परमेश्‍वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू

अय्यूबसँग साँचो आस्था थियो, त्यसैले आज हरेक व्यक्ति उसको ईर्ष्या गर्छ। तर योभन्दा पहिले के तिमीहरूले उसको अनुभवको वृत्तान्त र उसले साँचो गवाही दिन सक्नुको कारणबारे सङ्गति गरेका छौ? उसको दैनिक जीवन कस्तो थियो? ऊ आफ्नो जीवनमा परमेश्‍वरसित कसरी व्यवहार गर्थ्यो? उसको हरेक व्यवहारबाट कसरी कुनै व्यक्तिले ऊ सत्यता खोजी गर्थ्यो, परमेश्‍वरप्रति समर्पित थियो, अनि परमेश्‍वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरू स्विकार्थ्यो भनेर देख्छ? के यी कुराहरू त्यो वृत्तान्तमा पर्दैनन् र? (पर्छन्।) यी कुराहरू सत्यता पछ्याइको नालीबेलीमा पर्छन्, जुन आजका मानिसहरूमा छैन। मानिसहरूलाई अय्यूबको यो प्रसिद्ध भनाइ मात्र थाहा छः “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। तिनीहरू सबैले यो वाक्यांश पाठ त गर्न सक्छन्, तर अय्यूब वास्तवमा किन यस्तो बोल्‍न सक्षम भयो भनेर स्पष्ट छैनन्। यो प्रसिद्ध भनाइ अय्यूबको मनमा त्यति सजिलै फुरेको थिएन—यो त जीवनभरको अनुभवपश्‍चात् मात्र आएको थियो। जीवनभरको अनुभवमा, उसले परमेश्‍वरको हातका बन्दोबस्त तथा योजनाबद्ध कार्यहरू अनि कैयौँ कुराहरूमा उहाँको आचरण देखेको थियो, र आफ्ना सबै सरसम्पत्ति परमेश्‍वरले नै प्रदान गरेको हो भनेर बुझेको थियो। एक दिन, ती सबै कुरा बिलाएर गए, र ती सबै परमेश्‍वरले नै लैजानुभएको हो भन्‍ने उसलाई थाहा भयो। परमेश्‍वरले जे गर्नुभए पनि, उहाँको नाउँको प्रशंसा गरिनुपर्छ भन्‍ने अय्यूबको निष्कर्ष थियो। त्यसोभए यस्तो निष्कर्षमा ऊ कसरी पुग्यो त? के यस्तो निष्कर्षमा पुग्‍न कुनै प्रक्रिया चाहिन्छ? यसमा मानिसहरूले सत्यता पछ्याउँदा आजकाल अपनाउने मार्ग अर्थात् यो परिणाम कसरी प्राप्त गर्नु र यी प्राप्तिहरू कसरी हासिल गर्नु भन्ने कुरा समावेश छन्। यी प्राप्तिहरू केही दिनमा वा केही वर्षमा समेत प्राप्त हुँदैन; यसले मानिसहरूको जीवनको हरेक पक्ष र हरेक वृत्तान्तलाई समेट्छ।

अय्यूबको परमेश्‍वरप्रतिको विश्‍वास नाम मात्रको थिएन; ऊ त सच्‍चा विश्‍वासीको आदर्श प्रतिनिधि थियो। ऊ सबै कुरामा परमेश्‍वरलाई प्रार्थना गर्थ्यो। उसले आफूलाई आफ्ना छोराछोरीको मोजमस्ती देखेर असहज महसुस हुँदा, परमेश्‍वरलाई प्रार्थना गरेर तिनीहरूलाई उहाँको जिम्‍मा लगायो; उसले निश्‍चय नै आफ्नो चौपाया कसरी पाल्ने भनेर पनि बारम्बार प्रार्थना गऱ्यो। उसले सबथोक परमेश्वरको हातमा सुम्प्यो। यदि ऊ अविश्‍वासीजस्तो भएका भए, उसले सधैँ मानव इच्छाअनुसार आफ्नो पशुपालनको योजना र हिसाबकिताब गर्ने गरेको भए, आफूले योजना गरेका लक्ष्यहरू हासिल गर्न आफ्नै मनमस्तिष्क र कल्पनामा मात्र भर पर्दै दिमाग खियाएको भए, के उसले कैयौँ असफलता र हण्डर भोगे पनि, परमेश्‍वरको मद्दत अनि उहाँको सार्वभौमिकता र बन्दोबस्त देख्‍न सक्नेथ्यो र? (थिएन।) यदि उसले परमेश्‍वरलाई बारम्बार प्रार्थना नगरेको भए, परमेश्‍वरका आशिष्‌हरू अनुभूत गर्नेथिएन; ऊ सामान्य विश्‍वासीजस्तै प्रायः निष्क्रिय र कमजोर हुनेथ्यो, अनि उसलाई प्रतिरोध गर्ने मुड चल्नेथ्यो। “मानिसहरू सधैँ परमेश्‍वरको अस्तित्व छ भनेर भन्छन्। म परमेश्‍वरमा विश्‍वास गर्छु, तर परमेश्‍वर मलाई मेरो योजनाअनुसार आशिष् दिनुहुन्‍न! म हरदिन परमेश्‍वरको आराधना गर्छु, र त्यागहरू गर्छु। यदि परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भने, मेरा लागि उहाँको आशिष्‌ मैले कहिल्यै माग्‍न वा कल्पना गर्न सक्नेभन्दा ठूलो हुनुपर्छ। तर कसरी मलाई अहिलेसम्म त्यो लक्ष्य हासिल भएको छैन? परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुन्‍न भनेर भन्‍न गाह्रो छ।” उसले यहाँ परमेश्‍वरको अस्तित्व भन्‍ने पदावलीपछाडि प्रश्‍नचिन्ह लगाइदिनेथ्यो, जुन नकारात्मक प्रभाव हो। एउटा कुरा त, उसले परमेश्‍वरको मद्दत वा उहाँको सार्वभौमिकता वा बन्दोबस्त नै देख्‍न सक्नेथिएन। यसअलावा, उसले परमेश्‍वरविरुद्ध गुनासो गर्नेथ्यो, अनि ऊ परमेश्‍वरलाई गलत बुझ्छ, उहाँविरुद्ध, वैरभाव राख्छ र विद्रोह गर्छ। यदि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू आफ्नै तरिकाले चल्छन्, सधैँ आशिष्‌हरू पछ्याउँछन् भने, के अन्त्यमा तिनीहरूले अय्यूबले जस्तो “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” भनेर भन्‍न सक्छन् र? के तिनीहरूमा यसप्रकारको अनुभवात्मक ज्ञान उत्पन्‍न हुनेछ? (हुनेछैन।) निश्‍चय नै हुनेछैन। किन हुनेछैन? यस्तो समस्या कहाँबाट आउँछ? (तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दैनन्, न त परमेश्‍वरबाट खोजी नै गर्छन्; बरु, तिनीहरू त मानव विधिहरूले कामकुरा सुल्झाउँछन्।) किन मानिसहरू आफ्नो लक्ष्य हासिल गर्न परमेश्‍वरमा भर पर्नुको साटो मानव विधिहरू प्रयोग गर्दै आफ्नो दिमाग खियाउँछन्? के तिनीहरूले आफ्ना योजनाहरू बनाउँदा परमेश्‍वरको इच्छा खोजी गर्छन्? के तिनीहरूमा समर्पित मनोवृत्ति छ र तिनीहरू यसो भन्छन्, “मलाई थाहा छैन, परमेश्‍वरले के गर्नुहुनेछ? म पहिले यो योजना बनाउनेछु, यो हिसाबकिताब गर्नेछु, तर मलाई आफ्नो योजनाको लक्ष्य हासिल हुन्छ कि हुँदैन भन्ने थाहा छैन; यो बस योजना मात्र हो। यदि यसले मेरो लक्ष्य हासिल गर्न सक्छ भने, यो परमेश्‍वरको आशिष्‌ हो। लक्ष्य हासिल गर्न सकेन भने, यो मेरो आफ्नै अन्धोपनले गर्दा भएको हुन्छ; मेरो योजना परमेश्‍वरको इच्छाअनुरूप थिएन।” के तिनीहरूमा यस्तो खाले मनोवृत्ति हुन्छ त? (हुँदैन।) त्यसोभए, यस्ता कार्यशैलीहरू कसरी उत्पन्‍न हुन्छन्? यी त मानव कल्पना र धारणा, मानव चाहना, मानिसले परमेश्‍वरबाट गर्ने अव्यावहारिक माग हुन्; यी कुराहरू भ्रष्ट स्वभावबाट उत्पन्‍न हुन्छन्। यो एउटा पक्ष हो। यसबाहेक, के यस्ता मानिसहरूमा परमेश्‍वरप्रति समर्पित हृदय हुन्छ त? (हुँदैन।) तिनीहरूमा परमेश्‍वरप्रति समर्पित हृदय हुँदैन भनेर कसरी देखिन्छ? (तिनीहरूलाई आफूले बनाएका योजनाहरू हरहालतमा पूरा हुनैपर्छ भन्‍ने लाग्छ।) यो कस्तो स्वभाव हो? यो अहङ्कार र विद्रोह हो। तिनीहरू परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्, तर जब तिनीहरूसित आफ्नै चाहना र हिसाबकिताब हुन्छ, तब तिनीहरू परमेश्‍वरलाई पन्छाउँछन्; यो अहङ्कारी स्वभाव हो। के तिनीहरू परमेश्‍वरलाई पन्छाउँदा समर्पित भइरहेका हुन्छन् त? तिनीहरू समर्पित भइरहेका हुँदैनन्, र तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्‍न। तिनीहरू परमेश्‍वरले कसरी शासन गर्नुहुन्छ र कसरी कामकुरा बन्दोबस्त गर्नुहुन्छ भनेर रत्तीभर विचार गर्दैनन्, झन् उहाँ कामकुरा कसरी गर्न चाहनुहुन्छ भनेर विचार गर्नु त परको कुरा हो। तिनीहरू यी कुराहरू विचार गर्दैनन्। यसबाट के देख्‍न सकिन्छ? तिनीहरू केही पनि खोजी गर्दैनन्, न त समर्पित नै हुन्छन्, न त तिनीहरूसित परमेश्‍वरको डर मान्‍ने हृदय नै हुन्छ। पहिले त तिनीहरू आफ्नै योजनाहरू बनाउँछन्, त्यसपछि आफ्नो योजनाअनुसार कार्य र कडा मेहनत गर्छन्, र मानव विधि, कल्पना र धारणामा भर पर्छन्, परमेश्‍वरको इच्छाबारे रत्तीभर विचार गर्दैनन्। पशुपालनको कुरा गर्नुपर्दा, मानिसहरूले आफ्नो हृदयमा कम्तीमा पनि “मान्छेले आफूले गर्नुपर्ने कुरा गर्न र परमेश्‍वरको इच्छाप्रति समर्पित हुन सक्दो प्रयास गर्नुपर्छ” भनेर जान्‍नुपर्छ, अर्थात् यसो भन्‍नुपर्छ: “म चौपायालाई खुवाउने आफ्नो जिम्‍मेवारी पुरा गर्नेछु, म तिनीहरूलाई कुपोपषित हुन, वा चिसोमा कठ्याङ्ग्रिन, वा भोकभोकै बस्न, वा बिरामी पर्न दिनेछैनँ। आउँदो वर्ष तिनीहरूले के-कति बच्चा ब्याउँछन्, त्यो परमेश्‍वरको हातमा छ; त्यो मलाई थाहा छैन, मैले त्यो जान्‍नु जरुरी छैन, र म कुनै योजना बनाउने छैनँ। यी सबै कुरा परमेश्‍वरकै हातमा छन्।” यदि तिनीहरू मानव धारणा र कल्पनाहरूमा भर परिरहे भने, के तिनीहरूसँग परमेश्‍वरप्रति समर्पित मनोवृत्ति हुन्छ र? (हुँदैन।) यी दुई कार्यशैलीमध्ये कुनचाहिँ मान्छेको इच्छाबाट आउँछ, र कुनचाहिँ परमेश्‍वरप्रति समर्पित छ? (पहिलोचाहिँ मान्छेको इच्छाबाट आउँछ, र त्यो गैरविश्‍वासीहरूको कार्यशैली हो; दोस्रोचाहिँ परमेश्‍वरमा सच्‍चा विश्‍वास गर्ने र सत्यता पछ्याउनेहरूबाट आउँछ।) तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्छन्, र तिनीहरू सबैले उही काम गर्छन्, तर तिनीहरूको कार्यको अभिप्राय, स्रोत र लक्ष्य, साथै तिनीहरूका सिद्धान्तहरू फरक हुन्छन्। त्यसकारण, मानिसहरू जुन मार्गमा छन्, त्यो देख्‍न सकिन्छ। के त्यसमा भिन्नता छैन र? गैरविश्‍वासीहरूको सार अविश्‍वासीहरूकै सार हो। तिनीहरूको कार्यको स्रोत र लक्ष्य के हो? त्यो सब तिनीहरूको आफ्नै हितका निम्ति हुन्छ, नाफा तिनीहरूको दिमागमा पहिला लाभ नै आउँछ, त्यसैले तिनीहरू आफ्ना कार्यहरूमा केवल अनि केवल आफ्नै इच्छामा भर पर्छन्। किन म तिनीहरू आफ्नै इच्छामा भर पर्छन् भनेर भन्छु? तिनीहरूले सावधानीपूर्वक सोचविचार गरेपछि पूर्णतया आफ्नो योजना बनाउँछन्। तिनीहरू आवेगमा वा अन्धाधुन्ध कार्य गर्दैनन्; बरु तिनीहरूमा अभिप्राय र लक्ष्य हुन्छ। तिनीहरू परमेश्‍वरको इच्छाबारे विचार गर्दैनन्, पूर्णतया आफ्नै सङ्कल्पअनुसार कार्य गर्छन्। अरू कसैले पनि तिनीहरूको योजना बनाउँदैन, न त कसैलै तिनीहरूलाई यसरी काम गर्न बाध्य नै पार्छ। तिनीहरू आफै आफ्नो योजनाअनुसार काम गर्न सङ्कल्पित हुन्छन्, त्यसकारण तिनीहरू आफ्नै इच्छामा भर परिरहेका हुन्छन्। त्यसपछि, तिनीहरू आफ्नो योजनाअनुसार आफ्ना इच्छाहरू पूरा गर्न र आफ्ना योजनाका लक्ष्यहरू हासिल गर्न मोल चुकाउनुपरे पनि दिमाग खियाएर काम गर्छन्। काम गर्ने क्रममा, तिनीहरूमा “म परमेश्‍वरमा विश्‍वास गर्छु, त्यसैले उहाँले मलाई निश्‍चय नै आशिष्‌ दिनुहुनेछ” भन्‍ने अस्पष्ट विचार पनि हुन्छ। के यो लज्‍जास्पद कुरा होइन र? कुन आधारमा परमेश्‍वरले तँलाई आशिष्‌ दिनुहुनेछ? तँलाई परमेश्‍वरले आशिष्‌ दिनुहुनेछ भनेर तँ कसरी थाहा पाउँछस्? के तेरा सङ्कल्पहरूको कारण परमेश्‍वर विभिन्‍न कुरा गराउनुहुन्छ? के यो बेमनासिब विचार होइन र? यदि तँ परमेश्‍वरले तँलाई निश्‍चय नै आशिष्‌ दिनुहुनेछ भनेर विश्‍वास गर्छस् भने, के त्यो परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु बराबर हो? (होइन।) तर धेरै मानिस यो कुरालाई गलत रूपमा बुझ्छन्। तिनीहरू भन्छन्: “मलाई विश्‍वास छ परमेश्‍वरले मलाई आशिष्‌ दिनुहुनेछ, मलाई विश्‍वास छ उहाँले मेरा सबै कुराको रक्षा गर्नुहुनेछ, र मलाई विश्‍वास छ उहाँले मेरो इच्छा पूरा गर्नुहुनेछ!” तिनीहरू सोच्छन्, यही नै परमेश्‍वरप्रतिको समर्पित मनोवृत्ति हो। के यो गल्ती होइन र? यो गल्ती मात्र होइन, यो त परमेश्‍वरविरुद्धको विद्रोह र उहाँको निन्दा गर्नु पनि हो। परमेश्‍वरले तँलाई आशिष्‌ दिनुहुनेछ भनेर विश्‍वास गर्नु भनेको तँ परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनु होइन—यी दुई कुरा फरक-फरक हुन्। यस्तो कुरा बोलेर तँ पूर्णतया आफ्नो अहङ्कारी प्रकृतिद्वारा नियन्त्रित भइरहेको हुन्छस्, र यस्तो कुरा बोल्‍नु सत्यता सिद्धान्तअनुरूप होइन।

परमेश्‍वरप्रतिको विद्रोही आचरणको सार के हो जसबारे मैले भर्खरै सङ्गति गरेको छु? यो मामिलाको जडलाई चिरफार गर्। के यसमा सत्यताको कुनै अभ्यास छ? कुनै समर्पण छ? के तिनीहरूको हृदयमा परमेश्‍वरका निम्ति स्थान छ? के तिनीहरूसित परमेश्‍वरको डर मान्‍ने हृदय छ? (छैन।) तिमीहरू सबै छैन भन्छौ, त्यसैले तोकेर भन्नुपर्दा, यी कुराहरू के-कस्ता तरिकामा प्रकट हुन्छन्? तिमीहरूले यसलाई आफूसित तुलना गर्नैपर्छ, र यसलाई कसरी चिरफार गर्ने भनेर जान्नैपर्छ। यदि तँलाई यो कुरा कसरी चिरफार गर्ने भनेर थाहा छ, तँलाई आफूभित्रको स्थिति मूल्याङ्कन गर्न आउनेछ, अनि आफूले गर्ने सबै अभ्यास सिद्धान्तअनुसार छन् कि छैनन्, र आफूले सत्यता अभ्यास गरिरहेको छु कि छैन भनेर थाहा हुनेछ। प्रथम त, यदि मानिसहरू सत्यता खोजी नगरीकनै पहिला आफ्ना योजनाहरू बनाउँछन् भने, के त्यसमा कुनै समर्पण हुन्छ? (हुँदैन।) त्यसमा कुनै समर्पण छैन भन्ने देखेपछि, व्यक्तिले समर्पित हुन कसरी अभ्यास गर्नुपर्छ? (परमेश्‍वरको इच्छा खोजी गर्नुपर्छ।) धेरै मामिलामा, परमेश्‍वर तँलाई आफ्नो इच्छा स्पष्टसित देखाउनुहुन्‍न, त्यसैले तँ कसरी सत्यता अभ्यास गरिरहेको छु भनेर निश्‍चित हुन सक्छस? (हामी निश्‍चित हुन परमेश्‍वरलाई गरिने प्रार्थनामा भर पर्नैपर्छ।) यदि तैँले केहीपल्ट प्रार्थना गरिस, र पनि परमेश्‍वरको इच्छा बुझिनस् भने, तँ के गर्छस्? अन्धाधुन्ध कार्य नगर्। पहिले, यसरी कार्य गर्नु आवश्यक छ कि छैन, यस्ता कार्यहरू परमेश्‍वरका बन्दोबस्तहरूका भाग हुन् कि होइनन्, यस्तो तरिकाले कार्य गर्ने सर्तहरू पूरा भएका छन् कि छैनन्, र तैँले आफ्नो योजना पूरा गर्न सक्छस् कि सक्दैनस्, त्यो हेर्। यदि तँ आफ्नो योजना पूरा गर्न सक्दैनस्, तर त्यही योजनामा अडिग रहन्छस् भने, के त्यो बेमनासिब कार्यशैली होइन र? तेरा योजना र विचारहरू वास्तविक छन् कि छैनन् भन्‍ने कुरा महत्त्वपूर्ण होइन। तँ मनमनै यस्तो सोच्छस्: “पहिला म यो योजना बनाउनेछु, अनि यदि परमेश्‍वरले मलाई आशिष्‌ दिनुभयो भने, सायद मैले योभन्दा पनि धेरै प्राप्त गर्नेछु!” तँसित भाग्यशाली मानसिकता छ, र पनि तँ आफ्नै इच्छामा भर पर्छस्, र आफ्नै निर्णयमा अडिग रहन खोज्छस्; तेरो महत्त्वाकाङ्क्षा र चाहना ठूला छन्, अनि तँ अहङ्कारी र असभ्य दुवै छस्। मानिसहरूको योजना र सङ्कल्पमा सधैँ त्रुटिहरू हुन्छन्, अनि ती योजना र सङ्कल्प तिनीहरूले अभ्यास गर्नुपर्ने कुरा होइनन्। जब मानिसहरू सत्यता वा परमेश्‍वरको इच्छा बुझ्दैनन्, तब के तिनीहरूको योजना र सङ्कल्प सही हुन सक्छन्? के ती परमेश्‍वरको इच्छाअनुरूप हुन सक्छन्? यो निश्‍चित कुरो होइन, किनभने मानिसहरूले नबुझ्ने धेरै कुरा छन्, जसबारे तिनीहरू निर्णय लिन सक्दैनन्; मानिसहरूको सङ्कल्प र योजना सबका सब मानव कल्पना, तिनीहरूको अनुमान र मूल्याङ्कन हुन्। सत्यता नबुझ्नेहरूले सबै थोक परमेश्‍वरको हातमा छन् र ती सबै उहाँद्वारा योजनाबद्ध र बन्दोबस्त गरिएका हुन् भनेर बुझ्न सक्दैनन्। तैँले परमेश्‍वरको हातले के गरिरहेको छ, उहाँको इच्छा के हो, र उहाँ अहिले मानिसहरूमा के काम गरिरहनुभएको छ भनेर बुझ्नैपर्छ। यदि तेरो योजना र निर्णय परमेश्‍वरले गर्न चाहने कामविरुद्ध जान्छन् वा परमेश्‍वरको इच्छाविपरीत छन् भने परिणाम के हुनेछ? तेरा योजनाहरू अवश्य नै असफल हुनेछन्। यो मामिलाबाट तैँले के कुरा स्पष्टसित बुझ्नैपर्छ भने मानिसहरूले योजना बनाउनु हुँदैन—योजना बनाउनु नै गल्ती हो। त्यसोभए, मानिसहरूले सही तरिकाले कसरी अभ्यास गर्नुपर्छ त? तिनीहरूले कामकुरा जे-जसरी आउँछन् त्यसरी नै लिन सिक्‍नुपर्छ, र आफूले बुझ्न नसक्ने कुरा अन्धाधुन्ध गर्ने वा त्यसबारे योजना बनाउने गर्नु हुँदैन। तैँले नबुझ्ने कैयौँ कुरा छन्, र बीचमा के-कस्ता समस्याहरू आइपर्ने हुन् तँलाई थाहा हुँदैन। के मान्छेका योजनाहरूमा अप्रत्याशित परिस्थितिहरू हुन्छन्? निश्‍चय नै हुँदैनन्, त्यसकारण मान्छेका योजनाहरू केवल मानव धारणा, खोक्रो कुरा र अव्यावहारिकता मात्र हुन्। त्यसोभए, मानिसहरूले के गर्नुपर्छ? एउटा कुरो त, तिनीहरूमा परमेश्‍वरप्रति समर्पित हुने हृदय हुनुपर्छ, अनि तिनीहरूले आफ्नो कुनै योजना बनाउनु हुँदैन; अर्को कुरो, तिनीहरूले झारा नटारी आफ्ना जिम्‍मेवारी र कर्तव्य पूरा गर्नैपर्छ। जहाँसम्म तैँले योजना बनाउने र सङ्कल्प गर्ने कुरा हासिल गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा छ, त्यो परमेश्‍वरको हातमा हुन्छ। सायद तैँले थोरै योजना बनाउँछस्, तर परमेश्‍वरले तँलाई एकदमै धेरै दिनुहुन्छ; सायद तैँले एकदमै धेरै योजना बनाउँछस्, तर त्यति धेरै प्राप्त गर्दैनस्। एउटै खालका यस्ता धेरै अनुभवहरूबाट गुज्रेपछि, तँलाई मान्छेको इच्छा र योजनाको आधारमा कुनै कुरा बदलिँदैन भनेर थाहा हुनेछ। यो त परमेश्‍वरले कसरी मामिलाहरू बन्दोबस्त गर्नुभएको छ र कसरी तीमाथि शासन गर्नुभएको छ भन्‍ने कुरामा भर पर्छ। मानिसहरूले यसरी निरन्तर अनुभव बटुलेर, परमेश्‍वर साँच्ची नै सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने कुरा पत्ता लगाउन सक्छन्। यदि तैँले हृदयमा परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्य पुष्टि गरिस् भने, सत्यता प्राप्त गरेको हुनेछस्, जुन अनुभवद्वारा हासिल हुन्छ। कहिलेकाहीँ, तेरा योजनाहरू एकदमै राम्रा हुन सक्छन्, तर कुनै पनि बेला अप्रत्याशित कुराहरू आइपर्न सक्छन्; तैँले हुन सक्‍ने कैयौँ अनुपम कुराहरू कल्पना नै गर्न सक्दैनस्, ती तेरो कल्पना र योजनाभन्दा हरतरहले बाहिर हुन्छन्। कैयौँ कुराले तँलाई अचानक आफ्नो पोल खोलिएको जस्तो महसुस गराउँछन्, र तँलाई तेरो योजनामा कहाँनेर गल्ती छ, त्यो सफल हुन्छ कि असफल हुन्छ, मानिसहरूले के गर्न सक्छन् र के सक्दैनन् भन्‍ने कुरा थाहै हुँदैन। थाहा नपाई तँलाई मानिसहरूले भविष्यवाणी गर्न नसक्‍ने कैयौँ कुरा रहेछन्, जुन तिनीहरूको योजना र धारणाको सीमाबाहिर रहेछन् भन्ने महसुस हुन्छ। त्यस्तो बेला, तँ कस्तो निष्कर्षमा पुग्छस्? (परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने निष्कर्षमा।) सबै थोकमाथि परमेश्‍वरको सार्वभौमिकतामा विस्तृत कुरा छ: यदि परमेश्‍वर तँलाई कुनै कुरा दिनुहुन्‍न भने, तैँले जति नै दौडधुप, मेहनत वा सङ्घर्ष गरे पनि, त्यो बेकाम हुन्छ। यदि परमेश्‍वर तँलाई आशिष्‌ दिनुहुन्छ भने, सबै कुरा बाधाविना सहजतासाथ अघि बढ्छ, र कसैले पनि तँलाई अवरोध पुऱ्याउन सक्दैन। तँलाई के महसुस हुन्छ भने, अन्तिम निर्णय परमेश्‍वरको हुन्छ, परमेश्‍वर तेरा सबै योजना छर्लङ्गसित देख्न सक्नुहुन्छ, र यो मामिला पूरै परमेश्‍वरको हातमा हुन्छ। यो अनुभव गरेपछि, तेरो हृदयमा थाहै नपाई परमेश्‍वरको सार्वभौमिकताबारे सही अन्तर्दृष्टि र ज्ञान पलाउन थाल्छ। कस्तो अन्तर्दृष्टि र ज्ञान? परमेश्वरले नै तँलाई त्यो दिनुहुन्छ। यदि परमेश्‍वरले त्यो फिर्ता लैजान चाहनुभयो भने, तँ जति नै परमेश्‍वरमा समर्पित भए पनि वा तैँले परमेश्‍वरलाई जति नै जाने पनि, त्यसले केही फरक पार्दैन—यदि उहाँले त्यो फिर्ता लैजानुपऱ्यो भने, लगिछोड्नुहुनेछ। सबै थोक उहाँको हातमा छ, सबै थोक उहाँद्वारा पूर्वनिर्धारित हुन्छ, र सबै थोक उहाँद्वारा बन्दोबस्त गरिएको हुन्छ। तैँले आफ्नै रोजाइ गर्न मिल्दैन। यस्तो बेला, के तेरो योजना, हिसाबकिताब, र व्यक्तिगत लक्ष्य अझै पनि तेरो हृदयमा हाबी हुन्छ? हुँदैन। यी मानव योजना र हिसाबकिताब थाहै नपाई कम हुनेछन्, र तैँले ती त्याग्‍नेछस्। यी कुराहरू कसरी प्रतिस्थापित हुन्छन्? तैँले परमेश्‍वरको सार्वभौमिकता अनुभव गर्नु भनेको उहाँको सार्वभौमिकता देख्‍नुसरह हो। परमेश्‍वरले तँलाई उहाँले किन यी कुराहरू फिर्ता लैजानुभयो भनेर केही नभन्नुभए पनि, तैँले त्यो थाहै नपाई बुझ्नेछस्। जब परमेश्‍वर तँलाई केही कुराद्वारा आशिषित गर्नुहुन्छ, तँलाई धेरै धनसम्पत्ति दिनुहुन्छ, तब उहाँ किन यस्तो गर्नुहुन्छ भनेर तँलाई बताउनुहुन्‍न; तर तँलाई हृदयमा अनुभूति हुन्छ, र तँलाई यो परमेश्‍वरबाट आएको आशिष्‌ हो, कुनै व्यक्तिले आर्जन गर्न सक्‍ने कुरा होइन भन्ने थाहा हुनेछ। एकदिन, केही कुरा फिर्ता लगिनेछन्, र तँलाई हृदयमा यो परमेश्‍वरबाट नै हो भनेर स्पष्टसँग थाहा हुनेछ। जब तँलाई यी सबै कुरा स्पष्ट रूपमै थाहा हुन्छ, तब के तँलाई आफूले चाल्ने हर कदममा, तैँले जिउने हरदिन, र बितेर जाने हरवर्षमा तँलाई परमेश्‍वरले नै मार्गदर्शन गर्दै हुनुहुन्छ भन्ने महसुस हुनेछैन र? परमेश्‍वरले तँलाई मार्गदर्शन गर्नुहुँदा, तैँले थाहै नपाई आफू उहाँको आमनेसामने आएको, हरदिन उहाँसँग अन्तर्क्रिया गरेको, हरदिन आफूसँग नयाँ ज्ञान भएको, र हरवर्ष आफूले ठूलो प्रतिफल पाएको अनुभूति गर्नेछस्। थाहै नपाई, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तबारे तेरो बुझाइ झन् गहिरिँदै जानेछ। जब तँसँग यो स्तरको अनुभव हुन्छ, तब के तेरो हृदयमा परमेश्‍वरको स्थान हुँदैन र? यदि तेरो हृदयमा परमेश्‍वरको स्थान छ भने, तँलाई परमेश्‍वरको डर हुन्छ, तब के अन्य कुनै कुरा, सोच वा मतहरूले तँलाई छल्न र अन्योलमा पार्न वा परमेश्‍वरलाई छोड्ने तुल्याउन सक्‍नेछन् र? यो सम्भव छैन। यदि तँसित परमेश्‍वरबारे साँचो ज्ञान छ, सत्यताले तेरो हृदयमा जरा गाडेको छ भने मात्र, परमेश्‍वर सदाका लागि तेरो हृदयमा बास गर्न सक्‍नुहुन्छ। यदि सत्यताले तेरो हृदयमा जरा गाडेको छैन भने, के परमेश्‍वर लामो समय तेरो हृदयमा रहन सक्‍नुहुन्छ र? निश्‍चय नै सक्‍नुहुन्न, किनकि तेरो हृदयले कुनै पनि बेला परमेश्‍वरबाट आफै टाढिएर उहाँलाई धोका दिन सक्छ। यदि मानिसहरू सधैँ आफ्नो कल्पना, धारणा, योजना, हिसाबकिताब र चाहनालाई प्रयोग गरी आफ्नो जीवन चलाउँछन् भने, के तिनीहरूले परमेश्‍वरबारे यो ज्ञान प्राप्त गर्न सक्छन् र? (सक्दैनन्) त्यसकारण, परमेश्‍वरप्रति अय्यूबजस्तो समर्पित हुन, तेरो अनुभव र अभ्यासको मार्ग सही हुनैपर्छ। यदि तेरो अभ्यासको मार्गमा त्रुटि छ भने, तेरो आस्था वा इच्छा जति नै ठूलो भए पनि, त्यो काम लाग्‍नेछैन; तेरो महत्त्वाकाङ्क्षा जति नै उच्‍च भए पनि त्यो कुनै कामको हुनेछैन। जीवनका धेरै मामिलामा, मानिसहरूको अभ्यास विधिहरू त्रुटिपूर्ण हुन्छन्। यसो हेर्दा, मानिसहरू धेरै कष्ट सहन र ठूलो मूल्य चुकाउन सक्छन् जस्ता देखिन्छन्, तिनीहरूमा उच्‍च सङ्कल्प छ र तिनीहरूको हृदय जोसले भरिएको छ जस्तो देखिन्छ; तर किन तिनीहरूले यत्तिका धेरै अनुभव बटुलेपछि पनि, अन्त्यमा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तबारे अनुभवात्मक ज्ञान प्राप्त गर्दैनन्? किनभने तिनीहरूको अभ्यासका विधिहरू त्रुटिपूर्ण हुन्छन्, र तिनीहरूको व्यक्तिपरक चेतना, धारणा र कल्पना, साथै योजनाहरू सधैँ हाबी हुन्छन्। यी कुराहरू हाबी हुन्छन्, त्यसैले परमेश्‍वर तिनीहरूबाट लुक्‍नुहुन्छ। परमेश्‍वरको वचन भन्छ, “म पवित्र राज्यमा देखा पर्छु, र म आफैलाई फोहोरको देशबाट लुकाउँछु।” यो “फोहोरको देश” ले केलाई जनाउँछ? यसले विविध चाहना, योजना र सङ्कल्पलाई जनाउँछ—तिनीहरूले सही ठान्ने आफ्नो असल अभिप्राय र आशयलाई समेत जनाउँछ। यी कुराहरूले परमेश्‍वरलाई तिमीहरूमा काम गर्न अवरोध पुर्‍याउँछन्, र ती तेरो सामुन्ने खडा पर्खालजस्तै हुन् जसले तँलाई पूर्ण रूपमा छेकिदिन्छ, त्यसैले तैँले परमेश्‍वरको सार्वभौमिकता देख्‍न वा अनुभव गर्न सक्दैनस्। यदि तैँले परमेश्‍वरको सार्वभौमिकता देख्‍न वा अनुभव गर्न सक्दैनस् भने, के तँ उहाँको सार्वभौमिकताबारे जान्‍न सक्छस्? (सक्दिनँ।) तैँले उहाँको सार्वभौमिकताबारे कहिल्यै जान्‍न सक्दैनस्।

अब हामी अय्यूबले आफ्ना छोराछोरीसँग व्यवहार गर्दा ऊसँग भएको मनोवृत्तिलाई हेरौँ। अय्यूब यहोवाको डर मान्थ्यो, तर उसका छोराछोरी परमेश्‍वरमा विश्‍वास गर्दैनथे—के यो कुरा अय्यूबका लागि एकदमै लज्जास्पद हो भनेर बाहिराकाहरूले ठान्दैनथे र? मान्छेको धारणाअनुसार अय्यूबको परिवार प्रतिष्ठित थियो, र ऊ यहोवाको डर मान्थ्यो, तर उनका छोराछोरी परमेश्‍वरमा विश्‍वास गर्दैनथे, त्यसैले उसको कुनै इज्‍जत थिएन। के इज्‍जतसम्बन्धी यस्तो विचार मानव इच्छा र मानव आवेगबाट पैदा भएको थिएन र? मानिसहरू सोच्‍न सक्छन्: “यो इज्जतको कुरो फिटिक्कै होइन। मैले तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गराउने अनि फेरि इज्‍जत पाउने उपाय सोच्‍नैपर्छ।” के यो कुरा मानव इच्छाबाट उत्पन्‍न हुँदैन र? के अय्यूबले गरेको यही हो? (होइन।) बाइबलमा यसलाई कसरी उल्लेख गरिएको छ? (अय्यूबले तिनीहरूका लागि बलि चढायो र प्रार्थना गऱ्यो।) अय्यूबले बस तिनीहरूका लागि बलि चढायो र प्रार्थना गऱ्यो। यो कस्तो खालको मनोवृत्ति हो? के तिमीहरू अय्यूबले अभ्यास गरिरहेका सिद्धान्तहरू देख्‍न सक्छौ? अय्यूबले आफ्ना छोराछोरीको मोजमस्तीमा अवरोध वा हस्तक्षेप गऱ्यो कि गरेन भन्ने कुरा हामीलाई थाहा छैन, तर निश्‍चय नै ऊ त्यसमा सहभागी भएन—उसले बस तिनीहरूका लागि बलि चढायो। के उसले कहिल्यै “यहोवा परमेश्‍वर, तिनीहरूलाई प्रेरित गर्नुहोस्, तिनीहरूलाई तपाईंमा विश्‍वास गर्ने बनाउनुहोस्, अनि मजस्तै तपाईंको डर मान्‍ने र दुष्टतादेखि अलग बस्‍ने तुल्याउहोस्” भनेर प्रार्थना गऱ्यो? के उसले कहिल्यै यसरी प्रार्थना गऱ्यो त? बाइबलमा यस्तो अभिलेख छैन। अय्यूबको कार्यशैली त आफूलाई तिनीहरूबाट टाढा राख्‍नु, तिनीहरूका लागि बलि चढाउनु र सुर्ता गर्नु थियो, ताकि तिनीहरूले यहोवा परमेश्‍वरविरुद्ध पाप नगरून्। अय्यूबले यी कुराहरू अभ्यास गऱ्यो। उसको अभ्यासका सिद्धान्तहरू के-के थिए? उसले तिनीहरूलाई जोरजबर्जस्ती गरेनन्। त्यसकारण, अय्यूब आफ्ना छोराछोरीहरूले परमेश्‍वरमा विश्‍वास गरून् भन्‍ने चाहन्थ्यो कि चाहन्थेन? ऊ अवश्यै चाहन्थ्यो। परमेश्‍वरमा विश्‍वास गर्ने बुबाको हैसियतमा, उसलाई आफ्ना छोराछोरी यसरी परमेश्‍वरमा सच्‍चा विश्‍वास नगरी सांसारमै अल्झिरहेको देख्‍दा अत्यन्तै दुःख लाग्थ्यो होला। ऊ निश्‍चय नै आफ्ना छोराछोरी परमेश्‍वरसामु आऊन्, आफूले जस्तै तिनीहरूले पनि बलि चढाऊन्, परमेश्वरको डर मानून् र दुष्टताबाट अलग बसून, अनि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त स्विकारून् भन्‍ने चाहन्थ्यो। यो इज्‍जतको कुरा होइन, यो त आमाबुबाको जिम्‍मेवारी हो। तर उसका छोराछोरीले विश्‍वास नगर्ने विकल्प रोजे, र अय्यूबले बुबाको रूपमा तिनीहरूलाई जोरजबर्जस्ती गरेन। उसको मनोवृत्ति त्यस्तो थियो। अनि, उसले के गऱ्यो? के उसले तिनीहरूलाई लछारपछार र हकारपकार गऱ्यो, वा मनाउने-फकाउने गऱ्यो? (गरेन।) निश्‍चय नै गरेन। बढीमा, उसले बेलाबेला केही अर्तीउपदेश दियो, तर आफ्ना छोराछोरीले कुरा नसुनेपछि, उसले आस माऱ्यो। उसले तिनीहरूलाई अतिचाहिँ नगर्नू भनेर भने, र आफूलाई तिनीहरूबाट अलग्‍यायो, स्पष्ट सीमा कोऱ्यो, र हरेकले आ-आफ्नै जीवन जिए। अय्यूबले आफ्ना छोराछोरीले यहोवा परमेश्‍वरलाई चिढ्याउलान् कि भन्‍ने डरले तिनीहरूका लागि बलि चढायो; उसले तिनीहरूको तर्फबाट बलि चढाएको थिएन, आफूसँग परमेश्‍वरको डर मान्‍ने हृदय भएकाले बलि चढाएको थियो। अय्यूबले तिनीहरूलाई जोरजबर्जस्ती गरेन, न त लछारपछार र हकारपकार नै गऱ्यो, न त यसो नै भन्यो: “यिनीहरू मेरा छोराछोरी हुन्, र मैले यिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न लगाउनैपर्छ, ताकि परमेश्‍वरले केही थप मानिस प्राप्त गर्न सक्‍नुहोओस्।” उसले यसो भनेन, न त ऊसित यस्तो कुनै योजना वा हिसाबकिताब नै थियो, न त उसले यस्तो व्यवहार नै गऱ्यो। उसलाई यस्तो व्यवहार मानव इच्छाबाट आउँछ, जुन परमेश्‍वरलाई मन पर्दैन भन्‍ने थाहा थियो। अय्यूबले आफ्ना छोराछोरीलाई केवल अर्तीउपदेश दियो र तिनीहरूका लागि प्रार्थना गऱ्यो, तर तिनीहरूलाई जोरजबर्जस्ती गर्ने वा लछारपछार र हकारपकार गर्ने काम गरेन, र स्पष्ट सीमासमेत कोऱ्यो। यो अय्यूबको बुद्धिमत्ता थियो, साथै यो परमेश्‍वरलाई चिढ्याउने कुनै पनि कुरा गर्न मानव इच्छा वा असल अभिप्रायमा भर नपर्नू भन्‍ने अभ्यासको सिद्धान्त पनि थियो। यसअतिरिक्त, तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनथे, र परमेश्‍वरले तिनीहरूलाई प्रेरित गर्नुभएन। अय्यूबले परमेश्‍वरको इच्छा बुझ्यो: “परमेश्‍वरले तिनीहरूमा काम गर्नुभएको छैन, त्यसैले म तिनीहरूका लागि प्रार्थना गर्नेछैनँ। म परमेश्‍वरसँग केही पनि माग्‍नेछैनँ, र म यो मामिलामा परमेश्‍वरलाई चिढ्याउन चाहन्नँ।” उसले आफ्ना छोराछोरीले मुक्ति पाऊन्, तिनीहरू यहोवा परमेश्‍वरसामु आऊन्, र आशिषित होऊन् भनेर आँसु झार्दै प्रार्थना गर्ने वा उपवास बस्‍ने काम कदापि गरेन। उसले यस्तो व्यवहार कदापि गरेन; यस्तो व्यवहारले परमेश्‍वरलाई चिढ्याउनेछ, र यस्तो व्यवहार परमेश्‍वरले मन पराउनुहुनेछैन भनेर उसलाई थाहा थियो। यी वृत्तान्तहरूबाट तिमीहरू के बुझ्न सक्छौ? के अय्यूबको समर्पण सच्चा थियो? (थियो।) के औसत व्यक्तिले यस्तो समर्पण गर्न सक्छ? औसत व्यक्तिले सक्दैन। आमाबुबाका लागि छोराछोरी नै सबैभन्दा प्रिय सम्पत्ति हुन्, त्यसैले तिनीहरू यसरी मोजमस्तीमा डुब्दा, तिनीहरूले दुष्ट प्रचलनहरू पछ्याएको, परमेश्‍वरसामु नआएको, अनि परमेश्‍वरमा विश्‍वास गर्ने र मुक्ति पाउने अवसर गुमाएको र सम्भवतः तिनीहरू सर्वनाशमा परेको र नष्ट भएको देख्‍नु औसत व्यक्तिका लागि पार गर्नै नसकिने भावनात्मक रूपमा मुस्किल अग्‍निपरीक्षा हुन्छ। तर अय्यूबले यस्तो अवस्था पार गर्ने सक्यो। उसले केवल एउटा काम गऱ्यो, र त्यो तिनीहरूका लागि होमबलि चढाउनु र हृदयदेखि सुर्ता गर्नु थियो। उसले गरेको त्यति नै थियो। उसका लागि छोराछोरी सबैभन्दा प्रिय आफन्तजन थिए, तर उसले तिनीहरूका लागि परमेश्‍वरलाई चिढ्याउने कुनै थप कामकुरा गरेन। अय्यूबको अभ्यासको यो सिद्धान्त तिमीहरूलाई कस्तो लाग्यो? यसले के देखाउँछ भने, ऊसित परमेश्‍वरको डर मान्‍ने हृदय थियो, र ऊ उहाँप्रति साँचो रूपमा समर्पित थियो। उसले आफ्ना छोराछोरीको भविष्य मुछिएको मामिलामा अलिकति पनि प्रार्थना गरेन, न त मानव इच्छामा आधारित कुनै कार्यशैली नै प्रयोग गऱ्यो; उसले केही कामकुरा गर्न नोकरहरूलाई पठायो मात्र, आफैचाहिँ गएन। ऊ यस्तो मोजमस्तीमा सहभागी नहुनुको कारण के थियो भने ऊ यी कुराहरूद्वारा दूषित हुन इच्छुक थिएन, र यसअलावा ऊ यी कुराहरूमा मिसिन चाहँदैनथ्यो। तिनमा मिसिएर उसले परमेश्‍वरलाई चिढ्याउनेथ्यो, त्यसैले ऊ दुष्ट स्थानहरूबाट परै बस्थ्यो। के अय्यूबका अभ्यासहरूमा कुनै खास कुराहरू थिए? सर्वप्रथम, ऊ आफ्ना छोराछोरीलाई कसरी व्यवहार गर्थ्यो, त्यसबारे कुरा गरौँ। उसको उद्देश्य सबै कुरामा परमेश्‍वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरूप्रति समर्पित हुनु थियो; ऊ परमेश्‍वरले नगर्ने कामकुरा जबर्जस्ती लाद्‌न खोज्दैनथ्यो, न त मानव इच्छाको आधारमा हिसाबकिताब र योजना नै गर्थ्यो। ऊ ध्यान दिएर सुन्थ्यो र सबै थोकमा परमेश्‍वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरूलाई कुर्थ्यो। यो आम सिद्धान्त थियो। अभ्यासका विस्तृत विधिहरू के-के थिए त? (ऊ छोराछोरीको मोजमस्तीमा सहभागी हुँदैनथ्यो। ऊ तिनीहरूबाट अलग बस्थ्यो, र तिनीहरूका लागि होमबलि चढाउँथ्यो, तर तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नैपर्छ भनेर जिद्दी गर्दैनथ्यो, न त तिनीहरूलाई लछारपछार र हकारपकार नै गर्थ्यो, बरु उसले स्पष्ट सीमा कोऱ्यो।) यो अभ्यासको सिद्धान्त हो। औसत व्यक्तिले यस्तो मामला सामना गर्दा कसरी अभ्यास गर्छ? (उसले आफ्ना छोराछोरीले परमेश्‍वरमा विश्‍वास गरून् भनी परमेश्वरलाई प्रार्थना गर्छ।) अरू के गर्छ? यदि परमेश्‍वरले त्यसो गर्नुभएन भने, उसले आफ्ना छोराछोरीलाई तानेर मण्डलीमा लैजान्छ, ताकि ती छोराछोरी आशिषित होऊन्। उसले आफूलाई स्वर्गको राज्यमा प्रवेश गर्ने ठूलो वरदान प्राप्त भएको तर आफ्ना छोराछोरीलाई त्यस्तो वरदान प्राप्त नभएको देख्छ, त्यसैले उसलाई हृदयमा पीडा र अफसोस हुन्छ। ऊ आफ्ना छोराछोरीले यो वरदान गुमाएको चाहँदैन, त्यसैले ऊ दिमाग खियाएर छोराछोरीलाई मण्डली लैजाने उपाय पत्ता लगाउने प्रयास गर्छ, र त्यसो गर्नु भनेको आमाबुबाको जिम्‍मेवारी पूरा गर्नु हो भन्‍ने सोच्छ। ऊ आफ्ना छोराछोरी सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न सक्षम छन् कि छैनन् भन्‍ने कुराप्रति वास्तवमा ध्यान दिँदैन। अय्यूबले यस्तो काम गरेन, तर औसत व्यक्तिले भने यसो गर्न सक्दैन। किन सक्दैन त? (मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ। तिनीहरू भावनात्मक बन्धनको आधारमा काम गर्छन्।) अधिकांश मानिस यसरी काम गर्नाले परमेश्‍वरलाई चिढ्याउँछ कि चिढ्याउँदैन भनेर कति पनि विचार गर्दैनन्। तिनीहरूको प्राथमिकता भनेको आफैलाई सन्तुष्ट पार्नु, आफ्नो भावनात्मक बन्धनलाई ध्यान दिनु, र आफ्नै चाहना पूरा गर्नु हो। तिनीहरू परमेश्‍वरले कसरी विभिन्‍न कुराहरूलाई सञ्चालन वा बन्दोबस्त गर्नुहुन्छ, उहाँ के गर्नुहुन्छ वा उहाँका अभिप्रायहरू के हुन् भन्‍नेबारे सोच्दैनन्। तिनीहरू आफ्नै चाहना, आफ्नै भावनात्मक बन्धन, आफ्नै अभिप्राय, र आफ्ना फाइदाबारे मात्र विचार गर्छन्। अय्यूबले आफ्‍ना छोराछोरीसँग कस्तो व्यवहार गर्थ्यो? उसले बुबाको रूपमा आफ्‍नो जिम्‍मेवारी मात्रै पूरा गर्थ्यो र तिनीहरूलाई सुसमाचार सुनाउँथ्यो र सत्यता सङ्गति गर्थ्यो। तैपनि, तिनीहरूले उसको कुरा सुने पनि नसुने पनि, उसको आज्ञापालन गरे पनि नगरे पनि, अय्यूबले तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न जबरजस्ती गर्दैनथ्यो—तिनीहरूले तिनीहरूलाई लछारपछार र हकारपकार गर्ने, वा तिनीहरूको जीवनमा हस्तक्षेप गर्ने गर्दैनथे। तिनीहरूका सोच र विचारहरू तिनका भन्दा फरक थिए, त्यसैले तिनीहरूको काममा तिनले दखल अन्दाजी गर्दैनथे, र तिनीहरूले कस्तो मार्ग हिँडिरहेका छन् त्यसमा कुनै हस्तक्षेप गर्दैनथे। के अय्यूबले आफ्‍ना छोराछोरीसित परमेश्‍वरमा विश्‍वास गर्नेबारेमा बिरलै मात्र कुरा गर्थे? अवश्य नै उनले तिनीहरूसित यसबारेमा पर्याप्त रूपमा कुरा गर्थे, तर तिनीहरूले सुन्‍न मान्दैनथे, र ती कुरा स्विकार्दैनथे। त्यसप्रति अय्यूबको मनोवृत्ति कस्तो थियो? तिनले भन्थे, “मैले आफ्‍नो जिम्‍मेवारी पूरा गरेको छु; तिनीहरूले कस्तो मार्ग अपनाउनेछन् त्यो तिनीहरू आफैले रोज्‍ने कुरा हो, र त्यो परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा निर्भर हुने कुरा हो। यदि परमेश्‍वरले तिनीहरूमा काम गर्नुहुन्‍न वा भावनात्मक प्रभाव पार्नुहुन्‍न भने, म तिनीहरूलाई जबरजस्ती गर्ने प्रयास गर्नेछैनँ।” त्यसकारण, अय्यूबले तिनीहरूका लागि परमेश्‍वरसामु प्रार्थना गर्ने वा तिनीहरूप्रति वेदनाको आँसु बगाउने, वा तिनीहरूका लागि उपवास बस्‍ने, वा कुनै पनि प्रकारको कष्ट भोग्‍ने काम किमार्थ गर्दैनथ्यो। उसले यी कुराहरू गर्दै गर्दैनथ्यो। किन अय्यूबले यी कुराहरू गर्दैनथ्यो त? किनभने यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको शासन र बन्दोबस्तहरूमा समर्पित हुने कार्य होइनन्; ती सबै मानव विचारबाट आउने कुराहरू हुन् र ती सक्रियतासाथ विभिन्‍न कुराहरू जबरजस्ती लाद्‌ने तौरतरिकाहरू हुन्। अय्यूबका छोराछोरीले उसको जस्तो मार्ग नअपनाउँदा अय्यूबको मनोवृत्ति यस्तो थियो; तर उसका छोराछोरीहरू मर्दाचाहिँ उसको मनोवृत्ति कस्तो थियो? ऊ रोयो कि रोएन? के उसले आफ्नो भावना पोख्यो? के उसलाई चोट पऱ्यो? बाइबलमा यस्ता कुनै कुराको अभिलेख छैन। अय्यूबले आफ्ना छोराछोरीहरू मरेको देख्दा, के ऊ मर्माहात वा दुःखी भयो? (भयो।) आफ्ना छोराछोरीप्रति उसको स्नेहको सन्दर्भमा कुरा गर्नुपर्दा, उसलाई निश्‍चय नै अलि दुःख लाग्यो, तर पनि ऊ परमेश्‍वरप्रति समर्पित भयो। उसको समर्पण कसरी व्यक्त भयो? उसले यसो भन्यो: “यी छोराछोरीहरू मलाई परमेश्‍वरले दिनुभएको थियो। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि नगरे पनि, तिनीहरूको जीवन परमेश्‍वरकै हातमा छ। यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, परमेश्‍वरले तिनीहरूलाई लैजान चाहनुभएको थियो भने, उहाँले तिनीहरूलाई लैजानु नै हुनेथ्यो; यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरेका भए पनि, परमेश्‍वरले यिनीहरूलाई लगिनेछ भनेर भन्‍नुभएको भए, तिनीहरूलाई लगिने नै थियो। यो सब परमेश्‍वरको हातमा हुन्छ; अन्यथा, कसले पो मानिसहरूको जीवन लैजान सक्छ र?” सङ्क्षेपमा भन्नुपर्दा, लगिनु भनेको के हो? “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। उसले आफ्ना छोराछोरीलाई व्यवहार गर्दा यही मनोवृत्ति कायम राख्यो। तिनीहरू जीवित रहे पनि मरे पनि, उसले निरन्तर यही मनोवृत्ति राखिरह्यो। उसको अभ्यास गर्ने शैली सही थियो; उसले अभ्यास गर्ने हरेक तरिकामा र उसले हरेक कुरालाई हेर्ने दृष्टिकोण, मनोवृत्ति र स्थितिमा, ऊ समर्पित हुने, प्रतीक्षा गर्ने, खोजी गर्ने, र त्यसपछि ज्ञान हासिल गर्ने स्थान र स्थितिमा हुन्थ्यो। यो मनोवृत्ति अत्यन्तै महत्त्वपूर्ण छ। यदि मानिसहरूले आफूले गर्ने हरेक कुरामा यस्तो मनोवृत्ति कहिल्यै राख्दैनन्, र विशेष गरी कठोर व्यक्तिगत विचारहरू पाल्छन् र सबै कुराभन्दा माथि व्यक्तिगत मनसाय र फाइदा राख्छन् भने, के तिनीहरू साँच्‍चै समर्पित भइरहेका हुन्छन् त? (हुँदैनन्।) त्यस्ता मानिसहरूमा सच्‍चा समर्पण देख्‍न सकिँदैन; तिनीहरूले सच्‍चा समर्पण हासिल गर्नै सक्दैनन्।

कतिपय मानिसले आफ्नो कर्तव्य निभाउने क्रममा सत्यता सिद्धान्तहरू खोजी गर्न ध्यान दिँदैनन्, बरु आफ्नै इच्छामा भर परेर कार्य गर्छन्। विशेष गरी दह्रिलो व्यक्तिगत विचार भएको व्यक्तिमा देखिने सबैभन्दा आम प्रकटीकरण के हो? ऊ आफूलाई जे आइपरे पनि, पहिला आफ्नो मनमा कामकुराको हिसाबकिताब गर्छ, आफूले सोच्‍न सक्‍ने सबै कुराबारे सोच्छ, र विस्तृत योजना बनाउँछ। जब उसलाई त्यसमा कुनै कमी छैन भन्‍ने लाग्छ, तब ऊ त्यसलाई पूर्णतया आफ्नै इच्छाअनुसार अभ्यास गर्छ, नतिजास्वरूप उसको योजना परिवर्तनअनुरूप हुन सक्दैन, त्यसैले कामकुरा गलत भइदिन्छ। यहाँ समस्या के हो? आफ्नै इच्छाअनुसार कार्य गर्दा प्रायजसो कामकुरा गलत भइदिन्छ। त्यसकारण, जे आइपरे पनि, हरेक व्यक्तिले सँगै मिलेर सत्यता खोजी गर्नुपर्छ, परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, अनि उहाँको मार्गदर्शन माग्‍नुपर्छ। परमेश्‍वरको अन्तर्दृष्टिद्वारा, तिनीहरूको सङ्गतिबाट आउने कुराहरू ज्योतिले भरिएका हुन्छन्, र तिनले अघाडिको मार्ग प्रदान गर्नेछन्। यसअतिरिक्त, मामिलालाई परमेश्‍वरमा सुम्पेर, उहाँको बाटो हेरेर, उहाँमा भर परेर, उहाँलाई आफ्नो अगुवाई गर्न दिएर, र उहाँलाई आफ्नो हेरचाह र रक्षा गर्न दिएर—यस तरिकाले अभ्यास गरेर—तैँले अझ धेरै आश्वासन पाउनेछस्, अनि तैँले कुनै ठूला समस्याहरू सामना गर्नेछैनस्। के मानिसहरूले आफ्नो मगजमा सोच्‍ने कुराहरू पूर्णतया तथ्यअनुरूप हुन्छन्? के ती सत्यता सिद्धान्तअनुरूप हुन्छन्? त्यो असम्भव छ। यदि आफ्‍नो कर्तव्य निभाउने क्रममा तँ परमेश्‍वरमा भरोसा गर्दैनस् र उहाँलाई हेर्दैनस्, केवल आफ्‍नो इच्‍छाअनुसार मात्रै गर्छस् भने, तँ जति नै बाठो भए पनि, तँ असफल हुनेछस्। अहङ्कारी र आत्मधर्मी मानिसहरूले सधैँ आफ्‍नै विचारहरू पछ्याउने गर्छन्, त्यसकारण के तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ? अत्यन्तै जब्बर व्यक्तिगत विचारहरू भएका मानिसहरूले काम गर्ने समयमा परमेश्‍वरलाई बिर्सन्छन्, र तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्न बिर्सन्छन्; ठक्‍कर खाएपछि र कुनै कुरा हासिल गर्न नसकेपछि मात्रै, तिनीहरूले आफूले परमेश्‍वरको आज्ञापालन नगरेको, र परमेश्‍वरलाई प्रार्थना नगरेको चाल पाउँछन्। यो के समस्या हो? यो तिनीहरूको हृदयमा परमेश्‍वर नहुनु हो। तिनीहरूको व्यवहारले तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तिनीहरू आफैमा मात्र भर पर्छन् भन्‍ने देखाउँछ। त्यसकारण, तैँले मण्डलीको काम गरिरहेको भए पनि, आफ्‍नो कर्तव्य निभाइरहेको, र बाहिरी मामलाहरू वा आफ्‍नै व्यक्तिगत जीवनका मामलाहरू सम्‍हालिरहेको भए पनि, तेरो हृदयमा सिद्धान्तहरू हुनुपर्छ, त्यसमा एउटा स्थिति हुनुपर्छ। कस्तो स्थिति? “यो जेसुकै भए पनि, ममा कुनै कुरा आइपर्नुभन्दा अगाडि मैले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ, र उहाँको सार्वभौमिकताको पालन गर्नुपर्छ। सबै कुरा परमेश्‍वरले नै बन्दोबस्त गर्नुभएको हुन्छ, र जब त्यो कुरा आइपर्छ, तब मैले परमेश्‍वरको इच्‍छा खोज्‍नुपर्छ, ममा यस्तो मानसिकता हुनुपर्छ, मैले आफ्‍नै योजनाहरू बनाउनु हुँदैन।” केही समयसम्‍म यस्तो अनुभव गरिसकेपछि, मानिसहरूले धेरै कुरामा परमेश्‍वरको सार्वभौमिकता देख्‍न थाल्छन्। यदि तँ सधैँ आफ्‍नै योजना, विचार, चाहना, स्वार्थी मनसाय, र इच्‍छा बोकेर हिँड्छस् भने, तेरो हृदय थाहै नपाई परमेश्‍वरबाट टाढा जानेछ, परमेश्‍वरले कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने बारेमा तँ अनभिज्ञ हुनेछस्, र परमेश्‍वर प्रायजसो तँबाट लुक्‍नुहुनेछ। के तँलाई आफ्‍नै इच्छाअनुसार काम गर्न मन लाग्दैन र? के तैँले आफ्‍नै योजनाहरू बनाउँदैनस् र? तँ सोच्छस् कि तँसँग मष्तिष्क छ, तँ शिक्षित छस्, ज्ञानले भरिएको छस्, तँसँग काम गर्ने साधन र शैली छ, तैँले ती आफ्‍नै तरिकाले गर्न सक्छस्, तँ सिपालु छस्, तँलाई परमेश्‍वरको आवश्यकता हुँदैन, त्यसकारण परमेश्‍वर भन्‍नुहुन्छ, “त्यसकारण जा आफै गर्, र राम्रो भए पनि नभए पनि त्यसको जिम्‍मा ली, मलाई त्यसको मतलब हुँदैन।” परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले यसरी आफ्‍नै इच्छालाई पछ्याउँछन् र जे मन लाग्यो त्यही विश्‍वास गर्छन् भने, परिणाम के हुन्छ? तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको सार्वभौमिकता अनुभव गर्न सक्दैनन्, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको हात देख्‍न सक्दैनन्, तिनीहरूले कहिल्यै पनि पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति अनुभव गर्न सक्दैनन्, तिनीहरूले परमेश्‍वरको मार्गदर्शन अनुभव गर्न सक्दैनन्। अनि समय बित्दै जाँदा के हुन्छ? तिनीहरूको हृदय परमेश्‍वरबाट झनै टाढा जान्छ, र यसका अरू असरहरू हुन्छन्। कस्ता असरहरू? (परमेश्‍वरलाई शङ्का र इन्कार गर्ने।) यो परमेश्‍वरलाई शङ्का र इन्कार गर्नु मात्रै होइन। जब मानिसहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूले लामो समयसम्‍म आफ्‍नै इच्‍छाअनुसार काम गर्दै गए भने, यसै गर्ने बानी बस्छ: तिनीहरूलाई कुनै कुरा आइपर्दा तिनीहरूले गर्ने पहिलो कुरा भनेकै आफ्‍नै समाधानबारे विचार गर्नु र आफ्नै अभिप्राय, उद्देश्य र योजनाहरूको आधारमा काम गर्नु हो; सबभन्दा पहिले तिनीहरूले यो आफ्नो लागि फाइदाजनक छ कि छैन भनेर सोच्छन्; यदि छ रहेछ भने, तिनीहरूले त्यो काम गर्छन्, र छैन रहेछ भने, त्यो काम गर्दैनन्। तिनीहरूलाई सीधै यो तरिका अपनाउने बानी परिसकेको हुन्छ। अनि यदि यस्ता मानिसहरूले पश्‍चात्ताप नगरी यसरी नै व्यवहार गरिरहे भने परमेश्‍वरले तिनीहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वर तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न, र तिनीहरूलाई एकातिर पन्छाउनुहुन्छ। एकातिर पन्छाउनु भनेको के हो? परमेश्‍वरले तिनीहरूलाई न त अनुशासनमा राख्‍नुहुनेछ, न त हप्काउनु नै हुनेछ; तिनीहरू झन्-झन् धेरै आफूमा लिप्त हुनेछन्, तिनीहरूलाई न्याय गरिनेछैन, सजाय दिइनेछैन, अनुशासनमा राखिनेछैन वा गाली गरिनेछैन, झन् अन्तर्दृष्टि, ज्योति वा मार्गदर्शन दिने त कुरै नगरौँ। एकातिर पन्छाउनुको अर्थ यही हो। परमेश्‍वरले कुनै व्यक्तिलाई एकातिर पन्छाउनुहुँदा, उसलाई कस्तो लाग्छ? उसको आत्मा रुन्छ, परमेश्‍वर ऊसँग रहनुहुन्‍न, ऊ दर्शनहरूबारे अस्पष्ट हुन्छ, ऊसँग कार्य गर्ने मार्ग हुँदैन, र ऊ मूर्ख मामिलाहरूमा मात्रै संलग्‍न हुन्छ। यसरी समय बित्दै जाँदा, उसलाई जीवनको कुनै मूल्य छैन, र आफ्नो आत्मा रित्तो छ भन्‍ने लाग्छ, त्यसैले ऊ अविश्‍वासीहरूजस्तै हुन्छ, र ऊ झन्-झन् पतित हुँदै जान्छ। यस्तो व्यक्तिलाई परमेश्‍वर तिरस्कार र अस्वीकार गर्नुहुन्छ। कतिपय मानिस भन्छन्: “किन मलाई झन्-झन् धेरै आफ्नो कर्तव्य निभाउनु व्यर्थ हो, आफूमा ऊर्जा झन्-झन् कम हुँदै छ भन्ने लाग्छ? किन ममा उत्प्रेरणा छैन? मेरो उत्प्रेरणा कहाँ गयो?” अरूचाहिँ यसो भन्छन्: “किन मलाई आफूले विश्वास गरेको जति जति धेरै समय हुँदै जान्छ, त्यति त्यति नै पहिले आफूमा भएको जति विश्वास अहिले नभएको जस्तो लाग्छ? मैले सुरुमा विश्‍वास गर्दा, मलाई विशेष गरी परमेश्‍वरसँग आमनेसामने हुन आनन्द लाग्थ्यो, तर किन होला अहिले मलाई त्यस्तो आनन्द अनुभूति हुँदैन?” त्यो अनुभूति कहाँ गयो? परमेश्‍वर तँबाट लुक्‍नुभएको छ, त्यसकारण तँ उहाँलाई अनुभूत गर्नै सक्दैनस्; त्यसैले तँ दयनीय बन्छस् र ओइलाउँछस्। तँ कुन हदसम्म ओइलाउँछस्? तँ परमेश्‍वरको कामका दर्शनहरूबारे अस्पष्ट हुन्छस्, तेरो हृदयमा केही पनि हुँदैन, अनि तेरो कमजोर र दयनीय रूप प्रकट हुन्छ। यो कुरा राम्रो हो कि नराम्रो? (नराम्रो।) जब परमेश्‍वर कुनै व्यक्तिलाई त्याग्नुहुन्छ, तब ऊ यस्तो मूर्ख र हुस्सु बन्छ, र ऊसँग केही पनि हुँदैन। यही नै परमेश्‍वरलाई त्याग्ने व्यक्तिहरूको दयनीय रूप हो। यस बेला, तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो हो भनेर विश्‍वास गर्न छोड्छन्। तिनीहरूले यसबारे जसरी सोचे पनि पनि, परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो भनेर सोच्दैनन्। तिनीहरूका अनुसार, यो मार्ग कहीँ पुग्दैन, र जसले यो मार्गमा हिँड्ने सल्लाह दिए पनि, तिनीहरू हिँड्नेछैनन्। तिनीहरू विश्‍वास जारी राख्‍न सक्दैनन्, त्यसैले संसारतर्फ दौडनुपर्छ; तिनीहरूका लागि त पैसा कमाउनु र सम्पत्ति प्राप्त गर्नु एकमात्र विकल्प, सबैभन्दा वास्तविक मार्ग हुन्छ। तिनीहरू बढुवा र सम्पत्ति, खुसी र सन्तुष्टिको पछि लाग्छन्, अनि पितापुर्खालाई सम्मान गर्छन्, र चाँडो विकास गर्छन्; तिनीहरूको हृदय यिनै कुराहरूले भरिएको हुन्छ, तब के तिनीहरू अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् त? सक्दैनन्। यदि कुनै व्यक्तिमा यस्तो सोच मात्रै छ, तर पनि अलिअलि साँचो विश्‍वास छ, र ऊ यो विश्‍वास पछ्याउन इच्छुक छ भने, ऊप्रति परमेश्‍वरको घरको मनोवृत्ति कस्तो हुन्छ? यदि ऊ सेवा प्रदान गर्न सक्छ भने, परमेश्‍वरको घरले उसलाई अवसर प्रदान गर्नेछ; हरेक व्यक्तिका लागि परमेश्वरको मापदण्ड उच्‍च छैन। किन त्यस्तो? मानिसहरू अरूबाट अलग्ग रहेर जिउँदनन्, र यस्तो कोही मान्छे हुँदैन जो भ्रष्ट छैन। परमेश्‍वरको प्रतिरोध गर्न विचार नआउने मान्छे को नै पो छ र? परमेश्‍वरको प्रतिरोध गरेर अपराध नगरेको व्यक्ति को नै पो छ र? परमेश्‍वरविरुद्ध विद्रोह गर्ने स्थिति र व्यवहार नभएको व्यक्ति को नै पो छ र? एक कदम अघि बढ्दा, परमेश्‍वरबारे अविश्‍वास, शङ्का, गलतफहमी वा अडकलबाजी विचार, सोच वा स्थिति नभएको व्यक्ति को नै पो छ र? हर व्यक्तिसँग यी कुराहरू हुन्छन्। त्यसकारण, परमेश्‍वर मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ? के परमेश्‍वर यस्ता कुराहरूलाई अचाक्ली ध्यान दिनुहुन्छ? उहाँले त्यस्तो कहिल्यै गर्नुभएको छैन। उहाँ के गर्नुहुन्छ त? कतिपय मानिससँग परमेश्‍वरको कामबारे सधैँ धारणाहरू हुन्छन्। तिनीहरू यस्तो सोच्छन्, “यदि कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ भने, उहाँले सधैँ उसलाई खुलासा र न्याय गर्नुहुनेछ सजाय दिनुहुनेछ, अनि काटछाँट र निराकरण गर्नुहुनेछ। उहाँ मानिसहरूलाई जान दिनुहुन्‍न, र उहाँ तिनीहरूलाई रोज्‍ने स्वतन्त्रता दिनुहुन्‍न।” के कुरा त्यस्तै हो त? (होइन।) परमेश्‍वरमा विश्‍वास गर्ने अनि उहाँको घरमा आउने मानिसहरू सबैले स्वतन्त्र रूपमै यसो गर्छन्; तिनीहरू कसैलाई पनि जोरजबर्जस्ती गरिँदैन। कतिपय मानिसले विश्‍वास गुमाएका छन्; तिनीहरू सांसारिक कुराहरूमा लिप्त हुन पुगेका छन्, र तिनीहरूलाई रोक्‍ने वा तिनीहरू गएको हेर्न नरुचाउने कोही पनि छैन। परमेश्‍वरमा आस्था राख्‍ने र आस्था छोड्ने, यी दुवै कुरामा तिनीहरू स्वतन्त्र छन्। यसबाहेक, परमेश्‍वर कसैलाई पनि करकाप गर्नुहुन्‍न। मानिसहरूका लागि उहाँको मापदण्ड जे भए पनि, उहाँ तिनीहरूलाई आफू हिँड्न चाहेको बाटो रोज्न दिनुहुन्छ, र उहाँ कसैलाई पनि जोरजबर्जस्ती गर्नुहुन्‍न। पवित्र आत्माले जसरी काम गर्नुभए पनि, वा मानिसहरूलाई जे-जसरी डोर्‍याउनुभए पनि, र तिनीहरूलाई परमेश्‍वरको वचन पढ्न जे-जसरी अगुवाइ गर्नुभए पनि, कहिल्यै पनि कसैलाई करकाप गर्नुभएको छैन। उहाँ सधैँ मान्छेको भरणपोषण र गोठालो गर्न सत्यता व्यक्त गर्नुहुन्छ, सधैँ समस्याहरू समाधान गर्न र मानिसहरूलाई सत्यता बुझ्‍न दिन सत्यतामा सङ्गति गर्नुहुन्छ। मानिसहरूलाई सत्यता बुझ्न दिनुको उद्देश्य के हो? (तिनीहरूले सत्यता स्विकार्न सकून् भन्‍ने हो।) यदि तैँले सत्यता र परमेश्‍वरका वचनहरू स्विकार्छस् भने, तँसँग यी विद्रोही र भ्रष्ट स्वभावहरू, गैरविश्‍वासीहरूको दृष्टिकोण, र हरप्रकारका गलत स्थितिलाई रोक्न सक्‍ने कद हुन्छ; जब तँ यी स्थितिहरू खुट्याउन सक्षम हुन्छस्, तब तँ छलमा पर्नेछैनस्। व्यक्तिले हरप्रकारको सत्यता बुझेपछि, परमेश्‍वरलाई गलत बुझ्दैन, र उहाँको इच्छा बुझ्छ। एक हिसाबले, ऊ सृष्टि गरिएको प्राणीको कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुन्छ; यसअतिरिक्त, ऊ मानव स्वरूपमा जिउँछ, र जीवनको सही मार्ग हिँड्न सक्षम हुन्छ। जब कोही जीवनको सही मार्गमा हिँड्छ, सृष्टि गरिएको प्राणीले दिनुपर्ने गवाही दिन्छ, अन्त्यमा शैतानलाई पराजित गर्न सक्षम हुन्छ, स्वभाव परिवर्तन अनुभव गर्छ, उसमा परमेश्‍वरप्रति साँचो समर्पण र डर छ, र ऊ सृष्टि गरिएको स्वीकार्य प्राणी बन्छ, तब त्यस्तो व्यक्तिले मुक्ति प्राप्त गरिसकेको हुन्छ, र त्यही नै अन्तिम लक्ष्य हो।

सेप्टेम्बर २९, २०१७

अघिल्लो: आफ्‍नो सारा हृदय, मनमस्तिष्क, र प्राणले कर्तव्य निभाउने व्यक्तिले मात्रै परमेश्‍वरलाई प्रेम गरेको हुन्छ

अर्को: परमेश्‍वरको सार्वभौमिकताबारे कसरी जान्‍ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्