परमेश्वरको वर्तमान कामसम्बन्धी ज्ञान
यी समयहरूमा परमेश्वरको काम चिन्नु भनेको मुख्यतया, आखिरी दिनहरूका देहधारी परमेश्वरको मुख्य सेवकाइ के हो र उहाँ पृथ्वीमा के गर्न आउनुभएको छ भनी जान्नु हो। मैले यसअघि आफ्ना वचनहरूमा परमेश्वर प्रस्थान गर्नुअघि एउटा उदाहरण स्थापित गर्न पृथ्वीमा (आखिरी दिनहरूको दौरान) आउनुभएको छ भनी उल्लेख गरेको छु। परमेश्वर यो उदाहरण कसरी स्थापित गर्नुहुन्छ? उहाँ त्यो वचनहरू बोलेर र पृथ्वीभरि काम गरेर र बोलेर गर्नुहुन्छ। आखिरी दिनहरूको दौरान परमेश्वरको काम यही हो; उहाँ बोल्नु मात्रै हुन्छ, ताकि पृथ्वी वचनहरूको संसार बनोस् र हरेक व्यक्तिलाई उहाँका वचनहरूद्वारा भरणपोषण र प्रबोधित गरियोस् अनि यसरी तिनीहरूले आफ्नो आत्माभित्र ज्योति देखून् र दर्शनहरूबारे स्पष्टता प्राप्त गरून्। आखिरी दिनहरूमा, परमेश्वर देह बन्नुभएको छ र मुख्य रूपमा वचनहरू बोल्न पृथ्वीमा आउनुभएको छ। जब येशू आउनुभयो, तब उहाँले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो र उहाँले क्रूसीकरणको छुटकाराको काम पूरा गर्नुभयो। उहाँले व्यवस्थाको युगको अन्त्य गर्नुभयो र पुराना सबै कुरा समाप्त गर्नुभयो। येशूको आगमनले व्यवस्थाको युगको अन्त्य गर्यो र अनुग्रहको युगको सुरुवात गर्यो; आखिरी दिनहरूका देहधारी परमेश्वरको आगमनले अनुग्रहको युगको अन्त्य गरेको छ। उहाँ मुख्य रूपमा आफ्ना वचनहरू बोल्न—वचनहरू प्रयोग गर्दै मानिसलाई सिद्ध पार्न, मानिसलाई ज्योति दिन र प्रबोधित गर्न—आउनुभएको छ र यसरी मानिसको हृदयभित्र रहेको अस्पष्ट ईश्वरको स्थान हटाउनुहुन्छ। जब येशू आउनुभयो, तब उहाँले कामको यो चरण गर्नुभएन। जब उहाँ आउनुभयो, तब उहाँले धेरै चमत्कार गर्नुभयो, उहाँले बिरामीलाई निको पार्नुभयो र पिशाचहरू धपाउनुभयो, र उहाँले क्रूसीकरणको छुटकाराको काम गर्नुभयो। परिणामस्वरूप, मानिसहरू आफ्ना धारणाहरूमा परमेश्वर यस्तै हुनुपर्छ भन्ने विश्वास गर्छन्। किनभने जब येशू आउनुभयो, उहाँले मानिसको हृदयबाट अस्पष्ट ईश्वरको छवि हटाउने काम गर्नुभएन; जब उहाँ आउनुभयो, तब उहाँ क्रूसमा टाँगिनुभयो, उहाँले बिरामीलाई निको पार्नुभयो र पिशाचहरू धपाउनुभयो अनि स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो। एक हिसाबमा, आखिरी दिनहरूको दौरान परमेश्वरको देहधारणले मानिसका धारणाहरूमा अस्पष्ट ईश्वरले ओगटेको स्थानलाई हटाउँछ, ताकि उप्रान्त मानिसको हृदयमा अस्पष्ट ईश्वरको स्वरूप नरहोस्। उहाँ आफ्नो व्यावहारिक वचन र काम, विभिन्न ठाउँमा आफ्नो भ्रमण र आफूले मानिसमाझ गर्ने अत्यन्तै व्यावहारिक र सामान्य काममार्फत मानिसलाई परमेश्वरको व्यावहारिकता चिन्ने तुल्याउनुहुन्छ र मानिसको हृदयमा रहेको अस्पष्ट ईश्वरको स्थान हटाउनुहुन्छ। अर्को हिसाबमा, परमेश्वर मानिसलाई पूर्ण पार्न र सबै कुरा पूरा गर्न आफ्नो देहद्वारा बोलिएका वचनहरू प्रयोग गर्नुहुन्छ। आखिरी दिनहरूमा परमेश्वरले पूरा गर्ने काम यही हो।
तिमीहरूले के थाहा पाउनैपर्छ:
१. परमेश्वरको काम अलौकिक छैन, र तिमीहरूले यसबारे मनमा धारणाहरू राख्नु हुँदैन।
२. यसपटक देहधारी परमेश्वर जुन मुख्य काम गर्न आउनुभएको छ सो काम तिमीहरूले बुझ्नैपर्छ।
उहाँ बिरामीहरू निको पार्न, वा भूतप्रेतहरू धपाउन वा आश्चर्यकर्महरू गर्न आउनुभएको होइन, र उहाँ पश्चात्तापको सुसमाचार प्रचार गर्न, वा मानिसलाई छुटकारा दिन आउनुभएको होइन। यसको कारण के हो भने येशूले यो काम पहिले नै गरिसक्नुभएको छ, र परमेश्वरले उही काम दोहोर्याउनुहुन्न। आज, परमेश्वर अनुग्रहको युगलाई अन्त्य गर्न र अनुग्रहको युगका सबै अभ्यासहरूलाई फाल्न आउनुभएको छ। व्यवहारिक परमेश्वर मुख्य रूपमा उहाँको व्यावहारिकता प्रकाश गर्न आउनुभएको हो। जब येशू आउनुभयो, उहाँले थोरै वचनहरू बोल्नुभयो; उहाँले मुख्य रूपमा आश्चर्यकर्महरू प्रदर्शन गर्नुभयो, चिन्हहरू र अचम्मका कामहरू प्रस्तुत गर्नुभयो र बिरामीहरू निको पार्नुभयो र भूतप्रेतहरू धपाउनुभयो, वा उहाँले उहाँ साँच्चिकै परमेश्वर हुनुहुन्छ, र उहाँमा कुनै दहगत भावनाहरू थिएन भन्ने कुराप्रति मानिसहरूलाई विश्वस्त तुल्याउन र सो कुरा उनीहरूलाई देखाउन भविष्यवाणीहरू गर्नुभयो। आखिरमा, उहाँले क्रूसीकरणको काम पूरा गर्नुभयो। आजका परमेश्वरले चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुहुन्न, न त उहाँले बिरामीहरू निको पार्ने र दुष्टात्माहरू धपाउने काम नै गर्नुहुन्छ। जब येशू आउनुभयो, उहाँले गर्नुभएको कामले परमेश्वरको एक भागलाई प्रतिनिधित्व गर्यो, तर यसपटक परमेश्वर बाँकी रहेको चरणको काम गर्न आउनुभएको हो, किनकि परमेश्वरले एउटै काम दोहोर्याउनुहुन्न; उहाँ सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ, र त्यसैले तैँले आज जे जति देख्छस् त्यो सबै नै व्यावहारिक परमेश्वरका वचनहरू र काम हुन्।
आखिरी दिनहरूमा, परमेश्वर मुख्य रूपमा आफ्ना वचनहरू बोल्न, मानिसको जीवनका लागि आवश्यक सबै कुरा व्याख्या गर्न, मानिसले प्रवेश गर्नुपर्ने कुराहरू औँल्याउन, मानिसलाई परमेश्वरका कार्यहरू देखाउन र मानिसलाई परमेश्वरको बुद्धि, सर्वशक्तिमान्ता र विलक्षणता देखाउन देह बन्नुभएको छ। परमेश्वरले बोल्ने धेरै तरिकामार्फत, मानिसले परमेश्वरको सर्वोच्चता, परमेश्वरको महान्ता, र त्योभन्दा बढी, परमेश्वरको नम्रता र गुप्तपन देख्छ। मानिसले परमेश्वर सर्वोच्च हुनुहुन्छ तर उहाँ नम्र र गुप्त हुनुहुन्छ अनि सबैभन्दा सानो बन्न सक्नुहुन्छ भन्ने देख्छ। उहाँका कतिपय वचन सिधै आत्माको दृष्टिकोणबाट, कतिपय वचन सिधै मानिसको दृष्टिकोणबाट र कतिपय वचन तेस्रो पक्षको दृष्टिकोणबाट बोलिएका हुन्छन्। यसमा, परमेश्वरको कामको तरिका विभिन्न प्रकारको हुन्छ भनी देख्न सकिन्छ र उहाँ मानिसलाई वचनहरूमार्फत नै त्यो देख्न दिनुहुन्छ। आखिरी दिनहरूको दौरान परमेश्वरको काम सामान्य र व्यावहारिक दुवै हुन्छ र यसरी आखिरी दिनहरूका मानिसहरूको समूह सबैभन्दा ठूलो परीक्षामा पर्छ। परमेश्वरको सामान्यता र व्यावहारिकताका कारण, सबै मानिस परीक्षाहरूबीच प्रवेश गरेका छन्; मानिस परमेश्वरका परीक्षाहरूमा पर्नुको कारण परमेश्वरको सामान्यता र व्यावहारिकता नै हो। येशूको युगमा, कुनै धारणा वा परीक्षाहरू थिएनन्। येशूले गरेका धेरैजसो काम मानिसका धारणाहरूअनुरूप भएकाले, मानिसहरूले उहाँलाई पछ्याए र तिनीहरूमा उहाँबारे कुनै धारणाहरू थिएनन्। आजका परीक्षाहरू मानिसले सामना गरेका अहिलेसम्मकै सबैभन्दा ठूला परीक्षा हुन् र जब यी मानिसहरू महासङ्कष्टबाट बाहिर आउँछन् भनेर भनिन्छ, तब यही सङ्कष्टलाई जनाइएको हो। आज, परमेश्वर यी मानिसहरूमा आस्था, प्रेम, कष्ट स्वीकार र समर्पण निर्माण गर्न बोल्नुहुन्छ। आखिरी दिनहरूका देहधारी परमेश्वरद्वारा बोलिएका वचनहरू मानिसको प्रकृति सार, मानिसका व्यवहार र प्रकटीकरणहरू अनि मानिसले वर्तमानमा प्रवेश गर्नुपर्ने कुराहरूअनुसार बोलिएका हुन्छन्। उहाँका वचनहरू व्यावहारिक र सामान्य दुवै हुन्छन्: उहाँ भोलिको कुरा गर्नुहुन्न, न त उहाँ हिजोलाई नै फर्केर हेर्नुहुन्छ; उहाँ आज प्रवेश गर्नुपर्ने, अभ्यास गर्नुपर्ने र बुझ्नुपर्ने कुराहरूबारे मात्र बोल्नुहुन्छ। अहिलेको दिनमा, यदि चिह्न र आश्चर्यकर्महरू प्रदर्शन गर्न, पिशाचहरू धपाउन, बिरामीलाई निको पार्न र धेरै अचम्मका काम प्रस्तुत गर्न सक्ने कुनै व्यक्ति प्रकट हुन्छ, र यदि त्यस्तो व्यक्तिले फर्किआउनुभएको येशू मै हुँ भनी दाबी गर्छ भने, यो कुनै दुष्टात्माले गरेको प्रतिरूपण हुन्छ, यो दुष्टात्माले येशूको नक्कल गर्ने कार्य हुन्छ। यो कुरा याद गर! परमेश्वरले एउटै काम दोहोर्याउनुहुन्न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्वरको काम मानिसका धारणाहरूअनुरूप छैन; उदाहरणका लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्यो, र अन्ततः आउने त येशू नै हुनुहुन्थ्यो। यसरी, फेरि अर्को मसीह आउनु गलत हुनेथ्यो। येशू एक पटक आइसक्नुभएको छ, र यदि “येशू” यस पटक फेरि आउनुभएको भए, त्यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको विशेषता हुन्छ। मानिसका धारणाहरूमा, परमेश्वरले सधैँ चिन्ह र आश्चर्यकर्महरू गर्नुपर्छ, सधैँ बिरामीलाई निको पार्नुपर्छ र पिशाचहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्वर बिलकुलै त्यस्तो हुनुहुन्न। आखिरी दिनहरूमा, यदि परमेश्वरले अझै पनि चिन्ह र आश्चर्यकर्महरू गर्नुभएको, र अझै पनि पिशाचहरू धपाउनुभएको र बिरामीलाई निको पार्नुभएको भए—यदि उहाँले ठ्याक्कै येशूले जस्तै गर्नुभएको भए—परमेश्वरले एउटै काम दोहोर्याउनुभएको हुनेथियो, र येशूको कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्वरले हरेक युगमा कामको एउटा चरण कार्यान्वयन गर्नुहुन्छ। उहाँको कामको हरेक चरण पूरा भएपछि, दुष्ट आत्माहरूले तुरुन्तै यसको नक्कल गर्ने कोसिस गर्छन्, र शैतानले परमेश्वरको पिछा गर्न थालेपछि, परमेश्वरले अलग विधि अपनाउनुहुन्छ। परमेश्वरले उहाँको कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्कल गर्ने कोसिस गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ। परमेश्वरको आजको काम किन येशूको कामभन्दा फरक छ? परमेश्वरले आज किन चिन्ह र आश्चर्यकर्महरू गर्नुहुन्न, पिशाचहरू धपाउनुहुन्न, र बिरामीहरू निको पार्नुहुन्न? यदि येशूको काम व्यवस्थाको युगमा गरिएको कामजस्तै भएको भए, के उहाँले अनुग्रहको युगको परमेश्वरको प्रतिनिधित्व गर्न सक्नुहुन्थ्यो? के उहाँले क्रूसीकरणको काम पूरा गर्न सक्नुहुन्थ्यो? यदि येशू मन्दिरमा आबद्ध हुनुभएको र उहाँले व्यवस्थाको युगमा जस्तै शबाथको दिन पालन गर्नुभएको, उहाँलाई कसैले पनि नसताएको र सबैले अँगालेको भए, के उहाँ क्रूसमा टाँगिइन सक्नुहुन्थ्यो? के उहाँले छुटकाराको काम पूरा गर्न सक्नुहुन्थ्यो? यदि आखिरी दिनहरूका देहधारी परमेश्वरले पनि येशूले गर्नुभएजस्तै चिन्ह र आश्चर्यकर्महरू गर्नुभएको भए, यसको के अर्थ हुन्थ्यो? यदि परमेश्वरले आखिरी दिनहरूमा उहाँको व्यवस्थापन योजनाको भागलाई प्रतिनिधित्व गर्ने उहाँको कामको अर्को भाग गर्नुभयो भने मात्र मानिसले परमेश्वरबारे झनै गहिरो ज्ञान प्राप्त गर्न सक्छ, र परमेश्वरको व्यवस्थापन योजना पूरा हुन सक्छ।
आखिरी दिनहरूको दौरान, परमेश्वर मुख्य रूपमा आफ्ना वचनहरू बोल्न आउनुभएको छ। उहाँ आत्माको दृष्टिकोणबाट, मानिसको दृष्टिकोणबाट र तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोल्नुहुन्छ; उहाँ फरक-फरक तरिकाले बोल्नुहुन्छ, केही समयका लागि एउटा तरिका प्रयोग गर्नुहुन्छ अनि मानिसका धारणाहरू परिवर्तन गर्न र मानिसको हृदयबाट अस्पष्ट ईश्वरको स्वरूप हटाउन यी बोल्ने तरिकाहरू प्रयोग गर्नुहुन्छ। परमेश्वरद्वारा गरिने मुख्य काम यही हो। मानिसले परमेश्वर आउनुहुँदा उहाँले बिरामीलाई निको पार्नुहुनेछ, पिशाचहरू धपाउनुहुनेछ, आश्चर्यकर्महरू गर्नुहुनेछ र मानिसलाई भौतिक आशिष्हरू दिनुहुनेछ भनी विश्वास गर्ने हुनाले, परमेश्वर मानिसका धारणाहरूमा भएका यस्ता कुराहरू हटाउन, मानिसलाई परमेश्वरको व्यावहारिकता र सामान्यता जान्न दिन अनि मानिसको हृदयमा रहेको येशूको स्वरूप हटाएर त्यसको सट्टा परमेश्वरको नयाँ स्वरूपलाई मानिसको हृदय ओगट्न दिन कामको यो चरण—सजाय र न्यायको काम—गर्नुहुन्छ। मानिसभित्र परमेश्वरको स्वरूप पुरानो भएपछि, त्यो मूर्ति बन्छ। जब येशू आउनुभयो र उहाँले कामको त्यो चरण गर्नुभयो, तब उहाँले परमेश्वरको सम्पूर्णताको प्रतिनिधित्व गर्नुभएन। उहाँले केही चिन्ह र आश्चर्यकर्म गर्नुभयो, केही वचन बोल्नुभयो र अन्ततः क्रूसमा टाँगिनुभयो। उहाँले परमेश्वरको एउटा भागको प्रतिनिधित्व गर्नुभयो। उहाँले परमेश्वरका सबै कुराको प्रतिनिधित्व गर्न सक्नुभएन, बरु उहाँले परमेश्वरको कामको एउटा भाग गर्नमा परमेश्वरको प्रतिनिधित्व गर्नुभयो। किनभने परमेश्वर अत्यन्तै महान् र अत्यन्तै अद्भुत हुनुहुन्छ अनि उहाँ बुझ्न नसकिने हुनुहुन्छ र किनभने परमेश्वर हरेक युगमा आफ्नो कामको एक भाग मात्र गर्नुहुन्छ। यो युगको अवधिमा परमेश्वरले गर्नुहुने काम मुख्य रूपमा मानिसका लागि जीवनका वचनहरू प्रदान गर्नु; मानिसको प्रकृति सार र उसको भ्रष्ट स्वभाव खुलासा गर्नु; र उसका धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, साथै ज्ञान र संस्कृतिलाई हटाउनु हो। यी सबै कुराहरू परमेश्वरका वचनहरूद्वारा खुलासा गरिएर पखालिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्ह र आश्चर्यकर्महरू प्रयोग गर्नुहुन्न। उहाँले मानिसलाई प्रकाश गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ, ताकि परमेश्वरका वचनहरूमा, मानिसले परमेश्वरको बुद्धि र प्रेमिलो स्वभाव देखोस् र परमेश्वरको स्वभाव बुझोस्, ताकि परमेश्वरका वचनहरूमार्फत, मानिसले परमेश्वरका कार्यहरू देखोस्। व्यवस्थाको युगमा, यहोवाले आफ्ना वचनहरूद्वारा मोशालाई मिश्रबाट बाहिर अगुवाइ गर्नुभयो र इस्राएलीहरूलाई केही वचन बोल्नुभयो; त्यसबेला, परमेश्वरका कार्यहरूको अंश प्रकट भएको थियो, तर मानिसको क्षमता सीमित भएकाले र कुनै पनि कुराले उसको ज्ञानलाई पूर्ण बनाउन नसक्ने हुनाले, परमेश्वर निरन्तर बोल्नुभयो र उहाँले काम गर्नुभयो। अनुग्रहको युगमा, मानिसले फेरि एक पटक परमेश्वरका कार्यहरूको अंश देख्यो। येशूले चिन्ह र आश्चर्यकर्महरू देखाउन, बिरामीलाई निको पार्न र पिशाचहरू धपाउन, र आफू क्रूसमा टाँगिन सक्नुभयो, जसको तीन दिनपछि उहाँ मृत्युबाट बौरी उठ्नुभयो र मानिससामु देहमा देखा पर्नुभयो। मानिसलाई परमेश्वरबारे यति मात्र थाहा थियो। परमेश्वर मानिसलाई जति प्रकट गर्नुहुन्छ, मानिसले त्यति नै जान्दछ र यदि परमेश्वरले उप्रान्त मानिसलाई केही पनि प्रकट नगर्नुहुने हो भने, मानिसले परमेश्वरलाई त्यही हदसम्म सीमित गर्नेथ्यो। यसरी, परमेश्वर निरन्तर काम गर्नुहुन्छ, ताकि उहाँबारे मानिसको ज्ञान अझ गहन हुन सकोस् र मानिसले बिस्तारै परमेश्वरको सार जान्न सकोस्। आखिरी दिनहरूमा, परमेश्वर मानिसलाई सिद्ध पार्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ। तेरो भ्रष्ट स्वभाव परमेश्वरका वचनहरूद्वारा खुलासा हुन्छ र तेरा धार्मिक धारणाहरू परमेश्वरको व्यावहारिकताद्वारा प्रतिस्थापित हुन्छन्। आखिरी दिनहरूमा, परमेश्वर मुख्य रूपमा “वचन देह बन्नुहुन्छ, वचन देहभित्र आउनुहुन्छ र वचन देहमा देखा पर्नुहुन्छ” भन्ने वचनहरू पूरा गर्न देह बन्नुभएको छ र यदि तँसँग यसबारे पूर्ण ज्ञान छैन भने, तँ दृढ रहन असक्षम हुनेछस्। आखिरी दिनहरूको दौरान, परमेश्वर मुख्य रूपमा कामको एउटा चरण पूरा गर्ने अभिप्राय राख्नुहुन्छ, जसमा वचन देहमा देखा पर्नुहुन्छ र यो परमेश्वरको व्यवस्थापनको योजनाको कामको एउटा भाग हो। त्यसैले, तिमीहरूको ज्ञान पूर्ण हुनैपर्छ; परमेश्वरले जसरी काम गर्नुभए पनि, परमेश्वर मानिसलाई उहाँलाई सीमित गर्न दिनुहुन्न। यदि परमेश्वरले आखिरी दिनहरूमा यो काम नगर्नुभएको भए, उहाँबारे मानिसको ज्ञान थप अगाडि बढ्न सक्नेथिएन। तँलाई परमेश्वर क्रूसमा टाँगिन सक्नुहुन्छ र सदोमलाई नष्ट गर्न सक्नुहुन्छ अनि येशू मृत्युबाट बिउँतन र पत्रुससामु देखा पर्न सक्नुहुन्छ भन्ने मात्र थाहा हुनेथ्यो...। तर तैँले परमेश्वरका वचनहरूले सबै कुरा पूरा गर्न सक्छन् र मानिसमाथि विजय हासिल गर्न सक्छन् भनेर कहिल्यै भन्नेथिइनस्। परमेश्वरका वचनहरू अनुभव गरेर मात्र तँ यस्तो ज्ञानबारे बोल्न सक्छस्। तँ परमेश्वरको काम जति धेरै अनुभव गर्छस्, उहाँबारे तेरो ज्ञान त्यति नै पूर्ण हुनेछ र त्यसपछि मात्र तैँले परमेश्वरलाई आफ्नै धारणाहरूभित्र सीमित गर्नेछैनस्। मानिसले परमेश्वरलाई उहाँको काम अनुभव गरेर चिन्छ; परमेश्वरलाई चिन्ने अर्को कुनै सही तरिका छैन। आज, चिन्ह र आश्चर्यकर्महरू अनि ठूला प्रकोपहरूको समय हेर्न पर्खनेबाहेक केही नगर्ने धेरै मानिस छन्। तँ परमेश्वरमा विश्वास गर्छस् कि ठूला प्रकोपहरूमा विश्वास गर्छस्? ठूला प्रकोपहरू आउँदा अत्यन्तै ढिलो भइसकेको हुनेछ र यदि परमेश्वर ठूला प्रकोपहरू तल पठाउनुहुन्न भने, के उहाँ परमेश्वर हुनुहुन्न त? तँ चिन्ह र आश्चर्यकर्महरूमा विश्वास गर्छस् कि परमेश्वर स्वयम्मा विश्वास गर्छस्? अरूले गिल्ला गर्दा येशूले चिन्ह र आश्चर्यकर्महरू देखाउनुभएन, तर के उहाँ परमेश्वर हुनुहुन्नथ्यो र? तँ चिन्ह र आश्चर्यकर्महरूमा विश्वास गर्छस् कि परमेश्वरको सारमा विश्वास गर्छस्? परमेश्वरमाथिको विश्वासबारे मानिसका दृष्टिकोणहरू गलत छन्! व्यवस्थाको युगमा यहोवाले धेरै वचन बोल्नुभयो, तर आज पनि तीमध्ये कतिपय पूरा हुन बाँकी नै छन्। के तँ यहोवा परमेश्वर हुनुहुन्न भनेर भन्न सक्छस्?
आज, तिमीहरू सबैलाई यो कुरा प्रस्ट भएको हुनुपर्छ कि, आखिरी दिनहरूमा, परमेश्वरले पूरा गर्नुहुने कुरा मूलतः “वचन देह बन्नुहुन्छ” भन्ने तथ्य नै हो। उहाँले पृथ्वीमा गर्नुभएको व्यावहारिक काममार्फत, उहाँ मानिसलाई उहाँलाई चिन्न र उहाँसँग संलग्न हुन, साथै उहाँका व्यावहारिक कार्यहरू देख्न अनुमति दिनुहुन्छ। उहाँ मानिसहरूलाई के कुरा प्रस्ट रूपमा देख्न अनुमति दिनुहुन्छ भने, उहाँ चिन्ह र आश्चर्यकर्महरू गर्न सक्नुहुन्छ तर उहाँले त्यसो गर्न नसक्ने समय पनि हुन्छ; यो कुरा युगमा भर पर्छ। यसबाट तैँले देख्न सक्छस् कि परमेश्वर चिन्ह र आश्चर्यकर्महरू गर्न असक्षम हुनुहुन्न, बरु उहाँले गर्नुपर्ने कामअनुसार र युगअनुसार आफ्नो काम गर्ने तरिका परिवर्तन गर्नुहुन्छ। कामको अहिलेको चरणमा, उहाँ चिन्ह र आश्चर्यकर्महरू गर्नुहुन्न; उहाँले येशूको युगमा केही चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुभयो किनभने त्यस युगमा उहाँको काम फरक थियो। परमेश्वर आज त्यो काम गर्नुहुन्न, र कतिपय मानिस उहाँलाई चिन्ह र आश्चर्यकर्महरू गर्न असक्षम ठान्छन्, वा तिनीहरू उहाँले चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन नगर्ने भएकाले उहाँ परमेश्वर हुनुहुन्न भन्ने सोच्छन्। के त्यो भ्रम होइन र? परमेश्वर चिन्ह र आश्चर्यकर्महरू गर्न सक्नुहुन्छ, तर उहाँ फरक युगमा काम गरिरहनुभएको छ, त्यसैले उहाँ त्यस्तो काम गर्नुहुन्न। फरक-फरक युगमा र उहाँको कामका फरक-फरक चरणहरूअनुसार, परमेश्वरले फरक-फरक कार्यहरू प्रकट गर्नुहुन्छ। मानिसले परमेश्वरमा गर्ने विश्वास चिन्ह र आश्चर्यकर्महरूमाथिको विश्वास होइन, न त यो चमत्कारहरूमाथिको विश्वास नै हो, यो त नयाँ युगको दौरान उहाँले गर्नुहुने व्यावहारिक काममाथिको विश्वास हो। मानिसले परमेश्वरलाई परमेश्वरको काम गर्ने तरिकामार्फत चिन्छ, र यो ज्ञानले मानिसमा परमेश्वरमाथिको विश्वास पैदा गर्छ, यसको मतलब परमेश्वरको काम र कार्यहरूमाथिको विश्वास पैदा गर्छ। कामको यो चरणमा, परमेश्वरले मुख्य रूपमा बोल्नुहुन्छ। चिन्ह र आश्चर्यकर्महरू हेर्ने प्रतीक्षा नगर्; तैँले एउटा पनि देख्नेछैनस्! किनभने तँ अनुग्रहको युगमा जन्मेको थिइनस्। यदि तँ जन्मेको थिइस् भने, तैँले चिन्ह र आश्चर्यकर्महरू देख्न सक्थिस्, तर तँ आखिरी दिनहरूको समयमा जन्मिस्, त्यसैले तैँले परमेश्वरको व्यावहारिकता र सामान्यता मात्र देख्न सक्छस्। आखिरी दिनहरूमा अलौकिक येशूलाई देख्ने अपेक्षा नगर्। तैँले व्यावहारिक देहधारी परमेश्वरलाई मात्रै देख्न सक्छस्, जो कुनै सामान्य मानवभन्दा कुनै फरक हुनुहुन्न। हरेक युगमा, परमेश्वरले फरक-फरक कार्यहरू प्रकट गर्नुहुन्छ। हरेक युगमा, उहाँले आफ्ना कार्यहरूका केही भाग प्रकट गर्नुहुन्छ, र हरेक युगको कामले परमेश्वरको स्वभावको एउटा पाटो र परमेश्वरका कार्यहरूको एउटा पाटोको प्रतिनिधित्व गर्छ। उहाँले प्रकट गर्नुहुने कार्यहरू उहाँ जुन युगमा काम गर्नुहुन्छ त्यो युगअनुसार फरक-फरक हुन्छन्, तर ती सबैले नै परमेश्वरबारे मानिसको ज्ञानलाई अझ गहिरो बनाउँछन्, र मानिसलाई परमेश्वरमाथि अझ साँचो र अझ ठोस विश्वास दिलाउँछन्। परमेश्वरका सबै कार्यका कारण, परमेश्वर अत्यन्तै अचम्मका, अत्यन्तै महान्, र सर्वशक्तिमान् हुनुभएको कारण, र उहाँ बुझ्न नसकिने हुनुभएको कारण मानिसले परमेश्वरमा विश्वास गर्छ—त्यही कारणले गर्दा मानिसले परमेश्वरमा विश्वास गर्छ। यदि तँ परमेश्वरले चिन्ह र आश्चर्यकर्महरू गर्न सक्नुहुने र बिरामीलाई निको पार्न र पिशाचहरू धपाउन सक्नुहुने भएकाले उहाँमा विश्वास गर्छस् भने, तेरो दृष्टिकोण गलत छ, र कतिपय मानिसले तँलाई भन्नेछन्, “के दुष्ट आत्माहरू पनि त्यस्ता कुराहरू गर्न सक्दैनन् र?” के यो परमेश्वरको स्वरूपलाई शैतानको छविसँग मिसाउनु होइन र? आज, परमेश्वरमाथिको मानिसको विश्वास उहाँका धेरै कार्य र उहाँले गर्नुहुने धेरै काम र उहाँले बोल्नुहुने धेरै तरिकाहरूले गर्दा हो। परमेश्वर आफ्ना वचनहरूमार्फत मानिसलाई विजय गर्नुहुन्छ र उसलाई सिद्ध पार्नुहुन्छ। मानिस परमेश्वरका धेरै कार्यहरूका कारण उहाँमा विश्वास गर्छ, उहाँले चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्नुहुने भएकाले होइन; मानिसहरू परमेश्वरका कार्यहरू देखेर मात्र उहाँलाई चिन्छन्। परमेश्वरका व्यावहारिक कार्यहरू, उहाँ कसरी काम गर्नुहुन्छ, उहाँ कस्ता बुद्धिमानी विधिहरू प्रयोग गर्नुहुन्छ, उहाँ कसरी बोल्नुहुन्छ, र उहाँ मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भनी जानेर मात्र—यी पक्षहरू जानेर मात्र—तँ परमेश्वरको व्यावहारिकता बोध गर्न र उहाँको स्वभाव बुझ्न सक्छस्, उहाँ के मन पराउनुहुन्छ, उहाँ केलाई घृणा गर्नुहुन्छ, र उहाँ मानिसमा कसरी काम गर्नुहुन्छ भन्ने जान्न सक्छस्। परमेश्वर के मन पराउनुहुन्छ र उहाँ केलाई घृणा गर्नुहुन्छ भन्ने बुझेर, तँ सकारात्मक र नकारात्मक कुराहरूबीचको भिन्नता छुट्याउन सक्छस्, र परमेश्वरबारे तेरो ज्ञानमार्फत तेरो जीवनमा प्रगति हुन्छ। छोटकरीमा भन्दा, तैँले परमेश्वरको कामको ज्ञान प्राप्त गर्नैपर्छ, र तैँले परमेश्वरमाथिको विश्वासबारे आफ्ना दृष्टिकोणहरू सच्याउनैपर्छ।