परमेश्‍वरमा समर्पित हुनु सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो

यदि तँ तेरो आस्थामा परमेश्वरमा समर्पित हुन चाहन्छस् भने, आफूलाई चिन्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। आफूलाई नचिनी, तैँले तेरो भ्रष्ट स्वभावलाई फाल्न सक्नेछैनस्। जीवन प्रवेश आत्म-ज्ञानबाट सुरु हुन्छ। यदि तैँले केही भ्रष्टता प्रकट गर्छस् वा परमेश्वरले घृणा गर्नुहुने वा उहाँलाई चोट पुऱ्याउने कामकुरा गर्छस् भने, यदि तैँले मूर्खतापूर्ण कार्यहरू गर्छस् भने, तैँले पछि आफूबारे चिन्तन गर्नुपर्छ। चिन्तनले कसरी तँलाई तेरो भ्रष्टता फाल्न मद्दत गर्न सक्छ? सत्यता अभ्यास गर्नेहरूले यो कुरा विचार गर्छन्: “मलाई आइपरेका यी कुराहरूले साँच्चिकै मेरो खुलासा गरे। ममा एउटा भ्रष्ट स्वभाव छ, र मैले त्यसलाई फाल्नका लागि परमेश्वरका वचनहरूको न्याय र सजाय स्विकार्नुपर्छ। राम्रो कुरा यो हो कि परमेश्वरले यो परिस्थितिमार्फत मेरो भ्रष्ट स्वभाव खुलासा गर्नुभएको छ। अरू मानिसहरूले मेरो बारेमा जे सोचे पनि वा मलाई जस्तो व्यवहार गरे पनि, मैले सत्यता खोज्नुपर्छ, परमेश्वरको इच्छा बुझ्नुपर्छ, र सत्यता अभ्यास गर्नलाई के गर्ने भनी जान्नुपर्छ।” यो सही मनोवृत्ति हो, र यो सत्यता अभ्यास गर्ने र परमेश्वरमा समर्पित हुने मनोवृत्ति हो। परमेश्वरमा आस्था राख्नका लागि सत्यतालाई स्विकार्नु आवश्यक हुन्छ—त्यो नै सही मनोवृत्ति हो। सत्यतालाई नस्विकार्नेहरू समस्याहरू उत्पन्न हुँदा बहाना र कारणहरू खोज्छन्, र जिम्मेवारी अरू नै कसैलाई थोपरिदिन्छन्। तिनीहरू अरू मानिसहरूले तिनीहरूलाई राम्रो व्यवहार नगरेको, तिनीहरूबारे नसोचेको वा तिनीहरूको ख्याल नराखेको बारे सधैँ गुनासो गर्छन्। तिनीहरू अनेकथरिका तर्कहरू खोज्छन्। यी सबै तर्कहरू खोज्नुको उद्देश्य के हो? के यसले तेरो सत्यताको अभ्यासलाई प्रतिस्थापन गर्न सक्छ? के यसले परमेश्वरप्रतिको तेरो समर्पणलाई प्रतिस्थापन गर्न सक्छ? अहँ, सक्दैन। यसो भन्नुको मतलब, तँसित जस्तो तर्क भए पनि, तँसित आकासभन्दा ठूला गुनासोहरू भए पनि, यदि तैँले सत्यतालाई स्विकार्दैनस् भने तँ सक्किन्छस्। परमेश्वरले विशेषगरी सत्यतालाई अभ्यास गर्ने मामलाका सम्बन्धमा तेरो मनोवृत्ति के छ भनी हेर्न चाहनुहुन्छ। के तैँले गुनासो गरेर केही काम छ त? के तेरा गुनासाहरूले भ्रष्ट स्वभावको समस्यालाई समाधान गर्न सक्छन्? यदि तैँले गुनासो गरेर आफूलाई सही ठानिस् भने, त्यसले तेरो बारेमा के भन्नेथ्यो? के तैँले सत्यता प्राप्त गरेको हुनेथिस्? के परमेश्वरले तँलाई अनुमोदन गर्नुहुनेथ्यो? यदि परमेश्वरले, “तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्, त्यसैले बाटो छोड्। म तँलाई घृणा गर्छु” भन्नुभयो भने, के तँ सक्किँदैनस् र? परमेश्वरले “म तँलाई घृणा गर्छु” भन्नुले तेरो खुलासा गर्नेथ्यो र तँ को होस् भन्ने कुरा निर्क्योल गर्नेथ्यो। परमेश्वरले किन तेरो बारेमा निर्क्योल गर्नुहुन्छ? किनकि तँ सत्यतालाई स्विकार्दैनस्; तँ परमेश्वरका योजनाबद्ध कार्यहरू र उहाँको सार्वभौमिकता स्विकार्दैनस्। तँ सधैँ बाह्य कारणहरू खोजिरहेको, कामकुरालाई सधैँ अरू मानिसहरूमाथि थोपरिरहेको हुन्छस्। परमेश्वरले तँलाई समझ नभएको र सत्यतालाई प्रेम नगर्ने व्यक्तिको रूपमा देख्नुहुन्छ; असमझ, मनोमानी गर्ने, र वशमा राख्न नसकिने व्यक्तिको रूपमा देख्नुहुन्छ। तँलाई पाखा लगाएर बेवास्ता गर्नुपर्छ ताकि तैँले आत्मचिन्तन गर्न सक्। तँलाई प्रवचनहरू सुन्न र सत्यताबारे सङ्गति गर्न लगाउनुको उद्देश्य तैँले सत्यता बुझ्न, तेरा समस्याहरू समाधान गर्न, र तेरो भ्रष्टतालाई फाल्न सक् भनी हो। के सत्यता भनेको तैँले बकम्फुसे कुरा गर्ने विषय हो? के यो तैँले ओठले मात्र बोल्ने अनि छोडिदिने कुरा हो? के सत्यताको बुझाइले तेरो प्राणको खोक्रोपनलाई पूर्ति गर्ने आत्मिक लङ्गरका रूपमा कार्य गर्नुपर्ने हो? अहँ, तैँले त्यसलाई यो उद्देश्यका निम्ति प्रयोग गर्ने होइन। तैँले आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सक्नका निम्ति सत्यता अवस्थित छ। यसको उद्देश्य तँलाई एउटा मार्ग प्रदान गर्नु हो, र तैँले समस्याहरू सामना गर्दा तैँले यी सत्यताहरूद्वारा जिउन, र जीवनमा उचित मार्ग लिन सक्छस्। सत्यतालाई बुझिसकेपछि, त्यसउप्रान्त तैँले तेरो प्राकृतिकता, तेरो भ्रष्टता, वा तेरो शैतानी शिक्षा भित्रका ती कुराहरूका आधारमा कार्य गर्नेछैनस्। त्यसउप्रान्त तैँले शैतानी तर्क र सिद्धान्तहरूद्वारा संसारसँग व्यवहार गर्नेछैनस्। बरु, तँ सत्यताद्वारा जिउनेछस्, तैँले सत्यताद्वारा कार्य गर्नेछस्। यसले मात्र परमेश्वरको इच्छा पूरा गर्न सक्छ। कतिपय मानिसहरू भन्छन्: “म विश्वासी भएको धेरै भएको छैन। मसँग धेरै अनुभव छैन। म सत्यता बुझ्दिनँ, र मेरो कद सानो छ। त्यसैले, म सत्यता अभ्यास गर्न सक्दिनँ।” यी त वास्तवमा तथ्यगत बहानाहरू मात्र हुन्। तेरो कद सानो भए पनि, त्यस्ता केही सत्यताहरू छन् जुन तैँले बुझ्न सक्छस्। तैँले जति बुझ्छस् उति नै अभ्यास गर्नुपर्छ; तैँले जति सक्छस् उति नै लागु गर्नुपर्छ। यदि तँ आफूले बुझ्ने सत्यताहरू समेत अभ्यास गर्दैनस् भने, त्यसमा एउटा समस्या छ। तँ विश्वासी भएको जति सुकै लामो वा छोटो समय भएको भए पनि, तैँले केही वर्षदेखि प्रवचनहरू सुनिरहेको छस् भने, तैँले केही सत्यता बुझ्नेछस्। यदि तँलाई प्रशस्त सत्यताहरू थाहा छ तर ती कुनै पनि अभ्यास गर्दैनस् भने, त्यसले तँलाई निन्दित तुल्याउनेछ। सत्यतामा समर्पित हुने मनोवृत्ति के हो, सत्यतामा समर्पित हुनु भनेको के हो, सत्यतामा कसरी समर्पित हुने, परमेश्वरका योजनाबद्ध कार्यहरूमा कसरी समर्पित हुने, र मानिसहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ—यदि तँलाई यी कुराहरू थाहा छ भने, तैँले तिनलाई अभ्यास गर्नुपर्छ। जे आइपरे पनि, तैँले सत्यता अभ्यास गर्न र सिद्धान्तसाथ व्यवहार गर्न सिक्नुपर्छ। यदि तँ सत्यता अभ्यास गर्दैनस् भने, तेरो लागि सत्यता अर्थहीन हुन्छ; त्यो धर्मसिद्धान्त, अर्थात् तेरो मुखले भट्टयाउने नारा बाहेक केही हुँदैन। तैँले सत्यतालाई अभ्यास गर्न नसकुञ्जेल तँसित वास्तविकता हुनेछैन; त्यसपछि मात्र सत्यता तेरो जीवन बन्न सक्छ। जब कुराहरू आइपर्छन् र तँ तेरो प्राथमिकताहरूका आधारमा चल्छस्—यो व्यक्तिले गलत बुझेको छ, त्यो व्यक्ति गलत छ, भन्ठान्छस्, सधैँ आफूलाई सही देख्छस् र अरूले जे भने पनि तिनीहरूसित असहमत हुन्छस् भने—के तँ निर्दोष र भ्रष्टतारहित हुन सम्भव छ? त्यसलाई अहङ्कारी र आत्मधर्मी हुनु भनिन्छ, र त्यो झनै गम्भीर भ्रष्ट स्वभाव हो।

भ्रष्ट स्वभावलाई कसरी समाधान गर्न सकिन्छ? पहिलो कुरा तैँले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छस् कि सक्दैनस्; परमेश्‍वरले तेरो लागि तय गर्नुहुने विभिन्न परिस्थितिहरूमा तँ समर्पित हुन सक्छस् कि सक्दैनस् भनेर हेर्नुपर्छ। शान्तिपूर्ण समयमा, तँमा परमेश्वरबारे कुनै धारणाहरू हुँदैनन् र तैँले प्रस्ट रूपले कुनै पनि भ्रष्ट स्वभाव प्रकट गर्दैनस्। त्यसैले तँलाई तँ त्यति खराब छैनस्, र तँ परमेश्वरमा समर्पित हुन सक्ने व्यक्ति होस् भन्ने महसुस हुन्छ। तर केही आइपर्दा, तेरो हृदयमा तरङ्ग मच्चिन्छ, र तैँले तेरा आफ्नै सोचविचार बनाउँछस्। विशेषगरी जब तैँले आफ्नो कर्तव्यमा कष्ट भोग्न र मूल्य तिर्न सक्छस्, तब तँलाई तँ परमेश्वरलाई प्रेम गर्ने व्यक्ति होस् भन्ने महसुस हुन्छ, त्यसैले जब अप्रत्याशित रूपमा तँलाई काटछाँट गरिँदा र कसैले तँ तेरो कर्तव्यमा मनोमानी गर्छस् र सिद्धान्तविहीन छस् भनेर भन्छ, तब के तँ त्यो कुरा स्विकार्न सक्षम हुनेछस्? (त्यो स्विकार्न सजिलो हुँदैन।)यदि त्यो स्विकार्न सजिलो छैन भने तँ के गर्छस्? तैँले कसरी स्वीकार र समर्पण हासिल गर्न सक्छस्? यसमा अभ्यासका केही सिद्धान्तहरू छन्। पहिलो कुरा, तैँले आत्म-चिन्तन गर्नुपर्छ, र सत्यता खोज्नका लागि तेरा आफ्ना सोच र तर्कलाई त्याग्नुपर्छ। तैँले तेरा आफ्नै सोच र तर्क सत्यतासँग मिल्छन् नै भन्ने हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। यदि तँमा समझ छ भने, तैँले पहिला अरूको कुरा सुन्नुपर्छ र त्यसबारे ध्यानपूर्वक सोच्नुपर्छ। यदि तिनीहरूको योगदान सत्यतासँग मिल्छ भने, तैँले त्यसलाई स्विकार्नुपर्छ—समझ भएको व्यक्तिले यही गर्नुपर्छ। यदि तँ सधैँ तेरो आफ्नै सोचाइ सही छ भनेर विश्वास गर्छस् र तेरो आफ्नै दृष्टिकोणमा अडिग हुन्छस्, अनि, अरूहरू जति नै सही भए पनि वा तिनीहरूको कुरा सत्यतासित जति नै मिले पनि अरूका कुरालाई स्विकार्दैनस् भने, तँ विद्रोही र असमझ भइरहेको छस्। सृजित प्राणीको समझ भनेको सत्यतामा समर्पित हुने, परमेश्वरका वचनहरूमा समर्पित हुने, परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने, परमेश्वरबाट आउने सबैकुराहरूमा समर्पित हुने र परमेश्वरको घरका कामका बन्दोबस्तहरूमा समर्पित हुने हो। आफ्नो कर्तव्य निर्वाह गर्दा, तैँले परमेश्वरले के माग गर्नुहुन्छ र उहाँको घरले के बन्दोबस्त गरेको छ भनी खोजी गर्नैपर्छ। तैँले ती कुराहरू थाहा पाइसकेपछि, तैँले परमेश्वरले माग गर्नुभएअनुसार कार्य गर्न सक्छस्। अभ्यासका सिद्धान्तहरू यिनै हुन्। सुरुमा, तँ समर्पित हुनैपर्छ छ। सृजित प्राणीले यही गर्नुपर्छ। प्राय: जब मानिसहरू समर्पित हुन सक्दैनन्, त्यो तिनीहरूका आफ्नै तर्क, बहाना र निहुँ हुने भएर हो। तिनीहरू यस्तो तर्क बोकेर समर्पित हुने सम्भावना कमै हुन्छ। त्यो अवस्थामा के गर्न सकिन्छ? सुरुमा, तेरा आफ्ना तर्क र बहानाहरूलाई त्यागिदे, र परमेश्वरको घरका मागहरूअनुसार कार्य गर्। केही समय त्यो अभ्यास गरिसकेपछि, तैँले थाहा पाउनेछस् कि तैँले सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य गर्दा, तँ कर्तव्यमा झन्-झन् प्रभावकारी बन्छस्। तँ यो नै परमेश्वरमा समर्पित हुनु हो भनेर आत्मामा निश्चित हुन्छस्, र तेरो समर्पण झन्-झन् शुद्ध बन्छ। तर, यदि तँ सधैँ तेरा आफ्नै धारणा र कल्पनाहरूमा अडिग रहन्छस्, यदि तँ परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्दैनस्, यदि तँ सधैँ परमेश्वरविरोधी हुन्छस् र उहाँविरुद्ध जान्छस् भने, त्यो विद्रोह हो। त्यो भ्रष्ट स्वभाव हो। तैँले देखिनेगरी कुनै दुष्टता नगरे पनि, तँ अलिकति पनि समर्पित भएको हुनेछैनस्, र तँसित अलिकति पनि सत्यता वास्तविकता हुनेछैन।

समर्पणका पाठहरू सबैभन्दा कठिन हुन्छन्, तर ती सबैभन्दा सजिला पनि हुन्छन्। कुन हिसाबमा ती कठिन हुन्छन्? (मानिसहरूमा तिनीहरूको आफ्‍नै विचार हुन्छ।) मानिसहरूमा विचार हुनु समस्या होइन—कुन व्यक्तिमा चाहिँ विचार हुँदैन र? मानिसहरू सबैमा हृदय र मष्तिष्क हुन्छ, त्यसकारण तिनीहरूमा आ-आफ्‍नै विचार हुन्छ। यहाँ, समस्या त्यो होइन। त्यसो भए, समस्या के हो त? समस्या मानिसको भ्रष्ट स्वभाव हो। यदि तँमा भ्रष्ट स्वभाव नभएको भए, तँसँग जति नै धेरै विचार भए पनि तँ समर्पित हुन सक्थिस्—ती विचार कुनै समस्या हुने थिएनन्। यदि कसैमा यस्तो समझ छ र “सबै कुरामा म परमेश्‍वरमा समर्पित हुनुपर्छ। म बहाना बनाउनेछैन वा आफ्‍नै विचारहरूमा जिद्दी गर्नेछैनँ, यस विषयमा म आफै निर्णय गर्नेछैनँ” भनी भन्छ भने, के उसलाई समर्पित हुन सहज हुँदैन र? यदि व्यक्तिले आफै निर्णय गर्दैन भने, यो ऊ आत्मधर्मी छैन भन्‍ने कुराको सङ्केत हो; यदि उसले आफ्‍नै विचारमा जिद्दी गर्दैन भने, यो उसमा समझ छ भन्‍ने कुराको सङ्केत हो। यदि ऊ समर्पित हुन पनि सक्छ भने, उसले सत्यता अभ्यास हासिल गरेको छ। आफैले निर्णय नगर्नु र आफ्नै विचारहरूबारे जिद् नकस्नु समर्पित हुन सक्नुका पूर्वसर्तहरू हुन्। यदि तँमा यी दुई गुणहरू छन् भने, तँलाई समर्पित हुन र सत्यताको अभ्यास हासिल गर्न सजिलो हुनेछ। त्यसैले, समर्पित हुनुअघि, तैँले आफूलाई तीद्वारा सुसज्जित गर्नैपर्छ, र सत्यता अभ्यास गर्ने मनोवृत्ति राख्नका लागि तैँले कस्तो व्यवहार गर्नुपर्छ र के गर्नुपर्छ भनी पत्ता लगाउनैपर्छ। यो साँच्चिकै त्यति गाह्रो छैन—तर त्यति सजिलो पनि छैन। यो किन गाह्रो हुन्छ? मानिसमा भ्रष्ट स्वभाव हुने भएकाले यो गाह्रो हुन्छ। समर्पण अभ्यास गर्दा तँमा जस्तो मानसिकता वा स्थिति भए पनि, यदि त्यसले तँलाई सत्यता अभ्यास गर्नबाट रोक्छ भने, त्यो मानसिकता वा स्थिति भ्रष्ट स्वभावबाट उत्पन्न हुन्छ। तथ्य यही नै हो। यदि तैँले आत्मधार्मिकता, अहङ्कार, विद्रोहीपन, निरर्थकता, पूर्वाग्रह, र हठीपनजन्य भ्रष्ट स्वभावहरू समाधान गरिस् भने, तँलाई समर्पित हुन सजिलो हुनेछ। त्यसोभए, यी भ्रष्टताहरूलाई कसरी समाधान गरिनुपर्छ? तँ समर्पित हुन अनिच्छुक हुँदा तैँले प्रार्थना गर्नैपर्छ, तैँले आत्म-चिन्तन गरेर सोध्नैपर्छ: “म किन परमेश्वरमा समर्पित हुन असक्षम छु? म किन सधैँ आफ्नै तवरले कामकुरा गर्न जिद् कस्छु? म किन सत्यता खोज्न र त्यसलाई अभ्यास गर्न सक्दिनँ? यस समस्याको जड के हो? मैले परमेश्वरप्रतिको आज्ञापालन अभ्यास, र सत्यता अभ्यास गरिरहनुपर्ने हो, मेरो आफ्नै इच्छा वा चाहनाहरू लागु गरिरहनुपर्ने होइन। म परमेश्वरका वचन, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्षम हुनुपर्छ। त्यो मात्र परमेश्वरको इच्छाअनुसार हुन्छ।” यस्तो परिणाम हासिल गर्नका लागि परमेश्वरलाई प्रार्थना गर्न र सत्यता खोज्न आवश्यक हुन्छ। जब तैँले सत्यतालाई बुझ्छस्, तैँले अझ सहज रूपले त्यसलाई अभ्यास गर्न सक्नेछस्; त्यसपछि, तैँले देहविरुद्ध विद्रोह गर्न र त्यससम्बन्धी चिन्तालाई त्याग्न सक्नेछस्। यदि तँ तेरो हृदयभित्र सत्यतालाई बुझ्छस् तर देह, हैसियत, आडम्बर र इज्जतका लाभहरूलाई त्याग्न सक्दैनस् भने, तँलाई सत्यता अभ्यास गर्न धौधौ पर्नेछ। किनकि, हृदयमा, तँ देह, आडम्बर, र इज्जतका लाभहरूलाई सबैभन्दा माथि राख्छस्। यसको मतलब तँ सत्यतालाई प्रेम गर्दैनस्—बरु, तँ हैसियत र प्रतिष्ठालाई प्रेम गर्छस्। त्यसोभए यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? तैँले प्रार्थना गर्नैपर्छ, सत्यता खोज्नैपर्छ, र हैसियत र प्रतिष्ठाजस्ता कुराहरूको सारलाई पूर्ण रूपमा देख्नुपर्छ। तैँले यी कुराहरूबारे कम सोच्नुपर्छ, र तैँले सत्यता अभ्यास गर्नुलाई महत्त्वपूर्ण ठान्न, र यसलाई सबैभन्दा मूल्यवान मान्न आवश्यक छ। तैँले यो सबै गरेपछि, तँमा सत्यता अभ्यास गर्ने इच्छा जाग्नेछ। कहिलेकाहीँ मानिसहरूले सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूलाई काटछाँट गर्न, र तिनीहरूले परमेश्वरको न्याय र सजाय पाउन आवश्यक हुन्छ, ताकि समस्याको सार पूर्ण रूपले प्रस्ट होस्, र सत्यता अभ्यास गर्न सजिलो होस्। खासमा, जब कसैको आफ्नो इच्छा ज्यादै ठूलो हुन्छ र सबथोक भन्दा अगाडि आउँछ—अर्थात्, जब कसैको आत्मरूचि अरू कुनै कुराभन्दा अगाडि आउँछ, जब व्यक्तिको आफ्नो प्रतिष्ठा र हैसियत अरू कुनै पनि कुराभन्दा अगाडि आउँछन्, तब त्यो नै सत्यता अभ्यास गर्दा आउने सबैभन्दा ठूलो बाधा बन्छ। त्यसैकारणकुराहरू आइपर्दा यस्ता मानिसहरू सधैँ मनोमानी गर्छन्, र सत्यता सिद्धान्तहरूबारे कुनै सोचविचार नगरी जेबाट व्यक्तिगत लाभ मिल्छ त्यही गर्छन्। तिनीहरू सधैँ तिनीहरूका आफ्नै विचारहरूमा अडिग हुन्छन्। व्यक्तिका आफ्नै विचारहरूमा अडिग हुनु भन्नुको अर्थ के हो? यसको अर्थ “यदि तिमी यो चाहन्छौ भने, म त्यो चाहन्छु। यदि तिमीलाई तिम्रै चाहिन्छ भने मलाई मेरै चाहिन्छ” भनी दृढ रहनु हो। के य समर्पणको प्रदर्शन हो त? (होइन।) यो सत्यता खोज्नु बिलकुलै होइन, बरु आफ्नै तरिकामा जिद् कस्नु हो। यो अहङ्कारी स्वभाव र अव्यावहारिक प्रदर्शन हो। यदि, कुनै दिन, तेरा प्राथमिकताहरू र अडानहरू सत्यताविपरीत छन् भनी तैँले थाहा पाउन सकिस्; यदि तैँले आफूलाई नकार्न र छर्लङ्ग बुझ्न सकिस्, आफूलाई विश्वास गर्न छोडिस्, र त्यसपछि विस्तारै तेरो आफ्नै तरिकाले कामकुरा नगर्न वा कामकुरालाई अन्धाधुन्ध पारिभाषित नगर्न थालिस्, तर तैँले सत्यता खोज्न, परमेश्वरलाई प्रार्थना गर्न र उहाँमा भर पर्न सकिस् भने, त्यो नै सही अभ्यास हुनेछ। कस्तो खालको अभ्यास सत्यतासँग मिल्छ भनी पुष्टि गर्नुपूर्व, तैँले खोजी गर्नैपर्छ। त्यो एकदम सही कार्य हो, गर्नुपर्ने त्यही हो। यदि तँ काटछाँट नहुञ्जेल खोजी गर्दैनस् भने, यो अलि निष्क्रिय हुन्छ, र यसले कामकुरामा ढिलाइ पुऱ्याउने सम्भावना हुन्छ। सत्यता खोज्न सिक्नु अत्यन्तै महत्त्वपूर्ण छ। सत्यता खोज्नुका फाइदाहरू के-के हुन्? पहिलो कुरा, व्यक्तिले आफ्नो इच्छाको पछि लाग्न र जथाभावी कार्य गर्न छोड्न सक्छ; दोस्रो कुरा, व्यक्ति भ्रष्टताका प्रकटीकरणहरू र दुष्ट परिणामहरूबाट जोगिन सक्छ; तेस्रो कुरा, उसले प्रतीक्षा गर्न र धैर्य हुन सिक्न, र प्रस्ट र सही रूपले कामकुरा बुझेर गल्तीहरूलाई हुनबाट रोक्न सक्छ। यी सबै कुराहरू सत्यता खोजेर हासिल गर्न सकिन्छ। जब तैँले यावत् कुराहरूमा सत्यता खोज्न सिक्छस्, तब तैँले सरल भन्ने केही पनि छैन, ध्यान दिइएन र कोसिस गरिएन भने, तैँले कामहरू राम्ररी गर्नेछैनस् भनी थाहा पाउनेछस्। यसरी नै केही समय तालिम लिएपछि, कुराहरू आइपर्दा तँ अझ परिपक्व र अनुभवी हुनेछस्। तेरो मनोवृत्ति अझ नरम र मध्यम हुनेछ, र आवेगपूर्ण, जोखिम मोल्ने र प्रतिस्पर्धी हुनुको सट्टा तँ सत्यता खोज्न, सत्यता अभ्यास गर्न, र परमेश्वरमा समर्पित हुन सक्षम हुनेछस्। त्यसपछि, तेरो भ्रष्ट स्वभावको प्रकटीकरणसम्बन्धी समस्या समाधान हुनेछ। त्यसैले, तँलाई समर्पित हुन सजिलो हुनेछ, यो साँच्चिकै त्यस्तो गाह्रो छैन। सुरुमा यो अलिकति कठिन होला, तर तँ त्यस समस्यालाई समाधान नगरुञ्जेल धैर्य हुन, प्रतीक्षा गर्न र सत्यता खोजिरहन सक्छस्। यदि परिस्थितिहरू आइपर्दा तँ सधैँ आफै निर्णय गर्न चाहन्छस्, र सधैँ स्पष्टीकरणहरू दिइरहन्छस्, अनि आफ्‍नै विचारहरूमा जिद् कस्छस् भने, यो निकै समस्याजनक हुनेछ। किनभने तैँले जोड दिइरहेका कुराहरू सकारात्मक होइनन्, ती सबै भ्रष्ट स्वभावभित्रका कुरा हुन्। ती सबै कुराहरू भ्रष्ट स्वभावका खुलासा हुन्, र त्यस्तो परिस्‍थितिमा, तैँले सत्यता खोजी गर्न चाहे पनि, अभ्यास गर्न सक्‍नेछैनस्, र परमेश्‍वरलाई प्रार्थना गर्न चाहे पनि, तैँले झारा मात्रै टारिरहेको हुनेछस्। यदि कसैले तँलाई सत्यताबारे सङ्गति गर्थ्यो र तेरो अभिप्रायका दूषणहरू खुलासा गर्थ्यो भने, तैँले कसरी निर्णय गर्नेथिस्? के तँ सहजै सत्यतामा समर्पित हुन सक्थिस्? त्यस्तो बेला, तँलाई समर्पित हुन एकदमै गाह्रो हुने थियो, र तँ समर्पित हुन सक्दैनथिस्। तैँले विद्रोह गरेर स्पष्टीकरण दिने कोसिस गर्थिस्। तैँले यसो भन्‍नेथिस्, “मेरा निर्णयहरू परमेश्‍वरको घरका लागि हुन्। ती गलत छैनन्। किन तपाईं अझै मलाई समर्पित हुनुपर्छ भनी भन्‍नुहुन्छ?” तँ कसरी समर्पित हुन नसक्‍ने हुन्थिस् भन्‍ने कुरा देखिस्? अनि त्यसबाहेक, तैँले प्रतिरोध पनि गर्नेथिस्; यो जानीजानी अपराध गर्नु हो! के यो चरम समस्याको कुरा होइन र? जब कसैले तँलाई सत्यताको सङ्गति दिन्छ, तब यदि तैँले सत्यता स्विकार्न सक्दैनस् र जानीजानी अपराध गर्छस्, परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्छस् भने, तेरो समस्या निकै गम्‍भीर छ। तँ परमेश्‍वरद्वारा खुलासा र निष्कासित हुने खतरामा छस्।

परमेश्वरमा समर्पित हुनुको पाठ निकै गहन हुन्छ। त्यसमा प्रवेश गर्न सुरु गर्दा त्यो निकै गाह्रो देखिन्छ, तर केही समय त्यो अनुभव गरेपछि, त्यो खासै गाह्रो लाग्दैन। समर्पण अभ्यास गर्नका लागि सिद्धान्तहरूको पालना आवश्यक हुन्छ, र यदि तँ सिद्धान्तहरू भेट्टाउन धेरैपटक असफल भइस् भने, त्यसको मतलब तैँले पाठ सिकेको छैनस्; अनि समर्पणको पाठ सिक्न तँलाई अझै निकै गाह्रो छ। यो किन गाह्रो छ त? किनकि भ्रष्ट मानवहरूभित्र थुप्रै कठिनाइहरू हुन्छन्। मानिसहरूमा धारणा, कल्पना, साथै विभिन्न भ्रष्ट स्वभावहरू हुन्छन्। त्यो सबथोक बाहेक, यदि तिनीहरूसँग केही ज्ञान र पूँजी पनि छ; यदि तिनीहरू कलेज उत्तीर्ण र अत्यन्तै योग्य छन्; यदि तिनीहरूसँग पैसा र सामाजिक हैसियत छ र तिनीहरू अनेक पक्षहरूमा श्रेष्ठता देखाउँछन् भने, त्यो समस्या हो। यस्ता मानिसहरूले सत्यतालाई स्विकार्ने सम्भावना हुँदैन। धेरै ज्ञान हुनु समस्याजनक हुनेछ, किनकि मानिसहरू ज्ञानलाई नै सत्यताका रूपमा लिन्छन्, त्यसैले सत्यतालाई बुझ्ने र स्विकार्ने काम अत्यन्तै पिरलो बन्छ। यदि तँ सत्यता बुझ्दैनस्, र तँमा मानवता वा समझ छैन भने, तँ दुम्सी जस्तै हुन्छस्। दुम्सीहरू डरलाग्दा जनावर हुन् जसलाई कसैले पनि बाधा दिन वा जिस्क्याउन सक्दैन। भ्रष्ट मानिसहरू यस्ता हुन्छन्—तिनीहरूले सत्यतालाई कदापि स्विकार्नेछैनन् र तिनीहरू परमेश्वरमा बिलकुलै समर्पित हुँदैनन्। तिनीहरूको हृदय दुष्टताले भरिएको हुन्छ, र तिनीहरू पूर्णतया आफ्ना भ्रष्ट स्वभावहरूद्वारा जिउँछन्। फलस्वरूप, मानिसहरूले सामना गर्ने हरेक समस्याले तिनीहरूलाई थुप्रै चुनौतीहरू दिन्छ, र तिनीहरू धारणा र कल्पनाहरूले भरिन्छन्, र अहङ्कारी र आत्मधर्मी हुन्छन्। जब तिनीहरूको काटछाँट हुन्छ, वा तिनीहरूले गर्ने कुनै कार्यमा अवरोध सामना गर्छन्, तब तिनीहरूले बहानाहरू बनाउँछन्, कामकुरालाई गलत रूपमा बुझ्छन्, नकारात्मक बन्छन्, र गुनासो गर्छन्। तिनीहरू निरर्थक कथा र तर्कहरूको प्रभाव र भ्रममा पर्छन्। यी कठिनाइहरू हुन्। यदि मानिसहरूले यी कठिनाइहरू समाधान गर्न सक्छन् भने, तिनीहरू सत्यतालाई स्विकार्न र त्यसलाई अभ्यास गर्न सक्षम हुनेछन्, र परमेश्वरप्रतिको समर्पण सजिलो हुनेछ। त्यसैकारण, परमेश्वरप्रति समर्पण हासिल गर्नका लागि, व्यक्तिले सुरुमा सत्यतालाई स्वीकार र अभ्यास गर्नैपर्छ, र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनैपर्छ। त्यो नै पहिलो छेका हो। त्यसोभए, परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा के-के समावेश हुन्छन्? तिनमा मानिस, घटना, र परमेश्वरले तेरो वरिपरि पैदा गर्नुभएका कामकुराहरू समावेश हुन्छन्। कहिलेकाहीँ यी मानिस, घटना र कामकुराहरूले तँलाई काटछाँट गर्नेछन्, कहिलेकाहीँ तिनले तेरो परीक्षा लिनेछन्, जाँच्नेछन् वा तँलाई बाधा दिनेछन्, वा तँलाई नकारात्मक तुल्याउनेछन्—तर समस्याहरू समाधान गर्न तैँले सत्यता खोज्न सकुञ्जेल तैँले केही कुरा सिक्न, कद प्राप्त गर्न, र प्रतिरोध गर्ने बल पाउन सक्नेछस्। परमेश्वरमा समर्पित हुनुको सबैभन्दा आधारभूत पाठ भनेको परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु हो। परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा मानिस, घटना, कामकुराहरू र विभिन्न परिस्थितिहरू पर्छन् जुन परमेश्वरले तेरो वरिपरि पैदा गराउनुहुन्छ। त्यसोभए यी परिस्थितिहरू सामना गर्दा तैँले कस्तो प्रतिक्रिया जनाउनुपर्छ? सबैभन्दा मूलभूत कुरा भनेको परमेश्वरबाट स्विकार्नु हो। “परमेश्वरबाट स्विकार्नु” को अर्थ के हो? गुनासो र प्रतिरोध गर्नु—के यो परमेश्वरबाट स्विकार्नु हो? कारणहरू खोज्नु र बहानाहरू बनाउनु—के यो परमेश्वरबाट स्विकार्नु हो? होइन। त्यसोभए परमेश्वरबाट स्विकार्नुलाई तैँले कसरी अभ्यास गर्नुपर्छ? जब तँलाई केही आइपर्छ, तब सुरुमा शान्त हो, सत्यता खोज्, र समर्पित हुने अभ्यास गर्। बहाना वा स्पष्टीकरणहरू लिएर नआइज। को सही र को गलत छ भनी विश्लेषण गर्ने वा अनुमान लगाउने कोसिस नगर्, अनि कसको गल्ती बढी गम्भीर र कसको कम गम्भीर छ भनी विश्लेषण नगर्। के सधैँ यी कुराहरू विश्लेषण गर्नु परमेश्वरबाट स्विकार्ने मनोवृत्ति हो? के यो परमेश्वरप्रति समर्पणको मनोवृत्ति हो? यो परमेश्वरप्रति समर्पणको, वा परमेश्वरबाट स्विकार्ने, वा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरू स्विकार्ने मनोवृत्ति होइन। परमेश्वरबाट स्विकार्ने कार्य परमेश्वरप्रतिको समर्पण अभ्यास गर्ने सिद्धान्तहरूको एउटा पाटो हो। यदि तँ तँलाई आइपर्ने सबथोक परमेश्वरको सार्वभौमिकताभित्र पर्छ, ती कुराहरू परमेश्वरका बन्दोबस्तहरू र शुभेच्छाका कारण हुन्छन् भनी निश्चित छस् भने, तैँले तिनलाई परमेश्वरबाट स्विकार्न सक्छस्। सुरुमा सही र गलत विश्लेषण नगर्, आफैले बहानाहरू नबना, अरूमा खोट नखोज्, गल्तीहरू खोतल्ने काम नगर्, घटनाका वस्तुगत कारणहरूको आलोचनात्मक विश्लेषण नगर्, र कामकुरालाई विश्लेषण र जाँच गर्न तेरो मानव दिमाग प्रयोग नगर्। परमेश्वरबाट स्विकार्नका निम्ति तैँले गर्नैपर्ने कामका विवरणहरू यिनै हुन्। यो अभ्यास गर्ने उपाय भनेको सुरुमा समर्पण गर्नु हो। तँमा धारणाहरू भए पनि वा कामकुराबारे तँ प्रस्ट नभए पनि, समर्पित हो। सुरुमै बहाना वा विद्रोहीपनतिर नलाग्। अनि समर्पित भएपछि, सत्यता खोज्, परमेश्वरलाई प्रार्थना गर् अनि उहाँबाट खोजी गर्। तैँले कसरी प्रार्थना गर्नुपर्छ? यसो भन्, “हे परमेश्वर, तपाईंले आफ्नो शुभेच्छाले मेरा लागि यो परिस्थिति योजनाबद्ध गर्नुभएको छ।” तैँले यसो भन्नुको अर्थ के हो? यसको अर्थ तेरो हृदयमा पहिल्यै स्वीकारको मनोवृत्ति छ र परमेश्वरले तेरा लागि त्यो परिस्थिति योजनाबद्ध गर्नुभएको हो भनी तैँले स्विकारेको छस्। यसो भन्; “हे परमेश्वर, आज मैले सामना गरेको परिस्थितिमा कसरी अभ्यास गर्ने भनेर म जान्दिनँ। म तपाईँलाई मलाई अन्तर्दृष्टि दिन र मार्गदर्शन गर्न अनि मलाई तपाईंको इच्छा बुझाइदिन आग्रह गर्छु, ताकि म त्यहीअनुसार कार्य गर्न, र न त विद्रोही न प्रतिरोधी हुन, र मेरो आफ्नै इच्छामा भर नपर्न सकूँ। म सत्यता अभ्यास गर्न र सिद्धान्तहरूअनुसार कार्य गर्न इच्छुक छु।” प्रार्थना गरेपछि, तँलाई हृदयमा शान्ति महसुस हुनेछ, र तैँले तेरा बहानाहरूलाई स्वतः त्याग्नेछस्। के यो तेरो मानसिकतामा आएको परिवर्तन होइन र? यसले तेरो लागि सत्यता खोज्ने र अभ्यास गर्ने बाटो खोल्छ, र बाँकी समस्या भनेको तैँले सत्यता बुझिसकेपछि त्यसलाई कसरी अभ्यास गर्नुपर्छ भन्ने मात्र हो। तैँले सत्यता अभ्यास गर्नुपर्ने समयमा यदि तैँले फेरि पनि विद्रोहीपन प्रकट गर्छस् भने, तैँले फेरि परमेश्वरलाई प्रार्थना गर्नैपर्छ। तेरो विद्रोहीपन समाधान भइसकेपछि, स्वाभाविक रूपमा तँलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछ। समस्याहरू उत्पन्न हुँदा, तैँले परमेश्वरसामु आफूलाई शान्त पार्न र सत्यता खोज्न सिक्नैपर्छ। यदि तँ लगातार बाहिरी कुराहरूको अवरोधमा पर्छस्, यदि तेरो स्थिति सधैँ अव्यवस्थित हुन्छ भने, त्यसको कारण के हो त? यसको कारण के हो भने तैँले सत्यता बुझ्दैनस्, र तँभित्र तेरो भ्रष्ट स्वभावको हैकम चल्छ—तैँले केही गर्नै सक्दैनस्। यस्ता समयमा, तैँले आत्मचिन्तन गरेर आफूभित्रको समस्या पत्ता लगाउनुपर्छ। परमेश्वरका सान्दर्भिक वचनहरू खोजेर तिनले के खुलासा गर्छन् भनी हेर्। त्यसपछि, प्रवचन र सङ्गतिहरू, वा परमेश्वरका वचनका भजनहरू सुन्। यी वचनहरूलाई मनन गर्दै तेरो आफ्नै स्थितिलाई हेर्। त्यसरी तैँले तँभित्र कस्ता समस्याहरू छन् भनी देख्न सक्छस्, र यी समस्याहरूबारे प्रस्टता पाएपछि तिनलाई सम्हाल्न सजिलो हुनेछ। अरू मानिसहरूमा तेरा लागि कठिनाइ सिर्जना जस्तोसुकै समस्या भए पनि, तिनलाई ध्यानै नदे। आफ्नै आत्मचिन्तनमा ध्यान केन्द्रित गर्। परमेश्वरले तेरो परीक्षा लिइरहनुभएको छ भनी दाबी गर्दै तिललाई पहाड नबना। परमेश्वरसित यसको कुनै सम्बन्ध छैन। भ्रष्ट मानवजातिहरूमा आत्मज्ञान हुँदै हुँदैन र तिनीहरू आफूलाई आकर्षक देखाउनमा सबैभन्दा सिपालु हुन्छन्। अत्यधिक संवेदनशील नबन्। यदि तैँले यो परमेश्वरले लिनुभएको परीक्षा हो भनी निर्क्योल निकाल्छस् भने तैँले तेरा आफ्नै समस्याहरूमाथि झन् बढी चिन्तन गर्नु आवश्यक हुन्छ; यदि तैँले तेरो भ्रष्ट स्वभावलाई पूर्ण रूपमा निकालिनस् भने, त्यसले तँलाई मूर्ख बनाइरहनेछ। त्यसोभए, समाधान चाहिँ के हो? तैँले यसरी प्रार्थना गर्नुपर्छ, “परमेश्वर, म अत्यन्तै मनोमानी गर्छु र अहङ्कारी छु! म सधैँ देहका चाहनाहरू पूरा गर्नेबारे सोचिरहेको हुन्छु। म ज्यादै विद्रोही छु! कृपया मलाई ताडना दिनुहोस्।” प्रार्थनापछि, तँलाई अलि चिन्तित महसुस हुनेछ। “यदि परमेश्वरले मलाई साँच्चिकै ताडना दिनुभयो भने के होला? अहँ, मैले प्रार्थना गरेर आफ्नो सङ्कल्प निर्धारण गर्नुपर्छ; परमेश्वरले मलाई जति अनुशासनमा राख्नुभए पनि, उहाँले मलाई बिरामी हुने वा मर्ने तुल्याउनुभए पनि, म उहाँप्रति समर्पित नै हुनेछु।” तैँले यो प्रार्थना सकाएपछि, तँ भित्री रूपमा बलियो बन्नेछस्, र तेरो स्थिति फरक हुनेछ। तैँले कस्तो महसुस गर्नेछस्? तैँले सोच्नेछस्: “यतिका वर्षसम्म विश्वासी भएपछि, मैले परमेश्वरको परीक्षा अनुभव गरेको यो पहिलोपटक हो। उहाँको हात ममाथि परेको छ र म उहाँ मेरो निकै नजिक हुनुहुन्छ भन्ने महसुस गर्छु। परमेश्वरले मलाई व्यक्तिगत रूपमा अगुवाइ गर्दै हुनुहुन्छ, व्यक्तिगत रूपमै मलाई तालिम दिन र शुद्ध पार्न यस्तो परीक्षाको बन्दोबस्त गर्दै हुनुहुन्छ, मलाई त्यसबाट पाठ सिक्न र त्यसबाट सत्यता प्राप्त गर्न तुल्याउँदै हुनुहुन्छ। परमेश्वरले मलाई अत्यन्तै प्रेम गर्नुहुन्छ!” के यो परमेश्वरको अन्तर्दृष्टि र ज्योति होइन र? के यो अवस्थामा तँसित केही कद हुँदैन र? (हुन्छ।) यो साँच्चै खाट्टी बुझाइ हो। तँलाई मनमनै लाग्ला: “परमेश्वरले मेरो परीक्षा लिइरहनुभएकाले ममा कस्तो मनोवृत्ति हुनुपर्छ? परमेश्वरलाई सन्तुष्ट पार्न मैले के गर्नुपर्छ?” जब तैँले यसरी सोच्छस्, र यसरी खोजी गर्छस् भने, तैँले चाँडै समर्पण हासिल गर्नेछस्। तैँले बहस गर्न छोड्नेछस्, र मनमनै सोच्नेछस्: “यदि म समर्पित भइनँ, बरु मैले सधैँ बहस गरेँ भने, यदि मैले सधैँ अरू मानिस र वस्तुगत परिस्थितिहरूमा कारणहरू खोजेँ, बहानाहरू भेट्टाएँ र सही र गलत विश्लेषण गरेँ भने, म मानव नै हुँदिन। म सुङ्गुर भन्दा तल्लो स्तरको पशु हुन्छु!” त्यसपछि, तँलाई ग्लानि र छटपटी महसुस हुनेछ। तैँले सोच्नेछस्: “म तुरुन्तै परमेश्वरमा समर्पित हुनुपर्छ। परमेश्वर मेरो साथमा हुनुहुन्छ, र उहाँले यसरी नै मलाई मार्गदर्शन गरिरहनुभएको छ। परमेश्वरको शुभेच्छा यस्तै हुन्छ भनेर बारम्बार भनिँदै आएको छ—मैले आज यसको स्वाद पाएको छु। परमेश्वर मैले एउटा पाठ सिक्नुपर्छ, म बदलिनुपर्छ, म सही र गलतबीच अल्झिनु हुँदैन भन्ने इच्छा गर्नुहुन्छ। यो मप्रति परमेश्वरको प्रेम, उहाँको न्याय र सजाय, उहाँको भरणपोषण र मार्गदर्शन हो। परमेश्वरले मलाई अत्यन्तै प्रेम गर्नुहुन्छ, र उहाँको प्रेम साँचो छ!” तँ हृदयमा उत्प्रेरित हुनेछस्। तँ किन उत्प्रेरित हुनेछस्? किनकि अब तैँले परमेश्वरको इच्छा बुझ्छस्; तैँले व्यक्तिगत रूपमै परमेश्वरको प्रेम अनुभव गरेको छस्; तैँले यतिका दिनसम्म निरन्तर सत्यता खोजी गरेर अनुभव लिएको छस्। के मानिसहरूले यो अनुभव गर्ने क्रममा अझै पनि परमेश्वरविरुद्ध विद्रोह गर्न सक्छन्? हो, अझै पनि विद्रोह हुन सक्छ। मानिसहरूमा भ्रष्ट स्वभाव हुने, र अनेकथरिका भ्रष्ट, निरर्थक सोचहरू लगातार प्रकट भइरहने हुनाले, तिनीहरू सधैँ यसो सोचिरहेका हुन्छन्: “परमेश्वरले मेरो परीक्षा लिइरहनुभएको छ, त्यसोभए के म मर्नेवाला छु? यदि परमेश्वरले मलाई साँच्चिकै ताडना दिइरहनुभएको छ भने, के उहाँले मलाई गम्भीर रूपले बिरामी पार्नुहुनेछ? मलाई डर लाग्छ!” डर कहाँबाट आउँछ? यो परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा विश्वास नगर्दा, उहाँका योजनाबद्ध कार्यहरूलाई हुन दिन नचाहँदा र “म मरेँ भने के होला? मलाई म कहाँ छु भन्ने नै थाहा छैन!” भनी चिन्ता लिँदा आउँछ। मानिसहरूमा परमेश्वरमाथि अति कम आस्था हुन्छ। त्यस्तो समयमा मानिसहरूमा कति आस्था हुन्छ? शून्य! यदि कसैलाई परमेश्वरको हातबाट उम्कने इच्छा मात्रै छ भने पनि, उसले परमेश्वरलाई विश्वासघात गर्ने कुरा पक्का हुन्छ। कुरा यो अवस्थामा पुगे पछि, मानिसहरू उम्कन चाहन्छन्; तिनीहरू भइरहेको घटनालाई स्विकार्न अनिच्छुक हुन्छन्। त्यतिबेला के गर्न सकिन्छ? तैँले “म समर्पित हुन सक्छु; म अलि उत्प्रेरित भएँ। म परमेश्वरको अनुग्रह महसुस गर्न सक्छु, र परमेश्वरले मेरो हेरचाह गर्नुभएको छ। यति भए पुग्छ, र म सन्तुष्ट छु” भनेर मात्र हुँदैन। त्यतिले पुग्दैन। तँ अघि बढिरहनुपर्छ, तैँले खोजी गर्न जारी राख्नुपर्छ। सोच्: “अय्यूबले कसरी आफ्नो आस्था प्राप्त गरे? उनी कुन हदसम्म समर्पित हुन सक्थे? म किन यति धेरै डराउँछु? मेरो डर कहाँबाट आइरहेको छ? किनकि ममा परमेश्वरमाथि अति कम आस्था छ। म परमेश्वरका हातमा सबैभन्दा खुसी र सुरक्षित हुन्छु; परमेश्वर नै मेरो शरण हुनुहुन्छ भनेर मलाई विश्वास लाग्दैन। म यी कुराहरू विश्वास गर्दिनँ। म अत्यन्तै छली र दुष्ट व्यक्ति हुँ! यो परमेश्वरले मेरो परीक्षा लिइरहनुभएको हो, र परीक्षाको मतलब मेरो जीवन खोसिनेछ भन्ने होइन भनेर मैले बुझेको छु। उहाँ मसित खेलवाड गरिरहनुभएको छैन वा जानाजान मेरो खुलासा पनि गरिरहनुभएको छैन। यो एउटा परीक्षा मात्र हो, जसको उद्देश्य मेरो भ्रष्ट स्वभावलाई धुनु हो। मैले अझै पनि परमेश्वरमाथि साँचो आस्था राख्न, पूर्ण रूपमा परमेश्वरमाथि भरोसा गर्न र आफूलाई उहाँको हातमा राख्न सकेको छैनँ। म अत्यन्तै दुष्ट छु, र जघन्य कामकुराको दोषी छु! म परमेश्वरले यसरी विचार गर्नलायक छैनँ। म परमेश्वरको हेरचाह पाउनलायक छैनँ।” त्यसपछि तैँले के गर्न सक्छस्? तैँले प्रार्थना गर्नुपर्छ र परमेश्वरबाट सत्यता खोज्नुपर्छ; तेरो विद्रोहीपनलाई र तेरा मनसायहरूलाई काटछाँट गर्नुपर्छ। तैँले सत्यतालाई यो हदसम्म बुझ्छस्, तर तँ अझै पनि परमेश्वरमाथि भरोसा राख्दैनस् वा आफूलाई उहाँका हातमा राख्ने आँट गर्दैनस्। यो के हो? यो विश्वासघात हो। तेरो छलीपन, तेरो अहङ्कार, तेरो शङ्का, र तेरो दुष्टताका कारण तँ परमेश्वरमा भरोसा गर्दैनस्। डर यहीँबाट आउँछ। डरको अर्थ के हो? त्यो परमेश्वरमाथि आस्था नहुनु हो। यो “यदि म परमेश्वरको मार्गदर्शनमा समर्पित भएँ भने, के उहाँले मलाई शैतानकहाँ सुम्पेर मर्न दिनुहुनेछ?” भनी सधैँ चिन्तित हुनु हो। यो कस्तो प्रकारको सोच हो? के त्यो बकवास होइन र? कसैले किन परमेश्वरबारे त्यस्तो सोच्छ? सत्यताबिना, मानिसहरूले केही पनि प्रस्ट रूपमा देख्न सक्दैनन्, बरु सधैँ परमेश्वरलाई गलत रूपमा बुझ्छन् र उहाँबारे अनुमान लगाउँछन्। यो समस्यालाई समाधान गर्नका लागि व्यक्तिले सत्यता बुझ्न आवश्यक पर्छ। सत्यतालाई बुझेर मात्र मानिसहरूले समझका साथ बोल्न सक्छन्, जसरी मानवले बोल्नुपर्छ। तैँले परमेश्वरको हेरचाह र सुरक्षा महसुस गरेको, परमेश्वरले दिनुभएको शान्ति र आनन्दमारमाएको, र तँलाई निकै सुरक्षित महसुस भएको बाबजुद, तँ अझै पनि आफूलाई परमेश्वरको हातमा राख्न हिचकिचाउँछस्। तँ अझै पनि डराउँछस्। के यो विद्रोह होइन र? यस विद्रोहभित्र के मिसिएको छ? यो केद्वारा नियन्त्रित छ? छलीपन र अहङ्कारद्वारा। के यो साँच्चिकै पिशाची प्रकृति होइन र? यदि कसैमा पिशाची प्रकृति छ भने, उसमा शैतानी स्वभाव हुन्छ। यस समस्यालाई कसरी समाधान गर्न सकिन्छ? त्यसो गर्नलाई मानिसहरूले सत्यता खोज्न आवश्यक हुन्छ। यदि मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन् भने, यदि तिनीहरूले जतिसुकै भ्रष्टता प्रकट गरे पनि सत्यता खोज्दैनन् भने, तिनीहरूको भ्रष्ट स्वभावलाई कहिल्यै समाधान गर्न सकिँदैन। त्यस्तो व्यक्तिले सजिलै मुक्ति हासिल गर्नेछैन।

कुनै भ्रष्ट स्वभावलाई समाधान गर्नका लागि सत्यता खोज्दा, उक्त समस्या समाधान भएको मानिनका लागि कस्ता नतिजाहरू हासिल हुन आवश्यक हुन्छ? कतिपय मानिसहरूलाई कुनै निश्चित परिस्थिति परमेश्वरले लिनुभएको परीक्षा हो भनी राम्ररी थाहा हुन्छ, तर तिनीहरू आफूलाई उहाँको हातमा राख्न अनिच्छुक हुन्छन्। तिनीहरू परमेश्वरमाथि भर पर्न सकिँदैन, उहाँलाई भरोसा गर्न सकिँदैन भन्ने अनुभूति गर्छन्। तिनीहरूले परमेश्वरमाथि भर पर्ने आँट नगर्ने मात्र नभई तिनीहरू यी परिस्थितिहरूसँग डराउँछन्। कामकुराहरू त्यो अवस्थामा पुगिसकेपछि, तिनीहरूले आफूलाई कस्ता सत्यताहरूले सुसज्जित गर्नुपर्छ? तिनीहरूले कसरी पछ्याउनुपर्छ? अनि तिनीहरूलाई सफा हुन, पूर्ण समर्पण हासिल गर्न, र परमेश्वरको डर मान्ने र दुष्टतादेखि अलग बस्ने मार्गमा पाइला राख्नका लागि तिनीहरूले कति पछ्याइ गर्नुपर्छ? यो सबै समर्पणको सत्यतासँग सम्बन्धित छ। अहिले, तँसित परमेश्वरबारे साँच्चिकै ज्ञान छैन, र तैँले साँचो पाउन सक्ने कुनै उपाय नै छैन। साँचो आस्थाबिना, तँ कस्ता दर्शनका सत्यताहरूले सुसज्जित हुनुपर्छ ताकि तैँले सन्देह, शङ्का, गलत बुझाइ र परमेश्वरप्रतिको प्रतिरोधबाट पूर्ण मुक्ति पाउन सक्छस्, र जसले तँलाई पूर्ण रूपले समर्पित तुल्याउनेछ? यी समस्याहरू समाधान गरेर दूषणबाट, व्यक्तिगत माग र छनोटहरूबाट पूर्ण रूपमा स्वतन्त्र हुन तँ कुन सत्यताहरूले सुसज्जित हुनुपर्छ? यसबारे तिमीहरू अझै पनि प्रस्ट छैनौ। त्यसबारे अलि सोच—परमेश्वरप्रति पूर्ण समर्पण हासिल गर्न कस्तो प्रकारको पछ्याइ आवश्यक पर्छ? तँसित केही सत्यताहरू हुनुपर्छ। जब तैँले तेरो जीवनको रूपमा सत्यता प्राप्त गरेको हुन्छस्, त्यो नै तेरो कद हुनेछ। त्यो नै तैँले समर्पण हासिल गर्न सक्ने जग र आधार हुनेछ। तैँले यी सत्यताहरूद्वारा पूर्ण समर्पण हासिल गर्न सक्छस्। त्यसोभए, तैँले आफूलाई कुन सत्यताहरूले सुसज्जित गर्न आवश्यक छ? (तिमीले परमेश्वरबारे ज्ञान पछ्याउनुपर्छ।) त्यो यसको एउटा पाटो हो। त्यसबाहेक, मानिसहरू आफैले केही सहकार्य र केही अभ्यासहरू गर्नु आवश्यक हुन्छ। के तिमीहरूलाई पत्रुसले भनेको कुरा याद छ? (“यदि परमेश्वरले मानिसहरूलाई खेलौनाजस्तै प्रयोग गरिरहनुभएको थियो भने पनि, मानिसहरूसँग के नै गुनासो छ र?”) यो समर्पणसम्बन्धी कुरा हो। यदि तैँले यस तरिकाले कामकुरा अनुभव गरिस् भने, तैँले बिस्तारै सत्यताबारे जान्नेछस् र स्वतः नतिजा पाउनेछस्। पहिलो कुरा, तँमा परमेश्वर र सत्यताप्रति समर्पणको मनोवृत्ति हुन आवश्यक हुन्छ। परमेश्वरले तँतिर कस्तो नजर लगाइरहनुभएको छ, तँप्रति उहाँको मनोवृत्ति र सोरको भाव कस्तो छ, उहाँ तँप्रति वितृष्ण हुनुहुन्छ कि हुनुहुन्न, र उहाँले तँलाई खुलासा गर्नुहुनेछ कि गर्नुहुनेछैन भन्नेबारे चिन्ता नगर्। सुरुमा तेरा आफ्नै कठिनाइ र समस्याहरू समाधान गर्। के साधारण मानिसहरूले पत्रुसले भनेको कुरा सजिलै प्राप्त गर्न सक्छन्? (अहँ, सजिलै त सक्दैनन्।) उनले कस्ता अनुभवहरू गरे र उनीसँग कस्ता वास्तविकताहरू थिए जसले उनलाई त्यसो भन्ने तुल्यायो? (उनलाई पूर्ण विश्वास थियो कि परमेश्वरले मानिसलाई जस्तो व्यवहार गर्नुभए पनि, त्यसको उद्देश्य मानिसलाई मुक्ति दिन हो र त्यो प्रेमबाहेक केही पनि होइन। त्यसैले उनी समर्पित हुन खुसी थिए।) पत्रुसले “यदि परमेश्वरले मानिसहरूलाई खेलौनाजस्तै प्रयोग गरिरहनुभएको थियो भने पनि,” र “परमेश्वरले मानिसलाई जस्तो व्यवहार गर्नुभए पनि” भने। तैँले आफूलाई सृजित प्राणी, परमेश्वरको अनुयायी, र परमेश्वरको घरको सदस्यको रूपमा लिइरहेको छस्। त्यसोभए, के ती दुईबीच कुनै भिन्नता छ? हो, छ। एउटा असमानता छ! एउटा खेलौना र एउटा मानवजातिबीचको असमानता के हो? खेलौना त केही पनि होइन—यो मूल्यविहीन, दयनीय चिज हो। यसलाई खेलौना भन् या पशु भन्—यो त्यस्तै प्रकारको चिज हो। तर व्यक्ति? व्यक्तिसँग सोच र मस्तिष्क हुन्छ; ऊ बोल्न र कामकुरा गर्न सक्षम हुन्छ, र उसले सामान्य मानव गतिविधिहरू गर्न सक्छ। खेलौनाको तुलनामा, के मानवको मूल्य र हैसियतमा कुनै भिन्नता हुन्छ? यदि तैँले आफूलाई खेलौना नभएर मानवको रूपमा हेर्छस् भने, के तँलाई परमेश्वरले गर्ने व्यवहारका सम्बन्धमा तँसँग मागहरू छैनन् र? परमेश्वरबाट तैँले गर्ने मागहरू के-के हुन्? (मलाई मानवझैँ व्यवहार गर्ने।) परमेश्वरले कसरी तँलाई मानवझैँ व्यवहार गर्नुपर्छ? यदि परमेश्वरले तँलाई मानवताबाट उहाँले गर्नुहुने मागहरू बताउनुभयो र तँलाई ती पूरा गर्न आवश्यक गराउनुभयो भने, के तैँले पूरा गर्न सक्थिस्? यदि परमेश्वरले सत्यता व्यक्त गर्नुभयो र तँलाई त्यो पालना गर्न आवश्यक गराउनुभयो भने, के तैँले पालना गर्न सक्थिस्? यदि परमेश्वरले तँलाई उहाँमा समर्पित हुन र उहाँलाई प्रेम गर्न आवश्यक गराउनुभयो भने, के तैँले त्यसो गर्न सक्थिस्? अनि यदि तँ ती कुनै पनि गर्न सक्षम छैनस् भने, परमेश्वरले किन तँलाई मानवझैँ व्यवहार गर्नुपऱ्यो? यदि तँमा कुनै विवेक वा समझ छैन र तँ मानवले गर्नुपर्ने कामकुरा गर्न सक्दैनस् भने, परमेश्वरले किन तँलाई मानवझैँ व्यवहार गर्नुपऱ्यो र? यदि मानिसहरू जथाभावी कार्य गर्छन्, सत्यतालाई स्विकार्न मान्दैनन् र परमेश्वरलाई मूल्याङ्कन र निन्दा समेत गर्छन्, र आफूलाई उहाँका शत्रु बनाउँछन् भने, के तिनीहरूमा मानवता छ? के परमेश्वरले त्यस्तो व्यक्तिलाई मानवझैँ व्यवहार गर्नुहोला त? के परमेश्वरले शैतान र दियाबलसहरूलाई मानवझैँ व्यवहार गर्नुहोला त? तँलाई मानवको रूपमा लिनु र खेलौनाको रूपमा लिनु भनेको मनोवृत्ति र व्यवहारमा हुने भिन्नताको कुरा हो। यदि तँलाई मानवको रूपमा लिइन्छ भने, तैँले कस्तो व्यवहार माग गर्नेथिस्? तँलाई सम्मान गरियोस्, तँसँग परामर्श लिइयोस्, तेरा भावनाहरूलाई ख्याल गरियोस्, तँलाई पर्याप्त ठाउँ र स्वतन्त्रता दिइयोस्, र तेरो इज्जत र प्रतिष्ठाबारे विचार गरियोस् भन्ने माग गर्थिस्। मानवजातिलाई त्यसरी नै व्यवहार गरिन्छ। तर खेलौनाहरूलाई कस्तो व्यवहार गरिन्छ? (ती केही पनि होइनन्। तिनलाई लात्ताले हान्न मिल्छ।) (तपाईंले तिनलाई जतिखेर चाहनुभयो त्यतिखेर प्रयोग गर्न सक्नुहुन्छ, र नचाहेको बेलामा बेवास्ता गर्न सक्नुहुन्छ।) त्यसो भन्दा उचित हुन्छ। तिमीहरू खेलौनालाई व्यवहार गर्नेबारे यसो भन्छौ भने, मानवजातिलाई खेलौनाझैँ व्यवहार गर्नुलाई कसरी व्याख्या गर्छौ? (आफूलाई आवश्यकता पर्दा तिनीहरूलाई प्रयोग गरिन्छ र आवश्यकता नपर्दा तिनीहरूलाई बेवास्ता गरिन्छ।) तैँले तिनलाई सम्मानरहित व्यवहार गर्छस्, र तिनीहरूको अधिकारको रक्षा गर्नुपर्ने आवश्यकता हुँदैन। तँ तिनीहरूलाई कुनै पनि अधिकार, वा स्वायत्तता, वा छनोट गर्ने अधिकार दिँदैनस्। कामकुरामा तिनीहरूसँग परामर्श लिने, वा तिनीहरूको सम्मानलाई ख्याल गर्न, वा त्यस्तो केही गर्न आवश्यकता नै हुँदैन। तँलाई राम्रो अनुभूति हुँदा तैँले तिनीहरूलाई राम्रो व्यवहार गर्न सक्छस्, तर राम्रो अनुभूति नहुँदा तैँले तिनीहरूलाई लात्ताले हिर्काउन सक्छस्। खेलौनाप्रति राखिने मनोवृत्ति यही हो। यदि परमेश्वरले मानिसहरूलाई खेलौनाजस्तै व्यवहार गर्नुभयो भने, तिनीहरूलाई कस्तो महसुस हुन्थ्यो होला? के तिनीहरूलाई अझै पनि परमेश्वर प्रेमिलो हुनुहुन्छ भन्ने महसुस हुन्थ्यो होला त? (हुन्थेन।) तर पत्रुसले परमेश्वरलाई प्रशंसा गर्न सके। उनीसँग कस्ता सत्यता वास्तविकताहरू थिए जसले उनलाई मरुञ्जेल परमेश्वरप्रति समर्पण हासिल गर्ने तुल्याए? वास्तवमा परमेश्वरले मानिसलाई खेलौनाजस्तै व्यवहार गर्नुहुन्थेन। तर जब पत्रुसको बुझाइ यो स्तरमा पुग्यो, तब उनले सोचे: “यदि परमेश्वरले मलाई त्यसरी व्यवहार गर्ने हो भने पनि म त्यसमा समर्पित हुनैपर्छ। यदि परमेश्वरले मलाई खेलौनाजस्तै व्यवहार गर्नुभयो भने, म किन तयार र इच्छुक हुन सक्थिनँ र?” पत्रुसले यो तत्परता र इच्छा हासिल गरे। “तयार र इच्छुक” हुनुले के जनाउँछ? (आफूलाई परमेश्वरका योजनाबद्ध कार्यहरूको कृपामा राख्नु र तिनमा पूर्ण रूपले समर्पित हुनु।) समर्पणको सत्यता त्यही हो। के तँलाई शैतानको हातमा सुम्पिनु नै खेलौनालाई व्यवहार गर्ने तरिका हुन्थेन र? नचाहिएको बेलामा तँलाई हटाइनेथ्यो, र शैतानकहाँ सुम्पिनेथ्यो ताकि त्यसले तेरो परीक्षा लिन र तँलाई मूर्ख बनाउन सकोस्। पत्रुसको मनोवृत्ति कस्तो थियो? के उनीसँग कुनै गुनासाहरू थिए? के उनले परमेश्वरलाई गुनासो गरे? के उनले परमेश्वरलाई सरापे? के उनी शैतानतर्फ फर्के? (अहँ।) यसलाई समर्पण भनिन्छ। उनले कुनै गुनासाहरू गरेनन्, उनले कुनै पनि नकारात्मकता वा प्रतिरोध देखाएनन्। के उनको भ्रष्ट स्वभाव समाधान भएन र? यो पूर्ण रूपले परमेश्वरसित मिलेको थियो। यो उनले परमेश्वरलाई विश्वासघात गर्ने वा नगर्ने मामला थिएन। यो त यस्तो मामला थियो: “परमेश्वरले मलाई जहाँ राख्नुभए पनि, मेरो हृदयमा परमेश्वर हुनुहुनेछ; परमेश्वरले मलाई जहाँ राख्नुभए पनि, म उहाँकै हुनेछु। उहाँले मलाई खरानी पार्नुभए पनि, म अझै उहाँकै हुनेछु। मैले कहिल्यै शैतानको सहारा खोज्नेछैन।” उनी समर्पणको यो स्तरमा पुग्न सक्षम भए। यसो भन्न सजिलो छ, तर गर्न गाह्रो छ। तैँले यो सबै पूर्ण र प्रस्ट रूपमा देख्नुअघि तँ निश्चित समयका लागि सत्यताले सुसज्जित हुनुपर्छ, त्यसपछि सत्यता अभ्यास गर्न ज्यादै सजिलो हुनेछ। तैँमा परमेश्वरबारे पूर्ण ज्ञान हुनु आवश्यक छैन, र परमेश्वरले तँलाई केही विशेष कुरा खुलासा गर्न जरूरी पनि छैन। यदि तैँले उचित मनोवृत्ति र यस्तो समर्पण राख्न सकिस् भने, त्यो पर्याप्त हुनेछ। परमेश्वरले तँलाई गर्ने व्यवहारका लागि तैँले कुनै पनि मागहरू राख्नु वा ठ्याक्कै मापदण्डहरू दिनुहोस् भनी तैँले उहाँलाई माग गर्न हुँदैन। कुनै कुरा सत्यतासँग मिल्ने भए पनि र त्यो सृष्टिकर्तामा हुनुपर्ने कुरा भए पनि, तैँले त्यसको माग गर्नु हुँदैन। तैँले यसो भन्नुपर्छ: “परमेश्वर, तपाईंले मलाई जस्तो व्यवहार गर्नुभए पनि ठिकै छ। तपाईंले मलाई मर्न दिन सक्नुहुन्छ; तपाईंले मलाई नरकमा पठाउन सक्नुहुन्छ। तपाईंले मलाई जस्तो व्यवहार गर्नुभए पनि ठिक छ। तपाईंले मलाई शैतानको हातमा सुम्पनुभए पनि, परमेश्वर अझै पनि मेरो परमेश्वर हुनुहुनेछ, र म अझै पनि परमेश्वरको सृजित प्राणी हुनेछु। म उहाँलाई कहिल्यै त्याग्नेछैन।” यस्तो मनोवृत्ति भएमा, तँमा समर्पणको वास्तविकता छ। “यदि परमेश्वरले मानिसहरूलाई खेलौनाजस्तै प्रयोग गरिरहनुभएको थियो भने पनि, मानिसहरूसँग के नै गुनासो छ र?” पत्रुसले दिन सकेको यो अभिव्यक्ति तिमीहरू सबैका लागि निकै महत्त्वपूर्ण छ! यो पत्रुसको समर्पण थियो। यदि तैँले यो अभिव्यक्तिबारे निरन्तर सोचिस् र त्यसबारे साँचो बुझाइ र अनुभव प्राप्त गरिस् भने, परमेश्वरमा समर्पित हुन तँलाई अझ बढी सजिलो हुनेछ। जुन पक्षहरूमा मानिसहरूले परमेश्वरविरुद्ध विद्रोह गर्छन् ती पक्षहरूमा तिनीहरू सबैभन्दा अव्यावहारिक हुन्छन्। मानिसहरूले आफ्नो कर्तव्य राम्ररी ननिभाउँदा, कुनै वास्तविक सेवा नगर्दा, तिनीहरू बढी सुशील हुन्छन्, र आफूसँग परमेश्वरसित तर्क गर्ने वा उहाँको प्रतिरोध गर्ने कुनै अधिकार छैन भन्ने महसुस गर्छन्। तर तिनीहरूले थोरै काम गर्ने वा थोरै सेवा दिनेबित्तिकै तिनीहरू आफूसँग केही पूँजी छ भन्ने महसुस गर्छन्। तिनीहरू परमेश्वरसित तर्क गर्न चाहन्छन् र परमेश्वरका आशिषहरू चाहन्छन्। यो समस्याजनक बन्छ। तिनीहरूको तर्क असामान्य हुन्छ—के त्यो नीच कार्य होइन र? सत्यता वास्तविकता नभएमा मानिसहरू त्यति दयनीय हुन्छन्। यदि कोही सत्यताले सुसज्जित छैन भने के ऊ ठिक रहन सक्छ? सत्यतालाई नस्विकारी भ्रष्ट स्वभावहरूलाई फाल्न सकिँदैन; सत्यताले सुसज्जित नहुनु भनेको कुनै व्यक्तिको विवेक र समझ असामान्य हुनु हो। तिनीहरूले केही धर्मसिद्धान्त बुझ्लान्, र यस्ता कुरा भन्लान्: “म एक सृजित प्राणी हुँ र म परमेश्वरमा समर्पित हुनुपर्छ। ममा हुनुपर्ने समझ त्यही नै हो।” तिनीहरूले शाब्दिक रूपमा यो बुझ्लान्, र तिनीहरूले नाराहरू फलाक्न सक्छन्, तर वास्तवमै केही आइपर्दा, त्यो परमेश्वरले योजनाबद्ध गर्नुभएको हो भनेर पूर्ण ज्ञान भए पनि तिनीहरूले त्यसलाई स्विकार्न वा त्यसमा समर्पित हुन सक्दैनन्। यस्तो किन हुन्छ? किनभने मानवहरू विद्रोही हुन्छन्, तिनीहरूको भ्रष्ट स्वभाव हल भएको हुँदैन, र तिनीहरू परमेश्वरलाई विश्वासघात गर्न पूर्ण रूपमा सक्षम हुन्छन्। परिस्थितिको वास्तविकता त्यही हो। यदि मानिसहरू पर्याप्त सत्यताद्वारा सुसज्जित छैनन् भने, तिनीहरूको जीवन दयनीय हुनेछ। के परमेश्वरविरुद्ध विद्रोह गर्ने, परमेश्वरमा समर्पित हुन वा उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्विकार्न नसक्नेहरू परमेश्वरका विश्वासी पनि होइनन् र? तिनीहरू किन परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्दैनन् त? किनकि तिनीहरू सत्यतालाई स्विकार्दैनन् वा त्यसमा विश्वास गर्दैनन्। के त्यो तथ्य होइन र? (हो।) कतिपय मानिसहरू कुनै निश्चित व्यक्तिबारे यसो भन्छन्: “ऊ अहङ्कारी र आत्मधर्मी छ। केही कुरा आइपर्दा ऊ सधैँ प्रतिरोध गर्छ। ऊ सधैँ बहाना बनाउने र स-साना कुराहरू खोतल्ने गर्छ। उसले परमेश्वरको अस्तित्वमा वा परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा विश्वास गर्दैन, त्यसैले ऊ परमेश्वरमा समर्पित हुन सक्दैन।” तर अर्कोतिर, उसले यी परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू हुन्; यो परमेश्वरले उसका लागि मिलाउनुभएको परिस्थिति हो; परमेश्वर उसलाई धुन र यसमार्फत उसले सत्यता प्राप्त गरोस् भन्ने चाहनुहुन्छ भनेर विश्वास गर्छ। त्यसपछि के ऊ समर्पित हुन सक्छ? त्यसपछि के ऊ विद्रोही हुन छोड्न र परमेश्वरलाई विश्वासघात गर्न छोड्न सक्छ? के उसले सम्भवत त्यो कुरा परमेश्वरबाट स्विकार्न सक्छ? अहँ, सक्दैन। किन सक्दैन? किनकि मानिसमा यी सत्यता वास्तविकताहरू हुँदैनन्। तिमीहरूको हालको कद अति सानो छ। त्यसैले अहिलेलाई, परमेश्वरले तिमीहरूको परीक्षा लिइरहनुभएको छैन। मूल कारण यही हो। किनकि तिमीहरूको परीक्षा लिनेबित्तिकै तिमीहरू सबैले आफ्नो साँचो रूप देखाउनेथियौ र तिमीहरू हटाइनेथियौ, अनि शैतान हाँस्नेथियो। वास्तविकता त्यही होइन र? अहिले तिमीहरूको कद अति सानो छ। तिमीहरू धर्मसिद्धान्तबारे बोल्न र नाराहरू वाचन गर्न सक्छौ, र अरू मानिसहरूका समस्याहरू प्रस्ट रूपमा देख्न सक्छौ, तर तिमीहरूलाई आफ्नै स्थिति थाहा छैन; तिमीहरू त्यसबारे प्रस्ट छैनौ। तिमीहरूको त्यस्तो स्थिति र कद हुँदाहुँदै के परमेश्वरले तिमीहरूको परीक्षा लिनुहुन्छ होला त? तिमीहरूमाथि सिद्धताको काम गर्ने समय आइसकेको छैन; तिमीहरू त्यसका लागि सुसज्जित छैनौ।

परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु परमेश्वरको हरेक अनुयायीले सामना गर्ने सबैभन्दा आधारभूत पाठ हो। यो सबैभन्दा गहन पाठ पनि हो। तँ जुन हदसम्म परमेश्वरमा समर्पित हुन सक्छस्, तेरो कद त्यति ठूलो हुन्छ, र तेरो आस्था त्यति ठूलो हुन्छ—यी कुराहरू अन्तरसम्बन्धित छन्। पूर्ण समर्पणमा पुग्नका लागि तँ कुन सत्यताहरूले सुसज्जित हुनु आवश्यक छ? पहिलो कुरा, तैँले परमेश्वरसित कुनै पनि मागहरू राख्नु हुँदैन—यो एक सत्यता हो। तैँले यो सत्यतालाई कसरी लागु गर्न सक्छस्? जब तैँले परमेश्वरप्रति माग राख्छस्, तब यो सत्यतालाई प्रयोग गरेर आफूबारे मनन र चिन्तन गर्। “म परमेश्वरलाई कस्ता मागहरू गर्छु? के ती सत्यताअनुरूप छन्? के ती तर्कसङ्त छन्? ती कहाँबाट आएका हुन्? के ती मेरा आफ्नै कल्पनाहरूबाट आएका हुन्, कि ती मलाई शैतानले दिएका विचारहरू हुन्?” वास्तवमा यीमध्ये कुनै पनि होइन। यी विचारहरू मानिसहरूका भ्रष्ट स्वभावहरूले पैदा गर्छन्। तैँले यी अव्यावहारिक मागहरूपछाडिका मनसाय र चाहनाहरूलाई विश्लेषण गर्नुपर्छ, र ती सामान्य मानवताको समझसँग मिल्छन् कि मिल्दैनन् भनी हेर्नुपर्छ। तैँले के खोज्नुपर्छ? यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले पत्रुसझैँ एक अनुयायी हुन खोज्नुपर्छ। पत्रुसले भने, “यदि परमेश्वरले मलाई खेलौनाजस्तै व्यवहार गर्नु भयो भने, म कसरी तयार र इच्छुक नहुन सक्छु र?” कतिपय मानिसहरू पत्रुसले भनेको कुरा बुझ्दैनन्। तिनीहरूले सोध्छन्: “परमेश्वरले कहिले चाहिँ मानिसलाई खेलौनाजस्तै व्यवहार गर्नुभएको छ र हामीलाई शैतानको हातमा सुम्पनुभएको छ? मैले त त्यो देखेको छैन। परमेश्वर मप्रति अत्यन्तै असल र अनुग्रही रहनुभएको छ। परमेश्वर त्यस्तो खालको परमेश्वर हुनुहुन्न। परमेश्वरले मानवहरूलाई असीमित प्रेम गर्नुहुन्छ भने उहाँले किन मानिसहरूलाई खेलौनाजस्तै व्यवहार गर्नुहुन्थ्यो र? त्यो त सत्यतासँग मेल खाँदैन। यो परमेश्वरबारे गलत बुझाइ हो, परमेश्वरबारे साँचो ज्ञान होइन।” तर पत्रुसका शब्दहरू कहाँबाट आएका हुन्? (ती परमेश्वरबारे ज्ञानबाट आएका हुन्, जुन अनेकथरीका परीक्षाहरू पार गरेपछि प्राप्त भएका हुन्।) पत्रुसले अत्यन्तै धेरै परीक्षा र शोधनहरू पार गरे। उनले आफ्ना सबै व्यक्तिगत माग, योजना र चाहनाहरूलाई पन्छ्याए, र परमेश्वरले कुनै कुरा गर्न माग गरेनन्। त्यसैले, उनीसँग आफ्ना सोचहरू थिएनन्, र उनले आफूलाई पूर्ण रूपमा सुम्पे। उनले यसो सोचे: “परमेश्वरले जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ। उहाँले मेरो परीक्षा लिन सक्नुहुन्छ, मलाई ताडना दिन सक्नुहुन्छ, र मलाई न्याय गर्न वा सजाय दिन सक्नुहुन्छ। उहाँले मलाई काटछाँट गर्न परिस्थितिहरू सिर्जना गर्न सक्नुहुन्छ, मलाई तपाउन सक्नुहुन्छ, मलाई सिंहको ओडार वा ब्वाँसोको गुफामा हालिदिन सक्नुहुन्छ। परमेश्वरले जे गर्नुहुन्छ, त्यो सही हुन्छ, र म कुनै पनि कुरा भए पनि समर्पित हुनेछु। परमेश्वरले गर्नुहुने सबथोक सत्यता हो। मसित कुनै पनि गुनासा वा रोजाइहरू हुनेछैनन्।” के यो पूर्ण समर्पण होइन र? कहिलेकाहीँ मानिसहरू यसो सोच्छन्: “परमेश्वरले गर्नुहुने सबथोक सत्यता हो भने, परमेश्वरले गर्नुभएको यो काममा मैले किन कुनै सत्यता नभेट्टाएको? कहिलेकाहीँ परमेश्वरले पनि सत्यतासँग नमिल्ने कामकुरा गर्नुहुन्छ भन्ने देखिन्छ। कहिलेकाहीँ परमेश्वर पनि गलत हुनुहुन्छ। तर चाहे जेसुकै होस्, परमेश्वर परमेश्वर नै हुनुहुन्छ, त्यसैले म समर्पित हुनेछु!” के यस्तो खालको समर्पण पूर्ण समर्पण हो? (होइन।) यो फर्मायसी समर्पण हो; यो साँचो समर्पण होइन। यो यस विषयको पत्रुसको सोचाइसँग अमिल्दो छ। तँलाई खेलौनाजस्तै व्यवहार गर्दा, तँलाई त्यसको कारण बुझाउनुपर्ने वा त्यो जायज र तर्कसङ्गत देखिनुपर्ने आवश्यकता छैन। तँलाई जस्तो व्यवहार गरे पनि हुन्छ; तँसित कामकुराबारे छलफल गर्न वा तँलाई तथ्य र कारणहरू बुझाउन आवश्यक छैन। यदि तेरो अनुमोदनबिना कामकुरा अघि बढ्न सक्दैन भने, के तँलाई खेलौनाजस्तै व्यवहार गरिन्थ्यो र? गरिँदैनथ्यो—त्यो त तँलाई पूर्ण मानव अधिकार र स्वतन्त्रता, साथै पूर्ण सम्मान दिनु हुनेथ्यो। त्यो त तँलाई खेलौनाजस्तो नभएर मानवजस्तो व्यवहार गरिरहेको हुनेथ्यो। खेलौना भनेको के हो? (यो त्यस्तो चिज हो जसको कुनै स्वायत्तता र अधिकार हुँदैन।) तर के यो अधिकारबिनाको चिज मात्र हो त? पत्रुसका शब्दहरूलाई कसरी लागु गर्न सकिन्छ? उदाहरणका लागि, मानिलिऊँ तैँले केही समयदेखि कुनै निश्चित विषयमा खोजी गर्दै आएको छस्, तर अझै पनि परमेश्वरको इच्छा बुझेको छैनस्। अथवा, मानिलिऊँ तैँले २० वर्षभन्दा बढी समयदेखि परमेश्वरमा विश्वास गरेको छस् र यो सब के हो भनेर अझै थाहा पाएको छैनस्। के तैँले यस्तो अवस्थामा समर्पण गर्नुपर्दैन र? तैँले समर्पण गर्नुपर्छ। अनि यो समर्पण केमा आधारित हुन्छ? यो पत्रुसले “यदि परमेश्वरले मलाई खेलौनाजस्तै व्यवहार गर्नु भयो भने, म कसरी तयार र इच्छुक नहुन सक्छु र?” भनेको कुरामा आधारित छ। यदि तँ परमेश्वरलाई सधैँ मानिसका धारणा र कल्पनाहरूअनुसार व्यवहार गर्छस्, र परमेश्वरले गर्नुहुने सबै कार्य मापन गर्न, परमेश्वरका वचन र काम मापन गर्न तिनलाई नै प्रयोग गर्छस् भने, के यो परमेश्वरलाई साँघुरो घेरामा सीमित गर्नु, र परमेश्वरलाई प्रतिरोध गर्नु होइन र? के परमेश्वरले गर्नुहुने सबथोक मानिसका धारणा र कल्पनाहरूसँग मिल्न सक्छ? यदि मिल्दैन भने, के तैँले त्यसलाई स्वीकार वा पालन गर्दैनस्? त्यस्तो बेला, तैँले कसरी सत्यता खोज्नुपर्छ? तैँले कसरी परमेश्वरलाई पछ्याउनुपर्छ? यसमा सत्यता संलग्न हुन्छ; परमेश्वरका वचनहरूबाट जवाफ खोज्नुपर्छ। परमेश्वरमा विश्वास गर्दा, मानिसहरू सृजित प्राणीको स्थानमा अडिनुपर्छ। चाहे जुनसुकै समय होस्, परमेश्वर तँबाट लुक्नुभएको भए पनि वा तेरोसामु देखा पर्नुभएको भए पनि, तैँले परमेश्वरको प्रेम महसुस गर्न सके पनि वा नसके पनि, तैँले तेरा जिम्मेवारी, दायित्व, र कर्तव्यहरू के हुन् भनेर थाहा पाउनैपर्छ—तैँले अभ्यासबारे यी सत्यताहरू बुझ्नैपर्छ। यदि तँ अझै पनि तेरा धारणाहरूमा अडिएर “यदि मैले यो मामला सत्यता र मेरा सोचाइअनुरूप छ भनेर प्रस्ट रूपले देख्न सकेँ भने, म समर्पित हुनेछु; यदि मैले यो प्रस्ट देखिनँ र यी परमेश्वरका कार्यहरू हुन् भनेर पुष्टि गर्न सकिनँ भने, सुरुमा म केही समय पर्खनेछु, अनि यो परमेश्वरले नै गर्नुभएको हो भनेर निश्चित भएपछि म समर्पित हुनेछु” भन्छस् भने, के यो परमेश्वरमा समर्पित हुने व्यक्ति हो? होइन। यो सशर्त समर्पण हो, निरपेक्ष र पूर्ण समर्पण होइन। परमेश्वरको काम मानव धारणा र कल्पनाहरूसँगअनुरूप हुँदैन; देहधारण र विशेषगरी न्याय र सजाय मानव धारणा र कल्पनाहरूअनुरूप, हुँदैन। अधिकांश मानिसहरू त्यसलाई स्विकार्न र त्यसमा समर्पित हुन साँच्चै सङ्घर्ष गर्छन्। यदि तँ परमेश्वरको काममा समर्पित हुन सक्दैनस् भने, के तैँले सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्छस्? त्यो सम्भव छँदै छैन। सृजित प्राणीको कर्तव्य के हो? (सृजित प्राणीको स्थानमा उभिने, परमेश्वरको आज्ञा स्विकार्ने र परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुने।) ठिक भनिस्, त्यसको मूल त्यही हो। त्यसोभए के यो समस्यालाई सम्बोधन गर्न सजिलो छैन र? सृजित प्राणीको स्थानमा उभिनु र सृष्टिकर्ता अर्थात् तेरो परमेश्वरमा समर्पित हुनु—हरेक सृजित प्राणीले सबैभन्दा बढी कायम राख्नुपर्ने कुरा यही हो। धेरै सत्यताहरू छन् जुन तैँले बुझ्दैनस् वा जसबारे तँलाई थाहै छैन। तैँले परमेश्वरको इच्छा बुझ्न सक्दैनस्, त्यसैले तैँले सत्यताहरूलाई स्विकार्नेछैनस् वा तँ तिनमा समर्पित हुनेछैनस्—के त्यो ठिक हो? उदाहरणका लागि, यदि तैँले केही अगमवाणीहरू बुझिनस् भने, के तैँले ती परमेश्वरका वचनहरू हुन् भनी स्विकार्दैनस्? तैँले त्यसलाई नकार्न सक्दैनस्। ती वचनहरू सधैँ परमेश्वरकै वचन हुनेछन्, र तिनमा सत्यता समावेश हुन्छ। तैँले तिनलाई नबुझे पनि, ती परमेश्वरकै वचनहरू हुन्। यदि परमेश्वरका केही वचनहरू पूरा भएका छैनन् भने, के त्यसको मतलब ती परमेश्वरका वचन होइनन्, ती सत्यता होइनन् भन्ने हुन्छ? यदि तँ “यदि त्यो पूरा भएको छैन भने त्यो सायद परमेश्वरका वचनहरू होइनन्। सायद त्यो दूषित भएको छ” भन्छस् भने, यो कस्तो मनोवृत्ति हो? यो विद्रोहको मनोवृत्ति हो। तँमा समझ हुनैपर्छ। समझ भनेको के हो? समझ हुनु के कुरामा आधारित हुन्छ? यो सृजित प्राणीको स्थानमा उभिनु र सृष्टिकर्ता अर्थात् तेरो परमेश्वरमा समर्पित हुनुमा आधारित हुन्छ। यो नै सत्यता हो; यो अनन्तकालसम्म नबदलिने सत्यता हो। के परमेश्वरप्रतिको समर्पण तैँले परमेश्वरको इच्छा जानेको वा बुझेको छस् कि छैनस्, वा परमेश्वरले तँलाई उहाँको इच्छा देखाउनुभएको छ छैन भन्ने कुरामा आधारित हुनुपर्छ? के त्यो यी सबै कुरामा आधारित हुनुपर्छ? (पर्दैन।) त्यसोभए त्यो केमा आधारित हुन्छ त? त्यो समर्पणको सत्यतामा आधारित हुन्छ। समर्पणको सत्यता भनेको के हो? (सृजित प्राणीको स्थानमा उभिनु र सृष्टिकर्ताप्रति समर्पित हुनु।) समर्पणको सत्यता भनेको यही हो। त्यसोभए, के तैँले सही र गलत विश्लेषण गर्नुपर्ने कुनै आवश्यकता छ? पूर्ण समर्पण हासिल गर्नका लागि के तैँले परमेश्वरले सही काम गर्नुभएको छ कि छैन भनेर विचार गर्नु आवश्यक छ? के तँ समर्पित हुनका लागि परमेश्वरले सत्यताको यो पक्षलाई प्रस्ट र पूर्ण रूपले व्याख्या गर्न आवश्यक छ? (अहँ, छैन।) चाहे परमेश्वरले जेसुकै गर्नुहोस्, तैँले समर्पणको सत्यता अभ्यास गर्नुपर्छ—त्यति भए पुग्छ। कतिपय मानिसहरू अत्यन्तै बहस गर्ने हुन्छन् र निरन्तर हलचल मच्चाइरहन्छन्। तिनीहरू सधैँ यस्तो सोचिरहेका हुन्छन्: “के परमेश्वर सत्यता हुनुहुन्न र? के परमेश्वर सृष्टिकर्ता हुनुहुन्न र? परमेश्वरले गर्नुहुने केही कार्यहरू म किन बुझ्दिनँ? किन परमेश्वरले मलाई कामकुरा प्रस्ट रूपले बुझाउनुहुन्न? यदि उहाँले त्यो कुरा बुझाउनुभएको छैन भने, म त्यसलाई कसरी अभ्यास गर्न सक्छु? के म त्यसमा समर्पित हुन नसक्नुको कारण मैले त्यो बुझ्न नसकेर होइन र? यदि मैले त्यो बुझ्न सकिनँ भने मलाई त्यसमा समर्पित हुने हुटहुटी हुनेछैन!” के यो विद्रोह होइन र? के समर्पित हुनका लागि तँलाई यो हुटहुटी चाहिन्छ? अहँ, चाहिँदैन। तँलाई केवल एउटा सामान्य चेतना चाहिन्छ, त्यो हो: “परमेश्वरबाट आउने जुनसुकै कुरामा म समर्पित हुनेछु। परमेश्वरका वचनहरू पूरा हुँदा, म समर्पित भएर परमेश्वरको प्रशंसा गर्नेछु; परमेश्वरका वचनहरू पूरा नहुँदा पनि ती उहाँका वचन नै हुन्, र ती पूरा भएका छैनन् भन्दैमा मानव वचन बन्नेछैनन्। मैले मूल्याङ्कन नगरी समर्पित मात्र हुनुपर्छ। परमेश्वर सधैँ मेरो परमेश्वर नै हुनुहुनेछ।” तैँले सृजित प्राणीको स्थान त्यसरी लिनुपर्छ। यस्तो समझ र यी सत्यता वास्तविकताहरूसाथ, तँलाई परमेश्वरका नजरमा मानिसहरू खेलौना वा कमिला मात्र हुन् भन्ने महसुस हुँदा, के तँलाई अझै पनि निराश महसुस हुनेछ? के तँलाई निकृष्ट महसुस हुनेछ? (हुनेछैन।) अब तँलाई निकृष्ट महसुस हुनेछैन किनकि परमेश्वरले तँलाई मानवजस्तै व्यवहार गरिरहनुभएको हुन्छ, र उहाँसामु अझै पनि तेरो हैसियत हुन्छ। परमेश्वरले तँलाई उत्थान गर्नुभएको छ। यसैकारण तँ निकृष्ट महसुस गर्दैनस्। यदि परमेश्वरले तँलाई उत्थान नगर्नुभएको भए, यदि उहाँले तँलाई सधैँ काटछाँट गरिरनुभएको र ताडना दिइरहनुभएको भए, तँ त्यसबारे बेखुसी भइरहेको हुनेथिस्। त्यसरी बेखुसी महसुस गर्नु एउटा समस्या हो जसलाई सम्हाल्न जरूरी छ। मानिसहरूभित्र धेरै कठिनाइहरू हुने भएकाले तिनीहरू प्रायः त्यस्तो महसुस गर्छन्; तिनीहरूमा परमेश्वरप्रति सधैँ मागहरू हुने गर्छन्, र तिनीहरू सधैँ यसो सोचिरहेका हुन्छन्: “तपाईंले मलाई मानवजस्तै व्यवहार गर्नुपर्छ। तपाईंले मलाई सम्मान गर्नुपर्छ र मलाई उच्च सोच्नुपर्छ, मेरो बारेमा सोच्नुपर्छ र मेरा कमजोरीहरूलाई बुझ्नुपर्छ। तपाईं सहनशील हुनुपर्छ। मेरो कद सानो छ, र ममा अन्तर्ज्ञानको कमी छ। मैले यसअघि यस्तो काम गरेको छैनँ।” तिनीहरूसँग सधैँ बहानाहरूको ठूलो चाङ हुन्छ र समर्पण बिलकुलै हुँदैन। समर्पणको सत्यताबारे आजको सङ्गतिपछि, के यी बहानाहरू वास्तविक कारण रहन्छन् त? तेरो जिम्मेवारी, दायित्व र कर्तव्य भनेको समर्पित हुनु हो।

मानिसहरूलाई कुनै समस्याहरू नहुँदा समर्पित हुन सजिलो हुन्छ। तर समस्या उत्पन्न हुँदा तिनीहरू समर्पित हुन सक्दैनन्। यो अवस्थामा के गर्न सकिन्छ? यो कठिनाइलाई समाधान गर्नका लागि प्रार्थना गर्न सत्यता खोज्न आवश्यक हुन्छ। कुनै व्यक्तिले आफू परमेश्वरद्वारा उचालिएको आदर्श व्यक्ति हुँ भन्ने महसुस गर्नुदेखि त्यही व्यक्ति परमेश्वरको नजरमा योग्यता रहित महत्त्वहीन खेलौना, केही नकामको, मूल्यहीन फटाहा, तैपनि परमेश्वरप्रति समर्पित हुन खुसी हुने र उहाँसँग कुनै माग नगर्ने व्यक्ति बन्नु—अनुभवको त्यो हदसम्म पुग्न कति समय आवश्यक हुन्छ? (उनका अन्तिम सात वर्षमा, पत्रुसले सयौँ परीक्षाहरू पार गरे। यदि कसैले सत्यतालाई पछ्याउँदैन भने, उसले जतिसुकै वर्ष विश्वास गरे पनि सत्यता हासिल गर्नेछैन।) यो कति वर्ष आस्था राखियो भन्ने कुरा होइन—बरु, यो त कसैले सत्यतालाई पछ्याउँछ कि पछ्याउँदैन, र उसले सत्यतालाई प्रयोग गरेर भ्रष्ट स्वभावको समस्यालाई समाधान गर्न सक्छ कि सक्दैन भन्नेमा भर पर्छ। त्यो सबै तेरो पछ्याइ के हो भन्नेमा भर पर्छ। कतिपय मानिसहरू प्रतिष्ठा र हैसियत बाहेक केही पनि पछ्याउँदैनन्, सधैँ आफ्नो प्रदर्शन गर्न र भिडभन्दा अलग देखिन चाहन्छन्। अलिकति पनि झट्का वा असफलता सामना गर्दा तिनीहरू हिम्मत हार्छन, अनि नकारात्मक र शिथिल बन्छन्। कतिपय मानिसहरू अनुचित लाभ लिन मन पराउँछन्, तर सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरू अरूको घाटामा आफूले लाभ पाउँदा खुसी हुन्छन्, र तिनीहरूले सत्यता प्राप्त गरेका छैनन् भने तिनीहरू निराश वा चिन्तित हुँदैनन्। कतिपय त आफूसँग हैसियत छैन भने आफ्नो आस्थामा जाँगरहीन हुन्छन्, अनि यो हैसियत पाइसकेपछि अरू जोकोहीभन्दा बढी ऊर्जावान् हुन्छन्; त्यसपछि तिनीहरू कहिल्यै नकारात्मक अनुभूति गर्दैनन्, र हाँसीखुसी मरिञ्जेल काम गर्छन्। तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तहरूअनुसार कामकुरा गर्नमा कुनै ध्यानै दिँदैनन्, र फलस्वरूप, धेरै वर्षको आस्थापछि पनि तिनीहरूसँग अनुभवात्मक गवाही हुँदैन। केही वर्ष मात्र विश्वासी भएर अद्भुत अनुभवात्मक गवाही भएका अरू मानिसहरूलाई देख्दा तिनीहरू ईर्ष्या गर्छन् र पछुताउँछन्, तर त्यो अनुभूति हराएपछि पनि तिनीहरू सत्यतालाई पछ्याउँदैनन्। यदि कसैले सत्यताको लागि मेहनत गर्नमा ध्यान केन्द्रित गर्दैन, सत्यतालाई प्रयोग गरेर समस्याहरू समाधान गर्दैन भने, उसले जतिसुकै वर्षदेखि आस्था राखेको भए पनि, त्यसको काम हुँदैन। जो मानिसहरू सत्यता पछ्याउँदैनन् तिनीहरूलाई कहिल्यै पनि परमेश्वरद्वारा सिद्ध पार्न सकिँदैन। पत्रुसले सयौँ परीक्षाहरू पार गरेर सिद्धता पाए—के तिमीहरूले पनि सयौँ परीक्षाहरू पार गर्नु पर्दैन र? अहिलेसम्म तिमीहरूले कतिवटा परीक्षाहरू पार गरेका छौ? सयौँ नभए पनि, के एक सय परीक्षाहरू पार गरेका छौ? (अहँ। गरिसकेको छैन।) पत्रुस सयौँ परीक्षाहरूमार्फत सिद्ध पारिएका थिए, त्यसैले यदि तिमीहरूले एउटा पनि पार गरेका छैनौ, वा एक सय वटा मात्र पार गरेका छौ भने, तिमीहरूको अनुभव उनको अनुभवको छेउछाउ पनि पुग्दैन। तेरो कद निकै सानो छ। के तैँले सत्यतालाई पछ्याउन मेहनत गर्नु पर्दैन? अनि तैँले त्यो काम कसरी गर्नुपर्छ? तैँले सत्यतालाई बुझ्न र अभ्यास गर्नमा मेहनत गर्नुपर्छ? लापरवाह र अलमल्ल हुने, कुनै पनि कुरालाई गम्भीरतापूर्वक नसोच्ने, बेपर्वाह जीवन जिउने अनि आफूलाई दिनभरी काममा व्यस्त राख्ने काम नगर्। यसो भन्नुको मतलब व्यस्त रहनु समस्या हो भन्ने होइन—यदि तैँले धेरै कामकुरा गर्नु छ भने, तैँले आफूलाई व्यस्त राख्नुपर्नेछ; सधैँ व्यस्त नरहन सकिँदैन। तर सबथोक हेरविचार गर्नमा व्यस्त भइरहँदा पनि तैँले सत्यता र सिद्धान्तहरूका लागि मेहनत गर्नैपर्छ; तैँले अझै पनि कामकुरालाई बुझ्ने र आफूमा जे कमी छ त्यसका निम्ति परमेश्वरलाई बिन्ती गर्नैपर्छ। तैँले परमेश्वरलाई कुनै चिज कसरी माग्छस्? तैँले हरदिन त्यो चिजको लागि हृदयमा चुपचाप परमेश्वरलाई प्रार्थना गर्छस्। यसले तैँले हृदयमा सत्यताको तृष्णा गर्छस्, र तँसित परमेश्वरलाई तेरा आकाङ्क्षाहरू पूरा गर्न दिने इच्छा छ भन्ने देखाउँछ। यदि तेरो हृदय साँचो छ भने, परमेश्वरले तेरा प्रार्थनाहरू सुन्नुहुनेछ; उहाँले तेरो लागि उचित परिस्थितिहरूको बन्दोबस्त र तयारी गर्नुहुनेछ ताकि तैँले पाठहरू सिक्न सक्। तैँले भन्लास्, “मेरो कद साँच्चिकै सानो छ। के परमेश्वरले मलाई पछारिदिने ठूलै परीक्षा लिनुहुनेछ?” अहँ, त्यो असम्भव छ। परमेश्वरले त्यस्तो काम पटक्कै गर्नुहुनेछैन। कसैको आस्था कति ठूलो छ र उसको साँचो कद के हो भन्ने कुरा परमेश्वरलाई सबैभन्दा राम्ररी थाहा हुन्छ। तैँले यो कुरामा आस्था राख्नुपर्छ। परमेश्वरले तीन वर्षको बच्चालाई कहिल्यै वयस्क व्यक्तिको बोझ लिन दिनुहुन्न—कहिल्यै पनि दिनुहुन्न! तँ हृदयमा यसबारे ढुक्क हुनुपर्छ। तर तैँले त्यो कुरा परमेश्वरलाई माग्नुपर्छ। तँमा त्यो चाहना र त्यो सङ्कल्प हुनैपर्छ, तब मात्र परमेश्वरले तेरो अनुरोधलाई सम्बोधन गर्नुहुनेछ। यदि तँ सधैँ डराएर लुकिरहन्छस्, परीक्षित हुन डराइरहन्छस्, सधैँ शान्त, बेपर्वाह दिनहरू बिताउन चाहन्छस् भने, परमेश्वरले तँमा काम गर्नुहुनेछैन। त्यसकारण, तैँले खालि स्वतन्त्र र आँटिलो भएर परमेश्वरलाई बिन्ती गर्न, आफूलाई साँच्चिकै समर्पित गर्न, र सबथोक परमेश्वरको हातमा सुम्पन आवश्यक छ, त्यसपछि मात्र परमेश्वरले तँमाथि काम गर्नुहुनेछ। परमेश्वरले निश्चय नै मानिसहरूलाई मनपरी रूपमा सताउनका लागि काम गर्नुहुन्न, बरु नतिजा र लक्ष्यहरू हासिल गर्न काम गर्नुहुन्छ। परमेश्वरले बेकारको काम गर्नुहुन्न वा तँलाई सहनै नसकिने बोझ उचाल्न लगाउनुहुन्न—तैँले यो कुरामा आस्था राख्नैपर्छ। सिद्धता खोज्न, र परमेश्वरलाई सन्तुष्ट पारेर स्वीकार्य सृजित प्राणी बन्न खोज्नका लागि व्यक्तिमा सङ्कल्प हुनैपर्छ। त्यो कस्तो सङ्कल्प हो? सिद्धता खोज्ने, सत्यता र मानवता भएको व्यक्ति बन्न, परमेश्वरलाई प्रेम गर्ने र उहाँको साक्षी दिने व्यक्ति बन्न खोज्ने सङ्कल्प। परमेश्वर यही कुरामा सबैभन्दा बढी रमाउनुहुन्छ। यदि तँमा त्यो सङ्कल्प छैन, तर “म मेरो कर्तव्यमा व्यस्त छु। म बोझ उचाल्ने, सेवा दिने, र प्रवचनहरू सुन्ने काम गरिरहेको छु। म कोहीसँग पनि पछि परिरहेको छैनँ” भनेरै चित्त बुझाउँछस् भने, तेरो कुनै भविष्य छैन। बढीमा, तँ एक सेवाकर्ता होस्, तर तँ परमेश्वरको मानिस बन्नेछैनस्। के तँ प्रगतिको चाहना नराखी यथास्थितिमै चित्त बुझाइरहेको छैनस् र? तँ सत्यता पछ्याउँदैनस्, भेलाहरूमा सत्यताबारे सङ्गति गर्दैनस्, र प्रवचनहरू सुन्दा निदाउँछस्। तर सांसारिक मामलाहरूबारे छलफल गर्दा तँ फतफताइरहन्छस्, र तेरा आँखाहरू उत्तेजित हुन्छन्—यी सेवाकर्ताका व्यवहार हुन्। सत्यता उल्लेख हुनेबित्तिकै आँखा उत्तेजित हुने केही मानिसहरू छन्; तिनीहरू आफूमा ज्यादै कमीकमजोरी छ भन्ने महसुस गर्छन्, र कुनै असल र व्यावहारिक कुरा सुन्दा, तिनीहरू हतार-हतार त्यसलाई टिपोट गर्छन्। तिनीहरू आफू परमेश्वरको मागभन्दा ज्यादै पर रहेको र आफ्नो हृदयमा पर्याप्त सकारात्मक कुराहरू नभएको महसुस गर्छन्। तिनीहरू शैतानको विष अति भएको, र तिनीहरू परमेश्वरप्रति अत्यन्तै विद्रोही भएको महसुस गर्छन्। तिनीहरू मनमनै सोच्छन्: “परमेश्वर मसित सन्तुष्ट नहुनुमा अचम्म मान्नै पर्दैन। म उहाँले जे चाहनुहुन्छ त्यसबाट ज्यादै टाढा छु। म कुनै पनि रूपले परमेश्वरसित मिल्दो छैनँ, र म उहाँलाई अत्यन्तै गलत बुझ्ने गर्छु। म कहिलेचाहिँ परमेश्वरको इच्छा पूरा गर्न सक्षम हुनेछु होला त?” आफ्ना कर्तव्यमा, तिनीहरू यी कुराहरू पत्ता लगाउन ढिलाइ गर्दैनन्, र तिनीहरू प्राय: परमेश्वरसामु आएर मौन प्रार्थना गर्छन्: “परमेश्वर, कृपया मेरो परीक्षा लिनुहोस्। म तपाईंलाई मेरो खुलासा गर्न, मलाई सत्यता बुझ्ने तुल्याउन, सत्यता वास्तविकता प्राप्त गर्न, र तपाईंलाई चिन्नमा मद्दत गर्न अनुरोध गर्छु। कृपया मलाई ताडना दिनुहोस्, न्याय गर्नुहोस् र सजाय दिनुहोस्।” जब तिनीहरूले यो बोझ लिन्छन्, तिनीहरूले त्यसलाई सधैँ मनमा राख्छन्। तिनीहरूले सधैँ सत्यताको प्यास गरिरहने हुनाले परमेश्वरले तिनीहरूमाथि काम गर्न थाल्नुहुन्छ। उहाँले केही मानिस, घटना र कामकुराहरू, र अनेकथरीका परिस्थितिहरूको बन्दोबस्त गर्नुहुन्छ, ताकि तिनीहरूले हरेक दिन ती कुराहरूबाट केही सिक्न सकून्। त्यसोभए के तिनीहरू निगाह पाएका मानिसहरू होइनन् र? पत्रुसले किन सयौँ परीक्षाहरू सामना गर्न सके? किनकि उनले सत्यतालाई पछ्याउँथे, उनी परमेश्वरका परीक्षाहरूदेखि डराउँदैनथे, र उनले परमेश्वरका परीक्षाहरूको उद्देश्य मानिसहरूलाई शुद्ध पार्नु हो भनेर विश्वास गर्थे। यस मार्गले मानिसहरूलाई सिद्ध पार्न सक्छ र यो मात्र साँचो मार्ग हो भनेर उनले विश्वास गर्थे। उनले यसका लागि प्रार्थना गर्थे, आफूलाई यसमा समर्पित गर्थे र यसमा अर्पित हुन्थे; त्यसैले परमेश्वरले उनीमाथि काम गर्नुभयो। के त्यसको अर्थ परमेश्वरले उनलाई रोज्नुभयो, र उहाँ पत्रुसलाई जाँच्न र सिद्ध पार्न दृढ हुनुहुन्थ्यो भन्ने हो? ठ्याक्कै त्यही हो। यदि परमेश्वरले कुनै व्यक्तिलाई रोज्नुहुन्छ भने, उहाँको मनमा एउटा लक्ष्य र सिद्धान्तहरू हुन्छन्—यो पक्का हो। किन अधिकांश मानिसहरूले परमेश्वरबाट यस्तो काम पाउन सक्दैनन्? किनकि तिनीहरू सत्यतालाई पछ्याउँदैनन् र तिनीहरूमा यो सङ्कल्प हुँदैन, त्यसैले परमेश्वरले तिनीहरूमाथि काम गर्नुहुन्न। परमेश्वरले कसैलाई पनि बलजफ्ती गर्नुहुन्न। यदि परमेश्वरले कसैलाई सिद्ध पार्न चाहनुहुन्छ भने, त्यो अद्भुत कुरा हो, र त्यसको लागि जुन हदसम्म कष्ट भोगे पनि जायज हुन्छ। तर धेरैजसो मानिसहरूमा यो सङ्कल्प हुँदैन, अनि परीक्षा र कठिनाइहरू सामना गर्दा तिनीहरू सुइँकुच्चा ठोक्छन् र लुक्छन्। के परमेश्वरले त्यस्तो व्यक्तिलाई बलजफ्ती गर्नुहुनेछ? कतिपय मानिसहरू सत्यतालाई पछ्याउँदैनन्, र ख्रीष्टलाई आमनेसामने हेर्ने साहस समेत राख्दैनन्। तिनीहरू यसो भन्छन्: “यदि मैले ख्रीष्टलाई देखेँ भने, के भन्ने भनेर मलाई थाहा नै हुन्थेन। मलाई कुनै पनि सत्यता थाहा छैन वा कसरी सङ्गति गर्ने भनेर थाहा छैन। यदि ख्रीष्टले मभित्रको समस्या देख्नुभयो भने के त्यो अपमानजनक हुनेथिएन र? यदि मलाई काटछाँट गरियो भने म त्यसलाई सम्हाल्नै सक्दिनथेँ। मैले परमेश्वरलाई टाढै राख्नुपर्छ र उहाँबाट सम्मानजनक दूरी कायम राख्नुपर्छ। यदि म सधैँ परमेश्वरसित सम्पर्कमा रहेँ र उहाँसामु जिइरहेँ भने, उहाँले मलाई छर्लङ्गै बुझ्नुहुनेछ र घृणा गर्नुहुनेछ। म हटाइनेथेँ र उप्रान्त मसित राम्रो गन्तव्य हुनेथिएन।” के कुराहरू त्यस्तै हुन्छन् त? (हुँदैनन्।) कतिपय मानिसहरूले यस प्रकारका विचार पालिरहेका हुन्छन्। के परमेश्वरले त्यस्तो व्यक्तिबाट केही कुरा माग गर्नुहुन्छ? (अहँ, गर्नुहुन्न।) त्यसैले तैँले जे पछ्याउँछस्, तेरो सङ्कल्प जहाँसम्म पुग्छ, परमेश्वरले तँलाई त्यही बिन्दुसम्म सिद्ध पार्नुहुनेछ। यदि तँ सत्यतालाई पछ्याउँदैनस् बरु सधैँ परमेश्वरबाट लुक्छस् र आफूलाई उहाँबाट टाढा राख्छस्, सधैँ आफ्ना सोचहरूलाई परमेश्वरबाट लुकाउँछस् भने, परमेश्वरले तँजस्ता मानिसहरूबारे के भन्नुहुन्थ्यो होला? (“जुन कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेओ, तिमीहरूले सुँगुरको अघि मोतीहरू पनि नफाल” (मत्ती ७:६)।) तँ सत्यतालाई प्रेम गर्दैनस् र परमेश्वरदेखि लुक्छस्, तर उहाँले तेरो परीक्षा लिएर तँलाई सिद्ध पार्न जिद् कस्नुहुनेछ भन्ने सोच्छस्? तँ गलत छस्। यदि तँ सही प्रकारको व्यक्ति होइनस् भने, जतिसुकै बिन्ती र प्रार्थना गरे पनि काम लाग्नेछैन। परमेश्वरले त्यसो गर्नुहुनेछैन; परमेश्वरले मानिसहरूलाई बलजफ्ती गर्नुहुन्न। त्यो उहाँको स्वभावको एउटा पक्ष हो। तर उहाँले सत्यतालाई पछ्याउनेहरूबाट तिनीहरू पत्रुस, वा अय्यूब, वा अब्राहामजस्तै हुन सकून्; तिनीहरूले परमेश्वरले माग गर्नुभएको जीवनको सही मार्गमा पाइला चाल्न सकून्; तिनीहरूले परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा पाइला चाल्न, र अन्तत: सत्यता प्राप्त गरेर सिद्ध हुन सकून् भन्ने चाहनुहुन्छ। परमेश्वरले यस्तो प्रकारको व्यक्ति प्राप्त गर्ने आशा गर्नुहुन्छ, तर यदि तँ आफैले त्यसलाई खोजिनस् भने के परमेश्वरले तँलाई बलजफ्ती गर्नुहुनेछ? गर्नुहुनेछैन। परमेश्वरले मानिसहरूलाई कहिल्यै बाध्य पार्नुभएको छैन। पवित्र आत्माले तँलाई निरन्तर उत्प्रेरित गर्ने, तँलाई समाएर जानै नदिने, तँलाई सिद्ध पार्न कम्मर कस्ने र तँ सिद्ध नहुञ्जेल नरोकिने गर्नुहुन्न। तँलाई सत्य कुरा भन्नुपर्दा, परमेश्वरले त्यस्तो काम पटक्कै गर्नुहुनेछैन। त्यो उहाँको मनोवृत्ति हो। परमेश्वरले अन्त्यमा, आफ्नो काम पूरा भएपछि, अय्यूब, पत्रुस र अब्राहाम जस्ता अझ धेरै मानिसहरू पाऊँ भन्ने आशा मात्र गर्नुहुन्छ। तर कतिजना मानिसहरू सत्यतालाई साँच्चिकै पछ्याउँछन् र अन्त्यमा परमेश्वरद्वारा प्राप्त गरिन्छन्भन्ने कुरामा परमेश्वरले बलजफ्ती गर्नुहुनेछैन। उहाँले कुराहरूलाई आफ्नै लयमा चल्न दिनुहुनेछ—यो परमेश्वरको व्यावहारिक कामको एउटा पाटो हो। परमेश्वरले १०, २०, १,०००, वा २,००० वा १०,००० जना हुनुपर्छ भनेर कुनै विशेष सङ्ख्या तय गर्नुभएको छैन। उहाँले यसबारे केही पनि तोक्नुभएको छैन। परमेश्वर केवल यसरी नै काम गर्न जारी राखिरहनुभएको, वास्तविक काम पूरा गरिरनुभएको, र साँच्चिकै मानिसहरूमाझ हिँडिरहनुभएको छ। उहाँले यसरी नै काम गर्ने र बोल्ने गर्नुहुन्छ, सत्यता समावेश भएको, मानवजातिलाई फाइदा गर्ने कामको हरेक पक्ष गर्दै हुनुहुन्छ। उहाँले सही प्रकारका मानिसहरूमा, सत्यताको तृष्णा गर्नेहरूमा यही काम गर्न जारी राख्नुहुन्छ। अन्त्यमा, सङ्कल्प भएका र सत्यतालाई पछ्याउनेहरू सिद्ध पारिनेछन्। तिनीहरू सबैभन्दा आशिषित् हुन्छन् र तिनीहरूले नै अनन्त जीवन पाउनेछन्। यसले परमेश्वर सबैप्रति धर्मी हुनुहुन्छ, र उहाँले कसैलाई निगाह गर्नुहुन्न भन्ने प्रमाणित गर्छ। आज तिमीहरू सबैले परमेश्वरलाई पछ्याउन सक्नु संयोग होइन—यो कुरा परमेश्वरले धेरै पहिले पूर्वनिर्धारित गर्नुभएको थियो। परमेश्वरले मानिसहरूका परिवार, तिनीहरू जन्मिने समय, तिनीहरू हुर्कने वातावरण, तिनीहरूको क्षमता, वरदान, सक्षमता, र परिवेश—यी सबै कुराहरू पूर्वनिर्धारण गर्नुहुन्छ। मानिसहरूले अन्त्यमा परमेश्वरको धार्मिकता के रहेछ भनेर देख्नेछन् त? अन्ततः, बाँच्न सक्षम हुनु र सुन्दर गन्तव्य पाउनु मानिसहरूका आफ्नै पछ्याइ र तिनीहरूले तिर्ने मूल्यमा निर्भर हुन्छ। परमेश्वरले यी कुराहरू पूर्वनिर्धारण गर्नु एउटा पक्ष हो, तर मानिसहरूको सहकार्य पनि अनिवार्य हुन्छ। मानिसहरूले लिने मार्ग र तिनीहरूमा सत्यता छ कि छैन भन्ने कुराका आधारमा परमेश्वरले तिनीहरूका परिणामहरू निर्धारित गर्नुहुन्छ। यो उहाँको धार्मिकता हो।

देहधारी परमेश्वरको व्यावहारिक पाटो सबैले देखेका छन्। परमेश्वरले हरव्यक्तिलाई न्यायोचित र व्यावहारिक रूपमा व्यवहार गर्नुहुन्छ। तैँले त्यो कुरा देखेको छस्; अरूले त्यो कुरा देखेका छन्; तिमीहरू सबैले त्यो कुरा देखेका छौ। देहधारी परमेश्वर साधारण व्यक्ति हुनुहुन्छ। ख्रीष्टलाई देख्दा कतिपय मानिसहरू धारणा बनाउँछन् र यसो सोच्छन्, “उहाँ अत्यन्तै सामान्य, अत्यन्तै नचिनिने हुनुहुन्छ। के यो साँच्चै देहधारण हुन सक्छ? म उहाँमा विश्वास गर्दिनँ—मैले उहाँमा कसैगरी विश्वास गर्न सक्दिनँ।” अथवा तिनीहरू नचाही-नचाही उहाँलाई पछ्याउँछन्, केही सर्त राखेर उहाँमा विश्वास गर्छन्, तिनीहरूका धारणालाई आफूसँगै बोकेर हिँड्छन्। ख्रीष्टलाई देख्ने अरू मानिसहरूमा केही समझ हुन्छ, र तिनीहरू यसो सोच्छन्: “देहधारण साधारण व्यक्ति हुनुहुन्छ, तर उहाँले सत्यता व्यक्त गर्न र मानिसहरूलाई जीवनले भरणपोषण गर्न सक्नुहुन्छ, त्यसैले मैले उहाँलाई परमेश्वरजस्तै व्यवहार गर्नुपर्छ। म उहाँका वचनहरूलाई स्विकार्छु र सत्यताका रूपमा, अर्थात् सृष्टिकर्ताका वचनका रूपमा अभ्यास गर्छु।” यी मानिसहरू अन्तत: सिद्ध पारिन्छन् र सत्यता प्राप्त गरेरै छाड्छन्। कस्ता मानिसहरूले अन्त्यमा सत्यता प्राप्त गर्छन्? जसले सत्यतालाई पछ्याउँछन्। परमेश्वरले हरदिन उहाँका चुनिएका मानिसहरूलाई मलजल, आपूर्ति, रखवरी गर्नुहुन्छ र तिनीहरूमा काम गर्नुहुन्छ। म प्रवचन र सङ्गति प्रचार गर्छु, पवित्र आत्माले परमेश्वरका चुनिएका मानिसहरूमा काम गर्नुहुन्छ, र सबैजनाले मलजल र आपूर्ति प्राप्त गर्छन्। कसैले पनि विशेष व्यवहार पाउँदैन, र मण्डली जीवनमा सहभागी हुने र आफ्नो कर्तव्य गर्ने हरव्यक्ति यसरी दैनिक रूपमा परमेश्वरको काममा रमाउँछ। म हरव्यक्तिलाई एउटै व्यवहार गर्छु। जसले प्रश्न सोधे पनि म जवाफ दिन्छु, म कुनै अतिरिक्त चासो दिने, विशेष परिस्थितिहरू मिलाउने, वा कसैलाई आग्रह गर्न वा हौसला दिन कोसिस गर्ने, पवित्र आत्माबाट अतिरिक्ति अन्तर्दृष्टि र ज्योति दिने, वा चिन्ह र चमत्कार देखाउने काम गर्दिनँ। परमेश्वरले त्यस्तो केही पनि गर्नुहुन्न। मानिसहरूका पापहरू क्षमा गर्न र तिनीहरूलाई पश्चात्तापको मार्ग लिन लगाउनका निम्ति, साथै तिनीहरूले परमेश्वरमा विश्वास गरून् र उहाँलाई शङ्का नगरून् भन्नाका लागि परमेश्वरले अनुग्रहको युगमा धेरै चिन्ह र चमत्कारहरू देखाउनुभयो। कामको अहिलेको चरण पूर्णतया सत्यता प्रदान गर्ने रहेको छ, ताकि मानिसहरूले सत्यतालाई बुझ्न र साँचो आस्था विकास गर्न सकून्। तैँले जतिसुकै कष्ट भोगेको भए पनि, यदि तैँले अन्तत: सत्यता प्राप्त गरेको छस् भने, तँ सिद्ध पारिएको व्यक्ति होस् र तँलाई राखिनेछ। यदि तैँले सत्यता प्राप्त गरिनस् भने, तेरा कुनै पनि तर्कहरूले काम गर्दैनन्। तैँले भन्लास्: “परमेश्वरले कुनै चमत्कारहरू गर्नुभएन, त्यसैले मैले विश्वास गर्न सकिनँ,” “परमेश्वरले सधैँ मैले बुझ्न नसक्ने सत्यताहरू व्यक्त गरिरहनुभएको थियो, त्यसैले मैले विश्वास गर्न सकिनँ,” वा “परमेश्वर अत्यन्तै व्यावहारिक, अत्यन्तै सामान्य हुनुहुन्थ्यो, त्यसैले मैले विश्वास गर्न सकिनँ।” यी सबै तेरा समस्याहरू हुन्। तँलाई अरूलाई जसरी नै सत्यताहरू प्रदान गरिएको थियो—त्यसोभए किन तिनीहरूलाई सिद्ध पारिए, जबकि तँलाई चाहिँ हटाइयो त? तैँले सत्यता किन प्राप्त गरिनस् त? तेरो मूल्याङ्कन यो हो: किनकि तैँले सत्यतालाई पछ्याइनस्। यो अन्तिम चरणमा, परमेश्वरले वचनहरूको काम मात्र गर्नुहुन्छ। उहाँले वास्तवमा वचनहरू प्रयोग गरेर मानवतालाई न्याय गर्ने र धुने गर्नुहुन्छ; उहाँले चिन्ह र चमत्कारहरू देखाउनुहुन्न। यदि तँ परमेश्वरका चमत्कारहरू हेर्न चाहन्छस् भने, २,००० वर्ष विगतमा गएर प्रभु येशूका त्यस युगका चमत्कारहरू हेर्। यस युगको विश्वासी नबन्। तैँले परमेश्वरको न्यायको काम स्विकारेको छस्, त्यसैले चमत्कारहरू नखोज्। परमेश्वरले ती कार्यहरू गरिरहनुभएको छैन। के त्यो तर्कसङ्गत छ? (छ।) यो जायज र तर्कसङ्गत छ। यदि तैँले सत्यतालाई पछ्याउँछस् भने, परमेश्वरले तँलाई निगाह देखाउनुहुनेछैन। यदि तँ सत्यतालाई पछ्याउँदैनस्, बरु सेवा गर्न मात्र खोज्छस्, र सधैँ अन्त्यसम्म बफादारीपूर्वक सेवा गर्छस् भने, परमेश्वरले तँलाई रहन दिनुहुनेछ र तँ अनुग्रहित हुनेछस्। तर यदि तैँले अन्त्यसम्म सेवा गर्न सकिनस् भने, तँलाई हटाइने छ। हटाइनुको अर्थ के हो? यसको अर्थ विनाश हो! यो जायज र तर्कसङ्गत छ, र त्यसमा कुनै कृपावाद हुँदैन। त्यो सबै परमेश्वरका वचनहरू र सत्यतामा आधारित हुन्छ। त्यो सबै कुरालाई विचार गर्दा, के मानिसहरूले लिने मार्ग सबैभन्दा महत्त्वपूर्ण छैन र? तैँले कस्तो मार्ग पछ्याउँछस्, तँ कस्तो व्यक्ति बन्न खोज्छस्, तँ कस्तो पछ्याइमा संलग्न हुन्छस्, तँ के कुराको आशा गर्छस्, तैँले परमेश्वरलाई के माग्छस्, तँ परमेश्वरसामु हुँदा परमेश्वरप्रति तेरो मनोवृत्ति कस्तो हुन्छ र परमेश्वरका वचनहरूप्रति तेरो मनोवृत्ति कस्तो हुन्छ: यी सबै कुराहरू निकै महत्त्वपूर्ण छन्। तिमीहरू नै भन त—के चिन्ह र चमत्कारहरू देखाएर मानिसहरूलाई सिद्ध पार्न सकिन्छ? उदाहरणका लागि, यदि तँ सवारी दुर्घटनामा परिस् र परमेश्वरले तँलाई बचाउनुभयो भने, के त्यसले तँलाई सिद्ध पार्न सक्छ? यदि तँ एकपटक मरिस् र बौरी उठिस् भने, के त्यसले तँलाई सिद्ध पार्न सक्छ? अथवा यदि तँ सपनामा स्वर्गको राज्यमा गइस् र तैँले परमेश्वरलाई देखिस् भने, के त्यसले तँलाई सिद्ध पार्न सक्छ? (सक्दैन।) यी कुराहरूले सत्यताको स्थान लिन सक्दैनन्। त्यसैले, परमेश्वरको व्यवस्थापन टुङ्गिने यो अन्तिम चरणको काममा, उहाँले मानिसहरूलाई सिद्ध पार्न र खुलासा गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। यो परमेश्वरको धार्मिकता हो। यदि तँलाई परमेश्वरका वचनहरूमार्फत सिद्ध पारियो भने, उहाँले तँलाई अड्काउनुभएको छ भनेर कसैले पनि गुनासो गर्न सक्दैन, र अड्किएकोमा शैतानले तँलाई दोष लगाउन सक्दैन। परमेश्वरले यस्तै व्यक्ति चाहनुहुन्छ। परमेश्वरले धेरै वचनहरू आपूर्ति गर्नुभएको छ, त्यसैले यदि तैँले अन्त्यमा केही पनि प्राप्त गरिनस् भने, त्यो कसको गल्ती हुनेछ? (हाम्रो आफ्नै।) गलत मार्ग रोज्नु तेरो आफ्नै गल्ती हो। मानिसहरूले कुन मार्ग लिन्छन् भन्ने कुरा साँच्चै महत्त्वपूर्ण छ। कसरी? किनकि त्यसले तिनीहरूको गन्तव्य निर्धारण गर्छ? त्यसैले, अगमवाणीहरू पूरा भएका छन्न कि छैनन्, परमेश्वरले कुनै चिन्ह र चमत्कारहरू देखाउनुभएको छ कि छैन, परमेश्वर धर्तीबाट वास्तवमै कहिले जानुहुनेछ, र उहाँले धर्ती छाड्नुभएको तैँले देख्न सक्नेछस् कि छैनस् भनेर पत्ता लगाउन तैँले निरन्तर कोसिस गरिरहनु हुँदैन। त्यो पत्ता लगाएर तँलाई केही पनि फाइदा हुनेछैन; त्यसले तेरो गन्तव्यमा वा तँ सिद्ध हुनुमा प्रभाव पार्दैन। त्यसोभए तेरा लागि के कुराले महत्त्व राख्छ त? (आस्था राख्दा मैले लिने मार्गले।) तैँले लिने मार्गले तँलाई सिद्ध पार्न सकिने-नसकिने कुरालाई प्रभाव पार्छ। सिद्ध पारिने खोजीमा तैँले सबैभन्दा प्रवेश गर्नुपर्ने सत्यता के हो? परमेश्वरप्रति समर्पणको सत्यता। परमेश्वरप्रति समर्पित हुनु सबैभन्दा उच्च र सबैभन्दा महत्त्वपूर्ण सत्यता हो, र सारमा, सत्यतालाई पछ्याउनु र परमेश्वरप्रतिको समर्पणलाई पछ्याउनु एउटै हो। तैँले परमेश्वरप्रतिको समर्पणलाई जीवनभर पछ्याउनुपर्छ, र परमेश्वरप्रति समर्पण पछ्याउने यो मार्ग नै सत्यतालाई पछ्याउने मार्ग हो। तैँले किन परमेश्वरप्रतिको समर्पणलाई जीवनभर पछ्याउनुपर्छ? किनभने परमेश्वरप्रतिको समर्पणलाई पछ्याउने प्रक्रिया नै भ्रष्ट स्वभावलाई समाधान गर्ने प्रक्रिया हो। तैँले किन भ्रष्ट स्वभावलाई समाधान गर्नुपर्छ? किनभने भ्रष्ट स्वभाव परमेश्वरसित अमिल्दो हुन्छ। यदि तँ शैतानी स्वभावसाथ जिउँछस् भने, तेरो सार शैतान र दियाबलसहरूको सार हो, अनि परमेश्वरप्रतिको समर्पण पछ्याउनका लागि तैँले तेरो भ्रष्ट स्वभावको समस्यालाई समाधान गर्नुपर्छ। यो अत्यन्तै महत्त्वपूर्ण छ! तँसित भ्रष्ट स्वभाव हुञ्जेल र त्यो समाधान गर्न अलिकति पनि बाँकी रहुञ्जेल, तँ परमेश्वरसित अमिल्दो हुनेछस्, तँ परमेश्वरको शत्रु हुनेछस्, र उहाँमा समर्पित हुन असक्षम हुनेछस्। जुन हदसम्म तेरो भ्रष्ट स्वभाव समाधान हुन्छ, त्यही हदसम्म तँ परमेश्वरमा समर्पित हुन्छस्; तेरो भ्रष्ट स्वभाव जति प्रतिशत समाधान हुन्छ तँ त्यति नै प्रतिशत परमेश्वरमा समर्पित हुन्छस्।

यस भेलामा, हामीले परमेश्वरलाई चिन्नेबारे कुरा गरेका छैनौँ। परमेश्वरलाई चिन्ने काम आफ्नो भ्रष्ट स्वभाव समाधान गर्ने र परमेश्वरप्रतिको समर्पणमा पुग्नका निम्ति सिद्ध पारिन खोज्ने प्रक्रियामार्फत बिस्तारै हासिल हुन्छ। परमेश्वरबारे ज्ञानको पछ्याइ आफैमा निकै गहन पाठ हुनेछ, त्यसैले हामीले त्यसबारे कुरा गरेका छैनौँ। अहिले, हामी मानिसहरूका अभ्यास, जीवन, पछ्याइ, र तिनीहरूले लिइरहेका मार्गहरूसँग निकट सम्बन्ध भएका विषयहरूबारे कुरा गरिरहेका छौँ। तेरा भ्रष्ट स्वभावहरू समाधान गर्न खोज्ने क्रममा, तैँले बिस्तारै परमेश्वरलाई बुझ्छस् र उहाँको इच्छा थाहा पाउँछस्। तैँले उहाँको इच्छा बुझ्न सकिस् भने के तँसित परमेश्वरबारे अझ बढी ज्ञान हुँदैन र? (हुन्छ।) तब तँसित परमेश्वरबारे केही वास्तविक ज्ञान हुन्छ। तैँले किन परमेश्वरलाई पछ्याउने क्रममा परमेश्वरप्रति समर्पण हासिल गर्न सक्छस्? किनकि तँ उहाँको हृदयलाई जान्दछस् र उहाँको इच्छा बुझ्छस्; परमेश्वरले तँबाट कस्ता मानक र सिद्धान्तहरू माग गर्नुहुन्छ, र उहाँका लक्ष्यहरू के-के हुन् भनेर तैँले बुझ्छस्। के यो बुझाइमा परमेश्वरबारे केही ज्ञान हुँदैन र? (हुन्छ।) यो बिस्तारै हासिल हुन्छ, र त्यो सबै अन्तरसम्बन्धित हुन्छ। यदि तैँले परमेश्वरबारे ज्ञानलाई मात्र पछ्याइस् भने तँलाई धौधौ पर्नेछ। तैँले यसो भन्लास्: “म हरेक दिन परमेश्वरको ज्ञान पछ्याउने बाहेक केही पनि गर्नेछैन। म फूलहरू कहाँबाट आउँछन्, दुध खान पाठाहरूले किन घुँडा टेक्छन् जबकि बाच्छाहरूले टेक्दैनन् भनेर हेर्नेछु। म यो सबै अध्ययन गर्नेछु, र म परमेश्वरलाई त्यस तरिकाले चिन्नेछु।” के तैँले त्यो सबै अनुसन्धान मात्र गरेर परमेश्वरबारे ज्ञान हासिल गर्न सक्छस्? कदापि सक्दैनस्। सत्यता अनुसन्धानबाट आउँदैन, त्यसलाई त अनुभवमार्फत मात्र साँच्चिकै थाहा पाइन्छ। अनुसन्धानको बिलकुलै काम छैन। सबै कुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो भनेर थाहा छ, र त्यो गज्जब हो, र यसरी तँसित पहिल्यै परमेश्वरबारे केही ज्ञान छ। तर तँ के कुरामा केन्द्रित हुनुपर्छ? तैँले सत्यता पछ्याउनुपर्छ, आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्नुपर्छ, र परमेश्वरप्रति समर्पण हासिल गर्नुपर्छ। यस पछ्याइको प्रक्रियामा तैँले अलिअलि गर्दै धेरै सतही प्रश्नहरूको जवाफ पाउनेछस्, र तेरो अभ्यास र प्रवेशका लागि तैँले एउटा मार्ग भेट्टाउनेछस्। तेरो भ्रष्ट स्वभाव जति राम्ररी समाधान भयो, तँलाई सत्यता अभ्यास गर्न र परमेश्वरप्रति समर्पण हासिल गर्न उति सजिलो हुनेछ। मानिसहरू तिनीहरूका भ्रष्ट स्वभावद्वारा बाधित हुन छाडेपछि, तिनीहरूले साँच्चै स्वतन्त्रता र छुटकारा पाउँछन्, र कुनै पनि सत्यता अभ्यास गर्न सकसपूर्ण हुँदैन, बरु निकै सजिलो हुन्छ। के त्यसो हुनु सत्यता नै मानिसहरूको जीवन बन्नु होइन र?

अक्टोबर १, २०१७

अघिल्लो: परमेश्‍वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू

अर्को: परमेश्‍वरको सार्वभौमिकताबारे कसरी जान्‍ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्