सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
दाजुभाइ-दिदीबहिनीहरूको माझमा सधैँ आफ्नो नकारात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निकालिनु र हटाइनुपर्छ। परमेश्वरमाथिको तिनीहरूको विश्वासमा यदि ती मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्वरको आज्ञा मान्ने हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई चुनौती दिनेहरू बन्नेछन्। परमेश्वरमा विश्वास गर्नु तर उहाँप्रति आज्ञाकारी नहुनु वा उहाँको डर नमान्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र अविश्वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू अविश्वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमा झगडा लगाउँछन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू सच्चा दुष्ट शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो होस् वा चाँडो, भेडाहरूको भेस ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, तिरस्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्। परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने मानिसहरूले सधैँ परमेश्वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरूले आफूभित्र सधैँ परमेश्वरको डर मान्ने, परमेश्वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्वरमा विश्वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्वरका आवश्यकताहरू अनुरूप हुनुपर्दछ र तिनले उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्दछ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्वरको झन्डा फहराउँदै सेखी गर्दै र सबैतिर ठग्दै सबै ठाउँमा जथाभाबी भयानक प्रकारले दगुर्नुहुँदैन; यो सबैभन्दा विद्रोही आचरण हो। परिवारहरूको आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका कानुनहरू हुन्छन्—र के परमेश्वरको घरमा अझ बढी यस्तो हुँदैन र? के यसमा पहिलेभन्दा पनि कडा मापदण्डहरू छैनन् र? के त्यहाँ पहिलेभन्दा बढी प्रशासकीय आदेशहरू छैनन्? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्वरको प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्न मिल्दैन। परमेश्वर त्यो परमेश्वर हुनुहुन्छ जसले मानिसहरूबाट कुनै अपराध सहनुहुन्न; उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले मानिसहरूलाई मृत्युदण्ड दिनुहुन्छ। के वास्तवमा मानिसहरूले अघिबाटै नै जान्दैनन् र?
प्रत्येक मण्डलीमा त्यस्ता व्यक्तिहरू हुन्छन् जसले मण्डलीमा बाधा उत्पन्न गर्छन् वा परमेश्वरको काममा अवरोध पुऱ्याउँछन्। तिनीहरू सबै शैतानहरू हुन् जो छली-भेसमा परमेश्वरको घरमा पसेका छन्। त्यस्ता व्यक्तिहरू अभिनय गर्न सिपालु हुन्छन्: तिनीहरू मेरो अगाडि ठूलो श्रद्धाका साथ आउँछन्, झुक्छन् र ढोग गर्छन्, लुतो लागेका कुकुरहरू जस्तो जिउँछन् र आफ्नै उद्देश्यहरू प्राप्त गर्न तिनीहरूका “सबै” समर्पण गर्छन्—तर दाजुभाइ तथा दिदी-बहिनीहरूको अगाडि तिनीहरू आफ्नो कुरूप पक्ष देखाउँछन्। जब उनीहरूले सत्यको अभ्यास गर्ने मानिसहरूलाई देख्छन्, तिनीहरूमाथि प्रहार गर्छन् र तिनीहरूलाई अलग गर्छन्; जब उनीहरूले आफूभन्दा धेरै प्रभावशाली मानिसहरू देख्छन्, उनीहरू चिप्लो घस्ने र चापलुसी गर्ने गर्छन्। तिनीहरू मण्डलीमा जङ्गली बनेर दगुर्छन्। यो भन्न सकिन्छ कि त्यस्ता “स्थानीय बदमासहरू” त्यस्ता “पाल्तु कुकुरहरू” प्रायः मण्डलीहरूमा हुन्छन्। तिनीहरू एकसाथ दियाबलसले जस्तो व्यवहार गर्छन् र एकअर्कालाई आँखा झिम्काउँछन् र गुप्त सङ्केतहरू पठाउँछन्, र तिनीहरूमध्ये कसैले पनि सत्यको अभ्यास गर्दैनन्। जोसँग सबैभन्दा बढी विष छ ऊ “दिमागी भूत” हो र जोसँग सबैभन्दा उच्च प्रतिष्ठा हुन्छ, उनीहरूको झन्डा उचाल्दै तिनीहरूलाई त्यसैले अगुवाइ गर्छ। यस्ता मानिसहरू मण्डलीमा प्रशस्तै हुन्छन्, तिनीहरूले आफ्नो नकारात्मकता फैलाउँछन्, मृत्यु पोखाउँछन्, उनीहरूलाई जे मन लाग्छ त्यही गर्छन्, जे मन लाग्छ त्यही बोल्छन् र उनीहरूलाई रोक्ने हिम्मत कसैले पनि गर्दैन। तिनीहरू शैतानको स्वभावले भरिन्छन्। तिनीहरूले गडबडी गरेका लगत्तै मण्डलीमा मृत्युको हावा प्रवेश गरिहाल्छ। मण्डलीभित्र सत्यको अभ्यास गर्नेहरूलाई तिरस्कार गरिन्छ, र उनीहरू सबै कुरा दिन असमर्थ हुन्छन् भने मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू जताततै दगुर्छन्—अनि, यति मात्र होइन, धेरै जना मानिसले उनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरूमा शैतानले नै शासन गर्छ, जुन स्पष्ट र सरल कुरा हो; शैतान तिनीहरूको राजा हो। यदि विश्वासीहरू खडा हुँदैनन् र प्रमुख भूतात्माहरूलाई इन्कार गर्दैनन् भने तिनीहरू पनि ढिलो वा छिटो नाश हुनेछन्। अबदेखि उसो, त्यस्ता मण्डलीहरूको विरुद्धमा कारबाही गर्नुपर्छ। यदि थोरै सत्य अभ्यास गर्न सक्षम व्यक्तिहरूले खोजी गरेनन् भने त्यो मण्डलीलाई हटाइनेछ। यदि कुनै मण्डलीमा सत्यको अभ्यास गर्न इच्छुक र परमेश्वरको गवाही दिन सक्ने कोही छैन भने त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई “मृत्युलाई गाड्नु” भनिन्छ; शैतानलाई तिरस्कार गर्नु भनेको यही हो। यदि एउटा मण्डलीमा धेरै जना स्थानीय बदमासहरू छन्, र तिनीहरूलाई “स-साना झिँगोहरू” ले पछ्याउँछन् जसमा पूर्ण रूपमा विवेकको कमी हुन्छ, र यदि विश्वासीहरूले सत्य देखेर पनि ती बदमासहरूका बन्धनहरू र धूर्तताहरू अस्वीकार गर्न सक्दैनन् भने, तब अन्त्यमा ती सबै मूर्खहरूलाई हटाइनेछ। यी साना झिँगोहरूले कुनै डरलाग्दो काम नगरेको हुन सक्छ, तर तिनीहरू अझ छली हुन्छन्, झन् धेरै चलाख र धोकेबाज हुन्छन्, र यस्तो सबैलाई हटाइनेछ। एउटै पनि बाँकी रहनेछैन! जो शैतानका हुन् उनीहरू शैतानकहाँ फर्किनेछन् भने जो परमेश्वरका हुन् उनीहरू निश्चय सत्यको खोजीमा लाग्नेछन्; उनीहरूका प्रकृतिद्वारा यसको निर्णय गरिन्छ। शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यको खोजी गर्नेहरूका निम्ति प्रबन्ध गरिन्छ, र उनीहरूले आफ्नो हृदयको सन्तुष्टिका निम्ति परमेश्वरको वचनको आनन्द लिन सक्छन्। परमेश्वर धर्मी हुनुहुन्छ; उहाँले कसैलाई पक्षपात गर्नुहुन्न। यदि तँ दियाबलस हो भने तँ सत्य प्रयोग गर्न असमर्थ छस्; यदि तँ सत्यको खोजी गर्ने व्यक्ति होस् भने यो निश्चित छ कि तँ शैतानद्वारा बन्दी बनाइनेछैनस्। यस कुरामा कुनै शङ्का छैन।
जो मानिसहरू प्रगति गर्ने कोसिस गर्दैनन् तिनीहरू अरू पनि तिनीहरूजस्तै नकारात्मक र अल्छी होस् भन्ने चाहन्छन्। सत्यको अभ्यास नगर्नेहरूले सत्यको अभ्यास गर्नेहरूको सधैँ डाह गर्छन्, र अस्तव्यस्त दिमाग भएका र विवेकको कमी हुनेहरूलाई सधैँ धोका दिन खोज्छन्। यी व्यक्तिहरूले ओकल्ने कुराहरूले तँलाई बिगार्न, तल खसाल्न, एक असामान्य अवस्था विकास गर्न, र अन्धकारले भर्न सक्छ। ती कुराले तँलाई परमेश्वरबाट टाढा लैजान र शरीरको कदर गर्न र आफैमा लिप्त हुने बनाउन सक्छ। सत्यलाई प्रेम नगर्ने र परमेश्वरप्रति सदैव लापरवाही हुने व्यक्तिहरूमा आत्म-चेतना हुँदैन र त्यस्ता व्यक्तिहरूको स्वभावले अरूलाई पाप गर्न र परमेश्वरलाई चुनौती दिन लोभ्याउँछ। तिनीहरू सत्यताको अभ्यास गर्दैनन्, न त तिनीहरू अरूलाई त्यो अभ्यास गर्न दिन्छन्। तिनीहरू पापलाई सम्हालेर राख्छन् र आफैप्रति कुनै घृणा हुँदैन। तिनीहरूले आफैलाई चिन्दैनन्, र तिनीहरूले अरूलाई पनि आफूलाई चिन्न दिँदैनन्; तिनीहरू अरूलाई पनि सत्यको चाहना गर्नबाट रोक्छन्। तिनीहरूले धोका दिएकाहरूले ज्योति देख्न सक्दैनन्। तिनीहरू अन्धकारमा पर्छन्, आफैलाई चिन्दैनन्, सत्यको बारेमा अस्पष्ट हुन्छन्, र परमेश्वरबाट झनझन धेरै टाढा हुन्छन्। उनीहरूले सत्यको अभ्यास गर्दैनन् र उनीहरूले सबै मूर्खहरूलाई आफ्नो अगि ल्याउँदै अरूलाई पनि सत्यको अभ्यास गर्नबाट रोक्छन्। उनीहरूले परमेश्वरमा विश्वास गर्छन् भन्नुको साटो उनीहरू आफ्ना पुर्खाहरूमा विश्वास गर्छन् वा उनीहरूका हृदयका मूर्तिहरूमा विश्वास गर्छन् भनी भन्नु उचित हुन्छ। परमेश्वरलाई पछ्याउँछौं भनी दाबी गर्नेहरूले आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्वास गर्छन् भनी राम्ररी हेर्नु राम्रो हुन्छ: तैँले विश्वास गरेको साँच्चै परमेश्वर हुनुहुन्छ कि शैतान हो? यदि तैँले विश्वास गरेको व्यक्ति परमेश्वर हुनुहुन्न, तर तेरा आफ्नै मूर्तिहरू हो भनी जान्दछस् भने तैँले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। यदि तैँले कसमाथि विश्वास गर्छस् भनी साँच्चै जान्दैनस् भने, फेरि तैँले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। त्यसो भन्नु ईश्वरनिन्दा हुनेछ! कसैले पनि तँलाई परमेश्वरमा विश्वास गर्न बाध्य पार्दैन। तिमीहरू ममा विश्वास गर्छु भनेर नभन; मसँग यस्तै कुराकानी धेरै भएको छ, र म त्यो फेरि सुन्न चाहन्नँ, किनकि जुन कुरामा तिमीहरू विश्वास गर्छौ ती तिमीहरूका हृदयभित्रका र तिमीहरूका स्थानीय बदमासहरूका मूर्तिहरू हुन्। सत्य सुन्दा जो आफ्ना टाउको हल्लाउँछन्, जो मृत्युको कुरा सुन्दा हाँस्छन् तिनीहरू सबै शैतानका अण्डाहरू हुन्, तिनीहरू ती मानिसहरू हुन् जसलाई हटाइनेछ। मण्डलीका धेरै मानिसमा कुनै विवेक छैन। जब कुनै भ्रामक कुरा आउँछ, तिनीहरू अप्रत्याशित रूपमा शैतानको पक्षमा खडा हुन्छन्; शैतानको नोकर हो भनी भन्दा तिनीहरू रिसाउने समेत गर्छन्। मानिसहरूले आफूसँग कुनै विवेक छैन भने पनि तिनीहरू सधैँ सत्यता विनाको पक्षमा खडा हुन्छन्, तिनीहरू कठिन समयमा सत्यको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यको निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै विवेकको कमी छ? तिनीहरू किन अप्रत्याशित रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले चेतना नहुने मानिसहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँछ? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने तैँले सत्यको अभ्यास गर्नेहरूलाई किन सम्मान गर्दैनस्, र तँ सत्यता प्रयोग नगर्नेहरूलाई एकै झलक पनि नहेरी किन तुरुन्तै तिनीहरूका पछि लाग्छस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग विवेक छ कि छैन त्यसको मलाई कुनै मतलब छैन। तैँले कति ठूलो मूल्य तिरेको छस् त्यसको मलाई कुनै मतलब छैन। तेरा बल जति नै ठूलो भए पनि मलाई कुनै मतलब छैन, तँ स्थानीय बदमास वा झन्डा बोक्ने अगुवा जो भए पनि मलाई कुनै मतलब छैन। यदि तेरा शक्तिहरू महान् छन् भने पनि त्यो शैतानको सामर्थ्यको सहायताले मात्र हो। यदि तेरो इज्जत ठूलो छ भने पनि त्यो केवल तेरो वरिपरि सत्यको अभ्यास नगर्नेहरू धेरै भएकोले गर्दा मात्र हो। यदि तँ निष्कासन गरिएको छैनस् भने त्यो यसकारण हो कि अहिले निष्कासन गर्ने समय भएको छैन; बरु, यो हटाउने काम गर्ने समय हो। अहिले तँलाई निष्कासन गर्ने कुनै हतार छैन। म केवल त्यस दिन पर्खिरहेको छु जब तँलाई हटाएपछि तँलाई दण्ड दिनेछु। जसले सत्यको अभ्यास गर्दैन त्यसलाई हटाइनेछ!
परमेश्वरमा साँचो रूपले विश्वास गर्ने मानिसहरू ती हुन् जो परमेश्वरको वचनलाई व्यवहारमा उतार्न र सत्यको अभ्यास गर्न इच्छुक हुन्छन्। जुन मानिसहरू साँच्चै परमेश्वर सम्बन्धी आफ्ना गवाहीमा अडिग हुन सक्छन् उनीहरू ती हुन् जो उहाँको वचनलाई व्यवहारमा उतार्न इच्छुक हुन्छन् र साँच्चै सत्यको पक्षमा खडा हुन सक्छन्। जो मानिस छल र अन्यायको सहारा लिन्छन् ती सबैमा सत्यको अभाव हुन्छ, र तिनीहरू सबैले परमेश्वरलाई बदनाम गर्छन्। जसले मण्डलीमा विवाद उत्पन्न गराउँछन् तिनीहरू शैतानका नोकरहरू हुन्, तिनीहरू शैतानको मूर्त रूप हुन्। त्यस्ता व्यक्तिहरू धेरै द्वेषपूर्ण हुन्छन्। जोसँग कुनै विवेक हुँदैन र जो सत्यको पक्षमा खडा हुन सक्दैनन्, तिनीहरू सबैले खराब अभिप्रायहरू राख्छन् र सत्यलाई कलङ्कित बनाउँछन्। त्योभन्दा बढी, तिनीहरू शैतानका मुख्य प्रतिनिधिहरू हुन्। तिनीहरू छुटकारा पाउनै नसक्ने हुन्छन्, र तिनीहरूलाई स्वाभाविक रूपमा हटाइनेछ। सत्यको अभ्यास नगर्नेहरूलाई परमेश्वरको परिवारले बाँकी रहन दिँदैन, न त यसले मण्डलीलाई जानाजानी भत्काउनेहरूलाई नै रहन दिन्छ। तापनि, निष्कासनको काम गर्ने समय अहिले होइन; त्यस्ता व्यक्तिहरूलाई आखिरमा केवल पर्दाफास गरिनेछ र हटाइनेछ। कुनै बेकार काम यी मानिसहरूमा खर्च गरिनेछैन; जो शैतानका हुन् उनीहरू सत्यको पक्षमा उभिन सक्दैनन्, तर सत्यको खोजी गर्नेहरू खडा हुन सक्छन्। सत्यको अभ्यास नगर्ने मानिसहरू सत्यको मार्ग सुन्न अयोग्य हुन्छन् र सत्यको साक्षी दिन अयोग्य हुन्छन्। सत्य उनीहरूको कानका निम्ति हुँदै-होइन; बरु, यो अभ्यास गर्नेहरूका निम्ति लक्षित हुन्छ। प्रत्येक व्यक्तिको अन्त्य प्रकट हुनुअघि, जसले मण्डलीलाई बाधा दिन्छन् र परमेश्वरको काममा अवरोध पुऱ्याउँछन्, तिनीहरूलाई पछि निराकरण गर्नको लागि अहिलेलाई पछाडि छोडिनेछ। काम पूरा भएपछि, यी व्यक्तिहरू प्रत्येकको पर्दाफास हुनेछ, र त्यसपछि उनीहरूलाई हटाइनेछ। सत्य प्रदान गरिरहँदा अहिलेका लागि, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब मानवजातिलाई सम्पूर्ण सत्यता प्रकट गरिन्छ, ती मानिसहरूलाई हटाइनुपर्छ; सबै मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिने समय त्यही नै हुनेछ। समझशक्ति नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग मिलेर बस्छन् र परमेश्वरलाई चुनौती दिन्छन्। ती दुष्ट मानिसहरूले जे कुरा फैलाउँछन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन् तैपनि, के परमेश्वरलाई चुनौती दिने तिनीहरूका स्वभावहरू सबै त्यस्तै छैनन् र? परमेश्वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्। सत्यको अभ्यास नगर्ने योजना बनाउनेहरूलाई म उनीहरू अझ बढी पापहरू गर्नबाट जोगिनको निम्ति सम्भव भएसम्म चाँडोभन्दा चाँडो मण्डली छोडेर जाने सल्लाह दिन्छु। जब समय आउँछ, तब पछुतो गर्न धेरै ढिलो भइसकेको हुनेछ। विशेष गरी, गुट र सम्प्रदायहरू बनाउनेहरू र मण्डलीभित्रका स्थानीय बदमासहरूले तुरुन्तै मण्डली छोड्नुपर्छ। त्यस्ता मानिसहरू, जसका स्वभाव दुष्ट ब्वाँसाहरूको जस्तो छ, तिनीहरू परिवर्तन हुन असमर्थ हुन्छन्। तिनीहरूले सबैभन्दा पहिलो मौकामा नै यदि मण्डली छोडे भने त्यो राम्रो हुन्छ, यसैले कि दाजुभाइ, दिदी-बहिनीहरूको सामान्य जीवनलाई फेरि कहिल्यै पनि बाधा नपरोस्, र यसरी परमेश्वरको दण्डबाट बच्न सकून्। तिमीहरू जो उनीहरूसँगै हिँडेका छौ तिमीहरूले यस अवसरलाई आफ्नै बारेमा विचार गर्न सदुपयोग गऱ्यौ भने राम्रै गर्नेछौ। के तँ दुष्टहरूसँगै मण्डली छोड्नेछस् वा बसेर आज्ञाकारी भई पछ्याउनेछस्? तैँले यस कुरामा ध्यानपूर्वक विचार गर्नुपर्छ। म तिमीहरूलाई छनौट गर्ने अझै एउटा मौका दिन्छु, र म तिमीहरूको जबाफको प्रतीक्षा गर्दछु।