२४. आराममा लिप्त भएकोमा गरिएको चिन्तन

डिङ सिन, चीन

अगस्ट २०२२ मा, म मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामको जिम्मेवारीमा थिएँ। यस्तो महत्त्वपूर्ण कर्तव्य पूरा गर्न पाएकोमा म परमेश्‍वरप्रति निकै कृतज्ञ थिएँ, र मैले यो कर्तव्य पक्कै पनि राम्ररी निर्वाह गर्नेछु भनेर मनमनै अठोट गरेँ। म पहिले मलजल गर्ने कामको जिम्मेवारीमा नभएको र मलाई सिद्धान्तहरूको बोध नभएको हुनाले, मैले ध्यान दिएर अध्ययन गरेँ, र सम्बन्धित सिद्धान्तहरूसँग परिचित हुन प्रयास गरेँ। यदि नयाँ विश्‍वासीहरूको कुनै स्थिति वा समस्या भएमा, म हतार-हतार मसँगै काम गर्ने सिस्टरसँग सङ्गति गर्थेँ र ती समाधान गर्थेँ। हरेक दिन व्यस्त भए पनि, मलाई मनमा धेरै ऊर्जा महसुस हुन्थ्यो, र मैले केही समस्याहरू समाधान गरेँ। केही समयपछि, मैले के पत्ता लगाएँ भने, यो काममा धेरै विस्तृत कुराहरू समावेश हुन्छन्। मैले नयाँ विश्‍वासीहरूका विभिन्न समस्या र कठिनाइहरूलाई समयमै समाधान गर्नुपर्ने मात्र होइन, तर मैले मलजल गर्ने व्यक्तिहरूको कामको जाँच र अनुगमन गर्नुपर्ने, उनीहरूका कठिनाइहरू समाधान गर्नुपर्ने, प्रतिभा भएका मानिसहरू पत्ता लगाउनुपर्ने, र मलजल गर्ने व्यक्तिहरूको संवर्धन गर्नुपर्ने, इत्यादि पनि गर्नुपर्थ्यो। मलाई यो काम राम्ररी गर्नु साह्रै गाह्रो छ भन्ने लाग्न थाल्यो। यसका लागि धेरै सोच्नुपर्ने र ठूलो मूल्य चुकाउनुपर्ने हुन्थ्यो। यो साह्रै थकाइलाग्दो थियो! त्यसैले, म सधैँ कम समस्याहरू आइपरून् र मेरो काम अझ आरामदायी होस् भन्ने आशा गर्थेँ। पछि, मलजल गर्नुपर्ने नयाँ विश्‍वासीहरूको सङ्ख्या बढ्दै जाँदा म अझ बढी दबाबमा परेँ। मैले मनमनै सोचेँ, “सबै नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल गर्न र सबै कुराको राम्ररी रेखदेख गर्नका लागि धेरै समय र मेहनत लाग्नेछ। यो साह्रै थकाइलाग्दो छ!” त्यसैले, म मलजल गर्ने व्यक्तिहरूसँग मात्र भेला हुन थालेँ। मैले धेरै धारणाहरू भएका सबै नयाँ विश्‍वासीहरूको जिम्मेवारी मलजल गर्ने व्यक्तिहरूलाई सुम्पिदिएँ र उनीहरूको बारेमा त्यति धेरै वास्ता गरिनँ। कहिलेकाहीँ, म मलजल गर्ने व्यक्तिहरूको कामबारे सोधपुछ त गर्थेँ, तर म केवल झारा टार्ने काम मात्र गरिरहेकी हुन्थेँ। केही समयपछि, मलजलको काममा निरन्तर समस्याहरू देखा पर्न थाले। केही नयाँ विश्‍वासीहरू नकारात्मक र कमजोर भए, र तिनीहरू विरलै भेलामा आउँथे; कोही त धार्मिक पाष्टरहरूका आधारहीन अफवाह र भ्रामक कुराहरूद्वारा बहकिएका थिए। अझै कतिपयलाई उनीहरूको परिवारले अवरोध र सतावट दिएका थिए, त्यसैले उनीहरू नियमित रूपमा भेला हुँदैनथे, इत्यादि। मलजल गर्ने व्यक्तिहरू पनि कठिनाइमा जिइरहेका थिए, र केही हदसम्म नकारात्मक थिए। अगुवाहरूले मलाई छिटो कारण पत्ता लगाउन र विचलनहरू सच्याउन भन्दै एउटा पत्र पठाउनुभयो। उहाँहरूले मलाई के पनि याद दिलाउनुभयो भने, मैले धारणाहरू भएका तर राम्रो क्षमता भएका नयाँ विश्‍वासीहरूलाई व्यक्तिगत रूपमा मलजल गर्नुपर्छ। मैले वास्तवमै नयाँ विश्‍वासीहरूका समस्याहरू समाधान गर्ने कार्यमा भाग लिनुपर्थ्यो र उनीहरूलाई साँचो मार्गमा जरा गाड्न मद्दत गर्नुपर्थ्यो। जब अगुवाहरूले यसो भन्नुभएको देखेँ, तब मलाई मनमा नरमाइलो लाग्यो। यो मैले व्यावहारिक काम नगरेको नतिजा हो भन्ने मलाई लाग्यो। त्यसपछि, म हतार-हतार नयाँ विश्‍वासीहरूका समस्याहरूबारे सङ्गति गर्न र ती समाधान गर्न गएँ, तर नतिजा त्यति राम्रो भएन। मलाई यो काम साह्रै गाह्रो छ जस्तो लाग्न थाल्यो, र यदि मैले आफ्नो कर्तव्य अलि सजिलो काममा फेरबदल गर्न सकेँ भने राम्रो हुन्थ्यो भन्ने लाग्यो। एक पटक, मलजल गर्ने व्यक्तिहरूले काममा केही समस्या र कठिनाइहरू औँल्याए। म केही सिद्धान्तहरू खोज्‍न र त्यसपछि उनीहरूसँग ती समस्याहरू कसरी समाधान गर्ने भनेर छलफल गर्न चाहन्थेँ, तर फेरि मैले सोचेँ, “सिद्धान्तहरू फेला पार्न धेरै समय र मेहनत लाग्छ। मेरी सहकर्मी सिस्टर राम्रो क्षमताकी हुनुहुन्छ र उहाँलाई कसरी राम्ररी सङ्गति गर्ने र समस्याहरू समाधान गर्ने भन्ने थाहा छ। म उहाँलाई नै गएर ती समाधान गर्न लगाउँछु।” त्यसैले मैले खोज्नुपर्ने सिद्धान्तहरू खोजिनँ, र मैले सङ्गति गर्नुपर्ने कुराहरूबारे सङ्गति गरिनँ। म मेरी सिस्टरले ती कुराहरू समाधान गरिदिनुहुन्छ भनेर मात्र पर्खिरहेँ। पछि, जब हामीमाथि कामहरू आइपर्थे, तब मैले आफ्नो कमजोर क्षमतालाई बहाना बनाउँथेँ र सबैभन्दा समस्याग्रस्त र गाह्रो कामहरू मेरी सहकर्मीलाई सुम्पिदिन्थेँ, मानौँ त्यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। म आफ्नो कर्तव्य निर्वाह गर्दा कम भन्दा कम बोझ उठाउँथेँ। हरेक दिन, म हातमा भएका कामहरू मात्र गर्थेँ, र यान्त्रिक तरिकाले काम गर्थेँ। त्यस समयमा, मेरो हृदयमा निरन्तर शान्ति र सहजताको कमी भएको महसुस हुन्थ्यो। नतिजा लगातार खस्किँदै गएकोले, के भइरहेको छ भनेर बुझ्न अगुवाहरूले बारम्बार कामको सुपरिवेक्षण गर्नुभयो। मलाई दबाब र बेचैन महसुस हुन्थ्यो, मानौँ त्यहाँ समाधान गर्नुपर्ने धेरै समस्या र कठिनाइहरू छन्। मलाई धेरै दबाब परेको र चिन्ता गर्नुपर्ने धेरै कुराहरू भएको महसुस भयो। म प्रायजसो हैरान हुन्थेँ, र गुनासो गर्थेँ, “मैले यो कर्तव्य निर्वाह गर्न थालेको धेरै समय भएको छैन। अगुवाहरूले मलाई किन बुझ्नुहुन्न? उहाँहरूले यति नजिकबाट किन कामको सुपरिवेक्षण गरिरहनुभएको छ?” काममा अरू समस्या नआओस् भन्ने म साह्रै आशा गर्थेँ।

एक दिन, मलाई कोभिड-१९ लाग्यो। मलाई अचानक ज्वरो आयो र मेरो सम्पूर्ण शरीर दुख्यो। मसँग रत्तिभर ऊर्जा थिएन। म खाना निल्न वा राति सुत्न सक्दिनथेँ। मेरो हृदयमा, म निरन्तर परमेश्‍वरलाई प्रार्थना गरिरहन्थेँ, “हे परमेश्‍वर, यो रोग र पीडा तपाईंको अभिप्रायले ममाथि आएको हो। तर अहिले पनि मैले कुन पाठ सिक्नुपर्छ भन्ने मलाई थाहा छैन। मेरा आफ्नै समस्याहरू बुझ्न मलाई अगुवाइ दिनुहोस्।” प्रार्थना गरिसकेपछि, मैले यस अवधिमा कर्तव्य निर्वाह गर्दाको मेरो स्थिति र अवस्थाबारे चिन्तन गरेँ। सोचेँ, मैले कर्तव्य निर्वाह गर्नु एउटा अर्थपूर्ण कुरा हो, तर म किन प्रायजसो दबाब र पीडा महसुस गर्छु? कर्तव्य निर्वाह गर्दा म कसरी यस्तो अवस्थामा पुगेँ? पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “यदि मानिसहरूले निरन्तर शारीरिक सहजता र खुसी खोज्छन् भने, यदि तिनीहरू निरन्तर शारीरिक सुख र सहजताको पछि लाग्छन्, र कष्ट भोग्‍न चाहँदैनन् भने, थोरै शारीरिक कष्ट, अरूको भन्दा अलिक बढी कष्ट, वा सामान्यभन्दा अलिक बढी काम गर्नुपर्ने अवस्थाले पनि तिनीहरूलाई दबाब महसुस गराउँछ। यो दबाबको एउटा कारण हो। यदि मानिसहरू सानोतिनो शारीरिक कष्टलाई ठूलो मान्दैनन्, र शारीरिक सहजताको पछि लाग्दैनन्, बरु त्यसको साटो सत्यता पछ्याउँछन् र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्‍नो कर्तव्य पूरा गर्ने प्रयास गर्छन् भने, तिनीहरूले प्राय शारीरिक कष्ट अनुभव गर्नेछैनन्। बेलाबेला तिनीहरूलाई व्यस्त, थकित, वा लखतरान भएको महसुस हुने भए पनि, सुतेपछि तिनीहरूलाई ठीक भइहाल्छ, र त्यसपछि तिनीहरू आफ्‍नो कार्य जारी राख्छन्। तिनीहरू आफ्‍नो कर्तव्य र काममा ध्यान केन्द्रित गर्छन्; तिनीहरू अलिअलि शारीरिक थकानलाई ठूलो कुरा ठान्दैनन्। तर जब मानिसहरूको सोचमै समस्या पैदा हुन्छ र जब तिनीहरू निरन्तर शारीरिक सहजताको पछि लाग्छन्, तब तिनीहरूको शरीरमा अलिकति समस्या हुँदा पनि वा सन्तुष्टि प्राप्त गर्न नसक्‍नेबित्तिकै, तिनीहरूमा निश्‍चित नकारात्मक संवेगहरू प्रकट हुन्छन्। अनि, यसरी सधैँ आफ्‍नो इच्छाअनुसार गर्न चाहने र आफ्‍नो देहमा लिप्त हुन र जीवनको आनन्द लिन चाहने यस्तो व्यक्ति असन्तुष्ट हुनेबित्तिकै, किन दबाबको यो नकारात्मक संवेगमा प्राय फसिरहन्छ? (किनभने ऊ सहजता र शारीरिक आनन्दको पछि लाग्छ।) कतिपय मानिसहरूको हकमा यो साँचो हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्‍वरका वचनहरू मनन गरेपछि, मैले के बुझेँ भने, म दबाब र पीडामा जिउनुको कारण यो काम गर्न गाह्रो भएर होइन रहेछ। मुख्य कारण त मेरो विचार र दृष्टिकोणमा समस्या भएकोले रहेछ। मैले जे खोजिरहेकी थिएँ त्यो सत्यता प्राप्ति थिएन, न त यो सृजित प्राणीको कर्तव्य पूरा गर्ने कार्य नै थियो। बरु, म शारीरिक आरामको पछि लागिरहेकी थिएँ। मैले केवल कसरी कम चिन्ता गर्ने र आफ्ना लागि कुराहरू कसरी सजिलो बनाउने भनेर मात्र सोचेकी थिएँ। जब कामको बोझ धेरै हुन्थ्यो र मैले यसमा थप ध्यान दिनुपर्थ्यो, बढी कष्ट भोग्नुपर्थ्यो, र बढी मूल्य चुकाउनुपर्थ्यो, तब म गनगन गर्थेँ र प्रतिरोधी महसुस गर्थेँ। जब मैले काममा धेरै समस्या र कठिनाइहरूको सामना गर्थेँ, तब म तिनलाई साह्रै झन्झटिलो मान्थेँ र मेरा लागि कुराहरू कति गाह्रो छन् भनेर गुनासो गर्थेँ, वा अन्य ब्रदर-सिस्टरहरूलाई ती सम्हाल्न र समाधान गर्न लगाएर पन्छ्याउँथेँ। म यो वातावरणबाट उम्कनका लागि आफ्नो कर्तव्यलाई कुनै सजिलो कामसँग साट्न समेत चाहन्थेँ। मलाई के राम्ररी थाहा थियो भने, अगुवाहरूले कामको सुपरिवेक्षण गर्दा उहाँहरूले अगुवाको जिम्मेवारी पूरा गरिरहनुभएको हुन्छ, तर जब उहाँहरूले मलाई कडा निगरानी गर्न थाल्नुभयो, र मेरो देहका हितहरूमा असर पर्न थाले, तब मलाई ममाथि बोझ थोपरिएको र धेरै काम गराइएको जस्तो लाग्थ्यो, र म यसको बारेमा गनगन गर्थेँ र त्यसको बारेमा गुनासो गर्थेँ। वास्तवमा, मैले परमेश्‍वरले बन्दोबस्त गर्नुभएको वातावरण राम्रो छैन भनेर गुनासो गरिरहेकी थिएँ। यो परमेश्‍वरप्रति असन्तुष्ट हुनु, र परमेश्‍वरप्रति प्रतिरोधी महसुस गर्नु थियो। यो परमेश्‍वरको विरोध गर्नु थियो! म साँच्चै साह्रै विद्रोही भएकी थिएँ, र ममा परमेश्‍वरको डर मान्‍ने हृदयको कुनै नामनिसान थिएन!

पछि, मैले सत्यता खोज्ने र आफैबारे चिन्तन गर्ने कार्यलाई जारी राखेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “कुनै कर्तव्य निर्वाह गर्दा, मानिसहरू कठिनाइहरूबारे सधैँ गुनासो गर्छन् र कुनै प्रयास लगाउन चाहँदैनन्, र अलिकति फुर्सद हुनेबित्तिकै तिनीहरू आराम गर्ने, गफ चुट्ने, वा आराम र मनोरञ्‍जनात्मक क्रियाकलापमा भाग लिने गर्छन्। अनि कामको बोझ बढेर तिनीहरूको जीवनको तालमेल र दिनचर्या बिग्रँदा, तिनीहरू दुःखी र असन्तुष्ट हुन्छन्। तिनीहरू गनगन र गुनासो गर्छन्, अनि तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा बन्छन्। यो देहसुखको लालसा गर्नु हो, होइन र? … मण्डलीको काम वा तिनीहरूको कर्तव्यमा जति व्यस्तता भए पनि, तिनीहरूको जीवनको दैनिकी र सामान्य स्थितिमा कहिल्यै अवरोध हुँदैन। तिनीहरू आफ्नो दैहिक जीवनका सानातिना कुरामा समेत कहिल्यै लापरवाही गर्दैनन्, तिनीहरू यी कुरालाई पूर्ण रूपमा व्यवस्थित गर्छन्, र अत्यन्तै कठोर र गम्‍भीर हुन्छन्। तर परमेश्‍वरको घरको कामको कुरा आउँदा, मामला जति ठूलो भए पनि र यो कुरा दाजुभाइ-दिदीबहिनीको सुरक्षासँग सम्‍बन्धित नै भए पनि, तिनीहरूले त्यसमा लापरवाही गर्छन्। तिनीहरू परमेश्‍वरको आज्ञासँग सम्‍बन्धित कुराहरू वा आफूले गर्ने कर्तव्यलाई वास्ता गर्दैनन्। तिनीहरू बिलकुलै कुनै जिम्‍मेवारी लिँदैनन्। यो देहसुखमा लिप्त हुनु हो, होइन र? के देहसुखमा लिप्त हुने मानिसहरू कर्तव्य निर्वाह गर्न उपयुक्त हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने कुरा उठाउनेबित्तिकै, वा मूल्य चुकाउने र कठिनाइ भोग्‍नेबारे बोल्‍नेबित्तिकै, तिनीहरूले टाउको हल्लाइरहन्छन्। तिनीहरूमा अति धेरै कठिनाइ हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र तिनीहरू नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२))। परमेश्‍वरका वचनहरू पढिसकेपछि, कर्तव्य निर्वाह गर्दा आराममा लिप्त हुने र गैरजिम्मेवार बन्ने यो समस्या प्रकृतिमा अत्यन्तै गम्भीर रहेछ भन्ने मैले बल्ल महसुस गरेँ। निरन्तर आराममा लिप्त हुने मानिसहरूले आफ्नो कर्तव्य छली र चिप्लो तरिकाले निर्वाह गर्छन्, तिनीहरू सजिलो रोज्ने र गाह्रोदेखि डराउने गर्छन्, र कष्ट भोग्न वा मूल्य चुकाउन चाहँदैनन्। जब तिनीहरूले कठिनाइ देख्छन् तब तिनीहरू भाग्छन् र ठूलो कठिनाइ वा धेरै समस्याहरू भएका काम अरूलाई सुम्पन विभिन्न बहाना र निहुँ खोज्छन्। यस्तो प्रकारको व्यक्ति अविश्‍वसनीय हुन्छ र कामको जिम्मा लिन अयोग्य हुन्छ। म ठ्याक्कै यस्तै प्रकारको व्यक्ति भएकी थिएँ। मलाई के राम्ररी थाहा थियो भने, म मलजलको कामको जिम्मेवारीमा छु र मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्नुपर्छ अनि समयमै उनीहरूका धारणा र समस्याहरू समाधान गर्नुपर्छ ताकि उनीहरूले सकेसम्म चाँडो साँचो मार्गमा जरा गाड्न सकून्। यो मेरो कर्तव्यको आधारभूत कार्यक्षेत्र थियो, र मैले पूरा गर्नुपर्ने जिम्मेवारीहरू थिए। तैपनि, नयाँ विश्‍वासीहरूका धेरै समस्याहरू छन्, र समस्याहरू समाधान गर्नु साह्रै झन्झटिलो र थकाइलाग्दो छ भनेर मैले गुनासो गरिरहेकी थिएँ। त्यसैले जिम्मेवारी पन्छाउने हाकिमजस्तै, धारणाहरू र कठिनाइहरू भएका सबै नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने व्यक्तिहरूकहाँ पन्छाउन र उनीहरूको वास्तै नगर्न मैले बहानाहरू खोजेकी थिएँ। यसको मतलब नयाँ विश्‍वासीहरूका समस्याहरू समयमै समाधान हुन सकेनन् र यसले मलजलको कामको प्रगतिमा बाधा पुर्‍यायो। जब मलजल गर्ने व्यक्तिहरूले आफ्नो काममा कठिनाइ र समस्याहरूको सामना गर्थे, तब म जानीजानी देहको चिन्तामा मग्न हुन्थेँ र तिनलाई समाधान गर्न चाहन्नथेँ। तैपनि, मेरो क्षमता कमजोर छ भन्ने बहाना बनाउँदै म साह्रै धूर्त भएकी थिएँ ताकि मैले न्यायोचित रूपमा सबै कठिनाइ र समस्याहरू मेरी सहकर्मीका काँधमा पन्छाउन सकूँ। म देहको चिन्तामा मग्न हुने र आराममा लिप्त हुने गरेकीले, र मैले व्यावहारिक काम नगरेकीले, मलजलको कामको नतिजा राम्रो भएन। यस्तो हुँदाहुँदै पनि, मैले आफैबारे चिन्तन गरिनँ, र जब अगुवाहरूले कामको सुपरिवेक्षण गर्नुभयो र के भइरहेको छ भनेर थाहा पाउनुभयो, तब मैले उहाँहरूप्रति प्रतिरोधी महसुस समेत गरेँ र म उहाँहरूप्रति असन्तुष्ट भएँ। ममा रत्तिभर समझ थिएन! यस्तो स्थिति र व्यवहार लिएर, म कसरी सुपरिवेक्षक बन्न योग्य थिएँ र? मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिइनँ: मैले त दुष्ट काम पो गरिरहेकी थिएँ! मलाई मनमा नरमाइलो भयो र पछुतो लाग्यो, र मलाई यो महामारी लाग्न दिनु परमेश्‍वरको अनुमति हो भन्ने लाग्यो। मलाई मेरा आफ्नै समस्याहरूबारे निरन्तर चिन्तन गर्न र तिनलाई चिन्न अगुवाइ गर्नुहोस् भनेर मैले परमेश्‍वरलाई प्रार्थना गरेँ।

त्यसको केही समयपछि, म एउटा भेलामा थिएँ र म आफ्नो स्थितिबारे कुरा गर्न सबैसँग खुलेँ। अगुवाले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाउनुभयो, जसले मलाई मेरो भ्रष्ट स्वभावबारे केही बुझाइ प्रदान गर्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, तर अधिकारीझैँ व्यवहार कसरी गर्ने भनी तिनीहरूलाई थाहा हुन्छ। अगुवा बनेपछि तिनीहरूले गर्ने पहिलो कुरा के हो? त्यो मानिसहरूको निगाह किन्‍नु हो। तिनीहरूले ‘नयाँ अधिकारीहरू आफ्नो प्रभाव छोड्न साह्रै उत्सुक हुन्छन्’ भन्‍ने शैली अपनाउँछन्: सुरुमा तिनीहरूले मानिसहरूलाई रिझाउन केही कार्यहरू गर्छन् र सबैजनाका दैनिक सुख-सुविधाहरू सुधार्ने केही कामकुराहरू सम्हाल्छन्। तिनीहरूले सुरुमा मानिसहरूमा राम्रो छाप छोड्ने, आफू जनमतको पक्षमा छु भनेर देखाउने प्रयास गर्छन्, ताकि सबैले तिनीहरूको तारिफ गरून् र ‘यो अगुवाले हामीप्रति आमाबुबाले जस्तै व्यवहार गर्छ!’ भनेर भनून्! त्यसपछि तिनीहरूले आधिकारिक रूपमै पद हातमा लिन्छन्। तिनीहरूले धेरैजसो मानिसहरूको साथ पाएको र तिनीहरूको पद सुरक्षित भएको महसुस गर्छन्; त्यसपछि तिनीहरू हैसियतका फाइदाहरूको आनन्द उठाउन थाल्छन्, मानौँ तिनीहरू तिनका हकदार हुन्। तिनीहरूका आदर्श वाक्यहरू यस्ता हुन्छन्, ‘मीठो खानु र राम्रो लगाउनु नै जीवन हो,’ ‘जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ,’ अनि ‘आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ।’ तिनीहरूले चिन्ता नलिई हरेक दिनको आनन्द उठाउँछन्, जतिसक्दो रमाइलो गर्छन्, र भविष्यका बारेमा कुनै विचार गर्दैनन्, अगुवाले के-कस्ता जिम्‍मेवारीहरू पूरा गर्नुपर्छ र के-कस्ता कर्तव्य निर्वाह गर्नुपर्छ भनेर तिनीहरूले विचार गर्नु त परै जाओस्। तिनीहरूले दिनचर्याका रूपमा केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन् र देखाउनका लागि एकदुई वटा काम गर्छन्—तिनीहरूले कुनै पनि वास्तविक काम गर्दैनन्। तिनीहरू मण्डलीका वास्तविक समस्याहरूलाई खोतलेर तिनलाई पूर्ण रूपमा समाधान गरिरहेका हुँदैनन्, त्यसैले तिनीहरूले त्यस्ता सतही कार्य गर्नुको अर्थ के हुन्छ? के यो छली हुँदैन र? के यस्तो झूटो अगुवालाई महत्त्वपूर्ण कार्यहरू सुम्पन मिल्छ? के तिनीहरू अगुवा र कामदारहरू छनौट गर्नेसम्‍बन्धी परमेश्‍वरको घरका सिद्धान्त र सर्तहरूअनुरूप हुन्छन्? (हुँदैनन्।) यी मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन, तिनीहरूमा कुनै जिम्‍मेवारी बोध हुँदैन, तैपनि तिनीहरू अझै पनि मण्डलीमा कुनै आधिकारिक पदमा बस्ने, अगुवा बन्‍ने इच्छा राख्छन्—तिनीहरू किन यति धेरै निर्लज्ज हुन्छन्? जिम्‍मेवारीको बोध भएका कतिपय मानिसहरूका हकमा, यदि तिनीहरू कमजोर क्षमताका छन् भने, तिनीहरू अगुवा हुन सक्दैनन्—अनि कुनै जिम्‍मेवारी बोध नभएका निकम्मा मानिसहरूको त के कुरा गर्ने र! तिनीहरू त अगुवा बन्‍न झनै अयोग्य हुन्छन्। त्यस्ता खन्चुवा र आलसी झूटा अगुवाहरू कति अल्छी हुन्छन्? तिनीहरूले कुनै समस्या पत्ता लगाए पनि, र यो समस्या हो भन्‍ने तिनीहरूलाई थाहा भए पनि, तिनीहरू त्यसलाई गम्भीरतापूर्वक लिँदैनन् र ध्यानै दिँदैनन्। तिनीहरू कति गैरजिम्‍मेवार हुन्छन्! तिनीहरू कुरा गर्न सिपालु भए पनि र तिनीहरूमा थोरै क्षमता भएजस्तो देखिने भए पनि, तिनीहरू मण्डलीको कामका विविध समस्याहरू समाधान गर्न सक्दैनन्, जसले गर्दा काम ठप्प हुन्छ; समस्यामाथि समस्या थुप्रिरहन्छन्, तैपनि यी अगुवाहरूलाई यी कुराहरूका बारेमा कुनै चासो हुँदैन, र नित्यचर्याका रूपमा केही सतही कार्यहरू गर्नमा मात्र जोड दिन्छन्। अनि अन्तिम परिणाम के हुन्छ? के तिनीहरूले मण्डलीको काम भताभुङ्ग पार्दैनन्, र के तिनीहरूले त्यसलाई गन्जागोल गर्दैनन् र? के तिनीहरूले मण्डलीमा भद्रगोल र एकताहीनता उत्पन्‍न गर्दैनन् र? यो अपरिहार्य परिणाम हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। मलाई म परमेश्‍वरको आमने-सामने उभिएकी छु र उहाँले मेरो खुलासा गरिरहनुभएको छ जस्तो लाग्यो। म परमेश्‍वरले खुलासा गर्नुभएको त्यस्तै अल्छी व्यक्ति थिएँ। आराममा लिप्त हुनका लागि, मैले आफूले देखेका समस्याहरू समाधान गरेकी थिइनँ, र कुनै पनि व्यावहारिक काम गरेकी थिइनँ। यस अवधिको बारेमा सोच्दा, मलाई नयाँ विश्‍वासीहरूका धारणाहरू र समस्याहरूबारे सबै कुरा थाहा थियो, र म मलजल गर्ने व्यक्तिहरूको कठिनाइ र स्थितिहरू देख्न सक्थेँ। तर मैले यी समस्याहरूलाई सकेसम्म चाँडो समाधान गर्न कसरी सत्यता खोज्ने भनेर विचार गरिनँ। बरु, मैले त प्रक्रिया पालन गरेर र झारा टार्ने काम गरेर, अनि छोटो सङ्गति गरेर आफूलाई झन्झटबाट बचाउने कोसिस मात्र गरेँ। मानिसहरूलाई मूर्ख बनाउन म अलिकति धर्मसिद्धान्त फलाक्थेँ र कुरा त्यत्तिकै छोडिदिन्थेँ। कहिलेकाहीँ, म समस्याहरू समाधान गर्ने काम सीधै मेरी सहकर्मी वा मलजल गर्ने व्यक्तिहरूकहाँ पन्छाउथेँ। म सजिला कामहरू रोज्थेँ र थकाइलाग्दा कामहरू छोडिदिन्थेँ, र म हरेक परिस्थितिमा देहको चिन्तामा मग्न हुन्थेँ। मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्नु धेरै महत्त्वपूर्ण छ भन्ने राम्ररी थाहा थियो, किनकि नयाँ विश्‍वासीहरू साँचो मार्गमा दृढ रहन सक्छन् कि सक्दैनन् भन्ने कुरा यसैमा निर्भर हुन्थ्यो। तैपनि, म मूल्य चुकाउन चाहन्नथेँ, र मैले आफूले देखेका समस्याहरू समाधान गरिनँ। म समस्याहरूबाट भागेँ र मेरा जिम्मेवारीहरू पन्छाएँ, र काममा नोक्सान भइरहेको स्पष्ट देख्दादेख्दै पनि, मैले यसमा रत्तिभर ध्यान दिइनँ। ममा साँच्चै विवेकको ठूलो कमी थियो र म साह्रै गैरजिम्मेवार थिएँ! यस्तो हुँदाहुँदै पनि, मैले आफैबारे चिन्तन गरिनँ, र मैले यो कामको जिम्मेवारी लिएको छोटो समय मात्र भएकोले, अगुवाहरूले मेरा कठिनाइहरू बुझिदिनुपर्छ र मबाट धेरै माग गर्नु हुँदैन भन्ने सोचेकी थिएँ। ममा साँच्चै रत्तिभर पनि समझ थिएन! म “आजको हाला आजै खाला भोलि जे होला देखा जाला,” र “हरदिन झाराटारुवा तरिकाले कटाउनेछु” जस्ता शैतानी दर्शनहरूको भरमा जिइरहेकी थिएँ। कर्तव्य निर्वाह गर्दा, मैले आफ्नो उचित काममा ध्यान दिइनँ। मैले केवल केही छेउकुनाका र महत्त्वहीन कामहरू गरेँ, र लटरपटर गरेर मेरा दिनहरू बिताएँ। बाहिरी रूपमा हेर्दा, म हरेक दिन फुर्सदमा भएजस्तो देखिंदिनथेँ, तर वास्तवमा, मैले कुनै पनि व्यावहारिक काम गरेकी थिइनँ, र मैले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरेकी थिइनँ। मेरो व्यवहार र आफ्नो उचित काममा ध्यान नदिई लटरपटर गर्ने वा आवारा व्यक्तिको व्यवहारमा के फरक थियो र? विगतमा, मैले त्यस्ता मानिसहरूलाई हेयको दृष्टिले हेर्थेँ, तर म पनि तिनीहरूकै श्रेणीमा पर्छु भनेर मैले कहिल्यै सोचेकी थिइनँ। मलाई आफैदेखि घृणा लाग्यो! निष्ठा नभएको र पूर्ण रूपमा अविश्‍वसनीय, मजस्तो व्यक्ति साँच्चै कर्तव्य निर्वाह गर्न अयोग्य थिएँ। म झूटो अगुवा र झूटो कामदारको बाटोमा हिँडिरहेकी थिएँ। अहिले, ममाथि रोग आइलागेको बेला, म चाहँदाचाहँदै पनि मसँग कर्तव्य निर्वाह गर्ने कुनै ऊर्जा थिएन। स्वास्थ्य राम्रो हुँदा समय खेर फालेकोमा मलाई चरम पछुतो भइरहेको थियो। यदि यो रोग निको भएन र म मरेँ भने, मैले यो जीवनमा एउटा अनन्त पछुतो छोडेर जानेछु। म जति धेरै सोच्थेँ, त्यति नै व्याकुल हुन्थेँ। मलाई निरन्तर परमेश्‍वरले छोड्नुभएको जस्तो महसुस हुन्थ्यो, र यदि मैले सत्यता नपछ्याउने वा कर्तव्य राम्ररी निर्वाह नगर्ने क्रम जारी राखेँ भने, म साँच्चै हटाइनेछु भन्ने मैले महसुस गरेँ।

एक दिन आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “कतिपय मानिसहरू, आफ्‍नो कर्तव्य निर्वाहमा कुनै पनि कष्ट सहन अनिच्छुक हुन्छन्, र समस्या सामना गर्नेबित्तिकै, तिनीहरू त्यो अति कठिन छ भनेर गुनासो गर्छन् र मूल्य चुकाउन मान्दैनन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? यो झाराटारुवा मनोवृत्ति हो। यदि तँ झारा टार्ने तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छस्, र त्यसलाई अनादरपूर्ण मनोवृत्तिले सम्हाल्छस् भने, त्यसको नतिजा के हुनेछ? तैँले आफूले राम्ररी निर्वाह गर्न सक्ने कर्तव्य समेत राम्ररी गर्न सक्नेछैनस्—तेरो कार्यप्रदर्शन मानकअनुरूप हुनेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिसँग परमेश्‍वर निकै असन्तुष्ट हुनुहुनेछ। यदि तँ परमेश्‍वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र त्यसमा आफ्नो सम्पूर्ण हृदय र मन लगाउन सक्छस् भने, यदि तँ यसरी सहकार्य गर्न सक्छस् भने, परमेश्‍वरले तेरा लागि सबै कुरा पहिले नै तयार गर्नुहुनेछ, ताकि तैँले मामिलाहरू सम्हाल्दा सबै कुरा ठिकठाक मिलोस् र त्यसले राम्रा परिणामहरू फलाओस्। तैँले धेरै ऊर्जा खर्च गर्नु आवश्यक पर्नेछैन; जब तँ सहकार्य गर्न सक्दो प्रयास गर्छस्, तब परमेश्‍वर तेरा लागि सबै कुरा प्रबन्ध गर्नुहुन्छ। यदि तँ धूर्त छस् र सुस्ताउँछस् भने, यदि तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनस् र सधैँ गलत मार्गमा जान्छस् भने, परमेश्‍वरले तँमा काम गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्‍वरले यसो भन्‍नुहुनेछ, ‘तँलाई प्रयोग गर्ने कुनै उपाय छैन। जा, पाखा लाग्। तँलाई छली हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन, र आराममा लिप्त हुन मन पर्छ, होइन त? ठिकै छ, अब सधैँभरी आराममा लिप्त हो!’ परमेश्‍वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हानि हो कि लाभ हो? (हानि।) यो ठूलो हानि हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तैँले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्‍वरले तँलाई सुम्‍पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्‍वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्‍वरका वचनहरूबाट, मैले परमेश्‍वरको धर्मी र चिढ्याउन नसकिने स्वभाव महसुस गरेँ। मैले के बुझेँ भने, हाम्रो कर्तव्य परमेश्‍वरले सुम्पनुभएको काम हो, र यो एउटा यस्तो जिम्मेवारी हो जसलाई पन्छाउन मिल्दैन। कर्तव्यलाई अनादरपूर्ण र गैरजिम्मेवार ढङ्गले लिनु भनेको परमेश्‍वरलाई धोका दिनु हो। यो गम्भीर अपराध हो। यस्तो प्रकारको व्यक्ति श्रापित हुनुपर्छ। जसले आफ्नो देहका व्यक्तिगत हितहरूलाई विचार गर्दैनन् र आफ्नो कर्तव्यलाई गम्भीरता र जिम्मेवारीका साथ लिन्छन्, तिनीहरूले परमेश्‍वरको काम र निर्देशन प्राप्त गर्न सक्छन्। आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामार्फत, तिनीहरूले बिस्तारै सत्यता बुझ्छन् र सत्यता प्राप्त गर्छन्, र सिद्धान्तमा रहेर काम गर्न थाल्छन्। तर, मैले सत्यतालाई प्रेम गरिनँ। मलाई केवल आराम मन पर्थ्यो। मैले स्पष्ट रूपमा नै मेरा आधारभूत जिम्मेवारीहरूमा पर्ने ती कामहरू गरिनँ, र कहिलेकाहीँ अलिकति गरे पनि, मैले केवल झाराटार्ने तरिकाले गरेँ। परमेश्‍वरलाई छक्काउन र ब्रदर-सिस्टरहरूलाई मूर्ख बनाउनका लागि मैले केवल देखावटी रूपमा अलिकति काम गरिरहेकी हुन्थेँ। म साँच्चै साह्रै छली थिएँ! परमेश्‍वरले मानिसहरूको भित्री हृदयको छानबीन गर्नुहुन्छ। उहाँले मैले चाल्ने हरेक कदम र मेरा हरेक सोच र विचारको छानबीन गर्नुहुन्छ। मजस्तो आराममा लिप्त हुने अनि स्वार्थी र छली व्यक्ति, पूर्ण रूपमा अविश्‍वसनीय हुन्छ र उसले परमेश्‍वरको घृणा र तिरस्कार निम्त्याउँछ। तैपनि मैले आफैबारे चिन्तन गरिनँ। अगुवाहरूले मलाई याद दिलाउनुभयो, तर मैले अझै पनि देहको वास्ता गरिरहेकी थिएँ, जसको नतिजा स्वरूप म मेरा कर्तव्यहरूमा पवित्र आत्माको काम प्राप्त गर्न असमर्थ भएँ र मैले समस्याहरू ठम्याउन सकिनँ। यसको मतलब नयाँ विश्‍वासीहरूका कठिनाइहरू समयमै समाधान हुन सकेनन्। मैले मेरा कर्तव्यहरूमा अपराधहरू गरेँ। अहिले यो महामारीबाट प्रभावित हुनु भनेको ममाथि परमेश्‍वरको ताडना आएको थियो। यो मप्रति परमेश्‍वरको धर्मी स्वभावको प्रकाश पनि थियो। यदि म पश्‍चात्तापहीन भइरहेँ भने, मण्डलीले मलाई ननिकाले पनि, परमेश्‍वरले सबथोकको छानबीन गर्नुहुन्छ, र पवित्र आत्माले ममा काम गर्नुहुनेथिएन। ढिलो-चाँडो, म हटाइनेथिएँ। बाइबलमा भनिएझैँ: “मूर्खहरूको उन्नतिले तिनीहरूलाई नष्ट गर्नेछ” (हितोपदेश १:३२)। अनि सर्वशक्तिमान्‌ परमेश्‍वरले पनि भन्नुभएको छ: “तँ आज लिप्त हुने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो)। जब मैले यो कुरा बुझेँ, तब म पछुतोले भरिएँ, र मैले आफैलाई पूर्ण रूपमा घृणा गरेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म साह्रै स्वार्थी र छली छु। मेरा कर्तव्यहरू निर्वाह गर्दा, म झारा टार्छु र देहको वास्ता गर्छु। यसले मण्डलीको काममा असर पारेको छ। हे परमेश्‍वर, म पश्‍चात्ताप गर्न चाहन्छु। यो स्थितिलाई बदल्न मलाई निर्देशन दिनुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “व्यक्तिको जीवनको मूल्य के हो? के यो खाने, पिउने, र रमाइलो गर्ने जस्ता देहसुखका लागि मात्रै हो? (अहँ, होइन।) त्यसोभए केको लागि हो? आफ्ना विचारहरू सुनाऊ। (सृजित प्राणीको कर्तव्य पूरा गर्नका लागि हो, व्यक्तिले कम्तीमा पनि हासिल गर्नुपर्ने कुरा यही हो।) त्यो सही हो। … एक हिसाबमा, यो सृजित प्राणीको कर्तव्य पूरा गर्नुसँग सम्‍बन्धित छ। अर्को हिसाबमा, यो आफ्‍नो सामर्थ्यले भ्याउने र आफूले सम्पन्न गर्न सक्ने सबथोक राम्ररी गर्नु, तँलाई तेरो विवेकले दोष नलगाउने, तँ आफ्नो विवेकसँग मैत्रीपूर्वक रहन सक्‍ने र अरूका नजरमा स्वीकारयोग्य हुने अवस्थामा पुग्‍नु हो। यसलाई अझै एक चरण अगाडि लगेर भन्दा, तँ जुन परिवारमा जन्‍मेको भए पनि, तेरो शैक्षिक पृष्ठभूमि वा व्यक्तिगत क्षमताहरू जे-जस्ता भए पनि, तैँले आफ्नो जीवनभर मानिसहरूले जीवनमा बुझ्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सत्यताहरू के-के हुन् भनेर मनन गर्नैपर्छ—उदाहरणका लागि, मानिसहरू कस्तो मार्गमा हिँड्नुपर्छ, साथै जीवनलाई अर्थपूर्ण बनाउनका लागि तिनीहरूले कसरी जिउनुपर्छ। तैँले कम्तीमा थोरै नै भए पनि जीवनको साँचो मूल्यको खोजी गर्नुपर्छ; तैँले यो जीवन व्यर्थमा जिउन मिल्दैन, र तँ यो पृथ्वीमा व्यर्थमा आएको हुँदैनस्। अर्को हिसाबमा, तेरो जीवनकालमा, तैँले आफ्‍नो मिसन पूरा गर्नुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामी कुनै ठूलो मिसन, कर्तव्य वा जिम्‍मेवारी पूरा गर्नेबारे कुरा गर्नेछैनौँ, तर कम्तीमा पनि, तैँले केही न केही त हासिल गर्नैपर्छ। उदाहरणको लागि, मण्डलीमा, कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्ने कर्तव्यमा आफ्नो सबै मेहनत लगाउँछन्, आफ्‍नो जीवनभरको ऊर्जा लगाउँछन्, ठूलो मूल्य चुकाउँछन्, अनि धेरै मानिसहरूलाई विश्‍वासमा ल्याउँछन्। यसले गर्दा, तिनीहरूलाई आफ्नो जीवन व्यर्थ भएन, साथै त्यसको मूल्य छ र त्यसले तिनीहरूलाई सान्त्वना दिलाउँछ भन्‍ने महसुस हुन्छ। रोग र मृत्यु सामना गर्दा, वा आफ्‍नो पूरै जीवनको लेखाजोखा गर्दा, तिनीहरू आफूले गरेको सबथोक, आफूले हिँडेको मार्गबारे फर्केर सोच्छन्, हृदयमा सहजता भेटाउँछन्; तिनीहरू आत्मदोष वा पछुतोबाट मुक्त हुन्छन्। कतिपय मानिसहरूले मण्डली अगुवाका रूपमा सेवा गर्दा वा कामको कुनै पक्षमा जिम्मेवार हुँदा कुनै कसर बाँकी राख्दैनन्। तिनीहरूले सक्दो प्रयास गर्छन्, आफ्‍नो सारा शक्ति खन्याउँछन्, आफूले गर्ने कामका लागि आफ्नो सारा रगत-पसिना समर्पित गर्छन् र मूल्य चुकाउँछन्। तिनीहरूको मलजल, नेतृत्व, सहयोग, र साथको कारण, नकारात्मकता र कमजोरीमा रहेका धेरै मानिसहरू बलिया बन्छन् र दह्रिलो रूपमा खडा हुन्छन्, पछि हट्दैनन्, बरु परमेश्‍वरको उपस्थितिमा फर्कन्छन् र अन्त्यमा उहाँको गवाहीसमेत दिन्छन्। यसको साथै, तिनीहरूले आफ्नो नेतृत्वको अवधिमा धेरै महत्त्वपूर्ण कार्यहरू पूरा गर्छन्, धेरै दुष्ट मानिसहरूलाई निकाल्छन्, परमेश्‍वरका चुनिएका धेरै मानिसहरूलाई रक्षा गर्छन्, र उल्लेखनीय हानिहरूको पूर्ति गर्छन्। तिनीहरूको अगुवाइ कालमा यो सबै र अझ धेरै घटनाहरू घट्छन्। आफूले हिँडेको मार्गलाई फर्केर हेर्दा, वर्षौँको अवधिमा आफूले गरेको काम र चुकाएको मूल्यलाई फर्केर हेर्दा, तिनीहरूलाई कुनै पछुतो वा दोषारोपण महसुस हुँदैन। तिनीहरूले यी कामकुरा गरेकोमा कुनै पछुतो मान्दैनन् र आफूले मूल्यवान् जीवन जिएका छौँ भन्ने विश्वास गर्छन्, र तिनीहरूले हृदयमा ढुक्क र आराम महसुस गर्छन्। कति राम्रो कुरा! के तिनीहरूले प्राप्त गरेको फल यही नै होइन र? (हो।) यस्तो शान्ति र आराम अनुभूति हुनु, अनि यसरी पछुतो नमान्नु भनेको सकारात्मक कुराहरू र सत्यतालाई पछ्याउनुको नतिजा र फल हो। मानिसहरूका लागि उच्‍च मानकहरू नराखौँ। एउटा अवस्था सोचौँ जहाँ कुनै व्यक्तिलाई एउटा काम आइपरेको छ जुन उसले गर्नुपर्छ वा ऊ आफ्‍नो जीवनकालमा त्यो काम गर्न इच्छुक छ। उसले आफ्‍नो स्थान भेट्टाएपछि, ऊ आफ्‍नो स्थानमा दह्रिलो गरी खडा हुन्छ, उसले आफ्‍नो पद सम्हाल्छ, आफ्नो सारा रगत-पसिना र सारा ऊर्जा समर्पित गरेर आफूले गर्नुपर्ने र पूरा गर्नुपर्ने काम राम्ररी सम्पन्न गर्छ। जब अन्त्यमा ऊ आफ्‍नो लेखा दिन परमेश्‍वरको अघि खडा हुन्छ, ऊ तुलनात्मक रूपमा सन्तुष्ट हुन्छ, र उसको हृदयमा कुनै दोषारोपण वा पछुतोको अनुभूति हुँदैन। उसले सान्त्वना महसुस गर्छ र आफूले केही प्राप्त गरेको छु, मूल्यवान्‌ जीवन जिएको छु भन्ने महसुस गर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, परमेश्‍वरले म आखिरी दिनहरूमा जिउनुपर्छ, परमेश्‍वरको काम स्वीकार गर्नुपर्छ, र मण्डलीमा कर्तव्यहरू निर्वाह गर्नुपर्छ भनेर पूर्वनिर्धारित गर्नुभयो। उहाँले मैले देहको वास्ता गरूँ, म आराममा लिप्त होऊँ, र मैले व्यस्त देखिए पनि केही उपलब्धि हासिल नगरी जीवन खेर फालूँ भन्ने चाहनुहुन्नथ्यो। परमेश्‍वरको अभिप्राय भनेको म जीवनको सही मार्गमा हिँडूँ, मैले कर्तव्य निर्वाह गर्दा अझ बढी सत्यता खोजूँ, र परमेश्‍वरका वचनहरूअनुसार ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइहरू समाधान गरूँ भन्ने थियो, ताकि मैले सिद्धान्तअनुसार काम गर्न सकूँ र मानकअनुरूप हुने गरी कर्तव्य निर्वाह गर्न सकूँ। यसरी जिएको जीवन मात्र मूल्यवान् हुन्छ। मैले आफ्नो कर्तव्य कसरी छली र चिप्लो तरिकाले निर्वाह गरेकी थिएँ भनेर सोचेँ। देह आराममा भए तापनि, मेरो हृदयको गहिराइमा पीडा र अन्धकार थियो, र ममा रत्तिभर शान्ति वा खुसी थिएन। क्षणिक आराम र आनन्दका खातिर, मैले मेरो आफ्नै जीवन प्रवेशमा बाधा मात्र पुऱ्याइनँ, तर मेरो कर्तव्यमा धेरै पछुतोहरू पनि छोडेँ। म साँच्चै साह्रै जिद्दी र मूर्ख थिएँ! मैले परमेश्‍वरलाई प्रार्थना गर्दै अठोट गरेँ: म बिमारीबाट पूर्ण रूपमा निको नभए पनि, म मेरो गलत स्थितिलाई बदल्न र नयाँ विश्‍वासीहरूका धारणा र समस्याहरूलाई छिटो समाधान गर्न, आफ्‍नो काम राम्ररी गर्न, र आफ्‍ना जिम्मेवारी र कर्तव्यहरू पूरा गर्न देहको विरुद्ध विद्रोह गर्न तयार छु।

त्यसपछि, म काममा देखा परेका समस्याहरू समाधान गर्न मेरी सहकर्मीसँग मिलेर सत्यता खोज्थेँ। सामान्यतया, हामी मलजल गर्ने व्यक्तिहरूलाई पनि सँगै सिद्धान्तहरू खोज्न अगुवाइ गर्थ्यौँ, र समय-समयमा काममा भएका विचलन र समस्याहरूको सारांश निकालेर तिनलाई समाधान गर्ने मार्ग खोज्थ्यौँ। एक दिन, सिस्टर जेन सिनले उहाँले मलजल गरिरहनुभएको एउटा नयाँ विश्‍वासीले केही समस्याहरू उठाएका छन् भनेर भन्नुभयो। उहाँलाई ती समस्याहरू कसरी समाधान गर्ने थाहा थिएन र उहाँ मैले त्यसबारे सङ्गति गरिदिएको चाहनुहुन्थ्यो। यीमध्ये केही समस्याहरूका बारेमा मलाई तुरुन्तै कसरी सङ्गति गर्ने वा तिनलाई कसरी समाधान गर्ने भन्ने थाहा थिएन। मैले सोच्न थालेँ, “यी समस्याहरूको स्पष्ट जवाफ पाउनका लागि धेरै सोच्नुपर्छ र धेरै खोजी गर्नुपर्छ। यसका लागि धेरै समय लाग्नेछ। कस्तो झन्झट! म यी समस्याहरूलाई त्यत्तिकै छोडिदिन सक्छु र पछि मेरी सहकर्मीलाई समाधान गर्न लगाउन सक्छु।” जब मैले यसबारे सोचेँ, तब मैले फेरि देहको वास्ता गरिरहेको छु भन्‍ने मैले महसुस गरेँ। मैले हतार-हतार परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई थाहा छ, मैले फेरि एकपटक आरामको लालसा गरिरहेकी छु र म छली अनि चिप्लो बन्ने प्रलोभनमा परेकी छु, म देहको विरुद्ध विद्रोह गर्न र यी समस्याहरू समाधान गर्न मेरो सम्पूर्ण शक्ति लगाउन तयार छु। मलाई अगुवाइ गर्नुहोस्!” पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “जब व्यक्तिले सत्यतालाई साँचो रूपमा प्रेम गर्छ, तब ऊसँग परमेश्‍वरका निम्ति ठूलो चाहना, सच्चा हृदय, अनि सत्यता अभ्यास गर्ने र परमेश्‍वरमा समर्पित हुने प्रेरणा हुन सक्छ। तिनीहरू वास्तविक शक्ति पाएर मूल्य चुकाउन, आफ्नो शक्ति र समय समर्पित गर्न, आफ्ना व्यक्तिगत लाभहरू त्याग्न, र देहका सारा उल्झनहरू त्याग्न सक्षम हुन्छन्, यसले गर्दा परमेश्‍वरका वचनहरूको अभ्यास, सत्यता अभ्यास, र परमेश्‍वरको वचनको वास्तविकतामा गर्ने प्रवेशका लागि मार्ग खोलिन्छ। यदि तँ परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्नका लागि आफ्ना धारणा, आफ्नो देहका स्वार्थहरू, यश, हैसियत, ख्याति, र दैहिक आनन्दहरू त्याग्न सक्छस् भने—यदि तँ यस्ता सबै कुरा त्याग्न सक्छस् भने, तँ सत्यता वास्तविकतामा झन्-झन् बढी प्रवेश गर्नेछस्। तँसित जेजस्तो कठिनाइ र समस्या भए पनि त्यसउप्रान्त ती समस्या रहनेछैनन्—ती सजिलै समाधान हुनेछन्—अनि तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा सजिलै प्रवेश गर्नेछस्। सत्यता वास्तविकतामा प्रवेश गर्नका लागि, सच्चा हृदय र परमेश्‍वरप्रति ठूलो चाहना भएको हृदय हुनु दुई अति आवश्यक शर्त हुन्। यदि तँमा सच्चा हृदय मात्र छ, तर सधैँ काँतर हुन्छस्, तँमा परमेश्‍वरका निम्ति ठूलो चाहना छैन, र कठिनाइहरू आइपर्दा पछि हट्छस् भने, त्यसले पुग्दैन। यदि तेरो हृदयमा परमेश्‍वरका निम्ति ठूलो चाहना मात्र छ, तर तँ अलि आवेगी छस्, र तँमा यो इच्छा मात्र छ, तर आफूलाई परिस्थितिहरू आइपर्दा तँमा सच्चा हृदय हुँदैन, र तँ पछि हट्छस्, अनि आफ्नै स्वार्थहरू रोज्छस् भने, त्यसले पनि पुग्दैन। तँलाई सच्चा हृदय र परमेश्‍वरका निम्ति ठूलो चाहना भएको हृदय दुवै चाहिन्छ। तेरो हृदयको सच्चापनको स्तर र परमेश्‍वरका निम्ति तेरो ठूलो चाहनाको ताकतले सत्यता अभ्यास गर्ने तेरो प्रेरणाको शक्ति निर्धारण गर्छन्। यदि तँमा सच्चा हृदय छैन र तेरो हृदयमा परमेश्‍वरका निम्ति ठूलो चाहना छैन भने, तैँले परमेश्‍वरका वचनहरू बुझ्न सक्नेछैनस् र तँमा सत्यता अभ्यास गर्ने प्रेरणा हुनेछैन। यसरी तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनस् र तँलाई मुक्ति प्राप्त गर्न कठिन हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। म परमेश्‍वरका वचनहरूबाट निकै प्रेरित भएँ। कर्तव्य निर्वाह गर्दा, म निरन्तर कठिनाइहरूबाट पछि हटिरहेकी थिएँ र गाह्रो कामदेखि तर्सिरहेकी थिएँ। मुख्य समस्या के थियो भने, मैले मेरो कर्तव्यलाई निष्कपट हृदयले लिइरहेकी थिइनँ, र सत्यताको अभ्यास गर्नका लागि म कष्ट भोग्न वा मूल्य चुकाउन इच्छुक थिइनँ। जब मैले यसबारे सोचेँ, तब मैले के महसुस गरेँ भने, जब म नयाँ विश्‍वासीहरूका समस्याहरू समाधान गर्न सक्दिन, तब यसको मतलब मैले सत्यताको त्यो पक्षलाई बुझेकी हुँदिनँ। मैले सत्यता खोज्नुपर्ने र आफूलाई सत्यताले सुसज्जित गर्नुपर्ने क्षण यही नै हुन्थ्यो। यस्तो प्रकारको वातावरणले मलाई परमेश्‍वरको नजिक जान र परमेश्‍वरमा भर पर्न प्रेरित गर्न सक्थ्यो, र अझ बढी, यो मेरो लागि सत्यता प्राप्त गर्ने मौका हुन्थ्यो। मैले यी अवसरहरूको कदर गर्नुपर्थ्यो, आफ्नै देहको विरुद्ध विद्रोह गर्नुपर्थ्यो, र सत्यता खोज्न अनि यी समस्याहरू समाधान गर्न परमेश्‍वरमा भर पर्नुपर्थ्यो, र मैले चुकाउनुपर्ने मूल्य चुकाउनुपर्थ्यो। यसो गरेर मात्र मैले परमेश्‍वरको अन्तर्दृष्टि र निर्देशन प्राप्त गर्न सक्थेँ, र बिस्तारै सत्यता बुझ्न र प्राप्त गर्न सक्थेँ। यदि म निरन्तर आराममा लिप्त भएँ, कठिनाइहरूबाट पछि हटेँ, र काम गाह्रो हुँदा तर्सिएँ भने, म कहिल्यै पनि सत्यता वास्तविकतामा प्रवेश गर्नेछैन र मसँग सत्यता प्राप्त गर्ने कुनै बाटो हुनेछैन। अन्ततः, हानि मेरै हुनेछ। यो कुरा बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र नयाँ विश्‍वासीहरूका समस्याहरूसँग सम्बन्धित परमेश्‍वरका केही वचनहरू खोजेँ। पछि, जेन सिन र मैले नयाँ विश्‍वासीहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउनका लागि एउटा भेला राख्यौँ। सङ्गतिद्वारा, हामीले नयाँ विश्‍वासीहरूका समस्याहरू समाधान गर्यौँ। सत्यता बुझेपछि नयाँ विश्‍वासीहरूले अभ्यासको मार्ग पाए, र उनीहरूका कठिनाइ र समस्याहरू समाधान भए। मैले मेरो हृदयको गहिराइदेखि परमेश्‍वरलाई धन्यवाद दिएँ! समस्याहरू समाधान गर्नका लागि वास्तवमै सत्यता खोज्दा, मैले पनि केही समस्याहरू ठम्याउन सकेँ, र मैले पहिले नबुझेका केही सत्यताहरू बुझेँ। यसरी कर्तव्य निर्वाह गर्दा, मेरो हृदयमा चैन र शान्ति छायो।

यस अनुभवपछि, मैले कर्तव्य निर्वाह गर्दा सामना गरेका विविध कठिनाइ र समस्याहरूमा परमेश्‍वरको अनुमति थियो, र परमेश्‍वरले जानाजानी मेरा लागि कुराहरू गाह्रो बनाइरहनुभएको थिएन भन्ने कुरा देखेँ। परमेश्‍वरको अभिप्राय मलाई सत्यता सिद्धान्तहरू खोज्न प्रेरित गर्न, र मेरो भ्रष्टता र कमीकमजोरीहरू प्रकट गर्न यी विविध कठिनाइ र समस्याहरू प्रयोग गर्नु थियो, ताकि मैले मेरो आफ्नै भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोजूँ। नत्र भने, म सधैँ मेरो भ्रष्ट स्वभावको भरमा जिउने थिएँ, र कर्तव्य निर्वाह गर्दा छली र चिप्लो बनेर आराममा लिप्त हुने थिएँ। यसले मण्डलीको काममा ढिलाइ मात्र गर्ने थिएन, तर अन्ततः, यसले मलाई बर्बाद पार्ने थियो। म जस्तो मूर्ख र जिद्दी व्यक्तिलाई जगाउने परमेश्‍वरका वचनहरू नै थिए। परमेश्‍वरको मुक्तिका लागि उहाँलाई धन्यवाद होस्!

अघिल्लो: १९. जब हैसियतको इच्‍छा देखा पर्छ

अर्को: ३२. मेरो बुबालाई सुसमाचार सुनाउँदा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्