५. विस्मृतिका दिनहरू

चेन जिङ, चीन

सन् २००३, मे १ को साँझ ५ बजेपछिको समय थियो। म एउटा भेला सकेर घर फर्कँदै थिएँ, जतिखेर मैले सिस्टर ली नानलाई सार्वजनिक फोनको छेउमा उभिइरहेकी देखेँ। उनले मलाई हात हल्लाउँदै आफूतिर बोलाइन्। उनी चिन्तित देखिन्थिन्, मानौँ उनी मलाई केही भन्न चाहन्थिन्, त्यसैले म हतारिँदै उनीतिर गएँ। उनले दबेको स्वरमा साउती गर्दै आफूले अर्की सिस्टरलाई पेजरमा सन्देश पठाएकी तर ती सिस्टरले जवाफ नफर्काएकी बताइन्। हामीले कुरा गर्दै गर्दा, त्यो सार्वजनिक फोन बज्यो। मलाई लाग्यो ती सिस्टरले नै फोन फर्काएकी होलिन्, त्यसैले मैले फोन उठाएँ। तर अचम्म, त्यो त एउटा पुरुषको आवाज थियो। मैले केही गडबड छ भन्ने महसुस गरेँ, त्यसैले मैले तुरुन्तै फोन राखिदिएँ। म र ली नानले मुस्किलले केही शब्द मात्र बोलेका थियौँ, त्यतिबेलै हामी उभिएको ठाउँभन्दा केही पर ठुलो आवाजमा एउटा हरियो जीप रोकियो। सादा पोसाकका चार-पाँच जना प्रहरीहरू हामफालेर निस्के र सिधै हामीतिर दौडिदै, कराए, “तिनीहरू यहाँ छन्! छिटो गर! यिनै हुन्! सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरू!” अचानक पक्राउको सामना गर्नुपर्दा, मेरो मुटु घाँटीमै आयो, र मैले मनमनै परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्दै भनेँ, “हे परमेश्‍वर, कृपया मेरो हृदयको रक्षा गर्नुहोस्, मलाई यहुदा बन्न नदिनुहोस्।” प्रार्थना सिध्याएपछि, मसँग अझै पनि पेजर र आईसी कार्ड छ भन्ने मलाई याद आयो, त्यसैले उनीहरूले नहेरेको मौका छोपेर मैले ती सामान छेउको नालीमा खसालिदिएँ। त्यसपछि मसँग भेलाको टिपोटहरू पनि छन् भन्ने याद आयो, त्यसैले मैले छिटो-छिटो त्यसलाई निकालेँ, च्यातेँ र भुईँमा फालिदिएँ। एउटा प्रहरीले देखेर करायो, “त्यो आइमाईले के च्यात्दै छे?” अर्को प्रहरीले रिसाउँदै च्यातिएका कागजका टुक्राहरू खोस्यो र म तथा ली नानलाई उनीहरूको जीपतिर घचेट्यो, त्यो बेलाभरि हामीलाई गाली गरिरह्यो।

प्रहरी चौकीमा, हामीलाई छुट्टाछुट्टै सोधपुछ गरियो। जब म कोठामा पसेँ, मैले टेबल पछाडि तीन जना प्रहरी उभिइरहेका देखेँ। उनीहरूले मलाई दुश्मनलाई जस्तै हेरे र सुनिनेगरी दाह्रा किटे। म अलिक आत्तिएँ र परमेश्‍वरलाई प्रार्थना गरिरहेँ, “हे परमेश्‍वर, कृपया मलाई यहुदा बन्नबाट जोगाउनुहोस्। उनीहरूले मलाई जसरी सोधपुछ गरे पनि, मैले मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिनै हुँदैन।” प्रार्थना गरेपछि, मेरो हृदय बिस्तारै शान्त भयो। एउटा प्रहरीले मलाई कराउँदै प्रश्नहरू सोध्न थाल्यो, “तेरो नाम के हो? तँ कहाँ बस्छेस्? तँ कति वर्षकी भइस्? तैँले परमेश्‍वरमाथि विश्वास गरेको कति भयो? तेरा अगुवाहरू को हुन्? मण्डलीमा कति मानिसहरू छन्? …” मैले उनीहरूलाई मेरो असली नाम र घरको ठेगाना मात्र दिएँ, मण्डलीको बारेमा केही पनि भनिनँ। प्रहरीमध्येको एउटाले जोडले टेबल ठटायो र भन्यो, “बोल्! नत्र हामीले तँलाई तह लगाउनुपर्नेछ!” म केही पनि बोलिनँ, र उनीहरू तीनै जनाले पालैपालो मलाई धेरै घण्टासम्म लगातार सोधपुछ गरिरहे। मैले मनमनै सोचेँ, “मैले उनीहरूलाई केही नभनेसम्म उनीहरूले मलाई छोड्नेवाला छैनन् जस्तो देखिन्छ। सायद मैले निष्कासित भएको कुनै व्यक्तिको नाम दिँदा हुन्छ कि? त्यो व्यक्ति मण्डलीको सदस्य होइन।” तर त्यतिबेलै परमेश्‍वरका वचनहरू मेरो मनमा आए: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि बफादारी नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्‍वासघात गरेकाहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई घात गर्नेहरूसँग सङ्गत गर्न झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरको स्वभाव रिस उठाउन नसकिने छ। परमेश्‍वर उहाँलाई धोका दिनेहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ। प्रहरी मलाई मण्डलीलाई घात गर्ने बनाउनका लागि निरन्तर प्रश्न गरिरहेका थिए। यदि मैले एउटा कुरा भनेँ भने, उनीहरूले पक्कै पनि थप जानकारीका लागि दबाब दिइरहनेथिए। मैले परमेश्‍वरलाई धोका दिने कुनै पनि काम गर्नु हुँदैनथ्यो। यस्तो सोचेर, मैले उनीहरूलाई केही पनि भनिनँ। म अझै नबोल्ने देखेर, एउटा अधबैँसे प्रहरी कामुक मुस्कानका साथ मेरो नजिक आयो र मेरो चिउँडोमा हातले समात्यो। उसले भन्यो, “सायद मैले एक किस दिएपछि पो बोल्छौ कि? अथवा हामी सँगै रात बिताउने हो कि?” उनीहरूको दुष्टता देखेर मलाई असाध्यै घिन लाग्यो, र मैले साह्रै रिसाउँदै भनेँ, “तपाईं एउटा प्रहरी अधिकारी हुनुहुन्छ। तपाईं कसरी यस्तो कुरा गर्न सक्नुहुन्छ? यो त गुन्डाले बोल्ने तरिका हो!” उनीहरू मध्येको अर्को प्रहरी नजिकै आयो र, घाँटी तन्काउँदै रन्किँदै करायो, “तँ बोल्छेस् कि बोल्दिनस्? नत्र भने, हामी तँलाई कुटेरै मार्नेछौँ! हामी तँलाई हाम्रा लठ्ठीको स्वाद चखाउँछौँ!” त्यसपछि ऊ आफ्नो लठ्ठी लिन गयो। त्यतिखेर म डराएँ र हतारिँदै मनमनै मलाई साहस र आस्था दिनुहोस् र मलाई यहुदा हुनबाट जोगाउनुहोस् भन्दै परमेश्‍वरलाई पुकारेँ। प्रहरीहरू मध्ये एउटाले मलाई आँखा तरेर हेऱ्यो र सिधै मतिर दौडिएर आयो। मैले अनायासै आफ्ना पाखुराले छाती छोपेँ तर पनि उसले मलाई क्रूरतापूर्वक प्रहार गर्‍यो जसले मलाई लड्खडिने बनायो। उसले क्रुद्ध हुँदै भन्यो, “नबोल्दा पाउने यही हो! अझै सहेको नाटक गर्छेस्? अब हेर् म तँलाई के गर्न सक्छु!” आफ्नो लठ्ठी समात्दै, अर्को प्रहरी करायो, “साँचो कुरा नबताएकोमा म तँलाई पाठ सिकाउँछु। अब तँलाई यो कस्तो लाग्छ हेर्!” यसो भन्दै, उसले आफ्नो लठ्ठी उठायो र ममाथि जोडले प्रहार गर्‍यो। म अनायासै दायाँतिर घुमेँ र उसको लठ्ठी मेरो टाउकोको बायाँ भागमा जोडले बज्रियो। उसले हानेपछि, मैले आफ्नो टाउकोमा खालि एउटा गुन्जने आवाज सुनेँ, त्यसपछि म भुईँमा लडेँ र बेहोस भएँ। मैले आफू कति बेरसम्म बेहोस भएकी थिएँ भन्ने थाहै पाइनँ। मेरो दिमाग पूरै खाली थियो र मैले केही पनि याद गर्न सकिनँ। मैले सोचेँ, “म यहाँ कसरी आइपुगेँ?” मेरो टाउको लाटो हुनुका साथै भित्रभित्रै दुखेको थियो। म भुईँमा लम्पसार थिएँ र हलचल गर्न सकिनँ। मैले आफ्नो दाहिने हात शिथिल भएको मात्र महसुस गर्न सकेँ, मैले आफ्नो शरीरको दाहिने भागमा केही महसुस नै गर्न सकिनँ, र म त्यसलाई नियन्त्रण गर्न सक्दिनथेँ, लाग्थ्यो मेरो शरीरको आधा भाग प्यारालाइसिस भएको छ। धेरै समयपछि, बल्ल मलाई आफू परमेश्‍वरमा विश्वास गरेका कारण पक्राउ परेकी थिएँ भन्ने याद भयो। मेरो अवस्था देखेर, प्रहरीले मलाई सोधपुछ गर्न छोडे। उनीहरूले मलाई उठाए, हिरासत कक्षमा लगे, र भुईँमा फालिदिए।

म हिरासत कक्षमा पुग्नेबित्तिकै, धेरै सिस्टरहरू मेरो वरिपरि जम्मा भए, र म यसरी कुटिएको देखेर, उनीहरूले रिसाउँदै भने, “तिनीहरू कसरी यति क्रूर हुन सक्छन्? एउटा पूर्ण सारसौँदो मान्छेलाई कुटेर यस्तो हालत कसरी बनाउन सक्छन्? तिनीहरूमा अलिकति पनि मानवता छैन! तिनीहरू साँच्चै दियाबलसहरूको झुण्ड हुन्!” सिस्टरहरूले मेरा हातखुट्टा मालिस गरिदिए र मलाई सान्त्वना दिए। म यति भावविह्वल भएँ कि म रुन थालेँ। मलाई यो परमेश्‍वरको प्रेम हो भन्ने थाहा भयो र मेरो हृदय न्यानो भयो। मसँगै आठ जना सिस्टरहरू थुनिएका थिए। सिन मिङ उनीहरूमध्ये एक थिइन्। हामी दुई जना एउटै कोठामा थियौँ। म पहिलो पटक हिरासतमा आउँदा, मेरो होस-हवास ठेगानमै थियो, मेरो बोली र प्रतिक्रियाहरू सामान्य नै थिए, तर म आफ्नो शरीरको दाहिने भाग सजिलै चलाउन सक्दिनथेँ। म आफ्नो दाहिने हात सीधा तन्काउन सक्दिनथेँ, र मैले यसलाई टोकरी बोकिरहे जस्तो गरी राख्नुपर्थ्यो। म राम्ररी मुख धुन सक्दिनथेँ, र ट्युबबाट मन्जनसमेत निकाल्न सक्दिनथेँ। खाना खाने बेलामा, म बायाँ हातले मात्र चम्चा चलाउन सक्थेँ। हिँड्दाखेरि, म दाहिने खुट्टा घिसार्न मात्र सक्थेँ, लाग्थ्यो मेरो आधा शरीर प्यारालाइसिस भएको छ। मेरा सिस्टरहरू मलाई प्यारालाइसिस नै होला भनेर डराउँथे, त्यसैले उनीहरू मलाई हरेक दिन दिउँसोको छुट्टीको समयमा व्यायाम गर्न मद्दत गर्थे। एउटी सिस्टर मलाई पाखुरामा समातेर उठाउँथिन्, अर्की रक्तसञ्चार गराउन मेरो पाखुरा मालिस गरिदिन्थिन्, जबकि अर्की सिस्टर मेरो खुट्टा चलाउन मद्दत गर्थिन्, उनको खुट्टाले मलाई बिस्तारै अगाडि धकेल्थिन् वा टुक्रुक्क बसेर हातले मेरो खुट्टा अगाडि बढाइदिन्थिन्। आफ्नो शरीरको यस्तो स्थिति देखेर, मलाई साह्रै कमजोरी महसुस भयो, मैले सोचेँ, “मेरो शरीरको एक पाटो प्यारालाइसिस भएको छ, म आफ्नो हेरचाह आफैँ गर्न सक्दिनँ, र मेरा सिस्टरहरूले मेरो स्याहार गर्नुपर्ने हुँदा म उनीहरूका लागि बोझ बनिरहेकी छु। के म एउटा काम नलाग्ने मान्छे भइनँ र?” यसबारे सोच्दा म धेरै दुःखी भएँ। नकारात्मक र कमजोर महसुस गर्दै, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “कामको यस चरणमा, हामीबाट सबैभन्दा ठूलो आस्था र प्रेम आवश्यक हुन्छ, र थोरै लापरवाहीका कारण हामीले ठेस खान सक्छौँ, किनकि कामको यो चरण पहिलेका सबै चरणहरू भन्दा फरक छ: जुन कुरा परमेश्‍वरले सिद्ध पार्दै हुनुहुन्छ त्यो मानिसहरूको आस्था हो, जुन अदृश्य पनि छ र अमूर्त पनि छ। परमेश्‍वरले वचनहरूलाई आस्थामा, प्रेममा र जीवनमा परिवर्तन गर्ने गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (८))। परमेश्‍वरका वचनले मलाई आस्था दिए। मेरो आस्थालाई सिद्ध पार्नका लागि परमेश्‍वरले मलाई यस्तो हुन दिनुभएको थियो। प्रहरीले मलाई अपाङ्ग बनाएका थिए, तर परमेश्‍वरले सिस्टरहरूलाई मेरो हेरचाह र स्याहार, अनि मसँग परमेश्‍वरका वचन सङ्गति गर्न लगाउनुभएको कार्यमार्फत्, मैले उहाँको प्रेम अनुभव गरेँ। म कहिले निको हुन्छु भन्ने मलाई थाहा नभए पनि, परमेश्‍वरले मलाई निरन्तर मार्गदर्शन गरिरहनुभएको देखेर मलाई अघि बढिरहने आस्था मिल्यो।

हिरासतमा, सिस्टरहरूले मलाई हरेक दिन व्यायाम गर्न मद्दत गरे। उहाँहरू मलाई बिहान लुगा लगाइदिन्थे, खाना खाने बेलामा उसिनेको मकैको रोटी दिन्थे, र राति मेरो ओछ्यान मिलाइदिन्थे। उनीहरू मसँग प्रायः परमेश्‍वरका वचनबारे सङ्गति गर्थे र मेरो लागि भजन गाउँथे। उनीहरूले मलाई यसरी स्याहार गरेको देखेर म निकै भावविह्वल भएँ। र मलाई यस्तो अपाङ्ग बनाएर सामान्य काम गर्नसमेत गाह्रो बनाइदिएकोमा म ती प्रहरीहरूलाई असाध्यै घृणा गर्थेँ। यति हुँदाहुँदै पनि, उनीहरू मलाई अरूलाई जस्तै हरेक दिन बिहान सबेरैदेखि साँझ ७ बजेसम्म बस्न लगाउँथे र मेरो सम्पूर्ण शरीर चिसोले कठ्याङ्ग्रिन्थ्यो। राति उनीहरू मलाई एक घण्टा डिउटीमा पनि खटाउँथे, तर सिस्टरहरू मलाई मद्दत गर्न मेरो सट्टामा पालो गरेर डिउटी गरिदिन्थे। एक महिनापछि, चिनियाँ कम्युनिष्ट पार्टीले मलाई “सामाजिक व्यवस्था खलबल्याएको” आरोपमा दुई वर्षको श्रमद्वारा सुधारको सजाय सुनायो। म धेरै दुःखी भएँ। मेरो आधा शरीर प्यारालाइसिस भएर म आफ्नो हेरचाह आफैँ गर्न सक्दिनथेँ, र म एउटा काम नलाग्ने मान्छे जस्तै भएकी थिएँ—यी दुई वर्ष लामो अवधि म कसरी कटाउन सकूँला र? सिस्टरहरूले मलाई सान्त्वना दिँदै भने, “हामीसँग भर पर्नका लागि परमेश्‍वर हुनुहुन्छ र उहाँले हामीलाई मद्दत गर्नुहुनेछ। हामीले परमेश्‍वरमा आस्था राख्नैपर्छ!” जेल लैजाँदै गर्दा, सिस्टरहरूले धेरै भजनहरू गाए। तीमध्ये एउटा थियो “म परमेश्‍वरको महिमाको दिन देख्‍न चाहन्छु,” जसले मलाई धेरै भावविह्वल बनायो: “परमेश्‍वरले सुम्पनुभएका कुराहरू मुटुमा हुँदा, म शैतानसामु कहिल्यै घुँडा टेक्नेछैनँ। मेरो शिर छिनिएला र मेरो रगत बग्‍ला, तर परमेश्‍वरका मानिसहरूको मेरुदण्डलाई झुकाउन सकिँदैन। म परमेश्वरका लागि जोरदार गवाही दिनेछु, र दियाबलसहरू अनि शैतानलाई अपमानित गर्नेछु। पीडा र कठिनाइहरू परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हो, म मृत्युसम्‍मै उहाँप्रति बफादार र समर्पित हुने छु। म परमेश्‍वरलाई फेरि कहिल्यै रुवाउने छैन वा कहिल्यै चिन्तित तुल्याउने छैन। म मेरो प्रेम र बफादारी परमेश्‍वरलाई अर्पण गर्ने छु र उहाँलाई महिमित तुल्याउन आफ्नो मिसन पूरा गर्ने छु(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। सुन्दै गर्दा, मैले धेरै प्रोत्साहन महसुस गरेँ र म पनि सँगै गाउन थालेँ, र जति धेरै गाएँ, मेरो आस्था उति नै बढ्दै गयो। म अपाङ्ग भएकी थिएँ र मलाई जेल सजाय सुनाइएको थियो, तर यो कष्टको एउटा अर्थ थियो। यो कष्टद्वारा म परमेश्‍वरका लागि गवाही दिन सक्थेँ र दियाबलस शैतानलाई लज्जित पार्न सक्थेँ। यो एउटा गौरवपूर्ण कुरा थियो। यस्तो सोचेर, मलाई अब नकारात्मक महसुस भएन र म परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन तयार भएँ। हामी जति धेरै गाउँथ्यौँ, उति नै भावविह्वल महसुस गर्थ्यौँ, र कोही त गाउँदा-गाउँदै रुन्थे—घरको याद आएर वा सजाय पाएकोमा दुःखी भएर होइन, उनीहरूले हृदयमा खुसी र आनन्द महसुस गरेर अनि परमेश्‍वरका लागि गवाही दिन पाउनु कति गौरवपूर्ण कुरा हो भन्ने ठानेर!

त्यहाँका जेलरहरूले म शारीरिक श्रम गर्न सक्दिनँ भन्ने देखे र मलाई राख्न चाहेनन्। उनीहरूले लामो समयसम्म छलफल गरेपछि बल्ल अनिच्छापूर्वक मलाई राखे। उनीहरूले मलाई कारखानाको काममा पठाए। जब सुपरभाइजरले म केही गर्न सक्दिनँ भन्ने देखे, मलाई शौचालय सफा गर्न पठाइयो। मेरो दाहिने भागमा केही महसुस नै नहुने भएकोले, म देब्रे खुट्टापट्टि कोल्टे परेर हिँड्थेँ र दाहिने खुट्टा घिसार्दै मुस्किलले मात्र हिँड्न सक्थेँ। भुईँ पुछ्दा, म देब्रे खुट्टामा टुक्रुक्क बस्थेँ र दाहिने खुट्टा घिसार्थेँ, देब्रे हातले मात्रै मुस्किलले पुछ्थेँ। जब म एउटा ठाउँ पुछिसक्थेँ, फेरि उभिन धेरै बल गर्नुपर्थ्यो। म हरेक दिन बिहान सबेरैदेखि राति १० बजेसम्म सरसफाइ गर्थेँ। मलाई भित्रभित्रै अन्याय भएको महसुस हुन्थ्यो, म सोच्थेँ, “मेरो शरीरको यस्तो अवस्था हुँदा पनि काम गर्न लगाएर, उनीहरू वास्तवमै मान्छेलाई मानवको व्यवहार नै गर्दैनन्!” मलाई अझ बढी रिस उठाउने कुरा के थियो भने जेलरहरू मलाई हरेक दिन तालिम टोलीका कैदीहरूसँग बिहानी व्यायाम गर्न पनि लगाउँथे। हामी दौडिनुपर्थ्यो, र म टोलीको बिचमा उभिएकी हुन्थेँ, जब सबैजना दौडिन थाल्थे, उनीहरू मलाई लडाइदिन्थे। यति हुँदाहुँदै पनि, उनीहरू मलाई रोकिन दिँदैनथे। म व्यायाममा कहिल्यै उनीहरूको गति समात्न सक्दिनथेँ, त्यसैले टोली प्रमुख मलाई आँगनको वरिपरि हिँड्ने सजाय दिन्थे। म मेरो दाहिने खुट्टा उठाउन सक्दिनथेँ, त्यसैले हिँड्दा मैले त्यसलाई घिसार्नुपर्थ्यो। आँगनको एक लामो फन्को मारेपछि, म यति थाक्थेँ कि अघि बढ्नै सक्दिनथेँ, र मेरो जुत्ताका छेउहरू खिइएर प्वाल परेका थिए। समय बित्दै जाँदा, म अब सहन नसक्ने भएँ र भित्रभित्रै धेरै कमजोर महसुस गरेँ। सिन मिङले मलाई प्रोत्साहन र सान्त्वना दिँदै मसँग सङ्गति गरिन्, र उनले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड सुनाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। … तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरू सुन्दा, मैले यो कष्टको माध्यमबाट, परमेश्‍वर मभित्र सत्यता भरिदिन चाहनुहुँदोरहेछ भन्ने बुझेँ। यो कष्ट सहनुको अर्थ थियो र मैले यसलाई आस्थाका साथ अनुभव गर्नुपर्थ्यो। मैले अपाङ्ग भएर पनि काम गर्नुपर्थ्यो, तैपनि मसँग परमेश्‍वर हुनुहुन्थ्यो, र सिस्टरहरू मेरो छेउमा थिए, उनीहरू प्रायः मसँग परमेश्‍वरका वचनबारे सङ्गति गर्थे। मैले परमेश्‍वरले मलाई कहिल्यै छोड्नुभएको रहेनछ भनेँ महसुस गरेँ। मैले परमेश्‍वरको प्रेम महसुस गरेँ।

मेरो कुनै उपचार नगराइएकोले, मेरो अवस्था दिनप्रतिदिन बिग्रँदै गयो। म मेरो शरीरको दाहिने भाग चलाउने आँट गर्दिनथेँ, किनभने यो चलाउँदा असह्य पीडा हुन्थ्यो। म सुतेको ठाउँबाट उठ्न सक्दिनथेँ र सिस्टरहरूले मलाई उठाइदिनुपर्थ्यो। मेरो दाहिने हात एकदमै अररो भएको थियो र दाँत माझ्दा म कुल्लासमेत गर्न सक्दिनथेँ। सिन मिङले विभाग प्रमुखसँग बिन्ती गरिन् र अन्ततः उनीहरूले मलाई शौचालय सफा गर्न लगाउन छोडे। तर उनीहरू मलाई पल्टिन दिँदैनथे। हरेक दिन मलाई सुत्न दिनुअघि मैले १० घण्टाभन्दा बढी बस्नुपर्थ्यो। म पीडा सहन्थेँ र कमजोरीपूर्वक भित्तामा अडेस लाग्थेँ, हलचल गर्ने आँट गर्दिनथेँ। पछि, मेरो अवस्था झन्-झन् खराब हुँदै गयो। चम्चा समात्दा मेरो देब्रे हात काम्न थाल्यो र खाना खाने बेलामा म जताततै खाना पोख्थेँ। मेरो दिमाग पूरै खाली थियो, मसँग कुनै विचार नै नभए जस्तो हुन्थ्यो। म परमेश्‍वरमा विश्वास गर्छु भन्ने थाहा पाउनु र सिस्टरहरूले परमेश्‍वरका वचनबारे सङ्गति गरेको सुन्न चाहनुबाहेक, मलाई अरू केही पनि थाहा थिएन। मेरा सम्झनाहरू सधैँ विखण्डित थिए। म भर्खरै भएका कुराहरू बिर्सन्थेँ र केही कुराहरू एकछिनका लागि मात्र सम्झन सक्थेँ। मेरो दिमागले ढिलो प्रतिक्रिया दिन्थ्यो र म टोलाएर हेरिरहन्थेँ। कहलेकाहीँ म आफैँलाई थाहा नभई मूर्खजस्तै हाँस्थेँ। जब कुनै सिस्टरले मलाई नहाँस भन्थिन्, तब मात्र मलाई अलिकति होस आउँथ्यो र हाँस्न छोड्थेँ। त्यतिबेला मेरो बौद्धिक स्तर सानो बच्चाको जस्तो थियो, र म भकभकाउँदै एकदमै बिस्तारै बोल्थेँ। म प्रायः ओछ्यानमा लत्रिएर बस्थेँ, आफ्ना हात-खुट्टामा हेर्थेँ, र थाहा नपाइकन खितित्त गर्दै हाँस्थेँ। एक पटक, सिन मिङ काम सकेर कोठामा फर्किइन् र म उनलाई देखेर कुनै आफन्तलाई भेटेझैँ दाँत देखाएर हाँसेँ। उनले मेरो काँधमा थपथपाउँदै सोधिन्, “तपाईं किन मुस्कुराइरहेकी छ? तपाईंलाई मेरो नाम थाहा छ?” म केवल दाँत देखाएर हाँसिरहेँ, टाउको हल्लाएँ र भनेँ, “मलाई … थाहा … छैन।” एकछिन पछि, मलाई याद आयो र भनेँ, “तपाईंको … नाम … मिङ … हो।” तर मैले जति सोचे पनि, उनको थर सम्झिनै सकिनँ। श्रम शिविरको प्रमुखले मेरो अवस्था देख्यो र म शिविरमै मर्छु अनि उसले जिम्मेवारी लिनुपर्छ भनेर डरायो, त्यसैले उसले शिविरको डाक्टरलाई मलाई सलाइन पानी चढाउने अनुमति दियो। तर डाक्टरले मलाई जाँच नै नगरी जथाभाबी औषधी दियो। नतिजास्वरूप, मेरो अवस्था सुधार हुनुको सट्टा झन् बिग्रियो। मेरा हात-खुट्टा सुन्निन थाले, म मेरा औँलाहरू चलाउन सक्दिनथेँ, र मेरा खुट्टाका औँलाहरू हिउँले खाएको जस्तो रातो भएर सुन्निए। उनीहरूसँग मलाई प्रान्तीय अस्पताल लैजानुको विकल्प भएन। जाँच गर्दा टाउकोमा चोट लागेका कारण मेरो मस्तिष्कको झिल्लीमुनि पानी जमेको, जसले नसाहरू थिचिरहेको थियो र पक्षाघात गराइरहेको पत्ता लाग्यो। डाक्टरले यदि शल्यक्रिया गरेर त्यो पानी समयमै ननिकालिएमा, म मर्न सक्ने बताए। तर मेरो परिवारले शल्यक्रियाको खर्च धान्न सक्दैनथ्यो, त्यसैले उनीहरूले मलाई श्रम शिविरमै फिर्ता ल्याए। फर्कँदै गर्दा बाटोमा, मैले उनीहरूले भनेको मधुरो सुनेँ, “उसले उपचार खर्च धान्न सक्दिन तर हामी उसलाई यहाँ मर्न दिन सक्दैनौँ। हामीले उसलाई उपचारको लागि जमानीमा रिहा गरिदिनुपर्छ।” मेरो याद आउने-जाने भइरहेको थियो र मलाई कुनै कुराको धेरै चिन्ता थिएन। मलाई म परमेश्‍वरमा विश्वास गर्छु, र मैले मेरो जीवन र मरण परमेश्‍वरलाई सुम्पेकी छु भन्ने मात्र थाहा थियो।

म शिविरमा फर्किएपछि, उनीहरूले मलाई अर्कै कोठरीमा राखे र मैले आफू पहिले साथमा रहेका सिस्टरहरूसँग सम्पर्क गर्न सकिनँ। त्यो समयमा म ठुलो पीडामा थिएँ। म कुनै सिस्टरलाई देख्ने आशा गर्दै ढोकातिर हेरेर ओछ्यानमा बसिरहन्थेँ। म सिस्टरहरूसँग हुँदा, उनीहरू प्रायः मसँग परमेश्‍वरका वचनहरू सङ्गति गर्थे र मलाई प्रोत्साहन दिन्थे, तर अब मलाई धेरै एक्लो र हराएको जस्तो महसुस भयो। मेरो दिमागले राम्ररी काम गरिरहेको थिएन, र म परमेश्‍वरका वचनहरू सम्झन सक्दिनथेँ, न त म ब्रदर-सिस्टरहरूले मसँग परमेश्‍वरका वचनबारे सङ्गति गरेको नै सुन्न सक्थेँ—के अब परमेश्‍वरलाई म चाहिँदैन र? मलाई असाध्यै पीडा भयो र मैले परमेश्‍वर बिना मेरो जीवनको के अर्थ छ भन्ने सोचेँ। त्यसपछि मैले मर्ने विचार गरेँ। मैले खाना खान छोडेँ। कोठरीबाट कोही सिन मिङलाई खोज्न गयो, र निरीक्षक नभएको बेला उनी मकहाँ आइन्। उनलाई देखेर म धेरै खुसी भएँ। उनी मेरो ओछ्यानमा आइन् र मलाई थपथपाइन्। उनले मेरो हात र पाखुरा मालिस गर्न मद्दत गर्दै सोधिन्, “तपाईं किन खाना खाइरहनुभएको छैन? के यसले तपाईं स्वास्थ्यलाई फाइदा गर्छ र?” आँसु झार्दै, मैले भनेँ, “मैले … तपाईंलाई … सम्झेँ। उनीहरूले … मलाई … यहाँ राखे … जहाँ … मसँग … परमेश्‍वरका वचनबारे … सङ्गति गर्ने … कोही छैन। म … नितान्त … एक्ली छु। के परमेश्‍वरलाई … अब म … चाहिँदैन? मेरो जीवनको … अब कुनै … अर्थ छैन।” सिन मिङले मलाई सान्त्वना दिँदै भनिन्, “परमेश्‍वर अझै पनि हामीलाई चाहनुहुन्छ। उहाँ त हामीले उहाँका लागि गवाही दिने प्रतीक्षा मात्र गरिरहनुभएको छ! हामी राम्ररी जिउनुपर्छ!” त्यसपछि उनले मलाई परमेश्‍वरका वचनको एउटा भजन सुनाइन् “म परमेश्‍वरलाई प्रेम गर्न दृढ़ छु”: “सबै विषय, सबै कुरा—यी सबै हजुरकै हातमा छन्; मेरो नियति हजुरकै हातमा छ र मेरो यो जीवन हजुरले आफ्नो हातमा राख्नुहुन्छ। अब, म हजुरलाई प्रेम गर्न चाहन्छु, र हजुरले आफूलाई प्रेम गर्ने अनुमति प्रदान गरे पनि या नगरे पनि, शैतानले जसरी बाधा पुऱ्याए पनि, म हजुरलाई प्रेम गर्न प्रतिबद्ध छु। म आफै परमेश्‍वरलाई खोज्न र उहाँको पछि लाग्‍न इच्छुक छु। अहिले परमेश्‍वरले मलाई त्याग्‍न चाहनुहुन्छ भने पनि, म उहाँलाई पछ्याइरहनेछु। उहाँले मलाई चाहनुभए पनि नचाहनुभए पनि, म उहाँलाई प्रेम गरिरहनेछु, र आखिरमा मैले उहाँलाई प्राप्त गर्नैपर्छ। म मेरो हृदय परमेश्‍वरमा अर्पण गर्छु, र उहाँले जे गर्नुभए नि, म आजीवन उहाँलाई पछ्याउनेछु। जेसुकै भए पनि, मैले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ र मैले उहाँलाई प्राप्त गर्नैपर्छ; जबसम्म म उहाँलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ)। सिन मिङले मलाई भनिन्, “हामीले परमेश्‍वरमा साँचो आस्था राख्नैपर्छ! हामीलाई जेसुकै भए पनि, हामीले अन्तिमसम्म उहाँलाई पछ्याउनुपर्छ। हामीले पहिले गरेको अठोट डगमगाउनु हुँदैन। यो नै परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नु र साँचो आस्था हुनु हो। अहिले परिस्थिति फरक छ र सिस्टरहरू यहाँ छैनन्, त्यसैले तपाईंलाई परमेश्‍वर तपाईंलाई चाहनुहुन्न कि भन्ने लाग्छ। के तपाईंले परमेश्‍वरलाई गलत बुझिरहनुभएको छैन र? तपाईंको आस्था खै? हामी उहाँका लागि आफ्नो गवाहीमा दृढ रहौँ भन्ने आशा गर्दै परमेश्‍वरले हाम्रो लागि यो परिस्थितिको प्रबन्ध गर्नुभएको हो। हामीले परमेश्‍वरमाथि हाम्रो आस्था राखिराख्नै पर्छ!” सिन मिङको सङ्गतिपछि, मैले परमेश्‍वरलाई म नचाहिएको होइन रहेछ, र मैले राम्ररी जिउनुपर्छ अनि कायर बन्नु हुन्नरहेछ भन्ने थाहा पाएँ। जेसुकै भए पनि मैले अन्तिमसम्म परमेश्‍वरलाई पछ्याउनुपर्थ्यो। ममा फेरि आशा पलायो, मेरो हृदय उज्यालो भयो, र म फेरि खुसी भएँ। जब सिन मिङ जान लागिन्, मैले उनको हात समातेँ, मैले उनलाई जान दिन चाहिनँ, र भनेँ, “म … परमेश्‍वरका … वचन … सुन्न … चाहन्छु।” उनले मलाई फेरि भेट्न आउने बताउँदै गाह्रो हुँदा परमेश्‍वरलाई धेरै प्रार्थना गर्न सल्लाह दिइन्, र परमेश्‍वरले मेरो प्रार्थना सुन्नुहुनेछ भनिन्। उनी गइसकेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गर्दै भनेँ, “प्रिय … परमेश्‍वर, म … धेरै … एक्लो … महसुस गर्दैछु, यहाँ … कोही … छैन, मेरो … दिमागले … राम्ररी काम … गर्दैन, म … तपाईंका … वचन … सुन्न चाहन्छु, कृपया … मलाई … कोही … पठाइदिनुहोस्, म … तपाईंका … वचन … सुन्न चाहन्छु।”

मैले यो प्रार्थना गरेको भोलिपल्ट, टोली प्रमुखले भन्यो, “चेन, तेरो लागि यहाँ एउटा साथी छे। यसले तँलाई साथ दिनेछे।” मैले ती सिस्टर हे ली रहेकी देखेँ, म धेरै खुसी भएँ! मलाई परमेश्‍वरले मेरो प्रार्थना सुन्नुभएछ भन्ने थाहा भयो। हे ली पनि मलाई देखेर खुसी भइन्। मलाई अङ्गालो हाल्दै उनले भनिन्, “मैले तपाईंलाई कुटेर नराम्रोसँग घाइते बनाइएको भन्ने सुनेँ, र म तपाईंलाई भेट्न चाहिरहेकी थिएँ, र आखिरमा अहिले मैले तपाईंलाई भेट्न पाएँ!” हे लीले हरेक दिन मन लगाएर मेरो हेरचाह गरिन्, मलाई व्यायाम गर्न मद्दत गरिन्, मसँग कुराकानी गरिन्, र उनी प्रायः मसँग परमेश्‍वरका वचनबारे सङ्गति गर्थिन्, मलाई प्रोत्साहन र सान्त्वना दिन्थिन्। समय बित्दै जाँदा, मेरो दिमागले प्रतिक्रिया दिन थाल्यो, र म उनीसँग कुराकानी गर्न सक्ने भएँ। एकदिन, मैले मेरा हातहरू हेर्दै हे लीलाई भनेँ, “मेरो अवस्था … कहिले … ठीक होला? के यो … ठीक … होला त?” त्यसपछि उनले मसँग सङ्गति गरिन्, “के परमेश्‍वरले यस्तो भन्नुभएको छैन र? ‘सर्वशक्तिमान्‌ परमेश्‍वर सर्व-शक्तिशाली वैद्य हुनुहुन्छ! बिमारीमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा बास गर्नु भनेको स्वस्थ हुनु हो। तँसँग अझै पनि एक सास बाँकी रहेसम्म, परमेश्‍वरले तँलाई मर्न दिनुहुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। ‘परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्‍वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्‍वरलाई इन्कार गर्नु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। हामी परमेश्‍वरका वचनअनुसार जिउनुपर्छ र निराश हुनु हुँदैन। परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र हामी रोगबाट निको हुने नहुने कुरा उहाँकै हातमा छ। हामीले गुनासो त पटक्कै गर्नु हुँदैन! त्यस्ता भयानक परीक्षाहरूमा पनि अय्यूबले कहिल्यै परमेश्‍वरमाथिको आस्था गुमाएनन्, त्यसैले हामीले पनि परमेश्‍वरका वचनमा विश्वास गर्नुपर्छ, र उहाँमा साँचो आस्था राख्नुपर्छ!” यो सुनेर म धेरै खुसी भएँ। मलाई लाग्यो परमेश्‍वरका वचन कति महान् छन्।

डिसेम्बर महिनातिर मलाई अलिक निको भयो। म आफ्ना खुट्टा धुँदै थिएँ, तब अचानक मैले आफ्नो दाहिने खुट्टा र पैताला सेतो भएका देखेँ। त्यो खुट्टाका नङहरू छ महिनादेखि बढेका थिएनन्। मैले यो कुरा पहिले कहिल्यै याद गरेकी थिइनँ। मैले सोचेँ, “मेरो हात र खुट्टा निको हुने कुनै सङ्केत छैन। यिनीहरूको हालत हेर्दा, म मर्छु भन्ने पक्का छ। म ४१ वर्षकी मात्रै भएँ। के म साँच्चै यसरी नै मर्छु त?” मेरो मन अलिक भारी भयो र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, म तपाईंमा आस्था राखेका कारण पक्राउ परेकी हुँ। यदि म मरेँ भने पनि, मलाई पछुतो हुनेछैन। यदि म बाँच्न पाएँ भने, म तपाईंमा विश्वास गरिरहनेछु!” मैले मनमनै रोकिँदै-रोकिँदै यी शब्दहरूद्वारा प्रार्थना गरेँ। प्रार्थना गरेपछि, मैले मेरो शरीरमा रगत सञ्चार तीव्र भएको महसुस गरेँ र मलाई अलिक गर्मी भयो। मैले यस्तो पहिले महसुस गरेकी थिइनँ। भोलिपल्ट, हे ली मलाई शौचालय जान मद्दत गरिरहेकी थिइन्, मैले म आफ्नो दाहिने खुट्टा अलिकति उचाल्न सक्ने भएकी पाएँ। त्यसअघि, म शौचालय जाँदा हरेक पटक हे लीले सँघारबाट मेरो खुट्टा तानेर कटाइदिनुपर्थ्यो। यस पटक, उनी निहुरिनै लागेकी थिइन्, तर उनले मेरो खुट्टा तान्नुअघि नै, म आफैँले उचाल्न सकेँ! हामीले यो देखेपछि, हामी दुवै धेरै खुसी भयौँ, र म परमेश्‍वरप्रति धेरै आभारी भएँ। डिसेम्बर २६ मा, मेरो उपचारको लागि जमानी स्वीकृत भयो। मैले यस्तो होला भनेर सोचेकी थिइनँ। त्यतिबेला, दुई जनालाई मात्र उपचारको लागि जमानीमा छोड्न मिल्थ्यो, तर जेलमा तीन जना गम्भीर बिरामीहरू थिए, त्यसैले मलाई छोडिएकोमा म छक्क परेँ। निरीक्षकले भन्यो, “चेन, तेरो लोग्ने तँलाई लिन आएको छ। तँ घर जान सक्छेस्। तैँले एक वर्षको सजाय घरमै काट्नेछस्। तँलाई सुसमाचार प्रचार गर्न अनुमति छैन र हामी तेरो स्थानीय सरकारलाई तँमाथि निगरानी राख्न खबर गर्नेछौँ।” म धेरै खुसी भएँ। सिन मिङ पनि मेरो लागि खुसी भइन्। उनले हतार-हतार मलाई मेरा सामानहरू प्याक गर्न मद्दत गरिन् र सहारा दिँदै गेट बाहिरसम्म ल्याइन्। मेरा श्रीमान्‌ले श्रम शिविरलाई २,००० युआन धरौटी बुझाएपछि बल्ल म यो धर्तीको नर्कबाट निस्कन सकेँ।

घर पुगेपछि म ओछ्यानमा पल्टिनुबाहेक केही गर्न सक्दिनथेँ। म मेरा हात-खुट्टा चलाउन सक्दिनथेँ। मलाई मेरो शरीरमा हड्डी नै नभएको जस्तो महसुस हुन्थ्यो। त्यो वर्ष घरमा साँच्चै गाह्रो थियो। हामीमाथि १०,००० युआनभन्दा बढी ऋण थियो। मेरो उपचारको जमानीको लागि पनि हामीले पैसा ऋण लिनुपरेको थियो। हामीसँग पैसा नभएकोले मैले कुनै उपचार पाउन सकिनँ। रोगले थलिएर बस्दा मलाई कहिलेकाहीँ पीडा हुन्थ्यो, तर मलाई यो परमेश्‍वरको हातमा छ र म निको हुने नहुने कुरा परमेश्‍वरमै निर्भर छ भन्ने थाहा थियो। परमेश्‍वर नै मेरो सबैभन्दा ठुलो सहारा हुनुहुन्छ। म प्रायः परमेश्‍वरलाई प्रार्थना गर्थेँ र बिस्तारै आत्मिक रूपमा बलियो हुँदै गएँ। त्यतिबेला म परमेश्‍वरका वचन पढ्नका लागि तडपिरहेकी थिएँ, तर चिनियाँ कम्युनिष्ट पार्टीले अझै पनि ममाथि निगरानी गरिरहेकोले, ब्रदर-सिस्टरहरू मसँग सम्पर्क गर्न सकिरहेका थिएनन्। मेरी आमा विश्वासी हुनुहुन्थ्यो, र उहाँले मलाई परमेश्‍वरका वचनको हस्तलिखित प्रतिलिपि ल्याइदिनुभयो। म धेरै खुसी भएँ र उहाँबाट त्यो छिट्टो लिएँ। मैले त्यो पटक-पटक पढेँ। म तीमध्ये केही पनि सम्झन सक्दिनथेँ, तर म बुझ्न सक्थेँ। मलाई धेरै आनन्द र शान्ति महसुस भयो र मैले आफू बाँच्छु कि मर्छु भन्ने बारे सोचिनँ। परमेश्‍वरका वचन पढ्न पाउँदासम्म, म सन्तुष्ट हुन्थेँ। दुई-तीन महिनापछि, कुनै औषधी नखाई वा सुई नलगाईकन नै, म सहारा लिएर लुलै भएपनि हिँड्न सक्ने भएँ, र म आफैँ खाना खान सक्ने भएँ।

सन् २००४ को एक दिन, मैले मेरो घर्रामा एउटा कागजको पोका देखेँ। जब मैले त्यो खोलेँ, मैले रिल जेलिएको एउटा क्यासेट देखेँ, र मनमनै सोचेँ, “के यो भजनको क्यासेट हो?” मैले मेरो छोरालाई त्यो सुलझाउन र प्लेयरमा हाल्न भनेँ, र अचम्मको कुरा, त्यो बज्न थाल्यो। परमेश्‍वरका वचनका भजनहरू बजिरहेको सुन्दा म धेरै उत्साहित भएँ! त्यसपछि, म हरेक दिन ती भजनहरू सुन्थेँ, बारम्बार सुनिरहन्थेँ, र हरेक पटक सुन्दा मेरो मन प्रफुल्लित हुन्थ्यो। विशेष गरी “विजेताहरूको गीत” सुन्दा मलाई गहिरो प्रेरणा मिल्थ्यो: “के तिमीहरूले तिमीहरूका लागि तयार पारिएका आशिष्‌हरू कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूले तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरू कहिल्यै पछ्याएका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारका शक्तिहरूको जकडलाई अवश्यै तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन अवश्यै गुमाउनेछैनौ। तिमीहरू अवश्यै यावत् थोकका मालिक बन्‍नेछौ। तिमीहरू अवश्यै शैतानको अघि विजेता बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको देशको पतन हुँदा, तिमीहरू मेरो विजयको प्रमाणका रूपमा दश हजारौँ मानिसमाझ अवश्यै उभिनेछौ। सिनिमको भूमिमा तिमीहरू अवश्यै दृढ र अटल हुनेछौ। तिमीहरूले सहने कष्टहरूका कारण, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र सम्पूर्ण ब्रह्माण्डभित्र मेरो महिमाको ज्योतिलाई अवश्यै चम्काउनेछौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १९)। मैले आखिरी दिनहरूमा परमेश्‍वरको काम भनेको ठूलो रातो अजिङ्गरको सतावट प्रयोग गरेर विजेताहरूको समूहलाई सिद्ध पार्नु हो भन्ने बुझेँ। मैले केही कष्टहरू भोगेकी र अपाङ्ग भएकी थिएँ, तर यो वातावरणमार्फत मेरो आस्था सिद्ध पारिएको थियो, र परमेश्‍वरका वचनको मार्गदर्शनका कारण म दृढ रहन सकेँ। म अपाङ्ग बनाइएपछि, मैले आफ्नो सम्झनाशक्ति मात्र गुमाइनँ, म आफ्नो हेरचाह आफैँ गर्न पनि सक्दिनथेँ। म बारम्बार नकारात्मक र कमजोर महसुस गर्थेँ, र केवल परमेश्‍वरले नै सिस्टरहरूलाई मसँग उहाँका वचनबारे बारम्बार सङ्गति गर्न लगाएर मद्दत गर्नुभयो, जसले गर्दा मैले यो कठिन परिस्थिति पार गर्ने आस्था पाएँ। यसले मलाई परमेश्‍वरका वचन ज्योति हुन् र तिनले जुनसुकै बेला पनि मानिसहरूका लागि अगाडिको बाटो उज्यालो पार्न सक्छन् र उनीहरूलाई पछ्याउने मार्ग दिन सक्छन् भन्ने देखायो। यो परिस्थितिबाट गुज्रँदा, मेरो देहले केही कष्ट भोगे पनि, मैले सत्यता बुझ्न सकेँ, परमेश्‍वरमा मेरो आस्था बढ्यो, र मैले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताबारे केही बुझाइ प्राप्त गरेँ। मेरो कष्ट कति अर्थपूर्ण भएको थियो! परमेश्‍वरका वचनले मलाई उत्प्रेरित गरे र मेरो अवस्था दिनप्रतिदिन सुध्रँदै गयो। मेरो सम्झनाशक्ति निकै फर्कियो र म स्पष्टसँग बोल्न सक्ने भएँ। सन् २००५ सम्ममा, म बिस्तारै हिँड्न सक्ने भएँ। त्यो वर्षको अन्त्यमा, म अर्को सहरमा मेरी बहिनीलाई भेट्न एक्लै रेल चढेर गएँ र मैले उनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको सुसमाचार प्रचार गरेँ। जब मेरा आफन्तहरूले म यस्तो राम्रोसँग निको भएको देखे, कतिपयले भने, “परमेश्‍वर साँच्चै हुनुहुँदो रहेछ!” कोहीले भने, “तिम्रा परमेश्‍वर साँच्चै सर्वशक्तिमान् हुनुहुँदो रहेछ!” मेरी दिदीकी सासूले पनि मेरो अनुभव सुनेपछि परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार स्वीकार गर्नुभयो। पछि मेरो अवस्था पूर्ण रूपमा निको भयो। मेरो खुट्टा अब लङ्गडो थिएन र म सामान्य मान्छे बनेँ। म यति छिटो निको भएकी देखेर मेरा वरपरका मानिसहरू छक्क परे। एकपटक, बाटोमा अचानक सिन मिङसँग मेरो भेट भयो, र म कति खुसी भएँ भनेर म शब्दमा व्यक्त गर्न सक्दिनथेँ। मैले उनलाई तुरुन्तै अङ्गालो हालेँ र हामी यति भावविह्वल भयौँ कि हामी रोयौँ। जब मैले सन् २०१८ मा फलो-अप जाँच गराएँ, डाक्टरले छक्क पार्दै लामो समयसम्म मेरो एक्सरे हेरे र मेरो टाउकोमा जमेको रगत जमेर कडा भइसकेको बताए। मेरो दिमागमा गम्भीर चोट लागेपछि जमेको त्यो रगत कुनै उपचार बिना नै आफैँ कडा हुनु साँच्चै एउटा चमत्कार थियो! जब मैले डाक्टरले यसो भनेको सुनेँ, मैले हृदयदेखि नै परमेश्‍वरलाई धन्यवाद दिएँ! म प्यारालाइसिस भएर मर्न लागेकी व्यक्तिबाट बिस्तारै निको भएर सामान्य मान्छे बनेँ—यो कसैले कल्पना पनि गर्न नसक्ने कुरा थियो।

यो अनुभव गरेपछि, मैले परमेश्‍वरले नै सबै थोकमाथि शासन गर्नुहुने र मानिसहरूको जीवन र मरण सबै उहाँकै हातमा रहेछ भन्ने देखेँ। जसरी परमेश्‍वर भन्नुहुन्छ: “मानिसको हृदय र आत्मा परमेश्‍वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यो सब कुरामा विश्‍वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्‍वरका विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्‍वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। यो विशेष अनुभव मार्फत परमेश्‍वरमाथिको मेरो आस्था धेरै बढ्यो। परमेश्‍वरले मलाई जीवनमा दोस्रो मौका दिनुभयो। भविष्यमा मैले जस्तोसुकै सतावट वा सङ्कष्टको सामना गर्नुपरे पनि, परमेश्‍वरलाई पछ्याउने मेरो आस्थामा म सधैँ अटल रहनेछु, र उहाँको प्रेम चुकाउन म आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नेछु।

अघिल्लो: २. कस्तो स्वभावले व्यक्तिलाई प्रतिवाद गर्न र बहाना बनाउन प्रेरित गर्छ?

अर्को: ६. एउटा भीषण आत्मिक लडाइँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्