोलेर मात्र केही फाइदा हुँदैन। के सधैँ अरूले तेरो कुरा सुनून्, र तेरो कुरा पालन गरून् भनी इच्छा गर्नु अहङ्कारी हुनु हुँदैन र? परमेश्वरको मामलाबारे भन्नुपर्दा, यदि तैँले ती बुझेको छैनस् भने, तैँले ती बुझ्दै बुझ्दैनस्। ती बुझेजस्तो नाटक नगर्, बढ्ता जान्ने-सुन्ने नबन्—त्यो अत्यन्तै घृणित कुरा हो! तँ आफैप्रति सबै ध्यानाकर्षण गर्दै, सधैँ परमेश्वरको स्थानमा खडा हुन र रवाफ देखाउन चाहन्छ्स्, मानौँ तैँले सबथोक बुझेको छस्। अनि, यो वा त्यो काम गर्दै, तँ परमेश्वरको झण्डा पनि फहराउन चाहन्छस्। के सामान्य व्यक्तिको समझ त्यही हो? के त्यो सत्यता अभ्यास गर्नु हो? के तँलाई परमेश्वरका विचारहरू थाहा छ? के तँसँग परमेश्वरको बुद्धि छ? मानिसहरूले सत्यता बुझेकै हुँदैनन्—झन् तिनीहरूमै सत्यता हुने त कुरै भएन। तिनीहरू परमेश्वरको गवाही दिन सक्दैनन्, न त परमेश्वरमा समर्पित नै हुन सक्छन्। तैपनि तिनीहरू परमेश्वरको झण्डा फहराउँदै बोल्न र काम गर्न चाहन्छन्। हरेकसँग यो महत्त्वाकाङ्क्षा हुन्छ, र यो सबैभन्दा लाजमर्दो र विवेकहीन कुरा हो।
अहिले, साँचो मार्ग खोजी गर्न संसारभरबाट मानिसहरू आइरहेका छन्, त्यसैले तैँले परमेश्वरको गवाही कसरी दिनुपर्छ? यदि तँमा समझ छैन भने, यदि त अहङ्कारी, अभिमानी र लहडबाज छस् अनि जथाभाबी दौडिरहेको छस् भने, के तैँले उहाँको अवज्ञा र निन्दा गरिरहेको छैनस् र? यो कर्तव्य निभाउनु होइन, र परमेश्वरको गवाही दिनु त झनै होइन। यो त वास्तवमा आफ्नो शैतानी स्वरूप प्रकट गर्नु हो। साँच्चै विजय गरिएकाहरूले इमानदारीसाथ कसरी बोल्ने र केही वास्तविक गवाही कसरी दिने भनेर सिक्नुपर्छ। आफ्ना जीवन अनुभवहरू बाँड्नु अरू कुनै पनि कुराभन्दा राम्रो हो। ठूलाठूला सिद्धान्तहरूको घमण्ड र बखान गर्नु—यसको के काम हुन्छ? धेरै वर्ष परमेश्वरको काम अनुभव गरिसकेपछि पनि, मानिसहरू अझै शिष्ट बनेका हुँदैनन्। मानिसहरू तिनीहरूको पहिचानका आधारमा परमेश्वरको गवाही दिन लायक हुँदैनन्। समझहीन र अहङ्कारी मानिसहरू अझै पनि परमेश्वरको गवाही दिन चाहन्छन्—के तँ परमेश्वरको अपमान गरिरहेको र निन्दा गरिरहेको छैनस् र? तँ परमेश्वरलाई बुझ्दैनस्। अझ भन्दा, तेरो स्वभावले अझै पनि उहाँको ठाडो अवज्ञा गर्छ। के तेरो गवाहीमा घिनको कण छैन र? त्यसैले मानिस परमेश्वरको गवाही दिन योग्य छैन। यदि कसैले तँलाई “के तँपाई हामीलाई चीनको मूलभूमिमा परमेश्वरले गर्नुभएको कामबारे गवाही दिन सक्नुहुन्छ?” भनेर भन्छ र तैँले “हामीले परमेश्वरको धेरै वर्षको काम अनुभव गरेका छौँ, त्यसैले मलाई लाग्छ हामी परमेश्वरको गवाही दिन योग्य छौँ” भनेर भन्छस् भने, के यो समस्या होइन र? फेरी पनि, यो समझहीन कुरा हो। मान्छे परमेश्वरको गवाही दिन योग्य छैन। तैँले केवल यसो भन्नुपर्छ: “हामी परमेश्वरको गवाही दिन योग्य छैनौँ। तैपनि परमेश्वरले हामीलाई मुक्ति दिएर अनुग्रह देखाउनुभएको छ। हामीले केही अनुग्रह र परमेश्वरको कामको केही अनुभव पाएका छौँ, त्यसैले हामी सङ्गतिमा संलग्न हुन सक्छौँ, तर हामीले परमेश्वरको गवाही दिइरहेका छौँ भनेर मान्न साँच्चै सकिँदैन। हामीले आ-आफ्ना अनुभवबारे मात्र बताउन सक्छौँ।” तैँले तँमाथि परमेश्वरले कसरी विजय गर्नुभयो, तैँले त्यो बेला कुन-कुन भ्रष्टताहरू प्रकट गरिस्, तँ कति अहङ्कारी थिइस्, तँमाथि विजय गरिइसकेपछि अन्त्यमा कस्तो खालको परिणाम आयो, र तँसँग कस्तो खालको सङ्कल्प थियो भन्नेबारे सङ्गति गर्नुचाहिँ ठिकै हुन्छ। वास्तवमा, परमेश्वरको गवाही दिन वास्तविक अनुभवहरूबारे कुराकानी गर्नु उहाँका अभिप्रायसँग सबैभन्दा मेल खाने कुरा हो, र त्यही नै उहाँको मापदण्ड पनि हो। परमेश्वरको गवाही दिन पद लिन खोज्नु ठूलो भुल हो—तँ समझरहित र अहङ्कारी दुवै छस्। तैँले यसो भन्नुपर्छ: “म मेरा केही अनुभवहरूबारे बोल्नेछु, तर म अझै पनि परमेश्वरको गवाही दिनुबाट निकै टाढा छु। म पहिला केही कुराबारे सङ्गति गर्नेछु। परमेश्वर किन चीनमा देहधारी हुनुभयो? तपाईँहरूले यो कुरा सायद राम्ररी बुझ्नुभएको छैन होला, हामीले परमेश्वरको कामबाट यो बुझेका छौँ। ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको स्थानमा जन्मेका हामी चिनियाँ मानिस, फोहोर ठाउँमा हुर्कियौँ। हामी शैतानद्वारा सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याइएका छौँ, हामी अरू हरकोहीभन्दा बढी झूट बोल्छौँ, हाम्रो मानवता सबैभन्दा कम छ, हाम्रो चरित्र सबैभन्दा तल्लो स्तरको छ, र हामीमा मानवताको झल्कोसमेत छैन। अन्य सबै राष्ट्र र क्षेत्रहरूका परमेश्वरका चुनिएका मानिसहरूको तुलनामा, हामी सबैभन्दा तुच्छ, सबैभन्दा फोहोर र सबैभन्दा भ्रष्ट तुल्याइएका मानिसहरू हौँ। त्यसैले हामी परमेश्वरको गवाही दिन अयोग्य छौँ, तैपनि हामीलाई परमेश्वरको महान् मुक्तिसमक्ष ल्याइएको छ र हामीले परमेश्वरको महान् प्रेम प्राप्त गरेका छौँ, त्यसैले हामीले आफ्ना व्यक्तिगत अनुभवात्मक गवाहीहरूबारे बोल्नुपर्छ। हामी परमेश्वरको अनुग्रहलाई दबाउन सक्दैनौँ।” यस्तो केही भन्नु बढी तर्कसङ्गत हुन्छ। मानिसहरू परमेश्वरद्वारा विजय गरिएपछि, तिनीहरूसँग कम्तीमा पनि पटक्कै अहङ्कारी तरिकाले नबोल्ने समझ हुनुपर्छ। तिनीहरूले “भुइँको गोबर” को स्थान लिनुपर्छ, र केही यस्ता कुरा भन्नुपर्छ जुन वास्तविक र इमानदार छन्—त्यो सबैभन्दा राम्रो हुनेछ। विशेष गरी परमेश्वरको गवाही दिँदा, यदि तँ साँच्चै, कुनै खोक्रो वा ठूलो कुरा नगरी साथै कुनै झूटोपन वा छलविना, हृदयबाट आउने केही शब्द, र केही वास्तविक र इमानदार कुरा भन्न सक्छस् भने, तेरो स्वभाव साँच्चै अलिकति परिवर्तन भएको हुनेछ; परमेश्वरद्वारा विजय गरिएपछि देखा पर्नुपर्ने परिवर्तन यही हो। यदि तँ यति समझ समेत राख्न सक्दैनस् भने, तँमा साँच्चै कुनै मानव रूप छैन। भविष्यमा, जब सारा राष्ट्र र क्षेत्रहरूका परमेश्वरका चुनिएका मानिसहरू परमेश्वरसामु फर्किआएका हुनेछन्, र जब परमेश्वरका वचनहरूले तिनीहरूमाथि विजय पाइसकेका हुनेछन्, तब परमेश्वरको प्रशंसाको ठूलो भेलामा, यदि तैँले फेरि पनि अहङ्कारी व्यवहार गर्न सुरु गर्छस् भने, र निरन्तर धाक लगाउँछस् र रवाफ देखाउँछस् भने, तँलाई पूर्ण रूपमा रद्दी बनाएर हटाइनेछ। मानिसहरूले सधैँ उचित व्यवहार गर्नुपर्छ, आफ्नो पहिचान र हैसियत स्पष्ट रूपमा देख्नुपर्छ, र तिनीहरू आफ्नो पुरानै मार्गमा फर्किनु हुँदैन। मानव अहङ्कार र अभिमान नै शैतानको ठेट स्वरूप हो। तैँले आफ्नो यो पक्ष परिवर्तन नगरुन्जेल, तँमा कहिल्यै पनि मानव रूप हुनेछैन, र तँसँग सधैँ शैतानको अनुहार हुनेछ। अहङ्कार र अभिमान समाधान गर्नु सबैभन्दा गाह्रो कुरा हो, र तेरो अहङ्कार र अभिमानको अलिकति ज्ञान हुँदैमा तैँले पूर्ण रूपान्तरण हासिल गर्न सक्नेछैनस्; तैँले अझै पनि शोधन भोगेर धेरै दुःख सहनुपर्नेछ। न्याय, सजाय, र काँटछाँट नभोगी, तँ दीर्घकालमा अझै पनि खतरामा हुनेछस्, र सजिलै आफ्नो पुरानै मार्गमा फर्किनेछस्। भविष्यमा, जब सबै राष्ट्र र क्षेत्रका परमेश्वरका चुनिएका मानिसहरू उहाँको काम स्वीकार गर्छन् र “परमेश्वरले चीनमा विजेताहरूको एउटा समूह प्राप्त गर्नुभएको छ भनेर हामीलाई धेरै अघि नै प्रकाश गरिएको थियो” भनेर भन्छन्, जब तिमीहरू यो कुरा सुन्छौ, तब तिमीहरू मनमनै “हामीसँग धाक लगाउनुपर्ने कुरा केही छैन, सबै कुरा परमेश्वरको अनुग्रहद्वारा दिइएको हो। हामी विजेता कहलिन लायक छैनौँ” भन्ने सोच्न सक्छौ। तर समय बित्दै जाँदा, जब तिमीहरू आफू केही अनुभवात्मक बुझाइ बाँड्न सक्षम भएको देख्न थाल्छौ, र तिमीहरू आफूसँग अलिकति वास्तविकता भएको देख्छौ, तब तिमीहरू यस्तो मनन गर्नेछौ, “अन्य देशका मानिसहरूले पनि पवित्र आत्माबाट प्रकाशहरू प्राप्त गरेका छन्, र तिनीहरू परमेश्वरले चीनमा विजेताहरूको एउटा समूह बनाउनुभएको छ भन्छन्, त्यसले गर्दा हामी विजेता हौँ।” तिमीहरू हृदयमा मौन रूपमा यो कुरामा सहमत हुनेछौ र यसलाई स्वीकार गर्नेछौ, अनि पछि गएर तिमीहरू सिधै सार्वजनिक स्वीकारोक्ति गर्नेछौ। प्रशंसाको सामना गर्दा मानिसहरू भारले थिचिन्छन्; हैसियतको परीक्षामा पर्दा तिनीहरू भारले थिचिन्छन्। यदि तेरो सधैँ प्रशंसा गरिन्छ भने, तँ ठूलो खतरामा छस्; तँ असफल हुने र पतन हुने सम्भावना हुन्छ। जसको स्वभाव परिवर्तन भएको छैन तिनीहरू अन्त्यमा दृढ रहन सक्दैनन्।
भ्रष्ट मानवजातिका निम्ति समाधान गर्न सबैभन्दा कठिन समस्या भनेको आफ्नो पुरानै मार्गमा फर्कनु हो। यसलाई रोक्नका लागि, मानिसहरू सुरुमा यो कुरामा सचेत हुनैपर्छ कि तिनीहरूले सत्यता प्राप्त गर्न बाँकी नै छ, तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएको छैन, र तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि, तिनीहरू अझै पनि शैतानको सत्ताअन्तर्गत जिउँछन्, र तिनीहरूले मुक्ति पाएका छैनन्; तिनीहरूले कुनै पनि समय परमेश्वरलाई धोका दिने र परमेश्वरलाई छाडेर जाने सम्भावना हुन्छ। यदि तिनीहरूमा यो सङ्कष्टको बोध छ भने—पछि आउने खतराको लागि समय छँदै तयार हुनुपर्छ भनेर भनेझैँ तिनीहरू तयार भई बसेका छन् भने—तिनीहरूले केही मात्रामा आफूलाई काबुमा राख्न सक्नेछन्, र जब तिनीहरूलाई केही कुरा आइपर्छ, तब तिनीहरू परमेश्वरलाई प्रार्थना गर्नेछन् र उहाँमा भर पर्नेछन्, अनि आफ्नो पुरानै मार्गमा फर्कनबाट बच्न सक्नेछन्। तिमीहरूको स्वभाव परिवर्तन भएको छैन, परमेश्वरलाई धोका दिने प्रकृति अझै पनि तिमीहरूभित्र गहिरो जरा गाडेर बसेको छ, र यसलाई निष्कासित गरिएको छैन, तिमीहरू अझै पनि परमेश्वरलाई धोका दिने खतरामा छौ, र तिमीहरूले निरन्तर अनन्त विनाशमा पर्ने सम्भावना सामना गर्दै छौ भन्ने कुरा तिमीहरूले प्रस्ट रूपमा देख्नैपर्छ। यो वास्तविक कुरा हो, त्यसैले तिमीहरू होसियार रहनैपर्छ। ध्यान दिनुपर्ने सबैभन्दा मुख्य बुँदाहरू तीन वटा छन्: पहिलो, तिमीहरूले अझै पनि परमेश्वरलाई चिनेका छैनौ; दोस्रो, तिमीहरूको स्वभावमा कुनै परिवर्तन आएको छैन; र तेस्रो, तिमीहरूले साँचो मानव रूपमा जिउन बाँकी नै छ। यी तीन वटा कुराहरू तथ्यअनुरूप छन्, ती वास्तविक हुन्, र तिमीहरू यी कुराको बारेमा स्पष्ट हुनैपर्छ। व्यक्तिका रूपमा, तिमीहरू आत्मसचेत हुनैपर्छ। यदि तिमीहरूमा साँच्चिकै देहविरुद्ध विद्रोह गर्ने र आफ्नो पुरानै मार्गमा नफर्कने सङ्कल्प छ भने, तिमीहरूले आफ्नै आदर्श वाक्य छनौट गर्नुपर्छ: उदाहरणका लागि, “म भुइँको गोबर हुँ,” वा “म प्रकृतिले नै दियाबलस हुँ,” वा “म सधैँ मेरा पुराना मार्गहरूमा फर्कन्छु,” वा “म सधैँ ठूलो खतरामा हुन्छु।” यीमध्ये कुनै पनि वाक्यले तिमीहरूको व्यक्तिगत आदर्श वाक्यको रूपमा काम गर्न सक्छ, र तिमीहरूले आवश्यक परेको बेला यो कुरा आफूलाई सम्झायौ भने उपयोगी हुनेछ। यो कुरा मनमनै अलि बढी दोहोर्याऊ, आत्मचिन्तन गर, अनि तिमीहरूले कम मात्र गल्ती गर्न वा गल्ती गर्नै छोड्न सक्छौ। तथापि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरका वचनहरू अझ धेरै पढ्नु, सत्यता बुझ्नु, आफ्नै प्रकृतिलाई चिन्नु र आफ्नै भ्रष्ट स्वभाव फाल्नु हो। त्यसपछि मात्रै तिमीहरू सुरक्षित हुनेछौ। अर्को कुराचाहिँ “परमेश्वरको साक्षी” को स्थान कहिल्यै पनि नलिनु र आफूलाई परमेश्वरको साक्षी कहिल्यै पनि नभन्नु हो। तिमीहरूले व्यक्तिगत अनुभवबारे मात्र बोल्न सक्छौ। परमेश्वरले तिमीहरूलाई कसरी मुक्ति दिनुभयो भन्नेबारे बोल्दा हुन्छ, परमेश्वरले तिमीहरूलाई कसरी विजय गर्नुभयो भन्नेबारे सङ्गति गर्दा हुन्छ, र उहाँले तिमीहरूलाई के अनुग्रह प्रदान गर्नुभयो भन्नेबारे कुरा गर्दा पनि हुन्छ। यो कहिल्यै नबिर्स कि तिमीहरू सबैभन्दा गहिरो रूपमा भ्रष्ट तुल्याइएका मानिस हौ, तिमीहरू गोबर र फोहोर हौ, र अहिले परमेश्वरको आखिरी दिनहरूको काम स्विकार्न सक्षम हुनु पूर्णतया उहाँले तिमीहरूलाई माथि उचाल्नुभएकै कारणले गर्दा हो। तिमीहरू सबैभन्दा भ्रष्ट र फोहोरी भएकोले मात्र तिमीहरूलाई देहधारी परमेश्वरद्वारा मुक्ति दिइएको छ, उहाँले तिमीहरूलाई यस्तो अपार अनुग्रह प्रदान गर्नुभएको हो। त्यसकारण तिमीहरूसँग धाक लगाउनलाई केही पनि छैन; परमेश्वरको मुक्तिका लागि तिमीहरू उहाँलाई धन्यवाद दिन मात्र सक्छौ। परमेश्वरको अनुग्रहलाई नबिर्स। तिमीहरूको मुक्ति विशुद्ध रूपमा परमेश्वरको अनुग्रहको कारण भएको हो। किन तिमीहरूलाई सबैभन्दा सौभाग्यशाली मानिसहरू भनिएको हो? तिमीहरूसँग केही फाइदाका कुराहरू वा असल गुण भएकोले तिमीहरूलाई सौभाग्यशाली भनिएको होइन—तिमीहरू चीनमा जन्मेका, शैतानद्वारा सबैभन्दा भ्रष्ट तुल्याइएका, र सबैभन्दा फोहोरी मानिस भएका हुनाले मात्र त्यसो भनिएको हो। परमेश्वरले सबैभन्दा पहिला ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको भूमिमा रहेका सबैभन्दा फोहोरी र भ्रष्ट तुल्याइएका मानिसहरूलाई मुक्ति दिँदै, र सबैभन्दा पहिला प्रतिरूप, वा नमुनाहरूको एउटा जत्था बनाउँदै, आफ्नो व्यवस्थापन योजना पछ्याउनुभएको हो। त्यही कारणले गर्दा उहाँले तिमीहरू सबैलाई चुन्नुभयो; तिमीहरू परमेश्वरले पूर्वनिर्धारित गर्नुभएका र चुन्नुभएका मानिसहरू हौ। यदि परमेश्वरसित यो योजना नभएको भए, तिमीहरूले सदासर्वदा विनाश भोगिरहेका हुनेथियौ। यसैकारण म तिमीहरूलाई मानिसहरूमध्येका सबैभन्दा भाग्यमानी भन्ने गर्छु। तर तिमीहरूसँग गर्व गर्नुपर्ने केही पनि छैन, र तिमीहरूले घमण्ड गर्नु नै हुँदैन।
तिमीहरूले परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गरेर केही लाभ प्राप्त गरेका छौ, र केही वास्तविक अनुभव पाएका छौ, त्यसैले तिमीहरूले परमेश्वरको गवाही दिनुपर्छ। परमेश्वरको गवाही दिँदा, तिमीहरूले मुख्यतया परमेश्वरले तिमीहरूलाई कसरी न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, साथै तिमीहरूलाई शोधन गर्न र तिमीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँ कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्नेबारे कुरा गर्नुपर्छ। तिमीहरूले आफ्ना अनुभवहरूभरि कति भ्रष्टता प्रकट गरेका छौ, परमेश्वरबारे कस्ता धारणाहरू विकास गरेका छौ, र परमेश्वरको प्रतिरोध गर्न के-कस्ता कुराहरू गर्यौ, साथै अन्ततः तिमीहरूलाई परमेश्वरद्वारा कसरी विजय गरियो, तिमीहरूले परमेश्वरको कामबारे कस्तो वास्तविक ज्ञान प्राप्त गरेका छौ, र परमेश्वरको प्रेमको प्रतिदान गर्न तिमीहरूले कसरी उहाँको साक्षी दिनुपर्छ भन्नेबारे पनि तिमीहरूले कुरा गर्नुपर्छ। तिमीहरूले यी शब्दहरूमा सारतत्त्व हाल्नुपर्छ, र सरल शब्दमा बोल्नुपर्छ। खोक्रा सिद्धान्तहरूबारे कुरा नगर। केही वास्तविक कुरा, केही हृदयको कुरा भन। यसरी परमेश्वरको गवाही दिँदा मात्र उचित हुन्छ। आडम्बर देखाउने प्रयासमा गहन लाग्ने, रित्ता सिद्धान्तहरू तयार नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र समझहीन देखिन्छौ। तिमीहरूले आफ्नो खास अनुभवबाट वास्तविक कुराहरूका बारेमा अझ बढी बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; अरूका लागि सबैभन्दा लाभदायक कुरा, र तिनीहरूले सबैभन्दा उपयुक्त देख्ने कुरा पनि यही हो। तिमीहरू विगतमा परमेश्वरको सबैभन्दा बढी प्रतिरोध गर्ने, उहाँप्रति समर्पित हुन सबैभन्दा कम झुकाव राख्ने मानिस थियौ, तर अब तिमीहरू विजय गरिएका छौ—त्यो कुरा कहिल्यै नबिर्स। तिमीहरूले यी विषयहरूमा धेरै चिन्तन र मनन गर्नुपर्छ। जब मानिसहरूले ती कुराहरू स्पष्ट बुझ्छन्, तब तिनीहरूलाई गवाही कसरी दिनुपर्छ भन्ने थाहा हुनेछ, अन्यथा, तिनीहरू समझ नभएका लाजमर्दो कामहरू गर्न प्रवृत्त हुनेछन्, जुन परमेश्वरको गवाही दिनु होइन, बरु परमेश्वरलाई लज्जित तुल्याउनु हो। सच्चा अनुभवहरू र सत्यताको बुझाइविना परमेश्वरको लागि गवाही दिन सम्भव हुँदैन। परमेश्वरमाथि जसको विश्वास अलमल्ल र अन्योलमा छ ती मानिसहरू कहिल्यै परमेश्वरको गवाही दिन सक्षम हुनेछैनन्।
वसन्त, १९९९