ज. परमेश्‍वरको भय मान्‍ने र दुष्टको इन्कार गर्ने क्षमता कसरी हासिल गर्ने सो सम्बन्धमा

४१५. एउटा साँचो सृजित प्राणीलाई सृष्‍टिकर्ता को हुनुहुन्छ, मानिसको सृष्‍टि केका लागि गरिएको हो, सृजित प्राणीका जिम्मेवारीहरू कसरी निर्वाह गर्ने, र सृष्टिकर्तालाई कसरी आराधना गर्ने भन्‍ने कुरा थाहा हुनुपर्छ, उसले सृष्‍टिकर्ताका अभिप्राय, इच्छा, र मागहरू बुझ्‍नुपर्छ, बोध गर्नुपर्छ, थाहा पाउनुपर्छ र तिनलाई ख्याल गर्नुपर्छ, अनि सृष्‍टिकर्ताको मार्ग पछ्याउनुपर्छ—परमेश्‍वरको डर मान्‍नुपर्छ र दुष्‍टताबाट अलग बस्‍नुपर्छ।

परमेश्‍वरको डर मान्नु भनेको के हो? अनि व्यक्ति कसरी दुष्‍टताबाट अलग बस्‍न सक्छ?

“परमेश्‍वरको डर मान्‍नु” को अर्थ अवर्णनीय त्रास र भय होइन, न त पन्छिनु हो, न त टाढा बस्नु हो, न त यो देवत्वकरण हो, न त अन्धविश्‍वास नै हो। बरु, यो त सराहना, आदर, भरोसा, बोध, ख्याल, समर्पणता, अर्पण, प्रेम, साथै निसर्त र गुनासोविनाको आराधना, प्रत्युपकार र आत्मसमर्पण हो। परमेश्‍वरबारे वास्तविक ज्ञानविना, मानिसहरूसँग वास्तविक सराहना, वास्तविक भरोसा, साँचो बोध, वास्तविक ख्याल वा समर्पणता हुनेछैन, बरु केवल त्रास र बेचैनी, शङ्‍का, गलत बुझाइ, पन्छाइ र टाढा बस्नु मात्र हुनेछ; परमेश्‍वरबारे वास्तविक ज्ञानविना, मानिसहरूसँग वास्तविक अर्पण र प्रत्युपकार हुनेछैन; परमेश्‍वरबारे वास्तविक ज्ञानविना, मानिसहरूसँग वास्तविक आराधना र आत्मसमर्पण हुनेछैन, अन्धो-देवत्वकरण र अन्धविश्‍वास मात्र हुनेछ; परमेश्‍वरबारे वास्तविक ज्ञानविना, मानिसहरूले परमेश्‍वरको मार्ग पछ्याउने, वा परमेश्‍वरको डर मान्‍ने, वा दुष्टताबाट अलग बस्‍ने कुनै सम्भावना नै हुँदैन। यसको विपरीत, मानिसहरू सहभागी हुने हरेक क्रियाकलाप र व्यवहार परमेश्‍वरविरुद्धको विद्रोह र प्रतिरोधले भरिएको हुनेछ, उहाँलाई बदनाम गर्ने र गलत ठहराउने कुराले भरिएको हुनेछ, अनि सत्यता र परमेश्‍वरका वचनहरूको साँचो अर्थ विपरीतका दुष्ट कार्यहरूले भरिएको हुनेछ।

मानिसहरूमा परमेश्‍वरप्रति साँचो भरोसा भएपछि, तिनीहरू उहाँलाई साँच्चै पछ्याउनेछन् र उहाँमा निर्भर हुनेछन्; परमेश्‍वरमा वास्तविक भरोसा गरेर मात्र मानिसहरूले उहाँलाई साँचो रूपमा बुझ्न र बोध गर्न सक्छन्; परमेश्‍वरको साँचो बोधसँगै उहाँप्रति साँचो ख्याल आउँछ; परमेश्‍वरप्रतिको वास्तविक ख्यालका साथ मात्र मानिसहरूसँग साँचो समर्पणता हुन सक्छ; परमेश्‍वरप्रतिको वास्तविक समर्पणताका साथ मात्र मानिसहरूमा साँचो अर्पण हुन सक्छ; परमेश्‍वरप्रतिको वास्तविक अर्पणका साथ मात्र मानिसहरूमा निसर्त र गुनासोविनाको प्रत्युपकार हुन सक्छ; साँचो भरोसा, साँचो बोध र ख्याल, साँचो समर्पणता, साँचो अर्पण र प्रत्युपकारका साथ मात्र, मानिसहरू परमेश्‍वरको स्वभाव र सार, अनि सृष्टिकर्ताको पहिचान साँच्चै चिन्न पुग्न सक्छन्; तिनीहरूले जब सृष्‍टिकर्तालाई साँच्‍चिकै चिन्‍न पुगेका हुन्छन्, तब मात्र तिनीहरूभित्र वास्तविक आराधना र आत्मसमर्पण जाग्न सक्छ; तिनीहरूसँग सृष्‍टिकर्ताप्रति साँचो आराधना र आत्मसमर्पण हुँदा मात्र, तिनीहरू दुष्ट कार्यहरूबाट साँच्‍चिकै उम्किन सक्षम हुनेछन्—अर्थात्, दुष्टताबाट अलग बस्‍न सक्‍नेछन्।

यो भनेको “परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने” सम्पूर्ण प्रक्रिया हो, र यो परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने कार्यको समष्टिगत विषयवस्तु पनि हो। परमेश्‍वरको डर मान्न र दुष्‍टताबाट अलग बस्नका लागि हिँड्नुपर्ने मार्ग यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

४१६. सर्वप्रथम, हामीलाई परमेश्‍वरको स्वभाव प्रताप र क्रोध हो भन्‍ने थाहा छ; उहाँ कसैद्वारा काटिन छोडिएको भेडा हुनुहुन्न, झन् उहाँ मानिसहरूले चाहेअनुसार चलाउने कठपुतली हुनु त परको कुरा हो। उहाँ आफ्नो इच्छाअनुसार लिइने र फालिने जाबो हावा पनि हुनुहुन्न। यदि तँ परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनी साँचो रूपमा विश्‍वास गर्छस् भने, तँसँग परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ अनि तैँले उहाँको सार क्रोधित पारिने सार होइन भनी जान्नुपर्छ। उहाँ एउटा शब्द वा सायद एउटा सोच वा सायद कुनै प्रकारको दुष्ट व्यवहार वा सायद कुनै रूपको नरम व्यवहार वा मानिसहरूका नजर र नीतिहरूमा स्वीकार्य हुने व्यवहारले गर्दा वा कुनै धर्मसिद्धान्त वा सिद्धान्तले गर्दा क्रोधित हुन सक्नुहुन्छ। तर, तैँले परमेश्‍वरलाई क्रोधित पारिसकेपछि तेरो अवसर गुम्छ अनि तेरा आखिरी दिनहरू आइसकेका हुन्छन्। यो भयानक कुरा हो! यदि तँ परमेश्‍वरलाई चिढ्याउनै हुँदैन भनेर बुझ्दैनस् भने, सायद तँ परमेश्‍वरसँग डराउँदैनस्, र सायद तँ प्रायः उहाँलाई चिढ्याउँछस्। यदि तँलाई कसरी परमेश्‍वरको डर मान्ने भनेर थाहा छैन भने तैँले बिलकुलै परमेश्‍वरको डर मान्न सक्दैनस् र तँलाई कसरी परमेश्‍वरको मार्ग पछ्याउने—परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने—मार्गमा कसरी हिँड्ने भनेर थाहा हुनेछैन। परमेश्‍वरलाई चिढ्याउनै हुँदैन भनेर तँलाई थाहा भइसकेपछि र तँ सचेत भइसकेपछि, तैँले परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग रहन के गर्ने भन्‍ने थाहा पाउनेछस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

४१७. परमेश्‍वरको सारमा प्रेमको तत्त्व भए तापनि र उहाँ हरेक व्यक्तिप्रति कृपालु हुनुभए तापनि, मानिसहरूले उहाँको सार नै उहाँमा मर्यादा हुनु हो भन्‍ने तथ्यलाई बेवास्ता गरेका छन् र बिर्सेका छन्। उहाँसँग प्रेम छ भन्नुको अर्थ मानिसहरूले उहाँलाई आफ्नो इच्छाअनुसार चिढ्याउन सक्छन्, त्यसमा उहाँ केही पनि महसुस गर्नुहुन्न र कुनै पनि तरिकामा प्रतिक्रिया जनाउनुहुन्न भन्ने होइन; उहाँसँग कृपा छ भन्नुको अर्थ उहाँले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा उहाँका कुनै सिद्धान्तहरू छैनन् भन्‍ने होइन। परमेश्‍वर जीवित परमेश्‍वर हुनुहुन्छ; उहाँको अस्तित्व अत्यन्तै वास्तविक छ। उहाँ न त कुनै काल्पनिक कठपुतली हुनुहुन्छ न त अरू कुनै वस्तु नै हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुभएको हुनाले, हामी सधैँ उहाँको हृदयको आवाजप्रति सजग हुनुपर्छ, उहाँको मनोवृत्तिलाई राम्ररी ध्यान दिनुपर्छ र उहाँका भावनाहरू बुझ्ने प्रयास गर्नुपर्छ। परमेश्‍वरलाई सीमित गर्न मानव कल्पनाहरू प्रयोग नगर् र उहाँमाथि मानव मनका सोचहरू वा मानव इच्छाका चाहनाहरू नलाद्, परमेश्‍वरलाई मानव विधिहरू प्रयोग गरेर र मानव कल्पनाहरूका आधारमा मानिसहरूलाई व्यवहार गर्न अनुरोध नगर्। यदि तँ यसो गर्छस् भने, तैँले परमेश्‍वरलाई रिस उठाइरहेको हुन्छस्, उहाँको क्रोधलाई जाँचिरहेको र उहाँको मर्यादालाई चुनौती दिइरहेको हुन्छस्! तसर्थ, तिमीहरूले यस मामलाको गम्भीरता बुझिसकेपछि, म तिमीहरू हरेकलाई आफ्ना कार्यव्यवहार र बोलीमा सावधान र समझदार हुन अनि परमेश्‍वरसँग सम्बन्धित मामलाहरूलाई अत्यन्तै सावधानी र समझदारीका साथ सम्हाल्न आग्रह गर्छु! जब तँ परमेश्‍वरको मनोवृत्ति के हो भनेर बुझ्दैनस्, तब लापर्बाहीपूर्वक नबोल्, लापर्बाहीपूर्वक कार्यव्यवहार नगर वा लापर्बाहीपूर्वक लेबल नलगा; त्यसभन्दा पनि, मनमानी ढङ्गले निष्कर्षहरू ननिकाल्। यसको सट्टा, तैँले पर्खनुपर्छ र खोजी गर्नुपर्छ। यी परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्नुका प्रकटीकरणहरू हुन्। यदि तँ यो हासिल गर्न सक्छस् र अरू सबै कुराभन्दा पहिले यो मनोवृत्ति राख्न सक्छस् भने, परमेश्‍वरले तँलाई तेरो मूर्खता, अज्ञानता र कामकुराहरूबारे बुझाइको कमीका कारण दोष दिनुहुनेछैन; बरु, तेरो मनोवृत्तिको कारण—परमेश्‍वरलाई चिढ्याउने तेरो डर, उहाँका अभिप्रायहरूप्रतिको तेरो आदर र उहाँप्रति समर्पित हुने तेरो इच्छा—परमेश्‍वरले तँलाई सम्झनुहुनेछ, मार्गदर्शन गर्नुहुनेछ र अन्तर्दृष्टि दिनुहुनेछ वा तेरो अपरिपक्वता र अज्ञानतालाई सहनुहुनेछ। अन्यथा, उहाँप्रति तैँले राख्ने अनादरपूर्ण मनोवृत्तिको परिणामस्वरूप—आफ्नो इच्छाअनुसार उहाँलाई गलत ठहराउनु वा मनमानी ढङ्गले उहाँका चाहनाहरूबारे अनुमान लगाउनु र तिनलाई परिभाषित गर्नु—परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ, ताडना दिनुहुनेछ र दण्डसमेत दिनुहुनेछ; वा, उहाँले तेरा बारेमा केही भन्नुहुनेछ र सायद उहाँले भन्ने कुरा तेरो परिणामसँग सम्बन्धित हुनेछ। त्यसकारण, म फेरि एक पटक जोड दिनेछु: तिमीहरू हरेक परमेश्‍वरबाट आउने सबै कुराबारे सावधान र समझदार हुनुपर्छ। तिमीहरूले जस्तोसुकै परिस्थिति सामना गरे पनि, लापर्बाहीपूर्वक नबोल वा लापर्बाहीपूर्वक कार्यव्यवहार नगर। पहिलो कुरा, तिमीहरूले आफ्नो हृदयमा विचार गर्नुपर्छ: “म कसरी परमेश्‍वरको डर मान्‍ने हृदय भएको व्यक्तिले जस्तै बोल्न र कार्यव्यवहार गर्न सक्छु? बोल्ने र कार्यव्यवहार गर्ने कुन तरिकाले परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैन?” सरल मामिलाहरूमा समेत, तिमीहरूले यी प्रश्नहरूलाई अझ बढी मनन गर्नुपर्छ र तिनलाई अझ बढी विचार गर्नुपर्छ। यदि तँ साँच्चै सबै पक्षमा, सबै कुरामा र सबै समयमा यी सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्छस् र विशेष रूपमा आफूले कुनै कुरा नबुझ्दा यस्तो मनोवृत्ति अपनाउन सक्छस् भने, परमेश्‍वरले सधैँ तँलाई मार्गदर्शन गर्नुहुनेछ र पछ्याउने मार्ग प्रदान गर्नुहुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

४१८. म तिमीहरूलाई प्रशासनिक आदेशहरूको विषयवस्तुलाई बुझ्न साँच्चिकै कोसिस गर्न र परमेश्‍वरको स्वभाव जान्ने प्रयास गर्न अर्ती दिन्छु। नत्रभने, तिमीहरूलाई आफ्नो मुख बन्द राख्न गाह्रो हुनेछ र तिमीहरूको जिब्रो बेलगाम चल्नेछ, र तिमीहरूले ठूलो कुरा फलाक्नेछौ, जसले गर्दा थाहै नपाई तिमीहरू परमेश्‍वरको स्वभावलाई चिढ्याएर अन्धकारमा खस्नेछौ, र तिमीहरूले पवित्र आत्माको उपस्थिति र ज्योति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएका कारण, तिमीहरूले गर्न र भन्न नहुने कुराहरू गरेका र भनेका हुनाले, तिमीहरूले पाउनुपर्ने दण्ड पाउनेछौ। तँ वचन र कर्ममा सिद्धान्तहीन भए पनि परमेश्‍वर यी दुवै कुरामा अत्यन्तै सिद्धान्तयुक्त हुनुहुन्छ भन्‍ने कुरा तैँले थाहा पाउनुपर्छ। तैँले दण्ड पाउने भनेको कुनै व्यक्तिलाई नभई परमेश्‍वरलाई चिढ्याएको कारणले गर्दा हो। यदि तैँले जीवनमा परमेश्‍वरको स्वभावलाई धेरै पटक चिढ्याइस् भने, तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्‍वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसका निम्ति अब कुनै पापबलि छैन? तैँले परमेश्‍वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्चात्ताप वा बदलावको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तँलाई परमेश्‍वरले मानिसलाई दण्डित गर्ने नरकमा खसालिनु बाहेक अन्य कुनै पनि उपाय छैन। केही मानिसहरूले परमेश्‍वरको अनुसरण गर्ने क्रममा केही यस्ता कार्यहरू गरे जसले सिद्धान्तहरू उल्लंघन गर्‍यो, तर काँटछाँट गरिएपछि र मार्गदर्शन दिइएपछि, उनीहरूले क्रमशः आफ्नो भ्रष्ट आचरणहरू पत्ता लगाए र त्यसपछि वास्तविकताको सही बाटोमा प्रवेश गरे र उनीहरू आज व्यावहारिक भएका छन्। यस्ता मानिसहरू नै अन्त्यमा बाँच्नेहरू हुन्। तथापि, मैले चाहने चाहिँ इमानदार मानिस हो; यदि तँ इमानदार व्यक्ति होस् र सिद्धान्तहरूअनुसार कार्य गर्छस् भने, तँ परमेश्‍वरको विश्‍वासपात्र बन्न सक्छस्। यदि तँ आफ्ना कार्यहरूमा परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैनस्, र परमेश्‍वरका चाहनाहरू खोज्छस्, र तँमा परमेश्‍वरको डर मान्ने हृदय छ भने, तेरो विश्‍वास मानकअनुरूप छ। जसले परमेश्‍वरको डर मान्दैन र जोसँग भयले काँप्ने हृदय छैन, उसले परमेश्‍वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्‍वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्‍वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्‍वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई परमेश्‍वरको घरबाट निष्कासित गरिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्‍वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरू आफ्नो अनभिज्ञ असल अभिप्रायको दममा परमेश्‍वरको घरमा काम गर्छन् र अन्त्यमा परमेश्‍वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्‍वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्‍वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्‍वरसँग पहिलोपल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्‍वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्‍वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्‍वरसँगको निकट निश्‍चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्‍ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने, तेरो जोशिलो सेवाले परमेश्‍वरको घिन र घृणा मात्र निम्त्याउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

४१९. यदि तिमीले परमेश्‍वरको स्वभाव बुझेका छैनौ भने तिमीले उहाँको निम्ति गर्नुपर्ने काम गर्न असम्भव हुनेछ। यदि तिमीलाई परमेश्‍वरको सारतत्त्व थाहा छैन भने तिमीमा उहाँको डर र भय हुने कुरा पनि असम्भव हुनेछ; बरु केवल देखावटी धर्म-कार्यहरू र छलछाम र अयोग्य ईश्‍वरनिन्दा मात्र हुनेछ। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण छ, साथै परमेश्‍वरको सारतत्त्व थाहा गर्ने कुरालाई नजर अन्दाज गर्न सकिँदैन, कसैले पनि यी विषयहरू विस्तृत रूपमा जाँच वा गहन अनुसन्धान गरेका छैनन्। तिमीहरूले मैले जारी गरेका सबै प्रशासनिक आदेशहरू रद्द गरेका छौ भन्‍ने कुरा स्पष्‍टसँग देख्‍न सकिन्छ। यदि तिमीहरूले परमेश्‍वरको स्वभाव बुझ्‍न सकेनौ भने तिमीहरूले स्वाभाविक रूपमा उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछौ। उहाँको स्वभावको अपमान गर्नु भनेको परमेश्‍वरलाई क्रोधित तुल्याउनु हो, यसो भएमा प्रशासनिक आदेश भङ्ग गर्नु नै तिमीहरूका कार्यहरूका आखिरी फल हुनेछ। जब तैँले परमेश्‍वरको सारतत्त्व थाहा पाउँछस्, तब तैँले परमेश्‍वरको स्वभावलाई बुझ्‍न सक्छस्—र जब तैँले उहाँको स्वभावलाई बुझ्छस् तब प्रशासनिक आदेशहरू पनि बुझ्नेछस् भन्‍ने कुरा अब तैँले महसुस गर्नुपर्छ। यो कुरा भनिराख्‍नु पर्दैन, प्रशासनिक आदेशहरूमा समावेश गरिएका अधिकांश कुराहरूले परमेश्‍वरको स्वभावलाई छुन्छ, तर उहाँका सबै स्वभावहरू प्रशासनिक आदेशहरूमा व्यक्त गरिएका छैनन्; त्यसैले, परमेश्‍वरको स्वभावलाई बुझ्‍न तँ थप एक कदम अघि बढ्नु आवश्‍यक छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्त्वपूर्ण हुन्छ

४२०. परमेश्‍वर जीवित परमेश्‍वर हुनुहुन्छ। मानिसहरू फरक-फरक परिस्थितिहरूमा फरक-फरक व्यवहार गर्छन्, र यी व्यवहारहरूप्रति परमेश्‍वरको मनोवृत्ति फरक-फरक हुन्छ किनभने न त उहाँ कठपुतली हुनुहुन्छ न त उहाँ रित्तो हावाको झोक्का नै हुनुहुन्छ। परमेश्‍वरको मनोवृत्ति जान्नु मानवजातिका लागि एक सार्थक पछ्याइ हो। मानिसहरूले परमेश्‍वरको मनोवृत्ति जानेर आफूले कसरी अलिअलि गर्दै परमेश्‍वरको स्वभावबारे ज्ञान प्राप्त गर्न र उहाँको हृदय बुझ्न सक्छन् भनेर सिक्नुपर्छ। जब तँ क्रमिक रूपमा परमेश्‍वरको हृदय बुझ्दै जान्छस्, तब तँलाई उहाँको डर मान्नु र दुष्टताबाट अलग बस्नु हासिल गर्न यस्तो गाह्रो कुरा लाग्नेछैन। त्यसबाहेक, जब तँ परमेश्‍वरलाई बुझ्छस्, तब तैँले सम्भवतः उहाँलाई सीमित गर्नेछैनस्। तैँले उहाँलाई सीमित गर्न छोडिसकेपछि, उहाँलाई चिढ्याउने सम्भावना कम हुनेछ अनि तैँले थाहै नपाई, परमेश्‍वरले तँलाई उहाँबारे ज्ञान प्राप्त गर्न अगुवाइ गर्नुहुनेछ, अनि यसरी तेरो हृदयमा उहाँप्रति डर हुनेछ। त्यसपछि तैँले आफूले महारत हासिल गरेका शब्द र धर्मसिद्धान्त वा सिद्धान्तहरूद्वारा परमेश्‍वरलाई परिभाषित गर्न छोड्नेछस् र बरु, तैँले निरन्तर रूपमा सबै थोकमा परमेश्‍वरका चाहनाहरू खोजी गर्नेछस्। यसरी, तँ आफूले थाहै नपाई, परमेश्‍वरका अभिप्रायहरूअनुरूपको व्यक्ति बन्नेछस्।

परमेश्‍वरको काम मानिसहरूले देख्न र छुन सक्दैनन्, तर जहाँसम्म उहाँको कुरा छ, हरेक व्यक्तिका कार्यहरूलाई—साथै उहाँप्रतिको तिनीहरूको मनोवृत्तिलाई—परमेश्‍वरले बोध गर्ने मात्र होइन, तर देख्नु पनि हुन्छ। यो हरेक व्यक्तिलाई थाहा र स्पष्ट हुनुपर्ने कुरा हो। तैँले सधैँ मनमनै सोचिरहेको हुन सक्छस्, “के परमेश्‍वरलाई यहाँ मैले गरिरहेको कुरा थाहा छ? के उहाँलाई मैले सोचिरहेको कुरा थाहा छ? सायद उहाँलाई थाहा छ, र सायद उहाँलाई थाहा छैन।” यदि तँ परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँलाई पछ्याउँदा, यो दृष्टिकोण राख्छस्, अनि तँ यसरी उहाँको काम र उहाँको अस्तित्वलाई शङ्का गर्छस् भने, ढिलो-चाँडो तैँले उहाँको रिस जगाउने दिन आउनेछ, किनकि तँ पहिल्यै डरलाग्दो भीरको टुप्पोमा छस्। मैले यस्ता मानिसहरूलाई देखेको छु जसले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन्, तैपनि सत्यता वास्तविकता प्राप्त गरेका छैनन्, झन् तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्नु त परै जाओस्। यी मानिसहरू आफ्नो जीवन र कदमा कुनै प्रगति गर्दैनन्, केवल सबैभन्दा सतही धर्मसिद्धान्तहरूमा टाँसिन्छन्। किनभने त्यस्ता मानिसहरूले परमेश्‍वरको वचनलाई आफ्नो जीवनका रूपमा कहिल्यै स्विकारेका हुँदैनन् र तिनीहरूले उहाँको अस्तित्वलाई कहिल्यै सामना गरेका र स्वीकार गरेका हुँदैनन्। मलाई भन् त, जब परमेश्‍वर यस्ता मानिसहरूलाई देख्नुहुन्छ, तब के उहाँलाई आनन्द हुन्छ? के उहाँको हृदयलाई सान्त्वना महसुस हुन्छ? यसरी, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने तरिकाले तिनीहरूको भवितव्य निर्धारण गर्छ। मानिसहरू कसरी परमेश्‍वरलाई पछ्याउँछन् र उहाँप्रति कस्तो व्यवहार गर्छन् भन्‍ने सम्बन्धमा, मानिसहरूको मनोवृत्ति प्राथमिक महत्त्वको हुन्छ। परमेश्‍वरलाई उहाँ केवल हावा हुनुभएझैँ गरी आफ्नो मनबाट नहटा; बरु तैँले आफूले विश्‍वास गर्ने परमेश्‍वर जीवित परमेश्‍वर, वास्तविक परमेश्‍वर हुनुहुन्छ भनी सधैँ सोच्नैपर्छ। उहाँ माथि तेस्रो स्वर्गमा केही पनि नगरी त्यत्तिकै बसिरहनुभएको छैन। बरु, उहाँ निरन्तर रूपमा सबैको हृदय छानबिन गरिरहनुभएको छ, सबैका कार्यव्यवहारहरू छानबिन गरिरहनुभएको छ, तेरो हरेक शब्द र हरेक कार्यलाई छानबिन गरिरहनुभएको छ, तँ कसरी व्यवहार गर्छस् र उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ भनी छानबिन गरिरहनुभएको छ। तँ आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न इच्छुक भए पनि नभए पनि, तेरा सबै व्यवहार अनि तेरा भित्री सोच र विचारहरू उहाँसमक्ष राखिन्छन् र उहाँद्वारा छानबिन गरिन्छन्। तेरो व्यवहारको कारण, तेरा कार्यहरूको कारण र उहाँप्रतिको तेरो मनोवृत्तिको कारण, तँबारे परमेश्‍वरको राय र तँप्रतिको उहाँको मनोवृत्ति निरन्तर परिवर्तन भइरहेको हुन्छ। अझै पनि, मैले तिमीहरूमध्ये केहीलाई सल्लाह दिनैपर्छ: आफूलाई परमेश्‍वरको हातमा शिशु नठान्, मानौँ उहाँ तँलाई अत्यन्तै माया गर्नुहुन्छ, मानौँ तँविना उहाँको काम चल्दैन, र मानौँ तँप्रति उहाँको मनोवृत्ति सधैँ एउटै हुन्छ र त्यो कहिल्यै परिवर्तन हुन सक्दैन—सपना देख्न छोड्! परमेश्‍वर हरेक व्यक्तिप्रतिको आफ्नो व्यवहारमा धर्मी हुनुहुन्छ, अनि मानिसहरूलाई विजय गर्ने र मुक्ति दिने काम एकदमै गम्भीरताका साथ सम्पन्न गर्नुहुन्छ। यो उहाँको व्यवस्थापन हो। उहाँ हरेक व्यक्तिलाई गम्भीरताका साथ व्यवहार गर्नुहुन्छ; उहाँ तिनीहरूलाई पाल्तु जन्तुलाई जस्तो व्यवहार गर्नुहुन्न अनि तिनीहरूलाई फकाउनुहुन्न र तिनीहरूसँग खेल्नुहुन्न। मानवप्रतिको परमेश्‍वरको प्रेम पुलपुलाउने वा बिगार्ने किसिमको हुँदैन, न त मानवजातिप्रतिको उहाँको कृपा र सहनशीलता नै स्वच्छन्द र अनियन्त्रित हुन्छन्। यसको विपरीत, मानवप्रतिको परमेश्‍वरको प्रेममा तिनीहरूको कदर गर्ने, तिनीहरूलाई दया गर्ने र जीवनलाई आदर गर्ने कुराहरू समावेश छन्; उहाँको कृपा र सहनशीलताले आफूभित्र मानवहरूप्रतिको उहाँका अपेक्षाहरू बोकेका हुन्छन् र ती मानवजातिको अस्तित्वका लागि आवश्यक जग हुन्। परमेश्‍वर जीवित हुनुहुन्छ, र परमेश्‍वर वास्तवमै अस्तित्वमा हुनुहुन्छ; मानवजातिप्रतिको उहाँको मनोवृत्ति सैद्धान्तिक हुन्छ, यो एक प्रकारको प्रावधान बिलकुलै होइन र यो परिवर्तन हुन सक्छ। मानवजातिका लागि उहाँका अभिप्रायहरू समयसँगै, परिस्थितिहरूका आधारमा अनि हरेक व्यक्तिको मनोवृत्तिसँगसँगै क्रमिक रूपले परिवर्तन र रूपान्तरित हुँदै छन्। त्यसकारण, तैँले आफ्नो हृदयमा एकदमै स्पष्टसित के थाहा पाउनुपर्छ भने परमेश्‍वरको सार अपरिवर्तनीय छ र उहाँको स्वभाव विभिन्न समय र विभिन्न परिप्रेक्ष्यमा व्यक्त हुनेछ। तैँले यस कुरालाई गम्भीर मामिला नठान्न सक्छस् र परमेश्‍वरले कसरी विभिन्न कुराहरू गर्नुपर्छ भनेर कल्पना गर्न आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्न सक्छस्। तथापि, कहिलेकाहीँ ठ्याक्कै विपरीत कुरा साँचो हुन्छ र तैँले परमेश्‍वरलाई मापन गर्ने प्रयासमा आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गरेर उहाँलाई क्रोधित पारिसकेको हुन्छस्। किनभने परमेश्‍वर तैँले सोचेजस्तो तरिकामा बिलकुलै काम गर्नुहुन्न र उहाँ यस मामिलालाई तैँले भनेजस्तो बिलकुलै सम्हाल्नुहुन्न। तसर्थ, म तँलाई आफू वरिपरिका हरेक कुरा सम्हाल्दा सावधान र समझदार हुन अनि सबै कुरामा “परमेश्‍वरको मार्ग पछ्याउने—परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने” सिद्धान्तअनुसार अभ्यास गर्न सिक्न स्मरण गराउँछु। तैँले परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरको मनोवृत्तिसम्बन्धी मामिलाहरू सही रूपमा निर्धारण गर्नुपर्छ, तैँले यी मामिलाहरूबारे सङ्गति गर्न अन्तर्दृष्टि पाएका मानिसहरू खोज्नैपर्छ र तैँले गम्भीरतापूर्वक खोजी गर्नैपर्छ। आफूले विश्‍वास गर्ने परमेश्‍वरलाई आफ्नो इच्छाअनुसार उहाँलाई गलत ठहराउँदै, उहाँबारे आफूखुसी निष्कर्षहरू निकाल्दै र अनादरपूर्ण मनोवृत्तिले उहाँलाई व्यवहार गर्दै, कठपुतली नठान्। परमेश्‍वरले तँलाई मुक्ति प्रदान गर्दै गर्दा र उहाँले तेरो परिणाम निर्धारण गर्दै गर्दा, तँमाथि कृपा र सहनशीलता वा न्याय र सजाय देखाउन सक्नुहुन्छ, तर जे भए पनि, तँप्रति उहाँको मनोवृत्ति सधैँ एउटै हुँदैन। यो उहाँप्रतिको तेरो आफ्नै मनोवृत्ति, साथै उहाँबारे तेरो बुझाइमा निर्भर हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

४२१. परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले सधैँ परमेश्‍वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरू आफूभित्र सधैँ परमेश्‍वरको डर मान्ने हृदय, परमेश्‍वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरका मागहरूअनुरूप हुनुपर्छ र ती उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्छ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्‍वरको झन्डा फहराउँदै, अनि साथसाथै फूर्ति लगाउँदै र सबैतिर ठगी गर्दै जथाभावी गर्दै दौडनु हुँदैन; यो सबैभन्दा विद्रोही प्रकारको आचरण हो। परिवारहरूका आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका आफ्नै कानुनहरू हुन्छन्—अनि परमेश्‍वरको घरमा यस्तो अझ बढी हुँदैन र? के यसका झन् कडा मानकहरू छैनन् र? के त्यसका प्रशासनिक आदेशहरू झनै हुँदैनन् र? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्न मिल्दैन। परमेश्‍वर मानिसहरूबाट कुनै उल्लङ्घन नसहने परमेश्‍वर हुनुहुन्छ; उहाँ मानिसहरूलाई ढाल्ने परमेश्‍वर हुनुहुन्छ। के वास्तवमा मानिसहरूले यो कुरा थाहा पाइसकेका छैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

४२२. परमेश्‍वर आफ्नो कामको हरेक युगमा, मानिसहरूलाई केही वचन प्रदान गर्नुहुन्छ र केही सत्यता बताउनुहुन्छ। यी सत्यताहरूले मानिसहरूले पालना गर्नुपर्ने मार्ग, पछ्याउनुपर्ने मार्ग, तिनीहरूलाई परमेश्‍वरको डर मान्न अनि दुष्टताबाट अलग बस्न सक्षम तुल्याउने मार्गका रूपमा काम गर्छन्, अनि ती मानिसहरूले आफ्‍नो जीवनमा र आफ्नो जीवन यात्राको अवधिभरि अभ्यास र पालना गर्नुपर्ने कुरा हुन्। यो परमेश्‍वरले मानवजातिलाई वचनहरू व्यक्त गर्नुको उद्देश्य हो। परमेश्‍वरबाट आउने यी वचनहरू मानिसहरूले पालना गर्नुपर्छ र तिनीहरूले पालना गर्नु भनेको जीवन प्राप्त गर्नु हो। यदि कुनै व्यक्तिले ती पालना गर्दैन, ती अभ्यास गर्दैन र आफ्नो जीवनमा परमेश्‍वरका वचनहरू जिउँदैन भने, यस व्यक्तिले सत्यता अभ्यास गरिरहेको हुँदैन। अनि यदि मानिसहरूले सत्यता अभ्यास गरिरहेका छैनन् भने, तिनीहरूले परमेश्‍वरको डर मानिरहेका हुँदैनन् र तिनीहरू दुष्टताबाट अलग बसिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सक्छन्। यदि मानिसहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दैनन् भने, उहाँको अनुमोदन प्राप्त गर्न सक्दैनन्, अनि त्यस अवस्थामा, त्यस्ता तिनीहरूसँग कुनै परिणाम हुनेछैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

४२३. परमेश्‍वरको मार्ग पछ्याउनु भनेको सतही प्रावधानहरू पालना गर्नु होइन; बरु, यसको अर्थ त तैँले कुनै समस्या सामना गर्दा, सबैभन्दा पहिले यसलाई परमेश्‍वरद्वारा योजनाबद्ध गरिएको अवस्था, उहाँले तँलाई दिएको जिम्मेवारी वा उहाँले तँलाई सुम्पेको कार्यका रूपमा हेर्नु हो। यो समस्या सामना गर्दा, तैँले यसलाई परमेश्‍वरले तँलाई गुज्रन लगाइरहेको परीक्षाका रूपमा समेत हेर्नुपर्छ। तैँले यो समस्या सामना गर्दा, तेरो हृदयमा एउटा मानक हुनैपर्छ अनि तैँले यो कुरा परमेश्‍वरबाट आएको हो भनी सोच्नैपर्छ। तैँले यसलाई परमेश्‍वरप्रति बफादार रहँदै आफ्नो जिम्मेवारी पूरा गर्न सकिने तरिकामा कसरी सम्हाल्ने, साथै कसरी उहाँलाई क्रोधित नतुल्याई वा उहाँको स्वभावलाई नचिढ्याई यो गर्ने भनेर सोच्नैपर्छ। … किनभने परमेश्‍वरको मार्ग पछ्याउनका लागि, हामी आफूमाथि वा आफू वरपर घटित हुने कुनै पनि कुरा, सानातिना कुराहरूसमेत छोड्न सक्दैनौँ; यदि हामीमाथि केही मामिला आइपरे भने, हामीले यसलाई ध्यान दिनुपर्छ भनेर सोचे पनि वा नसोचे पनि, त्यसलाई छाड्नै हुँदैन तर त्यसलाई परमेश्‍वरले हामीलाई दिएको जाँचका रूपमा हेर्नैपर्छ। यस मनोवृत्तिबारे तिमीहरू के सोच्छौ? यदि तँसँग यस प्रकारको मनोवृत्ति छ भने यसले एउटा कुरा पुष्टि गर्छ: तेरो हृदय परमेश्‍वरको डर मान्ने हृदय हो र तेरो हृदय दुष्टताबाट अलग रहन चाहने हृदय हो। यदि तँसँग परमेश्‍वरलाई सन्तुष्ट पार्ने यस्तो चाहना छ भने, तैँले अभ्यास गर्ने कुरा परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने मानक पूरा गर्नबाट टाढा हुनेछैन।

मानिसहरूले त्यति ध्यान नदिने र सामान्यतया उल्लेख नगर्ने मामलाहरू सानातिना कुराहरू मात्र हुन् र तिनको सत्यता अभ्याससँग सम्बन्ध हुँदैन भनी विश्‍वास गर्नेहरू प्रायः हुन्छन्। ठ्याक्कै यस्तो मामला सामना गर्दा, यी मानिसहरू यसबारे त्यति सोच्दैनन् र त्यसपछि यसलाई त्यत्तिकै जान दिन्छन्। वास्तवमा, जब तँ यो समस्या सामना गर्छस्, तब त्यो ठ्याक्कै तैँले कसरी परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने भन्ने पाठ सिक्नुपर्ने समय हो, र तँ आफूले त्यो सामना गर्दा परमेश्‍वरले के गरिरहनुभएको हुन्छ भनेर अझ बढी सचेत हुनुपर्छ। परमेश्‍वर तेरो हरेक वचन र कर्म नियाल्दै, तैँले गर्ने हरेक कामकुरा र तेरा सोच-विचारहरूमा आउने परिवर्तन हेर्दै तेरो छेउमै हुनुहुन्छ—यही नै परमेश्‍वरको काम हो। केही मानिस सोध्छन्, “त्यसोभए किन मैले त्यो महसुस गरेको छैनँ?” तैँले त्यो महसुस गरेको छैनस् किनभने परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने मार्गलाई पालना गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण मार्गका रूपमा लिएको छैनस्। त्यसैले तँ परमेश्‍वरले मानिसहरूमा गर्ने सूक्ष्म कामलाई तिनीहरूका विभिन्न सोच र प्रकटीकरणहरूअनुसार अनुभूति गर्न सक्दैनस्। तँ भुलक्कड छस्! ठूलो मामला के हो? सानोतिनो मामला के हो? परमेश्‍वरको मार्ग पछ्याउनुसँग सम्‍बन्धित मामला मुख्य र मामुलीका बीचमा विभाजित छैन, ती सबै नै महत्त्वपूर्ण कुरा हुन्—के तिमीहरू यो कुरा बुझ्न सक्छौ? (हामी बुझ्न सक्छौँ।) दैनिक मामलाहरूका सन्दर्भमा भन्दा, मानिसहरूले मुख्य कुराका रूपमा हेर्ने केही मामला र सानातिना कुराका रूपमा हेर्ने अरू मामला छन्। मानिसहरूले प्रायः यी मुख्य मामलाहरूलाई धेरै नै महत्त्वपूर्ण कुराका रूपमा हेर्छन् र तिनलाई परमेश्‍वरबाट आएका हुन् भन्ने ठान्छन्। तथापि, यी मुख्य घटनाहरूबीच, मानिसहरूको अपरिपक्व कद र तिनीहरूको कमजोर क्षमताको कारण, तिनीहरू परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न प्रायः चुक्छन्, तिनीहरूले कुनै पनि प्रकाश प्राप्त गर्न सक्दैनन् र तिनीहरूले मूल्य भएको कुनै पनि वास्तविक ज्ञान हासिल गर्न सक्दैनन्। जहाँसम्म मामुली मामलाहरूको सवाल छ, तिनलाई मानिसहरूले उपेक्षा गर्छन् र ती अलिअलि गर्दै त्यत्तिकै छाडिन्छन्। यसरी, मानिसहरूले परमेश्‍वरको अगाडि तिनीहरूको जाँच गरिने र परीक्षा लिइने धेरै अवसरहरू गुमाएका छन्। परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, कामकुराहरू र परिस्थितिहरूलाई तैँले सधैँ बेवास्ता गर्नुको अर्थ के हुन्छ? यसको अर्थ तँ हरेक दिन र हरेक क्षण निरन्तर रूपमा परमेश्‍वरले तँलाई सिद्ध तुल्याउने कार्य, साथै उहाँको मार्गदर्शनलाई त्याग्छस्। जब परमेश्‍वरले तेरो लागि कुनै परिस्थिति योजनाबद्ध गर्नुहुन्छ, तब उहाँले गोप्य रूपमा निगरानी गरिरहनुभएको हुन्छ, तेरो हृदय, तेरा सोच र विचारहरूको छानबिन गरिरहनुभएको हुन्छ, तैँले कसरी सोच्छस् र तैँले कसरी कार्य गर्नेछस् भनेर हेरिरहनुभएको हुन्छ। यदि तँ हेलचेक्र्याइँ गर्ने व्यक्ति होस्—जो परमेश्‍वरको मार्ग, उहाँका वचनहरू वा सत्यताप्रति कहिल्यै गम्भीर भएको छैन भने—परमेश्‍वरले तेरा लागि खडा गर्ने वातावरणहरूमा उहाँले हासिल गर्न चाहनुहुने कुरा वा तँबाट उहाँले गर्ने मागहरूबारे तँ सचेत हुनेछैनस् वा तैँले कुनै ध्यान दिनेछैनस्। न त तैँले आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र कामकुराहरू के-कसरी सत्यता वा परमेश्‍वरका अभिप्रायहरूसँग सम्बन्धित छन् भन्‍ने कुरा नै जान्दछस्। तैँले यस्ता बारम्‍बार दोहोरिने परिस्थितिहरू र बारम्‍बार दोहोरिने परीक्षाहरू सामना गरेपछि, परमेश्‍वरले तँमा कुनै नतिजा नदेख्‍नुभएपछि, उहाँ कसरी कार्य गर्नुहुन्छ? बारम्‍बार परीक्षाहरू सामना गरेपछि, तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई नै महान्‌ भनेर सम्मान गरेको छैनस्, न त तैँले परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका परिस्थितिहरूलाई गम्भीरतापूर्वक लिएर परमेश्‍वरबाट आएका परीक्षाहरू र जाँचहरू नै मानेको छस्। बरु, एकपछि अर्को गरी, तैँले परमेश्‍वरले तँलाई प्रदान गरेका अवसरहरू पन्छाएको छस्, तिनीहरूलाई बारम्बार उम्केर जान दिएको छस्। के यो मानिसहरूले प्रदर्शन गर्ने चरम विद्रोह होइन र? (हो।) के यसको कारण परमेश्‍वरलाई चोट पुग्‍नेछ? (पुग्‍नेछ।) गलत, परमेश्‍वरले चोट महसुस गर्नुहुनेछैन! मैले यस्तो कुरा भनेको सुनेर तिमीहरू एकपल्ट फेरि चकित भएका छौ। तिमीहरूले यस्तो सोचिरहेका हुन सक्छौ, “के परमेश्‍वर सधैँ चोट महसुस गर्नुहुन्छ भनेर यसअघि भनिएको थिएन र? के त्यसोभए परमेश्‍वरले चोट महसुस गर्नुहुनेछैन त? त्यसोभए परमेश्‍वर कहिले चोट महसुस गर्नुहुन्छ त?” छोटकरीमा भन्दा, परमेश्‍वरले यस परिस्थितिमा चोट महसुस गर्नुहुनेछैन। त्यसोभए, माथि बताइएको खालको व्यवहारप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? जब मानिसहरू परमेश्‍वरले तिनीहरूलाई पठाएका परीक्षा र जाँचहरू पन्छाउँछन् अनि जब तिनीहरू तीबाट पछि हट्छन्, तब त्यस्ता व्यक्तिहरूप्रति परमेश्‍वरसँग एउटै मनोवृत्ति हुन्छ। त्यो कस्तो मनोवृत्ति हो? परमेश्‍वर त्यस प्रकारको व्यक्तिलाई हृदयभित्रदेखि तिरस्कार गर्नुहुन्छ। “तिरस्कार” शब्दको अर्थ दुई तहको छ। म यसलाई कसरी आफ्नो दृष्टिकोणबाट व्याख्या गरूँ? “तिरस्कार” शब्दले गहिरो घृणा र घिनलाई जनाउँछ। यसको अर्को तहको अर्थ के हो? त्यो कुनै कुरा त्याग्नुलाई जनाउने पक्ष हो। तिमीहरू सबैलाई “त्याग गर्नु” भनेको के हो थाहा छ, होइन र? सङ्क्षेपमा भन्दा, “तिरस्कार” शब्दले त्यस्तो तरिकामा व्यवहार गर्ने मानिसहरूप्रति परमेश्‍वरको अन्तिम प्रतिक्रिया र मनोवृत्तिको प्रतिनिधित्व गर्छ; यो तिनीहरूप्रतिको चरम घृणा र अरुचि हो र यसर्थ तिनीहरूलाई त्यागिने निर्णयमा पुगिन्छ। यो त कहिल्यै परमेश्‍वरको मार्ग नपछ्याएको र कहिल्यै परमेश्‍वरको डर नमानेको अनि दुष्टताबाट अलग नबसेको व्यक्तिप्रति परमेश्‍वरले गर्ने अन्तिम निर्णय हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

४२४. परमेश्‍वरप्रतिको अय्यूबको डर र समर्पण मानवजातिका लागि एउटा उदाहरण हो, र तिनको सिद्धता र सत्यनिष्ठा मानिसमा हुनैपर्ने मानवताको चरम सीमा थिए। तिनले परमेश्‍वरलाई नदेखेका भए पनि, तिनले परमेश्‍वर साँच्‍चै नै हुनुहुन्छ भनी अनुभूत गरे, र यो अनुभूतिकै कारण तिनले परमेश्‍वरको डर माने, र परमेश्‍वरप्रतिको डरको कारण तिनी परमेश्‍वरप्रति समर्पित हुन सक्षम भए। तिनले आफूसँग भएका सबै थोक परमेश्‍वरले लान पाउनेगरी उहाँलाई पूर्ण स्वतन्त्रता दिए, तैपनि तिनले गुनासो गरेनन्, र परमेश्‍वरसामु घोप्टो परे र उहाँलाई भने कि, यही क्षणमा, यदि परमेश्‍वरले तिनको देह लिनुभयो भने पनि तिनले कुनै गुनासो नगरी खुसीसाथ उहाँलाई लिन दिनेथिए। तिनको सम्पूर्ण आचरण तिनको सिद्ध र सत्यनिष्ठ मानवताको उपज थियो। भन्‍नुको अर्थ, तिनको निर्दोषता, इमानदारी र दयाको परिणामस्वरूप, अय्यूबले आफूले अनुभूति गरेको र थाहा पाएको परमेश्‍वरको अस्तित्वमा दृढ विश्‍वास गरे। यही जगमा टेकेर तिनले आफैतर्फ मागहरू तेर्साए अनि परमेश्‍वरले तिनलाई दिनुभएको मार्गदर्शन र यावत् थोकमाझ तिनले देखेका परमेश्‍वरका कार्यहरूअनुसार परमेश्‍वरसामु आफ्नो सोचाइ, व्यवहार, आचरण र कार्य सिद्धान्तहरूलाई मानकीकृत गरे। समय बित्दै जाँदा, तिनका अनुभवहरूले गर्दा तिनमा परमेश्‍वरप्रति साँचो र वास्तविक डर उत्पन्‍न भयो र तिनी दुष्टताबाट अलग बस्‍ने भए। अय्यूब जुन निष्ठामा दृढ बसेका थिए त्यसको स्रोत यही थियो। अय्यूबमा इमानदार, निर्दोष र दयालु मानवता थियो, र तिनीसँग परमेश्‍वरको डर मान्‍ने, परमेश्‍वरप्रति समर्पित हुने र दुष्टताबाट अलग बस्‍ने वास्तविक अनुभव थियो, साथै “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ” भन्‍ने ज्ञान पनि थियो। यी कुराहरूका कारणले गर्दा मात्र तिनी शैतानका त्यस्ता दुर्भावपूर्ण आक्रमणहरूमाझ आफ्नो गवाहीमा दृढ रहन सकेका थिए, र तिनै कुराका कारणले गर्दा मात्रै तिनले आफूमाथि परमेश्‍वरका परीक्षाहरू आइपर्दा परमेश्‍वरलाई निराश नपार्न र सन्तोषजनक जबाफ दिन सके।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

४२५. अय्यूबले परमेश्‍वरको अनुहार देखेका वा परमेश्‍वरले बोल्नुभएका वचनहरू सुनेका थिएनन्, व्यक्तिगत रूपमा तिनले परमेश्‍वरको कामको अनुभव गर्ने त कुरै नगरौं। यद्यपि तिनका परीक्षाहरूको समयमा परमेश्‍वरप्रतिको तिनको भय र गवाहीलाई सबैले देखे, र ती कुरालाई परमेश्‍वरले मन पराउनुभयो, ती कुराप्रति उहाँ प्रसन्‍न हुनुभयो र ती कुरालाई उहाँले प्रशंसा गर्नुभयो, र मानिसहरूले तिनको ईर्ष्या गरे, र सराहना गरे, र त्योभन्दा पनि बढी तिनीहरूले तिनको प्रशंसा गरे। तिनको जीवनमा महान् वा असाधारण कुरा केही पनि थिएन: एउटा सामान्य व्यक्तिले जस्तै तिनले सामान्य जीवन जिउँथे, बिहान सूर्य उदाउँदा काम गर्न बाहिर जान्थे र सूर्य अस्ताएपछि आराम गर्न घर फर्कन्थे। फरक यति मात्र हो कि तिनको जीवनका अति सामान्य धेरै दशकहरूमा, तिनले परमेश्‍वरको मार्गबारे अन्तर्दृष्टि प्राप्त गरे, र अन्य कुनै व्यक्तिले कहिल्यै थाहा नपाएको परमेश्‍वरको महान् शक्ति र सार्वभौमिकताबारे थाहा पाए र बुझे। तिनी कुनै साधारण व्यक्तिभन्दा चतुर थिएनन्, तिनको जीवन खासै कठोर थिएन, र यसबाहेक तिनीसँग कुनै विशेष सीप पनि थिएन। तर तिनमा यस्तो व्यक्तित्व थियो जुन इमानदार, दयालु र सोझो थियो, यस्तो व्यक्तित्व जसले निष्पक्षता, धार्मिकता र सकारात्मक कुराहरू मन पराउँथ्यो—यस्ता कुनै पनि कुरा साधारण मानिसहरूमा हुँदैनन्। तिनले प्रेम र घृणाबीच भिन्‍नता छुट्याउँथे, तिनमा न्यायको बोध थियो, तिनी नझुक्‍ने र दृढ थिए, र आफ्नो सोचविचारमा विस्तृत सावधानी आपनाउँथे। यसरी पृथ्वीमा बितेको आफ्नो साधारण समयमा तिनले परमेश्‍वरले गर्नुभएका सबै असाधारण कामहरू देखे, र परमेश्‍वरको महानता, पवित्रता र धार्मिकता देखे, र मानिसका निम्ति परमेश्‍वरको चासो, अनुग्रह र सुरक्षा देखे, र सर्वोच्‍च परमेश्‍वरको सम्माननीयता र अख्तियार देखे। कुनै पनि सामान्य मानिसले प्राप्त गर्न नसक्‍ने यी कुराहरू अय्यूबले प्राप्त गर्न सक्‍नुको पहिलो कारण तिनमा एउटा शुद्ध हृदय हुनु, र तिनको हृदय परमेश्‍वरको स्वामित्वमा र सृष्टिकर्ताद्वारा डोर्‍याइएको अवस्थामा हुनु थियो। दोस्रो कारण तिनको खोजी थियो: तिनले निर्दोष र सिद्ध हुनेबारेमा खोजी गरे, र स्वर्गको इच्छा पालन गर्ने, परमेश्‍वरद्वारा प्रेम गरिएको र दुष्टताबाट अलग बस्‍ने व्यक्ति बन्‍नेबारेमा खोजी गरे। परमेश्‍वरलाई नदेखी वा परमेश्‍वरले बोल्नुभएको नसुनी अय्यूबसँग यी कुराहरू थिए र तिनले यी कुराहरू पछ्याए; तिनले परमेश्‍वरलाई कहिल्यै नदेखेका भए पनि, परमेश्‍वरले कुन माध्यमद्वारा सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भनेर तिनले जानेका थिए, र परमेश्‍वरले कुन बुद्धिद्वारा यसो गर्नुहुन्छ भनेर तिनले एउटा अनुभूति प्राप्त गरे। अय्यूबले परमेश्‍वरद्वारा बोलिएका वचनहरू कहिल्यै नसुनेका भए पनि, तिनलाई मानिसलाई इनाम दिने र मानिसबाट फिर्ता लिने कार्यहरू सबै परमेश्‍वरबाटै हुन्छन् भन्ने थाहा थियो। तिनको जीवनका वर्षहरू कुनै साधारण व्यक्तिको भन्दा कुनै फरक नभए पनि, तिनले आफ्नो जीवनको मामुलीपनलाई यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताबारे तिनको ज्ञानमा असर गर्न, वा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग पछ्याउनमा असर गर्न दिएनन्। तिनको नजरमा, यावत् थोकको सञ्चालनलाई शासित गर्ने नियमहरू परमेश्‍वरका कार्यहरूले भरिएका थिए, र व्यक्तिको जीवनको कुनै पनि पक्षमा परमेश्‍वरको सार्वभौमिकता देख्‍न सकिन्थ्यो। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनी परमेश्‍वरका कार्यहरू सर्वव्यापी रहेको अनुभव गर्न सक्थे, र तिनको सामान्य जीवनका दिनहरूमा, तिनी आफ्नो जीवनको हरेक कुनामा परमेश्‍वरका असाधारण र अचम्मका कार्यहरू देख्‍न र अनुभूत गर्न सक्थे, र तिनी परमेश्‍वरका अचम्मका प्रबन्धहरू देख्‍न सक्थे। परमेश्‍वरको गुप्तता र मौनताले अय्यूबलाई परमेश्‍वरका कार्यहरू अनुभूत गर्नमा बाधा दिएनन्, न त ती कुराले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तिनको ज्ञानलाई नै असर गरे। तिनको जीवन यावत् थोकमाझ लुकेर रहनुभएको परमेश्‍वरका सार्वभौमिकता र प्रबन्धहरूसम्बन्धी आफ्नो सामान्य जीवनमा आफैले भोगेको व्यक्तिगत अनुभव थियो। यसबाहेक, तिनको सामान्य जीवनको दौरान, तिनले परमेश्‍वरको हृदयको आवाज र परमेश्‍वरका वचनहरू ध्यानपूर्वक सुने र बुझे—जुन कुरा, उहाँ यावत् थोकमाझ मौन रहनुभए पनि, यावत् थोकको सञ्चालनलाई शासित गर्ने नियमहरूमाथि उहाँको सार्वभौमिकतामार्फत व्यक्त हुन्थे। त्यसकारण, तिमीहरू देख्‍न सक्छौ कि यदि मानवजातिमा अय्यूबको जस्तै मानवता र पछ्याइ छन् भने तिनीहरूले पनि अय्यूबले जस्तै अनुभूति र ज्ञान प्राप्त गर्न सक्छन्, अनि यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताबारे अय्यूबले जस्तै बुझाइ र ज्ञान हासिल गर्न सक्छन्। परमेश्‍वर अय्यूबको सामु देखा पर्नुभएको वा तिनीसँग बोल्नुभएको थिएन, तर अय्यूब सिद्ध र सत्यनिष्ठ हुन, अनि परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्षम थिए। अर्को शब्दमा भन्दा, परमेश्‍वर मानिससामु देखा पर्नुभएन वा उहाँले मानिससँग बोल्नुभएन भने पनि, मानिसले परमेश्‍वरको अस्तित्व, महान् शक्ति र अख्तियार अनुभव गर्नका लागि यावत् थोकमाझ परमेश्‍वरका कार्यहरू र यावत् थोकमाथि उहाँको सार्वभौमिकता नै पर्याप्त हुन्छन्, र मानिसलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग पछ्याउन लगाउनका लागि परमेश्‍वरको महान् शक्ति र अख्तियार नै पर्याप्त हुन्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

४२६. “परमेश्‍वरको डर मान्नु र दुष्‍टताबाट अलग बस्नु” र परमेश्‍वरलाई चिन्नु असङ्ख्य धागोद्वारा अटुट रूपमा जोडिएका छन्, र ती कुराबीचको सम्बन्ध आफैमा प्रस्ट छ। यदि तँ दुष्‍टताबाट अलग बस्न चाहन्छस् भने, तँसँग पहिला परमेश्‍वरको साँचो डर हुनैपर्छ; यदि तँ परमेश्‍वरको साँचो डर मान्‍न चाहन्छस् भने, तँसँग पहिला परमेश्‍वरको साँचो ज्ञान हुनैपर्छ; यदि तँ परमेश्‍वरको ज्ञान प्राप्‍त गर्न चाहन्छस् भने, तैँले पहिला परमेश्‍वरका वचनहरू अनुभव गर्न, परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न, परमेश्‍वरको ताडना र अनुशासन, उहाँको सजाय र न्याय अनुभव गर्न जरुरी छ; यदि तँ परमेश्‍वरका वचनहरू अनुभव गर्न चाहन्छस् भने, तँ पहिला परमेश्‍वरका वचनहरूसँग आमनेसामने आउन, परमेश्‍वरसँग आमनेसामने आउन जरुरी छ, र तैँले परमेश्‍वरलाई मानिस, घटना र कामकुराहरू, साथै सबै प्रकारका वातावरण खडा गर्न अनुरोध गर्न जरुरी छ, ताकि तैँले उहाँका वचनहरू अनुभव गर्ने अवसरहरू पाउन सकेस्; यदि तँ परमेश्‍वर र उहाँका वचनहरूसँग आमनेसामने आउन चाहन्छस् भने, तँसँग पहिला सरल र इमानदार हृदय, सत्यतालाई स्वीकार गर्ने मनोवृत्ति, कष्ट सहने सङ्कल्प, दुष्‍टताबाट अलग बस्‍ने दृढता र साहस, अनि साँचो सृजित प्राणी बन्‍ने चाहना हुनैपर्छ…। यसरी, चरणबद्ध तरिकाले अघि बढ्दै, तँ परमेश्‍वरसँग झन्-झन् नजिकिनेछस्, तेरो हृदय अझ शुद्ध हुँदै जानेछ, र तैँले परमेश्‍वरलाई चिन्न थालेपछि तेरो जीवन र तँ जीवित हुनुको मूल्य झन् बढी अर्थपूर्ण र झन् बढी उज्‍ज्‍वल हुँदै जानेछ। एक दिन आउनेछ जुन दिन तैँले सृष्‍टिकर्ता अबउप्रान्त प्रहेलिका हुनुहुन्‍न, सृष्‍टिकर्ता तँबाट कहिल्यै लुक्‍नुभएको छैन, सृष्‍टिकर्ताले तँबाट आफ्नो मुहार कहिल्यै लुकाउनुभएको छैन, सृष्‍टिकर्ता तँदेखि टाढा हुनुहुन्‍न, सृष्‍टिकर्ता उप्रान्त तैँले दिन-रात तृष्णा मात्रै गर्न सक्‍ने तर तेरा इन्द्रियहरूले बोध गर्न नसक्‍ने जन हुनुहुन्‍न, उहाँ त तेरो छेउमा साँच्‍चिकै र वास्तविक रूपमा तँलाई पहरा दिँदै हुनुहुन्छ, उहाँ तेरो जीवनलाई आपूर्ति गर्दै हुनुहुन्छ, र तेरो नियतिलाई नियन्त्रण गर्दै हुनुहुन्छ भनी महसुस गर्नेछस्। तैँले उहाँ टाढा क्षितिजमा हुनुहुन्‍न, न त उहाँले आफैलाई उच्‍च बादलहरूमा नै लुकाउनुभएको छ, उहाँ त तेरो छेउमै हुनुहुन्छ, उहाँ तेरा सबै कुरामाथि सार्वभौमिकता राख्दै हुनुहुन्छ, र उहाँ नै तेरो सबै कुरा र एक मात्र हुनुहुन्छ भनेर महसुस गर्नेछस्। यस्तो परमेश्‍वरले तँलाई हृदयदेखि उहाँलाई प्रेम गर्ने र सम्मान गर्ने, उहाँप्रति लगाव महसुस गर्ने, उहाँसँग नजिक हुने, उहाँको प्रशंसा गर्ने, उहाँलाई गुमाउन डर मान्‍ने, र अबदेखि उहाँलाई त्याग्न, उहाँविरुद्ध विद्रोह गर्न, वा उहाँलाई छल्‍न वा टाढा राख्‍न अनिच्छुक हुने तुल्याउनुहुन्छ। तँ उहाँलाई ख्याल गर्न मात्र चाहन्छस्, तँ उहाँप्रति समर्पित हुन, उहाँले दिनुभएका सबै थोकको पैँचो तिर्न, र उहाँको प्रभुत्वप्रति समर्पित हुन मात्र चाहन्छस्। तँ उहाँद्वारा मार्गदर्शित हुन, उहाँबाट भरणपोषण पाउन, र उहाँको निगरानी र सुरक्षामा रहन इन्कार गर्न छोड्छस्, तँसम्बन्धी उहाँको सार्वभौमिकता र प्रबन्धहरूलाई प्रतिरोध गर्न छोड्छस्। तँ उहाँलाई पछ्याउन, उहाँलाई साथ दिन मात्र इच्छा गर्छस्; तँ उहाँलाई तेरो एक मात्र जीवनका रूपमा स्वीकार गर्ने, उहाँलाई तेरो एक मात्र प्रभु, तेरो एक मात्र परमेश्‍वरका रूपमा स्वीकार गर्ने मात्र इच्छा गर्छस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

४२७. जब मानिसहरूले परमेश्‍वरको कामलाई अनुभव गर्छन्, तब उहाँ सम्‍बन्धी तिनीहरूको पहिलो ज्ञान भनेको उहाँ बुझ्‍न नसकिने, बुद्धिमानी, र आश्चर्यको हुनुहुन्छ भन्‍ने हुन्छ, र तिनीहरू अचेत रूपमा उहाँको डर मान्छन् र उहाँले गर्नुहुने कामको रहस्यलाई अनुभव गर्छन्, जुन मानव मनको पहुँचभन्दा बाहिर छ। मानिसहरूले उहाँका मापदण्डहरूलाई पूरा गर्न, उहाँका अभिप्राय पूरा गर्न सकौं भन्‍ने मात्रै चाहन्छन्; तिनीहरूले उहाँलाई नाघ्‍न चाहँदैनन्, किनभने उहाँले गर्नुहुने काम मानिसको सोचाइ र कल्‍पनाभन्दा बाहिर जान्छ र त्यसलाई उहाँको सट्टामा मानिसले गर्न सक्दैन। मानिस स्वयम्‌ले समेत उसका अपर्याप्तताहरूलाई जान्दैन, तैपनि परमेश्‍वरले नयाँ मार्ग ल्याउनुभएको छ र मानिसलाई अझै नयाँ र अझै सुन्दर संसारमा ल्याउनको लागि आउनुभएको छ, त्यसकारण मानवजातिले प्रगति गरेको छ र नयाँ सुरुवात गरेको छ। मानिसहरूले परमेश्‍वरको लागि अनुभव गर्ने भनेका सराहना होइन, अथवा, सराहना मात्रै होइन। तिनीहरूको सबैभन्दा गहन अनुभव भनेको डर र प्रेम हो; तिनीहरूले परमेश्‍वर वास्तवमै आश्चर्यको हुनुहुन्छ भन्‍ने अनुभव गर्छन्। उहाँले मानिसले गर्न नसक्‍ने काम गर्नुहुन्छ र मानिसले भन्‍न नसक्‍ने कुराहरू भन्नुहुन्छ। परमेश्‍वरको कामलाई अनुभव गरेका मानिसहरूसँग सधैँ वर्णन गर्न नसकिने अनुभूतिहरू हुन्छन्। पर्याप्त रूपमा गहन अनुभव पाएका मानिसहरूले परमेश्‍वरको प्रेमलाई बुझ्‍न सक्छन्; तिनीहरूले उहाँको प्रेमिलो स्वभावलाई अनुभव गर्न सक्छन्, उहाँ अत्यन्तै ज्ञानी हुनुहुन्छ, अत्यन्तै आश्चर्यका हुनुहुन्छ भन्‍ने अनुभव गर्न सक्छन्, र त्यसकारण तिनीहरूका बीचमा असीमित शक्ति पैदा हुन्छ। यो त्रास वा बेलाबखतको प्रेम र आदर होइन, बरु यो त मानिसप्रतिको परमेश्‍वरको करुणा र ऊप्रतिको सहनशीलताको गहन अनुभूति हो। तैपनि, उहाँको दण्ड र न्यायलाई अनुभव गरिसकेका मानिसहरूले उहाँको प्रतापलाई र उहाँले कुनै पनि अपराधहरूलाई सहनुहुन्‍न भन्‍ने कुरालाई अनुभूति गर्छन्। उहाँको धेरै काम अनुभव गरिसकेका मानिसहरूले समेत उहाँलाई बुझ्‍न सक्दैनन्; साँचो रूपमा उहाँको डर मान्ने सबैले उहाँको काम मानिसहरूको धारणाहरू अनुरूप छैन बरु सधैँ तिनीहरूका धारणाहरू विरुद्ध जान्छ भन्‍ने कुरा जान्दछन्। मानिसहरूले उहाँलाई पूर्ण रूपमा सराहना गर्नु वा उहाँलाई देखावटी समर्पणता दिनु आवश्यकता छैन; बरु, तिनीहरूले साँचो डर र साँचो समर्पणता हासिल गर्नुपर्छ। उहाँको धेरैजसो काममा, साँचो अनुभव सहितका जोसुकैले उहाँको डर मान्ने हृदय विकास गर्छन्, जुन सराहनाभन्दा उच्‍च छ। उहाँको दण्ड र न्याय दिने कार्यको कारण मानिसहरूले उहाँको स्वभावलाई देखेका छन्, त्यसकारण तिनीहरूमा उहाँको डर मान्नेहृदय हुन्छ। परमेश्‍वरको डर मानिनुपर्छ र उहाँप्रति समर्पित हुनुपर्छ, किनभने उहाँको सारत्व र उहाँको स्वभाव सृष्टि गरिएका प्राणीहरूको जस्तो छैन बरु ती त सृष्टि गरिएका प्राणीहरूको भन्दा उच्‍च छन्। परमेश्‍वर स्वअस्तित्वमा हुनुहुन्छ र अनन्‍त हुनुहुन्छ, उहाँलाई सृष्टि गरिएको होइन, र परमेश्‍वर मात्र डर र समर्पणको योग्य हुनुहुन्छ; यसको लागि मानिस योग्य छैन। त्यसकारण, उहाँको कार्यलाई अनुभव गरिसकेकाहरू र उहाँलाई साँचो रूपमा चिनेकाहरूले उहाँको डर मान्ने हृदय विकास गर्छन्। तैपनि, उहाँसँग सम्‍बन्धित आफ्‍ना धारणाहरूलाई त्याग्‍न नसक्‍नेहरूसँग—उहाँलाई परमेश्‍वरको रूपमा लिँदै-नलिनेहरूसँग—उहाँको डर मान्ने हुँदैन, र तिनीहरूले उहाँलाई पछ्याए तापनि, तिनीहरू जितिएका हुँदैनन्; तिनीहरूको प्रकृति नै विद्रोही हुन्छ। यसरी काम गरेर उहाँले के हासिल गर्न चाहनुहुन्छ भने सृष्टि गरिएका सबै प्राणीहरूमा सृष्टिकर्ताको डर मान्ने हृदय होस्, तिनीहरूले उहाँको आराधना गरून्, र निःशर्त रूपमा तिनीहरू उहाँको प्रभुत्वमा समर्पित होऊन्। उहाँको सबै कामले हासिल गर्नुपर्ने अन्तिम परिणाम यही हो। यदि त्यस्तो कार्यलाई अनुभव गरिसकेका मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन भने, र यदि तिनीहरूको विगतको अवज्ञा परिवर्तन नै हुँदैन भने, तिनीहरूलाई निश्‍चय नै हटाइन्छ। यदि परमेश्‍वरप्रति व्यक्तिको मनोवृत्ति भनेको उहाँको सराहना गर्ने वा उहाँलाई टाढैबाट आदर गर्ने, र उहाँलाई अलिकति पनि प्रेम नगर्ने किसिमको छ भने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय नभएको व्यक्ति आइपुगेको परिणाम यही हो, र त्यस व्यक्तिमा सिद्ध पारिनको लागि चाहिने शर्तहरूको कमी हुन्छ। यदि त्यति धेरै कामले व्यक्तिको साँचो प्रेम प्राप्त गर्न सक्दैन भने, त्यस व्यक्तिले परमेश्‍वरलाई प्राप्त गरेको छैन र उसले सच्‍चा रूपमा सत्यतालाई पछ्याउँदैन। परमेश्‍वरलाई प्रेम नगर्ने व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, तसर्थ उसले परमेश्‍वरलाई प्राप्त गर्न सक्दैन, परमेश्‍वरको स्वीकृती प्राप्त गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूले पवित्र आत्‍माको कार्यलाई जसरी अनुभव गरे तापनि, र तिनीहरूले जसरी न्यायको अनुभव गरे तापनि, तिनीहरू परमेश्‍वरको डर मान्न सक्दैनन्। यी त्यस्ता मानिसहरू हुन् जसको प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन र जोसँग अत्यन्तै घृणास्पद स्वभाव हुन्छ। परमेश्‍वरको डर मान्ने हृदय नभएका सबैलाई हटाइनुपर्छ, तिनीहरूलाई दण्डका पात्रहरू बनाइनुपर्छ, र दुष्ट काम गर्नेहरूलाई जस्तै दण्ड दिइनुपर्छ, अधर्मी कुराहरू गर्नेहरूलाई भन्दा बढी कष्ट दिइनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

अघिल्लो: छ. आफ्‍नो कर्तव्य पर्‍याप्त रूपले कसरी पूरा गर्ने सो सम्बन्धमा

अर्को: झ. विश्‍वासमा आफ्‍नो मार्ग कसरी छनौट गर्ने सो सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्