४. कसरी आफ्ना छोराछोरीलाई स्वतन्त्र छाडिदिएर आफ्नो खुट्टामा उभिन सिकाउने
मैले मेरो बाल्यकाल आमासँग बिताएँ, उहाँकै छत्रछायाँमा हुर्के-बढेँ, र उहाँले मेरो र मेरा भाइ-बहिनीको जागिर, बिहे र जीवनका लागि कडा परिश्रम गरेको देखेँ। हाम्रो बिहे भएर छोराछोरी भइसक्दा पनि, उहाँ अझै पनि हाम्रा छोराछोरीको हेरचाहमा सघाउन धेरै समय र ऊर्जा खर्च गर्नुहुन्छ। मेरी सासू पनि यस्तै हुनुहुन्छ, उहाँले आफ्ना छोराछोरी हुर्काएको मात्र होइन, आफ्ना नातिनातिना पनि हुर्काउन मदत गरिरहनुभएको छ, जसले गर्दा उहाँलाई परिवारको आदर र वरपरका मानिसहरूको प्रशंसा पाइरहनुभएको छ। मलाई लाग्थ्यो यो आमाको जिम्मेवारी हो र मैले पनि यसको सिको गर्नुपर्छ। बिस्तारै, एक असल श्रीमती र मायालु आमा बन्ने मेरो लक्ष्य बन्यो।
सन् २००५ मा, मैले परमेश्वरको आखिरी दिनहरूको सुसमाचार स्वीकारेँ, र परमेश्वरका वचनबाट, मैले परमेश्वर देहधारी हुनुभएको छ र मानिसहरूलाई पापको मूल जड चिनाउन, आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र परमेश्वरको मुक्ति प्राप्त गर्नका लागि सत्यता व्यक्त गर्दै मानिसहरूलाई न्याय गर्न र शुद्ध गर्न आउनुभएको छ भन्ने कुरा थाहा पाएँ। म धेरै उत्साहित थिएँ। मैले परमेश्वरको आवाज नसुनेका र उहाँको सामु नआएका धेरै मानिसहरूलाई देखेँ, त्यसैले म पनि सुसमाचार प्रचार गर्ने काममा सहभागी भएँ। सन् २०१३ मा, सुसमाचार प्रचार गरिरहँदा एक जना दुष्ट व्यक्तिले मेरो बारेमा उजुरी गर्यो, त्यसैले म घर छोड्न र आफ्नो कर्तव्य निर्वाह गर्न अन्यत्र जान बाध्य भएँ।
पत्तै नपाई, पूरा एक दशक बितिसकेछ। सन् २०२३ को अप्रिलमा, म घर फर्किएँ, र मेरी छोरीको बिहे भइसकेको र उसको बच्चा पनि दुई महिनाभन्दा बढीको भइसकेको कुरा मैले आमाबाट थाहा पाएँ। म मेरी छोरी भएको सहरमा गएँ र अन्ततः उसलाई भेटेँ। मेरी छोरीले मलाई के सुनाई भने एकपटक ऊ नन्दसँग एउटै कोठामा सुतिरहेकी थिई, अनि निद्रामा उसले, “आमा… आमा…” भनेर बोलाइरहिछ। यो सुन्दा मेरो मुटु भक्कानियो। मेरी छोरी गर्भवती हुँदा र बच्चा जन्माउँदा, म उसको साथमा थिइनँ र मैले आमाको रूपमा आफ्नो जिम्मेवारी पूरा गरेकी थिइनँ। म त्यहीँ बसेर मेरी छोरीलाई सघाउन, उसलाई अझ बढी न्यानोपन र हेरचाह दिन, अनि उसप्रतिको मेरो ऋण तिर्न चाहन्थेँ। मेरा श्रीमान्ले पनि मलाई त्यहीँ बस्न कर गर्नुभयो। मैले मनमनै सोचेँ, “यदि मैले अर्कै कर्तव्य लिएँ र उनीहरूसँगै बस्न फर्किएँ भने, मैले मेरी छोरीलाई मदत गर्न सक्छु। मेरी छोरी कमजोर छे र उसले बच्चाको हेरचाह गर्न सक्दिन, अनि उसलाई मेरो मदत चाहिने सही समय यही हो।” त्यसैले म बस्ने कुरा विचार गर्न सहमत भएँ। तर पछि, सुसमाचार फैलाउनका लागि यो समय कति निर्णायक छ भन्ने मैले महसुस गरेँ। म एक मण्डली अगुवा थिएँ र मण्डलीमा सम्हाल्नुपर्ने धेरै काम थिए। तत्कालका लागि, मेरा कर्तव्य सम्हाल्ने कोही पनि भेटिएन, त्यसैले यदि मैले मेरो परिवारको हेरचाह गर्न मण्डलीको कामलाई छोडेँ र बेवास्ता गरेँ भने, त्यो परमेश्वरको अभिप्रायअनुरूप हुनेथिएन। एकातिर मण्डलीको काम थियो भने अर्कोतिर मेरी छोरीको कठिनाइ। मलाई के रोज्ने भन्ने केही थाहा थिएन। म गहिरो दुविधामा परेँ। त्यसैले उनीहरूसँग हुँदा मैले सकेजति सहयोग गर्ने निर्णय गरेँ। घरधन्दा गर्दा र बच्चाको हेरचाह गर्दा म मेरी छोरीसँग सङ्गति गर्न परमेश्वरका वचनका खण्डहरू खोज्थेँ, र राति दूध तताउन र नातिनीलाई खुवाउन म उठ्थेँ। हरेक रात म राम्ररी सुत्न पाउँदिनथेँ, र कहिलेकाहीँ त यति थाक्थेँ कि पसिनाले निथ्रुक्क भिज्थेँ, र ढाड र कम्मर दुखेर हैरान हुन्थेँ, तैपनि मैले गर्नुपर्ने यही हो भन्ने सोचेर म सन्तुष्ट हुन्थेँ। समय बित्दै गयो, र मलाई पत्तै नभई, मेरो जाने समय आयो। म बस्न चाहे पनि, आफ्नो कर्तव्यको बारेमा सोचेर म हिँडिहालेँ। पछि, आफ्नो कर्तव्य निर्वाह गरिरहँदा पनि, म मेरी छोरीको हेरचाह गर्न फर्कने बारेमा सोचिरहन्थेँ। ममा मेरो कर्तव्यप्रतिको बोझको बोध खासै थिएन, र जब मैले फलोअप गर्नुपर्ने काम र मेरा ब्रदर-सिस्टरहरूका समस्याहरू देख्थेँ, तब म साधारण सङ्गति मात्र गर्थेँ र उनीहरूका समस्याहरूलाई चासो दिएर साँचो रूपमा समाधान गर्दिनथेँ। मलाई मेरो कर्तव्यमा मेरो सट्टामा काम गर्ने उपयुक्त व्यक्ति चाँडै खोज्न पनि मन लाग्थ्यो ताकि मैले फर्कने र मेरी छोरीको हेरचाह गर्ने मौका पाऊँ। कर्तव्यमा म उदासीन स्थितिमा भएकीले, मैले सुसमाचार वा मलजल गर्ने काममा समयमै फलोअप गरिरहेकी थिइनँ, जसले गर्दा काममा ढिलाइ भइरहेको थियो। माथिल्लो तहका अगुवाहरूले मेरा समस्याहरू औँल्याए र ममा मेरो कर्तव्यप्रतिको बोझको बोध नभएको कुरा बताए। हालसालै म कसरी मेरी छोरीप्रतिको दोषीभाव लिएर जिइरहेकी थिएँ, र ममा कामको फलोअप गर्ने कुनै उत्प्रेरणा थिएन, अनि यिनै कुराहरूले काममा असर पारिरहेका थिए भन्नेबारे मैले चिन्तन गरेँ। मलाई एकदमै पीडा भयो। मेरो स्थितिमा केही गडबडी छ भन्ने मैले महसुस गरेँ, त्यसैले म तुरुन्तै प्रार्थनामा परमेश्वरका सामु आएँ। मैले आफ्ना स्नेहबाट बाहिर निस्कन र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सकूँ भनेर परमेश्वरलाई अगुवाइ माग्दै प्रार्थना गरेँ।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “मानौँ, तिमीहरूमध्ये एकजनाले यसो भन्थ्यो रे: ‘म मेरा छोराछोरीलाई कहिल्यै त्याग्न सक्दिनँ। उनीहरू कमजोरै जन्मिए, र जन्मजात रूपमै कायर र डरपोक छन्। उनीहरूमा खासै राम्रो क्षमता पनि छैन र उनीहरू समाजमा सधैँ अरू मानिसहरूको हेपाइमा पर्छन्। म उनीहरूलाई त्याग्न सक्दिनँ।’ तैँले छोराछोरी त्याग्न नसक्नुको अर्थ तैँले उनीहरूप्रति तेरा जिम्मेवारीहरू पूरा गरेको छैनस् भन्ने होइन, त्यो त तेरो भावनाहरूको प्रभाव मात्र हो। तैँले यसो भन्न सक्छस्: ‘म मेरा छोराछोरीले राम्रा खाइरहेका छन् कि छैनन्, वा उनीहरूमा पेटसम्बन्धी कुनै समस्या पो छ कि भनेर सधैँ चिन्ता र सोचविचार गरिरहन्छु। यदि उनीहरूले उचित समयमा खाना खाएनन् र दीर्घकालीन रूपमा बाहिरबाट खाना मगाइरहे भने, कतै उनीहरूलाई पेटसम्बन्धी समस्या हुने त होइन? के उनीहरूलाई कुनै प्रकारको रोग लाग्ने त होइन? अनि यदि उनीहरू बिरामी परे भने, के उनीहरूलाई हेरचाह गर्ने र प्रेम देखाउने कोही हुनेछ? के उनीहरूका जहानहरूले उनीहरूप्रति सरोकार देखाउँदै उनीहरूको हेरचाह गर्नेछन्?’ तेरा चिन्ताहरू तेरा छोराछोरीप्रतिका तेरा स्नेह र रगतको नाताबाट उत्पन्न हुन्छन्, तर यी तेरा जिम्मेवारीहरू होइनन्। परमेश्वरले आमाबुबालाई दिनुभएका जिम्मेवारीहरू त छोराछोरी वयस्कतामा पुग्नुपहिले उनीहरूलाई हुर्काउने र हेरचाह गर्ने जिम्मेवारीहरू मात्र हुन्। छोराछोरी वयस्क बनेपछि, आमाबुबामा आफ्ना छोराछोरीप्रति कुनै जिम्मेवारीहरू बाँकी हुँदैनन्। यो आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारीहरूलाई परमेश्वरको पूर्वनिर्धारणको दृष्टिकोणबाट हेरिएको हो। यो कुरो बुझिस्? (बुझेँ।) तेरा भावनाहरू जति गहन भए पनि, वा तेरा आमाबुबावाल प्रवृत्ति जतिखेर देखा परे पनि, यो जिम्मेवारीहरू पूरा गर्नु होइन, यो तेरो भावनाको प्रभाव मात्र हो। तेरा भावनाका प्रभावहरू मानवताको समझ, वा परमेश्वरले मान्छेलाई सिकाउनुभएका सिद्धान्तहरू, वा सत्यताप्रतिको मान्छेको समर्पणमा आधारित हुँदैन, र ती निश्चय नै मान्छेका जिम्मेवारीहरूमा आधारित हुँदैन, बरु ती त मान्छेका भावनाहरूबाट आउँछन्—तिनलाई भावना भनिन्छ। … तँ बस तेरा भावनाहरूमा मात्र जिउँछस्, भावनाहरूकै आधारमा छोराछोरीसँग कुरा गर्छस्, तर परमेश्वरले दिनुभएको आमाबुबावाल जिम्मेवारीहरूको परिभाषा अपनाउँदैनस्। तँ परमेश्वरका वचनअनुसार जिइरहेको छैनस्, तँ यी सबै कुराहरूलाई खालि आफ्नो भावनाअनुसार अनुभूति गर्ने, हेर्ने र सम्हाल्ने काम मात्र गरिरहेको छस्। यसको मतलब तैँले परमेश्वरको मार्ग पछ्याइरहेको छैनस्। यो प्रस्टै छ। परमेश्वरले तँलाई सिकाउनुभएझैँ, तेरा आमाबुबावाल जिम्मेवारीहरू तेरा छोराछोरी वयस्कतामा पुग्नेबित्तिकै समाप्त भए। के परमेश्वरले तँलाई सिकाउनुभएको अभ्यासको यो विधि सहज र सरल छैन र? (छ।) यदि तैँले परमेश्वरका वचनअनुसार अभ्यास गरिस् भने, तँ अर्थहीन अभ्यासमा लागिरहेको हुनेछैनस्, र तैँले छोराछोरीलाई निश्चित मात्रामा स्वतन्त्रता र आफ्नो विकास गर्ने मौका दिइरहेको हुनेछस्, र उनीहरूको लागि कुनै थप कष्ट वा चिन्ता सिर्जना गर्नेछैनस् वा उनीहरूमाथि थप बोझ थोपर्नेछैनस्। अनि, उनीहरू वयस्क भएकाले, त्यसो गर्दा, यसले उनीहरूलाई यो संसारलाई, उनीहरूको जीवनलाई र उनीहरूको दैनिक जीवन र अस्तित्वमा आइपर्ने विविध समस्याहरूलाई वयस्क व्यक्तिको दृष्टिकोणद्वारा, परिस्थितिहरू सम्हाल्ने र हेर्ने वयस्क व्यक्तिका आफ्नै विधिहरूद्वारा, र वयस्क व्यक्तिको स्वतन्त्र विश्व दृष्टिकोणद्वारा सामना गर्ने मौका दिनेछ। यी तेरा छोराछोरीका स्वतन्त्रता र अधिकारहरू हुन्, र त्योभन्दा पनि बढी, यी तेरा वयस्क छोराछोरीले गर्नुपर्ने कामहरू हुन्, र यी कुराहरूको तँसित कुनै सम्बन्ध छैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। “आमाबुबाहरू छोराछोरीका सुसारे वा दास होइनन्। छोराछोरीप्रति आमाबुबासँग जे-जस्ता अपेक्षाहरू भए पनि, तिनीहरूले छोराछोरीलाई आमाबुबामाथि स्वेच्छाचारीतापूर्वक पारितोषिकबिना खटनपटन गर्ने अनुमति दिनु हुँदैन, तिनीहरूले छोराछोरीको नोकर, नोकर्नी, वा दास-दासी बन्नु जरूरी छैन। छोराछोरीप्रति तँसँग जे-जस्ता अपेक्षाहरू भए पनि, तँ अझै पनि स्वतन्त्र व्यक्ति नै होस्। उनीहरू तेरा छोराछोरी भएकै कारण, तैँले उनीहरूको वयस्क जीवनको जिम्मेवारी लिनु हुँदैन, र त्यसो गर्नु पूर्णतया ठिक हो नै जस्तो गर्नु हुँदैन। त्यसो गर्नुपर्ने कुनै आवश्यकता छैन। उनीहरू वयस्क भइसकेका छन्; तैँले उनीहरूलाई हुर्काउने जिम्मेवारी पहिल्यै पूरा गरेको छस्। भविष्यमा उनीहरूको जीवन राम्रो होला वा नराम्रो, उनीहरू सम्पन्न बन्लान् वा गरिब, र उनीहरूको जीवन खुसीपूर्ण होला वा खुसीहीन, त्यो उनीहरूको कुरा हो। यी कुराहरूको तँसित कुनै सम्बन्ध छैन। आमाबुबाको नाताले, तँसित ती कुराहरू परिवर्तन गर्ने कुनै दायित्व छैन। … छोराछोरी वयस्कतामा पुगेपछि, आमाबुबाले उनीहरूको जागिर, करियर, परिवार वा विवाह राम्रो गरी चल्छ चल्दैन भन्ने कुराको जिम्मेवारी आफूमाथि राख्नु हुँदैन। तैँले यी कुराहरूबारे चिन्ता लिन र सोधपुछ गर्न सक्छस्, तर तैँले यी कुराहरूको पूर्ण जिम्मेवारी लिने, छोराछोरीलाई सधैँ आफूसँगै बाँधेर राख्ने, आफूसँगसँगै लैजाने, र आफू जहाँ गए पनि उनीहरूको निगरानी गर्ने गर्नु जरुरी छैन, र तैँले उनीहरूबारे यस्तो सोच्नु आवश्यक छैन: ‘के आज उनीहरूले राम्ररी खाइरहेका छन्? के उनीहरू खुसी छन्? के उनीहरूको काम राम्रै भइरहेको छ? के उनीहरूको मालिकले उनीहरूको प्रशंसा गर्छ? के उनीहरूको जहानले उनीहरूलाई प्रेम गर्छ? के उनीहरूका छोराछोरी आज्ञाकारी छन्? के उनीहरूका छोराछोरीले राम्रो ग्रेड ल्याउँछन्?’ यी कुराहरूको तँसित के सम्बन्ध छ? तेरा छोराछोरीले उनीहरूका समस्याहरू आफै समाधान गर्न सक्छन्, तँ संलग्न हुनै पर्दैन। अनि, मैले यी कुराहरूको तँसित के सम्बन्ध छ भनेर सोध्नुको कारण के हो? यसमार्फत मैले भन्न खोजेको यो हो कि यी कुराहरूको तँसित कुनै सम्बन्ध छैन। तैँले आफ्ना छोराछोरीप्रति तेरा जिम्मेवारीहरू पूरा गरेको छस्, तैँले उनीहरूलाई वयस्कतासम्म हुर्काएको छस्, त्यसैले तँ पछि हट्नुपर्छ। तर तँ पछि हटेपछि, त्यसको अर्थ तैँले केही पनि गर्नुपर्नेछैन भन्ने होइन। तैँले गर्नुपर्ने कामहरू अझै थुप्रै छन्। तैँले यो जुनीमा पूरा गर्नुपर्ने मिसनहरूको कुरा आउँदा, तैँले छोराछोरीलाई वयस्कतासम्म हुर्काउनुबाहेक, तैँले पूरा गर्नुपर्ने अरू मिसनहरू पनि छन्। आफ्ना छोराछोरीको आमाबुबा हुनुबाहेक, तँ एक सृष्टि गरिएको प्राणी पनि होस्। तँ परमेश्वरसामु आउनुपर्छ, र तैँले उहाँले दिनुभएको कर्तव्य स्विकार्नुपर्छ। अनि, तेरो कर्तव्य के हो? के तैँले त्यो पूरा गरेको छस्? के तैँले आफूलाई त्यसप्रति समर्पित गरेको छस्? के तँ मुक्तिको मार्गमा लागेको छस्? तैँले सोच्नुपर्ने कुराहरू यिनै हुन्। जहाँसम्म वयस्क बनेपछि तेरा छोराछोरी कहाँ जानेछन्, उनीहरूको जीवन कस्तो हुनेछ, उनीहरूका परिस्थितिहरू कस्ता हुनेछन्, उनीहरू खुसी र प्रसन्न हुनेछन् कि छैनन् भन्ने कुरा छ, यी कुराहरूको तँसित कुनै सम्बन्ध छैन। तेरा छोराछोरी बाह्य र मानसिक दुवै रूपले स्वतन्त्र भइसकेका छन्। तैँले उनीहरूलाई स्वतन्त्र हुन दिनुपर्छ, उनीहरूलाई छोडिदिनुपर्छ, र नियन्त्रणमा राख्न खोज्नु हुँदैन। चाहे त्यो कामकुराको बाहिरी पाटोको सन्दर्भमा होस्, वा स्नेह वा दैहिक नाता सम्बन्धहरूको सन्दर्भमा होस्, तैँले तेरा जिम्मेवारीहरू पूरा गरिसकेको छस्, तँ र तेरा छोराछोरीबीच कुनै सम्बन्ध बाँकी छैन। … अनि, जब तेरा छोराछोरी स्वतन्त्र हुन्छन्, त्यसको अर्थ तैँले उनीहरूप्रति तेरा सबै जिम्मेवारीहरू पूरा गरेको छस् भन्ने हुन्छ। त्यसैले, परिस्थितिले साथ दिँदा, तैँले छोराछोरीको लागि जे गरे पनि, तैँले उनीहरूप्रति चासो र ध्यान दिए पनि नदिए पनि, त्यो स्नेह मात्र हो, र त्यो अनावश्यक छ। अथवा यदि तेरा छोराछोरीले तँलाई केही गर्न अनुरोध गर्छन् भने, त्यो पनि अनावश्यक कुरा हो, त्यो तैँले गर्नैपर्ने कर्तव्य होइन। तैँले यो कुरा बुझ्नु पर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्वरका वचनको प्रकाशमा मैले आत्मचिन्तन गरेँ। जब मेरा छोराछोरीको कुरा आउँथ्यो, तब म अझै पनि आफ्नै स्नेहमा भर पर्थेँ, र म कामकुरालाई परमेश्वरका वचनअनुसार हेर्दिनथेँ। परमेश्वर भन्नुहुन्छ, आमाबुबाको जिम्मेवारी छोराछोरी वयस्क नहुन्जेल लालनपालन र हेरचाह गर्ने दायित्व पूरा गर्नु मात्र हो, तर जब छोराछोरी हुर्कन्छन् र वयस्क हुन्छन्, तब आमाबुबाको जिम्मेवारी पूरा हुन्छ। तर मैले भने आमाबुबाले सधैँ आफ्ना छोराछोरीको हेरचाह गर्नुपर्छ, र उनीहरूलाई कठिनाइ पर्दा, सधैँ उनीहरूको साथमा रहेर समस्या समाधान गर्न मद्दत गर्नुपर्छ, जसले गर्दा उनीहरूले न्यानोपन र खुसी महसुस गर्न सकून् भन्ने गलत सोचेकी थिएँ। मलाई लाग्थ्यो एक सक्षम आमाले गर्नुपर्ने काम यही हो। विशेष गरी, मेरी छोरीको बिहे हुँदा वा बच्चा जन्माउँदा म उसको साथमा थिइनँ भन्ने सोच आउँदा, र मैले दिन चाहेको हेरचाह उसले नपाएको कुरा सम्झँदा, मलाई मेरी छोरीप्रतिको ग्लानि बोध हुन्थ्यो र म उसको हेरचाह गर्न बस्न चाहन्थेँ। यो गलत दृष्टिकोणमा जिउँदा, मैले कामकुरालाई विवेकपूर्ण रूपमा हेर्न सकिनँ। मेरी छोरी वयस्क भइसकेकी थिई, तैपनि म अझै उसको हेरचाह गर्न चाहन्थेँ। मैले उसँगै बस्न र उसको हेरचाह गर्न सकूँ भनेर आफ्नो कर्तव्य मिलाउने बारेमा समेत सोचेकी थिएँ। यसले गर्दा म कर्तव्यमा टोलाएर केवल झारा टारिरहेकी थिएँ, र कतिपय काममा, अगुवाहरूले मलाई बारम्बार सम्झाउनुपर्थ्यो र घच्घच्याउनुपर्थ्यो, जसले काममा असर पारेको थियो। म सधैँ मेरी छोरीसँग सम्बन्धित सबै कुराको जिम्मा लिन चाहन्थेँ, र मेरो मद्दतविना उसले जीवन धान्न सक्दिन भन्ने सोच्थेँ। म केवल अत्यधिक भावुक भइरहेकी थिएँ, र मैले कामकुरालाई परमेश्वरका वचनका आधारमा हेर्न सकिरहेकी थिइनँ। अब मैले के बुझेँ भने मेरा जिम्मेवारीहरू पूरा भइसकेका थिए। मेरी छोरी ३२ वर्षकी भइसकेकी थिई, र ऊ एक वयस्क, आफ्नै विचार भएकी परिपक्व महिला थिई, जो आफ्नो जीवन आफै जिउन पूर्ण रूपमा सक्षम थिई। उसले पनि छोराछोरी हुर्काउँदाको दुःखकष्ट अनुभव गर्नुपर्छ। अझ भन्नुपर्दा, म उसको नि:शुल्क आया त होइन नि। मेरा सबै समय र ऊर्जा छोरीमा खर्च गर्नु मूर्खता हुनेथियो। वास्तवमा, छोराछोरीलाई केही कठिनाइ हुनु नराम्रो कुरा होइन। यो उनीहरूका लागि राम्रो हो। मैले मेरी छोरीलाई स्वतन्त्र छाडेर खुल्ला रूपमा बढ्न दिन सिक्नुपर्थ्यो। फर्केर सोच्दा, सानैदेखि मैले मेरी छोरीको धेरै ख्याल राखेकी थिएँ। पढाइमा ध्यान देओस् भनेर मैले उसलाई कुनै पनि घरधन्दा गर्न दिइनँ, र ठूली भइसक्दा ऊ अझै पनि राम्ररी खाना पकाउन जान्दिनथी। यसपटक फर्कंदा, मैले मेरी छोरीले कुखुराको सुप बनाउन सिकेको, र विभिन्न दैनिक कामहरू सम्हाल्न सिक्न थालेको देखेँ। यदि म घरमा भएको भए, मैले सबै कुरा आफै गर्ने थिएँ, र मेरी छोरीको कुनै पनि तरिकाले विकास हुनेथिएन। एक आमाको रूपमा, मैले मेरी छोरीलाई स्वतन्त्र छाडेर बढ्ने र विकास हुने अवसर दिन सिक्नुपर्थ्यो। म एक सृजित प्राणी हुँ, मेरो बच्चाको नौकर होइन, र मैले पूरा गर्नुपर्ने आफ्नै मिसन छ। मैले सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ र मुक्ति प्राप्त गर्न सत्यता पछ्याउनुपर्छ।
आफ्ना गलत विचार र दृष्टिकोणहरूबारे सचेत भएपछि, मैले सोच्न थालेँ, “‘असल श्रीमती र मायालु आमा’ बन्ने गलत दृष्टिकोण कहाँबाट आयो?” मैले परमेश्वरका वचनको यो खण्ड देखेँ: “यस वास्तविक समाजमा जिउने मानिसहरू शैतानद्वारा गहिरोसित भ्रष्ट पारिएका हुन्छन्। तिनीहरू शिक्षित भए पनि वा नभए पनि, तिनीहरूका विचार र दृष्टिकोणहरूमा परम्परागत संस्कृतिबाट आएका धेरै कुराहरू रहेका हुन्छन्। विशेषतः महिलाहरूले आफ्ना श्रीमान्को ख्याल गर्नुपर्ने र आफ्ना सन्तानलाई हुर्काउनुपर्ने, र उनीहरू असल श्रीमती र मायालु आमा बन्नुपर्ने, आफ्नो सारा जीवन आफ्ना श्रीमान् र सन्तानलाई समर्पित गर्नुपर्ने अनि उनीहरूका लागि जिउनुपर्ने हुन्छ। उनीहरूले घरायसी कामहरू सबै उचित तरिकाले सम्हाल्नुपर्छ, जस्तै परिवारको दैनिक खाना, धुने र सफा गर्ने काम। यो नै असल श्रीमती र मायालु आमा हुनुको स्वीकार्य मानक हो। हरेक महिलाले पनि आफूले यही गर्नुपर्छ, र यदि आफूले त्यसो नगरे आफू असल नारी होइँदैन, र आफूले आफ्नो विवेक र नैतिकताको यो परम्परागत मानक उल्लङ्घन गरेको हुन्छ भनेर सोच्छे। कतिपय मानिसहरू यो नैतिक मानक उल्लङ्घन गर्नुलाई आफ्नो विवेकसँग मिलाउन सक्दैनन्; तिनीहरूलाई आफूले श्रीमान् र सन्तानप्रति गलत गरेको, आफू असल नारी नभएको भन्ने लाग्नेछ। तर जब तैँले परमेश्वरमा विश्वास गर्छस्, उहाँका धेरै वचनहरू पढ्छस्, केही सत्यताहरू बुझ्छस्, र केही मामिलाहरू छर्लङ्गै बुझ्छस्, तब तैँले सोच्नेछेस्, ‘म एक सृजित प्राणी हुँ र मैले एक सृजित प्राणीको कर्तव्य निर्वाह गर्नुपर्छ, र परमेश्वरप्रति आफूलाई समर्पित गर्नुपर्छ।’ यस बेला, असल श्रीमती र मायालु आमा हुनु, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुबीच कुनै द्वन्द्व छ? यदि तँ असल श्रीमती र मायालु आमा हुन चाहन्छेस् भने, तँ पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनस्, तर यदि तँ पूर्णकालीन कर्तव्य निर्वाह चाहन्छेस् भने, तँ असल श्रीमती र मायालु आमा बन्न सक्दिनस्। अब के गर्छेस्? यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउन र मण्डलीको कामका लागि जिम्मेवार बन्न, र परमेश्वरप्रति अर्पित हुन रोज्छस् भने, तैँले असल श्रीमती र मायालु आमा हुन छोड्नैपर्ने हुन्छ। अब तँ के सोच्नेछेस्? तेरो मनभित्र कस्तो किसिमको अस्थिरता हुनेछ? के तँलाई आफूले आफ्नो सन्तान र श्रीमान्लाई निराश बनाएको महसुस हुनेछ? यो दोषीपन र असहजताको बोध कहाँबाट आउँछ? तैँले सृजित प्राणीको कर्तव्य पूरा नगर्दा, के तैँले परमेश्वरलाई निराश बनाएको छु भन्ने महसुस गर्छस्? तँमा दोषीपन वा धिक्कारको बोध हुँदैन किनकि तेरो मनमस्तिष्कमा सत्यताको नामनिसान केही छैन। त्यसैले, तँ के बुझ्छेस्? परम्परागत संस्कृति—असल श्रीमती र मायालु आमा बन्नुपर्ने कुरा। त्यसैले तेरो दिमागमा ‘यदि म असल श्रीमती र मायालु आमा होइन भने, असल वा सुशील नारी होइन’ भन्ने धारणा पलाउँछ। त्यसपछि तँ यो धारणाद्वारा बाँधिनेछेस् र जकडिनेछेस्, अनि तैँले परमेश्वरमा विश्वास गरेपछि र आफ्नो कर्तव्य निर्वाह गरेपछि पनि तँ त्यसरी नै बाँधिएकी र जकडिएकी हुनेछेस्। जब आफ्नो कर्तव्य निर्वाह गर्ने अनि असल श्रीमती र मायालु आमा बन्ने कुराबीच द्वन्द्व हुन्छ, तब तैँले सायद मन नलागी-नलागी आफ्नो कर्तव्य निर्वाह गर्न वा परमेश्वरप्रति थोरै अर्पण देखाउन रोज्छेस्, तैपनि तेरो हृदयमा अझै पनि असहजताको अनुभूति र थोरै धिक्कार हुनेछ। तसर्थ, जब तँसँग कर्तव्य निर्वाह गर्ने क्रममा अलिअलि खालि समय हुन्छ, तब तँ आफ्ना सन्तान र श्रीमान्को हेरचाह गर्ने मौका खोज्नेछेस्, उनीहरूका लागि झन् बढी गर्न चाहनेछेस्, र अझ बढी कष्ट भोग्नुपरे पनि मनको शान्ति मिलेसम्म यसो गर्नु ठिकै हुन्छ भनी सोच्नेछेस्। के यो असल श्रीमती र मायालु आमा बन्ने परम्परागत संस्कृतिको विचार र सिद्धान्तले ल्याएको होइन र? अब तैँले दुइटा डुङ्गामा खुट्टा हालेकी छस्, अर्थात् तँ आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न पनि चाहन्छेस् अनि असल श्रीमती र मायालु आमा बन्न पनि चाहन्छेस्। तर परमेश्वरसामु हाम्रो एउटा मात्र जिम्मेवारी र दायित्व, एउटा मात्र मिशन छ: सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्नु। के तैँले यो कर्तव्य राम्रोसँग पूरा गरेकी छस्? तँ किन फेरि मार्गबाट तर्किस्? के तँलाई हृदयमा साँच्चै दोषी र ग्लानि महसुस हुँदैन? किनकि तेरो हृदयमा सत्यताले अझै पनि जग बसालेको छैन, र त्यसमा सत्यताले अझै शासन गर्दैन, त्यसैले तँ आफ्नो कर्तव्य निर्वाह गर्दा बाटो बिराउन सक्छस्। अहिले तँ आफ्नो कर्तव्य पूरा गर्न सक्षम भए पनि, वास्तवमा अझै सत्यताका मानक र परमेश्वरका मागहरूभन्दा धेरै टाढा छस्। के तँ यो तथ्य अहिले स्पष्टसँग देख्न सक्छेस्? परमेश्वरले ‘परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ’ भनेर भन्नुहुँदा, यसको अर्थ के हुन्छ? यसको अर्थ सबैलाई यो कुरा बोध गराउनु हो: हाम्रो जीवन र आत्मा सबै परमेश्वरबाट आउँछन्; र ती उहाँद्वारा सृष्टि गरिएका थिए—ती हाम्रा बुबाआमाबाट आउँदैनन्, र प्रकृतिबाट त झन् ती पक्कै आउँदैनन्, ती त हामीलाई परमेश्वरले दिनुभएको हो; यति मात्र हो कि हाम्रो देहको जन्म हाम्रा बुबाआमाबाट भएको हुन्छ, र हाम्रा छोराछोरी हामीबाट जन्मेका हुन्छन्, तर उनीहरूको भाग्य पूर्ण रूपमा परमेश्वरको हातमा हुन्छ। हामीले परमेश्वरमा विश्वास गर्न सक्नु त उहाँद्वारा दिइएको अवसर हो; यसलाई परमेश्वरले नै तोक्नुभएको हो, र यो उहाँको अनुग्रह हो। त्यसकारण, तैँले अरू कसैप्रति आफ्नो दायित्व वा जिम्मेवारी पूरा गर्न आवश्यक छैन; तैँले सृजित प्राणीका रूपमा आफूले परमेश्वरप्रति पूरा गर्नुपर्ने कर्तव्य मात्र पूरा गर्नुपर्छ। मानिसहरूले अरू कुनै पनि कुराभन्दा माथि राखेर गर्नुपर्ने काम यही हो, र यो मानिसहरूले आफ्नो जीवनमा सबैभन्दा पूरा गर्नैपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दिनस् भने, तँ मानकअनुरूपको सृजित प्राणी होइनस्। अरूको नजरमा, तँ सायद असल श्रीमती र मायालु आमा, सक्षम गृहिणी, आमाबुबाभक्त छोरी, र समाजकी असल सदस्य होलिस्, तर परमेश्वरसामु, तँ उहाँविरुद्ध विद्रोह गर्ने, परमेश्वरमा विश्वास गर्ने तर सृजित प्राणीको कर्तव्य र दायित्व पूरा नगर्ने, परमेश्वरमा विश्वास गर्ने तर सत्यता नपछ्याउने, साँचो रूपमा परमेश्वरप्रति समर्पित नहुने व्यक्ति होस्, र तँलाई खुलासा गरेर हटाइनेछ। के यस्तो व्यक्तिले परमेश्वरको अनुमोदन पाउन सक्छ? यस्ता मानिसहरू रद्दी हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनको खुलासाद्वारा, मैले मेरा समस्याहरूबारे चिन्तन गरेँ। चिनियाँ कम्युनिष्ट पार्टीको सतावटका कारण मैले मेरी छोरीको हेरचाह गर्न सकेकी थिइनँ, किनकि मैले आफ्नो कर्तव्य निर्वाह गर्न घर छाड्नुपरेको थियो, त्यसैले म छोरीप्रतिको दोषीभावको स्थितिमा जिएकी थिएँ। सत्य कुरा के थियो भने म परम्परागत संस्कृतिबाट प्रभावित भएकी थिएँ। एउटी महिलाले आफ्नो जीवन श्रीमान् र छोराछोरीको वरिपरि केन्द्रित गर्नुपर्छ, र उनीहरूको दैनिक खानपिन, र दैनिक जीवन तथा दिनचर्याको राम्रो ख्याल गर्नुपर्छ भन्ने मलाई लागेको थियो। मैले आफ्ना छोराछोरीको अर्को पुस्तालाई पनि हुर्काउने र राम्रो हेरचाह गर्ने बारेमा समेत सोचेकी थिएँ, र मेरा जिम्मेवारीहरू पूरा गर्नुको अर्थ यही हो, नत्र म असल महिला नभएको भन्दै आलोचित हुनेछु भन्ने मलाई लाग्थ्यो। “असल श्रीमती र मायालु आमा हुनु” नै एउटी महिलाको नैतिक आचरण मापन गर्ने पुस्तौँदेखिको मानक थियो। त्यसैले जब मेरी छोरीको बिहे भयो र बच्चा जन्मियो, तब मैले स्वभाविक रूपमा के सोचेकी थिएँ भने मैले उसको बच्चा हुर्काउनुपर्छ, र मैले उनीहरूको गाँस, बास, कपास र हिँडडुलको ख्याल गर्नुपर्छ, ताकि मेरी छोरीले आमाको लालनपालन र हेरचाहको आनन्द लिन सकोस्, र खुसी महसुस गर्न सकोस्। आमाको रूपमा मेरो जिम्मेवारी पूरा गर्नुको अर्थ यही हो भन्ने मलाई लागेको थियो। जब मेरी छोरीले यी कुराहरूको आनन्द लिन पाइन, तब मलाई ऊप्रतिको दोषी महसुस भयो, त्यसैले मैले अर्कै कर्तव्यमा फेरबदल भई मेरी छोरीको अझ बढी हेरचाह गर्न फर्कन मन गरेँ। मैले आफ्नो कर्तव्य पूरा गर्ने उत्प्रेरणासमेत गुमाइसकेकी थिएँ। मैले आफू परमेश्वरप्रति बफादार वा समर्पित नरहेको, र मेरो हृदयमा मेरो परिवार र छोरीको स्थान परमेश्वरको भन्दा माथि रहेको देखेँ। म कसरी आफूलाई विश्वासी भन्न सक्थेँ? अहिले सोच्दा, यदि मैले छोरीको हेरचाह गरेँ भने पनि, यदि मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सकिनँ, सत्यता पछ्याउन मसँग समय वा जाँगर भएन, र मेरा दिनहरू दैहिक भावनाहरूमा जिउनमै बित्यो भने, अन्तमा, म एक फलहीन जीवन जिएर मर्ने थिएँ। यस्तो जीवनको के मूल्य वा अर्थ हुन्छ र? परमेश्वर नै हुनुहुन्छ जसले मलाई जीवन दिनुभयो र मलाई परिवार र छोरीको सुख दिनुभयो। परमेश्वर नै हुनुहुन्छ जसले ममाथि अनुग्रह गर्नुभयो र मलाई उहाँको आवाज सुन्न दिनुभयो, जसले मलाई सत्यता बुझ्ने, कसरी आचरण गर्ने भनेर जान्ने, र सबै प्रकारका व्यक्ति, घटना, र कामकुराहरू खुट्याउने क्षमता दिनुभयो, र उहाँको आशा यही थियो कि म चाँडै शैतानका बन्धन र भ्रष्टताबाट मुक्त हुन सकूँ, सत्यता प्राप्त गर्न सकूँ, र अन्ततः मुक्ति पाउन सकूँ। तर मैले परमेश्वरको श्रमसाध्य प्रयास र अभिप्राय बुझिनँ। मैले सधैँ मेरी छोरी र मेरो परिवारको हितबारे सोचेँ, र मैले मण्डलीको कामलाई विचार गरिनँ। म आफ्नै स्नेहमा जिएँ; ममा मेरो कर्तव्यप्रतिको बोझको बोध थिएन, र मलाई परमेश्वरप्रति केही ऋणी छु भन्ने महसुस भएन। ममा साँच्चै कुनै विवेक वा समझ थिएन, र म मानव कहलाइन लायक थिइनँ! म शैतानका परम्परागत विचारहरूद्वारा धेरै गहिरो रूपमा विषाक्त भएकी थिएँ। सत्यताविना, म साँच्चै दयनीय थिएँ!
पछि, परमेश्वरका वचनबाट, मैले वयस्क छोराछोरीलाई व्यवहार गर्ने अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि आमाबुबाले छोराछोरीको लागि सधैँ सबथोक गर्न र तिनीहरूको कठिनाइको मूल्य तिर्न चाहन्छन्, र स्वेच्छाले तिनीहरूका दास-दासी बन्छन् भने, के यो अतिशय होइन र? यो अनावश्यक कुरा हो किनभने यो आमाबुबाप्रति गरिने अपेक्षाभन्दा बाहिरको कुरा हो। … हरव्यक्तिको नियति परमेश्वरले निर्धारण गर्नुहुन्छ; त्यसकारण, तिनीहरूले जीवनमा कति आशिष् वा दुःख भोग्छन्, तिनीहरूले कस्तो परिवार, विवाह र छोराछोरी पाउँछन्, तिनीहरू समाजमा कस्ता अनुभवहरूमार्फत गुज्रन्छन्, र तिनीहरूले जीवनमा कस्ता घटनाहरू अनुभव गर्छन्, त्यस्ता कुराहरू तिनीहरू आफैले पूर्वानुमान गर्न वा बदल्न सक्दैनन्, र ती कुराहरू बदल्ने गर्ने क्षमता आमाबुबामा त झनै कम हुन्छ। त्यसकारण, यदि बच्चाहरूले कुनै कठिनाइहरू सामना गर्छन् भने, आमाबुबाले क्षमता भए सकारात्मक र सक्रिय रूपमा मद्दत गर्नुपर्छ। यदि क्षमता नभए, शान्त भएर तिनीहरूले यी मामलाहरूलाई सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट हेर्दै छोराछोरीलाई सृष्टि गरिएको प्राणीको रूपमा समान व्यवहार गर्नु नै उत्तम हुन्छ। तैँले भोग्ने दुःख तिनीहरूले पनि भोग्नैपर्छ; तैँले जिउने जीवन तिनीहरूले पनि जिउनैपर्छ; तँ साना बच्चाहरू हुर्काउने जुन प्रक्रियामार्फत गुज्रिस्, तिनीहरू पनि त्यही प्रक्रियामार्फत गुज्रिनुपर्नेछ; तैँले समाज र मानिसहरूमाझ अनुभव गर्ने अनपेक्षित घटनाहरू, छलकपट र धोका, संवेगात्मक उल्झनहरू, पारस्परिक द्वन्द्वहरू, र तैँले भोगेका हरेक उही कुराहरू तिनीहरूले पनि भोग्नु नै पर्नेछ। तँजस्तै तिनीहरू पनि भ्रष्ट मानवजाति नै हुन्, तिनीहरू सबै दुष्टताको बहकाइमा परेका र सैतानद्वारा भ्रष्ट पारिएका मानवजाति नै हुन्; त्यसबाट उम्कन तँ पनि सक्दैनस्, र तिनीहरू पनि सक्दैनन्। त्यसकारण, तिनीहरूलाई सबै दुःखबाट जोगिन र संसारका सबै आशिष्हरूको आनन्द लिन मद्दत गर्न चाहनु हास्यास्पद भ्रम र मूर्ख विचार हो। चिलका पखेटाहरू जति नै ठूला भए पनि, त्यसले त्यसको बचेरालाई जीवनभर सुरक्षा दिन सक्दैन। बचेरा अन्ततः हुर्केर एक्लै उड्नैपर्छ। जब त्यो बचेरा एक्लै उड्न थाल्छ, त्यो आकाशमा कहाँसम्म पुग्नेछ वा कतातिर उड्नेछ भन्ने कुरा कसैलाई थाहा हुँदैन। त्यसकारण, आमाबुबाले लिनुपर्ने सबैभन्दा तर्कसङ्गत मनोवृत्ति भनेको छोराछोरी हुर्केपछि तिनीहरूलाई जान दिनु, तिनीहरूलाई आफै जीवन अनुभव गर्न दिनु, अनि तिनीहरूलाई स्वतन्त्र रूपमा जिउन र जीवनका विविध चुनौतीहरू आफै सामना गर्न, सम्हाल्न र समाधान गर्न दिनु हो। यदि तिनीहरूले तँबाट मद्दत लिन खोज्छन् र तँसित तिनीहरूलाई मद्दत गर्ने क्षमता र अवस्था छ भने, अवश्य नै तैँले सहयोगी हात फैलाउन र आवश्यक सहयोग दिन सक्छस्। तथापि, तैँले एउटा तथ्य बुझ्नैपर्छ: तैँले जस्तोसुकै मद्दत गरे पनि, चाहे त्यो आर्थिक होस् वा मनोवैज्ञानिक, त्यो अस्थायी मात्र हुन सक्छ र त्यसले कुनै पनि सारभूत समस्याहरू समाधान गर्न सक्दैन। तिनीहरूले जीवनको मार्ग आफै खोज्नुपर्छ, र तँसित तिनीहरूको कुनै पनि कामकाज वा परिणामको जिम्मेवारी वहन गर्नुपर्ने कुनै दायित्व छैन। आफ्ना वयस्क छोराछोरीप्रति आमाबुबामा हुनुपर्ने मनोवृत्ति नै यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। “यदि तँ आफ्नो समय, शक्ति र मनलाई सत्यता र सिद्धान्तहरूमा मात्र लगाउँछस् भने, र यदि तँ कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने, र कसरी परमेश्वरसामु आउने भन्नेजस्ता सकारात्मक कुराहरूबारे मात्र सोच्छस् भने, र यदि तँ आफ्नो शक्ति र समयलाई यी सकारात्मक कुराहरूमा अर्पित गर्छस् भने, तैँले प्राप्त गर्ने कुरा फरक हुनेछ। यसरी तैँले प्राप्त गरेको कुरा सबैभन्दा तात्त्विक लाभ हुनेछ। अनि, तैँले कसरी जिउने, आफूलाई कसरी आचरणमा ढाल्ने, हर प्रकारको व्यक्ति, घटना र कामकुरालाई कसरी सामना गर्ने भनी जान्नेछस्। जब तैँले हर प्रकारको व्यक्ति, घटना र कामकुरालाई सामना गर्न जानेको हुन्छस्, तब धेरै हदसम्म यसले तँलाई स्वाभाविक रूपमै परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्षम तुल्याउनेछ। जब तँ स्वाभाविक रूपमै परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छस्, तब थाहै नपाई, तँ परमेश्वरले स्विकार्नुहुने र प्रेम गर्नुहुने व्यक्ति बन्नेछस्। यसबारे सोच् त, के त्यो राम्रो कुरा होइन र? सायद तँलाई अझै यो कुरा थाहा छैन होला, तर आफ्नो जीवन जिउने, र परमेश्वरका वचन र सत्यता सिद्धान्तहरू स्विकार्ने क्रममा, तँ अनजानमै परमेश्वरका वचनअनुसार जीवन जिउनेछस्, मानिसहरू र कामकुराहरूलाई हेर्नेछस्, र आफूलाई आचरणमा ढाल्नेछस् र कार्य गर्नेछस्। यसको मतलब, तँ अचेतन रूपमै परमेश्वरका वचनप्रति समर्पित हुनेछस्, उहाँका मागहरूप्रति समर्पित हुनेछस् र ती माग पूरा गर्नेछस्। त्यसपछि तँ थाहै नपाई परमेश्वरले स्वीकार, भरोसा र प्रेम गर्नुहुने व्यक्ति बनिसकेको हुनेछस्। के त्यो सानदार कुरो होइन र? (हो।) त्यसकारण, यदि तैँले आफ्नो शक्ति र समयलाई सत्यता पछ्याउन र कर्तव्य राम्ररी निभाउनमा अर्पित गर्छस् भने, तैँले अन्त्यमा सबैभन्दा मूल्यवान् कुराहरू प्राप्त गर्नेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्वरका वचनबाट, मैले वयस्क छोराछोरीलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने बुझेँ। हरेकको भाग्य परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणद्वारा तय हुन्छ, र छोराछोरीले जीवनमा अनुभव गर्ने कष्ट र आशिष्हरू सबै परमेश्वरद्वारा नै बन्दोबस्त गरिएका हुन्छन्, र यो आमाबुबाले परिवर्तन गर्न सक्ने कुरा होइन। आमाबुबाका रूपमा, हामीले आफ्ना छोराछोरीलाई परमेश्वरका वचनअनुसार व्यवहार गर्नुपर्छ। जस्तो कि परमेश्वरले भन्नुभयो, हामी शैतानद्वारा भ्रष्ट पारिएको संसारमा जन्मिएका छौँ, र अरूमाझ रहँदा हुने अस्तव्यस्तता, उल्झन र जटिलताहरूको सामना गर्छौं, र हामी जीवनका सबै तीतोपन र मीठापन अनुभव गर्छौं। छोराछोरीले पनि यी कुराहरू भोग्नुपर्छ र विभिन्न कठिनाइहरूको सामना गर्न सिक्नुपर्छ। र यदि हाम्रा छोराछोरीलाई साँच्चै हाम्रो मद्दत चाहिन्छ भने, हामीले आफ्नो क्षमताको दायराभित्र रहेर उनीहरूलाई मद्दत गर्नुपर्छ, चाहे त्यो उनीहरूको विचारलाई मार्गदर्शन गर्ने होस् वा आर्थिक सहयोग गर्ने होस्। यदि हामीसँग समय छ भने, हामी उनीहरूका छोराछोरीको हेरचाह गर्न मद्दत गर्न सक्छौं, तर समय नभए, हामीले आफूलाई बाध्य पार्नु हुँदैन। हामीसँग अझै पनि पूरा गर्नुपर्ने आफ्नै कर्तव्यहरू छन्, र, सृजित प्राणीका रूपमा, हामीले सुसमाचारको कामका लागि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
सन् २०२४ को जुन महिनामा, म केही काम मिलाउन घर गएँ। मैले छोरीको काममा सबथोक राम्रो भइरहेको छैन, परिवारमा ठूलो आर्थिक समस्या छ, र ऊ व्यवसाय सुरु गर्न चाहन्छे भन्ने थाहा पाएँ। मेरो ज्वाइँले अर्को सहरमा जागिर पाउनुभएको थियो तर उहाँसँग बस्ने ठाउँ थिएन। उनीहरू कष्टमा पर्लान् भनेर म चिन्तित थिएँ, त्यसैले मैले उनीहरूका कठिनाइहरू समाधान गर्ने उपायहरू खोज्ने बारे सोच्न थालेँ। तर मेरी छोरीले भनी, “तपाईंले मेरो चिन्ता लिनुपर्दैन। म आफ्ना समस्याहरू आफै समाधान गर्ने केही उपाय निकाल्नेछु।” मेरी छोरीले यसो भनेको सुन्दा, मलाई अलिकति लाज लाग्यो, र मैले परमेश्वरले भनेको कुरा सम्झेँ: “तैँले भोग्ने दुःख तिनीहरूले पनि भोग्नैपर्छ; तैँले जिउने जीवन तिनीहरूले पनि जिउनैपर्छ; … तिनीहरूलाई सबै दुःखबाट जोगिन र संसारका सबै आशिष्हरूको आनन्द लिन मद्दत गर्न चाहनु हास्यास्पद भ्रम र मूर्ख विचार हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। हो, ऊ हुर्किसकेकी थिई र आत्मनिर्भर भइसकेकी थिई, र मैले अब उसको जीवनमा दखल दिनु हुँदैनथ्यो। मैले उसलाई स्वतन्त्र छाडेर कामकुरा आफै सम्हाल्न दिनुपर्थ्यो। यी कुराहरू सोच्दा, मलाई शान्तिको अनुभूत भयो। मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ र उसको चिन्ता गर्न छाड्नुपर्छ। कहिलेकाहीँ म अझै पनि मेरी छोरीका कठिनाइहरूबारे सोच्छु, तर मलाई मेरो हृदयमा थाहा छ, यो उसले अनुभव गर्नुपर्ने कुरा हो, र मैले आफ्नो हृदय आफ्नो कर्तव्यमा समर्पित गर्नुपर्छ। जब मैले यसरी अभ्यास गरेँ, तब मैले आफ्नो हृदयमा छुटकारा र स्वतन्त्रताको अनुभूति गरेँ।