जसले सिक्दैनन् र अनजान रहन्छन्—के तिनीहरू पशुहरू होइनन् र?
तँ आजको मार्गमा हिँडिरहँदा, सबैभन्दा उपयुक्त प्रकारको पछ्याइ के हो? तेरो पछ्याइमा, तैँले आफूलाई कस्तो प्रकारको व्यक्तिका रूपमा हेर्नुपर्छ? चाहे त्यो परीक्षा वा कष्ट होस्, श्राप वा सजाय होस्, आज तैँले सामना गर्ने सबै कुरालाई तैँले कसरी लिनुपर्छ भन्ने कुरा जान्नु तेरो लागि उचित हुन्छ। यी सबै कुराको सामना गर्दा, तैँले ती हरेकलाई ध्यानपूर्वक ख्याल गर्नुपर्छ। म किन यसो भन्छु? म यसो भन्छु किनभने आज तैँले सामना गर्ने कुराहरू, आखिरमा, छोटो अवधिका परीक्षाहरू हुन् जुन बारम्बार आइरहन्छन्; सायद तेरो विचारमा, ती विशेष गरी तनावपूर्ण छैनन्, र त्यसैले तँ कामकुरालाई आफ्नै लयमा चल्न दिन्छस्, र तिनलाई प्रगतिको पछ्याइमा बहुमूल्य सम्पत्तिका रूपमा लिँदैनस्। तँ कति लापरवाह छस्! यतिसम्म कि तँ यस बहुमूल्य सम्पत्तिलाई तेरो आँखा अगाडि उडिरहेको बादल जस्तै ठान्छस्, र बारम्बार बर्सिने यी कठोर प्रहारहरू—जुन क्षणिक हुन्छन् र तँलाई त्यति भारी लाग्दैनन्—तँ तिनलाई मूल्यवान् ठान्दैनस्, बरु तिनलाई कठोर उदासीनताका साथ हेर्छस्, तिनलाई हृदयमा लिँदैनस्, र तिनलाई गतिरोधमा पुगेको रूपमा मात्र लिन्छस्। तँ अत्यन्तै अहङ्कारी छस्! पटक-पटक आउने यी आँधीबेहरी समान उग्र आक्रमणहरूप्रति, तँ केवल निस्फिक्री बेवास्ता देखाउँछस्; कहिलेकाहीँ तँ चिसो मुस्कान दिने हदसम्म समेत पुगेर पूर्ण उदासीनताको भाव प्रकट गर्छस्—किनभने आफूले किन यस्ता “दुर्भाग्यहरू” भोगिरहनु परेको छ भनेर तैँले एक पटक पनि सोचेको छैनस्। के म मानिसप्रति अत्यन्तै अन्यायी छु र? के म मेहनत गरेर तँमा खोट पत्ता लगाउने काम गर्छु र? तेरो सोचाइमा रहेका समस्याहरू मैले वर्णन गरेजति गम्भीर नभए पनि, तैँले तेरो बाहिरी शान्तपनमार्फत, धेरै अघि नै तेरो भित्री संसारको सिद्ध छविचित्र कोरिसकेको छस्। तेरो हृदयको गहिराइमा लुकेका कुराहरू अनुचित गालीगलौजका शब्द र अरूले विरलै खुट्ट्याउन सक्ने उदासीका धमिलो सङ्केतहरू मात्र हुन् भनेर मैले तँलाई भनिरहनु पर्दैन। यस्ता परीक्षाहरू भोग्नु परेकोमा तँलाई अत्यन्तै अन्याय भएको महसुस हुने हुनाले, तँ सराप्छस्; र यी परीक्षाहरूले तँलाई संसारको उराठ महसुस गराउने हुनाले, तँ बिस्मातले भरिन्छस्। तँ यी बारम्बारका प्रहार र ताडनाका कार्यहरूलाई सबैभन्दा उत्तम सुरक्षाका रूपमा हेर्दैनस्; तँ तिनलाई स्वर्गको अर्थहीन दुःखदायक कार्य, वा तँमाथिको उचित दण्डका रूपमा हेर्छस्। तँ अति अज्ञानी छस्! तँ असल समयलाई निर्दयी रूपमा अन्धकारमा सीमित गर्छस्; तँ अद्भुत परीक्षा र ताडनाका एकपछि अर्को घटनालाई तेरा शत्रुहरूले गरेको आक्रमणका रूपमा हेर्छस्। तँ आफ्नो वातावरणमा अनुकूल हुन जान्दैनस्, र तँ त्यसो गर्ने प्रयास गर्न झनै कम इच्छुक छस्, किनभने तँ यो बारम्बारको—र, तेरो लागि, क्रूर—सजायबाट केही पनि प्राप्त गर्न इच्छुक छैनस्। तँ खोज्ने वा अन्वेषण गर्ने कुनै प्रयास गर्दैनस्, र, केवल आफ्नो भाग्यलाई स्विकार्दै यसले जता डोर्याउँछ त्यतै जान्छस्। तँलाई कठोर ताडनाका कार्यहरू जस्ता लाग्ने कुराहरूले तेरो हृदयलाई परिवर्तन गरेका छैनन्, न त तिनले तेरो हृदयलाई कब्जामा लिएका छन्; बरु, तिनले तेरो हृदयमा छुरा रोप्छन्। तँ यस “क्रूर सजाय” लाई यस जीवनमा तेरो शत्रुका रूपमा मात्र देख्छस्, र त्यसैले तैँले केही पनि प्राप्त गरेको छैनस्। तँ अत्यन्तै आत्म-धर्मी छस्! तँ अत्यन्तै निन्दनीय भएकोले तैँले यस्ता परीक्षाहरू भोग्छस् भन्ने कुरामा तँ विरलै विश्वास गर्छस्; बरु, तँ आफूलाई अत्यन्तै अभागी ठान्छस्, र अझ मैले सधैँ तँमा खोट पत्ता लगाउने गरेको भनेर भन्छस्। अनि अब कामकुरा यस बिन्दुमा आइपुग्दा म के गर्छु र के भन्छु भन्नेबारे तँलाई वास्तवमा कति थाहा छ? आफूलाई स्वर्गभन्दा अलिकति मात्रै तल तर पृथ्वीभन्दा असीमित रूपमा माथि रहेको जन्मजात प्रतिभाशाली व्यक्ति नठान्। तँ अरू कोहीभन्दा बाठो छैनस्—र, यो पनि भन्न सकिन्छ कि पृथ्वीमा समझ भएका कुनै पनि मानिसभन्दा तँ कति धेरै मूर्ख छस् भन्ने कुरा साँच्चै नै हास्यास्पद छ, किनभने तँ आफूलाई अत्यन्तै उच्च ठान्छस्, र तँलाई कहिल्यै हीनताबोध भएको छैन, मानौँ तँ मेरा कार्यहरूका स-साना विवरणहरू समेत स्पष्ट रूपमा देख्न सक्छस्। वास्तवमा, तँ समझ भएको व्यक्ति हुँदै होइनस्, किनभने म के गर्ने अभिप्राय राख्छु भन्नेबारे तँलाई कुनै पत्तो छैन, र म अहिले के गरिरहेको छु भन्नेबारे तँलाई झनै थाहा छैन। त्यसैले म भन्छु कि तँ एउटा वृद्ध किसानको बराबरी समेत छैनस्, यस्तो किसान जसलाई मानव जीवनको अलिकति पनि बोध छैन तैपनि जमिन खनजोत गर्दा स्वर्गको आशिष्मा सम्पूर्ण भरोसा राख्छ। तँलाई तेरो आफ्नै जीवनको पटक्कै वास्ता छैन, तँलाई ख्यातिको बारेमा समेत केही थाहा छैन, र तँमा आत्म-सचेतना त झनै छैन। तँ साँच्चै नै अति “महान्” छस्! साँच्चै, मलाई तँ जस्ता सौखिन पुरुषहरू र सुकुमारी युवतीहरूको चिन्ता लाग्छ: तिमीहरू अझै ठूला आँधीबेहरीहरूको आक्रमणलाई कसरी सामना गर्न सक्नेछौ? यी सौखिन पुरुषहरू आफ्नो अवस्थाप्रति पूर्ण रूपमा उदासीन हुन्छन्। तिनीहरूका लागि, यो एउटा तुच्छ मामिला जस्तो देखिन्छ, त्यसैले तिनीहरू यसबारे केही पनि सोच्दैनन्, न त नकारात्मक महसुस गर्छन् न त आफूलाई नीच ठान्छन्; बरु, तिनीहरू पहिले जस्तै स्वाङ पारेर पङ्खा हम्काउँदै बाटोमा डुलिहिँड्छन्। नसिक्ने र अज्ञानी नै रहने यी “उल्लेखनीय मानिसहरू” लाई म तिनीहरूलाई किन यस्ता कुराहरू भन्छु भन्ने कुनै पत्तो हुँदैन; तिनीहरू केवल अनुहारभरि रिस देखाउँदै आफूलाई चिन्ने सतही प्रयास गर्छन्, र त्यसपछि आफ्ना दुर्जन तरिकाहरू परिवर्तन नगरी अघि बढ्छन्; तिनीहरूले मलाई छोडेपछि, तिनीहरू फेरि संसारमा उत्पात मच्चाउन थाल्छन्, र नयाँ ढङ्गले धाक लगाउँदै र ठग्दै हिँड्छन्। तेरो अनुहारको भाव कति चाँडै बदलिन्छ। त्यसैले, तँ फेरि एक पटक मलाई यसरी नै धोका दिने प्रयास गर्दै छस्—तँ कति दुस्साहसी छस्! ती सुकुमारी युवतीहरू त झनै हास्यास्पद छन्। मेरा जरुरी वाणीहरूका छालहरू सुनेर, र आफू कुन अवस्थामा छु भन्ने देखेर, तिनीहरूको अनुहारबाट अनायासै आँसु बग्छ, तिनीहरूका शरीर यताउति बटारिन्छ, र तिनीहरू कुनै नाटक गरिरहेका छन् जस्तो देखिन्छ—कति विद्रोही! आफ्नो कद थाहा पाएपछि, तिनीहरू ओछ्यानमा लड्छन् र त्यहीँ पल्टिन्छन्, निरन्तर रोइरहन्छन्, मानौँ तिनीहरू लगभग आफ्नो अन्तिम सास फेरिरहेका छन्। अनि यी वचनहरूले तिनीहरूलाई तिनीहरूको आफ्नै अपरिपक्वता र नीचता देखाएपछि, तिनीहरू नकारात्मकताद्वारा यति धेरै थिचिन्छन् कि तिनीहरूको आँखाको चमक हराउँछ र, मेरो बारेमा न त गुनासो गर्दै न त मलाई घृणा गर्दै, तिनीहरू आफ्नो नकारात्मकतामा पूर्ण रूपमा अचल बन्छन् र त्यसै गरी तिनीहरू सिक्न असफल हुन्छन् र अज्ञानी नै रहन्छन्। मलाई छोडेपछि, तिनीहरू खुसीले उफ्रिँदै खेल्छन्, तिनीहरूको गुञ्जायमान हाँसो “राजकुमारी सिल्भर बेल” को जस्तै हुन्छ। तिनीहरू कति निर्बल र आत्म-प्रेमविहीन छन्! तिमीहरू सबै, खोट भएर अस्वीकृत भएका मानवजाति—तिमीहरूमा मानवताको कति कमी छ! तिमीहरू आफूलाई प्रेम गर्न, वा आफूलाई सुरक्षा दिन जान्दैनौ, तिमीहरूमा वस्तुहरूको कुनै चेतना छैन, तिमीहरू साँचो मार्ग खोज्दैनौ, तिमीहरू साँचो ज्योतिलाई प्रेम गर्दैनौ, र, अझ भन्नुपर्दा, तिमीहरू आफूलाई प्रिय ठान्न जान्दैनौ। मैले तिमीहरूलाई बारम्बार दिएका शिक्षाहरूलाई त तिमीहरूले धेरै अघि नै आफ्नो दिमागको कुनामा थन्काइसकेका छौ, यहाँसम्म कि तिमीहरू तिनलाई आफ्ना फुर्सदका पलहरू बिताउने खेलौना जस्तै व्यवहार गर्छौ। यी सबैलाई तिमीहरू सधैँ आफ्नै व्यक्तिगत “रक्षामणि” का रूपमा लिन्छौ। शैतानले दोष लगाउँदा, तिमीहरू प्रार्थना गर्छौ; नकारात्मक हुँदा, तिमीहरू गहिरो निद्रामा पर्छौ; खुसी हुँदा, तिमीहरू जथाभावी दौडिन्छौ; मैले हप्काउँदा, तिमीहरू ढोग्छौ र चापलुसी गर्छौ; अनि त्यसपछि, मेरो उपस्थितिबाट बाहिर निस्कनेबित्तिकै, तिमीहरू द्वेषी उल्लासका साथ हाँस्छौ। तँ आफूलाई अरू सबै जनाभन्दा माथि ठान्छस्, तर तँ आफू सबैभन्दा बढी घमण्डी भएको कहिल्यै देख्दैनस्, र तँ सधैँ उच्च, आत्मतुष्ट, र शब्दमा वर्णन गर्न नसकिने गरी अहङ्कारी मात्रै हुन्छस्। नसिक्ने र अज्ञानी नै रहने यस्ता “युवा महाशयहरू,” “युवा सुश्रीहरू,” “मालिकहरू,” र “मालिक्नीहरू” ले कसरी मेरा वचनहरूलाई बहुमूल्य खजाना ठान्न सक्छन् र? त्यसोभए म तँलाई सोध्छु: यति लामो समयसम्म मेरा वचनहरू र मेरो कामबाट तैँले वास्तवमा के सिकेको छस्? के तैँले तेरो छलमा अझ ठूला सीपहरू प्राप्त गरेको छस्? कि आफ्नो देहमा अझ ठूलो आसक्ति बढाएको छस्? कि मप्रतिको तेरो मनोवृत्तिमा अझ ठूलो अनादर प्राप्त गरेको छस्? म तँलाई सिधै भन्छु: मैले गरेको यो सबै कामले नै मुसाको जस्तो आँट हुने तँलाई अझ आँटिलो बनाएको छ। मप्रति तँलाई लाग्ने डर हरेक दिन बितेसँगै कम हुँदै जान्छ, किनभने म अत्यन्तै कृपालु छु, र मैले तेरो देहमाथि हिंसाको माध्यमबाट कहिल्यै प्रतिबन्ध लगाएको छैन। सायद, तैँले देखेअनुसार, म कठोर वचनहरू मात्र बोलिरहेको छु—तर बढीजसो म तँलाई मुस्कान सहितको मुहार देखाउँछु, र म विरलै तँलाई तेरो अनुहारमै हप्काउँछु। यसबाहेक, म तेरो कमजोरीप्रति सधैँ सहनशील छु, र पूर्ण रूपमा यसै कारणले गर्दा आज तँ मलाई सर्पले दयालु किसानलाई गरेजस्तै व्यवहार व्यवहार गर्छस्। मानवजातिको अवलोकन शक्तिमा भएको चरम सीप र सूक्ष्मदृष्टिको म कति प्रशंसा गर्छु! म तँलाई एउटा साँचो कुरा भन्छु: आज तँसँग डर मान्ने हृदय छ कि छैन भन्ने कुराले खासै फरक पार्दैन; म यसबारे न त व्याकुल छु न त चिन्तित नै छु। तर मैले तँलाई यो पनि भन्नैपर्छ: नसिक्ने र अज्ञानी नै रहने तँ, यो “प्रतिभाशाली व्यक्ति,” अन्ततः तेरो आफ्नै प्रशंसा गर्ने, क्षुद्र चलाखीद्वारा पतन हुनेछस्—कष्ट भोग्ने र सजाय पाउने व्यक्ति तँ नै हुनेछस्। म त्यति मूर्ख हुनेछैनँ कि तैँले नरकमा निरन्तर कष्ट भोगिरहँदा म तँलाई साथ दिऊँ, किनभने म तँ जस्तै प्रकारको होइनँ। तँ एउटा सृजित प्राणी होस् जो मद्वारा श्रापित भएको होस्, तर मद्वारा नै सिकाइएको र मुक्ति दिइएको पनि होस्, र तँमा मैले छोड्न हिचकिचाउने त्यस्तो केही पनि छैन भन्ने नबिर्सी। मैले जुनसुकै समयमा मेरो काम गरे पनि, म कुनै व्यक्ति, घटना, वा कामकुराद्वारा कहिल्यै प्रभावित हुँदिनँ। मानवजातिका सम्बन्धमा मेरो मनोवृत्ति र मेरो दृष्टिकोण सधैँ उस्तै रहिआएका छन्। तँप्रति मेरो सकारात्मक झुकाव छैन, किनभने तँ मेरो व्यवस्थापनको एउटा अङ्ग होस्, र तँ अरू कुनै प्राणीभन्दा बढी विशेष छैनस्। तँलाई मेरो सल्लाह यही छ: तैँले हर समय याद राख्नुपर्छ कि तँ एउटा सृजित प्राणीभन्दा बढी केही होइनस्! तेरो र मेरो अस्तित्व साझा भए पनि, तैँले तेरो आफ्नै पहिचान थाहा पाउनुपर्छ; आफूलाई अत्यन्तै उच्च नठान्। मैले तँलाई हप्काउनु वा काटछाँट गर्नुको साटो तँलाई अनुहारमा मुस्कान बोकेर अभिवादन गरे पनि, तँ म जस्तै प्रकारको होस् भनी प्रमाणित गर्न यो पर्याप्त हुँदैन। तँ—तैँले आफूलाई सत्यता पछ्याउने व्यक्तिका रूपमा जान्नुपर्छ, सत्यता स्वयम्का रूपमा होइन! तँ मेरा वचनहरूअनुसार परिवर्तन हुन हर समय तयार हुनुपर्छ। तँ यसबाट उम्कन सक्दैनस्। म तँलाई आग्रह गर्छु, यस बहुमूल्य समयमा, तँसँग यो दुर्लभ अवसर हुँदा, केही सिक्ने प्रयास गर्। मलाई मूर्ख नबना; मलाई तैँले चापलुसी प्रयोग गरेर धोका दिने प्रयास गर्नु पर्दैन। जब तँ मलाई खोज्छस्, यो पूर्ण रूपमा मेरो खातिर होइन, बरु तेरो आफ्नै खातिर हो!