अध्याय १०२
मैले केही हदसम्म बोलेको छु र मेरो कार्य निश्चित बिन्दुसम्म पुगेको छ; तिमीहरू प्रत्येकले, मेरा अभिप्रायहरू बुझ्नुपर्छ र विभिन्न हदसम्म मेरो बोझका बारेमा विचारशील हुन सक्षम हुनुपर्छ। देह आत्मिक क्षेत्रमा स्थानान्तर हुने समयको मोड अहिले नै हो—तिमीहरू युगहरूलाई पार गर्ने, ब्रह्माण्ड र पृथ्वीको अन्त्यबीच वारिपारि गर्ने अग्रवर्ती व्यक्तिहरू हौ। तिमीहरू मेरो सबैभन्दा प्रियहरू हौ; मैले प्रेम गर्ने तिमीहरू नै हौ। मैले तिमीहरूबाहेक अरू कसैलाई प्रेम गर्दिन भन्दा हुन्छ, किनभने मेरो कठिन प्रयास तिमीहरूका लागि नै रहेको छ। तिमीहरूलाई यसका बारेमा थाहा नहुने हुनसक्छ र? मैले यावत् थोकको सृष्टि गर्नेथिएँ? तिमीहरूको सेवाका खातिर मैले तिनीहरूलाई किन चहलपहल गराउथें? यी सबै कार्यहरू तिमीहरूप्रतिको मेरो प्रेमको अभिव्यक्ति हो। पहाड-पर्वत र पहाड-पर्वतमा भएका यावत् थोकहरूले, पृथ्वी र पृथ्वीमा भएका यावत् थोकहरूले, मैले तिमीहरूलाई प्राप्त गरेकोमा मेरो प्रशंसा गर्छन् र मेरो महिमा गर्छन्। वास्तवमा, सबै कुरा गरिसकिएको छ; साथै, सबै कुरा पूर्ण रूपमा गरिसकिएको छ। तिमीहरूले मेरो गुञ्जायमान गवाही दिएका छौ, र तिमीहरूले मेरो लागि दियाबलसहरू र शैतानलाई अपमानित गरेका छौ। मभन्दा बाहिरका सबै मानिस, मामिला, अनि थोकहरू मेरा अख्तियारप्रति समर्पित हुन्छन्, र सबै, मेरो व्यवस्थापन योजनाको समापनका कारण, आफ्नै प्रजातिलाई पछ्याउँछन् (मेरो मानिसहरू मेरा हुन्, र शैतानका प्रजातिहरू आगोको कुण्डका हुन्—तिनीहरू अतल कुण्डमा खस्नेछन्, जहाँ तिनीहरू अनन्तसम्म कराउनेछन् र सदैव नष्ट हुनेछन्)। जब म “नष्ट हुने” र “त्यसो समयदेखि, तिनीहरूको आत्मा, प्राण, र शरीर लिने” बारेमा कुरा गर्छु, मैले तिनीहरूलाई शैतानको जिम्मा लगाउने र तिनीहरूलाई कुल्चन अनुमति दिने कुरा सूचित गरिरहेको हुन्छु। अर्को शब्दमा, मेरो घरमा नभएका सबै विनाशको पात्र हुनेछन्, र तिनहरूको अस्तित्व समाप्त हुनेछ। यसको अर्थ, मानिसहरूले कल्पना गरे जस्तो, तिनीहरू जानेछन् भन्ने होइन। यसलाई यसरी पनि भन्न सकिन्छ कि मभन्दा बाहिरका यावत् थोकहरू, मेरो विचारमा, अस्तित्वमा हुँदैनन्, र नष्ट हुनुको साँचो अर्थ यही नै हो। मानवको नजरका लागि यिनीहरूको अस्तित्व अझै देखापरिरहनेछ, तर मेरो नजरमा, तिनीहरू अनस्तित्वमा परिणत भएका हुन्छन् र सम्पूर्ण अनन्तसम्म नष्ट हुनेछन्। (म जोसँग अहिले काम गर्दिन तिनीहरू नै मभन्दा बाहिरका हुन् भनेर जोड दिन्छु।) मानवमा, तिनीहरूले जसरी सोचे पनि, यो कुरा तिनीहरूले पत्ता लगाउन सक्दैनन्, र तिनीहरूले जतिसुकै राम्ररी हेरे पनि, तिनीहरूले यसभित्र घुस्न सक्दैनन्। मैले मानिसहरूलाई अन्तर्दृष्टि, ज्योति नदिएसम्म, र तिनीहरूलाई स्पष्ट रूपमा नदेखाइदिएसम्म, तिनीहरूले यसलाई स्पष्ट रूपमा बुझ्न सक्दैनन्। साथै, तिनीहरू सबै थप रित्तो महसुस गर्दै, यसका बारेमा झन्-झन् अस्पष्ट हुन्छन्, र बढ्दो क्रममा, पछ्याउने कुनै मार्ग हुँदैन—तिनीहरू लगभग मृतक मानिसहरू जस्तै हुन्। अहिले, धेरैजसो मानिसहरू (जसको अर्थ ज्येष्ठ छोराहरू बाहेक) यस्तो अवस्थामा छन्। मैले यी कुरा अति स्पष्टताका साथ बताएको छु, तापनि यी मानिसहरूको कुनै प्रतिक्रिया हुँदैन र अझै पनि तिनीहरूको देहगत आनन्दको वास्ता गर्दछन्। तिनीहरूले खान्छन् र सुत्छन्; तिनीहरू सुत्छन् र त्यसपछि खान्छन्। तिनीहरूले मेरा वचनहरूमाथि चिन्तन गर्दैनन्। तिनीहरू ऊर्जाशील हुँदा पनि त्यो केही समयका लागि मात्र हुन्छ; पछि, तिनीहरू अझै पनि पहिलेका जस्तै पूर्ण रूपमा अपरिवर्तित रहन्छन्, मानौं तिनीहरूले मलाई पटक्कै सुनेका छैनन्। यी प्रतिनिधिमूलक नमुनाहरू हुन्, निकम्मा मानिसहरू, जोसित कुनै बोझ हुँदैन; तिनीहरू सित्तैँमा भोगचलन गर्नेहरू हुन् भन्ने अत्यन्तै स्पष्ट छ। पछि, म तिनीहरूलाई एक-एक गरी छोडिदिन्छु; चिन्ता नगर! म तिनीहरूलाई एक-एक गरी अतल कुण्डमा पठाउनेछु। पवित्र आत्माले त्यस्ता मानिसहरूमा कहिल्यै काम गर्नुभएको छैन, र तिनीहरूले गर्ने सबै कुरा तिनीहरूले पाएका वरदानहरूबाट प्रवाहित हुन्छन्। जब म वरदानको कुरा गर्छु, मेरो भनाइको अर्थ यी जीवनरहित मानिसहरू हुन्, जो मेरा सेवा-कर्ताहरू हुन् भन्ने हो; म तिनीहरूमध्ये कसैलाई पनि चाहन्नँ, र म तिनीहरूलाई हटाउनेछु (तर अहिलेचाहिं, तिनीहरू थोरै उपयोगी छन्)। तिमीहरू जो-जो सेवा-कर्ताहरू हौ, सुन! यो नसोच कि मैले तँलाई प्रयोग गर्नुको अर्थ म तँलाई निगाह गर्छु भन्ने होइन; यो त्यति सरल छैन। यदि तँ मैले तँलाई निगाह गरेको चाहन्छस् भने, तँ त्यस्तो व्यक्ति हुनुपर्छ जसलाई म स्वीकार गर्छु र जसलाई म व्यक्तिगत रूपमा सिद्ध पार्छु। यो मैले प्रेम गर्ने प्रकारको व्यक्ति हो। मानिसहरूले मैले गल्ती गरेको छु भनेर भने पनि म कहिल्यै पनि मन परिवर्तन गर्नेछैन। के तँलाई यो थाहा छ? सेवा प्रदान गर्नेहरू केवल गाईवस्तु र घोडाहरू मात्र हुन्; तिनीहरू कसरी मेरो ज्येष्ठ छोराहरू हुन सक्छन्? के यो मूर्खतापूर्ण हुनेछैन र? के यो प्रकृतिको नियम उल्लङ्घन हुनेछैन र? जोसँग मेरो जीवन र मेरो क्षमता छ, तिनीहरू मेरा ज्येष्ठ छोराहरू हुन्। यो एउटा व्यावहारिक कुरा हो; यसलाई कसैले पनि खण्डन गर्न सक्दैन। यो यस्तै हुनुपर्छ; नत्र, यो भूमिका खेल्न सक्ने कोही पनि हुनेथिएन, र कसैले पनि यसको प्रतिस्थापना गर्न सक्नेथिएन। यो कुनै भावनाहरूको भरमा गरिने कार्य होइन, किनकि म स्वयम् धार्मिक परमेश्वर हुँ; म पवित्र परमेश्वर स्वयम् हुँ। म प्रतापी, उल्लङ्घन गर्न नसकिने परमेश्वर स्वयम् हुँ!
मानवका लागि असम्भव भएका सबै कुरा मेरा लागि निर्विघ्न र स्वतन्त्र भएर अघि बढ्छन्। त्यसलाई कसैले पनि रोक्न सक्दैन, र कसैले पनि परिवर्तन गर्न सक्दैन। यो संसार, यसको सम्पूर्ण महापापसहित, पूर्ण रूपमा मेरा हातमा छ, सानो दियाबलस शैतानको बारेमा त झन् कुरै गर्नु परेन। यदि मेरो व्यवस्थापन योजना नभएको भए, र यदि मेरा ज्येष्ठ पुत्रहरू नभएका भए, मैले यो पुरानो दुष्टका साथै मृत्युको दुर्गन्धले भरिएको यो चरित्रहीन युगको अन्त्य उहिल्यै गरिसकेको हुन्थें। तर, म औचित्यसहित काम गर्छु, र म हल्कासाथ बोल्दिन। जब म कुनै कुरा भन्छु, त्यो पूरा हुन्छ; यदि यस्तो हुँदैनथियो भने पनि, मेरा लागि सबै कुरा पूरा गर्ने र मेरा कार्यका लागि मार्ग खोल्ने, मेरो बुद्धिको एउटा हिस्सा सधैँ नै हुनेछ। यसो हुनुको कारण मेरा वचनहरू नै मेरो बुद्धि हो; मेरा वचनहरू सबै कुरा हुन्। आधारभूत रूपमा मानिसहरूले तिनलाई बुझ्न सक्दैनन्, र तिनलाई पत्ता लगाउन सक्दैनन्। म प्रायजसो “आगोको कुण्ड” को बारेमा उल्लेख गर्छु। त्यसको अर्थ के हो? यो आगो र गन्धकको कुण्डभन्दा कसरी भिन्न छ? आगो र गन्धकको कुण्डले शैतानको प्रभावलाई जनाउँछ भने, आगोको कुण्डले शैतानको सत्ताअन्तर्गतको सम्पूर्ण संसारलाई जनाउँछ। संसारमा भएका सबै जना आगोको कुण्डमा जलेर मर्नुपर्छ (भन्नुको अर्थ, तिनीहरू थप भ्रष्ट हुँदै जान्छन्, र तिनीहरूको भ्रष्टता निश्चित तहमा पुगेपछि, तिनीहरू मद्वारा एक-एक गरी नाश हुनेछन्, जुन कार्य म एउटै शब्द उच्चारण गरेर सजिलै गर्न सक्छु)। मेरो क्रोध जति ठूलो हुन्छ, आगोको कुण्डभरि त्यति नै ठूलो ज्वाला हुन्छ। यसले मानिसहरू कसरी झन्-झन् बढी दुष्ट भइरहेका छन् भन्ने कुरालाई जनाउँछ। मेरो क्रोध विस्फोट हुने समयमा आगोको कुण्ड पनि विस्फोट हुनेछ; अर्थात्, सम्पूर्ण ब्रह्माण्ड संसार नष्ट हुने समय यही हो। त्यो दिन, मेरो राज्य पृथ्वीमा पूर्ण रूपमा पूरा हुनेछ र नयाँ जीवन सुरु हुनेछ। यो चाँडै पूरा हुने कुरा हो। मैले बोलेपछि, सबै कुरा पूर्ण दृश्यमा आउनेछन्। यो कुराहरूलाई हेर्ने मानवीय नजर हो, तर मेरो दृष्टिमा, कुराहरू पहिले नै पूरा भइसकेका छन्, किनकी मेरा लागि, सबै कुरा सहज छन्। म बोल्छु, र काम बन्छ; म बोल्छु, र त्यो स्थापित हुन्छ।
हरेक दिन, तिमीहरू मेरा वचनहरू खान्छौ, मेरो मन्दिरको पुष्टकारी भोजनको आनन्द लिन्छौ, मेरो जीवनको नदीबाट पानी पिउँछौ र मेरो जीवनको रूखको फल टिप्छौ। त्यसोभए, मेरो मन्दिरको पुष्टकारी भोजन के हो? मेरो जीवनको नदीको पानी के हो? जीवनको रूख के हो? जीवनको रूखको फल के हो? यी वाक्यांशहरू सामान्य हुन सक्ने भए तापनि, सबै मानिसका लागि बुझ्न नसकिने छन्, जो अन्योलमा परेका छन्। तिनीहरूले ती गैरजिम्मेवार रूपमा बोल्छन्, लापर्बाहीपूर्वक प्रयोग गर्छन् र जथाभाबी लागू गर्छन्। मन्दिरको पुष्टकारी भोजनले न त मेरा वचनहरूलाई जनाउँछ न त मैले तिमीहरूलाई प्रदान गर्ने अनुग्रहलाई नै जनाउँछ। त्यसोभए, वास्तवमा यसको अर्थ के हो त? युगौँयुगभरि, मेरो मन्दिरको पुष्टकारी भोजनको आनन्द लिने भाग्यशाली कोही पनि कहिल्यै भएको छैन। आखिरी दिनहरूमा मात्रै, मानिसहरूले मेरा ज्येष्ठ पुत्रहरूमाझ मेरो मन्दिरको यो पुष्टकारी भोजन के हो भनी देख्न सक्छन्। यस वाक्यांशमा भएको “मन्दिर” ले मेरो व्यक्तित्वलाई जनाउँछ; यसले सियोन पर्वत, मेरो वासस्थानलाई जनाउँछ। मेरो अनुमतिविना, कोही पनि यसमा प्रवेश गर्न वा यसबाट बाहिर निस्कन सक्दैन। “पुष्टकारी भोजन” ले केलाई जनाउँछ? यसले शरीरमा मसँगै शासन गर्न सक्ने आशिष्लाई जनाउँछ। सामान्य रूपमा भन्दा, यसले ज्येष्ठ पुत्रहरूले शरीरमा मसँगै शासन गर्न सक्ने आशिष्लाई जनाउँछ र यो बुझ्न गाह्रो छैन। जीवनको नदीको पानीका दुईवटा अर्थ छन्: पहिलो, यसले मेरो हृदयबाट बग्ने जिउँदो पानीलाई—अर्थात्, मेरो मुखबाट निस्कने हरेक वचनलाई जनाउँछ; दोस्रो, यसले मेरा कार्यहरूपछाडिको बुद्धि र रणनीतिलाई, साथै म जे हुँ र मसँग जे छ त्यसलाई जनाउँछ। मेरा वचनहरूमा अनन्त, गुप्त रहस्यहरू छन् (र ती रहस्यहरू अब गुप्त छैनन् भनेर विगतको तुलनामा उल्लेख गरिएको हो, तर भविष्यमा हुने सार्वजनिक प्रकाशसँग तुलना गर्दा, ती अझै पनि गुप्त नै छन्। यहाँ, “गुप्त हुनु” निरपेक्षित होइन; यो सापेक्षिक हो)। अर्को शब्दमा भन्दा, जीवनको नदीको पानी निरन्तर बगिरहन्छ। ममा असीमित बुद्धि छ र अझ बढी, म जे हुँ र मसँग जे छ त्यो मानिसहरूले स्पष्ट रूपमा देख्न सक्नेभन्दा बाहिर छ; अर्थात्, जीवनको नदीको पानी निरन्तर बगिरहन्छ। मानव दृष्टिमा, धेरै प्रकारका भौतिक रूखहरू हुन्छन्, तर कसैले पनि जीवनको रूखलाई कहिल्यै देखेको छैन। तर, आज यसलाई देखे तापनि, मानिसहरू अझै पनि यसलाई चिन्दैनन्—र पनि, तिनीहरू जीवनको रूखको फल खाने कुरासमेत गर्छन्। यो साँच्चै हास्यास्पद छ! तिनीहरू जथाभाबी रूपमा खान्छन्! म किन आज मानिसहरूले यसलाई देख्छन् तर चिन्दैनन् भनेर भन्छु? म किन त्यो भन्छु? के तिमीहरू मेरा वचनहरूको अर्थ बुझ्छौ? आजको व्यावहारिक परमेश्वर स्वयम् जो व्यक्ति हुनुहुन्छ त्यो म हुँ र उहाँ जीवनको रूख हुनुहुन्छ। मलाई मापन गर्न मानव धारणाहरू प्रयोग नगर। बाहिरी रूपमा, म रूखजस्तो देखिँदिनँ, तर के तँलाई म वास्तवमा जीवनको रूख हुँ भन्ने थाहा छ? मेरो हरेक चाल, मेरो बोली र मेरो तरिका जीवनको रूखको फल हुन् र ती मेरो व्यक्तित्व हुन्—ती मेरा ज्येष्ठ पुत्रहरूले खानुपर्ने कुरा हुन्, त्यसैले, अन्ततः मेरा ज्येष्ठ पुत्रहरू र म मात्रै ठ्याक्कै उस्तै हुनेछौँ। तिनीहरूले मलाई जिउन र मेरो गवाही दिन सक्नेछन्। (यी कुराहरू हामी आत्मिक क्षेत्रमा प्रवेश गरेपछि हुनेछन्। शरीरमा मात्रै हामी ठ्याक्कै उस्तै हुन सक्छौँ; देहमा, हामी मोटामोटी रूपमा मात्रै उस्तै हुन सक्छौँ, तर हामीसँग आफ्ना रुचिहरू अझै पनि हुन्छन्।)
म मेरा ज्येष्ठ पुत्रहरूलाई मात्रै मेरो शक्तिको खुलासा गर्नेछैन, तर सबै राष्ट्र र सबै मानिसहरूउपर तिनीहरूको शासनमा पनि म खुलासा गर्नेछु। यो मेरो कार्यको एउटा कदम हो। मुख्य समय अहिले नै हो, साथै, समयको मोड अहिले नै हो। जब सबै कुरा पूरा भएको हुन्छ, तिमीहरूले मेरा हातहरूले के काम गरिरहेका छन् भनेर देख्नेछौ, र तिमीहरूले म कसरी योजना बनाउँछु र म कसरी व्यवस्थापन गर्छु भनेर देख्नेछौ—तर, यो अस्पष्ट कुरा होइन। संसारका प्रत्येक देशहरूको गतिशीलताको सन्दर्भमा, यो धेरै पर छैन; यो मानिसहरूले कल्पना गर्न नसक्ने कुरा हो, साथै, यो तिनीहरूले पूर्वानुमान गर्न नसक्ने कुरा हो। तँ कुनै पनि हालतमा लापरवाह वा असावधान हुनु हुँदैन, ताकि तैँले आशीर्वाद र इनाम प्राप्त गर्ने मौका गुमाउनु नपरोस्। राज्यको दृश्य आँखाअगाडि छ, र सम्पूर्ण संसार बिस्तारै मर्दै झर्दैछ। अतल कुण्डबाट र आगो र गन्धकको कुण्डबाट, रुवाइका चीत्कार प्रस्फुटित भई निस्कन्छ, आफूलाई लुकाउन कुनै ठाउँ नहुने अवस्थामा, मानिसहरूलाई भयभीत बनाउँदै र तिनीहरूलाई त्रासित बनाउँदै गरेको हुन्छ। मेरो नाममा जो छनौटमा पर्छ र त्यसपछि हटाइन्छ त्यो अन्ततः अतल-कुण्डमा पर्नेछ। त्यसैले, मैले धेरै पटक भनेको जस्तै, मैले हटाउनुपर्ने यी व्यक्तिहरूलाई म अन्त्यहीन खाल्डोमा हुत्याइदिनेछु। जब सम्पूर्ण संसार विनाश भएको हुन्छ, विनाश भएका सबै कुराहरू आगो र गन्धकको कुण्डमा खस्नेछन्। अर्को शब्दमा भन्दा, यी कुराहरूलाई आगोको कुण्डबाट आगो र गन्धकको कुण्डमा स्थानान्तर गरिनेछन्। त्यो बेला, सबै जनाले अनन्त विनाश (अर्थात्, मभन्दा बाहिर भएका सबै) वा अनन्त जीवन (अर्थात्, मभित्र भएका सबै) को विषयमा निर्णय लिएका हुनेछन्। त्यो बेला, म र मेरा ज्येष्ठ पुत्रहरू राज्यबाट उठाउनेछौं र अनन्तकालमा प्रवेश गर्नेछौं। यो पछि गएर परिपूर्ण हुने कुरा हो; यदि तिमीहरूलाई मैले अहिले नै बताए पनि, तिमीहरूले यो कुरा बुझ्नेछैनौ। तिमीहरूले मेरो सङ्केतलाई पछ्याउन, मेरो ज्योतिमा हिँड्न, मेरो घरमा मसँग आनन्दको महसुस गर्न, मेरो राज्यमा मसँग शासन गर्न, र मेरो अख्तियारीमा सबै राष्ट्र र सबै मानिसहरूउपर शासन गर्न मात्रै सक्नेछौ। मैले तिमीहरूलाई दिने अन्त्यहीन आशिष्हरूमा मैले माथि व्याख्या गरेका सबै कुराहरू पर्छन्।