८८. ख्याति र प्राप्तिको पछि लाग्नु सही मार्ग होइन
सन् २०२२ को जुलाईमा, अगुवाहरूले मेरो लेखन सीप अत्यन्तै राम्रो भएको देखेर मलाई मण्डलीमा लेखन-पठनको काम गर्ने बन्दोबस्त मिलाइदिनुभयो। साठी वर्षको उमेरमा पनि मैले लेखन-पठनसम्बन्धी कर्तव्यहरू निर्वाह गर्न सकेको कुरा सोच्दा मलाई साँच्चै खुसी लाग्यो। मैले मनमनै सोचेँ, “मैले विगतमा पनि लेखन-पठनसम्बन्धी कर्तव्यहरू निर्वाह गरेकी छु, र मलाई सिद्धान्तहरूका बारेमा केही ज्ञान छ। अब, यदि मैले प्रशस्त मेहनत गरेँ र यसमा अझ बढी हृदय लगाएँ भने, म पक्कै पनि यो कर्तव्यका लागि योग्य हुनेछु।” त्यसपछि, म सक्रियतापूर्वक काममा सहभागी भएँ। मेरा ब्रदर-सिस्टरहरूसँग केही जटिल समस्याहरूको विश्लेषण गर्दा, मैले केही व्यवहार्य सुझावहरू प्रस्ताव गर्न सकेँ। अभ्यासका मार्गहरू साझा गर्न सकेकोमा सुपरिवेक्षकले मेरो प्रशंसा गर्नुभयो र ममा सम्भावना छ भन्नुभयो। मलाई अन्य लेखन-पठनसम्बन्धी कामदारहरूको कामको मार्गदर्शन गर्न भनियो। पछि, समस्याहरूबारे छलफल गर्दा सुपरिवेक्षकले मलाई बोलाउनुहुन्थ्यो, र ब्रदर-सिस्टरहरू आफूलाई समस्या पर्नेबित्तिकै मेरो सङ्गति खोज्थे। जब मैले मेरो पेशागत सामर्थ्यलाई सबैले चिनेको देखेँ, मलाई हृदयमा कति खुसी लाग्यो भनेर मैले व्यक्त गर्न सकिनँ, र कर्तव्य निर्वाह गर्ने मेरो ऊर्जा दोब्बर भयो।
केही समयपछि, सुपरिवेक्षकले मलाई सिस्टर सिन सिनलाई संवर्धन गर्न भन्नुभयो। मैले मनमनै सोचेँ, “सुपरिवेक्षकले ममा सम्भावना छ भन्नुभयो, र सिन सिनको कामलाई मार्गदर्शन गर्न पनि मलाई नै छान्नुभयो। यसले सुपरिवेक्षकले मलाई साँच्चै महत्त्व दिनुहुन्छ भन्ने देखाउँछ।” त्यसैले, म राजी भएँ। त्यसपछि, मैले सिन सिनलाई अगुवा र कामदारहरूसँगको भेलामा प्रवचन लेखनका सिद्धान्तहरूबारे सङ्गति गर्न लगेँ। सिन सिनले एउटा पक्षको कुरा सुनिन् र कहिलेकाहीँ नोटहरू टिपिन्। जब हामी फर्कियौँ, हामीले हाम्रो काममा आएका विचलनहरूबारे सङ्गति गर्यौँ। हामी दुई जना, एक वृद्ध र एक जवानले, धेरै खुसी हुँदै सँगै काम गर्यौँ। केही समयपछि, मैले सिन सिन एकदमै सोझी भएको पाएँ। उनलाई केही कुरा थाहा भएन भने, उनी त्यसबारे सोध्थिन्। उनी नयाँ कुराहरू सिक्न धेरै इच्छुक थिइन्। उनको क्षमता राम्रो थियो र उनी नयाँ कुराहरू छिट्टै बुझ्थिन्। सुपरिवेक्षकले सिद्धान्तहरू लागू गर्नेबारे सङ्गति गर्दा, उनले तुरुन्तै बुझिहाल्थिन्। उनी सिद्धान्तका मुख्य बुँदाहरू अति चाँडो बुझ्थिन् र तिनलाई आफ्नो कर्तव्यमा चाँडै लागू गर्न सक्थिन्। मैले मनमनै सोचेँ, “सिन सिनले यति छिटो प्रगति गर्दैछिन् कि उनी चाँडै नै मभन्दा अघि पुग्नेछिन्। मैले भविष्यमा अझ बढी मेहनत गर्नुपर्छ, नत्र म उनीभन्दा पछि पर्नेछु। त्यो कति लज्जास्पद होला!” पछि, मैले सिद्धान्तहरू अध्ययन गर्न अतिरिक्त समय लगाएँ। मलाई उच्च रक्तचाप छ, तर कहिलेकाहीँ टाउको सुन्निएजस्तो भएर असजिलो महसुस हुँदा पनि मैले आराम गरिनँ। म अध्ययन गर्ने कुनै पनि अवसर गुमाउन चाहन्नथेँ, किनकि मलाई सिन सिनभन्दा पछि परिने र अरूले हेप्ने डर थियो। एउटा भेलामा, अगुवाहरू उपस्थित हुनुहुन्थ्यो। सुपरिवेक्षकले एउटा प्रश्न राख्नुभयो र हामीलाई जवाफ दिन भन्नुभयो। मैले मनमनै सोचेँ, “अगुवाहरू पनि यहीँ हुनुहुन्छ। मैले राम्रो जवाफ दिनुपर्छ—अगुवाहरूले मलाई हेयको नजरले नहेरून्।” तर, मैले राम्रो जवाफ सोच्न जति धेरै प्रयास गरेँ, त्यति नै मैले सुसङ्गत ढङ्गले बोल्न सकिरहेकी थिइनँ। तर सिन सिनले भने हरेक सिद्धान्तअनुसार एक-एक गरेर निकै प्रस्ट रूपमा बोल्न सकिन्। सुपरिवेक्षकले सुस्केरा हाल्नुभयो र मलाई भन्नुभयो, “तिमीले यति लामो समयदेखि तालिम लिइरहेकी छौ—तिमीमा सिद्धान्तहरूको बुझाइ भर्खरै आएकी सिस्टरको जति राम्रो कसरी नभएको?” अगुवाहरू र अन्य केही लेखन-पठनसम्बन्धी कामदारहरूले एकैचोटि फर्केर मतिर हेरे। मलाई लाजले मेरो अनुहार तातिएको महसुस भयो। मलाई खाल्डो खोजेर लुक्न पाए पनि हुन्थ्यो जस्तो भयो। मैले मनमनै सोचेँ, “पहिले, म सिन सिनलाई मार्गदर्शन गर्ने गर्थेँ, तर अहिले उनी हरेक पक्षमा मभन्दा अगाडि पुगेकी छिन्। अब म मेरो यो बुढो अनुहार कसरी देखाऊँ? मैले लेखन-पठनको कर्तव्य निर्वाह गर्दै आएको अब दुई वर्ष भयो, तैपनि म भर्खरै तालिम सुरु गरेकी सिस्टरजत्तिको पनि छैन। यो साह्रै लज्जास्पद कुरा हो!” सुपरिवेक्षकले सुस्केरा हाल्नुको मतलब उहाँ मप्रति निराश हुनुहुन्थ्यो। उहाँले पक्कै सोचिरहनुभएको थियो, मैले यति लामो समय तालिम लिँदा पनि मेरो सामर्थ्य कसरी यति सीमित मात्र हुन सक्छ? त्यस समयमा, मैले सिद्धान्तहरू अध्ययन गर्न अतिरिक्त समय दिइरहेकी भए पनि, मेरो खासै प्रगति भइरहेको थिएन।
पछि, अगुवाहरूले सिन सिन र मलाई अलग गर्नुभयो। हामी प्रवचनहरूको एउटा-एउटा अंश प्रशोधन गर्ने जिम्मामा थियौँ। केही समयपछि, सिन सिनले प्रशोधन गरेका प्रवचनहरूको नतिजा झन्-झन् राम्रो हुँदै गयो। यदि सुपरिवेक्षकले कुनै समस्याबारे सङ्गति गर्न चाहनुभयो भने, उहाँले सिन सिनलाई नै बोलाउनुहुन्थ्यो। मलाई याद छ, एकचोटि एउटा पूरै भेलामा सुपरिवेक्षकले सिन सिनले राखेका प्रश्नहरूबारे मात्र छलफल गर्नुभयो। मलाई विगतका भेलाहरूको याद आयो, जहाँ सबैभन्दा बढी ध्यान मैले पाउँथेँ। अब, मेरो प्रभामण्डल सिन सिनले खोसेकी थिइन्, र म “कुरा सुन्न मात्र आएको विद्यार्थी” जस्तै भएकी थिएँ जोसँग कसैले कुरा गर्दैनथ्यो। मेरो हृदयमा पीडाको सागर उर्लिरहेको थियो। मेरो हृदयमा ऊर्जाको एउटा यस्तो वेग थुनिएको थियो, जुन को राम्रो भनेर हेर्नका लागि सिन सिनसँग दिलोज्यानले प्रतिस्पर्धा गर्न चाहन्थ्यो। त्यसपछि, जब मैले भेलामा सुपरिवेक्षकले फलानो-फलानो किसिमको प्रवचनले राम्रो नतिजा दिन्छ भनेको सुन्नेबित्तिकै, म हतारहतार गएर त्यस्तै खालको प्रवचन प्रशोधन गर्थेँ। म अरूभन्दा कम सक्षम छैन भनेर ब्रदर-सिस्टरहरूले देखून् भन्नका लागि म छिट्टै नतिजा ल्याउन चाहन्थेँ। तर, म उपलब्धि र प्राप्तिका लागि उत्सुक भएकी, र मैले सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह नगरेकी हुनाले, अन्तिममा, मैले प्रशोधन गरेका धेरैजसो प्रवचनहरूमा समस्याहरू हुन्थे। त्यो अवधिभरि, म शारीरिक र मानसिक रूपमा थकित थिएँ, र मलाई केही अवसाद महसुस भयो, “मैले प्रस्ट रूपमा यी सिद्धान्तहरूबारे केही बोध प्राप्त गरेकी छु, तर मैले प्रशोधन गरेका प्रवचनहरूमा किन सधैँ समस्याहरू आउँछन्?” त्यसपछि, कर्तव्य निर्वाह गर्दा मैले आफ्नो ऊर्जा निकाल्न सकिनँ। एकदिन, सिन सिनले मलाई एउटा प्रवचन ल्याएर दिइन् ताकि त्यसको सङ्गति स्पष्ट छ कि छैन भनेर मैले देख्न सकूँ। खासमा, म उनलाई सहयोग गर्न चाहन्नथेँ, तर उनले सोधेकी हुनाले, मैले नाइँ भन्नै सकिनँ। त्यसैले, मैले त्यो पढेँ, र त्यो वास्तवमै सार्थक प्रवचन भएको पाएँ, तर त्यसमा केही समस्याहरू थिए। मैले मनमनै सोचेँ, “यदि मैले उनलाई समस्याहरू औँल्याइदिएँ भने, उनले त्यो प्रशोधन गरेर पेश गरेपछि, के त्यसले उनलाई फेरि चर्चामा पुर्याउनेछैन र? के त्यसले गर्दा उनको पेशागत स्तर मेरो भन्दा उच्च भएझैँ देखिनेछैन र?” त्यसकारण, मैले उनलाई झाराटारुवा तरिकाले केही महत्त्वहीन कुराहरू मात्र भनेँ, र मुख्य भागहरूबारे केही पनि भनिनँ। त्यो बेला, मलाई थोरै आत्म-ग्लानि महसुस भयो, “मैले समस्याहरू प्रस्ट रूपमा देखेकी थिएँ, तर मैले लुकाएँ र केही भनिनँ। म यो के गर्दैछु?” तर फेरि मैले सोचेँ, “उसलाई कसले मेरो प्रभामण्डल खोस्न भनेको थियो र?” यो विचार आउनेबित्तिकै, मेरो हृदयमा भएको थोरै आत्म-ग्लानि पनि हरायो। पछि, यो प्रवचनलाई अन्तिम रूप दिएर पेश गर्नुअघि धेरै लामो समयसम्म ढिलाइ भयो। त्यतिञ्जेल, म लगातार सिन सिनसँग प्रतिस्पर्धाको स्थितिमा जिइरहेकी थिएँ। मैले कर्तव्य निर्वाह गर्दाको नतिजा झन्-झन् खराब हुँदै गयो, र मेरो हृदयमा अन्धकार र निराशा छायो। म पवित्र आत्माको मार्गदर्शन बिलकुलै महसुस गर्न सक्दिनथेँ। म दिनभरि अलमल्ल परिरहन्थेँ। पछि, भेलाहरूको समयमा, सुपरिवेक्षक र अन्य केही लेखन-पठनसम्बन्धी कामदारहरूले सिन सिनको तीव्र प्रगतिको नियमित रूपमा प्रशंसा गर्थे। केही लेखन-पठनसम्बन्धी कामदारहरूले त सिन सिनलाई अनेक कुराहरू समेत सोध्थे। मलाई पूरै बेवास्ता गरिएको, र मैले आफ्ना ब्रदर-सिस्टरहरूका अगाडि शिर ठाडो पार्न नसकेको अनुभूति भयो। मेरो हृदय झन्-झन् दिकदार र सन्तप्त हुँदै गयो। म कहिलेकाहीँ आफ्नो कर्तव्य त्याग्न चाहन्थेँ, तर मलाई आँट आउँदैनथ्यो; म कहिलेकाहीँ आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्थेँ, तर त्यसका लागि ममा हृदय नै हुँदैनथ्यो। म दिनभरि निराश र उदास हुन्थेँ, र मलाई कर्तव्य निर्वाह गर्ने चाहना नै हुँदैनथ्यो। परमेश्वरलाई प्रार्थना गर्दा समेत मसँग भन्ने कुरा केही पनि हुँदैनथ्यो। विशेषगरी, जब भेलाहरूमा मैले मेरा सिस्टरहरू खुलेर सङ्गति गरेको, कुराकानी गरेको र हाँसेको देख्थेँ, मेरो मुटुलाई यति पीडा हुन्थ्यो कि मानौँ त्यसलाई चक्कुले रेटिँदै छ। मलाई घर जाऊँ जस्तो पनि लाग्थ्यो। पछि, मेरो स्थिति केही समयदेखि खराब भएको र मलाई उच्च रक्तचाप भएको हुनाले, सुपरिवेक्षकले मलाई नयाँ कर्तव्यमा खटाउनुभयो।
मेरो कर्तव्य फेरबदल भएपछि, म सधैँ आफ्नो हृदयलाई शान्त पार्नै सकिरहेकी थिइनँ, र त्यसपछि मात्र मैले आत्मचिन्तन गर्न थालेँ। यसो सोच्दा, सिन सिनले आफ्नो कर्तव्य निर्वाह गरेर त्यसबाट नतिजा प्राप्त गर्दा, म खुसी हुनुपर्ने थियो। त्यसको साटो म किन नकारात्मक र सन्तप्त भएँ? जब म खोजी गर्दै थिएँ, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र बल्ल आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले आफूलाई धेरै सिद्ध, धेरै विशिष्ट, धेरै कुलीन, वा अरूभन्दा धेरै फरक सोच्नु हुँदैन; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफूलाई अलग ठान्नु—यो अहङ्कारी स्वभावले गराउँछ; आफ्ना कमीकमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्नु, र कहिल्यै आफ्ना गल्ती र असफलताहरू सामना गर्न नसक्नु—यो अहङ्कारी स्वभावले गराउँछ; अरूलाई कहिल्यै आफूभन्दा श्रेष्ठ, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूको शक्तिलाई आफ्नोभन्दा बढी हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा राम्रा विचार, सुझाव, र दृष्टिकोण राख्न नदिनु, र आफूभन्दा अरू राम्रो भएको थाहा पाउँदा नकारात्मक बन्नु, बोल्न नचाहनु, दुःखी र उदास बन्नु, र खिन्न हुनु—यी सबै अहङ्कारी स्वभावले गराउँछ। अहङ्कारी स्वभावले तँलाई आफ्नो घमण्ड जोगाउन खोज्नुका कारण अरूले दिएको सच्याइ स्वीकार गर्न नसक्ने, आफ्ना कमीकमजोरीहरू सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरू स्वीकार गर्न नसक्ने बनाउन सक्छ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तँलाई बन्धनमा परेको महसुस हुन सक्छ, र तैँले आफ्नो कर्तव्य समेत पूरा गर्ने इच्छा गर्दैनस् र कर्तव्य पूरा गर्दा झारा टार्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहार र अभ्यासहरू उत्पन्न गराउन सक्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरले खुलासा गर्नुभयो कि मानिसहरूको अहङ्कारी स्वभावले गर्दा उनीहरू आफूलाई सिद्ध ठान्छन्, र निरन्तर आफू अरूभन्दा राम्रो र भीडभन्दा फरक छु भन्ने सोच्छन्। जब कसैले उनीहरूलाई उछिनेर अघि बढ्छ, तब प्रतिष्ठा र हैसियतप्रति उनीहरूको चाहनामा धक्का लाग्छ। उनीहरू डाह गर्न थाल्छन्, र अरूसँग सङ्घर्ष गर्छन्। यदि उनीहरू सफल भएनन् भने, उनीहरू नकारात्मक बन्छन् र उनीहरूमा आफ्नो कर्तव्य निर्वाह गर्ने ऊर्जासमेत हुँदैन। म ठीक यही स्थितिमा थिएँ। मैले सुरुमा प्रवचनहरू प्रशोधन गर्न थाल्दा, म केही मार्गहरूबारे सङ्गति गर्न सक्थेँ। मेरा ब्रदर-सिस्टरहरूले मलाई सम्मान गर्थे। मलाई म उनीहरूभन्दा राम्रो छु, त्यसैले म उनीहरूको सम्मान पाउन पूर्णतया योग्य छु जस्तो लाग्थ्यो। जब म सिन सिनलाई मार्गदर्शन गर्दै थिएँ, सुरुमा मैले उनलाई प्रेमपूर्ण हृदयले मार्गदर्शन गर्न सकिरहेकी थिएँ। पछि, जब मैले उनमा राम्रो क्षमता भएको र उनले छिटो प्रगति गरेकी, उनको कर्तव्यको नतिजाले मेरो नतिजालाई उछिनेको, र सुपरिवेक्षकले बारम्बार उनको प्रशंसा गरेको देखेँ, मलाई मेरो आफ्नै प्रतिष्ठा र हैसियत खतरामा परेको महसुस भयो। मलाई आफ्नो अनुहार देखाउन पनि लाजमर्दो भएको महसुस भयो, र हृदयमा एकदमै असहज महसुस भयो, त्यसैले मैले गोप्य रूपमा उनीसँग प्रतिस्पर्धा गरेँ। कस्तो किसिमको प्रवचनले राम्रो नतिजा दिन्छ भनेर सुपरिवेक्षकले भन्नुभएको सुन्दा, मैले सिद्धान्तहरूलाई ख्याल गर्नमा समय र मेहनत लगाउनुपर्ने थियो, र राम्रा नतिजाहरू ल्याउने गरी कसरी उत्कृष्ट रूपमा प्रवचनहरू प्रशोधन गर्ने भनेर ख्याल गर्नुपर्ने थियो। तर, म इज्जत जोगाउन र अरूबाट सम्मान पाउनका निम्ति उपलब्धिहरू र प्राप्तिका लागि उत्सुक थिएँ, त्यसैले मैले प्रशोधन गरेका प्रवचनहरूमा धेरै समस्याहरू हुन्थे। सिन सिनले मलाई एउटा प्रवचन जाँच्न मद्दत मागिन्, तर उनी फेरि चर्चाको केन्द्र बन्लिन् र मभन्दा अगाडि पुग्लिन् भन्ने डरले, मैले समस्याहरू देख्दादेख्दै पनि उनीसँग इमानदार भएर कुरा गरिनँ। मलाई हृदयमा आत्म-ग्लानि महसुस भए पनि, म आफूलाई त्याग्न र परमेश्वरतर्फ फर्कन अनिच्छुक थिएँ। तर, मैले जतिसुकै जुक्ति लगाए पनि वा जस्तोसुकै चाल चाले पनि, म उनीभन्दा पछि नै परेँ। मैले यो तथ्य स्वीकार गर्न सकिनँ, र म नकारात्मक र उदास भएँ। मसँग आफ्नो कर्तव्य निर्वाह गर्ने कुनै ऊर्जासमेत थिएन। वास्तवमा, सिन सिनको क्षमता र बुझ्ने क्षमता दुवै मेरो भन्दा राम्रो छ। त्यसमाथि, उनले कडा मेहनत गर्थिन्, र सिद्धान्तहरू छिट्टै बुझिहाल्थिन्। उनले आफ्नो कर्तव्य निर्वाह गर्दा राम्रो नतिजा पाउनु पूर्ण रूपमा सामान्य कुरा थियो। तर, मेरो प्रतिष्ठा र हैसियतको चाहना धेरै प्रबल भएकोले, मैले उनीसँग खुलेआम र लुकेर सङ्घर्ष र हानथाप गरेँ। म अत्यन्तै अहङ्कारी र अज्ञानी थिएँ! ममा रत्तिभर पनि आत्म-सचेतना थिएन! यो कसरी आफ्नो कर्तव्य निर्वाह गरेको भयो र? यो स्पष्ट छ कि म प्रतिष्ठा र हैसियतको पछि लागिरहेकी थिएँ, जसले गर्दा परमेश्वरले मलाई घृणा गर्नुहुन्थ्यो!
पछि, मैले यसबारे मनन गरेँ। आफ्नो कर्तव्य निर्वाह गर्नुमा मेरो सुरुको मनसाय परमेश्वरलाई सन्तुष्ट पार्नु थियो, तर यस मार्गमा केही समय हिँडेपछि, मैले कसरी हैसियतका लागि काम गर्न थालेँ? खोजी गर्ने क्रममा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र मेरो गलत पछ्याइबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूको लागि उनीहरूको प्रतिष्ठा वा हैसियतलाई आक्रमण गर्नु र खोसी लैजानु उनीहरूको ज्यान लिने प्रयास गर्नुभन्दा पनि गम्भीर कुरा हुन्छ। उनीहरूले जति उपदेशहरू सुने पनि वा परमेश्वरका वचनहरू जति धेरै पढे पनि आफूले सत्यताको कहिल्यै अभ्यास नगरेकोमा र ख्रीष्टविरोधीहरूको मार्ग लिएकोमा अनि ख्रीष्टविरोधीहरूको प्रकृति सार धारण गरेकोमा दुःख वा पछुतो महसुस गर्नेछैनन्। यसको सट्टा उनीहरू सधैँ आफ्नो हैसियत प्राप्त गर्ने र आफ्नो इज्जत बढाउने उपायहरूका निम्ति आफ्नो दिमाग खियाइरहेका हुन्छन्। यो भन्न सकिन्छ कि ख्रीष्टविरोधीहरूले जे गर्छन् त्यो अरूको अगाडि आफ्नो प्रदर्शन गर्नको लागि गर्छन् र परमेश्वरको अगाडि गर्दैनन्। म किन यसो भन्छु त? किनकि त्यस्ता मानिसले हैसियतलाई यति धेरै प्रेम गर्छन् कि उनीहरू त्यसलाई आफ्नो जीवन र आफ्नो जीवनभरिको लक्ष्यको रूपमा लिन्छन्। यसबाहेक उनीहरूले हैसियतलाई धेरै प्रेम गर्ने भएकाले उनीहरू सत्यताको अस्तित्वमा कहिल्यै पनि विश्वास गर्दैनन् र उनीहरू परमेश्वरको अस्तित्वमा पटक्कै विश्वास गर्दैनन् भनेर पनि भन्न सकिन्छ। यसैले उनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न जे-जसरी हिसाबकिताब गरे पनि र मानिसहरू र परमेश्वरलाई झुक्याउन उनीहरूले जे-जसरी झुटा रूपरङ्गहरू प्रयोग गर्ने कोसिस गरे पनि उनीहरूको हृदयको गहिराइमा कुनै चेतना वा ग्लानि हुँदैन, उनीहरूमा कुनै चिन्ता हुन्छ भनेर त नसोचेकै बेस। प्रतिष्ठा र हैसियत सम्बन्धी निरन्तरको खोजीमा तिनीहरूले परमेश्वरले गर्नुभएका कुराहरूलाई पनि स्वेच्छाचारी रूपमा नकार्छन्। म किन यसो भन्छु त? ख्रीष्टविरोधीहरूले आफ्नो हृदयको गहिराइमा यस्तो विश्वास गर्छन्, ‘सबै प्रतिष्ठा र हैसियत आफ्नै प्रयासहरूद्वारा कमाइन्छ। मानिसहरूमाझ दह्रिलो स्थान हासिल गरेर अनि प्रतिष्ठा र हैसियत प्राप्त गरेर मात्रै तिनीहरूले परमेश्वरका आशिष्हरू प्राप्त गर्न सक्छन्। मानिसहरूले पूर्ण शक्ति र हैसियत प्राप्त गरेपछि मात्रै जीवनको मूल्य हुन्छ। यो मात्रै मानव जसरी जिउनु हो। यसको विपरीत परमेश्वरको वचनमा भनिएजस्तै सबै कुरामा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु, सृजित प्राणीको स्थानमा उभिन इच्छुक हुनु र सामान्य व्यक्तिजस्तै जिउनु व्यर्थ हुनेछ—कसैले पनि त्यस्तो व्यक्तिलाई आदरको नजरले हेर्दैन। व्यक्तिको हैसियत, प्रतिष्ठा र खुसी आफ्नै संघर्षबाट प्राप्त गर्नुपर्छ; ती कुराका लागि लडाइँ लड्नुपर्छ र सकारात्मक र सक्रिय मनोवृत्तिले तिनलाई टपक्कै टिप्नुपर्छ। अरू कसैले तँलाई ती कुराहरू दिनेछैन—हात बाँधेर प्रतीक्षा गर्दा असफलता मात्र हात लाग्छ।’ ख्रीष्टविरोधीहरूले यसरी नै हिसाबकिताब गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो। यदि तिमीहरूले ख्रीष्टविरोधीहरूले सत्यता स्वीकार गरून्, गल्तीहरू स्वीकार गरून् र साँचो पश्चात्ताप गरून् भन्ने आशा गर्छौ भने त्यो असम्भव हुन्छ—तिनीहरूले कदापि त्यो गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूमा शैतानको प्रकृति सार हुन्छ, तिनीहरू सत्यतालाई घृणा गर्छन्, त्यसकारण तिनीहरू जहाँ गए पनि, तिनीहरू पृथ्वीको अन्तिम छेउमा गए पनि प्रतिष्ठा र हैसियत खोजी गर्ने तिनीहरूको महत्त्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुनेछैन, न त विभिन्न कुराहरू हेर्ने तिनीहरूको दृष्टिकोण परिवर्तन हुनेछ, न त तिनीहरूको मार्ग नै परिवर्तन हुनेछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनबाट मैले बुझेँ कि ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवनका रूपमा लिन्छन्। उनीहरू जुनसुकै समूहमा भए पनि, उनीहरू सधैँ सम्मानित हुन र पुजिन चाहन्छन्। उनीहरू यसरी बिताएको जीवनको मात्र मूल्य हुन्छ भन्ने ठान्छन्। ख्रीष्टविरोधीहरू मानिसहरूका अगाडि मात्र अभिनय गर्छन्। उनीहरू परमेश्वरको छानबिन स्वीकार गर्दैनन्। उनीहरूको प्रतिष्ठा र हैसियतमा आँच आउनेबित्तिकै, उनीहरू सङ्घर्ष र खोसाखोस गर्छन्, आफ्नो प्रतिष्ठा र हैसियत फिर्ता ल्याउने अनेक उपाय सोच्छन्। उनीहरू कहिल्यै पनि धरातलमा रहेर र सन्तुष्ट भई आफ्नो कर्तव्य निर्वाह गर्दैनन्। यो ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। परमेश्वरका वचनहरूले जे खुलासा गरे, त्यसले मलाई साँच्चै छोयो, र त्रसित पनि बनायो। मैले मेरो व्यवहार ख्रीष्टविरोधीको व्यवहारसँग मिल्दोजुल्दो भएको देखेँ। म सानो छँदादेखि नै, विद्यालय र परिवारले ममा अस्तित्वका शैतानी नियमहरू हालिदिएका थिए, जस्तै “अरूभन्दा विशिष्ट बन,” “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र “अरूभन्दा उत्कृष्ट बन्ने लक्ष्य राख।” म जुनसुकै अवस्थामा वा जुनसुकै मानिसहरूको समूहमा भए पनि, म अरूबाट सम्मान र प्रशंसा पाउने पछ्याइमा लाग्थेँ। म सम्मानित हुँदा जीवन सार्थक बन्छ, र हेपाइँमा पर्दा जीवन दयनीय बन्छ भन्ने सोच्थेँ। परमेश्वरमा विश्वास गरेपछि पनि, म अझै तिनै शैतानी नियमहरूको भरमा जिएँ। उदाहरणका लागि, जब म त्यो बेला लेखन-पठनसम्बन्धी कर्तव्यहरू निर्वाह गर्दै थिएँ, सुरुमा मैले सुपरिवेक्षकको अनुमोदन र ब्रदर-सिस्टरहरूको सम्मान पाएँ, त्यसैले कर्तव्य निर्वाह गर्दा ममा धेरै ऊर्जा थियो। पछि, जब सिन सिनको कर्तव्यको नतिजा झन्-झन् राम्रो हुँदै गयो, र मलाई नै उछिन्यो, मैले उनका सबल पक्षहरू सिक्दा उचित हुने थियो। यसरी काम गर्दा मण्डलीको कामलाई फाइदा हुने थियो, तर जब मैले मेरा ब्रदर-सिस्टरहरूले उनलाई घेरेर यावत् किसिमका प्रश्नहरू सोधेको देखेँ, मलाई आफू बेवास्तामा परिएको र छुट्टिएको महसुस भयो। मलाई सुरुमा मेरो स्वामित्वमा रहेको प्रभामण्डल उनीद्वारा खोसियो भन्ने लाग्यो। मलाई साँच्चिकै असहज महसुस भयो, र म दयनीय तरिकाले जिइरहेकी छु जस्तो लाग्यो। म उनीभन्दा पछि पर्न चाहन्नथेँ, र उनीसँग प्रतिस्पर्धा गर्ने उपायहरू सोच्न मैले धेरै दिमाग खियाएँ। जब उनी समस्याहरूबारे सल्लाह माग्न मकहाँ आइन्, मैले आफूलाई रोकेँ र उनीसँग इमानदार भएर कुरा गरिनँ। फलस्वरुप, एउटा राम्रो प्रवचन धेरै लामो ढिलाइपछि मात्र तयार भयो, जसले गर्दा प्रगतिमा बाधा पुग्यो। यो कसरी आफ्नो कर्तव्य निर्वाह गरेको भयो र? म त परमेश्वरको प्रतिरोध गरिरहेकी थिएँ! सिन सिन जवान छिन्, राम्रो क्षमताकी छिन्, र सत्यता सिद्धान्तहरू छिटो बुझ्छिन्। उनी संवर्धन गर्न लायक थिइन्, र भेलाहरूमा सुपरिवेक्षकले उनलाई बढी ध्यान दिनु धेरै स्वाभाविक कुरा थियो। तर, मैले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनका निम्ति उनीसँग सङ्घर्ष गर्ने उपायहरू दिमाग खियाएर सोचेँ। अन्त्यमा, प्रवचन पेश गर्न ढिलाइ भयो, र म अन्धकारमा फसेँ। वास्तवमा, सिन सिनसँगको प्रतिस्पर्धाले मलाई दुःख र थकान दियो। तर, बेवास्ता गरिँदा मलाई जे महसुस भयो, त्यो कुरा मैले सहन सकिनँ, र म उनीभन्दा राम्रो नभए पनि उनीजत्तिकै राम्रो छु भनेर प्रमाणित गर्न चाहन्थेँ। जब मैले यो हासिल गर्न सकिनँ, मेरो हृदय नकारात्मक र सन्तप्त बन्यो। मैले देखेँ कि म “अरूभन्दा विशिष्ट बन,” “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र “अरूभन्दा उत्कृष्ट बन्ने लक्ष्य राख” जस्ता शैतानी नियमहरूद्वारा धेरै कसिलो रूपमा बाँधिएकी छु। मेरा विचारहरू सबै विकृत थिए। अरूभन्दा विशिष्ट बन्नका निम्ति, मैले गरेका हरेक कामले मण्डलीको काममा अवरोध र बाधा पुर्यायो, र परमेश्वरको प्रतिरोध गर्यो। मैले साँच्चै परमेश्वरलाई मप्रति घृणा गर्न लगाएँ। यदि मैले सक्दो चाँडो पश्चात्ताप गरिनँ भने, म ढिलोचाँडो परमेश्वरद्वारा प्रकट गरिनेछु र हटाइनेछु। यो बुझेपछि, म पछुतो र आत्म-ग्लानिले भरिएँ। मैले परमेश्वरको अगाडि घुँडा टेकेर पश्चात्ताप गरेँ, “हे परमेश्वर! तपाईँले मलाई मेरो कर्तव्य निर्वाह गर्न माथि उठाउनुभयो, तर ममा लाजको कुनै आभास थिएन। प्रतिष्ठा र हैसियतको पछ्याइमा लाग्दा, मैले मेरो कर्तव्यलाई भुलेँ। तपाईँ मलाई कति घृणा गर्नुहुन्छ होला! हे परमेश्वर! म पश्चात्ताप गर्न, सत्यता पछ्याउने मार्गमा हिँड्न, र सौहार्दपूर्ण रूपमा मेरा ब्रदर-सिस्टरहरूसँग काम गरेर मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्छु।”
खोजी गर्ने क्रममा, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, र सत्यता पछ्याउनुको महत्त्व अझ प्रस्ट रूपमा देखेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको मात्रै खोजी गर्छन् भने—यदि तिनीहरूले आफ्नै हितहरूको मात्रै खोजी गर्छन् भने—तिनीहरूले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्नेछैनन्, र अन्त्यमा, तिनीहरूले नै घाटा बेहोर्नुपर्छ। परमेश्वरले सत्यता खोजी गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, र यदि तँ आफ्नो भ्रष्ट स्वभावको बारेमा मनन गर्न र त्यसबारेमा जान्न सक्षम छैनस् भने, तैँले साँचो रूपमा पश्चात्ताप गर्नेछैनस्, र तैँले जीवन प्रवेश हासिल गर्नेछैनस्। सत्यता स्वीकार गर्नु र आफूलाई चिन्नु तेरो जीवनमा हुने वृद्धि र मुक्ति प्राप्त गर्ने मार्ग हो, र यो तेरो लागि परमेश्वरको छानबिन, न्याय र सजाय स्विकार्न, अनि सत्यता र जीवन प्राप्त गर्न उहाँको अघि आउने मौका हो। यदि तँ ख्याति र हैसियत, अनि तेरो आफ्नै हितलाई पछ्याउनको लागि सत्यता पछ्याउन छोड्छस् भने, यो परमेश्वरको न्याय र सजाय प्राप्त गर्ने र मुक्ति पाउने अवसरलाई त्याग्नुसरह हो। तैँले ख्याति, प्राप्ति र हैसियत अनि तेरा आफ्नै हितहरू रोजिरहेको हुन्छस्, तर तैँले जे त्यागिरहेको हुन्छस् त्यो नै सत्यता हो, र तैँले जे गुमाइरहेको हुन्छस् त्यो जीवन, र मुक्ति पाउने मौका हो। कुन धेरै अर्थपूर्ण हुन्छ? यदि तैँले आफ्नै हित छनौट गर्छस् र सत्यतालाई त्याग्छस् भने, के यो मूर्ख कुरा होइन र? ठेट शब्दमा भन्नुपर्दा, यो सानो फाइदाको लागि ठूलो घाटा बेहोर्नु हो। ख्याति, प्राप्ति, हैसियत, पैसा, र स्वार्थहरू सबै क्षणिक हुन्, ती सबै अल्पकालीन हुन्, जबकि सत्यता र जीवन अनन्त र अपरिवर्तनीय छन्। यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको पछि लाग्ने तुल्याउने आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्छन् भने, तिनीहरूले मुक्ति पाउने आशा हुन्छ। यसको साथै, मानिसहरूले प्राप्त गर्ने सत्यताहरू अनन्त हुन्छन्; शैतानले मानिसहरूबाट सत्यताहरू खोसेर लान सक्दैन, न त अरू कसैले नै यसलाई खोसी लान सक्छन्। तँ तेरा हितहरूलाई त्याग्छस् तर तैँले प्राप्त गर्ने भनेको सत्यता र मुक्ति हुन्; यी परिणामहरू तेरै हुन्, र तिनीहरू तैँले आफ्नै लागि प्राप्त गर्छस्। यदि मानिसहरूले सत्यताको अभ्यास गर्ने निर्णय गरे भने, तिनीहरूले आफ्ना हितहरू गुमाएका भए पनि, तिनीहरूले परमेश्वरको मुक्ति र अनन्त जीवन प्राप्त गरिरहेका हुन्छन्। ती मानिसहरू सबैभन्दा बुद्धिमान मानिसहरू हुन्। यदि मानिसहरूले आफ्ना हितका लागि सत्यतालाई त्याग्छन् भने, तिनीहरूले जीवन र परमेश्वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; ती मानिसहरू सबैभन्दा मूर्ख हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्वरका वचनहरू मनन गरेपछि, मैले बुझेँ कि परमेश्वरले सत्यता पछ्याउनेहरूलाई मुक्ति दिनुहुन्छ। प्रतिष्ठा र हैसियतलाई बलियो गरी पक्रिराख्ने र नछोड्ने, अनि सत्यतालाई त्याग्नेहरूले जतिसुकै वातावरणहरू अनुभव गरे पनि कहिल्यै सत्यता प्राप्त गर्नेछैनन्। अन्त्यमा, उनीहरू परमेश्वरको प्रतिरोध गरेका कारण हटाइनेछन्। उनीहरू सबैभन्दा मूर्ख मानिस हुन्। जब मैले आफूलाई परमेश्वरका वचनसँग दाँजेर हेरेँ, मैले आफू मूर्ख रहेछु भन्ने देखेँ। सिन सिन जवान र राम्रो क्षमताकी छिन्। केही समयको तालिमपछि, उनले कर्तव्य निर्वाह गरेर मैले भन्दा राम्रो नतिजा ल्याउनु एकदमै स्वाभाविक थियो। तर, मैले आफ्नै औकात बुझिनँ, र म उनीजत्तिको राम्रो छैन भन्ने तथ्यलाई स्विकार्न सकिनँ। म ख्याति र प्राप्तिका लागि लडाइँ र खोसाखोसको स्थितिमा जिएँ। फलस्वरुप, मैले पवित्र आत्माको काम गुमाएँ र म अन्धकारमा फसेँ। मैले आफ्नो पेशागत सीपमा त कुनै प्रगति गरिनँ नै, त्यसमाथि मेरो जीवन प्रवेशमा पनि क्षति पुग्यो। मैले प्रतिष्ठा र हैसियतलाई आफ्नो कर्तव्य निर्वाह गर्नु र सत्यता प्राप्त गर्नुभन्दा बढी महत्त्वपूर्ण ठानेँ। अन्तमा, मैले केही पनि पाइनँ। के यो परम मूर्खता थिएन र? अब, म अझ स्पष्ट रूपमा कुराहरू देख्न सक्थेँ। प्रतिष्ठा र हैसियत बादल र कुहिरोजस्तै हराएर जान्छन्, र अरूको सम्मान खोज्नु अर्थहीन छ। यदि मैले सत्यता र जीवन प्राप्त नगरी सम्मान जितेकी भए, अन्ततः म परमेश्वरद्वारा तिरस्कृत हुनेथिएँ र हटाइनेथिएँ, साथै मैले मुक्तिको मौका गुमाउनेथिएँ। म मूर्ख बनेर र प्रतिष्ठा र हैसियत पछ्याइरहन सक्दिनथेँ। मैले सत्यता सिद्धान्तहरूमा मेहनत लगाउनैपर्छ। यो नै बुद्धिमानी निर्णय थियो।
केही समयपछि, मैले फेरि लेखन-पठनसम्बन्धी कर्तव्यहरू निर्वाह गर्न थालेँ। एकदिन, सुपरिवेक्षकले मलाई सिस्टर हान लीले भर्खरै प्रवचन प्रशोधन गर्ने तालिम सुरु गरेकी छिन्, र सिद्धान्तहरूबारे उनको दरिलो पकड छैन भन्नुभयो। उहाँले मलाई उनलाई बढी मद्दत गर्न भन्नुभयो। त्यसपछि, मैले हान लीसँग प्रवचन प्रशोधन गर्ने सिद्धान्तहरूबारे सङ्गति गरेँ। हामीले सँगै प्रवचनहरूको विश्लेषण गर्यौँ। मैले हान ली विचार र धारणाहरूले भरिएकी छिन्, र सिद्धान्तहरू छिट्टै बुझ्छिन् भनेर देखेँ। म उनका लागि खुसी थिएँ। केही समयपछि, हान लीले चाँडो प्रगति गरेकोमा सुपरिवेक्षकले निरन्तर प्रशंसा गर्नुभयो। अगुवाले पनि हान लीले यति छिटो प्रगति गर्लिन् भनेर उहाँले कहिल्यै नसोचेको बताउनुभयो। यो सुन्दा, मलाई हृदयमा डाहको अमिलो भाव अनुभूत भयो, “हान लीलाई सुपरिवेक्षक र अगुवाले प्रशंसा गर्नुहुन्छ र महत्त्व दिनुहुन्छ। तर म अझै पनि नामविनाको कठपुतली हुँ!” यो सोच्दा, मलाई फेरि एकपटक पुरानो समस्या आइपरेको र मैले फेरि आफूलाई अरूसँग दाँजिरहेको महसुस भयो। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “तैँले सर्वप्रथम परमेश्वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। मैले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नुपर्छ, र परमेश्वरको घरको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। हान लीले छिटो प्रगति गरिन्, र उनले कर्तव्य निर्वाह गरेर राम्रो नतिजा ल्याइन्। यो मण्डलीको कामको लागि फाइदाजनक भयो। म एक्लैले गर्न सक्ने कुरा सीमित थियो। मैले सबैभन्दा बढी केही पनि नलुकाई आफूले बुझेका कुरा हान लीसँग सङ्गति गर्नुपर्थ्यो। यसले उनलाई जतिसक्दो चाँडो सिद्धान्तहरू बुझ्न मद्दत गर्नेथियो ताकि उनले प्रशोधन गरेका प्रवचनहरू मानकअनुरूप होऊन्। यो पनि असल कार्यहरू तयार गर्नु नै थियो। जब मैले यस तरिकाले सोचेँ, मेरो हृदय स्वतन्त्र भएको महसुस भयो। मलाई अब हान लीको ईर्ष्या लागेन, र मैले आफूलाई उनीसँग दाँज्न छोडेँ। त्यसपछि, जब मैले आफू वरपरका ब्रदर-सिस्टरहरू आफूभन्दा राम्रा भएको देखेँ, मैले यसलाई सही रूपमा लिन सकेँ। जब मैले आफूले नबुझ्ने वा गर्न नसक्ने कुराहरू सामना गरेँ, मैले आफ्नो आडम्बर र अभिमान त्यागेर ती कुराहरूबारे ब्रदर-सिस्टरहरूसँग छलफल गर्ने अभ्यास गरेँ। केही समय यो अभ्यास गरेपछि, मलाई मेरो कर्तव्य र जीवन प्रवेशमा प्रगति भइरहेको महसुस भयो, र मेरो हृदयलाई अत्यन्तै सहज र शान्त महसुस भयो। अहिले, म ख्याति, प्राप्ति र हैसियतलाई कम महत्त्वपूर्ण ठान्छु। परमेश्वरका वचनहरूले हासिल गरेका नतिजाहरू यिनै हुन्। परमेश्वरलाई धन्यवाद!