आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

आफ्ना कर्तव्य पूरा गरेपछि आफूमा कमीकमजोरी भएको र आफूमा सत्यताको वास्तविकता नभएजस्तो महसुस गर्ने कैयौँ मानिसहरू हुन्छन्, त्यसकारण तिनीहरू सधैँ आफूले थप प्रवचनहरू सुन्नुपर्ने अनि अगुवा र सेवकहरूले थप भेलाहरू राख्नुपर्ने माग गर्छन्, मानौँ त्यसले मात्र तिनीहरूलाई जीवन प्रवेश र जीवन वृद्धि प्रदान गर्न सक्छ। तिनीहरू भेला वा प्रवचनमा सहभागी नभएको केही अवधि हुनेबित्तिकै आफूसँग केही पनि नभएजस्तो हृदयमा खोक्रो र उदास महसुस गर्छन्। तिनीहरूलाई मानौँ दैनिक भेला र प्रवचनहरूले मात्र जीवन प्रवेश दिन्छन्, वा आत्मिक परिपक्वतामा पुग्न सक्षम बनाउँछन् भन्ने मनमा लाग्छ। वास्तवमा, यस्तो सोचाइ पूर्ण रूपले गलत हो। परमेश्वरलाई विश्वास गर्ने र पछ्याउनेहरूले आफ्ना कर्तव्य निर्वाह गर्नैपर्छ—त्यसपछि मात्र तिनीहरूले जीवन अनुभव प्राप्त गर्न सक्छन्। यदि तैँले इमानदारीसाथ परमेश्वरमा विश्वास गर्छु भन्छस्, तर तँ आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनस् भने, परमेश्वरप्रतिको विश्वासमा तेरो इमानदारी खोई त? आफ्ना कर्तव्य इमानदारीपूर्वक पूरा गर्नेहरू विश्वास भएका मानिस हुन्। विश्वास भएकाहरू मात्र आफ्ना जीवन परमेश्वरप्रति समर्पित गर्ने आँट गर्छन्, र परमेश्वरका लागि आफूलाई खर्चिन सबै थोक त्याग्न राजी हुन्छन्। यस्ता मानिसहरूले आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा पवित्र आत्माको काम अनुभव गर्छन्; तिनीहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, अगुवाइ गर्नुहुन्छ, र अनुशासनमा राख्नुहुन्छ। यी सबै कुराले जीवनको अनुभव सिर्जना गर्छन्। यसर्थ, जीवन प्रवेश औपचारिक रूपमा आफ्नो कर्तव्य पूरा गरेर सुरु हुन्छ।

यदि मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्नेबारे उदासीन हुन्छन्, वा सधैँ अन्योल बन्छन् भने, तिमीहरूलाई यो कस्तो मनोवृति हो जस्तो लाग्छ? के यो झारा टार्ने काम मात्र होइन? के आफ्ना कर्तव्यप्रति तिमीहरूको मनोवृति यही हो? यो समस्या क्षमताको हो कि स्वभावको? तिमीहरू सबैजना यसबारे प्रष्ट हुनुपर्छ। किन मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्दा लापरवाह हुन्छन्? किन तिनीहरू परमेश्वरका लागि काम गर्दा वफादार हुँदैनन्? के तिनीहरूमा समझ र विवेकसमेत हुन्छ? यदि तँमा साँच्‍चै नै विवेक र समझ छ भने, तैँले काम गर्दा त्यसमा अलिक बढी हृदय लगाउँछस्, साथै अलिक बढी दया, जिम्‍मेवारी, र सोचविचार लगाउँछस्, र तँ थप प्रयास लगाउन सक्षम हुन्छस्। जब तँ थप प्रयास लगाउन सक्षम हुन्छस्, तब तैँले निभाउने कर्तव्यका नतिजाहरूमा सुधार आउनेछ। तेरा नतिजाहरू अझ राम्रा हुँदा, यसले अरू मानिसहरू र परमेश्‍वर दुवैलाई सन्तुष्ट तुल्याउनेछ। तैँले यसमा मन लगाउनुपर्छ! तँ भ्रमित हुनु हुँदैन, मानौँ तैँले बाहिरी संसारमा काम गरेर आफूले खर्चेको समयमुताबिकै पैसा कमाइरहेको छस्। तँमा त्यस्तो मनोवृति छ भने, तँ समस्यामा छस्। तँ पक्कै आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनस्। यो कस्तो खालको मानवता हो? के विवेकबिनाको मानिसमा मानवता हुन्छ? हुँदैन। यदि तँ आफूमा मानवता छ भन्छस्, र सत्यता अभ्यास गर्न र आफ्नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, तैँले आफ्नो कर्तव्यमा अझ बढी मेहनत गर्नुपर्छ, र त्यसमा अझ धैरै मन लगाउनुपर्छ। तँ आफूमा विवेक छ त भन्छस्, तर आफ्नो कर्तव्यमा कहिल्यै मन लगाउँदैनस्। के तेरो विवेकले काम गरिरहेको छ? तैँले आफ्नो मन सही ठाउँमा लगाउनैपर्छ। तिमीहरूले यी कुराहरूबारे प्रायः सोच्नुपर्छ—तिमीहरूले ती सबै बुझ्नैपर्छ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा झारा टार्ने काम मात्रै गर्नु वर्जित गरिएको मुख्य कुरा हो। तैँले कर्तव्य निर्वाह गर्दा जहिले पनि झारा टार्ने काम मात्र गर्छस् भने, कुनै हालतमा आफ्नो कर्तव्य स्वीकार्य स्तरमा निर्वाह गर्न सक्दैनस्। यदि तँ वफादार भई आफ्नो कर्तव्य निभाउन चाहन्छस् भने, तैँले पहिला झारा टार्ने समस्यालाई सुल्झाउनैपर्छ। तैँले त्यो देख्नेबित्तिकै ती सच्याउने कदमहरू चाल्नुपर्छ। यदि तँ अन्योलमा छस्, कहिल्यै समस्या देख्न सक्दैनस्, जहिल्यै पनि झारा टार्ने काम मात्र गर्छस्, र लापरवाही तरिकाले कामहरू गर्छस् भने, तैँले कुनै हालतमा आफ्नो कर्तव्य राम्ररी निभाउन सक्नेछैनस्। त्यसकारण, तैँले जहिले पनि आफ्नो कर्तव्यमा मन लगाउनैपर्छ। यो अवसर मानिसहरूले पाउनु निकै कठिन थियो! जब परमेश्‍वर तिनीहरूलाई मौका दिनुहुन्छ, तर पनि तिनीहरूले यसलाई बुझ्दैनन् भने, तिनीहरूले त्यो अवसर गुमाउँछन्—अनि पछि यदि तिनीहरूले त्यस्तो अवसर पाउन चाहे भने पनि, यो फेरि तिनीहरूकहाँ नआउन सक्छ। परमेश्‍वरको कामले कसैलाई पनि पर्खँदैन, न त व्यक्तिले गर्नुपर्ने कर्तव्यले नै पर्खन्छ। कतिपय मानिसहरू भन्छन्, “मैले पहिले मेरो कर्तव्य राम्ररी गरिनँ, तर अहिले म अझै यसलाई पूरा गर्न चाहन्छु, त्यसकारण यसपटक मैले सङ्कल्प गरेको छु; म अझै बढी कर्तव्यनिष्ठ बन्नेछु र अझै बढी परिश्रम गर्नेछु, र यसलाई राम्ररी पूरा गर्नेछु।” “मैले असफलताका बाबजुद फेरि यसमा लाग्नुपर्छ।” यस्तो सङ्कल्प हुनु एकदमै राम्रो हो, तर कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भनेर तँ स्पष्ट हुनैपर्छ, र तैँले सत्यताका लागि प्रयास गर्नैपर्छ। सत्यता राम्ररी बुझ्नेहरूले मात्र आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्। सत्यता नबुझ्नेहरू सेवा गर्नसमेत योग्य हुँदैनन्। तँ सत्यताबारे जति बढी स्पष्ट हुन्छस्, उति नै आफ्नो कर्तव्यमा प्रभावकारी बन्नेछस्। यदि तैँले यो मामिला के हो भनेर बुझ्न सकिस् भने, तँ सत्यताका लागि लागिपर्नेछस्, र तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने आशा हुन्छ। वर्तमान समयमा, कर्तव्य निभाउने धेरै अवसरहरू उपलब्ध छैनन्, त्यसकारण अवसर आउँदा तैँले तिनलाई पक्रिहाल्नुपर्छ। जुन बेला कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ, ठीक त्यही बेला नै तैँले प्रयत्‍न लगाउनुपर्छ; ठिक त्यही बेला नै तैँले आफूलाई अर्पित गर्नुपर्छ र परमेश्‍वरमा समर्पित हुनुपर्छ, र ठिक त्यही बेला नै तैँले मूल्य चुकाउनुपर्छ। कुनै पनि कुरालाई रोकेर नराख्‌, कुनै पनि षड्यन्त्र नगर्, आफूलाई कुनै पनि छुट नदे, र आफ्नो लागि उम्कने बाटो नबना। यदि तैँले कुनै कसर बाँकी छाड्छस्, हिसाबकिताब गर्छस्, वा कुटिल र धोकेबाज काम गर्छस् भने, तैँले अवश्य नै नराम्ररी काम गर्नेछस्। मानौँ, तैँले यसो भन्‍न सक्छस्, “मैले चलाकी तरिकाले काम गरेको कसैले पनि देखेन। कस्तो गजब भो!” यो कस्तो प्रकारको सोचाइ हो? के तैँले मानिसहरूको र परमेश्‍वरको पनि आँखा छलेको छस् भन्‍ने तँलाई लाग्छ? तैपनि वास्तवमा, तैँले जे गरेको छस् सो परमेश्‍वरलाई थाहा हुन्छ कि हुँदैन? उहाँलाई थाहा हुन्छ। वास्तवमा, तँसँग केही समयसम्‍म अन्तरक्रिया गर्ने जोकोहीले तेरो भ्रष्टता र दुष्टता थाहा पाएका हुन्छन्, र तिनीहरूले सीधै नभने पनि, तिनीहरूले आफ्‍नो मनमा तेरो बारेमा मूल्याङ्कन गरेका हुन्छन्। धेरै मानिसहरू छन् जसलाई खुलासा गरियो र हटाइयो किनभने अरू धेरैले तिनीहरूको वास्तविकता बुझेका थिए। सबैले तिनीहरूको सारलाई देखेपछि, तिनीहरूले ती मानिसहरूको वास्तविकता खुलासा गरे, र तिनीहरूलाई हटाए। त्यसकारण, सत्यताको खोजी गरे पनि नगरे पनि, मानिसहरूले आफ्‍नो कर्तव्य क्षमताले भ्याउञ्‍जेल राम्ररी पूरा गर्नुपर्छ; व्यावहारिक कामहरू गर्नको लागि तिनीहरूले आफ्‍नो विवेकको प्रयोग गर्नुपर्छ। तँमा कमीकमजोरीहरू हुन सक्छन्, तर यदि तँ आफ्‍नो कर्तव्यपालनमा प्रभावकारी हुन सक्छस् भने, तँ हटाइने अवस्थासम्म पुग्‍नेछैनस्। यदि तँ सधैँ म ठिक छु, मलाई पक्कै हटाइनेछैन भनेर सोचिरहेको हुन्छस्, यदि तैँले अझै पनि आत्मचिन्तन वा आफूलाई चिन्‍ने प्रयास गर्दैनस्, र उचित कामलाई बेवास्ता गर्छस्, यदि तँ सधैँ लापरवाह र झाराटारुवा हुन्छस् भने, परमेश्‍वरका चुनिएका मानिसहरूले तँप्रतिको सहनशीलता गुमाएको क्षण तेरो असली रूप पर्दाफास गरिदिनेछन्, र सम्भवतः तँलाई पक्कै हटाइनेछ। यस्तो हुन्छ किनकि सबैले तेरो वास्तविकता छर्लङ्गै देखेका हुन्छन् र तैँले मर्यादा र निष्ठा गुमाइसकेको हुन्छस्। यदि कसैले तँलाई भरोसा गर्दैन भने, के परमेश्‍वरले तँलाई भरोसा गर्न सक्‍नुहुन्छ त? परमेश्‍वरले मानिसको भित्री हृदय हेर्नुहुन्छ: उहाँले त्यस्ता व्यक्तिलाई फिटिक्‍कै भरोसा गर्न सक्‍नुहुन्‍न। यदि कोही व्यक्ति भरपर्दो छैन भने, उसलाई कुनै परिस्थितिमा पनि, कुनै कार्य नसुम्पनू। यदि कुनै व्यक्ति कस्तो छ भनेर तँलाई थाहा छैन, वा अरू मानिसले उक्त व्यक्ति आफ्नो काममा ठिकै छ भनेको मात्र सुनेको छस्, तर तँ आफ्नो मनमा शतप्रतिशत निश्चित छैनस् भने, तैँले पहिला उसलाई केही महत्त्व नभएको कुनै सानो काम मात्र दिन सक्छस्। यदि उसले केही साना कार्यहरूमा राम्रै गऱ्यो भने, तैँले उसलाई कुनै साधारण काम दिन सक्छस्। अनि ऊ त्यस कार्यमा सफल भयो भने मात्र तैँले उसलाई महत्त्वपूर्ण कार्य सम्हाल्न दिनुपर्छ। यदि उसले साधारण कार्यमा गडबड गर्छ भने, यो व्यक्ति भरपर्दो होइन। ठूलो वा सानो जस्तोसुकै काम भए पनि, उसलाई सुम्पनु हुँदैन। यदि तैँले यस्तो व्यक्ति देखिस् जो दयालु र जिम्मेवार छ, जसले कहिल्यै झारा टार्ने काम गरेको छैन, जसले अरूले आफूलाई सुम्पेको काम आफ्नै काम ठानेर गर्छ, कामको प्रत्येक पक्षलाई विचार गर्छ, तेरो आवश्यकताबारे सोच्छ, सबै कोणलाई विचार गर्छ, जो अति सावधान छ र जसले परिस्थितिलाई ठिक तरिकाले सम्हाल्छ, र तँलाई विशेष गरी उसको कामद्वारा सन्तुष्ट तुल्याउँछ भने, भरोसायोग्य व्यक्ति यही हो। भरोसायोग्य मानिसहरू मानवता भएका मानिसहरू हुन्, र मानवता भएका मानिसहरूमा विवेक र समझ हुन्छ, अनि तिनीहरूलाई राम्रोसित आफ्‍नो कर्तव्य निभाउन अत्यन्तै सहज हुन्छ, किनभने तिनीहरूले आफ्‍नो कर्तव्यलाई आफ्‍नो दायित्वको रूपमा लिन्छन्। विवेक वा समझ नभएका मानिसहरूले आफ्‍नो कर्तव्य नराम्ररी गर्ने पक्‍का हुन्छ, र तिनीहरूको कर्तव्य जे भए पनि, तिनीहरूमा आफ्‍नो कर्तव्यप्रति कुनै जिम्‍मेवारीबोध हुँदैन। अरूले सधैँ तिनीहरूबारे चिन्ता गर्नुपर्छ, तिनीहरूलाई देखरेख गर्नुपर्छ, र तिनीहरूको प्रगतिबारे सोध्नुपर्छ; नत्र भने, तिनीहरूले कर्तव्य पूरा गर्दा अवस्थाहरू खराब हुन सक्छन्, र काम गर्दा समस्याहरू आउन सक्छन्, जुन सामान्यभन्दा अझै ठूलो जटिलता हुनेछ। सङ्क्षेपमा भन्नुपर्दा, मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा सधैँ आत्मचिन्तन गर्नुपर्छ, “के मैले यस कर्तव्यलाई पर्याप्त रूपमा पूरा गरेको छु? के मैले यसमा मेरो हृदय लगाएको छु? वा मैले यसमा झारा मात्र टारेको छु?” यदि तँ सधैँ लापरवाह र झाराटारुवा हुन्छस् भने, तँ खतरामा छस्। कम्तीमा पनि, यसको अर्थ तँमा कुनै विश्‍वसनीयता छैन, र मानिसहरूले तँलाई भरोसा गर्न सक्दैनन् भन्‍ने हुन्छ। अझै गम्‍भीर रूपमा भन्नुपर्दा, यदि तँ आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झारा टार्छस् भने, र तैँले सधैँ परमेश्‍वरलाई छल गर्छस् भने, तँ ठूलो खतरामा हुन्छस्! जानाजानी कपटी हुनुका नतिजाहरू के-के हुन्छन्? सबैले देख्‍न सक्छन्, तैँले जानाजानी अपराध गरिरहेको छस्, तँ आफ्‍नै भ्रष्ट स्वभावअनुसार मात्रै जिइरहेको छस्, तँ लापरवाह र झाराटारुवा व्यवहार मात्रै गर्छस्, तैँले पटक्कै सत्यता अभ्यास गर्दैनस्—जसको अर्थ तँ मानवताहिन होस्! यदि तँ मुख्य गल्तीहरू गर्नबाट बचिस् तर निरन्तर सानातिना गल्ती गरिरहन्छस् भने, अनि सुरुदेखि अन्तिमसम्‍मै तँ अपश्‍चात्तापी रहन्छस् भने, तँ दुष्टहरूमध्ये एक होस्, गैरविश्‍वासी होस्, र तँलाई बढारेर फालिनुपर्छ। यस्ता परिणामहरू जघन्य हुन्छन्—तँलाई गैरविश्‍वासी र दुष्ट व्यक्तिको रूपमा पूर्ण रूपमा खुलासा गरेर बहिस्कार गरिनेछ।

तैँले पूरा गर्ने कुनै पनि कर्तव्यमा जीवन प्रवेश सामेल हुन्छ। तेरो कर्तव्य केही हदसम्म नियमित वा अनियमित, सुस्त वा जीवन्त जस्तोसुकै भए पनि, तैँले सधैँ जीवन प्रवेश प्राप्त गर्नैपर्छ। कतिपय मानिसहरूले पूरा गर्ने कर्तव्यहरू झमेलामय हुन्छन्; तिनीहरू प्रत्येक दिन उस्तै काम गर्छन्। तापनि, ती कर्तव्यहरू पूरा गर्दा, यी मानिसहरूले प्रकट गर्ने अवस्थाहरू एकसमान हुँदैनन्। कहिलेकहीँ, राम्रो मनस्थितिमा हुँदा, मानिसहरू अलिक बढी मेहनती हुन्छन् र राम्रो काम गर्छन्। अरू बेला, कुनै अज्ञात प्रभावको कारण तिनीहरूको भ्रष्ट शैतानी स्वभावले उनीहरूमा बदमासी जगाउँछ, जसले गर्दा उनीहरूमा अनुचित दृष्टिकोणहरू पैदा हुन्छन् र खराब अवस्थाहरूमा र खराब मनस्थितिमा हुन्छन्; परिणामस्वरूप उनीहरूले आफ्ना कर्तव्यहरू लापरवाही ढङ्गले गर्दछन्। मानिसहरूको आन्तरिक अवस्था निरन्तर परिवर्तन भइरहेका हुन्छन्; उनीहरू कुनै पनि ठाउँमा र कुनै पनि समयमा परिवर्तन हुन सक्छन्। तेरो अवस्था जसरी परिवर्तन भए पनि, तैँले आफ्नो मनस्थितिको आधारमा काम गर्नु सधैँ गलत हुन्छ। मानौँ, तँ राम्रो मनस्थितिमा हुँदा तैँले अलिक राम्रो काम गर्छस्, र खराब मनस्थितिमा हुँदा अलिक खराब काम गर्छस्—के यो कामकुरा गर्ने सिद्धान्तअनुरूपको तरिका हो? के यसले तँलाई स्वीकार्य मापदण्डमा रहँदै आफ्नो कर्तव्य निभाउन मदत गर्छ? मानिसहरूको मनस्थिति जस्तोसुकै भए पनि, उनीहरूले परमेश्‍वरको सामु प्रार्थना गर्न र सत्यताको खोजी गर्न जान्नु नै पर्छ; यसरी मात्र तिनीहरू आफ्नो मनस्थितिद्वारा नियन्त्रित र प्रभावित भएर ढलपलबाट जोगिन सक्छन्। तैँले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य पूरा गर्ने तेरो कार्य मापदण्ड अनुसारको छ कि छैन, तैँले त्यो लापरवाही ढङ्गले गरिरहेको छस् कि छैनस्, तैँले आफ्नो जिम्मेवारीबाट भाग्ने कोसिस गरेको छस् कि छैनस्, तेरो आचरण र सोचविचारको तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्मचिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ। तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा निराकरणपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरको इच्छा बुझ्नुपर्छ। यी कुराहरू गरेर, तैँले अभ्यास गर्ने मार्ग पाउनेछस्। यदि तैँले राम्ररी आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, तैँले गर्ने सबै कुरामा तैँले पूर्ण कडाइका साथ, र सिद्धान्तहरूमा रहेर सत्यको अभ्यास गर्नुपर्दछ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, र जसले आफ्नो काँधमा बोझ लिन्छ; तँ सच्‍चा रूपमा असल व्यक्ति हुनेछस्, जसले वास्तवमा मापदण्ड अनुसार आफ्ना कर्तव्यहरू पूरा गर्दछ र जो एक सच्‍चा व्यक्तिको स्वरूप लिएर पूर्ण रूपमा जिउँछ। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू पूरा गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्‍वर नजरमा इमानदार भन्न सकिन्छ। केवल इमानदार मानिसहरू मात्र सत्यको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तिनीहरू खराब मुडमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्न सक्छन्, र तिनीहरूका जिम्मेवारीहरू पूरा गर्न वाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्‍वरसामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यस भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाश नै खस्यो भने पनि—जबसम्म म जीवित रहन्छु, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। म जिउने प्रत्येक दिन नै मैले मेरो कर्तव्य राम्रोसित निभाउनुपर्ने दिन हो, यसैले कि परमेश्‍वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, वस्तु, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मुड वा बाहिरी परिस्थितिद्वारा बन्धनमा नपर्नेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिले स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवनमा प्रवेश पाएका हुन्छन् र सत्यको वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा सच्‍चा र व्यावहारिक अभिव्यक्ति यही हो। के यस तरिकाले जिउँदा व्यक्ति ढुक्क हुनेथियो? परमेश्वरले तँलाई कसरी हेर्नुहुन्छ भनेर के तैँले चिन्ता लिनुपर्नेथियो? तिमीहरूले ढुक्क महसुस गर्न काम गर्नुपर्छ भनेर कसरी भन्नेथियौ? (आफूलाई कुनै व्यक्ति, घटना, वा परिस्थितिको बन्धनमा पर्न नदे, र आफ्नो कर्तव्यलाई प्राथमिकतामा राख्। यसो गरेमा मात्र तँ परमेश्वरलाई निराश पार्नबाट जोगिन सक्छस्।) सही हो, ढुक्क महसुस गर्नुको राज यही हो। के तिमीहरू सबैले यस राजलाई राम्ररी बुझेका छौ? यदि कुनै व्यक्तिले तँसँग बोल्दा खराब मनोवृति राख्छ, र तँलाई बेवास्ता गर्ने वा जानाजानी तँमा खराबी कोट्याउने अभिप्राय राख्छ भने, तँ दुःखी हुनेछस्, मानौँ तेरो मुटुमा छुरा घोपिएको छ। तँलाई खान मन लाग्नेछैन र निन्द्रा लाग्नेछैन। जसरी पनि तँ खराब मुडमा हुनेछस्, र तेरो हृदयमा पीडा हुनेछ। यस अवस्थामा, तैँले के गर्नेछस्? तैँले यसो भन्लास्, “आज म खराब मुडमा छु, त्यसैले म मेरो कर्तव्य केही दिनका लागि थाँती राख्नेछु” वा “म आफ्नो कर्तव्य त निर्वाह गर्नेछु, तर मैले उदासीन भएर झारा टार्ने काम मात्र गरे पनि ठिकै छ। आफूले चाहेकै जस्तो नहुने समय सबैलाई आउँछ, त्यसकारण म खराब मुडमा छु भने, परमेश्वरले मबाट धेरै माग गर्नुहुन्न, गर्नुहुन्छ र? आज म आफ्नो कर्तव्य केहीबेरका लागि थाँती राख्नेछु। ठिकै छ, म भोलि राम्रो काम गर्नेछु। परमेश्वरले छ हजार वर्षदेखि आफ्नो काम गर्दै आइरहनुभएकोले, के मैले आफ्नो काम एक दिन ढिलो गर्दा उहाँलाई केही वास्ता होला?” कस्तो खालको व्यक्तिले स-साना कुराहरूले गर्दा आफ्नो मुड बिगार्छ र त्यसपछि यसलाई आफ्नो कर्तव्यमा असर पार्न दिन्छै दिन्छ? के यो बचकना र निराशाजनक स्वभाव होइन र? तिनीहरू आफूलाई केही आइपर्दा झोँक्किन्छन्, पूर्ण रूपमा विवेकहीन बन्छन्, आफ्नो कर्तव्य पूरा गर्दैनन्, सङ्कल्प राख्दैनन् र आफ्ना वाचा बिर्सन्छन्। यो कस्तो खालको समस्या हो? के यो असंयमताको समस्या होइन र? केही मानिस होलान् जो सामान्यतया यस्तो व्यवहार गर्दैनन्, तर तिनीहरू खराब मुडमा हुँदा आफ्ना जिम्मेवारी छोड्छन्। यस्ता कुराहरू प्रायजसो भइरहन्छन्। कतिपय मानिसहरू खराब मुडमा हुँदा, अलि बाहिरी प्रभावमा पर्ने हुनाले कर्तव्य निर्वाह गर्दा तिनीहरूमा ऊर्जा हुँदैन, र तिनीहरू आफ्नो काममा ध्यान दिन सक्दैनन्। यस्तो हुँदा के गर्नुपर्छ? के यस्ता समस्याहरू समाधान गर्नुपर्दैन? कतिपय मानिस भन्छन्, “ती समाधान गर्न सकिन्न। केहीबेरपछि, मलाई अझै त्यो गर्न मन लाग्दैन, र म परिस्थितिअनुसार चल्छु। जे भए पनि, म खराब मुडमा छु र कोही पनि मसँग बोलेको चाहन्नँ। मलाई केहीबेर दुःखी हुन दिनुस्।” तिनीहरू आफ्नो कर्तव्य गरिरहेकै छन् भने पनि, तिनीहरूको शरीर मात्र त्यहाँ हुन्छ, मन हुँदैन। तिनीहरूका मन कता उडिरहेका छन् भन्ने कुरा अनिश्चित हुन्छ। तिनीहरू आफ्ना कर्तव्यमा जिम्मेवार छैनन्, तिनीहरू प्रयास गर्दैनन्, र तिनीहरू कमजोर छन्। तर जब तिनीहरूको मुड ठिक हुन्छ, तब तिनीहरू फेरि उत्साहित हुन थाल्छन्; तिनीहरू फेरि कठिनाइ सहन र थकान भोग्न सक्षम हुन्छन्, र आफ्नो खानेकुराप्रति अत्याधिक ध्यान दिँदैनन्। के यी सब अलि असामान्य होइन? किन मानिसहरू यति धेरै फरक-फरक भावना र परिस्थितिहरूबाट प्रभावित हुन्छन्? के तिमीहरूले कहिल्यै यसको कारण खोजेका छौ? के तिमीहरूलाई यी कुराहरूले प्रायः समस्यामा पार्दैनन् ऱ? के तिमीहरू यस्ता स्थितिहरूमा प्रायः अल्झिदैनौ? के तिमीहरू सबैले सामना गर्ने समस्या यही होइन? (हो।) यदि यी समस्याहरू समाधान गरिएन भने, मानिसहरू कहिल्यै परिपक्व हुनेछैनन्; तिनीहरू सधैँ बच्चा रहनेछन्। उदाहरणका लागि, कुनै व्यक्तिले तेरो भावनालाई विचार नगरी केही भन्छ, जुन आंशिक रूपले तँप्रति लक्षित छ, वा उसले तँलाई छड्के हान्छ भने, तँलाई अलि असहज लाग्नेछ। यदि तैँले कसैसँग कुरा गर्दा उसले तँलाई ध्यान दिँदैन, वा उसको मुहारमा राम्रो भाव देखिँदैन भने, तँलाई असहज हुनेछ। यदि कुनै दिन तैँले चाहेको जस्तो तेरो कर्तव्य अघि बढेन भने, तँलाई असहज हुनेछ। यदि तैँले अशुभ लाग्ने डरलाग्दो सपना देखिस् भने, तँलाई असहज हुनेछ। तैँले आफ्नो परिवारबारे नराम्रो खबर सुनिस् भने, तँलाई असहज हुनेछ, तेरो मुड बिग्रनेछ, अनि तैँले आफ्नो ऊर्जा बढाउन सक्नेछैनस्। यदि तैँले अरू कसैले राम्ररी कर्तव्य निभाएको, र प्रशंसा बटुलेको अनि तिनलाई अगुवाको रूपमा बढुवा गरेको देखिस् भने, त्यसले पनि तँलाई असहज बनाउनेछ, र तेरो मुड बिगार्नेछ…। तँलाई प्रभाव पार्न सक्ने साना-ठूला यी सबै परिस्थितिले तँलाई नकारात्मकतामा फसाउन, उदास पार्न, र कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा प्रभाव पार्न सक्छन्। यस्तो व्यवहार गर्ने मानिसमा कस्तो समस्या हुन्छ? (तिनीहरूको स्वभाव अस्थिर हुन्छ।) अस्थिर स्वभाव त्यसको एउटा पक्ष हो। तिनीहरूको मानवता अपरिपक्व र बचकना हुन्छ, र तिनीहरूमा अन्तर्दृष्टि हुँदैन। तिनीहरूको जीवन प्रवेशबारे भन्नुपर्दा, तिनीहरू सधैँ विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्छन्, त्यसकारण तिनीहरूलाई सत्यता अभ्यास गर्न सहज हुँदैन। यदि तिनीहरूले सत्यता अभ्यास गर्न सकेनन् भने, तिनीहरू सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्दैनन्, अनि सत्यताको वास्तविकतामा प्रवेश गर्न सकेनन् भने, तिनीहरूले जीवन प्रवेश पाउनेछैनन्। कुरा त्यस्तै होइन र? किन तिनीहरू मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्छन्? किनभने तिनीहरू सत्यता बुझ्दैनन्, सही र गलत छुट्याउन सक्दैनन्, र को सही र को गलत छुट्याउन सक्दैनन्। परिणामस्वरूप, कसरी अभ्यास गर्ने तिनीहरू जान्दैनन्, र द्विविधामा पर्छन्। परिणाम यही हुन्छ। अधिकांश नयाँ विश्वासीहरू यही स्थितिमा हुन्छन्। जब तिनीहरूले सत्यता बुझ्छन्, परिस्थितिहरू स्पष्ट रूपमा देख्न र मानिसहरू छुट्याउन सक्छन्, यो समस्या स्वतः सुल्झिनेछ। तर, सत्यतालाई प्रेम नगर्नेहरूले परिस्थितिहरू झेल्नुपर्दा सत्यता खोजी गर्दैनन्। यस्तो व्यक्ति थरिथरिका मानिस, परिस्थिति, र वस्तुहरूको बन्धन त्याग्न सदाका लागि असक्षम हुनेछ। प्रायः मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्ने मानिसहरूले कस्ता खालका स्थितिहरू प्रकट गर्छन्? तिनीहरू सजिलै नकारात्मक बन्छन्, र रोकावट आउँदा वा कठिनाइहरू सामना गर्नुपर्दा, तिनीहरू ठेस खान्छन्। यी कुराहरूले तिनीहरूको मुड र कर्तव्य निर्वाह गर्ने क्षमतामा प्रभाव पार्छन्। सत्यता नबुझ्नेहरू विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा सजिलै पर्छन्। तिनीहरूको जीवन प्रवेश अति सुस्त हुन्छ, र तिनीहरूले जति वर्ष नै विश्वास गरेका भए पनि, तिनीहरूमा प्रगति देखिँदैन। तिनीहरू बिलकुलै परिवर्तन भएका हुँदैनन्, र धेरथोर अविश्वासीहरूजस्तै नै हुन्छन्। यो सब सत्यता नपछ्याउनुको परिणाम हो। कारण यही हो। सङ्क्षेपमा भन्नुपर्दा, तैँले जतिसुकै वर्ष परमेश्वरमा विश्वास गरेको भए पनि, तेरो क्षमता वा उमेर जेजति भए पनि, यदि तैँले सत्यतालाई प्रेम गरिनस् वा सबै कुरामा सत्यता खोजिनस् भने, तँ विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको बन्धनमा पर्नेछस्। कसरी उचित रूपमा काम गर्ने भनी तँलाई थाहा हुनेछैन, न त सत्यता कसरी अभ्यास गर्ने वा सिद्धान्तहरूबमोजिम कसरी चल्ने भनेर नै थाहा हुनेछ। तैँले मान्छेहरूको धारणाअनुसार काम गरिस् र खराब काम गरिनस् भने पनि, तँलाई आफू परमेश्वरको इच्छाअनुरूप छ कि छै भन्ने थाहा हुनेछैन। यस्तो व्यक्तिले जतिसुकै वर्ष विश्वास गरेको भए तापनि, आफ्नो अनुभवात्मक गवाहीहरूबारे बोल्न सक्नेछैन, किनकि उसले परमेश्वरको काम कसरी अनुभव गर्ने भन्ने कुरा बुझ्दैनन्, न त अलकति सत्यता नै बुझ्छ। सत्यता नपछ्याउने मानिसहरू यस्तै हुन्छन्; तिनीहरूले जतिसुकै लामो समयदेखि परमेश्वरमा विश्वास गरेको भए पनि, तिनीहरूसँग बताउने गवाही हुँदैन। तिनीहरूको कद अति सानो हुन्छ, र तिनीहरूमा सत्यताको वास्तविकता हुँदैन।

अहिले मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्नमा सक्रिय छन्। तिनीहरूमा आफ्नो कर्तव्य निर्वाह गर्ने, परमेश्वरका लागि समर्पित हुने र उहाँका लागि त्याग गर्ने, र आफूलाई उहाँमा अर्पण गर्ने दृढता पनि छ। आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा अर्पण गर्ने, र उहाँका लागि समर्पित हुने कसम धेरैपटक खाएका मानिसहरूसमेत छन्। तिनीहरूसँग यी सबै कुरा छन्, तर जीवन प्रवेश छैन। यदि कुनै व्यक्तिसँग जीवन प्रवेश छैन भने, थरिथरिका जटिल मानिस, परिस्थिति र वस्तुहरूको कारण, तिनीहरूलाई शान्त रहन वा समस्या समाधान गर्न निकै गाह्रो हुनेछ। तिनीहरूले दिशा भेटाउन सक्दैनन्, न त मार्ग नै भेटाउन सक्छन्, अनि तिनीहरूलाई प्रायः आफ्नो नकारात्मक स्थिति हटाउन सकिँदैन भन्ने लाग्छ। तिनीहरू विभिन्न मानिस, परिस्थिति, र वस्तुहरूको अल्झोमा, बन्धनमा, नियन्त्रणमा, र पकडमा पर्छन्, अनि तिनीहरूलाई अभ्यास गर्ने सबैभन्दा सही तरिका थाहा हुँदैन। अब, म तिमीहरूलाई अभ्यासको एउटा सिद्धान्तबारे बताउनेछु: तँलाई जेसुकै आइपरे पनि, चाहे त्यो कुनै जाँच होस् वा परीक्षा, वा तेरो निराकरण हुँदै छ, अनि मानिसहरूले तँलाई जसरी व्यवहार गरे पनि, तैँले पहिला यी कुराहरूलाई पन्छ्याएर परमेश्वरलाई खुरन्धार प्रार्थना गर्नुपर्छ, र सत्यता खोज्नुपर्छ र आफ्नो स्थितिलाई समायोजन गर्नुपर्छ। पहिला यसलाई समाधान गर्नुपर्छ। तैँले यसो भन्नुपर्छ, “यो जतिसुकै ठूलो विषय भए पनि, आकाश नै खसे पनि, मैले आफ्नो कर्तव्य राम्ररी निभाउनैपर्छ। सास रहुञ्जेलसम्म, म आफ्नो कर्तव्य त्याग्नेछैनँ।” त्यसोभए तँ आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस् त? तैँले झारा टार्ने काम मात्र गर्नु हुँदैन, वा शरीरले मात्र उपस्थित भएर मन अर्कैतिर डुलाउनु हुँदैन—तैँले आफ्नो मन र दिमाग दुवै आफ्नो कर्तव्यमा लगाउनैपर्छ। तँलाई जतिसुकै ठूला परिस्थितिहरू आइपरे पनि, तैँले पहिला ती कुराहरू छाडेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने तरिका खोज्न परमेश्वरसामु आउनैपर्छ, यसो गर्दा परमेश्वरलाई सन्तुष्टि मिल्छ। तैँले यस्तो सोच्ने प्रयास गर्नुपर्छ, “मैले आज यो कुरा सामना गरेपछि, म आफ्नो कर्तव्य कसरी निर्वाह गरूँ? पहिले, म लापरवाही तरिकामा काम गर्थेँ, त्यसैले आज मैले आफ्नो तरिका परिवर्तन गरी राम्ररी कर्तव्य निभाउने प्रयास गर्नैपर्छ, ताकि कसैले गल्ती कोट्याउने ठाउँ नपाओस्। महत्त्वपूर्ण कुरा के हो भने मैले परमेश्वरलाई पटक्कै निराश तुल्याउनु हुँदैन। मैले उहाँको मनलाई ढुक्क पार्नैपर्छ, ताकि मैले आफ्नो कर्तव्य निर्वाह गरेको उहाँले देख्दा, म आज्ञाकारी र समर्पित व्यक्ति मात्र नभई वफादार पनि छु भनेर देख्नुहुनेछ।” यदि तेँले यसलाई अभ्यास गरिस् र यस दिशामा बल गरिस् भने, तँलाई केही कुराले पनि कर्तव्य निभाउनमा ढिलाइ गराउन, वा तेरो कर्तव्यको प्रभावकारीतामा असर पार्न सक्नेछैन। जब तँ निरन्तर प्रार्थना गर्छस्, सत्यता खोज्छस्, र परमेश्वरका वचनहरू बुझ्ने कोसिस गर्छस्, तब तैँले देहगत भावनात्मक समस्याहरूलाई बुझेर सुल्झाउन सक्नेछस्; तर सत्यता नस्विकारेसम्म कुनै व्यक्तिले त्यसो गर्न सक्दैन। यदि तैँले सत्यता बुझिस् भने, कुनै पनि समस्या सुल्झाउन सकिन्छ। तेरो हृदयको उदासी, निराशा, चिन्ता, आशङ्का, र नकारात्मकता सबै पूर्ण रूपमा सुल्झाउन सकिन्छ। तेरो मुड बिस्तारै ठिक हुँदै जानेछ, र तँ पूर्ण रूपमा मुक्त हुनेछस्। तँलाई साँच्चै वास्तविक कठिनाइहरू आइपरेको छ भने, तैँले सत्यता खोज्न र समर्पित हुन सिक्नैपर्छ। व्यक्तिलाई यस्ता परिस्थितिहरू आइपर्दा, त्यो उसको कदको जाँच हुन्छ र त्यसले ऊ को हो भन्ने कुरा प्रकट हुन्छ, ताकि उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भनी बुझ्न सकियोस्।

स्वीकार्य स्तरमा आफ्नो कर्तव्य निर्वाह गर्न, तँसँग पहिला उचित मानसिकता हुनैपर्छ। तेरो भ्रष्ट स्वभाव प्रकट हुँदा, तैँले आफ्नो स्थिति पनि समायोजन गर्नैपर्छ। जब तँ आफ्नो कर्तव्य सही ढङ्गले सम्हाल्न सक्षम हुन्छस्, जब सबै खालका मानिस, घटना वा वस्तुहरूबाट आउने अवरोध र प्रभावहरूलाई हटाउँछस्, जब परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्छस्, तब तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछस्। यसो गर्नुको राज भनेको आफ्ना कर्तव्य र जिम्मेवारीहरूलाई जहिले पनि प्राथमिकता दिनु हो। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, जहिले पनि आफूलाई यसरी जाँच्नुपर्छः “के ममा आफ्नो कर्तव्य निर्वाह गर्ने सन्दर्भमा लापरवाह मनोवृति छ? आफ्नो कर्तव्य निर्वाह गर्दा मलाई कस्ता कुराहरूले बाधा पुऱ्याउँछन् र लापरवाह बनाउँछन्? के म सारा हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दै छु? के यसरी काम गर्नाले परमेश्वरले ममा भरोसा राख्न सक्नुहुन्छ? के मैले आफ्नो हृदय पूर्ण रूपमा परमेश्वरलाई समर्पित गरेको छु? के मैले आफ्नो कर्तव्य यसरी निर्वाह गर्नु सिद्धान्तअनुरूप छ? के मैले आफ्नो कर्तव्य यसरी निर्वाह गर्दा उत्कृष्ट परिणामहरू प्राप्त हुनेछन्?” तैँले बारम्बार यी प्रश्नहरूमा चिन्तन गर्नुपर्छ। जब तैँले समस्या पत्ता लगाउँछस्, सक्रिय रूपमा सत्यता खोजी गर्नुपर्छ, र ती समस्या सुल्झाउन परमेश्वरका सान्दर्भिक वचनहरू खोज्नुपर्छ। यसरी तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुनेछस्, अनि तेरो हृदयमा शान्ति र खुसी मिल्नेछ। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा समस्याहरू बारम्बार उत्पन्न हुन्छन् भने, तीमध्ये धेरैजसो तेरो अभिप्रायसम्बन्धी समस्याबाट आउँछन्—ती भ्रष्ट स्वभावका समस्याहरू हुन्। कुनै व्यक्तिको भ्रष्ट स्वभाव प्रकट हुँदा, उसको मनमा समस्याहरू हुनेछन् र उसको स्थिति असामान्य हुनेछ, जसले उसको आफ्नो कर्तव्य निर्वाह गर्ने क्षमतामा प्रत्यक्ष प्रभाव पार्नेछ। उसको कर्तव्य निर्वाह गर्ने क्षमतामा प्रभाव पार्ने समस्याहरू ठूला र गम्भीर हुन्; ती समस्याले परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्न सक्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू आफ्ना परिवारमा विपत्ति आइपर्दा, परमेश्वरबारे धारणा र गलत बुझाइहरू विकास गर्छन्। कतिपय मानिसहरू आफूले कष्ट भोग्दा कसैले पनि त्यो देखेन वा तिनीहरूको तारिफ गरेन भने नकारात्मक बन्छन्। कतिपयचाहिँ आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्दैनन्, सधैँ लापरवाह बन्छन्, अनि काटछाँट र निराकरण गरिँदा परमेश्वरविरुद्ध गुनासो गर्छन्। कतिपय भने आफ्ना कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छन् किनकि तिनीहरू जहिले पनि उम्कने बाटोबारे सोचिरहेका हुन्छन्। यी सबै समस्याले परमेश्वरसँगको सामान्य सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्छन्। यी सबै भ्रष्ट स्वभावका समस्याहरू हुन्। मानिसले परमेश्वरलाई नचिन्ने, सधैँ आफ्नो पक्षमा षडयन्त्र गर्ने र आफैबारे मात्र सोच्ने हुनाले यी सबै समस्या उत्पन्न हुन्छन्, जसले मानिसहरूलाई परमेश्वरको इच्छाबारे सोच्न र उहाँका योजनाहरूप्रति समर्पित हुनदेखि रोक्छ। यसले सबै प्रकारका नकारात्मक भावनाहरू उत्पन्न गर्दछ। सत्यताको पछि नलाग्ने मानिसहरू ठ्याक्कै यस्तै हुन्छन्। तिनीहरू आफूमा सानातिना समस्याहरू आइपर्दा, नकारात्मक र कमजोर बन्छन्, आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा कुण्ठा पोख्छन्, परमेश्वरको अवज्ञा र प्रतिरोध गर्छन्, र तिनीहरू आफ्ना जिम्मेवारी त्यागेर परमेश्वरलाई विश्वासघात गर्न चाहन्छन्। यी सबै कुरा भ्रष्ट स्वभावका अवरोधहरूले सिर्जना गर्ने विभिन्न परिणामहरू हुन्। सत्यतालाई प्रेम गर्ने व्यक्ति आफ्नो जीवन, भविष्य, र नियतिलाई पन्छाउन, र ऊ सत्यता पछ्याउन र प्राप्त गर्न मात्र चाहन्छन्। ऊ पर्याप्त समय छैन भन्ने सोच्छ, ऊ आफ्नो कर्तव्य निभाउन नसकिएला र आफू सिद्ध बन्न नसकिएला भनेर डराउँछ, त्यसकारण ऊ सबथोक पन्छाउन सक्षम हुन्छ। उसको मानसिकता परमेश्वरतर्फ फर्कने र उहाँप्रति समर्पित हुने मात्र हुन्छ। ऊ कुनै पनि कठिनाइबाट विचलित हुँदैन, अनि नकारात्मक र कमजोर महसुस भएमा, परमेश्वरका वचनहरूका केही खण्डहरू पढेर स्वाभाविक रूपले यसको समाधान गर्छ। सत्यताको पछि नलाग्ने मानिसहरू समस्यामा पर्छन्, र तिनीहरूसँग जसरी नै सत्यताबारे सङ्गति गरे पनि, तिनीहरूले आफ्ना समस्या पूर्णरूपले सुल्झाउन सक्दैनन्। तिनीहरू क्षणिक रूपमा आफ्ना मन बद्लेर सत्यता स्विकार्न सक्षम भए पनि, पछि पहिलेकै कुरामा फर्कन्छन्, तसर्थ यस खालका व्यक्तिलाई सम्हाल्न एकदमै कठिन हुन्छ। तिनीहरूले सत्यताबारे केही नबुझ्ने होइन, के चाहिँ हो भने तिनीहरू आफ्ना हृदयमा सत्यतालाई मूल्यवान् ठान्दैनन् र स्वीकार गर्दैनन्। अन्तिममा, यसले गर्दा तिनीहरूले आफ्नो इच्छा, स्वार्थ, भविष्य, नियति र गन्तव्य पन्छाउन सक्दैनन्, जसले तिनीहरूलाई सधैँ बाधा दिन्छ। यदि कुनै व्यक्ति सत्यता स्विकार्न सक्षम छ भने, उसले सत्यता बुझेपछि भ्रष्ट स्वभावका यावत कुराहरू स्वाभाविक रूपमा हराएर जानेछन्, अनि उसले जीवन प्रवेश र कद प्राप्त गर्नेछ; उप्रान्त ऊ अनजान बच्चा हुनेछैन। जब व्यक्तिसँग कद हुन्छ, ऊ परिस्थितिहरू बुझ्न, थरिथरिका मानिसहरू छुट्याउन झन्-झन् सक्षम हुनेछ, र उसलाई कुनै व्यक्ति, घटना, वा वस्तुबाट अवरोध पुग्नेछैन। जो कोहीले भनेको वा गरेको कुनै कुराले ऊ प्रभावित हुनेछैन। ऊ शैतानका दुष्ट शक्तिहरूको हस्तक्षेप, वा झूटा अगुवा र ख्रीष्टविरोधीहरूका छल र बाधाहरूको अधीनमा हुनेछैन। यदि यसो भयो भने, के व्यक्तिको कद क्रमिक रूपले बढ्नेछैन र? व्यक्तिले जति बढी सत्यता बुझ्यो, उसको जीवन प्रगति त्यति नै छिटो हुनेछ, अनि उसलाई सफलतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यताको वास्तविकतामा प्रवेश गर्न सहज हुनेछ। जब तैँले जीवन प्रवेश प्राप्त गर्छस् र तेरो जीवन क्रमिक रूपमा वृद्धि भइरहेको हुन्छ, तब तेरो स्थिति झन्-झन् सामान्य हुँदै जानेछ। तँलाई पहिले बाधा र अवरोध पुऱ्याउन सकेका मानिस, घटना र परिस्थितिहरू तेरा लागि अब समस्या हुनेछैनन्। तँलाई तेरो कर्तव्य निर्वाह गर्न कुनै कठिनाइ हुनेछैन, अनि परमेश्वरसँग तेरो सम्बन्ध झन्-झन् सामान्य बन्दै जानेछ। जब तैँले परमेश्वरमा कसरी भर पर्ने, परमेश्वरको इच्छा कसरी खोज्ने, आफ्नो स्थान कुन हो, तैँले के गर्नु हुन्छ र के गर्नु हुँदैन, र कस्ता मामिलामा तैँले जिम्मेवारी लिनुपर्छ र कस्ता मामिलामा लिनु पर्दैन भन्ने जान्दछस्, तब के तेरो स्थिति झन्-झन् सामान्य बन्दै जानेछैन र? यस तरिकाले जिउँदा तँ थकित हुँदैनस्, हुन्छस् र? तँ थकित नहुने मात्र नभई, तैँले विशेष ढुक्क र खुसी महसुस गर्नेछस्। परिणामस्वरूप, के तेरो हृदयले प्रशस्त ज्योति पाउनेछैन र? तेरो मानसिकता सामान्य हुनेछ, तेरो भ्रष्ट स्वभाव कम प्रकट हुनेछ, अनि तँ परमेश्वरको उपस्थितिमा जिउन, सामान्य मानवतामा जिउन सक्षम हुनेछस्। मानिसहरूले तेरो मानसिक दृष्टिकोण देख्दा, तँमा ठूलो परिवर्तन आएको छ भन्ने सोच्छन्। तिनीहरू तँसँग सङ्गति गर्न इच्छुक हुनेछन्, मनमा शान्ति र खुसी महसुस गर्नेछन्, अनि तिनीहरूलाई फाइदा पनि पुग्नेछ। तेरो कद बढ्दै जाँदा, तेरो बोली र कार्यझन् उचित र नैतिक बन्दै जानेछन्। जब तैँले कमजोर र नकारात्मक मानिस देख्छस्, तँ तिनीहरूलाई रोक लगाएर वा भाषण दिएर होइन, तर सहयोग दिन र लाभ पुऱ्याउन आफ्नो वास्तविक अनुभव प्रयोग गरेर भरपुर सहयोग गर्न सक्षम हुनेछस्। यसरी, तँ परमेश्वरको घरमा केही गर्ने कोसिस मात्र गरिरहेको हुनेछैनस्, तँ आफ्नो जिम्मेवारी बहन गर्न, र अझ धेरै अर्थपूर्ण काम गर्न सक्ने उपयोगी व्यक्ति हुनेछस्। के परमेश्वर यस्तै व्यक्ति रुचाउनुहुन्छ होइन र? यदि तँ परमेश्वरले रुचाउने व्यक्ति होस् भने, के सबैले तँलाई रुचाउनेछैनन् र? (रुचाउनेछन्।) परमेश्वर किन यस्ता व्यक्तिसँग खुसी हुनुहुन्छ? किनकि तिनीहरू उहाँसामु व्यावहारिक काम गर्न सक्षम हुन्छन्, चापलुसीमा पर्दैनन्, व्यावहारिक मामिलाहरूमा संलग्न हुन्छन्, र आफ्ना साँचो अनुभवहरू बताएर अरूलाई सहयोग र अगुवाइ गर्न सक्षम हुन्छन्। तिनीहरू अरूलाई कुनै पनि समस्या सुल्झाउनमा मद्दत गर्न सक्षम हुन्छन्, अनि मण्डलीको काममा कठिनाइहरू आइपर्दा, सक्रिय रूपमा समस्याहरू समाधान गर्दै अगुवाइ गर्न सक्षम हुन्छन्। आफ्नो कर्तव्य वफादारीपूर्वक निर्वाह गर्नु भनेको यही हो। तिनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या सुल्झाउनमा मद्दत गर्न सक्षम हुन्छन्, यसले तिनीहरूमा जीवन प्रवेश छ भन्ने प्रमाणित गर्छ। तिनीहरूले अनेकौँ व्यावहारिक काम गर्न सक्ने तथ्यले के प्रमाणित गर्छ भने तिनीहरू सत्यता अभ्यास गर्छन्, र परमेश्वरको उपस्थितिमा जिउँछन्। तिनीहरूसँग सत्यताको वास्तविकता भएकोले तिनीहरूले अरूलाई पनि सत्यताको वास्तविकतामा प्रवेश गराउन सक्छन्। यदि तँसँग सत्यताको वास्तविकता छैन वा साँचो अनुभव छैन भने, के तँ अरूलाई परमेश्वरको उपस्थितिमा लैजान सक्छस्? यदि तँ आफै परमेश्वरको उपस्थितिमा जिउँदैनस् भने, तैँले अरूलाई उहाँको उपस्थितिमा लैजान सक्दैनस्। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यताका सिद्धान्तहरू बिलकुलै नखोजी प्रयास मात्र गर्छस्, र परमेश्वरलाई सन्तुष्ट पार्न अनिच्छुक हुन्छस् भने, तँ परमेश्वरको उपस्थितिमा जिइरहेको छैनस्। के परमेश्वरको उपस्थितिमा नजिउनेहरू उहाँको छानबिन स्विकार्न सक्षम हुन्छन्? के तिनीहरू परमेश्वरका जाँचहरू सामना गर्न सक्छन्? के तिनीहरू परीक्षाहरूमा अडिग रहन सक्छन्? (अहँ, तिनीहरू सक्दैनन्।) के यस्तो व्यक्तिले परमेश्वरको साक्षी दिन सक्छ? के तिनीहरूले उहाँको गवाही दिन सक्छन्? (अहँ, सक्दैनन्।) कस्तो व्यक्ति परमेश्वरको साक्षी दिन असक्षम हुन्छ? के त्यो परमेश्वरमा साँच्चिकै विश्वास गर्ने व्यक्ति हो? कम्तीमा पनि, तिनीहरू परमेश्वरका वचनहरूको सत्यतामा अझै प्रवेश गरिसकेका हुँदैनन्, र तिनीहरू अझै परमेश्वरका वचनहरूभन्दा बाहिर बाँच्छन्। जसले जीवन प्रवेशबिना परमेश्वरमा धेरै वर्ष विश्वास गरेको छ, जो आफ्नो अनुभवमा आधारित गवाहीबारे बोल्न सक्दैन, परमेश्वरको साक्षी दिन त झनै सक्दैन, जसले सफलतापूर्वक कसैलाई सुसमाचार फैलाउन सक्दैन—त्यस्तो व्यक्ति परमेश्वरको साक्षी भनेर बोलाइन लायक हुँदैन। त्यसैले अपरिपक्व कद भएको र जीवन प्रवेश नभएको व्यक्तिले कहिल्यै परमेश्वरको साक्षी दिन सक्दैन। यसको अन्तर्निहित अर्थ के हो भने यस प्रकारको व्यक्ति परमेश्वरको उपस्थितिमा बाँच्दैन। यदि तँ परमेश्वरको उपस्थितिमा बाँच्दैनस्, तँसँग जीवन प्रवेश छैन, र तँ परमेश्वरको साक्षी होइनस् भने, के उहाँले तँलाई उहाँको अनुयायीमध्ये एकको रूपमा स्वीकार गर्नुहुनेछ? गर्नुहुनेछैन। परमेश्वरले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्ने एउटा अवसर दिनुभएको छ, र तँ त्यो गर्न इच्छुक छस्, तर तैँले त्यत्तिका समय उहाँमा विश्वास गरेपछि पनि तेरो व्यवहारबाट उहाँले देख्नुभएको छ कि तैँले उहाँको साक्षी दिन सक्दैनस्। तँसँग साँचो अनुभवमा आधारित ज्ञान नभएको मात्र होइन, तँ तेरो धारणा र कल्पनाबमोजिम जिउँछस्, तँसँग सत्यताको वास्तविकता छैन, र तँ परमेश्वरको उपस्थितिमा बाँच्दैनस्। उहाँले तेरो परीक्षा लिनुभयो भने, तैँले त्यो सहन सक्दैनस्; उहाँले तँलाई काटछाँट र निराकरण गर्नुभयो भने, तैँले त्यो सहन सक्दैनस्; उहाँले तँलाई न्याय गर्नुभयो र सजाय दिनुभयो भने, तैँले आफ्नो जिम्मेवारी त्याग्छस् र खराब मुडमा प्रवेश गर्छस्, अनि उहाँले सोच्नुहुनेछः “यो व्यक्ति कसैले छुन आँट नगर्ने बाघ जस्तै रहेछ! म जहाँजहाँ मेरो काम गर्न वा बोल्न जान्छु, त्यस्तो व्यक्ति मेरो अनुसरण गर्न लायक हुँदैन, मसँग रहन लायक हुँदैन।” उहाँले किन यसो भन्नुहोला र? किनकि यस प्रकारको व्यक्तिले सत्यता बुझ्दैन, उसमा शुद्ध बुझाइ हुँदैन, उसँग साँचो अनुभवहरू हुँदैनन्, र उसले परमेश्वरको इच्छा बुझ्दैन। यदि तिनीहरूले परमेश्वरको इच्छा बुझ्दैनन् भने, तिनीहरू उहाँको अनुकूल हुन सक्छन् त? तिनीहरूले उहाँको इच्छा बुझ्दैनन् भने, त्यसको बोध गर्न सक्छन् त? के तिनीहरूले सत्यता स्विकार्न सक्छन्? त्यो भन्न गाह्रो छ, र यी सबै अज्ञात कुराहरू हुन्। त्यसोभए, यदि यस प्रकारको व्यक्ति परमेश्वरसँग थिएछ भने, तिनीहरूमा उहाँबारे हरेक कुरामा आशङ्का हुनेछ, र तिनीहरूले उहाँलाई बुझ्नेछैनन्, जसकारण परमेश्वरबारे निरन्तररूपमा थरिथरीका गलत बुझाइ, गुनासो, र मूल्याङ्कनहरू उत्पन्न हुनेछन्। अन्तिममा, यसले विद्रोह उत्पन्न गराउनेछ। परमेश्वरले उहाँविरुद्ध विद्रोह गर्ने कोही व्यक्ति चाहन सक्नुहुन्छ होला त? के परमेश्वरले तिनीहरूलाई उहाँको अनुयायी बन्न दिन सक्नुहुन्छ? सक्नुहुन्न। यदि तँ परमेश्वरले तँलाई उहाँको अनुयायीको रूपमा स्विकार्नुहोस भन्ने चाहन्छस् भने, तँ पहिला जीवन प्रवेशमा केन्द्रित हुनुपर्छ। सबैभन्दा पहिला तैँले आफैलाई बुझ्नुपर्छ, आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्नुपर्छ, आफ्नो कर्तव्यप्रति समर्पित हुन सक्ने क्षमता प्राप्त गर्नुपर्छ, र परमेश्वरको मापदण्डअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ—त्यो पहिलो कुरा हो। जीवन प्रवेशमा केन्द्रित हुनु भनेको आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि हो, आधारभूतरूपमा यो त्यसैको बारेमा हो। तैँले आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेशको पछि लाग्नुपर्छ, र जीवन प्रवेशमार्फत तैँले एक-एक थोपा गर्दै सत्यता बुझ्नु र प्राप्त गर्नुपर्छ। तैँले कद प्राप्त गरिञ्जेल यो क्रम जारी राख्नुपर्छ, र त्यस बिन्दुमा तेरो जीवन क्रमिकरूपमा वृद्धि हुन्छ र तैँले सत्यताको वास्तविक अनुभव पाउँछस्। त्यसपछि तैँले अभ्यासका सबैखाले सिद्धान्तहरूमा विज्ञता हासिल गर्नुपर्छ, ताकि तँ कुनै व्यक्ति, परिस्थिति, वा वस्तुबाट रोकावट वा बाधामा नपरी आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुन्छस्। यस तरिकाले, तँ क्रमिकरूपमा परमेश्वरको उपस्थितिमा बाँच्नेछस्। तँलाई कुनै व्यक्ति, परिस्थिति, वा वस्तुले बाधा पुऱ्याउनेछैन, अनि तैँले सत्यतासँगको अनुभव गर्नेछस्। तेरो अनुभव जति प्रचुर बन्दै जान्छ, तँ त्यति नै बढी परमेश्वरको साक्षी दिन सक्षम हुनेछस्, र जब तँ परमरेश्वरको साक्षी दिन बढी सक्षम हुन्छस्, तँ क्रमिकरूपमा उपयोगी व्यक्ति बन्नेछस्। जब तँ उपयोगी व्यक्ति बन्छस्, तैँले आफ्नो कर्तव्य परमेश्वरको घरमा स्विकार्य मापदण्डअनुसार गर्न सक्षम हुनेछस्, तँ सृष्टि गरिएका प्राणीको स्थानमा उभिन र परमेश्वरको व्यवस्थापन र योजनाबद्ध कार्यप्रति समर्पित हुन सक्षम हुनेछस्, र तँ अडिग भएर उभिन सक्षम हुनेछस्। यस खालको व्यक्ति मात्र स्विकार्य सृष्टि गरिएका प्राणी हो जसले परमेश्वरको प्रशंसा पाउँछ। त्यसपछि तँ परमेश्वरले तँलाई दिनुभएको सबै कुराको लायक हुनेछस्।

सत्यताको वास्तविकतामा प्रवेश गर्ने कडी के हो? तैँले सत्यताको अभ्यास कसरी गर्ने र मामलाहरूलाई कसरी नैतिकरूपले सम्हाल्ने त्यो कुरा सिक्नुपर्छ। जहिलेपनि कसम खानुको र तेरो इच्छा व्यक्त गर्नुको के काम? तँ जहिलेपनि कसम खान्छस् र आफ्नो इच्छा व्यक्त गर्छस्, तर पनि सत्यता अभ्यास गर्न सक्दैनस् भने, त्यसको कुनै काम छैन। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा देखापर्ने विविध समस्याहरू सुल्झाउन सत्यताको खोजी मार्फत, आफ्नो कर्तव्य निर्वाह गर्ने दौरानमा जीवन प्रवेश प्राप्त गर्नु, र आफ्नो कर्तव्यप्रति तेरो गलत मनोवृति उल्टाउनु नै सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा वास्तविक काम हो। जीवन प्रवेश पाउनुको मतलब के हो? जीवन प्रवेश पाउनुको मतलब तँसँग सत्यताको अनुभव र त्यसको ज्ञान छ, र त्यसलाई सहि ढङ्गले अभ्यास गर्न सक्षम छस्। अहिले तिमीहरू सबैसँग जीवन प्रवेश छ? के तिमीहरू परमेश्वरको गवाही दिन सक्षम छौ? तिमीहरू अझैपनि अधिकांश समय धर्मसिद्धान्तमै अल्झिरहेका हुँदैनौ र? के तिमीहरू साँच्चिकै सत्यताको ज्ञान वा अनुभव प्राप्त नगरि धर्मसिद्धान्तमा मात्र सीमित भइरहेका छैनौ र? यदि तैँले सत्यताको साँचो अनुभव र ज्ञान प्राप्त गर्न सकिनस् भने, तैँले परमेश्वरको साक्षी दिन सक्दैनस्। तेरो धेरैजसो ज्ञान अनुभूतिजनक छ। तँ दुविधात्मक छस्, दुई फरक चीजहरू छन् भने दुवै सहि हुन् कि भन्ठान्छस्; परमेश्वरले एउटा कुरा गर्नुभयो भने, तँलाई लाग्छ कि त्यहि नै सत्य हो, र उहाँले बेग्लै कुरा गर्नुभयो भने, त्यसलाई पनि सत्यता नै ठान्छस्। तँलाई परमेश्वरका सबै वचनहरू सत्यता हुन् जस्तो लाग्छ, र तैँले ती सुनेपछि आमेन् भन्छस् र तिनीहरूको प्रशंसा गर्छस्, तर तैँले ती वचनहरूसामु उभिएर तिनीहरूसँग आफ्नो तुलना गर्सक्दैनस्। तैँले कामहरू गर्दा, तँ दुविधामै हुन्छस्, अनि आफ्ना समस्याहरू सुल्झाउन कुन सत्यता प्रयोग गर्ने तँलाई थाहा हुँदैन। के तिमीहरूमध्ये धेरैजसो यही स्थितिमा छैनौ र? तिमीहरूले धर्मसिद्धान्त धेरै बुझ्ने र त्यसबारे धेरै बोल्न सक्ने भए पनि, त्यसलाई वास्तविक जीवनमा प्रयोग गर्न सक्दैनौ। तिमीहरूलाई सत्यता अभ्यास गर्ने तरिका अझै पनि थाहा छैन, न त परमेश्वरका वचनहरू आफ्ना वास्तविक जीवनमा लागू गर्न नै आउँछ, अनि जेसुकै आइपरे पनि, तिमीहरूलाई आफ्ना समस्याहरू सुल्झाउन कसरी सत्यताको खोजी गर्ने भन्ने थाहा छैन। तेरो कद अति सानो भएकाले गर्दा त्यसो भएको हो। जब तिमीहरूले परमेश्वरका वचनहरू आफ्ना वास्तविक जीवनमा कसरी अनुभव, अभ्यास, र लागू गर्ने, र केही आइपरेपछि समस्याहरू सुल्झाउन कसरी सत्यताको खोजी गर्ने भनी थाहा पाउँछौ, तब तिमीहरूको जीवन वृद्धि हुनेछ। सत्यता अभ्यास गर्ने विधि जान्नु भनेको तेरो जीवन वृद्धि भइरहेको सङ्केत हो। कुनैदिन, जब तँ सत्यतामार्फत समस्याहरू सुल्झाउन सक्षम हुनेछस्, जब तँसँग परमेश्वरबारे केही ज्ञान हुनेछ, जब तैँले परमेश्वरबारे आफ्नो सच्चा ज्ञान बाँडेर उहाँको काम, उहाँको पवित्र र धर्मी स्वभाव, र उहाँको सर्वशक्तिमानता र बुद्धिको साक्षी दिन सक्नेछस्, तब तँ साँचो रूपमा परमेश्वरको साक्षी दिन सक्षम हुनेछस्, र परमेश्वरका निम्ति प्रयोगयोग्य हुनेछस्। यदि तैँले धर्मसिद्धान्त धेरै बुझ्छस् र त्यसबारे दिनभरी बोल्न सक्छस्, तर आफ्नै समस्यासँग सम्बन्धित केही पनि सुल्झाउन सक्दैनस् वा कसरी समाधान गर्ने भन्ने थाहा छैन भने, तैँले बुझेका कुराहरू सत्यता होइनन्, ती केवल धर्मसिद्धान्तका अक्षर हुन् भन्ने प्रमाणित हुन्छ। तैँले केही धर्मसिद्धान्त धेरै यथार्थपरक रूपमा बोलिस् भने पनि, वास्तवमा, यो अनुभूतिजनक ज्ञान मात्र हो जसले अहिलेसम्म तर्कसंगतता पाइसकेको छैन। तेरो कुरा सुनेर मानिसहरू सुध्रिए पनि, तेरो जस्तै भावना राखे पनि, र तेरो ज्ञानले तिनीहरूमा केही नतिजा हासिल गर्न सके पनि, तँ त्यसबारे धेरै प्रष्टरूपमा बोल्न सक्षम हुँदैनस्, न त तैँले समस्याहरू पूर्णरूपले समाधान गर्न नै सक्छस्। यसले के प्रमाणित गर्छ भने तैँले जुन धर्मसिद्धान्तहरूबारे बोलेको छस् ती केवल अनुभूतिजनक ज्ञान हुन्। तैँले त्यो सत्यताको वास्तविकता हो भनेरभन्न मिल्दैन, तैँले आफू सत्यताको वास्तविकताभित्र प्रवेश गरेको छु भनेर त झनै भन्न मिल्दैन। अब तैँले धर्मसिद्धान्तको अक्षरबारे बोल्ने समस्याको समाधान कसरी गर्छस्? यसका लागि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा आफूमा प्रकट हुने विविध प्रकारका भ्रष्टतामाथि चिन्तन गर्नु, तैँले सामना गर्ने प्रत्येक समस्याको उत्पतिमाथि चिन्तन गर्नु, अनि सत्यता खोजी गर्नु, र तैँले प्रकट गरेका भ्रष्ट स्वभाव पूर्णरूपले सुल्झाउनका लागि परमेश्वरका वचनहरू प्रयोग गर्नु आवश्यक हुन्छ। तँबाट निस्कने कुरा अहङ्कार र आत्म-धार्मिकता वा घुमाउरोपन र छलीपन, स्वार्थ र कठोरपन वा लापर्बाही र परमेश्वरलाई ढाँट्ने काम जे भए पनि, तैँले यी भ्रष्ट स्वभावहरू प्रष्टरूपमा नदेखेसम्म त्यसमा चिन्तन गर्नुपर्छ। यसरी, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने काममा कस्ता समस्याहरू छन्, र तँ मुक्ति पाउनबाट कति टाढा छस् भन्ने कुरा जान्नेछस्। तैँले आफ्नो भ्रष्ट स्वभाव प्रष्टरूपमा देख्न सकिस् भने मात्र आफ्नो कर्तव्य निर्वाहमा कहाँ-कहाँ कठिनाइहरू र अवरोधहरू छन् भनी थाहा पाउन सक्छस्। त्यसपछि मात्र तैँले समस्याहरूलाई मुहानमै सुल्झाउन सक्षम हुनेछस्। उदाहरणका लागि, मानौँ तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुको जिम्मेवारी लिँदैनस्, बरु जहिलेपनि लापरवाहरूपमा काम गर्छस्, आफ्नो काममा क्षति पुऱ्याउँछस्, तर तँ आफ्नो छविको चिन्ता लिन्छस्, त्यसैले तँ खुलारूपमा तेरो स्थिति र कठिनाइहरूबारे सङ्गति गर्न, वा आत्म-विश्लेषण र आत्म-ज्ञान अभ्यास गर्न अनिच्छुक हुन्छस्, बरु जहिलेपनि परिस्थितिहरूलाई लापरवाहरूपले सामना गर्ने बहानाहरू खोज्छस्। तैँले यो समस्या कसरी सुल्झाउनुपर्छ? तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र यसो भन्दै आत्म-चिन्तन गर्नुपर्छः “हे परमेश्वर, यदि मैले यसरी बोलेँ भने त्यो केवल आफ्नो छवि जोगाउनका लागि मात्र हो। त्यो मेरो भ्रष्ट स्वभाव बोलेको हो। मैले त्यस्तो बोल्नु हुँदैन। म खुलस्त हुनैपर्छ, आफैलाई उदाङ्गो पार्नैपर्छ, र साँच्चै मनमा लागेका कुराहरू जोरले भन्नैपर्छ। म आफ्नै आडम्बरलाई बढावा दिनुभन्दा बरु लज्जा सहनेछु र छवि गुमाउनेछु। म परमेश्वरलाई मात्र सन्तुष्ट तुल्याउन चाहन्छु।” यसरी, आफैलाई त्यागेर अनि आफ्नो मनका साँचो विचारहरू जोरले व्यक्त गरेर, तँ इमानदार व्यक्ति बन्ने अभ्यास गरिरहेको हुन्छस्, र त्यसैगरी, तैँले आफ्नै इच्छाअनुसार काम गरिरहेको र आफ्नो छवि मात्र जोगाइरहेको हुँदैनस्। तँ परमेश्वरका वचनहरू व्यवहारमा लागू गर्न, परमेश्वरको इच्छाअनुसार सत्यता अभ्यास गर्न, गम्भीरतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न, र आफ्नो जिम्मेवारी पूर्णरूपले पूरा गर्न सक्षम हुन्छस्। यसर्थ, तँ सत्यता अभ्यास गरिरहेको र आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको मात्र होइन, तैँले परमेश्वरको घरको हित पनि कायम गरिरहेको हुन्छस्, र परमेश्वरको हृदय सन्तुष्ट हुन्छ। यो जीवन जिउने न्यायोचित र सम्मानजनक तरिका हो, जुन परमेश्वर र मानिस दुवै सामु प्रस्तुत गरिन लायक छ। यो त एकदम राम्रो कुरा हो! यो तरिका अभ्यास गर्न अलिक कठिन हुन्छ, तर यदि तेरा प्रयास र अभ्यास यो दिशामा उन्मुख छन् भने, तँ एक-दुई असफल भए पनि, अवश्य सफल हुनेछस्। अनि तेरो लागि सफलताको अर्थ के हुन्छ? यसको अर्थ जब तैँले सत्यताको अभ्यास गर्छस्, तैँले आफूलाई शैतानको बन्धनबाट मुक्त गर्ने यो कदम चाल्न सक्छस्, जुन कदमले तँलाई आफूलाई त्याग्‍न अनुमति दिन्छ। यसको अर्थ तैँले अभिमान र प्रतिष्ठालाई पन्छाउन, र स्वार्थी र कठोर कुराहरू गर्न छोड्न सक्छस्। जब तैँले यसलाई अभ्यासमा लगाउँछस्, तैँले मानिसहरूलाई तँ सत्यतालाई प्रेम गर्ने, सत्यताको तृष्णा गर्ने, धार्मिकता र ज्योतिको चाह गर्ने व्यक्ति होस् भनेर देखाउँछस्। तैँले सत्यता अभ्यास गरेर पाउने परिणाम यो हो। यसको साथै, तैँले शैतानलाई लज्जित पनि पार्छस्। शैतानले तँलाई भ्रष्ट तुल्यायो, यसले तँलाई आफ्‍नै लागि मात्र सोच्‍ने तुल्यायो, तँलाई स्वार्थी तुल्यायो, तँलाई आफ्‍नै प्रतिष्ठाको बारेमा सोच्‍ने तुल्यायो। तर अहिले, यी कुराहरूले अबउप्रान्त तँलाई बाँध्‍न सक्दैनन्, तँ ती कुराहरूबाट स्वतन्त्र भएको छस्, तँ अबउप्रान्त अभिमान, प्रतिष्ठा, वा आफ्‍नै व्यक्तिगत चासोहरूको नियन्त्रणमा छैनस्, र तैँले सत्यताको अभ्यास गर्छस्, यसरी शैतान पूर्णरूपमा लज्जित हुन्छ, र त्यसले केही पनि गर्न सक्दैन। अनि के तँ विजयी भएको हुँदैनस् र? के तँ विजयी भएपछि परमेश्‍वरप्रतिको तेरो गवाहीमा दह्रिलो भई खडा हुँदैनस् र? के तैँले असल लडाइँ लड्दैनस् र? जब तैँले असल लडाइँ लडेको हुन्छस्, तेरो हृदयमा शान्ति, र आनन्द, र सहजताको अनुभूति हुन्छ। यदि तँलाई जीवनमा प्रायजसो दोषी महसुस भइरहन्छ, तेरो हृदयले कुनै चैन पाउँदैन, तँमा शान्ति वा आनन्द छैन, र तँ प्रायजसो हरप्रकारका कुराहरूबारे चिन्ता र तनावमा परिरहन्छस् भने, यसले के देखाउँछ? यसले तँ सत्यता अभ्यास गर्दैनस्, र परमेश्‍वरप्रतिको गवाहीमा दह्रिलो भई खडा हुँदैनस् भन्‍ने मात्रै देखाउँछ। जब तँ शैतानको स्वभावमाझ जिउँछस्, तैँले प्रायजसो सत्यता अभ्यास गर्न नसक्‍ने, सत्यताप्रति पिठ्यूँ फर्काउने, र स्वार्थी तथा घृणित बन्‍ने सम्‍भावना हुन्छ; तैँले आफ्नै छवि, आफ्नै नाम र हैसियत, र आफ्नै हितहरू मात्रै कायम गर्छस्। सधैँ आफ्नै लागि मात्र जिउँदा त्यसले ठूलो पीडा ल्याउँछ। तँमा यति धेरै स्वार्थी इच्छा, जाल, बन्धन, आशङ्का, र झन्झटहरू छन् कि तँमा अलिकति पनि शान्ति वा आनन्द छैन। भ्रष्ट देहको लागि जिउनु भनेकै चरम रूपमा कष्ट भोग्‍नु हो। सत्यताको पछि लाग्नेहरू फरक हुन्छन्। तिनीहरू जति बढी सत्यता बुझ्छन्, त्यति नै बढी स्वतन्त्र र मुक्त बन्छन्; जति बढी सत्यता अभ्यास गर्छन्, उति बढी शान्ति र खुसी प्राप्त गर्छन्। जब तिनीहरूले सत्यता प्राप्त गर्छन्, तिनीहरू पूर्णरूपमा प्रकाशमा बाँच्नेछन्, परमेश्वरका आशिषहरूको आनन्द लिनेछन्, र तिनीहरूमा बिलकुलै पीडा हुनेछैन।

अहिले, तिमीहरू सबैजना बढीजसो कुन स्थितिमा जिउँछौ? बढीजसो सकारात्मक स्थितिमा जिउँछौ कि नकारात्मक स्थितिमा? (हामी प्राय: नकारात्मक स्थितिमा जिउँछौँ।) सधैँ नकारात्मक स्थितिमा जिउने व्यक्तिका लागि आफ्नो जिम्मेवारीहरू त्याग नगरी आफ्नो कर्तव्य निर्वाह गर्न निरन्तर लागिरहनु कुनै सामान्य कुरा होइन! तिमीहरू सबैजना प्राय: निष्क्रिय हुन्छौ, तर यसको समाधान कसरी गर्ने तिमीहरूलाई थाहा छैन। कहिलेकाहीँ, तिमीहरूले आफ्ना निष्क्रिय स्थितिहरू समाधान गर्न ठूलो प्रयत्न गर्नुपर्ने हुन्छ, र परिस्थितिहरू तिमीहरूले चाहेजस्तो नभइदिँदा, तिमीहरू फेरि एकपटक निष्क्रिय बन्छौ। तँ सधैँ तेरो निष्क्रियतामै लडीबुडी गरिरहन्छस्, र तैँले चाहेर पनि उभिन सक्दैनस्; तैँले कुनै पनि कर्तव्य राम्ररी गर्न सक्दैनस्, र तँ यति अयोग्य छस् कि तँलाई कसैले मद्दत गर्न सक्दैन। यसरी जिउनु थकाइलाग्दो हुँदैन र? (हुन्छ नि।) त्यसोभए तैँले निष्क्रियताको समस्यालाई कसरी पूर्णरूपमा निराकरण गर्छस्? तैँले सत्यताका केही पक्षहरू स्पष्टरूपमा बुझ्नुपर्छ। तैँले जति नै धेरै धर्मसिद्धान्तबारे बोल्न सकेता पनि त्यसले तेरो समस्या सुल्झाउँदैन। कुनै व्यक्तिले साँचो रूपमा सत्यता बुझेपछि, र उसले सामना गर्ने जुनसुकै निष्क्रियता वा कठिनाइ समाधान गर्न सक्षम भएपछि, उसका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु त्यति धेरै सकसपूर्ण हुनेछैन। सत्यता प्राप्त गरेर मात्र स्वतन्त्र र मुक्त हुन सकिन्छ। अहिले, तिमीहरूमा सबैभन्दा कमी भएको कुरा नै सत्यता हो, तर सत्यता रातारात प्राप्त गर्न सकिने कुरा होइन। तँसँग परमेश्वरको कामबारे साँचो ज्ञान हुनुपर्छ, र मानिसका भ्रष्ट स्वभावहरू प्रष्टरूपमा देख्न तँ सक्षम हुनुपर्छ। यसको लागि समय लाग्छ, र त्यो बुझ्न तैँले सत्यताको खोजी गर्नुपर्छ। तिमीहरू सबैले भ्रष्ट स्वभावमा जिउनुको पीडा महसुस गर्न सक्छौ, तिमीहरूमा त्यसबारे गहन बुझाइ छ। तिमीहरूले सत्यता बुझेपछि, सत्यता अभ्यास गर्न र सत्यताका सिद्धान्तहरू हेर्न सक्षम भएपछि आफ्नो हृदयमा पैदा हुने शान्ति र खुसीको अनुभव गरेका छौ? के तिमीहरूसँग यस्ता धेरै अनुभवहरू छन्? यदि साँच्चिकै यी अनुभवहरू प्रचुर छन् भने, त्यसको मतलब तिमीहरूमा पूर्णरूपले सत्यताको वास्तविकता छ। तिमीहरूले प्रकाशमा र परमेश्वरको उपस्थितिमा बाँचेको अनुभव गर्नेछौ। यदि तिमीहरूले बेलाबेलामा थोरै भएपनि परमेश्वरको अन्तर्दृष्टि पायौ भने, तिमीहरू धेरै खुशी हुनेछौ। यदि तिमीहरू बेलाबेलामा मानिसको सट्टामा परमेश्वरमा भर पर्छौ, र परमेश्वरले तिमीहरूलाई सफलताको मार्गस्वरूप तिमीहरूले नसोचेको अलिकति प्रकाश दिनुभयो, अनि समस्याको निराकरण गरियो भने, तिमीहरू धेरै खुशी हुनेछौ। बारम्बार यी अनुभवहरू पाउनुले मात्र पर्याप्त हुँदैन; तिमीहरूले अझै सत्यताप्रति प्रयास जारी राख्नुपर्छ। एकातिर, तिमीहरूले दर्शनहरूबारे सत्यता बुझ्नुपर्छ, परमेश्वरको कामको पूर्णरूपमा प्रष्ट बुझाइ हुनुपर्छ, र परमेश्वरको स्वभावबारे साँच्चिकै ज्ञान हुनुपर्छ। यस तरिकाले, जब आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा फेरि पनि कठिनाइहरू सामना गर्छौ, कम्तीमा यसले धारणाहरू जन्माउनेछैन, न त त्यसले अवज्ञा नै उत्पन्न गराउँछ। यो परिस्थितिहरूको एउटा पक्ष हो। अतिरिक्तरूपमा, तिमीहरूले जीवन प्रवेश तिर प्रयास गर्नुपर्छ। जुन सत्यता अभ्यास गरिनुपर्छ र जसमा प्रवेश गर्नुपर्छ तिनीहरूको सारांशीकरण गरिनुपर्छ, जस्तैः आफैलाई चिन्ने, इमानदार व्यक्ति बन्ने, परमेश्वरप्रति समर्पित हुने, परमेश्वरमा कसरी भर पर्ने, वफादारपूर्ण तरिकाले कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने, थरिथरीका मानिसहरू कसरी छुट्याउने, तैँले शैतानलाई कस्तो व्यवहार गर्ने, तँसँग कस्तो बुद्धि हुनुपर्छ, इत्यादि। सत्यताका यी विभिन्न पक्षहरूको अनुभव गरेर अनि त्यसमा प्रवेश गरेर मात्र तैँले परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न, र सिद्ध व्यक्ति बन्न सक्छस्। अहिले तिमीहरू सत्यताको वास्तविकताका कतिवटा पक्षहरूमा प्रवेश गरेका छौ? सत्यताको वास्तविकताका कुन-कुन पक्षमा तिमीहरू अझै प्रवेश गरेका छैनौ? तिमीहरूले यो तथ्यलाई मनमा सम्झिराख्नुपर्छ। जब तिमीहरू अभ्याससम्बन्धी थुप्रै सत्यतामा प्रवेश गरेका हुन्छौ, तिमीहरूको जीवन पहिल्यै वृद्धि भइसकेको हुनेछ, र तिमीहरूसँग साँच्चिकै कद हुनेछ। जब तिमीहरूको कद निश्चित स्तरसम्म बढ्छ, तब तिमीहरू परमेश्वरद्वारा सिद्ध पारिने मार्गमा प्रवेश गर्न सक्षम हुनेछौ, अनि तिमीहरूसँग साँचो कद हुनेछ। यो हतार गरेर हुने कुरा होइन—एकै गासमा सिङ्गै हात्ती निल्न सकिन्न। अहिले, तैँले सुल्झाउनुपर्ने सबैभन्दा निर्णायक र महत्त्वपूर्ण कुरा के हो? त्यो के हो भने तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, र कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश प्राप्त गर्नुपर्छ। यो नै कडी हो। तैँले भएभरको प्रयास गरेर मात्र हुँदैन—आफ्नो मन त्यसैमा लगाउनुपर्छ। तैँले सृष्टि गरिएका प्राणीको कर्तव्य निर्वाह गर्दा परमेश्वरले तैँले आफ्नो श्रम बेचोस् भन्ने चाहनुहुन्न, बरु तैँले उहाँलाई तेरो इमानदारी देखाएको हेर्न चाहनुहुन्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा, तँसँग जीवन प्रवेश हुनुपर्छ। जीवन प्रवेश भएपछि मात्र तँसँग जीवन हुनेछ, तँसँग जीवन भएपछि मात्र तेरो वृद्धि हुनेछ, र जीवन भएकाहरूसँग मात्र सत्यता हुन्छ।

अगष्ट १०, २०१५

अघिल्लो: सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, मामलाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

अर्को: सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्