छ. आफ्‍नो कर्तव्य पर्‍याप्त रूपले कसरी पूरा गर्ने सो सम्बन्धमा

४०४. मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानका रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आदेश र मानवजातिको धार्मिक कारणका निम्ति होइनन् भने, परमेश्‍वरको आदेशको निम्ति शहीद भएकाहरूका निम्ति हाम्रा आत्माहरू अयोग्य हुनेछन्, र हाम्रा लागि सबै थोक जुटाउनुहुने परमेश्‍वरका निम्ति त झन् अयोग्य हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

४०५. परमेश्‍वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् त्यो कुरा एकदमै गम्भीर विषय हो! यदि परमेश्‍वरले तँलाई सुम्‍पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्‍वरले सुम्पिनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्ने कुरा स्वर्गद्वारा आदेश दिइएको र धर्तीद्वारा स्वीकार गरिएको कुरा हो; यो तिनीहरूको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिई रहेको हुन्छस्; यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले आफूलाई परमेश्‍वरले के सुम्‍पनुहुन्छ सो कुरालाई कसरी हेर्ने भन्ने बारेमा पूर्ण बुझाइ हासिल गर्नुपर्छ र कम्तीमा पनि उहाँले मानवजातिलाई सुम्पिनुभएका आज्ञाहरू परमेश्‍वरबाट प्राप्त पदोन्नति र विशेष कृपाहरू हुन् भनी बुझ्नुपर्छ; तिनीहरू सबैभन्दा महिमामय कुराहरू हुन्। अन्य सबै कुराहरूलाई त्याग्न सकिन्छ; व्यक्तिले आफ्नो जीवनलाई समेत बलिदान दिनुपर्छ भने पनि, उसले परमेश्‍वरका आज्ञाहरूलाई पूरा गर्नैपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

४०६. मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। जस्तो कि, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्‌, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो दायित्वलाई पूरा गर्दैनन्, र आफ्नो दायित्व पूरा गर्नमा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र श्रापित हुनेछन्‌। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

४०७. परमेश्‍वरका सृष्टिहरूले आ-आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ; तिमीहरू परमेश्‍वरको प्रभुत्वमा जिउँछौ, परमेश्‍वरले प्रदान गर्नुहुने सबै, परमेश्‍वरबाट आउने सबै कुरा तिमीहरू स्वीकार गर्छौ, त्यसकारण तिमीहरूले आ-आफ्‍ना जिम्‍मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ—तिमीहरूको कर्तव्य यही हो। यसबाट के देखिन्छ भने मानवजातिले परमेश्‍वरको सृष्टिको कर्तव्य पूरा गर्नु भनेको मानव संसारमा जिउने क्रममा गरिने अरू कुनै पनि कुराभन्दा धर्मी, सुन्दर, र आदर्शमय हुन्छ; परमेश्‍वरको सृष्टिको कर्तव्य पूरा गर्नुभन्दा बढी मानवजातिको बीचमा अरू केही अर्थपूर्ण वा योग्य छैन, र परमेश्‍वरको सृष्टिको लागि अरू केहीले पनि जीवनमा योभन्दा ठूलो अर्थ र मूल्य दिँदैन। परमेश्‍वरको सृष्टिले परमेश्‍वरको सृष्टिको कर्तव्य पूरा गर्न सक्‍नु, सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्‍नु नै मानवजातिको बीचमा सबैभन्दा सुन्दर कुरा हो, र मानवजातिको बीचमा उत्सव मनाइनुपर्ने कुरा हो। सृष्टिकर्ताले परमेश्‍वरको सृष्टिहरूलाई सुम्पनुभएको कुनै पनि कुरालाई तिनीहरूले निसर्त रूपमा स्वीकार गर्नुपर्छ; मानवजातिको लागि, यो आशिषित् र महिमित कुरा हो, अनि परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई पूरा गर्ने सारा मानवजातिको लागि, योभन्दा सुन्दर वा उत्सवको योग्य केही छैन—यो सकारात्मक कुरा हो। सृष्टिकर्ताले परमेश्‍वरको सृष्टिको कर्तव्य पूरा गर्नेहरूसँग कसरी व्यवहार गर्नुहुन्छ, र उहाँले तिनीहरूलाई के दिने प्रतिज्ञा गर्नुहुन्छ, त्यसको बारेमा कुरा गर्दा, त्यो त सृष्टिकर्ताको मामला हो, अनि त्यससँग सृष्टि गरिएको मानिसको कुनै सरोकार हुँदैन। यसलाई खुलस्त भन्दा, यो त परमेश्‍वरकै हातको कुरा हो; परमेश्‍वरले जे दिनुहुन्छ तिमीहरूले त्यही पाउनेछौ, अनि यदि उहाँले तिमीहरूलाई केही पनि दिनुभएन भने, तिमीहरूले यसको बारेमा केही पनि भन्‍न सक्दैनौ। जब परमेश्‍वरको सृष्टिले परमेश्‍वरको आज्ञालाई स्वीकार गर्छ र आफ्‍ना कर्तव्य पूरा गर्न र आफूले गर्न सक्‍ने कार्य गर्न सृष्टिकर्तासँग सहकार्य गर्छ, यो कुनै कारोबार वा लेनदेन होइन; परमेश्‍वरबाट आशिषहरू वा प्रतिज्ञाहरू साट्नको लागि परमेश्‍वरको सृष्टिले कुनै पनि आचरण वा वस्तुको प्रयोग गर्ने प्रयास गर्नु हुँदैन। जब सृष्टिकर्ताले तिमीहरूलाई यो काम सुम्पनुहुन्छ, परमेश्‍वरको सृष्टिको रूपमा तिमीहरूले यो कर्तव्य र आज्ञालाई स्वीकार गर्नु सहि र उचित हुन्छ; त्यसमा कुनै कारोबार समावेश हुँदैन। सृष्टिकर्ताको पक्षमा, उहाँ तिमीहरू प्रत्येकलाई यो आज्ञा सुम्पन इच्‍छुक हुनुहुन्छ; र सृष्टि गरिएको मानवजातिको पक्षमा, मानिसहरूले यसलाई तिनीहरूको जीवनको दायित्वको रूपमा लिँदै, यो जीवनमा तिनीहरूले जिउन योग्य कुराको रूपमा लिँदै यस कर्तव्यलाई खुशीसाथ स्वीकार गर्नुपर्छ। यहाँ कुनै लेनदेन छैन, यो विनिमय जस्तो छैन, यसमा कुनै पनि प्रकारको इनाम वा कुनै पनि प्रकारको अर्थ-अनुवाद समावेश हुने कुरा त परै जाओस्। यो कुनै कारोबार होइन, यो मानिसहरूले चुकाउने मूल्य वा तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा योगदान दिने परिश्रमको पारिश्रमिक होइन। परमेश्‍वरले कहिल्यै पनि त्यसो भन्‍नुभएको छैन, र मानिसले त्यसरी कहिल्यै पनि बुझ्‍नु हुँदैन।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग छ)

४०८. कुनै एक व्यक्तिले परमेश्‍वरले सुम्पिनुभएको कुरालाई स्वीकार गर्दा त्यसका कामहरू असल वा खराब के छन् र त्यस व्यक्तिले आज्ञा पालना गर्‍यो कि गरेन र त्यस व्यक्तिले परमेश्‍वरको इच्छालाई सन्तुष्ट गर्‍यो कि गरेन र तिनीहरूले गरेको कामले मापदण्ड पूरा गर्छ कि गर्दैन भन्‍ने कुराको निर्णय गर्नको निम्ति परमेश्‍वरसँग मापदण्ड छ। परमेश्‍वरले मानिसको हृदयको वास्ता राख्‍नुहुन्छ, तिनीहरूको सतही कामहरूलाई होइन। कसैले जुनसुकै तवरले काम गरे पनि परमेश्‍वरले त्यसलाई आशिष् दिनुपर्छ भन्‍ने छैन। परमेश्‍वरको बारेमा मानिसहरूमा यही गतल बुझाइ छ। परमेश्‍वरले कुनै कुराहरूको अन्तिम परिणाम मात्र हेर्नुहुन्‍न तर उहाँले मानिसको हृदय कस्तो छ र यी कुराहरूको विकासक्रममा मानिसको मनोवृत्ति कस्तो छ भन्‍ने कुरामा पनि उहाँले जोड दिनुहुन्छ र उहाँले तिनीहरूको आज्ञाकारिता, ध्यान र तिनीहरूको हृदयमा परमेश्‍वरलाई सन्तुष्ट पार्ने चाहना छ कि छैन भनेर हेर्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

४०९. तैँले जुनसुकै कर्तव्य पूरा गरे पनि, तैँले सधैँ परमेश्‍वरको इच्छा बुझ्ने र तेरो कर्तव्यको सम्बन्धमा उहाँका मागहरू के-के हुन् हो सो बुझ्ने कोसिस गर्नुपर्दछ; तब मात्र तैँले मामलाहरूलाई सैद्धान्तिक रूपले सम्हाल्न सक्नेछस्। तेरो कर्तव्य पूरा गर्दा, तँ आफ्‍ना व्यक्तिगत रुचिहरू अनुसार, तँलाई जे मन लाग्छ त्यो अनुसार गर्न, तँलाई जे गर्न खुसी र सजिलो लाग्छ वा जुन कुराले तँलाई राम्रो देखाउँछ त्यो गर्दै अगि बढ्न सक्दैनस्। यदि तैँले जबरजस्ती परमेश्‍वरमाथि तेरा आफ्ना व्यक्तिगत रुचिहरू लाद्छस् वा तिनलाई सत्यतालाई जस्तो गरी अभ्यास गर्छस्, तिनलाई सत्य सिद्धान्तहरू जस्तो गरी पालन गर्छस् भने, त्यो तेरो कर्तव्य पूरा गरेको हुँदैन, र यसरी पूरा गरिएको कर्तव्यलाई परमेश्‍वरले सम्झनुहुन्न। कतिपय मानिसहरूले सत्यतालाई बुझ्दैनन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्नु भनेको के हो सो जान्दैनन्। तिनीहरू आफूले त्यसमा आफ्नो हृदय र प्रयास लगाएका छन्, तिनीहरूका देहलाई त्यागेका र दु:ख भोगेका छन्, त्यसकारण तिनीहरूले गरेका कर्तव्य पूर्ति मापदण्डअनुसार भएको छ भन्‍ने ठान्छन्—तर त्यसो हो भने किन परमेश्‍वर सधैँ असन्तुष्ट हुनुहुन्छ? यी मानिसहरूले कहाँ गल्ती गरेका छन्? परमेश्‍वरका मागहरूलाई नखोजेर तिनीहरूका आफ्नै विचारअनुसार काम गर्नु नै तिनीहरूको गल्ती थियो; तिनीहरूले आफ्नै चाहनाहरू, रुचिहरू, र स्वार्थी उद्देश्यहरूलाई सत्यताको रूपमा लिए, र ती कुरालाई तिनीहरूले परमेश्‍वरले मन पराउनुभएको जस्तो, ती उहाँका मापदण्डहरू र आवश्यकताहरू हुन् जस्तो व्यवहार गरे। तिनीहरूले जे सत्य, असल र सुन्दर भनेर विश्‍वास गरेका थिए त्यो नै सत्य हो भन्‍ने देखे; यो गलत हो। वास्तवमा, यदि मानिसहरूले कहिलेकहीँ कुनै कुरा सही छ र त्यो सत्यतासँग मेल खान्छ भनी सोचे पनि, त्यसको अर्थ त्यो परमेश्‍वरको इच्छासँग मेल खान्छ भन्ने हुँदैन। मानिसहरूले कुनै कुरा सही छ भनेर जति धेरै सोच्छन्, तिनीहरू उत्ति नै बढी सतर्क हुनुपर्छ र तिनीहरूले सोचिरहेका कुराहरूले परमेश्‍वरका मागहरू पूरा गर्छ कि गर्दैन भनी अझ बढी सत्यको खोजी गर्नुपर्छ। यदि त्यो उहाँका सर्तहरूको र उहाँका वचनहरूको विपरीत जान्छ भने तैँले त्यो सही छ भनी सोच्नु गल्ती हुन्छ, त्यो एक मानवीय विचार मात्र हो, र तैँले त्यसलाई जति नै सही हो भन्‍ने ठाने पनि त्यो सत्यतासँग मेल खाँदैन। सही र गलत सम्‍बन्धी तेरो निर्धारण पूर्ण रूपमा परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्दछ, र तैँले कुनै कुरालाई जत्ति नै सही सम्झे पनि त्यसको आधार परमेश्‍वरको वचनमा छैन भने तैँले त्यसलाई त्यागिदिनुपर्छ। कर्तव्य के हो? यो परमेश्‍वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो। त्यसो भए तैँले आफ्नो दायित्व कसरी पूरा गर्नुपर्छ? परमेश्‍वरका मागहरू र मापदण्डहरू अनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्य सिद्धान्तहरूमा आधारित गरेर। यसरी, आफ्नो कर्तव्य पूरा गर्ने तेरो काम मापदण्ड अनुरूप हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताका सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ

४१०. केही मानिसहरूको सवालमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जेसुकै समस्याको सामना गर्नु परे तापनि तिनीहरूले सत्यताको खोजी गर्दैनन् र तिनीहरूले सधैँ आफ्नै विचारहरू, धारणाहरू, कल्पनाहरू र चाहनाहरूअनुसार काम गर्छन्। तिनीहरूले बारम्बार आफ्नै स्वार्थी चाहनाहरू पूरा गरिरहेका हुन्छन् र तिनीहरूका भ्रष्ट स्वभावहरूले तिनीहरूका कामहरूलाई सधैँ नियन्त्रण गरिरहेका हुन्छन्। तिनीहरूले आफूलाई जिम्मा दिइएको काम सम्पन्‍न गर्न सके तापनि तिनीहरूले कुनै सत्यता प्राप्त गर्दैनन्। त्यसो भए, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा त्यस्ता मानिसहरू केमा भर परिरहेका हुन्छन् त? तिनीहरू न त सत्यतामा भरपरिरहेका हुन्छन् न त परमेश्‍वरमा नै। तिनीहरूले बुझेको थोरै सत्यताले तिनीहरूको हृदयमा प्रभुत्व जमाएको हुँदैन; यी कर्तव्यहरू सम्पन्‍न गर्नको निम्ति तिनीहरू आफ्नै वरदान र क्षमताहरू, तिनीहरूले आर्जन गरेका ज्ञान र तिनीहरूका प्रतिभाहरूका साथै तिनीहरूका आफ्नै इच्छाशक्ति वा असल अभिप्रायहरूमा भर परिरहेका हुन्छन्। यो भिन्‍न किसिमको प्रकृति हो, होइन र? तँ आफ्नो कर्तव्य पूरा गर्नको निम्ति कहिलेकाहीँ आफ्नै स्वाभाविकता, कल्पना, धारणाहरू, ज्ञान र सिकाइमा भर परे तापनि तैँले गर्ने केही कुराहरूमा सिद्धान्तका सवालहरू देखा पर्दैनन्। सतही रूपमा, तैँले गलत मार्ग लिएको छैनस् जस्तो देखिन्छ, तर उपेक्षा गर्न नसकिने एउटा कुरा छ: तैँले तेरो कर्तव्य निर्वाह गर्ने क्रममा, यदि तेरा धारणाहरू, कल्पनाहरू र व्यक्तिगत चाहनाहरू कहिले पनि परिवर्तन हुँदैनन् र सत्यताद्वारा प्रतिस्थापन हुँदैनन् भने, र तेरा काम-कार्वाहीहरू र कर्महरू कहिले पनि सत्य सिद्धान्तअनुसार हुँदेनन् भने, अन्तिम परिणाम के हुनेछ त? तँ सेवा-कर्ता बन्‍ने छस्। ठीक यही नै बाइबलमा लेखिएको थियो: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। परमेश्‍वरले किन यी प्रयत्न गर्नेहरू र सेवा दिने व्यक्तिहरूलाई, “अधर्म काम गर्ने तिमीहरू” भनेर भन्‍नुहुन्छ त? एउटा बुँदामा हामी निश्‍चित हुन सक्छौँ, र त्यो के हो भने, यी मानिसहरूले जे कर्तव्यहरू वा कामहरू गरे तापनि, तिनीहरूका प्रेरणाहरू, प्रोत्साहनहरू, अभिप्रायहरू र सोचहरू सम्पूर्ण रूपमा तिनीहरूका स्वार्थी चाहनाहरूबाट नै उत्पन्‍न हुन्छन्, ती तिनीहरूका आफ्नै विचारहरू र व्यक्तिगत चाहनाहरूमा आधारित छन् र तिनीहरूका चिन्तनहरू र योजनाहरू पूर्ण रूपमा तिनीहरूका ख्याति, ओहदा, घमण्ड र भविष्यका सम्भावनाहरूको वरिपरि घुम्छन्। भित्र अन्तरकुन्तरमा तिनीहरूसँग सत्यता हँदैन, न त तिनीहरू सत्य सिद्धान्तबमोजित नै कार्य गर्छन्। त्यसैले, तिमीहरूको लागि अहिले खोज्‍नुपर्ने महत्त्वपूर्ण कुरा के हो त? (हामीहरूले सत्यता खोज्‍नुपर्छ अनि परमेश्‍वरका इच्छा र आवश्यक मापदण्डहरूबमोजिम हाम्रा कर्तव्यहरू निर्वाह गर्नुपर्छ।) परमेश्‍वरका आवश्यक मापदण्डहरूबमोजिम तैँले तेरा कर्तव्यहरू निर्वाह गर्दा विशेष रूपमा के गर्नुपर्छ त? तैँले केही कुराहरू गर्दा तेरा अभिप्रायहरू र विचारहरू सत्यताबमोजिम छन् कि छैनन् र साथसाथै तेरा ती अभिप्रायहरू र विचारहरू तेरा आफ्नै स्वार्थी चाहनाहरू परिपूर्ति गर्नेतर्फ उन्मुख छन् कि परमेश्‍वरको घरका चाहनाहरू परिपूर्ति गर्नेतर्फ उन्मुख छन् भनी बुझ्नु सिक्‍नुपर्छ। यदि तेरा अभिप्रायहरू र विचारहरू सत्यताबमोजिम छन् भने, तैँले तेरो कर्तव्य आफ्नो सोचअनुसार गर्न सक्छस्; यद्यपि यदि तिनीहरू सत्यताबमोजिम छैनन् भने, तैँले तुरुन्तै फनक्कै फर्कनुपर्छ र त्यो मार्ग त्याग्‍नुपर्छ। त्यो मार्ग सही छैन र तैँले त्यो शैलीमा अभ्यास गर्न सक्दैनस्; यदि तैँले त्यो मार्गमा निरन्तर हिँडिस् भने, तैँले दुष्कर्म गरिछाड्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

४११. तैँले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तैँले सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य पूरा गर्ने तेरो कार्य मापदण्ड अनुसारको छ कि छैन, तैँले त्यो लापरवाही ढङ्गले गरिरहेको छस् कि छैनस्, तैँले आफ्नो जिम्मेवारीबाट भाग्ने कोसिस गरेको छस् कि छैनस्, तेरो आचरण र सोच-विचारको तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्म-चिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ। तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा निराकरणपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरको इच्छा बुझ्नुपर्छ। यी कुराहरू गरेर, तैँले अभ्यास गर्ने मार्ग पाउनेछस्। यदि तैँले राम्ररी आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, तैँले गर्ने सबै कुरामा तैँले पूर्ण कडाइका साथ, र सिद्धान्तहरूमा रहेर सत्यको अभ्यास गर्नुपर्दछ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, र जसले आफ्नो काँधमा बोझ लिन्छ; तँ सच्‍चा रूपमा असल व्यक्ति हुनेछस्, जसले वास्तवमा मापदण्ड अनुसार आफ्ना कर्तव्यहरू पूरा गर्दछ र जो एक सच्‍चा व्यक्तिको स्वरूप लिएर पूर्ण रूपमा जिउँछ। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू पूरा गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्‍वर नजरमा इमानदार भन्न सकिन्छ। केवल इमानदार मानिसहरू मात्र सत्यको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तापनि, तिनीहरू खराब मनस्थितिमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्छन्, र तिनीहरूका जिम्मेवारीहरू पूरा गर्न वाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्‍वरको सामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यस भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाशहरू नै खस्यो भने पनि—जबसम्म परमेश्‍वरले मलाई जीवित रहन दिनुहुन्छ, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। मलाई जिउन दिइने प्रत्येक दिन नै मैले मेरो कर्तव्य पूरा गर्न कठिन परिश्रम गर्ने दिन हो, यसैले कि परमेश्‍वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, थोक, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मनस्थिति वा बाहिरी परिस्थितिद्वारा नियन्त्रित नहुनेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिले स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवनमा प्रवेश पाएका हुन्छन् र सत्य वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा व्यावहारिक र वास्तविक अभिव्यक्ति यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्य निर्वाह गरेसँगै जीवन प्रवेश प्रारम्भ हुन्छ

४१२. परमेश्‍वरले तँबाट जे माग गर्नुभए पनि, तैँले त्यसको निम्ति आफ्नो सारा शक्तिले काम मात्र गर्नुपर्दछ, र म आशा गर्दछु कि अन्त्यमा तँ परमेश्‍वरको सामु आउन सक्नेछस् र उहाँलाई तेरो पूर्ण भक्ति दिन सक्नेछस्। यदि यो क्षण तिम्रो मृत्यु तोकिएको समय नै भए पनि जबसम्म परमेश्‍वर आफ्नो सिंहासनमा विराजमान भई सन्तोषको मुस्कान मुस्कुराउनुभएको तैँले देख्न सक्छस्, तबसम्‍म तैँले आफ्ना आँखा चिम्लँदै गर्दा तँ हाँस्न र मुस्कुराउन सक्नुपर्छ। पृथ्वीको तेरो जीवनकालमा तैँले परमेश्‍वरप्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नैपर्छ। विगतमा, परमेश्‍वरको खातिर पत्रुसलाई क्रूसमा उल्टो झुन्ड्याइ; तर अन्त्यमा तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै शक्ति उहाँका लागि समाप्त गर्नुपर्छ। सृष्टि गरिएको एक प्राणीले परमेश्‍वरको खातिर के गर्नसक्छ र? यसैले परमेश्‍वरले उहाँको इच्छाअनुसार तँलाई प्रयोग गरून् भनी तैँले सक्दो चाँडोभन्दा चाँडो आफैलाई परमेश्‍वरमा सुम्पनुपर्छ। यदि त्यसले परमेश्‍वरलाई खुसी र प्रसन्न तुल्याउँछ भने उहाँले आफ्नो इच्छाअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिसहरूसँग गुनासोका कुराहरू बोल्ने के अधिकार छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ४१

४१३. आज, तिमीहरूले पूरा गर्नु पर्ने भनेका थप मागहरू होइनन्, तर मानिसको कर्तव्य हो, र सबै मानिसहरूले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्‍नो कर्तव्यलाई पूरा गर्न, वा यसलाई राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? कसरी तिमीहरूले अझै पनि भविष्य र आशाहरू पाउने अपेक्षा गर्न सक्यौ? परमेश्‍वरको कार्य मानवजातिको खातिर गरिन्छ, र मानिसको सहकार्य परमेश्‍वरको व्यवस्थापनको खातिर दिइन्छ। परमेश्‍वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएपछि, मानिसले आफ्‍नो अभ्यासलाई खुला मनले गर्न र परमेश्‍वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्‍वरको कार्यमा, मानिसले कुनै पनि प्रयास गर्नुहुँदैन, उसले आफ्‍नो बफादारीता दिनुपर्छ, र विभिन्‍न धारणाहरूमा लुप्त हुने, वा निष्क्रिय बसेर मृत्यु पर्खिने गर्नु हुँदैन। परमेश्‍वरले मानिसको लागि आफैलाई बलिदान दिन सक्‍नुहुन्छ, तब मानिसले किन परमेश्‍वरलाई आफ्‍नो बफादारीता दिन सक्दैन? मानिसप्रति परमेश्‍वर एउटै हृदय र मनको हुनुहुन्छ, तब मानिसले किन सानो सहकार्य दिन सक्दैन? परमेश्‍वरले मानवजातिको लागि काम गर्नुहुन्छ, तब मानिसले किन परमेश्‍वरको व्यवस्थापनको खातिर आफ्‍ना केही कर्तव्यलाई पूरा गर्न सक्दैन? परमेश्‍वरको काम यति हदसम्‍म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर काम गर्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्‍वरले पहिले नै आफ्‍नो सम्पूर्णता मानिसलाई समर्पित गरिसक्‍नुभएको छ, तब आज किन मानिस इमानदारीताको साथ आफ्‍नो कर्तव्य पूरा गर्न असमर्थ छ? परमेश्‍वरको लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो, र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसको लागि, परमेश्‍वरको वचनहरूलाई अभ्यास गर्नु र परमेश्‍वरका हरूलाई पूरा गर्नु उसको पहिलो प्राथमिकता हो। यो तिमीहरू सबैले बुझ्‍नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

४१४. वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत‌ विस्तारै घटाइन्छन्‌; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैन। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू “मध्यम-स्तरीय” भनेर चिनिन्छन्‌; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? यदि कुनै मानिसले आफैलाई परमेश्‍वर हुँ भनी भन्छ तैपनि ईश्‍वरत्वलाई व्यक्त गर्न, स्वयम्‌ परमेश्‍वरको कार्य गर्न, वा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ भने, ऊ निःसन्देह नै परमेश्‍वर होइन, किनकि ऊसँग परमेश्‍वरको सारतत्त्व छैन, र जुन कुरा परमेश्‍वरले अन्तर्निहित रूपमा प्राप्त गर्न सक्नुहुन्छ त्यो ऊभित्र अस्तित्वमा हुँदैन। यदि मानिसले ऊद्वारा अन्तर्निहित रूपमा नै प्राप्त गर्न सकिने कुरालाई गुमाउँछ भने, उसलाई अब उप्रान्त मानिस भन्न सकिँदैन, र ऊ सृष्टि गरिएको प्राणीको रूपमा खडा हुन वा परमेश्‍वरको अघि आउन र उहाँको सेवा गर्न योग्य हुँदैन। यसको साथै, परमेश्‍वरको अनुग्रह ग्रहण गर्न वा उहाँको हेरचाह पाउन, सुरक्षा प्राप्त गर्न, र परमेश्‍वरद्वारा सिद्ध गरिन ऊ योग्यको हुँदैन। परमेश्‍वरको भरोसालाई गुमाएका धेरैले परमेश्‍वरको अनुग्रहलाई पनि गुमाउन पुग्छन्। तिनीहरूले आफ्ना दुष्कर्महरूलाई घृणा मात्रै गर्दैनन्, तर तिनीहरूले परमेश्‍वरको मार्ग गलत छ भन्ने विचारलाई निर्धक्कसाथ प्रचार गर्छन्, र विद्रोहीहरूले त परमेश्‍वरको अस्तित्वलाई समेत इन्कार गर्छन्। त्यस किसिमको विद्रोहले भरिएका त्यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहको आनन्द लिनका लागि कसरी हकदार बन्न सक्छन्? आफ्नो दायित्वलाई पूरा नगर्ने मानिसहरू परमेश्‍वरको विरुद्धमा अत्यन्तै विद्रोही हुन्छन्, र उहाँप्रति धेरै ऋणी हुन्छन्, तैपनि तिनीहरू पछि फर्कन्छन् र परमेश्‍वर नै गलत हुनुहुन्छ भनेर तीखो आलोचना गर्छन्। त्यस किसिमको मानिस कसरी सिद्ध बनाइनको लागि योग्य हुनसक्छ? के यो हटाइनु र दण्डित हुनुको अग्रिम लक्षण होइन र? परमेश्‍वरको अघि आफ्नो दायित्वलाई पूरा नगर्ने मानिसहरू पहिले नै अति दुष्ट अपराधको दोषी भइसकेका हुन्छन्, जसको निम्ति मृत्यु समेत पनि अपर्याप्त दण्ड हुन्छ, तैपनि परमेश्‍वरसँग तर्क गर्ने र उहाँको विरुद्धमा आफै जोरी खोज्ने आँट तिनीहरूसँग छ। त्यस्ता मानिसहरूलाई सिद्ध पार्नुको औचित्य के छ र? जब मानिसहरू आफ्नो दायित्व पूरा गर्न असफल हुन्छन्, तिनीहरूले दोषी र ऋणी भएको महसुस गर्नुपर्छ; तिनीहरूले आफ्ना कमजोरी र अनुपयोगितालाई, आफ्ना विद्रोह र भ्रष्टतालाई घृणा गर्नुपर्छ, र अझ अधिक, परमेश्‍वरलाई आफ्नो जीवन दिनुपर्छ। त्यसपछि मात्रै तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने सृष्टि गरिएका प्राणीहरू हुन्छन्‌, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरका आशिषहरू र प्रतिज्ञामा रमाउनका लागि, र उहाँद्वारा सिद्ध बनाइनका लागि योग्य हुन्छन्। अनि तिमीहरूमध्ये अधिकांश कस्ता छौ? तिमीहरूका बीचमा जिउनुहुने परमेश्‍वरलाई तिमीहरूले कस्तो व्यवहार गर्छौ? उहाँको सामुन्ने तिमीहरूले आफ्नो दायित्वलाई कसरी निभाएका छौ? के तिमीहरूलाई जे गर्नको लागि बोलाइएको थियो, तिमीहरूले आफ्नै जीवनको बाजी समेत राखेर, ती सबै पूरा गरेका छौ? तिमीहरूले के बलिदान दिएका छौ? के तिमीहरूले मबाट धेरै कुरा पाएका छैनौ र? के तिमीहरूले छुट्याउन सक्छौ? तिमीहरू मप्रति कति निष्ठावान् छौ? तिमीहरूले मलाई कसरी सेवा गरेका छौ? अनि मैले तिमीहरूलाई जे दिएको छु र तिमीहरूका लागि मैले जे गरेको छु, त्यसको बारेमा के? के तिमीहरूले यी सबै कुराहरूलाई नापेका छौ? के तिमीहरू सबैले तिमीहरूभित्र भएको थोरै विवेकसँग यसलाई मूल्याङ्कन र तुलना गरेका छौ? तिमीहरूका वचनहरू र कार्यहरू कसको योग्य हुनसक्छ? के तिमीहरूले गरेको त्यति सानो बलिदान मैले तिमीहरूलाई दिएका सबै कुराको योग्य हुनसक्छ? मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको दायित्वको हद, तिमीहरूको एउटै मात्र कार्य त्यही नै हो। के यस्तै होइन र? तिमीहरू सृष्टि गरिएको प्राणीको दायित्वलाई पूरा गर्न पूर्ण रूपमा असफल भएका छौ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरूलाई कसरी सृष्टि गरिएको प्राणीको रूपमा लिन सकिन्छ? तिमीहरूले जे व्यक्त गर्दैछौ र जसरी जीवन बिताउँदैछौ त्यो तिमीहरूलाई स्पष्ट नै छैन र? तिमीहरू आफ्नो दायित्व पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्‍वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। त्यस किसिमको अनुग्रह तिमीहरू जस्ता अनुपयोगी र नीचहरूका लागि तयार गरिएको होइन, तर तिनको लागि हो जसले केही पनि माग्दैनन्‌ र खुसीसाथ बलिदान दिन्छन्‌। तिमीहरू जस्ता मानिसहरू, यस्ता मध्यम-स्तरीयहरू, स्वर्गको अनुग्रहको आनन्द उपभोग गर्न पूर्ण रूपमा अयोग्य छौ। तिमीहरूका दिनहरूलाई कठिनाइ र अनन्त दण्डले साथ दिनेछन्‌! यदि तिमीहरू मप्रति विश्‍वासयोग्य हुन सक्दैनौ भने, तिमीहरूको नियति कष्टको हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कार्यप्रति जबाफदेही हुन सक्दैनौ भने, तिमीहरूको परिणाम दण्डको नै हुनेछ। राज्यका सारा अनुग्रह, आशिषहरू, र सुन्दर जीवनले तिमीहरूसँग कुनै सरोकार राख्‍नेछैनन्‌। तिमीहरूले पाउन योग्य अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम यही नै हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

अघिल्लो: च. परमेश्‍वरप्रतिको आज्ञा पालनको अभ्यास कसरी गर्ने त्यसको सम्बन्धमा

अर्को: ज. परमेश्‍वरको भय मान्‍ने र दुष्टको इन्कार गर्ने क्षमता कसरी हासिल गर्ने सो सम्बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्