८१. मिर्गौला रोग बल्झिँदा सिकेका पाठहरू

ये फान, चीन

सन् २००० मा, म २४ वर्षकी थिएँ, र त्यतिबेला ममा मिर्गौला सुन्निने र पिसाबमा धेरै रगत देखिने दीर्घ रोग देखियो र पिसाबमा प्रोटिनको मात्रा खतरनाक रूपमा बढेको थियो। म असाध्यै कमजोर थिएँ, र हरेक दिन मलाई झन्-झन् धेरै थकाइ लाग्थ्यो। भुइँ बढार्न कुचो समात्ने तागतसमेत ममा थिएन, र कहिलेकाहीँ त मलाई भर्‍याङ उक्लिन मेरो श्रीमानले बोक्नुपर्थ्यो। डाक्टरले मलाई उपचारका लागि हर्मोनको औषधि खाने सल्लाह दिए, अनि झन्डै सात दिन औषधि खाएपछि, मेरो कपाल झरेर तालु नै खुइलिने अवस्थामा पुग्यो, र मेरो शरीर सुन्निएको थियो, तर मेरो अवस्थामा कुनै सुधार आएन। डाक्टरले यसको एक मात्र उपाय मिर्गौला प्रत्यारोपण रहेको बताए। यो सुनेपछि मैले सोचेँ, “के यो एक प्रकारको मृत्युदण्ड जस्तै होइन र? मिर्गौला प्रत्यारोपण गर्न लाखौँ युआन लाग्छ, र मेरो परिवारले त्यत्रो खर्च धान्न सक्दैन!” यति सानै उमेरमा मर्छु होला भन्ने सोचाइले मलाई ठुलो पीडा दियो, र मभित्र बाँच्ने चाहना यति थियो कि शब्दमा वर्णन नै गर्न सकिन्न। पछि, मेरी आमाले मलाई प्रभुमा विश्वास गर्न प्रोत्साहित गर्नुभयो। मैले सोचेँ, म यति साह्रो बिरामी भइसकेँ, त्यसैले मैले यो प्रयास गर्दा हुन्छ, अनि मैले प्रभुलाई प्रार्थना गर्न थालेँ। अचम्म, सात दिनपछि गएर परीक्षण गराउँदा, मेरो रगतको सिरमको प्रोटिन र पिसाबको प्रोटिन दुवैको नतिजा सामान्य आयो। मैले विश्वास नै गर्न सकिनँ, र सायद परीक्षणको नतिजामा केही गल्ती भयो कि भन्ने मलाई लाग्यो। मेरो उपचार गर्ने डाक्टरहरूले पनि अचम्म मान्दै यसलाई चमत्कार भने। त्यतिबेला मैले सोचेँ, “परमेश्‍वरले नै मेरो बिमारी निको पार्नुभएको हो र मलाई अनुग्रह अनि आशिष् दिनुभएको हो। त्यसैले अबदेखि, मैले पूर्ण हृदयले परमेश्‍वरमा विश्वास गर्नैपर्छ, र मलाई विश्वास छ, परमेश्‍वरले मलाई अझ धेरै आशिष् दिनुहुनेछ।” डाक्टरले मलाई विशेष रूपमा सम्झाउँदै भने, “ब्लड प्रेसर बढ्न नदिनुहोला, किनभने उच्च ब्लड प्रेसरले गर्दा तपाईँको मिर्गौलाको रोग फेरि बल्झिन सक्छ।” त्यसपछि, मैले सहायक उपचारका रूपमा ब्लड प्रेसरको औषधि खान थालेँ, र मेरो ब्लड प्रेसर सामान्य नै रह्यो। छिटै नै, मेरो पिसाबमा रगत देखिने समस्या हरायो, र मेरो शरीरले पहिलेभन्दा तन्दुरुस्त महसुस गर्न थाल्यो।

सन् २००४ मा, मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ, र म झनै खुसी भएँ। मलाई लाग्यो, म निकै भाग्यमानी रहेछु, परमेश्‍वरले मलाई दोस्रो जीवन दिएर जिउने मौका दिनुभएको छ। उहाँले मलाई उहाँको आवाज सुन्‍न र उहाँको सिंहासनसामु फर्कन दिएर अनुग्रह गर्नुभएको छ, र मलाई ठुलो आशिष् दिनुभएको छ भन्ने मैले महसुस गरेँ। परमेश्‍वरको प्रेमको प्रतिदान गर्न, मण्डलीले मलाई जुनसुकै कर्तव्य दिए पनि, मैले त्यसलाई सक्रियतापूर्वक पूरा गरेँ। परमेश्‍वरमाथिको मेरो विश्वासलाई मेरो श्रीमानले विरोध गरे पनि, म कुनै बन्धनमा परिनँ, र निरन्तर रूपमा आफ्ना कर्तव्यहरूमा लागिरहेँ। सन् २०१२ मा, सुसमाचार प्रचार गर्दैगर्दा मलाई प्रहरीले पक्राउ गर्‍यो। म छुटेर आएपछि, मेरो श्रीमानले मेरो विश्वासको अझ बढी विरोध गर्न थाले, यतिसम्म कि अन्ततः उनले मसँग सम्बन्धविच्छेद गरे। त्यसपछि, मैले पूर्णकालीन रूपमा आफ्ना कर्तव्यमा आफूलाई समर्पित गरेँ।

सन् २०१७ मा, मेरो ब्लड प्रेसर बढेर १८० एमएमएचजी सम्म पुग्न थाल्यो, र औषधिले समेत काम गरिरहेको थिएन। सन् २०२० सम्ममा, म पूर्ण रूपमा गलिसकेकी थिएँ, भर्‍याङ उक्लिँदा मात्र पनि म स्वाँ-स्वाँ हुन्थेँ, र म आफ्नै लुगासमेत धुन सक्दिनथेँ। मैले चिन्तित हुँदै सोचेँ, “के मेरो मिर्गौला रोग बल्झिएको हो? यदि यो फर्केर आयो भने मैले के गर्ने होला?” तर फेरि मैले सोचेँ, “परमेश्‍वरले मलाई पहिले यस्तो गम्भीर बिमारीबाट निको पार्नुभएको थियो, र यी बितेका केही वर्षमा, मैले आफ्नो काम र परिवार त्यागेकी छु, र मण्डलीले मलाई दिएका सबै कर्तव्यमा म समर्पित भएकी छु। निश्चय नै मेरा सबै त्याग र समर्पणका कारण परमेश्‍वरले मलाई केही पनि हुन दिनुहुनेछैन।” पछि, मेरो अवस्था झन् बिग्रियो, त्यसैले म डाक्टरलाई देखाउन घर गएँ। म जँचाउन अस्पताल गएँ र मैले मेरो ब्लड प्रेसर उच्च रहेको, मलाई कडा रक्तअल्पता भएको, र मेरो ब्लड सुगर बढेको कुरा थाहा पाएँ। पिसाब परीक्षणको नतिजा पनि पोजेटिभ आयो। डाक्टरले मलाई मेरो मिर्गौला रोग बल्झिएको छ, र यो अझै बिग्रियो भने मिर्गौला फेल भएर मृत्यु पनि हुन सक्छ भनेर बताए। यी नतिजाहरू देखेपछि मलाई कस्तो महसुस गर्ने भन्ने नै थाहा भएन। मैले आफ्ना आस्थाका वर्षहरूमा, कर्तव्य निर्वाह गर्न आफ्नो परिवार, पेशा र शारीरिक सुखविलासहरू त्यागेकी थिएँ, र यस्ता त्यागहरू गर्दा परमेश्‍वरले मलाई सुरक्षा दिनुहुनेछ भनी सोचेकी थिएँ। अन्त्यमा मेरो पुरानो बिमारी पहिलेभन्दा अझै खराब भएर फर्कनेछ भनेर मैले कहिल्यै सोचेकी थिइनँ। एकैछिनका लागि, मैले वर्षौंदेखि गरेका त्याग र मेहनतहरूप्रति मलाई पछुतो लाग्न थाल्यो। यदि मैले आफ्नो कर्तव्य निर्वाह गर्न घर नछाडेकी भए, म अहिले जस्तो एक्लो र असहाय अवस्थामा हुनेथिइनँ। विशेष गरी मेरो उपचार गरिरहेका डाक्टर झाङले मेरो बिमारीको उपचार गर्न तीन वर्ष लाग्नेछ भनेको सुनेपछि, म झनै चिन्तित र व्याकुल भएँ, अनि मैले सोचेँ, “यी तीन वर्षको उपचारका लागि एक लाख युआनभन्दा बढी खर्च लाग्नेछ। मैले त्यति धेरै पैसा कहाँबाट ल्याउने?” मैले आफ्नो उपचारका लागि पैसा कमाउन काम गर्नेबारे सोच्न थालेँ। तर काम गरेको एक महिनापछि नै, प्रहरीले मलाई फोन गरेर म कहाँ छु भनेर सोध्यो, र परमेश्‍वरलाई धोका दिन “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न फर्केर आउन भन्यो। प्रहरीले मलाई फेरि पक्राउ गर्ला कि भन्ने डरले म त्यो ठाउँ छोड्न बाध्य थिएँ। मैले मनमनै सोचेँ, “मेरो बिमारीलाई अझै पनि निरन्तर उपचारको आवश्यकता छ, र मैले यो ठाउँ छाडेँ भने डाक्टर झाङले आफ्नो परिवारको गोप्य विधि प्रयोग गरेर बनाउँदै आएको औषधि मैले पाउन सक्नेछैनँ। विगतमा, डाक्टर झाङको औषधिले मात्र मेरो बिमारीमा काम गरेको छ। उनको औषधि खाएको एक महिनामै मैले ऊर्जावान् महसुस गरेकी थिएँ, तर अरू परम्परागत चिनियाँ औषधिहरूले मलाई काम गरेजस्तो लाग्दैन। साथै, प्रहरीले मलाई पक्राउ गर्न खोजिरहेकाले, म काम गरेर पैसा कमाउन सक्दिनँ, र उपचारका लागि पैसा नहुँदा म कतिन्जेल बाँच्न सक्छु भन्ने कुनै टुङ्गो छैन।” त्यसपछि, म साँच्चै दिक्दारीको स्थितिमा रहेँ, र हरेक पटक जब म अब आफूसँग केही बाँकी छैन भन्ने सोच्थेँ, तब मेरो हृदय पीडाले भरिन्थ्यो, र मैले आफ्ना कर्तव्यका लागि पहिले जस्तो जोस जुटाउनै सकिनँ।

एकदिन, मैले परमेश्‍वरका वचन सम्झेँ:

५. यदि तँ मप्रति धेरै प्रेम राख्दै सधैँ बफादार रहिआएको छस्, तैपनि तैँले बिमारी, आर्थिक दबाब, तेरा मित्र तथा आफन्तहरूद्वारा त्यागिएको सास्ती वा तैँले जीवनमा अन्य दुर्गतिहरूको कष्ट भोग्छस्, भने, के मप्रतिको तेरो बफादारी र प्रेम अझ पनि निरन्तर रहनेछ?

६. यदि मैले गरेको कुरा तैँले तेरो हृदयमा कल्पना गरेका कुनै कुरासँग मेल खाँदैन भने, तेरो भावी मार्गमा तँ कसरी हिँड्नुपर्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

उहाँका वचनहरूमा, मानौँ परमेश्‍वरले मसँग आमनेसामने भएर प्रश्न गरिरहनुभएको थियो, र मलाई आत्मचिन्तन गर्न लगाइरहनुभएको थियो। यतिका वर्ष, मैले आफ्नो कर्तव्यमा त्याग गरेकी र आफूलाई समर्पित गरेकी थिएँ, त्यसैले मैले आफैलाई परमेश्‍वरको साँचो विश्वासी सम्झेकी थिएँ, र म ठान्थेँ, म परमेश्‍वरप्रति बफादार र आज्ञाकारी छु। उपचार गर्न नसकिने र मृत्युसम्म पुर्‍याउन सक्ने मेरो मिर्गौला रोग बल्झिँदा, मैले यसमा परमेश्‍वरको अभिप्राय खोजिनँ, बरु त्यसको सट्टा परमेश्‍वरलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ। मैले परमेश्‍वरका लागि गरेका समर्पणहरूप्रति समेत पछुतो मानेँ र झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। के म यसमा परमेश्‍वरलाई धोका दिइरहेकी थिइनँ र? यतिका वर्षको आस्थापछि पनि, ममा परमेश्‍वरप्रति रत्तिभर बफादारी रहेनछ भन्ने मैले देखेँ। मलाई साह्रै दोषी महसुस भयो। मलाई मुक्ति दिन परमेश्‍वरले नै मेरा धारणाहरूसँग नमिल्ने यी परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको थियो, तर मैले परमेश्‍वरको श्रमसाध्य अभिप्रायलाई बुझिनँ र त्यसको सट्टा नकारात्मक बनेँ अनि आफ्नो काममा ढिलासुस्ती गरेँ। ममा साँच्चै मानवता र समझको अभाव थियो! यसपछि, मलाई त्यति धेरै हैरानी महसुस भएन, र मैले आफ्नो कर्तव्यका लागि केही प्रेरणा पुनःप्राप्त पाएँ।

केही महिनापछि, मेरो शरीर अझै पनि कमजोर महसुस हुन्थ्यो, मेरो मुटुको धड्कन असामान्य हुन्थ्यो, र मलाई सास फेर्न गाह्रो हुन्थ्यो। कहिलेकाहीँ, भर्‍याङ उक्लिँदा मलाई तान्नका लागि समेत कोही हुनुपर्थ्यो। खास गरी म थाकेको बेला मेरो ब्लड प्रेसर बढ्थ्यो। डाक्टरले यो अवस्थाले मिर्गौला फेल हुन सक्छ भनेको कुरा सम्झेर म चिन्तित हुन थालेँ, “यदि म मरेँ भने के होला?” आफ्नो आस्थाका वर्षहरूमा, मैले मेरो परिवार र पेशा त्यागेकी थिएँ। त्यसैले यदि म मरेँ भने, ती वर्षौँको कष्ट खेर गएको हुनेछैन र? त्यतिबेला, मैले दुई जना राम्रा स्थानीय परम्परागत चिनियाँ डाक्टरहरू भेट्टाएँ, जडीबुटीको औषधि खाएँ, र एक्युपङ्चर पनि गराएँ, तर कुनैले पनि केही प्रभाव पारेन। एकपटक, केही सिँढी चढेपछि, म यति धेरै थाकेँ कि म सास फेर्न गाह्रो भएर ओछ्यानमा ढलेँ। मेरो अवस्था निरन्तर बिग्रिँदै गइरहेकोले कुन बेला मरिन्छ भन्ने कुनै टुङ्गो छैन भनेर सोच्दा मेरो हृदय पीडाले भरिन्थ्यो। म यो नसोची बस्न सकिनँ, “हे परमेश्‍वर! तपाईँलाई पछ्याएका यतिका वर्षमा, मैले आफ्नो परिवार र पेशा त्यागेकी छु, कष्ट भोगेकी र आफूलाई समर्पित गरेकी छु। के यी सबै कुराको खातिर तपाईँ मेरो बिमारी निको पारेर मलाई अझै केही वर्ष जिउन दिन सक्नुहुन्न र?” पछि, म शान्त भएर मेरो स्थितिलाई विचार गर्न र त्यसमाथि आत्मचिन्तन गर्न थालेपछि, अन्ततः मलाई परमेश्‍वरसँग यस प्रकारका मागहरू गर्नु अनुचित हो भन्ने महसुस भयो। मैले परमेश्‍वरका वचनको एउटा खण्ड सम्झेँ र त्यसलाई खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अहङ्कारका धेरै प्रकटीकरणहरू हुन्छन्। उदाहरणका लागि, मानौँ परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिसहरू उहाँको अनुग्रह माग गर्छन्—तैँले केको आधारमा यस्तो माग गर्न सक्छस्? तँ शैतानले भ्रष्ट तुल्याएको व्यक्ति होस्, एक सृजित प्राणी होस्; तैँले जिउन र सास फेर्न पाउनु नै परमेश्‍वरको सबैभन्दा ठूलो अनुग्रह हो। तैँले परमेश्‍वरले पृथ्वीमा सृष्टि गर्नुभएको सबै कुराको आनन्द लिन पाउँछस्। परमेश्‍वरले तँलाई पर्याप्त मात्रामा दिनुभएको छ, तैपनि तँ किन उहाँलाई अझै धेरै माग गर्छस्? किनभने आफूले पाएको कुरामा मानिसहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। तिनीहरू सधैँ आफू अरूभन्दा असल छु, र आफूले बढी पाउनुपर्छ भन्‍ने सोच्छन्, त्यसैले तिनीहरूले सधैँ परमेश्‍वरबाट त्यो कुरा माग गर्छन्। यसले तिनीहरूको अहङ्कारी स्वभावको प्रतिनिधित्व गर्छ। मानिसहरूले मुखले यो कुरा नभने पनि, परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा नै, सायद तिनीहरू यस्तो सोचिरहेका हुन्छन्, ‘म स्वर्ग जान चाहन्छु, नरक होइन। म आफूले मात्रै होइन, मेरो सारा परिवारले आशिष्‌ पाओस् भन्‍ने चाहन्छु। म मीठो खान, राम्रो लाउन, र राम्रा कुराहरूको आनन्द लिन चाहन्छु। म एउटा असल परिवार, असल श्रीमान् (वा श्रीमती) र राम्रा बालबच्‍चा चाहन्छु। अन्त्यमा, म राजा भएर शासन गर्न चाहन्छु।’ यो सबै तिनीहरूका आवश्यकता र मागहरूको कुरा हो। तिनीहरूको यो स्वभाव, तिनीहरूले आफ्ना हृदयमा सोच्‍ने यी कुराहरू, यी लालची चाहनाहरू—ती सबै मानिसको अहङ्कारी प्रकृतिका प्रतीक हुन्। म के कारणले यसो भन्दै छु? यो मानिसहरूको हैसियतकै कुरामा आइपुग्छ। मान्छे धुलोबाट आएको सृजित प्राणी हो; परमेश्‍वरले माटोबाट मान्छे बनाएर उसमा जीवनको सास भरिदिनुभएको हो। मान्छेको हैसियत यति निकृष्ट छ, तैपनि मानिसहरू परमेश्‍वरकहाँ अनेकथरी माग्न आउँछन्। मानिसको हैसियत यति नीच छ, उसले मुख खोलेर परमेश्‍वरबाट केही पनि माग्‍नु हुँदैन। त्यसोभए मानिसहरूले के गर्नुपर्छ? जे-जति आलोचना भए पनि तिनीहरूले कडा परिश्रम गर्नुपर्छ, कडाइका साथ आफ्नो काममा लागिपर्नुपर्छ, र खुसीका साथ समर्पित हुनुपर्छ। यो खुसीसाथ विनम्रतालाई अँगाल्ने प्रश्न होइन—खुसीसाथ विनम्रतालाई अँगाल्ने नगर्; यो त मानिसहरूले जन्मँदै लिएर आएको हैसियत हो; तिनीहरू अन्तर्निहित रूपमै समर्पित र विनम्र हुनुपर्छ, किनभने तिनीहरूको हैसियत नै निकृष्ट हुन्छ, त्यसकारण तिनीहरूले परमेश्‍वरबाट माग गर्ने, र परमेश्‍वरप्रति लालची चाहनाहरू जाहेर गर्ने गर्नु हुँदैन। तिनीहरूमा त्यस्ता कुराहरू भेटिनु हुँदैन। एउटा सरल उदाहरण यस्तो छ। कुनै एउटा धनी परिवारले एउटा नोकर राख्यो। उक्त धनी परिवारमा यो नोकरको स्थान निकै तल्‍लो स्तरको थियो, तैपनि उसले घरको मालिकलाई भन्यो: ‘म तपाईँको छोराको टोपी लगाउन चाहन्छु, तपाईँको भात खान चाहन्छु, तपाईँको लुगा लगाउन चाहन्छु, र तपाईँको ओछ्यानमा सुत्‍न चाहन्छु। तपाईँ जे-जे प्रयोग गर्नुहुन्छ, चाहे त्यो सुन होस् वा चाँदी, म त्यो पाउन चाहन्छु! मैले आफ्‍नो काममा धेरै योगदान दिने गर्छु, र म तपाईँको घरमा बस्छु, त्यसकारण म ती कुराहरूको हकदार छु!’ त्यस्तो व्यक्तिलाई मालिकले कस्तो व्यवहार गर्नुपर्छ? मालिकले भन्‍नेछ: ‘तैँले तँ कस्तो चिज होस्, र तेरो भूमिका के हो, त्यो जान्‍नुपर्छ: तँ एक नोकर होस्। म मेरो छोरालाई उसले चाहेको कुरा दिन्छु, किनभने त्यो उसको हैसियत हो। तेरो हैसियत, तेरो पहिचान के हो? तँ यी कुराहरू माग्‍न योग्य छैनस्। तैँले गएर आफ्‍नो हैसियत र पहिचानअनुसार आफूले गर्नुपर्ने काम गर्नुपर्छ, आफ्‍ना दायित्वहरू पूरा गर्नुपर्छ।’ के यस्तो व्यक्तिमा कुनै समझ हुन्छ? परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरू छन् जोसँग त्यति धेरै समझ हुँदैन। परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि नै, तिनीहरूसँग गोप्‍य मनसायहरू हुन्छन्, र अघि बढ्दै जाँदा, तिनीहरूले निरन्तर परमेश्‍वरसँग मागहरू गर्छन्: ‘मैले सुसमाचार प्रचार गर्दा मलाई पवित्र आत्माको कामले पछ्याउनुपर्छ! मैले खराब कुराहरू गर्दा पनि तपाईँले मलाई क्षमा दिनुपर्छ र सहनुपर्छ! यदि मैले धेरै काम गरेँ भने, तपाईँले मलाई इनाम दिनुपर्छ।’ छोटकरीमा भन्दा, मानिसहरूले परमेश्‍वरबाट सधैँ विभिन्‍न कुरा चाहिरहेका हुन्छन्, तिनीहरू सधैँ लोभी हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको उसको प्रतिरोधको जड हो)। परमेश्‍वरका वचन पढ्दा, मलाई साँच्चै हैरानी महसुस भयो। म परमेश्‍वरका वचनमा वर्णन गरिएको नोकर जस्तै थिएँ, जसमा समझको पूरै अभाव थियो। मालिकले उसलाई खाना, बास, र इनामसमेत दिए, तर त्यो नोकरलाई आफ्नो मालिकप्रति कृतज्ञ हुन आएन। उसले आफ्नो मालिकका लागि केही काम गरेर आफूले श्रेय कमाएको छु भन्ने सोच्यो, र त्यसैले उसले आफ्नो मालिकसँग मागहरू गर्‍यो, र मालिकसँग भएका सबै कुराको आनन्द लिन चाह्यो। मैले यो नोकर साँच्चै अहङ्कारी, समझ नभएको, र निर्लज्ज रहेछ भन्ने देखेँ। मैले मेरो बिमारी निको हुन नसकेको र म मृत्युको सँघारमा पुगेको समयलाई सम्झेँ। खास गरी, जब मैले मजस्तै बिमारी भएका मानिसहरू मरेको देखेँ, तब मेरो निराशाको भाव झनै बढ्यो। प्रभुमा विश्वास गर्न थालेपछि, उहाँले मेरो बिमारी हटाउनुभयो र मलाई जिउन दिनुभयो, र पछि, परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गर्ने र सत्यता प्राप्त गर्ने अनि परमेश्‍वरद्वारा मुक्ति पाउने अवसर पाउने म भाग्यमानी भएँ। यो सबै परमेश्‍वरको असाधारण उत्थान र अनुग्रह हो। मैले परमेश्‍वरबाट प्रशस्त पाएकी छु, तर मलाई कृतज्ञ हुन आएन। मैले कर्तव्यको थोरै हिस्सा निर्वाह गरेर श्रेय कमाएकी छु भन्ने सोचेँ, र त्यसैले मैले परमेश्‍वरसँग मागहरू गरेँ, उहाँलाई मलाई फेरि बिरामी हुनबाट जोगाउन भनेँ। मेरो बिमारी बल्झिएर मृत्युसँगको सामना हुँदा, म समर्पित भइनँ। बरु, मैले उल्टै बहस गरेँ र गुनासो गरेँ। मैले निर्लज्जतापूर्वक परमेश्‍वरसँग मेरो आयु लम्ब्याइदिन र मलाई अझै केही वर्ष जिउन दिन माग गरेँ। एउटी मामुली सिर्जित प्राणीका रूपमा परमेश्‍वरसँग मागहरू गर्ने मसँग के योग्यता थियो र? परमेश्‍वर सम्पूर्ण सृष्टिका प्रभु हुनुहुन्छ, र कसलाई आशिष् दिने र कसलाई नदिने भनेर निर्णय गर्ने परमेश्‍वर नै हुनुहुन्छ। तैपनि मैले उल्टै बहस गर्ने र परमेश्‍वरको अगाडि सर्तहरू राख्ने दुस्साहस गरेँ। म साँच्चै अहङ्कारी र समझविहीन थिएँ! मैले आफू अत्यन्तै घृणास्पद, लोभी र विवेकविहीन रहेको पनि देखेँ। यो सबै महसुस गर्दा, मलाई भित्रैदेखि गहिरो दोषबोध भयो।

एकदिन, मैले ‘मुक्ति’ चलचित्रमा परमेश्‍वरका वचनको एउटा खण्ड देखेँ, र यसबाट मैले आफ्नो स्थितिका बारेमा केही बुझाइ पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरै मानिसहरू ममा केवल यस कारणले विश्वास गर्छन् कि म उनीहरूलाई निको पारिदिऊँ। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले मबाट शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र विश्‍वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउँदो संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सहजताका निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउँदो संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब म मेरो क्रोध मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै आनन्द र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष्‌ फिर्ता लिन्छु, तब तिनीहरू क्रोधित हुन्छन्। जब मानिसहरू आफूलाई निको पारिदिन भनी मलाई बिन्ती गर्छन् र म तिनीहरूलाई ध्यान दिन्‍नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्‍वास गर्ने गर्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्‍वरले जे खुलासा गर्नुयो, त्भयो ठ्याक्कै मेरै स्थिति थियो। सुरुमा, मैले परमेश्‍वरले मेरो बिमारी निको पार्न सक्नुहुन्छ भन्ने देखेँ। मैले परमेश्‍वरको अनुग्रहको आनन्द पाएँ, त्यसैले उहाँलाई पूर्ण रूपमा पछ्याउन म इच्छुक भएँ, र मैले आफ्नो कर्तव्य पूरा गर्न अनि आफ्नो परिवार र पेशा त्याग्न सकेँ। मण्डलीले मेरो लागि जस्तोसुकै कर्तव्यको प्रबन्ध गरे पनि मैले त्यसलाई निर्वाह गरेँ। सुसमाचार प्रचार गर्दा मलाई पक्राउ गरिए पनि, मेरो परिवारले मलाई अस्वीकार गरे पनि, वा मलाई शारीरिक रूपमा असहज महसुस भए पनि, मैले आफूलाई आफ्नो कर्तव्यमा लगाइरहन सक्षम पाएँ, किनभने परमेश्‍वरका लागि आफूलाई समर्पित गर्दा उहाँले मलाई बिरामी हुन दिनुहुन्न भनी म सोच्थेँ। तर जब मेरो मिर्गौला रोग बल्झिएर झन् गम्भीर भयो, र मसँग उपचारका लागि पैसा भएन, अनि मृत्युको सामना गर्नुपर्ने अवस्था आयो, म थप कष्ट भोग्न र आफूलाई समर्पित गर्न अनिच्छुक भएँ। मैले परमेश्‍वर मलाई रक्षा गर्दै हुनुहुन्न भनेर गुनासो गरेँ, उहाँका लागि आफूलाई समर्पित गरेकोमा पछुतो मानेँ, र म आफ्नो कर्तव्यमा लगनशील हुन छाडेँ, अनि आफ्ना वर्षौँका प्रयास र समर्पणहरूलाई पुँजीका रूपमा प्रयोग गर्ने प्रयास गर्दै, परमेश्‍वरसँग मलाई अझै केही वर्ष जिउन दिन माग गरेँ। मलाई के महसुस भयो भने मैले आशिष्‌ प्राप्त गर्नका लागि मात्रै परमेश्‍वरमा विश्वास गरेकी रहेछु, र आशिष्‌ प्राप्त नभएपछि, परमेश्‍वरमा विश्वास गरेर मलाई घाटा लागेछ भन्ने लाग्यो, र मैले निष्कपट भएर परमेश्‍वरमा विश्वास गर्न र आफ्ना कर्तव्यहरू निर्वाह गर्न छाडेँ। मैले परमेश्‍वरसँग निर्धक्क भई आशिष्‌हरूको माग समेत गरेँ। परमेश्‍वरमाथिको मेरो आस्था अविश्‍वासीहरूले धित मरुञ्जेल खान खोज्ने तरिकाभन्दा के कुरामा फरक थियो र? मैले आफ्नो विश्वासमा सत्यता खोजिनँ, बरु, म आशिष्‌का खातिर परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गरिरहेकी थिएँ। यसो गरेर मैले परमेश्‍वरलाई प्रयोग गर्ने र धोका दिने प्रयास गरिरहेकी थिएँ! मैले पावलले कसरी सुरुमा आशिष् प्राप्त गर्नका खातिर प्रभुमा विश्वास गरे भन्नेबारे सोचेँ। उनले आफूले केही हदसम्म कष्ट भोगेको र केही त्याग गरेको देखेपछि, आफूलाई आशिष्‌हरूको हकदार भएको सोचे र खुलेआम परमेश्‍वरसँग एउटा मुकुट मागे। उनले भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। उनको भनाइको आशय परमेश्‍वरले उनलाई मुकुट र इनामहरू दिनुभएन भने, त्यसको अर्थ परमेश्‍वर अधर्मी हुनुहुन्छ भन्ने थियो। अन्तमा, उनले परमेश्‍वरको स्वभावलाई चिढ्याए र परमेश्‍वरद्वारा दण्डित भए। यदि म परिवर्तन नभई यसरी नै लागिरहेँ भने, म पावलको जस्तै हालतमा पुग्नेथिएँ, म दण्डित भएर नरकमा फालिनेथिएँ।

एकदिन, मैले परमेश्‍वरका वचनको “मानिसको आयु परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ” शीर्षकको एउटा भजन सुनेँ:

१  धेरै मानिसहरू बारम्बार बिमार पर्छन्, र तिनीहरूले परमेश्‍वरलाई जतिसुकै प्रार्थना गरे पनि, तिनीहरूमा सुधार हुँदैन। तिनीहरू आफ्नो बिमारबाट जति नै मुक्त हुन चाहे पनि, मुक्त हुन सक्दैनन्। कहिलेकाहीँ त, तिनीहरूले जीवन नै खतरामा पर्ने अवस्था सामना गर्न सक्छन्, र तीसँग जुझ्न बाध्य हुन्छन्। वास्तवमा, यदि व्यक्तिको हृदयमा परमेश्‍वरप्रतिको आस्था साँच्चै छ भने, उसले सर्वप्रथम मान्छेको आयु परमेश्‍वरकै हातमा हुन्छ भनेर जान्नैपर्छ। व्यक्तिको जन्म र मृत्युको समय परमेश्‍वरद्वारा पहिले नै तय गरिएको हुन्छ। जब परमेश्‍वरले मानिसहरूलाई बिमारी दिनुहुन्छ, त्यसको पछाडि कारण हुन्छ—त्यसको अर्थ हुन्छ। तिनीहरूले महसुस गर्न सक्ने भनेको रोगबिमार हो, तर वास्तवमा, तिनीहरूलाई दिइएको कुरा त अनुग्रह हो, बिमारी होइन। मानिसहरूले सर्वप्रथम यो तथ्यलाई पहिचान गर्नुपर्छ र यसबारे निश्‍चित हुनुपर्छ, र यसलाई गम्‍भीरतासाथ लिनुपर्छ।

२  जब मानिसहरू बिमारीका कारण कष्ट भोगिरहेका हुन्छन्, तिनीहरू प्राय परमेश्‍वरअघि आउन सक्छन्, र आफूले गर्नुपर्ने काम सावधानी र सतर्कतासाथ गर्ने सुनिश्‍चित गर्न सक्छन्, र आफ्‍नो कर्तव्यलाई अरूले भन्दा अझै बढी होसियारी र लगनसाथ लिन सक्छन्। जहाँसम्‍म मानिसहरूको कुरा छ, यो सुरक्षा हो, जन्जिर होइन। यो नकारात्मक पक्षको तौरतरिका हो। यसका साथै, सबैको आयु परमेश्‍वरद्वारा पूर्वनियोजित गरिएको छ। कुनै रोग चिकित्साको दृष्टिकोणबाट ज्यानै जाने हुन सक्छ, तर परमेश्‍वरको दृष्टिकोणबाट, यदि तेरो आयु अझै सकिएको छैन र तेरो समय आउन बाँकी नै छ भने, तँ चाहेर पनि मर्न सक्दैनस्।

३  यदि तँलाई परमेश्‍वरले आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, तँलाई प्राणघातक रोग लागे पनि, तँ मर्नेछैनस्—परमेश्‍वरले तँलाई अझै लानुहुनेछैन। यदि तँ प्रार्थना गर्दैनस् र सत्यता खोज्दैनस्, र आफ्नो रोगको उपचारमा ध्यान दिँदैनस्, वा तेरो उपचारमा ढिलाइ भयो भने पनि, तँ मर्नेछैनस्। यो कुरा विशेष गरी परमेश्‍वरले महत्त्वपूर्ण आज्ञा दिनुभएकाहरूका हकमा सत्य हो। जब तिनीहरूको मिसन पूरा हुन बाँकी हुन्छ, तब तिनीहरूलाई जुनसुकै रोग लागे पनि, तिनीहरू तुरुन्तै मर्नेछैनन्; तिनीहरू मिसन पूरा हुने अन्तिम क्षणसम्म जिउनेछन्।

…………

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

यो भजन सुनेपछि, मैले के बुझेँ भने मानिसको जीवन र मृत्यु परमेश्‍वरको हातमा छ। यस संसारमा आउँदा हरेक व्यक्तिको आफ्नै मिसन हुन्छ, र जुन दिन कुनै व्यक्तिको जीवन समाप्त हुन्छ, त्यो उसको मिसनसँग जोडिएको हुन्छ। जब कुनै व्यक्तिको आयु सकिन्छ, र उसको मिसन पूरा हुन्छ, तब ऊ बिरामी नभए पनि मर्नुपर्छ। यदि कुनै व्यक्तिले आफ्नो मिसन पूरा गरेको छैन भने, उसलाई ज्यानमारा रोग लागे पनि ऊ मर्दैन। फर्केर सोच्दा, म बीस-पच्चीसकी हुँदा मलाई उपचार गर्न गाह्रो हुने रोग लागेको थियो। मसँग उपचारका लागि पैसा थिएन, तर परमेश्‍वरले मलाई मर्न दिनुभएन। यसको सट्टा, उहाँले मलाई आजसम्म राम्ररी जिउन दिनुभयो, र मैले के देखेँ भने जीवन र मृत्यु परमेश्‍वरको हातमा हुन्छ र परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ। यी कुराहरूको कुनै व्यक्तिको बिमारीको गम्भीरतासँग कुनै सरोकार हुँदैन। जब प्रहरीले मलाई “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न भन्यो, तब पक्राउ पर्नबाट बच्नका लागि, म घर छोड्न बाध्य भएँ। म डाक्टर झाङकहाँ औषधिका लागि जान सकिनँ, र मसँग उपचारका लागि पैसा थिएन, त्यसैले म औषधि नहुँदा मेरो अवस्था झन् बिग्रिनेछ र मर्न सक्नेछु भन्ने कुराले चिन्तित भएँ। सत्य कुरा के थियो भने, डाक्टर झाङ अत्यधिक निपुण भए पनि, उनले कसैको ज्यान बचाउन सक्दैनथे। मलाई याद छ, म सँगै उपचार गराइरहेकी एउटी बिरामीको पूरै शरीर सुन्निएको थियो र उनले पिसाब फेर्न सक्दिनथिइन्, र आफ्नो पीडाको बीचमा, उनले डाक्टर झाङको अगाडि घुँडा टेकेर, आफ्नो रोग निको पारिदिन बिन्ती गरिन्, तर डाक्टर कुनै पनि उपाय निकाल्न असमर्थ थिए। मेरो रोग पनि ती बिरामीको जस्तै थियो, र डाक्टर झाङले गर्न सक्ने अरू कुनै उपाय थिएन। मेरो बिमारी चमत्कारी रूपमा हटाउने परमेश्‍वर नै हुनुहुन्थ्यो, र मैले यति ठुलो अनुग्रह प्राप्त गरेकी थिएँ र परमेश्‍वरको सर्वशक्तिमान्‌ता देखेकी थिएँ, तर अझै पनि ममा परमेश्‍वरमाथि आस्था थिएन। म अझै पनि मेरो जीवन र मृत्यु एउटा डाक्टरको हातमा छ भन्ने सोच्थेँ। म साँच्चै अलमल्लमा परेकी, अनि अति नै अन्धी र अज्ञानी रहेछु! म अब थप विद्रोह गर्न सक्दिनथेँ, र मैले आफ्नो बिमारीलाई परमेश्‍वरका हातमा सुम्पनैपर्थ्यो। त्यसपछि, म बाँचे पनि वा मरे पनि, म परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित रहन, र मसँग जिउने अर्को दिन बाँकी रहँदासम्म, म आफ्नो कर्तव्य पूरा गर्न तत्पर भएँ।

पछि, मैले परमेश्‍वरका वचन पढेँ: “जब कुनै व्यक्ति सृजित प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यसो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने आधारमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, उहाँले मानिसहरूमाझ कामको थप कदम सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँ मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दैगर्दा परमेश्‍वरबाट सत्यता हासिल गर्न सक्छन्, अनि यसमार्फत आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न र शुद्ध पारिन, परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनको सही मार्गमा लाग्न सक्छन्, अनि अन्ततः तिनीहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्‍न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्‍न सक्षम हुन्छन्। परमेश्‍वरले मानवजातिलाई कर्तव्यहरू निर्वाह गर्न लगाएर हासिल गर्ने अभिप्राय राख्नुभएको आखिरी प्रभाव यही हो। त्यसैकारण, तैँले तेरो कर्तव्य निर्वाह गर्ने सिलसिलामा, परमेश्‍वर तँलाई केवल एउटा कुरा स्पष्टसित देख्‍न वा अलिकति सत्यता बुझ्न मात्र लगाउनुहुन्‍न, न त उहाँ तँलाई तैँले सृजित प्राणीको हैसियतले आफ्नो कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने अनुग्रह र आशिष्‌हरू उपभोग गर्न सक्षम मात्र नै तुल्याउनुहुन्छ। बरु यसको साटो, उहाँ त तँलाई शुद्ध पारिन र मुक्ति पाउन दिनुहुन्छ, अनि अन्ततः सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन ल्याउनुहुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वरका वचनको यो खण्ड पढेपछि, मेरो हृदय झनै उज्यालो भयो। परमेश्‍वरले मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर दिनुको उद्देश्य उनीहरूले सत्यता पछ्याउन र प्राप्त गर्न, आफ्नो भ्रष्ट स्वभाव फाल्न र शुद्ध हुन, अनि स्वभावमा परिवर्तन हासिल गरी मुक्तिको मार्गमा हिँड्न सकून् भनेर हो। तर मेरो आस्थाका यतिका वर्षमा, मैले परमेश्‍वरले मलाई सुरक्षा र आशिष् दिनुहुनेछ भन्ने आशामा आफ्नो कर्तव्य निर्वाह गर्दै आइरहेकी थिएँ, अनि मैले आफ्नो कर्तव्यलाई आशिष्‌ लागि मोलतोल गर्ने माध्यमका रूपमा लिएँ। मैले आस्थासम्बन्धी मेरा दृष्टिकोणहरू गलत रहेछन् भन्ने बुझेँ। आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, र यसको आशिष् प्राप्त गर्ने वा दुर्भाग्य भोग्ने कुरासँग कुनै सरोकार रहँदैन। म आफ्नो कर्तव्यमा सत्यता पछ्याउन र मेरो भ्रष्ट स्वभाव फाल्नमा केन्द्रित हुनुपर्छ। यही नै मेरो जीवनको साँचो मूल्य र अर्थ हो। यदि मैले आशिष्‌ मात्र पछ्याएँ र स्वभावमा परिवर्तन गर्ने प्रयत्न गरिनँ भने, जीवनभरको विश्वासपछि पनि, मैले कहिल्यै सत्यता प्राप्त गर्नेछैनँ, र अन्तमा, मैले मुक्ति पाउनेछैनँ।

एकदिन, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “परमेश्‍वरले तँसँग जेसुकै माग गर्नुभए पनि, तैँले त्यसमा आफ्नो सारा शक्ति लगाउनु मात्र पर्छ, र म यी अन्तिम दिनहरूमा तैँले परमेश्‍वरसामु उहाँलाई आफ्नो बफादारी देखाउनेछस् भन्ने आशा गर्छु। यदि यो क्षण तेरो मृत्यु तोकिएको समय नै भए पनि, तैँले परमेश्‍वर आफ्नो सिंहासनमा विराजमान भई सन्तोषको मुस्कान मुस्कुराउनुभएको तैँले देख्न सकेसम्म, आफ्ना आँखा चिम्लँदै गर्दा तँ हाँस्नु र मुस्कुराउनुपर्छ। तँ जीवित रहँदै, तैँले परमेश्‍वरप्रतिको आफ्नो अन्तिम कर्तव्य निर्वाह गर्नैपर्छ। विगतमा, परमेश्‍वरका खातिर पत्रुसलाई क्रूसमा उल्टो टाँगियो; तर यी अन्तिम दिनहरूमा तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै ऊर्जा उहाँका लागि खर्चनुपर्छ। एक सृजित प्राणीले परमेश्‍वरका लागि के गर्न सक्छ? त्यसैले परमेश्‍वरले चाहेअनुसार तँलाई योजनाबद्ध गर्नका लागि तैँले अग्रिम रूपमा आफूलाई परमेश्‍वरप्रति अर्पण गर्नुपर्छ। त्यसले परमेश्‍वरलाई खुसी र प्रसन्न तुल्याएसम्म उहाँले आफ्नो अभिप्रायअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिससँग गुनासोका शब्दहरू बोल्ने के अधिकार छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय ४१)। परमेश्‍वरका वचन पढेपछि, मैले के बुझेँ भने मैले जस्तोसुकै बिमारी वा पीडाको सामना गरे पनि, म मरेँ भने पनि, जबसम्म म परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित रहन्छु र आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्छु, तबसम्म यसले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछ। मैले परमेश्‍वरले कसरी अय्यूबलाई जाँच्नुभयो भन्नेबारे सोचेँ। अय्यूबले आफ्नो विशाल धनसम्पत्ति र आफ्ना छोराछोरीहरू गुमाए, र उनको शरीरभरि पीडादायक खटिराहरू आए, तर उनी गुनासो नगरी परमेश्‍वरमा समर्पित रहन सके, र उनी परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहे। पत्रुसले आफ्नो जीवन परमेश्‍वरमा समर्पित हुने र उहाँलाई प्रेम गर्ने प्रयत्नमै बिताए, आफ्नो लागि कहिल्यै केही मागेनन्, र अन्त्यमा, उनी परमेश्‍वरका लागि उल्टो टाउको पारेर क्रूसमा टाँगिए। उनी मृत्युसम्मै समर्पित हुने बिन्दुमा पुगे, शैतानलाई पूर्ण रूपमा लज्जित पारे, र परमेश्‍वरका लागि महिमित गवाही दिए। अय्यूब र पत्रुसका गवाहीहरूले मलाई अत्यन्तै प्रेरित गरे। मेरो बिमारी बल्झिएको थियो, र जुनसुकै बेला, मैले मिर्गौला फेल हुने वा मृत्युको समेत सामना गर्न सक्थेँ, तर जबसम्म म जिउन र सास फेर्न सक्थेँ, तबसम्म मैले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो। त्यसपछि, ममा आफ्नो बाँकी जीवन परमेश्‍वरलाई सुम्पने, स्वभावमा परिवर्तन पछ्याउने, र आफ्नो कर्तव्य पूरा गर्ने इच्छा जागृत भयो, र कुनै दिन मेरोसामु मृत्यु आयो भने पनि म अझै परमेश्‍वरकै सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित रहनेथिएँ।

त्यसपछि, मैले आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा समर्पित गरेँ, र मैले समय-समयमा आफ्नो शरीरलाई उचित व्यायाम पनि गराएँ, अनि मेरो स्वास्थ्यमा बिस्तारै सुधार आएको मैले पाएँ। मेरो ब्लड सुगर र ब्लड प्रेसर स्थिर स्तरमा फर्कियो, र आफूले गर्ने हरेक काममा मभित्र ऊर्जा भएको मैले पाएँ। सन् २०२४ को मे महिनाको अन्त्यतिर, म जिल्ला अगुवाका रूपमा चुनिएँ, र कामको बोझ धेरै भए पनि, म त्यसलाई वहन गर्न सक्षम भएँ। कहिलेकाहीँ, कामले थकित महसुस हुँदा, म केही बेर उचित आराम गर्थेँ, र त्यसपछि, कुनै समय खेर नफाली आफ्नो कर्तव्य पूरा गर्नतिर लाग्थेँ। यसरी अभ्यास गर्दा, मलाई परमेश्‍वरको अझ नजिक भएको महसुस भयो, र लगनशीलताका साथ आफ्नो कर्तव्य पूरा गर्दा मैले चैन अनुभूति गरेँ।

अघिल्लो: ८०. आफ्नो परिवारको घेराबन्दी र आक्रमणबीच, मैले एउटा छनौट गरेँ

अर्को: ८२. अनुग्रह र आशिष्‌ पाउनका लागि मात्र परमेश्‍वरमा विश्वास गर्नु ठीक हो त?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्