अध्याय १०७

जब मेरा वचनहरू निश्‍चित तहको कठोरतामा पुग्छन्, तिनको कारण धेरै मानिसहरूले छोड्नेछन्—ठ्याक्कै यही समयमा नै मेरा ज्येष्ठ पुत्रहरू प्रकट गरिनेछन्। यी सबै कुराहरू हासिल गर्नको निम्ति म औँला उठाउँदिनँ, तर मेरा वचनहरूको मात्र प्रयोग गर्छु भनेर मैले भनिसकेको छु। मैले घृणा गर्ने सबैलाई म मेरा वचनहरूले नष्ट गर्छु, र मेरा ज्येष्ठ पुत्रहरूलाई सिद्ध गर्नको निम्ति पनि म तिनको प्रयोग गर्छु। (जब मेरा वचनहरू बोलिन्छन्, सात मेघ गर्जनको आवाज सुनिनेछ, र त्यस बेला मेरा ज्येष्ठ पुत्रहरू र मैले स्वरूप बदल्नेछौँ अनि आत्मिक क्षेत्रमा प्रवेश गर्नेछौं।) मैले मेरो आत्माले व्यक्तिगत रूपमा काम अगाडि बढाउँछ भनेर मैले भन्‍नुको अर्थ यही हो, कि मेरा वचनहरूले सबै कुराहरू हासिल गर्छन् र यसबाट म सर्वशक्तिमान् छु भन्‍ने कुरा स्पष्ट हुन्छ। यसैले मैले व्यक्त गरेका हरेक वाक्यपछिका लक्ष्य र उद्देश्यलाई कुनै पनि व्यक्तिले अझ बढी स्पष्टताको साथ देख्‍न सक्छ। मैले अगाडि भनेझैँ, मेरो मानवताभित्र मैले बोलेका हरेक कुरा मेरो प्रकटीकरणको एउटा पक्ष हो। यसैले, निश्‍चित हुन नसकेका र मेरो सामान्य मानवताभित्र मैले बोलेका कुराहरूमा साँचो तरिकाले विश्‍वास नगर्नेहरूलाई हटाइनुपर्छ। मेरो सामान्य मानवता मेरो पूर्ण ईश्‍वरत्वको अपरिहार्य पक्ष हो भनेर मैले बारम्बार जोड दिएको छु, तापनि धेरै मानिसहरूले पहिलोलाई बेवास्ता गरेर पछिल्लोमा निरन्तर ध्यान दिन्छन्। तँ अन्धो छस्! तैँले म तेरो धारणाहरू अनुरूप छैन, र म जुन मानव हुँ त्यो तेरो परमेश्‍वर अनुरूप हुँदैन भनेर भन्छस्। के यी मानिसहरू मेरो राज्यमा रहन सक्छन्? म तँलाई मेरा खट्टाहरूमुनि कुल्चनेछु! मेरो विरुद्ध अझ विद्रोह गर्ने साहस गरेर त हेर्! त्यस्तै मनमानीलाई निरन्तर दिने साहस गरेर त हेर्। मेरो मुस्कान तेरा धारणाहरूसँग मेल खाँदैन, मेरो वाणी तेरो कानको लागि आनन्ददायी छैन, र मेरा कार्यहरूले तँलाई फाइदा गर्दैनन्—के मैले भनेको कुरा सही छ? यी सबै कुराहरू तँलाई मन पर्ने कुरा हुनुपर्छ। के परमेश्‍वर त्यस्तो हुनुहुन्छ? के यी मानिसहरू अझ पनि मेरो घरमा रहन र मेरो राज्यमा आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्? के तैँले दिवास्वप्न त देखिरहेको छैनस्? कहिलेदेखि कुराहरू अद्भुत बनेका छन्! तँ मेरो अवज्ञा गर्न चाहन्छस्, तापनि तँ मबाट आशिष् प्राप्त गर्न चाहन्छस्। म तँलाई भन्छु: बिलकुल हुँदैन! मैले धेरै पटक भनेको छु, मेरो राज्यमा प्रवेश गर्ने र आशिष्‌ प्राप्त गर्नेहरू मैले प्रेम गरेका मानिसहरू नै हुनुपर्छ। यी वचनहरूमा म किन जोड दिन्छु? हरेकले के सोचिरहेका छन् भन्‍ने मलाई थाहा छ र म बुझ्छु; मैले तिनीहरूका सोचाइलाई एक-एक गरेर औँल्याउनु आवश्यक छैन। तिनीहरूका साँचो स्वरूप मेरा न्यायका वचनहरूद्वारा प्रकट हुनेछन्, र मेरो न्यायको आसनको अगाडि सबै जना रुनेछन्। यो कसैले परिवर्तन गर्न नसक्‍ने एउटा स्पष्ट तथ्य हो! अन्तमा, म तिनीहरू सबैलाई एक-एक गरेर अतल कुण्डमा हाल्‍नेछु। दियाबलस शैतानको न्याय गरेर अन्तमा मैले हासिल गर्ने आशा गरेको परिणाम यही हो। यस्ता व्यक्तिहरूसँग व्यवहार गर्नको निम्ति मैले न्याय र प्रशासनिक आदेशहरूको प्रयोग गर्नुपर्छ, र म यसरी नै मानिसहरूलाई सजाय दिन्छु। के यस बारेमा तिमीहरूसँग कुनै साँचो अन्तर्ज्ञान छ? मैले शैतानलाई कुनै कारण दिनु आवश्यक छैन; केवल त्यसको मृत्युसम्मै र त्यसले कृपाको भीख मागुञ्‍जेलसम्म म त्यसलाई पिट्न मेरो फलामको डन्डाको प्रयोग गर्छु। यसैले, जब मानिसहरूले मेरा न्यायका वचनहरू पढ्छन्, तिनीहरूले अलिकति पनि बुझ्दैनन्, तर मेरो दृष्टिकोणमा, हरेक पङ्‌क्ति र हरेक वाक्य मेरो प्रशासनिक आदेशहरूको कार्यान्वयन हो। यो एक स्पष्ट तथ्य हो।

आज मैले न्यायको बारेमा उल्लेख गरेको हुनाले, यस विषयले न्याय आसनलाई पनि छुन्छ। विगतमा, तिमीहरूले अक्सर भन्‍ने गरेका छौ कि तिमीहरूले ख्रीष्टको आसन अगाडि न्याय प्राप्त गर्नेछौ। तिमीहरूमा न्यायको बारेमा केही बुझाइ छ, तर तिमीहरूले न्याय आसनको बारेमा कल्पना गर्न सक्दैनौ। सायद कतिपय मानिसहरूले न्याय आसन भौतिक वस्तु हो भन्‍ने सोच्छन्, वा तिनीहरूले त्यो एउटा ठूलो टेबुल हो भनी कल्पना गर्लान्, वा सायद लौकिक संसारमा हुने न्यायाधीशको आसनको रूपमा कल्पना गर्लान्। अवश्य, यस पटकको मेरो व्याख्यामा, म तिमीहरूले भनेको कुरालाई इन्कार गर्दिनँ, तर मेरो निम्ति मानिसहरूको कल्पनामा भएका कुराहरूले अझ पनि प्रतीकात्मक अर्थ बोक्छन्। यसैले मानिसहरूले कल्पना गरेको कुरा र मेरो अर्थको बीचको खाडल अझ पनि स्वर्ग र पृथ्वी जति नै ठूलो छ। मानिसहरूको धारणाहरूमा, धेरै मानिसहरू न्याय आसनको अगाडि दुःखमा रुँदै दयाको भीख माग्‍दै दण्डवतका साथ पस्रिरहेका हुन्छन्। यसमा मानवीय कल्पना शिखरमा पुगेको छ, र कसैले पनि त्यसभन्दा धेरै कल्पना गर्न सक्दैन। त्यसो भए, न्यायको आसन के हो? मैले यो रहस्यलाई प्रकट गर्नु अगाडि, तिमीहरूले तिमीहरूका पहिलेका सबै गलत अवधारणाहरूलाई इन्कार गर्नुपर्छ; तब मात्र मेरो लक्ष्य प्राप्त हुन सक्छ। यस विषयमा तिमीहरूका धारणा र सोचहरूलााई हटाउन सकिने तरिका भनेको यही मात्र हो। जब तिमीहरू बोल्छौ तिमीहरूले ध्यान दिनुपर्छ। तिमीहरू अबदेखि लापरवाह नहोओ। मेरो न्याय आसन संसारको सृष्टिदेखि नै स्थापित गरिएको छ। विगतका युग र पुस्ताहरूमा, यसको अगाडि धेरै मरेका छन् र धेरै यसको अगाडि जीवनमा फर्केर उठेका पनि छन्। यसो पनि भन्‍न सकिन्छ कि सुरुदेखि अन्तसम्म मेरो न्याय कहिले पनि रोकिँदैन, यसैले मेरो न्यायको आसन सधैँ अस्तित्वमा रहन्छ। जब न्यायको आसनलाई उल्लेख गरिन्छ सबै मानवले डरको महसुस गर्छन्। अवश्य, मैले माथि भनेका कुराबाट यो न्यायको आसन भनेको के हो भन्‍ने तिमीहरूलाई थाहा छैन। न्यायको आसन न्यायसँगै अस्तित्वमा रहन्छ, तर ती दुई भिन्‍न प्रकारका तत्वहरू हुन्। (यहाँ “तत्व” ले भौतिक वस्तुलाई होइन, तर वचनलाई जनाउँछ। मानवले यस तत्वलाई बिलकुल देख्‍न सक्दैनन्।) न्यायले मेरा वचनहरूलाई जनाउँछ। (तिनीहरू कडा भए पनि, नरम भए पनि, ती सबै मेरो न्यायमा समेटिन्छन्। यसैले, मेरो मुखबाट जे निस्कन्छ त्यो न्याय हो।) पहिले मानिसहरूले न्यायका वचनहरू, कोमलताका वचनहरू र जीवन दिने वचनहरू सहित गरेर मेरा वचनहरूलाई विभिन्‍न वर्गहरूमा बाँड्थे। आज, म न्याय र मेरा वाणीहरू एकअर्कामा जोडिएका छन् भनेर स्पष्ट पार्छु। अर्थात्, न्याय मेरा वचनहरू हो, र मेरा वचनहरू न्याय हो; तिमीहरूले तिनलाई छुट्टाछुट्टै भनेर ठान्‍नु हुँदैन। कडा वचनहरू न्याय हुन् भनी मानिसहरू सोच्छन्, तर तिनीहरूको बुझाइ पूर्ण छैन। मैले बोल्ने हरेक कुरा न्याय हो। विगतमा बोलिएको न्यायको सुरुवातले मेरो आत्माले औपचारिक रूपमा हरेक ठाउँमा काम गर्न र मेरो प्रशासनिक आदेशहरूलाई कार्यान्वयन गर्न थालेको कुरालाई जनाउँछ। यस वाक्यमा “न्याय” ले वास्तविक यथार्थतालाई जनाउँछ। अब म न्यायको आसनको व्याख्या गर्नेछु: म किन न्यायको आसन अनन्तदेखि अनन्तसम्म अस्तित्वमा छ र मेरो न्यायसँगै जान्छ भनेर भन्छु? के तिमीहरूले मेरो न्यायको व्याख्याबाट केही बुझाइ प्राप्त गरेका छौ? न्यायको आसनले म जुन मनुष्य हुँ त्यसलाई जनाउँछ। अनन्तदेखि अनन्तसम्म, म सधैँ आवाज दिइरहेको र बोलिरहेको छु। म सधैँ जिउँछु, यसैले मेरो न्यायको आसन र मेरो न्याय अनन्तदेखि सहअस्तित्वमा रहेका छन्। अबसम्म त यो स्पष्ट हुनुपर्ने! मानिसहरूका कल्पनाहरूमा, तिनीहरूले मलाई कुनै एक वस्तुको रूपमा व्यवहार गर्छन्, तर यसको निम्ति न त म तिमीहरूलाई दोष दिन्छु न त निन्दा नै गर्छु। तिमीहरू आज्ञाकारी होओ र मेरो प्रकटीकरणलाई स्वीकार गर अनि यसबाट म सबैलाई समेट्ने परमेश्‍वर स्वयम् हुँ भनेर जान भन्‍ने आशा मात्र म गर्छु।

मेरा वचनहरू मानवको निम्ति अबोध्य छन्, मेरा पाइलाहरू तिनीहरूले पत्ता लगाउन असम्भव छन् र मेरो इच्छा तिनीहरूले बुझ्‍न असम्भव छन्। यसैले, तिमीहरू आज जुन हालतमा छौ (मेरो प्रकाश प्राप्त गर्न, यसभित्रको मेरो इच्छा बुझ्‍न र यसद्वारा मेरा पाइलाहरू पछ्याउन सक्षम हुनु) त्यो मेरा चमत्कारी कार्यहरू, मेरो अनुग्रह र मेरो दयाको परिणाम हुन्। एक दिन, म मानिसहरूलाई मेरो बुद्धि हेर्न, मैले मेरा हातहरूले गरेका कुराहरू हेर्न र मेरा काममा अद्भुत कुराको झलक हेर्न दिनेछु। जब त्यो समय आउँछ, मेरो सारा व्यवस्थापन योजनाका कार्ययोजनाहरू पूर्ण रूपमा तिमीहरूका आँखा अगाडि प्रकट हुनेछन्। ब्रह्माण्ड संसारभरि र हरेक दिन मेरा अद्भुत कार्यहरूका भागहरू प्रकट हुन्छन्, र मेरो व्यवस्थापनको योजना पूरा होस् भनेर सबैले सेवा प्रदान गर्छन्। जब यो पूर्ण रूपमा प्रकट भएको हुन्छ, मैले सेवा गर्नको निम्ति कस्ता किसिमका मानिसहरूको प्रबन्ध गरेको छु, मेरो इच्छा पूरा गर्नको निम्ति मैले कस्ता किसिमका मानिसहरूको प्रबन्ध गरेको छु, शैतानको शोषण गरेर मैले के प्राप्त गरेको छु, म आफैले के कुरा सम्पन्‍न गरेको छु, कस्ता किसिमका मानिसहरू रोइरहेका छन्, कस्ता किसिमका मानिसहरूले दाह्रा किटिरहेका छन्, कस्ता किसिमका मानिसहरूले विनाश भोग्‍नेछन्, र कस्ता किसिमका मानिसहरूले नरकको दण्ड भोग्‍नेछन् भन्‍ने तिमीहरूले देख्‍नेछौ। “विनाश” भनेर मैले आगो र गन्धकको कुण्डमा फालिनेहरू र पूर्ण रूपमा जल्‍नेहरूलाई जनाइरहेको छु; “नरकको दण्ड” भनेर मैले अतल कुण्डमा फालिएर त्यहाँ सारा अनन्तसम्म सड्नेहरूलाई जनाइरहेको छु। यसैले विनाश र नरकको दण्डलाई एउटै हुन् भन्‍ने गल्ती नगर; यसको विपरीत, ती दुई धेरै भिन्‍न छन्। मेरो नाउँलाई त्याग्‍ने सेवाकर्ताहरूले नरकको दण्ड भोग्‍नेछन् र मेरा नाउँका नभएकाहरूले विनाश भोग्‍नेछन्। यही कारणले नरकको दण्ड भोग्‍नेहरूले मेरो न्यायपछि सदाको मलाई निम्ति प्रशंसा दिनेछन् भनेर म भन्छु; तापनि ती मानिसहरू मेरो सजायबाट उम्कनेछैनन् र तिनीहरूले मेरो नियमलाई सधैँ स्वीकार गर्नेछन्। यही कारणले अतल कुण्ड भनेको मैले मानिसहरूलाई सजाय दिने हात हो भनेर म भन्छु। म यो पनि भन्छु कि सबै कुरा मेरो हातमा छन्। “अतल कुण्ड” ले शैतानको प्रभावलाई जनाउँछ भनेर मैले भनेको भए तापनि, यो मेरो हातमा पनि छ जसको प्रयोग मानिसहरूलाई सजाय दिनको निम्ति गर्छु। यसैले सबै कुरा मेरो हातमा छन् र त्यहाँ कुनै विरोधाभास छैन। मेरा वचनहरू गैरजिम्मेवारपूर्ण छैनन्; ती सबै उचित र युक्तिसंगत छन्। ती न त बनाइएका हुन् न त निरर्थक नै छन्, र सबैले मेरा वाणीहरूलाई विश्‍वास गर्नुपर्छ। भविष्यमा, तिमीहरूले यसको कारण दुःख पाउनेछौ। मेरा वचनहरूको कारण, धेरै मानिसहरू चिसा हुन्छन् वा तिनीहरू निराश हुन्छन् वा हताश हुन्छन् वा धुरुधुरु रुन्छन् वा विलाप गर्छन्। प्रतिक्रियाहरू सबै किसिमका हुनेछन्। एक दिन मैले घृणा गर्ने सबै मानिसहरू हट्नेछन्, मेरो महान काम पूरा हुनेछ। भविष्यमा, ज्येष्ठ पुत्रहरूको कारण धेरै मानिसहरू गिर्नेछन् र अन्तमा एक-एक कदम गरेर तिनीहरू जानेछन्। अर्को शब्दमा, मेरो घर बिस्तारै पवित्र हुनेछ र सबै प्रकारका राक्षसहरू बिस्तारै शान्तसँग, समर्पित हुँदै र कुनै पनि गुनासो नगरीकन मेरो छेउबाट पछि हट्नेछन्। त्यसपछि, मेरा सबै ज्येष्ठ पुत्रहरू प्रकट गरिनेछन् र म मेरो अर्को चरणको काम सुरु गर्नेछु। तब मात्र ज्येष्ठ पुत्रहरू मसँगै राजाहरू हुनेछन् र सारा ब्रह्माण्डमाथि राज्य गर्नेछन्। यी मेरा कामका चरणहरू हुन् र तिनले मेरो व्यवस्थापन योजनाको महत्त्वपूर्ण भागको निर्माण गर्छन्। यसलाई बेवास्ता नगर; नत्रता, तिमीहरूले गल्ती गरिरहेका हुनेछौ।

तिमीहरूकहाँ मेरा वचनहरू प्रकट गरिने समय नै मेरो काम सुरु गर्ने समय हो। मेरा कुनै पनि वचनहरू पूरा नभई रहनेछैनन्। मेरो निम्ति एक दिन सय वर्ष जस्तो हो, र हजार वर्ष एक दिन जस्तो हो। तिमीहरू यसलाई कसरी हेर्छौ? समयको बारेमा तिमीहरूको धारणा मेरोभन्दा धेरै भिन्‍न छ, किनकि म ब्रह्माण्ड संसारलाई नियन्त्रण गर्छु, र म सबै कुरा पूरा गर्छु। मेरो काम दैनिक रूपमा, पाइला-पाइला र चरणबद्ध रूपमा हुन्छ; यसको अतिरिक्त, मेरो कामको प्रगति एक सेकेन्ड पनि रोकिँदैन: हरेक क्षण, यो निरन्तर भइरहेको हुन्छ। संसारको सृष्टि भएदेखि मेरा वचनहरू कहिले पनि अवरुद्ध भएको छैन। मैले आजको दिनसम्म बोल्‍ने र मेरा वाणीहरूलाई व्यक्त गर्ने कार्यलाई निरन्तरता दिएको छु; यो भविष्यमा पनि परिवर्तन हुँदैन। तैपनि, मेरो समय होसियारीपूर्वक प्रबन्ध र व्यवस्थित गरिएको छ, र यो अत्यन्तै सुव्यवस्थित छ। मैले गर्नु पर्ने काम, सो काम गर्नुपर्ने बेलामा गर्नेछु (मद्वारा, सबै कुरालाई मुक्त गरिनेछन्; सबै जना स्वतन्त्र हुनेछन्), अनि मेरो कामको चरणहरूको हकमा म अलिकति पनि अवरुद्ध भएको छैनँ। म मेरो घरको हरेकलाई व्यवस्थित गर्न सक्छु; म संसारको हरेक जनालाई व्यवस्थित गर्न सक्छु—तथापि, म बिलकुल व्यस्त छैनँ, किनकि मेरो आत्माले काम गरिरहेको। मेरो आत्माले हरेक ठाउँ भर्छ, किनकि म अद्वितीय परमेश्‍वर स्वयम् हुँ, अनि सारा ब्रह्माण्ड संसार मेरो हातमा छ। यसैले, म सर्वशक्तिमान् छु, म बुद्धिमान छु र मेरो महिमाले ब्रह्माण्डको हरेक कुना भर्छ भन्‍ने कुरालाई देख्‍न सकिन्छ।

अघिल्लो: अध्याय १०६

अर्को: अध्याय १०८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्