६७. धन त्याग: एक व्यक्तिगत यात्रा

झाङ ताओ, चीन

म एउटा ग्रामीण परिवारमा जन्मिएँ। म सानो छँदा, हाम्रो परिवार यति गरिब थियो कि पेटभरि खान पनि धौधौ पर्थ्यो र सबैले हामीलाई हेप्थे। मैले मनमनै सोचेँ, “म ठूलो भएपछि धेरै पैसा कमाउँछु र मेरो परिवारको जीवन सहज बनाउँछु, अनि त्यसपछि मानिसहरूले हामीलाई हेप्ने वा गिज्याउने छैनन्।” त्यसको केही समयपछि नै मेरी आमा बिरामी पर्नुभयो, र हामीले आफ्नो सबै बचत खर्च गर्नुपर्‍यो। हामी पैसा माग्न आउँछौँ कि भनेर साथीभाइ र नातेदारहरू चिन्तित थिए, त्यसैले उनीहरू हामीबाट तर्किने बहाना बनाउँथे। हामीसँग कुनै विकल्प बाँकी नरहने बित्तिकै मेरी सानीआमाले हामीलाई प्रभु येशूको सुसमाचार सुनाउनुभयो। प्रभुलाई पाएपछि मेरी आमा चमत्कारिक रूपमा निको हुनुभयो, र त्यसपछि मेरो विश्वास पनि सुरु भयो।

धेरै पैसा र नाम कमाउन, मैले १३ वर्षको उमेरमा बजारमा सलाई, चुरोट र सूर्यमुखीको बीउ बेच्न थालेँ; १५ वर्षको उमेरमा जताततै पसल थाप्न थालेँ; र १८ वर्षको उमेरमा काठको व्यापारमा हात हाल्ने प्रयास गर्न थालेँ। तर मसँग पर्याप्त पुँजी नभएकोले, पैसा सापटी लिन मेरो दाइले मलाई काउन्टीमा बस्ने आफ्नो एक जना सहपाठीको घरमा लिएर गए। मैले त्यो धनी परिवारसँग सबै किसिमका विद्युतीय उपकरणहरू भएको, र उनीहरू गर्मीका दिनमा खरबुजा खाने र एयर-कन्डिसन खोलेर बस्ने गरेको देखेँ, र मलाई उनीहरूको असाध्यै ईर्ष्या लाग्यो। हाम्रो घरमा त एउटा बिजुली पङ्खासमेत थिएन। जति नै गर्मी भए पनि, हामीले हाते पङ्खा मात्र चलाउन पाउँथ्यौँ, र तिर्खा मेटाउन हामीसँग इनारको पानी मात्र हुन्थ्यो। त्यतिबेला मलाई हाम्रो परिवार उनीहरूको भन्दा किन यति फरक छ भनेर अचम्म लाग्थ्यो। धनीहरू राम्रोसँग जिइरहेका थिए—म कहिले उनीहरू जस्तै जिउन सक्ने होला? त्यस बेलादेखि, उच्च स्तरीय जीवन जिउने मेरो चाहना तीव्र भयो। तर म अझै पनि आफ्नो व्यावसायबाट धैरे पैसा कमाइरहेको थिइनँ। विवाहपछि, मेरी श्रीमती र म कामको लागि अर्कै ठाउँमा गयौँ, र मैले थप आम्दानी गर्न रिक्सा चलाएँ। तर वर्षौँ बित्दा पनि हामीले कमाएको पैसाले जसोतसो गुजारा चलाउन मात्र पुग्थ्यो।

सन् २००० को फेब्रुअरीमा, मैले गाउँका केही मानिसले कपडा व्यावसायमा व्यावसायिक एजेन्ट भएर धेरै पैसा कमाइरहेको देखेको थिएँ, र मलाई पनि त्यसमा लाग्न मन लाग्यो। अन्ततः म प्रान्तको सामान्य एजेन्टसम्म बन्न सफल भएँ। सुरुमा, अर्डर दिन कुनै ग्राहक आइरहेको थिएन, त्यसैले म आफ्ना सामानहरू चिनाउन घर-घर जान थालेँ। व्यावसायलाई अघि बढाउनका लागि, मैले सामान किन्ने, ग्राहकलाई बिल दिने, अर्डर गरिएको सामान प्याक गरेर पठाउने…। हरेक काम आफैँ सम्हालेँ। म हरेक दिन लगभग १६ घण्टा काम गर्थेँ। प्रायः म यति व्यस्त हुन्थेँ कि खाना खानसमेत पाउँदिनथेँ। तर केही वर्षको कडा मिहिनेतपछि, मैले अन्ततः केही पैसा कमाउन थालेँ। मैले एउटा गाडी र घर किनेँ, अनि मेरा समकक्षी, साथीभाइ र परिवार सबैले मलाई आदरभावले हेर्न थाले र मेरो क्षमताको प्रशंसा गरे। म जहाँ गए पनि मानिसहरू मलाई अभिवादन गर्थे। चिनियाँ नयाँ वर्षमा म घर जाँदा, सबैतिरका मानिसहरू मलाई प्रशंसापूर्वक हेर्थे र म जहाँ गए पनि उनीहरू मलाई “ठूलो मान्छे” भनेर बोलाउँथे। यो सबै प्रशंसाले मलाई साँच्चै खुसी बनायो र मैले भोगेका सबै दुःख सार्थक बनेको महसुस गरायो। तर म वर्षैभरि व्यस्त रहने हुनाले, मेरो खवाइ निकै अनियमित थियो र मलाई पेटको गम्भीर समस्या भयो जसले गर्दा खाना खानेबित्तिकै मेरो पेट बेसरी दुख्थ्यो। अत्यधिक लामो समयसम्म काम गर्नाले मेरो ढाडको तल्लो भागको एउटा हड्डी पनि खिइयो, र कहिलेकाहीँ मेरा हातहरू निदाउने वा बाउँडिने गर्थे, तर व्यापार बढाउन र धेरै पैसा कमाउनका लागि मैले आफ्नो स्वास्थ्य अवस्थालाई बेवास्ता गरेँ र व्यावसायलाई निरन्तरता दिइरहेँ। कहिलेकाहीँ मलाई मेरो शरीरले साँच्चै थेग्न सकिरहेको छैन जस्तो लाग्थ्यो, तर जब म बिक्रीको आँकडा हरेक वर्ष बढिरहेको र कम्पनीले वर्षमा दस लाख युआनभन्दा बढी खुद आम्दानी गरेको देख्थेँ, तब म आफ्नो अवस्थालाई बिर्सेर काम गरिरहन्थेँ। एक वर्ष, हाम्रो शाखा बिक्रीमा देशकै दोस्रो स्थानमा पर्‍यो, र हामीलाई बोनस मात्रै तीन लाख युआनभन्दा बढी दिइयो। अरू सबै एजेन्टहरू मलाई ईर्ष्यापूर्वक हेर्थे। त्यसपछि कम्पनीले मलाई अझ उच्च बिक्रीको लक्ष्य दियो र पहिलो स्थानमा पुग्ने प्रयास गर्न माग गर्‍यो। म पनि यही लक्ष्यमा पुग्न चाहिरहेको थिएँ, किनभने मेरो कार्यसम्पादन जति राम्रो हुन्थ्यो, मैले त्यति नै धेरै कमाउँथेँ र मेरो बोनस पनि त्यति नै राम्रो हुन्थ्यो। म जहाँ गए पनि अरूको प्रशंसा पाउँथेँ, र मेरो प्रतिष्ठा अझै बढ्दै जान्थ्यो। तर जब म आफूप्रति निकै खुसी थिएँ र पहिलो स्थान हासिल गर्न लागिपरेको थिएँ, त्यही बेला मेरो स्वास्थ्य बिग्रँदै गइरहेको थियो। मेरो पेटको समस्या बल्झिरहन्थ्यो, मेरो ढाड प्रायः दुखिरहन्थ्यो, र म लामो समयसम्म उभिन सक्दिनथेँ। म जचाउन अस्पताल गएँ र डाक्टरले मलाई पेटको समस्या बिस्तारै निको पार्नका लागि समयमै खाना खानुपर्ने बताए। उनले यो पनि भने, “तपाईँको ढाडको तल्लो भागको हड्डी खिइएको छ। तपाईँले आराम गर्नुपर्छ र ज्यादै कडा काम गर्नु हुँदैन। यदि तपाईँले उपचारमा साथ दिनुभएन भने, तपाईँको नसा च्यापिएर पक्षघात हुन सक्छ।” मैले सोचेँ, “म काममा यति व्यस्त हुन्छु, आफ्नो ख्याल राख्न मैले त्यति धेरै समय कसरी पाउन सक्छु?” मैले आफूलाई पीडा सहेर भए पनि व्यावसायसम्बन्धी कामहरू पूरा गर्न बाध्य बनाएँ। बिहान उठ्नेबित्तिकै म सबैभन्दा पहिले कसरी पैसा कमाउने भनेर सोच्थेँ अनि दिनभरिको व्यस्ततापछि म यति थकित हुन्थेँ कि सिरानीमा टाउको राख्नेबित्तिकै निदाइहाल्थेँ। म जीवनभन्दा पैसालाई बढी महत्त्व दिन्छु भनेर मेरी श्रीमतीले प्रायः भन्ने गर्थिन्। दिनमा म काममा यति व्यस्त हुन्थेँ कि आफ्नो रोग नै बिर्सन्थेँ, तर जब म राति ओछ्यानमा सुत्दा दुखाइका कारण निदाउन नसकेर यताउता पल्टिँदै बस्थे, तब म सोच्थेँ, “मैले केही पैसा कमाएको छु, म अझ आरामदायी जीवन जिइरहेको छु, र मलाई अरूले प्रशंसा गर्छन्, तर म स्वास्थ्य समस्याहरूले ग्रस्त छु र म ४० वर्षको पनि भएको छैन। बूढो हुँदा म कुन स्थितिमा हुने होला, कसलाई के थाहा।” मेरो रोगको पीडा, मानसिक दबाब, साथै मेरो व्यावसायिक जीवनको छल र आन्तरिक कलहले प्रायः मलाई असह्य पीडा र थकान दिन्थ्यो। मेरो धनले मलाई किन खुसी बनाएको थिएन? मैले भित्री रूपमा कुनै शान्ति वा स्थिरता महसुस गरिनँ र मैले साँच्चै भरोसा गर्न सक्ने कुरा केही थिएन। के मैले पैसा, ख्याति र प्राप्तिको पछि दौडिएर रित्तो र कष्टकर जीवन जिउनुपर्ने हो त? के मैले चाहेको जीवन यही थियो त?

म पीडा र अलमलमा हुँदा, सन् २००९ मा ब्रदर-सिस्टरहरूले म र मेरी श्रीमतीलाई सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुनाए। परमेश्‍वरको वचन पढेर र मण्डली जीवन जिएर, मैले के बुझेँ भने, सत्यता व्यक्त गर्न र मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्न परमेश्‍वर आखिरी दिनहरूमा देहधारण हुनुभएको छ, साथै जो उहाँको न्याय स्विकार्छन् र शुद्ध पारिन्छन् तिनीहरूलाई मात्र राम्रो गन्तव्यतर्फ डोर्‍याउन सकिन्छ। म र मेरी श्रीमती चाँडै नै परमेश्‍वरको आखिरी दिनहरूको कामबारे निश्चित भयौँ। म हरेक दिन उत्सुकताका साथ परमेश्‍वरको वचन पढ्थेँ, र उहाँको वचनको मलजल र आपूर्तिको आनन्द लिन्थेँ। मेरो हृदय शान्ति र आनन्दले भरिएको हुन्थ्यो। त्यतिबेला म सोच्थेँ, “पहिले म धनी बन्न र सुखी जीवन जिउन मात्र चाहन्थेँ, तर धेरै पैसा कमाएपछि, म खुसी हुनुको साटो किन रित्तो महसुस गरिरहेको र पीडामा थिएँ?” मैले सर्वशक्तिमान् परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ जसले मेरो दुविधा हटाइदियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तेरो हृदयमा विशाल रहस्य छ, जसका बारेमा तँ कहिल्यै जानकार भएको छैनस्, किनकि तँ ज्योतिबिनाको संसारमा जिउँदै आइरहेको छस्। तेरो हृदय र तेरो आत्मा दुष्टद्वारा बलजफती खोसिएको छ। तेरा आँखाहरू अन्धकारले धमिला भएका छन्‌ र तँ न दिनमा आकाशको सूर्य देख्न सक्छस् न राती चम्किरहने तारा नै। तेरा कानहरू कपटी शब्दहरूले टालिएका छन्, र तँ न यहोवाको गर्जनको आवाज सुन्न सक्छस्, न उहाँको सिंहासनबाट बग्ने धेरै पानीहरूको आवाज नै। तेरो स्वामित्वमा हुनुपर्ने सबै कुराहरू, जुन सर्वशक्तिमान्‌ले तँलाई दिनुभएको थियो, तैँले ती सबै गुमाइसकेको छस्। तँ पीडाको अनन्त सागरमा प्रवेश गरेको छस्, जहाँ उद्धार गर्ने कुनै शक्ति छैन, बाँच्ने कुनै आशा छैन, र तैँले गर्ने कार्य भनेको केवल सङ्घर्ष र हस्याङफस्याङ मात्र हो…। त्यस क्षणपश्चात्, तँ दुष्टद्वारा पीडित बन्न अभिशप्त भएको छस्, सर्वशक्तिमान्‌को आशिषबाट धेरै टाढा रहिस्, सर्वशक्तिमान्‌का भरणपोषणभन्दा धेरै टाढा रहेको छस्, फर्केर आउन नसक्ने मार्गमा हिँडिरहेको छस्। … तँ कहाँदेखि आएको थिइस्, तेरो जन्म किन भएको थियो, वा तँ किन मर्नेछस् भन्‍ने कुराको ज्ञान तँलाई छैन। तँ सर्वशक्तिमान्‌लाई एक अपरिचितको रूपमा हेर्छस्; उहाँले तेरा लागि गर्नुभएका सबै कुराहरूलाई छोडौँ, तँलाई त उहाँको मूलबारे समेत थाहा छैन। उहाँबाट आउने सबैकुरालाई तँ शत्रुवत् रूपमा हेर्छस्; तैँले न त्यसको कदर गर्छस् न त्यसको महत्त्व नै जान्दछस्। सर्वशक्तिमान्‌को भरणपोषण पाउन सुरु गरेको दिनदेखि नै तँ दुष्टको साथमा हिँड्छस्। दुष्टका साथमा तैँले हजारौँ वर्षको तुफान र आँधीबेहरी सहेको छस्, र तँ उसैसँग परमेश्‍वरविरुद्ध उभिन्छस्, जो तेरो जीवनको स्रोत हुनुहुन्थ्यो। तँ पश्चात्ताप गर्न जान्दैनस्, झन् तैँले आफू विनाशको किनारामा आइपुगिसकेको छस् भन्‍ने जान्नु त परको कुरा हो, तैँले त पश्चात्तापबारे केही जानेको छैनस्। दुष्टले तँलाई बहकाएको र कष्ट दिएको छ भन्‍ने कुरा तैँले बिर्सिएको छस्; तैँले आफ्नो सुरुवात बिर्सिएको छस्। यसरी आजको दिनसम्म त्यो दुष्टले तेरो मार्गका हरेक पाइलामा कष्ट दिएको छ। तेरो मन र आत्मा चेतनाशून्य भएका र कुहिएका छन्। तैँले मानव संसारका विडम्बनाहरूका बारेमा गुनासो गर्न बन्द गरेको छस्; तैँले अबउप्रान्त यो संसार अन्यायी छ भन्‍ने विश्‍वास गर्दैनस्। सर्वशक्तिमान्‌को अस्तित्व छ कि छैन भन्‍ने कुरामा तैँले वास्ता गर्ने त कुरै छाडौं। धेरै पहिलले नै त्यो दुष्ट तेरो वास्तविक पिता हो र तँ त्यसबाट अलग्गिन सक्दैनस् भनी तैँले ठानेकोले गर्दा यस्तो भएको हो। तेरो मनमा गढेको रहस्य यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा)। परमेश्‍वरका वचनहरूले जीवनमा मानव दुःखको मूल कारण खुलासा गर्छन्: त्यो हो, शैतानले बहकाउनु र भ्रष्ट तुल्याउनु। मानिसलाई परमेश्‍वरले बनाउनुभएको हो, र ऊ उहाँकै हेरचाह र सुरक्षामा जिउने गर्थ्यो। तर शैतानले बहकाएका र भ्रष्टता तुल्याएका कारण, मानिसले परमेश्‍वरलाई धोका दियो र ऊ उहाँबाट तर्कियो, उसलाई जीवनको मूल्य र अर्थ थाहै थिएन, ऊ धन, ख्याति, प्राप्ति र सांसारिक आनन्द जस्ता शैतानका दुष्ट प्रचलनहरूको पछि लाग्यो, र शैतानको दुर्व्यवहार भोग्दै जियो। म शैतानका दुष्ट प्रचलनहरूद्वारा प्रशिक्षित भएको थिएँ। म धनी बन्न र उत्कृष्ट जीवन जिउन मात्र चाहन्थेँ, र धेरै पैसाको पछि लाग्दा, मैले आफ्नो शरीरलाई पूरै बेवास्ता गरेको थिएँ। मेरो अवस्थाले मलाई असह्य पीडा दिँदा पनि, म पैसा कमाउने कुनै मौका गुमाउन चाहन्नथेँ। शैतानको छलकपट र हानिका कारण म अत्यन्तै पीडादायी जीवन जिइरहेको थिएँ! सत्यताहरू जारी गर्न, मानिसलाई शैतानको प्रभावबाट बचाउन, मानिसलाई शैतानको भ्रष्टता र हानिबाट उम्काउन, र मानिसलाई राम्रो गन्तव्यतर्फ डोर्‍याउन परमेश्‍वरले आखिरी दिनहरूमा फेरि एकपटक देहधारण गर्नुभएको छ। परमेश्‍वरले दिनुभएको मुक्ति र मप्रति उहाँको कृपाका कारण, प्रभुको पुनरागमनलाई स्वागत गर्न र सृष्टिकर्ताको आवाज सुन्न पाउनु मेरो सौभाग्य थियो। त्यसपछि, मैले बिस्तारै व्यापारसम्बन्धी मामलाहरू छोड्दै गएँ, र भेलाहरूमा जान र परमेश्‍वरको वचन पढ्नमा धेरै समय बिताउन थालेँ। बिस्तारै, मैले केही सत्यता बुझ्न थालेँ। सर्वशक्तिमान् परमेश्‍वरले आखिरी दिनहरूमा सत्यता व्यक्त गर्नु र न्यायको काम गर्नु परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापनको योजनाको अन्तिम चरण हो, र जो आखिरी दिनहरूमा परमेश्‍वरको न्याय स्विकार्दैनन् र शुद्ध पारिदैनन् तिनीहरू अन्तमा महाविपत्तिहरूमा परेर नष्ट हुनेछन् र दण्डित हुनेछन्। तर मेरो वरिपरि अझै पनि थुप्रैले परमेश्‍वरको आवाज सुनेका र प्रभुको पुनरागमनलाई स्वागत गरेका थिएनन्। यो कुराले मलाई साँच्चै चिन्तित बनायो। अनि जब म अरूले सुसमाचार प्रचार गरिरहेको र परमेश्‍वरबारे गवाही दिइरहेको देख्थेँ तर म भने अझै पनि कम्पनीका कामहरूमै अल्झिरहेको हुन्थेँ र कुनै कर्तव्य निर्वाह गरिरहेको हुँदिनथेँ, तब मलाई म परमेश्‍वरलाई निराश बनाइरहेको छु भन्ने लाग्थ्यो, तर के गर्ने भनेर मलाई थाहा थिएन। त्यसैले, मैले मेरा विचार र समस्याहरू प्रार्थनामा परमेश्‍वरसामु राखेँ, र मलाई यस अवस्थामा मार्गदर्शन गर्न उहाँलाई अनुरोध गरेँ।

प्रार्थना गरेपछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के तँलाई तेरा काँधका बोझहरू, तँलाई दिइएको आज्ञा, र तेरो जिम्‍मेवारीबारे थाहा छ? ऐतिहासिक मिसनप्रतिको तेरो बोध कहाँ छ? अर्को युगको मालिकको भूमिका तैँले कसरी राम्ररी निर्वाह गर्नेछस्? के तँसँग मालिक हुनुको प्रबल भावना छ? यावत् थोकको मालिकबारे कसरी व्याख्या गरिनुपर्छ? के त्यो साँच्‍चै सारा जीवित प्राणीहरू अनि संसारका सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिका लागि तँसँग के-के योजनाहरू छन्? कति जना मानिसहरू तँद्वारा गोठालो गरिन तेरो प्रतीक्षा गरिरहेका छन्? के तेरो कार्य गह्रौँ छ? तिनीहरू दरिद्र, दयनीय, अन्धा छन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई दमन गरेका अन्धकारका शक्तिहरूलाई, उल्काजस्तै गरी अचानक तल झरेर हटाओस् भनी ती मानिसहरू ज्योतिका लागि कति तृष्णा गर्छन्। तिनीहरू त्यसका लागि बेचैनीका साथ आशा गर्छन् र दिन-रात तृष्णा गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्‍न सक्छ र? ज्योति चम्‍केर गुज्रने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; तिनीहरूले कहिले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नपाएका यी नाजुक आत्माहरूको दुर्भाग्य भयानक छ, अनि निर्दयी बन्धनहरू र जमेको इतिहासद्वारा तिनीहरूलाई यो स्थितिमा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दुखी स्थिति कसले देखेको छ र? परमेश्‍वरको हृदय कति दुखी र बेचैन छ भनी के तैँले कहिल्यै विचार गरेको छस्? उहाँले आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो सास्ती भोगेको देख्दा उहाँ कसरी सहन सक्‍नुहुन्छ? आखिर, मानवजाति विषाक्त पारिएका पीडितहरू नै त हुन्। र मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विषाक्त पारिएको छ भन्‍ने कुरा कसले थाहा पाएको छ र? के तैँले तँ पीडितहरूमध्येको एक होस् भन्‍ने बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमका कारण, यी सबै बाँचेकाहरूलाई मुक्ति दिनका निम्ति लागिपर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरलाई प्रतिदान गर्नका निम्ति आफ्‍नो सारा सामर्थ्य अर्पण गर्न इच्‍छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्‍चै छ त?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?)। परमेश्‍वरको वचनबाट, मैले उहाँको अति जरुरी अभिप्राय बुझेँ। मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम छिट्टै नै सकिनेछ, तर अझै पनि त्यस्ता धेरै छन् जसले उहाँको आवाज सुनेका वा उहाँको देखापराइलाई स्वागत गरेका छैनन्, र जो अझै पनि अन्धकारमा दुःख भोगिरहेका छन्, विशेषगरी ती मानिसहरू जसले धेरै वर्ष प्रभुमा विश्वास गरेका छन्। उनीहरू अन्धकारबाट मुक्ति पाउन प्रभु येशूको देखापराइ र कामको आशा गर्दै आएका छन्, तर पाष्टर र एल्डरहरूद्वारा भ्रममा पारिएका र छलिएका कारण, उनीहरूले अझै पनि प्रभुको पुनरागमनलाई स्वागत गरेका छैनन् र उनीहरूलाई परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिने र उहाँको मुक्ति स्वीकार गर्न परमेश्‍वरसामु लैजाने व्यक्तिको असाध्यै खाँचो छ। एक सृजित प्राणीको रूपमा, मसँग समझ र विवेक हुनैपर्छ, मैले परमेश्‍वरको प्रेमको प्रतिदान गर्न उहाँको अभिप्रायलाई ध्यान दिनैपर्छ, र उहाँको मुक्ति स्वीकार गर्न मैले अझ धेरै मानिसहरूलाई उहाँसमक्ष ल्याउनैपर्छ। यो सबैभन्दा न्यायोचित काम हो र मेरो अटल कर्तव्य र दायित्व हो। परमेश्‍वरको अभिप्राय र मागहरू सामना गरेपछि, मलाई के थाहा थियो भने, यदि म उदासीन रहेँ र मैले परमेश्‍वरको प्रेमको प्रतिदान गर्न सकिनँ भने, यो साँच्चै विवेक वा समझ नभएको हुनेछ, र म मानव कहलिन योग्य हुनेछैन! मैले मेरो जिम्मेवारी कति ठूलो छ भन्‍ने कुरा बुझेँ र तुरुन्तै सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न चाहेँ। त्यसैले, सत्यता पछ्याउन र कर्तव्य निर्वाह गर्न मसँग धेरै समय र ऊर्जा होस् भनेर मैले कम्पनी जिम्मा लगाउने विषयमा मेरी श्रीमतीसँग कुरा गरेँ। उनले मलाई भनिन्, “हामीले यी वर्षमा परमेश्‍वरको यति धेरै अनुग्रह र आशिष्‌ पाएका छौँ; हामीले राज्यको सुसमाचार फैलाउन सक्दो प्रयास गर्नुपर्छ। यदि हामीले कुनै कर्तव्यमार्फत परमेश्‍वरको प्रेमको प्रतिदान गर्नका लागि चुनौतीलाई स्विकारेर उहाँसँग काम गर्न सकेनौँ भने, हामी साँच्चै उहाँलाई निराश बनाइरहेका हुनेछौँ र हाम्रो विवेकले सहन सक्नेछैन!” मेरी श्रीमतीले यसो भनेको सुन्दा कम्पनी जिम्मा लगाउने मेरो निर्णय अझै पक्का भयो। तर जब म फर्केर आएँ र मैले कामदारहरू सामान प्याक गर्न र पठाउन व्यस्त देखेँ, तब आफ्नै दुई हातले बनाएको यो कम्पनीप्रति मलाई एक्कासी विछोडको अनुभूति भयो। यसलाई यो बिन्दुसम्म ल्याइपुर्‍याउन र यी सबै सम्पत्ति जोड्न सजिलो थिएन, त्यसैले म यो सबै जिम्मा लगाउन हिचकिचाएँ। मैले रिक्सा चलाएका, शारीरिक श्रम गरेका, कहिल्यै नथाक्ने कामदार जस्तो व्यवहार गरिएका ती वर्षहरू सम्झेँ, अनि यतिका वर्षको कडा मिहिनेतपछि मसँग आफ्नै कम्पनी भएको, धेरै ग्राहक बनाएको र स्थिर आम्दानी सुनिश्चित गरेको कुरा सम्झेँ। यदि मैले साँच्चै यो कम्पनी छोडेँ भने, के मेरो सम्पूर्ण आयस्रोत गुम्नेछैन र? के म पहिलेकै जस्तो दुःखको जीवन जिउने अवस्थामा पुग्नेछु? मानिसहरूले मेरो प्रशंसा नगर्ने मात्र होइन; उनीहरूले मलाई हेप्नेछन्। तर यदि मैले आफ्ना दिनहरू व्यापार गर्दै र पैसा कमाउँदै बिताएँ भने, मसँग आफ्नो कर्तव्य निर्वाह गर्ने समय हुनेछैन र मैले परमेश्‍वरसमक्ष आफूलाई शान्त पार्न सक्नेछैन। यस्तो विश्वासका साथ मैले कसरी सत्यता प्राप्त गर्न सक्थेँ र? त्यसैले, मैले एउटा समाधानको उपाय सोचेँ। म प्रशासन र व्यवस्थापन सम्हाल्न दुई जना प्रबन्धकलाई कम्पनी ठेक्कामा दिन्छु, ताकि कम्पनीको प्राधिकार अझै मेरै स्वामित्वमा रहोस्। यसरी, उनीहरूको व्यवस्थापनको लाभांश कटाएपछि, मैले अझै पनि वार्षिक १६ लाख युआन पाउनेछु। त्यसपछि मसँग स्थिर आम्दानी र आफ्नो कर्तव्य निर्वाह गर्ने समय हुनेछ। के यो एक तीर दुई शिकार हुनेछैन र? तर पछि, मलाई उनीहरू मिलेर मेरो विरुद्धमा लाग्छन् कि भन्ने चिन्ता भयो। त्यसपछि मेरो आम्दानी नहुने मात्र नभई मैले कम्पनीको प्रारम्भिक मूल्य पनि गुमाउन सक्छु। के यो आफ्नो घाउमा नुन छर्के जस्तै हुनेछैन र? यो सोचेर, म अझै पनि निर्णय गर्न सकिरहेको थिइनँ। त्यसैले मैले कम्पनी हस्तान्तरण गर्ने कुरा प्रार्थनामा परमेश्‍वरसामु राखेँ, “परमेश्‍वर! म आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरेर तपाईँको प्रेमको प्रतिदान गर्न चाहन्छु, तर मलाई यदि मैले आफ्नो कम्पनी हस्तान्तरण गरेँ भने कङ्गाल भइन्छ कि भन्‍ने डर छ। म दुइटा कठिन विकल्पबीच फसेको छु र के गर्ने भनेर मलाई थाहा छैन। कृपया मलाई एउटा अभ्यासको मार्ग खोज्न मार्गदर्शन गर्नुहोस्।”

यसपछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरू पैसा त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्छौ, जबकि दोधारेहरू एउटा हातले पैसा थुत्छन् र अर्को हातले सत्यता समात्छन्। के तिमीहरूको साँचो रूप त्यसपछि आफै प्रस्ट हुनेथिएन र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरी हल्लेका छौ, छैनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले, अनपेक्षित रूपमा, मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो पारिएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक दिनेछौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेछ? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेछौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? तिमीहरू मेरा वचनहरूप्रति समर्पित हुन्छौ कि वितृष्ण हुन्छौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। मलाई म परमेश्‍वरसँग आमनेसामने छु र उहाँ मलाई धन रोज्छस् कि सत्यता रोज्छस् भनेर गम्भीरतापूर्वक सोधिरहनुभएको छ जस्तो अनुभूति भयो। परमेश्‍वर मेरो जवाफमा आशावादी हुनुहुन्थ्यो, तर मैले धन रोजेको थिएँ। यसबारे सोचेर, मलाई गहिरो रूपमा दोषी र ऋणी महसुस भयो। मैले मेरा धेरै ब्रदर-सिस्टरहरूलाई सम्झेँ। परमेश्‍वरको अभिप्राय बुझेपछि, उनीहरू सबथोक त्यागेर परमेश्‍वरलाई पछ्याउन, आफ्नो कर्तव्य निर्वाह गर्न, र परमेश्‍वरको राज्यको सुसमाचार प्रसार गर्न सक्षम भए। तर मेरो विश्वास भनेको भेला हुनु र परमेश्‍वरको वचन पढ्नुमा सीमित थियो। मैले एक सृजित प्राणीको कर्तव्य निर्वाह गरिनँ। ममा कुन हिसाबले विवेक र समझ हुन्थ्यो र! म आफ्नो कर्तव्यमा ढिलाइ गर्न चाहन्नथेँ, तर म पैसा पनि त्याग्न चाहन्नथेँ। म परमेश्‍वरले प्रकाश गर्नुभएजस्तै थिएँ: “दोधारेहरू एउटा हातले पैसा थुत्छन् र अर्को हातले सत्यता समात्छन्।” म धित मरुञ्जेल खान मात्र खोजिरहेको थिएँ, त्यसैले मैले कुनै सत्यता प्राप्त गर्न सकिनँ। अन्त्यमा, म परमेश्‍वरद्वारा हटाइने मात्र थिएँ। मैले सदोमबाट लूतकी पत्नी भागेको सम्झेँ। धन त्याग्न नसकेर पछाडि फर्केर हेरेको कारण उनी नुनको खम्बामा परिणत भइन्, र लाजको प्रतीक बनिन्। म कुन अर्थमा उनीभन्दा फरक थिएँ र? मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ: “आफ्‍नो हात हलोमा राख्‍ने, अनि पछि हेर्ने कुनै पनि मानिस परमेश्‍वरको राज्‍यको निम्ति योग्य हुँदैन(लूका ९:६२)। परमेश्‍वरले मलाई अनगिन्ती सम्पत्ति दिनुभएको थियो र खान-लाउन दिनुभएकै थियो, तर पनि म धनको लोभ गर्थेँ र कर्तव्य निर्वाह गरिरहेको थिइनँ। म हात्ती खान खोज्ने सर्पजस्तै कहिल्यै सन्तुष्ट हुँदिनथेँ! म धनका लागि सङ्घर्ष गर्न र ज्यान दिन तयार थिएँ तर सत्यताका लागि केही पनि दिन तयार थिइनँ। म परमेश्‍वरको राज्यमा प्रवेश गर्न साँच्चिकै अयोग्य थिएँ! मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ: “दाजुभाइ हो, ब्यूँझ! दिदीबहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि गुमेको समय फिर्ता लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले त्यसका लागि चाहे जति पटक पनि अध्ययन गरेर पुनः परीक्षा दिन सक्छौ। तर, मेरो दिनमा अलिकति पनि ढिलाइ सहनेछैन। याद राख! याद राख! यी मेरो अर्तीका दयालु वचनहरू हुन्। तिमीहरूको आँखाकै अगाडि संसारको अन्त्य प्रकट भएको छ, र महाविपत्तिहरू चाँडै आउनेछन्। कुन चाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको खानपिन र वस्‍त्र? तिमीहरूले यी कुराहरूलाई तौलने समय आएको छ! अबदेखि शङ्का नगर! तिमीहरू यी कुरालाई गम्भीरतापूर्वक लिन एकदमै डराएका छौ, होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३०)। परमेश्‍वरका प्रत्येक वचनले मेरो हृदयलाई तरङ्गित बनायो र मलाई जीवन वा धनबीच कुन बढी महत्त्वपूर्ण छ भनी स्पष्टसँग हेर्न सम्झायो। आखिरी दिनहरूमा, सत्यताहरू जारी गर्न र न्यायको काम गर्न परमेश्‍वर देहधारी बन्नुभएको छ। यो मेरो कर्तव्य निर्वाह गर्ने, सत्यता प्राप्त गर्ने, र परमेश्‍वरद्वारा सिद्ध पारिने राम्रो मौका थियो। यदि मैले यो मौका गुमाएँ भने, म सधैँ पछुताउनेछु। जब महाविपत्तिहरू आउँछन्, तब मेरा यी सबै सम्पत्ति के काम लाग्नेछन् र? के म मर्ने नै होइन र? त्यसपछि मैले फेरि एकपटक कम्पनी हस्तान्तरणको कुरा प्रार्थनामा परमेश्‍वरसामु राखेँ र कम्पनी हस्तान्तरण गर्ने निधो गरेँ।

मैले कम्पनी हस्तान्तरण गर्न लागेको कुरा थाहा पाउनेबित्तिकै मेरा ससुरा बुबा रिसले आगो हुनुभयो। उहाँले मलाई रिसाउँदै हेर्नुभयो र भन्नुभयो, “आफूले यति कडा मिहिनेतले बनाएको कम्पनी तिमी अरू कसैलाई यतिकै हस्तान्तरण तयार छौ? कम्पनीको खुद आम्दानी वर्षमा २० लाख युआनभन्दा बढी छ; म तिमीलाई यो अरूलाई त्यसै दिइहाल्न दिन्नँ!” उहाँले यसो भनेको सुन्दा म निकै हडबडाएँ। व्यापार मेरो अपेक्षाभन्दा राम्रो भएको थियो र खासगरी यो वर्ष राम्रो भएको थियो र अझै कति राम्रो हुने हो भनेर भन्न सकिँदैनथ्यो। यदि मैले यसरी नै व्यावसाय हस्तान्तरण गरिदिएँ, र हामीले हाम्रो सबै पैसा खाएर सकायौँ भने, हाम्रा कुनचाहिँ साथीभाइ र नातेदारले अझै पनि हामीलाई सम्मान गर्लान् र? मैले कम्पनीको केही शेयर आफूसँगै राखेर केही भाग हस्तान्तरण गर्ने विचार गरेँ, ताकि हामीले हरेक वर्ष केही लाभांश आम्दानी पाइरहौँ। मैले श्रीमतीलाई मेरो प्रस्ताव सुनाएँ, र उनले मलाई भनिन्, “म त भन्छु, तिमीले सबै कुरा छोडिदेऊ ताकि तिम्रो दिमाग शेयरमै नअल्झियोस्। त्यसपछि तिमीसँग सत्यता पछ्याउने ऊर्जा हुनेछ, र तिम्रो कर्तव्यमा पनि ढिलाइ हुनेछैन। महाविपत्तिहरू आउँदा, जतिसुकै पैसा भए पनि त्यसले हामीलाई बचाउन सक्दैन। तिमी यस कुरामा स्पष्ट हुनुपर्छ!” उनले अझै भनिन्, “अहिले हामीले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यता पछ्याउन अझ धेरै समय खर्चनु हो। सत्यता प्राप्त गर्नु र असल कार्यहरू तयार गर्नु भौतिक धनभन्दा बढी महत्त्वपूर्ण कुरा हुन्!” मेरा छोराछोरीले पनि यो विचारमा समर्थन जनाए र मैले सम्पूर्ण कम्पनी नै हस्तान्तरण गर्नुपर्ने बताए। मैले केही दिनसम्म यसबारे सोचिरहेँ। मैले यो कुरा प्रार्थनामा परमेश्‍वरसामु राखेँ, “परमेश्‍वर! सिद्धान्ततः मलाई थाहा छ कि कुनै व्यक्तिले धनी जीवन जिउँछ कि गरिब भन्‍ने कुरा तपाईँले नै नियन्त्रण र निर्धारण गर्नुहुन्छ, तर मलाई साँच्चिकै आफ्नो सम्पत्ति त्याग्न अत्यन्तै गाह्रो भइरहेको छ। कृपया मलाई सही निर्णय गर्ने विश्वास दिनुहोस्।”

एक दिन, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “प्रत्येक दिन, तिमीहरू मबाट कसरी केही कुरा लिने भनेर हिसाबकिताब गर्छौ। प्रत्येक दिन, तिमीहरू मबाट कति सम्पत्ति र कति भौतिक वस्तु प्राप्त गरेका छौ भन्ने कुराको लेखाजोखा गर्छौ। प्रत्येक दिन, तिमीहरू आफूमाथि अझ बढी आशिष्‌हरू आओस् भनेर पर्खन्छौ, जसले तिमीहरूलाई आनन्द उठाउन सकिने अझ बढी कुराहरूको र अझ उच्च कुराहरूको आनन्द उठाउने तुल्याउन सकोस्। तिमीहरूको प्रत्येक पलको सोचाइमा म हुन्न, न त त्यसमा मबाट आउने सत्यता नै हुन्छ, बरु त्यहाँ त तिमीहरूका श्रीमान् वा श्रीमती, छोरा, छोरीहरू, र तिमीहरूले खाने र लगाउने कुराहरू हुन्छन्। तिमीहरू कसरी अझ राम्रा, अझ उच्च आनन्द प्राप्त गर्न सकिन्छ भन्नेबारे सोच्छौ। तर तिमीहरूले पेट फुट्ने गरी खाए पनि, के तिमीहरू अझै पनि लास होइनौ? तिमीहरूले आफूलाई बाहिरी रूपमा यति सुन्दर वस्त्रले सिङ्गारपटार गर्दा पनि, के तिमीहरू अझै पनि जीवनविहीन जिउँदो लास होइनौ र? आफ्नो पेटका खातिर तिमीहरू कपाल फुलेसम्मै परिश्रम गर्छौ, तैपनि मेरो कामका लागि तिमीहरूमध्ये कसैले पनि एक त्यान्द्रो कपालसम्म त्याग्दैनौ। तिमीहरू आफ्नै देहका खातिर, र आफ्ना छोराछोरीहरूका खातिर परिश्रम गर्दै र दिमाग खियाउँदै, निरन्तर दौडधुप गरिरहेका हुन्छौ, तैपनि तिमीहरूमध्ये एक जनाले पनि मेरा अभिप्रायका लागि कुनै व्यग्रता वा चिन्ता देखाउँदैनौ। तिमीहरूले मबाट अझै पनि प्राप्त गर्ने आशा राखेको कुरा के हो?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ)। परमेश्‍वरका वचनहरूले मेरो अवस्था ठ्याक्कै प्रकट गरे। धन र कर्तव्यमध्ये एउटा छनौट गर्ने कुरामा, म सधैँ हिचकिचाउँथेँ। परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न तयार हुनुभन्दा पहिले म सधैँ आफ्नो खान-लाउनको आवश्यकता पूरा गर्न र भौतिक चिन्तामुक्त जीवन सुनिश्चित गर्न चाहन्थेँ। मैले म आफ्नो विश्वासमा ज्यादै अलमल्ल रहेछु र मैले सच्चा रूपमा परमेश्‍वरप्रति आफूलाई समर्पित गरेको रहेनछु भन्‍ने देखेँ। परमेश्‍वर मानवजातिलाई मुक्ति दिन आफ्नो सम्पूर्ण हृदयले काम गर्नुहुन्छ, यहाँसम्म कि हाम्रा लागि आफ्नो ज्यानसमेत दिनुहुन्छ। तर मैले परमेश्‍वरप्रति आफ्नो पूर्ण हृदय कहिल्यै अर्पित गरिनँ। मैले कहिल्यै उहाँको अभिप्राय बुझिनँ र त्यसप्रति ध्यान दिइनँ। मेरो लागि धन कुनै पनि कुराभन्दा महत्त्वपूर्ण थियो। मैले आफू साँच्चै स्वार्थी भएको देखेँ! मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)। मैले जतिसुकै पैसा कमाए पनि, भौतिक सम्पत्तिको आनन्द लिए पनि, वा प्रशंसा प्राप्त गरे पनि, यदि मैले सत्यता प्राप्त गरिनँ वा मेरो भ्रष्ट स्वभावलाई परिवर्तन गरिनँ भने, कुनै पनि कुराको के अर्थ हुन्थ्यो र? के म अन्त्यमा नष्ट नै हुनेथिइनँ र? जतिसुकै पैसा भए पनि त्यसले मेरो जीवन बचाउन सक्दैनथियो वा मलाई मुक्ति पाउने मौका दिन सक्दैनथियो। मैले संसारभरिका राष्ट्रहरूमा सम्पत्ति भएका एक जना विश्वप्रसिद्ध उद्यमीलाई सम्झेँ, जसका कम्पनीहरूले उनलाई सेकेन्ड-सेकेन्डमा अझ धनी बनाउँथे। उनी असाध्यै धनी थिए, संसारभरि यात्रा गर्थे, र भौतिक सुखसयलको जीवन जिउँथे, तर उनले जतिसुकै धन वा सम्पत्ति प्राप्त गरे पनि, उनी रित्तो महसुस गर्थे। उनले जीवनमा कुनै मूल्य वा अर्थ भेटाउन सकेनन्, त्यसैले उनले समुद्रमा हाम फालेर आत्महत्या गरे। व्यक्ति जति धेरै पैसा, ख्याति र प्राप्तिको पछि लाग्छ, उसले त्यति नै धेरै आत्मिक रूपमा विक्षिप्त र रित्तो महसुस गर्छ, र अन्त्यमा, यसले व्यक्तिलाई नष्ट गर्छ! मैले पैसा, ख्याति र प्राप्तिका लागि आफूले निरन्तर मेसिनझैँ काम गरेको, र फलस्वरूप आफू अति बिरामी भएको कुरा सम्झेँ। म राम्ररी खान वा सुत्न सक्दिनथेँ, र म निरन्तर पीडामा जिएको थिएँ। परमेश्‍वर आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम गर्न आउनुभएको छ, तर म गरिबीमा फस्ने र हेपाइमा पर्ने चिन्ता लिइरहेको थिएँ। म आफ्नो पैसा छोड्नै सकिरहेको थिइनँ। मैले जति धेरै पैसा कमाए पनि, यदि मैले सत्यता र आफूले मुक्ति पाउने मौका गुमाएँ भने, जतिसुकै पैसा भए पनि त्यसको के अर्थ हुन्छ र? आखिरी दिनहरूमा, सत्यता व्यक्त गर्न र न्यायको काम गर्न परमेश्‍वरले देहधारण गर्नुभएको छ। परमेश्‍वर धेरै मानिसहरू अघि सरेर उहाँको सुसमाचार फैलाउँनेछन् ताकि उहाँको देखापराइको अभिलाषा राख्नेहरूले उहाँको आवाज सुन्नेछन् र सृष्टिकर्ताका रूपमा उहाँसामु फर्कनेछन् भन्‍ने आशा गर्नुहुन्छ। अझ बढी, परमेश्‍वर हाम्रा कर्तव्यहरू निर्वाह गर्दा उहाँका वचनहरू र कामको अनुभवमार्फत हामी शुद्ध हुनेछौँ र बदलिनेछौँ अनि अन्त्यमा हामीले उहाँद्वारा मुक्ति पाउनेछौँ भन्ने आशा गर्नुहुन्छ। तर मैले परमेश्‍वरको जरुरी अभिप्राय बुझिनँ र म आफ्नो पैसामै अल्झिएर बसेँ। म अति मूर्ख र अन्धो थिएँ! मैले त सबथोक त्यागेर परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नुपर्थ्यो र सत्यता पछ्याउनुपर्थ्यो। साँच्चिकै महत्त्वपूर्ण कुरा त यो हो। पछि, मैले मेरा ससुरा बुबाको घोर विरोधलाई बेवास्ता गरेर आफ्नो कम्पनी हस्तान्तरण गरेँ।

त्यस बेलादेखि, मैले कम्पनीको व्यवस्थापनको बारेमा रत्तिभर चिन्ता गरिनँ। त्यतिका वर्षको बोझ र दबाब अचानक हट्यो, मेरो जीवन केही हदसम्म नियमित भयो, र म जुन विभिन्न रोगहरूबाट ग्रस्त थिएँ ती बिस्तारै, तर आश्चर्यजनक रूपमा, निको भए। यो साँच्चै परमेश्‍वरको अनुग्रह थियो! म सुसमाचारसम्बन्धी कामदारहरूको पङ्क्तिमा सामेल भएँ र परमेश्‍वरको राज्यको सुसमाचार प्रसार गर्ने र गवाही दिने काममा मैले अरूसँग सामञ्जस्यपूर्ण रूपमा काम गरेँ। यसरी जिउँदा मलाई धेरै सन्तुष्टि मिल्यो। पछिका अनुभवहरूमा, परमेश्‍वरका वचनहरूको न्याय र खुलासामार्फत, मैले विश्वासमा धन त्याग्न नसक्नुको मूल कारण मैले प्रस्ट देखेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्‍ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानिसहरूमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेनन्, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, तिनीहरूले यसलाई मौन स्वीकृति दिए, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाले। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? … शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र ती सबैलाई पैसा र भौतिक कुराहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्‍ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्‍ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्‍ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सक्छु भन्‍ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसहरूलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र? के यो दुर्भावपूर्ण चाल होइन र? … त्यसो भए, शैतानले तँलाई भ्रममा पार्दा र भ्रष्ट तुल्याउँदा, के तैँले त्यो कुरा महसुस गर्न सक्छस्? के तैँले यसलाई अनुभव गर्न सक्छस् त? तैँले सक्दैनस्। यदि तैँले शैतानलाई आफ्नै अगाडि उभिएको देख्‍न सक्दैनस्, वा अँध्यारोमा काम गर्ने शैतान नै हो भन्‍ने महसुस गर्दैनस् भने, के तँ शैतानको दुष्टतालाई देख्‍न सक्षम हुन्छस् त? के तैँले मानवजातिलाई शैतानले कसरी भ्रष्ट तुल्याउँछ भनेर जान्‍न सक्छस् त? शैतानले मानिसलाई हरेक समय र हरेक स्थानमा भ्रष्ट तुल्याउँछ। शैतानले मानिसको लागि यो भ्रष्टताको विरुद्ध प्रतिरक्षा गर्ने कार्य असम्‍भव तुल्याउँछ र मानिसलाई यसको विरुद्ध विवश तुल्याउँछ। तँ अनजान भएको अवस्थामा र आफूलाई के भइरहेको छ सो तँलाई थाहा नभएको अवस्थामा शैतानले तँलाई त्यसका विचारहरू, त्यसका दृष्टिकोणहरू र त्यसबाट आउने दुष्ट कुराहरू स्वीकार गर्ने तुल्याउँछ। मानिसहरूले यी कुराहरूलाई स्विकार्छन् र यीप्रति कुनै आपत्ति जनाउँदैनन्। तिनीहरूले यी कुराहरूलाई सम्पत्ति जस्तै मनमा सजाएर आफूसँगै राखिरहन्छन् र तिनीहरूले यी कुराहरूलाई आफूमाथि चालबाजी र खेलबाड गर्न दिन्छन्; यसरी मानिसहरू शैतानको शक्तिअन्तर्गत जिउँछन्, र तिनीहरूले अचेतन रूपमै शैतानको आज्ञापलन गर्छन्, र यसरी मानिसलाई भ्रष्ट तुल्याउने शैतानको कार्य झन्‍झन् गहिरो बन्दै जान्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५)। परमेश्‍वरको वचनले आजको समाजको वास्तविकता, र मेरो आफ्नै साँचो स्थिति खुलासा गर्‍यो। बाल्यकालदेखि नै, “दुनियाँ पैसाको इसारामा चल्छ,” “पैसा हुने मान्छे नहुनेभन्दा ठूलो हुन्छ,” र “पैसा सबथोक होइन, तर योविना काम चल्दैन” जस्ता शैतानी विषहरूले मलाई मिहिन रूपमा प्रभाव पारेका थिए र मलाई अरू कुनै कुराभन्दा पैसालाई बढी महत्त्व दिने बनाएका थिए। ती कुराले मलाई पैसा हुनु नै सबथोक हो, पैसा भयो भने भौतिक रूपमा सजिलोसँग जिउन र शिर ठाडो पारेर हिँड्न सकिन्छ, जहाँ गए पनि मानिसहरूले समर्थन, सम्मान र प्रशंसा गर्छन्, र यसरी जिउनु नै इज्जतदार र सार्थक तरिका हो भनी सोच्ने बनाएका थिए। म पैसा नभए मानिसहरूले अपमान गर्छन् र हेप्छन् भन्ने सोच्थेँ, त्यसैले मैले पैसालाई आफ्नो एउटै लक्ष्यको रूपमा पछ्याएँ। सुरुमा, मैले पैसा कमाउने र ग्राहकहरू जित्ने उपाय खोज्न धेरै दिमाग खियाएँ, चापलुसी र मीठा तर असत्य कुराहरू प्रयोग गरेँ, अत्तालिँदै यताउता दौडधुप गरेँ। थकित, लखतरान वा बिरामी हुँदा पनि मलाई एक दिन आराम गर्न गाह्रो लाग्थ्यो, जसको परिणामस्वरूप, मेरो शरीर जीर्ण भइसकेको थियो। मेरो पेटमा र ढाडको तल्लो र माथिल्लो भागभरि अनेक किसिमका समस्याहरू थिए जसले मेरो जीवन यति कष्टकर बनाएको थियो कि म राम्ररी खान वा सुत्न सक्दिनथेँ। तर यस्तो अवस्थामा पनि मैले पैसा कमाउन कडा मिहिनेत गरेको थिएँ। म शैतानका अस्तित्वका नियमहरू अनुसार जिएको थिएँ र पूर्ण रूपमा स्वार्थी र लोभी भएको थिएँ। म पूर्ण रूपमा पैसाको दास बनेको थिएँ। शैतानले मलाई पूर्ण रूपमा भ्रष्ट पार्न पैसा, ख्याति र प्राप्ति प्रयोग गरेको थियो! मैले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो कम्पनी र पैसा त्याग्न सक्नु सबै परमेश्‍वरको वचनको अन्तर्दृष्टि र मार्गदर्शनको परिणाम थियो। मलाई मुक्ति दिनुभएकोमा म परमेश्‍वरप्रति साँच्चै कृतज्ञ छु। मैले यो दुर्लभ अवसरको कदर गर्नैपर्छ र परमेश्‍वरको प्रेमको प्रतिदान गर्न आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ।

यसपछि, मैले मलाई साँच्चै प्रेरित गर्ने परमेश्‍वरको वचनका दुइटा खण्ड पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “सामान्य मानिस, र परमेश्‍वरलाई प्रेम गर्न खोज्ने मानिसहरूका रूपमा, राज्यमा प्रवेश गर्नु र परमेश्‍वरका मानिसहरू बन्‍नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वपूर्ण जीवन हो; तिमीहरूजत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरका लागि जिउँछौ, र परमेश्‍वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ)। “अहिले, तिमीहरू जिउने प्रत्येक दिन अत्यन्तै महत्त्वपूर्ण छ, र तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्यका लागि यसको ठूलो महत्त्व छ, त्यसैले तिमीहरूले आफूसँग आज भएका सबै कुराको कदर गर्नैपर्छ र बित्ने प्रत्येक मिनेटलाई महत्त्व दिनैपर्छ। तिमीहरूले सबैभन्दा ठूला प्राप्तिहरू हासिल गर्न सक्षम हुनका लागि हरेक क्षणको फाइदा लिनैपर्छ ताकि तिमीहरूले यो जीवन व्यर्थमा जिएको नहोस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। परमेश्‍वरको वचनले मलाई अझै स्पष्ट पारिदियो कि मैले व्यावसाय छोड्ने, परमेश्‍वरलाई पछ्याउने, र आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्नु नै जीवनको साँचो सही मार्ग हो, र यो जीवन जिउने सबैभन्दा सार्थक र अर्थपूर्ण तरिका हो। आज मलाई अन्ततः के प्रस्ट भयो भने, परमेश्‍वरमा विश्वास गरेर आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो, र यो व्यक्तिको जीवनको मिसन र जिम्मेवारी हो। जीवन जिउने सबैभन्दा सार्थक र अर्थपूर्ण तरिका भनेको परमेश्‍वरको इच्छा पछ्याउनु हो, र उहाँले अरू कुनै कुराभन्दा यिनै कुरालाई आशिष्‌ दिनुहुनेछ र सम्झनुहुनेछ। अब सत्यता पछ्याउने र मेरो कर्तव्य निर्वाह गर्ने समय धेरै छैन। मैले हरेक दिनको कदर गर्न, परमेश्‍वरको वचन अझ बढी पढ्न, सुसमाचार अझ बढी प्रचार गर्न, र बाँकी समयमा कडा मेहनत गरेर राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गरी परमेश्‍वरको प्रेमको प्रतिदान गर्न र उहाँको हृदयलाई सान्त्वना दिन जरुरी छ।

अघिल्लो: ६६. म ईर्ष्याका बन्धनबाट मुक्त भएँ

अर्को: ६८. म अब आफ्नो भाग्यबारे गुनासो गर्नेछैनँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्