सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, मामलाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

अहिले, परमेश्‍वरमा पूर्ण हृदयले विश्‍वास गर्नेहरू लगनसाथ आफ्नो कर्तव्य निर्वाह गर्ने कुरामा केन्द्रित छन् र तिनीहरू आफ्नो कर्तव्य राम्ररी निभाउन चाहन्छन्। यद्यपि, हरेकसँग भ्रष्ट स्वभाव हुने भएकोले र तिनीहरू प्रत्येकका आ-आफ्नै कठिनााइ र कमीहरू हुने हुँदा, तिनीहरूलाई प्रयाप्त रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न कठिन हुन्छ—त्यसको निम्ति तिनीहरूले सत्यको खोजी र कडा परिश्रम गर्नु आवश्यक पर्छ। कठिनाइहरू आउँदा हरेकले सँगै प्रार्थना गर्नुपर्छ र आफ्ना समस्याहरू समाधान गर्नको निम्ति संयुक्त रूपमा सत्यता खोज्नुपर्छ। यो हरेक व्यक्तिको जिम्मेवारी र दायित्व हो। हरेक व्यक्तिसँग आफ्नो कर्तव्य राम्रोसँग निर्वााह गर्ने जिम्मेवारी र दायित्व हुन्छ। यो कुनै एक व्यक्ति विशेषको जिम्मेवारी नभई हरेकको संयुक्त जिम्मेवारी हो। त्यसैले सबैले एकसाथ कडा मेहनत गर्नुपर्छ र समाञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न सिक्नुपर्छ। आफैँलाई सत्यताले सुसज्जित गर्नुबाहेक, हरेकले आफैँलाई व्यावसायिक ज्ञानले पनि सुसज्जित गर्नुपर्छ, आफ्नो सामर्थ्यअनुसार काम पनि गर्नुपर्छ, केही व्यावहारिक कुराहरू पनि सिक्नुपर्छ, एकअर्काबाट सिक्दै पनि जानुपर्छ र एकअर्कालाई मद्दत गरेर आफ्ना कमजोरीहरू पनि सुधार गर्नुपर्छ। यसो गर्नाले तिनीहरूले आफ्ना कर्तव्यहरूमा झन्झन राम्रा नतिजाहरू प्राप्त गर्दै जानेछन्।

तिमीहरूलाई के लाग्छ, किन अविश्‍वासीहरूलाई कुनै पनि काम गर्न यति कठिन हुन्छ र किन तिनीहरूका अवरोधहरू यति ठूला हुन्छन्? किनकि मानिसहरूसँग शैतानी स्वभावहरू हुन्छन्; तिनीहरू सबैजना भ्रष्ट स्वभावहरूअनुसार जिउँछन्, तडकभडक देखाउँछन्, अन्तिम निर्णय आफै गर्न चाहन्छन् र तिनीहरूसँग सामञ्जस्यपूर्ण सहकार्य गर्ने कुनै उपाय नै हुँदैन। त्यसैले, तिनीहरूलाई कुनै पनि काम सफलतासाथ सम्‍पन्‍न गर्न निकै कठिन हुन्छ। कुनै काम आधा गरेपछि तिनीहरू कुरा नमिलेर अलग हुन्छन् र सम्बन्ध तोड्छन्। असल मानवता भएकाहरू अलि अगाडिसम्म जान सक्षम हुन्छन्। सत्यता नभएकाहरू ढिलोचाँडो लड्नेछन्। यदि तिमीहरूले यो कुरा स्पष्ट देख्न सक्छौ भने, तिमीहरूले सत्यता स्विकार्न र सत्यतामा समर्पित हुन अनि अरूसँग सामञ्जस्यपूर्ण सहकार्य गर्न सिक्नुपर्छ। मानिसहरूले किन सामञ्जस्यपूर्ण सहकार्य गर्दैनन्? (किनकि तिनीहरू अहङ्कारी र आत्मधर्मी हुन्छन्। तिनीहरू सधैँ आफू सही छौँ भन्ने सोच्छन् र अरूका सल्लाहहरू स्विकार्न अनिच्छुक हुन्छन्।) अहङ्कार र आत्मधार्मिकता दुवै भ्रष्ट स्वभावका हिस्सा हुन्। के यो समस्या समाधान गर्न सजिलो छ? के कसैले यसलाई समाधान गर्न सक्छ? अविश्‍वासीहरू त यस किसिमको समस्या समाधान गर्न पूरै असक्षम हुन्छन्। किन? किनकि तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू शैतानी दर्शनहरू, अनि आफ्नै इच्छा, चाल, युक्ति, छल र आफ्नै शैतानी स्वभावहरूअनुसार जिउँछन्। तिनीहरू सत्यता स्विकार्दैनन्, सत्यता अभ्यास त झन् कम मात्र गर्छन्, अनि तिनीहरू आफैलाई जान्न, आफैलाई त्याग्न वा सत्यप्रति आफूलाई समर्पण गर्न खोज्दै खोज्दैनन्। तिनीहरूले यी सकारात्मक कुरा र सही मार्गहरूबारे बिल्कुलै केही बोल्दैनन्। तिनीहरूले परमेश्‍वर सत्य हुनुहुन्छ भनेर कहिल्यै स्विकार्दैनन् र तिनीहरूले उहाँमाथि विश्‍वास पनि कहिल्यै गर्नेछैनन्, त्यसैले तिनीहरूले जुनसुकै करियर अपनाए पनि र तिनीहरूले जेसुकै गरे पनि, तिनीहरू सधैँ असफल हुन्छन् र सधैँ आफूमाथि विनाश ल्याउँछन्। परमेश्‍वरको घरमा परिस्थिति फरक हुन्छ। परमेश्‍वरको घरमा परमेश्‍वरको शासन चल्छ; उहाँका वचनहरू र सत्यताको शासन चल्छ। प्रत्येक दिन, परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँका वचनहरू खान्छन् र पिउँछन्, र सत्यताबारे सङ्गति गर्छन्। तिनीहरूका हृदयहरू बढ्दो गतिमा उज्यालोले भरिँदै जान्छन् र तिनीहरू सत्यताप्रति लागिपर्न र सत्यता प्राप्त गर्न इच्छुक हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरू मिलेर सँगै काम गर्दा, किन अविश्‍वासीहरूभन्दा बढी प्रभावकारी हुन्छन्? कम्तीमा पनि तिनीहरूसँग एउटा जग हुन्छ: तिनीहरू सबैजना परमेश्‍वरमा सम्पूर्ण हृदयले विश्‍वास गर्ने मानिसहरू हुन्, र परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा तिनीहरू सबैजना आफ्ना सोच र प्रयासमा एक हुन्छन्। यसअतिरिक्त, तिनीहरूसँग साझा विश्‍वास र साझा लक्ष्यहरू छन् र तिनीहरूका आत्माहरू अन्तरसम्बन्धित छन्। चाहे तिनीहरू उत्तर, दक्षिण वा मध्य फाँटका हुन्, चाहे तिनीहरूका क्षेत्रीय भाषाहरू फरक परून्, तर जब तिनीहरूले विश्‍वासबारे सङ्गति गर्दै आफ्ना अनुभवहरू बाँडचुँड गर्छन्, तिनीहरू एकअर्कासँग चाँडै परिचित हुन्छन्, यस्तो लाग्छ मानौँ तिनीहरूले एकअर्कालाई लामो समयदेखि चिनेका छन्। तिनीहरूले आफूहरू एकै परिवारका सदस्यहरू भएको महसुस गर्छन्। अझ भन्‍ने हो भने, तिनीहरूमध्ये व्यावहारिक रूपमा मामिलाहरू नसम्हाल्नेहरू, सधैँ गुप्त योजना बनाउने र धोका दिनेहरू, छल गर्नेहरू, सधैँ अहङ्कारी र आत्मधर्मी रहनेहरू, आफ्नै इच्छा पछ्याउनेहरू, र अलिकति पनि सत्य नस्विकार्नेहरू परमेश्‍वरको घरमा खडा हुन सक्दैनन्। तिनीहरू स्वाभाविक रूपमै निष्कासित हुन्छन् र फालिन्छन्, किनकि परमेश्‍वरको घर सत्यद्वारा शासित छ। यो सबै स्पष्ट छ र पहिले नै साँचो साबित भएको छ। तेरो उमेर, लिङ्ग वा तेरो सीपको तह जे-जस्तो भए पनि, यदि तैँले “म मेरो विशेषज्ञताको क्षेत्र बुझ्छु, त्यसैले मैले भनेको कुरा सही छ। म तिमीहरूको कुरा सुन्दिनँ!” भनेर भन्छस् भने, तँप्रति सबैको कस्तो दृष्टिकोण हुनेछ? के तिनीहरूले यस किसिमको व्यक्तिको प्रशंसा गर्नेछन्? (अहँ, तिनीहरूले गर्नेछैनन्।) के यस किसिमको व्यक्तिले कर्तव्य राम्रोसँग निभाउन र दृढ रहन सक्छ? (अहँ, सक्दैन।) यस्ताहरू निष्कासित हुन सजिलो छ। केही मानिसहरू बोल्नमा खप्पिस हुन्छन् र तिनीहरूको भाषण सुन्न विशेष रमाइलो हुन्छ, तर तिनीहरूले कुनै पनि व्यावहारिक कुराहरू गर्दैनन्। सुरुमा त मानिसहरूले तिनीहरूप्रति राम्रै भावना राख्छन्, तर पछि के हुन्छ? सबैले तिनहरूको सत्यतथ्य देख्नेछन् र भन्नेछन् “यो व्यक्ति बाहिरबाट राम्ररी बोल्छ तर व्यावहारिक कुरा केही पनि गर्दैन। एक नजर लाउँदा नै यस्ताहरूले सत्यलाई प्रेम गर्दैनन् भनेर भन्न सकिन्छ। तिनीहरूले देखावटी गर्ने र आफैलाई राम्रोसित प्रस्तुत गर्ने कुरामा ध्यान दिन्छन्। तिनीहरूले कहिल्यै पनि सत्यबारे सङ्गति गरेका वा आफ्नो बारेमा मनन गरेका छैनन्। तिनीहरू अविश्‍वासीहरूजस्तै छन्, तिनीहरू गैरविश्‍वासीहरू हुन्।” यस्तो देखेपछि, तिनीहरूसँग बोल्नु र काम गर्नु रचनात्मक वा उपयोगी हुँदैन भन्ने सोच्दै, मानिसहरू तिनीहरूदेखि वाक्क हुन सुरु गर्नेछन्। यस किसिमको व्यक्तिले अरूलाई दुःखी र आत्मा स्वतन्त्र नभएको महसुस गराउँछ र तिनीहरूले बिस्तारै आफैँलाई यस व्यक्तिबाट अलग पार्न सुरु गर्छन्। जब यस्तो व्यक्तिले आफूलाई अरूहरूले त्यागेको र आफू पूरै एक्लो भएको देख्छ, तब उसले आफ्नो बारेमा मनन गर्न थाल्नेछ। तब मात्र उसलाई महसुस हुनेछ, “व्यक्तिले सत्यता नपछ्याउनु अस्वीकार्य छ। क्षुद्र चाल, गुण र वरदानहरू वा आफ्नै अनुभव, पाठ, जीवन जिउने दर्शन र चालहरूमा निर्भर हुने कार्यले परमेश्‍वरको घरमा काम गर्दैन। निष्कासित हुनबाट जोगिन मैले सत्य स्विकार्नुपर्छ र सत्य पछ्याउनुपर्छ!” यदि यस्तो व्यक्तिले साँच्चै पश्‍चाताप गर्छ र आफूलाई परिवर्तन गर्छ भने, उसले मुक्ति पाउने आशाको त्यान्द्रो अझै बाँकी नै हुन्छ।

परमेश्‍वरको घरमा, अधिकांश मानिहरूले कस्तो किसिमको व्यक्ति मन पराउँछन्? (तिनीहरूले सत्य पछ्याउने, सत्य स्विकार्न सक्ने र सत्यको वास्तविकता भएका मानिसहरू मन पराउँछन्।) सत्यको वास्तविकता भएका मानिसहरूले त्यो कसरी देखाउँछन्? (तिनीहरू बढी इमान्दार हुन्छन्।) तिनीहरूसँग इमान्दार मानवता हुन्छ। अरू केही? (तिनीहरू बढी श्रद्धालु हुन्छन्।) बाहिरबाट तिनीहरू बढी श्रद्धालु र उचित जीवन जिउँछन् र तिनीहरूलाई देख्दा अरूलाई फाइदा पुग्छ। अरू केही? (तिनीहरू सत्य अभ्यास गर्न सक्षम हुन्छन् र तिनीहरू सिद्धान्तअनुसार काम गर्छन्।) तिनीहरूले त्यो कुरा देखाउने केही व्यावहारिक तरिकारहरू यिनै हुन्। सिद्धान्तअनुसार काम गर्ने कुरामा केके कुरा समावेश हुन्छन्? यसका विस्तृत विवरणहरू के-कस्ता हुन्छन्? उदाहरणको लागि, मानिसहरूसँग व्यवहार गर्दा, चाहे तिनीहरू ओहोदा भएका व्यक्ति हुन् वा नहुन्, वा चाहे तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू हुन्, वा अगुवा वा सेवकहरू हुन्, त्यस्तो बेला कस्ता सिद्धान्तहरू पालना गरिनुपर्छ? निस्सन्देह, तिनीहरूलाई परमेश्‍वरको वचन र सत्यअनुसार व्यवहार गरिनु नै उचित र मनासिब हुन्छ। तँ एउटासँग नजिकिने र अर्कोबाट टाढिने, अनि निश्छलहरूबाट फाइदा उठाउने तर प्रभावशालीहरूको चाप्लुसी गर्ने वा द्वन्द्व सृजना गर्न गुटहरू गठन गर्ने गर्दै, भावना वा व्यक्तिगत प्राथमिकताहरूमा भर पर्नु कदापि हुँदैन। यसबाहेक, तैँले सत्य पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्नेहरूलाई आक्रमण वा भेदभाव गर्ने काम गर्नु हुँदैन। तैँले मानिसहरूलाई सत्यका सिद्धान्तहरूबमोजिम व्यवहार गर्नुपर्छ। मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने सिद्धान्त यही हो र यही नै अरूसँग कसरी उठबस गर्ने भन्ने सिद्धान्त हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सबै मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नुपर्छ। मानिसहरू उपयोगी हुँदा तिनीहरूको मन जित्ने र तिनीहरू उपयोगी नहुँदा तिनीहरूविरुद्ध भेदभाव गर्ने—के तैँले यही सिद्धान्तबमोजिम मानिसहरूसँग व्यवहार गर्नुपर्ने हो? यो त अविश्‍वासीहरूको सांसारिक दर्शन, शैतानी स्वभाव र शैतानी तर्क हो। परमेश्‍वरको घरमा, मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्‍ने सिद्धान्तहरू केके हुन्? तैँले सबैलाई सत्यका सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ र तैँले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग निष्पक्ष व्यवहार गर्नुपर्छ। तिनीहरूसँग कसरी निष्पक्ष व्यवहार गर्ने? यो कुरा परमेश्‍वरको वचनमा आधारित हुनुपर्छ, परमेश्‍वरले मुक्ति दिनुहुने र निष्कासित गर्नुहुने मानिसहरू, अनि उहाँले मन पराउनुहुने र घृणा गर्नुहुने मानिसहरूमा आधारित हुनुपर्छ; सत्यका सिद्धान्तहरू यिनै हुन्। दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेमिलो सहयोग र आपसी स्वीकार र धैर्यसाथ व्यवहार गरिनुपर्छ। दुष्कर्मी र अविश्‍वासीहरूलाई पहिचान गरी छुट्याइनुपर्छ र टाढा राखिनुपर्छ। यसो गरियो भने मात्र तैँले मानिसहरूसँग सिद्धान्तहरूबमोजिम व्यवहार गरिरहेको हुन्छस्। हरेक दाजुभाइ-दिदीबहिनीसँग सबलता र कमजोरीहरू हुन्छन् अनि तिनीहरू सबैसँग भ्रष्ट स्वभावहरू हुन्छन्, त्यसैले तिनीहरू सँगै हुँदा, तिनीहरूले एकअर्कालाई प्रेमसाथ सहयोग गर्नुपर्छ, तिनीहरू स्विकार्ने प्रवृत्तिका र धैर्यवान्‌ हुनुपर्छ अनि एकदमै आलोचना गर्ने वा कठोर हुनुहुँदैन। विशेष गरी, परमेश्‍वरमा विश्‍वास गरेको लामो समय नभएका वा कलिलो उमेरका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयाप्त हेरचाह र धैर्यसाथ मदत गर्नुपर्छ। यदि तिनीहरूसँग भ्रष्ट प्रकटीकरणहरू छन् भने, तिनीहरूसँग सत्यता सङ्गति गर् र तिनीहरूलाई धैर्यसाथ प्रोत्साहन दे। तिनीहरूलाई त्यतिकै निन्दा नगर् वा तिनीहरूका मामिलाहरू बढाइचढाइ नगर् किनकि त्यो कठोर कुरा हो। यदि दुष्ट कार्यहरू गर्ने झुटो अगुवा वा ख्रीष्टविरोधीको बारेमा थाहा पाउँदा तँ डराउँछस् वा लुक्छस् र त्यो कुरा खुलासा गर्न डराउँछस्; तर जब तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरूसँग केही भ्रष्ट प्रकटीकरणहरू भएको महसुस गर्छस्, तब तँ तिनीहरूमाथि झुन्डिँदै तिललाई पहाड बनाउँछस् भने, यो कस्तो किसिमको व्यवहार हो? यसो गर्ने मानिसहरू घिनलाग्दा हुन्छन् र तिनीहरूले अरूको फाइदा उठाउँछन्। यो अरूलाई व्यवहार गर्ने उचित तरिका होइन; यसो गरेर, तँ व्यक्तिगत प्राथमिकताअनुसार व्यवहार गरिरहेको हुन्छस्। यो भ्रष्ट, शैतानी स्वभाव हो, यो एक अपराध हो! मानिसले गर्ने सबै कुरा परमेश्‍वरले देख्नुहुन्छ। तैँले जे गर्छस् र हृदयमा जे-जसरी सोच्छस्, त्यो सबै परमेश्‍वरले हेरिरहनुभएको हुन्छ। तैँले जेसुकै गरे पनि सिद्धान्तहरू बुझ्नु आवश्यक छ। सर्वप्रथम, तैँले सत्य बुझ्नुपर्छ। जब तँ सत्य बुझ्छस्, तँलाई परमेश्‍वरको इच्छा बुझ्न सजिलो हुन्छ र परमेश्‍वरले मानिसहरूलाई अरूसित जे-जसरी व्यवहार गर्नुपर्ने भनेर सिद्धान्त तोक्‍नुभएको छ ती सिद्धान्तहरू तैँले बुझ्नेछस्। अनि, तैँले मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ भनेर जान्नेछस् र तिनीहरूलाई परमेश्‍वरको इच्छाबमोजिम व्यवहार गर्न सक्षम हुनेछस्। यदि तँ सत्य बुझ्दैनस् भने, तैँले निश्‍चय नै परमेश्‍वरको इच्छा बुझ्न सक्‍नेछैनस् र तैँले अरूसँग सिद्धान्तमा रहेर व्यवहार गर्नेछैनस्। तैँले अरूसँग कसरी व्यवहार गर्नुपर्छ त्यो परमेश्‍वरको वचनमा स्पष्ट देखाइएको वा सङ्केत गरिएको छ; परमेश्‍वरले जस्तो आचरणले मानवजातिसँग व्यवहार गर्नुहुन्छ मानिसहरूले एकअर्कासित गर्ने व्यवहारमा पनि त्यही आचरण अपनाउनुपर्छ। परमेश्‍वरले प्रत्येक व्यक्तिसँग कस्तो व्यवहार गर्नुहुन्छ? कतिपय मानिसहरू अपरिपक्व हैसियतका हुन्छन्; वा जवान हुन्छन्; वा थोरै समयदेखि मात्र परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्; वा प्रकृति सारअनुसार खराब हुँदैनन्, द्वेषपूर्ण हुँदैनन्, तर अलि अज्ञानी वा कम क्षमताका हुन्छन्। अथवा तिनीहरू अत्यन्तै धेरै बन्धनहरूमा परेका हुन्छन्, र तिनीहरूले सत्यतालाई बुझ्‍न बाँकी नै हुन्छ, तिनीहरूले जीवन प्रवेश पाउन बाँकी नै हुन्छ, त्यसैले तिनीहरू मूर्ख कामहरू वा अज्ञानी कार्यहरू गर्नबाट जोगिन सक्दैनन्। तर मानिसहरूले मूर्खता हस्तान्तरण गर्ने कार्यमा नै परमेश्‍वर अल्झिरहनुहुन्‍न; उहाँले तिनीहरूको हृदय मात्र हेर्नुहुन्छ। यदि तिनीहरूले सत्यताको खोजी गर्ने संकल्‍प गरेका छन् भने, तिनीहरू सही छन्, र जब तिनीहरूको उद्देश्य यही हो भने, परमेश्‍वरले तिनीहरूलाई अवलोकन गरिरहनुभएको हुन्छ, तिनीहरूलाई पर्खिरहनुभएको हुन्छ, र तिनीहरूलाई समय र मौकाहरू दिँदै प्रवेश गर्न अनुमति दिनुहुन्छ। यो होइन कि परमेश्‍वरले तिनीहरूलाई एउटै अपराधको लागि मेटाउनुहुन्छ। त्यो त प्रायः मानिसहरूले गर्ने कुरा हो; परमेश्‍वरले मानिसहरूलाई त्यसरी व्यवहार गर्नुहुन्‍न। यदि परमेश्‍वर मानिसहरूलाई त्यसरी व्यवहार गर्नुहुन्‍न भने, किन मानिसहरूले चाहिँ अरूलाई त्यसरी व्यवहार गर्छन्? के त्यसले तिनीहरूको भ्रष्ट स्वभावलाई देखाउँदैन? तिनीहरूका भ्रष्ट स्वभाव ठीक यस्तै हुन्छ। परमेश्‍वरले अज्ञानी र मूर्ख मानिसहरूसँग कसरी व्यवहार गर्नुहुन्छ, उहाँले अपरिपक्व कद भएका मानिसहरूसित कस्तो व्यवहार गर्नुहुन्छ, उहाँले मानवजातिको भ्रष्ट स्वभावको सामान्य प्रकटीकरणहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ, र दुर्व्यवहार गर्नेहरूलाई कसरी व्यवहार गर्नुहुन्छ त्यो तैँले हेर्नुपर्छ। परमेश्‍वरले फरक-फरक मानिसहरूसित फरक-फरक तरिकाले व्यवहार गर्नुहुन्छ, र उहाँसँग विभिन्न मानिसहरूको असङ्ख्य अवस्थाहरूको व्यवस्थापन गर्ने विभिन्न तरिकाहरू पनि छन्। तैँले यी सत्यताहरूलाई बुझ्नुपर्छ। तैँले यी सत्यताहरूलाई बुझिस् भने, परिस्थितिहरूलाई कसरी अनुभव गर्नुपर्छ र मानिसहरूलाई सिद्धान्तहरू अनुसार कसरी व्यवहार गर्नुपर्छ भनी तैँले जान्नेछस्।

के परमेश्‍वरले कुनै व्यक्तिलाई मुक्ति दिइन्छ कि दिइन्‍न भन्ने कुरा उसको भ्रष्टताको तहको आधारमा निर्धारित गर्नुहुन्छ? के उहाँले तिनीहरूलाई न्याय वा सजाय गर्ने कि नगर्ने भन्ने कुरा तिनीहरूको अपराधहरूको आकार वा तिनीहरूको भ्रष्टताको परिमाणको आधारमा निर्धारित गर्नुहुन्छ? के तिनीहरूको गन्तव्य र अन्तिम परिणाम उहाँले तिनीहरूको रूप, तिनीहरूको पारिवारिक पृष्ठभूमि, तिनीहरूको क्षमताको स्तर वा तिनीहरूले कति दुःख भोगेका छन् भन्ने आधारमा निर्धारित गर्नुहुन्छ? परमेश्‍वरले यी कुराहरूलाई आफ्नो निर्णयको आधारको रूपमा प्रयोग गर्नुहुन्न; उहाँले यी कुराहरूलाई हेर्नु पनि हुन्न। यसैले तैँले बुझ्नुपर्छ कि परमेश्‍वरले मानिसहरूलाई यी कुराहरूको आधारमा मापन नगर्नुहुने भएकोले, तैँले पनि मानिसहरूलाई यी कुराहरूको आधारमा मापन गर्नु हुँदैन। मानौँ, तैँले आकर्षक र असल देखिने कसैलाई भेटिस्, र त्यसैले तैँले ऊसँग कुरा गर्न सुरु गरिस्, उसको सम्पर्कमा रहन थालिस्, र तँ ऊसँग नजिक भइस् र उसको असल मित्र बनिस्। त्यसपछि, मानौँ तैँले अर्को कुनै अनाकर्षक, अरुचिकर कुरा गर्ने, अरूसँग अन्तर्क्रिया गर्न नजान्ने, र अरूसित नमिल्ने मानिस भेट्छस्, र त्यसैले तैँले उसलाई मान्छेको रूपमा पनि स्विकार्दैनस्, र तँ उसलाई कहिलेकाहीँ हेप्न पनि चाहन्छस् वा उसलाई दबाउन नराम्रा कुराहरू बोल्छस्—मानिसहरूसँग व्यवहार गर्ने यो कस्तो तरिका हो? यी सबै कुराहरू भ्रष्ट, शैतानी स्वभावबाट आउँछन्। के तिमीहरू यस्तो भ्रष्ट, शैतानी स्वभावसाथ जिउन चाहन्छौ? के तिमीहरू भ्रष्ट, शैतानी स्वभावहरूमा जकडिन र बाँधिन अनि त्यस्तो स्वभावद्वारा आफ्ना क्रियाकलापहरू निर्देशित होस् भन्‍ने चाहन्छौ? (होइन।) मानिसहरूको व्यक्तिपरक इच्छाअनुसार, कोही पनि शैतानको भ्रष्ट स्वभावभित्र रहेर कुनै काम गर्न वा कर्तव्य निभाउन इच्छुक हुँदैन। मानिसहरूको व्यक्तिपरक इच्छाअनुसार, तिनीहरू असल काम गर्ने लक्ष्य लिन्छन् र सत्य अभ्यास गर्न तत्पर हुन्छन्, तर यदि मानिसहरूले सत्य बुझ्दैनन् वा सत्य पछ्याउँदैनन्, सत्यबारे गम्भीर हुँदैनन् वा सत्यमा लागिपर्दैनन् भने, तिनीहरू सत्यको वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछैनन्। यदि तँ सत्यको वास्तविकतामा प्रवेश गर्न सक्षम हुँदैनस् भने, तैँले जिउने कुरा, सबै कुरा गर्दा तैँले अपनाउने सिद्धान्त र तैँले बोल्ने वचनहरू सत्यसँग मेल खानेछैनन् र ती कुराहरू पूर्ण रूपमा सत्यरहित हुनेछन्। यदि तैँले नबुझ्ने सत्यको कुनै पक्ष छ भने, तँ कुनै पनि हालतमा सत्यको वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछैनस् र यदि तँ सत्यको वास्तविकतामा प्रवेश गर्न सक्दैनस् भने, तँसँग सत्य हुनेछैन। अनि, के सत्य नहुनेसँग कुनै मानवता हुन्छ र? (हुँदैन।) यस्ता किसिमका मानिसहरूले जेअनुसार जीवन जिउँछन्, त्यो शैतानको भ्रष्ट स्वभाव हो। मानिसहरूले आफ्‍नो कर्तव्य निभाउन थालेलगत्तै तिनीहरू सत्यताका वास्तविकताहरू भएका मानिसहरू बन्छन् भन्‍ने हुँदैन। आफ्‍नो कर्तव्य निभाउनु भनेको एउटा विधि र माध्यम अपनाउनु मात्रै हो। आफ्‍नो कर्तव्य निभाउने क्रममा, मानिसहरूले परमेश्‍वरको कामको अनुभव गर्न, सत्यतालाई क्रमिक रूपमा बुझ्‍न र स्वीकार गर्न, अनि सत्यताको अभ्यास गर्नको लागि सत्यताको खोजीलाई प्रयोग गर्छन्। त्यसपछि तिनीहरू आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न सक्‍ने, र शैतानको भ्रष्ट स्वभावका बन्धन र नियन्त्रणबाट मुक्त हुन सक्‍ने स्थितिमा पुग्छन्, र यसरी तिनीहरू सत्यताको वास्तविकता र सामान्य मानवता भएका मानिसहरू बन्छन्। तँमा सामान्य मानवता छ भने मात्रै तेरो कर्तव्यपालन र तेरो कार्य-व्यवहारले मानिसहरूलाई सुधार गर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्छ। अनि परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको कर्तव्यपालनको निम्ति स्याबासी दिनुभएपछि मात्रै तिनीहरू परमेश्‍वरको निम्ति स्वीकार्य सृष्टि बन्छन्। त्यसकारण, तिमीहरूको कर्तव्यपालनको कुरा गर्दा, तिमीहरूले अहिले अर्पण गर्ने र भक्तिमा ल्याउने कुराहरू तिमीहरूले बटुलेका विभिन्‍न सीप र सिकाइ अनि ज्ञान भए पनि, यिनै कुराहरूले तिमीहरूलाई आफ्‍नो कर्तव्य निभाउँदा सत्यता बुझ्‍न, अनि कर्तव्य निभाउनु भनेको के हो, परमेश्‍वरको अघि आउनु भनेको के हो, र पूर्ण हृदयले परमेश्‍वरमा अर्पित हुनु भनेको के हो भनेर बुझ्‍न मदत गर्ने माध्यम प्रदान गर्छन्। यही माध्यममार्फत, तिमीहरूले कसरी आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍ने, र कसरी आफूलाई त्याग्‍ने, अहङ्कारी र आत्मधर्मी नबन्‍ने, अनि सत्यता र परमेश्‍वरको आज्ञा पालन गर्ने भन्‍ने कुरा जान्‍नेछौ। त्यसरी मात्रै तिमीहरूले मुक्ति हासिल गर्न सक्छौ।

अहिले, तिमीहरूको कर्तव्यपालनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको समर्पित हुन सिक्‍नु हो, सत्यता अनि परमेश्‍वरबाट आउने कुराहरूमा समर्पित हुन सिक्‍नु हो। यसरी, परमेश्‍वरलाई पछ्याउने क्रममा तिमीहरूले पाठ सिक्‍न सक्‍नेछौ, र तिमीहरू क्रमिक रूपमा सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछौ। मलाई भन, सत्य अभ्यास गर्नुको मतलब के हो भन्ने नै नबुझ्ने, सत्यमा समर्पित हुनु भनेको के हो वा कर्तव्य निर्वाह गर्नको निम्ति कुन सिद्धान्तहरू पालना गर्नुपर्छ भन्ने नै नबुझ्ने व्यक्तिले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छ? यसो गर्नु निश्‍चय ने कठिन हुनेछ। तिमीहरूले परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्दा, यदि तिमीहरूसँग अलिकति पनि सत्यको वास्तविकता छैन वा तिमीहरू त्यसमा प्रवेश नै गर्दैनौ भने, तिमीहरूलाई आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न धेरै कठिन हुन्छ भन्ने पनि तिमीहरूले सायद बुझ्छौ होला। तिमीहरूलाई आफ्नो कर्तव्य स्वीकार्य मानकअनुसार गर्न वा दृढ खडा हुन धेरै कठिन हुनेछ। अब, के तिमीहरू सबैले सत्यबिना एक पाइला पनि अगाडि बढ्न कति कठिन हुन्छ भन्ने कुरा बुझ्यौँ? (बुझ्यौँ।) तिमीहरूलाई केले यो कुरा यति गहन गरिकाले अनुभव गर्ने बनायो? (हामीले सत्य नबुझेर अनि कर्तव्य निर्वाह गर्न भ्रष्ट स्वभावमा भर परेको कारण अक्सर हाम्रो काटछाँट र निराकरण भएको छ, र हामीसँग लडेको र ठक्कर खाएको अनुभव छ।) तिमीहरू कति असफलताहरूबाट गुज्रेका छौ? (अलिअलि।) परमेश्‍वरको कामको अनुभव गर्ने सिलसिलामा, जतिपटक असफल भए पनि, लडे पनि, काटछाँट, निराकरण वा खुलासा गरिए पनि, यी कुराहरू नराम्रा होइनन्। तँलाई जे-जसरी काटछाँट वा निराकरण गरिएको भए पनि, वा यो अगुवा, सेवक, वा तेरा दाजुभाइ-दिदीबहिनीहरू जो-कसैले गरेको भए पनि, यी सबै असल कुरा हुन्। तैँले यो कुरा याद राख्‍नुपर्छ: तैँले जति नै कष्ट भोगे पनि, तँलाई वास्तवमा फाइदा भइरहेको हुन्छ। अनुभव भएको जोकोहीले यो कुराको पुष्टि गर्न सक्छ। चाहे जे होस्, काटछाँट, निराकरण वा खुलासा गरिनु सधैँ नै राम्रो हुन्छ। यो दोषी ठहराउनु होइन। यो परमेश्‍वरको मुक्ति हो, र आफूलाई चिन्ने सबैभन्दा उत्तम अवसर हो। यसले तेरो जीवनको अनुभवलाई परिवर्तन गराउँछ। योविना, तँसँग आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्न सक्ने न त मौका, न अवस्था, न प्रसंग नै हुन्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझ्छस्, र तेरो हृदयको गहिराइमा लुकेका भ्रष्ट कुराहरूलाई खोतली निकाल्‍न सक्छस् भने, यदि तैँले तिनलाई स्पष्ट रूपमा छुट्याउन सक्छस् भने, यो राम्रो कुरा हो, यसले जीवन प्रवेशको मुख्य समस्या समाधान गरेको हुन्छ, र यो स्वभाव परिवर्तनको लागि एकदमै फाइदाजनक हुन्छ। आफैलाई राम्ररी चिन्न सक्ने हुनु भनेको तेरो निम्ति आफ्ना चालहरू सुधार गर्ने र नयाँ व्यक्ति बन्ने एउटा राम्रो मौका हो; यो तैँले नयाँ जीवन प्राप्त गर्ने उत्तम मौका हो। तैँले आफूलाई राम्ररी चिनेपछि, तैँले के कुरा देख्‍न सक्‍नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताको लागि तिर्खाउनेछस्, सत्यता अभ्यास गर्दै वास्तविकतामा प्रवेश गर्नेछस्। यो एउटा महान् कुरा हो! यदि जब-जब तँ असफल हुन्छस् वा लड्छस् तब-तब तैँले त्यस मौकाको फाइदा उठाउन सक्छस्, र आफ्‍नो बारेमा मनन गर्न र आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्न सक्छस् भने, तब नकारात्मकता र कमजोरीको बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैँले यो सँघार नाघेपछि, तैँले एउटा ठूलो कदम चाल्‍न सक्‍नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्।

यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छस् भने, तैंले दैनिक घटनाहरू, चाहे ती राम्रो होस् वा नराम्रो, ती कुनै पनि विनाउद्देश्यका हुँदैनन् भन्‍ने विश्‍वास गर्नुपर्छ। यो कसैले जानी-जानी तँसँग कठोर व्यवहार गरेको वा तँलाई निशाना बनाइरहेको भन्‍ने हुँदैन; यो सब परमेश्‍वरले नै प्रबन्ध र योजनाबद्ध गर्नुभएको हुन्छ। परमेश्‍वरले किन यी सबै कुराहरूलाई योजनाबद्ध गर्नुहुन्छ? त्यो तँ को होस् भनी खुलासा गर्न वा तँलाई पर्दाफास गरेर हटाउनको लागि होइन; तँलाई खुलासा गर्नु अन्तिम लक्ष्य होइन। तँलाई सिद्ध बनाउनु र मुक्ति दिनुचाहिँ लक्ष्य हो। परमेश्‍वरले तँलाई कसरी सिद्ध तुल्याउनुहुन्छ? अनि उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई तेरो भ्रष्ट स्वभावबारे सचेत गराउँदै, र तँलाई तेरो प्रकृति र सार, तेरा कमजोरीहरू र तेरो कमी चिनाउँदै यो काम सुरु गर्नुहुन्छ। यी कुराहरूलाई जानेर र ती कुराहरूलाई स्पष्ट रूपमा बुझेर मात्र, तँ सत्यताको पछि लाग्न सक्छस् र तैँले बिस्तारै तेरो भ्रष्ट स्वभावलाई हटाउन सक्छस्। यो परमेश्‍वरले तँलाई मौका दिनुभएको हो। यो परमेश्‍वरको करुणा हो। यो मौकालाई कसरी सदुपयोग गर्नुपर्छ त्यो तैंले जान्नुपर्छ। तैंले परमेश्‍वरको विरोध गर्न, उहाँसँग टाउको जुधाउन वा उहाँलाई गलत बुझ्न हुँदैन। निश्‍चित रूपमा, परमेश्‍वरले तेरो वरिपरि मिलाउनुभएका मानिसहरू, मामलाहरू, र परिस्थितिहरूको सामना गर्दा, ती कुराहरू तैंले चाहना गरे अनुसार छैनन् भनी बारम्बार महसुस नगर्; तीबाट बारम्बार उम्कने इच्छा नगर् वा सधैँ परमेश्‍वरलाई दोष लाउने र गलत प्रकारले बुझ्ने नगर्। यदि तँ निरन्तर यी कुराहरू गर्छस् भने, तैंले परमेश्‍वरको कामको अनुभव गरिरहेको हुँदैनस्, र त्यसले तँलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न धेरै कठिन बनाउनेछ। जब तैंले पूर्ण रूपमा बुझ्न नसक्‍ने कुनै कुराको सामना गर्छस्, जब कुनै कठिनाइ उत्पन्न हुन्छ, तैंले अधीनमा बस्न सिक्नुपर्छ। तैंले परमेश्‍वरको अगाडि आएर अझ धेरै प्रार्थना गर्दै यो काम सुरु गर्नुपर्छ। त्यसरी, तैंले थाहै नपाई, तेरो आन्तरिक अवस्थामा परिवर्तन आउनेछ, र तैँले आफ्नो समस्या समाधान गर्नका निम्ति सत्यताको खोजी गर्न सक्नेछस्। त्यसरी, तैँले परमेश्‍वरको कामको अनुभव गर्न सक्नेछस्। जब यस्तो हुन्छ, तँभित्र सत्यताको वास्तविकता आउँछ, र तैँले यसरी नै उन्नति गर्नेछस् र तेरो जीवनको अवस्थामा रूपान्तरण आउनेछ। तँ यो परिवर्तनबाट भएर गएपछि र तैँले यो सत्यताको वास्तविकता प्राप्त गरेपछि, तैंले कद पनि प्राप्त गर्नेछस्, र कदको साथमा जीवन पनि आउनेछ। यदि कुनै व्यक्ति सधैँ भ्रष्ट शैतानी स्वभावको आधारमा जिउँछ भने, उनीहरूसँग जति धेरै उत्साह वा ऊर्जा भए पनि, उनीहरूसँग कद, वा जीवन छ भनेर मानिँदैन। परमेश्‍वरले प्रत्येक व्यक्तिमा काम गर्नुहुन्छ, र उहाँको काम गर्ने तरिका जस्तोसुकै भए पनि, उहाँले आफ्नो सेवामा जस्तोसुकै प्रकारको मानिस, मामला र परिस्थितिहरूलाई प्रयोग गर्नुभए पनि, वा उहाँका वचनहरूको शैली जस्तो प्रकारको भए पनि, उहाँको अन्तिम लक्ष्य एउटै मात्र हुन्छ: तँलाई मुक्ति दिनु। अनि, उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई परिवर्तन गर्नुहुन्छ। त्यसैले तैंले अलिअलि पनि कष्ट नभोग्‍नु कसरी सम्भव हुन्छ? तैंले कष्ट भोग्नु पर्नेछ। यस कष्टमा धेरै कुराहरू समावेश हुन सक्छन्। सुरुमा, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्दा तिनीहरूले कष्ट सहनुपर्छ। जब परमेश्‍वरका वचनहरू अत्यन्तै कठोर र खुलस्त हुन्छन् र मानिसहरूले परमेश्‍वरलाई गलत बुझ्छन् र उहाँका बारेमा धारणाहरूसमेत राख्छन्, तब त्यो पनि पीडादायी नै हुन सक्छ। कहिलेकहीँ परमेश्‍वरले मानिसहरूको भ्रष्टता खुलासा गर्न, तिनीहरूलाई आत्मचिन्तन गर्दै आफूलाई चिन्‍न बाध्य गराउनको लागि कुनै परिस्थिति ल्याइदिनुहुन्छ, र त्यसबेला पनि तिनीहरूले अलिकति पीडा भोग्‍छन्। कहिलेकहीँ, जब मानिसहरूलाई प्रत्यक्ष रूपमा काटछाँट, निराकरण, र खुलासा गरिन्छ, तब तिनीहरूलाई कष्ट हुन्छ। यो त तिनीहरू चक्‍कुको धारमुनि भएजस्तै कुरा हो—यदि यस्तो कुनै कष्ट हुन्‍न भने, प्रभाव पनि केही हुँदैन। यदि हरेक पटक तँलाई छिँवलिंदा र तँलाई निराकरण गरिँदा, र हरेकपटक कुनै वातावरणले तँलाई उदाङ्गो पार्दा, त्यसले तेरा भावनाहरूलाई जगाउँछ र तँलाई प्रोत्साहन दिन्छ भने, यो प्रक्रियाद्वारा तँ सत्यता वास्तविकता प्रवेश गर्नेछस्, र तँसित कद हुनेछ। हरेकपटक तँलाई काटछाँट र निराकरण गरिँदा, र कुनै वातावरणमार्फत तेरो खुलासा हुँदा, तँलाई कुनै पनि प्रकारको पीडा वा असुविधा अनुभूति हुँदैन, र तैँले केही पनि महसुस गर्दैनस् भने, यदि तँ परमेश्‍वरको सामु आउँदैनस् र उहाँको इच्छाको खोजी गर्दैनस्, प्रार्थना गर्दैनस् र सत्यताको खोजी पनि गर्दैनस् भने, तँ साँच्चै अति चेतनाशून्य छस्! जब तेरो आत्माले केही अनुभव गर्दैन, र यसले कुनै प्रतिक्रिया दिँदैन, तब परमेश्‍वरले तँमा काम गर्नुहुनेछैन। उहाँले भन्नुहुनेछ, “यो व्यक्ति अति नै चेतनाशून्य छ, र धेरै गहन रूपमा भ्रष्ट भएको छ। मैले त्यसलाई जति नै अनुशासनमा राखे पनि, जति नै निराकरण गरे पनि वा जति नै काबूमा राख्‍न खोजे पनि, मैले त्यसको हृदय छुन वा त्यसको आत्मालाई जगाउन सक्दिनँ। यो व्यक्ति समस्यामा पर्नेछ; त्यसलाई मुक्ति दिन सजिलो छैन।” यदि परमेश्‍वरले तेरो लागि केही वातावरण, मानिसहरू, मामलाहरू, र काम-कुराहरू मिलाउनुहुन्छ भने, यदि उहाँले तँलाई छिँवल्नुहुन्छ र निराकरण गर्नुहुन्छ भने र यदि तैंले त्यसबाट पाठ सिक्छस् भने, यदि तैंले परमेश्‍वरको सामु आउन सिकेको छस् भने, सत्यको खोजी गर्न सिकेको छस्, र अनजानमा, अन्तर्दृष्टि र प्रकाश पाएको छस् र सत्यता प्राप्त गरेको छस् भने, यदि तैंले यी वातावरणहरूमा परिवर्तन अनुभव गरेको छस्, इनामहरू कटनी गरेको छस्, र उन्नति गरेको छस् भने, यदि तैंले परमेश्‍वरको इच्छालाई अलि-अलि बुझ्न थालेको छस् र गुनासो गर्न छोडेको छस् भने, यी सबैको अर्थ तँ यी वातावरणहरूका सबै परीक्षाहरूको बीचमा दह्रो भई खडा भएको छस्, र तैँले त्यो जाँचको सामना गरेको छस् भन्ने हुन्छ। त्यसरी तँ त्यो कठिन जाँचबाट पार भएर गएको हुनेछस्। परीक्षामा नडग्मगाउनेहरूलाई परमेश्‍वरले कसरी लिनुहुनेछ? परमेश्‍वरले तिनीहरूमा साँचो हृदय छ र तिनीहरूले यस प्रकारको कष्ट सहन सक्छन्, र भित्री रूपमा तिनीहरू सत्यतालाई प्रेम गर्छन् र सत्यता प्राप्त गर्न चाहन्छन् भनेर भन्‍नुहुनेछ। यदि परमेश्‍वरले तँलाई यसरी मूल्याङ्कन गर्नुभयो भने, के तँ कद भएको व्यक्ति हुँदैनस् र? के त्यसपछि तँसँग जीवन हुँदैन र? अनि यो जीवन कसरी प्राप्त गर्न सकिन्छ? के यो परमेश्‍वरले दिनुहुन्छ? परमेश्‍वरले तँलाई विभिन्न तरिकाद्वारा आपूर्ति दिनुहुन्छ र तँलाई तालिम दिनको लागि विभन्न मानिसहरू, परिस्थिति र वस्तुहरू प्रयोग गर्नुहुन्छ। यस्तो लाग्छ मानौँ परमेश्‍वरले व्यक्तिगत रूपमै तँलाई खाना र पानी दिँदै हुनुहुन्छ, तैँले पेटभरि खा र आनन्द लिई भनेर व्यक्तिगत रूपमै विविध खाद्यपदार्थ तेरो सामु ल्याउँदै हुनहुन्छ; र त्यसपछि मात्र तँ वृद्धि हुन र दह्रिलो गरी खडा हुन सक्छस्। तैँले यी कुराहरूलाई यसरी नै अनुभव गर्नु र बुझ्‍नुपर्छ; परमेश्‍वरबाट आउने हरेक कुरामा यसरी नै समर्पित हुनुपर्छ। तँमा यही प्रकारको मानसिकता र मनोवृत्ति हुनुपर्छ, र तैँले सत्यताको खोजी गर्न सिक्‍नैपर्छ। तैँले निरन्तर तेरा समस्याहरूको बाहिरी कारणहरू खोज्‍ने वा तिनका लागि अरूलाई दोष लगाउने वा मानिसहरूको गल्ती खोतल्‍ने काम गर्नु हुँदैन; तँमा परमेश्‍वरको इच्‍छाको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ। बाहिरबाट हेर्दा, कतिपय मानिसहरूसँग तेरो बारेमा रायहरू रहेको वा तेरो विरुद्धमा द्वेषभाव रहेको जस्तो देखिन सक्छ, तर तैँले परिस्थितिलाई त्यसरी हेर्नु हुँदैन। यदि तैँले परिस्थितिलाई यस प्रकारको दृष्टिकोणबाट हेर्छस् भने, तैँले बहाना मात्रै बनाउनेछस्, र तैँले केही पनि प्राप्त गर्न सक्‍नेछैनस्। तैँले परिस्थितिहरूलाई वस्तुगत रूपमा हेर्नुपर्छ र सबै कुरालाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ। जब तैँले परिस्थितिहरूलाई यसरी हेर्छस्, तब परमेश्‍वरको कामको पालना गर्न तँलाई सहज हुनेछ, र तैँले सत्यता खोजी गर्न, र परमेश्‍वरको इच्‍छा बुझ्‍न सक्‍नेछस्। तेरो दृष्टिकोण र मानसिकता सुधार हुनेबित्तिकै, तैँले सत्यता प्राप्त गर्न सक्‍नेछस्। त्यसो भए, तैँले किन यसो गर्दैनस्? किन विरोध गर्छस्? यदि तैँले विरोध गर्न छोडेको भए, सत्यता प्राप्त गर्नेथिइस्। यदि तैँले विरोध गरिस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्, र परमेश्‍वरका भावनाहरूमा चोट पुर्‍याउनेछस् र उहाँलाई खिन्‍न तुल्याउनेछस्। परमेश्‍वर किन खिन्‍न हुनुहुनेछ? किनभने तँ सत्यता स्विकार्दैनस्, तँसँग मुक्तिको आशा छैन, र परमेश्‍वरले तँलाई प्राप्त गर्न सक्‍नुहुन्‍न, तब उहाँ खिन्‍न नभई कसरी बस्‍न सक्‍नुहुन्छ? जब तैँले सत्यता स्वीकार गर्दैनस्, तब त्यो परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमा दिनुभएको खाना इन्कार गर्नुसरह हुन्छ। तैँले मलाई भोक लागेको छैन र तँलाई यसको खाँचो छैन भनी भन्छस्; परमेश्‍वरले तँलाई खान प्रोत्साहित गर्नको लागि बारम्‍बार प्रयास गर्नुहुन्छ, तर तँ अझै पनि यसलाई चाहँदैनस्। बरु तँ भोकै बस्‍न चाहन्छस्। तँलाई आफू अघाएको छु भन्‍ने लाग्छ, तर वास्तवमा, तँसँग बिलकुलै केही पनि हुँदैन। यस्ता मानिसहरूमा समझको औधी कमी हुन्छ, र तिनीहरू औधी आत्मधर्मी हुन्छन्; साँच्‍चै नै तिनीहरूले देख्दा पनि एउटै असल कुरा पनि चिन्दैनन् र तिनीहरू सबैभन्दा दरिद्र र दयनीय मानिसहरू हुन्।

सत्यको वास्तविकतामा प्रवेश गर्नको निम्ति तैँले पहिले आफ्नो जीवनको हरेक कुरामाथि मनन गर्न सुरु गर्नुपर्छ र नजिकका मानिस, घटना र वस्तुहरूबाट पाठ सिक्न सुरु गर्नुपर्छ। यदि तैँले आफ्ना वरपरका मानिसहरूले तँप्रति गरेको व्यवहार वा तँमाथि आइपरेका मामला र परिस्थितिहरूबाट हरेक दिन पाठहरू सिक्न सक्छस् अर्थात् यदि तेँले सत्य खोज्न र सिद्धान्तहरूबमोजिम कार्य गर्न सिक्छस् भने, तँ सत्य बुझ्न सक्षम हुनेछस्, तेरो जीवनमा वृद्धि हुनेछ र तँ सामान्य रूपमा कर्तव्य निभाउन सक्षम हुनेछस्। आफ्नो काँटछाटँ र निराकरण हुँदा केही मानिसहरू प्रायः तर्क गर्दै आफ्नो बचाउ गर्ने प्रयास गर्छन्। तिनीहरूले सधैँ मामलाको कारकतत्वमा जोड दिन्छन् र आफ्नो असफलताको विभिन्‍न स्पष्टीकरण दिन्छन् जुन धेरै नै दुःखदायी हुन्छ। तिनीहरूमा समर्पित हुने वा सत्य खोज्‍ने मनोवृत्ति नै हुँदैन। त्यस्ता खाले मानिसहरूको क्षमता कमजोर हुन्छ र तिनीहरू औधी जिद्दी पनि हुन्छन्। तिनीहरूले अरू मानिसका कुराहरू बुझ्दैनन्, सत्य तिनीहरूको पहुँचभन्दा बाहिर हुन्छ र तिनीहरूको प्रगति धेरै सुस्त बन्छ। तिनीहरूको प्रगति किन सुस्त बन्छ? किनभने तिनीहरूले सत्य खोज्दैनन् र गल्तीहरू हुँदा तिनीहरू अन्य मानिसहरूलाई सधैँ कारकको रूपमा हर्छन् र पूर्ण रूपमा अरूलाई त्यसको जिम्मेवारी थोपर्छन्। तिनीहरू संसारिक दर्शनहरूअनुसार जिउँछन् अनि आफू सुरक्षित र स्वस्थ रहेसम्म तिनीहरू आफैँसँग विशेष खुसी रहन्छन्। तिनीहरूले कुनै पनि हालतमा सत्य पछ्याउँदैनन् र त्यही नै परमेश्‍वरमाथि विश्‍वास गर्ने एकदमै राम्रो तरिका हो भन्ने ठान्छन्। यस्तो सोच्ने मानिसहरू पनि हुन्छन्, “जहिले पनि सत्यको पछि लाग्ने र पाठहरू सिक्नेबारेमा धेरै कुरा हुन्छ तर के साँच्चै सिक्नुपर्ने त्यति धेरै पाठहरू छन् त? यसरी परमेश्‍वरमा विश्‍वास गर्नु एकदमै झन्झटिलो हुन्छ!” अन्य मानिसहरूले कुनै मामला आइपरेर सत्य खोजिरहेको र पाठहरू सिकिरहेको देख्दा तिनीहरू भन्छन्, “तिमीहरूले सबै कुराहरूबाट कसरी पाठ सिक्छौ? मेरो निम्ति सिक्नुपर्ने यति धेरै पाठहरू किन छैनन्? के तिमीहरू सबै यति अनभिज्ञ छौ र? के तिमीहरूले अन्धाधुन्ध नियमहरू पालना गरिरहेका छैनौ र?” यो अभिव्यक्तिबारे तिमीहरू के सोच्छौ? यो गैरविश्‍वासीहरूको दृष्टिकोण हो। के कुनै गैरअविश्‍वासीले सत्य प्राप्त गर्न सक्छ? यस किसिमको व्यक्तिले सत्य प्राप्त गर्न धैरै कठिन हुन्छ। केही मानिसहरू भन्छन्, “म ठूला मामिलाहरूमा परमेश्‍वरलाई बिन्ती गर्छु, तर साना मामिलाहरूमा उहाँलाई दुःख दिन्नँ। परमेश्‍वर ब्रम्हाण्डमा भएका सबै कुराहरूको प्रशासनमा, र हरेक व्यक्तिको प्रशासनमा एकदमै व्यस्त हुनुहुन्छ। त्यो कति थकाइलाग्दो छ! म परमेश्‍वरलाई दुःख दिन्नँ, यो मामिलाको समाधान म आफैँ गर्नेछु। परमेश्‍वर प्रसन्न हुनुभएसम्म, त्यो प्रयाप्त हुनेछ। म उहाँलाई चिन्ता गर्न लगाउन चाहन्नँ।” यस्तो भावनबारे तिमीहरूको के विचार छ? यो पनि गैरविश्‍वासीहरूको दृष्टिकोण हो, मानिसहरूको कल्पना हो। मान्छेहरू सृष्टि गरिएका प्राणीहरू हुन्, तिनीहरू कमिलाभन्दा पनि निम्नस्तरका हुन्छन्। तिनीहरूले सृष्टिकर्तालाई कसरी स्पष्ट देख्न सक्छन् र? परमेश्‍वरले ब्रह्माण्डमा भएका सबै कुराहरूलाई के थाहा, कति लाख वा कति अरब वर्षदेखि शासन गर्दै आउनुभएको छ। के उहाँले आफू थाकित भएँ भनेर भन्‍नुभएको छ र? के उहाँले आफू एकदमै व्यस्त भएँ भनेर भन्‍नुभएको छ र? अहँ, छैन। मानिसहरूले परमेश्‍वरको शर्वशक्तिमान्‌ता र बुद्धि कहिल्यै पनि स्पष्टसँग देख्न सक्नेछैनन् अनि तिनीहरूले आफ्नै धारणा र कल्पनाहरूबाट बोल्नु अत्यन्तै अज्ञानता हो। सृष्टिकर्ताका अनुसार, परमेश्‍वरका चुनिएका हरेक मानिस र तिनीहरूको वरिपरि हुने सबै कुराहरू परमेश्‍वरको सार्वभौमिकताद्वारा बन्दोबस्त गरिन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा, तैँले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, सत्य खोज्नुपर्छ र सबै कुराहरूबाट पाठ सिक्नुपर्छ। सत्य प्राप्त गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले परमेश्‍वरको इच्छाबारे सोच्न सक्छस् भने, तैँले उहाँमाथि भर पर्नुपर्छ र सत्यको निम्ति लागिपर्नुपर्छ, किनकि यो परमेश्‍वरलाई प्रसन्न पार्ने कुरा हो। जब तैँले सत्य प्राप्त गर्छस् र जब तँ सिद्धान्तहरूबमोजिम चल्न सक्छस्, परमेश्‍वर अझ बढी सन्तुष्ट हुनुहुनेछ, तर तँ परमेश्‍वरबाट जति टाढिन्छस्, उहाँ त्यति नै बढी दुःखी हुनुहुनेछ। केले परमेश्‍वरलाई दुःखी बनाउँछ? (परमेश्‍वरले मानिसहरूलाई उहाँका वचनहरू अनुभव गर्न र सत्य प्राप्त गर्न दिन परिस्थितिहरूको व्यवस्था गर्नुभएको छ, तर मानिसहरूले परमेश्‍वरको मन बुझ्दैनन्; तिनीहरूले उहाँलाई गलत बुझ्छन् र यसले परमेश्‍वरलाई दुःखी बनाउँछ।) त्यो सही हो। परमेश्‍वरले प्रत्येक व्यक्तिको लागि पीडादायी मूल्य चुकाउनुभएको छ र प्रत्येक व्यक्तिप्रति उहाँका इच्छाहरू छन्। तिनीहरूको निम्ति उहाँसँग अपेक्षाहरू छन् र उहाँले तिनीहरूमाथि आशाहरू राख्नुभएको छ। उहाँका कडा परिश्रमहरू सबै मानिसहरूलाई स्वतन्त्र र स्वेच्छाले प्रदान गरिन्छ। उहाँले दिनुहुने जीवन र सत्यको भरणपोषण पनि प्रत्येक व्यक्तिलाई स्वेच्छाले प्रदान गरिन्छ। परमेश्‍वरले यसो गर्नुको कारण यदि मानिसहरूले बुझ्न सके भने, उहाँले सन्तुष्ट महसुस गर्नुहुनेछ। तेरो निम्ति परमेश्‍वरले जुनसुकै परिस्थितिहरू व्यवस्था गर्नुभएको भए पनि, यदि तैँले यो परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्षम हुन्छस् भने, र उहाँप्रति समर्पित हुन्छस् र सत्य खोज्छस् र यी सबै कुराहरूमाझ पाठहरू सिक्छस् भने, परमेश्‍वरले पीडादायी मूल्य व्यर्थमा तिरेछु भनेर सोच्नुहुनेछैन। परमेश्‍वरले खर्चनुभएका सबै विचार र प्रयासको इज्‍जत राख्‍न वा तेरो लागि उहाँका अपेक्षाहरू पूरा गर्न तँ असफल हुनेछैनस्। तँमाथि आइपर्ने हरेक खालका परिस्थितिहरूमा तैँले पाठहरू सिक्न र इनामहरू पाउन सक्षम हुनेछस्। यस तरिकाद्वारा, परमेश्‍वरले तँमाथि गर्नुभएको कामले अपेक्षित प्रभाव हासिल गर्नेछ र परमेश्‍वरको हृदय सन्तुष्ट हुनेछ। यदि तँ परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन असमर्थ हुन्छस् भने, यदि तैँले सधैँ परमेश्‍वरको प्रतिरोध र इन्कार गर्छस् र उहाँविरुद्ध लडाइँ गर्छस् भने, के परमेश्‍वर चिन्तित हुनुहुनेछ भन्ने तँलाई लाग्दैन? परमेश्‍वरको हृदयले चिन्तित र व्याकुल हुँदै यसो भन्नेछ, “मैँले तँलाई पाठ सिकाउनको निम्ति यति धेरै परिस्थितिहरू बन्दोबस्त गरेँ। यीमध्ये कुनैले पनि किन तँलाई केही प्रभाव पारेन?” परमेश्‍वर शोकले व्याकुल हुनुहुनेछ। तँ चेतनारहित, अनभिज्ञ, सुस्त र जिद्दी भएको कारण, अनि तैँले उहाँको इच्छा नबुझेको, सत्य स्वीकार नगरेको, तेरो जीवनप्रति जिम्मेवार बन्दै उहाँले गरिरहनुभएका सबै कुराहरू देख्न नसकेको, उहाँ तेरो जीवनप्रति चिन्तित र व्याकुल हुनुहुन्छ भनेर नबुझेको र उहाँप्रति अनाज्ञाकारी हुँदै उहाँविरुद्ध गुनासो गरेको कारण परमेश्‍वर दुःखी हुनुहुन्छ। मलाई भन, मानिसहरूसँग सम्‍बन्धित कुरा कहाँबाट आएका हुन्छन्? मानव जीवनको लागि सबैभन्दा बढी बोझ कसले बोक्छ? (परमेश्‍वरले।) परमेश्‍वरले मात्रै मानिसहरूलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ। के मानिसहरूका आमाबुबा र आफन्तहरूले तिनीहरूलाई साँच्‍चै प्रेम गर्छन्? के तिनीहरूले दिने प्रेम साँचो प्रेम हो? के यसले मानिसहरूलाई शैतानको प्रभावबाट बचाउन सक्छ? सक्दैन। मानिसहरू भावशून्य र मन्दबुद्धिका छन्, त्यसकारण तिनीहरूले यी कुराहरूको वास्तविकता देख्‍न सक्दैनन्, र सधैँ भन्छन्, “परमेश्‍वरले कसरी मलाई प्रेम गर्नुहुन्छ? मलाई थाहै हुँदैन। जे होस्, मेरा आमाबुबाले मलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ। उहाँहरूले मेरो पढाइको खर्च बेहोर्नुहुन्छ र मलाई प्राविधिक सीप सिक्‍न लगाउनुहुन्छ, ताकि म ठूलो भएपछि मैले आफ्‍नो लागि केही गर्न, सफल हुन, चर्चित बन्‍न, र सेलिब्रेटी बन्‍न सकूँ। मेरा आमाबुबाले खाई नखाई र एकएक पैसा जोगाउँदै, मेरो वृद्धि-विकास गर्न र मलाई शिक्षा दिन धेरै पैसा खर्च गर्नुभएको छ। त्यो प्रेम कति महान् छ? म त उहाँहरूको ऋण तिर्नसमेत सक्दिनँ!” के तिमीहरूलाई त्यो प्रेम हो जस्तो लाग्छ? तँलाई तेरा आमाबुबाले सफल हुन, संसारको सेलिब्रेटी हुन, राम्रो जागिर खान, र संसारमा संलग्‍न हुन लगाउनुका परिणामहरू के हुन्छन्? तिनीहरूले तँलाई निरन्तर सफलताको पछि लाग्‍न, परिवारमा इज्‍जत ल्याउन, संसारका दुष्ट प्रचलनहरूमा संलग्‍न हुन लगाउँछन्, र त्यसरी अन्त्यमा तँ पापको बन्धनमा पर्नेछस्, र शैतानद्वारा निलिएर अनन्त विनाशमा पर्नेछस् र नष्ट हुन्छस्। के त्यो प्रेम हो? त्यो तँलाई प्रेम गर्नु होइन, त्यो त तँलाई हानि गर्नु र नष्ट गर्नु हो। कुनै दिन तँ यति तल डुब्नेछस् कि तैँले पश्‍चाताप गर्न पनि सक्‍नेछैनस्, यति तल कि तँ आफैँलाई निकाल्नसमेत सफल हुनेछैनस् र तँ नरकमा झर्नेछस्। तब मात्र तैँले महसुस गर्नेछस्, “ओह, आमाबुबाको प्रेम त देहको प्रेम रैछ, यसले परमेश्‍वरमा विश्‍वास गर्ने वा सत्य प्राप्त गर्ने कार्यमा कुनै फाइदा नगराउने रैछ—यो साँचो प्रेम होइन रैछ!” तिमीहरूले यसलाई अहिलेसम्म महसुस गरेका नहुन सक्छौ। केही मानिसहरू भन्छन्, “परमेश्‍वरले मलाई जति धेरै प्रेम गर्नुभए पनि, म अझै यसलाई महसुस गर्न सक्दिनँ। मलाई अझै पनि मेरी आमाले नै मलाई सबैभन्दा धेरै प्रेम गर्नुहुन्छ भन्ने लाग्छ। यो संसारमा उहाँ नै मेरो निम्ति सबैभन्दा नजिकको व्यक्ति हुनुहुन्छ। 'आमा नै संसारको सबभन्दा असल व्यक्ति हुनुहुन्छ' भन्ने एउटा गीत छ। त्यो गीत वास्तविकतासँग मेल खान्छ; त्यो बिल्कुल सत्य हो।” तर कुनै दिन, जब तैँले जीवन प्रवेश गर्छस् र जब तैँले सत्य प्राप्त गर्छस्, त्यो बेला तैँले भन्नेछस्, “मलाई सबैभन्दा धेरै प्रेम गर्ने मेरी आमा होइन, न त मेरा बुबा नै हो। परमेश्‍वरले मलाई सबैभन्दा धेरै प्रेम गर्नुहुन्छ। उहाँ मेरो सबैभन्दा प्रिय हुनुहुन्छ, किनकि उहाँले मलाई जीवन दिनुभयो, र उहाँले मलाई सधैँ अगुवाइ गरिरहनुभएको छ, मेरो भरणपोषण गरिरहनुभएको छ र मलाई शैतानको प्रभावबाट मुक्ति दिइरहनुभएको छ। उहाँ मात्र मानिसहरूलाई जीवन प्रदान गर्न सक्‍ने, मानिसहरूलाई डोर्‍याउन सक्‍ने र सबै कुराहरूमाथि शासन गर्ने एउटै परमेश्‍वर हुनुहुन्छ।” जब तिमीहरूले सत्य बुझ्छौ र पूर्ण रूपमा सत्य प्राप्त गर्छौ, तब मात्र तिमीहरू यी वचनहरूलाई गहिरो रूपमा बुझ्न सक्षम हुनेछौ।

यदि तँ सत्य प्राप्त गर्न चाहन्छस् भने, तैँले कहाँबाट सुरु गर्छस्? तैँले आफूवरपरका मानिस, घटना र वस्तुहरूबाट सुरु गर्, अनि पाठहरू कसरी सिक्ने र सत्य कसरी खोजी गर्ने त्यो कुरा सिक्। सत्यता र तेरो वरिपरि भएका मानिस, घटना र वस्तुहरूमा परमेश्‍वरको इच्छा खोजी गरेर मात्र तँ सत्य प्राप्त गर्न सक्षम हुनेछस्। कतिपय मानिसहरूले साना मामिलाहरूलाई ध्यान दिने वा स्विकार्ने गर्दैनन्। तिनीहरू सधैँ सोच्छन्, “मैले किन कहिल्यै कुनै ठूलो कुरा सामना गरिनँ? किन मेरो साथमा यस्तो भुइँचालो जाने खालको कुनै कुरा भएन? यदि कुनै ठूलो, भुँइचालो जाने खालको कुरा भइदिएको भए, मैले केही ठूलो पाठ सिक्न र केही ठूलो सत्यता प्राप्त गर्न सक्थेँ। त्यस्तो हुँदा, कति अद्भुत हुन्थ्यो!” के त्यस्तो सोच्‍ने शैली यथार्थपरक हो त? यी वचनहरू अति विशाल छन्। के तँमाथि ससाना कुराहरू आइपर्दा परमेश्‍वरमा समर्पित हुन्छस्? के तैँले आफ्ना पाठहरू सिकेको छस्? यदि तँलाई ठूलो परीक्षा आइलाग्यो भने के तँ आफ्नो गवाहीमा दृढ रहन सक्षम हुनेछस्? यदि ठूलो रातो अजिङ्गरले तँलाई समात्यो भने, के तँ शानदार गवाही दिन सक्षम हुनेछस्? के मानिसहरूले बोल्‍ने यी वचनहरू केही हदसम्म अहङ्काकारी छैनन् र? के खोजको यो विधि प्रयोग गरेर तँ सत्य प्राप्त गर्न सक्षम हुनेछस्? (अहँ।) यदि हिँड्दा तँ सावधान भइनस् भने, तँलाई ठेस लाग्न सक्छ—तैपनि तँलाई आफू उड्नको लागि तयार छु जस्तो लाग्छ। तैँले सत्य खोजी गर्न सिक्नुपर्छ र तैँले सामना गर्ने ससाना कुराहरूबाट पाठहरू सिक्नुपर्छ। यदि तँ ससाना कुराहरूबाट पाठहरू सिक्न सक्दैनस् भने, तैँले ठूला कुराहरूबाट पनि पाठ सिक्न सक्दैनस्। यदि तँ पाठहरू सिक्न सक्दैनस् भने, तैँले जीवनमा प्रगति गर्नेछैनस्। सबै कुराहरूबाट पाठहरू सिकेर मात्र जीवनमा प्रगति हासिल गर्न सकिन्छ।

अगष्ट ५, २०१५

अघिल्लो: आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ

अर्को: आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्