८७. आमाबुबाको माया र हेरचाहलाई कसरी लिने
अक्टोबर २०१९ मा, एउटा भेलाको क्रममा प्रहरीले मलाई पक्राउ गर्यो र साढे दुई वर्षको जेल सजाय तोक्यो। त्यतिबेला म जम्मा उन्नाइस वर्षकी थिएँ। जब मेरो सजाय पूरा भयो र म रिहा भएँ, तब मेरी आमा मलाई लिन आउनुभयो। हामीले एक-अर्कालाई नभेटेको वर्षौं भइसकेको थियो। मेरी आमालाई पहिलेभन्दा धेरै दुब्ली-पातली र पहिलेभन्दा धेरै कपाल फुलेको रूपमा देख्दा, मलाई यति दुःख लाग्यो कि म शब्दमा वर्णन गर्नै सक्दिनँ। रेलमा बसेपछि, मैले बाल्यकालदेखि नै मेरा आमाबुबाले मलाई अत्यन्त माया गरेको र मलाई कहिल्यै कष्ट हुन नदिएको कुरा सम्झिएँ। म परिवारको एकमात्र सन्तान थिएँ, र उहाँहरूले सधैँ सुरुमा मेरोबारे सोच्नुहुन्थ्यो। अझ विशेष गरी, म बिरामी हुँदा वा मलाई चोटपटक लाग्दा, उहाँहरू मभन्दा बढी आत्तिनुहुन्थ्यो। मलाई याद छ, म चौध वर्षकी हुँदा पहाड चढ्दै गर्दा मेरो खुट्टा भाँचिएको थियो। अस्पतालमा मेरा आमाबुबाले पालैपिलो बसेर मेरो हेरचाह गर्नुभयो। बुबाको धेरै बिदा थिएन र भएको केही दिनको बिदा पनि मसँगै बिताउन प्रयोग गर्नुभयो। उहाँलाई कुरुवाको बेडमा लखतरान भई पल्टिरहेको देख्दा मेरो हृदय छियाछिया हुन्थ्यो। समस्या निम्त्याउने र उहाँहरूलाई दुःख दिने म नै हो भन्दै आफूलाई दोष दिन्थेँ। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, म आफ्नो कर्तव्य निर्वाह गर्न घर छोडेर गएँ। मेरा आमाबुबाले म गएको हेर्न नचाहे पनि उहाँहरूले मलाई साथ दिनुभयो, र मलाई आर्थिक सहयोगसमेत गर्नुभयो। विशेष गरी, त्यो बेला म पक्राउ पर्दा, मेरा आमाबुबाले धेरै सुर्ता गर्नुभयो, र मलाई थाहा थियो, उहाँहरूले बितेका साढे दुई वर्ष सास्ती र अत्यन्त सुर्तामा बिताउनुभएको थियो। मलाई उहाँहरूप्रति धेरै ऋणी महसुस भयो। मैले बाल्यकालदेखिका यतिका वर्षसम्म मेरा आमाबुबाका लागि कहिल्यै केही गर्न नसकेको कुराबारे सोचेँ। बरु, मैले उहाँहरूलाई हरेक मोडमा मेरो फिक्री गर्न बाध्य पारेकी छु। खास गरी, जब मैले आमालाई रेलमा गहिरो निद्रामा सुतेको देखेँ, तब मलाई म पक्राउ परेदेखि उहाँ एक रात पनि राम्ररी सुत्नुभएको छैन भन्ने थाहा भयो। मलाई धेरै आत्मग्लानि भयो, र मैले एउटा सन्तानका रूपमा आफ्नो जिम्मेवारी पूरा नगरेको महसुस गरेँ। अब म ठूली भइसकेकीले मैले पैसा कमाएर उहाँहरूलाई पाल्नुपर्छ र मेरो बारेमा थप चिन्ता लिने बनाउनुहुँदैनथ्यो। घर फर्केपछि, मैले एउटा जागिर खोजेर छिटो पैसा कमाई उहाँहरूलाई भौतिक सुखसुविधाले क्षतिपूर्ति तिर्ने योजना बनाएँ। जब मेरा आमाबुबाले मेरो यो विचार थाहा पाउनुभयो, तब उहाँहरूले म काममा जाने कुरालाई समर्थन गर्नुभएन। उहाँहरू म उचित रूपमा परमेश्वरमा विश्वास गरूँ र मसँग परमेश्वरका वचन पढ्न र आफ्नो कर्तव्य निर्वाह धेरै समय होस् भन्ने चाहनुहुन्थ्यो। उहाँहरूले मलाई जति राम्रो व्यवहार गर्नुहुन्थ्यो, मलाई त्यति नै बढी ऋणी महसुस हुन्थ्यो। यो उमेरमा पनि म आमाबुबाकै सहारामा बाँचिरहेकी छु भन्ने सोच्नेबित्तिकै, जागिरमा जाने मेरो अठोट झन् बलियो भयो। पछि, विभिन्न कारण र महामारीले गर्दा, मैले जागिर पाइनँ, तर मेरो हृदयले निरन्तर मेरा आमाबुबाप्रति ऋणी महसुस गरिरहन्थ्यो र म सधैँ उहाँहरूको गुन कसरी तिर्ने भन्ने सोच्थेँ। मेरी आमालाई हेपाटाइटिस बी थियो र उहाँ धेरै कमजोर हुनुहुन्थ्यो; मेरा बुबालाई ढाडको गम्भीर दुखाइ, मधुमेह र मुटुको रोग थियो, र उहाँको स्वास्थ्य पहिलेको जस्तो राम्रो थिएन। त्यसैले मैले उहाँहरूलाई लुगा धुन सघाएँ र आफ्नो क्षमताले भ्याएसम्मका केही काम गरेँ, अनि मैले बुबालाई “गुआ शा”[क] मालिस गरिदिएँ र उहाँका लागि केही औषधीयुक्त प्लास्टर किनिदिएँ। महामारीको बन्दाबन्दी हटेको केही समय नबित्दै, प्रहरीले मलाई भेट्टायो र परमेश्वरलाई इन्कार गर्न र विश्वासघात गर्न “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न भने, र मैले हस्ताक्षर नगरे मलाई लखेटिरहने धम्की दिए। तिनीहरूले मलाई जुनसुकै बेला प्रहरी चौकीमा हाजिर हुन तयार रहनू पनि भने। मेरो हृदयमा मलाई थाहा थियो, म उप्रान्त घरमा बस्न सक्दिनँ।
केही महिनापछि, म आफ्नो कर्तव्य निर्वाह गर्न अर्को क्षेत्रमा गएँ। मेरा आमाबुबाबाट फेरि छुट्टिनुपर्दा मेरो हृदयले मानेकै थिएन, “अहिले गएपछि, म फेरि कहिले फर्कन पाउने हो मलाई थाहा छैन। मेरा आमाबुबा बुढो हुँदै जानुभएको छ र उहाँहरूको स्वास्थ्य बिग्रँदै गएको छ। म परिवारको एकमात्र सन्तान हुँ। म नहुँदा उहाँहरूको हेरचाह गर्ने कोही छैन। यदि उहाँहरूलाई केही भइहाल्यो भने के गर्ने? मानिसहरू प्रायः भन्छन्, छोराछोरी हुर्काउनु भनेको त बुढेसकालको सहारा तयार गर्नु हो, तर मैले आफ्ना कुनै पनि सन्तानी कर्तव्य पूरा गरेकी छैनँ, त्यसैले मेरा आमाबुबाले मलाई साँच्चै व्यर्थमा हुर्काउनुभएछ।” यो कुरा सोच्दा, मलाई मुटु नै चुँडिएजस्तो पीडा भयो। म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी भए पनि, मलाई निरन्तर मेरा आमाबुबाको याद आइरहन्थ्यो। कहिल्यैकाहीँ त मलाई घर गई त्यहीँ बसेर कर्तव्य निर्वाह गर्न मन लाग्थ्यो, ताकि म उहाँहरूसँगै हुन सकूँ। मलाई थाहा थियो, प्रहरीले अझै पनि मेरो खोजी गरिरहेको छ र म फर्कन सक्दिनँ, तर जब म आमाबुबाको बिग्रँदो स्वास्थ्यबारे सोच्थेँ, म आफ्नो हृदयलाई शान्त पार्न वा कर्तव्यमा मन लगाउनै सक्दिनथेँ। पछि, सुपरिवेक्षकले मेरो स्थितिबारे थाहा पाउनुभयो र मेरा लागि परमेश्वरका वचनको एउटा खण्ड खोजिदिनुभयो: “यदि तेरा आमाबुबाले परमेश्वरमाथिको तेरो विश्वासमा बाधा दिने प्रयास गर्दैनन्, र तिनीहरू पनि विश्वासी हुन्, अनि तिनीहरूले तँलाई साँच्चै नै आफ्नो कर्तव्य अर्पणसाथ निर्वाह गर्न र परमेश्वरले दिएको आज्ञा पूरा गर्न साथ र प्रोत्साहन दिन्छन् भने, आमाबुबासँगको तेरो सम्बन्ध सामान्य अर्थमा आफन्तहरूबीचको दैहिक सम्बन्ध मात्रै होइन; बरु यो त मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्बन्ध हो। त्यस अवस्थामा, तैँले तिनीहरूसँग मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूका रूपमा अन्तरक्रिया गर्नेबाहेक, आमाबुबाप्रतिको सन्तानको जिम्मेवारी पनि पूरा गर्नैपर्छ। तैँले तिनीहरूप्रति अलि धेरै चासो देखाउनु पनि सही हो। तेरो कर्तव्यमा असर पर्दैन भने, अर्थात्, तिनीहरूद्वारा तेरो हृदयमा बन्धन हुँदैन भने, तैँले तेरा आमाबुबालाई कल गरेर हालखबर सोध्न सक्छस् र तिनीहरूप्रति अलिकति भए पनि वास्ता देखाउन सक्छस्, तिनीहरूका केही कठिनाइहरू हल गर्न र तिनीहरूको जीवनका केही समस्या सम्हाल्न सहयोग गर्न सक्छस्, अनि तिनीहरूको जीवन प्रवेशसँग सम्बन्धित कतिपय कठिनाइहरू हल गर्न तैँले सहयोग गर्न सक्छस्—तैँले यी सबै कुराहरू गर्न सक्छस्। अर्को शब्दमा भन्दा, यदि तेरा आमाबुबाले परमेश्वरमाथिको तेरो विश्वासमा बाधा दिँदैनन् भने, तैँले तिनीहरूसँगको यो सम्बन्ध कायम राखिराख्नुपर्छ, र आफ्ना आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू पूरा गर्नुपर्छ। अनि तैँले किन तिनीहरूलाई वास्ता र हेरचाह गर्नुपर्छ, र तिनीहरूको हालखबर सोध्नुपर्छ? किनभने तँ तिनीहरूको सन्तान होस्। तिनीहरूसँग तेरो यो सम्बन्ध भएकाले, तेरो अर्को प्रकारको जिम्मेवारी हुन्छ, त्यसैले तैँले तिनीहरूलाई अझै अलि बढी सन्चोबिसन्चो सोध्नुपर्छ र अझै बढी सहयोग दिनुपर्छ। तेरो कर्तव्य निर्वाहमा असर पर्दैन भने, र तेरो आमाबुबाले परमेश्वरमाथिको तेरो विश्वास वा तेरो कर्तव्यनिर्वाहमा बाधा वा व्यवधान ल्याउँदैनन्, र तँलाई रोक्ने प्रयास पनि गर्दैनन् भने, तैँले तिनीहरूप्रतिको तेरो जिम्मेवारी पूरा गर्नु प्राकृतिक र उचित हुन्छ, र तैँले तेरो विवेकले तँलाई नघोच्ने हदसम्म यो जिम्मेवारी पूरा गर्नुपर्छ—तैँले पूरा गर्नुपर्ने न्यूनतम मानक यही हो। यदि तँ आफ्ना परिस्थितिहरूको प्रभाव र बाधाको कारण घरमा आफ्ना आमाबुबाको आदर गर्न सक्दैनस् भने, तैँले यो प्रावधान पालना गर्नु पर्दैन। तैँले आफूलाई परमेश्वरको योजनाबद्ध कार्यहरूमा सुम्पेर उहाँका बन्दोबस्तहरूमा समर्पित गर्नुपर्छ, अनि आफ्ना आमाबुबाको आदर गर्नुपर्छ भनेर तैँले जिद्दी गरिरहनु पर्दैन। के परमेश्वरले यो कार्यलाई दोषी ठहराउनुहुन्छ? परमेश्वरले यो कार्यलाई दोषी ठहराउनुहुन्न; उहाँले मानिसहरूलाई यसो गर्न जबरजस्ती पनि गर्नुहुन्न। अहिले हामीले के विषय सङ्गति गरिरहेका छौँ? मानिसहरूले आफ्ना आमाबुबालाई आदर गर्दा त्यो तिनीहरूको कर्तव्यनिर्वाहसँग बाझिन्छ भने तिनीहरूले कसरी अभ्यास गर्ने भन्नेबारे हामी सङ्गति गरिरहेका छौँ; हामीले अभ्यासका सिद्धान्तहरू र सत्यताबारे सङ्गति गरिरहेका छौँ। तैँले आफ्ना आमाबुबालाई आदर गर्नु तेरो जिम्मेवारी हो, र परिस्थितिले साथ दियो भने, तैँले यो जिम्मेवारी पूरा गर्नुपर्छ, तर तँ आफ्ना भावनाहरूको बन्धनमा पर्नु हुँदैन। उदाहरणको लागि, यदि तेरो आमाबुबामध्ये एक जना बिरामी भयो र अस्पताल जानुपर्यो, अनि तिनीहरूको हेरचाह गर्ने कोही छैन, तर तँ आफ्नो कर्तव्यमा व्यस्त भएकोले घर फर्किन पाउँदैनस् भने, तैँले के गर्नुपर्छ? यस्तो अवस्थामा, तँ आफ्ना भावनाहरूको बन्धनमा पर्नु हुँदैन। तैँले यस विषयमा प्रार्थना गर्नुपर्छ, र यो कुरालाई परमेश्वरको जिम्मा र परमेश्वरका योजनाबद्ध कार्यहरूको भरमा छोड्नुपर्छ। तँसँग यही मनोवृत्ति हुनुपर्छ। … जब तँ यस्तो परिस्थितिमा हुन्छस्, तब यदि यसो गर्दा तेरो कर्तव्यमा ढिलाइ हुँदैन वा बफादार भएर कर्तव्य पूरा गर्न तँलाई असर पर्दैन भने, तैँले आमाबुबाप्रतिको आफ्नो धर्म पूरा गर्न, र आफूले पूरा गर्नसक्ने जिम्मेवारी पूरा गर्न सक्छस्। समग्रमा, मानिसहरूले गर्नुपर्ने र मानवताको क्षेत्रभित्र रही गर्नसक्ने कुरा नै यही हो। यदि तँ आफ्ना भावनाहरूको बन्धनमा फसेको छस्, र यसले तँलाई कर्तव्य पूरा गर्नमा बाधा दिन्छ भने, यो परमेश्वरका अभिप्रायहरूसँग पूर्ण रूपमा बाझिन्छ। परमेश्वरले कहिल्यै पनि तँलाई त्यसो गर्न लगाउनुहुन्न, परमेश्वरले त तँलाई आमाबुबाप्रतिको तेरो जिम्मेवारी मात्रै पूरा गर्न लगाउनुहुन्छ, कुरा त्यति हो। आमाबुबाप्रति भक्त हुनु भनेको त्यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (४))। परमेश्वरका वचन पढेपछि, मैले कसरी अभ्यास गर्ने भन्ने कुरा जानेँ। मेरा आमाबुबा दुवैले परमेश्वरमा विश्वास गर्नुहुन्छ, र जब वातावरणले अनुमति दिन्छ, तब म आफ्ना कर्तव्यमा बाधा नपुग्ने गरी, म उहाँहरूलाई घरको काममा सघाउन र उहाँहरूको दैनिक जीवनमा हेरचाह गर्न सक्छु। म उहाँहरूसँग कुराकानी गर्न सक्छु र परमेश्वरका वचनबारे सङ्गति गरेर उहाँहरूको जीवन प्रवेशमा मद्दत गर्न सक्छु। तर यदि वातावरणले अनुमति दिँदैन भने, मैले आफ्नो कर्तव्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, किनकि एक सृजित प्राणीको रूपमा, परमेश्वरको आज्ञा पूरा गर्नु र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यो कुरा बुझेपछि, म मेरा आमाबुबालाई परमेश्वरको हातमा सुम्पन र पहिले आफ्नै कर्तव्य राम्रोसँग पूरा गर्न तत्पर भएँ।
एक पटक, एक जना अगुवा भेलामा आउनुभयो र मलाई म कुनै पनि हालतमा घर जानुहुँदैन भन्नुभयो। उहाँले सात-आठ जना प्रहरी मेरो घर गएर मेरी आमालाई मेरो ठेगाना बताउन जबरजस्ती गरेको, मेरो मुद्दा प्रान्तीय विभागले हेरिरहेको छ पनि भनेको र तिनीहरूले मलाई पक्रनु अति आवश्यक भएको निर्णय गरेको कुरा बताउनुभयो। मेरा गैरविश्वासी आफन्त र साथीहरूसँग समेत प्रहरीले सोधपुछ गरिसकेको थियो। मलाई थाहा थियो, यदि प्रहरीले मलाई फेला पार्न सकेनन् भने मेरा आमाबुबालाई निरन्तर सोधपुछ गरिरहनेछन्, र मलाई धेरै ग्लानि भयो। आँसु थाम्न सङ्घर्ष गर्दै, मैले आफैँलाई दोष दिइरहेँ, “मैले आमाबुबाका लागि समस्या खडा गरेकी छु। यदि म नभएको भए, मेरा आमाबुबाले यो सब दुःखकष्ट भोग्नुपर्ने थिएन। अहिले म घरबाट टाढा छु, त्यसैले प्रहरीले मलाई फेला पार्न सकेको छैन, र तिनीहरूले मेरा आमाबुबालाई सोधपुछ र हैरान गरिरहेका छन्। यी प्रहरी विषालु सर्पजस्तै छन्। एकपटक कसैलाई तारो बनाएपछि, यिनीहरूले कहिल्यै डस्न छाड्दैनन्। के मेरा आमाबुबाले फेरि कहिल्यै शान्त जीवन पाउनुहोला? एउटा सन्तानको रूपमा, मैले मेरा आमाबुबालाई कहिल्यै कुनै सुख दिन सकिनँ। मैले गरेको भनेकै उहाँहरूलाई बोझ बोकाउनु मात्र हो। बरु उहाँहरूले मलाई कहिल्यै नहुर्काउनुभएको भए बेस हुने थियो!” तर मलाई यो पनि थाहा थियो, यो वातावरण परमेश्वरको अनुमतिले ममाथि आएको हो, र मैले गुनासो गर्नुहुँदैन। त्यसैले, मैले मेरो हृदयको सुरक्षा गरिदिनुहोस् भन्दै परमेश्वरलाई मौन प्रार्थना गरेँ। मैले कष्टको बीचमा आनन्दको कटनी चलचित्र सम्झिएँ। मुख्य पात्र ढाड दुख्ने समस्याले गर्दा प्यारालाइसिस हुने अवस्थामा थिइन्, र उनले दैहिक र आत्मिक दुवै रूपमा धेरै पीडा भोगिन्। तर, उनको अनुभवपछि, उनले आफैँबारे केही बुझाइ प्राप्त गरिन् र आफ्नो जीवनमा प्रगति गरिन्। मलाई परमेश्वरका असल अभिप्रायहरू बाहिरबाट नराम्रो देखिने कुराहरू पछाडि लुकेका हुन्छन् भन्ने महसुस भयो, र म समर्पित हुन र पाठ सिक्न तत्पर भएँ।
त्यसपछि, मैले परमेश्वरका वचन पढेँ: “सायद, तिमीहरू सबैलाई यी वचनहरू याद छ होला: ‘किनभने हाम्रो हल्का दुःख, जुन क्षणभरका लागि मात्र हुन्छ, त्यसले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।’ तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू तिनको वास्तविक महत्त्वका बारेमा गहन रूपमा सचेत छौ। यी वचनहरूलाई परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा गुँडुल्किएर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्वरलाई सताउँछ अनि त्यो परमेश्वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्वरमा विश्वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरूतुरुन्तै पूरा हुन सक्दैनन्; यसर्थ, मानिसहरू परमेश्वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्वरले उहाँको बुद्धि र उहाँका अचम्मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि यसद्वारा उहाँले महिमा पाउन सक्नुभएको होस्, अनि उहाँले आफ्ना कार्यहरूको साक्षी बन्नेहरूलाई प्राप्त गर्न सक्नुभएको होस्। मानिसहरूको यस समूहका निम्ति परमेश्वरले गर्नुभएका सबै बलिदानको पूर्ण महत्त्व यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्वरका वचन मनन गरेपछि, मैले के बुझेँ भने आखिरी दिनहरूमा, परमेश्वरले ठूलो रातो अजिङ्गरका पक्राउ र सतावटलाई परमेश्वरका चुनिएका मानिसहरूलाई सिद्ध पार्ने सेवा प्रदान गर्न प्रयोग गर्नुहुन्छ, र मानिसहरूलाई सीसीपीको कुरूप अनुहार स्पष्ट रूपमा देख्न र परमेश्वरप्रति शत्रुवत् रहेको यसको दुष्ट सारलाई चिन्न सक्षम बनाउनुहुन्छ, ताकि तिनीहरूले परमेश्वरलाई अझ दृढसङ्कल्पका साथ पछ्याउन सकून्। साथसाथै, परमेश्वरले यस वातावरणमार्फत मानिसहरूको आस्थालाई पनि सिद्ध पार्नुहुन्छ, तिनीहरूलाई परमेश्वर नै हरेक कुरामा सार्वभौम हुनुहुन्छ भनी देख्न दिनुहुन्छ, परमेश्वरको अख्तियार बुझ्न र शैतानसँग डराउन छाड्न लगाउनुहुन्छ, ताकि तिनीहरूले सङ्कष्टबाट पाठ सिक्न र सत्यता प्राप्त गर्न सकून्। मेरा आमाबुबा परमेश्वरको अनुमतिले सताइनुभएको थियो, तर यो उहाँहरूका लागि परमेश्वरको काम अनुभव गर्न र परमेश्वरका लागि गवाही दिन परमेश्वरले दिनुभएको अवसर पनि थियो। तर, मेरो सोचाइ निकै साँघुरो थियो, र मैले परिस्थितिहरूलाई छर्लङ्ग देख्न सकिनँ, त्यसैले मैले निरन्तर परिस्थितिहरूलाई देहको दृष्टिकोणबाट विचार गरेँ, मेरा आमाबुबाले कष्ट भोग्नुहुने हो कि भनेर चिन्तित भएँ र सबै दोष आफैँमाथि थोपरेँ। म ठान्थेँ, मैले नै मेरा आमाबुबा यसमा तानेकी हुँ, र त्यसले गर्दा मैले उहाँहरूप्रति ऋणी र दोषी महसुस गरेँ, मानौँ यदि म पक्राउ नपरेकी भए मेरा आमाबुबा सताइनुहुने थिएन। यो धेरै तर्कहीन कुरा थियो। ठूलो रातो अजिङ्गरको प्रकृति नै दुष्ट छ, र यसले पागल भएझैँ परमेश्वरमा विश्वास गर्नेहरूलाई पक्राउ गर्छ र सताउँछ। यदि म पक्राउ नपरेकी भए पनि, मेरा आमाबुबालाई परमेश्वरमा विश्वास गरेका कारणले सीसीपीले सताउने नै थियो। धेरै वर्षअघि, म सानै छँदा, मेरा आमाबुबाले परमेश्वरमा विश्वास गरेको कारण पक्राउ पर्नबाट जोगिन मलाई लिएर धेरै ठाउँ लुक्न जानुभएको थियो, र हामी धेरै वर्षसम्म आफ्नै घर फर्किएनौँ। हामीले स्थिर जीवन बिताउनै पाएनौँ। अब जब मेरा आमाबुबालाई प्रहरीले फेरि हैरान पारिरहेको र सताइरहेको थियो, मैले ठूलो रातो अजिङ्गरलाई घृणा गर्नुपर्थ्यो, र यसलाई लज्जित पार्न आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्थ्यो। त्यसपछि, मैले मेरा आमाबुबालाई हौसला दिन एउटा चिठी लेखेँ र परमेश्वरका अभिप्रायहरू तथा यो वातावरण अनुभव गर्दाको मेरो बुझाइबारे सङ्गति दिएँ। पछि, मैले मेरा आमाबुबाबाट जवाफ पाएँ। उहाँहरूले भन्नुभयो, प्रहरीको बारम्बारको हैरानी सामना गर्दा उहाँहरू आत्तिनु र डराउनुभएको थियो, तर परमेश्वरको अख्तियारसम्बन्धी वचनहरू खाएर-पिएर, उहाँहरूले शैतान परमेश्वरको हातको एउटा खेलौना मात्र हो, र परमेश्वरको अनुमतिबिना प्रहरीले केही गर्न सक्दैन भनेर थाहा पाउनुभयो। यसले उहाँहरूलाई यो कुरा सामना गर्ने विश्वास र साहस दियो, र यहाँसम्म कि उहाँहरूले प्रहरीका आधारहीन अफवाह र भ्रामक तर्कहरूको खण्डन गर्ने आँट पनि गर्नुभयो। जब मैले मेरा आमाबुबाले के प्राप्त गर्नुभयो भन्ने देखेँ, म अत्यन्तै प्रभावित भएँ। उहाँहरूलाई साथ दिन म उहाँहरूसँग थिइनँ, तर परमेश्वरका वचनको अगुवाइमा उहाँहरूको जीवन अझ राम्रो थियो, र मैले मेरा चिन्ताहरू पूर्णतया निराधार रहेको देखेँ। यो कुरा सोच्दा, मलाई उप्रान्त मेरा आमाबुबाको त्यति धेरै चिन्ता लागेन।
एक पटक, मैले परमेश्वरका वचन पढेँ: “तँलाई हुर्काउनुमा तेरा आमाबुबाले एउटा जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई वयस्कतासम्म हुर्काउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया-माया भन्न मिल्दैन। यसलाई दया भन्न नमिल्ने भएपछि, के यसलाई तैँले उपभोग गर्न अधिकार पाएको कुरा भन्न मिल्छ? (मिल्छ।) यो तैँले पाउनुपर्ने एक प्रकारको अधिकार हो। तैँले तेरा आमाबुबाद्वारा हुर्काइन पाउनुपर्छ, किनभने तँ वयस्क हुनुभन्दा पहिले, तैँले हुर्कँदै गरेको बच्चाको भूमिका खेल्छस्। त्यसकारण, तैँले जे पाउँछस् त्यो त तँप्रति तेरा आमाबुबाको जिम्मेवारी पूरा भएको मात्र हो, तिनीहरूबाट कुनै निगाह वा दया प्राप्त भएको होइन। कुनै पनि जीवित प्राणीका लागि, छोराछोरी जन्माउनु र हुर्काउनु, प्रजनन गर्नु, र अर्को सन्तानलाई हुर्काउनु भनेको एक प्रकारको जिम्मेवारी हो। उदाहरणका लागि, चराचुरुङ्गी, गाईवस्तु, भेडा, र बाघले पनि प्रजनन गरेपछि आफ्नो सन्तानलाई हुर्काउनुपर्छ। आफ्नो सन्तानलाई नहुर्काउने कुनै जीवित प्राणी छैन। केही अपवादहरू हुन सक्छन्, तर हाम्रा लागि ती अज्ञात छन्। यो जीवित प्राणीहरूको अस्तित्वसम्बन्धी प्राकृतिक कुरा हो, यो जीवित प्राणीहरूमा हुने नैसर्गिक प्रवृत्ति हो, र यसलाई दया मान्न मिल्दैन। तिनीहरूले त सृष्टिकर्ताले जनावरहरू र मानवजातिका लागि तोक्नुभएको नियमको पालना मात्रै गरिरहेका हुन्छन्। त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउनु भनेको एक प्रकारको दया होइन। यसका आधारमा के भन्न सकिन्छ भने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्। तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। तिनीहरूले तेरा लागि जतिसुकै रगत-पसिना समर्पित गरे पनि र तँमा जतिसुकै पैसा खर्च गरे पनि, तिनीहरूले बदलामा तँलाई केही पनि माग्नु हुँदैन, किनभने आमाबुबाका रूपमा तिनीहरूको जिम्मेवारी यही नै हो। यो जिम्मेवारी र दायित्व भएको हुनाले, यो निःशुल्क हुनुपर्छ, र तिनीहरूले तँलाई प्रतिदान माग्नु हुँदैन। तँलाई हुर्काएर, तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका हुन्छन्; यो लेनदेनका रूपमा नभई निःशुल्क गरिनुपर्छ। त्यसकारण, तैँले आफ्ना आमाबुबालाई व्यवहार गर्दा वा तँ र तिनीहरूबीचको सम्बन्धलाई सम्हाल्दा प्रतिदान गर्ने मानसिकता राख्नु हुँदैन। यदि तैँले त्यस्तो मानसिकता बोकेर आफ्ना आमाबुबासँग व्यवहार गर्छस्, तिनीहरूलाई प्रतिदान गर्छस्, र तँ र तिनीहरूबीचको सम्बन्धलाई सम्हाल्छस् भने, त्यो वास्तवमा अमानवीय हुन्छ। साथ-साथै, त्यसो गर्दा तँ तेरा दैहिक भावनाहरूद्वारा रोकिने र बाँधिने सम्भावना हुन्छ, र तँलाई यी उल्झनहरूबाट बाहिर निस्कन गाह्रो हुनेछ, यहाँसम्म कि तैँले आफ्नो बाटो बिराउनसमेत सक्छस्। तेरा आमाबुबा तेरा ऋणदाता होइनन्, त्यसैले तँसँग तिनीहरूका सबै अपेक्षाहरू पूरा गर्ने दायित्व हुँदैन। तँसँग तिनीहरूको अपेक्षाहरू पूर्ति गर्ने कुनै दायित्व हुँदैन। तिनीहरूका आफ्नै अपेक्षाहरू हुन सक्छन्, तर तैँले आफै निर्णयहरू गर्नुपर्छ। परमेश्वरले तेरा लागि एउटा जीवन मार्ग तय गर्नुभएको छ, उहाँले तेरा लागि एउटा नियति बन्दोबस्त गर्नुभएको छ, र तेरा आमाबुबासँग यी कुराको कुनै सरोकार छैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचन पढेपछि, मैले के बुझेँ भने मेरा आमाबुबाले मलाई जन्म दिनु, हुर्काउनु, र मेरो जीवनमा आपूर्ति गरिदिनु भनेको उहाँहरूले पूरा गर्नुपर्ने एउटा जिम्मेवारी थियो। यो कुनै दया थिएन र यसलाई तिर्नुपर्ने आवश्यकता छैन। जनावरहरूको राज्यमा चराहरूजस्तै: जब माउ चराले आफ्ना चल्लाहरू कोरल्छ, उसले तिनीलाई खुवाउँछ र आफ्ना चल्लाहरू हुर्काउनका लागि आहार जुटाउन आफ्नो ज्यान जोखिममा पार्छ। जब साना चराहरू खतरामा पर्छन्, माउ चराले आफ्नो ज्यानको परवाह नगरी तिनीहरूको रक्षा गर्छ, आफू घाइते भए पनि आफ्ना बच्चाहरूलाई जोगाउँछ। आफ्ना साना बच्चाहरूप्रतिको माउ चराहरूको हेरचाह र माया विशुद्ध रूपमा प्राकृतिक स्वभावबाट उत्पन्न हुन्छ। मानिसहरूले आफ्ना सन्तान हुर्काउने मामिलामा पनि यही कुरा लागू हुन्छ। मेरा आमाबुबाले मलाई जन्म दिएको क्षणदेखि नै, मलाई हुर्काउने जिम्मेवारी र मेरो हेरचाह गर्ने दायित्व उहाँहरूको थियो। जब उहाँहरूले मलाई हुर्काउनुभयो, त्यो उहाँहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको थियो, र म उहाँहरूको कुनै पनि कुराको पनि ऋणी छैन वा मैले केही तिर्नुपर्दैन। म “छोराछोरी हुर्काउनु भनेको त बुढेसकालको सहारा बनाउनु हो,” र “सन्तानी माया नै सबैभन्दा ठूलो पुण्य हो” जस्ता परम्परागत साँस्कृतिक विचारहरूबाट प्रभावित र अभ्यस्त भएकी थिएँ। आमाबुबाले गरेको मेरो हेरचाहलाई मैले दयाको रूपमा लिएकी थिएँ, र उहाँहरूले मेरा लागि मूल्य चुकाउनुभएको र आफूलाई समर्पित गर्नुभएको कुराको बदला मैले तिर्नुपर्छ भन्ने ठानेकी थिएँ, यहाँसम्म कि म त्यसका लागि मेरो बाँकी जीवन बलिदान गर्न लालायित थिएँ। मलाई राम्ररी थाहा थियो, दुई वर्षभन्दा बढी रहँदा मैले परमेश्वरका वचन खाएकी वा पिएकी थिइनँ वा आफ्नो कर्तव्य पूरा गरेकी थिइनँ, र मेरो जीवन प्रवेश धेरै पछाडि परेको थियो, त्यसैले अब, मैले परमेश्वरका वचन पढ्नुपर्छ र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। तर मेरा आमाबुबाले मेरो फिक्री गरिरहेको र कष्ट भोगिरहेको कुरा सम्झँदा, म जागिर गरेर पैसा कमाई उहाँहरूलाई राम्रो भौतिक सुखसुविधाले क्षतिपूर्ति गर्न चाहन्थेँ। यदि महामारी नआएको भए, म जागिर खान र पैसा कमाउन गइसकेकी हुनेथिएँ। पछि, म आफ्नो कर्तव्य निर्वाह गर्न घर छोडेर गएँ, तर म अझै पनि मेरा आमाबुबाको गुन कसरी तिर्ने भन्ने सोचिरहेकी थिएँ। मेरा सबै विचारहरू कृतज्ञता तिर्ने विचारले बाँधिएका थिए, मानौँ मेरो बाँकी जीवन मेरा आमाबुबाको दया तिर्नका लागि मात्र जिउन सकिन्छ। म एउटा सृजित प्राणी हुँ। मेरो प्राणवायु परमेश्वरले नै दिनुभएको हो, र म वयस्क हुँदासम्म मलाई सुरक्षा दिने पनि परमेश्वर नै हुनुहुन्थ्यो। आखिरी दिनहरूमा, परमेश्वरले मलाई उहाँसामु आउने र उहाँका वचनहरूको आपूर्तिको आनन्द लिन पाउने अनुग्रह पनि गर्नुभयो। परमेश्वरले मेरा लागि यति ठूलो मूल्य चुकाउनुभएको छ, र मैले परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। मेरा आमाबुबाले मेरो धेरै हेरचाह गरे तापनि, परमेश्वरको सुरक्षाविना म आज जीवित हुनेथिएनँ। यो त म चौध वर्षको हुँदा पहाड चढ्दाको जस्तै हो। यदि परमेश्वरको सुरक्षा नभएको भए, म पहाडको फेदमा खसेर मरिसकेकी हुनेथिएँ। म आमाबुबाको होइन, सबैभन्दा धेरै परमेश्वरको ऋणी छु। म आफ्ना आमाबुबाको दया तिर्नका लागि जिउनुहुँदैन, बरु, मैले परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। जब मैले यो कुरा बुझेँ, तब म मेरा आमाबुबाले दिनुभएको माया र हेरचाहलाई सही रूपमा लिन सक्षम भएँ।
पछि, मैले परमेश्वरका थप वचन पढेँ: “सर्वप्रथम, धेरैजसो मानिसले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्ने छनौट गर्नुको कारण एक हिसाबमा अझ फराकिलो वस्तुगत परिस्थिति हो, जसले गर्दा तिनीहरूले आफ्ना आमाबुबालाई छाडेर जानुपर्ने हुन्छ र तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको साथमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्ने होइन। यो त वस्तुगत कारण हो। अर्को हिसाबमा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर जानुको कारण आफ्ना आमाबुबाप्रतिको जिम्मेवारी पन्छाउनका लागि नभई, परमेश्वरको बोलावटको कारणले हो। परमेश्वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? आफ्ना जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोड्नु अनि परमेश्वरको बोलावट स्विकार्न र आफ्नो कर्तव्य निर्वाह गर्न तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आफ्ना आमाबुबाका लागि चिन्ता छ र तँलाई तिनीहरूको याद आउँछ; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निर्वाह गर्दै तिनीहरूको साथमा रहन सक्छस् भने, तँ तिनीहरूलाई साथ दिन इच्छुक हुनेथिइस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिइस्। तर वस्तुगत परिस्थितिहरूका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ र तँ तिनीहरूको साथमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आतुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारलाई सम्पर्क गर्न सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू स्वस्थ छन् र तिनीहरूको राम्रै गुजारा चलिरहेको छ भन्ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको होइनस्। तँ आफ्ना आमाबुबाको चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छस् भन्ने होइन। विविध वस्तुगत कारणहरूले गर्दा नै तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न असक्षम भएको होस्—यसको अर्थ तैँले छोराछोरीको धर्म पूरा नगरेको होइन। यसका दुई कारणहरू यिनै हुन्। अनि अर्को एउटा कारण पनि छ: यदि तेरा आमाबुबा तँलाई असाध्यै सताउने वा परमेश्वरमाथिको विश्वासमा बाधा दिने मानिसहरू होइनन् भने, यदि तिनीहरूले परमेश्वरमाथिको तेरो विश्वासमा साथ दिन्छन् भने, वा यदि तिनीहरू तँजस्तै परमेश्वरमा विश्वास गर्ने दाजुभाइ-दिदीबहिनी, र परमेश्वरको घरका सदस्यहरू हुन् भने, भित्री रूपमा आफ्ना आमाबुबाबारे सोच्दा तिमीहरूमध्ये कसले मौन रूपमा परमेश्वरलाई प्रार्थना गर्दैन? तिमीहरूमध्ये कसले आफ्ना आमाबुबालाई—साथै तिनीहरूको स्वास्थ्य, सुरक्षा, र जीवनका सम्पूर्ण आवश्यकताहरू—परमेश्वरको हातमा सुम्पिँदैन? आमाबुबालाई परमेश्वरको हातमा सुम्पनु नै तिनीहरूप्रति सन्तानीय सम्मान देखाउने सबभन्दा उत्तम तरिका हो। तँ तिनीहरूले जीवनमा अनेकथरी कठिनाइहरू भोगून्, नराम्रो जीवन जिऊन्, राम्ररी खान नपाऊन्, वा तिनीहरूको स्वास्थ्य खराब होस् भन्ने आशा गर्दैनस्। हृदयको गहिराइमा, तँ निश्चय नै परमेश्वरले तिनीहरूलाई रक्षा गर्नुहोओस् र सुरक्षा दिनुहोओस् भन्ने आशा गर्छस्। यदि तिनीहरू परमेश्वरका विश्वासी हुन् भने, तँ तिनीहरूले कर्तव्यहरू निर्वाह गर्न सकून् भन्ने आशा गर्छस् र तिनीहरू आफ्नो गवाहीमा दृढ रहन सकून् भन्ने आशा पनि गर्छस्। यो व्यक्तिले मानवीय जिम्मेवारीहरू पूरा गर्नु हो; मानिसहरूले आफ्नै मानवताद्वारा यति मात्र हासिल गर्न सक्छन्। यसअलावा, सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने, वर्षौँसम्म परमेश्वरमा विश्वास गरेपछि र अत्यन्तै धेरै सत्यताहरू सुनेपछि, मानिसहरूमा कम्तीमा पनि यो थोरै बुझाइ र बोध हुन्छ: मान्छेको भाग्य स्वर्गले निर्धारण गर्छ, मान्छे परमेश्वरको हातमा जिउँछ, र परमेश्वरबाट हेरचाह र सुरक्षा पाउनु भनेको छोराछोरीले दिने चासो, सन्तानीय भक्ति वा साथभन्दा ज्यादा महत्त्वपूर्ण कुरा हो। के तँलाई तेरा आमाबुबा परमेश्वरको हेरचाह र सुरक्षामा भएकोमा राहत महसुस हुँदैन र? तैँले तिनीहरूबारे चिन्ता लिनुपर्दैन। … त्यो जे भए पनि, मानिसहरूले वस्तुगत परिस्थितिहरूले प्रभाव पारेको कारण आफ्ना आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्न नसकेकोमा दोषी महसुस गर्नु वा दोषी विवेक बोक्नु हुँदैन। यी र यस्तै अन्य मामलाहरू परमेश्वरमाथि विश्वास गर्ने मानिसहरूको जीवनको समस्या बन्नु हुँदैन; ती कुराहरू त्यागिनुपर्छ। आफ्ना आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्नेसम्बन्धी यी विषयहरूबारे भन्नुपर्दा, मानिसहरूमा यी सटीक बुझाइहरू हुनुपर्छ र तिनीहरूले बाँधिएको महसुस गर्न छोड्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरका वचनले मेरो आत्मालाई छुटकारा पाउन मद्दत गरे, मैले र आमाबुबाप्रति वास्तवमै अनादर गर्ने व्यवहारब के हो भनेर बुझेँ। जब छोराछोरीसँग आमाबुबाको हेरचाह गर्ने स्पष्ट अवस्था रहन्छ तर उनीहरू आफ्नै मोजमस्तीको मात्र वास्ता गर्छन्, आफ्ना जिम्मेवारीहरू पन्छाउँछन् र आमाबुबालाई बेवास्ता गर्छन्, त्यो विवेकको कमी हो। त्यो सन्तानधर्म पूरा नगर्नु हो। तर म मेरा आमाबुबाको हेरचाह गर्न असमर्थ हुनु भनेको म आफ्नो जिम्मेवारीबाट पन्छिनु होइन, न त यसको अर्थ म उहाँहरूको आदर गर्न चाहन्नँ भन्ने नै हो। यो त सीसीपीको सतावटका कारण म घर फर्कन नसक्ने भएकाले हो। यसबाहेक, मेरा आमाबुबाले पनि परमेश्वरमा विश्वास गर्नुहुन्छ र उहाँहरूको मप्रतिको सबैभन्दा ठूलो अपेक्षा यो होइन कि मैले उहाँहरूको बुढेसकालको सहारा बनूँ वा बाँकी जीवन उहाँहरूको रेखदेख गरूँ, बरु म परमेश्वरमा राम्ररी विश्वास गरूँ, आफ्नो कर्तव्य ठीकसँग पूरा गरूँ, र जीवनको सही मार्गमा हिँडूँ भन्ने हो। यसकारण, मैले दोषी महसुस गर्नुपर्दैन, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नु नै मैले मेरा आमाबुबालाई दिन सक्ने सबैभन्दा ठूलो सान्त्वना हो। साथै, मैले परमेश्वरका वचनमा अभ्यासको एउटा मार्ग पनि फेला पारेँ, त्यो हो—मेरा आमाबुबालाई परमेश्वरका हातमा सुम्पिदिने र परमेश्वरलाई नै उहाँहरूको अगुवाइ गर्न दिने, किनकि मेरो साथ र हेरचाह केवल सतही चासो मात्र हो, र यसले कुनै वास्तविक प्रभाव पार्दैन। यो त मेरो बुबालाई ढाड दुख्दाको जस्तै हो। मैले बढीमा गर्न सक्ने भनेको उहाँलाई “ग्वा सा” मालिस गरिदिनु र केही औषधीयुक्त प्लास्टर किनिदिनु थियो। तर जब उहाँको छाती पोल्थ्यो, म केही गर्न नसकी त्यत्तिकै उभिन मात्र सक्थेँ, उहाँको पीडा कम गर्न म पूर्ण रूपमा असमर्थ हुन्थेँ। चाहे म मेरा आमाबुबासँग होऊँ वा नहोऊँ, उहाँहरू बिरामी पर्ने बेलामा बिरामी पर्नुहुनेछ, र स्वस्थ हुने बेलामा स्वस्थ रहनुहुनेछ। म उहाँहरूसँग हुँदैमा केही पनि परिवर्तन हुनेवाला छैन। त्यसैले उहाँहरूलाई परमेश्वरका हातमा सुम्पनु नै सबैभन्दा बुद्धिमानी छनोट हो। मेरा आमाबुबा अहिले केही रोगबाट पीडित हुनुभए तापनि, तर उहाँहरू सँगै हुनुहुन्छ, एक-अर्काको हेरचाह गर्न र एक-अर्कासँग परमेश्वरका वचनबारे सङ्गति गर्न सक्नुहुन्छ, त्यसैले उहाँहरूको आत्मा आनन्दित छ। यो यस्तो कुरा हो जसलाई कुनै पनि हेरचाह वा भौतिक सुखले प्रतिस्थापन गर्न सक्दैन, र उहाँहरूलाई परमेश्वरमा सुम्पिदिँदा मलाई ढुक्क महसुस हुन्छ।
विगतमा, म शैतानी विषहरूको हानि र बन्धनमा परेकी थिएँ र मेरा आमाबुबालाई मेरा ऋणदाता ठान्थेँ, र उहाँहरूको हेरचाह गर्न नसकेकोमा निरन्तर दोषी महसुस गर्थेँ। अहिले परमेश्वरका वचनले मेरो आत्माको बन्धन खोलिदिएका छन्, र म अब दयाको ऋणले बाँधिएकी छैनँ। म मेरो अन्तरहृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिन्छु। मैले अहिले लामो समयदेखि मेरा आमाबुबालाई सम्पर्क गर्न पाएकी छैनँ, र उहाँहरूलाई कस्तो छ मलाई थाहा छैन। यद्यपि, जब म परमेश्वरले उहाँहरूलाई अबको बाटोमा कसरी डोर्याउनुहुनेछ भन्नेबारे सोच्छु, तब मेरो हृदयले धेरै हलुका महसुस गर्छ, र म आफ्नो समय र ऊर्जा आफ्नो कर्तव्यमा समर्पित गर्न तयार छु। परमेश्वरलाई धन्यवाद!
फूटनोटहरू:
क. गुआ शा: एउटा यस्तो प्रविधि जसमा तनाव हटाउन, रक्तसञ्चार सुधार्न र मांसपेशीको दुखाइ कम गर्न छालामाथि एउटा चिल्लो औजार हल्कासित रगडिन्छ।