५३. धारणा र कल्पनाको आधारमा राखिने आस्थाको परिणाम
सन् २००४ मा, परमेश्वरको अनुग्रहले मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। ब्रदर-सिस्टरहरूसँगको भेलामा, कहिलेकाहीँ उनीहरूले आफ्ना अनुभवबारे सङ्गति गरेको म सुन्थेँ, जसमा उनीहरूले बिरामी हुँदा पनि आफ्ना कर्तव्य नत्यागेको र चमत्कारिक रूपमा निको भएको कुरा गर्थे। मैले केही ब्रदर-सिस्टरले लेखेका अनुभवात्मक गवाहीका लेखहरू पनि पढेँ। एक जना सिस्टरलाई क्यान्सर भएको थियो तर ढिपी गरेरै उनले आफ्नो कर्तव्य निर्वाह गरिन्, र थाहै नपाई परमेश्वरले उनको क्यान्सर हटाइदिनुभयो। यी अनुभवात्मक गवाहीहरूबारेमा जानेर, मैले मनमनै सोचेँ, “जब ब्रदर-सिस्टरहरूले बिमारीको परीक्षा सामना गरे, उनीहरूसँग त्यसको अनुभव गर्ने विश्वास थियो—उनीहरू आफ्नो गवाहीमा दृढ रहे, र उनीहरूको बिमारी निको भयो। भविष्यमा, मैले उनीहरूबाट सिक्नैपर्छ। चाहे जुनसुकै रोग वा विपत्ति आओस्, म आफ्ना कर्तव्यहरूमा डटेर लाग्नुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ। यसरी, म पनि ब्रदर-सिस्टरहरूजस्तै परमेश्वरका आशिष्हरूमा जिउनेछु।”
सन् २०११ को गर्मी महिनामा, एक दिन दिउँसो, मेरो सात वर्षको छोरो रोलर स्केट लगाएर बैठक कोठामा खेल्दै थियो। अन्जानवश, उसले टेलिभिजन सेट लडायो, जुन उमाथि खस्यो, अनि उसको जताततैबाट धेरै रगत बग्यो, र उसको नाकबाट रगत बग्न थामिएन। मेरो होस उड्यो र मेरो मुटु घाँटीमै आयो। मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो बच्चालाई जेसुकै भए पनि, चाहे ऊ बाँचोस् वा मरोस्, कृपया मेरो हृदयलाई गुनासो गर्नबाट जोगाउनुहोस्।” अस्पतालमा मेरो छोराको जाँच गरेपछि, डाक्टरले उसलाई घरमै निगरानी गर्न र ज्वरो आएन भने सबै ठीक हुनेछ भन्नुभयो। पछि, मेरो छोरा निको भयो। त्यसपछि, मैले यो घटनाबारे मनन गरेँ। यो सङ्कटको बेला मैले गुनासो गरिनँ, र मेरो छोरा छिट्टै निको भयो। यसले मलाई विपत्तिहरूमा गुनासो नगर्दा र आफ्नो गवाहीमा दृढ रहँदा परमेश्वरको सुरक्षा र आशिष्हरू देख्न पाइन्छ भन्ने कुरामा अझ बढी विश्वस्त बनायो। त्यसबेलादेखि, मैले अझ बढी जोसका साथ आफूलाई समर्पित गरेँ। मण्डलीले मलाई जुनसुकै कर्तव्य दिए पनि, जतिसुकै कष्ट वा मूल्य चुकाउनुपरे पनि, म समर्पित भएँ। मलाई लाग्थ्यो, म परमेश्वरलाई प्रेम गर्ने व्यक्ति हुँ र भविष्यमा पक्कै पनि परमेश्वरद्वारा आशिषित् हुनेछु।
सन् २०१६ को मे महिनामा, म घरभन्दा टाढा रहेर आफ्ना कर्तव्यहरू निर्वाह गर्दै थिएँ। एक दिन, मैले घरबाट एउटा पत्र पाएँ जसमा मेरो छोरालाई ब्लड क्यान्सर भएको र ऊ गम्भीर बिरामी भई अस्पताल भर्ना भइसकेको खबर थियो। पत्र पढेपछि, मेरो दिमाग शून्य भयो, र म प्रार्थना गर्न आफ्नो कोठामा गएँ। म ओछ्यानमा घुँडा टेकेर, थामिनसक्नु गरी भक्कानिएर रोएँ, र भनेँ, “हे परमेश्वर, मेरो छोरा जम्मा बाह्र वर्षको भयो। के तपाईँले साँच्चै उसलाई लैजान लाग्नुभएको हो?” त्यसपछि, म थप केही बोल्नै सकिनँ। म आफ्नो छोराको हेरचाह गर्न, उसलाई सान्त्वना र हौसला दिन तुरुन्तै फर्कन चाहन्थेँ, तर मैले ख्रीष्टविरोधीहरूले मण्डलीको जीवनमा बाधा पुर्याइरहेका, कामका विभिन्न पक्षहरूमा अवरोध गरिरहेका, र ब्रदर तथा सिस्टरहरूको जीवनमा हानि पुर्याइरहेका छन् भन्ने बारेमा सोचेँ। यो निर्णायक घडीमा, मण्डलीको कामको रक्षा गर्ने वा आफ्नो कर्तव्य पन्छाएर छोराको हेरचाह गर्ने—मैले के रोज्छु भनेर परमेश्वरले हेरिरहनुभएको थियो। मैले अय्यूबले त्यत्रा ठूला परीक्षाहरू सहेको सम्झेँ—उनको सम्पत्ति खोसिएको, छोराछोरी मारिएको, र शरीरभरि खटिरा आएको थियो—तैपनि परमेश्वरविरुद्ध गुनासो नगरी उनी आफ्नो गवाहीमा दृढ रहे। अन्त्यमा, परमेश्वर उनीकहाँ देखा पर्नुभयो, र उनलाई निको मात्र पार्नुभएन, दोब्बर आशिष् पनि दिनुभयो। जब मैले मेरो छोराको बिमारी परमेश्वरको हातमा छ भन्ने सोचेँ, तब मलाई मैले परमेश्वरलाई सन्तुष्ट पार्न र आफ्ना कर्तव्यहरूमा अडिग रहने छनौट गर्नुपर्छ, र शैतानका युक्तिहरूलाई सफल हुन दिनुहुँदैन भन्ने बुझेँ। यदि म आफ्नो गवाहीमा दृढ रहेँ भने, परमेश्वरले मेरो छोरालाई निको हुने आशिष् दिनुहुनेछ भन्ने मलाई विश्वास थियो। विशेष गरी अब्राहाम कसरी परमेश्वरप्रति समर्पित भए र आफ्नो एउटा मात्र छोरा इसहाकलाई बलि दिन तयार भए, र कसरी परमेश्वरले उनको छोरालाई लिनुभएन बरु उनलाई झन् बढी आशिष् दिनुभयो भन्ने कुरा विचार गर्दा, परमेश्वरले मेरो छोराको बिमारीमार्फत मलाई पनि जाँच्दै हुनुहुन्छ भन्ने मलाई लाग्यो। यदि मैले मेरो छोरालाई परमेश्वरको हातमा सुम्पेँ र आफ्नो गवाहीमा दृढ रहेँ भने, परमेश्वरले मेरो छोरालाई निको हुने आशिष् दिनुहुनेछ भन्ने मलाई विश्वास थियो। त्यसपछि, मैले आफ्नो छोराको बिमारीबारे सोच्न छाडिदिएँ, बरु आफूलाई आफ्ना कर्तव्यहरूमा पूर्ण रूपमा लगाएँ।
तीन महिनापछि म घर फर्कँदा, मेरा श्रीमान्ले मलाई हाम्रो छोरालाई ब्लड क्यान्सर छैन भनी बताउनुभयो; उसको सेतो रक्तकोषिका मात्र बढेको र रोग प्रतिरोधात्मक क्षमता कम भएको रहेछ, जसको समयमै उपचार गरिएन भने पछि गएर ब्लड क्यान्सर हुन सक्थ्यो। हामी धेरै नाम चलेका अस्पताल गयौँ, तर धेरै विशेषज्ञसँग परामर्श गर्दा पनि, उनीहरूले रोग पत्ता लगाउन सकेनन्। हामीसँग घर फर्केर ओखतीमूलो गर्नुको विकल्प थिएन। हामीले चिनियाँ औषधिमा दुई हजार युआनभन्दा बढी खर्च गर्यौँ, तर कुनै सुधार भएन। मैले मनमनै सोचेँ, “परमेश्वरका लागि कुनै पनि रोग कठिन हुँदैन। जबसम्म मानिसहरू इमानदारीपूर्वक परमेश्वरमा भर पर्छन् र उहाँमा समर्पित हुन्छन्, तबसम्म परमेश्वरका लागि उनीहरूलाई निको पार्नु सजिलो कुरा होइन र?” त्यसपछि, म प्रायः आफ्नो बच्चासँग सङ्गति गर्थेँ, “यो बिमारीमा, हामीले गुनासो गर्नुहुँदैन र परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। यदि हामी आफ्नो गवाहीमा दृढ रह्यौँ भने, परमेश्वरले तिम्रो रक्षा गर्नुहुनेछ र तिमीलाई निको हुन मद्दत गर्नुहुनेछ।” यसैबीच, मैले आफ्नो छोराको बिमारीको उपचार गर्न जताततै घरेलु उपचारहरूबारे पनि सोधखोज गरेँ। तर, एक महिना बितिसक्दा पनि, मेरो बच्चाको अवस्थामा सुधार हुनु त कता हो कता, झन् बिग्रियो। म नकारात्मक र आत्मिक रूपमा कमजोर महसुस गर्न थालेँ, र सोचेँ, “मेरो बच्चा बिरामी भएदेखि मैले लगनशीलताका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छु। परमेश्वरले किन मेरो छोराको स्वास्थ्यको रक्षा गरिरहनुभएको छैन? जति धेरै उपचार गरे पनि, उसको अवस्था किन झन् बिग्रँदै छ? यदि डाक्टरहरूले भनेजस्तै यो साँच्चै ब्लड क्यान्सरमा परिणत भयो भने, के मेरो छोराका लागि कुनै आशा बाँकी रहनेछैन र?” मैले जति धेरै सोचेँ, म त्यति नै डराएँ।
एक दिन बिहान, मेरा श्रीमान्ले आँखाभरि आँसु पार्दै मलाई भन्नुभयो, “हामीले बच्चाको यस बिमारीका लागि हरेक उपाय लगाइसक्यौँ, तर यो निको हुनुको साटो झन्झन् बिग्रँदै छ। अब हामीले के गर्ने?” मेरा श्रीमान्को वेदना देखेर, मलाई भन्नै नसकिने गरी दुःख लाग्यो। त्यसैले, मैले पढ्नका लागि परमेश्वरका वचन निकालेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई धिक्कारे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोकहरू, यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्वास थामेर राख्यो। तैँले आफ्ना अनुभवहरूमा, परमेश्वरका वचनहरूबाट जे शोधन भोगे पनि, समग्रमा, परमेश्वरले चाहने कुरा भनेको, तेरो आस्था र परमेश्वरलाई प्रेम गर्ने हृदय नै हो। यस्तो प्रकारले काम गरेर उहाँ मानिसहरूको आस्था, प्रेम र सङ्कल्पलाई सिद्ध पार्नुहुन्छ। परमेश्वरले मानिसहरूमा सिद्धताको काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो छुन सक्दैनन्; त्यस्ता परिस्थितिहरूमा, आस्था आवश्यक हुन्छ। जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, आस्था त्यसबेला चाहिन्छ। जब परमेश्वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले बलियो अडान लिनुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ भन्ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुग्यो, परमेश्वर उसकहाँ देखा पर्नुभयो र ऊसँग बोल्नुभयो। अर्थात्, तँसँग आस्था हुँदा मात्र तैँले परमेश्वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ, र यदि तँसँग आस्था छैन भने, उहाँ यो गर्न सक्नुहुन्न” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरका वचन पढेपछि, साँचो आस्था के हो भन्नेबारे मैले केही बुझाइ प्राप्त गरेँ—यो परमेश्वरको काम देख्न वा उहाँका अभिप्रायहरू बुझ्न नसक्दाको समयमा पनि परमेश्वरमा विश्वास गर्नु र उहाँका लागि आफ्नो गवाहीमा दृढ रहनु हो, ठीक अय्यूबजस्तै, जसले कुनै पनि समय परमेश्वरलाई इन्कार गरेनन्। परमेश्वरले चाहनुहुने यही हो। मैले मेरा श्रीमान्सँग सङ्गति गरेँ, “केवल परमेश्वरमा विश्वास गर्नु अनि सबै कुरा राम्रो चलिरहेको बेला मात्र आफ्नो कर्तव्य निर्वाह गर्नुले साँचो आस्था झल्काउँछ भन्ने हुँदैन। जब हामी परीक्षाहरूको सामना गर्छौँ र नतिजा के हुनेछ भनेर देख्न असमर्थ हुन्छौँ, तैपनि अझै परमेश्वरमा विश्वास गरिरहन र उहाँलाई पछ्याइरहन सक्छौँ भने—यो आस्था चाहिँ साँचो हो, र यो परमेश्वरको शोधन र परीक्षाहरूको अपेक्षित नतिजा हो। नत्रभने, हामी परमेश्वरमा उहाँको अनुग्रह र फाइदाका लागि मात्र विश्वास गरिरहेका हुनेछौँ, र शैतानले हामीमाथि दोष लगाउनेछ र हामीलाई मान्नेछैन। हाम्रो छोराको अवस्था सुध्रियोस् वा नसुध्रियोस्, यदि हामीले निरन्तर परमेश्वरलाई पछ्यायौँ र उहाँप्रति समर्पित भयौँ भने, शैतान पराजित हुनेछ र लज्जित हुनेछ, र परमेश्वरले हामीबाट महिमा प्राप्त गर्नुहुनेछ।” यो सुनेपछि, मेरा श्रीमान्ले सहमति जनाउँदै टाउको हल्लाउनुभयो।
त्यसपछि, हाम्रो छोराको अवस्थामा सुधारको कुनै सङ्केत देखिएन। एक दिन, हाम्रो छोरा झ्यालको डिलमा अडेस लागेर, अरू बच्चाहरू झोला बोकेर स्कुल गएको हेर्दै थियो। ऊ एकदमै लालायित देखिन्थ्यो, उसका आँखामा आँसु थिए, र उसले भक्कानिँदै भन्यो, “ममी, अरू सबै बच्चा स्कुल जाँदै छन्, तर म बिरामी छु र जान सक्दिनँ। तपाईँ मलाई सधैँ परमेश्वरप्रति समर्पित हुन भन्नुहुन्छ। म निको हुनका लागि कहिलेसम्म समर्पित हुनुपर्ने हो?” छोराको कुरा सुन्दा मेरो मुटुमा छुरा रोपेजस्तै भयो। मेरो आस्थाले अब यो सहन सकेन। मैले मनमनै सोचेँ, “मेरो बच्चा बिरामी भएदेखि नै मैले कष्ट भोगेकी छु, तर म सधैँ आफ्ना कर्तव्यहरूमा डटेर लागेकी छु। मैले तिनलाई निर्वाह गर्न आफ्नो सक्दो गरिसकेकी छु। परमेश्वरले अझै पनि मेरो छोराको बिमारी किन निको नपार्नुभएको हो? के मेरो हृदय पर्याप्त इमानदार छैन? डाक्टरले यदि मेरो छोराको बिमारी निको भएन भने, उसको अङ्ग काट्नुपर्ने हुन सक्छ भन्नुभयो। यदि त्यसो भयो भने, भविष्यमा ऊ कसरी जिउनेछ?” यी भयानक परिणामहरूबारे सोच्दा, मेरो मुटुमा असह्य पीडा भयो, मानौँ कसैले मेरो मुटु मासु पिस्ने मेसिनमा हालेर पिस्दै छ। पीडाको यो स्तरमा पुगेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो छोराको बिमारी किन निको हुँदैन? मेरो कद धेरै सानो छ; म यो अब साँच्चै सहन सक्दिनँ। हे परमेश्वर, कृपया मलाई तपाईँको अभिप्राय बुझ्न अन्तर्दृष्टि दिनुहोस्।”
सेप्टेम्बरको अन्त्यमा, हाम्रा अगुवाले मलाई एउटा निश्चित कर्तव्यमा सहकार्य गर्न अनुरोध गर्दै पत्र पठाउनुभयो। मेरो छोराको बिमारीको चिन्ताले गर्दा मैले अस्वीकार गरेँ। पछि, मलाई के महसुस भयो भने परमेश्वरमा विश्वास गरेका यतिका वर्षमा, मैले जस्तोसुकै ठूलो कठिनाइको सामना गर्दा पनि कर्तव्य निर्वाह गर्न कहिल्यै अस्वीकार गरेकी थिइनँ। तर आज, मैले आफ्नो छोराको बिमारीका कारण एउटा कर्तव्य अस्वीकार गरेँ। यो महसुस हुँदा मलाई नराम्रो लाग्यो। यो समयमा मेरो स्थितिलाई फर्केर हेर्दा, मैले के महसुस गरेँ भने म त केवल झाराटारुवा तरिकाले प्रार्थना गरिरहेकी र परमेश्वरका वचन पढिरहेकी रहेछु। मेरो हृदयमा कुनै शक्ति थिएन। हरेक दिन, छोरालाई औषधि खुवाउनुबाहेक, मेरो हृदय डर र चिन्ताले भरिएको हुन्थ्यो। मलाई सधैँ मेरो छोराको बिमारी निको हुँदैन कि र म उसलाई गुमाउँछु कि भन्ने चिन्ता लाग्थ्यो, त्यसैले म आफ्ना कर्तव्यहरूमा केन्द्रित थिइनँ। जब मैले यो कुरा सोचेँ, मलाई अचानक के लाग्यो भने—कतै मैले परमेश्वरलाई धोका दिँदै त छैनँ? मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “तैँले परमेश्वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्वरले तँलाई सुम्पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। मैले परमेश्वरको न्यायका कठोर वचनबाट उहाँको क्रोध महसुस गरेँ। परमेश्वरको आज्ञालाई हल्का रूपमा लिनु गम्भीर कुरा रहेछ। परमेश्वरकोको आज्ञा अस्वीकार गर्नेहरूप्रति उहाँको मनोवृत्ति घृणा र सरापको हुँदो रहेछ। यी वचनहरू पढेर मलाई डर लाग्यो। मैले धेरै वर्षदेखि कुनै सत्यता वास्तविकताविना नै परमेश्वरमा विश्वास गरेकी रहेछु; मेरा धारणाहरूसँग नमिल्ने परिस्थितिहरूको सामना गर्दा, तब मैले आफ्ना कर्तव्यहरू त्याग्न र परमेश्वरलाई धोका दिन पनि सक्दी रहेछु। यो कुरा बुझेपछि, मैले पश्चात्ताप गर्दै परमेश्वरलाई प्रार्थना गरेँ।
खोजी गर्ने क्रममा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: आशिष्हरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिष्हरू प्राप्त गर्नका लागि, मैले परमेश्वरका लागि सबै कुरा त्याग्नैपर्छ; मैले उहाँले मलाई सुम्पनुभएको काम पूरा गर्नुपर्छ र मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। यस्तो स्थिति आशिष्हरू पाउने अभिप्रायको प्रभुत्वमा हुन्छ, जुन परमेश्वरबाट इनाम र मुकुट प्राप्त गर्ने उद्देश्यले आफूलाई पूर्णतया उहाँमा अर्पण गर्नुको एउटा उदाहरण हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र यो निश्चित छ कि उनीहरूको बुझाइमा केही वचन र धर्मसिद्धान्त मात्र हुन्छ, जसलाई उनीहरूले जहाँ गए पनि देखाउँदै हिँड्छन्। उनीहरूको मार्ग पावलको मार्ग हो। त्यस्ता मानिसहरूको विश्वास भनेको निरन्तर परिश्रम गर्ने कार्य हो, र तिनीहरूले आफ्नो हृदयको गहिराइमा के सोचेका हुन्छन् भने, उनीहरूले जति धेरै परिश्रम गर्छन् त्यसले परमेश्वरप्रतिको उनीहरूको बफादारितालाई त्यतिकै प्रमाणित गर्छ; उनीहरूले जति धेरै परिश्रम गर्छन्, उहाँ त्यति नै धेरै निश्चित रूपमा सन्तुष्ट हुनुहुनेछ; र उनीहरूले जति धेरै परिश्रम गर्छन्, उनीहरू त्यति नै बढी परमेश्वरबाट मुकुट प्राप्त गर्ने योग्यका हुनेछन्, र उनीहरूले पाउने आशिष्हरू त्यति नै ठूला हुनेछन्। उनीहरूलाई के लाग्छ भने, यदि उनीहरूले कष्ट भोग्न, प्रचार गर्न र ख्रीष्टको लागि ज्यान दिन सके भने, यदि उनीहरूले आफ्नै जीवन बलिदान दिन सके भने, र यदि परमेश्वरले आफूलाई सुम्पनुभएका सबै जिम्मेवारीहरू उनीहरूले पूरा गर्न सके भने, उनीहरू परमेश्वरद्वारा सबैभन्दा बढी आशिषित हुने मानिसहरूमध्येमा पर्नेछन्, र उनीहरूले मुकुटहरू पाउने निश्चित हुनेछ। पावलले ठ्याक्कै यही कल्पना गरेका थिए र यही कुरा पछ्याएका थिए। तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्वरको सेवा गर्ने काम गरे। के त्यस्ता विचार र उद्देश्यहरू शैतानी स्वभावबाट उत्पन्न हुँदैनन् र? यो त पृथ्वीमा हुँदा आफू ज्ञानको पछि लाग्नुपर्छ, र त्यो प्राप्त गरेपछि भीडबाट माथि उठ्न, अधिकृतहरू बन्न र प्रतिष्ठा पाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्ने सांसारिक मानिसहरू जस्तै हो। उनीहरूलाई के लाग्छ भने, प्रतिष्ठा प्राप्त गरेपछि उनीहरूले आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न र आफ्ना व्यवसायहरू र पारिवारिक अभ्यासलाई समृद्धिको एक निश्चित तहसम्म ल्याउन सक्छन्। के सबै गैरविश्वासीहरू यही मार्गमा हिँड्दैनन् र? यो शैतानी स्वभावको प्रभुत्वमा परेका मानिसहरू आफ्नो विश्वासमा पावलजस्तो मात्र हुन सक्छन्। उनीहरू सोच्छन्: ‘मैले आफैलाई परमेश्वरप्रति समर्पित गर्न सबै कुरा त्याग्नैपर्छ। म परमेश्वरसामु अर्पित हुनैपर्छ र आखिरमा, मैले अवश्य नै ठूला इनाम र ठूला मुकुट पाउनेछु।’ सांसारिक थोकहरूको पछि लाग्ने सांसारिक मानिसहरूको मनोवृत्ति पनि यस्तै हुन्छ। उनीहरू कुनै पनि हालतमा फरक हुँदैनन्, र उनीहरू उस्तै प्रकृतिको अधीनमा हुन्छन्। जब संसारमा मानिसहरूसित यस प्रकारको शैतानी स्वभाव हुन्छ, तब उनीहरूले ज्ञान, शिक्षा प्राप्त गर्न खोज्छन्, प्रतिष्ठा, र भीडभन्दा अलग हुन खोज्छन्। उनीहरूले परमेश्वरमा विश्वास गरे भने, ठूला मुकुट र ठूला आशिष्हरू पाउने कोसिस गर्नेछन्। परमेश्वरमा विश्वास गरेपछि, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, निश्चय नै उनीहरूले यही मार्ग लिनेछन्। यो अपरिवर्तनीय तथ्य हो, र यो प्राकृतिक नियम हो। सत्यता नपछ्याउने मानिसहरूले हिँड्ने मार्ग पत्रुसको भन्दा बिलकुलै विपरीत मार्ग हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनको खुलासामार्फत, मैले के देखेँ भने यतिका वर्ष मेरो त्याग र समर्पण आफ्ना कर्तव्यहरू पूरा गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न होइन रहेछ, बरु परमेश्वरसँग लेनदेन गर्ने प्रयास रहेछ, जुन सधैँ आशिष् पाउने मनसायद्वारा निर्देशित रहेछ—मैले त पावलको आशिष् पछ्याउने मार्ग पो पछ्याइरहेकी रहेछु। जबदेखि मैले आखिरी दिनहरूमा परमेश्वरको काम स्वीकार गरेँ, तबदेखि मैले केही ब्रदर-सिस्टर बिरामी र सङ्कष्टहरूको बेला आफ्नो गवाहीमा दृढ रहँदा, उनीहरूले परमेश्वरको सुरक्षा पाएका देखेकी थिएँ। त्यसैले, मण्डलीले मलाई सुम्पेका कर्तव्यहरू जतिसुकै कठिन वा जोखिमपूर्ण भए पनि, म ती विना कुनै हिचकिचाहट वा डर निर्वाह गर्थेँ। मेरो हृदयमा, मलाई के दृढ विश्वास थियो भने जबसम्म म परमेश्वरका लागि कष्ट भोग्छु र मूल्य चुकाउँछु, सङ्कष्टहरूको सामना गर्दा गुनासो गर्दिनँ, र आफ्ना कर्तव्यहरू पूरा गर्न डटिरहन्छु, तबसम्म मैले पक्कै पनि परमेश्वरका आशिष्हरू पाउनेछु। जब मैले आफ्नो छोरालाई गम्भीर रोग लागेको थाहा पाएँ, तब पनि मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्ने र परमेश्वरका लागि आफूलाई समर्पित गर्ने छनौट गरेँ, ताकि परमेश्वरले मेरो छोरालाई निको पार्नुहोस्। तर, जब लामो समयसम्म मेरो छोराको बिमारी निको भएन, तब मैले परमेश्वरविरुद्ध गुनासो गर्न थालेँ। मैले आफ्ना विगतका त्याग र समर्पणलाई परमेश्वरसँग सौदाबाजी गर्ने माध्यमका रूपमा प्रयोग गरेँ, उहाँसँग तर्क गरेँ र उहाँविरुद्ध कराएँ, मेरो छोरामाथि उहाँको सुरक्षा नभएकोमा गुनासो गरेँ, र आफ्ना कर्तव्यहरू निर्वाह गर्न समेत अस्वीकार गरेँ। मेरो स्वार्थी, नीच र फाइदा खोज्ने शैतानी प्रकृति पूर्ण रूपमा खुलासा भयो। मैले परमेश्वरका लागि आफूले गरेका त्याग र समर्पणलाई उहाँसँग आशिष् माग्ने माध्यमका रूपमा प्रयोग गरिरहेकी थिएँ। मलाई आफू पावलकै मार्गमा हिँडिरहेकी रहेछु भन्ने महसुस भयो। पावलले इनामहरू र मुकुटको माग गर्न परमेश्वरका लागि समर्पित गरे र बलिदान दिए, उनी परमेश्वरसँग लेनदेन गर्ने प्रयास गर्दै थिए। उनी परमेश्वरलाई धोका दिँदै र उहाँको प्रतिरोध गर्दै थिए, र अन्ततः उनले उहाँको धिक्कार र डण्ड पाए। मैले परमेश्वरमा विश्वास गरेका यतिका वर्षमा, सत्यता नपछ्याएको वा परमेश्वरका वचनमा उहाँका अभिप्रायहरू नखोजेको कारण, मैले परमेश्वरप्रतिको मेरो समर्पण र कर्तव्य निर्वाहलाई कसरी लेनदेनका रूपमा लिएकी थिएँ भन्नेबारे चिन्तन गरेँ। मैले आफू कति स्वार्थी र घृणित रहेछु, र परमेश्वरको मुक्ति पाउन पूर्ण रूपमा अयोग्य रहेछु भन्ने देखेँ।
त्यसपछि मैले परमेश्वरका यी वचन पढेँ: “तँ अय्यूबको जाँचहरूबाट भएर जान्छस्, त्यसको साथसाथै तँ पत्रुसका जाँचहरूबाट पनि भएर जान्छस्। जब अय्यूबको जाँच भयो, तिनी साक्षी बनेर खडा भए, अनि आखिरीमा तिनलाई यहोवा प्रकट गरियो। तिनी साक्षी बनेर खडा भएपछि मात्र तिनी परमेश्वरको मुहार देख्ने योग्यका भए। यसो किन भनिएको छ: ‘म फोहोरको देशबाट लुकेँ, तर आफैलाई पवित्र राज्यमा देखाएँ?’ त्यसको अर्थ हो, जब तँ पवित्र बन्छस् र साक्षी भई खडा हुन्छस् तब मात्र परमेश्वरको मुहार हेर्ने मर्यादा तैँले प्राप्त गर्न सक्छस्। उहाँ तँ उहाँको साक्षी बन्न सक्दैनस् भने तँमा उहाँको मुहार हेर्ने मर्यादा हुँदैन। यदि तँ शोधनको बेला पछि हट्छस् र परमेश्वरको विरुद्ध गुनासो गर्छस्, त्यसरी उहाँको साक्षी बन्न सक्दैनस् र शैतानको हाँसो पात्र बन्छस् भने तैँले परमेश्वरको रूप प्राप्त गर्नेछैनस्। यदि तँ जाँचहरू हुँदा अय्यूबले जस्तै आफ्नै शरीरलाई सराप्छस् र परमेश्वरको विरुद्ध गुनासो गर्दैनस् भने, अनि कुनै गुनासो नगरी वा बोलीवचनद्वारा पाप नगरी आफ्नै शरीरलाई घृणा गर्छस् भने तँ साक्षी बनेर खडा भएको हुनेछस्। जब तँ एक निश्चित हदसम्म शोधनबाट भएर जान्छस् र अझै पनि अय्यूबजस्तै हुन सक्छस्, परमेश्वरको सामु पूर्ण रूपमा समर्पित बन्छस् र उहाँका आवश्यकताहरू वा तेरा आफ्नै धारणाविना हुन्छस्, तब परमेश्वर तँकहाँ देखा पर्नुहुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। “मानिसका नजरमा, परमेश्वरले धेरै कुराहरू गर्नुहुन्छ जुन बुझ्न नसकिने र अविश्वसनीय समेत हुन्छ। जब परमेश्वरले कसैलाई योजनाबद्ध गर्न चाहनुहुन्छ, यो योजनाबद्ध कार्य प्रायः मानिसका धारणासँग मिल्ने हुँदैन र उसले बुझ्न नसक्ने हुन्छ, तैपनि, ठ्याक्कै यही बेमेल र अगम्यता नै मानिसका निम्ति परमेश्वरको परीक्षा र जाँच हो। यसबीच, अब्राहाम परमेश्वरप्रति समर्पणता देखाउन सक्षम थियो, जुन ऊ परमेश्वरको माग पूरा गर्न सक्षम हुनुको सबैभन्दा आधारभूत सर्त थियो। … विभिन्न सन्दर्भहरूमा, परमेश्वरले प्रत्येक व्यक्तिलाई जाँच्ने विभिन्न तरिकाहरू प्रयोग गर्नुहुने भए पनि, अब्राहाममा उहाँले जे चाहनुहुन्थ्यो त्यो देख्नुभयो, अब्राहामको हृदय साँचो छ, र तिनको समर्पण सर्तरहित छ भन्ने देख्नुभयो। वास्तवमा परमेश्वरले चाहनुभएको पनि त्यस्तै ‘सर्तरहित’ कुरा थियो। प्रायजसो, कतिपय मानिसहरू यसो भन्छन्, ‘मैले यो चढाइसकेँ, मैले त्यो त्यागिसकेको छु—परमेश्वर अझै पनि किन मसँग सन्तुष्ट हुनुहुन्न? उहाँले किन मलाई परीक्षाहरू भोग्ने तुल्याइरहनुहुन्छ? उहाँले किन मलाई जाँचिरहनुहुन्छ?’ यसले एउटा तथ्य प्रदर्शन गर्छ: परमेश्वरले तेरो हृदय देख्नुभएको छैन, र तेरो हृदय प्राप्त गर्नुभएको छैन। भन्नुको अर्थ, अब्राहामले आफ्नो छोरालाई आफ्नै हातले मार्न हेतु छुरी उठाउन र परमेश्वरलाई बलि चढाउन सक्षम हुँदा उसमा भएको जस्तो खालको साँचो हृदय उहाँले देख्नुभएको छैन। उहाँले तेरो उहाँप्रतिको निःसर्त समर्पणता देख्नुभएको छैन, र तँबाट सान्त्वना पाउनुभएको छैन। यसैले, परमेश्वरले तँलाई जाँचिरहनु प्राकृतिक कुरा हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। परमेश्वरका वचनबाट, मैले के बुझेँ भने परमेश्वरले तिनीहरूलाई आशिष् दिनुहुन्छ जो इमानदारीपूर्वक उहाँका लागि आफूलाई समर्पित गर्छन्। परमेश्वरले जसरी काम गर्नुभए पनि, तिनीहरू कुनै माग, अनुरोध, वा व्यक्तिगत मिसावट नगरी, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति निःशर्त समर्पित हुन्छन्। यो नै साँचो गवाही हो। मलाई अय्यूबको सम्झना नआइरहन सकेन। उनले परमेश्वरका बारेमा सुनेका मात्र थिए, र आफ्ना सबै सम्पत्ति र छोराछोरी गुमाउँदा, शरीर खटिराहरूले ढाकिँदा, अनि आफ्नी श्रीमतीले समेत गिज्याउँदा पनि, उनले परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गको पालना गरे, र भने, “यहोवाले दिनुभयो, र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूबले परमेश्वरसँग सौदाबाजी गर्ने वा उहाँसँग कुराहरूको माग गर्ने प्रयास गरेनन्; उनले उहाँप्रति शुद्ध हृदय राखे। मैले अब्राहामलाई पनि सम्झेँ। उनका छोरा इसहाक जन्मिँदा उनी सय वर्षका थिए, जसलाई उनी असाध्यै माया गर्थे। जब परमेश्वरले उनलाई इसहाकलाई बलिका रूपमा चढाउन भन्नुभयो, तब उनमा आफ्नो छोराप्रति स्नेह भए पनि उनी यो स्नेहमा जिएनन्। उनले खुसीसाथ इसहाकलाई वेदीमा चढाए। परमेश्वरप्रति अब्राहाम र अय्यूबको विश्वास र समर्पणता पूर्ण र निःशर्त थियो, जसमा कुनै सौदाबाजी वा मागहरू थिएनन्। उनीहरूले जे गरे त्यो केवल परमेश्वरको मार्ग पछ्याउनका लागि थियो, आशिष् वा व्यक्तिगत लाभका लागि थिएन। उनीहरूका गवाहीहरू साँच्चै सराहनीय र उदाहरणीय थिए। तर, मैले सधैँ गलत बुझेकी रहेछु। मलाई लाग्थ्यो, बिमारी वा विपत्तिको सामना गर्दा, जबसम्म म गुनासो नगरी आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छु, तबसम्म यी असल व्यवहारहरू नै मेरो गवाहीमा दृढ रहन र परमेश्वरलाई सन्तुष्ट पार्न पर्याप्त छन्, र मैले उहाँका आशिष्हरू पाउनेछु। मेरो मेहनतका पछाडि, परमेश्वरप्रतिको कुनै इमानदारिता वा समर्पणता थिएन। मेरा बलिदानहरू पूर्णतया छल, सौदाबाजी र कुराहरूको मागद्वारा निर्देशित थिए। यो पटक्कै साँचो गवाही थिएन, र यो व्यवहार परमेश्वरका लागि घृणित थियो अनि म उहाँका आशिष्हरूको हकदार थिइनँ। विगतमा, मैले अय्यूब र अब्राहामका गवाहीहरूबारे अनगिन्ती पटक पढेकी थिएँ, तर मैले उनीहरूले कसरी परमेश्वरको मार्ग पछ्याए, उहाँको डर माने, दुष्टताबाट अलग बसे, र परमेश्वरप्रति बफादार र समर्पित रहे भन्ने कुरामा ध्यान दिइनँ। बरु, मैले उनीहरू गवाहीमा दृढ रहेपछि पाएका आशिष्हरूमा ध्यान दिएँ। यो सबै हुनुको कारण म आफ्नो फाइदा खोज्ने शैतानी प्रकृतिद्वारा निर्देशित हुनु थियो। परमेश्वरका वचनको खुलासामार्फत, साँचो गवाही के हो भन्नेबारे मैले केही ज्ञान प्राप्त गरेँ।
पछि, मैले मनन गरेँ: परमेश्वरमा विश्वास गरेका यतिका वर्षमा, म सधैँ यदि मैले परमेश्वरका लागि समर्पित गरेँ र बलिदान दिएँ भने, परमेश्वरले मलाई आशिष् दिनुपर्छ; परमेश्वरको धार्मिकता भनेको यही हो भन्ने सोच्थेँ। त्यसैले जब मेरो छोरा निको हुनुको सट्टा उसको अवस्था बिग्रिँदै गयो, तब मेरो हृदय गुनासा र गलतफहमीले भरिए, र मैले आफ्नो कर्तव्य समेत अस्वीकार गरेँ। त्यसोभए मैले परमेश्वरको धार्मिकताको सही बुझाइ कसरी प्राप्त गर्ने? मेरो खोजीको क्रममा, मैले परमेश्वरका वचनको एउटा खण्ड भेट्टाएँ: “धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा तर्कसङ्गतता होइन; यो समानतावाद, वा तँलाई तैँले गरेको कामका लागि पाउनुपर्ने कुरा दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र तर्कसङ्गत हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्वरको धर्मी स्वभावलाई बुझ्न सक्ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्वरको गवाही दिएपछि उहाँले तिनलाई नष्ट पार्नुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्वर धर्मी हुनुहुन्छ भनेर भन्न तिनीहरूलाई निकै सहज हुन्छ; तर, यदि तिनीहरूले केही कुरा आफ्ना धारणाहरूसँग मिल्ने देखेनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। यदि परमेश्वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्नेथिएनन्। खासमा, मानिसहरू भ्रष्ट तुल्याइएका भए पनि वा नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्वरले मानिसहरूलाई आफूले नियोजन गरेका व्यवस्थाहरू बताउनैपर्छ र? त्यो आवश्यक छैन। परमेश्वरको नजरमा, भ्रष्ट र परमेश्वरको प्रतिरोध गर्न सक्ने व्यक्तिको कुनै मूल्य हुँदैन; परमेश्वरले तिनीहरूलाई जसरी सम्हाल्नुभए पनि त्यो उचितै हुनेछ, र यो सबै परमेश्वरका बन्दोबस्तहरू अनुसार हुन्छन्। यदि तँ परमेश्वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो उहाँको धार्मिकता हुनेथियो त? त्यो पनि हुनेथियो। तँ अहिले तथ्यहरूको दृष्टिकोणबाट यो बुझ्न सक्दैनस् होला, तर तैँले यसलाई धर्मसिद्धान्तको हिसाबले बुझ्नैपर्छ। … परमेश्वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले यो बुझ्न नसक्लान्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन्, र त्यसपछि तिनीहरू उहाँ धर्मी हुनुहुन्न भनेर भन्छन् भने, तिनीहरू सबैभन्दा समझहीन भइरहेका हुन्छन्। तैँले देख्छस् कि पत्रुसले बुझ्न नसकिने केही कुरा भेट्टाए, तर तिनमा परमेश्वरको बुद्धि उपस्थित छ र ती कुरामा उहाँको असल इच्छा छ भनी तिनी निश्चित थिए। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्न नसक्ने कुरा धेरै छन्। यसैले, परमेश्वरको स्वभाव जान्नु कुनै सजिलो कुरा होइन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनको खुलासाबारे चिन्तन गर्दा, मैले आफूमा परमेश्वरको धार्मिक स्वभावको शुद्ध बुझाइ नभएको महसुस गरेँ। म सोच्थेँ कि यदि हामीले परमेश्वरका लागि आफूलाई समर्पित गर्यौँ र गवाहीमा दृढ रह्यौँ भने, परमेश्वरले हामीलाई आशिष् दिनुपर्छ, हाम्रा सबै कठिनाइ र पीडा हटाइदिनुपर्छ, र हामीलाई उहाँका आशिष्हरूमा जिउन दिनुपर्छ। मलाई यो निष्पक्ष र तर्कसङ्गत लाग्थ्यो; मैले परमेश्वरको धार्मिकता यही हो भन्ने सोचेँ। यद्यपि, यस प्रकारको बुझाइ परमेश्वरको अभिप्रायसँग मेल खाँदैन। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र मानिसहरू सृजित प्राणी हुन्। परमेश्वरले हामीसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुरा उहाँको आफ्नै मामिला हो, र हामीले परमेश्वरसँग अनुचित मागहरू गर्नु हुँदैन। जस्तै अय्यूब आफ्नो गवाहीमा दृढ रहँदा, परमेश्वरले अय्यूबलाई आशिष् दिनु उहाँको धार्मिकता थियो, र उहाँले अय्यूबलाई आशिष् नदिनुभएको भए पनि, उहाँ अझै धार्मिक नै हुनुहुनेथियो। परमेश्वरको स्वभाव सार धार्मिकता हो। तर, म यो कुरा देख्न असफल भएँ। मलाई लाग्थ्यो धार्मिकता भनेको समानतावाद, निष्पक्षता र तर्कसङ्गतता हो। म सोच्थेँ यदि मैले परमेश्वरका लागि बलिदान दिएँ भने, परमेश्वरले मलाई इनाम र आशिष् दिनुपर्छ। यो मानसिकता लेनदेनले भरिएको थियो। मेरो छोरा बिरामी हुँदा, म आफ्ना कर्तव्यहरू निर्वाहमा डटिरहेकी भए पनि, यसको पछाडि मेरो व्यक्तिगत अभिप्राय थियो—परमेश्वरसँग अनुग्रहको माग गर्ने र परमेश्वरलाई मेरो छोराको बिमारी हटाइदिन लगाउने। यो वास्तवमा एउटा लेनदेन थियो, गवाही होइन। यदि मेरो बच्चाको बिमारी नभएको भए, परमेश्वरसँग सौदाबाजी गर्ने मेरा नीच मनसायहरू खुलासा हुने थिएनन्। मैले परमेश्वरको बुद्धिले काम गरिरहेको देखेँ, अनि ममा विवेक र समझको कमी रहेको महसुस गरेँ। त्यसैले, मैले एउटा सङ्कल्प गरेँ: मेरो बच्चाको बिमारी जेसुकै भए पनि, म परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनेछु र सृजित प्राणीका रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्नेछु।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले निर्वाह गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, यो उसको विद्रोह हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्वरका वचनले मलाई के बुझाए भने कर्तव्य निर्वाह गर्नु भनेको स्वर्गबाट पठाइएको कार्य हो। यसको आशिष् पाउने वा दुर्भाग्य भोग्नेसँग कुनै सम्बन्ध छैन; यो हामीले गर्नुपर्ने कुरा हो। विगतमा, म धारणा र कल्पनाहरूमा जिएकी थिएँ, र यदि मैले दुर्भाग्य आइपर्दा पनि गुनासो नगरी आफ्ना कर्तव्यहरूमा डटिरहन सकेँ भने, म परमेश्वरका आशिष्हरूको हकदार हुन्छु, र परमेश्वरले मेरो परिवारलाई सुरक्षित राख्नुपर्छ भन्ठान्थेँ। अब मैले यो एउटा गलत दृष्टिकोण हो भन्ने बुझेँ। मेरो बच्चाको बिमारीमा सुधार होस् वा नहोस्, वा उसको अवस्थाको अन्त्य जस्तोसुकै होस्, मैले परमेश्वरसँग सौदाबाजी गर्न खोज्नु हुँदैन। त्यसबेलादेखि, म परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन र आफ्ना कर्तव्य तथा जिम्मेवारीहरू पूरा गर्न तत्पर भएँ। तीन दिनपछि, मैले माथिल्लो अगुवाबाट एउटा पत्र प्राप्त गरेँ जसमा मैले गर्नुपर्ने जरुरी काम रहेको उल्लेख थियो। यद्यपि म आफ्नो बच्चालाई छोड्न अनिच्छुक थिएँ, तर मैले स्नेहको आधारमा जिउनु हुँदैन भन्ने कुरा बुझेँ। मैले निर्वाह गर्नुपर्ने मेरो आफ्नै कर्तव्य थियो, र मेरो बच्चाको बिमारी परमेश्वरको हातमा थियो। म आफ्नो बच्चालाई परमेश्वरमा सुम्पन र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तत्पर थिएँ। त्यसपछि, म आफ्नो कर्तव्य निर्वाह गर्न गएँ।
तीन महिनापछि, म आफ्नो छोरालाई भेट्न घर फर्किएँ र मेरा श्रीमान्ले उसलाई उपचारका लागि गाउँको डाक्टरकहाँ लैजानुभएको रहेछ भन्ने थाहा पाएँ। उसमा दिनप्रतिदिन सुधार हुँदै रहेछ। वर्षको अन्त्यमा, डाक्टरले भने, “यो बच्चा धेरै छिटो ठीक भयो। यसको रोग निको भइसक्यो।” जब मैले यो नतिजा सुनेँ, म असाध्यै उत्साहित भएँ, जसलाई शब्दमा व्यक्त गर्न सकिन्न।
यो अनुभवपछि, मैले परमेश्वरको धार्मिक स्वभावबारे केही ज्ञान प्राप्त गरेँ। मैले के पनि महसुस गरेँ भने सत्यता प्राप्तिलाई पछ्याउनु र सृजित प्राणीका रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्नु नै परमेश्वरमा विश्वास गर्नुका सबैभन्दा महत्त्वपूर्ण पक्षहरू हुन्। हामीले परमेश्वरसँग भौतिक लाभ, पारिवारिक शान्ति, रोग र प्रकोपबाट मुक्ति, वा अनुकूल परिणाम र गन्तव्यहरूको माग गर्नु हुँदैन। यी अनुचित मागहरू हुन्। हाम्रो आस्थामा धारणा र कल्पनाहरूमा भर परेर, हामी कहिल्यै पनि सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनौँ। परमेश्वरका वचनको न्याय र सजाय साथै परीक्षा र शोधनको अनुभव गरेर मात्र हामी सत्यता प्राप्त गर्न र भ्रष्टता फाल्न सक्छौँ। मैले आफ्नो छोराको बिमारीमार्फत केही पीडा र शोधन सहनुपरे पनि, यसले मेरा लामो समयदेखिका भ्रष्ट अशुद्धता र परमेश्वरमा विश्वास गर्नेबारे मैले राखेका भ्रामक दृष्टिकोणहरूलाई खुलासा पारिदियो। यो अनुभवले मलाई आफैलाई चिन्न, सत्यताको खोजी गर्न, र परमेश्वरले कस्तो प्रकारको गवाही अनुमोदन गर्नुहुन्छ भन्ने बुझ्न मद्दत गर्यो। यसले मलाई तुरुन्तै मेरा गलत दृष्टिकोणहरू सच्याउन र सही मार्गमा हिँड्न सक्षम बनायो। यो मप्रति परमेश्वरको अनुग्रह हो!