२५. सुरक्षित जागिर छाडेकोमा मलाई कुनै पछुतो छैन

झेङ जे, चीन

म किसानी पृष्ठभूमिबाट आएकी हुँ, र मेरो सम्पूर्ण परिवार जीविकोपार्जनका लागि खेतीकिसानीमै निर्भर थियो। मेरा श्रीमान् र म हरेक दिन माटोतिर अनुहार र आकाशतिर पिठ्युँ फर्काएर बिताउँथ्यौँ, र वर्षभरि कडा परिश्रम गर्दा पनि थोरै मात्र प्रतिफल पाउथ्यौँ। आफ्नो परिवारको सामान्य खर्च धान्नका लागि पनि हामीले फुटकर कामहरूमा भर पर्नुपर्थ्यो। हामीलाई निकै ठूलो आर्थिक अभाव थियो। पछि, एक जना आफन्तले भनसुन गरेर नजिकैको सरकारी रक्सी कारखानामा मलाई अस्थायी कामदारका रूपमा काम मिलाइदिनुभयो। कारखानाका स्थायी कामदारहरूले हल्का काम गर्थे भने हामी अस्थायी कामदारहरूले प्रायः फोहोर र थकाउने काम गथ्यौँ। तर, हाम्रो ज्याला भने स्थायी कामदारहरूको भन्दा आधा मात्र थियो। उत्पादन कम हुने सिजनमा त, हामी अस्थायी कामदारहरूलाई कामबाट निकालिन्थ्यो, अनि मैले अरू नै जागिर खोज्नुपर्थ्यो। मसँग कुनै सीप नभएकाले, मैले पाउने धेरैजसो काम शारीरिक श्रमको काम हुन्थ्यो र त्यो काम स्थिर हुँदैनथियो। कुनै दिन काम हुन्थ्यो, तर अर्को दिन कुनै काम हुँदैनथियो र म त्यसै बस्नुपर्थ्यो। मलाई निकै दुःख थियो। म प्रायः मनमनै सोच्थेँ, “एउटा स्थिर जागिर भएको भए कति राम्रो हुन्थ्यो होला। मैले काम खोज्ने चिन्ता लिनुपर्दैनथियो, अनि धेरै पैसा कमाएर अझै सम्पन्न जीवन जिउन सक्थेँ।” त्यसको केही समयपछि नै, रक्सी कारखानाले आफ्नो क्षेत्र विस्तार गर्ने योजना बनायो। हाम्रो गाउँका केही जग्गा मुआब्जाविना नै अधिग्रहण गरियो। तर, परिवारमा दश जना सदस्य छन् भने, त्यो परिवारलाई रक्सी कारखानामा स्थायी रोजगारका लागि एउटा कोटा दिइन्थ्यो। हाम्रो परिवारमा एक दर्जनभन्दा बढी सदस्यहरू थिए, र कारखानामा काम पाउने म एक्ली थिएँ। छिमेकीहरूले निकै डाहा गरे, र मलाई चाहिँ आफू एकदमै भाग्यमानी छु जस्तो लाग्यो, “मैले यति सानो उमेरमै सरकारी संस्थाको स्थायी कर्मचारी हुने मौका पाएकी छु। यो त सबैले ईर्ष्या गर्ने सुरक्षित जागिर हो। मैले समयमै तलब पाउन सक्छु, र मेरो जीविकाको ग्यारेन्टी मात्र होइन, वृद्ध हुँदा पेन्सनका साथै पेन्सन बिमा र औषधोपचार बिमा जस्ता सुविधाहरू पनि पाउनेछु। मैले कडा मिहिनेत गर्नुपर्छ र यो बल्लतल्ल पाएको जागिरलाई जोगाइराख्नुपर्छ।” काममा मैले अत्यन्तै कडा परिश्रम गरेँ। मैले कहिल्यै काम छल्ने वा अल्छी गर्ने गरिनँ। त्यसको केही समयपछि नै, म टोली अगुवा चुनिएँ, जसमा अरू कर्मचारीहरूको भन्दा थोरै राम्रो पारिश्रमिक थियो। मैले आफ्नो सुरक्षित जागिरलाई झन् धेरै महत्त्व दिन थालेँ। विशेषगरी व्यस्त सिजनमा, जब रक्सी कारखानामा कामको चाप धेरै हुन्थ्यो, तब म प्रायः दिनको दश घण्टाभन्दा बढी काम गर्थेँ। म यति धेरै थाक्थेँ कि मेरो कम्मर र ढाड दुख्थ्यो। धेरै खटेकाले म कमजोर भएकी थिएँ। तर, जब म सामान्यभन्दा धेरै गुणा बढी तलब, र वर्षको अन्त्यमा पाइने बोनस जस्ता सुविधाहरूको बारेमा सोच्थेँ, तब मलाई त्यो थकान पनि जायज नै लाग्थ्यो। यसरी मैले एक दशकसम्म काम गरेँ।

सन् २००५ को शरद ऋतुमा, मेरी भाउजूले मलाई परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो। परमेश्‍वरका वचन खाएर-पिएर, मैले के थाहा पाएँ भने मानिसहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन्, सम्पूर्ण मानवजातिको नियतिमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ, र सम्पूर्ण मानवजातिले परमेश्‍वरमा विश्वास गर्नुपर्छ र परमेश्‍वरको आराधना गर्नुपर्छ। पछि, म परमेश्‍वरका वचन खान-पिउन अनि परमेश्‍वरको प्रशंसामा भजन गाउनका लागि बारम्बार ब्रदर-सिस्टरहरूसँग भेला हुन थालेँ। मलाई यसमा आनन्द लाग्थ्यो, र मेरो हृदयले स्वतन्त्र महसुस गर्थ्यो। त्यसको लगत्तै, मैले कर्तव्यहरू निर्वाह गर्न सक्षम भएँ। म तीनवटा समूहका भेलाहरूका लागि जिम्मेवार थिएँ। त्यतिबेला, रक्सी कारखानामा बिक्री-व्यापार कम हुने सिजन थियो, र म आधा दिन मात्र काम गर्थेँ। मैले आइतबारको दिन पनि बिदा पाउँथेँ। मेरो जागिरले मलाई भेलामा जान वा मेरो कर्तव्य निर्वाह गर्न बाधा पुर्‍याएन।

जब सन् २००६ को शरद ऋतु आयो, तब रक्सी कारखानामा कामको चाप अत्यधिक बढ्यो। मैले कम्तीमा पनि दिनको दश घण्टाभन्दा बढी काम गर्नुपर्थ्यो। कारखानाको म्यानेजरले प्रायः मिटिङमा यसो भन्थे, “अहिले उत्पादनको मुख्य सिजन हो। टोली अगुवा भएकाले, तिमीले तोकिएको समयभित्र उत्पादनको कोटा पूरा गर्ने उपायहरू सोच्नुपर्छ। यो समयमा तिमीले बिदा लिनु हुँदैन, तिमी ढिलो आउनु हुँदैन, वा चाँडै निस्कनु हुँदैन! यदि तिमीले कडा मिहिनेत गरेनौ भने, कामबाट निकालिनेछौ!” यो सुन्दा, मैले आफ्नो हृदयमा बाँधिएको महसुस गरेँ। काममा कुनै कुराको कमी भयो भने मलाई कामबाट निकालिन्छ कि भनेर डर लाग्थ्यो। मैले भेलाहरूमा जान र आफ्नो कर्तव्य निर्वाह गर्न चाहेर पनि समय नै पाउन सकेकी थिइनँ। म ठूलो दोधारमा परेँ, “म यति व्यस्त छु, भेलाहरूमा समेत सहभागी हुन सक्दिनँ। के एउटा परमेश्‍वरको विश्वासी यस्तै हुनुपर्छ र? यदि मैले भेलाहरूमा सहभागी हुन बारम्बार बिदा लिएँ भने, मेरो काममा ढिलाइ हुनेछ र मलाई कामबाट निकालिनेछ। यदि मैले यो सुरक्षित जागिर गुमाएँ भने, भविष्यमा मेरो जीविका कसरी चल्ला? त्यसरी त हुँदैन। जेसुकै भए पनि, मैले यो जागिर गुमाउनु हुँदैन। कामको यो चाप घटेपछि म भेलाहरूको बारेमा सोच्नेछु।” त्यसपछि, म तन र मन लगाएर काममा खटिएँ। म हरेक दिन बिहान ७ बजेदेखि मध्यरातसम्म काम गर्थेँ। कहिलेकाहीँ त, म बिहानको एक वा दुई बजेसम्म पनि ओभरटाइम गर्थेँ। म यति थकित हुन्थेँ कि म लखतरान परेकी हुन्थेँ। घर पुगेर टाउको सिरानीमा राख्नेबित्तिकै म निदाइहाल्थेँ। मसँग प्रार्थना वा आत्मिक भक्ति गर्ने समय समेत हुँदैनथ्यो। हरेक दिन, तोकिएको समयभित्र मेरो उत्पादन कोटा कसरी पूरा गर्ने भन्ने सोचले मात्र मेरो दिमाग भरिएको हुन्थ्यो। म नरोकिइकन एउटा मेसिनजस्तै काम गर्थेँ। बिस्तारै, मेरो हृदय परमेश्‍वरबाट टाढा-टाढा हुँदै गयो।

यही दौरान, मेरो जीवनमा केही नमिठा घटनाहरू घटे। मलाई चाप्लुसी गर्न मन नपर्ने र डाइरेक्टरलाई खाना खुवाउन पनि नबोलाउने भएकाले, मलाई फोहोर र थकाउने काम मात्र दिइन्थ्यो। जब मेरा टोली सदस्यहरूले अरू टोलीले सजिलो काम गरिरहेको देख्थे, तब तिनीहरूले प्रायः मलाई गुनासो गर्थे, “अरू टोली अगुवाहरूलाई हेर्नु त। डाइरेक्टरलाई कसरी खुशी पार्ने तिनीहरूलाई थाहा छ, अनि तिनीहरूले सजिलो जागिरहरू पाउँछन्। तपाईँ साह्रै सीधा हुनुहुन्छ, न त तपाईँ डाइरेक्टरलाई उपहार दिनुहुन्छ न त उहाँसँगको सम्बन्ध संवर्धन गर्नुहुन्छ; तपाईँ उहाँलाई खुशी पार्ने कोसिस नै गर्नुहुन्न। तपाईँको टोलीमा भएकाले हामीले यो सबै फोहोर र थकाउने काम गर्नुपरेको छ।” कहिलेकाहीँ, तिनीहरू जानीजानी काम रोकेर आलटाल गरी बस्थे, त्यसैले कामको प्रगति एकदमै सुस्त हुन्थ्यो। जब डाइरेक्टरले यो अवस्था देख्नुहुन्थ्यो, तब काममा आलटाल गर्ने टोलीको अगुवाइ गरेकोमा मलाई हप्काउनुहुन्थ्यो। म साह्रै व्याकुल भएँ। दैनिक कामको भारीले गर्दा सुरुदेखि नै म ज्यादै थाकेकी हुन्थेँ; त्यसमाथि कर्मचारीहरू र डाइरेक्टरले पनि मलाई गुनासो गर्दा, त्यो सास्तीले मलाई शारीरिक र मानसिक दुवै रूपमा लखतरान पार्थ्यो। मलाई जीवन साह्रै थकाउने खालको लाग्यो। कहिलेकाहीँ त, मलाई यति रिस उठ्थ्यो, म त्यो काम नै गर्न चाहन्नथेँ, तर यो सुरक्षित जागिर भएकाले मसँग यसको सामना गर्नुको विकल्प थिएन। विवश भएर, मैले काम जारी राख्नैपर्थ्यो।

एक झिमिकमा, व्यस्त सिजन सकियो, र रक्सी कारखानामा कामको चाप कम भयो। मैले सुरुमा राम्ररी आराम गर्ने सोचेकी थिएँ, तर म उल्टै बिरामी परेँ। मलाई मन्द ज्वरो आयो जुन घट्दै घट्दैनथियो, मेरो सम्पूर्ण शरीरमा तागत नै थिएन, र न औषधी खाँदा न त सुई लगाउँदा नै विसेक भयो। घरमै आराम गरेर बस्नुको मसँग कुनै विकल्प थिएन। हरेक पटक म अस्पतालबाट घर फर्कंदा, म सडकमा मानिसहरूको भीड देख्थेँ, र अरूको राम्रो स्वास्थ्य देखेर ईर्ष्या गर्थेँ। मैले व्यस्त भएर घोटिँदै अलि-अलि पैसा कमाए पनि, राम्रो स्वास्थ्यविना, त्यसको के अर्थ थियो र? मलाई अचानक के महसुस भयो भने, मैले जतिसुकै पैसा कमाए पनि, त्यो राम्रो स्वास्थ्य हुनुजत्तिको महत्त्वपूर्ण होइन। मैले पहिलेको समय सम्झिएँ, जुन बेला म भेलाहरूमा जान्थेँ र ब्रदर-सिस्टरहरूसँग मिलेर आफ्नो कर्तव्य निर्वाह गर्थेँ। त्यतिबेला मलाई हृदयमा निकै चैन महसुस हुन्थ्यो। त्यसपछि मैले आफ्नो अहिलेको कुनै पनि काम गर्न नसक्ने बिरामी स्थितिलाई हेरेँ, र मलाई उजाड र असहाय महसुस भयो। मेरो दुःखको घडीमा, सिस्टर जियाङ यु मलाई साथ दिन मेरो घरमा आउनुभयो र मलाई भेलाहरू सहभागी हुन भन्नुभयो। लज्जित हुँदै, मैले भनेँ, “म भेलामा नगएको कति भयो? के म अझै पनि भेलाहरूमा जान सक्छु र?” जियाङ युले हुन्छ, जान मिल्छ भन्नुभयो, र केही ब्रदर-सिस्टरहरू मेरो घरमा भेला हुने व्यवस्था मिलाउनुभयो। म खुशी हुँदै राजी भएँ। भेलाको दिन, मैले घुँडा टेकेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ। त्यो क्षण, मलाई आफू एउटा चकचके र अनाज्ञाकारी बच्चाजस्तो महसुस भयो: म घरबाट टाढा हराएकी थिएँ र मैले धेरै कष्ट भोगेकी थिएँ, तर म अन्योल र अलमलमा परेकै बेला, म आफ्ना आमाबुबाको काखमा फर्किएँ। खुशी, लाज, र ऋणीपनका भावनाहरू एकआपसमा जेलिएका थिए, र मलाई ती कसरी व्यक्त गर्ने थाहा थिएन। मैले पीडादायी आँसु बगाउँदै परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्यारो परमेश्‍वर, म तपाईँबाट धेरै टाढा भएकी छु र मैले तपाईँविरुद्ध धेरै विद्रोह गरेकी छु। तपाईँप्रतिको मेरो ऋणको बारेमा कसरी कुरा गरूँ मलाई थाहा छैन। यो सम्पूर्ण समयमा, मैले कामको बारेमा मात्र सोचिरहेँ। मैले भेलाहरू अनि परमेश्‍वरका वचन खाने-पिउने कुरालाई पूर्ण रूपमा पन्छाएँ, र म दिनभरि एउटा मेसिनजस्तै लगातार काममा मात्र खटिएँ, जसले गर्दा म तन र मन दुवैमा लखतरान भएँ र मैले व्यक्त गर्न नसक्ने कष्ट सहेँ। अहिले म बिरामी भएपछि मात्र मैले के महसुस गरेँ भने, तपाईँको हेरचाह र सुरक्षाबाट टाढा जिउनु भनेको जिउँदो लास भएर जिउनुजस्तै रहेछ; यो त शून्यता र पीडाको जीवन रहेछ। तर तपाईँले मेरा अपराधहरूलाई याद राख्नुभएन, र मलाई सहायता र साथ दिन मेरी सिस्टरलाई समेत प्रयोग गर्नुभयो। तपाईँले मप्रति देखाउनुभएको सहनशीलता र कृपाका लागि धन्यवाद! म तपाईँकहाँ फर्कन, मेरा ब्रदर-सिस्टरहरूसँग भेला भएर तपाईँका वचन खान-पिउन, अनि मेरो सामर्थ्यले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छु।” मैले के देखेँ भने, मेरा ब्रदर-सिस्टरहरूबीच कुनै पर्खाल वा द्वन्द्व थिएन, रक्सी कारखानामा हुने जस्तो तछाडमछाडको त कुरै छोडौँ। मलाई यी दुई नितान्त फरक संसार हुन् जस्तो लाग्यो, र मेरो हृदयले शान्ति र चैन महसुस गर्‍यो। एक महिनापछि, थाहै नपाई मेरो रोग निको भयो। हृदयमा, म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ भएँ।

पछि, जियाङ यु मलाई भेट्न मेरो घर आउनुभयो। जब उहाँले मेरो अनुभव सुन्नुभयो, तब उहाँले मलाई परमेश्‍वरका वचनको एउटा भजन गाएर सुनाउनुभयो, “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ”: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्य नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र? सङ्क्षेपमा, परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, उहाँको सबै काम मानिसका खातिर हो। यो त आकाश तथा पृथ्वी र यावत् थोकलाई उहाँले मानिसको सेवा गर्नकै निम्ति सृष्टि गर्नुभए जस्तै हो: परमेश्वरले मानिसका लागि चन्द्र, सूर्य अनि ताराहरू बनाउनुभयो, उहाँले मानिसका लागि जनावरहरू र वनस्पतिहरू बनाउनुभयो, उहाँले मानिसका लागि वसन्त, ग्रीष्म, शरद तथा शिशिर ऋतु इत्यादि बनाउनुभयो—यी सबै मानिसका खातिर नै बनाइएका थिए। त्यसैले परमेश्‍वरले मानिसलाई जसरी सजाय दिनुभए तापनि, न्याय गर्नुभए तापनि, यो सबै मानिसको मुक्तिको निम्ति हो। उहाँले मानिसलाई उसका दैहिक आशाहरूबाट वञ्चित गर्नुभयो भने पनि, यो अझैँ पनि मानिसलाई शुद्धीकरण गर्नका निम्ति हो, र मानिसको शुद्धीकरण उसको अस्तित्वका खातिर गरिन्छ। मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। जियाङ युले मलाई कसरी उहाँ पहिला संसारमा पैसा कमाउनका लागि अत्यन्तै व्यस्त हुनुहुन्थ्यो र पछि धेरै ठक्कर खाएपछि परमेश्‍वरको घरमा आउनुभयो भन्‍ने आफ्नो अनुभव सुनाउनुभयो। उहाँले यो पनि भन्नुभयो, “हामी मानव सृजित प्राणीहरू हौँ र हामीले आफ्नो नियतिलाई नियन्त्रण गर्नै सक्दैनौँ। हामी जतिसुकै व्यस्त भए पनि र आफ्नै सामर्थ्यमा भर परेर जतिसुकै घोटिए पनि, नतिजा हामीले चाहेजस्तो हुन्छ नै भन्ने छैन। अहिले, परमेश्‍वर मानिसहरूको मुक्तिको काम गर्न देहधारी भई मानव संसारमा आउनुभएको छ। मानिसहरूलाई आफूतिर तान्न र भ्रममा पार्नका लागि शैतानले पनि आर्थिक लाभ र देहका सुखविलासहरूको प्रयोग गरिरहेको छ, जसले गर्दा तिनीहरूको हृदय देह र पैसाले ओगटेको हुन्छ; अन्तमा तिनीहरू शैतानको पासोमा पर्नेछन्। हामीले आफूलाई धेरैभन्दा धेरै सत्यताले सुसज्जित गर्नुपर्छ—तब मात्र हामीले शैतानका दाउपेच छर्लङ्ग देख्न सक्नेछौँ।” जब मैले जियाङ युले यसरी सङ्गति गरेको सुनेँ, तब म निकै भावुक भएँ। म सधैँ कडा मिहिनेत गरेर आफ्नो काम राम्रोसँग गर्न, डाइरेक्टरको विश्वास जित्न, र मेरो सुरक्षित जागिरलाई जोगाइराख्न चाहन्थेँ, ताकि भविष्यमा मेरो जीविकाको ग्यारेन्टी होस्। यसैले गर्दा, म भेलाहरूमा गइनँ वा मैले आफ्नो कर्तव्य निर्वाह गरिनँ; म निरन्तर कडा परिश्रममा मात्र डुबिरहेँ, र मेरो हृदय पूर्ण रूपमा पैसाले ओगटेको थियो। नतिजास्वरूप, मैले डाइरेक्टरको प्रशंसा त पाइनँ नै, उल्टै रोगको सास्ती पनि सहनुपर्‍यो। यो अग्निपरीक्षाले मलाई तन र मन दुवैमा लखतरान बनायो र व्यक्त गर्न नसकिने कष्टमा पुर्‍यायो। तब मात्र मैले के महसुस गरेँ भने, मैले जतिसुकै योजना बनाए पनि, हिसाबकिताब गरे पनि वा कडा मेहनत गरे पनि, म आफ्नो नियति बदल्न असमर्थ रहेछु। म “आफ्नै दुई हातले सुखी जीवन निर्माण गर्नुपर्छ,” र “धेरै कमाइ हुने जागिरभन्दा सुरक्षित जागिर नै राम्रो हो” भन्ने शैतानी नियमहरूको भरमा जिइरहेकी थिएँ। म आफ्नै मेहनतले आफूले चाहेको जीवन प्राप्त गर्न चाहन्थेँ, तर अन्तमा, मैले जताततै ठक्कर खाएँ र म निराश हुन पुगेँ। अन्ततः, यो असफलतामा टुङ्गियो। यो त ठ्याक्कै परमेश्‍वरले भन्नुभएजस्तै भयो: “मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन।” म साँच्चै नै अत्यन्त दृष्टिहीन र अज्ञानी थिएँ, आफ्नै क्षमताहरूबारे एकदमै बेखबर थिएँ! परमेश्‍वरका वचनले खुलासा गरेका कुराले मेरो संवेदनाहीन हृदय फेरि ब्युँझिएको थियो, र मैले अन्ततः के महसुस गरेँ भने, त्यो समयमा ममाथि आएको रोग र पीडा त परमेश्‍वरको हातबाट आएको ताडना र अनुशासन पो रहेछ। अझ भन्नुपर्दा, त्यो त परमेश्‍वरले मलाई दिएको मुक्ति थियो। नत्रभने, म अझै पनि पैसाको बन्धनमा हुनेथिएँ र शैतानको पासोमा पर्नेथिएँ, जसबाट म उम्कन सक्ने थिइनँ।

सन् २००७ को अप्रिलमा, म मण्डलीमा अगुवा चुनिएँ। त्यतिबेला, रक्सी कारखानामा अझै पनि कामको चाप कम हुने सिजन थियो। काम तुलनात्मक रूपमा सजिलो र शान्त थियो, त्यसैले यसले मलाई भेलाहरूमा जान वा आफ्नो कर्तव्य निर्वाह गर्न रोकेन। पछि, एउटा यस्तो घटना घट्यो जसले मलाई धेरै असर गर्‍यो। रक्सी कारखानामा काम गर्दा हामीले लामो समयसम्म निहुरिनुपर्ने र भारी सामानहरू सार्नुपर्ने, अनि चिसो पानी चलाउनुपर्ने भएकाले, केही पुराना कर्मचारीलाई व्यवसायजन्य रोगहरू लागेका थिए। तिनीहरूमध्ये धेरैजसोलाई ढाडको नसा च्यापिने, बाथ रोग, गर्धनको हड्डी खिइने, र यस्तै समस्याहरू थिए। कोही-कोहीमा समस्या यति गम्भीर भयो कि तिनीहरू ओछ्यानमै थलिएका थिए, र आफ्नो हेरचाह आफै गर्न नसक्ने भएका थिए। एकपटक, हामी उत्पादनका सामाग्रीहरू तयार गर्न तनावपूर्ण रूपमा लागिरहेका थियौँ, तब मैले भुइँमा पल्टिरहेको एउटा कर्मचारीलाई देखेँ, जसको अनुहारको रङ्ग उडेको थियो, र उसका आँखामा उजाडपन र विवशता थियो। मेरा सहकर्मीहरूले मलाई भनेअनुसार, उक्त कर्मचारी गर्धन अररो हुने समस्याबाट पीडित थिए। उसलाई रिँगटा चल्यो र बान्ता भयो, र ऊ लगभग बेहोसी अवस्थामा थियो। विगतमा, उसले ठूलो जोसका साथ काम गरेको थियो। गर्धन अररो हुने समस्याले मान्छेलाई कुनै पनि बेला ढलाउन सक्ने रहेछ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ। यसले मलाई के महसुस गरायो भने, मान्छे जतिसुकै बलियो भए पनि, रोगको सामना गर्नुपर्दा उसँग प्रतिरोध गर्ने कुनै क्षमता हुँदैन रहेछ। मानिसहरू साँच्चै कति महत्त्वहीन र कमजोर हुन्छन्! मैले के सोचेँ भने यी पुराना कर्मचारीहरूले केही पैसा कमाएका भए पनि, तिनीहरूले आफ्नो आधा जीवन यसैमा बिताएका थिए। तिनीहरूको सुविधा वा पारिश्रमिक जतिसुकै राम्रो भए पनि, तिनीहरूले आफ्नो स्वास्थ्य कहिल्यै फिर्ता पाउन सक्ने थिएनन्; झन् रोगको सास्तीले ल्याएको पीडा त तिनीहरूले हटाउन सक्ने कुरै भएन। तिनीहरूसँग संसारको सबै सम्पत्ति भए पनि, त्यसको के काम? के तिनीहरूको जीवन त अझै पनि पीडा र शून्यता मात्र हुनेथिएन र? मेरो गर्धन र कम्मरको हड्डी दुवैको अवस्था खराब थियो, र मलाई बाथ रोग पनि थियो। यदि म यसरी नै अघि बढेँ भने, के म पनि एक दिन ओछ्यानमा थलिएर पक्षाघातको शिकार हुनेथिएँ? यी पुराना कर्मचारीहरूले आफ्नो अधिकांश जीवन पैसा कमाउनका लागि कडा परिश्रममा बिताएका थिए। तिनीहरूले राम्रो जीवनको आनन्द लिन पाएका थिएनन् र रोगको सास्तीले तिनीहरूलाई असह्य पीडामा छाडेको थियो। यसले मलाई पनि एउटा चेतावनी दियो। यदि मानिसहरूले परमेश्‍वरको आराधना गर्दैनन् र तिनीहरूसँग परमेश्‍वरको सुरक्षा छैन भने, तिनीहरूलाई शैतानले कुनै पनि बेला हानि पुर्‍याउन सक्छ: सुरक्षित जागिरलाई मात्रै पक्रिराखेर खुशी प्राप्त गर्न सकिँदैन। म दोधारमा पर्न थालेँ, “के म साँच्चै यो जागिर खाइराख्न चाहन्छु?”

त्यसको केही समयपछि नै, म प्रचारक चुनिएँ। अगुवाहरूले मलाई यो कर्तव्य निर्वाह गर्न इच्छुक छु कि छैन भनेर सोध्नुभयो। मैले के विचार गरेँ भने, यदि म प्रचारक भएँ भने अझ बढी व्यस्त हुनेछु, र मसँग काममा जाने समय नै हुँदैन। के मैले जागिर छाड्नुपर्नेछ त? यदि मैले जागिर छाडेँ भने, मैले कठिन जीवन बिताउनुपर्नेछ, तर काममा जाँदा मण्डलीको काममा गतिरोध आउनेछ। मैले के सोचेँ भने, म पहिले नै ऋणी भइसकेकी छु किनकि विगतमा, काममा व्यस्त भएकाले मैले आफ्नो कर्तव्य त्यागेकी थिएँ। यदि मैले फेरि आफ्नो कर्तव्यलाई अस्वीकार गरेँ भने, के त्यो अति नै विद्रोही कार्य हुनेछैन र? दोधारमा परेर, मैले अभ्यास गर्ने सबैभन्दा उपयुक्त मार्ग खोज्न परमेश्‍वरलाई धेरै पटक प्रार्थना गरेँ। त्यसपछि, मैले परमेश्‍वरका वचन पढेँ: “मेरो आत्माले महान् काम गर्ने समय, र अन्यजाति राष्ट्रहरूमाझ मैले मेरो काम सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सबै सृजित प्राणीहरू प्रत्येकलाई तिनीहरूको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो रूपमा अगाडि बढ्न सकोस् र त्यो नतिजाहरू हासिल गर्न अझ बढी सक्षम होस्। त्यसैले, म तिमीहरूबाट के माग गर्छु भने, अझै पनि तिमीहरूले आफ्नो सम्पूर्ण सत्त्वलाई मेरा सबै काममा अर्पण गर, अनि, अझ बढी, मैले तँमा गरेका मेरा कामलाई तँ स्पष्ट रूपमा खुट्ट्या र सही रूपमा चिन्, र तँ आफ्नो सम्पूर्ण शक्ति मेरो काममा समर्पित गर्, ताकि मेरो कामले अझ ठूला नतिजाहरू हासिल गर्न सकोस्‌। यो कुरा तैँले बुझ्नैपर्छ। आपसमा होड गर्न, आकस्मिक योजना खोज्न, वा आफ्नो देहका लागि सुख खोज्नबाट टाढा बस्, ताकि मेरो काममा ढिलाइ नहोस्, र तेरो अद्भुत भविष्यमा छेकथुन नहोस्। तिमीहरूलाई जोगाउनु त कता हो कता, त्यस्ता कार्यले तिमीहरूमाथि विनाश मात्र ल्याउन सक्छ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लिप्त हुने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो, जबकि तैँले आज सहने पीडाले नै तेरो सुरक्षा गरिरहेको छ। तँ यी चीजहरूबारे स्पष्ट रूपमा सचेत हुनुपर्छ, ताकि आफूलाई उम्किन कठिन लाग्ने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र बाटो बिराएर बाक्लो कुहिरोभित्र छिरेर फेरि कहिल्यै सूर्य भेट्टाउन असक्षम हुनबाट जोगिन सक्। जब बाक्लो कुहिरो हट्छ, तब तैँले आफूलाई महान् दिनको न्यायमाझ पाउनेछस्‌(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो)। परमेश्‍वरका वचनले मलाई के बुझाए भने हामी राज्यको सुसमाचार फैलाउने महत्त्वपूर्ण घडीमा छौँ। यदि मैले आफ्नो सुरक्षित जागिर जोगाइराख्ने र सम्पन्नता तथा प्रशस्तताको जीवन पछ्याउने बारेमा मात्र सोचेँ भने, अन्तमा, म देहमा पतन हुनेछु र शैतानद्वारा निलिनेछु, अनि परमेश्‍वरद्वारा मुक्ति पाउने मेरो अवसर गुम्नेछ। मैले विगतबारे चिन्तन गरेँ, मैले परमेश्‍वरमा विश्वास गरेकी र म भेलाहरूमा गएकी भए पनि, मैले सत्यता पछ्याउन वा आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेर सृजित प्राणीको जिम्मेवारी पूरा गर्नमा ध्यान केन्द्रित गरेकी थिइनँ। मैले केवल सम्पन्नता र प्रशस्तताको राम्रो जीवन पछ्याउनेबारे मात्र सोचेँ। म के सोच्थेँ भने यो सुरक्षित जागिर भएकाले, मैले दैनिक जीवनको खर्चबारे चिन्ता लिनुपर्ने छैन, र मेरो बुढेसकालका लागि मसँग सुरक्षा हुनेछ। त्यसैले, मैले आफ्नो सारा प्रयास र समय काममा लगाएँ, बिहानदेखि बेलुकासम्म दौडधुप गरेर कडा परिश्रम गरेँ, “किनकि मैले समयमै मेरो उत्पादन कोटा पूरा गर्न सकिनँ भने मेरो सुरक्षित जागिर गुम्नेछ भन्‍ने मलाई डर थियो।” जब काम र कर्तव्य निर्वाह गर्ने कुराबीच द्वन्द्व देखियो, तब मैले मण्डलीको कामलाई पटक्कै वास्ता गरिनँ। मैले भेलाहरू र आफ्नो कर्तव्यलाई त्यागेँ, र मेरो सुरक्षित जागिर जोगाउनका लागि आफ्नो सारा समय र प्रयास खन्याएँ। नतिजास्वरूप, यसले मलाई चैन र मनको शान्ति दिन त सकेन नै, उल्टै रोगको सास्ती भोग्न बाध्य बनायो, जसले गर्दा म तन र मन दुवैमा लखतरान भएँ र परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै गएँ। मैले के सोचेँ भने मेरो आफ्नै जीवन वृद्धिका खातिर प्रचारकको रूपमा तालिम लिने मौका दिएर परमेश्‍वरले मलाई अनुग्रह गर्नुभएको थियो, तर मैले, आफ्नो भलाई नबुझेर, अझै पनि देहका सुखविलासहरूमा मग्न हुन चाहेकीले आफ्नो कर्तव्यलाई अस्वीकार गरेँ। म साँच्चै नै विवेक र समझशून्य थिएँ! मैले रक्सी कारखानामा काम गर्ने मेरा गैरविश्‍वासी सहकर्मीहरूका बारेमा सोचेँ। तिनीहरूले परमेश्‍वरका वचनको मलजल र आपूर्ति पाएका थिएनन्, र निरन्तर कडा परिश्रम र सङ्घर्ष गरे। परिणाम स्वरूप, तिनीहरूले आफूले चाहेको जीवन प्राप्त गर्न त सकेनन् नै, उल्टै तिनीहरूमध्ये कोही त ओछ्यानमै थलिएर पक्षाघातको शिकार समेत भए, र शरीरमा लागेका रोगहरूको वेदनामा तड्पिए। अरूको विगतका दुर्भाग्यहरूबाट प्राप्त यी पाठहरू मेरा लागि चेतावनी र सम्झाउनीहरू थिए! यदि म मेरो हठी अज्ञानतामा लागिरहेँ, र हलोमा हात लगाएर पछाडि फर्केर हेरेँ भने, मैले आखिरी दिनहरूमा परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिने त्यो मौका गुमाउनेथिएँ, जुन हजार वर्षमा एकपटक आउँछ। महाविपत्तिहरू आउँदा म अविश्‍वासीहरूसँगै अन्धकारमा पर्नेथिएँ, अनि विलाप गर्दै दाँत किट्नेथिएँ। यस अवधिमा, जब मलाई कर्तव्य निर्वाह गर्दा कठिनाइहरू हुन्थे, तब म सत्यताको खोजी गर्न प्रार्थना गर्थेँ, र मेरो जीवनमा केही प्रगति भयो, अनि मैले केही सत्यता बुझेँ। यी यस्ता उपलब्धिहरू थिए जुन मैले पहिले कहिल्यै पाएकी थिइनँ। जब मैले यसको बारेमा सोचेँ, तब मैले प्रचारकको कर्तव्य स्वीकार गरेँ।

प्रचारक भएपछि, म झन्-झन् व्यस्त हुँदै गएँ। केही समयपछि, व्यस्त सिजन फेरि आयो। मेरो भेलाहरूको समय प्रायः कामसँग जुध्थ्यो, र मलाई बिदा माग्न झन्-झन् गाह्रो हुँदै गयो। एकपटक, डाइरेक्टरले मलाई रिसाउँदै भन्नुभयो, “यदि तिमी हरेक दिन बिदा माग्छौ भने, बरु जागिर छोडिदेऊ!” जब मैले डाइरेक्टरले यसो भनेको सुनेँ, तब मलाई हृदयमा बाँधिएको महसुस भयो र दुविधा हुन थाल्यो, “यदि मैले आफ्नो कर्तव्य राम्रोसँग गर्न चाहने हो भने, मैले जागिर छोड्नैपर्छ। तर मेरो मन यो सुरक्षित जागिर गुमाउन अझै मानिरहेको छैन। म यो सरकारी संस्थामा निकै मुस्किलले स्थायी कर्मचारी भएकी हुँ। यदि मैले अहिले राजीनामा दिने कुरा गरेँ भने, मेरो परिवारले जे गरे पनि मान्नेछैन। अबका केही वर्षमा, मेरो छोराले घर किन्नुपर्नेछ र विवाह गर्नुपर्नेछ: धेरै खर्चहरू आउँदैछन्! यदि मैले साँच्चै जागिर छाडेँ भने, मैले अबदेखि गरिबीको जीवन बिताउनुपर्नेछ। म वृद्ध हुँदा, आधारभूत जीवनयापन खर्चका लागि पनि सङ्घर्ष गर्नुपर्नेछ।” जब म दुबिधामा परेँ, तब मैले खोजी गर्नका लागि परमेश्‍वरलाई धेरै पटक प्रार्थना गरेँ। मलाई प्रभु येशूले भन्नुभएको कुरा याद आयो: “आकाशका पक्षीहरूलाई हेर: किनकि तिनीहरूले रोप्दैनन्, न त तिनीहरूले कटनी नै गर्छन्, न त धनसारमा जम्मा नै गर्छन्; तापनि तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा निकै नै असल छैनौ र?(मत्ती ६:२६)। मैले परमेश्‍वरका वचन पनि सम्झिएँ: “मण्डलीको काममा नै तेरा विचारहरूलाई केन्द्रित गर्। तेरा आफ्नै देहका सम्भावनाहरूलाई एकातिर पन्छाउन, पारिवारिक विषयहरूबारे निर्णायक बन्, आफूलाई सम्पूर्ण हृदयले परमेश्‍वरको काममा समर्पित गर्, र परमेश्‍वरको कामलाई पहिलो स्थानमा अनि तेरो आफ्नै जीवनलाई दोस्रो स्थानमा राख्। सन्तको शिष्टता यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। परमेश्‍वरले आकाशका पक्षीहरूलाई बाँच्ने आधार दिनुभएको छ। तिनीहरू बाँच्नकै लागि मात्र दिनभरि दौडधुप गर्नु पर्दैन: तिनीहरू वर्षैभरि कडा परिश्रम नगरी पनि बाँच्न सक्छन्। त्यसपछि मैले आफ्नै बारेमा सोचेँ: मेरो छोराले विवाहमा कति खर्च गर्नेछ र मैले बुढेसकालमा गाँस र कपासका लागि सङ्घर्ष गर्नेछु कि गर्नेछैन भन्ने कुरा सबै परमेश्‍वरको सार्वभौमिकताभित्र पर्छ। भविष्यका बारेमा यति धेरै सोचेर के काम? मलाई याद आयो, जब मोशाले इस्राएलीहरूलाई मिश्रदेशबाट बाहिर डोर्‍याएका थिए, तब तिनीहरू उजाडस्थानमा पुग्दा तिनीहरूसँग खानका लागि केही थिएन। परमेश्‍वरले तिनीहरूलाई मन्‍न र बट्टाई दिनुभयो ताकि तिनीहरूले अघाउन्जेल खान सकून्। कतिपय मानिसहरूले, भविष्यमा भोकै भइएला कि भन्ने डरले, पछि खानका लागि लुकाएर केही मन्‍न राखे। तर अर्को दिन, त्यो मन्ना कुहियो। तर, जसले सरल मनले परमेश्‍वरका वचन पालन गरे, र परमेश्‍वरले जहाँ डोर्‍याउनुभयो त्यहीँ उहाँलाई पछ्याए, अन्ततः तिनीहरूलाई परमेश्‍वरले प्रतिज्ञा गरिएको कनान देशमा पुर्‍याउनुभयो। अहिले, मलाई आधारभूत आवश्यकताको कुनै अभाव थिएन: खान र लाउन पाउनमै म सन्तुष्ट हुनुपर्थ्यो। तर, म भने भविष्यमा मेरो जीविका धान्ने बाटो हुनेछैन कि भनेर निरन्तर चिन्तित रहेँ; परमेश्‍वरप्रति मेरो आस्था साह्रै थोरै थियो। अहिले परमेश्‍वर मानिसहरूलाई मुक्ति दिन आतुर हुनुहुन्छ, र सुसमाचार फैलाउने कुरा सर्वोच्च प्राथमिकताको विषय हो। अन्धकारमा अझै कष्टसाध्य सङ्घर्ष गरिरहेका अझ धेरै मानिसहरूलाई हामीले परमेश्‍वरको अगाडि ल्याउनुपर्ने मात्र होइन, नयाँ आउनेहरूलाई पनि समयमै मलजल गर्ने खाँचो पर्छ ताकि तिनीहरूले साँचो मार्गमा बलियो जरा गाड्न सकून्। मैले आफ्नो कर्तव्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ र मेरो सारा हृदय कर्तव्यमा लगाउनुपर्छ। यो मात्र परमेश्‍वरको अभिप्राय अनुसारको कुरा हो। त्यसकारण, मैले आफ्नो जागिरबाट राजीनामा दिने विषयमा परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रार्थना गरेँ। मैले के सोचेँ भने यदि मैले आफ्नै पहलमा राजीनामा दिएँ भने, मेरो परिवारले पक्कै पनि मान्नेछैन, र तिनीहरूले कडा विरोध गर्नेछन् र मलाई कर्तव्य निर्वाह गर्न बाधा दिनेछन्। संयोगवश, मेरो कम्मरको हड्डीमा समस्या आयो, अनि मैले लामो समयसम्म बिरामी बिदा माग्नका लागि यसलाई कारण बनाएँ। त्यसपछि, मैले साँच्चिनै काममा जान छाडेँ र मैले आफ्नो सम्पूर्ण समय कर्तव्यमा लगाउन पाएँ।

पछि, मैले परमेश्‍वरका वचन पढेँ: “सामान्य मानिस, र परमेश्‍वरलाई प्रेम गर्न खोज्ने मानिसहरूका रूपमा, राज्यमा प्रवेश गर्नु र परमेश्‍वरका मानिसहरू बन्‍नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वपूर्ण जीवन हो; तिमीहरूजत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरका लागि जिउँछौ, र परमेश्‍वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छ: पृथ्वीमा अरू कोही पनि तिमीहरूको जस्तो त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ)। आज, मलाई परमेश्‍वरले उहाँसामु ल्याएर अनुग्रह गर्नुभएको छ। मैले सृष्टिकर्ताका वाणी र वचनहरू सुन्न पाउने सौभाग्य पाएकी छु, केही सत्यताहरू बुझेकी छु, केही कुराहरूलाई छर्लङ्ग देख्न सकेकी छु, पैसाको पछि लाग्दा हुने हानि र परिणामहरूबारे केही सुझबुझ प्राप्त गरेकी छु, शून्यता र पीडाका दिनहरू अनि पैसाका लागि मरिहत्ते गर्ने दिनहरूलाई पछाडि छाडेकी छु, सृजित प्राणीको कर्तव्य पूरा गरेकी छु, र जीवनको सही मार्गमा पाइला टेकेकी छु। यो सबै परमेश्‍वरले मलाई दिनुभएको मुक्ति हो। मसँग भौतिक सुखसुविधा कम भए पनि, मेरो हृदयले चैन, स्पष्टता र अन्तर्दृष्टिको महसुस गर्छ। सुसमाचार प्रचार गरेर, मैले के अनुभव गरेँ भने परमेश्‍वरमा विश्वास गर्ने धेरै मानिसलाई परमेश्‍वरसामु ल्याएर परमेश्‍वरको मुक्ति प्राप्त गर्ने मौका दिलाउनु नै सबैभन्दा मूल्यवान् र अर्थपूर्ण कुरा हो।

त्यसपछि, मैले आफ्नो भविष्यको जीविका परमेश्‍वरको हातमा सुम्पेँ, र आफ्ना योजना र हिसाबकिताबहरू बन्द गरेँ। मेरो हृदय अब यस्ता कुराहरूले बाँधिएको थिएन, र मैले आफ्नो हृदय शान्त गरेर कर्तव्य निर्वाह गर्न सकेँ। यस अवधिमा, परमेश्‍वरका वचन पढेर, मैले धेरै सत्यता बुझेँ, र मेरो आफ्नै शैतानी प्रकृतिलाई बुझेँ, अनि मेरा भ्रष्ट स्वभावहरू अलि-अलि गर्दै परिवर्तन हुँदै थिए। यसले मलाई परमेश्‍वरलाई पछ्याउने थप विश्वास दियो। मैले नसोचेको कुरा त के भयो भने सन् २०१५ मा, मैले रक्सी कारखाना छाडेको करिब एक दशकपछि, कारखानाले पुराना कर्मचारीहरूलाई कुल ६० हजार युआनको अनुदान दियो। अरू कर्मचारीहरूले यो पाउनका लागि उपहार र मनोरञ्जनमा धेरै पैसा खर्च गरेका थिए र धेरै दौडधुप गरेका थिए, तर मैले एक पैसा पनि खर्च नगरी यो पाएँ। यसले मलाई स्पष्ट रूपमा के देखायो भने, यो सबैमाथि परमेश्‍वर नै सार्वभौम हुनुहुन्छ, र यो मानिसहरू आफैले योजना बनाएर हुने कुरा होइन। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: २४. आराममा लिप्त भएकोमा गरिएको चिन्तन

अर्को: ३२. मेरो बुबालाई सुसमाचार सुनाउँदा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्