आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ

मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूको वृद्धिविकास गर्न सिक्‍नु पनि जरुरी हुन्छ र तैँले त्यस्ता व्यक्तिहरूलाई डाहा गर्ने र दबाउने कदापि गर्नु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामको लागि फाइदाजनक हुन्छ। यदि तैँले सत्यता पछ्याउने केही व्यक्तिहरूको वृद्धिविकास गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र सबै काम राम्रोसित गर्ने बनाउँछस्, र अन्त्यमा तिमीहरू सबैसँग अनुभावात्मक गवाही हुन्छ भने, तँ एक योग्य अगुवा वा सेवक हुनेछस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तैँले आफ्‍नो निष्ठा समर्पण गरिरहेको छस्। कतिपय मानिसहरू आफूभन्दा अरूहरू उत्तम र उच्‍च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूहरूलाई मानसम्मान मिल्ला भनेर सधैँ डराउँछन्, र यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बनाउँछ। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयता हो! आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्नो चाहना मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तँ साँच्‍चै परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछस्। यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र उसलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र यसरी परमेश्‍वरको घरमा एक प्रतिभावान्‌ व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तैँले आफ्नो कर्तव्यमा निष्ठा देखाइरहेको हुनेछैनस् र? त्यो परमेश्‍वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। सत्यता अभ्यास गर्न सक्‍नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्‍वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्‍वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्‍नेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्‍ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो।

केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यताको खोजी गर्दैनन्। तिनीहरू सधैँ शारीरिक आनन्दमा लिप्त हुँदै देहअनुसार जिउँछन्, र सधैँ आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, तिनीहरू सत्यता वास्तविकतामा कहिल्यै प्रवेश गर्नेछैनन्; यो परमेश्‍वरमाथि लज्‍जा ल्याएको चिह्न हो। तँ भन्छस्, “मैले परमेश्‍वरलाई प्रतिरोध गर्ने केही गरेको छैनँ। मैले कसरी उहाँमाथि लज्‍जा ल्याएको छु?” तेरा सबै सोच र विचारहरू दुष्ट छन्। तैँले जे गर्छस् ती कुराहरूपछाडिका तेरा अभिप्राय, लक्ष्य, र आशयहरू, अनि तेरा कार्यव्यवहारका परिणामहरूले सधैँ शैतानलाई सन्तुष्ट पार्छन्, तँलाई त्यसको हाँसोको पात्र बनाउँछन्, र त्यसलाई तेरो गोप्य जानकारी लैजान दिन्छन्। तैँले एक इसाइले दिनुपर्ने एउटा पनि गवाही दिएको छैनस्। तँ सैतानको व्यक्ति होस्। तँ सबै कुरामा परमेश्‍वरमाथि लज्‍जा ल्याउँछस् र तँसँग साँचो गवाही छैन। के तैँले गरेका कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ? आखिरमा, परमेश्‍वरले तेरा कार्यहरू, तेरो व्यवहार र तैँले निभाएको कर्तव्यबारे कस्तो निष्कर्ष निकाल्नुहुनेछ? के त्यसबाट केही, कुनै प्रकारको अभिव्यक्ति आउनुपर्दैन र? बाइबलमा, प्रभु येशू भन्नुहुन्छ, “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्‍ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। प्रभु येशूले किन त्यसो भन्नुभयो? प्रभुको नाउँमा प्रचार गर्ने, भूतहरू धपाउने, र आश्‍चर्यकर्म गर्नेहरूमध्येका कैयौँ किन दुष्कर्मी बने? किनभने तिनीहरूले प्रभु येशूले व्यक्त गर्नुभएका सत्यताहरू स्वीकार गरेनन्, तिनीहरूले उहाँका आज्ञाहरू पालना गरेनन्, र तिनीहरूको हृदयमा सत्यताप्रति कुनै प्रेम थिएन। तिनीहरू प्रभुको खातिर आफूले गरेको काम, आफूले भोगेको कठिनाइ, र आफूले गरेका बलिदानहरू स्वर्गको राज्यको आशिष्‌सँग साट्न मात्रै चाहन्थे। यसमा तिनीहरू परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका थिए, र परमेश्‍वरलाई प्रयोग गर्न र परमेश्‍वरलाई छल्न खोजिरहेका थिए, त्यसैले प्रभुले तिनीहरूदेखि वाक्क हुनुभयो, तिनीहरूलाई घृणा गर्नुभयो, र तिनीहरूलाई दुष्कर्मीहरूको रूपमा दोषी ठहर्‍याउनुभयो। आज, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकारिरहेका छन्, तर कतिपय मानिसहरू अझै पनि प्रतिष्ठा र हैसियत पछ्याउँछन्, र सधैँ आफूलाई विशिष्ट बनाउन, सधैँ अगुवा र सेवकहरू बन्‍न अनि प्रतिष्ठा र हैसियत प्राप्त गर्न चाहन्छन्। तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्छु र परमेश्‍वरलाई पछ्याउँछु, र परमेश्‍वरको लागि त्याग गर्छु र अमर्पित हुन्छु भने पनि, तिनीहरू ख्याति, लाभ र हैसियत प्राप्त गर्न आफ्‍नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरूसँग सधैँ आफ्नै गुप्त युक्तिहरू हुन्छन्। तिनीहरू परमेश्‍वरप्रति समर्पित वा निष्ठावान हुँदैनन्, तिनीहरूले आफ्‍नो बारेमा थोरै पनि मनन नगरी दुष्टता गर्दै बेलगाम दौडिहिँड्छन्, र त्यसरी तिनीहरू दुष्कर्मी बन्छन्। परमेश्‍वरले ती दुष्ट मानिसहरूलाई घृणा गर्नुहुन्छ, परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्‍न। कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकतामा जिउने गवाही छ कि छैन भन्ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको साक्षी दिँदैनन्, न त ती कुराहरूले शैतानलाई लज्जित वा पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँमाथि नै लज्‍जा ल्याउँछन्, र तैँले उहाँमाथि निम्त्याएको अपमानका दागहरूले नै ती कुराहरू भरिएका हुन्छन्। तैँले परमेश्‍वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरको लागि अर्पित गरिरहेको पनि हुँदैनस्, न त परमेश्‍वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो “तेरो आफ्नै लागि” भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्दा, यसको अर्थ हो: शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” परमेश्‍वरको नजरमा, तेरा कार्यहरू असल कर्म हुनेछैनन्, ती कार्यहरूलाई दुष्कर्म मानिनेछ। ती कार्यलाई परमेश्‍वरद्वारा स्वीकृति नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?

आफ्‍नो कर्तव्य निभाउनेहरू सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य निभाउने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निभाइरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निभाएको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी दुई चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ, तब के तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्‍म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न त्यति गाह्रो छैन रहेछ भन्ने महसुस गर्नेछस्। तर त्योभन्दा पनि बढी, तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, अनि आफ्ना स्वार्थी चाहना, आशय र अभिप्रायहरू पन्छाउन सक्षम हुनुपर्नेछ; तैँले परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्नेछ, र तैँले परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍नुपर्नेछ। तैँले केही समय यस्तो अनुभव गरिसकेपछि, यो नै आफूलाई व्यवहारमा ढाल्ने राम्रो शैली हो भन्ने कुरा महसुस गर्नेछस्। यो सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र तुच्छ र निकृष्ठ व्यक्ति बन्‍नु होइन; यो त घृणित, तुच्छ, र बेकामे बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा व्यवहार गर्नुपर्छ र उसले जिउनुपर्ने स्वरूप यही हो भन्‍ने तैँले महसुस गर्नेछस्। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ। अहिले, तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भएको भए पनि, सत्यता पछ्याउने, सत्यता अभ्यास गर्ने, र सत्यता वास्तविकतामा प्रवेश गर्नेसम्‍बन्धी पाठहरूमा तिमीहरूको प्रवेश, परिचितता र अनुभवमा गहिराइको कमी छ, र तिमीहरूसँग कुनै सच्‍चा अनुभव वा परिचितता छैन, त्यसकारण तिमीहरूले साँचो गवाही पैदा गर्न सक्दैनौ। मैले अब तिमीहरूलाई एउटा सरल शैली बताइसकेको छु: यस तरिकाले अभ्यास गर्दै सुरु गर, र तिमीहरूले केही समयसम्म यसो गरेपछि, थाहै नभई तिमीहरूभित्रको अवस्था परिवर्तन हुनेछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्न अति नै चासो पनि नराख्ने र त्यसप्रति वितृष्णा पनि राख्ने मिश्रित अवस्था बदलिएर परमेश्‍वरमा विश्‍वास गर्नु र इमानदार व्यक्ति हुनु राम्रो कुरा हो भनी महसुस गर्ने स्थितिमा, र तैँले एक इमानदार व्यक्ति हुन चासो राख्‍ने र त्यसरी जिउनुमा अर्थ र भरणपोषण छ भनी महसुस गर्ने स्थितिमा परिणत हुनेछ। तँलाई हृदयभित्र स्थिरता, शान्ति र सन्तुष्टि महसुस हुनेछ। तेरो स्थिति ठीक त्यस्तै बन्‍नेछ। यो आफ्ना अभिप्राय, रुचि र स्वार्थी चाहनाहरू त्याग्दा आउने परिणाम हो। यो प्रतिफल हो। यो आंशिक रूपमा मानव सहकार्यको परिणाम हो, र आंशिक रूपमा पवित्र आत्‍माको कार्य हो। पवित्र आत्‍माले मानिसहरूको सहकार्यविना काम गर्नुहुन्‍न। सबै मानिसहरूभित्र केही न केही गलत स्थितिहरू हुन्छन्, जस्तै नकारात्मकता, कमजोरीपन, निराशा, र दुर्बलता; वा तिनीहरूसँग तुच्छ अभिप्रायहरू हुन्छन्; वा तिनीहरू आफ्नो घमण्ड, स्वार्थी चाहनाहरू, र स्वार्थद्वारा निरन्तर समस्याग्रस्त बन्छन्; वा तिनीहरू आफ्नो क्षमता कमजोर छ भन्ठान्छन्, र तिनीहरूले केही नकारात्मक स्थितिहरू अनुभव गर्छन्। यदि तँ सधैँ यी स्थितिहरूमा जिउँछस् भने, तँलाई पवित्र आत्माको काम प्राप्त गर्न निकै कठिन हुनेछ। यदि तँलाई पवित्र आत्माको काम प्राप्त गर्न कठिन हुन्छ भने, तँभित्र सक्रिय तत्वहरू कमैमात्र हुनेछन्, र नकारात्मक तत्वहरू प्रकट भई तँलाई बाधा पुर्‍याउनेछन्। ती नकारात्मक स्थितिहरू दबाउन मानिसहरू सधैँ आफ्नै इच्छामा भर पर्छन्, तर जसरी दबाए पनि तिनीहरू ती स्थितिहरूबाट मुक्त हुन सक्दैनन्। यसको मुख्य कारण के हो भने, मानिसहरूले पूर्ण रूपले ती नकारात्मक र प्रतिकूल कुराहरू चिन्‍न सक्दैनन्; तिनीहरूले प्रष्ट रूपले ती कुराहरूको सार देख्न सक्दैनन्। यसले तिनीहरूलाई देह र शैतानविरुद्ध विद्रोह गर्न कठिन तुल्याउँछ। साथै, मानिसहरू सधैँ यी नकारात्मक, उदास, र विकृत स्थितिहरूमा फस्छन्, र तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्ने वा उहाँतर्फ फर्कने गर्दैनन्, बरु ती कुराहरूमा झारा टार्ने काम मात्र गर्छन्। फलस्वरूप, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न, र अन्त्यमा तिनीहरू सत्यता बुझ्न असक्षम हुन्छन्, तिनीहरूले जे गर्छन् त्यसमा मार्गको कमी हुन्छ, र तिनीहरूले कुनै मामिला पनि प्रष्ट रूपमा देख्न सक्दैनन्। तँभित्रै अत्यन्तै धैरै नकारात्मक र प्रतिकूल चीजहरू छन्, र ती चीजहरूले तेरो हृदय भरिएको छ, त्यसैले तँ बारम्बार नकारात्मक, आत्मिक रूपमा उदास हुन्छस्, र तँ परमेश्‍वरबाट झन्झन् टाढा हुन्छस्, अनि झन्झन् कमजोर बन्छस्। यदि तँ पवित्र आत्माको अन्तर्दृष्टि र काम प्राप्त गर्न सक्दैनस् भने, तँ यी स्थितिहरूबाट उम्कन सक्नेछैनस्, र तेरो नकारात्मक स्थिति परिवर्तन हुनेछैन, किनकि यदि पवित्र आत्मा तँमा काम गर्दै हुनुहुन्न भने, तैँले मार्ग भेट्टाउन सक्दैनस्। यी दुई कारणहरूले गर्दा, तँलाई आफ्नो नकारात्मक स्थिति त्यागेर सामान्य स्थितिमा प्रवेश गर्न निकै कठिन हुन्छ। हुन त, अहिले आफ्नो कर्तव्य निभाउँदा, तँ कठिनाइ भोग्छस्, कडा मेहनत गर्छस्, धेरै प्रयास गर्छस्, र तँ आफ्नो परिवार र जीवनवृति छोड्न र सबथोक त्याग्न पनि सक्षम छस्, तर तँभित्रका नकारात्मक स्थितिहरू साँच्चिकै रूपान्तरित भएका छैनन्। तिमीहरूलाई सत्यता पछ्याउन र अभ्यास गर्नमा बाधा पार्ने अत्यन्तै धेरै उल्झनहरू छन्, जस्तै तिमीहरूका धारणा, कल्पना, ज्ञान, संसारसँग व्यवहार गर्ने दर्शन, स्वार्थी चाहना, र भ्रष्ट स्वभावहरू। यी प्रतिकूल चीजहरूले तिमीहरूको हृदय भरिएको छ। तिमीहरू सानै भए पनि, तिमीहरूका सोचहरू अति जटिल छन्। तिमीहरू मेरो प्रत्येक वचन र भाव नियाल्छौ र अध्ययन गर्छौ, अनि तीबारे अनन्त रूपले धेरै सोच्छौ। किन यस्तो गर्छौ? तिमीहरू धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छौ, तर मैले अहिलेसम्म तिमीहरूमा कुनै प्रगति वा परिवर्तन देखेको छैनँ। मानिसहरूको हृदय शैतानी कुराहरूले पूरै ओगटिएको हुन्छ। सबैले यो प्रष्ट देख्न सक्छन्। यदि तँ यी कुराहरू फाल्दैनस्, यदि यी नकारात्मक स्थितिहरू त्याग्न सक्दैनस् भने, तँ बालकको रूपमा जीवन्त, प्रेमिलो, निर्दोष, सामान्य, सत्यवान्‌, र शुद्ध तरिकाले परमेश्‍वरसामु आउन सक्षम हुनेछैनस्। त्यसपछि, तँलाई पवित्र आत्माको काम वा सत्यता प्राप्त गर्न कठिन हुनेछ।

अहिले, तिमीहरूको सिफारिस गर्नको लागि तिमीहरू सबैसँग थोरै राम्रा गुणहरू छन्, जस्तै कष्ट भोग्ने इच्छा र विश्‍वास। यी राम्रा गुणहरूले तिमीहरू सबैलाई मुक्ति मिलेको छ। यदि तिमीहरूसँग यी गुणहरू—कठिनाइ सहने तिमीहरूको इच्छा, र परमेश्‍वरमा आफूलाई अर्पित गर्ने साँचो विश्‍वास—नभएको भए, तिमीहरूमा आफ्नो कर्तव्य निभाउने जोस हुन्थेन, र तिमीहरू आजको दिनसम्म अडिग रहन सक्नेथिएनौ। कतिपय मानिसहरू केही समयसम्म आफ्नो कर्तव्य निभाउँछन्, तर सत्यतामा तिनीहरूको रुचि नभएकोले र तिनीहरूले आफ्नो कर्तव्य निर्वाहनबाट कुनै लाभ प्राप्त नगर्ने भएकोले, तिनीहरू काम गर्न, पैसा कमाउन, र विवाह गर्न बाहिरी संसारमै फर्कन्छन्। तिनीहरूले सोच्छन् कि कुनै परिणाम देख्न नपाई यहीँ आलटाल गर्दै बस्नु आफ्नो जवानी, उत्तम समय, र आफ्नो जीवनको बर्बादी हो। यी मानिसहरू प्रकाश गरिएका अविश्‍वासीहरू हुन्। परमेश्‍वरको लागि आफूलाई इमानदारीपूर्वक समर्पित गर्नेहरू मात्र आफ्नो कर्तव्यमा अडिन र खरो उत्रन सक्छन्। अहिले, तिमीहरू सबैले पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्छौ। तिमीहरूलाई परिवार, विवाह, वा सम्पत्तिले बाधा दिने वा बाँध्‍ने गर्दैन। तिमीहरू ती कुराहरूबाट पहिले नै बाहिर निस्किसकेका छौ। तापनि, तिमीहरूको दिमाग भर्ने धारणाहरू, कल्पनाहरू, ज्ञान, र व्यक्तिगत अभिप्राय र चाहनाहरू पूराको पूरा जस्ताको तस्तै छन्। त्यसैले प्रतिष्ठा र हैसियत संलग्‍न हुने वा अनुभवको मौका मिल्ने कुनै पनि कुराको प्रसङ्ग उठ्दा—उदाहरणको लागि, तिमीहरूले परमेश्‍वरको घरले विभिन्‍न प्रकारका प्रतिभाशाली व्यक्तिहरूको वृद्धिविकास गर्ने योजना बनाउँदै छ भन्‍ने सुन्दा—तिमीहरू हरेकको हृदय अपेक्षाले उफ्रन्छ, तिमीहरू हरेकजना नाम कमाउन र चर्चाको दुनियाँमा आउन चाहन्छौ। तिमीहरू हरेक नै हैसियत र प्रतिष्ठाको लागि लड्न चाहन्छौ। तिमीहरू त्यसप्रति लज्‍जित महसुस गर्छौ, तर त्यसो नगरे तिमीहरूलाई नरमाइलो लाग्छ। तिमीहरू अरू कोही माथि उठेको देख्दा डाहा, घृणा, महसुस गर्छौ र गुनासो गर्छौ, र यो अनुचित भयो भन्‍ने ठान्छौ, र सोच्छौ, “मचाहिँ किन माथि उठ्न सक्दिनँ? किन सधैँ अरूको चर्चापरिचर्चा हुन्छ? किन मेरो पालो कहिल्यै आउँदैन?” अनि द्वेष महसुस भएपछि, तिमीहरू यसलाई दबाउन कोसिस गर्छौ, तर दबाउन सक्दैनौ। तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छौ र केही समय अलि राम्रो महसुस गर्छौ, तर यसप्रकारको परिस्थिति पुनः सामना गर्दा तिमीहरू यसबाट पार पाउन सक्दैनौ। के यो अपरिपक्‍व कदको प्रकटीकरण होइन र? जब मानिसहरू त्यस्तो अवस्थामा फस्छन्, के तिनीहरू शैतानको पासोमा परेका हुँदैनन् र? यी कुराहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छन्। यदि मानिसहरूले यी भ्रष्ट स्वभावहरू त्याग्छन् भने, के तिनीहरूले मुक्त र स्वतन्त्र महसुस गर्दैनन् र? यसबारेमा विचार गर्: यदि तँ ख्याति र लाभका लागि सङ्घर्ष गर्ने यी स्थितिहरूमा पर्नबाट बच्न—यी भ्रष्ट अवस्थाहरूबाट आफूलाई मुक्त गर्न, र यी ख्याति, लाभ र हैसियतका तनाव र बन्धनहरूबाट आफूलाई स्वतन्त्र पार्न—चाहन्छस् भने, तैँले कुन सत्यताहरू बुझ्नुपर्छ? स्वतन्त्रता र मुक्ति प्राप्त गर्न तँसित कुन सत्यता वास्तविकताहरू हुनुपर्छ? सर्वप्रथम, तैँले यो बुझ्नुपर्छ कि शैतानले मानिसहरूलाई भ्रष्ट पार्न, तिनीहरूलाई पासोमा पार्न, तिनीहरूलाई दुर्व्यवहार गर्न, तिनीहरूलाई गिराउन र तिनीहरूलाई पापमा डुबाउन ख्याति, लाभ र हैसियत प्रयोग गर्छ। अझ भन्‍नुपर्दा, सत्यलाई स्विकारेर मात्र मानिसहरूले खयाती, लाभ र हैसियत छोड्न र पन्साउन सक्छन्। चाहे त्यो जवान होस् वा पाको उमेरको, या नयाँ होस् वा लामो समयदेखिको विश्‍वासी, यी कुराहरू पन्छाउन हरकोहीलाई निकै कठिन हुन्छ। कतिपय मानिसहरू अन्तर्मुखी हुन्छन्, र त्यति धेरै नबोल्नेजस्ता देखिन्छन्, तर वास्तवमा तिनीहरूले हृदयमा अरूले भन्दा बढी कठिनाइहरू बोकेका हुन्छन्। ख्याति, लाभ, र हैसियत त्याग्नु प्रत्येक व्यक्तिको लागि कठिन हुन्छ; ती कुराहरूको परीक्षा पार गर्न कसैले सक्दैन—मानिसहरूका भित्री स्थितिहरू सबै उस्तै हुन्छन्। शैतानले ख्याति र लाभबाहेक अरू कुरा प्रयोग गरेर मान्छेलाई भ्रष्ट तुल्याएको छैन; हजारौँ वर्षको परम्परागत सँस्कृतिले मानिसहरूको दिमागमा बस यी कुराहरू मात्रै बसाएका छन्। त्यसकारण, मान्छेको भ्रष्ट स्वभावले ख्याति, लाभ, र हैसियतलाई नै प्रेम गर्छ र पछ्याउँछ, बस फरकफरक मानिसहरूले पछ्याउने र व्यक्त गर्ने तरिकाहरू मात्र फरकफरक हुन्छन्। कतिपय मानिसहरू यसबारे कहिल्यै बोल्दैनन्, र यसलाई आफ्नो हृदयभित्रै लुकाउँछन्, जबकि अरूहरूले चाहिँ यसलाई शब्दमै उल्लेख गर्छन्। कतिपय व्यक्तिहरू यी कुराहरूको लागि निसङ्कोच लड्छन्, जबकि अरूहरू यी कुराहरूको लागि लड्दैनन्, बरु गोप्य रूपमा, गुनासो र गनगन गर्छन्, र मालमत्ता फुटाउँछन्। फरकफरक मानिसहरूमा फरकफरक तरिकाको प्रकटीकरण हुने भए पनि, तिनीहरू सबैको प्रकृति ठ्याक्कै एउटै हुन्छ। तिनीहरू सबै भ्रष्ट मानवहरू हुन्, जो परमेश्‍वरको प्रतिरोध गर्छन्। यदि तँ सधैँ ख्याति, लाभ, र हैसियतमा ध्यान दिन्छस् भने, यदि तँ यी कुराहरूमा अत्यधिक महत्त्व दिन्छस् भने, यदि यी कुराहरूले तेरो हृदय ओगट्छन् भने, र यदि यी कुराहरू त्याग्न तँ अनिच्छुक छस् भने, तँ यी कुराहरूको नियन्त्रण र बन्धनमा पर्नेछस्। तँ यी कुराहरूको दास बन्नेछस्, र अन्त्यमा, यी कुराहरूले तँलाई पूर्ण रूपमा बरबाद पार्नेछन्। तैँले यी कुराहरूलाई छोड्न र पन्छाउन, अरूहरूलाई सिफारिस गर्न, र तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा चम्कने अवसर भेट्नेबित्तिकै फाइदा लिन संघर्ष वा हतार नगर्। तैँले यी कुराहरू पन्छ्याउन सक्‍नुपर्छ, र कर्तव्य निर्वाह गर्न ढिलाइ पनि गर्नु हुँदैन। तँ यस्तो व्यक्ति बन् जो चुपचाप गुमनामीमा काम गर्छ, र निष्ठापूर्वक कर्तव्य निभाउँदा अरूलाई धाक देखाइहिँड्दैन। तैँले आफ्नो घमण्ड र हैसियत जति धेरै छोड्छस्, र तैँले आफ्ना हितहरू जति धेरै त्याग्छस्, तँ त्यति नै धेरै शान्ति महसुस गर्नेछस्, तेरो हृदयभित्र त्यति नै धेरै ज्योति हुनेछ, र तेरो स्थिति त्यति नै धेरै सुध्रनेछ। तैँले जति धेरै संघर्ष र प्रतिस्पर्धा गर्छस् तेरो अवस्था त्यति नै अँध्यारो हुनेछ। यदि तँ मलाई विश्‍वास गर्दैनस् भने, प्रयास गरेर हेर्! यदि तँ यसप्रकारको भ्रष्ट अवस्था सुल्ट्याउन चाहन्छस्, र यी कुराहरूबाट नियन्त्रित हुन चाहँदैनस् भने, तैँले सत्यता खोजी गर्नुपर्छ, र यी कुराहरूको सार स्पष्टसित बुझ्नुपर्छ, र त्यसपछि तिनलाई पन्छाउनु र परित्याग गर्नुपर्छ। होइन भने, तैँले जति धेरै संघर्ष गर्छस्, तेरो हृदय त्यति नै धेरै अँध्यारो हुनेछ, र तैँले त्यति नै धेरै ईर्ष्या र घृणा महसुस गर्नेछस्, अनि ती कुराहरू पाउने तेरो चाहना केवल झन्झन् प्रबल बन्दै जानेछ। ती कुराहरू पाउने पाउने तेरो चाहना जति प्रबल हुन्छ, तँ ती प्राप्त गर्न त्यति नै कम सक्षम हुनेछस्, र त्यस्तो हुँदा तेरो घृणा बढ्नेछ। तेरो घृणा बढेपछि तँ भित्री रूपमा झन् अँध्यारो हुनेछस्। तँ भित्री रूपमा जति अँध्यारो हुन्छस्, तेरो कर्तव्यनिर्वाह त्यति नै कमजोर हुनेछ, अनि तेरो कर्तव्यनिर्वाह जति कमजोर हुन्छ, परमेश्‍वरको घरको निम्ति तँ त्यति नै कम उपयोगी हुनेछस्। यो एक अन्तर्सम्‍बन्धित, दुष्चक्र हो। यदि तैँले आफ्नो कर्तव्य कहिल्यै राम्रोसँग निभाउन सक्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ।

पवित्र आत्माले कुनै व्यक्तिमा काम गर्नलाई र उसका थुप्रै नकारात्मक स्थितिहरू रूपान्तरित गर्नलाई, उक्त व्यक्तिले बेलाबेलामा कष्ट भोग्दै, मूल्य चुकाउँदै, विभिन्‍न कुराहरू त्याग गर्दै, र देहविरुद्ध विद्रोह गर्दै, र चरणबद्ध रूपमा आफ्नो दिशा परिवर्तन गर्दै सक्रिय रूपमा सहकार्य र खोजी गर्नुपर्छ। यसबाट परिणाम आउनलाई र उसले सही मार्गमा पाइला टेक्नलाई लामो समय लाग्छ—तर परमेश्‍वरले व्यक्तिलाई प्रकाश गर्नलाई केही सेकेण्ड मात्र लाग्छ। यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउँदैनस्, बरु सधैँ आफूलाई फरक देखाउन खोज्छस्, र सधैँ हैसियतको लागि प्रतिस्पर्धा गर्न, फरक देखिन र चम्किन कोसिस गर्छस्, र आफ्नो ख्याति र हितको लागि लड्छस् भने, यो स्थितिमा जिउँदा, के तँ एक श्रमिक मात्र हुँदैनस् र? यदि तँ चाहन्छस् भने तैँले श्रम गर्न सक्छस्, तर तैँले श्रम गरिसक्‍नुअघि नै तँलाई प्रकाश गरिने सम्भावना हुन्छ। जब मानिसहरूलाई प्रकाश गरिन्छ, तिनीहरूको निन्दा गरिने र हटाइने दिन आइपुग्छ। के त्यो परिणाम उल्ट्याउन सम्भव छ? त्यो सजिलो छैन; परमेश्‍वरले तिनीहरूको परिणाम निर्धारण गरिसक्नुभएको हुन सक्छ, र यस अवस्थामा, तिनीहरू समस्यामा हुन्छन्। मानिसहरू प्रायः अपराध गरिरहन्छन्, भ्रष्ट स्वभावहरू प्रकट गरिरहन्छन्, र केही सानातिना गल्तीहरू गरिरहन्छन्, आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्ने गर्छन्, गुप्त उद्देश्य लिएर बोल्छन्, र छलछाममा संलग्न हुन्छन्, तर जबसम्म तिनीहरूले मण्डलीको काम भङ्ग गर्ने वा त्यसमा बाधा पुर्‍याउने, वा ठूलो भद्रगोल सिर्जना गर्ने, वा परमेश्‍वरको स्वभाव चिढ्याउने, वा प्रष्टै चिनिने दुष्ट परिणामहरू निम्त्याउने गर्दैनन्, तबसम्म तिनीहरूसँग पश्‍चाताप गर्ने एउटा मौका हुन्छ। तर यदि तिनीहरूले ठूलो दुष्टता गर्छन् वा ठूलो विपत्ति निम्त्याउँछन् भने, के तिनीहरूले अझै पनि आफूलाई छुटकारा दिलाउन सक्छन्? परमेश्‍वरमा विश्‍वास गर्ने र कर्तव्य निभाउने व्यक्तिको लागि यो बिन्दुमा पुग्नु निकै खतरनाक हुन्छ। यो त एउटा विवाहित जोडी सँगै बसेको अवस्थाजस्तै हो। यदि ती दुईबीच अलिअलि मनमुटाव हुन्छ, र तिनीहरू प्रायः एकअर्काको चित्त दुख्ने कुरा बोलिरहन्छन् भने, तिनीहरू एकअर्कालाई सहन सकुञ्जेल सँगै बसिरहन सक्छन्। तर यदि एकजनाको अरू कसैसित अनैतिक सम्बन्ध छ, र अर्कोले जतिसुकै मेहनत गरे पनि उसलाई फर्काएर ल्याउन सक्दैन, र ऊ पनि फर्कन चाहँदैन भने, के ती दुईजना सँगै बस्न सक्छन्? त्यस्तो व्यक्तिप्रति बढी सहनशील हुन खोजेर केही हुँदैन, त्यो व्यर्थ हुनेछ। यस्तो विवाह टुट्छ, तिनीहरू सम्बन्धविच्छेदबाहेक अरू केही गर्न सक्दैनन्। यदि कोही दुई मानिसहरू यस बिन्दुमा पुग्छन् भने, तिनीहरू एउटै छानामूनि बसिरहेका भए पनि, तिनीहरूको विवाह नाममा मात्र सीमित हुन्छ। तिनीहरूले सम्बन्धविच्छेद गर्नु वा नगर्नुले केही फरक पार्दैन। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र आफ्नो कर्तव्य निभाउँछस्, तर फेरि त्यही बिन्दुमा पुग्छस् भने—सत्यता पछ्याउने र सिद्ध पारिने मौकाहरू गुमाउँदा, तेरो हृदय कठोर बन्छ भने, र तँ कहिल्यै पश्‍चाताप नगर्ने र फिर्ता नआउने, र जिद्दीपूर्वक हैसियत पछ्याइराख्‍ने गर्छस् भने, र परमेश्‍वरले धेरै मौकाहरू दिनुहुँदा पनि, सत्यताको एक टुक्रासमेत स्विकार्दैनस् भने—ढिलोचाँडो तँलाई खुलासा गरिने र हटाइने दिन आउनेछ। सम्भवतः कुनै एउटै मामिला, वा परिस्थिति, वा वचन वा मनोवृत्तिले तँलाई पूर्ण प्रकाश गर्नेछ। त्यसकारण, यदि व्यक्तिले पवित्र आत्माको काम वा सत्यता प्राप्त गर्दैन भने, यदि ऊ सधैँ आफ्नो भ्रष्ट, शैतानी स्वभावको बन्धन र नियन्त्रणमा हुन्छ भने, यदि ऊ विभिन्न खालका स्वार्थी चाहना र अभिप्रायहरू बोकेर जिउँछ र त्यसबाट बाहिर निस्कन सक्दैन भने, ऊ ठूलो खतरामा हुन्छ। ढिलोचाँढो, ऊ पछारिनेछ र उसलाई प्रकाश गरिनेछ। सायद तँ अहिलेसम्म पछारिएको छैनस् होला, तर त्यसको मतलब तँ पछि पनि पछारिनेछैनस् भन्ने होइन। सायद तँ अहिले पनि आफ्नो कर्तव्य निभाउन सक्षम छस् होला, सायद तँमा अझै पनि आफूलाई परमेश्‍वरमा अर्पित गर्ने र कठिनाइहरू भोग्ने केही इच्छा छ होला, र सायद तँमा सिद्ध पारिने खोजमा लाग्‍ने इच्छा छ होला, तर त्यो कुरा सत्यता बुझ्नु, वा सत्यता वास्तविकामा प्रवेश गर्नुको विकल्प होइन, न त त्यसको अर्थ तँ पछि पछारिछैनस्, वा अडिग रहन सक्षम हुनेछस् भन्ने नै हो। कतिपय मानिसहरूले कैयौँ वर्षदेखि परमेश्वरमा विश्वास गरेका छन्, तर तिनीहरूले थोरै पनि सत्यता बुझ्दैनन्। तिनीहरूको दृष्टिकोण गैरविश्‍वासीहरूको जस्तै हुन्छ। तिनीहरूले झूटा अगुवा वा ख्रीष्टविरोधीलाई प्रकाश गरेर हटाइएको देख्दा सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, र परमेश्‍वरको अघि जिउनु भिरको बाटो हिँड्नुसरह हो! यो चक्कूको धारमा उभिनुजस्तै हो!” अनि अरूले भन्छन्, “अगुवा र सेवक बन्‍नु र परमेश्‍वरको सेवा गर्नुमा जोखिम छ। यो त मानिसहरूले भनेझैँ ‘राजालाई साथ दिनु भनेको बाघको साथी बन्‍नुसरह हो’। एउटा काम वा एउटा शब्‍द गलत भयो भने, हामीले परमेश्‍वरको स्वभाव चिढ्याउँछौँ, अनि हामीलाई हटाइन्छ र दण्ड दिइन्छ!” के यी टिप्पणीहरू सही छन्? “भीरको बाटो हिँड्नु” अनि “चक्‍कुको धारमा उभिनु”—यी कुराको अर्थ के हो? यी कुराको अर्थ ठूलो खतरा भन्‍ने हुन्छ, हरेक क्षणमा ठूलो खतरा छ, र थोरै लापरवाहीले पनि पछार्न सक्छ भन्‍ने हुन्छ। “राजालाई साथ दिनु भनेको बाघको साथी बन्‍नुसरह हो” भन्‍ने भनाइ गैरविश्‍वासीहरूको एउटा आम भनाइ हो। यसको अर्थ दुष्ट राजाको नजिक हुनु खतरनाक हुन्छ भन्‍ने हो। यदि यो भनाइलाई परमेश्‍वरको सेवा गर्ने कार्यमा लागू गरियो भने, कहाँ गल्ती हुन्छ? परमेश्‍वर अर्थात् सृष्टिकर्तालाई दुष्ट राजासँग तुलना गर्नु—के यो ईश्‍वर-निन्दा होइन र? यो गम्‍भीर समस्या हो। परमेश्‍वर धर्मी र पवित्र परमेश्‍वर हुनुहुन्छ; परमेश्‍वरलाई विरोध गरेकोमा वा उहाँप्रति शत्रुवत् बनेकोमा मानिसलाई दण्ड दिइनुपर्छ भन्‍ने कुरा पूर्णतः प्राकृतिक र न्यायसङ्गत कुरा हो। शैतान र दियाबलसहरूसँग अलिकति पनि सत्यता छैन; तिनीहरू फोहोरी र दुष्ट छन्, र तिनीहरूले निर्दोषहरूको हत्या गर्छन्, र असलहरूलाई ठाडै निल्छन्। तिनीहरूलाई कसरी परमेश्‍वरसँग तुलना गर्न सकिन्छ? किन मानिसहरू तथ्य बङ्ग्याउँदै परमेश्‍वरमाथि लाञ्छना लाउँछन्? यो परमेश्‍वरविरुद्धको ठूलो निन्दा हो! प्रायजसो नकारात्मक बन्‍ने र इमानदारीसाथ आफ्‍नो कर्तव्य निर्वाह नगर्ने केही मानिसहरूलाई जब काटछाँट गरिन्छ, तब तिनीहरूलाई हटाइन्छ कि भन्‍ने चिन्ता हुन्छ, र तिनीहरूले प्राय यस्तो सोच्‍ने गर्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु साँच्‍चै भिरको बाटो हिँड्नुसरह हो! कुनै गल्ती गर्नेबित्तिकै, काटछाँट गरिन्छ; झूटा अगुवा वा ख्रीष्टविरोधी ठहरिनेबित्तिकै, प्रतिस्थापित गरिन्छ र हटाइन्छ। परमेश्‍वरको घरमा, परमेश्‍वर रिसाउनु असामान्य कुरो होइन, र मानिसहरूले अलिकति खराब काम गर्दा, तिनीहरूलाई एकै वचनले हटाइन्छ। तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौकासमेत दिइँदैन।” के साँच्‍चिकै यस्तै हुन्छ त? के परमेश्‍वरको घरले वास्तवमै मानिसहरूलाई पश्‍चात्ताप गर्ने मौका दिँदैन? (त्यो गलत हो।) यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई अनगिन्ती दुष्कर्महरू गरेको कारण, र काटछाँट गर्दा र धेरैपटक अर्ती दिँदा पनि आफ्‍नो मार्ग नबदलेको कारण हटाइएको हुन्छ। अनि, यसरी सोच्‍ने मानिसहरूमा के समस्या हुन्छ? तिनीहरूले मिथ्या तर्कद्वारा आफ्‍नो कुरा सही साबित गर्न खोजिरहेका हुन्छन्। तिनीहरूले सत्यता खोजी गर्दैनन्, न त तिनीहरूले उचित रूपमा श्रम नै गर्छन्, तिनीहरूले त बढारेर फालिने र हटाइने डरले, नमीठोसित गुनासो गर्छन् र आफ्ना धारणाहरू फैलाउँछन्। स्पष्टतः तिनीहरूको मानवता कमजोर हुन्छ, र तिनीहरू आफ्‍नो काममा झाराटारुवा अनि नकारात्मक र सुस्त हुन्छन्। तिनीहरूलाई आफूलाई प्रकाश गरेर हटाइएला भन्‍ने डर हुन्छ, त्यसकारण तिनीहरूले सबै दोष मण्डली र परमेश्‍वरमाथि थोपर्छन्। यो कस्तो प्रकृति हो? यो परमेश्‍वरलाई आलोचना गर्ने, उहाँप्रति गुनासो गर्ने र उहाँको विरोध गर्ने प्रकृति हो। यी टिप्पणीहरू सबैभन्दा भद्दा भ्रम र सबैभन्दा हास्यास्पद दाबीहरू हुन्। यी मानिसहरूले यस्ता कुराहरू बोल्‍न सक्नु भनेको के कुराको प्रमाण हो भने, तिनीहरूले परमेश्‍वरमा वर्षौँ विश्‍वास गरेर पनि सत्यता कहिल्यै कदापि पछ्याएका रहेनछन्। अनि, यसले मात्र तिनीहरूलाई परमेश्‍वरको आलोचना गर्ने, उहाँको प्रतिरोध गर्ने, र ईशनिन्दा गर्ने यो स्तरसम्‍म झार्न सक्छ। प्रायः नकारात्मक रहने र सत्यता खोजी नगर्नेहरू साँच्चिकै खतरामा बाँचिरहेका हुन्छन् भन्ने प्रष्टै छ। त्यसैले, आफूलाई सुरक्षित पार्न र यी खतरनाक परिस्थितिहरूबाट मुक्त हुन परमेश्‍वरमा विश्‍वास गर्नेहरूले कसरी अभ्यास गर्नुपर्छ? यसको कडी भनेको सत्यता पछ्याउने मार्ग हिँड्नु हो। यदि व्यक्तिले केही सत्यता बुझ्न सक्छ भने, यदि ऊ आधारभूत स्तरमा परमेश्‍वरप्रति समर्पित हुन सक्छ भने, ऊ तुलनात्मक रूपमा भयरहीत र सुरक्षित हुनेछ। सत्यता नपछ्याउने, सत्यता वास्तविकता नभएका, र प्राय नकारात्मक रहनेहरू सधैँ हटाइने खतरामा हुन्छन्। हृदयमा सत्यताप्रति वितृष्णा भएका, सधैँ सत्यता अभ्यास गर्नु अत्यन्तै कठिन र मूर्खता भएको अनुभूति गर्नेहरू सबैभन्दा खतरामा हुने मानिसहरू हुन्। ढिलोचाँडो, तिनीहरूलाई प्रकाश गरिनेछ र हटाइनेछ।

कुनै व्यक्ति छली होस् या तुलनात्मक रूपमा छलहीन र इमानदार होस्, मानिसहरूका अभिप्राय, चाहना, र अशुद्धताहरू धेरथोर सबै उस्तै हुन्छन्। यदि तिमीहरू सबैले आफ्नो दिशा परिवर्तन गर्न, यी भ्रष्ट स्थितिहरू त्याग्न, र कम्तीमा पनि, आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छौ भने, तिमीहरूले मानव स्वरूप प्राप्त गर्नेछौ। यदि तिमीहरू आफ्नो कर्तव्य निभाउँदा आफ्ना व्यक्तिगत अभिप्राय, प्रेरणा, र चाहनाहरू बोकेर हिँड्छौ भने, तिमीहरूले विचलन वा गल्तीहरू गर्ने उच्च सम्भावना हुन्छ, र तिमीहरूलाई सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न, वा आफ्नो कर्तव्य राम्ररी निभाउन र परमेश्‍वरका अभिप्रायअनुरूप हुन धेरै कठिन हुनेछ। यस्तो किन हुन्छ भने, मानिसहरू अत्यन्तै झाराटारुवा हुन्छन्, र तिनीहरू अत्यन्तै धेरै अशुद्धताहरूले भरिएका हुन्छन्। यदि तँ आफ्नो कर्तव्य राम्ररी गर्न चाहन्छस् भने, तैँले पहिला आफ्ना व्यक्तिगत अभिप्राय र चाहनाहरू सुल्झाउनुपर्छ। त्यसपछि, तेरो भित्री अवस्था बिस्तारै परिवर्तन हुनेछ, तेरो मनस्थिति सुधार हुनेछ, तँभित्रका सक्रिय तत्वहरू बढ्नेछन्, तेरा अशुद्धताहरू घट्नेछन्, तेरो हृदय झन् शुद्ध र झन् सामान्य बन्नेछ, अनि तँ बस परमेश्‍वरलाई सन्तुष्ट पार्न राम्रोसित कर्तव्य निभाउन मात्र चाहनेछस्। यस तरिकाले, तँलाई शैतानी सोच र विचारहरू, वा संसारसँग व्यवहार गर्ने दर्शनहरूले सजिलै नियन्त्रण गर्नेछैनन्। तैँले स्वाभाविक रूपमै छुटकारा र स्वतन्त्रता प्राप्त गर्नेछस्, र तैँले गर्ने हरेक कुरा सजिलो र सुखद हुनेछ। यो ठ्याक्‍कै मानिसहरू हिँडिरहेको अवस्थाजस्तै हो—यदि तिनीहरूले थुप्रै भारी बोक्छन् भने, तिनीहरूको हिँडाइ अति थकानयुक्त हुनेछ, र तिनीहरू झन्झन् ढिलो हिँड्न थाल्नेछन् र अन्त्यमा थकानकै कारण तिनीहरू ढल्नेछन् र नाजुक बन्नेछन्। यदि तिनीहरूले ती भारीहरू झारे भने, तिनीहरूको हिँडाइ धेरै सजिलो हुनेछ, र तिनीहरूले छुटकारा र स्वतन्त्रता पाएको अनुभूति पनि गर्नेछन्। तिमीहरू सबैले आफूले प्राप्त गरेको छुटकारा र स्वतन्त्रताका जुनसुकै पक्षहरूबारे दैनिकी वा गवाही निबन्ध लेख्नुपर्छ। तिमीहरूले आफूलाई केही आइपर्दा कसरी सत्यता खोज्यौ र कसरी आफ्ना बोझहरू बिसायौ, र आफ्ना कुन अभिप्राय र प्रेरणाहरूविरुद्ध विद्रोह गर्‍यौ, र कस्तो प्रकारको अन्तर्दृष्टि प्राप्त गर्‍यौ, र कस्ता सुखद अनुभूतिहरू अनुभव गर्‍यौ भन्नेबारे लेख्नुपर्छ—यी स्थितिहरू र ज्ञानबारे लेख। यो अनुभवात्मक गवाही हो, र यो तिमीहरू र अन्य मानिसहरू दुवैको लागि ठूलो लाभ हो। यस तरिकाले, तेरो अनुभव बढ्नेछ, सत्यताबारे तेरो बुझाइमा सुधार हुनेछ, र तेरा छुटकारा र स्वतन्त्रताका दिनहरू बढेर जानेछन्। तँ अय्यूबजस्तै एक स्वतन्त्र व्यक्ति बन्नेछस्। अय्यूब कसरी यो प्रसिद्ध वचन सजिलै बोल्न सक्षम भयो: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२०-२१)? के ऊ रातारात ती वचनहरू बोल्न सक्ने भयो? कदापि भएन। ती वचनहरू कैयौँ दिन, कैयौँ वर्ष, र कैयौँ दशकहरूको अनुभवका योग थिए। ती दशकौँसम्म जम्मा गरेको जीवन अनुभवका फल थिए। सत्यता प्राप्त गर्नु र गवाहीका वचनहरू बोल्नु सामान्य कुरा होइन। व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेर परिणाम प्राप्त गर्ने एकमात्र तरिका भनेको सत्यता पछ्याउने मार्ग हिँड्नु हो। ख्याति, लाभ, र हैसियत पछ्याउन छोडेपछि, तेरो लागि परिस्थितिहरू झन् सजिला हुनेछन्। तँलाई सत्यता पछ्याउने मार्गमा यात्रा सुरु गर्न सजिलो हुनेछ। जब तैँले सत्यता बुझ्‍ने र वास्तविकतामा प्रवेश गर्ने हदसम्म तेरो अनुभव पुग्छ, तैँले सत्यता प्राप्त गरेको, र छुटकारा र स्वतन्त्रता हासिल गरेको हुनेछस्। त्यस बिन्दुमा तँलाई ख्रीष्टको पछि लागेर र सत्यता खोजी गरेर धेरै कुरा प्राप्त गरेको छु भन्‍ने लाग्‍नेछ। तैँले सत्यता प्राप्त गर्न ख्याति, लाभ, र हैसियतको खोजी, र पारिवारिक मामिलाका उल्झनहरू त्यागेको हुनेछस्। तैँले परमेश्‍वरलाई पछ्याएको र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गरेको हुनेछस्, र तैँले बिस्तारै सत्यता बुझेको, र थुप्रै कुराहरूको सार देखेको हुनेछस्। तँ फेरि कुनै पनि दुविधामा वा शैतानको बहकाउमा पर्नेछैनस्। सत्यता र जीवन प्राप्त गर्नु नै सबैभन्दा मूल्यावान् कुरा हो; तेरो प्रेम पाउन सबैभन्दा लायक चीज नै सत्यता हो। जब तैँले सत्यता नै सबैभन्दा अमूल्य चीज रहेको देख्छस्, तैँले ख्याति, लाभ, हैसियत, पैसा, आडम्बर, र घमण्ड बेकार रहेको, र यी कुराहरूले तँलाई नोक्सान पुर्‍याइरहेको थाहा पाउनेछस्। त्यसकारण, तँ यी कुराहरूलाई तिरस्कार गर्न थाल्‍नेछस्, र यी कुराहरू त्याग्न सक्षम बन्‍नेछस्। यो अत्यन्तै अर्थपूर्ण छ। यद्यपि, कतिपय मानिसहरू अझै यस्ता पनि छन् जो ख्याति र हैसियतका अवरोधहरू त्याग्न सक्दैनन्। तिनीहरू दिनभरि हैसियत, लाभ, र हैसियतको लागि धेरै सोच्छन् र अरूसँग लडाइँ गर्छन्। तिनीहरूले आडम्बर र घमण्डका केही मामिलाहरूमा पनि विवाद र झगडा गर्नेछन्। तिनीहरू सत्यता खोज्दैनन्, न त परमेश्‍वरका अभिप्रायप्रति नै ध्यान दिन्छन्। तिनीहरू ख्याति, लाभ, र हैसियतलाई अरू जुनसुकै कुराभन्दा उच्च ठान्छन्, र परिणामस्वरूप, तिनीहरू यी कुराहरूमा वर्षौँसम्म लागिपर्छन्, तर तिनीहरूसँग अलिकति पनि सत्यता वास्तविकता हुँदैन। तिनीहरूले जुनसुकै कर्तव्य निभाए पनि, अत्यन्तै खराब तरिकाले गर्छन्, र जीवनका उत्तम वर्षहरू गुमाउँछन्। सत्यता नपछ्याउनेहरूको दयनीय अवस्था यस्तै हुन्छ। यी मानिसहरू परमेश्‍वरप्रतिको विश्‍वासमा यसरी काम चलाउ तरिकाले लाग्छन्। दसबीस वर्ष बितिसक्दा पनि तिनीहरूले सत्यता र जीवन प्राप्त गरेका हुँदैनन्, र तिनीहरू अझै पनि परमेश्‍वरको गवाही दिन असक्षम हुन्छन्। जब विपत्तिहरू आउँछन्, तब तिनीहरूले स्तब्ध हुनुपर्नेछ, कुन दिन विपत्तिमा परेर मरिने हो तिनीहरूलाई पत्तै हुनेछैन, र त्यतिबेला पछुतोको लागि पनि अत्ति ढिलो भइसकेको हुनेछ। त्यसकारण, जो परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यता पछ्याउँदैनन्, तिनीहरूको लागि ढिलोचाँडो पछुतो गर्नुपर्ने दिन आउनेछ। अहिले पनि धेरै मानिसहरू यस्ता छन् जो आँखा चिम्लेर ख्याति, लाभ, र हैसियत पछ्याइरहेका हुन्छन्, र जब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरूले आफूलाई ठूलो अपमान भएको अनुभूति गर्छन्। तिनीहरू आफ्नो आडम्बर र घमण्ड जोगाउनको लागि मिथ्या तर्क र व्याख्याहरू सिर्जना गर्न सक्दो प्रयास गर्छन्। तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्ने हेतुले सत्यता स्विकार्दैनन्, र तिनीहरू अझै पनि ख्याति, लाभ, र हैसियतलाई अरू हरकुनै कुराभन्दा उच्च ठान्छन्। यस्ता व्यक्तिहरूले त्यस्तो दयनीय जीवन जिउँछन्! तिनीहरू सबैभन्दा मूर्ख र अज्ञानी मानिस हुन्।

तिमीहरूको लागि, आफ्नो कर्तव्य निभाउने, र कसरी आफ्नो भ्रष्ट स्वभाव त्याग्ने, कसरी परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्ने, कसरी आफ्नो कर्तव्य निष्ठापूर्वक निभाउने, कसरी परमेश्‍वरका अभिप्राय पूरा गर्ने, कसरी आफ्ना जिम्मेवारीहरू पूरा गरी आफ्नो कर्तव्यमा झाराटारुवा नबन्ने भनी अनुभव लिने, आफ्नो कर्तव्य निभाउँदा परमेश्‍वरका वचनहरूको अनुभव र ज्ञान लिने, र परमेश्‍वरका कार्यहरू हेर्ने उत्तम अवसर अहिले नै हो। कस्तो उत्कृष्ट अवसर! कुनै दिन, जब तिमीहरू परिवर्तन भएका हुन्छौ, त्यसउप्रान्त तिमीहरूले घमण्ड र हैसियतबारे लडाइँ गर्नेछैनौ। तिमीहरूलाई जे मापदण्ड दिइन्छ, तिमीहरू त्यो धेरै कठिन छ भनी सोच्नेछैनौ, र तिमीहरूलाई त्यो गर्न सजिलै हुनेछ। तिमीहरूलाई सत्यता व्यवहारमा लागू गर्न, सिद्धान्तहरूअनुसार कार्य गर्न, र धेरै कुराहरूको सार बुझ्न सजिलो हुनेछ। तिमीहरू सामान्य तवरले आफ्नो कर्तव्य निभाउन पूर्ण सक्षम हुनेछौ, र तिमीहरूलाई फेरि कहिल्यै पनि कुनै व्यक्ति, घट्ना, वा वस्तुबाट बाधा पुग्नेछैन। यो पूर्ण रूपले सत्यता वास्तविकतामा प्रवेश गर्नु हो।

जुलाई १६, २०१५

अघिल्लो: हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ

अर्को: सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्