भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग

तैँले जे गरिरहेको भए पनि, कसरी सत्यता खोज्ने र त्यसप्रति समर्पित हुने त्यो सिक्नैपर्छ; तँलाई जसले सल्‍लाह दिइरहेको भए पनि, यदि यो सत्यता सिद्धान्तहरूअनुरूप छ भने, त्यो सानो बालकबाट नै आए पनि, तैँले यसलाई स्विकार्नैपर्छ र यसमा समर्पित हुनैपर्छ। व्यक्तिमा जे-जस्ता समस्याहरू भए पनि, यदि तिनीहरूका शब्‍दहरू र सल्‍लाह सत्यता सिद्धान्तहरूअनुरूप छन् भने, तैँले तिनलाई स्विकार्नुपर्छ र तिनमा समर्पित हुनुपर्छ। यसरी काम गर्दाका नतिजाहरू असल र परमेश्‍वरको इच्‍छाअनुरूप हुनेछन्। मुख्य कुराचाहिँ आफ्नो मनसाय, अनि कामकुरा सम्‍हाल्‍ने आफ्ना सिद्धान्त र विधिहरूलाई हेर्नु हो। यदि कामकुरा सम्‍हाल्‍ने तेरा सिद्धान्त र विधिहरू मानव इच्‍छा, मानव सोच र धारणा, वा शैतानी दर्शनहरूबाट उत्पन्न हुन्छन् भने, ती सिद्धान्त र विधिहरू अव्यावहारिक छन्, र ती अप्रभावकारी हुनेछन्। किनभने तेरा सिद्धान्त र विधिहरूको स्रोत नै गलत छ, र सत्यता सिद्धान्तहरूअनुरूप छैन। यदि तेरा दृष्टिकोणहरू सत्यता सिद्धान्तहरूमा आधारित छन्, र तैँले सत्यता सिद्धान्तहरूअनुरूप कामकुरा सम्‍हाल्छस् भने, तैँले ती अवश्य नै सही तरिकामा सम्‍हाल्नेछस्।, तैँले त्यति बेला कामकुरा सम्हाल्ने तरिकालाई कतिपय मानिसले स्वीकार नगरे पनि, वा यसबारे तिनीहरूले धारणाहरू राख्‍ने वा यसको प्रतिरोध गर्ने भए पनि, केही समयपछि यो मान्य हुनेछ। सत्यता सिद्धान्तहरूअनुरूपका कुराहरूले झन्-झन् धेरै सकारात्मक परिणाम ल्याउनेछन्, जबकी सत्यता सिद्धान्तअनुरूप नरहेका कुराहरू त्यो बेला मानिसका धारणासँग मेल खाए पनि, तिनले झन्-झनै धेरै नकारात्मक नतिजा ल्याउनेछन्।ॉ मानिसहरू सबैले यसको पुष्टि पाउनेछन्। तँ आफूले गर्ने कुनै पनि कुरामा मानव बन्धनमा पर्नै हुँदैन, अनि तैँले आफै सङ्कल्पहरू गर्नै हुँदैन; सुरुमा तैँले परमेश्‍वरलाई प्रार्थना गरेर सत्यता खोजी गर्नुपर्छ, त्यसपछि यस विषयबारे सबैसँग खोजी र सङ्गति गर्नुपर्छ। सङ्गति गर्नुको उद्देश्य के हो? यो तैँले परमेश्‍वरको इच्‍छाअनुसार सही तरिकामा कामकुरा गर्न र ठ्याक्‍कै परमेश्‍वरको इच्‍छाअनुरूप कार्य गर्न सक् भनेर हो। यो त यसलाई भन्ने अलि भव्य तरिका हो, र मानिसहरूले यो स्तर हासिल गर्न सक्नेछैनन्। अझ ठोस रूपमा भन्नुपर्दा, यो तैँले कामकुराहरू सत्यता सिद्धान्तहरूअनुसार सही तरिकामा गर्न सक् भनेर हो। यो अझ धेरै वास्तविक छ। जब कुनै व्यक्तिले यो मानक पूरा गर्छ, तब उसले सत्यता अभ्यास गरिरहेको र परमेश्‍वरको इच्छा पालन गरिरहेको हुन्छ; ऊसँग सत्यता वास्तविकता हुन्छ र यसमा कसैबाट कुनै विरोध आउनेछैन।

तँलाई कुनै समस्या आइपर्दा, तैँले तर्क गर्नुको सट्टा पहिला आफ्नो धारणा, कल्पना र निर्णयलाई पर पन्साउनुपर्छ—व्यक्तिमा हुनुपर्ने तर्कसङ्गतपन यही हो। यदि मैले नबुझ्ने कुनै कुरा छ र यो मेरो विशेषज्ञताको क्षेत्र होइन भने, म यो विषय थाहा हुने व्यक्तिसँग परामर्श लिनेछु। ऊसँग परामर्श लिएपछि, मलाई यो विषयको आधारभूत अवधारणा थाहा हुनेछ। तर मैले यो मामिला आफै कसरी सम्हाल्ने भनेर खोजी गर्नैपर्छ, मैले अरू मानिसहरूको मात्र कुरा सुन्नु हुँदैन, न त आफ्नो धारणअनुसार मात्रै यो मामिला सम्हाल्नु नै हुन्छ। मैले मण्डलीको कामलाई फाइदा पुग्ने तरिकामा र सत्यता सिद्धान्तहरूअनुसार कसरी काम गर्ने भनेर खोजी गर्नैपर्छ। के यो परिस्थिति सम्हाल्ने तर्कसङ्गत तरिका होइन र? के सामान्य व्यक्तिमा हुनुपर्ने समझ यही होइन र? यसरी सुझाव खोज्नु र माग्नु सही तरिका हो। मानिलिऊँ तँ निश्‍चित क्षेत्रमा जानकार छस् र म यसबारे तँसँग परामर्श लिन्छु, तर त्यसपछि तँ आफूले भनेको कुरा मैले पालन गर्न र तेरो कार्य योजना लागू गर्न दबाब दिन्छस् भने—त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो अहङ्कारी स्वभाव हो। अब तेरो लागि कार्य गर्ने उचित तरिका के हुनेछ? तैँले यसो भन्नुपर्छ: “मलाई यस क्षेत्रमा कम ज्ञान छ, तर त्यो सत्यतासित सम्बन्धित छैन। तपाईंले यसलाई सुझावको रूपमा मात्र लिन सक्‍नुहुन्छ, तर ठ्याक्‍कै कसरी कार्य गर्ने भन्ने जानकारीको लागि तपाईंले परमेश्‍वरको इच्छा अझ धेरै खोजी गर्नुपर्छ।” यदि मैले तँलाई सुझाव मागेँ र तँ यो विषय आफूले साँच्चै बुझेको छु भन्‍ने सोच्छस् र आफूलाई असाधारण ठान्छस् भने, यो अहङ्कारी स्वभाव हो। अहङ्कारी प्रकृतिले तँमा यसप्रकारको प्रतिक्रिया र प्रकटीकरण ल्याउन सक्छ—जब कसैले तँलाई सुझाव माग्छ, तैँले तुरुन्तै आफ्नो तर्कसङ्गतपन गुमाउँछस्; तैँले सामान्य व्यक्तिको समझ गुमाउँछस्, र सही निर्णय गर्न सक्दैनस्। जब कसैले भ्रष्ट स्वभाव प्रकट भइरहेको हुन्छ, तब उसको समझ सामान्य हुँदैन। तसर्थ, तँलाई जेसुकै आइपरे पनि, अनि अरूले तँलाई सुझाव मागे नै भने पनि, तैँले धृष्टता देखाउनु हुँदैन, र आफूभित्र सामान्य समझ कायम राख्‍नुपर्छ। कार्य-व्यवहारको सामान्य तरिका के हो? यस बेला, तैँले यसरी विचार गर्नुपर्छ: “मैले यो विषय बुझे पनि धृष्टता देखाउनु हुँदैन। मैले यसलाई सामान्य मानवताको समझअनुसार नै सम्हाल्नुपर्छ।” तैँले परमेश्‍वरसामु फर्केपछि सामान्य मानवताको समझ पाउनेछस्। कहिलेकाहीँ तैँले आत्मसन्तुष्टिको निश्‍चित भाव प्रकट गर्ने भए पनि, तेरो हृदयमा संयम हुनेछ—भ्रष्ट स्वभावका प्रकटीकरणहरू आधा घटनेछन्, र तैँले अरूलाई निकै कम मात्रामा मात्र नकारात्मक प्रभाव पार्नेछस्। तथापि, यदि तँ आफ्नो अहङ्कारी स्वभावअनुसार व्यवहार गर्छस्, सधैँ आफूलाई सही ठान्छस् र फलस्वरूप अरूलाई तेरो कुरा सुन्न बाध्य बनाउँछस् भने, यसले समझको एकदमै कमी भएको देखाउँछ। यदि तैँले मानिसहरूलाई देखाउने मार्ग सही हो भने त परिस्थिति ठिकै हुन सक्ला, तर यदि त्यो गलत हो भने त्यसले तिनीहरूलाई हानि गर्नेछ। यदि कसैले व्यक्तिगत मामिलामा तँलाई सुझाव माग्छ र तैँले उसलाई गलत मार्गमा लगिस् भने, तैँले एक व्यक्तिलाई मात्र हानि गरेको हुनेछस्। तर यदि उसले मण्डलीको कामसँग सम्बन्धित महत्त्वपूर्ण मामिलाबारे सोध्छ र तैँले उसलाई गलत मार्गमा डोऱ्याइस् भने, तैँले मण्डलीको काममा हानि पुऱ्याएको हुनेछस्, र परमेश्‍वरको घरको हितमा नोक्सानी हुनेछ। यदि त्यो समस्या गम्भीर प्रकृतिको छ र त्यसले परमेश्‍वरको स्वभाव चिढ्याउँछ भने, त्यसका परिणामहरू अकल्पनीय हुनेछन्।

परिस्थिति जे-जस्तो भए पनि, यदि कुनै व्यक्तिमा भ्रष्ट सोचविचार उत्पन्न हुन सुरु हुन्छ र उसको भ्रष्ट स्वभाव प्रकट हुन थाल्छ भने, यो चानचुने कुरा होइन। यदि उसले आफ्नो भ्रष्टता हटाउन सत्यता खोजी गर्दैन भने, यसलाई हटाउने कुनै उपाय हुनेछैन। तर यदि उसले परमेश्‍वरका वचनहरू प्रयोग गर्दै तर्कसङ्गत हिसाबले सत्यता खोज्न र भ्रष्टता प्रकट गर्नुको जड पत्ता लगाउन सक्छ भने, उसलाई आफ्नो भ्रष्ट स्वभावको समस्या हल गर्न सजिलो हुनेछ। तैँले जति धेरै आफ्नो आत्माभित्र पर्खेर खोजी गर्ने गर्छस्, उति नै धेरै तँलाई त्यो समस्याको सार बुझ्नहेतु परमेश्‍वरका सान्दर्भिक वचनहरू भेट्टाउन सजिलो हुनेछ। यस तरिकाले, तेरो भ्रष्टताको प्रकटीकरण झन्झन् कम हुँदै जानेछ, अनि तँ परमेश्‍वरमा समर्पित हुन सक्नेछस्, तैँले अबउप्रान्त धारणा र कल्पनाको आधारमा बोल्ने वा काम गर्नेछैनस्, अनि तेरो मानवता झन्झन् धेरै सामान्य बन्दै जानेछ। सामान्य मानवता भनेको के हो? यो भनेको सामान्य मानवताको मानक, विवेक, समझ, सत्यता सिद्धान्तहरू, अनि परमेश्‍वरले तोक्‍नुभएको मापदण्डअनुसार बोल्नु र कार्य गर्नु हो—त्यो सामान्य मानवताको प्रकटीकरण हो। त्यसैले, तँलाई जे आइपरे पनि, सबभन्दा पहिला तँ शान्त बन्नुपर्छ, तैँले आफूलाई परमेश्‍वरसामु चुप राख्नुपर्छ र उहाँलाई प्रार्थना गर्नुपर्छ अनि त्यस मामिलामा उहाँको इच्छाअनुरूप कसरी कार्य गर्ने भनेर खोजी गर्नुपर्छ। सामान्य मानवता हुने मानिसहरूमा यस्तो तर्कसङ्गतपन हुन्छ—तिनीहरूले आफूलाई संयम राखेर यो हासिल गर्न सक्छन्, यो बस तँ यसरी अभ्यास गर्न इच्छुक छस् कि छैनस् भन्ने कुरामा निर्भर गर्छ। यदि तँ सधैँ देखावा गर्न, घमण्ड देखाउन, उच्च स्थान रहन र अरूको हृदयमा आफूलाई आदर्श बनाउन खोज्छस् भने, तँ परमेश्‍वरबाट तर्किसकेको छस्। तँ उहाँसामु फर्कन सक्नेछैनस्, र तँ हृदयमा उहाँविरुद्ध गइसकेको छस्। तँ सधैँ आफ्नै विचारको आधारमा कामकुरा गर्न चाहन्छस्, र केही कुरा पूरा गरेपछि, तँलाई आफूले केही ठूलै कुरा प्राप्त गरेछु, कुनै गतिलै काम गरेछु, आफू समर्थ छु, र आफू मामुली व्यक्ति मात्र होइन भन्ने लाग्छ, अनि तँ महामानव र कुनै महान् व्यक्ति बन्न खोज्छस्। यसरी कार्य गर्दा समस्या निम्तिन्छ र यो सही मार्गमा हिँड्नु होइन। सत्यता नपछ्याउने मानिसहरू यस्तै हुन्छन्; तिनीहरूमा अलिकति पनि सामान्य मानवता हुँदैन र तिनीहरू पैशाचिक प्रकृतिले भरिएका हुन्छन्। परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरूले सत्यता स्विकार्न सक्छन्, तिनीहरू सत्यतामा लागिपर्न इच्छुक हुन्छन् र तिनीहरूलाई सामान्य मानव स्वरूपमा जिउन आनन्द लाग्छ। यसको लागि सत्यतामा प्रयत्‍न लगाउनु, परमेश्‍वरको वचन प्रायः पढ्ने गर्नु, अनि उहाँका वचनहरू अझ धेरै पढिरहनु, ती वचनहरूलाई आफ्नो हृदयमा गढ्न दिनु अनि सत्यताको बुझाइ हासिल गर्नु आवश्यक हुन्छ। तेरो हृदय निरन्तर शान्त स्थितिमा हुनैपर्छ अनि तँलाई परिस्थिति आइपर्दा विचारहीन, पूर्वाग्रही, जिद्दी, उग्र, देखावटी वा झूटो पटक्कै हुनु हुँदैन, ताकि तैँले समझअनुसार कार्य गर्न सकेस्। यो नै सामान्य मानवताको उचित प्रकटीकरण हो।

आजकल, धेरैजसो मानिसहरू तर्कसङ्गत हुन सक्दैनन्। तिनीहरू अरूले प्रशंसाका केही शब्द बोलिदिँदा दङ्ग पर्छन् र आफू साधारण मानिस होइन रहेछु भन्ने ठान्न थाल्छन्। तिनीहरूले कस्तो खालको स्वभाव प्रकट गरिरहेका हुन्छन्? के त्यो अहङ्कारी स्वभाव होइन र? यदि कसैले तँलाई अलिअलि निराकरण र काँटछाँट गरेपछि तँलाई अप्ठ्यारो लाग्छ अनि ऊसँग तर्क गर्न र उसको कुरा खण्डन गर्न मन लाग्छ भने, तैँले कस्तो खालको स्वभाव प्रकट गरिरहेको हुन्छस्? यो पनि अहङ्कारी स्वभाव प्रकट गर्नु नै हो। मानौँ, तैँले सबै कुरा केही समयसम्म राम्रोसँग गर्दा अनि मानिसहरूले तँलाई एकदमै राम्रो गऱ्यौ भन्दै प्रशंसा गर्दा र प्रशंसाको नजरले हेर्दा, तँलाई आफू जुनसुकै काम गर्न सक्षम र अरूभन्दा श्रेष्ठ भएझैँ लाग्न थाल्छ। तँलाई खुसी लाग्छ र बाटोमा हिँड्दा आफू पालकीमा चढिरहेको भान हुन्छ। तर तैँले गर्ने कामकुराहरूमा धक्‍का लाग्दा, तेरो मुड बिग्रन्छ अनि तँ अरू मानिसहरूसँग कुराकानी गर्दा कुनै उत्साह देखाउन सक्दैनस्। यस्ता मानिसहरू साह्रै हठी र अपरिपक्व हुन्छन्, तिनीहरूमा सामान्य मानवताको कमी हुन्छ। सामान्य मानवता हुने मानिसहरूले कस्ता खालका प्रकटीकरणहरू देखाउँछन्? तिनीहरूलाई धक्‍का लाग्दा वा निराकरण गरिँदा, तिनीहरू नकारात्मक बन्दैनन् र यसलाई आफ्नो कर्तव्यमा असर पार्न दिँदैनन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाहको क्रममा धेरै कष्ट सहे पनि वा उल्लेखनीय परिणामहरू हासिल गरे पनि, आफूलाई प्रशंसायोग्य ठान्‍ने वा कुनै इनामको आशा गर्ने गर्दैनन्, न त अरूलाई आफ्नो आदर गराउन नै खोज्छन्। तिनीहरू यस्ता भावनाहरू राख्दै राख्दैनन्। तिनीहरू सही ढङ्गले यी मामिलाहरू सम्हाल्न सक्छन् र तिनीहरूमा सामान्य व्यक्तिको समझ हुन्छ। सामान्य मानवता हुनु भनेको यही हो। जब मानिसहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्, तब तिनीहरू कहिलेकाहीँ अहङ्कारी र घमण्डी हुन्छन्, र घमण्डमा चुर्लुम्मै डुब्छन्, अनि आफू असफल हुँदा र आफूलाई धक्‍का लाग्दा, तिनीहरू निराश हुनेछन् र तिनीहरूको समझ असमान्य हुनेछ। सत्यता बुझेर, भ्रष्ट स्वभाव फालेर अनि जीवन वृद्धि हासिल गरेर मात्र व्यक्तिको मानवता परिपक्व हुन सक्छ। सत्यता बुझ्नु र सिद्धान्तअनुसार कामकुराहरू गर्नु नै मानिसहरूले आफ्नो मानवता परिपक्व बनाउनहेतु पूरा गर्नैपर्ने अत्यावश्यक सर्तहरू हुन्। यदि मान्छेले सत्यता बुझ्दैनन् र आफ्नो काम सिद्धान्तअनुसार गर्दैनन् भने, तिनीहरू दोमनका हुन्छन् अनि भिरको चिन्डो उँधो न उँभो भनेजस्तै बन्छन्। तिनीहरूलाई कसैले सराहना गर्दा, तिनीहरू अहङ्कारी बन्नेछन्, तर यदि कसैले तिनीहरूलाई निराकरण र काँटछाँट गरेमा, तिनीहरू नकारात्मक बन्छन्। यो अपरिपक्व मानवताको प्रकटीकरण हो। के तिमीहरू यही स्थितिमा छौ होइन र? तिमीहरू सधैँ दोमनका बन्छौ, अलिकति पनि स्थिर हुँदैनौ, र कहिल्यै पनि सामान्य अवस्था कायम राख्न सक्दैनौ। तिमीहरू राम्रो मुडमा र खुसी हुँदा, उत्साहले भरिन्छौ र परमेश्‍वरको खातिर आफ्नो जीवन दिनसमेत इच्छुक हुन्छौ। तर धक्‍का लाग्दा र असफलता आइपर्दा वा काँटछाँट र निराकरण गरिँदा, तिमीहरू तुरुन्तै नकारात्मक बन्छौ। तिमीहरू आफूलाई निराशामा डुबाउँछौ, अनि तिमीहरूले आफू सक्‍किसकेको र आफूले मुक्ति पाउने आशा नभएको, र आफ्नो विवेक, समझ, र मूल्याङ्कन आफ्नो लागि कुनै कामको नभएको अनुभूति गर्छौ। मानिसहरूमा सत्यता नहुँदा यही हुन्छ—तिनीहरू आफ्नो शैतानी स्वभावअनुसार मात्र जिउन सक्छन्, र मन नलागीनलागी पापमा जिउँछन्। मानिसहरूले आफ्नो ज्ञान र बुद्धिमा भर परेर आफूलाई बचाउन सक्दैनन्; जब मानिसहरूमा सत्यता हुँदैन, तिनीहरूसित कुनै जीवन हुँदैन—यो त तिनीहरूमा प्राण नहुनुसरह हो। त्यसैले, सत्यता प्राप्त गर्नु एकदमै महत्त्वपूर्ण छ। अहिले, जब तँलाई शैतानको प्रलोभन सामना गर्न, धक्‍का र असफलता अनुभव गर्न वा कठिनाइ भोग्न लगाइन्छ, तब तैँले कस्तो पाठ सिक्नुपर्छ? यसमा परमेश्‍वरको इच्छा के हुन्छ? उहाँ तैँले के बुझेको चाहनुहुन्छ? उहाँ तैँले सत्यता बुझेको र जीवन पाएको अनि त्यसमार्फत आफ्ना सबै समस्याहरू जरैदेखि उखेलेर फालेको चाहनुहुन्छ। अहिलेचाहिँ, तेरो सत्यताको बुझाइ एकदमै सतही छ र तेरो कद साह्रै सानो छ। फलस्वरूप, तँ निरन्तर असमान्य अवस्थामा हुन्छस् र तेरो स्वभाव अस्थिर रहन्छ। तँ राम्रो अवस्थामा हुँदा, एक कदम अघि बढेर थप प्रगति गर्न सक्छस्, तर खराब अवस्थामा हुँदा, तँ दुई कदम पछि सर्छस् र कैयौँ दिनसम्म नकरात्मक बन्छस्। यो तँभित्र हाबी भइरहेको अवस्था हो, जसले गर्दा तैँले ढिलो प्रगति गर्दै छस्। बारम्बार कमजोर र नकारात्मक बन्नु जीवन प्रवेशको सबैभन्दा ठूलो अडचन हो, र आफ्नो जीवनको प्रगति हासिल गर्नको लागि यो समस्या हल नगरी हुँदैन। कतिपय मानिसहरू आफ्नो कर्तव्यमा केवल केही परिणाम हासिल गरेपछि आफै दङ्ग पर्छन्, अनि प्रशंसा पाएपछि अहङ्कारी बन्छन् र अरूलाई तुच्छ ठान्‍न थाल्छन्। यी मानिसहरूमा समझको सबैभन्दा धेरै कमी हुन्छ र तिनीहरूमा सत्यता वास्तविकता अलिकति पनि हुँदैन। केही मानिसहरू सानो काम पूरा गरेपछि हैसियतका लाभहरूमा रमाउन थाल्छन्। तिनीहरूले जे गरे पनि, सधैँ प्रशंसा पाउन चाहन्छन् र यदि तिनीहरूले अरूबाट कुनै प्रशंसा पाएनन् भने, तिनीहरूमा आफ्नो कर्तव्य निर्वाह गर्ने कुनै ऊर्जा नै हुँदैन। तिनीहरू निरन्तर यी कुराहरूको नियन्त्रणमा हुन्छन्, र तिनीहरूलाई आफू अरू सबैभन्दा फरक देखिँदा र प्रशंसै-प्रशंसा पाउँदा मात्रै सन्तुष्टि मिल्छ। यदि तिनीहरूले कुनै कुरा राम्रोसँग गरेनन् वा असफलता भोगे वा ठेस खाए भने, तिनीहरूलाई आफू अति भ्रष्ट रहेछु र छुटकारा पाउन लायक रहेनछु भन्ने लाग्छ। तिनीहरू सधैँ भिरको चिन्डो उँधो न उँभो भएजसरी जिउँछन्। यदि तिमीहरूले जुनै कर्तव्य निर्वाह गरे पनि वा तिमीहरूलाई जेसुकै आइपरे पनि, सधैँ पाठ सिक्न सक्छौ, र अभ्यासको सिद्धान्त पाउनको लागि सत्यता खोज्‍न र सत्यता अभ्यास गर्न सक्छौ भने, तिमीहरू हुर्किसकेका छौ, र अब तिमीहरूलाई अरूको मार्गदर्शन र डोऱ्याइ चाहिँदैन। परमेश्‍वरको वचन खाएर-पिएर, सत्यता सङ्गति गरेर अनि परमेश्‍वरले तेरो लागि प्रबन्ध गर्नुभएका केही कुराहरू र वातावरण अनुभव गरेर, यदि तैँले परमेश्‍वरको हातले तँलाई कहाँ डोऱ्याइरहेको छ, परमेश्‍वर तैँले के सिकेको चाहनुहुन्छ, उहाँ तैँले कुन क्षेत्रमा समझ प्राप्त गरेको चाहनुहुन्छ, र उहाँ तैँले यी कुराहरू र वातावरणमार्फत् कस्तो अनुभवात्मक ज्ञान हासिल गरेको चाहनुहुन्छ भन्ने कुरा देख्न सक्छस् भने, र यी हरेक अनुभवमार्फत् तँ केही कुरा प्राप्त गर्न सक्षम छस् भने, तँ हुर्किसकेको छस्। यदि तँलाई अघि बढ्न सधैँ अरूको साथ र सहयोग चाहिन्छ, तँ असहाय र सुस्त बन्छस् वा यता न उता भएर लरखराउँछस् अनि ढल्ने हालतमा पुग्छस् र तँलाई बल दिने, डोऱ्याउने वा साथ दिने कुनै व्यक्तिविना कुनै क्षण पनि तँ फेरि खडा हुन सक्दैनस् भने, यी सबै कुरा अपरिपक्व कद हुनुका प्रकटीकरणहरू हुन्। अपरिपक्व कद हुनेहरूले परमेश्‍वरको वचन आफै खान र पिउन सक्दैनन्, अनि तिनीहरूले प्रवचन वा सङ्गति सुनेर सत्यता बुझ्न सक्दैनन्। तिनीहरू नियम पालन गर्नमा मात्र ध्यान दिन्छन् र नियमहरू पालन गर्न सकियो भने आफूले राम्रै गरिरहेको हुइन्छ भन्ने विश्‍वास गर्छन्। तिनीहरूलाई सधैँ बाटो देखाइदिने, हर कुरामा डोऱ्याउने अनि सिकाउने र हात समाएर पछिपछि लैजाने कोही व्यक्ति चाहिन्छ, अनि अरूको सहयोग र साथविना तिनीहरू असहाय, नकरात्मक र कमजोर बन्छन्। तिनीहरू पुरै व्यर्थका हुन्छन् अनि ढिलोचाँडो तिनीहरू मृत हुनेछन्; तिनीहरू कबाड हुन्, र तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्दैनन्। कतिपयले सोध्छन्: “के मेरो सानो कदको समस्या समाधान गर्ने कुनै तरिका छ?” यसलाई समाधान गर्ने तरिका छ। तँलाई जेसुकै आइपरे पनि, चाहे त्यो गम्भीर कुरा होस् वा मामुली कुरा, वा त्यो तैँले निर्वाह गर्दै गरेको कर्तव्य नै किन नहोस्, तैँले एउटा कुरा याद राख्‍नुपर्छ: तैँले देहगत भावना, आफ्नो धारणा र कल्पना, वा आफ्नो रिसाहापनमा भर पर्नु हुँदैन, बरु तुरुन्तै सत्यता खोजेर परमेश्‍वरले मानिसहरूलाई दिनुभएको मापदण्ड के हो सो पत्ता लगाउनुपर्छ। तैँले परमेश्‍वरको अभिप्राय बुझेर मात्र अघिको मार्ग भेट्टाउनेछस्।

आफ्नो भावनामा भर परेर कार्य गरेको कुरा कसरी प्रकट हुन्छ? यो कुरा मानिसहरूले आफूलाई दयालु व्यवहार देखाउने व्यक्तिको लागि वा आफ्नो घनिष्ठ व्यक्तिको लागि बचाउ गर्दा र पक्ष लिँदा सबैभन्दा बढी प्रकट हुन्छ। उदाहरणको लागि, मानौँ तेरो साथीलाई कुनै खराब कुरा गरेकोमा पर्दाफास गरिन्छ र तैँले यसो भन्दै उसको बचाउ गर्छस्: “उसले त्यस्तो कुरा गर्दैन, ऊ असल व्यक्ति हो! उसलाई पक्कै पनि झूटो आरोप लागेको हुनुपर्छ।” के यो भनाइ निष्पक्ष छ त? (छैन।) यो त आफ्नो भावनाको आधारमा काम गर्नु र बोल्नु हो। अर्को उदाहरण विचार गर्दा, मानौँ तेरो कसैसँग अलिक झगडा पऱ्यो र तँलाई ऊ मन पर्न छोड्यो, अनि उसले सही र सिद्धान्तअनुसारको कुनै कुरा बोल्दा तँ सुन्न चाहँदैनस्, यो के कुराको प्रकटीकरण भएको हो? (सत्यता नस्विकार्ने कुराको प्रकटीकरण।) किन तँ सत्यता स्विकार्न सक्दैनस्? तँलाई आफ्नो मनमा उसले भनेको कुरा सही हो भन्ने थाहा छ, तर तैँले ऊप्रति पूर्वाग्रह राखेको हुनाले, तँलाई त्यो कुरा सही हो भन्ने थाहा हुँदासमेत तँ त्यो सुन्न चाहँदैनस्। यो कस्तो समस्या हो? (यो आफ्नो भावनाको वशमा पर्नु हो।) यो भावनामा चुर्लुम्मै डुब्नु हो। कतिपय मानिसहरू आफ्नो व्यक्तिगत रुचि र भावनाद्वारा सजिलै ढलपल हुन्छन्। यदि तिनीहरूको कसैसँग ठ्याक् मिल्दैन भने, त्यो व्यक्तिले जति नै राम्रोसँग वा सही तरिकामा बोले पनि, तिनीहरूले सुन्नेछैनन्। अनि यदि तिनीहरूको कसैसँग ठ्याक् मिल्छ भने, त्यो व्यक्तिले भन्ने जुनसुकै कुरा सुन्न पनि तिनीहरू इच्छुक हुन्छन्, चाहे त्यो सही होस् कि गलत वा त्यो सत्यताअनुरूप होस् कि नहोस्। के यो आफ्नो व्यक्तिगत रुचि र भावनाद्वारा सजिलै ढलपल हुनु होइन र? के कुनै व्यक्तिले यस्तो स्वभाव पालेर तर्कसङ्गत रूपमा बोल्न र कार्य गर्न सक्छ र? के उसले सत्यता स्विकार्न र पालन गर्न सक्छ र? (सक्दैन।) ऊ भावनाद्वारा नियन्त्रित हुने र संवेगद्वारा सजिलै ढलपल हुने हुनाले, उसले आफ्ना कार्य-व्यवहारहरूमा सत्यता सिद्धान्तहरू पालना गर्ने कुरामा असर पुग्छ। यसले उसलाई सत्यता स्विकार्न र सत्यताप्रित समर्पित हुनमा पनि असर गर्छ। त्यसोभए, कुन कुराले उसको सत्यता अभ्यास गर्ने र सत्यताप्रति समर्पित हुने क्षमतामा असर गरिरहेको हुन्छ? उसलाई कुन कुराले नियन्त्रण गरिरहेको हुन्छ? त्यो उसको भावना र संवेग हो। यिनै कुराहरूले उसलाई नियन्त्रण र बन्धनमा पार्छन्। यदि तँ सत्यताको सट्टा व्यक्तिगत सम्बन्ध र स्वार्थलाई प्राथमिकता दिन्छस् भने, भावनाले तँलाई सत्यता स्विकार्न बाधा दिइरहेको हुन्छ। तसर्थ, तैँले भावनाको भरमा काम गर्नु वा बोल्नु हुँदैन। तेरो कसैसँगको सम्बन्ध राम्रो होस् या नहोस्, वा उसको बोली कोमल भए पनि वा रुखो भए पनि, यदि उसले बोलेको कुरा सत्यतासँग मेल खान्छ भने, तैँले त्यो सुन्नु र स्विकार्नुपर्छ। सत्यता स्विकार्ने मनोवृत्ति यही हो। यदि तँ “उसको सङ्गति सत्यतासँग मेल खान्छ र ऊसँग अनुभव पनि छ, तर ऊ असाध्यै ढीठ र अहङ्कारी छ, अनि यो हेर्दै मननपर्दो र अप्ठ्यारो हुन्छ। त्यसैले, ऊ सही भए पनि, म उसको कुरा स्विकार्नेछैनँ” भनेर भन्छस् भने, यो कस्तो स्वभाव हो? तोकेरै भन्नुपर्दा, यो त भावना हो। जब तँ मानिसहरू र विभिन्‍न कुराहरूलाई आफ्नो रुचि र संवेगको आधारमा व्यवहार गर्छस्, तब यो भावना हो, र यो सब भावनाको वर्गमा पर्छ। भावनासँग सम्बन्धित कुराहरू भ्रष्ट स्वभावका कुराहरू हुन्। सबै भ्रष्ट मानिसहरूसँग भावना हुन्छ, र तिनीहरू सबै आफ्नो भावनाद्वारा फरकफरक हदमा नियन्त्रित हुन्छन्। यदि कुनै व्यक्तिले सत्यता स्विकार्न सक्दैन भने, उसलाई भावनाको समस्या समाधान गर्न गाह्रो पर्नेछ। कतिपय मानिसहरू झूटा अगुवाहरूलाई जोगाउँछन्, ख्रीष्टविरोधीहरूलाई रक्षा गर्छन् अनि दुष्कर्मीहरूलाई समर्थन र बचाउ गर्छन्। यी सबै मामिलाहरूमा भावना संलग्‍न हुन्छ। कतिपय अवस्थामा, अवश्य नै ती मानिसहरू आफ्नो दुष्ट प्रकृतिको कारण नै त्यस्तो व्यवहार गरिरहेका हुन्छन्। यी समस्याबारे स्पष्ट हुनको लागि तैँले तीबारे बारम्बार सङ्गति गर्नुपर्छ। कतिपय मानिसहरू यसो भन्लान्, “मसित आफ्नो परिवार र साथीसँगीप्रति मात्र भावना छ, तर अरू कसैप्रति छैन।” यो भनाइ सही होइन। यदि अरूले तँलाई केही मात्रामा सानो कृपा देखाए मात्र भने पनि, तँमा तिनीहरूप्रति भावना पलाउँछ। त्यसमा घनिष्ठता र गहनताका विभिन्न हदहरू हुनेछन्, तैपनि ती भावना नै हुन्। यदि मानिसहरूले आफ्नो भावना हटाएनन् भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन गाह्रो हुनेछ।

अब हामी धारणा र कल्पनाहरूबारे कुरा गरौँ। कतिपय धारणा र कल्पनाहरू व्यक्तिको पारिवारिक पालनपोषणबाट, कतिपयचाहिँ सामाजिक अभ्यस्तीकरणबाट र कति अरू भने विद्यालयको शिक्षाबाट आउँछन्। आफ्ना धारणा र कल्पनाहरूअनुसार मानिसहरूलाई व्यवहार गर्नु र सोहीअनुसार काम गर्नुका प्रकटीकरणहरू के-के हुन्? म तँलाई एउटा उदाहरण दिन्छु। मानौँ एक व्यक्ति छ, जो परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेपछि विभिन्‍न कुराहरू त्याग्‍न र उत्साहसाथ आफ्नो कर्तव्य निभाउन सक्षम हुन्छ, र पछि ऊ अगुवाको रूपमा चयन हुन्छ। उसले यो नयाँ हैसियत पाएपछि, कर्तव्य निभाउन अझ धेरै शक्ति लगाउँछ र मानिसहरूसँग सत्यता सङ्गति गर्न प्रायः भेलाहरू आयोजना गरिरहन्छ। दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या आइपर्दा, उसले त्यो तुरुन्तै समाधान गरिदिन्छ र सबै जनामा उसको राम्रो छाप पर्छ। तर केही समय अगुवाको रूपमा सेवा गरेपछि, उसले आफ्नो हैसियत र शक्ति जोगाउन काम गर्न थाल्छ, हरेक मोडमा धाक देखाउँछ र आफ्नो प्रदर्शन गर्छ। दुःखको कुरो, उसले दुष्ट मानिसहरूलाई अगुवा र सेवकको रूपमा बढुवा र जगेर्ना गर्छ। अनि घिनलाग्दो रूपमा उसले सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई दबाउँछ र अलग्याउँछ। उसले अनेकौँ दुष्कर्म गरेकोले र मण्डलीको काम बिथोलेकोले, अन्त्यमा उसलाई ख्रीष्टविरोधी ठहर गरी निष्कासित गरिन्छ। यो सुनेर कतियप मानिसहरूको मुखबाट फुत्त यस्तो बोली निस्कन्छ: “हुनै सक्दैन! हाम्रो कस्तो राम्रो ठ्याक मिल्थ्यो। हामीले मिलेर कैयौँ मानिसहरूलाई सफलतापूर्वक सुसमाचार सुनायौँ। त्यस्तो मान्छे कसरी ख्रीष्टविरोधी बन्‍न सक्छ?” तिनीहरूले परमेश्‍वरको घरले त्यो परिस्थिति जसरी सम्हाल्यो त्यसप्रति निश्‍चित धारणा बनाउँछन्, र असल व्यक्तिलाई अन्यायी व्यवहार गरियो भन्ठान्छन्। मलाई बता त, किन तिनीहरूले यो ख्रीष्टविरोधीको बचाउ गर्छन् र उसलाई कथित अन्याय भएको गुनासो गर्छन्? किनभने तिनीहरू ऊसँग परिचित थिए—तिनीहरूले मिलेर सुसमाचार सुनाएका थिए। उसले अगुवा बनेपछि आफ्नो वास्तविक रङ्ग देखाउनेछ, हरप्रकारको दुष्कर्म गर्नेछ र ख्रीष्टविरोधी बन्‍नेछ भनेर तिनीहरूले कहिल्यै कल्पना गरेका थिएनन्। तिनीहरूले आफूले कल्पना नगरेको कुरा स्विकार्न सक्दैनन्। त्यसैले मलाई बता त, के तिनीहरूले यो व्यक्तिलाई आफ्नै धारणा र कल्पनाहरूको आधारमा हेरिरहेका छैनन् र? तिनीहरू विगतमा त्यो व्यक्तिले तिनीहरूमा पारेको अस्पष्ट छापको आधारमा ऊ ख्रीष्टविरोधी हुन सक्दैन भन्‍ने निष्कर्ष निकाल्छन। के यो सही दृष्टिकोण हो? किन तिनीहरू यसरी सोच्छन् र यस्तो निष्कर्ष निकाल्छन्? किन तिनीहरू परिस्थितिको वास्तविकता नबुझी यस्तो गैरजिम्मेवार टिप्पणी र लापरवाही निर्धारण गर्छन्? यो एक प्रकारको स्वभाव हो। मानिसहरूले आफ्नै कल्पनाअनुसार मानिस, घटना र वस्तुहरूलाई लिन्छन् र सम्हाल्छन्—यो कस्तो खालको स्वभाव हो? यो अलिअलि अहङ्कार र अलिअलि हठ हो। तैँले आफ्नो दैनिक जीवनमा प्रकट गर्ने कुरा, चाहे त्यो तेरो सोच र विश्‍वास होस्, चाहे त्यो तेरो कार्य वा तैँले अरू मानिसहरूसँग व्यवहार गर्दा पालन गर्ने सिद्धान्त होस्, यी सबै तेरो भ्रष्ट स्वभावबाट आउँछन् र तैँले यी कुरालाई सत्यतासँग दाँज्‍नुपर्छ। यदि तँलाई यसो गर्न लगाइँदा तँ अन्यौल हुन्छस् भने, यो समस्याजनक कुरो हो; यसको अर्थ तँसँग सत्यताको कुनै ज्ञान छैन। अनि, सत्यताले कस्तो प्रभाव पार्छ? (यसले व्यक्तिको भ्रष्ट स्वभाव हटाउन सक्छ।) यसले त्यो कसरी हटाउँछ? तैँले आफ्नो दैनिक सोच, विश्‍वास, बोली र कामलाई सत्यतासँग दाँज्‍नुपर्छ; जब तैँले ती मेल खाएको पाउँछस्, तब आफ्नो समस्या कहाँ रहेछ भनेर पहिचान गर्न सक्नेछस्। यदि तैँले आफ्नो समस्या पहिचान गर्न सक्दैनस् भने, वा यदि तँ परमेश्‍वरको वचन र सत्यता स्विकार्दैनस्, र आफ्नै धारणा र कल्पनाहरूको आधारमा गैरजिम्मेवार टिप्पणीहरू गर्छस् भने, तँसँग कस्तो समस्या छ? यो अहङ्कार र अविवेकीपनको समस्या हो, अनि यो तेरो भ्रष्ट स्वभावसँग सम्बन्धित छ। तँ तथ्य थाहा नपाई केवल आफ्नो कल्पनाको आधारमा लापरवाहीसँग बोल्छस्, र यस्तोसमेत सोच्छस्, “तिमीहरू उसलाई जान्दैनौ, तर म जान्दछु—म उसलाई बुझ्छु।” तैँले यसो भन्‍नुको वास्तविक अर्थ तँ अरू कसैले भन्दा बढी स्पष्टसँग र बढी सही तरिकाले देख्न सक्छस् भन्‍ने हो। के यो अहङ्कार होइन र? के यो आत्मधार्मिकता होइन र? यस्तो स्वभाव तँभित्र गहिरिएर बस्छ, त्यसैले तँ सधैँ आफ्नै धारणा र कल्पनाहरूको आधारमा बोल्छस् र कार्य गर्छस्। उदाहरणको लागि, मानौँ मण्डलीले केही परियोजना सञ्‍चालन गर्न चाहन्छ र यसको लागि कति खर्च लाग्‍ने रहेछ भनी तँलाई सोध्छ, तर तैँले परिस्थिति राम्ररी बुझ्दै नबुझी तुरुन्तै भनिहाल्छस्, “यसको लागि कम्तीमा पनि १,००, ००० लाग्छ!” यो सुनेर सबैजना तिनछक पर्छन्, र यति धेरै त नलाग्‍नुपर्ने, पक्कै तैँले बढाएर भनिस् होला भन्‍ने सोच्छन्। तेरो लापर्बाहीसाथ बोल्ने र गैरजिम्मेवार टिप्पणी गर्ने स्वभावको कारण, मण्डलीको काममा कस्ता परिणामहरू आइपर्न सक्छन्? वास्तवमा, यो काम गर्न यत्ति धेरै लाग्थेन, तैपनि तँ १,००,००० खर्च लाग्‍ने दाबी गरिस्—के यो गैरजिम्मेवार ढङ्गमा बोल्नु होइन र? के यसले माण्डलीलाई हानि गर्दैन र? के यो बोल्ने र कामकाज सम्हाल्ने भरपर्दो तरिका हो? होइन, यो एकदमै भरनपर्दो तरिका हो। परमेश्‍वरको घरले आफ्नो काममा यस्तो व्यक्तिलाई कदापि प्रयोग गर्न सक्दैन। के यो परिस्थितिबाट सिक्नुपर्ने कुनै पाठ छ? व्यक्तिले इमानदार बन्‍न र साँचो कुरा बोल्न सिक्नुपर्छ—कर्तव्य राम्ररी निर्वाह गर्ने कडी नै यही हो। यदि कुनै व्यक्ति बेइमान छ र गैरजिम्मेवार टिप्पणीहरू गर्छ भने, ऊ कर्तव्य निर्वाहको योग्य हुँदैन, न त परमेश्‍वरको घरमा कर्तव्य निभाउन नै योग्य हुन्छ। त्यसैले, कर्तव्य राम्ररी निर्वाह गर्न व्यक्तिले इमानदार व्यक्ति बन्‍न, आफूले भन्‍ने सबै कुराको जिम्मेवारी लिन अनि नसोचीकन र आफ्नो कल्पनाको आधारमा गैरजिम्मेवार ढङ्गमा बोल्नदेखि जोगिन सिक्‍नुपर्छ। व्यक्तिले सही तरिकामा बोल्नुपर्छ र उसको बोली तथ्यसँग मिल्नुपर्छ। इमानदार व्यक्ति बन्‍ने वास्तविकताको एक पक्ष यही हो।

के तिमीहरू सबैले आफूसँग अहङ्कारी स्वभाव छ भनेर महसुस गरेका छौ? (छौँ, कहिलेकाहीँ म बढाइचढाइ गर्छु र समझहीन कुरा बोल्छु। मलाई आफू एकदमै अहङ्कारी छु र यो मेरो प्रकृति सारको एक पक्ष हो भन्‍ने महसुस हुन्छ।) तैँले आफूमा अहङ्कारी स्वभाव छ भनेर थाहा पाइसकेपछि, यसलाई कसरी हल गर्नुपर्छ? तैँले आफूमा अहङ्कारी स्वभाव छ भनेर पहिचान गरेको र स्विकारेको छस् भन्दैमा यसलाई हल गर्न सक्नेछैनस्। आफ्नो अहङ्कारी स्वभाव हल गर्न, तैँले पहिला सत्यता स्विकार्ने, परमेश्‍वरको वचनको न्याय र सजाय स्विकार्ने, परमेश्‍वरको वचनले प्रकट गरेअनुसार तेरो अहङ्कारी स्वभाव प्रकट हुने अनगिन्ती तरिकाहरू अनि त्यस्तो गराउने शैतानी विषहरू कुनकुन हुन् भनेर बुझ्ने, अनि तँलाई बहकाउने र तेरो अहङ्कारी स्वभाव जागृत गराउने भ्रमहरू कुनकुन हुन् भनेर पहिचान गर्ने गर्नुपर्छ। तैँले बुझ्नैपर्ने कुराहरू यिनै हुन्। आफ्नो अहङ्कारी स्वभाव हल गर्दा, तैँले परिस्थिति प्रकट हुनासाथ एकपटकमा एक कदम चाल्दै हल गर्नुपर्छ—यसरी तेरो अहङ्कारी स्वभाव क्रमिक रूपमा हल हुँदै जानेछ। अहङ्कारी स्वभावमा जिउनेहरूमाझ देखिने सबैभन्दा आम स्थिति भनेको आफ्नो कल्पनाको आधारमा बोल्ने र बढाइचढाइ गर्ने प्रवृत्ति हो—सबभन्दा पहिला यो बढाइचढाइ कुरा गर्ने स्थिति हटाएर नै तिनीहरूको अहङ्कारी स्वभाव केही हदसम्म कम गर्न सकिन्छ। अहिले, आफ्नो कल्पनाको आधारमा बढाइचढाइ कुरा गर्ने समस्या कसरी हटाउन सकिन्छ? सुरुमा आफ्नो कल्पनाको आधारमा बढाइचढाइ कुरा गर्नु भनेको के हो त्यो स्पष्टसँग बुझ्‍नुपर्छ। प्रथमतः व्यक्तिले यो कुरा पत्ता लगाउनुपर्छ: “कल्पना कसरी उत्पन्‍न हुन्छ? किन मानिसहरूमा निरन्तर कल्पनाहरू हुन्छन्? तिनीहरूको कल्पना केमा आधारित हुन्छ? के यो कल्पनाले वास्तविकता प्रतिनिधित्व गर्छ? के यो कल्पना सत्यतासँग मेल खान्छ?” त्यसपछि, व्यक्तिले बढाइचढाइ कुरा गर्ने समस्यालाई स्पष्टसँग खुट्‍याउनुपर्छ—उसले आफू किन र कुन अवस्थामा यी बढाइचढाइका कुराहरू गर्छु र यसबाट कुन अभिप्राय हासिल गर्ने चाहन्छु भन्‍ने कुरा खुट्याउनुपर्छ। यी प्रश्‍नहरूको उत्तर पाएपछि र सत्यताअनुसार यो समस्या समाधान गरिएपछि, आफ्नो कल्पनाको आधारमा बढाइचढाइ कुरा गर्ने यो स्थितिलाई केही हदसम्म हटाउन सकिन्छ। उदाहरणको लागि, मानौँ एक अगुवाले तँलाई कुनै कुरा जाँच गर्न अह्राए, तर तँ अरू कुनै काममा व्यस्त भएकोले तैँले त्यो गर्न बिर्सिन्छस्। पछि, ती अगुवाले त्यसबारे सोध्दा, निराकरण गरिएला भन्‍ने डरले तैँले कुरा बनाएर ठिक्‍क पार्छस्। यसले कस्तो खाले स्वभाव प्रकट गर्छ? यहाँ दुई प्रकारको स्थिति देखिन्छन्: एउटा स्थिति तेरो कल्पनाको आधारमा लापरवाहीसँग बोल्नु हो; तैँले आफू अनुत्तरित भएकोले र निराकारण गरिएला भन्‍ने डरले कुरा बनाउनु अर्को स्थिति हो। यदि तँ लापरवाहीसाथ बोलिरहेको छैनस् भने, झूटो बोल्दै छस्, अनि यदि तँ अहङ्कारी र घमण्डी हुँदै छैनस् भने, तँ छली बन्दै छस्—यी सबै कुराले समस्या निम्त्याउँछन् र यी सबैलाई जाँच्नैपर्छ। तैँले बोल्दा र कार्य गर्दा, भ्रष्ट स्वभाव प्रकट गर्न लाग्दै छु भन्‍ने थाहा पाइस् भने, तैँले आफूलाई नियन्त्रण गर्नैपर्छ, अनि हृदयबाट परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ। तसर्थ, तैँले सत्यता सिद्धान्तअनुरूप बन्‍न कसरी कार्य गर्नुपर्छ? यो कुरा व्यक्तिको अभ्याससँग सम्बन्धित छ। (इमानदारीसाथ र आफूले जानेको कुरा मात्र बोल्नुपर्छ।) यो सही हो। यदि तँलाई उत्तर थाहा छैन भने, तैँले यसो भन्‍नुपर्छ, “मलाई यस विषयमा ज्ञान छैन, मैले अझसम्म यसलाई हेरेको छैनँ।” मानौँ, तैँले मनमनै यस्तो सोच्छस्, “यदि अगुवाले मैले अझसम्म किन यो मामिला हेरेको छैनँ भनेर सोधे र मलाई निराकरण गरे भने, मैले के गर्नुपर्ला?” मलाई बता, तैँले यस परिस्थितिमा कसरी अभ्यास गर्नुपर्छ? (यदि हामीले यो मामिला हेरेका छैनौँ भने, हेरेका छैनौँ नै भन्‍नुपर्छ। हामीले निराकरण गरिएला भन्‍ने डरले झुट बोल्नु हुँदैन।) सही भनिस्। यदि तँलाई केवल निराकरण गरिएला भन्‍ने डरले गर्दा झुट बोल्न, मानिसहरूलाई छल्न वा तथ्यविपरीत बोल्न इच्छा लाग्यो भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ र इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नुपर्छ। यस तरिकाले कल्पनाको आधारमा बोल्ने तेरो समस्या कम हुँदै जानेछ। तर कल्पनाको आधारमा बोल्ने यो समस्या समाधान गर्नु मात्र पर्याप्त हुँदैन—तैँले आफूलाई अझ गहन रूपमा बुझ्‍नुपर्छ। तैँले आफ्ना भ्रष्ट स्वभावहरू चिन्‍ने मात्र होइन, आफ्नो शैतानी प्रकृति र आफ्नो अहङ्कारको स्रोतलाई पनि बुझ्‍नुपर्छ। यदि तैँले यो गर्न सकिस् भने, आफ्नो अहङ्कारी स्वभाव आधाभन्दा बढी हल गरेको हुनेछस्। कम्तीमा पनि, तँ अहङ्कारी हुनेछैनस् र व्यवहारमा तँ अझ नम्र बन्‍नेछस्। यदि तँ एक कदम अघि बढेर, तेरो झूटो बोल्ने र अरूलाई छल्ने समस्या हल गर्न सक्छस् भने, अनि सत्यता र तथ्यअनुसार बोल्न, र इमानदार व्यक्ति बन्‍न र आफ्नो मनको कुरा बोल्‍न सक्छस् भने, तँ लगभग मानव स्वरूपमा जिइरहेको हुनेछस्। कम्तीमा पनि, तैँले अझ तर्कसङ्गत रूपले बोल्ने र कार्य गर्नेछस्। यसले के देखाउँछ भने, जबसम्म मानिसहरूले सत्यता पछ्याउने, परमेश्‍वरको कार्यप्रति समर्पित हुने अनि उहाँलाई प्रार्थना गर्ने र उहाँमा भर पर्ने गर्छन्, तबसम्म तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरू सुल्झाउन पूरै सक्षम हुनेछन्। भ्रष्ट स्वभाव हुनेहरूले प्रायः बढाइचढाइ कुरा गर्छन्, सधैँ आफूलाई अरूभन्दा श्रेष्ठ ठान्छन्; तिनीहरू आफूलाई उच्च र प्रभावशाली व्यक्ति अनि अरू सबैलाई आफूभन्दा तुच्छ मान्छन् अनि मनलागी बोल्छन् र कार्य गर्छन्। यदि तिनीहरू बारम्बार झूट बोल्दै र अरूलाई छल गर्दै आफ्नो लक्ष्य हासिल गर्न आवश्यक कुनै पनि माध्यम प्रयोग गर्नसमेत सक्छन् भने, तिनीहरू अहङ्कारी र घमण्डी मात्र हुँदैनन्, तिनीहरूमा छली स्वभाव पनि हुन्छ। अहङ्कारी र घमण्डी स्वभाव हल गर्ने कुरा मुख्यतः आफ्नो प्रकृति सार चिन्‍न सक्‍नुमा र आफू अत्यन्तै भ्रष्ट भएर दियबालस शैतानजसरी जिइरहेकोले आफू अहङ्कारी र घमण्डी बनेको हुँ भनेर बुझ्‍न सक्‍नुमा निर्भर हुन्छ। जब तैँले यो कुरा स्पष्टसँग देख्न सक्छस्, तब तँलाई जति बढी अहङ्कारी होइन्छ, उति बढी शैतानी बनिन्छ भन्‍ने महसुस हुनेछ। बरु अर्कोतर्फ, असफल र धक्‍का अनुभव गरेर तेरो व्यवहार झनै राम्रो हुनेछ। अहङ्कारी स्वभाव हल गर्न सजिलो हुन्छ कि छली स्वभाव? वास्तवमा, दुवै स्वभाव हल गर्नु सजिलो हुँदैन, तर तुलना गर्दा छली स्वभावभन्दा अहङ्कारी स्वभाव हल गर्न अलि सजिलो हुन्छ। छली स्वाभाव हल गर्नु निकै कठिन हुनेछ। किनभने छली व्यक्तिहरू यति धेरै दुष्ट मनसाय र अभिप्रायले भरिएका हुन्छन् कि तिनीहरूलाई तिनीहरूको विवेक र समझले पनि नियन्त्रण गर्न सक्दैनन्। यो तिनीहरूको प्रकृति सारको समस्या हो। तैपनि, यो जति नै गाह्रो हुने भए पनि, यदि व्यक्तिले आफ्नो छली स्वभाव हल गर्न चाहन्छ भने, सुरुमा उसले इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नुपर्छ। आखिर, इमानदार व्यक्ति बन्‍ने अभ्यासको सबैभन्दा सरल तरिका भनेको जस्तो हो त्यस्तै बताउनु, इमानदार बोली बोल्नु, र तथ्यअनुसार बोल्नु हो। प्रभु येशू भन्‍नुहुन्छ, “तर तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्” (मत्ती ५:३७)। इमानदार व्यक्ति बन्‍न यो सिद्धान्तअनुसार अभ्यास गर्नुपर्छ—तैँले यसमा केही वर्ष प्रशीक्षण लिएपछि निश्‍चय नै परिणाम देख्नेछस्। अहिले तिमीहरू कसरी इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्छौ? (म आफूले बोल्ने कुरामा दूषित कुराहरू मिसाउँदिनँ र अरूलाई छल गर्दिनँ।)। “दूषित कुराहरू मिसाउँदिनँ” भन्‍नुको अर्थ के हो? यसको अर्थ तैँले बोल्ने शब्दहरूमा झुट वा कुनै व्यक्तिगत अभिप्राय वा मनसाय छैनन् भन्‍ने हो। यदि तँ तेरो हृदयमा छल वा व्यक्तिगत अभिप्राय र मनसाय पाल्छस् भने, तँबाट झुटहरू स्वतः प्रकट हुनेछन्। यदि तेरो हृदयमा कुनै छल वा व्यक्तिगत अभिप्राय वा मनसाय छैन भने, तैँले बोल्‍ने कुरामा दुषित कुराहरू मिसिएको हुनेछैन र त्यसमा झुट हुनेछैन—यसरी तेरो बोलीवचन “होलाई, हो; होइनलाई, होइन” भन्‍ने हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिला आफ्नो हृदयलाई शुद्ध पार्नु हो। हृदय शुद्ध भएपछि, आफ्नो अहङ्कार, र छलीपन पनि हल हुनेछन्। इमानदार व्यक्ति बन्‍नलाई यस्ता मिसावटहरू हल गरिनुपर्छ। त्यसो गरिसकेपछि, इमानदार व्यक्ति बन्‍न सजिलो हुनेछ। के इमानदार व्यक्ति बन्‍न जटिल छ? छैन, यो जटिल छैन। तेरो भित्री स्थिति जे-जस्तो भए पनि वा तँसित जुनसुकै भ्रष्ट स्वभाव भए पनि, तैँले इमानदार व्यक्ति बन्‍ने सत्यता अभ्यास गर्नुपर्छ। पहिला तैँले झुट बोल्ने समस्या समाधान गर्नैपर्छ—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। प्रथमतः बोल्दाखेरि तैँले आफ्नो मनमा जे छ त्यो बोल्ने, साँचो कुरा बोल्ने, जस्तो छ त्यस्तै बताउने र झुट बोल्न पूर्ण रूपमा छोड्ने अभ्यास गर्नुपर्छ; तैँले दूषित शब्दहरू बोल्नसमेत हुँदैन, अनि आफूले दिनभरि बोल्ने सबै कुरा साँचो र इमानदार हुने कुरा सुनिश्‍चित गर्नुपर्छ। तैँले यसो गरेर सत्यता अभ्यास गरिरहेको र इमानदार व्यक्ति बन्‍ने अभ्यास गरिरहेको हुन्छस्। यदि तैँले आफूबाट झुट वा दूषित शब्दहरू निस्केको थाहा पाइस् भने, तुरुन्तै आत्मचिन्तन गर् अनि आफूले किन झुट बोल्छु र केले आफूलाई झुट बोल्न लगाउँदै छ भनेर विश्‍लेषण गरी पत्ता लगा। त्यसपछि, परमेश्‍वरको वचनको आधारमा यो अन्तर्निहित र महत्त्वपूर्ण समस्यालाई विश्‍लेषण गर्। तैँले आफ्नो झुटको जड बुझेपछि आफ्नो बोली र व्यवहारमा यो शैतानी स्वभावको विरोध गर्न सक्नेछस्। त्यसउप्रान्त तैँले यस्तै परिस्थिति आइपर्दा झुटको सहारा लिनेछैनस्, बरु तथ्यअनुसार बोल्न सक्नेछस्, अनि छली बोली बोल्न छोड्नेछस्। यसरी तेरो आत्मा स्वतन्त्र र मुक्त हुनेछ अनि तँ परमेश्‍वरसामु जिउन सक्नेछस्। यदि तँ परमेश्‍वरको वचनअनुसार जिउन सक्छस् भने, ज्योतिमा जिइरहेको छस्। तर यदि तँ निरन्तर छल, षड्यन्त्र र जालझेल गरिरहन्छस्, सधैँ चोरजस्तो अँध्यारो कुनामा लुकी बस्छस् र गुप्त रूपले आफ्नो काम गर्छस् भने, तँलाई परमेश्‍वरसामु जिउने हिम्मत हुनेछैन। तँभित्र गोप्य अभिप्रायहरू छन्, तँ सधैँ आफ्नो उद्देश्य पूरा गर्न अरूलाई छल्न चाहन्छस्, हृदयमा एकदमै लज्जास्पद र बोल्नै नहुने कुराहरू पाल्छस्, त्यसैले तँ ती कुराहरू लुकाउने र छिपाउने, गुप्त राख्‍ने र छोपछाप गर्ने प्रयास गरिहन्छस्, तर तँ यी कुराहरू सधैँभरि लुकाउन सक्दैनस्। ढिलोचाँडो, ती प्रकट हुने नै छन्। गोप्य मनसाय हुने व्यक्ति ज्योतिमा जिउन सक्दैन। यदि उसले आत्मचिन्तन गर्ने, आफ्नो विश्‍लेषण गर्ने र आफूलाई उदाङ्गो पार्ने काम गरेन भने, ऊ आफ्नो भ्रष्ट स्वभावको नियन्त्रण र बन्धनबाट मुक्त हुन सक्नेछैन। ऊ पापको जीवनमा फसिरहनेछ, त्यसबाट मुक्त हुन सक्नेछैन। मूलतः तैँले कुनै पनि परिस्थितिमा झुट बोल्नु हुँदैन। यदि तँलाई झुट बोल्नु गलत हो र यो सत्यताअनुरूप होइन भन्‍ने थाहा छ, तैपनि झुट बोलिरहन्छस् र अरूलाई छलिरहन्छस्, मानिसहरूलाई बहकाउन तथ्य र अवस्थाको वास्तविकता लुकाउँदै कुरासमेत बनाउँछस् भने, तँ जानाजान दुष्कर्म संलग्‍न भइरहेको छस्। यस्तो व्यक्तिले मुक्ति प्राप्त गर्न सक्दैन। परमेश्‍वर मानिसहरूलाई सत्यता प्रदान गर्नुहुन्छ, तर व्यक्तिले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन त्यो आखिर तिनीहरूकै मामिला हो। सत्यता स्विकार्न सक्नेहरूले मुक्ति प्राप्त गर्न सक्छन्, जबकि सत्यता स्विकार्न नसक्ने र सत्यता अभ्यास नगर्नेहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्। धेरै मानिसहरूलाई आफू भ्रष्ट स्वभावमा जिउँछु भन्‍ने थाहा हुन्छ र तिनीहरूले शैतानी स्वभावअनुसार जिउनेहरू न त मानवजस्ता न त पिशाचजस्ता हुन् र तिनीहरूले सामान्य मानव स्वरूपमा जिउन सक्दैनन् भनेर बुझ्छन्। तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक त हुन्छन्, तर आफूलाई त्यसो गर्न नसक्ने पाउँछन्, र शक्तिहीन महसुस गर्छन्। यस्तो स्थितिमा, व्यक्तिले परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमा भर पर्न मात्र सक्छ। यदि मानिसहरूले सहकार्य गर्दै गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूभित्र कार्य गर्नुहुनेछैन। साँच्चै सत्यतालाई प्रेम गर्नेहरूले निश्‍चय नै आफ्नो छली स्वभाव, हरप्रकारका व्यक्तिगत अभिप्राय, साथै झुट र छललाई तिरस्कार गर्नेछन्। तिनीहरू झुटको सहारा लिनुभन्दा बरु इमानदारीसाथ बोलेर नोक्सानी बेहोर्न रुचाउँछन्। तिनीहरूले झुट बोलेर नीच जिन्दगी जिइरहनुभन्दा बरु आलोचना र निन्दा नै खेप्नुपरे पनि साँचो बोल्‍ने विकल्प रोज्छन्। यसरी शैतानी स्वभावलाई घृणा गर्न सक्नेहरूले स्वभाविक रूपमै देहगत कुरा त्याग्‍न, सत्यता अभ्यास गर्न र इमानदार मानिस बन्‍न सक्छन्।

अहिले तिमीहरूको इमानदार मानिस बन्‍ने अनुभव कस्तो हुँदै छ? के तिमीहरूले केही परिणाम हासिल गरेका छौ? (कहिलेकाहीँ म इमानदार बन्‍ने अभ्यास गर्छु तर कहिलेकाहीँ बिर्सन्छु।) के तँ सत्यता अभ्यास गर्ने कुरा बिर्सिन सक्छस्? यदि तँ यस्तो कुरा बिर्सिन सक्छस् भने, यसले कस्तो खाले समस्या दर्साउँछ? अनि, तिमीहरू सत्यतालाई प्रेम गर्छौ गर्दैनौ? यदि तिमीहरू सत्यतालाई प्रेम गर्दैनौ भने, सत्यता वास्तविकतामा प्रवेश गर्न तिमीहरूलाई गाह्रो हुनेछ। तिमीहरूले सत्यता अभ्यास र इमानदार व्यक्ति बन्‍ने अभ्यासलाई गम्भीरतापूर्वक लिनुपर्छ। तिमीहरूले कसरी इमानदार व्यक्ति बन्‍ने र आफूमा कस्तो समझ हुनुपर्छ भनेर बारम्बार मनन गर्नुपर्छ। परमेश्‍वर मानिसहरूलाई इमानदार बन्‍ने र सत्यतालाई सबैभन्दा महत्त्वपूर्ण कुराको रूपमा पछ्याउने मापदण्ड दिनुहुन्छ। तिनीहरू इमानदार व्यक्ति बन्‍न र पत्रुसको स्वरूपमा जिउन आफूमा कुन सत्यताहरू हुनुपर्छ अनि आफू कुन वास्तविकतामा प्रवेश गर्नुपर्छ भनेर स्पष्ट हुनुपर्छ, र तिनीहरूले अभ्यासको मार्ग खोज्‍नुपर्छ। त्यसपछि मात्र तिनीहरू इमानदार र परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति बन्‍ने आशा हुनेछ। यदि तँ इमानदार मानिसहरूलाई, सोझो कुरा गर्नेहरूलाई, र विशेष गरी सत्यता स्विकार्न र पछ्याउन सक्नेहरूलाई घृणा गर्छस् भने, र यदि तँ सधैँ यस्ता मानिसहरूलाई तिरस्कार गर्छस् भने, तँ सकारात्मक व्यक्ति होइनस् र तँ दुष्ट व्यक्तिहरूको वर्गमा पर्छस्। यदि तँ आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गर्नेहरू र सत्यता अभ्यास गर्नमा मूल्य चुकाउन इच्छुकहरूलाई तुच्छ ठान्छस् भने, तँ नकारात्मक व्यक्ति बनेको छस्, र तँ निश्‍चय नै सकारात्मक व्यक्ति होइनस्। कुनै व्यक्तिले मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन त्यो ऊ सकारात्मक व्यक्ति हो, होइन भन्‍ने कुरासँग सम्बन्धित हुन्छ। अनि, व्यक्ति सकारात्मक हो, होइन भनेर निर्धारण गर्ने मुख्य तत्व उसका आकाङ्क्षाहरू र उसको हृदयमा हुने प्राथमिकताहरूमा निर्भर हुन्छ। तैँले सकारात्मक र नकारात्मक कुराहरूबीचको भिन्‍नता छुट्याउनुपर्छ, र ती कुराहरूको स्पष्ट सीमा तोक्न, सही अडान लिन अनि परमेश्‍वर र सत्यताको पक्षमा खडा हुन सक्‍नुपर्छ। यदि तँ यसो गर्न सक्छस् भने, तेरो मानसिकता पूर्णतया सामान्य हुनेछ अनि तँ विवेक र समझ भएको व्यक्ति बन्‍नेछस्। यदि सत्यता पछ्याउनेहरू, मूल्य चुकाउन इच्छुकहरू र परमेश्‍वरको लागि आफूलाई सच्चा रूपमा अर्पित गर्नेहरूलाई तँ सधैँ तुच्छ ठान्छस् भने, तँ शैतानको पक्षमा खडा भइरहेको हुन्छस् र तँ नकारात्मक पात्र होस्। कतिपय मानिसहरू इमानदार व्यक्तिहरूलाई तिरस्कार गर्छन् र तुच्छ ठान्छन्। तिनीहरूले सधैँ वाक्पटु, चलाक र अरूलाई मिठो बोलेर छल्न खप्पिसहरू, साथै उच्च स्थानबाट सानदार प्रवचन सुनाउनेहरूलाई ठूलो सम्मान गर्छन्। यदि तँ पनि त्यस्तै गर्छस् भने, तँ इमानदार व्यक्ति बन्‍न सक्नेछैनस्। तैँले त फरिसीहरूको अनुकरण गरिरहेको हुनेछस् र तँ सत्यता पछ्याउने सही मार्गमा हिँड्न सक्नेछैनस्। तँ ढोँगी फरिसीहरूको वर्गमा पर्नेछस्। मानिसहरू आफ्नो रोजाइ र इच्छाको कुरा पछ्याउँछन्। अहिले तेरो हृदयको इच्छा के छ? मलाई लाग्छ, तिमीहरूलाई आफू के चाहन्छु भनेरसमेत थाहा छैन। तैँले प्रेम र घृणा गर्ने वस्तुहरू प्रस्टसँग छुट्टिँदैनन् र तँलाई आफू कुन कुराहरूमा शैतानकै दुरुस्त हुनपुगेको छु भनेर थाहा छैन। कहिलेकाहीँ, तेरा शब्दहरू सत्यतासँग मेल खान सक्छन्, तर कार्य गर्नासाथ तँ सत्यताबाट तर्किन्छस्। यसले के देखाउँछ भने, सत्यताविना तँ अडिग रहन सक्दैनस् र ढलपल भइरहन्छस्, घरि बायाँतिर घरि दायाँतिर झुकिरहन्छस्। प्रवचन सुनिसक्नासाथ, तैँले सत्यता बुझेजस्तो देखिन्छ, र तँ सही मार्गमा हिँड्न इच्छुक पनि हुन्छस्। तर केही समयपछि नै तँभित्र अन्धकार छाउँछ र तँ फेरि सत्यताबाट तर्किन्छस्। के यस्ता मानिसहरूले सही मार्ग रोज्न सक्छन्? सही मार्ग रोज्न सके नै भने पनि, तिनीहरू यसमा हिँड्न सक्दैनन् किनभने तिनीहरू असामान्य अवस्थामा हुन्छन्। तिनीहरू सत्यता फिटिक्कै बुझ्दैनन्, तिनीहरू कुइरोमा हराएको कागझैँ दिनभरि यताउता भौँतारिने भ्रमित व्यक्तिहरू हुन्। तिनीहरूले आफूलाई असल मानिस मन पर्छ भनेर भन्‍न सक्छन्, तर आफूलाई कुनै समस्या आइपर्दा, ती असल मानिसहरूलाई तुच्छ ठान्छन्। तिनीहरूले इमानदार बन्‍न मन पर्छ भनेर दाबी गर्न सक्छन्, तर आफूलाई कुनै कुरा आइपर्दा, छली व्यवहार गर्छन्। तिनीहरू आफूलाई जसले डोऱ्याउँछ उसैलाई पछ्याउँछन्, चाहे ऊ असल होस् कि खराब—के परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न सक्नुहुन्छ? निश्‍चय नै सक्नुहुन्‍न, किनभने तिनीहरू आवश्यक मापदण्डहरू पूरा गर्नबाट धेरै टाढा हुन्छन्। जसले असल मानिसहरू, इमानदार व्यक्तिहरू, आफ्नो कर्तव्य लगनशील भई निर्वाह गर्नेहरू र सत्यता पछ्याउनेहरू अनि सत्यताको लागि मूल्य चुकाउन र कष्ट भोग्‍न इच्छुकहरूलाई तुच्छ ठान्छन्, तिनीहरू आफै असल मानिसहरू होइनन्। तिनीहरूमा अलिकति पनि विवेक र समझ हुँदैन, र तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। दयालु हृदय हुने र सत्यतालाई प्रेम गर्ने मानिसहरूले सकारात्मक कुराहरू मन पराउँछन् र सकारात्मक व्यक्तिहरूसँग उठबस गर्न रुचाउँछन्, र यसबाट तिनीहरूलाई धेरै फाइदा पनि हुन्छ। अर्कोतर्फ, सकारात्मक कुरा वा सकारात्मक व्यक्तिहरूलाई प्रेम नगर्नेहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि सत्यता प्राप्त गर्नेछैनन्। यस्तो किन हुन्छ भने तिनीहरूको हृदयमा सत्यताप्रति प्रेम हुँदैन, र तिनीहरूले सत्यता पछ्याउनेछैनन्। तिनीहरूले इच्छा गरे नै भने पनि, सत्यता प्राप्त गर्न सक्नेछैनन्।

मैले भर्खरै दुइटा बुँदाहरू भावना अनि धारणा तथा कल्पनाबारे सङ्गति गरेको छु। अर्को बुँदा पनि छ—गरम मिजास—यो पनि मान्छेको भ्रष्ट स्वभावको प्रकटीकरण नै हो। सबै भ्रष्ट मानिसहरू गरम मिजासी हुन्छन्। अनि, कस्ता व्यवहारहरू गरम मिजासका प्रकटीकरण हुन्? के गरम मिजासमा भावना र संवेगका तत्वहरू हुन्छन्? के अहङ्कार र आत्मधार्मिकता पनि हुन्छन् हो? गरम मिजासमा यी सबै तत्वहरू समावेश हुन्छन्—यी सबै कुरा व्यक्तिको स्वभावसँग सम्बन्धित कुरा हुन्। “खुनको बदला खुन, ज्यानको बदला ज्यान” चाहिँ के हो—के यो गरम मिजासको उदाहरण हो? “यदि तँ मलाई राम्रो गर्दैनस् भने, म पनि तँलाई राम्रो गर्दिनँ” र “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै”—के यी गरम मिजासका उदाहरण हुन्? (हुन्।) तँ अरू कुन उदाहरण बताउन सक्छस्? (“आइनलागिञ्‍जेल जाइलागिँदैन; आइलागे छोडिँदैन।”) यी सबै गरम मिजासका उदाहरण हुन्। मानिसहरू रिसाउँदा मात्र गरम मिजास देखाउँदैनन्, नरिसाउँदा पनि प्रायः गरम मिजास देखाउँछन्। उदाहरणको लागि, मानिसहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्, र आफूलाई मननपर्दो तरिकामा बोल्नेहरू वा आफूलाई अस्वीकार्य तरिकामा कार्य गर्नेहरूलाई प्रायः हपार्न चाहन्छन्, अनि आफूलाई बेफाइदा हुने तरिकामा कार्य गर्नेहरूलाई बद्ला लिन चाहन्छन्। के यो गरम मिजास होइन र? (हो।) तँ गरम मिजासका अरू कुनकुन उदाहरणहरू बताउन सक्छस्? (हैसियतको स्थानबाट बोल्ने वा अरूलाई हपार्ने।) जब कुनै व्यक्तिले आफ्नो हैसियतको फाइदा उठाउँदै आफूले चाहेको कुरा गर्छ वा अरूलाई हपारेर तिनीहरूमाथि आफ्नो रिस खन्याउँछ, तब यो कुरा पनि एकप्रकारको गरम मिजास हो। वास्तवमा, मानिसहरू प्राय बारम्बार गरम मिजास देखाउँछन्। मानिसहरूको बोली र काम सत्यताअनुरूप नहुने धेरेजसो अवस्थाहरू तिनीहरूको स्वार्थीपन, चाहना, रोष, घृणा र रिसको कारण उत्पन्‍न हुन्छन्—यी सबै कुरा गरम मिजासबाट आउँछन्। गरम मिजासको प्रकटीकरण घृणा, रिस वा प्रतिशोधबाट मात्र हुँदैन, र यसमा धेरै कुरा समावेश हुन्छन्, तर आज हामी विस्तारमा जानेछैनौँ। सबै भ्रष्ट मानिसहरू गरम मिजासी हुन्छन् र यो गरम मिजास तिनीहरूको शैतानी स्वभावबाट आउँछ; गरम मिजास सामान्य मानवताको समझसँग मेल खाँदैन, झन् यो सत्यतासँग मेल खानु त परै जाओस्, त्यसैले भ्रष्ट स्वभावअनुसार कार्य गर्नु गरम मिजास हो। के दुष्टताको बद्ला दुष्टताद्वारा लिनु गरम मिजासकै प्रकार होइन र? (हो।) भलाइको गुन दुष्टताले तिर्नेबारेचाहिँ के भन्‍न सकिन्छ नि? यो पनि गरम मिजास नै हो। अनि, भयानक पाराले रिसाउनुचाहिँ? यो पनि गरम मिजास हो। आफूलाई आइपर्ने समस्याप्रति तर्कसङ्गतहीन ढङ्गमा प्रतिक्रिया जनाउनु नै गरम मिजास हो, र “परिस्थिति जेसुकै होस्, म त आफ्नो व्यक्तिगत गुनासो अहिल्यै पोखाइदिन्छु। परिणाम जेसुकै होस्, वा सिद्धान्तहरू जेसुकै हुन्, वा मेरो क्रोध जोसुकैप्रति लक्षित होस्, मैले पहिला अलि रिस त निकाल्‍नैपर्छ” भनेर सोच्नु—यो गरम मिजास हो। अन्तिम विश्‍लेषण गर्दा, खासमा गरम मिजास भनेको के हो? यो एक भ्रष्ट स्वभाव हो, यो शैतानी स्वभाव हो र यो पूरै तर्कसङ्गतहीन हुनु हो। गरम मिजास भनेको एकप्रकारको जङ्गलीपन हो, यसको सार पाशविक प्रकृतिको विस्फोट हो, र यसमा अलिकति पनि सामान्य मानवताको समझ हुँदैन। तर्कसङ्गतहीनता देखाउनुमा आफ्नो बुद्धि र आत्मसंयम गुमाउनु, अनि आफूलाई संयम राख्न र नियन्त्रण गर्न नसक्नु समावेश छन्। गरम मिजास भनेको यही हो।

आफ्नो स्वभाव परिवर्तन गर्नको लागि तैँले गर्न सक्नैपर्ने सबैभन्दा आधारभूत कुरा भनेको परमेश्‍वरका वचनहरूको हिसाबमा तेरो भ्रष्ट स्वभाव प्रकट हुने मुख्य तरिकाहरू चिन्‍नु अनि तैँले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्दा आफूले सोचिरहेको कुरा र आफ्नो अवस्था के हो भनेर थाहा पाउनु हो। थुप्रै परिस्थितिमा कुनै व्यक्तिमा उत्पन्‍न हुने हरेक स्थिति कुनै भ्रष्ट स्वभावको कारण हुन्छ—कतिपय अवस्थामा कुनै भ्रष्ट स्वभावले फरकफरक परिस्थितिमा कैयौँ फरकफरक अवस्था उत्पन्‍न गराउँछ। तैँले यो सब खुट्याउन सक्‍नुपर्छ। तर आफ्नो खुट्याइबाट अलिअलि बुझाइ पाएर मात्र पुग्दैन, तैँले आफ्नो समस्याको जड कहाँ छ, आफ्नो भ्रष्ट स्वभाव कस्तो परिस्थितिमा प्रकट हुन्छ र यो कस्तो खाले समस्या हो भनेर विश्‍लेषण गर्न र जान्‍न सक्‍नुपर्छ। तैँले यो सब स्पष्टसँग बुझेपछि, तँलाई अभ्यास गर्ने उचित तरिका थाहा हुनेछ। तँलाई कुनै कुरा अभ्यास गर्ने तरिका थाहा भयो भन्दैमा, के तैँले त्यो अभ्यास गर्न सक्नेछस्? (अहँ, सक्नेछैनँ।) त्यस्तो किन हुन्छ? किन त्यस्तो हुन्छ भने, तँमा भ्रष्ट स्वभावहरू छन्। यदि भ्रष्ट स्वभावले व्यक्तिलाई सत्यता अभ्यास गर्न रोक्दै छ भने, उसले सत्यता खोज्नैपर्छ, परमेश्‍वरबाट निराकरण र काँटछाँट हुन मान्‍नैपर्छ, उहाँको न्याय र सजाय स्वीकार गर्नैपर्छ र आफ्नो भ्रष्ट स्वभाव हल गर्नैपर्छ। यदि उसले यी कुराहरू गर्छ भने, उसलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछ। अनि, के सत्यता अभ्यास गर्ने क्षमताले व्यक्ति परिवर्तन भइसकेको छ भन्ने देखाउँछ? अहँ, देखाउँदैन। व्यक्तिले कुनै एउटा मामिलामा भ्रष्ट स्वभाव हल गरेको छ भन्दैमा यसको अर्थ यो स्वभाव फेरि उत्पन्‍न हुनेछैन भन्‍ने होइन। यो देखा परिरहनेछ, र यसले व्यक्तिको सत्यता अभ्यासमा बाधा र अडचन ल्याइरहेनछ, अनि यी परिस्थितिहरूमा उसले यो भ्रष्ट स्वभाव हटाउन सत्यता अझै पनि खोज्नैपर्नेछ। व्यक्तिले एउटा मामिलामा भ्रष्ट स्वभाव हटाउन सक्छ, तर केही समयपछि फरक परिस्थितिमा अर्को भ्रष्ट स्वभाव उत्पन्‍न भएर त्यसले उसलाई सत्यता अभ्यास गर्नमा बाधा दिन सक्छ। यहाँ समस्या के हो? यसले मानिसहरूमा भ्रष्ट स्वभावले गहिरो जरा गाडेको छ र तिनीहरूले अझै पनि परमेश्‍वरको वचनमा सत्यता खोज्दै आफ्नो समस्याको हल खोज्नैपर्छ भन्न देखाउँछ। आफ्ना भ्रष्ट स्वभावहरू बारम्बार हल गरेर मात्र, यी स्वभावहरू क्रमिक रूपमा कम हुन थाल्नेछन्। कुनै पनि भ्रष्ट स्वभाव एकैपटकमा हटाउन सकिँदैन—यो काम त्यसरी हुँदैन—तैँले पहिला सत्यता बुझ्‍नुपर्छ, र समझशक्ति हासिल गर्न सिक्‍नुपर्छ। तैँले आफूलाई यस्तो प्रश्‍न सोध्‍नुपर्छ: “म अहिले गलत अवस्थामा छु, यो अवस्था कसरी उत्पन्‍न भयो? मभित्र किन यस्तो अवस्था उत्पन्‍न हुन्छ? परमेश्‍वरको वचनले यो अवस्थालाई कसरी खुलासा गर्छ? कुन भ्रष्ट स्वभावले यो अवस्था ल्याएको हो?” तैँले बुझाइ प्राप्त गर्न यी प्रश्‍नहरूबारे मनन गर्नैपर्छ, अनि स्पष्टसँग ती कुराहरूलाई खुट्यटाउनैपर्छ। तैँले आफ्ना भ्रष्ट स्वभावहरूबारे बुझाइ प्राप्त गरेपछि, तिनलाई त्याग्‍न सक्नेछस्। यस तरिकाले, तेरो सत्यता अभ्यासका अवरोधहरू क्रमिक रूपमा हल हुँदै जानेछन् र तँलाई सत्यता अभ्यास गर्न अझ सजिलो हुँदै जानेछ। सत्यता पछ्याउने मार्ग हिँड्नु भनेको यसरी आफ्ना भ्रष्ट स्वभावहरू निरन्तर हटाउँदै जानु हो। सत्यता अभ्यासको मार्ग क्रमिक रूपमा फराकिलो र खुला हुँदै जानेछ, अनि यसका अवरोधहरू पनि कम हुँदै जानेछन्; अनि तँ सत्यताका सबै विभिन्‍न पक्षहरू अभ्यास गर्न समर्थ हुनेछस्, र तैँले कमभन्दा कम मात्रामा भ्रष्ट स्वभावहरू प्रकट गर्नेछस्। तर यसको अर्थ तैँले आफ्नो भ्रष्ट स्वभाव पूर्ण रूपमा र राम्रोसित हटाएको छस् भन्‍ने होइन। तैँले विशेष परिस्थितिमा अलिअलि भ्रष्ट स्वभाव प्रकट गर्न सक्ने सम्भावना अझै छँदै छ, तर अबउप्रान्त त्यसले तँलाई सत्यता अभ्यास गर्नमा बाधा दिन सक्नेछैन। यो राम्रो दिशातर्फको बदलाब हो। जीवन प्रवेशको मार्ग लामो हुन्छ, अर्थात् सत्यता पछ्याउने मार्ग लामो छ। हामी सबैले हाम्रो वास्तविक जीवनमा कसरी एकप्रकारको भ्रष्ट स्वभावले फरकफरक परिस्थितिमा कैयौँ विविध स्थितिहरू पैदा गर्न सक्छ भनेर देख्न सक्छौँ। सतही रूपमा हेर्दा, यी स्थितिहरू सही वा गलत, सकारात्मक वा नकारात्मक र प्रतिकूल जे-जस्तो देखिए पनि, ती सबैले व्यक्तिलाई केही समयसम्म नियन्त्रित गर्न सक्छन्, उसको बोल्ने र काम गर्ने तरिकालाई प्रभाव पार्न सक्छन्, अनि विभिन्‍न कुराहरूप्रतिको उसको दृष्टिकोण र उसले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा असर पार्न सक्छन्। अनि, यी अवस्थाहरू कसरी उत्पन्‍न हुन्छन्? वास्तवमा, ती सबै मानिसको शैतानी प्रकृति र भ्रष्ट स्वभावको कारण उत्पन्‍न हुन्छन्। यसो हेर्दा, मानिसहरू विभिन्‍न स्थितिहरूको प्रभावमा पर्दै छन् जस्तो देखिए पनि, वास्तवमा तिनीहरूलाई तिनीहरूको भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको हुन्छ। फलस्वरूप, सबै मानिसहरू आफ्नो भित्री शैतानी प्रकृति र भ्रष्ट स्वभावअनुसार जिउँछन्, जसले तिनीहरूलाई सत्यता उल्लङ्घन गर्न र परमेश्‍वरको विरोध गर्न लगाउँछ। यदि आफ्नो भ्रष्ट स्वभाव हल गर्न र गलत अवस्था सुल्टाउन सत्यता प्रयोग गर्दैनस् भने, तँ आफ्नो शैतानी स्वभावको बन्धन र जन्जिरबाट मुक्त हुन सक्नेछैनस्। उदाहरणको लागि, मानौँ तँ अगुवा होस्, र मण्डलीमा कुनै व्यक्ति निश्‍चित कर्तव्यको लागि योग्य छ, तर ऊ तेरो नजरमा तुच्छ भएकोले तँ उसलाई प्रयोग गर्न चाहँदैनस्। तर तँलाई मानिसहरूसित व्यवहार गर्ने यो उचित तरिका होइन भन्‍ने थाहा छ, अब तैँले यो समस्या कसरी समाधान गर्नुपर्छ? तैँले यसरी मनन गर्नुपर्छ: “किन म यस्तो काम गर्दै छु? किन उसलाई अनुचित व्यवहार गर्दै छु? मलाई यसमा केले प्रभाव पारिरहेको छ?” के यसमा खास विवरण उल्लेखित छैन र? यहाँ, तँ यो व्यक्तिलाई उचित व्यवहार गर्न चाहँदैनस्, र यो समस्या के हो? यो तेरो पूर्वग्राह, अभिरुचि र मन नपराइले गर्दा हुन्छ। मानिसहरूमा अहङ्कारी स्वभाव हुन्छ, त्यसैले तिनीहरूमा यी कुराहरू उत्पन्‍न हुन्छन्। त्यसकारण, निस्सन्देह नै यो तेरो अहङ्कारी स्वभावले गर्दा हुन्छ। तेरो भ्रष्ट स्वभावले नै तँमा यी स्थितिहरू उत्पन्‍न गराउँछ: तैँले यो व्यक्तिलाई आफ्नो हृदयमा तुच्छ ठान्‍नु, उसको बारेमा कुनै पनि राम्रो कुरा बोल्न वा उसलाई उचित र ठिक तरिकामा मूल्याङ्कन गर्न नचाहनु अनि उसलाई योग्य भए पनि कर्तव्यको लागि चयन गर्न नचाहनु—यी सबै तेरो भ्रष्ट स्वभावले ल्याएका परिणामहरू हुन्। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले तिनीहरूको हृदयमा अन्धकार हुन्छ, तिनीहरूको दृष्टि बाङ्गिएको हुन्छ, र विभिन्‍न कुराहरूमा तिनीहरूको दृष्टिकोण पूर्वग्राही हुन्छ। यी कुराहरूलाई आत्मचिन्तन गरेर अनि आफूलाई चिनेर समाधान गर्नुपर्छ। यदि तैँले आफ्नो भ्रष्ट स्थिति र भ्रष्ट स्वभावलाई स्पष्टसँग देख्छस् र बुझ्छस्, र त्यसपछि त्यो हल गर्नको लागि सत्यता खोज्न र मानिसहरूसित सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्छस् भने, मानिसहरूप्रतिको तेरो पूर्वग्राह र गलत दृष्टिकोण सुल्टाउन अनि मानिसहरूसित निष्पक्ष व्यवहार गर्न सक्नेछस्। त्यसोभए, तँ ती कसरी ती सुल्टाउन सक्छस्? तैँले परमेश्‍वरसामु आएर उहाँलाई प्रार्थना गर्नुपर्छ र सत्यता खोज्‍नुपर्छ, अनि यी समस्याहरूको सार जाँच्नुपर्छ र परमेश्‍वरको इच्छा बुझ्नुपर्छ। तँमा सहकार्य गर्ने र आफूलाई त्याग्‍ने तत्परता हुनुपर्छ। तैँले मनमनै यसो भन्‍नुपर्छ: “म अबउप्रान्त यस्तो व्यवहार गर्नेछैनँ। उसको क्षमता अलि कम होला, तर मैले उसलाई जस्तो व्यवहार गर्नुपर्ने हो त्यस्तै व्यवहार गर्नुपर्छ। यदि ऊ यो कर्तव्य पूरा गर्न योग्य छ भने, मैले उसलाई यसैमा खटाउनुपर्छ। यदि मेरो अरू कसैँसँग राम्रो सम्बन्ध छ तर त्यो व्यक्ति यो कर्तव्यको लागि योग्य छैन भने, म उसलाई प्रयोग गर्नेछैनँ। बरु म त्यही व्यक्तिलाई प्रयोग गर्नेछु।” के यो स्थिति सुल्टाइएको होइन र? के यो अभ्यासको एक स्वरूप होइन र? यो अभ्यासको एक स्वरूप हो। अब, कसरी तैँले यसरी अभ्यास गर्न सक्छस्? यदि तैँले सहकार्य नगर्ने र व्यक्तिगत अभिप्राय नत्याग्‍ने हो भने, के यो परिणाम प्राप्त गर्न सक्नेछस्? निश्‍चय नै सक्नेछैनस्। त्यसैले, मानिसहरूको सहकार्य महत्त्वपूर्ण छ। तैँले साँचो सहकार्य गर्नैपर्छ—अर्थात् तैँले सत्यता र परमेश्‍वरका मापदण्डहरूप्रति लागिपर्नैपर्छ। यदि तैँले यसरी काम गर्न रोज्दैनस्, र सत्यताप्रति लागिपर्दैनस् भने, तैँले सहकार्य गरिरहेको हुँदैनस्। साँचो सहकार्य भनेको सत्यताप्रतिको पूर्ण समर्पण हो। तैँले सत्यताप्रति समर्पित हुने मनोवृत्ति र सङ्कल्प राखेर मात्र आफ्नो व्यक्तिगत अभिप्राय, अभिरुचि र तर्क त्याग्‍न सक्छस्। यसरी तेरो गलत स्थिति सुल्टाउन सकिन्छ। मानिसहरूलाई न्यायोचित व्यवहार गर्नु भनेको तैँले अरू व्यक्तिले सही रूपमा र सत्यताअनुरूप बोल्दा, त्यो व्यक्तिको अवस्था जेजस्तो भए पनि, उसको कुरा स्विकार्न र समर्पित हुन सक्‍नु हो। यदि तँ सधैँ कुनै व्यक्तिप्रति पूर्वग्राह राख्छस्, उसलाई तुच्छ ठान्छस् र उसलाई निकै प्रयोग गरेपछि पनि ऊसँग त्यति बोल्न चाहँदैनस्, र अझै पनि आफ्नो स्थिति पूर्ण रूपमा नसुल्टाई हृदयमा उसलाई तुच्छ नै ठानिरहेको छस् भने, यसले तँभित्र अझै पनि तेरो भ्रष्ट स्वभावको सडेको जरा रहेको छ भन्‍ने देखाउँछ। एउटा सानो, मामुली स्थितिले पनि तँलाई त्यति धेरै कष्ट दिन सक्छ—के यो तेरो स्वभावको समस्या होइन र? यो मानिसको प्रकृति सारको समस्या हो। तैँले यो गलत स्थिति सुल्टाउनुपर्छ। तैँले त्यो व्यक्तिमा निश्‍चित कमजोरी भेट्टाएको छस् भन्दैमा उसलाई सीमित पार्नु हुँदैन—ऊसँग पक्कै पनि निश्‍चित योग्यता र सबलताहरू पनि हुन सक्छन्, त्यसैले तैँले ऊसँग अझ धेरै सङ्गति गर्नुपर्छ र उसलाई अझ गहिरिएर बुझ्ने प्रयास गर्नुपर्छ। जब तैँले उसको सबलता देख्छस् र उल्लेखित कर्तव्यको लागि ऊ वास्तवमै योग्य छ भन्‍ने पत्ता लगाउँछस्, तब तैँले आफ्नो घृणित र लज्जास्पद स्थितिबारे क्रमिक रूपमा थाहा पाउन सक्छस्, अनि उसलाई यो कर्तव्यमा खटाउनु र उसलाई यसरी व्यवहार गर्नु न्यायोचित र सत्यताअनुरूप हो भनेर बुझ्न सक्छस्। त्यसपछि तँलाई अझ सहज महसुस हुनेछ। यस व्यक्तिलाई अघि ल्याउँदा, तँलाई आफ्नो विवेकमा शान्ति महसुस हुनेछ, र आफूले परमेश्‍वरलाई निराश तुल्याएको छैन र सत्यता अभ्यास गरेको छु भन्‍ने लाग्‍नेछ। समय बित्दै जाँदा, यस व्यक्तिप्रतिको तेरो दृष्टिकोण परिवर्तन हुनेछ। यो सब कसरी हासिल हुन्छ? यो सब परमेश्‍वरले नै गर्नुहुन्छ—सत्यताले तँभित्र अलिअलि गर्दै काम गर्छ, अनि यसले तेरो स्थिति रूपान्तरित गर्छ र सुल्टाउँछ। तथापि, यो सुरुवात मात्रै हो। यदि फेरि त्यस्तै समस्या सामना गर्नुपर्‍यो भने, त्यसलाई सम्हाल्न तैँले पहिलेको व्यक्तिको निम्ति प्रयोग गरेका विधिहरू अवश्य नै प्रयोग गर्नैछैनस्। तैँले अरू फरक स्थिति, वा फरक वातावरण, मानिसहरू, मामिलाहरू अनुभव गर्न सक्छस्, अनि परिस्थितिहरूले तँ सत्यतालाई कति प्रेम गर्छस् अनि आफ्ना भ्रष्ट स्वभावहरू र आफ्नो इच्छा त्याग्‍ने तेरो सङ्कल्प कस्तो छ भनेर जाँच्‍न सक्छन्। यी परमेश्‍वरका परीक्षाहरू हुन्। अरू मानिसहरूसितका तेरा सबै व्यवहारहरूमा, तिनीहरू जो भए पनि, अनि तेरो सम्बन्ध राम्रो वा नराम्रो जे भए पनि, तिनीहरू तँसित नजिक भए पनि नभए पनि, तिनीहरूले तँलाई चापलुसी गरे पनि नगरे पनि, अनि तिनीहरूको क्षमता जस्तोसुकै भए पनि, जब तँ तिनीहरूलाई न्यायोचित र सही प्रकारले व्यवहार गर्छस्, तब तेरो स्थिति पूर्ण रूपले परिवर्तन भएको हुनेछ। जब तेरो अरूलाई व्यवहार गर्ने तरिका तेरो कल्पना, तेरो भावना वा तेरो गरम मिजासमा आधारित हुँदैन, तब तैँले सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्। तर तँ अझै स्तरमा पुगेको छैनस्। तँभित्रका सबै विभिन्‍न भ्रष्ट स्वभावहरूले अझै तेरो व्यवहार, तेरो सोच्ने तरिका र तेरो मनमस्तिष्क नियन्त्रण गरिरहेका छन्। तँभित्रका यी कुराहरू पहिले नै तेरो प्रकृति बनिसकेका छन्, र यसले तँलाई नियन्त्रित गर्छ, अनि सत्यता अझै पनि तेरो जीवन बनिसकेको छैन। तँसँग बस केही असल व्यवहारहरू छन्, तर यस्तो असल व्यवहारपछाडि तैँले प्रकट गर्ने र आफ्नो हृदयमा धारण गर्ने विभिन्‍न स्थिति र विचारहरू तेरो भ्रष्ट स्वभावबाट उत्पन्‍न हुन्छन् अनि ती सत्यताविपरीत छन्। जब तेरा यी स्थिति र तेरा सबै विचार तर्कसङ्गत अनि सिद्धान्त र सत्यताअनुरूप हुन्छन्, तब तेरो भ्रष्ट स्वभावले त्यसउप्रान्त तेरो विचार वा व्यवहारलाई नियन्त्रण गर्न सक्नेछैन—त्यसपछि तेरो स्वभाव साँचो अर्थमा परिवर्तन भएको हनेछ। त्यसपछिदेखि तैँले आफ्नो भ्रष्ट स्वभाव त्याग्‍न वा आफूलाई संयमित गर्न जरुरी हुनेछैन। तैँले केवल सत्यता सिद्धान्तहरूअनुसार प्रत्यक्ष कार्य गर्न सक्नेछस्। तँलाई आफूले गर्नुपर्ने कुरा यही हो भनेर विश्‍वास हुनेछ र सत्यता अभ्यास पटक्कै कठिन छैन भन्‍ने लाग्‍नेछ। जब यस्तो हुन्छ, तब सत्यता तेरो जीवन बनेको हुनेछ। तिमीहरू सबैजना अझै त्यो स्तरमा पुगेका छैनौ—तिमीहरूले अझै पनि केही समय आफ्नो पछ्याइलाई जारी राख्नुपर्छ। केही धर्मसिद्धान्त बुझेर अनि अलिअलि उत्साहित बनेर मात्र पुग्दैन; तेरो कद अझै एकदमै सानो छ। तैँले परमेश्‍वरको वचन अनुभव गर्न, सत्यता अभ्यास गर्न र आफ्नो अनुभवसम्बन्धी गवाही र आफ्नो साँचो बुझाइबारे बताउन सक्षम हुनुपर्छ—त्यसपछि तँसँग वास्तविकता हुनेछ। साँचो कद हुनु भनेको यही हो। अहिले, धेरैजसो मानिसहरू गवाही दिन समर्थ छैनन्—तिनीहरूको अनुभव अझै एकदमै सतही छ, र तिनीहरूले परमेश्‍वरको वचन अझ धेरै पढ्ने, अझ धेरै प्रवचन सुन्‍ने र अझ धेरै भजन अध्ययन गर्ने गर्नुपर्छ। तिनीहरूले धेरै कुराहरू अनुभव गरेपछि परमेश्‍वरको वचन साँचो अर्थमा बुझ्नेछन् र परमेश्‍वरका वचनहरू एकदमै व्यावहारिक छन्, ती व्यक्तिको जीवन बन्‍न सक्छन्, तिनमा मानिसहरूलाई साँचो मानव स्वरूपमा जिउने तुल्याउने पूर्ण सामर्थ्य छ अनि तिनलाई शैतानका हरप्रकारका प्रलोभनको जबाफमा प्रयोग गर्न सकिन्छ भनेर महसुस गर्नेछन्। यस्तो बुझाइ प्राप्त गर्ने मानिसहरूले मात्र कद प्राप्त गर्छन् र तिनीहरू मात्र साँच्चै परमेश्‍वरका मानिसहरू बनेका हुन्छन्। धेरै मानिसहरू सत्यताबारे सङ्गति गर्न वा आफ्नो अनुभवसम्बन्धी गवाही दिन सक्दैनन्। यस्तो किन हुन्छ भने सत्यता अझै पनि तिनीहरूको जीवन बनेको हुँदैन, र फलस्वरूप तिनीहरू थकित र दयनीय जीवन जिउँछन्, हरप्रकारका कुरूपतामा जिउँछन्, र तिनीहरूको जीवन दुःखलाग्दो हुन्छ। भ्रष्ट स्वभावले मानिसहरूमा के ल्याउँछ? यसले कष्ट, घृणा, रोष, नकारात्मकता, साथै अहङ्कार, आत्मधार्मिकता, झुट, छल, धोका र आफू अरूभन्दा श्रेष्ठ छु भन्‍ने सोच ल्याउँछ। कहिलेकाहीँ भ्रष्ट स्वभावले मानिसहरूलाई निराश हुन, झुटो तर्क दिन र प्रतिरोध गर्न लगाउँछ। अरू बेलाचाहिँ, यसले मानिसहरूलाई एकदमै दयनीय, असाध्यै एक्लो र असहाय महसुस गराउँछ, अनि दयनीय र दुःखलाग्दो स्वरूप देखाउन लगाउँछ। मानिसहरूले धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्छन्, तर अझै पनि सत्यता बुझ्दैनन्, तिनीहरू बस बेवकुफीका कुरा मात्र गर्छन्, अनि आफू एक्लो र असहाय छु भनेर भन्छन्। परमेश्‍वर सत्यता हुनुहुन्छ, उहाँ मानिसहरूको सहारा हुनुहुन्छ, तर मानिसहरू उहाँमा भर पर्दैनन्, बरु उहाँदेखि टाढिन्छन्, अनि शैतानलाई पछ्याउँछन् र शैतानी दर्शनअनुसार जिउँछन्। के यस्ता मानिसहरू एकदमै भ्रमित हुँदैनन् र? सत्यता नपछ्याउने मानिसहरू सबै यस्तै हुन्छन्। सत्यता बुझ्नेहरूचाहिँ परमेश्‍वरको झन्झन् नजिक हुँदै जान्छन्—यदि तँ सत्यता बुझ्दैनस् र तैँले अलिकति पनि सत्यता प्राप्त गरेको छैनस् भने, तँ परमेश्‍वरबाट एकदमै टाढा छस्, र तेरो परमेश्‍वरसँग सामान्य सम्बन्धसमेत नहुन सक्छ। यदि तैँले सत्यता बुझ्छस् र सत्यता अभ्यास गर्न सक्छस् अनि सत्यता तँभित्र जीवन बनेको छ भने, परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ। यदि तँ सत्यता बुझ्दैनस् र तैँले यसलाई प्राप्त गर्न सकेको छैनस् अनि तँ सत्यता अभ्यास गर्न पनि सक्दैनस् भने, परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न र उहाँ तँभित्र बास गर्नुहुन्‍न। यदि सत्यता तेरो मालिक होइन र यसले तेरो सबै कुरा नियन्त्रित गर्दैन भने, यो कुरा परमेश्‍वरले तेरो सबै कुरा नियन्त्रित नगर्नुसमान हो। यसको अर्थ, तैँले आफूलाई परमेश्‍वरमा अर्पित गरेको छैनस्, अनि तँ अझै पनि आफै निर्णय गर्ने व्यक्ति भइरहेको छस्। जब तँ आफै निर्णय गर्ने व्यक्ति हुन्छस्, तब वास्तवमा कसले निर्णय गरिरहेको हुन्छ? त्यसरी निर्णय गर्ने तेरो भ्रष्ट स्वभाव हुन्छ; त्यतिखेर सत्यता मुख्य निर्णयकर्ता हुँदैन। जब तैँले आफ्नो बोली, काम, आचरण, कामकुरा सम्हालाइ, आफ्नो कर्तव्य पूर्ति, मानिसहरूलाई व्यवहार गर्ने तरिका र तेरो दैनिक जीवनसमेत, तँ के खान्छस् र कसरी पहिरन लगाउँछस् भन्‍ने कुराहरू विचार गर्दै आफ्नो दिमाग खियाउनु पर्दैन, जब तैँले परमेश्‍वरको वचन र सत्यता सिद्धान्तहरूअनुसार आफ्ना सबै कामकुरा सम्हाल्न सक्छस्, तब तैँले साँचो मानव स्वरूपमा जिइरहेको र सत्यता प्राप्त गरेको हुनेछस्।

अहिले सत्यता अभ्यास गर्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो अनि सत्यता अभ्यास गर्न नसक्ने व्यक्ति अज्ञानी र मूर्ख हो। सत्यता अभ्यास नगर्नेहरू परमेश्‍वरको कार्य अनुभव गर्न असमर्थ हुन्छन्—तिनीहरू आशिष्‌ पाउनलाई परमेश्‍वरमा विश्‍वास गरे पुग्छ, सत्यता अभ्यास गर्नु र मूल्य चुकाउनुपर्दैन भन्‍ने सोच्छन्। धार्मिक संसारमा यस्ता खालका मानिसहरू धेरै छन्। परमेश्‍वरको घरभित्र, धेरैजसो मानिसहरूलाई परमेश्‍वरले आफ्नो कार्य कसरी गर्नुहुन्छ र कसरी मानवजातिलाई मुक्ति दिनुहुन्छ अनि मानिसहरूप्रति उहाँको अभिप्राय र मापदण्ड के-कस्तो छ भन्‍ने थाहा हुन्छ। सत्यता अभ्यास नगर्ने मानिसहरू परमेश्‍वरको घरभित्र झन्झन् कम हुँदै जाँदै छन्। अहिले, धर्मसिद्धान्तको हिसाबमा, तिमीहरू सबैले सत्यता पछ्याउने र अभ्यास गर्ने गरेर मात्र स्वभाव रूपान्तरण हासिल गर्न र मुक्ति प्राप्त गर्न सकिन्छ भन्‍ने कुरा बुझ्छौ, तर तिमीहरू कसरी सत्यता अभ्यास गर्ने र कसरी सत्यता वास्तविकतामा प्रवेश गर्ने भन्‍ने सन्दर्भमा अझै अलि अस्पष्ट छौ। यसको फलस्वरूप, तिमीहरूको जीवन प्रवेश सुस्त गतिले अघि बढ्छ। सत्यता अभ्यास नै सत्यता वास्तविकतामा प्रवेश गर्ने कडी हो—सत्यता अभ्यास गर्न नसक्नु ठूलो समस्या हो। के तिमीहरू सबै अझै पनि धर्मसिद्धान्तका शब्द र वाक्यांशहरू प्रचार गर्छौ? (गर्छौँ।) त्यसोभए, के तिमीहरूले त्यसो गरिसकेपछि धर्मसिद्धान्तका यी शब्द र व्याक्यांशहरू अभ्यास गर्न सक्छौ? यदि तिमीहरू ती अभ्यास गर्न सक्दैनौ भने, यसले तिमीहरू अझै पनि सत्यता बुझ्दैनौ, धर्मसिद्धान्त मात्र बुझ्छौ र तिमीहरूसँग अझै पनि सत्यता वास्तविकता छैन भन्‍ने प्रमाणित गर्छ। कतिपय मानिसहरूलाई आफू इमानदार बन्‍नुपर्छ भन्‍ने थाहा हुन्छ, तर तिनीहरू झुट र छलको बन्धनबाट मुक्त हुन सक्दैनन्। कतिपय मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन इच्छुक छु भनी दाबी गर्छन्, तर आफूलाई काँटछाँट र निराकरण गरिँदा तिनीहरू समर्पित हुन सक्दैनन्। अरू मानिसहरूचाहिँ सहीझैँ लाग्‍ने गरी धर्मसिद्धान्तबारे बताउँछन् र तिनीहरूमा सत्यता वास्तविकता छ नै जस्तो भान पार्छन्, तर तिनीहरूलाई आफैबारे साँचो ज्ञान हुँदैन। अरू मानिसहरू भने आत्मिक सिद्धान्तबारे बोल्न सक्ने भएकाले आफूलाई एकदमै आत्मिक ठान्छन्, तर तिनीहरू आत्मज्ञान पाउन सक्षम नै हुँदैनन्, र चाहे आफ्नो कर्तव्यमा होस् वा अन्य कामकाज सम्हल्दा तिनीहरूमा साँचो समर्पण हुँदैन। यी सबै समस्याहरूको जड के हो? यो तिनीहरूले सत्यता स्विकार्न नसक्नु हो। यदि परमेश्‍वरको विश्‍वासीले सत्यता स्विकार्दैन भने, के उसले साँच्चै उहाँमा विश्‍वास गर्छ? यदि उसले सत्यता स्विकार्न सक्दैन भने, उसले आफ्नो कुनै पनि समस्या हल गर्न सक्नेछैन। सत्यता स्विकार्नेहरूले मात्र यस्तो अभ्यास गरेर आफूलाई चिन्‍न सक्छन्। कुनै व्यक्तिले धर्मसिद्धान्तका जति नै धेरै शब्द र वाक्यांशहरू पाठ गर्न सके पनि, त्यो धर्मसिद्धान्त अभ्यास गर्न सक्नुचाहिँ मुख्य कुरा हो, सबैभन्दा महत्त्वपूर्ण कुरा नै त्यही हो। अभ्यास गरिएका सत्यताहरू वास्तविकता हुन्—यदि कसैले सत्यता अभ्यास गर्न सक्दैन भने, उसमा वास्तविकता हुँदैन। कतिपय मानिसहरू धर्मसिद्धान्तका शब्द र वाक्यांशहरू एकदमै स्पष्टसँग प्रचार गर्न सक्छन्, तर वास्तवमा तिनीहरूलाई धेरै सत्यताबारे स्पष्ट थाहा हुँदैन, तिनीहरू कतिपय कुरा खुट्याउन सक्दैनन् र तिनीहरू ती कुराको भित्री वास्तविकता बुझ्न सक्दैनन्, अनि तिनीहरूले अभ्यास गर्न सक्ने सत्यताको मात्रा एकदमै सीमित हुन्छ। फलस्वरूप, यस्ता मानिसहरूलाई अनुभव गवाही लेख्न एकदमै गाह्रो हुन्छ—तिनीहरू धर्मसिद्धान्तका केही शब्द र वाक्यांशहरू मात्र लेख्न सक्छन्, त्यसमा दैनिक भाषाको कुनै प्रयोग वा व्यावहारिक अनुभव हुँदैन। के अहिले तिमीहरूसँग धर्मसिद्धान्तका शब्द र वाक्यांशहरू पाठ गर्ने यो समस्या हल गर्नेबारे कुनै मार्ग छ? तैँले धर्मसिद्धान्तका शब्द र वाक्यांशहरू पाठ गर्ने यो समस्या हल गर्न सत्यता अभ्यास गर्नुपर्छ—तँ जति धेरै सत्यता अभ्यास गर्छस्, त्यति नै धेरै तँ सत्यता र तेरो अभ्यासमा लागिपर्छस्, र तैँले त्यति नै धेरै अनुभव र अभ्यासका वचनहरू प्राप्त गर्नेछस्। तँसँग जति धेरै अनुभव र अभ्यासका वचनहरू हुन्छन्, तैँले त्यति नै कम धर्मसिद्धान्तका शब्द र वाक्यांशहरू पाठ गर्नेछस्। अनि व्यक्तिले कसरी वास्तविकता प्राप्त गर्छ? सत्यता अभ्यास गर्ने प्रक्रियामा, मानिसहरूले केही अनुभव प्राप्त गर्छन्, र केही कुराहरू सामना गर्छन्, तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन्, हरप्रकारका स्थिति पैदा गर्छन्, र त्यसपछि सत्यता खोज्छन्, आफ्नो विभिन्‍न भ्रष्ट स्थितिहरू विश्‍लेषण गर्छन् अनि अभ्यासको सिद्धान्त र मार्ग भेट्टाउँछन्। तिनीहरूले सत्यता बुझ्छन् र अभ्यास गर्छन्। यो साँचो जीवन अनुभव हो। यदि तँ सत्यता पछ्याउँदैनस् र सत्यता अभ्यास गर्न चाहँदैनस् भने, तैँले यो प्रक्रिया हुँदै जानेछैनस्, र तैँले यो प्रक्रियाविना जीवन प्रवेश प्राप्त गर्न सक्नेछैनस्। यदि तैँले यस प्रक्रियामा धेरै अनुभव गर्छस् भने, सत्यता स्पष्टसँग बुझ्नेछस्, भ्रष्ट स्वभावहरू स्पष्टसँग चिन्‍न सक्नेछस्, र तैँले सत्यता अभ्यास गर्दा पछ्याउनैपर्ने मार्ग झन्झन् स्पष्ट हुँदै जानेछ। यदि तँ अभ्यास र अनुभवको यो प्रक्रिया हुँदै गएको छैनस् भने, र तँसँग परमेश्‍वरका वचनहरूबारे शाब्दिक र धर्मसैद्धान्तिक बुझाइ र बोध मात्रै छ भने, तैँले प्रचार गर्ने हरेक कुरा धर्मसिद्धान्त मात्र हुनेछ, किनभने तेरो शाब्दिक बुझाइ र तेरो वास्तविक अनुभवबीच अन्तर हुन्छ। अनि, यी धर्मसिद्धान्तहरू कसरी पैदा हुन्छन्? जब व्यक्तिले परमेश्‍वरका वचनहरू अभ्यास गर्दैन, र जब ऊसँग कुनै जीवन अनुभव हुँदैन र उसले केवल परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ बुझ्छ, विश्‍लेषण गर्छ, र अर्थ्याउँछ, र अझ अघि गएर यसैको प्रचारसमेत गर्छ, तब धर्मसिद्धान्तहरू पैदा हुन्छन्। के धर्मसिद्धान्तहरू वास्तविकता बन्‍न सक्छन् त? यदि तँ सत्यता अभ्यास वा अनुभव गर्दैनस् भने, तैँले यसलाई कहिल्यै बुझ्‍नेछैनस्। सत्यताका केवल शाब्दिक व्याख्याहरू सधैँभरि धर्मसिद्धान्त नै हुनेछन्। तर यदि तैँले सत्यता अभ्यास गर्छस् भने, तँलाई आफूले आफ्ना केही भ्रष्ट स्वभावहरू हटाइरहेको, मुक्तितर्फ एक कदम अघि बढाइरहेको र आफूलाई परमेश्‍वरका मापदण्डहरूको अझ निकट पुर्‍याइरहेको अनुभूति र महसुस हुनेछ। त्यसरी पैदा हुने ज्ञान, सोच, विचार, भावना आदि इत्यादि कुराहरू व्यावहारिक हुनेछन्। अनि, वास्तविकता कसरी प्राप्त हुन्छ? यो सत्यता अभ्यास अनुभव गरेर प्राप्त हुन्छ; यदि कसैले सत्यता अभ्यास गर्दैन भने, ऊसँग सत्यता कहिल्यै हुनेछैन। सायद कतपिय मानिसहरूले यसो भन्‍नेछन्, “म सत्यता अभ्यास गर्दिनँ, तर म अझै पनि व्यावहारिक प्रवचनहरू प्रचार गर्न सक्छु।” तैँले जे प्रचार गर्छस् त्यो त्यति बेला त अरूलाई सही र निकै व्यावहारिक लाग्ला तर पछि तिनीहरूसँग अझै पनि अभ्यास गर्ने कुनै मार्ग हुनेछैन। यसले तैँले बुझ्‍ने हरेक कुरा अझै पनि धर्मसिद्धान्त नै हो भन्‍ने प्रमाणित गर्छ। यदि तँ परमेश्‍वरका वचनहरू अभ्यास गर्दैनस् र तँसँग सत्यताको व्यावहारिक अनुभव वा ज्ञान छैन भने, जब तैँले पहिले कहिल्यै विचार नगरेको स्थिति कसैमा उत्पन्‍न हुन्छ, तब तँलाई त्यस्तो स्थिति कसरी समाधान गर्ने त्यो थाहा हुनेछैन। जब व्यक्तिले विरलै सत्यता अभ्यास गर्छ, तब उसलाई यो सँचो अर्थमा बुझ्नु असम्भव हुन्छ। तिनीहरूले आफ्‍नो सत्यताको अभ्यासलाई वृद्धि गरेर मात्रै यसलाई साँचो रूपमा बुझ्‍न सक्छन्, र त्यसपछि मात्रै तिनीहरूले सत्यता अभ्यास गर्नुका सिद्धान्तहरूलाई बुझ्‍न सक्छन्। यदि तँसँग सत्यताको अनुभव छैन भने, तैँले स्वतः रूपमा धर्मसिद्धान्तहरू प्रचार गर्न मात्र सक्‍नेछस्। तैँले अरूलाई पनि आफूले जस्तै नियमहरू पालना गर्न लगाउनेछस्। साँचो जीवन अनुभवविना, तैँले सत्यता वास्तविकताबारे कहिल्यै प्रचार गर्न सक्‍नेछैनस्। सत्यता अभ्यास गर्नु भनेको अध्ययन गर्नुजस्तो होइन। अध्ययन त सधैँ शब्द र व्याक्यांशहरूमा जोड लगाउनेबारे हुन्छ; यो केवल टिपोट लिनु, कण्ठस्थ गर्नु, विश्‍लेषण गर्नु र शोध-अनुसन्धान गर्नु हो। सत्यता अभ्यासचाहिँ ठिकविपरीत हुन्छ; तैँले सत्यता बुझ्ने र सिद्धान्तअनुसार मामिला सम्हाल्ने कार्यका नतिजाहरू हासिल गर्न व्यावहारिक अनुभवमाथि भर पर्नुपर्छ। सत्यता बझ्नेबित्तिकै यसलाई अभ्यास गर्न इच्छुक जोकोही आफ्नो भ्रष्ट स्वभावबाट मुक्त हुन सक्नेछ—उसले जति धेरै सत्यता अभ्यास गर्छ, उति नै धेरै भ्रष्ट स्वभाव हटाउन सक्नेछ। सत्यता बुझ्ने तर सत्यता अभ्यास नगर्नेहरू आफ्नो भ्रष्ट स्वभावबाट कहिल्यै मुक्त हुनेछैनन्। त्यसैले सत्यता खोज्नु, सत्यता बुझ्नु र सत्यता अभ्यास गर्नु नै भ्रष्ट स्वभाव हल गर्ने मार्ग हो।

डिसेम्बर ११, २०१७

अघिल्लो: इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ

अर्को: धर्ममा विश्वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्