अध्याय ९८

तिमीहरू प्रत्येकमा सबै कुरा आउनेछन्, र तिनीहरूले तिमीहरूलाई मेरो बारेमा अझै धेरै थाहा पाउन र मेरो बारेमा थप निश्‍चित हुन सहयोग गर्नेछन्। तिनीहरूले तँलाई मेरो, परमेश्‍वर स्वयम‌्को बारेमा, म, सर्वशक्तिमान्‌को बारेमा, म, देहधारी परमेश्‍वर स्वयम‌्को बारेमा थाहा पाउन सहयोग गर्नेछन्। त्यसपछि, म देहबाट बाहिर आउनेछु, कनानको असल जमिन, सियोन फर्कनेछु, जुन मेरो निवास र मेरो गन्तव्य हो, मैले सबै कुराको सृष्टि गरेको आधार हो। अब, मैले बताइरहेका कुनै पनि वचनहरूको अर्थ तिमीहरूले बुझ्दैनौ; यी वचनहरूको अर्थ बुझ्ने एक जना व्यक्ति पनि छैन। तिमीहरूलाई सबै कुराको खुलासा गरिएपछि मात्रै मैले यी वचनहरू किन बताइरहेको छु भनेर तिमीहरूले बुझ्छौ। म संसारको होइन, ब्रह्माण्डको त झनै होइन, किनकी म परमेश्‍वर स्वयम् हुँ। सम्पूर्ण ब्रह्माण्ड संसार मेरो हातमा छ, म स्वयम् यसको प्रमुख हुँ, र मानिसहरूले मेरो अख्तियारप्रति समर्पित हुन, मेरो पवित्र नाम उच्चारण गर्न, मेरो लागि जयकार गाउन र मेरो प्रशंसा गर्न मात्रै सक्छन्। हरेक कुरा तिमीहरूका निम्ति क्रमबद्ध रूपमा प्रकट गरिनेछ। कुनै पनि कुरा लुकेको नभए पनि, तिमीहरूले मेरो बोलीको तरिका वा मेरा वचनहरूको शैलीलाई अझै बुझेका छैनौ। मेरो व्यवस्थापन योजना केको बारेमा हो भनेर तिमीहरूले अझै बुझेका छैनौ। त्यसैले, म तिमीहरूलाई मेरा वचनहरूमा भनेका तर तिमीहरूले नबुझेका सबै कुराहरूका बारेमा पछि बताउनेछु, किनभने, मेरा लागि सबै कुरा सरल र स्पष्ट छन्, र तिमीहरूका लागि, यो एकदमै गाह्रो छ, र तिमीहरू यसलाई अलिकति पनि बुझ्दैनौ। यस कुराका लागि, म मेरो बोल्ने तरिका परिवर्तन गर्नेछु, र अब-जब म बोल्छु म कुराहरूलाई जोड्नेछैन, बरु प्रत्येक कुरालाई एक-एक गरी स्पष्ट बनाउनेछु।

मृत्युबाट पुनरुत्थान हुनु भनेको के हो? के यसको अर्थ देहमा मृत्यु हुनु र मृत्युपछि शरीरमा फर्किनु हो? मृत्युबाट पुनरुत्थान हुनु भन्नुको अर्थ यही हो? के यो यति सरल छ? म सर्वशक्तिमान् परमेश्‍वर हुँ; यसको बारेमा तँलाई के थाहा छ? तँ यसलाई कसरी बुझ्छस्? मेरो पहिलो देहधारणको दौरान मृत्युबाट भएको मेरो पुनरुत्थानलाई के शाब्दिक रूपमा मात्रै लिन सकिन्थ्यो? ती पाठहरूमा व्याख्या गरिएको प्रक्रिया वास्तवमा के थियो? यदि मैले खुला रूपमा बोलिन र तिमीहरूलाई स्पष्ट बताइन भने, मेरा वचनहरूको अर्थ कसैले पनि बुझ्न सक्दैन भनेर मैले भनेको छु। युगहरूभरि, मृत्युबाट भएको पुनरुत्थान त्यस्तो थियो भनेर नसोच्ने एक जना पनि मानिस रहेको छैन। संसारको सृष्टि भएयता, यसको वास्तविक अर्थ कसैले पनि बुझेको छैन। के मलाई वास्तवमै क्रूसमा टाँगिएको थियो? र, मृत्युपछि, के म चिहानबाट बाहिर आएँ? के यो वास्तवमै यस्तै भएको थियो? युगहरूभरि यसमा कसैले पनि कुनै प्रयास गरेको छैन, यसबाट मलाई कसैले पनि चिनेको छैन र यसलाई विश्‍वास नगर्ने व्यक्ति एक जना पनि छैन; सबैलाई यो सत्य हो भन्‍ने लाग्छ। मेरो प्रत्येक वचनको भित्री अर्थ हुन्छ भनेर तिनीहरूलाई थाहा छैन। त्यसोभए, मृत्युबाट पुनरुत्थान हुनु भनेको वास्तवमा के हो? (निकट भविष्यमा, तिमीहरूले यसको अनुभव गर्नेछौ, त्यसैले म तिमीहरूलाई यसको बारेमा अगाडि नै बताउँदैछु।) सृष्टि भएको कुनै पनि प्राणीलाई मर्ने इच्छा हुँदैन; तिनीहरू सबैलाई जिउने इच्छा हुन्छ। मेरो दृष्टिकोणबाट, देहको मृत्यु वास्तविक मृत्यु होइन। जब मेरो आत्मालाई कुनै मानिसबाट पुनः दाबी गरिन्छ, त्यो मानिसको मृत्यु हुन्छ। तसर्थ, म शैतानद्वारा भ्रष्ट तुल्याइएका ती सबै भूतहरू (विश्‍वास नभएकाहरू, सबै अविश्‍वासीहरू) लाई मृतक भन्छु। संसारको सृष्टि भएयता, मैले छनौट गरेका प्रत्येकलाई मैले मेरो आत्मा दिएको छु। यद्यपि, सृष्टि लगत्तैको चरणपछि, मानिसहरूलाई केही समयका लागि शैतानले कब्जा गरेको थियो। त्यसैले म गाएँ, र मानिसहरूले दुःख पाउन थाले (पहिले भनिएको जस्तै, म देहधारी हुँदा र मलाई क्रूसमा टाँगिदा मैले भोगेको दुःख जस्तै)। तर, मैले पूर्वनिर्धारित गरेको समयमा (मानिसहरूलाई मैले त्याग्ने समयको अन्त्य हुने समय), मैले पूर्वनियुक्त गरेका मानिसहरूलाई मैले पुनः प्राप्त गरेँ, र तिमीहरू जीवनमा फर्कन सक भनेर फेरि एक पटक मैले तिमीहरूमा मेरो आत्मा हालिदिएँ। यसलाई “मृत्युबाट पुनरुत्थान हुनु” भनिन्छ। अहिले, मेरो आत्मामा जिउनेहरू पहिले नै सर्वोत्कृष्ट छन्, र तिनीहरू सबै शरीरमा जिउँछन्। तैपनि, धेरै समय नै नबिती, तिमीहरूले आफ्नो सोचाइ, धारणा, र सबै सांसारिक बन्धनहरू त्याग्नेछौ। तर, मानिसहरूले कल्पना गरे जस्तो, यो दुःखपछि मृत्युबाट जिई उठ्नु होइन। तिमीहरू अहिले जिउनु भनेको शरीरमा जिउनुको पूर्वसर्त हो; आत्मिक संसारमा प्रवेश गर्नका लागि यो आवश्यक मार्ग हो। मैले कुरा गर्ने सामान्य मानवतालाई उछिन्‍नुको अर्थ परिवार, श्रीमती, बालबच्चा, र कुनै मानवीय आवश्यकता नहुनु हो। यो पूर्ण रूपमा मेरो छविअनुसार जिउनु हो, मभित्र प्रवेश गर्न एकल रूपमा एकाग्र हुनु हो र मभन्दा बाहिरका कुनै पनि कुराहरूका बारेमा नसोच्‍नु हो; तँ जहाँ गए पनि त्यो तेरो घर हुन्छ। सामान्य मानवतालाई उछिन्‍नु भनेको यही हो। तैँले मेरा यी वचनहरूलाई एकदमै गलत तरिकाले बुझेको छस्; तेरो बुझाइ एकदमै सतही छ। सबै राष्ट्र र मानिसहरूको सामु म ठ्याक्कै कसरी देखा पर्नेछु? आजको देहमा? होइन! जब समय आउँछ, म ब्रह्माण्डको प्रत्येक राष्ट्रमा मेरो शरीरमा देखा पर्छु। विदेशीहरूको गोठालो गर्न तिनीहरूलाई तिमीहरूको आवश्यकता पर्ने समय आएको छैन। त्यो समयमा, तिनीहरूको गोठालो गर्नका लागि तिमीहरू आफ्नो देहबाट बाहिर निस्किएर शरीरमा प्रवेश गर्नुपर्छ। सत्यता यही हो, तर यो मानिसहरूले कल्पना गरे जस्तो “मृत्युबाट पुनरुत्थान हुनु” होइन। तोकिएको समयमा, तिमीहरू देहबाट थाहा नपाई बाहिर आउनेछौ र आत्मिक संसारमा प्रवेश गर्नेछौ र मसँग सबै राष्ट्रहरूमाथि शासन गर्नेछौ। त्यो समय अहिले होइन। जब म तिमीहरू देहमा भएको चाहन्छु, तिमीहरू देहमा हुनेछौ (मेरो कामको आवश्‍यकता अनुरूप, तिमीहरूले अहिले सोचिरहेको हुनुपर्छ र अझै पनि देहमा नै जिउनुपर्छ, त्यसैले तिमीहरूले मेरो चरणहरू अनुसार देहमा गर्नुपर्ने कुराहरू अझै गर्नुपर्छ; निष्क्रिय भएर प्रतीक्षा नगर, किनभने यसले ढिलाई हुनसक्छ)। जब म तिमीहरूले शरीरमा मण्डलीको गोठालोको रूपमा काम गरेको चाहन्छु, तिमीहरू देहबाट निस्कनेछौ, आफ्नो सोचाइलाई त्याग्नेछौ, र जिउनका लागि पूर्ण रूपमा ममा निर्भर रहनेछौ। मेरो शक्तिमा र बुद्धिमा विश्‍वास राख। म सबै कुरा व्यक्तिगत रूपमा गर्नेछु। तिमीहरूले मात्र पर्खनु र आनन्द उठाउनुपर्छ। सबै आशिषहरू तिमीहरूसम्म आइपुग्नेछन्, र तिमीहरूसँग अटूट र अन्तहीन आपूर्ति हुनेछ। जब त्यो दिन आउँछ, तिमीहरूले म यो कसरी गर्छु भन्ने सिद्धान्त बुझ्नेछौ, तिमीहरूले मेरा आश्‍चर्यजनक कार्यहरू थाहा पाउनेछौ, र तिमीहरूले म मेरा ज्येष्ठ पुत्रहरूलाई सियोनमा कसरी फर्काउँछु भनेर बुझ्नेछौ। यो तिमीहरूले कल्पना गरे जति जटिल छैन, तर तिमीहरूले सोचे जति सरल पनि छैन।

मैले तिमीहरूलाई यो कुरा बताउँदा मेरा वचनहरू पछाडिको उद्देश्य बुझ्न तिमीहरू अझै कम सक्षम हुन्छौ र अझै धेरै अन्योलग्रस्त हुन्छौ भन्‍ने मलाई थाहा छ। तिमीहरूले ती कुराहरूलाई तिमीहरूलाई मैले पहिले भनेका कुराहरूसँग मिसाउनेछौ, त्यसैले तिमीहरूले कुनै कुरा बुझ्न सक्दैनौ, र यसको समाधान केही छैन कि जस्तो देखिनेछ। तर, चिन्ता नगर्! म तिमीहरूलाई सबै कुरा बताउनेछु। मैले बताउने प्रत्येक कुराको अर्थ हुन्छ। अस्तित्वमा रहेका कुराहरूलाई म अस्तित्वहीन बनाउन सक्छु र सुन्यताबाट बहुसङ्ख्यक कुराहरू बनाउन सक्छु भनेर मैले भनिसकेको छु। मानिसको कल्पनामा, देहबाट शरीरमा प्रवेश गर्नका लागि, कुनै पनि मानिस मृत्युबाट पुनरुत्थान हुनैपर्छ। विगतमा, मैले यो विधिको प्रयोग गरेँ र मेरो सबैभन्दा महान् आश्‍चर्यकर्म प्रकटीकरण गरेँ, तर आजको दिन विगतको जस्तो छैन। म तिमीहरूलाई देहबाट सीधै शरीरमा लिएर जानेछु। के यो अझै महान् चिन्‍ह र आश्‍चर्यकर्म होइन र? के यो मेरो सर्वशक्तिको अझ महान् प्रकटीकरण होइन र? मसँग मेरो योजना छ, र मसँग मेरा अभिप्रायहरू छन्। मेरा हातहरूमा को छैन? मैले गर्ने काम मलाई थाहा छ। आखिरमा, मेरो आजको कार्यविधिहरू, हिजोका भन्दा फरक छन्। युगहरूको परिवर्तन भएसँगै म मेरो कार्यविधिलाई परिमार्जन गर्छु। जब मलाई क्रूसमा टाँगियो, त्यो अनुग्रहको युग थियो, तर अहिले अन्तिम युग हो। मेरो कामको गति तीव्र हुँदैछ; यो विगतकै गतिमा अघि बढ्दैन, अनि विगतको भन्दा ढिलो त झन् छँदै छैन। बरु, यो विगतको भन्दा एकदमै तीव्र गतिमा अघि बढ्छ। यसलाई व्याख्या गर्ने कुनै तरिका छैन, र त्यस्ता जटिल प्रक्रियाहरूको आवश्यकता छैन। म कुनै पनि कुरा गर्न स्वतन्त्र छु। के मेरो इच्छा कसरी पूरा हुनेछ र म तिमीहरूलाई कसरी सिद्ध बनाउँछु भन्ने कुराको निर्धारण गर्नका लागि मैले मेरो अख्तियारको एक वचन मात्रै बोले पुग्छ भन्ने कुरा सत्य होइन र? मैले भनेका प्रत्येक कुराहरू पक्कै पनि पूरा हुनेछ। विगतमा, मैले दुःख भोग्‍नेछु भनेर मैले बारम्बार भनेँ, र मैले पहिले भोगेको दुःखको बारेमा मानिसहरूलाई उल्लेख गर्न मैले अनुमति दिइन; यसको बारेमा कुरा गर्नु मप्रतिको ईश्‍वर निन्दा हो। यसको कारण के हो भने, म परमेश्‍वर स्वयम् हुँ र मेरा लागि कुनै कठिनाइ हुँदैन; जब तैँले यो कष्टको बारेमा उल्लेख गर्छस् तैँले मानिसहरूलाई रुवाउँछस्। भविष्यमा सुस्केरा र आँशु हुनेछैन भनेर मैले भनेको छु। यसलाई यस पक्षबाट व्याख्या गरिनुपर्छ, र अनि मेरा वचनहरूको अर्थ बुझ्न सकिन्छ। “यो कष्टलाई मानवले बुझ्न सक्दैन” को अर्थ म सबै मानव धारणा र सोचाइहरूलाई तोड्न सक्छु, देहको भावनालाई तोड्न सक्छु, सांसारिकपनका सबै सङ्केतहरूलाई तोड्न सक्छु र देहबाट बाहिर निस्किएर हिँड्न सक्छु, र सबैले मेरो विरोध गर्दा पनि म खडा रहिरहन सक्छु। म एक मात्र परमेश्‍वर स्‍वयम्‌ हुँ भन्‍ने कुरालाई प्रमाणित गर्न यो नै पर्‍याप्त छ। मैले भनेको छु, “प्रत्येक ज्येष्ठ पुत्र देहबाट आत्मिक संसारमा प्रवेश गर्नुपर्छ; मसँग राजाहरूको रूपमा शासन गर्नका लागि तिनीहरूले हिँड्नैपर्ने मार्ग यही हो।” यस वाक्यको अर्थ के हो भने, विगतमा तिमीहरूले कल्पना गरे जस्तो, जब तिमीहरू आफूसँग भएका कुराहरूको सामना गर्छौ, तिमीहरू देहबाट आधिकारिक रूपमा बाहिर आउनेछौ र ती राजकुमार र राजाहरूलाई न्याय गर्न आधिकारिक रूपमा सुरु गर्न शरीरमा प्रवेश गर्नेछौ। यस बेला हुने कुराहरूको आधारमा नै तिनीहरूलाई न्याय गरिनेछ। तर, यो तिमीहरूले कल्पना गरे जस्तो जटिल छैन—यो क्षणभरमै गरिनेछ। तिमीहरू मृतकहरूबाट बिउँतनु पर्नेछैन र तिमीहरूले दुःख पनि भोग्नु पर्नेछैन (किनभने पृथ्वीमा तिमीहरूको दुःख र कठिनाइहरूको अन्त्य भइसकेको हुन्छ र त्यसपछि म मेरा ज्येष्ठ पुत्रहरूको निराकरण गर्नेछैन भनेर मैले भनिसकेको छु)। पहिले बताइए झैँ, तँ अनजानमा नै आत्मिक संसारमा प्रवेश गर्नेछस् भन्‍ने तथ्यको आधारमा ज्येष्ठ पुत्रहरूले तिनीहरूको आशिषहरूको आनन्द उठाउनेछन्। यो मेरो कृपा र अनुग्रह हो भनेर मैले किन भनेँ? यदि कुनै पनि मानिस मृतकहरूबाट जिई उठेर मात्रै आत्मिक संसारमा प्रवेश गर्नसक्छ भने, यो कृपालु र दयालु हुनु हुँदै होइन। त्यसैले यो मेरो कृपा र अनुग्रहको सबैभन्दा स्पष्ट अभिव्यक्ति हो, साथै, यसले मानिसहरूलाई मैले गर्ने मेरो पूर्वनियुक्ति र छनौटको पनि खुलासा गर्छ। यसले मेरा प्रशासनिक आदेशहरू कति कठोर छन् भन्ने कुरालाई पर्‍याप्त रूपमा देखाउन सक्छ। मलाई जोप्रति इच्छा लाग्छ त्यसैप्रति म दयालु हुन्छु, र जोप्रति इच्छा लाग्छ त्यसैप्रति कृपालु हुन्छु। कसैले पनि सङ्घर्ष वा लडाइँ गर्नु हुँदैन। यी सबै कुराको निर्णय म नै लिनेछु।

मानिसहरूले यसलाई ठम्याउन सक्दैनन्, र तिनीहरूले आफूलाई यति दबाब दिनेछन् कि तिनीहरूले सास समेत फेर्न सक्दैनन्, र पनि तिनीहरूलाई अन्धो बनाउने तिनीहरू आफैँ हुन्छन्। मानिसहरूको सोचाइ वास्तवमै सीमित छ, त्यसैले तिनीहरू मानव सोचाइ र धारणाहरूबाट अलग हुनुपर्छ। त्यसैले, सबै कुराको नियन्त्रण गर्न, सबै कुराको व्यवस्थापन गर्न, म देहबाट बाहिर निस्किनुपर्छ र आत्मिक संसारमा प्रवेश गर्नुपर्छ। सबै मानिस र राष्ट्रहरूमाथि शासन गर्ने र मेरो इच्छा पूरा गर्ने एक मात्र तरिका यही हो। यो धेरै दूर छैन। तिमीहरूलाई मेरो सर्वशक्तिप्रति विश्‍वास छैन, र म को हुँ भनेर तिमीहरूलाई थाहा छैन। तिमीहरू म एक मानव मात्र हुँ भन्‍ने सोच्छौ, र तिमीहरूले मेरो ईश्‍वरत्वलाई देख्न सक्दैनौ। जब म कुराहरू पूरा होऊन् भन्ने इच्छा राख्छु ती पूरा हुन्छन्। यसका लागि चाहिने भनेको मेरो मुखबाट निस्किने एउटा वचन मात्र हो। मैले हालै भनेका कुराहरू, र मेरो प्रत्येक कदममा, तिमीहरूले मेरा मानवताको पक्षलाई मात्रै ध्यान दिएका छौ, तर तिमीहरूले मेरो ईश्‍वरत्वको पक्षलाई ध्यान दिएका छैनौ। यसो भन्नुको अर्थ, तिमीहरूले मसँग पनि सोचाइ र धारणाहरू छन् भनेर सोच्छौ। तर मेरो सोचाइ, विचार र मन, मेरा प्रत्येक चाल, मैले गर्ने प्रत्येक कुरा र मैले बताउने प्रत्येक वचन, परमेश्‍वर स्वयम‌्को पूर्ण प्रकटीकरण हुन् भनेर मैले बताइसकेको छु। के तिमीहरूले यी सबै बिर्सियौ? तिमीहरू सबै भ्रमित मानिसहरू हौ! तिमीहरूले मेरा वचनहरूको अर्थ बुझ्दैनौ। मैले बताएका कुराहरूबाट मैले तिमीहरूलाई मेरो सामान्य मानवताको पक्ष देखाएको छु (मैले मेरो दिनचर्यामा तिमीहरूलाई मेरो सामान्य मानवता देखाएको छु, तर वास्तवमा, किनभने यो अवधिको दौरान मैले बताएका कुराहरूबाट मेरो सामान्य मानवताको पक्षलाई तिमीहरूले अझै बुझेका छैनौ), तर पनि तिमीहरू मेरो सामान्य मानवतालाई बुझ्न सक्दैनौ, र तिमीहरू मेरो विरुद्ध प्रयोग हुन सक्ने कुरालाई पकड जमाउने प्रयास गर्छौ, र तिमीहरू मेरोअगाडि अनियन्त्रित छौ। तिमीहरू अन्धा हौ! तिमीहरू अज्ञानी हौ! तिमीहरूले मलाई चिन्दैनौ! मैले यति लामो समयसम्म व्यर्थमा बोलेको छु! तिमीहरू मलाई अलिकति पनि चिन्दैनौ, र तिमीहरूले मेरो सामान्य मानवतालाई पूर्ण परमेश्‍वर स्वयम‌्को एउटा हिस्साको रूपमा लिँदैनौ। म किन क्रोधित हुँदिन र? म फेरि कृपालु कसरी हुनसक्छु? यी अवज्ञाका सन्ततिहरूलाई म मेरो क्रोधले मात्रै प्रतिक्रिया दिन सक्छु? तिमीहरू यति धेरै घमण्डी छौ कि, तिमीहरूले मलाई चिन्दै चिन्दैनौ! मैले गलत गरेको छु भन्‍ने तिमीहरूलाई लाग्छ! के म गलत गर्नसक्छु? देहधारणका लागि के म कुनै देहलाई लापरवाही तरिकाले छनौट गर्छु होला? मेरो मानवता र मेरो ईश्‍वरत्व दुई अभिन्न अङ्ग हुन् जसबाट पूर्ण परमेश्‍वर स्वयम् बन्छ। अब तिमीहरू यसका बारेमा पूर्ण रूपमा स्पष्ट हुनुपर्छ! मेरा वचनहरू आफ्नो क्षितिज पुगिसकेका छन्, र मेरा वचनहरूको अब लामो व्याख्या हुन सक्दैन!

अघिल्लो: अध्याय ९७

अर्को: अध्याय ९९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्