९६. मैले आफ्नो भकभकाउने समस्यामाथि काबु पाएँ
मेरो बाबालाई भकभकाउने समस्या थियो, र मलाई पनि सानैदेखि यही समस्या थियो। अपरिचित मानिसहरूलाई नभेट्दासम्म त ठीकै हुन्थ्यो, तर जब म नयाँ मानिसहरूलाई भेट्थेँ, म आत्तिन्थेँ र बोल्दा भकभकाउँथेँ। मेरा दाजु र दिदीले मलाई भन्नुहुन्थ्यो, “तेरो बोल्ने तरिका हेर् त; के तँ अलि बिस्तारै बोल्न सक्दिनस्?” उनीहरूको आलोचनाले मलाई निकै दुःखी बनाउँथ्यो। आफ्नै दाजुदिदीले समेत मलाई मन नपराउने र हेला गर्ने गर्थे। म गहिरो हीनताबोध गर्थेँ र अक्सर पिरले रुन्थेँ। प्राथमिक विद्यालयमा हुँदा, एक पटक शिक्षकले एउटा प्रश्नको उत्तर दिन मलाई उठाउनुहुँदा, म एकदमै आत्तिएँ, र बोल्दै गर्दा, म अचानक भकभकाउन थालेँ र मेरा शब्दहरू नै निस्किएनन्, अनि मेरा सहपाठीहरू सबै खित्का छोडेर हाँसे। यो एकदमै अपमानजनक थियो। त्यसपछि, शिक्षकले हामीलाई बोल्न लगाउनुहुँदा मैले हात उठाउनै छाडिदिएँ, किनभने मलाई सहपाठीहरूले हाँसोको पात्र बनाउलान् भन्ने डर लाग्थ्यो। ती वर्षका यस्ता घटनाहरूले मेरो कलिलो हृदयमा नराम्रो असर पारे। म निरन्तर आफूलाई अयोग्य ठान्थेँ र गहिरो हीनताबोध गर्थेँ। म निकै अलमलमा पनि पर्थेँ, र सोच्थेँ, “म किन अरू जस्तो धाराप्रवाह बोल्न सक्दिनँ? म किन भकभकाउँछु?” मेरो विवाहपछि, म भकभकाउँदा मेरा श्रीमान्ले मलाई जिस्क्याउँदै भन्नुहुन्थ्यो, “तँ वयस्क भइसकिस्, तर राम्ररी बोल्न पनि सक्दिनस्। तँ गाई भएकी भए, म तँलाई उहिल्यै बेचिसक्थेँ।” छोराछोरीहरूसँग कुरा गर्दा पनि, कहिलेकाहीँ चिन्तित हुँदा म भकभकाउँथेँ, अनि मेरा छोराछोरी मलाई खिसी गर्दै भन्थे, “हेर त, ममी फेरि भकभकाउन थाल्नुभयो। के तपाईँ अलि बिस्तारै बोल्न सक्नुहुन्न?” मेरा छोराछोरी र श्रीमान् प्राय: मलाई यस्तै कुराहरू भन्थे। मलाई आफू जीवनमा एउटी काम नलाग्ने कातर मान्छे हुँ जस्तो लाग्थ्यो, र मेरो आत्मसम्मान चकनाचुर भएको थियो। त्यसपछि, मैले धेरै बोल्न छाडिदिएँ, र अपरिचितहरूको अगाडि बोल्ने आँट गर्दिनथेँ, किनभने यसो गर्दा म भकभकाउँछु भनेर कसैलाई थाहा हुँदैनथ्यो, र उनीहरूले मेरो खिल्ली उडाउने थिएनन्।
सन् २००३ मा, मैले परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। मलाई आफूमा भकभकाउने समस्या छ भन्ने थाहा भएकाले ब्रदर-सिस्टरहरूसँग भेलाहरूमा सहभागी हुँदा, म विरलै मात्र सङ्गति गर्थेँ। ब्रदर-सिस्टरहरू मलाई धेरै सङ्गति गर्न र अझ खुलस्त हुन प्रोत्साहित गर्थे, र जीवनमा अघि बढ्ने एउटै मात्र तरिका यही हो भन्थे। उनीहरू यसो पनि भन्थे, “सबैमा अपूर्णताहरू हुन्छन्, आफ्ना अपूर्णताले आफूलाई बाँधिन नदिनुहोस्।” जब मैले उनीहरूले मलाई तिरस्कार नगरी बरु प्रोत्साहित र मद्दत गरेको देखेँ, म निकै प्रभावित भएँ र परमेश्वरमा विश्वास गर्नु साँच्चै अद्भुत कुरा रहेछ भन्ने महसुस गरेँ। मैले यस्तो भावनाको अनुभव पहिले कहिल्यै गरेकी थिइनँ, र त्यसपछि मैले त्यति धेरै बाँधिएकी महसुस गरिनँ।
पछि, म मण्डली अगुवा चुनिएँ। एक दिन, माथिल्ला अगुवाहरूले मलाई चेङ्दोङ मण्डलीमा मेरो कर्तव्य निर्वाह गर्ने व्यवस्था मिलाए। मैले मनमनै सोचेँ, “यदि म चेङ्दोङ मण्डलीमा गएँ, र ब्रदर-सिस्टरहरूले म भकभकाउँछु भनेर थाहा पाए भने, उनीहरूले मेरा बारेमा के सोच्लान्? उनीहरूले मेरो खिसी गर्लान् कि? त्यो त अति लाजमर्दो हुनेछ! म जान चाहन्नँ।” माथिल्ला अगुवाहरूले मेरो मनको कुरा बुझे र मसँग सङ्गति गर्दै, यो एउटा प्रशिक्षणको अवसर हो भने। समझका आधारमा, मैले त्यो पद सम्हाल्न मन्जुर भएँ। चेङ्दोङ मण्डलीमा, अगुवा र डिकनहरूसँग भेला हुँदा, म अलि आत्तिएकी थिएँ किनभने ती सबै अपरिचित अनुहार थिए, र मलाई आफू भकभकाइरहेँ भने उनीहरूले मलाई हेला गर्लान् भन्ने डर लाग्यो, त्यसैले मैले त्यो भेला छिट्टै सकियोस् भन्ने आशा गरिरहेकी थिएँ। तर म जति आत्तिएँ, त्यति नै धेरै भकभकाउन थालेँ, र मलाई निकै लज्जित महसुस भयो। वरपर हेर्दा, मैले केही ब्रदर-सिस्टरहरूले टाउको निहुराएका, र अरूचाहिँ मौन बसेका देखेँ। मलाई एकदमै नराम्रो लाग्यो। मैले मनमनै सोचेँ, “उनीहरूले पक्कै सोचिरहेका होलान्, ‘यो भकभकाउने मान्छे कसरी यहाँ आइपुगी?’ मैले सङ्गति गरिनँ भने, उनीहरूले ममा सत्यता वास्तविकताहरू छैन भन्लान्, तर मैले बोलिरहेँ भने, म भकभकाइ नै रहनेछु।” मसँग सङ्घर्ष गर्दै सङ्गति गरिरहनुको विकल्प थिएन। म त्यो भेलामा धेरै नै भकभकाएँ, र जेनतेन बोलेर सकाएँ। सुरुमा मैले उनीहरूलाई उनीहरूका स्थितिबारे सोध्ने योजना बनाएकी थिएँ, तर फेरि सोचेँ, “यदि उनीहरूका समस्या वा कठिनाइहरू रहेछन् भने नि? मैले उनीहरूसँग परमेश्वरका वचन प्रयोग गरेर सङ्गति गर्नुपर्ने हुन्छ। म फेरि भकभकाएँ भने, उनीहरू पक्कै मलाई हाँसोमा उडाउनेछन्। आ होस्, नसोध्नु नै बेस।” फलस्वरूप, त्यस भेलाबाट कुनै नतिजा निस्किएनन्, र कार्यान्वयन गर्नुपर्ने काम पनि राम्ररी हुन सकेन, जसले गर्दा काममा ढिलाइ भयो। घर फर्कँदा बाटोमा, मैले गहिरो पीडाबोध अनुभूत भयो र आफैसँग गुनासो गरेँ, “म किन यसरी भकभकाउँछु? अरू मानिसहरू किन भकभकाउँदैनन्?” मलाई एकदमै हीनताबोध भयो, म सधैँ आफूलाई अरू सबैभन्दा एक कदम तल रहेको ठान्थेँ। त्यसपछि, म अगुवा र डिकनहरूसँग भेलाहरूमा सहभागी हुँदाखेरि, मलाई बाँधिएको महसुस हुन्थ्यो। मलाई फेरि भकभकाउँला अनि अरूले उडाउलान् वा हेला गर्लान् भनेर डर लाग्थ्यो, त्यसैले म सकेसम्म कम सङ्गति गर्ने प्रयास गर्थेँ। म कार्यान्वयन गर्नुपर्ने कामका बारेमा केवल सामान्य टिप्पणीहरू मात्र गर्थेँ, फलस्वरूप कामले राम्रो नतिजाहरू दिन सकेन। मलाई आफ्नो भकभकेपनबाट म निरन्तर बाँधिएको कारणले गर्दा काममा असर परिरहेको छ भन्ने थाहा थियो, त्यसैले म प्राय: प्रार्थनामा आफ्नो स्थिति परमेश्वरसामु ल्याउँथेँ, र यसका कारण म बाँधिन नपरोस् भनेर परमेश्वरले मलाई मार्गदर्शन गर्ने आशा गर्थेँ। कहिलेकाहीँ, बोल्दाखेरी जब म फेरि भकभकाउन थाल्थेँ, तब म आफ्नो मुख हातले छोप्थेँ ताकि भकभकाउँदा मेरा ओठ कामेको अरूले नदेखून्। भेलाहरूमा, म सधैँ अरू ब्रदर-सिस्टरहरूलाई परमेश्वरका वचन पढ्न लगाउँथेँ, र जब आफूले पन्छाउनै नसक्ने अवस्था हुन्थ्यो, तब म स-साना खण्डहरू मात्र पढ्थेँ। यसरी, म भकभकाउँछु भन्ने कुरा थोरै मानिसलाई मात्र थाहा हुन्थ्यो। तर यसरी जिउनु एकदमै पीडादायी थियो। म निसास्सिएको र थकित महसुस गर्थेँ। यसले मेरो कर्तव्य निर्वाहमा पनि असर पारिरहेको थियो।
एक पटक, मैले एउटी सिस्टरसँग खुलस्त कुरा गरेँ, “म बोल्दा भकभकाउँछु, र तपाईँहरू सबैले मलाई हेला गर्नुहुन्छ कि भन्ने डर लाग्छ, त्यसैले ममा सङ्गति गर्ने आँटै छैन।” सिस्टरले भनिन्, “तपाईँ बोल्दा भकभकाउनुहुन्छ भन्ने त मैले यादै गरेकी थिइनँ। कहिलेकाहीँ, जब म तपाईँ बोल्दाबोल्दै बीच वाक्यमै रोकिएको सुन्छु, तब मलाई तपाईँ अगाडि बढ्नै नसक्ने गरी बाँधिनुभएको छ जस्तो लाग्छ।” सिस्टरले यसो भन्दै मलाई प्रोत्साहित पनि गरिन्, “कोही पनि पूर्ण हुँदैन। तपाईँले कहिल्यै कुनै अपूर्णता नभएको मान्छेका बारेमा सुन्नुभएको छ? परमेश्वरका वचनले हामीलाई सबैमा अपूर्णता र कमजोरीहरू हुन्छन् भनेर बताउँछन्। यस कुराबाट नबाँधिनुहोस्; केवल इमानदारीपूर्वक सत्यता पछ्याउनुहोस्। तपाईँको भकभकेपन तपाईँको हडबडाहटका कारणले भएको हो, तर तपाईँले यस विषयमा चिन्ता लिनु पर्दैन। केवल आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्नुहोस्, अनि बिस्तारै, तपाईँ आफ्नो भकभकेपनबाट बाँधिन छोड्नुहुनेछ।” मेरी सिस्टरको यो कुरा सुनेर मैले केही राहत महसुस गरेँ। पछि, मैले एउटा अनुभवात्मक गवाही भिडिओ हेरेँ जसले मेरो हृदयलाई उज्यालो बनायो र मलाई निकै प्रोत्साहित गर्यो। विशेष गरी त्यसमा उद्धृत परमेश्वरका वचनको एउटा खण्डले मेरो स्थितिलाई सिधै सम्बोधन गऱ्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले समाधान गर्न नसक्ने केही समस्याहरू छन्। उदाहरणका लागि, तँसँग अरूसँग कुरा गर्दा नर्भस हुने प्रवृत्ति हुन सक्छ; जब तैँले परिस्थितिहरू सामना गर्छस्, तब तँसँग आफ्नै विचार र दृष्टिकोणहरू हुन सक्छन् तर तिनलाई स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनस्। धेरै मानिसहरू उपस्थित हुँदा तँ निकै नर्भस हुन्छस्; तैँले अस्पष्ट रूपमा बोल्छस् र तेरो मुख काँप्छ। कतिपय मानिसहरू त भकभक समेत गर्छन्; अरूका हकमा, यदि विपरीत लिङ्गी सदस्यहरू उपस्थित छन् भने, तिनीहरूको कुरा झनै बुझ्न सकिँदैन, र के भन्ने वा के गर्ने भन्ने तिनीहरूलाई बस थाहा नै हुँदैन। के यसलाई जित्न सजिलो छ? (छैन।) कम्तीमा पनि छोटो अवधिमा, तँलाई यो कमजोरीलाई जित्न सजिलो हुँदैन किनभने यो तेरो जन्मजात अवस्थाको भाग हो। यदि कैयौँ महिना अभ्यास गरेपछि पनि तँ अझै पनि नर्भस हुन्छस् भने, त्यो नर्भसपन दबाबमा परिणत हुनेछ, जसले तँलाई बोल्न, मानिसहरूलाई भेट्न, भेलाहरूमा सहभागी हुन, वा प्रवचनहरू दिन डर मान्ने बनाएर नकारात्मक रूपमा असर गर्नेछ, र यी डरहरूले तँलाई ध्वस्त पार्नेछन्। … त्यसकारण, यदि तैँले छोटो अवधिमा यो खराबी, यो कमजोरीलाई जित्न सक्छस् भने, जित्। यदि यसलाई जित्न गाह्रो छ भने, यसको झमेला नलिई, यसविरुद्ध सङ्घर्ष नगर्, र आफूलाई चुनौती नदे। अवश्य नै, यदि तँ यसलाई जित्न सक्दैनस् भने, तँलाई नकारात्मक महसुस हुनु हुँदैन। तैँले आफ्नो जीवनकालमा यसलाई कहिल्यै जित्न नसके पनि, परमेश्वरले तँलाई निन्दा गर्नुहुनेछैन, किनभने यो तेरो भ्रष्ट स्वभाव होइन। मञ्चमा बोल्ने तेरो डर, तेरो नर्भसपन र डर—यी प्रकटीकरणहरूले तेरो भ्रष्ट स्वभाव प्रतिबिम्बित गर्दैनन्; ती जन्मजात भए पनि वा जीवनमा पछि वातावरणले पैदा गरेका भए पनि, बढीमा, ती तेरो मानवताको खराबी, कमजोरी हुन्। यदि तँ यसलाई दीर्घकालमा, वा आफ्नो जीवनकालमा समेत परिवर्तन गर्न सक्दैनस् भने, यसमा एकोहोरो भई नबस्, तँलाई बन्धनमा पार्न नदे, न त तँ यसको कारण नकारात्मक नै बन्नुहुन्छ, किनभने यो तेरो भ्रष्ट स्वभाव होइन; यसलाई परिवर्तन गर्ने प्रयास गर्नु वा यसविरुद्ध सङ्घर्ष गर्नुको कुनै अर्थ हुँदैन। यदि तँ यसलाई परिवर्तन गर्न सक्दैनस् भने, यसलाई स्वीकार गर्, अस्तित्वमा रहन दे, र यसलाई सही रूपमा लिई, किनभने तँ यो खराबी, यो कमजोरीसँग सह-अस्तित्वमा रहन सक्छस्—तँसँग यो हुनुले परमेश्वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने तेरो कार्यमा असर गर्दैन। तैँले सत्यतालाई स्वीकार गर्न र आफ्नो क्षमताले भ्याए अनुसार आफ्नो कर्तव्य पूरा गर्न सके सम्म, तैँले अझै पनि मुक्ति पाउन सक्छस्; यसले तेरो सत्यताको स्वीकारमा असर गर्दैन र तेरो मुक्ति प्राप्तिमा असर गर्दैन। त्यसकारण, तँ प्रायजसो तेरो मानवताको निश्चित खराबी वा कमजोरीको बन्धनमा पर्नु हुँदैन, न त तँ प्रायजसो नकारात्मक र निरुत्साहित नै हुनुपर्छ, न त तैँले आफ्नो कर्तव्य त्याग्नुपर्छ र मुक्ति पाउने मौका गुमाउँदै, सत्यता पछ्याउन समेत त्याग्नुपर्छ। यो पटक्कै सार्थक हुँदैन; मूर्ख र अज्ञानी व्यक्तिले त्यही गर्नेथियो” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनमाथि चिन्तन गर्दा, मैले के बुझेँ भने भकभकाउनु भनेको मानव अवगुण र अपूर्णता हो, र यो भ्रष्ट स्वभाव होइन अनि यसले व्यक्तिको सत्यता पछ्याइ वा उसको मुक्तिमा असर गर्दैन। मैले एउटा अपूर्णताको कारण आफूलाई निरन्तर बाँधिन वा नकारात्मक हुन दिनु हुँदैनथ्यो, वा सत्यता पछ्याउन छाड्न हुँदैनथ्यो, अन्यथा मैले मुक्ति पाउने अवसर गुमाउने थिएँ, र यो अज्ञानी र मूर्खतापूर्ण व्यवहार हुनेथियो। मैले कसरी यतिका वर्षसम्म, म आफ्नो भकभकाउने समस्याका कारण, भेला अवधिहरूमा परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न मैले खुलस्त भएर सङ्गति गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि, मेरा ब्रदर-सिस्टरहरूले म भकभकाउँछु भन्ने थाहा पाउलान् भनेर डराएर सङ्गति गर्ने आँट गरिनँ भन्नेबारे चिन्तन गरेँ। चेङ्दोङ मण्डलीमा गएपछि, मेरो भकभकेपनले मलाई झनै बाँधेको महसुस भयो, र म जति अरूले थाहा पाउलान् कि भनेर डराउँथेँ, त्यति नै आत्तिन्थेँ, अनि मेरो भकभकेपन झनै बढ्थ्यो। फलस्वरूप, मैले भेलाहरूमा बिलकुलै कुनै आनन्द पाइनँ। मैले अगुवा र डिकनहरूले भोगिरहेका समस्या र कठिनाइहरू बुझ्ने वा समाधान गर्ने काम गरिनँ, अनि काम राम्ररी कार्यान्वयन नभइकनै हतार-हतार भेलाहरू टुङ्ग्याइन्थे। म प्राय: आफ्नो भकभकेपनले बाँधिएकी हुन्थेँ र भेलाहरूमा खुलस्त हुन र सङ्गति गर्न डराउँथेँ। यसले मेरो आफ्नै जीवन प्रवेशमा मात्र हानि पुर्याएन, मेरा ब्रदर-सिस्टरहरूलाई समेत कुनै फाइदा भएन। यसले मण्डलीको काममा पनि ढिलाइ गरायो। म कति मूर्ख र अज्ञानी भएकी रहेछु भन्ने मैले देखेँ। परमेश्वर भन्नुहुन्छ: “यदि तँ यसलाई दीर्घकालमा, वा आफ्नो जीवनकालमा समेत परिवर्तन गर्न सक्दैनस् भने, यसमा एकोहोरो भई नबस्, तँलाई बन्धनमा पार्न नदे, न त तँ यसको कारण नकारात्मक नै बन्नुहुन्छ, किनभने यो तेरो भ्रष्ट स्वभाव होइन; यसलाई परिवर्तन गर्ने प्रयास गर्नु वा यसविरुद्ध सङ्घर्ष गर्नुको कुनै अर्थ हुँदैन। यदि तँ यसलाई परिवर्तन गर्न सक्दैनस् भने, यसलाई स्वीकार गर्, अस्तित्वमा रहन दे, र यसलाई सही रूपमा लिई, किनभने तँ यो खराबी, यो कमजोरीसँग सह-अस्तित्वमा रहन सक्छस्—तँसँग यो हुनुले परमेश्वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने तेरो कार्यमा असर गर्दैन। तैँले सत्यतालाई स्वीकार गर्न र आफ्नो क्षमताले भ्याए अनुसार आफ्नो कर्तव्य पूरा गर्न सके सम्म, तैँले अझै पनि मुक्ति पाउन सक्छस्; यसले तेरो सत्यताको स्वीकारमा असर गर्दैन र तेरो मुक्ति प्राप्तिमा असर गर्दैन।” परमेश्वरका वचन पढ्दा, मेरो हृदय न्यानो भयो र प्रोत्साहनले भरियो। मैले कसरी बाल्यकालदेखि नै मेरो भकभकाउने समस्याका कारण मलाई हेला र तिरस्कार गरिएको थियो भन्नेबारे सोचेँ। म आफू अरू जत्तिको उत्तम छैन भन्दै प्राय: हीनताबोधमा डुब्ने गर्थेँ। तर परमेश्वर मदेखि अलग हुनुभएन बरु मलाई गम्भीरतापूर्वक सत्यता र मुक्ति पछ्याउन प्रोत्साहित गर्नुभयो। मैले परमेश्वर साँच्चै मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्ने महसुस गरेँ, र मेरो हृदयको गह्रुङ्गो भारी अन्ततः हट्यो। परमेश्वरले मेरो अवगुणलाई तिरस्कार नगर्नुहुने भएकाले, मैले यसको सही रूपमा सामना गर्नुपर्थ्यो, र मेरो जीवनकालमा मेरो यो अवगुण कहिल्यै परिवर्तन नहुने भएपनि, म यसबाट बाँधिनु हुँदैनथ्यो। यसको साटो, मैले सत्यता पछ्याउने र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्ने कुरामा ध्यान दिनुपर्थ्यो। यी कुराहरू महसुस गरेपछि, म परमेश्वरसामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्वर, अब मैले तपाईँको अभिप्राय बुझेँ। म मेरो अवगुण र अपूर्णताको सही रूपमा सामना गर्न र गुनासो गर्न छाड्न तत्पर छु। म समर्पित हुनेछु र आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्नेछु।”
प्रार्थना गरिसकेपछि, मैले अझ गहिरिएर सोचेँ, “म किन सधैँ आफ्नो भकभकेपनबाट बाँधिन्छु? कस्तो प्रकारको भ्रष्ट स्वभावले यस्तो गराउँछ?” त्यसपछि मैले पढ्नको लागि परमेश्वरका वचन खोजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अधिकांश मानिसहरू सत्यता खोज्नुको सट्टा सानातिना चालहरूको सहारा लिन्छन्। तिनीहरू आफ्नै हित, अभिमान, र अरू मानिसहरूको मनमा आफ्नो स्थान वा हैसियतलाई ठूलो महत्त्व दिन्छन्। तिनीहरूले कदर गर्ने कुराहरू यिनै मात्र हुन्। तिनीहरू यी कुराहरूमा दह्रोसँग टाँसिन्छन् र तिनलाई आफ्नो जीवन नै ठान्छन्—तिनीहरू परमेश्वर यी कुराहरूलाई कसरी हेर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ भन्ने कुरासँग कुनै सरोकार राख्दैनन्; तिनीहरू पहिले आफू समूहको मालिक हुँ कि होइन, आफूले अरूले उच्च सम्मान गर्ने पद सुरक्षित गर्न सक्छु कि सक्दिनँ, र कसैले आफूले भनेको कुरा सुन्छ कि सुन्दैन भन्ने कुरासँग सरोकार राख्छन्। तिनीहरू पहिले त्यो पद ओगट्नतिर लाग्छन्। समूहमा हुँदा, लगभग सबै मानिस यस प्रकारको पद, यस प्रकारको अवसर खोज्छन्। यदि तिनीहरू अत्यधिक सक्षम छन् भने, तिनीहरूले अवश्यै शीर्ष स्थान ओगट्ने प्रयास गर्छन्। यदि तिनीहरू औसत मात्रै छन् भने, तिनीहरूले अझै पनि समूहमा एक प्रमुख पद धारण गर्ने प्रयास गर्छन्। अनि यदि तिनीहरू समूहको तल्लो तहमा छन्, औसत क्षमता र सक्षमताका छन् भने, तिनीहरूले अरूलाई आफूलाई उच्च सम्मान गर्न लगाउने प्रयास पनि गर्छन्; तिनीहरूले अरूलाई आफूलाई हेयको नजरले हेर्न दिन सक्दैनन्। यी मानिसहरूले आफ्नो अभिमान र इज्जतमा नै सीमा कोर्छन्; तिनीहरूले यी कुराहरूलाई समातिराख्नैपर्छ भनी सोच्छन्। तिनीहरूले आफ्नो निष्ठा गुमाए पनि, वा परमेश्वर तिनीहरूसँग अप्रसन्न हुनुभए पनि र तिनीहरूलाई मान्यता दिनुहुन्न भने पनि, तिनीहरू अझै आफ्नो अभिमान र हैसियतका लागि लागिपर्नुपर्छ; तिनीहरू हर हालतमा अपमानबाट जोगिनैपर्छ। यो एक शैतानी स्वभाव हो। तैपनि तिनीहरू यो महसुस गर्दैनन्। तिनीहरूले आफूसँग बाँकी रहेको थोरै अभिमान गुमाउन सकिन्न भनी सोच्छन्। तिनीहरूलाई के थाहा छैन भने, जब यी सतही कुराहरू पूर्ण रूपमा त्यागिन्छन् र छोडिन्छन्, तब मात्रै तिनीहरू वास्तविक मानिस बन्नेछन्, र यदि तिनीहरूले त्यागिनुपर्ने यी कुराहरूलाई आफ्नो जीवनझैँ गरी जोगाए भने, तिनीहरूको जीवन गुम्नेछ। तिनीहरूलाई के दाउमा छ भन्ने कुरा थाहै छैन। … त्यसरी तैँले कभरेज पाउँछस्—त्यसपछि के हुन्छ? मानिसहरूले तँलाई ठूलो मानिस सोच्छन्—अनि के हुन्छ? तिनीहरूले तँलाई आदर्श बनाउँछन्—अनि के हुन्छ? के यीमध्ये कुनै पनि कुराले तँसित सत्यता वास्तविकता छ भनेर प्रमाणित गर्छ त? यीमध्ये कुनै पनि कुराको मूल्य हुँदैन। जब तँ यी कुराहरूलाई जित्न सक्छस्—जब तँ तीप्रति उदासीन हुन्छस्, र अबउप्रान्त तँ ती कुराहरूलाई महत्त्वपूर्ण मान्न छोड्छस्, जब इज्जत, घमण्ड, हैसियत, मानिसहरूको प्रशंसाले, अबउप्रान्त तेरा विचार र व्यवहार नियन्त्रण गर्न छोड्छन्, र अझ बढी तैँले आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस् भन्ने कुरालाई नियन्त्रण गर्न छोड्छन्—तब तेरो कर्तव्य प्रदर्शन अझ प्रभावकारी र अझ शुद्ध हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनको खुलासाबाट, मैले के महसुस गरेँ भने व्यक्तिको सामर्थ्य र क्षमता जतिसुकै ठूलो किन नहोस्, हरेकले अरूबाट प्रशंसा पाउन चाहन्छ। फर्केर हेर्दा, म सानैदेखि भकभकाउँथेँ, र मेरा आफ्नै दाजुदिदीहरूले पनि मलाई अलग्याएका र हेला गरेका थिए। अनि स्कुलमा, सहपाठीहरूले मेरो खिल्ली उडाउँथे, त्यसैले म एकदमै हीनताबोध गर्थेँ। विवाह पछि, मेरा श्रीमान् र छोराछोरीले समेत मेरो खिल्ली उडाए, जसले मेरो आत्मसम्मानमा झनै चोट पुर्यायो। म पिरले रुने समेत गर्थेँ। म आफ्नो अभिमानप्रति धेरै चिन्ता गर्थेँ! मैले कसरी सानैदेखि म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” जस्ता शैतानी विषहरूबाट प्रभावित भएकी थिएँ भन्नेबारे सोचेँ। म आफ्नो अभिमानमा विशेष ध्यान दिन्थेँ। आफ्नो भकभकाकेपनका कारण, म अरूले खिसी र हेला गर्लान् भनेर डराउँथेँ, र परिणामस्वरूप म प्राय: आफूलाई उम्कनै नसकिने नकारात्मकता र पीडाका भावनाहरूमा डुबेकी पाउँथेँ। मैले भेलाहरूमा सङ्गति गर्नुपर्ने कुराहरू सङ्गति गर्न सकिनँ वा आफूले राम्रोसँग गर्नुपर्ने काम गर्न सकिनँ। तर परमेश्वरको घरले मलाई तिरस्कार गर्ने वा मेरो अवगुणका आधारमा मलाई व्यवहार गर्ने कार्य गरेन। यसको साटो, मलाई अगुवाइका कर्तव्यहरू जिम्मा दिइयो र सही रूपमा सत्यता र मुक्ति पछ्याउन प्रोत्साहित गरियो। के यो परमेश्वरको प्रेम थिएन र? तैपनि आफ्नो अभिमानप्रतिको मेरो अत्यधिक आशक्तिले मलाई आफूले गर्नुपर्ने कर्तव्यहरू गर्नबाट रोक्यो। के यो परमेश्वरको विरुद्ध विद्रोह गर्नु थिएन र? वास्तवमा, यदि अरूले मेरो प्रशंसा गर्थे भने पनि, परमेश्वरको अनुमोदनविना यो अर्थहीन हुनेथियो। इज्जत र हैसियतको पछ्याइले मेरो जीवन स्वभाव कहिल्यै परिवर्तन गर्न सक्दैनथ्यो, बरु यसले मलाई झनै नकारात्मक बनाउँथ्यो, र अन्ततः, मैले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह नगरेका कारण मलाई परमेश्वरले तिरस्कार गर्नुहुने र हटाउनुहुनेथियो। यो महसुस गरेपछि, मलाई डर र अपराधबोध दुवै महसुस भयो। अभिमान र हैसियतमा डुब्दा यति गम्भीर परिणाम आउन सक्छ भनेर मैले कहिल्यै सोचेकी थिइनँ। त्यसपछि, मैले अभिमान र हैसियत त्याग्न, आफ्नो भकभकेपनलाई सही रूपमा लिन, र मेरा ब्रदर-सिस्टरहरूसँग सामान्य रूपमा सङ्गति गर्न चाहेँ।
एक दिन, म मेरी सहकर्मीसँग एउटा कामका बारेमा छलफल गरिरहेकी थिएँ र फेरि आत्तिएँ। म भकभकाउन थालेँ भने उनले मेरो बारेमा के सोच्लिन् भनेर डराएँ। उनले पहिल्यै म बीच वाक्यमै बोल्न छोडेँ भन्ने कुरा औँल्याएकी थिइन्, र हामीले सँगै काम गरेको धेरै समय नभएकाले, उनलाई मेरो भकभकेपनबारे थाहा थिएन। मैले सोचेँ, “यदि म फेरि बीच वाक्यमै रोकिएँ भने, के उनी मदेखि अलग बस्नेछिन्?” बोल्दै गर्दा, म अचानक अड्किएँ र बोल्न छोडेँ। सिस्टरले भनिन्, “तपाईँ किन बीच वाक्यमै रोकिरहनुहुन्छ? के तपाईँ आफूलाई स्पष्ट रूपमा व्यक्त गर्न सक्नुहुन्न?” मैले मनमनै सोचेँ, “के उनी अब मदेखि अलग बस्नेछिन्?” मैले अलिकति बाँधिएको महसुस गरेँ। त्यसै बेला, मैले मेरो सोचाइ गलत छ भन्ने महसुस गरेँ, र मैले मौन भएर आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म आफ्नो भकभकेपनका कारण सिस्टरले मलाई हेला गर्लिन् कि भनेर डराउँछु। म अबउप्रान्त यसबाट बाँधिन चाहन्नँ। कृपया मलाई आफ्नो अवगुणलाई सही रूपमा व्यवहार गर्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले पहिले पढेको परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ, अनि त्यसलाई फेरि पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले सत्यता पछ्याउन, र सिद्धान्तहरू अनुसार आफ्नो सारा हृदय, सारा सामर्थ्य, र सारा मनले आफ्नो कर्तव्य पूरा गर्न सके सम्म, र तेरो हृदय निष्कपट भएसम्म, र तैँले परमेश्वरप्रति झाराटारुवा व्यवहार नगरेसम्म, तँसँग मुक्ति पाउने आशा हुन्छ। यदि कसैले ‘हेर त तिमी कति व्यर्थ र डरपोक छौ। तिमी केही शब्द बोल्दा मात्रै यति नर्भस हुन्छौ, र तिम्रो पूरै अनुहार रातो हुन्छ’ भन्यो भने, तैँले यसो भन्नुपर्छ, ‘मेरो क्षमता कमजोर छ र म बोल्न सिपालु छैनँ। यदि तिमीहरूले मलाई प्रोत्साहन दियौ भने, मलाई बोल्ने अभ्यास गर्ने साहस हुनेछ।’ तँ असल छैनस्, वा तँ लाजमर्दो छस् भन्ने नसोच्। तेरो मानवतामा भएका तेरा खराबी र समस्याहरू यी हुन् भन्ने तँलाई थाहा भएको हुनाले, तैँले तिनलाई सामना गर्नुपर्छ र स्वीकार गर्नुपर्छ। ती कुराहरूले गर्दा कुनै पनि रूपमा प्रभावित नबन्। यी खराबी र कमीकमजोरीहरू कहिले परिवर्तन हुनेछन् भन्ने कुराका हकमा भन्दा, यसको बारेमा चिन्ता नगर्। यसरी सामान्य रूपमा जिउने र आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा ध्यान दे। तैँले यो कुरा मात्रै याद गर्नुपर्छ: मानवताका यी खराबी र कमीकमजोरीहरू नकारात्मक कुराहरू वा भ्रष्ट स्वभावहरू होइनन्, र ती भ्रष्ट स्वभावहरू नभएसम्म, तिनले तेरो कर्तव्य निर्वाह वा सत्यता पछ्याइमा असर गर्नेछैनन्, र तिनले तेरो मुक्ति प्राप्तिमा असर गर्नु त परको कुरा हो; अवश्य नै, अझै महत्त्वपूर्ण कुरा के हो भने, तिनले परमेश्वरले तँलाई हेर्नुहुने तरिकामा असर गर्नेछैनन्। के त्यसले तेरो मनलाई ढुक्क तुल्याउँदैन र?” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका यी वचनहरू पढ्दा म साँच्चै प्रभावित र प्रेरित भएँ, विशेष गरी जब परमेश्वरले यो भन्नुहुन्छ: “तैँले यो कुरा मात्रै याद गर्नुपर्छ: मानवताका यी खराबी र कमीकमजोरीहरू नकारात्मक कुराहरू वा भ्रष्ट स्वभावहरू होइनन्, र ती भ्रष्ट स्वभावहरू नभएसम्म, तिनले तेरो कर्तव्य निर्वाह वा सत्यता पछ्याइमा असर गर्नेछैनन्, र तिनले तेरो मुक्ति प्राप्तिमा असर गर्नु त परको कुरा हो; अवश्य नै, अझै महत्त्वपूर्ण कुरा के हो भने, तिनले परमेश्वरले तँलाई हेर्नुहुने तरिकामा असर गर्नेछैनन्। के त्यसले तेरो मनलाई ढुक्क तुल्याउँदैन र?” मेरो अवगुण र अपूर्णता कुनै नकारात्मक कुरा होइन, न त यो भ्रष्ट स्वभाव नै हो, र जबसम्म म लगनशीलतापूर्वक सत्यता पछ्याउँछु र सिद्धान्तहरूअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्छु, तबसम्म परमेश्वरले मलाई मार्गदर्शन गर्नुहुनेछ। म मेरो भकभकेपनबाट अब बाँधिनु हुँदैन। ब्रदर-सिस्टरहरूले जेसुकै सोचे पनि, मैले खुलस्त भएर आफ्नो अवगुणबारे बोल्नुपर्छ, र मैले लाज मान्नु हुँदैन, बाँधिने त कुरै आउँदैन। मैले यसको सही रूपमा सामना गर्नुपर्छ। त्यसैले, मैले सिस्टरलाई भनेँ, “ममा सानैदेखि भकभकेपन रहेको छ। अरूले मैले भनेको बुझ्न सकून् भनेर म भविष्यमा सकेसम्म अलि बिस्तारै बोल्न र आफ्ना वाक्यहरू पूरा गर्न सक्दो प्रयास गर्नेछु।” यति भनिसकेपछि, मलाई बाँधिएको महसुस हुन छाड्यो।
पछि, जब म भेलाहरूमा परमेश्वरका वचन पढ्दा अड्किन्थेँ, म बिस्तारै पढ्थेँ। कहिलेकाहीँ आत्तिएर भकभकाउन थाल्दा, म एकछिन रोकिन्थेँ, आफ्नो मानसिकतालाई ठीक गर्थेँ, र अनि बोल्न जारी राख्थेँ। यसले मलाई अलिकति मद्दत गर्यो। यो मेरो अवगुणलाई सही रूपमा बुझ्न मार्गदर्शन गर्ने परमेश्वरका वचन नै थिए। म अब यसबाट बाँधिन छाडेकी छु र अन्ततः छुटकारा महसुस भएको छ। धन्यवाद परमेश्वर!