तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ

वर्तमान समयमा पवित्र आत्माले मण्डलीमा कसरी काम गर्दैहुनुहुन्छ? के तैँले यो प्रश्‍नलाई स्पष्ट रूपमा बुझेको छस्? तेरा दाजुभाइ-दिदीबहिनीहरूको सबैभन्दा ठूलो कठिनाइ के हो? तिनीहरूमा सबैभन्दा बढी कुन कुराको कमी छ? हाल, धेरै जना यस्ता मानिसहरू छन् जो परीक्षाहरूबाट गुज्रनुपर्दा नकारात्मक बन्छन् र कसै-कसैले त गुनासो पनि गर्छन्। अरू मानिसहरू अब अगाडि बढिरहेका छैनन्, किनकि परमेश्‍वरले बोलिसक्नुभएको छ। मानिसहरू परमेश्‍वरप्रति विश्‍वासको सही मार्गमा प्रवेश गरेका छैनन्। तिनीहरू स्वतन्त्र रूपमा जिउन सक्दैनन् र आफ्नो आत्मिक जीवन कायम राख्‍न सक्दैनन्। कतिपय मानिसहरू पछि लाग्छन् र उत्साहको साथ खोजी गर्छन् र परमेश्‍वर बोल्नुहुँदा अभ्यास गर्न इच्छुक हुन्छन्, तर परमेश्‍वर नबोल्नुहुँदा, तिनीहरू अगाडि बढ्न छोड्छन्। मानिसहरूले अझै पनि आफ्नो हृदयमा परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न सकेका छैनन् र तिनीहरूसँग परमेश्‍वरप्रति सहज प्रेम छैन; विगतमा तिनीहरू परमेश्‍वरको पछि लागे किनकि बाध्य थिए। अहिले केही यस्ता मानिसहरू छन् जो परमेश्‍वरको कामद्वारा थकित भएका छन्। के त्यस्ता मानिसहरू खतरामा छैनन् र? धेरै मानिसहरू झारा टार्दै अघि बढ्ने स्थितिमा मात्र छन्। तिनीहरूले परमेश्‍वरको वचन खाने र पिउने गरे पनि र उहाँलाई प्रार्थना गरे पनि, तिनीहरू आधा मनले त्यसो गर्छन् र तिनीहरूमा पहिलेको जस्तो उत्साह छैन। अधिकांश मानिसहरू परमेश्‍वरको शोधन र सिद्धताको काममा रुचि राख्दैनन् र वास्तवमा यो यस्तो छ मानौं तिनीहरू निरन्तर रूपमा नै आन्तरिक जोशरहित छन्। तिनीहरू अपराधहरूद्वारा पराजित हुँदा, परमेश्‍वरप्रति ऋणी महसुस गर्दैनन्, न त तिनीहरूमा पछुतो गर्ने ज्ञान हुन्छ। तिनीहरू सत्यताको पछि लाग्दैनन् वा मण्डली छोड्दैनन्, बरु क्षणिक सुखविलासको पछि लाग्छन्। यी मानिसहरू मूर्ख हुन्, पूर्ण रूपमा मूर्ख! समय आएपछि तिनीहरू सबैलाई फालिनेछ र एकै जनालाई पनि बचाइनेछैन! के तँलाई कुनै व्यक्तिलाई एक पटक मुक्ति दिइयो भने उसले सधैँ मुक्ति पाउनेछ भन्‍ने लाग्छ? यो विश्‍वास पूर्ण रूपमा धोका हो! जीवन प्रवेशको पछि नलाग्ने सबैलाई सजाय दिइनेछ। धेरै मानिसलाई जीवन प्रवेश, दर्शन वा सत्यताको अभ्यास गर्ने कुरामा कुनै खास चासो हुँदैन। तिनीहरू प्रवेश गर्न पछि लाग्दैनन् र निश्चित रूपमा तिनीहरू अझ गहिराइमा प्रवेश गर्न पछि लाग्दैनन्। के तिनीहरूले आफैलाई नाश पारिरहेका छैनन् र? अहिले, मानिसहरूको एउटा भाग छ जसको अवस्थामा निरन्तर सुधार भइरहेको छ। पवित्र आत्माले जति धेरै काम गर्नुहुन्छ, तिनीहरूले उति नै बढी आत्मविश्‍वास प्राप्त गर्छन्; तिनीहरूले जति धेरै अनुभव गर्छन्, उति नै धेरै परमेश्‍वरको कामको गम्भीर रहस्यलाई महसुस गर्दछन्। तिनीहरू जति गहिराइमा पस्छन्, त्यति नै बुझ्छन्। तिनीहरू परमेश्‍वरको प्रेम धेरै महान् छ भन्‍ने महसुस गर्छन् र तिनीहरू भित्री स्थिरता र प्रस्टता महसुस गर्छन्। तिनीहरूमा परमेश्‍वरको कामको बुझाइ हुन्छ। यी ती मानिसहरू हुन् जसभित्र पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ। कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरबाट कुनै नयाँ वचनहरू नआए पनि, मैले अझै पनि सत्यताको गहिराइमा जान खोज्नुपर्छ, म मेरो वास्तविक अनुभवको सबै कुराका विषयमा गम्भीर हुनुपर्छ र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ।” यस प्रकारको व्यक्तिसँग पवित्र आत्माको काम हुन्छ। परमेश्‍वरले आफ्‍नो अनुहार नदेखाउनुहुने भए पनि र प्रत्येक व्यक्तिबाट लुक्नुभएको भए पनि र एउटै पनि वचन नबोल्नु भए पनि र कहिलेकहीँ मानिसहरूले आन्तरिक शोधनको अनुभव गर्ने भए पनि, उहाँले मानिसहरूलाई पूर्ण रूपमा त्याग्नुभएको छैन। यदि कुनै व्यक्तिले आफूले लागू गर्नुपर्ने सत्यतालाई कायम राख्न सक्दैन भने, ऊसँग पवित्र आत्माको काम हुँदैन। शोधनको अवधिमा र परमेश्‍वरले आफैलाई प्रकट नगर्नुभएको समयमा, यदि तँमा आत्मविश्‍वास छैन तर तँ कायर हुन्छस् भने, यदि तँ उहाँका वचनहरू अनुभव गर्नमा ध्यान दिँदैनस् भने, तँ परमेश्‍वरको कामबाट भागिरहेको छस्। पछि, तँ बाहिर फालिनेहरूमध्ये एक हुनेछस्। जो परमेश्‍वरको वचनमा प्रवेश गर्न खोज्दैनन्, तिनीहरू उहाँको साक्षी बनेर खडा हुन सक्दैनन्। परमेश्‍वरको लागि साक्षी दिन सक्‍ने र उहाँका अभिप्रायहरू पूरा गर्न सक्‍ने मानिसहरू सबै परमेश्‍वरका वचनको पछि लाग्न पूर्ण रूपमा आफ्नो उत्साहमा भर पर्दछन्। परमेश्‍वरले मानिसहरूमा गर्नुहुने काम मुख्य रूपले तिनीहरूलाई सत्यता प्रदान गर्नु हो; तँलाई जीवनको पछि लगाउनु भनेको तँलाई सिद्ध पार्नका निम्ति हो र यो सब तँलाई परमेश्‍वरको प्रयोगका लागि उपयुक्त बनाउनु हो। अहिले तैँले पछि लागेको कुरा भनेको रहस्यहरू सुन्नु, परमेश्‍वरको वचन सुन्नु, तेरा आँखाहरूलाई सन्तुष्ट पार्नु र कुनै नयाँपन वा प्रवृत्ति छ कि भनेर हेर्नु, त्यसरी तेरो उत्सुकतालाई मेटाउनु हो। यदि तेरो हृदयको अभिप्राय यही हो भने, तैँले परमेश्‍वरका मागहरूलाई पूरा गर्ने कुनै उपाय छैन। सत्यताको पछि नलाग्‍ने मानिसहरू अन्त्यसम्म पछि लाग्न सक्दैनन्। अहिले, परमेश्‍वरले केही गर्नुभएको छैन भन्‍ने होइन, बरु मानिसहरूले उहाँसँग सहकार्य गरिरहेका छैनन्, किनकि तिनीहरू उहाँको कामबाट वाक्‍क भएका छन्। तिनीहरू उहाँले आशिष् दिनका निम्ति बोल्नुहुने वचनहरू मात्र सुन्न चाहन्छन् र तिनीहरू उहाँको न्याय र सजायका वचनहरू सुन्न इच्छुक हुँदैनन्। यसको कारण के हो? कारण हो, आशिष् प्राप्त गर्ने मानिसहरूको इच्छा पूरा भएको छैन, यसैले तिनीहरू नकारात्मक र कमजोर भएका छन्। यो होइन कि परमेश्‍वरले जानाजानी मानिसहरूलाई उहाँको पछि लाग्न दिनुहुन्न, न त उहाँले जानी-जानी मानवजातिलाई प्रहार गरिरहनुभएको छ। मानिसहरूका अभिप्रायहरू अनुचित भएकोले मात्रै तिनीहरू नकारात्मक र कमजोर छन्। परमेश्‍वर मानिसलाई जीवन दिनुहुने परमेश्‍वर हुनुहुन्छ र उहाँले मानिसलाई मृत्युमा पार्न सक्नुहुन्न। मानिसहरूका नकारात्मकता, कमजोरीहरू र विश्‍वासबाट पछि हट्ने सबै कुरा तिनीहरूको आफ्नै कामका उपज हुन्।

परमेश्‍वरको हालको कामले मानिसहरूमा केही शोधन ल्याउँदछ अनि यो शोधन प्राप्त गर्दा दह्रिलो गरी खडा हुनेहरूले मात्र परमेश्‍वरको स्वीकृति पाउनेछन्। उहाँले आफूलाई जसरी लुकाउनुभए पनि, नबोलेर वा काम नगरेर जसरी यो गर्नुभए पनि, तँ अझै पनि जोशका साथ पछि लाग्न सक्छस्। यदि परमेश्‍वरले तँलाई अस्वीकार गर्छु भनेर भन्नुभए पनि, तैँले अझै पनि उहाँलाई पछ्याउनेछस्। परमेश्‍वरका लागि अटल गवाही बन्‍नु भनेको यही हो। यदि परमेश्‍वरले आफैलाई तँबाट लुकाउनुभयो र तँ उहाँको पछि लाग्न छोडिस् भने, के त्यो परमेश्‍वरका लागि अटल साक्षी बन्‍नु हो? यदि मानिसहरू साँच्चै प्रवेश गर्दैनन् भने, तिनीहरूसँग वास्तविक कद हुँदैन र साँच्चै ठूलो परीक्षाको सामना गर्दा, तिनीहरू ठेस लागेर लड्छन्। परमेश्‍वरले बोलिरहनुभएको वा तेरो धारणासँग मिल्ने काम गरिरहनुभएको नहुँदा, तँ तोडिन्छस्। यदि परमेश्‍वरले अहिले तेरा धारणाअनुरूप काम गरिरहनुभएको भए, यदि उहाँले तेरो इच्छा पूरा गर्दैहुनुहुन्थ्यो र तँ खडा भएर र सामर्थ्यको साथ पछि लाग्‍न सक्थिस् भने, कुन आधारमा जिइरहेको हुनेथिइस्? म भन्छु, धेरै मानिसहरू पूर्ण रूपमा मानवीय उत्सुकतामा निर्भर भई जिइरहेका छन्। तिनीहरूको वास्तविक हृदयमा पछ्याउने चाहना एउटै पनि छैन। सत्यतामा प्रवेश गर्ने कार्यको खोजी नगर्ने तर जीवनको उत्सुकतामा भर पर्नेहरू घृणित मानिसहरू हुन् र तिनीहरू खतरामा हुन्छन्। परमेश्‍वरका विभिन्न प्रकारका कामहरू सबै मानवजातिलाई सिद्ध बनाउनका निम्ति गरिन्छ। तापनि, मानिसहरू सधैँ उत्सुक हुन्छन्, उनीहरू झूटो शिक्षाहरूबारे सोधपुछ गर्न चाहन्छन्, तिनीहरू विदेशको वर्तमान हालखबरबारे चासो राख्छन्—उदाहरणका लागि, तिनीहरू इजरायलमा के भइरहेको छ, वा यदि इजिप्टमा कुनै भूकम्प पो गयो कि भनी जान्न उत्सुक हुन्छन्—तिनीहरू सधैँ आफ्ना स्वार्थी चाहनाहरू तृप्त गर्न केही नयाँ कुराहरू, नौलो कुराहरू खोजिरहेका हुन्छन्। तिनीहरू जीवनको पछि लाग्दैनन्, न त सिद्ध हुने कुराको पछि नै लाग्छन्। तिनीहरू आफ्नो सुन्दर सपना साकार होस् र आफ्ना असंयमी अभिलाषाहरू पूरा होऊन् भनेर मात्र परमेश्‍वरको दिन चाँडै आओस् भन्‍ने चाहन्छन्। यस प्रकारको व्यक्ति व्यावहारिक हुँदैन—तिनीहरू अनुचित दृष्टिकोण भएका मानिसहरू हुन्। सत्यताको पछि लाग्नु मात्रै परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको आधार हो र यदि मानिसहरू जीवन प्रवेशको खोजी गर्दैनन्, यदि तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्दैनन् भने, तिनीहरू दण्डमा पर्नेछन्। दण्ड पाउनुपर्ने मानिसहरू तिनीहरू नै हुन् जोसँग परमेश्‍वरले काम गर्नुभएको समयमा पवित्र आत्माको काम थिएन।

मानिसहरूले परमेश्‍वरको कामको यस चरणमा उहाँसँग कसरी सहकार्य गर्नुपर्छ? परमेश्‍वर अहिले मानिसहरूको परीक्षा गरिरहनुभएको छ। उहाँ वचन बोलिरहनुभएको छैन; उहाँ आफ्नो मुहार लुकाइरहनुभएको छ र मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गरिरहनुभएको छैन। बाहिरी रूपमा हेर्दा, उहाँले कुनै पनि काम नगरिरहनुभएजस्तो देखिन्छ, तर सत्य के हो भने उहाँ अझै पनि मानिसभित्र काम गर्दै हुनुहुन्छ। जीवन प्रवेश पछ्याउने जोकोहीसँग आफ्नो जीवनको पछ्याइका लागि दर्शन हुन्छ, र आफूले परमेश्‍वरको काम पूर्ण रूपमा बुझेको छैन भने पनि उसलाई शङ्का हुँदैन। परीक्षाहरूबाट गुज्रने क्रममा, तँलाई परमेश्‍वर के गर्न चाहनुहुन्छ र उहाँ कुन काम पूरा गर्न चाहनुहुन्छ भन्‍ने थाहा नहुँदासमेत, तैँले मानवजातिका लागि परमेश्‍वरका सोचहरू सधैँ असल हुन्छन् भन्‍ने जान्नुपर्छ। यदि तँ साँचो हृदयले उहाँलाई पछ्याउँछस् भने, उहाँले तँलाई कहिल्यै छोड्नुहुनेछैन र अन्त्यमा उहाँले तँलाई निश्चय नै सिद्ध पार्नुहुनेछ अनि मानिसहरूलाई उचित गन्तव्यमा ल्याउनुहुनेछ। परमेश्‍वरले अहिले मानिसहरूको जसरी परीक्षा गरिरहनुभएको भए पनि, उहाँले मानिसहरूलाई उचित परिणाम दिने र तिनीहरूले गरेको कुराका आधारमा तिनीहरूलाई उचित दण्ड दिने दिन आउनेछ। परमेश्‍वरले मानिसहरूलाई एक निश्चित बिन्दुसम्म अगुवाइ गरेर त्यत्तिकै पन्छाउनुहुनेछैन र बेवास्ता गर्नुहुनेछैन। किनभने परमेश्‍वर विश्वासयोग्य हुनुहुन्छ। यस चरणमा, पवित्र आत्मा शोधनको काम गरिरहनुभएको छ। उहाँ हरेक व्यक्तिलाई शोधन गरिरहनुभएको छ। मृत्युको परीक्षा र सजायको परीक्षा भएको कामका चरणहरूमा, वचनहरूमार्फत शोधन गरियो। मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्नका लागि पहिले उहाँको अहिलेको काम के हो र मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ भनी बुझ्नैपर्छ। यो सबैले बुझ्नुपर्ने कुरा हो। परमेश्‍वरले जे गर्नुभए पनि, उहाँ मानिसहरूलाई शोधन गरिरहनुभएको भए पनि वा नबोलिरहनुभएको भए पनि, परमेश्‍वरको कामको एउटै चरण पनि मानवजातिका धारणाहरूसँग मिल्दो हुँदैन। उहाँको कामको हरेक चरणले मानिसहरूका धारणाहरूलाई चकनाचुर पार्छ र तोड्छ। यो उहाँको काम हो। तर तैँले के विश्‍वास गर्नैपर्छ भने, अब परमेश्‍वरको काम एउटा निश्चित चरणमा पुगेको छ, उहाँले जेसुकै भए पनि सम्पूर्ण मानवजातिलाई मार्नुहुनेछैन। उहाँ मानवजातिलाई प्रतिज्ञा र आशिष्‌ दुवै दिनुहुन्छ, अनि उहाँलाई पछ्याउनेहरू सबैले उहाँका आशिष्‌हरू प्राप्त गर्न सक्नेछन्, तर नपछ्याउनेहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ। यो तेरो पछ्याइमा निर्भर हुन्छ। अरू जेसुकै भए पनि, तैँले परमेश्‍वरको काम समाप्त भएपछि हरेक व्यक्तिसँग उपयुक्त गन्तव्य हुनेछ भनेर विश्‍वास गर्नैपर्छ। परमेश्‍वरले मानवजातिलाई सुन्दर आकाङ्क्षाहरू प्रदान गर्नुभएको छ, तर पछ्याइविना ती प्राप्त गर्न सकिँदैनन्। तैँले अब यो कुरा देख्न सक्नुपर्छ—परमेश्‍वरले मानिसहरूलाई शोधन गर्नु र सजाय दिनु उहाँको काम हो, तर मानिसहरूले चाहिँ आफ्नो तर्फबाट हरसमय स्वभाव परिवर्तनलाई पछ्याउनैपर्छ। तैँले आफ्ना वास्तविक अनुभवहरूमा पहिले परमेश्‍वरका वचनहरू खाने र पिउने तरिका जान्नैपर्छ; तैँले उहाँका वचनहरूभित्र आफू प्रवेश गर्ने कुरा र आफ्नै कमजोरीहरू पत्ता लगाउनैपर्छ; तैँले आफ्ना वास्तविक अनुभवहरूलाई ध्यानमा राख्दै प्रवेश गर्नुपर्छ, र अभ्यास गर्नुपर्ने परमेश्‍वरका वचनहरूको भाग लिएर त्यसो गर्ने प्रयास गर्नुपर्छ। परमेश्‍वरका वचनहरू खानु-पिउनु एउटा पक्ष हो। यसबाहेक, मण्डलीको जीवन कायम राख्नैपर्छ, तँसँग सामान्य आत्मिक जीवन हुनैपर्छ र तैँले हालका आफ्ना सबै स्थिति परमेश्‍वरलाई सुम्पन सक्नैपर्छ। उहाँको काम जसरी परिवर्तन भए पनि, तेरो आत्मिक जीवन सामान्य रहनुपर्छ। आत्मिक जीवनले तेरो सामान्य प्रवेशलाई कायम राख्न सक्छ। परमेश्‍वरले जेसुकै गर्नुभए पनि, तैँले आफ्नो आत्मिक जीवनलाई निर्बाध रूपमा जारी राख्नुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मानिसहरूले गर्नुपर्ने कुरा यही हो। यो सब पवित्र आत्माको काम हो, तर सामान्य अवस्था भएकाहरूका लागि यो सिद्धता हो भने, असामान्य अवस्था भएकाहरूका लागि यो परीक्षा हो। पवित्र आत्माको शोधन कामको हालको चरणमा, कतिपय मानिस परमेश्‍वरको काम एकदमै महान् छ र मानिसहरूलाई शोधनको नितान्त आवश्यकता छ, नत्र तिनीहरूको कद अत्यन्तै सानो हुनेछ र तिनीहरूसँग परमेश्‍वरका अभिप्रायहरू प्राप्त गर्ने कुनै उपाय हुनेछैन भनेर भन्छन्। तर, अवस्था राम्रो नभएकाहरूका लागि, यो परमेश्‍वरलाई नपछ्याउने कारण र भेलाहरूमा उपस्थित नहुने वा परमेश्‍वरको वचन नखाने र नपिउने कारण बन्छ। परमेश्‍वरको काममा, उहाँले जे गर्नुभए पनि वा उहाँले जे परिवर्तनहरू ल्याउनुभए पनि, मानिसहरूले कम्तीमा पनि सामान्य आत्मिक जीवन कायम राख्नैपर्छ। सायद तँ आफ्नो आत्मिक जीवनको यस हालको चरणमा शिथिल भएको छैनस्, तर तैँले अझै पनि धेरै कुरा प्राप्त गरेको छैनस् र ठूलो फल फलाएको छैनस्। यस प्रकारका परिस्थितिहरूमा, तैँले कुनै प्रावधान पालन गरिरहेझैँ आफ्नो आत्मिक जीवनलाई कायम राख्ने भए पनि, तैँले अझै पनि यसलाई कायम राख्नैपर्छ; तैँले आफ्नो जीवनमा घाटा नभोग्न र परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न यो प्रावधान पालन गरिराख्नैपर्छ। यदि तेरो आत्मिक जीवन असामान्य छ भने, तँ परमेश्‍वरको हालको काम स्पष्ट रूपमा देख्न सक्दैनस्, बरु सधैँ यो तेरा आफ्नै धारणाहरूसँग पूर्ण रूपमा नमिल्ने छ भन्‍ने महसुस गर्छस्, अनि तँ उहाँलाई पछ्याउन इच्छुक भए पनि, तँमा आन्तरिक प्रेरणाको कमी हुन्छ। त्यसैले, परमेश्‍वर हाल जे गरिरहनुभएको भए पनि, मानिसहरूले सहकार्य गर्नैपर्छ। यदि मानिसहरू सहकार्य गर्दैनन् भने, पवित्र आत्मा आफ्नो काम गर्न सक्नुहुन्न, र यदि मानिसहरूसँग सहकार्य गर्ने हृदय छैन भने, तिनीहरू सायदै पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। यदि तँ आफूभित्र पवित्र आत्माको काम होस् भन्‍ने चाहन्छस् र यदि तँ परमेश्‍वरको अनुमोदन प्राप्त गर्न चाहन्छस् भने, तैँले परमेश्‍वरसामु आफ्नो सुरुको बफादारी कायम राख्नैपर्छ। अब, तँसँग गहिरो बुझाइ, अझ उच्च सिद्धान्त वा अन्य त्यस्ता कुराहरू हुनु आवश्यक छैन—केवल तैँले सुरुको जगमा परमेश्‍वरको वचन कायम राख्नुपर्ने माग गरिन्छ। यदि मानिसहरू परमेश्‍वरसँग सहकार्य गर्दैनन् र अझ गहन प्रवेश पछ्याउँदैनन् भने, परमेश्‍वरले तिनीहरूका सुरुवाती रूपमा भएका सबै कुरा लैजानुहुनेछ। भित्री रूपमा, मानिसहरू सधैँ सहजताको लालसा गर्छन् र बरु उपलब्ध भइसकेका कुराहरूको आनन्द लिन रुचाउँछन्। तिनीहरू पटक्कै मूल्य नचुकाई परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न चाहन्छन्। यी नै मानवजातिले राख्ने अत्यधिक सोचहरू हुन्। कुनै मूल्य नचुकाई जीवन नै प्राप्त गर्नु—तर के कुनै कुरा कहिल्यै यति सजिलो रहेको छ र? जब कसैले परमेश्‍वरमा विश्‍वास गर्छ र जीवन प्रवेश पछ्याउँछ अनि आफ्नो स्वभाव परिवर्तनलाई पछ्याउँछ, तब उसले मूल्य चुकाउनैपर्छ र परमेश्‍वरले जे गर्नुभए पनि, आफूले सधैँ उहाँलाई पछ्याउने स्थिति हासिल गर्नैपर्छ। मानिसहरूले गर्नैपर्ने कुरा यही हो। तैँले यो सबलाई प्रावधानका रूपमा पालन गरे पनि, सधैँ यसलाई कायम राख्नैपर्छ र परीक्षाहरू जतिसुकै ठूला भए पनि, तैँले परमेश्‍वरसँगको आफ्नो सामान्य सम्बन्ध त्याग्न मिल्दैन। तैँले प्रार्थना गर्न, आफ्नो मण्डली जीवन कायम राख्न र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई कहिल्यै नछोड्न सक्नुपर्छ। जब परमेश्‍वर तेरो परीक्षा गर्नुहुन्छ, तब तैँले अझै पनि सत्यता खोज्नुपर्छ। यो नै आत्मिक जीवनका लागि न्यूनतम माग हो। सधैँ खोजी गर्ने चाहना राख्नु अनि आफ्नो सम्पूर्ण ऊर्जा लगाउँदै सहकार्य गर्न लागिपर्नु—के यो गर्न सकिन्छ? यदि मानिसहरू यसलाई जगका रूपमा लिन्छन् भने, तिनीहरूले सजिलै खुट्ट्याइ र वास्तविकतामा प्रवेश हासिल गर्नेछन्। तेरो आफ्नै स्थिति सामान्य हुँदा, परमेश्‍वरको वचन स्वीकार गर्न सजिलो हुन्छ; यी परिस्थितिहरूमा सत्यता अभ्यास गर्न गाह्रो लाग्दैन र तँलाई परमेश्‍वरको काम महान् छ भन्‍ने लाग्छ। तर यदि तेरो अवस्था खराब छ भने, परमेश्‍वरको काम जतिसुकै महान् भए पनि र कसैले जतिसुकै सुन्दर ढङ्गले बोले पनि, तैँले त्यसमा ध्यान दिनेछैनस्। व्यक्तिको अवस्था असामान्य हुँदा परमेश्‍वर उसमा काम गर्न सक्नुहुन्न र उसले आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्दैन।

यदि मानिसहरूमा कुनै आस्था छैन भने, तिनीहरूलाई यस मार्गमा हिँडिरहन सजिलो हुँदैन। अब सबैले परमेश्‍वरको काम मानिसहरूका धारणा र कल्पनाहरूसँग अलिकति पनि मिल्दैन भनेर देख्न सक्छन्। परमेश्‍वरले एकदमै धेरै काम गर्नुभएको छ र एकदमै धेरै वचन बोल्नुभएको छ, अनि मानिसहरूले ती सत्यता हुन् भनी स्वीकार गरे पनि, तिनीहरूमा परमेश्‍वरबारे धारणाहरू उत्पन्न हुने सम्भावना अझै छ। यदि मानिसहरू सत्यता बुझ्न र यसलाई प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूसँग आस्था र इच्छाशक्ति हुनैपर्छ, अनि तिनीहरू आफूले देखिसकेको कुरा र आफ्ना अनुभवहरूबाट प्राप्त गरेको कुरामा दृढ रहन सक्नैपर्छ। परमेश्‍वरले मानिसहरूलाई जे गर्नुभए पनि, तिनीहरूले आफूसँग भएका कुराहरूलाई कायम राख्नैपर्छ, तिनीहरू परमेश्‍वरसामु निष्कपट हुनैपर्छ र अन्त्यसम्मै उहाँप्रति बफादार रहनैपर्छ। यो मानवजातिको कर्तव्य हो। मानिसहरूले आफूले गर्नुपर्ने कुरा कायम राख्नैपर्छ। परमेश्‍वरमाथिको विश्‍वासले उहाँप्रतिको अधीनता र उहाँको कामको अनुभव माग गर्छ। परमेश्‍वरले एकदमै धेरै काम गर्नुभएको छ—मानिसहरूका लागि यो सब सिद्धता, शोधन र त्योभन्दा बढी, सजाय हो भनेर भन्न सकिन्छ। परमेश्‍वरको कामको एउटै चरण पनि मानव धारणाहरूसँग मिल्दो भएको छैन; मानिसहरूले आनन्द लिएको कुरा त परमेश्‍वरका कठोर वचनहरू हुन्। जब परमेश्‍वर आउनुहुन्छ, तब मानिसहरूले उहाँको प्रताप र उहाँको क्रोधको आनन्द लिनुपर्छ। तर, उहाँका वचनहरू जतिसुकै कठोर हुन सक्ने भए पनि, उहाँ मानिसलाई मुक्ति दिन र सिद्ध पार्न आउनुहुन्छ। सृजित प्राणीका रूपमा, मानिसहरूले आफूले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्छ र तिनीहरू शोधनबीच परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहनुपर्छ। तिनीहरूले हरेक परीक्षामा आफूले दिनुपर्ने गवाही कायम राख्नुपर्छ र परमेश्‍वरका लागि जोरदार साक्षी दिनुपर्छ। यो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँ आस्थाले भरिपूर्ण रहनुपर्छ र तैँले उहाँप्रतिको आस्था कहिल्यै गुमाउनु हुँदैन, अनि तैँले मानिसले गर्नुपर्ने कुरा पनि गर्नुपर्छ। परमेश्‍वरले मानिसबाट माग गर्ने कुरा यति मात्रै हो—उहाँ मानिसको हृदय पूर्ण रूपमा उहाँकहाँ फर्कन र हरक्षण उहाँतर्फ फर्कन सकोस् भन्‍ने माग गर्नुहुन्छ। यस्तो व्यक्ति विजेता हो। परमेश्‍वरले “विजेताहरू” भनेर भन्ने मानिसहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानद्वारा घेराबन्दीमा पर्दा—अर्थात्, तिनीहरू अन्धकारका शक्तिहरूको बीचमा हुँदा—अझै पनि आफ्नो गवाहीमा दृढ रहन, आफ्नो आस्था र परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्न, र जेसुकै भए पनि, परमेश्‍वरसामु शुद्ध हृदय राख्न र परमेश्‍वरप्रतिको आफ्नो साँचो प्रेम कायम राख्न सक्छन्। यसरी, तिनीहरू परमेश्‍वरसामु आफ्नो गवाहीमा दृढ रहेका हुन्छन्। परमेश्‍वर यस्ता मानिसहरूलाई “विजेताहरू” भन्नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष्‌ दिनुहुँदा तेरो पछ्याइ उत्कृष्ट हुन्छ, तर उहाँका आशिष्‌हरूविना तँ पछि हट्छस् भने, के यो शुद्धता हो? यो मार्ग साँचो हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्म पछ्याउनैपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नैपर्छ। परमेश्‍वर तँलाई व्यक्तिगत रूपमा सिद्ध पार्न पृथ्वीमा आउनुभएको छ भनी तैँले देखेको हुनाले, तैँले आफ्नो हृदय पूर्ण रूपमा उहाँलाई दिनुपर्छ। यदि परमेश्‍वरले जे गर्नुभए पनि—सायद अन्त्यमा तँलाई प्रतिकूल परिणाम दिनुभए पनि—तँ अझै पनि उहाँलाई पछ्याउन सक्छस् भने, यसको अर्थ तैँले परमेश्‍वरसामु आफ्नो शुद्धता कायम राखेको छस् भन्‍ने हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कन्या चढाउने कुरा, जुन कुरा गरिएको छ, त्यसको अर्थ परमेश्‍वरसामु निष्कपट हृदय राख्नु हो। मानिसको निष्कपटता नै शुद्धता हो, र परमेश्‍वरप्रति निष्कपट हुन सक्नेहरूले शुद्धता कायम राखेका हुन्छन्। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब तँ प्रार्थना गर्छस्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तब तँ त्यसै गर्छस्; जब तैँले भजन गाउनुपर्छ, तब तँ भजन गाउँछस्; र जब तैँले देहविरुद्ध विद्रोह गर्नुपर्छ, तब तँ देहविरुद्ध विद्रोह गर्छस्। जब तँ आफ्नो कर्तव्य निर्वाह गर्छस्, तब तँ झाराटारुवा हुँदैनस्; जब तँ परीक्षाहरू सामना गर्छस्, तब तँ दृढ रहन्छस्। यो परमेश्‍वरप्रतिको बफादारी हो। यदि तँ मानिसहरूले गर्नुपर्ने कुरालाई कायम राख्दैनस् भने, तेरा पहिलेका सबै कष्ट र सङ्कल्प व्यर्थ भएका हुनेछन्।

परमेश्‍वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने एउटा तरिका हुन्छ। परमेश्‍वर मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनहरूबाट गुज्रँदा तिनीहरूसँग आस्था होस्। परमेश्‍वर मानिसहरूलाई सिद्ध पार्नुहुन्छ ताकि तिनीहरूसँग परमेश्‍वरद्वारा सिद्ध पारिने आस्था होस् र तिनीहरू उहाँका शोधनहरू स्वीकार गर्न र परमेश्‍वरद्वारा काटछाँट गरिन इच्छुक होऊन्। परमेश्‍वरका आत्मा मानिसहरूका लागि प्रबोधन र ज्योति ल्याउन र तिनीहरूलाई उहाँसँग सहकार्य र अभ्यास गर्न लगाउन तिनीहरूभित्र काम गर्नुहुन्छ। परमेश्‍वर शोधनको दौरान बोल्नुहुन्न वा आफ्नो आवाज निकाल्नुहुन्न, तर अझै पनि, मानिसहरूले गर्नुपर्ने काम हुन्छ। तैँले आफूसँग पहिले नै भएको कुरालाई कायम राख्नुपर्छ र तँ अझै पनि परमेश्‍वरलाई प्रार्थना गर्न, परमेश्‍वरको नजिक हुन र परमेश्‍वरसामु आफ्नो गवाहीमा दृढ रहन सक्नुपर्छ; यसरी तैँले आफ्नो कर्तव्य पूरा गर्नेछस्। तिमीहरू सबैले परमेश्‍वरले लिने मानिसहरूको आस्था र प्रेमका परीक्षाहरूले तिनीहरूले उहाँलाई अझ बढी प्रार्थना गर्नुपर्ने र तिनीहरूले परमेश्‍वरसामु उहाँका वचनहरूको अझ बढी स्वाद लिनुपर्ने माग गर्छन् भनी परमेश्‍वरको कामबाट स्पष्ट रूपमा देखेका छौ। यदि परमेश्‍वर तँलाई प्रबोधित गर्नुहुन्छ र तँलाई उहाँका अभिप्रायहरू बुझ्न लगाउनुहुन्छ, तैपनि तँ पटक्कै अभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तँ आफूले उहाँका वचनहरू अभ्यास गर्दा अझै पनि परमेश्‍वरलाई प्रार्थना गर्न सक्षम हुनुपर्छ, तैँले उहाँका वचनहरूको स्वाद लिँदा सधैँ परमेश्‍वरसामु खोज्नुपर्छ, र तँ उहाँप्रति आस्थाले भरिएको हुनुपर्छ, निरुत्साहित वा उदासीन हुनु हुँदैन। परमेश्‍वरका वचनहरू अभ्यास नगर्नेहरू भेलाहरूमा ऊर्जाले भरिपूर्ण हुन्छन्, तर घर फर्केपछि अन्धकारमा पर्छन्। कतिपय त भेला हुनसमेत चाहँदैनन्। त्यसैले, तैँले मानिसहरूले गर्नुपर्ने कर्तव्य के हो भनेर स्पष्ट रूपमा बुझ्नैपर्छ। तँलाई परमेश्‍वरका अभिप्रायहरू वास्तवमा के हुन् भनेर थाहा नहुन सक्छ, तर तैँले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, तैँले प्रार्थना गर्नुपर्ने बेलामा प्रार्थना गर्नुपर्छ र तैँले सत्यता अभ्यास गर्नुपर्ने बेलामा सत्यता अभ्यास गर्नुपर्छ। यदि तँ मानिसहरूले गर्नुपर्ने सबै कुरा गर्छस् र आफ्नो सुरुको दर्शन कायम राख्छस् भने, तँ परमेश्‍वरको कामको अर्को चरण स्वीकार गर्न अझ बढी सक्षम हुनेछस्। जब परमेश्‍वर गुप्त रूपमा काम गर्नुहुन्छ, तब यदि तँ पछ्याउँदैनस् भने यो एउटा समस्या हो। जब उहाँ भेलाहरूको दौरान बोल्नुहुन्छ र प्रचार गर्नुहुन्छ, तब तँ उत्साहका साथ सुन्छस्, तर जब उहाँ बोल्नुहुन्न तब तँमा ऊर्जाको कमी हुन्छ र तँ पछि हट्छस्। यसरी त कस्तो प्रकारको व्यक्तिले कार्य गर्छ? यो त भीड जता जान्छ त्यतै नै पछि लाग्ने व्यक्ति हो। ऊसँग अडान, गवाही र दर्शन हुँदैन! धेरैजसो मानिस यस्तै हुन्छन्। यदि तँ त्यही मार्गमा लागिरहिस् भने, तैँले कुनै दिन ठूलो परीक्षा सामना गर्दा, तँ दण्डमा पर्नेछस्। मानिसहरूलाई सिद्ध पार्ने परमेश्‍वरको प्रक्रियामा अडान हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तँ परमेश्‍वरको कामको एउटै चरणलाई पनि शङ्का गर्दैनस् भने, यदि तँ मानिसको कर्तव्य पूरा गर्छस् भने, यदि तँ परमेश्‍वरले तँलाई अभ्यास गर्न लगाएको कुरालाई निष्कपट रूपमा कायम राख्छस् भने—अर्थात्, यदि तँ परमेश्‍वरका अर्तीहरू सम्झन्छस्, र वर्तमान समयमा उहाँले जे गर्नुभए पनि, उहाँका अर्तीहरू बिर्सँदैनस्, उहाँको कामबारे कुनै शङ्का गर्दैनस्, आफ्नो अडानमा कायम रहन्छस्, आफ्नो गवाही कायम राख्छस् र हरेक चरणमा विजयी हुन्छस् भने—अन्त्यमा तँ परमेश्‍वरद्वारा सिद्ध पारिनेछस् र विजेता बनाइनेछस्। यदि तँ परमेश्‍वरका परीक्षाहरूको हरेक चरणमा दृढ रहन सक्षम हुन्छस्, र यदि तँ अन्त्यसम्मै दृढ रहन सक्छस् भने, तँ विजेता होस् र तँ परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति होस्। यदि तँ आफ्ना हालका परीक्षाहरूमा दृढ रहन सक्दैनस् भने, भविष्यमा यो अझ बढी गाह्रो हुनेछ। यदि तँ केवल नगण्य मात्रामा कष्ट भोग्छस् र सत्यता पछ्याउँदैनस् भने, अन्ततः तैँले केही प्राप्त गर्नेछैनस्। तँ रित्तो हात रहनेछस्। कतिपय मानिस परमेश्‍वर नबोलिरहनुभएको देख्दा आफ्नो पछ्याइलाई त्याग्छन् र तिनीहरूको हृदय छरपस्ट बन्छ। के यस्तो व्यक्ति मूर्ख होइन र? यस प्रकारका मानिसहरूसँग कुनै वास्तविकता हुँदैन। जब परमेश्‍वर बोलिरहनुभएको हुन्छ, तब तिनीहरू सधैँ यताउति दौडधुप गरिरहेका हुन्छन्, तिनीहरू बाहिरी रूपमा व्यस्त र उत्साही देखिन्छन्, तर अब उहाँ नबोलिरहनुभएको हुनाले, तिनीहरू पछ्याउन छोड्छन्। यस प्रकारको व्यक्तिको कुनै भविष्य हुँदैन। शोधनहरूको दौरान, तँ सकारात्मक दृष्टिकोणबाट प्रवेश गर्नैपर्छ र तैँले आफूले सिक्नुपर्ने पाठहरू सिक्नैपर्छ; जब तँ परमेश्‍वरलाई प्रार्थना गर्छस् र उहाँको वचन पढ्छस्, तब तैँले त्यससँग आफ्नो स्थिति तुलना गर्नुपर्छ, आफ्ना कमजोरीहरू पत्ता लगाउनुपर्छ र आफूले अझै धेरै पाठ सिक्न बाँकी छ भन्ने थाहा पाउनुपर्छ। तँ शोधनहरूबाट गुज्रँदा जति निष्कपट रूपमा पछ्याउँछस्, तैँले आफूलाई त्यति नै अपर्याप्त पाउनेछस्। किनभने शोधन गरिने क्रममा तँ आफूले स्पष्ट रूपमा देख्न नसक्ने धेरै समस्या सामना गर्छस् र गुनासो गर्न सक्छस् अनि आफ्नै देह प्रकट गर्न सक्छस्। त्यसपछि मात्र तँ आफूभित्र अत्यन्तै धेरै भ्रष्ट स्वभाव छन् भनेर पत्ता लगाउन सक्छस्।

मानिसहरूमा क्षमताको कमी छ र तिनीहरू परमेश्‍वरका मापदण्डहरूभन्दा धेरै कमीका छन्; तिनीहरूलाई भविष्यमा यस मार्गमा हिँड्न आस्थाको अझ बढी आवश्यकता पर्न सक्छ। परमेश्‍वरको आखिरी दिनहरूको कामले ठूलो आस्था, अय्यूबको भन्दा पनि ठूलो आस्थाको माग गर्छ। आस्थाविना, मानिसहरूले निरन्तर अनुभव प्राप्त गर्न सक्नेछैनन्, त्यसैले तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन असक्षम हुनेछन्। जब ठूला परीक्षाहरूको दिन आउँछ, तब मण्डली छोड्ने मानिसहरू हुनेछन्—कोही यहाँ, कोही त्यहाँ। अघिल्ला दिनहरूमा आफ्नो पछ्याइमा निकै राम्रो गरिरहेका कतिपय मानिस हुनेछन् र तिनीहरूले किन विश्‍वास गर्न छोडे भनेर अस्पष्ट हुनेछ। तैँले नबुझ्ने धेरै कुराहरू हुनेछन् र परमेश्‍वरले कुनै सङ्केत वा आश्चर्यकर्महरू देखाउनुहुनेछैन, न त कुनै अलौकिक कुरा नै गर्नुहुनेछ। यो तँ दृढ रहन सक्छस् कि सक्दैनस् भनेर हेर्नका लागि हो—परमेश्‍वर मानिसहरूलाई शोधन गर्न तथ्यहरू प्रयोग गर्नुहुन्छ। तैँले अहिलेसम्म धेरै कष्ट भोगेको छैनस्। भविष्यमा जब ठूला परीक्षाहरू आउँछन्, तब कतिपय ठाउँमा मण्डलीको हरेक व्यक्तिले छोड्नेछ र तँसँग राम्रो सम्बन्ध भएकाहरूले छोड्नेछन् र आफ्नो आस्था त्याग्नेछन्। के तँ त्यतिबेला दृढ रहन सक्नेछस्? अहिलेसम्म, तैँले सामना गरेका परीक्षाहरू सानातिना रहेका छन् र तँ सायद मुस्किलले मात्रै तिनलाई थेग्न सक्षम भएको छस्। यस चरणमा वचनहरूमार्फत मात्रै गरिने शोधन र सिद्धता समावेश हुन्छ। अर्को चरणमा, तँलाई शोधन गर्न तथ्यहरू तँमाथि आइपर्नेछन् र त्यसपछि तँ खतराका बीचमा हुनेछस्। यो एकदमै गम्भीर भएपछि, परमेश्‍वरले तँलाई चाँडो गरी छोड्न सल्लाह दिनुहुनेछ र धर्मका मानिसहरूले तँलाई आफूसँगै लैजान तान्ने प्रयास गर्नेछन्। यो तँ मार्गमा लागिरहन सक्छस् कि सक्दैनस् भनेर हेर्नका लागि हो र यी सबै कुरा परीक्षा हुन्। वर्तमान परीक्षाहरू सानातिना छन्, तर यस्तो दिन आउनेछ जब कतिपय घरमा आमाबुबाले विश्‍वास गर्न छोड्नेछन् र कतिपयमा छोराछोरीले विश्‍वास गर्न छोड्नेछन्। के तँ अघि बढिरहन सक्नेछस्? तँ जति अगाडि बढ्छस्, तेरा परीक्षाहरू त्यति नै ठूला हुनेछन्। परमेश्‍वर मानिसहरूलाई तिनीहरूका आवश्यकता र तिनीहरूको कदअनुसार शोधन गर्ने आफ्नो काम सम्पन्न गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्ने चरणको दौरान, मानिसहरूको सङ्ख्या बढिरहनु असम्भव छ—केवल यो घट्ने छ। यी शोधनहरूमार्फत मात्रै मानिसहरूलाई सिद्ध पार्न सकिन्छ। काँटछाँट गरिनु, ताडना दिइनु, परीक्षा गरिनु, सजाय दिइनु, श्रापित हुनु—के तँ यो सब थेग्न सक्छस्? जब तँ विशेष रूपमा राम्रो अवस्था भएको मण्डली देख्छस्, जहाँ दाजुभाइ-दिदीबहिनीहरू सबैले ठूलो ऊर्जाका साथ पछ्याइरहेका हुन्छन्, तब तँ आफै प्रोत्साहित महसुस गर्छस्। जब तिनीहरू सबैले छोडेको दिन आउँछ, तबतिनीहरूमध्ये कतिपयले विश्‍वास गर्न छोड्छन्, कतिपय व्यापार गर्न वा विवाह गर्न छोडेर गएका हुन्छन् अनि कतिपय धर्ममा सामेल भएका हुन्छन्; के तँ त्यतिबेला दृढ रहन सक्नेछस्? के तँ भित्रभित्रै बाधारहित रहन सक्नेछस्? परमेश्‍वरले मानिसलाई सिद्ध पार्नु त्यति सरल कुरा होइन! उहाँ मानिसहरूलाई शोधन गर्न धेरै कुरा उपयोग गर्नुहुन्छ। मानिसहरू यिनलाई विधिहरूका रूपमा हेर्छन्, तर परमेश्‍वरको सुरुको अभिप्रायमा यी पटक्कै विधिहरू होइनन्, तर तथ्यहरू हुन्। अन्त्यमा, जब उहाँले मानिसहरूलाई एउटा निश्चित बिन्दुसम्म शोधन गर्नुभएको हुन्छ र तिनीहरूसँग उप्रान्त कुनै गुनासो हुँदैन, तब उहाँको कामको यो चरण पूरा हुनेछ। पवित्र आत्माको महान् काम तँलाई सिद्ध पार्नु हो र जब उहाँ काम गर्नुहुन्न र आफूलाई लुकाउनुहुन्छ, तब त्यो अझ बढी तँलाई सिद्ध पार्ने र मानिसहरूमा परमेश्‍वरप्रति प्रेम छ कि छैन, तिनीहरूमा उहाँप्रति साँचो आस्था छ कि छैन भनेर अझ राम्ररी देख्न सक्ने उद्देश्यका लागि हो। जब परमेश्‍वर स्पष्ट रूपमा बोल्नुहुन्छ, तब तैँले खोज्नुपर्ने कुनै आवश्यकता हुँदैन; उहाँ लुक्नुभएको बेला मात्र तैँले खोज्नु र आफ्नो बाटो पहिल्याउनु आवश्यक हुन्छ। तैँले एक सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्नुपर्छ र तेरो भावी परिणाम र तेरो गन्तव्य जेसुकै हुन सक्ने भए पनि, तँ जीवित रहने वर्षहरूको दौरान परमेश्‍वरबारे ज्ञान र उहाँप्रतिको प्रेम पछ्याउन सक्नुपर्छ अनि परमेश्‍वरले तँलाई जसरी व्यवहार गर्नुभए पनि, तँ गुनासो गर्नबाट जोगिन सक्नुपर्छ। पवित्र आत्माले मानिसहरूभित्र काम गर्नका लागि एउटा सर्त छ। तिनीहरूले तिर्खाउने र खोज्ने गर्नैपर्छ अनि परमेश्‍वरका कार्यहरूबारे आधा मनका वा शङ्कालु हुनैहुँदैन र तिनीहरूले हरसमय आफ्नो कर्तव्य कायम राख्न सक्नैपर्छ; यसरी मात्रै तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। परमेश्‍वरको कामको हरेक चरणमा, मानिसहरूबाट माग गरिने कुरा भनेको ठूलो आस्था र खोजी गर्न परमेश्‍वरसामु आउनु हो—अनुभवमार्फत मात्रै मानिसहरूले परमेश्‍वर कति प्रेमिलो हुनुहुन्छ र पवित्र आत्मा कसरी मानिसहरूमा काम गर्नुहुन्छ भनेर पत्ता लगाउन सक्छन्। यदि तँ अनुभव गर्दैनस्, यदि तँ त्यसमा आफ्नो बाटो पहिल्याउँदैनस्, यदि तँ खोजी गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तैँले आफ्ना अनुभवहरूमा आफ्नो बाटो पहिल्याउनैपर्छ र आफ्ना अनुभवहरूमार्फत मात्रै तैँले परमेश्‍वरका कार्यहरू देख्न अनि उहाँको विलक्षणता र अगम्यतालाई चिन्न सक्छस्।

अघिल्लो: सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

अर्को: के तँ जीवित भएको व्यक्ति होस्?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्