इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ

परमेश्वरको मानिसहरू इमान्दार हुनुपर्छ भन्‍ने मापदण्ड सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तर अफसोस, धेरैले यो कुरा बझ्दैनन्, र इमान्दार हुने यो मामिला बेवास्ता गर्छन्। यदि मानिसहरूले साँच्‍चिकै परमेश्‍वरको काम बुझ्थे भने, तिनीहरूलाई आखिरी दिनहरूमा उहाँले न्यायको काम पूरा गर्नुभएपछि, आफ्ना भ्रष्ट स्वभावबाट शुद्ध पारिएका अनि आफ्ना छल र झूटहरू फालेका इमान्दार व्यक्तिहरूले मात्रै उहाँको मुक्ति प्राप्त गर्नेछन् र उहाँको राज्यमा प्रवेश गर्न योग्य हुनेछन् भन्ने कुरा थाहा हुन्थ्यो। यदि परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँपछि पनि मानिसहरू अझै झूट र छलले भरिभराउ हुन्छन् भने; यदि तिनीहरू इमानदारीपूर्वक परमेश्‍वरमा अर्पित हुँदैनन् र सधैँ लापर्बाह र झारातिरुवा शैलीमा कर्तव्य निभाउँछन् भने, तिनीहरू पक्कै उहाँद्वारा तिरस्कृत र अस्वीकृत हुनेछन्। अनि तिनीहरूको परिणाम के हुनेछ? तिनीहरू पक्कै मण्डलीबाट हटाइनेछन् र निष्कासित हुनेछन्। आज, परमेश्‍वरको काम यो चरणमा आइपुगेको देख्दा, यसले व्यक्तिलाई उहाँले कसरी मान्छेलाई इमान्दार बन्‍न निरन्तर आह्वान गर्दै आउनुभएको छ भन्‍ने कुरा स्मरण गराउँछ। यसमा ठूलो महत्त्व लुकेको छ। यो केवल त्यतिकै बोल्ने अनि त्यतिमै सक्किने कुरा होइन—यो त व्यक्तिले मुक्ति प्राप्त गर्न र ऊ बाँचिरहन सक्छ सक्दैन भन्‍ने कुराका साथै हरेक व्यक्तिको परिणाम र गन्तव्यसित प्रत्यक्ष्य रूपमा सम्बन्धित छ। त्यसकारण, निश्‍चित रूपमा भन्‍न सकिन्छ, आफ्नो छली स्वभाव फालेर अनि इमानदार बनेर मात्र व्यक्तिले सामान्य मानवतामा जिउन र मुक्ति प्राप्त गर्न सक्छ। परमेश्‍वरमा वर्षौँसम्म विश्‍वास गरेका तर अझै पनि छली नै रहिरहेकाहरू पक्कै निष्कासित हुनेछन्।

परमेश्‍वरका चुनिएका सबै मानिसहरूले अहिले आफ्‍नो कर्तव्य पूरा गर्ने अभ्यास गरिरहेका छन्, र परमेश्‍वरले मानिसहरूको कर्तव्य निर्वाहलाई मानिसहरूको एउटा समूहलाई सिद्ध पार्न र अर्को समूहलाई हटाउन प्रयोग गर्नुहुन्छ। त्यसकारण, कर्तव्य पूरा गर्दा नै हरेक प्रकारको व्यक्ति प्रकट हुन्छ, र तिनीहरूको कर्तव्य निर्वाहमा नै हरप्रकारको छली व्यक्ति, अविश्‍वासी, र दुष्ट व्यक्ति प्रकट भएर हटाइन्छ। बफादार रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नेहरू इमानदार मानिस हुन्; निरन्तर झारा टार्नेहरू छली, छट्टू मानिस हुन्, र तिनीहरू अविश्‍वासी हुन्; अनि आफ्‍नो कर्तव्यमा बाधा र व्यवधानहरू पैदा गर्नेहरू दुष्ट मानिसहरू हुन्, र तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। अहिले र अझै पनि, कर्तव्य निभाउने मानिसहरूमा व्यापक समस्याहरू रहेका छन्। कतिपय मानिसहरू सधैँ आफ्‍नो कर्तव्यमा अत्यन्तै निष्क्रिय बन्छन्, सधैँ बसिरहन्छन् र अरूमा भर पर्दै प्रतीक्षा गरिरहन्छन्। यो कस्तो मनोवृत्ति हो? यो गैरजिम्‍मेवारपूर्ण मनोवृत्ति हो। परमेश्‍वरको घरले तँलाई कर्तव्य निभाउने जिम्‍मा दिएको छ, तैपनि कुनै ठोस काम नगरी तँ यस विषयमा कैयौँ दिन विचार गरेर बस्छस्। काम गर्ने ठाउँमा तँ देखा पर्दैनस्, अनि समस्याहरू खेप्दा र तिनलाई समाधान गर्नुपर्दा मानिसहरूले तँलाई भेट्टाउन सक्दैनन्। तैँले यो कामको बोझ लिँदैनस्। यदि अगुवाले कामबारे सोध्यो भने, तैँले के भन्‍नेछस्? अहिले तैँले कुनै काम गरिरहेको छैनस्। त्यो काम तेरो जिम्‍मेवारी हो भन्‍ने तँलाई राम्ररी थाहा छ, तैपनि तँ त्यो काम गर्दैनस्। आखिर तैँले के सोचिरहेको छस्? के तँ असक्षम भएकोले तैँले कुनै काम नगरेको हो? कि तँलाई सहजताको लोभ मात्रै लागेको हो? आफ्‍नो कर्तव्यप्रति तेरो मनोवृत्ति कस्तो छ? तँ शब्द र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्छस् र राम्रो सुनिने कुराहरू मात्रै बोल्छस्, तर कुनै वास्तविक काम गर्दैनस्। यदि तँ आफ्‍नो कर्तव्य निभाउन चाहँदैनस् भने, तैँले राजीनामा दिनुपर्छ। पद लिएर केही नगरी बस्‍ने नगर्। के त्यसो गर्नु परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु र मण्डलीको काम खस्काउनु होइन र? तेरो बोलीवचनअनुसार त, तैँले हरकिसिमका धर्मसिद्धान्त बुझेको जस्तो देखिन्छ, तर तँलाई कर्तव्य निभाउन लगाइयो भने, तँ झाराटारुवा बन्छस्, तर अलिकति पनि विवेक देखाउँदैनस्। के त्यो आफूलाई इमान्दारीसाथ परमेश्‍वरमा अर्पित गर्नु हो त? परमेश्‍वरको सन्दर्भमा तँसँग कुनै इमानदारिता छैन, तैपनि तँ इमान्दारिता भएको नाटक गर्छस्। के तैँले उहाँलाई छल गर्न सक्छस्? तेरो सामान्य कुरा गराइबाट हेर्दा, तँमा ठूलो विश्‍वास भएजस्तो देखिन्छ; तँ मण्डलीको खम्‍बा र आधार बन्‍न चाहन्छस्। तर जब तँ कर्तव्य निभाउँछस्, तँ सलाईको काँटीजत्तिको पनि उपयोगी छैनस्। के यो त तैँले खुलेआम परमेश्‍वरलाई धोका दिनु होइन र? परमेश्‍वरलाई धोका दिन खोज्दा के हुनेछ, के तँलाई थाहा छ? उहाँले तँलाई अप्रिय ठान्‍नुहुनेछ र हटाउनुहुनेछ! आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सबै मानिसहरू खुलासा हुन्छन्—व्यक्तिलाई कर्तव्यमा लगाउनु मात्रै पर्छ, त्यसपछि ऊ इमानदार हो कि छली व्यक्ति हो र ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चाँडै प्रकट भइहाल्छ। सत्यतालाई प्रेम गर्नेहरूले इमानदारीपूर्वक आफ्‍नो कर्तव्य पूरा गर्न र परमेश्‍वरको घरको काममा साथ दिन सक्छन्; सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्‍वरको घरको काम अलिकति पनि कायम राख्दैनन्, र तिनीहरू आफ्‍नो कर्तव्य निर्वाहमा गैरजिम्‍मेवार हुन्छन्। दृष्टि तीक्ष्ण भएका जोकोहीलाई यो कुरा तुरुन्तै स्पष्ट हुन्छ। आफ्‍नो कर्तव्य राम्ररी पूरा नगर्ने कोही पनि सत्यतालाई प्रेम गर्ने वा इमानदार व्यक्ति होइन; त्यस्ता सबै मानिसहरू खुलासा भएर हटाइनेछन्। आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, मानिसहरूमा जिम्‍मेवारी र बोझको बोध हुनैपर्छ। यस तरिकाले, काम निश्‍चय नै उचित रूपमा हुनेछ। यदि व्यक्तिमा बोझ वा जिम्‍मेवारीबोध हुँदैन भने, उसलाई सबै कुरामा प्रेरित गर्नुपर्छ भने, र यदि ऊ सधैँ झाराटारुवा बन्‍छ अनि समस्याहरू आउँदा उसले अरूलाई दोष लगाउने प्रयास गरेर ती समस्याहरू हल हुन ढिलाइ हुन्छ भने, यो केवल चिन्तामात्र ल्याउने कुरा हो। के त्यसपछि काम अझै पनि राम्ररी गर्न सकिनेछ र? अनि के त्यस्ता व्यक्तिहरूको कर्तव्य निर्वाहले कुनै नतिजा निकाल्न सक्छ र? तिनीहरू आफ्नो निम्ति बन्दोबस्त गरिएको कुनै पनि काम गर्न चाहँदैनन्, र अरूलाई काममा सहयोग चाहिएको देख्दा तिनीहरूले बेवास्ता गर्छन्। तिनीहरूलाई आदेश दिइँदा, तिनीहरूले गर्नैपर्ने हुँदा अनि तिनीहरूसँग कुनै विकल्‍प नहुँदा मात्रै तिनीहरूले अलिअलि काम गर्छन्। यो कर्तव्य निर्वाह गर्नु होइन—यो त ज्यालादारी काम हो! ज्यालादारले रोजगारदाताको लागि काम गर्छ, दैनिक ज्यालाको लागि दिनभरि काम गर्छ, एक घण्टाको ज्यालाको लागि एक घण्टा काम गर्छ; तिनीहरू ज्याला पर्खिरहेका हुन्छन्। तिनीहरूलाई आफ्नो मालिकले नदेख्‍ने कुनै काम गर्छु कि, आफूले गरेको कामको इनाम पाउँदिनँ कि भन्‍ने डर हुन्छ, र तिनीहरू देखाउनका लागि मात्रै काम गर्छन्—जसको अर्थ तिनीहरूमा बफादारिता हुँदैन। धेरैजसो समय, कामका समस्याबारे सोध्दा तिमीहरू जवाफ दिन सक्दैनौँ। तिमीहरूमध्ये केही त काममा संलग्‍न भएका छौ, तर तिमीहरूले काममा के-कसो भइरहेको छ भनेर कहिल्यै सोध्‍ने वा यसबारे सावधानीपूर्वक सोच्‍ने गर्दैनौ। तिमीहरूको क्षमता र ज्ञानलाई विचार गर्दा, तिमीहरूलाई कम्तीमा पनि केही त हुनुपर्ने हो, किनभने तिमीहरू सबै यस कामा सहभागी भएका छौ। त्यसो भए, किन अधिकांश मानिसले केही पनि भन्दैनन्? सम्भवतः के भन्‍ने भनेर तिमीहरूलाई साँच्‍चै थाहा नभएको हुन सक्छ—कामकुराहरू राम्रोसित भइरहेका छन् कि छैनन् भनेर तिमीहरूलाई थाहा नभएको हुन सक्छ। यसका दुईवटा कारण छन्: एउटा कारण हो—तिमीहरू पूर्णतया उदासीन छौ, अनि तिमीहरूले यी कुराहरूको कहिल्यै वास्ता गरेनौ र सधैँ तिनलाई पूरा गर्नुपर्ने कामको रूपमा मात्र लियौ। अर्को कारण हो—तिमीहरू गैरजिम्मेवार छौ र यी कुराहरूको ख्याल गर्न तिमीहरू इच्छुक छैनौ। यदि तैंले साँच्‍चै वास्ता गरेको भए र यदि तँ साँच्‍चै संलग्‍न भएको भए, तँसित सबै कुराबारे राय र दृष्टिकोण हुनेथ्यो। भावशुन्य र उदासीन हुँदा र कुनै जिम्मेवारी नलिँदा अक्सर दृष्टिकोण वा राय नहुने गर्छ। तिमीहरू आफूले निर्वाह गर्ने कर्तव्यप्रति लगनशील छैनौ, तिमीहरू कुनै जिम्मेवारी लिँदैनौ, तिमीहरू मूल्य चुकाउन वा संलग्‍न हुन चाहँदैनौ। तिमीहरू न त कुनै कष्ट भोग्छौ, न त अझ धेरै शक्ति खर्चन नै इच्छुक छौ; तिमीहरू केवल अनुचर हुन चाहन्छौ, यो त एक गैरविश्‍वासीले आफ्नो हाकिमको लागि काम गरेजस्तोभन्दा कुनै फरक छैन। यसप्रकारको कर्तव्य निर्वाहलाई परमेश्‍वर मन पराउनुहुन्‍न र यसले उहाँलाई प्रसन्‍न तुल्याउँदैन। यसले उहाँको अनुमोदन पाउन सक्दैन।

प्रभु येशूले एकपटक भन्‍नुभयो, “किनभने जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ” (मत्ती १३:१२)। यी वचनहरूको अर्थ के हो? यिनीहरूको अर्थ हो—यदि तैँले आफ्नो कर्तव्य वा कार्य गरिनस् वा त्यसमा आफूलाई समर्पित गरिनस् भने, परमेश्‍वरले तँसित भएका कुरा “खोस्‍नुहुनेछ”। “खोस्‍नुहुनेछ” भन्‍नुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो अनुभूति गराउँछ? हुन सक्छ, तैँले आफ्नो क्षमता र गुणद्वारा प्राप्त गर्न सक्‍ने कुरा प्राप्त गर्न सक्दैनस्, र तँलाई केही महसुस हुँदैन अनि तँ ठ्याक्कै गैरविश्‍वासीजस्तै छस्। परमेश्‍वरले सबै कुरा खोस्‍नु भनेको त्यही हो। यदि तँ आफ्नो कर्तव्यमा लापरवाह छस्, मूल्य चुकाउँदैनस्, र तँ इमानदार छैनस् भने, परमेश्‍वरले तँसित भएका कुरा खोस्‍नुहुनेछ, उहाँले तेरो कर्तव्य निर्वाह गर्ने अधिकार फिर्ता लिनुहुनेछ, उहाँले तँलाई यो अधिकार दिनुहुनेछैन। परमेश्‍वरले तँलाई वरदान र क्षमता दिनुभयो, तर तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनस्, परमेश्‍वरको लागि आफैलाई खर्च गरिनस्, वा मूल्य चुकाइनस् र तैँले त्यसमा मन लगाइनस्, त्यसकारण परमेश्‍वरले तँलाई आशिष् नदिनुहुने मात्र होइन, तँसित भएका कुरा पनि खोस्‍नुहुनेछ। परमेश्‍वरले मानिसहरूलाई विशेष सीपका साथै ज्ञान र बुद्धि दिएर आशिष् प्रदान गर्नुहुन्छ। मानिसहरूले यी कुरा कसरी प्रयोग गर्नुपर्छ? तैँले आफ्नो विशेष सीप, वरदान, ज्ञान र बुद्धिलाई आफ्नो कर्तव्यमा समर्पित गर्नैपर्छ। तैँले आफ्नो हृदय प्रयोग गर्नुपर्छ अनि आफूलाई थाहा भएका, आफूले बुझेका, र आफूले प्राप्त गर्न सक्‍ने सबै कुरा आफ्नो कर्तव्यमा लगाउनैपर्छ। यसो गर्दा तँ आशिषित हुनेछस्। परमेश्‍वरद्वारा आशिषित् हुनुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो महसुस गराउँछ? तिनीहरूले परमेश्‍वरबाट अन्तर्दृष्टि र मार्गदर्शन पाएका छन्, र तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्दा तिनीहरूसित मार्ग हुन्छ। अरू मानिसहरूलाई तेरो क्षमता र तैँले सिकेका कुराहरूले तँलाई काम पूरा गर्न सक्षम पार्न नसकेकोजस्तो लाग्न सक्छ—तर यदि परमेश्‍वरले काम गर्नुहुन्छ र तँलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ भने, तँ ती कुरा बुझ्न र ती काम गर्न मात्र होइन, ती काम राम्रैसित गर्नसमेत सक्षम हुनेछस्। अनि अन्त्यमा, तैँले अचम्मित हुँदै मनमनै यस्तो सोच्नेछस्, “म त यति दक्ष थिइनँ, तर अहिले मभित्र कति धेरै असल कुराहरू छन्—र यी सबै सकारात्मक छन्। मैले यी कुराहरू कहिल्यै अध्ययन गरिनँ, तर म अहिले अचानक यी सबै कुराहरू बुझ्ने भएको छु। म अचानक कसरी यति तीक्ष्ण भएँ? अहिले म कसरी यति धेरै कुराहरू गर्न सक्‍ने भएँ?” तैँले यो कुरा बुझ्न सक्नेछैनस्। यी त परमेश्‍वरबाटको अन्तर्दृष्टि र आशिष् हुन्; यसरी नै परमेश्‍वरले मानिसहरूलाई आशिष् दिनुहुन्छ। तिमीहरूले आफ्नो कर्तव्य निभाउँदा वा काम गर्दा यदि यस्तो महसुस गर्दैनौ भने, तिमीहरू परमेश्‍वरद्वारा आशिषित् भएका छैनौ। यदि तँलाई आफ्नो कर्तव्य निभाउनु सधैँ निरर्थक लाग्छ भने, यदि तँलाई गर्नुपर्ने कुनै कुरा नै छैन जस्तो लाग्छ र तैँले आफूलाई योगदान दिन सक्‍ने अवस्थामा पुर्‍याउन सक्दैनस् भने, यदि तैँले कहिल्यै अन्तर्दृष्टि पाउँदैनस् र आफूसित प्रयोग गर्न सकिने कुनै चातुर्य वा बुद्धि आफूमा नभएको महसुस गर्छस् भने, यो समस्या हो। यसले तँसँग आफ्‍नो कर्तव्य पूरा गर्ने सही अभिप्राय वा सही मार्ग छैन, र परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍न, र तेरो स्थिति अस्वाभाविक छ भन्‍ने देखाउँछ। तैँले आफूलाई जाँच्‍नैपर्छ: “कर्तव्यदौरान किन मसित मार्ग अभाव हुन्छ? मैले यो क्षेत्रको अध्ययन गरेको छु, र यो मेरो विशेषज्ञताको दायरामा पर्छ—म यसमा सिपालु पनि छु। मैले आफ्‍नो ज्ञान लागू गर्ने प्रयास गर्दा किन सक्दिनँ? म किन यसको उपयोग गर्न सक्दिनँ? के भइरहेको छ?” के यो संयोग हो? यहाँ एउटा समस्या छ। जब परमेश्‍वरले कसैलाई आशिष दिनुहुन्छ, तब ऊ बुद्धिमान् र ज्ञानी, सबै कुरा स्पष्ट बुझ्‍ने, उत्सुक, चनाखो र विशेष गरी सिपालु हुन्छ; ऊसँग कौशलता हुनेछ, आफूले गर्ने हरेक कुरामा ऊ उत्प्रेरित हुनेछ, र आफूले गर्ने हरेक कुरा सहज हुनेछ र आफूलाई कुनै कठिनाइले रोक्न सक्दैन भन्‍ने उसले सोच्नेछ—उसले परमेश्‍वरबाट आशिष पाउँछ। यदि कसैलाई सबै कुरा असाध्यै कठिन लाग्छ, र उसले जुनसुकै काम गरिरहेको भए पनि, ऊ अडभङ्गे, जुनसुकै कुरा पत्याइहाल्‍ने, र मूर्ख छ, उसले उसलाई भनिएको कुनै पनि कुरा बुझ्दैन भने, यसको अर्थ के हो? यसको अर्थ ऊसँग परमेश्‍वरको मार्गदर्शन छैन र ऊसँग परमेश्‍वरको आशिष छैन। कतिपय मानिसहरू यसो भन्छन्, “मैले आफूलाई अर्पेको छु, र पनि किन होला म परमेश्‍वरको आशिष्‌ देख्दै देख्दिनँ?” यदि तँ केवल आफूलाई अर्पण गर्छस् र प्रयास गर्छस्, तर सत्यता सिद्धान्तहरूअनुसार काम गर्न खोज्दैनस् भने, तैँले आफ्‍नो कर्तव्यमा झारा टारिरहेको छस्। तैँले कसरी पो परमेश्‍वरका आशिषहरू देख्‍न सक्छस् र? यदि तँ आफ्‍नो कर्तव्य पूरा गर्दा सधैँ लापरवाह हुन्छस् र कहिल्यै विवेकशील हुँदैनस् भने, पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि वा प्रकाश दिनुहुनेछैन, र तैँले परमेश्वरको मार्गदर्शन वा उहाँको काम प्राप्त गर्नेछैनस्, र तेरा कामहरूले कुनै फल फलाउनेछैनन्। मानव सामर्थ्य र ज्ञानमा भरोसा गरेर कर्तव्य राम्ररी पूरा गर्नु वा मामिला सम्हाल्नु अत्यन्त गाह्रो हुन्छ। हरेकले मैले केही न केही जानेको छु, ममा केही सीप छ भन्‍ने सोच्छ, तर तिनीहरूले काम राम्ररी गर्दैनन्, र सधैँ काम बिगार्छन्, जुन टीकाटिप्पणी र हाँसोको विषय बन्छ। यो एउटा समस्या हो। कुनै व्यक्ति त्यति जान्‍ने नहुन सक्छ तर उसले आफूलाई जान्‍ने ठान्छ र ऊ कसैको सामु झुक्दैन। यो मानिसको प्रकृतिमा रहेको समस्या हो। आफूलाई नचिन्ने सबै मानिसहरू यस्तै हुन्छन्। के त्यस्ता मानिसहरूले आफ्नो कर्तव्य राम्रोसित निभाउन सक्छन् त? तिनीहरूले आफ्नो कर्तव्य राम्रोसित निभाउन नसक्ने मात्र होइन, तिनीहरू त नराम्ररी असफल हुन पनि सक्छन्। कतिपय मानिसहरू कुनै पनि कर्तव्य राम्रोसित निभाउनसमेत सक्दैनन, तैपनि सधैँ उच्च ओहोदा लिने र मानिसहरूमाथि हैकम जमाउने कोसिस गर्छन्। त्यस्ता मानिसहरूले केही पनि हासिल गर्दैनन्—तिनीहरू त सुसमाचार फैलाउन वा अरूसमक्ष गवाही दिनसमेत सक्षम हुँदैनन्, अनि तिनीहरूसित सत्यताबारे सङ्गति गर्न एक शब्द पनि हुँदैन। त्यस्ता मानिसहरू पूरै निर्वस्‍त्र, दरिद्र र दयनीय हुन्छन्! सत्यताको पछि नलाग्ने सबैले जिम्‍मेवारी नलिने मनस्थितिले आफ्‍नो कर्तव्य पूरा गर्छन्। “कसैले अगुवाइ गऱ्यो भने, म पछ्याउँछु; उसले जहाँ डोऱ्याउँछ, म त्यहीँ जान्छु। उसले मलाई जे गर्न लगाउँछन् म त्यही गर्नेछु। जहाँसम्‍म जिम्‍मेवारी र चासो लिने, वा कुनै कुरा गर्न अझै धेरै समस्या झेल्ने, आफ्‍नो सारा हृदय र शक्तिले केही गर्ने कुरा छ—म त्यो गर्न चाहन्नँ।” यी मानिसहरू मूल्य चुकाउन अनिच्‍छुक हुन्छन्। तिनीहरू खटिन मात्रै इच्छुक हुन्छन्, जिम्‍मेवारी लिन इच्छुक हुँदैनन्। व्यक्तिले साँचोरूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने मनोवृत्ति यो होइन। व्यक्तिले आफ्‍नो कर्तव्य निर्वाहमा आफ्‍नो हृदय लगाउन सिक्नैपर्छ, र विवेक भएको व्यक्तिले यो कुरा गर्न सक्छ। यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नमा कहिल्यै हृदय लगाउँदैन भने, त्यसको अर्थ उसमा विवेक छैन, र विवेकविनाका मानिसहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन् भनेर म किन भन्छु? तिनीहरू परमेश्‍वरलाई कसरी प्रार्थना गर्ने र पवित्र आत्माको अन्तर्दृष्टि खोजी गर्ने त्यो जान्दैनन्, न त परमेश्‍वरका अभिप्रायहरूप्रति कसरी विचार पुर्‍याउने, परमेश्‍वरका वचनहरू मनन गर्नमा आफ्‍नो हृदय कसरी लगाउने भन्‍ने नै जान्दछन्, साथै सत्यता कसरी खोजी गर्ने, परमेश्‍वरका मागहरू र उहाँको चाहनाहरू बुझ्‍न कसरी खोजी गर्ने भन्‍ने नै जान्दछन्। सत्यता खोजी गर्न नसक्‍नु भनेको यही हो। के तिमीहरू त्यस्ता स्थितिहरू अनुभूत गर्छौ, जसमा चाहे जे आइपरे पनि, वा तिमीहरूले जेजस्तो कर्तव्य पूरा गरे पनि, तिमीहरू प्रायः परमेश्‍वरसामु आफूलाई शान्त पार्न, र उहाँका वचनहरू मनन गर्नमा, र सत्यता खोजी गर्नमा, साथै परमेश्‍वरका अभिप्रायहरू अनुसार आफ्‍नो कर्तव्य कसरी पूरा गर्नैपर्ने हो र त्यो कर्तव्य सन्तोषजनक ढङ्गले पूरा गर्न तिमीहरूमा कुन सत्यताहरू हुनुपर्छ भनेर विचार गर्नमा हृदय लगाउन सक्छौ? के तिमीहरू धेरैपटक यसरी नै सत्यता खोजी गर्छौ? (गर्दैनौ।) आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउन र जिम्मेवारी लिन सक्‍ने बन्न तैँले कष्ट भोग्‍नु र मूल्य चुकाउनु आवश्यक हुन्छ—यी कुराहरूबारे कुरा गर्नु मात्र पर्याप्त हुँदैन। यदि तैँले आफ्नो हृदय कर्तव्यमा लगाउँदैनस्, बरु त्यसको साटो सधैं दुःख मात्र गर्न चाहन्छस् भने, तेरो कर्तव्य निश्चित रूपले राम्रोसँग गरिएको हुँदैन। तैँले केवल झारा टारिरहेको हुन्छस्, त्योभन्दा बढी केही होइन, र तैँले आफ्नो कर्तव्य राम्ररी गरिस् कि गरिनस् त्यो जान्‍नेछैनस्। यदि तैँले आफ्नो हृदय त्यसमा लगाइस् भने तैँले बिस्तारै सत्य बुझ्न थाल्नेछस्; यदि तैंले आफ्नो हृदय त्यसमा लगाइनस् भने तैँले सत्य बुझ्नेछैनस्। जब तँ आफ्नो हृदयलाई कर्तव्य निर्वाह गर्नमा र सत्यता पछ्याउनमा लगाउँछस्, तब तँ बिस्तारै परमेश्‍वरकआ इच्छाहरू बुझ्न सक्‍ने, आफ्नो भ्रष्टता र कमीकमजोरीहरू थाहा पाउने, र आफ्ना सबै विविध अवस्थाहरूबारे निपुणता हासिल गर्न सक्‍ने हुनेछस्। जब तैँले खटिनमा मात्रै ध्यान दिन्छस्, र आत्मचिन्तन गर्नमा हृदय लगाउँदैनस्, तब तैँले आफ्‍नो हृदयको साँचो स्थिति अनि फरकफरक स्थितिमा तँमा हुने अनगिन्ती प्रतिक्रिया र भ्रष्टताका प्रकटीकरणहरू पत्ता लगाउन सक्‍नेछैनस्। यदि समस्याहरू हल नभई थाँती नै रहँदा परिणाम के हुन्छ भन्‍ने कुरा तँलाई थाहा छैन भने, तँ ठूलो समस्यामा छस्। त्यसैले परमेश्‍वरलाई अन्योलमा विश्‍वास गर्नु राम्रो हुँदैन। तँ हरेक समय, हरेक स्थानमा परमेश्‍वरअघि जिउनुपर्छ; तेरो जीवनमा जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यता खोजी गर्नैपर्छ, र यसो गर्दा तैँले आत्मचिन्तन पनि गर्नैपर्छ, र तेरो स्थितिमा केकस्ता समस्याहरू छन् भनेर पनि जान्नैपर्छ, अनि ती समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नैपर्छ। त्यसरी मात्रै तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् र तँ काममा ढिलाइ गराउनबाट बच्‍न सक्छस्। अनि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न मात्र सक्‍नेछैनस्, तर त्योभन्दा महत्त्वपूर्ण कुरा, तैँले आफ्नो जीवन प्रवेश पनि प्राप्त गर्नेछस् र आफ्‍नो भ्रष्ट स्वभाव पनि हटाउनेछस्। यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्। यदि तैँले हृदयमा प्रायः मनन गर्ने कुरा तेरो कर्तव्यसित जोडिएको मामिला वा सत्यतासँग सम्बन्ध रहेको मामिला होइन, र तँ बाहिरी कुराहरूमा अल्झिएको छस्, तेरा विचारहरू देहका मामिलाहरूमा केन्द्रित छन् भने, के तैँले सत्यता बुझ्‍न सक्छस् र? के तँ आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र परमेश्‍वरसामु जिउन सक्छस् र? अवश्यै सक्दैनस्। त्यस्तो खालको व्यक्तिलाई मुक्ति दिन सकिँदैन।

परमेश्‍वरमा विश्‍वास गर्नु भनेको जीवनको सही मार्गमा हिँड्नु हो, र व्यक्ति सत्यताको पछि लाग्नैपर्छ। यो आत्मा र जीवनको कुरा हो, र यो अविश्‍वासीहरूको सम्पत्ति र वैभवको खोजी, आफ्‍नो लागि अमेट नाम कमाउने प्रयासभन्दा फरक कुरा हो। यी फरकफरक मार्गहरू हुन्। अविश्‍वासीहरूले आफ्‍नो काममा, कसरी थोरै काम गरेर धेरै पैसा कमाउने, अझै धेरै कमाउन कसरी शङ्कास्पद चालहरू चल्न सकिन्छ भनेर सोच्छन्। तिनीहरू कसरी धनी बन्‍ने र आफ्‍नो परिवारको लागि सम्पत्ति कमाउने भनेर दिनभरि सोच्छन्, र आफ्‍नो उद्देश्य हासिल गर्न तिनीहरू बेइमान उपायहरूसमेत निकाल्छन्। यो दुष्टको मार्ग, शैतानको मार्ग हो, र यो अविश्‍वासीहरू हिँड्ने मार्ग हो। परमेश्‍वरमा विश्वास गर्नेहरू हिँड्ने मार्ग भनेको सत्यताको पछि लाग्नु र जीवन प्राप्त गर्नु हो; यो परमेश्‍वरलाई पछ्याउने र सत्यता प्राप्त गर्ने मार्ग हो। सत्यता प्राप्त गर्न कसरी अभ्यास गर्नुपर्छ? तैँले लगनसाथ परमेश्‍वरका वचनहरू पढ्ने, र तिनलाई अभ्यास र अनुभव गर्ने गर्नुपर्छ—तैँले त्यसो गरेपछि मात्र सत्यता बुझ्नेछस्। अनि, जब तैँले सत्यता बुझ्नेछस्, तब सबै कुराहरू सिद्धान्तअनुसार गर्न आफ्नो कर्तव्य कसरी राम्रोसित निभाउने, अनि कसरी परमेश्‍वरमा समर्पित हुने भन्‍नेबारेमा विचार पुर्‍याउनुपर्छ। यसको लागि सत्यता अभ्यास गर्न आवश्यक हुन्छ। तर सत्यता अभ्यास गर्नु सजिलो कुरा होइन: यसको लागि तैँले सत्यता खोज्ने मात्र होइन, आफूभित्र गलत विचार र धारणाहरू छन् कि भनेर चिन्तनमनन र पहिचान गर्ने काम पनि गर्नुपर्छ, र यदि समस्याहरू छन् भने, तैँले ती हल गर्न सत्यताबारे सङ्गति गर्नुपर्छ। जब तैँले सत्यता अभ्यास गर्ने सिद्धान्तहरू बुझ्छस्, तब सत्यता अभ्यास गर्न सक्‍नेछस्। अनि, सत्यता अभ्यास गरेर मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न र परमेश्‍वरमा समर्पित हुने व्यक्ति बन्‍न सक्‍नेछस्। यसरी अभ्यास र अनुभव गरेर, तैँले थाहै नपाई आफ्नो स्वभाव बदल्नेछस् र सत्यता प्राप्त गर्नेछस्। अविश्‍वासीहरू सधैँ प्रतिष्ठा, नाफा र हैसियतप्रति मरिहत्ते गरिरहेका हुन्छन्। फलस्वरूप, तिनीहरू दुष्ट्याइँको बाटो हिँड्छन्, अनि झन्झन् पतित, झन्झन् चतुर, र झन्झन् धूर्त, कपटी, र षडयन्त्रकारी बन्दै जान्छन्; तिनीहरूको हृदय झन्झन् दुष्ट बन्दै जान्छ, र तिनीहरू झन्झन् बुझ्न नसकिने र झन्झन् रहस्यमयी बन्दै जान्छन्—यो अविश्‍वासीहरूको मार्ग हो। तर परमेश्‍वरमा विश्‍वासगर्नेहरूको मार्ग यसको ठीक विपरीत हुन्छ। परमेश्‍वरका विश्‍वासीहरू यस्तो दुष्ट संसार र दुष्ट मानवाजातिबाट आफैलाई अलग्याउन चाहन्छन्; तिनीहरू सत्यता पछ्याउन र आफ्नो भ्रष्टता शुद्ध पार्न चाहन्छन्। तिनीहरू मानव स्वरूपमा जिउँदा मात्र तिनीहरूको हृदय स्थिर र शान्त हुन्छ; तिनीहरू परमेश्‍वरलाई चिन्‍न, परमेश्‍वरको डर मान्‍न, दुष्टताबाट अलग बस्‍न अनि उहाँको अनुमोदन र आशिष्‌ प्राप्त गर्न चाहन्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले खोज्ने कुरा यही हो। यदि तैँले वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरेको छस्, साँच्चै सत्यता बुझ्छस्, र तँ परिवर्तित भएको छस् भने, अरूले तँसित जति धेरै अन्तर्क्रिया गर्छन्, तिनीहरूले तँ त्यति नै धेरै इमानदार छस्—तँ पूर्णरूपमा खुला मनको व्यक्ति होस्, तँ कुनै कुरा लुकाउँदैनस्, र तँ पारदर्शी रूपले बोल्ने र व्यवहार गर्ने गर्छस्—भन्‍ने अनुभूति गर्नेछन्। तैँले बोल्ने कुराहरू, तैँले व्यक्त गर्ने दृष्टिकोणहरू, तैँले गर्ने कामहरू, र तैँले निर्वाह गर्ने कर्तव्यमार्फत, अनि तैँले अरूसित कुराकानी गर्दा अपनाउने तेरो इमानदार मनोवृत्तिमार्फत, मानिसहरूले तेरो हृदय छर्लङ्गै देख्न सक्नेछन्, अनि तँ कसरी व्यवहार गर्छस्, तेरा प्राथमिकताहरू के हुन्, र तैँले कुन लक्ष्य पछ्याउँछस् भनेर पनि देख्न सक्नेछन्। तिनीहरूले तँ असल र इमानदार व्यक्ति होस्, र तँ सही मार्गमा हिँडिरहेको छस् भनेर स्पष्टै देख्न सक्नेछन्। यसले तँ परिवर्तित भएको छस् भन्‍ने देखाउँछ। यदि तैँले लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गरेको र आफ्नो कर्तव्य निभएको छस् तर तैँले मानिसहरूसित अन्तर्क्रिया गर्दा तिनीहरूले सधैँ तेरो बोलीमा पारदर्शिता नभएको र तेरा दृष्टिकोणहरू अस्पष्ट रहेको महसुस गर्छन् र तेरा कार्यहरूमा तेरो हृदय छर्लङ्ग देख्‍न सक्दैनन् भने, र यदि तिनीहरूले निरन्तर तैँले आफ्नो हृदयमा कुराहरू लुकाएको महसुस गर्छन् भने, यसले तँ आफूलाई लुकाउन, भेष बदल्न र आफूलाई असल देखाउनमा माहिर, घुसघुसे व्यक्ति होस भन्ने देखाउँछ। यदि तँसँग कैयौँ वर्षको अन्तर्क्रिया गरेपछि पनि अरूले तेरो हृदय पूर्ण रूपमा बुझ्न सक्दैनन् भने, र तेरो स्वभाव र तेरो सार नभई तेरो मिजास र चरित्र मात्र देख्छन् भने, यसले तँ अझै पनि तेरो शैतानी स्वभावअनुसार नै जिइरहेको छस् भन्‍ने देखाउँछ। तँ जति धेरै धूर्त हुन्छस्, त्यसले तँ त्यति नै असल व्यक्ति होइनस्, तँभित्र मानवताको कमी छ, र तँ दियाबलस र शैतानको होस् भन्‍ने देखाउँछ। यदि तँ कुनै सत्यता प्राप्त गर्दैनस्, र तैँले जति नै धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि तेरा भ्रष्ट स्वभावहरू शुद्ध हुँदैनन् भने, तँजस्तो व्यक्तिलाई मुक्ति प्राप्त गर्न एकदमै गाह्रो हुनेछ। अनि तेरो कुरा घुमाउन सक्‍ने क्षमता, वाक्पटुता, चातुर्य, आवेग, र कामकुराहरू सम्हाल्ने तेरो सिपको बाबजुद पनि, यदि तँसित अन्तर्क्रिया गर्नेहरूले सधैँ असहज महसुस गर्छन् र तँ भरनपर्दो, भरोसा गर्न अयोग्य, र बुझ्न नसकिने छस् भनेर महसुस गर्न सक्छन् भने, तँ समस्यामा छस्। यसले तँ परमेश्‍वरमा विश्‍वास गरेर पनि बदलिएकै छैनस् र तैँले उहाँमा साँचो विश्‍वास गर्दैनस् भन्‍ने इङ्गित गर्छ। के अहिलेसम्म तिमीहरूले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा कुनै वास्तविक परिवर्तन अनुभव गरेका छौ? के तिमीहरू अरूसित इमानदार मनोवृत्तिसाथ अन्तर्क्रिया गर्छौ? के अरूले तँ इमानदार छस् भन्‍ने अनुभूति गर्छन्? (मलाई तुरुन्तै फाइदा हुने कुराहरूमा, म झूट बोल्न र धोका दिन सक्छु; तर जब ती कुराहरू मलाई तुरुन्तै फाइदा हुने कुराहरू हुँदैनन्, तब म सत्य बोल्न र अलिअलि हृदय खोल्न सक्छु।) (म आफूले बोल्ने कुरामा होसियार छु—म केही कुराहरू खुलेर बोल्छु, तर मेरो हृदयको गहिराइमा लुकेका कुराहरू म लुकाएरै राख्छु। अरूसित अन्तर्क्रिया गर्दा, म अझै पनि आफूलाई असल देखाउने र भेष बदल्ने गर्छु।) यो व्यक्ति आफ्ना भ्रष्ट स्वभावहरूमा जिइरहेको एउटा उदाहरण हो। यदि व्यक्तिले सत्यता पछ्याउँदैन र आफ्ना भ्रष्ट स्वभावहरू सुल्झाउँदैन भने, ऊ कसरी परिवर्तन हुन सक्छ? तिमीहरू सबैजना कर्तव्य निभाउने मानिसहरू हौ। तिमीहरूमा कम्तीमा पनि, इमानदार हृदय हुनुपर्छ, र तिमीहरूले परमेश्‍वरलाई तँ इमान्दार छस् भनेर देखाउनुपर्छ—तब मात्रै तैँले परमेश्‍वरको अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन प्राप्त गर्न सक्नेछस्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तैँले परमेश्‍वरको जाँच स्विकार्नुपर्छ। तँ र अरू मानिसहरूबीच जे-जस्ता बाधाहरू भए पनि, तैँले आफ्नै आडम्बर र प्रतिष्ठालाई जति नै महत्त्व दिए पनि, र तैँले सहजै खुलेर कुरा गर्न नसक्‍ने जे-जस्ता अभिप्रायहरू पाले पनि, यी सबै कुराहरू बिस्तारै परिवर्तन हुँदै जानुपर्छ। हरेक व्यक्तिले चरणबद्ध रूपमा यी भ्रष्ट स्वभावहरू र कठिनाइहरूबाट आफूलाई स्वतन्त्र गर्नुपर्छ, र तिनीहरूका भ्रष्ट स्वभावहरूले खडा गर्ने वाधाहरू छिचोल्‍नुपर्छ। तर तैँले यी वाधाहरू पार गर्नुभन्दा पहिले, के तेरो हृदय परमेश्‍वरसित साँच्‍चिकै इमानदार छ त? के तँ उहाँबाट कुराहरू लुकाउने वा ढाकछोप गर्ने वा उहाँलाई झूटो रूप देखाउने र धोका दिने गर्छस्? तँ आफ्नो हृदयमा यसबारे स्पष्ट हुनुपर्छ। यदि तेरो हृदयमा यी कुराहरू छन् भने, तैँले परमेश्‍वरको जाँच स्विकार्नुपर्छ। यस्ता कुराहरूलाई संयोगको भरमा नछोड् र यस्तो नभन्, “म मेरो सम्पूर्ण जीवन परमेश्‍वरको लागि अर्पित गर्न चाहन्नँ। म परिवार सुरु गर्न र आफ्नै जीवन जिउन चाहन्छु। आशा छ, परमेश्‍वरले मलाई जाँच्नुहुनेछैन, र मेरो निन्दा गर्नुहुनेछैन।” यदि तैँले यी सबै कुराहरू अर्थात् तैँले आफ्नो हृदयभित्र पालेर राखेका अभिप्राय, उद्देश्य, योजना र जीवन लक्ष्यहरू परमेश्‍वरबाट लुकाउँछस् भने, र यदि तैँले विभिन्‍न कुराहरूबारेकाआफ्ना दृष्टिकोणहरू र परमेश्‍वरप्रतिको आस्थाबारेका तेरा विश्‍वासहरू लुकाउँछस् भने, तँ समस्यामा पर्नेछस्। यदि तैँले यी व्यर्थका कुराहरू लुकाउँछस् र यी कुराहरू हल गर्न सत्यता खोजी गर्दैनस् भने, यसले देखाउँछ कि तँ सत्यतालाई प्रेम गर्दैनस्, र तँलाई सत्यता स्विकार्न र प्राप्त गर्न कठिन हुन्छ। तैँले अरू मानिसहरूबाट त यस्ता विभिन्‍न कुराहरू लुकाउन सक्लास्, तर परमेश्‍वरबाट ती कुराहरू लुकाउन सक्दैनस्। यदि तँ परमेश्‍वरमा भरोसा गर्दैनस् भने, उहाँमा विश्‍वास किन गर्छस्? यदि तँसित गोप्य कुराहरू छन्, र ती कुराहरूबारे आफूले खुलेर कुरा गर्दा मानिसहरूले तँलाई अवहेलना गर्लान् भनेर चिन्तित छस् भने र तँसँग सबैसामु खुलेर बोल्ने आँट छैन भने, तैँले बस परमेश्‍वरसित खुलेर कुरा गर्न सक्‍नेछस्। तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र उहाँप्रतिको विश्‍वासमा आफूले पालेका दुष्ट अभिप्रायहरू, आफ्नो भविष्य र नियतिको खातिर आफूले गरेका कामकुराहरू, र तैँले कसरी प्रतिष्ठा र नाफाको निम्ति मरिहत्ते गरिस् भनेर बोलीबिस्तार लगाउनुपर्छ। यी सबै कुराहरू परमेश्‍वरको अगाडि राख् र उहाँसामु यी सबै खुलासा गर्; यी कुराहरू उहाँबाट नलुका। तेरो हृदय जति नै धेरै मानिसहरूको लागि बन्द गरिएको भए पनि, परमेश्‍वरको लागि तेरो हृदय बन्द नगर्—तैँले उहाँसामु हृदय खोल्नुपर्छ। उहाँमा विश्‍वास गर्नेहरूले कम्तीमा यति इमानदारीता देखाउनैपर्छ। यदि तँसित परमेश्‍वरसामु खुल्ने र उहाँको लागि बन्द नहुने हृदय छ र तँ उहाँको जाँच स्विकार्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? यदि तँ अरूसामु खुल्दैनस् भने पनि, यदि तँ उहाँसामु खुल्न सक्छस् भने, परमेश्‍वरले तँलाई इमानदार हृदय भएको इमानदार व्यक्तिको रूपमा हेर्नुहुनेछ। यदि तेरो इमानदार हृदयले उहाँको जाँच स्विकार्न सक्छ भने, यो कुरा उहाँको नजरमा मूल्यवान् हुन्छ, र उहाँले तँभित्र गर्नुपर्ने काम निश्‍चय नै हुनेछ। उदाहरणको लागि, यदि तैँले परमेश्‍वरलाई कुनै कुरामा धोका दिएको छस् भने, उहाँले तँलाई ताडना दिनुहुनेछ। त्यसपछि तैँले उहाँको त्यो ताडना स्विकार्नैपर्छ, र तुरुन्तै उहाँसामु पश्‍चात्ताप र पापस्वीकार गर्नुपर्छ, र आफ्ना गल्तीहरू स्विकार्नुपर्छ; तैँले आफ्नो विद्रोहीपन र भ्रष्टता स्विकार्नुपर्छ, अनि परमेश्‍वरको सजाय र न्याय स्विकार्नुपर्छ, आफ्नो भ्रष्ट स्वभावहरू चिन्‍नुपर्छ, उहाँका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, र साँचो रूपमा पश्‍चात्ताप गर्नुपर्छ। परमेश्‍वरमाथिको तेरो इमानदार विश्‍वास अनि उहाँमाथिको तेरो सच्‍चा आस्थाको प्रमाण यही हो।

इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नलाई, तैँले सबैभन्दा पहिले हरदिन प्रार्थनामा परमेश्‍वरसामु आफ्नो हृदय खोल्‍न र आफ्नो हृदयका गहनतम कुराहरू उहाँलाई भन्‍न सिक्‍नुपर्छ। उदाहरणको लागि, यदि तैँले आज झूट बोलिस् र त्यो अरू मानिसहरूले चाल पाएनन्, तर त्यसबारे सबैसामु खुलेर कुरा गर्न तँलाई साहस भएन भने, कम्तीमा तैँले आफूले जाँच गरेर पत्ता लगाएका गल्तीहरू र तैँले बोलेका झूटहरू मनन गर्नहेतु परमेश्‍वरसामु ल्याउनुपर्छ, र यसो भन्‍नुपर्छः “हे परमेश्‍वर, मैले मेरा आफ्नै स्वार्थहरू रक्षा गर्न फेरि पनि झूट बोलेको छु, र म गलत थिएँ। यदि मैले फेरि पनि झूट बोलेँ भने, कृपया मलाई अनुशासित गर्नुहोस्।” परमेश्‍वर यस्तो मनोवृत्तिदेखि प्रसन्‍न हुनुहुनेछ, र उहाँले यसलाई स्मरण गर्नुहुनेछ। तँलाई यो झूट बोल्ने भ्रष्ट स्वभाव सुल्झाउनको लागि कठिन प्रयास आवश्यक पर्न सक्छ, तर चिन्ता नगर्, परमेश्‍वर तेरै छेउमा हुनुहुन्छ। उहाँले तँलाई मार्गदर्शन गर्नुहुनेछ, र तँलाई यो दोहोरिरहने कठिनाइ पार गर्न मदत गर्नुहुनेछ, र तँलाई आफ्ना झूटहरू कहिल्यै नस्विकार्ने अवस्थाबाट ती झूटहरू स्विकार्ने अनि आफूले आफैलाई निर्धक्कसित खुलासा गर्न सक्षम हुने अवस्थासम्म पुग्‍ने साहस प्रदान गर्नुहुनेछ। अनि तैँले आफ्ना झूटहरू स्विकार्न मात्र होइन, तँ किन झूट बोल्छस्, र ती झूटहरूपछाडि तेरा अभिप्राय र मनसायहरू के थिए भनेर निर्धक्‍कसित खुलासा गर्नसमेत सक्षम हुनेछस्। जब तँसित यस्तो अवरोध पार गर्ने, र शैतानको पिञ्जरा र नियन्त्रणबाट उम्किने साहस हुन्छ, र तँ प्रगतिशील रूपमा अबउप्रान्त झूट नबोल्ने अवस्थामा पुग्दै जान्छस्, तब तँ बिस्तारै ज्योतिमा, र परमेश्‍वरको मार्गदर्शन र आशिष्‌को छत्रछायाँमा जिउँदै जानेछस्। जब तँ आफ्नो दैहिक नियन्त्रणको अवरोध पार गरेर सत्यताप्रति समर्पित हुन, र निर्धक्‍क आफैले आफ्नो खुलासा गर्न, र आफ्नो अडान सबैमाझ घोषणा गर्न, र कुनै आशङ्का नपाल्न सक्षम हुन्छस्, तब तँ आजाद र स्वतन्त्र हुनेछस्। जब तँ यसरी जिउँछस्, अरू मानिसहरूले तँलाई मन पराउने मात्र नभई परमेश्‍वरसमेत तँसित प्रसन्‍न हुनुहुनेछ। कहिलेकाहीँ, तैँले अझै पनि गल्ती गर्ने र झूट बोल्ने गरे पनि, र कहिलेकाहीँ तँसित अझै पनि व्यक्तिगत अभिप्राय, गुप्त मनसाय वा स्वार्थी र तुच्छ व्यवहार र सोचविचारहरू हुनेभए पनि, तँ परमेश्‍वरको जाँच स्विकार्न सक्षम हुनेछस्, र तैँले आफ्नो अभिप्राय, आफ्नो वास्तविक स्थिति, र आफ्ना भ्रष्ट स्वभावहरू उहाँसामु खुलासा गर्न र उहाँबाट सत्यता खोजी गर्न सक्‍नेछस्। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तँसित अभ्यासको मार्ग हुनेछ। जब तेरो अभ्यासको मार्ग सही हुन्छ, र तँ सही दिशातर्फ चल्छस्, तब तेरो भविष्य सुन्दर र उज्यालो हुनेछ। यसरी, तँ आफ्नो हृदय शान्त भएको स्थितिमा जिउनेछस्, र तेरो आत्माले भरणपोषण पाएको हुनेछ, र तैँले तृप्त र सन्तुष्ट भएको महसुस गर्नेछस्। तर यदि तँ आफ्नो देहको नियन्त्रणबाट उम्किन सक्दैनस् भने, यदि तँ निरन्तर आफ्ना भावना, व्यक्तिगत स्वार्थ, र शैतानी दर्शनहरूको वशमा रहन्छस् र लुकीछिपी बोल्ने र व्यवहार गर्ने गर्छस्, र सधैँ छायाँमा लुक्ने गर्छस् भने, तँ शैतानको सत्ताअन्तर्गत जिइरहेको छस्। तर यदि तँ सत्यता बुझ्छस्, देहको नियन्त्रणबाट उम्कन्छस्, र सत्यता अभ्यास गर्छस् भने, तैँले बिस्तारै मानव स्वरूप धारण गर्दै जानेछस्। अनि, तँ आफ्ना बोलीवचन र कार्यहरूमा खुलस्त र सीधा हुनेछस्, र तँ आफ्ना राय, विचार र आफूले गरेका गल्तीहरू खुलासा गर्न सक्षम हुनेछस्, र यसरी सबैलाई ती कुराहरू स्पष्टसित देख्‍न दिनेछस्। अन्त्यमा, मानिसहरूले तँलाई पारदर्शी व्यक्तिको रूपमा पहिचान गर्नेछन्। यो पारदर्शी व्यक्ति भनेको के हो? यो भनेको असाधारण इमानदारीसाथ कुरा गर्ने व्यक्ति हो जसको बोलीवचन साँचो हुन्छ भनेर सबैले विश्‍वास गर्छन्। यदि उसले अनजानमै कुनै झूट वा कुनै गलत कुरा बोल्यो भने पनि, मानिसहरूले त्यो अनजानमा बोलिएको हो भन्ने जानेर उसलाई क्षमा दिन सक्‍नेछन्। यदि उसले आफूले ढाँटेको वा कुनै गलत कुरा बोलेको महसुस गर्‍यो भने, उसले माफी माग्‍नेछ, र आफूलाई सच्याउनेछ। यस्तो व्यक्ति नै पारदर्शी व्यक्ति हो। यस्तो व्यक्तिलाई सबैले मन पराउँछन्, र सबैले विश्‍वास गर्छन्। परमेश्‍वरको र अरूहरूको भरोसा जित्‍नका लागि तैँले यो स्तरमा पुग्नुपर्छ। यो सजिलो कार्य होइन—यो त व्यक्तिमा हुन्सक्ने सबैभन्दा उच्‍चस्तरीय मर्यादा हो। यसप्रकारको व्यक्तिसँग आत्मसम्‍मान हुन्छ। यदि तँ अरूहरूको भरोसा नै जित्‍न सक्दैनस् भने, तैँले कसरी परमेश्‍वरको भरोसा प्राप्त गर्ने अपेक्षा गर्न सक्छस्? इज्‍जतहीन जीवन जिउने कति व्यक्तिहरू छन्, तिनीहरू निरन्तर झूट रचिरहन्छन्, र कामकुराहरूलाई लापर्बाह र झारातिरुवा रूपले ने लिइरहन्छन्। तिनीहरूमा जिम्‍मेवारीको अलिकति पनि बोध हुँदैन, तिनीहरू काटछाँट र निराकरण अस्वीकार गर्छन्, तिनीहरू सधैँ भ्रामक तर्कहरूको सहारा लिन्छन्, र तिनीहरूलाई भेट्ने जति सबैले तिनीहरूलाई घृणा गर्छन्। तिनीहरू लाजसरमको कुनै बोधबिनै जिउँछन्। के तिनीहरूलाई साँच्चै मानव मान्‍न सकिन्छ? अरूहरूबाट अत्यन्तै घिनलाग्दा र भर पर्न नसकिने मानिएका मानिसहरूले पूर्ण रूपमा आफ्नो मानवता गुमाइसकेका हुन्छन्। यदि अरूहरूले तिनीहरूमा भरोसा गर्न सक्दैनन् भने, के परमेश्‍वरले तिनीहरूमाथि भरोसा गर्न सक्‍नुहुन्छ र? यदि अरूहरूले तिनीहरूलाई घृणा गर्छन् भने, के परमेश्‍वरले तिनीहरूलाई मन पराउन सक्‍नुहुन्छ र? परमेश्‍वरले त्यस्ता व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ र उहाँ तिनीहरूबाट दिक्‍क हुनुहुन्छ, र तिनीहरू निश्चित रूपमा निष्कासित हुनेछन्। मानिसको रूपमा व्यक्ति इमानदार हुनुपर्छ, र उसले आफ्ना प्रतिबद्धताहरूको सम्‍मान गर्नुपर्छ। चाहे अरूहरूको लागि कार्य गर्दा होस् वा परमेश्‍वरको लागि होस्, उसले आफ्ना वचनहरू पूरा गर्नुपर्छ। जब व्यक्तिले मानिसहरूको भरोसा जितिसकेको हुन्छ, र जब उसले परमेश्‍वरलाई सन्तुष्ट र आश्‍वास्त पार्न सक्छ, तब ऊ तुलनात्मक रूपमा अलि इमानदार हुन्छ। यदि तँ आफ्ना कार्य-व्यवहारहरूमा भरोसायोग्य छस् भने, अरूहरूले मात्र होइन, परमेश्‍वरलेपनि तँलाई पक्कै मन पराउनुहुनेछ। इमानदार व्यक्ति भएर, तैँले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन र तँ इज्‍जतसाथ जिउन सक्‍नेछस्। त्यसकारण, व्यक्तिको आचरणको जग इमानदारीता हुनुपर्छ।

इमानदार व्यक्तिको लागि सबैभन्दा महत्त्वपूर्ण अभ्यास के हो? परमेश्‍वरसामु आफ्नो हृदय खोल्‍ने कार्य सबैभन्दा महत्त्वपूर्ण अभ्यास हो। तर हृदय खोल्नु भनेको के हो त? त्यो भनेको आफ्ना विचार र आफ्ना अभिप्रायहरू, अनि आफूलाई नियन्त्रण गर्ने कुराहरू उहाँसामु बताउनु, र त्यसपछि उहाँबाट सत्यता खोजी गर्नु हो। तैँले चाहे जे कुरा खुलासा गरे पनि, परमेश्‍वरले सबथोक निकै स्पष्टतासाथ देख्‍नुहुन्छ। यदि तँ आफ्ना भावनाहरू परमेश्‍वरसामु व्यक्त गर्न, आफूले अरूबाट लुकाएका कुराहरूबारे उहाँसामु खुलस्त बताउन, र केही नलुकाई ती कुराहरू स्पष्टसँग बताउन र कुनै मनसाय नराखी आफ्ना सोचहरू जस्ताको त्यस्तै व्यक्त गर्न सक्छस् भने, त्यो हृदय खोल्नु हो। कहिलेकाहीँ इमानदारीसाथ बोल्दा अरूलाई चोट पुग्न सक्छ वा तिनीहरू चिढिन सक्छन्। त्यस्ता घटनाहरूमा, के कसैले “तपाईँ एकदमै इमानदारीसाथ बोल्नुहुन्छ, यो एकदमै ठेस पुग्‍ने खालको छ, र म यो स्विकार्न सक्दिनँ” भनेर भन्ला र? अहँ, तिनीहरूले त्यसो भन्नेछैनन्। यदि तैँले कहिलेकाँही अरूलाई चोट पुग्‍ने गरी केही कुरा बोल्ने भए पनि, यदि तँ खुलेर माफी माग्छस्, अनि आफ्ना शब्दहरूमा ज्ञानको कमी थियो र तिनीहरूको कमजोरीप्रति आफू असंवेदनशील भएको थिएँ भनेर स्विकार्छस् भने, तिनीहरूले तेरो नियत खराब थिएन भनेर थाहा पाउनेछन्। तिनीहरूले तँ इमान्दार व्यक्ति होस्, तर तँ केवल सीधै र चलाखीविना बोल्दो रैछस् भनेर बुझ्नेछन्। तिनीहरूले तँसित बहस गर्नेछैनन्, र आफ्नो हृदयमा तँलाई मन पराउनेछन्। यस तरिकाले व्यवहार गर्दा, के तिमीहरूबीच कुनै अवरोध हुनेछ र? यदि कुनै अवरोध छैन भने, द्वन्द्व पन्छाउन सकिन्छ, र समस्याहरू पनि सहज रूपमा हल गर्न सकिन्छ, र यसले तँलाई आजाद र ढुक्‍कको स्थितिमा जिउन मदत गर्नेछ। “इमानदार व्यक्तिहरू मात्र खुसीसाथ जिउन सक्छन्” भन्‍ने भनाइको अर्थ यही हो। इमानदार व्यक्ति बन्‍नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सुरुमा परमेश्‍वरसित हृदय खोल्‍नु, र त्यसपछि अरूसामु हृदय खोल्‍न सिक्‍नु हो। यसैले इमानदारीपूर्वक, सच्चाइसाथ र हृदयदेखि बोल्‍ने गर्। मर्यादा, चरित्र, र निष्ठा भएको व्यक्ति बन्‍न लागिपर्, र खोक्रा कर्णप्रिय शब्दहरू वा छली शैलीमा नबोल्, र धोकेबाज वा बहकाउपूर्ण शैलीमा बोल्नबाट आफूलाई रोक्। इमानदार व्यक्ति बन्‍नुको अर्को पक्ष भनेको आफ्नो कर्तव्य इमानदार मनोवृत्ति र इमानदार हृदयसाथ निर्वाह गर्नु हो। कम्तीमा पनि, तँ आफ्ना कार्यहरूलाई मार्गदर्शन गर्न आफ्नो विवेकमा भर पर्, सत्यता सिद्धान्तहरू पालन गर्न लागिपर्, र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न लागिपर्। यी कुराहरू मौखिक रूपमा स्विकार्नु मात्र पर्याप्त हुँदैन, र केवल कुनै निश्‍चित मनोवृत्ति अँगाल्नाले तैँले सत्यता अभ्यास गर्दै छस् भनेर अर्थ्याउँदैन। त्यसमा इमानदार व्यक्ति बन्‍नुको वास्तविकता कहाँ छ? कुनै व्यावहारिक कार्यबिना केवल नाराहरू फलाक्‍नु काफी हुँदैन। जब परमेश्‍वरले व्यक्तिहरूलाई जाँच्नुहुन्छ, तब उहाँले तिनीहरूको हृदय मात्र होइन, तिनीहरूको कार्य, व्यवहार र अभ्याससमेत जाँच्‍नुहुन्छ। यदि तँ आफू इमानदार व्यक्ति बन्‍न चाहन्छु भनेर दाबी गर्छस् तर कुनै कुरा आइपर्दा तँ अझै पनि ढाँट्न र धोका दिन सक्छस् भने, के यो इमानदार व्यक्तिको व्यवहार हो र? अहँ, यो इमानदार व्यक्तिको व्यवहार होइन; यो त एउटा कुरा बोल्‍नु र अर्कै आशय राख्‍नु हो। यसमा तैँले एउटा कुरा बोल्छस् तर काम अर्कै गर्छस्, र चिप्लो बोल्दै अरूलाई धोका दिन्छस् अनि पवित्रतापूर्णव्यवहार गर्छस्। तँ ती फरिसीहरूजस्तै छस्, जो मानिसहरूलाई धर्मशास्‍त्र अर्थ्याउँदा जुनसुकै पृष्ठहरूबाट कण्ठस्थ पाठ गर्न सक्थे तर आफूमाथि कुनै कुरा आइपर्दा धर्मशास्‍त्रअनुसार अभ्यास गर्न सक्दैनथे। तिनीहरू निरन्तर हैसियतका लाभहरूप्रतिको चाहनाद्वारा अभिप्रेरित हुन्थे, र आफ्नो प्रतिष्ठा, लाभ र हैसियत त्याग्‍न अनिच्छुक थिए। यसरी फरिसीहरू पाखण्डी थिए। तिनीहरू सही मार्गमा हिँडेनन्, तिनीहरूको मार्ग सही थिएन, र तिनीहरूजस्तालाई परमेश्‍वर घृणा गर्नुहुन्छ। के त्यस्ता व्यक्तिहरूलाई अरूले भरोसा गर्न सक्छन्? (सक्दैनन्।) के तिमीहरूलाई थाहा छ, अहिले परमेश्वरले तिमीहरूलाई कति भरोसा गर्नुहुन्छ? के तिमीहरूले परमेश्‍वरको भरोसा प्राप्त गरेका छौ? (छैनौँ।) के तिमीहरूले अरूहरूको भरोसा जितेका छौ? (छैनौँ।) यदि तिमीहरूले परमेश्‍वरको अनि अरू मानिसहरूको भरोसा प्राप्त गरेका छैनौ भने, के तिमीहरू इज्जतसाथ जिइरहेका छौ त? (छैनौँ।) जीवन जिउने कस्तो टीठलाग्दो तरिका! मान्छेको सबैभन्दा गहिरो व्यथा भनेको इज्जतविना जिउनु अनि अरू मानिसहरू र परमेश्‍वरको भरोसा जित्‍न नसक्‍नु हो। यदि कसैले तँलाई “अरूले तपाईंको बारेमा के सोच्छन्? के तिनीहरूले तपाईंलाई भरोसा गर्छन्? यदि तिनीहरूले तपाईंलाई कुनै काम सुम्पे भने, के तिनीहरू, तपाईंले त्यो राम्रोसित गर्नुहुनेछ भनेर विश्‍वास गर्छन् त?” भनेर सोध्यो भने, तँलाई आफूमाथि कसैले पनि त्यो स्तरको भरोसा राख्दैन भन्‍ने लाग्छ होला। यदि तँ आफूसित इमानदार हृदय भएको विश्‍वास गर्छस् तर मानिसहरूले अझै पनि तँमाथि भरोसा गर्दैनन् भने, यसले तेरो इमानदारीतामा अझै पनि कमी र अशुद्धता छ भन्‍ने इङ्गित गर्छ। यदि अरूले तेरो इमानदारीता देख्‍न सक्दैनन् भने, के भरोसानिर्मित हुन्छ त? आफ्नो इमानदारीतामा विश्‍वास गर्नु मात्र काफी हुँदैन; तैँले अरूले देख्‍ने गरी आफ्नो इमानदारीता अभ्यास र प्रदर्शन गर्नैपर्छ। यदि कसैले पनि तँलाई भरोसा गर्दैन भने, तँ पक्कै पनि इमानदार व्यक्ति होइनस्। अरूहरूले तँमा इमानदारीता नभएको छर्लङ्गै देख्‍न सक्छन् भन्‍ने कुरा विचार गर्दा, र परमेश्‍वरले कुनै पनि मान्छेले भन्दा सय वा हजारगुणा बढी स्पष्ट रूपले मानिसहरूको हृदयको गहनतम भागको जाँच गर्नुहुन्छ भन्‍ने कुरा विचार गर्दा—के तँ परमेश्‍वरले तँलाई भरोसा गर्नुहुनेछ भनेर साँच्‍चै विश्‍वास गर्छस्? यदि तँमाथि परमेश्वरको भरोसा नभएको कारण उहाँले तँलाई अन्याय गर्नुभयो भन्‍ने अनुभूति गर्ने अवस्थामा पुगिस् भने, तैँले आत्मचिन्तन गर्नुपर्छ, अनि आफ्नो इमानदरीताको हद र गहिराइ मूल्याङ्कन गर्नुपर्छ। तैँले यसरी चिन्तन गर्नुपर्छः “परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइ जाँच्नुहुन्छ, र उहाँलाई मैले के सोच्छु भनेर थाहा हुनुपर्छ। यदि मैले आफ्नो व्यवहारको आधारमा आफ्नो मूल्याङ्कन गर्ने हो भने, म आफै पनि आफूलाई उच्‍च मूल्याङ्कन गर्दिनथेँ। त्यसैले, परमेश्‍वरले मलाई भरोसा नगर्नु सामान्य कुरा हो।” यदि तैँले परमेश्‍वर वा अरू मानिसहरूको भरोसा जितेको छैनस् भने, तेरो कार्यदिशा के हुनुपर्छ? तैँले जस्तोसुकै चुनौतीहरू आइपरे पनि इमानदार व्यक्ति बन्‍ने सत्यतामा प्रवेश गर्नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तँ मुक्ति प्राप्त गर्न असक्षम हुनेछस्।

परमेश्वरले इमानदार हुनुपर्छ भनेर तोक्‍नुभएको मापदण्ड अत्यन्तै महत्त्वपूर्ण छ। यदि तैँले इमानदारीता अभ्यास गर्ने सिलसिलामा कैयौँ असफलताहरू भोगिस्, र यसो गर्नु तँलाई अत्यन्तै कठिन लाग्यो भने, तैँले के गर्नुपर्छ? के तैँले नकारात्मक बनेर लुरुक्‍क पर्दै पछाडि फर्कनुपर्छ र सत्यता अभ्यास त्याग्नुपर्छ? यो कुरा व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने कुराको स्पष्ट सङ्केत हो। केही निश्‍चित अवधिसम्म इमानदारीता अभ्यास गरेपछि, केही व्यक्तिहरू यस्तो सोच्छन्, “इमानदार बन्‍न एकदमै गाह्रो छ—यसबाट मेरो अभिमान, गर्व र प्रतिष्ठामा पर्ने हानि म सहनै सक्दिनँ!” फलस्वरूप, तिनीहरू उप्रान्त इमानदार बन्‍न चाहँदैनन्। वास्तवमा, इमानदार व्यक्ति बन्‍नुको चुनौती नै यहीँनेर छ, र धेरैजसो व्यक्तिहरूले आफूलाई यही बिन्दुमा अल्झिएको र यसलाई अनुभव गर्न असक्षम रहेको पाउँछन्। त्यसोभए, इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नको लागि के कुरा चाहिन्छ त? सबैभन्दा पहिला, व्यक्तिले सत्यतालाई प्रेम गर्नुपर्छ। ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति बन्‍नुपर्छ—यो कुरो निश्‍चित छ। कतिपय मानिसहरूले वर्षौँसम्म इमानदारीता अभ्यास गर्ने अनुभव गरेर साँच्चिकै केही नतिजाहरू हासिल गर्छन्। तिनीहरूले बिस्तारै आफ्ना झूट र छलहरू कम गर्दै लान्छन्, र तिनीहरू वास्तवमै आधारभूत रूपमा इमानदार मानिसहरू बन्छन्। के तिनीहरूको इमानदारीता अभ्यास गर्ने अनुभवदौरान तिनीहरूले बाटोमा कुनै कठिनाइ वा कष्ट नभोगेका हुन सक्छन्? तिनीहरूले पक्कै पनि निकै कष्ट भोगेका छन्। तर तिनीहरू सत्यतालाई प्रेम गर्ने भएकाले, तिनीहरूले इमानदारीता अभ्यास गर्नहेतु कष्ट भोग्‍न, सत्य बोल्नमा र व्यावहारिक कार्यहरू गर्नमा अडिग रहन, इमानदार मान्छे बन्‍न, अनि अन्ततः परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सकेका हुन्। इमानदार मान्छे बन्‍नको लागि, व्यक्तिले सत्यतालाई प्रेम गर्नुपर्छ र ऊसित परमेश्‍वरमा समर्पित हृदय हुनुपर्छ। यी दुई तत्‍वहरू सबैभन्दा महत्त्वपूर्ण हुन्छन्। सत्यता प्रेम गर्ने सबैमा परमेश्वरलाई प्रेम गर्ने हृदय हुन्छ। परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई सत्यता अभ्यास गर्न निकै सजिलो हुन्छ, र तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न जुनसुकै प्रकारको कष्ट पनि सहन सक्छन्। यदि कुनै व्यक्तिसित परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, जब उसको सत्यता अभ्यासमा अपमान वा अड्चन र असफलताहरू आइलाग्छन्, तब उसले परमेश्‍वरलाई सन्तुष्ट पार्न, र परमेश्‍वर खुसी हुनुहुञ्जेल, त्यो अपमान र कष्ट सहन सक्‍नेछ। तसर्थ, ऊ सत्यता अभ्यास गर्न सक्षम हुन्छ। सत्यताको कुनै पनि पक्ष अभ्यास गर्ने कार्यमा अवश्यै केही निश्चित हदको कठिनाइ आउँछ, अनि इमानदार व्यक्ति बन्‍ने कार्य त त्योभन्दा पनि मुस्किल छ। सबैभन्दा ठूलो कठिनाइ भनेको व्यक्तिका भ्रष्ट स्वभावहरूले ल्याउने अड्चन हो। सबै मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन् र तिनीहरू शैतानी दर्शनहरूअनुसार जिउँछन्। उदाहरणको लागि “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” वा “झूट नबोली कुनै पनि महान्‌ काम सम्पन्‍न गर्न सकिँदैन” भन्‍ने भनाइहरूलाई लिऔँ। यी भनाइहरू शैतानी दर्शन र भ्रष्ट स्वभावका उदाहरणहरू हुन्। मानिसहरूले काम पूरा गर्न, व्यक्तिगत फाइदाहरू प्राप्त गर्न, र आफ्ना लक्ष्यहरू हासिल गर्न झूटको सहारा लिन्छन्। जब व्यक्तिमा यसप्रकारको भ्रष्ट स्वभाव हुन्छ, तब उसलाई इमानदार व्यक्ति बन्‍न त्यति सजिलो हुँदैन। उसले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमाथि भर पर्नुपर्छ, अनि बिस्तारै देहविरुद्ध विद्रोह गर्दै जान, आफ्ना व्यक्तिगत स्वार्थहरू त्याग्न, र आफ्नो आडम्बर र घमण्ड फाल्‍न सक्षम हुनको लागि उसले बारम्बार आत्मचिन्तन गर्नु र आफूलाई चिन्‍नुपर्छ। यसको साथै, व्यक्तिले सत्य बोल्न सक्‍ने र झूट बोल्‍नबाट आफूलाई रोक्‍न सक्‍ने इमानदार व्यक्ति बन्नुअघि विभिन्न प्रकारका गालीबेइज्‍जती र आलोचनाहरू सहनुपर्छ। व्यक्तिले इमानदार बन्‍ने अभ्यास गर्दाको अवधिमा, कैयौँ असफलताहरू र आफ्नो भ्रष्ट स्वभाव प्रकट हुने क्षणहरू सामना गर्नु अपरिहार्य कुरा हो। व्यक्तिका शब्द र सोचहरू मेल नखाने कति समयहरू आउन सक्छन् वा ढोंग र छल गर्ने क्षणहरू देखिन सक्छन्। तथापि, तँमाथि जे-जस्ता कुराहरू आइपरे पनि, यदि तँ सत्य बोल्‍न र इमानदार व्यक्ति बन्‍न चाहन्छस् भने, तँ आफ्नो घमण्ड र आडम्बर त्याग्न सक्षम हुनुपर्छ। जब तैँले कुनै कुरा बुझ्दैनस्, त्यो बुझिनँ भन्; जब तँ कुनै कुराबारे स्पष्ट हुँदैनस्, त्यो स्पष्ट भएन भन्। अरूले तँलाई नीच नजरले हेर्लान् वा कम सोच्लान् भनेर नडरा। यसरी निरन्तर हृदयबाटै कुरा गर्दा सत्य बोल्दा, तैँले हृदयमा आनन्द, शान्ति अनि स्वतन्त्रता र आजाद भएको अनुभूत गर्नेछस्, अनि आडम्बर र घमण्डले उप्रान्त ततँलाई बन्धनमा पार्नेछैन। तैँले जोसुकैसित अन्तर्क्रिया गरे पनि, यदि तँ आफूले साँचो रूपमा जे सोच्छस् त्यो व्यक्त गर्न सक्छस् भने, र अरूहरूको सामुन्‍ने आफ्नो हृदय खोल्न र आफूले नजानेको कुरा जानेको ढोंग नगर्न सक्छस् भने, त्यो इमानदार मनोवृत्ति हो। कहिलेकाहीँ, मानिसहरूले तँलाई नीच मान्न सक्छन् र तैँले सधैँ सत्य बोल्नेभएकोले तँलाई मूर्ख भन्‍न सक्छन्। त्यस्तो अवस्थामा तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “मलाई सबैले मूर्ख भने पनि, म इमानदार व्यक्ति बन्‍ने, तर छली व्यक्ति नबन्‍ने सङ्कल्प गर्छु। म साँचोसाँचो र तथ्यअनुसार बोल्नेछु। म घिनलाग्दो, भ्रष्ट र परमेश्‍वरसामु बेकार भए पनि, अझै पनि ढोंग नगरी वा कुनै भेष नबदली सत्य नै बोल्नेछु।” यदि तँ यसरी बोल्छस् भने, तेरो हृदय स्थिर र शान्त हुनेछ। इमानदार व्यक्ति बन्‍न, तैँले आफ्नो आडम्बर र घमण्ड त्याग्‍नुपर्छ, अनि सत्य बोल्न र आफ्ना सच्‍चा भावनाहरू व्यक्त गर्न, तैँले अरूले तेरो उपहास र अवहेलना गर्लान् कि भनेर डर मान्‍नु हुँदैन। यदि अरूले तँलाई मूर्ख झैँ व्यवहार गरे नै भने पनि, तैँले बहस गर्ने वा आफ्नो प्रतिरक्षा गर्ने गर्नु हुँदैन। यदि तँ यसरी सत्यता अभ्यास गर्न सक्छस् भने, इमानदार व्यक्ति बन्‍न सक्छस्। यदि तँ आफ्ना दैहिक प्राथमिकताहरू र आफ्नो आडम्बर र घमण्ड त्याग्न सक्दैनस् भने, र यदि तँ आफूले नजानेको कुरा पनि जानेको नाटक गर्दै र आफ्नो आडम्बर र घमण्डको खातिर जिउँदै, सधैँ अरूको अनुमोदन प्राप्त गर्न खोज्छस् भने, तँ इमानदार व्यक्ति बन्‍न सक्दैनस्—यो एक व्यावहारिक कठिनाइ हो। यदि तेरो हृदय सधैँ आडम्बर र घमण्डले बन्धित हुन्छ भने, तैँले झूट बोल्‍ने र देखावटी रूप धारण गर्न सम्भावना धेरै हुन्छ। यसको साथै, अरूले तँलाई तुच्छ भनेर भन्दा वा तेरो साँचो रूप खुलासा गर्दा, त्यो स्विकार्न तँलाई मुस्किल हुनेछ, र त्यो बेला तँलाई आफूले एकदमै ठूलो बेइज्‍जती भोगेको अनुभूति हुनेछ—तेरो अनुहार रातोपिरो हुनेछ, तेर हृदयको धड्कन बढ्नेछ, अनि तँ बेचैन र अशान्त महसुस गर्नेछस्। यो समस्या समाधान गर्न, तैँले केही थप पीडा सहनुपर्ने र केही थप शोधनहरू भोग्‍नुपर्ने हुन्छ। तैँले यो समस्याको जड कहाँनेर छ भनेर बुझ्नुपर्ने हुन्छ, र एकपटक यी मामिलाहरूको भित्री वास्तविकता बुझिसकेपछि, तँ आफ्ना केही पीडा घटाउन सक्षम हुनेछस्। जब तैँले यी भ्रष्ट स्वभावहरू पूर्ण रूपमा बुझेको हुन्छस् र जब तँ आफ्नो आडम्बर र घमण्ड त्याग्न सक्षम हुन्छस्, तब तँलाई इमानदार व्यक्ति बन्‍न झन् सजिलो हुनेछ। आफूले सत्य बोल्दा र आफ्नो मनको कुरा खोल्दा, अरूले खिल्ली उडाए भने पनि, तैँले नराम्रो मान्‍नेछैनस्, र अरूले तँलाई जे-जसरी मूल्याङ्कन र व्यवहार गरे पनि, तँ त्यो सहन र त्यसप्रति सही प्रतिक्रिया जनाउन सक्षम हुनेछस्। त्यसपछि तँ कष्टबाट पूरै आजाद हुनेछस, र तेरो हृदय पनि सधैँ शान्त र हर्षित हुनेछ, अनि तैँले स्वतन्त्रता र स्वाधीनता हासिल गर्नेछस्। यसरी, तैँले भ्रष्टतालाई फ्याँक्‍नेछस्, अनि मानव स्वरूपमा जिउनेछस्।

मानिसहरूले आफ्नो दैनिक जीवनमा प्राय सधैँ व्यर्थका कुराहरू, झूटहरू अनि अज्ञानी, मूर्ख र प्रतिरक्षात्मक कुराहरू बोलिरहन्छन्। यीमध्ये धेरैजसो कुराहरू आफ्नै आडम्बर र घमण्डको खातिर र आफ्नै अहम्‌ सन्तुष्ट पार्न गरिन्छ। यस्ता गलत कुराहरू बोल्दा तिनीहरूका भ्रष्ट स्वभावहरू खुलासा हुन्छन्। यदि तैँले यी भ्रष्ट तत्‍वहरू सुल्झाइस् भने, तेरो हृदय शुद्ध हुनेथ्यो, अनि तँ बिस्तारै झन् शुद्ध र झन् इमानदार हुँदै जानेथिस्। वास्तवमा, मानिसहरू सबैलाई आफूले किन झूट बोल्छु भनेर थाहा हुन्छ। तिनीहरूले व्यक्तिगत लाभ र घमण्डको खातिर वा आडम्बर र हैसियतको लागि अरूसित प्रतिस्पर्धा गर्न खोज्छन्, र आफूलाई अर्कै व्यक्तित्‍वको रूपमा प्रस्तुत गर्छन्। तर तिनीहरूका झूटहरूलाई अन्त्यमा अरूले प्रकट र खुलासा गरिदिन्छन्, अनि तिनीहरूले आफ्नो इज्‍जतका साथै आफ्नो सम्मान र चरित्र पनि गुमाउँछन्। यो सबै झूटको अत्यधिक मात्राले गराएको हो। तेरा झूटहरू अनगिन्ती भइसकेका छन्। तैँले बोल्ने हरेक शब्द अशुद्ध र बेइमानीपूर्ण छ, तेरो एउटै शब्दलाई पनि साँचो वा इमानदार मान्‍न सकिँदैन। यदि तैँले झूट बोल्दा इज्‍जत गुमाएजस्तो अनुभूति गर्दैनस् नै भने पनि, भित्र कहीँ अन्तरकुन्तरमा तँ आफू कलङ्कित भएको महसुस गर्छस्। तेरो विवेकले तँलाई दोष दिन्छ, र तैँले आफ्नो बारेमा राम्रो विचार राख्दैनस्, र यस्तो सोच्छस्, “म किन यस्तो दयनीय जीवन जिइरहेको छु? के सत्य बोल्‍नु यति गाह्रो हुन्छ? के मैले आफ्नो घमण्डको खातिर झूटको सहारा लिनैपर्ने हो? किन मेरो जीवन यति थकाइलाग्दो छ?” तैँले थकाइलाग्दो जीवन जिउनैपर्दैन। यदि तैँले इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्न सक्छस् भने, तँ तनावरहित, स्वतन्त्र, र आजाद जीवन जिउन सक्षम हुनेछस्। तर, तैँले झूट बोलेर आफ्नो घमण्ड र आडम्बर कायम गरिरहने विकल्प रोजेको छस्। फलस्वरूप, तँ थकाइलाग्दो र दयनीय जीवन जिउँछस्, र त्यो तेरो स्व-सिर्जित अवस्था हो। व्यक्तिले झूट बोलेर घमण्ड महसुस गर्न सक्छ, तर त्यो घमण्डको अनुभूति भनेको के हो? त्यो बस एक खोक्रो कुरा हो, र त्यो पूर्णतया व्यर्थ कुरा हो। झूट बोल्नु भनेको आफ्नो चरित्र र इज्जत बेच्‍नु हो। यसले व्यक्तिको इज्जत र चरित्र लैजान्छ, र यसले परमेश्‍वरलाई तँप्रति अप्रसन्‍न बनाउनेछ र उहाँले यसलाई घृणा गर्नुहुनेछ। के यो सार्थक छ त? छैन। के यो सही मार्ग हो त? अहँ, यो सही मार्ग होइन। बारम्बार झूट बोल्नेहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्; तिनीहरू शैतानको सत्ताअन्तर्गत जिउँछन्। तिनीहरू ज्योतिमा जिउँदैनन्, न त तिनीहरू परमेश्‍वरको उपस्थितिमै जिउँछन्। तँ निरन्तर कसरी झूट बोल्ने भनेर सोच्छस्, र झूट बोलिसकेपछि, तैँले त्यो झूट कसरी ढाकछोप गर्ने भनेर सोच्‍नुपर्छ। अनि जब तैँले त्यो झूट राम्रोसित ढाकछोप गर्दैनस् र त्यो खुलासा भइदिन्छ, तब तैँले आफ्नो दिमाग खियाएर विराधाभासहरू हटाउन र आफ्नो कुरा पत्यारिलो बनाउन जोर लगाउनुपर्ने हुन्छ। के यसरी जिउनु थकाइलाग्दो हुँदैन र? अति थकाइलाग्दो हुन्छ। के यसो गर्नु सार्थक छ? अहँ, यो सार्थक छैन। झूट बोल्नु र त्यसपछि ढाकछोप गर्न दिमाग खियाउनु, र त्यो सब घमण्ड, आडम्बर, र हैसियतको खातिर गर्नु, यसमा के नै अर्थ छ र? अन्त्यमा, तैँले मनन गर्छस् र मनमनै सोच्छस्, “यसको के अर्थ छ? झूट बोल्‍नु र त्यसपछि ढाकछोगर्नुपर्दा एकदमै थकाइलाग्दो हुन्छ। मैले यसरी व्यवहार गरेर काम चल्दैन; मलाई योभन्दा सजिलो त इमानदार व्यक्ति बन्नु हुन्थ्यो।” तँ इमानदार व्यक्ति बन्‍ने इच्छा गर्छस्, तर तँ आफ्नो घमण्ड, आडम्बर र व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनस्। त्यसकारण, तैँले यी कुराहरू कायमै राखिराख्‍न झूटको साहरा लिन मात्र सक्छस्। यदि तँ सत्यता प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्नको निम्ति विभिन्‍न कठिनाइहरू सहनेछस्। तैँले यदि यसको लागि आफनो प्रतिष्ठा र हैसियत त्याग्‍नुपर्‍यो भने पनि र अरूको गिल्ला र अपमान सहनुपर्‍यो भने पनि, तैँले नराम्रो मान्‍नेछैनस्—जबसम्म तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस्, तबसम्म त्यो काफी नै हुनेछ। सत्यता प्रेम गर्ने मानिसहरूले सत्यता अभ्यास गर्न र इमानदार हुन रोज्छन्। यो सही मार्ग हो र यो परमेश्‍वरद्वारा आशिषित हुन्छ। यदि व्यक्तिले सत्यता प्रेम गर्दैन भने, उसले के रोज्छ? उसले आफ्नो प्रतिष्ठा, हैसियत, इज्जत र चरित्र कायम राखिराख्‍नको लागि झूट प्रयोग गर्न रोज्छ। यसको लागि बरू तिनीहरू छली हुन र परमेश्‍वरद्वारा तिरस्कार र इन्कार गरिन रुचाउँछन्। त्यस्ता मानिसहरूले सत्यता र परमेश्‍वरलाई अस्वीकार गर्छन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियत रोज्छन्; तिनीहरू छली बन्‍न चाहन्छन्। तिनीहरू परमेश्‍वर खुसी बन्‍नुहुन्छ कि हुन्‍न वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्‍न भनेर वास्ता गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्वरबाट अझै पनि मुक्ति पाउन सक्छन् त? निश्‍चय नै सक्दैनन्, किनकि तिनीहरूले गलत मार्ग रोजेका छन्। तिनीहरू ढाँटेर अनि ठगेर मात्र जिउन सक्छन्; तिनीहरू हरदिन झूट बोल्ने र त्यसलाई ढाकछोप गर्ने, अनि आफ्नो प्रतिरक्षा गर्न दिमाग खियाउने पीडापूर्ण जीवन जिउन मात्र सक्छन्। यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राखिराख्‍न मदत गर्न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो इज्जत र चरित्र कायम राखिराख्‍न नसक्‍ने मात्र होइन, त्योभन्‍दा पनि गम्भीर कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाउनेछस्। यदि तँ त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राखिराख्‍न सक्षम भइस् भने पनि, तैँले सत्यता त्याग गरेको र परमेश्‍वरलाई धोका दिएको हुनेछस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुनेछस्, र त्यो सबैभन्दा ठूलो क्षति र जीवनभरको अफसोस हो। यो कुरा छली मानिसहरूले कहिल्यै बुझ्नेछैनन्।

अहिले, के तिमीहरूसित इमान्दार बन्ने कुनै मार्ग छ? तिमीहरूले अझ धेरै झूट र छलहरू पत्ता लगाउन र आफ्नो छली स्वभाव पहिचान गर्नको लागि आफ्नो जीवनका हरेक बोली र कार्य जाँच्‍नुपर्छ। त्यसपछि, तिमीहरूले इमान्दार मानिसहरूले कसरी अभ्यास र अनुभव गर्छन् र कसरी पाठहरू सिक्छन् भन्‍ने कुरा हेर्नुपर्छ। तिमीहरूले सबै कुरामा परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्ने अभ्यास पनि गर्नुपर्छ, अनि प्रार्थना र उहाँसित सङ्गति गर्न परमेश्‍वरसामु आउनुपर्छ। मानौँ, तैँले भर्खरै झूट बोलिस् रे: र तँलाई तुरुन्तै यस्तो महसुस भयो रे, “मैले भर्खरै बोलेका केही कुराहरू सही थिएनन्—मैले यो कुरा तुरुन्तै स्विकार्नुपर्छ र सच्याउनुपर्छ, र सबैलाई मैले भर्खरै झूट बोलेँ भनेर थाहा दिनुपर्छ।” तैँले त्यहीँनेर र त्यति नै बेला आफूलाई सच्याइस् रे। यदि तैँले यसरी नै सधैँ आफूलाई सच्याउँछस् भने, र यदि यसरी अभ्यास गर्नु तेरो बानी नै बन्छ भने, तैँले जबजब झूट बोलेर त्यसलाई सच्याउँदैनस्, तबतब तँलाई अप्ठ्यारो महसुस हुनेछ र परमेश्‍वरलाई तँलाई आफ्नो ख्याल राख्‍न मद्दत गर्नुहुनेछ। केही समयसम्‍म यसरी अभ्यास र अनुभव गरेपछि, तैँले कम झूट बोल्‍न थाल्नेछस्, र तेरो बोलीवचनमा अशुद्धताहरू कमभन्दा कम हुँदै जानेछन्, र तेरा कार्यहरू पनि कमभन्दा कम दूषित र बढीभन्दा बढी शुद्ध हुँदै जानेछन्—र यो कुरामा तेरो शुद्धीकरण भएको हुनेछ। इमान्दार बन्‍ने मार्ग यही हो। तैँले अलिअलि गर्दै क्रमिक रूपमा बदलिँदै जानुपर्छ। तँ जतिजति बदलिँदै जान्छस्, त्यतित्यति नै राम्रो हुँदै जानेछस्; र तँ जतिजति बदलिँदै जान्छस्, तेरा बोलीवचनहरू त्यतित्यति नै इमान्दार हुँदै जानेछन् र तँ त्यतित्यति नै झूट बोल्न छोड्नेछस्—जुन सही स्थिति हो। सबै भ्रष्ट मानिसहरूमा त्यस्तै किसिमको समस्या हुन्छ: तिनीहरू सबै नै झूट बोल्ने क्षमता लिएर जन्मेका हुन्छन्, र तिनीहरूलाई आफ्नो अन्तस्करणमा भएका सोचहरू बताउन वा सत्य बोल्‍न एकदमै गाह्रो लाग्छ। यदि तिनीहरूलाई सत्य बोल्न मन लागेछ नै भने पनि, तिनीहरू त्यसो गर्न सक्दै सक्दैनन्। मानिसहरू सबैले इमान्दार हुनु बेवकुफी र मूर्खता हो भन्‍ने विश्‍वास गर्छन्—तिनीहरूलाई लाग्छ, केवल उल्लुहरूले मात्र खुलेर कुरा गर्छन्, र यदि कुनै व्यक्तिले अरू मानिसहरूसित पूर्णत: पारदर्शी भएर सधैँ आफ्नो मनभित्र जे छ त्यही बोल्ने हो भने, उसले हानि मात्र बेहोर्ने सम्भावना अधिक हुन्छ, र अरूहरूले त्यस्तो मान्छेसित अन्तरक्रिया गर्न चाहनेछैनन्, बरु तिनीहरूले उसलाई घृणा गर्नेछन्। के तिमीहरू पनि त्यस्तो खालको व्यक्तिलाई घृणा गर्नेछौ? के तिमीहरूसित पनि यस्तै दृष्टिकोण छ? (परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, म त्यस्ता व्यक्तिहरूलाई घृणा गर्थे, तर अब म तिनीहरूको सराहना गर्छु, र मलाई सरल तथा इमान्दार जीवन जिउनु उत्तम लाग्छ। यसरी जीवन जिउँदा, व्यक्तिले आफ्नो हृदयमा कम मात्र बोझ राख्छ। अन्यथा, मैले कसैसित झूट बोल्ने हो भने, त्यसलाई ढाकछोप गर्नुपर्छ, तर जतिजति त्यो झूट ढाक्यो, झन्झन् ठूलो प्वाल पर्दै जान्छ र अन्त्यमा त्यो झूट पर्दाफास भइहाल्छ।) झूट बोल्नु र छली बन्‍नु दुवै नै मूर्ख व्यवहारहरू हुन्, र सत्य बोल्नु र हृदयदेखि बोल्‍नु कैयौँ गुणा बढी बुद्धिमानी हुनु हो। यो कुराको बुझाइ अहिले सबै मानिसहरूमा छ—यदि कसैलाई अझै पनि मानिसहरूलाई झूट बोल्नु र धोका दिनु भनेको क्षमता हुनु र चतुर बन्‍नुको सङ्केत हो भन्‍ने लाग्छ भने, त्यस्ता व्यक्तिहरू अत्यन्तै मूर्ख, र जिद्दी अज्ञानी हुन्, र तिनीहरूमा अलिकति पनि सत्यता हुँदैन। उमेरमा पाका हँदै गएर पनि अझै छली मानिसहरू नै सबैभन्दा बाठा हुन् र सबै इमान्दार मानिसहरू मूर्ख हुन् भनेर सोच्‍ने व्यक्तिहरू कुनै पनि कुराको सार स्पष्ट देख्‍न नसक्ने बेतुक मानिसहरू हुन्। हरेक व्यक्तिले आफ्नै जीवन जिउँछ—कहरदिन इमान्दार हुन प्रयास गर्ने केही मानिसहरू खुसी र तनावरहित हुन्छन्, र तिनीहरूले आफ्नो हृदयमा स्वतन्त्रता र मुक्तपन अनुभूत गर्छन्। तिनीहरूमा केही कुराको पनि कमी हुँदैन, र तिनीहरूले आरामदायी जीवन बिताउँछन्। यस्ता खालका मानिसहरूसित हरकोही अन्तरक्रिया गर्न चाहन्छ, र तिनीहरू वास्तवमै हरकसैको ईर्ष्याको विषय बन्छन्—यस्ता मानिसहरूले जीवनको अर्थ बुझेका हुन्छन्। कतिपय मूर्ख मानिसहरू यस्तो सोच्छन्: “त्यो मान्छे सधैँ सत्य बोल्छ, र उसले निराकरण भोग्यो, होइन र? त्यो त उसले वास्तवमै पाउनु नै थियो। मलाई हेर्नूस् न—म त आफ्ना अभिप्रायहरू छातीमै लुकाउँछु, र म ती कुराबारे बोल्ने वा प्रकट गर्ने गर्दिनँ, त्यसैले त मैले निराकरण भोगेको, वा कुनै क्षति बेहोरेको, वा आफैलाई सबैसामु लज्जित पारेको छैनँ। मेरो त गज्जब नै चलिरहेको छ! आफ्ना अभिप्रायहरू लुकाउने, कसैसित पनि इमान्दारीसाथ कुरा नगर्ने, र आफूले के सोच्दै छु भन्‍नेबारे अरूलाई केही थाहा पाउन नदिने मानिसहरू एकदमै उच्‍चकोटिका र अत्यन्तै बुद्धिमान्‌ हुन्।” तर हरेक व्यक्तिले यी मानिसहरू सबैभन्दा छली र कपटी हुन् भनेर देख्‍न सक्छन्; तिनीहरूदेखि अरू मानिसहरू सधैँ सतर्क रहने र दुरी कायम राख्‍ने गर्छन्। छली मानिसहरूसित कसैले पनि मित्रता गाँस्न चाहँदैन। के यी कुराहरू तथ्य होइनन् र? यदि कुनै व्यक्ति निष्कपट छ र ऊ सधैँ सत्य बोल्छ भने, र यदि उसले आफ्नो हृदय अरूसामु उदाङ्गो पार्न सक्छ र आफूभित्र अरू मानिसहरूलाई हानि गर्ने कुनै अभिप्राय राख्‍दैन भने, कहिलेकाहीँ उसले अज्ञानी देखिँदै मूर्ख व्यवहार गरे पनि, उसलाई सामान्तया असल व्यक्ति नै भनेर स्विकारिनेछ, र सबैजना ऊसित अन्तरक्रिया गर्न एकदमै इच्छुक नै हुनेछन्। इमान्दार र असल मानिसहरूसित अन्तरक्रिया गर्दा मानिसहरूले फाइदा र सुरक्षाको अनुभूति गर्छन् भन्‍ने कुरा आम तवरमै स्विकारिने तथ्य हो। इमान्दार र सत्यता पछ्याउने परमेश्‍वरका विश्‍वासीहरूहरूलाई मण्डलीका अरू मानिसहरूले मात्र होइन, परमेश्‍वर स्वयम्‌ले पनि मन पराउनुहुन्छ। तिनीहरूले सत्यता प्राप्त गर्नेबित्तिकै, तिनीहरूसित वास्तविक गवाही हुन्छ र तिनीहरू परमेश्‍वरको स्याबासी प्राप्त गर्न सक्षम हुन्छन्—के यसले तिनीहरूलाई सबैभन्दा आशिषित मानिस बनाउँदैन र? अलिअलि सत्यता बुझ्नेहरूले यो कुरा स्पष्टै देख्‍नेछन्। आफूलाई व्यवहारमा ढाल्ने प्रयासमा, तैँले सत्यता धारण गरेको असल र इमान्दार व्यक्ति बन्‍ने प्रयास गर्नुपर्छ; यसरी, तँलाई अरूहरूले मन पराउने मात्र होइन, तँले परमेश्‍वरको आशिष्‌ पनि प्राप्त गर्नेछस्। सांसारिक प्रचलनहरू पछ्याउने व्यक्तिहरूको व्यवहार जति नै राम्रो भए पनि, तिनीहरू अझै पनि असल व्यक्ति हुँदैनन्। यो कुरा नबुझ्‍नेहरू अझै पनि सत्यता बोध गर्न नसक्ने मूर्खहरू हुन्। तर पूर्ण रूपमा सत्यता बोध गर्नेहरूले चाहिँ जीवनमा सही मार्गमा हिँड्न, इमान्दार मानिस बन्‍न, र परमेश्‍वरलाई पछ्याउन रोज्छन्। यी कुराहरू गरेपछि मात्र व्यक्तिले मुक्ति प्राप्त गर्न सक्छ। यस्ता मानिसहरू नै सबैभन्दा बाठा मानिसहरू हुन्।

परमेश्‍वरमा विश्‍वास गर्न र जीवनको साही मार्गमा हिँड्नका लागि, तैँले कम्तीमा पनि मर्यादा र मानव रूपसाथ जिउनुपर्छ, तँ मानिसहरूको भरोसालायक र मानिसहरूले मूल्यवान्‌ ठान्‍ने हुनुपर्छ, र मानिसहरूलाई तेरो चरित्र र निष्ठामा सारतत्व छ, र तैँले आफूले बोलेको हरेक कुरालाई व्यवहारमा लागु गर्छस् र आफ्नो हरेक वचनमा अटल रहन्छस् भन्‍ने अनुभूति हुनुपर्छ। मानिसहरूले तँलाई यसरी मूल्याङ्कन्‌ गर्नुपर्छ: तिनीहरूले तँलाई तैँले निश्‍चय नै आफ्नो बोलीको मान राख्‍छस्, आफूले वाचा गरेको कुरा निश्‍चय नै पूरा गर्छस्, र आफूलाई जिम्‍मा दिइएको कुरा निश्‍चय नै कर्तव्यनिष्ठ भई र सारा हृदयले, अनि आफूलाई काम जिम्‍मा लगाउने व्यक्ति पूर्ण रूपले सन्तुष्ट हुने गरी पूरा गर्छस् भनेर भन्‍नुपर्छ। के यस्तो व्यक्ति वचनको पक्‍का होइन र? के यस्ता मानिसहरू मर्यादासाथ जिउँदैनन् र? (जिउँछन्।) कतिपय व्यक्तिहरू यस्ता हुन्छन्, जसलाई कसैले पनि कुनै काम जिम्‍मा दिने आँट गर्दैन। जब अरूले तिनीहरूलाई काम जिम्‍मा लगाउँछ, त्यो पनि काम जिम्‍मा दिनलायक अर्को उचित व्यक्ति नपाएर, र तिनीहरू एउटै मात्र विकल्प भएर गरिएको हुन्छ, र त्यसपछि पनि तिनीहरूलाई रेखदेख गर्नका लागि कोही न कोही खटाइनैपर्छ। यो कस्तो खालको व्यक्ति हो? के यो मर्यादा भएको व्यक्ति हो? (होइन।) तिनीहरूले बोल्ने हरेक कुराको तैँले विश्‍लेषण र जाँच गर्नुपर्छ, तैँले ती कुराहरूको अनुमान लगाउनुपर्छ, र तैँले तिनीहरूको स्वरशैलीमा ध्यान दिनुपर्छ, र आफूवरपरका मानिसहरूबाट पुष्टि र प्रमाणीकरण खोज्नुपर्छ। जब तिनीहरूले कुनै अभिव्यक्ति दिन्छन् वा कुनै कुराबारे बोल्छन्, तब तिनीहरूको भरोसायोग्यताको तह लगभग शून्य नै हुन्छ। तिनीहरूले बोलिरहेको कुरा अस्तित्वमा हुन सक्छ, तर तिनीहरूले त्यो कुराबारे बढाइचढाइ वा घटाइलुकाइ गरेका हुन सक्छन्, या त त्यो कुरा बिलकुलै अस्तित्वमै नरहेको र तिनीहरूले केवल कुरा बनाइरहेको मात्र हुन सक्छ। अनि, तिनीहरूले किन कुरा बनाउँछन्? किनभने तिनीहरू मानिसहरूलाई छल्न, र मानिसहरूले तिनीहरूलाई मेधावी र सक्षम ठानून् भन्‍ने चाहन्छन्; तिनीहरूको लक्ष्य यही हुन्छ। के अरू मानिसहरूले यस्ता व्यक्तिलाई मन पराउँछन्? (पराउँदैनन्।) यस्तालाई तिनीहरू कति मन नपराउने गर्छन्? मानिसहरू यस्ता व्यक्तिहरूप्रति दिक्‍क मान्छन्, र घिनाउँछन्—र तिनीहरूलाई यस्तासँग भेट नभएको भए बेस हुन्थ्यो भन्‍नेसमेत लाग्‍न सक्छ। यस्ता व्यक्तिहरूसित हुँदा, मानिसहरूले यिनीहरूले बोलेको कुनै पनि कुरा पत्याउने वा गम्भीरतासाथ लिने गर्दैनन्; यिनीहरूले सानोतिनो गफ मात्र गर्छन्, र कुनै बाह्य मामलाहरूबारे यत्तिकै बोल्दै झारा टार्ने काम मात्र गर्छन्। यस्ता व्यक्तिहरूले सत्य बोल्दासमेत, अरू मानिसहरूलाई पत्यार लाग्दैन। यसप्रकारका व्यक्तिहरू पूरै व्यर्थ र तुच्छ हुन्छन्; कसैले पनि यिनीहरूलाई मूल्यवान्‌ ठान्दैनन्। जब कुनै व्यक्तिको व्यवहार यो हदमा पुग्छ, तब के उसमा कुनै मर्यादा हुन्छ र? (हुँदैन।) कसैले पनि उसलाई कुनै कुराको जिम्‍मा दिँदैन, कसैले पनि उसलाई भरोसा गर्दैन, कसैले पनि ऊसामु आफ्नो हृदय उदाङ्गो पार्दैन, र कसैले पनि उसले बोलेको कुरा पत्याउँदैन; अरू मानिसहरूले सुनिदिन्छन् मात्र, तर त्योभन्दा बढी केही गर्दैनन्। जब यस्ता व्यक्तिहरूले “मैले योचोटि चाहिँ सत्य बोल्दै छु” भनेर भन्छन्, तब यिनीहरूले भनेको कुरा सत्य नै हो भने पनि, त्यो कसैले पनि पत्याउँदैन, र त्यसप्रति कसैले पनि ध्यान दिँदैन। जब यिनीहरूले “मैले बोलेका सबै कुराहरू झूटा होइनन्, होइन र?” भनेर भन्छन्, तब मानिसहरूले यस्तो जबाफ दिन्छन्, “म तपाईंले बोलेका कुरा सत्य हुन् कि झूटा भनेर विश्‍लेषण गर्न चासो राख्दिनँ। तपाईंले बोलेको कुरा सुन्‍न थकाइलाग्दो हुन्छ; मैले तपाईंका मनसाय र अभिप्रायहरूको विश्‍लेषण र जाँच गर्नुपर्छ, र यसमा निकै झमेला हुन्छ। त्यस्तो काम गर्दा लाग्ने समय मैले परमेश्‍वरका वचनको कुनै खण्डबारे मनन गर्न वा कुनै भजन गाउन सिक्‍नमा लगाउन सक्छु, र ती कुराहरू गरेर मैले वास्तवमै केही फाइदाहरू प्राप्त गर्न सक्छु। मैले तपाईंसित कुरा गरेर केही पनि प्राप्त गर्न सक्दिनँ। तपाईंले बोलेको एक शब्दमा पनि सत्यता हुँदैन, र म तपाईंसँग कुनै सरोकार राख्न चाहन्‍नँ।” तिनीहरूले यस्तालाई यसरी नै छोडिदिन्छन्। आजभोलि तैँले बारम्बार अविश्‍वासीहरूले यसो भनेको सुन्‍नेछस्, “तपाईं सत्य सुन्‍न चाहनुहुन्छ कि बरु झूट सुन्‍न चाहनुहुन्छ?” कसैले पनि झूट सुन्‍न चाहँदैन। त्यसकारण, सधैँ झूटो बोल्ने र छलकपट गर्नेहरू सबैभन्दा निकृष्ट मानिसहरू हुन्; तिनीहरू व्यर्थका हुन्। कसैले पनि तिनीहरूलाई ध्यान दिन चाहँदैन, कसैले पनि तिनीहरूसित उठबस गर्न मन गर्दैन, झन् तिनीहरूसामु हृदय उदाङ्गो पार्ने वा मित्रता गाँस्ने त कुरै नगरौँ। के त्यस्ता मानिसहरूसित कुनै चरित्र वा मर्यादा हुन्छ र? (हुँदैन।) त्यस्ता मानिसहरूलाई भेट्ने हरेक व्यक्ति तिनीहरूदेखि दिक्‍क हुनेछ; तिनीहरू आफ्नो बोलीवचन, कार्यव्यवहार, चरित्र र मर्यादामा कहीँकतै भरोसालायक हुँदैनन्—त्यस्ता व्यक्तिहरूमा कुनै सारतत्व नै हुँदैन। यदि तिनीहरू मेधावी र प्रतिभावान्‌ हुन्थे भने, के तिनीहरूलाई मानिसहरूले मन पराउँथे र आदर गर्थे? (गर्दैनथे।) त्यसकारण, एकअर्कासित घुलमिल हुनका लागि मानिसहरूमा के हुनुपर्छ? तिनीहरूमा चरित्र, निष्ठा, र मर्यादा हुनुपर्छ, र तिनीहरू अरूले आफूसामु आफ्नो हृदय उदाङ्गो पार्न सक्ने व्यक्ति। मर्यादा भएका सबै मानिसहरूमा अलिअलि व्यक्तित्व हुन्छ, तिनीहरू कहिलेकाहीँ अरूहरूसित राम्ररी घुलमिल हुन सक्दैनन्, तर तिनीहरू इमान्दार हुन्छन्, र तिनीहरूमा कुनै झूटोपन वा छलकपट हुँदैन। अरूहरूले अन्त्यमा तिनीहरूलाई उच्‍च सम्‍मान दिन्छन्, किनकि तिनीहरू सत्यता अभ्यास गर्न सक्छन्, तिनीहरू इमान्दार हुन्छन्, तिनीहरूमा मर्यादा, निष्ठा र चरित्र हुन्छ, तिनीहरूले कहिल्यै पनि अरूबाट फाइदा उठाउँदैनन्, तिनीहरूले समस्यामा परेका मानिसहरूलाई मद्दत गर्छन्, तिनीहरू मानिसहरूसित विवेक र समझसाथ व्यवहार गर्छन्, र तिनीहरूले कहिल्यै पनि अरूबारे हतारमा निर्णय लिँदैनन्। अरू मानिसहरूबारे मूल्याङ्कन्‌ र छलफल गर्दा, तिनीहरूले बोल्ने हरेक कुरा सही हुन्छ, तिनीहरूले आफूलाई थाहा भएको कुरा मात्र बताउँछन् र आफूलाई थाहा नभएको कुराबारे मुख चलाउँदैनन्, तिनीहरूले मिठास थपेर कुरा गर्दैनन् र तिनीहरूका बोलीवचनहरूले प्रमाण वा सन्दर्भको काम गर्न सक्छन्। बोल्दा र काम गर्दा, निष्ठा भएका मानिसहरू तुलनात्मक रूपमा व्यावहारिक र भरोसालायक हुन्छन्। निष्ठा नभएकाहरूलाई कसैले पनि मूल्यवान्‌ ठान्दैन, त्यस्ताले बोल्ने वा गर्ने कुरामा कसैले पनि ध्यान दिँदैन, तिनीहरूका बोली र कार्यहरूलाई कसैले महत्त्वपूर्ण मान्दैन, र कसैले पनि तिनीहरूलाई भरोसा गर्दैन। यस्तो किन हुन्छ भने, तिनीहरूले अत्यन्तै धेरै झूट र अत्यन्तै थोरै इमान्दार शब्दहरू बोल्छन्, र अरूहरूसित अन्तरक्रिया गर्दा वा अरूका लागि काम गर्दा तिनीहरूमा निष्कपटता हुँदैन, तिनीहरूले सबैलाई छल्‍ने र मूर्ख बनाउने प्रयास मात्र गर्छन्, र कसैले पनि तिनीहरूलाई मन पराउँदैन। के तिमीहरूले आफ्नो नजरमा भरोसायोग्य कोही भेट्टाएका छौ? के तिमीहरू आफूलाई अरू मानिसहरूको भरोसालायक ठान्छौ? के अरू मानिसहरूले तिमीहरूलाई भरोसा गर्न सक्छन्? यदि कसैले तँलाई कुनै अर्को व्यक्तिको अवस्थाबारे सोध्छ भने, तैँले तेरो आफ्नै इच्‍छाअनुसार त्यो व्यक्तिको लेखाजोखा र मूल्याङ्कन गर्नु हँदैन, तेरा शब्दहरू वस्तुपरक, सही र तथ्यहरूअनुरूप हुनुपर्छ। तैँले आफूले बुझेका कुराहरूबारे बोल्‍नुपर्छ, र आफूले भित्री तथ्य नबुझेका कुराहरूबारे बोल्नु हुँदैन। तँ त्यो व्यक्तिप्रति न्यायसङ्गत र निष्पक्ष हुनुपर्छ। त्यो जिम्‍मेवार ढङ्गले व्यवहार गर्नु हो। यदि तैँले सतही तहको घटना मात्र अवलोकन गरेको छस् भने, र तैँले भन्‍न चाहेको कुरा त्यस व्यक्तिबारेको तेरो आफ्नै मूल्याङ्कन्‌ मात्र हो भने, तैँले अन्धाधुन्ध रूपमा त्यो व्यक्तिबारे आफ्नो फैसला सुनाउने काम गर्नु हुँदैन, र तैँले त्यो व्यक्तिको आलोचना त गर्नै हुँदैन। तैँले जे भन्छस् त्योभन्दा पहिले “यो बस मेरो आफ्नै मूल्याङ्कन हो” वा “मलाई चाहिँ यस्तो लाग्छ है” भनेर भन्‍नुपर्छ। यसरी, तेरा शब्दहरू तुलनात्मक रूपमा अलि वस्तुगत हुनेछन्, अनि तैँले भनेको कुरा सुनेपछि, त्यो सुन्‍ने व्यक्तिले तेरा शब्दहरूमा रहेको इमान्दारिता र तेरो निष्पक्ष मनोवृत्ति अनुभूत गर्नेछ, र उसले तँलाई भरोसा गर्न सक्‍नेछ। के तिमीहरू यस्तो कुरा हासिल गर्न सक्‍नेमा पक्‍का छौ? (छैनौँ।) यसले तिमीहरू अरूहरूप्रति पर्याप्त रूपमा इमान्दार छैनौ, र तिमीहरूको आफ्नो आचरण अँगाल्ने र कामकाज सम्हाल्‍ने तौरतरिकामा सच्‍चाइ र इमान्दार मनोवृत्ति छैन भन्‍ने प्रमाणित गर्छ। मानौँ, कसैले तँलाई “म तपाईंलाई भरोसा गर्छु: तपाईं त्यो व्यक्तिबारे के सोच्‍नुहुन्छ?” भनेर सोध्छ रे। अनि तैँले “त्यो मान्छे ठिकै छ” भनेर भन्छस्। उसले फेरि सोध्छ, “के तपाईं अझै विस्तृतमा बताउन सक्‍नुहुन्छ?” अनि तैँले भन्छस्, “त्यो व्यक्ति शिष्ट छ, ऊ आफ्नो कर्तव्य निभाउँदा मूल्य चुकाउन इच्छुक हुन्छ, र ऊ मानिसहरूसित राम्ररी घुलमिल हुन्छ।” के यी कुराहरूको कुनै व्यावहारिक प्रमाण छ? के यी भनाइहरू त्यो व्यक्तिको चरित्रको प्रमाण हुन काफी छन्? छैनन्। त्यसोभए, के तँ भरोसायोग्य छस् त? (छैनँ।) यी तिनै भनाइहरूमा कुनै विषयविशेष विवरण समावेश छैन, यी त केवल सबैलाई भनिने, खोक्रा र झाराटारूवा शब्दहरू मात्र हुन्। यदि तैँले भर्खरै त्यो व्यक्तिलाई भटेर उसको रूपरङ्गको आधारमा ऊ ठिकै छ भनेर भनेको थिइस् भने, त्यो सामान्य कुरा हुन्थ्यो होला। तर तँ त्यो व्यक्तिसँग केही समयदेखि नै सम्पर्कमा थिइस्, त्यसैले तैँले त्यो व्यक्तिबारे केही सारगत समस्याहरू पत्ता लगाउन सक्नुपर्थ्यो। मानिसहरूले त्यो व्यक्तिबारे तेरो हृदयमा कस्तो लेखाजोखा र दृष्टिकोण छ भनेर सुन्‍न चाहन्छन्, तर तैँले वास्तविक, वा आलोचनात्मक, वा मूलभूत कुरा केही पनि भन्दैनस्, त्यसकारण मानिसहरूले तँलाई भरोसा गर्नेछैनन्, र तँसँग अबउप्रान्त कुनै अन्तरक्रिया गर्न चाहनेछैनन्।

दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा, यसबाट तैँले फाइदा पाउनका लागि तैँले तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ, र तिनीहरूलाई आफ्नो भित्री मनका कुराहरू बताउनुपर्छ। आफ्नो कर्तव्य निभाउने क्रममा त झन् आफ्नो हृदय उदाङ्गो पार्नु र आफ्नो भित्री मनका कुराहरू बताउनु अझै महत्त्वपूर्ण हुन्छ; तब मात्र तैँले सँगसँगै मिलेर काम गर्नेछस्। तर यदि कसैले तँसामु आफ्नो हृदय उदाङ्गो पार्दैन भने, यदि ऊ सत्यता स्विकार्ने व्यक्ति होइन भने, र यसको साटो यदि ऊ अत्यन्तै कपटी व्यक्ति हो भने, त्यस्तो व्यक्तिसामु आफ्नो हृदय उदाङ्गो पार्नु मूर्खता हुन्छ, र त्यसो गरेमा त्यसबाट सजिलै झमेला पर्न सक्छ। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसित कसरी अन्तरक्रिया गर्ने भन्‍नेबारे तँसित सिद्धान्तहरू हुनुपर्छ; तैँले परमेश्‍वरमा साँचो विश्‍वास गर्ने अनि सत्यता स्विकार्न सक्‍नेहरूसामु मात्र आफ्नो हृदय उदाङ्गो पार्ने र खुलेर कुरा गर्ने गर्नुपर्छ। यदि तैँले दुष्ट मानिस र गैरविश्‍वासीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्छस् भने, तँ मूर्ख र अज्ञानी अनि बुद्धिहीन होस्। तैँले परमेश्‍वरमा साँचो विश्‍वास गर्ने अनि सत्यता स्विकार्न सक्‍ने विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसामु मात्र आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ। ती कपटी, भ्रमित र दुष्ट मानिसहरू र ती गैरविश्‍वासीहरू—सत्यता कति पनि स्वीकार नगरेका मानिसहरू—तिनीहरू कोही पनि विश्‍वासी दाजुभाइ-दिदीबहिनी होइनन्; तैँले जेसुकै गरे पनि तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नु हुँदैन, तिनीहरूसामु हृदय उदाङ्गो पार्नु भनेको दियाबलससामु हृदय उदाङ्गो पार्नु हो, र यसले अन्त्यमा तँलाई तिनीहरूका षडयन्त्र र जालहरूमा पार्ने सम्भावना अधिक हुन्छ। अगुवा र सेवकहरूमाझ पनि झूटा अगुवा र झूटा सेवकहरू हुन्छन्, र विश्‍वासीहरूमाझ पनि झूटा विश्‍वासी र गैरविश्‍वासीहरू हुन्छन्। तिनीहरूमध्ये कोही पनि विश्‍वासी दाजुभाइ-दिदीबहिनी होइनन्, त्यसकारण तैँले जेसुकै गरे पनि, तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूजस्तो व्यवहार नगर्। दयालु हृदय भएका र सत्यतालाई प्रेम गर्नेहरू अनि सत्यता स्विकार्न र अभ्यास गर्न सक्‍नेहरू मात्रै विश्‍वासी दाजुभाइ-दिदीबहिनी हुन्, र जब तैँले यी सच्‍चा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसित अन्तरक्रिया गर्छस्, तब तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ, तिनीहरूसित तैँले पूरै मन खोलेर कुरा गर्नुपर्छ, अनि त्यसपछि मात्र तिमीहरूले एकअर्कालाई प्रेम गर्न र आफ्ना कर्तव्यहरू निभाउने क्रममा राम्रोसित सद्‌भावपूर्ण सहकार्य गर्न सम्भव हुनेछ। कहिलेकाहीँ, जब दुईजना मानिसहरूले अन्तरक्रिया गर्छन्, तिनीहरूको व्यक्तित्वबीच टकराव हुन्छ, वा तिनीहरूको पारिवारिक वातावरण, पृष्ठभूमि वा आर्थिक अवस्था मिल्दैन। तर यदि यी दुईजना मानिसहरूले एकअर्कासामु आफ्नो हृदय उदाङ्गो पार्न र आफ्‍ना समस्याहरूबारे पूर्ण रूपमा खुलस्त हुन सक्छन्, र कुनै पनि झूट वा छलविना कुराकानी गर्न सक्छन्, र एक-अर्कालाई आफ्‍नो हृदय देखाउन सक्छन् भने, यसरी तिनीहरू सच्‍चा मित्र बन्‍न सक्छन्, जसको अर्थ घनिष्ठ मित्र बन्‍नु भन्‍ने हुन्छ। सायद, जब उक्त व्यक्तिलाई कठिनाइ हुन्छ, उसले अरू कसैलाई होइन, बरु तँलाई नै खोज्‍नेछ, र उसले उसलाई मद्दत गर्न तँ मात्र सक्षम छस् भनेर तँलाई नै भरोसा गर्नेछ। यदि तैँले उससँग रिसाएर कुरा गरिस् भने पनि, उसले तँसँग तर्कवितर्क गर्नेछैन, किनभने उसलाई तँ निष्कपट हृदय भएको इमानदार व्यक्ति होस् भन्‍ने थाहा छ। उसले तँलाई भरोसा गर्छ, त्यसकारण तैँले उसलाई जेसुकै भने पनि वा ऊप्रति जस्तोसुकै व्यवहार गरे पनि, उसले सबै कुरा बुझ्‍न सक्‍नेछ। के तिमीहरू त्यस्तो मान्छे बन्‍न सक्छौ? के तिमीहरू त्यस्तो मान्छे हौ? होइनौ भने, तिमीहरू इमानदार मानिस होइनौ। जब तैँले अरूसँग अन्तरक्रिया गर्छस्, तैँले पहिले उनीहरूलाई तेरो साँचो हृदय र इमानदारीता बुझ्न दिनुपर्छ। यदि, अरूसँग बोल्दा र सँगसँगै मिलेर काम गर्दा, र अरूलाई सम्पर्क गर्ने प्रयास गर्दा, कसैको बोलीवचन लापरवाहीपूर्ण, आडम्बरी, ठट्यौलीपूर्ण, चापलुसीले भरिएको, गैरजिम्मेवार, र काल्पनिक छन् भने, वा यदि उनीहरू केवल अरूको कृपा पाउनका निम्ति मात्रै बोल्छन् भने, उनीहरूका कुराहरूमा पूर्ण विश्‍वसनीयताको कमी हुन्छ, र उनीहरू अलिकति पनि इमानदार हुँदैनन्; अरू मानिसहरू जोसुकै भए पनि तिनीहरूसँग अन्तरक्रिया गर्ने उनीहरूको तरिका यही हो। त्यस्तो व्यक्तिमा इमानदार हृदय हुँदैन। यो इमानदार व्यक्ति होइन। मानौं, कुनै व्यक्ति नकारात्मक स्थितिमा छ, र उसले इमानदारी तँलाई भन्छ: “मलाई ठ्याक्कै बताउनुहोस्, म किन यति धेरै नकारात्मक छु। मैले यो पत्ता लगाउनै सकेको छैन!” अनि मानौँ, वास्तवमा तँलाई आफ्नो हृदयमा उसको समस्याबारे थाहा छ, तर तँ त्यो कुरा उसलाई भन्दैनस्, बरु त्यसको साटो यसो भन्छस्: “यो केही पनि होइन। तपाईं नकारात्मक भइरहनुभएको हुनुहुन्‍न; मलाई पनि त्यस्तै हुने गर्छ।” त्यो व्यक्तिका लागि यी शब्दहरू ठूलो सान्त्वना बन्छन्, तर तेरो मनोवृत्ति इमानदार हुँदैन। तँ उसलाई सहज महसुस गराउन र सान्त्वना दिनका निम्ति ऊसँग लापरवाह भइरहेको हुन्छस्; तँ ऊसँग इमानदारीपूर्वक बोल्‍नबाट जोगिएको हुन्छस्। उसले आफ्नो नकारात्मकता त्यागोस् भनेर तैँले उसलाई इमानदारीसाथ सहायता गरिरहेको र उनीहरूका समस्याहरू प्रष्टताका साथ राखिरहेको हुँदैनस्। तैँले एक इमानदार व्यक्तिले गर्नुपर्ने काम गरिरहेको छैनस्। उसलाई सान्त्वना दिन र तिमीहरूको बीचमा कुनै प्रकारको दुश्‍मनी वा झगडा नहोस् भनेर मात्र तैँले ऊसँग झारा टार्ने काम मात्र गरेको छस्—र यसो गर्नु एक इमानदार व्यक्ति बन्‍नु होइन। यसैले, एक इमानदार व्यक्ति बन्‍नका लागि, यस प्रकारको परिस्थिति सामना गर्नुपर्दा, तैँले के गर्नुपर्छ? तैँले देखेका र पहिचान गरेका कुराहरू उसलाई बताउनुपर्छ: “मैले जे देखेको र अनुभव गरेको छु, त्यो म तपाईंलाई बताउँछु। मैले भनेको कुरा सही छ कि गलत छ, तपाईं नै निर्णय गर्नुहोस्। यदि यो गलत छ भने, तपाईंले यसलाई स्वीकार गर्नु पर्दैन। यदि यो सही छ भने, म आशा गर्दछु तपाईंले यसलाई स्वीकार गर्नुहुनेछ। यदि मैले भनेको कुनै कुरा तपाईंलाई सुन्न गाह्रो लाग्यो र त्यसले तपाईंलाई चोट पुर्‍यायो भने, म आशा गर्दछु तपाईंले यस कुरालाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्न सक्नुहुनेछ। मेरो अभिप्राय र उद्देश्य भनेको तपाईंलाई सहायता गर्नु हो। म यो समस्यालाई स्पष्ट रूपमा देख्छु: तपाईं आफूलाई अपमान गरिएको र आफ्नो अहम्‌मा कसैले साथ नदिएको महसुस गर्नुहुन्छ, र तपाईंलाई सबैले तुच्छ ठान्छन्, तपाईंलाई आक्रमण गरिँदैछ र तपाईंमाथि त्यस्तो अन्याय त कहिल्यै भएको थिएन भन्‍ने सोच्नुहुन्छ, त्यसैले तपाईं त्यो स्विकार्न सक्नुहुन्न र नकारात्मक बन्नुहुन्छ। तपाईंलाई के लाग्छ—के साँच्चै यस्तो भइरहेको छ?” अनि यो सुनेर उसले कुरा यही नै हो भन्‍ने महसुस गर्छ। वास्तवमा तेरो हृदयमा यही कुरा हुन्छ, तर यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले त्यो कुरा भन्नेछैनस्। तैँले यसो भन्नेछस्, “म पनि प्रायः नकारात्मक नै बन्ने गर्छु,” र जब अर्को व्यक्तिले सबै जना नकारात्मक हुँदा रहेछन् भन्ने सुन्छ, तब उसलाई नकारात्मक हुनु सामान्य नै रहेछ भन्‍ने लाग्छ, र अन्त्यमा, उसले आफ्नो नकारात्मकतालाई छोड्दैन। यदि तँ एक इमानदार व्यक्ति होस् र तैँले इमानदार मनोवृत्ति र इमानदार हृदयले उसलाई सहायता गर्छस् भने, तैँले उसलाई सत्यता बुझ्न र उसको नकारात्मकता छोड्न सहायता गर्न सक्छस्।

इमानदारीता अभ्यास गर्दा यसले धेरै पक्ष समेट्छ। अर्को शब्‍दमा भन्दा, इमानदार बन्‍नुको मानक एक पक्षबाट मात्रै पूरा गर्न सकिँदैन; इमानदार बन्‍नुभन्दा पहिले तँ धेरै हिसाबमा मानकको स्तरमा पुग्‍नुपर्छ। कतिपय मानिसहरूले इमानदार बन्‍नका लागि झूट मात्रै नबोले पुग्छ भन्‍ने सोच्छन्। के यो दृष्टिकोण सही छ? के इमानदार बन्‍ने कार्यमा झूट नबोल्‍ने कुरा मात्रै संलग्‍न हुन्छ? होइन—यसमा अरू धेरै पक्षहरू पनि सम्बन्धित हुन्छन्। पहिलो कुरा, तैँले जेसुकै सामना गरे पनि, चाहे त्यो कुरा तैँले आफैले देखेको होस् वा अरू कसैले तँलाई बताएको होस्, चाहे यो मानिसहरूसँग अन्तरक्रिया गर्ने विषय होस् वा समस्या समाधान गर्ने कुरा होस्, चाहे यो तैँले पूरा गर्नुपर्ने कर्तव्य होस् वा परमेश्‍वरले तँलाई सुम्पनुभएको कुरा नै किन नहोस्, तैँले यसलाई सधैँ इमानदार हृदयका साथ लिनुपर्छ। व्यक्तिले काम-कुराहरूलाई एक इमानदार हृदयका साथ लिने अभ्यास कसरी गर्नुपर्छ? तँ जे सोच्छस् त्यही भन् र इमानदारीसाथ बोल्; खोक्रा, आडम्बरी, वा मिठो सुनिने कुराहरू नबोल्, चापलुसीपूर्ण वा पाखण्डी झूटा कुराहरू नबोल्, बरु तेरो हृदयमा भएका कुराहरू बोल्। इमान्दार बन्‍नु भनेको यही हो। आफ्नो हृदयमा भएका वास्तविक विचार र दृष्टिकोणहरू व्यक्त गर्—इमानदार मानिसहरूले गर्नुपर्ने कुरा यही हो। यदि तँ आफूले सोचेका कुराहरू कहिल्यै भन्दैनस्, र शब्दहरू तेरो हृदयभित्र घाउझैँ पाक्छन्, र तैँले बोलेका कुराहरू तैँले सोचेका कुराहरूसँग कहिल्यै मिल्दैनन् भने, त्यो इमान्दार व्यक्तिले गर्ने कुरा हुँदै होइन। उदाहरणका लागि, मानौँ तँ आफ्नो कर्तव्य राम्रोसित निभाउँदैनस्, र जब मानिसहरूले यो के भइरहेको हो भनेर सोध्छन्, तँ यस्तो जबाफ दिन्छस्, “म आफ्नो कर्तव्य राम्रोसित निभाउन चाहन्छु, तर विविध कारणहरूले गर्दा, मैले त्यो राम्ररी गर्न सकेको छैनँ।” वास्तवमा, तँलाई आफ्नो हृदयमा आफू मेहनती नभएको कुरा थाहा हुन्छ, तर तैँले सत्य बोल्दैनस्। यसको साटो, तैँले सत्यतथ्य ढाकछोप गर्न र जिम्‍मेवारीबाट पन्छन हरप्रकारका कारण, औचित्य, र बहानाहरू झिक्छस्। के इमान्दार व्यक्तिले यस्तै गर्छ? (गर्दैन।) तैँले यी कुराहरू बोलेर मानिसहरूलाई मूर्ख बनाउँछस् र जसोतसो कुरा टार्छस्। तर तँभित्र जे छ, तँभित्र जे-जस्तोअभिप्राय, त्यसको सार भ्रष्ट स्वभाव नै हो। यदि तँ आफूभित्र भएका कुराहरू र आफ्ना अभिप्रायहरू खुला रूपमा बाहिर ल्याउन र विश्‍लेषण गर्न सक्दैनस् भने, ती कुराहरूलाई शुद्ध पार्न सकिँदैन—र यो कुरा सानोतिनो मामिला होइन! तैँले साँचो रूपमा बोल्नुपर्छ, “मैले कर्तव्य निभाउने कुरालाई अलि पछि सारेको सार्‍यै गर्दै आइरहेको छु। म लापरवाह, झाराटारूवा, र असावधान हुँदै आइरहेको छु। जब म राम्रो मुडमा हुन्छु, म अलिअलि प्रयत्‍न लगाउन सक्छु। तर जब म खराब मुडमा हुन्छु, म सुस्‍त भइहाल्छु, र मलाई प्रयत्‍न लगाउनै मन लाग्दैन, र म दैहिक आरामको लालच गर्न थाल्छु। त्यसैले, कर्तव्य निभाउने मेरा प्रयासहरू अप्रभावकारी छन्। विगतका केही दिनहरूदेखि परिस्थिति उल्टो हुँदै गइरहेको छ, र म तनमन लगाउँदै मेरो कार्यकुशलता सुधार्ने र राम्रोसित कर्तव्य निभाउने प्रयास गरिरहेको छु।” हृदयबाट बोल्‍नु भनेको यही हो। त्यो अर्को तरिकाले बोलेको चाहिँ हृदयबाट बोलेको होइन। आफूलाई निराकरण गरिएला, आफ्नो समस्या मानिसहरूले थाहा पाउलान्, र आफूलाई जबाफदेही ठहराइएला भन्‍ने डरले, तैँले सत्यतथ्य ढाकछोप गर्न हरप्रकारका कारण, औचित्य, र बहानाहरू झिकिस्, र सुरुमा अरू मानिसहरूलाई त्यो परिस्थितिबारे बोल्न बन्द गर्ने तुल्याइस्, र त्यसपछि निराकरणमा पर्नबाट जोगिन जिम्‍मेवारी अन्यत्र मोडिदिइस्। तेरा झूटहरूको स्रोत यही हो। झूटाहरूले जतिसुकै बोले पनि, तिनीहरूले बोलेको केही न केही कुरा निश्‍चय नै सत्य र वास्तविक नै हुने गर्छ। तर तिनीहरूले बोलेका मुख्य कुराहरूमा केही न केही झूट र तिनीहरूको केही न केही अभिप्राय रहेकै हुन्छ। त्यसकारण, के कुराचाहिँ सत्य हो र केचाहिँ असत्य हो भनेर खुट्याउनु र छुट्याउनु एकदमै महत्त्वपूर्ण हुन्छ। तर यस्तो गर्न सजिलो छैन। तिनीहरूले बोलेका केही कुराहरू दूषित र सिँगारपटार गरिएका हुन्छन्, तिनीहरूले बोलेका कतिपय कुराहरू तथ्यसँग मेल खान्छन्, र तिनीहरूले बोलेका कति कुराचाहिँ तथ्यसँग बाझिन्छन्; यसरी तथ्य र कल्पना मिसिएपछि, सत्य र असत्य छुट्याउन गाह्रो हुन्छ। यस्तो व्यक्ति सबैभन्दा छली, र पहिचान गर्न सबैभन्दा गाह्रो व्यक्ति हुन्छ। यदि यस्ताले सत्यता स्विकार्न र इमान्दारिता अभ्यास गर्न सक्दैनन् भने, तिनीहरू निश्‍चय नै निष्कासित हुनेछन्। त्यसोभए, मानिसहरूले कुन मार्ग चुन्‍नुपर्छ? इमान्दारीता अभ्यास गर्ने मार्ग कुन हो? तिमीहरूले सत्य बोल्न सिक्‍नुपर्छ, र आफ्ना वास्तविक स्थिति र समस्याहरूबारे खुलस्त सङ्गति गर्न सक्षम बन्‍नुपर्छ। इमान्दार मानिसहरूले अभ्यास गर्ने यसरी नै हो, र यस्तो अभ्यास सही हुन्छ। जोसँग विवेक र समझ हुन्छ, तिनीहरू सबै नै इमान्दार बन्‍ने कार्यमा लागिपर्न इच्छुक हुन्छन्। इमान्दार मानिसहरूले मात्र साँचो रूपमा खुसी र सहज महसुस गर्छन्, र परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न सत्यता अभ्यास गरेर मात्रै मान्छेले वास्तविक खुसी उपभोग गर्न सक्छ।

मानिसहरूले इमानदार बन्‍ने अभ्यास गर्दा विभिन्‍न समस्याहरू देखा पर्छन्। कहिलेकहीँ तिनीहरू सोच्दै नसोची बोल्छन्, केही क्षण चिप्लन्छन् र गलत अभिप्राय वा उद्देश्य, वा अभिमान र घमण्डद्वारा वशिभूत भएर तिनीहरूले झूट बोल्छन्, र त्यसको परिणामस्वरूप त्यसलाई लुकाउन तिनीहरूले झन्झन् धेरै झूट बोल्‍नुपर्छ। अनि अन्त्यमा, तिनीहरूलाई हृदयभित्र सहज महसुस हुँदैन तर तिनीहरूले ती झूटलाई फिर्ता लिन सक्दैनन्, तिनीहरूसँग आफ्‍नो गल्ती सुधार गर्ने, आफूले झूट बोलेँ भनेर स्विकार्ने साहस हुँदैन, र यसरी तिनीहरूको गल्तीले निरन्तरता पाइरहन्छ। यसपछि, तिनीहरूको अवस्था सधैँ नै हृदयलाई ढुङ्गाले थिचिरहेको जस्तै हुन्छ; तिनीहरू सधैँ दोषरहित हुने, गल्ती स्वीकार गरी पश्‍चात्ताप गर्ने मौका पाउन चाहन्छन्, तर तिनीहरूले कहिल्यै पनि यसलाई व्यवहारमा लागु गर्दैनन्। अन्ततः, तिनीहरूले यसबारेमा विचार गरेर आफैलाई भन्छन्, “म भविष्यमा आफ्‍नो कर्तव्य पूरा गर्दा यसको पूर्ति गर्नेछु।” तिनीहरूले सधैँ पूर्ति गर्नेछु भनी भन्छन्, तर कहिल्यै त्यसो गर्दैनन्। यो कुरा झूट बोलेपछि क्षमा मात्र माग्‍नुजत्तिको सरल छैन—के तैँले झूट बोल्नु र छली कार्यमा संगल्‍न हुनुका हानि र दुष्‍परिणामहरू पूर्ति गर्न सक्छस्? यदि, ठूलो आत्मघृणाले गर्दा, तैँले पश्‍चात्ताप अभ्यास गर्न सक्छस्, र त्यस्तो कुरा फेरि कहिल्यै गर्दैनस् भने, तैँले परमेश्‍वरको सहनशीलता र कृपा प्राप्त गर्न सक्छस्। यदि तैँले मिठा कुरा गरेर आफ्ना झूटहरूको पूर्ति भविष्यमा गर्नेछु भनी भन्छस्, तर साँचो रूपमा पश्‍चात्ताप गर्दैनस्, र त्यसपछि झूट बोल्‍ने र छल्‍ने कार्य जारी राख्छस् भने, तैँले अत्यन्तै जिद्दी भई पश्‍चात्ताप गर्न इन्कार गर्दैछस्, र तँलाई अवश्य नै हटाइनेछ। विवेक र समझ भएका मानिसहरूले यो कुरालाई पहिचान गर्नुपर्छ। झूट बोलेपछि र छली कार्यमा संलग्‍न भएपछि, सुधार गर्नेबारेमा मात्रै विचार गर्नु पर्‍याप्त हुँदैन; तैँले साँचो रूपमा पश्‍चात्ताप गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तँ इमानदार बन्‍न चाहन्छस् भने, तैँले झूट बोल्‍ने र छल्‍ने समस्या समाधान गर्नैपर्छ। तैँले सत्य बोल्नैपर्छ, र व्यावहारिक काम गर्नैपर्छ। सत्य बोल्दा, कहिलेकाहीँ त्यसको परिणामस्वरूप तैँले इज्‍जत गुमाउन सक्छस्, र तँलाई काटछाँट गरिन सक्छ, तर त्यसो गरेर तैँले सत्यता अभ्यास गरेको हुनेछस्, र त्यसरी त्यो एउटै घटनामा परमेश्‍वरमा समर्पित हुनु र उहाँलाई सन्तुष्ट पार्नु पनि सार्थक नै हुनेछ, र त्यो तँलाई सान्त्वाना दिलाउने कुरा नै हुनेछ। जे भए पनि, आफ्नो बचाउ गर्ने वा आफूलाई निर्दोष साबित गर्ने प्रयास नगरी, तँ आखिरमा इमानदार बन्ने अभ्यास गर्न सक्षम भएको हुनेछस्, तैँले आखिरमा आफ्नो हृदयको कुरा बताउन सक्षसम भएको हुनेछस्, र यही नै साँचो वृद्धि हो। तँलाई काटछाँट गरिए पनि वा प्रतिस्थापन गरिए पनि, तैँले आफ्नो हृदयमा स्थिर महसुस गर्नेछस्, किनभने तैँले झूट बोलिनस्; अनि, तैँले आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको हुनाले, तँलाई काटछाँट गरिनु, र तैँले त्यसको जिम्‍मेवारी लिनुपर्ने हुनु सही कुरा थियो भन्‍ने महसुस गर्नेछस्। यो सकारात्मक मानसिक स्थिति हो। तर तँ छली कार्यमा संलग्‍न भइस् भने, यसबाट के-कस्ता परिणामहरू आउनेछन्? तँ छली कार्यमा संलग्‍न भएपछि, तँलाई हृदयमा कस्तो महसुस हुनेछ? असहज; तैँले सधैँ आफ्‍नो हृदयमा ग्‍लानि र भ्रष्टता रहेको अनुभव गर्नेछस्, तँलाई सधैँ दोषी महसुस हुनेछ: “म कसरी झूट बोल्‍न सकेँ? म फेरि पनि कसरी छली कार्यमा संलग्‍न हुन सकेँ? म किन यस्तो छु?” तँलाई आफ्‍नो शिर ठाडो पारेर हिँड्न नसकिएला जस्तो र परमेश्‍वरको सामना गर्दा सरमले मरिएला जस्तो महसुस हनेछ। खास गरी, जब मानिसहरूले परमेश्‍वरको आशिष्‌ पाउँछन्, जब तिनीहरूले परमेश्‍वरको अनुग्रह, कृपा र सहनशीलता प्राप्त गर्छन्, तब तिनीहरू परमेश्‍वरलाई धोका दिनु लाजमर्दो कुरा भएको अझ बढी महसुस गर्छन्, र तिनीहरूलाई हृदयभित्र निकै धिक्‍कार लाग्छ, तर शान्ति वा आनन्द भने एकदमै कम मात्र महसुस हुन्छ। यसले के-कस्तो समस्या प्रदर्शित गर्छ? यो कि, मानिसहरूलाई छल्नु भनेको भ्रष्ट स्वभाव प्रकट हुनु हो, यो परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गर्नु हो, र त्यसैले यसले तँलाई पीडा दिनेछ। जब तैँले झूट बोल्छस् र छल्छस्, तँलाई आफूले एकदमै बठ्याइँपूर्वक र चलाखीसाथ बोलेँ, र आफ्नो छलको एउटा सानो सुराक पनि छोडिनँ भन्‍ने लाग्‍न सक्छ—तर पछि गएर तँलाई धिक्‍कार लाग्नेछ र दोषी महसुस हुनेछ, र त्यसले तँलाई जिन्दगीभर पछ्याउनसमेत सक्‍नेछ। यदि तँ अभिप्राय राखेर र जानीबुझी नै झूट बोल्छस् र छल्छस्, अनि एउटा यस्तो दिन आउँछ, जुन दिन तँलाई यसको गम्भीरता महसुस हुन्छ भने, यसले तेरो हृदय छुरीले घोपेजस्तो गरी घोप्‍नेछ, र तँ सधैँ यसलाई सुधार्न पाए पनि हुन्थ्यो भनेर मौका खोजिरहेको हुनेछस्। अनि तैँले गर्नुपर्ने पनि त्यही हो, होइन भने तँसँग कुनै विवेक नै छैन, र तैँले कहिल्यै पनि आफ्नो विवेकअनुसार जिएको छैनस्, र तँमा कुनै मानवता छैन, र तँसित कुनै चरित्र वा मर्यादा पनि छैन। यदि तँसित अलिकति चरित्र वा मर्यादा, अनि विवेकको केही सचेतना छ भने, जब तँलाई आफू झूट बोलिरहेको र छली कार्यमा संलग्‍न भइरहेको छु भन्‍ने महसुस हुन्छ, तब तँलाई आफ्नो यो व्यवहार लाजमर्दो, अपमानजनक र तुच्छ लाग्‍नेछ; अनि तैँले आफूले आफैलाई घृणा र तिरस्‍कार गर्नेछस्, र झूट र छलको मार्ग छोड्‍नेछस्। तर शैतानका कोटिकाहरूसित सामान्य मानवताको विवेक र समझ हुँदैन; तिनीहरू आफूले बोलेका जुनसुकै झूटहरूप्रति पनि विस्मृति र निस्फिक्री अवस्थामा रहन्छन्, र तिनीहरूसित आफूले झूट बोल्नुका सैद्धान्तिक आधारहरूसमेत हुन्छन्, र त्यो आधार यस्तो हुन्छ: झूट नबोली त कुनै पनि महान्‌ काम सम्पन्‍न गर्न सकिँदैन, र त्यसैले तिनीहरू जिद्दी भई पश्‍चात्ताप गर्न अस्वीकार गर्छन्। तर विवेक र समझ भएका मानिसहरू भने फरक हुन्छन्। यस्ता मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएका मात्र हुन्छन्, र तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गरे पनि, तिनीहरू दुष्ट मानिस होइनन्, तिनीहरूमा विवेकको सचेतना हुन्छ, तिनीहरूमा सामान्य मानवताको खाँचो हुन्छ, र तिनीहरूमा असल, न्यायसङ्गत, र सकारात्मक कुराहरूप्रतिको प्रेमको पनि नैसर्गिक प्रवृत्ति र खाँचो हुन्छ। त्यसकारण, जब तिनीहरूले आफ्नो विवेकमार्फत दोषी महसुस गर्छन्, तिनीहरू आफैबारे मनन गर्न र साँचो रूपमा पश्‍चात्ताप गर्न सक्षम हुन्छन्। शैतान भनेको चरम दुष्टताले भरिपूर्ण कुरा हो। यसले सकारात्मक कुराहरू मन पराउँदैन, यसले असल कुराहरू मन पराउँदैन, र यसको प्रकृतिभित्र अध्याँरा र दुष्ट कुराहरू मात्र हुन्छन्, त्यहाँ भ्रष्ट र दुर्भावनापूर्ण कुराहरूबाहेक अरू केही हुँदैनन्; शैतानसित कुनै मानवता हुँदैन, यसलाई सामान्य मानवताको कुनै खाँचो हुँदैन, र यसमा विवेकको कुनै सचेतना पनि हुँदैन। तर मानिसहरू फरक हुन्छन्। तिनीहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन्, तिनीहरूसित विवेक र समझ हुन्छ; विवेक भएका मानिसहरूसित आफ्नो हृदयमा सचेतना हुन्छ, तिनीहरूले परमेश्‍वर वा अरू मानिसहरूलाई छल्ने प्रयास गर्दा विवेकको दोषारोपण र धिक्‍कार महसुस गर्न सक्छन्, र त्यही धिक्‍कार र दोषारोपणले तिनीहरूलाई पीडा दिन्छ। जब व्यक्तिले यस्तो पीडा महसुस गर्छ, जब उसले यो दोषारोपण र धिक्‍कार महसुस गर्छ, उसको विवेकभित्र सचेतना आउन थाल्छ: तिनीहरूलाई मानिसहरू इमान्दार हुनुपर्छ, र तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्नुपर्छ भन्‍ने कुरा महसुस हुन थाल्छ। जब तिनीहरूलाई यस्तो खाँचो परिआउँछ, तब यो असल कुरा हो। अहिले, के तिमीहरूले झूट बोल्दा र छल्दा कुनै धिक्‍कारमहसुस गर्छौ? (गर्छौँ।) तिमीहरूले धिक्‍कार महसुस गर्छौ भन्‍ने तथ्यले तिमीहरूमा विवेकको केही सचेतना छ र तिमीहरूका लागि अझै पनि केही आशा बाँकी छ भन्‍ने प्रमाणित गर्छ; यो भनेको मुक्ति प्राप्त गर्नका लागि तिमीहरूमा न्यूनतम रूपमा हुनुपर्ने सचेतनाको स्तर र व्यवहारको प्रकार हो। यदि तिमीहरूको विवेकले अलिकति पनि धिक्‍कार महसुस गर्दैन भने, त्यो समस्याजनक कुरा हो, र यसको अर्थ तिमीहरूमा मानवता छैन भन्‍ने हुन्छ। के अब तिमीहरू अरूलाई ढाँटेपछि र छलेपछि कसरी पश्‍चात्ताप गर्ने भनेर जान्दछौ? यदि तिमीहरू जिद्दीपूर्वक पश्‍चात्ताप गर्न अस्वीकार गर्छौ भने, त्यसको परिणाम के हुनेछ? तिमीहरू छुटकारा पाउन अयोग्य हुनेछौ। अब तिमीहरू सबैले परमेश्‍वरले विवेक, समझ, सामान्य मानवताको खाँचो, दुष्टबाट असल खुट्याउने क्षमता, र सकारात्मक र असल कुराहरूप्रतिको प्रेम, दुष्टताप्रतिको घृणा, र सत्यता स्विकार्ने क्षमता भएकाहरूलाई मुक्ति दिनुहुन्छ भनेर देख्‍न सक्छौ। त्यस्ता मानिसहरूलाई नै मुक्ति दिन सकिनेछ।

नोभेम्बर ३०, २०१७

अघिल्लो: सृष्टि गरिएको प्राणीको कर्तव्य राम्रोसित निभाउँदा मात्र जिउनुको मूल्य हुन्छ

अर्को: भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्