५९. मैले छोराछोरीप्रतिको मेरो ऋणी भावनालाई त्यागेँ
सन् २००३ मा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। प्रभु येशूको पुनरागमनलाई स्वागत गर्न पाउँदा म निकै उत्साहित थिएँ, अनि प्रभुमा भएका मेरा ब्रदर-सिस्टरहरूलाई यो खुसीको खबर तुरुन्तै सुनाउन चाहन्थेँ, ताकि उनीहरू सबै परमेश्वरको सामु आउन सकून्। त्यसैले, म तुरुन्तै सुसमाचार समूहमा सामेल भएँ।
सन् २००४ को मार्चमा, कामको आवश्यकताले गर्दा, म सुसमाचार प्रचार गर्न अन्य क्षेत्रहरूमा गएँ। त्यसबेला, म दृढ सङ्कल्पले भरिएकी थिएँ र सकेसम्म चाँडो बाहिर गएर सुसमाचार प्रचार गर्न चाहन्थेँ, ताकि मैले अझ धेरै मानिसहरूलाई परमेश्वरको आवाज सुन्न र आखिरी दिनहरूको परमेश्वरको मुक्ति स्वीकार गर्न मद्दत गर्न सकूँ। तर त्यसपछि मैले सोचेँ, “यदि म गएँ भने मेरा दुई छोराछोरीको हेरचाह कसले गर्ला? मेरी छोरी १३ वर्षकी र छोरा १२ वर्षको छ। उनीहरू सानो छँदादेखि नै मैले हुर्काएकी हुँ। मेरा श्रीमान् दिनभरि काममा व्यस्त रहनुहुन्छ र उहाँले छोराछोरीप्रति कहिल्यै खासै चासो देखाउनुभएको छैन। यदि म आफ्नो कर्तव्य निर्वाह गर्न टाढा गएँ भने, उनीहरूले दिनको तीन छाक खाना खान पाउँछन् भनेर कसले सुनिश्चित गर्ला? यदि छोराछोरीको हेरचाह गर्ने कोही भएन र केही भइहाल्यो भने, के मैले आमाको रूपमा आफ्नो जिम्मेवारी पूरा गरिनँ भनेर मेरा श्रीमान् र सासूले भन्नुहुनेछैन र? मेरा आफन्त र छिमेकीहरूले पनि म असल आमा होइन भनेर भन्नेछन्।” जब मैले यस्तो सोचेँ, तब मेरो मनमा निकै अप्रिय अनुभूति भयो, मानौँ मेरो मुटुलाई ठूलो ढुङ्गाले थिचेको छ। म प्रार्थना गर्न परमेश्वरको सामु आएँ, “हे परमेश्वर, म सुसमाचार प्रचार गर्न टाढा जान चाहन्छु, तर मैले मेरा छोराछोरीको मोह त्याग्न सकिरहेकी छैन। म गइसकेपछि छोराछोरीको हेरचाह गर्ने कोही हुनेछैन भनेर मलाई डर लागिरहेको छ। मैले कसरी अभ्यास गर्ने? मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मलाई परमेश्वरका यी वचनहरू याद आयो: “आफूलाई पूर्ण रूपमा मप्रति समर्पित गर्न अनि मेरो खातिर आफ्नो सबै कुरा अर्पण गर्न को साँच्चिकै सक्षम छ? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू परिवार, बाहिरी संसार, खाना र वस्त्रको बारेमा सोच्नमै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्ने तथ्यको बाबजुद, हृदयमा तँ अझै घरमा रहेका आफ्ना श्रीमती, बालबच्चा र आमाबुबाको बारेमा सोचिरहेको छस्। के तिनीहरू तेरा सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँलाई मेरो भरोसा छैन? कि तँ मैले तेरो निम्ति अनुचित बन्दोबस्त गरिदिनेछु भनी डराउँछस्? तेरो देहको परिवार र तेरा प्रियजनहरू किन सधैँ तेरो दिमागमा आउँछन्? के मैले तेरो हृदयमा कुनै निश्चित ठाउँ ओगटेको छु? तैपनि तँ आफूभित्र मलाई प्रभुत्व जमाउन र तेरो सम्पूर्ण सत्त्व ओगट्न दिने दाबी गर्छस्—यी सबै छलीपूर्ण झूट हुन्! तिमीहरूमध्ये कति जना मण्डलीप्रति सम्पूर्ण हृदयले समर्पित छौ? अनि तिमीहरूमध्ये कसले आफ्नो बारेमा नभई आजको राज्यको बारेमा सोच्छौ? यसका बारेमा धेरै ध्यानपूर्वक विचार गर” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५९)। परमेश्वरका वचनहरूबाट मैले परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र उहाँ नै सबै मानिसहरूको नियतिमाथि सार्वभौम हुनुहुन्छ र उहाँले नै तीमाथि शासन गर्नुहुन्छ भन्ने बुझेँ, त्यसैले के मेरा दुई छोराछोरी पनि परमेश्वरकै हातमा थिएनन् र? मेरा छोराछोरीलाई भविष्यमा के हुनेछ भन्ने कुरा परमेश्वरले पहिले नै बन्दोबस्त गरिसक्नुभएको थियो। मैले चिन्ता लिनुको कुनै अर्थ थिएन। मैले परमेश्वरमा विश्वास गर्नुपर्थ्यो र मेरा छोराछोरीलाई उहाँमा सुम्पनुपर्थ्यो। त्यसैले, मैले मेरा दुई छोराछोरीका लागि व्यवस्था मिलाएँ र म ढुक्क भएर आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर निस्किएँ।
सन् २००४ को हिउँदमा, मौसम निकै चिसो थियो। मैले केही ब्रदर-सिस्टरहरूले आफ्ना छोराछोरीका लागि जाडोको लुगा किन्न चाहेको कुरा सुनेँ, अनि मलाई मेरा दुई छोराछोरीको चिन्ता लाग्न थाल्यो। “जाडो छ, उनीहरूले न्यानो लुगा लगाएका छन् कि छैनन् होला? उनीहरूलाई चिसो लाग्ने हो कि?” त्यसैले मैले मेरो कामको लागि व्यवस्था मिलाएँ र म घर गएँ। जब म घर पुगेँ, तब मैले मेरा दुई छोराछोरीले खाना पकाउन र आफ्ना लुगा आफैँ धुन सिकिसकेका रहेछन्, अनि उनीहरू दुवैको स्वास्थ्य धेरै राम्रो रहेछ भन्ने देखेँ। मलाई परमेश्वरले भन्नुभएको यो कुरा याद आयो: “किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँलाई मेरो भरोसा छैन? कि तँ मैले तेरो निम्ति अनुचित बन्दोबस्त गरिदिनेछु भनी डराउँछस्? तेरो देहको परिवार र तेरा प्रियजनहरू किन सधैँ तेरो दिमागमा आउँछन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५९)। पहिले ममा धेरै कम विश्वास थियो, तर अहिले छोराछोरीले राम्रो गरिरहेको देखेपछि, म उनीहरूको मोह त्यागेर शान्त हृदयले मेरा कर्तव्यहरू निर्वाह गर्न सक्थेँ। पछि, जब मैले मेरा दुई छोराछोरीलाई अर्को पटक देखेँ, तब उनीहरू अग्ला भइसकेका थिए। उनीहरू बुबालाई पसलमा सामान बेच्न मद्दत गर्न मात्र सक्ने भएका थिएनन्, तर स्टकमा सामान कसरी खरिद गर्ने भनेर पनि सिकिसकेका थिए। वरपरका सबैले ती दुई छोराछोरी सक्षम र सिपालु भएको भन्दै प्रशंसा गर्थे। म धेरै खुसी भएँ र परमेश्वरप्रति कृतज्ञ भएँ। त्यसपछि, मैले मेरा दुई छोराछोरीलाई सुसमाचार प्रचार गरेँ। उनीहरूले यसलाई स्वीकार गरे र घरमै परमेश्वरका वचनहरू पढे।
सन् २०१२ को अन्त्यतिर, म घरबाट टाढा सुसमाचार प्रचार गरिरहँदा पक्राउ परेँ। मण्डलीको अगुवालाई घात गर्न लगाउन प्रहरीले मलाई एक हप्तासम्म यातना दियो, अनि त्यस अवधिमा मलाई धम्काउने र तर्साउने काम गरिरह्यो, म परमेश्वरमा विश्वास गर्ने भएकोले म राजनैतिक अपराधी हुँ र मजस्ता मानिसहरूलाई कम्तीमा तीनदेखि सात वर्षको जेल सजाय हुन्छ भनेर भन्यो। जब मैले यति धेरै वर्ष जेल सजाय हुने कुरा सम्झेँ, तब म निरन्तर रोइरहेँ। मैले मनमनै सोचेँ, “म पक्राउ परेकी छु भन्ने थाहा पाएपछि के मेरा दुई छोराछोरीले मेरो चिन्ता गर्लान्? यदि प्रहरीले उनीहरूले पनि परमेश्वरमा विश्वास गर्छन् भन्ने थाहा पायो भने, के उनीहरूलाई पनि पक्राउ गर्ला? यतिका वर्षसम्म मैले उनीहरूको राम्रो हेरचाह गरेकी छैन। यदि मैले उनीहरूलाई पनि समस्यामा पारेँ भने…” मैले यसबारे जति सोचेँ, मलाई उति नै दुःख लाग्यो। अचानक, केही दिनपछि, प्रहरीले मलाई हिरासत केन्द्रको ढोकामा लग्यो। मैले मेरी छोरीलाई देखेँ, र मेरा दुई छोराछोरीले मानिसहरू खोजेर र चिनजानको प्रयोग गरेर, धेरै दुःखकष्ट झेल्दै अनि ७० देखि ८० हजार युआन खर्च गरेर मलाई पुर्पक्षका लागि धरौटीमा छुटाएका रहेछन्, जसले गर्दा मैले १८ महिना बाहिरै सजाय काट्न पाएँ। जब म घर पुगेँ, तब मेरा श्रीमान्ले भन्नुभयो, “तिमीलाई त्यहाँबाट निकाल्न दुई छोराछोरीले धेरै दौडधुप गरे। उनीहरूले दिनहुँ यताउता सोधखोज गरिरहन्थे, अनि उनीहरूको मन कामधन्दामा पटक्कै थिएन। प्रहरीले तिमीलाई कुटेर मार्छ कि भन्ने डरले उनीहरू दिनभरि चिन्तित र भयभीत हुन्थे। हाम्रो छोराले त आफ्नो सर्वस्व बेचेर भए पनि तिमीलाई बाहिर निकाल्नेछु भनेर भन्थ्यो।” जब मैले श्रीमान्को मुखबाट यी कुराहरू सुनेँ, तब मैले आफूलाई रुनबाट रोक्नै सकिनँ। विगतमा, जब छोराछोरी किशोर अवस्थामा थिए तब म आफ्नो कर्तव्य निर्वाह गर्न घर छोडेर हिँडेकी थिएँ। यी वर्षहरूमा मैले उनीहरूको राम्रो हेरचाह गरेकी थिइनँ, अनि अहिले उनीहरूले मेरा लागि यति ठूलो मूल्यसमेत चुकाएका थिए। मलाई साँच्चै मैले उनीहरूलाई निराश पारेकी छु भन्ने महसुस भयो, अनि अबदेखि घरमै बसेर उनीहरूको राम्रो हेरचाह गर्न, उनीहरूका छोराछोरीको हेरचाह गर्न मद्दत गर्न र उनीहरूप्रतिको मेरो ऋण तिर्न केही काम गर्न चाहन्थेँ। मैले के अपेक्षा गरेकी थिइनँ भने, जब म घरमा बसेको दस दिन मात्र भएको थियो, तब एक्कासि पाँच-छ जना प्रहरीहरू मेरो घरभित्र हुर्रिएर पसे र मलाई पक्राउ गरेर फेरि हिरासत केन्द्रमा लगे। उनीहरूले मलाई छ दिनसम्म यातना दिए र सोधपुछ गरे, तर मैले उनीहरूलाई केही पनि नबताएपछि मलाई छोडिदिए। प्रहरीको गिरफ्तारीबाट बच्न, मसँग घर छोडेर मेरा कर्तव्यहरू निर्वाह गर्न अन्यत्र जानुबाहेक अरू कुनै विकल्प थिएन।
एकपटक, मैले घरको हालखबर बुझ्न छोरीलाई चिठी लेखेँ। छोरीले म घर छोडेर गएदेखि, प्रहरीहरूले उनीहरूलाई मेरो ठेगाना प्रकट गर्न बाध्य पार्न धेरै पटक घरमा आएका थिए भनेर भनिन्। सरकारले मेरो छोराको जागिर रोकिदिएको थियो, अनि मेरो गिरफ्तारीले गर्दा छोरीको सुरक्षामा जोखिम भएकोले उसले पनि भेलामा जान र आफ्ना कर्तव्यहरू निर्वाह गर्न छोडिदिएकी थिइन्। समय बित्दै जाँदा, मेरी छोरी कमजोर भइन्, अनि मेरो छोरा पनि अब भेलामा जान चाहँदैनथियो। चिठी पढेपछि, म धेरै दुःखी भएँ, र मैले मनमनै सोचेँ, “यदि मेरा दुई छोराछोरीले परमेश्वरमा विश्वास गरेनन् भने, के भविष्यमा उनीहरू असल परिणाम पाउन असमर्थ हुनेछैनन् र? यदि म घरमै भएको भए र मैले उनीहरूसँग परमेश्वरका वचनहरूबारे सङ्गति गरिरहेको भए, के उनीहरू अझै पनि परमेश्वरमा विश्वास गर्न र आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्षम हुनेथिएनन् र? म अन्य क्षेत्रहरूमा अरूलाई सुसमाचार प्रचार गर्दै दिन बिताउँछु, तर अहिले मेरा आफ्नै छोराछोरी कमजोर भएका छन्, र मैले उनीहरूलाई राम्ररी मद्दत वा सहयोग गरेकी छैन। म साँच्चै असल आमा होइन रहेछु।” त्यस समयमा, मेरो स्थिति खराब थियो, र मलाई मेरो कर्तव्य निर्वाह गर्न मन लाग्दैनथ्यो। नयाँ विश्वासीहरूलाई समयमै मलजल गरिएन, जसले गर्दा उनीहरूमध्ये कति जना नकारात्मक भए। यदि मैले आफ्नो स्थितिलाई बदलिनँ भने यो धेरै खतरनाक हुनेछ भन्ने मलाई थाहा थियो, त्यसैले मैले परमेश्वरलाई म आफूलाई बुझ्न र उहाँको अभिप्राय बुझ्नका लागि डोर्याउनुहोस् भनेर प्रार्थना गरेँ। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ र पढ्नका लागि पल्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यस वास्तविक समाजमा जिउने मानिसहरू शैतानद्वारा गहिरोसित भ्रष्ट पारिएका हुन्छन्। तिनीहरू शिक्षित भए पनि वा नभए पनि, तिनीहरूका विचार र दृष्टिकोणहरूमा परम्परागत संस्कृतिबाट आएका धेरै कुराहरू रहेका हुन्छन्। विशेषतः महिलाहरूले आफ्ना श्रीमान्को ख्याल गर्नुपर्ने र आफ्ना सन्तानलाई हुर्काउनुपर्ने, र उनीहरू असल श्रीमती र स्नेही आमा बन्नुपर्ने, आफ्नो सारा जीवन आफ्ना श्रीमान् र सन्तानलाई समर्पित गर्नुपर्ने अनि उनीहरूका लागि जिउनुपर्ने हुन्छ। उनीहरूले घरायसी कामहरू सबै उचित तरिकाले सम्हाल्नुपर्छ, जस्तै परिवारको दैनिक खाना, धुने र सफा गर्ने काम। यो नै असल श्रीमती र स्नेही आमा हुनुको स्वीकार्य मानक हो। हरेक महिलाले पनि आफूले यही गर्नुपर्छ, र यदि आफूले त्यसो नगरे आफू असल नारी होइँदैन, र आफूले आफ्नो विवेक र नैतिकताको यो परम्परागत मानक उल्लङ्घन गरेको हुन्छ भनेर सोच्छे। कतिपय मानिसहरू यो नैतिक मानक उल्लङ्घन गर्नुलाई आफ्नो विवेकसँग मिलाउन सक्दैनन्; तिनीहरूलाई आफूले श्रीमान् र सन्तानप्रति गलत गरेको, आफू असल नारी नभएको भन्ने लाग्नेछ। तर जब तैँले परमेश्वरमा विश्वास गर्छस्, उहाँका धेरै वचनहरू पढ्छस्, केही सत्यताहरू बुझ्छस्, र केही मामिलाहरू छर्लङ्गै बुझ्छस्, तब तैँले सोच्नेछेस्, ‘म एक सृजित प्राणी हुँ र मैले एक सृजित प्राणीको कर्तव्य निर्वाह गर्नुपर्छ, र परमेश्वरप्रति आफूलाई समर्पित गर्नुपर्छ।’ यस बेला, असल श्रीमती र स्नेही आमा हुनु, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुबीच कुनै द्वन्द्व छ? यदि तँ असल श्रीमती र स्नेही आमा हुन चाहन्छेस् भने, तँ पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनस्, तर यदि तँ पूर्णकालीन कर्तव्य निर्वाह चाहन्छेस् भने, तँ असल श्रीमती र स्नेही आमा बन्न सक्दिनस्। अब के गर्छेस्? यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउन र मण्डलीको कामका लागि जिम्मेवार बन्न, र परमेश्वरप्रति अर्पित हुन रोज्छस् भने, तैँले असल श्रीमती र स्नेही आमा हुन छोड्नैपर्ने हुन्छ। अब तँ के सोच्नेछेस्? तेरो मनभित्र कस्तो किसिमको अस्थिरता हुनेछ? के तँलाई आफूले आफ्नो सन्तान र श्रीमान्लाई निराश बनाएको महसुस हुनेछ? यो दोषीपन र असहजताको बोध कहाँबाट आउँछ? तैँले सृजित प्राणीको कर्तव्य पूरा नगर्दा, के तैँले परमेश्वरलाई निराश बनाएको छु भन्ने महसुस गर्छस्? तँमा दोषीपन वा धिक्कारको बोध हुँदैन किनकि तेरो मनमस्तिष्कमा सत्यताको नामनिसान केही छैन। त्यसैले, तँ के बुझ्छेस्? परम्परागत संस्कृति—असल श्रीमती र स्नेही आमा बन्नुपर्ने कुरा। त्यसैले तेरो दिमागमा ‘यदि म असल श्रीमती र स्नेही आमा होइन भने, असल वा सुशील नारी होइन’ भन्ने धारणा पलाउँछ। त्यसपछि तँ यो धारणाद्वारा बाँधिनेछेस् र जकडिनेछेस्, अनि तैँले परमेश्वरमा विश्वास गरेपछि र आफ्नो कर्तव्य निर्वाह गरेपछि पनि तँ त्यसरी नै बाँधिएकी र जकडिएकी हुनेछेस्। जब आफ्नो कर्तव्य निर्वाह गर्ने अनि असल श्रीमती र स्नेही आमा बन्ने कुराबीच द्वन्द्व हुन्छ, तब तैँले सायद मन नलागी-नलागी आफ्नो कर्तव्य निर्वाह गर्न वा परमेश्वरप्रति थोरै अर्पण देखाउन रोज्छेस्, तैपनि तेरो हृदयमा अझै पनि असहजताको अनुभूति र थोरै धिक्कार हुनेछ। तसर्थ, जब तँसँग कर्तव्य निर्वाह गर्ने क्रममा अलिअलि खालि समय हुन्छ, तब तँ आफ्ना सन्तान र श्रीमान्को हेरचाह गर्ने मौका खोज्नेछेस्, उनीहरूका लागि झन् बढी गर्न चाहनेछेस्, र अझ बढी कष्ट भोग्नुपरे पनि मनको शान्ति मिलेसम्म यसो गर्नु ठिकै हुन्छ भनी सोच्नेछेस्। के यो असल श्रीमती र स्नेही आमा बन्ने परम्परागत संस्कृतिको विचार र सिद्धान्तले ल्याएको होइन र? अब तैँले दुइटा डुङ्गामा खुट्टा हालेकी छस्, अर्थात् तँ आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न पनि चाहन्छेस् अनि असल श्रीमती र स्नेही आमा बन्न पनि चाहन्छेस्। तर परमेश्वरसामु हाम्रो एउटा मात्र जिम्मेवारी र दायित्व, एउटा मात्र मिशन छ: सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्नु। के तैँले यो कर्तव्य राम्रोसँग पूरा गरेकी छस्? तँ किन फेरि मार्गबाट तर्किस्? के तँलाई हृदयमा साँच्चै दोषी र ग्लानि महसुस हुँदैन? किनकि तेरो हृदयमा सत्यताले अझै पनि जग बसालेको छैन, र त्यसमा सत्यताले अझै शासन गर्दैन, त्यसैले तँ आफ्नो कर्तव्य निर्वाह गर्दा बाटो बिराउन सक्छस्। अहिले तँ आफ्नो कर्तव्य पूरा गर्न सक्षम भए पनि, वास्तवमा अझै सत्यताका मानक र परमेश्वरका मागहरूभन्दा धेरै टाढा छस्। … हामीले परमेश्वरमा विश्वास गर्न सक्नु त उहाँद्वारा दिइएको अवसर हो; यसलाई परमेश्वरले नै तोक्नुभएको हो, र यो उहाँको अनुग्रह हो। त्यसकारण, तैँले अरू कसैप्रति आफ्नो दायित्व वा जिम्मेवारी पूरा गर्न आवश्यक छैन; तैँले सृजित प्राणीका रूपमा आफूले परमेश्वरप्रति पूरा गर्नुपर्ने कर्तव्य मात्र पूरा गर्नुपर्छ। मानिसहरूले अरू कुनै पनि कुराभन्दा माथि राखेर गर्नुपर्ने काम यही हो, र यो मानिसहरूले आफ्नो जीवनमा सबैभन्दा पूरा गर्नैपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दिनस् भने, तँ मानकअनुरूपको सृजित प्राणी होइनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनहरूको खुलासाबाट, मैले के देखेँ भने म परम्परागत संस्कृतिद्वारा अति नै कसिएर जकडिएकी रहेछु। म के विश्वास गर्थे भने, असल आमा आफ्ना छोराछोरीका लागि जिउनुपर्छ, उनीहरूले दिनको तीन छाक खाना खान पाएका छन् कि छैनन् भनेर हेर्नुपर्छ, अनि घरको कामसँगै उनीहरूको जीवनका सबै कुराहरूको हेरचाह गर्नुपर्छ। यसो गरेर मात्रै तपाईं असल श्रीमती र मायालु आमा बन्न सक्नुहुन्छ। यदि तपाईंले यसो गर्न सक्नुभएन भने, तपाईं असल महिला होइन: तपाईंले विवेक र नैतिकताको मानक उल्लङ्घन गरेको हुनेछ। वर्षौंदेखि, मैले सधैँ असल श्रीमती र मायालु आमा हुनुलाई नै असल महिला बन्नुको मानक मानेकी थिएँ। मेरा छोराछोरीका लागि मैले जतिसुकै कष्ट भोगे पनि, मलाई यो पूर्ण रूपमा स्वभाविक लाग्थ्यो, अनि म जीवनभर मेरा छोराछोरीका लागि नोकर जस्तै खटिन पूर्ण रूपमा राजी थिएँ। मलाई के लाग्थ्यो भने यसरी काम गरेर मात्रै मैले आमाको रूपमा मेरा जिम्मेवारीहरू पूरा गर्न सक्छु। विशेष गरी, म कम्युनिस्ट पार्टीद्वारा पक्राउ परेपछि, मेरा दुई छोराछोरीले मेरा लागि धेरै पैसा खर्च गरे, उनीहरूको व्यापारमा बाधा पुग्यो, अनि उनीहरू चिन्तित र भयभीत पनि भए। मलाई मेरा छोराछोरीप्रति झन् बढी ऋणी भएको महसुस भयो। मैले उनीहरूको राम्रो हेरचाह गरेकी छैनँ र उनीहरूले मेरा लागि धेरै कष्ट भोगे भन्ने मैले सोचेँ, त्यसैले म उनीहरूका लागि अझ बढी काम गर्न र उनीहरूका छोराछोरीको हेरचाह गर्न मद्दत गरेर उनीहरूप्रतिको मेरो ऋण तिर्न आफ्नो सक्दो प्रयास गर्न चाहन्थेँ। जब मैले मेरो गिरफ्तारीले गर्दा मेरी छोरी भेलामा जान सकिनन् वा उनले आफ्ना कर्तव्यहरू निर्वाह गर्न सकिनन्, छोराको जागिर गुम्यो, र बुहारीले पनि उसलाई बाधा दिइरहेकी र सतावट गरिरहेकी छिन्, जसले गर्दा उसले परमेश्वरमा विश्वास गर्ने मन गुमाइरहेको छ भन्ने सुनेँ, तब मलाई मैले उनीहरूलाई परमेश्वरका वचनहरू धेरै पढेर नसुनाएको कारणले म मेरा जिम्मेवारीहरूमा असफल भएकी छु भन्ने लाग्यो। यसै कारणले, म आत्मग्लानिमा बाँचिरहेकी थिएँ र मलाई मेरो कर्तव्य निर्वाह गर्न मन लाग्दैनथ्यो। मैले मलजल गर्ने जिम्मा लिएका नयाँ विश्वासीहरू नकारात्मकता र कमजोरीका कारण नियमित रूपमा भेलामा आउन सकिरहेका थिएनन्, तर मैले उनीहरूको समस्या समाधान गर्न सम्बन्धित परमेश्वरका वचनहरू खोज्न हतार गरिनँ। बरु, मेरो दिमाग कसरी घर फर्केर मेरा छोराछोरीको हेरचाह गर्ने भन्ने कुराले भरिएको थियो। मेरो सुरक्षामा जोखिम भएकोले, म घर जान सक्दिनथेँ, अनि म निरन्तर मेरा छोराछोरीप्रति ऋणी भएजस्तो महसुस गर्थेँ, जबकि मेरो हृदय पीडा र सास्तीले भरिएको थियो। मैले सत्यता प्राप्त गर्नु, मेरो कर्तव्य निर्वाह गर्नु र मुक्ति पाउनु भन्दा असल श्रीमती र मायालु आमा हुनुलाई बढी महत्त्व दिएकी थिएँ। मैले यी वर्षहरूमा मेरो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र जागिर छोडेकी भए पनि, मेरा विचार र दृष्टिकोणहरू रत्तिभर पनि बदलिएका थिएनन्। मैले परमेश्वरको सामु एउटा सृजित प्राणीको कर्तव्य कसरी राम्ररी पूरा गर्ने भनेर सोचिरहेकी थिइनँ, बरु म त असल श्रीमती र मायालु आमा बन्ने कुराको पछि लागिरहेकी थिएँ। मैले झन्डै मेरो कर्तव्य र मुक्ति पाउने मौका बर्बाद गरिसकेकी थिएँ। म कति अन्धो र अज्ञानी रहेछु! फर्केर सोच्दा, म प्रायजसो मेरा छोराछोरीसँग परमेश्वरमा विश्वास गर्नेबारे कुरा गर्थेँ, अनि मैले उनीहरूलाई परमेश्वरको सामु ल्याएँ, त्यसैले मैले मेरा जिम्मेवारीहरू पूरा गरेकी छु र म उनीहरूप्रति केही कुराको पनि ऋणी छैन। मेरा छोराछोरीले भोगेका कष्टहरू वास्तवमा कम्युनिस्ट पार्टीका कारण आएका हुन्। यदि कम्युनिस्ट पार्टीले परमेश्वरमा विश्वास गर्नेहरूलाई सतावट गर्ने र पक्राउ गर्ने काम नगरेको भए, मैले घर गएर उनीहरूको हेरचाह गर्न पाउँथेँ। मैले कम्युनिस्ट पार्टीलाई घृणा गर्नुपर्थ्यो किनभने कम्युनिस्ट पार्टीले नै मलाई र मेरा छोराछोरीलाई कष्ट दिएको थियो। तर, मैले यो सबैको दोष आफैँलाई दिएँ, अनि आमाको रूपमा मैले उनीहरूको राम्रो हेरचाह नगरेको कारणले गर्दा नै मेरा छोराछोरीले यसरी कष्ट पाएका हुन् भनेर जिद्दी गरिरहेँ। म कति मूर्ख र कुराहरूको वास्तविकता देख्न नसक्ने भएकी रहेछु! जब मैले यो कुरा बुझेँ, तब मेरो स्थिति केही हदसम्म बदलियो। म आफ्नो कर्तव्यमा हृदय लगाउन सक्षम भएँ, अनि ती नकारात्मक र कमजोर नयाँ विश्वासीहरू पनि सामान्य रूपमा भेला हुन सक्षम भए।
सन् २०२३ मा, मलाई एउटा यहुदाले धोका दियो र प्रहरीले मलाई पक्राउ गर्न निरन्तर प्रयास गरिरह्यो। सन् २०२४ को जनवरीमा, प्रहरीले मेरी छोरीलाई फोन गरेर प्रहरी चौकीमा बोलायो। मेरी छोरीले म फेरि पक्राउ परेछु भन्ने ठानिन् र उनी हतारिँदै आत्तिएर प्रहरी चौकीमा गइन्। अप्रत्याशित रूपमा, प्रहरीले मेरी छोरीलाई परमेश्वरलाई इन्कार गर्न र विश्वासघात गर्न “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न बाध्य पारे, र उसलाई धम्काउने र तर्साउने काम पनि गरे। मेरी छोरीले शैतानको दाउपेच चिन्न सकिनन् र “तीन बयानको पत्र” मा हस्ताक्षर गरिन्। यो खबर सुनेर, म हृदयदेखि नै साह्रै दुःखी भएँ। मैले मनमनै सोचेँ, “मेरी छोरी आज्ञाकारी र समझदार छे, र उसले मलाई परमेश्वरमा विश्वास गर्न कहिल्यै रोकेकी छैन। जब म प्रहरीद्वारा पक्राउ परेँ, तब पक्राउ पर्ने जोखिमले गर्दा ऊ भेलामा जान वा उसले आफ्नो कर्तव्य निर्वाह गर्न सकिन। त्यसपछि, उसका श्रीमान् र ससुराले उसलाई बन्धनमा पारे, त्यसैले यी वर्षहरूमा, उसले सत्यतालाई राम्ररी पछ्याइरहेकी छैन र ऊ पैसाको पछि लागेर बाँचिरहेकी छे। परिणाम स्वरूप, उसले परमेश्वरको वचन राम्ररी खाइरहेकी र पिइरहेकी छैन वा आफ्नो कर्तव्य निर्वाह गरेकी छैन। मण्डलीले उसलाई अविश्वासी भएकोले पहिले नै निकालिसकेको थियो। अहिले, उसले ‘तीन बयानको पत्र’ मा हस्ताक्षर गरेकी छे, जसको अर्थ उसले मुक्ति पाउने कुनै पनि मौका पूर्ण रूपमा गुमाइसकेकी छे।” जब मैले यस्तो सोचेँ, तब मैले आफ्नो आँसु थाम्न सकिनँ। यदि मैले नियमित रूपमा घर गएर मेरा छोराछोरीलाई भेट्न र उनीहरूसँग परमेश्वरका वचनहरू बारे धेरै पटक सङ्गति गर्न पाएकी भए, सायद मेरी छोरीले अझ धेरै सत्यताहरू बुझ्नेथिई र “तीन बयानको पत्र” मा हस्ताक्षर गर्नेथिइन। मैले यसबारे जति सोचेँ, मैले आफैलाई उति नै धेरै दोषी ठानेँ। ती दिनहरूमा, मलाई केही गर्न मन लाग्दैनथ्यो, र मलाई मेरा कर्तव्यहरू निर्वाह गर्न पनि मन हुन्थेन। मैले मेरो स्थिति खराब छ भन्ने महसुस गरेँ, त्यसैले म परमेश्वरको सामु प्रार्थना गर्न आएँ, ताकि उहाँले मलाई उहाँको अभिप्राय बुझ्न डोर्याउनुभएको होस्।
प्रार्थना गरेपछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “व्यक्ति जोसुकै भए पनि, यदि ऊ निश्चित प्रकारको व्यक्ति हो भने, ऊ त्यही निश्चित मार्गमा हिँड्छ। के यो निश्चित कुरा होइन र? (हो।) व्यक्तिले लिने मार्गले नै ऊ वास्तवमा को हो भन्ने कुरा निर्धारित गर्छ। उसले हिँड्ने मार्ग र ऊ कस्तो व्यक्ति बन्छ भन्ने कुरा उसको आफ्नै हातको कुरा हो। यी कुराहरू पूर्वनिर्धारित, अन्तर्निहित, अनि व्यक्तिको प्रकृतिसँग सम्बन्धित हुन्छन्। त्यसोभए आमाबुबाको शिक्षाको उपादेयता के हो त? के यसले व्यक्तिको प्रकृति नियन्त्रण गर्न सक्छ त? (सक्दैन।) आमाबुबाको शिक्षाले मानव प्रकृति नियन्त्रण गर्न र व्यक्तिले कुन मार्ग लिन्छ भन्ने समस्या सुल्झाउन सक्दैन। आमाबुबाले प्रदान गर्न सक्ने एउटै शिक्षा के हो? छोराछोरीको दैनिक जीवनका केही सरल व्यवहारहरू, केही सतही विचारहरू र आत्मआचरणका नियमहरू—यी आमाबुबासँग सम्बन्ध भएका कुराहरू हुन्। आमाबुबाले छोराछोरी वयस्कतामा पुग्नुपहिले, आफ्नो उचित जिम्मेवारी पूरा गर्नुपर्छ, र त्यो भनेको छोराछोरीलाई सही मार्ग हिँड्न, मेहनतसाथ अध्ययन गर्न, र हुर्किएपछि अरूभन्दा माथि उठ्न सक्षम हुन प्रयास गर्न, खराब काम नगर्न वा खराब मानिसहरू नबन्न सिकाउनु हो। आमाबुबाले छोराछोरीको व्यवहारलाई नियमन पनि गर्नुपर्छ, तिनीहरूलाई शिष्ट व्यवहार गर्न र अग्रजहरूलाई देख्दा अभिवादन गर्न सिकाउनुपर्छ, र व्यवहारसम्बन्धी अन्य कुराहरू सिकाउनुपर्छ—आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। छोराछोरीको जीवनको हेरचाह गर्ने र आत्मआचरणका केही आधारभूत नियमहरूबारे तिनीहरूलाई शिक्षा दिने—आमाबुबाको प्रभाव यही हो। छोराछोरीको व्यक्तित्वको हकमा भन्दा, आमाबुबाले यो कुरा सिकाउन सक्दैनन्। कतिपय आमाबुबा सहज हुन्छन् र सबै कुरा बिस्तारै गर्छन्, तर तिनीहरूका छोराछोरी अत्यन्तै हतारे हुन्छन् र केही पल पनि त्यतिकै बस्न सक्दैनन्। तिनीहरू १४-१५ वर्षको हुँदा आफै कमाई खान जान्छन्, सबै कुरामा तिनीहरूले आफ्नै निर्णय गर्छन्, तिनीहरूलाई आमाबुबाको आवश्यकता पर्दैन, र तिनीहरू अत्यन्तै आत्मनिर्भर हुन्छन्। के तिनीहरूलाई आमाबुबाले यो कुरा सिकाएका हुन्छन् त? हुँदैनन्। त्यसकारण, व्यक्तिको व्यक्तित्व, स्वभाव, र उसको सारसमेत, साथै उसले भविष्यमा रोज्ने मार्गसँग उसका आमाबुबाको कुनै पनि सम्बन्ध हुँदैन। … व्यक्तिले जीवनमा लिने मार्ग उसका आमाबुबाले निर्धारित गर्दैनन्, यो त परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। भनाइ नै छ नि, ‘मानिसको भाग्य स्वर्गले निर्धारित गर्छ,’ र यो भनाइलाई मानव अनुभवले सारांशित गरेको छ। व्यक्ति वयस्कतामा पुग्नुपहिले, उसले कुन मार्ग लिनेछ भन्ने कुरा भन्नै सकिँदैन। तिनीहरू वयस्क बनेपछि, र तिनीहरूसँग विचारहरू भएर समस्याहरूबारे मनन गर्न सक्ने भएपछि, तिनीहरूले बाहिर वृहत्तर समुदायमा के गर्ने भन्ने छनौट गर्नेछन्। कतिपय मानिसहरूले वरिष्ठ अधिकारी बन्न चाहन्छु भन्छन्, र अरूले वकिल बन्न चाहन्छु, र अझै अरूले लेखक बन्न चाहन्छु भनेर भन्छन्। हरेकको आ-आफ्नै छनौट र आ-आफ्नै विचार हुन्छ। कसैले पनि ‘म मेरा आमाबुबाले मलाई शिक्षा दिऊन् भनेर पर्खनेछु, र मेरा आमाबुबाले मलाई जे बन्न शिक्षा दिनुहुन्छ म त्यही बन्नेछु,’ भनेर भन्दैन। यति साह्रो मूर्ख त कोही पनि हुँदैन। वयस्कतामा पुगेपछि, मानिसहरूका विचारहरू मडारिँदै क्रमशः परिपक्व हुन थाल्छन्, र त्यसैले तिनीहरूको अगाडि रहेका मार्ग र उद्देश्यहरू झन्झन् स्पष्ट हुँदै जान्छन्। यति नै बेला, तिनीहरू कस्ता व्यक्ति हुन्, र तिनीहरू कुन समूहका सदस्य हुन् भन्ने कुरा पनि बिस्तारै स्पष्ट हुँदै जान्छ। यस बिन्दुदेखि, हरेक व्यक्तिको व्यक्तित्व क्रमशः स्पष्ट रूपमा परिभाषित हुँदै जान्छ, र सँगसँगै, तिनीहरूको स्वभाव, साथै तिनीहरूले पछ्याइरहेका मार्ग, तिनीहरूको जीवन दिशा, र तिनीहरू कुन समूहमा पर्छन् त्यो कुरा पनि स्पष्ट हुँदै जान्छ। यो सबै केमा आधारित हुन्छ? अन्ततः परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा नै यही हो—यससँग व्यक्तिका आमाबुबाको कुनै सम्बन्ध हुँदैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने छोराछोरीले कुन बाटो लिन्छन् भन्ने कुरा आमाबुबाले निर्णय गर्ने वा बदल्ने कुरा होइन। यो कुरालाई उनीहरूको प्रकृति सारद्वारा निर्धारण गरिन्छ र आमाबुबाको शिक्षासँग यसको कुनै सम्बन्ध हुँदैन। मैले मेरी छोरीले कसरी “तीन बयानको पत्र” मा हस्ताक्षर गर्नुभन्दा पहिले पनि सत्यता पछ्याएकी थिइन, अनि उसको व्यापारमा काम व्यस्त हुनेबित्तिकै, ऊ भेलामा जान वा परमेश्वरका वचनहरू पढ्न छोडेकी थिई, र आफ्नो कर्तव्य निर्वाह गर्न राजी हुन्थिन भन्ने बारेमा सोचेँ। ऊ पैसा कमाउन र संसारका दुष्ट प्रचलनहरूको पछि लाग्नमा केन्द्रित थिई। अगुवाले उसँग धेरै पटक सङ्गति गर्नुभएको थियो, तर उसले पश्चात्ताप गरिन, त्यसैले मण्डलीले मेरी छोरीको निरन्तरको व्यवहारको आधारमा उसलाई अविश्वासीको रूपमा निकालिदियो। अहिले उसले “तीन बयानको पत्र” मा हस्ताक्षर गरिसकेकीले, उसले आफ्नो सार अविश्वासीको हो भन्ने कुरा पूर्ण रूपमा प्रकट गरेकी थिई। उसले सत्यता नपछ्याउनु वा सच्चा मार्गमा नहिँड्नुको तथ्यलाई उसको आफ्नै प्रकृति सारले निर्धारण गरेको थियो, अनि उसको आमाको रूपमा मसँग यसको कुनै सम्बन्ध थिएन। मेरा छोराछोरी यो स्थितिमा पुग्नुको कारण के हो भने स्वभावैले, उनीहरूले सत्यतालाई प्रेम गर्दैनथे र सत्यतालाई पछ्याउँदैनथे। यसमा अरू कसैलाई दोष दिन मिल्दैन, अनि यदि मैले उनीहरूलाई परमेश्वरका वचनहरू अझ धेरै पढेर सुनाएको भए, उनीहरूले गम्भीरतापूर्वक सत्यतालाई पछ्याउनेथिए र उनीहरू सच्चा मार्गमा हिँड्नेथिए भन्ने पनि होइन। स्वभावैले, उनीहरू सत्यताप्रति वितृष्ण थिए र उनीहरूले सत्यतालाई पछ्याउँदैनथे, त्यसैले यदि मैले उनीहरूसँग हरेक दिन सङ्गति गरेको भए पनि, मैले उनीहरूको सार वा उनीहरू हिँडेको बाटो बदल्न सक्नेथिइनँ। जब मैले परमेश्वरका वचनहरूअनुसार मेरा छोराछोरीलाई हेरेँ, तब मेरो हृदय धेरै हलुका भयो, मलाई उनीहरूप्रति ऋणी भएको महसुस हुन छोड्यो, अनि मलाई मेरो कर्तव्य निर्वाह गर्नमा कुनै बाधा भएन। परमेश्वरलाई धन्यवाद!