सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

वास्तवमा, अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानलाई त्याग्‍न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको भ्रष्ट स्वभाव उजागर गर्नु र मानिसहरूलाई जीवनको सार बुझ्‍न सक्षम तुल्याउनु हो। बारम्बार दोहोर्‍याइने यी न्यायहरूले मानिसको हृदय छेड्छन्। प्रत्येक न्याय प्रत्यक्ष रूपमा तिनीहरूको नियतिसँग सम्बन्धित हुन्छ र यसको काम तिनीहरूको हृदयमा चोट पुर्‍याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न र जीवनलाई जान्‍न सकून्, यो फोहोरी संसारलाई चिन्‍न सकून्, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई चिन्‍न सकून्, र यसको साथै मानवजातिलाई पनि चिन्‍न सकून् जसलाई शैतानले भ्रष्ट बनाएको छ। मानिसले जति धेरै यस प्रकारको सजाय र न्याय पाउँछ, त्यति नै धेरै उसको हृदयमा चोट पुग्‍न सक्छ र त्यति नै धेरै उसको आत्मा जागृत हुन सक्छ। यस प्रकारको न्यायको लक्ष्य यस्ता अत्यन्त भ्रष्ट भएका र सबैभन्दा गहन रूपमा धोकामा परेका व्यक्तिहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्‍ने कुरा थाहै छैन, परमेश्‍वर हुनुहुन्छ भन्‍ने पनि थाहै छैन र निश्‍चय नै ऊ मृत्युको पातालमा संघर्ष गरिरहेको छ भन्‍ने पनि उसलाई थाहै छैन; कसरी पो उसले आफू पृथ्वीको यस दुष्ट नर्कमा बाँचिरहेको छु भनेर थाहा पाउन सक्थ्यो र? ऊसँग भएको यो दुर्गन्धित लास शैतानको भ्रष्टताको कारण मृत्युको पातालमा खसेको कुरा उसले कसरी थाहा पाउन सक्थ्यो? धेरै पहिले नै पृथ्वीमा भएका सबै कुरालाई मर्मत नै गर्न नसकिने गरी मानवजातिले नाश गरिसकेका छन् भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? अनि, सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र उहाँ आफूले मुक्ति दिन सक्‍ने भ्रष्ट मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? मानिसले हरसम्‍भव शोधन र न्यायको अनुभव गरेपछि पनि उसको बोधो चेतना सायदै चलायमान हुन्छ र वास्तवमा यो लगभग उदासीन नै रहन्छ। मानवता कत्ति पतित छ! यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो हुने भए तापनि, यो मानिसको लागि सबैभन्दा लाभदायक कुरा हो। यदि यस्ता मानिसहरूलाई न्याय नगरिने हो भने, नतिजा केही पनि हुनेथिएन र मानिसहरूलाई पीडाको पातालबाट जोगाउन पक्‍कै पनि असम्भव हुनेथियो। यदि यो काम नगरिएको भए, मानिसहरूलाई पाताल लोकबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथियो किनभने उनीहरूको हृदय धेरै नै अघि मरिसकेको छ र तिनीहरूका आत्मालाई शैतानले पहिले नै कुल्चिसकेको छ। पतनको सबैभन्दा ठूलो गहिराइमा डुबेका तिमीहरूलाई बचाउनका लागि तिमीहरूलाई जोडजोडले चिच्याउनुपर्छ, तिमीहरूलाई कडाइका साथ न्याय गरिनुपर्छ; अनि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सम्भव हुनेछ।

तिमीहरूको देह, तिमीहरूको असाधारण इच्छा, तिमीहरूको लोभ र तिमीहरूको कामवासनाले तिमीहरूमा गहिरो रूपमा जरा गाडेको छ। यी कुराहरूले तिमीहरूको हृदयलाई निरन्तर यसरी नियन्त्रण गर्दै छन् कि तिमीहरू सामन्ती र पतित विचारहरूको जुवालाई त्याग्‍न असमर्थ भएका छौ। तिमीहरू न त आफ्नो वर्तमान अवस्था परिवर्तन गर्न चाहन्छौ, न त अन्धकारको प्रभावबाट मुक्त हुन नै चाहन्छौ। तिमीहरू यी कुराहरूले बाँधिएका छौ। तिमीहरू सबैले यो जीवन निकै पीडादायी र मानिसहरूको यो संसार निकै अँध्यारो छ भन्‍ने थाहा पाएको भए पनि, तिमीहरूमध्ये कोही एक जनासँग पनि आफ्‍नो जीवन परिवर्तन गर्ने साहस छैन। तिमीहरू यो जीवनको वास्तविकताबाट मुक्त हुन, आत्माको श्रेष्ठता प्राप्त गर्न, र शान्त, खुशीयालीपूर्ण र स्वर्गजस्तो वातावरणमा बस्‍न मात्र चाहन्छौ। तिमीहरू आफ्‍नो अहिलेको जीवन परिवर्तन गर्नका लागि कठिनाइहरू सहन इच्छुक छैनौ; न त तिमीहरू यो न्याय र सजायको बीचमा आफूले प्रवेश गर्नुपर्ने जीवनको खोजी गर्न नै इच्छुक छौ। बरु, तिमीहरू देहबाहिरको त्यो सुन्दर संसारको बारेमा पूरै अवास्तविक सपनाहरू देख्छौ। तिमीहरूले चाहने जीवन भनेको त कुनै पीडाको अनुभव नगरीकन सहजै प्राप्त गर्न सकिने खालको जीवन हो। त्यो पूर्ण रूपमा अव्यवहारिक छ! किनभने तिमीहरूले जुन कुराको आशा गरेका छौ त्यो देहमा अर्थपूर्ण जीवन बिताउनु र जीवनकालमा सत्य प्राप्त गर्नु, अर्थात्, सत्यको लागि बाँच्नु र न्यायको लागि उभिनु होइन। यो त तिमीहरूले चम्किलो र आकर्षक ठान्‍ने जीवन होइन। तिमीहरूलाई यो आकर्षक वा अर्थपूर्ण जीवन हुँदैन भन्‍ने लाग्छ। तिमीहरूको नजरमा त यस्तो जीवन बिताउनु अन्याय हो! तिमीहरूले आज यो सजाय स्वीकार गरे पनि तिमीहरूले खोजिरहेको कुरा सत्य प्राप्त गर्नु वा वर्तमानमा सत्यमा जिउनु होइन, बरु पछि देहबाहिरको सुखी जीवनमा प्रवेश गर्न सक्षम हुनु हो। तिमीहरूले सत्य खोजिरहेका छैनौ, न त तिमीहरू सत्यको पक्षमा नै खडा भइरहेका छौ, र तिमीहरू पक्‍कै पनि सत्यका लागि अस्तित्वमा रहेका छैनौ। तिमीहरूले आजको प्रवेशलाई खोजी गरिरहेका छैनौ, बरु यसको सट्टा तिमीहरूका विचारहरू भविष्य र कुनै दिन के हुन सक्छ भन्‍ने कुराले भरिएका छन्: तिमीहरू नीलो आकाश नियाल्छौ, तीतो आँसु बगाउँछौ, र कुनै दिन स्वर्गमा लगिने अपेक्षा गर्छौ। के तिमीहरूलाई तिमीहरूको सोचाइ पहिले नै वास्तविकताबाहिर गएको छ भन्‍ने थाहा छैन? तिमीहरू के सोचिरहन्छौ भने यो संसारमा कठिनाइ र दुःखकष्ट सहने तिमीहरूलाई आफूसँग लैजानको लागि एकदिन असीम दया र करुणासहितका मुक्तिदाता निश्‍चय नै आउनुहुनेछ, र तिमीहरूलाई पीडा दिने र थिचोमिचो गर्नेहरूलाई तिमीहरूका गुनासाहरू समाधान गर्ने र तिमीहरूका खातिर बदला लिनुहुनेछ। के तिमीहरू पापले भरिएका छैनौ र? के यस संसारमा दुःख भोग्‍ने तिमीहरू मात्रै हौ? तिमीहरू आफै शैतानको सत्तामा खसेर कष्ट भोगिरहेका छौ—के परमेश्‍वरले तिमीहरूका गुनासाहरू अझै समाधान गरिदिनुपर्छ? तिनीहरू जो परमेश्‍वरको मापदण्ड पूरा गर्न असमर्थ छन्—के तिनीहरू सबै परमेश्‍वरका शत्रुहरू होइनन् र? जो देहधारी परमेश्‍वरमा विश्‍वास गर्दैनन्—के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? तेरा सुकर्महरू केका लागि गनिन्छन्? के तिनीहरूले परमेश्‍वरको उपासना गर्ने हृदयको ठाउँ लिन सक्छन्? केही सुकर्महरू गरेर मात्रै तैँले परमेश्‍वरको आशीर्वाद प्राप्त गर्न सक्दैनस् र तँलाई पीडित तुल्याइएको र थिचोमिचोमा पारिएको आधारमा मात्रै परमेश्‍वरले तेरा गुनासाहरू समाधान गर्ने र तेरो खातिर बदला लिइदिने गर्नुहुनेछैन। परमेश्‍वरमा विश्‍वास गरे पनि परमेश्‍वरलाई नचिन्‍ने तर असल काम गर्नेहरू—के ती सबैलाई पनि सजाय दिइँदैन र? तँ केवल परमेश्‍वरमा विश्‍वास गर्छस्, तेरो विरुद्धमा गरिएका गलत कार्यहरूका निम्ति परमेश्‍वरले प्रतिकार गरिदिऊन् र बदला लिइदिऊन् भन्‍ने मात्रै चाहन्छस् र परमेश्‍वरले तँलाई तेरो त्यो दिन दिऊन् भन्‍ने चाहन्छस्, जुन दिन तँ अन्ततः आफ्‍नो शिर ठाडो गर्न सक्‍नेछस्। तर तँ सत्यलाई ध्यान दिन अस्वीकार गर्छस्, न त सत्यमा जिउने तृष्णा नै गर्छस्। तँ यो कठिन, रित्तो जीवनबाट बाहिरिन सक्‍ने त कुरै नगरौँ। बरु, देहमा जिउने र पापको जीवन बिताउने क्रममा, तैँले तँमाथि भएका अन्यायहरूको बारेमा उहाँले सुनुवाइ गरिदिऊन् र तेरो अस्तित्वको कुहिरो हटाइदिऊन् भनी परमेश्‍वरलाई अपेक्षाको साथ हेर्छस्। तर के यो सम्भव छ र? यदि तँसँग सत्य छ भने, तैँले परमेश्‍वरलाई पछ्याउन सक्छस्। यदि तँ जिएको छस् भने, तँ परमेश्‍वरको वचनको अभिव्यक्ति हुन सक्छस्। यदि तँमा साँचो जीवन छ भने, तैँले परमेश्‍वरको आशिष्‌ प्राप्त गर्नेछस्। जोसँग सत्य छ उसले परमेश्‍वरको आशिष्‌ प्राप्त गर्न सक्छ। परमेश्‍वरलाई पूर्ण हृदयले प्रेम गर्ने र कठिनाइ एवं संकष्ट सहनेहरूका लागि उहाँले परिपूर्ति सुनिश्‍चित गर्नुहुन्छ, तर केवल आफूलाई मात्र प्रेम गर्ने र शैतानको छलको शिकार भएकाहरूका लागि भने त्यस्तो परिपूर्ति सुनिश्‍चित गर्नुहुन्‍न। सत्यलाई प्रेम नगर्नेहरूमा कसरी असलपन हुन सक्छ? केवल देहलाई प्रेम गर्नेहरूमा कसरी धार्मिकता हुन सक्छ? के धार्मिकता र असलपनको कुरा सत्यको सन्दर्भमा मात्र गरिँदैन र? के ती कुरा पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्नेहरूका लागि मात्र आरक्षित गरिएका छैनन् र? जसले सत्यलाई प्रेम गर्दैन र जो केवल दुर्गन्धित लास मात्र हो—के यस्ता सबै व्यक्तिहरूले आफूभित्र दुष्टता पाल्दैनन् र? जो सत्यमा जिउन सक्दैन—के त्यस्ता व्यक्तिहरू सबै नै सत्यका शत्रु होइनन् र? अनि, तिमीहरूचाहिँ कस्ता छौ नि?

यदि तँ अन्धकारका यी प्रभावहरूबाट उम्कन सक्छस् र आफूलाई ती अशुद्ध कुराहरूबाट मुक्त गर्न सक्छस् भने, यदि तँ पवित्र हुन सक्छस् भने, तैँले सत्यता धारण गर्न सक्‍नेछस्। यो तेरो प्रकृति परिवर्तन भएको अवस्था होइन, बरु तँ सत्यलाई अभ्यास गर्न र देहलाई परित्याग गर्न सक्षम छस् भन्‍ने कुरा हो। शुद्ध पारिएकाहरूमा हुने गुण नै यही हो। विजयको कामको मुख्य उद्देश्य भनेको मानवतालाई शुद्ध पार्नु हो ताकि मानिसले सत्यता प्राप्त गर्न सकोस्, किनभने मानिसले सत्यलाई अत्यन्तै थोरै मात्र बुझ्‍छ! त्यस्ता मानिसहरूमा विजयको काम गर्नु भनेको निकै महत्त्वपूर्ण कुरा हो। तिमीहरू सबै जना अन्धकारको प्रभावमा परेका छौ र तिमीहरूलाई गहिरो चोट लागेको छ। त्यसैले यो कामको लक्ष्य भनेको तिमीहरूलाई मानव प्रकृतिबारे जान्‍न र सत्यतामा जिउन सक्षम पार्नु हो। सिद्ध पारिने कार्य यस्तो कुरा हो जसलाई सृष्टि गरिएका सबै प्राणीहरूले स्विकार्नुपर्छ। यदि यस चरणको काममा मानिसहरूलाई सिद्ध पार्ने कार्य मात्रै समावेश भएको भए, यो बेलायत, वा अमेरिका, वा इजरायलमा गर्न सकिन्थ्यो; यसलाई कुनै पनि राष्ट्रका मानिसहरूमा गर्न सकिन्थ्यो। तर विजयको काम चयनात्मक छ। विजयको कामको पहिलो चरण अल्पकालीन छ; यसबाहेक, शैतानको अपमान गर्न र सम्पूर्ण ब्रह्माण्ड जित्‍नका लागि यसको प्रयोग गरिनेछ। यो विजयको प्रारम्भिक कार्य हो। के भन्‍न सकिन्छ भने परमेश्‍वरमा विश्‍वास गर्ने कुनै पनि प्राणीलाई सिद्ध गर्न सकिन्छ किनभने सिद्ध पारिने कार्य दीर्घकालीन परिवर्तनपछि मात्र प्राप्त गर्न सकिने कुरा हो। तर विजय गरिनु भनेको फरक कुरा हो। विजयको नमुना र आदर्श प्रतिरूप सबैभन्दा पछाडि रहेको, गहिरो अन्धकारमा बाँचेको हनुपर्छ; तिनीहरू सबैभन्दा निकृष्ट, परमेश्‍वरलाई मान्‍न सबैभन्दा अनिच्छुक र परमेश्‍वरप्रति सबैभन्दा अनाज्ञाकारी हुनुपर्दछ। यो ठ्याक्‍कै त्यस्तै किसिमको व्यक्ति हो जसले विजय प्राप्त गरिएको बारेमा साक्षी दिन सक्छ। विजयको कामको मुख्य लक्ष्य शैतानलाई हराउनु हो, जबकि मानिसहरूलाई सिद्ध पार्नुको मुख्य लक्ष्य मानिसहरूलाई प्राप्त गर्नु हो। यसको लक्ष्य विजयपश्‍चात् मानिसहरूलाई विजयको कार्य यहाँ तिमीहरूजस्तै मानिसहरूमा गरिएको छ भन्‍ने कुराको साक्षी दिन सक्षम पार्नु हो। विजयपश्‍चात् मानिसहरूलाई साक्षी दिन लगाउनु यसको उद्देश्य हो। यी विजय गरिएका मानिसहरूलाई शैतानको अपमान गर्ने लक्ष्य हासिल गर्न प्रयोग गरिनेछ। त्यसो भए, विजयको मुख्य विधि के हो त? सजाय, न्याय, श्राप र खुलासा—मानिसहरूलाई जित्‍नको लागि धर्मी स्वभावको प्रयोग गर्ने, ताकि तिनीहरू परमेश्‍वरको धर्मी स्वभावको कारण पूर्ण रूपमा विश्‍वस्त हुन सकून्। मानिसहरूलाई विजय गर्न र तिनीहरूलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउनको लागि वचनको वास्तविकता र अख्तियारको प्रयोग गर्नु—विजय गरिनुको अर्थ यही हो। सिद्ध पारिएका व्यक्तिहरू आफूमाथि विजय गरिएपछि आज्ञाकारिता मात्र प्राप्त गर्न सक्षम हुँदैनन्, तिनीहरू त न्यायको कामको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभाव बदल्न, र परमेश्‍वरलाई चिन्‍न पनि सक्षम हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने मार्गको अनुभव गर्छन् र तिनीहरू सत्यले भरिन्छन्। तिनीहरूले परमेश्‍वरको कार्यलाई कसरी अनुभव गर्ने, परमेश्‍वरको लागि कसरी कष्ट भोग्‍न सक्षम बन्‍ने र आफ्नै इच्छाशक्ति हासिल गर्न कसरी सक्षम हुने भन्‍ने कुराहरू सिक्छन्। सिद्ध पारिएकाहरू तिनै हुन् जोसँग परमेश्‍वरको वचनको अनुभव गरेको कारण सत्यको वास्तविक ज्ञान छ। विजय गरिएकाहरू तिनै हुन् जसले सत्य के हो जानेका छन् तर सत्यको वास्तविक अर्थलाई स्वीकार गरेका छैनन्। विजय गरिएपछि, तिनीहरूले आज्ञापालन गर्छन्, तर तिनीहरूको आज्ञाकारिता तिनीहरूले पाएको न्यायको परिणाम हो। तिनीहरूसँग धेरै सत्यहरूको वास्तविक अर्थको बारेमा कुनै पनि बुझाइ छैन। तिनीहरूले सत्यलाई मौखिक रूपमा स्विकार्छन्, तर तिनीहरू सत्यमा प्रवेश गरेका छैनन्; तिनीहरू सत्यलाई बुझ्छन्, तर तिनीहरूले सत्यको अनुभव गरेका छैनन्। सिद्ध पारिँदै गरिएकाहरूमा भइरहेको काममा जीवनको प्रावधानसँगै सजाय र न्यायहरू पर्दछन्। सत्यमा प्रवेश गर्नुलाई मूल्यवान् ठान्‍ने व्यक्ति नै सिद्ध पारिनुपर्ने व्यक्ति हो। सिद्ध पारिनुपर्नेहरू र विजय गरिनुपर्नेहरूको बीचमा रहेको भिन्‍नता भनेकै उनीहरू सत्यमा प्रवेश गर्छन् कि गर्दैनन् भन्‍ने नै हो। सिद्ध पारिएकाहरू तिनीहरू हुन् जो सत्यलाई बुझ्दछन्, सत्यमा प्रवेश गरेका छन् र सत्यमा जिइरहेका छन्; सिद्ध पार्न नसकिने मानिसहरू तिनीहरू हुन् जो सत्यलाई बुझ्दैनन् र सत्यमा प्रवेश गर्दैनन्, अर्थात तिनीहरू जो सत्यमा जिइरहेका छैनन्। यदि यस्ता मानिसहरू अहिले पूर्ण रूपमा आज्ञापालन गर्न सक्षम छन्, भने तिनीहरू विजय गरिएका छन्। यदि विजय गरिएका मानिसहरूले सत्यको खोजी गर्दैनन् भने—यदि तिनीहरूले सत्यतालाई पछ्याउँछन् तर यसमा जिउँदैनन् भने, यदि तिनीहरूले सत्यलाई हेर्छन् र सुन्छन् तर सत्यमा जिउने कार्यलाई मूल्यवान् ठान्दैनन् भने—तिनीहरूलाई सिद्ध पारिन सकिँदैन। सिद्ध पारिनुपर्ने मानिसहरूले सिद्धताको बाटोमा हिँड्दै परमेश्‍वरका मापदण्डहरूअनुसार सत्यको अभ्यास गर्छन्। यसमार्फत, तिनीहरूले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्छन्, अनि तिनीहरूलाई सिद्ध पारिन्छ। विजयको काम समाप्त हुनुअघि अन्त्यसम्‍मै पछ्याउने जोकोही व्यक्ति विजय गरिएको व्यक्ति हो, तर उसलाई सिद्ध पारिएको व्यक्ति भनेर भन्‍न सकिँदैन। “सिद्ध पारिएका” भन्‍ने पदावलीले ती मानिसहरूलाई जनाउँछ जसले विजयको काम समाप्त भएपछि सत्यलाई पछ्याउन सक्छन् र परमेश्‍वरद्वारा प्राप्त गरिएका हुन्छन्। यसले ती व्यक्तिहरूलाई जनाउँछ जो विजयको काम समाप्त भएपछि संकष्टमा दृढ भएर खडा हुन्छन् र सत्यमा जिउँछन्। विजय गरिनु र सिद्ध गरिनुबीचको भिन्‍नतालाई कामको चरणमा हुने फरक र मानिसहरूले सत्यलाई बुझ्ने र त्यसमा प्रवेश गर्ने हदले छुट्याउँछ। सिद्ध हुने बाटोमा नहिँडेका ती सबै, अर्थात् जसले सत्य धारण गरेका छैनन्, तिनीहरू सबैलाई अन्ततः हटाइनेछ। जोसँग सत्य छ र जो सत्यमा जिउँछ तिनीहरूलाई मात्र परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ। अर्थात्, पत्रुसको स्वरूपमा जिउनेहरू सिद्ध पारिएकाहरू हुन् भने अरू सबै विजय गरिएकाहरू हुन्। विजय गरिएकाहरूमा भइरहेको काममा श्राप दिने, सजाय दिने, र क्रोधको प्रदर्शन गर्ने कार्यहरू समावेश छन् र तिनीहरूमा आउने भनेको धार्मिकता र श्रापहरू हो। त्यस्तो व्यक्तिमा काम गर्नु भनेको कुनै समारोह वा शिष्टाचारविना खुलासा गर्नु हो—उनीहरूभित्रको भ्रष्ट स्वभावलाई उजागर गर्नु हो ताकि उनीहरू आफैले यसलाई पहिचान गरून् र पूर्ण रूपमा विश्‍वस्त होऊन्। जब मानिस पूर्ण रूपमा आज्ञाकारी हुन्छ, विजयको काम समाप्त हुन्छ। अधिकांश मानिसहरूले अझै पनि सत्यलाई बुझ्नको लागि प्रयास नगरे पनि विजयको काम समाप्त भएको हुनेछ।

यदि तँलाई सिद्ध पारिनु छ भने, त्यसका लागि मापदण्डहरू पूरा हुनुपर्छ। तेरो संकल्प, तेरो लगनशीलता र तेरो विवेकमार्फत र तेरो खोजमार्फत, तँ जीवनको अनुभव लिन र परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्न सक्षम हुनेछस्। यो तेरो प्रवेश हो, र सिद्धताको बाटोमा चाहिने कुराहरू यिनै हुन्। सिद्धताको काम सबै मानिसहरूमा गर्न सकिन्छ। परमेश्‍वरको खोजी गर्ने जोसुकैलाई सिद्ध पार्न सकिन्छ र उनीहरूसँग सिद्ध पारिनका लागि चाहिने अवसर र योग्यताहरू हुन्छन्। यसको कुनै निश्‍चित नियम छैन। कोही व्यक्तिलाई सिद्ध पार्न सकिन्छ कि सकिँदैन भन्‍ने कुरा मुख्यतया उसले के कुराको खोजी गर्छ भन्‍ने कुरामा भर पर्छ। सत्यलाई प्रेम गर्ने र सत्यमा जिउन सक्‍ने मानिसहरूलाई पक्‍कै पनि सिद्ध पार्न सकिन्छ। सत्यलाई प्रेम नगर्ने मानिसहरूलाई परमेश्‍वरले सराहना गर्नुहुन्‍न; उनीहरूमा परमेश्‍वरले खोज्नुभएको साँचो जीवन हुँदैन र तिनीहरूलाई सिद्ध पार्न सकिँदैन। सिद्धताको काम भनेको मानिसहरूलाई प्राप्त गर्नका लागि हो र यो शैतानको विरुद्धमा लड्ने कामको भाग होइन; विजयको कामचाहिँ शैतानको विरुद्धमा लड्नलाई मात्र हो, जसको अर्थ शैतानलाई पराजय गर्नका लागि मानिसमाथिको विजयलाई प्रयोग गर्नु भन्‍ने हुन्छ। विजयको काम मुख्य काम हो, यो सबैभन्दा नयाँ काम, सबै युगहरूमा नभएको काम हो। यो चरणको कामको लक्ष्य भनेको मुख्यतया सबै मानिसलाई जित्‍नु र शैतानलाई हराउनु हो भनेर भन्‍न सकिन्छ। मानिसहरूलाई सिद्ध बनाउने काम—यो नयाँ काम होइन। परमेश्‍वरले दैहिक स्वरूपमा गर्नुभएको कामको सिलसिलामा हुने सबै कामको मूल लक्ष्य मानिसहरूलाई जित्‍नु हो। यो अनुग्रहको युगमा भएको जस्तै हो, जुन बेलाको मुख्य काम भनेको क्रूसीकरणद्वारा सबै मानवजातिलाई छुटकारा दिनु थियो। “मानिसहरूलाई प्राप्त गर्नु” देहमा हुने कामको अतिरिक्त लक्ष्य थियो र यो क्रुसीकरणपछि मात्र गरियो। जब येशू आउनुभयो र उहाँले आफ्नो काम गर्नुभयो, उहाँको लक्ष्य भनेको मुख्यतया मृत्यु र पातालको दासत्वमाथि विजय प्राप्त गर्न, शैतानको प्रभावमाथि विजय प्राप्त गर्न—अर्थात्, शैतानलाई पराजित गर्न उहाँको क्रूसीकरणको प्रयोग गर्नु थियो। येशूलाई क्रूसमा टाँगिएपछि मात्र पत्रुस, एकपटकमा एक कदम चाल्दै, सिद्धताको बाटोमा आएका थिए। अवश्य पनि, येशूले काम गरिरहनुभएको बेलामा येशूलाई पछ्याइरहेका व्यक्तिहरूमध्ये पत्रुस पनि एक थिए, तर त्यो समयमा उनी सिद्ध पारिसकिएका थिएनन्। बरु, येशूले उहाँको काम पूरा गर्नुभएपछि मात्र पत्रुसले विस्तारै सत्य बुझ्दै गए र त्यसपछि तिनी सिद्ध पारिए। परमेश्‍वर छोटो समयमा कुनै कामको प्रमुख, महत्वपूर्ण चरण पूरा गर्नका लागि मात्र धर्तीमा देहधारी भई आउनुहुन्छ, धर्तीका मानिसहरूलाई सिद्ध पार्नका लागि लामो समयसम्म जिउनका लागि उहाँ आउनुहुन्‍न। उहाँले त्यस्तो काम गर्नुहुन्‍न। उहाँले उहाँको काम समाप्त गर्नलाई मानिस पूर्ण रूपमा सिद्ध पारिने समयसम्म पर्खनुहुन्‍न। त्यो उहाँको देहधारणको लक्ष्य र अर्थ होइन। उहाँ मानवजातिलाई मुक्ति दिन गर्नुपर्ने छोटो समयको कामका लागि मात्र आउनुहुन्छ, उहाँ मानवजातिलाई सिद्ध पार्ने लामो समयको कामका लागि आउनुहुन्‍न। मानवजातिलाई मुक्ति दिने काम प्रतिनिधिमूलक हुन्छ र यसमा नयाँ युग सुरु गर्ने क्षमता रहेको हुन्छ। यो छोटो समय अवधिमा पुरा हुन सक्छ। तर मानवजातिलाई सिद्ध पार्ने काममा मानिसलाई एउटा निश्‍चित तहसम्म पुर्‍याउनुपर्ने हुन्छ; यस्तो कामका लागि लामो समय लाग्छ। यो काम परमेश्‍वरका आत्माले गर्नुपर्छ, तर यो देहको कामको समयमा बोलिएको सत्यको जगमा गरिन्छ। उहाँले मानवजातिलाई सिद्ध पार्ने उहाँको लक्ष्य हासिल गर्नका लागि प्रेरितहरूलाई खडा गरेर लामो समय अवधिको गोठालो गर्ने काममार्फत पनि यो काम गर्नुहुन्छ। देहधारी परमेश्‍वरले यो काम गर्नुहुन्‍न। उहाँले जीवनको बाटोको बारेमा मात्र बोल्नुहुन्छ ताकि मानिसहरूले कुरा बुझून् र उहाँले मानवजातिलाई सत्य मात्र दिनुहुन्छ तर मानिसलाई सत्य अभ्यास गर्नका लागि निरन्तर साथ दिने गर्नुहुन्‍न किनभने यो उहाँको सेवकाइमा छैन। त्यसैले, उहाँले मानिसले पूर्ण रूपमा सत्य बुझेको र पूर्ण रूपमा सत्य प्राप्त गरेको दिनसम्म मानिसलाई साथ दिनुहुनेछैन। जब मानिस परमेश्‍वरको विश्‍वासको सही बाटोमा औपचारिक रूपमा प्रवेश गर्छ, जब मानिसले सिद्ध पारिने सही बाटोमा पाइला चाल्छ, तब देहमा हुने उहाँको काम पुरा हुन्छ। यो पक्‍कै पनि उहाँले पूर्ण रूपमा शैतानलाई पराजय गरी संसारमाथि विजय प्राप्त गर्दाको समयमा हुन्छ। उहाँले न त मानिस अन्ततः त्यो समयमा सत्यमा प्रवेश गर्‍यो कि गरेन भन्‍ने कुराको ख्याल राख्‍नुहुन्छ, न त उहाँले मानिसको जीवन महान् कि मामुली हो भन्‍ने कुराको नै वास्ता गर्नुहुन्छ। यीमध्ये कुनै पनि देहमा हुनुहुने उहाँले व्यवस्थापन गर्नुपर्ने कुरा होइनन्; यीमध्ये कुनै पनि देहधारी परमेश्‍वरको सेवकाइभित्र पर्दैनन्। जब उहाँले उहाँको अभिप्रायको काम पुरा गर्नुहुन्छ, उहाँले देहमा हुने उहाँको काम समाप्त गर्नुहुनेछ। त्यसैले, देहधारी परमेश्‍वरले गर्ने काम भनेको परमेश्‍वरका आत्माले सीधै गर्न नसक्‍ने काम हो। साथै, यो मुक्तिको छोटो समयको काम हो, उहाँले धर्तीमा दीर्घकालीन रूपमा गर्नुहुने काम होइन।

तिमीहरूको क्षमता बढाउने कार्य मेरो कामको क्षेत्रभित्र पर्दैन। तिमीहरूको क्षमता निकै कम भएकोले मात्र मैले तिमीहरूलाई यो गर्न भनिरहेको छु। सत्य भन्‍नुपर्दा, यो सिद्धताको कामको भाग होइन; बरु, यो तिमीहरूमा भइरहेको अतिरिक्त काम हो। आज तिमीहरूमा पूरा भइरहेको काम तिमीहरूको आवश्यकताअनुसार गरिएको हो। यो वैयक्तीकृत छ र यो सिद्ध पारिँदै गरिएकाहरू हरेक व्यक्तिले प्रवेश गर्नुपर्ने बाटो होइन। तिमीहरूको क्षमता विगतमा सिद्ध पारिएका जोसुकैको भन्दा पनि कम भएकोले, जब तँमा यो काम गरिन्छ, निकै धेरै व्यवधानहरू हुनेछन्। म यो अतिरिक्त काम गरिरहेका तिमीहरूमध्येमा पर्छु किनभने सिद्धताका लक्ष्यहरू फरक छन्। सारगत तवरमा, जब परमेश्‍वर धर्तीमा आउनुहुन्छ, उहाँ उहाँको सही सीमामा रहनुहुन्छ र उहाँको काम गर्नुहुन्छ र अन्य असम्बन्धित विषयहरूको झन्झटमा पर्नुहुन्‍न। उहाँ पारिवारिक विषयहरूमा संलग्‍न हुनुहुन्‍न वा मानिसहरूका जीवनहरूमा सहभागी बन्‍नुहुन्‍न। यस्ता तुच्छ कुराहरूमा उहाँले बिलकुलै चासो राख्‍नुहुन्‍न; तिनीहरू उहाँको सेवकाइको भाग होइनन्। तर तिमीहरूको क्षमता मैले खोजेको भन्दा निकै कम छ—वास्तवमा, त्यसको तुलना हुनै सक्दैन—र यसले काममा निकै अवरोध गर्दछ। साथै, यो काम चीनको यो भूमिका मानिसहरूमाझ गर्नुपर्छ। तिमीहरू यति अशिक्षित छौ कि मैले खुलेर बोल्दै तिमीहरूलाई आफूलाई शिक्षित पार भनेर भन्‍नुबाहेक अर्को विकल्प छैन। मैले तिमीहरूलाई यो अतिरिक्त काम हो र यो तिमीहरूले प्राप्त गर्नुपर्ने केही कुरा पनि हो र तिमीहरूलाई सिद्ध हुनका लागि सहयोग गर्ने केही कुरा हो भनेर भनेको छु। साँचो भन्‍नुपर्दा, शिक्षा, आफ्नो व्यवहारको बारेमा आधारभूत ज्ञान र जीवनको बारेमा आधारभूत ज्ञान तिमीहरूमा स्वाभाविक रूपमा हुनुपर्ने सबै कुराहरू हुन्; मैले तिमीहरूसँग यी विषयहरूमा कुराकानी गर्नु पर्दैन। तर तिमीहरूसँग यी कुराहरू नभएकाले, तिमीहरूले यो संसारमा जन्म लिइसकेपछि तिमीहरूमा यी कुराहरू छिराउनेबाहेक मसँग अरू विकल्प छैन। तिमीहरूले मेरो बारेमा धेरै धारणाहरू पालेका भए पनि, म अझै पनि तिमीहरूलाई भन्छु—म अझै भन्छु कि तिमीहरूले तिमीहरूको क्षमता बढाओ। यो काम गर्न आउने मेरो अभिप्राय छैन, किनभने मेरो काम भनेको तिमीहरूलाई विजय गर्नु, तिमीहरूको न्याय गरी तिमीहरूको पूर्ण विश्‍वास प्राप्त गर्नु, र त्यसमार्फत तिमीहरूले प्रवेश गर्नुपर्ने जीवनको बाटो देखाउनु मात्र हो। यसलाई अर्को तरिकाले भन्दा, तिमीहरू कति शिक्षित छौ र तिमीहरू जीवनको बारेमा कत्तिको ज्ञान राख्छौ भन्‍ने कुराले मलाई कुनै मतलब राख्दैन, बरु मैले तिमीहरूलाई मेरो वचनले विजय गर्नुपर्छ। यो सबै विजयको काममा नतिजाहरू प्राप्त होऊन् भनी सुनिश्‍चित गर्नका लागि र तत्पश्‍चात् हुने तिमीहरूको सिद्धताका खातिर थपिएको हो। यो विजयको कामको कुनै भाग होइन। तिमीहरू कम क्षमता भएका र तिमीहरू अल्छी र लापरवाही, मूर्ख र मन्द बुद्धि भएका, काठजस्तो र मूर्ख भएकाले—तिमीहरू अत्यधिक असामान्य भएकाले—तिमीहरूले पहिले तिमीहरूको क्षमता बढाउनुपर्छ भनी म आग्रह गर्दछु। सिद्ध पारिन चाहने जोसुकैले पनि निश्‍चित मापदण्ड पुरा गर्नुपर्छ। सिद्ध पारिनका लागि, कुनै पनि व्यक्ति स्पष्ट र सचेत मनमस्तिष्कको हुनुपर्छ र उसमा अर्थपूर्ण जीवन बिताउने चाहना हुनुपर्छ। यदि तिमीहरू खोक्रो जीवन बाँच्न नचाहने, सत्यको खोजी गर्ने, आफूले गर्ने हरेक काममा इमानदार रहने, र असाधारण रूपमा सामान्य मानवता भएको कोही हौ भने, तिमीहरूले सिद्ध पारिने सर्तहरू पूरा गर्छौ।

तिमीहरूमाझ भइरहेको यो काम, जे काम गरिनुपर्ने हो सोहीअनुसार नै तिमीहरूमा गरिँदै छ। यी मानिसहरूलाई विजय गरेपछि, मानिसहरूको एउटा समूहलाई सिद्ध पारिनेछ। त्यसैले, अहिलेको धेरै काम तिमीहरूलाई सिद्ध पार्ने लक्ष्यको तयारीका लागि पनि हो, किनभने सिद्ध पारिन सक्‍ने धेरै मानिसहरू सत्यको निम्ति भोकाइरहेका छन्। यदि विजयको काम तिमीहरूमा गरिन्थ्यो र त्यसपछि थप काम केही पनि गरिँदैनथ्यो भने, के यो सत्यको खोजी गरिरहेको व्यक्तिले यसलाई प्राप्त नगर्ने घटना बन्दैनथ्यो र? वर्तमान कामले पछि मानिसहरूलाई सिद्ध पार्ने बाटो खोल्ने लक्ष्य राख्दछ। मेरो काम विजयको काम मात्र भएको भए पनि, मैले कुरा गर्ने जीवनको बाटो मानिसहरूलाई पछि सिद्ध पार्ने तयारीका लागि हो। विजयपछि आउने काम मानिसहरूलाई सिद्ध पार्ने काममा केन्द्रित हुन्छ, र जित्‍ने काम सिद्ध पार्ने कामको जग बिछ्याउनका लागि गरिन्छ। मानिसलाई विजय गरिएपछि मात्र सिद्ध पार्न सकिन्छ। अहिले, मुख्य काम भनेको जित्‍नु हो; पछि, सत्य खोज्ने र त्यसको पछि लाग्‍नेहरूलाई सिद्ध पारिनेछ। सिद्ध पारिने कार्यमा मानिसहरूको प्रवेशको सक्रिय पक्षहरू समावेश हुन्छन्: के तिमीहरूसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ? तिमीहरूले यो बाटो हिँड्दै गर्दा, तिमीहरूको अनुभव कति गहिराइमा पुगेको छ? परमेश्‍वरप्रतिको तिमीहरूको प्रेम कत्तिको चोखो छ? तिमीहरूको सत्यको अभ्यास कत्तिको सही छ? सिद्ध पारिनका लागि, व्यक्तिसँग मानवताको सबै पक्षहरूको आधारभूत ज्ञान हुनुपर्छ। यो एउटा आधाररेखीय आवश्यकता हो। विजय गरिएपछि पनि सिद्ध पारिन नसकिने सबै व्यक्तिहरू सेवा गर्ने पात्रहरू बन्छन् र अन्ततः फेरि पनि आगो र गन्धकको कुण्डमा फ्याँकिनेछन् र फेरि पनि अतल कुण्डमा खस्‍नेछन्, किनभने तेरो स्वभाव परिवर्तन भएको छैन र तँ अझै पनि शैतानकै स्वामित्वमा छस्। यदि कुनै मानिसमा सिद्धताका लागि आवश्यक सर्तहरू पूरा भएका छैनन् भने, त्यो व्यक्ति बेकम्मा हो—ऊ फोहोर हो, आगोको परीक्षा सामना गर्न नसक्‍ने एक औजार हो! अहिले तँमा कत्तिको परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ? तँमा कत्तिको आफैलाई घृणा गर्ने हृदय छ? तैँले वास्तवमा शैतानलाई कत्तिको गहन रूपमा चिनेको छस्? के तैँले तेरो संकल्पलाई बलियो पारेको छस्? के तेरो मानवताभित्रको तेरो जीवनलाई सहीसँग नियमन गरिएको छ? के तेरो जीवन बदलिएको छ? के तँ नयाँ जीवन बाँचिरहेको छस्? के तिमीहरूको जीवनप्रतिको दृष्टिकोण बदलिएको छ? यदि यी कुराहरू परिवर्तन भएका छैनन् भने, तिमीहरू पछि नहटे पनि तिमीहरूलाई सिद्ध पार्न सकिनेछैन; तँलाई विजय मात्र गरिएको छ। जब तँलाई परीक्षण गर्ने समय आउँछ, तँमा सत्यको अभाव हुनेछ, तेरो मानवता असामान्य हुनेछ, र तँ भारी बोक्‍ने जनावरजत्तिकै निम्‍नस्तरको हुनेछस्। तेरो एक मात्र प्राप्ति भनेको विजय गरिएको हुनु हुनेछ—तँ केवल मैले विजय गरेको एक चीज हुन सक्छस्। जसरी गधा एकपटक मालिकको कुटाइको अनुभव गरेपछि डराउँछ र मालिकलाई हरेकपटक देख्दा केही गर्न डराउँछ, त्यसरी नै तँ पनि केवल विजय गरिएको गधा मात्र हुनेछस्। यदि कुनै व्यक्तिसँग ती सकारात्मक पक्षहरू छैनन् र ऊ निष्क्रिय र डरलाग्दो, डरपोक र सबै कुरामा हिचकिचाउने, स्पष्ट रूपमा कुनै पनि कुराको पारख गर्न असमर्थ, सत्यलाई स्वीकार गर्न असमर्थ, अभ्यासको लागि कुनै पनि मार्ग नभएको, र त्यो भन्दा पनि बढी, परमेश्‍वरलाई प्रेम गर्ने हृदय नभएको अवस्थामा छ भने—यदि व्यक्तिले परमेश्‍वरलाई कसरी प्रेम गर्ने, कसरी अर्थपूर्ण जीवन बिताउने वा कसरी वास्तविक व्यक्ति बन्‍ने भन्‍ने कुरा बुझेको छैन भने—त्यस्तो व्यक्तिले कसरी परमेश्‍वरको साक्षी दिन सक्छ? यसले तेरो जीवनको मूल्य नाममात्रको छ र तँ विजय गरिएको गधा होस् भन्‍ने देखाउँछ। तँलाई जितिनेछ, तर यसको अर्थ केवल यो हो कि तैँले ठूलो रातो अजिङ्गरलाई त्यागेर यसको सत्ताप्रति समर्पित हुन अस्वीकार गरिस्; यसको मतलब तँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस्, परमेश्‍वरका सबै योजनाहरू पालना गर्न चाहन्छस्, र तँसँग कुनै गुनासो छैन भन्‍ने हुन्छ। तर जहाँसम्म सकारात्मक पक्षहरूको कुरा छ, के तँ परमेश्‍वरको वचनमा जिउन र परमेश्‍वरलाई प्रकट गर्न सक्छस्; यदि तँमा यीमध्ये कुनै पनि पक्षहरू छैनन् भने, यसको अर्थ तँलाई परमेश्‍वरले हासिल गर्नुभएको छैन र तँ केवल विजय गरिएको गधा होस् भन्‍ने हुन्छ। तँमा वाञ्‍छनीय कुराहरू केही पनि छैन र पवित्र आत्माले तँमा काम गरिरहनुभएको छैन। तेरो मानवतामा धेरै कुराको कमी छ; परमेश्‍वरले तँलाई प्रयोग गर्न असम्भव छ। तँलाई परमेश्‍वरले अनुमोदन गर्नुपर्नेछ र तँ अविश्‍वासी जनावरहरू र हिँड्ने मृत मानिसहरू भन्दा सय गुणा राम्रो हुनुपर्दछ—यस स्तरमा पुग्‍ने व्यक्तिहरू मात्र सिद्ध पारिन योग्य छन्। यदि कसैसँग मानवता र विवेक छ भने मात्र ऊ परमेश्‍वरको प्रयोगको लागि उपयुक्त व्यक्ति हुन्छ। सिद्ध पारिएपछि मात्र तँलाई मानवको रूपमा लिन सकिन्छ। सिद्ध पारिएकाहरू मात्र अर्थपूर्ण जीवन बाँच्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले मात्र गुञ्‍जायमान रूपले परमेश्‍वरको साक्षी दिन सक्छन्।

अघिल्लो: पद र पहिचानको सम्‍बन्धमा

अर्को: तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्