२६. हैसियतको पछ्याइबारे चिन्तन
मेरो विश्वासका वर्षौँको अवधिमा, मैले मुख्यतया लेखन-पठनको कर्तव्य निर्वाह गर्दै आएको छु, अनि समय बित्दै जाँदा, धेरैजसो ब्रदर-सिस्टरहरूले मेरो प्रशंसा र आदर गर्न थाले। परमेश्वरले मलाई साँच्चै अनुग्रह गर्नुभएको छ जस्तो लाग्थ्यो, अनि म मेरो कर्तव्य पूरा गर्न सधैँ उत्प्रेरित हुन्थेँ। तर तुलना नगरेसम्म, केही फरक देखिँदैन। जब मैले मेरै उमेरका र उही समयदेखि विश्वास गरेका ब्रदर-सिस्टरहरूलाई अगुवा र सुपरिवेक्षकको रूपमा सेवा गरिरहेको देखेँ, तब मेरो सोच बदलियो। मलाई अगुवा वा सुपरिवेक्षक हुनु धेरै प्रतिष्ठित र विशिष्ट कुरा हो जस्तो लाग्यो, अनि मैले यदि म पनि एकदिन अगुवा वा सुपरिवेक्षक बन्न सकेँ भने कति राम्रो हुनेछ भन्ने सोचेँ।
अप्रिल २०२२ मा, म मण्डलीमा मानिसहरूलाई निकाल्ने कामसम्बन्धी कागजातहरू व्यवस्थापन गर्दै थिएँ। एकचोटि, लि वेई हाम्रो लागि भेला सञ्चालन गर्न आइन्। मैले के थाहा पाएँ भने उनी करिब मेरै उमेरकी, तीस वर्ष जतिकी थिइन्। जब मैले उनी जिल्ला अगुवा हुन् भनेर थाहा पाएँ, तब म अचम्म परेँ र मलाई ईर्ष्या लाग्यो, अनि सोचेँ, “लि वेई यति जवान छिन् र अहिले नै जिल्ला अगुवा भइसकिन्! यदि उनी अगुवाको रूपमा छानिएकी छिन् भने, यसको अर्थ उनको क्षमता सबैभन्दा राम्रो हुनुपर्छ अनि उनले जिल्लाका मण्डलीहरूका मानिसहरूमध्ये सबैभन्दा धेरै सत्यता पछ्याउँछिन्। ब्रदर-सिस्टरहरूले पक्कै पनि उनलाई आदर गर्छन् होला। यदि म पनि उनी जस्तै अगुवा वा सुपरिवेक्षक बन्न सकेँ भने, ब्रदर-सिस्टरहरूले निश्चय नै मलाई पनि आदर गर्नेछन्।” तर जब मैले यत्रो वर्ष विश्वास गर्दा पनि, मैले प्राप्त गरेको सबैभन्दा माथिल्लो पद भनेको टोली अगुवा मात्र हो भन्ने सोचेँ, तब मलाई अलि निराश महसुस भयो, अनि सोचेँ, “यदि ब्रदर-सिस्टरहरूले यत्रो वर्ष विश्वास गरेर पनि म कहिल्यै मण्डली अगुवा भएको छैन भन्ने थाहा पाए भने, के उनीहरूले मलाई सत्यता नपछ्याउने व्यक्तिका रूपमा हेर्नेछन्? हरेकको कर्तव्य परमेश्वरले नै बन्दोबस्त र नियोजन गर्नुहुन्छ, त्यसोभए परमेश्वरले लि वेईलाई चाहिँ अगुवा बन्न किन नियोजन गर्नुभयो, तर मैले चाहिँ किन लेखन-पठनको कर्तव्य मात्र पूरा गर्न सक्छु?” संयोगवश त्यति बेलै, मण्डलीले अगुवा चुन्न लागेको थियो। मैले मनमनै सोचेँ, “मैले परमेश्वरलाई विश्वास गरेको एक दशकभन्दा बढी भइसक्यो, अनि यतिका वर्षदेखि मैले लेखन-पठनको कर्तव्य पूरा गर्दै आएको छु। म केही सत्यताहरू बुझ्छु र केही समस्याहरू समाधान गर्न सक्छु, त्यसकारण के मैले पनि मण्डली अगुवाको रूपमा तालिम लिन सक्दिनँ र?” अरूले नै मेरो सिफारिस गरून् भन्ने मैले आशा गरेको थिएँ, तर अन्त्यमा, कसैले पनि गरेनन्। मलाई अलि निराश लाग्यो। तर फेरि मैले सोचेँ, “जे होस्, यहाँका मानिसहरू मसँग धेरै सङ्गतमा बसेका छैनन् र मलाई राम्ररी चिन्दैनन्। यसका अलावा, मैले कहिल्यै पनि अगुवा वा कामदारको रूपमा सेवा गरेको छैन अनि मसँग कामको अनुभव छैन। यदि मलाई साँच्चै नै अगुवाको कर्तव्य दिइयो भने, मैले राम्ररी पूरा गर्न नसकुँला।” त्यसैले मैले त्यो सोच त्यागिदिएँ।
जनवरी २०२३ मा, नयाँ काममा खटाइएको कारण, मैले लेख-रचना छान्ने काम सुरु गरेँ। जब मैले मेरी सुपरिवेक्षक लि छिङलाई देखेँ, तब मलाई निकै नरमाइलो लाग्यो, अनि सोचेँ, “लि छिङ मेरै उमेरकी हुन्। कलेज पढ्दा हामी दुवैले सँगै परमेश्वरमा विश्वास गर्न सुरु गरेका थियौँ, अनि केही वर्षअघि, म टोली अगुवा हुँदा, लि छिङ टोली सदस्य मात्र थिइन्। तर केही वर्ष मात्र अलग भएपछि, उनले अहिले लेखन-पठनको कामको सुपरिवेक्षण गरिरहेकी छिन्, जबकी म चाहिँ एउटा टोली सदस्य मात्र छु। जब ब्रदर-सिस्टरहरूले लि छिङ यति जवान भएर पनि सुपरिवेक्षक भइसकेकी देख्छन्, तब उनीहरूले पक्कै पनि उनीसँग राम्रो क्षमता छ र उनले सत्यता पछ्याउँछिन् भन्ने सोच्छन् होला। मैले परमेश्वरमा विश्वास गरेको यति धेरै वर्ष भइसक्यो, तर मैले किन सुपरिवेक्षक हुने मौका पाएको छैन? मैले लेखन-पठनको कर्तव्य पूरा गरिरहेको हुनाले मलाई परमेश्वरले साँच्चै अनुग्रह गर्नुभएको छ जस्तो लाग्थ्यो। तर अगुवा, कामदार वा सुपरिवेक्षकको रूपमा सेवा गर्न सक्ने यी ब्रदर-सिस्टरहरूको तुलनामा त, म अझै पनि एक साधारण विश्वासी मात्र हुँ। के यसले म सत्यता नपछ्याउने व्यक्ति हुँ भन्ने देखाउँदैन र? यदि यस्तै चलिरह्यो भने, कसैले पनि मलाई आदर गर्नेछैनन्!” यस्तो सोच्दा, मेरो मनमा गुनासाहरू उब्जन थाले, “परमेश्वरले अरूलाई चाहिँ किन अनुग्रह गर्नुहुन्छ तर मलाई गर्नुहुन्न?” त्यसपछि जब म आफ्नो कर्तव्य निर्वाह गर्थेँ, तब म अलि निष्क्रिय बन्न थालेँ। मैले लि छिङले ब्रदर-सिस्टरहरूको स्थितिलाई सम्बोधन गर्न र काममा भएका समस्याहरू समाधान गर्न सङ्गति गरिरहेको देख्थेँ, र जब उनले त्यसो गर्थिन्, तब सबैले ध्यान दिएर सुन्थे, र कहिलेकाहीँ मानिसहरूले टिपोटसमेत गर्थे। यो देख्दा मेरो हृदय ईर्ष्या र डाहको मिश्रणका साथै यो स्थितिलाई स्वीकार गर्न नसक्ने भावनाले भरियो, अनि जब लि छिङले सङ्गति गर्थिन्, तब मलाई सुन्न मन लाग्दैनथियो। पछि, मैले मेरो स्थिति गलत छ भन्ने महसुस गरेँ। जब मैले लि छिङ सुपरिवेक्षक भएको देखेँ, तब मलाई ईर्ष्या लाग्यो र मैले स्वीकार गर्न सकिनँ, अनि परमेश्वरले मलाई सुपरिवेक्षक बनाउनुभएन भनेर मैले गुनासोसमेत गरेँ। के यस कुरामा म परमेश्वरप्रति समर्पित हुन चुकेको थिइनँ र? त्यसैले मेरो समस्या समाधान गर्न मैले सत्यताको खोजी गरेँ।
एक दिन, मैले परमेश्वरका केही वचनहरू पढेँ: “परमेश्वरको पहिचान, हैसियत र सार कहिल्यै पनि मानिसको पहिचान, हैसियत र सार बराबर मान्न सकिँदैन, न त यी कुराहरूमा कहिल्यै कुनै परिवर्तन नै हुनेछ—परमेश्वर सदैव परमेश्वर नै हुनुहुनेछ, र मानिस सदैव मानिस नै हुनेछ। यदि व्यक्तिले यो बुझ्न सक्छ भने, उसले के गर्नुपर्छ? ऊ परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ—कामकुरा अघि बढाउने यो नै सबैभन्दा विवेकी तरिका हो, र यसबाहेक अर्को मार्ग रोज्न सकिँदैन। यदि तँ समर्पित हुँदैनस् भने, तँ विद्रोही होस्, अनि यदि तँ अवज्ञा र तर्क गर्छस् भने, तँ घोर विद्रोही बनिरहेको हुन्छस्, र तँलाई नष्ट पार्नुपर्ने हुन्छ। परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्नुले तँमा समझ छ भन्ने देखाउँछ; मानिसहरूमा हुनैपर्ने मनोवृत्ति यही हो, अनि सृजित प्राणीहरूमा हुनुपर्ने मनोवृत्ति यही मात्र हो। उदाहरणका लागि, मानिलिऊँ तँसँग सानो बिरालो वा कुकुर छ—के त्यो बिरालो वा कुकुर तैँले त्यसका लागि विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा वा खेलौनाहरू किन्नुपर्छ भनेर माग गर्न योग्य हुन्छ? के आफ्नो मालिकबाट मागहरू गर्ने त्यति अनुचित कुकुर वा बिरालो हुन्छ? (हुँदैन।) अनि के कुनै कुकुरले अर्को व्यक्तिको घरको कुकुरले आफूले भन्दा राम्रो जीवन पाएको देखेर ऊ आफ्नो मालिकसँग नरहने निर्णय गर्छ? (गर्दैन।) त्यसको स्वाभाविक प्रवृत्ति भनेकै यस्तो सोच्नु हो, ‘मेरो मालिकले मलाई खानेकुरा र बस्ने ठाउँ दिन्छ, त्यसैले मैले मालिकको घर रुँग्नैपर्छ। मेरो मालिकले मलाई खाना दिएन वा त्यति राम्रो खाना दिएन भने पनि, मैले उसको घर रुँग्नैपर्छ।’ कुकुरसित आफ्नो स्थान नाघ्ने अर्को अनुचित सोच हुँदैन। मालिकले त्यसलाई राम्रो व्यवहार गरे पनि नगरे पनि, मालिक घर आउँदा त्यो एकदमै खुसी हुन्छ, र त्यसले सक्दो खुसी हुँदै पुच्छर हल्लाइरहन्छ। त्यसको मालिकले त्यसलाई मन पराए पनि वा मन नपराए पनि, मालिकले त्यसका लागि स्वादिष्ट खानेकुरा किने पनि वा नकिने पनि, आफ्नो मालिकप्रति त्यसको व्यवहार सधैँ उस्तै हुन्छ, अनि त्यसले अझै पनि उसको घर रुँग्छ। यस आधारमा मूल्याङ्कन गर्दा, के मानिसहरू कुकुरभन्दा खराब छैनन् र? (छन्।) मानिसहरू सधैँ परमेश्वरबाट माग गरिरहेका हुन्छन्, र उहाँविरुद्ध सधैँ विद्रोह गरिरहेका हुन्छन्। यस समस्याको जड के हो? त्यो के हो भने, मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्, तिनीहरू सृजित प्राणीका स्थानमा बस्न सक्दैनन्, त्यसैले तिनीहरूले आफ्नो नैसर्गिक प्रवृत्ति गुमाउँछन् र तिनीहरू शैतान बन्छन्; तिनीहरूको नैसर्गिक प्रवृत्ति परमेश्वरको विरोध गर्ने, सत्यता इन्कार गर्ने, दुष्टता गर्ने र परमेश्वरप्रति समर्पित नहुने शैतानी नैसर्गिक प्रवृत्तिमा परिणत हुन्छ। तिनीहरूको मानव नैसर्गिक प्रवृत्तिलाई कसरी फिर्ता ल्याउन सकिन्छ? तिनीहरूलाई विवेक र समझ धारण गर्न, व्यक्तिले गर्नुपर्ने कामकुराहरू गर्न, र तिनीहरूले गर्नुपर्ने कर्तव्य निर्वाह गर्न लगाउनुपर्छ। यो कुकुरले घर रुँग्नु र बिरालोले मुसा पक्रनु जस्तै हो—मालिकले तिनीहरूलाई जसरी व्यवहार गरे पनि, तिनीहरूले आफ्नो सारा शक्ति लगाएर यी कुराहरू गर्छन्, तिनीहरू यी काममा लागिपर्छन्, अनि तिनीहरू आफ्ना स्थानमा बस्छन् र आफ्नो नैसर्गिक प्रवृत्ति पूरापूर प्रयोग गर्छन्, र त्यसैले तिनीहरूको मालिकले तिनीहरूलाई मन पराउँछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्वरले के कुरा खुलासा गर्नुभएको छ भने मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएपछि, तिनीहरूले आफ्नो विवेक र समझ गुमाउँछन्, र तिनीहरू परमेश्वरप्रतिको विद्रोहले भरिन्छन्। तिनीहरू कुकुर र बिरालोभन्दा पनि खराब हुन्छन्। कुकुर र बिरालोको बारेमा मात्र सोच्नुहोस् त: तिनीहरूको मालिकले तिनीहरूलाई राम्रो खुवाए पनि वा नराम्रो खुवाए पनि, तिनीहरूलाई सोफामा सुत्न दिए पनि वा बाहिर छानामुनि सुत्न दिए पनि, तिनीहरू सधैँ मुसा समात्न वा आफ्नो मालिकको लागि घरको हेरचाह गर्ने कार्यमा समर्पित हुन्छन्, र आफ्नो प्रवृत्तिको भरपुर उपयोग गर्छन्। यसलाई मसँग तुलना गर्दा त, मैले अगुवा वा कामदारको कर्तव्य पूरा नगरेको भए पनि, मैले परमेश्वरका वचनहरूको मलजल र आपूर्तिको उस्तै आनन्द लिएको छु, र जब मैले कठिनाइहरूको सामना गर्थेँ र परमेश्वरमा भर पर्दै उहाँको बाटो हेर्थेँ, तब मैले उहाँको मार्गदर्शन र अगुवाइ प्राप्त गर्थेँ। परमेश्वरले मप्रति अलिकति पनि पक्षपात गर्नुभएको छैन, तर मैले सधैँ परमेश्वरसँग मागहरू गरिरहेको थिएँ। जब मैले केही ब्रदर-सिस्टरहरूलाई अगुवा वा सुपरिवेक्षकको रूपमा चुनिएको देखेँ, तब मैले परमेश्वरको बारेमा गुनासो गरेँ। मलाई के लाग्यो भने परमेश्वरले अरूलाई अनुग्रह गरिरहनुभएको छ तर मलाई अनुग्रह गर्नुभएको छैन। मैले परमेश्वरसँग यस्ता मागहरू गर्दा यसले मसँग कुनै समझ छैन र मैले उहाँको विरुद्धमा विद्रोह गरिरहेको छु भन्ने देखायो। यी कुराहरू महसुस गरेपछि, मलाई केही लज्जानुभूति भयो, र म आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्न र वास्तविकताको धरातलमा रहेर यसो गर्न तयार भएँ।
दुई महिनापछि, अर्का सुपरिवेक्षक, ब्रदर चेन युलाई उहाँको कमजोर क्षमताका कारण नयाँ काममा खटाइयो। मैले अर्को मौका आएको देखेँ। चेन युलाई बर्खास्त गरिएको हुनाले, उनीहरूले पक्कै पनि नयाँ सुपरिवेक्षक चुन्नुपर्ने थियो। सँगै सहकार्य गर्ने ब्रदर-सिस्टरहरूका बीचमा, क्षमता र कार्य सामर्थ्यको हिसाबले, म अलि अगाडि थिएँ। म सुपरिवेक्षकको रूपमा छानिने सम्भावना बढी थियो। मैले सोचेँ, “मैले यो मौका छोपेर राम्रो प्रदर्शन गर्नुपर्छ। यदि म छानिएँ र सबैले म यति सानो उमेरमा सुपरिवेक्षक भएको देखे भने, उनीहरूले पक्कै पनि मसँग राम्रो क्षमता छ र म सत्यता पछ्याउँछु भन्ने सोच्छन् होला। त्यो कति गौरवमय कुरा हुनेछ!” त्यसपछि म आफ्नो कर्तव्यमा निकै सक्रिय भएँ। म सबैलाई भेला गरेर प्रविधिहरू सिक्ने गर्थेँ र काममा आएका समस्याहरू समाधान गर्न छलफलमा पनि सहभागी हुन्थेँ। एकचोटि, मेरो कर्तव्य निर्वाह गर्दा, मेरो अहङ्कार र आत्म-धार्मिकताका कारण, मैले सिद्धान्तहरू उल्लङ्घन गरेँ र मलाई काटछाँट गरियो। मैले मनमनै सोचेँ, “कसैले काटछाँट स्वीकार गर्न सक्छ वा सक्दैन भन्ने कुरा उसले सत्यता स्वीकार गर्छ कि गर्दैन भनेर जाँच्ने एउटा महत्त्वपूर्ण प्रकटीकरण हो। म आफूलाई चिन्नमा अझ निष्कपट हुनुपर्छ। त्यसरी, सबैले मप्रति राम्रो धारणा बनाउनेछन्, र त्यसपछि म सुपरिवेक्षकको रूपमा छानिने मौका बढ्नेछ!” त्यसैले मैले यस्तो जवाफ दिएँ, “तपाईंको काटछाँट उपयुक्त छ, र म यसलाई स्वीकार गर्न तयार छु। मेरो स्वभाव साँच्चै धेरै अहङ्कारी छ, र यदि तपाईंले मेरा समस्याहरू देख्नुभयो भने, कृपया मलाई मार्गदर्शन दिनुहोस्, किनकि यसले मलाई फाइदा गर्नेछ।” धेरै समय नबित्दै, टोलीले एउटा सुपरिवेक्षक छान्नुपर्ने भयो, र नभन्दै, एक जना ब्रदरले मलाई सिफारिस गरे। तर अन्तिम चुनाव हुनुअघि, अगुवाहरूले मलाई अर्को कर्तव्यमा बढुवा गरिदिए। सुपरिवेक्षक बन्ने मेरो इच्छा पूरा नभए पनि, बढुवा भएकोमा म धेरै खुसी थिएँ।
सेप्टेम्बर २०२३ मा अगुवाहरूबाट एउटा चिठी प्राप्त गरेपछि मात्र, मैले अन्ततः हैसियतको खोजीबारे चिन्तन गर्न थालेँ। चिठीमा सुपरिवेक्षक लि छिङ हालसालै उपचारका लागि घर गएकी छिन्, तर घर फर्कनुअघि, उनले घरदेखि टाढा रहेर कर्तव्य पूरा गर्नु साह्रै गाह्रो भएको गुनासो गरेकी थिइन्, र घर फर्केपछि, एक महिनाभन्दा अलि बढी समयमै उनले एक गैरविश्वासीसँग विवाह गरिन्, र उनले अब आफ्नो कर्तव्य पूरा गर्न चाहन्नथिन् भनेर भनिएको थियो। म छाँगाबाट खसेजस्तै भएँ, र मैले सोचेँ, “लि छिङले यत्रो वर्ष घरदेखि टाढा रहेर आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइन्, र उनले सुपरिवेक्षकको रूपमा सेवा गरिरहेकी थिइन्, जुन यति महत्त्वपूर्ण काम हो। उनी कसरी अचानक आफ्नो कर्तव्य छोडेर गैरविश्वासीसँग भाग्न सकिन्?” यो घटनाले ममा ठूलो प्रभाव पार्यो। मलाई के स्पष्ट भयो भने हैसियत हुँदैमा कोही व्यक्तिले सत्यता पछ्याउँछ भन्ने होइन, न त यसको अर्थ परमेश्वरले उसलाई अनुमोदन गर्नुहुन्छ वा मान्यता दिनुहुन्छ भन्ने नै हो। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचनहरू धेरै स्पष्ट छन्। परमेश्वरले मानिसहरूको परिणाम उनीहरूमा सत्यता छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ, उनीहरूको हैसियत, वरिष्ठता, वा उनीहरूले कति दुःख भोग्नुपरेको छ भन्ने आधारमा होइन। मैले आधारभूत रूपमा परमेश्वरका वचनहरूलाई मेरो हृदयमा स्वीकार गरेको थिइनँ, र मैले सत्यतालाई मेरो पछ्याइको लक्ष्य बनाएको थिइनँ। मैले सत्यता नपछ्याउने वा वास्तविक काम नगर्ने धेरै अगुवा र कामदारहरू देखेको भए पनि, अनि झूटा अगुवा बनेर बर्खास्त गरिएकाहरूलाई देखेको भए पनि, र मैले कोही-कोहीले आफ्नो हैसियतको हठी पछ्याइका क्रममा आफूसँग असहमत हुनेहरूलाई आक्रमण गरेको र पाखा लगाएको, अनि पछि गएर ख्रीष्ट विरोधी बनेर निष्कासित भएको देखेको भए पनि, मैले कुनै पनि कुरा महसुस गर्न सकिनँ, र सत्यता पछ्याउनमा कुनै मेहनत लगाइनँ। बरु, म हैसियतमा नै एकोहोरिएर रहेँ। म निरन्तर हैसियतलाई पछ्याउन चाहन्थेँ। म साँच्चै मूर्ख र हठी थिएँ! यो क्षणमा मात्रै मैले निरन्तर हैसियतको खोजी गर्ने मेरो समस्या समाधान गर्न, ठीकढङ्गले सत्यताको खोजी गर्ने निधो गरेँ।
पछि, मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका यी वचनहरू पढेँ: “तँ किन हैसियतलाई यति बहुमूल्य ठान्छस्? तैँले हैसियतबाट कस्ता-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छस्? यदि हैसियतले तँमाथि विपत्ति, कठिनाइ, बेइज्जती, र पीडा ल्याउँछ भने, के तँ अझै पनि यसलाई बहुमूल्य ठान्थिस्? (ठान्नेथिइनँ।) हैसियत हुँदा प्राप्त हुने कैयौँ लाभहरू छन्, जस्तै अरू मानिसको डाहा, सम्मान, आदर, र चापलुसी, साथै तिनीहरूको आदर र श्रद्धा। तेरो हैसियतले तँलाई श्रेष्ठता र सौभाग्यको पनि अनुभूति गराउँछ जसले तँलाई गर्व र आत्मसम्मानको अनुभव गराउँछ। यसका साथै, तैँले अरूले उपभोग गर्न नपाउने कुराहरू पनि उपभोग गर्न सक्छस्, जस्तै हैसियतका लाभहरू र विशेष व्यवहार। यी कुराहरूबारे तँ सोच्नसमेत आँट गर्दैनस्, र यी तैँले सपना देखेका र तृष्णा गरेका कुराहरू हुन्। के तँ यी कुराहरूलाई बहुमूल्य ठान्छस्? यदि हैसियत कुनै वास्तविक महत्त्वविनाको खोक्रो कुरा हो भने, र यसको प्रतिरक्षा गरेर कुनै वास्तविक उद्देश्य पूरा हुँदैन भने, के यसलाई बहुमूल्य ठान्नु मूर्खता होइन र? यदि तँ देहका हित र आनन्दजस्ता कुराहरू त्याग्न सक्छस् भने ख्याति, प्राप्ति, र हैसियतले अबउप्रान्त तँलाई बन्धनमा पार्नेछैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। “जब अरू कसैको मनमा तेरो हैसियत हुन्छ, तब ऊसँग अन्तरक्रिया गर्दा, उसले तेरो आदर गर्छ, र विशेष गरी तँसित बोल्दा ऊ शिष्ट बन्छ। उसले सधैँ तँलाई आदरभावले हेर्छ, र सबै कुरामा, उसले तँलाई पहिले जान दिन्छ, बाटो छोडिदिन्छ, अनि फुर्काउँछ र तेरो आज्ञा पालन गर्छ। सबै कुरामा, ऊ तँलाई खोज्छ र तँलाई निर्णयहरू गर्न दिन्छ। र तँलाई यसबाट आनन्द अनुभूति हुन्छ—तँलाई आफू अरू कोहीभन्दा श्रेष्ठ र राम्रो हुँ भन्ने लाग्छ। यो कसैको मनमा हैसियत हुनुको अनुभूति हो; सबै मानिसहरू यस्तो अनुभूतिमा रमाउन चाहन्छन्। यही कारण मानिसहरू हैसियतका लागि होड गर्छन्, र सबैजना अरूका मनमा हैसियत राख्न, अरूबाट सम्मानित हुन र पुजिन चाहन्छन्। यदि तिनीहरूले यसबाट त्यस्तो आनन्द पाउन सकेनन् भने, तिनीहरू हैसियतको पछि लाग्दैनन्। उदाहरणका लागि, यदि कसैका मनमा तेरो हैसियत छैन भने, तिनीहरूले तँसँग कुरा गर्दा तँलाई आफ्नो बराबरीका रूपमा व्यवहार गर्नेछन्, तँलाई आफूसँग समान स्तरमा राख्नेछन्। तिनीहरूले आवश्यक पर्दा तेरो खण्डन गर्ने छन्, तँप्रति शिष्ट वा सम्मानजनक व्यवहार गर्नेछैनन्, र तिनीहरू तैँले बोलिसक्नुअघि नै निस्केर जान पनि सक्छन्। के यसले तँलाई असहज महसुस गराउनेछैन र? तँलाई मानिसहरूले यस्तो व्यवहार गरेको मन पर्दैन; तँ तिनीहरूले तँलाई चापलुसी गरेको, तेरो मान गरेको, र हरेक पटक पुजेको मन पराउँछस्। तँ सबै कुराको केन्द्र बनेको, सबथोक तेरो वरिपरि घुमेको, र सबैले तेरो कुरा सुनेको, तेरो मान गरेको, र तेरो निर्देशन पालन गरेको तँलाई मन पर्छ। के यो तैँले राजा भएर शासन गर्न चाहनु होइन र? तेरो बोली र काम हैसियतको पछ्याइ र प्राप्तिद्वारा प्रेरित हुन्छन्, र तँ यसका लागि अरूसँग लडाइँ, ठेलमठेल र प्रतिस्पर्धा गर्छस्। तेरो लक्ष्य पद कब्जा गर्नु, र परमेश्वरका चुनिएका मानिसहरूलाई तेरो कुरा सुन्न, तेरो समर्थन गर्न र तँलाई पुज्न लगाउनु हो। तैँले त्यो ओहोदा लिइसकेपछि, शक्ति प्राप्त गरेको हुन्छस् अनि हैसियत, अरूले गर्ने पुजाइ, र त्यस पदसँगै आउने अन्य सबै सुविधाहरूको लाभ उठाउन सक्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मैले लि वेईलाई अगुवाको रूपमा र लि छिङलाई सुपरिवेक्षकको रूपमा ईर्ष्या गर्नुको मुख्य कारण वास्तवमा, उनीहरू अगुवा र सुपरिवेक्षक भएपछि अरूबाट पाएको समर्थन र प्रशंसाप्रति रहेको मेरो ईर्ष्या थियो। मलाई हैसियतसँगै आउने श्रेष्ठताको भावना र लाभहरूप्रति ईर्ष्या लाग्थ्यो। जस्तै परमेश्वरमा विश्वास गर्न थाल्नुअघि, म संसारका नेताहरूलाई देख्थेँ, र सबैले उनीहरूलाई आदरका साथ अभिवादन गर्छन्, उनीहरूले जे विचार व्यक्त गरे पनि, उनीहरूका मातहतकाले मान्छन् र पालन गर्छन्, अनि भीडमा उनीहरूसँग श्रेष्ठताको दह्रिलो अनुभूति हुन्छ भन्ने देख्थेँ। मलाई के लाग्थ्यो भने यसरी जिउँदा मात्र मानिस मर्यादित र सफल हुन्छ। परमेश्वरमा विश्वास गर्न थालेपछि, मैले लि वेई र लि छिङ सानै उमेरमा अगुवा र सुपरिवेक्षक भएको देखेँ, अनि मलाई के लाग्यो भने ब्रदर-सिस्टरहरू सबैले उनीहरूको प्रशंसा र ईर्ष्या गर्छन्, उनीहरूको राम्रो क्षमता र सत्यताको पछ्याइका लागि उनीहरूको तारिफ गर्छन्, त्यसैले म पनि अगुवा वा कामदार बन्न लालायित भएँ। त्यसो गर्दा, मैले ब्रदर-सिस्टरहरूको प्रशंसा र ईर्ष्या प्राप्त गर्न सक्थेँ, र जब म भीडमा बोल्थेँ, तब उनीहरूले मलाई ध्यान दिएर सुन्नेथिए। यस्तो जीवन कति मर्यादित र महत्त्वपूर्ण हुनेथियो! मैले के देखेँ भने अगुवा वा सुपरिवेक्षक बन्ने मेरो चाहना ठूलो बोझ उठाउन र परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नका लागि थिएन, बरु हैसियत प्राप्त गर्न त्यसपछि अरूका बीचमा प्रतिष्ठा कमाउनका लागि, ब्रदर-सिस्टरहरूको समर्थन र प्रशंसाको आनन्द लिनका लागि थियो। के यो गैरविश्वासीहरूले शक्ति र नेतृत्वको पद पछ्याउनुजस्तै थिएन र? मैले जे पछ्याइरहेको थिएँ, त्यो त हैसियतका लाभहरूमा लिप्त हुने कुरा थियो। यसरी मैले कसरी सत्यता प्राप्त गर्न र मुक्ति पाउन सक्थेँ र?
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “परमेश्वरले सत्यता पछ्याउने मानिसहरूलाई मन पराउनुहुन्छ, र उहाँले सबैभन्दा बढी घृणा गर्ने मानिसहरूको काम भनेको ख्याति, लाभ, र हैसियत पछ्याउनु हो। कतिपय मानिसहरूले हैसियत र प्रतिष्ठालाई वास्तवमै बहुमूल्य ठान्छन्, तिनीहरू ती कुराप्रति गहन रूपमा जोडिएका हुन्छन्, र तिनीहरूले तिनलाई त्याग्न सक्दैनन्। तिनीहरूलाई सधैँ हैसियत र प्रतिष्ठाविना जिउनुको कुनै आनन्द वा आशा हुँदैन, तिनीहरूले हैसियत र प्रतिष्ठाको लागि जिउँदा मात्रै यो जीवनमा आशा हुन्छ भन्ने लाग्छ, र तिनीहरूसँग थोरै मात्र पनि ख्याति छ भने, तिनीहरूले कहिल्यै हरेस नखाई संघर्ष जारी राख्छन्। यदि तेरो सोचाइ र दृष्टिकोण यस्तै हो भने, यदि तेरो हृदय यस्ता कुराहरूले भरिएको छ भने, तँ सत्यतालाई प्रेम गर्न र पछ्याउन समर्थ छैनस्, तँसँग परमेश्वरमाथिको विश्वासमा सही दिशा र उद्देश्यहरू छैनन्, र तँ आत्मज्ञान पछ्याउन, भ्रष्टता फाल्न र मानिसको स्वरूपमा जिउन सक्षम छैनस्; तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा परिस्थितिहरू बिग्रे पनि हेरेर बस्छस्, तँमा जिम्मेवारीको कुनै बोध छैन, र तँ दुष्कर्म नगर्न, बाधा नदिन, हटाइनेमा नपर्न सक्दा नै सन्तुष्ट हुन्छस्। के त्यस्ता मानिसहरूले मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? अनि के परमेश्वरले तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ? त्यो असम्भव छ। जब तैँले प्रतिष्ठा र हैसियतको खातिर काम गर्छस्, तब तैँले यस्तो समेत सोच्छस्, ‘मैले गर्ने काम दुष्ट कार्य होइन र यसले बाधा पैदा गर्दैन भने, मेरो मनसाय गलत भए नि, कसैले यसलाई देख्न वा मलाई दोषी ठहर्याउन सक्दैन।’ तँलाई थाहै छैन, परमेश्वरले सबै कुरा छानबिन गर्नुहुन्छ। यदि तैँले सत्यता स्विकार्ने वा अभ्यास गर्ने गर्दैनस्, र परमेश्वरले तँलाई तिरस्कार गर्नुहुन्छ भने, तेरो लागि सबै कुरा खतम हुन्छ। परमेश्वरको डर मान्ने हृदय नभएका सबै मानिसहरूले आफूलाई चलाख ठान्छन्; वास्तवमा, तिनीहरूलाई आफूले उहाँको विरुद्धमा कहिले पाप गरेँ भन्ने समेत थाहा हुँदैन। कतिपय मानिसहरूले यी कुराहरू स्पष्ट रूपमा देख्दैनन्; तिनीहरूले सोच्छन्, ‘म अझै धेरै काम गर्न, अझै धेरै जिम्मेवारी लिनको लागि मात्रै प्रतिष्ठा र हैसियत पछ्याउँछु। यसले मण्डलीको काममा बाधा वा व्यवधान ल्याउँदैन, र यसले अवश्य नै परमेश्वरको घरका हितहरूमा हानि गर्दैन। यो ठूलो समस्या होइन। म त बस हैसियतलाई प्रेम गर्छु र आफ्नो हैसियतको रक्षा गर्छु, तर त्यो दुष्ट कार्य होइन।’ झट्ट हेर्दा, यस्तो पछ्याइ दुष्ट कार्य हो जस्तो देखिँदैन, तर यसले अन्त्यमा के ल्याउँछ? के त्यस्ता मानिसहरूले सत्यता प्राप्त गर्नेछन्? के तिनीहरूले मुक्ति प्राप्त गर्नेछन्? बिलकुलै गर्नेछैनन्। त्यसकारण, प्रतिष्ठा र हैसियत पछ्याउनु सही मार्ग होइन—यो सत्यता पछ्याइको ठ्याक्कै विपरीत दिशामा अघि बढ्छ। सारांशमा भन्नुपर्दा, तेरो पछ्याइको दिशा वा लक्ष्य जेसुकै भए पनि, यदि तैँले तेरो हैसियत र प्रतिष्ठा पछ्याइबारे चिन्तन गर्दैनस्, र यसलाई पन्छाउन तँलाई निकै गाह्रो लाग्छ भने, त्यसले तेरो जीवन प्रवेशमा असर पार्नेछ। जबसम्म तेरा हृदयमा हैसियतले स्थान पाउँछ, तबसम्म यो तेरो जीवनको दिशा र तेरो पछ्याइको लक्ष्यलाई नियन्त्रित र प्रभावित पार्न पूर्ण रूपमा सक्षम हुनेछ, र त्यो अवस्थामा तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै गाह्रो हुनेछ, र तेरो स्वभाव परिवर्तन हासिल गर्ने बारेमा त कुरै नगरौँ; तैँले अन्त्यमा परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छस् सक्दैनस् भन्ने कुरा त झन् भनिरहनै पर्दैन। यति मात्र होइन, यदि तैँले कहिल्यै पनि तेरो हैसियत पछ्याइलाई त्याग्न सकिनस् भने, यसले मानकअनुरूप कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा असर पार्नेछ, जसले गर्दा तँलाई मानकअनुरूपको सृजित प्राणी बन्न निकै गाह्रो हुनेछ। मैले किन यसो भनेँ? मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्वरले दोषी ठहराउने कुरा हो, र परमेश्वरले न्याय गर्ने र शुद्ध पार्ने कुरा पनि यही हो। मानिसहरूले हैसियत पछ्याउँदा, त्यस कुरालाई जति परमेश्वरले अरू कुनै पनि कुरालाई घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। के यो सबैमा परमेश्वरप्रति वैरी हुने थोरै गुण छैन र? हैसियत मानिसहरूका लागि परमेश्वरले नियोजन गर्नुहुन्न; परमेश्वरले मानिसहरूलाई सत्यता, मार्ग, र जीवन प्रदान गर्नुहुन्छ, ताकि अन्तिममा तिनीहरू मानकअनुरूपका सृजित प्राणी अर्थात् साना र महत्त्वहीन सृजित प्राणी बनून्—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले श्रद्धा गर्ने व्यक्ति नबनून्। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछ्याइ भनेको बर्बादीको बाटो हो। हैसियत पछ्याउने तेरो बहाना जति नै उचित भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्छा गर्छस् भने, परमेश्वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्वरले त्यो कुरा तँलाई दिनुभएन भने, तँ त्यो प्राप्त गर्ने लडाइँमा असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तँलाई प्रकट गरिनेछ र हटाइनेछ—तँ बर्बादीको बाटोमा हुनेछस्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूले हैसियतको खोजी गर्दा हुने हानि र परिणामहरूका बारेमा स्पष्ट रूपमा व्याख्या गर्छन्। यदि कुनै व्यक्ति निरन्तर हैसियतमा एकोहोरिन्छ भने, उसले कुनै स्पष्ट अवरोध वा बाधाहरू सिर्जना गरेको नदेखिए तापनि, यसले अझै पनि उसलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नबाट रोक्छ, र अझ, यसले उसको स्वभाव रूपान्तरण र मुक्तिको खोजीमा ढिलाइ गराउँछ। मेरो आफ्नै व्यवहारलाई फर्केर हेर्दा, मैले के देखेँ भने मैले मण्डलीको काममा बाधा दिने वा अवरोध पुर्याउने कुनै काम गरेको जस्तो नदेखिए पनि, मेरो हृदय निरन्तर हैसियतको इच्छाले ओगटिएको थियो। जब मैले लि वेई अगुवा बनेको र लि छिङ सुपरिवेक्षक बनेको देखेँ, तब मेरो हृदय असन्तुलित भयो, र मलाई बढुवा नभएकोमा निराश लाग्यो र पीर पर्यो। मैले परमेश्वरले अरूलाई अनुग्रह गर्नुभएको तर मलाई अनुग्रह गर्नुभएन भनेर गुनासो पनि गरेँ। खासगरी जब मैले लि छिङ सुपरिवेक्षक बनेको तर म अझै टोली सदस्य मात्र रहेको देखेँ, तब मलाई ईर्ष्या लाग्यो, मैले स्वीकार गर्न सकिनँ, र म उनको सङ्गति सुन्न अनिच्छुक भएँ, अनि मैले आफ्नो कर्तव्यमा मन लगाउन छोडेँ। चेन युलाई नयाँ काममा खटाइएपछि, मैले सक्रिय रूपमा आफूलाई सुपरिवेक्षकको रूपमा छानिनका लागि प्रस्तुत गर्ने कोसिस गरेँ। जब कर्तव्यमा मेरो अहङ्कार र आत्म-धार्मिकताले गर्दा मेरो काटछाँट गरियो, तब म सत्यता स्वीकार गर्न सक्छु भन्ने अरूले सोचून् भनेर मैले आफूलाई चिनेको छु भन्ने नाटक गरेँ, र चुनावको बेला उनीहरूले मलाई भोट दिऊन् भन्ने आशा गरेँ। मैले के महसुस गरेँ भने मेरा अभिप्राय र कार्यहरू सबै हैसियत प्राप्त गर्नका लागि थिए, र म ख्रीष्ट विरोधीको मार्गमा हिँडिरहेको थिएँ! परमेश्वरका वचनहरूबाट, मैले के पनि बुझेँ भने मानिसहरूलाई मुक्ति दिन परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ, र उहाँको आशा मानिसहरूले ठीकढङ्गले सत्यता र स्वभाव परिवर्तनको खोजी गर्नेछन्, र तिनीहरू अन्ततः मानकअनुरूपको सृजित प्राणी बन्नेछन् भन्ने हुन्छ, उनीहरू कुनै प्रकारको प्रतिष्ठा वा हैसियत भएका मानिसहरू बनून् भन्ने होइन। मैले परमेश्वरका अभिप्रायहरू बुझिनँ। म सधैँ एक साधारण विश्वासी हुनुमा असन्तुष्ट थिएँ, र मैले सत्यता पछ्याउनमा ध्यान केन्द्रित गरिनँ; म सधैँ अरूले मेरो प्रशंसा र आराधना गरून् भनेर हैसियत खोज्न चाहन्थेँ। यो पूर्ण रूपमा परमेश्वरका अभिप्रायहरूविपरीत थियो। यदि म यसरी नै अघि बढिरहेँ भने, मेरो जीवन स्वभाव कहिल्यै परिवर्तन हुन सक्दैनथियो, मैले कहिल्यै पनि मानकअनुरूप हुने गरी मेरा कर्तव्यहरू पूरा गर्न सक्दिनथेँ, र अन्ततः, म हटाइने नै थिएँ।
पछि, चिन्तन गर्दा, मैले के महसुस गरेँ भने मेरो निरन्तर हैसियतको खोजी मभित्रको गलत दृष्टिकोणबाट उब्जिएको थियो। मलाई के विश्वास थियो भने अगुवा र सुपरिवेक्षकहरू नै समूहमा सबैभन्दा बढी सत्यता पछ्याउनेहरू हुन्, र म सधैँ एक साधारण विश्वासी मात्र भएकोले, र कहिल्यै अगुवा वा सुपरिवेक्षक नभएकोले, यसको अर्थ म सत्यता पछ्याउँदिनँ, र परमेश्वरले मलाई अनुमोदन गर्नुभएको छैन भन्ने लाग्थ्यो। परमेश्वरका वचनहरू पढेर, मैले यो भ्रामक दृष्टिकोणबारे केही खुट्ट्याउने क्षमता प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्वरलाई चिन्छ, र ऊ परमेश्वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्वरले पूर्वनियोजन गर्नुभएको र योग्य ठान्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय उज्यालो महसुस भयो। अगुवा वा सुपरिवेक्षकको रूपमा छानिनुको अर्थ त्यो व्यक्तिले सत्यता पछ्याउँछ भन्ने होइन, न त यसको अर्थ ऊ सत्यता पछ्याउने मार्गमा छ भन्ने नै हुन्छ। यसको अर्थ के मात्रै हुन्छ भने, त्यो व्यक्ति पछ्याउन इच्छुक छ, उसमा केही क्षमता छ, र उसले परमेश्वरको घरद्वारा छानिन र प्रयोग गरिनका लागि सर्तहरू पूरा गर्छ, त्यसैले मण्डलीले उसलाई अझ राम्रो तालिम लिने अवसर दिन्छ। तर, त्यो व्यक्तिले अन्ततः सत्यता पछ्याउने मार्गमा पाइला टेक्न सक्छ वा सक्दैन, र उसले सत्यता प्राप्त गर्न र ऊ वास्तविकतामा प्रवेश गर्न सक्छ वा सक्दैन भन्ने कुरा उसले साँच्चै सत्यता पछ्याउँछ कि पछ्याउँदैन र ऊ कुन बाटोमा हिँड्छ भन्ने कुरामा भर पर्छ। उदाहरणको रूपमा लि छिङलाई नै लिऊँ। उनलाई सुरुमा सुपरिवेक्षकको रूपमा छानिएको थियो किनभने उनमा आफ्नो कर्तव्यप्रति बोझको भावना थियो, तर सुपरिवेक्षक भएपछि, उनले सत्यता पछ्याउनमा ध्यान दिइनन् र उनी हैसियतका लाभहरूमा रम्न थालिन्। उनले आफ्नो कर्तव्यमा प्रकाश गरेका भ्रष्ट स्वभावहरू, वा ती समाधान गर्न उनले कसरी सत्यताको खोजी गरिन् भन्नेबारे विरलै कुरा गर्थिन्। उनी सुपरिवेक्षकको पदमा उभिएर कामको निर्देशन दिन मन पराउँथिन्, र मानिसहरूको प्रशंसा र समर्थनमा रमाउँथिन्। जब उनी बिरामी परिन्, तब उनले घरदेखि टाढा रहेर कर्तव्य पूरा गर्नु साह्रै गाह्रो भएको सोचिन्, र अन्ततः, उनले आफ्नो कर्तव्य त्यागिन्, घर गइन्, र विवाह गरिन्। मैले हालसालैको एउटा घटना पनि सम्झेँ जुन बेला धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका एक अगुवा गिरफ्तार भएको थियो। सजाय पाइएला भन्ने डरले र आफ्ना छोराछोरीलाई छोड्न नसकेर, उनले “तीन बयानको पत्र” मा हस्ताक्षर गरे र परमेश्वरलाई धोका दिए। यी तथ्यहरूबाट, मैले के देखेँ भने हैसियत हुँदैमा कोही व्यक्तिले सत्यता पछ्याउँछ वा ऊसँग सत्यता वास्तविकताहरू हुन्छन् भन्ने हुँदैन, झन् त्यो व्यक्ति परमेश्वरद्वारा अनुमोदित हुन्छ वा मान्यता प्राप्त गर्छ भन्ने कुरा त परै जाओस्। सत्यताको खोजी नै मुक्ति पाउने र सिद्ध पारिने एक मात्र मार्ग हो, र हैसियतविना पनि, जबसम्म कुनै व्यक्तिले गम्भीरतापूर्वक सत्यता पछ्याउँछ र आफ्नो कर्तव्य पूरा गर्छ, तबसम्म उसले अझै पनि परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सक्छ, सत्यता बुझ्न सक्छ, र ऊ वास्तविकतामा प्रवेश गर्न सक्छ। त्यसपछि, मैले यो कुरा मनन गरेँ, “परमेश्वरमा विश्वास गरेको यति धेरै वर्ष बितिसक्दा पनि म किन अगुवा वा सुपरिवेक्षकको रूपमा चुनिएको छैन? ममा वास्तवमै के कुराको कमी छ?” अगुवा वा सुपरिवेक्षक हुनका लागि सत्यता बुझ्ने क्षमता हुनु, कर्तव्यमा सिद्धान्तहरू बोध गर्न सक्नु, र बोझको भावना तथा कार्य सामर्थ्य हुनु आवश्यक हुन्छ। मसँग परमेश्वरका वचनहरूको बारेमा केही बुझ्ने क्षमता भए पनि, मैले के देखेँ भने मेरो शरीरले मलाई जितिरहेको थियो, ममा कर्तव्यप्रति बोझको भावनाको कमी थियो, र मेरो कार्य सामर्थ्य कमजोर थियो। जब धेरै काम हुन्थ्यो, तब म हडबडाउँथेँ र मुख्य बुँदाहरू बोध गर्न सक्दिनथेँ, र म समस्याहरू पत्ता लगाउन र समाधान गर्नमा पनि सिपालु थिइनँ। यी व्यवहारहरूलाई हेर्दा, म साँच्चै अगुवा वा सुपरिवेक्षक हुन उपयुक्त थिइनँ। यसका अलावा, चिन्तनको यो अवधिमार्फत, मैले के देखेँ भने मेरो विश्वासको यतिका वर्षहरूमा, मैले निरन्तर प्रतिष्ठा र हैसियत पछ्याइरहेको थिएँ, र म सत्यता पछ्याउने व्यक्ति हुँदै होइन रहेछु। यो विन्दुसम्म आइपुग्दा पनि, मसँग कुनै सत्यता वास्तविकता थिएन र मैले ब्रदर-सिस्टरहरूका वास्तविक समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्दिनथेँ। त्यसैले म अगुवा वा सुपरिवेक्षकको रूपमा नछानिनु साँच्चै उपयुक्त कुरा थियो। मण्डलीले मलाई लेखन-पठनको कर्तव्य पूरा गर्ने बन्दोबस्त मिलाउनु परमेश्वरको अनुग्रह र मप्रतिको उत्थान थियो, र मैले परमेश्वरलाई धन्यवाद दिनुपर्छ।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र परमेश्वरका अभिप्राय र मागहरूबारे अझ राम्रो बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब परमेश्वर मानिसहरूले आफ्नो कर्तव्य पूरा गरून् भन्ने माग गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्चित सङ्ख्यामा कार्यहरू सम्पन्न गर्नू वा कुनै अभूतपूर्व उपलब्धि हासिल गर्नू भनेर भन्नुहुन्न, न त उहाँले तिनीहरूलाई कुनै ठूला कामकुरा पूरा गर्नु भनेर नै भन्नुहुन्छ। परमेश्वरको चाहना यही हो, मानिसहरूले सक्ने सबै कुरा व्यावहारिक तवरमा गर्न र उहाँका वचनअनुसार जिउन सकून्। परमेश्वर तँ महान् वा कुलीन बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्वरको आवश्यकता के मात्र हो भने, तैँले व्यावहारिक रूपमा उहाँका वचनअनुसार अभ्यास गर्नुपर्छ। परमेश्वरका वचनहरू बुझेपछि, तिनलाई व्यवहारमा लागू गर् र तिनलाई पूरा गर्, वा परमेश्वरका वचनहरू सुनेपछि, ती राम्रोसँग याद गर्, अनि, अभ्यास गर्ने समय आएपछि, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। … तँ अवश्यै परमेश्वरले तँलाई चुन्नुभएकाले नै परमेश्वरलाई पछ्याउँछस्—तर परमेश्वरले तँलाई चुन्नुको अर्थ के हो त? यो त तँलाई परमेश्वरमा भरोसा गर्ने, निष्कपट रूपमा परमेश्वरलाई पछ्याउने, परमेश्वरका निम्ति सबै कुरा त्याग गर्न सक्ने, परमेश्वरको मार्ग पछ्याउन सक्ने, अनि आफ्ना शैतानी स्वभावहरू फालेको, शैतानलाई पछ्याउन वा त्यसका शक्तिमा जिउन छोडेको व्यक्तिमा परिणत गर्नु हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरको वचन स्मरण, अर्ती र चेतावनीहरूले भरिएको छ, र यो सबै मानिसहरूप्रति परमेश्वरको भित्री हृदयदेखिको इमानदार सल्लाह हो। म गहिरो रूपमा भाव-विभोर भएँ। मानिसहरूले सत्यता र स्वभाव परिवर्तनको खोजी गर्नेछन् उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनेछन्, र सन्तुष्ट भई विश्वासयोग्य भएर आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नेछन् भन्ने आशाका साथ परमेश्वरले उहाँलाई पछ्याउन मानिसहरूलाई छान्नुहुन्छ। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। परमेश्वरको घरको काम एक जना व्यक्तिले मात्र पूरा गर्न सक्दैन, यसका लागि कामको सुपरिवेक्षण गर्न अगुवा र कामदारहरू, साथै निश्चित कार्यहरू गर्न ब्रदर-सिस्टरहरूको आवश्यकता पर्छ। तब मात्र मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सक्छ। मण्डलीले मलाई लेखन-पठनको कर्तव्य पूरा गर्ने बन्दोबस्त मिलाएको कुरा मेरो प्रतिभा, मानवता र क्षमताको समग्र मूल्याङ्कनमा आधारित थियो, र मैले समर्पित भएर मेरो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। यो मसँग हुनुपर्ने समझ थियो। यी कुराहरू बुझेपछि, मैले धेरै स्वतन्त्र र आराम महसुस गरेँ, र जब मैले मसरहका वा मेरै उमेरका, वा मभन्दा कम समय विश्वास गरेका ब्रदर-सिस्टरहरू अगुवा वा सुपरिवेक्षक भएको देख्थेँ, तब मलाई त्यसले पिरोल्न छोड्यो, न त म अब अगुवा वा कामदार नभएकोमा दिक्दार वा निराश नै भएँ। अब म आफूले प्रकाश गर्ने भ्रष्ट स्वभावहरूमा बढी ध्यान दिन्छु, र मेरो आत्मिक भक्तिको समयमा, मेरा भ्रष्ट स्वभावहरू समाधान गर्न म सत्यताको खोजी गर्छु। म मेरा कर्तव्यहरूमा बढी प्रयास लगाउनमा पनि ध्यान केन्द्रित गर्छु। म काममा देखिने कुनै पनि समस्याहरू सक्रिय रूपमा उठाउँछु र छलफल गर्छु, र मेरा ब्रदर-सिस्टरहरूसँग कसरी सहकार्य गर्ने भन्नेमा ध्यान दिन्छु ताकि हामीले हाम्रा कर्तव्यहरू राम्ररी निर्वाह गर्न सकौँ। मेरो सोचाइ सच्याइएको हुनाले, केही समयपछि, मैले मेरो जीवन प्रवेश र मेरा कर्तव्यहरू दुवैमा केही उपलब्धि हासिल गरेँ। परमेश्वरलाई धन्यवाद!