९२. ख्याति र प्राप्तिको भुमरीबाट बाहिर निस्कँदा
म एक साधारण परिवारमा जन्मेकी थिएँ। हामी सम्पन्न थिएनौँ। मेरो बुबा कुनै उचित जागिर नभएको अल्छे व्यक्ति हुनुहुन्थ्यो। उहाँ जुवा पनि खेल्नुहुन्थ्यो। गाउँका मानिसहरू हामीलाई तुच्छ ठान्थे, अनि मलाई अत्यन्तै हीनताबोध हुन्थ्यो। सानै उमेरदेखि मैले भित्रभित्रै एउटा महत्त्वाकाङ्क्षा राखेकी थिएँ: ठूली भएपछि, म अरूभन्दा विशिष्ट बन्नेछु र सबैले मलाई नव सम्मानका साथ हेर्ने बनाउनेछु। यसरी मात्र म शिर ठाडो पारेर हिँड्न सक्नेछु र कसैद्वारा तुच्छ ठानिनुपर्ने छैन।
स्कुलमा पढ्दा म सधैँ धेरै राम्रा ग्रेडहरू ल्याउँथेँ। पछि, सघन कक्षामा हुनुको दबाबले गर्दा म प्रायः टाउको दुख्ने समस्याबाट पीडित हुन्थेँ। मेरा ग्रेडहरू घट्दै गए र अन्ततः मैले स्कुल नै छोडेँ। मेरो परिवारले सधैँ भन्थ्यो, “तैँले कुनै सीप सिकिस् भने, पसल खोलेर आफैँ मालिक बन्न सक्छेस्, अनि त्यसरी पनि उत्तिकै सफल हुन सक्छेस्।” मैले मनमनै सोचेँ, “मैले पढाइमार्फत मानिसहरूको सम्मान जित्न नसके पनि, चीनमा एउटा भनाइ छ नि, ‘तीन सय साठीवटा पेसा छन्, र हरेक पेसामा मालिक हुन्छन्।’ मैले कडा मिहिनेत गरेर कुनै सीप सिकेँ भने, भविष्यमा पसल खोलेर आफैँ मालिक बन्न सक्छु। अनि, मेरा नातेदार र साथीभाइहरूले पक्कै पनि मलाई नव सम्मानका साथ हेर्नेछन्।” पछि, मैले मेकअप गर्ने सीप सिकेँ। काम सुरु गर्दा, मसँग कुनै व्यावहारिक अनुभव नभएकाले म एउटी जुनियर सहायक मात्र बन्न सकेँ। हरेक दिन म यताउता दगुर्थेँ र सानातिना कामहरू गर्थेँ, अनि मेकअप सिकाउने शिक्षक मलाई कराउँथे र काम अह्राउँथे। म यो कुरा स्वीकार गर्न तयार थिइनँ। आफू छिटोभन्दा छिटो मेकअप आर्टिस्ट बन्न सकूँ भनेर थप सीपहरू सिक्न र अनुभव बटुल्नका लागि, म हरेक दिनजसो बिहान ६ बजेदेखि राति १० बजेसम्म काम गर्थेँ। केही समयको कडा मिहिनेतपछि, म अन्ततः मेकअप आर्टिस्ट बनेँ। त्यसपछि मेरो जीवन अझ कष्टकर होला भनेर मैले कहिल्यै सोचेकी थिइनँ। मैले हरेक दिन आफ्नो काम सकेपछि आफ्नो कार्यसम्पादन सुधार्न ओभरटाइम काम गर्नुपर्थ्यो। म शारीरिक र मानसिक रूपमा लखतरान हुन्थेँ। तर त्यसपछि म सोच्थेँ, “‘अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ।’ म डटिरहेँ र आफ्ना सीपहरू सुधार्दै गएँ भने, मैले प्रशंसा र सम्मान पाउने अझ धेरै अवसर पाउनेछु।” त्यसैले मलाई त्यति धेरै दुःख लाग्न छोड्यो। त्यतिबेला, मेरी आमा मसँग प्रायः परमेश्वरमाथिको आस्थाबारे कुरा गर्नुहुन्थ्यो। मलाई परमेश्वरमा विश्वास गर्नु राम्रो कुरा हो भन्ने थाहा थियो, तर मलाई कामले गर्दा आफू धेरै व्यस्त भएको, आफूसँग पटक्कै समय नभएको, र आफू आफ्नो करियर बनाउन सक्दो प्रयास गरिरहेको चरणमा रहेको जस्तो लाग्थ्यो। फलस्वरूप, मैले आफ्नो आस्थालाई त्यति गम्भीर रूपमा लिइनँ।
पछि, मैले अर्को स्टुडियोमा मेकअप आर्टिस्टका रूपमा काम गरेँ, जहाँ म केही वर्षसम्म रहेँ। धेरै मिहिनेत गरेर, म आफ्नो विभागको आधारशिला बनेँ। मेरा सीप सधैँ सबैभन्दा उत्कृष्ट हुन्थे, र म प्रायः हरेक महिना कार्यसम्पादनमा पहिलो स्थानमा पर्थेँ। मेरी हाकिम प्रायः मेरा सहकर्मीहरूका अगाडि मेरा क्षमताहरूको तारिफ गर्थिन् र उनीहरूलाई मबाट सिक्न भन्थिन्। यसले मेरो आडम्बरलाई सबैभन्दा ठूलो सन्तुष्टि दियो। विशेषगरी, म कहिल्यै नभेटेका धेरै ग्राहकले यसो भनेको सुन्थेँ, “हामीले तपाईँबारे धेरै सुनेका छौँ! मेरा साथीहरू सबै तपाईँ अत्यन्तै दक्ष मात्र नभई निकै राम्रो मान्छे पनि हुनुहुन्छ भनेर भन्छन्। हामी खासगरी तपाईँकै कारण यहाँ आएका हौँ।” यस्ता कुराहरू सुन्दा, म आफैदेखि एकादमै सन्तुष्ट हुन थालेँ, र ख्याति र प्राप्ति पछ्याउने मेरो चाहना झन्-झन् बढ्दै गयो। आफू वरपरका मानिसहरूले फलानो व्यक्ति निकै सानै उमेरकी भए पनि, उसले आफ्नै पसल खोलिसकी छे, आफ्नै व्यवसाय चलाइरहेकी छे र निकै सक्षम छे भनेर भनेको सुन्दा मा असाध्यै ईर्ष्यालु बन्थेँ। म आफूसँग पनि राम्रो सीप छ, अहिलेसम्म सही आर्थिक अवस्था मात्र त नभएको हो नि भन्ने सोच्थेँ। म उमेरमा भर्खर बीसको दशकमा थिएँ, र यदि मैले कडा मिहिनेत गरेँ, हरेक ग्राहकलाई गम्भीरतापूर्वक लिएँ, र राम्रो नाम कमाएँ भने, ढिलोचाँडो मैले पसल खोल्ने र आफ्नै मालिक बन्ने मौका पाउनेथिएँ। हरेक पटक यस कुराबारे सोच्दा, म आफ्नो शरीरमा ऊर्जाको अनन्त लहर दौडिएको महसुस गर्थेँ, मानौँ मेरो रगतमा बिजुली बगेको छ। म निरन्तर आफ्नो सीप र कार्यसम्पादन कसरी सुधार्ने भनेर मनन गर्थेँ, र राम्रा प्रविधिहरू सिक्न विभिन्न इन्टरनेट प्लेटफर्महरूमा बारम्बार मेकअप भिडियोहरू हेर्थेँ। मेरा सहकर्मीहरू सबै छिटो काम सक्न आतुर हुन्थे, तर आफ्ना ग्राहकहरूको अनुभवलाई अझ राम्रो बनाउनका लागि, म उनीहरूको फोटो वा भिडियो खिच्नमा थप समय लगाउँथेँ। म आफ्नो प्रचारमा मद्दत पुगोस् भनेर उनीहरूलाई ती कुराहरू उनीहरूको सामाजिक सञ्जालमा पोस्ट गर्न लगाउँथेँ, र त्यसमा धेरै लाइक र सकारात्मक प्रतिक्रियाहरू आएको देख्दा, म आफूदेखि असाध्यै सन्तुष्ट हुन्थेँ। म प्रायः काम सक्ने अन्तिम व्यक्ति हुन्थेँ, र आफू घर फर्किसकेपछि पनि ग्राहकहरूसँगको आफ्नो सम्बन्ध संवर्धन गर्न उनीहरूसँग कुराकानी गर्थेँ। ग्राहकहरूलाई टिकाइराख्नका लागि, म हरेक दिन ढोँग गरेर नक्कली र सुन्दा मीठा लाग्ने शब्द बोल्दै जिइरहेजस्तै लाग्थ्यो। यदि कुनै ग्राहक स्पष्ट रूपमै मोटी थिइन् भने, म उनको तारिफ गर्दै भन्थेँ, “तपाईँको जीउडाल चट्ट मिलेको छ! लुगा सुहाउन यस्तै जीउडाल चाहिन्छ।” कतिपय ग्राहक त्यति राम्रा देखिँदैनथे, र म मिहिनेत गरेर तारिफ गर्न सकिने कुराहरू खोज्थेँ अनि उनीहरूलाई खुसी पार्न चापलुसी गर्थेँ। केही अप्ठ्यारा र खुसी पार्न गाह्रो हुने ग्राहकहरूको हकमा, म भित्रभित्रै उनीहरूदेखि वाक्क भए तापनि म उनीहरू सन्तुष्ट नहोउन्जेल जबरजस्ती मुस्कुराइरहन्थेँ। मलाई वास्तवमा आफ्ना भावनाहरूविपरीतका कुराहरू भन्न मन लाग्दैनथ्यो, तर मैले ख्याति र प्राप्तिका खातिर त्यसो गर्नैपर्थ्यो। मैले आफू वरपरका मानिसहरूबाट प्रशंसा र सम्मान जिते तापनि, यो क्षणिक खुसी बितेपछि, मेरो हृदयमा अझ बढी अवसाद र थकान मात्र बाँकी रहन्थ्यो। म प्रायः सोच्थेँ: मानिसहरूको सम्मान जित्नका लागि, म हरेक दिन मेसिनजस्तै काम गरिरहेकी हुन्छु। कामबाहेक, थप काम मात्र हुन्छ। यी दिनहरू कहिले सकिएलान्? के मेरो जीवन यसरी नै बित्ला त? म अलमल र असहाय महसुस गर्थेँ। त्यसपछि मलाई सानैदेखि मेरी आमाले मलाई समस्यामा पर्दा परमेश्वरलाई पुकार्नू भनेर भन्नुभएको कुरा याद आयो। त्यस समयमा, म प्रायः आफ्ना कठिनाइहरू परमेश्वरसामु लैजान्थेँ र प्रार्थना गर्थेँ, “प्रिय परमेश्वर, म अलमल्ल परेकी छु, र मलाई काममा निकै दबाब छ। मलाई आफ्नो जीवनको कुनै अर्थ छैन जस्तो समेत लाग्छ। कृपया मलाई मद्दत गर्नुहोस्!”
मे २०२१ मा, वर्षको यस समयमा सधैँ अति व्यस्त रहने यस कम्पनी यसपालि चकमन्न परेको थियो। मैले प्रायः घरमै आराम गर्ने मौका पाएँ। भेलाहरूमा ब्रदर-सिस्टरहरूले गरेको परमेश्वरका वचनहरूको वाचन र मसँगको सङ्गतिमार्फत, मेरो हृदयको पीडा र दबाब धेरै हदसम्म कम भयो। मैले औपचारिक रूपमा सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ, र मण्डली जीवन जिउन थालेँ। भेलाहरूका दौरान, सबैले एकदम खुलेर आफ्नो अनुभवात्मक बुझाइबारे सङ्गति गर्थे। कठिनाइमा परेको जोकोहीलाई पनि मद्दत गर्न सबैले सङ्गति गर्थे। कसैले कसैलाई तुच्छ ठान्दैनथे। आफ्ना ब्रदर-सिस्टरहरूसँग भेला हुँदा, मेरो हृदयमा आराम र शान्ति महसुस हुन्थ्यो, र मैले अन्ततः मानिसहरू यति निश्चिन्त र स्वतन्त्र रूपमा पनि जिउन सक्दा रहेछन् भन्ने कुरा पत्ता लगाएँ। पछि, मैले प्रायः भेलाहरूमा सहभागी हुन बिदा लिने गरेको कारण, मेरी हाकिमलाई म अर्को कम्पनीमा जान्छु कि भन्ने चिन्ता लागेछ, र उनले मेरा सहकर्मीहरूलाई मेरो जीवनमा के भइरहेको छ भनेर बुझ्न लगाइछिन्। मैले बितेका केही वर्षमा आफू काममा लगनशील भएको, आफ्नी हाकिमको अनुमोदन जितेको, र आफू कम्पनीको संवर्धनको मुख्य पात्र बनेको कुरा सोचेँ। यदि हाकिमले मैले निरन्तर बिदा लिइरहेको देखिन् भने, के उनले समय बित्दै जाँदा मलाई मन नपराउलिन्, र मलाई संवर्धन गर्नमा ध्यान दिन छोड्लिन्? म भेलाहरूमा सहभागी हुन बारम्बार बिदा लिएकोमा पछुताउन थालेँ, र म अबदेखि काममा बाधा पुगेन भने कहिलेकाहीँ मात्र केही भेलामा सहभागी हुनेछु भन्ने निर्णय गरेँ। तर त्यसपछि मैले मेरा ब्रदर-सिस्टरहरूसँग भेला भई परमेश्वरका वचनहरूबारे सङ्गति गर्दा मेरो हृदयले कसरी स्वतन्त्र र दबाबमुक्त महसुस गर्छ भन्नेबारे सोचेँ, त्यसैले म आफ्नो हृदयमा अझै पनि भेलाहरूमा सहभागी हुन चाहन्थेँ। हरेक पटक भेला र काम बाझिँदा, मेरो हृदय दुई फरक दिशामा च्यातिइरहेको जस्तो महसुस हुन्थ्यो।
अक्टोबर २०२१ मा, मेरो काममा व्यस्तता झन्-झन् बढ्दै गयो। म विशेषगरी व्यस्त सिजनमा पूरै एक महिनासम्म भेलामा गइनँ। त्यतिबेला, मलाई केही आत्म-ग्लानि महसुस भयो, तर कम्पनीमा यति धेरै व्यस्तता रहेको देख्दा मैले बिदा लिने आँट गरिनँ। हरेक मेकअप आर्टिस्टलाई कम्पनीले पहिले नै ग्राहकहरू तोकिदिएको हुन्थ्यो, त्यसैले मेरो कामको जिम्मा लिइदिने मान्छे खोज्न पूरै असम्भव थियो। कतिपय ग्राहक अन्य क्षेत्रबाट विशेष रूपमा आएका हुन्थे, त्यसैले म उनीहरूलाई बिलकुलै फर्काउन सक्दिनथेँ। यदि मैले यस समयमा बिदा मागेँ भने, मेरी हाकिम पक्कै पनि बेखुस हुने थिइन्। यदि हाकिम मदेखि असन्तुष्ट भइन् भने, उनले मलाई कामबाट निकाल्न सक्थिन्। धेरै सोचविचार गरेपछि, मैले अन्ततः काम नै बढी महत्त्वपूर्ण छ भन्ने निर्णय गरेँ। त्यतिबेला म यति व्यस्त भएँ कि मैले पूरै एक महिनासम्म राम्ररी आराम गर्न पाइनँ। काम सकेर थोरै समय पाउँदा, मेरी आमा मलाई परमेश्वरका वचनहरू पढेर सुनाउनुहुन्थ्यो। तर मा आफ्नो मन शान्त पार्न सक्दिनथेँ, र दुई-चार वाक्य नसुन्दै म निदाउन पुग्थेँ। कामको दबाब कम गर्नका लागि, कहिलेकाहीँ म साथीहरूसँग खान, पिउन, रमाइलो गर्न बाहिर जान्थेँ, अनि आफूलाई भावशून्य पार्न भिडियो र टिभी सिरियलहरू हेर्थेँ। त्यस समयमा केही क्षणिक खुसी महसुस गरे तापनि, यथार्थमा फर्केर आफ्ना सबै समस्या सामना गरेपछि, मेरो हृदय अझै पनि अत्यन्तै दबाबमा हुन्थ्यो, र म शारीरिक र मानसिक दुवै रूपमा लखतरान महसुस गर्थेँ। त्यसपछि, म कामको चाप कम भएको बेला मात्र भेलाहरूमा जान्थेँ।
एउटी सिस्टरले मेरो स्थितिबारे थाहा पाएपछि मैले पढ्नका लागि परमेश्वरका वचनहरूको एउटा खण्ड खोजिदिइन्। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका कपटी मनसायहरू अत्यन्तै घृणापूर्ण छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने शैतान मानिसहरूलाई बाँध्न र उनीहरूलाई परमेश्वरबाट अलग राख्न ख्याति र प्राप्ति प्रयोग गर्छ। मैले आफ्नो बाल्यकालको पारिवारिक गरिबी र वरपरका मानिसहरूले मलाई तुच्छ ठान्ने कुराबारे सोचेँ। मैले सबैले मलाई नव-सम्मानको नजरले हेरून् भनेर ठूला कामहरू गर्ने र अरूभन्दा विशिष्ट बन्ने लक्ष्य राखेकी थिएँ। मेरी आमाले प्रायः मलाई परमेश्वरमा विश्वास गर्नेबारे बताउनुभए तापनि, मैले त्यसलाई कहिल्यै गम्भीरतापूर्वक लिइनँ। मलाई लाग्थ्यो, म जवान छु, र मेरो करियरमा कडा मिहिनेत गर्ने समय यही हो। मेकअप आर्टिस्ट बनेपछि, म कसरी आफ्नो सीप र कार्यसम्पादन सुधार्ने भनेर सोच्दै दिमाग खियाउँथेँ, र काममा आफ्नो कार्यसम्पादन सुधार्नका लागि प्रायः ग्राहकहरूलाई खुसी पार्न चापलुसी गर्थेँ। आफ्नो काम राम्ररी गर्न र अझ धेरै मानिसबाट सम्मान जित्नका लागि, म सधैँ कम्पनीबाट निस्कने अन्तिम व्यक्ति हुन्थेँ, र काम सकिएपछि पनि, आफ्नो बचेको थोरै समयमा, आफ्नो प्रचार गर्न ग्राहकहरूका लागि फोटो र भिडिओ सम्पादन गर्न मद्दत गर्थेँ। कहिलेकाहीँ त म आफूले गर्नुपर्ने कामसम्बन्धी कुराहरूबारे सपना पनि देख्थेँ। मेरो हृदय लामो समयदेखि ख्याति र प्राप्तिले कसिलोगरी बाँधिएको थियो। काम र भेलाहरू एक-आपसमा बाझिँदा, म धेरै बिदा लिँदा मेरी हाकिम असन्तुष्ट होलिन् र मेरो भविष्यको करियर विकासमा असर पर्ला भनेर चिन्तित हुन्थेँ, त्यसैले म पूरै एक महिनासम्म भेलाहरूमा गइनँ वा परमेश्वरका वचनहरू पढिनँ। म शारीरिक र मानसिक रूपमा लखतरान हुन्थेँ, र इन्टरनेटमा टिभी सिरियल र भिडियोहरू हेरेर आफ्नो तनाव कम गर्ने प्रयास गर्थेँ। यसले गर्दा मेरो हृदय परमेश्वरबाट झन्-झन् टाढा हुँदै गयो। मेरो हृदयले झन् खाली र अझ बढी व्यथित महसुस गर्यो। मैले शैतान मलाई नियन्त्रण गर्न ख्याति र प्राप्ति प्रयोग गरिरहेको छ भन्ने बुझेँ। यसले मलाई मेरो सम्पूर्ण हृदय काममा लगाउन लगाइरहेको थियो, मलाई भेलाहरूमा जान वा मेआफ्नो कर्तव्य निर्वाह गर्नबाट रोकिरहेको, र बिस्तारै मलाई परमेश्वरबाट अलग बनाइरहेको, परमेश्वरलाई धोका दिन लगाइरहेको, र मेरो मुक्ति पाउने मौका गुमाउन लगाइरहेको थियो। मैले शैतानको षड्यन्त्र प्रस्टसँग बुझ्नुपर्थ्यो र सकेसम्म भेलाहरूमा सहभागी हुनुपर्थ्यो। त्यसैले मैले परमेश्वरलाई मलाई मद्दत गर्नुहोस् भनी प्रार्थना गरेँ।
कामको चाप कम भएको बेला, म भेलाहरूमा जान सक्ने गरी आफ्नो कामको तालमेल मिलाउन सक्थेँ, तर कामको चाप बढी भएर व्यस्त हुने समयमा, मैले बारम्बार बिदा माग्नुपर्थ्यो, जसले मेरी हाकिमलाई बेखुस बनाउँथ्यो। मलाई बिदा लिन निरन्तर विभिन्न बहाना खोज्नु समाधान नभएजस्तो लाग्यो, तर यदि मैले जागिर परिवर्तन गरेँ भने, मैले अरूभन्दा विशिष्ट बन्ने आफ्नो सपना साकार पार्ने मौका गुमाउने थिएँ। जागिर छोड्ने कुरा सोच्नेबित्तिकै, मेरो मन मान्दैनथ्यो। तर यदि म यसरी नै चलिरहन्थेँ भने, म परमेश्वरबाट झन्-झन् टाढा हुँदै जाने थिएँ, र अन्ततः आफ्नो मुक्ति पाउने मौका गुमाउने थिएँ। हरेक दिन, मेरो हृदय दुई टुक्रामा च्यातिइरहेको जस्तो महसुस हुन्थ्यो। म व्यथित र पीडित थिएँ, र कसरी छनौट गर्ने भनी जान्दिनथेँ। मेरी आमाले मेरो स्थितिबारे थाहा पाएपछि, उहाँले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पढेर सुनाउनुभयो: “यदि तिमीहरू सत्यता र जीवन प्राप्त गर्न चाहन्छौ भने, तिमीहरूले परमेश्वरको वचनको जग बसाल्नुपर्छ। यसले तिमीहरूलाई सत्यता खोजी गर्ने मार्गमा अगाडि बढ्न मदत दिनेछ, यो नै जीवनको लक्ष्य र दिशा हो। यदि तैँले उहाँको वचन र सत्यतालाई तेरो हृदयमा जग बसाल्न दिन्छस् भने मात्र तँ साँच्चिकै परमेश्वरका चुनिएका र पूर्वनिर्धारित गरिएका व्यक्तिहरूमध्येको एक होस्। अहिले तिमीहरूका जगहरू अझ पनि अस्थिर नै छन्। ठूलो विपत्ति वा जाँचको त कुरै छोडौँ, यदि शैतानको सानो परीक्षा पनि तिमीहरूमाथि आइलाग्यो भने, तिमीहरू थर्कन र ढल्न सक्छौ। यो जगको कमी हो, जुन एकदमै खतरनाक छ! सतावट र प्रतिकूलता आइपर्दा धेरै मानिसहरूले ठेस खान्छन् र परमेश्वरलाई धोका दिन्छन्। केही हैसियत प्राप्त गरिसकेपछि केही मानिसहरूले लापरवाही गर्न थाल्छन् र त्यसपछि तिनीहरूलाई खुलासा गरेर हटाइन्छ। तिमीहरू सबैले यी कुराहरू एकदमै स्पष्टसँग देख्न सक्छौ। यसैले तिमीहरूले पहिले जीवनमा पछ्याउनुपर्ने दिशा र लक्ष्यका साथै तिमीहरूले हिँड्नुपर्ने बाटो निर्धारण गर्नुपर्छ र त्यसपछि उक्त लक्ष्यको निम्ति आफ्नो मनलाई शान्त पार्ने र कडा परिश्रम गर्ने, आफूलाई समर्पित गर्ने, र मूल्य चुकाउने कार्य गर्नुपर्छ। अहिलेलाई अन्य मामिलाहरू पन्छाइदे—यदि तैँले ती कुराहरू निरन्तर विचार गर्छस् भने, यसले तेरो कर्तव्य निर्वाहलाई प्रभावित पार्नेछ र यसले तेरो सत्यता पछ्याइ र तेरो मुक्तिको महत्त्वपूर्ण विषयलाई प्रभावित पार्नेछ। यदि तैँले काम खोज्ने, धेरै पैसा कमाउने, धनी बन्ने र समाजमा आफ्नो दह्रिलो पकड स्थापित गर्ने अनि आफ्नो स्थान खोज्नेबारेमा सोच्नुपर्छ भने, यदि तैँले विवाह र जोडी खोज्ने अनि परिवारलाई भरणपोषण गर्ने र राम्रो जीवन प्रदान गर्नेबारेमा सोच्नुपर्छ भने, अनि यदि तँ केही नयाँ सिपहरू सिक्न, अरू मानिसहरूभन्दा उत्कृष्ट र राम्रो बन्न पनि चाहन्छस् भने—के यी सबै कुराहरूको बारेमा सोच्नु थकाइलाग्दो हुन्न र? तेरो दिमागमा कति कुराहरू अट्न सक्छन्? कुनै एक व्यक्तिको जीवनकालमा कति ऊर्जा हुन्छ? एउटा व्यक्तिसँग राम्रा वर्षहरू कति हुन्छन्? यस जीवनमा बिस वर्षदेखि चालिस वर्षसम्मको उमेरमा मानिसहरूसँग सबैभन्दा धेरै ऊर्जा हुन्छ। यस अवधिमा, परमेश्वरका विश्वासीहरूले बुझ्न आवश्यक कुराहरूमा तिमीहरू निपुण हुनुपर्छ, अनि सत्यता वास्तविकतामा प्रवेश गर्नुपर्छ र परमेश्वरको न्याय र सजायका साथै उहाँका शोधन र जाँचहरू स्वीकार गर्नुपर्छ, र जस्तोसुकै परिस्थितिमा पनि तिमीहरू परमेश्वरलाई इन्कार गर्दै नगर्ने बिन्दुमा पुग्नुपर्छ। यो सबैभन्दा आधारभूत कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो)। मेरी आमाले मसँग सङ्गति गर्नुभयो, “परमेश्वर हाम्रो जीवन मूल्यवान् र अर्थपूर्ण होस् भन्ने चाहनुहुन्छ। तँ जवान छेस् र ऊर्जाले भरिएकी छेस्, तर म तँलाई परिवार पाल्ने व्यक्तिका रूपमा हेर्दिनँ। म त केवल तँ उचित रूपमा परमेश्वरमा विश्वास गर्नेछेस् र आफ्नो सर्वोत्तम समय परमेश्वरमा विश्वास गर्न र सत्यता पछ्याउनमा लगाउनेछेस् भन्ने आशा गर्छु। तेरो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्! परमेश्वरमाथिको विश्वासबाहेक अरू सबै कुरा खोक्रा हुन्छन्। यदि तँ मलाई पत्याउँदिनस् भने, आफैँले प्रयास गरेर हेर्: यदि तैँले आफ्नो सम्पूर्ण ऊर्जा आफ्नो काममा लगाइस् भने पनि, तैँले सफलता र ख्याति प्राप्त गर्ने दिन आएपछि, तँ खुसी हुनेछैनस्। आजकल, धनी र प्रख्यात मानिसहरू धेरै छन्, तर के तिनीहरू साँच्चै खुसी छन् त? मानिसका चाहनाहरू कहिल्यै पूरा हुन सक्दैनन्। परमेश्वरका वचनहरूले मात्र मानिसहरूलाई बाटो देखाउन र तिनीहरूको जीवन हरेक दिन निश्चिन्त र खुसी बनाउन सक्छन्।” मैले मनमनै सोचेँ, “मानिसका चाहनाहरू वास्तवमै अनन्त छन्। यो मैले भर्खरै काम सुरु गर्दाको समय जस्तै हो। मसँग अनुभव थिएन, मेरो तलब कम थियो, र मलाई महत्त्व दिइँदैनथ्यो। तर निरन्तरको प्रयासपछि, म अन्ततः आफ्नो विभागको आधारशिला बनेँ। मैले सबैबाट सम्मान पाएँ, र मेरो पारिश्रमिक पनि राम्रो हुँदै गयो, तैपनि म सन्तुष्ट थिइनँ। मैले कसरी आफ्ना सीपहरू सुधार्ने र सम्पर्कहरू बटुल्ने भनेर निरन्तर योजना बनाइरहेँ ताकि मेरो आफ्नै करियर होस् र मैले अझ धेरै मानिसको सम्मान पाउन सकूँ। मैले निरन्तर आफ्नो समय र प्रयास ख्याति र प्राप्तिका लागि खर्च गरेँ। तर यी कुराहरू प्राप्त गरिसकेपछि पनि, म अझै धेरै चाहन्थेँ, र मेरा चाहनाहरू बढ्दै मात्र गए। परिणामस्वरूप, यी कुराहरू प्राप्त गर्दा मलाई खुसी त मिलेन नै, बरु तिनले मलाई झन् धेरै पीडा दिए।” मैले अझै केही बेर सोचेँ र के महसुस गरेँ भने, परमेश्वरका वचनहरू पढेपछि र थोरै सत्यता बुझेपछि मेरो हृदयमा हुने सहजता र शान्तिको भावना कुनै पनि मात्राको पैसा, ख्याति वा प्राप्तिले किन्न सकिँदैन। आफ्ना कर्तव्य निर्वाह गरेर मात्र हामी परमेश्वरका वचनहरू अनुभव गर्ने थप अवसरहरू पाउन सक्छौँ, र निरन्तर परमेश्वरसामु आएर, परमेश्वरका वचनहरू खाने-पिउने गरेर, अनि हाम्रो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरलाई प्रार्थना गरेर मात्र हाम्रो जीवनवृद्धि झनै द्रुत हुनेछ। म सँगसँगै परमेश्वरमा विश्वास गर्न थालेका मेरी सिस्टरहरू सबै जना अहिले कर्तव्य निर्वाह गरिरहेका थिए, र तिनीहरूको जीवनवृद्धि निकै द्रुत थियो। तिनीहरूले सत्यता पनि झन्-झन् स्पष्ट रूपमा बुझ्दै थिए। तर आफूलाई हेर्दा भने, मैले आफू हरेक दिन काममा व्यस्त भएको देखेँ। म भेलाहरूमा जाँदिनथेँ, परमेश्वरका वचनहरू पढ्दिनथेँ, वा आफ्ना कर्तव्यहरू निर्वाह गर्दिनथेँ। म र अविश्वासीहरूबीच खासै फरक थिएन। यदि म यसरी नै चलिरहन्थेँ भने, कहिल्यै सत्यता प्राप्त गर्ने थिइनँ! एक जना मानिसमा कति नै ऊर्जा हुन सक्छ र? यदि उसलाई एउटा कुरा चाहिएको छ, तर ऊ अर्को कुरा त्याग्न इच्छुक छैन भने, यो त दुईओटा डुङ्गामा एकैचोटि खुट्टा राख्न खोजे जस्तै हो; अन्ततः ऊ पानीमा डुब्नेछ। मैले सही छनौट गर्न नसकेमा आफ्नो मुक्ति पाउने मौका वास्तवमै गुमाउने थिएँ।
मैले केही समयसम्म आफ्नो हृदयमा आफैसँगै सङ्घर्ष गरेपछि कम्पनीमा आफ्नो राजीनामा बुझाएँ। मैले धेरै पटक राजीनामा बुझाएँ तर हरेक पटक त्यो अस्वीकृत भयो। हाकिमले मसँग धेरै पटक कुरा गरिन्, “कम्पनी तपाईँ जस्तो उत्कृष्ट कर्मचारी गुमाउन चाहँदैन। यदि तपाईँका मागहरू छन् भने, कृपया बताउनुहोस्, र हामी तपाईँलाई सन्तुष्ट पार्न सक्दो प्रयास गर्नेछौँ। अहिलेसम्म टिकिरहन पक्कै गाह्रो भयो होला।” उनले मेरो तलब बढाइदिने, मलाई प्राविधिक निर्देशकमा बढुवा गर्ने, र मेरो सुरुको तलबमाथि १,००० युआन भत्ता पनि दिने भनेर पनि भनिन्। मैले अस्वीकार गरे तापनि, मेरो हृदयलाई त्यो कुरा त्याग्न गाह्रो भइरहेको थियो। त्यहीँ बसेर काम गरिरहेमा, मैले बढी तलब पाउने मात्र होइन, म प्राविधिक निर्देशकमा बढुवा पनि हुने थिएँ। के म त्यसपछि अरूभन्दा विशिष्ट बन्ने आफ्नो सपनाको झन् नजिक पुग्ने थिइनँ र? यसले गर्दा सुरुदेखि नै त्यति दृढ नरहेको मेरो सङ्कल्प डगमगाउन थाल्यो। यस अवधिमा, मेरा सहकर्मीहरू पनि प्रायः यसो भन्थे, “तपाईँ यति लामो समयदेखि यो काम गरिरहनुभएको छ; तपाईँ किन छोड्न चाहनुहुन्छ? म तपाईँको ठाउँमा भएकी भए जेसुकै भए पनि छोड्ने थिइनँ। कम्पनी तपाईँलाई एकदमै महत्त्व दिन्छ, र तपाईँलाई मन पराउने निकै धेरै ग्राहक छन्। तपाईँ यी सबै कुरा यत्तिकै कसरी छोड्न सक्नुहुन्छ?” यो सुन्दा, मेरो हृदय हिचकिचाउन र डगमगाउन थाल्यो। म त्यहीँ रहेर कामलाई निरन्तरता दिन चाहन्थेँ, तर त्यसपछि मैले सोचेँ, त्यो जीवन रोज्नुको अर्थ भेला हुने वा मेरो कर्तव्य निर्वाह गर्ने कुनै पनि अवसर नहुनु हो। मैले आफ्ना ब्रदर-सिस्टरहरूसँगका भेलाहरूबारे सोचेँ। सबै जना आफ्नो हृदय खोलेर सङ्गति गर्थे, चाहे उनीहरू पीडा, दुःख वा हर्ष नै महसुस गरिरहेका किन नहोऊन्। आत्माको त्यस्तो प्रकारको स्वतन्त्रता परमेश्वरको घरमा मात्र पाउन सकिन्छ!
पछि, एउटी सिस्टर मसँग कुरा गर्न आइन्, र हामीले सँगै परमेश्वरका वचनहरूको एउटा खण्ड पढ्यौँ। “परमेश्वर हरेक व्यक्तिका लागि उसको जन्मदेखि हालसम्मका दशकहरूमा केवल मूल्य चुकाउनुहुन्न। परमेश्वरको नजरमा, तँ यस संसारमा अनगिन्तीपटक आएको छस्, र तेरो अनगिन्तीपटक पुनर्जन्म भएको छ। यसको जिम्मेवार को हो? परमेश्वर यसको जिम्मेवार हुनुहुन्छ। तँसँग यी कुराहरू जान्ने कुनै उपाय छैन। हरेकपटक तँ यस संसारमा आउँदा, परमेश्वर व्यक्तिगत रूपमा तेरा लागि प्रबन्धहरू गर्नुहुन्छ: उहाँले तँ कति वर्ष जिउनेछस्, तँ कस्तो प्रकारको परिवारमा जन्मिनेछस्, तैँले कहिले घर बसाल्छस् र करियर बनाउनेछस्, साथै तैँले यस संसारमा के गर्नेछस् र कसरी जीविकोपार्जन गर्नेछस् भनी प्रबन्ध गर्नुहुन्छ। परमेश्वर तेरा लागि जीविकोपार्जन गर्ने एउटा तरिका प्रबन्ध गर्नुहुन्छ, ताकि तैँले यस जीवनमा आफ्नो मिसन सहज रूपमा पूरा गर्न सकेस्। अनि तैँले तेरो अर्को पुनर्जन्ममा के गर्नुपर्छ भन्ने सन्दर्भमा, परमेश्वर तेरा लागि त्यो जीवन प्रबन्ध गर्नुहुन्छ र तैँले जे पाउनुपर्छ र तँलाई जे दिइनुपर्छ सोअनुसार त्यो बनाउनुहुन्छ…। परमेश्वरले तेरा लागि यी प्रबन्धहरू धेरैपटक गर्नुभएको छ, र, अन्त्यमा, तँ आखिरी दिनहरूको युगमा, तेरो वर्तमान परिवारमा जन्मिस्। परमेश्वरले तेरा लागि उहाँमा विश्वास गर्न एउटा वातावरण प्रबन्ध गर्नुभयो, उहाँले तँलाई उहाँको आवाज सुन्न र उहाँसामु फर्कन दिनुभयो, ताकि तैँले उहाँलाई पछ्याउन र उहाँको घरमा कर्तव्य निर्वाह गर्न सकेस्। परमेश्वरबाटको यस्तो मार्गदर्शनले मात्रै तँ आजसम्म जिएको छस्। तँलाई तँ यस संसारमा कतिपटक आएको छस् भनेर थाहा छैन, न त तेरो रूप कतिपटक परिवर्तन भएको छ, तँ कति परिवारहरूबाट गुज्रेको छस्, तँ कति युग र वंशहरूमा जिएको छस् भनेर नै थाहा छ—तर परमेश्वरको हातले तँलाई सारा समय सम्हालिरहेको छ, र उहाँले तँलाई सधैँ हेरचाह गरिरहनुभएको छ। परमेश्वर एउटा व्यक्तिमा कति धेरै मेहनत खर्चनुहुन्छ! कतिपय मानिस भन्छन्, ‘म साठी वर्ष पुगेँ। साठी वर्षदेखि परमेश्वरले मलाई हेरचाह गरिरहनुभएको छ, सुरक्षा गरिरहनुभएको छ, र मार्गदर्शन गरिरहनुभएको छ। म बूढो भएपछि यदि मैले कर्तव्य निर्वाह गर्न सकिनँ र केही पनि गर्न सकिनँ भने—के परमेश्वरले अझै पनि मेरो वास्ता गर्नुहुनेछ?’ के यो भन्नु मूर्ख कुरा होइन र? परमेश्वर एक जीवनकालका लागि मात्र कुनै व्यक्तिको हेरचाह र सुरक्षा गर्नुहुन्न र उसको भवितव्यमाथि सार्वभौमिकता राख्नुहुन्न। यदि यो एउटै जीवनकाल, एउटै जीवन-समयका लागि भएको भए, त्यसले परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ र सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ भनी देखाउन सक्दैनथ्यो। कसैका लागि मेहनत खर्चँदा र मूल्य चुकाउँदा, परमेश्वरले तिनीहरूले यस जीवनमा के गर्नेछन् भनेर मात्रै प्रबन्ध गरिरहनुभएको हुँदैन—उहाँले तिनीहरूका लागि अनगिन्ती जीवनकालहरू प्रबन्ध गरिरहनुभएको हुन्छ। परमेश्वर पुनर्जन्म हुने हरेक आत्माका लागि पूर्ण जिम्मेवारी लिनुहुन्छ। उहाँ आफ्नो हृदयले काम गर्नुहुन्छ, आफ्नो जीवनको मूल्य चुकाउनुहुन्छ, हरेक व्यक्तिलाई मार्गदर्शन गर्नुहुन्छ र तिनीहरूको प्रत्येक जीवनको प्रबन्ध गर्नुहुन्छ। परमेश्वर मानिसका खातिर यस्तो मेहनत खर्चनुहुन्छ र यस्तो मूल्य चुकाउनुहुन्छ, र मानिसलाई यी सबै सत्यता र यो जीवन प्रदान गर्नुहुन्छ भन्ने कुरालाई विचार गर्दा, यदि मानिसहरू यी आखिरी दिनहरूमा सृजित प्राणीहरूको कर्तव्य निर्वाह गर्दैनन् र सृष्टिकर्तासामु फर्कँदैनन् भने—तिनीहरू जतिसुकै जीवन र पुस्ताहरूबाट गुज्रेर जिएका भए पनि, यदि तिनीहरू अन्ततः आफ्ना कर्तव्यहरू पूरा गर्न र परमेश्वरका मागहरू पूरा गर्न असफल हुन्छन् भने—के परमेश्वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै ठूलो हुनेछैन र? के तिनीहरू परमेश्वरले चुकाएका सबै मूल्यहरूको अयोग्य हुनेछैनन् र? तिनीहरूमा विवेकको एकदमै कमी हुनेछ, तिनीहरू मानिस कहलाइन योग्य हुनेछैनन्, किनभने परमेश्वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै ठूलो हुनेछ। त्यसकारण, यस जीवनमा—तेरा विगतका जीवनहरूको कुरा नगरी, केवल यही जीवनको कुरा गर्दा—यदि तँ आफ्नो मिशनका लागि बाहिरी कुराहरू, जस्तै तैँले प्रेम गर्ने भौतिक सुखहरू र घरेलु आनन्द त्याग्न सक्दैनस्, र तँ परमेश्वरले तेरा लागि चुकाउने मूल्यहरूका खातिर वा परमेश्वरको प्रेमको ऋण चुकाउन देहसुखहरू त्याग्दैनस् भने, तँ पूर्ण रूपमा अनैतिक होस्! वास्तवमा, तैँले परमेश्वरका लागि चुकाउने कुनै पनि मूल्य त्यसको लायक छ। परमेश्वरले तेरा लागि चुकाउने मूल्यको तुलनामा, तैँले चढाउने वा समर्पित गर्ने सानो मात्रा के हो र? तैँले भोग्ने थोरै कष्ट के हो र? के तँलाई थाहा छ परमेश्वरले कति कष्ट भोग्नुभएको छ? परमेश्वरले भोगेको कष्टसँग तुलना गर्दा तैँले भोग्ने थोरै कष्ट उल्लेख गर्न पनि लायक छैन। यसबाहेक, अहिले तैँले आफ्नो कर्तव्य निर्वाह गरेर, सत्यता र जीवन प्राप्त गरिरहेको छस्, र अन्त्यमा, तँ बच्नेछस् र परमेश्वरको राज्यमा प्रवेश गर्नेछस्। त्यो कति ठूलो आशिष् हो!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो)। परमेश्वरका वचनहरू पढेपछि मैले के महसुस गरेँ भने, परमेश्वरले आफूद्वारा चुनिएका र पूर्वनियोजन गरिएका हरेक व्यक्तिका लागि ठूलो मूल्य चुकाउनुभएको छ, उनीहरू विभिन्न दुष्ट प्रचलनको फन्दामा नपरून् भनेर उनीहरूको सुरक्षा सुनिश्चित गर्नुभएको छ र उनीहरूलाई जोगाउनुभएको छ। यदि हामी आफ्नो जीवनकालमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनौँ भने, हामी वास्तवमै परमेश्वरप्रति ऋणी हुन्छौँ! परमेश्वरले मेरो लागि आफ्नो रगत-पसिना बगाउनुभएको छ। सानै छँदादेखि नै, मैले मेरी आमाले परमेश्वरमाथिको विश्वासबारे कुरा गर्नुभएको सुनेँ। परमेश्वरले मेरो लागि यो परिवारको बन्दोबस्त गरिदिनुभयो र सधैँ मेरो हेरविचार र रक्षा गर्नुभयो। जब म पैसा, ख्याति र प्राप्तिमा डुबेँ र आफूलाई बाहिर निकाल्न नसकी पीडा भगिरहेकी र असहाय महसुस गरिरहेकी थिएँ, तब मलाई परमेश्वरकै हातले बचाए, अनि मलाई परमेश्वरसामु ल्याउन मेरा ब्रदर-सिस्टरहरूलाई प्रयोग गरे। भेलाहरूमा गएर र परमेश्वरका वचनहरू पढेर, मैले विभिन्न समस्या सामना गर्दा ती कुराहरू परमेश्वरबाट आएका हुन् भनेर स्वीकार गर्न सिकेँ, र पहिले जस्तो आफ्नो नियतिप्रति असन्तुष्ट हुन छाडेँ। म अति धेरै निश्चिन्त र स्वतन्त्र रूपमा जिएँ। जब म सामान्य रूपमा भेलाहरूमा सहभागी हुन सक्दिनथेँ, तब जतिसुकै ढिलो भए पनि, सिस्टर पटक-पटक मेरो काम सकिने बेलासम्म पर्खिन्थिन् र मसँग परमेश्वरका अभिप्रायहरूबारे सङ्गति गर्थिन्। कहिलेकाहीँ त उनी मसँग परमेश्वरका वचनहरू सङ्गति गर्न चिठीहरू समेत लेख्थिन्। के यो सबै परमेश्वरद्वारा नै शासित र प्रबन्धित थिएन र? परमेश्वर मैले ख्याति र प्राप्ति पछ्याउँदै गर्दा आफैँलाई गुमाएको, र अन्ततः शैतानद्वारा निलिएको देख्न सक्नुहुन्नथ्यो। उहाँले पटक-पटक मलाई सहायता र मद्दत गर्न मानिस, घटना र कामकुराहरू खडा गर्नुभयो, र म फर्किन्छु भनेर चुपचाप पर्खनुभयो। यदि मैले अझै पनि परमेश्वरको प्रेम चुक्ता नगरेमा, ममा मानवताको निकै कमी हुने थियो। परमेश्वरको काम अब छिट्टै सकिँदैछ, र हामी प्रकोपहरू झन्-झन् खराब हुँदै गएको देख्न सक्छौँ। यदि मैले जिद्दी गर्दै होसमा आउन इन्कार गरिरहेकी भए, मैले जतिसुकै कमाए पनि त्यो पैसाको के काम हुन्थ्यो र? के त्यसले मेरो जीवन बचाउन सक्थ्यो? अरू मानिसहरूको नजरमा म एउटी शक्तिशाली स्त्री बने तापनि, त्यसको के अर्थ हुन्थ्यो र? के त्यसले मलाई मुक्ति दिन सक्थ्यो? मैले प्रभु येशूले भन्नुभएको एउटा कुरा सम्झिएँ: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)। मैले आफ्नो काममा सम्पूर्ण ऊर्जा लगाएका ती वर्षहरूलाई फर्केर हेर्दा, मैले आफ्नो कर्तव्य निर्वाह गर्ने र सत्यता प्राप्त गर्ने धेरै अवसर गुमाएकी थिएँ। अहिले, परमेश्वरका वचनहरू पढेर, मैले मानिसहरूलाई मुक्ति दिने परमेश्वरका श्रमसाध्य अभिप्रायहरू बुझेँ। आफ्नो कर्तव्य निर्वाह गरेर र शैतानले ममाथि लादेको बन्धन र सास्तीलाई पूर्ण रूपमा फालेर मात्र, मैले मुक्ति पाउने र बाँच्ने अवसर पाउन सक्थेँ। त्यसपछि, मैले राजीनामाको विषयलाई लिएर हरेक दिन परमेश्वरलाई प्रार्थना गरेँ, उहाँसँग मेरो हृदयको रक्षा गर्न र यसलाई डगमगाउन नदिन बिन्ती गरेँ।
पछि, मैले फेरि राजीनामा बुझाएँ, र हाकिमले भनिन्, “के तपाईँले साँच्चै मन बनाइसक्नुभएको हो? हामी अर्को स्टुडियो खोल्ने तयारी गर्दैछौँ, र त्यसमा हाम्रा सबैभन्दा उत्कृष्ट कर्मचारीहरूले काम गरून् भन्ने चाहन्छौँ। हामीले सबैभन्दा पहिले तपाईँलाई नै सम्झ्यौँ। अरू कोही भएको भए, हाम्रो मन ढुक्क हुने थिएन। तपाईँ कम्पनीमा धेरै वर्षदेखि हुनुहुन्छ, र नयाँ स्टुडियोमा शेयर पाउन योग्य हुनुहुन्छ। यति सानै उमेरमा आफ्नै केही कुरा हुनु भविष्यका लागि कति राम्रो होला भनेर सोच्नुहोस् त। तपाईँ किन पुनर्विचार गर्नुहुन्न? मुख्य कुरा त हामी यति धेरै वर्षदेखि सँगै रहेका छौँ, र अब त हाम्रो भावनात्मक सम्बन्ध नै जोडिसक्यो।” यसो भन्दै गर्दा, उनी सुकसुकाउँदै रुन थालिन्। उनले प्रस्ताव गरेका सर्तहरू ठ्याक्कै मैले यतिन्जेल खोजिरहेका कुरा नै थिए, र मसँग भएको पैसा लगानीका लागि ठ्याक्कै चाहिएकै परिमाणमा थियो। म अझै केही समयसम्म लागिरहेकी भए, मैले सफलता र ख्याति प्राप्त गर्ने थिएँ, र अझ धेरै मानिसहरूले मेरो ईर्ष्या गर्ने थिए। म आफ्ना नातेदार र साथीभाइहरूको अगाडि म कति राम्रो देखिनेथिएँ! मनमा आफ्नो सुन्दर भविष्यबारे कल्पना गरिरहेकै बेला, मैले मेरा विचारहरू परमेश्वरको अभिप्रायअनुरूप छैनन् भन्ने महसुस गरेँ। मैले हतार-हतार मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्वर, मलाई थाहा छ यो ममाथि आएको अर्को परीक्षा हो। शैतान मेरो हृदयलाई बाधा पुर्याउन र मलाई ख्याति, प्राप्ति र प्रतिष्ठा पछ्याउन लगाउन फेरि हाकिमले भनेका कुराहरू प्रयोग गरिरहेको छ। तर यस पटक, जेसुकै भए पनि, म सधैँका लागि शैतानसँगको सम्बन्ध तोड्नेछु, र तपाईँको हृदयलाई सान्त्वना दिन आफ्नो गवाहीमा दृढ रहनेछु।” प्रार्थना गर्ने क्रममा, मैले पहिले पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्न लक्ष्यहरू र तिनीहरूका विभिन्न जिउने तरिकाहरूलाई बारम्बार अनुसन्धान र होसियारीपूर्वक चिरफार गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले राख्नुभएको प्रारम्भिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई चरित्रभ्रष्ट तुल्याउने र नरकतर्फ डोर्याउने पासो हुन्। यो कुरा बुझेपछि, तैँले जीवनसम्बन्धी आफ्नो पुरानो दृष्टिकोणलाई छोड्नुपर्छ, विभिन्न पासोहरूबाट टाढा बस्नुपर्छ, र परमेश्वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरा लागि प्रबन्धहरू गर्न दिनुपर्छ, कुनै पनि व्यक्तिगत छनौट नगरी परमेश्वरका योजनाबद्ध कार्यहरू र मार्गदर्शनमा मात्रै समर्पित हुन खोज्नुपर्छ, र परमेश्वरलाई आराधना गर्ने व्यक्ति बन्नुपर्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। शैतान मानिसहरूलाई निष्क्रिय बनाउन सबै प्रकारका सोच र विचारहरू प्रयोग गर्छ, उनीहरूलाई ख्याति, प्राप्ति र प्रतिष्ठा पछ्याउन लगाउन परीक्षामा पार्छ, र उनीहरूलाई भित्रैसम्म फसाउँछ, ताकि उनीहरूले परमेश्वरलाई इन्कार गरून्, परमेश्वरलाई धोका दिऊन्, र मुक्ति पाउने कुनै पनि मौका गुमाऊन्। यी शैतानका दुष्ट मनसायहरू हुन्। के अहिले हाकिमले मलाई आकर्षित गर्न राखेका यी सर्तहरू मलाई लोभ्याएर पतनको बाटोमा डोर्याउने पासो थिएनन् र? म अब कसरी जिद्दी गर्दै होसमा आउन इन्कार गरिरहन सक्थेँ र? परमेश्वर हामी उहाँको सार्वभौमिकतामा समर्पित होऔँ, र सृजित प्राणीका कर्तव्यहरू निर्वाह गरौँ भन्ने चाहनुहुन्छ। यसरी मात्र हामी सत्यता बुझ्न, मानव रूपमा जिउन, र अन्ततः परमेश्वरको मुक्ति पाउन सक्छौँ। त्यसैले मैले दृढतापूर्वक मेरी हाकिमलाई भनेँ, “सबै मानिसका आ-आफ्नै महत्त्वाकाङ्क्षाहरू हुन्छन्, र म नयाँ वातावरण चाहन्छु।” मेरी हाकिम सहमत भइन्। कम्पनी छोडेपछि, मैले आफ्नो हृदयमा धेरै निश्चिन्त महसुस गरेँ। त्यसपछि, मैले मेरा ब्रदर-सिस्टरहरूले जस्तै सही रूपले सत्यता पछ्याउन सकेँ।
यो अनुभवपछि, मैले शैतानका दुष्ट मनसायहरू स्पष्ट रूपमा देखेँ। शैतान मानिसहरूलाई ख्याति र प्राप्ति पछ्याउन लगाउँछ, जसको लक्ष्य मानिसहरूलाई परमेश्वरबाट अलग बस्ने र उहाँलाई धोका दिन, पूर्ण रूपमा यसको शक्तिअन्तर्गत आउन, र अन्ततः उसैसँग नरकमा झर्न लगाउनु हो। यदि मानिसहरू आफैँमा भर पर्छन् भने, तिनीहरूसँग शैतानका षड्यन्त्रहरूलाई जित्ने कुनै उपाय नै हुँदैन। परमेश्वरका वचनहरू पढेर र सत्यता बुझेर मात्र मानिसहरू कामकुराहरू राम्ररी बुझ्न र विगतमा आफू अस्तित्वमा रहने गलत तरिकाहरूलाई बिदाइ गर्न सक्छन्। सत्यता पछ्याएर मात्र हामी परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छौँ। आफ्नो जागिर छोडेपछि, मैले धेरै मानिसको सम्मान नपाए पनि र मेरो भौतिक जीवनमा केही कमी भए पनि, मेरो आत्मामा भएको सहजता र शान्तिको अनुभूति जतिसुकै पैसा, ख्याति वा प्राप्तिसँग पनि साट्न सकिँदैनथ्यो। मैले अन्ततः ख्याति र प्राप्तिको बन्धनलाई फालेँ, र मण्डलीमा आफ्नो कर्तव्य पूरा गरेँ। परमेश्वरलाई उहाँको मुक्तिका लागि धन्यवाद!