च. परमेश्‍वरप्रतिको आज्ञा पालनको अभ्यास कसरी गर्ने त्यसको सम्बन्धमा

३९१. परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उहाँले उनीहरूलाई पृथ्वीमा राख्नुभयो र उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ, पछि उहाँले उनीहरूलाई मुक्ति दिनुभयो र मानवजातिका निम्ति पापबलिका रूपमा सेवा गर्नुभयो, र अन्तमा, उहाँले अझै मानवजातिलाई विजय गर्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्ति दिनुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि अन्त्यसम्म नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टि गरिएका प्राणीमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्‍ने हुन्छ। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि मानवजातिले परमेश्‍वरको डर मान्ने उनीहरूको हृदय, साथै सृजित प्राणीहरूमा हुनुपर्ने कार्य गुम्यो, त्यसरी उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने शत्रु भए। त्यसपछि मानवजाति शैतानको सत्तामा जियो र शैतानको चालबाजीको गोटी बन्यो; यसरी, परमेश्‍वरसित आफ्ना सृष्टि गरिएका प्राणीहरूमाझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भय प्राप्त गर्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्‍नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्यो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। अन्त्यमा विद्रोहका ती सन्तानहरूको पूर्ण विनाश पनि मानवलाई अझ राम्रोसँग परमेश्‍वरको आराधना गर्न र पृथ्वीमा अझ राम्रोसँग जिउन सक्षम हुन दिनका निम्ति हुनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्‍ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्‍ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजाति चाहिँ उहाँको आराधना गर्ने, उहाँप्रति पूर्ण रूपमा समर्पित हुने र उहाँको महिमा भएको मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

३९२. तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, तँ उहाँप्रति समर्पित हुनैपर्छ। यदि तँ यसो गर्न असक्षम छस् भने, तैँले विश्‍वास गरे पनि वा नगरे पनि केही फरक पर्दैन। यदि तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्, तैपनि तँ कहिल्यै उहाँप्रति समर्पित भएको छैनस्, र उहाँका सम्पूर्ण वचनलाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वर तँप्रति समर्पित हुनुपर्छ र उहाँले तेरा धारणाहरूअनुसार काम गर्नुपर्छ भनी माग गर्छस् भने, तँ सबैभन्दा विद्रोही होस्, तँ एक अविश्‍वासी होस्। मानिसका धारणाहरूसँग नमिल्ने परमेश्‍वरको काम र वचनहरूप्रति त्यस्ता मानिसहरू कसरी समर्पित हुन सक्छन् र? सबैभन्दा विद्रोही ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरसामु झुक्न इन्कार गर्छन् र परमेश्‍वरको प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रु, ख्रीष्टविरोधी हुन्। तिनीहरू सधैँ परमेश्‍वरको नयाँ कामप्रति शत्रुवत् मनोवृत्ति पाल्छन्; तिनीहरूमा कहिल्यै समर्पित हुने झुकाव अलिकति पनि हुँदैन, न त तिनीहरूले कहिल्यै खुसीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। अरूसामु, तिनीहरूमा नै सबैभन्दा धेरै अहम् हुन्छ, र तिनीहरू कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरू आफूलाई “प्रवचनहरू” प्रचार गर्ने काममा सर्वश्रेष्ठ, अनि अरूहरूमाथि काम गर्नका लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्; बरु तिनीहरू तिनलाई आराधना गर्ने र अरूलाई प्रचार गर्ने पारिवारिक विरासत ठान्छन्, र तिनीहरू तिनलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन यी प्रयोग गर्छन्। मण्डलीभित्र निश्चय नै केही निश्चित सङ्ख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकको वंश” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बास बसेका छन्। तिनीहरू “प्रवचनहरू” (धर्मसिद्धान्तहरू) प्रचार गर्नुलाई सर्वोच्च कर्तव्य मान्छन्। वर्षैपिच्छे, एकपछि अर्को पुस्तासम्म, तिनीहरू आफ्नो “पवित्र र तोड्न नसकिने” कर्तव्य कडाइका साथ गरिरहन्छन्। तिनीहरूलाई छुने आँट कसैले पनि गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजा” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। दुष्ट पिशाचहरूको यो झुण्ड मेरो कामलाई ध्वस्त पार्न आपसमा हात मिलाउन चाहन्छ; म कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? आधा मात्र समर्पित हुनेहरूले त अन्त्यसम्म निरन्तरता दिन सक्दैनन् भने, हृदयमा अलिकति पनि समर्पण नभएका यी अत्याचारीहरूको त कुरै छोडौँ! परमेश्‍वरको काम मानिसलाई सजिलै प्राप्त हुँदैन। आफूसँग भएको सम्पूर्ण बल प्रयोग गरेर पनि, मानिसहरूले यसको एक भाग मात्र प्राप्त गर्न सक्छन्, जसले गर्दा अन्ततः तिनीहरू सिद्ध पारिन्छन्। त्यसोभए, परमेश्‍वरको काम नष्ट गर्न खोज्ने प्रधान स्वर्गदूतका वंशजहरूलाई चाहिँ के हुन्छ? के तिनीहरूसँग परमेश्‍वरद्वारा प्राप्त गरिने आशा अझै कम हुँदैन र? विजयको काम गर्नुमा मेरो उद्देश्य विजयका खातिर मात्र विजय गर्नु होइन, बरु धार्मिकता र अधार्मिकतालाई प्रकट गर्न, मानिसको दण्डका लागि प्रमाण प्राप्त गर्न, दुष्टलाई दोषी ठहराउन विजय गर्नु, र अझ बढी, जानाजानी समर्पित हुनेहरूलाई सिद्ध पार्नका खातिर विजय गर्नु हो। अन्त्यमा, सबैलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ, र सिद्ध पारिनेहरूका सोच र विचारहरू समर्पणले भरिएका हुनेछन्। अन्ततः सम्पन्न गरिने काम यही हो। यसैबीच, विद्रोहीपनका कार्यहरूले भरिएकाहरूलाई दण्ड दिइनेछ र दन्किरहेको आगोमा फालिनेछ, र तिनीहरू अनन्त श्रापका पात्र हुनेछन्। जब त्यो समय आउँछ, युगौँयुगभरि अस्तित्वमा रहेको त्यो “महान् र अदम्य नायकहरूको वंश” सबैभन्दा नीच र सबैभन्दा बहिष्कृत “कमजोर र शक्तिहीन काँतरहरूको वंश” बन्नेछ। यसले मात्र परमेश्‍वरको सम्पूर्ण धार्मिकता, र मानिसले गरेको उल्लङ्घन नसहने उहाँको स्वभावलाई प्रकट गर्न सक्छ, र यसले मात्र मेरो हृदयभित्रको घृणालाई शान्त पार्न सक्छ। के तिमीहरू यो पूर्ण रूपमा मनासिब छ भन्‍ने कुरामा सहमत छैनौ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

३९३. परमेश्‍वरले गर्नुहुने काम युगअनुसार फरक पर्छ। यदि तँ एउटा चरणमा परमेश्‍वरको कामप्रति राम्ररी समर्पित हुन्छस्, तर अर्को चरणमा उहाँको कामप्रति तेरो समर्पण कमजोर हुन्छ, वा तँ समर्पित हुन असक्षम हुन्छस् भने, परमेश्‍वरले तँलाई त्याग्नुहुनेछ। परमेश्‍वरले यो कदम चाल्नुहुँदा तँ उहाँको गति समाउँछस्, र उहाँ अर्को कदममा उक्लनुहुँदा पनि तैँले निरन्तर गति समाउनुपर्छ; तब मात्र तँ पवित्र आत्माप्रति समर्पित व्यक्ति बन्नेछस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, तँ आफ्नो समर्पणमा स्थिर रहनैपर्छ। तैँले आफूलाई मन लाग्दा मात्रै समर्पित हुने र मन नलाग्दा चाहिँ समर्पित हुन नमान्ने गर्न मिल्दैन। यस प्रकारको समर्पणलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्न। यदि तँ नयाँ कामका बारेमा मेरो सङ्गतिको गति समाउन सक्दैनस्, र अघिल्ला भनाइहरूलाई नै पक्रिरहन्छस् भने, तेरो जीवनमा कसरी प्रगति हुन सक्छ? परमेश्‍वरको काम भनेको उहाँका वचनहरूमार्फत तँलाई आपूर्ति गर्नु हो। जब तँ उहाँका वचनहरूप्रति समर्पित हुन्छस् र तिनलाई स्वीकार गर्छस्, तब पवित्र आत्माले पक्कै पनि तँमा काम गर्नुहुनेछ। म जसरी बोल्छु पवित्र आत्माले ठीक त्यसरी नै काम गर्नुहुन्छ; मैले भनेजस्तै गर्, अनि पवित्र आत्माले तुरुन्तै तँमा काम गर्नुहुनेछ। म तिमीहरूलाई हेराउनका लागि नयाँ प्रकाश जारी गर्छु, तिमीहरूलाई वर्तमानको प्रकाशमा ल्याउँछु, अनि जब तँ यो प्रकाशमा प्रवेश गर्छस्, तब पवित्र आत्माले तुरुन्तै तँमा काम गर्नुहुनेछ। कतिपयले अवज्ञाकारी भएर यसो भन्न सक्छन्, “म तपाईँले भन्नुभएको कुरा अभ्यास गर्दै गर्दिनँ।” यस्तो अवस्थामा, म तँलाई भन्छु कि तँ अब बाटोको अन्त्यमा आइपुगेको छस्; तँ सुकिसकेको छस्, र तँ जीवनविहीन छस्। यसरी, आफ्नो स्वभाव रूपान्तरणको अनुभव गर्दा, वर्तमान प्रकाशको गति समाउनुभन्दा महत्त्वपूर्ण कुरा केही छैन। पवित्र आत्माले परमेश्‍वरद्वारा प्रयोग गरिने निश्चित मानिसहरूमा मात्रै होइन, अझ भन्नुपर्दा, मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमा पनि काम गरिरहनुभएको हुन सक्छ। उहाँले वर्तमान समयमा तँमा काम गर्न सक्नुहुन्छ, र तैँले यो कामको अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अरू कसैमा काम गर्न सक्नुहुन्छ, जुन अवस्थामा तैँले चाँडो पछ्याउनुपर्छ; तँ वर्तमान प्रकाशलाई जति नजिकबाट पछ्याउँछस्, तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कोही व्यक्ति जस्तोसुकै प्रकारको भए पनि, यदि पवित्र आत्माले उसमा काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तँ आफैले कामकुराहरू भोग्दा, तैँले उसको भोगाइको वास्तविक अनुभव प्राप्त गरिस् भने, तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यस प्रकारको अभ्यासमार्फत, तैँले अझ छिटो प्रगति गर्नेछस्। यो मानिसले सिद्धता प्राप्त गर्ने मार्ग र जीवन वृद्धि हुने माध्यम हो। सिद्ध पारिने मार्गमा पवित्र आत्माको कामप्रति तेरो समर्पणमार्फत पुगिन्छ। परमेश्‍वरले तँलाई सिद्ध पार्न कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुनेछ, वा उहाँले तँलाई कुन व्यक्ति, घटना, वा कामकुरामार्फत कुराहरू प्राप्त गर्न र देख्न दिनुहुनेछ भन्‍ने तँलाई थाहा हुँदैन। यदि तँ यो सही मार्गमा पाइला टेक्न सक्छस् भने, यसले तँ परमेश्‍वरद्वारा सिद्ध पारिने ठूलो आशा छ भन्‍ने देखाउँछ। यदि तँ सक्दैनस् भने, यसले तेरो भविष्य अन्धकारमय, प्रकाशविहीन छ भन्‍ने देखाउँछ। जब तँ सही मार्गमा हिँड्न थाल्छस्, तब तैँले सबै कुरामा प्रकाश प्राप्त गर्नेछस्। पवित्र आत्माले अरूलाई जेसुकै प्रकाश गर्नुभए पनि, यदि तँ तिनीहरूको ज्ञानका आधारमा आफैले कुराहरू अनुभव गर्नतिर लागिस् भने, त्यो तेरो जीवनको हिस्सा बन्नेछ, र तैँले यो अनुभवबाट अरूलाई आपूर्ति गर्न सक्नेछस्। जो शब्दहरू रटेर अरूलाई आपूर्ति गर्छन् तिनीहरू कुनै अनुभव प्राप्त नगरेका मानिस हुन्; तैँले आफ्नो खास अनुभव र ज्ञानका बारेमा बोल्न सुरु गर्नुअघि अरूको अन्तर्दृष्टि र ज्योतिमार्फत अभ्यासको मार्ग भेट्टाउन सिक्नुपर्छ। यो तेरो आफ्नै जीवनका लागि अझ ठूलो फाइदा हुनेछ। परमेश्‍वरबाट आउने सबै कुरामा समर्पित हुँदै, तैँले यसरी नै अनुभव गर्नुपर्छ। तेरो जीवन वृद्धि हुन सकोस् भनेर, तैँले सबै कुरामा परमेश्‍वरका अभिप्रायहरू खोज्नुपर्छ र सबै कुरामा पाठहरू सिक्नुपर्छ। यस्तो अभ्यासले सबैभन्दा छिटो प्रगति गराउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

३९४. परमेश्‍वरको कामप्रतिको समर्पणमा वास्तविकता हुनुपर्छ र यो जिइनुपर्छ। सतही समर्पणले मात्रै परमेश्‍वरको अनुमोदन पाउन सक्दैन र आफ्नो स्वभावमा परिवर्तन नपछ्याई परमेश्‍वरको वचनका सतही पक्षहरूप्रति मात्र समर्पित हुनु परमेश्‍वरका अभिप्रायहरूअनुरूप होइन। परमेश्‍वरप्रतिको समर्पण र परमेश्‍वरको कामप्रतिको समर्पण उस्तै कुरा हुन्। परमेश्‍वरप्रति मात्रै समर्पित हुने तर उहाँको कामप्रति समर्पित नहुनेहरूलाई समर्पित मान्न सकिँदैन, साँचो रूपमा समर्पित नहुने तर बाहिरी रूपमा चापलुसी गर्नेहरूको त झन् कुरै छोडौँ। परमेश्‍वरप्रति साँचो रूपमा समर्पित हुने सबैले कामबाट लाभ प्राप्त गर्न र परमेश्‍वरको स्वभाव र कामबारे बुझाइ हासिल गर्न सक्छन्। यस्ता मानिसहरू मात्र परमेश्‍वरप्रति साँचो रूपमा समर्पित हुन्छन्। यस्ता मानिसहरू नयाँ काममार्फत नयाँ ज्ञान प्राप्त गर्न, र नयाँ परिवर्तनहरू भोग्न सक्षम हुन्छन्। यी मानिसहरू मात्र परमेश्‍वरद्वारा अनुमोदित हुन्छन्, यी मानिसहरू मात्र सिद्ध पारिन्छन्, र यिनीहरू मात्र त्यस्ता मानिस हुन् जसका स्वभावहरू परिवर्तन भएका हुन्छन्। परमेश्‍वरद्वारा अनुमोदन गरिनेहरू ती हुन् जो खुसीसाथ परमेश्‍वरप्रति, साथै उहाँको वचन र कामप्रति समर्पित हुन्छन्। यस्ता मानिसहरू मात्र सच्चा मानिस हुन्, यस्ता मानिसहरू मात्र निष्कपट रूपमा परमेश्‍वरलाई चाहन्छन्, र निष्कपट रूपमा परमेश्‍वरको खोजी गर्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

३९५. परमेश्‍वर देहमा हुनुहुँदा, उहाँले मानिसहरूबाट माग गर्नुभएको समर्पण तिनीहरूले कल्पना गरेजस्तो गलत नठहराउनु वा विरोध नगर्नु मात्र होइन; बरु, उहाँ मानिसहरूले उहाँका वचनहरूलाई आफू जिउने सिद्धान्त र आफ्नो अस्तित्वको जगका रूपमा प्रयोग गरून्, तिनीहरूले उहाँका वचनहरूको सारलाई पूर्ण रूपमा व्यवहारमा लागु गरून्, र तिनीहरूले उहाँका अभिप्रायहरूलाई पूर्ण रूपमा पूरा गरून् भन्‍ने माग गर्नुहुन्छ। मानिसहरूलाई देहधारी परमेश्‍वरमा समर्पित हुन माग गर्नुको एउटा पक्षले उहाँका वचनहरूलाई व्यवहारमा लागु गर्नुलाई जनाउँछ, जबकि अर्को पक्षले उहाँको सामान्यता र व्यावहारिकताप्रति समर्पित हुन सक्नुलाई जनाउँछ। यी दुवै पूर्ण हुनैपर्छ। साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय भएका सबैले यी दुवै पक्ष हासिल गर्न सक्छन्। तिनीहरू सबै परमेश्‍वरद्वारा प्राप्त गरिएका मानिस हुन्, र तिनीहरू सबै परमेश्‍वरलाई आफ्नो जीवनझैँ प्रेम गर्छन्। …

आज देहधारी परमेश्‍वरले प्राप्त गर्न चाहनुभएका मानिसहरू ती हुन् जो उहाँका अभिप्रायअनुरूप छन्। तिनीहरू केवल उहाँको कामप्रति समर्पित हुनुपर्छ, र तिनीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरका चाहनामा सरोकार राख्दै अस्पष्टतामा जिउन र देहमा आउनुभएका परमेश्‍वरका निम्ति परिस्थिति कठिन बनाउन छोड्नुपर्छ। उहाँप्रति समर्पित हुन सक्‍नेहरू तिनीहरू हुन् जो पूर्ण रूपमा उहाँको वचन सुन्छन् र उहाँको प्रबन्धहरूको पालना गर्ने हुन्छन्। त्यस्ता मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ वा अहिले स्वर्गमा हुनुहुने परमेश्‍वरले मानिसमा कस्तो किसिमको काम गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई कुनै वास्ता गर्दैनन्; तिनीहरूले पृथ्वीका परमेश्‍वरलाई पूर्ण रूपमा आफ्नो हृदय दिन्छन् र आफ्नो सम्पूर्ण अस्तित्व उहाँको सामु राखिदिन्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई कहिल्यै पनि कुनै ध्यान दिँदैनन्, न त तिनीहरूले देहमा हुनुहुने परमेश्‍वरको सामान्यता र व्यावहारिकताको बारेमा नै अनावश्यक ध्यान दिन्छन्। देहधारी परमेश्‍वरमा समर्पित हुने मानिसहरूलाई उहाँले सिद्ध पार्न सक्‍नुहुन्छ। स्वर्गका परमेश्‍वरमा विश्‍वास गर्नेहरूले केही पनि पाउनेछैनन्। किनकि स्वर्गका परमेश्‍वरले नभई पृथ्वीका परमेश्‍वरले मानिसहरूलाई प्रतिज्ञा र आशीर्वादहरू दिनुहुन्छ। मानिसहरूले स्वर्गका परमेश्‍वरलाई महान् रूपमा सम्‍मान गर्ने र पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई सामान्य मानिसको रूपमा हेर्ने गर्नु हुँदैन; त्यसो गर्नु अनुचित हो। स्वर्गमा हुनुहुने परमेश्‍वर महान् र अद्भुत बुद्धिका हुनुहुन्छ, तर स्वर्गका त्यो परमेश्‍वर अस्तित्वमा हुँदैन; पृथ्वीका परमेश्‍वर अति औसत र महत्त्वहीन हुनुहुन्छ, र सामान्य पनि हुनुहुन्छ। उहाँसँग असाधारण दिमाग छैन वा उहाँले पृथ्वी नै भत्काउन सक्‍ने कार्यहरू गर्नुहुन्‍न; उहाँले केवल सामान्य र व्यावहारिक ढङ्गले कार्य गर्नुहुन्छ र बोल्नुहुन्छ। उहाँले मेघगर्जनको माध्यमबाट बोल्‍ने वा हावा र वर्षालाई आज्ञा दिने नगर्नुभए तापनि, उहाँ साँच्‍चै नै स्वर्गका परमेश्‍वरका देहधारण हुनुहुन्छ, र उहाँ वास्तवमै मानवजातिमाझ बास गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। मानिसहरूले आफूले बुझ्न सक्‍ने र आफूले गरेका कल्पनाहरूसँग मेल खाने व्यक्तिलाई परमेश्‍वरको रूपमा लिनु हुँदैन वा महान् रूपमा सम्‍मान गर्नु हुँदैन, अनि आफूले स्विकार्न र कल्पना गर्नै नसक्‍ने व्यक्तिलाई तुच्छ ठान्‍नु हुँदैन। यो सबै मानिसहरूको विद्रोहबाट आउँछ; यो सबै नै परमेश्‍वरप्रति मानवजातिको विरोधको स्रोत हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पूर्ण रूपमा परमेश्‍वरको व्यावहारिकताको अधीनमा रहन सक्नेहरू ती हुन् जो परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्छन्

३९६. परमेश्‍वरप्रति समर्पित हुनुको कडी भनेको सबैभन्दा नयाँ ज्योति स्वीकार गर्नु, अनि यसलाई स्वीकार गर्न र व्यवहारमा लागु गर्न सक्षम हुनु हो। यो मात्रै साँचो समर्पण हो। परमेश्‍वरको तृष्णा गर्ने सङ्कल्प नभएकाहरू जानाजानी उहाँप्रति समर्पित हुन असक्षम हुन्छन्, र तिनीहरू यथास्थितिमै सन्तुष्ट हुनुको नतिजास्वरूप परमेश्‍वरको विरोध मात्र गर्न सक्छन्। मानिस परमेश्‍वरप्रति समर्पित हुन सक्दैन किनभने ऊ पहिले आएका कुराहरूद्वारा वशीभूत हुन्छ। पहिले आएका कुराहरूले मानिसमा परमेश्‍वरबारे सबै प्रकारका धारणा र विभिन्न कल्पना पैदा गरेका छन्, र यी कुराहरू उसको दिमागमा परमेश्‍वरको स्वरूप बनेका छन्। तसर्थ, ऊ आफ्नै धारणाहरू, र आफ्नै कल्पनाका मानकहरूमा विश्‍वास गर्छ। यदि तँ आज व्यावहारिक काम गर्नुहुने परमेश्‍वरलाई तेरो आफ्नै कल्पनाको परमेश्‍वरसँग दाँज्छस् भने, तेरो आस्था शैतानबाट आउँछ, र त्यो तेरो आफ्नै अभिरुचिहरूमा आधारित छ—परमेश्‍वर यस्तो प्रकारको आस्था चाहनुहुन्न। तिनीहरूको योग्यता जतिसुकै उच्च भए पनि, र तिनीहरूले जतिसुकै अर्पण गरेका भए पनि—तिनीहरूले उहाँका लागि काम गर्न जीवनभरको मेहनत लगाएका भए पनि, र तिनीहरू शहादत प्राप्त गर्ने हदसम्म गएका भए पनि—परमेश्‍वर यस्तो आस्था भएको कसैलाई पनि अनुमोदन गर्नुहुन्न। उहाँ केवल तिनीहरूलाई थोरै अनुग्रह प्रदान गर्नुहुन्छ र तिनीहरूलाई केही समय यसको आनन्द लिन दिनुहुन्छ। यस्ता मानिसहरू सत्यतालाई व्यवहारमा लागु गर्न असमर्थ हुन्छन्। पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न, र परमेश्‍वरले तिनीहरूमध्ये प्रत्येकलाई पालैपालो हटाउनुहुनेछ। जवान होऊन् वा वृद्ध, आफ्नो आस्थामा परमेश्‍वरप्रति समर्पित नहुने र गलत अभिप्रायहरू राख्नेहरू विरोध र अवरोध गर्छन्, र त्यस्ता मानिसहरू परमेश्‍वरद्वारा निस्सन्देह हटाइनेछन्। परमेश्‍वरप्रति अलिकति पनि समर्पण नभएका, उहाँको नाम मात्र स्वीकार गर्ने, र परमेश्‍वरको पहुँचयोग्यता र प्रेमिलोपनको केही बोध भएका, तैपनि पवित्र आत्माका पदचापहरूको गतिसँग तालमेल मिलाउन नसक्ने, र पवित्र आत्माको वर्तमान काम र वचनहरूप्रति समर्पित नहुनेहरू—त्यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहको बीचमा जिउँछन्, र उहाँद्वारा प्राप्त गरिन वा सिद्ध पारिन सकिँदैनन्। परमेश्‍वर मानिसहरूलाई तिनीहरूको समर्पणमार्फत, तिनीहरूद्वारा परमेश्‍वरका वचनहरूको खानपिन, र आनन्दभोग, र जीवनमा दुःख र शोधनको भोगमार्फत सिद्ध पार्नुहुन्छ। यस्तो आस्थामार्फत मात्र मानिसहरूको स्वभाव परिवर्तन हुन सक्छ, र त्यसपछि मात्र तिनीहरूसँग परमेश्‍वरको साँचो ज्ञान हुन सक्छ। परमेश्‍वरको अनुग्रहको बीचमा जिउनुमा सन्तुष्ट नहुनु, सक्रिय रूपमा सत्यताको तृष्णा र खोजी गर्नु, र परमेश्‍वरद्वारा प्राप्त गरिने पछ्याइमा लाग्नु—सचेत रूपमा परमेश्‍वरप्रति समर्पित हुनुको अर्थ यही हो, र उहाँले चाहने आस्था ठ्याक्कै यस्तै प्रकारको हो। परमेश्‍वरको अनुग्रहको आनन्द लिनेबाहेक अरू केही नगर्ने मानिसहरूलाई सिद्ध पार्न वा परिवर्तन गर्न सकिँदैन; तिनीहरूसँग देखावटी समर्पण, भक्ति, प्रेम, र धैर्य मात्र हुन सक्छ। परमेश्‍वरको अनुग्रहको मात्र आनन्द लिनेहरूले परमेश्‍वरलाई साँच्चै चिन्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरलाई चिने पनि, तिनीहरूको ज्ञान देखावटी हुन्छ, र तिनीहरू “परमेश्‍वर मानिसलाई प्रेम गर्नुहुन्छ,” वा “परमेश्‍वर मानिसमाथि कृपा राख्नुहुन्छ” भन्ने जस्ता कुराहरू भन्छन्। यसले मानिसको जीवनको प्रतिनिधित्व गर्दैन, र यसको अर्थ मानिसहरू साँच्चिकै परमेश्‍वरलाई चिन्छन् भन्‍ने होइन। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई शोधन गर्दा, वा तिनीहरूमाथि उहाँका परीक्षाहरू आइपर्दा, यदि तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन असक्षम हुन्छन्—यदि, यसको सट्टा, तिनीहरू शङ्कालु बन्छन्, र पतनसमेत हुन्छन् भने—तिनीहरू अलिकति पनि समर्पित हुँदैनन्। तिनीहरूभित्र परमेश्‍वरमाथिको आस्थाबारे धेरै वटा नियम र बन्देज हुन्छन्, र तिनीहरूले धेरै वर्षको आस्थाबाट लिएका लामो समयदेखिका अनुभवहरू, वा बाइबललाई आफ्नो सिद्धान्तका रूपमा लिने विभिन्न प्रावधानसमेत हुन्छन्। के यस्ता मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन सक्छन् र? यी मानिसहरू मानवीय कुराहरूले भरिएका हुन्छन्—तिनीहरू कसरी परमेश्‍वरप्रति समर्पित हुन सक्छन् र? तिनीहरूको “समर्पण” तिनीहरूका व्यक्तिगत अभिरुचिहरूमा आधारित हुन्छ—के परमेश्‍वर यस्तो समर्पण चाहनुहुन्छ र? यो त प्रावधानहरूको पालना हो, परमेश्‍वरप्रतिको समर्पण होइन; यो आफैलाई सन्तुष्ट र खुसी पार्नु हो। यदि तँ यो परमेश्‍वरप्रतिको समर्पण हो भनेर भन्छस् भने, के तँ उहाँको ईशनिन्दा गर्दैनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ परमेश्‍वरमा समर्पित हुनैपर्छ

३९७. आफ्‍नो आस्थामा परमेश्‍वरमाथिको समर्पण नखोज्नेहरू सबै नै उहाँको विरोध गर्ने मानिसहरू हुन्। परमेश्‍वर मानिसहरूलाई सत्यताको खोजी गर्न, उहाँको वचनका लागि तिर्खाउन, उहाँका वचन खान र पिउन, र ती अभ्यास गर्न भन्नुहुन्छ, र त्यो सब तिनीहरूले परमेश्‍वरप्रतिको समर्पण प्राप्त गर्न सकून् भनेर हो। यदि तेरो साँचो अभिप्राय त्यही हो भने, परमेश्‍वरले तँलाई निश्चय नै उच्च पार्नुहुनेछ, र तँप्रति निश्चय नै अनुग्रहकारी हुनुहुनेछ। यो निस्सन्देह र अपरिवर्तनीय कुरा हो। यदि तेरो अभिप्राय परमेश्‍वरमा समर्पित हुनु होइन, अनि तेरा अन्य लक्ष्यहरू छन् भने, तैँले भन्ने र गर्ने सबै कुरा—परमेश्‍वरसामु तैँले गर्ने प्रार्थनाहरू समेत, र अझै अगाडि गएर भन्नुपर्दा, तेरो हरेक चाल—उहाँको विरोधमा हुनेछन्। तेरा शब्दहरू कोमल र तँ शालीन भए पनि, तेरो प्रत्येक चाल र अभिव्यक्ति तँ समर्पित हुने व्यक्ति भएझैँ गरी अरूका लागि उचित देखिए पनि, तेरा अभिप्रायहरू र परमेश्‍वरमाथिको आस्थाका दृष्टिकोणहरूको कुरा आउँदा, तेरो हरेक कार्य परमेश्‍वरविरुद्ध हुन्छ, त्यो दुष्टता गर्नु हो। भेडाजस्तै आज्ञाकारी देखिने, तर हृदयमा भने दुष्ट अभिप्रायहरू बोकेर हिँड्ने मानिसहरू भेडाको भेष धारण गरेका ब्‍वाँसो हुन्, र सिधै परमेश्‍वरविरुद्ध अपराध गर्नेहरू हुन्। परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि छोड्नुहुनेछैन, अनि पवित्र आत्माले तिनीहरूमध्ये हरेकलाई प्रकट गर्नुहुनेछ। पवित्र आत्माले सबै ढोँगीलाई निश्चय नै तिरस्कार गर्नुहुनेछ भन्‍ने कुरा सबैले देख्नेछन्। अधीर नहो: परमेश्‍वरले लेखा राख्‍नुहुनेछ र क्रमैसँग तिनीहरू प्रत्येकलाई तह लगाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ परमेश्‍वरमा समर्पित हुनैपर्छ

३९८. मानिसहरू परमेश्‍वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भनेर मापन गर्दा, तिनीहरूमा कुनै अत्यधिक चाहनाहरू छन् कि छैनन् वा परमेश्‍वरप्रति गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हो। यदि मानिसहरूले सधैँ परमेश्‍वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति समर्पणकारी छैनन् भन्‍ने प्रमाणित गर्दछ। चाहे तँलाई जेसुकै आइपरोस्, यदि तँ त्यो कुरा परमेश्‍वरबाट आएको भनी स्विकार्दैनस्, सत्यता खोज्दैनस्, सधैँ आफ्नै लागि तर्क गर्छस् र सधैँ आफूलाई मात्र सही ठान्छस्, र यदि तँ परमेश्‍वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भन्ने कुरामा शङ्का समेत गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू सबैभन्दा अहङ्कारी र परमेश्‍वरप्रति सबैभन्दा विद्रोही हुन्छन्। सधैँ परमेश्‍वरसँग माग गर्ने मानिसहरू साँचो अर्थमा उहाँमा समर्पित हुन सक्दैनन्। यदि तँ परमेश्‍वरसँग माग गर्छस् भने, यसले तँ परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गर्दैछस्, आफ्नै इच्छा रोज्दैछस्, र यही इच्छाअनुसार कार्य गरिरहेको छस् भन्‍ने प्रमाणित गर्छ। यो परमेश्‍वरलाई धोका दिनु र समर्पणविहीन हुनु हो। परमेश्‍वरसँग मागहरू गर्नु आफैमा समझविहीन हुनु हो; यदि तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनी साँच्चै विश्‍वास गर्छस् भने, तैँले उहाँसँग मागहरू राख्ने आँट गर्नेछैनस्—जुन गर्न तँ योग्य पनि छैनस्—चाहे ती तर्कसङ्गत होऊन् वा नहोऊन्। यदि तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ, र तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस् भने, तैँले उहाँको आराधना मात्र गर्नेछस् र तँ उहाँप्रति समर्पित मात्र हुनेछस्—अरू विकल्प नै छैन। आज मानिसहरूले स्वैच्छिक छनौटहरू गर्ने मात्रै होइन, तिनीहरूले परमेश्‍वरलाई तिनीहरूका आफ्‍नै इच्‍छाअनुसार काम गर्नसमेत लगाउँछन्। तिनीहरूले परमेश्‍वरप्रति समर्पित नहुने विकल्प मात्रै रोज्दैनन्, परमेश्‍वरलाई तिनीहरूप्रति समर्पित हुनसमेत लगाउँछन्। के यो समझको साह्रै कमी होइन र? त्यसकारण, यदि कुनै व्यक्तिमा साँचो आस्था छैन र ठोस विश्‍वास छैन भने, उसले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। जब मानिसहरू परमेश्‍वरसित थोरै मागहरू गर्न सक्षम हुन्छन्, तब तिनीहरूले अझ धेरै साँचो विश्‍वास र समर्पण गर्नेछन्, अनि तिनीहरूको समझ तुलनात्मक रूपमा सामान्य हुन्छ। प्रायजसो के हुन्छ भने, मानिसहरू जति बढी तर्क गर्न प्रवृत्त हुन्छन्, तिनीहरूलाई सम्हाल्न उति नै गाह्रो हुन्छ। तिनीहरूका मागहरू धेरै मात्र हुँदैनन्, तर तिनीहरूलाई औँलो दिइयो भने तिनीहरू डुँडुलो निल्न खोज्छन्। जब तिनीहरू एक पक्षमा सन्तुष्ट हुन्छन्, तब अर्को पक्षमा माग गर्छन्। तिनीहरू सबै पक्षमा सन्तुष्ट हुनुपर्दछ, र यदि सन्तुष्ट भएनन् भने, तिनीहरू गुनासो गर्न थाल्छन्, र हार मान्छन् अनि सबथोक टुट्न दिन्छन्। त्यसो गरेपछि, तिनीहरू ऋणी र पछुतो महसुस गर्छन्, र तिनीहरू धरधरी आँसु बगाउँदै रुन्छन्, र मर्न चाहन्छन्। त्यसको के फाइदा हुन्छ? के तिनीहरू अनुचित र निरन्तर झिँजोलाग्दो बनिरहेका छैनन् र? यी श्रृङ्खलाबद्ध समस्याहरूलाई तिनीहरूको भ्रष्ट स्वभावबाटै समाधान गरिनुपर्छ, जुन यो सबै कुराको जड हो। यदि तँमा भ्रष्ट स्वभाव छ र तैँले यसलाई हटाइनस् भने, यदि तँ यो हटाउन समस्यामा नपरुञ्जेल वा विपत्ति पैदा नहुञ्‍जेल पर्खन्छस् भने, तैँले यो घाटालाई कसरी पूर्ति गर्न सक्छस्? के यो त काम बिग्रेपछि मात्रै होस खुल्‍नुजस्तो हुनेछैन र? तेरो भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्नका लागि, यो सुरुमा पैदा हुनेबित्तिकै तैँले यसलाई हटाउन सत्यताको खोजी गरिहाल्‍नुपर्छ। तैँले भ्रष्ट स्वभावलाई कोपिला छँदै समाधान गर्नुपर्छ, यसरी आफूले कुनै गल्ती नगर्ने र भावी समस्याहरू रोक्ने कुरा सुनिश्‍चित गर्न सकिन्छ। यदि कुनै भ्रष्ट स्वभावले व्यक्तिमा जरा गाड्यो र त्यो उसको विचार वा दृष्टिकोण बन्यो भने, यसले उसलाई खराब व्यवहार गर्न निर्देशित गर्न सक्छ। त्यसकारण, आत्मचिन्तन गर्नु र आफूलाई जान्नु मुख्यतः भ्रष्ट स्वभावहरू पत्ता लगाउनु र ती हटाउन तुरुन्तै सत्यता खोज्नुसँग सम्बन्धित कुरा हुन्। तेरो प्रकृतिमा के-कस्ता कुराहरू छन्, तँलाई के मन पर्छ, तँ के पछ्याउँछस्, र तँ के प्राप्त गर्न चाहन्छस् भन्‍ने कुरा तैँले जान्‍नैपर्छ। यी कुराहरू परमेश्‍वरका अभिप्रायहरूअनुसार छन् कि छैनन्, र ती कुन तरिकाले भ्रमपूर्ण छन् भनी हेर्न तैँले तिनलाई परमेश्‍वरका वचनहरूअनुसार चिरफार गर्नुपर्छ। एकपटक तैँले यी कुराहरू बुझेपछि, तैँले तेरो असामान्य समझको समस्या, अर्थात्, तेरो अनुचितता र तारन्तारको झमेलाको समस्या समाधान गर्नैपर्छ। यो तेरो भ्रष्ट स्वभावको समस्या मात्र होइन, यसले तँ समझ भएको व्यक्ति होस् कि होइनस् भन्‍ने मामिलालाई पनि छुन्छ। विशेष गरी ख्याति, प्राप्ति, र हैसियतसँग सम्बन्धित मामिलाहरूमा, जब मानिसहरू ख्याति र प्राप्तिबाट बहकिन्छन्, तब तिनीहरूको समझ असामान्य बन्छ; मानौँ तिनीहरूको स्नायुमा केही गडबडी आएको छ। यो पनि मानिसहरूको मुख्य कमजोरी हो। कतिपय मानिसहरूलाई तिनीहरूसँग निश्‍चित क्षमता र केही प्रतिभा छन् भन्‍ने लाग्छ, अनि तिनीहरू सधैँ अगुवा बन्‍न र अरूभन्दा अलग देखिन चाहन्छन्, त्यसकारण तिनीहरू परमेश्‍वरलाई मलाई प्रयोग गर्नुहोस् भनी अनुरोध गर्छन्। परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुभएन भने, तिनीहरू भन्छन्, “परमेश्‍वर कसरी मलाई कृपाको नजरले हेर्न सक्‍नुहुन्‍न र? हे परमेश्‍वर, यदि तपाईँले मलाई कुनै महत्त्वपूर्ण काममा प्रयोग गर्नुभयो भने, म प्रतिज्ञा गर्छु, म तपाईँमै समर्पित हुनेछु!” के यस्तो अभिप्राय सही हो? परमेश्‍वरमा समर्पित हुनु राम्रो कुरा हो, तर परमेश्‍वरका लागि समर्पित हुने तिनीहरूको इच्‍छापछाडि अभिप्रायहरू लुकेका हुन्छन्। तिनीहरूले प्रेम गर्ने कुरा त हैसियत हो, र तिनीहरू यसैमा ध्यान लगाउँछन्। जब मानिसहरू साँच्‍चै समर्पण गर्न समर्थ हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुभए पनि नगर्नुभए पनि पूर्ण हृदयले उहाँलाई पछ्याउँछन्, र आफूसँग हैसियत भए पनि नभए पनि परमेश्‍वरका लागि समर्पित हुन्छन्, तब मात्र तिनीहरूलाई समझ भएको र परमेश्‍वरप्रति समर्पणकारी बनेको मान्‍न सकिन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसले परमेश्‍वरसँग अत्यन्तै धेरै माग गर्छ

३९९. वास्तविक जीवनमा समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी बोध गर्नुपर्छ र चिन्नुपर्छ? जब तँ यी समस्याहरू सामना गर्छस् र तँलाई तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने थाहा हुँदैन, तब तँसँग परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुने अभिप्राय र चाहना छ भनेर प्रदर्शन गर्न, अनि यस समर्पणको वास्तविकता देखाउन तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्‍नैपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नैपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्‍नैपर्छ। “प्रतीक्षा गर्नु” भनेको परमेश्‍वरको समय प्रतीक्षा गर्नु हो, उहाँले तेरा निम्ति प्रबन्ध गरेका मानिस, घटना र कामकुराहरूको प्रतीक्षा गर्नु हो, अनि उहाँका अभिप्रायहरू तँसामु क्रमिक रूपमा प्रकट हुने प्रतीक्षा गर्नु हो। “खोजी गर्नु” भनेको परमेश्‍वरद्वारा योजनाबद्ध गरिएका मानिस, घटना, र कामकुराहरूमार्फत तँप्रतिका उहाँका श्रमसाध्य अभिप्रायहरूलाई जाँच्नु र बुझ्‍नु हो, तिनमा भएका सत्यताहरू बुझ्‍नु हो, मानिसहरूले गर्नुपर्ने कुरा र तिनीहरूले पालना गर्नुपर्ने मार्गहरू बुझ्‍नु हो, र परमेश्‍वर मानिसहरूमा के-कस्ता नतिजाहरू प्राप्त गर्न र तिनीहरूमा के-कस्ता उपलब्धिहरू हासिल गर्न चाहनुहुन्छ भनेर बुझ्‍नु हो। “समर्पित हुनु” ले चाहिँ अवश्य नै परमेश्‍वरद्वारा योजनाबद्ध गरिएका मानिस, घटना, र कामकुराहरू स्वीकार गर्नुलाई, उहाँको सार्वभौमिकता स्वीकार गर्नुलाई, र यसमार्फत, सृष्टिकर्ता कसरी मानिसको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ, उहाँ कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, र उहाँले कसरी मानिसभित्र सत्यता छिराउनुहुन्छ भनेर अनुभव गर्नुलाई जनाउँछ। परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूअन्तर्गत रहेका यावत् थोकले प्राकृतिक नियमहरू पालना गर्छन्, र यदि तँसँग परमेश्‍वरले तेरा लागि प्रबन्ध गर्ने र सार्वभौमिकता राख्ने सबै कुरा स्वीकार गर्ने आस्था छ भने, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ, तैँले खोजी गर्न सिक्‍नुपर्छ, र तैँले समर्पित हुन सिक्‍नुपर्छ। परमेश्‍वरको अख्तियारमा समर्पित हुन इच्छुक हरेक व्यक्तिले अपनाउनुपर्ने मनोवृत्ति यही हो, र यो परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई स्वीकार गर्न र तिनमा समर्पित हुन इच्छुक हरेक व्यक्तिमा हुनुपर्ने सबैभन्दा आधारभूत गुण पनि हो। त्यस्तो मनोवृत्ति धारण गर्नका लागि, त्यस्तो गुण हुनका लागि, तिमीहरूले अझै बढी परिश्रम गर्नैपर्छ; सत्यता बुझेपछि मात्र साँचो समर्पणता हासिल गर्न र साँचो वास्तविकतामा प्रवेश गर्न सकिन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

४००. जब नोआले परमेश्‍वरले निर्देशन दिनुभएबमोजिम गरे, तब उनलाई परमेश्‍वरका अभिप्रायहरू के हुन् भन्‍ने थाहा थिएन। उनलाई परमेश्‍वरले के पूरा गर्न चाहनुहुन्छ भन्‍ने थाहा थिएन। परमेश्‍वरले उनलाई एउटा आज्ञा मात्रै दिनुभएको थियो र उनले के गर्नुपर्छ भनी निर्देशन दिनुभएको थियो, तर धेरै व्याख्या भने गर्नुभएको थिएन, अनि नोआ अघि बढे र त्यो गरे। उनले परमेश्‍वरका चाहनाहरू के हुन् भनी गोप्य रूपमा अनुमान गर्ने प्रयास गरेनन्, उनले परमेश्‍वरको प्रतिरोध गरेनन्, र उनको भक्ति पूर्ण हृदयको भन्दा कम थिएन। उनी बस अघि बढे अनि शुद्ध र सरल हृदयले त्यो गरे। परमेश्‍वरले उनलाई जे गर्न लगाउनुभयो, उनले त्यही गरे, र परमेश्‍वरको वचनमा समर्पित हुनु र त्यो सुन्‍नु नै उनका कार्यहरूको आधारभूत विश्‍वास थियो। उनले परमेश्‍वरको आज्ञालाई त्यसरी नै सोझो र सरल रूपमा लिए। उनको सार—उनका कार्यहरूको सार समर्पणता, कुनै शङ्का नगर्नु, प्रतिरोध नगर्नु, र यसबाहेक, आफ्नै हित वा आफ्नो लाभ र हानिबारे नसोच्‍नु थियो। अझ, जब परमेश्‍वरले उहाँले जलप्रलयद्वारा संसारलाई नष्ट गर्नुहुनेछ भनेर भन्‍नुभयो, तब नोआले कहिले भनेर सोधेनन् वा थप खोतल्ने प्रयास गरेनन्, अनि उनले परमेश्‍वरलाई उहाँले संसारलाई ठ्याक्कै कसरी नष्ट गर्नुहुनेछ भनेर त झन् सोध्दै सोधेनन्। उनले परमेश्‍वरले निर्देशन दिनुभएबमोजिम मात्रै गरे। परमेश्‍वरले उनलाई जहाज कसरी बनाउने—र कुन सामग्रीले बनाउने—भनी जसरी निर्देशन दिनुभयो, उनले त्यसरी नै गरे, र परमेश्‍वरले आज्ञा दिनेबित्तिकै उनले कदम चाले। उनले परमेश्‍वरलाई सन्तुष्ट पार्ने चाहनाको मनोवृत्ति लिएर परमेश्‍वरका निर्देशनहरूअनुसार कार्य गरे। के उनी आफूलाई प्रकोपबाट बच्न मद्दत गर्नका लागि यो गरिरहेका थिए? थिएनन्। के उनले परमेश्‍वरलाई संसार नष्ट हुन अब कति समय बाँकी छ भनेर सोधे? सोधेनन्। के उनले परमेश्‍वरलाई जहाज बनाउन कति समय लाग्छ भनेर सोधे वा के उनलाई यो कुरा थाहा थियो? उनलाई त्यो पनि थाहा थिएन। उनले केवल समर्पण गरे, सुने, र सोहीअनुसार काम गरे।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

४०१. पत्रुसले परमेश्‍वरमाथिको विश्‍वासमा सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुराप्रति समर्पित हुन खोजे। तिनले एउटा पनि गुनासो व्यक्त नगरी सजाय र न्यायका साथै शोधन, सङ्कष्ट र अभावपूर्ण जीवन स्वीकार गर्न सके। यीमध्ये कुनै पनि कुराले परमेश्‍वरलाई प्रेम गर्ने तिनको हृदयलाई बदल्न सकेन। के यो परमेश्‍वरप्रतिको परम प्रेम थिएन र? के यो सृजित प्राणीको कर्तव्य पूरा गर्नु थिएन र? चाहे त्यो सजायमा होस्, न्यायमा होस् वा सङ्कष्टमा होस्, तँ मृत्युसम्‍मै समर्पण हासिल गर्न सक्छस्, र सृजित प्राणीले हासिल गर्नुपर्ने कुरा यही हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही हो। यदि मानिसले यति हासिल गर्न सक्छ भने, ऊ मानकअनुरूपको सृजित प्राणी हो, र सृष्टिकर्ताका अभिप्राय त्यसले भन्दा राम्ररी अरू केहीले पूरा गर्दैन। तँ परमेश्‍वरका लागि काम गर्न सक्छस्, तैपनि तँ परमेश्‍वरप्रति समर्पित हुँदैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस् भनेर कल्पना गर्। यसरी, तैँले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्‍वरले दोषी पनि ठहराउनुहुनेछ, किनभने तँ सत्यता नभएको, परमेश्‍वरप्रति समर्पित हुन नसक्ने, र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। तँ परमेश्‍वरका लागि काम गर्ने कुराको मात्रै वास्ता गर्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्‍ने कुराको वास्ता गर्दैनस्। तँ सृष्टिकर्तालाई बुझ्दैनस् वा चिन्दैनस्, तँ सृष्टिकर्ताप्रति समर्पित हुँदैनस् वा उहाँलाई प्रेम गर्दैनस्, र तँ जन्मजातै परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। यिनै कारणहरूले गर्दा नै सृष्टिकर्ता त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

४०२. परमेश्‍वरका लागि जोरदार साक्षी दिनु मुख्य रूपमा तँसँग व्यावहारिक परमेश्‍वरबारे बुझाइ छ कि छैन, र तँ साधारण मात्र नभई सामान्य रहेका यस व्यक्तिसामु समर्पित हुन, र मृत्युसम्मै पनि समर्पित हुन सक्छस् कि सक्दैनस् भन्‍ने कुरासँग सम्बन्धित छ। यदि, यो समर्पणमार्फत, तँ साँच्चै परमेश्‍वरका लागि साक्षी दिन्छस् भने, यसको अर्थ तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्‍ने हुन्छ। यदि तँ मृत्युसम्मै समर्पित हुन सक्छस् र, उहाँसामु, गुनासाहरूबाट मुक्त हुन्छस्, गलत ठहराउँदैनस्, अपमान गर्दैनस्, कुनै पनि धारणा बोक्दैनस्, र कुनै पनि गोप्य मनसाय राख्दैनस् भने, यसरी परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। मानिसले हेला गर्ने साधारण व्यक्तिसामु समर्पित हुनु, र कुनै धारणाविना मृत्युसम्मै समर्पित हुन सक्नु—यो साँचो गवाही हो। परमेश्‍वरले मानिसहरूलाई प्रवेश गर्न माग गर्ने वास्तविकता भनेको तँ उहाँका वचनहरूप्रति समर्पित हुन, तिनलाई व्यवहारमा लागु गर्न, व्यावहारिक परमेश्‍वरसामु शिर निहुराउन र आफ्नो भ्रष्टता जान्न, उहाँसामु आफ्नो हृदय खोल्न, र, अन्ततः उहाँका यी वचनहरूमार्फत उहाँद्वारा प्राप्त गरिन सक्षम हुनु हो। जब यी वचनहरूले तँलाई विजय गर्छन् र तँलाई उहाँसामु पूर्ण रूपमा समर्पित बनाउँछन् तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ; यसमार्फत, उहाँ शैतानलाई लज्जित पार्नुहुन्छ र आफ्नो काम पूरा गर्नुहुन्छ। जब तँसँग देहधारी परमेश्‍वरको व्यावहारिकताका बारेमा कुनै पनि धारणा हुँदैन—अर्थात्, जब तँ यस परीक्षामा दृढ रहेको हुन्छस्—तब तैँले राम्रोसँग यो साक्षी दिएको हुन्छस्। यदि त्यस्तो कुनै दिन आयो जब तँसँग व्यावहारिक परमेश्‍वरको पूर्ण बुझाइ हुन्छ र तँ पत्रुस जस्तै मृत्युसम्मै समर्पित हुन सक्छस् भने, तँ परमेश्‍वरद्वारा प्राप्त गरिनेछस् र सिद्ध पारिनेछस्। परमेश्‍वरले गर्ने कुनै पनि कुरा जुन तेरा धारणाहरूसँग मिल्दैन त्यो तेरो लागि एउटा परीक्षा हो। यदि परमेश्‍वरको काम तेरा धारणाहरूसँग मिल्ने भएको भए, तैँले यसका लागि दुःख वा शोधन भोग्नु पर्नेथिएन। उहाँको काम अत्यन्तै व्यावहारिक भएको र तेरा धारणाहरूसँग नमिल्ने हुनाले नै यसका लागि तैँले त्यस्ता धारणाहरू त्याग्नुपर्ने हुन्छ। यसैकारण यो तेरो लागि एउटा परीक्षा हो। परमेश्‍वरको व्यावहारिकताको कारणले गर्दा नै सबै मानिस परीक्षाहरूका बीचमा छन्; उहाँको काम व्यावहारिक छ, अलौकिक छैन। कुनै धारणाविना उहाँका व्यावहारिक वचनहरू र उहाँका व्यावहारिक वाणीहरूलाई पूर्ण रूपमा बुझेर, र उहाँको काम जति व्यावहारिक छ उहाँलाई त्यति नै बढी साँचो रूपमा प्रेम गर्न सक्षम भएर, तँ उहाँद्वारा प्राप्त गरिनेछस्। परमेश्‍वरले प्राप्त गर्ने मानिसहरूको समूह भनेको परमेश्‍वरलाई चिन्नेहरू हुन्; अर्थात्, उहाँको व्यावहारिकतालाई चिन्नेहरू हुन्। अझ बढी, तिनीहरू परमेश्‍वरको व्यावहारिक कामप्रति समर्पित हुन सक्नेहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पूर्ण रूपमा परमेश्‍वरको व्यावहारिकताको अधीनमा रहन सक्नेहरू ती हुन् जो परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्छन्

४०३. मानवजाति विश्राममा प्रवेश गर्नुअघि, हरेक किसिमको व्यक्तिलाई दण्ड दिइन्छ कि इनाम दिइन्छ भन्‍ने कुरा उसले सत्यता खोज्छ कि खोज्दैन, ऊ परमेश्‍वरलाई चिन्छ कि चिन्दैन र ऊ सदृश्य परमेश्‍वरमा समर्पित हुन सक्छ कि सक्दैन भन्‍ने कुरा बमोजिम निर्धारण गरिनेछ। श्रम गरेका, तैपनि सदृश्य परमेश्‍वरलाई नचिन्ने वा उहाँमा समर्पित नहुनेहरूसँग सत्यता हुँदैन। यस्ता मानिसहरू दुष्कर्मी हुन्, र दुष्टकर्मीहरू निस्सन्देह नै दण्डको भागीदार हुनेछन्; यसको अलावा, उनीहरू आफ्ना दुष्ट कार्यहरूअनुसार दण्डित हुनेछन्। मानवहरूले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, र उहाँ उनीहरूको समर्पणको योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अदृश्य ईश्‍वरमा मात्र आस्था राख्नेहरू परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू हुन् र उनीहरू परमेश्‍वरमा समर्पित हुन असक्षम हुन्छन्। यदि यी मानिसहरू उहाँको विजयको काम सकिने समयसम्म पनि सदृश्य परमेश्‍वरमा विश्‍वास गर्न सफल भएनन्, र उनीहरूले देहमा हुनुहुने सदृश्य परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू निश्‍चय नै विनाशका पात्र हुनेछन्। तिमीहरूमाझ पनि यस्तै हुन्छ—देहधारी परमेश्‍वरलाई मौखिक रूपमा मान्ने, तैपनि देहधारी परमेश्‍वरप्रतिको समर्पण सम्बन्धी सत्यता अभ्यास गर्न नसक्ने ती सबै अन्त्यमा हटाइएर नष्ट पारिनेछन्। अनि दृश्यमान परमेश्‍वरलाई मौखिक रूपमा मान्ने, अनि उहाँद्वारा व्यक्त सत्यता खाने र पिउने, तैपनि अस्पष्ट र अदृश्य परमेश्‍वरलाई पछ्याउने ती सबै विनाशका पात्र झनै हुनेछन्। परमेश्‍वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन पाउनेछैनन्, न त यस्तो एक जना व्यक्ति नै विश्रामको त्यो समयसम्म रहन सक्छ। पिशाचहरूको खालका मानिसहरू सत्यता अभ्यास गर्दैनन्; तिनीहरूको सार परमेश्‍वरप्रति विद्रोह र प्रतिरोधको सार हो, र तिनीहरूमा उहाँप्रति समर्पित हुने अलिकति पनि अभिप्राय हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

अघिल्लो: ङ. कसरी इमानदार व्यक्ति बन्‍ने सम्बन्धमा

अर्को: छ. आफ्‍नो कर्तव्य पर्‍याप्त रूपले कसरी पूरा गर्ने सो सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्