परमेश्‍वरको सार्वभौमिकताबारे कसरी जान्‍ने

परमेश्‍वरको सार्वभौमिकताबारे जान्नु निकै गहन सिकाइ हो। सबथोकमाथि परमेश्‍वरको सार्वभौमिकता देख्नको लागि व्यक्तिले आत्मिक मामलाहरू बुझ्नैपर्छ, र उसले थुप्रै सत्यताहरू पनि बुझ्नैपर्छ। परमेश्‍वरलाई बुझ्ने सन्दर्भमा भन्नुपर्दा, मानिसहरू बारम्बार सङ्कुचित सोच बनाउँछन् र आफ्नो अगाडि जे छ त्यसैलाई मात्र हेर्छन्। तिनीहरू सधैँ सही र गलत, ठिक र बेठिक, र कालो र सेतो के हो भन्‍ने आफ्नै विचारको आधारमा, वा मानव धारणा र कल्पनाहरूको आधारमा परमेश्‍वरको मूल्याङ्कन् गर्छन्, र परमेश्‍वरले यसो गर्नु वा उसो गर्नु गलत थियो भन्छन्। तर केचाहिँ सही हो? जबसम्म कुनै कुरा परमेश्‍वरद्वारा गरिएको हुन्छ, तबसम्म त्यो सही हुन्छ। त्यसोभए, के परमेश्‍वरले मानिसलाई नष्ट गर्नु सही हो त? (हो।) परमेश्‍वरले एउटा जातिलाई माथि उठाएर समृद्ध तुल्याउनुभएको छ, तर तँलाई यो जाति समृद्ध हुनु हुँदैन भन्ने लाग्छ। त्यसोभए, त्यो कसरी समृद्ध बन्यो त? यहूदीहरूले परमेश्‍वरको विरोध गरेकाले मानिसहरूको नजरमा, परमेश्‍वरले रिसाएर तिनीहरूलाई श्राप दिनुभएपछि, उहाँले तिनीहरूलाई पूरै मेटाउनुपर्थ्यो। तर त्यो मान्छेको धारणा र कल्पना मात्र हो। यहूदी मानिसहरूलाई श्राप र दण्ड दिनुभएपछि, परमेश्‍वरले तिनीहरूलाई बाँच्न दिनुभयो, र उहाँले तिनीहरूलाई तिनीहरूको मूलजड जीवितै रहिरहने, तिनीहरू संसारभर अन्य देशहरूमा छरिने, र तिनीहरूले अन्त्यमा तिनीहरूको आफ्नै राष्ट्र पुनर्स्थापित गर्ने प्रतिज्ञा दिनुभयो। परमेश्‍वरका प्रतिज्ञाहरू परिवर्तन गर्न सकिँदैन, र परमेश्‍वरले बोल्नुभएका दण्डका वचनहरू पनि पूरा हुनु नै थियो। परमेश्‍वरको सार्वभौमिकता अत्यन्तै अद्‌भुत छ। यदि तैँले परमरेश्‍वरको काम र मानिसहरूलाई आइपर्ने परिस्थितिहरूलाई सही र गलत, र ठिक र बेठिकको दृष्टिकोणबाट मूल्याङ्कन् गर्न खोज्छस् भने, तैँले तिनलाई इन्कार गर्नेछस्। तँलाई ती परमेश्‍वरको कामजस्ता लाग्‍नेछैनन् र ती तेरा धारणा र कल्पनाहरूसँग नमिलेजस्तो लाग्नेछ र तैँले तिनलाई इन्कार गर्नेछस्। यदि तैँले तिनलाई इन्कार गर्छस् भने, तैँले कसरी तिनलाई सत्यताको रूपमा पालना गर्न सक्छस्? त्यो असम्भव हुनेछ। मानिसहरू किन तिनलाई इन्कार गर्छन्? यो मानव धारणाहरूले गर्दा भएको हो, यसको अर्थ के हो भने मानव मस्तिष्कले के चिन्न सक्छ, र मानिसहरूले परमेश्‍वरका कार्यहरूमा के देख्न सक्छन् भन्ने कुराहरूको सीमा हुन्छ, र मानिसहरूले बुझ्न सक्ने सत्यताहरूको पनि सीमा हुन्छ। तैँले कसरी यी सीमाहरू पार गरेर साँचो रूपमा परमेश्‍वरलाई चिन्न सक्छस्? तैँले परमेश्‍वरबाट आएका कुराहरू ग्रहण गर्नुपर्छ, र आफूले सामना गर्ने र बुझ्न नसक्ने कुराहरूलाई हल्का रूपमा व्याख्या गर्नु हुँदैन, र यदि तैँले कुनै समस्या हल गर्न सक्दैनस् भने आँखा चिम्लेर त्यसको आलोचना गर्नु हुँदैन। मानिसहरूमा सबैभन्दा बढी हुनुपर्ने समझ नै यही हो। यदि तँ “यो परमेश्‍वरले गर्ने काम होइन, परमेश्‍वरले कहिल्यै यसो गर्नुहुन्न!” भनेर भन्छस् भने, तँसँग समझ छैन। तैँले साँच्चै केचाहिँ बुझ्न सक्छस्? यदि तैँले परमेश्‍वरको तर्फबाट निर्णय गर्ने आँट गर्छस् भने, तँमा साँच्चिकै समझ छैन। परमेश्‍वरले ठ्याक्कै तैँले सोचेजस्तो वा तेरो कल्पनाको दायराभित्र रहेर नै कार्य गर्नुहुन्छ भन्ने छैन। परमेश्‍वर अत्यन्तै महान्, अत्यन्तै अथाह, अत्यन्तै गहन, अत्यन्तै अद्‌भुत, र अत्यन्तै बुद्धिमान् हुनुहुन्छ! मैले किन “अत्यन्तै” भन्ने शब्द जोडेको हुँ? किनभने मानिसहरूले परमेश्‍वरलाई बुझ्न सक्दैनन्। तँ एक सृष्टि गरिएको प्राणी होस्, त्यसैले परमेश्‍वरलाई बुझ्ने प्रयास नगर्। जब तँसित यस्तो सोच बिलकुलै हुँदैन, तब तँमा केही समझ हुनेछ। परमेश्‍वरको लागि नियमहरू तोक्‍ने प्रयास नगर्, र यदि तैँले त्यस्तो काम गर्नबाट आफूलाई रोक्‍न सकिस् भने, तँसित समझ हुनेछ। त्यस्ता धेरै मानिसहरू छन् जो परमेश्‍वरको लागि नियमहरू तोक्‍ने गर्छन् र परमेश्‍वरले निश्‍चित तरिकाले कार्य गर्नुपर्छ, परमेश्‍वरले यो कार्य बिलकुलै यही तरिकाले गर्नुहुन्छ वा बिलकुलै त्यो तरिकाले गर्नुहुन्न, यो बिलकुलै परमेश्‍वरकै कार्य हो, र अरू कुनै कुरा बिलकुलै परमेश्‍वरको कार्य होइन भनेर भन्छन्। अनि यो “बिलकुलै” भन्ने शब्द थप्नुको अर्थचाहिँ के हो नि? (त्यसमा समझ छँदै छैन भन्ने हो।) तँ परमेश्‍वर अत्यन्तै अद्‌भुत र अत्यन्तै बुद्धिमान् हुनुहुन्छ भनेर भन्छस् तर त्यसपछि तैँले परमेश्‍वरले कहिल्यै कुनै निश्‍चित तरिकाले कार्य गर्नुहुन्न भनेर भन्छस्। के त्यो विरोधाभास होइन र? त्यो परमेश्‍वरबारे साँचो ज्ञान होइन। सधैँ आफ्नै विचारहरूमा जिद्दी गर्नु र सधैँ परमेश्‍वरको लागि नियमहरू तोक्‍नु भनेको पूर्णतया समझको अभाव हुनु हो।

परमेश्‍वर यो अन्तिम चरणको काम गर्दै हुनुहुन्छ, र उहाँ चीनमा देखा परेर काम गर्न सक्नुहुन्छ भनेर कसैले सोचेको थिएन। के तैँले त्यसरी सोच्‍न नसक्नु तेरो हृदयमा भएका धारणा र कल्पनाहरू, अनि तेरा सोचका सीमितताहरूले गर्दा भएको होइन र? तँलाई अमेरिका, संयुक्त अधिराज्य, वा इस्राएल सबैमा यो सम्भव हुन्थ्यो भन्‍ने लाग्थ्यो होला, तर परमेश्‍वरले चीनमा काम गर्नुहुनेछ भनेर तैँले कदापि कल्पना गर्न सक्दैनस्। तैँले त्यो सोच्नै सक्दैनस्। त्यो मान्छेका धारणा र कल्पनाहरूभन्दा निकै टाढा छ, तर परमेश्‍वरले चीनमा भर्खरै उहाँको काम थाल्नुभएको छ, र उहाँ आफ्नो अन्तिम र सबैभन्दा महत्त्वपूर्ण काम गरिरहनुभएको छ। यो मानव धारणाहरूसँग अत्यन्तै अमिल्दो छ। त्यसैले यसबाट तैँले के सिकेको छस्? (परमेश्‍वरको काम मानव धारणाहरूसँग मेल खाँदैन, र त्यो अद्‌भुत र अथाह हुन्छ भन्ने सिकेको छु।) परमेश्‍वरको काम मानव कल्पनाभन्दा निकै टाढा, अद्‌भुत र अथाह, बुद्धिमान्, अनि गहन छ—यी परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, अनि उहाँको स्वभाव र सार वर्णन गर्न प्रयोग गरिने मानव शब्‍दहरू हुन्, र यिनलाई मनासिब नै मानिन्छ। परमेश्‍वरले मानव धारणाहरूविपरीतका कामकुराहरू गर्नुभएबाट मानिसहरू यो निर्क्यौलमा पुग्छन्—परमेश्‍वरको काम अद्‌भुत, अथाह, र मानव धारणाहरूविपरीत छ। मानिसहरूले यसबाट अरू के सिक्न सक्छन्? यो कि मानवजातिका पहिलेका धारणा र कल्पनाहरू सबै उल्टिएका छन्। त्यसोभए यी धारणाहरू कहाँबाट आएका हुन्? तैँले के देख्छस् भने, चीन गरिब र पिछडिएको छ, त्यहाँ कम्युनिष्ट पार्टीको शक्ति चल्छ, इसाईहरू सताइन्छन्, त्यहाँ स्वतन्त्रता र मानव अधिकार छैन, र चिनियाँहरू कम शिक्षित छन्, संसारमा तिनीहरूको हैसियत कम छ, र तिनीहरूलाई पूर्वी एसियाका दयनीय बिरामी मानिसहरूको रूपमा हेरिन्छ। परमेश्‍वर उहाँको काम गर्न कसरी चीनमा देहधारी हुन सक्नुभयो? के यो धारणा होइन र? अब, यो धारणा सही वा गलत के हो भनेर हेर्। (यो पूरै गलत हो।) पहिला हामी परमेश्‍वरले किन यो तरिकाले काम गर्नुहुन्छ भन्नेबारे कुरा नगरौँ, चाहे उहाँले विनम्र र गुप्त हुन चाहनुभएर होस्, वा यस तरिकाले काम गर्नुको गहन महत्त्व र मूल्य भएर यस्तो चाहनुभएको होस्। यो तहमा छलफल नगरौँ, बरु परमेश्‍वरले यो तरिकाले काम गर्दा मानव धारणाहरूसँग कति धेरै बाझिन्छ या बाझिदैन भन्नेबारे कुरा गरौँ। त्यो त धेरै नै बाझिन्छ! मानिसहरू कल्पना गर्नै सक्दैनन्। यो स्वर्गको रहस्य हो, र यो कसैलाई थाहा छैन। खगोलविद्‌, भूगोलविद्‌, इतिहासकार, र अगमवक्ताहरू नै बोलाइए पनि, के यो कुरा कसैले पत्ता लगाउन सक्थ्यो र? कसैले सक्थेन, जीवित वा मृत सबै सक्षम मानिसहरूलाई बोलाएर विश्‍लेषण र छानबिन गर्न लगाइए पनि, वा खगोलीय टेलिस्कोपद्वारा अवलोकन र अध्ययन गर्न लगाइए पनि—त्यसको कुनै अर्थ हुन्थेन। यसको अर्थ के हो? यसको अर्थ मानवजाति अत्यन्तै महत्त्वहीन र अत्यन्तै अज्ञानी छ, र उसमा परमेश्‍वरका मामलाहरू बुझ्ने अन्तर्ज्ञानको अत्यन्तै कमी छ भन्ने हो। यदि तैँले बुझ्न सक्दैनस् भने चिन्ता नली। यदि तैँले बुझ्ने कोसिस गरिस् भने त्यसको अन्तिम नतिजा के होला? तेरा धारणाहरू सत्यताबराबर होइनन्, र ती वास्तवमा परमेश्‍वर जे गर्न चाहनुहुन्छ त्यसबाट निकै टाढा छन्। ती दुई एउटै कुरा हुँदै होइनन्। मानिसहरूसित भएको थोरै ज्ञान बेकार छ, त्यसले कुनै पनि कुरा पत्ता लगाउन वा कुनै पनि समस्या हल गर्न सक्दैन। अब तिमीहरू परमेश्‍वरका वचनहरू पढ्ने, र प्रवचन र सङ्गतिहरू सुन्ने भएकाले के तिमीहरू हृदयमा अलि बढी कुरा बुझ्छौ? के तिमीहरूसँग परमेश्‍वरबारे केही ज्ञान छ? कसैले भन्‍न सक्छ: “परमेश्‍वरले उहाँ के गर्नुहुन्छ भन्‍नेबारे हामीसँग छलफल गर्नुहुन्न, उहाँले हामीलाई उहाँको अभिप्राय बुझ्न सकौँ भनेर कुनै दैवी सङ्केत मात्र दिनुभए पनि त हुन्थ्यो, वा उहाँले भविष्यवाणी गर्न कुनै अगमवक्तालाई उत्प्रेरित गर्नुभए पनि त हुन्थ्यो।” तैँले दैवी सङ्केतमार्फत समेत त्यो देख्न सक्थिनस्, र अगमवक्ताले पनि त्यो देख्‍न सक्थेन। परमेश्‍वरले आत्मिक संसारमा गर्नुहुने काम प्राचिन समयदेखि अहिलेसम्‍मै गोप्य रहँदै आएको छ, यति गोप्य कि त्यो एउटै मान्छेले पनि थाहा पाउन सक्दैन। कुनै अगमवक्ता वा खगोलविद्, विद्वान, विज्ञ, वा वैज्ञानिक कुनै पनि विधामा जतिसुकै प्रतिभावान् भए पनि, तिनीहरूले जतिसुकै अध्ययन गरून् तर परमेश्‍वरका मामलाहरू कहिल्यै बुझ्नेछैनन्। मानिसहरूले परमेश्‍वरको विगतको काम अध्ययन गर्न सक्छन्, र तिनीहरूले परमेश्‍वरले त्यसो गर्नुको कारणसम्बन्धी केही गोप्य कुराहरू वा अर्थ थाहा पाउन सक्लान, तर परमेश्‍वरले भविष्यमा के गर्नुहुनेछ भन्ने कुरा वा उहाँका योजनाहरू कसैले थाहा पाउन सक्दैन। त्यसकारण, मानिसहरूले परमेश्‍वरलाई वा उहाँको काम गर्ने तौरतरिकालाई अवलोकन र अध्ययन, दीर्घकालीन छानबिन र अनुभव, बहुमुखी विश्‍लेषण, वा ज्यादै लगन र मेहनतमार्फत अन्त्यमा बुझ्छु भनेर सोच्नु हुँदैन। यो असम्भव छ, र यो कहिल्यै पूरा हुनेछैन। त्यसोभए, यदि मानिसहरूले परमेश्‍वरलाई बुझ्न सकेनन् भने के गर्नुपर्छ? (तिनीहरूले आज्ञापालन गर्नुपर्छ।) मानिसहरूले आज्ञापालन गर्नु नै सबैभन्दा समझदारीपूर्ण र परमेश्‍वरको इच्छासँग सबैभन्दा मिल्दो कुरा हो; आज्ञापालन नै आधारशीला हो। यसको उद्देश्य के हो? यसको उद्देश्य परमेश्‍वरको काम अनुभव गरेको आधारमा, अझै बढी उहाँलाई चिन्नु, सत्यता हासिल गर्नु र जीवन प्राप्त गर्नु हो। तैँले प्राप्त गर्नुपर्ने कुरा र तैँले चाहनुपर्ने खजाना यही हो। अन्तर्राष्ट्रिय मामिलाजस्ता बाह्य घट्नाहरूको सम्बन्धमा परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र उहाँले यो मानवजातिलाई कसरी डोर्‍याउनुहुन्छ भन्‍ने कुरा गर्दा—यदि तैँले यी कुराहरू बुझ्न सकिस् भने त्यो झनै राम्रो हो। यदि तैँले “मलाई ती कुराहरूबारे खासै चासो छैन। त्यसको लागि मसँग क्षमता वा दिमाग छैन; मलाई त परमेश्‍वरले मलाई कसरी सत्यता प्रदान गर्नुहुन्छ र मेरो स्वभाव परिवर्तन गर्नुहुन्छ भन्ने मात्र चासो छ” भनेर भनिस् भने पनि ठिकै छ। जबसम्म तँसँग आज्ञाकारी र परमेश्‍वरको डर मान्ने हृदय हुन्छ, तबसम्म तैँले अन्त्यमा परमेश्‍वरबाट सत्यताको साथसाथै ज्ञान-बुद्धिसमेत प्राप्त गर्न सक्नेछस्। सत्यताले मान्छेका स्वभावहरू परिवर्तन गर्छ; यो नै मानिसहरूले प्राप्त गर्न खोज्नुपर्ने जीवन र तिनीहरूले हिँड्नुपर्ने मार्ग हो। अनि, मानिसहरूले के ज्ञान पाउँछन्? तैँले थाहै नपाई परमेश्‍वरले कैयौँ काम के-कसरी गर्नुहुन्छ, उहाँले किन त्यसो गर्नुहुन्छ, उहाँका अभिप्राय र लक्ष्यहरू के हुन्, र केही निश्‍चित कामकुराहरू गर्नेबारे उहाँका सिद्धान्तहरू के-कस्ता छन् भन्ने कुरा बुझ्नेछस्। यो कुरा तैँले परमेश्‍वरका वचनहरूको सत्यता अनुभव गर्ने प्रक्रियामार्फत अचेतन रूपमै महसुस गर्न सक्नेछस्। सायद यी वचन र मामलाहरू अत्यन्तै गहन हुन सक्छन्, र तैँले तिनलाई शब्दहरूमार्फत व्यक्त गर्न नसक्लास्, तर यो कुरा तँलाई हृदयमा अनुभूत हुनेछ र तैँले थाहै नपाई साँचो बुझाइ प्राप्त गर्नेछस्।

अब अब्राहामको कथाबाट सुरु गरौँ। ८५ वर्षसम्म बाँच्दा पनि उसको छोरा नभएपछि, परमेश्‍वरले उसलाई एउटा छोरा दिने प्रतिज्ञा गर्नुभयो। अनि, उसकी श्रीमती साराको प्रतिक्रिया के थियो? उसले मनमनै सोची: “म बुढी र बाँझी भैसकेकी छु। मैले कसरी छोरा जन्माउन सक्‍नु?” के यो मानव धारणा होइन र? उसले मानव धारणाहरू प्रयोग गरेर परमेश्‍वरको काम मापन गरी, र यसरी उसले यो कुरालाई शङ्का गर्न र असम्भव ठान्न सकी। त्यसपछि उसले के गरी? आफ्नी दासी हगारलाई रखौटीको रूपमा अब्राहामलाई दिई। त्यसोभए भन् त, के उसले जे गरी त्यो परमेश्‍वरले देख्नुभयो? परमेश्‍वरले थाहा पाउनुभयो। अर्को वर्ष हगारले इश्माएल नाम गरेको एउटा छोरो जन्माई। अब्राहाम ९९ वर्षको हुँदा, यहोवा परमेश्‍वर देखा पर्नुभयो र अर्को वर्षको यही समयतिर साराले उसको बच्चा जन्माउने, र पूरै कनानी देश उसलाई र उसका सन्ततिहरूलाई सधैँको लागि सम्पतिस्वरूप दिइने प्रतिज्ञा गर्नुभयो। अर्को वर्ष साराले इसाहक नाम गरेको एउटा छोरो जन्माई। मालिक्नीको छोराको रूपमा इसाहक उत्तराधिकारी भयो जबकि रखौटीबाट जन्मिएको इश्माएलले उत्तराधिकार पाउन सकेन। पछि, हगार र इश्माएललाई त्यहाँबाट धपाइयो, र हगारले उसलाई मरुभूमिमा ल्याई, जहाँ न खाना न पानी थियो। मृत्यु सामना गर्दै, हगारले परमेश्‍वरलाई प्रार्थना गरी र भनी: “केही उपाय छैन। मसँग बच्चा छ, र म जिउन चाहन्छु।” यहोवा परमेश्‍वरले तिनीहरूलाई पानी दिन स्वर्गदूत पठाउनुभयो, र तिनीहरू बाँचे। उक्त मरुभूमि पछि तिनीहरूको घर बन्यो, र तिनीहरू त्यहीँ स्थापित बने र तिनीहरूले थुप्रै सन्ततिहरू—अर्थात् मध्यपूर्वमा बस्ने आधुनिक मानिसहरू जन्माए, जस्तै अरबीहरू। तँलाई थाहा छ, यसो हुन दिनुमा परमेश्‍वरको इच्छा छ। यो ठूलो बाह्य घट्ना हो, जुन कसैले अध्ययन गरेन, तर त्यसको अर्थ यसमा परमेश्‍वरको काम छैन भन्ने होइन—यसमा परमेश्‍वरको काम छ। यो कसैले गोप्य रूपमा केही काम गरेर परमेश्‍वरले नदेख्नुभएजस्तो होइन, त्यस्तो कदापि होइन। यसमा परमेश्‍वरको इच्छा छ। संसारलाई सन्तुलनमा राख्न र आवश्यक परेको बेलामा काम लाग्न इश्माएलको वंश बाँच्नेछ भनी परमेश्‍वरले अनुमति र प्रतिज्ञा प्रदान गर्नुभयो। तिनीहरूले सधैँ जमिनको लागि, गाजा क्षेत्र र यरूशलेमको लागि इस्राएलीहरूसँग लडेका छन्। तैँले यस मामलामा परमेश्‍वरको कार्य देख्नैपर्छ। परमेश्‍वरले केही काम गर्नुभयो जसलाई मानिसहरू नराम्रो रूपमा हेर्छन्, र तिनीहरू उहाँले सायद गलत आँकलन गर्नुभयो वा नजिकबाट नियाल्नुभएन, र मानिसहरूले कमीकमजोरीको फाइदा उठाए भन्ने सोच्छन्। औसत व्यक्तिको दिमागले भ्याउने र कल्पना गर्न सक्ने यति नै हो। मानिसहरू परमेश्‍वर निदाउनुभयो र उहाँले यी कुराहरू नियाल्नुभएन, जसको फलस्वरूप हगारले इश्माएल जन्माई, र परमेश्‍वरले तिनीहरूलाई दया गरेर बाँच्न दिनुभयो, र तिनीहरूलाई मरुभूमिमा जिउने बन्दोबस्त गरिदिनुभयो भन्ने सोच्छन्। के वास्तविकता यही हो त? (अहँ, त्यस्तो होइन।) परमेश्‍वरसित योजना छ, र विविध जातिहरूको जन्म र अस्तित्वले—अर्थात् विविध जातजाति र वर्णका मानवजाति सबैले—सम्पूर्ण मानवजातिलाई सन्तुलनमा राख्‍न भूमिका खेल्छन्, र तैँले संसारको स्थिति हेरेर तिनीहरूले ठ्याक्कै के भूमिका खेल्छन् भन्ने कुरा बुझ्न सक्छस्। के यो परमेश्‍वरको काम होइन र? परमेश्‍वरले कुनै जातिले कति चाँडो सन्तानोत्पादन गर्छ भन्‍ने कुराका साथै, त्यसको विश्‍वव्यापी जनसङ्ख्या, पृथ्वीमा र मानव जातिमाझ त्यसको भूमिका, र त्यस जातका मानिसले गर्ने राम्रा र नराम्रा दुबै कामकुराहरू नियन्त्रण गर्नुहुन्छ। नराम्रोको बारेमा भन्नुपर्दा, मानिसहरू यस्ता कुराहरू सम्भवत परमेश्‍वरबाट आउन सक्दैनन्, र ती सबै शैतानका काम हुन् भन्ने विश्‍वास गर्छन्। तर के शैतान पनि परमेश्‍वरकै हातमा छैन र? कतिपय मानिसहरू भन्छन्, “शैतानले आफूलाई जे मन लाग्यो त्यही गर्छ, र त्यसमा परमेश्‍वरको नियन्त्रण हुँदैन।” के यो व्याख्या हो र? यो मामलाबारे उचित रूपमा तर्क गर्न सकिन्न, र त्यसो गर्नु गलत हो। कतिपय कुराहरू बाहिरबाट खराब देखिन्छन्, र कतिपय राम्रा देखिन्छन्, तर ती सबै परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत नै हुन्छन्। तैँले परमेश्‍वरले राम्रोमाथि मात्र शासन गर्नुहुन्छ र नराम्रोमाथि शासन गर्नुहुन्न भन्न मिल्दैन, किनकि दुवै कुरा परमेश्‍वरकै हातमा हुन्छन्, दुवैलाई उहाँले नै योजनाबद्ध र नियन्त्रण गर्नुहुन्छ, र सबथोकको पछाडि उहाँकै सुभेच्छा हुन्छ। सत्यता यही हो, र यदि तैँले यो कुरा प्रस्ट बुझ्न सक्छस् भने तैँले सत्यता बुझ्छस्। तैँले कामकुराहरू खराब छन् भन्ने निचोडमा पुग्नु र त्यही कोणमार्फत मात्र हेर्नु गलत हो, किनकि त्यसरी त परमेश्‍वरलाई गलत अर्थ्याउन र प्रतिरोध गर्न सजिलो छ। परमेश्‍वरले गर्नुहुने हरेक काममा उहाँको सुभेच्छा हुन्छ। त्यसोभए, परमेश्‍वरको सुभेच्छाचाहिँ के हो त? मानिसहरू आफ्नै आँखाअगाडि हुने खराब कुराहरू मात्र देख्छन्, तर घट्ना घटेको दश-बीस वर्षपछि त्यसका परिणामहरू के होलान् भनेर कहिल्यै देख्न सक्दैनन्। एक-दुई हजार वर्षपछि के हुनेछ, त्यसको के स्थान हुनेछ र संसारको स्थितिलाई आकार दिने कार्यमा र सम्पूर्ण मानवजातिमाझ त्यसले कस्तो महत्त्वपूर्ण भूमिका खेल्नेछ—मानिसहरू यो देख्न सक्दैनन्, तर यो परमेश्‍वरको सार्वभौमिकता हो। के यो संसार र सम्पूर्ण मानवजातिको स्थितिको विकास सानोतिनो मामला हो र? जबजब केही आइपर्छ, जहाँजहाँ कुनै ठूलो घट्ना घट्छ, वा जहाँजहाँ महामारी वा भूकम्प आउँछ, ती सबै कुरामा परमेश्‍वरको नियन्त्रण हुन्छ! आत्मिक मामलासम्बन्धी बुझाइ नभएका कतिपय निरर्थक मानिसहरूले यस्तो सोच्‍न सक्छन्: “यदि परमेश्‍वरले नै सबथोक नियन्त्रण गर्नुहुन्छ भने, के दियाबलसको दमन र परमेश्‍वरका चुनिएका मानिसहरूको हत्या र क्रूर उत्पीडनमा पनि उहाँकै नियन्त्रण हुन्छ त? के यो परमेश्‍वरले नै गराउनुभएको हो?” के यसलाई यो तरिकाले हेर्नु ठिक हो र? के त्यो उचित हो? यसले परमेश्‍वरलाई नकारात्मक स्थानमा राख्छ, र यो गलत हो। त्यसोभए, तैँले यो मामलालाई कसरी हेर्नुपर्छ? सबै कुरा परमेश्‍वरले नै गराउनुहुन्छ, त्यसोभए “सबै कुरा” मा के-के पर्छन्? त्यसमा सबथोक पर्छन्: नाङ्गो आँखाले जे देख्न सकिन्छ, जस्तै हिमाल र नदी, रूख, बोटबिरुवा, मानिस, आदि इत्यादि। त्यसमा आँखाले देख्न नसक्ने सूक्ष्मजीवका साथसाथै दियाबलस, शैतान र आत्मिक संसारका हरप्रकारका आत्मा र भूतहरू पनि पर्छन्। यी सबै परमेश्‍वरको नियन्त्रणमा हुन्छन्। तिनीहरूले जे गरून् भन्ने परमेश्‍वर चाहनुहुन्छ तिनीहरूले त्यही गर्छन्। तिनीहरूको आवश्यकता परेको बेलामा उहाँले तिनीहरूलाई बाहिर ल्याउनुहुन्छ, र तिनीहरूले जे गर्नुपर्ने हो त्यही काम गर्छन्। यो परमेश्‍वरको सार्वभौमिकता हो। परमेश्‍वरले जे-जसरी शासन र बन्दोबस्त गर्नुभए पनि, तैँले अन्त्यमा परमेश्‍वरको इच्छा कार्यान्वयन भएको देख्न सक्छस्, अनि परमेश्‍वरको हरेक वचन पूरा हुनेछ।

अहिले मानिसहरू परमेश्‍वरले गर्नुहुने कुनै कामको प्रभाव देख्न, वा त्यसको उद्देश्य के हो, परमेश्‍वरले किन त्यसो गर्नुहुन्छ, वा उहाँको इच्छा के हो भनेर जान्न सक्षम नहुन सक्छन्। दुई शताब्दीपछि पनि यो कुरा नदेखिन सक्छ, र मानवजातिले अझै थाहा नपाउन सक्छन्, तर एक हजार वर्षपछि भने तिनीहरू विश्‍वस्त हुनेछन्: “परमेश्‍वरले यसो गरेर अत्यन्तै ठिक र गज्जब गर्नुभयो! परमेश्‍वर साँच्चै परमेश्‍वर नै हुनुहुन्छ!” परमेश्‍वरले गर्नुहुने सबथोक सत्यता हो, र केही पनि गलत होइन भन्ने कुरा मानवजातिले पत्ता लगाउनेछ। उदाहरणको लागि, अनुग्रहको युगमा प्रभु येशूको क्रूसीकरण र उहाँको मृत्युलाई संसारले त्यस समयमा त्यो चरणको कामको असफलताको रूपमा हेरे। तिनीहरूले सोचे, “प्रभु येशूले जन्म, बुढ्यौली, बिमार, र मृत्युको नियति भोग्नुभएन, तैपनि उहाँले कुनै काम गर्नुअघि नै यहूदाले विश्‍वासघात गर्‍यो, र उहाँलाई सेनाहरूले गिरफ्तार गरे, कोर्रा हाने, काँडाको मुकुट ओढाए, गिज्याए, र अन्त्यमा क्रूसमा टाँगे। के यो असफलता होइन र?” के क्रूसीकरण असफलता हो र? यहूदाले प्रभु येशूलाई सरकारको जिम्मा लगाएर विश्‍वासघात गर्‍यो, तर सरकारले केको प्रतिनिधित्व गर्छ? त्यसले शैतानको शक्तिको प्रतिनिधित्व गर्छ। ख्रीष्टलाई शैतानको हातमा सुम्पिएको कुरा राम्रो हो कि नराम्रो? (बाहिरबाट हेर्दा यो नराम्रो देखिन्छ।) मानिसहरूले सोचे, “ओहो! परमेश्‍वरको काममा दियाबलसले बाधा पुर्‍याएको छ। यो राम्रो होइन, यो नराम्रो सङ्केत हो, किनकि परमेश्‍वरले हेरिरहनुभएको थिएन, र उहाँ खासै शक्तिशाली हुनुहुन्न! देहधारी ख्रीष्टलाई अझै पनि कसरी विश्‍वासघात गरेर शासकहरूको हातमा सुम्पन सकियो? के यो प्रस्ट रूपले शैतानको कृपामा छोडिएको अवस्था होइन र? प्रभु येशूले तुरुन्तै उम्किने मार्ग खोज्‍नुपर्छ, अन्यथा के यो काम सकिनेछैन र? अझै पनि ख्रीष्टको एउटा सेवकाइ बाँकी छ।” के मानिसहरूले यस्तै सोच्नेथिएनन् र? त्यसैले त पत्रुसले “प्रभु, यस्तो कुरा तपाईंबाट टाढै होस्: यस्तो कुरा तपाईंलाई हुनेछैन” (मत्ती १६:२२) भनेर भन्‍यो, अनि मानव धारणाहरू बाहिर आए। तिनीहरूले सोचे, “परमेश्‍वरलाई शासकहरूको हातमा सुम्पन सकिने सम्भावनै हुँदैन, त्यसैले यदि त्यस्तो सम्भव भयो भने, उहाँ परमेश्‍वर हुनुहुन्न।” के यो मानव धारणा होइन र? मानिसहरूमा यसप्रकारको धारणा भएकोले गर्दा मात्र तिनीहरूले यसो भन्न, र यस तरिकाले कार्य र व्यवहार गर्न, अनि परमेश्‍वरको इच्छा कार्यान्वयन गर्नमा बाधा पार्न सकेका हुन्। येशूले पत्रुसलाई के भन्नुभयो? “शैतान, मबाट पछि हट्” (मत्ती १६:२३)। प्रभु येशूले पत्रुसलाई शैतान मान्नुभयो। अन्त्यमा, प्रभु येशूलाई शैतानको हातमा सुम्पिइयो, र ती मानिसहरू प्रभु येशूको क्रूसीकरण पूरा गर्ने साधन बने। प्रभु येशूलाई शैतानको हातमा सुम्पनु राम्रो कुरा थियो कि नराम्रो? (राम्रो कुरा थियो।) त्यसलाई यो तरिकाले हेर्दा, यो राम्रो कुरा हो, नराम्रो होइन, किनकि परमेश्‍वरको काम यही विधिमार्फत हासिल भएको थियो। के परमेश्‍वरले यहूदाले गरेको विश्‍वासघातदेखि प्रभु येशूको क्रूसीकरणसम्म केही गर्नुभयो? के उहाँले उम्कने योजना गर्नुभयो, कि कसैले आएर उहाँलाई बचायो? (त्यस्तो भएन।) के परमेश्‍वरले कुनै आश्‍चर्यकर्म प्रकट गर्ने, प्रभु येशूलाई सिधै स्वर्गसम्म उचाल्ने र उहाँलाई बादलपछाडि कसैले नदेख्ने ठाउँमा लुकाउने तरिकाबारे सोच्नुभयो? त्यो कति गौरवशाली, कति भव्य आरोहण हुनेथ्यो! तर परमेश्‍वरले यी कुराहरू गर्नुभएन र यी कुराहरू कसैले पनि देखेन। परमेश्‍वरले यो काम नगर्नुभएको हुँदा, के उहाँले यो काम गर्न सक्नुहुन्न भन्ने पुष्टि गर्छ? के परमेश्‍वरले त्यसो गर्न सक्नुहुन्थ्यो? (हो, सक्नुहुन्थ्यो।) त्यसोभए, किन गर्नुभएन त? (त्यसमा परमेश्‍वरको इच्छा थियो, र उहाँको एउटा योजना थियो।) परमेश्‍वरको योजना के थियो? उहाँको योजना आफैलाई शैतानलाई सुम्पनु र ती पापीहरूको ठाउँ लिई क्रूसमा आफै टाँगिनु, र मानवजातिलाई छुट्कारा दिन आफ्नै बलि चढाउनु थियो। परमेश्‍वरले गर्न चाहनुभएको यही थियो; उहाँ मानिसहरूले आफ्नो धारणामा कल्पना गर्ने कामकुराहरू गर्नुहुन्न। धेरै मानिसहरू सोच्छन्, “परमेश्‍वरले उहाँको प्रतिरोध गर्ने ती सबै दुष्ट मानिसहरूलाई प्रहार गर्न अझ बढी चट्याङ खसाल्नुपर्थ्यो, र तिनीहरूलाई प्रहार गरेपछि प्रभु येशू स्वर्ग आरोहण गर्नुहुनेथ्यो। त्यो कति गौरवशाली र रमाइलो हुनेथ्यो, र त्यसले कति गज्‍जबले परमेश्‍वरको अख्तियार प्रकट गर्नेथ्यो! यी दियाबलस र शैतान अनि यी मान्छेहरू सबैलाई परमेश्‍वरलाई क्रूसीकरण गर्नुको परिणाम हेर्न दिनुहोस्, त्यसपछि तिनीहरूले भविष्यमा त्यसो गर्ने आँट गर्नेछैनन्, हैन र?” मानिसहरूले प्रतिरोध गर्ने आँट नगर्लान्, तर यदि परमेश्‍वरको काम पूरा भएन भने के त्यो बाधक बन्दैन र? मानव धारणाहरूले सधैँ परमेश्‍वरको काममा बाधा पार्ने भएकोले उहाँले त्यो तरिकाले काम गर्नुहुन्न। कतिपय मानिसहरू प्रभु येशूमा साँच्चै विश्‍वास गर्छन् किनकि उहाँ आफ्नो छुटकाराको काम गर्न क्रूसमा टाँगिनुभएको थियो, तर सँगसँगै तिनीहरू राम्रा अभिप्रायले यसो पनि भन्छन्, “प्रभु येशूलाई क्रूसमा नटाँगिएको भए हुन्थ्यो। देहधारण हुनु सजिलो थिएन, र उहाँले नम्रता र गोपनीयतापूर्वक काम गर्नुपर्‍यो, उहाँले मानिसहरूद्वारा त्यागिनुपर्‍यो र शास्‍त्री र फरिसीहरूबाट अपमानित हुनुपर्‍यो। यो अत्यन्तै दयनीय कुरा हो। उहाँले आफूलाई क्रूसीकरणबाट टाढै राख्‍नुभएको भए हुन्थ्यो, आफूलाई त्यो स्तरमा नझार्नुभएको भए हुन्थ्यो, त्यसो गर्नु आवश्यक नै थिएन।” के मानिसहरूले त्यसलाई यसरी हेर्नु ठिक हो र? (अहँ, होइन।) दुई हजार वर्षपछि अहिले हेर्दा स्पष्ट हुन्छ, त्यसरी सोच्‍नु गलत हो। के मानव मस्तिष्कमा सत्यता हुन्छ? (अहँ, हुदैन।) त्यसोभए, मानिसहरूको मस्तिष्कमा के हुन्छ? त्यहाँ हुने त सबै मानव कल्पना र धारणाहरू, साथसाथै असल अभिप्राय, भावना, करुणा, र स्वार्थीपन हुन्। के यी कुराहरूबाट परमेश्‍वरको काम पूरा हुन सक्छ? के यी कुराहरूले उहाँको इच्छा अघि बढाउन सक्छन्? सक्दैनन्, त्यसैले प्रभु येशूले “शैतान, मबाट पछि हट्” (मत्ती १६:२३) भन्ने वचन बोल्नुभएको हो। परमेश्‍वरले व्यक्तिगत रूपमै आफूलाई शैतानको हातमा सुम्पन, शैतानलाई ख्रीष्टलाई क्रूसमा टाँग्न दिन, र क्रूसीकरणमार्फत छुट्काराको काम पूरा गर्न चाहनुभयो। परमेश्‍वरले कुनै आश्‍चर्यकर्महरू प्रकट गर्नुभएन। परमेश्‍वरले कैयौँपटक भन्नुभएको छ, “परमेश्‍वर मौन बस्नुहुन्छ।” यसको अर्थ के हो? के यसको अर्थ परमेश्‍वरले हेर्नुहुन्न, सरोकार राख्नुहुन्न, ध्यान दिनुहुन्‍न, एक शब्द पनि बोल्नुहुन्न, र पूरै मौन बस्नुहुन्छ भन्ने हो? (अहँ, होइन।) त्यसोभए, “मौन बस्नुहुन्छ” भन्नुको मतलब के हो त? यसमा परमेश्‍वरको इच्छा, बुद्धिमान्‌ता र स्वभाव समावेश छन्। परमेश्‍वर मौन बस्‍नुहुँदा परमेश्‍वरको के स्वभाव खुलासा हुन्छ? यसैमा परमेश्‍वरको बुद्धिमान्‌ता छ। उहाँ आफ्नो व्यवस्थापन कार्य पूरा गर्न चाहनुहुन्छ। मानिसहरूमा जति नै धेरै धारणा वा कल्पनाहरू भए पनि, उहाँले कुनै स्पष्टीकरण नदिईकनै पहिला यी कुराहरूबाट पन्छिनुहुन्छ, अनि मौन र व्यवहारिक रूपमा काम गरिरहनुहुन्छ र उहाँले त्यो दिनसम्‍म त्यसो गरिरहनुहुन्छ जुन दिन उहाँका चुनिएका मानिसहरूले सत्यता बुझेर उहाँको आज्ञापालन गर्न सक्छन्, जुन दिन उहाँको इच्छा कार्यान्वयन भएर तिनीहरूमाथिको उहाँको काम पूरा भएको हुन्छ, र जुन दिन उहाँले शैतानलाई पूर्णतया पराजित गरेर महिमा प्राप्त गर्नुभएको हुन्छ। उहाँले यी तथ्य र परिणामहरू सबै मानवजातिले देखून्, र शैतानले पनि देखोस् भनेर प्रमाणको रूपमा प्रयोग गर्नुहुन्छ—परमेश्‍वर मौन बस्‍नुहुँदा खुलासा हुने परमेश्‍वरको स्वभाव र इच्छा यही हो। यो परमेश्‍वरको स्वभावको कुन पक्ष हो? के यसले परमेश्‍वरको धैर्यता देखाउँछ? (देखाउँछ।) यो समयमा परमेश्‍वर किन धैर्य हुनुहुन्थ्यो? उहाँ किन मौन रहनुभयो? यसमा परमेश्‍वरको बुद्धिमान्‌ता संलग्न छ। कतिपय कुराहरू रहस्यहरू हुन्छन् जुन कुनै पनि सृष्टि गरिएका प्राणी, सृष्टि नगरिएका प्राणी, वा स्वर्गदूतलाई बुझ्न वा बोध गर्न अनुमति दिइँदैन। यो परमेश्‍वरको बुद्धिमान्‌ता हो। परमेश्‍वरले समयअगावै बोल्न मिल्दैन, अनि के उहाँले थप एउटा वचन बोलेरसमेत त्यसबाट कुनै लाभ मिल्छ र? त्यसबाट कुनै लाभ मिल्दैन, किनकि तिनीहरूले त्यो बुझ्दैनन्। यदि उहाँले कसैसित बोल्नुहुन्थ्यो भने पनि, के उसले बुझ्थ्यो र? (बुझ्थेन।) यस्तो अवस्थामा, बोलेर कुनै लाभ मिल्दैन। यदि परमेश्‍वरले मानवजातिलाई दुई हजार वर्षपहिले “म क्रूसमा टाँगिन चाहन्छु, मेरो अमूल्य रगतलाई पापी देहको रूपमा चढाएर मानवजातिलाई छुटकारा दिन चाहन्छु” भनेर भन्नुभएको, भए के मानिसहरूले त्यो बुझ्थे होला त? (बुझ्दैनथे) परमेश्‍वरले कुन वचन मात्र बोल्नुभयो? उहाँले “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ” भन्नुभयो, र मानिसहरूलाई धैर्यता र सहनशीलता अभ्यास गर्न लगाउनुभयो। के परमेश्‍वरले मान्छेलाई थप केही भन्नुभयो? (अहँ, भन्नुभएन।) किन भन्नुभएन? (मान्छेले बुझ्नै सक्दैनथ्यो।) मानवजातिले कसैगरी बुझ्न सक्ने थिएन। यसैकारणले गर्दा, परमेश्‍वर आफ्नो स्वभाव र सोचहरू मौनतामा खुलासा गर्न बाध्य हुनुभयो। परमेश्‍वरले जुनसुकै सृष्टि गरिएको वा सृष्टि नगरिएको प्राणीसित बोल्नुहुन्थ्यो भने पनि त्यसले बुझ्थेन। त्यसकारण, उहाँले मानवजातिसामु उहाँको इच्छा प्रमाणित र कार्यान्वयन गर्न उहाँका कार्य र तथ्यहरू प्रयोग गर्न मात्र सक्नुहुन्थ्यो। दुई हजार वर्षपछि, अहिले परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुहुँदा मात्र, यी कुराहरू खुलासा गर्नुभएको छ; मानिसहरू दुई हजार वर्षपहिलेका घटनाहरूलाई फर्केर हेर्छन् र त्यतिबेला प्रभु येशूलाई क्रूसमा टाँग्नुको महत्त्व अहिले मात्र बुझ्छन्। परमेश्‍वरलाई क्रूसमा टाँग्नु, शैतानलाई सुम्पनु, ती परिस्थितिहरूमा यहूदाद्वारा विश्‍वासघात गरिनु र, विश्‍वासघातपछि प्रभु येशूले अत्यन्तै कष्ट भोग्नु, परमेश्‍वरको इच्छा कार्यान्वयन गर्न अन्तिम थोपा रगत बगाउनु, र परमेश्‍वरले यसो गर्नुको कारण र महत्त्वबारे भन्नुपर्दा—परमेश्‍वर उहाँले आखिरी दिनहरूमा देखा परी काम गर्ने क्रममा देहधारणको साक्षी दिँदा मात्र यसबारे बोल्नुहुन्छ, र साथमा, परमेश्‍वरको इच्छा र व्यवस्थापनजस्ता थुप्रै रहस्यहरू खुलासा गर्नुहुन्छ। अहिले मानिसहरूले कामका यी तीन चरणहरूबीचको सम्बन्ध देखिसकेकाले, अन्तत: अब तिनीहरूलाई परमेश्‍वरको व्यवस्थापन योजनाको दर्शन थाहा छ, र तिनीहरू यी सत्यताहरू र परमेश्‍वरका असल अभिप्रायहरू बुझ्छन्। यदि परमेश्‍वरले मानवजातिलाई यो कुरा एक हजार वर्षअगावै भन्नुभएको भए, के मानिसहरूले बुझ्थे त? (बुझ्थेनन्।) त्यसैले, परमेश्‍वरले प्राय: मौन बसेरै सबथोक गर्नुहुन्छ। यो मौनताको कारण के हो? परमेश्‍वरले गर्नुहुने काम अत्यन्तै बुद्धिमानीपूर्ण, अत्यन्तै अद्‌भुत, र अत्यन्तै गहन हुने भएकोले—यदि परमेश्‍वरले पहिल्यै बोल्नुभएको भए, जे भनिएको भए पनि, मानिसहरूले बुझ्न वा बोध गर्न सक्थेनन्। त्यसैले परमेश्‍वर मौन रूपमा अघि बढिरहन, र सधैँ उहाँको काममार्फत बोल्न र मानवजातिलाई अगुवाइ गर्न मात्र सक्नुहुन्छ। मानिसहरूले परमेश्‍वरको अनुसरण गर्नु सही कुरा हो, र तिनीहरू जतिजति अघि बढ्छन् बाटो त्यतित्यति नै उज्यालो हुँदै जान्छ। परमेश्‍वरले तँलाई गलत मार्गमा डोर्‍याउनुहुन्न, र यदि तँलाई उहाँले शैतानलाई सुम्पनुभयो नै भने पनि, परमेश्‍वर अन्त्यसम्मै जिम्मेवार रहनुहुन्छ। तैँले यस्तो आस्था राख्नैपर्छ, र सृष्टि गरिएका प्राणीहरूमा परमेश्‍वरप्रति हुनुपर्ने मनोवृति नै यही हो। यदि तैँले “परमेश्‍वरले मलाई खेलौनाको रूपमा शैतानलाई सुम्पनुभयो नै भने पनि, उहाँ अझै परमेश्‍वर नै रहनुहुन्छ, र म उहाँको अनुसरण गर्ने मेरो हृदय बदल्न सक्दिनँ, उहाँमाथिको मेरो आस्था बदल्न सक्दिनँ” भनेर भन्न सक्छस् भने, यो परमेश्‍वरमाथिको साँचो विश्‍वास हो।

प्रभु येशूलाई क्रूसमा टाँगिएको दुई हजार बर्ष भएको छ, र अहिले परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्ने यी मानिसहरूले उहाँको आवाज सुन्छन्, र हरेक दिन सत्यताबारे प्रवचन र सङ्गतिहरू सुन्छन्। तिनीहरू परमेश्‍वरको कामका यी तीन चरणहरू बुझ्छन्, र उहाँको व्यवस्थापन योजनाका रहस्यहरू जान्दछन्। तर के धर्मभित्रका प्रभुका विश्‍वासीहरूले यो कुरा बुझ्छन् त? तिनीहरूले अझै पनि बुझ्दैनन्, र अझै आफ्नै धारणाहरूमा अल्झिरहन्छन्। कसैले “प्रभु येशू एक गरिब सिकर्मीका छोरा हुनुहुन्थ्यो। तिमीहरूले विश्‍वास गर्ने परमेश्‍वर हेर त” भन्दा तिनीहरू खण्डन गर्न पनि सक्दैनन् र परमेश्‍वरको गवाही दिन पनि सक्दैनन्। मानिसहरू कति तुच्छ हुन्छन्! परमेश्‍वरले मानवजातिको लागि कैयौँ सत्यताहरू व्यक्त गर्नुभएको छ अनि कति महान् कामहरू गर्नुभएको छ, तर यदि उहाँले व्यक्तिगत रूपमै मानिसहरूलाई यी कुराहरूको महत्त्व, मूल्य, र सत्यता बताउनुहुन्न भने, एउटै व्यक्तिले पनि उठेर परमेश्‍वरको निम्ति बोल्न वा उहाँको गवाही दिन सक्दैन। अनि, परमेश्‍वरको निम्ति बोल्नु भनेको के हो? यो भनेको परमेश्‍वरका कार्यहरू र सार्वभौमिकता, यो मानवजातिलाई छुटकारा दिन उहाँले चुकाउनुभएको मूल्य र उहाँका सोचहरू, र उहाँले गर्नुभएका सबथोकको अर्थबारे गवाही दिनु हो। तिमीहरूले यसबाट के बुझ्न सक्छौ? (मानवजातिले परमेश्‍वरको काम कल्पना गर्नै सक्दैन।) मानवजातिले परमेश्‍वरको काम कल्पना गर्नै सक्दैन, न त बुझ्न नै सक्छ। त्यसकारण, मान्छेमा परमेश्‍वरको काम, उहाँले मानवजातिलाई दिनुहुने मार्गदर्शन्, र उहाँको इच्छालाई हेर्ने वा व्यवहार गर्ने सही परिप्रेक्ष्य र दृष्टिकोण हुनैपर्छ। मान्छेमा सही दृष्टिकोण हुनैपर्छ। यो अत्यन्तै महत्त्वपूर्ण छ। तैँले आफू को हुँ र परमेश्‍वर को हुनुहुन्छ, परमेश्‍वरका वचनहरू र काम बुझ्ने तुल्याउन तँसँग हुनुपर्ने कुराहरू, अनि आधारभूत रूपले आफूले प्रस्टसित बुझ्न वा मापन गर्न नसक्ने कुराहरू के हुन्, र तँमा कस्तो खालको मनोवृति हुनुपर्छ भन्नेबारे तैँले जान्नैपर्छ। तँसित हुनुपर्ने समझ यही हो। यस तरिकाले, परमेश्‍वरसँगको तेरो सम्बन्ध निकै सामान्य र सामाञ्जस्यपूर्ण हुनेछ। यदि तैँले परमेश्‍वरबारे अध्ययन र अनुमान गर्नमा वा उहाँले गर्नुहुने सबथोकमा सधैँ पर्खेर हेर्ने, अनुमान लगाउने, शङ्का गर्ने, वा प्रतिरोधसमेत गर्ने मनोवृति अपनाउँछस् भने, समस्या आउनेछ। यो प्राज्ञिक कुरा हो, यो अनुसन्धान हो—यसो गर्ने व्यक्ति गैरविश्‍वासी हो। तैँले परमेश्‍वरको सार्वभौमिकतालाई आज्ञापालन, खोजी, र डरको दृष्टिकोण र मनोवृतिले लिनुपर्छ; यसले मात्र परमेश्‍वरबारे साँचो ज्ञान र बुझाइ सिर्जना गर्छ। यदि तैँले परमेश्‍वरलाई बुझ्छस् भने तँ उहाँविरुद्ध उभिनेछैनस्, वा कम्तीमा तैँले उहाँलाई गलत बुझ्‍नेछैनस्। तैँले आज्ञापालन गर्न र यसो भन्न सक्नेछस्, “परमेश्‍वरले यसो गर्नुको अर्थ मलाई थाहा नभए पनि, म उहाँले गर्नुहुने सबथोक सही हो भनेर बुझ्छु।” यो कस्तो बुझाइ हो? त्यो के हो भने, परमेश्‍वरले गर्नुहुने हरेक थोकको अर्थ छ, र मानिसहरूले त्यसको पालना गर्नुपर्छ भन्ने कुरामा तेरो हृदय विश्‍वस्त छ। प्रभु येशू ख्रीष्टले आफूलाई शैतानको हातमा सुम्पनुभयो र शैतानले उहाँलाई क्रूसमा टाँग्‍यो—मानिसहरूको नजरमा यो राम्रो कुरा थिएन, तर उहाँले परमेश्‍वरको इच्छा पूरा गर्नुभयो र मानवजातिलाई छुट्कारा दिने काम सम्‍पन्‍न गर्नुभयो। यो महान्‌ कुरा हो, सबै मानवजातिको लागि ठूलो अर्थ र मूल्य राख्ने कुरा हो, तर के मानवजातिले त्यो प्रस्ट रूपमा देखे त? (देखेनन्।) मानवजातिले त्यो प्रस्ट रूपमा देखेनन्। मानवजातिले त्यसमा परमेश्‍वरको इच्छा देखेनन्, न त तिनीहरूले परमेश्‍वरले त्यसो गर्नुको अर्थ र महत्त्व नै बुझे; अर्थात्, मानिसहरूले मानवजातिको लागि भएको अत्यधिक लाभ देखेनन्। तिनीहरूले प्रभु येशूलाई क्रूसीकरण गरिएको तीन दिनपछि उहाँ बौरी उठ्नुभएको, मानिसहरूसामु देखा परेर तिनीहरूलाई भेट्नुभएको, कुराकानी गर्नुभएको, विगत सम्झनुभएको, र त्यसपछि जानुभएको मात्र देखे; तर परमेश्‍वरको इच्छा पूरा भइसकेको थियो। के यो ठूलो महत्त्वको कुरा होइन र? (हो।) के मानिसहरूले यो कुरा बुझे त? बुझेनन्। यस मामलाबाट, मानिसहरूले आफूबारे सही मूल्याङ्कन् गर्नुपर्छ, र परमेश्‍वरप्रति सही मनोवृति राख्नुपर्छ। परमेश्‍वरले जे गर्नुहुन्छ, मानिसहरूले बुझे पनि वा नबुझे पनि, तिनीहरूले आफ्नो मुख बन्द गर्नुपर्छ। त्यो सही हुन्छ। सबथोक अध्ययन गर्छु भन्ने नसोच्, त्यो ठिक होइन। किन होइन? तँलाई त्यसो गर्ने अनुमति छैन भन्ने कुनै नियम छैन, तर तैँले अवरोधहरू सामना गर्नेछस् र तँ जोखिममा पर्नेछस्। तैँले अहिले बुझ्न र बोध गर्न सक्दैनस्, र तँ सधैँ अध्ययन गर्न चाहन्छस्, सधैँ परमेश्‍वरविरुद्ध उभिन्छस्। यदि तैँले अध्ययन गरेर त्यो समाधान गर्न सक्दैनस्, तर सत्यता पनि खोज्दैनस् भने, के-कस्ता समस्याहरू सजिलै देखा पर्न सक्छन्? तैँले परमेश्‍वरलाई सजिलै गलत बुझ्‍नेछस्। सुरुमा तैँले गलत बुझ्‍नेछस्, र यदि तैँले प्रस्ट रूपमा कुरा बुझ्न सकिनस् र यो गलत बुझाइ यथावत रह्यो भने, तँ नकारात्मक र कमजोर हुनेछस्, र त्यसले तेरो कर्तव्य निर्वाह र तेरो जीवन प्रवेशमा असर पार्नेछ—यी सबै कुराहरू एकअर्कासँग सम्बन्धित छन्। धेरै कुराहरू एक-दुई वर्षमै प्रस्ट बुझ्न सकिँदैन, र सत्यता अत्यन्तै गहन हुन्छ। अहिले नै परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभयो भने पनि, के तैँले तेरो सानो कदले बुझ्न सक्थिस् र? तैँले थोरै बुझ्न सके पनि, के तैँले सत्यतालाई पूर्णतया बुझ्न सक्थिस् र? तैँले यसो भन्नेथिस्, “मलाई गुरुत्वाकर्षणबारे थाहा छ। किन पृथ्वीमा वस्तुहरू तल झर्छन् र माथि जाँदैनन्, अनि यदि तिमी वायुमण्डल छोडेर अन्तरिक्षमा गयौ भने, किन तिमी तैरिनेछौ? किनकि तिमीले पृथ्वीको गुरुत्वाकर्षण छोड्नेछौ। म यो बुझ्छु, त्यसैले के मैले परमेश्‍वरका कार्यहरू बुझ्न थालिसकेको छैनँ र?” तँलाई परमेश्‍वरले गुरुत्वाकर्षणमाथि ठ्याक्कै कसरी शासन गर्नुहुन्छ भनेर थाहा छैन, र तैँले त्यसको प्रकटीकरण मात्र बुझेको छस्। त्यसको मतलब यो होइन कि परमेश्‍वरले त्यसमाथि कसरी शासन गर्नुहुन्छ भनेर तैँले बुझेको छस्, र तैँले बुझ्न सक्थिस् नै भने पनि, के तैँले त्यसमाथि शासन गर्न सक्थिस् र? मानिसहरूले वायुमण्डल छोडे भने तिनीहरू समस्यामा पर्नेछन्, तिनीहरू गुरुत्वाकर्षणविना जताततै तैरिने र उड्ने मात्र गर्नेछन्। यसबाट के बुझ्न सकिन्छ? (यो कि मानिसहरूले बुझ्न नसक्ने धेरै कुराहरू छन्।) मानिसहरूले बुझ्न सक्दैनन्, तर परमेश्‍वरलाई अध्ययन र अवलोकन गर्न सधैँ उहाँविरुद्ध उभिन्छन्, हृदयमा शङ्का गर्छन् र यसो भन्छन्, “यदि मैले यो मामला बुझ्न सक्दिनँ भने, तपाईं परमेश्‍वर हुनुहुन्न।” यो कस्तो विचार हो? यो विचार र दृष्टिकोण गलत हुन्, ती परमेश्‍वरविरुद्ध उभिन्छन्, र सधैँ अध्ययन गर्नु गलत हो। तैँले परमेश्‍वरलाई बुझ्‍नुपर्छ र यसो भन्नुपर्छ, “म यो बुझ्न सक्दिनँ, यो अत्यन्तै गहन छ र परमेश्‍वरले मलाई अन्तर्दृष्टि नै दिनुहुन्थ्यो भने पनि म पूर्ण रूपमा बुझ्न सक्दिनथेँ। त्यसैले केही वर्ष म आज्ञाकारी हृदयले खोजी गर्नेछु, र यदि परमेश्‍वरले मलाई जवाफ दिनुभएन भने म त्यसलाई बिर्सिदिनेछु। म र परमेश्‍वरबीच कुनै अवरोध वा गलतबुझाइहरू छैनन्। यदि मैले परमेश्‍वरबारे गलत बुझिनँ वा गुनासो गरिनँ भने मैले उहाँको प्रतिरोध गर्नेछुइनँ। यदि मैले उहाँको प्रतिरोध गरिनँ भने म उहाँविरुद्ध विद्रोह गर्नेछुइनँ, र यदि मैले उहाँविरुद्ध विद्रोह गरिनँ भने म उहाँलाई इन्कार गर्नेछुइनँ वा उहाँबाट टाढा जानेछुइनँ। म परमेश्‍वरको सर्वकालीन अनुयायी हुँ।” “परमेश्‍वरको सर्वकालीन अनुयायी” हुनुको आधार के हो? त्यो के हो भने, “परमेश्‍वरले गर्नुहुने काम मेरा धारणाहरूसँग मिले पनि नमिले पनि, म सधैँ आज्ञापालन र अनुसरण गर्नेछु। परमेश्‍वर अझै मेरो परमेश्‍वर नै हुनुहुन्छ र म सृष्टि गरिएको प्राणी हुँ, म मानव हुँ। परमेश्‍वरले मसित जे-जस्तो व्यवहार गर्नुभए पनि, मलाई नरकमा, अग्‍निकुण्डमा, शैतानकहाँ, वा दियाबलसकहाँ फ्याँक्‍नुभए पनि, म सधैँ उहाँको आज्ञापालन गर्नेछु र गुनासो गर्नेछुइनँ। परमेश्‍वरको स्थान परिवर्तन हुन सक्दैन, न त सृष्टि गरिएको प्राणीको रूपमा मेरो पहिचान नै परिवर्तन हुन सक्छ। जबसम्म यो तथ्य अपरिवर्तित रहन्छ, मैले परमेश्‍वरको अनुसरण गर्नैपर्छ, र उहाँ मेरो सर्वकालीन परमेश्‍वर नै हुनुहुन्छ।” परमेश्‍वरमाथिको तेरो विश्‍वास बलियो रूपमा स्थापित भैसकेपछि, तैँले उहाँलाई तेरो पिठ्यूँ फर्काउनेछैनस्। यो तेरो सृष्टि गरिएको प्राणीको पहिचान र परमेश्‍वरबीचको सम्बन्ध हो। जब तैँले तेरो हृदयमा परमेश्‍वरको पहिचान र स्थान, अनि तैँले सृष्टि गरिएको प्राणीको रूपमा पालना गर्नुपर्ने तेरो पहिचान र स्थान प्रस्ट रूपमा देख्छस्, र जब यी तेरो हृदयमा स्थापित भइसकेका हुन्छन्, तब तँ उहाँबाट टाढा जानेछैनस्। त्यसपछि, जब तँ कमजोर, नकारात्मक, र निराश हुन्छस् वा तेरा धारणाहरूसँग नमिल्ने केही आइपर्छ र तैँले त्यसलाई मापन गर्न वा बुझ्न सक्दैनस्, तब के त्यसले परमेश्‍वरसँगको तेरो सम्बन्धमा प्रभाव पार्न सक्छ र? (सक्दैन।) जबसम्म तँ दर्शनहरूसम्बन्धी सत्यताबारे प्रस्ट हुन्छस्, र जबसम्म तैँले जग बसालेको, थुप्रै परिवेशहरू अनुभव गरेको र परमेश्‍वरले गर्नुहुने हरेक कुराको अर्थ हुन्छ भन्‍ने महसुस गरेको हुन्छस्, तबसम्म तैँले परमेश्‍वरको काम चिन्नेछस् र त्यसपछि फेरि धारणाहरू उत्पन्न हुन कठिन हुनेछ। कतिपय मानिसहरूले एक भाग मात्र बुझ्न सक्छन्। उदाहरणको लागि, न्याय र सजाय सम्बन्धमा भन्नुपर्दा, मानिसहरू परमेश्‍वरले जे गर्नुहुन्छ त्यो अर्थपूर्ण छ भनी स्विकार्छन्, तर काटछाँट र निराकरण सामना गर्दा धारणाहरू बनाउँछन्। तिनीहरूलाई जोसुकैले निराकरण गरे पनि, तिनीहरू त्यो स्विकार्न अनिच्छुक हुन्छन् र उक्त मामला परमेश्‍वरबाट आउँछ भनेर स्विकार्दैनन्। तिनीहरू त्यो मान्छेले गरेको हो, र शैतानबाट आउँछ भन्ठान्छन्। के यो अर्को भूल होइन र? अर्को समस्या देखा पर्‍यो भने, सत्यताप्रतिको खोज जारी रहनुपर्छ। यदि तैँले यो कुरा पूरा गर्न सक्दैनस् भने, के तैँले परमेश्‍वरको काम पूर्णतया पालना गर्न सक्छस् त? तैँले तेरा धारणाहरूसँग मिल्ने कुरा मात्र पालना गर्न सक्छस्, र नमिल्नेलाई अवज्ञा गर्न सक्छस्। यसप्रकारको व्यक्तिले एकदमै सजिलै परमेश्‍वरको प्रतिरोध गर्न सक्छ, र यस्तो व्यक्ति स्वभाव परिवर्तन नभएको व्यक्ति हो।

मानिसहरूभित्र थुप्रै सोच, विचार, र स्थितिहरू हुन्छन् जसले प्रायः तिनीहरूका केही राय, दृष्टिकोण र मतहरूलाई प्रभावित पारिरहन्छन्। यदि तैँले सत्यताको खोजीमार्फत यी सोच, विचार र स्थितिहरूलाई एक-एक गर्दै समाधान गर्न सक्छस् भने, तिनले परमेश्‍वरसँगको तेरो सम्बन्धलाई प्रभावित पार्नेछैनन्। अहिले तेरो सानो कद होला, तँमा सत्यताबारे सतही बुझाइ होला, र तैँले परमेश्‍वरमा छोटो समय मात्र विश्‍वास गरेकोले वा अन्य विविध तत्त्वहरूको कारणले, तैँले त्यति धेरै सत्यताहरू बुझ्दैनस् होला—तर तैँले एउटा सिद्धान्त बोध गर्नुपर्छ: परमेश्‍वरले गर्नुहुने सबथोक मैले पालना गर्नुपर्छ, चाहे बाहिरबाट त्यो राम्रो देखियोस् वा नराम्रो, सही देखियोस् वा गलत, र त्यो मानव धारणाहरूसित मिलोस् वा नमिलोस्। मसित त्यो सही हो कि गलत भनेर आलोचना, मूल्याङ्कन्, विश्‍लेषण, वा अध्ययन गर्ने अधिकार छैन। मैले गर्नुपर्ने भनेको सृष्टि गरिएको प्राणीको रूपमा मेरो कर्तव्य पूरा गर्नु र त्यसपछि मैले बुझ्न सक्ने सत्यताहरू अभ्यास गर्नु, परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु र साँचो मार्गबाट विचलित नहुनु हो। परमेश्‍वरले मलाई जति बढी बुझ्न दिनुहुन्छ म त्यति अभ्यास गर्नेछु, र परमेश्‍वरले मलाई अन्तर्दृष्टि दिनुभएन भने पनि म आफूले अभ्यास गर्नुपर्ने कुरा खोजी गर्नेछु; यदि मैले बुझ्न आवश्यक कुनै कुराबारे परमेश्‍वरले मलाई अन्तर्दृष्टि दिनुभएको छैन भने, म आज्ञापालन गर्दै प्रतीक्षा गर्नेछु, र सायद कुनै दिन परमेश्‍वरले मलाई बुझ्न दिनुहुनेछ। प्रभु येशूको क्रूसीकरणजस्तै, दुई हजार वर्षपछि आखिरी दिनहरूको परमेश्‍वरको काम स्विकार्ने ती मानिसहरूले आधारभूत रूपमा कुरा बुझ्छन्, र आफ्नो पछ्याइमा अति उत्सुक नभएकाहरूले समेत त्यो के बारेमा थियो भनेर बुझ्छन्। तैँले अहिले नै परमेश्‍वरको व्यवस्थापन योजनासम्बन्धी केही ठूला कामहरू नबुझ्न सक्छस्, तर तैँले उहाँलाई गलत बुझ्छस् किनकि तैँले सत्यता बुझ्दैनस् र उहाँको अस्तित्व स्विकार्दैनस्, र यसले तँ र परमेश्‍वरबीचको सामान्य सम्बन्ध बिगार्छ। यो गम्भीर भूल हो। तँसित यस्तो मनोवृति, दृष्टिकोण र मत हुनुपर्छ कि तैँले यसो भन्‍न सक्‍नुपर्छ: “म आफूले नबुझ्ने यी कुराहरूको प्रतीक्षा गर्नेछु। जब कुनै दिन परमेश्‍वरले मानवजातिलाई अन्तर्दृष्टि दिनुहुन्छ, तब सायद मैले ती सबै कुरा बुझ्नेछु।” जब प्रभु येशू जानुभयो, उहाँले यसो भन्नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ”—ती किन सहन सकिँदैनथ्यो त? किनभने मानिसहरूको कद अत्यन्तै अपरिपक्व थियो, र तिनीहरूले बुझ्न सक्दैनथे। यो त चार-पाँच वर्षको बच्चालाई पैसा कमाउने वा परिवारलाई आड दिनेबारे बताउनुजस्तै हो; उसले सुन्नेछ, तर त्यो उसले बुझ्नै नसक्ने गरी ऊबाट अत्यन्तै टाढा र उसको पहुँचबाहिर भएको अनुभूति गर्नेछ। परमेश्‍वरले मानवजातिलाई बताउन चाहुनुभएका र मानिसहरूले बुझ्‍नुपर्ने कुराहरू अत्यन्तै धेरै छन्, तर मानवजातिको अपरिपक्व कदले गर्दा, वा परमेश्‍वरको कामका प्रक्रियाहरू मानिसहरूसामु अझै पूर्ण रूपमा खुलासा भइनसकेकाले र मानिसहरूले यी कुराहरू अनुभव गरिनसकेकाले, यदि यी कुराहरूबारे अति चाँडो थाहा दिइएमा तिनीहरूले बुझ्नेछैनन्। यदि तिनीहरूले सुने नै भने पनि, तिनीहरूले यी कुरालाई धर्मसिद्धान्तको रूपमा लिनेछन् र सोझो अर्थमा बुझ्नेछन्, तर परमेश्‍वरले साँच्चिकै के भनिरहनुभएको छ भनेर थाहा पाउनेछैनन्। त्यसैले, परमेश्‍वर बोल्नुहुन्न। अनि, के परमेश्‍वरले नबोल्नु उचित कुरा हो? के त्यसबाट मान्छेलाई लाभ हुन्छ? (हुन्छ।) के त्यसले गर्दा मानिसहरूको जीवन वृद्धिमा ढिलाइ हुनेछ? निश्‍चय नै कुनै ढिलाइ हुनेछैन, बिलकुलै हुनेछैन, तेरो दैनिक जीवन वा तेरो सामान्य खोजमा कुनै प्रभाव पर्नेछैन। तँ बस तेरो हृदयलाई आराम दिने र सत्यता पछ्याउने काम मात्र गर्, किनकि यो नै सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा मुलभूत कुरा हो। यदि तैँले सत्यता पछ्याउँछस् भने, परमेश्‍वरलाई पछ्याउने प्रक्रियामार्फत उहाँले गर्नुहुने केही कामभित्रका रहस्यहरू, उहाँले गर्नुहुने सबै कुरामा रहेको उहाँको बुद्धिमान्‌ता, विलक्षणता र उहाँको स्वभाव, अनि मानवजातिले बुझ्नुपर्ने विभिन्‍न कुराहरू बिस्तारै प्रस्ट बन्नेछन्। परमेश्‍वरबारे ज्ञान हासिल गर्ने कुरामा धेरै पक्षहरू संलग्न हुन्छन्, र तैँले—परमेश्‍वरसँगको तेरो अन्तरक्रिया, उठबस र सम्पर्कको क्रममा—उहाँका वचनहरू अनुभव गर्नुपर्छ, उहाँका वचनहरूको आनन्द लिनुपर्छ, र उहाँको कामको साथै तँमाथि उहाँको अन्तर्दृष्टि र मार्गदर्शनको पनि आनन्द लिनुपर्छ। यो क्रममा, थाहै नपाईकन, तैँले परमेश्‍वरबारे ज्ञान हासिल गर्नेछस्; अर्थात्, तैँले तँमाथिको उहाँको सार्वभौमिकता र बन्दोबस्त अनुभव गर्ने प्रक्रियामार्फत बिस्तारै परमेश्‍वरबारे बुझाइ प्राप्त गर्नेछस्। यदि तैँले यी प्रक्रियाहरू भोग्दैनस्, बरु हरेक दिन खुला आँखाले आकाशतर्फ हेर्ने मात्र गर्छस्, र परमेश्‍वरको काम हेर्न तेरो कल्पनामाथि मात्र भरोसा गर्छस् भने, तैँले कहिल्यै बुझाइ प्राप्त गर्नेछैनस्। अन्त्यमा तैँले शङ्का नै गर्नेछस् र यसो भन्नेछस्, “परमेश्‍वर कहाँ हुनुहुन्छ? के उहाँले चन्द्रमा बनाउनुभएको हो? घाम बिहान झुल्किन्छ र राति अस्ताउँछ—के परमेश्‍वरले यसरी नै सबै कुराहरू चलाउनुहुन्छ?” यस प्रकारको बुझाइ खोक्रो हुन्छ, र तेरो दृढनिश्‍चयता रित्ता शब्दहरू मात्र बन्नेछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् कि गर्दैनस् भनी यदि कसैले तँलाई सोध्थ्यो भने, तैँले यसो भन्नेथिस्: “म परमेश्‍वरमा विश्‍वास गर्छु, ममा दृढनिश्‍चयता छ, म एक इसाई हुँ।” यदि त्यसपछि तिनीहरूले “तिमी किन बौद्धमार्गी भएनौ?” भनेर सोधे भने, तैँले “साँचो मार्ग बुद्ध धर्म होइन, इसाई धर्म हो” भनेर भन्नेथिस्। तैँले यसो मात्र भन्न सक्नुले तँमा अनुभव छैन र तैँले केही हासिल गरेको छैनस् भन्ने पुष्टि गर्छ। परमेश्‍वरबारेका सबथोक, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सब, अनि उहाँको सार, उहाँको स्वभाव, मानवजाति र यावत्‌ कुराहरूको लागि उहाँको सार्वभौमिकता र बन्दोबस्तहरू, उहाँका वचनहरूको वास्तविकता र परिशुद्धता र मानवजातिको लागि तिनको महत्त्व, आत्मिक गुण, र मूल्य, साथै परीक्षा, अनुशासन, अन्तर्दृष्टि र ज्योति, सान्त्वना र उत्प्रेरणा, आदिमार्फत काम गर्ने उहाँका केही तरिकाहरू, र मान्छेको लागि उहाँका केही विशेष मार्गदर्शनहरू—यदि तैँले व्यक्तिगत रूपमा यी कुराहरू अनुभव गरेको, र साँच्चै तिनको स्वाद लिएको छैनस् भने, के परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य हुन सक्छ? के तैँले साँचो रूपमा उहाँको आज्ञापालन गर्न सक्छस्? परमेश्‍वरबारे तेरो बुझाइ सदाको लागि प्रश्‍नचिह्न हुनेछ, अर्थात् तँमा वास्तविक बुझाइ बिलकुलै नभई केवल प्रश्‍नचिह्नहरूको श्रृङ्खला हुनेछ। त्यसोभए, के परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ? के त्यो साँच्चिकै सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताबीचको सम्बन्धजस्तै छ? यो प्रश्‍नचिह्नले ठ्याक्कै के जनाउँछ? परमेश्‍वर सधैँभरि तेरो लागि अपरिचित हुनुहुनेछ, पहिचान, हैसियत, वा उहाँको सार सबै हिसाबमा अपरिचित हुनुहुनेछ। उहाँ तेरो परिवार हुनुहुन्न, तेरो नातेदार हुनुहुन्न, उहाँ सधैँ तैँले कहिल्यै नचिनेको नौलो आगन्तुकजस्तो देखिनुहुन्छ—त्यसैले परमेश्‍वरसँगको तेरो वास्तविक सम्बन्ध के हो भनी व्याख्या गर्न सजिलो छैन, तर त्यो पक्कै पनि सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताबीचको सम्बन्धको स्तरको छैन।

परमेश्‍वरमा विश्‍वास गर्नको लागि मुख्य कुराहरू के-के हुन्? परमेश्‍वरमाथिको आस्थालाई कसरी मानिसहरूसँग जीवनमा हुनुपर्ने वास्तविकता बनाउने? कसरी आज्ञापालन हासिल गर्ने र कसरी परमेश्‍वरलाई प्राप्त गर्ने? तैँले उहाँका वचनहरू र सबैभन्दा महत्त्वपूर्ण रूपमा उहाँको न्याय र सजाय अनुभव गर्ने कार्यमा भर पर्नुपर्छ, त्यसपछि मात्र तैँले आज्ञापालन गर्न र उहाँलाई प्राप्त गर्न सक्छस्। धेरै मानिसहरू आफ्नो कर्तव्य निभाउन इच्छुक भए पनि, उहाँको काम कसरी अनुभव गर्ने भन्ने कुरा तिनीहरूले बुझ्दैनन्। त्यसो गर्नको लागि, तैँले उहाँको न्याय र सजाय, उहाँको काटछाँट र निराकरण, अनि परीक्षा र शोधन अनुभव गर्नैपर्छ। परमेश्‍वरका सबै मापदण्डहरू अभ्यास गर्नुपर्छ, तिनमा प्रवेश गर्नुपर्छ र तिनलाई हासिल गर्नुपर्छ। यसलाई परमेश्‍वरको काम अनुभव गरेको भनिन्छ। त्यो अनुभव गर्नको लागि तैँले उहाँसित सामान्य सम्बन्ध स्थापित गर्नुपर्छ, सधैँ उहाँलाई प्रार्थना गर्नुपर्छ र आज्ञाकारी हृदयद्वारा उहाँसित खोजी गर्ने गर्नुपर्छ। तँमाथि जे आइपरे पनि वा तैँले जे-जस्ता कठिनाइहरू सामना गरे पनि, तैँले परमेश्‍वरमाथि भरोसा राख्नुपर्छ र उहाँको बाटो हेर्नुपर्छ, उहाँका वचनहरूमा जवाफ र मार्ग खोज्नुपर्छ, र सधैँ उहाँसित प्रार्थना र सङ्गति गर्नुपर्छ। परमेश्‍वरको काम अनुभव गर्नु भनेको उहाँसँग सम्पर्कमा रहनु र उहाँका वचनहरू र काम पालना गर्नु, आफूलाई समस्या वा कठिनाइहरू पर्दा उहाँलाई प्रार्थना गर्नु र उहाँसित खोजी गर्नु हो। तँसित यस्तो धेरै अनुभव भएपछि, र तैँले सत्यता बुझेपछि, तैँले आफूमाथि आइपर्ने घट्नाहरूमा परमेश्‍वरका वचनहरू लागू गर्न जानेको हुनेछस्। परमेश्‍वरका वचनहरू लागू गर्ने थुप्रै तरिकाहरू छन्, जस्तै, केही कुरा आइपर्दा प्रार्थना र खोजी गर्ने, र मानिसहरूले कस्तो व्यवहार गर्नुपर्छ, त्यसका सिद्धान्तहरू के हुन्, र मानिसहरूको लागि परमेश्‍वरका इच्छा र मापदण्डहरू के हुन् भनी परमेश्‍वरका वचनहरूले कसरी प्रस्ट रूपमा बताउँछन् भनी हेर्ने। जब तँलाई यो सब थाहा हुन्छ, र जब तैँले परमेश्‍वरका अभिप्रायहरू बुझ्छस्, तब तँमा परमेश्‍वरबारे केही ज्ञान र बुझाइ हुनेछ। जब परीक्षाहरू सामना हुन्छन्, तैँले खोजी गर्नुपर्छ, “यस्तो ठूलो परीक्षाबारे परमेश्‍वरको वचनले के भन्छ? परमेश्‍वरले मानिसहरूको परीक्षा लिनुको अर्थ के हो? उहाँ किन मानिसहरूको परीक्षा लिन चाहनुहुन्छ?” परमेश्‍वरका वचनहरूले भन्छन् कि तँ भ्रष्ट छस्, तँ सधैँ विद्रोही र अनाज्ञाकारी हुन्छस्, र तँ उहाँप्रति समर्पित हुँदैनस्, बरु लगातार रूपमा कल्पना र धारणाहरू बनाउँछस्, त्यसैले परमेश्‍वरले परीक्षाहरूमार्फत तँलाई धुन चाहनुहुन्छ। तैँले जे अनुभव गरे पनि, चाहे त्यो उत्पीडन र परीक्षाहरू होऊन्, वा चाहे काटछाँट र निराकरण, र अनुशासन र दण्ड होऊन्, र परमेश्‍वरले तेरो लागि जे-जस्तो परिवेश मिलाउनुभए पनि वा उहाँले जुनसुकै विधि प्रयोग गर्नुभए पनि, तैँले सधैँ परमेश्‍वरका वचनहरूमै जवाफ र आधार खोज्नुपर्छ, अनि तैँले तँबारे उहाँका इच्छा र मापदण्डहरू के छन् भनेर खोजी गर्नुपर्छ। त्यसको मतलब, जेसुकै आइपरे पनि, तैँले सुरुमा परमेश्‍वरले के भन्नुभएको छ, उहाँ मानिसहरूले कसरी अभ्यास गरून् भन्ने चाहनुहुन्छ, मानिसहरूको लागि उहाँका मापदण्डहरू के हुन्, र उहाँको इच्छा के हो भन्नेबारे सोच्नुपर्छ। यी कुराहरू बुझिस् भने, परमेश्‍वरको काम कसरी अनुभव गर्ने भनेर तैँले जान्नेछस्। यदि तेरो हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ छैन र तैँले सत्यलाई प्रेम गर्दैनस्, बरु सधैँ मान्छे, पुस्तक र प्रसिद्ध र महान् मानिसहरूले के भन्छन्, वा यस्तो कुरा हुँदा अविश्‍वासीहरूले के गर्छन् भनी सोच्छस् भने, र यदि तैँले यस तरिकाले खोजी र अभ्यास गर्छस् भने तँ गैरविश्‍वासी होस्, किनकि तेरा सोचहरू र तेरो मार्ग अविश्‍वासीहरूकै जस्ता छन्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस्, तर तेरो सोच अविश्‍वासीहरूकै जस्तो छ र तँ अविश्‍वासीहरूकै मार्गमा हिँड्छस् भने, यो गलत मार्ग हो, यो निकासहीन मार्ग हो; यो परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले गर्नुपर्ने कुरा वा हिँड्नुपर्ने मार्ग होइन। मण्डलीभित्रै यस्ता मानिसहरू हुन्छन्, र तिनीहरू गैरविश्‍वासीहरू, अर्थात् मण्डलीमा लुकेर बसेका अविश्‍वासीहरू हुन्।

मान्छे र परमेश्‍वर कसरी सम्बन्धित छन्? तैँले परमेश्‍वरलाई कसरी जान्न सक्छस्? उहाँले मान्छेमाथि कसरी काम गर्नुहुन्छ? उहाँले आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ, जसमार्फत उहाँले आफ्नो इच्छा प्रकट गर्नुहुन्छ, तँलाई तैँले लिनुपर्ने मार्गबारे मार्गदर्शन गर्नुहुन्छ, तेरो परीक्षा लिनुहुन्छ, र तँलाई तेरो लागि उहाँका सबै मापदण्ड र मानकहरू बताउनुहुन्छ। थाहै नपाई, मानिसहरूले परमेश्‍वरका वचनभित्र सत्यताका सम्पूर्ण पक्षहरू बुझ्छन्: मानिसहरू र मामलाहरू कसरी सम्हाल्ने, आफ्ना दाजुभाइ-दिदीबहिनीहरू, मण्डलीको काम, र आफ्नो कर्तव्यलाई कुन रूपमा लिने, परीक्षाहरू कसरी अनुभव गर्ने, परमेश्‍वरप्रति कसरी बफादार हुने, कसरी परित्याग गर्ने, अविश्‍वासीहरूको संसारलाई कुन रूपमा लिने, र यस्तै अन्य कुराहरूका सिद्धान्तहरू। यो सबै परमेश्‍वरको वचनमा छ, र उहाँले मानवजातिलाई बताइसक्‍नुभएको छ। तर मान्छेले अन्त्यमा कुन हदसम्म त्यो अनुभव गर्छ? मानिसहरू उहाँका वचनहरूमा परमेश्‍वर देख्न, र उहाँसित आमनेसामने हुन सक्छन्। कसैले सोध्‍न सक्छ: “तपाईंले विश्‍वास गर्ने परमेश्‍वर कहाँ हुनुहुन्छ?” अनि ज-जसले अनुभव गरेका हुँदैनन्, तिनीहरूले भेउ पाउनै सक्दैनन्: “त्यै त, परमेश्‍वर कहाँ हुनुहुन्छ? उहाँ मेरो अगाडि कहिल्यै देखा पर्नुभएको छैन। उहाँ सधैँ तेस्रो स्वर्गमा हुनुपर्ने भनिन्छ, तर मैले उहाँलाई कहिल्यै देखेको छैन। परमेश्‍वर कति ठूलो वा कति अग्लो हुनुहुन्छ, वा कति सर्वशक्तिमान् र सर्वज्ञानी हुनुहुन्छ भनेर मलाई साँच्चै थाहा छैन।” अनुभव भएकाहरूले चाहिँ यसो भन्‍न सक्छन्: “ती कुराहरू महत्त्वपूर्ण छैनन्। मैले त परमेश्‍वरलाई विश्‍वास गर्न थालेको पहिलो दिनदेखि नै उहाँका वचनहरू सामना गरेँ। अहिले मैले उहाँमा बीसतीस वर्ष विश्‍वास गरेको छु, र उहाँका वचनहरूमा म उहाँको स्वभाव र सार देख्छु, र ममा उहाँबारे केही बुझाइ र ज्ञान छ। यतिका वर्षसम्म उहाँका वचनहरू अनुभव गरेपछि, यदि कुनै दिन परमेश्‍वर मकहाँ आएर मसित बोल्नुभयो, र मसित उठबस गर्नुभयो भने, ती वचनहरू व्यक्त गर्नुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ, मैले विश्‍वास गर्ने परमेश्‍वर उहाँ नै हुनुहुन्छ, त्यसमा कुनै शङ्का छैन भनी मैले पुष्टि गर्न सक्नेछु! उहाँ जे-जस्तो देखिनुभए पनि, उहाँका वचनहरू र यी कुराहरू एउटै स्रोतबाट आएका हुन् भने, मैले विश्‍वास गर्ने परमेश्‍वर, अर्थात् स्वर्गको परमेश्‍वर, र मेरो नियति र यावत्‌ कुराहरूमाथि सार्वभौमिकता भएको परमेश्‍वर उहाँ नै हुनुहुन्छ। त्यो उहाँ नै हुनुहुन्छ।” यो बेला, के अझै परमेश्‍वरले स्वर्गबाट तँसित बोल्नु आवश्यक पर्छ र? (पर्दैन।) परमेश्‍वरले जे-जस्तो स्वरूप वा छवि धारण गर्नुभए पनि, तैँले त्यो देख्नु पर्दैन। त्यो आवश्यक छैन। तँमा त्यो जिज्ञासा हुनेछैन। तर किन? यतिका वर्षसम्म परमेश्‍वरको सम्पर्कमा रहेको अनुभवपछि, तैँले उहाँलाई राम्ररी चिन्छु वा उहाँसित अत्यन्तै परिचित छु भनेर भन्न नमिल्ला, तर उहाँका वचनहरूको कारण अनि ती वचनहरूप्रतिको र उहाँको कामप्रतिको तेरो अनुभवको कारण कम्तीमा पनि तेरो लागि उहाँ बिलकुलै नौलो हुनुहुन्न। उहाँ तँसितै हुनुहुन्छ, उहाँले तँलाई मार्गर्दर्शन दिइरहनुभएको छ, र उहाँ तेरो हरदिन र तेरो नियतिमाथि सार्वभौम हुनुहुन्छ। उहाँले तेरो आनन्द, दुःख, रिस, र खुसी सबै एकदमै राम्रोसित बुझ्‍नुहुन्छ, र तैँले पनि उहाँका यी सबै संवेगहरू राम्रोसित बुझ्छस्। तैँले उहाँलाई गलत बुझ्‍न वा उहाँबारे गुनासो गर्न छोडिसकेको छस्, र तेरो हृदयमा उहाँको यस्तो स्थान छ कि तैँले उहाँ त्यही विराजमान हुनुहुन्छ, र उहाँले राजाको रूपमा शासन गर्नुहुन्छ, र तेरो सम्पूर्ण अस्तित्व नियन्त्रण गर्न सक्नुहुन्छ भनेर भन्न सक्छस्। यो “राजाको रूपमा शासन गर्नु” भनेको के हो? त्यो भनेको, जेसुकै आइपरे पनि ती कुराहरू हल गर्न तँ परमेश्‍वरका वचनहरू प्रयोग गर्छस्, र उहाँका वचनहरू तेरो हृदयका मालिक हुन्। तँ मालिक होइनस्। तेरो ज्ञान र सिकाइ, तैँले पढेका पुस्तकहरू, तेरा जीवनका अनुभव र घटनाहरू—यी सबैले तँलाई अगुवाइ गर्न सक्दैनन्। तँलाई सबथोकमा परमेश्‍वरका वचनहरूले मार्गदर्शन गर्नेछन्, र ती तेरो वास्तविक जीवनमा हरदिन खुलासा हुने र जिइने तेरो जीवनको मार्गनिर्देशिका बन्नेछन्। तैँले यसरी नै सत्यता वास्तविकताहरू प्राप्त गर्नेछस्। त्यो बेला, यदि कसैले फेरि पनि तँलाई “तिमीले परमेश्‍वरमा विश्‍वास गर्छौ, त्यसैले के तिमी उहाँलाई चिन्छौ?” भनी सोध्थ्यो भने, तैँले यसो भन्नेथिस्: “म परमेश्‍वरलाई अलिअलि जान्दछु। उहाँ कति शक्तिशाली वा बुद्धिमान् हुनुहुन्छ भनी शब्दमा व्याख्या गर्ने, र उहाँलाई परिभाषित गर्ने आँट ममा छैन, तर कम्तीमा मलाई थाहा छ कि परमेश्‍वर अथाह, अत्यन्तै बुद्धिमान् र आश्‍चर्यजनक हुनुहुन्छ, र उहाँले मानवजातिलाई अत्यन्तै धेरै प्रेम गर्नुहुन्छ। परमेश्‍वरको प्रेम अत्यन्तै महान्‌ र साँचो छ र उहाँको स्वभाव अत्यन्तै धर्मी छ!” के यो थोरै ज्ञान मानिसहरूको भ्रामक र अपारदर्शी धारणा र कल्पनाहरूभन्दा बढी मूल्यावान् छैन र? (हो, छ।) त्यसोभए, यी मूल्यावान् कुराहरू कहाँबाट आउँछन्? ती परमेश्‍वरका वचनहरूको अनुभवबाट आउँछन्। अर्थात्, यतिका वर्षसम्म परमेश्‍वरका वचनहरूद्वारा भरणपोषण गरिएपछि, ती तँभित्र स्थापित र अङ्कुरित हुनेछन्, फुल्नेछन्, र तिनले फल फलाउनेछन्, अनि तैँले उहाँका वचनहरूको वास्तविकता जिएको हुन्छस्। परमेश्‍वरका वचनहरूमा जिउँदा तैँले यी प्रभावहरू कसरी हासिल गर्छस्? (मानिस, घट्ना र वस्तुहरूबारे परमेश्‍वरको बन्दोबस्तहरू अलिअलि गर्दै अनुभव गरेर।) यो अनुभवबाट आउँछ, अर्थात् यस अवधिमा परमेश्‍वरका वचनहरूप्रतिको निरन्तरको अनुमोदन, अनि परमेश्‍वरका हरेक वाक्यहरू सत्यता हुन्, ती आफूलाई जीवनमा आवश्यक पर्ने कुरा हुन् भन्ने पुष्टीकरणबाट आउँछ। त्यो बेला, यदि कसैले “तिमीले विश्‍वास गर्ने परमेश्‍वर परमेश्‍वर नै होइन, उहाँ अस्तित्वमा हुनुहुन्न, उहाँलाई देख्न सकिन्न” भनेर भन्छ भने, तैँले यसो भन्नेछस्: “परमेश्‍वरको अस्तित्व र सार्वभौमिकता कुनै एक व्यक्तिले निर्धारण गर्ने कुरा होइन। त्यो परमेश्‍वरले निर्धारण गर्नुहुन्छ, त्यो सबैथोकमाथि परमेश्‍वरको अस्तित्व र सार्वभौमिकता भएको तथ्यले निर्धारण गर्छ, त्यो यी वर्षहरूमा परमेश्‍वरको कामसम्बन्धी मेरो वास्तविक अनुभवले निर्धारण गर्छ, त्यो परमेश्‍वरको काम अनुभव गरेको सम्पूर्ण गवाहीले निर्धारण गर्छ। यो प्रमाण हो।” यो परमेश्‍वरको गवाही दिनु हो। यदि कसैले फेरि पनि “परमेश्‍वर कहाँ हुनुहुन्छ?” भनेर भन्थ्यो भने, तैँले के जवाफ दिन्थिस्? (उहाँमा विश्‍वास गर्ने हरेक व्यक्तिको हृदयमा हुनुहुन्छ भनेर भन्थेँ।) परमेश्‍वर मानिसहरूको हृदयमा बसिसक्नुभएको छ, तर उहाँ सबै कुराहरूभित्र र सबै कुराहरूमाझ, हाम्रो वरिपरि हुनुहुन्छ। परमेश्‍वरको अस्तित्व यही हो। तैँले त्यो नकार्न मिल्दैन, र तैँले देखेको भन्दा तैँले अनुभव गरेको कुरा बढी साँचो हुन्छ। यदि तैँले परमेश्‍वरलाई देख्थिस् नै भने पनि, के तँ उहाँलाई चिन्थिस् र? (अहँ, चिन्दिनथेँ।) यदि परमेश्‍वरको आत्मिक शरीर मानिसहरूमाझ आएर “म परमेश्‍वर हुँ” भनेर भन्थ्यो भने, तैँले अकमक्क भएर यसो भन्नेथिस्, “तपाईं परमेश्‍वर? मैले किन तपाईंलाई नचिनेको? म तपाईंजस्तो परमेश्‍वर स्विकार्दिनँ!” वास्तवमा, तँ त्रसित हुनेथिस्। तैँले किन यस्तो प्रतिक्रिया दिन्थिस्? किनभने तैँले परमेश्‍वरलाई चिन्दैनस्, त्यसैले उहाँप्रति तँसँग यसप्रकारको मनोवृति र व्यवहार हुन्छ।

परमेश्‍वरमा विश्‍वास गर्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? तैँले उहाँका वचनहरू अनुभव गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर भन्न सक्छस्। परमेश्‍वरका वचनहरू अनुभव गर्ने क्रममा, मानिसहरूमा जुनसुकै गलत स्थितिहरू भए पनि, परमेश्‍वरप्रति प्रतिरोधका स्थितिहरू वा विद्रोहीपनहरू, वा जुनसुकै गलत विचारहरू भए पनि, यी सबैलाई सत्यताद्वारा सुल्टाउनु र हल गर्नुपर्छ। यस तरिकाले तेरो भित्री स्थिति बिस्तारै सुधार हुनेछ, परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्झन् सामान्य बन्नेछ, अनि तैँले परमेश्‍वरको अस्तित्व अनुभूत गर्नेछस्। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छैन भने, तैँले परमेश्‍वरको अस्तित्व अनुभूत गर्नेछैनस्। के यो सबैमा सत्यता छैन र? यो सबैमा सत्यता छ। यदि मानिसहरूले कुनै कुराको सम्पर्कमा नरही, केही नदेखी, केही नजानी र बाहिरी संसारलाई बेवास्ता गर्दै आफू शून्यतामा जिइरहेको छु जस्तै गरी, अनि योगी शिक्षा अभ्यास गर्ने ताओ भिक्षु र भिक्षुणीहरूजस्तै गरी परमेश्‍वरमा विश्‍वास गर्छन् भने, त्यो सही मार्ग होइन। यदि मानिसहरूले अवलोकन गर्न, बोध गर्न, र अनुभव गर्न सक्छन् भने, तिनीहरूले थुप्रै कुराहरूमा परमेश्‍वरका कार्यहरू देख्न सक्नेछन्। तर अहिले त्यस्ता केही मामलाहरू छन् जुन अत्यन्तै गहन र अधिकांश मानिसहरूको पहुँचबाहिर छन्, त्यसैले तैँले टाढाको कुरा खोजी गर्दै नजिकको कुरा त्याग्नु हुँदैन। बस तँ परमेश्‍वरका वचनहरूमा मात्र ध्यान दे र ती वचनहरूको आधारमा आफूलाई मापन गर्न सिक्। ती वचनहरूको आधारमा आफूलाई मापन गर्नु भन्नुको अर्थ के हो? त्यसको अर्थ परमेश्‍वरका वचनहरूमा खुलासा गरिएका विविध स्थितिहरूमध्ये तँसित कुनै छ कि छैन, तँ कुन स्थितिमा छस्, परमेश्‍वरका वचनहरूले के जनाउँछन्, र उहाँले कुन मानव स्थितिहरूबारे बोलिरहनुभएको छ भनी हेर्नु हो। यी सबैलाई जाँच्‍नु र प्रस्ट रूपमा बुझ्नुपर्छ। कहिलेकाहीँ मानिसहरू परमेश्‍वरका वचनहरू एकपटक सुन्छन्, तर तिनीहरू एउटा कानले सुनेर अर्कोले उडाइदिन्छन् र सोच्छन्, “परमेश्‍वरका वचनहरू मप्रति लक्षित छैनन्। ममा यो स्थिति छैन। उहाँ अरू मानिसहरूबारे कुरा गरिरहनुभएको छ।” यो ती वचनहरूलाई बुझ्ने गलत तरिका हो, र यसले तैँले अझै उहाँका वचनहरू बुझ्दैनस्, ती वचनहरूले अझै तँमाथि प्रभाव पारेका छैनन्, र तैँले अझै तिनलाई पचाएको छैनस् भन्ने देखाउँछ। अनुभव बटुल्दै जा, अनि एउटा यस्तो दिन आउनेछ, जुन दिन तैँले परमेश्‍वरका वचनहरूले मानिसहरूको खुलासा गरेको सुन्नेछस् र “परमेश्‍वर मेरो बारेमा बोलिरहनुभएको छ” भनेर भन्नेछस्। यही नै परमेश्‍वरका वचनहरूका आधारमा आफूलाई मापन गर्नु हो। तर यो सुरुवात मात्र हो, यो परमेश्‍वरका वचनहरूभित्र प्रवेश गर्ने सुरुवात मात्र हो—उहाँले भन्नुभएको यो स्थिति वास्तवमा के हो भनेर तँलाई थाहा नहुन सक्छ। त्यसैले तैँले परमेश्‍वरले भन्नुभएको कुराको सत्यता के हो, उहाँका मापदण्डहरू के हुन्, र उहाँले मानवजातिलाई दिनुहुने मार्ग के हो भन्ने खोजी गर्दै एक अवधि विताउनुपर्छ। यसमा विस्तृत विवरणहरू समावेश हुन्छन्; यो तैँले कुनै बाहिरी स्थिति जाँच्ने र विश्‍लेषण गर्ने अनि त्यतिमै सकिने कुरा होइन। परमेश्‍वरले मानिसहरूको स्थिति विश्‍लेषण गरेर तिनीहरूलाई त्यो जाँच्न लगाउनुको उद्देश्य के हो? त्यो तिनीहरूलाई परिवर्तन हुन लगाउनु हो। परमेश्‍वरले यो गलत स्थिति हो भन्नुहुन्छ, र यदि तँ यस्तो स्थितिमा जिइरहेको छस्, वा तँमा यस्तो विचार छ भने, तैँले परमेश्‍वरको प्रतिरोध गर्न सक्छस्। यो विद्रोह हो, यसले परमेश्‍वरलाई बेखुसी पार्छ, र यो शैतानको भ्रष्ट स्वभाव हो र सत्यतासँग मेल खाँदैन; तैँले मार्ग परिवर्तन गर्नैपर्छ। यो मार्ग परिवर्तन गर्दा, तैँले परमेश्‍वरका मापदण्डहरू के हुन् भनेर बुझ्‍नुपर्छ, र यी मापदण्डहरूमा सत्यता छ भनेर पनि बुझ्‍नुपर्छ, अनि तैँले परमेश्‍वरको इच्छा बुझेर यसरी मनन गर्नुपर्छ, “यो मामलामा परमेश्‍वरले के मापदण्ड तोक्‍नुहुन्छ? मैले कसरी मार्ग परिवर्तन गर्ने, कसरी आफूलाई यस्तो स्थितिबाट मुक्त गर्ने र त्यसलाई हल गर्ने?” यसमा सत्यता खोजी गर्ने कार्य समावेश हुन्छ। परमेश्‍वरका वचनहरूको आधारमा आफूलाई मापन गरेर मात्र पुग्दैन—यसअलावा, तैँले सत्यता बुझ्नु र आफूलाई चिन्न सक्नु पनि आवश्यक छ। त्यसपछि तँलाई मानवजातिको लागि परमेश्‍वरका मापदण्डहरू ठूला रहेको अनुभूति हुनेछ, र तैँले उहाँलाई हृदयदेखि नै प्रशंसा गर्न सक्नेछस्: “परमेश्‍वर अति बुद्धिमान् हुनुहुन्छ, मान्छेको भित्री हृदय सर्वेक्षण गर्नुहुन्छ! परमेश्‍वरले मेरो त्यो स्थिति खुलाउनुभयो जुन ममा छ भनेर मलाई थाहै थिएन, तर परमेश्‍वरलाई सबथोक थाहा छ!” त्यति नै हो र? यो त अलिअलि नजिक पनि भएन, र परमेश्‍वरले दिनुभएको मापदण्ड यो होइन। उहाँ तैँले ती नकारात्मक र गलत स्थितिहरू, र ती भ्रष्ट स्वभावहरू त्याग्, र तैँले तिनलाई हल गरिसकेपछि, सत्यताअनुसार अभ्यास गर् भन्‍ने मापदण्ड दिनुहुन्छ। जब सत्यताबारे तेरो बुझाइ गहिरिँदै जान्छ, तेरो भित्री स्थिति पूरै बदलिनेछ र तैँले कामकुराबारे पहिलेको तेरो विचार त्याग्नेछस्, त्यो त्रुटिपूर्ण भएको देख्नेछस्, र त्रुटि कहाँनेर छ र त्यसको सार के हो भनेर जान्नेछस्, र यसरी तँ त्यसलाई समाधान गर्न सक्षम हुनेछस्। जब तैँले सांसारिक कुराहरू र शैतानी विचारहरू पूर्ण रूपमा त्याग्न सक्छस्, तब तँलाई भित्र पूरै खोक्रो परेको महसुस भए पनि, तैँले बुझेका सत्यताहरू तेरो हृदयमा बस्न थाल्नेछन्। परमेश्‍वर तँमा कस्तो सही विचार होस् भन्‍ने चाहनुहुन्छ, उहाँ तँसित के होस् भन्ने चाहनुहुन्छ, र कुन विचारहरू राख्नु सही हो र कुन राख्‍नुचाहिँ गलत हो—यी कुराहरू बुझ्नको लागि एउटा प्रक्रिया छ जसको लागि तैँले लगातार रूपमा सत्यता खोज्न र त्यसको गहिराइमा जान आवश्यक छ, र जब तैँले साँचो रूपमा सत्यता बुझेको हुन्छस्, तेरो हृदय पूर्ण रूपले भरिपूर्ण र आश्‍वासित हुनेछ। व्यक्तिले सत्यलाई विश्‍वास गर्नु र स्विकार्नु सजिलो छैन। सबै मानिसहरूका सक्रिय दिमाग हुन्छन्, तिनीहरू सबैमा सोच र विचार अनि भ्रष्ट स्वभावहरू हुन्छन्, र तिनीहरूले आफूले गर्नुपर्ने केही पनि नहुँदा सधैँ परमेश्‍वरका वचनहरू सही छन् कि गलत भनी अध्ययन र विश्‍लेषण गर्नेछन्। यदि तिनीहरूले कोही एकजना सत्यता बुझ्ने र आफ्नो अनुभव गवाही बताउने व्यक्ति भेट्ने हो भने, तिनीहरूले केही लाभ र सुधार हासिल गर्नेछन्; तर यदि निरर्थक कुरा र निरर्थक विचारहरू बोल्ने व्यक्तिसँग तिनीहरूको भेट हुने हो भने, तिनीहरू त्यस व्यक्तिमार्फत बहकिनेछन्। यो एक सामान्य स्थिति हो। तर पर्याप्त अनुभव बटुलेपछि, एक दिन तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्विकार्नेछन् र आफूले कहाँनेर गल्ती गरेछु भनेर महसुस गर्नेछन्। तर के यो महसुस गर्नुको अर्थ तिनीहरूले व्यवहारमा सत्यता लागू गर्न सक्छन् भन्ने हो र? (अहँ, होइन।) तिनीहरू अझै अनिच्छुक हुन्छन्, र मनमनै सोच्छन्, “के मैले त्यसरी नै आफूलाई अस्वीकार गर्ने हो?” तिनीहरू अझै पनि सूक्ष्मसित कामकुराहरू जाँच्‍न जारी राख्न चाहन्छन्, र तिनीहरूले हृदयमा जे सोचे पनि, त्यसमा तिनीहरूको विद्रोहीपन र भ्रष्ट स्वभाव सधैँ रहिरहन्छ। तिनीहरूलाई सत्यता स्विकार्न त्यति सजिलो छैन; तिनीहरू त्यति सजिलै वा सोझै सत्यता स्विकार्न सक्दैनन्। त्यो सत्यता हो भनेर तिनीहरूलाई प्रस्ट रूपमा थाहा हुँदाहुँदै पनि, तिनीहरूले त्यसलाई तुरुन्तै नितान्त व्यवहारमा लागू गर्न सक्दैनन्। यसले मानिसहरूभित्रै भ्रष्ट स्वभावहरू र शैतानी सार भएको तथ्य पुष्टि गर्छ। परमेश्‍वरको काम र सत्यता अभिव्यक्तिको उद्देश्य भनेको मान्छेका भ्रष्ट स्वभावहरू समाधान गर्नु, भ्रष्टता उजागर गर्नु, र त्यसलाई समाधान गर्नु, र अलिअलि गर्दै धुनु हो। अनि, व्यक्तिका विचारहरू बिस्तारै परमेश्‍वरका विचारहरूसित मेल खानेछन्, र तिनीहरूको काम सत्यतासँग मिल्नेछ। तँ जुनजुन पक्षमा परमेश्‍वरसित मिल्छस्, तीती पक्षमा तैँले उहाँलाई गलत बुझ्‍नेछैनस्। तँमा जहाँजहाँ परमेश्‍वरबारे गलतबुझाइहरू छन्, तैँले त्यहीँत्यहीँ सत्यता खोज्नुपर्छ, र त्यसलाई प्रयोग गरी गलतबुझाइ हटाउनुपर्छ। तैँले सधैँ तेरै विचारमा जिद्‌ कस्‍नु हुँदैन, र सधैँ तेरो गलतबुझाइ सही र विवेकपूर्ण छ, त्यसलाई जहाँसुकै लागू गरे पनि त्यो मान्य र अर्थपूर्ण हुन्छ भनेर सोच्नु हुँदैन। त्यो हास्यास्पद कुरा हो। मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्—तिनीहरू थोरै अहङ्कारी हुनु सामान्य कुरा हो; तर जबसमम्‍म तिनीहरूले सत्यता स्विकार्छन्, तबसम्‍म तिनीहरू परिवर्तन हुन सक्छन्। यदि तिनीहरू निरर्थक छन् र विभिन्‍न कुराहरूबारे गलत विचारहरू राख्छन् भने त्यो खतरनाक कुरा हो, र तिनीहरूलाई सत्यता स्विकार्न सजिलो हुनेछैन, र तिनीहरूले त्यसलाई प्रायः गलत बुझिरहनेछन्। यसप्रकारका मानिसहरूले परमेश्‍वरबारे धारणाहरू बनाउने र उहाँको विरोध गर्ने बढी सम्भावना हुन्छ; तिनीहरू शैतानी प्रकारका मानिसहरू हुन्। परमेश्‍वरलाई गलत बुझ्ने सम्बन्धमा भन्नुपर्दा, यदि कुनै व्यक्तिले सत्यता खोज्दैन भने, उसले परमेश्‍वरले गर्नुहुने काम गलत हो भन्ठान्नेछ। यदि त्यस्ताहरूले सधैँ यसरी परमेश्‍वरविरुद्ध “मुद्दा हाल्छन्”, उहाँसित प्रतिस्पर्धा र लडाइँ, अनि सङ्घर्ष र होड गर्छन् भने, अन्त्यमा तिनीहरू असफल हुनेछन्, र पूर्ण अपमानित हुनेछन्। सत्यता र परमेश्‍वरको सधैँ जित हुनेछ। यदि तैँले आज्ञाकारी हृदय कायम राख्न सक्छस्, र परमेश्‍वरसँगको तेरो विवाद र लडाइँमा सत्यता खोज्छस् र स्विकार्छस् भने, तब मात्र तेरो हृदयलाई परिवर्तन गर्न सकिनेछ, र अन्त्यमा तैँले परमेश्‍वरको वचनसामु समर्पित हुनुपर्नेछ। यो प्रक्रिया अनुभव गर्नु नै परमेश्‍वरद्वारा मान्छेलाई मुक्ति दिइने र प्राप्त गरिने प्रक्रिया हो, अनि सत्यता स्विकार्नुभन्दा मृत्यु रोज्नेहरूलाई पर्दाफास गरिनेछ र हटाइनेछ। यदि तैँले सत्यता स्विकार्न र परमेश्‍वरसामु समर्पित हुन सक्छस् भने, तँ परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति होस्, तँ उहाँसित मिल्न सक्नेछस्, र तैँले फेरि कहिल्यै उहाँविरुद्ध विद्रोह वा उहाँको प्रतिरोध गर्नेछैनस्। यदि कसैले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, यदि तिनीहरू सत्यता स्विकार्न र उहाँप्रति समर्पित हुन सक्छन् भने, अन्त्यमा तिनीहरू सबैले आफ्नो जीवन स्वभावमा परिवर्तन हासिल गर्न सक्छन्। म एउटा उदाहरण दिन्छु। मानिलिऊँ तँ वनस्पति विज्ञान वा कृषि अध्ययन गर्छस्, र तैँले दशवटा फलफुलका बिउहरू जमिनमा छर्छस्। तैँले के जानेको छस् भने, यी दशवटा बिउहरूले दशवटा रुखहरू उमार्न सक्छन्। यो वैज्ञानिक आधार र सिद्धान्तमा आधारित निष्कर्ष हो, र तँ यो निष्कर्षलाई मान्छस्। त्यसैले दशवटा बिउले एघारवटा रुखहरू उमार्न सक्छन् भनी परमेश्‍वरले भन्नुभयो भने, तैँले त्यो विश्‍वास गर्नेछैनस्: “के त्यो सम्भव छ र? दशवटा बिउले कसरी एघारवटा रुख उमार्न सक्छन्?” खासमा, त्यहाँ एउटा लुकेको बिउ हुन्छ जुन तैँले देख्दैनस्। अनि, तँ तेरो आफ्नै विचारमा अडिग हुनुको आधार के हो? त्यो वैज्ञानिक प्रमाण र तैँले सिकेको ज्ञान हो—यी कुराहरूले तेरो सोच नियन्त्रित गर्छन्, र तैँले त्यो दायराबाहिर हेर्न सक्दैनस्। यदि तैँले त्यसलाई तेरो मानकको रूपमा लिन्छस् भने, तैँले परमेश्‍वरका वचनहरूलाई तेरो मानकको रूपमा लिइरहेको छैनस्—र त्यो मानव विद्रोह हो। तैँले यस्तो सोच्‍नेथिस्, “मसित आधार छ, तपाईंले कसरी भन्न सक्नुहुन्छ कि मेरो निष्कर्ष सत्यता होइन? तपाईंको कुरा आधारहीन छ, त्यसैले तपाईं कसरी भन्न सक्नुहुन्छ कि तपाईंका वचनहरू सत्यता हुन्? ती पूर्णतया आधारहीन छन्! त्यो कुरा कति मानिसले प्रमाणित गरे? प्रमाणित गर्ने को थियो? कसले देख्यो? तथ्यहरू खोइ?” तैँले तथ्यहरू देख्नुअगावै परमेश्‍वरका वचनहरू अस्वीकार गर्छस्, उहाँका वचनहरूको अन्त्यमा सधैँ प्रश्‍नचिह्न लगाउँछस्, सधैँ उहाँलाई अस्वीकार गर्छस्, र सधैँ यस्तो अनुभूति गर्छस्, “परमेश्‍वरले जे भन्नुभयो त्यो गलत छ; मेरो निष्कर्ष नै सही हो, किनभने त्यो पुष्टि भएको छ। म यो क्षेत्रको प्राज्ञ र विशेषज्ञ व्यक्ति हुँ, त्यसैले मेरो निष्कर्ष नै सही ठहर्‍याइनुपर्छ।” तँ दशवटा बिउलाई दश रुख उम्रनुबराबर ठान्छस्, त्यसैले परमेश्‍वरले एघारवटा रुखहरू उम्रिनेछन् भन्दा तैँले उहाँलाई विश्‍वास गर्दैनस्। तर यदि अन्तिम नतिजा र तथ्यस्वरूप एघारवटा रूखहरू उम्रे भने, के तँ विश्‍वस्त हुनेछस्? (हो, हुनेछु।) के तँ पूर्ण विश्‍वस्त हुनेछस्? कसरी हुनेछस्? (किनकि मैले तथ्यहरू देखेँ।) तथ्यहरू देख्‍दा, तँ आफूले हासिल गरेको ज्ञान र तेरो आफ्नै निष्कर्ष इन्कार्न थाल्नेछस्, र सम्भवतः तेरो मनमा कुराहरू खेल्नेछ: “म कसरी गलत हुन सकेँ? के वास्तवमा विज्ञान गलत हुन सक्छ?” यस क्रममा, मानिसहरूले परमेश्‍वरका वचनहरू सही छन् कि गलत भनी अध्ययन र विश्‍लेषण गर्नेछन् र तिनलाई तुलना गर्नेछन्: “कुन ठिक हो, परमेश्‍वरका वचनहरू कि वैज्ञानिक तर्कहरू? सही हुने सम्भावना कुनको बढी छ?” तथ्यहरू त्यहीँ छन्, तर मानिसहरू अझै पनि तिनलाई पूर्ण रूपमा स्विकार्न सक्दैनन्, र परमेश्‍वरको काममा पूर्ण विश्‍वस्त हुन र त्यसलाई साँचो रूपमा स्विकार्न तिनीहरूले वर्षौँ प्रतीक्षा गर्नुपर्छ। परमेश्‍वरले विनाआधार बोल्‍ने वा काम गर्ने गर्नुहुन्न; उहाँको कार्यप्रक्रियाले तँलाई नतिजाहरू देखुन्जेल अनुभव गर्न र सिक्न दिन्छ। यस प्रक्रियाबाट तैँले के प्राप्त गर्छस्? यसले तँलाई परमेश्‍वरका कार्यहरूमा साँचो समर्थन गर्ने तुल्याउँछ। उहाँले तँलाई विनाआधार “तपाईं परमेश्‍वर हुनुहुन्छ, तपाईं महान् र आदर्शवान्‌, बुद्धिमान् र अद्‌भुत हुनुहुन्छ” भनेर भन्न दिनुहुन्न। उहाँ तँलाई त्यसरी उहाँको गवाही दिन दिनुहुन्न; बरु, उहाँले यी तथ्यहरू प्रयोग गरेर तँलाई आफै अनुभव गर्न र हेर्न दिनुहुन्छ। परमेश्‍वरले दशवटा बिउबाट दश रुख उम्रिनु गलत हो भनेर तँलाई भन्नुहुन्न। उहाँले तेरो खण्डन वा तँसित विवाद गर्नुहुन्न, बरु तथ्यहरू प्रयोग गरेर कुरा पुष्टि गर्नुहुन्छ, र त्यो तँ आफैलाई हेर्न दिनुहुन्छ। सायद तँ बीस वर्षको हुँदा परमेश्‍वरले तँलाई यो कुरा भन्नुभयो, तर उहाँले “म नै सत्यता हुँ, र तैँले मेरो कुरा सुन्नैपर्छ” भनेर भन्नुभएन। परमेश्‍वरले त्यसो भन्नुभएन; उहाँले त्यो गरेरै देखाउनुभयो, र तैँले त्यसका परिणामहरू तँ तीस वर्षको हुँदा देखिस्। त्यसको लागि यति लामो समय लाग्यो। के यस अवधिमा परमेश्‍वरले तँसित विवाद गर्नुभयो? (अहँ, गर्नुभएन।) त्यसोभए, कसले विवाद गरिरहेको थियो? विवाद गर्ने त मानिसहरू नै हुन्, र तिनीहरू सधैँ सोच्छन्, “परमेश्‍वर गलत हुनुहुन्छ। उहाँको भनाइ र गराइ अवैज्ञानिक र अनुचित छ।” मानिसहरू परमेश्‍वरसित विवाद गर्न रुचाउँछन्, तर उहाँ मौन रहनुहुन्छ र काम गरिरहनुहुन्छ। दश वर्षपछि तैँले तथ्य पत्ता लगाउनेछस् र तँ भयभीत हुनेछस्: “अहो, मेरो दृष्टिकोण त गलत थिएछ!” तैँले आफू गलत थिएछु भनेर स्विकारून्जेल, त्यो मामलाको निष्कर्षले वास्तवमा आकार लिइसकेको हुन्छ, तर के तैँले त्यो स्विकार्न सक्छस्? तैँले घटना मात्र स्विकारिरहेको छस्, तर के भइरहेको छ भनेर अझै तँलाई हृदयमा साँच्चिकै थाहा छैन। तँलाई अझै थप कति वर्षको अनुभव आवश्यक पर्छ? तँ आफैले अर्को एक दशक त्यो अनुभव गर्नुपर्ने हुनसक्छ, तब मात्र परमेश्‍वरले यो मामलामा जे गर्नुभयो त्यो ठिक थियो, र परमेश्‍वर सत्य र सही हुनुहुन्छ, र तँ गलत छस् भनेर तैँले पुष्टि गर्न सक्छस्। चालिस बर्ष पुग्दा, तँ पूर्ण विश्‍वस्त भइसकेको हुनेछस् र तैँले यसो भन्नेछस्, “परमेश्‍वर नै सत्यता हुनुहुन्छ, उहाँ वास्तवमै परमेश्‍वर हुनुहुन्छ, र उहाँले जे गर्नुहुन्छ त्यो निकै अद्‌भुत र वास्तविक छ! परमेश्‍वर अत्यन्तै बुद्धिमान् हुनुहुन्छ!” तैँले आफैलाई अस्वीकार गर्नेछस्। हेर्, त्यसको लागि कति वर्ष अनुभव गर्नुपर्‍यो? (बीस वर्ष।) अनि, यी बीस वर्षमा परमेश्‍वरले के गर्नुभएको छ? न्युटनको सिद्धान्त केबारे हो भनेर व्याख्या गरेजस्तै गरी तँलाई बताउन उहाँले सुत्र प्रयोग गर्नुभएन—उहाँले तँलाई केही कुराहरू हेर्न लगाउन तथ्यहरू प्रयोग गर्नुभयो, र तँलाई तेरो वरिपरिका घटना र परिघटनाहरूमार्फत ती कुरा बुझ्ने तुल्याउन अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नुभयो। चारपाँच वर्षपछि तैँले अलिअलि बुझाइ प्राप्त गर्नेछस् र यसो भन्नेछस्, “म गलत थिएँ, तर के म पूरै गलत थिएँ र?” थप अनुभव बटुल्, अनि परमेश्‍वरले तेरो लागि केही तथ्यहरू खुलाउनुहुनेछ, र तँ चालिस पुगेपछि—अर्थात् अर्को दशकपछि—तैँले आफू गलत रहेछु भनेर स्विकार्नेछस्। परमेश्‍वरले यसरी नै काम गर्नुहुन्छ, उहाँले गर्नुहुने कामहरू यिनै हुन्। तैँले तँ गलत छस् र परमेश्‍वर सही हुनुहुन्छ भनेर कुन प्रक्रियामार्फत पहिचान गर्न सक्छस्? यस्तो तैँले तथ्यहरूसँग आमनेसामने हुने प्रक्रियामार्फत, र परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शनअन्तर्गत रहेर गर्न सक्‍नेछस्। यो त्यस्तो प्रक्रिया हो; परमेश्‍वरले तँलाई बस निष्कर्ष दिदिने र विनाआधार विश्‍वास गर्ने तुल्याउने मात्र गर्नुहुन्न। यदि परमेश्‍वरले तँलाई जबरजस्ती बुझ्न लगाउनुभयो भने, के त्यो स्वीकार्य हुनेथ्यो? यदि परमेश्‍वरले तँलाई बुझाउनको लागि जबरजस्ती नियन्त्रणमा राख्नुभयो भने, तैँले बुझ्नेथिस्, र तैँले परमेश्‍वर सही हुनुहुन्छ भनेर जान्नेथिस्। तर परमेश्‍वरको अभिप्राय मानिसहरूलाई यन्त्रमानव बनाउनु होइन। उहाँले चाहनुभएको त्यो होइन। उहाँ त मानिसहरूले सत्यता बुझून्, आफै निर्णय गरून्, र उहाँको आज्ञापालन गर्न सकून् भन्ने चाहनुहुन्छ। तर यो नतिजा हासिल हुन समय लाग्छ।

के तिमीहरूले अहिलेसम्म परमेश्‍वरको काम व्यावहारिक छ भन्ने अनुभव गरिसकेका छौ? (हो, गरेको छु।) त्यो अत्यन्तै व्यावहारिक छ। परमेश्‍वरको कामको व्यावहारिकता मान्छेको काल्पनिक र अस्पष्ट विचारहरूविपरीत छ, त्यसैले तैँले आफूभित्रका काल्पनिक, वा खोक्रा र अव्यावहारिक, वा परमेश्‍वरको वचनमा आधारित नभएका कुराहरूबारे विचार गर्नुपर्छ। तैँले बस ती सबैको खण्डन गर्नु नै सही हुन्छ। त्यो निश्‍चय नै सही हो र तैँले यस तरिकाले अनुभव गर्नुपर्छ। परमेश्‍वर—अर्थात् सबै कुराहरूका सृष्टिकर्ताले—कति कुराहरू सृष्टि गर्नुभएको छ? उहाँ कति बुद्धिमान् हुनुहुन्छ? यदि तैँले यो कुरा चारपाँच वर्षमा पूर्ण रूपमा अनुभव गर्न र बुझ्न सक्नेछु भन्ने सोच्छस् भने, त्यो असम्भव छ। यो कुरा त तैँले जीवनभरको अनुभवले समेत बुझ्न सक्नेछैनस्। त्यसैले परमेश्‍वरका वचनहरू अनुभव गर्दा तँ यथार्थपरक हुनैपर्छ; सानोबाट सुरु गर्, ससाना विवरणहरूबाट थालनी गर्, अनि सत्यता सिद्धान्तहरू खोज्। आफूले बुझ्न नसक्ने कुनै कुरा सामना गर्दा, चिन्तित वा अधैर्य नभई आफूलाई परमेश्‍वरसामु शान्त राख्न र सत्यता खोज्न सिक्। अनि, व्यक्ति कसरी परमेश्‍वरसामु शान्त हुन सक्छ? तेरो हृदयले उहाँसित प्रार्थना अनि सङ्गति गर्नुपर्छ, र यदि तँ शान्त बन्न सक्दैनस् भने, तैँले परमेश्‍वरका वचनहरू पढ्न र मनन गर्न, वा परमेश्‍वरको वचनका भजनहरू गाउन सक्छस्। यो सबैले परमेश्‍वरसामु शान्त हुने नतिजा हासिल गर्न मद्दत गर्नेछ। व्यक्तिको हृदय परमेश्‍वरसामु फर्कँदा त्यो शान्त बन्छ; तिनीहरूलाई बाहिर काम गर्नु वा दौड्धुप गर्नु बेकार छ, त्यसबाट केही प्राप्त हुँदैन भन्ने लाग्नेछ। यदि तिनीहरू परमेश्‍वरसामु शान्त हुन्छन् भने—चाहे उहाँका वचनहरू पढ्दै सत्यतामाथि सङ्गति गरेर होस्, वा चाहे परमेश्‍वरको प्रशंसामा भजनहरू गाएर होस्—तिनीहरूको आत्माले केही प्राप्ति र अन्तर्दृष्टि हासिल गर्नेछ, अनि तिनीहरूको हृदयले पोषित र परिपूर्ण अनुभूति गर्नेछ। बिस्तारै, तैँले परमेश्‍वरको काम प्रस्ट देख्‍दै जानेछस्, अनिर तँ उहाँको आज्ञापालन गर्न, र सत्यता र जीवन प्राप्त गर्न सक्षम हुनेछस्। यदि मानिसहरू सत्यता र परमेश्‍वर प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूले त्यागहरू गर्नुपर्छ, धेरै कष्ट सहनुपर्छ, र कैयौँ वर्ष परमेश्‍वरको काम अनुभव गर्दै समय र ऊर्जा खर्चनुपर्छ। त्यसपछि मात्रै तिनीहरूले सत्यता र जीवन अनि परमेश्‍वरको मुक्तिका सबै कुरा प्राप्त गर्न सक्नेछन्।

अक्टोबर ११, २०१७

अघिल्लो: परमेश्‍वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू

अर्को: सृष्टि गरिएको प्राणीको कर्तव्य राम्रोसित निभाउँदा मात्र जिउनुको मूल्य हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्