३७. मैले मेरा दमनकारी भावनाहरूलाई कसरी जितेँ
सन् २०२३ को डिसेम्बरमा, म जिल्ला अगुवाको रूपमा चुनिएँ। हरेक दिन, अनुगमन र कार्यान्वयन गर्नुपर्ने धेरै कामहरू हुन्थे। सुरुमा, मेरो मानसिकता निकै राम्रो थियो। ममा धेरै कुराको कमी छ भन्ने मलाई थाहा थियो, त्यसैले अघि बढ्ने मार्गहरू खोज्न मैले माथिका अगुवाहरूबाट आएका मार्गदर्शन पत्रहरू पढ्नमा ध्यान केन्द्रित गरेँ। मैले मेरा सहकर्मीहरूसँग पनि मामिलाहरूबारे छलफल र कुराकानी गरेँ, अनि बिस्तारै, मैले कामको अनुगमन कसरी गर्ने भनेर सिकेँ। केही दिनपछि, मेरा सहकर्मीहरूले महिनाको अन्त्यमा हामीले कामको रिपोर्ट लेख्नुपर्छ भने। रिपोर्ट गर्नुपर्ने कुराहरू धेरै छन् भन्ने तत्कालै स्पष्ट भयो, जस्तै हरेक कामको प्रगति र तिनमा कुनै समस्या वा विचलनहरू छन् कि छैनन्, साथै ब्रदर-सिस्टरहरूको कर्तव्यमा भएका कमीकमजोरी र कठिनाइहरू अनि उनीहरूको स्थिति कस्तो छ भन्ने कुराहरू। हामीले यी सबै र अन्य कुराहरूलाई जाँच गर्न र तीबारे स्पष्टता प्राप्त गर्न आवश्यक थियो। हामीले कार्ययोजना र समाधानहरू पनि लेख्नुपर्ने थियो। मलाई अचानक साँच्चै झर्को लाग्न थाल्यो, अनि मैले सोचेँ, “कामको रिपोर्टमा यति धेरै साना-साना कुराहरू समावेश गर्नुपर्छ; यसमा कति धेरै मिहिनेत र दिमाग लगाउनुपर्ने होला?” मैले जति धेरै पढेँ, म त्यति नै बढी भावाभिभूत भएँ। विशेष गरी जब मैले आफूलाई थाहा नभएका कामहरू र सम्बन्धित सिद्धान्तहरू अनि व्यावसायिक सीपहरू देखेँ, जसका बारेमा मैले समय र मिहिनेत लगाएर अध्ययन गर्नुपर्ने र आफूलाई परिचित गराउनुपर्ने हुन्थ्यो, तब मैले मनमनै सोचेँ, “मैले भर्खरै यो कर्तव्य सुरु गरेकी छु, त्यसैले मैले यो महिनाको कामको रिपोर्ट पूरा गर्न सकिनँ भने पनि, म मेरा सहकर्मीहरूको भर पर्न सक्छु। तर अर्को महिना, के मैले यो सबै आफैले सम्हाल्नु पर्नेछैन र? त्यसका लागि धेरै मिहिनेत चाहिन्छ र त्यो अत्यन्तै झन्झटिलो हुनेछ!” विगत केही दिनदेखि थुप्रिएको काम सम्झँदा मेरो दिमाग रन्थनियो, र म साँच्चै यो कर्तव्यबाट भाग्न चाहन्थेँ। यी विचारहरू परमेश्वरको अभिप्रायअनुरूप छैनन् भन्ने मलाई थाहा थियो, त्यसैले कसरी अगाडि बढ्ने भनेर सोच्दै गर्दा मैले परमेश्वरलाई प्रार्थना गरेँ। तर कहिलेकाहीँ, जब म मेरा सिस्टरहरूले काममा रहेका समस्याहरूबारे छलफल गरिरहेको सुन्थेँ, म जानीजानी हेडफोन लगाएर भजन सुन्थेँ र उनीहरूको छलफलमा सहभागी हुँदिनथेँ। यसो गर्दा, मैले समस्याहरू कसरी समाधान गर्ने भनेर सोच्नुपर्दैनथ्यो, वा चिन्ता लिएर आफैलाई थकाउनु पर्दैनथ्यो।
कामको अझ गहिराइमा पुगेपछि, मैले हरेक काममा धेरै साना-साना कुराहरू समावेश हुने रहेछन्, र समाधानहरू निर्धारण गर्न र राम्रो नतिजा हासिल गर्न ती सबैका बारेमा ध्यान दिएर सोच्नुपर्ने रहेछ भन्ने थाहा पाएँ। यो कार्यभार मेरो अघिल्लो, एउटा मात्र कामवाला कर्तव्यभन्दा धेरै ठूलो थियो, त्यसैले मैले धेरै प्रतिरोधी महसुस गरेँ, अनि सोचेँ, “आखिर म किन आफूलाई यति धेरै थकित बनाऊँ र यति धेरै चिन्ता लिऊँ? एउटा मात्र कामवाला कर्तव्य निर्वाह गर्न धेरै राम्रो हुन्थ्यो। त्यतिबेला, मैले हरेक दिन यति धेरै दबाब झेल्नु पर्दैनथ्यो!” म भौतिक सुखको जति धेरै लालसा गर्थेँ, अगुवा हुनु त्यति नै थकाइपूर्ण लाग्थ्यो। मलाई धेरै दबाइएको र समस्यामा परेको महसुस हुन्थ्यो, र म प्रायः खराब मुडमा हुन्थेँ। जब मेरा सहकर्मीहरूले मसँग कामको बारेमा छलफल गर्थे, म केवल छोटो र झाराटारुवा जवाफ दिन्थेँ, र त्यसपछि म एकोहोरो आफ्नै काममा मात्र ध्यान दिन्थेँ। मैले आफ्नो स्थिति सही नभएको महसुस गरेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म यो कर्तव्य कति सकसपूर्ण छ भनेर निरन्तर गुनासो गर्छु। म मेरो देहका लागि आराम खोज्छु र खुसीसाथ आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ। म यस स्थितिमा रहन चाहन्नँ। कृपया मेरो भ्रष्ट स्वभाव बुझ्न मलाई मार्गदर्शन गर्नुहोस्।” पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र मेरो स्थितिको बारेमा केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरू भन्छन्, ‘सबैले विश्वासीहरू स्वतन्त्र र मुक्त हुन्छन्, विश्वासीहरू विशेष रूपमा सुखद, शान्तिपूर्ण, र आनन्दमय जीवन जिउँछन् भनेर भन्छन्। म किन अरूजस्तो सुखद र शान्तिपूर्ण रूपमा जिउन सक्दिनँ? मलाई किन कुनै आनन्द महसुस हुँदैन? मलाई किन यति दबाब र थकित महसुस हुन्छ? कसरी अरू यति सुखी जीवन जिउँछन्? मेरो जीवन किन यति दुःखद छ?’ मलाई भन, यसको कारण के हो? केले तिनीहरूमा दबाब पैदा गरेको हुन्छ? (तिनीहरूको भौतिक शरीर सन्तुष्ट हुँदैन र तिनीहरूको देहले कष्ट भोगिरहेको हुन्छ।) व्यक्तिको भौतिक शरीरमा कष्ट हुँदा र यसमा केही गलत भएको अनुभव हुँदा, यदि यसलाई आफ्नो हृदय र मनमा स्विकार्न सके, के तिनीहरूले आफ्नो शारीरिक कष्ट ठूलो होइन रहेछ भन्ने अनुभव गर्दैनन् र? तिनीहरूले आफ्नो हृदय र मनमा सहजता, शान्ति, र आनन्द पाए भने, के तिनीहरूलाई अझै पनि दबाब महसुस हुन्छ र? (हुँदैन।) त्यसकारण, भौतिक कष्टले गर्दा दबाब पैदा हुन्छ भन्ने कुरा अमान्य छ। यदि चरम शारीरिक कष्टको कारण दबाब पैदा हुने हो भने, के तिमीहरूले कष्ट भोगिरहेका छैनौ र? के तिमीहरू आफ्नो मनखुसी गर्न नपाउँदा दबाब महसुस गर्छौ? के तिमीहरू आफूलाई जसरी मन लाग्यो त्यसरी गर्न नपाउँदा दबाबपूर्ण भावनाहरूको बन्धनमा पर्छौ? (पर्दैनौँ।) के तिमीहरू आफ्नो दैनिक कार्यमा व्यस्त छौ? (केही हदसम्म व्यस्त छौँ।) तिमीहरू बिहानदेखि साँझसम्म काम गर्नमै व्यस्त हुन्छौ। सुत्ने र खानेबाहेक, तिमीहरूले आफ्नो सारा दिन कम्प्युटरअगाडि बसेर, आँखा र मस्तिष्क थकाएर, अनि तन गलाएर बस्छौ, र पनि के तिमीहरूलाई दबाब महसुस हुन्छ र? के यो थकानले तँमा दबाब पैदा गर्छ त? (गर्दैन।) के कुराले मानिसहरूमा दबाब पैदा गर्छ? यो शारीरिक थकानले त पक्कै आउँदैन, त्यसोभए के कुराले यो पैदा गर्छ त? यदि मानिसहरूले निरन्तर शारीरिक सहजता र खुसी खोज्छन् भने, यदि तिनीहरू निरन्तर शारीरिक सुख र सहजताको पछि लाग्छन्, र कष्ट भोग्न चाहँदैनन् भने, थोरै शारीरिक कष्ट, अरूको भन्दा अलिक बढी कष्ट, वा सामान्यभन्दा अलिक बढी काम गर्नुपर्ने अवस्थाले पनि तिनीहरूलाई दबाब महसुस गराउँछ। यो दबाबको एउटा कारण हो। यदि मानिसहरू सानोतिनो शारीरिक कष्टलाई ठूलो मान्दैनन्, र शारीरिक सहजताको पछि लाग्दैनन्, बरु त्यसको साटो सत्यता पछ्याउँछन् र परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गर्छन् भने, तिनीहरूले प्राय शारीरिक कष्ट अनुभव गर्नेछैनन्। बेलाबेला तिनीहरूलाई व्यस्त, थकित, वा लखतरान भएको महसुस हुने भए पनि, सुतेपछि तिनीहरूलाई ठीक भइहाल्छ, र त्यसपछि तिनीहरू आफ्नो कार्य जारी राख्छन्। तिनीहरू आफ्नो कर्तव्य र काममा ध्यान केन्द्रित गर्छन्; तिनीहरू अलिअलि शारीरिक थकानलाई ठूलो कुरा ठान्दैनन्। तर जब मानिसहरूको सोचमै समस्या पैदा हुन्छ र जब तिनीहरू निरन्तर शारीरिक सहजताको पछि लाग्छन्, तब तिनीहरूको शरीरमा अलिकति समस्या हुँदा पनि वा सन्तुष्टि प्राप्त गर्न नसक्नेबित्तिकै, तिनीहरूमा निश्चित नकारात्मक संवेगहरू प्रकट हुन्छन्। अनि, यसरी सधैँ आफ्नो इच्छाअनुसार गर्न चाहने र आफ्नो देहमा लिप्त हुन र जीवनको आनन्द लिन चाहने यस्तो व्यक्ति असन्तुष्ट हुनेबित्तिकै, किन दबाबको यो नकारात्मक संवेगमा प्राय फसिरहन्छ? (किनभने ऊ सहजता र शारीरिक आनन्दको पछि लाग्छ।) कतिपय मानिसहरूको हकमा यो साँचो हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचनहरू पढेपछि, मैले म दैहिक आराम पछ्याइरहेकी छु र शारीरिक रूपमा असन्तुष्ट महसुस गरिरहेकी छु भन्ने थाहा पाएँ, त्यसैले म दमन र दिक्दारीका नकारात्मक भावनाहरूमा जिउँथेँ र आफ्नो कर्तव्यमा सधैँ हैरानी र झर्को मान्थेँ। पहिले, एउटा मात्र कामवाला कर्तव्य निर्वाह गर्दा, कामको भार त्यति गह्रौँ थिएन, र म त्यसमा सिपालु पनि थिएँ, त्यसैले मलाई आफू अत्यन्तै सहज अवस्थामा भएझैँ लाग्थ्यो। मेरो शरीरलाई थकाइ र हृदयलाई बोझ महसुस हुँदैनथ्यो। अब, एक अगुवाको रूपमा, मैले धेरै कामको जिम्मेवारी लिनुपर्थ्यो र अझ धेरै कुराको चिन्ता लिनुपर्थ्यो, अनि मैले ख्याल गर्नुपर्ने र समाधान गर्नुपर्ने समस्याहरू अझ धेरै थिए। धेरैजसो कामहरू मेरा लागि नयाँ थिए, र मलाई यी समस्याहरू कसरी समाधान गर्ने भनेर थाहा थिएन, त्यसैले मैले सुरुदेखि नै सिक्नुपर्थ्यो। यसले मलाई दमित र झर्को महसुस गरायो, र यो परिस्थितिबाट भाग्न उत्सुक बनायो। वास्तवमा, यदि मैले भौतिक आराम र सहजताको पछि लाग्नुको सट्टा आफ्नो कर्तव्यलाई प्राथमिकता दिएकी भए, मलाई थकित महसुस भए पनि, म त्यसलाई सामना गर्न सक्नेथिएँ। मैले मेरो सोचाइ बहकिरहेको रहेछ भन्ने महसुस गरेँ।
पछि, मैले मानिसहरू किन दमित महसुस गर्छन् भनी खुलासा गर्ने परमेश्वरका वचनहरू खोजेँ र ती पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरूलाई आफ्नो कर्तव्य पूरा गर्न र सत्यता सङ्गति गर्न पटक्कै मन लाग्दैन। तिनीहरूले मण्डली जीवन अपनाएका हुँदैनन्, तिनीहरूले यसलाई अपनाउन सक्दैनन्, र तिनीहरूलाई सधैँ निकै हैरान र विवश महसुस हुन्छ। म यस्ता मानिसहरूलाई यसो भन्छु: तँ तुरुन्तै गइहाल्। आफ्नै उद्देश्य र दिशा खोज्न बाहिरी संसारमा जा, र आफूले जिउनुपर्ने जीवन जिई। परमेश्वरको घरले कहिल्यै पनि कसैलाई जबरजस्ती गर्दैन। … यस्ता मानिसहरूले सधैँ दबाब महसुस गर्छन्। सरल भाषामा भन्दा, तिनीहरू आफ्नो देहमा लिप्त हुन र आफ्ना इच्छाहरू पूरा गर्न चाहन्छन्। तिनीहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरू आफ्नै आवेग र आफूले चाहेअनुसार सबै कुरा गर्न चाहन्छन्, नियम र सिद्धान्तहरूअनुसार काम गर्ने कार्यलाई बेवास्ता गर्छन्, आफ्नै भावना, रुचि र इच्छाहरूअनुसार काम गर्छन्, र आफ्नै हितहरूअनुसार व्यवहार गर्छन्। तिनीहरूमा सामान्य मानवताको कमी हुन्छ र यस्ता मानिसहरूले आफूले गर्नुपर्ने उचित काम गर्दैनन्। आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरूले आफूले गर्ने हरेक कुरामा, र जहाँ गए पनि दबाब महसुस गर्छन्। तिनीहरू एकलै बसे पनि, तिनीहरूलाई दबाब महसुस हुन्छ। यसलाई राम्ररी भन्दा, यी मानिसहरू आशाजनक व्यक्तिहरू होइनन् र तिनीहरूले आफूले गर्नुपर्ने उचित काम गर्दैनन्। सटीक रूपमा भन्दा, तिनीहरूको मानवता अस्वाभाविक हुन्छ, र तिनीहरू अलिक सरल सोचका हुन्छन्। के तिनीहरू आफूले गर्नुपर्ने उचित काम गर्ने मानिसहरू हुन् त? तिनीहरू गाँस, बास, कपास, र यातायातजस्ता आधारभूत आवश्यकताहरूलाई सरल तरिकाले लिने मानिसहरू हुन्। यी कुराहरू सामान्य मापदण्डअनुरूप छन् भने, तिनीहरूलाई त्यति नै पर्याप्त हुन्छ। तिनीहरूले आफ्नो जीवनको मार्ग, मानवको रूपमा आफ्नो मिसन, जीवनप्रतिको आफ्नो दृष्टिकोण र मूल्य-मान्यताहरूलाई नै बढी ध्यान दिन्छन्। आशाजनक नरहेका यस्ता मानिसहरूले सारा दिन केबारे सोचविचार गर्छन्? तिनीहरूले जिम्मेवारीबाट पन्छिन सधैँ कसरी काममा ठग्ने, कसरी चलाकी गर्ने, कसरी मीठो खाएर रमाइलो गर्ने, उचित मामलाहरूबारे विचार नगरी शारीरिक सहजता र आराममा कसरी जिउने भनेर सोचविचार गरिरहेका हुन्छन्। त्यसकारण, परमेश्वरको घरमा कर्तव्य पूरा गर्ने परिस्थिति र वातावरणमा तिनीहरूलाई दबाब महसुस हुन्छ। परमेश्वरको घरले मानिसहरूलाई कर्तव्यसँग सम्बन्धित आम किसिमका र व्यावसायिक ज्ञान सिक्न अनिवार्य गर्छ, ताकि तिनीहरूले आफ्नो काम राम्ररी गर्न सकून्। परमेश्वरको घरले मानिसहरूलाई निरन्तर परमेश्वरका वचनहरू खान-पिउन लगाउँछ, ताकि तिनीहरूले अझै राम्ररी सत्यता बुझ्न, सत्यता वास्तविकतामा प्रवेश गर्न, र हरेक कार्यका सिद्धान्तहरू जान्न सकून्। परमेश्वरको घरले सङ्गति गर्ने र बताउने यी सबै कुराहरू मानिसहरूको जीवन र तिनीहरूको कर्तव्यनिर्वाहनभित्रका विषयहरू, र व्यावहारिक कुराहरू, आदि इत्यादि कुरासँग सम्बन्धित हुन्छन्, र ती सबैको उद्देश्य मानिसहरूलाई आफूले गर्नुपर्ने उचित काम गर्न र सही मार्ग हिँड्न सहयोग गर्नु हो। आफूले गर्नुपर्ने उचित काम नगर्ने र आफ्नो इच्छाअनुसार हिँड्ने यी मानिसहरूले यी उचित कुराहरू गर्न चाहँदैनन्। आफूलाई जे मन लाग्यो त्यही गरेर तिनीहरूले हासिल गर्न चाहने अन्तिम उद्देश्य भनेको भौतिक आराम, सुख, र सहजता प्राप्त गर्नु, र कुनै पनि हालतमा बन्धन वा दोषमा नपर्नु हो। अनि, तिनीहरूले जे चाह्यो त्यो पर्याप्त रूपमा खान पाउनु, र आफूले चाहेको कुरा गर्न पाउनु हो। तिनीहरूको मानवताको गुणस्तर र तिनीहरूको भित्री खोजको कारण तिनीहरूले प्रायजसो दबाब महसुस गर्छन्। तिनीहरूसँग तैँले जेजसरी सत्यता सङ्गति गरे पनि, तिनीहरू परिवर्तन हुनेछैनन्, र तिनीहरूले महसुस गर्ने दबाब समाधान हुनेछैन। तिनीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्; तिनीहरू आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू हुन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचनहरू पढेपछि, मैले बल्ल महसुस गरेँ कि जो सधैँ आराममा लिप्त हुन्छन् र आफ्ना दैहिक चाहनाहरू पूरा गर्छन् तिनीहरू आफ्नो उचित काममा ध्यान दिइरहेका हुँदैनन् र तिनीहरू आशालाग्दा हुँदैनन्। त्यस्ता मानिसहरू केवल आफ्नै चाहनाअनुसार जिउन चाहन्छन्, तर जब उचित काम गर्ने कुरा आउँछ, तिनीहरू धूर्त्याइँ र अल्छी गर्छन्, अनि चिन्ता गर्नुपर्यो वा आफ्नो देहलाई बोझिलो बनाउनुपर्यो भने, तिनीहरू दमित र दुःखित महसुस गर्छन्। यी मानिसहरूमा विवेक र समझको कमी हुन्छ। मैले यो कुरालाई मध्यनजर गरेर मेरो हालसालैको स्थितिलाई हेरेँ। जब मैले हरेक दिन आफूले विभिन्न काममा भएका समस्या र कठिनाइहरूबारे सोच्नुपर्ने र तिनलाई समाधान गर्नुपर्ने, र यसका लागि निकै दिमागी कसरत चाहिने देखेँ, तब मैले अझ सजिलो र सरल कर्तव्यको कामना गर्न थालेँ ताकि मेरो शरीरलाई अझ बढी आराम मिलोस्। जब म मेरा सहकर्मीहरूले कामबारे छलफल गरिरहेको सुन्थेँ, म जानीजानी हेडफोन लगाएर भजन सुन्थेँ र छलफलमा सहभागी हुँदिनथेँ। जब मेरा सिस्टरहरू कामको समस्याबारे छलफल गर्न मकहाँ आउँथे, म त्यसमा संलग्न हुन चाहन्नथेँ र सकेसम्म उनीहरूबाट तर्किन्थेँ, र यदि म साँच्चै त्यसबाट पन्छिन सकिनँ भने, म छोटो र झाराटारुवा जवाफ मात्र दिन्थेँ, जसले गर्दा कामको कार्यान्वयनमा गल्तीहरू हुन्थे, र काम पुनः गर्नुपर्ने हुन्थ्यो। यी आफ्नो देहमा लिप्त हुनुका परिणाम थिए। मैले आफ्नो उचित काममा ध्यान दिने मानिसहरूबारे सोचेँ। जब उनीहरूको कर्तव्यले उनीहरूलाई चिन्ता लिन वा बोझ उठाउन, वा ज्ञान र व्यावसायिक सीपहरू सिक्न र तीद्वारा आफूलाई सुसज्जित गर्न माग गर्छ, तब उनीहरू खुसीसाथ आफ्नो समय र ऊर्जा लगाउँछन्, र परमेश्वरलाई सन्तुष्ट पार्नका लागि आफ्ना कर्तव्यहरू पूरा गर्न खोज्छन्। अर्कोतर्फ, म भने निरन्तर आराम र सहजताको पछि लाग्थेँ, र जब कर्तव्यहरूमा मैले चिन्ता लिनु वा बोझ उठाउनुपर्ने हुन्थ्यो, म प्रतिरोधी महसुस गर्थेँ र तीबाट पन्छिन्थेँ। परमेश्वरले मलाई अगुवा बन्ने अवसर दिएर अनुग्रह देखाउनुभएको थियो, र यसले मेरो जीवन वृद्धिमा फाइदा गरायो, किनभने अगुवा हुनका लागि व्यक्ति विभिन्न कामहरूमा संलग्न हुनुपर्ने र उसले आफूलाई सबै प्रकारका सिद्धान्तहरूले सुसज्जित गर्नुपर्ने हुन्छ, अनि कठिनाइहरू सामना गर्दा, उनीहरू सत्यता सिद्धान्तहरू खोज्न, अझ बढी प्रार्थना गर्न, र परमेश्वरमा अझ बढी भर पर्न बाध्य हुन्छन्। साथै, यसमा सान्दर्भिक व्यावसायिक सीप र ज्ञान सिक्ने, र व्यक्तिको बुझाइ र अनुभवको दायरा फराकिलो बनाउने कुरा समावेश हुन्छ, जसले उनीहरूलाई विभिन्न पक्षहरूमा तालिम लिन र अझ छिटो हुर्कन मद्दत गर्दछ। यदि कुनै व्यक्ति हुर्केर परमेश्वरको घरमा कामको जिम्मेवारी लिन सक्छ भने, ऊ काम लाग्ने व्यक्ति हो। तर म दैहिक आराममा लिप्त भइरहन्थेँ, शारीरिक सहजतामा रहन चाहन्थेँ, र कुनै पनि कुरामा कुनै मिहिनेत लगाउन वा सोच्न अनिच्छुक थिएँ। के म पूर्ण रूपमा बेकामे थिइनँ र? परमेश्वरले त्यस्ता मानिसहरू “आशा नभएका,” “असामान्य मानवता भएका,” र “मूर्ख” हुन् भन्नु अचम्मको कुरा थिएन। यो कुरा बुझेपछि, मैले म कति दयनीय तरिकाले जिइरहेकी रहेछु भन्ने कुरा देखेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र एउटा सङ्कल्प गरेँ, “हे परमेश्वर, म मेरो देहविरुद्ध विद्रोह गर्न र मेरा उचित कर्तव्यहरूमा ध्यान केन्द्रित गर्न तयार छु। मेरा कर्तव्यहरूमा, म सत्यता सिद्धान्तहरू खोज्नेछु र मेरा विभिन्न कमीकमजोरीहरू पूर्ति गर्न व्यावसायिक सीप र ज्ञान सिक्नेछु, अनि म तपाईँको घरमा काम लाग्ने व्यक्ति बन्न प्रयास गर्छु!” त्यसपछि, मेरो मानसिकता केही हदसम्म परिवर्तन भयो। आफ्नो कर्तव्य निर्वाह गर्ने मेरो स्थितिमा पनि उल्लेख्य सुधार आयो, र मलाई पहिलेको जस्तो दमित वा झर्को महसुस हुन छोड्यो। मैले हरेक दिन धेरै काम गर्नुपर्ने भए पनि, मैले सक्दो प्रयास गरेँ, र जब मलाई गर्न नआउने केही कुरा आइपर्थ्यो, म आफूलाई सान्दर्भिक सत्यता सिद्धान्तहरू साथै व्यावसायिक सीप र ज्ञानले सुसज्जित गर्थेँ। काममा समस्याहरू देख्दा, म तिनको कुरा उठाउँथेँ र मेरा सहकर्मीहरूसँग समाधानबारे छलफल गर्थेँ।
म मेरा दमनकारी भावनाहरू समाधान भएका छन् भन्ने सोच्थेँ। त्यो एक महिनापछिको एक दिनसम्मका लागि मात्र थियो, जब माथिका अगुवाहरूले एउटा पत्र पठाए। त्यसमा हाम्रो जिल्लाकी एउटी सिस्टर प्रहरीको निशानामा परेकी छिन् भनिएको थियो। प्रहरीले पक्राउका लागि यस व्यक्तिको नाम नै किटान गरेको थियो, र हामीले तुरुन्तै ती सिस्टरलाई खबर गरेर लुक्न भन्नुपर्ने थियो। त्यसपछि हामीले अर्को पत्र पायौँ। त्यसमा नजिकैका मण्डलीहरू चिनियाँ कम्युनिस्ट पार्टीद्वारा गरिएको समन्वयात्मक गिरफ्तारीमा परेका छन् भनिएको थियो। यसमा म जिम्मेवार रहेको क्षेत्रका धेरै ब्रदर-सिस्टरहरू मुछिएका थिए। यी दुईवटा समाचार सुनेपछि, मलाई अचानक टाउकोमाथि कालो बादलले थिचेझैँ महसुस भयो, र म फेरि एकपटक दमन र दुःखको स्थितिमा फसेँ। यी गिरफ्तारीहरूले मण्डलीको कामका विभिन्न पक्षहरूमा ठूला अवरोधहरू सिर्जना गरे, साथै धेरै मानिसले सुरक्षा जोखिमहरू सामना गरे र सामान्य तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न सकेनन्। मण्डलीको काम राम्ररी गर्नका लागि, मैले अझ बढी सोच र मिहिनेत लगाउनुपर्छ भन्ने मलाई थाहा थियो। यी कठिनाइहरूबारे सोच्दा, मैले अत्यधिक दबाब महसुस गरेँ, र विशेष गरी जब मैले काममा कहिल्यै पूर्ण रूपमा समाधान हुन नसक्ने जस्तो देखिने समस्याहरूको अनन्त शृङ्खला देखेँ, मलाई पक्षघात भएजस्तो महसुस भयो र ममा केही गर्ने प्रेरणा नै थिएन, तर लाचार भएर आफ्नो कामलाई निरन्तरता दिनुबाहेक मसँग अरू कुनै विकल्प थिएन। एकपटक, एउटी सहकर्मीले मलाई मैले एउटा पत्रको जवाफ दिएकी छैन भनेर सम्झाइन्, र मैले आफूलाई रोक्न सकिनँ र उनलाई झपार्दै भनेँ, “मैले जवाफ दिने समय पाएकै छैन!” यति भनेपछि, म आफ्ना कुण्ठाहरू आफ्नो कर्तव्यमाथि पोखिरहेकी रहेछु र यो पूर्ण रूपमा समझको कमी रहेछ भनेर मैले महसुस गरेँ। मैले अनिच्छापूर्वक त्यो पत्र निकालेँ र त्यसको जवाफ दिएँ। त्यसपछि, सबै काम थुप्रिएको हुनाले मैले झर्को मानेको र मेरा सिस्टरहरूसँग कठोर रूपमा बोलेको अरू केही घटनाहरू पनि थिए। मेरो आत्मचिन्तनमा, मैले मेरो देहको चिन्ता र पीडाका कारण म फेरि एकपटक दमनकारी भावनाहरूमा जिइरहेकी छु भन्ने महसुस गरेँ।
मैले परमेश्वरका वचनहरूका दुईवटा खण्ड पढेँ: “धेरै वर्षदेखि, आफ्नो अस्तित्वका निम्ति मानिसहरू जुन सोचहरूमा भर परेका छन् तिनले तिनीहरूका हृदयलाई यति हदसम्म क्षयीकृत गरेका छन् कि तिनीहरू छली, डरपोक र घृणास्पद बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्प नभएको मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने समेत बनेका छन्। तिनीहरूसँग स्वयम्लाई पार गर्ने सङ्कल्प छँदै छैन, र अझ बढी, यी अन्धकारका प्रभावहरूको बन्धनबाट मुक्त हुने अलिकति पनि साहस छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्वरमाथि विश्वास गर्नुपछाडिका तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित र सुन्न पनि नसकिने किसिमका छन्। मानिसहरू सबै डरपोक, शक्तिहीन, घृणास्पद र कमजोर हुन्छन्। तिनीहरू अन्धकारका शक्तिहरूलाई घृणा गर्दैनन् र ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु, तिनीहरू ज्योति र सत्यतालाई निष्कासित गर्ने भरमग्दुर प्रयास गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। “के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवम् थोरै दैहिक आराममा जिउनमै सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्ति देखेका तर त्यसलाई प्राप्त गर्नुको पछि नलाग्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? … म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्य पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै पछ्याइमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरू पढेपछि, मैले म किन शारीरिक सहजता र आराममा यति धेरै केन्द्रित भएँ भनेर चिन्तन गरेँ, र मैले म “जिउँदै हुँदा जीवनको आनन्द लिनुपर्छ,” र “आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ” जस्ता शैतानका अस्तित्वका नियमहरूद्वारा प्रभावित र विषाक्त भएकी हुनाले यसो भएको हो भन्ने देखेँ। मैले यी विचारहरूलाई हितोपदेशका रूपमा लिएँ। मेरो अल्छी प्रकृतिको साथसाथै, म बाल्यकालदेखि नै कष्ट र परिश्रमदेखि डराउने गरेकी थिएँ। मैले आराम र सहजताको जीवनलाई आफ्नो लक्ष्य बनाएकी थिएँ, र म ज्यादै थकाइ लाग्ने तरिकाले काम गर्न वा जिउन अनिच्छुक थिएँ। म आफूलाई ज्यादै दबाब दिन्नथेँ, चिन्तामुक्त भएर जिउन सकुन्जेल सन्तुष्ट महसुस गर्थेँ, अनि मैले पर्याप्त खानु, पिउनु र सुत्नुलाई नै आफ्नो दैनिक मुख्य लक्ष्य बनाएकी थिएँ। यो मनोवृत्ति मेरा कर्तव्यहरूमा पनि सरेको थियो। यसपटक, चिनियाँ कम्युनिस्ट पार्टीको गिरफ्तारीका कारण मण्डलीको कामका विभिन्न पक्षमा अवरोध पुगेको र मैले आफ्नो कर्तव्य पूरा गर्न बढी समय र मिहिनेत लगाउनुपरेको कारण, कठिनाइमा पर्दा म गुनासो नगरी र निचिच्याइ बस्नै सकिनँ। मैले एउटा मात्र कामवाला कर्तव्य सम्हालेका ती दिनहरूको तृष्णा गर्न थालेँ, र मैले परमेश्वरमाथिको मेरो विश्वास थोरै दिने तर ठूला आशिष्हरू प्राप्त गर्ने चाहनामा आधारित रहेछ भन्ने कुरा महसुस गरेँ। जब मेरो कर्तव्यमा धेरै समस्या र कठिनाइहरू हुन्थे, जसका लागि मैले कसरी सङ्गति गर्ने र तिनलाई कसरी समाधान गर्ने भनेर मनन गर्नुपर्थ्यो, र मैले शारीरिक चिन्ता र कष्ट सहनुपर्थ्यो, तब म प्रतिरोधी महसुस गर्थेँ र रिसाउँथेँ, यहाँसम्म कि म मेरा सहकर्मीहरूमाथि आफ्नो कुण्ठा पोख्थेँ। ममा साँच्चै मानवताको कमी थियो! म, एउटा सृजित प्राणीले आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा सही र उचित हो, र यो आफ्नै लागि असल कार्यहरू तयार गर्ने तरिका पनि हो। आफ्नो कर्तव्य निर्वाह गरेर र सत्यता पछ्याएर, म मेरा भ्रष्ट स्वभावहरू फाल्न र मुक्ति हासिल गर्न सक्छु। तैपनि मलाई अगुवा हुनुले मेरो शारीरिक आराममा बाधा पुर्याउँछ भन्ने लाग्थ्यो, त्यसैले म अविवेकी र अवज्ञाकारी रूपमा काम गर्थेँ। म साँच्चै समझविहीन थिएँ! मैले निरन्तर आफ्नो देहलाई सन्तुष्ट पार्न खोजेकी थिएँ, आफ्नो कर्तव्यप्रति बारम्बार प्रतिरोधी महसुस गरेकी थिएँ, आफ्नो कर्तव्यलाई झाराटारुवा तरिकाले सम्हालेकी थिएँ, मण्डलीको काममा अवरोध गरेकी र बाधा दिएकी थिएँ, अनि पटक-पटक अपराध गरेकी थिएँ।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “हरेक वयस्कले कष्ट, बिमारी, र विभिन्न कठिनाइहरू जस्ता जतिसुकै दबाब सामना गरे पनि, उसले एक वयस्कका जिम्मेवारीहरू वहन गर्नैपर्छ। यी सबैले अनुभव गर्नुपर्ने र सहनुपर्ने कुराहरू हुन्; एक सामान्य व्यक्तिको जीवन यस्तै हुन्छ। यदि तँ दबाब सहन, कष्ट भोग्न, वा झट्काहरू खप्न सक्दैनस् भने, यसको अर्थ तँसँग कुनै दृढता वा सङ्कल्प छैन, र तँ ज्यादै कमजोर र बेकम्मा छस् भन्ने हुन्छ। सबैले—चाहे समाजमा होस् वा परमेश्वरको घरमा—आफ्नो जीवनमा यो कष्ट सहनैपर्छ। यो हरेक वयस्कले वहन गर्नुपर्ने जिम्मेवारी हो, उसले काँधमा बोक्नुपर्ने बोझ हो, र योबाट कोही पनि उम्कन सक्दैन, त्यसैले तैँले यसबाट पन्छिने प्रयास गर्नु हुँदैन। … एकातिर, तैँले वयस्कहरूमा हुनुपर्ने र उनीहरूले लिनुपर्ने जिम्मेवारी र दायित्वहरू वहन गर्न सिक्नुपर्छ। अर्कोतिर, तैँले सामान्य मानवताभित्र आफ्नो बसाइ र कामको वातावरणमा अरूसँग मिलेर सह-अस्तित्वमा रहन सिक्नुपर्छ। आफूलाई जे मन लाग्यो त्यही मात्रै नगर्। मेलमिलापपूर्ण सह-अस्तित्वको उद्देश्य के हो? यसको उद्देश्य तैँले एक वयस्कका रूपमा पूरा गर्नुपर्ने काम, दायित्व र जिम्मेवारीहरू अझ राम्रोसँग सम्पन्न गर्नु हो। तैँले जुनसुकै काम वा जुनसुकै कर्तव्य निर्वाह गरे पनि, खतरा आइपर्दा, शैतानका शक्तिहरूको बाधा र क्षतिको सामना गर्दा, तँ हानिलाई न्यूनीकरण गर्न सक्षम हुनैपर्छ, ताकि तेरो काम र कर्तव्यका नतिजाहरू अलिक राम्रो होऊन्। सङ्कल्प भएको व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। यदि तँमा सामान्य मानवता छ भने, तैँले काम गर्दा यो पूरा गर्नुपर्छ। जहाँसम्म कामको दबाबको कुरा छ, चाहे त्यो माथिबाट आउने होस् वा परमेश्वरको घरबाट, वा यदि यो ब्रदर-सिस्टरहरूले तँलाई दिने दबाब होस्, यो तैँले सहनुपर्ने कुरा हो। तैँले यसो भन्न मिल्दैन, ‘म दबाबको कारणले यो गर्नेछैनँ। म त परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह र काम गर्ने क्रममा केवल फुर्सद, सहजता, खुसी र आराम खोजिरहेको छु।’ यस्तो गर्नु हुँदैन, र यो एक सामान्य वयस्कमा हुनुपर्ने सोचाइ होइन, र परमेश्वरको घर भनेको तँ आराममा लिप्त हुने ठाउँ होइन। हरेक व्यक्तिले आफ्नो जीवन र काममा निश्चित मात्रामा दबाब र जोखिम लिन्छ। कुनै पनि काममा, विशेष गरी परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा, तैँले सर्वोत्तम नतिजाहरूका लागि प्रयास लगाउनुपर्छ। बृहत् स्तरमा, यो परमेश्वरको शिक्षा र माग हो। सानो स्तरमा, यो हरेक व्यक्तिले आफ्नो आत्म-आचरण र कार्यहरूमा राख्नुपर्ने मनोवृत्ति, दृष्टिकोण, मानक र सिद्धान्त हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्वर भन्नुहुन्छ कि वयस्क बनेपछि व्यक्तिले एउटा वयस्कका जिम्मेवारी र दायित्वहरू वहन गर्नैपर्छ, र कठिनाइ र दबाबहरू चाहे जीवनमा आइपर्ने होऊन् वा आफ्नो कर्तव्यमा, ती एक वयस्कले सामना र वहन गर्नुपर्ने कुरा हुन्, टार्ने वा पन्छाउने कुरा होइनन्। परमेश्वरको घरमा, जो निष्कपट भई आफ्नो कर्तव्य निर्वाह गर्छन्, कामको दबाब वा आफ्नो देहलाई दुःख हुने कठिनाइहरू सामना गर्दा, उनीहरूसँग परमेश्वरलाई सन्तुष्ट पार्ने हृदय हुन्छ। उनीहरू परमेश्वरलाई प्रार्थना गर्न, सत्यता खोज्न र आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्छन्; उनीहरू आफ्नो कर्तव्यमा गम्भीर र व्यावहारिक हुन्छन्, र उनीहरू उत्कृष्ट नतिजा हासिल गर्ने प्रयास गर्छन्। त्यस्ता मानिसमा जिम्मेवारीको बोध हुन्छ र उनीहरू परमेश्वरको अभिप्रायअनुरूप हुन्छन्। तर म अल्छी, महत्त्वाकाङ्क्षाहीन र पतित सोचहरू बोकेर जिइरहेकी थिएँ। म कुनै पनि कष्ट सहन असमर्थ थिएँ, र बिलकुलै केही पनि बन्न नसक्ने दिशातर्फ अघि बढिरहेकी थिएँ। सिधै भन्नुपर्दा, म बेकामे थिएँ र व्यक्ति कहलिन समेत योग्य थिइनँ। वास्तवमा, दैहिक कष्ट हुनु र केही दबाब सहनु राम्रो कुरा हो, किनकि यसले मलाई दबाब दिएर सत्यता मनन गर्नमा अझ बढी मिहिनेत गराउन सक्छ, जसले मेरो जीवन वृद्धिलाई फाइदा पुर्याउँछ। हुन त ममा धेरै कमीकमजोरीहरू छन् र म अझै पनि कतिपय जटिल समस्याहरू समाधान गर्न सक्दिनँ, तर म यी कुराहरूबाट पन्छिनु हुँदैन बरु जिम्मेवार व्यक्ति बन्नुपर्छ, मैले अझ बढी प्रार्थना गर्नुपर्छ र परमेश्वरमा अझ बढी भर पर्नुपर्छ, समस्याहरू समाधान गर्न मेरा सहकर्मीहरूसँग मिलेर सत्यता खोज्नुपर्छ, र मैले सक्ने जति सबै गर्नुपर्छ। वयस्कहरूप्रति परमेश्वरका माग र अपेक्षाहरू बुझेपछि, मेरो मानसिकता केही परिवर्तन भयो, र मैले एक जिम्मेवार वयस्क बन्ने आशा गरेँ। पछि, जब माथिका अगुवाहरूले विभिन्न कामको अनुगमन गर्न पत्रहरू पठाए, मैले प्रतिरोधी वा झर्को महसुस गर्न छोडेँ, र म यी कुराहरू मेरा जिम्मेवारी हुन् भनेर चिन्न सक्थेँ, अनि आफ्नो प्रमुख काम पूरा गर्न सक्दो प्रयास गर्न म तयार भएँ।
केही समयपछि, काममा व्यस्तता बढ्यो, र माथिका अगुवाहरूले नजिकबाट कामको अनुगमन गर्दा, म अझै पनि दबाब महसुस गर्थेँ, तर मैले यो पनि बुझेँ कि अगुवाहरूको सुपरिवेक्षण मलाई मेरो कर्तव्य राम्ररी निर्वाह गर्न मद्दत गर्नका लागि थियो, र यो सुपरिवेक्षणले मलाई मेरो कर्तव्यमा अझ बढी मिहिनेत गर्नू भनेर चेतावनी दिन र सम्झाउन सक्थ्यो, मलाई भौतिक आराममा लिप्त हुन र आफ्नो कर्तव्यमा ढिलासुस्ती गर्नबाट रोक्थ्यो, र मेरो कर्तव्यमा मेरो दक्षता सुधार्न मलाई झकझकाउँथ्यो। म मेरा सहकर्मीहरू जिम्मेवार रहेका काममा पनि सहभागी भएँ, अनि हामीले सँगै सङ्गति गर्यौँ र समाधानहरू खोज्यौँ। कहिलेकाहीँ समाधानका लागि विस्तृत सङ्गति आवश्यक पर्ने समस्याहरू थुप्रिएको देख्दा, म अझै पनि दमन र झर्कोका भावनाहरू प्रकट गर्थेँ, तर म तुरुन्तै मेरो गलत स्थितिविरुद्ध विद्रोह गर्न सक्थेँ, र यसो भन्दै आफैलाई चेतावनी दिन्थेँ, “म वयस्क हुँ, र ममा एक वयस्कको जिम्मेवारी बोध र लगनशीलता हुनैपर्छ, मैले दबाब सहनुपर्छ, र अगाडि बढ्नुपर्छ।” मैले परमेश्वरलाई प्रार्थना पनि गरेँ, र उहाँलाई मेरो हृदय मेरो कर्तव्यमा र उचित काम गर्नमा केन्द्रित राखिदिनुहोस् भनी अनुरोध गरेँ। त्यसपछि, सिद्धान्तहरूअनुसार, म प्राथमिकता निर्धारण गर्थेँ र एक-एक गरी समस्याहरू समाधान गर्थेँ। पहिले सामना नगरेका समस्याहरूका हकमा, म सान्दर्भिक व्यावसायिक सामग्रीहरू अध्ययन गर्थेँ, आफूलाई सत्यता सिद्धान्तहरूले सुसज्जित गर्थेँ, र समस्याका मूल कारणहरू ठ्याक्कै के-के हुन् भनेर सोच्दै प्रार्थना गर्थेँ। यसरी, समस्याहरू बिस्तारै समाधान भए। मेरा ब्रदर-सिस्टरहरूको स्थिति राम्रो छैन र यसले उनीहरूको कर्तव्यमा असर गरिरहेको छ भन्ने देख्दा, म उनीहरूसँग समाधानहरू सङ्गति गर्न तुरुन्तै परमेश्वरका वचनहरू खोज्थेँ। यसका लागि अलि बढी मिहिनेत गर्नुपर्ने र दुःख भोग्नुपर्ने भए पनि, मलाई धेरै परिपूर्ण महसुस हुन्थ्यो। मैले ब्रदर-सिस्टरहरूसँग कामसम्बन्धी विभिन्न समस्याबारे बारम्बार कुराकानी गरिरहेकी र सम्बन्धित सत्यता र सिद्धान्तहरू मनन गरिरहेकी हुनाले, मेरो स्थितिमा निरन्तर सुधार आयो, र म आत्मिक रूपमा अझ तीक्ष्ण भएँ। म समस्याहरूलाई पनि पहिलेभन्दा सही तरिकाले हेर्थेँ, र बिस्तारै, मैले केही सिद्धान्त र मार्गहरू बुझेँ। परमेश्वरले भन्नुभएको कुराको सत्यतालाई मैले प्रत्यक्ष रूपमा अनुभव गरेँ: “यदि तँ सङ्कल्प भएको व्यक्ति होस् भने, यदि तैँले मानिसहरूले लिनुपर्ने जिम्मेवारी र दायित्वलाई, सामान्य मानवता भएका मानिसहरूले हासिल गर्नुपर्ने कुराहरूलाई, र वयस्क व्यक्तिले हासिल गर्नुपर्ने कुराहरूलाई आफ्नो खोजका उद्देश्य र लक्ष्यहरूको रूपमा लिन सक्छस् भने, र यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस् भने, तैँले जस्तो मूल्य चुकाए पनि र जस्तो पीडा भोगे पनि, गुनासो गर्नेछैनस्, र यो परमेश्वरको माग र अभिप्राय हो भनेर पहिचान गरेसम्म, तैँले जुनसुकै कष्ट भोग्न र आफ्नो कर्तव्य पूरा गर्न सक्नेछस्। त्यस समयमा, तेरो मनस्थिति फरक हुनेछ; तेरो हृदयमा, तैँले शान्ति र स्थिरता महसुस गर्नेछस्, र आनन्द अनुभव गर्नेछस्। हेर् त, यदि मानिसहरूले आफ्ना कर्तव्यहरू सामान्य रूपमा पूरा गर्न सक्छन्, परमेश्वरको आज्ञा वहन गर्न सक्छन्, र जीवनको सही मार्गमा लाग्न सक्छन् भने, तिनीहरूले आफ्नो हृदयभित्र शान्ति र हर्ष महसुस गर्छन्, र स्थिरता र आनन्द अनुभव गर्छन्। यदि तिनीहरू यसबाहेक सत्यता पछ्याउन सक्छन् र सिद्धान्तहरूअनुसार कार्य गर्ने र आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्ने बिन्दुमा पुग्छन् भने, तिनीहरूमा केही परिवर्तन आएका हुनेछन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। जब मैले मेरो कर्तव्यमा भएका समस्याहरू समाधान गर्नमा मेरो हृदय लगाएँ, जहाँ ममा कमी थियो त्यहाँ लक्षित तरिकाले सिकेँ, र आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेँ, मेरो हृदयलाई अब पीडा महसुस भएन बरु अझ बढी सहज महसुस भयो। अब ममा दमनका भावनाहरू झन्-झन् कम भएका छन्, र कहिलेकाहीँ देखा परे पनि, तिनले मलाई अब असर गर्दैनन्। थाहै नपाई, मैले उचित कुराहरूमा ध्यान केन्द्रित गर्न थालेछु, र मैले आफ्ना कर्तव्यहरूप्रति बोझको बोध प्राप्त गरेकी छु। ममा आएका यी सबै परिवर्तनहरू परमेश्वरका वचनहरूको नतिजा स्वरूप आएका हुन्। परमेश्वरलाई धन्यवाद!