९०. तिमी सधैँ आफैलाई जोगाउनतिर लाग्छौ भने आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनौ

हान चेन, चीन

म मण्डलीमा प्रवचनहरू छान्ने काम गरिरहेकी थिएँ। म यिलिन र यियाङसँग काम गरिरहेकी थिएँ। सन् २०२२, अप्रिल महिनाको एक दिन, अगुवाहरूले एउटा पत्र पठाउनुभयो जसमा भनिएको थियो, “यिलिनले प्रवचनहरू छान्दा सिद्धान्तहरूमा प्रवेश गर्दिनन्, र उनको कामका नतिजाहरू राम्रा छैनन्। उनलाई बर्खास्त गर्नैपर्छ। तिमी र यियाङले आफ्ना कर्तव्य निर्वाह गरेर त्यसबाट केही नतिजा हासिल गरिरहेका छौ, तर हालसालै, तिमीहरूले प्रवचन छान्ने तरिकामा विचलनहरू भएका छन्: तिमीहरूले केही मूल्यवान् प्रवचन छानेर फालेका छौ। तिमीहरूलाई अहिलेका लागि राखिनेछ र निगरानी गरिनेछ।” यो खबर देख्दा, मेरो हृदय विभिन्न किसिमका भावनाहरूले भरियो। यिलिनको क्षमता मेरोभन्दा राम्रो थियो, तर पनि उनलाई बर्खास्त गरिएको थियो। मेरो क्षमता र कार्य सामर्थ्य उनको जति राम्रो थिएन, र ममा सिद्धान्तहरूको राम्रो बोध थिएन। यदि मैले प्रवचनहरू छान्दा अर्को गल्ती गरेँ भने, म पक्कै पनि बर्खास्त हुनेथिएँ। अब, परमेश्‍वरको काम चाँडै पूरा हुँदैछ। यदि म बर्खास्त भएँ र निर्वाह गर्नका लागि मसँग कुनै कर्तव्य भएन भने, मसँग मुक्ति पाउने मौका अझै रहन्छ त? यो सोच्दा, मलाई असाध्यै गह्रौँ महसुस भयो। त्यस समयमा, यदि कुनै विचलन देखा पर्‍यो भने म बर्खास्त हुनेछु भन्ने डरले, हरेक पटक कुनै प्रवचन छान्दा म त्यसलाई कयौँपटक दोहोर्‍याएर पढ्थेँ, तर, गल्ती होला भनेर म जति धेरै डराउँथेँ, त्यति नै कामकुरालाई सही रूपमा मूल्याङ्कन गर्न असमर्थ हुन्थेँ, र झन् धेरै समस्या र विचलन आउँथे। एकपटक, हामी एउटा प्रवचनको मूल्याङ्कन गरिरहेका थियौँ, जसमा मलाई स्पष्ट तहहरू रहेको र निकै व्यावहारिक ढङ्गले सङ्गति गरिएको जस्तो लाग्यो। मैले त्यो अगुवाहरूलाई हेर्न दिएँ। अगुवाहरूले त्यो पढेर यसो भन्नुहुनेछ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ, “यस प्रवचनमा रहेका धार्मिक धारणाहरू समाधान गरिएका छैनन्। यो पेश गर्न मिल्दैन।” म चकित भएँ, “मैले यो कसरी देखिनँ? यदि अगुवाहरूले ममा सिद्धान्तहरूको बोध छैन र मैले कर्तव्य निर्वाहमा प्रगति गरिरहेकी छैनँ भन्ने देख्नुभयो भने, के उहाँहरूले मलाई बर्खास्त गर्नुहुनेछ?” पछि, म आफ्नो कर्तव्य निर्वाहमा एकदमै डरपोक भएँ र ममा अग्रसरताको कमी भयो। प्रवचनहरू छान्दा, म प्रस्ट रूपमा आफ्नो राय व्यक्त गर्ने आँट गर्दिनथेँ, किनकि म गल्ती होला र प्रकट भएर बर्खास्त भइएला भनेर डराउँथेँ। त्यसैले, म हरेक कुराका बारेमा अगुवाहरूलाई सोध्थेँ र उहाँहरूलाई नै निर्णय गर्न लगाउँथेँ।

एकपटक, मण्डलीहरूले केही प्रवचन पठाए। पढेपछि, हामीले चारवटा प्रवचन निकै व्यावहारिक रूपमा लेखिएको र पेश गर्न मिल्ने पायौँ। तर, मेरो हृदयमा भने हिसाबकिताब चलिरहेको थियो, “मैले गलत तरिकाले पढेका कारण काम नलाग्ने अर्कै प्रवचन पेश गरेँ भने के होला? अगुवाहरूले ममा सिद्धान्तहरूको बोध छैन भन्ने ठान्नुभयो र मलाई बर्खास्त गर्नुभयो भने म के गरूँ? सुरक्षित हुनका लागि, मैले ती पहिले अगुवाहरूलाई हेर्न दिनुपर्छ। त्यसो गरियो भने, मैले गल्ती नै गरेँ भने पनि मुख्य जिम्मेवारी मैले लिनुपर्ने छैन।” त्यसैले मैले ती प्रवचनहरू अगुवाहरूलाई दिएँ। केही दिनपछि, अगुवाहरूले तीमध्ये तीनवटा प्रवचनबारे सुझावसहित जवाफ दिनुभयो र ती पेश गर्न सकिने बताउनुभयो। तर, उहाँहरूले झाङ लीको प्रवचनबारे कहिल्यै जवाफ दिनुभएन। मैले मनमनै सोचेँ, “यदि अगुवाहरूले जवाफ दिनुभएको छैन भने, कतै उहाँहरूलाई यसमा समस्या छ भन्ने लागेको पो हो कि? मैले यो पेश नगर्दा नै बेस हुन्छ। त्यसो गर्दा, पछि सिद्धान्तसम्बन्धी समस्या देखिने र ममा सुझबुझ क्षमताको कमी भएको देखिने अवस्थाबाट म बच्न सक्छु। मैले अगुवाहरूको जवाफ पर्खनुपर्छ र त्यसपछि मात्र यो पेश गर्ने कि नगर्ने भनी निर्णय गर्नुपर्छ। यसो गर्दा बढी सुरक्षित भइन्छ।” त्यसपछि, म अन्य कामहरूमा व्यस्त भएँ। यो प्रवचन दुई हप्तासम्म अलपत्र पर्‍यो। यस दौरान, यियाङले मलाई यो प्रवचन जतिसक्दो चाँडो पेश गरिनुपर्छ भनेर सम्झाइन्। मैले भनेँ, “यो पेश गर्नुअघि अगुवाहरूको जवाफ पर्खौँ। हामी अल्पकालीन सफलताका लागि अधैर्य हुनु हुँदैन।” यियाङले थप केही भनिनन्। एक दिन, अगुवाहरूले एउटा पत्र पठाउनुभयो जसमा भनिएको थियो, “झाङ लीले लेखेको प्रवचन तिमीले अगाडि बढाएको हामीले देखेका छैनौँ। त्यो कहाँ अड्कियो?” त्यसपछि मात्र मैले चाल पाएँ, झाङ लीको प्रवचनबारे अगुवाहरूले धेरै पहिले नै जवाफ दिइसक्नुभएको रहेछ, र त्यसलाई शुद्धाशुद्धि जाँच गरेर पेश गर्न सकिन्छ भन्नुभएको रहेछ। हामीले पत्र मात्र प्राप्त नगरेका रहेछौँ। यो खबर पाउँदा, मलाई हृदयमा वर्णन गर्नै नसकिने केही कुरा महसुस भयो। म अचम्मित भएँ: मैले झाङ लीको प्रवचन निकै व्यावहारिक रहेको, र उनको आफ्नै भाषाशैली भएको प्रस्ट रूपमा देखेँ। सिद्धान्तअनुसार, त्यो पेश गरिनुपर्थ्यो। तर मैले किन अगुवाहरूको निर्णय पर्खिरहेँ? म कुन भ्रष्ट स्वभावद्वारा नियन्त्रित भइरहेकी थिएँ? प्रार्थना र खोजी गर्न मैले आफ्नो स्थितिलाई परमेश्‍वरसामु ल्याएँ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “धेरै मानिसहरू कर्तव्य निर्वाह गर्दा आउने जिम्‍मेवारी लिन डराउँछन्। तिनीहरूको डर मुख्य गरी तीन तरिकाले प्रकट हुन्छ। पहिलो, तिनीहरूले त्यस्ता कर्तव्यहरू मात्र रोज्छन् जसमा जिम्‍मेवारी लिनु पर्दैन। … दोस्रो कुरा के हो भने जब तिनीहरूलाई कठिनाइ आइपर्छ वा तिनीहरूले समस्या सामना गर्छन्, तब तिनीहरूको पहिलो प्रतिक्रिया भनेको आफूलाई निस्फिक्री राख्ने प्रयासस्वरूप अगुवालाई यसको रिपोर्ट गर्नु र अगुवालाई नै यो सम्‍हाल्‍न र समाधान गर्न लगाउनु हो। तिनीहरू अगुवाले यो समस्या कतिको राम्ररी सम्‍हाल्छन् भन्‍नेबारे वास्ता गर्दैनन् र यसमा दिमाग लगाउँदैनन्—जबसम्‍म तिनीहरू आफैले जिम्‍मेवारी लिनु पर्दैन, तबसम्म तिनीहरूको लागि सबै कुरा ठीक हुन्छ। के त्यसरी कर्तव्य पूरा गरेर तिनीहरू परमेश्‍वरप्रति बफादार भइरहेका हुन्छन्? यसलाई जिम्‍मेवारी अरूमा थोपर्नु, कर्तव्यच्युत हुनु, र धूर्त हुनु भनिन्छ। यो सबै गफ मात्र हो; तिनीहरूले कुनै वास्तविक काम गरेका हुँदैनन्। तिनीहरूले मनमनै भन्छन्, ‘यदि यो काम मैले सम्‍हाल्‍नु मेरो जिम्मेवारी हो, र यदि मैले गल्ती गरेँ भने के हुन्छ? दोषीबारे अनुसन्धान गर्दा, के तिनीहरूले मलाई नै तह लगाउनेछैनन् र? के यसको जिम्‍मेवारी सुरुमा मेरै काँधमा आउँदैन र?’ तिनीहरूले यही कुराको बारेमा चिन्ता गर्छन्। तर के परमेश्‍वरले सबै कुराको छानबिन गर्नुहुन्छ भन्‍ने तँलाई विश्‍वास लाग्छ? सबैले गल्ती गर्छन्। यदि सही अभिप्राय भएको व्यक्तिमा अनुभवको कमी छ र उसले यस्तो कुरा पहिले कहिल्यै सम्‍हालेको छैन, तर उसले सक्दो प्रयास गरेको छ भने, यो कुरा परमेश्‍वरले देख्‍नुहुन्छ। तैँले परमेश्‍वरले सबै कुरा र मानिसको हृदय छानबीन गर्नुहुन्छ भनेर विश्‍वास गर्नैपर्छ। यदि व्यक्तिले यो कुरासमेत विश्‍वास गर्दैन भने, के ऊ अविश्वासी होइन र? त्यस्तो व्यक्तिले कर्तव्य पूरा गर्नुको महत्त्व के हुन सक्छ र? उसले यो कर्तव्य निर्वाह गर्नु नगर्नुले वास्तवमै महत्त्व राख्दैन, राख्छ त? ऊ जिम्मेवारी लिन डराउँछ र जिम्मेवारीबाट भाग्छ। केही आइपर्दा, उसले तुरुन्तै उक्त समस्या सम्हाल्ने उपायबारे सोच्ने कोसिस गर्दैन, बरु उसले सुरुमा अगुवालाई सम्पर्क गरेर जानकारी दिने गर्छ। अवश्य नै, कतिपय मानिस अगुवालाई जानकारी दिँदा उक्त समस्या आफै सम्हाल्ने कोसिस गर्छन्, तर कतिपय मानिस भने यसो गर्दैनन्, र सुरुमा अगुवालाई सम्पर्क गर्छन् र त्यसपछि केही नगरी निर्देशन पर्खेर बस्छन्। अगुवाले तिनीहरूलाई कुनै कदम चाल्नू भनी निर्देशन दिँदा तिनीहरू कदम चाल्छन्; यदि अगुवाले केही काम गर्नू भनेमा तिनीहरू त्यो गर्छन्। यदि अगुवाले केही पनि भनेन वा निर्देशन दिएन भने, तिनीहरू केही पनि गर्दैनन् र त्यतिकै आलटाल गर्छन्। तिनीहरू कसैले उत्प्रेरित नगरी वा सुपरिवेक्षण नगरी बिलकुलै कुनै काम गर्दैनन्। ल भन्, के यस्तो व्यक्तिले कर्तव्य निर्वाह गरिरहेको हुन्छ? उसले श्रम गर्दा पनि, उसमा बफादारी हुँदैन! व्यक्तिले कर्तव्य पूरा गर्दा जिम्‍मेवारी लिन डराउने अवस्थाको प्रकटीकरण एउटा अर्को तरिकाले पनि हुन्छ। कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, सतही, साधारण, अनि जिम्‍मेवारी लिनुनपर्ने काम मात्रै अलिअलि गर्छन्। तिनीहरूले कठिनाइ भोग्‍नुपर्ने र जिम्‍मेवारी लिनुपर्ने काम अरूको काँधमा हालिदिन्छन्, र केही बिग्रियो भने, त्यसको दोष तिनै मानिसहरूमाथि थोपरिदिन्छन् र आफूसँग त्यसको कुनै सरोकार नभएजस्तो गर्छन्। तिनीहरू गैरजिम्‍मेवार भएको देख्दा, मण्डली अगुवाहरूले धैर्यका साथ सहयोग गर्छन् र तिनीहरूलाई काटछाँट गर्छन्, ताकि तिनीहरूले जिम्‍मेवारी लिन सकून्। तर तिनीहरू अझै पनि जिम्‍मेवारी लिन चाहँदैनन्, र सोच्छन्, ‘यो कर्तव्य पूरा गर्न कठिन छ। गल्ती भएमा मैले नै यसको जिम्‍मेवारी लिनुपर्नेछ, र मलाई निकालिने र हटाइने सम्‍भावना हुन्छ, र त्यो मेरो लागि अन्त्य हुनेछ।’ यो कस्तो प्रकारको मनोवृत्ति हो? यदि आफ्‍नो कर्तव्य निर्वाह गर्दा तिनीहरूमा जिम्‍मेवारीबोध छैन भने, तिनीहरूले कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? आफूलाई साँचो रूपमा परमेश्‍वरको लागि समर्पित गर्न नसक्नेहरूले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन्, र जिम्‍मेवारी लिन डराउनेहरूले कर्तव्य निर्वाह गर्दा काममा ढिलाइ मात्रै गर्छन्। त्यस्ता मानिसहरू भरोसा गर्न योग्य हुँदैनन् र तिनीहरूलाई कुनै पनि कुराको जिम्मा लगाउन सकिँदैन; तिनीहरू सित्तैँमा पेट भर्नका लागि मात्रै आफ्‍नो कर्तव्य निर्वाह गर्छन्। के यस्ता ‘भिखारी’ हरूलाई हटाइनुपर्छ? पर्छ। परमेश्‍वरको घरले त्यस्ता मानिसहरू चाहँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने जिम्मेवारी लिन डराउने मानिसहरूका तीन प्रकटीकरणहरू यिनै हुन्। आफ्नो कर्तव्यमा जिम्मेवारी लिन डराउने मानिसहरू बफादार श्रमिकका स्तरमा पनि पुग्‍न सक्दैनन्, र कर्तव्य निर्वाह गर्न लायक हुँदैनन्। आफ्नो कर्तव्यप्रतिको यस्तो मनोवृत्तिले गर्दा कतिपय मानिसहरूलाई हटाइन्छ। अहिले पनि, तिनीहरूले यसको कारण थाहा नपाएका हुन सक्छन् र यसो भन्दै अझै गुनासो गर्न सक्छन्, ‘मैले आफ्नो कर्तव्य असाध्यै उत्‍साहका साथ पूरा गरेँ, तैपनि किन तिनीहरूले मलाई यति रूखो तरिकाले निकाले?’ तिनीहरूले अहिले पनि यो कुरा बुझ्दैनन्। सत्यता नबुझ्नेहरूले आफूलाई किन हटाइयो भनेर नबुझी आफ्नो सम्पूर्ण जीवन बिताउँछन्। तिनीहरूले आफ्नै पक्षमा तर्क गर्छन्, र यस्तो सोच्दै आफ्नो रक्षा गरिरहन्छन्, ‘मानिसहरूले आफ्नो सुरक्षा गर्नु प्राकृतिक प्रवृत्ति नै हो, र तिनीहरूले त्यसो गर्नुपर्छ। कसले अलिकति आफ्नो रक्षा गर्नु पर्दैन र? कसले आफ्नो बारेमा अलिकति भए पनि ख्याल गर्नु पर्दैन र? कसले आफ्नो लागि उम्कने बाटो राख्‍नु पर्दैन र?’ यदि तँलाई केही आइपर्दा तँ सधैँ आफ्नै सुरक्षा गर्छस् र आफ्‍नो लागि पछाडिको ढोका र उम्‍कने बाटो खुला राख्छस् भने, के तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस् र? यो सत्यता अभ्यास गर्नु होइन—यो धूर्त हुनु हो। तैँले अहिले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। कर्तव्य निर्वाह गर्नुको पहिलो सिद्धान्त के हो त? यो के हो भने, तैँले सुरुमा त्यो कर्तव्य सम्पूर्ण हृदय लगाएर निर्वाह गर्नुपर्छ, कुनै कसर बाँकी छाड्नु हुँदैन, र यसरी परमेश्‍वरको घरको हितको रक्षा गर्नुपर्छ। यो तैँले अभ्यास गर्नुपर्ने एउटा सत्यता सिद्धान्त हो। आफ्नो लागि पछाडिको ढोका र उम्‍कने बाटो खुला राखेर आफैलाई रक्षा गर्नु भनेको गैरविश्वासीहरूले पछ्याउने अभ्यासको सिद्धान्त र तिनीहरूको सर्वोच्च दर्शन हो। यावत कुरामा, सबैभन्दा पहिले आफ्नै ख्याल गर्नु, अरू सबै कुराभन्दा अगाडि आफ्नै हितलाई राख्नु, र अरूका बारेमा नसोच्नु, परमेश्‍वरको घरको हित र अरूको हितको आफूसँग कुनै सम्बन्ध छैन भनी विश्वास गर्नु, आफ्नै हितको बारेमा सबैभन्दा पहिले सोच्नु र त्यसपछि आफ्नो उम्‍कने बाटोको बारेमा सोच्नु—के गैरविश्वासी भनेको त्यही होइन र? गैरविश्वासी भनेको ठ्याक्‍कै यही हो। यस प्रकारको व्यक्ति कर्तव्य निर्वाह गर्न लायक हुँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने मानिसहरू कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन सधैँ डराउँछन्। तिनीहरू गल्ती गर्न र प्रकट भएर बर्खास्त हुन डराउँछन्। केही आइपर्दा, तिनीहरू अगुवाहरूलाई नै निर्णय गर्न दिन्छन्, र आफ्नो व्यक्तिगत हितको रक्षा गर्नका लागि सधैँ आफ्ना लागि एउटा उम्कने बाटो राख्छन्। कामकुरा सम्हाल्दा गैरविश्‍वासीहरूले पछ्याउने सिद्धान्त यही हो। परमेश्‍वरका वचनहरूले गरेको खुलासाले मलाई मुटुमा छुरा रोपेजस्तो महसुस भयो। के मेरो व्यवहार ठ्याक्कै यस्तै थिएन र? जब यिलिनलाई बर्खास्त गरिएको थियो, र मैले छानेका प्रवचनहरूमा विचलन र समस्याहरू देखा परेका थिए, र मलाई निगरानीमा राखिएको थियो, त्यतिबेला म समस्याहरूको मूल कारण पत्ता लगाउन र तिनलाई समाधान गर्नका लागि सत्यता खोज्न परमेश्‍वरसामु आएकी थिइनँ। बरु, मलाई म बर्खास्त हुनेछु र कर्तव्य निर्वाह गर्न पाउनेछैनँ, अनि मेरो असल संभावना वा गन्तव्य हुनेछैन भनेर चिन्ता लागेको थियो। मैले यी केही प्रवचन निकै व्यावहारिक रहेको र पेश गर्न सकिने प्रस्ट रूपमा देखेकी थिएँ, तर यदि विचलनहरू देखा परे भने मेरा आफ्नै समस्याहरू खुलासा हुनेछन् र म बर्खास्त हुनेछु भनेर म डराएकी थिएँ। त्यसैले, म निश्चित छैन भन्ने बहाना बनाएर, मैले तिनलाई निर्णय गर्नका लागि अगुवाहरूकहाँ पठाइदिएकी थिएँ। यसरी, यदि समस्याहरू आएहालेमा त्यो मेरो मात्र जिम्मेवारी हुने थिएन। जब अगुवाहरूले जवाफ दिनुभएन, तब मैले कामकुरालाई लम्ब्याएकी र पर्खेर बसेकी थिएँ, जसले गर्दा एउटा मूल्यवान् प्रवचन तत्काल पेश हुन सकेन, र कामको प्रगति अवरुद्ध भयो। त्यतिबेला, मलाई म अल्पकालीन सफलताका लागि पहिले जस्तो अधैर्य छैन भन्ने लागेको थियो। ममा पहिले जस्तो आत्मविश्वास पनि थिएन, र मलाई केही आइपर्दा अगुवाहरूको सुझाव माग्न सक्नु समझको सङ्केत हो भन्ने लागेको थियो। अहिले, मैले बल्ल के देखेँ भने मैले आफ्ना घृणास्पद अभिप्रायहरू भित्रभित्रै लुकाइरहेकी रहेछु। म जिम्मेवारी लिन डराएकी रहेछु, र आफैलाई जोगाउन, मैले चलाकीपूर्ण तरिकाहरू प्रयोग गरेकी रहेछु। म अत्यन्तै स्वार्थी र घृणास्पद, अत्यन्तै चिप्ले र छली थिएछु! यदि मेरा अभिप्रायहरू सही रहेका भए, मण्डलीको कामलाई ख्याल गर्ने सन्दर्भमा, मैले मूल्यवान् प्रवचनहरू जतिसक्दो चाँडो छानेको हुनुपर्थ्यो ताकि तिनले परमेश्‍वरको गवाही दिन सकून्। समस्या वा विचलनहरू आएकै भए पनि, मैले तत्काल तिनलाई सारांशीकृत गर्न र तिनलाई समाधान गर्नका लागि सत्यता खोज्न सक्थेँ। यसरी, विचलनहरूको सङ्ख्या घट्दै जानेथियो। तर, परमेश्‍वरले हरेक कुराको छानबिन गर्नुहुन्छ भनेर मैले विश्‍वास गरेकी थिइनँ। यदि मैले गल्ती गरेँ भने, म बर्खास्त हुनेछु र मेरो भविष्य सुनिश्चित हुन सक्नेछैन भनेर म डराएकी थिएँ। आफैलाई जोगाउनका निम्ति, मैले प्रवचनहरू पेश गर्न ढिलाइ गर्न रुचाएकी थिएँ। मैले मण्डलीको कामलाई रत्तिभर ख्याल गरेकी थिइनँ। यसो गर्दा, मेरो असल भविष्य र गन्तव्य नहुने मात्र होइन, म परमेश्‍वरद्वारा घृणित पनि हुनेथिएँ।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “कतिपय मानिसहरू परमेश्‍वरको घरले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्छ भनेर विश्‍वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्‍वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरू विश्‍वास गर्छन् कि कुनै व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्‍वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, उसको कर्तव्य निर्वाह गर्ने योग्यता खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के साँच्चै त्यस्तै हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्‍वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्‍वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्‍ने कुरालाई मात्र हेर्नुहुन्‍न; उहाँले व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, र उसको मनोवृत्तिलाई हेर्नुहुन्छ। विशेषगरी, उहाँले कुनै व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ कि सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूका आधारमा समस्याको सार छर्लङ्ग बुझ्न सक्छ कि सक्दैन, र यसरी सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। … मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइमा पुग्छ र पश्‍चात्ताप गर्न इच्‍छुक छ भने, के परमेश्‍वरको घरले उसलाई मौका दिँदैन र? परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, निर्वाह गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर यदि तँमा कुनै विवेक वा समझ छैन, र तँ आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस् भने, यदि तैँले कर्तव्य निर्वाह गर्ने अवसर प्राप्त गरेको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता पछ्याउँदैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तँलाई प्रकाश गरिनेछ। यदि तँ आफ्‍नो कर्तव्य निर्वाह गर्नमा निरन्तर झाराटारुवा भइरहन्छस्, र काटछाँटको सामना गर्दा तँ पटक्‍कै समर्पित हुँदैनस् भने, के परमेश्‍वरको घरले अझै पनि तँलाई कर्तव्य निर्वाह गर्न प्रयोग गर्न सक्छ? परमेश्‍वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ, र सबै कुरामा परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ, र उहाँ नै सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्‍लेषण गर्न आवश्यक छैन; तैँले सुन्‍ने र समर्पित हुने मात्रै गर्नुपर्छ। काटछाँट गराइको सामना गर्दा, तैँले सत्यता स्वीकार गर्नुपर्छ र आफ्‍ना गल्तीहरू सच्याउनुपर्छ। यदि तैँले त्यसो गरिस् भने, परमेश्‍वरको घरले कर्तव्य निर्वाह गर्ने तेरो योग्यता खोस्‍ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ आफूलाई सही साबित गर्न खोज्छस्, सधैँ कुतर्क प्रयोग गरेर आफ्नो बचाउ गर्छस् भने, त्यो समस्या हो। तैँले अलिकति पनि सत्यता स्विकार्दैनस्, र तँ पूर्ण रूपमा असमझदार छस् भनेर अरूले देख्नेछन्। यसले समस्या निम्त्याउँछ, र मण्डलीले तँलाई तह लगाउनुपर्ने हुन्छ। तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पटक्‍कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस्। तेरो यो डर मानव आशयले दूषित हुन्छ; यही डरभित्र भ्रष्ट शैतानी स्वभावहरू, साथै शङ्का, सतर्कता, र गलतफहमी हुन्छन्। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू मनन गर्दै जाँदा, मलाई बल्ल के महसुस भयो भने म त आफ्नो कर्तव्य निर्वाह गर्दा गल्ती भयो भने मलाई प्रकट गरी बर्खास्त गरिनेछ, अनि मेरो राम्रो भविष्य वा गन्तव्य हुनेछैन भनेर निरन्तर चिन्ता गरिरहेकी रहेछु, र यसको मुख्य कारण भनेको मैले परमेश्‍वरको धर्मी स्वभाव नबुझ्नु र परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ भन्ने विश्‍वास नगर्नु थियो। परमेश्‍वरको घरले मानिसहरूलाई काममा समायोजन र बर्खास्त सिद्धान्तअनुसार गर्छ। यसले मानिसहरूलाई एक-दुईवटा काम गलत गरेकै वा तिनीहरूको काममा केही विचलन रहेकै कारण बर्खास्त गर्दैन। बरु, यसले मानिसहरूले लगातार कस्तो व्यवहार देखाउँछन्, र विचलन र समस्याहरू आउँदा तिनीहरूले सत्यता स्वीकार गर्न र परिस्थितिलाई तत्काल सुधार्न सक्छन् कि सक्दैनन् भन्ने कुरालाई हेर्छ। मैले यिलिनलाई सम्झेँ। उनीसँग केही क्षमता र केही प्रतिभा भए पनि, उनी ख्याति र हैसियत मात्र पछ्याएकी थिइन्, र अल्पकालीन सफलताका लागि अधैर्य थिइन्। उनको कर्तव्यमा विचलन र समस्याहरू देखिएपछि, अगुवाहरूले उनलाई धेरैपटक मार्गदर्शन गर्ने कोसिस गर्नुभएको थिए, तर उनले आत्मचिन्तन गरेकी थिइनन्, सिद्धान्तहरू खोजेकी थिइनन्, र काममा अवरोध र बाधा ल्याएकी थिइन्: त्यसैले उनलाई बर्खास्त गरिएको थियो। यसको विपरीत, मेरो वरपरका मानिसहरूमध्ये, एउटी सिस्टर थिइन् जो प्रवचन छान्दा झाराटारुवा हुँदै आएकी थिइन्, र केही मूल्यवान् प्रवचनहरू छानेर फालेकी थिइन्। तर, मार्गदर्शन र काटछाँट पाएपछि, उनले यो स्विकार्न, आत्मचिन्तन गर्न, र परिस्थितिलाई तत्काल सुधार्न सकिन्। मण्डलीले अझै पनि उनलाई कर्तव्यहरू निर्वाह गर्ने अवसर दियो। वास्तवमा, यिलिनको बर्खासी मेरा लागि एउटा चेतावनी थियो। मैले प्रवचन छान्दा किन यति धेरै विचलन र समस्या आएका थिए, र मैले किन खासै प्रगति गरिरहेकी थिइनँ भनेर सोचेँ। म अहङ्कारी र अभिमानी हुनु र आफ्नै पुराना तरिकाहरूमा फसेर रहनु नै मुख्य कारणहरू थिए। आफ्नो कर्तव्य निर्वाह गर्दा मैले सिद्धान्तहरू खोज्नुको साटो अनुभवमा भर परेँ र प्रावधानहरूलाई कठोर रूपमा लागू गरेँ। नतिजास्वरूप, मैले मूल्यवान् प्रवचनहरूलाई छानेर फालेकी थिएँ र काममा अवरोध पुऱ्याएकी थिएँ। तर, मैले कर्तव्य निर्वाह गर्दा आएका विचलन र समस्याहरूका कारण अगुवाहरूले मलाई बर्खास्त गर्नुभएको थिएन। उहाँहरूले मलाई मेरो आफ्नै भ्रष्ट स्वभाव बुझ्नमा मद्दत गर्न मसँग सङ्गति समेत गर्नुभएको थियो, र मलाई पश्चात्ताप गर्ने र परिवर्तन हुने अवसर दिनुभएको थियो। तर मैले यिलिनको बर्खासीबाट पाठ नसिकेकी र आफ्नै समस्याहरूमाथि चिन्तन नगरेकी मात्र नभई परमेश्‍वरलाई गलत बुझेकी, र उहाँविरुद्ध सतर्कता अपनाएकी थिएँ। मैले स्पष्ट रूपमा मूल्यवान् प्रवचनहरू देखेकी थिएँ, तर निर्णय गर्ने आँट गरेकी थिइनँ, बरु त्यसलाई अगुवाहरूमाथि छोडिदिएकी थिएँ। यदि मैले गल्ती गरेँ र म बर्खास्त भएँ अनि कर्तव्य निर्वाह गर्न असमर्थ भएँ भने, मेरो परिणाम असल हुनेछैन भनेर म डराएकी थिएँ। मैले परमेश्‍वर भ्रष्ट मानवजाति जस्तै हुनुहुन्छ, जसले मानिसहरूलाई गल्ती गर्न अनुमति दिनुहुन्न, र गल्ती गर्नेबित्तिकै तिनीहरूलाई हटाइदिनुहुन्छ भन्ने कल्पना गरेकी थिएँ। के यो परमेश्‍वरविरुद्ध बदनामी र ईश्वरनिन्दा थिएन र? म साँच्चै नै अति दुष्ट र अति छली भएकी थिएँ!

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, र आफ्नो स्थितिबारे थप बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले आफ्नो कर्तव्य र परमेश्‍वरलाई इमानदार हृदयले व्यवहार गर्नुपर्छ। परमेश्‍वरको डर मान्‍ने मानिसहरूले यसो गर्न सक्नुपर्छ। इमानदार हृदय भएका मानिसहरूमा परमेश्‍वरप्रति कस्तो मनोवृत्ति हुन्छ? कम्तीमा पनि, तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ। तिनीहरूमा सबै कुरामा परमेश्‍वरप्रति समर्पित हुने हृदय हुन्छ; अर्थात्, तिनीहरू आशिष् वा आपद् बारे सोध्दैनन्, तिनीहरू सर्तहरू तेर्स्याउँदैनन्, र तिनीहरू आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यको कृपामा छोड्छन्। यिनीहरू नै इमानदार हृदय भएका मानिसहरू हुन्। परमेश्‍वरमाथि सधैँ शङ्का गर्ने, उहाँको सूक्ष्म जाँच गर्ने, उहाँसँग सधैँ लेनदेन गर्ने प्रयास गर्ने—के तिनीहरू इमानदार हृदय भएका मानिसहरू हुन्? (होइनन्।) त्यस्ता मानिसहरूको हृदयमा के बसेको हुन्छ? छलीपन र दुष्टता; तिनीहरूले सधैँ सूक्ष्म जाँच गरिरहेका हुन्छन्। अनि तिनीहरूले के कुराको सूक्ष्म जाँच गर्छन्? (मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति।) तिनीहरूले सधैँ मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिको बारेमा सूक्ष्म जाँच गरिरहेका हुन्छन्। यो कस्तो समस्या हो? अनि तिनीहरूले किन यसरी सूक्ष्म जाँच गर्छन्? किनभने यो तिनीहरूका महत्त्वपूर्ण हितहरूसँग सम्‍बन्धित हुन्छ। तिनीहरूले आफ्‍नो हृदयमा यस्तो विचार गर्छन्, ‘परमेश्‍वरले नै मेरा लागि यो परिस्‍थिति खडा गर्नुभएको हो, उहाँले नै मेरो जीवनमा यो हुन दिनुभएको हो। उहाँले किन यसो गर्नुभयो? अरू मानिसहरूको जीवनमा यस्तो भएको छैन—यो किन मेरो जीवनमा आइलाग्यो? अनि परिणामहरू के हुनेछन्?’ तिनीहरूले सूक्ष्म जाँच गर्ने कुरा यिनै हुन्; तिनीहरू आफ्ना नाफा र घाटाहरू, आशिष्‌ र विपद्हरूको सूक्ष्म जाँच गर्छन्। अनि यी कुराहरूको सूक्ष्म जाँच गर्ने क्रममा, के तिनीहरूले सत्यताको अभ्यास गर्न सक्छन्? के तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन सक्छन्? सक्दैनन्। तिनीहरूले आफ्नो हृदयमा सोच्ने कुराहरूको प्रकृति कस्तो हुन्छ? ती सबै तिनीहरूका आफ्नै हितमा र आफ्नै लागि लाभ सुरक्षित गर्नमा केन्द्रित हुन्छन्। … जोकोहीले आफ्नो भविष्य, नियति र हितलाई विशेष महत्त्व दिन्छ, उसले सधैँ परमेश्‍वरको काम आफ्नो भविष्य, आफ्नो नियति र आशिष्‌ प्राप्त गर्नका लागि लाभदायक छ कि छैन भनी सूक्ष्म जाँच गर्छ। अन्त्यमा, तिनीहरूका सबै सूक्ष्म जाँचको परिणाम के हुन्छ? त्यो के मात्रै हुन सक्छ भने, परमेश्‍वरको काम तिनीहरूको धारणाहरूसँग नमिल्ने हुनाले, तिनीहरू अक्सर परमेश्‍वरबारे गुनासो गर्छन्, परमेश्‍वरविरुद्ध विद्रोह गर्छन्, र परमेश्‍वरको विरोध गर्छन्। तिनीहरू अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्न लागिरहन सके पनि, तिनीहरूले झाराटारुवा तरिकाले र नकारात्मकताका साथ त्यसो गर्छन्; तिनीहरूको हृदयमा, तिनीहरू कसरी फाइदा लिने र कुनै नोक्सान नभोग्ने भन्ने बारेमा सोचिरहन्छन्। यस्ता अभिप्रायहरूका साथ आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको परमेश्‍वरसँग सौदा गर्ने प्रयास गर्नु बराबर हो। यसले कुन स्वभावलाई सङ्केत गर्छ? यो छलीपन हो, यो एक दुष्ट स्वभाव हो। यो एक सामान्य भ्रष्ट स्वभाव होइन—यो दुष्टताको हदसम्म पुगिसकेको छ। आफ्नो हृदयमा यस प्रकारको दुष्ट स्वभाव पाल्नु भनेको परमेश्‍वरविरुद्ध लड्नु हो! तैँले यो समस्यालाई छर्लङ्गै देख्नुपर्छ। यदि कोही सधैँ परमेश्‍वरको सूक्ष्म जाँच गरिरहन्छ र लेनदेनको मानसिकताका साथ आफ्नो कर्तव्य निर्वाह गर्छ भने, के ऊ आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुनेछ? पटक्कै हुनेछैन। ऊ आफ्नो हृदय र इमानदारीसाथ परमेश्‍वरको आराधना गर्दैन, र ऊ आफ्नो कर्तव्यलाई इमानदारीपूर्वक लिँदैन। आफ्नो कर्तव्य निर्वाह गरिरहँदा, उसले केवल हेर्छ र अवलोकन गर्छ, सधैँ आफूलाई रोकेर राख्छ। यसको परिणाम के हुन्छ? परमेश्‍वर उसमा काम गर्नुहुन्न—ऊ अन्योलग्रस्त र भ्रमित हुन्छ, उसले सत्यता सिद्धान्तहरू के हुन् भनी बुझ्दैन, र ऊ सधैँ आफ्नै इच्छाअनुसार कार्य गर्छ, निरन्तर गल्तीहरू गर्छ। उसले किन निरन्तर गल्तीहरू गर्छ? किनभने उसको मन अत्यन्तै अन्योलग्रस्त हुन्छ; जब समस्याहरू उत्पन्न हुन्छन्, तब उसले आत्मचिन्तन गर्दैन वा तिनलाई समाधान गर्न सत्यता खोज्दैन, बरु आफ्नै इच्छा र आफ्नै अभिरुचिहरूअनुसार कार्य गर्न लागिरहन्छ। फलस्वरूप, उसले आफ्नो कर्तव्य निर्वाह गर्दा निरन्तर गल्तीहरू गर्छ। उसले मण्डलीको काम, वा परमेश्‍वरको घरको हितका बारेमा सोच्दैन। उसले सधैँ आफ्नै खातिर षड्यन्त्र रच्छ, सधैँ आफ्नै हित, अभिमान र हैसियतका खातिर योजनाहरू बनाउँछ। ऊ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न असफल हुने मात्रै होइन, उसले मण्डलीको काममा असर र ढिलाइ पनि गर्छ। के यो गलत मार्ग लिनु र आफ्ना उचित कामहरूलाई बेवास्ता गर्नु होइन र? यदि, आफ्नो कर्तव्य निर्वाह गर्दा, कोही सधैँ आफ्नै हित र भविष्यका खातिर योजनाहरू बनाइरहन्छ, र मण्डलीको काम वा परमेश्‍वरको घरको हितको अलिकति पनि ख्याल गर्दैन भने, यो कर्तव्य निर्वाह होइन। यो त व्यक्तिगत लाभका लागि षड्यन्त्र रच्नु हो, आफ्नै लागि लाभ सुरक्षित गर्न र आशिष्‌ प्राप्त गर्न कामकुराहरू गर्नु हो। जब कर्तव्य निर्वाह यस्तो हुन्छ, तब यसको प्रकृति परिवर्तन हुन्छ: यो परमेश्‍वरसँग सौदा गर्ने प्रयास बन्छ, आफ्ना व्यक्तिगत लक्ष्यहरू हासिल गर्न कर्तव्य निर्वाह प्रयोग गर्ने प्रयास बन्छ। काम गर्ने यस्तो तरिकाले परमेश्‍वरको घरको काममा बाधा पुऱ्याउने सम्भावना धेरै हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने इमानदार हृदय भएका मानिसहरूले आफ्ना कर्तव्य निर्वाह गर्दा आफ्नै लाभ, हानि, आशिष् वा दुर्भाग्यहरूलाई ख्याल गर्दैनन्। तिनीहरूले परमेश्‍वरसँग सौदाबाजी गर्ने कोसिस गर्दैनन्, बरु परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो सारा हृदय र मनले कर्तव्य निर्वाह गर्छन्। ठीक नोआ जस्तै—परमेश्‍वरले उनलाई जहाज बनाउन भन्नुभयो, तर नोआले आफूले त्यो बनाउन सक्छु कि सक्दिनँ भनेर विश्लेषण गरेनन्। आफ्नो सारा हृदयले, उनले परमेश्‍वरको आज्ञालाई कसरी जतिसक्दो चाँडो पूरा गर्ने भनेर मात्र सोचे। नोआको शुद्ध, इमानदार र समर्पित हृदयले परमेश्‍वरको अनुमोदन जित्यो। छली र दुष्ट मानिसहरूले आफ्नो कर्तव्यलाई निरन्तर छानबिन र अवलोकन गर्दै, हरेक मोडमा आफ्नै भविष्यका सम्भावना र मार्गका लागि दाउपेच गर्दै व्यवहार गर्छन्। यस्तो प्रकारको व्यक्तिले परमेश्‍वरको घृणा कमाउँछ। परमेश्‍वरका वचनहरू मनन गर्दै जाँदा, मलाई मुटुमा घोचेजस्तो महसुस भयो। चिन्तन गर्दा मैले के पाएँ भने मैले जसरी आफ्नो कर्तव्यप्रति व्यवहार गरेँ त्यसमा साँचो हृदय पटक्कै देखिएन। मैले परमेश्‍वरको अभिप्रायलाई रत्तिभर पनि ख्याल गरेकी थिइनँ। मैले मानकअनुरूपका प्रवचनहरूलाई कसरी जतिसक्दो चाँडो छान्ने, ताकि तिनलाई सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन प्रयोग गर्न सकियोस् भन्नेबारे सोचेकी थिइनँ। बरु, आफैलाई जोगाउनका लागि मैले हरेक मोडमा परमेश्‍वरमाथि चलाकीपूर्ण चालबाजी गरेँ र उहाँविरुद्ध सतर्कता अपनाएँ, अनि हरेक कुरामा अगुवाहरूलाई निर्णयहरू गर्न लगाएँ। यस्तो अभिप्रायका साथ कर्तव्य निर्वाह गर्नु साँच्चिकै मेरो अत्यन्तै छली व्यवहार थियो! आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले हरेक मोडमा मेरो भविष्य र गन्तव्यबारे सोचेकी थिएँ, मानौँ मैले गल्ती गरिनँ र म बर्खास्त भइनँ भने, परमेश्‍वरको काम सकिएपछि म बाँच्नेथिएँ र मैले असल गन्तव्य पाउनेथिएँ। परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ। परमेश्‍वरविरुद्ध सतर्कता अपनाउने मनोवृत्ति लिएर कर्तव्य निर्वाह गर्दा, म परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउन असमर्थ भएँ। मेरा विचारहरू एकदमै धमिलो थिए, र मैले प्रवचनहरूमा समस्या देख्न सकिनँ। यसरी नै चलिरहने हो भने मण्डलीको काममा अवरोध र बाधा मात्र पुग्नेथियो, र समय आएपछि म साँच्चै नै प्रकट हुनेथिएँ र हटाइनेथिएँ। यो बुझेपछि, मलाई मनमा डर लाग्यो, र मैले हतारहतार पश्चात्ताप गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ।

एक दिन मेरो उपासनाको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ र अभ्यासको मार्ग फेला पारेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो कर्तव्य भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि अन्तर्निहित रूपमै सम्भव छ। त्यसपछि उसको कर्तव्य पूरा हुन्छ। जहाँसम्म मानिसको सेवामा देखिने कमीकमजोरीहरूको कुरा छ, यी कुराहरू प्रगतिशील अनुभव र ऊ न्यायबाट गुज्रने प्रक्रियामार्फत विस्तारै घटाइन्छन्‌; तिनले मानिसको कर्तव्यलाई बाधा दिँदैन वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा कमीकमजोरीहरू हुन सक्छन् भन्‍ने डरले सेवा गर्न छोड्ने वा हार मानेर पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। … मानिसको कर्तव्य मानिसको मन र उसका धारणाहरूद्वारा कलङ्कित भएको भएतापनि, तिमीले आफ्नो कर्तव्य पूरा गर्नैपर्छ र आफ्नो निष्ठा देखाउनैपर्छ। मानिसको कार्यमा रहेका अशुद्धताहरू भनेको उसको क्षमताको समस्या हो, जबकि, यदि मानिसले आफ्नो कर्तव्य पूरा गर्दैन भने, यसले उसको विद्रोहलाई देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। “तैँले जुनसुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तँ यावत् थोकमा सत्यता सिद्धान्तअनुसार व्यवहार गर्नमा लागिरहिस् भने मात्र तैँले साँच्चिकै आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। मानव कार्यशैलीअनुसार अल्याङमल्याङ गर्नु भनेको झाराटारुवा हुनु हो; सत्यता सिद्धान्तहरूमा कायम रहनु मात्र सही तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अनि जब तैँले आफ्नो जिम्मेवारी पूरा गर्छस्, के यो बफादारीको प्रकटीकरण हुँदैन र? यो आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गर्नुको प्रकटीकरण हो। तँमा यो जिम्मेवारी बोध, यो सङ्कल्प र चाहना, अनि आफ्नो कर्तव्यका सम्बन्धमा बफादारीको यो प्रकटीकरण छ भने मात्र, परमेश्‍वरले तँलाई कृपा र अनुमोदनको दृष्टिले हेर्नुहुनेछ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। हामीप्रति परमेश्‍वरका मागहरू ठूला छैनन्। उहाँले हामी हरेक काम त्रुटिरहित र सिद्ध रूपमा गरौँ भन्ने माग गर्नुहुन्न। यदि हामीसँग इमानदार हृदय छ, हामी आफूले गर्न सक्ने काम सारा हृदय र प्राणले गर्छौँ, आफूले छर्लङ्ग देख्न नसक्ने कुराहरू सामना गर्दा आफ्ना अभिप्रायहरू सच्याउँछौँ, र आफूसँग काम गर्ने ब्रदर-सिस्टर र अगुवाहरूसँग यसबारे कुराकानी गर्छौँ, उनीहरूसँगै सिद्धान्तहरू खोज्छौँ, निष्क्रिय भई पर्खँदैनौँ, र आफ्ना जिम्मेवारीहरू पूरा गर्छौँ भने, परमेश्‍वरले अनुमोदन गर्नुहुनेछ। मैले विगतमा प्रवचनहरू छान्दाको समयलाई सम्झेँ। म अहङ्कारी थिएँ, अनुभवमा भर पर्थें, र सत्यता सिद्धान्त खोज्दिनथेँ, त्यसैले विचलनहरू आउँथे। अहिले, मैले सिद्धान्तहरूमा बढी मेहनत गर्नैपर्छ। हरेक प्रवचन छान्दा, ममा परमेश्‍वरको डर मान्‍ने हृदय हुनैपर्छ र मैले सिद्धान्तअनुसार मूल्याङ्कन गर्नैपर्छ। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अझै पनि समस्या र विचलनहरू आउने नै भए पनि, मैले तिनलाई सही रूपमा लिनुपर्छ, कारणहरूको सारांशीकरण गर्नुपर्छ, र परिस्थितिलाई तत्काल सुधार्नुपर्छ। यो बुझेपछि, मैले आफू बर्खास्त हुनेछु कि छैन भन्ने कुरालाई ख्याल गर्नै छोडेँ, र आफ्नो हृदयलाई कर्तव्यप्रति समर्पित गर्न सकेँ। त्यस अवधिमा, समस्या र विचलनहरूको सङ्ख्या बिस्तारै केही हदसम्म घट्यो, र मैले व्यावसायिक रूपमा र सिद्धान्तका हिसाबले केही उपलब्धिहरू हासिल गरेँ। मेरो हृदयलाई धेरै सजिलो महसुस भयो।

पछि, म टोली अगुवा चुनिएँ। एकपटक, सुपरिवेक्षकहरूले एउटा पत्र पठाउनुभयो जसमा हामीले त्यस बेला पेश गरेका प्रवचनहरूको विषय अस्पष्ट भएको, र सत्यताबारे सङ्गति गर्ने कुरामा व्यावहारिक नभएको औँल्याइएको थियो। उहाँहरूले मलाई मैले त्यो जाँचे नजाँचेको—मैले किन ती समस्याहरू नदेखेको भन्ने कुरा सोध्नुभयो। त्यो पत्र पढ्दा, मेरो हृदय खिन्न भयो। मैले ती समस्याहरू नदेखेको कुरा साँचो थियो। म अनुमान नगरी बस्न सकिनँ, “यदि सुपरिवेक्षकहरूले मैले यति लामो समयदेखि यो कर्तव्य निर्वाह गरिरहेकी छु तर अझै पनि सिद्धान्तहरू बोध गर्न सकेकी छैन भन्ने देख्नुभयो भने, के तब उहाँहरूले म यो कर्तव्यका लागि अयोग्य छु भन्ने ठानेर मलाई बर्खास्त गर्नुहुनेछ?” त्यसपछि, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा म फेरि डरपोक भएँ र ममा अग्रसरताको कमी भयो। यद्यपि मैले केही प्रवचनहरू मूल्यवान् छन् भनेर प्रस्ट रूपमा देख्न सक्थेँ, तर मलाई अर्को गल्ती गरिएला र प्रकट भइएला भन्ने डर थियो, त्यसैले मैले तिनलाई मूल्याङ्कन गर्न र जाँच्नका लागि सुपरिवेक्षकहरूकहाँ पठाएँ। मैले मेरो स्थिति गलत छ, र म फेरि आफ्नै भविष्यका सम्भावना र मार्गहरूबारे सोचिरहेकी छु भनेर महसुस गरेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ र त्यो खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सबैले कुनै न कुनै बेला गल्ती गर्छन्, र तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह वा काम गरे पनि, सबैले आफ्नो क्षमता र सुझबुझभन्दा बाहिरका कुराहरूको सामना गर्छन्। यो एकदमै सामान्य कुरा हो, र तैँले यसलाई सही तरिकाले लिन सिक्नुपर्छ। … तैँले तुरुन्तै आत्मचिन्तन गर्नुपर्छ, र उक्त गल्ती तेरो काममा निपुणताको कमीले गर्दा, तेरा कार्यहरूमा व्यक्तिगत अभिप्रायहरूको मिसावटले गर्दा, वा तैँले आफ्ना धारणा र कल्पनाहरूका आधारमा कामकुराहरू गर्नुको कारणले गर्दा भएको हो कि भनी हेर्नुपर्छ। तैँले यी सबै पक्षलाई जाँच्नुपर्छ। यदि यो तेरो काममा निपुणताको कमीको समस्या हो भने, तैँले पेसागत सीपहरू सिक्न सक्छस्, वा पेसा बुझ्ने मानिसहरूसँग परामर्श र छलफल गर्न सक्छस्। यदि तेरा अभिप्रायहरू गलत छन् वा तँसँग धारणा र कल्पनाहरू छन् भने, तैँले परमेश्‍वरका वचनहरूमा आत्मचिन्तन र आफूलाई चिन्ने प्रयास गर्नुपर्छ, र त्यसपछि आफ्ना गलत अभिप्राय वा धारणाहरू सच्याउनुपर्छ र तिनको विरुद्धमा विद्रोह गर्नुपर्छ, र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। अवश्य पनि, यदि तँ आफैले समस्या समाधान गर्न सक्दैनस् भने, तैँले खोजी गर्न र सङ्गति गर्नका लागि कुनै मण्डली अगुवा वा सत्यता बुझ्ने कुनै व्यक्ति पनि खोज्न सक्छस्। के त्यसरी समस्या समाधान हुनेछैन र?(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्‍वरका वचनहरूको यो खण्ड पढेपछि, मेरो हृदयले स्पष्टता र अन्तर्दृष्टि पाएको महसुस भयो। मेरो कर्तव्यमा विचलन र समस्याहरू आउँदा, मैले चिन्तन गरेर, सारांश निकालेर, र समस्याको मूल कारण खोजेर तिनलाई सही रूपमा लिनुपर्छ। त्यसपछि मैले आत्मचिन्तन गरेँ, र प्रवचनहरू छान्दा म अनुभवमा निर्भर भइरहेकी थिएँ भन्ने पत्ता लगाएँ। सामान्य रूपरेखा छ भन्ने देखेपछि, मैले विवरणहरूबारे मनन गरिनँ। यसले गर्दा मैले कतिपय समस्याहरू फेला पारिनँ। पछि, मैले समस्या भएका प्रवचनहरू निकालेँ र तिनका बारेमा सिस्टरहरूसँग छलफल गरेँ। कुराकानी र छलफलमार्फत, मैले सम्बन्धित सत्यता र सिद्धान्तहरू अलि बढी बुझेँ। यी अनुभवहरूमार्फत, मैले साँच्चै के बुझेँ भने हाम्रो सतर्क हुने बानी त्यागेर र सत्यता खोज्ने मनोवृत्ति राखेर मात्र हामीले परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ प्राप्त गरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छौँ।

अघिल्लो: ८९. कठिनाइहरूका बारेमा सङ्गतिमा खुल्न सिक्नुपर्छ

अर्को: ९१. के सिद्ध वैवाहिक जीवनको पछि लाग्दा खुसी मिल्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्