परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

पहिले, हामी एउटा भजन गाऔँ: राज्यको स्तुतिगान (१) राज्य संसारमा ओर्लिन्छ।

स्वर-सङ्गम: भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, परमेश्‍वरको राज्य मानिसहरूको संसारमा ओर्लिन्छ।

१  भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न आ-आफ्नो आँखा माथि उठाउँछन्। परमेश्‍वरको राज्य मानिसहरूको संसारमा ओर्लिन्छ, मेरो व्यक्ति धनी र प्रशस्त छ। यसमा को आनन्दित हुँदैन र? आनन्दले को नाच्दैन? ए, सियोन! ममा हर्षोल्‍लास गर्न तेरो विजयको झन्डा उठा! मेरो पवित्र नाउँलाई फैलाउन तेरो विजयको गीत गा!

२  पृथ्वीको अन्त्यसम्‍मका सबै सृष्टि! आफैलाई शुद्ध पार्न हतार गर, यसैले कि तिमीहरू मेरो निम्ति बलि बन्न सक। माथि स्वर्गका तारा मण्डलहरू! आकाशमा मेरो पराक्रमी शक्ति प्रकट गर्न आफ्‍नो स्थानमा तुरुन्तै फर्किहाल। म पृथ्वीका मानिसहरूका आवाज सुन्न मेरो कान थाप्छु, जसले गीतमा मेरो निम्ति आफ्नो असिम प्रेम र सम्मान खन्याउँछन्। यस दिन, जब सबै सृष्टिहरू जीवनमा फर्कन्छन्, म मानिसहरूको संसारमा ओर्लिन्छु। यो क्षणमा, यस बेला, सबै फूलहरू उन्मत्त बनेर फक्रिन्छन्, सबै पक्षीहरू एकै सोरमा गाउँछन्, सबै थोक आनन्दले धड्कन्छन्। परमेश्‍वरको राज्यको सलामीको आवाजमा, शैतानको राज्य ढल्छ, राज्यको स्तुतिगानको गर्जनमा कहिल्यै नउठ्ने गरी नाश हुन्छ।

३  पृथ्वीमा कसले खडा हुने र विरोध गर्ने हिम्मत गर्छ? जब म पृथ्वीमा ओर्लिन्छु, म आगो ल्याउँछु, क्रोध ल्याउँछु, र हर किसिमका प्राकृतिक विपत्तिहरू ल्याउँछु। अहिले सांसारिक राज्यहरू मेरो राज्य हुन्! माथि आकाशमा, बादलहरू छताछुल्ल र तरङ्गित हुन्छन्; आकाशमुनि, ताल र नदीहरू उर्लेर बढ्छन् र खुसीको साथ एक उत्तेजक धुन निकाल्छन्। विश्राम गरिरहेका जनावरहरू उनीहरूका ओडारहरूबाट निस्किन्छन्, र सबै मानिसहरू मद्वारा उनीहरूको निद्राबाट जगाइन्छन्। असङ्ख्य मानिसहरूले पर्खेका दिन आखिरमा आइपुगेको छ! तिनीहरूले आफ्ना सबैभन्दा सुन्दर गीतहरू मलाई चढाउँछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, राज्यको स्तुतिगान

हरेक पटक यो गीत गाउँदा तिमीहरूले के सोच्छौ? (हामी एकदमै उत्साहित र रोमाञ्चित महसुस गर्छौं र हामीले राज्यको सौन्दर्य कति तेजस्वी रहेछ, मानवजाति र परमेश्‍वर कसरी सधैँको लागि सँगै हुनेछन् होला भन्‍ने सोच्छौं।) परमेश्‍वरसँग सँगै हुनको लागि मानिसहरूले कस्तो स्वरूप धारण गर्नुपर्छ भन्‍ने बारेमा के कसैले कहिल्यै सोचेको छ? तिमीहरूका कल्पनामा, परमेश्‍वरसँग जोडिन र त्यसपछि राज्यमा हुने तेजस्वी जीवनको आनन्द लिन मानिसहरू कस्तो हुनुपर्छ? (तिनीहरूको स्वभाव परिवर्तन हुनुपर्छ।) तिनीहरूको स्वभाव परिवर्तन हुनुपर्छ, तर कुन हदसम्म? तिनीहरूको स्वभाव परिवर्तन भएपछि तिनीहरू कस्ता हुनेछन्? (तिनीहरू पवित्र बन्‍नेछन्।) पवित्रताको मापदण्ड के हो त? (व्यक्तिका सबै सोच-विचारहरू र चिन्तनहरू ख्रीष्ट अनुरूप हुनुपर्छ।) त्यस्तो अनुरूपता कसरी प्रकट हुन्छ त? (व्यक्तिले परमेश्‍वरलाई प्रतिरोध गर्दैन वा धोका दिँदैन, व्यक्ति पूर्ण रूपमा उहाँमा समर्पित हुन सक्छ र व्यक्तिमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ।) तिमीहरूका केही जबाफहरू सही पथमा छन्। तिमीहरू सबैले आफ्ना हृदय खुला गर, अनि जे भन्न चाहन्छौ सो व्यक्त गर। (राज्यमा परमेश्‍वरसँग बस्ने मानिसहरूले बफादारिताका साथ सत्यताको खोजी गरेर अनि कुनै पनि व्यक्ति, घटना वा वस्तुद्वारा बाधित नभईकन आफ्ना कर्तव्यहरू पालना गर्न सक्‍नुपर्छ। त्यसपछि तिनीहरूलाई अन्धकारको प्रभावबाट मुक्त हुन, तिनीहरूको हृदयलाई परमेश्‍वरको अनुरूप गराउन अनि परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सम्भव हुन्छ।) (विविध कुराहरूप्रतिको हाम्रो दृष्टिकोण परमेश्‍वरको अनुरूप बन्न सक्छ र हामी अन्धकारको प्रभावबाट मुक्त हुन सक्छौं। कम्तीमा पनि हामी त्यो ठाउँसम्म पुग्न सक्छौँ जहाँ अब उप्रान्त कहिल्यै शैतानले हामीलाई शोषण गर्न सक्दैन, र जहाँ हामीले हाम्रा कुनै पनि भ्रष्ट स्वभावहरूलाई फाल्न सक्छौँ र हामी परमेश्‍वरप्रति समर्पित हुन सक्छौं। मानिसहरू अन्धकारको प्रभावबाट मुक्त हुन अत्यावश्यक छ भन्‍ने हामी विश्‍वास गर्छौं। अन्धकारको प्रभावबाट टाढा जान नसक्ने र शैतानको बन्धनबाट उम्कन नसक्ने मानिसहरूले परमेश्‍वरबाट मुक्ति प्राप्त गरेका हुँदैनन्।) (परमेश्‍वरद्वारा सिद्ध पारिनको लागि चाहिने मापदण्डहरू पूरा गर्न मानिसहरूले उहाँसँग तन र मनले एक हुनुपर्छ र अब उप्रान्त उहाँलाई कहिल्यै पनि प्रतिरोध गर्नु हुँदैन। तिनीहरूले आफूले आफैलाई चिन्न सक्नुपर्छ, सत्यताको अभ्यास गर्नुपर्छ, परमेश्‍वरको बुझाइ हासिल गर्नुपर्छ, परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र परमेश्‍वरको अनुरूप बन्नुपर्छ। यसको लागि चाहिने कुरा यही हो।)

मानिसहरूका परिणामहरूले तिनीहरूको हृदयमा कति गहन प्रभाव पार्छन्

कुन मार्ग पालना गर्ने भन्‍ने सम्बन्धमा तिमीहरूसँग केही विचार भएको जस्तो र तिमीहरूले यसको बारेमा केही बुझाइ र सराहना विकास गरेका छौ जस्तो देखिन्छ। तथापि, तिमीहरूले बोल्ने सबै शब्दहरू खोक्रा हुन्छन् कि वास्तविक हुन्छन् भन्‍ने कुरा तिमीहरूको दैनिक अभ्यासप्रतिको लगावमा निर्भर रहन्छ। वर्षहरू बित्दै जाँदा, धर्म सिद्धान्त र सत्यताको वास्तविक विषयवस्तु दुवैको रूपमा, तिमीहरू सबैले सत्यताको हरेक पक्षबाट केही निश्चित फलहरू प्राप्त गरेका छौ। यसले के प्रमाणित गर्छ भने, मानिसहरूले आजभोलि सत्यता हासिल गर्ने कुरामा अत्यन्तै धेरै जोड दिन्छन् र फलस्वरूप, सत्यताको हरेक पक्ष र अंशले अवश्य पनि केही मानिसहरूको हृदयमा जरा गाडिसकेको छ। तथापि, मैले सबैभन्दा डर मान्ने कुरा चाहिँ के हो त? त्यो के हो भने यी सत्यताका विषयहरू र यी सिद्धान्तहरूले तिमीहरूको हृदयमा जरा गाडिसकेको भए तापनि तिनको वास्तविक विषयवस्तुमा सारतत्त्व चाहिँ अलिकति मात्र रहेको छ। जब तिमीहरूले समस्याहरू भोग्छौ, परीक्षा र विकल्पहरूको सामना गर्छौ, तिमीहरूका लागि यी सत्यताहरूको वास्तविकता कति व्यावहारिक प्रयोजनको हुन्छ त? के यसले तिमीहरूलाई परमेश्‍वरका अभिप्रायहरू पूरा गर्दै आफ्ना समस्याहरूबाट पार पाउन र परीक्षाहरूबाट बाहिर निस्कन मद्दत गर्छ त? के तिमीहरू परीक्षाहरूमाझ खरो उत्रन सक्छौ र परमेश्‍वरको जोडदार साक्षी दिन सक्छौ? के तिमीहरूले कहिल्यै आफूले आफैलाई यी मामलाहरूसँग सम्बन्धित गरेका छौ? म तिमीहरूलाई सोध्छु: तिमीहरूको हृदयमा र तिमीहरूको सबै दैनिक सोचविचार र चिन्तनहरूमा, तिमीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? के तिमीहरू कहिल्यै यसबारेमा कुनै निष्कर्षमा पुगेका छौ? तिमीहरूलाई आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्‍ने लाग्छ? केही मानिसहरूले “अवश्‍य पनि, सत्यताको अभ्यास गर्नु हो” भनेर भन्छन् भने अरूले “अवश्य पनि, हरेक दिन परमेश्‍वरका वचनहरू पढ्नु हो” भनेर भन्छन्। केही मानिसहरूले “अवश्य पनि, हरेक दिन परमेश्‍वरको सामु आउनु र उहाँलाई प्रार्थना गर्नु हो” भनेर भन्छन्, अनि त्यस्ता व्यक्तिहरू छन् जो “अवश्य पनि, हरेक दिन आफ्नो कर्तव्य उचित रूपमा निभाउनु हो” भनेर भन्छन्। केही त्यस्ता व्यक्तिहरू समेत छन् जो आफूले परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने, कसरी हरेक कुरामा उहाँप्रति समर्पित हुने, र कसरी उहाँका अभिप्रायहरूअनुरूप हुने गरी कार्य गर्ने सो बारेमा मात्रै सोच्छौँ भनेर भन्छन्। के त्यो सही होइन र? के कुरा यति नै हो त? उदाहरणको लागि, कोही भन्छन्, “म केवल परमेश्‍वरप्रति समर्पित हुन चाहन्छु, तर जब-जब म समस्याको सामना गर्छु, तब-तब म समर्पित हुनै सक्दिनँ।” अरू भन्छन्, “म केवल परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छु, र मैले एक पटक मात्रै भए पनि उहाँलाई सन्तुष्ट पार्न पाए हुन्थ्यो—तर म कहिल्यै उहाँलाई सन्तुष्ट पार्न सक्दिनँ।” कोही भन्छन्, “म केवल परमेश्‍वरप्रति समर्पित हुन चाहन्छु। परीक्षाका समयमा, कुनै गुनासो र अनुरोध नगरिकन, म केवल उहाँका योजनाबद्ध कार्यहरूको कृपामा राख्न, र उहाँका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन चाहन्छु। तैपनि म लगभग हरेक पटक नै समर्पित हुन असफल हुन्छु।” अझै अरू भन्छन्, “जब मैले निर्णयहरू गर्नुपर्ने हुन्छ, म कहिल्यै पनि सत्यताको अभ्यास गर्ने विकल्प चुन्न सक्दिनँ। म सधैँ देहलाई सन्तुष्ट पार्न चाहन्छु र मेरा आफ्नै व्यक्तिगत, स्वार्थी चाहनाहरू पूरा गर्न चाहन्छु।” यसको कारण के हो त? परमेश्‍वरको परीक्षा आउनुअघि, के तिमीहरूले बारम्बार आफैले आफ्नो परीक्षा र जाँच गरेर आफूलाई चुनौती दिइसकेका छौ? तिमीहरू साँचो रूपमा परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई साँच्चिकै सन्तुष्ट पार्न सक्छौ कि सक्दैनौ, अनि तिमीहरूले उहाँलाई धोका नदिने कुराको प्रत्याभूति गर्न सक्छौ कि सक्दैनौ सो हेर; तिमीहरूले आफूलाई सन्तुष्ट पार्न र आफ्ना स्वार्थी चाहनाहरू पूरा गर्नबाट आफूलाई रोक्न अनि यसको सट्टा कुनै पनि व्यक्तिगत रोजाइहरू नगरीकन केवल परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छौ कि सक्दैनौ हेर। के कसैले यसो गर्छ त? वास्तवमा, तिमीहरूको आँखाअगाडि एउटै मात्र तथ्य राखिएको छ र यसैमा तिमीहरू हरेकको सबैभन्दा बढी रुचि छ र यसैलाई जान्ने सबैभन्दा बढी इच्छा छ—र यो हो, हरेक व्यक्तिको परिणाम र गन्तव्यको कुरा। तिमीहरूले यसलाई महसुस नगर्न पनि सक्छौ तर यो कुरा कसैले पनि इन्कार गर्न सक्दैन। जब मानिसहरूका परिणामहरूको सत्यता, मानवजातिलाई परमेश्‍वरको प्रतिज्ञा र मानिसहरूलाई परमेश्‍वरले कस्तो प्रकारको गन्तव्यमा ल्याउन चाहनुहुन्छ भन्‍ने कुरा आउँछ, यी विषयहरू सम्बन्धी परमेश्‍वरका वचनहरूलाई पहिले नै धेरै पटक पढेका केही व्यक्तिहरू छन् भन्‍ने मलाई थाहा छ। अनि आफ्नो मस्तिष्कमा जबाफ खोजी गर्ने र यी कुराहरूको बारेमा बारम्बार चिन्तन गर्ने तैपनि हात लाग्यो शून्य हुने वा सायद कुनै अस्पष्ट निष्कर्षमा पुग्ने केही व्यक्तिहरू छन्। अन्त्यमा, तिनीहरू आफ्नो लागि कस्तो प्रकारको परिणाम आउँदैछ भन्‍ने बारेमा अनिश्चित रहन्छन्। धेरैजसो मानिसहरू आफ्ना कर्तव्यहरू निभाउँदा निम्न प्रश्नहरूको निश्चयात्मक जबाफहरू पाउन चाहन्छन्: “मेरो परिणाम के हुनेछ? के म यो बाटोमा अन्त्यसम्मै हिँड्न सक्छु? मानवजातिप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ?” केही त यसरी पनि चिन्तित हुन्छन्: “विगतमा, मैले केही कामहरू गरेको छु, र मैले केही कुराहरू भनेको छु; मैले परमेश्‍वरविरुद्ध विद्रोह गरेको छु, मैले परमेश्‍वरलाई धोका दिने कार्यहरू गरेको छु, र केही निश्चित परिस्थितिहरूमा मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न असफल भएको छु, मैले उहाँको चित्त दुखाएको छु र मैले उहाँलाई निराश पारेको छु र मलाई घृणा र द्वेष गर्ने बनाएको छु। त्यसैले होला सायद मेरो परिणाम अज्ञात छ।” धेरैजसो मानिसहरू आफ्नो परिणामको बारेमा असहज महसुस गर्छन् भन्नु न्यायसंगत हुन्छ। कसैले पनि यस्तो भन्‍ने आँट गर्दैन, “म संघर्ष गरेर पनि बाँच्‍ने व्यक्ति बन्नेछु भन्‍नेमा म शतप्रतिशत निश्चितताको महसुस गर्छु; म शतप्रतिशत निश्चित छु कि म परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न सक्छु। म परमेश्‍वरका अभिप्रायहरूअनुरूपको व्यक्ति हुँ; म त्यस्तो व्यक्ति हो जसलाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्छ।” कतिपय मानिसहरूले परमेश्‍वरको मार्ग पछ्याउनु विशेष रूपले कठिन हुन्छ र सत्यतालाई अभ्यास गर्नु सबैभन्दा गाह्रो कुरा हो भन्‍ने ठान्छन्। फलस्वरूप, त्यस्ता मानिसहरू आफूलाई सहयोग गरिए पनि केही हुन नसक्‍ने अवस्थामा पुगेका छौं भन्‍ने विश्‍वास गर्छन्, र राम्रो परिणाम प्राप्त गर्ने आशा बढाउने आँट गर्दैनन्; वा सायद, तिनीहरू आफूले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न नसक्ने भएको हुँदा संघर्ष गरेर पनि बाँच्‍ने व्यक्ति बन्न नसक्ने विश्‍वास गर्छन्। यसकारण, तिनीहरूले आफूसँग कुनै परिणाम छैन र राम्रो गन्तव्य प्राप्त गर्दैनन् भन्‍ने दाबी गर्छन्। मानिसहरूले ठ्याक्कै जे-जसरी सोच्ने भए तापनि, तिनीहरू सबैले धेरै पल्ट आफ्नो परिणाम के-कस्तो होला भनेर सोचेका हुन्छन्। तिनीहरूको भविष्यसम्बन्धी प्रश्नहरू र परमेश्‍वरले उहाँको काम सक्नुभएपछि आफूले के पाइएला भन्‍ने प्रश्नहरूको बारेमा तिनीहरूले निरन्तर रूपमा आकलन र योजना गरिरहेका हुन्छन्। केहीले दुई गुणा बढी मूल्य चुकाउँछन्; केहीले आफ्‍ना परिवारहरू र जागिरहरू छाड्छन्; केहीले आफ्नो विवाह त्याग्छन्; केहीले परमेश्‍वरको लागि जीवन अर्पण गर्न पद त्याग गर्छन्; केहीले आफ्‍नो कर्तव्य निर्वाह गर्न घर छाड्छन्; केहीले कठिनाइ रोज्छन् र सबैभन्दा नरमाइला र थकाउने कामहरू गर्न सुरु गर्छन्; केहीले आफ्नो सम्पत्ति र आफ्ना सबै कुरा समर्पित गर्ने विकल्प रोज्छन्; अनि अझै अरू कतिले चाहिँ सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई चिन्ने प्रयत्न गर्ने विकल्प रोज्छन्। तिमीहरूले जे-जसरी सत्यताको अभ्यास गर्ने विकल्प रोजे पनि, जुन शैलीमा तिमीहरूले अभ्यास गर्छौ त्यो महत्त्वपूर्ण छ कि छैन त? (अहँ, महत्त्वपूर्ण छैन।) त्यसोभए, हामीले “महत्त्वहीन” लाई कसरी व्याख्या गर्छौं? यदि अभ्यासको विधि महत्त्वपूर्ण छैन भने, के चाहिँ महत्त्वपूर्ण छ त? (बाह्य असल व्यवहारले सत्यताको अभ्यास गर्ने कार्यको प्रतिनिधित्व गर्दैन।) (हरेक व्यक्तिको सोचविचारहरू महत्त्वपूर्ण हुँदैनन्; मुख्य कुरा भनेको हामीले सत्यतालाई अभ्यास गर्छौं कि गर्दैनौं वा हामीमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ कि छैन भन्‍ने हो।) (ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरूको पतनले हामीलाई बाह्य व्यवहार नै सबैभन्दा महत्त्वपूर्ण कुरा होइन भनी बुझ्न मद्दत गर्छ। सतही रूपमा, तिनीहरूले धेरै कुरा परित्याग गरेका र तिनीहरू मूल्य चुकाउन इच्छुक रहेका जस्ता देखिन्छन्, तर विश्लेषण गरेपछि, तिनीहरूसित परमेश्‍वरको डर मान्‍ने हृदय नभएको, बरु हरेक सन्दर्भमा तिनीहरूले उहाँको विरोध गर्ने गरेको देख्छौं। महत्त्वपूर्ण क्षणहरूमा, तिनीहरूले सधैँ शैतानको पक्ष लिन्छन् र परमेश्‍वरको काममा बाधा दिन्छन्। यसरी, यहाँ विचार गर्नुपर्ने मुख्य कुरा भनेको समय आउँदा हामी कुन पक्षमा उभिन्छौँ र विविध कुराहरूको बारेमा हाम्रो दृष्टिकोण कस्तो हुन्छ भन्‍ने हो।) तिमीहरू सबै राम्रोसँग बोल्छौ, अनि सत्यताको अभ्यास गर्ने, परमेश्‍वरका अभिप्रायहरू र मानवजातिको लागि परमेश्‍वरका आवश्यक सर्तहरूजस्ता कुराहरू आउँदा तिमीहरूसँग यसअघि नै तीबारेमा आधारभूत बुझाइ र अपेक्षाकृत मापदण्डहरू भएको जस्तो देखिन्छ। तिमीहरू यसरी कुरा गर्न सक्षम हुनु भनेको एकदमै मर्मस्पर्शी कुरा हो। तिमीहरूले भनेका मध्ये केही कुराहरू एकदमै सही नभए तापनि, तिमीहरू पहिले नै सत्यताको उचित व्याख्या गर्ने कार्यको नजिक आइपुगिसकेका छौ—र यसले के प्रमाणित गर्छ भने, तिमीहरूले आफू वरिपरिका मानिसहरू, घटनाहरू, र वस्तुहरूको बारेमा, परमेश्‍वरले तिमीहरूको लागि बन्दोबस्त गर्नुभएका सबै परिवेशहरूको बारेमा, र तिमीहरूले देख्ने सबै कुराहरूको बारेमा तिमीहरूको आफ्नो वास्तविक बुझाइलाई विकसित गरिसकेका छौ। यो यस्तो बुझाइ हो जुन सत्यताको नजिक छ। तिमीहरूले भनेका कुराहरू सम्पूर्ण रूपमा विस्तृत नभए तापनि, र तिमीहरूका शब्दहरूमध्ये केही एकदमै उपयुक्त नभए तापनि, तिमीहरूको बुझाइ यसअघि नै सत्यताको वास्तविकता नजिक पुग्दैछ। तिमीहरूले यसरी कुरा गरेको सुन्दा मलाई एकदमै धेरै खुशी लाग्छ।

मानिसहरूका विश्‍वासले सत्यताको ठाउँ लिन सक्दैन

केही मानिसहरूले कठिनाइ सहन सक्छन्, मूल्य चुकाउन सक्छन्, तिनीहरू बाह्य रूपमा एकदमै राम्रो व्यवहारका हुन्छन्, तिनीहरूलाई निकै राम्रो सम्मान गरिन्छ, र तिनीहरूले अन्य व्यक्तिहरूबाट प्राप्त हुने प्रशंसाको आनन्द उठाउँछन्। के तिमीहरू यस प्रकारको बाह्य व्यवहारलाई सत्यताको अभ्यास गरेको मान्न सकिन्छ भनेर भन्छौ? के त्यस्ता मानिसहरूले परमेश्‍वरका अभिप्रायहरू पूरा गरेका छन् भनेर कसैले निर्क्योल गर्न सक्छ? किन होला बारम्बार मानिसहरूले त्यस्ता व्यक्तिहरूलाई हेर्छन् र तिनीहरूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छन्, तिनीहरू सत्यताको अभ्यास गर्ने मार्गमा हिँडिरहेका छन् अनि तिनीहरू परमेश्‍वरको मार्ग पछ्याइरहेका छन् भनी सोच्छन्? किन केही मानिसहरूले यसरी सोच्ने गर्छन्? यसको एउटै मात्र स्पष्टीकरण छ। त्यो स्पष्टीकरण के हो त? त्यो हो—धेरै मानिसहरूका लागि केही निश्चित प्रश्नहरू जस्तै सत्यताको अभ्यास गर्नु भनेको के हो, परमेश्‍वरलाई सन्तुष्ट पार्नु भनेको के हो र साँच्चै नै सत्यता वास्तविकता धारण गर्नु भनेको के हो भन्‍ने कुराहरू स्पष्ट छैनन्। यसरी, केही मानिसहरू बाह्य रूपमा आत्मिक, सज्जन, उच्च र महान देखिने व्यक्तिहरूबाट भ्रममा पारिन्छन्। जहाँसम्म शब्द र धर्मसिद्धान्तहरू धाराप्रवाह रूपमा बोल्न सक्ने अनि बोली र कार्य प्रशंसनीय भएका मानिसहरूको सवाल छ, तिनीहरूको बहकाउमा पर्नेहरूले तिनीहरूको कार्यको सार, तिनीहरूको कार्यपछाडिको सिद्धान्त वा तिनीहरूको उद्देश्यलाई कहिल्यै पनि हेरेका हुँदैनन्। अझ भन्‍ने हो भने, तिनीहरूले यी मानिसहरू परमेश्‍वरप्रति साँच्चै नै समर्पित छन् कि छैनन् भन्‍ने कुरा कहिल्यै हेरेका हुँदैनन्, न त कहिल्यै तिनीहरूले यी मानिसहरूले साँच्चै नै परमेश्‍वरको डर मान्छन् कि मान्दैनन् अनि यिनीहरू दुष्टताबाट अलग रहन्छन् कि रहँदैनन् भन्‍ने कुरा नै निर्क्योल गरेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि यी मानिसहरूको मानवता सारलाई देखेका हुँदैनन्। बरु, यिनीहरूसँग चिनजान हुने पहिलो कदमदेखि नै, तिनीहरूले अलिअलि गर्दै यिनीहरूलाई सराहना र आदर गर्न थालेका हुन्छन् र अन्त्यमा यी मानिसहरू तिनीहरूको मूर्ति बन्छन्। यस बाहेक, केही व्यक्तिहरूको विचारमा, तिनीहरूले आराधना गर्ने मूर्तिहरू—अनि तिनीहरूले आफ्ना परिवारहरू, जागिरहरू त्याग गर्न सक्ने भनी विश्‍वास गरेका व्यक्तिहरू र सतही रूपमा मूल्य चुकाउन सक्षम देखिने व्यक्तिहरू नै ती व्यक्तिहरू हुन् जसले सच्चा रूपमा परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका छन् र जसले वास्तविक रूपमा असल प्रतिफलहरू र असल गन्तव्यहरू हासिल गर्न सक्छन्। उनीहरूको मनमा, यी आदर्श पात्रहरू नै ती व्यक्तिहरू हुन् जसलाई परमेश्‍वरले स्याबासी दिनुहुन्छ। तिनीहरूलाई के कुराले यस्तो विश्‍वास गर्न लगाउँछ? यो समस्याको सार के हो? यसले निम्त्याउने परिणामहरू के-के हुन्? सर्वप्रथम, यसको सारको विषयमा छलफल गरौं।

तात्त्विक रूपमा, मानिसहरूका दृष्टिकोणहरू, तिनीहरूका अभ्यासका तौरतरिकाहरू, तिनीहरूले अँगाल्न चयन गरेको अभ्यासका सिद्धान्तहरू, अनि तिनीहरू प्रत्येकले प्रायः ध्यान केन्द्रित गर्ने कुराहरू सम्बन्धी यी सवालहरू र मानवजातिले पूरा गर्नुपर्ने परमेश्‍वरका मागहरूको बीचमा कुनै सम्बन्ध छैन। मानिसहरूले हल्का कुराहरू वा गहन विषयहरू, वा शब्द र धर्मसिद्धान्तहरू वा वास्तविकता जेसुकैमा ध्यान केन्द्रित गरून्, तिनीहरूले सबैभन्दा बढी पालना गर्नुपर्ने कुरा चाहिँ पालना गर्दैनन्, न त तिनीहरूले आफूले सबैभन्दा बढी जान्नुपर्ने कुरा नै जान्दछन्। यसको कारण भनेको मानिसहरूले सत्यतालाई बिलकुलै मन नपराउनु हो; र यसरी तिनीहरू परमेश्‍वरका वाणीहरूमा पाइने अभ्यासका सिद्धान्तहरूको खोजी गर्न एवम् तिनको अभ्यास गर्नमा समय र प्रयत्न खर्च गर्न इच्छुक हुँदैनन्। बरु, तिनीहरूले असल अभ्यास र असल व्यवहार के हो भन्‍ने बारेमा जे बुझेका र जानेका छन् त्यसैलाई सारांशित गर्दै छोटो बाटो प्रयोग गर्न रुचाउँछन्; त्यसपछि त्यो सारांश नै तिनीहरूको आफ्नो पछ्याउने लक्ष्य बन्छ जसलाई तिनीहरूले अभ्यास गर्नुपर्ने सत्यताको रूपमा लिन्छन्। यसको प्रत्यक्ष परिणाम यस्तो हुन्छ कि मानिसहरूले मानवीय असल व्यवहारलाई सत्यताको अभ्यास गर्ने कार्यको प्रतिस्थापनको रूपमा प्रयोग गर्छन् र यसले परमेश्‍वरको चाकरी गर्ने तिनीहरूको इच्छा पनि पूरा हुन्छ। यसले तिनीहरूलाई सत्यता विरुद्ध लड्न पुँजी प्रदान गर्छ जसलाई तिनीहरूले परमेश्‍वरसँग तर्कवितर्क गर्न र प्रतिस्पर्धा गर्न पनि प्रयोग गर्छन्। यसको साथै, मानिसहरूले विनाडर परमेश्‍वरलाई एकातिर पन्छाउँछन् र तिनीहरूले उहाँको सट्टामा आफूहरूले प्रशंसा गर्ने मूर्तिहरूलाई राख्छन्। मानिसहरूलाई यस्ता अज्ञानी कार्यहरू र दृष्टिकोणहरू अँगाल्ने वा एकपक्षीय विचारहरू र अभ्यासहरू अपनाउने तुल्याउने मूल कारण एउटा मात्र छ—र आज म तिमीहरूलाई यसको बारेमा बताउनेछु: त्यो कारण भनेको मानिसहरूले परमेश्‍वरलाई पछ्याए पनि, हरेक दिन उहाँ समक्ष प्रार्थना गरे पनि, र हरेक दिन उहाँका वाणीहरूलाई पढे पनि, तिनीहरूले वास्तविक रूपमा उहाँका अभिप्रायहरू नबुझ्नु नै हो। समस्याको जरा यसैमा हुन्छ। यदि कुनै व्यक्तिले परमेश्‍वरको हृदयलाई बुझ्थ्यो वा उहाँले के मन पराउनुहुन्छ, उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ, उहाँले के चाहनुहुन्छ, उहाँले कुन कुरालाई अस्वीकार गर्नुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई मन पराउनुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई घृणा गर्नुहुन्छ, मानिसहरूले पूरा गर्नैपर्छ भनी माग गर्दा उहाँले कस्तो प्रकारको मापदण्ड प्रयोग गर्नुहुन्छ अनि तिनीहरूलाई सिद्ध तुल्याउनको लागि उहाँले कस्तो पद्धति प्रयोग गर्नुहुन्छ भन्‍ने कुरा जान्दथ्यो भने, के त्यस्तो व्यक्तिसँग अझै पनि आफ्नै व्यक्तिगत विचारहरू हुन्थ्यो होला त? के त्यस्तो व्यक्तिले त्यसै गएर अरू कसैको आराधना गर्थ्यो त? के आम मानव तिनको मूर्ति हुन सक्थ्यो त? परमेश्‍वरका अभिप्रायहरू बुझ्ने व्यक्तिमा त्योभन्दा बढी विवेकपूर्ण दृष्टिकोण हुन्छ। तिनीहरूले मनोमानी ढङ्गले कुनै भ्रष्ट व्यक्तिलाई मूर्ति बनाउनेछैनन्, न त तिनीहरूले सत्यताको अभ्यास गर्ने क्रममा केही सामान्य नियमहरू र सिद्धान्तहरूलाई अन्धाधुन्ध रूपमा पालना गर्दैमा त्यो सत्यताको अभ्यास गर्नु बराबर हुन्छ भनेर नै विश्‍वास गर्नेछन्।

परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्न जुन मापदण्डहरूको प्रयोग गर्नुहुन्छ तिनका बारेमा धेरै विचारहरू छन्

यो शीर्षकमा पुन फर्कौं र परिणाम विषयको छलफललाई जारी राखौं।

हरेक व्यक्तिले आफ्नै परिणामको बारेमा सरोकार राख्ने भएकोले, त्यो परिणाम परमेश्‍वरले कसरी निर्धारण गर्नुहुन्छ के सो तिमीहरूलाई थाहा छ? कस्तो शैलीमा परमेश्‍वरले उक्त परिणाम निर्धारण गर्नुहुन्छ त? अझ भन्‍ने हो भने, यसलाई निर्धारण गर्नको लागि उहाँले के-कस्ता मापदण्डहरूको प्रयोग गर्नुहुन्छ त? जब कुनै व्यक्तिको परिणाम निर्धारण हुन अझै बाँकी हुन्छ, तब यस्तो कुरा प्रकट गर्न परमेश्‍वरले के गर्नुहुन्छ? कसैलाई थाहा छ? केही क्षणअघि मैले भनेझैँ, मानिसहरूको परिणामहरूको बारेमा, ती परिणामहरूलाई के-कस्ता वर्गहरूमा विभाजित गरिन्छ भन्‍ने बारेमा, र विभिन्न प्रकारका मानिसहरूले पाउने विभिन्न परिणामहरूको बारेमा सुराक पत्ता लगाउने प्रयासमा धेरै समयदेखि परमेश्‍वरका वचनहरूको खोज-अनुसन्धान गर्दै वर्षौं बिताएका केही व्यक्तिहरू छन्। तिनीहरूले परमेश्‍वरको वचनले मानिसहरूका परिणामहरूलाई के-कसरी नियन्त्रण गर्छ, उहाँले के-कस्ता मापदण्डहरू प्रयोग गर्नुहुन्छ, र वास्तवमा उहाँले कसरी कुनै व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ भन्‍ने कुरा पत्ता लगाउने पनि आशा गर्छन्। तैपनि अन्त्यमा, यी मानिसहरूले कहिल्यै पनि कुनै जबाफ पत्ता लगाउन सक्दैनन्। वास्तविक तथ्यमा, परमेश्‍वरका वाणीहरूमा यी मामलाहरूको बारेमा अति नै कम मात्र बोलिएको छ। किन यस्तो भएको हो त? जबसम्म मानिसहरूका परिणामहरूलाई प्रकट गर्न अझै बाँकी हुन्छ, तबसम्म परमेश्‍वरले अन्त्यमा के हुँदैछ भनेर कसैलाई पनि भन्न चाहनुहुन्न, न त उहाँले कसैलाई समयभन्दा पहिले उनीहरूको गन्तव्यको बारेमा नै सूचित गर्न चाहनुहुन्छ—किनभने त्यसो गर्नु मानवताको लागि फाइदाजनक हुँदैन। यहाँ अहिले नै म तिमीहरूलाई परमेश्‍वरले कुन शैलीमा मानिसहरूका परिणामहरूलाई निर्धारण गर्नुहुन्छ भन्‍ने बारेमा, यी परिणामहरू निर्धारण र प्रकट गर्ने उहाँको कामको लागि उहाँले प्रयोग गर्ने सिद्धान्तहरूको बारेमा, र कुनै व्यक्ति जीवित रहन सक्छ कि सक्दैन भन्‍ने कुरा निर्धारण गर्न उहाँले प्रयोग गर्नुहुने मापदण्डको बारेमा मात्र बताउन चाहन्छु। के तिमीहरूलाई सबैभन्दा बढी चासो लाग्‍ने प्रश्नहरू यिनै होइनन् र? त्यसो भए, मानिसहरूले कसरी परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ भनी विश्‍वास गर्छन् त? तिमीहरूले यसको केही अंश भर्खरै बतायौ: तिमीहरूमध्ये केहीले भन्यौ, यो व्यक्तिले आफ्ना कर्तव्यहरू बफादारी पूर्वक निभाउनु र परमेश्‍वरको लागि आफूलाई समर्पित गर्नुसँग सम्‍बन्धित रहेको छ; केहीले भन्यौ, यो परमेश्‍वरप्रति समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने बारेमा छ; केहीले भन्यौ, यसको एउटा तत्त्वचाहिँ आफूलाई परमेश्‍वरको हातमा राख्‍नु हो; अनि केहीले भन्यौ, मुख्य कुरा भनेको आफ्‍नो बारेमा निम्न चर्चा-परिचर्चा कायम राख्नु हो…। जब तिमीहरूले यी सत्यताहरूको अभ्यास गर्छौ र जब तिमीहरूले आफूलाई सही लागेको सिद्धान्त अनुरूप अभ्यास गर्छौ, तब परमेश्‍वरले के सोच्नुहुन्छ भन्‍ने तिमीहरूलाई थाहा छ? यसप्रकारले कार्य गर्न जारी राख्नु वा नराख्नु भनेको परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्नु हो भनेर के तिमीहरूले कहिल्यै सोचेका छौ? के यसले उहाँको मापदण्ड पूरा गर्छ? के यसले उहाँका आवश्यक सर्तहरू परिपूर्ति गर्छ? मलाई विश्‍वास छ, धेरैजसो मानिसहरूले यी प्रश्नहरूको बारेमा वास्तवमा सोच्दै सोच्दैनन्। तिनीहरूले केवल यान्त्रिक रूपमा परमेश्‍वरको वचनको एउटा अंश, वा उपदेशहरूको एउटा अंश, वा तिनीहरूले मूर्ति बनाएका कुनै निश्चित आत्मिक व्यक्तित्वका मापदण्डहरू प्रयोग गर्छन् र आफूले आफैलाई यो वा त्यो कुरा गर्न बाध्य तुल्याउँछन्। तिनीहरूले यो नै सही मार्ग हो भन्‍ने विश्‍वास गर्छन् र त्यसैले यही कार्यमा अडिग रहन्छन् र यही कार्य गरिरहन्छन्, चाहे अन्त्यमा जेसुकै होस्। केही मानिसहरूले सोच्छन्, “मैले धेरै वर्षदेखि विश्‍वास गर्दै आइरहेको छु; मैले सधैँ यही तरिकाले अभ्यास गरेको छु। मलाई लाग्छ मैले परमेश्‍वरलाई साँच्चिकै सन्तुष्ट पारेको छु र मैले यसबाट धेरै कुरा पाएको पनि महसुस गर्छु। यस्तो महसुस हुन्छ किनभने यो समय अवधिमा मैले धेरै सत्यताहरू बुझेको छु, साथै मैले पहिले नबुझेका धेरै कुराहरू पनि बुझेको छु। निश्‍चित रूपमा, मेरा धेरै विचारहरू र दृष्टिकोणहरू परिवर्तन भएका छन्, मेरा जीवनसम्बन्धी मान्यताहरू अत्याधिक रूपमा परिवर्तन भएका छन्, र ममा अहिले यो संसार सम्‍बन्धी एकदमै राम्रो बुझाइ रहेको छ।” त्यस्ता मानिसहरूले यो फसल कटनी हो र मानवताको लागि परमेश्‍वरको कामको अन्तिम नतिजा हो भन्‍ने विश्‍वास गर्छन्। तिमीहरूको विचारमा, यी मापदण्डहरू र तिमीहरूका सबै अभ्यासहरूलाई समग्रमा लिँदा, के तिमीहरूले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पारिरहेका छौ त? तिमीहरूमध्ये केहीले पूर्ण निश्चितताका साथ भन्‍नेछौ, “अवश्य! हामीले परमेश्‍वरको वचन अनुरूप अभ्यास गरिरहेका छौँ; हामीले माथिबाट जे प्रवचन दिइएको र बताइएको छ सोही अनुरूप अभ्यास गरिरहेका छौं। हामीले सधैँ हाम्रा कर्तव्यहरू निर्वाह गरिरहेका छौँ र निरन्तर परमेश्‍वरलाई पछ्याइरहेका छौँ, र हामीले उहाँलाई कहिल्यै पनि छाडेका छैनौं। त्यसैले हामी पूर्ण आत्मविश्‍वासका साथ भन्न सक्छौ कि हामीले परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका छौं। उहाँका अभिप्रायहरूको बारेमा हामीले जति नै बुझे पनि र उहाँका वचनहरूलाई हामीले जति नै बोध गरे पनि, हामी सधैँ नै परमेश्‍वरको अनुरूप हुन खोजी गर्ने मार्गमा रहेका छौं। जबसम्म हामीले सही रूपमा कार्य गर्छौ र सही रूपमा अभ्यास गर्छौं, तबसम्म हामीले सही नतिजा ल्याउने कुरा निश्चित हुन्छ।” यो दृष्टिकोणको बारेमा तिमीहरू के सोच्छौ त? के यो सही छ त? केही त यस्ता पनि होलान् जो भन्छन्, “मैले यी कुराहरूको बारेमा पहिले कहिल्यै सोचेको थिइनँ। मलाई लाग्छ, जबसम्म मैले मेरो कर्तव्य गर्न र परमेश्‍वरका वाणीहरूका आवश्यक सर्तहरू अनुसार कार्य गर्न जारी राख्छु, तबसम्म म बाँच्न सक्छु। मैले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छु कि सक्दिन भन्‍ने प्रश्नको बारेमा कहिले पनि विचार गरेको छैन, न त मैले कहिल्यै उहाँले तय गर्नुभएको मापदण्डलाई पूरा गरिरहेको छु कि छैन भन्‍ने कुराको बारेमा नै सोचेको छु। परमेश्‍वरले मलाई कहिल्यै पनि बताउनुभएको छैन वा कुनै पनि स्पष्ट निर्देशनहरू दिनुभएको छैन, त्यसैले म विश्‍वास गर्छु कि जबसम्म मैले काम गर्न जारी राख्छु र रोकिन्न, तबसम्म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ र उहाँले ममाथि कुनै थप आवश्यक सर्तहरू लाद्‍नुहुनेछैन।” के यी विश्‍वासहरू सही छन् त? जहाँसम्म मेरो सवाल छ, यो शैलीको अभ्यास, यो शैलीको सोच, र यी दृष्टिकोणहरू सबैमा कल्पनाका साथसाथै अलिअलि अन्धोपन समावेश छ। सायद मैले यो कुरा भन्दा तिमीहरूमध्ये केहीले अलि निरुत्साहित महसुस गर्छौ होला, र सोच्छौ होला, “अन्धोपन? यदि यो अन्धोपन हो भने, मुक्ति पाउने र जीवित रहने हाम्रो आशा झीनो र अनिश्चित छ, होइन र? यस प्रकारले कुरा गरेर, के तपाईंले हामीमाथि चिसो पानी खन्याउनुभएको छैन र?” तिमीहरूले जे-जस्तो विश्‍वास गरे तापनि, मैले भन्‍ने र गर्ने कुराहरूको आशय तिमीहरूलाई चिसो पानीले खन्याए जस्तो अनुभव गराउनु होइन। बरु, तिनको आशय त परमेश्‍वरका अभिप्रायहरूको बारेमा तिमीहरूको बुझाइ सुदृढ गराउनु र उहाँले के सोचिरहनुभएको छ, उहाँले के उपलब्धि हासिल गर्न चाहनुहुन्छ, कस्ता प्रकारका मानिसहरूलाई उहाँले मन पराउनुहुन्छ र उहाँले केलाई घृणा गर्नुहुन्छ, उहाँले केलाई तुच्छ ठान्‍नुहुन्छ, उहाँ कस्ता प्रकारका मानिसहरूलाई प्राप्त गर्न चाहनुहुन्छ र उहाँले कस्ता प्रकारका मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ भन्‍ने सम्बन्धमा तिमीहरूको बोध अभिवृद्धि गर्नु हो। तिनको आशय तिमीहरूको मस्तिष्कलाई स्पष्टता प्रदान गर्नु हो र तिमीहरूलाई तिमीहरू प्रत्येकका कार्य र सोचहरू परमेश्‍वरका आवश्यक मापदण्डहरूबाट कति टाढा गएका छन् भन्‍ने कुराको बारेमा स्पष्ट बुझाइ प्रदान गर्नु हो। के यी विषयहरूलाई छलफल गर्न अति आवश्यक छ त? किनभने मलाई थाहा छ, तिमीहरूले लामो समयदेखि विश्‍वास गर्दै आएका छौ र यति धेरै प्रवचनहरू सुनेका छौ, तर ठ्याक्कै भन्‍ने हो भने तिमीहरूमा सबैभन्दा नभएका कुराहरू यिनै हुन्। तिमीहरूले आफ्ना स्मरण पुस्तिकाहरूमा हरेक सत्यतालाई अभिलेख गरी राखेका भए तापनि र तिमीहरूले व्यक्तिगत रूपमा महत्त्वपूर्ण हुन् भनी विश्‍वास गरेका केही कुराहरूलाई कण्ठस्थ गरेका र आफ्नो हृदयमा कुँदेर राखेका भए तापनि, र तिमीहरूले यी कुराहरूलाई अभ्यासको दौरान परमेश्‍वरलाई खुशी पार्नको लागि प्रयोग गर्न चाहे पनि, तिमीहरूले आफूले आफैलाई अभावग्रस्त अवस्थामा पाएको बेलामा तिनलाई प्रयोग गर्न चाहे पनि, भविष्यमा आउने कठिनाइपूर्ण समयहरूबाट पार पाउन प्रयोग गर्न चाहे पनि, वा तिमीहरूले जीवन जिउँदा यी कुराहरूको साथ होस् भनी साथै राख्न चाहे पनि, जहाँसम्म मेरो सवाल छ, तिमीहरूले जसरी नै यसो गरे तापनि, यदि तिमीहरूले यो कार्य गरिरहेका मात्र छौ भने यो त्यति महत्त्वपूर्ण हुँदैन। त्यसो भए, महत्त्वपूर्ण कुरा के हो त? महत्त्वपूर्ण कुरा के हो भने तैँले अभ्यास गर्दा, तैँले गरिरहेको हरेक काम—हरेक कर्म—परमेश्‍वरले जे चाहनुहुन्छ सोसँग मेल खाने छ कि छैन र तेरा सबै कार्यहरू, तेरा सबै सोचहरू, र तैँले हासिल गर्न चाहेका नतिजाहरू र लक्ष्यले वास्तवमा परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्छन् कि पार्दैनन् र उहाँका मापदण्डहरू पूरा गर्छन् कि गर्दैनन्, साथै ती कुरालाई उहाँले स्वीकृति दिनुहुन्छ कि हुँदैन भनी तेरो भित्री अन्तस्करणमा तैँले पूर्ण निश्चितताका साथ थाहा पाउनुपर्छ। धेरै महत्त्वपूर्ण कुराहरू भनेका यिनै हुन्।

परमेश्‍वरको मार्ग पछ्याओ: परमेश्‍वरको डर मान र दुष्टताबाट अलग बस

तिमीहरूले ध्यान दिनुपर्ने एउटा भनाइ छ। मलाई विश्‍वास छ यो भनाइ एकदमै महत्त्वपूर्ण छ किनभने हरेक दिन यो भनाइ अनगिन्ती पटक मेरो मनमा आइरहन्छ। त्यो किन हुन्छ? किनभने म कसैको सामना गर्दैपिच्छे, कसैको कथा सुन्दैपिच्छे, अनि परमेश्‍वरप्रतिको विश्वासबारे कुनै व्यक्तिको अनुभव वा गवाही सुन्दैपिच्छे, सधैँ यो भनाइ प्रयोग गरेर यो व्यक्ति परमेश्‍वरले चाहने प्रकारको व्यक्ति र परमेश्‍वरलाई मन पर्ने प्रकारको व्यक्ति हो कि होइन भनी आफ्नो हृदयमा निर्धारण गर्छु। त्यसोभए: यो भनाइ के हो त? अहिले मेरो कुराले तिमीहरू सबै उत्सुक छौ। जब म यो भनाइ खुलासा गर्छु, तब तिमीहरू सायद निराश हुन्छौ, किनभने केहीले वर्षौँदेखि यस भनाइलाई ओठको सेवा मात्र प्रदान गर्दै आइरहेका छन्। तर मैले कहिल्यै यस भनाइलाई ओठको सेवा मात्र प्रदान गरेको छैनँ। यो भनाइ मेरो हृदयमा बास गर्छ। त्यसोभए, यो भनाइ के हो त? यो भनाइ हो: “परमेश्‍वरको मार्ग पछ्याओ: परमेश्‍वरको डर मान र दुष्टताबाट अलग बस।” के यो अत्यन्तै सरल वाक्यांश होइन र? तैपनि, यसको सरलताको बाबजुद, यी शब्दहरूबारे साँचो रूपमा गहन बुझाइ भएका मानिसहरूले के महसुस गर्नेछन् भने ती एकदमै गहकिला छन्, यो भनाइ अभ्यास गर्न अत्यन्तै लायक छ, यो सत्यता वास्तविकता भएको जीवनको भाषा हो, यसले परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्नेहरूका लागि आजीवन लक्ष्य हो र यो परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्ने जोकोहीले आजीवन पछ्याउनुपर्ने मार्ग हो। त्यसो भए, तिमीहरूलाई के लाग्छ: के यो भनाइ सत्यता होइन र? यो भनाइमा त्यस्तो महत्त्व छ कि छैन त? साथै, सायद तिमीहरूमध्ये केहीले यो भनाइको बारेमा सोचिरहेका छौ र यसलाई बुझ्ने प्रयास गरिरहेका छौ होला, र सायद तिमीहरूमध्ये कतिलाई त यसको बारेमा शङ्का पनि लाग्छ होला: के यो भनाइ अत्यन्तै महत्त्वपूर्ण हो त? के यो अत्यन्तै महत्त्वपूर्ण छ त? के यसलाई यति धेरै जोड दिनु जरुरी छ त? तिमीहरूमध्ये केहीलाई त यो भनाइ खासै मन पर्दैन होला किनभने परमेश्‍वरको मार्गलाई लिनु अनि त्यसलाई यो भनाइमा लागू गर्नु भनेको अत्यन्तै सरलीकरण गर्नु हो भन्‍ने तिमीहरूलाई लाग्छ। परमेश्‍वरले भन्नुभएका सबैलाई लिएर त्यसलाई एउटै भनाइमा समेट्नु—के त्यसो गर्नु भनेको परमेश्‍वरलाई अति नै महत्त्वहीन तुल्याउनु होइन र? के त्यो त्यस्तै होइन र? हुनसक्छ, तिमीहरूमध्ये धेरैजसोले यी शब्दहरूको गहन महत्त्वलाई पूर्ण रूपमा बुझ्दैनौ। तिमीहरू सबैले यो भनाइलाई टिपेर राखे तापनि, तिमीहरूले यसलाई आफ्नो हृदयमा सम्हालेर राख्ने मनसाय राखेका छैनौ; तिमीहरूले केवल यसलाई फुर्सदको बेलामा हेरौँला र सोचौँला भनी आफ्नो स्मरण पुस्तिकामा लेखेर राखेका छौ। तिमीहरूमध्ये केही त यो भनाइलाई कण्ठ गर्ने झमेलामा समेत पर्दैनौ, यसलाई असल प्रयोजनमा लगाउने कुरा त परै जाओस्। तर म किन यो भनाइको बारेमा बताउन चाहन्छु त? तिमीहरूको दृष्टिकोण जे-जस्तो भए पनि र तिमीहरूले जे-जस्तो सोचे पनि, मैले यो भनाइको बारेमा बताउनुपर्‍यो किनभने परमेश्‍वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्‍ने सवालमा यो भनाइ अत्यन्तै सान्दर्भिक छ। यस भनाइबारे तिमीहरूको वर्तमान बुझाइ जेसुकै भए पनि वा यसलाई तिमीहरूले जसरी लिए पनि, म तिमीहरूलाई अझै पनि यो भन्छु: यदि मानिसहरूले यस भनाइका शब्दहरू अभ्यास र अनुभव गर्न अनि परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मानक हासिल गर्न सक्छन् भने, तिनीहरू पक्कै बाँच्छन् र तिनीहरूसँग राम्रा परिणामहरू हुने निश्चित हुन्छ। तर, यदि तँ यस भनाइद्वारा तोकिएको मानक पूरा गर्न सक्दैनस् भने तेरो परिणाम अज्ञात हुन्छ भनेर भन्न सकिन्छ। यसरी, तिमीहरूको आफ्नै मानसिक तयारीको लागि, र परमेश्‍वरले तिमीहरूलाई मापन गर्नको लागि कस्ता प्रकारका मापदण्डहरू प्रयोग गर्नुहुन्छ भन्‍ने कुरा थाहा पाउन सक भनेर म यो भनाइको बारेमा बोल्छु। मैले भर्खर भनेझैँ, यो भनाइ परमेश्‍वरले मानवतालाई दिनुहुने मुक्तिको लागि अत्यन्तै सान्दर्भिक छ, साथसाथै उहाँले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्‍ने कुरासँग पनि अत्यन्तै सान्दर्भिक छ। यो भनाइ कसरी सान्दर्भिक छ त? तिमीहरू साँच्चै यसबारेमा जान्न चाहन्छौ, त्यसैले आज हामी यसबारेमा कुरा गर्नेछौँ।

मानिसहरूले परमेश्‍वरको डर मान्छन् कि मान्दैनन् र दुष्टताबाट अलग बस्छन् कि बस्दैनन् भनेर जाँच्नको लागि परमेश्‍वरले विविध परीक्षाहरूको प्रयोग गर्नुहुन्छ

परमेश्‍वर आफ्नो कामको हरेक युगमा, मानिसहरूलाई केही वचन प्रदान गर्नुहुन्छ र केही सत्यता बताउनुहुन्छ। यी सत्यताहरूले मानिसहरूले पालना गर्नुपर्ने मार्ग, पछ्याउनुपर्ने मार्ग, तिनीहरूलाई परमेश्‍वरको डर मान्न अनि दुष्टताबाट अलग बस्न सक्षम तुल्याउने मार्गका रूपमा काम गर्छन्, अनि ती मानिसहरूले आफ्‍नो जीवनमा र आफ्नो जीवन यात्राको अवधिभरि अभ्यास र पालना गर्नुपर्ने कुरा हुन्। यो परमेश्‍वरले मानवजातिलाई वचनहरू व्यक्त गर्नुको उद्देश्य हो। परमेश्‍वरबाट आउने यी वचनहरू मानिसहरूले पालना गर्नुपर्छ र तिनीहरूले पालना गर्नु भनेको जीवन प्राप्त गर्नु हो। यदि कुनै व्यक्तिले ती पालना गर्दैन, ती अभ्यास गर्दैन र आफ्नो जीवनमा परमेश्‍वरका वचनहरू जिउँदैन भने, यस व्यक्तिले सत्यता अभ्यास गरिरहेको हुँदैन। अनि यदि मानिसहरूले सत्यता अभ्यास गरिरहेका छैनन् भने, तिनीहरूले परमेश्‍वरको डर मानिरहेका हुँदैनन् र तिनीहरू दुष्टताबाट अलग बसिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सक्छन्। यदि मानिसहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दैनन् भने, उहाँको अनुमोदन प्राप्त गर्न सक्दैनन्, अनि त्यस अवस्थामा, त्यस्ता तिनीहरूसँग कुनै परिणाम हुनेछैन। त्यसो भए, आफ्‍नो कामको सिलसिलामा, परमेश्‍वरले कसरी कुनै व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ त? परमेश्‍वरले कुनै व्यक्तिको परिणाम निर्धारण गर्न के-कस्ता विधिहरू प्रयोग गर्नुहुन्छ त? सायद यस क्षण तिमीहरू अझै अस्पष्ट छौ होला, तर जब म तिमीहरूलाई उक्त प्रक्रियाको बारेमा बताउँछु, यो कुरा एकदमै स्पष्ट हुनेछ किनभने तिमीहरूमध्ये धेरैले यसलाई पहिले नै आफैले अनुभव गरिसकेका छौ।

परमेश्‍वरले आफ्‍नो कामको सिलसिलामा सुरुवातदेखि नै हरेक व्यक्तिको लागि—तिमीहरूले उहाँलाई पछ्याउने हरेक व्यक्तिको लागि पनि भन्न सक्छौ—परीक्षाहरू तय गर्नुभएको छ र यी परीक्षाहरू विविध आकारहरूमा आउँछन्। आफ्ना परिवारहरूबाट इन्कारको परीक्षा अनुभव गरेकाहरू छन्, प्रतिकूल वातावरणको परीक्षा अनुभव गरेकाहरू छन्, पक्राउ पर्ने वा यातना पाउने परीक्षा अनुभव गरेकाहरू छन्, विविध विकल्पहरूको सामना गर्ने परीक्षा अनुभव गरेकाहरू छन्, र पैसा र हैसियतको परीक्षा सामना गरेकाहरू छन्। सामान्य रूपमा भन्दा, तिमीहरूमध्ये हरेकले हरेक प्रकारका परीक्षाहरू सामना गरेका छौ। परमेश्‍वरले किन यसरी काम गर्नुहुन्छ? किन उहाँले हरेकलाई यस प्रकारले व्यवहार गर्नुहुन्छ? उहाँले कस्तो प्रकारको नतिजाको खोजी गर्नुहुन्छ? मैले तिमीहरूलाई बताउन चाहने मुख्य कुरा यसप्रकार छ: परमेश्‍वरले उक्त व्यक्ति परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हो कि होइन भनेर हेर्न चाहनुहुन्छ। यसको अर्थ के हो भने, परमेश्‍वरले तँलाई कुनै परीक्षा दिनुहुँदा र तँलाई कुनै परिस्थिति वा अन्य कुराहरूसँग सामना गराउनुहुँदा, उहाँको अभिप्राय भनेको तँ उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् कि होइनस् भनेर जाँच गर्नु हो। यदि कुनै व्यक्तिले कुनै भेटी राख्ने कर्तव्यको सामना गर्छ र उक्त कर्तव्यले उसलाई परमेश्‍वरको भेटीको सम्पर्कमा पुर्‍याउँछ भने, के तैँले यसलाई परमेश्‍वरले बन्दोबस्त गर्नुभएको अवस्था भन्छस्? निःसन्देह, हो। तैँले सामना गर्ने हरेक कुरा परमेश्‍वरले बन्दोबस्त गर्नुभएको हो। जब तैँले यो कुराको सामना गर्छस्, तैँले के-कस्ता विकल्पहरू रोज्छस्, तैँले कसरी अभ्यास गर्छस् र तँमा के-कस्ता सोच-विचारहरू छन् सो हेर्दै परमेश्‍वरले तँलाई गुप्त रूपमा अवलोकन गर्नुहुनेछ। परमेश्‍वरले सबैभन्दा बढी ध्यान दिनुहुने कुरा भनेको अन्तिम नतिजा हो किनभने यही नतिजाले यो खास परीक्षामा तैँले उहाँका मापदण्डहरू पूरा गरेको छस् कि छैनस् भनेर मापन गर्न उहाँलाई सहयोग गर्छ। तथापि, जब मानिसहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूलाई किन यस्तो अवस्थाको सामना गर्न लगाइँदैछ, परमेश्‍वरले तिनीहरू मार्फत के-कस्ता मापदण्डहरू पूरा भएको अपेक्षा गर्नुहुन्छ, उहाँले तिनीहरूमा के हेर्न चाहनुहुन्छ वा उहाँले तिनीहरूबाट के प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने कुरा तिनीहरूले प्रायः सोच्दैनन्। जब मानिसहरूले यो समस्याको सामना गर्छन्, तिनीहरूले केवल यस्तो सोच्छन्, “यो मलाई सामना गर्न लगाइएको अवस्था हो; म सावधान हुनुपर्छ, लापरवाह होइन! चाहे जेसुकै होस्, यो परमेश्‍वरको भेटी हो, र मैले यसलाई छुनु हुँदैन।” यस्ता सरल सोच-विचारहरूद्वारा सुसज्जित भएर मानिसहरूले आफूले आफ्ना कर्तव्यहरू पूरा गरेका छौँ भन्‍ने विश्‍वास गर्छन्। के यो परीक्षाको नतिजाले परमेश्‍वरलाई सन्तुष्टि दिन्छ कि दिँदैन? अघि बढ र यसबारेमा कुरा गर। (यदि मानिसहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय छ भने, तिनीहरूले आफूलाई परमेश्‍वरको भेटीको सम्पर्कमा आउन दिने कुनै कर्तव्यको सामना गर्दा, तिनीहरूले परमेश्‍वरको स्वभावमा ठेस पुर्‍याउन कति सजिलो छ भन्‍ने सोच्छन् र त्यसले तिनीहरू सावधानीसाथ अघि बढ्छन् भन्‍ने कुरालाई सुनिश्चित गराउँछ।) तेरो जबाफ सही पथमा छ, तर अझै पनि सही ठाउँसम्म पुगेको छैन। परमेश्‍वरको मार्ग पछ्याउनु भनेको सतही प्रावधानहरू पालना गर्नु होइन; बरु, यसको अर्थ त तैँले कुनै समस्या सामना गर्दा, सबैभन्दा पहिले यसलाई परमेश्‍वरद्वारा योजनाबद्ध गरिएको अवस्था, उहाँले तँलाई दिएको जिम्मेवारी वा उहाँले तँलाई सुम्पेको कार्यका रूपमा हेर्नु हो। यो समस्या सामना गर्दा, तैँले यसलाई परमेश्‍वरले तँलाई गुज्रन लगाइरहेको परीक्षाका रूपमा समेत हेर्नुपर्छ। तैँले यो समस्या सामना गर्दा, तेरो हृदयमा एउटा मानक हुनैपर्छ अनि तैँले यो कुरा परमेश्‍वरबाट आएको हो भनी सोच्नैपर्छ। तैँले यसलाई परमेश्‍वरप्रति बफादार रहँदै आफ्नो जिम्मेवारी पूरा गर्न सकिने तरिकामा कसरी सम्हाल्ने, साथै कसरी उहाँलाई क्रोधित नतुल्याई वा उहाँको स्वभावलाई नचिढ्याई यो गर्ने भनेर सोच्नैपर्छ। केही क्षण पहिले, हामीले भेटीको सुरक्षा गर्ने बारेमा कुरा गर्‍यौं। यो मामलामा भेटीको कुरा संलग्न छ र यसले तेरो कर्तव्य र उत्तरदायित्वको कुरालाई पनि छुन्छ। तँ यो उत्तरदायित्वप्रति कर्तव्यले बाँधिएको छस्। तथापि, यो समस्याको सामना गर्दा, के कुनै प्रलोभनको पनि सामना गर्नुपर्छ? पर्छ। यो प्रलोभन कहाँबाट आउँछ? यो प्रलोभन शैतानबाट आउँछ, र यो प्रलोभन मानिसहरूको दुष्ट, भ्रष्ट स्वभावहरूबाट पनि आउँछ। यसमा प्रलोभन भएको हुनाले, यो मामलामा मानिसहरूले दिनैपर्ने साक्षी दिनुपर्ने कार्य समावेश हुन्छ जुन तेरो उत्तरदायित्व र कर्तव्य पनि हो। केही मानिसहरू भन्छन्, “यो त एकदमै सानोतिनो कुरा हो; के यसलाई यति ठूलो बनाउन आवश्यक छ र?” एकदमै आवश्यक छ! किनभने परमेश्‍वरको मार्ग पछ्याउनका लागि, हामी आफूमाथि वा आफू वरपर घटित हुने कुनै पनि कुरा, सानातिना कुराहरूसमेत छोड्न सक्दैनौँ; यदि हामीमाथि केही मामिला आइपरे भने, हामीले यसलाई ध्यान दिनुपर्छ भनेर सोचे पनि वा नसोचे पनि, त्यसलाई छाड्नै हुँदैन तर त्यसलाई परमेश्‍वरले हामीलाई दिएको जाँचका रूपमा हेर्नैपर्छ। यस मनोवृत्तिबारे तिमीहरू के सोच्छौ? यदि तँसँग यस प्रकारको मनोवृत्ति छ भने यसले एउटा कुरा पुष्टि गर्छ: तेरो हृदय परमेश्‍वरको डर मान्ने हृदय हो र तेरो हृदय दुष्टताबाट अलग रहन चाहने हृदय हो। यदि तँसँग परमेश्‍वरलाई सन्तुष्ट पार्ने यस्तो चाहना छ भने, तैँले अभ्यास गर्ने कुरा परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने मानक पूरा गर्नबाट टाढा हुनेछैन।

मानिसहरूले त्यति ध्यान नदिने र सामान्यतया उल्लेख नगर्ने मामलाहरू सानातिना कुराहरू मात्र हुन् र तिनको सत्यता अभ्याससँग सम्बन्ध हुँदैन भनी विश्‍वास गर्नेहरू प्रायः हुन्छन्। ठ्याक्कै यस्तो मामला सामना गर्दा, यी मानिसहरू यसबारे त्यति सोच्दैनन् र त्यसपछि यसलाई त्यत्तिकै जान दिन्छन्। वास्तवमा, जब तँ यो समस्या सामना गर्छस्, तब त्यो ठ्याक्कै तैँले कसरी परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने भन्ने पाठ सिक्नुपर्ने समय हो, र तँ आफूले त्यो सामना गर्दा परमेश्‍वरले के गरिरहनुभएको हुन्छ भनेर अझ बढी सचेत हुनुपर्छ। परमेश्‍वर तेरो हरेक वचन र कर्म नियाल्दै, तैँले गर्ने हरेक कामकुरा र तेरा सोच-विचारहरूमा आउने परिवर्तन हेर्दै तेरो छेउमै हुनुहुन्छ—यही नै परमेश्‍वरको काम हो। केही मानिस सोध्छन्, “त्यसोभए किन मैले त्यो महसुस गरेको छैनँ?” तैँले त्यो महसुस गरेको छैनस् किनभने परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने मार्गलाई पालना गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण मार्गका रूपमा लिएको छैनस्। त्यसैले तँ परमेश्‍वरले मानिसहरूमा गर्ने सूक्ष्म कामलाई तिनीहरूका विभिन्न सोच र प्रकटीकरणहरूअनुसार अनुभूति गर्न सक्दैनस्। तँ भुलक्कड छस्! ठूलो मामला के हो? सानोतिनो मामला के हो? परमेश्‍वरको मार्ग पछ्याउनुसँग सम्‍बन्धित मामला मुख्य र मामुलीका बीचमा विभाजित छैन, ती सबै नै महत्त्वपूर्ण कुरा हुन्—के तिमीहरू यो कुरा बुझ्न सक्छौ? (हामी बुझ्न सक्छौँ।) दैनिक मामलाहरूका सन्दर्भमा भन्दा, मानिसहरूले मुख्य कुराका रूपमा हेर्ने केही मामला र सानातिना कुराका रूपमा हेर्ने अरू मामला छन्। मानिसहरूले प्रायः यी मुख्य मामलाहरूलाई धेरै नै महत्त्वपूर्ण कुराका रूपमा हेर्छन् र तिनलाई परमेश्‍वरबाट आएका हुन् भन्ने ठान्छन्। तथापि, यी मुख्य घटनाहरूबीच, मानिसहरूको अपरिपक्व कद र तिनीहरूको कमजोर क्षमताको कारण, तिनीहरू परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न प्रायः चुक्छन्, तिनीहरूले कुनै पनि प्रकाश प्राप्त गर्न सक्दैनन् र तिनीहरूले मूल्य भएको कुनै पनि वास्तविक ज्ञान हासिल गर्न सक्दैनन्। जहाँसम्म मामुली मामलाहरूको सवाल छ, तिनलाई मानिसहरूले उपेक्षा गर्छन् र ती अलिअलि गर्दै त्यत्तिकै छाडिन्छन्। यसरी, मानिसहरूले परमेश्‍वरको अगाडि तिनीहरूको जाँच गरिने र परीक्षा लिइने धेरै अवसरहरू गुमाएका छन्। परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, कामकुराहरू र परिस्थितिहरूलाई तैँले सधैँ बेवास्ता गर्नुको अर्थ के हुन्छ? यसको अर्थ तँ हरेक दिन र हरेक क्षण निरन्तर रूपमा परमेश्‍वरले तँलाई सिद्ध तुल्याउने कार्य, साथै उहाँको मार्गदर्शनलाई त्याग्छस्। जब परमेश्‍वरले तेरो लागि कुनै परिस्थिति योजनाबद्ध गर्नुहुन्छ, तब उहाँले गोप्य रूपमा निगरानी गरिरहनुभएको हुन्छ, तेरो हृदय, तेरा सोच र विचारहरूको छानबिन गरिरहनुभएको हुन्छ, तैँले कसरी सोच्छस् र तैँले कसरी कार्य गर्नेछस् भनेर हेरिरहनुभएको हुन्छ। यदि तँ हेलचेक्र्याइँ गर्ने व्यक्ति होस्—जो परमेश्‍वरको मार्ग, उहाँका वचनहरू वा सत्यताप्रति कहिल्यै गम्भीर भएको छैन भने—परमेश्‍वरले तेरा लागि खडा गर्ने वातावरणहरूमा उहाँले हासिल गर्न चाहनुहुने कुरा वा तँबाट उहाँले गर्ने मागहरूबारे तँ सचेत हुनेछैनस् वा तैँले कुनै ध्यान दिनेछैनस्। न त तैँले आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र कामकुराहरू के-कसरी सत्यता वा परमेश्‍वरका अभिप्रायहरूसँग सम्बन्धित छन् भन्‍ने कुरा नै जान्दछस्। तैँले यस्ता बारम्‍बार दोहोरिने परिस्थितिहरू र बारम्‍बार दोहोरिने परीक्षाहरू सामना गरेपछि, परमेश्‍वरले तँमा कुनै नतिजा नदेख्‍नुभएपछि, उहाँ कसरी कार्य गर्नुहुन्छ? बारम्‍बार परीक्षाहरू सामना गरेपछि, तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई नै महान्‌ भनेर सम्मान गरेको छैनस्, न त तैँले परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका परिस्थितिहरूलाई गम्भीरतापूर्वक लिएर परमेश्‍वरबाट आएका परीक्षाहरू र जाँचहरू नै मानेको छस्। बरु, एकपछि अर्को गरी, तैँले परमेश्‍वरले तँलाई प्रदान गरेका अवसरहरू पन्छाएको छस्, तिनीहरूलाई बारम्बार उम्केर जान दिएको छस्। के यो मानिसहरूले प्रदर्शन गर्ने चरम विद्रोह होइन र? (हो।) के यसको कारण परमेश्‍वरलाई चोट पुग्‍नेछ? (पुग्‍नेछ।) गलत, परमेश्‍वरले चोट महसुस गर्नुहुनेछैन! मैले यस्तो कुरा भनेको सुनेर तिमीहरू एकपल्ट फेरि चकित भएका छौ। तिमीहरूले यस्तो सोचिरहेका हुन सक्छौ, “के परमेश्‍वर सधैँ चोट महसुस गर्नुहुन्छ भनेर यसअघि भनिएको थिएन र? के त्यसोभए परमेश्‍वरले चोट महसुस गर्नुहुनेछैन त? त्यसोभए परमेश्‍वर कहिले चोट महसुस गर्नुहुन्छ त?” छोटकरीमा भन्दा, परमेश्‍वरले यस परिस्थितिमा चोट महसुस गर्नुहुनेछैन। त्यसोभए, माथि बताइएको खालको व्यवहारप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? जब मानिसहरू परमेश्‍वरले तिनीहरूलाई पठाएका परीक्षा र जाँचहरू पन्छाउँछन् अनि जब तिनीहरू तीबाट पछि हट्छन्, तब त्यस्ता व्यक्तिहरूप्रति परमेश्‍वरसँग एउटै मनोवृत्ति हुन्छ। त्यो कस्तो मनोवृत्ति हो? परमेश्‍वर त्यस प्रकारको व्यक्तिलाई हृदयभित्रदेखि तिरस्कार गर्नुहुन्छ। “तिरस्कार” शब्दको अर्थ दुई तहको छ। म यसलाई कसरी आफ्नो दृष्टिकोणबाट व्याख्या गरूँ? “तिरस्कार” शब्दले गहिरो घृणा र घिनलाई जनाउँछ। यसको अर्को तहको अर्थ के हो? त्यो कुनै कुरा त्याग्नुलाई जनाउने पक्ष हो। तिमीहरू सबैलाई “त्याग गर्नु” भनेको के हो थाहा छ, होइन र? सङ्क्षेपमा भन्दा, “तिरस्कार” शब्दले त्यस्तो तरिकामा व्यवहार गर्ने मानिसहरूप्रति परमेश्‍वरको अन्तिम प्रतिक्रिया र मनोवृत्तिको प्रतिनिधित्व गर्छ; यो तिनीहरूप्रतिको चरम घृणा र अरुचि हो र यसर्थ तिनीहरूलाई त्यागिने निर्णयमा पुगिन्छ। यो त कहिल्यै परमेश्‍वरको मार्ग नपछ्याएको र कहिल्यै परमेश्‍वरको डर नमानेको अनि दुष्टताबाट अलग नबसेको व्यक्तिप्रति परमेश्‍वरले गर्ने अन्तिम निर्णय हो। के अब तिमीहरू सबैले मैले अघि बताएको त्यस भनाइको महत्त्व बुझ्न सक्छौ?

के तिमीहरूले अब परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्न प्रयोग गर्नुहुने विधिको बारेमा बुझ्यौ? (उहाँले हरेक दिन विभिन्न परिस्थितिहरूको बन्दोबस्त गर्नुहुन्छ।) उहाँले विभिन्न परिस्थितिहरूको बन्दोबस्त गर्नुहुन्छ—यो मानिसहरूले महसुस गर्न र छुन सक्ने कुरा हो। त्यसो भए, यो कुरा गर्नुको पछाडि परमेश्‍वरको आशय के हो त? उहाँको इरादा हरेक व्यक्तिलाई विभिन्न समयमा र विभिन्न स्थानहरूमा विविध प्रकारका परीक्षाहरू प्रदान गर्नु हो। परीक्षाको अवधिमा व्यक्तिका के-कस्ता पक्षहरूलाई जाँच गरिन्छ त? तैँले व्यक्तिगत रूपमा सामना गर्ने, सुन्ने, देख्ने र अनुभव गर्ने हरेक मामलामा तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् कि होइनस् भन्‍ने कुरालाई परीक्षाले निर्धारण गर्छ। हरेक व्यक्तिले यस प्रकारको परीक्षाको सामना गर्नेछ किनभने परमेश्‍वर सबै मानिसहरूप्रति न्यायसंगत हुनुहुन्छ। तिमीहरूमध्ये केहीले भन्छौ, “मैले वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आइरहेको छु, तैपनि किन मैले कुनै पनि परीक्षाहरूको सामना गरेको छैन त?” तैँले आफूले कुनै पनि परीक्षाहरूको सामना नगरेको महसुस गर्छस् किनभने जब-जब परमेश्‍वरले तेरो लागि परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ तब तैँले यसलाई गम्भीर रूपमा लिएको छैनस् र परमेश्‍वरको मार्ग पछ्याउन चाहेको छैनस्। यसरी, तँलाई परमेश्‍वरका परीक्षाहरूको अत्तो-पत्तो हुँदैन। केही मानिसहरू भन्छन्, “मैले केही परीक्षाहरूको सामना गरेको छु, तर उचित रूपमा कसरी अभ्यास गर्ने हो सो मलाई थाहा छैन। मैले अभ्यास गरेको बेलामा पनि, म परमेश्‍वरका परीक्षाहरूको दौरान खरो उत्रेको छु कि छैन मलाई थाहा हुँदैन।” यस प्रकारको अवस्थामा रहेका मानिसहरूको सङ्ख्या अवश्य पनि कम छैन। त्यसो भए, परमेश्‍वरले मानिसहरूको मापन गर्ने मापदण्ड के हो त? यो मैले केही क्षणअघि भनेको जस्तै हो: तैँले गर्ने, सोच्ने र व्यक्त गर्ने हरेक कुरामा तैँले परमेश्‍वरको डर मान्छस् कि मान्दैनस् र तँ दुष्टताबाट अलग बस्छस् कि बस्दैनस् भन्‍ने हो। यसरी तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् कि होइनस् भनी निर्धारण गरिन्छ। के यो अवधारणा सरल छ, कि छैन त? भन्नलाई त यो एकदमै सरल छ, तर के यसलाई अभ्यास गर्न सजिलो छ त? (यो त्यति सजिलो छैन।) यो किन त्यति सजिलो छैन त? (किनभने मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र कसरी परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ भन्‍ने कुरा तिनीहरूले जान्दैनन्, त्यसैले जब तिनीहरूले यी मामलाहरूको सामना गर्छन् तब तिनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्नको लागि कसरी सत्यताको खोजी गर्ने भन्‍ने नै थाहा हुँदैन। तिनीहरूले परमेश्‍वरको डर मान्ने वास्तविकता धारण गर्नुभन्दा पहिले तिनीहरूले विविध परीक्षाहरू, शोधनहरू, सजायहरू, र न्यायहरूमार्फत गुज्रनुपर्छ।) तिमीहरूले त्यसरी पनि भन्न सक्छौ, तर जहाँसम्म तिमीहरूको सवाल छ, परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु तिमीहरूको लागि अहिल्‍यै यहीँ नै सहजै गर्न सकिने कार्य हो भन्‍ने जस्तो देखिन्छ। मैले किन यसो भन्दैछु त? म यसो भन्दैछु किनभने तिमीहरूले धेरै उपदेशहरू सुनेका छौ र सत्यता वास्तविकताबाट कम मलजल प्राप्त गरेका छैनौ; यसले तिमीहरूलाई सैद्धान्तिक र बौद्धिक रूपमा कसरी परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने भन्‍ने कुरा बुझ्ने तुल्याएको छ। जहाँसम्म परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कुरालाई वास्तविक रूपमा कसरी अभ्यास गर्ने भन्‍ने सवाल छ, यो ज्ञान अति नै सहयोगी भएको छ र यसले तिमीहरूलाई यस्तो कुरा सजिलै हासिल गर्न सकिन्छ कि जस्तो महसुस गर्ने तुल्याएको छ। त्यसो भए, किन मानिसहरूले त्यो उपलब्धि कहिल्यै हासिल गर्न सक्दैनन् त? किनभने मानिसहरूको प्रकृति सारले परमेश्‍वरको डर मान्दैन र यसले दुष्टता मन पराउँछ। वास्तविक कारण यही हो।

परमेश्‍वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो

“परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु” भन्‍ने यो भनाइ कहाँबाट आयो भनी तिमीहरूलाई प्रश्‍न गर्दै म सुरु गर्न चाहन्छु। (अय्यूबको पुस्तकबाट आएको हो।) हामीले अय्यूबको बारेमा बताइसकेको हुनाले, तिनको बारेमा छलफल गरौँ। अय्यूबको समयमा, के परमेश्‍वरले मानवजातिको मुक्ति र विजयको काम गर्दैहुनुहुन्थ्यो? हुनुहुन्नथ्यो। के कुरा त्यही होइन र? साथै, जहाँसम्म अय्यूबको सवाल छ, त्यति बेला तिनीसँग परमेश्‍वरको बारेमा कति ज्ञान थियो त? (त्यति धेरै थिएन।) अहिले तिमीहरूसँग भएको ज्ञानको तुलनामा अय्यूबसँग परमेश्‍वरको धेरै ज्ञान थियो कि थोरै थियो? किन तिमीहरू जबाफ दिन आँट गर्दैनौ? यो त जबाफ दिन एकदमै सजिलो प्रश्न हो। थोरै! अवश्य नै त्यही हो। आजभोलि तिमीहरू परमेश्‍वरको आमने-सामने छौ र परमेश्‍वरका वचनहरूको आमने-सामने छौ; तिमीहरूसँग परमेश्‍वरको बारेमा अय्यूबसँग भएको भन्दा एकदमै धेरै ज्ञान छ। मैले किन यो कुरा ल्याएँ त? यी कुराहरू भन्नुको मेरो उद्देश्य के हो त? म तिमीहरूलाई एउटा तथ्य बताउन चाहन्छु, तर त्यसो गर्नुभन्दा पहिले, म तिमीहरूलाई एउटा प्रश्न गर्न चाहन्छु: अय्यूबले परमेश्‍वरको बारेमा एकदमै थोरै मात्र जान्दथे, तैपनि तिनले परमेश्‍वरको डर मान्थे र तिनी दुष्टताबाट अलग बस्थे; आजभोलिका मानिसहरू त्यसो गर्न किन असफल हुन्छन् त? (तिनीहरू गहन रूपले भ्रष्ट भएका छन्।) तिनीहरू गहन रूपले भ्रष्ट भएका हुनु त समस्या पैदा गर्ने सतही घटना मात्र हो, त्यसैले म त यसलाई कहिल्यै पनि त्यसरी हेर्दिनँ। तिमीहरूले प्रायजसो बारम्बार प्रयोग गरिने धर्मसिद्धान्तहरू र शब्दहरू लिन्छौ जस्तै “गहन रूपले भ्रष्ट”, “परमेश्‍वर विरुद्ध विद्रोह गर्ने”, “परमेश्‍वरप्रति बफादारी विहीनता”, “समर्पणको अभाव”, “सत्यता मन नपराउने”, आदि इत्यादि, र यी चिरपरिचित शब्दावलीहरूलाई हरेक सवालको सार व्याख्या गर्न प्रयोग गर्छौ। यो अभ्यास गर्ने त्रुटिपूर्ण तरिका हो। फरक प्रकृतिका मामलाहरू व्याख्या गर्न उही जबाफको प्रयोग गर्नाले यसबाट अपरिहार्य रूपले सत्यता र परमेश्‍वरको बारेमा निन्दापूर्ण शङ्काहरू बढाउँछ; मलाई यस प्रकारका जबाफहरू सुन्न मन छैन। यसबारेमा लामो समयसम्म र दह्रिलो रूपमा सोच! तिमीहरूमध्ये कसैले पनि यस मामलामा सोचविचार गरेका छैनौ, तर म हरेक दिन यसलाई देख्न सक्छु, र हरेक दिन म यसलाई अनुभव गर्न सक्छु। यसरी, तिमीहरूले काम गर्दै गर्दा मैले हेरिरहेको हुन्छु। जब तिमीहरूले कुनै काम-कुरा गरिरहेका हुन्छौ, तब तिमीहरूले यसको सार अनुभव गर्न सक्दैनौ, तर जब म हेर्छु, तब म यसको सार देख्न सक्छु र मैले यसको सारलाई पनि अनुभव गर्न सक्छु। त्यसो भए, यो सार के हो त? किन आजभोलि मानिसहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनन् त? तिमीहरूका जबाफहरूले यो समस्याको सार व्याख्या गर्न सक्दैनन्, न त तिनले यो समस्याको हल नै गर्न सक्छन्। यस्तो किन हो भने यसको एउटा स्रोत हुन्छ जसको बारेमा तिमीहरूलाई थाहा छैन। यो स्रोत के हो त? मलाई थाहा छ, तिमीहरू यसबारेमा सुन्न चाहन्छौ, त्यसैले म तिमीहरूलाई यो समस्याको त्यस स्रोतको बारेमा बताउनेछु।

परमेश्‍वरले काम गर्न सुरु गर्नुभएदेखि उहाँले मानवजातिलाई कसरी लिनुभएको छ? परमेश्‍वरले तिनीहरूलाई उद्धार गर्नुभयो; उहाँले मानिसहरूलाई उहाँको परिवारका सदस्यहरूको रूपमा, उहाँको कामका वस्तुहरूको रूपमा, उहाँले विजय गर्न र उद्धार गर्न चाहनुभएका व्यक्तिहरूको रूपमा, र उहाँले सिद्ध तुल्याउन चाहनुभएका व्यक्तिहरूको रूपमा हेर्नुभएको छ। उहाँको कामको सुरुवातमा मानवताप्रति परमेश्‍वरको मनोवृत्ति यही थियो। तर परमेश्‍वरप्रति मानिसहरूको मनोवृत्ति चाहिँ कस्तो थियो त? मानिसहरूका लागि परमेश्‍वर अपरिचित हुनुहुन्थ्यो, र तिनीहरूले परमेश्‍वरलाई पराईको रूपमा लिन्थे। यो पनि भन्न सकिन्छ कि तिनीहरूको परमेश्‍वरप्रतिको मनोवृत्तिले सही नतिजाहरू ल्याएनन् र परमेश्‍वरलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने बारेमा तिनीहरूसँग स्पष्ट बुझाइ थिएन। यसरी, तिनीहरूले उहाँलाई जसरी मन लाग्यो त्यसरी व्यवहार गर्थे, र तिनीहरूले जस्तो मन लाग्यो त्यस्तो गर्थे। के तिनीहरूसँग परमेश्‍वरको बारेमा कुनै रायहरू थिए त? सुरुमा, तिनीहरूसँग कुनै रायहरू थिएनन्; तिनीहरूको तथाकथित रायहरूमा उहाँ बारेका केही निश्चित धारणाहरू र पूर्वानुमानहरू मात्र समावेश थिए। तिनीहरूले तिनीहरूका आफ्ना धारणाहरूसँग मेल खाने कुराहरू स्वीकार गरे र जब कुनै कुरा तिनीहरूका धारणाहरूसँग मेल खाँदैनथियो तब तिनीहरूले त्यसलाई सतही रूपमा पालन गर्थे, तर भित्री अन्तस्करणमा तिनीहरूले द्वन्द्व महसुस गर्थे र तिनीहरूले यसलाई अस्वीकार गर्थे। सुरुवातमा परमेश्‍वर र मानिसहरू बीचको सम्बन्ध यस्तै थियो: परमेश्‍वरले तिनीहरूलाई पारिवारिक सदस्यहरूको रूपमा हेर्नुहुन्थ्यो तैपनि तिनीहरूले उहाँलाई पराईको रूपमा व्यवहार गर्थे। तथापि, परमेश्‍वरको कामको अवधिपछि भने, मानिसहरूले उहाँले के उपलब्धि हासिल गर्ने प्रयास गर्दैहुनुहुन्थ्यो भन्‍ने कुरा बुझे र उहाँ साँचो परमेश्‍वर हुनुहुँदोरहेछ भन्‍ने थाहा पाए; तिनीहरूले परमेश्‍वरबाट के प्राप्त गर्न सक्दा रहेछन् भन्‍ने कुरा पनि थाहा पाए। उक्त समयमा मानिसहरूले परमेश्‍वरलाई कसरी लिन्थे त? तिनीहरूले उहाँलाई जीवन-रक्तको रूपमा हेर्थे र उहाँको अनुग्रह, आशीर्वाद, र प्रतिज्ञाहरू प्राप्त गर्ने आशा गर्थे। उक्त समयमा, परमेश्‍वरले मानिसहरूलाई कसरी लिनुहुन्थ्यो त? उहाँले तिनीहरूलाई उहाँको विजयको लक्ष्यको रूपमा लिनुहुन्थ्यो। परमेश्‍वरले तिनीहरूको न्याय गर्न, तिनीहरूलाई जाँच गर्न, र तिनीहरूलाई परीक्षाहरूमार्फत गुज्रन लगाउन वचनहरूको प्रयोग गर्न चाहनुहुन्थ्यो। तथापि, जहाँसम्म त्यति बेलाका मानिसहरूको सवाल छ, तिनीहरूको लागि परमेश्‍वर केवल एक वस्तु हुनुहुन्थ्यो जसलाई तिनीहरूले तिनीहरूका आफ्ना लक्ष्यहरू प्राप्त गर्नको लागि प्रयोग गर्न सक्थे। मानिसहरूले परमेश्‍वरबाट व्यक्त भएका सत्यताले तिनीहरूमाथि विजय गर्न र तिनीहरूलाई उद्धार गर्न सक्छ भन्‍ने देखे, तिनीहरूले प्राप्त गर्न चाहेका कुराहरू उहाँबाट प्राप्त गर्नसक्ने साथसाथै तिनीहरूले चाहेका गन्तव्यहरू हासिल गर्ने अवसर हो भन्‍ने देखे। यसको फलस्वरूप, तिनीहरूको हृदयमा अलिअलि इमानदारीताको विकास भयो, र तिनीहरू परमेश्‍वरलाई पछ्याउन इच्छुक भए। समय बित्यो, अनि तिनीहरूले परमेश्‍वरको बारेमा प्राप्त गरेका सतही र धर्म-सैद्धान्तिक ज्ञानको कारण, यो भन्न सकिन्छ कि, मानिसहरू परमेश्‍वरसँग र उहाँले बोल्नुभएका वचनहरू, उहाँका प्रवचनहरू, उहाँले जारी गर्नुभएका सत्यताहरू र उहाँको कामसँग “परिचित” हुँदै गए। त्यसकारण, तिनीहरू परमेश्‍वर अब उप्रान्त अपरिचित हुनुहुन्न, र तिनीहरूले यसअघि नै परमेश्‍वरसँग सामञ्जस्य हुने पथमा पाइला चालिसकेका छन् भन्‍ने गलत बुझाइमा रहेका थिए। हालसम्म, मानिसहरूले सत्यतासम्बन्धी धेरै उपदेशहरू सुनिसकेका छन् र ठूलो मात्रमा परमेश्‍वरको कामको अनुभव गरेका छन्। तथापि, विविध कारक-तत्वहरू र परिस्थितिहरूको हस्तक्षेप र बाधाहरूको कारण, धेरैजसो मानिसहरू सत्यतालाई अभ्यास गर्न सफल हुँदैनन्, न त तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सक्षम हुन्छन्। मानिसहरू बढ्दो रूपमा सुस्त बन्दै गइरहेका छन् र तिनीहरूमा बढ्दो रूपमा आत्मविश्‍वासको कमी देखिँदै गइरहेको छ। तिनीहरूलाई आफ्ना परिणामहरू अज्ञात छन् भन्‍ने बढ्दो अनुभूति भइरहेको छ। तिनीहरू अतिव्ययी विचारहरू लिई आउन आँट गर्दैनन् र तिनीहरू प्रगति गर्न खोज्दैनन्; तिनीहरू केवल मन नलागी-नलागी पछ्याउँदै हिँड्छन्, एक-एक कदम गर्दै अघि बढ्छन्। मानिसहरूको वर्तमान अवस्थाको सम्बन्धमा भन्दा, तिनीहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ त? उहाँ तिनीहरूलाई केवल सत्यता प्रदान गर्न चाहनुहुन्छ र तिनीहरूको मन-मस्तिष्कमा उहाँको मार्ग छिराउन चाहनुहुन्छ र त्यसपछि विभिन्न तरिकाले तिनीहरूको परीक्षा लिनको लागि विविध परिस्थितिहरूको बन्दोबस्त गर्न चाहनुहुन्छ। उहाँको लक्ष्य भनेको यी वचनहरू, यी सत्यताहरू, र उहाँको कामलाई लिएर कुनै यस्तो परिणाम निकाल्नु हो जसबाट मानिसहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्षम होऊन्। मैले देखेका धेरैजसो मानिसहरूले केवल परमेश्‍वरका वचनहरूलाई लिन्छन् र तिनलाई धर्मसिद्धान्तहरू, कागजमा रहेका शब्दहरू, पालना गर्नुपर्ने नियमहरूको रूपमा मात्र हेर्छन्। तिनीहरूका कार्य र वाणीहरूमा, वा तिनीहरूले परीक्षा सामना गर्दा, परमेश्‍वरको मार्गलाई पालना गर्नुपर्ने मार्गको रूपमा लिँदैनन्। यो कुरा विशेष रूपमा त्यो बेला साँचो हुन्छ जब मानिसहरूले कुनै ठूलो परीक्षा सामना गर्छन्: मैले कुनै पनि त्यस्तो मानिस देखेको छैन जसले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने दिशातर्फ अभ्यास गरेको छ। त्यसकारण, मानिसप्रति परमेश्‍वरको मनोवृत्ति एकदमै घृणा र विरक्तपनले भरिएको हुन्छ। उहाँले तिनीहरूलाई बारम्बार परीक्षाहरू दिनुभएको भए तापनि, सयौँ पल्ट नै दिनुभएको भए तापनि, तिनीहरूमा अझै पनि कुनै स्पष्ट मनोवृत्ति हुँदैन जसको मद्दतले तिनीहरूको संकल्‍प प्रदर्शन गर्न सकियोस्: “म परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न चाहन्छु!” मानिसहरूमा यो संकल्प नभएको हुनाले र तिनीहरूले यस प्रकारको प्रदर्शन नगरेको हुनाले, तिनीहरूप्रति परमेश्‍वरको वर्तमान मनोवृत्ति विगतको जस्तो छैन जुन बेला उहाँले तिनीहरूलाई कृपा, सहनशीलता, क्षमाशीलता, र धैर्यता प्रदान गर्नुहुन्थ्यो। यसको साटो, उहाँ मानवताबाट औधी नै निराश हुनुभएको छ। यस्तो निराशा कसले गरायो त? मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कोमाथि निर्भर हुन्छ? यो त उहाँलाई पछ्याउने हरेक व्यक्तिमा भर पर्छ। आफ्‍नो कामको धेरै वर्षहरूको सिलसिलामा, परमेश्‍वरले मानिसहरूले पूरा गर्नको लागि धेरै आवश्यक मापदण्डहरू बनाउनुभएको छ र तिनीहरूको लागि धेरै परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको छ। तैपनि, तिनीहरूले जे-जसरी कार्य-प्रदर्शन गरेको भए तापनि, परमेश्‍वरप्रति तिनीहरूको जे-जस्तो मनोवृत्ति भएको भए तापनि, मानिसहरू स्पष्टसित परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने लक्ष्य अनुरूप अभ्यास गर्न असफल भएका छन्। यसर्थ, म सारांशमा एक शब्दावली प्रदान गर्नेछु र यस शब्दावलीलाई मानिसहरू किन परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने परमेश्‍वरको मार्ग पछ्याउन सक्दैनन् भन्‍ने बारेमा हामीले भर्खरै भनेका सबै कुराहरूको व्याख्या गर्न प्रयोग गर्नेछु। यो शब्दावली के हो त? यो शब्दावली हो: परमेश्‍वरले मानिसलाई उहाँको मुक्तिको वस्तुको रूपमा र उहाँको कामको वस्तुको रूपमा लिनुहुन्छ; मानिसहरूले परमेश्‍वरलाई तिनीहरूको दुस्मन र तिनीहरूको प्रतिवादको रूपमा लिन्छन्। के तैँले अब यो मामलाको बारेमा स्पष्ट बुझिस् त? मानवजातिको मनोवृत्ति कस्तो छ, परमेश्‍वरको मनोवृत्ति कस्तो छ, र मानिसहरू र परमेश्‍वर बीचको सम्बन्ध कस्तो छ भन्‍ने कुरा एकदमै स्पष्ट छ। तिमीहरूले जति नै धेरै प्रवचनहरू सुनिसकेको भए तापनि, ती कुराहरू जसको बारेमा तिमीहरू आफैले आफ्ना निष्कर्षहरू निकालेका छौ, जस्तै परमेश्‍वरप्रति बफादार हुने, परमेश्‍वरप्रति समर्पित हुने, परमेश्‍वरसँग सामञ्जस्य हुने मार्गको खोजी गर्ने, परमेश्‍वरको लागि सारा जीवन खर्च गर्न चाहना गर्ने र परमेश्‍वरको लागि जिउने चाहना गर्ने—मलाई त लाग्छ, यी कुराहरू सचेत रूपमा परमेश्‍वरको मार्गमा अर्थात परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग पछ्याउने उदाहरणहरू होइनन् बरु यी कुराहरू त त्यस्ता माध्यमहरू हुन् जसबाट तिमीहरूले केही निश्चित लक्ष्यहरू प्राप्त गर्छौ। ती लक्ष्यहरू प्राप्त गर्न तिमीहरूले मन नलागी-नलागी केही नियमहरू पालना गर्छौ र ठ्याक्कै भन्‍ने हो भने यी नियमहरूले नै मानिसहरूलाई परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गबाट टाढा लैजान्छ र त्यसले फेरि एकपल्ट परमेश्‍वरलाई मानवजातिको विपक्षमा उभ्याउँछ।

आजको विषय अलि गहकिलो छ, तर जे-जस्तो भए तापनि, मलाई अझै के आशा छ भने, जब तिमीहरू आउनेवाला अनुभवहरूबाट र आउनेवाला समयहरूबाट गुज्रनेछौ, तब तिमीहरूले मैले भर्खरै तिमीहरूलाई भनेका कुराहरू गर्न सक्‍नेछौ। परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा नलेओ—मानौँ कि उहाँ तिमीहरूको लागि काम लाग्ने हुनुभयो भने उहाँ अस्तित्वमा हुनुहुन्छ, तर उहाँ तिमीहरूको लागि काम लाग्ने हुनुभएन भने उहाँको अस्तित्वमा हुनुहुन्न। एक पल्ट तैँले तेरो अर्धचेतन मस्तिष्कमा त्यस्तो सोच ल्याइसकेपछि, तैँले परमेश्‍वरलाई पहिले नै क्रोधित तुल्याइसकेको हुनेछस्। सायद यसो भन्‍ने मानिसहरू पनि छन् होलान्, “मैले परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा लिएको छैन। म सधैँ उहाँलाई प्रार्थना गर्छु र म सधैँ उहाँलाई सन्तुष्ट पार्ने प्रयास गर्छु र मैले गर्ने हरेक काम-कुराहरू परमेश्‍वरले तोक्‍नुभएका क्षेत्रहरू, मापदण्डहरू र सिद्धान्तहरूभित्र पर्छन्। निश्चय नै मैले मेरा आफ्नै सोच-विचारहरू अनुरूप अभ्यास गरिरहेको छैन।” हो, तैँले अभ्यास गरिरहेको यो तरिका सही छ। तैपनि, जब तैँले कुनै समस्याको सामना गर्छस् तब तँलाई के लाग्छ? जब तैँले कुनै मामलाको सामना गर्छस्, तब तैँले कसरी अभ्यास गर्छस्? केही मानिसहरूले उहाँलाई प्रार्थना गरेको बेलामा र उहाँलाई बिन्ती गरेको बेलामा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने महसुस गर्छन् तर त्यसपछि जब तिनीहरूले कुनै समस्याको सामना गर्छन् तब तिनीहरूले आफ्नै सोच-विचारहरू निकाल्छन् र तिनै सोच-विचारहरूको पालना गर्न चाहन्छन्। यसको मतलब तिनीहरूले परमेश्‍वरलाई केवल रित्तो हावाको एउटा पोकोको रूपमा लिन्छन् र त्यस्तो अवस्थाले परमेश्‍वरलाई तिनीहरूको मस्तिष्कभित्र अस्तित्व विहीन तुल्याइदिन्छ। मानिसहरूले के विश्‍वास गर्छन् भने, जब तिनीहरूलाई उहाँको आवश्यकता पर्छ तब परमेश्‍वर अस्तित्वमा हुनुपर्छ, तर तिनीहरूलाई उहाँको आवश्यकता नपरेको बेलामा उहाँ अस्तित्वमा हुनु हुँदैन। तिनीहरूका आफ्नै सोच-विचारहरूको आधारमा अभ्यास गर्नु नै काफी हुन्छ भनी मानिसहरूले विचार गर्छन्। तिनीहरूले तिनीहरूलाई जे मन लाग्यो त्यही गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छन्; तिनीहरूले परमेश्‍वरको मार्गको खोजी गर्नुपर्छ भन्‍ने विश्‍वास नै गर्दैनन्। जहाँसम्म अहिले यस प्रकारको अवस्थामा भएका र यस प्रकारको स्थितिमा अल्झिएका मानिसहरूको सवाल छ, के तिनीहरू खतराको पछि लागेका छैनन् र? केही मानिसहरू भन्छन्, “म खतराको पछि लागेको भए पनि नभए पनि मैले यतिका वर्षसम्म विश्‍वास गरेको छु, र मलाई विश्‍वास छ परमेश्‍वरले मलाई छाड्नुहुन्न किनभने उहाँले त्यसो गर्न सक्नुहुन्न।” अरू भन्छन्, “म मेरी आमाको गर्भमा भएदेखि नै मैले प्रभुमा विश्‍वास गरेको छु। चालीस वा पचास वर्ष पुगिसकेको छ, त्यसैले समयको हिसाबमा त, परमेश्‍वरद्वारा बचाइनका लागि म सबैभन्दा योग्य छु र बाँच्‍नको लागि सबैभन्दा योग्य म नै छु। यी चार वा पाँच दशकहरूमा, मैले मेरो परिवार र मेरो जागिर छाडेको छु र मैले पैसा, हैसियत, आनन्द, र परिवारसँगको समयजस्ता मसँग भएका सबै कुराहरू त्याग गरेको छु। मैले स्वादिला खानेकुराहरू त्यति धेरै खाएको छैन, मैले धेरै मनोरञ्जनहरूको आनन्द लिएको छैन, मैले धेरै रोचक ठाउँहरू भ्रमण गरेको छैन र मैले सामान्य मानिसहरूले सहन समेत नसक्ने कष्टहरू सहेको छु। यदि यी कुराहरूको फलस्वरूप परमेश्‍वरले मलाई मुक्ति दिन सक्नुहुन्न भने मलाई अन्यायपूर्ण ढङ्गले व्यवहार गरिएको हुनेछ र म यस प्रकारको परमेश्‍वरमा विश्‍वास गर्न सक्दिनँ।” के यस प्रकारको दृष्टिकोण भएका मानिसहरू धेरै छन्? (धेरै छन्।) ठीकै छ, त्यसो भए, आज म तिमीहरूलाई एउटा तथ्य बुझ्न मद्दत गर्नेछु: त्यस्तो दृष्टिकोण भएका मानिसहरूले आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरिरहेका हुन्छन्। किनभने तिनीहरूले तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा आफ्नो आँखा छोपिरहेका हुन्छन्। वास्तवमै परमेश्‍वरले मानिसहरूलाई पूरा गर्न अनिवार्य गर्नुभएका मापदण्डहरूको स्थान यिनै कल्पनाहरूले, साथसाथै तिनीहरूका आफ्नै निष्कर्षहरूले लिन्छन् र यी कुराले तिनीहरूलाई परमेश्‍वरका वास्तविक अभिप्रायहरू स्वीकार गर्नबाट रोक्छन्। यसले तिनीहरूलाई उहाँको साँचो अस्तित्व अनुभूति गर्न असक्षम तुल्याउँछ र यसले तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू पनि गुमाउने तुल्याउँछ, यसरी तिनीहरूले परमेश्‍वरको प्रतिज्ञाको कुनै अंश वा हिस्सा गुमाउँछन्।

परमेश्‍वरले के-कसरी मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ र उहाँले त्यसो गर्नको लागि प्रयोग गर्नुहुने मापदण्डहरू

तैँले कुनै पनि दृष्टिकोण वा निष्कर्षहरू तय गर्नुअघि, तँप्रति परमेश्‍वरको कस्तो मनोवृत्ति छ र उहाँले के सोचिरहनुभएको छ भन्‍ने कुरा तैँले पहिले जान्नुपर्छ, अनि त्यसपछि तैँले तेरो आफ्नो सोच सही छ कि छैन भनेर निर्णय गर्न सक्छस्। परमेश्‍वरले व्यक्तिको परिणाम निर्धारण गर्नको लागि समयलाई मापनको एक इकाइको रूपमा कहिल्यै पनि प्रयोग गर्नुभएको छैन, न त उहाँले कहिल्यै कुनै व्यक्तिले कति धेरै कष्ट सहेको छ भन्‍ने कुरामा नै त्यस्तो निर्धारणलाई आधारित गर्नुभएको छ। त्यसो भए, परमेश्‍वरले कुनै व्यक्तिको परिणाम निर्धारण गर्नको लागि केलाई मापदण्डको रूपमा प्रयोग गर्नुहुन्छ त? समयको आधारमा परिणाम निर्धारण गर्दा नै यो मानिसहरूको धेरैजसो धारणाहरूसँग मेल खाने हुनेथियो। यस अलावा, तिमीहरूले यस्ता व्यक्तिहरू प्रायः देखिरहन्छौ जसले कुनै एक समय एकदमै धेरै सुम्पेको थियो, धेरै अर्पण गरेको थियो, ठूलो मूल्य चुकाएको थियो र एकदमै ठूलो कष्ट सहेको थियो। तिमीहरूको हेर्ने शैलीअनुसार त यिनीहरू ती व्यक्तिहरू हुन् जसलाई परमेश्‍वरले मुक्ति दिन सक्‍नुहुन्छ। यी मानिसहरूले प्रदर्शन गर्ने र जिउने सबै कुराहरू व्यक्तिको परिणाम निर्धारण गर्नको लागि परमेश्‍वरले तय गर्नुभएका मापदण्डहरू सम्बन्धी मानिसहरूका धारणाहरूसँग दुरुस्त रूपमा मिल्छ। तिमीहरूले जेसुकै विश्‍वास गरे पनि, म यी उदाहरणहरूलाई एक-एक गरी सूचीबद्ध गर्दिन। संक्षिप्त रूपमा भन्दा, परमेश्‍वरको आफ्नै सोचभित्रको मापदण्डमा नभएको कुनै पनि कुरा मानव कल्पनाबाट आएको हुन्छ र त्यस्ता सबै कुराहरू मानव धारणहरू हुन्। यदि तैँले तेरा आफ्नै धारणा र मिथ्या कल्पनाहरूमै अन्धो भई जिद्दी गर्छस् भने, परिणाम के होला त? यो कुरा स्पष्ट छ, यसको परिणाम भनेको परमेश्‍वरले तँलाई तिरस्कार गर्नु मात्र हुन सक्छ। यस्तो हुन्छ किनभने तैँले सधैँ परमेश्‍वरको अगाडि तेरा आफ्ना योग्यताहरूलाई शानसाथ देखाउँछस्, उहाँसँग प्रतिस्पर्धा गर्छस् र उहाँसँग तर्कवितर्क गर्छस् तर तैँले साँचो रूपले उहाँको सोचलाई बुझ्ने कोसिस गर्दैनस्, न त तैँले उहाँका अभिप्रायहरू वा मानवजातिप्रति उहाँको मनोवृत्तिलाई नै बुझ्ने कोसिस गर्छस्। यस शैलीमा अघि बढेर तैँले आफैलाई महान भनेर सम्मान गरिरहेको हुन्छस्; यसले परमेश्‍वरलाई महान भनेर सम्मान गर्दैन। तैँले आफैमाथि विश्‍वास गर्छस्; तैँले परमेश्‍वरमाथि विश्‍वास गर्दैनस्। त्यस्ता व्यक्तिहरूलाई परमेश्‍वर चाहनुहुन्न, न त उहाँले तिनीहरूलाई मुक्ति नै प्रदान गर्नुहुन्छ। यदि तैँले यस प्रकारको दृष्टिकोणलाई छाड्न सक्छस् भने, र अझ भन्‍ने हो भने, यदि तैँले विगतमा आफूले धारण गरेका यी गलत दृष्टिकोणहरूलाई सच्याउँछस् भने, यदि तँ परमेश्‍वरका आवश्यक मापदण्डहरू अनुरूप अघि बढ्न सक्छस् भने, यदि तैँले अब उप्रान्त परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गलाई अभ्यास गर्न सक्छस् भने, यदि तैँले परमेश्‍वरलाई सबै थोकमा महान भनेर सम्मान गर्न सक्छस् र तैँले तँ आफैलाई र परमेश्‍वरलाई परिभाषित गर्नको लागि तेरा आफ्नै मिथ्या कल्पनाहरू, दृष्टिकोणहरू वा विश्‍वासहरूको प्रयोग गर्नबाट आफूलाई रोक्न सक्छस् भने र त्यसको सट्टामा यदि तैँले सबै सन्दर्भमा परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्छस् भने, तैँले मानवताप्रति उहाँको मनोवृत्तिको बारेमा अनुभूति र बुझाइ प्राप्त गर्छस् भने र उहाँका मापदण्डहरू पूरा गरी उहाँलाई सन्तुष्ट पार्छस् भने, त्यो एकदमै राम्रो हुनेछ! यसले के सङ्केत गर्नेछ भने, तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्न लागेको छस्।

यदि परमेश्‍वरले मानिसहरूका विविध सोचहरू, विचारहरू र दृष्टिकोणहरूलाई तिनीहरूका परिणामहरू निर्धारण गर्ने मापदण्डहरूको रूपमा प्रयोग गर्नुहुन्न भने, उहाँले मानिसहरूका परिणामहरू निर्धारण गर्नको लागि कस्ता प्रकारका मापदण्डहरू प्रयोग गर्नुहुन्छ त? उहाँले तिनीहरूका परिणामहरू निर्धारण गर्नको लागि परीक्षाहरूको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्नको लागि प्रयोग गर्नुहुने परीक्षाहरूको लागि दुईवटा मापदण्डहरू हुन्छन्: पहिलो हो, मानिसहरूले भोग्ने परीक्षाहरूको संख्या र दोस्रो हो, यी परीक्षाहरूले मानिसहरूमा ल्याउने नतिजाहरू। यी दुई सूचकहरूले नै कुनै व्यक्तिको परिणाम स्थापित गर्छन्। अब हामी यी दुई मापदण्डहरूको बारेमा विस्तृत छलफल गरौँ।

सुरुमा भन्दा, जब कुनै व्यक्तिले परमेश्‍वरले दिनुभएको परीक्षाको सामना गर्छ (तेरो लागि यो परीक्षा भन्‍न पनि योग्य नहुने सामान्य कुरा हुन सक्छ), तब उहाँले तँलाई यो त तँमाथि उहाँका हातहरू राख्नुभएको हो र यो परिस्थिति तेरो लागि उहाँले नै बन्दोबस्त गर्नुभएको हो भनेर स्पष्ट रूपमै सचेत गराउनुहुन्छ। तँ कदमा अपरिपक्व रहेकै अवस्थामा, परमेश्‍वरले तँलाई जाँच्नको लागि परीक्षाहरूको बन्दोबस्त गर्नुहुन्छ र यी परीक्षाहरू तेरो कद अनुरूप, तैँले जे बुझ्न सक्छस् सोही अनुरूप हुनेछन् र तैँले जे सहन गर्न सक्छस् सोही अनुरूप हुनेछन्। तेरो कुन भागलाई जाँच गरिनेछ त? परमेश्‍वरप्रतिको तेरो मनोवृत्तिको। के यो मनोवृत्ति धेरै महत्त्वपूर्ण छ त? अवश्य पनि यो महत्त्वपूर्ण छ। यो विशेष महत्त्वको छ! मानिसहरूमा हुने यो मनोवृत्ति नै परमेश्‍वरले चाहनुहुने नतिजा हो, त्यसैले उहाँको लागि त, यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। नत्रभने त परमेश्‍वरले यस्ता काममा संलग्न भई मानिसहरूमा आफ्ना प्रयत्नहरू खर्च गर्नुहुन्नथ्यो। यी परीक्षाहरूमार्फत परमेश्‍वरले उहाँप्रतिको तेरो मनोवृत्ति हेर्न चाहनुहुन्छ; उहाँ तँ सही मार्गमा छस् कि छैनस् भनी हेर्न चाहनुहुन्छ। तैँले परमेश्‍वरको डर मान्छस् कि मान्दैनस् र तँ दुष्टताबाट अलग बस्छस् कि बस्दैनस् भनेर पनि उहाँले हेर्न चाहनुहुन्छ। त्यसकारण, कुनै खास समयमा तैँले सत्यताको धेरै वा थोरै कुरा बुझेको भए पनि नभए पनि, तैँले परमेश्‍वरको परीक्षाहरूको सामना गर्नुपर्नेछ, अनि तैँले बुझ्ने सत्यताको मात्राको वृद्धिसँगै उहाँले तेरो लागि सान्दर्भिक परीक्षाहरू बन्दोबस्त गर्न जारी राख्नुहुनेछ। जब तैँले फेरि पनि परीक्षाको सामना गर्छस्, परमेश्‍वरले तेरो दृष्टिकोण, तेरा विचारहरू, उहाँप्रतिको तेरो मनोवृत्तिमा हस्तक्षेप गरिएको अवधिमा कुनै प्रगति भएको छ कि छैन सो हेर्न चाहनुहुनेछ। केही मानिसहरूले यस्तो विचार गर्छन्, “परमेश्‍वरले किन मानिसहरूको मनोवृत्ति हेर्न चाहनुहुन्छ त? के उहाँले तिनीहरूले के-कसरी सत्यताको अभ्यास गर्छन् भनेर यसअघि नै देखिसक्नुभएको हुँदैन र? किन अझै पनि उहाँले तिनीहरूको मनोवृत्ति हेर्न चाहनुहुन्छ?” यो त बकवास कुरा हो! परमेश्‍वरले यस शैलीमा काम गर्नुहुने हुनाले त्यसभित्र उहाँको अभिप्राय पक्कै हुनुपर्छ। परमेश्‍वरले निरन्तर रूपमा नजिकबाट मानिसहरूलाई अवलोकन गर्नुहुन्छ, तिनीहरूको शब्द र कार्य, तिनीहरूको हरेक कर्म र चाललाई हेर्नुहुन्छ; उहाँले तिनीहरूको हरेक सोच र विचारलाई समेत अवलोकन गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा घट्ने हरेक घटनालाई—तिनीहरूका असल कर्महरू, तिनीहरूका गल्तीहरू, तिनीहरूका अपराधहरू, तिनीहरूका विद्रोहहरू र धोकाहरू समेतलाई—प्रमाणको रूपमा टिपेर राख्नुहुन्छ त्यसलाई तिनीहरूका परिणामहरू निर्धारण गर्न प्रयोग गर्नुहुन्छ। चरणबद्ध रूपमा, जब परमेश्‍वरको काम उच्च तहमा जान्छ, तब तैँले अझै बढी सत्यताहरू सुन्नेछस् र तैँले अझ सकारात्मक कुरा र जानकारीहरू स्वीकार गर्न पुग्नेछस् र तैँले अझ बढी सत्यताको वास्तविकता प्राप्त गर्नेछस्। यो प्रक्रियाभरि नै, तेरो लागि परमेश्‍वरले तय गर्नुभएका आवश्यक मापदण्डहरू बढ्दै जानेछन् र ती मापदण्डहरू बढ्दै जाँदा उहाँले तेरो लागि अझ गम्भीर परीक्षाहरूको बन्दोबस्त गर्नुहुनेछ। उहाँको लक्ष्य भनेको यस बीचमा उहाँप्रतिको तेरो मनोवृत्तिमा कुनै प्रगति भएको छ कि छैन भनेर जाँच गर्नु हो। अवश्य पनि, जब यस्तो हुन्छ, तब तैँले धारण गर्नैपर्ने भनेर परमेश्‍वरले तोक्‍नुभएको दृष्टिकोण तेरो सत्यता वास्तविकताको बुझाइसँग मेल खानेछ।

तेरो कद क्रमिक रूपले बढ्दै जाँदा, परमेश्‍वरले तैँले पूरा गर्नैपर्ने भनेर तोक्‍नुभएको मापदण्ड पनि बढ्दै जानेछ। तँ अझै पनि अपरिपक्व भएको बेलामा, उहाँले तैँले पूरा गर्नको लागि तल्लो तहको मापदण्ड तय गर्नुहुनेछ; जब तेरो कद अलि ठूलो हुन्छ, तब उहाँले तेरो मापदण्डलाई अलि माथिल्लो तहमा लैजानुहुनेछ। तर तैँले सबै सत्यताहरूको बारेमा बुझाइ हासिल गरिसकेपछि परमेश्‍वरले के गर्नुहुनेछ? उहाँले तँलाई अझ ठूला परीक्षाहरूको सामना गर्न लगाउनुहुनेछ। यी परीक्षाहरूमाझ, परमेश्‍वरले तँबाट प्राप्त गर्न चाहनुभएको कुरा, उहाँले तँबाट देख्न चाहनुभएको कुरा भनेको उहाँको बारेमा अझ गहन बुझाइ, उहाँप्रतिको वास्तविक डर हो। यो समयमा, तेरो लागि उहाँले तोक्‍नुभएका मापदण्डहरू तेरो कद अपरिपक्व भएको बेलाका मापदण्डहरूभन्दा अझ माथिल्लो तहका र “अझ कठोर” (मानिसहरूले तिनलाई कठोर भनी मान्लान् तर परमेश्‍वरले वास्तवमा तिनलाई उचित मान्नुहुन्छ) हुनेछन्। परमेश्‍वरले मानिसहरूको परीक्षा लिइरहनुहुँदा, उहाँले कस्तो प्रकारको वास्तविकता सृजना गर्न चाहनुहुन्छ? उहाँ मानिसहरूलाई तिनीहरूको हृदय उहाँलाई दिन भनी निरन्तर माग गरिरहनुभएको हुन्छ। केही मानिसहरूले भन्‍नेछन्, “मैले त्यो कसरी दिन सक्छु? मैले त मेरो कर्तव्य निर्वाह गरिसकेको छु; मैले मेरो घर र जीविका छाडिसकेको छु र मैले आफैलाई समर्पण गरिसकेको छु। के यी सबै मैले मेरो हृदय परमेश्‍वरलाई दिएको उदाहरणहरू होइनन् र? मैले अन्यथा कसरी परमेश्‍वरलाई हृदय दिन सक्छु त? के यी शैलीहरू वास्तवमा मैले परमेश्‍वरलाई हृदय दिने शैलीहरू नहुन सक्छन् त? परमेश्‍वरको निश्‍चित मापदण्ड के हो त?” यो मापदण्ड एकदमै सरल छ। वास्तवमा, आफ्नो परीक्षाहरूको विविध चरणहरूको दौरान विभिन्न हदसम्म परमेश्‍वरलाई यसअघि नै हृदय दिइसकेका केही मानिसहरू छन्, तर अधिकांश मानिसहरूले कहिल्यै पनि परमेश्‍वरलाई हृदय दिँदैनन्। जब परमेश्‍वर तेरो परीक्षा लिनुहुन्छ, तब उहाँ तेरो हृदय उहाँसँग छ कि, देह र शैतानसँग छ भनेर हेर्नुहुन्छ। जब परमेश्‍वर तेरो परीक्षा लिनुहुन्छ, तब उहाँ तँ उहाँको विपक्षमा उभिएको छस् कि उहाँसँग मिल्ने अवस्थामा उभिएको छस् भनेर हेर्नुहुन्छ, र उहाँले तेरो हृदय उहाँको पक्षमा छ कि छैन भनेर हेर्नुहुन्छ। तँ अपरिपक्व हुँदा र तैँले परीक्षाहरूको सामना गरिरहँदा, तँमा थोरै आस्था हुन्छ र तैँले परमेश्‍वरका अभिप्राय पूरा गर्न के गर्नुपर्छ भनी ठ्याक्कै जान्न सक्दैनस्, किनभने सत्यताबारे तेरो बुझाइ सीमित हुन्छ। तर, यदि तँ अझै पनि साँचो र निष्कपट रूपमा परमेश्‍वरलाई प्रार्थना गर्न सक्छस् भने, र यदि तँ परमेश्‍वरलाई आफ्नो हृदय दिन, उहाँलाई तँमाथि शासन गर्न दिन इच्छुक हुन सक्छस् र तैँले सबैभन्दा अमूल्य भनी विश्‍वास गरेका तेरा सबै कुराहरू उहाँमा अर्पण गर्न इच्छुक हुन सक्छस् भने, तैँले परमेश्‍वरलाई तेरो हृदय दिइसकेको हुनेछस्। तैँले अझ बढी प्रवचनहरू सुन्दै जाँदा र अझ बढी सत्यता बुझ्दै जाँदा, तेरो कद पनि बिस्तारै बढ्दै जानेछ। यो समयमा, परमेश्‍वरले तँबाट माग गर्नुभएको मानक तँ अपरिपक्व भएको अवस्थामा माग गर्नुभएको मानकजस्तो हुनेछैन—यो मानक झनै उच्च हुनेछ। मानिसहरूले बिस्तारै परमेश्‍वरलाई तिनीहरूको हृदय दिँदै गर्दा, तिनीहरूको हृदय बिस्तारै उहाँको नजिक हुँदै जान्छ; मानिसहरू साँच्चै परमेश्‍वरको नजिक हुँदै गर्दा, तिनीहरूसित झन्झन् बढी परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ। परमेश्‍वरले ठ्याक्कै त्यस्तै हृदय चाहनुहुन्छ।

जब परमेश्‍वर कसैको हृदय प्राप्त गर्न चाहनुहुन्छ, तब उहाँले त्यस व्यक्तिलाई कैयौँ परीक्षाहरूबाट गुज्रन लगाउनुहुनेछ। यी परीक्षाहरूको दौरान, यदि परमेश्‍वरले उक्त व्यक्तिको हृदय प्राप्त गर्नुभएन वा यस व्यक्तिसँग कुनै मनोवृत्ति देख्नुभएन भने—अर्थात्, यदि परमेश्‍वरले यस व्यक्तिले उहाँको डर मान्‍ने तरिकामा अभ्यास वा व्यवहार गरेको देख्नुभएन भने, र यदि उहाँले यस व्यक्तिमा दुष्टताबाट अलग बस्ने मनोवृत्ति र सङ्कल्प देख्नुभएन भने—कैयौँ परीक्षाहरूपछि, तिनीहरूप्रतिको परमेश्‍वरको धैर्यलाई फिर्ता गर्नुहुनेछ र उहाँले तिनीहरूलाई उप्रान्त सहनुहुनेछैन। उहाँले उप्रान्त यस व्यक्तिलाई परीक्षा गर्नुहुनेछैन र उहाँले उप्रान्त ऊमाथि काम गर्नुहुनेछैन। त्यसोभए, यसले उक्त व्यक्तिको परिणामका लागि के अर्थ राख्छ? यसको अर्थ हो, तिनीहरूसँग कुनै परिणाम हुँदैन। सायद यस व्यक्तिले कुनै दुष्टता गरेको छैन; सायद उसले कुनै पनि अवरोध पुऱ्याउने कुरा गरेको छैन र कुनै बाधा दिएको छैन। सायद उसले खुला रूपमा परमेश्‍वरको प्रतिरोध गरेको छैन। तर, यस व्यक्तिको हृदय परमेश्‍वरबाट लुकेर रहेको हुन्छ; ऊसँग कहिल्यै परमेश्‍वरप्रति स्पष्ट मनोवृत्ति र दृष्टिकोण भएको हुँदैन अनि परमेश्‍वर उसको हृदय उहाँलाई दिइएको छ वा उसले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न खोजिरहेको छ भनेर स्पष्ट रूपमा देख्न सक्नुहुन्न। परमेश्‍वर त्यस्ता व्यक्तिहरूप्रति धैर्य गुमाउनुहुन्छ र उहाँले तिनीहरूका लागि उप्रान्त कुनै मूल्य चुकाउनुहुनेछैन, तिनीहरूलाई कुनै कृपा गर्नुहुनेछैन वा तिनीहरूमा काम गर्नुहुनेछैन। त्यस्तो व्यक्तिको परमेश्‍वरप्रति आस्थाको जीवन समाप्त भइसकेको हुन्छ। किनभने परमेश्‍वरले उसलाई दिएका धेरै परीक्षामध्ये सबैमा परमेश्‍वरले आफूले चाहेको कुनै पनि परिणाम प्राप्त गर्नुभएको हुँदैन। यसैले, यस्ता धेरै मानिस छन् जसमा मैले कहिल्यै पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति देखेको छैनँ। यो कसरी देख्न सकिन्छ त? यी मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका हुन सक्छन् र सतही रूपमा, तिनीहरू व्यस्त भएर यताउता दौडधूप गरेका छन्; तिनीहरूले धेरै पुस्तक पढेका छन्, धेरै मामला सम्हालेका छन्, करिब एक दर्जन नोटबुकहरू भरेका छन्, अनि अत्यन्तै धेरै शब्द र धर्मसिद्धान्तहरूमा महारत हासिल गरेका छन्। तर तिनीहरूमा कहिल्यै देख्‍न सकिने प्रगति हुँदैन, परमेश्‍वरबारे तिनीहरूको दृष्टिकोण अदृश्य रहन्छ, र तिनीहरूको मनोवृत्ति अझै अस्पष्ट छ। अर्को शब्दमा भन्दा, तिनीहरूको हृदय देख्न सकिँदैन; त्यो सधैँभरि बेरिएको र सिल गरिएको हुन्छ—त्यसलाई परमेश्‍वरबाट बन्द गरिएको हुन्छ। फलस्वरूप, उहाँले तिनीहरूको साँचो हृदय देख्नुभएको छैन, उहाँले यी मानिसहरूमा उहाँप्रतिको साँचो डर देख्नुभएको छैन, र त्योभन्दा बढी, उहाँले यी मानिसहरू उहाँको मार्ग कसरी पछ्याउँछन् भनेर देख्नुभएकै छैन। यदि परमेश्‍वरले अहिलेसम्म त्यस्ता मानिसहरू प्राप्त गर्नुभएको छैन भने, के उहाँले तिनीहरूलाई भविष्यमा प्राप्त गर्न सक्नुहुन्छ त? उहाँले सक्नुहुन्न! के उहाँले प्राप्त गर्न नसकिने कुराहरूका लागि जोड गरिरहनुहुन्छ त? उहाँले गर्नुहुनेछैन! त्यसोभए, त्यस्ता मानिसहरूप्रति परमेश्‍वरको वर्तमान मनोवृत्ति कस्तो छ? (उहाँ तिनीहरूलाई तिरस्कार र बेवास्ता गर्नुहुन्छ।) उहाँ तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ! परमेश्‍वर त्यस्ता मानिसहरूलाई ध्यान दिनुहुन्‍न; उहाँ तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। तिमीहरूले यी वचनहरू एकदमै चाँडो र एकदमै सही रूपले कण्ठस्थ पारिसकेका छौ। यस्तो लाग्छ तिमीहरूले आफूले सुनेको कुरा बुझेका छौ!

केही मानिसहरू छन् जो परमेश्‍वरलाई पछ्याउन सुरु गर्दा अपरिपक्व र अज्ञानी हुन्छन्; तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्दैनन्, न त तिनीहरूले उहाँमा विश्‍वास गर्नु भनेको के हो भन्‍ने नै बुझ्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने मानव कल्पित र गलत तरिका अपनाउँछन्। जब त्यस्ता मानिसहरूले परीक्षाहरूको सामना गर्छन्, तिनीहरू यसको बारेमा सचेत नै हुँदैनन्; तिनीहरू परमेश्‍वरको मार्गनिर्देशन र अन्तर्दृष्टिको बारेमा स्तब्ध रहन्छन्। तिनीहरूले परमेश्‍वरलाई तिनीहरूको हृदय दिनु भनेको के हो वा परीक्षाको दौरान खरो उत्रनु भनेको के हो भन्‍ने नै जान्दैनन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई सीमित समय मात्र प्रदान गर्नुहुन्छ र उक्त समयमा उहाँले तिनीहरूलाई उहाँका परीक्षाहरूको प्रकृतिको बारेमा र उहाँका अभिप्रायहरू के हुन् भन्‍ने बारेमा बुझ्न दिनुहुन्छ। पछि गएर, यी मानिसहरूले तिनीहरूका दृष्टिकोणलाई प्रदर्शित गर्नुपर्छ। यो चरणमा रहेका व्यक्तिहरूको लागि परमेश्‍वरले अझै प्रतीक्षा गरिरहनुभएको हुन्छ। केही दृष्टिकोण भएका तर अझै दुबिधामा रहेका, परमेश्‍वरलाई तिनीहरूको हृदय दिन चाहने तर त्यसो गर्न स्वीकार गरी नसकेकाहरू, र केही आधारभूत सत्यताहरूलाई अभ्यास गरिसकेपछि पनि ठूला परीक्षाहरूको सामना गर्दा लुक्न प्रयास गर्ने र हार मान्ने व्यक्तिहरूको हकमा—तिनीहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ त? उहाँले अझै पनि तिनीहरूबाट केही कुराको अपेक्षा गर्नुहुन्छ र नतिजा चाहिँ तिनीहरूको मनोवृत्ति र कार्य-प्रदर्शनमा भर पर्छ। यदि मानिसहरू प्रगति गर्ने कार्यमा सक्रिय हुँदैनन् भने परमेश्‍वरले के गर्नुहुन्छ? उहाँले तिनीहरूलाई त्याग गर्नुहुन्छ। किनभने परमेश्‍वरले तँलाई त्याग गर्नुभन्दा पहिले तैँले आफूले आफैलाई त्यागिसकेको हुन्छस्। यसरी, आफूलाई त्याग गरिएकोमा तैँले परमेश्‍वरलाई दोष लगाउन सक्दैनस्। तैँले परमेश्‍वरको विरुद्ध गुनासो पालेर राख्‍नु गलत हो।

व्यावहारिक प्रश्‍नले मानिसहरूमा ल्याउने विविध लज्जास्पद अवस्थाहरू

अर्को प्रकारको व्यक्ति पनि छ जसको परिणाम सबैभन्दा बढी दुःखद हुन्छ; यस्तो प्रकारको व्यक्तिको बारेमा मलाई कुरा गर्न त्यति मन लाग्दैन। तिनीहरूले परमेश्‍वरको दण्ड पाएकोले वा तिनीहरूमाथि उहाँका सर्तहरू कठोर भएकोले अनि यसको कारण तिनीहरूको परिणाम दुःखद भएकोले ती दुःखद भएका होइनन्; बरु तिनीहरूले त आफूले आफैलाई त्यसो गर्ने भएकाले ती दुःखद भएका हुन्। आम भनाइमा भनिएझैँ, तिनीहरूले आफ्नो चिहान आफै खन्छन्। कस्तो प्रकारको मानिसले यस्तो गर्छ त? यी मानिसहरू सही मार्गमा हिँड्दैनन् र तिनीहरूका परिणामहरू अग्रिम रूपमा खुलासा हुन्छन्। परमेश्‍वरका नजरमा त्यस्ता मानिसहरू उहाँको घृणाको सबैभन्दा ठूला पात्रहरू हुन्। मानव दृष्टिकोणमा, यस्ता मानिसहरू सबैभन्दा दयनीय हुन्छन्। जब त्यस्ता मानिसहरूले परमेश्‍वरलाई पछ्याउन सुरु गर्छन् तब तिनीहरू एकदमै उत्साही हुन्छन्; तिनीहरूले धेरै मूल्य तिर्छन्, तिनीहरूमा परमेश्‍वरको कामको भावी सम्भावनाहरूको बारेमा राम्रो दृष्टिकोण हुन्छ र तिनीहरूको आफ्नो भविष्यको बारेमा तिनीहरूसँग प्रशस्तै कल्पना हुन्छ। तिनीहरूमा परमेश्‍वरप्रति आत्मविश्‍वास हुन्छ र तिनीहरू उहाँले मानिसहरूलाई पूर्ण बनाउनुहुन्छ र तिनीहरूलाई तेजस्वी गन्तव्यमा पुर्‍याउनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्छन्। तथापि, कुनै कारणवश, परमेश्‍वरको कामको सिलसिलामा यी मानिसहरू भाग्छन्। यो “भाग्छन्” भन्‍ने पदावलीले यहाँ केलाई जनाउँछ त? यसको मतलब हो, तिनीहरू गएँ है पनि नभनीकन, अलिकति पनि आवाज ननिकालीकन, त्यत्तिकै हराउँछन्; तिनीहरूले एक शब्द पनि नबोली छाडेर जान्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गरे तापनि तिनीहरूले कहिल्यै पनि साँचो रूपले विश्‍वासको मार्गमा जरा गाड्दैनन्। यसरी, तिनीहरूले जति नै धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरे तापनि, तिनीहरू अझै पनि परमेश्‍वरबाट टाढा भाग्न सक्छन्। केही मानिसहरू व्यापार व्यवसायमा लाग्नको लागि छाडेर जान्छन्, केही आफ्‍नो जीवन जिउनको लागि छाडेर जान्छन्, केही धनी बन्नलाई छाडेर जान्छन्, र केही विवाह गर्न र बच्चाबच्ची जन्‍माउनलाई छाडेर जान्छन्…। यसरी छाडेर जानेहरूमा, केही यस्ता हुन्छन् जसलाई पछि विवेकले आक्रमण गर्छ र तिनीहरू फर्की आउन चाहन्छन्, र अरूहरूले चाहिँ जीवन जिउने क्रममा कठिनाइ भोग्छन् र वर्षौंवर्ष संसारमा भौँतारिरहन्छन्। यसरी भौँतारिनेहरूले एकदमै धेरै कष्ट झेल्छन् र तिनीहरूले के विश्‍वास गर्छन् भने, संसारमा रहनु अत्यन्तै पीडादायक हुन्छ र तिनीहरूलाई परमेश्‍वरबाट अलग गर्न सकिँदैन। तिनीहरू आराम, शान्ति, र खुशी प्राप्त गर्नको लागि परमेश्‍वरको घरमा फर्कन चाहन्छन्, र तिनीहरू विपत्तिबाट उम्‍कनको लागि वा मुक्ति पाउन र सुन्दर गन्तव्य प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्ने कार्यलाई जारी राख्न चाहन्छन्। किनभने तिनीहरूले परमेश्‍वरको प्रेम असीमित हुन्छ र उहाँको अनुग्रह अक्षय हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले सोच्छन्, कुनै व्यक्तिले जेसुकै गरेको भए तापनि, परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुपर्छ र तिनीहरूको विगतलाई सहन गर्नुपर्छ। यी मानिसहरूले तिनीहरू फर्की आएर आफ्‍ना कर्तव्यहरू निर्वाह गर्न चाहन्छन् भनी बारम्‍बार भन्‍ने गर्छन्। यस्ता केही मानिसहरू पनि छन् जसले मण्डलीलाई आफ्ना केही सरसामानहरू दिन्छन् र यसले परमेश्‍वरको घरमा फर्की आउने बाटो बनाउनेछ भन्‍ने आशा गर्छन्। यस्ता मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ त? उहाँले कसरी तिनीहरूका परिणामहरू निर्धारण गर्नुपर्छ त? बोल्नलाई अप्ठ्यारो नमान्। (मलाई लाग्यो, परमेश्‍वरले यस प्रकारको मानिसलाई स्वीकार गर्नुहुन्छ, तर भर्खरै तपाईंको कुरा सुनिसकेपछि, मलाई लाग्छ, उहाँले सायद स्वीकार गर्नुहुन्न।) तेरो तर्क भन्। (त्यस्ता मानिसहरू तिनीहरूको परिणाम मृत्युचाँहि नहोस् भनेर मात्रै परमेश्‍वरसमक्ष आउँछन्। तिनीहरू साँचो इमानदारिताले परमेश्‍वरमा विश्‍वास गर्न आउँदैनन्; तिनीहरू आउँछन् किनकि परमेश्‍वरको काम चाँडै नै समाप्त हुँदैछ भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, त्यसैले तिनीहरूले आएर आशिष् लिन सक्छन् भन्‍ने भ्रममा तिनीहरू परेका हुन्छन्।) यी मानिसहरूले इमानदारी पूर्वक परमेश्‍वरमा विश्‍वास गर्दैनन्, त्यसैले उहाँले तिनीहरूलाई स्वीकार गर्नुहुन्‍न भनेर तैँले भन्दैछस्, होइन त? (हो।) (मेरो बुझाइ के छ भने त्यस्ता मानिसहरू केवल अवसरवादीहरू हुन्, र तिनीहरूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन्।) तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका हुँदैनन्; तिनीहरू अवसरवादीहरू हुन्। राम्रो भनाइ! यी अवसरवादीहरू हरेक व्यक्तिले घृणा गर्ने खालका मानिसहरू हुन्। तिनीहरू जुन दिशातिर हावा बग्यो त्यतैतिर बहन्छन् र तिनीहरूले केही कुरा पाउने अवस्था नभएसम्म तिनीहरूलाई कुनै पनि काम-कुरा गर्न लगाउन सकिँदैन, त्यसकारण, अवश्य नै तिनीहरू घिनलाग्दा छन्! अरू कोही दाजुभाइ वा दिदी-बहिनीसँग बाँड्न मन लागेको कुनै राय छ कि? (परमेश्‍वरले तिनीहरूलाई अब उप्रान्त स्वीकार गर्नुहुनेछैन किनभने उहाँको काम पूरा हुन लागेको छ र अब मानिसहरूका परिणामहरू तय गर्ने समय भएको छ। यस्तो समयमा तिनीहरू फर्की आउन चाहन्छन्—तिनीहरू वास्तवमा सत्यताको खोजी गर्न चाहेकोले वा बाह्य कारक-तत्वहरूको प्रभावमा परेर फर्की आउन चाहेका होइनन्। यदि तिनीहरूसँग साँच्चै नै सत्यताको खोजी गर्ने अभिप्राय हुन्थ्यो भने त, तिनीहरू परमेश्‍वरको कामको बीचैबाट भागेर हिँड्ने थिएनन्।) अन्य कुनै राय छ कि? (तिनीहरूलाई स्वीकार गरिनेछैन। वास्तवमा, परमेश्‍वरले तिनीहरूलाई पहिले नै अवसरहरू दिइसक्‍नुभएको भए पनि तिनीहरूले उहाँप्रति बेपरवाह मनोवृत्ति धारण गर्न जिद्दी गरेका हुन्छन्। यी मानिसहरूको अभिप्राय जे-जस्तो भए तापनि र तिनीहरूले साँचो रूपले पश्‍चात्ताप गरे तापनि, परमेश्‍वरले अझै तिनीहरूलाई फर्की आउन दिनुहुनेछैन। किनभने उहाँले तिनीहरूलाई धेरै अवसरहरू दिनुभए पनि तिनीहरूले आफ्नो मनोवृत्ति देखाइसकेका हुन्छन्: तिनीहरूले परमेश्‍वरलाई छाडेर जान चाहेका हुन्छन्। यस कारणले गर्दा, यदि तिनीहरूले अहिले फर्केर आउने कोसिस गरे भने, परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्नुहुनेछैन।) (परमेश्‍वरले यस प्रकारका व्यक्तिलाई स्वीकार गर्नुहुनेछैन भन्‍ने कुरामा म सहमत छु किनभने यदि कुनै व्यक्तिले लामो समय अवधिसम्म साँचो मार्गलाई देखेको छ, परमेश्‍वरको कामलाई अनुभव गरेको छ, तर अझै पनि उसले संसारमा फर्कन र शैतानलाई अँगालो हाल्न सक्छ भने, यो त परमेश्‍वरप्रति अत्यन्तै ठूलो धोका हुन्छ। परमेश्‍वरको सार भनेको कृपा र प्रेम भए पनि, यो त उक्त सार कस्तो प्रकारको व्यक्तिप्रति लक्षित छ भन्‍ने कुरामा निर्भर रहन्छ। यदि उक्त व्यक्ति आरामको खोजी गर्दै वा आशा गर्न सकिने कुनै कुराको खोजी गर्दै परमेश्‍वरको सामुन्ने आउँछ भने तिनीहरू परमेश्‍वरमा इमानदारीताका साथ विश्‍वास गर्ने प्रकारका व्यक्ति होइनन् र त्यस्ता मानिसहरूप्रति परमेश्‍वरको कृपा सीमित हुन्छ।) यदि परमेश्‍वरको सार कृपा हो भने, किन उहाँले यस प्रकारको व्यक्तिलाई अलिकति थप कृपा प्रदान गर्नुहुन्न त? थप कृपा पाएपछि, के यस प्रकारको व्यक्तिले अवसर प्राप्त गर्दैनथ्यो र? विगतमा, मानिसहरूले बारम्बार भन्‍ने गर्थे कि परमेश्‍वर हरेक व्यक्तिले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ र कसैले पनि सर्वनाश भोग्नु परोस् भन्ने चाहनुहुन्‍न; यदि सय भेडाहरूमध्ये एउटा भेडा हरायो भने परमेश्‍वरले उनान्सय वटालाई छाडेर हराएको एउटा भेडाको खोजी गर्नुहुन्छ। अब अहिले, यी मानिसहरूको कुरा आउँदा, के परमेश्‍वरले तिनीहरूलाई स्वीकार गरी तिनीहरूको इमानदारीतापूर्ण विश्‍वासको हिसाबमा तिनीहरूलाई दोस्रो मौका दिनुपर्छ त? यो वास्तवमा गाह्रो प्रश्न होइन; यो एकदमै सरल छ! यदि तिमीहरूले परमेश्‍वरलाई साँचो रूपमा बुझ्छौ भने र तिमीहरूसँग उहाँको बारेमा वास्तविक ज्ञान छ भने, त्यति धेरै व्याख्या गर्न जरुरी छैन—र त्यति धेरै अनुमान गर्न पनि जरुरी छैन, हैन त? तिमीहरूका जबाफहरू सही मार्गमा छन्, तर ती जबाफहरू अझै परमेश्‍वरको मनोवृत्तिसम्म पुगेका छैनन्।

भर्खरै तिमीहरूमध्ये केहीले यस प्रकारको व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्न सक्‍नुहुन्‍न भन्‍ने निश्चितता व्यक्त गर्‍यौ। अरू भने स्पष्ट थिएनन् र तिनीहरूले परमेश्‍वरले स्वीकार गर्न पनि वा नगर्न पनि सक्नुहुन्छ भन्‍ने सोचे—यो मनोवृत्ति अलिक मध्यमार्गी छ। तिमीहरूमध्ये केहीले यस प्रकारको व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुभएको होस् भन्‍ने आशाको दृष्टिकोण राख्यौ—यो मनोवृत्ति अझै बढी अस्पष्ट छ। तिमीहरूमध्ये आफूले सोचेको कुरामा निश्चित हुनेहरूले के विश्‍वास गर्छौ भने, परमेश्‍वरले धेरै लामो समयसम्म काम गर्नुभएको छ र उहाँको काम पूरा भएको छ त्यसैले यी मानिसहरूप्रति उहाँ सहनशील हुनु जरुरी छैन; त्यसैले तिमीहरू उहाँले तिनीहरूलाई स्वीकार गर्नुहुनेछैन भन्‍ने सोच्छौ। तिमीहरूमध्ये अझ बढी मध्यमार्गीहरू के विश्‍वास गर्छौ भने, यी मामलाहरूलाई व्यक्तिगत परिस्थिति अनुरूप सम्हाल्नुपर्छ; यदि यी मानिसहरूका हृदय परमेश्‍वरबाट अलग गर्न नसकिने छ भने र यदि तिनीहरूले साँचो रूपले परमेश्‍वरमा विश्‍वास गर्छन् र सत्यताको खोजी गर्छन् भने, परमेश्‍वरले तिनीहरूका पहिलेका कमजोरी र त्रुटिहरूलाई बिर्सनुपर्छ—उहाँले यी मानिसहरूलाई क्षमा गर्नुपर्छ, तिनीहरूलाई दोस्रो मौका दिनुपर्छ, र तिनीहरूलाई उहाँको घरमा फर्की आउन र उहाँको मुक्ति स्वीकार गर्न दिनुपर्छ। तथापि, यदि यी मानिसहरू पछि फेरि भागेर जान्छन् भने, परमेश्‍वरले त्यसपछि फेरि तिनीहरूलाई चाहनुहुन्न र यी मानिसहरूको परित्याग गर्नुलाई अन्याय मान्न सकिँदैन। अर्को समूह छ जसले त्यस्तो व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुभएको होस् भन्‍ने आशा गर्छ। यो समूह परमेश्‍वरले त्यसो गर्नुहुन्छ कि हुन्न भन्‍नेमा त्यति निश्चित छैन। यदि तिनीहरू उहाँले त्यस प्रकारको व्यक्तिलाई स्वीकार गर्नुहुन्छ भन्‍ने कुरा विश्‍वास गर्छन् तर परमेश्‍वरले त्यसो गर्नुहुन्न भने, उक्त दृष्टिकोण परमेश्‍वरको दृष्टिकोणसँग अलि मेल नखाने जस्तो देखिन्छ। यदि तिनीहरू उहाँले त्यस प्रकारको व्यक्तिलाई स्वीकार गर्नुहुन्न भन्‍ने कुरामा विश्‍वास गर्छन् तर परमेश्‍वरले मानिसहरूप्रति उहाँको प्रेम असीमित छ भनी भन्नुहुन्छ र उहाँ त्यस प्रकारको व्यक्तिलाई अर्को मौका प्रदान गर्न इच्छुक हुनुहुन्छ भनी भन्नुहुन्छ भने, के यो मानव अज्ञानतालाई उदाङ्गो पारेको उदाहरण हुँदैन र? जुनसुकै अवस्थामा पनि, तिमीहरू सबैका आ-आफ्नै दृष्टिकोणहरू हुन्छन्। यी दृष्टिकोणहरूले तिमीहरूका सोच-विचारहरूभित्र रहेको ज्ञानलाई प्रतिनिधित्व गर्छन्; तिनीहरू सत्यता र परमेश्‍वरका अभिप्रायहरूसम्बन्धी तिमीहरूको बुझाइको गहिराइको प्रतिबिम्ब पनि हुन्। यस्तो भन्नु सही हो, होइन त? तिमीहरूसँग यो मामलाको बारेमा रायहरू हुनु एकदमै राम्रो कुरा हो। तथापि, तिमीहरूका रायहरू सही छन् कि छैनन् भन्‍ने प्रश्‍न अझै पनि बाँकी रहेको छ। तिमीहरू अलिअलि चिन्तित छौ, होइन त? “त्यसो भए, के सही हो त? म स्पष्टसित देख्न सक्दिनँ, र परमेश्‍वरले के सोचिरहनुभएको छ भन्‍ने कुरा दुरुस्त रूपमा मलाई थाहा छैन र उहाँले मलाई केही पनि भन्नुभएको छैन। उहाँले के सोचिरहनुभएको छ भन्‍ने कुरा म कसरी जान्‍न सक्छु? मानवजातिप्रति परमेश्‍वरको मनोवृत्ति भनेको प्रेम हो। विगतमा उहाँले लिनुभएको मनोवृत्तिको आधार हेर्ने हो भने, उहाँले त्यस्तो व्यक्तिलाई स्वीकार गर्नुपर्छ, तर म परमेश्‍वरको वर्तमान मनोवृत्तिप्रति त्यति स्पष्ट छैनँ; म यो मात्र भन्न सक्छु कि सायद उहाँले उक्त व्यक्तिलाई स्वीकार गर्नुहुनेछ होला, र सायद स्वीकार गर्नुहुनेछैन होला।” यो त हास्यास्पद छ, छैन त? यो प्रश्नले साँच्चै नै तिमीहरूको दिमागमै हिर्काएको छ। यदि तिमीहरूसँग यो मामलाको बारेमा उपयुक्त दृष्टिकोण छैन भने, तिमीहरूको मण्डलीले वास्तवमा यस्तो व्यक्तिको सामना गर्दा तिमीहरूले के गर्नेछौ? यदि तिमीहरूले परिस्थितिलाई सही रूपमा सम्हाल्दैनौ भने, तिमीहरूले परमेश्‍वरलाई ठेस पुर्‍याउन सक्छौ। के यो खतरनाक मामला होइन र?

भर्खरै मैले उठाएको मामलाको सम्बन्धमा किन मैले तिमीहरूको रायहरू माग्न चाहेँ त? म तिमीहरूका दृष्टिकोणहरू जाँच गर्न चाहन्थेँ, तिमीहरूसँग परमेश्‍वरको बारेमा कति ज्ञान रहेछ र तिमीहरूले उहाँका अभिप्रायहरू र मनोवृत्तिको बारेमा कति बुझ्छौ भनी जाँच गर्न चाहन्थेँ। जबाफ के हो त? जबाफ तिमीहरूका दृष्टिकोणहरू नै हुन्। तिमीहरूमध्ये केही एकदमै रूढिवादी छौ र तिमीहरूमध्ये केहीले चाहिँ अनुमान गर्न तिमीहरूको कल्पनालाई प्रयोग गर्दैछौ। “अनुमान गर्नु” भनेको के हो त? यसको अर्थ परमेश्‍वरले कसरी सोच्नुहुन्छ भन्‍ने कुरा देख्न नसक्नु अनि परमेश्‍वरले कुनै न कुनै किसिमले त सोच्नुहुन्छ भन्दै आधारहीन अड्कल काट्नु हो; तिमीहरू सही छौ कि छैनौ भन्‍ने कुरा वास्तवमा तिमीहरू आफैलाई थाहा छैन, त्यसैले तिमीहरूले अस्पष्ट दृष्टिकोण राख्छौ। यस तथ्यको सामना गर्दा, तिमीहरूले के देखेका छौ त? परमेश्‍वरलाई पछ्याउँदा, मानिसहरूले विरलै मात्र परमेश्‍वरका अभिप्रायहरूबारे ध्यान दिन्छन् र तिनीहरूले कमै मात्र उहाँका सोचहरू र मानिसहरूप्रतिको उहाँको मनोवृत्तिको बारेमा परवाह गर्छन्। मानिसहरूले परमेश्‍वरका सोचहरूको बारेमा बुझ्दैनन्, त्यसैले उहाँका अभिप्रायहरू र स्वभावको बारेमा प्रश्नहरू गर्दा, तिमीहरू द्विविधामा पर्छौ; तिमीहरू गहन अनिश्चिततामा पर्छौ, र तिमीहरूले कि त अनुमान लगाउँछौ कि त झटारो हान्छौ। यो कस्तो प्रकारको आचरण हो? यसले एउटा तथ्य प्रमाणित गर्छ: परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसहरूले उहाँलाई रित्तो हावाको एक पोकोको रूपमा र एक मिनेट अस्तित्वमा रहने अर्को मिनेट अस्तित्वमा नरहने कुनै वस्तुको रूपमा लिन्छन्। मैले यसलाई किन यसरी भनेँ त? किनभने जब तिमीहरूले कुनै समस्याको सामना गर्छौ तब तिमीहरूलाई परमेश्‍वरका अभिप्रायहरूबारे थाहै हुँदैन। किन तिमीहरूलाई उहाँका अभिप्रायहरूबारे थाहै हुँदैन त? अहिले मात्र होइन, बरु सुरुदेखि अन्त्यसम्म नै, के यो समस्याप्रतिको परमेश्‍वरको मनोवृत्तिको बारेमा तिमीहरूलाई थाहा छैन त? तैँले यसलाई बुझ्न सक्दैनस् र तँलाई परमेश्‍वरको मनोवृत्तिको बारेमा थाहा छैन, तर के तैँले यसको बारेमा त्यति सोचेको छस् त? के तैँले यसको बारेमा जान्ने प्रयास गरेको छस् त? के तैँले यसको बारेमा सङ्गति गरेको छस् त? छैनस्! यसले एउटा तथ्य पुष्टि गर्छ: वास्तविकताको परमेश्‍वरसँग तेरो विश्‍वासको परमेश्‍वरको कुनै सम्बन्ध छैन। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा, तैँले केवल आफ्ना अभिप्रायहरू र तेरा अगुवाहरूका अभिप्रायहरूको बारेमा मात्र चिन्तन गर्छस्; परमेश्‍वरका अभिप्रायहरू खोजी बिलकुलै नगरी तैँले परमेश्‍वरका वचनहरूको सतही र धर्मसैद्धान्तिक अर्थहरूलाई मात्र सोचविचार गर्छस्। अवस्था यही हो, होइन र? यो मामलाको सार एकदमै भयानक छ! वर्षौंपछि मैले परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरू देखेको छु। तिनीहरूको मनभित्र तिनीहरूको विश्‍वासले परमेश्‍वरलाई केमा रूपान्तरित गरेको छ त? केही मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर केवल एक रित्तो हावाको पोको हुनुहुन्छ। यी मानिसहरूसँग परमेश्‍वरको अस्तित्व बारेका प्रश्नहरूको कुनै जबाफ हुँदैन किनभने तिनीहरूले उहाँको उपस्थिति वा अनुपस्थिति न त अनुभव गर्न सक्छन् न त महसुस नै गर्न सक्छन्, यसको बारेमा स्पष्टसँग देख्ने वा बुझ्ने कुरा त परै जाओस्। अर्धचेतन रूपमा, यी मानिसहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्न भनी सोच्छन्। अन्य मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर एक मानव हुनुहुन्छ। यी मानिसहरूले सोच्छन् कि तिनीहरूले गर्न नसक्ने सबै कुराहरू उहाँले पनि गर्न सक्नुहुन्न र तिनीहरूले जसरी सोच्छन् उहाँले पनि त्यसरी नै सोच्नुहुन्छ। परमेश्‍वर सम्‍बन्धी तिनीहरूको परिभाषा भनेको “एक अदृश्य र अस्पर्शनीय व्यक्ति” भन्‍ने हुन्छ। मानिसहरूको एक अर्को समूह पनि छ जसले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर एक कठपुतली हुनुहुन्छ; यी मानिसहरूले परमेश्‍वरमा कुनै भावनाहरू नै हुँदैनन् भनी विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वर त एक माटोको मूर्ति हुनुहुन्छ अनि कुनै समस्याको सामना गर्दा परमेश्‍वरसँग कुनै मनोवृत्ति, दृष्टिकोण वा विचारहरू नै हुँदैनन् भन्‍ने सोच्छन्; तिनीहरू परमेश्‍वर मानवजातिको निगाहमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। मानिसहरूले आफूलाई जसरी विश्‍वास गर्न मन लाग्यो त्यसरी नै विश्‍वास गर्छन्। यदि उनीहरूले उहाँलाई ठूलो बनाए भने उहाँ ठूलो हुनुहुन्छ; यदि उनीहरूले उहाँलाई सानो बनाए भने उहाँ सानो हुनुहुन्छ। जब मानिसहरूले पाप गर्छन् अनि तिनीहरूलाई परमेश्‍वरको कृपा, सहनशीलता र प्रेमको आवश्‍यकता पर्छ, तब तिनीहरू परमेश्‍वरले कृपा प्रदान गर्नुपर्छ भन्‍ने ठान्छन्। यी मानिसहरूले आफ्नै मनभित्र “परमेश्‍वर” को आविष्कार गर्छन् र उक्त “परमेश्‍वर” लाई तिनीहरूका मागहरू पूरा गर्न तथा तिनीहरूका सबै चाहनाहरू सन्तुष्ट पार्न लगाउँछन्। यी मानिसहरू जुनसुकै समय र ठाउँमा भए तापनि र तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरूले परमेश्‍वरप्रतिको तिनीहरूको व्यवहारमा अनि तिनीहरूको विश्‍वासमा यही कल्पनालाई अँगाल्नेछन्। अनि यस्ता खालका मानिसहरू पनि छन् जो परमेश्‍वरको स्वभावलाई क्रोधित पारिसकेपछि पनि अझै परमेश्‍वरले तिनीहरूलाई बचाउन सक्नुहुन्छ भनी विश्‍वास गर्छन् किनभने परमेश्‍वरको प्रेम असीमित छ र उहाँको स्वभाव धर्मी छ अनि व्यक्तिले परमेश्‍वरलाई जति ठेस पुर्‍याए पनि उहाँले त्यो कुरालाई सम्झनुहुनेछैन भन्‍ने तिनीहरू ठान्छन्। तिनीहरूले के सोच्छन् भने मानवीय त्रुटि, मानवीय अपराध अनि मानवीय विद्रोह व्यक्तिको स्वभावको क्षणिक अभिव्यक्तिहरू भएका हुनाले परमेश्‍वरले मानिसहरूलाई मौका दिनुहुन्छ र तिनीहरूप्रति सहनशील र धैर्य रहनुहुन्छ; तिनीहरू परमेश्‍वरले आफूलाई पहिलेजस्तै प्रेम गर्नुहुन्छ भनी विश्‍वास गर्छन्। यसरी, तिनीहरूले मुक्ति प्राप्त गर्ने उच्च आशा राख्छन्। वास्तवमा, मानिसहरूले परमेश्‍वरमा जसरी विश्‍वास गरे तापनि, जबसम्म तिनीहरूले सत्यताको खोजी गरिरहेका हुँदैनन् तबसम्म उहाँले तिनीहरूप्रति नकारात्मक मनोवृत्ति राख्नुहुन्छ। यस्तो किन हुन्छ भने, परमेश्‍वरप्रति तेरो विश्‍वासको सिलसिलामा, तैँले परमेश्‍वरका वचनहरूको पुस्तक लिएर यसलाई अमूल्य सम्पत्तिको रूपमा लिए पनि, अनि यसलाई हरेक दिन अध्ययन र वाचन गरे पनि, तैँले वास्तविक परमेश्‍वरलाई एकातिर पन्छाएर राख्छस्। तैँले उहाँलाई केवल रित्तो हावा वा केवल एक व्यक्तिको रूपमा लिन्छस्—तिमीहरूमध्ये केहीले उहाँलाई कठपुतली भन्दा बढ्ता ठान्दैनौ। मैले किन यसरी यो कुरा राखेँ त? मैले त्यसो गरें किनभने मैले जे देख्दैछु त्यो अनुसार, तिमीहरूले कुनै समस्या वा केही परिस्थितिको सामना गरे पनि नगरे पनि, तेरो अर्धचेतनमा रहेका कुराहरू, तैँले भित्रैबाट उत्पन्न गरेका कुराहरू र परमेश्‍वरका वचनहरू वा सत्यताको खोजीको बीचमा कहिल्यै पनि कुनै सम्बन्ध नै रहेको छैन। तैँले तँ आफूले जे सोचिराखेको छस्, तेरो दृष्टिकोण जे छ त्यो मात्र जान्दछस्, अनि तैँले तेरा आफ्नै विचारहरू र रायहरूलाई जबरजस्ती परमेश्‍वरमा लाद्छस्। तेरो मनमा, ती कुराहरू परमेश्‍वरका दृष्टिकोणहरू बन्छन्, अनि तैँले ती दृष्टिकोणहरूलाई आफूले अटल रूपमा पालना गर्ने मापदण्डहरू बनाउँछस्। समयसँगै, यसरी अघि बढ्दै जाँदा यसले तँलाई परमेश्‍वरबाट टाढाभन्दा टाढा पुर्‍याउँछ।

परमेश्‍वरको मनोवृत्तिलाई बुझ र परमेश्‍वर सम्‍बन्धी सबै गलत अवधारणाहरूलाई पन्छाओ

तिमीहरूले हाल विश्‍वास गरेको यो परमेश्‍वर कस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ? के तिमीहरूले यसबारेमा कहिल्यै सोचेका छौ? जब उहाँले कुनै दुष्ट व्यक्तिलाई दुष्ट कार्यहरू गरिरहेको देख्नुहुन्छ, तब के उहाँले त्यसलाई घृणा गर्नुहुन्छ? (हो, उहाँले घृणा गर्नुहुन्छ।) उहाँले अज्ञानी व्यक्तिले गल्तीहरू गरेको देख्दा उहाँको मनोवृत्ति कस्तो हुन्छ? (दुःखित।) जब मानिसहरूले उहाँका भेटीहरू चोरेको देख्नुहुन्छ, तब उहाँको मनोवृत्ति कस्तो हुन्छ? (उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।) यो एकदमै स्पष्ट छ। जब परमेश्‍वरले कसैलाई उहाँप्रतिको विश्‍वासमा अल्याङटल्याङ गरिरहेको देख्नुहुन्छ अनि जसले सत्यताको खोजी बिलकुलै गरिरहेको हुँदैन, तब परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? तिमीहरू त्यति निश्चित छैनौ, छौ त? “अल्याङटल्याङ गर्ने मनोवृत्ति” पाप होइन, न त यसले परमेश्‍वरलाई ठेस पुर्‍याउँछ अनि मानिसहरूले यसलाई ठूलो गल्ती हो भन्‍ने पनि ठान्दैनन्। त्यसो भए, मलाई बताओ—यो अवस्थामा परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? (उहाँ त्यस व्यक्तिलाई ध्यान दिन अनिच्छुक हुनुहुन्छ।) “त्यस व्यक्तिलाई ध्यान दिनमा अनिच्छा”—यो कस्तो प्रकारको मनोवृत्ति हो? यसको मतलब, परमेश्‍वरले यस्ता मानिसहरूलाई हेयको दृष्टिले हेर्नुहुन्छ र तिनीहरूलाई घृणा गर्नुहुन्छ। उहाँले त्यस्ता मानिसहरूलाई निराकरण गर्ने शैली भनेको तिनीहरूलाई जानाजान बेवास्ता गर्नु हो। परमेश्‍वरको पद्धति भनेको तिनीहरूलाई पन्छाउनु हो, तिनीहरूसँग कुनै पनि काममा संलग्न नहुनु हो र यसमा अन्तर्दृष्टि, ज्योति, ताडना र अनुशासनको काम समावेश हुन्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरको काममा गन्ती नै गरिँदैन। उहाँको स्वभावलाई भड्काउने र उहाँका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्ने व्यक्तिहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? अत्यन्तै धेरै घृणाले भरिएको हुन्छ! उहाँको स्वभावलाई भड्काएकोमा पश्‍चात्ताप नगर्ने मानिसहरूप्रति परमेश्‍वर अत्यन्तै धेरै क्रोधित बन्नुहुन्छ। “क्रोधित” भनेको एक अनुभव, एक मनस्थिति भन्दा बढी केही पनि होइन; यसले एक स्पष्ट मनोवृत्तिलाई जनाउँदैन। तथापि, यो अनुभवले—यो मनस्थितिले—त्यस्ता मानिसहरूको लागि कुनै एउटा परिणाम निम्त्याउनेछ; यसले परमेश्‍वरलाई चरम घृणाले भरिदिनेछ! यो चरम घृणाको परिणाम के हुन्छ त? यसको परिणाम के हुन्छ भने परमेश्‍वरले यी मानिसहरूलाई पन्छाउनुहुनेछ र वर्तमान समयमा तिनीहरूप्रति कुनै प्रतिक्रिया जनाउनुहुन्न। त्यसपछि उहाँले “शरदपछि” तिनीहरूलाई ठीक पार्नलाई प्रतीक्षा गर्नुहुन्छ। यसले के कुराको सङ्केत गर्छ? के यी मानिसहरूको परिणाम आउनेछ त? परमेश्‍वरले त्यस्ता मानिसहरूलाई परिणाम प्रदान गर्ने सोच कहिल्यै पनि बनाउनुभएन! त्यसकारण, परमेश्‍वरले त्यस्ता मानिसहरूप्रति अहिले कुनै प्रतिक्रिया जनाउनुभएन भने के त्यो पूर्णतया सामान्य कुरा हुँदैन र? (हो, यो सामान्य कुरा हुन्छ।) त्यस्ता मानिसहरूले के गर्ने तयारी गरिरहेको हुनुपर्छ त? तिनीहरूले तिनीहरूको व्यवहार र तिनीहरूले गरेका दुष्ट कार्यहरूका प्रतिकूल परिणामहरू भोग्न तयार हुनुपर्छ। त्यस्तो व्यक्तिको लागि परमेश्‍वरको प्रतिक्रिया यही हो। त्यसकारण म अब स्पष्टसित त्यस्ता मानिसहरूलाई भन्छु: तिमीहरू आफ्‍ना भ्रममा अब फेरि कहिल्यै नअल्झिओ, र अभिलाषी चिन्तनमा अब फेरि कहिल्यै संलग्न नहोओ। परमेश्‍वर मानिसहरूप्रति अनिश्चितकालीन रूपमा नै भने सहनशील रहिरहनुहुनेछैन; उहाँले तिनीहरूका अपराध वा विद्रोहलाई सधैँभरि सहनुहुनेछैन। केही मानिसहरूले भन्‍नेछन्, “मैले त्यस्ता केही मानिसहरू पनि देखेको छु र जब तिनीहरूले प्रार्थना गर्छन्, तिनीहरूले आफूलाई परमेश्‍वरले छोएको अनुभूति गर्छन् र तिनीहरू त्यसपछि नमीठोसित रुन्छन्। प्रायजसो तिनीहरू खुशी पनि हुन्छन्; तिनीहरू परमेश्‍वरको उपस्थिति र परमेश्‍वरको मार्गनिर्देशन पाएका मानिसहरू जस्ता देखिन्छन्।” यस्ता बकवास कुराहरू नबोल! नमीठो आँसु झार्दैमा, त्यसको अर्थ व्यक्तिलाई परमेश्‍वरले छोएको वा उसले परमेश्‍वरको उपस्थितिको आनन्द लिएको हो भन्‍ने जरुरी छैन, परमेश्‍वरको मार्गनिर्देशन पाएको भन्‍ने त कुरै छोडौं। यदि मानिसहरूले परमेश्‍वरलाई रिस उठाउँछन् भने के उहाँले अझै तिनीहरूलाई मार्गनिर्देशन दिनुहुन्छ त? छोटकरीमा, यदि परमेश्‍वरले कसैलाई हटाउने र परित्याग गर्ने निर्णय लिनुभएको छ भने त्यस्तो व्यक्तिको परिणाम समाप्त भइसकेको हुन्छ। तिनीहरूले प्रार्थना गर्दा तिनीहरूको भावना जति नै अनुकूल भए पनि, वा तिनीहरूको हृदयमा परमेश्‍वरमाथि जति नै विश्‍वास भए पनि, यो कुराले अब फेरि कहिल्यै पनि कुनै परिणाम दिँदैन। महत्त्वपूर्ण कुरा के छ भने परमेश्‍वरलाई यस प्रकारको विश्‍वासको आवश्यकता छैन; उहाँले यी मानिसहरूलाई पहिले नै तिरस्कार गरिसक्नुभएको छ। तिनीहरूलाई भविष्यमा कसरी निराकरण गर्ने भन्‍ने कुरा पनि त्यति महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा के छ भने यी मानिसहरूले परमेश्‍वरलाई रिस उठाएको क्षणमै तिनीहरूका परिणामहरू तय हुन्छन्। यदि परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति नदिने सोच बनाउनुभएको छ भने तिनीहरूलाई दण्ड दिइनको लागि पछाडि छोडिनेछ। परमेश्‍वरको मनोवृत्ति यही हो।

परमेश्‍वरको सारमा प्रेमको तत्त्व भए तापनि र उहाँ हरेक व्यक्तिप्रति कृपालु हुनुभए तापनि, मानिसहरूले उहाँको सार नै उहाँमा मर्यादा हुनु हो भन्‍ने तथ्यलाई बेवास्ता गरेका छन् र बिर्सेका छन्। उहाँसँग प्रेम छ भन्नुको अर्थ मानिसहरूले उहाँलाई आफ्नो इच्छाअनुसार चिढ्याउन सक्छन्, त्यसमा उहाँ केही पनि महसुस गर्नुहुन्न र कुनै पनि तरिकामा प्रतिक्रिया जनाउनुहुन्न भन्ने होइन; उहाँसँग कृपा छ भन्नुको अर्थ उहाँले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा उहाँका कुनै सिद्धान्तहरू छैनन् भन्‍ने होइन। परमेश्‍वर जीवित परमेश्‍वर हुनुहुन्छ; उहाँको अस्तित्व अत्यन्तै वास्तविक छ। उहाँ न त कुनै काल्पनिक कठपुतली हुनुहुन्छ न त अरू कुनै वस्तु नै हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुभएको हुनाले, हामी सधैँ उहाँको हृदयको आवाजप्रति सजग हुनुपर्छ, उहाँको मनोवृत्तिलाई राम्ररी ध्यान दिनुपर्छ र उहाँका भावनाहरू बुझ्ने प्रयास गर्नुपर्छ। परमेश्‍वरलाई सीमित गर्न मानव कल्पनाहरू प्रयोग नगर् र उहाँमाथि मानव मनका सोचहरू वा मानव इच्छाका चाहनाहरू नलाद्, परमेश्‍वरलाई मानव विधिहरू प्रयोग गरेर र मानव कल्पनाहरूका आधारमा मानिसहरूलाई व्यवहार गर्न अनुरोध नगर्। यदि तँ यसो गर्छस् भने, तैँले परमेश्‍वरलाई रिस उठाइरहेको हुन्छस्, उहाँको क्रोधलाई जाँचिरहेको र उहाँको मर्यादालाई चुनौती दिइरहेको हुन्छस्! तसर्थ, तिमीहरूले यस मामलाको गम्भीरता बुझिसकेपछि, म तिमीहरू हरेकलाई आफ्ना कार्यव्यवहार र बोलीमा सावधान र समझदार हुन अनि परमेश्‍वरसँग सम्बन्धित मामलाहरूलाई अत्यन्तै सावधानी र समझदारीका साथ सम्हाल्न आग्रह गर्छु! जब तँ परमेश्‍वरको मनोवृत्ति के हो भनेर बुझ्दैनस्, तब लापर्बाहीपूर्वक नबोल्, लापर्बाहीपूर्वक कार्यव्यवहार नगर वा लापर्बाहीपूर्वक लेबल नलगा; त्यसभन्दा पनि, मनमानी ढङ्गले निष्कर्षहरू ननिकाल्। यसको सट्टा, तैँले पर्खनुपर्छ र खोजी गर्नुपर्छ। यी परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्नुका प्रकटीकरणहरू हुन्। यदि तँ यो हासिल गर्न सक्छस् र अरू सबै कुराभन्दा पहिले यो मनोवृत्ति राख्न सक्छस् भने, परमेश्‍वरले तँलाई तेरो मूर्खता, अज्ञानता र कामकुराहरूबारे बुझाइको कमीका कारण दोष दिनुहुनेछैन; बरु, तेरो मनोवृत्तिको कारण—परमेश्‍वरलाई चिढ्याउने तेरो डर, उहाँका अभिप्रायहरूप्रतिको तेरो आदर र उहाँप्रति समर्पित हुने तेरो इच्छा—परमेश्‍वरले तँलाई सम्झनुहुनेछ, मार्गदर्शन गर्नुहुनेछ र अन्तर्दृष्टि दिनुहुनेछ वा तेरो अपरिपक्वता र अज्ञानतालाई सहनुहुनेछ। अन्यथा, उहाँप्रति तैँले राख्ने अनादरपूर्ण मनोवृत्तिको परिणामस्वरूप—आफ्नो इच्छाअनुसार उहाँलाई गलत ठहराउनु वा मनमानी ढङ्गले उहाँका चाहनाहरूबारे अनुमान लगाउनु र तिनलाई परिभाषित गर्नु—परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ, ताडना दिनुहुनेछ र दण्डसमेत दिनुहुनेछ; वा, उहाँले तेरा बारेमा केही भन्नुहुनेछ र सायद उहाँले भन्ने कुरा तेरो परिणामसँग सम्बन्धित हुनेछ। त्यसकारण, म फेरि एक पटक जोड दिनेछु: तिमीहरू हरेक परमेश्‍वरबाट आउने सबै कुराबारे सावधान र समझदार हुनुपर्छ। तिमीहरूले जस्तोसुकै परिस्थिति सामना गरे पनि, लापर्बाहीपूर्वक नबोल वा लापर्बाहीपूर्वक कार्यव्यवहार नगर। पहिलो कुरा, तिमीहरूले आफ्नो हृदयमा विचार गर्नुपर्छ: “म कसरी परमेश्‍वरको डर मान्‍ने हृदय भएको व्यक्तिले जस्तै बोल्न र कार्यव्यवहार गर्न सक्छु? बोल्ने र कार्यव्यवहार गर्ने कुन तरिकाले परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैन?” सरल मामिलाहरूमा समेत, तिमीहरूले यी प्रश्नहरूलाई अझ बढी मनन गर्नुपर्छ र तिनलाई अझ बढी विचार गर्नुपर्छ। यदि तँ साँच्चै सबै पक्षमा, सबै कुरामा र सबै समयमा यी सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्छस् र विशेष रूपमा आफूले कुनै कुरा नबुझ्दा यस्तो मनोवृत्ति अपनाउन सक्छस् भने, परमेश्‍वरले सधैँ तँलाई मार्गदर्शन गर्नुहुनेछ र पछ्याउने मार्ग प्रदान गर्नुहुनेछ। तेरो कार्यसम्पादन जस्तोसुकै भए पनि, परमेश्‍वर त्यो सब एकदमै स्पष्ट र छर्लङ्ग देख्नुहुन्छ र उहाँले तेरो कार्यसम्पादनको सही र उचित मूल्याङ्कन गर्नुहुनेछ। तैँले अन्तिम परीक्षा पार गरिसकेपछि, परमेश्‍वरले तेरो सब व्यवहारलाई लिएर त्यसको पूर्ण रूपमा सारांशीकरण गर्नुहुनेछ अनि त्यसरी तेरो परिणाम निर्धारण गर्नुहुनेछ। यस परिणामले हरेक व्यक्तिलाई पूर्ण रूपमा विश्वस्त पार्नेछ। मलाई यहाँ तिमीहरूलाई भन्‍न मन लागेको कुरा यो हो: तिमीहरूको हरेक काम, तिमीहरूको हरेक कार्यव्यवहार र तिमीहरूको हरेक सोचले तिमीहरूको भवितव्य निर्धारण गर्छ।

मानिसहरूका परिणामहरूको निर्धारण कसले गर्छ?

छलफल गर्नुपर्ने अत्यन्तै महत्त्वको अर्को मामला छ, र त्यो मामला परमेश्‍वरप्रतिको तिमीहरूको मनोवृत्ति हो। यो मनोवृत्ति अत्यन्तै महत्त्वपूर्ण छ! यसले तिमीहरू अन्ततः विनाशतर्फ हिँड्नेछौ कि परमेश्‍वरले तिमीहरूका लागि तयार गर्नुभएको सुन्दर गन्तव्यभित्र पस्नेछौ भन्‍ने कुरा निर्धारण गर्छ। राज्यको युगमा, परमेश्‍वरले यसअघि नै बीस वर्षभन्दा बढी समय काम गरिसक्नुभएको छ र सायद यी दुई दशकहरूको दौरान तिमीहरूले के-कस्तो कार्य-प्रदर्शन गर्यौ भन्‍ने बारेमा भित्र अन्तस्करणमा तिमीहरू अलिक अनिश्चित रहेका छौ होला। तथापि, परमेश्‍वरले उहाँको हृदयमा तिमीहरू प्रत्येकको वास्तविक र सत्यतापूर्ण अभिलेख राख्नुभएको छ। हरेक व्यक्तिले परमेश्‍वरलाई पछ्याउन र उहाँका प्रवचनहरू सुन्न, र त्यसको जगमा क्रमिक रूपमा झन्-झन् बढी सत्यता बुझ्न सुरु गरेको समयदेखि, हरेक व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्ने समयसम्म, परमेश्‍वरले हरेक व्यक्तिको यो समयका विभिन्न प्रकटीकरणहरूको अभिलेख राख्नुहुन्छ। परमेश्‍वरले मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दै गर्दा, जब तिनीहरूले हरप्रकारका वातावरण र परीक्षाहरूको सामना गर्छन्, तब उनीहरूका मनोवृत्तिहरू के-कस्ता हुन्छन्, उनीहरूका विभिन्न प्रकटीकरणहरू के-के हुन्छन्, र उनीहरूले हृदयमा परमेश्‍वरबारे कस्तो महसुस गर्छन्, इत्यादि भन्ने कुराको हिसाब-किताब, एउटा अभिलेख राख्नुहुन्छ। सायद, तिमीहरू यी मामलाहरूबारे अस्पष्ट छौ होला। तथापि, परमेश्‍वरका लागि, ती कुराहरू सङ्लो पानीझैँ छर्लङ्ग छन्, र तिनमा लापरबाहीको अलिकति झल्को समेत छैन। यो यस्तो मामला हो जसमा हर व्यक्तिको परिणाम समावेश हुन्छ र जुन हर व्यक्तिको नियति र भावी सम्भाव्यताहरूसँग सम्बन्धित हुन्छ, र त्यो भन्दा बढी, यो त्यही कुरा हो जहाँ परमेश्‍वरले उहाँको सम्पूर्ण रगत-पसिना बगाउनुहुन्छ; त्यसैले परमेश्‍वरले अलिकति पनि ध्यान नदिने आँट गर्नुहुन्न, न त उहाँले कुनै लापरवाही नै सहनुहुन्छ। परमेश्‍वरले सुरुदेखि अन्त्यसम्म नै उहाँलाई मानिसहरूले पछ्याएको सम्पूर्ण सिलसिलाका बारेमा टिपोट राख्दै, मानवजातिको यो हिसाबकिताबको अभिलेख राख्दै हुनुहुन्छ। यो अवधिमा उहाँप्रतिको तेरो मनोवृत्तिले तेरो नियति निर्धारण गर्छ। के यो साँचो होइन र? अब, के तँ परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर विश्‍वास गर्छस् त? के उहाँका कार्यहरू उपयुक्त छन् त? के उहाँको बारेमा तिमीहरूको टाउकोमा अझै अन्य कुनै कल्पनाहरू छन् त? (छैनन्।) त्यसो भए, तिमीहरू मानिसहरूका परिणामहरू परमेश्‍वरद्वारा निर्धारण गरिने कुरा हुन् भन्छौ कि मानिसहरू आफैद्वारा निर्धारण गरिने कुरा हुन् भन्छौ त? (तिनीहरू परमेश्‍वरद्वारा निर्धारण गरिने कुरा हुन्।) तिनलाई निर्धारण गर्ने को हुनुहुन्छ त? (परमेश्‍वर।) तिमीहरू निश्चित भएका छैनौ, छौ त? हङ्कङ्बाट आउनुभएका भाइ-बहिनीहरू, जोडले बोल—कसले तिनको निर्धारण गर्नुहुन्छ? (तिनलाई मानिसहरू आफैले निर्धारण गर्छन्।) के मानिसहरू आफैले तिनको निर्धारण गर्छन् त? के त्यसको मतलब परमेश्‍वरसँग मानिसहरूका परिणामहरूको कुनै सम्बन्ध नै छैन भन्‍ने हुँदैन र? कोरियाबाट आउनुभएका भाइ-बहिनीहरू, जोडले बोल। (मानिसहरूका परिणामहरू तिनीहरूका सबै कार्य र कर्महरूको आधारमा र तिनीहरू जुन बाटोमा हिँडेका थिए सोही अनुरूप परमेश्‍वरले निर्धारण गर्नुहुन्छ।) यो एकदम वस्तुपरक जबाफ हो। यहाँ एक तथ्य छ जसबारे मैले तिमीहरू सबैलाई जानकारी दिनैपर्छ: परमेश्‍वरको मुक्तिको कामका सिलसिलामा, उहाँले मानिसहरूका लागि एउटा मानक तय गर्नुभएको छ। यो मानक के हो भने, तिनीहरूले परमेश्‍वरको वचन सुन्नैपर्छ र परमेश्‍वरको मार्गको पछ्याइ हासिल गर्नैपर्छ। मानिसहरूका परिणामहरूलाई मापन गर्न प्रयोग गरिने मानक यही नै हो। यदि तैँले परमेश्‍वरको यो मानकअनुरूप अभ्यास गर्छस् भने, तैँले असल परिणाम प्राप्त गर्न सक्छस्; यदि तैँले यसअनुरूप अभ्यास गर्दैनस् भने तैँले असल परिणाम प्राप्त गर्न सक्दैनस्। त्यसो भए, यो परिणाम कसले निर्धारण गर्छ भनेर तैँले भन्छस् त? परिणाम निर्धारण गर्ने परमेश्‍वर मात्रै हुनुहुन्न, बरु यो त परमेश्‍वर र मानिस दुवैले साथसाथ गर्छन्। के यो सत्य हो त? (हो।) किन? किनभने मानवजातिको मुक्तिको काम गर्न र मानवजातिका लागि सुन्दर गन्तव्य तयार गर्न सक्रिय रूपमा चाहनुहुने परमेश्‍वर नै हुनुहुन्छ; मानिसहरू परमेश्‍वरको कामका पात्रहरू हुन् र यो परिणाम, यो गन्तव्य, तिनीहरूका लागि परमेश्‍वरले तयार गर्नुहुन्छ। यदि उहाँले काम गर्नका लागि कुनै पात्रहरू नै नभएका भए, उहाँले यो काम गर्नुपर्ने नै थिएन; यदि उहाँले यो काम नगरिरहनुभएको भए, मानिसहरूसँग मुक्ति प्राप्त गर्ने अवसर नै हुनेथिएन। मुक्ति पाउनु पर्ने त मानिसहरूले नै हो, र मुक्ति प्राप्त गर्नेहरू निष्क्रिय पक्षमा हुने भए तापनि, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने उहाँको काम हासिल गर्नुहुनेछ कि गर्नुहुनेछैन भन्‍ने कुरा निर्धारण गर्ने भनेको यो पक्षका मानिसहरूको मनोवृत्तिले नै हो। यदि परमेश्‍वरले तँलाई दिनुहुने मार्गनिर्देशन नभएको भए त, तँलाई उहाँको मानक थाहा हुनेथिएन, न त तँसँग कुनै उद्देश्य नै हुनेथियो। यदि तँसँग यो मानक, यो उद्देश्य छ, तैपनि तँ सहकार्य गर्दैनस् भने, यसलाई अभ्यास गर्दैनस् भने, वा मूल्य तिर्दैनस् भने, तैँले यो परिणाम हासिल गर्नेछैनस्। यसै कारण, म भन्छु, व्यक्तिको परिणामलाई परमेश्‍वरबाट अलग गर्न सकिँदैन, र यसलाई उक्त व्यक्तिबाट पनि अलग गर्न सकिँदैन। अब भने तिमीहरूले मानिसहरूका परिणामहरू कसले निर्धारण गर्छ भन्‍ने कुरा थाहा पायौ।

मानिसहरूले अनुभवको आधारमा परमेश्‍वरलाई परिभाषित गर्ने प्रवृत्ति हुन्छ

परमेश्‍वरलाई चिन्ने विषयको बारेमा कुराकानी गर्दा, के तिमीहरूले केही कुरा ख्याल गरेका छौ? के तिमीहरूले आजभोलि उहाँको मनोवृत्ति रूपान्तरित भएको छ भन्‍ने कुरा ख्याल गरेका छौ? के मानिसहरूप्रतिको उहाँको मनोवृत्ति अपरिवर्तनीय छ त? के उहाँले यसरी नै सधैँ सहन गर्नुहुन्छ र मानिसहरूलाई अनिश्चितकालसम्म उहाँको सबै प्रेम र कृपा प्रदान गर्नुहुन्छ त? यो मामलामा परमेश्‍वरको सार पनि समावेश छ। यसअघि उल्लेख गरिएका तथाकथित उडन्ते पुत्रको प्रश्नतर्फ फर्कौं। त्यो प्रश्‍न सोधिएपछि, तिमीहरूको जबाफ त्यति स्पष्ट थिएन; अर्को शब्दमा भन्दा, परमेश्‍वरका अभिप्रायहरूको बारेमा तिमीहरूसँग अझै पनि त्यति ठोस बुझाइ छैन। परमेश्‍वर मानवजातिलाई प्रेम गर्नुहुन्छ भनेर थाहा पाएपछि, तिनीहरू उहाँलाई प्रेमको प्रतीकका रूपमा सीमित गर्छन्: तिनीहरू के विश्‍वास गर्छन् भने, मानिसहरूले जेसुकै गरे तापनि, तिनीहरूले जसरी व्यवहार गरे तापनि, तिनीहरूले परमेश्‍वरलाई जसरी व्यवहार गरे तापनि र तिनीहरू जति नै विद्रोही भए तापनि, यो कुनै कुराले केही फरक पर्दैन किनकि परमेश्‍वरसँग प्रेम छ र उहाँको प्रेम असीमित र अपरिमेय छ; परमेश्‍वरसँग प्रेम छ, त्यसैले उहाँ मानिसहरूप्रति सहनशील हुन सक्नुहुन्छ; अनि परमेश्‍वरसँग प्रेम छ त्यसैले उहाँ मानिसहरूप्रति कृपालु, तिनीहरूको अपरिपक्वताप्रति कृपालु, तिनीहरूको अज्ञानताप्रति कृपालु र तिनीहरूको विद्रोहीपनप्रति कृपालु हुन सक्नुहुन्छ। के यो वास्तवमा यस्तै हो? केही मानिसको हकमा भन्दा, जब तिनीहरूले एक पटक वा केही पटक परमेश्‍वरको धैर्य अनुभव गरिसकेका हुन्छन्, तब तिनीहरूले यी अनुभवहरूलाई परमेश्‍वरबारे आफ्नै ज्ञानमा पूँजीका रूपमा लिनेछन्, उहाँ तिनीहरूप्रति सधैँ धैर्यवान् र कृपालु रहनुहुनेछ भन्‍ने विश्‍वास गर्नेछन् र त्यसपछि तिनीहरू आफ्‍नो जीवनकालको अवधिमा, परमेश्‍वरको यस धैर्यलाई उहाँले तिनीहरूलाई व्यवहार गर्ने मानका रूपमा लिन्छन्। यस्ताहरू पनि छन् जसले एकपल्ट परमेश्‍वरको सहनशीलता अनुभव गरिसकेपछि, सधैँभरि परमेश्‍वरलाई सहनशीलका रूपमा सीमित गर्छन्—र तिनीहरूको मनमा, यो सहनशीलता अनिश्चित, निसर्त र पूर्णतया असैद्धान्तिकसमेत हुन्छ। के यस्ता विश्‍वासहरू सही छन्? परमेश्‍वरको सार वा परमेश्‍वरको स्वभावको मामला छलफल गर्दैपिच्छे, तिमीहरू अन्योलमा हुन्छौ। तिमीहरूलाई यस्तो देख्दा म धेरै चिन्तित हुन्छु। तिमीहरूले परमेश्‍वरको सारसम्बन्धी धेरै सत्यता सुनेका छौ; तिमीहरूले उहाँको स्वभावसम्बन्धी धेरै विषयबारे पनि सुनेका छौ। तथापि, तिमीहरूको मनमा, यी मामलाहरू र यी पक्षहरूको सत्यता सिद्धान्त र लिखित शब्दहरूमा आधारित सम्झनाहरू मात्रै हुन्छन्; तिमीहरूको दैनिक जीवनमा, तिमीहरूमध्ये कसैले पनि परमेश्‍वरको स्वभावलाई यो वास्तवमा जस्तो हो त्यस्तै रूपमा कहिल्यै अनुभव गर्न वा देख्न सकेका छैनौ। यसर्थ, तिमीहरू सबै आफ्नो विश्‍वासमा अन्योल छौ; तिमीहरू सबैले आँखा चिम्लेर विश्‍वास गरिरहेका छौ, र यहाँसम्म कि तिमीहरूमा परमेश्‍वरप्रति अनादरपूर्ण मनोवृत्ति छ र तिमीहरू उहाँलाई बेवास्ता गर्छौ। तिमीहरूमा परमेश्‍वरप्रति यस प्रकारको मनोवृत्ति हुनुले कतातिर के गर्न लगाउँछ? यसले तिमीहरूलाई सधैँ परमेश्‍वरलाई सीमित गर्न लगाउँछ। तिमीहरू आफूले थोरै ज्ञान हासिल गरिसकेपछि, एकदमै सन्तुष्ट महसुस गर्छौ र आफूले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा प्राप्त गरिसकेको छु भन्ने महसुस गर्छौ। त्यसपछि, तिमीहरू परमेश्‍वरलाई त्यसमा सीमित पार्छौ, र उहाँलाई स्वतन्त्रतापूर्वक चल्न दिँदैनौ। यसबाहेक, जब-जब परमेश्‍वर कुनै नयाँ कुरा गर्नुहुन्छ, तब-तब तिमीहरू उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर स्विकार्न नै मान्दैनौ। एक दिन, जब परमेश्‍वर “म मानवजातिलाई अब कहिल्यै प्रेम गर्दिनँ; म अब मानिसहरूलाई थप कुनै कृपा प्रदान गर्नेछैनँ; तिनीहरूप्रति मसँग थप कुनै सहनशीलता वा धैर्यता छैन। म तिनीहरूप्रतिको चरम घृणा र अरुचिले पूर्णतया भरिएको छु” भनेर भन्नुहुन्छ, तब मानिसहरूलाई त्यस्ता कथनहरूप्रति आफ्नो हृदयमा प्रतिरोध महसुस हुनेछ। तिनीहरूमध्ये केहीले यसोसमेत भन्‍नेछन्, “तपाईँ उप्रान्त मेरो परमेश्‍वर हुनुहुन्न; तपाईँ उप्रान्त मैले पछ्याउन चाहने परमेश्‍वर हुनुहुन्न। यदि तपाईँले भन्‍ने कुरा यही हो भने तपाईँ उप्रान्त मेरो परमेश्‍वर हुनलायक हुनुहुन्न र मैले तपाईँलाई पछ्याइरहनु आवश्यक छैन। यदि तपाईँले मलाई उप्रान्त कृपा, प्रेम र सहनशीलता प्रदान गर्नुहुनेछैन भने, म तपाईँलाई पछ्याउन छोड्नेछु। यदि तपाईँ मप्रति अनिश्चित रूपमा सहनशील हुनुहुन्छ, मसँग सधैँ धैर्यवान् हुनुहुन्छ र मलाई तपाईँ प्रेम हुनुहुन्छ, तपाईँ धैर्य हुनुहुन्छ र तपाईँ सहनशीलता हुनुहुन्छ भनी हेर्न दिनुहुन्छ भने मात्रै म तपाईँलाई पछ्याउन सक्छु र तब मात्रै मसँग तपाईँलाई अन्त्यसम्म पछ्याउने आस्था हुनेछ। मसँग तपाईँको धैर्य र कृपा भएको हुनाले, मेरो विद्रोह र मेरा अपराधहरूलाई अनिश्चित रूपमा माफ र क्षमा गर्न सकिनेछ अनि मैले कुनै पनि समय र कुनै पनि ठाउँमा पाप गर्न सक्छु अनि कुनै पनि समय र कुनै पनि ठाउँमा पाप कबुल गरेर माफ पाउन सक्छु र तपाईँलाई कुनै पनि समय र कुनै पनि ठाउँमा रिस उठाउन सक्छु। तपाईँले मेरो बारेमा कुनै पनि रायहरू राख्नु वा कुनै फैसला गर्नु हुँदैन।” तिमीहरूमध्ये एक जनाले पनि यस प्रकारको मामलाबारे व्यक्तिपरक वा सचेत रूपमा नसोच्ने भए तापनि, जब-जब तिमीहरू परमेश्‍वरलाई तिमीहरूको पाप क्षमा गर्न प्रयोग गरिने औजार वा सुन्दर गन्तव्य प्राप्त गर्न प्रयोग गरिने वस्तु ठान्छौ, तब-तब तिमीहरूले जीवित परमेश्‍वरलाई अनजानमै आफ्नो विपक्षमा, आफ्नो शत्रुका रूपमा राखेका हुन्छौ। म त यही देख्छु। तैँले “म परमेश्‍वरमा विश्‍वास गर्छु,” “म सत्यता पछ्याउँछु,” “म आफ्नो स्वभाव परिवर्तन गर्न चाहन्छु,” “म अन्धकारको प्रभावबाट मुक्त हुन चाहन्छु,” “म परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छु,” “म परमेश्‍वरप्रति समर्पित हुन चाहन्छु,” “म परमेश्‍वरप्रति बफादार हुन चाहन्छु र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्छु,” आदि इत्यादि कुरा भनिरहन सक्छस्। तथापि, तेरा शब्दहरू जतिसुकै मिठा लाग्ने भए तापनि, तैँले जति नै धेरै सिद्धान्त जाने तापनि र यी कुराहरू जति नै सानदार र भव्य भए तापनि, यस मामलाको तथ्य के हो भने अहिले तिमीहरूमध्ये धेरैले आफूले निपुणता हासिल गरेका प्रावधानहरू, धर्मसिद्धान्तहरू, सिद्धान्तहरू परमेश्‍वरलाई सीमित पार्न कसरी प्रयोग गर्ने भनी जानिसकेका छौ, यसरी उहाँलाई स्वाभाविक रूपमै आफ्नो विपक्षमा राखेका छौ। तैँले शब्द र धर्मसिद्धान्तहरूमा निपुणता हासिल गरेको हुनसक्‍ने भए तापनि, तँ साँचो रूपमा सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस्, त्यसैले तँलाई परमेश्‍वरको नजिक हुन, उहाँलाई चिन्न र उहाँलाई बुझ्न एकदमै कठिन हुन्छ। यो एकदमै दुःखलाग्दो कुरा हो!

मैले एउटा भिडियोमा निम्न दृश्य देखेँ: केही दिदीबहिनीहरूसँग “वचन देहमा देखा पर्नुहुन्छ” पुस्तकको एक प्रति हुन्छ, र तिनीहरूले यसलाई एकदमै माथि उठाइरहेका थिए; तिनीहरूले उक्त पुस्तकलाई तिनीहरूमाझ, तिनीहरूको टाउकोमाथि उठाइरहेका थिए। यो केवल एक आकृति मात्र भएको भए तापनि, यसले मभित्र जे कुरा जागृत गरायो त्यो केवल आकृति थिएन; बरु, यसले मलाई के सोच्ने तुल्यायो भने हरेक व्यक्तिले तिनीहरूको हृदयमा जे कुरा माथि उठाएर राख्छन् त्यो परमेश्‍वरको वचन होइन, त्यो त परमेश्‍वरको वचनको पुस्तक हो। यो अत्यन्तै दुःखलाग्दो मामला हो। त्यस्तो कार्य परमेश्‍वरलाई माथि उठाएर राख्नु जस्तो दुरुस्त उस्तै कार्य होइन किनभने परमेश्‍वरको बारेमा तिमीहरूमा भएको बुझाइको कमी यस्तो हदसम्म पुगेको छ कि एकदमै स्पष्ट प्रश्न, एक अत्यन्तै मामुली मामलाले पनि तिमीहरूलाई तिमीहरूका आफ्नै धारणाहरू बनाउने तुल्याएको छ। जब म तिमीहरूलाई तिमीहरूका केही कुरा सोध्छु, तिमीहरूले अड्कल र तिमीहरूका आफ्ना कल्पनाहरूद्वारा जबाफ दिन्छौ; तिमीहरूमध्ये केहीले त शङ्कास्पद भाव धारण गर्छौ र मेरा प्रश्नहरूको जबाफ प्रश्नहरूबाटै दिन्छौ। यसले मलाई अझ स्पष्टसित भन्छ कि तिमीहरूले विश्‍वास गरेको परमेश्‍वर साँचो परमेश्‍वर हुनुहुन्न। परमेश्‍वरका वचनहरूलाई वर्षौंसम्‍म पढेपछि, तिमीहरूले फेरि पनि उहाँलाई सीमित गर्नका लागि ती वचनहरू, उहाँका काम, र थप धर्मसिद्धान्तहरूलाई प्रयोग गर्छौ। यस बाहेक, तिमीहरूले कहिल्यै पनि परमेश्‍वरलाई बुझ्न समेत प्रयास गर्दैनौ; तिमीहरूले कहिल्यै पनि उहाँका अभिप्रायहरू पत्ता लगाउने, मानिसहरूप्रति उहाँको मनोवृत्ति बुझ्ने, वा परमेश्‍वरले कसरी सोच्नुहुन्छ, किन उहाँ दुःखी बन्नुहुन्छ, किन उहाँ रिसाउनुहुन्छ, किन उहाँले मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ, र यस्तै अन्य प्रश्नहरूको बोध गर्ने प्रयास गर्दैनौ। अझ भन्‍ने हो भने, अझै धेरै मानिसहरूले परमेश्‍वर सधैँ शान्त रहनुभएको छ किनभने उहाँले मानवजातिका विविध कार्यहरूलाई तिनीहरूको बारेमा कुनै पनि मनोवृत्ति वा विचार नराखीकन केवल हेर्दै हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। मानिसहरूको अझै अर्को समूहले परमेश्‍वरले एउटै पनि आवाज निकाल्नुहुन्न किनभने उहाँले मौन रूपमा स्वीकृति जनाउनुभएको छ, चुपचाप रहनुभएको छ किनभने उहाँ प्रतीक्षा गरिरहनुभएको छ वा किनभने उहाँसँग कुनै मनोवृत्ति नै छैन भन्‍ने विश्‍वास गर्छन्; तिनीहरूले ठान्छन् कि परमेश्‍वरको मनोवृत्तिलाई यसअघि नै पुस्तकहरूमा विस्तृत रूपले व्याख्या गरिसकिएको छ र यसलाई यसको सम्पूर्णतामै मानवजातिलाई व्यक्त गरिसकिएको छ, त्यसैले यसको बारेमा बारम्बार मानिसहरूलाई बताइरहन जरुरी छैन। परमेश्‍वर शान्त रहनुभएको भए तापनि, उहाँसँग मनोवृत्ति र दृष्टिकोणका साथै उहाँले मानिसहरूले पूरा गर्नैपर्ने सर्त राख्नुभएका मापदण्डहरू हुन्छन्। मानिसहरूले उहाँलाई बुझ्न वा उहाँको खोजी गर्न कोसिस नगरे तापनि, परमेश्‍वरको मनोवृत्ति स्पष्ट छ। कुनै बेला जोश-जाँगरका साथ परमेश्‍वरलाई पछ्याएको तर त्यसपछि कुनै समयमा उहाँलाई त्यागेर छाडी हिँडेको कुनै व्यक्तिको बारेमा सोच। अचम्‍मको कुरो, यो व्यक्ति अहिले फर्कि आउने हो भने, परमेश्‍वरको दृष्टिकोण के हुनेछ, वा उहाँको मनोवृत्ति के हुनेछ तिमीहरूलाई थाहा हुँदैन। के यो अत्यन्तै दुःखलाग्दो कुरो होइन र? तथ्य के हो भने यो एकदमै सतही मामला हो। यदि तिमीहरूले साँचो रूपले परमेश्‍वरको हृदयलाई बुझ्थ्यौ भने तिमीहरूले यस प्रकारको व्यक्तिप्रति उहाँको मनोवृत्ति कस्तो हुन्छ भन्‍ने कुरा जान्‍नेथियौ, र तिमीहरूले अस्पष्ट जबाफ दिँदनथियौ। तिमीहरूलाई थाहै छैन, त्यसैले म तिमीहरूलाई कुरा बुझाउन चाहन्छु।

परमेश्‍वरको कामको दौरान भाग्ने व्यक्तिहरूप्रति परमेश्‍वरको मनोवृत्ति

यस प्रकारका मानिसहरू जहाँतहीँ हुन्छन्: परमेश्‍वरको मार्गको बारेमा निश्चित भइसकेपछि, विविध कारणहरूले गर्दा, तिनीहरू चुपचाप गएँ है पनि नभनी, टाढा जान र तिनीहरूको हृदयले जे चाहन्छ त्यही गर्न छाडेर हिँड्छन्। हाललाई हामी यी व्यक्तिहरूले छाडेर हिँड्ने कारणहरूमा प्रवेश गर्नेछैनौं; हामी पहिले यस प्रकारको व्यक्तिप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ त भनेर हेर्नेछौं। यो एकदमै स्पष्ट छ। यी मानिसहरूले छाडी गएको क्षणदेखि, परमेश्‍वरको आँखामा तिनीहरूको विश्‍वासको अवधि समाप्त हुन्छ। यो उक्त एक व्यक्तिले अन्त्य गरेको होइन, यो त परमेश्‍वरले अन्त्य गर्नुभएको हो। उक्त व्यक्तिले परमेश्‍वरलाई छाडेर गयो भन्नुको अर्थ तिनीहरूले परमेश्‍वरलाई अस्वीकार गरे, तिनीहरूले उहाँलाई अब फेरि कहिल्यै चाहँदैनन् र तिनीहरूले परमेश्‍वरको मुक्ति अब फेरि कहिल्यै स्वीकार गर्दैनन् भन्‍ने हुन्छ। यस प्रकारका मानिसहरूले परमेश्‍वरलाई नचाहने भएको हुनाले, के तिनीहरूलाई उहाँले अझै चाहनुहुन्छ त? यस बाहेक, जब त्यस्ता मानिसहरूसँग यस प्रकारको मनोवृत्ति, यो दृष्टिकोण हुन्छ र तिनीहरू परमेश्‍वरलाई छाडी जान दृढ बन्छन्, तब तिनीहरूले पहिले नै परमेश्‍वरको स्वभावलाई भड्काइसकेका हुन्छन्। तिनीहरू रिसले चूर नभएको र तिनीहरूले परमेश्‍वरलाई नसरापेको भए पनि, तिनीहरू दुष्ट र अतिशय व्यवहारमा संलग्न नभए तापनि र यी मानिसहरूले “जब मैले बाह्य रूपमा धीत मरूञ्‍जेल मजा लिइसकेको हुन्छु, वा जब मलाई अझै केही कुराको लागि परमेश्‍वरको आवश्यकता पर्छ, यदि यस्तो दिन आए, म फर्की आउनेछु वा परमेश्‍वरले मलाई बोलाउनुभयो भने म फर्की आउनेछु” भनेर सोचे तापनि वा तिनीहरूले “जब म बाह्य रूपमा चोटग्रस्त हुन्छु, वा जब मैले बाह्य संसार एकदमै अन्धकारमय र अत्यन्तै दुष्ट भएको देख्छु र म अब फेरि कहिल्यै जमानाअनुसार चल्न चाहन्न भने, म परमेश्‍वरकहाँ फर्की आउनेछु” भनेर भने तापनि यस्तो हुन्छ। यी मानिसहरूले तिनीहरू कहिले फर्की आउने भनेर तिनीहरूको मस्तिष्कमा हिसाबकिताब गरिसकेको हुने भए तापनि र तिनीहरूले फर्की आउने ढोका खुला राखे तापनि, तिनीहरूले महसुस गर्दैनन् कि चाहे तिनीहरूले जेसुकै विश्‍वास गरून् वा तिनीहरूले जे-जसरी नै योजना गरून् यो त केवल अभिलाषी सोच मात्र हुन्छ। तिनीहरूको सबैभन्दा ठूलो गल्ती भनेको परमेश्‍वरलाई छाडी जाने तिनीहरूको चाहनाले परमेश्‍वरलाई कस्तो अनुभव गर्ने तुल्याउँछ भन्‍ने बारेमा स्पष्ट नहुनु हो। तिनीहरूले परमेश्‍वरलाई छाडी जाने निर्णय गरेकै क्षणदेखि, उहाँले तिनीहरूलाई पूर्ण रूपमा परित्याग गर्नुहुन्छ; त्यति बेलासम्ममा, उहाँले त्यस्तो व्यक्तिको परिणाम निर्धारण गरिसक्‍नुभएको हुन्छ। त्यो परिणाम के हो त? त्यो परिणाम भनेको उक्त व्यक्ति मुसाहरूमध्ये एक बन्नेछ र तिनीहरूसँगै नासिएर जानेछ भन्‍ने हो। यसरी, मानिसहरूले यस प्रकारको अवस्था बारम्बार देख्छन्: कुनै व्यक्तिले परमेश्‍वरलाई छाड्छ तर त्यसपछि उसले कुनै दण्ड पाउँदैन। परमेश्‍वरले उहाँका आफ्नै सिद्धान्तहरू अनुसार कार्य सञ्चालन गर्नुहुन्छ; केही कुराहरू देख्न सकिन्छ भने अन्य कुराहरूचाहिँ परमेश्‍वरको हृदयभित्र निष्कर्षमा पुग्छन्, त्यसैले मानिसहरूले नतिजाहरू देख्न सक्दैनन्। मानिसहरूले देख्न सक्ने भाग नै वस्तुहरूको साँचो भाग हो भन्‍ने जरुरी छैन, तर त्यो अर्को भागमा—तैँले नदेख्ने भागमा—वास्तवमा परमेश्‍वरका साँचो हृदयस्पर्शी सोचहरू र निष्कर्षहरू हुन्छन्।

परमेश्‍वरको कामको अवधिमा भाग्ने मानिसहरू साँचो मार्ग त्याग्ने व्यक्तिहरू हुन्

परमेश्‍वरले उहाँको कामको दौरान भागेर जाने मानिसहरूलाई किन त्यस्तो गम्भीर दण्ड दिनुहुन्छ? उहाँ तिनीहरूप्रति किन त्यति रिसाउनुहुन्छ? सर्वप्रथम, हामीलाई परमेश्‍वरको स्वभाव प्रताप र क्रोध हो भन्‍ने थाहा छ; उहाँ कसैद्वारा काटिन छोडिएको भेडा हुनुहुन्न, झन् उहाँ मानिसहरूले चाहेअनुसार चलाउने कठपुतली हुनु त परको कुरा हो। उहाँ आफ्नो इच्छाअनुसार लिइने र फालिने जाबो हावा पनि हुनुहुन्न। यदि तँ परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनी साँचो रूपमा विश्‍वास गर्छस् भने, तँसँग परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ अनि तैँले उहाँको सार क्रोधित पारिने सार होइन भनी जान्नुपर्छ। उहाँ एउटा शब्द वा सायद एउटा सोच वा सायद कुनै प्रकारको दुष्ट व्यवहार वा सायद कुनै रूपको नरम व्यवहार वा मानिसहरूका नजर र नीतिहरूमा स्वीकार्य हुने व्यवहारले गर्दा वा कुनै धर्मसिद्धान्त वा सिद्धान्तले गर्दा क्रोधित हुन सक्नुहुन्छ। तर, तैँले परमेश्‍वरलाई क्रोधित पारिसकेपछि तेरो अवसर गुम्छ अनि तेरा आखिरी दिनहरू आइसकेका हुन्छन्। यो भयानक कुरा हो! यदि तँ परमेश्‍वरलाई चिढ्याउनै हुँदैन भनेर बुझ्दैनस् भने, सायद तँ परमेश्‍वरसँग डराउँदैनस्, र सायद तँ प्रायः उहाँलाई चिढ्याउँछस्। यदि तँलाई कसरी परमेश्‍वरको डर मान्ने भनेर थाहा छैन भने तैँले बिलकुलै परमेश्‍वरको डर मान्न सक्दैनस् र तँलाई कसरी परमेश्‍वरको मार्ग पछ्याउने—परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने—मार्गमा कसरी हिँड्ने भनेर थाहा हुनेछैन। परमेश्‍वरलाई चिढ्याउनै हुँदैन भनेर तँलाई थाहा भइसकेपछि र तँ सचेत भइसकेपछि, तैँले परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग रहन के गर्ने भन्‍ने थाहा पाउनेछस्।

परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग पछ्याउनु भनेको तैँले कति सत्यता बुझेको छस्, तैँले कति परीक्षाहरूको अनुभव गरेको छस्, वा तँ कति अनुशासित छस् भन्‍ने बारेमा नै हुनु जरुरी छैन। बरु, यो त तँसँग तेरो हृदयमा परमेश्‍वरप्रति कस्तो प्रकारको मनोवृत्ति छ र तैँले के सार व्यक्त गर्छस् भन्‍ने कुरामा निर्भर हुन्छ। मानिसहरूका सारहरू र तिनीहरूका आत्मपरक मनोवृत्तिहरू—यी कुराहरू धेरै महत्त्वपूर्ण, धेरै निर्णायक छन्। जहाँसम्म परमेश्‍वरलाई परित्याग गर्ने र छोडेर जाने व्यक्तिहरूको सवाल छ, परमेश्‍वरप्रतिको तिनीहरूको निन्दनीय मनोवृत्ति र सत्यतालाई घृणा गर्ने तिनीहरूको हृदयले यसअघि नै उहाँको स्वभावलाई क्रुद्ध पारिसकेको हुन्छ, जहाँसम्म उहाँको सवाल छ, उहाँले तिनीहरूलाई कहिल्यै पनि क्षमा गर्नुहुनेछैन। तिनीहरूले परमेश्‍वरको अस्तित्वको बारेमा जानेका छन्, तिनीहरूलाई उहाँ यसअघि नै आइसक्नुभएको छ भनी सूचित गरिसकिएको छ र तिनीहरूले परमेश्‍वरको नयाँ कामको पनि अनुभव गरिसकेका छन्। तिनीहरू प्रस्थान हुनुको कारण तिनीहरू भ्रममा वा अन्यौलमा परेकाले थिएन, तिनीहरूलाई जबरजस्ती छोडेर जान लगाउने कुरो त परै जाओस्। बरु, तिनीहरूले जानी-जानी नै र स्पष्ट विचारको साथ परमेश्‍वरलाई छोडेर जाने विकल्प रोजे। तिनीहरूको प्रस्थान तिनीहरूले बाटो बिराएको कारण थिएन, न त तिनीहरू परित्याग गरिएका नै थिए। त्यसकारण, परमेश्‍वरको नजरमा तिनीहरू झुण्डबाट हराएका भेडाहरू होइनन्, तिनीहरू बाटो बिराएका उडन्ते पुत्रहरू हुने कुरा त परै जाओस्। तिनीहरूले दण्डहीनताका साथ प्रस्थान गरे—त्यस्तो अवस्थाले, त्यस्तो परिस्थितिले परमेश्‍वरको स्वभावलाई भड्काउँछ, र यही भड्काइको कारण उहाँले तिनीहरूलाई निराशाजनक परिणामहरू दिनुहुन्छ। के यस प्रकारको परिणाम डरलाग्दो हुँदैन त? त्यसकारण, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन् भने तिनीहरूले उहाँलाई ठेस पुर्‍याउन सक्छन्। यो सानो कुरो होइन! यदि मानिसहरूले परमेश्‍वरको मनोवृत्तिलाई गम्भीर रूपमा लिँदैनन् भने र तिनीहरू अझै पनि तिनीहरू उहाँका हराएका भेडाहरू भएकोले उहाँ तिनीहरू फर्की आउने आशामा हुनुहुन्छ र उहाँले अझै पनि तिनीहरूले हृदय परिवर्तन गरून् भन्‍ने प्रतीक्षामा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन् भने, तिनीहरू तिनीहरूको दण्डका दिनहरूबाट धेरै टाढा छैनन्। परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्न इन्कार मात्र गर्नुहुन्न—तिनीहरूले उहाँको स्वभावलाई भड्काएको त्यो दोस्रो पटक भएको हुँदा, मामला झनै भयानक हुन्छ! यी मानिसहरूको अनादरकारी मनोवृत्तिहरूले यसअघि नै परमेश्‍वरका प्रशासनिक विधिहरूको उल्‍लङ्घन गरिसकेका छन्। के तिनीहरूलाई अझै उहाँले स्वीकार गर्नुहुन्छ त? परमेश्‍वरको हृदयमा, यो मामलाको सम्बन्धमा उहाँका सिद्धान्तहरू के हुन्छन् भने, यदि कसैले साँचो मार्गका बारेमा निश्‍चितता हासिल गरेको छ तर पनि अझै उसले जानी-जानी नै र स्पष्ट विचारको साथ परमेश्‍वरलाई अस्वीकार गरी परमेश्‍वरबाट टाढा जान्छ भने, उहाँले त्यस्तो व्यक्तिको मुक्तिको बाटो बन्द गरिदिनुहुन्छ र उक्त व्यक्तिको लागि राज्यको प्रवेशद्वार अब उप्रान्त बन्द गरिनेछ। जब यस्तो व्यक्ति फेरि ढोका ढकढक्याउँदै आउँछ, परमेश्‍वरले ढोका उघार्नुहुनेछैन; उक्त व्यक्तिलाई सधैँको लागि ढोका बन्द गरी बाहिरै राखिनेछ। सायद तिमीहरूमध्ये केहीले बाइबलमा मोशाको कथा पढेका छौ होला। परमेश्‍वरद्वारा मोशाको अभिषेक भएपछि, तिनका कार्यहरूको कारण र अन्य विविध कुराहरूको कारण २५० जना अगुवाहरूले मोशाप्रति अवज्ञा व्यक्त गरे। तिनीहरूले कोप्रति समर्पित हुन अस्वीकार गरे त? मोशाप्रति होइन। तिनीहरूले परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन अस्वीकार गरे; तिनीहरूले यस मामला सम्बन्धी परमेश्‍वरको कामप्रति समर्पित हुन अस्वीकार गरे। तिनीहरूले यसो भने: “तपाईंहरूले अति गर्नुभयो! महासभामा सबै जना पवित्र छन्, हरेक व्यक्ति पवित्र छन् र तिनीहरूमाझ यहोवा हुनुहुन्छ।” के यी शब्द र पङ्तिहरू, मानव दृष्टिकोणबाट, धेरै गम्भीर छन् त? ती धेरै गम्भीर छैनन्। कम्तीमा पनि यी शब्दहरूको शाब्दिक अर्थ गम्भीर छैन। कानुनी अर्थमा, तिनीहरूले कुनै पनि कानुन उल्‍लङ्घन गर्दैनन्, किनभने सतही रूपमा, यो शत्रुतापूर्ण भाषा वा शब्दसंग्रह होइन, यसमा ईश्‍वरनिन्दाको सङ्केतार्थ हुने कुरा त परै जाओस्। यी त केवल सामान्य वाक्यहरू हुन्, त्योभन्दा बढ्ता केही होइनन्। त्यसो भए, किन यी शब्दहरूले परमेश्‍वरको त्यस्तो क्रोध भड्काउन सक्छन् त? किनभने ती शब्दहरू मानिसहरूलाई भनिएका थिएनन्, परमेश्‍वरलाई भनिएका थिए। तिनीहरूले व्यक्त गरेका मनोवृत्ति र स्वभाव नै ती कुराहरू हुन् जसले परमेश्‍वरको स्वभावलाई भड्काउँछन्, र तिनीहरूले चिढ्याउन नहुने परमेश्‍वरको स्वभावलाई चिढ्याउँछन्। अन्त्यमा ती अगुवाहरूका परिणामहरू के थिए, हामी सबैलाई थाहा छ। परमेश्‍वरलाई त्याग गरेका मानिसहरूको सम्बन्धमा भन्दा, तिनीहरूको दृष्टिकोण के हो त? तिनीहरूको मनोवृत्ति के हो त? अनि किन तिनीहरूको दृष्टिकोण र मनोवृत्तिले परमेश्‍वरलाई तिनीहरूसँग त्यस शैलीमा व्यवहार गर्ने तुल्याउँछ त? यसको कारण के हो भने, तिनीहरूले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने जाने तापनि, तिनीहरूले अझै उहाँलाई धोका दिने विकल्प रोजे, अनि यसको कारण तिनीहरूलाई तिनीहरूको मुक्तिका सबै अवसरहरूबाट पूर्ण रूपमा वञ्‍चित गरिन्छ। बाइबलमा लेखिए झैं, “किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन” (हिब्रू १०:२६)। के अब तिमीहरूले यो मामलाको बारेमा स्पष्ट बुझ्यौ त?

मानिसहरूको नियतिलाई परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिले निर्धारण गर्छ

परमेश्‍वर जीवित परमेश्‍वर हुनुहुन्छ। मानिसहरू फरक-फरक परिस्थितिहरूमा फरक-फरक व्यवहार गर्छन्, र यी व्यवहारहरूप्रति परमेश्‍वरको मनोवृत्ति फरक-फरक हुन्छ किनभने न त उहाँ कठपुतली हुनुहुन्छ न त उहाँ रित्तो हावाको झोक्का नै हुनुहुन्छ। परमेश्‍वरको मनोवृत्ति जान्नु मानवजातिका लागि एक सार्थक पछ्याइ हो। मानिसहरूले परमेश्‍वरको मनोवृत्ति जानेर आफूले कसरी अलिअलि गर्दै परमेश्‍वरको स्वभावबारे ज्ञान प्राप्त गर्न र उहाँको हृदय बुझ्न सक्छन् भनेर सिक्नुपर्छ। जब तँ क्रमिक रूपमा परमेश्‍वरको हृदय बुझ्दै जान्छस्, तब तँलाई उहाँको डर मान्नु र दुष्टताबाट अलग बस्नु हासिल गर्न यस्तो गाह्रो कुरा लाग्नेछैन। त्यसबाहेक, जब तँ परमेश्‍वरलाई बुझ्छस्, तब तैँले सम्भवतः उहाँलाई सीमित गर्नेछैनस्। तैँले उहाँलाई सीमित गर्न छोडिसकेपछि, उहाँलाई चिढ्याउने सम्भावना कम हुनेछ अनि तैँले थाहै नपाई, परमेश्‍वरले तँलाई उहाँबारे ज्ञान प्राप्त गर्न अगुवाइ गर्नुहुनेछ, अनि यसरी तेरो हृदयमा उहाँप्रति डर हुनेछ। त्यसपछि तैँले आफूले महारत हासिल गरेका शब्द र धर्मसिद्धान्त वा सिद्धान्तहरूद्वारा परमेश्‍वरलाई परिभाषित गर्न छोड्नेछस् र बरु, तैँले निरन्तर रूपमा सबै थोकमा परमेश्‍वरका चाहनाहरू खोजी गर्नेछस्। यसरी, तँ आफूले थाहै नपाई, परमेश्‍वरका अभिप्रायहरूअनुरूपको व्यक्ति बन्नेछस्।

परमेश्‍वरको काम मानिसहरूले देख्न र छुन सक्दैनन्, तर जहाँसम्म उहाँको कुरा छ, हरेक व्यक्तिका कार्यहरूलाई—साथै उहाँप्रतिको तिनीहरूको मनोवृत्तिलाई—परमेश्‍वरले बोध गर्ने मात्र होइन, तर देख्नु पनि हुन्छ। यो हरेक व्यक्तिलाई थाहा र स्पष्ट हुनुपर्ने कुरा हो। तैँले सधैँ मनमनै सोचिरहेको हुन सक्छस्, “के परमेश्‍वरलाई यहाँ मैले गरिरहेको कुरा थाहा छ? के उहाँलाई मैले सोचिरहेको कुरा थाहा छ? सायद उहाँलाई थाहा छ, र सायद उहाँलाई थाहा छैन।” यदि तँ परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँलाई पछ्याउँदा, यो दृष्टिकोण राख्छस्, अनि तँ यसरी उहाँको काम र उहाँको अस्तित्वलाई शङ्का गर्छस् भने, ढिलो-चाँडो तैँले उहाँको रिस जगाउने दिन आउनेछ, किनकि तँ पहिल्यै डरलाग्दो भीरको टुप्पोमा छस्। मैले यस्ता मानिसहरूलाई देखेको छु जसले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन्, तैपनि सत्यता वास्तविकता प्राप्त गरेका छैनन्, झन् तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्नु त परै जाओस्। यी मानिसहरू आफ्नो जीवन र कदमा कुनै प्रगति गर्दैनन्, केवल सबैभन्दा सतही धर्मसिद्धान्तहरूमा टाँसिन्छन्। किनभने त्यस्ता मानिसहरूले परमेश्‍वरको वचनलाई आफ्नो जीवनका रूपमा कहिल्यै स्विकारेका हुँदैनन् र तिनीहरूले उहाँको अस्तित्वलाई कहिल्यै सामना गरेका र स्वीकार गरेका हुँदैनन्। मलाई भन् त, जब परमेश्‍वर यस्ता मानिसहरूलाई देख्नुहुन्छ, तब के उहाँलाई आनन्द हुन्छ? के उहाँको हृदयलाई सान्त्वना महसुस हुन्छ? यसरी, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने तरिकाले तिनीहरूको भवितव्य निर्धारण गर्छ। मानिसहरू कसरी परमेश्‍वरलाई पछ्याउँछन् र उहाँप्रति कस्तो व्यवहार गर्छन् भन्‍ने सम्बन्धमा, मानिसहरूको मनोवृत्ति प्राथमिक महत्त्वको हुन्छ। परमेश्‍वरलाई उहाँ केवल हावा हुनुभएझैँ गरी आफ्नो मनबाट नहटा; बरु तैँले आफूले विश्‍वास गर्ने परमेश्‍वर जीवित परमेश्‍वर, वास्तविक परमेश्‍वर हुनुहुन्छ भनी सधैँ सोच्नैपर्छ। उहाँ माथि तेस्रो स्वर्गमा केही पनि नगरी त्यत्तिकै बसिरहनुभएको छैन। बरु, उहाँ निरन्तर रूपमा सबैको हृदय छानबिन गरिरहनुभएको छ, सबैका कार्यव्यवहारहरू छानबिन गरिरहनुभएको छ, तेरो हरेक शब्द र हरेक कार्यलाई छानबिन गरिरहनुभएको छ, तँ कसरी व्यवहार गर्छस् र उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ भनी छानबिन गरिरहनुभएको छ। तँ आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न इच्छुक भए पनि नभए पनि, तेरा सबै व्यवहार अनि तेरा भित्री सोच र विचारहरू उहाँसमक्ष राखिन्छन् र उहाँद्वारा छानबिन गरिन्छन्। तेरो व्यवहारको कारण, तेरा कार्यहरूको कारण र उहाँप्रतिको तेरो मनोवृत्तिको कारण, तँबारे परमेश्‍वरको राय र तँप्रतिको उहाँको मनोवृत्ति निरन्तर परिवर्तन भइरहेको हुन्छ। अझै पनि, मैले तिमीहरूमध्ये केहीलाई सल्लाह दिनैपर्छ: आफूलाई परमेश्‍वरको हातमा शिशु नठान्, मानौँ उहाँ तँलाई अत्यन्तै माया गर्नुहुन्छ, मानौँ तँविना उहाँको काम चल्दैन, र मानौँ तँप्रति उहाँको मनोवृत्ति सधैँ एउटै हुन्छ र त्यो कहिल्यै परिवर्तन हुन सक्दैन—सपना देख्न छोड्! परमेश्‍वर हरेक व्यक्तिप्रतिको आफ्नो व्यवहारमा धर्मी हुनुहुन्छ, अनि मानिसहरूलाई विजय गर्ने र मुक्ति दिने काम एकदमै गम्भीरताका साथ सम्पन्न गर्नुहुन्छ। यो उहाँको व्यवस्थापन हो। उहाँ हरेक व्यक्तिलाई गम्भीरताका साथ व्यवहार गर्नुहुन्छ; उहाँ तिनीहरूलाई पाल्तु जन्तुलाई जस्तो व्यवहार गर्नुहुन्न अनि तिनीहरूलाई फकाउनुहुन्न र तिनीहरूसँग खेल्नुहुन्न। मानवप्रतिको परमेश्‍वरको प्रेम पुलपुलाउने वा बिगार्ने किसिमको हुँदैन, न त मानवजातिप्रतिको उहाँको कृपा र सहनशीलता नै स्वच्छन्द र अनियन्त्रित हुन्छन्। यसको विपरीत, मानवप्रतिको परमेश्‍वरको प्रेममा तिनीहरूको कदर गर्ने, तिनीहरूलाई दया गर्ने र जीवनलाई आदर गर्ने कुराहरू समावेश छन्; उहाँको कृपा र सहनशीलताले आफूभित्र मानवहरूप्रतिको उहाँका अपेक्षाहरू बोकेका हुन्छन् र ती मानवजातिको अस्तित्वका लागि आवश्यक जग हुन्। परमेश्‍वर जीवित हुनुहुन्छ, र परमेश्‍वर वास्तवमै अस्तित्वमा हुनुहुन्छ; मानवजातिप्रतिको उहाँको मनोवृत्ति सैद्धान्तिक हुन्छ, यो एक प्रकारको प्रावधान बिलकुलै होइन र यो परिवर्तन हुन सक्छ। मानवजातिका लागि उहाँका अभिप्रायहरू समयसँगै, परिस्थितिहरूका आधारमा अनि हरेक व्यक्तिको मनोवृत्तिसँगसँगै क्रमिक रूपले परिवर्तन र रूपान्तरित हुँदै छन्। त्यसकारण, तैँले आफ्नो हृदयमा एकदमै स्पष्टसित के थाहा पाउनुपर्छ भने परमेश्‍वरको सार अपरिवर्तनीय छ र उहाँको स्वभाव विभिन्न समय र विभिन्न परिप्रेक्ष्यमा व्यक्त हुनेछ। तैँले यस कुरालाई गम्भीर मामिला नठान्न सक्छस् र परमेश्‍वरले कसरी विभिन्न कुराहरू गर्नुपर्छ भनेर कल्पना गर्न आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्न सक्छस्। तथापि, कहिलेकाहीँ ठ्याक्कै विपरीत कुरा साँचो हुन्छ र तैँले परमेश्‍वरलाई मापन गर्ने प्रयासमा आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गरेर उहाँलाई क्रोधित पारिसकेको हुन्छस्। किनभने परमेश्‍वर तैँले सोचेजस्तो तरिकामा बिलकुलै काम गर्नुहुन्न र उहाँ यस मामिलालाई तैँले भनेजस्तो बिलकुलै सम्हाल्नुहुन्न। तसर्थ, म तँलाई आफू वरिपरिका हरेक कुरा सम्हाल्दा सावधान र समझदार हुन अनि सबै कुरामा “परमेश्‍वरको मार्ग पछ्याउने—परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग रहने” सिद्धान्तअनुसार अभ्यास गर्न सिक्न स्मरण गराउँछु। तैँले परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरको मनोवृत्तिसम्बन्धी मामिलाहरू सही रूपमा निर्धारण गर्नुपर्छ, तैँले यी मामिलाहरूबारे सङ्गति गर्न अन्तर्दृष्टि पाएका मानिसहरू खोज्नैपर्छ र तैँले गम्भीरतापूर्वक खोजी गर्नैपर्छ। आफूले विश्‍वास गर्ने परमेश्‍वरलाई आफ्नो इच्छाअनुसार उहाँलाई गलत ठहराउँदै, उहाँबारे आफूखुसी निष्कर्षहरू निकाल्दै र अनादरपूर्ण मनोवृत्तिले उहाँलाई व्यवहार गर्दै, कठपुतली नठान्। परमेश्‍वरले तँलाई मुक्ति प्रदान गर्दै गर्दा र उहाँले तेरो परिणाम निर्धारण गर्दै गर्दा, तँमाथि कृपा र सहनशीलता वा न्याय र सजाय देखाउन सक्नुहुन्छ, तर जे भए पनि, तँप्रति उहाँको मनोवृत्ति सधैँ एउटै हुँदैन। यो उहाँप्रतिको तेरो आफ्नै मनोवृत्ति, साथै उहाँबारे तेरो बुझाइमा निर्भर हुन्छ। तँसँग परमेश्‍वरको एक पक्षबारे केही ज्ञान वा बुझाइ छ भन्दैमा उहाँलाई एक पटक सदाका लागि सीमित नगर्। मृत परमेश्‍वरमा विश्‍वास नगर्; जीवित परमेश्‍वरमा विश्‍वास गर्। यो कुरा सम्झी! मैले भनेका कतिपय कुरा तथ्यपरक मामिलाहरू हुन् र तिमीहरूले सुन्नुपर्ने कुरा पनि हुन्, तैपनि तिमीहरूको वर्तमान स्थिति र वर्तमान कदलाई हेर्दा, म अहिलेलाई तिमीहरूबाट कुनै अझ ठूला मागहरू गर्न चाहन्नँ, ताकि तिमीहरूको उत्साह नघटोस्। त्यसो गर्दा तिमीहरूको हृदय अत्यन्तै उदासीपनले भरिनेछ र तिमीहरूलाई परमेश्‍वरप्रति अत्यन्तै निराश महसुस हुनेछ। यसको सट्टामा, तिमीहरू अगाडिको मार्गमा हिँड्दा, परमेश्‍वरलाई प्रेम गर्ने हृदय प्रयोग गर्न र परमेश्‍वरप्रतिको आदरपूर्ण मनोवृत्ति अपनाउन सक्छौ भन्ने मलाई आशा छ। परमेश्‍वरमा कसरी विश्‍वास गर्ने भन्‍ने यस मामलामा झारा नटार; यसलाई सबैभन्दा ठूलो मामलाका रूपमा लेऊ। यसलाई आफ्नो हृदयमा राख, यसलाई वास्तविकतासँग जोड र यसलाई वास्तविक जीवनसँग गाँस; ओठे सेवा मात्र नगर—किनभने यो जीवन र मृत्युको मामला हो र यसैले तेरो नियति निर्धारण गर्नेछ। यसलाई ठट्टा वा बच्चाको खेल नठान्! मैले आज यी वचनहरू तिमीहरूसँग बाँडेपछि, तिमीहरूका मस्तिष्कले कतिको बुझाइ प्राप्त गरेका छन् भनी म आफै सोचिरहेको छु। आज मैले जे कुरा भनेँ सोबारेमा के तिमीहरूलाई सोध्न मन लागेका कुनै प्रश्‍नहरू छन्?

यी विषयहरू अलि नयाँ छन् र तिमीहरूका दृष्टिकोणहरू, तिमीहरूका सामान्य खोजीहरू र तिमीहरूले प्राय ध्यान दिने कुराहरूभन्दा अलि फरक भए तापनि, मलाई लाग्छ एकपल्ट केही समयको लागि तिमीहरूले तिनलाई सङ्गति गरिसकेपछि तिमीहरूले यहाँ मैले भनेका सबै कुराहरूको बारेमा आम बुझाइ प्राप्त गर्नेछौ। यी विषयहरू सबै नै धेरै नयाँ र तिमीहरूले पहिले कहिल्यै नसोचेका छन्, त्यसैले म आशा गर्छु कि तिनले कुनै पनि प्रकारले तिमीहरूको बोझलाई बढाउनेछैन। मैले आज तिमीहरूलाई डर देखाउनको लागि यी वचनहरू बोलिरहेको छैन, न त मैले तिमीहरूलाई काटछाँट गर्ने तरिकाको रूपमा नै तिनको प्रयोग गरिरहेको छु; बरु मेरो उद्देश्य त तिमीहरूलाई सत्यतासम्बन्धी वास्तविक तथ्यहरू बुझ्न मद्दत गर्नु हो। मानवजाति र परमेश्‍वरको बीचमा दरार विद्यमान रहेकोले, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, तिनीहरूले कहिल्यै पनि उहाँलाई बुझेका छैनन् वा उहाँको मनोवृत्तिलाई चिनेका छैनन्। परमेश्‍वरको मनोवृत्तिको बारेमा मानिसहरू आफ्ना सरोकारमा पनि कहिल्यै त्यति धेरै उत्साहित भएका छैनन्। बरु, तिनीहरूले त अन्धो भई विश्‍वास गर्दै अघि बढेका छन् र तिनीहरू परमेश्‍वरबारे तिनीहरूको ज्ञान र बुझाइमा लापरवाह रहेका छन्। त्यसकारण, तिमीहरूको लागि यी मामलाहरू स्पष्ट पार्न र तिमीहरूले विश्‍वास गरेका परमेश्‍वर कस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ साथै उहाँले के सोच्दै हुनुहुन्छ, विभिन्न प्रकारका मानिसहरूलाई व्यवहार गर्ने सम्बन्धमा उहाँको मनोवृत्ति कस्तो हुन्छ, तिमीहरू उहाँका आवश्यक मापदण्डहरू पूरा गर्नबाट कति टाढा रहेका छौ, र तिमीहरूका कार्यहरू र उहाँले सर्त गर्नुभएका मापदण्डहरू बीचमा कति ठूलो भिन्नता रहेको छ भन्‍ने कुरा बुझ्न मद्दत गर्न म बाध्य भएको महसुस गर्छु। तिमीहरूलाई यी कुराहरूको जानकारी दिनुको लक्ष्य भनेको तिमीहरूलाई आफूले आफैलाई मापन गर्नको लागि नाप्ने गज दिनु हो ताकि तिमीहरूले तिमीहरू जुन बाटोमा छौ त्यो बाटोले कस्ता प्रकारका प्रतिफल निम्त्याएको छ, त्यो बाटोमा तिमीहरूले के कुरा प्राप्त गर्न सकेका छैनौ र कुन क्षेत्रमा तिमीहरूले संलग्नता जनाएकै छैनौ सो कुरा थाहा पाउनेछौ। तिमीहरूले तिमीहरूमाझ कुराकानी गर्दा प्रायः केही आम रूपमा छलफल गरिने विषयहरूको बारेमा कुरा गर्छौ जुन क्षेत्रको हिसाबमा एकदमै सङ्कुचित र विषयवस्तुको हिसाबमा एकदमै सतही हुन्छन्। तिमीहरूले छलफल गर्ने कुरा र परमेश्‍वरका अभिप्रायहरूको बीचमा साथसाथै तिमीहरूका छलफलहरू र परमेश्‍वरका सर्तका क्षेत्र र मापदण्डहरू बीचमा दूरी, दरार छ। यसरी अघि बढ्दा, समयसँगै तिमीहरू परमेश्‍वरको मार्गबाट बरालिएर धेरै टाढा पुग्ने हुनसक्छ। तिमीहरूले केवल परमेश्‍वरका वर्तमान वाणीहरूलाई लिएर तिनलाई आराधनाका थोकहरू बनाउँदैछौ र तिनलाई धार्मिक विधि र नियमहरूको रूपमा हेर्दैछौ। तिमीहरूले गरिरहेको सबै यही हो! वास्तविक तथ्यमा, परमेश्‍वरको लागि तिमीहरूको हृदयमा कुनै स्थान नै छैन र उहाँले कहिल्यै पनि तिमीहरूको हृदय साँचो रूपमा प्राप्त गर्नुभएको छैन। केही मानिसहरूले सोच्छन्, परमेश्‍वरलाई चिन्नु एकदमै गाह्रो छ र यही नै सत्यता हो। यो गाह्रो छ। यदि मानिसहरूलाई बाह्य रूपमा तिनीहरूको कर्तव्य निर्वाह गर्न र काम पूरा गर्न, र कठिन परिश्रम गर्न लगाइयो भने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न एकदमै सजिलो हुन्छ भन्‍ने ठान्नेछन् किनभने ती सबै कुराहरू मानव क्षमताको क्षेत्रभित्र पर्छन्। तथापि, जब परमेश्‍वरका अभिप्रायहरू र मानवजातिप्रति उहाँको मनोवृत्तितर्फ विषय परिवर्तन हुन्छ, तब हरेक व्यक्तिको दृष्टिकोणमा परिस्थिति अलि अप्ठ्यारो बन्छ। किनभने यसमा सत्यताबारे मानिसहरूको बुझाइ र वास्तविकतामा तिनीहरूको प्रवेश संलग्न हुन्छ, त्यसैले अवश्य पनि त्यसमा केही हदसम्म अप्ठ्यारो त हुन्छ नै! तैपनि, तँ पहिलो ढोकाबाट छिरिसकेपछि र तैले प्रवेश प्राप्त गर्न सुरु भएपछि, परिस्थिति क्रमिक रूपमा अलि सहज हुँदै जान्छ।

परमेश्‍वरको डर मान्ने कार्यको सुरुवात बिन्दु भनेको उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु हो

केही क्षणअघि, कसैले एउटा प्रश्‍न उठायो: हामीले परमेश्‍वरको बारेमा अय्यूबभन्दा बढी जाने पनि, हामीले अझै उहाँको कसरी डर मान्‍न सक्दैनौँ? हामीले यो मामलाको बारेमा पहिले नै अलिअलि कुरा गरिसक्यौँ। हामीले वास्तवमा यो प्रश्‍नको सारको बारेमा पहिले पनि छलफल गरिसकेका छौँ जुन अय्यूबले त्यति बेला परमेश्‍वरको बारेमा जानेका नभए पनि तिनले अझै उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्थे र उहाँलाई स्वर्ग र पृथ्वी अनि सब थोकको सार्वभौमको रूपमा लिन्थे भन्‍ने तथ्य हो। अय्यूबले परमेश्‍वरलाई शत्रु मान्दैनथे; बरु तिनले उहाँलाई सबै थोकको सृष्टिकर्ताको रूपमा आराधना गर्थे। आजभोलि किन मानिसहरूले परमेश्‍वरको यति धेरै प्रतिरोध गर्छन् त? किन तिनीहरू उहाँको डर मान्‍न असक्षम छन् त? एउटा कारणचाहिँ तिनीहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन् र त्यस्तो गहन रूपमा जरा गाडेको शैतानी प्रकृतिको कारण तिनीहरू परमेश्‍वरको शत्रु बनेका छन्। यसरी, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि र परमेश्‍वरलाई स्वीकार गरे तापनि, तिनीहरूले अझै पनि परमेश्‍वरको प्रतिरोध गर्न सकेका हुन् र तिनीहरूले आफैलाई उहाँको विपक्षमा उभ्याउन सकेका हुन्। यो कुरा मानव प्रकृतिद्वारा निर्धारित हुन्छ। अर्को कारणचाहिँ तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दै नगर्नु हो। यसको साटो, तिनीहरूले उहाँलाई मानवताको विरुद्धमा हुनुभएको मान्छन्, उहाँलाई तिनीहरूको शत्रुको रूपमा लिन्छन्, र तिनीहरूले आफूलाई परमेश्‍वरसँग मेलमिलापमा रहनै नसक्ने भएको ठान्छन्। यो कुरा त्यति सरल छ। के यो मामलालाई अघिल्लो सत्रमा छलफल गरिएको थिएन र? यसबारेमा सोच त: के कारण त्यही होइन र? तँमा परमेश्‍वरको बारेमा केही ज्ञान हुन सक्छ, तर यो ज्ञानमा के कुराहरू समावेश छन् त? के हरेक व्यक्तिले कुरा गरिरहेको मामला यही होइन र? के परमेश्‍वरले तँलाई भन्‍नुभएको यही होइन र? तँ यसको सैद्धान्तिक र धर्मसैद्धान्तिक पक्षहरूको बारेमा मात्र परिचित छस्—तर के तैँले कहिल्यै परमेश्‍वरको साँचो रूपको सराहना गरेको छस् त? के तँसँग आत्मपरक ज्ञान छ त? के तँसँग व्यावहारिक ज्ञान र अनुभव छ त? यदि परमेश्‍वरले तँलाई नबताउनुभएको भए, के तँलाई थाहा हुन्थ्यो त? तेरो सैद्धान्तिक ज्ञानले वास्तविक ज्ञानको प्रतिनिधित्व गर्दैन। संक्षिप्त रूपमा, तैँले यसलाई जति नै जाने तापनि वा तैँले जसरी यसलाई जानेको भए तापनि, तैँले परमेश्‍वरको वास्तविक ज्ञान हासिल नगरुञ्जेलसम्म, उहाँ तेरो शत्रु नै हुनुहुनेछ, र तैँले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सुरु नगरुञ्जेलसम्म, उहाँले तेरो विरोध नै गर्नुहुनेछ किनभने तँ शैतानको प्रतिमूर्ति होस्।

जब तँ ख्रीष्टसँगै हुन्छस्, तब सायद तैँले उहाँलाई प्रतिदिन तीन पटक खाना दिन सक्छस् होला वा सायद उहाँलाई चिया दिन र उहाँको जीवनका आवश्यकताहरूको ख्याल गर्न सक्छस् होला; तैँले ख्रीष्टलाई परमेश्‍वरको रूपमा व्यवहार गरेको जस्तो देखिनेछ। जब कुनै घटना घट्छ, तब मानिसहरूका दृष्टिकोणहरू सधैँ नै परमेश्‍वरको दृष्टिकोणको विरुद्ध हुन्छन्; मानिसहरू सधैँ नै परमेश्‍वरको दृष्टिकोणलाई बुझ्न र स्वीकार गर्न असफल हुन्छन्। तिनीहरू सतही रूपमा परमेश्‍वरसँग मिल्‍ने देखिए तापनि, यसको मतलब तिनीहरू उहाँको अनुरूप रहेका छन् भन्‍ने हुँदैन। केही घटना घट्नेबित्तिकै, मानवजातिको विद्रोहीन उत्पन्न हुन्छ र यसरी मानिसहरू र परमेश्‍वरको बीचमा रहेको शत्रुता पुष्टि हुन्छ। यो शत्रुता परमेश्‍वरले मानिसहरूको विरोध गर्नुहुने शत्रुता होइन वा परमेश्‍वर तिनीहरूको शत्रु बन्न चाहनुभएको कुरा होइन, न त यो उहाँले तिनीहरूलाई उहाँको विपक्षमा उभ्याउनुभएको र तिनीहरूलाई सोही अनुरूप व्यवहार गर्नुभएको कुरा हो। बरु, यो त मानिसहरूको आत्मगत इच्छा र तिनीहरूको अर्धचेतन मस्तिष्कमा लुकेको परमेश्‍वरप्रतिको विरोधी सारको अवस्था हो। मानिसहरूले परमेश्‍वरबाट आउने सबै थोकलाई तिनीहरूको खोज अनुसन्धानको वस्तुहरूको रूपमा लिने भएकोले, परमेश्‍वरबाट आउने सबै थोक र परमेश्‍वरसँग सम्बन्धित हरेक कुराप्रति तिनीहरूको सर्वोपरि प्रतिक्रिया भनेको अनुमान गर्नु, शङ्का गर्नु र परमेश्‍वरसँग द्वन्द्व गर्ने र उहाँको विरोध गर्ने मनोवृत्तिलाई चाँडो-चाँडो अपनाउनु हो। त्यसपछि चाँडै नै, तिनीहरूले नकारात्मक मनस्थितिलाई परमेश्‍वरसँग विवाद वा प्रतिस्पर्धा गर्न लैजान्छन् र तिनीहरू त्यस्ता परमेश्‍वर पछ्याउन लायक छन् कि छैनन् भनेर शङ्का गर्ने हदसम्म पुग्छन्। तिनीहरूको तर्क-चेतनाले तिनीहरूलाई यस्तो शैलीमा अघि बढ्नु हुँदैन भनेर भने पनि, तिनीहरूले त्यसो गर्ने योजना नहुँदा नहुँदै पनि अझै त्यसो गर्ने विकल्प नै रोज्नेछन् र तिनीहरूले कुनै हिचकिचाहटविना अन्त्यसम्म नै त्यसो गर्न जारी राख्नेछन्। उदाहरणको लागि, जब केही मानिसहरूले परमेश्‍वरको बारेमा अफवाह वा निन्दात्मक कुराहरू सुन्छन्, तब तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ त? तिनीहरूको पहिलो प्रतिक्रिया भनेको यी अफवाहहरू साँचो हुन् कि होइनन् र यी अफवाहहरू विद्यमान छन् कि छैनन् भनी सोच्नु र त्यसपछि पर्ख-र-हेरको मनोवृत्ति अपनाउनु हो। त्यसपछि तिनीहरू सोच्न थाल्छन्, “यो कुरालाई पुष्टि गर्ने उपाय नै छैन। के त्यो साँच्चै नै भएकै थियो त? यो अफवाह साँचो हो कि होइन?” यस्ता मानिसहरूले सतही रूपमा यस्तो कुरा नदेखाए तापनि, तिनीहरूले आफ्नो हृदयमा अघि नै शङ्का गर्न थालिसकेका हुन्छन्, र अघि नै परमेश्‍वरलाई इन्कार गर्न थालिसकेका हुन्छन्। यस प्रकारको मनोवृत्ति र त्यस्तो दृष्टिकोणको सार के हो त? के यो धोका होइन र? तिनीहरूले यो मामलाको सामना नगरुञ्जेलसम्म, तैँले यी मानिसहरूको दृष्टिकोण कस्तो रहेछ भनी देख्‍न सक्दैनस्; तिनीहरू परमेश्‍वरको विपरीत छन् भन्‍ने देखिँदैनन् र तिनीहरूले परमेश्‍वरलाई दुस्मनको रूपमा लिन्छन् जस्तो लाग्दैन। तथापि, तिनीहरूले कुनै समस्या सामना गर्नेबित्तिकै, तिनीहरू तुरुन्तै शैतानको साथमा उभिन्छन् र परमेश्‍वरको विरोध गर्छन्। यसले के कुरा सङ्केत गर्छ त? यसले मानिसहरू र परमेश्‍वर परस्पर विरोधी छन् भन्‍ने सङ्केत गर्छ। परमेश्‍वरले मानवजातिलाई दुस्मनको रूपमा लिनुहुन्छ भन्‍ने होइन, बरु यो त मानवताको सार आफै परमेश्‍वरको विरुद्धमा छ भन्‍ने हो। कुनै व्यक्तिले उहाँलाई जति नै लामो समयसम्म पछ्याएको नै किन नहोस् वा तिनीहरूले जति ठूलो मूल्य तिरेको नै किन नहोस् र तिनीहरूले जस्तोसुकै प्रकारले परमेश्‍वरको प्रशंसा गरेका भए पनि, तिनीहरूले उहाँको प्रतिरोध गर्नबाट आफूलाई जे-जसरी रोकेको भए पनि र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न भनी जति नै जोडसँग आफूले आफैलाई आग्रह गरेको भए पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्दैनन्। के यो कुरा मानिसहरूको सारद्वारा निर्धारण हुँदैन र? यदि तैँले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्छस् र उहाँ नै परमेश्‍वर हुनुहुन्छ भनी साँचो रूपमा विश्‍वास गर्छस् भने, के तैँले उहाँप्रति अझै कुनै शङ्का गर्न सक्छस्? के तेरो हृदयले अझै उहाँको बारेमा प्रश्न चिन्ह खडा गर्न सक्छ? त्यस्तो कहिल्यै हुन सक्दैन, होइन र? यो संसारका प्रवृत्तिहरू एकदमै दुष्ट छन्, र यो मानवजाति पनि दुष्ट नै छ; त्यसैले, तँमा कसरी तिनीहरूको बारेमा कुनै धारणाहरू नहुन सक्छ त? तँ आफै नै त्यति दुष्ट छस्, त्यसैले तँमा कसरी त्यसको बारेमा कुनै धारणा छैन त? तर पनि, केही अफवाहहरू र केही निन्दाले परमेश्‍वरको बारेमा त्यस्ता विशाल धारणाहरू पैदा गर्न सक्छ र तँलाई यति धेरै कुराहरू कल्पना गर्ने तुल्याउँछ, जसले कदमा तँ कति अपरिपक्व छस् भन्‍ने देखाउँछ! केवल केही लामखुट्टेहरू र केही घिनलाग्दा झिँगोहरूको “भुनभुन” नै तँलाई भ्रममा पार्नका लागि काफी हुन्छ त? यो कस्तो प्रकारको व्यक्ति हो? यस्ता मानिसहरूको बारेमा परमेश्‍वरले के सोच्नुहुन्छ, तँलाई थाहा छ? परमेश्‍वरले तिनीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने बारेमा उहाँको मनोवृत्ति वास्तवमा एकदमै स्पष्ट छ। यस्ता मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने व्यवहार भनेको तिनीहरूलाई जानाजान बेवास्ता गर्नु हो—उहाँको मनोवृत्ति तिनीहरूलाई ध्यान दिनु होइन तर यी अज्ञानी मानिसहरूलाई गम्भीर रूपमा नलिनु हो। किन त्यस्तो हुन्छ त? किनभने उहाँको हृदयमा, परमेश्‍वरले उहाँसँग अन्त्यसम्म नै शत्रुवत रूपमा रहने कसम खाएका र उहाँसँग सामञ्जस्य हुने मार्गको खोजी गर्ने कहिल्यै योजना नगरेका यी व्यक्तिहरूलाई प्राप्त गर्ने योजना कहिल्यै पनि बनाउनुभएन। सायद मैले बोलेका यी वचनहरूले केही मानिसहरूलाई चोट पुर्‍यायो होला। तर, के मलाई तिमीहरूले यसरी नै तिमीहरूलाई चोट पुर्‍याउन दिन सधैँ इच्छुक हुन्छौ? तिमीहरू इच्छुक भए पनि नभए पनि, मैले भनेका हरेक कुराहरू सत्यता हुन्। यदि मैले सधैँ यसरी नै तिमीहरूलाई चोट पुर्‍याएँ र तिमीहरूका खतहरू उदाङ्गो पारिदिएँ भने, के यसले तिमीहरूले आफ्नो हृदयमा राखेको परमेश्‍वरको उच्च प्रतिरूपमा असर गर्नेछ? (यसले असर गर्नेछैन।) म सहमत छु, यसले असर गर्नेछैन, किनभने तिमीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्न। तिमीहरूको हृदयमा बसेको उच्च परमेश्‍वर—तिमीहरूले दह्रिलो गरी रक्षा र संरक्षण गर्ने परमेश्‍वर—परमेश्‍वर हुँदै होइन। बरु, ऊ त मानव कल्पनाद्वारा कल्पित कुरा हो; ऊ त अस्तित्वमा नै छैन। त्यसकारण, मैले यो प्रहेलिकाको जवाफ खुलासा गर्नु राम्रो हुन्छ; के यसले सम्पूर्ण सत्यता उदाङ्गो पार्दैन र? साँचो परमेश्‍वर त मानिसहरूले उहाँ यस्तो हुनुहुन्छ भनी कल्पना गरेझैँ हुनुहुन्न। म आशा गर्छु, तिमीहरू सबैले यो सत्यतालाई सामना गर्न सक्छौ र यसले परमेश्‍वरबारे तिमीहरूको ज्ञानमा सहयोग गर्छ।

परमेश्‍वरद्वारा स्वीकार नगरिएका व्यक्तिहरू

कतिपय मानिसको आस्थाले परमेश्‍वरको हृदयमा कहिल्यै मान्यता पाएको छैन। अर्को शब्दमा भन्दा, परमेश्‍वर तिनीहरूलाई उहाँका अनुयायीका रूपमा स्विकार्नुहुन्न, किनभने उहाँ तिनीहरूको विश्‍वासलाई अनुमोदन गर्नुहुन्न। यी मानिसहरूको हकमा भन्दा, तिनीहरूले परमेश्‍वरलाई जति नै धेरै वर्ष पछ्याएको भए तापनि, तिनीहरूका विचार र दृष्टिकोणहरू कहिल्यै परिवर्तन भएका छैनन्; तिनीहरू गैरविश्‍वासीजस्तै हुन्, किनभने तिनीहरू संसारसँग व्यवहार गर्ने गैरविश्‍वासीहरूका सिद्धान्त र विधिहरू अनि गैरविश्‍वासीहरूको अस्तित्व र आस्थासम्बन्धी नियमहरूमा टाँसिन्छन्। तिनीहरूले कहिल्यै परमेश्‍वरको वचनलाई आफ्‍नो जीवनका रूपमा स्विकारेका छैनन्, कहिल्यै परमेश्‍वरको वचन सत्यता हो भनी विश्‍वास गरेका छैनन्, कहिल्यै परमेश्‍वरको मुक्ति स्विकार्ने अभिप्राय राखेका छैनन् र कहिल्यै परमेश्‍वरलाई आफ्नो परमेश्‍वरका रूपमा मानेका छैनन्। तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासलाई कुनै प्रकारको हल्का सोखका रूपमा हेर्छन्, उहाँलाई केवल आत्मिक भरणपोषणका रूपमा लिन्छन्; त्यसैले तिनीहरू परमेश्‍वरको स्वभाव वा सारलाई बुझ्‍नलायक ठान्दैनन्। के भन्न सकिन्छ भने साँचो परमेश्‍वरबारे सबै कुराको यी मानिसहरूसँग कुनै सम्बन्ध हुँदैन; तिनीहरूलाई चासो हुँदैन, न त तिनीहरूलाई ध्यान दिने वास्ता नै हुन सक्छ। यसको कारण हो, तिनीहरूको हृदयभित्र सधैँ यसो भनिरहेको तीव्र आवाज हुन्छ, “परमेश्‍वर अदृश्य र छुन नसकिने हुनुहुन्छ र उहाँ अस्तित्वमा हुनुहुन्‍न।” तिनीहरू के विश्वास गर्छन् भने यस प्रकारको परमेश्‍वरलाई बुझ्ने प्रयास गर्नु भनेको आफ्नो प्रयत्न खेर फाल्नु हो र त्यसो गरेर तिनीहरूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। तिनीहरू आफूले कुनै वास्तविक अडान नलिई वा कुनै वास्तविक कार्यहरूमा आफूलाई नलगाई परमेश्‍वरलाई केवल शब्दहरूले स्विकारेर आफू निकै चलाख बनेको छु भन्ने विश्वास गर्छन्। परमेश्‍वर त्यस्ता मानिसहरूलाई कसरी हेर्नुहुन्छ? उहाँ तिनीहरूलाई गैरविश्‍वासीका रूपमा हेर्नुहुन्छ। केही मानिस सोध्छन्, “के गैरविश्‍वासीहरू परमेश्‍वरका वचनहरू पढ्न सक्छन्? के तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्? के तिनीहरू ‘म परमेश्‍वरका लागि जिउनेछु’ भन्‍ने शब्दहरू भन्न सक्छन्?” मानिसहरूले प्रायजसो देख्ने कुरा भनेको मानिसहरूले सतही रूपमा प्रदर्शन गर्ने कुराहरू हुन्; तिनीहरू मानिसहरूका सारहरू देख्दैनन्। तर, परमेश्‍वर यी सतही प्रदर्शनहरू हेर्नुहुन्न, उहाँ तिनीहरूको भित्री सार मात्र हेर्नुहुन्छ। यसर्थ, यी मानिसहरूप्रति परमेश्‍वरसँग यस प्रकारको मनोवृत्ति र परिभाषा हुन्छन्। यी मानिसहरू भन्छन्, “परमेश्‍वरले किन यो गर्नुहुन्छ? परमेश्‍वरले किन त्यो गर्नुहुन्छ? म यो बुझ्न सक्दिनँ; म त्यो बुझ्न सक्दिनँ; यो मानव धारणाहरूसँग मेल खाँदैन; तैँले मलाई बताउनैपर्छ…।” यसको जबाफको रूपमा म सोध्छु, के यी कुराहरू तँलाई मैले बताउन जरुरी छ? के यी कुराहरू वास्तवमा तँसँग कुनै पनि हिसाबले सम्बन्धित छन्? तैँले तँ को होस् भन्‍ने ठान्छस्? तँ कहाँबाट आइस्? के तँ परमेश्‍वरलाई सुझाव दिन साँच्चै योग्य छस्? के तँ उहाँमा विश्‍वास गर्छस्? के उहाँले तेरो विश्‍वास स्वीकार गर्नुहुन्छ? परमेश्‍वरसँग तेरो विश्‍वासको कुनै सम्बन्ध नभएको हुनाले, उहाँका कामहरूमा तेरो के सरोकार छ? तँलाई आफू परमेश्‍वरको हृदयमा कहाँ छु भन्‍ने नै थाहा छैन, त्यसैले तँ कसरी उहाँसँगको वार्तालापमा संलग्न हुन योग्य छस्?

चेतावनीका वचनहरू

के तिमीहरू यी टिप्पणीहरू सुनेपछि असहज महसुस गर्दैनौ? तिमीहरू कि त तिनलाई सुन्न कि त तिनलाई स्वीकार गर्न अनिच्छुक हुनसक्‍ने भए तापनि तिनीहरू सबै तथ्यहरू हुन्। कामको यो चरण भनेको परमेश्‍वरले काम गर्नको लागि हो, त्यसैले यदि तँ उहाँका अभिप्रायहरूप्रति सरोकार राख्दैनस् भने, उहाँको मनोवृत्तिको बारेमा परवाह गर्दैनस् भने र उहाँको सार र स्वभावलाई बुझ्दैनस् भने, अन्ततः तँ अवसरबाट वन्‍चित हुने व्यक्ति बन्नेछस्। मेरा वचनहरू सुन्न गाह्रो भएकोमा दोष नदेओ, र तिनले तिमीहरूको उत्साहलाई चिस्याइदिएकोमा दोष नदेओ। म सत्यता बोल्छु, मेरो अभिप्राय तिमीहरूलाई निरुत्साहित गर्नु होइन। मैले तिमीहरूबाट जेसुकै मागे तापनि र यसलाई तिमीहरूले जे-जसरी गर्न तय गरिएको भए तापनि, म आशा गर्छु कि तिमीहरूले सही मार्ग हिँड्छौ र परमेश्‍वरको मार्ग पछ्याउँछौ र तिमीहरू सही मार्गबाट कहिल्यै पनि बरालिँदैनौ। यदि तँ परमेश्‍वरको वचन अनुरूप अघि बढ्दैनस् भने वा उहाँको मार्गलाई पछ्याउँदैनस् भने तैँले परमेश्‍वर विरुद्ध विद्रोह गर्दैछस् र सही मार्गबाट भट्किएको छस् भन्‍नेमा कुनै शङ्का हुँदैन। यसर्थ, मलाई लाग्छ, केही यस्ता मामलाहरू छन् जसको बारेमा मैले तिमीहरूलाई स्पष्ट पार्नुपर्ने हुन्छ र जसलाई मैले तिमीहरूलाई द्विविधारहित तवरमा, स्पष्ट रूपले र अनिश्चितताको कुनै पनि अवशेषविना विश्‍वास गर्ने तुल्याउनुपर्छ र मैले तिमीहरूलाई परमेश्‍वरको मनोवृत्तिको बारेमा, उहाँका अभिप्रायहरूको बारेमा, उहाँले मानिसहरूलाई कसरी सिद्ध तुल्याउनुहुन्छ भन्‍ने बारेमा र उहाँले मानिसहरूका परिणामहरू निर्धारण गर्ने तौरतरिकाहरूको बारेमा स्पष्ट बुझाइ हासिल गर्न सहयोग गर्नुपर्छ। तिमीहरूले यो मार्गमा यात्रा सुरु गर्न असक्षम हुने कुनै दिन आएमा, कुनै उत्तरदायित्व वहन गर्दिनँ, किनभने यी वचनहरूलाई यसअघि नै तेरो सामने स्पष्ट रूपमा भनिसकिएको छ। जहाँसम्म तैँले तेरो आफ्नो परिणामलाई कसरी निराकरण गर्छस् भन्‍ने सवाल छ, यो यस्तो मामला हो जुन पूर्ण रूपमा तँमा निर्भर रहन्छ। विविध प्रकारका मानिसहरूका परिणामहरूको सम्बन्धमा भन्दा, परमेश्‍वरसँग फरक-फरक मनोवृत्तिहरू छन्, तिनीहरूलाई तौलने उहाँका आफ्नै तरिकाहरू छन्, साथसाथै तिनीहरूको लागि आवश्यक पर्ने उहाँका आफ्नै मापदण्डहरू छन्। मानिसहरूका परिणामहरू तौलने उहाँका मापदण्डहरू यस्तो मापदण्ड हुन् जुन सबैको लागि न्यायसंगत हुन्छन्—यसको बारेमा कुनै सन्देह छैन! त्यसकारण, केही व्यक्तिहरूका डरहरू अनावश्यक छन्। के तिमीहरू अब ढुक्क महसुस गर्छौ? आजको लागि यति नै। फेरि भेटौँला!

अक्टोबर १७, २०१३

अघिल्लो: प्रस्तावना

अर्को: परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्