सृष्टि गरिएको प्राणीको कर्तव्य राम्रोसित निभाउँदा मात्र जिउनुको मूल्य हुन्छ

तिमीहरू सबै अहिले आफ्नो कर्तव्य निर्वाह गर्न व्यस्त छौ, परमेश्‍वको वचन र आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएका कामबारे प्रचारप्रसार गर्न र गवाही दिन तालिम लिइरहेका छौ। परमेश्‍वरको लागि गवाही दिन चाहे फिल्म बनाउने होस् वा भजन गाउने, के तिमीहरूले निर्वाह गरेका कर्तव्यहरू भ्रष्ट मानवजातिको लागि मूल्यवान छन्? (छन्।) तिनको मूल्य कहाँनेर छ? तिनको मूल्य परमेश्‍वरले व्यक्त गर्नुभएका यी वचनहरू र सत्यता बुझिसकेपछि मानिसहरूलाई सही मार्ग हिँड्न मदत गर्नुमा छ, र मानिसहरूलाई तिनीहरू यस सृष्टिका हिस्सा हुन् र तिनीहरू सृष्टिकर्तासामु आउनुपर्छ भनेर बुझ्न मदत गर्नुमा छ। धेरै मानिसहरू आफूले सामना गर्ने धेरैजसो कुराहरू देख्न र बुझ्न असमर्थ हुन्छन्। तिनीहरूले आफू असहाय अनि जीवन निरर्थक र खाली रहेको महसुस गर्छन्, र तिनीहरूमा कुनै आत्मिक भरणपोषण हुँदैन। यो सबै कुराको स्रोत के हो? यी सबै कुराको उत्तर परमेश्‍वरको वचनमा रहेको छ। यतिका वर्षसम्म तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेका छौ, तिमीहरू सबैले उहाँका वचनहरू धेरै पढेका छौ र केही न केही सत्यता बुझेका छौ। त्यसैले तिमीहरूले पूरा गर्नुपर्ने कर्तव्य भनेको परमेश्‍वरको वचन प्रयोग गरी तिनीहरूलाई अन्तर्दृष्टि प्रदान गरेर तिनीहरूका गलत सोच र विचारहरू समाधान गर्नु, तिनीहरूलाई परमेश्‍वरको वचनभित्र रहेका सत्यता बुझ्न र यस संसारको अँध्यारो र खराब कुराहरू स्पष्ट देख्न सक्षम बनाउनु, र साथै तिनीहरूलाई साँचो मार्ग खोज्न, सृष्टिकर्ता पत्ता लगाउन, परमेश्‍वरको आवाज सुन्न र उहाँका वचनहरू पढ्न मदत गर्नु हो। यसबाट तिनीहरूलाई केही सत्यता बोध गर्न र परमेश्‍वरले गरिरहनुभएको मुक्तिको कार्य देख्न, अनि उहाँतर्फ फर्कन र उहाँको कार्य स्वीकार गर्न मदत मिल्नेछ। तिमीहरूले गर्नुपर्ने कर्तव्य यही हो। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि कति धेरै सत्यता बुझेका छौ र कति धेरै समस्या समाधान गरेका छौ, त्यो तिमीहरू सबैलाई हृदयदेखि नै थाहा छ। आजकल, धार्मिक र अविश्‍वासी दुवै वर्गका यस्ता धेरै मनिसहरू छन् जो साँचो मार्ग र मुक्तिदाता खोजिरहेका छन्। तिनीहरूलाई मानिसहरू किन जिउँछन् र मर्छन्, व्यक्तिको जीवनको मूल्य र अर्थ के हो, वा मानिसहरू कहाँबाट आउँछन् र तिनीहरू कहाँ गइरहेका छन् जस्ता खासखास प्रश्‍नहरूको उत्तर थाहा हुँदैन। तिनीहरूले तिमीहरू आएर सुसमचार प्रचार गरौला र परमेश्‍वरको गवाही दिऔला अनि तिनीहरूलाई सृष्टिकर्तासामु लैजाउला भनेर पर्खिरहेका हुन्छन्—यही कारणले गर्दा तिमीहरूले अहिले निर्वाह गरिरहेको कर्तव्य धेरै अर्थपूर्ण छ! एक अर्थमा, तिमीहरू आफैले परमेश्‍वरको कार्य अनुभव गरिरहेका छौ, र अर्को अर्थमा, अरूलाई परमेश्‍वरको कामको गवाही पनि दिइरहेका छौ। यसको अनुभव जति धेरै गर्‍यो, त्यति नै धेरै तिमीहरूले सत्यता बुझ्नु र सत्यताद्वारा सुसज्जित हुनु, अनि त्यति नै धेरै काम गर्नु जरुरी छ। परमेश्‍वरको लागि यो मानिसहरूलाई सिद्ध पार्ने एउटा उत्कृष्ट अवसर हो। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, जुनसुकै कठिनाइहरू सामान गर्नुपरे पनि, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्ने वा परमेश्‍वरतर्फ हेर्ने गर्नुपर्छ; जब सबैले परमेश्‍वरको वचन पढ्छन् र मिलेर अझ धेरै सत्यता खोज्छन्, तब समाधान गर्न नसकिने कुनै समस्या नै हुँदैन। परमेश्‍वको वचनमा तिमीहरूले बुझ्न आवश्यक धेरै सत्यताहरू छन्। त्यसैले तिमीहरूले अक्सर ती सत्यताबारे चिन्तनमनन र सङ्गति गर्नुपर्छ, त्यसपछि तिमीहरूसँग पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति हुनेछ। परमेश्‍वरमाथि भरोसा राखेर समाधान गर्न नसकिने कुनै समस्या नै छैन, र यसबारे तिमीहरूमा विश्‍वास हुनैपर्छ।

यो मानवजाति सृष्टि गर्नुभएपछि, परमेश्‍वरले व्यवस्थापन योजना तयार गर्नुभयो। विगतका हजारौं वर्षको अवधिमा, यो मानवजातिले सृष्टिकर्ताको गवाही दिन कुनै ठूलो जिम्‍मेवारी वा कार्यभार उठाएन, र परमेश्‍वरले मानवजातिमाझ गर्नुभएको काम पनि तुलनात्मक रूपमा गुप्त र सरल थियो। तर आखिरी दिनहरूमा, अवस्था फरक छ। सृष्टिकर्ताले वचनहरू बोल्न सुरु गर्नुभएको छ। उहाँले कैयौँ सत्यता व्यक्त गर्नुभएको छ र उहाँको व्यवस्थापन योजनाको रहस्य खोल्नुभएको छ, तर भ्रष्ट मानवजाति मन्दबुद्धिको र चेतनाहीन छ: मानिसहरूले देख्छन् तर चिन्दैनन्, र सुन्छन् तर बुझ्दैनन्, मानौँ तिनीहरूको हृदय पत्थर बनिसकेको छ। त्यसकारण, तिमीहरू सबैले ठूलो जिम्‍मेवारी वहन गर्छौ! अनि यसमा त्यस्तो ठूलोचाहिँ के छ त? यसमा परमेश्‍वरले व्यक्त गर्नुभएका वचन र सत्यताहरू फैलाउनुबाहेक, तिमीहरूले सृष्टि गरिएको हरेक मान्छेको अघि परमेश्‍वरको गवाही दिनु र तिमीहरूले परमेश्‍वरको सुसमाचार सुनेको हरेक सृष्टि गरिएको मान्छेलाई सृष्टिकर्ताको अघि ल्याउनु अझै महत्त्वपूर्ण छ, ताकि तिनीहरूले परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुको महत्त्व बुझ्न सकून् र तिनीहरूले सृष्टि गरिएको मान्छेको रूपमा सृष्टिकर्ताकहाँ फर्केर आउनुपर्छ, उहाँका वाणीहरू सुन्‍नुपर्छ र उहाँले व्यक्त गर्नुभएका सबै सत्यताहरू स्विकार्नुपर्छ भनेर जान्‍न सकून्। यस तरिकाले हरेक मान्छेलाई सृष्टिकर्ताका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन लगाउन सकिन्छ। के यी नतिजाहरू परमेश्‍वरको वचनका केवल केही खण्ड पढेर हासिल गर्न सम्भव छ? मात्र केही भजन गाउन सिकेर यस्तो गर्न सम्भव छ? कामको एउटा पाटो मात्र गरेर यो सम्भव छ? अहँ, छैन। त्यसैले, यदि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नु छ भने, तिमीहरूले विभिन्न विधि र फरकफरक माध्यम प्रयोग गरी सृष्टिकर्ताको कार्य, उहाँको सार्वभौमिकता र बन्दोबस्तको गवाही दिनुपर्छ। यस तरिकाले, तिमीहरूले अझै बढी मानिसहरूलाई सृष्टिकर्तासामु ल्याउन र तिनीहरूलाई उहाँको सार्वभौमिकता र बन्दोबस्त स्विकार्दै तिनमा समर्पित हुन मदत गर्न सक्‍नेछौ। के यो ठूलो जिम्मेवारी होइन र? (यो ठूलो जिम्मेवारी हो।) त्यसोभए, तिमीहरूले आफ्नो कर्तव्यप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ? के अन्यौलमा रहनु ठीक हुन्छ? के परिस्थितिप्रति आँखा चिम्लेर बस्नु ठीक हुन्छ? के आधा मनले र झारातिरुवा शैलीले कामकुरा गर्नु ठीक हुन्छ? के आलटाल गर्दै र लापरवाही तरिकाले काम गर्नु ठीक हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए, तिमीहरूले के गर्नुपर्छ? (पूर्ण हृदयले काममा लाग्‍नुपर्छ।) तिमीहरूले आफूमा भएको सबै ऊर्जा, अनुभव र अन्तर्दृष्टि प्रयोग गरेर पूर्ण हृदयले काममा लाग्‍नुपर्छ। व्यक्तिले आफ्नो जीवनमा सबभन्दा सार्थक काम के गर्न सक्छ भनेर अविश्‍वासीहरूले बुझ्न सक्दैनन्, तर तिमीहरू यसबारे केही बुझ्छौ, हैन र? (हो।) परमेश्‍वरले तिमीहरूलाई जे सुम्पनुभएको छ त्यो स्विकार्नु र आफ्नो कार्यलक्ष्य पूरा गर्नु—महत्वपूर्ण कुराहरू यिनै हुन्। तिमीहरूले अहिले निर्वाह गरिरहेका कर्तव्यहरू मूल्यवान्‌ छन्! तैँले अहिले नै प्रभाव नदेख्न सक्छस्, र अहिले नै त्यसबाट राम्रा नतिजाहरू नपाउन सक्छस्, तर त्यसले फल दिन धेरै समय लाग्नेछैन। दीर्घकालमा, यदि यो कार्य राम्रोसँग गरेमा यसले मानवजातिमाथि पुर्‍याउने योगदान पैसाले मापन गर्न सकिनेछैन। यस्ता साँचा गवाहीहरू अरू कुनै पनि कुराभन्दा धेरै मूल्यवान्‌ र महत्त्वपूर्ण हुन्छन्, र अनन्तकालसम्म रहिरहनेछन्। यी कुराहरू परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिका असल कर्महरू हुन् र ती स्मरणयोग्य हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्नु, सत्यता पछ्याउनु र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुबाहेक मान्छेको जीवनका सबै कुरा खाली हुन्छ, र त्यो स्मरणयोग्य हुँदैन। तैँले धर्ती नै हल्लाउने खालको सबभन्दा ठूलो काम पूरा गरेको भए पनि, तँ चन्द्रमामै पुगेर फर्केको भए पनि, तैँले मानवजातिलाई केही लाभ वा मदत पुर्‍याउने वैज्ञानिक प्रगति नै गरेको भए पनि, त्यो व्यर्थ छ र त्यो सब नासिएर जानेछ। त्यस्तो एउटै कुरा कुन हो, जुन नासिएर जाँदैन? (परमेश्‍वरको वचन।) परमेश्‍वरको वचन, उहाँको गवाही, सृष्टिकर्ताको साक्षी दिने सबै गवाही तथा कार्यहरू, र मान्छेका असल कर्महरू नासिएर जाँदैनन्। यी कुराहरू सधैँ रहिरहनेछन् र यी धेरै मूल्यवान्‌ हुन्छन्। त्यसैले, आफ्ना सारा बन्धनहरू हटा, यो महान्‌ कार्य अघि बढा र आफूलाई कुनै पनि मानिस, घटना वा वस्तुले बाधित हुन नदे; इमानदारीपूर्वक आफूलाई परमेश्‍वरको लागि खर्च गर्‌, र आफ्ना सबै ऊर्जा र प्रयास आफ्नो कर्तव्य निर्वाह गर्न लगा। परमेश्‍वरले सबभन्दा धेरै आशिष् दिनुहुने कुरा नै यही हो र यसको लागि त जुनसुकै मात्राको कष्ट पनि सार्थक नै हुन्छ!

तँ अहिले परमेश्‍वरलाई पछ्याउँछस्, परमेश्‍वरको वचन सुन्छस् र सृष्टिकर्ताको आज्ञा स्विकार्छस्। कहिलेकाहीँ यो केही कठिन र थकाइलाग्दो हुन्छ, र कहिलेकाहीँ तैँले केही अपमान र शोधन भोग्छस्; तर यी राम्रा कुराहरू हुन्, खराब कुराहरू होइनन्। आखिरमा, तैँले के प्राप्त गर्नेछस्? तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्, र अन्त्यमा सृष्टिकर्ताले तँलाई गर्नुहुने अनुमोदन र समर्थन प्राप्त गर्नेछस्। परमेश्‍वर भन्नुहुन्छ, “तैँले मलाई पछ्याउनू र म तँलाई कृपा गर्छु, तँबाट म खुसी हुन्छु।” यदि परमेश्‍वरले उहाँको नजरमा तँ सृष्टि गरिएको प्राणी मात्र होस् भनेर भन्नुभयो भने, तँ व्यर्थमा जिइरहेको छैनस्, तँ उपयोगी छस्। परमेश्‍वरले यसरी स्विकार्नु निकै आश्‍चर्यजनक कुरा हो र यो सानोतिनो उपलब्धि होइन। यदि मानिसहरूले शैतानलाई पछ्याउँछन् भने, तिनीहरूले के प्राप्त गर्नेछन्? (विनाश।) विनाश गरिनुअघि ती मानिसहरू के बन्‍नेछन्? (तिनीहरू पिशाच बन्‍नेछन्।) ती मानिसहरू पिशाच बन्‍नेछन्। मानिसहरूले जतिसुकै धेरै सीप हासिल गरून्, जतिसुकै धेरै पैसा कमाऊन्, जतिसुकै धेरै प्रसिद्धि र सौभाग्य पाऊन्, जतिसुकै धेरै सांसारिक सुविधा भोगून्, र सांसारिक क्षेत्रमा जतिसुकै उच्च हैसियत बनाऊन्, तिनीहरू भित्रबाट त्यति नै धेरै भ्रष्ट, त्यति नै धेरै दुष्ट र फोहोरी, त्यति नै धेरै विद्रोही र पाखण्डी बन्‍नेछन्, र अन्त्यमा तिनीहरू जीवित भूत बन्‍नेछन्—तिनीहरू अमानव बन्‍नेछन्। यस्ता मानिसहरू सृष्टिकर्ताको नजरमा कस्ता देखिन्छन्? केवल “अमानव,” र के यति मात्र हो त? यस्ता व्यक्तिहरूप्रति सृष्टिकर्ताको हेराइ र मनोवृत्ति कस्तो रहन्छ? त्यो हेला, घृणा, तिरस्कार, अस्वीकार र अन्त्यमा श्राप, दण्ड र विनाशको मनोवृत्ति हुनेछ। मानिसहरू फरकफरक मार्गमा हिँड्छन् र तिनीहरूले फरकफरक परिणाम पाउँछन्। तिमीहरू कुन मार्ग रोज्छौ? (परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने।) परमेश्‍वरलाई पछ्याउने निर्णय गर्नु सही मार्ग रोज्नु हो: यो प्रकाशको मार्गमा हिँड्नु हो। यदि मानिसहरू सार्थक र अर्थपूर्ण जीवन जिउन, विवेक सफा राख्न र साँच्चै नै सृष्टिकर्तासामु र उहाँछेउ फर्कन चाहन्छन् भने, तिनीहरूले आफूलाई पूर्ण हृदयले समर्पित गर्नुपर्छ, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गरी परमेश्‍वरलाई सन्तुष्ट र महिमित तुल्याउनुपर्छ—तिनीहरू आधा-हृदयको हुनु हुँदैन। तैँले भन्नुपर्छ, “मेरो जीवनकाल र यस संसारमा, म सम्पत्ति जोड्ने, अरूभन्दा राम्रो देखिने, वा मेरा पूर्वजहरूको सम्मान बढाउने, आफ्ना सहकर्मीहरूमाझ श्रेष्ठता हासिल गर्ने वा सबैले उच्च रूपमा सोच्‍ने व्यक्ति बन्‍ने अपेक्षा गर्दिनँ—म यी कुराहरूको लागि झगडा गर्नेछैनँ। म त्यो मार्ग पछ्याउनेछैनँ। म केवल परमेश्‍वरलाई पछ्याउनेछु र मेरो जीवन, मेरो ऊर्जा, र मसँग भएका क्षमता, सीप र प्रतिभा सबै मेरो कर्तव्य निर्वाहमा लगाउनेछु, ती सबै परमेश्‍वरमा समर्पित गर्नेछु। यसदौरान, अरूले मलाई तिरस्कार गरे पनि र कहिलेकाहीँ मलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूले निराकरण र काटछाँट गरे पनि वा मलाई गलत बुझे पनि; परमेश्‍वरले मलाई शोधन र परीक्षण गर्नुभए पनि र धेरै कष्ट दिनुभए पनि; वा यो जीवनमा मैले कुनै दैहिक आनन्द नपाए पनि र आफूलाई एक्लो र वेवास्ता गरिएको पाए पनि—म यी सबै कुराहरू स्विकार्छु र मेरो सम्पूर्ण अस्तित्व परमेश्‍वरमा समर्पित गर्छु।” तिमीहरूमा यस्तो इच्छाशक्ति हुनैपर्छ! यस्तो इच्छाशक्ति भएपछि व्यक्तिले धेरै कठिनाइ सहन सक्छ, तर यस्तो इच्छाशक्ति छैन भने उसमा चाहना मात्र भयो वा अचानक उत्साहको विस्फोट भयो भने, यसले काम गर्नेछैन: त्यहाँ कुनै उत्प्रेरणा हुँदैन। कर्तव्यमा व्यस्त हुँदा केही मानिसहरूले एकदुई छाक खाना छोड्छन् र केही कम सुत्छन्, र आफू स्वस्थ नरहेको देख्दा, तिनीहरूले यस्तो सोच्छन्, “यसले काम गरिहेको छैन। म जतिसुकै व्यस्त किन नहूँ, मैले आराम गर्नैपर्छ; म समयभन्दा पहिले बुढो हुनु हँदैन, र मैले यति धेरै कठिनाइ सहनु हुँदैन। मैले आफ्नो स्वास्थ्यको ख्याल गर्नु महत्त्वपूर्ण छ।” यस्ता सोचहरूबारे तिमीहरू के सोच्छौ? तिनीहरू परमेश्‍वरको इच्छाप्रति विचारशील हुँदैनन्। बरु आफ्नो कर्तव्य र परमेश्‍वरको आज्ञाभन्दा बढी आफ्नै देहलाई महत्व दिन्छन्; पहिलोपटक कष्ट भोग्दा नै तिनीहरूले आफ्नो इच्छाशक्ति गुमाउँछन् अनि कछुवाले आफ्नो टाउको पछाडि तानेर लुकाएजस्तै गरी तिनीहरू पछि हट्छन् र गुनासो गर्न थाल्छन्; परमेश्‍वरले जुन कुराबारे जति चिन्ता गर्नुहुन्छ, तिनीहरू त्यो कुरामा त्यति नै चिन्ता गर्न समर्थ हुँदैनन्, र परमेश्‍वरले जुन कुराबारे सोच्नुहुन्छ, तिनीहरू त्यो कुराबारे सोच्न सक्षम हुँदैनन्, तिनीहरू परमेश्‍वरको इच्छाप्रति विचारशील हुँदैनन्। यदि कुनै अगुवाले कुनै काम एकदमै जरुरी छ भनेर भन्यो भने, यस्ता मानिसहरूले यसरी जवाफ दिनेछन्, “त्यो मेरो सरोकारको कुरै होइन र म असहजता चाहन्‍नँ। मलाई कुनै रुचि छैन।” के यस्ता मानिसहरू हुन्छन्? (हो, हुन्छन्।) यस्ता मानिसहरू स्वार्थी, घृणित र विश्‍वासघाती हुन्छन्। तिनीहरू चाल चल्छन्, तिनीहरू विश्‍वासयोग्य हुँदैनन् र तिनीहरू परमेश्‍वरलाई इमानदारीसाथ चाहने मानिसहरू होइनन्। तिनीहरूले पनि आफूलाई परमेश्‍वरमा समर्पित गरेँ भनेर भन्‍नेछन्, तर यी केवल मुखले भन्‍ने कुराहरू हुन्—यी मानिसहरूले कुनै पनि व्यावहारिक मामिला सम्हाल्दैनन्, अलिअलि पनि कठिनाइ भोग्दैनन् वा अलिकति पनि मूल्य चुकाउँदैनन्। परमेश्‍वर यस्ता मानिसहरूसँग प्रसन्न रहनुहुन्न र तिनीहरूले उहाँको आशिष् पाउँदैनन्। कतिपय मानिसहरू आफ्नो देहले थोरै कष्ट भोग्नेबित्तिकै कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छन्। खास गरी युवायुवतीहरूले आफ्नो रूपको धेरै ख्याल गर्छन् र अनुहार फुङ्ङ उडेको, छालामा चिल्लोपन हराएको वा फुलेको कपाल देख्दा खिन्न हुन्छन्। तिनीहरू बुढो र नराम्रो हुँदै गइरहेको, जीवनसाथी भेट्न नसकेको वा परिवार सुरु गर्न नसकेकोबारे सधैँ चिन्तित हुन्छन्। के यस्ता मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? मानिसहरूले कर्तव्य निभाउँदा मूल्य चुकाउन सक्छन् कि सक्दैनन् र तिनीहरूले स्वीकार्य मापदण्डअनुसार आफ्नो कर्तव्य निर्वाह गर्छन् कि गर्दैनन् भन्‍ने कुरा मूल्याङ्कन गर्ने परमेश्‍वरको सिद्धान्त के हो? परमेश्‍वर केवल मानिसहरू इमानदार रहेको देख्न चाहनुहुन्छ। कहिलेकाहीँ मानिसहरूले यस्तो सोच्छन्, “म मेरो हृदय मात्र अर्पित गर्छु, र त्यति नै पर्याप्त हुनेछ,” तैपनि तिनीहरूले अलिकति पनि नबदलिईकनै आफूले सामान्य रूपमा गर्ने कामकुराहरू नै गरिरहेका हुन्छन्। परमेश्‍वरले यस मामिलालाई कसरी हेर्नुहुन्छ? एक प्रकारले, परमेश्‍वरले तेरा आकाङ्क्षाहरू हेर्नुहुनेछ र अर्को प्रकारले, उहाँले तैँले वास्तववमै गरेका कार्यहरू हेर्नुहुनेछ। परमेश्‍वरले यी कुराहरू जाँच गर्नुहुनेछ। यदि तँसँग आकाङ्क्षा र इच्छाशक्ति छ भने, अनि सँगसँगै तँ साँच्चै नै मूल्य चुकाउन सक्छस् भने, त्यो बेला तँ कहिलेकाहीँ कमजोर भइस् भने पनि, परमेश्‍वरले तेरो हृदयले साँच्चै नै हार खाएको छैन, यो अझै पनि माथि उठ्ने प्रयास गरिरहेको छ अनि तँ सत्यता, निष्पक्षता, धार्मिकता र सकारात्मक कुराहरू मन पराउँछस् भनी देख्नहुनेछ र तँलाई त्याग्नुहुनेछैन। कतिपय मानिसहरू निकै राम्रोसँग बोल्छन्, तर तिनीहरूको हृदय भावनाहीन नै रहने गर्छ; तिनीहरूले सत्यता अलिअलि पनि अभ्यास गर्दैनन् र अरूलाई मूर्ख बनाउन मात्र खोज्छन्। तिनीहरूसँग यसरी बोल्नुबाहेक अरू कुनै विकल्प हुँदैन, यो नै तिनीहरूले आफ्नो वरपरका मानिसहरूलाई सम्हाल्ने तरिका हो। तिनीहरू केही हदसम्म सम्मानजनक लाग्न सक्छन्, तर यथार्थमा तिनीहरू कुनै पनि कार्य गर्न अनिच्छुक हुन्छन्। तिनीहरूले कार्य गरे नै भने पनि आफूले भनेका कुराहरू अभ्यास गर्दैनन्। बरु, तिनीहरूले आफूले चाहेको, आफूलाइ राम्रो लागेको र आफूलाई रक्षा गर्ने कार्य मात्र गर्छन्। के तिनीहरूको भनाइ र गराइमा भिन्नता भएन र? के परमेश्‍वरले यो भिन्नता देख्न सक्नुहुन्छ? परमेश्‍वरले सूक्ष्म जाँच गर्नुहुन्छ र यो सबै कुरा देख्न सक्नुहुन्छ। कतिपय मानिसहरू छली हुन्छन् र ससाना चलाकी गर्छन्। तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले थाहा पाउनुहुन्‍न, र उहाँले वास्ता पनि गर्नुहुन्न, र देख्नु पनि हुन्न। के वास्तवमा यस्तै हुन्छ र? परमेश्‍वर इमानदार मानिसहरूलाई र ती ससाना चलाकी गर्नेहरूलाई कसरी सम्हाल्नुहुन्छ? के तिमीहरू यी दुई प्रकारका मानिसहरूप्रति परमेश्‍वरले गर्नुहुने व्यवहारबीच फरक देख्न सक्छौ? (परमेश्‍वरले इमानदारहरूलाई आशिष् दिनुहुन्छ र छलीहरूलाई घृणा गर्नुहुन्छ।) परमेश्‍वरले इमानदार मानिसहरूलाई कसरी आशिष् दिनुहुन्छ? इमानदार मानिसहरूलाई परमेश्‍वरको आशिष् मिल्ने कुरा सोच्दा, तिमीहरू के सोच्छौ? (इमानदार मानिसहरूले आफ्नो कर्तव्यमा नतिजाहरू प्राप्त गर्छन्।) (परमेश्‍वरले इमानदार मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ र इमानदार मानिसहरूले सजिलै सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्छन्।) (परमेश्‍वरले इमानदार मानिसहरूलाई प्रेम र रेखदेख गर्नुहुन्छ, र इमानदार मानिसहरू मात्र परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छन्।) यी सबै भनाइहरू सही छन्, र यी सबै इमानदार मानिसहरूलाई परमेश्‍वरले दिनुहुने आशिष्‌हरू हुन्। के अब तिमीहरू फरकफरक मानिसहरू र फरकफरक मार्ग हिँड्ने मानिसहरूसँग परमेश्‍वरले गर्नुहुने व्यवहारमा भिन्नता र उहाँको फरक मनोवृत्ति देख्न सक्दैनौ र? इमानदार मानिसहरूले मूर्खतापूर्ण काम पनि गर्छन् र कमजोरी अनुभव पनि गर्छन्; तर तिनीहरूसँग परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन हुन्छ, तिनीहरूलाई उहाँको सुरक्षा मिल्छ र तिनीहरूले चारैतिर उहाँको आशिष् देख्न सक्छन्। परमेश्‍वरले तिनीहरूलाई अनुशासित गराउनुहुन्छ, तिनीहरूको काटछाँट र निराकरण वा परीक्षण र शोधन गर्नुहुन्छ, ताकि तिनीहरू परिवर्तन र वृद्धि हुन सकून्। आफ्नो भनाइ र गराइमा सधैँ चलाकी गर्नेहरू र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सधैँ लापरवाही गर्ने वा जिम्मेवारीबाट भाग्नेहरू सत्यता बिलकुलै नस्विकार्नेहरू हुन्। तिनीहरूसँग पवित्र आत्माको काम हुँदैन र त्यो दलदल र अँध्यारोमा जिउनुजस्तै हो। चाहे तिनीहरूले अँध्यारोमा जसरी नै छामछुम गरून्, चाहे जतिसुकै कोसिस गरून्, तिनीहरूले न प्रकाश देख्न सक्छन्, न कता जाने भनेर बाटो नै भेट्न सक्छन्। तिनीहरू प्रेरणा र परमेश्‍वरको मार्गदर्शनबिनै कर्तव्य निर्वाह गर्छन्, कैयौँ मामिलाहरूमा समस्याको पर्खालमा ठोक्‍किन्छन् र कतिपय काम गर्दा थाहै नभई खुलासामा पर्छन्। तिनीहरू खुलासामा पर्नुको उद्देश्य के हो? यसको उद्देश्य सबैले तिनीहरूलाई चिन्‍न सकून् र तिनीहरू कस्ता मानिसहरू हुन् भनेर वास्तविकता बुझ्न सकून् भन्‍ने हो। वास्तवमा, यसप्रकारका सबै मानिसहरू सेवाकर्ता हुन्। तिनीहरूले सेवा प्रदान गर्ने कार्य पूरा गरेपछि, कुनै पनि वास्तविक रूपान्तरण नआईकनै, तिनीहरू खुलासा र निष्कासित हुने थाल्नेछन्। यस्ता हरप्रकारका दुष्कर्म गर्नेहरूले सजाय पाउनेछन् र अविश्‍वासीहरूले जस्तै तिनीहरूले पनि हरप्रकारका भयानक मृत्युहरू पाउनेछन्। कतिपय मानिसहरूले ईशनिन्दा र अभिमानपूर्ण शब्दहरू बोलेका हुन्छन् र त्यसले गर्दा परमेश्‍वरले अबउप्रान्त तिनीहरूलाई चाहनुहुन्न र शैतानको हातमा सुम्पनुहुन्छ। के तिनीहरूलाई शैतानको हातमा दिँदा, अझै पनि राम्रा नतिजाहरू आउन सक्छन्? परमेश्‍वरको संरक्षण नहुँदा, शैतानले तिनीहरूलाई यातना दिनेछ र तिनीहरूमाथि काम गर्नेछ; तिनीहरू प्रेतको वशमा हुनेछन्, पिशाचजस्तै देखिनेछन्, र अन्त्यमा दुष्टात्माहरूले तिनीहरूलाई यातना दिँदै मृत्युमा पुर्‍याउनेछन्। के परमेश्‍वरले फरकफरक मानिसहरूलाई फरकफरक तरिकाले व्यवहार गर्नुहुन्न र? जब परमेश्‍वरले मानिसहरूमा काम गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई प्रेरित गर्नुहुन्छ, अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्छ र तिनीहरूको आन्तरिक स्थिति रूपान्तरित गर्नुहुन्छ। असल मानिसहरू बढीभन्दा बढी इमानदार हुन मन पराउँछन्, किनभने इमानदार भएर मात्र तिनीहरूले कर्तव्य राम्रोसँग निर्वाह गर्न र सत्यको बाटो हिँड्न सक्छन्। इमानदार भएर मात्रै तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न र निरन्तर आत्मचिन्तन गर्न सक्छन्, परमेश्‍वरविरुद्ध विद्रोह नगर्न अनि आफूमाथि आइपर्ने कुराहरूमा परमेश्‍वरप्रति समर्पित हुन सक्छन् र सबै कुराहरूमा सत्यता खोज्‍न र सत्यतामा लागिपर्न सक्छन्। परमेश्‍वरले मानिसहरूलाई अनिवार्य गर्नुभएका कुराहरू यिनै हुन्। जब उहाँले अनिवार्य गर्नुभएका कुराहरू मानिसहरूले पूरा गर्छन्, तब उहाँले तिनीहरूमा काम गर्नुहुन्छ, र तिनीहरूलाई अन्तर्दृष्टि, ज्योति, मार्गदर्शन र आशिष् दिनुहुन्छ। सत्यताप्रति दिक्क र घिन मान्‍ने मानिसहरूलाई उहाँले पाखा लगाउनुहुन्छ। परमेश्‍वरले हरप्रकारका दुष्कर्म गर्ने र बारम्बार मण्डलीको काममा बाधाव्यवधान गर्ने खराब र दुष्ट मानिसहरूलाई कसरी सम्हाल्नुहुन्छ? परमेश्‍वरले तिनीहरूलाई खुलासा गरी शैतानको हातमा सुम्पनुहुनेछ। तिनीहरूले समस्या उत्पन्न गर्न थाल्नेछन् र आफ्नो वास्तविक अनुहार देखाउनेछन्, र पत्तै नपाई प्रतिकूल र नकारात्मक कुराहरू बोल्नेछन्, र जोकरजस्तै व्यवहार गर्दै कलहको बीउ रोप्नेछन्। तिनीहरूले धेरै नराम्रा कामहरू गर्नेछन्, जसले मण्डलीमा बाधाव्यवधान उत्पन्न गर्नेछ। जब परमेश्‍वरका चुनिएका मानिसहरूले सत्य बुझ्नेछन् र तिनीहरूलाई चिनेर खुलासा गर्नेछन्, तब तिनीहरूलाई हटाएर निष्कासित गरिनेछ। के यो तिनीहरूको आफ्नै छनौट हुन्छ र? (हुँदैन।) सत्यता नस्विकार्ने र आफूले गर्नुपर्ने उचित कर्तव्यपालन नगर्ने मानिसहरूको लागि अन्त्यमा हात लाग्‍ने नतिजा यस्तै हुन्छ। जब मानिसहरू सही मार्गमा हिँड्दैनन्, अनि यदि परमेश्‍वरले तिनीहरूलाई शैतान र यसका ससाना पिशाचहरूको हातमा सुम्पनुभयो भने, तिनीहरू पूर्ण रूपमा बर्बाद हुनेछन् र केही गर्नै नसकिने गरी त्यागिनेछन्। खुलासा हुनेबित्तिकै तिनीहरूले यस्तो सोच्नेछन्, “यो के भइरहेको छ? के मैले समस्या उत्पन्न गरेँ? के मैले बाधक भएँ, के मैले बाधा उत्पन्न गरेँ? मलाई किन यो कुरा थाहा भएन?” परमेश्‍वरले सबै कुराहरू निरीक्षण गर्नुहुन्छ र यदि उहाँले तिनीहरूलाई खुलासा गरेर हटाउने वातावरण बनाउनुभयो भने, त्यो निकै छिटो घटित हुन्छ? यो सम्भव छ कि एकदुई वटा घटनापछि, तिनीहरूलाई दुष्ट मानिसहरू मानिनेछ र सोहीअनुसार ठेगान लगाइनेछ। केही कुराहरू परमेश्‍वर आफैले व्यक्तिगत रूपमै सम्हाल्नुहुन्छ भने, अन्य केही कुराहरूचाहिँ उहाँले आफ्नो सेवामा साना पिशाच, शैतान वा दुष्टात्माहरूलाई लगाएर गर्नुहुन्छ। एकातिर, उहाँले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सिद्ध पारी सुधार्नुहुन्छ; अनि अर्कोतिर, उहाँले दुष्ट मानिसहरूलाई खुलासा गरी हटाउनुहुन्छ। यदि तैँले यसलाई आफ्नो धारणा प्रयोग गरी मापन गर्छस्, अनि यो परमेश्‍वरबाट गरिएको होइन, उहाँले यस्तो काम गर्नुहुन्न, यी कुराहरू परमेश्‍वरबाट योजनाबद्ध गरिएका होइनन् भनी सोच्छस् भने, के त्यो गलत होइन र? सबैथोक परमेश्‍वरको हातमा छन् र यो कुरा तिमीहरूले अनुभव गरेपछि थाहा पाउनेछौ।

कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि तिनीहरूको हृदय अझै पनि सांसारिक दुनियामा हुन्छ; तिनीहरूले कर्तव्य पालना गर्न त सक्छन्, तर तिनीहरू अझै पनि धनी हुने सपना देख्छन्। तिनीहरूको हृदय अशान्त र असन्तुष्ट हुन्छ, र कहिलेकाहीँ तिनीहरू परमेश्‍वरको घर छोड्न चाहन्छन्, तर आशिष् नपाइएला, विपत्तिमा परिएला भनेर डराउँछन्। त्यसैले, तिनीहरूले झारातिरुवा शैलीमा कर्तव्य निर्वाह गर्न मात्र सक्छन्। कहिलेकाहीँ तिनीहरूले नकरात्मकता फैलाउन र केही गुनासो गर्न सक्छन्, र तिनीहरूले धेरै दुष्कर्म नगरे पनि सकारात्मक भूमिका खेल्दैनन्। के तिनीहरूको यो व्यवहार परमेश्‍वरलाई थाहा हुन्छ? (थाहा हुन्छ।) के मानिसहरूलाई थाहा हुन्छ? मानिसहरूले अक्सर यो देख्दैनन्। तिनीहरूलाई त यस्ता मानिसहरू असल हुन्छन्, कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरू सबेरै उठ्छन् र अबेर सुत्छन्, तिनीहरू कठिनाइ सहन र मूल्य चुकाउन सक्छन्, तर बस कहिलेकाहीँ तिनीहरूले कमजोर महसुस गर्छन् र अरूसँग कुराकानी गर्न चाहँदैनन् भन्ने लाग्छ। तर यी मानिसहरूले हृदयमा के सोच्छन् र कसरी कार्य गर्छन् भन्ने परमेश्‍वरलाई थाहा हुन्छ, र तिनीहरूको लागि उहाँसँग उपयुक्त बन्दोबस्त हुन्छ। समय आएपछि उहाँले तिनीहरूमाथि रोगहरू बर्सिन दिनुहुन्छ र बिरामी परेपछि तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। यसको अर्थ के हो? यसको अर्थ कर्तव्य निर्वाह गर्ने स्तरबाट तिनीहरूलाई हटाइन्छ। के यो असल कुरा हो कि खराब? (यो खराब कुरा हो।) तिनीहरू सबै आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न चाहन्छौ। तिमीहरू कष्ट, बिराम वा पीडा सामना गर्न चाहँदैनौ र यी कुराहरूले गर्दा कर्तव्यपालनमा ढिलाइ हुन्छ भन्ने तिमीहरूलाई लाग्छ। तर आफ्नो कर्तव्य निर्वाह गर्न नचाहनेहरूलाई कष्ट वा बिराम आइपर्नु राम्रो कुरा हो भन्ने लाग्नेछ र तिनीहरूले यस्तो सोच्छन्, “यसपालि त मैले कारण र बहाना भेट्टाएँ; अब मैले कर्तव्य निर्वाह गर्नुपर्दैन।” वास्तवमा, यो खराब कुरा हो: यसको अर्थ हो, परमेश्‍वरले अब तिनीहरूलाई चाहनुहुन्न, तिनीहरूको गन्ती हुँदैन र यो तिनीहरूलाई हटाउने परमेश्‍वरको तरिका हो। हटाइएपछि, तिनीहरूको बिमारी अचानक हराउन पनि सक्छ, र निको भएपछि तिनीहरू काममा जानेछन् र पैसा कमाउनेछन्, अनि आफ्नै जीवन जिउनेछन् र धनसम्पत्ति थुपार्नेछन्। परमेश्‍वरले यसप्रकारको व्यक्तिलाई चाहनुहुन्न—परमेश्‍वरले कुनै व्यक्तिलाई अबउप्रान्त नचाहनुको अर्थ के हो? यसको अर्थ यो व्यक्तिको कुनै परिणाम हुँदैन; ऊ परमेश्‍वरको नजरबाट ओझेल भएको छ, र ऊसँग अब मुक्ति पाउने कुनै मौका छैन। परमेश्‍वरले पूर्वनिर्धारित गरी उसलाई छान्नुभएको थियो, तर अब उसलाई घृणा र अस्वीकार गर्नुहुन्छ; उहाँ यसप्रकारको व्यक्तिलाई मुक्ति नदिने, बरु आफ्नो घरबाट हटाउने निर्णय गर्नुहुन्छ। यसप्रकारको व्यक्तिले परमेश्‍वरबाट कहिल्यै मुक्ति पाउनेछैन। यसउप्रान्त उसले मुक्तिको सबै मौका गुमाइसकेको छ। उसले जे गरे पनि वा जसरी व्यवहार गरे पनि, परमेश्‍वरले अब उसलाई चाहनुहुन्न। यदि परमेश्‍वरले कुनै व्यक्तिलाई अबउप्रान्त चाहनुहुन्न भने, के यो नै अन्त्य त होइन? यो व्यक्तिको कथा अझै सकिएको छैन। परमेश्‍वरले कुनै व्यक्तिलाई चुन्नुअघि ऊ शैतानको प्रभुत्वमा बस्छ। परमेश्‍वरले उसलाई चुनेपछि ऊ परमेश्‍वरको घरमा आउँछ र उहाँको रेखदेख र संरक्षणमा जिउँछ। जब उसले परमेश्‍वरको प्रतिरोध गरी उहाँलाई धोका दिन्छ र परमेश्‍वरले उसलाई हटाउनुहुन्छ, तब ऊ कहाँ फर्कन्छ? (शैतानको प्रभुत्वमा।) ऊ फेरि शैतानको प्रभुत्वमा फर्कन्छ। यसको अर्थ परमेश्‍वरले उसलाई फेरि यसो भन्दै शैतानको हातमा सुम्पनुभएको छ, “म अब यो व्यक्तिलाई चाहन्‍नँ। यसले सत्यता स्विकार्दैन; म यसलाई तेरो हातमा दिन्छु,” र उसलाई शैतानले लिन्छ। त्यो व्यक्ति शैतानकहाँ फर्कन्छ र ऊसँग अब मुक्तिको कुनै मौका हुँदैन। परमेश्‍वरले कुनै व्यक्तिलाई शैतानको हातमा फिर्ता दिनुहुँदा, त्यो व्यक्तिले के गुमाउँछ? ऊमाथि कस्तो दुष्परिणाम र अन्त्य आइपर्नेछ? तिमीहरू यसबारे स्पष्ट हुनुपर्छ। परमेश्‍वरबाट हटाइनु सामान्य कुरा होइन, र यो अवस्था व्यक्तिको क्षणिक अपराधको कारणले आएको पक्कै होइन, किनभने परमेश्‍वरले सकेसम्म मानिसलाई मुक्ति दिनुहुन्छ र कसैलाई पनि यत्तिकै हटाउनुहुन्न। परमेश्‍वरले कुनै व्यक्तिलाई चुन्नुहुँदा, त्यो व्यक्तिले उहाँबाट के प्राप्त गर्छ? (मुक्ति पाउने मौका।) अरू के प्राप्त गर्छ? (सत्यता प्राप्त गर्छ।) हो, परमेश्‍वरको मुक्ति पाउन स्वाभाविक रूपमै उसले सत्यता प्राप्त गर्नुपर्छ। जब परमेश्‍वरले कुनै व्यक्तिलाई चुन्नुहुन्छ र उसलाई शैतानको प्रभुत्वबाट आफ्नो घरमा ल्याउनुहुन्छ, तब के शैतानले परमेश्‍वरसामु कुनै शर्त राख्ने हिम्मत गर्छ? त्यसले कुनै शर्त राख्ने हिम्मत गर्दैन, न त कुनै कुरा भन्ने नै हिम्मत गर्दछ। यदि परमेश्‍वरले “यो व्यक्ति मेरो हो, तैँले अबउप्रान्त यसलाई छुन पाउँदैनस्” भनी भन्नुभयो भने शैतानले आज्ञापालन गर्दै त्यो व्यक्तिलाई छोडिदिन्छ। त्यो व्यक्तिको गाँस, बास, कपास, यातायात र हरेक चाल परमेश्‍वरको रेखदेख र नजरमा हुन्छ, र परमेश्‍वरको अनुमतिबिना शैतानले त्यो व्यक्तिलाई फेरि छुने हिम्मत गर्नेछैन। यसको तात्पर्य के हो? यसको तात्पर्य त्यो व्यक्ति पूर्णतया परमेश्‍वरको रेखदेख र संरक्षणमा जिउँछ, र बाह्य शक्तिबाट हुनै हस्तक्षेप वा अतिक्रमण हुँदैन, र उसको दैनिक सुख, दुःख र पीडा सबै परमेश्‍वरको सूक्ष्म निगरानीमा, र उहाँको रेखदेख र संरक्षणमा हुन्छन्। कुनै विपत्ति वा आपत् आइपरेमा परमेश्‍वरले उसलाई त्यसबाट बचाउनुहुनेछ र ऊ सकुशल हुनेछ; जबकि अविश्‍वासीहरू र परमेश्‍वरले नचुन्‍नुभएका मानिसहरूले जुन नियति भोग्नुपर्ने हो त्यही नियति भोग्नेछन्। तिनीहरू मर्नुपर्नेछ भने मर्नेछन्; विपत्तिमा पर्नुपर्नेछ भने विपत्तिमा पर्नेछन्। कुनै व्यक्तिले पनि यो कुरा बदल्न सक्दैन र कुनै व्यक्तिले पनि अर्को कसैलाई बचाउन सक्दैन। जब विपत्तिहरू आइपर्छन्, ती धेरै मानिसमाथि बर्सिनेछन्; तर ती विपत्ति तँमाथि कसरी बर्सिएनन्? यो परमेश्‍वरको संरक्षण हो। न त शैतानले, न त ससाना पिशाचहरूले, न त दुष्टात्माहरूले नै तँलाई छुने आँट गर्छन्। जब तिनीहरू तँतिर आउँछन्, तब अगाडिको निषेधित क्षेत्रले तिनीहरूलाई छेकेजस्तो हुन्छ, लाग्छ तिनीहरूले “यो व्यक्तिलाई नछुनू,” भन्‍ने शब्दहरू देखिरहेका छन्, लाग्छ तिनीहरूले स्वर्गको आदेश देखिरहेका छन्, अनि तिनीहरूले तँलाई छुने आँट गर्दैनन्, र तँ सुरक्षित हुन्छस्। तैँलै यी वर्षमा धेरै राम्रो जीवन जिएको छस्, सबै कुरा राम्रो भएको छ र तैँले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सकेको छस्—यो त व्यक्तिले परमेश्‍वरको हातबाट संरक्षण पाइरहेको कुरा हो। तर मैले भर्खरै बताएको व्यक्तिले परमेश्‍वरको संरक्षण पाएपछि, न त यसलाई महसुस गर्छ, न त यसबारे आफूलाई सचेत नै बनाउँछ। बरु उसले यसो भन्छ, “यतिका वर्षसम्म म शान्तिले जिउन पाएको अनि त्यो शैतान र ती ससाना पिशाचहरू मबाट पर बसेको त सायद संयोग वा सैभाग्यले गर्दा हो।” यो व्यक्तिले यो भन्दैन कि त्यो परमेश्‍वरको संरक्षण थियो, न त उसलाई परमेश्‍वरको प्रेम र अनुग्रहको ऋण चुक्ता गर्नुपर्छ भन्ने नै थाहा हुन्छ। उसले आफ्नो कर्तव्य राम्ररी गर्दैन, बरु बाधा र अवरोध उत्पन्न गर्छ र खराब काम मात्र गर्छ। परमेश्‍वरले उसको निरन्तरको व्यवहार हेर्नुहुन्छ, उसको अन्तर्मन जाँच्नुहुन्छ र उसलाई धेरै वर्षसम्म समय र अवसर दिनुहुन्छ, तैपनि उसले पश्‍चात्ताप गर्दैन। त्यसैले, परमेश्‍वरले यो व्यक्तिलाई मुक्ति दिन सकिँदैन भनेर भन्नुहुन्छ र अन्ततः उसलाई शैतानलाई नै फिर्ता दिने निर्णय गर्नुहुन्छ। यो व्यक्ति बेकारको हुन्छ र परमेश्‍वरले अबउप्रान्त उसलाई चाहनुहुन्न। यो व्यक्तिलाई परमेश्‍वरले निकाल्दा को सबभन्दा बढी खुसी हुन्छ? शैतान सबभन्दा बढी खुसी हुन्छ र त्यसले भन्छ, “मेरो शिविरमा अर्को सानो पिशाच, अर्को सहयोगी हुनु, कस्तो राम्रो कुरो”। सरल मनको र डराउन नजान्ने त्यो व्यक्ति यसरी शैतानको अँगालोमा फर्किन्छ। अनि, शैतानले उसलाई के गर्छ? (कुल्चिन्छ र हानि पुर्‍याउँछ।) शैतान मानिसहरूलाई हानि गर्न यति सिपालु छ कि तिनीहरूमध्ये कोही पिशाचको वशमा पर्छन्, कसैलाई अनौठो रोग लाग्छ र कोही अचानक असामान्य व्यवहार देखाउँदै पागलझैँ पैशाचिक रूप देखाउँछन्। शैतानले प्रायः यसरी नै मानिसहरूलाई हानि गर्छ र निल्छ। यो शैतानको व्यवहारको प्रकृति हो: त्यसले चलाकी र दुष्टता अपनाउँछ, मानिसहरूलाई लोभ्याएर वशमा पार्न, हानि गर्न र निल्न विभिन्न विधिहरू प्रयोग गर्छ। के मानिसहरूलाई हानि गर्ने शैतानका विधिहरू यतिमै सीमित हुन्छन त? पक्कै हुँदैनन्। मानिसहरूले भनेजस्तो शैतानले मानिसहरूलाई हानि गर्ने, बर्बाद पार्ने र बिगार्ने गरेर मात्र भ्रष्ट बनाउँदैन। त्योसँग अझ धेरै कपटपूर्ण र क्रूर माध्यमहरू हुन्छन्, र भ्रष्ट मानवजातिले ती सबैको प्रत्यक्ष अनुभव गर्छन्। मानिसहरूलाई शैतानको हातमा सुम्पिइएपछि तिनीहरूमध्ये कतिपय अचानक एकदमै चलाख भई चाल चल्न सिपालु बन्छन्; अचानक तिनीहरूको करियरको बाटो अत्यन्तै सरल बन्छ, तिनीहरूको पदोन्नति हुन्छ र तिनीहरू धनी बन्छन्। यो राम्रो कुरा हो कि नराम्रो? (नराम्रो।) मान्छेको नजरमा त यो राम्रो कुरा हो, अनि कसरी यसलाई नराम्रो कुरा मान्ने? (ती मानिसहरू शैतानको चालमा परेका छन् र तिनीहरू परमेश्‍वरबाट झन्झन् टाढा हुनेछन्।) तिनीहरू पदोन्नति पाएर धनी हुन्छन् र तिनीहरूको हकमा सबै कुरा राम्रो हुन्छ; चाँडै नै, पैसा, हैसियत र प्रसिद्धि पाएर तिनीहरू ठूलो धनपति बन्छन्। तिनीहरू मज्‍जाले जीउँछन् र सांसारिक दुनियामा फर्कन्छन्। त्यो समयमा, के तिनीहरूले अझै परमेश्‍वरबारे सोच्न सक्छन्? के तिनीहरू अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छन्? के तिनीहरूको हृदयमा अझै पनि परमेश्‍वर हुनुहुन्छ? (अहँ।) तिनीहरूले आफूलाई परमेश्‍वरबाट पूर्णतया अलग गरेका र साँचो मार्गबाट टाढा लगेका बरालिएका हुन्छन्, र तिनीहरूलाई शैतानले पूर्ण रूपमा बन्दी बनाएको हुन्छ। तिनीहरू अबउप्रान्त परमेश्‍वरको घरको सदस्य हुँदैनन्; तिनीहरू अविश्‍वासी भइसकेका हुन्छन् र यसरी तिनीहरू पूरै बर्बाद हुन्छन्। के यस्ता मानिसहरूले अझै पनि परमेश्‍वरको संरक्षण प्राप्त गर्न सक्छन्? (सक्दैनन्।) सांसारिक दुनियामा र शैतानको प्रभुत्वमा रहँदा तिनीहरू कस्तो अवस्थामा हुन्छन्? हरदिन तिनीहरूलाई आफू बाँच्छु कि मर्छु भन्ने थाहा हुँदैन; बाहिर जाँदा कुनै विपत्ति सामना गर्छु वा गर्दिनँ, थाहा हुँदैन; अनि शान्ति वा सुख के हो भन्ने पनि थाहा हुँदैन; र तिनीहरूको हृदय त्रास, बेचैनी र डरले भरिएको हुन्छ। परमेश्‍वरलाई धोका दिनुको परिणाम के हुन्छ भन्ने तिनीहरूलाई थाहा हुन्छ, त्यसैले तिनीहरू दिनभरि चिन्तित अवस्थामा हुन्छन् तर आफूमाथि कतिबेला विपत्ति बर्सिने हो, कतिबेला सजाय पाइने हो भन्ने तिनीहरूलाई थाहै हुँदैन। परमेश्‍वरले मानिसहरूलाई घृणा र अस्वीकार गर्नुहुँदा, तिनीहरूको हृदयमा यस्तै महसुस हुन्छ: तिनीहरू अँध्यारोमा फसेका हुन्छन्, र त्यसमा निस्कने बाटो नै हुँदेन। तिनीहरूले चाल्ने हरेक पाइला निकै कठिन र भयावह हुन्छ र तिनीहरूको जीवन निकै पीडादायी हुन्छ। के यी मानिसहरूले प्रसिद्धि र सम्पत्ति खोजिहिँडेकोले, सांसारिक दुनिया पछ्याएकोले, विलासी जीवन जिएकोले र अविश्‍वासीहरूको मार्ग अपनाएकोले, तिनीहरूको जीवन पीडादायी भएको हो भन्ने तँलाई लाग्छ? होइन। यो परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएपछि त्यसउप्रान्त तिनीहरूको रेखदेख नगर्नुभएकोले भएको हो। परमेश्‍वरको संरक्षण र रेखदेखबिना तिनीहरू शैतानको प्रभुत्वमा रहेका मानिसहरू बन्छन् र तिनीहरू तुरुन्तै अन्धकारमा खस्छन्। अन्धकारमा खसेपछि मानिसहरूले महसुस गर्ने पहिलो कुरा भनेको तिनीहरूको हृदयमा शान्ति नहनु र तिनीहरूलाई परमेश्‍वरको उपस्थिति महसुस हुन छोड्नु हो। तिनीहरूलाई यो संसार आतङ्क, जालझेल, धोकाधडी र खतराले भरिएको छ र जीवन त झन् धेरै कठिन छ भन्ने लाग्छ। के यो संसारमा तिनीहरूको के हैसियत छ भन्ने कुराले कुनै फरक पार्छ? के तिनीहरू कति सक्षम वा शक्तिशाली छन् भन्ने कुराले कुनै फरक पार्छ? पार्दैन। परमेश्‍वरमा विश्‍वास नगर्ने वा उहाँबाट हटाइएका सबैले यो परिणाम भोग्नेछन्, जीवित नर्कमा पर्नेछन् र त्यो औधी पीडादायी हुनेछ। त्यहाँ हरदिन हरप्रकारका जीउँदा प्रेतहरूले तँलाई हानि गर्नेछन्। त्यो जीउन नसकिने अवस्था हो; त्यो मृत्युभन्दा खराब जीवन हो।

जब मानिसहरू परमेश्‍वरको संरक्षणमा हुन्छन्, तिनीहरूललाई आफू सुरक्षित रहेको र आफूलाई शान्ति र आनन्द मिलेको महसुस हुन्छ। तिनीहरू मानवझैँ जीउन र सामान्य मानवताका सबै क्रियाकलापहरूमा सहभागी हुन सक्छन्; तिनीहरूका सबै कुराहरू नियमित र जस्तो हुनुपर्ने हो त्यस्तै हुन्छन्, र तिनीहरूको हृदय स्वतन्त्र र निस्फिक्री हुन्छ। जब मानिसहरूले परमेश्‍वरको रेखदेख र संरक्षण गुमाउँछन्, तब ती सबै भावना हराउँछन्, त्यसैले तिनीहरू आफ्नो वरपरका सबै मानिस, घटना र वस्तुहरूप्रति आफ्नै सीप, क्षमता, सोच र जीवनदर्शन अनि क्रोधद्वारा प्रतिक्रिया जनाउँछन्। तिनीहरूको वरपरका यी सबै मानिस, घटना र वस्तुहरू के हुन्? यी सबै खराब मानिसहरू, दुष्ट मानिसहरू, अनि ठूला र साना पिशाच र दुष्टात्माहरू हुन्। के परमेश्‍वरको संरक्षणबिना यी अशुद्ध आत्माहरू रहेको यस्तो ठाउँमा मानिसहरूको जीवन राम्रो हुनेछ? (हुनेछैन।) त्यसैले, परमेश्‍वरलाई छोडेपछि मानिसहरूले एउटा पनि असल दिनको आनन्द लिन सक्दैनन्; तिनीहरूलाई जीवन जीउन त्यति कठिन हुन्छ। मानिसहरू परमेश्‍वरको रेखदेख र संरक्षणमा जिउँदा यसलाई प्रेमसाथ सँगाल्न जान्दैनन् र यसलाई गम्भीरतापूर्वक लिँदैनन्; जब परमेश्‍वरले तिनीहरूलाई त्याग्नुहुन्छ, तब पछुतो गर्न निकै ढिलो भइसकेको हुन्छ र त्यो निकै ठूलो विपत्ति हो! परमेश्‍वरको योजनाबद्ध कार्य, रेखदेख र संरक्षणमा रहँदा मात्र मानिसहरूले साँचो खुसी, शान्ति र आनन्द पाउँछन् जुन व्यक्तिको हृदयभित्र गहिराइमा महसुस हुने शान्ति र आनन्द हो र त्यो परमेश्‍वरबाट आउँछ। जब मानिसहरूले परमेश्‍वरको रेखदेख र संरक्षण गुमाउँछन्, तब तिनीहरूको हृदयको गहिराइमा रहेको पीडा, चिन्ता, परेशानी, बेचैनी र भय बिस्तारै बढ्न थाल्छ। तिनीहरूको हृदयमा पीडा बढ्न थाल्छ र यसबाट आफूलाई अलग गर्न तिनीहरूलाई कठिन हुन्छ; तिनीहरू मुक्त हुन सक्दैनन्। व्यक्तिको सीप र शक्ति कति ठूलो हुन सक्छ र? अनि, तैँले एकलै सामना गर्ने कुरा के हो? तैँले हरप्रकारका अशुद्ध र दुष्ट आत्माहरू सामना गर्छस्! बाहिरबाट तिनीहरू मानिसहरूजस्तै देखिन्छन्: तिनीहरूको आकार, रूप, देह र रगत हुन्छ। तर ती सबै मानिसहरू शैतानका हुन् र तिनीहरूलाई शैतान र हरप्रकारका दृष्ट र अशुद्ध आत्माहरूले चलाइरहेका हुन्छन्। यी कुराहरूको सामुन्ने व्यक्ति कति सक्षम हुन सक्छ? के तिनीहरू निडर हुन सक्छन्? के तिनीहरूले शान्ति र आनन्द लिन सक्छन्? चाहे तिनीहरू जतिसुकै महान्‌ व्यक्तित्वका होऊन्, वा चाहे जतिसुकै क्षमतावान्‌ वा जतिसुकै भयङ्कर होऊन्, तर शैतानको प्रभुत्वमा र यस संसारमा रहँदा तिनीहरूले कस्तो महसुस गर्नेछन्? जब तिनीहरू एक्ला र शान्त भएका हुन्छन्, तब तिनीहरूले आफू वरपरका मानिस, घटना र वस्तुहरूबारे र आफ्नो मार्गमा आउने हरेक कुरा सम्हाल्न आफूलाई कति कठिन छ भन्नेबारे सोच्नेछन्; ती सबै कुरा सम्हाल्न तिनीहरूले आफ्नो दिमाग खियाउनैपर्ने हुन्छ। यी सबै कुराहरू व्यवस्थापन गर्न मानव शक्ति र साधन प्रयोग गर्नुपर्ने हुनु, तिनीहरूको लागि यो कस्तो कठिन परीक्षा हो! तिनीहरूलाई जीवन जीउन कति गाह्रो छ; यो कति पीडादायी कुरा हो। कतिपय मानिसहरू महान्‌ व्यक्तिहरूलाई यस्तो पीडा हुँदैन भन्छन्, तर वास्तवमा तिनीहरूलाई झन्‌ धेरै कष्ट हुन्छ। सामान्य मानिसहरूले जीवनको सानो वृत्त सामना गर्छन्, जबकि महान्‌ व्यक्तिहरूले जीवनको ठूलो वृत्त र अझ बढी कष्ट र पीडा सामना गर्छन्। के तिनीहरूलाई खुसी के हो थाहा हुन्छ र? (थाहा हुँदैन।) तसर्थ, जब मानिसहरूले परमेश्‍वरको रेखदेख र संरक्षण गुमाउँछन् अनि उहाँबाट त्यागिन्छन्, तब तिनीहरूले कस्तो जीवन सामना गर्नेछन्? तिनीहरूले ती सबै अशुद्ध र दुष्ट आत्माहरू आफै र एकलै सामना गर्नेछन्—यसले तिनीहरूको जीवन असहनीय बनाउँछ! तिनीहरू कुनै पनि समय आफ्ना विरोधीहरूको गोलाबारी वा षड्यन्त्रमा परेर मर्न सक्छन्, र तिनीहरूले थकित, पीडादायी र कष्टपूर्ण जीवन अघि बढाउँछन्। कतिपय मानिसहरू मूर्ख हुन्छन् र परमेश्‍वरमा विश्‍वास गर्नु, सधैँ सत्यता पछ्याउनु, र सधैँ परमेश्‍वरमा समर्पित हुन र परमेश्‍वरका वचन सुन्न ध्यान लगाउनु निरस हुन्छ भन्ने सोच्छन्; तिनीहरू सांसारिक मानिसहरू नै स्वतन्त्र हुन्छन् र परमेश्‍वरमा विश्‍वास गर्नु अर्थहीन हो भन्ने ठान्छन्। तिनीहरूले सधैँ यसरी नै सोच्छन्, तर एकदिन यसको दुष्परिणाम अवश्य थाहा पाउनेछन्।

सृष्टिकर्ताको हातमा, मानिसहरूले अनन्त शान्ति, आनन्द, आशिष्, संरक्षण र देखरेख पाउँछन्, जबकि मानवताको कमी भएका र विवेक नभएकाहरूले यी कुराहरू अनुभव गर्नेछैनन्। तर जब कुनै व्यक्ति परमेश्‍वरबाट त्यागिएको हुन्छ, तब उसले तत्काल आफूमाथि अन्धकारको पीडा बज्रेको महसुस गर्नेछ र त्यो बेला परमेश्‍वरमा विश्‍वास गर्दा, आफ्नो कर्तव्य निर्वाह गर्दा अनि परमेश्‍वरको घरमा र उहाँको उपस्थितिमा रहँदा कति खुसी र आनन्द हुने गर्थ्यो भनी पूर्ण रूपमा बुझ्नेछ, तर तब निकै ढिला भइसकेको हुनेछ। तैँले भन्‍न सक्छस्, “परमेश्‍वलाई छोडेर मलाई पछुतो भइरहेको छ। के म फेरि उहाँमा विश्‍वास गर्न शुरु गर्न सक्छु?” के परमेश्‍वरले यस्तो अवसर दिनुहुन्छ? (दिनुहुन्न।) यदि तँ अबउप्रानत परमेश्‍वरलाई चाहँदैनस् भने, के परमेश्‍वरले तँलाई अझै पनि चाहनुहुन्छ र? के तँ शैतानलाई प्रेम गर्दैनस् र? तैँले हृदयदेखि नै शैतानलाई प्रेम गर्छस्, तर केही आशिष् प्राप्त गर्न अझै परमेश्‍वरलाई पछ्याउन चाहन्छस्। के परमेश्‍वर यसमा सहमत हुन सक्नुहुन्छ? (सक्नुहुन्न।) परिस्थिति यही हुन्छ। तसर्थ, मानिसहरूले अक्सर परमेश्‍वरसामु आएर यी कुराहरू सोचविचार गर्नुपर्छ: साँचो खुसी के हो; साँचो खुसी, आनन्द र शान्ति पाउन कसरी जीउनुपर्छ; र मानिसको जीवनमा सबभन्दा मूल्यवान्‌ र कदरयोग्य कुराहरू के हुन्? यी कुराहरू सोचविचार गर्नैपर्छ। तैँले जति धेरै उचित कुराहरू र सत्यताबारे सोचविचार गर्छस्, त्यति नै धेरै परमेश्‍वरले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ र तँलाई बुझ्ने, जान्ने र हेर्ने मौका दिनुहुनेछ, अनि त्यति नै धेरै तैँले सत्यता अभ्यास गर्ने र सत्यतामा प्रवेश गर्नेबारे अन्तर्दृष्टि र ज्योति पाउनेछस्—त्यसपछि के तेरो विश्‍वास अझै बढ्दै जानेछैन र? यदि तँ सँधै अल्छी र अवज्ञाकारी हुन्छस्, सधैँ सत्यताबाट विमुख रहन्छस् र सत्यता मन पराउँदैनस् भने; यदि तँ परमेश्‍वरको छेउमा कहिल्यै आउन चाहँदैनस् र सधैँ लम्पट हुने र परमेश्‍वरबाट टाढिनेबारे मात्र सोचिरहन्छस् भने; र यदि तँ उहाँको मार्गदर्शन, रेखदेख र संरक्षण केही पनि स्वीकार गर्दैनस् भने, त्यस अवस्थामा के परमेश्‍वरले तँलाई बाध्य पार्न सक्नुहुन्छ? यदि यो तेरो मनोवृत्ति हो भने, परमेश्‍वरले पक्कै पनि तँलाई अन्तर्दृष्टि दिनुहुन्न, अनि तँसँग थोरै मात्र विश्‍वास हुनेछ। तँ जति लामो समयसम्म विश्‍वास गर्छस्, तेरो ऊर्जा त्यति नै कम हुनेछ र त्यसपछि तैँले गुनासो गर्नेछस्, तेरा धारणाहरू र नकारात्मकता फैलाउनेछस् र समयसँगै समस्या खडा गर्नेछस्। तैँले समस्या खडा गरेपछि र मण्डलीको काम बिथोलेपछि परमेश्‍वरको घरले तँलाई दयालु व्यवहार गर्न छोड्नेछ र तँलाई हटाउने वा निष्कासित गर्नेछ, र परमेश्‍वरमा विश्‍वास गर्ने तेरो बाटो अन्त्य हुनेछ। यसको लागि कसलाई दोष दिने? (व्यक्ति स्वयम्‌लाई।) यो ती मानिसहरूको लागि आउने अन्त्य हो जो परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर सत्यता पछ्याउँदैनन्। भनिन्छ, “नदीलाई तीन फिट गहिराइसम्म जम्नको लागि एकभन्दा धेरै ठन्डा दिन चाहिन्छ।” यदि तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्, तर सत्यता पछ्याएको छैनस् र सांसारिक मार्ग रोजेको छस् अनि परमेश्‍वरलाई छोडेर शैतानलाई पछ्याएको छस् भने परमेश्‍वरले तँलाई छोडिदिनुहुनेछ र त्याग्नुहुनेछ। परमेश्‍वरले मानिसहरूलाई दबाब दिनुहुन्न। परमेश्‍वरको मुक्ति, उहाँको वचन, सत्यता र जीवन मान्छेलाई निःशुल्क दिइन्छ; उहाँले तँसँग पैसा माग्नुहुन्न, न त कुनै कारोबार सम्झौता नै गर्नुहुन्छ। यदि तैँले सत्यता नस्विकार्ने मात्र होइन, परमेश्‍वरसँग गुनासो पनि गर्छस् र मण्डलीको काम बिथोल्छस् भने, के तैँले समस्या ल्याउन खोजिरहेको होइनस् र? त्यो बेला परमेश्‍वरले के गर्नुहुनेछ? उहाँले पक्कै तँलाई त्याग्नुहुनेछ र यही तेरो सजाय हुनेछ। यदि तैँले परमेश्‍वरको महान्‌ मुक्ति निकट हुँदा पनि यसलाई अस्वीकार गर्छस् र अझै पनि आफूप्रति अन्याय भएको महसुस गर्छस् र परमेश्‍वरसँग सौदाबाजी गर्न चाहन्छस् भने, यो साँच्चै नै अनुचित हो! त्यस्तो अवस्थामा, तैँले सांसारिक फोहोरी खाल्डोमा फर्केर गई आफ्नै तरिकाले जीउनु नै बेस हुन्छ! परमेश्‍वरले तेरो रेखदेख गर्न छोड्नुहुन्छ र यससँगै तेरो अन्त्य तय हुनेछ। कतिपय मानिसहरू भन्छन्, “यदि मानिसहरूले परमेश्‍वरलाई चाँहदैनन् भने, उहाँले किन तिनीहरूलाई मर्न दिनुहुन्न?” के यस्तो सोच्ने मानिसहरू छैनन् र? (छन्।) कतिपय मानिसहरू निर्दयी हुँदै भन्छन्, “यदि कुनै व्यक्तिले परमेश्‍वरलाई पछ्याउँदैन भने परमेश्‍वरले उसलाई श्राप र दण्ड दिनुपर्छ, र त्यसपछि उसलाई नष्ट गर्नुपर्छ!” के तिमीहरूलाई परमेश्‍वरको स्वाभाव यही हो भन्ने लाग्छ? (परमेश्‍वरको स्वभाव यस्तो छैन।) परमेश्‍वरले यस्तो गर्नुहुन्न; उहाँले मानिसहरूलाई दबाब दिनुहुन्न। कुनै व्यक्तिको जीवन कस्तो हुनेछ भनेर परमेश्‍वरले पहिले नै निर्धारित गर्नुभएको हुन्छ र परमेश्‍वरले हचुवाको तालमा काम गर्नुहुन्न। त्यो व्यक्तिको भाग्य, गन्तव्य र अन्त्य परमेश्‍वरद्धारा पहिल्यै निर्धारित भएको हुन्छ र यदि उसले परमेश्‍वरलाई पछ्याउँदैन भने पनि परमेश्‍वरले उसको प्रारम्भिक नियतिअनुसार नै उसलाई स्वाभाविक तरिकाले जीउन छोडिदिनुहुन्छ। परमेश्‍वरले उसलाई शैतानको हातमा दिनुहुनेछ र त्यही नै अन्त्य हुनेछ; र उसको परिणाम अन्ततः परमेश्‍वरले समय आएपछि, उसको जीवनको अन्त्यमा निर्धारण गर्नुहुनेछ। परमेश्‍वरले यी सबै नियमलाई तलमाथि गर्नुहुन्न। मान्छेको शब्दमा भन्नुपर्दा, परमेश्‍वरले विशेष तर्कसङ्गत तरिकाले काम गर्नुहुन्छ, जुन ख्रीष्टविरोधीहरूको कपटीपन र क्रुरताभन्दा विपरीत हुन्छ, जो यसो भन्छन्: “यदि तँ मलाई पछ्याउँदैनस् भने, म तँलाई मारिदिनेछु!” यो कस्तो प्रकारको स्वभाव हो? यो लुटेराको स्वभाव हो, डाँका र बदमास व्यक्तिको स्वभाव हो। परमेश्‍वरले यस तरिकाले व्यवहार गर्नुहुन्न। परमेश्‍वर भन्नुहुन्छ, “यदि तँ मलाई पछ्याउँदैनस् भने, शैतानकहाँ फर्केर जा र अबदेखि हामीबीचको सबै सम्बन्ध अन्त्य हुनेछ। तैँले न मेरो संरक्षण पाउनेछस्, न मेरो रेखदेख; यो आशिष्‌मा तेरै कुनै भागीदारी हुनेछैन। जसरी चाहन्छस्, त्यसरी जिई; यो तेरो रोजाइको कुरा हो!” परमेश्‍वर मानिसहरूप्रति सहनशील हुनुहुन्छ र शैतानले जस्तो दबाब दिनुहुन्न। त्यसले त तैँले नचाहँदा नचाहँदै पनि, सँधै तँमाथि नियन्त्रण र पकड राख्न चाहन्छ। परमेश्‍वरले यस्तो गर्नुहुन्न। कामकुराहरू गर्नेबारे परमेश्‍वरको आफ्नै सिद्धान्त हुन्छ; परमेश्‍वरले मानिसहरूलाई उहाँलाई पछ्याउन लगाउनुहुन्छ, तर कहिल्यै दबाब दिनुहुन्न। यदि सृष्टि गरिएको प्राणी भएर तैँले सत्यता स्विकार्न र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य निर्वाह गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरको आशिष् कहिल्यै पाउनेछैनस्।

नोभेम्बर ७, २०१७

अघिल्लो: परमेश्‍वरको सार्वभौमिकताबारे कसरी जान्‍ने

अर्को: इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्