८. छोराले बुढेसकालमा हेरचाह गर्नेछ भन्ने मेरो आशा चकनाचुर भएपछि

वाङ यान, चीन

मलाई सम्झना भएदेखि नै, म प्रायः फलानाको छोराछोरी कति पितृ-मातृभक्त छन्, उनीहरू त कति भाग्यमानी रहेछन् भनेर बूढापाकाहरूले कुरा गरेको सुन्थेँ। उनीहरू बिरामी पर्दा, छोराछोरीले ओछ्यानमै बसेर स्याहारसुसार गर्थे, अनि बुढेसकालमा, उनीहरूको सम्मानजनक अन्त्येष्टि गरिन्थ्यो, र उनीहरूको जीवन सार्थक भएजस्तो देखिन्थ्यो। “छोराछोरी हुर्काउनु भनेको बुढेसकालको सहारा हो” भन्ने विश्वासले मेरो हृदयमा गहिरो जरा गाडेको थियो। जब मेरा आमाबुबा बिरामी पर्नुभयो, मेरा सहोदरहरू र मैले पालैपालो उहाँहरूको हेरचाह गर्‍यौँ, र आमाबुबा बित्नुभएपछि, हामीले उहाँहरूको सम्मानपूर्वक अन्त्येष्टि गर्‍यौँ। मलाई लाग्थ्यो, हाम्रा आमाबुबाले हामीलाई व्यर्थमा हुर्काउनुभएको थिएन, र म मनमनै सोच्थेँ, “के मानिसले छोराछोरी हुर्काउनुको अर्थ मृत्युसम्मै स्याहार गर्ने र अन्त्येष्टि गर्ने कोही होस् भनेर होइन र?” हाम्रो गाउँमा, एक जना एक्ली वृद्ध महिला थिइन्। उनका श्रीमान् र छोरा दुवै बितिसकेका थिए, र उनी एक्लो र बेसहारा थिइन्। उनको बुढेसकालमा, उनी बिरामी पर्दा कसैले हेरचाह गरेन, र उनको मृत्युपछि कसैले अन्त्येष्टिको व्यवस्था पनि गरेन। मलाई उनको जीवन दयनीय लाग्थ्यो। बिहे गरेपछि, मेरो एउटा छोरा भयो। छोरा पन्ध्र वर्षको हुँदा, मेरा श्रीमान् बित्नुभयो। मेरा श्रीमानको मृत्यु मेरा लागि ठूलो धक्का थियो। जीवनका सारा दुःखकष्ट, मानिसहरूको हेपाइ, र अफवाहहरूले गर्दा मैले अघि बढ्ने साहस झण्डै गुमाइसकेकी थिएँ। तर फेरि म छोरालाई सम्झन्थेँ, र मैले जीवन जतिसुकै कष्टप्रद भए पनि उसलाई हुर्काउने सङ्कल्प गरेँ, र भविष्यमा उसले मृत्युसम्मै मेरो हेरचाह गर्नेछ र मेरो अन्त्येष्टि गर्नेछ भन्ने आशा गरेँ। पछि, मलाई मुटुको रोग लाग्यो र काम गर्दा मलाई सञ्चो हुँदैनथ्यो। मेरो छोराले मेरो ख्याल राख्नुपर्छ भन्ने बुझेको थियो, र म बिरामी पर्दा, उसले चिन्ता व्यक्त गर्थ्यो, जसले मलाई सान्त्वना दिन्थ्यो। मलाई मैले उसलाई हुर्काएको व्यर्थ गएन भन्ने महसुस हुन्थ्यो। पछि, मैले मेरा अहिलेका श्रीमान् भेटेँ।

सन् २००८ मा, मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकारेँ। एक वर्षपछि, मैले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। म बेलाबेलामा छोराको हेरचाह गर्न घर जान्थेँ। म उसको मनपर्ने खाना पकाउँथेँ, घरधन्दामा सघाउँथेँ, र उसलाई अलिअलि पकेट खर्च दिन्थेँ। म सकेसम्म उसका आवश्यकताहरू पूरा गर्ने प्रयास गर्थेँ। सन् २०१२ मा, मेरो छोरा सेनामा भर्ती हुनका लागि राजनीतिक पृष्ठभूमि जाँच गर्नुपर्ने भएकाले, हाम्रो गाउँको प्रहरी मेरो आस्थाबारे छानबिन गर्न आयो, त्यसैले म लुक्नका लागि घर छोडेर अन्यत्र गएँ। दुई महिनापछि, मैले मेरा श्रीमान् सुसमाचार प्रचार गरेको कारण पक्राउ पर्नुभएको छ भन्ने सुनेँ। त्यसपछि, मैले घर फर्कने वा छोरालाई सम्पर्क गर्ने आँट गरिनँ।

सन् २०१७ सम्म आउँदा, मलाई अक्सर कमजोरी महसुस हुन्थ्यो र मुटुको धड्कन बढ्थ्यो, त्यसैले म उपचारका लागि घर फर्कन चाहन्थेँ। तर घर मेरा लागि सुरक्षित थिएन, त्यसैले म दिदीको घरमा बसेँ र उहाँलाई मेरो छोरासँग सम्पर्क गर्न भनेँ। मैले उसलाई नदेखेको पाँच वर्ष भइसकेको थियो, त्यसैले छोरालाई देख्दा म धेरै उत्साहित थिएँ। हामीले विगत केही वर्षहरूमा के-के भए भन्नेबारे कुरा गर्‍यौँ। मेरो छोराले आफ्नो बिहे भइसकेको बतायो। ऊ मलाई घर लैजान र मलाई डाक्टर भेट्न आफ्नी श्रीमती साथ पठाउन चाहन्थ्यो। उसले म बुढी भएपछि बस्नका लागि उनीहरूले एउटा घर छुट्याएर राखेको पनि भन्यो। यो सुन्दा म धेरै खुसी भएँ। मैले सोचेँ, वर्षौँदेखि मैले छोरालाई भेटेकी थिइनँ र उसको हेरचाह पनि गरेकी थिइनँ, तैपनि उसले अझै मेरो बुढेसकालको भविष्यबारे सोचिरहेको रहेछ, र मलाई अझै पनि म छोराको भर पर्न सक्छु भन्ने लाग्यो। तर भोलिपल्ट साँझ, कामपछि छोरा मलाई भेट्न आयो, ऊ निराश देखिन्थ्यो, र भन्यो, “ममी, मेरी श्रीमतीले तपाईँलाई स्विकार्दिनन्। तपाईँ यत्तिका वर्ष घरमा नभएको कुराले उनलाई असहज लागेको छ। हाम्रो ठूलो झगडा भयो, र उनले कि त उनलाई कि त तपाईँलाई रोज भनिन्। मलाई साह्रोगाह्रो पर्दा उनले मेरो हेरचाह गरेकीले, मैले उनलाई नै रोजेँ।” मलाई ममाथि बज्रपात भएझैँ भयो। मैले यत्तिका वर्षदेखि मेरो छोरालाई मेरो जीवनको सहारा ठानेकी थिएँ। मैले उसलाई हुर्काउन कडा परिश्रम गरेकी थिएँ, भविष्यमा मृत्युसम्मै मेरो हेरचाह गर्नेछ र मेरो अन्त्येष्टि गर्नेछ भन्ने आशा गरेकी थिएँ। तर अहिले, उसले मलाई छाडी आफ्नी श्रीमतीलाई रोजेको थियो र मलाई आफ्नो घरभित्र लगेन। के मैले उसलाई हुर्काउन गरेको सारा प्रयास व्यर्थ भएको थिएन र? मैले लामो समयसम्म यो यथार्थलाई स्विकार्न सकिनँ र धेरै आँसु बगाएँ।

छोरा गएपछि, म दिदीको घरमै बसिरहेँ, र भावनात्मक चोटले गर्दा मेरो अवस्था बिग्रँदै गयो। मेरा श्रीमान् मेरो साथमा हुनुहुन्नथ्यो, र अब म छोराको भर पर्न पनि सक्दिनथेँ। मानिसहरू भन्छन्, आमाबुबाले बुढेसकालमा सहारा होस् भनेर छोराछोरी हुर्काउँछन्, तर मसित निर्भर हुने कोही थिएन। म साह्रै दुःखी र हैरान भएँ। मैले दिदीको परिवार खुसीसाथ भेला भएको, हाँसखेल र रमाइलो कुराकानी गरेको देखेँ, मलाई कस्तो लाग्यो भने छोरा हुनु र नहुनु केही फरक छैन, र म एउटी एक्ली वृद्ध महिला बनेकी छु। म बिरामी पर्दा मेरो हेरचाह गर्ने कोही हुनेछैन, र म मर्दा मेरो अन्त्येष्टि गर्ने कोही हुनेछैन। मलाई मेरो जीवन पूर्ण रूपमा असफल भएजस्तो लाग्यो। म परमेश्‍वरमा विश्वास गर्थेँ, अनि गैरविश्‍वासीहरूले चाहिँ मभन्दा राम्रो जीवन कसरी बिताइरहेका थिए? म जति सोच्थेँ, त्यति नै दुःखी हुन्थेँ, र मेरा दिनहरू उदासी र उत्साहहीनतामा बित्न थाले। केही समयपछि एकदिन, मेरो छोरा अचानक मलाई भेट्न आयो। उसले आफू एउटा मुद्दामा फसेको र हामीबाट केही पैसा सापट चाहेको बतायो। मैले सोचेँ, विगत केही वर्षयता मैले उसको राम्ररी हेरचाह गरेकी छैन, अहिले ऊ समस्यामा परेको छ, र एउटी आमाका रूपमा, मैले उसलाई यो कठिन समयमा मदत गर्नुपर्छ। त्यसैले, मैले उसलाई केही पैसा दिन मेरा श्रीमान्‌लाई भनेँ। मेरो छोराले पछि आफ्नी श्रीमती र छोरीलाई हामीसँग भेटाउन ल्याउने कुरा गर्‍यो। वसन्त उत्सवपछि, मेरो छोराले साँच्चै आफ्नी सानी छोरीलाई मसँग भेटाउन ल्यायो। मैले सोचेँ, मेरी बुहारीले अझै मलाई नस्विकारे पनि, कम्तीमा मेरो छोरा र नातिनी म बुढी हुँदा मेरो हेरचाह गर्न साथमा हुनेछन्, र उनीहरूले मृत्युसम्मै मेरो स्याहार गर्नेछन् र मेरो अन्त्येष्टि गर्नेछन्। म धेरै खुसी भएँ र बुढेसकालमा भर पर्ने मानिसहरू पाएकोमा आशावादी महसुस गरेँ।

सन् २०२४ को वसन्त उत्सवको ठीक अघि, फुपूको छोरी पक्राउ परी र मप्रति घात गरी। प्रहरीको निगरानी र गिरफ्तारीबाट बच्न, म आफ्नो कर्तव्य निर्वाह गर्न अर्को ठाउँमा गएँ, र वसन्त उत्सवमा घर जाने आँट गरिनँ। जुन दिन मेरो छोरा मलाई भेट्न आउने कुरा थियो, त्यो दिन आउँदा, मैले आफ्नो हृदय शान्त पार्न सकिनँ। मैले सोचेँ, मेरा छोरा र मैले विगत दुई वर्षमा बल्ल हाम्रो सम्बन्ध सुधारेका थियौँ, र फेरि म छोडेर हिँडेँ। ऊ मसँग रिसाएर फेरि कहिल्यै नबोल्ने पो हो कि? कतै मैले फेरि मेरो छोरालाई गुमाउने त होइन? जब मैले भविष्य एक्लै पर्नेबारे सोचेँ, मेरो हृदय छियाछिया भयो र मन बेचैन भयो, अनि मैले राम्ररी खान वा म राम्ररी सुत्न सकिनँ। यद्यपि मैले आफ्नो कर्तव्य गरिरहेँ, तर मेरो मन त्यसमा थिएन। मलाई मण्डलीको काममा चासो लिन पनि मन थिएन। मैले धेरै पटक परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई मेरो नकारात्मक स्थितिबाट बाहिर निकाल्नुहोस् भनेर बिन्ती गरेँ।

पछि, मैले मनन गरेँ, “छोरा भेट्न नपाउँदा म किन यति साह्रै दुःखित र पीडित भएँ? यसको मुख्य कारण के थियो?” एकदिन, मैले परमेश्‍वरका वचनहरू पढेँ: “वयस्क छोराछोरीप्रति यी अपेक्षाहरू राख्नुको अलावा, आमाबुबाले छोराछोरीको लागि एउटा मापदण्ड पनि बनाएका हुन्छन्, जुन संसारका सबै आमाबुबाहरूसँग मिल्छ, र त्यो के हो भने, तिनीहरू आफ्ना छोराछोरीहरूले कर्तव्यनिष्ठ भएर आमाबुबाप्रति राम्रो व्यवहार गर्न सकून् भन्‍ने आशा गर्छन्। अनि अवश्य नै, केही विशेष जनजातीय समूह र क्षेत्रमा आफ्ना छोराछोरीप्रति अझै बढी विशिष्ट प्रकृतिका मापदण्डहरू हुन्छन्। उदाहरणको लागि, आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनुको अलावा, छोराछोरीले आमाबुबालाई मृत्युपर्यन्त रेखदेख गर्नु र तिनीहरूको दाहसंस्कारको बन्दोबस्त गर्नु, र वयस्क भएपछि आमाबुबासँग बसेर आमाबुबाको जीविकाको जिम्मेवारी लिनु पनि आवश्यक हुन्छ। यो सन्तानप्रतिका आमाबुबाका अपेक्षाहरूको अन्तिम पक्ष हो, र यसबारे अर्थात् आफ्ना छोराछोरीहरू कर्तव्यनिष्ठ बनून् र बुढेसकालमा आफ्नो रेखदेख गरून् भन्‍ने मापदण्डबारे अब हामी छलफल गर्नेछौँ। के आमाबुबाले छोराछोरी जन्माउनुको मूल आशय, साथै छोराछोरीको लागि आधारभूत मापदण्ड यही होइन र? (हजुर, हो।) … छोराछोरी निकै साना हुँदा नै आमाबुबाले मागहरू तय गर्न थाल्छन् र तिनीहरूले उनीहरूलाई सधैँ जाँचिरहेका हुन्छन्, र यस्ता प्रश्‍नहरू सोध्छन्: ‘के तिमीले ठूलो भएपछि आमा र बालाई हेर्नेछौ?’ ‘हेर्नेछु।’ ‘के तिमीले बुबापट्टिका बाजेबजूलाई हेर्नेछौ?’ ‘हेर्नेछु।’ ‘के तिमीले आमापट्टिका बाजेबजूलाई हेर्नेछौ?’ ‘हेर्नेछु।’ ‘तिमीलाई सबैभन्दा बढी को मनपर्छ?’ ‘मलाई सबैभन्दा बढी आमा मनपर्छ।’ त्यसपछि बुबा ईर्ष्यालु बन्छ, र सोध्छ, ‘अनि बुबालाई?’ ‘मलाई सबैभन्दा बढी बुबा मनपर्छ।’ आमाले ईर्ष्या गर्दै सोध्छे, ‘तिमीलाई सबैभन्दा बढी को मनपर्छ?’ ‘आमा र बुबा।’ त्यसपछि आमाबुबा दुवै सन्तुष्ट हुन्छन्। तिनीहरू आफ्ना छोराछोरीले भर्खरै बोल्न सिकेदेखि नै कर्तव्यनिष्ठ बनून् भनेर लागिपर्छन्, र छोराछोरी ठूला भएपछि उनीहरूले आफूलाई राम्रो व्यवहार गरून् भन्‍ने आशा गर्छन्। यी साना छोराछोरीले आफ्नो कुरा प्रस्ट रूपमा व्यक्त गर्न नसक्ने र धेरै नबुझ्ने भए पनि, आमाबुबाहरू छोराछोरीको जवाफमा एउटा प्रतिज्ञा सुन्न चाहन्छन्। साथसाथै, तिनीहरू छोराछोरीमा आफ्नो भविष्य पनि देख्न चाहन्छन् र आफूले हुर्काइरहेका छोराछोरी कृतघ्न हुनेछैनन्, बरु कर्तव्यनिष्ठ भएर तिनीहरूको जिम्मेवारी लिनेछन् भन्‍ने आशा गर्छन्, र आफू उनीहरूमाथि भर पर्न सक्ने र उनीहरूले आफूलाई बुढेसकालमा साथ दिनेछन् भनी अझै बढी आशा गर्छन्। छोराछोरी सानै हुँदादेखि तिनीहरूले यी प्रश्‍नहरू सोध्दै आएका भए पनि, यी सरल प्रश्‍नहरू होइनन्। यी त पूर्णतया आमाबुबाको हृदयको गहिराइबाट उब्जिने अपेक्षा र आशाहरू हुन्, र एकदमै वास्तविक अपेक्षा र आशाहरू हुन्। त्यसैले, छोराछोरीले विभिन्‍न कुराबारे बुझाइ प्राप्त गर्न थाल्नेबित्तिकै आमाबुबाको आशा यो हुन्छ कि छोराछोरीले आमाबुबा बिरामी हुँदा वास्ता देखाउन सकून्, ओछ्यानमा तिनीहरूको छेउमै बसून्, र तिनीहरूको हेरचाह गरून्, र तिनीहरूलाई पानी हालिदिने काम मात्र भए पनि त्यो गरिदिऊन्। छोराछोरीले धेरै गर्न नसके पनि, आर्थिक र बढी व्यावहारिक सहयोग गर्न नसके पनि, कम्तीमा उनीहरूले यतिसम्मको सन्तानीय भक्तिचाहिँ देखाउनैपर्छ। छोराछोरी सानै हुँदा नै, आमाबुबा यो सन्तानीय भक्ति हेर्न र बारम्बार त्यो पुष्टि गर्न चाहन्छन्। उदाहरणको लागि, आमाबुबाहरू सन्चो नहुँदा वा कामले थाकेको हुँदा, तिनीहरू आफ्नो लागि छोराछोरीले पिउने कुरा ल्याइदिन, जुत्ता ल्याइदिन, कपडा धोइदिन, वा अम्लेट र भात मात्रै भए पनि, सामान्य खाना बनाउन जान्दछन् जान्दैनन्, वा उनीहरूले ‘तपाईं थाक्नुभएको छ हो? हो भने, म तपाईंलाई केही खानेकुरा बनाइदिन्छु’ भनेर भन्छन् भन्दैनन् भनी नियाल्छन्। कतिपय आमाबुबाहरू छुट्टीको समयमा बाहिर निस्कन्छन् र जानाजान खाना खाने समयमा खान बनाउन फर्कँदैनन्, र यसमार्फत तिनीहरू आफ्ना छोराछोरी हुर्केर बुझ्ने भएका छन् छैनन्, आफ्नो लागि खाना बनाउन जान्दछन् जान्दैनन्, कर्तव्यनिष्ठ र विचारशील हुन जान्दछन् जान्दैनन्, र आमाबुबाका कठिनाइहरू बुझ्न सक्छन् सक्दैनन् वा उनीहरू हृदयहीन कृतघ्न मान्छे पो भएका छन् कि, र तिनीहरूले उनीहरूलाई व्यर्थै पो हुर्काए कि भनेर हेर्न चाहन्छन्। छोराछोरी हुर्किरहेका बेला, र वयस्कतामा हुँदासमेत, आमाबुबाहरूले उनीहरूलाई निरन्तर परीक्षण गरिरहेका र यो मामला बुझ्न खोजिरहेका हुन्छन्, र सँगसँगै, तिनीहरूले निरन्तर छोराछोरीमाथि मापदण्डहरू पनि थोपरिरहेका हुन्छन्, ‘तिमीहरू यस्ता हृदयहीन कृतघ्न मान्छे बन्नु हुँदैन। तिम्रा आमाबुबा, हामीले तिमीलाई किन हुर्कायौँ? त्यो हामी वृद्धावस्थामा हुँदा तिमीले हाम्रो हेरचाह गर्नेछौ भनेर हो। के हामीले तिमीलाई व्यर्थै हुर्काएका हौँ र? तिमीले हाम्रो अवज्ञा गर्नु हुँदैन। तिमीलाई हुर्काउनु हाम्रो लागि सजिलो थिएन। धेरै मेहनत गर्नुपर्‍यो। विचारशील भएर, तिमीले यी कुराहरू बुझ्नुपर्छ।’ विशेष गरी त्यो विद्रोही चरण भनिने, किशोरावस्थादेखि वयस्कतासम्मको सङ्क्रमणकालीन बेलामा, कतिपय छोराछोरी त्यति धेरै समझदार वा सूक्ष्मदर्शी हुँदैनन्, र उनीहरूले प्राय: आमाबुबाको अवज्ञा गर्ने र समस्या निम्त्याउने गर्छन्। अनि, आमाबुबाहरू रुन्छन्, रिसको झोक देखाउँछन्, र यसो भन्दै गनगन गर्छन्, ‘तिमी सानो छँदा हामीले कति दुःखले तिम्रो हेरचाह गर्‍यौँ, त्यो तिमीलाई थाहै छैन! तिमी ठूलो भएर यस्तो हुन्छौ भन्‍ने सोच्याथेनौँ, तिमी कति पनि कर्तव्यनिष्ठ हुँदैनौ, र घरायसी काम र हाम्रा कठिनाइको बोझ उठाउन वास्तै गर्दैनौ भन्‍ने अपेक्षा गर्‍याथेनौँ। यो सबै गर्न हामीलाई कति गाह्रो हुन्छ, तिमीलाई थाहै छैन। तिमी कर्तव्यनिष्ठ छैनौ, बरु अटेरी छौ, तिमी असल व्यक्ति होइनौ!’ छोराछोरी अटेरी भएकाले वा उनीहरूले आफ्नो पढाइ वा दैनिक जीवनमा विद्रोही व्यवहार देखाएकाले उनीहरूसित रिसाउनुबाहेक, आमाबुबाको रिसको अर्को कारण तिनीहरूले आफ्नो भविष्य छोराछोरीमा देख्न नसक्‍नु, वा भविष्यमा छोराछोरी कर्तव्यनिष्ठ नहोलान्, आमाबुबाप्रति विचारशील हुने र दुःख महसुस गर्ने नगर्लान्, र आमाबुबालाई हृदयमा नराख्‍लान्, वा ठ्याक्‍कै भन्दा, उनीहरू आमाबुबाप्रति कर्तव्यनिष्ठ हुन नजान्लान् भन्‍ने बुझाइ हुनु हो। त्यसैले, आमाबुबाको नजरमा, तिनीहरूले यस्ता छोराछोरीमा आशा राख्न सक्दैनन्: उनीहरू कृतघ्न वा अटेरी हुन सक्छन्, र आमाबुबाको मन टुटेको छ, तिनीहरूलाई छोराछोरीको निम्ति आफूले गरेका लगानी र खर्चहरू व्यर्थ भए, तिनीहरूले घाटाको सम्झौता गरे, त्यसो गर्नु सार्थक थिएन भन्‍ने अनुभूति हुन्छ, र तिनीहरू पछुताउँछन्, र दुःख, हैरान र पीडामा परेको महसुस गर्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरले खुलासा गर्नुहुन्छ, आमाबुबाले आफ्ना छोराछोरीबाट अपेक्षाहरू राख्छन्, विशेष गरी छोराछोरीले मृत्युसम्मै उनीहरूको हेरचाह र अन्त्येष्टि गर्ने अपेक्षा गर्छन्। जब छोराछोरीले यी अपेक्षाहरू पूरा गर्दैनन्, आमाबुबाले पीडा र खिन्नता महसुस गर्छन्, र छोराछोरीलाई व्यर्थमा हुर्काएछौँ भन्ने ठान्छन्। मेरो स्थिति ठ्याक्कै त्यही थियो। छोरा सानो छँदादेखि नै मैले उसबाट यी अपेक्षाहरू राखेकी थिएँ। म बिरामी पर्दा उसले मेरो हेरचाह गर्नेछ भन्ने मैले आशा गरेँ, र भविष्यमा म बुढी र चलफिर गर्न नसक्ने हुँदा, उसले मलाई सहारा दिनेछ र मेरो दैनिक जीवनको ख्याल राख्नेछ, अनि म बितेपछि, उसले मेरो अन्त्येष्टि गर्नेछ भन्ने मेरो अपेक्षा थियो। मेरो छोरा हुर्किएपछि, चिनियाँ कम्युनिष्ट पार्टीको सतावटका कारण, म कयौँ वर्षसम्म घर फर्कने आँट गरिनँ। घर फर्किएपछि, मैले मेरो छोराले मेरा लागि एउटा घर राखेको छ र बुढेसकालमा म फर्केर त्यहीँ बस्न सक्छु भन्ने सुनेँ। म धेरै खुसी भएँ, र मेरो छोरा अझै पनि मातृभक्त र भरपर्दो रहेछ भन्ने सोचेँ। तर जब उसले मलाई छाडी श्रीमती रोज्यो, मेरो हृदय छियाछिया भयो र म निराश भएँ। मलाई मेरो छोरा भरपर्दो छैन र मैले उसलाई हुर्काएको व्यर्थ भयो भन्ने लाग्यो। जब छोराले मेरी नातिनीलाई मसँग भेटाउन ल्यायो, तब मलाई सान्त्वना मिल्यो। तर चिनियाँ कम्युनिष्ट पार्टीको गिरफ्तारीबाट बच्नका लागि मैले उसलाई फेरि भेट्न नसक्ने भएपछि, म छोराले अब मलाई वास्ता गर्दैन कि भन्ने चिन्तामा परेँ, र बुढेसकालमा उसको सहारा लिने मेरा आशाहरू चकनाचुर भए। म फेरि एकपटक पीडामा डुबेँ, र मण्डलीको कामलाई निरन्तरता दिनमा ध्यान केन्द्रित गर्न सकिनँ। तर अब मैले के बुझेँ भने मेरो पीडाको जड म “छोराछोरी हुर्काउनु भनेको बुढेसकालको सहारा हो” भन्ने विचारबाट नियन्त्रित हुनु, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन नसक्नु रहेछ।

त्यसपछि मैले परमेश्‍वरका अरू वचनहरू पढेँ: “आफ्ना छोराछोरी आफूप्रति कर्तव्यनिष्ठ हुने अपेक्षा गर्नेबारे भन्नुपर्दा, एक हिसाबले, आमाबुबाले के थाहा पाउनुपर्छ भने, सबथोक परमेश्‍वरले योजनाबद्ध गर्नुभएको हुन्छ र सबथोक परमेश्‍वरको पूर्वनिर्धारणमै भर पर्छ। अर्को हिसाबले, मानिसहरू तर्कसङ्गत हुनुपर्छ, र छोराछोरी जन्माएर आमाबुबाले अन्तर्निहित रूपमै जीवनमा केही विशेष अनुभव गरिरहेका हुन्छन्। तिनीहरूले छोराछोरीबाट धेरै कुरा हासिल गरिसकेका र आमाबुबा हुनुका दुःख र सुखहरू बुझ्‍न थालिसकेका हुन्छन्। यो प्रक्रिया तिनीहरूको जीवनको ठूलो अनुभव हो, र अवश्य नै यो स्मरणीय अनुभव पनि हो। यसले तिनीहरूको मानवतामा भएका कमीकमजोरी र अज्ञानता परिपूर्ति गर्छ, र आमाबुबाको रूपमा, तिनीहरूले छोराछोरी हुर्काएर पाउनुपर्ने कुरा पाइसकेका हुन्छन्। यदि तिनीहरू यो कुराले सन्तुष्ट हुँदैनन् र छोराछोरीले आफूलाई सेवक वा दास-दासीझैँ सेवा गरून् भन्‍ने माग गर्छन्, र उनीहरूलाई हुर्काएकोमा ती छोराछोरीले आमाबुबालाई सन्तानीय भक्ति देखाएर, बुढेसकालमा हेरचाह गरेर, तिनीहरूलाई दफन र बिदाइ गरेर, तिनीहरूलाई शवपेटीमा राखेर, तिनीहरूको शरीर घरमा कुहिन नदिएर, तिनीहरूको मृत्यु हुँदा नराम्ररी रोएर, शोक मनाएर अनि तीन वर्षसम्म दुःख मनाएर, र आदि इत्यादि गरेर ऋण तिरून् भन्‍ने अपेक्षा गर्छन्, र छोराछोरीलाई यी कुराहरू प्रयोग गरेरै ऋण तिर्न लगाउँछन् भने, त्यो बेमनासिब र अमानवीय कुरो बन्छ। आमाबुबालाई कस्तो व्यवहार गर्ने भनी मानिसहरूलाई सिकाउने सन्दर्भमा, परमेश्‍वरले छोराछोरी आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ होऊन् भन्‍ने मापदण्ड मात्र दिनुहुन्छ, तर छोराछोरीले मृत्युपर्यन्त आमाबुबालाई हेरून् भन्‍ने मापदण्ड बिलकुलै लाद्‌नुहुन्न। परमेश्‍वरले मानिसहरूलाई यस्तो जिम्मेवारी र दायित्व दिनुहुन्न—उहाँले यस्तो कुरा कहिल्यै भन्नुभएको छैन। परमेश्‍वरले बच्चाहरूलाई आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुन मात्र सल्लाह दिनुहुन्छ। आमाबुबाप्रति सन्तानीय भक्ति देखाउनु एक आम अभिव्यक्ति हो तर यसको दायरा फराकिलो हुन्छ। आज यसबारे विशिष्ट रूपमा भन्नुपर्दा, यसको अर्थ तेरो क्षमता र अवस्थाअनुसार जिम्मेवारीहरू पूरा गर्नु हो—त्यति नै पर्याप्त छ। यो त्यति सजिलो छ, छोराछोरीले पूरा गर्नुपर्ने कुरा त्यही मात्र हो। त्यसोभए, आमाबुबाले यो कुरालाई कसरी बुझ्नुपर्छ? परमेश्‍वरले ‘छोराछोरी आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनैपर्छ, उनीहरूले तिनीहरूलाई बुढेसकालमा हेरचाह गर्नैपर्छ, र समय आएपछि बिदा दिनैपर्छ’ भन्‍ने मापदण्ड दिनुहुन्न। त्यसकारण, आमाबुबाले आफ्नो स्वार्थ त्याग्‍नुपर्छ र तिनीहरूले उनीहरूलाई जन्म दिएकै कारण छोराछोरीसम्बन्धी सबथोक आमाबुबासँग सम्बन्धित हुनुपर्छ भन्‍ने अपेक्षा गर्नु हुँदैन। यदि छोराछोरी आमाबुबाप्रति केन्द्रित हुँदैनन् र उनीहरूले तिनीहरूलाई आफ्नो जीवनको केन्द्र ठान्दैनन् भने, आमाबुबाले उनीहरूलाई निरन्तर गाली गर्नु, उनीहरूको विवेकलाई सताउनु, र ‘तँ कृतघ्न छस्, कर्तव्यनिष्ठ छैनस्, अटेरी छस्, तँलाई त्यति लामो समय हुर्काएपछि पनि म तँमाथि भर पर्न सक्दिनँ’ भन्‍ने कुराहरू बोल्नु, र सधैँ यसरी नै गाली गरेर छोराछोरीमाथि बोझ थप्नु ठिक होइन। छोराछोरीले कर्तव्यनिष्ठ भएर आफूलाई साथ दिऊन्, बुढेसकालमा आफूलाई हेरचाह गरून् र दफन गरून्, र उनीहरू जहाँ गए पनि आमाबुबाबारे नै निरन्तर सोचिरहून् भन्‍ने माग गर्नु अन्तर्निहित रूपमै गलत कार्यशैली र अमानवीय सोचविचार हो। यस्तो सोच धेरथोर मात्रामा विभिन्न देशमा वा विभिन्न जनजातीय समूहहरूमा हुन सक्लान्, तर परम्परागत चिनियाँ संस्कृतिलाई हेर्दा, चिनियाँ मानिसहरू छोराछोरीको धर्मलाई विशेष जोड दिन्छन्। प्राचीन समयदेखि अहिलेसम्‍मै, यसबारे सधैँ छलफल गरिँदै आएको छ, र यसलाई मानिसहरूको मानवताको एउटा पाटोका रूपमा र कोही असल हो कि खराब भनी मापन गर्ने मानकका रूपमा लिइएको छ। अनि अवश्य नै, समाजमा एउटा आम मनस्थिति र सार्वजनिक राय निर्माण भएको छ। यदि छोराछोरीले आफ्नो धर्म निभाउँदैनन् भने, तिनीहरू तिरस्कृत र निन्दित हुन्छन्, अनि आमाबुबाले लज्जित महसुस गर्छन्, साथै छोराछोरीले तिनीहरूको ख्यातिमा यो दाग सहन नसक्ने महसुस गर्छन्। विविध तत्त्वहरूको प्रभावमा, आमाबुबाहरू पनि यो परम्परागत सोचबाट गहिरो रूपमा विषाक्त हुन्छन्, र केही नसोचीकनै वा केही नखुट्याईकनै आफ्ना छोराछोरीले आफ्नो धर्म निभाऊन् भन्‍ने माग गर्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरू पढेर, मैले “छोराछोरी हुर्काउनु भनेको बुढेसकालको सहारा हो” भन्ने विचार गलत हो भन्ने कुरा बुझेँ। आमाबुबाका रूपमा, छोराछोरी हुर्काउनु हाम्रो जिम्मेवारी र दायित्व हो। हामीले यसलाई छोराछोरीसँग सौदाबाजी गर्ने कुराका रूपमा लिनु हुँदैन। हामीले उनीहरूलाई जन्म दिने छनौट गरेकाले, उनीहरूको हेरचाह गर्नु हाम्रो जिम्मेवारी हो। यो त जनावरहरूले आफ्ना सन्तानको हेरचाह गरेजस्तै हो। जनावरहरूले सन्तान आफैँ बाँच्न सक्ने नहुन्जेल ध्यानपूर्वक हेरचाह गर्छन्। यो सबै परमेश्‍वरले उनीहरूलाई दिएको जन्मजात स्वभावको हिस्सा हो। सबै जनावरले यो नियम पालना गर्छन्, ताकि सबै जीवित प्राणीहरूको वंशवृद्धि होस् र निरन्तरता रहोस्। मानिसहरू पनि यसका अपवाद होइनन्। मैले छोरालाई कसरी हुर्काएँ भन्नेबारे सोचेँ, र यो त मेरो जीवनको अनुभवलाई समृद्ध बनाउने एउटा प्रक्रिया थियो भन्ने देखेँ। उसको पहिलो बोलीदेखि लिएर, उसका पहिलो पाइलाहरू, ऊ स्कुल जानु र उसले मलाई घरधन्दामा सघाउने कुरासम्म, यी सबैले मलाई एउटी आमाका रूपमा जिम्मेवारी बोध गराए। यसले मेरो मानवतालाई पनि परिपक्व बनायो। छोराछोरी हुर्काउनु आमाबुबाका रूपमा हाम्रो जिम्मेवारी र दायित्व हो, कुनै गुन होइन। तर मैले “छोराछोरी हुर्काउनु भनेको बुढेसकालको सहारा हो” भन्ने परम्परागत धारणा अँगालेकी हुनाले, मैले उसलाई हुर्काउने कुरालाई उसँग सौदाबाजी गर्ने माध्यम बनाएँ। मैले सोचेँ, मैले उसलाई हुर्काएकी हुनाले, म बुढी वा बिरामी हुँदा उसले दौड़धूप गरेर मेरो स्याहार गर्नुपर्छ, र म मर्दा उसले मेरो भव्य अन्त्येष्टि गर्नुपर्छ। मैले उसलाई हुर्काउनु सबै मेरो दैहिक हितहरू पूरा गर्नका लागि थियो। परमेश्‍वर मानिसहरूले आ-आफ्नो वास्तविक अवस्थाअनुसार आमाबुबाप्रतिको जिम्मेवारी पूरा गरून् भन्ने मात्र चाहनुहुन्छ। छोराछोरीले आमाबुबाको बुढेसकालमा हेरचाह गर्नुपर्छ वा उनीहरूको अन्त्येष्टि गर्नुपर्छ भन्ने कुनै आवश्यकता छैन। तर मैले “छोराछोरी हुर्काउनु भनेको बुढेसकालको सहारा हो,” र “सानोमा मैले छोरालाई हुर्काउँछु, र बुढेसकालमा उसले मेरो हेरचाह गर्छ” भन्ने परम्परागत धारणाहरूलाई समातेँ, र त्यसैले मैले मेरो छोराले मेरो जीवनको पूर्ण जिम्मेवारी लिनुपर्छ भन्ने माग गरेँ। के यो पूर्ण रूपमा अव्यावहारिक अनि एकदमै स्वार्थी र नीच हुनु होइन र? जबजब म छोराको भर पर्न सक्दिनँ भन्ने देख्थेँ, मेरो हृदय छियाछिया हुन्थ्यो र म निराश हुन्थेँ, र जीवनमा कुनै आशा छैन जस्तो लाग्यो। परमेश्‍वरमा विश्वास गरेर पनि मेरो जीवन विश्वास नगर्नेहरूको भन्दा खराब छ भन्ने सोचेर मैले परमेश्‍वरप्रति गुनासोसमेत गरेँ। म निरन्तर मेरो भविष्यबारे चिन्तित थिएँ र मेरा कर्तव्यहरूमा केन्द्रित हुन सकिनँ। मैले “छोराछोरी हुर्काउनु भनेको बुढेसकालको सहारा हो” भन्ने परम्परागत सांस्कृतिक विचारले मलाई हानि पुर्‍याइरहेको र बाँधिरहेको छ, जसले मलाई सही र गलत छुट्याउन नसक्ने बनाएको छ भन्ने देखेँ। यो विचार एकदमै निरर्थक हो!

त्यसपछि मैले परमेश्‍वरका अरू वचनहरू पढेँ: “आमाबुबाले आफ्ना छोराछोरीलाई हुर्काउने क्रममा तिनीहरूबाट धेरै आनन्द र बुझाइ प्राप्त गरिसकेका हुन्छन्, जुन तिनीहरूका लागि ठूलो सान्त्वना र प्राप्ति हो। जहाँसम्म तेरा छोराछोरीले तँप्रतिको धर्म निभाउनेछन् कि निभाउनेछैनन्, तँ कुनै पनि कुराका लागि तिनीहरूमाथि भर पर्न सक्छस् कि सक्दैनस्, र तैँले तिनीहरूबाट के प्राप्त गर्न सक्छस् भन्‍ने कुरा छ, यी कुराहरू तिमीहरू सँगै जिउने नियति छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ, र यो परमेश्‍वरको पूर्वनियोजनमा निर्भर हुन्छ। अर्कोतर्फ, तेरा छोराछोरी कस्तो प्रकारको वातावरणमा जिउँछन्, तिनीहरूको जियाइ अवस्था कस्तो छ, तिनीहरू तँलाई हेरचाह गर्ने अवस्थामा छन् कि छैनन्, तिनीहरू आर्थिक रूपमा सम्पन्न छन् कि छैनन्, र तिनीहरूले तँलाई भौतिक आनन्द र सहायता प्रदान गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा पनि परमेश्‍वरको पूर्वनियोजनमा निर्भर हुन्छ। यसबाहेक, आमाबुबाको नाताले, तैँले तेरा छोराछोरीले तँलाई दिने भौतिक कुरा, पैसा, वा भावनात्मक सान्त्वनाको आनन्द लिन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा पनि परमेश्‍वरको पूर्वनियोजनमा निर्भर हुन्छ। कुरा त्यही नै होइन र? (हो।) यी मानिसहरूले आफ्नै इच्छाले माग्न सक्ने कुरा होइनन्। हेर् त, कतिपय छोराछोरीलाई तिनीहरूका आमाबुबाले मन पराउँदैनन्, र तिनीहरूका आमाबुबा तिनीहरूसँग बस्न इच्छुक हुँदैनन्, तर परमेश्‍वरले तिनीहरूलाई आफ्ना आमाबुबासँग बस्ने पूर्वनियोजन गर्नुभएको हुन्छ, त्यसैले तिनीहरूले आफ्ना आमाबुबाबाट टाढा हुन वा तिनीहरूको साथ छोड्न पाउँदैनन्। तिनीहरू जीवनभर आफ्ना आमाबुबासँगै अड्किएका हुन्छन्—तिनीहरूका आमाबुबाले तिनीहरूलाई धपाउने प्रयास गरे पनि धपाउन सक्दैनन्। अर्कोतर्फ, कतिपय छोराछोरीका आमाबुबा तिनीहरूसँग बस्न धेरै इच्छुक हुन्छन्; तिनीहरू छुट्टिनै सक्दैनन्, छुट्टिएपछि सधैँ एकअर्काको कमी महसुस गर्छन्, तर कामका लागि विदेश जानु वा विवाह गरेपछि अर्को ठाउँमा बस्नु जस्ता विभिन्न कारणले गर्दा, तिनीहरू आफ्ना आमाबुबाबाट छुट्टिएर धेरै टाढा रहन्छन्। एक पटक भेट्न पनि सजिलो हुँदैन, र तिनीहरूले फोन वा भिडियो कल गर्न पनि सही समय खोज्नुपर्छ; समयको भिन्नता वा अन्य असुविधाहरूका कारणले, तिनीहरूले आफ्ना आमाबुबासँग बारम्बार कुरा गर्न पाउँदैनन्। के यी विशेष परिस्थितिहरू सबै परमेश्‍वरको पूर्वनियोजनसँग सम्बन्धित छैनन् र? (छन्।) यो आमाबुबा वा छोराछोरीमध्ये कुनै एउटाको व्यक्तिपरक इच्छाद्वारा निर्णय गर्न सकिने कुरा होइन; सबैभन्दा बढी, यो परमेश्‍वरको पूर्वनियोजनमा निर्भर हुन्छ। अर्कोतर्फ, आमाबुबाहरू भविष्यमा आफ्ना छोराछोरीमा भर पर्न सकिन्छ कि सकिँदैन भनी चिन्ता गर्छन्। तँ केको लागि उनीहरूमा भर पर्न चाहन्छस्? चिया ल्याइदिन र पानी हालिदिन? यो कस्तो निर्भरता हो? के तँ आफै त्यति गर्न सक्दैनस्? यदि तँ स्वस्थ छस् र आफै हिँडडुल गर्न र आफ्नो ख्याल राख्न र सबथोक आफै गर्न सक्षम छस् भने, के त्यो ठूलो कुरा होइन र? तँलाई किन अरूको सेवामा भर पर्नुपर्‍यो र? के तेरा छोराछोरीले दिने रेखदेख र साथमा रमाउनु, साथै उनीहरूले तँलाई खाने बेला र अरू बेला सेवा गर्दा रमाउनु साँच्चैको खुसी हो त? हो नै भन्‍ने छैन। यदि तँ हलचल गर्न सक्दैनस्, र उनीहरूले साँच्चिकै खाने बेला र अरू बेला तेरो सेवा गर्नुपर्छ भने, के त्यसले तँलाई खुसी दिन्छ र? यदि तँलाई विकल्प दिइयो भने, के तँ स्वस्थ हुन र छोराछोरीबाट रेखदेख आवश्यक नपर्ने हुन रोज्थिस्, कि कुँजो परेर ओछ्यानमै बस्न र छोराछोरीलाई छेवैमा राख्न रोज्थिस्? तैँले कुन रोज्थिस्? (स्वस्थ हुन।) स्वस्थ हुनु नै धेरै राम्रो हो। चाहे तँ ८०, ९० वा १०० वर्ष नै बाँचे पनि, तैँले आफ्नो ख्याल आफै राख्न सक्छस्। यो जीवनको राम्रो गुण हो। तँलाई बुढेसकाल लागे पनि, तेरो बुद्धि मन्द बने पनि, तेरो स्मरण कमजोर भए पनि, तैँले कम खाए पनि, काम झन्झन् ढिलो गरे पनि र पहिलेजति राम्रो नगरे पनि, र बाहिर जान पहिलेजति सजिलो नभए पनि, तैँले आफ्ना आधारभूत आवश्यकताहरू आफैले पूरा गर्न सक्नु ठूलै कुरा हो। बेलाबेलामा हाइहलोको लागि छोराछोरीको फोन कल आउनु वा छुट्टीको समयमा उनीहरू घर आएर तँसँगै बस्नु पनि पर्याप्त कुरा हो। उनीहरूबाट थप कुरा किन माग्‍नुपर्‍यो? तँ सधैँ छोराछोरीमाथि निर्भर हुन्छस्; के तँ उनीहरू तेरा दास-दासी हुँदा मात्र खुसी हुन्छस्? के तैँले त्यसरी सोच्नु स्वार्थीपन होइन र?(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई अचानक कुरा छर्लङ्ग भयो। मानिस जीवनमा छोराछोरीबाट पाउने हेरचाह र रेखदेखमा रमाउन पाउँछ कि पाउँदैन, वा उसले छोराछोरीबाट कति भौतिक वा भावनात्मक सान्त्वना पाउन सक्छ भन्ने कुरा, सबै परमेश्‍वरले नियोजन गरेका कुरामा निर्भर हुन्छ। हामीले चाहँदैमा यस्तो हुने होइन। मेरै दाइलाई हेरौँ न। उहाँका पाँच जना छोराछोरी छन्, तर उहाँ बिरामी पर्दा, उहाँको हेरचाह गर्न कोही पनि त्यहाँ थिएन। अन्तमा, उहाँको मृत्यु हुन्जेलसम्म मेरा श्रीमान्‌ले नै उहाँको हेरचाह गर्नुभयो। फर्केर हेर्दा, विगतका केही वर्षमा आफ्नो कर्तव्य निर्वाह गर्दा मेरो स्वास्थ्य राम्रो रहेको थिएन। मलाई धेरै पटक हृदयघात भयो, र हरेक पटक, मलाई सुरक्षा दिने र खतराबाट जोगाउने परमेश्‍वर नै हुनुहुन्थ्यो। एकपटक, मलाई अचानक मुटुमा धेरै असजिलो भयो, र मेरो मुटुको धड्कन बन्द भएजस्तो लाग्यो। मलाई रिँगटा लाग्यो, म चल्नै सकिनँ, र मलाई म मर्छु होला जस्तो लाग्यो। मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो जीवन तपाईँको हातमा छ। आज म यहाँ मरेँ भने पनि, म तपाईँको सार्वभौमिकताप्रति समर्पित हुन तयार छु।” त्यति नै बेला, अथितिसत्कारक परिवारका भाइ सहर बाहिरबाट फर्कनुभयो। उनी डाक्टर थिए र उनले मलाई अलिकति एक्युप्रेसर दिए, र केही समयपछि, मलाई अलि जाति भयो। परमेश्‍वरले मलाई मदत गर्न मेरो वरिपरि व्यक्ति, घटना र कामकुराको कसरी बन्दोबस्त गर्नुभयो भन्ने मैले देखेँ, र यो परमेश्‍वरको अद्भुत सुरक्षा थियो भन्ने मैले थाहा पाएँ। यसो विचार गर्दा, म बिरामी हुँदा मेरो छोरा मेरो साथमा भएको बेलामा पनि, मैले उत्तिकै कष्ट भोगेकी थिएँ, र यदि परमेश्‍वरले मेरो प्राण लिन चाहनुभएको भए, मेरो छोरा त्यहाँ भए पनि लाचार हुनेथ्यो। मेरो भाग्य परमेश्‍वरको हातमा छ, र मेरो स्वास्थ्य पनि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत छ। साथै, मैले मेरो जीवनको जिम्मेवारी आफैँले लिनुपर्छ, मैले हरेक कुरामा मेरो छोराको भर पर्नु हुँदैन, र मैले ऊबिना नै स्वतन्त्र रूपमा जीवन सम्हाल्नुपर्छ। यो नै आमाबुबामा हुनुपर्ने समझको बोध हो। यो महसुस गरेपछि, मेरो हृदय धेरै उज्यालो भयो।

मैले परमेश्‍वरका अरू वचनहरू पढेँ, र मैले भव्य अन्त्येष्टि खोज्नु र मरेपछि छोराछोरीले बिदा गरुन् भन्ने चाहना कति निरर्थक रहेछ भन्नेबारे केही अन्तर्ज्ञान पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरू सोच्छन्, ‘तँलाई बाकसमा राख्न, तँलाई कात्रो लगाइदिन, श्रृङ्गार गर्न, र भव्य अन्त्येष्टिको व्यवस्था गर्न तेरा छोराछोरी तेरो छेउमा हुनु गौरवशाली कुरा हो। यदि तँ मरिस् र तेरो अन्त्येष्टिको व्यवस्था गर्ने वा तँलाई उचित बिदाइ गर्ने कोही भएन भने, तेरो सम्पूर्ण जीवनको कुनै उचित निष्कर्ष नभएजस्तो हुन्छ।’ के यो विचार सही हो? (अहँ, यो सही होइन।) आजकल, युवाहरूले यी कुराहरूलाई धेरै ध्यान दिँदैनन्, तर अझै पनि दुर्गम क्षेत्रका मानिसहरू र थोरै अन्तर्दृष्टि भएका वृद्ध मानिसहरू छन् जो छोराछोरीले वृद्धावस्थामा आफ्ना आमाबुबाको हेरचाह गर्नुपर्छ र तिनीहरू बितेपछि तिनीहरूलाई उचित बिदाइ दिनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। यो सोच र दृष्टिकोण तिनीहरूको हृदयमा गहिरो रूपमा गडिएको छ, र तैँले सत्यताका बारेमा जतिसुकै सङ्गति गरे पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्—यसको अन्तिम परिणाम के हुन्छ? परिणाम यो हो कि तिनीहरूलाई यसबाट गहिरो हानि हुन्छ। यो ट्युमर लामो समयदेखि तिनीहरूभित्र लुकेको हुन्छ, र तिनीहरू त्यसद्वारा विषाक्त हुनेछन्। जब तिनीहरूले त्यसलाई खोतलेर निकाल्छन् र हटाउँछन्, तब तिनीहरू त्यसद्वारा विषाक्त हुनेछैनन्, र तिनीहरूको जीवन स्वतन्त्र हुनेछ। कुनै पनि गलत कार्यहरू असङ्गत विचार र दृष्टिकोणहरूद्वारा डोऱ्याइएका हुन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू छन् जो मरेपछि आफ्नो घरमा सडिने हो कि भनेर डराउँछन्, त्यसैले तिनीहरू सधैँ यस्तो सोचिरहेका हुन्छन्, ‘मैले एउटा छोरो जन्माउनुपर्छ। जब मेरो छोरो हुर्कन्छ, म उसलाई धेरै टाढा जान दिन सक्दिनँ। यदि म मर्दा ऊ मेरो छेउमा भएन भने के होला? वृद्धावस्थामा मेरो हेरचाह गर्ने वा म मरेपछि मलाई उचित बिदाइ दिने कोही नहुनु मेरो जीवनको सबैभन्दा ठूलो पछुतोमध्ये एक हुनेछ! यदि मेरो लागि यो गर्ने कोही भएको भए, मेरो जीवन व्यर्थमा जिइएको हुनेथिएन। यो एक सिद्ध जीवन हुनेथियो। कुनै पनि हालतमा, म हाँसोको पात्र बन्न सक्दिनँ।’ के यो सडेको सोच्ने तरिका होइन र? (हजुर, हो नि।) यो बासी र पतित कुरा हो, र यसले भौतिक शरीरलाई ज्यादै महत्त्व दिन्छ! वास्तवमा, भौतिक शरीर बेकार कुरा हो: जन्म, बुढेसकाल, रोग र मृत्यु अनुभव गरेपछि, त्यसमा केही बाँकी रहँदैन। तैँले जीवित छँदै सत्यता प्राप्त गरेको र मुक्ति हासिल गरेको छस् भने मात्र, तँ सदाका लागि जिउन सक्छस्। यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, जब तेरो शरीर मरेर कुहिन्छ, तब केही पनि बाँकी रहनेछैन; तेरा छोराछोरीले तँप्रतिको धर्म जति नै निभाए पनि, तैँले त्यसको आनन्द लिन सक्नेछैनस्। जब कुनै व्यक्ति मर्छ र उसका छोराछोरीले उसलाई शवपेटीमा राखेर दफन गर्छन्, के त्यो बूढो शरीरले केही अनुभूति गर्न सक्छ र? के त्यसले केही बुझ्न सक्छ र? (अहँ, सक्दैन।) त्यसमा बिलकुलै कुनै चेतना हुँदैन। तर जीवनमा मानिसहरूले यो मामलालाई ठूलो महत्त्व दिन्छन्, र आफू मरेपछि छोराछोरीले उचित बिदाइ दिन सक्छन् कि सक्दैनन् भन्‍ने सम्बन्धमा तिनीहरूबाट धेरै माग राख्छन्—र त्यो मूर्खता हो, होइन र? (हजुर, हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरू धेरै स्पष्ट छन्। मानिस मरेपछि, उसको आत्माले छाडेर जान्छ। उसको शरीरमा जीवनको कुनै सङ्केत रहँदैन र केही दिनमै सड्छ। उसका छोराछोरी र नातिनातिनाले सेतो लुगा लगाए पनि र अन्त्येष्टि जतिसुकै भव्य भए पनि, उसको शरीरमा कुनै चेतना हुँदैन, र उसले केही थाहा पाउँदैन। मरेपछि भव्य अन्त्येष्टिको माग गर्नु कति मूर्खतापूर्ण कुरा हो! तैपनि, मैले यो कुरालाई धेरै गम्भीरताका साथ लिएँ, र जब मेरो छोराले मलाई छडी श्रीमती रोज्यो, मलाई कुनै दिन म गम्भीर रोगले मर्छु होला, र मलाई गाड्ने कोही भएन भने, मेरो जीवन अपूर्ण र दयनीय भएर अन्त्य हुनेछ भन्ने चिन्ता लाग्यो। मेरा यी विचारहरू साँच्चै निरर्थक थिए! वास्तवमा, आखिरी दिनहरूमा, परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ, जसको उद्देश्य मानिसहरूमा सत्यता हालिदिनु हो, र सत्यता पछ्याएर मात्र मानिसहरूले अर्थपूर्ण र मूल्यवान् जीवन जिउन सक्छन्। मानिससँग सत्यता छ कि छैन भन्ने कुराबाट नै परमेश्‍वरले उसको परिणाम निर्धारण गर्नुहुन्छ। सत्यता प्राप्त गरेर र परमेश्‍वरका वचनहरूअनुसार जिएर मात्र मानिसले अनन्त जीवन पाउन सक्छ र उसलाई सुन्दर गन्तव्यमा पुर्‍याइन सक्छ। यदि मानिसले आफ्नो जीवनकालमा सत्यता पछ्याएको छैन वा असल कार्यहरू तयार गरेको छैन भने, उसको अन्त्येष्टि जतिसुकै भव्य भए पनि, उसको आत्मा नरकमा जानेछ। मेरो आस्थामा, मैले कसरी सत्यता पछ्याउने, कसरी स्वभावमा परिवर्तन ल्याउने, र कसरी एक सृजित प्राणीको कर्तव्य राम्ररी निर्वाह गर्ने भन्नेबारे सोच्नुपर्छ। मानिसले परमेश्‍वरको अनुमोदन पाएपछि मात्र उसले मूल्य र अर्थले भरिएको जीवन जिउन सक्छ। जसरी परमेश्‍वरले भन्नुभयो: “वास्तवमा, भौतिक शरीर बेकार कुरा हो: जन्म, बुढेसकाल, रोग र मृत्यु अनुभव गरेपछि, त्यसमा केही बाँकी रहँदैन। तैँले जीवित छँदै सत्यता प्राप्त गरेको र मुक्ति हासिल गरेको छस् भने मात्र, तँ सदाका लागि जिउन सक्छस्।” म परमेश्‍वरमा विश्वास गर्ने व्यक्ति हुँ, र यदि मैले मरेपछिको महिमा खोजेँ र जिउनका लागि यी कुराहरूको भर परेँ भने, यसले मलाई मूर्ख र अविश्‍वासी बनाउनेछ। मेरो छोराले मलाई कस्तो व्यवहार गर्छ भन्ने कुरा सबै परमेश्‍वरको नियोजनमा छ। उसले मेरो मृत्युसम्मै मेरो हेरचाह गरेन र मेरो अन्त्येष्टि गरेन भने पनि, म अझै पनि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ। यो नै ममा हुनुपर्ने समझ हो। हामी परमेश्‍वरको सुसमाचार विस्तारको महत्त्वपूर्ण घडीमा छौँ, र मैले गर्नुपर्ने कुरा भनेको मसँग अहिले भएको समयको कदर गर्नु, व्यावहारिक भई आफ्नो कर्तव्य निर्वाह गर्नु, आफूलाई थप सत्यताले सुसज्जित गर्नु र परमेश्‍वरको गवाही दिनु, अनि राज्यको सुसमाचार विस्तारमा आफ्नो योगदान पुर्‍याउनु हो। अब मैले यी कुराहरू बुझिसकेकी छु, मसँग जीवनको सही लक्ष्य र दिशा छ, म हृदयमा स्वतन्त्र र मुक्त महसुस गर्छु, र मेरो कर्तव्यमा अब कुनै असर परेको छैन।

अघिल्लो: ७. विवाह-सम्बन्धको दास नबन्नु नै साँचो स्वतन्त्रता हो

अर्को: १०. एउटी कलेज विद्यार्थीको विश्वासको कठिन मार्ग

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्